Category: नेपाली कांग्रेस

  • आक्रोशित हुँदै देउवाले भने- ठूला कुरा गर्ने ? गठबन्धन नगरी चितवनमा जित्ने हिम्मत छ ?

    आक्रोशित हुँदै देउवाले भने- ठूला कुरा गर्ने ? गठबन्धन नगरी चितवनमा जित्ने हिम्मत छ ?

    काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन गर्न हुँदैन भन्ने नेताहरूप्रति आक्रोश व्यक्त गर्दै ठूला कुरा नगर्न चेतावनी दिएका छन् ।

    केन्द्रीय कार्य समितिको शुक्रवारको बैठक समापन गर्ने क्रममा सभापति देउवा आक्रोशित मुद्रामा प्रस्तुत भएको बैठकबाट बाहिरिँदै गर्दा एक केन्द्रीय सदस्यले नेपाल प्रेसलाई बताए ।

    देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने- म नेविसंघ सभापति हुँदादेखि चितवनबारे थाहा छ । चितवनमा कहिले जित्या छ ? गठबन्धन नगर्दा चितवन जिताउने हिम्मत छ ? गठबन्धन नगर्ने हो भने फेरि हार्छ चितवन, मलाई थाहा छैन ?

    सभापति देउवाको भनाइबाट केन्द्रीय सदस्यहरू भने चकित भएका थिए । जबकि २०४८ देखि चितवनमा कांग्रेसले सधैँ जित्दै आएको छ । २०६४ र २०७४ मा मात्र पराजित भएको हो ।

  • तालमेलबारे कार्य समिति बैठकमा महरले भने- भुईँको टिप्न खोज्दा खल्तिका कांग्रेस नझरुन्

    तालमेलबारे कार्य समिति बैठकमा महरले भने- भुईँको टिप्न खोज्दा खल्तिका कांग्रेस नझरुन्

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको घोषणापत्रमा शिक्षा र स्वास्थ्य जनताले निःशुल्क पाउनुपर्ने एजेन्डा समावेश गर्नुपर्ने बताएका छन् ।

    केन्द्रीय समितिको जारी बैठकमा उनले संविधानमा उल्लेख भएअनुसार जनताले स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार लगायतका विषय समावेश हुनुपर्ने बताए ।

    स्थानीय तह निर्वाचनका लागि वार्ड पालिका स्तरबाट नै घोषणापत्र बनाउन पनि उनले सुझाव दिएका छन् ।

    उनले संसदीय समिति न्यायसङ्गत गठन हुनुपर्ने र टिकट वितरण गर्दा आफ्नो खल्तीका व्यक्तिभन्दा पनि समावेशी र पार्टीलाई योगदान दिएको व्यक्तिहरू छनौट गर्नुपर्ने बताए ।

    कांग्रेसको चुनावी अभियानले पार्टीप्रति जनताको आकर्षण बढेको आफूले महसुस गर्दै उनले भने, ‘घर घर जाऔँ कांग्रेस जिताऔँ अभियानले साँच्चै जनतामा उत्साह ल्याएको छ । म कञ्चनपुरका ९२ वडा र ९ पालिकामा पुगेँ । त्यहाँ हाम्रो अभियानले सार्थकता पाएको देखियो । अन्य पार्टी त्यागेर कांग्रेस प्रवेश गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ ।’

    कांग्रेसको कार्यक्रममा हुने उपस्थिति देखेर एमालेलगायतका पार्टीका नेताहरू छटपटाइरहेको आफूले पाएको उनको धारणा छ ।

    उनले कांग्रेसलाई शक्तिशाली बनाउन स्थानीय स्तरदेखि नै नेता कार्यकर्ता सक्रिय हुनुपर्ने उनको भनाई छ ।

    उनले पार्टीका सबै नेताहरूको सहमतिमा अन्य दलसँग गठबन्धन गर्नुपर्ने धारणा राखेका छन् । उनले गठबन्धन सिद्धान्तको आधारमा नभएर आवश्यकताको आधारमा हुनुपर्ने बताएका छन् ।

    चुनावमा गठबन्धन बनाउँदा आफ्नाहरू रिसाएर ‘भुईँको टिप्दा खल्तीको फुत्किने’ अवस्था सिर्जना नहोस् भन्दै सचेत पनि गराएका छन् ।

    उनले गठबन्धन गर्नुपर्ने अवस्था भएमा गठबन्धनभित्रका पाँच दलहरूसँग मात्रै गर्नुपर्ने पनि बताए ।

  • कांग्रेस बैठकमा प्रदेश सभापतिको रिपोर्टिङ- गठबन्धन गर्दै जाने हो भने हाम्रो हालत कांग्रेस आइको जस्तो हुन्छ

    कांग्रेस बैठकमा प्रदेश सभापतिको रिपोर्टिङ- गठबन्धन गर्दै जाने हो भने हाम्रो हालत कांग्रेस आइको जस्तो हुन्छ

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा आमन्त्रितका रूपमा बोलाइएका प्रदेश सभापतिहरूले स्थानीय तहको चुनावमा तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय केन्द्रबाट नभई स्थानीय आवश्यकताका आधारमा हुनुपर्नेमा जोड दिएका छन् ।

    सुदूरपश्चिमका वीर बहादुर बलायरबाहेक अन्य सभापतिहरूले धारणा राखेका हुन् । बैठकमा गण्डकीका सभापति शुक्रराज शर्मा र लुम्बिनीका अमरसिंह पुनले गठबन्धन गर्दै जाने हो भने पार्टीको हालत भारतको कांग्रेस आइ जस्तो हुनसक्ने बताएका छन् ।

    प्रदेश १ का सभापति उद्धव थापा र बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले पनि केन्द्रबाट गठबन्धन गर्न नहुने जोड दिएका छन्। गठबन्धन गर्दा स्थानीय आवश्यकता अनुसार गर्नु पर्ने उनीहरूको भनाइथियो ।

    बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने– गठबन्धन किन गर्ने ? गर्दा के हुन्छ ? केन्द्रबाटै गठबन्धन गर्ने कि स्थानीय आवश्यकता अनुसार गर्ने ? यी तीन वटा प्रश्नमा बैठक रहेको छ ।

    बैठकमा कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा कांग्रेस नील हुने बताएका छन्। माओवादीले जसले विगतमा जितेको त्यो ठाउँमा उसैलाई छाड्ने प्रस्ताव राखेको छ ।

    माओवादीले एमालेले जितेका स्थानीय तहमा भागबन्डा गर्नु पर्ने बताउँदै आएको छ। त्यसो गर्दा कर्णालीका धेरै जिल्लामा कांग्रेस निल हुने कर्णाली प्रदेशका सभापतिको शाहीको भनाइ छ ।

  • कांग्रेस बैठकअघि सभापति देउवा र काेइरालाबीच वान-टु-वान वार्ता

    कांग्रेस बैठकअघि सभापति देउवा र काेइरालाबीच वान-टु-वान वार्ता

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

    केन्द्रीय समिति बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभापति देउवा र कोइरालाबिच भेटवार्ता भएको हो ।

    भेटमा नेता कोइरालाले पार्टी सञ्चालनमा सबैलाई समेट्न आग्रह गरेका छन् । उनले पार्टीमा एकलौटी ढंगले अगाडि नबढ्न पनि देउवालाई भनेका छन्

    यता सभापति देउवाले सबैसँग परामर्श गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । अहिले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी रहेको छ ।

    नेता कोइरालाले पार्टीका भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ र तरुण दल गठनमा असन्तुष्टि जनाएका थिए । देउवाले असन्तुष्टिहरु सम्बोधन गर्ने र अब निर्णय गर्दा छलफल गर्ने बताए ।

    देउवा र कोइरालाबीच महाधिवेशनपछिको यो दोस्रो भेट हो । ।

  • चुनावी रणनीतिका लागि केन्द्रीय समिति बैठकमा कांग्रेसका नेता (तस्बिरहरू)

    चुनावी रणनीतिका लागि केन्द्रीय समिति बैठकमा कांग्रेसका नेता (तस्बिरहरू)

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरू भएको छ ।

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा स्थानीय निर्वाचनको तयारीमा केन्द्रित छ । बैठकमा औपचारिक एजेण्डाको रूपमा कांग्रेसको ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ चुनावी अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठन र विविध राखिएको छ ।

    सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणापत्र निर्माण समिति संयोजक तोकिसकेका छन् ।

    सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले समेत आगामी चुनावी तालमेलबारे कांग्रेस बैठकको निर्णय चासोका साथ हेरिरहेको बेला बसेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • अध्यक्ष नियुक्तिको विरोधमा शेखर समूहले बोलायो तरुण र विद्यार्थीको समानान्तर भेला

    अध्यक्ष नियुक्तिको विरोधमा शेखर समूहले बोलायो तरुण र विद्यार्थीको समानान्तर भेला

    काठमाण्डौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षधरले चैत १४ मा अलग भेलाको आह्वान गरेका छन् ।

    शेखर समूहको तरुण विद्यार्थी भेला चैत १४ दिउँसो १ बजे अनुपमफुड्ल्याण्डमा तय गरिएको छ ।

    ‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका पूर्वसभापति रञ्जित कर्णले भने, ‘त्यसको प्रतिवाद गर्नका लागि  चैत १४ मा अलग भेला राखेका छौँ ।’

    उनका अनुसार सो भेलामा नेविसंघका पूर्व अध्यक्षदेखि देशैभरका प्रतिनिधिहरू उपस्थित हुनेछन् ।

    गत बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयन गर्दा आफूहरू परामर्श नगरेको कोइराला पक्षधरको आरोप छ । देउवाले एकलौटीरूपमा पेलेको भन्दै केन्द्रीय समिति बैठकको संघारमा सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयअघि प्रदर्शन गरेका छन् ।

  • नेविसंघका नवनियुक्त अध्यक्षको प्रतिबद्धता- चुनाव सकिएको ३ महिनाभित्र महाधिवेशन (भिडिओ)

    नेविसंघका नवनियुक्त अध्यक्षको प्रतिबद्धता- चुनाव सकिएको ३ महिनाभित्र महाधिवेशन (भिडिओ)

    काठमाडौं । नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हालेका छन् ।

    शुक्रबार नेविसंघ कार्यालयमा पूर्वअध्यक्ष राजीव ढुंगानाले एक कार्यक्रमकाबीच शेर्पालाई जिम्मेवारी हस्तान्तरण गरे ।

    पदभार ग्रहण गरेपछि अध्यक्ष शेर्पाले पार्टीले दिएको म्यान्डेटअनुसार निर्वाचन सकिएको तीन महिनाभित्र संगठनको १२ औं महाधिवेशन गर्ने प्रतिबद्धता जनाए ।

    विद्यार्थी राजनीतिमा गुमेको विश्वासलाई फर्काउन आफूले पहल गर्ने शेर्पाको भनाइ छ । आफ्नो कार्यकालमा कुनै पूवाग्रह नराखी संगठनलाई विस्तार र बलियो बनाउने दाबी पनि गरेका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार शेर्पालाई नेविसंघको अध्यक्षमा मनोनीत गरेका थिए ।

