Category: नेपाली कांग्रेस

  • सुनकोशी कांग्रेस: मतदानबाट उम्मेदवार सिफारिस, कसले ल्याउला टिकट ?

    सुनकोशी कांग्रेस: मतदानबाट उम्मेदवार सिफारिस, कसले ल्याउला टिकट ?

    सिन्धुपाल्चोक । नेपाली कांग्रेस सुनकोशी गाउँपालिका कार्य समितिले स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार मतदानबाट छनोट गरेको छ । सर्वसम्मत हुन नसकेपछि मतदानबाट उमेदवार छनोट गरेर जिल्ला समितिमा पठाइने कांग्रेसले जानकारी दिएको छ ।

    मतदानबाट गाउँपालिका समितिका सभापतिसमेत रहेका रुपकाजी लामाले २७ र नेत्रबहादुर कार्कीले १७ मत ल्याएका थिए । अध्यक्षका लागि सातजनाको उमेदवारी परे पनि बढी मत पाउने लामा र कार्कीलाई जिल्ला समितिमा सिफारिस गर्ने कांग्रेसले जानकारी दिएको छ । त्यस्तै उपाध्यक्षमा सिफारिसका लागि पनि मतदान भएको छ ।

    उपाध्यक्षमा कान्छिमाया तामाङले २०, ज्ञानु तिमिल्सिनाले १८ र अम्बिका तिमिल्सिनाले १६ मत ल्याएका थिए । बढी मत ल्याउने तीनैजनाको नाम जिल्ला समितिमा सिफारिस गरिने नेपाली कांग्रेस सुनकोशी गाउँपालिका समितिका सभापति रुपकाजी लामाले जानकारी दिए ।

    गाउँपालिका समितिमा रहेका ४२ मध्ये ४१ जना सहभागी भएकोमा २९ जना मतदान प्रक्रियामा सहभागी भएका थिए । १२ जनाले निर्वाचन प्रक्रियामा सहभागी नहुने भन्दै निर्वाचन बहिष्कार गरेको सभापति लामाले जानकारी दिए ।

    लोकतान्त्रिक अभ्यासबाट गाउँपालिका समितिबाट उम्मेदवार छनोट भएको र यही नाम अब जिल्ला समितिमा पठाइने लामाले जानकारी दिए । गाउँ समितिले पठाएको नाम नै जिल्ला समितिले छनोट गर्नेमा आफूहरु विश्वस्त रहेको लामाले बताए ।

    गाउँपालिका अध्यक्षका लागि वर्तमान गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी(विनोद) आकांक्षी थिए । अब गाउँपालिका समितिबाट नै सिफारिस नभएपछि जिल्ला समितिले कसलाई उमेदवार बनाएर पठाउँछ भन्ने प्रश्न रोचक भएको एक नेताले बताए ।

  • गठबन्धनको भागबण्डामा निधिको आपत्ति, मधेशमा कांग्रेस सिध्याउने षड्यन्त्र भएको आरोप

    गठबन्धनको भागबण्डामा निधिको आपत्ति, मधेशमा कांग्रेस सिध्याउने षड्यन्त्र भएको आरोप

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विमलेन्द्र निधिले मधेशमा नेपाली कांग्रेस सिध्याउने षडयन्त्र भएको आरोप लगाएका छन् ।
    सत्तारुढ ५ दलीय गठबन्धनले महानगर र उपमहानगरको नेतृत्वबारे गरेको भागबण्डाप्रति लक्षित गर्दै नेता निधिले मधेशमा कांग्रेस सिध्याउने प्रयास भएकोतर्फ सचेत रहन आग्रह गरेका हुन् ।
    सत्ता गठबन्धनले आज गरेको सहमतिअनुसार मधेश प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाको प्रमुख जसपाले पाउने भएको छ ।
    त्यस्तै जनकपुर उपमहानगरपालिकाको नेतृत्व पनि जसपाले पाउने भएको छ । मधेशका महत्त्वपूर्ण महानगर र उपमहानगरको नेतृत्व सुम्पिनुले कांग्रेसलाई कमजोर बनाउने निधिको भनाई छ ।
    ‘गठबन्धनको नाममा जे निर्णय भयो त्यो आत्मघाती छ । मधेशमा कांग्रेसलाई सिध्याउने षड्यन्त्रअनुसार यो काम भएको छ । पार्टी निर्णय र कार्यकर्ताको भावना विपरीत गरिएको निर्णय सच्चिएन भने कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ’, निधिले नेपाल प्रेससँग भने ।
    उनले कांग्रेसको आधार भूमिका रूपमा रहेको मधेश प्रदेश जसपालाई जिम्मा लगाउने गरी गठबन्धनले निर्णय गरेको आरोप लगाए ।
    ‘मधेशमा कांग्रेसलाई कमजोर बनाउने र जसपालाई बलियो बनाउने काम भएको छ । गठबन्धनको भागबण्डा अराजनीतिक र कांग्रेसविरुद्ध छ’, निधिले भने ।
    उनले गठबन्धनका नाममा गरिएको भागबण्डाले मधेशसँगै देशका अन्य प्रदेशका नेता कार्यकर्ताहरूको पनि योगदानको अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।
  • गृहमन्त्रीको चेतावनी- गठबन्धनको निर्णय नमान्नेको नोटिस गरिएको छ, सांसदसम्म उठ्न पाउँदैनन् (भिडिओ)

    गृहमन्त्रीको चेतावनी- गठबन्धनको निर्णय नमान्नेको नोटिस गरिएको छ, सांसदसम्म उठ्न पाउँदैनन् (भिडिओ)

    रुपन्देही । कांग्रेस नेताहरूबाटै गठबन्धन विरोधी आवाज आइरहेको बेला नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनविरुद्ध लाग्नेहरूलाई पार्टीले कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

    रुपन्देहीको तिलोत्तमा मणिग्रामस्थित आफ्नै घरमा बुधवार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री खाँणले उक्त चेतावनी दिएका हुन् ।

    पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयविरुद्धमा लाग्ने जो कोहीलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र पनि स्थान नदिइने खाणको भनाइ छ ।

    वर्तमान सरकार गठबन्धनको जगमै बनेकोले नेपाली कांग्रेस गठबन्धनको निर्णयबाट भाग्न नमिल्ने खाणले बताए ।

    ‘गठबन्धनलाई दीर्घकालीन ढंगले लैजाने कांग्रेसको केन्द्रीय कमिटीको निर्णय हो त्यस विपरीत जान सकिँदैन, निर्णय विपरीत जाने नेता तथा कार्यकर्ताहरूलाई स्थानीय तहमा मात्रै होइन प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाउने गरी गतिविधि नोटिस गरिएको छ’, खाँणले भने ।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति टिप्पणी गर्दै गृहमन्त्री खाणले गभर्नर अधिकारीले गरेका काम कारबाहीप्रति कमीकमजोरी देखिएकोले सरकारले निलम्बन गरे पनि सर्वोच्च अदालतले गरेको निर्णयलाई सरकारले सम्मान गर्ने बताए ।

    अर्थमन्त्रीको सिफारिस भए पनि मन्त्रिपरिषद्को निर्णयबाटै गभर्नर अधिकारीलाई निलम्बन गरिएकोले यसको जिम्मेवारी पनि सरकारले नै लिने उनको भनाई छ ।

    खाँणले स्थानीय तहको निर्वाचन देशभर एकै पटक हुँदा सुरक्षा चुनौती थपिएको भए पनि सरकार सुरक्षा व्यवस्था मजबुत बनाउन लागिरहेको बताए ।

    अघिल्लो पटकको तिन चरणमा सम्पन्न गरिएको स्थानीय तहको निर्वाचन यस पटक भने वैशाख ३० गते एकै दिन हुने भएकोले सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ ।

  • गठबन्धन बैठकमा गगन नजानुको यस्तो रहेछ कारण

    गठबन्धन बैठकमा गगन नजानुको यस्तो रहेछ कारण

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा केही दिनयता गठबन्धनको बैठकमा अनुपस्थित छन् । स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारुढ गठबन्धनको निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिमा थापा सदस्य रहेका छन् ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको समितिका बैठकमा नियमित सहभागी हुने गरेका थापा तीन दिनयता भने बैठकमा गएनन् । बुधबार मात्रै गठबन्धनमा महानगर र उपमहानगरको सीट बाँडफाँट टुंगिएको छ ।

    गठबन्धनका बैठकमा गगन अनुपस्थिति हुनुका मुख्यतः २ कारण छन् । पहिलो गठबन्धनको निर्णयमा असन्तुष्टि र दोस्रो घोषणापत्र बनाउने व्यस्तता । कांग्रेस कार्यसम्पादन समितिको पछिल्लो बैठकमै महामन्त्री थापाले केन्द्रीय समितिको निर्णय विपरीत तालमेलबारे केन्द्रबाट निर्णय लाद्न खोजिएको भन्दै असन्ष्टि जनाएका थिए । थापाको असन्तुष्टि सम्बोधन गर्न सभापति शेरबहादुर देउवा तयार भएनन् ।

    केन्द्रीय समितिको निर्णय जे भएपनि गठबन्धनबाट आफूअनुकूल निर्णय गराउने तयारी देउवाले गरेपछि गगन गठबन्धनका बैठकमा अनुपस्थित भएका हुन् ।

    ‘कांग्रेस केन्द्रीय समितिले स्थानीय आवश्यकता अनुसार स्थानीय समितिले नै तालमेलबारे निर्णय लिने भनिए पनि गठबन्धनको बैठकबाटै महानगर, उपमहानगर र कतिपय पालिकाहरूको निर्णय गर्ने प्रयत्न गरिएको छ । कांग्रेसको निर्णयविपरीत काम हुने बैठकमा कांग्रेसको महामन्त्री किन जाने ?’, महामन्त्री थापानिकट एक नेताले भने ।

    गठबन्धन बैठकमा थापाको अनुपस्थितिको दोस्रो कारण घोषणापत्र लेखनको जिम्मेवारी पनि हो । कांग्रेसले महामन्त्री थापाकै नेतृत्वमा घोषणापत्र लेखन समिति बनाएको छ । वैशाख ११ गते लोकतन्त्र दिवसका अवसरमा सार्वजनिक हुने घोषणापत्र लेखनमा समय दिनु परेकोले पनि गठबन्धन बैठकमा थापा जान नभ्याएका हुन् ।

    ‘यसपटकको घोषणापत्र कांग्रेसका लागि सदैव अनुकरणीय होस् भनेर मेहनत गरेका छौं । काठमाडौंबाहिरै बसेर केही दिन काम गरेका छौं । त्यसैले व्यस्तता बढेको छ’, थापाले बुधबार नाँचघरको कार्यक्रममा भनेका छन् ।

    कांग्रेसमा महामन्त्री थापालगायतका नेताहरू चुनावी तालमेलको विपक्षमा छन् ।

    (बालुवाटारमा सिट बाँडफाँट गर्न गठबन्धनको ‘निर्णायक बैठक’ चलिरहँदा नेविसंघको एक कार्यक्रममा सहभागी भएका गगन । तस्बिरहरू : गौरव पौडेल ।)

  • कांग्रेसलाई कसैको बैशाखी चाहिँदैन : डा. कोइराला

    कांग्रेसलाई कसैको बैशाखी चाहिँदैन : डा. कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको बताएका छन् ।

    नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसलाई गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने बताए ।

    ‘मलाई लाग्दैन नेपाली कांग्रेस कमजोर छ । एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौं भन्ने आत्मविश्वास छ । कांग्रेसलाई कसैको बैशाखी चाहिएको छैन’, कोइरालाले भने ।

    नेता कोइरालाले कांग्रेसको केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको भन्दै उपयुक्त समयमा कदम चाल्ने बताए ।

    ‘सबै कुराको लेखाजोखा निर्वाचनपछि गरौला । अहिले कांग्रेसका उम्मेदवार जिताउन हामी सबै लाग्नुपर्छ’, कोइरालाले भने ।

    कोइरालाले भ्रातृ संस्थाको तदर्थ समिति गठनमा नेतृत्वले गरेका कमजोरी सच्याउन पहल गर्ने बताए ।

  • कम्युनिस्टको डरले कम्युनिस्टसँगै तालमेल गर्नुपर्ने अवस्था अन्त्य गरौँ : महामन्त्री थापा

    कम्युनिस्टको डरले कम्युनिस्टसँगै तालमेल गर्नुपर्ने अवस्था अन्त्य गरौँ : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक्लै चुनाव लड्न र जित्न सक्ने कांग्रेस बनाउन अझै संघर्ष गर्नुपर्ने बताएका छन् ।

    नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने मत पार्टीभित्र अल्पमतमा परे पनि ढिलोचाँडो एक्लै निर्वाचन लडेर जित् नसक्ने कांग्रेस बनाइछाड्ने बताए ।

    ‘कांग्रेसको मत ३०–३२ लाख हो । त्यो मत नबढाउने हो भने हामी कुनै न कुनै कम्युनिस्ट पार्टीसँग डराइरहनुपर्छ । अहिले कम्युनिस्टहरू मिल्ने डरले गठबन्धन गरेका छौँ, भोलि जितेर आएपछि उनीहरूले अर्को डर देखाउँछन् । त्यसैले अब डराउने होइन, एक्लै चुनाव जित्ने कांग्रेस बनाउनुपर्छ’, महामन्त्री थापाले भने ।

    ढिलोचाँडो नेपालका कम्युनिस्टहरू एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिस्टहरू एकै भए पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउने हाम्रो लक्ष्य हो ।

    ‘हाम्रो मत कहिले पार्टीकै मत बन्छ । कहिले हाम्रो मत अल्पमतमा पर्न पनि सक्छ । अहिले अल्पमतमा परे पनि कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने पार्टी बनाउने उद्देश्यमा हामी विचलित छैनौँ’, थापाले भने ।

    नेपालका कम्युनिस्टहरू रातारात एकता वा रातारात विभाजन गर्न माहिर रहेको भन्दै थापाले चुनावपछि पनि गठबन्धनको निरन्तरता निश्चित नहुने बताए ।

    ‘अहिले हामी मिल्दिम भनेर डर देखाएका छन् । जितेर आएपछि हामीलाई चाहियो भनेर डर देखाउँछन्’, थापाले भने ।

    कांग्रेसको केन्द्रीय समितिले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार स्थानीय समितिलाई दिए पनि त्यो कार्यान्वयन हुन नसकेको थापाको भनाई छ ।

    ‘के हामीले केन्द्रीय समितिको निर्णय कार्यान्वयन गरेका छौँ त ? चुनावी तालमेलबारे स्थानीय समितिले नै अन्तिम निर्णय गर्नुपर्ने हो तर अहिले के भइरहेको छ ? यो सबै विषयको उपयुक्त समयमा समीक्षा गर्नुपर्छ’, थापाले भने ।

    युवा विद्यार्थीहरूलाई चुनावका लागि तत्कालै आ–आफ्नो गृह जिल्ला जान निर्देशन दिदैं महामन्त्री थापाले पार्टीले निर्णय नगर्दासम्म लड्नुपर्ने र निर्णय भइसकेपछि मान्नुपर्ने बताए ।

  • स्थानीय चुनावको परिणाम जे आएपनि ओली र प्रचण्ड मिल्न सक्छन् : नेता रिजाल

    स्थानीय चुनावको परिणाम जे आएपनि ओली र प्रचण्ड मिल्न सक्छन् : नेता रिजाल

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले स्थानीय तहको निर्वाचनमा जे परिणाम आएपनि कम्युनिष्ट घटकहरू एकै ठाउँमा उभिने खतरा नटरेको बताएका छन् ।

    नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता रिजालले गठबन्धन सैद्धान्तिक रूपमा गलत रहेको बताए । स्थानीय निर्वाचनमा गठबन्धनले जिते ओलीले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्नसक्ने र गठबन्धनले हारे प्रचण्डले ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्नसक्ने रिजालको भनाइ छ ।

    ‘यो सत्ता गठबन्धन प्रतिवद्ध भएर गयो भने हामी धेरैभन्दा धेरै ठाउँमा चुनाव जित्छौं । त्यतिबेला ओलीजीले प्रचण्डजीलाई प्रधानमन्त्री प्रस्ताव गर्न सक्नुहुन्छ । प्रचण्डजी त्यतिबेला के गर्नुहुन्छ ? यदि गठबन्धन सफल भएन भने कांग्रेसलाई गद्धार भन्दै प्रचण्डजी ओलीलाई प्रधानमन्त्री बनाउन कस्सिनुहुन्छ । त्यसैले कुनै न कुनै कम्युनिष्टलाई शिरमा राख्नेकुरामा कांग्रेसले विचार गर्नुपर्छ’, रिजालले भने ।

    पार्टीभित्र जतिपनि असहमति भएपनि निर्वाचनमा पार्टीलाई जिताउनुपर्ने दायित्व रहेको भन्दै नेता रिजालले कम्युनिष्टहरूसँगको सहकार्य र प्रतिस्पर्धाबारे कांग्रेसको धारणा प्रष्ट हुनुपर्ने बताए ।

    ‘कहिले एउटा कहिले अर्को कम्युनिष्टलाई च्यापेर कांग्रेस कहिलेसम्म हिँडिरहने हो ?’, रिजालले प्रश्न गरे ।

  • मेयर सिफारिसले गृहमन्त्री खाणको क्षेत्रमा खैलाबैला, कांग्रेस नेता यादवले पार्टी छाडे

    मेयर सिफारिसले गृहमन्त्री खाणको क्षेत्रमा खैलाबैला, कांग्रेस नेता यादवले पार्टी छाडे

    रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्र कांग्रेस क्षेत्र नम्बर ३ का निवर्तमान सभापति मात्रिकाप्रसाद यादवले पार्टी छाडेका छन् ।

    कांग्रेसबाट सिद्धार्थनगर नगरपालिकाको उम्मेदवारको आकांक्षीसमेत रहेका यादवले पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्याग गरेको घोषणा गरेका हुन् । संस्थापनइतर समूहमा रहेका यादवले एकलौटी रूपमा कांग्रेस नगर समितिले मेयर पदको उम्मेदवार सिफारिस गरेकोप्रति असन्तुष्टि जनाए ।

    मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि हचुवाको भरमा एकजनाको मात्र नाम सिफारिस गर्नु गलत भएको उनले बताए ।

    यादवले भने, ‘हामी ४० वर्षदेखि कांग्रेसमा आबद्ध छौं, तर हिजो आएका नयाँ मान्छेलाई एकलौटी रूपमा मेयर पदको उम्मेदवारमा सिफारिस गरियो, यो गलत हो ।’

    गत स्थानीय तहको निर्वाचनमा पनि सिद्धार्थनगर नगरपालिकाको प्रमुख पदको उम्मेदवार भइ उनी पराजित भएका थिए । पार्टीको क्षेत्रीय अधिवेशनमा पनि उनी क्षेत्रीय सभापति पदमा पराजित भए ।

    मंगलबार नेपाली कांग्रेसले सिद्धार्थनगरमा इस्तियाक अहमद खानलाई मेयरमा सिफारिस गरेको थियो । नेता खाण रुपन्देही आएकै समयमा सो क्षेत्रका प्रभावशाली नेता यादवले पार्टी छोड्नु अर्थपूर्ण रहेको पार्टी पंतिमा चर्चा चलेको छ ।

  • पोखराको मेयर नेकपा एसलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा ताला

    पोखराको मेयर नेकपा एसलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा ताला

    पोखरा । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

    महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।

    ‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’

    सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताए ।

    ‘आगामी दिनमा अपनाइने संघर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्य समिति लाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

  • दार्चुलामा नेकपा एसलाई छाडेर कांग्रेस र माओवादीले गरे भागबन्डा

    दार्चुलामा नेकपा एसलाई छाडेर कांग्रेस र माओवादीले गरे भागबन्डा

    दार्चुला । दार्चुलामा नेकपा (एकीकृत समाजवादी)लाई पाखा लगाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबन्डा टुङ्ग्याएका छन् ।

    ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका कांग्रेस र माओवादीबीच भागबन्डामा सहमति भएको हो ।

    दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा कांग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ ।

    दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । कांग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ ।

    बाँकी चार गाउँपालिका अध्यक्ष माओवादीले उम्मेदवार पाउने माओवादी केन्द्र दार्चुलाका समन्वय समिति सचिव प्रेमराज पन्तले जानकारी दिए ।

    कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ । माओवादीले मार्मा, अपी, नौगाड र लेकम गाउँपालिकामा प्रमुख पाउनेछ ।

    ६१ वडामध्ये ४४ मा कांग्रेस र १७ वडा माओवादीले पाएको छ । एकीकृत समाजवादीलाई वडा सदस्यमा आवश्यकताका आधारमा भागबन्डा दिने तय गरिएको उनको भनाइ छ ।

    २०७४ को निर्वाचनमा कांग्रेसले पाँच, एमालेले तीन र माओवादीले एक स्थानीय तह जितेको थियो ।

  • महेश आचार्य सम्झिँदै विश्वप्रकाशले अर्थमन्त्री शर्मालाई दिए राजीनामाको सुझाव

    महेश आचार्य सम्झिँदै विश्वप्रकाशले अर्थमन्त्री शर्मालाई दिए राजीनामाको सुझाव

    काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अप्रत्यक्षरूपमा अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् ।

    महामन्त्री शर्माले तत्कालीन अर्थमन्त्री महेश आचार्यको तस्बिर ट्वीटरमा पोष्ट गरेका छन् ।

    ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति’, महामन्त्री शर्माले लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाईको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।’

    आचार्यले आफू अर्थमन्त्री हुँदा हटाइएका गभर्नर तिलक रावललाई सर्वोच्चले पुनर्वहाली गरेपछि राजीनामा दिएका थिए । सर्वोच्चको निर्ण आउँदा आचार्य रक्षामन्त्री थिए । शर्माले नजिर देखाउँदै सामाजिक सञ्जालमार्फत त्यही संकेत गरेका हुन् ।

    सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले हिजो अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश दिएको हो ।

    गभर्नरलाई कारबाही नगर्न सर्वोच्चको आदेशसँगै निलम्बन गर्ने निर्णय गरेका अर्थमन्त्री शर्मालाई नैतिकताको आधारमा राजीनामा दिन चौतर्फी दबाब परेको छ ।

  • कांग्रेस नेता कोइरालाको १० बुँदे प्रष्टीकरण- भ्रम फिँजाउने प्रयास भयो, प्रचण्डकी छोरीलाई भोट हाल्दैनौं

    कांग्रेस नेता कोइरालाको १० बुँदे प्रष्टीकरण- भ्रम फिँजाउने प्रयास भयो, प्रचण्डकी छोरीलाई भोट हाल्दैनौं

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका नेता दिनेश कोइरालाले भरतपुरमा माओवादीलाई मेयर छाड्ने सहमति नभएको प्रष्ट पारेका छन् ।

    विभिन्न सञ्चारमाध्यममा चितवन कांग्रेसले माओवादीलाई मेयर छाडेको भन्ने भ्रामक समाचार आएको भन्दै उनले भनेका छन्, ‘भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षडयन्त्र भइरहेको छ । रेणुलाई कांग्रेसले समर्थन गरिसकेको छ भनेर व्यापक हल्ला चलाइएको छ । विभिन्न मिडियामा पनि यसै भनेर समाचार आइरहेको देखिन्छ । तर त्यो सत्य होइन ।’

    उनले सामाजिक सञ्जालमार्फत भरतपुरमा कांग्रेसले मेयरमा दाबी नछाडेको प्रष्ट पार्दै लेखेको स्टाटस जस्ताको तस्तैः

    नेपाली कांग्रेसले भरतपुर महानगरको मेयर पदमा माओवादीकी रेणु दाहाललाई समर्थन गर्दैन । पार्टी केन्द्रले अहिलेसम्म यस्तो निर्णय गरेको छैन र यस्तो घातक निर्णय गर्छ भनेर विश्वास पनि गर्न सकिँदैन ।

    यस विषयमा केही बुँदामा म प्रष्ट पार्न चाहन्छुः

    १. चितवनका जनताको चाहना नेपाली कांग्रेसले नै मेयर पदमा उम्मेदवारी दिनुपर्छ भन्ने हो । यो जनचाहनालाई ध्यानमा राखेर चितवनका सम्पूर्ण कांग्रेसजनले भावना तथा विचार व्यक्त गरिरहनुभएको छ ।

    २. चितवनका जनता तथा कांग्रेसका समस्त कार्यकर्ताहरुको विचार तथा भावनालाई केन्द्रमा राखेर नेपाली कांग्रेस भरतपुर महानगरपालिकाका २९ वटै वडा समितिहरुले मेयर पदमा नेपाली कांग्रेसकै उम्मेदवार हुनुपर्छ भनेर सर्वसम्मत निर्णय गरिसकेको अवस्था हो ।

    ३. नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले पनि मेयरमा कांग्रेसले नै उम्मेदवारी दिनुपर्छ भनेर निर्णय गरिसकेको छ ।

    यी तीन तथ्यले के प्रष्ट पार्छ भने नेपाली कांग्रेसले नै भरतपुरमा मेयर पदमा उम्मेदवारी दिन्छ । नेपाली कांग्रेस केन्द्रले पनि चितवनका समस्त कांग्रेसजन र आम जनताको विचार तथा भावना विपरित अन्य पार्टीलाई मेयरमा समर्थन गर्न सक्दैन ।

    ४. नेपाली कांग्रेस केन्द्रीय समितिले नै नेपाली कांग्रेस चितवनको विचार तथा भावनालाई समर्थन गरेर निर्णय नै गरिसकेको छ । केन्द्रीय समितिले स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेलको निर्णय गर्न सकिने भनेर निर्णय नै गरिसकेको छ ।

    ५. स्थानीय अवस्था र आवश्यकता अनुसार नै नेपाली कांग्रेस चितवनका विभिन्न समितिहरुले भरतपुर महानगरमा नेपाली कांग्रेसले नै उम्मेदवारी दिने निर्णय गरिसकेको छ । स्थानीय आवश्यकता र अवस्था पहिचान गर्ने जिम्मेवारी स्थानीय कार्यकर्ता र समितिहरुको हो भन्ने बुझाइरहन पर्ला र ?

