Category: नेपाली कांग्रेस

  • पोखरा महानगरपालिका- १३ वडाध्यक्षका उम्मेदवार बरालले थाले घरदैलो कार्यक्रम

    पोखरा महानगरपालिका- १३ वडाध्यक्षका उम्मेदवार बरालले थाले घरदैलो कार्यक्रम

    काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर १३ को अध्यक्षमा उम्मेदवारी दिएका कांग्रेस नेता किरण बरालले घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

    विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय नेता बराल अस्ट्रेलियाबाट अध्ययन सकेर नेपाल फर्किएका हुन् ।

    चुनवाी अभियान आरम्भ गर्दै बरालले आफूले विदेशमा सिकेको सीप र अध्ययन वडाको विकासका लागि खर्चिने प्रतिवद्धता व्यक्त गरे ।

    यूवा देखि सम्पूर्ण उमेर समूहका नागरिकका समस्या लाई वडाबाट व्यवस्थित तरिकाले सम्बोधन गर्दै नमुना वडाका रुपमा विकास गर्न आफू तयार रहेको उनले बताए ।

    २०७४ को चुनावमा फराकीलो मतान्तरले पराजित भएको कांग्रेसलाई जिताउने गरी आफू लागेको उनले बताए ।

    उनले भने, ‘हिजो सबैभन्दा धेरै मतान्तरले हारेको वडा हो यो । अब हामी ब्याज सहित सबैभन्दा बढी मतान्तरले जित्छौं ।’

  • महाधिवेशनपछि चाक्सीबारीमा पहिलो पटक पुगे गगन थापा, सिर्जनालाई मेयर जिताउन लिए पहल

    महाधिवेशनपछि चाक्सीबारीमा पहिलो पटक पुगे गगन थापा, सिर्जनालाई मेयर जिताउन लिए पहल

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पार्टीको १४ औँ महाधिवेशनपछि पहिलो पटक चाक्सीबारीस्थित सिंह निवासमा पुगेका छन् ।

    महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट गगन महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै प्रकाशमान सिंह प्यानलसहित सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

    महाधिवेशनअघि एकै समूहमा रहे पनि महाधिवेशनमा सिंह–थापा दूरी बढेको थियो । आसन्न स्थानीय तहको निर्वाचन र काठमाडौं महानगरको सन्दर्भले दुई नेताबीच सार्थक संवादको थालनी भएको हो ।

    प्रकाशमान पत्नी एवं कांग्रेस महासमिति सदस्य सिर्जना सिंह गठबन्धनका तर्फबाट काठमाडौं महानगरमा मेयरको प्रत्याशी रहेकी छिन् ।

    काठमाडौंको चुनावी तयारी र रणनीतिबारे छलफल गर्न महामन्त्री थापा चाक्सीबारी पुगेका हुन् । १४ औँ महाधिवेशन अगाडि तत्कालीन संस्थापन इतर समूहको दर्जनौँ बैठक चाक्सीबारीमा हुने गरेका थिए ।

    महाधिवेशनको दोस्रो चरणमा सिंहले शेरबहादुर देउवालाई समर्थन गरेपछि कोइराला पक्षका नेताहरू चाक्सीबारी जाने क्रम रोकिएको थियो । सिर्जनाको उम्मेदवारीले चाक्सीबारीमा फेरी राजनीतिक चहलपहल बढाएको छ ।

    जित निश्चित छ : महामन्त्री थापा

    चाक्सीबारी बैठकमा मूलतः काठमाडौं महानगरको चुनावी अभियान र प्रचारको रणनीतिबारे छलफल भएको थियो । छलफलमा महामन्त्री थापाले सिंहको जित निश्चित भएको बताए ।

    प्रतिस्पर्धी उम्मेदवारको सार्वजनिक छविमाथि प्रश्न उठिसकेको भन्दै थापाले काठमाडौंका जनताले मेयरमा सिंहलाई जिताउने विश्वास व्यक्त गरे ।

    उनले सिंह परिवारको सदस्य मात्रै नभएर एक राजनीतिक नेताको रूपमा सिंहलाई सबैले स्वीकार गरेको बताए ।

    ‘सिर्जना भाउजू सिंह परिवारको सदस्य मात्रै होइन । पद नलिएर पनि कांग्रेसमा कन्ट्रिब्युट गरेको मान्छे हो । भाउजूको जित सुनिश्चित नै छ’, थापाले भने ।

    उनले प्रचार र चुनावी तयारीका लागि पर्याप्त समय लिएर छलफल गर्नुपर्ने बताएका थिए ।

    को-को थिए बैठकमा ?

    काठमाडौं महानगरको मेयरकी प्रत्याशी सिंहले नै चुनावी तयारीका लागि काठमाडौंका नेताहरूलाई बोलाएकी थिइन् ।

    छलफलमा महामन्त्री थापा, पूर्व महामन्त्री सिंहसहित केन्द्रीय सदस्यहरू ध्यान गोविन्द रञ्जित, राजन केसी, प्रतिमा गौतम, पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान, काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानियाँ लगायत उपस्थित थिए ।

    छलफलमा चुनावी सम्पर्क कार्यालय स्थापना, प्रचार समिति गठन, घरदैलो अभियान र घोषणापत्र लेखनबारे छलफल भएको थियो ।

    बैठकमा केन्द्रीय सदस्य प्रतिमा गौतमले २०३६ सालदेखि नै राजनीतिमा सक्रिय रहेको तर पद नलिएको उम्मेदवारका रूपमा सिर्जना सिंहलाई जनताले स्वीकार गरिसकेको बताइन् ।

    ‘एमालेको उम्मेदवारको चरित्रमाथि प्रश्न उठेको बेला भाउजूको स्वच्छ छवि, ३६ सालदेखिको योगदान र काठमाडौंलाई व्यवस्थित बनाउने घोषणाले सबैको ध्यान खिचेको छ’, गौतमको भनाई थियो ।

    बैठकमा पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधानले स्वतन्त्र उम्मेदवार बालेन शाहको सन्दर्भ निकाल्दै यूथ जेनेरेसनको भोट बिग्रन नदिन घोषणापत्रमा सबै विषय समेट्नुपर्ने सुझाव दिएका थिए ।

  • देउवाको गृहजिल्लामै अलग समूह बनाएर एमालेसँग तालमेल गरेपछि कांग्रेस नेता मल्ल निष्कासित

    देउवाको गृहजिल्लामै अलग समूह बनाएर एमालेसँग तालमेल गरेपछि कांग्रेस नेता मल्ल निष्कासित

    काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति एवं प्रदेश सदस्य कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित भएका छन् ।

    पार्टीको विधान विपरित गतिविधि गरेको भन्दै उनलाई कांग्रेसले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाइएको हो ।

    कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ (संशोधन सहित) विपरितका गतिविधि मल्लबाट भएकाले सदस्यसमेत नरहनेगरी हटाइएको बताए ।

    स्थानीय तह निर्वाचनमा उनले पार्टीको केन्द्रीय निर्देशनविपरित जिल्लामा नेकपा एमालेसँग गठबन्धन गरेर उम्मेदवार तय गरेका थिए ।

    डडेल्धुरा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । पार्टी सभापतिकै गृहजिल्लामा मल्लले कांग्रेस विरुद्ध बागी उम्मेदवार उठाएर एमालेसँग चुनावी तालमेल गरेका हुन् ।

  • आरजुलाई साक्षी राखेर सिर्जनाले भनिन्- महिलाले घर चलाए झैं महानगर चलाएर देखाउँछु (भिडिओ)

    आरजुलाई साक्षी राखेर सिर्जनाले भनिन्- महिलाले घर चलाए झैं महानगर चलाएर देखाउँछु (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताएकी छन् ।

    मंगलबार आफ्नै निवास चाक्सीबारीमा आयोजित कार्यक्रममा सिंहले पार्टीले सार्वजनिक गरेको घोषणापत्र र आफूले सारेका योजनालाई पूरा गर्ने प्रतिबद्धता जनाए ।

