Category: नेपाली कांग्रेस

  • चुनावी तालमेल दवावमा हुँदैनः अध्यक्ष पुन

    चुनावी तालमेल दवावमा हुँदैनः अध्यक्ष पुन

    रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुनले चुनावी तालमेल कतैको दवाव र कसैको लाभमा नभएर आवश्यक्ता अनुसार स्थानिय तहबाट मात्र गरिनु पर्ने बताएका छन् । उनले पार्टी कार्यकर्ताहरुको सुझाव र स्थिति हेरेर मात्र स्थानिय तहबाट गरिँदा उपयुक्त हुने बताए ।

    कांग्रेसको ‘घर घर जाउ कांग्रेस जिताउ’ भन्ने अभियानको क्रममा पार्टीको क्षेत्रीय कार्य समिति क्षेत्र नं- २(ख) को आयोजनामा भएको आमसभा कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले चुनावी तालमेलका लागि जिल्ला, क्षेत्रीय, नगर र गाउपालिका, वडाहरुबाट सुझाव संकलन गर्नुपर्ने बताए । स्थानीय तहमा गरिने चुनावी तालमेलमा प्रदेशबाट कुनै हस्तक्षेप भने नगर्ने उनले बताए ।

    उनले आउने बैशाख ३० मा हुने निर्वाचनमा पार्टीले जित्ने उम्मेदवारलाई टिकट दिनुपर्ने बताए । उनले भने, ‘नयाँ या पुरानो भन्ने हुँदैन, पार्टीले जित्ने उम्मेदवारलाई टिकट दिनुपर्छ ।’ एमसिसी देशको विकासका लागि आएको अनुदान रहेको र यसको सदुपयोग गर्नुपर्ने बताउँदै उनले एमसिसीबारे आएको भ्रमलाई पार्टी नेता कार्यकर्ताहरुले चिर्नुपर्ने बताए ।

    सो अवसरमा पार्टीका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले पार्टी, नेता, कार्यकर्ता एक भएर चुनावमा जाने बातावरण बनाउनुपर्ने बताए । उनले जित्ने उम्मेदवारलाई नै पार्टीले प्राथमिकतामा राखेको बताउँदै जिल्लाका १० वटै पालिकामा कांग्रेसले जित्ने दावी गरेका थिए ।

  • प्रधानमन्त्रीको भारत भ्रमण : उद्घाटनदेखि तीर्थाटनसम्म

    प्रधानमन्त्रीको भारत भ्रमण : उद्घाटनदेखि तीर्थाटनसम्म

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (शुक्रबार) देखि २ दिने भारत भ्रमण गर्दैछन् । गत असार २९ मा पाँचौपटक मुलुकको कार्यकारी प्रधानमन्त्री भएयता प्रधानमन्त्री देउवाले पहिलोपटक छिमेकी मित्रराष्ट्रको भ्रमण गर्न लागेका हुन् । त्यसअघि प्रधानमन्त्री देउवा गत कात्तिकमा ग्लास्गो सम्मेलनका दौरान यूरोप पुगेका थिए ।

    यूरोप भ्रमणकै दौरान अमेरिकी राष्ट्रपति जो बाइडन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वनेताहरूसँग देउवाले शिष्टाचार भेट गरेका थिए । गत जनवरीमै ‘गुजरात समिट’ का लागि भारत जाने तय भएपछि कोरोनाको तेस्रो लहरका कारण सम्मेलनसँगै देउवाको भ्रमण स्थगित भएको थियो ।

    नेपालको राजनीति र दिल्लीको यात्रा

    नेपालको पछिल्लो राजनीतिक उतारचढावका दौरान नेपाल-भारत उच्चस्तरीय भ्रमण हुन सकेका छैनन् । खासगरी २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता नेपालको राजनीतिमा धेरै उतारचढाव आइसकेको छ ।

    प्रतिनिधिसभाको पहिलो विघटन असफल भएपछि ओली नेतृत्वकै सरकारले ‘लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा’ कार्यान्वयनमा आएको थियो । संविधान संशोधनमार्फत् नेपालले जारी गरेको नयाँ नक्साप्रति भारतीय असन्तुष्टी विभिन्न माध्यमबाट व्यक्त हुँदै आएको छ ।

    प्रतिनिधिसभाको दोस्रो विघटन र सर्वोच्च अदालतको परमादेशपछि नेपालमा राजनीतिक समीकरण फेरबदल भएको छ । ओली नेतृत्वको बलियो नेकपा ३ टुक्रा भएको अवस्था छ । कमजोर प्रतिपक्ष मानिएको कांग्रेसले ५ दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ । नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे विगतमा जस्तो तीब्र प्रतिक्रिया जनाउन छाडेका कारण प्रधानमन्त्री देउवाको भारतभ्रमण राजनीतिकरूपमा पनि अर्थपूर्ण मानिएको छ ।

    नेपालको पछिल्लो राजनीतिक उतारचढावका दौरान नेपाल-भारत उच्चस्तरीय भ्रमण हुन सकेका छैनन् । खासगरी २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता नेपालको राजनीतिमा धेरै उतारचढाव आइसकेको छ ।

    प्रतिनिधिसभा पुनःस्थापना, नेकपा सरकारको बहिर्गमन, कांग्रेस नेतृत्वमा गठबन्धन सरकारको निर्माण, एमसीसी सम्झौता अनुमोदन र स्थानीय निर्वाचन घोषणा लगायतका घटनाक्रम नेपाली राजनीतिमा ताजा रहेका छन् । विगतदेखि नै नेपालको आन्तरिक राजनीतिमा चासो राख्ने भारतीय संस्थापनले यसपटक प्रधानमन्त्री देउवाको भ्रमणमा कूटनीतिक माध्यमबाट प्रस्तुत गर्ने राजनीतिक ‘धारणा’ मा दुवै देशको चासो रहनेछ ।

    प्रधानमन्त्रीका प्राथमिकता

    भ्रमण तालिकालाई हेर्ने हो भने प्रधानमन्त्री देउवाको भारत भ्रमण ‘हतारो’ मै टुंगिनेछ । शुक्रबार दिउँसो ३ बजे दिल्ली पुगेपछि प्रधानमन्त्री देउवा भेटघाट र औपचारिक समारोहमा निरन्तर व्यस्त रहनेछन् ।

    प्रधानमन्त्री देउवाको शनिबारको कार्यतालिका भने भ्रमणको मुख्य प्राथमिकता अन्तर्गत पर्नेछ । जहाँ प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । सो भेटलगत्तै दुवै देशका प्रधानमन्त्री संयुक्त पत्रकार सम्मेलनमा सरिक हुनेछन् भने नेपाल-भारत रेलसेवाको संयुक्त उद्घाटन गर्नेछन् ।

    रेलसेवाको उद्घाटनबाहेक नेपालले प्रधानमन्त्रीको भ्रमणका दौरान केही अन्य विषयहरूको उठान गर्नेछ । वर्षायाममा नेपाललाई बढी हुने बिजुली खरिदका लागि नेपालले भारत सरकारलाई आग्रह गर्ने तयारी गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि भारतीय अकाशको रुट प्रदान गर्न पनि नेपालले भारतसँग आग्रह गर्नेछ ।

    प्रधानमन्त्री देउवा भारत भ्रमणको दौरान ‘धर्मकर्म’ मा पनि व्यस्त रहनेछन् । धार्मिक सहरका रूपमा प्रसिद्ध बनारसमा प्रधानमन्त्री देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । बनारसमा विशुद्ध धार्मिक गतिविधिमा प्रधानमन्त्री देउवा व्यस्त रहनेछन् ।

    देउवाले विगतमा आफैं प्रधानमन्त्री हुँदा भारतसँग महाकाली सम्झौतामार्फत तयार गरेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउने विषलाई पनि प्राथमिकतामा राखेका छन् । त्यसबाहेक दुवै देशका प्रबुद्ध व्यक्तिहरू सम्मिलित कार्यदल (ईपीजी) ले दिएको प्रतिवेदनबारे पनि नेपाल पक्षले चासो राख्नेछ ।

    भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतमा रहेका नेपाली समुदायसँग नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममार्फत र भारतीय उद्योगी व्यवसायीसँग भारतीय उद्योगीहरूको संस्थाले आयोजना गर्ने कार्यक्रममार्फत अन्तरक्रिया गर्नेछ ।

    तीर्थाटन पनि सँगै

    प्रधानमन्त्री देउवा भारत भ्रमणको दौरान ‘धर्मकर्म’ मा पनि व्यस्त रहनेछन् । धार्मिक सहरका रूपमा प्रसिद्ध बनारसमा प्रधानमन्त्री देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । बनारसमा विशुद्ध धार्मिक गतिविधिमा प्रधानमन्त्री देउवा व्यस्त रहनेछन् ।

    प्रधानमन्त्री देउवासँगै उनकी पत्नी, कांग्रेस केन्द्रीय सदस्य आरजु राणा पनि साथमा हुनेछिन् । बनारसमा साँझको आरती र काशीनाथमा बिहानको पूजा सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्कनेछन् ।

  • औरहीकी उपाध्यक्ष यादवले छाडिन् जसपा, कांग्रेस प्रवेश गर्ने तयारी

    औरहीकी उपाध्यक्ष यादवले छाडिन् जसपा, कांग्रेस प्रवेश गर्ने तयारी

    जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीताकुमारी यादव जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेकी छन् ।

    स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उपाध्यक्ष यादवले जसपा छाडेकी हुन् । औरही गाँउपालिका-३ की यादवले विज्ञप्ति जारी गरेर साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।

    केन्द्रीय अध्यक्ष समक्ष निवेदन दिएपनि सुनवाइ नभएको, जिल्ला अध्यक्षलाई दिएको निर्देशन पालना नभएको र पार्टी हितविपरीत काम गर्नेलाई कारबाही नगरेको उनको भनाइ छ ।

    पार्टीमा व्यक्तिवादी हाबी भएको, आफूमाथि अन्तर्घात गरेको, राम्रो कामको मूल्याकंन नगरेको र उल्टै अपमानित गर्ने जस्ता प्रवृत्तिले गर्दा पार्टी परित्याग गरेको उपाध्यक्ष यादवको आरोप छ ।

    स्रोतका अनुसार उपाध्यक्ष यादव नेपाली कांग्रेसमा प्रवेश गर्न लागेकी हुन् । उनलाई प्रवेश गराउन औरही गाँउपालिका ३ मै नेपाली कांग्रेसले चैत २५ मा कार्यक्रम राखेको छ ।

  • मलाई प्रधानमन्त्री बनाउने दलहरूलाई अप्ठ्यारोमा पर्न दिन्नँ : देउवा (भिडिओ)

    मलाई प्रधानमन्त्री बनाउने दलहरूलाई अप्ठ्यारोमा पर्न दिन्नँ : देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुने निर्णय भइसकेकोले जस्तोसुकै अप्ठ्यारो पनि सामना गर्ने बताएका छन् ।

    रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा बोल्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचनमा गठबन्धनको सहकार्य जारी राख्ने निर्णय कांग्रेसले गरिसकेकोले अब कुनै समस्या नपर्ने बताए । उनले आफूलाई सहयोग गरेर प्रधानमन्त्री बनाउनेहरूलाई आफूले असहयोग नगर्ने बताए ।

    ‘हाम्रो पार्टीले गठबन्धनलाई सँगै लैजाने निर्णय गरेको छ । अरु पार्टीका नेताहरुको सहयोगमा म प्रधानमन्त्री भएको हो । मलाई सहयोग गर्ने पार्टीसँग मिलेर जाने हो । अप्ठ्यारो त पर्नसक्छ तर त्यसलाई समाधान गरेर अगाडि बढ्छौं । त्यसमा चिन्ता गर्ने कुरा छैन’, देउवाले भने ।

    उनले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सूचना प्रविधिको विकाससँगै मिथ्या र भ्रामक समाचारको प्रभाव बढ्न थालेको भन्दै त्यसलाई पत्रकारिता क्षेत्रले नै निरुत्साहन गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड रहेको थियो ।

  • निर्वाचनमा तालमेल बाध्यकारी हैन : महामन्त्री शर्मा

    निर्वाचनमा तालमेल बाध्यकारी हैन : महामन्त्री शर्मा

    काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा तालमेल बाध्यकारी नभएको बताएका छन् ।

    उनले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा आज बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा भने तालमेल हुने बताए ।

    ‘निर्वाचनमा अन्य दलसँगको तालमेल बाध्यकारी भने हैन, तर आवश्यकताका आधारमा स्थानीय स्थिति र भावनामा तालमेल हुन्छ’, शर्माले भने ।

