Category: नेपाली कांग्रेस

  • बालकोट वार्ता निष्कर्षविहीन, संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाउन एमालेको आग्रह

    बालकोट वार्ता निष्कर्षविहीन, संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाउन एमालेको आग्रह

    काठमाडौं । सत्ता गठबन्धनबाटै एमसीसी अनुमोदन गर्न माओवादी अध्यक्ष प्रचण्डले दौडधूप बढाएपछि प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दुवै पार्टीका दोस्रो तहका नेता छलफलमा थिए ।

    प्रतिनिधिसभालाई सुचारु गरेर एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने आफूहरुको प्रस्ताव एमालेले स्वीकार नगरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

    एमालेले कांग्रेससँग संसदमा आफूहरु उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउने दायित्व सरकारको र सत्ता गठबन्धनको भएको जवाफ दिएको छ ।

    वार्तामा सहभागी एमाले महासचिव शंकर पोखरेलले भने एमसीसीका बारेमा गठबन्धनको राय प्रष्ट हुनुपर्ने बताए । जबसम्म सरकारले र सत्ता गठबन्धनको धारणा आउँदैन तबसम्म प्रतिपक्षको धारणाको अर्थ नहुने पोखरेलले बताए ।

  • सभामुख र कानूनमन्त्रीको छलफलपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

    सभामुख र कानूनमन्त्रीको छलफलपछि प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको आज बैठक पनि सूचना टाँस गरेर स्थगित भएको छ ।

    एमसीसी सम्झौतााथि सैद्धान्तिक छलफलको कार्यसूची रहेकोमा विहीबार माओवादीले मतविभाजन मागेर सरकारको प्रस्ताव असफल बनाउने सूचना पाएपछि प्रधानमन्त्रीले स्थगित गराएका थिए ।

    नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो ।
    सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्नि सापकोटासँग छलफल गरेका छन् । दुईजनाको छलफलपछि संसद बैठक स्थगित गरिएको हो ।
  • देउवा-ओली वान टू वान वार्तामा, अन्य नेता बाहिरिए

    देउवा-ओली वान टू वान वार्तामा, अन्य नेता बाहिरिए

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले वान टू वान छलफल गरिरहेका छन् । संसद भवनमा कांग्रेस र एमालेका शीर्ष नेताबीचको भेटघाटपछि दुईजनालाई छाडेर अन्य नेता भने बाहिरिएका छन् ।

    अमेरिकी सहायता परियोजना एमसीसीले राजनीतिक माहोल गिजोलेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच केही दिनयता भेटघाट बाक्लिएको छ ।

    यो पनि पढ्नुहोस् : प्रधानमन्त्री देउवा र ओलीबीच संसद भवनभित्रै छलफल

    संसद भवन नयाँ बानेश्वरमा देउवा र ओलीबीच अहिले पनि जारी छ । जारी बैठकबीच निस्केका सरकारका प्रवक्ता एवम संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवादताहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै छलफल जारी रहेको बताए । कार्कीले विकसित राजनीतिक घटनाक्रमबारे थप प्रतिक्रिया भने जनाउन चाहेनन् ।

    आजको छलफलमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा कांग्रेस महामन्त्री गगन थापा छन् ।

  • प्रधानमन्त्री देउवा र ओलीबीच संसद भवनभित्रै छलफल

    प्रधानमन्त्री देउवा र ओलीबीच संसद भवनभित्रै छलफल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    संसद भवन नयाँ बानेश्वरमा देउवा र ओलीबीच छलफल भएको हो । आजको प्रतिनिधिसभा बैठक प्रधानमन्त्री देउवाकै आग्रहमा स्थगित भएको थियो । संसदमा विचाराधीन एमसीसी सम्झौतालाई अनुमोदन गराउन प्रधानमन्त्री देउवाले नेकपा एमालेको साथ खोजेको छन् ।

    सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षको साथ खोजेका हुन् । छलफलका लागि प्रधानमन्त्री देउवा ओलीकै कार्यकक्षमा पुगेका हुन् ।

    छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगन थापा पनि छन् । त्यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि छलफलमा सहभागी छन् ।

  • प्रचण्ड-माधवका कारण कांग्रेसले एमालेका माग पूरा गर्ने स्थिति बन्न लागेको रामचन्द्रको खुलासा (भिडिओ)

    प्रचण्ड-माधवका कारण कांग्रेसले एमालेका माग पूरा गर्ने स्थिति बन्न लागेको रामचन्द्रको खुलासा (भिडिओ)

    तनहुँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा प्रचण्ड र माधवले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् ।

    प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा कांग्रेस नरहेको प्रष्ट्याए ।

    ‘सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भनेपनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ’, पौडेलले भने । वरिष्ठ नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौ भन्ने सपना नदेख्न गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन् ।

    तर, वर्तमान गठबन्धन टुटेमा कस्तो गठबन्धन बन्छ भन्ने बारेमा अहिल्यै भन्न नसकिने उनको भनाइ थियो । ‘उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ,’ उनले भने ।

    एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए । ‘एमसीसी अमेरिकी साम्राज्यवाद होइन, यो विकास परियोजना हो’, पौडेलले भने, ‘जनताका बीचमा भ्रम फैलाउने काम कम्युनिष्टले गरेका छन् ।’

    वरिष्ठ नेता पौडेलले प्रचण्ड र माधव नेपालले एमसीसीमा सहयोग नगरेपनि केपी ओलीले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । ‘केपी ओलीको नेतृत्वको सरकारले एमसिसी संसदमा दर्ता गराएको थियो, यसलाई पास गर्न एमालेले सहयोग गर्नेमा विश्वस्त छौ,’ उनले भने ।

    एमालेको माग पूरा गरे एमसिसीमा सहयोग गर्न सकिने बताएको भन्दै पौडेलले भने, ‘कांग्रेस एमालेको माग पूरा गर्ने स्थितिमा पुग्न थालेको छ, त्यस्तो नहोला भन्न पनि सकिँदैन ।’

    वरिष्ठ नेता पौडेलले निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने र गठबन्धन गर्नुपर्ने दुईवटा धार देखा परेको भन्दै अहिलेको परिस्थितिका कारण गठबन्धन आवश्यक रहेको टिप्पणी गरे ।

    ‘समावेशिताका कारण कुनैपनि पार्टीको बहुमत आउने स्थिति छैन, कम्युनिष्ट एक ठाउँमा उभिए भने काङ्ग्रेसले प्रतिस्पर्धा गर्न गाह्रो छ,” उनले भने ।

  • गठबन्धन जोगाउन प्रचण्डको दौडधुप, सिंहदरबारमा तीन दलको छलफलपछि बालुवाटारमा

    गठबन्धन जोगाउन प्रचण्डको दौडधुप, सिंहदरबारमा तीन दलको छलफलपछि बालुवाटारमा

    काठमाडौं । एमसीसी अनुमोदनको सकस झेलिरहेका माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरवहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् । सिंहदरबारमा नेकपा एस र जसपाका नेताहरूसँग छलफल गरेलगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

    सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहित जसपा नेताहरूसँग प्रचण्डले छलफल गरेका थिए ।

    नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाको उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा छन् । बाबुराम भट्टराई पक्ष भने पारित गर्नुपर्ने पक्षमा छ ।

    सरकारले एमसीसी आज संसदमा छलफल गराएर भोलि पारित गर्ने तयारी गरेको छ । सत्ता गठबन्धन एमसीसीमा एकमत नहुने हो भने प्रधानमन्त्रीले एमालेसँग सहकार्यको हात अघि बढाउनुपर्ने भएकाले पनि गठबन्धन जोगाउन प्रचण्डको दौडाहा बढेको हो ।

  • भोलिको संसद बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

    भोलिको संसद बैठकमा आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

    काठमाडौं । नेपाली कांग्रेसले विहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

    संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरेकी हुन् ।

    भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको सचेतक भुसालले बताइन् ।

    ‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ, तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ,’ भुसालले भनिन् ।

    कांग्रेस एमसीसीको पक्षमा छ । कांग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिइन् । उनले पार्टीको संसदीय दलको कार्यालयले विहीबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन भनेर म्यासेज पठाएको पुष्टि गरिन् ।

    हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरि र कर्मा घले उपचारका क्रममा भारतमा छन् ।

    सत्तारुढ प्रमुख दल कांग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रूपमा रहेको छ । संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन् । एमालेले एमसीसीको सम्बन्धमा संसदमा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेपछि मात्रै एमसीसीको विषयमा निर्णय गर्ने एमालेको अडान छ ।

    सत्ताघटक माओवादी र नेकपा एसले एमसीसीको विपक्षमा मत दिने निर्णय गरिसकेका छन् ।

  • ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाण

    ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाण

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुगेका छन् ।

    एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।

    त्यस्तै ८ गते एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै एमसीसीविरोधी प्रदर्शनकारीले ढुंगा हानेको विषयमा पनि कुराकानी हुने बताइएको छ । ओलीले आफूलाई लक्षित गर्दै ढुंगा प्रहार भएपछि गृहमन्त्रीको भूमिका माथि प्रश्न उठाएका थिए ।

    प्रधानमन्त्री देउवा र ओलीबीच हिजो भेटवार्ता भएको थियो । उक्त भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । हिजोको भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न भनेका थिए ।

    एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

  • कांग्रेसको निष्कर्ष : माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मत दिए गठबन्धन टुट्छ

    कांग्रेसको निष्कर्ष : माओवादी र समाजवादीले एमसीसीको विपक्षमा मत दिए गठबन्धन टुट्छ