    ‘राजधानी काठमाडौंलाई सवैको साझा र सुरक्षित सहर बनाउँछु । महिलाले राम्रोसँग घर चलाए झैं काठमाडौं महानगरलाई सफासुग्घर तबरले चलाएर देखाउँछु ।’

    कार्यक्रममा कांग्रेस नेतृ एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने भन्दै सिर्जना सिंहलाई जिताउन आह्वान गरिन् । मुलुकको परिवर्तनमा महिलाहरूले धेरै योगदान गरेको भन्दै अब पदमा रहेर देशका सेवा गर्ने समय आएको आरजुको भनाइ छ ।

    काठमाडौंकी उपमेयर हरिप्रभा खड्गीले पाँच वर्षमा महानगरमा भएको विकासलाई निरन्तरता दिन सिर्जना सिंहलाई विजयी गराउनुपर्नेमा जोड दिइन् । काठमाडौंलाई सांस्कृतिक सहरको रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

  • धुनीबेसीमा गठबन्धनविरुद्ध कांग्रेस नेताहरुको स्वतन्त्र उम्मेदवारी

    धुनीबेसीमा गठबन्धनविरुद्ध कांग्रेस नेताहरुको स्वतन्त्र उम्मेदवारी

    धादिङ । सत्ता गठबन्धनबाट धुनीबेसी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख पद पाएपछि कांग्रेसको असन्तुष्ट समूहबाट स्वतन्त्र उम्मेदवारी परेको छ ।

    समाजवादीका बालकृष्ण आचार्यले गठबन्धनको तर्फबाट धुनीबेसीको प्रमुखमा उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसका असन्तुष्ट समूहबाट एकराज गजुरेल (कुबेर) ले प्रमुखमै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    सो नगरपालिकामा समाजवादीले पाएको ४, ५ र ६ नम्बर वडाको अध्यक्षमा पनि कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिइएकाे छ । सुरेश गुजरेलले ४, विशाल भट्टराईले ५ र राजकुमार बानियाँले ६ नम्बर वडाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । तालमेलका क्रममा गठबन्धनले ती वडा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो ।

    स्थानीय आवश्यकताविपरीत तालमेल गरिएको भन्दै असन्तुष्ट कांग्रेस नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । धुनीबेसीको उपप्रमुखमा कांग्रेसबाट सुरज उप्रेती उम्मेदवार रहेका छन् ।

  • गुल्मीकाे रेसुङ्गामा १०२ वर्षे मतदाताको आशीर्वाद लिएर चुनावी अभियान सुरु

    गुल्मीकाे रेसुङ्गामा १०२ वर्षे मतदाताको आशीर्वाद लिएर चुनावी अभियान सुरु

    गुल्मी । रेसुङ्गा नगरपालिका प्रमुखका उमेदवार नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शताब्दी पुरुषसँग आशीर्वाद लिएर घरदैलो अभियान सुरु गरेका छन् ।

    सोमबार रेसुङ्गा नगरपालिकाको प्रमुखमा मनोनयन दर्ता गरेपछि पन्थीले नगरवासी १०२ वर्षीय पर्शुराम पन्थी उपाध्यायसँग आशीर्वाद लिएर घरदैलो अभियान सुरु गरेका हुन् । उपाध्याय रेसुङ्गाका सबैभन्दा पाका मतदातासमेत हुन् ।

    २०१६ सालमा बीपी कोइराला गुल्मी पुग्दा उपाध्यायकै घरमा बास बसेका थिए । गुल्मी कांग्रेसका सभापति एवं प्रमुखका प्रत्यासी पन्थीले शताब्दी पुरुषको आशीर्वादले आफूलाई ऊर्जा दिएको बताए । ‘ज्येष्ठ नागरिकहरु नगरका धरोहर हुन् । १ सय वर्षभन्दा बढी उमेर पुगेका नागरिकको आशीर्वाद लिएर चुनावी अभियानमा होमिएको छु । मेरो उत्साह बढेको छ’, पन्थीले भने ।

    उपाध्यायलाई भेट्न पन्थीसहित उपप्रमुखका उम्मेदवार अमृतादेवी कुँवर र वडा कार्यसमितिका प्रत्यासीहरु पुगेका थिए ।

  • धरानमा कांग्रेस छाडेर राप्रपाबाट उम्मेदवार बनेका अधिकारीको आरोप- टिकटमा ५ लाख मागे

    धरानमा कांग्रेस छाडेर राप्रपाबाट उम्मेदवार बनेका अधिकारीको आरोप- टिकटमा ५ लाख मागे

    इटहरी । २०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसबापट धरान उपमहानगरपालिका-१ को वडाअध्यक्ष जितेका रोशन अधिकारी अहिले राप्रपाबाट उम्मेदवार बनेका छन् ।

    उम्मेदवार बन्न ५ लाख मागेकाले आफू राप्रपा प्रवेश गरेको उनले बताए ।

    अधिकारीले नेपाल प्रेससँग भने, ‘२५ दिन अगाडि मलाई पाँच लाख दिएमा मात्रै पुनः वडा अध्यक्ष टिकट निश्चित हुने भन्दै एक श्रेष्ठ थरका मान्छे आएर म र श्रीमतीसग कुरा गरे । मैले पैसा दिने कुरा अस्वीकार गर्दा टिकट दिएनन् ।’

    अधिकारीलाई मात्रै आउट गरेर बाँकी सेटलाई कांग्रेसले टिकट दिएको थियो । वडा सदस्य विवेक प्रसाईंले पनि अधिकारीलाई नै साथ दिएका छन् । यस्तै धरान १४ का नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले समेत राप्रपाबाट वडाध्यक्षको टिकट लिएका छन् ।

    आफूलाई आम नागरिकले रुचाए पनि पार्टीले दोहोराउन टिकट नदिएपछि अघिल्लो कार्यकालका बाकी काम पुरा गर्न उमेदवार बनेको भट्टराईले बताए । आफू अध्यक्ष हुँदा पञ्जिकरणदेखि नागरिकता सिफारिसको पैसा नलिएको देखि साप्ताहिक मोतिबिन्दुको शिविर राख्नेजस्ता धेरै जनमैत्री काम भएको भन्दै भट्टराईले त्यही निरन्तरताको लागि नागरिकले आफूलाई चाहेको बताए ।

    ‘जुन पार्टीबाट भएनि उमेदवार भएर आउनुस जिताउँछौं भनेपछि म राप्रपा उमेदवार बनेको हो’, भट्टराईले भने ।

  • को हुन् विराटनगर महानगरको मेयर दौडमा रहेका नागेश र सागर ?

    को हुन् विराटनगर महानगरको मेयर दौडमा रहेका नागेश र सागर ?

    विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा मुख्यतया गठबन्धन र एमालेका उम्मेदवारबीच कडा भिडन्त हुने देखिएको छ । विराटनगर महानगरेको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला र नेकपा एमालेबाट सागर थापा बलिया उम्मेदवार देखिएका हुन् ।

    सत्ता गठबन्धनमा भागबन्डा हुँदा विराटनगरको मेयर काग्रेसको भागमा परेको थियो । गठबन्धनका मेयर उम्मेदवार नागेश राजनीतिक परिवारका सदस्य हुन् । कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला र नागेशबीच काका–भतिजको सम्बन्ध छ ।

    कोइराला परिवारका सदस्य नागेश र वरिष्ठ नेता कोइरालाबीच ससुराली साइनोसमेत छ। नागेशकी श्रीमती र शेखरकी श्रीमती फुपू-भदैनी हुन् ।
    कांग्रेसको भ्रातृ संगठन तरुण दल मोरङको कोषाध्यक्ष भएपछि सक्रिय राजनीतिमा आएका हुन नागेश । तरुण दलपछि उनी कांग्रेसको जिल्ला सचिव भए । अहिले उनी मोरङ कांग्रेस उपसभापति छन् ।