    उनले पार्टी केन्द्रीय समितिले स्थानीय आवश्यकताको आधारमा सम्बन्धित स्थानीय तहले तालमेल गर्न सक्ने बताए । उनले भने, ‘गठबन्धन हुँदा भने साझा चुनावी घोषणापत्र बनाउनुपर्ने हुन्छ ।’ गठबन्धन हुने स्थानीय तहमा सुझबुझपूर्ण ढङ्गले पार्टीले बनाएको नियमकै आधारमा उम्मेदवार छनोट हुने उनले दोहोर्‍याए ।

    नेता शर्माले कांग्रेसलाई अधिकांश स्थानीय तहमा निर्वाचित गराउन तालमेल गर्न लागिएको दाबी गरे ।

    ‘गठबन्धन हुँदा सहयात्री दलबीच कुन तहमा कस्ता उम्मेदवारी दिने भन्ने विषयले चर्चा पाउन थालेको छ, यसबारे पार्टीको संसदीय बोर्डले निर्णय गर्छ’, उनले भने ।

    उनले १५५ स्थानीय तहमा कांग्रेसका उम्मेदवार पराजित भएका स्थानमा दश प्रतिशत र पराजित ८४ स्थानीय तहमा पाँच प्रतिशत मत बढाउँदा विजयी हुनसक्ने तथ्याङ्क आँकलन गरेका थिए ।

    जिल्ला सभापति तीर्थ लामाले आसन्न निर्वाचनलक्षित पार्टीको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानसँगै सङ्गठन विस्तारमा लागिएकाले जिल्लाको १३ स्थानीय तहमै नेपाली कांग्रेस विजयी हुने योजना बनाइने बताए ।

  • कांग्रेसको निर्वाचन परिचालन समितिले काम थाल्यो

    कांग्रेसको निर्वाचन परिचालन समितिले काम थाल्यो

    काठमाडौं । स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको नेपाली कांग्रेसले चुनावी तयारी सुरू गरेको छ ।

    कांग्रेस केन्द्रीय समितिको बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको थियो । समितिले आजैदेखि काम सुरू गर्दैछ ।

    उपसभापति खड्काले निर्वाचन तयारीका लागि आज सातै प्रदेशका सभापति र केन्द्रीय पदाधिकारीहरूको बैठक राखेका छन् । निर्वाचन परिचालन समितिलाई पूर्णता दिने र निर्वाचन लक्षित योजना बनाउनेबारे बैठकमा छलफल हुने बताइएको छ । बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

  • अन्ततः एमालेविरुद्ध बन्ने भयो महागठबन्धन

    अन्ततः एमालेविरुद्ध बन्ने भयो महागठबन्धन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध चुनावी महागठबन्धन बन्न पक्का भएको छ । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले ‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्नसक्ने’ निर्णय गरेसँगै सत्ता गठबन्धनका सबै दल चुनावी महागठबन्धनको पक्षमा उभिएका हुन् ।

    सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा यसअघि नै चुनावी तालमेलको पक्षमा उभिइसकेका छन् । गठबन्धनका अन्य दलले कांग्रेसकै औपचारिक निर्णय पर्खिरहेका थिए । कांग्रेस केन्द्रीय समितिको मंगलबार सम्पन्न बैठकले तालमेलको पक्षमा निर्णय लिएको छ ।

    ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्नसक्ने नीतिगत निर्णय यो बैठक गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।

    कांग्रेसले आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णयमा पुग्नुअघि ३ दिनसम्म केन्द्रीय समितिमा छलफल गरेको थियो । छलफलमा अधिकांशले स्थानीय तहको निर्वाचन भएकाले आवश्यक स्थानमा तालमेल गर्नुपर्नेमा जोड दिएका थिए । सभापति शेरबहादुर देउवा स्वयंले ‘एमाले अझ बलियो भएकाले तालमेल गर्नैपर्ने’ बताएका थिए ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले त बैठकमा विशेष समय लिएर ‘केपी ओलीलाई साइजमा राख्न’ चुनावी तालमेल गर्नुपर्ने बताएका थिए । ‘एमालेविरुद्ध हाम्रो मुख्य प्रतिस्पर्धा हो । बरु माओवादी र समाजवादीलाई भोट हालेर भएपनि एमालेलाई साइजमा राख्नुपर्छ’, पौडेलले बैठकमा भनेका थिए । गठबन्धनको पक्षमा रहेका सबै जसो नेताहरुले ‘तालमेल नगरे स्थानीय निर्वाचनमा एमाले नै पहिलो हुने’ तर्क पेश गरेका थिए । सभापति देउवाले त सार्वजनिक कार्यक्रममै ‘एमालेको शक्ति नघटेको’ टिप्पणी गरेका थिए । यहीकारण कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

    कांग्रेसका एक केन्द्रीय सदस्य ‘आवश्यकता’ भन्नु नै एमालेलाई जित्न नदिने रणनीति भएको बताउँछन् । ‘जहाँ जहाँ हामीले सहज ढंगले जित्छौ त्यहाँ ठिकै छ । जहाँ हामीभन्दा एमाले बलियो छ त्यहाँ तालमेल हुन्छ । तालमेल भनेको हामीले जित्न मात्रै होइन, एमाले हराउन पनि हो’, ती केन्द्रीय सदस्यको भनाई छ ।

    कांग्रेस केन्द्रीय समितिले निर्णय गर्नु अघि र पछि गरेर झण्डै १ दर्जन जिल्लामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी लगायतका दलले तालमेलको निर्णय गरिसकेका छन् । कैलाली, कास्की, अर्घाखाँची,धनकुटा, ते¥हथुम लगायतका जिल्लामा चुनावी तालमेल गर्ने निर्णय स्थानीय तहमा भइसकेको छ ।

    आसन्न स्थानीय निर्वाचनमा एमालेविरुद्ध हुने महागठबन्धन संघीय निर्वाचनसम्म लैजाने प्रतिवद्धता शीर्ष तहमा व्यक्त भइकसकेको छ । त्यहीकारण नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बारम्बार तीनै तहको निर्वाचनमा तालमेल हुने र एमालेलाई परास्त गर्ने अभिव्यक्ति दिदै आएका थिए । कांग्रेसको निर्णयले गठबन्धनमा रहेका अन्य दलहरुपनि उत्साहित भएका छन् । ‘कांग्रेसले गरेको निर्णय स्वागतयोग्य छ । संविधान जोगाउन सहकार्य गरेका दलहरुबीचको तालमेलले प्रतिगामी शक्तिलाई धक्का दिनुपर्छ’, एक माओवादी नेताले भने ।

    कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल सत्ता गठबन्धनमा संकट नआओस् भन्ने चाहन्थे । यहीकारण गठबन्धनमा रहेका दलहरुलाई चुनावी तालमेल गरेर ‘राजनीतिक संरक्षण’ दिनुपर्ने बाध्यता देउवालाई थियो । पार्टीभित्रको विपक्षी समूहलाई पनि चित्त बुझ्ने गरी ‘स्थानीय अवस्था र आवश्यकता अनुसार गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्ने’ निर्णय गराउन देउवा सफल भएका छन् । कांग्रेसको नीतिगत निर्णयले स्थानीय आवश्यकताका नाममा गठबन्धनबाहेकका दलसँग तालमेल गर्न निषेध पनि गरेको छ । यहीकारण अब ७ सय ५३ वटै स्थानीय तहमा प्रमुख प्रतिपक्षी नेकपा एमालेविरुद्ध महागठबन्धन भिड्ने पक्का भएको छ ।

  • संसदीय समिति नबनाइ सकियो कांग्रेस बैठक

    संसदीय समिति नबनाइ सकियो कांग्रेस बैठक

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केही बेरअघि सकिएको छ । बैठकले संसदीय समिति भने गठन गरेन । विधानमा भएबमोजिम गठन गर्ने भनेर तत्काललाई टुंग्याइएको एक नेतालाई बताए ।

    सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्केपछि संसदीय समिति र अनुशासन समिति बनाउने निर्णय भएको छ ।

    बैठकको मुख्य एजेण्डाका रूपमा संसदीय समिति गठन रहेपनि आसन्न निर्वाचनमा चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने विषयले बैठकमा बढी प्राथमिकता पायो ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निकटतम प्रतिस्पर्धी रहेका डा. शेखर कोइरालालाई संसदीय समितिमा नराख्न सभापति शेरबहादुर देउवामाथि दबाब बढेको थियो ।

    संस्थापन पक्षका अधिकांश नेताहरूले कोइरालाबिनाकै संसदीय समिति गठन गर्न दबाब दिएका थिए ।

    कांग्रेसको विधानमा केन्द्रीय समितिका पदाधिकारीबाहेक केन्द्रीय सदस्यमध्येबाट ११ जना संसदीय समितिमा रहने प्रावधान छ ।

  • कांग्रेसको निर्णय – स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन

    कांग्रेसको निर्णय – स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन

    काठमाडौं । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित  कार्यालयमा चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकले अन्तत: चुनावी तालमेलको पक्षमा निर्णय गरेको हो ।

    ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।

    बैठकले उपसभापति पूर्णबहादुर खड्ककाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । त्यस्तै डा. प्रकाशशरण महतकाे संयाेजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ ।

    संविधान निर्माण, कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा नेपाली कांग्रेसले प्रस्तुत गरेको सफल नेतृत्व, देश विकास र समृद्धिको यात्रामा प्रस्तुत गरिरहेको जिम्मेवार शैली, कोरोना महामारीबाट जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेको कांग्रेसको ठहर छ ।

    संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण आसन्न स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा बलियो आधार र परिस्थिति निर्माण भइसकेको समेत बैठकले निष्कर्ष निकालेको छ ।

    तस्बिरहरु : उमेश कार्की । 

  • कांग्रेस बैठकअघि पदाधिकारीसँग छलफलमा देउवा

    कांग्रेस बैठकअघि पदाधिकारीसँग छलफलमा देउवा

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको चौथो तथा अन्तिम दिनको बैठक सुरू हुनुअघि पदाधिकारीहरू छलफलमा जुटेका छन् । केन्द्रीय समितिको निर्णय र आगामी रणनीतिबारे देउवाले पदाधिकारीसँग परामर्श गरेका हुन् ।

    कांग्रेसले संसदीय समिति पनि बनाउँदै छ । समितिमा को को नेता रहने भन्नेबारे समझदारी जुटाउन देउवा सक्रिय छन् ।

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको बहुमत पक्ष चुनावी गठबन्धनको पक्षमा छ । हिजो साँझ पनि बैठक सकेर कांग्रेस ‘हाइ कमाण्ड’ बसेको थियो ।

    कांग्रेसले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णयसहित प्रस्ताव पारित गर्दैछ । कांग्रेसमा शीर्ष नेताहरू गठबन्धनको पक्ष-विपक्ष दुवै धारमा उत्रिएका छन् ।

    देशका सबै स्थानीय तहमा एक्लै निर्वाचन लडेर बहुमत स्थानीय तहको नेतृत्व गर्न सक्षम भए पनि गठबन्धन सरकारमा रहेका दलहरूबीचको सहकार्यलाई निरन्तरता दिन ‘आवश्यक स्थानीय तहमा तालमेल गर्ने’ निर्णयको तयारीमा कांग्रेस रहेको छ ।

  • कांग्रेस बैठकमा उपसभापति गुरुङले सबैको सम्पत्ति छानबिन गर्न माग गरेपछि…

    कांग्रेस बैठकमा उपसभापति गुरुङले सबैको सम्पत्ति छानबिन गर्न माग गरेपछि…

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०४६ सालपछिका सबै जनप्रतिनिधिहरूको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

    कांग्रेस केन्द्रीय समितिको सोमबारको बैठकमा उपसभापति गुरुङले निर्वाचन गठबन्धनले नभई एजेण्डाले जितिने भन्दै भ्रष्टाचारीलाई कारबाही गर्ने एजेण्डा बोकेर चुनावमा जानुपर्ने बताएका हुन् ।

    सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई २०४६ सालयताका सबै प्रधानमन्त्री,मन्त्री, सांसद र स्थानीय जनप्रतिनिधिहरूको सम्पत्ति विवरण सार्वजनिक गराउने अभियानको नेतृत्व लिने गुरुङले आग्रह गरे ।

    ‘प्रधानमन्त्रीजीले हिम्मत गर्नुहोस् । सबैको सम्पत्ति विवरण सार्वजनिक गरौँ । भ्रष्टाचारीलाई जेल हाल्ने एजेण्डा बोकेर चुनावमा जाऔँ । जनताले दुई तिहाइ दिनेछन् । कुनै कम्युनिस्ट पार्टीको बुँइ चढ्नुपर्दैन’, बैठकमा गुरुङले भनेका थिए ।