  • तालमेल नभए माधवलाई तनाव, भन्छन्- माओवादीको भर छैन, कांग्रेसलाई डर छैन

    तालमेल नभए माधवलाई तनाव, भन्छन्- माओवादीको भर छैन, कांग्रेसलाई डर छैन

    काठमाडौं । वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा तालमेल गर्ने वा नगर्ने भन्नेमा सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरूको जुहारी जारी छ । गठबन्धनमा रहेकामध्ये नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरू चुनावी तालमेलको पक्षमा उभिँदै आएका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र भने चुनावी तालमेलबारे दुई थरी धारणा रहेको छ ।

    सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरू चुनावी तालमेलका पक्षमा छन् । नेता डा. शेखर कोइराला र उनीनिकट अन्य नेताहरू भने तालमेलको विपक्षमा छन् । तालमेलबारे निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । कांग्रेसले शर्तसहित चुनावी तालमेलको पक्षमा निर्णय लिने सम्भावना रहेको छ । कांग्रेस चुनावी तालमेलबारे निर्णय लिने चरणमा पुगिसक्दा गठबन्धनको मुख्य घटक नेकपा एकीकृत समाजवादी भने ढुक्क छैन ।

    नेकपा एमाले विभाजित भएर बनेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनमा सबैभन्दा सकस व्यहोर्नुपर्ने अवस्थामा छ । हालै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा नेपालले ‘एमालेले जितेका स्थानीय तहमा आफ्नो दाबी रहने’ बताएका थिए ।

    नेकपा एमाले विभाजित भएर बनेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनमा सबैभन्दा सकस व्यहोर्नुपर्ने अवस्थामा छ । हालै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा नेपालले ‘एमालेले जितेका स्थानीय तहमा आफ्नो दाबी रहने’ बताएका थिए ।

    गठबन्धनमा चुनावी तालमेल निश्चित नभएपछि अध्यक्ष नेपालले एमालेको तागतसँग आफूलाई तुलना गर्दै आएका छन् । यद्यपि आफ्नो पार्टी नयाँ भएकाले एक्लै चुनाव लडेर ‘उपलब्धी’ जोगाउने सम्भावना नेपालले देखेका छैनन् । अर्कोतिर चुनावी तालमेलबारे कांग्रेस र माओवादी नेताहरूको ‘दन्तबझान’ ले नेपाललाई दिक्क बनाएको छ ।

    निकटस्थहरूसँग नेपालले कांग्रेस र माओवादीको गतिविधिका कारण एमालेले नै लाभ लिने अवस्था बन्न खोजेको बताउने गरेका छन् । कांग्रेसका केही पदाधिकारीको अभिव्यक्तिले त गठबन्धनलाई झन् समस्यामा पार्ने माधवको निष्कर्ष छन् । अर्कोतिर कांग्रेसको व्यवहारका कारण माओवादीपनि बिच्कने खतरा उनले देखेका छन् ।

    ‘एकीकृत समाजवादी पार्टी कठिन परिस्थितिमा बनेको हो । केही नेताहरूले धोका दिएकाले एमालेबाट सोचेजति तागत झिक्न सकिएन । त्यसैले एकपटक गठबन्धन गरेर पार्टीको तागत जोगाउनुपर्छ भन्ने कुरा स्वाभाविक हो’, समाजवादीका एक नेता बताउँछन् ।

    ‘कांग्रेसका नेताहरू गठबन्धन विरुद्ध बोलिरहेका छन् । गठबन्धन हुँदा कांग्रेसको पनि भोट बढ्ने होनि तर उनीहरू पपुलर कुरा गर्छन् । कांग्रेसलाई चुनाव हार्ने डर छैन’, नेपालले निकटस्थहरूसँग भन्ने गरेका छन् । अर्कोतिर गठबन्धनकै पक्षमा रहेपनि माओवादीको भर लागेको छैन नेपाललाई । ‘अब कांग्रेसले यस्तै गरिरह्यो भने प्रचण्डले फेरि केपी ओलीसँग हात मिलाउन सक्छन् । प्रचण्डको भर भएन, कांग्रेसलाई डर भएन’, नेपालको धारणा छन् ।

    नेपालनिकट नेताहरू नयाँ पार्टी निर्माणको चरण सुरू हुनासाथ निर्वाचनमा होमिन परेकाले केही कठिनाइ पर्नु स्वभाविक हुने बताउँछन् ।

    ‘एकीकृत समाजवादी पार्टी कठिन परिस्थितिमा बनेको हो । केही नेताहरूले धोका दिएकाले एमालेबाट सोचेजति तागत झिक्न सकिएन । त्यसैले एकपटक गठबन्धन गरेर पार्टीको तागत जोगाउनुपर्छ भन्ने कुरा स्वाभाविक हो’, समाजवादीका एक नेता बताउँछन् ।

    ती नेताका अनुसार चुनावी तालमेल हुनासाथ अधिकांश स्थानीय तहमा एमालेमा प्रभाव भएकै नेताहरू समाजवादीबाट चुनाव लड्न ईच्छुक छन् । यहीकारण अध्यक्ष नेपालले कांग्रेस र माओवादीको भर खोजिरहेका हुन् ।

    ‘देउवाजीलाई प्रधानमन्त्री बनाउन र प्रचण्डलाई राजनीतिक रूपमा जोगाउन सबैभन्दा बढी त्याग र राजनीतिक जोखिम कमरेड माधव नेपालले उठाउनुभएको छ । त्यसैले यो गठबन्धन जोगाउनुपर्छ भन्नेमा उहाँको प्रयास छ’, नेपालनिकट एक नेता भन्छन् ।

  • सानेपामा देउवाविरुद्ध नाराबाजी, नेवि संघ र तरुण दल अध्यक्ष मनोनयनको विरोध (तस्बिरहरू)

    सानेपामा देउवाविरुद्ध नाराबाजी, नेवि संघ र तरुण दल अध्यक्ष मनोनयनको विरोध (तस्बिरहरू)

    काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय अगाडि विरोध प्रदेश गरेको छ ।

    कांग्रेस केन्द्रीय समिति बैठक सुरू हुनै लाग्दा नेताहरूको ध्यानाकर्षण गराउँदै शेखर कोइराला समूहका नेविसंघ र तरुण दलका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

    प्रदर्शन गर्ने थाहा पाएर बिहानैदेखि पार्टी कार्यालय आसपास प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनका क्रममा मुख्य सडक नै अवरुद्ध भएको छ ।

    उनीहरूले ‘देउवा प्रवृत्ति बन्द गर, एकलौटीपन बन्द गर, हाम्रो घर ( पार्टी कार्यालय ) जान दे, नालायक सभापति मुर्दावाद, प्रहरी हस्तक्षप बन्द गर’ जस्ता नारा लगाएका छन् ।

    दुई दिनअघि सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गरेका थिए ।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको म्याण्डेटअनुसार भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा परामर्श नगरेको र आफ्नो समूहलाई पेल्न खोजेको भन्दै शेखर कोइराला समूहले देशभरका तरुण विद्यार्थी नेताहरूलाई काठमाडौं बोलाउने निर्णय गरिसकेको छ ।

    बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा हिजो बसेको बैठकमा संस्थापन पक्षले पेलेर जान खोजेकोले समानान्तर समिति बनाएर भएपनि प्रतिवाद गर्नुपर्ने आवाज उठेको थियो ।

    तस्बिरहरू : उमेश कार्की । 

  • रामचन्द्रको भेलामा बलबहादुरले भने- मेरो टिमको नेता शेखर कोइराला हो

    रामचन्द्रको भेलामा बलबहादुरले भने- मेरो टिमको नेता शेखर कोइराला हो

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार बिहान आफ्नै निवासका पार्टीका केही नेताहरू बोलाए । १३ औं महाधिवेशनमा सभापतिको प्रत्यासी रहँदा आफ्नो समूहमा रहेका केन्द्रीय नेता तथा जिल्ला सभापतिहरुलाई पौडेलले बोहराटारस्थित निवासमा बोलाएका थिए ।

    बैठकमा पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य एवं कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य मधु आचार्यलगायतका नेता सहभागी थिए । त्यस्तै तनहुँ कांग्रेसका सभापति जितप्रकाश आले, पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, बाजुराका सभापति रामसिंह रावल, धादिङका पूर्वसभापति रमेश धमला, सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामालगायतका नेताहरू बोहोराटार पुगेका थिए ।

    बैठकको सुरूमा पौडेलले लामो समयदेखि संवाद हुन नपाएको र स्थानीय निर्वाचन सन्निकट रहेकोले छलफल गर्न बोलाएका बताएका थिए ।

    बैठकमा बोल्ने सबैजसो नेताहरूले चुनावी तालमेलबारे केन्द्रबाट निर्णय लाद्न नहुने, स्थानीय आवश्यकताअनुसार निर्णय गर्न स्थानीय समितिलाई अधिकार दिनुपर्ने लगायतका सुझाव दिए । बैठकमा १४ औं महाधिवेशपछि पुरानो समूह झन् कमजोर बन्दै गएको अधिकांशले चिन्ता व्यक्त गरेका थिए ।

    बैठकमा ढिलोगरी पुगेका केन्द्रीय सदस्य बलबहादुर केसीको प्रस्तुति भने फरक रह्यो । उनले पौडेललाई ‘मेरै गुट छन् भनेर देखाउन बोलाएको हो ?’ भनी प्रश्न गरेका थिए । केसीले पार्टीभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई नेता मान्न आफूलाई समस्या नभएपनि आफ्नो टिमको नेता भने डा. शेखर कोइराला रहेको बताए ।

    ‘तपाईं र शेरबहादुरलाई नेता मान्न मलाई समस्या छैन तर आज मेरो नेता शेखर कोइराला हो । म उहाँकै टिममा छु’, केसीले भनेका थिए । उनले छरिएर हिँड्दा तागत घट्दै गएको भन्दै पुरानो टिम फेरि एकैठाउँ उभिनुपर्ने आवश्यकता पनि औल्याए । केसीले ‘पौडेलको भेलामा आउँदा प्रकारान्तरले देउवाकहाँ पुगिने त होइन ?’ भन्ने प्रश्नसमेत राखे ।

    केसीको भनाइमा पौडेलले तत्कालै जवाफ दिएका थिए । पौडेलले गुटका लागि भेला नगरेको तर कांग्रेस र मुलुकका लागि के गर्दा उपयुक्त हुन्छ भनेर सल्लाह गर्न खोजेको बताए ।

    ‘मैले गुटबन्दी गर्न बोलाएको होइन । निर्वाचन नजिकै आएकोले गम्भीर विषयहरूमा छलफल गर्न साथीहरुलाई बोलाएको हुँ’, पौडेलको भनाइ थियो । पौडेलले आफू र डा.शशांक कोइरालालाई ‘पाखा लगायौ’ भनेर खुसी नहुन समेत आग्रह गरे ।

    ‘रामचन्द्र र शशांकलाई पाखा लगायौं भन्ने सोचेको हो भने के भन्नु छ र ? हामी दुईको साथ चाहिने साथीहरूका लागि हामी हिजो पनि थियौं, आज पनि छौं’, शशांकतिर हेर्दै पौडेलले भने ।

  • कांग्रेसको केन्द्रीय समिति बैठक : एजेण्डामा नभएको चुनावी गठबन्धनले पाउला त प्रवेश ?