    शेखरको नाताको मान्छे भएकाले नागेशले टिकट पाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । विशेष गरी पार्टी सभापति शेरबहादुर देउवा समूहका वरिष्ठ नेताहरु मेयरको आकांक्षी भए पनि उनीहरुलाई ब्याक गरेर नागेशलाई टिकट दिएको भन्दै संस्थापन पक्षमा असन्तुष्टि देखिएको हो । जसका कारण नागेशलाई कांग्रेस वृत्तबाटै मत नआउने हो कि भन्ने आशंका बढाएको कांग्रेसका एक नेताले बताए । तर, उनी गठबन्धनको उम्मेदवार भएकाले विजय सुनिश्चित रहेको उनको दावी छ ।

    यता विद्यार्थी राजनीतिबाट एमालेमा स्थापित युवा नेता सागर थापालाई पनि उतिकै सशक्त उम्मेदवारका रुपमा हेरिएको छ । सागर ३० वर्षदेखि एमालेको राजनीतिमा क्रियाशील छन् । उनले अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका थिए । थापा अहिले एमाले महानगर कमिटी अध्यक्ष हुन् । झण्डै दुई कार्यकाल एमले महानगर हाँकेका थापा नेकपा हुँदा महानगर संयोजक थिए ।

    थापा २० वर्षअघि देशकै चर्चित महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियुको तर्फबाट एक्लै स्ववियू सभापति निर्वाचित भएका थिए । उनले दुई कार्यकाल स्ववियू सभापति जित्दा अहिलेका विराटनगरका मेयर भीम पराजुली कोषाध्यक्ष र सचिव थिए ।

    यस्तो छ विगत

    अघिल्लो निर्वाचनमा मेयरमा कांग्रेसका भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की निर्वाचित भएका थिए । मेयरमा पराजुलीले २३ हजार ३१ मत, एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए ।

    उपमेयरमा कांग्रेसकी कार्कीले २० हजार १४६ र माओवादीकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन् । लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत ल्याएकी थिइन् ।

    गत चुनावमा एमालेले विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग तालमेल गरेको थियो । उपमेयरमा लोकतान्त्रिक फोरमकी चौधरीलाई एमालेले समर्थन गरेको थियो ।

    कांग्रेस एक्लैले चुनाव लडेको थियो । जसपा र माओवादीबीच पनि तालमेल भएको थियो । एमाले फुटेको र कांग्रेसमा पनि महाधिवेशनको असर राष्ट्रिय सभामा समेत देखिएकाले आसन्न स्थानीय चुनाव रोचक हुने स्थानीय नेताहरू बताउँछन् ।

    यस्तो छ दलको गणित

    विराटनगरमा १९ वडा छन् । अहिले १९ हजार ३८१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार विराटनगरमा एक लाख ३३ हजार १४२ मतदाता छन् । २०७४ सालमा एक लाख १३ हजार ७६१ मतदाता थिए ।

    २०७४ सालको निर्वाचनमा वामपन्थी मत एमाले र माओवादीको २४ हजार २१९ थियो । कांग्रेस र राप्रपाको २६ हजार १५१ थियो । त्यस्तै जसपाको १० हजार ९३२ थियो ।

    यस पटक वामपन्थी दल विभाजित छन् । एमाले र माओवादीसँगै एकीकृत समाजवादीले सबै वडामा संगठन निर्माण गरिसकेका छन् । कांग्रेसमा गत निर्वाचनको भन्दा झण्डै साढे चार हजार मत फोरम लोकतान्त्रिकबाट थपिएको छ ।

    राप्रपा पनि एक्लै चुनावमा गएको छ । मेयरमा प्रह्लाद शाहले उम्मेदवारी दिएकाले एमालेका थापालाई राप्रपाको साथ नहुने पक्कापक्की छ । यसरी हेर्दा सत्ता गठबन्धनका मेयर उम्मेदवार नागेश सशक्त उम्मेदवार हो भन्दा अत्युक्ति नहोला ।

    विराटनगरको विरासत

    अहिलेसम्म विराटनगरमा भएका चार वटा स्थानीय निर्वाचनमा दुई पटक कम्युनिष्ट र दुई पटक कांग्रेसले जितेका छन् । २०४३ सालमा जनपक्षीय उम्मेदवार भनेर वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठ मेयर निर्वाचित भएका थिए ।

    त्यसपछि २०४८ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार अशोक कोइराला विजयी भए । २०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल मेयर बने । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका भीम पराजुली विजयी भए ।

  • सहमतिविपरीत कर्णालीका सबै पालिकामा कांग्रेस र माओवादीका बागी उम्मेदवार

    सहमतिविपरीत कर्णालीका सबै पालिकामा कांग्रेस र माओवादीका बागी उम्मेदवार

    सुर्खेत । कर्णाली प्रदेशका ७९ ओटै पालिकामा सहमतिविपरीपत गठबन्धनका प्रमुख दलहरूले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस र माओवादीले सबै स्थानीय तहमा उम्मेदवारी दिएपछि अहिले नेताहरू मिलाउनतर्फ लागेका छन् ।

    हिजोमात्रै १५ वटा छाडेर ६४ वटा स्थानीय तहमा कांग्रेस र माओवादीलाई २५-२५ र नेकपा एसलाई १४ वटामा भागबन्डा गरिएको थियो ।

    ‘हामीले दिएको निर्देशन अनुसार भन्दा पनि हरेक पालिकामा साथीहरूले उम्मेदवारी दर्ता गर्नु भएको छ । सहमतिको आधारमा चुनाव लड्न र उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका छौं । यसलाई मध्यनजर गरेर सहजतापूर्वक सबै साथीहरू अघि बढ्नुहुनेछ भन्नेमा ढुक्क छौं ।’

    यता, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले पनि सबै पालिकामा उम्मेदवारी दिइएको बताइन् ।

    ‘अहिलेसमको विवरण अनुसार सबै पालिकामा साथीहरूले उम्मेदवारी दर्ता गर्नु भएको छ । ती साथीहरूले आफ्नो भागवण्डामा नपरेका पालिकामा उम्मेदवारी छोडनुहुन्छ ’, उनले भनिन् । गठबन्धनलाई थप कसिलो बनाएर लैजाने भन्दै उनले दाबीसमेत गरिन् ।

    यता, प्रदेश निर्वाचन कार्यालयले भने कुन पालिकामा कसले उम्मेदवारी दर्ता गरे भन्ने पूर्ण विवरण आउँन बाँकी रहेको जनाएको छ ।

  • कांग्रेसको घोषणापत्रबारे ओलीको टिप्पणी- गालीगलौजको पुलिन्दा, पागलहरूको प्रलाप (भिडिओ)

    कांग्रेसको घोषणापत्रबारे ओलीको टिप्पणी- गालीगलौजको पुलिन्दा, पागलहरूको प्रलाप (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र राजनीतिक दस्तावेज नभएर गालीगलौजको पुलिन्दामात्र भएको टिप्पणी गरेका छन् ।

    २३ औं मनमोहन स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस घोषणापत्रका दर्जनौं ठाउँमा एमाले र व्यक्तिगत रूपमा आफूमाथि गालीगलौज गरिएको भन्दै त्यसलाई पागलहरूको प्रलाप भनेका छन् ।

    अध्यक्ष ओलीले भने, ‘त्यो कुनै राजनीतिक दस्तावेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको ? रेल किन ल्याएको ? पाइपलाइन किन चाहियो ? यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्तावेज हुन्छ ?’