    उनले भ्रष्टाचार नै मुलुकको मुख्य शत्रु रहेको भन्दै आफू सम्पूर्ण सम्पत्ति विवरण सार्वजनिक गर्न तयार रहेको बताए । उनले कांग्रेसका नेताहरूबाटै सम्पत्ति विवरण सार्वजनिक र छानबिनको काम थाल्नुपर्ने बताए ।

    ‘म आफ्नो सम्पत्ति सार्वजनिक गर्न तयार छु । हामी सबैले आ–आफ्नो सम्पत्ति सार्वजनिक गरेर जनतामा जाऔँ । यति हिम्मत गर्‍यौ भने देश पनि बन्छ, कांग्रेसले पनि जित्छ’, गुरुङको भनाई छ । अन्य नेताहरूले बोल्दाबोल्दै जवाफ फर्काएका सभापति देउवाले भने उपसभापति गुरुङलाई कुनै जवाफ दिएनन् ।

    चुनावी तालमेलको विपक्षमा उभिदै आएका उपसभापति गुरुङले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा ठूला अनियमितता काण्डको छानबिन गर्ने उल्लेख भए पनि परिणाम नदेखिएको गुरुङको भनाई छ ।

    उपसभापति गुरुङले मङ्गलवार पनि सामाजिक सञ्जालमार्फत प्रजातन्त्र पुनर्स्थापनापछिका सबै गाविस अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका मेयर, उपमेयर, सांसद, मन्त्री, प्रधानमन्त्री, उच्चपदस्थ कर्मचारी, सेना, प्रहरी र न्यायाधीशसमेतको सम्पत्ति छानबिन गरेर भ्रष्टाचारविरुद्ध अभियान चलाउन माग गरेका छन् ।

    उनले सम्पत्ति छानबिनको सुरुआत आफैबाट गर्नसमेत माग गरेका छन् ।

  • कांग्रेस निर्णयको ड्राफ्ट- एक्लै लड्न सक्षम छौं, तर पनि तालमेल गर्छौं

    कांग्रेस निर्णयको ड्राफ्ट- एक्लै लड्न सक्षम छौं, तर पनि तालमेल गर्छौं

    काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा एक्लै लड्न सक्षम भए पनि सहकार्यको राजनीतिलाई निरन्तरता दिन चुनावी तालमेल गर्ने भएको छ ।

    कांग्रेस केन्द्रीय समितिको जारी बैठकले देशका सबै स्थानीय तहमा एक्लै निर्वाचन लडेर बहुमत स्थानीय तहको नेतृत्व गर्न सक्षम भए पनि गठबन्धन सरकारमा रहेका दलहरूबीचको सहकार्यलाई निरन्तरता दिन ‘आवश्यक स्थानीय तहमा तालमेल गर्ने’ निर्णय लिन लागेको हो । यसको औपचारिक निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठक आज ३ बजे सानेपामा बस्दैछ ।

    शुक्रबारदेखि जारी बैठकमा सोमबारसम्म प्रदेश सभापति, केन्द्रीय सदस्य र पदाधिकारीहरूले धारणा राख्ने क्रम सकिएको छ । सभापति देउवाले आजको बैठकमा सम्बोधनसहित निर्णय प्रस्ताव गर्नेछन् ।

    बैठकको निर्णय ड्राफ्ट गर्ने जिम्मेवारी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई दिइएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा तयार भइसकेको ड्राफ्टमा तालमेलको पक्षमा उभिने निर्णय प्रष्ट लेखिएको छ । यद्यपि त्यसअगाडि लामो भूमिका बाँध्दै ‘कांग्रेसको सक्षमता’ वर्णन गरिएको छ ।

    ‘कांग्रेसले निर्वाह गरेको ऐतिहासिक दायित्व, यसको लोकतान्त्रिक चरित्र, अघिल्लो निर्वाचनको जनमत जोगाउन कम्युनिष्टहरू असफल भएको लगायतका सन्दर्भ जोडेर कांग्रेस एक्लै चुनाव लड्नसक्ने कुरा लेखिएको छ । अन्तिममा भने संघ र प्रदेशमा जारी ५ दलीय गठबन्धनबीच सहकार्य जरुरी भएकोले चुनावी तालमेल गर्ने निर्णय गरिएको आशय उल्लेख छ’, निर्णयको ड्राफ्ट पढेका एक नेताले भने ।

    बैठकले चुनावी तालमेलको आवश्यकताबारे सैद्धान्तिक निर्णयसँगै आवश्यकताको टुंगो लगाउने जिम्मा भने स्थानीय समितिलाई दिने भएको छ ।

    प्रस्तावित निर्णयमा कुन-कुन स्थानीय तहमा चुनावी तालमेलको आवश्यक रहन्छ र शक्ति बाँडफाँट कसरी गर्न सकिन्छ भन्नेबारे सम्बन्धित जिल्ला समितिले निर्णय र सिफारिस गर्ने विषय समावेश गरिएको छ ।

    बैठकले संसदीय समितिको गठनसमेत गर्नेछ ।

  • कांग्रेस बैठक: गठबन्धनबारे आज निर्णय हुने

    कांग्रेस बैठक: गठबन्धनबारे आज निर्णय हुने

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ ।

    गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।

    प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनमा पक्षमा छन् भने १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूह गठबन्धनबिना नै निर्वाचनमा जानुपर्ने गरी दुई धारणा सार्वजनिक भइरहेको बेला कांग्रेसको आजको बैठकले आधिकारिक धारणा दिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

  • कांग्रेसको संसदीय समिति : वरियता देखाएर शेखर रोक्ने प्रयास

    कांग्रेसको संसदीय समिति : वरियता देखाएर शेखर रोक्ने प्रयास

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निकटतम प्रतिस्पर्धी रहेका डा. शेखर कोइरालालाई संसदीय समितिमा नराख्न सभापति शेरबहादुर देउवामाथि दवाव बढेको छ ।

    संस्थापन पक्षका अधिकांश नेताहरुले कोइरालाबिनाकै संसदीय समिति गठन गर्न दवाव दिएपछि कांग्रेस केन्द्रीय समितिको सोमबारको बैठकले यसबारे निर्णय लिन सकेन । यद्यपि सभापति देउवाले मंगलबार ३ बजे बस्ने बैठकमा निर्णय सुनाउने भन्दै आजको बैठक समापन गरेका थिए ।

    शेखर रोक्ने प्रयास

    कांग्रेसको विधानमा केन्द्रीय समितिका पदाधिकारीबाहेक केन्द्रीय सदस्यमध्येबाट ११ जना संसदीय समितिमा रहने प्रावधान छ । सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विधानतः समितिको सदस्य रहनेछन् ।

    त्यस्तै सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, डिना उपाध्याय, भीष्मराज आङदाम्बे, महेन्द्र यादव, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियारपनि विधानतः समितिमा रहनेछन् ।

    केन्द्रीय समितिले मनोनीत गर्नेतर्फको ११ जनामा पूर्व पदाधिकारीहरुलाई मात्रै समेट्न सभापति देउवालाई संस्थापन समूहका नेताहरुको दवाव परेको छ । यस्तो दवावमा १४ औं महाधिवेशनमा कोइरालालाई समर्थन नदिएका नेताहरु पनि रहेको बताइन्छ ।

    संस्थापन पक्षका नेताहरुले केन्द्रीय समितिको वरियताको प्रसंग झिकेर कोइरालालाई रोक्न खोजेका हुन् । केन्द्रीय समितिमा पदाधिकारीपछि पूर्व पदाधिकारीहरु र त्यसपछि मात्रै शेखरको वरियता रहेको छ ।

    ‘पदाधिकारीबाहेक वरिष्ठ नेता, पूर्व उपसभापति, पूर्व महामन्त्री, पूर्व समहामन्त्री र कोषाध्यक्षहरुलाई समेट्दा विधानले दिएको ११ जनाको संख्या अपुग हुन्छ । वरियताका आधारमा जाँदापनि शेखरदाई मात्रै नभएर उहाँभन्दा सिनियर पनि छुट्नसक्छन्’, संस्थापन पक्षका एक नेताले भने ।

    १३ औं महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्य बनेका शेखर १४ औं महाधिवेशनमा सभापतिका निकटतम प्रतिस्पर्धी हुन् । सभापति देउवाले उनलाई पदाधिकारी पूर्व पदाधिकारीभन्दा पछाडि र केन्द्रीय सदस्यहरुमध्ये सबैभन्दा अगाडिको वरियता दिएका छन् ।

    वरियताको कुरा वाहियातः शेखर पक्ष

    कांग्रेसको विद्यमान वरियतामा सभापतिसहित १३ जना पदाधिकारी, वरिष्ठ नेता रामचन्द्र पौडेल , पूर्व उपसभापतिहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्व महामन्त्रीहरु कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्व सहमहामन्त्रीहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा।प्रकाशशरण महत र सुनीलबहादुर थापा शेखरभन्दा अगाडि रहेका छन् ।

    वरियताका आधारमा ११ जनालाई संसदीय समितिमा समेट्दा शेखर रोकिने देखिन्छ । यद्यपि शेखर समूहका नेताहरु भने संसदीय समिति गठन वरियताका आधारमा मात्रै नभएर पार्टीभित्रको शक्ति सन्तुलनको आधारमा हुनुपर्ने बताउँछन् । ‘वरियताको कुरा वाहियात हो ।

    कांग्रेसको १४ औं महाधिवेशनमा ५९ प्रतिशतले सभापतिमा देउवा र ४१ प्रतिशले शेखरलाई मत दिएका हुन् । सभापतिको निकटतम दावेदार भएकोले शेखर दाईबिनाको संसदीय समिति बनाउनु अराजनीतिक र निन्दनीय हुन्छ’, शेखरनिकट एक केन्द्रीय सदस्यले भने ।

    शीर्ष तहमा संवाद जारी

    संसदीय समिति गठनको मोडालिटीबारे सभापति देउवाले आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन् । यद्यपि सोमबारको केन्द्रीय समितिको बैठकपछि पार्टीका शीर्ष नेताहरुसँग देउवाले समिति गठनबारे छलफल गरेका थिए । छलफलमा देउवाले संसदीय समिति गठनबारे राय मागेका थिए । ‘संसदीय समिति अहिले सभापतिको मनभित्रै छ । उहाँलाई कसैलाई राख्नैपर्ने र कसैलाई हटाउनैपर्ने दवाव परेकोजस्तो देखिन्छ तर यही नै हो भन्न सकिएन’, शीर्ष बैठकमा सहभागि एक नेताले भने ।

    बैठक जारी

    केन्द्रीय समितिको बैठक जारी छ । बैठकको मुख्य एजेण्डाका रुपमा संसदीय समिति गठन रहेपनि आसन्न निर्वाचनमा चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने विषयले बैठकमा प्राथमिकता पाएको छ । केन्द्रीय सदस्यहरु र पदाधिकारीहरुले बोल्ने क्रम सकिएको हुँदा बैठकका निर्णय तय गर्न मंगलबार पुनः बैठक बस्नेछ । शेखरलाई नसमेट्दा निर्वाचनको बेला पार्टीभित्रको आन्तरिक एकता खल्बलिने भएकाले आफ्नै समूहका केही पूर्व पदाधिकारीलाई ‘कन्भिन्स’ गरेर संसदीय समिति बनाउनुपर्ने बाध्यता देउवासामु छ ।

  • केन्द्रीय समिति लगत्तै कांग्रेस कार्यालयमा ‘हाइ कमाण्ड’ को बैठक

    केन्द्रीय समिति लगत्तै कांग्रेस कार्यालयमा ‘हाइ कमाण्ड’ को बैठक

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको बहुमत चुनावी गठबन्धनको पक्षमा उभिएपछि सभापति शेरबहादुर देउवासहित हाइ कमाण्डको बैठक बसेको छ ।

    केन्द्रीय कार्य समिति बैठक मंगलबारसम्म स्थगित गरेलगत्तै हाइ कमाण्ड बसेको हो । बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, गगन थापा, पूर्वमहामन्त्री डा. शशांक कोइराला र शेखर कोइराला सहभागी थिए ।

    कांग्रेसको भोलि बस्ने बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णयसहित प्रस्ताव पारित गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् । त्यसबारे छलफल गर्न देउवाले गठबन्धन पक्षधर र विपक्षमा रहेका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् ।

    बैठक संसदीय समिति गठनको विषयमा केन्द्रित रहेको छ । समितिमा को को नेता रहने भन्नेबारे समझदारी जुटाउन देउवा सक्रिय छन् ।

  • देउवालाई गगनको प्रश्न- नयाँ मतदातालाई हँसिया हथौडा र कलममा भोट दिन लगाउँदा भविष्यमा रुखमा दिन्छन् ?