    ६. स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेलको निर्णय गर्ने केन्द्रीय समितिको निर्णय अनुसार नै नेपाली कांग्रेस चितवनका समस्त कार्यकर्ताले नेपाली कांग्रेसले नै मेयरमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

    ७. चितवनका समितिहरु र कार्यकर्ताहरुले स्थानीय अवस्था र आवश्यकता पहिचान गरेर निर्णय गरिसकेको अवस्थामा नेपाली कांग्रेस केन्द्रले त्यसलाई काट्न मिल्दैन । काट्न हुँदैन । काट्न सक्दैन ।

    ८. नेपाली कांग्रेस देशकै अगुवा पार्टी हो । यसको आन्तरिक लोकतन्त्र कम्युनिष्ट पार्टीहरुसँग तुलना हुन सक्दैन । स्थानीय अवस्था र आवश्यकता विपरित केन्द्रबाट निर्णय लाद्ने काम कम्युनिष्ट पार्टीहरुमा मात्र सम्भव छ । त्यस्तो अपराध कम्युनिष्टहरुले मात्र गर्छन् । कम्युनिष्टहरुलाई लोकतन्त्रको पाठ पढाउने नेपाली कांग्रेसले अलोकतान्त्रिक निर्णय गर्न सक्दैन ।

    ९. कांग्रेस केन्द्रले रेणु दाहाललाई समर्थन गर्ने निर्णय गरिसकेको कतिपयले भनिरहेका छन् । अहिलेसम्म आधिकारिक निर्णय भएको जानकारी छैन । कम्युनिष्ट शैलीमा भूमिगत निर्णय गरिएको छ भने पनि त्यो निर्णय निश्चित रुपमा उल्टनेछ ।

    १०. नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो र यसका गाउँ नगरका कार्यकर्ताहरु लोकतन्त्रका अगुवा हुन् । पार्टी केन्द्रले अरु कसैको बहकाउमा परेर, ब्ल्याकमेलिङको सिकार बनेर अन्यथा निर्णय गरेको अवस्थामा त्यस्तो निर्णय सच्याउन लगाउने क्षमता चितवन कांग्रेसका कार्यकर्ताहरुमा छ । चितवन कांग्रेसका कार्यकर्ताहरु नेपालकै नमूना कार्यकर्ता हुन् भन्ने प्रष्ट छ । चितवन कांग्रेसको साथमा जनता छ ।

    तसर्थ, माओवादी केन्द्रलाई नेपाली कांग्रेसले मेयर पद दिन सक्दैन र दिँदैन पनि । यसमा नेपाली कांग्रेस केन्द्रले विपरित निर्णय गर्दैन र गर्न सक्दैन ।

  • रुकुम पश्चिममा  विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस

    रुकुम पश्चिममा  विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस

    रुकुम पश्चिम।  नेपाली कांग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधानाध्यापक (प्रअ) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ ।

    कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो ।

    खड्का २७ वर्षदेखि अध्यापनरत छन् । प्रावि द्वितीय तहमा कार्यरत खड्काले आफू राजीनामा गर्ने तयारीमा रहेको जानकारी दिए । पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने योजनामा रहेको खड्काले बताए ।

    उपाध्यक्षको उम्मेदवारमा सृष्टि बाँठामगरलाई सिफारिस गरिएको कांग्रेस गाउँ कार्यसमिति सचिव सन्तोष ओलीले बताए ।

  • अजम्बरले किन सच्याए भोजपुर टेम्केमैयुङको भागबण्डाको विवरण ?

    अजम्बरले किन सच्याए भोजपुर टेम्केमैयुङको भागबण्डाको विवरण ?

    भोजपुर । भोजपुरका गठबन्धन दलले स्थानीय तहको भागबन्डा टुंग्याएलगत्तै टेम्केमैयुङ गाउँपालिकाको सिट बाँडफाँटमा ठूला दल कांग्रेस र माओवादीको कुरा बाझियो ।

    बैठकमा टेम्केमैयुङ नेपाली कांग्रेसलाई अध्यक्ष र नेकपा एसलाई उपाध्यक्ष दिने निर्णय भएअनुसार माइन्यूट भएको थियो । तर, माओवादी नेता अजम्बर काङमाङले स्थानीय तहको सिट बाँडफाटमा भोजपुर गठबन्धनको निर्णय भनी फेसबुकमा सार्वजनिक गरेको सूचीमा यस गाउँपालिकामा नेकपा एसलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्ष उल्लेख थियो ।

    टेम्केमैयुङमा माओवादी र कांग्रेसको कुरा बाझिएपछि अहिले सामाजिक सञ्जालमा माइन्यूट उल्टाइएको भन्दै तीब्र टिक्काटिप्पणी सुरू भएको थियो । दबाबका बीच काङमाङले साँझ ५ बजेर २३ मिनेटमा आफ्नो पोष्ट सच्याएर अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एस लेखेका छन् ।

    नेपाल प्रेसको सम्पर्कमा आएका माओवादीका केही जिल्ला नेताले पनि टेम्केमैयुङ नेकपा एसलाई नै छुट्याइएको बताएका थिए । तर, यही कुराले गठगठबन्धनमा खटपट आउँन थालेपछि उनले स्टाटस एडिट गरेका छन् । टेम्केमैयुङ अजम्बरको गृहपालिका हो ।

    कांग्रेस भोजपुरका सभापति विनोद बान्तवाले कांग्रेसले नै अध्यक्ष लिने सहमति बनेको प्रष्ट्याए । ‘कहिलेकाँही बोल्दा त जिब्रो लट्पटिन्छ । अजम्बरजीले लेख्दा मिस्टेक लेख्नुभएछ । सच्याइसक्नुभो । हामीबीच कुनै समस्या छैन । गठबन्धन कार्यान्वयनका लागि सबै अडिग छौं ‘, बान्तवाले भने ।

    भागबण्डामा छलफल हुँदा टेम्केमैयुङमा माओवादीले उपप्रमुख आफ्नो बटमलाइन बनाएको थियो । २०७४ को चुनावमा पनि एमालेविरुद्ध गठबन्धन बनेको यस पालिकामा माओवादीले प्रमुख-उपप्रमुख उठाएको थिएन ।

    टेम्केमैयुङ घर भएका माओवादी नेता मोहन किराती मादेन’ ले गठबन्धनबीच भएको सहमतिको मसी सुक्न नपाउँदै माओवादी छाडेको घोषणा गरिसकेका छन् । उनी भूमिगतकालदेखि नै माओवादीभित्र जिल्लामा प्रभावशाली नेता मानिन्छन् ।

    ‘कुनै पनि पार्टीको गलत (नाजायज) ह्वीपलाई अक्षरस पालना गर्ने, सत्ता र पहुँचको पूजा गरी दलाल नेतृत्वको खुट्टा ढोग्ने प्रवृत्ति,आम शोषित पीडित जनतालाई लाई सदाबहार शोषण गर्ने दिर्घकालिन योजनाविरुद्धको विद्रोह हो । मेरो राजीनामा’, मादेनले फेसबुकमा लेखेका छन् ।

    यहाँ यसपटक रामसिंह राईलाई अध्यक्षमा उठाउने गरी जसपा पनि अन्तिम समयसम्म हटेको थिएन । २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी रामसिंह नै एमालेविरुद्ध अध्यक्षमा गठबन्धनबाट अघि सारिएको थियो । उपाध्यक्षमा कांग्रेसका सरोज बस्नेतलाई उठाइएको थियो । तर, एमालेले ध्रुव राई अध्यक्षसहित बहुमत वडा जित्यो ।

  • कास्की कांग्रेसको सर्त- गठबन्धनका मेयर उम्मेदवारले रुख चिन्हबाट चुनाव लड्नुपर्छ नत्र हाम्रो बहिस्कार हुन्छ

    कास्की कांग्रेसको सर्त- गठबन्धनका मेयर उम्मेदवारले रुख चिन्हबाट चुनाव लड्नुपर्छ नत्र हाम्रो बहिस्कार हुन्छ

    पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको मेयर नेकपा एसले पाउने हो भने रुख चिन्ह लिएर चुनाव लड्नुपर्ने सर्त राखेको छ ।

    कांग्रेस कास्की जिल्ला सचिव भानु ढकालले रुख चिन्ह लिएर नलडे नेकपा एसका उम्मेदवारलाई बहिस्कार गर्ने बताएका छन् ।

    सत्ता गठबन्धनको शीर्ष बैठकमा पोखरा नेकपा एसलाई दिने सहमति भइसकेपछि कांग्रेसले रुख चिन्ह नलिए मेयर उम्मेदवारलाई बहिस्कार गर्ने चेतावनी ढकालले दिए ।

    नेपाल प्रेससँग कुरा गर्दै ढकालले गठबन्धनको बैठकमा आफूहरूले यो कुरा राखेको जानकारी दिए ।

    ढकालले भने– पोखराको मेयर गठबन्धन दलले पाउने हो भने हामीले केन्द्रको निर्णय मान्नै पर्छ तर रुख चिन्हबाट नलड्ने हो भने हामी चुनाव प्रचार, बैठक कतै पनि सहभागी हुन सक्दैनौँ । कांग्रेसको ६० हजार भोट अरू चिन्हमा खन्याउन सम्भव छैन । यो कुरा माधव नेपालले बुझ्नुपर्छ ।

    पोखरा महानगरपालिकामा नेकपा एसको बढीमा १८ सय भोट पनि नरहेको भन्दै ढकालले कांग्रेसले रुखबाहेक अन्यत्र भोट हाल्न सम्भव नहुने कुरालाई गठबन्धनका दलले बुझिदिनुपर्ने बताए ।

  • महादेवा गाउँपालिका अध्यक्षद्वारा जसपा परित्याग, कांग्रेस प्रवेश

    महादेवा गाउँपालिका अध्यक्षद्वारा जसपा परित्याग, कांग्रेस प्रवेश

    जनकपुरधाम । सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष दीपक कुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेर अध्यक्ष यादवले आज कांग्रेसमा प्रवेश गरेका हुन् ।

    राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा उनलाई केन्द्रीय सदस्य दिनेश यादव र जिल्ला सभापति रामदेव साह पार्टीमा भित्र्याए ।

    अध्यक्ष यादव जसपा मधेस प्रदेश समिति सदस्य समेत थिए ।

    उनीसँगै महादेवा गाउँपालिका ३ का वडाध्यक्ष अनिरुद्ध यादव, वडा ८ का वडाध्यक्ष कौशल कुमार दास, राजविराज नगरपालिका ३ का वडाध्यक्ष सुदर्शन सिंह पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

  • बालुवाटारबाट बाहिरिँदै चिरिबाबुले भने – ललितपुरमा मेयर र उपमेयरसहित २० वडाध्यक्ष पाउँछौं

    बालुवाटारबाट बाहिरिँदै चिरिबाबुले भने – ललितपुरमा मेयर र उपमेयरसहित २० वडाध्यक्ष पाउँछौं

    काठमाडौं । ललितपुर महानगरपालिकामा गठबन्धन मान्न आफूहरू तयार रहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका उनले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पार्टी केन्द्रको निर्णय मान्न आफूहरू तयार रहेको बताएका हुन् ।

    ‘केन्द्रको निर्णय हो, मान्छौं, मान्न तयार छौं’, उनले भने, ‘अघिल्लो निर्वाचनमा मेयर–उपमेयर हामीले जितेका हाैं, हामी नै राख्छौं । वडाहरू मिलाएर लैजान्छौं ।’

    १८-१९ वडाध्यक्षमा पनि कांग्रेसको दाबी गरेको उनले जानकारी दिए । प्रमुख पदमा नेपाली कांग्रेसबाट आफ्नो टिकटको दाबी रहेको बताउँदै उनले आफूले टिकट पाउने सम्भावना पनि प्रवल रहेको बताए ।