    अध्यक्ष ओलीले गठबन्धन नगर्दा कतै पनि जित्न नसक्ने अवस्थामा पुगेको कांग्रेसले कम्युनिस्ट पार्टी कब्जा गर्न नसकेपछि भागेका प्रचण्ड माधवहरुको बैशाखी टेकेर अघि बढ्न खोजेको ओलीको आरोप छ । तत्कालीन अवस्थामा नेकपामा पुष्पलालविरुद्ध केशरजंग रायमाझीहरूले प्राविधिक बहुमत देखाएर हटाएजस्तै आफूमाथि प्रचण्ड-माधवले आफैंले दिएको बहुमत देखाएर षड्यन्त्र गरेको बताए ।

    ओलीले भने, ‘हिजो पनि पुष्पलालविरुद्ध रायमाझीहरुले त्यसै गरे,पछि कांग्रेसले रायमाझीहरुको साथ पनि लियो । अहिले पनि नेकपाका रायमाझीहरू (प्रचण्ड-माधव) लाई बोकेर कांग्रेस हिँडेको छ ।

    एमाले अध्यक्ष ओलीले कांग्रेसको राजनीति भनेकै एमालेले गरेको विकासका कामको विरोध गर्नेमात्र रहेको बताए । गठबन्धनको एकताको आधार कुनै राजनीतिक नभएर एमालेको आरिसमात्र रहेको ओलीको भनाइ छ ।

  • कांग्रेस नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने !

    कांग्रेस नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने !

    काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् । सामाजिक सञ्जालमार्फत घिमिरेले सक्रिय राजनीति त्याग्नेबारे स्थानीय निर्वाचनलगत्तै निर्णय लिने उल्लेख गरेका छन् ।

    उनले स्थानीय निर्वाचनमा उम्मेदवार बन्नेहरुलाई जितको शुभकामना समेत दिएका छन् । सामाजिक सञ्जालमा उनका शुभेच्छुकहरुले राजनीति छाड्ने निर्णय नलिन सुझाव दिएका छन् ।

    नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य रहेका घिमिरे गत महाधिवेशनमा प्रदेश १ को सभापतिमा उद्धव थापासँग २ मतले पराजित भएका थिए । नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका घिमिरे साहित्यमा पनि सक्रिय छन् ।

  • उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै कांग्रेस गाउँ सभापतिसहित ३० जनाले छाडे पार्टी

    उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै कांग्रेस गाउँ सभापतिसहित ३० जनाले छाडे पार्टी

    काठमाडौं । उम्मेदवारी दर्तालाई लिएर असन्तुष्ट कार्यकर्ताले पार्टी छाड्ने क्रम जारी छ । रुपन्देहीको गैंडहवा गाउँपालिकामा उम्मेदवारी चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै कांग्रेसका ३० कार्यकर्ताले पार्टी छाडेका छन् ।

    उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेपाली कांग्रेस गैडहवा गाउँ कार्यसमितिका सभापति सत्यनारायण पथिकसहित ३० जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।

    कांग्रेसले गैंडहवा गाउँपालिका अध्यक्षमा वसिउल्लाह मुसलमानलाई उम्मेदवार बनाएपछि कार्यकर्ता असन्तुष्ट बनेका हुन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए ।

    एक पटक पराजित भैसकेको व्यक्तिलाई पुनः टिकट दिएको भन्दै कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका हुन् ।

    गैंडहवा गाउँपालिका सांसद भरत साहको निर्वाचन क्षेत्रमा पर्छ ।

  • ललितपुरमा गठबन्धनबाट कांग्रेसका चिरीबाबुले दिए उम्मेदवारी

    ललितपुरमा गठबन्धनबाट कांग्रेसका चिरीबाबुले दिए उम्मेदवारी

    ललितपुर । गठबन्धनका तर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

    गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो । जसकारण उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर मेयरमा निर्वाचित महर्जन फेरि दोहोरिन खोजेका हुन् ।

    उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महानगरपालिकामा गर्नुपर्ने कामहरू अझै रहेकाले आफूलाई निर्वाचित गराउन आग्रह गरे ।

    तस्बिरहरू : गौरव पौडेल । 

  • उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट दिक्तेल पुगेका कांग्रेसका मेयर उम्मेदवार कार्यकर्ताबाटै कुटिए (भिडिओ)

    उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट दिक्तेल पुगेका कांग्रेसका मेयर उम्मेदवार कार्यकर्ताबाटै कुटिए (भिडिओ)

    काठमाडौं । उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट पुगेका नेपाली कांग्रेसका नेता धर्मराज पोखरेल कार्यकर्ताबाटै कुटिएका छन् ।

    दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट पुगेका पोखरेलले कांग्रेसकै कार्यकर्ताहरूले कुटपिट गरेका हुन् ।

    सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा पोखरेललाई लेखेट्न पुगेका कार्यकर्ताहरुलाई प्रहरीले रोकेको देख्न सकिन्छ ।

    असन्तुष्ट कार्यकर्ताहरुलाई उनीमाथि आक्रमण गरिएको बुझिएको छ ।

    आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

     

  • पोखरामा कांग्रेसले उपमेयरको उम्मेदवार फेर्‍यो, सुरेन्द्रको स्थानमा कोपिला

    पोखरामा कांग्रेसले उपमेयरको उम्मेदवार फेर्‍यो, सुरेन्द्रको स्थानमा कोपिला

    काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलको असन्तुष्टिपछि नेपाली कांग्रेसले पोखरा महानगरपालिकामा उपमेयरको उम्मेदवार परिवर्तन गरेको छ ।

    पोखराको उपमेयरमा पहिले सुरेन्द्र बिजुक्छेको उम्मेदवारी टुंगो लागे पनि अन्तिममा हेरफेर भएको छ । अब पौडेलनिकट कोपिला रानाभाट पोखराको उपमेयरमा कांग्रेसबाट हुनेछिन् ।

    कांग्रेसनिकट स्रोतका अनुसार महानगरको टिकट वितरणमा पौडेलले असन्तुष्टि जनाएपछि उम्मेदवार फेरिएको हो । रानाभाट कांग्रेसको गण्डकी प्रदेशकी कोषाध्यक्ष हुन् ।

    यसअघि उपमेयरका लागि कन्फर्म गरिएका बिजुक्छे संस्थापन पक्षका हुन् ।
  • पोखराको मेयरमा गठबन्धन उम्मेदवारविरुद्ध कांग्रेस नेताले दिए बागी उम्मेदवारी

    पोखराको मेयरमा गठबन्धन उम्मेदवारविरुद्ध कांग्रेस नेताले दिए बागी उम्मेदवारी

    पोखरा । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले टिकट पाएपछि नेपाली कांग्रेसका एक जना नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका पूर्व कोषाध्यक्ष ऋषि सापकोटाले गठबन्धनकोविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

    उनी २०५४ देखि २०६४सम्म दश वर्ष कांग्रेसको जिल्ला सभापति थिए ।

    पार्टीले कार्यकर्ता र जनतालाई रुखबाहेक अन्य चिन्हमा भोट दिन बाध्य पारेकाले आफूले कांग्रेसको मत सुरक्षित गर्न स्वतन्त्र उम्मेदवारी दिएको सापकोटाले बताए ।

  • धरान र इटहरी मेयरमा गठबन्धनबाट किशोर र हेमकर्ण कांग्रेसका उम्मेदवार

    धरान र इटहरी मेयरमा गठबन्धनबाट किशोर र हेमकर्ण कांग्रेसका उम्मेदवार

    इटहरी । इटहरी र धरान उपमहानगरपालिकामा गठबन्धनले उम्मेदवार टुंग्याएको छ । इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल मेयरको उम्मेदवार बनेका छन् । त्यस्तै धरानमा कांग्रेसकै किशोर राईलाई अघि सारिएको छ ।

    ७४ मा पनि इटहरीमा पौडेलले दाबी गरेका थिए । तर, उनले टिकट नपाएपछि कांग्रेसका नेता-कार्यकर्ताले सडकमै पर्दर्शन गरेका थिए । २०५५ मा इटहरीको सामुदायिक क्याम्पस बहुमुखी जनता क्याम्पसका स्ववियू सभापति पौडेल इटहरीमा कांग्रेसबाट तीनपटक सभापति भइसकेका छन् ।

    २०३५ साउन ५ मा झापाको केरोबारीमा जन्मेका उनी २०४६ मा इटहरी आएका हुन् । नेपाली काङ्ग्रेसको राजनीतिमा पौडेलको औपचारिक प्रवेश २०५५ मा भएको स्ववियू चुनावबाट भएको हो ।