    काठमाडौं । प्रतिनिधिसभामा टेबल भएको एमसीसी सम्झौताको विपक्षमा रहने निर्णय गरेका सत्तारुढ गठबन्धनका दलहरूसँग नेपाली कांग्रेसले थप सहकार्य नहुने प्रष्ट पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरूसँग आन्तरिक छलफलका दौरान एमसीसीको पक्षमा मत नदिने दलसँग सत्ता सहकार्य हुन नसक्ने बताएका छन् ।

    सत्तारुढ गठबन्धनका ५ दलमध्ये कांग्रेसमात्रै एमसीसी पारित गर्ने पक्षमा उभिएको छ । नेकपा माओवादी केन्द्रले संसदमा टेबल हुनै नदिने, टेबल गरिए सरकार छाड्ने निर्णय संसदीय दलको बैठकबाट गरिसकेको छ । यद्यपि एमसीसी संसदमा टेबल भएको ३ दिन बितिसक्दा माओवादीले सरकारबाट बाहिरिने कदम चालेको छैन ।

    अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पनि एमसीसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ । जनता समाजवादी पार्टीभित्र डा.बाबुराम भट्टराई समर्थनमा भएपनि जसपाले औपचारिक निर्णय गरिसकेको छैन । जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू एमसीसीको विपक्षमा रहँदै आएका छन् । सत्ता गठबन्धनको अर्को घटक राष्ट्रिय जनमोर्चाले एमसीसी टेबल हुँदा नै संसदबाट विपक्षमा उभिने घोषणा गरिसकेको छ ।

    माओवादी र समाजवादीले गठबन्धन जोगाउने उद्देश्यले एमसीसीमा निर्णय हुने बेला संसदमा अनुपस्थित हुने सम्भावना यथावत छ । संसदमा अनुपस्थित हुँदा गठबन्धन र पार्टीको अडान दुवै जोगिने उनीहरूको बुझाइ छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने अनुमानमै भरमा कांग्रेसले धारणा नदिने बताउँछन् ।

    सहयात्री दलहरूको साथ नपाएपनि एमसीसी पारित गराउनेमा दृढ देखिएको कांग्रेसले निर्णय प्रक्रियामा विपक्षमा उभिने छुट माओवादी र समाजवादीलाई नदिने भएको छ । गठबन्धनमा रहेको कुनैपनि दलले एमसीसीको विपक्षमा मतदान गर्नुअघि सरकार र गठबन्धन छाड्नुपर्ने कांग्रेसको भनाइ छ ।

    कांग्रेस महामन्त्री गगन थापा नैतिक र राजनीतिक दुवै हिसाबले सत्तारुढ दलहरूले एमसीसीको विपक्षमा मतदान गर्न नमिल्ने बताउँछन् । एमसीसीमा ‘राष्ट्रघात’ देख्नेहरूले एमसीसी पारित गराउनुपर्छ भन्ने कांग्रेससँग कुम जोड्न जरुरी नरहेको गगनको भनाइ छ ।

    ‘एमसीसीमा राष्ट्रघात छ भनेर एमसीसी पक्षधरलाई राष्ट्रघाती करार गरिसकेपछि राष्ट्रघातीहरूसँग कुम जोडेर सरकारमा बसिरहन उहाँहरूलाई लाज हुन्छ कि हुँदैन ?’, थापाको प्रश्न छ । एमसीसी संसदको प्रक्रियाबाट टुंगिने निश्चित भएपनि सत्तारुढ दलहरूबीच साझा दृष्टिकोण नबने गठबन्धन निरन्तर नरहने उनले बताए ।

    ‘एमसीसी सामान्य प्रस्ताव मात्रै होइन राजनीतिक दृष्टिकोण पनि हो । हाम्रो दृष्टिकोण नै फरक भइसकेपछि एकै ठाउँमा उभिने अवस्था बन्दैन । उहाँहरू सरकारमा नरहने मात्रै होइन यो सहकार्य नै अगाडि नबढ्ने अवस्था बन्नसक्छ’, थापाले नेपाल प्रेससँग भने । कांग्रेसले गठबन्धनको निरन्तरता चाहेपनि गठबन्धनभित्रका दलहरूको व्यवहारमा भर पर्ने थापाको भनाइ छ ।

    सहयात्री दलहरूको साथ नपाएपनि एमसीसी पारित गराउनेमा दृढ देखिएको कांग्रेसले निर्णय प्रक्रियामा विपक्षमा उभिने छुट माओवादी र समाजवादीलाई नदिने भएको छ । गठबन्धनमा रहेको कुनैपनि दलले एमसीसीको विपक्षमा मतदान गर्नुअघि सरकार र गठबन्धन छाड्नुपर्ने कांग्रेसको भनाइ छ ।

    कांग्रेस नेता मीन विश्वकर्मा पनि एमसीसीको विपक्षमा मतदान गर्नु अघि माओवादी-समाजवादीलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँछन् ।

    ‘सरकारले ल्याएको प्रस्तावको पक्षमा नउभिने हो भने उहाँहरूले पहिले सरकार छाड्नुपर्‍यो । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्यो’, विश्वकर्माले नेपाल प्रेससँग भने । कांग्रेस र प्रधानमन्त्री देउवा एमसीसी पारित गर्नुपर्ने पक्षमा दृढ रहेको भन्दै विश्वकर्माले माओवादी र समाजवादीको अन्तिम निर्णय आएपछि आवश्यक कदम लिइने बताए ।

    ‘एमसीसी संसदमा निर्णयार्थ पेश हुने बेला उहाँहरूले लिने निर्णयका आधारमा कांग्रेस अगाडि बढ्छ’, उनले भने ।

    एमसीसी सम्झौता फागुन ८ गतेको प्रतिनिधिसभा बैठकमा टेबल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते विहीबार बस्दैछ । एमसीसीबारे फागुन १६ गतेभित्रै टुंगोमा पुग्नुपर्ने दबाब सरकारलाई रहेको छ ।

    कांग्रेसभित्र एमसीसीको पक्षमा नउभिने दलहरूसँग गठबन्धन गर्न नहुने मत बलियो छ । यद्यपि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि टुट्न नदिने भन्दै छलफल थालेका छन् ।

    माओवादी अध्यक्ष दाहालले पौडेलसँग सोमबार भएको भेटमा गठबन्धन जोगाउने प्रतिबद्धता गरेका थिए । कांग्रेसका अन्य नेताहरू भने एमसीसीको विपक्षमा मतदान गर्ने दलसँग कांग्रेसले सहकार्य नगर्ने बताउँछन् ।

    ‘यदि एमसीसीको विपक्षमा कसैले मतदान गर्छ भने त्यो सरकारलाई गरेको असहयोग हो । सरकारलाई असहयोग गर्नेहरूसँग मिलेर सरकार चलाउन सकिदैन । त्यसको विकल्पमा जे पर्छ कांग्रेसले व्यहोर्छ’, एक कांग्रेस नेताको भनाइ छ ।

    माओवादी र समाजवादीले गठबन्धन जोगाउने उद्देश्यले एमसीसीमा निर्णय हुने बेला संसदमा अनुपस्थित हुने सम्भावना यथावत छ । संसदमा अनुपस्थित हुँदा गठबन्धन र पार्टीको अडान दुवै जोगिने उनीहरूको बुझाइ छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने अनुमानमै भरमा कांग्रेसले धारणा नदिने बताउँछन् ।

    ‘माओवादी र समाजवादीले यसो गरे के होला, त्यसो गरे के होला भन्ने अनुमान कांग्रेसले गर्दैन । प्रक्रियामा जाँदा जे आवश्यक पर्छ त्यो निर्णय लिन कांग्रेस तयार छ’, महतले भने ।

    एमसीसी सम्झौता फागुन ८ गतेको प्रतिनिधिसभा बैठकमा टेबल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते विहीबार बस्दैछ । एमसीसीबारे फागुन १६ गतेभित्रै टुंगोमा पुग्नुपर्ने दबाब सरकारलाई रहेको छ ।

  • कांग्रेसको आग्रहमा मधेस सभा बैठक स्थगित

    कांग्रेसको आग्रहमा मधेस सभा बैठक स्थगित

    जनकपुरधाम । मधेस प्रदेशसभा बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे बस्ने भनिएको बैठक फागुन २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

    आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो । तर, अन्तिम समयमा आएर बैठक स्थगित गरिएको सूचना प्रदेशसभा सचिवालयले निकालेको छ ।

    स्रोतकाअनुसार मधेसमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन १५ गते हुने भएकाले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई आग्रह गरिएको थियो । त्यसैले बैठक स्थगित गरिएको हो ।

  • धनुषा कांग्रेस सभापतिमा कोइराला समूहबाट प्रसैला उम्मेदवार

    धनुषा कांग्रेस सभापतिमा कोइराला समूहबाट प्रसैला उम्मेदवार

    जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको सभापतिमा शेखर कोइराला समूहबाट दिनेश प्रसैला ‘यादव’ले उम्मेदवारी घोषणा गरेका छन् ।

    जनकपुरधाममा पत्रकार सम्मेलन गरेर प्रसैलाले कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी दिने बताए । उनी शेखर कोइरालाको आधिकारिक उम्मेदवार भएको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले घोषणा गरे ।

    प्रसैला पूर्वसांसद हुन् । उनले जिल्ला सभापतिमा जित्ने दाबी सहमहामन्त्री पाण्डेले गरेका छन् । उनका अनुसार केन्द्रीय अधिवेशनमा इतर पक्षमा ४० प्रतिशत मत आएको थियो । अहिले देउवा पक्ष आफैं विभाजित भएको छ ।