    देउवालाई गगनको प्रश्न- नयाँ मतदातालाई हँसिया हथौडा र कलममा भोट दिन लगाउँदा भविष्यमा रुखमा दिन्छन् ?

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताए ।

    कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवातर्फ लक्षित गर्दै थापाले अहिले गठबन्धनका नाममा अरु पार्टीलाई भोट हाल्न लगाइएका मतदातालाई कांग्रेसमा फर्काउन सकिन्छ भनेर प्रश्न गरे । ‘अहिले रुखबाहेक अन्त भोट हाल्न लगाएका मतदातालाई कांग्रेसमा फर्काउन सकिन्छ ?’, उनले सोधे ।

    गगनले थपे, ‘देशभरका लाखौं मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हँसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’

    अरु सदस्यलाई जस्तै थापालाई पनि समयको पाबन्दी थियो । उनले बोल्दा बोल्दै ५ मिनेट सकिएको जानकारी समय सूचकले घण्टी बजाएर दिएपछि उनले आफ्नो भनाइ टुंग्याएका थिए ।

    बैठकमा महामन्त्री थापाले भने, ‘नेपालमा कम्युनिस्टबाट लोकतन्त्रलाई खतरा छ भनेर हामीले बारम्बार भन्यौं, के अब कम्युनिस्टलाई मिल्न नदिएर लोकतन्त्र बचायौं भनेर जाने हो ? कम्युनिस्टबीच तालमेल हुन नदिनु नै लोकतन्त्र हो त ?’

  • भ्रातृ संस्थामा एकाधिकार लादेको भन्दै देउवामाथि शेखर समूहको खबरदारी (तस्बिरहरू)

    भ्रातृ संस्थामा एकाधिकार लादेको भन्दै देउवामाथि शेखर समूहको खबरदारी (तस्बिरहरू)

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संगठनहरुमा एकलौटी मनोनयन गरेभन्दै नेता शेखर कोइराला पक्षले समानान्तर भेला गरेका छन् ।

    गत बुधबार सभापति देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयन गरेपछि असन्तुष्ट पक्षले समानान्तर भेलाको आयोजना गरेको हो ।

    बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी खबरदारी भेलामा शेखर समूहका नेताहरू चन्द्र भण्डारी, गुरुराज घिमिरे प्रमुख वक्ता छन् ।

    देउवाको एकाधिकारपूर्ण मनोनयनको खवरदारीका लागि भेला आयोजना गरिएको नेताहरुले बताएका छन् ।

    इतरपक्षसँग छलफल नै नगरी भ्रातृ संस्थाहरुमा मनोनयन गरिएपछि अबको बाटो के हुने भन्ने विषयमा पनि छलफल जारी रहेको नेताहरुको भनाइ छ ।

    तस्बिरहरु : उमेश कार्की

  • शेखर कोइरालाले भने- केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं

    शेखर कोइरालाले भने- केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीले आगामी चुनावमा केन्द्रबाट जबरजस्ती गठबन्धन लाद्नु गलत हुने बताएका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले गठबन्धन केका लागि गर्ने भन्दै प्रश्न उठाए ।

    कोइरालाले भने, ‘गठबन्धन कोसँग किन र केका लागि गर्ने ? गठबन्धनभन्दा पार्टी एकतामा जोड दिऊँ ।’

    उनले गठबन्धन गर्नेभन्दा पनि तलैबाट पार्टीभित्र एकता र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

    कोइरालाले थपे, ‘गठबन्धन माथिबाट गर्ने, तर तलका कार्यकर्ताबीच चाहिँ एकता हुन नसके के हुन्छ अवस्था ? हामीले त्यसमा ध्यान दिन जरुरी छ । केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं ।’

  • सभापति देउवाको मुड बुझ्दै तालमेलको पक्षमा ढल्कियो कांग्रेस बैठक

    सभापति देउवाको मुड बुझ्दै तालमेलको पक्षमा ढल्कियो कांग्रेस बैठक

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्नुपर्नेमा दृढ देखिएपछि कांग्रेसको जारी केन्द्रीय समिति बैठक ‘तालमेलका पक्षमा’ ढल्कन थालेको छ ।

    सभापति देउवाले शुक्रबार नै बैठक समापन गर्ने क्रममा चुनावी तालमेल नभए कांग्रेसले धेरै स्थानमा जित्न नसक्ने बताएका थिए । शनिवार एक सार्वजनिक कार्यक्रममै सभापति देउवाले एमालेको संगठन कमजोर भई नसकेकोले एक्लै लड्दा कांग्रेसलाई गाह्रो हुने बताएका थिए ।

    उनले तालमेल नगरे माओवादी र एमाले मिल्न सक्ने भन्दै चुनावी तालमेलबारे दृढता प्रस्ताु गरेका थिए । तालमेलको पक्षमा सभापति देउवा नै प्रस्ट भएपछि केन्द्रीय समितिको जारी बैठकमा त्यसको प्रभाव देखिएको छ ।

    पहिलो दिन अधिकांश प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले चुनावी तालमेल नगरी एक्लै निर्वाचनमा होमिनुपर्नेमा जोड दिएको भए पनि आइतबारको बैठकमा बोल्ने अधिकांशले ‘आवश्यकता अनुसार तालमेल गर्नुपर्ने’ धारणा राखेका छन् । संस्थापन पक्षका सबैजसो केन्द्रीय सदस्यहरूले सभापति देउवाको ‘मुड बुझ्दै’ गठबन्धन जोगाउन तालमेल गर्नुपर्ने , पार्टीको फाइदा हेर्नुपर्ने तथा तालमेल नगरे पार्टीलाई हानी हुने धारणा राखेका हुन् ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेलको पक्षमा बोलेको बताए ।

    पौडेल स्वयं चुनावी तालमेलको पक्षमा छन् । ‘राष्ट्रिय राजनीतिमा गठबन्धनको औचित्य अझै समाप्त नभएकोले आगामी निर्वाचनमा चुनावी तालमेल नै गरेर जानुपर्छ भन्ने अधिकांशको भनाई छ’, पौडेलले पत्रकारहरूसँग भने ।

    उनले केन्द्रीय समितिले चुनावी तालमेलको पक्षमा नीतिगत निर्णय लिने पनि बताए । ‘यो बैठकले गठबन्धन जोगाउने र चुनावी तालमेल गर्ने नीतिगत निर्णय गर्छ । तालमेल कहाँ कसरी गर्ने र कसले कति लिने भन्नेबारे गठबन्धनमा छलफलपछि निर्णय हुन्छ’, पौडेलको भनाई छ ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि बैठकमा ‘आवश्यकताका आधार तालमेल गर्न’ सुझाव आएको बताउँछन् । चुनावी तालमेलको विपक्षमा नभई सार्थक चुनावी तालमेलको पक्षमा पार्टीभित्र जनमत रहेको प्रवक्ता महतको भनाई छ ।

    ‘तालमेलै गर्नुहुँदै कसैले भन्नुभएको छैन । ग्राउण्डको आवश्यकता हेरेर, तल्लो तहसम्मको अवस्था बुझेर तालमेल गर्नुपर्छ भन्ने अधिकांशको भनाई छ’, बैठकबारे प्रवक्ता महतले भने । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि उपयुक्त निर्णय आउने उनले बताए ।

    ‘अहिले छलफल जारी छ । बैठकमा व्यक्त धारणाका आधारमा आवश्यकताको सिद्धान्तअनुसार पार्टीलाई बृहत्तर फाइदा हुने, पार्टीको राजनीतिक शक्ति बढ्ने गरी चुनावी तालमेल गर्ने निर्णय नै सर्वसम्मतिले हुनेछ’, महतको भनाई छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार ‘चुनावी तालमेल गर्दै नगर्ने भन्दा पनि मिलाएर गर्ने’ तर्फ बैठक प्रवेश गरिसकेको छ । ‘चुनावी तालमेल हुनुपर्छ तर सम्बन्धित जिल्लासँग समन्वय गरेर सही ढंगले लिने र दिने गर्नुपर्छ भन्नेमा धेरैको समान धारणा देखिन्छ । त्यसैले बैठक अब तालमेलको पक्षमा करिब करिब पुगिसक्यो’, एक केन्द्रीय सदस्यको भनाई छ ।

    चुनावी तालमेलको चर्को विरोध गर्दै आएका चितवनका केन्द्रीय सदस्यहरूले पनि ‘भरतपुरको मेयर कांग्रेसले लिने गरी तालमेल हुनसक्ने’ बताएका छन् । केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भरतपुर महानगरपालिकाको प्रमुख कांग्रेसले पाउने सर्तमा चुनावी तालमेल हुनसक्ने बताए ।

    बैठकमा नेता डा. शेखर कोइराला पक्षधर केन्द्रीय सदस्यहरूले मात्रै चुनावी तालमेलले कांग्रेसको संगठन कमजोर पार्ने बताएका छन् । केन्द्रीय सदस्य प्रतिमा गौतमले गठबन्धन गरेर चुनाव लड्दा पार्टीको ‘बीउ’ नै मासिने बताएकी छिन् ।

    त्यस्तै केन्द्रीय सदस्य प्रकाश स्नेहीले कम्युनिस्टहरू विभाजित भएको बेलामा नै पार्टीले एक्लै लड्नुपर्ने हिम्मत गर्नुपर्ने धारणा राखे ।

    केन्द्रीय समितिको बैठक सोमबार पनि जारी रहनेछ ।

  • कांग्रेस बैठक- आवश्यकताको सिद्धान्त अनुसार चुनावी तालमेल हुने प्रवक्ता महतको भनाइ

    कांग्रेस बैठक- आवश्यकताको सिद्धान्त अनुसार चुनावी तालमेल हुने प्रवक्ता महतको भनाइ

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको प्रमुख घटक नेपाली कांग्रेसले आवश्यकताको सिद्धान्त अनुसार पार्टीलाई बढीभन्दा बढी सिट जिताउन चुनावी गठबन्धन गर्नेबारेमा छलफल अघि बढाएको छ ।

    केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा।प्रकाश शरण महतले चुनाव जित्नका लागि कतिपय ठाउँमा गठबन्धन गरेर जानुपर्ने अधिकांश सदस्यहरूको मत रहेको बताएका ।

    बैठकमा अहिलेसम्म गठबन्धनको पक्षमा धेरैको कुरा आएको भन्दै सबैले बोलिसकेपछि बैठकले एउटा टुङ्गो लगाउने बताए । महतले गठबन्धनमा जाने,नजाने भन्ने विषय पार्टीलाई के गर्दा फाइदा हुन्छ त्योभन्दा अरू मापदण्ड नहुने बताए ।

    महतले कस्तो ठाउँमा गठबन्धन गर्ने र कस्ता ठाउँमा एक्लै चुनाव लड्ने भन्नेबारे सैद्धान्तिक खाका बनाएर अघि बढिने जानकारी दिए । गठबन्धन कहाँ कसरी गर्ने भन्नेबारे सोमवारसम्म पर्खिन महतले आग्रह गरे ।

  • कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा (भिडिओ)

    कांग्रेस केन्द्रीय समितिमा मागियो अर्थमन्त्रीको राजीनामा (भिडिओ)

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको जारी केन्द्रीय कमिटी बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।

    केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

    यसअघि शुक्रबार पहिलो दिन पनि मुलुकको अर्थतन्त्र ओरालो लाग्दै गरेको र तत्काल ‘सुधारको कदम’ आवश्यक रहेको प्रसंगले बैठकमा प्रवेश पाएको थियो ।

    केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले भने पार्टीकै नेतृत्वमा सरकार हुँदा अर्थतन्त्र अप्ठ्यारोमा परेको भन्दै प्रधानमन्त्रीसमेत रहेका सभाति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

     

     

  • रामचन्द्र भन्छन्- चुनावी तालमेल गरेर गठबन्धन बचाउनुपर्छ, धेरै केन्द्रीय सदस्य तालमेलको पक्षमा छन्

    रामचन्द्र भन्छन्- चुनावी तालमेल गरेर गठबन्धन बचाउनुपर्छ, धेरै केन्द्रीय सदस्य तालमेलको पक्षमा छन्

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी केन्द्रीय कार्य समिति बैठकमा धेरै केन्द्रीय सदस्यहरूको धारणा चुनावी गठबन्धनको पक्षमा आएको बताएका छन् ।

    केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग अनौपचारिक कुरा गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिने जानकारी दिए । उनका अनुसार कुन स्थानीय तह कसले लिने भन्न निर्णय भने पछि नै हुनेछ ।