    त्यस्तै धरानमा गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार किशोर राई अघिल्लो पटक मेयरमा लड्न खोजेका थिए । उनी खेलकुद क्षेत्रमा थिए ।

    किशोर गत असोजमा भएको कांग्रेस धरानको पार्टी सभापतिमा श्याम पोखरेलसँग ३९ मतले पराजित भएका थिए ।

    २०७४ मंसिरमा भएको प्रदेशसभा चुनावमा सुनसरी क्षेत्र नम्बर १ (क) मा उनी एमालेका प्रदीप भण्डारीसँग ५ हजार ७३ मतले पराजित भएका थिए ।

  • महानगरमा देउवा-सिंह-कोइरालाबीच भागबन्डा, पौडेलले पाएनन्

    महानगरमा देउवा-सिंह-कोइरालाबीच भागबन्डा, पौडेलले पाएनन्

    काठमाडौं । नेपाली कांग्रेसले महानगरपालिकाका उम्मेदवारहरूको टुंगो लगाउँदा पार्टीको आन्तरिक शक्ति समीकरणअनुसार भागबन्डा गरेको छ । भागबन्डाका क्रममा कांग्रेसको भागमा परेको ३ महानगरको प्रमुखमा सभापति शेरबहादुर देउवा, पूर्वउपसभापति प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाको समूहले १-१ जना पाएको छ ।

    सभापति देउवानिकट चिरीबाबु महर्जनले ललितपुरको मेयरमा पुनः टिकट पाएका छन् । पूर्वउपसभापति सिंहकी श्रीमती सिर्जना सिंहले काठमाडौंको मेयर पाएकी छिन् भने नेता कोइरालानिकट नागेश कोइरालाले विराटनगर महानगरपालिकाको मेयरको टिकट पाएका छन् ।

    उपमेयरतर्फ पोखरामा देउवानिकट सुरेन्द्रमान बिजुक्छेले टिकट पाउँदा भरतपुरमा कोइरालानिकट चित्रसेन अधिकारीले टिकट पाएका छन् । वीरगञ्जमा संस्थापन पक्षकै नेता इम्तियाज आलम उपमेयरको उम्मेदवार बनेका छन् ।

    सिंह र कोइरालाले १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका थिए । दोस्रो चरणमा सिंहले देउवालाई समर्थन गरेका थिए ।

    विराटनगरमा आफूनिकट केन्द्रीय सदस्य अमृत अर्याललाई मेयर बनाउन सभापति देउवाले अन्तिमसम्म प्रयत्न गरेपनि कोइरालाले अडान नछाडेपछि देउवा ब्याक भएका हुन् । संसदीय समितिमा परेर पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने महानगरतर्फ कुनै भाग पाएनन् ।

  • यी हुन् तीन महानगरमा गठबन्धनबाट कांग्रेसका उपमेयर उम्मेदवार

    यी हुन् तीन महानगरमा गठबन्धनबाट कांग्रेसका उपमेयर उम्मेदवार

    काठमाडौं । भरतपुर महानगरपालिका गठबन्धनका तर्फबाट कांग्रेसले चित्रसेन अधिकारीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

    कांग्रेसको भरतपुर महानगर समितिका सभापति रहेका अधिकारीले उपमेयरको टिकट पाएका हुन् । भरतपुरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले रेनु दाहाललाई उम्मेदवार बनाएको छ । कांग्रेसभित्र गठबन्धनको विषयमा तीब्र विवाद छ । कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई स्वतन्त्र रूपमा मेयरको उम्मेदवार बनाउँदैछ ।

    यसैबीच, कांग्रेसले पोखरा महानगरपालिकाको उपमेयरमा सुरेन्द्रमान बिजुक्छेलाई उम्मेदवार बनाएको छ । उनी कांग्रेसको पोखरा महानगर समितिका सभापति हुन् । पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाएको छ ।

    त्यस्तै वीरगञ्ज महानगरपालिकाको उपमेयरमा कांग्रेसले इम्तियाज आलमलाई उम्मेदवार बनाउने भएको छ । उनी पर्सा कांग्रेसका सचिव हुन् । पर्सामा गठबन्धनको तर्फबाट जसपाले राजेशमान सिंहलाई मेयरको उम्मेदवार बनाएको छ ।

  • भक्तपुरमा कांग्रेस र एमालेले टुंग्याए उम्मेदवार

    भक्तपुरमा कांग्रेस र एमालेले टुंग्याए उम्मेदवार

    भक्तपुर । नेपाली कांग्रेस र नेकपा एमालेले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंग्याएका छन् ।

    कांग्रेसले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा रामप्रसाद कासुलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकाको उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तीन नगरपालिका भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायककाे उपमेयर गठबन्धन दलका अरु पार्टीको भागमा परेकोले उसले त्यहाँं उम्मेदवार घाेषणा गरेकाे छैन ।

    गठबन्धनले मध्यपुर थिमिको उपप्रमुख नेकपा माओवादी केन्द्रलाई र नेकपा एकीकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपप्रमुख दिने सहमति गरेकाे थियो ।

    यता, एमालेले मध्यपुर थिमिमा मदनसुन्दर श्रेष्ठलाई प्रमुखमा दाेहाेर्‍याएकाे छ । यहाँ उत्तरा नेपाललाई उपप्रमुखकाे उम्मेदवार टुंग्याइएको छ । सूर्यविनायककाे मेयरमा एमालेबाट वासुदेव थापा दाेहाेरिएका छन् यहाँ सरिता भट्टराईलाई उपप्रमुखकाे टिकट दिइएकाे छ । भक्तपुर नगरमा रवीन्द्र लाछिमस्यु प्रमुख र रञ्जना खर्बुजा उपप्रमुख तथा चाँगुनारायणमा बीना बाँस्तोला प्रमुख र रमेश बुढाथोकी उपप्रमुख उठाउने टुंगो लगाएको हो ।

    चाँगुनारायणमा मेयर टिकट पाएकी वीना यसअघि उपमेयर निर्वाचित भएकी थिइन् ।

  • लम्की चुहाको मेयरमा कांग्रेसकाे एउटै गुटबाट दुईजनालाई टिकट, आधिकारिकतामा विवाद

    लम्की चुहाको मेयरमा कांग्रेसकाे एउटै गुटबाट दुईजनालाई टिकट, आधिकारिकतामा विवाद

    कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा नेपाली कांग्रेसले एउटै पालिकामा दुईजनालाई टिकट दिएको पाइएको छ।

    केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुशीला शाहीलाई र प्रदेश सभापति वीरबहादुर बलायरले बक्त थापालाई टिकट दिएको पाइएको हो ।

    उनीहरु दुवैजनाले आफू आधिकारिक उम्मेदवार भएको बताएका छन् । गठबन्धनको बैठकअनुसार लम्की चुहा नगरपालिका नेपाली कांग्रेसको भागमा परेको थियो । उम्मेदवारी दर्ता गर्ने दिन दुवैजनाले आफूलाई आधिकारिक उम्मेदवार भनेपछि समस्या भएको छ ।

    नगर सभापति इन्द्र कुँवरले टिकट दिने अधिकार भएको व्यक्तिबाट पाएको टिकटलाई आधिकारिक मानिने बताए ।

  • गठबन्धनबाट कांग्रेस उम्मेदवार- ललितपुरमा चिरीबाबु, विराटनगरमा नागेश कोइराला

    गठबन्धनबाट कांग्रेस उम्मेदवार- ललितपुरमा चिरीबाबु, विराटनगरमा नागेश कोइराला

    काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई नै उम्मेदवार बनाउने भएको छ । २०७४ सालको निर्वाचनमा करिब दुई सय मतान्तरले जितेका मेयर महर्जन यसपटक पनि दोहोरिन लागेका हुन् ।

    सभापति शेरबहादुर देउवाले महर्जनलाई उम्मेदवारीको तयारी गर्न भनिसकेको बताइएको छ । प्रेमकृष्ण महर्जन र भरतलाल न्याछ्यो पनि उम्मेदवारीको दाबेदार थिए ।

    त्यस्तै कांग्रेसबाट विराटनगर महानगरपालिकाको मेयरमा शेखर कोइरालानिकट नागेश कोइरालाले टिकट पाएका छन् । विराटनगरको मेयरमा वर्तमान मेयर भीम पराजुलीदेखि सांसद डिला संग्रौला, अमृत अर्याललगायतका केन्द्रीय नेताहरूको पनि दाबी थियो ।

  • इलामका स्थानीय तहमा कांग्रेसबाट क-कसले पाए टिकट ?