    कांग्रेसको केन्द्रीय समिति बैठक : एजेण्डामा नभएको चुनावी गठबन्धनले पाउला त प्रवेश ?

    काठमाडौं । देश स्थानीय तह निर्वाचनको माहोलमा तात्दै गएका बेला आज धेरैको ध्यान ‘सानेपा’ तर्फ केन्द्रित छ । सानेपाबाट कांग्रेसले लिने निर्णयसँग देशका सबैजसो प्रमुख दलहरूले आफूसँग ‘साइनु’ जोडेर हेरिरहेका छन् ।

    सानेपास्थित केन्द्रीय कार्यालयमा आज स्थानीय तह निर्वाचनको तयारीका विषयमा केन्द्रित रहेर सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको चौथो बैठक बस्दैछ । दिउँसो २ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ ।

    सोही बैठकमा आज चुनावी तालमेलको विषयले पनि प्रवेश पाउनसक्ने कांग्रेस स्रोत बताउँछ । यद्यपि बैठकको तीनवटा एजेण्डामा प्रष्टरूपमा तालमेलको विषय भने उल्लेख छैन ।

    कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बैठकको एजेण्डाहरूमा कांग्रेसको निर्वाचन लक्षित ‘घर-घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि केन्द्रीय संसदीय समिति गठन र विविध शीर्षकमा समसामयिक विषयमा छलफल हुने तय गरिएको छ ।

    यही शीर्षकमा रहेर चुनावी तालमेलको विषयले प्रवेश पाउनसक्ने कांग्रेसका एक पदाधिकारीले बताए । ‘सभापतिज्यूले तालमेलको विषय पार्टीभित्रै छलफल गरेर टुंग्याउने चाहना राख्नुभएको छ,’ उनले भने,‘त्यसैले बैठकमै प्रारम्भिक छलफल हुन्छ । सहमति जुटे निर्णय पनि हुनसक्छ ।’

    यता कांग्रेसले चुनावी तालमेल गर्ने/नगर्ने विषयमा लिने निर्णयमा सत्तारूढ दलहरूभित्र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चासोका साथ हेरिरहेका छन् । दुवै दल सत्तारूढ गठबन्धन दलहरूबीचमा तीनतहका निर्वाचनसम्मै तालमेल गरेर जानुपर्ने पक्षमा छन् । त्यसैका लागि उनीहरूले कांग्रेसलाई दबाब सिर्जना गर्दै आएका छन् ।

    माओवादी केन्द्रका शीर्ष नेताहरूले कांग्रेसले चुनावमा तालमेल गर्न नमाने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भएपनि गरेर जानसकिने भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

    सत्तारूढ गठबन्धनकै अर्को घटक जनता समाजवादी पार्टी (जसपा) पनि गठबन्धन दलहरूसँग निर्वाचनमा तालमेल गरेरै जाने ‘मूड’ मा छ ।

    एमसीसी प्रकरणमा रिसाएको राष्ट्रिय जनमोर्चा पनि गठबन्धन दलका बीचमा निर्वाचनमा तालमेल गर्नुपर्ने पक्षमा रहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि कांग्रेससँग मधेस प्रदेशमा चुनावी तालमेल गरेर जान चाहेको छ ।

    यी दलहरूले चुनावी तालमेलका लागि कांग्रेसको ‘मुख हेरेर’ बसेको अवस्था छ ।

    यी दलहरू मात्र होइन, प्रमुख प्रतिपक्षी दल एमालेले पनि कांग्रेस लिने निर्णयलाई व्यग्रताका साथ पर्खिरहेको छ । एमाले हरहालमा वर्तमान सत्तारूढ गठबन्धन टुटाउन चाहन्छ । यसका लागि कांग्रेसले चुनावी तालमेल नगरेर निर्वाचनमा ‘एक्लै जाने’ निर्णय लिए गठबन्धनमा संकट पैदा भएर फुटाउन सकिने उसको बुझाइ छ ।

    कांग्रेस एक्लै चुनावमा गए माओवादी केन्द्र र एकीकृत समाजवादीको ‘साइज’ खुम्चिएर कम्युनिष्ट पार्टीको ध्रुविकरण आफूकेन्द्रीत भएर एकल कम्युनिष्ट शक्ति हुने पनि एमालेको बुझाइ छ ।

    फरक दलका यी ‘इन्ट्रेस्ट’ को केन्द्रबिन्दु कांग्रेसको केन्द्रीय समितिको बैठक हुन पुगको छ । आजको बैठक पनि त्यसैकारण देशभित्र राजनीतिक दलहरूको नजरबाट पनि निकै महत्वपूर्ण छ ।

    कांग्रेसमा विभाजित मत

    यसरी फरक दलको फरक-फरक ‘इन्ट्रेस्ट’ रहँदा कांग्रेसभित्रै भने चुनावी तालमेलका विषयमा विभाजित मत छ । सभापति शेरबहादुर देउवालगायत उनी पक्षका नेता गठबन्धन दलहरूबीचमा तालमेल गरेर जानुपर्ने पक्षमा छन् । त्यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत पनि छन् ।

    तर, शेखर कोइराला समूहका नेताहरू भने कांग्रेस आफ्नै बलबुतामा चुनाव लड्नुपर्ने जोडदार आवाज उठाइरहेका छन् । स्वयम् कोइराला, महामन्त्री गगन थापा र उपसभापति धनराज गुरुङ चुनावी गठबन्धनको विरोधमा प्रखर रूपमा आवाज उठाइरहेका छन् । उनीहरूको मतसँग तल्लो तहका नेताकार्यकर्ताहरूको ठुलो पंतिको समर्थन छ ।

    यसैकारण कांग्रेसले आफ्नो चुनावी अभियान ‘घरघर जाउँ, कांग्रेस जिताऔं’ मार्फत धारणा संकलन गरेर आवश्यक निर्णय लिने भनिएको छ ।

    यद्यपि सभापति देउवा सरकारको सुरक्षितता र भविष्यमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्मको सुनिश्चितताका लागि गठबन्धन ‘जोगाउन’ तालमेल गरेर जानुपर्ने पक्षमा इतर पक्षको निरन्तरको गठबन्धनविरोधी आवाजले देउवा दबाबमा छन् ।

    केन्द्रीय समितिमा सभापति देउवाको एकलौटी बहुमत छ । यो विषयमा वादविवाद भए कुन प्रक्रियामा गएर टुंगो लाग्ला ? त्यो भने हेर्न बाँकी छ ।

  • नेकपा एसका प्रवक्ता भन्छन्- कांग्रेसले नचाहे जसपा र माओवादीसँग गठबन्धन गर्छौं (भिडिओ)

    नेकपा एसका प्रवक्ता भन्छन्- कांग्रेसले नचाहे जसपा र माओवादीसँग गठबन्धन गर्छौं (भिडिओ)

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले चुनावी तालमेलमा नेपाली कांग्रेस सहभागी नभए जनता समाजवादी पार्टी र माओवादी केन्द्रसँग गठबन्धन हुने बताएका छन् ।

    जनकपुरधामस्थित नेकपा एसको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले कांग्रेसका केही नेता गठबन्धनको विपक्षमा रहे पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताए ।

    उनले भने, ‘कांग्रेस गठबन्धनको विपक्षमा रहेको पनि भन्न नसकिने अवस्था छ । केन्द्रीय कमिटीको बैठकले आधारभूत निर्णय लिएपछि प्रक्रिया अगाडि बढ्छ ।’

    कांग्रेस गठबन्धन नगर्ने निर्णय गरेमा मधेसमा जसपा र माओवादी केन्द्रसँग गठबन्धन हुने उनको दाबी छ ।

    ‘राजनीतिक स्थिरता, प्रतिगमन विरुद्ध, लोकतन्त्रको पक्ष र संविधानको रक्षाका लागि गठबन्धन बनाएका थियौं’, खतिवडाले भने, ‘अहिले पनि प्रतिगठमनकारीहरू षड्यन्त्र गरिरहेको छ । त्यसैले त्यस्तो षड्यन्त्रकारीलाई परास्त गर्न राष्ट्रका लागि आज पनि गठबन्धनको आवश्यकता छ ।’

    राष्ट्रको हितकै लागि दलहरूबीच एकता कायम राख्न एमसीसी सदनबाट पारित गरेको खतिवडाको जिकिर छ ।

    उनले भने, ‘यदि राष्ट्रहितविपरीत काम गर्न थाल्यो भने त्यो बेला व्याख्यात्मक टिप्पणी पल्टाउछौं । र, एक महिनाको सूचना निकालेर एमसीसी सम्झौता खारेज गर्छौं ।’

  • रामचन्द्रले बोलाएको भेलामा को-को नेता सहभागी छन् ?

    रामचन्द्रले बोलाएको भेलामा को-को नेता सहभागी छन् ?

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापतिहरूको बैठक जारी छ । स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन पौडेलले आफ्नै निवासमा संस्थापतइतरका सभापतिहरूलाई डाकेका हुन् ।

    यो छलफलको आधारमा दिउँसो सानेपामा बस्ने केन्द्रीय समिति बैठकमा गठबन्धनको विषयमा धारणा राख्ने तयारी छ ।

    बैठकमा पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य एवं कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य मधु आचार्य, तनहुँ सभापति जितप्रकाश आले, बाजुरा सभापति रामसिंह रावल र पाल्पा सभापति हिमालदत्त श्रेष्ठलगायतका नेताहरू सहभागी छन् ।

  • भ्रातृ संगठनमा अध्यक्ष मनोनयन विरोधमा कांग्रेस बैठकअघि प्रदर्शनको तयारी

    भ्रातृ संगठनमा अध्यक्ष मनोनयन विरोधमा कांग्रेस बैठकअघि प्रदर्शनको तयारी

    काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले कांग्रेस केन्द्रीय समिति बैठकस्थल सानेपामा विरोध प्रदर्शन गर्ने भएका छन् ।

    दुई दिनअघि सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गरेका थिए ।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको म्याण्डेटअनुसार भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा परामर्श नगरेको र आफ्नो समूहलाई पेल्न खोजेको भन्दै शेखर कोइराला समूहले देशभरका तरुण विद्यार्थी नेताहरूलाई काठमाडौं बोलाउने निर्णय गरिसकेको छ ।

    बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकमा संस्थापन पक्षले पेलेर जान खोजेकोले समानान्तर समिति बनाएर भएपनि प्रतिवाद गर्नुपर्ने आवाज उठेको थियो ।

    ‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त गर्नु भएको छ । यसप्रति हाम्रो गम्भीर असहमति रहेको छ,’ पूर्वकेन्द्रीय सदस्य प्रेमिका रानामगरले भनिन्, ‘बैठक सुरू हुनुअघि शुक्रबार दिउँसो १ बजेदेखि नै शान्तिपूर्णरूपमा केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गर्नेछौं ।’