    पौडेलले भने– कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो । चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ । धेरै केन्द्रीय सदस्यहरूको धारणा तालमेलको पक्षमा आएको छ। कहाँ कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ । यो बैठकले चुनाव बारे सैद्धान्तिक निर्णय गर्छ ।

    पौडेल शुरुदेखिनै चुनावी गठबन्धनको पक्षमा छन् ।

  • कांग्रेस बैठक चुनावी गठबन्धनकै पक्षमा, निर्णय अधिकार भने तलै दिइनुपर्छ : प्रदेश १ सभापति थापा

    कांग्रेस बैठक चुनावी गठबन्धनकै पक्षमा, निर्णय अधिकार भने तलै दिइनुपर्छ : प्रदेश १ सभापति थापा

    काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले जारी कांग्रेस केन्द्रीय समिति बैठकमा चुनावी तालमेलको निर्णयको पल्ला भारीतर्फ अघि बढेको बताएका छन् ।

    बैठक चलिरहँदा सानेपामा सञ्चारकर्मीसँग थापाले भने, ‘बैठकमा चुनावी गठबन्धन गर्ने परिदृश्य देखिएको छ । जुन आवश्यक पनि छ । विधिको शासनलाई स्थापित गर्न एक पटक यो चाहिन्छ पनि ।’

    तर, गठबन्धनको अधिकार तल्ला तहहरूलाई दिनुपर्ने विषयमा बहुसंख्यक नेताहरूको धारणा आइरहेको पनि उनले जानकारी दिए । थापाले भने, ‘अधिकार नै दिउँ भन्ने छ । स्थानीय तहले नै छलफल गरेर निर्णय गर्ने भन्ने छ विषयमा छलफल चलिरहेको छ ।’

    शुक्रबारदेखि बसेको केन्द्रीय समिति बैठकको दोस्रो दिन आज पनि नेताहरूले गठबन्धबारे धारणा राखिरहेका छन् । सभापति शेरबहादुर देउवा र उनीपक्षीय नेता चुनावमा एमालेविरुद्ध तालमेल गरेरै जानुपर्ने पक्षमा छन् ।

    नेता शेखर कोइराला पक्ष भने गठबन्धन गर्दा गर्दै कांग्रेस बिलाएर जाने चिन्ता जनाएका छन् । आफ्नो तागतमा चुनाव भिड्नुपर्ने उनीहरूको जोड छ ।

  • लोसपा केन्द्रीय सदस्य यादव कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

    लोसपा केन्द्रीय सदस्य यादव कांग्रेस प्रवेश, देउवाले गरे स्वागत

    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् । यादव सप्तरीका हुन् ।

    सानेपास्थित केन्द्रीय कार्यालयमा यादवलाई कांग्रेससभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वउपसभापति विजयकुमार गच्छदारलगायतले खादा, माला र अबिर लगाएर स्वागत गरे ।

    कांग्रेस प्रवेशको क्रममा यादवले आफूसहित लोसपाका ७ सय कार्यकर्ता कांग्रेसमा आउने तयारीमा रहेको बताए ।

  • चितवनका पूर्व कांग्रेस सभापति भन्छन्- एमालेको रिसले माओवादीका बाबुछोरी जिताउन सकिँदैन (भिडिओ)

    चितवनका पूर्व कांग्रेस सभापति भन्छन्- एमालेको रिसले माओवादीका बाबुछोरी जिताउन सकिँदैन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले नेकपा एमालेको रिसले सबै भोट खन्याएर माओवादीलाई जिताउन नसकिने बताएका छन् ।

    चितवन कांग्रेसका पूर्वसभापतिसमेत रहेका गुरुङले भरतपुर महानगरपालिकामा गठबन्धन गर्दा पनि मेयरमा प्रचण्डपुत्री रेणु दाहालले अहिले नजित्ने दाबी गरे ।

    चितवनमै प्रचण्डका बाबुछोरीलाई स्थापित गर्न खोज्दा समस्या आउनसक्ने उनको भनाइ थियो ।

    ‘प्रचण्डका बाउछोरी चुनाव लड्ने , कांग्रेसले भोट हालिरहने भन्ने हुँदैन । एमाले हराउन सबै माओवादीलाई दिन सकिँदैन । जनताले एमाले जिताउने गठबन्धन बनाउन सक्छन् ।’

    ‘२९ वडामा जम्मा २ वडा हो माओवादीले जितेको, मतपत्र च्यातेर जिताइएको हो,’ गुरुङले थपे,‘अझैपनि पेलेर दिने हो भने तालमेल गठबन्धन जिताउन होइन, एमाले जिताउन परिणत हुनसक्छ ।’

    यसो भनिरहँदा आफू तालमेलको विपक्षमा नभएको उनले बताए । उनले भने, ‘गठबन्धन हुनुपर्छ । तर, सधैँ चितवनका कांग्रेसले अरूलाई मात्र भोट हाल्नुपर्ने भन्ने हुँदैन ।’

    सभापति देउवालाई आफूले चितवनमा कांग्रेस कमजोर नरहेको बताउन चाहिरहेको उनले बताए । पञ्चायतकालदेखि नै चितवनमा कांग्रेस बलियो रहेको बताउँदै उनले तीनपटक आफैं जिल्ला पञ्चायतको सभापति जितेको गुरुङले बताए ।

    ‘७० मा सुशील दाइ (सुशिल कोइराला)लाई लगेर जिताएका हौं । ४ वटै निर्वाचन क्षेत्र जित्यौं,’ उनले भने,‘४८ र ७४ मा हो सबै हारेको । नत्र सधैँ जितेका छौं ।’

    अहिले माओवादी र एमाले जोड्दा पनि कांग्रेस नै बलियो रहेको उनले दाबी गरे ।

  • कांग्रेस बैठकको दोस्रो दिन : चुनावी तालमेलमै छलफल (तस्बिरहरु)

    कांग्रेस बैठकको दोस्रो दिन : चुनावी तालमेलमै छलफल (तस्बिरहरु)

    काठमाडौं । आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठकमा छलफल सुरु भएको छ ।

    शुक्रबारदेखि सुरू भएको बैठकमा प्रदेश सभापति र २० भन्दा बढी केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् । आजको बैठकमा पनि विभिन्न जिल्लामा चुनावी अभियानका लागि खटाइएका केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम सुरू भएको छ । केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ५-५ मिनेटको समय उपलब्ध गराइएको छ ।

    कांग्रेसका संस्थापन पक्ष चुनावी तालमेलका पक्षमा छ भने डा. शेखर कोइराला नेतृत्वको पक्ष चुनावी तालमेल केन्द्रबाट नभइ स्थानीय आवश्यकताका आधारमा स्थानीय समितिमार्फत हुनुपर्ने पक्षमा छ ।

    तस्बिरहरु : गौरव पौडेल

  • शेखरलाई सुजाताको जवाफ- गठबन्धनकै कारण प्रधानमन्त्री र चिफ मिनिस्टर पायौं, झमेला ननिकाल्नुस् (भिडिओ)

    शेखरलाई सुजाताको जवाफ- गठबन्धनकै कारण प्रधानमन्त्री र चिफ मिनिस्टर पायौं, झमेला ननिकाल्नुस् (भिडिओ)

    काठमाडौं । नेपाली कांगेसकी नेतृ सुजाता कोइरालाले गठबन्धन कायम राखेर चुनावमा जानुपर्ने धारणा राखेकी छन् । केन्द्रीय कमिटी बैठक चलिरहँदा केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै उनले गठबन्धनकै कारणले कांग्रेस सरकारको नेतृत्व गरिरहेको बताइन् ।

    ‘गठबन्धनकै कारणले प्रधानमन्त्री पायौं, चिफ मिनिस्टर पायौं, अपर हाउस जित्यौं,’ उनले भनिन्,‘त्यसैले गठबन्धन कायम राखेर चुनावमा जानुपर्छ भन्ने मलाई लाग्छ ।’

    यसरी गठबन्धन गर्दा कांग्रेस बलियो रहेको ठाउँमा आफै लड्ने र कमजोर ठाउँमा अन्यलाई सघाउनुपर्ने उनको जोड थियो ।

    गुटउपगुटकै कारण कांग्रेस निर्वाचनमा पराजित हुने गरेको बताउँदै उनले भने,‘चुनाव आइरहेको छ । अहिले विवाद गर्नु हुँदैन । गुटउपगुट समाप्त गर्नुबेलामा यस्तो विवाद गर्नु हुँदैन ।’

    सहमति, सहकार्य र एकता गरेर जानुपर्ने बेला पार्टीभित्र अनावश्यक झमेला ननिकाल्न सुजाताको सुझाव छ ।

    अहिले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको, आफूसँग परामर्श नगरेकोलगायतका विषयमा शेखर कोइराला समूह पार्टी सभापतिविरुद्ध दबाब सिर्जना गरिरहेको छ । सँगै पार्टी सभापतिले गठबन्धन दलबीच चुनावी तालमेल गर्नुपर्ने धारणा राखिरहँदा शेखर समूह त्यसको विपक्षमा छ ।

    यस्तोमा शेखरकै बहिनी सुजाताबाट यस्तो धारणा आएको हो । शेखरले हिजोको एक सार्वजनिक कार्यक्रममा गठबन्धन गर्दैजाँदा कांग्रेस भारतीय कांग्रेस आईको अवस्थामा पुग्ने खतरा रहेको बताएका थिए ।

    सोही कुराबारे पनि सुजाताले टिप्पणी गरेकी छन् । ‘कांग्रेस आईजस्तो हुन्छ, भनेर निरास हुने कुरा नगर्नुस्,’ उनले भनिन्,‘हामीले आशा जगाउने कुरा गर्नुपर्छ । कांग्रेस त्यसरी कहिल्यै सकिँदैन ।’

  • ओलीले गरेका नियुक्ति खारेज गर्दै देउवा, अदालतबाट धमाधम फिर्ता

    ओलीले गरेका नियुक्ति खारेज गर्दै देउवा, अदालतबाट धमाधम फिर्ता

    काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज गर्दै नयाँ नियुक्ति दिइरहेको छ । तर, अदालतले भने उक्त खारेजी बदर गर्दै धेरैलाई पुन:स्थापित गरेको छ ।

    विद्युत् प्राधिकरणका हितेन्द्रदेव शाक्यबाहेक सबै अदालतको अल्पकालीन अन्तरिम आदेशबाट पुन:स्थापित भएका छन् । अन्तरिम र अल्पकालीन आदेश मार्फत सर्वोच्चले पाँचजनालाई पुनर्बहालीको आदेश दिइसकेको छ ।

    दुई महिना कार्यकाल बाँकी रहँदा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ लाई सरकारले हटाएको छ । आफूमाथि अपमान भएको भन्दै उनी अदालत जाने तयारीमा छन् ।

    सरकारले तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुइँटेललाई नियुक्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले फागुन २५ मा मन्त्रीस्तरीय निर्णयबाट लुइँटेललाई चार वर्षका लागि नियुक्त गरे । नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले लुइँटेललाई काम गर्न रोक लगाएको छ ।

    यता प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पनि हटाउने तयारी गर्दै सरकारले स्पष्टीकरण सोध्यो । आफूलाई हटाउनकै लागि भन्दै अदालत गुहारेका बस्नेतलाई फागुन २० मा सर्वोच्च अदालतले पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    बस्नेतलाई सरकारले ‘पत्रकार महासंघको सदस्यता अवधी २० वर्ष प्रमाणित नभएकोले किन कारबाही नगर्ने ?’ भनी स्पष्टीकरण सोधेको थियो ।

    देउवा नेतृत्व सरकारले लोकबहादुर भण्डारी नेतृत्वको पाँच सदस्यीय नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति नै खारेज गर्ने निर्णय गर्‍यो । अघिल्लो सरकारले तत्कालीन समिति खारेज गरेर भण्डारीको संयोजकत्वमा तदर्थ समिति बनाएको थियो । समितिको सदस्यमा शिवबहादुर भण्डारी, विजेन्द्र ध्वजु, इन्द्रभूषण यादव (अधिकारी) र सीमा कर्ण थिए । उनीहरू सबैलाई हटाइयो ।

    तर, अदालतको अल्पकालीन अन्तरिम आदेशपछि भण्डारीले पुनः कार्यभार सम्हालिसकेका छन् ।

    भण्डारीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ पुस २२ गते संयोजकमा नियुक्त गरेको थियो । देउवा सरकारले २०७८ असोज १० गते भण्डारीलाई हटाएको थियो । भने मन्त्रिपरिषद्‍बाट मंसिर १९ गते रबिन दाहाललाई संयोजकमा नियुक्त गरियो । दाहालले सपथ लिएकै दिन सर्वोच्चले पूर्वअध्यक्ष भण्डारीलाई पूर्ववत् अवस्थामा काम गराउन सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।

    त्यस्तै, ओली सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव नियुक्त भएका सिलवाललाई हटाएर देउवा सरकारले माओवादी नेता टंकलाल घिसिङलाई नियुक्त गर्‍यो । तर, सर्वोच्च अदालतले सिलवाललाई हटाउने र घिसिङलाई नियुक्त गर्ने दुवै निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको छ ।

    कात्तिक १ गते हटाइएका सिलवालको ठाउँमा मंसिर १३ गते घिसिङलाई ल्याइएको थियो ।

    घिसिङले नयाँ सदस्य सचिवको रुपमा जिम्मेवारी सम्हालेको तेस्रो हप्तामा अदालतको आदेश आएको हो । राखेपका ९ जना बोर्ड सदस्यलाई पदमुक्त गरिएपछि उनीहरू उच्च अदालत पाटन गएका छन् । अदालतले बोर्ड सदस्य पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो । तर सरकारले अघिल्लो दिनको मिति राखेर राखेपमा नयाँ नौ जना बोर्ड सदस्य नियुक्त गरेको छ ।

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षमा नियुक्त भएका कल्याण रोकालाई पनि हटाइयो । २०७७ भदौ १ मा नियुक्त भएका उनलाई देउवा सकारले गत कात्तिक १ मा बर्खास्त गरेको थियो । सर्वोच्च अदालतले रोकालाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ ।

    सर्वोच्च अदालतबाट प्रकृति संरक्षण कोषका अध्यक्ष कृष्णप्रसाद ओलीको पनि पद जोगिएको छ । देउवा नेतृत्वको सरकारले माधवबहादुर कार्कीलाई कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णयमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासले रोक लगाएको हो ।

    २०७८ वैशाख २१ गते ओली कोषको अध्यक्षमा मनोनीत भएका थिए ।

    देउवा नेतृत्वकै सरकारले कात्तिक तेस्रो साता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई हटाएको थियो । त्यसविरुद्ध उनले अदालतमा मुद्दा हालेका थिए । अदालतको आदेशसँगै रावल काममा फर्किसकेका छन् ।

    स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरेको निर्णय गैरकानुनी भएको दाबीसहित रावलले गत कात्तिक २८ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । गत कात्तिक २९ गते न्यायाधीश भोजराज अधिकारीको इजलासले उनलाई कामकाजमा रोक नलगाउन अन्तरिम आदेश दिएको हो ।

    धेरै मुद्दा विचाराधीन

    असोज १९ को देउवा मन्त्रिषरिषद् बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई हटाउने निर्णय गरेको थियो । यसविरुद्ध उनी कात्तिक ७ गते सर्वोच्च अदालत गए । मंसिर २१ गते न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । हाल यो मुद्दा सर्वोच्चको संयुक्त इजलासमा हेर्दाहेर्दैमा छ । बुधबारदेखि न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासमा मुद्दाको सुनुवाइ सुरु भइसकेको सर्वोच्च अदालतले जनाएको छ ।

    भूमि आयोग खारेजीविरुद्धको मुद्दा पनि विचारधीन

    ओली नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग गत साउन १९ गते देउवा सरकारले खारेज गरेपछि आयोगका अध्यक्ष देवी ज्ञवालीसहितका पदाधिकारी बर्खास्त भए ।

    आयोगका पूर्वअध्यक्ष देवीप्रसाद ज्ञवालीले समेत गरी अदालतमा यसविरुद्ध पाँच वटा रिट परिसकेका छन् । रिटमाथि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरे पनि अन्तरिम आदेश दिएन । पछिल्लोपटक न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको इजलासले गत असोज ११ गते निर्णयको फाइल झिकाउने आदेश गरिसकेको छ ।

    पाँच महिनामा तीन दर्जनभन्दा बढी नियुक्ति खारेज

    शेरबहादुर देउवा सरकारले पाँच महिनामा केपी ओली नेतृत्वको सरकारले गरेका तीन दर्जनभन्दा बढी नियुक्ति खारेज गरिसकेको छ । सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति खारेज गर्ने गलत परम्परालाई देउवाले पनि निरन्तरता दिएका छन् ।

    पहिलो निसानामा ११ राजदूत

    असार ३१ गते बसेको देउवा नेतृत्वको पाँच सदस्यीय मन्त्रिपरिषद्को दोस्रो बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न मुलुकका लागि गरिएका ११ जना राजदूत नियुक्तिको सिफारिस रद्द गर्ने निर्णय गरेको थियो । देउवा सरकारले ओली नेतृत्वको सरकारले गरेका नियुक्तिको खारेजी गरेको यो पहिलो थियो ।

    देउवा सरकारले अमेरिकाबाट डा. युवराज खतिवडा, भारतबाट नीलाम्बर आचार्य, चीनबाट महेन्द्र पाण्डे, बेलायतबाट लोकदर्शन रेग्मी, कतारबाट नारद भारद्वाज, स्पेनबाट दावाफुटी शेर्पा, मलेसियाबाट उदयराज पाण्डे, इजरायलबाट अञ्जन शाक्य, जापानबाट प्रतिभा राणा, बंगलादेशबाट वंशीधर मिश्र र ओमानबाट शर्मिला पराजुलीलाई फिर्ता बोलाइसकिएको छ ।

    प्रदेश प्रमुख पनि बने तारो !

    साउन १२ को मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशको प्रमुखमा धर्मनाथ यादवलाई पदमुक्त गरेको थियो । त्यसै दिन बसेको बैठकले गण्डकी प्रदेशको प्रमुखका पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशको प्रमुदमा अमिक शेरचनलाई नियुक्त गर्ने निर्णय गरिसकेको छ ।

    त्यस्तै साउन ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश दुईका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेर हरिशंकर मिश्रलाई प्रदेश दुईको प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले वागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

    प्राधिकरणदेखि रेल्वेका प्रमुखसम्म फेरिए

    साउन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गर्‍यो । उक्त जिम्मेवारीमाा रहेका हितेन्द्रदेव शाक्यलाई भने जल तथा उर्जा आयोगमा उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने निर्णय गर्‍यो ।

    त्यस्तै ओली सरकारको पालामा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका थिए, गुरु भट्टराई । भट्टराईलाई देउवा सरकारले पटक–पटक स्पष्टीकरण सोधेपछि राजीनामा दिन बाध्य भए । भदौ एक गते बसेको बैठकले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जनकुमार झालाई नियुक्त गर्ने निर्णय गर्‍यो ।

    त्यस्तै कात्तिक १ गते राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई पनि देउवा सरकारले बर्खास्त गर्ने निर्णय गर्‍यो । ओलीकै पालामा उनी २०७२ साल फागुन १९ गते चार वर्षका परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त भएका थिए । ढुंगेल दोस्रोपटक २०७७ जेठ १३ गते पुनः नियुक्त हुँदा पनि सरकारको नेतृत्वमा ओली नै थिए । तर, देउवा सरकारले पटक-पटकको स्पष्टीकरणपछि उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । परिषद्को कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भइसकेका छन् ।

  • कांग्रेस बैठकमा आज चुनावी गठबन्धनबारे ठोस छलफल हुने

    कांग्रेस बैठकमा आज चुनावी गठबन्धनबारे ठोस छलफल हुने

    काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल हुने भएको हो ।

    बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने भएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए । बैठकको पहिलो दिन शुक्रबार २२ जना नेताले धारणा राखेका थिए ।

    अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिँदा केहीले गठबन्धनबिना निर्वाचनमा जानुपर्ने बताएका थिए । गठबन्धन आवश्यक रहेको भन्ने नेताहरू प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् ।

    गठबन्धनबिना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू पार्टीका अर्का नेता डा। शेखर कोइराला पक्षीय हुन् ।

  • कांग्रेसजनलाई देउवाको चेतावनी- प्रचण्ड हार्न चुनाव लड्छन् ? मिल्दिन्छन् भोलि एमालेमा गएर (भिडिओ)

    कांग्रेसजनलाई देउवाको चेतावनी- प्रचण्ड हार्न चुनाव लड्छन् ? मिल्दिन्छन् भोलि एमालेमा गएर (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी फुटिहाले त्यसैले जितिन्छ भन्ने भ्रममा नपर्न कांग्रेसजनलाई सचेत गराएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवा गठबन्धन गर्नु हुँदैन भन्ने नेताहरूप्रति आक्रोशित बने ।

    देउवाले माओवादीलाई गठबन्धन गरेर नलाने हो प्रचण्ड कुनै पनि बेला एमालेसँग मिल्न जाने त्रास समेत देखाए । देउवाले एमाले अझै बलियो बन्दै गएको र नेपालमा कम्युनिस्टको धेरै ठूलो संख्या रहेकाले गठबन्धन आवश्यक भएको बताए ।

    सभापति देउवाले भने–गठबन्धन कांग्रेस जिताउन गर्ने हो । हिजो शेखर कोइराला हारेको होइन ? हाम्रो हालत के थियो ? एमालेलाई फुटेको नसोचौँ,केपी ओली झन् बलियो बनेका छन् । भोलि माओवादीहरू एमालेसँग मिल्न गए भने ? प्रचण्ड हार्न चुनाव लड्छ ? मिल्दिन्छ नि जहाँ जितिन्छ त्यहीँ ? लखेटेपछि कहाँ जान्छन् ? ओलीलाई कमजोर नआँकौँ, धेरै बलियो छ एमाले ।

    देउवाले कांग्रेसलाई बलियो बनाउन र कम्युनिस्ट मिल्न नदिन गठबन्धन आवश्यक रहेको दोहोर्‍याए ।

    कार्यक्रममा शेखर कोइराला पनि थिए । कोइरालाले भने गठबन्धन गर्दा कांग्रेस आइको अवस्थामा पुग्ने चिन्ता व्यक्त गरे । उनले कांग्रेस मिले मात्र पनि जितिने बताए ।

  • एमाले बलियो छ त्यसैले गठबन्धन जरुरी-देउवा, कांग्रेस आइको हालत होला भन्ने आशंका- शेखर (भिडिओ)

    एमाले बलियो छ त्यसैले गठबन्धन जरुरी-देउवा, कांग्रेस आइको हालत होला भन्ने आशंका- शेखर (भिडिओ)

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्नेबारे कांग्रेसमा बहस चलिरहेका बेला शनिबार सभापति शेरबहादुर देउवा र शेखर कोइराला एउटै मञ्चमा देखिए । उनीहरुबीच मञ्चबाटै गठबन्धनलाई लिएर सवाल जवाफ चलेको थियो ।

    बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औँ वार्षिक साधारण सभामा सभापति देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताए ।

    देउवाले आफ्नो कर्तव्य भनेको नै पार्टीलाई जिताउनु भएको भएको भन्दै गठबन्धनको कुरा गरेर आफूले केही नबिगारेको बताए ।

    अहिले पनि नेकपा एमाले बलियो नै रहेको र कांग्रेसले गठबन्धन नगरे एमाले र माओवादी मिल्ने सम्भावना रहेको देउवाले बताए । बिपी र सुवर्णसमशेर देखि नै पार्टी भित्र गुट रहेको भन्दै देउवाले तत्काल पार्टीको गुट अन्त्य हुन नसक्ने तर्क गरे ।

    कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसको आफ्नै बिचार र सिद्धान्तले निर्वाचनमा जानुपर्ने बताए । गठबन्धनका कारण कांग्रेसको अवस्थामा भारतीय कांग्रेसकै जस्तो हुन्छ की भन्ने आशंका पैदा भएको उनको उनको भनाइ थियो ।

    कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

  • आफ्नो गुट ब्युँताउने रामचन्द्रको कसरत, शशांकले सघाउने संकेत

    आफ्नो गुट ब्युँताउने रामचन्द्रको कसरत, शशांकले सघाउने संकेत

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकअघि ‘आफ्नो टिम’को छलफल भन्दै भेला बोलाए ।

    भेलामा पूर्व महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य एवं कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी, बलबहादुर केसी, मधु आचार्य सहभागि थिए । उनीसँगै तनहुँ सभापति जितप्रकाश आले, बाजुरा सभापति रामसिंह रावल, र पाल्पा सभापति हिमालदत्त श्रेष्ठपनि उपस्थित थिए ।

    उनको यो छलफल कार्यक्रममा नेता केसी ‘ठट्यौली’ पारामा घोचपेचमा उत्रिए । उनले ‘रामचन्द्र दाइकोमा आउँदा शेरबहादुरकोमा पुगिने हो कि शेरखकोमा ?’ भनेर वरिष्ठ नेता पौडेललाई प्रश्न सोधे ।