    इलामका स्थानीय तहमा कांग्रेसबाट क-कसले पाए टिकट ?

    इलाम । नेपाली कांग्रेसले इलाममा उम्मेदवार टुंगो लगाएको छ । सत्ता गठबन्धनको सहमतिअनुसार आफ्नो भागमा परेका पालिकामा कांग्रेसले उम्मेदवार टुंग्याएको हो ।

    इलाम नगरपालिका मेयरमा केदार थापा, उपमेयरमा विष्णु दाहाल निर्वाचन लड्नेछन् । देउमाई नगरपालिका मेयरमा होम दुलाल, सूर्योदय उपप्रमुखमा दुर्गा बराल, माई नगरपालिका उपप्रमुखमा हेमबहादुर लिम्बुले टिकट पाएका छन् ।

    रोङ गाउँपालिकाको अध्यक्षमा मणिकुमार स्याङबो, उपाध्यक्षमा चन्द्रकला राई, फाकफोकथुम गाउँपालिका अध्यक्षमा डिकबहादुर थापाको नाम टुंगो लागेको छ ।

    चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ, माङसेबुङ गाउँपालिकाको अध्यक्षमा डिकेन्द्र इधिङ्गो, सन्दकपुर गाउँपालिकाको अध्यक्षमा तुलाराम गुरुङ, माइजोगमाई गाउँपालिकाको उपाध्यक्षमा प्रविना राईलाई कांग्रेसले उम्मेदवार बनाउने भएको हो ।

    इलाममा कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ । त्यसअनुसार नेकपा एसले सूर्योदय र माइजोगमाई गाउँपालिका प्रमुख नेकपा एसले पाएका छन् ।

    सूर्योदयको प्रमुखमा रणबहादुर राई र माइजोगमाईको अध्यक्षमा जीतबहादुर राईलाई चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एसले सन्दकपुर गाउँपालिकामा उपप्रमुख पाएको छ ।

    माओवादी केन्द्रले माई नगरपालिकाको प्रमुख, देउमाई नगरपालिकाको उपप्रमुख, फाकफोकथुम गाउँपालिकाको उपाध्यक्ष चुलाचुली गाउँपालिकाको उपाध्यक्ष पाएको छ । जनता समाजवादी पार्टीले माङसेबुङ गाउँपालिकाको उपाध्यक्ष पाएको छ ।

  • कांग्रेस मकवानपुरले आफ्नो भागमा परेका पालिकामा उम्मेदवार टुंग्यायो

    कांग्रेस मकवानपुरले आफ्नो भागमा परेका पालिकामा उम्मेदवार टुंग्यायो

    काठमाडौं । गठबन्धनको निर्णय अनुसार कांग्रेसले मकवानपुरमा रहेका १० वटा पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख पाउने सहमति भएको थियो ।

    कांग्रेसले बकैया गाउँपालिकको अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुर गढी गाउँपालिकाको अध्यक्षमा दोर्जे लामा स्याङतान, कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिकाको अध्यक्षमा राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन कालाखेतीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    त्यसैगरी बागमती गाउँपालिका उपाध्यक्षमा फणिन्द्र तिमल्सिना, भीमफेदी गाउँपालिका उपाध्यक्षमा मोमलाल दोङ र ईन्द्रशरोबर गाउँपालिका उपाध्यक्षमा निर्मला रुम्बालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुङ्गो भने केन्द्रीय बैठकले टुङ्गो लगाउने छ ।

  • भरतपुर कांग्रेसका बागी उम्मेदवार पौडेलको आक्रामक भाषण : कांग्रेसले हँसिया-हतौडामा भोट हाल्दैन (भिडिओ)

    भरतपुर कांग्रेसका बागी उम्मेदवार पौडेलको आक्रामक भाषण : कांग्रेसले हँसिया-हतौडामा भोट हाल्दैन (भिडिओ)

    काठमाडौं । पार्टी निर्णय विपरीत नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका जगन्नाथ पौडेलले कम्युनिस्टसँग मिलेर कांग्रेसको कल्याण नहुने बताएका छन् । कांग्रेसका मतदातालाई हँसिया हतौडामा भोट हाल्न लगाउने कार्य स्वीकार्य नहुने उनको भनाइ छ ।

    भोलि उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका पौडेलले आज कांग्रेस कार्यकर्तामाझ आक्रामक भाषण गरेका थिए । कांग्रेस सभापतिबाटै चितवन कांग्रेसको हुर्मत लिने काम भएको उनले गुनासो गरे । यस विरुद्ध आफू समर्थकहरूको आग्रहमा मैदानमा खडा भएको उनले बताए ।

    ‘म कुनै पनि बेला कारबाईमा पर्न सक्छु । धम्की आउन सक्छ । तर सतिसाल भएर उभिएको छु । म भेटिउँला तर झुक्दिन,’ पौडेलले भने ।

    पौडेलको भाषणको सम्पादित अंश :

    हामीले विगत ५ वर्षमा नेपाल कम्युनिस्ट पार्टी दुई तिहाइबाट टुक्रा टुक्रा भएर, छरपस्ट भएर भत्किएको, मक्किएको देखेका छौँ । संयोगवश कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त ग¥यो । देउवा प्रधानमन्त्री हुनुभयो । तर, उहाँलाई प्रधानमन्त्रीत्व चलाउन सहज भएन । ८८ दिनसम्म सरकार विस्तार हुन सकेन । एउटा पार्टीको सानो अंशलाई सुरक्षा गर्न अध्यादेश ल्याउनुपर्‍यो । राजनीतिक दलदलमा हाम्रो नेता फस्न पुग्नुभयो ।

    कांग्रेसले आफ्नो झण्डा र चुनाव चिन्हलाई भरसक सबैतिर समान रूपमा प्रयोग गर्नुपर्थ्यो । तर, दुभाग्यवस त्यो स्थिति भएन । गठबन्धन गर्नुपरेको छ । हिजो कांग्रेसले अब ५० वर्ष सत्ताको अनुहार देख्न पाउने छैनन् भनेर भाषण गर्ने नेताहरू आज कांग्रेसको पछिपछि आएका छन् । यो उनीहरूको बाध्यता हो । कांग्रेससँग नमिले माधव नेपालको पार्टीको अस्तित्व रहँदैन । हिजो प्रचण्डले कांग्रेसविरुद्ध धेरै ठूला आरोपहरू लगाउनुभयो । केपी ओलीसँग गला जोडेर कांग्रेसलाई २३ सिटमा झार्न उहाँको योगदान छ । तर, आज हाम्रो पार्टीको सेरोफेरोमा चितवनलाई ५७÷५८ सालको रोल्पा रुकुम बनाउने अभियानमा हुनुहुन्छ ।

    आजको संस्थापनले स्वयम् प्रधानमन्त्रीजी, सभापतिजीले कांग्रेसको बचाउ गर्न सक्नुभएन । चितवन कांग्रेसको हुर्मत लिने काम भएको छ । एक पटक होइन, अनेक पटक एउटा चिन्हमा भोट हाल्न चितवन कांग्रेसलाई स्वीकार्य छैन । चितवनले आज जे देखेको छ बाँकी नेपालले भोलि देख्छ । आज चितवनले विरोध गरेको छ, भोलि देशैभर विरोधको लहर उत्पन्न हुनेछ । भोलि देशैभर रुखको पक्षमा एकतर्फी जनमत बन्ने देखिरहेको छु ।