    प्रसैलाले आफू मात्र जिल्ला सभापतिका लागि योग्य रहेको बताए । उनले आफू सभापति भएपछि धनुषाको चारवटै प्रतिनिधिसभा सिटमा कांग्रेसले जित्ने दाबी गरे ।

    धनुषा सभापतिका लागि त्रिपक्षिय भिडन्त हुने भएको छ । यसअघि नै पार्टी सभापति शेरबहादुर देउवाको समूहबाट सन्तोष यादव र विमलेन्द्र निधिको समूहबाट योगेन्द्र पञ्जियार उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    यादव जिल्ला उपसभापति छन् भने पञ्जियार क्षिरेश्वरनाथ नगरपालिकाका मेयर हुन् ।

  • पुराना कांग्रेस नेतालाई प्यूठान कांग्रेसको सम्मान

    पुराना कांग्रेस नेतालाई प्यूठान कांग्रेसको सम्मान

    प्यूठान । नेपाली कांग्रेस प्यूठानले जिल्लाका ६५ जनालाई प्रजातन्त्र दिवसको अवसरमा सम्मान गरेको छ ।

    २०४८ साल र २०५३ सालमा पार्टीको तल्लो तहमा नेतृत्व गरेका नेताहरुलाई लोकतन्त्र र पार्टीको पक्षमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको प्यूठान कांग्रेसका उपसभापति देवेन्द्र बर्माले जानकारी दिए ।

    सम्मानित हुनेमा तत्कालीन ४९ वटै वडा समितिका सभापतिहरु समेत रहेका छन् ।

    सम्मान कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले द्वन्कालमा समेत ज्यानको परवाह नगरी कांग्रेसको संगठनमा सक्रिय नेताहरुलाई सम्मान गर्न पाउँदा गर्व अनुभूति भएको बताए ।

    उनले विषम परिस्थितिमा पनि लोकतन्त्र र पार्टीका लागि योगदान गर्नेहरुलाई सम्मानको परम्परा बसाउनुपर्ने भन्दै प्रजातन्त्र सेनानी र शहीद परिवारलाई पार्टीले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

  • एमसीसी पास गर्ने रणनीति बनाउन कांग्रेस नेता जुट्दै

    एमसीसी पास गर्ने रणनीति बनाउन कांग्रेस नेता जुट्दै

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउने रणनीति बनाउन पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

    देउवाले पार्टीका उपसभापति, महामन्त्री, सचेतक र केही पूर्वपदाधिकारीहरूलाई छलफलका लागि बोलाएका हुन् । बैठकमा एमसीसी पारित गर्न संसदमा निर्वाह गर्ने भूमिका, गठबन्धनमा साझा धारणा बनाउन गरिने प्रयास र अन्य विकल्पबारे छलफल हुने बताइएको छ ।

    ‘सभापतिले बोलाउनुभएको छ । मुख्यतः एमसीसी कसरी पारित गराउने भन्नेमै छलफल हुनेछ’, एक पदाधिकारीले नेपाल प्रेससँग भने ।

  • गठबन्धन जोगाएरै एमसीसी पास गर्न रामचन्द्रले बढाए दौडधुप

    गठबन्धन जोगाएरै एमसीसी पास गर्न रामचन्द्रले बढाए दौडधुप

    काठमाडौं । सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि जोगाउने उपायको खोजी थालेका छन् ।

    मुलुकका लागि एमसीसीसँगै गठबन्धनको पनि अपरिहार्यता रहेको भन्दै पौडेलले सत्तारुढ गठबन्धनमा रहेका पार्टीका नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्न लागेका हुन् ।

    पौडेलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट्दै छन् । तीनैजना नेताहरू एमसीसीको विपक्षमा रहँदै आएका छन् । ती नेताहरूसँगको भेटमार्फत आफूले राजनीतिलाई नयाँ समस्यातिर धकेलिन नदिने प्रयास गर्ने वरिष्ठ नेता पौडेलले बताए ।

    ‘गठबन्धनको संयोजकको हिसाबले मुलुकलाई थप समस्यामा जान नदिन गठबन्धनलाई पनि मजबुत राख्ने र संसदमा पेश भएको एमसीसी पारित गराउन सहमति पनि जुटाउने मेरो ध्येय हो । यसै विषयमा नेताहरुसँग छलफल गर्दैछु’, पौडेलले नेपाल प्रेससँग भने ।

    संसदमा एमसीसी टेबल भइसकेको र समयसीमा थोरै रहेकोले जतिसक्दो चाडा गठबन्धनभित्र साझा धारणा बनाउनुपर्ने पौडेलको भनाई छ । एमसीसीलाई राजनीतिक प्रतिष्ठाको विषय नबनाउने हो भने समस्या आफैं समाधान हुने उनले बताए ।

    ‘एमसीसी विशुद्ध विकास अनुदान हो भनेर स्वीकारेर जानुपर्छ । हाम्रो मुलुकमाथि कुनै संकट पर्न दिँदैनौ भन्ने राष्ट्रिय आत्मविश्वास गठबन्धनका दलहरुले व्यक्त गर्नु नै समस्याको समाधान हो’, पौडेलको भनाइ छ ।

    उनले एमसीसीको विषय संसदमा टेबल भएपछि सार्वभौम संसदको निर्णय नै सबैले मान्नुपर्ने पनि बताए । एमसीसीकै कारण गठबन्धनमा दरार आउन दिन नहुने भन्दै पौडेलले सहमति खोज्न आफू सक्रिय रहेको बताए ।

  • एमसीसी पास हुनेमा कांग्रेस किन कन्फिडेण्ट ?

    एमसीसी पास हुनेमा कांग्रेस किन कन्फिडेण्ट ?

    काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको चर्को नाराबाजीबीच अमेरिकी सहयोग सम्झौता एमसीसी टेबल भयो । संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे- एमसीसी अब के हुन्छ ?

    प्रधानमन्त्री देउवाले ‘कन्फिडेन्ट’देखाउँदै भने – अब पास हुन्छ ।

    प्रधानमन्त्री देउवामात्रै होइनन्, उनको पार्टी नेपाली कांग्रेसका प्रायः नेता र सांसदहरू एमसीसी पारित हुनेमा ढुक्क देखिन्छन् । संसदमा रहेकामध्ये कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले मात्रै अहिलेसम्म एमसीसी पारित गर्नुपर्ने निर्णय गरेका छन् ।

    कांग्रेसको कन्फिडेन्सको अर्को कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जारी संवाद हो । गत विहीबार प्रधानमन्त्री देउवा आफैं बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका छन् । एमसीसी पारित गर्ने शर्तमा गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने मत कांग्रेसमा बलियो रहेको छ ।

    प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ भने माओवादी र नेकपा एकीकृत समाजवादी प्रष्टरूपमा एमसीसी अनुमोदनको विपक्षमा उभिएका छन् । प्रतिनिधिसभाको विद्यमान अंकगणित अनुसार एमसीसी पास हुन आवश्यक सामान्य बहुमत कांग्रेससँग छैन । यद्यपि कांग्रेस नेतृत्व एमसीसी पारित हुनेमा कन्फिडेन्ट देखिन्छ ।

    कांग्रेस किन कन्फिडेण्ट ?

    एमसीसी सन्दर्भमा सबैभन्दा प्रष्ट निर्णय लिने पार्टीमध्ये कांग्रेस पर्छ । संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाटै कांग्रेसले एमसीसी पारित गर्नुपर्ने निर्णय लिएको थियो ।

    पार्टीभित्रका आन्तरिक विवाद थाती भएपनि एमसीसीका सन्दर्भमा कांग्रेसमा सबै नेताहरूको साझा मत रहेको छ । प्रधानमन्त्री देउवालाई पार्टीभित्र एमसीसीका सन्दर्भमा कसैको असहयोग छैन । बरु देउवाविरोधी खेमाका नेताहरूपनि एमसीसी पारित गराउन सक्रिय छन् ।

    पार्टीभित्रको आन्तरिक एकताले कांग्रेसलाई कन्फिडेण्ट बनाएपनि त्यतिले मात्रै एमसीसी पारित हुने अवस्था भने छैन । कांग्रेसको कन्फिडेन्सको अर्को कारण गठबन्धनमा भइसकेको सहमति नै हो ।

    गत माघ १५ गते माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्न प्रधानमन्त्री देउवा र गठबन्धनका संयोजक रामचन्द्र पौडेलसँग सहमति जनाएका थिए । सो सहमति कार्यान्वयनका लागि प्रचण्डले १० दिनको समय पनि मागेका थिए ।

    कांग्रेस नेताहरू गठबन्धनमा भइसकेको सहमति र गठबन्धनको निरन्तरताका लागि पनि माओवादी र समाजवादी एमसीसीको पक्षमा उभिने दाबी गर्छन् । ‘पहिलो कुरा त गठबन्धनको आवश्यकता हामीलाई भन्दा उहाँहरूलाई छ । गठबन्धन जोगाउने भए एमसीसी पारित गर्नुपर्छ भनेर हामीले भनिसकेका छौं । अन्तिमसम्म उहाँहरू आउन सक्नुहुन्छ’, कांग्रेसका एक पदाधिकारी भन्छन् ।

    ‘एमसीसीमा कुरा मिलेन भने धेरै कुरा तलमाथि हुन्छ । पहिलो कदम भने कांग्रेसले प्रधान्यायाधीशविरुद्धको महाअभियोग फिर्ता लिनेछ’, एक सांसदले नेपाल प्रेससँग भने ।

    कांग्रेसको कन्फिडेन्सको अर्को कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जारी संवाद हो । गत विहीबार प्रधानमन्त्री देउवा आफैं बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका छन् । एमसीसी पारित गर्ने शर्तमा गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने मत कांग्रेसमा बलियो रहेको छ ।

    एमसीसीबारे एमालेले आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन । यद्यपि गठबन्धन तोड्ने, सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग लगाउने लगायतका विषयमा सहमति जुटे एमाले नेतृत्वले एमसीसीमा समर्थन गर्ने सम्भावना छ ।

    विगतमा आफ्नै नेतृत्वको सरकारले दर्ता गराएको प्रस्ताव भएकाले एमसीसीबारे एमालेको संस्थापन पक्ष आक्रामक देखिदैन । ‘एमसीसीमा गठबन्धनका दलहरूले मत नदिने हो भने गठबन्धन टुट्छ । त्यस्तो अवस्थामा एमालेसँग कांग्रेसले नयाँ सम्झौता गर्नसक्छ । त्यो सम्झौताको जगमा पनि एमसीसी पास हुने चान्स छ’, कांग्रेस नेताको भनाइ छ ।

    २०५४ सालमा एमाले विभाजनपछि कांग्रेसले वामदेव गौतम नेतृत्वको नेकपा मालेलाई सरकारमा सामेल गराएका थियो । एमाले विभाजनमा त्यसबेला कांग्रेसले सघाएको थियो । तर, ७ महिनामै कांग्रेसले मालेलाई सरकाबाट हटाएर एमालेसँग सहकार्य गर्‍यो ।

    कांग्रेस र एमाले मिलेर सरकार बनाए, चुनावमा प्रतिस्पर्धा गरे । कांग्रेसले बहुमत ल्यायो, मालेले देशभर एक सिट पनि जित्न सकेन । अहिले पनि गठबन्धनमा रहेका प्रचण्ड-माधव समूहलाई सरकारबाहिर पुर्‍याएर एमाले र कांग्रेसले सरकार बनाउने र चुनावमा प्रतिस्पर्धा गर्ने नीति लिए भने आश्चर्य हुने छैन ।

    महाअभियोगबाट पछि हट्ने चेतावनी

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाउने एजेण्डा माओवादी र एकीकृत समाजवादीको थियो । एमसीसी पारित हुने शर्तमा कांग्रेसले महाअभियोगमा समर्थन जनाएको थियो । कांग्रेस नेताहरू एमसीसीमा धोका भए राणाविरुद्धको महाअभियोगबाट कांग्रेस पछि हट्ने बताउँछन् ।

    ‘एमसीसीमा कुरा मिलेन भने धेरै कुरा तलमाथि हुन्छ । पहिलो कदम भने कांग्रेसले प्रधान्यायाधीशविरुद्धको महाअभियोग फिर्ता लिनेछ’, एक सांसदले नेपाल प्रेससँग भने ।

    २०५४ सालमा एमाले विभाजनपछि कांग्रेसले वामदेव गौतम नेतृत्वको नेकपा मालेलाई सरकारमा सामेल गराएका थियो । एमाले विभाजनमा त्यसबेला कांग्रेसले सघाएको थियो । तर, ७ महिनामै कांग्रेसले मालेलाई सरकाबाट हटाएर एमालेसँग सहकार्य गर्‍यो ।

    राणाविरुद्धको महाअभियोगमा हस्ताक्षर गर्ने ९८ जनामध्ये ३९ जना कांग्रेसका सांसद हुन् । उनीहरूले फिर्ता लिनासाथ महाअभियोग निष्क्रिय हुन्छ । यो सन्दर्भलाई कांग्रेसले एमसीसीका सन्र्दभमा गठबन्धनमा सहमति जुटाउन वा एमालेका साथ लिन प्रयोग गर्नसक्छ ।

    ‘हामीले महाअभियोगको हस्ताक्षर फिर्ता लिनासाथ माओवादी र समाजवादी समस्यामा पर्छन् । एमालेसँग विश्वासको वातावरण पनि बन्छ । एमसीसी पास गर्ने योपनि एउटा उपाय हो’, कांग्रेस सांसदको भनाइ छ ।

  • एमसीसी अब सडकको होइन संसदको मुद्दा हो : कानूनमन्त्री बडू (भिडिओ)

    एमसीसी अब सडकको होइन संसदको मुद्दा हो : कानूनमन्त्री बडू (भिडिओ)

    काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सडकमा चर्चा भइरहेको एमसीसी अब संसदको विषय बनेको बताएका छन् ।

    संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री बडूले एमसीसीबारे जनताले व्यक्त गरेको चासो अब जनप्रतिनिधिले सम्बोधन गर्नुपर्ने बताए ।

    ‘सडकको विषय अब संसदमा आएको छ । केही सांसदहरूले छलफलमा भाग पनि लिनुभएको छ । यो एउटा अवसर हो । सरकारले यसलाई सकरात्मकरूपमा लिएको छ’, मन्त्री बडूले भने ।

    संसदले जनताले उठाएका हरेक प्रश्नको जवाफ दिनुपर्ने भन्दै मन्त्री बडूले संसदभित्र पर्याप्त छलफल गरी उपयुक्त निर्णय दिनुपर्ने बताए । ‘सडकको चर्चा संसदमा आइसकेकोले संशयमा रहेका जनतालाई साझा निर्णय दिन सक्नुपर्छ’, उनको भनाइ छ ।

    संसदमा पेस भएको सम्झौता परिपक्व हुन ७२ घण्टा समय लाग्ने भन्दै मन्त्री बडूले फागुन १२ गतेपछि एमसीसीबारे संसदमा छलफल सुरू हुने बताए । जनताले एमसीसीको पक्ष र विपक्षमा रहेका दुवैथरीको प्रतिक्रिया सुन्न चाहेको भन्दै त्यसका लागि संसद नै उपयुक्त हुने उनको भनाइ छ ।

    सरकारले पारित हुने विश्वाससहित प्रस्ताव ल्याएको बताउँदै मन्त्री बडूले अधिक समर्थन जुटाउन सरकारले सबैसँग संवाद गर्ने बताए ।

  • झलनाथ, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : महामन्त्री थापा (भिडियो)

    झलनाथ, रावल र गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने हैसियत राख्दैनन् : महामन्त्री थापा (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झलनाथ खनाल, भीम रावल र देव गुरुङले एमसीसीलाई राष्ट्रघाती भन्ने नैतिक हैसियत नराख्ने टिप्पणी गरेका छन् ।

    विगतमा खनाल, रावल र गुरुङ नै सांसद रहेको पार्टी नेकपा नेतृत्वको सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्नुपूर्व आफैंलाई राष्ट्रघाती घोषणा गर्नुपर्ने थापाले बताए ।

    ‘भीम रावलले पहिले केपी ओली राष्ट्रघाती भन्न सक्नुपर्‍यो । किनकि ओली नेतृत्वको सरकारले नै एमसीसी संसदमा दर्ता गरेको हो । देव गुरुङजीले प्रचण्ड र झलनाथ खनालले माधवकुमार नेपाललाई राष्ट्रघाती मुर्दावाद भन्न सक्नुपर्‍यो । अनि बल्ल एमसीसीबारे उहाँहरूले टिप्पणी गर्नुको अर्थ हुन्छ’, थापाले भने ।

    उनले विगतमा नेकपा नेतृत्वको सरकारले ल्याएको एमसीसी सम्झौतालाई तत्कालीन नेकपाकै नेताहरुले विरोध गर्न अराजनीतिक भएको बताए ।

    एमसीसी संसदमा टेबल हुनुले सार्वभौम संसदले निर्णयको अधिकार पाएको भन्दै महामन्त्री थापाले कसैले पनि डबल स्ट्याण्डर्ड देखाउन नहुने बताए ।

    ‘आधाले विरोध गरेझैं गर्ने आधाले समर्थन गरेझै गर्ने भन्ने हुँदैन । सरकारमा बसेर सरकारले ल्याएको प्रस्तावको विरुद्धमा उभिने भन्नेपनि हुँदैन । अब सबैले डबल स्ट्याण्डर्ड त्याग्नुपर्छ । पक्षमा हुने पक्षतिर विपक्षमा हुने विपक्षतिर लाग्नुपर्छ’, थापाले भने ।

    उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत एमसीसीको छलफलमा सहभागी हुनु सकरात्मक भएको बताए ।

    ‘नाराबाजीकै बीच पनि एमालेले छलफलमा भाग लिएको छ । माओवादी, नेमकिपा र जनमोर्चालेपनि एमसीसीबारे छलफल गरेका छन् । अब संसदले आफ्नो प्रक्रिया पुर्याएर निर्णय लिन सहज हुनेछ’, थापाले भने ।

    उनले सरकारले ल्याएको प्रस्तावको विपक्षमा हुनेहरुले सरकार छाडनुपर्ने बताए । ‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विरोध गर्न मिल्दैन । त्यसका लागि सरकार छाड्नुपर्छ’, थापाको भनाइ छ ।

    महामन्त्री थापाले तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वकै सरकारले संसदमा दर्ता गरेकोले मतदानको बेलासम्म एमाले एमसीसीका पक्षमा उभिने दाबीसमेत गरे ।

  • संसदमा एमसीसी आजै टेबल हुने (भिडिओ)

    संसदमा एमसीसी आजै टेबल हुने (भिडिओ)

    काठमाडौं । सरकारले आजकै संसद बैठकमा एमसीसी टेबल गर्ने भएको छ । सत्ता गठबन्धनमा सहमति जुटेसँगै आजकै बैठकमा एमसीसी पेस गर्न लागिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    सबैलाई संसद भवनतिर जान आग्रह गर्दै पत्रकारसँग मन्त्री कार्कीले भने, ‘एमसीसी सार्वभौम संसदमा टेबुल हुन्छ । त्यसपछि सडकमा होइन, सदनमा गहनरुपमा छलफल भएर निष्कर्षमा पुग्छ ।’