    प्रधानमन्त्री भेट्न टिकटका लागि भने नआएको उनकाे भनाइ छ । सञ्चारकर्मीहरूको जिज्ञासामा उनले भने, ‘हैन, अर्कै मुद्दामा छलफल गर्न आएका हौं । टिकटका लागि होइन ।’

  • कांग्रेस बुटवलको मेयर सिफारिस विवादमा, असन्तुष्ट पक्षले प्रदेश कार्यालयमा दियो निवेदन

    कांग्रेस बुटवलको मेयर सिफारिस विवादमा, असन्तुष्ट पक्षले प्रदेश कार्यालयमा दियो निवेदन

    रुपन्देही । नेपाली कांग्रेसले बुटवलको मेयरमा खेलराज पाण्डेलाई सिफारिस गरेपछि विवाद सिर्जना भएको छ । सर्वसम्मत निर्णय भन्दै नगर सचिव छाया पोखरेलले मिडियालाई सूचना दिएपछि मेयर पदका अन्य आकांक्षीहरूले विरोध जनाएका छन् ।

    कांग्रेस प्रदेश कार्यालयमा आजै असन्तुष्ट अर्को समूहले निवेदन दर्ता गराएको छ । क्षेत्रीय सभापति हरि लम्साल, प्रदेश २ क र ख का सभापतिहरू क्रमशः पर्शुराम ढकाल र खड्क बहादुर महत लगायतले निवेदन दिएका हुन् ।

    मेयर पदका आकांक्षी हरि लम्सालले नगर समितिले कुनै सामूहिक निर्णय नगरी एकपक्षीय भएकाले प्रदेश कार्यालयमा निवेदन दिएको नेपाल प्रेसलाई बताए ।

    संस्थापन इतर समूहका पाण्डे नगर सभापति हुन् भने विरोध जनाउने लम्साल क्षेत्रीय सभापति हुन् । उनी पनि सोही समूहका हुन् ।

    कांग्रेस नगर समितिले गरेको निर्णय भन्दै आजै नगर सचिव पोखरेलले मेयरमा पाण्डे र उपमेयरमा ८ जनाको नाम सिफारिस गरेको जानकारी दिएका थिए ।

    यस्तै आजै उपमेयरमा ८ जनाको नाम सिफारिस गरेको थियो ।

    आज गरेको उक्त सिफारिसको विरोधमा यस क्षेत्रका १७ जना कांग्रेसका नेताहरूले एक वक्तव्य जारी गर्दै नगर समितिले गरेको सिफारिस बदर गर्न लुम्बिनी प्रदेश समितिसमक्ष माग गरेका छन् ।

    उनीहरूले घरघरमा माइन्युट डुलाएर निर्णय गरिएको आरोप लगाएका छन् ।

  • भरतपुर माओवादीलाई दिन्छु : देउवा, कार्यकर्ताविरुद्ध नजानुस् : चितवन कांग्रेस

    भरतपुर माओवादीलाई दिन्छु : देउवा, कार्यकर्ताविरुद्ध नजानुस् : चितवन कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको नेतृत्व माओवादी केन्द्रलाई दिन गरेको प्रस्ताव चितवन कांग्रेसका सभापति राजेश्वर खनालले अस्वीकार गरेका छन् ।

    सभापति देउवाले आज बालुवाटार बोलाएर खनालसँग भरतपुरबारे छलफल गरेका थिए । छलफलका क्रममा देउवाले माओवादीलाई भरतपुर महानगर दिनुपर्ने अवस्था आएको भन्दै जिल्ला समितिले गरेको निर्णय सच्याउन आग्रह गरेका थिए ।

    चितवन कांग्रेसको जिल्ला समिति बैठकले भरतपुरको प्रमुख नछाड्ने निर्णय गरेको थियो । सभापति देउवाले आग्रह गरे पनि कार्यकर्ताको भावना विपरीत आफूले निर्णय सच्याउन नसक्ने खनालको जवाफ थियो ।

    ‘पार्टी सभापतिले बोलाएर नेपाली कांग्रेस चितवनको निर्णय सच्याउन आग्रह गर्नुभयो । भरतपुरको मेयर माओवादीलाई दिनुपर्ने भयो, सहयोग गर्नुस् भन्नुभयो । मैले कांग्रेस कार्यकर्ताको भावना अनुसार माओवादीलाई भरतपुरको मेयर दिन नमिल्ने जानकारी गराए’, भेटबारे खनालले भने ।

    सभापति देउवाले गठबन्धनले साँझसम्म निर्णय लिनै पर्ने अवस्था रहेको बताएका थिए । जवाफमा खनालले केन्द्रीय समितिको निर्णय मान्न राजनीतिक हिसाबले बाध्य भए पनि जिल्लाको परिस्थिति आफू एक्लैले धान्न नसक्ने बताएका थिए ।

    ‘केन्द्रले निर्णय गर्‍यो भने जिल्लाको निर्णय स्वतः खारेज हुन्छ हो । माथिबाट निर्णय जेसुकै होस तर जिल्लामा कांग्रेस कार्यकर्ताको भावना विपरीत म जान सक्ने अवस्था छैन’, खनालले भनेका छन् । उनले माओवादी केन्द्रलाई भरतपुरको नेतृत्व दिनेबारे पुनर्विचार गर्नसमेत देउवालाई आग्रह गरेका छन् । जवाफमा देउवाले काठमाडौं , विराटनगर र भरतपुरमध्ये एउटा मेयर कांग्रेसलाई दिनै पर्ने बताएका थिए ।

    खनालले आफ्नो प्रस्ताव नमानेपछि सभापति देउवाले साँझसम्म भरतपुरको मेयर माओवादीले पाउने निर्णय आउने बताएका थिए । ‘उहाँले निर्णय आउँछ भन्नुभयो, म जय नेपाल भनेर निस्किए’ खनालले भने ।

    सत्तारुढ गठबन्धनमा भरतपुरको मेयर माओवादीले लिने सहमति बनिसकेको छ । गठबन्धनको सहमति कार्यान्वयनमा सहज होस भनेर सभापति देउवाले जिल्लाका नेताहरूसँग परामर्श थालेका हुन् । देउवाले आजै कास्की र पर्साका नेताहरूसँग पनि छलफल गर्दै छन् ।

  • देउवालाई पोखरेली नेताले भने- ६० हजार भोट खन्याएर अर्कोलाई जिताउन सकिन्न

    देउवालाई पोखरेली नेताले भने- ६० हजार भोट खन्याएर अर्कोलाई जिताउन सकिन्न

    काठमाडौं । सत्ता गठबन्धनमा पोखरा महानगरपालिकाको विषय पेचिलो बनिरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेताहरूलाई बालुवाटारमा बोलाएर गठबन्धनको बाध्यता बुझ्न आग्रह गरेका छन् ।

    सभापति देउवालाई भेटेपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता यज्ञबहादुर थापाले आफूहरूलाई पोखरा महानगरपालिका नपाउने आशंका भए पनि नेताहरूले आफूहरूको कुरा बुझेर निर्णय गर्ने विश्वास व्यक्त गरे ।

    उनले आफूहरूले तथ्य, तथ्यांक र तर्क दिएर नेताहरूलाई पोखरा कांग्रेसले पाउनुपर्ने दाबी गरेको बताए । उनले भने–हामीसँग ६०/६५ हजार मत छ । त्यहाँ गठबन्धनले जित्नुपर्छ भन्ने हो भने कांग्रेसलाई समर्थन गर्नुपर्छ ।

    नेताहरूले गठबन्धनको बैठकमा हाम्रो कुरालाई राखेर माधव नेपाललाई पनि कन्भिन्स गर्नुहुन्छ भन्ने लागेको छ । कता कता आशंका चाहिँ भएको छ । ६०÷६५ हजार मत लगेर अरूलाई खन्याएर जिताउन गाह्रो छ ।

    थापाले गठबन्धनको आफूहरू विरोधी नभएको र प्रचण्डलाई पनि भेटेर आफूले कांग्रेसको उम्मेदवार भए जित्न सजिलो हुने कुरा राखेको बताए ।

  • दलहरू फेरि एमालेसँग मिल्छन्, त्यसैले गठबन्धन जोगाउनुपर्छ : प्रधानमन्त्री देउवा (भिडिओ)

    दलहरू फेरि एमालेसँग मिल्छन्, त्यसैले गठबन्धन जोगाउनुपर्छ : प्रधानमन्त्री देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने बताएका छन् ।

    नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले अहिले कुनैपनि अवस्थामा गठबन्धन टुट्न नहुने र गठबन्धन टुटाउने षडयन्त्रलाई असफल पार्नुपर्नेमा जोड दिए ।

    ‘गठबन्धन टुटे दलहरू फेरि एमालेसँग मिल्न जाने सम्भावना कायमै छ । अहिलेको निर्वाचन प्रणालीअनुसार एउटै दलको बहुमत आउने सम्भावना नभएकाले तालमेल आवश्यक छ’, देउवाको भनाइ थियो ।

    गठबन्धन भएपछि ‘गिभ एण्ड टेक’ हुने देउवाले प्रष्ट्याए । आफ्नै पार्टीका नेतालाई प्रश्न गर्दै उनले कांग्रेसलाई सरकारमा ल्याउनु नै गल्ती हो भने भने स्पष्ट भन्नुपर्ने बताए ।

    आफ्नो सरकारले पनि राम्रो काम गरिरहेको उनको जिकिर थियो । देउवाले स्कूल-स्कूलमा संगठन विस्तार गर्दै बलियो उपस्थिति जनाउन नेविसंघलाई निर्देश दिए ।

    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले डराएको टिप्पणी गरे । लोकतन्त्रलाई बलियो बनाउनका लागि लडाइँ बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरूविरुद्ध सतर्क हुनुपर्ने उनको भनाइ छ ।

    नेविसंघ सभापति दुजाङ शेर्पाले नेविसंघको महाधिवेशन पार्टीले दिएको समयसीमाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेविसंघले मोबाइल एपको शुभारम्भ गरेको थियो भने नेविसंघका अग्रज नेताहरूलाई सम्मान गरिएको थियो ।

  • बुटवल उपमहानगरमा कांग्रेसले गर्‍यो उम्मेदवार सिफारिस, गठबन्धन नहुने संकेत

    बुटवल उपमहानगरमा कांग्रेसले गर्‍यो उम्मेदवार सिफारिस, गठबन्धन नहुने संकेत

    रुपन्देही । नेपाली कांग्रेसले बुटवल उपमहानगरमा मेयरको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । आगामी वैशााख ३० गने हुने स्थानीय निर्वाचनका लागि कांग्रेसले बुटवलमा नगर सभापति रहेका खेलराज पाण्डेलाई मेयरका लागि अगाडि सारेको हो ।

    बुटवल उपमहानगर कमिटीको बैठकले नगर प्रमुखमा पाण्डेसहित उप प्रमुखमा ८ जनाको नाम सिफारिस गरेको कांग्रेस बुटवल उपमहानगर समिति सचिव छाया पोखरेलले बताए ।

    बुटवल उपमहानगरका १९ वटै वडा सभापतिहरूसहितको बैठकले नगर प्रमुखमा खेलराज पाण्डे तथा उप प्रमुखमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सबिता शाक्यको नाम सिफारिस गरेको बैठकमा सहभागी एक वडा कमिटी अध्यक्षले बताए ।

    कांग्रेस बुटवल उपमहानगरले गरेको यो निर्णयसँगै बुटवलमा गठबन्धन दलहरू बीचको सहकार्यमा हुनेमा शङ्का उत्पन्न भएको छ । कांग्रेसले मेयर र उपमेयरको उम्मेदवार आकांक्षीहरुको नाम सार्वजनिक गरेसँगै गठबन्धनमा रहेका अन्य दलहरूले भाग नपाउने चिन्ता थपिएको छ । मेयर र उपमेयर दुवै पदका लागि नाम सिफारिस गर्दा गठबन्धनभित्र पद बाँडफाँड गर्ने स्थिति नभएका कारण कुरा बाझिन सक्ने गठबन्धन दलभित्रका एक नेताले बताए ।

    नगरले पठाएको नामलाई जिल्ला कार्यालयले अनुमोदन गरेपछि बुटवलको उम्मेदवारहरूको अन्तिम टुंगो लाग्ने छ । बुटवलमा उपमहानगर सभापति रहेका पाण्डे सहित क्षेत्रीय सभापति हरि लम्साल, महाधिवेशन प्रतिनिधि चुन्न प्रसाद पौडेलसहितले नगरप्रमुखमा आकांक्षा देखाएका थिए ।

    सत्तारुढ गठबन्धनका बिचमा भएको सहमति अनुसार बुटवल उपमहानगरमा कांग्रेसले नगरप्रमुख र नेकपा एकीकृत समाजवादीले उपप्रमुख पाउने सहमति भए पनि नेपाली कांग्रेसले उपप्रमुखमा ८ जनाको नाम सिफारिस गरेको छ ।

    नगरप्रमुखमा सिफारिस गरिएका पाण्डे यसअघिको स्थानीय तह निर्वाचनमा समेत नगर प्रमुख पदमा उम्मेदवार भएका थिए ।

    एमालेका शिवराज सुवेदीले २३ हजार २ सय ४९ मत पाउँदा माओवादी सहितको गठबन्धनका उम्मेदवार पाण्डेले २० हजार ८ सय ५१ मत पाएर पराजित भएका थिए ।

  • रामचन्द्र पौडेललाई देउवाको प्रश्न- हरेक कुरामा भागबन्डा किन खोज्नुहुन्छ ? (भिडिओ)

    रामचन्द्र पौडेललाई देउवाको प्रश्न- हरेक कुरामा भागबन्डा किन खोज्नुहुन्छ ? (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरूलाई आफूले के गल्ती गरेँ ? भनी सोधेका छन् ।

    नेविसंघको ५३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर निर्वाचनमा होमिएको बताए ।

    त्यसैको परिणामस्वरूप अहिले हरेक प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी रहेको उनले बताए ।

    ‘मैले के गल्ती गरेँ ? कांग्रेस पार्टीलाई सत्तामा ल्याउनु मेरो गल्ती हो ? मैले के बिगारेको छु, झन् रामचन्द्रले त मलाई धन्यवाद भन्नुपर्ने हो,’ देउवाले भने ।

    पार्टीभित्र हरेक क्षेत्रमा भागबन्डा नखोज्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनले आग्रह पनि गरे ।

    ‘हरेक कुरामा भागबन्डा किन खोज्नुहुन्छ ? सबै कुरामा भागबन्डा खोज्नुहुन्छ । निर्वाचन गरेर स्वस्थ्य प्रतिस्पर्धा गरेर अघि बढौं । जसले जित्छ त्यसैले नेतृत्व लिन्छ,’ देउवाले भने ।

    नेविसंघका नेताहरूलाई उनले पढाइमा पनि अब्बल हुन निर्देशन दिए । ‘अत्यन्तै प्रतिस्पर्धाको जमाना आयो । पढाइमा फेल हुने, अनि नेता बन्ने । यसरी कसरी देश हाँक्न सक्नुहुन्छ ?,’ देउवाले भने ।

    अब देश नेविसंघको हातमा आइसकेको भन्दै उनले देश हाँक्ने तयारी गर्न निर्देशन दिए । सबैभन्दा ठूलो कुरा एकता भएको भन्दै उनले भने, ‘असमझदारी हुन्छ । एकआपसमा मनमुटाव हुन्छ । त्यसलाई बिर्सिनुपर्‍यो नि । चुनाव हारेको भोलिपल्ट त्यसलाई बिर्सिहाल्नुपर्‍यो । हार स्वीकार्दैनन् कहाँबाट हुन्छ ।’

    तस्बिरहरू : गाैरव पाैडेल

  • दलविहीन निर्वाचन गर्नुपर्छ : कांग्रेस नेता भण्डारी

    दलविहीन निर्वाचन गर्नुपर्छ : कांग्रेस नेता भण्डारी

    रूपन्देही । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले स्थानीय तहको निर्वाचन दलविहीन हुनुपर्ने बताएका छन् ।

    मंगलबार सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘स्थानीय तहको नेतृत्व छनोट स्थानीय तहको महत्त्व र आवश्यक्ताको आधारमा छलफल गरी गर्नुपर्दछ । स्थानीय तह बेरोजगारी घटाउने ठाउँ पक्कै होइन । यो त जनताको सबैभन्दा नजिकको सबै प्रकारका सेवा तत्काल उपलब्ध गराउने अत्यन्तै जिम्मेवार एवम् संवेदनशील निकाय हो तसर्थ स्थानीय तहको निर्वाचन पार्टीविहीन हुनुपर्दछ भन्ने विचार विगतको अनुभवले आज सत्य प्रमाणित गराएको छ जुन परिपक्व र सत्य विचार संविधान निर्माणको क्रममा संविधान सभामा राख्ने अवसर गुल्मेली जनताले मलाई दिनु भएको थियो ।’

    नेता भण्डारीले मंगलबार नै बुटवलमा पत्रकारसँग कुराकानी गर्दै पाँच दलीय गठबन्धन सत्ता स्वार्थका कारण भएको बताए । उनले गठबन्धनले घाटा लाग्ने समेत बताए ।

    ‘दलहरूले आफ्नो लक्ष्य र उद्देश्य अनुसारको एक्लै निर्वाचन लडनुपर्ने हो’, उनले भने, ‘गठबन्धन गर्नु जनताको भन्दा सत्ताकै स्वार्थ देखिन्छ ।’

  • जसपाले दाबी गरिरहेको सिद्धार्थनगर मेयरमा कांग्रेसको उम्मेदवार तय

    जसपाले दाबी गरिरहेको सिद्धार्थनगर मेयरमा कांग्रेसको उम्मेदवार तय

    रूपन्देही । जसपाले दाबी गरिरहेको रूपन्देहीको सिद्वार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    संविधानसभा सदस्यसमेत रहेका खानलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरिएको कांग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिषबहादुर खड्काले जानकारी दिए ।

    गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको निर्वाचन क्षेत्रमा रहेको यो नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एमालेले जितेको थियो ।

  • देउवाले कांग्रेस कास्कीका सभापतिसहितका नेतालाई काठमाडौं बोलाए

    देउवाले कांग्रेस कास्कीका सभापतिसहितका नेतालाई काठमाडौं बोलाए

    पोखरा । पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादीले दाबी नछाडेपछि सत्ता गठबन्धनमा सिट बाँडफाँट हुन सकेको छैन ।

    कास्कीमा जिल्ला तहका कांग्रेसका नेताहरु कुनै हालतमा पोखरा मेयर छाड्न नसकिने अडानमा छन् भने एकीकृत समाजवादीले पनि आफूहरुले पोखरामा मेयर नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेको छ ।

    कांग्रेस जिल्ला र पोखरा महानगर समितिका सचिवहरुले विज्ञप्ति नै जारी गरेर एकीकृत समाजवादीबाहेक दलसँग मात्रै गठबन्धन गर्ने बताएका छन् ।

    कांग्रेसले पोखराको मेयरका लागि १८ र उपमेयरका लागि १० जनाको नाम संकलन गरेको छ । उनीहरुको सामान्य परिचयात्मक कार्यक्रम समेत भइसकेको छ भने आकांक्षीले पोखरा भिजन निर्माण गरिरहेका छन् । यही सन्दर्भमा कुरा गर्न कास्कीका नेताहरुलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं बोलाएका छन् ।

    प्रदेशका सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा जिल्लाको ब्रिफिङ गर्न अहिले काठमाडौं हिँडेका छन् । ‘उहाँ (सभापति)ले बोलाउनुभएको छ । हामीले अहिलेसम्म गरेका निर्णय र भएका प्रगतिबारे रिपोर्टिङ गर्छौं,’ सभापति बरालले भने, ‘किन बोलाउनुभयो भन्ने थाहा छैन । चुनावी विषय नै होला भनेर हामी तयार भएर आएका छौं ।’

    उनले पोखराको मेयर कांग्रेसले नै पाउनुपर्ने अडानमा आफूहरु रहेको उनले बताए । अघिल्लो साता जिल्लाका झण्डै १ सय नेता कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालय पुगेर देउवालाई भेटेका थिए । त्यतिबेला भने देउवाले महानगरका विषयमा कुनै निर्णय नभएको भन्दै जिल्ला फर्कन निर्देशन दिएका थिए । अहिले उनैले बोलाएपछि काठमाडौं हिँडेको बरालले बताए ।

  • इटहरीको मेयर समाजवादीलाई दिए कांग्रेसमा विद्रोह हुने

    इटहरीको मेयर समाजवादीलाई दिए कांग्रेसमा विद्रोह हुने

    सुनसरी । नेपाली कांग्रेस सुनसरीका नेताहरूले इटहरी उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीलाई मेयर नछाड्न पार्टी नेतृत्वसँग माग गरेका छन् । इटहरी उपमहानगरको प्रमुख कांग्रेसले नै पाउनुपर्ने भन्दै उनीहरुले विद्रोहको चेतावनी समेत दिएका छन् ।

    इटहरीको मेयरमा अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेका द्वारिकलाल चौधरी निर्वाचित भएका थिए । नेकपा एकीकृत समाजवादीले सुनसरीमा आफ्नो संगठन सुदृढ रहेको भन्दै मेयरमा दावी गरेको छ । सत्तारुढ दलहरुबीच आइतबार अबेर तयार भएको सम्भावित सहमतिको ड्राफ्टमा इटहरीको मेयर समाजवादी र उपमेयर कांग्रेसले पाउने उल्लेख छ ।

    सुनसरी कांग्रेसका नेताहरूले भने इटहरीमा कांग्रेसले मेयर नपाए गठबन्धन टुट्ने चेतावनी दिएका छन् । कांग्रेसका स्थानीय नेता धनबहादुर पुरीले गठबन्धन गर्दा कांग्रेसले इटहरीको मेयर नपाए स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

    ‘इटहरीमा कांग्रेसको भोट थपेर अर्को पार्टीको उम्मेदवारलाई मेयर बनाउन गार्हो छ । यतिबेला कांग्रेसले एक्लैपनि जित्ने अवस्था रहेकोले अरुलाई छाड्ने निर्णय केन्द्रले गरेपनि हामीलाई मान्य हुँदैन’, पुरीले नेपाल प्रेससँग भने ।

    उनल इटहरीमा मेयर नपाए कांग्रेसबाट सशक्त विद्रोह हुने चेतावनी पनि दिए ।

  • कांग्रेसको कोही पनि तालमेलको पक्षमा छैनन्, हारे हारौंला : महामन्त्री थापा (भिडिओ)

    कांग्रेसको कोही पनि तालमेलको पक्षमा छैनन्, हारे हारौंला : महामन्त्री थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको बताएका छन् ।

    सांसदसमेत रहेका महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनमा हारजित स्वाभाविक भएको बताए ।

    ‘नेपाली कांग्रेस पार्टीको कोही पनि तालमेलको पक्षमा हुनुन्न । बरु निर्वाचनमा हारे हारौंला हारजित हुन्छ तपाईंहरू त्यहीअनुसार अघि बढ्नुस्’, थापाले कार्यकर्तालाई निर्देशन दिए ।

    आफू विभिन्न जिल्लाका नेता-कार्यकर्तासँग सम्पर्कमा रहेको थापाले सुनाए ।

    ‘ ५० भन्दा बढी जिल्लाका साथी तालमेलको पक्षमा छैनन् । मतदातादेखि नेतासम्म विरोधमा छन् । विचार प्रमुख भन्ने कुरामा उनीहरू अडिग छन् । जबरजस्ती लाद्ने हो भने सोचेभन्दा मतदाताले फरक व्यवहार गर्नसक्छन् भन्ने उनीहरूको भनाइ छ’, उनले भने ।

    थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने बताए ।

    उनले उम्मेदवार र चुनावी अभियानका लागि कार्ययोजनासहित अघि बढ्न पनि जोड दिए ।

    केन्द्रको घोषणा पत्र नकुर्न भन्दै थापाले भने, ‘विस्तृत कार्ययोजनासहित कार्यतालिका बनाएर अघि बढ्नुस् । सक्नुहुन्छ उम्मेदवार टुंगो गरिहाल्नुस् ।’

    उनले आफ्नो क्षेत्रमा थपिएका नयाँ मतदाता पहिचान गरेर उनीहरू केन्द्रित अभियान थाल्न पनि निर्देशन दिएका छन् ।

  • माओवादी र एसले धेरै भाग खोजेको भन्दै दैलेखमा एक्लै लड्ने कांग्रेसको तयारी

    माओवादी र एसले धेरै भाग खोजेको भन्दै दैलेखमा एक्लै लड्ने कांग्रेसको तयारी

    सुर्खेत । नेपाली कांग्रेस दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा यही ९ गते उम्मेदवार टुंग्याउने भएको छ । कांग्रेस जिल्ला सभापति मणिराम रेग्मीले वैशाख ८ गते संसदीय दलको वैठक बोलाइएको जानकारी दिए ।

    ‘हामीले ११ वटै पालिकाका उम्मेदवारका आकांक्षीको सिफारिस प्राप्त गरिसकेका छौं । गठबन्धनमा सहमति नभएका कारण अहिले पनि वार्ताहरू चलिरहेका छन् ’, रेग्मीले नेपाल प्रेससँग भने, ‘तर सहमति हुन सकेको छैन । हामीले संसदीय दलको वैठक वैशाख ८ गते बोलाएका छौं । ९ गते हामी टिकट बाँडेर उम्मेदवारलाई गाउँमा पठाइदिन्छौं । ८ गतेसम्म सहमतिको प्रयास भने जारी रहनेछ ।’

    उनले माओवादी र समाजवादीले बढी नै पालिका माग गरेको कारण समस्या भएको बताए ।

    ‘उहाँहरूले कांग्रेस ६ र आफूहरू ५ पालिकाको नेतृत्व पाउनुपर्ने माग गर्दै आउनुभएको छ । यो कुरामा कांग्रेस सहमत हुन सक्दैन । यो अडानले सहमति हुने सम्भावना कम भएको छ । यद्यपि प्रयास भने जारी नै छ ।’

    उनले कांग्रेसले जितेको स्थानमा सम्मानजनक स्थान खोज्ने तर माओवादीले जितेको स्थानमा कांग्रेसले भाग नपाउने अवस्था आउनु राम्रो नहुने बताए ।

    ‘आफूले जितेको स्थानमा भागबन्डा नगर्ने तर कांग्रेसले जितेको स्थानमा उहाँहरूलाई भाग दिने भन्ने कुरा अस्वाभाविक नै हो’, रेग्मी भन्छन् ।

    दैलेखका ९० वडामा ७४ चुनवमा माओवादीले एक वडा पनि जितेको थिएन । महाबु गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नारायण नपा उपप्रमुख, ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष भने नेकपा एसमा प्रवेश गरेका छन् ।

  • चुनावी तालमेल : आधार इलाका कांग्रेसले हडप्न खोजेपछि बिच्किँदै माओवादी

    चुनावी तालमेल : आधार इलाका कांग्रेसले हडप्न खोजेपछि बिच्किँदै माओवादी

    रुपन्देही । आफ्नो आधार इलाकाका रुपमा मान्दै आएका रुकुम, रोल्पा, दाङलगायतका जिल्लामा समेत सत्तागठबन्धनको मुख्य शक्ति नेपाली कांग्रेसले ठूलो भाग खोजेपछि माओवादीका स्थानीय नेता कार्यकर्ता बिच्किएका छन् ।

    स्थानीय तहको निर्वाचनका लागि केन्द्रमा नेताहरू बसेर देशभर वडातहसम्म एमालेविरुद्ध गठबन्धन गरेर जाने निर्णय कार्यान्वयनमा यी क्षेत्रमा समस्या देखिएको हो ।

    पहिलेको रुकुम अहिले पूर्व र पश्चिम गरी दुई जिल्लामा मात्रै होइन दुई प्रदेशमा बाँडिएको छ । माओवादीका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिमको नेतृत्व गर्छन् भने रुकुमपूर्व र रोल्पाको नेतृत्वमा अर्का प्रभावशाली नेता वर्षमान पुन छन् ।

    त्यसो त पार्टीभित्र पनि उनीहरू दुवैजनाबीच प्रतिस्पर्धा छ । यही टकराबका कारण महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले महासचिव टुंग्याउन सकेको छैन । पूर्वीरुकुम र रोल्पामा पुनसँगै नेता कृष्णबहादुर महरा, ओनसरी घर्तीलगायत शीर्ष नेताहरूको क्षेत्र रहेको छ ।

    तर, यी ठाउँमा कांग्रेसले माओवादीको भन्दा धेरै भाग खोजेको छ । यदि मागेजति सिट नपाए गठबन्धन नगर्ने कांग्रेसले औपचारिक निर्णय गरिसकेको छ ।

    रुकुमपश्चिम माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्लासमेत रहेको माओवादीको विरासत बलियो छ । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको यहाँको सबै स्थानीय तहमा २०७४ मा माओवादीले जितेको थियो ।

    रुकुमपश्चिममा माओवादीको प्रतिस्पर्धी नेपाली कांग्रेस हो । ७४ मा माओवादीले ५८ वटा वडा जित्दा कांग्रेसले १३ र एमाले २ वडामा सीमित थियो । यहाँ अन्य दल एकातिर र माओवादी अर्कोतिर हुँदा पनि माओवादीलाई जित्न नसक्ने माओवादी केन्द्रका नेताहरूको दाबी छ । ७४ मा बाँफीकोट गाउँपालिकामा विप्लव, राप्रपा, कांग्रेस र एमालेले गठबन्धन गर्दा पनि माओवादीलाई पराजित गर्न सकेका थिएनन् ।

    स्थानीय तहको निर्वाचनलाई लिएर अहिले राजनीतिक दलहरु आ-आफ्नो गृहकार्यमा छन् । यहाँ सत्ता गठबन्धन दलहरूको बैठक बसेर जिल्लामा कुन दलको जनाधार कस्तो छ भन्ने रिपोर्ट केन्द्रमा पठाउने काम भएको नेताहरु बताउँछन् । तर, गठबन्धन बनाएर जाने कि एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने भन्नेमा ठोस निर्णय भने हुन सकिरहेको छैन ।

    माओवादी केन्द्रका पूर्वजिल्ला अध्यक्षसमेत रहेका कर्णाली प्रदेशका पूर्वअर्थमन्त्री गोपाल शर्मा गठबन्धनमा भागबण्डा लगाउँदा माओवादीलाई घाटा हुने बताउँदै आएका छन् । रुकुममा माओवादी र अन्य दलबीच मुसीकोट नगरपालिकामा मात्रै प्रतिस्पर्धा हुने गरेको उनको भनाइ छ ।

    नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले गठबन्धन बनाएर चुनावमा जाने-नजाने भन्ने कुरा माओवादीमा निर्भर रहने बताउँदै आएका छन् । माओवादीले ०७४ मा जितेको ठाउँमा अहिले नेतृत्व नछाड्ने भन्ने अहंकार देखाए अन्य दलहरूसँग तालमेल गरेर पनि जान सकिने भनाइ ओलीले बताएपछि विवाद अझै बढेको हो ।

    एमालेले पनि काँग्रेससँग तालमेलका लागि प्रस्ताव गरेको र माओवादीले अहंकार देखाए आफूहरु त्यसतर्फ पनि सोच्न बाध्य हुने कांग्रेस नेताहरुले सार्वजनिकरूपमै व्यक्त गरेका छन् ।

    ओलीले ०७४ मा मुसीकोट नगरपालिकामा राम्रो जनमत हुँदाहुँदै पनि आफ्नै आन्तरिक कारणले पराजित भएको बताए । अहिले अन्य दुई पालिकामा पनि काँग्रेसको राम्रो जनमत भएकाले काँग्रेसले विगतको भन्दा फराकिलो जनमत ल्याउन सक्ने उनको आंकलन छ ।

    रोल्पामा माओवादी एक्लै लड्ने पक्षमा

    रोल्पा जिल्लामा गठबन्धनको मुख्य दल माओवादी केन्द्रलाई ठेस पुग्नेगरी नेपाली कांग्रेसले आधा हिस्सा मागेको भन्दै माओवादी एक्लै लड्ने पक्षमा पुगिसकेको छ । यहाँ गठबन्धन दलहरू बैठक बस्ने र छलफल गर्ने गरिरहेकै समयमा एकाएक कांग्रेसको विज्ञप्ति आएपछि मनमुटाव सुरू भएको हो ।

    गठबन्धन हुने विषयमा छलफल चलिरहेका बेला कांग्रेस रोल्पाले विज्ञप्तिमार्फत नयाँ सर्त अघि सारेपछि थप अन्योल उत्पन्न भएको हो । कांग्रेसले आधा हिस्सा मागेपछि गठबन्धनभित्रका दलहरूमा झन् अविश्वास मात्रै जगाएको छैन माओवादीले दबाबका लागि कांग्रेसले चालेको कूटनीतिक चाल भनेर एक्लै अगाडि जानेसम्मको तयारी गरेको छ ।

    गत चैत २० गते माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र घर्ती मगरको संयोजकत्वमा कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चाका प्रतिनिधि रहेको गठबन्धन कार्यदल बनाइएको छ । चारपटक संयुक्त बैठक बसिसकेको कार्यदलले कुनै ठोस योजना र निर्णय गर्नसकेको छैन । गठबन्धनका संयोजक माओवादी केन्द्रका जिल्ला अध्यक्ष घर्तीमगरले कांग्रेसको विज्ञप्तीले विश्वासको वातावरणमा आशंका ल्याएको बताए । गठबन्धनमा छलफल भइरहेका बेला विज्ञप्ति निकालेर भिन्न परिस्थिति ननिम्त्याएको भए राम्रो हुने उनको भनाइ छ ।

    के छ माओवादीको आन्तरिक रणनीति ?

    माओवादीले आफ्नो शक्ति जाँच्नका लागि प्रारम्भिक सर्वेक्षण पनि गराएको छ । यो सर्वेक्षणमा सबै तहमा प्रमुख र उपप्रमुखसहित ५८ वटा वडामा एक्लै निर्वाचनमा जित हासिल गर्ने निष्कर्ष निकालिएको सूचना कांग्रेस नेताको कानमा परेपछि नै कांग्रेसले त्यो खालको विज्ञप्ति निकालेको बुझिएको छ । स्थानीय नेताहरू सकेसम्म यो जिल्लामा गठबन्धन नभए नै पार्टीलाई फाइदा हुने माथिल्लो तहका नेताहरूलाई सर्वेक्षणका आधारमा सुनाएका छन् ।

    यहाँ कांग्रेसले २०४९ र २०५४ को स्थानीय निर्वाचनमा बहुमत ल्याएको सम्झेर अहिले गठबन्धनमार्फत पुरानै शक्ति आर्जन गर्ने गरी तयारी गरेको माओवादी बुझाइ छ । यही सूचना पाएका माओवादीका स्थानीय नेताहरू यस्तो अवस्थामा कांग्रेसलाई बोक्न नहुने सुझाव नेताहरूलाई गरेका छन् । माओवादी र कांग्रेसको यही आन्तरिक विवादमा खेलेर नेकपा एमालेले केही पालिकामा जित निकाल्ने रणनीति बनाएको छ । १० पालिका रहेको जिल्लामा गठबन्धनमा नरहेका दलको साथ लिएर आफ्नो उपस्थिति देखाउने रणनीतिमा छ एमाले ।

    कांग्रेसले १० वटा तहमध्ये ५ वटामा अध्यक्ष र बाँकी ५ वटा तहमा उपाध्यक्षसहित ३६ वटा वडामा वडाध्यक्षलाई उम्मेदवार सुनिश्चित गर्न सार्वजनिक माग गरेको हो । कांग्रेसले सबैमा आधा हिस्सा खोजेपछि जिल्लामा ठूलो मानिएको माओवादी केन्द्रका नेता कार्यकर्ता आक्रोशित भएका छन् ।

    अघिल्लो निर्वाचनमा कांग्रेसले एक स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष जितेको थियो भने १२ वटा वडा अध्यक्ष विजयी भएका थिए । ७२ वटा वडामध्ये माओवादी केन्द्र एक्लैले ४८ वडामा जितेको थियो । रोल्पाका ९ मध्ये रोल्पा नगरपालिकासहित माओवादी केन्द्रले ७ तहमा प्रमुख र उपप्रमुख जितेको थियो । जिल्ला समन्वय समितिमा उक्त दलको एकलौटी प्रतिनिधित्व भएको थियो ।

    अघिल्लो निर्वाचनमा एमालेले भने दुई वटा तहमा अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जित हासिल गरेको थियो । एमालेले अन्य १० वटा वडामा वडाध्यक्ष जितेको थियो ।

    माओवादीको आधार इलाका रुकुम पूर्वमा रहेका तीनै पालिका गत स्थानीय तहमा माओवादीले सबै जितेको थियो । तर, यहाँ पनि कांग्रेसले बराबरी भाग खोजेपछि माओवादी असन्तुष्ट भएको हो ।

    दलहरूबीच आ-आफ्नो दाबी कायमै राखेपछि जिल्लास्तरबाट सबै पालिकामा गर्न खोजिएको गठबन्धन प्रयास सफल हुन नसकेको र तालमेलको सम्भावना पनि क्षीण हुँदै गएको एक नेता बताउँछन् ।

    माओवादीको बलियो क्षेत्र मानिएको यो जिल्लामा नेपाली कांग्रेसले गठबन्धनमा जाँदा समान हैसियत खोजेपछि माओवादी केन्द्रले अस्वीकार गरेपछि यस्तो अवस्था आएको माओवादीका एक केन्द्रीय सदस्यले बताए ।

    त्यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पनि आफ्नो अस्तित्वसहितको समानजनक भागबन्डा हुनुपर्ने बैठकमा राखिरहेका छन् ।

    यद्यपि दलहरूले पालिका र वडामा गठबन्धन गर्न चाहेमा उनीहरूले नै निर्णय गर्ने अधिकार भने दिएको र पालिका तथा वडालाई तालमेलका लागि जिम्मा दिइएको नेपाली कांग्रेस जिल्ला उपसभापति भीमबहादुर खड्काले नेपाल प्रेसलाई बताए ।

    वडामा मात्रै वा कुनै एक पालिकामा गठबन्धन हुन सकेको खण्डमा त्यतिमा मात्रै भए पनि गठबन्धन गर्ने कुरामा सबै दल सहमत भएको उनले बताए । तीन पालिका रहेको यो जिल्लामा गत स्थानीय तहको निर्वाचनमा तीनै पालिका माओवादीले जितेको थियो भने दुई स्थानमा मात्रै कांग्रे प्रतिस्पर्धामा थियो ।

    यस्तो थियो अघिल्लोपटक रोल्पा, रुकुमपूर्वको चुनावी अवस्था

    रोल्पा

    १. त्रिवेणी गाउँपालिका- एमाले (३३३३), माओवादी(३११२), कांग्रेस(९८४)

    २. थवाङ गाउँपालिका- माओवादी (१९९०), कांग्रेस(९६५), एमाले( १२०)

    ३. दुईखोली गाउँपालिका- माओवादी (४६०८), कांग्रेस (१९८९), एमाले (६५९)

    ४. माडी गाउँपालिका- माओवादी (३१८२), कांग्रेस(२६२१)

    ५. रुन्टीगढी गाउँपालिका- एमाले (३४०२), कांग्रेस (३२७९), माओवादी (३१०८)

    ६. लुङग्री गाउँपालिका- कांग्रेस (३१२५), माओवादी (२९१०), राप्रपा (१०११), एमाले (७०९)

    ७. सुकिदह गाउँपालिका- माओवादी (२४१४), एमाले (२२९०), कांग्रेस (२२६१)

    ८. सुनछहरी गाउँपालिका, माओवादी (२५६१), कांग्रेस (११३६), एमाले (९४७)

    ९. सुवार्णवती गाउँपालिका- माओवादी (४१५५), कांग्रेस (३०६०), एमाले (१०१९)

    १०. रोल्पा नगरपालिका- माओवादी (५६३४), कांग्रेस (३८२७), एमाले (४७८)

    रुकूमपूर्व

    १. पुथाउत्तरगंगा गाउँपालिका- माओवादी (२५५१), एमाले (१२३६), कांग्रेस (१११४)

    २. भुमे गाउँपालिका- माओवादी (३४८२), कांग्रेस (१७१४), एमाले (४४२)

    ३. सिस्ने गाउँपालिका- माओवादी (३२९६), कांग्रेस (२४७१), एमाले (४६)

  • बैतडीमा गठबन्धनको सहमति : कांग्रेसलाई दोगडा र पञ्चेश्वर , माओवादीलाई डिलाशैनी (निर्णयसहित)

    बैतडीमा गठबन्धनको सहमति : कांग्रेसलाई दोगडा र पञ्चेश्वर , माओवादीलाई डिलाशैनी (निर्णयसहित)

    बैतडी । सत्ता गठबन्धनमा सामेल दलहरुले बैतडीका केही पालिकामा बाँडफाँड टुंग्याएका छन् । पहिलो चरणमा जिल्लाका ३ वटा स्थानीय तहमा भागबण्डा गरिएको हो । बाँकी ६ वटामा पनि सहमतिमा पुग्ने गरी छलफल जारी छ ।

    पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष कांग्रेसको भागमा परेको छ । त्यहाँ उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति भएको छ । यो पालिकामा कांग्रेसले रमेशसिंह भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । नेकपा एमालेले भने हालका पालिका अध्यक्ष गोरखबहादुर चन्दलाई दोहोर्याउँदै छ ।

    दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पनि कांग्रेसकै पोल्टामा परेको छ । उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमति जुटेको छ । कांग्रेसले अध्यक्षमा देवराज जोशीलाई उम्मेदवार बनाएको छ । डिलाशैनी गाउँपालिकाको अध्यक्ष भने माओवादी केन्द्रलाई दिने सहमति भएको छ । यहाँ उपाध्यक्ष काँग्रेसले लिने भएको छ ।

    अन्य पालिकाको बाँडफाँडका लागि छलफल जारी छ । सिगास र सुर्नया गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरिरहेको छ ।

    माओवादीले पुरचौंडी नगरपालिका दाबी गरेको छ । त्यसबाहेकका दशरथचन्द, पाटन र मेलौली नगरपालिका तथा शिवनाथ गाउँपालिकाको छिनोफानो हुन बाँकी छ । यी नगरपालिकामा कांग्रेसको दाबी छ । काङ्ग्रेसले दाबी गरेको मेलौलीमा माओवादीले पनि दाबी गरेपछि सहमति जुटाउन सकस भएको हो ।

  • कांग्रेससँग गठबन्धनका तीन दलको सामुहिक सौदाबाजी, ७० प्रतिशत पालिका दाबी

    कांग्रेससँग गठबन्धनका तीन दलको सामुहिक सौदाबाजी, ७० प्रतिशत पालिका दाबी

    काठमाडौं । पार्टीभित्र चुनावी तालमेलबारे जति नै असन्तुष्टी भएपनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको निरन्तरतामा प्रतिवद्ध देखिन्छन् । आन्तरिक बैठकदेखि सार्वजनिक मञ्चसम्मै देउवाले ‘आफूलाई प्रधानमन्त्री बनाउने दलहरुको साथ नछाड्ने’ वाचा गरेका छन् ।

    शनिबारमात्रै कांग्रेसको कार्यसम्पादन समिति बैठकमा देउवाले गठबन्धन जोगाएर लैजाने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको बताएका थिए । उनले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका दललाई अलपत्र नपार्ने बताएका छन् ।

    चुनावी गठबन्धनलाई राजनीतिक रुपमा पुष्टि गर्न देउवाले यस्ता धारणा राखेपनि उनको वचन उनैविरुद्ध ‘बार्गेनिङ’ को साधन बन्न थालेको छ । चुनावी तालमेल नगरे माओवादीले एमालेसँग गठबन्धन गर्नसक्ने भय देउवाले कांग्रेस कार्यकर्तालाई देखाउँदै आएका छन् । प्रचण्डसहित गठबन्धनका नेताहरुले भने त्यही डर देउवालाई देखाएर बढीभन्दा बढी शक्ति आर्जन गर्न खोजेका छन् ।

    माओवादी, एस र जसपा संगठित भाग खोज्दै

    चुनावी तालमेलबारे कांग्रेसमा किचलो जारी नै छ । अधिकांश जिल्लामा तालमेलविरुद्ध कांग्रेस कार्यकर्ता उभिएका छन् । यद्यपि सभापति देउवाले भने गठबन्धन जसरीपनि जोगाउने प्रतिवद्धता जनाउँदै आएका छन् ।

    कांग्रेसभित्र बढ्दो किचलोबीच गठबन्धनमा रहेका अन्य दलहरुले पनि कांग्रेसमाथि नै दवाव बढाएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले त आपसमै सल्लाह गरेर सामुहिक सौदाबाजीको अभ्यास थालेका छन् ।

    आइतबारको गठबन्धन बैठकमा यी तीन दलले ३ महानगरपालिकार १० उपमहानगरपालिकामा आफ्नो दावी प्रस्तुत गरे । हेटौडा उपमहानरमा माओवादी र नेकपा एस दुवैको दावी रह्यो ।

    त्यसबाहेक सबैतिर तीन दलले एकल दावी प्रस्तुत गरेका छन् । तीन दलको दावी हेर्दा नै कांग्रेसविरुद्ध संगठित सौदाबाजी भइरहेको पुष्टी हुने एक नेताले बताए । ‘प्रचण्ड, माधव र उपेन्द्रजी चै एउटै पार्टीको भएझै प्रस्तुति देखिन्छ । गठन्धनमा शक्ति बाँडफाँटमा उहाँहरुको सामुहिक सौदाबाजी देखिन्छ । कांग्रेस एक्लै परेको छ’, बैठकमा सहभागि कांग्रेस नेताको भनाई छ ।

    माओवादी अध्यक्ष प्रचण्डले आइतबारमात्रै गठबन्धन कार्यदल बैठकअघि जसपाका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच निरन्तर संवाद हुँदै आइरहेको छ । एक्लाएक्लै प्रस्तुत हुँदा कांग्रेसको बार्गेनिङ पावर बढ्ने भएकोले ती दलबीच ‘कार्यगत एकता’ भएको हो ।

    कांग्रेसले मान्ला त २४ प्रतिशत ?

    गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिका केन्द्रबाटै भागबण्डा गर्ने सहमति छ । पाँच दलीय गठबन्धनको निर्वाचन परिचालन एवं समन्वय समितिमा आइतबार ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको नेतृत्व बाँडफाँटबारे छलफल भयो ।

    बैठकमा माओवादी, समाजवादी र जसपाले ३ महानगर र १० उपमहानगरपालिकामा नेतृत्व दावी गरेका छन् । माओवादीले भरतपुर महानगरपालिका, धरान उपमहानगरपालिका, जितपुर सिमरा उपमहानरपालिका, घोराही उपमहानगरपालिका र हेटौडा उपमहानगरपालिकामा मेयर पदको दावी गरेको छ ।

    एकीकृत समाजवादीले पोखरा महानगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र तुलसीपुर उपमहानरपालिकामा नेतृत्व दावी गरेको छ । बुटवलमा पनि नेकपा एसको दावी छ यद्यपी तुलसीपुर पाउँदा बुटवलमा उपमेयर मागेको छ ।

    त्यस्तै जसपाले वीरगञ्ज महानगरसहित नेपालगञ्ज र जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख दावी गरेको छ । तर धरान उपमहानगरपालिकामा पनि जसपाको झिनो दावी छ ।

    गठबन्धनमा महानगर र उपमहानगरको नेतृत्वबारे केन्द्रबाटै टुंगो लगाउने सहमति यसअघि नै भइसकेको छ । जस अनुसार ६ महानगर र ११ उपमहानगर गरी १७ स्थानीय तहको नेतृत्व बाँडफाँटमा छलफल केन्द्रीत छ । १७ मध्ये १३ वटा स्थानीय तह अर्थात ७० प्रतिशतभन्दा बढी पालिकाको नेतृत्वमा माओवादी, समाजवादी र जसपाले दावी गरेका छन् ।

    आइतबारको बैठकका आधारमा काठमाडौं, विराटनगर र ललितपुर महानगर तथा धनगढी उपमहानगरपालिकामा मात्रै तीन दलले दावी गरेनन् । गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने सबै तहको नेतृत्वमा कांग्रेसको दावी स्वतः रहने बताउँछन् ।

    ‘हामी त गठबन्धनको प्रमुख शक्ति हौं । अन्य दलहरुले आफ्नो दावी राखेका छन् । हाम्रो त सबैमा स्वतः दावी छ नि’, पौडेलले भने ।

    गठबन्धन बैठकमा तीन दलको सामूहिक सौदाबाजी सुरु भएपछि कांग्रेस भने दवावमा परेको छ ।

    आरजुको क्षेत्रमा तीन दलले गरेनन् दावी

    मुलुकका ११ वटा उपमहानगरपालिकामध्ये धनगढी उपमहानगरपालिकाको प्रमुखमा मात्रै माओवादी, समाजवादी र जसपाले दावी गरेनन् । सो उपमहानगरपालिकामा यसअघि कांग्रेसले जितेको थियो ।

    कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री पत्नी आरजु राणाको निर्वाचन क्षेत्रमा पर्ने धनगढीमा चाहिँ अन्य दलहरुले दावी नगर्नुलाई चासोका साथ लिइएको छ ।

  • गठबन्धनमा कांग्रेसले राखेन दाबी, रामचन्द्र भन्छन्- सबै ठाउँमा स्वतः दाबी छ

    गठबन्धनमा कांग्रेसले राखेन दाबी, रामचन्द्र भन्छन्- सबै ठाउँमा स्वतः दाबी छ

    काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भने पनि महानगर र उपमहानगरको नेतृत्व भागबण्डामा सकस देखिएको छ ।

    ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको नेतृत्वबारे टुंगो लगाउन आइतबार बसेको बैठक बिना निष्कर्ष टुंगियो । बैठकमा सबै दलका नेताहरूले आ–आफ्नो दाबी पेश गरेका छन् ।