    बैठकमा नेता कोइराला, केन्द्रीय सदस्यहरु डा. गोविन्द पोखरेल, प्रतिमा गौतम, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, टेकराज पौडेल, दिनेश राई, डिल्लीराम सुवेदी, हिक्मत न्यौपानेलगायत उपस्थित थिए ।

  • कांग्रेस केन्द्रीय समिति बैठकअघि पौडेल निवासमा जिल्ला सभापतिको भेला

    कांग्रेस केन्द्रीय समिति बैठकअघि पौडेल निवासमा जिल्ला सभापतिको भेला

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन जिल्ला सभापतिहरूलाई बोलाएका छन् ।

    बोहोराटारस्थित आफ्नै निवासमा जिल्ला सभापतिहरूसँग छलफलका आधारमा दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन गरेर जाने कि नगरी जाने भन्ने बारेमा आफ्नो धारणा राख्ने छन् ।

    पौडेलले बोलाएको छलफलमा पूर्वमहामन्त्री डा. शशांक कोइराला, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडु, केन्द्रीय सदस्य दीपक गिरी, केन्द्रीय सदस्य मधु आचार्य , तनहुँ सभापति जितप्रकाश आले, बाजुरा सभापति रामसिंह रावल, पाल्पा सभापति हिमालदत्त श्रेष्ठलगायत सहभागी छन् ।

     

  • चुनावी तयारीका लागि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    चुनावी तयारीका लागि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार दिउँसो बस्दैछ।

    दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ । बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षालगायतमा छलफल हुने नेताहरुले बताएका छन् ।

    कांग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुुनेछ ।

    सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणापत्र निर्माण समिति संयोजक तोकिसकेका छन् ।

  • स्थानीय निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा गगन थापालाई

    स्थानीय निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्ने जिम्मा गगन थापालाई

    काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ ।

    सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री थापालाई दिएका हुन्।

     

  • शेखर पक्षले बोलायो नेविसंघ र तरुण दलको भेला, सशक्त प्रतिवादको तयारी

    शेखर पक्षले बोलायो नेविसंघ र तरुण दलको भेला, सशक्त प्रतिवादको तयारी

    काठमाडौं । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समिति गठन सम्बन्धमा असन्तुष्टी जनाउँदै कांग्रेस नेता डा.शेखर कोइराला नेतृत्वको समूहले तरुण-विद्यार्थीहरुको भेला आह्वान गरेको छ ।

    सभापति शेरबहादुर देउवाले बुधबार नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको म्याण्डेटअनुसार भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा परामर्श नगरेको र आफ्नो समूहलाई पेल्न खोजेको भन्दै कोइराला समूहले देशभरका तरुण विद्यार्थी नेताहरुलाई काठमाडौं बोलाउने निर्णय गरेको हो ।

    कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा संस्थापन पक्षले पेलेर जान खोजेकोले समानान्तर समिति बनाएर भएपनि प्रतिवाद गर्नुपर्ने आवाज उठेको थियो । बैठकमा नेता कोइराला, केन्द्रीय सदस्यहरु डा.गोविन्द पोखरेल, प्रतिमा गौतम , नेताहरु गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, टेकराज पौडेल, दिनेश राई, डिल्लीराम सुवेदी, हिक्मत न्यौपाने लगायत उपस्थित थिए ।

    बैठकमा विद्यार्थी नेताहरुको पनि बाक्लो उपस्थिति थियो । उनीहरुले पार्टी विधि र थितिअनुसार चलोस् भन्ने चाहेपनि एकपक्षीय निर्णय गर्न लागिएकोले संघर्षको विकल्प नरहेकोमा जोड दिएका थिए । ‘हामीले चै बरु भागबण्डा चाहिदैन, सबैलाई समेटेर विधानअनुसार निर्णय होस् भन्ने, सभापतिले चै मनपरी ढंगबाट निर्णय लिने हो भने प्रतिवाद गर्नुको विकल्प छैन’, बैठकमा सहभागि एक तरुण नेताले भने । बैठकमा बोल्ने अधिकांशले संस्थापन पक्षविरुद्धको संघर्षमा खुट्टा नकमाउन शेखरसँग आग्रह गरेका थिए ।

    बैठकको सुरुमै नेता कोइरालाले तरुण दल र नेविसंघमा मनोनयन लगायतका विषयमा सुझाव लिन चाहेको बताएका थिए । कोइरालाले परामर्शमै गठन गर्ने भनिएका भ्रातृ संस्थाबारे एकपक्षीय ढंगले निर्णय भएको भन्दै सुझाव दिन आग्रह गरेका थिए ।

    बैठकले शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय पदाधिकारी र सदस्यहरुले समूहको धारणा सशक्त ढंगले राख्ने, शुक्रबार नै तरुण विद्यार्थीहरुले पार्टी कार्यालय सानेपामा प्रदर्शन गर्ने तथा ३ दिनभित्र नेविसंघ, तरुण दल , महिला संघ लगायतका संगठनमा आवद्ध नेताहरुको भेला बोलाउने निर्णय गरेको हो ।

    भेलालाई कोइरालासहित शीर्ष नेताहरुले सम्बोधन गर्ने सहमति समेत भएको एक नेताले बताए । भेलाको मिति, समय र स्थानबारे निधो गर्न कोइराला पक्षका नेताहरुको बैठक शुक्रबार समेत बस्नेछ ।

  • चितवन कांग्रेसको एकस्वर- लादेको निर्णय मान्दैनौं, भरतपुरको मेयर छाड्दैनौं

    चितवन कांग्रेसको एकस्वर- लादेको निर्णय मान्दैनौं, भरतपुरको मेयर छाड्दैनौं

    चितवन । सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलको विषय निर्णायक चरणमा प्रवेश गर्दा चितवनका कांग्रेसीहरूले भने केन्द्रबाट लादिने तालमेल अस्वीकार गर्ने निर्णय गरेका छन् । भरतपुर महानगरपालिकामा यसअघिको स्थानीय निर्वाचनमा कांग्रेसले माओवादीसँग तालमेल गरेको थियो ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल कांग्रेससँगको तालमेलबाट भरतपुरमा मेयर बनेकी थिइन् । संघीय निर्वाचनमा पनि चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकलाई मैदान छाडेको थियो ।

    यसपटक भने केन्द्रले लादेको तालमेल अस्वीकार गर्ने निर्णय चितवनका कांग्रेस नेताहरूले गरेका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, पूर्व जिल्ला सभापतिसहित चितवन कांग्रेसले बुधबार गरेको बैठकले तालमेलको नाममा भरतपुर महानगरपालिकाको मेयर कुनै पनि हालतमा नछाड्ने निर्णय समेत गरेको छ ।

    बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू अञ्जनी श्रेष्ठ, दिनेश कोइराला, शान्ति परियार, पूर्व जिल्ला सभापतिहरू जितनारायण श्रेष्ठ, कृष्णलाल सापकोटा, रामकृष्ण घिमिरे, तोपमान गुरुङ, पूर्व सांसद सावित्री बोगटी, भरतपुर महानगर सभापति चित्रसेन अधिकारी , जिल्ला पदाधिकारीहरू लगायतको उपस्थिति थियो । भेलामा बोल्ने सबैजसो नेताहरूले चितवनमा स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने र तालमेल नै गर्ने भए भरतपुर महानगरको मेयर नछाड्ने गरी हुनुपर्ने धारणा राखेका थिए ।

    माओवादी अध्यक्ष प्रचण्ड विहीबार बिहानै चितवन पुगेर जिल्लाका नेताहरूले भन्दैमा नहुने र केन्द्रबाटै तालमेलको निर्णय हुने बताएका छन् । यसै सन्दर्भमा चितवनका कांग्रेस नेताहरूलाई हामीले चुनावी तालमेलबारे तपाईको धारणा के हो भनी सोधेका छौं । प्रस्तुत छ उनीहरूको धारणा, जस्ताको तस्तै –

    दिनेश कोइराला, केन्द्रीय सदस्य

    चितवनमा नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्षम छ । अघिल्लो स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा मेरै टिकट खोसेर कांग्रेसले माओवादीलाई सहयोग गरेको हो । त्यतिबेला हामीले स्थानीय निर्वाचनमा माओवादी जितायौं तर संसदीय निर्वाचनमा माओवादीले एमालेसँग तालमेल गर्‍यो । अघिल्लोपटक नै माओवादी गद्दारी गरेर गठबन्धनको माहोल बिगारिसकेको छ । अहिले यदि गठबन्धन गर्नै पर्ने आवश्यकता हो भने माओवादीले निशर्त हामीलाई सहयोग गर्नुपर्छ । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसलाई निशर्त समर्थन गरेपछि मात्रै माओवादीसँग सहकार्यको वातावरण बन्छ । म माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गर्छु, आफ्नो पद जोगाउन धेरै धम्कीको भाषा नबोल्नुहोला । माओवादीलाई चुनाव जिताइदिनुपर्ने बाध्यता कांग्रेसका मतदातालाई छैन । यदि तालमेल गर्ने नै हो भने हैसियतका आधारमा गरौं । चितवनका कांग्रेस नेतालाई छलेर केन्द्रीय नेतृत्वसँग मात्रै कुरा मिलाउँछु भनेर माओवादीले सोचेको छ भने हामीलाई स्वीकार्य हुँदैन । त्यसको परिणाम राम्रो आउँदैन ।

    राजेश्वर खनाल, चितवन सभापति

    स्थानीय सरकार निर्माणमा पार्टीको स्थानीय समिति नै निर्णायक हुनुपर्छ भन्ने चितवन कांग्रेसको पहिलो धारणा हो । चितवनको धरातलीय यथार्थ, मतदाताको मनोभावना बुझेर निर्णय लिन चितवन कांग्रेस सक्षम छ । हामीले जिल्लाका सबै सिनियर नेताहरूसँग छलफल गरेका छौं । चितवनमा कांग्रेसको ग्राउण्ड बलियो भएकाले पार्टी र मतदातालाई धक्का पुग्ने कुनैपनि निर्णय केन्द्रले लिनुहुँदैन भन्ने सबैको धारणा छ । निर्वाचनमा एक्लै जानुपर्छ र गठबन्धनबाट कांग्रेसलाई कुनै फाइदा छैन । कांग्रेसजस्तो पार्टीका लागि चितवन जस्तो जिल्लामा चुनाव हार्ने वा जित्नेभन्दा जनतामा जाने कुरा महत्वपूर्ण हो । विगतमा गठबन्धन गर्दापनि कांग्रेसका लागि लाभदायी हुन सकेन । यदि राष्ट्रिय राजनीतिका कारण गठबन्धन गर्नु नै पर्ने हो भनेपनि स्थानीय निर्वाचनको सन्दर्भमा पार्टीको स्थानीय संयन्त्रबाटै टुंगो लगाउन पाउनुपर्छ । केन्द्रबाट लादिएको निर्णयले परिणाम दिएन भने त्यसको जवाफदेहिता चितवन कांग्रेसले लिदैन । जहाँसम्म भरतपुर महानगरपालिकाको विषय छ, भरतपुरमा कांग्रेस पहिलो शक्ति हो । भरतपुरको मेयर छाडेर अरु विषयमा छलफल गर्नै सकिँदैन ।