    ‘जे-जे प्रश्न छन्, त्यसमा सार्वभौम संसदमा सांसदले छलफल गर्नुहुन्छ र निष्कर्षमा पुगिन्छ’, उनले थपे ।
  • प्रधानमन्त्रीको प्रतिबद्धता– स्थानीय चुनाव लगत्तै संघ र प्रदेशको चुनाव सम्पन्न गर्छौं (भिडिओ)

    प्रधानमन्त्रीको प्रतिबद्धता– स्थानीय चुनाव लगत्तै संघ र प्रदेशको चुनाव सम्पन्न गर्छौं (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

    प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गईरहेको उल्लेख गर्दै त्यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरुबाट मुलुकको शासन व्यवस्था संचालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जाने सरकारको योजना सुनाए ।

    ७२ औं प्रजातन्त्र दिवसको अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै देउवाले कोभिड १९ को प्रकोप नियन्त्रण गर्ने काममा सरकारले उल्लेखनीय सफलता हासिल गरेको दावी गरे ।

    देउवाले भने,’हामी स्थानीय तहको चुनाव छिट्टै सम्पन्न गर्न गईरहेका छौं । त्यसलगत्तै प्रदेश र संघीय तहको चुनाव पनि गर्नुपर्नेछ । ती सबै चुनावहरुलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिहरुबाट मुलुकका शासन व्यवस्था संचालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान हामी सबै प्रतिवद्ध हुन आवश्यक छ ।’ प्रधानमन्त्री देउवाले मुलुकको दू्रत गतिका लागि आर्थिक विकास र रुपान्तरण गर्न सरकारले चाहिरहेको बताए ।

  • सन्दर्भः प्रजातन्त्र दिवस- कांग्रेसले जस नपाएको ‘प्रजातन्त्र घोषणा’

    सन्दर्भः प्रजातन्त्र दिवस- कांग्रेसले जस नपाएको ‘प्रजातन्त्र घोषणा’

    इटहरी। २००७ साल फागुन ७ गते दिउँसो तीन बजे नारायणहिटी दरबारबाट नेपालमा प्रजातन्त्रको औपचारिक घोषणा भएको थियो । १९०३ साल भदौ ३१ गते कोतपर्व मच्चाएर सत्ता हातमा लिएका जंगबहादुर राणाको वंशबाट भएको १०४ वर्षको शासन त्यहीं दिनबाट अन्त्य भएको थियो ।

    तत्कालीन राजा त्रिभुवनले भद्र भाषमा राणा शासन अन्त्य भएको घोषणा गरेका थिए । २००७ साल कात्तिक २१ गते भारतीय दूतावासमा शरण लिन गएका राजा त्रिभुवनको परिवार कात्तिक २६ गते दिल्ली उड्यो । भारतबाट २००७ फागुन ३ गते नेपाली कांग्रेसका नेताहरुसँगै राजा त्रिभुवन नेपालको गौचरन विमानस्थलमा सपरिवार अवतरण भए ।

    त्यसको चार दिनमा उनले प्रजातन्त्र घोषणा गरे । घोषणामा रोचक पक्ष यो छ कि, नेपाली कांग्रेसलाई कतै जस दिइएको छैन । नेपाली कांग्रेसले गरेको भनेको क्रान्तिबारे उक्त घोषणामा एक शब्द पनि परेको छैन । प्रजातन्त्र स्थापनामा राजतन्त्रको भूमिका मात्रै भएको जस्तै घोषणा गरिएको थियो । राणालाई दिइएको सत्ता पुनः राजाको भागमा आएको जस्तै तर्क घोषणामा आएको थियो ।

    घोषणाको एक ठाँउमा भनिएको थियो, ‘सम्वत् १९०३ मा श्री ५ महाराजाधिराज सुरेन्द्र वीर विक्रम शाहदेवले धेरै गम्भीर र महत्वपूर्ण कारणले आफ्नो र आफ्ना उत्तराधिकारीहरुका तर्फबाट यो मुलुकको शासनभार श्री ३ महाराजा जंगबहादुर राणालाई सुम्पिबक्सेको हुनाले, जंगबहादुर राणाका उत्तराधिकारीहरुले हाम्रा पूर्वजहरुका तर्फबाट मौसूफका प्राइमनिस्टिरहरुका हैसियतमा यो राज्यको शासन चलिआएकाले वर्तमान समयमा श्री ३ महाराज मोहन शमशेर जंगबहादुर राणाले हाम्रोतर्फबाट औ हाम्रा नाममा यो राज्यको शासन चलाइआएको हो ।’

    प्रजातन्त्र स्थापनामा पनि राजाकै कृपा महत्वपूर्ण भएको भन्दै प्रजातन्त्र घोषणाको अर्को ठाँउमा उल्लेख छ । ‘हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरुले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले’ भन्दै प्रजातन्त्र र मन्त्रिमण्डल एकै दिन घोषणा गरिएको थियो ।

    राजा, राणा, कांग्रेस र विदेशी कूटनीतिक अधिकारीहरु सहभागी भएको समारोहमा नेपालमा प्रजातन्त्र आउनुमा पार्टी योगदानको एक शब्दमा पनि व्याख्या नहुँदा पनि नेपाली कांग्रेस नेतृत्वले विरोध गरेन । कांग्रेसलाई कुनै जस नै नदिइकन शाही घोषणा भएको प्रजातन्त्र घोषणामा नेपाली कांग्रेस नेतृत्वको फरक मत वा विरोध नहुनु रहस्यमय भएको नेपाली कांग्रेसको इतिहास लेख्नेहरुकै तर्क छ ।

    ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ पुस्तकमा लेखक डाक्टर बद्री नारायण गौतम लेख्छन्, ‘लामो कष्टकर लडाइँमा होमिएर बलिदानको अध्याय बनाउने नेपाली कांग्रेसले यो घोषणाका विपक्षमा कुनै आधिकारिक धारणा बाहिर नल्याएको तथ्य पनि रहस्यमय नै लाग्दछ ।’

    तत्कालीन समयमा नेपाली कांग्रेसदेखि भारतले राजालाई आफ्नो बसमा ल्याएर राणा शासन ढाल्न खोजेका थिए । राजतन्त्रप्रति आमनागरिकको अत्यधिक सम्मानले दुवै शक्तिले राजालाई प्रयोग गरेर राणा शासन ढाल्ने सोचाइ भएको बुझिन्छ । यो खेलमा भारत सफल भयो । राजा त्रिभुवनको परिवार काठमाडौंस्थित भारतीय दूतावासहुँदै भारतमा शरण लिन गएर राणासँग वार्ता भएको थियो । त्यहीं वार्ताको सफलताको योगफल थियो, प्रजातन्त्र । राणा ढालेर प्रजातन्त्र स्थापना गर्न राजालाई साथमा लिनुपर्ने कटुसत्य बीपी कोइरालाको आत्मकथामै उल्लेख छ ।

    ‘हिन्दुस्तानको पनि सम्पर्क त खुब थियो राजासँग’, बीपी कोइरालाको आत्मबृतान्तमा लेखिएको छ, ‘राजा कसको नियतन्त्रणमा हुन्छन् भन्ने कुरा बडो महत्वपूर्ण थियो ।’ राजा भारतीय दूतावासमा प्रवेश गरेपछि नेपाली कांग्रेसलाई लागेको झड्काका बारेमा बीपीले आत्मबृतान्तमा भनेका छन्, ‘हामीले वायरलेस चालु राखेका थियौं । त्यतिकैमा के खबर दिन्छ भने– राजाले भारतीय राजदूतावासमा प्रवेश गरे र आफ्नो पूरा परिवारका साथ शरण लिए । त्यसपछि मैले भनें– अब हाम्रो हातबाट गयो ।’

    नेपाली कांग्रेसको हतियार संघर्षको बारेमा बीपी कोइरालाको आत्मबृतान्तदेखि मातृकाप्रसाद कोइरालाको ‘अ रोल इन अ रिभोलुसन’मा कांग्रेसलाई राणाहरुको अवमूल्यन गरेको भनेका छन् । बीपीले मोहन शमशेरपुत्र विजय शमशेरले ‘नेपाली कांग्रेसको बन्दुकभन्दा धेरै भारतीय अखबार पड्किने’ भनेको सन्दर्भ सुनाएका छन् । मात्रिकाप्रसादले केशर शमशेरले गनको आवाजभन्दा समाचारको आवाज ठूलो भएको प्रतिक्रिया दिएको उल्लेख गरेका छन् ।

    सात सालमै घोषणा भएको ‘गणतन्त्रात्मक विधान’

    राजतन्त्र बलियो बनेर गरिएको घोषणामा ‘गणतन्त्रात्मक’ कुरा गरिएको थियो । प्रजातन्त्र स्थापनामा नेपाली कांग्रेसलाई कुनै स्थान नदिएको राजतन्त्रले कसरी गणतन्त्रात्मक कुरालाई शाही घोषणामा स्थान दियो त ? प्रश्न रोचक छ ।

    नेपाली कांग्रेसको नाम र काम प्रजातन्त्र घोषणामा नआएको बारेमा उतिसारो चर्चा भेटिँदैन । तर, राजा त्रिभुवनले प्रजातन्त्रको घोषणामा बोलेको ‘गणतन्त्रात्मक’ विधानका बारेमा भने बीपी कोइरालाले आफ्नो आत्मकथामा प्रष्ट पारेका छन् ।

    ‘गणतन्त्र’ जोडिनुमा भाषाको नेपाली अनुवादको समस्या भएको बीपीले लेखेका छन् । उनले आत्मबृतान्तमा भनेका छन्, ‘.. डेमोक्रेसीको अनुवाद गर्दा कसैले के भन्यो, कसैले के भन्यो । मैले लोकतन्त्र भन्न खोजेको थिएँ । लोक मैले बिर्सें, गणतन्त्र मैले भनें । सबैले ठीक छ भने र त्यस घोषणामा डेमोक्रेसीको अनुवाद गणतन्त्र हुन गयो । त्यो गणतन्त्र भनेको रिपब्लिक होइन । त्यहाँ एउटा कुरो फेरि भनिएको छ, जब दुई भनाइ बाझिए भने अंग्रजी भनाइ कायम रहने छ भनेर पास भएको छ ।’

    साइत कुर्दा लम्बिएको घोषणा कार्यक्रम

    अहिले पनि साइत जुराएर प्रधानमन्त्री देउवाले कार्यक्रम गरेको हल्ला चल्छ । यस्तै हल्ला चलेको थियो २००७ सालको प्रजातन्त्र घोषणा र मन्त्रिमण्डलको सपथग्रहणमा पनि । राजा, राणा, कांग्रेस र भारत तथा बेलायती कूटनीतिज्ञ अनि विदेशी पत्रकारहरु सहभागी कार्यक्रममा सबैले आसनग्रहण गरेपछि पनि कुरेर मात्रै घोषणा भएको गणेशमान सिंहले आफ्नो पुस्तक ‘मेरो कथाका पानाहरु (खण्ड २)’मा भनेका छन् ।

    प्रजातन्त्र घोषणा र नयाँ मन्त्रिमण्डलको सपथग्रहणमा आफ्नो २४ घण्टे सुरक्षा दस्ता बिजुली गारतसँगै आएका थिए, प्रधानमन्त्री मोहन शमशेर । उनी आएको देखेपछि त्रिभुवन आत्तिएको गणेशमान सिंहले उल्लेख गरेका छन् ।

    १९४२ सालमा दोस्रो राणा प्रधानमन्त्री रणेद्वीप सिंहको हत्या नारायणहिटीमै गरेर वीर शमशेरले सत्ता कब्जा गरेको जानकार राजा त्रिभुवन कतै मोहन शमशेरले पुनः बल प्रयोग गर्ने हुन् कि भन्ने भयमा देखिएको गणेशमानसिंहले ‘मेरो कथाका पानाहरु (भाग २)’मा उल्लेख गरेका छन् । गणेशमान भन्छन्, ‘उनको चेहराको रंग एकाएक रातो भइसकेको थियो । राजा त्रिभुवनको त्यो छटपटाहट र व्यग्रता हातहतियारको सुजज्जित बिजुली गारतको उपस्थितिले उत्पन्न भएको थियो ।’

    गणेशमान सिंहका अनुसार समारोहमा उपस्थित भारतीय राजदूत सिपिएन सिंहले बिजुली गारत दस्ताको उपस्थिति मोहन शमशेरको सुरक्षाको लागि मात्रै भएको बताएपछि राजा त्रिभुवन शान्त भएका थिए ।

    प्रजातन्त्रपछिको सरकारमा बीपी तेस्रो वरीयता स्वीकार्न तयार

    २००७ सालमा नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिका कमाण्डर मातृकाप्रसाद कोइराला थिए । वैचारिक र कूटनीतिक कमाण्डर बीपी कोइराला थिए । र, प्रजातन्त्र घोषणासँगै घोषणा भएको थियोः राणा–कांग्रेस सरकार । सरकारमा बीपीको वरीयता तेस्रो थियो । जुन सत्ताविरुद्ध आन्दोलन भएको थियो, त्यहीं सत्ताका दुई हस्तीलाई आफूभन्दा अग्रज दर्जा दिएर बीपी कोइराला तेस्रो वरीयतामा बस्न तयार भएका थिए ।

    प्रजातन्त्र घोषणासँगै गठन भएको राणा–कांग्रेस मन्त्रिमण्डलको घोषणामा वरीयता मिलाएर भनिएको थियो, ‘..हामीबाट यो घोषणाद्वारा हामीलाई हाम्रो कार्यको सम्पादनमा मद्दत गर्न हाम्रा अतिविश्वासपात्र र प्रिय श्री ३ महाराज मोहन शमशेर जंगबहादुर राणा हाम्रो प्राइमिनिस्टर र पररास्ट्रमन्त्री, श्री मिनिस्टर बबर शमशेर जंगबहादुर राणा रक्षामन्त्री, श्री विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री, श्री सुवर्ण समशेर अर्थमन्त्री, श्री चूडाराज शमशेर वन विभागका मन्त्री, श्री गणेशमान सिंह उद्योगमन्त्री, श्री नृपजंग राणा शिक्षमन्त्री, श्री भद्रकाली मिश्र यातायातमन्त्री, श्री यज्ञबहादुर बस्न्यात स्वास्थ्य स्वायत्त शासनमन्त्री, श्री भरतमणि शर्मा खाद्य र कृषिमन्त्री समेत अरु मन्त्रीहरु सम्मिलित भएको एक मन्त्रीमण्डल गठन र नियुक्ति गरिबक्सेका छौँ ।’

    दुई पक्षको गठबन्धन सरकारमा एक पक्ष प्रधानमन्त्री भएपछि अर्को पक्ष दोस्रो वरीयतामा हुने सामान्य कुरा नै हो । तर, बीपी तेस्रो वरीयतामा बस्न तयार भए । यसको अन्तर्य बीपीले आत्मकथामा भावुक व्याख्या गरेका छन् । मोहन शमशेरलाई प्रधानमन्त्री मानेका बीपीले मोहन शमशेरपछिका बबर शमशेरलाई किन दोस्रो वरीयातामा मानेर आफू तेस्रोमा हुन तयार भए ?

    यसबारेमा बीपीले आत्मबृतान्तमा भनेका छन्, ‘मनेर बबर शमशेर आयो । उसले मेरो हात समात्यो । भन्यो– विश्वेश्वर बाबु, म केवल एक इज्जतको निम्ति गरिरहेको छु यो । म एकचोटि मात्रै क्याबिनेटमा उपस्थित हुन्छु र त्यसपछि म गएकै गएकै हुन्छु । म बम्बई जान्छु । त्यसपछि तपाईं नै हुनुहुन्छ । त्यति मलाई गरिदिनुस् त्यति । मलाई उसले हात समाएर भन्यो । मैले भनें– ल हुन्छ ।’

    बीपीको आत्मबृतान्तको कुरालाई गणेशमान सिंहको ‘मेरो कथाका पानाहरु (भाग २)’ले पनि पुष्टि गर्छ । बीपी तेस्रो वरीयतामा बस्न राजी हुनुको कारण खुलाउँदै सिंह भन्छन्, ‘कोइरालाजीले सत्ता हस्तान्तरणको महत्वपूर्ण कामलाई प्रोटोकलको विवादले अप्ठेरो पार्नु बुद्धिमानी ठान्नुभएन । त्यसैले त्यो विवाद त्यहीं टुंगियो ।’

     

  • प्रधानमन्त्रीले एमसीसी र गठबन्धनमध्ये एक रोज्नुपर्छ : शशांक (भिडिओ)

    प्रधानमन्त्रीले एमसीसी र गठबन्धनमध्ये एक रोज्नुपर्छ : शशांक (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले एमसीसी र गठबन्धनमध्ये एक रोज्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

    संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले प्रधानमन्त्री देउवसामु एमसीसी पारित गर्ने वा गठबन्धन जोगाउने विकल्प बाँकी रहेको बताए ।

    ‘एमसीसी पारित गर्ने हो भन्ने सत्ता गठबन्धन टुट्ने सम्भावना मैले देखेको छु । प्रधानमन्त्रीजीसँग २ वटा उपाय छन् । कि एमसीसी पारित गर्ने कि त सत्ता गठबन्धन जोगाउने’, कोइरालाले भने ।

    उनले एमसीसीले दिने अनुदान नेपालका लागि आवश्यक रहेको भन्दै संसदबाट पारित गराउनु नै उपयुक्त हुने बताए ।

    एमसीसीमा अमेरिकाको भन्दा नेपालको स्वार्थ रहेको भन्दै कोइरालाले विकासका लागि अनुदान स्वीकार्नुको विकल्प नभएको बताए ।

  • माओवादीले कांग्रेससँग छलछाम गर्‍यो, गठबन्धन भत्कन सक्छ : महामन्त्री थापा

    माओवादीले कांग्रेससँग छलछाम गर्‍यो, गठबन्धन भत्कन सक्छ : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीमा कुरा नमिले गठबन्धन भत्कने बताएका छन् ।

    संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले सत्तारुढ ५ दलीबीच कुरा नमिले गठबन्धन यथावत रहने सम्भावना टर्ने बताएका हुन् ।

    ‘हाम्राबीचमा कुरा मिलेर, हामी सँगै हिड्न तयार भएर गठबन्धन बनेको हो । अब हाम्रो कुरा मिल्दैन, सँगै हिड्न सक्दैनौ भने गठबन्धन पनि रहँदैन’, थापाले भने ।

    विगतमा प्रधानमन्त्री छँदा माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि केपी ओलीसम्मले एमसीसी अगाडि बढाएको भन्दै महामन्त्री थापाले अब एमसीसीबारे ‘वार कि पार’ हुनुपर्ने बताए । सत्तारुढ गठबन्धनका केही दलले कांग्रेससँग छलछामपूर्ण व्यवहार गरेको थापाको आरोप छ ।

    ‘एमसीसीको विषयमा कांग्रेससँग सफा व्यवहार भएन । एमसीसीको भारी कांग्रेसलाई बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ । एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ । हामीलाई छलछाम गरौंला भन्ने कुरा गठबन्धनको पार्टी वा प्रतिपक्षले पनि नसोचे हुन्छ । अब एमसीसीको मुद्दाको छिनोफानो नगरी कांग्रेस बस्दैन’, थापाले भने ।

    उनले संसदसँग एमसीसी पारित गर्ने, फेल गर्ने वा खारेज गर्ने अधिकार रहेको भन्दै संसदबाट निकास दिन सबै दल तयार हुनुपर्ने बताए ।

    ‘एमसीसी संसदमा टेबल गरौं । बुँदा बुँदामा छलफल गरौं । दुधको दुध पानीको पानी हुनेगरी बहस गरौं । एमालेले संसद रोक्नुको अर्को कारण छ । उसले पनि एमसीसीका सन्दर्भमा आफ्नो धारणा देओस् । जे गर्ने हो संसदबाटै गरौं’, थापाले भने ।

    पत्रकारहरुको जिज्ञासामा महामन्त्री थापाले गठबन्धनको विकल्प खोज्नेगरी प्रयत्न नभएपनि एमसीसीका नाममा लामो समय अलमल गर्ने अवस्थामा कांग्रेस नरहेको बताए ।

    ‘हामी विकल्पको कुरा गरिरहेका छैनौं । अहिलेकै गठबन्धन सरकारले संसदमा एमसीसी लानुपर्छ । त्यसमा दलहरुले आफ्नो स्ट्याण्ड देखाउनुपर्छ । पास फेल जे भएपनि निष्कर्ष दिनुपर्छ भन्ने कांग्रेसको बुझाई हो । यदि एजेण्डामा सँगै रहेनौ भने सरकारमा सँगै रहन्नौ भन्ने त सबैले बुझ्ने विषय भयो’, थापाले भने ।

    उनले संसद सुचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षीसँग पनि छलफल थालेको भन्दै फागुन ८ गतेको गठबन्धन बैठकसम्म निष्कर्ष निस्कने विश्वास गरे ।

    ‘गठबन्धनका दलहरुले समय मागेकोले फेरी ८ गतेसम्म लम्बिएको छ । अब ८ गतेसम्म चै निकास दिनेगरी छलफल गर्छौ’, थापाले भने ।

  • एमसीसीकै कारण गठबन्धन टुट्न नदिने प्रयास जारी छ : प्रवक्ता महत

    एमसीसीकै कारण गठबन्धन टुट्न नदिने प्रयास जारी छ : प्रवक्ता महत

    चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीका कारण गठबन्धनमा समस्या आउन नदिन प्रयास भइरहेको बताएका छन् ।

    नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमसीसीलाई गठबन्धनसँग जोडेर हेर्न नहुने बताए । एमसीसी संसदबाट पारित हुनुपर्नेमा कांग्रेस प्रष्ट रहेको भन्दै महतले अरु दलले पनि आफ्नो धारणा स्पष्ट गर्नुपर्ने बताए ।

    ‘एमसीसी संसदको विषय बनिसकेको छ । अब यसलाई टेबल गरौं । यदि कसैले एमसीसी चाहिदैन भन्छ भने संसदमै भनोस् । समर्थन गर्दै भने विपक्षमा उभियोस् । तर, संसदले एमसीसीबारे टुंगो चाहिँ दिनैपर्छ’, महतले भने ।

    उनले गठबन्धनको निरन्तरको बैठक सहमतिकै लागि भइरहेको भन्दै एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि टुट्न नदिने विषय पहिलो प्राथमिकतामा रहेको बताए ।

    ‘एमसीसी र गठबन्धनको कुनै साइनो छैन । एमसीसी पनि पारित गर्ने र गठबन्धन पनि जोगाउने भनेर नै छलफल भइरहेको हो’, महतले भने ।

    महतले सरकारले संसदमा लैजान चाहेको विषय सभामुखले रोक्न नमिल्ने बताए । ‘अहिले त सहमतिकै प्रयास भइरहेको छ । यदि सरकारले टेबल गर्न चाह्यो भने सभामुखले रोक्न मिल्दैन’, महतले भने ।

  • ज्ञानेन्द्र शाही राप्रपामा भित्रिए, लिङदेनले माला लगाएर गरेर स्वागत (तस्बिरहरू)

    ज्ञानेन्द्र शाही राप्रपामा भित्रिए, लिङदेनले माला लगाएर गरेर स्वागत (तस्बिरहरू)

    काठमाडौं । ज्ञानेन्द्र शाहीले नेतृत्व गरेको हामी नेपाली हाम्रो नेपाल अभियान राष्ट्रिय प्रजातन्त्र पार्टीमा मर्ज भएको छ ।

    शाही लगायतको समूहलाई आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजिक एक कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी प्रवेश गराए ।

    शाही सहित उनको अभियानका करिब ४५० जना राप्रपामा प्रवेश गरेका छन् । लिङदेनले शाहीलाई माला लगाइदिनुका साथै राप्रपाको झण्डा प्रदान गरेका थिए ।

    शाही राप्रपामा प्रवक्ता बन्ने गरी भित्रिएका हुन् । यसअघि भ्रष्टाचारविरोधि अभियन्ताका रुपमा चिनिएका उनी अब राजतन्त्रको एजेन्डालाई आत्मसात गर्दै मुलधारको राजनीतिमा आएका छन् ।

  • सत्तागठबन्धनको बैठकअघि प्रचण्ड, नेपाल र उपेन्द्रको बेग्लै बैठक

    सत्तागठबन्धनको बैठकअघि प्रचण्ड, नेपाल र उपेन्द्रको बेग्लै बैठक

    काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा आवद्ध तीन दलका शीर्ष नेताको बैठक बसेको छ । यथास्थितिमा एमसीसी पारित गर्न नहुने मत जाहेर गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादवबीच बैठक बसेको हो ।

    बैठकमा तीन दलका अरु नेताहरु पनि सहभागी भएको बताइएको छ । माओवादी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा बैठक जारी छ ।

    १० बजे सत्तागठबन्धनको बैठक डाकिएको छ । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले एमसीसी टेबल गर्ने तयारी गरेपछि असहमत तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

    सत्तागठबन्धनको हिजोको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट गएका थिए । देउवाले ओलीलाई सत्तासाझेदारीको प्रस्ताव राखेको बताइएको छ ।

    पछिल्लो घटनाक्रमले एमसीसीका कारण सत्तागठबन्धन धरापमा परेको संकेत गरेको छ ।

  • प्रकाशमान भेट्न निस्किए देउवा

    प्रकाशमान भेट्न निस्किए देउवा

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै दलका प्रभावशाली नेता प्रकाशमानसिंहलाईं भेट्न बालुवाटारबाट निस्किएका छन् ।

    एमसीसीका कारण सत्तागठबन्धनभित्रै विवाद बढिरहेका बेला प्रधानमन्त्री देउवा सिंहलाई भेट्न निस्किएका हुन् ।

    सत्तागठबन्धनको बैठक बस्नुअघि एमसीसीबारे सल्लाह गर्न देउवा प्रकाशमाननिवास गएका हुन् ।

    १० बजे सत्तागठबन्धनको बैठक बस्दैछ । त्यस्तै आजै १ बजेका लागि संसद बैठक डाकिएको छ ।

  • एमसीसीको पक्षमा माहोल बनाउन बालुवाटारले बाँड्यो ‘पर्चा’

    एमसीसीको पक्षमा माहोल बनाउन बालुवाटारले बाँड्यो ‘पर्चा’

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउने अन्तिम तयारीमा छन् । नेपाली कांग्रेसको संसदीय दल र कार्यसम्पादन समितिले एमसीसी पारित हुनुपर्ने निर्णय गरिसकेको छ ।

    यस्तो अवस्थामा एमसीसीको पक्षमा उभिन कसैसँग नडराउन देउवाले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘एमसीसी राष्ट्रको हितमा छ । कसैसँग डराउनुपर्दैन, एमसीसीको पक्षमा खुलेर लाग्नुपर्छ’, प्रधानमन्त्री देउवाले विहीबार बालुवाटारमै आयोजित कार्यक्रममा भनेका थिए ।

    यसैबीच प्रधानमन्त्री देउवाको सचिवालयले एमसीसीबारे भ्रम निवाराणार्थ भन्दै ८ पृष्ठको ‘पर्चा’ सार्वजनिक गरेको छ । कुनै सरकारी निकायको छाप र आधिकारिकता नभएको ‘पर्चा’ विहीबार बालुवाटारबाटै वितरण गरिएको हो ।

    सो पर्चालाई सरकारको आधिकारिक धारणाका रूपमा सार्वजनिक गर्न प्रधानमन्त्रीको सचिवालयले चाहेको छ । ‘अर्थमन्त्रालयले तयारी गरेको डकुमेन्ट हो । सजिलो होस् भनेर बालुवाटारबाटै बाँडिएको हो’, सो पर्चाबारे प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो ।

    कांग्रेस नेता अर्जुनरसिंह केसीको पुस्तक विमोचनमा प्रधानन्त्री देउवाले सरकारका कामहरूको सकरात्मक प्रचार नभएको गुनासो गरेलगत्तै केही पत्रकारहरूलाई सो ‘पर्चा’ बाँडिएको थियो । पर्चामा एमसीसीको पृष्ठभूमि, परिचय, संसदीय अनुमोदनको आवश्यकता र विवादित भनिएका विषयबारे स्पष्टीकरण दिइएको छ ।

     