    माओवादीले भरतपुर महानगर र ४ उपमहानगरमा नेतृत्व दाबी गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगर र ३ उपमहानगरको प्रमुख दाबी गरेको छ । जसपाले पनि वीरगञ्ज महानगर र ३ उपमहानगर आफूले पाउनुपर्ने अडान राखेको छ ।

    आइतबारको बैठकमा कांग्रेसले भने कुनै माग नराखेको गठबन्धनको निर्वाचन परिचालन एवं समन्वय समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘कांग्रेसको त सबैमा दाबी छ नि । आजको बैठकमा अन्य दलका साथीहरूले आ–आफ्नो दाबी राख्नुभयो । थप छलफल जरुरी देखिन्छ’, पौडेलले नेपाल प्रेससँग भने ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारसम्म महानगर र उपमहानगरको शक्ति बाँडफाँट टुंगो लाग्ने दाबी गरेका थिए । गठबन्धनका संयोजक पौडेलले भने तत्कालै सबै विषय टुंगो नलाग्ने संकेत गरेका छन् । ‘गठबन्धन आजको आवश्यकता हो । गठबन्धन गर्नै पर्ने छ तर गाह्रो छ । अझै केही दिन समय लिन्छ’, पौडेलले भने ।

    पौडेलका अनुसार चुनावी तालमेलबारे नीतिगत निर्णय केन्द्रबाट भए पनि मुख्य निर्णय भने स्थानीय संयन्त्रले नै गर्नुपर्नेछ । ‘हामीले सबै ठाउँको निर्णय दिदैंनौ । समस्या देखिएका विषयमा गाँठो फुकाउने काम मात्रै गर्ने हो । तालमेललाई सफल बनाउने त तलैबाट हो’, पौडेलले भने ।

    नेकपा एमाले बलियो भएको स्थानमा गठबन्धनले स्पष्ट निर्णय लिने पौडेलले बताए । ‘गठबन्धन राजनीतिक आवश्यकता हो । एमाले बलियो भएको ठाउँमा तालमेल जरुर हुन्छ । जहाँ हाम्रै बीच प्रतिस्पर्धा छ त्यहाँ स्वस्थ प्रतिस्पर्धा पनि हुनसक्छ’, पौडेलले भने ।

    चासोका साथ हेरिएका महानगर र उपमहानगरको नेतृत्वमा सबैले आ–आफ्नो अडान कायम राखेकाले शीर्ष नेताहरूबिचको छलफलबाट मात्रै टुंगो लाग्ने सम्भावना छ ।

    गठबन्धनको आइतबारको बैठकमा सहभागी एक नेताका अनुसार सोमबार पनि शीर्ष नेताहरूको बैठक बसेर सहमति जुटाउने प्रयास हुनेछ ।

  • पोखरा महानगरपालिकाको मेयर बन्न कांग्रेसका १८ जनाको दाबेदारी पेश

    पोखरा महानगरपालिकाको मेयर बन्न कांग्रेसका १८ जनाको दाबेदारी पेश

    पोखरा । देशका ६ वटा महानगरपालिकामध्ये पोखराको मेयर नेकपा एसले पाउने चर्चा चलिरहेका बेला नेपाली कांग्रेसबाट मात्रै १८ जनाले मेयरको दाबी गर्दै महानगर समितिमा निवेदन दिएका छन् ।

    १५ हजार रुपैयाँसहित उम्मेदवारीको लागि दाबेदारी पेश गर्नेमा गण्डकी प्रदेश सरकारका मन्त्री बिन्दुकुमार थापादेखि पूर्व सचिव तथा अख्तियार प्रमुख सिफारिस भएर पनि नियुक्ति हुन नपाएका बाबुराम आचार्यसम्म छन् ।

    पोखराको मेयरका लागि कांग्रेसका कास्की जिल्ला सभापति किशोरदत्त बराल, पत्रकार गंगाधर पराजुली, यसअघि उपमेयरमा पराजित सरस्वती गुरुङ लगायत १८ जना छन् ।

    त्यस्तै उपमेयरका लागि ११ जनाको आबेदन परेको छ ।

    उपमेयरमा दाबी गर्नेहरुमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टिकाकुमारी गुरुङ र दिपक मल्ल छन् ।

    त्यस्तै मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले पनि उपप्रमुखका लागि आवेदन दिएका छन् ।

  • एमालेसँग तालमेल गर्न तनहुँमा कति छ गोविन्दराज जोशीको शक्ति ?

    एमालेसँग तालमेल गर्न तनहुँमा कति छ गोविन्दराज जोशीको शक्ति ?

    काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी अहिले पार्टी कारबाहीमा छन् । उनको कारबाही फुकुवा भएको छैन । कुनै बेला कांग्रेसमा निर्णायक प्रभाव राख्ने एकेजिबी समूह थियो । अर्जुन नरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र बिजय कुमार गच्छदार ।

    संयोग नै भन्नुपर्छ खुमबहादुरको निधन भइसकेको छ, बाँकी तीनमध्ये अर्जुन नरसिंह कांग्रेस नेतृत्वमा रहे पनि निर्णायक प्रभाव छैन । बिजय गच्छदार भ्रष्टाचार मुद्दा खेपिरहेका छन् उनी पनि निर्णायक शक्तिमा छैनन् । गोविन्दराज त कारबाही मै छन् ।

    यीनै गोविन्दराज जोशी तनहुँको राजनीतिमा भने अझै पनि निर्णायक मानिन्छन् ।

    जोशीले २०७४ प्रतिनिधि सभा निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलको विरुद्धमा बागी उम्मेदवार हालेका थिए । यद्यपी उनको उम्मेदवारी पौडेलले निर्वाचन आयोगमा उजुरी गरेर रद्द गराएका थिए । त्यसपछि जोशीलाई पार्टीले साधारण सदस्य नै नरहनेगरी कारबाही गरेको छ ।

    उनै जोशी समूहसँग तनहुँमा आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तालमेल गर्ने भएको छ । जोशीले व्यास नगरपालिकामा आफ्ना छोरा दीपकराज जोशीलाई प्रमुख बनाउँन चाहेका छन् । यसका लागि उनले स्वतन्त्र उम्मेदवारी नै घोषणा गरिसकेका छन् ।

    व्यास नगरपालिकामा एमाले कांग्रेसपछिको दोस्रो शक्ति हो तर एक्लै जित्ने हैसियतमा छैन । बरु जोशीले कांग्रेसले जित्ने मार्जिनको मत होल्ड गर्छन् । यसैक्रममा उनीसँग एमालेले तालमेल गर्ने बहस चलिरहेको छ । स्रोतका अनुसार त्यो बहस निर्णायक चरणमा पनि पुगिसकेको छ ।

    कांग्रेसको कारबाहीमा परेका जोशीसँग एमालेले किन तालमेल गर्दैछ ? जोशीसँग कति शक्ति छ ? भन्ने विषयमा आमचासो पनि बढेको छ ।

    कति छ जोशीको शक्ति ?

    तनहुँमा गोविन्दराज जोशी कांग्रेसका संस्थापक हुन् । उनी आफूले रामचन्द्रलाई कांग्रेस बनाएको बताउने गर्छन् । २०४८,२०५१ र २०५६ तीनपटक उनले तनहुँबाट ठूलै मतान्तरमा चुनाव जितेका थिए ।

    तनहुँ कांग्रेसमा पौडेल–जोशीको टकरावको इतिहास लामै छ । विद्यार्थी राजनीतिकालदेखि नै दुवैै नेता एकअर्काका प्रतिस्पर्धी थिए । यसैकारण जिल्लामा दुवै नेता फरक समूह चलाउँथें ।

    एक समय यस्तो थियो कि जिल्लामा पार्टीका चुनाव हुँदा जोशी समूहले रामचन्द्र समूहलाई सजिलै हराउँथ्यो । त्यसमा मन्त्री तथा सांसद हुँदा जोशीले गर्ने कार्यकर्ता संरक्षण महत्वपूर्ण थियो । यही कुराको कमी पौडेलमा थियो । पौडेल सिद्धान्तको कुरा गर्ने, जोशी व्यवहार मिलाउने । त्यसैले पनि जोशीको पकड बढि थियो ।

    जब जोशीलाई भ्रष्टाचारको अभियोग लाग्यो उनी राष्ट्रिय स्तरमै कमजोर भए । जोशी कमजोर भएपछि कार्यकर्ताहरूले पनि छाड्न थाले । यद्यपी पुराना प्रतिवद्ध कार्यकर्ताहरूले भने उनको साथ नछाडेको देखिएको छ ।

    यसैक्रममा जोशीको कारबाही फुकुवा नभएको भन्दै कांग्रेसको १४ औँ महाधिवेशनमा तनहुँमा ६ हजार कार्यकर्ताले क्रियाशिल सदस्यता पनि नभरेको सो समूहले दाबी गर्ने गरेको छ ।

    सो समूहको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र आबुखैरेनी गाउँपालिकामा निर्णायक मत छ । सोही कारण सो समुहसँग तालमेल गर्न चाहेको एमालेस्रोतले बतायो । त्यो शक्ति कांग्रेसलाई हराउन पर्याप्त हुने एमालको बुझाई छ ।

    २०७४ को स्थानीय तह निर्वाचनमा भानु नगरपालिकामा कांग्रेसका उदयराज गौलीले ९ हजार ५ सय ३८ मतसहित विजयी हुँदा एमालेका भगवती न्यौपानेले ९ हजार ६४ मत पाएकी थिइन् । जोशीको आफ्नै गृहनगर भएकाले यहाँ उनीसहितको गठबन्धन हुनासाथ कांग्रेसको गठबन्धन कमजोर हुन्छ ।

    यस्तै व्यास नगरपालिकामा कांग्रेसका बैकुण्ठराज न्यौपाने १३ हजार ५६ मतसहित विजयी हुँदा एमालेका शंकर नारायण श्रेष्ठले ९ हजार ५ सय ९२ मत ल्याएका थिए भने, आबुखैरेनीमा कांग्रेस गिरबहादुर थापा २ हजार ५ सय ८९ मत सहित विजयी भएका थिए भने, एमाले सन्तबहादुर केसीले २ हजार २ सय ४२ मत पाएका थिए ।

    यस्तै बन्दिपुरमा कांग्रेसका कर्णबहादुर खत्री २ हजार ४ सय २१ ल्याएका थिए । एमालेका आनन्दमान जोशीले एकहजार ९ सय ३२ पाउँदै दाेस्राे भएका थिए । त्यहाँ माओवादीबाट पूर्णसिंह थापाले जित निकालेका थिए । 

    यी पालिकाहरूमा एमालेले जोशी समूहसँग मिलेर कांग्रेसलाई पराजित गर्न चाहन्छ । त्यसका लागि जोशी समूहले व्यास नगरपालिकाको नेतृत्व मागेको छ । जहाँ जोशी आफ्ना छोरालाई प्रमुख बनाउँन चाहन्छन् ।

    जोशी हिजो मन्त्री हुँदा शिक्षा, स्वास्थ्य, विद्यालय स्थापना, युवाहरुलाई रोजगारीमा सहयोग गरेको कारण उनलाई धेरैले रुचाउने गरेको सो समूहको तर्क छ ।

    यस्तै जोशी समूहसँग संविधान सभा सदस्य पार्वती राना पनि छन् । यद्यपी उनी अहिले बिरामी छन् । उनका भाईहरु सबै जोशीको पक्षमा रहेको स्रोतको दाबी छ ।

    यस्तै भानु नगरपालिकामा सहिद होमराज लोहनीको पत्नी बालकुमारी लोहनी, बन्दिपुरमा शुकुमलाल गुरुङलगायत जनतामा राम्रो प्रभाव पार्ने नेताहरु पनि जोशीका पक्षमा छन् । अहिले नेताभन्दा पनि गाउँका कांग्रेस कार्यकर्ताहरु जोशीको पक्षमा रहेको सो समूहको दाबी छ ।

    एमाले र जोशी समूहकाबीचमा बन्न लागेको यो गठबन्धनमा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेको विशेष जोड छ । उनकै पहलमा काठमाडौंमा एमाले अध्यक्ष केपी ओली र जोशीबीच भेटवार्ता भएपछि तनहुँमा गठबन्धनको वातावरण बनेको हो ।

    अघिल्लो चुनावमा रामचन्द्रले उम्मदेवारी खारेज गराइदिएपछि गोविन्दराज जोशीले एमालेलाई सहयोग गरेका कारण किसान श्रेष्ठको विजय सम्भव भएको थियो । यसपटक जोशी समूह खुलेर एमालेसँग गठबन्धन बनाउन अग्रसर हुँदा तनहुँमा कांग्रेसलाई चुनौति बढेको छ ।