    जितनारायण श्रेष्ठ, चितवन निवर्तमान सभापति

    चितवन भनेको कांग्रेसको बलियो संगठन भएको जिल्ला हो । पटक-पटक अरु पार्टीलाई भोट हाल्नुपर्ने बाध्यता चितवनका कांग्रेसीलाई छैन । चुनावी तालमेलको कुरा गर्ने हो भने त्यो न्यायोचित हुनुपर्छ । पटक-पटक माओवादीलाई भोट हाल्नुपर्ने हो भने त्यो कसरी तालमेल भयो र ? विगतमा भरतपुर महानगरमा कांग्रेसले माओवादीलाई मेयर दिएकै हो । यसपटक माओवादीले भरतपुरको मेयरमा दाबी गर्न जरुरी छैन । यदि चुनावी तालमेल चाहेकै हो भने ग्राउण्डको तागतका आधारमा हुनुपर्‍यो । आजपनि चितवनमा कांग्रेस सबैभन्दा बलियो शक्ति हो । त्यसैले कांग्रेसको तागतलाई कमजोर पार्ने गरी हुने तालमेल हामीलाई स्वीकार्य छैन । गठबन्धन गर्ने हो भने न्यायोचित हुनुपर्‍यो । कांग्रेसका मतदाता धेरै भएका स्थानीय तहको नेतृत्व कांग्रेसले नै पाउने गरी हो भने तालमेलबारे सोच्नुपर्छ । अन्यथा हामीले सधैँ त्याग गर्नुपर्ने तालमेलको औचित्य छैन । कांग्रेसको केन्द्रीय नेतृत्वले स्थानीय नेता कार्यकर्ताको भावना बुझ्नुपर्छ, अन्यथा परिणामको भागीदार आफै बन्नुपर्छ ।

    रामकृष्ण घिमिरे, चितवन पूर्वसभापति

    चितवनमा हामीले अघिल्लो स्थानीय निर्वाचनमा माओवादीलाई भरतपुर महानगरको मेयर दियौं । हामीले मेयरमा माओवादीलाई भोट हाल्दा कतिपय वडामा भने माओवादीले एमालेसँग तालमेल गर्‍यो । माओवादी गठबन्धनमा इमान्दार देखिएको थिएन । अर्कोतिर संघीय निर्वाचनमा पनि कांग्रेसले क्षेत्र नम्बर ३ छाड्यो । यहाँका मतदाताले बारम्बार अरु पार्टीलाई मत दिनु परेकाले आक्रोश बढेको छ । धरातलमा उठेका विषयहरू सम्बोधन नगरी चुनावी तालमेल गर्दा प्रत्युत्पादक हुनसक्छ । हामीले ठाउँपनि छाड्ने जिताउन पनि नसक्ने हुनसक्छ । भरतपुरमा कांग्रेस पहिलो शक्ति हो भने एमाले दोस्रो र माओवादी तेस्रो शक्ति हो । चुनावी तालमेल जरुरी छ तर भरतपुरमा मेयर कांग्रेसले पाउनुपर्छ । चुनावी तालमेल राजनीतिक आवश्यकताको विषय हो तर त्यो स्वभाविक हुनुपर्छ ।

  • रामचन्द्र पौडेलले बोलाए निकटस्थ जिल्ला सभापतिहरूको बैठक

    रामचन्द्र पौडेलले बोलाए निकटस्थ जिल्ला सभापतिहरूको बैठक

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न निर्वाचनमा पार्टीले लिनुपर्ने रणनीतिबारे जिल्ला सभापतिहरूसँग छलफल गर्ने भएका छन् ।

    १४ औं महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नभएका नेता पौडेलले साविक संस्थापनइतर समूहबाट निर्वाचित भएका जिल्ला सभापतिहरूलाई छलफलका लागि आमन्त्रण गरेका छन् । शुक्रबार बिहान बोलाइएको छलफलमा महाधिवेशनपछिको अवस्था, स्थानीय निर्वाचन र सम्भावित तालमेलबारे छलफल हुने बताइएको छ ।

    ‘१४ औं महाधिवेशनमा हामीसँग नजिक रहनुभएका जिल्ला सभापतिहरूलाई बोलाएर समसामयिक विषयमा छलफल गर्न खोज्नुभएको हो । सभापतिहरुको रायअनुसार केन्द्रीय समितिमा प्रस्तुत हुने तयारी छ’, पौडेलनिकट एक नेताले भने ।

    कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बस्दैछ । १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सभापतिको उम्मेदवार बन्न नसकेपछि पौडेल तटस्थ रहेका थिए ।

    सत्तारुढ गठबन्धनको समन्वय समितिका संयोजकसमेत रहेका पौडेल आसन्न निर्वाचनमा चुनावी तालमेल गर्नुपर्ने पक्षमा छन् ।

  • चार जिल्लाबाट चुनाव लड्न आरजुलाई प्रस्ताव, भन्छिन्- कैलालीबाटै लड्छु

    चार जिल्लाबाट चुनाव लड्न आरजुलाई प्रस्ताव, भन्छिन्- कैलालीबाटै लड्छु

    कैलाली । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले आफू पुन: कैलाली- ५ बाट निर्वाचन लड्ने संकेत गरेकी छन् । आज धनगढीमा प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पहिले जहाँबाट उम्मेदवारी दिएको पुन: त्यहीँबाट उम्मेदवारी दिने बताइन् ।

    ‘यहीँ लड्छु नि । पहिला पनि यहीँ लडेको हो’ उनले भनिन्, ‘म यहीँ कैलालीबाटै उठ्छु ।’

    उनले अन्य स्थानबाट निर्वाचनमा लड्न सुझाव दिए पनि आफूले कैलाली नै रोजेको बताइन् । तर, त्यसको लागि पार्टीले टिकट दिनु पर्ने बताइन् ।

    ‘सर्लाहीका साथीहरूले पनि आउनु भन्नु भएको छ । कोहलपुरमा पनि उठ्न आग्रह गरिरहनु भएको छ’ उनले भनिन्, ‘बर्दियाबाट पनि उठ्ने हल्ला छ । पार्टीले टिकट दियो भने कैलालीबाट निर्वाचन लड्छु । अहिले यही सक्रिय छु ।’

    देउवा २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी थिइन् । उनलाई बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले पराजित गरेका थिए ।

    पाँच दलीय गठबन्धन निर्वाचनमा पनि हुने उनले दाबी गरिन् । पार्टीको लाइन गठबन्धन भएर जाने भन्ने हो । हाम्रो पार्टीमा विमति राख्न पाइन्छ उनले भनिन् , ‘एक्ला एक्लै लड्न त्यति सजिलै पनि छैन । बीचका अरू पनि पार्टी छन् ।’

    स्थानीय तहका निर्वाचन हुँदा गठबन्धन भए पनि निर्वाचन क्षेत्र अनुसार तालमेल हुन सक्ने उनको भनाइ छ ।

    उनले तोकिएकै समयमा निर्वाचन हुने समेत बताएकी छन् ।

    ‘स्थानीय तहको निर्वाचन अनिवार्य छ । हामीले पनि आफ्नो तयारी गरिरहेका छौँ’ उनले भनिन्, ‘तोकिएकै समयमा निर्वाचन हुन्छ । निर्वाचन नहुने भन्ने हल्ला हो । निर्वाचन हुन्छ । यो संवैधानिक बाध्यता हो ।’

  • शेखर पक्षले भन्यो- सभापति देउवा विधानभन्दा माथि रहन सक्दैनन्

    शेखर पक्षले भन्यो- सभापति देउवा विधानभन्दा माथि रहन सक्दैनन्

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रवार बस्दै छ । सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने तयारी गरेका छन् ।

    चुनावी तालमेलबारे पार्टीमा सहमति नबने बहुमतबाटै भए पनि निर्णय लिने तयारी देउवाले गरेपछि देउवा इतर पक्ष संशकित बनेको छ ।

    स्थानीय निर्वाचनमा चुनावी तालमेलको विपक्षमा रहेको डा. शेखर कोइराला नेतृत्वको समूहले ‘सभापति देउवा विधानभन्दा माथि रहन नसक्ने’ निष्कर्ष निकालेको छ ।

    कोइराला समूहका नेताहरूको कमलपोखरीस्थित एक होटेलमा बुधबार बसेको बैठकले देउवाको कार्यशैलीको आलोचना समेत गरेको छ ।

    बैठकको सुरुमा नेता कोइरालाले पार्टीलाई विधान अनुसार चलाउन नेतृत्वलाई सहयोग गर्न तयार भए पनि नेतृत्वले विधान र पद्धतिलाई बेवास्ता गरेको बताए ।

    सभापति देउवाले विगतमा संवादसमेत गर्न नचाहेको प्रसङ्ग कोट्याउँदै कोइरालाले बुधबार बिहान देउवासँग भएको टेलिफोन संवादबारे सविस्तार सुनाएका थिए ।

    केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने ? भन्नेबारे कोइरालाले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसँग राय मागेका थिए । सभापति देउवासँग केन्द्रीय समिति बैठकअघि भेट हुने सम्भावना रहेको भन्दै कोइरालाले सैद्धान्तिक सुझाव दिनसमेत आग्रह गरेका थिए । बैठकमा अधिकांश नेताहरूले पार्टीभित्र बहुमतको बलमा विधान मिच्ने प्रयत्न भए विद्रोह गर्नुपर्नेमा जोड दिए ।

    ‘१४ औँ महाधिवेशनमा सभापतिमा उहाँलाई मत नदिएकै कारण सबै तहका साथीहरूमाथि निषेध गर्न थालिएको छ । यो क्रम जारी रह्यो भने टिकट वितरणमा पनि अन्याय हुने निश्चित छ । अन्यायविरुद्ध विद्रोह गर्ने हिम्मत गर्नुपर्छ’, एक नेताले बैठकमा भने ।

    बैठकमा केही नेताहरूले केन्द्रीय सदस्य मनोनयन, कार्यसम्पादन समिति गठन, भ्रातृ संस्थाको अध्यक्ष चयन लगायतमा एकलौटी गरिएको भन्दै सम्मानजनक हैसियतका लागि सशक्त प्रतिवाद गर्नुपर्नेमा जोड दिएका थिए ।

    भ्रातृ संस्था गठनमा परामर्श गर्ने आश्वासन दिए पनि सभापतिले एकलौटी ढङ्गले नेविसंघ र तरुण दलमा अध्यक्ष तोकेको प्रसङ्ग पनि बैठकमा उठेको छ । ‘हाम्रो बैठक चल्दै गर्दा सभापतिले नै शेखर दाई र महामन्त्रीज्यूलाई फोन गरेर भ्रातृसंस्थाबारे सल्ला गर्छु भन्नुभयो तर बैठक नसकिँदै बिना परामर्श अध्यक्ष तोकियो । व्यक्तिमा भन्दा निर्णय प्रक्रियामा हाम्रो आपत्ति छ’, बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