  • ईर्ष्याका कारण राम्रो कामको प्रचार नभएको प्रधानमन्त्रीको गुनासो (भिडिओ)

    ईर्ष्याका कारण राम्रो कामको प्रचार नभएको प्रधानमन्त्रीको गुनासो (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता कार्यकर्ताले पार्टीको प्रचार कम गरिरहेको बताएका छन् ।

    कांग्रेस नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)’ को लोकार्पण गर्दै देउवाले पार्टीले राम्रो-राम्रो काम गरिरहेको भएपनि जस अरुलाई जाने ईर्ष्याका कारण पार्टीको प्रचार नगर्ने गरिएको बताए ।

    उनले भने, ‘पार्टीको प्रचार हामीले कम गरेका छौँ । हामीले गरेका कामहरूको प्रचार कम गरेका छौँ । प्रचार भएपछि जस अरुलाई जान्छ भन्ने हामीलाई ईर्ष्या छ । पार्टीले गर्‍यो भनेर देशभरी भन्न सकिन्छ । पार्टीको प्रचार पुगेको छैन । पार्टीले गरेका राम्रा कुराहरु पुगेका पनि छैनन् । पार्टीले राम्रो कामहरू गरेको छ ।’

    प्रधानमन्त्री देउवाले राष्ट्रहितको पक्षमा बोल्न कांग्रेस डराउन नहुने बताए ।

  • बालुवाटारमा एउटा, खुमलटारमा अर्को कुरा गर्ने छुट छैन : महामन्त्री थापा

    बालुवाटारमा एउटा, खुमलटारमा अर्को कुरा गर्ने छुट छैन : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले बालुवाटारमा एकथरी र खुमलटार अर्कोथरी कुरा नगर्ने बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले क्षणिक लाभका लागि कांग्रेसले दोहोरो कुरा नगर्ने बताएका हुन् ।

    ‘कांग्रेसले दुई थरी कुरा गर्दैन । बालुवाटारमा एउटा खुमलटारमा अर्को कुरा गर्न कांग्रेसले जान्दैन’, थापाले भने । एमसीसी सम्झौता अनुमोदनतर्फ संकेत गर्दै महामन्त्री थापाले पार्टीले गरेको निर्णयलाई जनतामा लैजानुपर्नेमा जोड दिए ।

    निर्वाचनलाई मात्रै लक्षित गरेर कांग्रेसले धारणा नबनाउने भन्दै थापाले कम्युनिष्ट पार्टीहरुलाई जस्तो छुट नभएको बताए । ‘नेपालको राष्ट्रहितको निम्ती कांग्रेसलाई जे कुरामा विश्वास छ, त्यो विश्वासका लागि अडिग रहनुपर्छ’, थापाले भने ।

  • पास-फेल जे भएपनि संसदले एमसीसी टुंगो लगाउनैपर्छ : प्रधानमन्त्री देउवा (भिडिओ)

    पास-फेल जे भएपनि संसदले एमसीसी टुंगो लगाउनैपर्छ : प्रधानमन्त्री देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पास फेल जे भएपनि एमसीसीबारे संसदले टुंगो लगाउने बताएका छन् ।

    कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले एमसीसीको पक्षमा उभिन डराउनुपर्ने कुनै कारण नभएको बताएका हुन् । उनले संसद नै जनताका प्रतिनिधिहरूको थलो भएकोले एमसीसीबारे संसदले निर्णय दिने बताए ।

    ‘हामी एमसीसीको पक्षमा छौं । हाम्रो पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेको छ । अब पास फेल जे हुन्छ संसदले टुंग्याउनुपर्छ’, देउवाले भने ।

    एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी आलोचना गरिएको भन्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुदान नेपालको हितमा रहेको दाबी गरे । ‘एमसीसी देशको हितमा छ । कांग्रेसले एमसीसीको पक्ष लिन डराउनुपर्ने केही छैन’, देउवाले भने ।

    उनले एमसीसीबारे सत्तारुढ गठबन्धनमा साझा धारणा बनाउन पहल भइरहेको समेत जानकारी दिए ।

  • डीएलएको केन्द्रीय निर्वाचन स्थगित

    डीएलएको केन्द्रीय निर्वाचन स्थगित

    काठमाडौं । डेमोक्रेटिक लयर्स एशोसियसनको केन्द्रीय निर्वाचन फेरी स्थगित भएको छ । फागुन ७ गते शनिबारका लागि तय भएको डीएलएको निर्वाचन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

    डीएलएको निर्वाचन समितिले काठमाडौं जिल्लाको अधिवेशन नभएको र विभिन्न जिल्लाबाट मतदाता नामावली आइनसकेको भन्दै निर्वाचन कार्यक्रम स्थगन गरेको हो ।

    डीएलएको निर्वाचन यसअघि पनि कोभिडको कारण देखाउँदै प्रभावित भएको थियो । डीएलए नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।

  • एमसीसी ६ गते टेबल हुन्छ, सहमतिको प्रयास गर्छौं : कानूनमन्त्री बडू (भिडिओ)

    एमसीसी ६ गते टेबल हुन्छ, सहमतिको प्रयास गर्छौं : कानूनमन्त्री बडू (भिडिओ)

    काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहायता परियोजना (एमसीसी )संसदमा टेबल गर्नुपर्ने बताएका छन् । बुधबारको बैठकमा एमसीसी टेबल नभएपछि संवाददाताहरुसँग कुरा गर्दै मन्त्री बडूले विवादबारे बहस गर्न पनि संसदमै लैजानुपर्नेमा जोड दिए।

    ‘यो संसदमा टेबल हुनुपर्छ,’ उनले भने, ‘संसद सार्वभौम संस्था हो । बाहिरको बहस टुंग्याउनका लागि पनि सदनमै जानुपर्छ ।’ बडूले थप छलफलका लागि शुक्रबारसम्म बैठक स्थगन गरेको र त्यतिबेलासम्म सहमतिको प्रयास गर्ने बताए।

    ‘छलफलका लागि अरु समय चाहिन्छ भने पछि हामीले थप एक दिनको समय दियौं’ , उनले भने, ‘६ गतेको बैठकमा टेबल हुन्छ । यसका लागि हामी प्रयास गर्छौं ।’

  • एमसीसी आज टेबल नहुने, देउवाले बोलाए गठबन्धनको निर्णायक बैठक

    एमसीसी आज टेबल नहुने, देउवाले बोलाए गठबन्धनको निर्णायक बैठक

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नगर्न सत्तारुढ गठबन्धनमा सहमति जुटेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा एमसीसीबारे गठबन्धनभित्र निर्णायक छलफल गर्ने सहमति भएको बताइएको छ ।

    ‘आज एमसीसी टेबल नगर्ने , भोलि गठबन्धनको बैठक बस्ने र सहमतिका लागि अधिकतम पहल गर्ने निर्णय भएको छ’, बालुवाटारनिकट स्रोतले नेपाल प्रेससँग भन्यो ।

    एमसीसीबारे छलफल गर्न विहीबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने जनाइएको छ ।

  • पार्टीको निर्णय सुनाउन प्रचण्ड बालुवाटारमा, एमसीसी अघि बढाइए आजै सरकार छाड्ने

    पार्टीको निर्णय सुनाउन प्रचण्ड बालुवाटारमा, एमसीसी अघि बढाइए आजै सरकार छाड्ने

    काठमाडौं । सहमतिबिना एमसीसी अघि बढाइए सरकारबाट बाहिरिने निर्णय संसदीय दलबाट गराएलगत्तै माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार गएका छन् ।

    पार्टीको निर्णय सुनाउन र सहमतिबिना एमसीसी अघि नबढाउन आग्रह गर्न प्रचण्ड प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्न गएका हुन् ।

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले एमसीसीलाई आजको कार्यसूचीमा राख्न दबाब दिएको छ भने प्रचण्डले बालुवाटारमा पुगेर एमसीसी अघि बढाइए आजै सरकार छाड्ने जानकारी दिन लागेको माओवादी नेता देव गुरुङले बताए । माओवादीका मन्त्रीहरुलाई पनि आवश्यक परे आजै राजLनामा दिनुपर्ने बताइएको छ ।

    एमसीसीको सन्दर्भमा माओवादी रिजिड बनेको र माधव नेपाल लचिलो बनेको ब्रिफिङ कानूनमन्त्री दिलेन्द्र बडूले कांग्रेस नेताहरुलाई गरेका छन् ।

    माओवादीले भने एमसीसी जबर्जस्तL अघि बढाइए गठबन्धन टुट्ने प्रष्ट सन्देश दिएको छ । त्यही सन्देश दिन प्रचण्ड बालुवाटार गएका हुन् ।

  • कांग्रेसको एकमहिने चुनावी अभियान- ‘घरघर जाऔं, कांग्रेस जिताऔं’

    कांग्रेसको एकमहिने चुनावी अभियान- ‘घरघर जाऔं, कांग्रेस जिताऔं’

    काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान घोषणा गरेको छ ।

    पार्टीका सबै संरचनालाई स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गर्दै कांग्रेस कार्यसम्पादन समितिको बैठकले अभियान घोषणा गरेको हो ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आगामि फागुन २० देखि चैत २० गतेसम्म देशैभरी सो अभियान सञ्चालन हुनेछ ।

    ‘हामीले स्थानीय निर्वाचन लक्षित अभियान गर्ने निर्णय गरेका छौं । यो अभियानको नाम घरघर जाऔं , कांग्रेस जिताऔं हुनेछ’, महतले भने ।

    बैठकले स्थानीय निर्वाचनको घोषणापत्र लेख्ने लगायतका आवश्यक समिति परामर्शमा गठन गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।