     म उम्मेदवार हुने सोचेको थिइनँ । मलाई राजनीति गरेर खास पदमा उठ्ने लालसा छैन । अहिले मेयर हुने मेरो आकांक्षा हुँदै होइन । तर, आवश्यकता कांग्रेसजनलाई पर्‍यो । तैँले उभिएर केही गरिदिन्छस् कि भनेपछि म सही सलामत छु, तपाईँहरूको भरोसामाथि पानी फेर्न दिन्न भनेको हुँ । नत्र मैले अरू साथीहरूलाई अनुरोध गरेको थिएँ ।

    अगाडिको बाटो सहज छैन । ठूला–ठूला शक्तिसँग लड्नुपर्ने छ । आफ्नै पार्टीसँगको लडाइँ छ । प्रमुख प्रतिपक्षी भनेर सत्ताको सेरोफेरोमा हिँडेको माओवादी केन्द्र छ । त्यसपछि बाँकी अरू कुराहरू छन् ।

    यो कांग्रेसविरुद्धको अभियान होइन । कांग्रेसले हँसिया–हतौडामा भोट हाल्दैन । विकल्प चाहियो । विकल्प खोज्ने क्रममा मलाई उभ्याइएको हो । म निमित्त हुँ । तपाईँले घरघरमा, गाउँ गाउँमा प्रचार गरेर आँधिबेरी ल्याउनुस् ।

    एक प्रकारको जहानियाँ शासन जस्तो भएको छ अहिले । कहीँ छोरालाई, कहीँ श्रीमतीलाई कहीँ छोरीलाई दिनुपर्ने । नेताहरूको समीकरणका निम्ति आफ्नो झण्डा छोडेर अर्काको झण्डामा भोट हाल भनेर भन्न पनि हिचकिचाहट छैन । कांग्रेसको विधानले त हँसिया हतौडामा भोट हाल्नेलाई कारबाही गर्ने भन्छ । रुखबाहेक अन्यत्र भोट हालेको अवस्थामा विधानले प्रश्न वाचक चिन्ह खडा गर्छ । कांग्रेस हो भने किन रुखभन्दा बाहेक गयौ ? हँसिया हतौडालाई त झन् सय प्रतिशत निषेध गर्छ कुनै हालतमा मान्दैन ।

    आम मान्छेले संकल्प गरेमा परिणाम उल्टाउन सकिन्छ । ५० हजार, ६० हजार मत एक ठाउँमा आउन असम्भव देख्दिनँ । आज हामीले गल्ती गर्‍यौँ भने अनन्तकाल दुख पाउँछौँ । पानी र तेल मिल्न सक्दैन । कम्युनिस्टसँग मिलेर हाम्रो कल्याण छैन । केही नेताको चाँजोपाँजो मिलाउन यो सब गरिएको हो । उनीहरू १० जनाको समस्या समाधान गर्दा देशैभरि समस्या भयो ।

  • काभ्रे कांग्रेसमा विवाद : मेयरका उम्मेदवारले दाबेदारलाई कुटे

    काभ्रे कांग्रेसमा विवाद : मेयरका उम्मेदवारले दाबेदारलाई कुटे

    काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका मेयरको टिकट सम्बन्धी विवाद हुँदा मेयरका दाबेदार रोशन पाण्डे कुटिएका छन् ।

    उनीमाथि कांग्रेसका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामाले आक्रमण गरेका हुन् ।

    आक्रमणबाट पाण्डेको शरीरको विभिन्न ठाउँमा चोट लागेको छ ।

    बनेपामा भएको सो घटनापछि घाइते पाण्डेलाई शिर मेमोरियल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

    काभ्रे कांग्रेसमा पत्रकार समेत रहेका पाण्डे गणेश लामा पक्षधर हुन भने उनीमाथि कुटपिट गर्ने मेयर उम्मेदवार कुन्साङ लामा तीर्थ लामा पक्षधर हुन् ।

  • कृषिमा कांग्रेसको संकल्प- किसान क्रेडिट कार्डदेखि कृषि उद्यमशिलता प्रवर्द्धन

    कृषिमा कांग्रेसको संकल्प- किसान क्रेडिट कार्डदेखि कृषि उद्यमशिलता प्रवर्द्धन

    काठमाडौं । नेपाली कांग्रेसले कृषि आयातलाई न्यूनीकरण गर्ने उद्घोष गरेको छ । स्थानीय निर्वाचनका लागि कांग्रेसले प्रस्तुत गरेको संकल्पमा कृषि उद्यम तथा उद्योगको विकास, आयात प्रतिस्थापन तथा निर्यात प्रबर्द्धन र किसानको आम्दानी वृद्धिको लक्ष्य हासिल गर्न अग्रसर हुने उल्लेख छ ।

    कांग्रेसले साना किसानलाई १० हजार रूपैयाँ बराबरको किसान क्रेडिट कार्ड दिनेदेखि कृषि उद्यम सेवा केन्द्र स्थापना सम्मको योजना संकल्पमा समेटेको छ । कृषिका सन्दर्भमा कांग्रेसले गरेका संकल्पहरु यसप्रकार छन्-

    १. साना किसानलाई १० हजार रूपैयाँ बराबरको किसान क्रेडिट कार्ड

    २. कृषि बीमामा साना किसानलाई ९० प्रतिशत र मझौला तथा ठूला किसानलाई ७५ प्रतिशत अनुदान

    ३. बजारीकरणका लागि कृषि एम्बुलेन्सको व्यवस्था

    ४. अति विपन्न घरपरिवारलाई परिचयपत्रका आधारमा रासन दिने व्यवस्था

    ५. किसानको खेतबारीमै प्राविधिक सेवा र टेवा

    ६. स्थानीय समस्यामा आधारित कृषि अनुसन्धान तथा प्रसार

    ७. कृषिमा डिजिटल प्रविधिको प्रसार

    ८. अन्तर्राष्ट्रिय बजार पहिचान तथा प्रवर्द्धनमा नीजि क्षेत्रसँगको साझेदारीमा सामूहिक प्रयास ।

    ९. दुई वा दुईभन्दा बढी स्थानीय तहहरुले आपसी साझेदारीमा कृषि बजारको स्थापना गर्ने ।

    १०. कृषि उद्यमशीलता विकासमा नव प्रवर्तकहरूलाई प्रोत्साहन

  • अर्जुननरसिंहले देउवालाई बुझाए ५ बुँदे ‘नोट अफ डिसेन्ट’

    अर्जुननरसिंहले देउवालाई बुझाए ५ बुँदे ‘नोट अफ डिसेन्ट’

    काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र ५ बुँदे लिखित असहमति दर्ज गराएका छन् । आजको कार्यसम्पादन समिति बैठकमा लिखित असहमति पेस गर्दै नेता केसीले केन्द्रीय समितिले स्थानीय निर्वाचनको तालमेलबारे गरेको निर्णयविरुद्ध हस्तक्षेप भएकोमा असन्तुष्टि जनाएका छन् ।

    उनले महानगर र उपमहानगरमा तालमेल गर्नेबारे गठबन्धनमा भएको सहमति पार्टीमा प्रस्तुत नगरिएको, टिकट वितरणमा वैधानिक प्रक्रिया अवलम्बन नगरिएको र विधानका विभिन्न व्यवस्था उल्लंघन गरिएको लगातयका विषयमा असहमति जनाएका हुन् । कांग्रेसमा आफ्ना असहमति भएका विषयमा ‘नोट अफ डिसेन्ट’ वा फरक मत राख्ने चलन रही आएको छ ।

    सभापति शेरबहादुर देउवालाई नै सम्बोधन गरेर केसीले बुझाएको असहमति पत्र यस्तो छ-

  • सिन्धुली, मकवानपुर र काभ्रेमा गठबन्धनले टुंग्यायो भागबन्डा (सूचीसहित)