    बैठकले कांग्रेसको विधानले दिएबाहेकको क्षेत्राधिकारमा केन्द्रीय समिति प्रवेश गर्न नहुने निष्कर्षसमेत निकालेको छ । ‘विधानले नै केन्द्रीय संसदीय समितिले महानगरकोमात्रै उम्मेदवार तोक्ने व्यवस्था गरेको छ । संघीयतामैत्री विधान लागु गरेर हामीले प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टीको समिति बनाएका छौँ । सबै निर्णय केन्द्रले गर्ने भए यत्ति धेरै संरचनाको के अर्थ ?’, बैठकमा एक नेताले भने । ती नेताले ६ वटा महानगरबाहेक अन्य स्थानीय तहमा प्रतिशतका आधारमा गठबन्धनमा भागबन्डा हुन नसक्ने बताए ।

    ‘केन्द्रबाट महानगरभन्दा अन्य तहबारे भागबन्डा वा टिकट केहीको पनि निर्णय लिन पाइँदैन । त्यस्तो निर्णय गर्न खोजिए फरक मत राख्नुपर्छ’, ती नेताको भनाई थियो ।

    बैठकमा कम्युनिस्ट पार्टीहरूसँग चुनावी तालमेलको पक्षमा कार्यकर्ता जनता नभएको ठहरसमेत गरेको छ । यद्यपि कार्यकर्ता र जनताको आवाज नसुनी नेतृत्वले सौदा बाजी गर्न खोजेको आरोप शेखर पक्षको छ ।

    ‘पार्टीभित्रका नेता कार्यकर्ताको भनाई नसुन्ने तर अरू पार्टीसँग सौदा बाजी गर्ने प्रवृत्ति देखिएको छ । लाखौँ कार्यकर्ता तालमेलको विरुद्धमा हुँदा पनि गठबन्धनलाई सभापतिले किन आश्वासन दिनुभयो ?’, एक केन्द्रीय सदस्यले बैठकमा भने ।

    बैठकमा सहभागी नेताहरूले स्थानीय तहको उम्मेदवार छनोटमा विधानको व्यवस्था कार्यान्वयन हुनेमा शंका समेत व्यक्त गरे । ‘क्षेत्र, जिल्ला र प्रदेशमा पनि संसदीय समिति छ । तर केन्द्रमा कोसँग नजिक छ भन्ने आधारमा तलसम्मै एक पक्षलाई बाइपास गर्ने सम्भावना बढी छ’, अधिकांश नेताहरूको भनाई छ ।

    बैठकले सभापति देउवालाई भेटेरै विधान अनुसार चल्ने र पार्टीभित्रको आन्तरिक एकतालाई नखलबल्याउन खबरदारी गर्ने निर्णयसमेत गरेको छ ।

  • शेखर समूहको निष्कर्ष- तालमेलको निर्णय केन्द्रीय समितिले गर्न मिल्दैन

    शेखर समूहको निष्कर्ष- तालमेलको निर्णय केन्द्रीय समितिले गर्न मिल्दैन

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला नेतृत्वको समूहले स्थानीय निर्वाचनमा तालमेल गर्ने बारेको निर्णय केन्द्रीय समितिले मात्रै गर्न नमिल्ने बताएको छ ।

    कमलपोखरीस्थित एक होटलमा बसेको कोइराला समूहको बैठकले पार्टीको विधानले महानगरको मेयर र उपमेयर बाहेक अन्य स्थानीय तहबारे निर्णय गर्ने क्षेत्राधिकार प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय समितिलाई दिएका कारण क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न नमिल्ने निष्कर्ष निकालेको हो ।

    बैठकले नेपाल विद्यार्थी संघ र तरुणदलको तदर्थ समिति अध्यक्ष चयनमा पनि असन्तुष्टि जनाएको छ ।

    केन्द्रीय कार्य सम्पादनसमिति बैठकले सभापति शेरबहादुर देउवालाई दिएको म्याण्डेड विपरित अध्यक्ष चयन गरिएको बैठकमा सहभागी एक नेताले बताए ।

    सभापतिले अध्यक्ष चयनका सन्दर्भमा आफूहरुसँग कुनै पनि छलफल र परामर्श नगरेको भन्दै कोइराला समूह असन्तुष्ट बनेको हो ।

    बुधबार मात्रै सभापति देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए ।

  • तरुण दल अध्यक्षमा विद्वान, नेविसंघमा दुजाङ मनोनीत

    तरुण दल अध्यक्षमा विद्वान, नेविसंघमा दुजाङ मनोनीत

    काठमाडौं । नेपाली कांग्रेसले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेको छ ।

    कांग्रेसको गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई भ्रातृ संस्थामा रिक्त रहेका र स्वतः विघटन भएका संस्थाहरुको तदर्थ समिति गठन गर्ने अधिकार दिएको थियो ।

    देउवाले सोही अधिकार प्रयोग गर्दै आज नेविसंघ र तरुण दलमा केन्द्रीय तदर्थ कार्यसमितिमा नेतृत्व चयन गरेका हुन् ।

    तदर्थ समितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन गरिसक्नुपर्ने बताइएको छ ।

    बैठकले मिति नै तोकेर फागुन मसान्तसम्म रिक्त पदमा मनोनय नर्ग र भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्न भनेको थियो ।

    मिति घर्किएपनि समिति अझै गठन हुन सकेको छैन् ।

    सो बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ र नेपाल भूतपूर्व सैनिक संघको केन्द्रीय समिति विघटन गरेर तदर्थ समिति बनाउने जिम्मा देउवालाई दिएको थियो ।

  • रिपोर्टस क्लबमा गठबन्धनका नेता : तीनवटै चुनावमा तालमेल गर्ने दाबी

    रिपोर्टस क्लबमा गठबन्धनका नेता : तीनवटै चुनावमा तालमेल गर्ने दाबी

    काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरूले स्थानीयदेखि संसदको निर्वाचनसम्मै चुनावी तालमेल हुने दाबी गरेका छन् ।
    रिपोर्टस क्लबले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनीहरूले गठबन्धन आफूहरूको बाध्यता भएको जिकिर गरे ।

    नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने बताए । नेपाली जनताको भावनाअनुसार राजनीतिक स्थिरता ल्याउनको लागि गठबन्धन तोड्न नहुने उनको भनाइ छ ।

    नेपाली कांग्रेसका नेता डा. रणबहादुर रावलले अहिले पनि पाँच दलीय गठबन्धनको आवश्यकता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए । गठबन्धन गरेपछि विश्वासका साथ सबै दल अघि बढ्नुपर्नेमा रावलको जोड छ ।

    नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले अहिले पनि नेपाली राजनीतिमा सहमति, सहकार्य र एकता हुने कुरा स्वाभाविक नै भएको बताए । सत्ता गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा सहकार्य गर्नेबारे सकारात्मक रूपमा छलफल चलिरहेको उनको भनाइ छ ।

    त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता नवराज सुवेदीले सबै तहमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल र गठबन्धन हुने दाबी गरे ।

    स्थानीय तहको निर्वाचनको निम्ति आफ्नो पार्टीको तर्फबाट यसको तयारी पर्याप्त रूपले गरिरहेको पनि सुवेदीले बताए ।

  • इलामका कांग्रेसलाई आङ्देम्बेको आश्वासन- ढुक्क हुनुस् तपाईहरुले झलनाथलाई भोट हाल्नु पर्दैन

    इलामका कांग्रेसलाई आङ्देम्बेको आश्वासन- ढुक्क हुनुस् तपाईहरुले झलनाथलाई भोट हाल्नु पर्दैन

    इलाम । नेपाली कांग्रेसका सह महामन्त्री भीष्मराज आङ्देम्बेले माओवादी र नेकपा एस कांग्रेसको फेरो समातेर चुनाव जित्ने दाउमा रहेको भन्दै इलामका कांग्रेसले झलनाथ खनाललाई भोट नहाल्ने दाबी गरेका छन् ।

    बुधवार इलाम क्षेत्र नम्बर १ को कांग्रेस कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सह महामन्त्री आङ्देम्बेले इलामका कांग्रेसले आफ्नै उम्मेदवारलाई रुख चिन्हमै भोट हाल्न पाउने बताए । इलाम क्षेत्र नम्बर १ झलनाथको क्षेत्र हो ।

    उनले भने– गठबन्धनको नाममा झलनाथ खनाल आउने भन्ने चिन्ता साथीहरूलाई छ । तपाईँहरूलाई लागेजस्तो उहाँलाई कांग्रेसले बोक्दैन। यो वा त्यो नाममा झलनाथ खनाल चुनाव लड्न आउनुहुन्न यो दिवास्वप्न हो । यो लेखेर राख्नुहोस् कि उहाँलाई तपाईँहरूले भोट हाल्नु पर्दैन, यो मेरो बचन भयो ।

    खनालले केही दिनअघि कांग्रेसहरु बोरामा पैसा बोकेर आउन सक्ने भन्दै कार्यकर्तालाई सचेत गराएका थिए ।

  • गोकुल बाँस्कोटाको क्षेत्रमा एमालेमा पहिरो, प्रदेश कमिटी सदस्यसहित ३ सय जना कांग्रेसमा प्रवेश

    गोकुल बाँस्कोटाको क्षेत्रमा एमालेमा पहिरो, प्रदेश कमिटी सदस्यसहित ३ सय जना कांग्रेसमा प्रवेश

    काभ्रे । नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुँमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    नेपाली कांग्रेस धुलिखेल नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले हुँमागाईंसहितका नेताहरूलाई कांग्रेसमा स्वागत गरेका छन् ।

    कांग्रेस प्रवेश गरेका हुँमागाईं काभ्रे एमालेको क्षेत्र नम्बर २ का पूर्व अध्यक्ष हुन् । उनीसँगै तत्कालीन काभ्रे गाविसका अध्यक्ष साधुराम बडाल तथा उपाध्यक्ष कृष्णबहादुर बस्नेत, धुलिखेल नगरपालिकाका पूर्व वडा अध्यक्षद्वय निराजन जंगम र दामोदर तिमिल्सिना पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

    कांग्रेसले एमालेका ३ सय बढी कार्यकर्ता पार्टी प्रवेश गरेको दाबी गरेको छ । उनीहरूमध्ये अधिकांश एमाले नेता गोकुल बाँस्कोटाले प्रतिनिधित्व गर्ने क्षेत्रका रहेका छन् ।

    चार दशकदेखि एमालेमा सक्रिय हुँमागाईंले मदन भण्डारीको विचारबाट विचलित भइसकेकाले एमाले त्यागेको बताए । उनले लोकतान्त्रिक चरित्रका कारण आफू एमाले छाडेर कांग्रेसमा प्रवेश गरेको बताए ।

    कार्यक्रममा कांग्रेस प्रवक्ता महतले पार्टीप्रति आकर्षक बढ्ने क्रममा रहेको बताउँदै नयाँ पुरानो नभनी सबैलाई उपयुक्त जिम्मेवारी दिइने बताए ।

    प्रवक्ता महतले कांग्रेसमा आन्तरिक एकता मजबुत हुँदै गएको भन्दै तीनै तहको निर्वाचनमा कांग्रेस जिताउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

  • कांग्रेसको शेखर पक्षका नेताहरूको बैठक बस्दै

    कांग्रेसको शेखर पक्षका नेताहरूको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दैछ । डा. शेखर कोइराला नेतृत्वको समूहले चैत ११ गते बस्ने केन्द्रीय समितिका एजेण्डाबारे सामूहिक धारणा बनाउन छलफल गर्न लागेको हो ।

    नक्सालस्थित एक होटलमा २ बजेपछि सुरु हुने बैठकमा कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरु उपस्थित हुनेछन् । बैठकमा भ्रातृ संस्थाको तदर्थ समिति गठन, संसदीय समिति निर्माण, चुनावी तालमेल र अन्य विविध विषयमा छलफल हुने बताइएको छ ।

    ‘केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा छलफल गर्न लागिएको हो । यो आन्तरिक र स्वभाविक बैठक हो’, शेखर समूहका एक केन्द्रीय सदस्यले भने । आजै कोइरालाले सभापति देउवासँग भ्रातृ संस्था र संसदीय समिति गठनबारे टेलिफोन संवाद गरेका थिए ।

    कांग्रेसमा शेखर समूहका ४ जना पदाधिकारी र डेढ दर्जन बढी केन्द्रीय सदस्यहरू छन् । बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियारलगायत केन्द्रीय सदस्यहरू उपस्थित हुनेछन् ।

  • देउवा-शेखर संवाद सुरू, भ्रातृ संस्था र चुनावी तालमेलबारे छलफल

    देउवा-शेखर संवाद सुरू, भ्रातृ संस्था र चुनावी तालमेलबारे छलफल

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भ्रातृ संस्थाको तदर्थ समिति गठनमा भएको ढिलाइबारे चासो राखेका छन् ।

    गत पुसमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमा देउवाका निकटतम प्रतिस्पर्धी रहेका नेता कोइरालाले कार्यसम्पादन समितिको निर्णय कार्यान्वयनमा किन ढिलाइ भयो भनी सभापति देउवालाई सोधेका हुन् । जवाफमा देउवाले सबैलाई समेटेर छिट्टै भ्रातृ संस्थाहरूको तदर्थ समिति ल्याउने बताएका छन् ।

    दुवै नेताबीच लामो समयपछि संवाद भएको हो । महाधिवेशनपछि देउवाले शेखरसँग औपचारिक छलफलसमेत गरेका छैनन् । शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको सन्दर्भमा शेखर आफैंले देउवालाई टेलिफोन गरी समसामयिक विषयमा छलफल गरेका हुन् । सो क्रममा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टीका आन्तरिक निर्णयहरूमा सबैलाई समेटेर जान आफू प्रतिबद्ध रहेको बताएका छन् ।

    दुई नेताबीच केन्द्रीय समितिको बैठकका अन्य एजेण्डाबारे पनि छलफल भएको बताइन्छ । सभापति देउवा स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पक्षमा छन् । कोइरालाले भने कांग्रेस एक्लै निर्वाचन लड्नुपर्ने अथवा तालमेलबारे निर्णय लिन स्थानीय समितिलाई नै अधिकार दिनुपर्ने बताउँदै आएका छन् ।

    केन्द्रीय समितिको आगामि बैठकबाट तालमेलको पक्षमा सर्वसम्मत निर्णय लिन सभापति देउवाले पनि आन्तरिक छलफल अगाडि बढाएका छन् । देउवा र शेखरबीच केन्द्रीय समिति बैठक अगावै भेटेरै थप विषयमा छलफल गर्ने सहमति पनि बनेको बताइन्छ ।

    केन्द्रीय समितिको बैठकबाट संसदीय समितिसमेत बनाइँदैछ । शेखरले पार्टीको विधानअनुसार हुने निर्णयमा आफ्नो साथ रहने बताउँदै आएका छन् । महाधिवेशनपछि उनले पार्टीको विधान र कार्यकर्तालाई न्याय हुनेगरी निर्णय भएमा आफूलाई भागबण्डा नचाहिने बताएका थिए । केन्द्रीय समिति बैठकअघि देउवा र शेखरबीचको संवादहीनता टुट्नुलाई कांग्रेसवृत्तमा अर्थपूर्णरूपमा हेरिएको छ ।

  • कांग्रेसमा चुनावी तालमेलको पक्षमा को, विपक्षमा को ?

    कांग्रेसमा चुनावी तालमेलको पक्षमा को, विपक्षमा को ?

    काठमाडौं । स्थानीय तह निर्वाचन आउन डेढ महिनामात्रै बाँकी छ । सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलको चर्चा भए पनि तार्किक निष्कर्षमा पुगिसकेको छैन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ठोस निर्णय नगरेका कारण स्थानीय निर्वाचनमा तालमेल हुने वा नहुने यकिन भइसकेको छैन ।

    कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीको बैठकसम्म धैर्य गर्न गठबन्धनका नेताहरुलाई भनेका छन् । यद्यपि कांग्रेसभित्र चुनावी तालमेलबारे साझा धारणा बनिसकेको छैन ।

    सभापति देउवाले स्थानीय निर्वाचनलगायतका विषयमा छलफल गर्न शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएका छन् । सोही बैठकबाट ‘गठबन्धन जोगाउन चुनावी तालमेल गरेर जाने निर्णय’ गराउने देउवाको तयारी छ । यद्यपि संस्थापन इतरपक्ष चुनावी तालमेलको पक्षमा छैन ।

    डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतले निरन्तर चुनावी तालमेल गर्न नहुने मत राख्दै आएका छन् । सभापति देउवाले गठबन्धनको पक्षमा सके सहमतिमा नसके बहुमतबाटै भए पनि निर्णय लिने तयारी थालेका छन् । ‘गठबन्धन अहिलेको आवश्यकता पनि हो बाध्यता पनि हो । कांग्रेसले गठबन्धनका दलहरुलाई साथमा लिएर हिड्न उपयुक्त चुनावी तालमेल गर्नैपर्छ । पार्टीभित्र यसबारे फरक मत भएपनि निर्णय लिन सभापति तयार हुनुहुन्छ’, सभापति देउवानिकट एक नेताले भने ।

    अर्कोतिर शेखर पक्ष भने केन्द्रीय समितिको बैठकमा चुनावी तालमेलको विरुद्धमा उभिने तयारी छ । चुनावी तालमेल गर्दा पार्टीले नेतृत्व नपाएका स्थानीय तहमा संगठन बिग्रने, आमनिर्वाचनको तयारीमा असर पर्ने तथा वैचारिक हिसाबले पनि तालमेलको लाभ कांग्रेसलाई नहुने शेखर पक्षको दाबी छ ।

    ‘चुनावी तालमेल गरेपनि हाम्रो सैद्धान्तिक धरातल मिल्दैन । कम्युनिष्टहरुले कांग्रेसलाई भोट दिदैंनन् । हामी एक्लै लड्नु नै उपयुक्त हो’, शेखर कोइरालाले केहीदिनअघि मोरङमा भनेका थिए ।

    को पक्षमा, को विपक्षमा ?

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्नुपर्ने पक्षमा सभापति शेरबहादुर देउवा र उनीनिकट सबैजसो पदाधिकारी रहेका छन् । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चुनावी तालमेलको पक्षमा छन् । चुनावी तालमेलको विपक्षमा डा।शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्व महामन्त्री डा. शशांक कोइराला लगायत रहेका छन् ।

  • कांग्रेस नेता सिंहको एमालेलाई प्रश्न: महत्त्वपूर्ण निर्णयमा ढुलमुले कुरा गर्ने, अनि क्रान्तिकारी भाषण दिने ?

    कांग्रेस नेता सिंहको एमालेलाई प्रश्न: महत्त्वपूर्ण निर्णयमा ढुलमुले कुरा गर्ने, अनि क्रान्तिकारी भाषण दिने ?

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्नेसक्ने पार्टी कांग्रेस मात्रै भएको बताएका छन् । ठूला राजनीतिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले नै गरेको र अस्थिरताबाट निकाससँगै जनताले चाहेको विकास कांग्रेसले नै दिएको भन्दै उनले अनावश्यक भ्रमको पछि नलाग्न आग्रह गरे ।

    आज काठमाडौंको शंखमुलमा ‘घर घर जाऊ, कांग्रेस जिताऊ’ अभियान अन्तर्गत आयोजना गरेको भेटघाट कार्यक्रममा नेता सिंह देश संकटमा पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिने भन्दै एमालेप्रति आक्रोश पोखे ।

    अब देशको हित गर्ने पार्टी र ढुलमुले पार्टी छट्याउनुपर्ने नेता सिंहले बताए । कांग्रेसले मुलुकको राजनीति र सामाजिक आर्थिक रुपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले कामै नगर्ने दलहरुको सपनाको पछि नलाग्न आह्वान गरे ।

    सिंहले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन हुने भएकाले टोलटोलका खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

  • कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका बराल

    कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका बराल

    लमजुङ । नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुखमा लमजुङका नेता हरिप्रसाद बराल नियुक्त भएका छन् । पार्टीको प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सदस्य रहेका बराललाई ४ चैतमा संगठन विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।

    उनलाई पार्टीको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ४, धारा १० (झ) बमोजिम पार्टी सभापति शर्माले नियुक्त गरेका हुन् । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका बराल काग्रेसका निवर्तमान जिल्ला सचिव हुन् ।

    बेशीसहर नगरपालिका ३, बाहुनबेंसी घर भएका बराल ०३९ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य लिएर राजनीतिक क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि नेविसंघ मर्स्याङ्दी बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै जल्ला सचिवमा निर्वाचित बराल नेविसंघको जिल्ला अध्यक्षमा ३ पटक निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिबाट तरुणमा प्रवेश गरेका बराल तरुण दलको जिल्ला सचिव र महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।

    कांग्रेसको दशौं महाधिवेशन अन्तर्गत ०५७ मा आयोजित जिल्ला अधिवेशनबाट नेपाली कांग्रेसको जिल्ला सदस्य हुँदै सहसचिव भएका उनी १३ औं महाधिवेशन अन्तर्गत २०७२ मा जिल्ला सचिवमा निर्वाचित भएका थिए ।

    १४ औं महाधिवेशनमा प्रदेश अधिवेशन अन्तर्गत बराल गण्डकी प्रदेश सदस्य बनेका छन् । नेपाली कांग्रेसको विधान अनुसार कार्य समितिका सदस्यलाई सभापतिले विभाग प्रमुख बनाउन सक्ने प्रावधान अनुरुप बराललाई सभापति शर्माले संगठन विभाग नियुक्त गरेका हुन् ।

  • महानगरले अस्वीकृत गरेको ‘गृहिणी भत्ता’ मेयरकी आकांक्षी खड्गीको चुनावी एजेन्डा !

    महानगरले अस्वीकृत गरेको ‘गृहिणी भत्ता’ मेयरकी आकांक्षी खड्गीको चुनावी एजेन्डा !

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी आसन्न स्थानीय चुनावमा मेयरकी आकांक्षी हुन् । हालै एक सार्वजनिक कार्यक्रममा पार्टीबाट मेयर टिकट दाबी गर्ने क्रममा उनले एउटा रोचक एजेन्डा अघि सारिन् । खड्गीले भनिन्, ‘अब घरको काम गर्ने महिलाहरूलाई सरकारले गृहिणी भत्ता दिनुपर्छ ।’

    उनले यो विषय हचुवामा उठाएको नभई चुनावमा टिकट पाएको खण्डमा यसलाई आफ्नो भोट माग्ने एजेन्डा नै बनाउन खोजेकी छन् । गृहिणी भत्ता दिनुपर्ने प्रस्ताव उनले पहिलो पटक गरेकी पनि होइनन् । गृहिणी भत्ता दिने सुरुवात काठमाडौं महानगरबाट गर्न चाहेकी थिइन् उनले । उनी काठमाडौं महानगरपालिकाको उपमेयर भएर आएपछि नगर सभाको बैठकमा लगेको प्रस्तावमा यो कुरा उल्लेख थियो ।

    नेपाली कांग्रेसको नेतृत्व गर्दै १५ जनाको हस्ताक्षरसहित महानगरको नगर सभामा गृहिणी भत्ता दिनुपर्ने अलग्गै प्रस्ताव लिएर गएकी थिइन् उपमेयर खड्गीले । उनको प्रस्ताव नगर सभामा पेस गर्न दिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । शाक्यका अनुसार उक्त प्रस्तावबारे नगर सभामा छलफल पनि भएको थियो तर, अस्वीकृत भयो । खड्गीको प्रस्तावलाई अन्य नगर सभा सदस्यले अस्वीकृत गरिदिएका थिए ।

    सबै महानगरवासीलाई महिनाको ५ हजार गृहिणी भत्ता दिने हो भने अहिले भएको आम्दानीले मात्र होइन नेपाल सरकारको अनुदानले पनि नपुग्नेपछि उनी पछाडि हटिन् । संघीय सरकार आफैँ सामाजिक सुरक्षा भत्ता चुनावअघि ५ हजार पुर्‍याउने वाचा पुरा गर्न नसकेर सकसमा थियो । यस्तोमा एउटा स्थानीय सरकारले महिनाको ५ हजार गृहिणी भत्ता दिन सम्भव नै नभएको भन्दै सिंगो हलले उनको प्रस्ताव अस्वीकृत गर्‍यो ।

    महानगरको नगर सभाबाट अस्वीकृत भएको प्रस्ताव खड्गीले फेरि चुनावको मुखमा उत्खनन गरेकी हुन् । आइतबार लैगिक हिंसासम्बन्धी एउटा बहस कार्यक्रममा बोल्दै उनले गृहिणी भत्ताको कुरा उठाएकी थिइन् । यसको सुरु संघीय सरकारबाट गर्न महिला मन्त्रीहरूलाई भेटेर प्रस्ताव राखिसकेको उनको दाबी छ । महानगरको नगर सभामा ५ हजार रुपैयाँ भत्ता दिनुपर्ने प्रस्ताव गरेकी उनले यसपालि चाहिँ एक सय रुपैयाँबाट सुरु गर्न सकिने बताएकी छन् ।

    बिहानदेखि बेलुकासम्म घरको कामकाजी गर्ने गृहिणीलाई भत्ता उपलब्ध गराउनुपर्नेमा उनको जोड छ । संघीय सरकारले सुरु गरे पालिकाहरूले पनि जतिसक्दो थपेर गृहिणी भत्ता दिन सक्ने उनले बताइन् ।

  • स्थानीय आवश्यकताका आधारमा गठबन्धन : नैनसिंह महर

    स्थानीय आवश्यकताका आधारमा गठबन्धन : नैनसिंह महर

    धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तहको आवश्यकताका आधारमा गठबन्धन हुने बताएका छन्  ।

    कांग्रेसको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुक्लाफाँटा नगर कार्यसमितिको महरले गठबन्धन गर्ने नगर्ने भन्दा पनि पहिलो प्राथमिकता आन्तरिक एकता भएको बताए । स्थानीय नेता, कार्यकर्ताको आवश्यकता अनुसार गठबन्धन हुने, नहुने विषयमा पार्टीले टुंगो लगाउने उनको भनाई थियो ।

    अभियानमा जनताको उत्साहजनक सहभागीले रुख चिन्हमा भोट हाल्न वञ्चित भएका जनता चुनावमा रुखमा भोट हाल्न आतुर भएको बताए ।

    ‘स्थिर सरकार,समृद्ध नेपाल र सुखी नेपालीको’ नारा दिएर दुई तिहाइ बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले ३ वर्षको शासनकाल जनताका आँखामा छारो हालेर कम्युनिस्ट नेताहरू अर्बौँ रकमको भ्रष्टाचारमा लिप्त र सरकार रहँदा काण्डै काण्ड गरेको आरोप लगाए  ।

    कांग्रेस पार्टीले जनताका माझमा गएर कम्युनिस्ट सरकारले दिएका आश्वासन र भ्रमलाई भण्डाफोर गर्दै काङ्ग्रेस पार्टीले लोकतन्त्र, समावेशीकरण र देश विकासमा गरेका कामलाई जनतालाई सूचित गरेर काङ्ग्रेसप्रति आकर्षण गराउनु पर्ने बताए ।

    नेता महर मंगलबार कञ्चनपुर क्षेत्र नम्बर २ का विभिन्न कार्यक्रममा व्यस्त रहे ।

    विभिन्न कार्यक्रममा माओवादी केन्द्र र एमाले पार्टीका नेता कार्यकर्ताले पार्टी परित्याग गरी कांग्रेस पार्टीमा प्रवेश गरेका थिए ।

  • महानगरको टिकट बाँड्ने कांग्रेसको संसदीय बोर्ड, यस्तो छ सम्भावित सूची

    महानगरको टिकट बाँड्ने कांग्रेसको संसदीय बोर्ड, यस्तो छ सम्भावित सूची

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चैत ११ गते शुक्रवार बस्दै छ । बैठकमा संसदीय समिति गठनको एजेण्डासमेत रहेको छ ।

    कांग्रेस विधानले विभिन्न तहका निर्वाचनमा पार्टीको तर्फबाट बन्ने उम्मेदवार चयनका लागि तहगत रूपमा संसदीय समितिको व्यवस्था गरेको । कांग्रेसवृत्तमा ‘संसदीय बोर्ड’ का रूपमा परिचित यो समितिलाई निर्वाचनमा ‘टिकट बाँड्ने’ समितिका रूपमा पनि चिनिन्छ ।

    कांग्रेस विधानको दफा ३१ ले केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्रमा संसदीय समिति रहने व्यवस्था गरेको छ । प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले आफ्नो क्षेत्रभित्रको गाउँपालिका वा नगरपालिकाको वडा तहका उम्मेदवारहरूको टुंगो लगाउने प्रावधान रहेको छ । प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले गाउँ÷ नगर वडाका अध्यक्ष र सदस्यहरूको टुंगो लगाउनेछ ।

    त्यस्तै जिल्ला सभापतिको नेतृत्वमा रहने जिल्ला संसदीय समितिले सम्बन्धित जिल्लाभित्र रहेको गाउँपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाउने अधिकार विधानले प्रत्यायोजन गरेको छ । प्रदेश संसदीय समितिले भने प्रदेशभित्रका नगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार निश्चित गर्नेछ ।

    कांग्रेस विधानले महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्ने अन्तिम अधिकार भने केन्द्रीय संसदीय समितिलाई दिएको छ । सोही समितिले प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यको उम्मेदवारसमेतको टुंगो लगाउनेछ ।

    को को हुन्छन् केन्द्रीय संसदीय समितिमा ?

    कांग्रेस विधान अनुसार केन्द्रीय संसदीय समितिमा सभापति , उपसभापतिहरू, महामन्त्रीहरू र पदाधिकारीहरू स्वतः रहनेछन् । त्यस्तै केन्द्रीय सदस्यमध्येबाट सभापतिले प्रस्ताव गरी बढीमा ११ जनालाई केन्द्रीय संसदीय समितिमा राख्न सक्नेछन् ।

    कांग्रेसमा विगतमा विधानले व्यवस्था गरेबाहेक शीर्ष वरीयताका नेताहरूलाई संसदीय समितिमा ल्याउने प्रचलन रही आएको छ । संसदीय समिति बनाउँदा समावेशी सिद्धान्तलाई पनि ध्यान दिनुपर्ने कांग्रेस विधानमा उल्लेख छ ।

    यस्तो छ सम्भावित संसदीय समिति 

    कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको शुक्रबारको बैठकबाट संसदीय समिति गठन गर्दैछन् । समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा स्वतः रहनेछन् ।

    विधानअनुसार नै सहमहामन्त्रीहरु फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी, डिना उपाध्याय, भीष्मराज आङदाम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदी पाण्डे र जीवन परियार संसदीय समितिमा रहनेछन् । सभापति देउवाले कोषाध्यक्ष मनोनीत गरिसकेका छैनन् । मनोनीत भएको अवस्थामा कोषाध्यक्ष पनि संसदीय समितिमा रहनेछन् ।

    त्यसबाहेक सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, १४ औँ महाधिवेशनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला, निवर्तमान उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, निवर्तमान महामन्त्री डा.शशांक कोइराला, पूर्व उपसभापति गोपालमान श्रेष्ठ , पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलापनि संसदीय समितिमा समेटिनेछन् ।

    पदाधिकारी बैठकमा पदेन रहने गरेका प्रवक्ता डा. प्रकाशशरण महत पनि संसदीय समितिमा रहने बताइन्छ । त्यसबाहेक पूर्व सहमहामन्त्री सुनीलबहादुर थापा पनि संसदीय समितिमा पर्नसक्ने बताइन्छ । चित्रलेखा यादव, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेतालाई पनि संसदीय समितिमा समेट्नुपर्ने दबाब देउवालाई रहेको छ ।

    कांग्रेसको सम्भावित केन्द्रीय संसदीय समिति 

    सभापति – शेरबहादुर देउवा

    उपसभापतिहरू – पूर्णबहादुर खड्का र धनराज गुरुङ

    महामन्त्रीहरू – गगन थापा र विश्वप्रकाश शर्मा

    सहमहामन्त्रीहरु – फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी, डिना उपाध्याय, भीष्मराज आङदाम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदी पाण्डे र जीवन परियार

    कोषाध्यक्ष – मनोनीत हुन बाँकी ।

    प्रवक्ता – डा. प्रकाशशरण महत

    सदस्यहरू– रामचन्द्र पौडेल, डा. शेखर कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, सुनीलबहादुर थापा, चित्रलेखा यादव र बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की ।