    उनी त्यत्तिमा रोकिएनन् । ‘तपाईं र शेरबहादुरलाई नेता मान्न मलाई समस्या छैन,’ उनले भने,‘तर आज मेरो नेता शेखर कोइराला हो । म उहाँकै टिममा छु ।’

    उनको यो भनाई वरिष्ठ नेतामाथि निकै ‘कटु’ थियो । केसीले पौडेलको कोसिसमाथि प्रहार गर्न चाहेको देखिन्छ ।

    यस्तो प्रयास पछिल्लो समय शेखर कोइराला समुहका नेताहरूले वरिष्ठ नेता पौडेलमाथि गर्दै आएका छन् । १४ औँ महाधिवेशनमा पौडेल ‘मौन’ बसेकै कारण आफ्नो समुहका कोइराला सभापतिमा शेरबहादुर देउवासँग पराजित हुन पुगेको उनीहरूले तर्क गर्ने गरेका छन् ।

    महाधिवेशनमा ‘मौन’, त्यसपछि सक्रिय

    वरिष्ठ नेता पौडेल सुशिल कोइरालाको शेषपछि १३ औँ महाधिवेशनमा गिरिजा र सुशिलको विरासत बोकेको समूहबाट सभापतिमा देउवासँग भिडेका थिए । जहाँ उनले पराजय भोग्नुपर्‍यो । त्यसपछि नेता पौडेल १४ औँ महाधिवेशनसम्म सो समुहका साझा नेता थिए ।

    गत मंसिरमा सम्पन्न १४ औँ महाधिवेशनमा पनि सो समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्न चाहन्थे । उनको त्यो चाहनामा डा. शेखर कोइराला र पुर्व महामन्त्री प्रकाशमान सिंह बाधक बने ।

    अन्तिम अवस्थासम्म पनि आफ्नो नाममा सहमति जुट्न नसकेपछि पौडेल ‘राजनीतिबाट अलग’ हुने भन्दै बोहराटार फर्किएका थिए । जहाँ सभापति देउवा पुगेर ‘राष्ट्रलाई अझैं तपाईको आवश्यकता छ । राजनीतिबाट अलग नहुनुस्, आफ्नो स्वास्थ्य राम्रो बनाएर बस्नुस’ भनेर फर्किएका थिए । त्यसपछि वरिष्ठ नेता पौडेल महाधिवेशनमा ‘मौन’ बसे ।

    महाधिवेशनपछि प्रधानमन्त्री समेत रहेका देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा सत्तारूढ गठबन्धन दलका नेताहरू सम्मिलित ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’को संयोजक बनाएर उनलाई राजनीतिक भूमिका दिए ।

    त्यसयता उनको राजनीतिक सक्रियता जारी छ । गठबन्धन दलहरूबीचमा समस्या उत्पन्न हुँदा प्रधानमन्त्री देउवाले वरिष्ठ नेता पौडेललाई सक्रिय बनाउँछन् । एमसीसी विवादका बेला पनि उनको सक्रियता निकै बढेको थियो ।

    महाधिवेशनपछि नेता केसीको भनाईको आसयजस्तै प्रधानमन्त्री देउवासँग वरिष्ठ नेता पौडेलको ‘बोली’ पनि मिलिरहेको छ । दुबैजनाको भाषाको तादाम्यता एमसीसी अनुमोदनदेखि लिएर गठबन्धनलाई चुनावसम्म लैजाने कुरामा मिलिरहेको छ ।

    १३ औँ महाधिवेशनपछि उनीसँग रहेको समुहको विरासत १४ औँ महाधिवेशनपछि शेखरले हत्याएका छन् । सो समुहले अहिले ‘मौन’ बसेर समुहलाई हराउन भूमिका खेलेको भन्दै वरिष्ठ नेता पौडेललाई लखेटिरहेको छ ।

    ‘उहाँको त्यो भूमिकाले धेरै साथिहरू हारेका छन्,’ शेखर समुहका एक केन्द्रीय सदस्यले भने, ‘उहाँ मौन नबसेर समुहलाई सहयोग गरेको भए हाम्रो समुह जित्थ्यो, नभएपनि बहुसंख्यक अन्य साथीहरू निर्वाचित हुन्थे । केन्द्रीय समितिमा यति कमजोर स्थिती हुनेथिएन ।’

    सो समूहले आक्रोसमात्र पोखिरहेको छैन, आफ्नो समुहका कार्यक्रमहरूमा बोलाउन समेत छाडेको छ । अहिले शेखर समूहले गर्ने कुनैपनि कार्यक्रममा वरिष्ठ नेता पौडेलको उपस्थिती रहँदैन् । जसले सो समूहसँग उनको सम्बन्ध पूर्णरूपमा विच्छेद भएको जनाउ दिइरहेको छ ।

    वरिष्ठ नेता पौडेलजस्तै शेखर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पनि सोही व्यवहार दर्शाइरहेको छ । उनी पनि महाधिवेशनमा खुलेका थिएनन् । केन्द्रीय सदस्य लडेका उनको नाम सभापति देउवाको प्यानलमा पनि परेको थियो । उनी पनि नखुलेकै कारण चुनाव हराएको आरोप शेखर समुहले लगाउने गरेको छ । उनलाई पनि शेखर समुहका भेला तथा कार्यक्रमहरूमा बोलाइदैन् । उनी आफै सहभागि हुँदैनन् ।

    के चाहन्छन् रामचन्द्र ?

    महाधिवेशनबाट कांग्रेसको सभापति हुँने चाहना पुरा हुन नसकेपनि राजनीतिमा कार्यकारी भूमिकाको ‘मोह’ भने पौडेलमा मरेको देखिदैँन । सञ्चारमाध्यमले लिने अन्तरवार्ता र सार्वजनिक समारोहहरूमा उनी अझै मुलुकको कार्यकारी पदमा रहेर काम गर्न चाहेको अभिव्यक्ति दिन्छन् ।

    धेरैले महाधिवेशनमा सभापति देउवाले भेटेर राष्ट्रपतिको ‘अफर’ गरेको चर्चा पनि गर्दै आएका छन् । यद्यपी सो कुरालाई पौडेलले आफै इन्कार गर्दै आएका छन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा ‘कामै गर्न नपाउने’ राष्ट्रपतिभन्दा काम गर्न पाउने कार्यकारी पद प्रधानमन्त्री भएर एकपटक काम गर्ने इच्छा रहेको बताएका छन् ।

    ‘म केही पाउन राजनीतिमा लागेको होइन् । जति पाएको छु सन्तुष्ट छु,’ उनले भनेका छन्,‘तर हामी जे गर्न राजनीतिमा लाग्यौं, त्यो पुरा गर्न सकेनौं÷हुनसकेन् । कैलेकाँही सोच्छु कार्यकारी पदमा पुगेर केही नमूना गर्न पाए कम्तिमा यसमा सुधार गर्नसक्थें ।’

    उनी प्रधानमन्त्री बन्ने अवसर पाउलान/नपाउलान् तर पछिल्लो समयको सक्रियताले उनीभित्रको राजनीतिक ‘लालसा’ भने जिवित रहेको संकेत गर्छ ।

    हिजोको ‘समूह भेला’को अभ्यासले पनि उनी आफ्नो समूह ब्युँताएर शक्ति हासिल गर्ने प्रयासमा जुटेको टिप्पणी हुनथालेको छ । उनको प्रयासमा शेखर समूहबाट तिरस्कार भोगिरहेका पूर्वमहामन्त्री शशांकको पनि उपस्थितीले यसलाई ‘मलजल’ गरेको छ । शशांकको उपस्थिती रामचन्द्र पौडेल समूहको पुनर्जागरणको एक संकेत रहेको जानकार स्रोत बताउँछ ।

    यद्यपी हिजोको बैठकमा छुट्टै समुह बनाउने विषयमा भने कुनै कुरा उठेन् । वरिष्ठ नेता पौडेलले नेता केसीलाई भने दुखेसोपूर्ण जवाफ फर्काएका थिए । उनले भनेका थिए, ‘म र डा. शशांकलाई छुट्याएर टिम चलाउनु हुन्छ भने चलाउनुहोस् । नेता कार्यकर्ताको संरक्षण गर्नुहोस । हामी दुईजनालाई अलग गरेर नै बलियो हुँन्छौ भन्ने लाग्छ भने मेरो शुभकामना छ ।’

    शेखरलाई देउवाले महत्व नदिँदा पुग्ने फाइदा

    सभापति निर्वाचित भएपछि देउवाले महाधिवेशनमा झण्डैं ४० प्रतिशत मत पाएका शेखरलाई खास्सै महत्व दिइरहेका छैनन् । महाधिवेशनपश्चात शेख र समुहले उनलाई वरिष्ठ नेता बनाइनुपर्ने र दोस्रो वारियता माग गरेको थियो । देउवाले सो कुरालाई महत्व दिएनन् । आफूपछिको दोस्रो वारियतामा पौडेललाई राखेर वरिष्ठ नेता दिए । शेखरलाई पदाधिकारी र पूर्वपदाधिकारीपछिको मर्यादाक्रममा थन्काइदिए ।

    त्यसबाहेक पार्टीका आन्तरिक छलफल र नियूक्ति प्रक्रियामा पनि शेखरलाई स्थान दिएका छैनन् । बरु उनको समुहबाट पदाधिकारीमा निर्वाचित गगन थापालाई महत्व दिएको देखिन्छ । यसमा वरिष्ठ नेता पौडेलसँग भने परामर्श गरेर काम गर्ने अभ्यास गर्ने गरेका छन् ।

    सभापति देउवाको यो व्यवहारले अन्ततः शेखरसँग असुरक्षित महशुस गरेर केही समयपछि नेताकार्यकर्ताहरू आफूतिर आउने वरिष्ठ नेता पौडेलको बुझाई रहेको निकटस्रोत बताउछ । त्यसैले उनले ‘नेताकार्यकर्ताको सुरक्षा’को मुद्दा स्थापित गर्न खोजिरहेका छन् । शेखर समुहका नेताकार्यकर्ताहरूलाई जवाफ दिँदा उनी सोही कुरालाई अस्त्र बनाइरहेका छन् । हिजोको बैठकमा पनि नेता केसीलाई सोही ‘डायलग’ तेस्र्याएका थिए ।

    यसअघिका अन्तरवार्ता र केही अनौपचारिक भेटहरूमा समेत उनले नेताकार्यकर्ताको संरक्षणका लागि आफू अग्रसर हुन तयार रहेको बताउने गरेका थिए ।

  • रामचन्द समूहप्रति जोशीको कटाक्ष–तनहुँमा यसपटक मांग्रेसलाई सबक सिकाउनुपर्छ

    रामचन्द समूहप्रति जोशीको कटाक्ष–तनहुँमा यसपटक मांग्रेसलाई सबक सिकाउनुपर्छ

    तनहुँ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले पार्टी सभापति शेरबहादुर देउवा जिल्लामा आउँदा केही छद्मभेषी कांग्रेस नेताहरुले वास्तविक समस्या नभनी बाहिर बाहिर आफूसँग मिल्ने कुरा गरेको भन्दै उनीहरुलाई सबक सिकाउने चेतावनी दिएका छन् ।

    कांग्रेसले अनुशासनको कारवाही गरेपछि जिल्लामा अलग्गै समूह बनाएर बसेका जोशीले माओवादी र नेकपा एससँग मिल्ने तर आफूलाई जसरी भए पनि पर लखेट्ने राजनीतिका मूल्य तनहुँले चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

    उनले रामचन्द्र पौडेल समूहलाई मांग्रेस (माओवादी–कांग्रेसं)को संज्ञा दिँदै यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन् । पौडेल नेकपा एस र माओवादीसँग गठबन्धनको पक्षमा छन् ।

    जोशीले फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्,’ बाहिर चियापसल मा जोशीसंग मिल्नु पर्छ भन्ने तनहूँका छद्मभेषी नेताहरुको अनुहार नांगिएको छ। पार्टी को सभापती जिल्ला आउँदै गर्दा तनहूँ काङ्ग्रेसको समस्या नभन्ने तर मैले बाहिर भने भन्दै हिड्ने हरु लाई यस पटक नराम्रो सबक सिकाउन पर्ने छ। यसपालि मांग्रेस ( माओबादी कांग्रेस) लाई होइन सच्चा कांग्रेस लाइ जिताउनु पर्ने भएको छ। समाजवादी र माओबादी संग मिल्ने तर जोशी लाइ जसरी भए पनि पर लखेट्ने राजनीती को मूल्य तनहुँले चुकाउनु पर्ने छ।’

  • आलाेपालाे सहमति अनुसार लुम्बिनीकाे नेतृत्व दिन कांग्रेसकाे दबाब, मन्त्री दिएर थुम्थुम्याउने माओवादीकाे दाउ

    आलाेपालाे सहमति अनुसार लुम्बिनीकाे नेतृत्व दिन कांग्रेसकाे दबाब, मन्त्री दिएर थुम्थुम्याउने माओवादीकाे दाउ

    रुपन्देही । लुम्बिनी प्रदेश सरकार परिवर्तनको विषय स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि मथ्थर भएको समयमा नेपाली कांग्रेसले पुनः कोट्याएको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको लुम्बिनी प्रदेशको नेतृत्व परिवर्तनको भद्र सहमति कार्यान्यवन गर्न कांग्रेस संसदीय दलले औपचारिक पत्र पार्टी सभापति शेरबहादुर देउवालाई पठाएको छ ।

    साउन २८ मा एमाले नेतृत्वको सरकार हटाएर बाँकी ८/८ महिना आलोपालो माओवादी कांग्रेसले नेतृत्व गर्ने सहमति गरी ५ दलीय गठबन्धनमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए ।

    सहमतिअनुसारको समय सकिएसँगै लुम्बिनी प्रदेशमा गठबन्धन दलहरुबीच आलोपालो सरकार चलाउने गरी भएको भद्र सहमति कार्यान्वयन गर्न नेपाली कांग्रेस लुम्बिनीले माग गरेको हो ।

    कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले सोही अनुसार सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको भद्र सहमतिका आधारमा मुख्यमन्त्रीको आलोपालो विषयलाई लिएर नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पत्र पठाएको संसदीय दलको प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए ।

    भद्र सहमति दुवै पक्षले इमानदारीका साथ पालना गर्न र गराउनका लागि संसदीय दलले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएको हो । भद्र सहमति कार्यावन्यन भएमा लुम्बिनी प्रदेशमा माओवादीबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले सरकारको नेतृत्व छाड्नुपर्ने छ । सो सहमति पालना भएमा अब नेपाली काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने ढोका खुल्नेछ ।

    माओवादीले भने अहिले सरकार परिवर्तन गर्ने समय नभएको प्रतिक्रिया यसअघि नै दिएको छ । कसैलाई मुख्यमन्त्री बन्ने रहर लागेर अहिले सरकार फेरिदैन, देशभरको गठबन्धन माथिबाटै निर्णय भएर बनेको हो, माओवादीका सचेतक तुलाराम घर्तीले नेपाल प्रेससँग भने ।

    मौखिक सहमति भएको हो, हामीलाई छोड्न समस्या छैन तर यो यहाँमात्र फेरिने भन्ने हुँदैन, हामीले पार्टी अध्यक्ष प्रचण्डसँग लुम्बिनीमा भएको सहमतिबारे जानकारी गराएका छौं, यो देशभरको कुरा हो, भए सबैतिर हुन्छ भनेर उहाँले भनिसक्नुभएको छ, घर्तीले भने ।

    कांग्रेस र माओवादीभित्र ८ महिनामा सरकार फेरिने भएपछि साउन महिनामै मन्त्री बन्ने पालो बनाएका सांसदहरुलाई यो विषय अलिक पेचिलो ढंगले उठेको छ । धेरै सांसदहरुलाई मन्त्रीको भाग पुराउन यस्तो आश्वासन उही बेला नै नेताहरुले दिएका थिए । कांग्रेसका एक सांसुद भन्छन्, साउनमा ८ महिनापछि तपाई मन्त्री बन्ने भनेर फुर्काइयो अहिले त चालचुल केही छैन, चुनावी समयमा मन्त्री बन्ने भनेर त्यो बेला छोडेको हो ।

    मुख्यमन्त्री अहिले फेरिने अवस्था छैन, कांग्रेसमा अहिले भएका केही मन्त्री फेरेर विवाद मथ्थर हुन्छ, माओवादीका मन्त्री बन्न बाँकी रहेका केही मन्त्री फेरिनुहुन्छ, सायद चैतपछि नै त्यो प्रकृया अगाडि बढ्छ, माओवादीका सचेतक तुलाराम घर्तीले बताए ।

    ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा अहिले ८१ जना सांसद छन् । जसमध्ये १३ मन्त्री र ४ राज्यमन्त्री गरी १७ जनाको मन्त्रीमण्डल छ । यसअघि साढे ३ वर्ष ७ मन्त्रालयबाट काम भएको लुम्बिनीमा भागवण्डाका लागि मन्त्रालय थपिएको विषयमा आलोचना भइरहेको छ । ८१ सांसदमध्ये एमालेका ३६, कांग्रेसका १९, माओवादी केन्दका सभामुखसहित १९, जसपाका ४, नेकपा एसका १, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र (सूर्य चुनाव लिएर जितेका)१ छन् ।

    मन्त्रीमण्डलमा जसपाका ३, स्वतन्त्र १, नेकपा एसका १ माओवादीका मुख्यमन्त्रीसहित ४ मन्त्री दुई राज्यमन्त्रीसहित ६, कांग्रेसका ४ मन्त्री २ राज्यमन्त्रीसहित ६ मन्त्री गरी १७ सदस्यीय छन् ।

    लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी,सभामुख पूर्णबहादुर घर्ती तीनै मुख्य पदमा माओवादीबाट प्रतिनिधित्व भएको छ । तेस्रो दलले सबै पद राखेको भन्दै शक्ति सन्तुलन नमिलेको विषय धेरै पटक आलोचना भएको छ ।

  • तालमेलका पक्षमा देउवा दृढ, केन्द्रीय समितिमा छलफलको ‘रिहर्सल’ मात्रै

    तालमेलका पक्षमा देउवा दृढ, केन्द्रीय समितिमा छलफलको ‘रिहर्सल’ मात्रै

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकको पहिलो दिन नै आसन्न स्थानीय निर्वाचनमा सत्ता साझेदार दलहरुसँग चुनावी तालमेल गर्ने वा नगर्ने भन्नेमा बहस चर्किएको छ ।

    कांग्रेसका केन्द्रीय सदस्य र प्रदेशका सभापतिहरुले चुनावी तालमेलबारे पक्ष विपक्षमा धारणा राखेपनि केन्द्रीय समितिको बैठक ‘रिहर्सल’ मात्रै हुने देखिन्छ । किनकी सभापति शेरबहादुर देउवा सत्ता साझेदार दलहरुसँगै मिलेर चुनाव लड्नुपर्ने दृढ मनोविज्ञानका साथ बैठकमा प्रस्तुत भएका छन् ।

    केन्द्रीय समितिमा आरामदायी बहुमत रहेका देउवा केहीदिन छलफल चलाउने तर निर्णय आफ्नो ‘माइन्ड सेट’ अनुसार नै गराउनेमा आत्मविश्वासी समेत देखिन्छन् ।

    देउवाको ‘रेडीमेट माइन्डसेट’

    कांग्रेस केन्द्रीय समितिको बैठकमा आमन्त्रण गरिएका प्रदेश सभापति र चुनावी अभियानमा जिल्ला खटिएका केन्द्रीय सदस्यहरुले ‘रिपोर्टिङ’ गर्ने क्रम सुरु भएको छ ।

    सातमध्ये ६ प्रदेशका सभापतिले पहिलोदिनको बैठकमै चुनावी तालमेल र पार्टीको अवस्थाबारे धारणा राखे । जसमध्ये केहीले स्थानीय आवश्यकता अनुसार तालमेल हुनुपर्ने बताए भने केहीले तालमेल गरे कांग्रेसको हालत ‘कांग्रेस आई’ को जस्तो हुने बताए ।

    १ महिने चुनावी अभियानमा खटिएर विभिन्न जिल्ला पुगेका केन्द्रीय सदस्यहरुल सम्बन्धित जिल्लाको ‘ग्राउण्ड’ अनुसारको धारणा राखेका छन् । जसले जे धारणा राखेपनि सभापति देउवा भने चुनावी तालमेल अपरिहार्य देख्छन् । यही कारण शुक्रबारको बैठक समापन गर्ने बेलातिर उनले तालमेलको विरुद्धमा बोल्ने नेताहरुलाई जवाफ फर्काए ।

    ‘चितवनमा कांग्रेसले कहिले जितेको छ ? गठबन्धन नगर्ने हो भने फेरी पनि हार्छ’, देउवाले आक्रोशित हुँदै भने ।

    देउवाको यही अभिव्यक्तिले चुनावी तालमेलका पक्षमा देउवा दृढ रहेको र केन्द्रीय समितिमा सुरु भएको छलफल एक औपचारिकतामात्रै रहेको पुष्टी हुन्छ ।

    ‘हामीले ग्राउण्डको अवस्था हेरेर तालमेल गर्ने वा नगर्ने धारणा राखेका छौं । हाम्रो धारणाले खासै फरक पर्ने देखिदैन । किनकी सभापतिजीले तालमेलको सहमति गरिसकेजस्तो छ’, बैठकबाट बाहिरिदै एक केन्द्रीय सदस्यले भने ।

    सभापति नै ‘रेडीमेड माइन्डसेट’ बोकेर बैठकमा आएकोले १ सय बढी केन्द्रीय सदस्यहरुले व्यक्त गर्ने धारणाले निर्णयमा खासै प्रभाव नपर्ने सम्भावना अधिकांश केन्द्रीय सदस्यहरुले देखेका छन् ।

    पार्टीभित्रै तालमेल गर्न सुझाव

    कांग्रेस केन्द्रीय समितिमा बोल्ने सबैजसो नेताहरुले पार्टीको आन्तरिक एकता मजबुद भए अधिकांश तहमा निर्वाचन जितिने धारणा राखेका छन् । संस्थापन इतर पक्षका नेताहरुले पार्टीभित्र सबै पक्षलाई समेट्न नचाहने तर अरु पार्टीका लागि समेट्न खोज्ने प्रवृत्ति त्याग्न आग्रह गरेका थिए ।

    बैठकमा केन्द्रीय सदस्यहरु कृष्णचन्द्र नेपाली, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादु रबुढा, रमा कोइराला, कृष्णकिशोर घिमरिे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरी खतिवडा, मुक्ताकुमारी यादव, सरस्वतीय अर्याल, हरिशरण नेपाली, जानकी सिंह, डा।गोविन्दराज पोखरेल,अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेठ, दिनेश कोइराला, सीता राना र शान्ति परियारले धारणा राखेका छन् ।

    सबैजसो केन्द्रीय सदस्यहरुले ‘घर घर जाऔं,कांग्रेस जिताऔं’ अभियानका कारण वडा तहसम्मका कार्यकर्ता उत्साह बढेको र कम्युनिष्ट पार्टीको विभाजनका कारण मतदाताको आकर्षण बढेको भन्दै आन्तरिक एकता भए एक्लै चुनाव जितिने बताएका थिए ।

    ‘जिल्लाजिल्लामा १४ औं महाधिवेशनको तिक्तता अझैपनि बाँकी रहेको देखिन्छ । सातै प्रदेशमा शीर्ष नेतृत्वले संयुक्तसभा गर्ने र न्यायोचित ढंगले टिकट वितरण गर्ने हो भने कांग्रेसले बहुमत ल्याउने अवस्था विद्यमान छ’, बैठकमा केन्द्रीय सदस्य डा।गोविन्द पोखरेलले भनेका थिए । अर्का केन्द्रीय सदस्य नैनसिंह महरले पनि चुनावी तालमेलले गर्दा अरु पार्टीका नेता खुसी हुने तर आफ्नै पार्टीका नेता कार्यकर्ता दुःखी हुनसक्नेतर्फ सचेत गराए ।

    सभापतिविरुद्ध दुष्प्रचार भयो ः प्रवक्ता महत

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने सभापतिले ‘रेडीमेट माइन्डसेट’ मा बैठक सञ्चालन गरेको स्वीकार्न तयार छैन । पार्टीका केही नेताहरुल सभापति देउवा तालमेलका लागि तयार भइसकेको सन्देश प्रवाह गरेर सभापतिविरुद्ध दुष्प्रचार गरेको महतको भनाई छ ।

    ‘बल्ल त पार्टीमा छलफल भएको छ । सबैको भावना बुझेर सोही अनुसार निर्णय गर्ने सभापतिको तयारी छ । अनावश्यक रुपमा सभापतिले निर्णय लाद्न खोज्नुभयो भनेर गलत प्रचार भइरहेको छ । जे गर्छ केन्द्रीय समितिले गर्छ, छलफल र सबैको भावना अनुसार नै निर्णय हुन्छ’, प्रवक्ता महतले भने ।