    सिन्धुली, मकवानपुर र काभ्रेमा गठबन्धनले टुंग्यायो भागबन्डा (सूचीसहित)

    काठमाडौं । वागमती प्रदेशस्तरीय गठबन्धनले सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चोक गरी तीन जिल्लाको भागबन्डा पनि टुंग्याएको छ ।

    सहमतिअनुसार सिन्धुलीमा नेपाली कांग्रेसले पाँच र माओवादीले ४ स्थानीय तहको नेतृत्व बाँडेका छन् ।

    त्यस्तै मकवानपुरमा एकीकृत समाजवादीलाई २, माओवादीलाई ३ र नेपाली कांग्रेसलाई ५ वटा स्थानीय तहको नेतृत्व दिइएको छ ।

    काभ्रेमा १३ स्थानीय तहमध्ये नेकपा एसलाई २, माओवादीलाई ४ र कांग्रेस वटाको नेतृत्व भाग लगाइएको छ ।

    यस्तो छ तीन जिल्लाको गठबन्धनमा भएको भागबन्डा

     

  • महानगरका उम्मेदवार छान्ने जिम्मा देउवालाई

    महानगरका उम्मेदवार छान्ने जिम्मा देउवालाई

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिले महानगरपालिकाका उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

    आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गठित संसदीय समितिको बैठकले महानगरमा पार्टीको तर्फबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्नेको नाम टुंगो लगाउने जिम्मेवारी दिएको हो ।

    कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुर महानगरपालिकामा प्रमुख तथा पोखरा,भरतपुर र वीरगन्ज महानगरपालिकामा उपप्रमुखको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

    कांग्रेस शीर्ष नेताहरूको निरन्तरको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहको नाम टुंगो लगाए पनि अन्य उम्मेदवारहरू टुंग्याउन सकेको छैन ।

  • कांग्रेसको संसदीय समिति गठन- रामचन्द्र परे, शेखर परेनन्

    कांग्रेसको संसदीय समिति गठन- रामचन्द्र परे, शेखर परेनन्

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय संसदीय समिति गठन गरेको छ ।

    कांग्रेस विधानमा कार्यसमितिका पदाधिकारी र केन्द्रीय समितिबाट तोकिएका ११ जना सम्मिलित केन्द्रीय संसदीय समिति गठन हुने व्यवस्था छ ।

    केन्द्रीय संसदीय समितिले नै महानगरपालिकाको टिकट वितरण गर्ने गर्छ ।

    विधान अनुसारको संसदीय समिति गठनमा समस्या खेपेपछि सभापति देउवाले पदाधिकारी बाहेक वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै सम्मिलित गराएर समिति गठन गरेका हुन् ।

     

  • कांग्रेसको स्वास्थ्य संकल्प : नि:शुल्क स्वास्थ्य बीमादेखि सुत्केरी महिलालाई ५ हजार भत्तासम्म

    कांग्रेसको स्वास्थ्य संकल्प : नि:शुल्क स्वास्थ्य बीमादेखि सुत्केरी महिलालाई ५ हजार भत्तासम्म

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा आफ्नो नेतृत्व आए नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्प गरेको छ ।

    आज सार्वजनिक भएको संकल्प पत्रमार्फत कांग्रेसले स्वास्थ्य सुविधामा विद्यमा विभेदपूर्ण अवस्था हटाउने उद्घोष गरेको छ ।

    ‘संविधानले स्थानीय सरकारलाई प्रत्याभूत गरेका स्वास्थ्यको अधिकार कार्यान्वयन गर्दै निशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरी सेवामा सहज र समतामूलक पहुँच सुनिश्चित गर्न नेपाली कांग्रेसले संकल्प गर्दछ’,
    कांग्रेसले भनेको छ ।

    कांग्रेसको संकल्पमा समेटिएका स्वास्थ्य क्षेत्रका महत्वपूर्ण विषयहरु निम्नलिखित छन् ।

  • ट्याक्सी व्यवसायीले बायोडाटामा प्राध्यापक लेखेपछि पोखरा कांग्रेसमा विवाद

    ट्याक्सी व्यवसायीले बायोडाटामा प्राध्यापक लेखेपछि पोखरा कांग्रेसमा विवाद

    पोखरा । नेपाली कांग्रेसबाट पोखरा महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष बन्न एकजना उम्मेदवारका प्रत्यासीले झूटो विवरण पेश गरेपछि विवाद भएको छ ।

    ट्याक्सी व्यवसायी वडा कार्य समितिका सभापति अमृत शर्मा तिमिल्सिनाले वडाबाट जिल्लामा नाम सिफारिस गर्दा आफूलाई प्राध्यापक भनेर लेखेको कागज बाहिरिएसँगै अन्य प्रत्यासीले विरोध गरेका हुन् ।

    सो वडाबाट अध्यक्षका लागि प्रदेशसभा उपसभापति होमबहादुर बानियाँ, महाधिवेशन प्रतिनिधि तथा सामाजिक अभियन्ता मदन बस्नेतसहित ५ जनाको नाम आकांक्षीका रुपमा सिफारिस भएको थियो ।

    झूटो विवरण पेश गरेर टिकट हत्याउन खोजेको भन्दै अन्य आकांक्षीले नगर सभापति सुरेन्द्र बिजुक्छेसमक्ष विरोध जनाएपछि उनले झूटा विवरण पठाउनु गलत भएकाले तत्काल एक्सन लिने बताएका छन् ।

  • कांग्रेसले अबदेखि यी सात काम गर्दै नगर्ने (सूचीसहित)

    कांग्रेसले अबदेखि यी सात काम गर्दै नगर्ने (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले जनताको करबाट उठेको रकमलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्ने प्रतिवद्धता जनाएको छ । स्थानीय निर्वाचनका लागि सार्वजनिक संकल्प पत्रमार्फत कांग्रेसले विभिन्न ७ वटा ‘नगर्ने कामहरू’ को सूची सार्वजनिक गरेको छ । जसमा भ्यूटावर र स्वागतद्वारा लगानी नगर्नेदेखि नातेदार वा परिवारका सदस्यलाई नियुक्ति नदिने लगायतका विषय उल्लेख छौं ।

    कांग्रेसले नगर्ने घोषणा गरेका कामहरू-

    १. जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं ।

    २. सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत-साधनको दोहन गर्दैनौं, गर्न दिने छैनौं, ३. कानूनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम गर्दैनौं ।

    ४. नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त गर्ने छैनौं ।

    ५. निर्दिष्ट योजना र विनियोजित स्रोत सीमाबाहिर गइ अपारदर्शी वा अनुत्तरदायी रूपमा हचुवाका भरमा कुनै पनि निर्णय वा काम गर्दैनौं, गर्न दिने छैनौं ।

    ६. कानून, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लंघन गर्दैनौं ।

    ७. महिलामाथि हुने हिंसा, जातीय भेदभाव, लैंगिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्षरूपमा समेत कुनै पनि अवस्थामा संलग्न हुने छैनौं ।

  • भरतपुरको मेयरमा कांग्रेस नेता पौडेलले स्वतन्त्र उम्मेदवारी दिने

    भरतपुरको मेयरमा कांग्रेस नेता पौडेलले स्वतन्त्र उम्मेदवारी दिने

    भरतपुर । नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

    गठबन्धन र तालमेलका क्रममा भरतपुर महानगरको मेयर पुनः माओवादीलाई नै दिने निर्णयमा असन्तुष्ट रहेका चितवन कांग्रेसका नेता कार्यकर्ताहरूको भेलाले पौडेललाई स्वतन्त्ररूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    यसअघि बागी उठ्ने घोषणा गरेका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटालगायतले पौडेलको उम्मेदवारीमा समर्थन जनाएका छन् । उनीहरूले सोमबार चौबीसकोठी चोकमा जम्मा भएर जुलुससहित निर्वाचन कार्यालयमा गई उम्मेदवारी दर्ता गर्ने जनाएको छ ।

    पौडेल २०७४ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए ।