Category: विवेकशील साझा

  • विवेकशील साझा महाधिवेशनमा होमियो, को-को छन् नेतृत्वको आकांक्षी ?

    विवेकशील साझा महाधिवेशनमा होमियो, को-को छन् नेतृत्वको आकांक्षी ?

    काठमाडौं । अध्यक्ष रवीन्द्र मिश्रको बहिर्गमनसँगै छिन्नभिन्न बनेको विवेकशील साझा पार्टीले अब नयाँ शिराबाट अघि बढ्ने जमर्को गरेको छ । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै फेरि वैकल्पिक शक्तिका रुपमा पार्टीलाई उभ्याउन नेताहरु जुटेका छन् ।

    विवेकशील साझाको पहिलो महाधिवेशन यही माघ २७ र २८ मा काठमाडौंमा हुँदैछ । महाधिवेशनमा देशभरबाट पाँच सयभन्दा बढी प्रतिनिधिहरुले भाग लिनेछन् । महाधिवेशनले अध्यक्षसहितको पदाधिकारी टीम र केन्द्रीय कमिटी छनोट गर्नेछ ।

    तत्कालीन अध्यक्ष मिश्रले पार्टीमा ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज प्रस्तुत गरेपछि विवाद उत्पन्न भएको थियो । संयोजक मिलन पाण्डेसहितका केही नेताहरु मिश्रले प्रतिगामी धार समातेको भन्दै विरोधमा उभिए । तर, केन्द्रीय कमिटीको दुईतिहाइ बहुमतबाट मिश्रको लाइन पारित भयो भने पाण्डेसहितका २६ केन्द्रीय सदस्यलाई कारबाही गरी पार्टीबाटै निष्काशित गरिएको थियो ।

    गएको स्थानीय चुनावमा विवेकशील साझाले निराशाजनक परिणाम हात पारेपछि मिश्रले अध्यक्षबाट राजीनामा दिएका थिए । उनीसँगै केन्द्रीय कमिटीका ३० जनाभन्दा बढीले पार्टी परित्याग गरेको बताइएको छ । कार्यकर्ता पंक्तिमा पनि थुप्रैले पार्टी छोडेका छन् भने कतिपय निष्क्रिय बसेका छन् । महाधिवेशनले पार्टीभित्र नयाँ ऊर्जाको सञ्चार गर्ने र छुटेकाहरुलाई फेरि जोड्ने नेताहरुको विश्वास छ ।

    विवेकशील–साझामा यसअघि अध्यक्ष र संयोजकका रुपमा दुईजनाको समानान्तर नेतृत्व थियो । तर, अब अध्यक्षमात्रै रहने गरी विधान संशोधन गरिँदैछ । साथै, सामूहिक नेतृत्वको भावनाअनुसार पदाधिकारी टीम बनाइनेछ । अध्यक्षपछि उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । पदाधिकारी टीम ९ जनाको हुनेछ । केन्द्रीय कमिटी भने कत्रो हुने भन्ने टुंगो लागिसकेको छैन ।

    अध्यक्षको प्रतिस्पर्धामा मुख्य दुई दावेदार छन् । पूर्वसंयोजक मिलन पाण्डे र साविक अध्यक्ष समीक्षा बास्कोटाबीच प्रतिस्पर्धा हुने सम्भावना छ । यद्यपि, अन्य नेताहरु पनि आकांक्षी छन् । यसअघि विवेकशील–साझा छोडेर स्वतन्त्र बसेकी रञ्जु दर्शना फेरि पार्टीमा फर्किएकी छन् र अध्यक्ष वा महासचिवमा उनको दावेदारी छ ।

    यस्तै रमेश पौडेल र केशव दाहालको नाम पनि चर्चामा छ । उनीहरु दुवै मिलन पाण्डेको टीमका हुन् । समीक्षा बास्कोटाको टीमबाट प्रकाशचन्द्र परियारले पनि प्रमुख पदमा आकांक्षा राखिरहेका छन् । उम्मेदवारीको औपचारिक घोषणा भने कसैले गरिसकेको छैन ।

    पार्टीका पूर्वसंयोजक पाण्डेले पार्टीमा सबैलाई मिलाएर लैजाने पक्षमा आफू रहेको बताए । नेतृत्व कसले गर्ने भन्दा पनि पार्टीले सही दिशा लिनु महत्वपूर्ण रहेको उनको भनाइ छ ।

    ‘पार्टीले अंगीकार गर्ने अग्रगामी विचारलाई बोक्नसक्ने मान्छे चाहिन्छ’, उनले भने, ‘म नै हुनुपर्छ भन्ने छैन, सहमतिमा तेस्रो व्यक्ति पनि हुनसक्छ ।’

    पार्टीमा विगतमा रवीन्द्र मिश्रलाई साथ दिनेहरु एकातिर र उज्ज्वल थापाको लिगेसीबाट आएकाहरुको अर्को समूह छ । यस हिसाबले अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय कमिटीमा प्यानल प्रतिस्पर्धा हुनसक्ने सम्भावना पनि टरेको छैन । यद्यपि, दुवै पक्षले स्वतन्त्र प्रतिस्पर्धामा नै जोड दिइरहेका छन् । अध्यक्ष र पदाधिकारी सकेसम्म सर्वसम्मत होस् भन्ने नेताहरुको चाहना छ । तर, सर्वसम्मत नेतृत्वबारे छलफल भएको छैन ।

    पार्टीकी अध्यक्ष बास्कोटाले महाधिवेशनमार्फत विवेकशीललाई फेरि एकपटक वैकल्पिक शक्तिका रुपमा ब्युँझाउने दाबी गरिन् ।

    ‘पद व्यवस्थापनमात्रै ठूलो कुरा होइन, वैकल्पिक राजनीति गर्ने अन्य साथीहरुलाई महाधिवेशनपछि समेटेर एउटा मूलधारको ठूलो फोरम निर्माण गर्ने हिसाबले सोचिरहेका छौं’, उनले भनिन् ।

  • विवेकशील साझामा फर्किँदै मिलन पाण्डे, माघ २७ मा महाधिवेशन हुने

    विवेकशील साझामा फर्किँदै मिलन पाण्डे, माघ २७ मा महाधिवेशन हुने

    काठमाडौं । विवेकशील साझा पार्टीले महाधिवेशनको तयारी थालेको छ। माघ २७ र २८ गते महाधिवेशन गर्नेगरी तयारी थालेको हो। पार्टीभित्रको विवादको क्रममा अध्यक्ष रविन्द्र मिश्रले कारवाही गरेको नेता मिलन पार्टी फेरि सक्रिय भएका हुन्।

    अध्यक्ष मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेपछि पार्टीको सक्रिय राजनीतिमा पाण्डे फर्किएका हुन्। पार्टीलाई अझ प्रोग्रेसिभ, अझ लोकतान्त्रिक, अझ भविष्यमुखी, थप युवामुखी बनाउनुको विकल्प नेता पाण्डेले बताए।

    उनले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गत एक दशकमा हामीले संस्था निर्माण गर्न, यो आन्दोलनलाई स्थापित गर्न गरेको योगदान र मेहनतलाई अर्को चरणमा पु¥याउन हामी आउँदो माघ २७–२८ गते महाधिवेशन गर्ने तयारीमा जुटेका छौँ। आउँदो महाधिवेशनले विवेकशील साझा पार्टीलाई थप संस्थागत गर्नेछ भन्नेमा म ढुक्क छु।’

    आफूहरुसँग छुटेका र विचार मिल्ने पार्टीहरूसँग पनि संवादमा रहेको उल्लेख गर्दै केहि नतिजाहरू महाधिवेशन अघि, केहि नतिजाहरू महाधिवेशनपछि देखिने बताए। उनले पार्टीका पूर्वअध्यक्ष मिश्रलाई संकेत गर्दै संविधानलाई भत्काउने विचार ल्याएपछि पार्टीमा दुई वैचारिक धार देखिएको उल्लेख गरेका छन्।

    ‘हामीले उक्त विचारलाई त्यतिबेलानै खारेज गर्दै सङ्घर्ष ग¥यौँ। उक्त निर्णयको विरुद्ध अदालत गयौँ। तर, पार्टीको स्थापनाको विचार र मर्मलाई गलत धारमा जान दिएनौँ। हामीले यो वैचारिक द्वन्द्व पार्टीभित्रको द्वन्द्वका रूपमा मात्र हेरिरहेका थिएनौँ, यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावको रूपमा पनि हेरिरहेका थियौँ’ उनले भनेका छन्।

    विवेकशील सदनमा नभएपनि नागरिकको मुद्दाका निम्ति सडकबाट प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

    ‘हामी सिङ्गो सिंहदरबारलाई खबरदारी गर्नेछौँ। विवेकशील साझा पार्टीलाई नयाँ सिराबाट अघि बढाउने छौँ’ उनले भनेका छन्, ‘यही पत्र मार्फत सम्पूर्ण साथीहरूलाई एक ठाउँमा आएर काम गर्न समेत अनुरोध गर्दछु। देशले स्पष्ट, जरैबाट उठेको वैकल्पिक शक्ति खोजिरहेको छ। हामी त्यो शक्ति हौँ। बन्न सक्छौँ।’

  • प्रदेशसभा समानुपातिकतर्फ कुन प्रदेशमा कुन दल अगाडि ? (सूचीसहित)

    प्रदेशसभा समानुपातिकतर्फ कुन प्रदेशमा कुन दल अगाडि ? (सूचीसहित)

    काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ अग्रता लिइरहेको नेकपा (एमाले)ले प्रदेश सभामाको समानुपातिकतर्फ पनि ६ प्रदेशमा अग्रता लिइरहेको छ । निर्वाचन आयोगका अनुसार मधेशमा मात्रै नेपाली कांग्रेसले अग्रता लिएको हो ।

    मधेश प्रदेशमा नेपाली कांग्रेसले अग्रता लिदाँ दोस्रोमा एमाले रहेको छ । एक प्रदेशमा मात्रै सबैभन्दा अगाडी रहेको कांग्रेस पाँच वटा प्रदेशमा दोस्रो स्थानमा रहेको छ । जसमा प्रदेश एक, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कांग्रेस दोस्रोमा रहेको हो ।

    एमालेले अग्रता लिएको कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) दोस्रो स्थानमा रहेको छ । आयोगका अनुसार माओवादी केन्द्रले कर्णाली प्रदेशमा मात्रै दोस्रो स्थानमा रहेको हो । सुरुवाती चरणमा कर्णाली प्रदेशमा माओवादी केन्द्रले अग्रता लिइरहेको थियो ।

    प्रदेश एकमा राप्रपा तेस्रो स्थानमा रहदाँ मधेश प्रदेशमा भने जनता समाजवादी पार्टी तेस्रो स्थानमा रहेको छ । बामगती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

    कुन पार्टीको मत कति  ?

  • समानुपातिकमा एमालेले कटायो २० लाख मत, अरु दलको कति ?

    समानुपातिकमा एमालेले कटायो २० लाख मत, अरु दलको कति ?

    काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फ २० लाख मत कटाएको छ ।

    निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २० लाख ६ हजार ५८७ छ ।

    यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसको मत १९ लाख ३९ हजार १०४ रहेको छ ।

    माओवादी केन्द्र ८ लाख ६२ हजार ६६९ मतसहित तेस्रोमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३३ हजार ५९५ मत रहेको छ ।

  • यसरी हुन्छ समानुपातिकको बाँडफाँट- एमाले ३३, कांग्रेस ३१ र रास्वपा १७ सीट पुग्ने सम्भावना

    यसरी हुन्छ समानुपातिकको बाँडफाँट- एमाले ३३, कांग्रेस ३१ र रास्वपा १७ सीट पुग्ने सम्भावना

    काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खसेको करिब सवा करोड मतमध्ये समानुपातिकतर्फ बिहीबार दिउँसोसम्म साढे २५ लाख मतगणना हुँदाको रुझान विश्लेषण गर्दा ६ वटा दलले थ्रेसहोल्ड कटाउने देखिएको छ ।

    समानुपातिक निर्वाचन प्रणालीमा ४७ वटा दलले भाग लिएका थिए । हालसम्म गणना भएको २५ प्रतिशत मतलाई शतप्रतिशत आधार मानेर हिसाब गर्दा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन ७३ हजार मत पाउनुपर्छ । अहिलेसम्म ४७ दलले प्राप्त गरेको मतलाई जम्मा मत मानेर हिसाव गर्दा ६ दलले मात्रै ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।

    जसमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।

    थ्रेस होल्ड कटाउने ती ६ दलको जम्मा मत हिसाब गर्दा २४ लाख ३४ हजार १६० हुन आउँछ । यसबाट प्रतिशत निकाल्दा सबैभन्दा धेरै नेकपा एमालेले ३० प्रतिशत, नेपाली कांग्रेसले २८, राष्ट्रिय स्वतन्त्र पार्टीले १५, नेकपा माओवादी केन्द्रले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ र जनता समाजवादी पार्टीले ३ प्रतिशत मत प्राप्त गरेका छन् ।

    यसै प्रतिशतअनुसार थ्रेस होल्ड कटाएका राजनीतिक दललाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट गर्दा सबैभन्दा नेकपा एमालेले ३३ देखि ३४ सीट पाउनसक्छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले ३१ देखि ३२ सीट पाउनसक्छ ।

    यस्तै तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १६ देखि १७ सीट पाउने देखिन्छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १५ देखि १६ सीट प्राप्त गर्नेछ । पाँचौंमा रहेको राप्रपाले ९ देखि १० सीट पाउँदा जसपाले ४ देखि ५ सीट पाउने देखिन्छ ।

    कसरी हुन्छ समानुपातिकतर्फको सीट बाँडफाँट ?

    समानुपातिकतर्फको मतगणना भइरहँदा अधिकांशलाई समानुपातिकतर्फको निर्वाचनमा कसरी सीट बाँडफाँट हुन्छ र कसले कति सीट पाउँछ भन्नेबारेमा जिज्ञासा छ । यसैलाई मध्यनजर गरेर हामीले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ सीट बाँडफाँट हुने विधिबारे यहाँ उल्लेख गरिएको छ ।

    समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार उम्मेदवार छनोट प्रक्रिया परिच्छेद ५ मा गरिएको छ । निर्देशिकाको दफा ३१ मा सीटको बाँडफाँट गर्ने व्यवस्था गरिएको छ । जसको दफा १ अनुसार १६५ वटै निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको मतगणना तालिका प्राप्त भइससकेपछि निर्वाचन अधिकृतले दलले प्राप्त गरेको सदर मत जोडिन्छ । ती दलले प्राप्त गरेको जम्मा मत संख्या एकिन हुन्छ ।

    दलले प्राप्त गरेको जम्मा मतको आधारमा निर्वाचन अधिकृतले मत परिणाम विभाजक सूत्रको आधारमा दलले प्राप्त गर्ने सीट संख्या निर्धारण गरी निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।

    दलले प्राप्त गर्ने सीट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट संख्याको आधारमा महिला तथा अन्य समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्यासमेत निर्धारण गर्नुपर्नेछ ।

    दलले प्राप्त गरेको सीट संख्यामध्ये विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनैपर्ने संख्या निर्धारण गर्दा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ । जसमा सबैभन्दा धेरै खस आर्यबाट ३१.२, दोस्रोमा आदिवासी-जनजातिबाट २८.७, मधेसीबाट १५.३, दलितबाट १३.८, थारुबाट ६.६ र मुस्लिमबाट ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ ।

    समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनबाट प्रतिनिधित्व गराउनुपर्ने महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट प्रतिनिधित्व गर्ने जम्मा सदस्य संख्याको कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्धारण गर्नुपर्छ ।

    सीट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट संख्याको कम्तीमा ४.३ प्रतिशत पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या निर्धारण गर्नुपर्छ । समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको निर्धारण गरिएको जम्मा सदस्य संख्याको १० प्रतिशत वा त्योभन्दा बढी सीट प्राप्त गर्ने दलको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने विभिन्न समावेशी समूहका उम्मेदवारको संख्या तोकिएको प्रतिशतअनुसार हुनुपर्नेछ ।

    समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको निर्धारण गरिएको जम्मा सदस्य संख्याको १० प्रतिशतभन्दा कम सीट प्राप्त गर्ने दलको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने विभिन्न समावेशी समूहका उम्मेदवारको संख्या तोकिएको प्रतिशतअनुसार नै हुनुपर्नेछ । निर्धारण गरिएको सम्बन्धित दलले प्राप्त गर्ने सीट संख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्या आयोगले नै स्वीकृत गर्नेछ ।

    यस्तो छ मत परिणाम विभाजक सूत्र

    निर्वाचनको प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई क्रमशः १, ३, ५, ७, ९ आदि (कुल उम्मेदवार संख्या अनुसारको हुने) भाजकले भाग गरिन्छ । त्यसरी भाग गरी प्राप्त हुने नतिजालाई भागफल भनिन्छ । यसरी मत परिणामलाई भाग गरी प्राप्त हुने भागफल संख्यालाई क्रमशः ठूलो भागफलबाट सानो भागफलसम्म बाँडफाँट गरिन्छ । त्यसपछि सीट वितरण गर्ने प्रयोजनका लागि भागफलको बाँडफाँट गर्दा अन्तिम सीटको भागफल बराबर भएमा गोलाप्रथाबाट निर्णय गरिन्छ ।

    गोलाप्रथाबाट वितरण गरिने सीटको निर्धारण गर्दा उक्त सीटको सन्दर्भमा बराबर भागफल रहेका दलका प्रतिनिधिलाई रोहवरमा राखेर गर्नुपर्छ । तर, आयोगले तोकेको मिति, समय र स्थानमा त्यस्तो दलका प्रतिनिधि उपस्थित नभएको कारणले गोलाप्रथाद्वारा निर्णय गर्न आयोगलाई कुनै बाधा नपर्ने निर्देशिकामा उल्लेख छ ।

    समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा दलले प्राप्त गरेको जम्मा सदर मतको ३ प्रतिशत वा त्योभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछन् । दलले प्राप्त गरेको जम्मा सदर मत गणना गर्दा ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको जम्मा मतमा गणना गरिनेछैन ।

    त्यसपछि दलले प्राप्त गर्ने सीट संख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्याबमोजिम उम्मेदवार छनोट गरी पठाउन निर्वाचन अधिकृतले अवधि तोकेर सम्बन्धित दललाई जानकारी गराउनेछन् । प्रत्येक दलले मत परिणामको आधारमा प्राप्त गरेको सीट संख्या सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिन्छ ।

    उम्मेदवार छनोट गर्ने तरिका

    राजनीतिक दलले जानकारी प्राप्त गरिसकेपछि उम्मेदवारको अन्तिम बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारमध्येबाट समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम छनोट गरी दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराई ३ दिनभित्र समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको निर्वाचनबाट छनोट भएका उम्मेदवारको सूची पेश गर्नुपर्छ ।

    एकल चुनाव चिन्ह लिई संयुक्त निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निर्णय गर्दा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग-अलग रुपमा निर्णय गरी स्वीकृत गर्नुपर्छ । कुनै समावेशी समूहको उम्मेदवारको नाम छनोट गर्दा त्यस्तो समावेशी समूहको माथिल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट नगरी तल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट गर्न पाइनेछैन । दलले उम्मेदवार छनोट गरी पठाउँदा यथासम्भव अपांगता भएको व्यक्तिको प्रतिनिधित्व हुने गरी पठाउनुपर्छ ।

    उम्मेदवार छनोट गरिएको सूची पेश गर्दा महिला तथा अन्य समावेशी समूहको प्रतिनिधित्व नभएमा निर्वाचन अधिकृतले सम्बन्धित दललाई नामावली सच्याई त्यसैबमोजिम प्रतिनिधित्व हुने गरी उम्मेदवारको छनोट गरी दुई दिनभित्र पेश गर्न लेखी पठाउनुपर्छ । यद्यपि १० प्रतिशतभन्दा कम सीट प्राप्त गर्ने दलले कुनै समावेशी समूहबाट तोकिएको संख्यामा उम्मेदवार छनोट गर्न नसकेको विशेष कारण पेश गरेमा आयोगले उक्त संख्याबमोजिम कुनै समावेशी समूहको उम्मेदवारको नाम समावेश नभएको सूचीलाई समेत मान्यता दिनसक्छ । तर, त्यस्तो दलको तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने जम्मा संख्याको कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारको नाम अनिवार्य रुपमा छनोट गरी पेश गर्नुपर्छ ।

    निर्वाचन अधिकृतले लेखी पठाएको २ दिनभित्र सम्बन्धित दलले केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराई संशोधित नामावलीको सूची पेश गर्नुपर्छ । एकल निर्वाचन चिन्ह लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निर्णय गर्दा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग-अलग रुपमा निर्णय गरी स्वीकृत गर्नुपर्छ । दलले पेश गरेको संशोधित नामावली तोकिएको प्रतिशत नसमेटिएसम्म त्यस्तो दलको तर्फबाट कुनै उम्मेदवार निर्वाचित हुनेछैन ।

    दलले प्राप्त गरेको मतको अनुपातमा प्राप्त हुने सीटभन्दा त्यस्तो दलले पेश गरेको उम्मेदवारको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या कम भई सबै सीट पूर्ति हुन नसक्ने भएमा त्यस्तो सीट विभाजक सूत्र अपनाई बढी भागफल प्राप्त गर्ने अर्को दललाई प्रदान गरिन्छ । यसरी प्रदान गरिएको सीट प्राप्त गर्ने दलले त्यस्तो सीटमा सोही समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको छनोट गरी पठाउनुपर्नेछ । दलले छनोट गरी सूची पेश गरेका उम्मेदवारलाई निर्वाचन अधिकृतले निर्वाचन भएको घोषणा गर्नेछ । निर्वाचित भएको उम्मेदवारलाई निर्वाचन अधिकृतले प्रमाणपत्र दिनेछन् ।

  • विवेकशील साझा लुम्बिनी समितिद्वारा सामूहिक राजीनामा

    विवेकशील साझा लुम्बिनी समितिद्वारा सामूहिक राजीनामा

    रुपन्देही । वैकल्पिक शक्तिका रुपमा नेपाली राजनीतिमा उदाएको विवेकशील साझा पार्टीको लुम्बिनी समितिले सामूहिक राजीनामा दिएको छ । नेपालमा वैकल्पिक राजनीतिको घोषणा गर्दै रविन्द्र मिश्रको संयोजकत्वमा ५ वर्ष अगाडि स्थापना भएको पार्टीले स्थापनादेखि नै लुम्बिनी प्रदेश समिति गठन गरेको थियो ।

    तत्कालीन अध्यक्ष मिश्रले केहि महिना अगाडि राजीनामा दिई हालै राप्रपा प्रवेश गरेसँगै पार्टीको विचार पनि समाप्त भएको भन्दै समितिले सामूहिक राजीनामा गरेको जनाएको छ । समितिले लुम्बिनी प्रदेशमा रहेका वडा,जिल्ला लगाएत सम्पूर्ण समिति खारेज गर्दै गरेको पनि उल्लेख गरेको छ ।

    पूर्वअध्यक्ष मिश्रले पार्टी परित्याग गरेपछि केन्द्रले छलफल नै नगरी ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज गरेकोप्रति असहमति जनाउँदै सामूहिक राजीनामा गरिएको पार्टीका लुम्बिनी प्रवक्ता केशवराज खनालले बताए । राजीनामा दिएपछिको विकल्प बारे भने कुनै निर्णय नभएको उनले जनाए ।

  • शंख–घण्ट बजाउँदै राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता, घोषणापत्रमा के छ ? (तस्बिरहरू)

    शंख–घण्ट बजाउँदै राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता, घोषणापत्रमा के छ ? (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुविकरण पक्षधरबीच औपचारिक एकता भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरे ।

    आज आयोजित विशेष समारोहमा शंख र घण्टको ध्वनि गुन्जाउँदै नेताद्वयले घोषणापत्रमा हस्ताक्षर गरेका थिए । उनीहरूले एक–अर्कालाई घोषणापत्र हस्तान्तरण गर्दै माला समेत लगाइदिएका छन् ।

    घोषणापत्रमा नरम संवर्द्धनवादी धारलाई बलियो बनाउनका लागि यो एकता गरिएको उल्लेख छ । राजसंस्था पुनर्स्थापना तथा संघीयता र धर्मनिरपेक्षताको खारेजीको एजेन्डालाई पार्टीले अगाडि बढाउने घोषणापत्रमा बताइएको छ । घोषणत्रपमा ४ बुँदा छन् ।

    जसअनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् । केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा केन्द्रीय समितिमा तहगत समायोजन लिङदेन र मिश्रबीच समझदारी अनुरूप हुने बताइएको छ । यो काम एकता घोषणा भएको ७ देखि १० दिनभित्र गरिने उल्लेख छ ।

    यस्तै, प्रदेश तथा अन्य कमिटीको समायोजनका दुवै पक्षका दुई–दुई जना रहने गरी चार सदस्यीय समिति बनाइने छ ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

  • विवेकशील-साझाका ६ प्रदेश संयोजकले दिए राजीनामा, ५ जना राप्रपामा आउँदै

    विवेकशील-साझाका ६ प्रदेश संयोजकले दिए राजीनामा, ५ जना राप्रपामा आउँदै

    काठमाडौं । विवेकशील-साझा पार्टीका ६ जना प्रदेश संयोजकले पदबाट राजीनामा दिएका छन् । पूर्वअध्यक्ष रवीन्द्र मिश्रसँग निकट उनीहरुमध्ये ५ जना राप्रपामा आउने निधो भएको बुझिएको छ ।

    राप्रपा र मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता समारोह अहिले चलिरहेको छ । वरिष्ठ उपाध्यक्षका रुपमा राप्रपाको दोस्रो वरियतामा रहने गरी मिश्र सो पार्टीमा प्रवेश गरेका हुन् । उनीसँग विवेकशील-साझाबाट को-को आउँदैछन् भन्ने खुलाइएको छैन ।

    स्रोतका अनुसार विवेकशील-साझाको प्रदेश १ बाहेक सबै प्रदेश संयोजकले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सुदूरपश्चिमका दिनेश भण्डारी, कर्णालीका कर्णबहादुर शाही (इन्चार्ज), लुम्बिनीका अनुपमान सैंजू, गण्डकीका सुशीला केसी अधिकारी, बाग्मतीका उज्ज्वलकृष्ण श्रेष्ठ र मधेसका धनपति महतो रहेका छन् ।

    प्रदेश १ का इन्चार्ज प्रकाशचन्द्र परियार भने विवेकशील-साझामै रहनेछन् । उनलाई पार्टीले हालै प्रवक्ताको जिम्मेवारी दिएको छ ।
    राजीनामा दिएका प्रदेश संयोजकमध्ये मधेसका महतोबाहेक सबैजना राप्रपा प्रवेश गर्ने निश्चित भइसकेको स्रोतले बतायो ।

    महतो भने राजीनामा दिएपछि ढुलमुल गरिरहेका छन् । उनी आफू स्वतन्त्रै बस्ने बताए पनि एमालेले उनलाई एप्रोच गरिरहेको छ । यद्यपि, उनी आफूसँग आउनेमा मिश्र अझै आशावादी छन् ।

    मिश्रसँगै विवेकशीलको हालको कार्यसमितिमा रहेका ४० जना राप्रपामा आउन तयार रहेको स्रोत बताउँछ ।

    आज भइरहेको समारोहमा विवेकशीलका पूर्वकार्यसमिति सदस्यहरु निरुपमा यादव, उज्ज्वलकृष्ण श्रेष्ठ र लक्ष्मण घिमिरे मञ्चमै बसेका छन् । अन्य नेताहरु भने खुलिसकेका छैनन् । साथै, विवेकशीलबाट आउने नेताहरुको पद मिलानको काम पनि बाँकी नै छ ।

  • प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला उम्मेदवार बनाउन आयोगको निर्देशन

    प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला उम्मेदवार बनाउन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार बनाउन दलहरूलाई निर्देशन दिएको छ ।

    भदौ ३१ गतेको आयोगको निर्णयअनुसार दलहरूलाई यस्तो निर्देशन गरेको हो ।

    ‘नेपालको संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्मबमोजिम यस्तो निर्णय गरेको आयोगले जनाएको छ ।

    जसअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला लक्षित गरी मनोनयन दर्ता गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन गरिएको हो ।

  • विवेकशील-साझाको ठूलो चोइटो रवीन्द्र मिश्रसँगै राप्रपामा जान तयार, सम्मानजनक एकता हुनुपर्ने सर्त

    विवेकशील-साझाको ठूलो चोइटो रवीन्द्र मिश्रसँगै राप्रपामा जान तयार, सम्मानजनक एकता हुनुपर्ने सर्त

    काठमाडौं । विवेकशील-साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र सो पार्टीको ठूलो हिस्सा लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गर्न तयार भएका छन् । यद्यपि सबै कुरा टुंगिइसकेको छैन ।

    एकतामा जाँदा मिश्रले पहिलो वरियताको उपाध्यक्षमा सहमति जनाएको स्रोतले बताएको छ । यसअघि उनलाई सहअध्यक्ष बनाउने गरी छलफल अघि बढेको थियो । तर, उपाध्यक्ष बुद्धिमान तामाङलगायतका केही नेताको विरोधका कारण यसमा सहमति भएन । अध्यक्ष राजेन्द्र लिङ्देनले पनि पार्टीको विधानमै सहअध्यक्षको व्यवस्था नभएकाले आफूलाई अप्ठेरो परेको सुनाएपछि मिश्र लचक बनेका हुन् ।

    बुद्धिमान भने मिश्रलाई पहिलो वरियताको उपाध्यक्ष दिनसमेत सकारात्मक छैनन् । एकतामा सबैभन्दा बाधक देखिएका बुद्धिमानकै नेतृत्वमा अध्यक्ष लिङ्देनले वार्ता समिति बनाएका थिए । समितिमा भुवन पाठक र निरञ्जन थापा सदस्य छन् । उनीहरुसहित राप्रपाको ठूलो हिस्सा मिश्र समूहसँग एकतालाई लिएर उत्साहित छ । तर, बुद्धिमानसहितका एकाध नेताहरुले अड्को थापेर अध्यक्ष लिङ्देनलाई सकस परेका छन् ।

    राप्रपासँग एकता हुने-नहुने एकदुई दिनभित्रै टुंगो लाग्ने स्रोतले बतायो । मिश्र सुरुदेखि अत्यन्तै लचक भए पनि यदि सम्मानजक एकताको परिस्थिति नभएको खण्डमा अन्तिम समयमा भाँडिन सक्ने विवेकशील-साझा स्रोतको दाबी छ । तर, सम्मानजनक एकता भएको खण्डमा भने सो पार्टीको आधाउधी हिस्सा राप्रपामा जान तयार देखिन्छ ।

    स्रोतका अनुसार पार्टीका ७ मध्ये ६ जना प्रदेश संयोजक राप्रपासँगको एकतालाई लिएर सकारात्मक छन् । आफूहरुलाई यथोचित स्थान दिइएको खण्डमा मिश्रसँगै राप्रपामा जाने उनीहरुको मनस्थिति छ । सुदूरपश्चिमका दिनेश भण्डारी, कर्णालीका कर्णबहादुर शाही (इन्चार्ज), लुम्बिनीका अनुपमान सैंजू, गण्डकीका सुशीला केसी अधिकारी, बाग्मतीका उज्ज्वलकृष्ण श्रेष्ठ र मधेसका धनपति महतोलाई मिश्रले आफूसँगै लैजाने सम्भावना देखिन्छ । प्रदेश १ का इन्चार्ज प्रकाशचन्द्र परियार भने राप्रपामा जान तयार छैनन् ।

    यसअघि मिश्रसँग निकट मानिएकी नेतृ समीक्षा बास्कोटा पनि राप्रपासँगको एकताको पक्षमै थिइन् । तर, पार्टीको अध्यक्ष नै चुनिएपछि उनले मन बदलेकी छन् । अब यही पार्टीलाई बलियो बनाएर लैजाने उनले बताइरहेकी छन् ।

    पार्टीका प्रवक्ता शरदराज पाठकले आफ्नो साथ नछाड्ने आशा मिश्रले लिएका छन् । सम्मानजनक एकता भए पाठक पनि राप्रपामा जान सकारात्मक देखिन्छन् । तर, अपमानजनक तरिकाले भने राप्रपामा विलय हुन नहुने उनको अडान छ ।

    हालको केन्द्रीय समितिमा रहेका केही नेताहरु गोप्य रुपमा राप्रपासँगको वार्तामा समेत सहभागी रहेको बुझिएको छ । तर, उनीहरुले आफ्नो पोजिसन क्लियर गरिसकेका छैनन् । पार्टी एकताको टुंगो लागिसकेपछि मात्रै उनीहरु खुल्ने बताइएको छ ।

    अध्यक्षबाट हटे पनि विवेकशील-साझाको १२६ सदस्यीय केन्द्रीय समितिमा मिश्रको मजबुत पकड छ । राजसंस्था र हिन्दू-बौद्ध राष्ट्रको पक्षमा मिश्र उभिएपश्चात केही नेताहरु उनीसँग असन्तुष्ट बने । तर, केन्द्रीय समितिको ठूलो हिस्सा उनको एजेन्डामा सहमत रहेको स्रोतले बतायो । पार्टीभित्र आन्तरिक रुपमा मिश्रको पछिल्लो राजनीतिक लाइन तथा राप्रपासँगको एकतालाई लिएर कुनै छलफल भएको छैन । यद्यपि, आधाभन्दा बढीले आफूलाई साथ दिने आशा मिश्रले लिएका छन् ।

    समानुपातिक उम्मेदवारको सूची आगामी ३ असोजमा बुझाइसक्नुपर्ने भएकाले राप्रपा र विवेकशील–साझाको एकता एक–दुई दिनभित्रै टुंग्याइसक्नुपर्ने बाध्यता छ । राप्रपाका उपाध्यक्ष तामाङले मिश्रसँग छलफल सकारात्मक रुपमा अघि बढिरहेको भए पनि सबै टुंगो नलागिसकेको बताए ।

    नेपाल प्रेससँग उनले भने, ‘बाहिर मिडियामा आएजस्तै सबै सहमति भइसकेको भन्ने होइन । हामी छलफलकै क्रममा छन् । केही कुराहरु टुंगो लाग्न बाँकी नै छन् ।’

    राप्रपा अध्यक्ष बनेपछि लिङ्देनले मिश्रसँग छलफल अगाडि बढाएका थिए । मिश्रले सुरुमा दुई पार्टी मिलेर नयाँ शक्ति सिर्जना गर्नुपर्ने अवधारणा प्रस्तुत गरेका थिए । पार्टीको नयाँ नामकरण गर्नुपर्ने उनको प्रारम्भिक अडान थियो । तर, पछिल्लो समय अरु सबै अडानहरु उनले छोडिसकेका छन् र पहिलो वरियताको उपाध्यक्ष लिएर राप्रपामा मर्ज हुन तयार देखिएका छन् ।

  • विवेकशील साझाको अध्यक्षमा समीक्षा र संयोजकमा सञ्जिववल्लभ चयन

    विवेकशील साझाको अध्यक्षमा समीक्षा र संयोजकमा सञ्जिववल्लभ चयन

    काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन् । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै सो पार्टीको केन्द्रीय समितिको बैठकले बास्कोटालाई अध्यक्ष चयन गरेको हो ।

    यस्तै पार्टीको संयोजक पदमा सञ्जिववल्लभ भट्टराई चयन भएका छन् । भट्टराई कार्यसम्पादन समिति सदस्य हुन् ।

    बागमती प्रदेश पूर्व संयोजक बास्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार थिइन् । त्यसअघि उनले २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन् ।

    उनले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् ।

    संयोजक चयन भएका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र,अर्थशास्त्र र अंग्रेजी भाषामा स्नातक गरेका छन् । भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए ।

    बैठकले मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा पार्टी अध्यवधिक गर्ने र त्यसका लागि आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको छ।

  • राप्रपाका प्रवेशको चर्चा नकार्दै रवीन्द्र मिश्रले भने- म एक्लै कतै जोडिएर रुपान्तरण सम्भव छैन

    राप्रपाका प्रवेशको चर्चा नकार्दै रवीन्द्र मिश्रले भने- म एक्लै कतै जोडिएर रुपान्तरण सम्भव छैन

    काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राप्रपा प्रवेश गर्न लागेको चर्चा झूटो भएको बताएका छन् । यद्यपि, सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि एकीकरण वा ध्रुवीकरणमा आफ्नो चासो रहेको उनको भनाइ छ ।

    देशलाई शिरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको यो देशमा सख्त अभाव रहेको मिश्रले उल्लेख गरेका छन् ।

    सामाजिक सञ्जालमा उनले लेखेका छने, ‘देशको एउटा प्रमुख पार्टीको ‘विकृत वामपन्थीकरण’ भएपछि नेपाली राजनीतिमा त्यो ‘स्पेस’ पूरै खाली छ ।’

    जतिसुकै विकसित भए पनि हरेक देशमा अर्थ-राजनीतिकरूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक-सामाजिकरूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’ लाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने पार्टी हुने मिश्र बताँछन् । तर, नेपालमा अहिले त्यस्तो पार्टी नरहेको उनको भनाइ छ ।

    ‘त्यसैले, समाज र राजनीतिलाई सन्तुलनमा राख्न र यो देशलाई बढ्दो भूराजनीतिक भुमरीबाट जोगाउन ‘राष्ट्रियता’ को जगमा एउटा रूपान्तरणकारी शक्ति निर्माणका लागि म पहिलेदेखि नै एकीकरण/ध्रुवीकरणको पक्षमा भएको मैले लुकाएको छैन,’ उनले लेखेका छन् ।

    मिश्र थप्छन्, ‘म एक्लै कतै जोडिएर त्यो सम्भव छैन तर सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि सम्मिलन/एकीकरण/ध्रुवीकरणमा भने मेरो चासो कायमै रहने छ ।’

  • मिश्रको राजीनामापछि विवेकशील-साझा लथालिङ्‍ग, अबको अध्यक्ष को ?

    मिश्रको राजीनामापछि विवेकशील-साझा लथालिङ्‍ग, अबको अध्यक्ष को ?

    काठमाडौं । रवीन्द्र मिश्रले अध्यक्षबाट राजीनामा दिएसँगै विवेकशील-साझा पार्टी नेतृत्वविहीन र अन्योलग्रस्त बनेको छ । पार्टीको बैठक बस्न नसक्दा नयाँ नेतृत्वको विषयमा अहिलेसम्म औपचारिक छलफल सुरू नै भएको छैन ।

    विद्यमान संरचनाअनुसार यस पार्टीमा मुख्य नेतृत्वका रूपमा अध्यक्ष र संयोजक थिए । तर, संयोजक मिलन पाण्डेलाई केही समयअघि पार्टीले कारबाही गरेर हटाएको थियो । अहिले अध्यक्षले पनि राजीनामा दिएपछि पार्टी नेतृत्वविहीन बनेको हो । यस पार्टीमा अध्यक्ष र संयोजकबाहेक अरु पदाधिकारी छैनन् ।

    सानो दल भए पनि विवेकशील साझामा तीनवटा गुटहरू छन् । पूर्वअध्यक्ष रवीन्द्र मिश्रनिकट संस्थापन पक्ष, पूर्वसंयोजक मिलन पाण्डेसहित कारबाहीमा परेको समूह र पछिल्लोपटक खडा भएको निर्देश सिलवालसहितको नयाँ असन्तुष्ट समूह । यी तीन गुट अहिले छिन्नभिन्न अवस्थामा रहेका छन् ।

    मिश्रको राजीनामापछि संस्थापन समूह शिथिल बनेको छ । स्थानीय चुनावमा निराशाजनक परिणामका कारण संस्थापन समूहका नेताहरू रक्षात्मक अवस्थामा पुगेका छन् । कारबाहीमा परेको पाण्डे समूहले पार्टीका विभिन्न निर्णयहरू उल्टाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको उक्त मुद्दा विचाराधीन छ । निर्देश सिलवाललगायतको नयाँ असन्तुष्ट समूहले आफूहरूसँग पार्टीको बहुमत रहेको भन्दै निर्वाचन आयोगमा पत्राचार गरेको थियो । तर, व्यवाहारमा बहुमत पुर्याउन सकेको छैन ।

    अध्यक्ष रविन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज ल्याएसँगै पार्टीभित्र बबण्डर सुरू भएको हो । उनको दस्तावेज प्रतिगमनकारी रहेको भन्दै संयोजक मिलन पाण्डे, केशव दाहाल, रञ्जु दर्शनालगायतले काउन्टर दस्तावेज ल्याएका थिए । तर, मिश्रको दस्तावेजलाई विवेकशीलको दुईतिहाइ बहुमतले पारित गर्‍यो । त्यसबाट असन्तुष्ट बनेका संयोजक पाण्डेले पार्टीको सुदृढीकरण गर्न भन्दै समानान्तर कमिटी बनाए । र, पार्टीले उनलाई साधारण सदस्यबाटै हटायो । त्यसको केही समयपछि पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै पाण्डे पक्षधर २६ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट मुक्त गरिएको थियो ।

    अबको अध्यक्ष को ?

    पार्टीको भावी नेतृत्वको विषयमा अहिलेसम्म ठोस छलफल सुरू भएको छैन । यद्यपि संस्थापन पक्ष, पाण्डे समूह र सिलवाल समूहका आ-आफ्ना रणनीति छन् ।

    संस्थापन समूहका केही नेताहरू किशोर थापालाई अध्यक्षका रूपमा अघि सार्न खोजिरहेका छन् । तर, थापा स्वयम् भने इच्छुक देखिएका छैनन् । संस्थापन पक्षबाटै नेतृत्व गर्न सक्ने नेताका रूपमा समिक्षा बास्कोटालाई पनि हेरिएको छ । तर, बास्कोटाले पनि आफू अध्यक्ष बन्ने दौडमा नरहेको बताएकी छन् ।

    उनले नेपाल प्रेससँग भनिन्, ‘म विगतमा रवीन्द्रजीसँग निकट रहेर काम गरेको हुँदा चुनावमा पार्टीले व्यहोरेको हारको केही अंश जिम्मेवारी मैले पनि लिनुपर्ने हुन्छ । त्यसैले म अहिले अध्यक्ष बन्ने लाइनमा छैन ।’

    बास्कोटा स्वयम्ले काठमाडौंको मेयरमा कमजोर परिणाम ल्याएकी थिइन् । त्यसैले उनी तत्काल अध्यक्षमा दाबी गर्ने पक्षमा छैनन् । यद्यपि, पार्टीको आगामी महाधिवेशनमा भने नेतृत्वको प्रतिस्पर्धाबाट नभाग्ने मुडमा छिन् ।

    अहिले नेतृत्वका लागि सबैभन्दा बलियो दाबेदारी चाहिँ पूर्वसंयोजक मिलन पाण्डेकै छ । अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो राजीनामा वक्तव्यमा पाण्डेसहितका २६ केन्द्रीय सदस्यमाथिको कारवाही फिर्ता लिन पार्टीलाई अनुरोध गरेका थिए । स्रोतका अनुसार उनीहरूमाथिको कारबाहीलाई निर्वाचन आयोगले मान्यता दिएको छैन । त्यसैले केन्द्रीय कार्यसम्पादन समितिले निर्णय लिएको खण्डमा पाण्डे संयोजकमा स्वतः पुन:स्थापित हुनेछन् । अध्यक्ष नभएको अवस्थामा संयोजकलाई सबै अधिकार प्रत्यायोजन गरेर पार्टी सञ्चालन गर्ने विकल्प छ । अथवा, पाण्डेलाई अध्यक्षमा बढुवा गरेर अर्को व्यक्तिलाई संयोजक बनाउन सकिनेछ ।

    निकट स्रोतका अनुसार पाण्डेले मिश्रको राजीनामापछि स्वतः आफू अध्यक्ष बन्ने भनेर दावी पेस गरिरहेका छन् । साथै मिश्रको दस्तावेज ‘विचारभन्दा माथि देश’ लाई निष्क्रिय तुल्याउन संस्थापन समूह सहमत हुनुपर्ने उनको पूर्वशर्त पनि छ । उक्त दस्तावेज फिर्ता लिन संस्थापनका नेताहरू तयार नभए आफूले अदालतमा दायर गरेको मुद्दा फिर्ता नलिने चेतावनी उनले दिएका छन् ।

    भर्खरैमात्र पाण्डेनिकट मानिने पूर्वविवेकशीलका संस्थापक नेता पुकार बमले आगामी संसदीय चुनावमा काठमाडौं-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । पाण्डेले उनलाई बलियो समर्थन जनाइरहेका छन् । स्वतन्त्र उम्मेदवारलाई बोकेर हिँड्ने नेतालाई पार्टीको कमाण्ड कसरी दिन सकिन्छ भन्ने प्रश्न संस्थापनभित्र उठेको छ ।

    निर्देश सिलवाल नेतृत्वको अर्को असन्तुष्ट समूह पनि अलमलमा देखिएको छ । अध्यक्ष मिश्रले पार्टीलाई मनोमानी ढंगले सञ्चालन गरेको र राप्रपासँग विलय गराउने प्रयास गरेको भन्दै सिलवालसहितका थुप्रै नेताहरूले विरोध जनाएका थिए । उनीहरूले अध्यक्ष मिश्रविरुद्ध निर्वाचन आयोगमा समेत निवेदन दिएका छन् । अब मिश्रले राजीनामा दिइसकेपछि यो समूह कसरी प्रस्तुत हुन्छ भन्ने हेर्न बाँकी छ ।

    अब जो अध्यक्ष बने पनि छिट्टै हुने महाधिवेशनसम्मका लागि हो । महाधिवेशनमा प्रतिस्पर्धामार्फत जितेर आउने अध्यक्षले नै पार्टीको दीर्घकालीन नेतृत्व पाउने छ ।

  • विवेकशीलका संस्थापक नेता पुकार बम काठमाडौं-१ बाट चुनाव लड्ने

    विवेकशीलका संस्थापक नेता पुकार बम काठमाडौं-१ बाट चुनाव लड्ने

    काठमाडौं । विवेकशील नेपालीका संस्थापक नेता पुकार बमले काठमाडौंकाे क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । कैलालीका बासिन्दा  उनी सामाजिक अभियन्तासमेत हुन्।

    उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने,‘अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेँ, अब संसद् पुगेर नागरिकको आवाज बोल्छु ।’

    उनी काेराेनाकाे समयमा चलाइएकाे ‘इनफ इज इनफ’ अभियानमा सक्रिय सहभागी थिए । कोरोना महामारीको बेला निशुल्क खाना खुवाउने अभियानकाे अगुवाइ गरेका बम विभिन्न माग राखेर १२ दिन अनसनसमेत बसेका थिए । हाल उनी साेसल वर्कमा  विद्याबारिधि गर्दैछन् ।

    काठमाडौ- १ कांग्रेस नेता प्रकाशमान सिंहले चुनाव जितेको क्षेत्र हो । अघिल्लो संसदीय चुनावमा यस क्षेत्रबाट विवेकशील साझाका तत्कालिन अध्यक्ष रविन्द्र मिश्र सिंहसित थोरै मतान्तरले हारेका थिए ।

     

  • रवीन्द्र मिश्रको कटाक्ष: म त खुइलिएँ, तपाईंहरुको राजनीतिक अभीष्ट पूरा होस्

    रवीन्द्र मिश्रको कटाक्ष: म त खुइलिएँ, तपाईंहरुको राजनीतिक अभीष्ट पूरा होस्

    काठमाडौं । पार्टीको चुनावी पराजयपछि विवकेशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रले राजीनामा दिए । उनीमाथि विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् ।

    राजीनामापछि मिश्रले आफ्नो भावी योजनाबारे केही खुलाएका छैनन् । उनले सामाजिक सञ्जालमार्फत उनले भावुक टिप्पणीहरु गरिरहेका छन् । आज भने मिश्रले आफ्ना (अ)मित्र (हरु)मा समर्पित गर्दै कटाक्षपूर्ण स्टाटस लेखेका छन् ।

    मिश्रको स्टाटस यस्तो छः

    ती (अ)मित्र(हरू)मा समर्पित

    जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए, ‘तपाईंलाई नखुइल्याई त मेरो र हाम्रो राजनीतिक अभिष्ट नै पूरा हुँदैन नि !’ अब म खुइलिएँ। तपाईं(हरू)को राजनीतिक अभीष्ट पूरा होस् ! यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईं(हरू)लाई शुभकामना छ !

  • विचारभन्दा माथि देशलाई राख्नैपर्छ, बाँकी उपरवालेकी इच्छा: रवीन्द्र मिश्र

    विचारभन्दा माथि देशलाई राख्नैपर्छ, बाँकी उपरवालेकी इच्छा: रवीन्द्र मिश्र

    काठमाडौं । पार्टीले चुनावमा पराजय व्यहोरेपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले ‘जे–जे भए पनि’ विचारभन्दा माथि देशलाई राख्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत चार बुँदामा राजीनामाबारे प्रष्टीकरण दिँदै उनले भनेका छन्– विचारभन्दा माथि देशलाई राख्नैपर्छ, बाँकी उपरवालेकी इच्छा ।

    उनले आगामी दिनमा कविता, किताब, सिनेमा लेख्ने र परोकारी काम गर्न सकिने पनि बताएका छन् । काम जे गरे पनि विचारभन्दा देश माथि राख्ने कुरालाई उनले जोड दिएका छन् ।

    ‘बरु नष्ट हुँला, भ्रष्ट हुन्नँ’ भन्दै उनले लेखेको स्टाटस यस्तो छ–

    मेरो राजीनामाको सन्दर्भमा ! बाँकी ‘उपरवालेकी इच्छा !’

    हिजो मैले विवेकशील साझा पार्टीको अध्यक्षको पदबाट चुनावी परिणामका कारण नैतिकताको आधारमा राजीनामा दिएपछि पार्टीका साथीहरू तथा सञ्चार माध्यमबाट प्रशस्त फोनहरू आइरहेका छन्। त्यसै सन्दर्भमा निम्न अनुरोध गर्न चाहन्छु–

    १. मैले भन्नुपर्ने कुरा हिजो जारी विज्ञप्तिमा भनिसकेको छु। हाललाई म कुनै पनि सञ्चार माध्यमसँग थप टिप्पणी गर्न चाहन्नँ।

    २. यति धेरै प्रतिकुलताहरूबाट गुज्रिँदा पनि मलाई अझै स्नेह र सद्भाव देखाएर सन्देश पठाउने सबैप्रति हृदयदेखि आभारी छु। तपाईंहरूको मायाले त विविध प्रतिकूलताबीच आजसम्म मलाई अघि बढ्ने सम्पूर्ण शक्ति प्रदान गरेको छ। नत्र कहाँ सकिन्छ र, ममा कमजोरी छन्, हाम्रा विचार नमिल्ला, त्यो भिन्दै कुरा हो। तर यतिचाहिँ वाचा गर्छु । मबाट बेइमानी हुँदैन। यो समाज र देशलाई ठग्ने काम हुँदैन। ‘बरू नष्ट हुँला, भ्रष्ट हुन्न’ भनेर मैले भन्ने गरेकै छु।

    ३. पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया, त्यसो नगरिदिनु होला। कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यहीं नै गरेको हुँ। पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिनुहोस् र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु।

    ४. कतिपय साथीहरूले ‘अब तपाईं के गर्नु हुन्छ ?’ भनेर सोधिरहनु भएको छ। मलाई मेरो भाग्यले गुनासो गर्ने ठाऊँ नै नराखि चाहिनेभन्दा बढी दिइसकेको छ। मलाई थप केही आवश्यक छैन। मेरो राजनीतिको प्रमुख उद्देश्य ‘देशको दूरगामी हित र दशकौँसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्शै गर्न सकेन तिनलाई स्पर्श गर्नु’ थियो। त्यो सफलता अहिलेसम्म हासिल भएको छैन। त्यसका लागि ‘विचारभन्दा माथि देश’लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो। त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु। बाँकि, ‘उपरवाले की इच्छा !’

    साथमा, कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरूँला र, मन लाग्यो भने, सिनेमा पनि खेलुँला !’

    फेरि एकपटक तपाईंहरूको स्नेह र सद्भावप्रति नतमस्तक छु !

  • रविन्द्र मिश्रले सुसंस्कृत राजनीतिको उदाहरण पेस गर्नुभयो : समीक्षा बास्कोटा

    रविन्द्र मिश्रले सुसंस्कृत राजनीतिको उदाहरण पेस गर्नुभयो : समीक्षा बास्कोटा

    काठमाडौं । अध्यक्ष रविन्द्र मिश्रले अचानक राजीनामा दिएपछि विवेकशील साझा पार्टीमा स्तब्धता छाएको छ । जन्मदाताले नै हात झिकेपछि पार्टीको भविष्य के हुन्छ भन्ने प्रश्नहरू पनि उठ्न थालेका छन् ।

    मिश्रको राजीनामाबारे पार्टीका धेरै नेताहरूले आज समाचार पढेर थाहा पाएका थिए । स्थानीय चुनावमा पार्टीले निराशाजनक नतिजा ल्याएको भए पनि मिश्रलाई राजीनामा निम्ति आन्तरिक दबाब थिएन । उनले आफैँ नैतिक दबाब महसुस गरेर राजीनामा दिएका हुन् । राजीनामाको विज्ञप्तिमा उनले पार्टीबाट कारबाही गरिएका नेताहरूलाई पुनर्स्थापन गर्नसमेत आह्वान गरेका छन् ।

    विवेकशील साझाकी नेतृ समीक्षा बास्कोटा मिश्रको निर्णय आफूहरूको लागि अनपेक्षित रहेको बताउँछिन् । यद्यपि, यसले सुसंस्कृत राजनीतिको उच्चतम उदाहरण स्थापित गरेको उनको भनाइ छ ।

    बास्कोटा आफैँ विवेकशील साझाबाट काठमाडौंमा मेयरको उम्मेदवार थिइन् । सोचेभन्दा निकै कम भोट ल्याएकी छन् उनले । बालेन साहको ह्वीममा मतदाता दौडिएका बेला समीक्षातर्फ कसैको ध्यानै परेन । आफ्नो चुनावी नतिजाबाट हिम्मत भने नहारेको उनी बताउँछिन् ।

    ‘मेरो उम्मेदवारीको टाइमिङ गलत भयो,’ समीक्षाको आत्मसमीक्षा छ ।

    बास्कोटासित अध्यक्षको मिश्रको राजीनामा र विवेकशील साझाको चुनावी परिणामलाई लिएर गरिएको संक्षिप्त कुराकानी:

    अध्यक्षले राजीनामा दिँदै हुनुहुन्छ भन्ने तपाईँलाई पूर्व जानकारी थियो ?

    थिएन । यो हाम्रो लागि अनपेक्षित नै भयो ।

    किन यस्तो निर्णय लिनुभयो जस्तो लाग्छ ? चुनावी परिणाम मात्रै कारण हो कि अरू पनि केही छ ?

    राजनीतिक रूपमा हेर्दा चुनावको नतिजा नै मुख्य कारण हो । उहाँले वैकल्पिक राजनीतिलाई स्थापित गर्न इमानदार प्रयास गर्नुभयो । धेरै आन्तरिक कारणहरूले गर्दा चुनावमा सोचेजस्तो भएन । धेरै व्यक्तिहरूले उहाँकै कारण बिग्रियो भनिरहेका थिए । उहाँले विज्ञप्तिमा लेखेअनुसार बाटो खुलाइदिनुभएको छ ।

    यसलाई सकारात्मक हिसाबले पनि हेर्नुपर्छ जस्तो लाग्छ । उहाँले सुसंस्कृत राजनीतिको एउटा स्टान्डर्ड सेट गर्नुभएको छ । जस्तो अवस्थामा पनि कुर्सी नछाड्ने परम्परागत राजनीतिक संस्कारबाट माथि उठेर निर्णय लिनुभयो । हामीले चाहेको सुसंस्कृत राजनीति भनेको यस्तै हो । यसले उहाँको हाइट झन् बढेको छ ।

    अब साधारण सदस्य मात्रै रहने भनिसकेपछि विवेकशील साझामा उहाँको भूमिका अब कस्तो होला, वा केही पनि नहोला ?

    विज्ञप्ति आएको भन्दा थप कुरामा म पनि अनभिज्ञ छु । उहाँले केही सेयर गर्नुभएको पनि छैन । तर, हामीलाई अझै पनि आशा छ कि उहाँले कुनै न कुनै रूपमा पार्टीलाई साथ–सहयोग दिनुहुने छ ।

    विवेकशील साझा पार्टी भन्ने बित्तिकै रविन्द्र मिश्रको पार्टी भनेर चिनिन्थ्यो । उहाँ नै नेतृत्वमा नरहेपछि अब पार्टीको भविष्य के होला भन्ने प्रश्न उठिरहेका छन् नि ?

    पार्टी अध्यक्षको हिसाबले र मुभमेन्ट लिड गरेको हिसाबले विवेकशील साझा भन्नासाथै रविन्द्र मिश्रको नाम आउँछ । यद्यपि हामी सामूहिक रूपमा अघि बढेका हौँ । केन्द्रीय समिति छ । कार्यसम्पादन समिति छ । एउटा व्यक्ति नहुँदा सबै सकिने भन्ने हुँदैन ।

    उहाँको हाइटको अर्को व्यक्ति छैन पार्टीमा । अब कसले नेतृत्व गर्ने त ?

    अहिले एक किसिमको अन्योल त उब्जेको छ नै । तर पार्टीभित्र सबै जना बसेर छलफल गर्ने हो । पार्टीलाई कसरी अगाडि बढाउने भनेर केन्द्रीय कमिटी बस्छ । भोलि कार्यसम्पादनको बैठक बसेर रविन्द्रजीलाई निर्णय फिर्ता लिन रिक्वेस्ट गर्ने कुरा पनि हुन सक्छ ।

    त्यसो भए राजीनामाको निर्णय फिर्ता लिन बैठकले आह्वान गर्छ ?

    त्यो सबै बैठक बसेपछि थाहा हुन्छ । मैले व्यक्तिगत रूपमा यही हुन्छ भन्न मिल्दैन । छलफलका विभिन्न पाटाहरू हुन्छन् नि त । चौतर्फी कुरा उठ्छ । कसरी अगाडि बढ्ने भनेर सामूहिक निर्णय लिइने छ । पार्टीमा कयौँ नेताहरू हुनुहुन्छ । सम्भावना बोकेका नेताहरू हुनुहुन्छ । कसले नेतृत्व गर्ने बैठकले नै निर्धारण गर्छ ।

    कारबाही गरिएका नेताहरूको कारबाही फुकुवा गर्न उहाँले आग्रह गर्नुभएको छ । त्यस्तो भयो भने मिलन पाण्डे फेरि स्वतः संयोजक बन्नुहुने हो ?

    त्यसबारे मैले खासै केही टिप्पणी गर्न पर्छ जस्तो लाग्दैन । विधानअनुसार जाने हो । कहिलेकाहीँ पार्टीमा यस्तो सिचुयसन आउँदा विधान हेर्ने हो । मिलन पाण्डेको हकमा केन्द्रीय समितिले निर्णय लिएको हो । उहाँले कारबाही फिर्ताका लागि आग्रह गर्नुभएको छ । यो विषयमा केन्द्रीय कमिटीले नै निर्णय गर्नुपर्छ । केन्द्रीय कमिटीको बैठक नबस्दासम्म के के हुन्छ भनेर कसैले आँकलन गर्न सक्दैन । मुख्य कुरा विधानलाई बिर्सन भएन ।

    स्थानीय चुनाव परिणामलाई कसरी विश्लेषण कसरी गर्नुभएको छ ? यो निराशाजनक नै हो ?

    चुनावभन्दा अगाडि पार्टीभित्रको माहोल राम्रो भएन । ‘विचारभन्दा माथि देश’ दस्ताबेज आइसकेपछि जिम्मेवार साथीहरूले नै अध्यक्ष र दस्ताबेजको खिलाफमा उभिनुभयो । उहाँहरूले जे–जे कुरा बाहिर धरातलमा ल्याउनुभयो, त्यसको असर हो । कयौँ नेताले जिम्मेवारीपूर्ण काम नगरेको पनि हो । सबैले आआफ्नो कमजोरी स्विकार्नुपर्छ । अध्यक्षज्यूले त सबै जिम्मेवारी लिन्छु भन्नुभएको छ । तर पार्टीमा कयौँ जिम्मेवार नेता छन् । केन्द्रीय सदस्य, सांसद हुनुहुन्छ । उहाँहरूले आफ्नो समीक्षा आफैँ गर्नुहोला । म पनि आफ्नो भागको जिम्मेवारी लिन तयार छु ।

    विचारभन्दा माथि देशको दस्ताबेजका कारण नै पार्टीले चुनावमा धक्का खानुपरेको हो त ?

    यसो भनेर गत न्यारेसन स्थापित गर्न खोजिएको छ । केन्द्रीय कमिटीको दुई तिहाइ बहुमतले सो दस्ताबेज पास गरेको हो । जनताबाट एकदम राम्रो रेस्पोन्स मिलेको थियो । दस्ताबेजपछि धेरै साथीहरू पार्टीमा जोडिनुभयो । त्यही दस्ताबेजले एकीकरण र ध्रुविकरणको प्रक्रिया अगाडि बढको थियो । त्यसैले दस्ताबेजलाई दोष दिनु भनेको आत्मरति मात्रै हो ।

    बरु त्यो दस्ताबेजलाई हामीले आम नागरिकको माझमा लिएर जान सकेनौँ । दस्ताबेजको विरोधमा केही साथीहरूले मिडियावाजी गर्दै गर्दाले हामीले ग्राउन्डमा लैजान नसकेको यथार्थ हो । आज पनि विभिन्न पार्टीका नेता र नागरिकले तपाईँहरूको दस्ताबेज ठिक हो, यसरी आउनैपथ्र्यो भनेर राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । त्यसैले दस्ताबेजको कारण मात्र चुनाव परिणाम नराम्रो आएको होइन । पार्टीभित्रको सानोसानो किचलोलाई बाहिर ल्याएर अध्यक्षलाई निरन्तर प्रहार गर्ने प्रवृत्ति मुख्य कारक तत्त्व हो ।

    तपाईँ आफैँ काठमाडौंबाट उम्मेदवार हुनुभएको थियो । उल्लेख्य भोट ल्याउन सक्नुभएन । काठमाडौंको मत परिणामलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

    मैले राजनीतिमा लागेर १०० प्रतिशत दिने हो । परिणाम स्विकारेर हिँड्नुभन्दा अर्को विकल्प हुँदैन जस्तो लाग्छ । यो प्राविधिक विषय हो ।

    परिणाम जस्तो आए पनि आजसम्म मलाई राम्रो प्रतिक्रियाहरू दिइरहनुभएको छ । तपाईँजस्तो व्यक्तिले मत परिणामलाई ठूलो ठानेर राजनीति छाड्नु हुँदैन है भनेर हौसला दिइरहनुभएको छ । म राजनीति र राजधानीको फोहोर सफा गर्न आएको हुँ भनेको थिएँ । राजधानीको फोहोर सफा गर्ने मौका पाइनँ । तर राजनीतिको फोहोर सफा गर्ने अभियानमा अझै पनि सक्रिय रहनेछु ।

    स्वतन्त्र उम्मेदवार बालेन साहको पक्षमा लहर आएको बेला उम्मेदवार हुनुभयो, आफूलाई अनलक्की ठान्नुहुन्छ ?

    ‘अनलक्की’ भन्नुभन्दा पनि मेरो उम्मेदवारीको टाइमिङ गलत भयो भन्छु म । व्यक्तिगत रूपमा उम्मेदवार आफैँ गलत होइन । समय गलत थियो भन्ने लाग्छ । कहिलेकाहीँ राम्रो कुराका लागि पनि समय गलत हुन सक्छ । समय बलवान छ ।

    पार्टीगत रूपमा समीक्षा गर्नुपर्ने विषयहरू छन् । पाँच वर्षमा के गुमायौँ भनेर समीक्षा गर्नै पर्छ । ०७४ सालमा विवेकशील र साझाले ल्याएको मतलाई सम्मान गर्न सकेनौँ ।

  • मिलन पाण्डेलगायतमाथिको कारबाही फिर्ता लिन राजीनामापछि रवीन्द्र मिश्रको अनुरोध

    मिलन पाण्डेलगायतमाथिको कारबाही फिर्ता लिन राजीनामापछि रवीन्द्र मिश्रको अनुरोध

    काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले पार्टीबाट कारबाहीमा परेकाहरूको कारबाही फिर्ता लिन आग्रह गरेका छन् । पार्टीको दस्तावेज ‘विचारभन्दा माथि देश’ का विरुद्ध गतिविधि गरेकोमा संयोजक मिलन पाण्डेलगायतलाई कारबाही गरिएको थियो ।

    मिश्रले आफ्नो राजीनामा घोषणा गर्दै दस्तावेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि ती कारबाहीहरू फिर्ता गरिदिने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिलाई अनुरोध गरेका हुन् । सो दस्तावेजप्रति असहमति राखेर राजीनामा दिएकाहरूलाई पुन: पार्टीमा सामेल हुन उनले अनुरोध गरेका छन् ।

    पार्टी पार्टीमा रहँदा आफूबाट भएका कमजोरी र त्रुटिहरूका लागि क्षमायाचनासमेत गरेका छन् ।

    उनले भनेका छन्, ‘पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिले गहन छलफल र समीक्षापछि निर्णय लिने नै छ । मेरो बुद्धि र विवेकले भ्याएसम्म इमानदार रहँदा रहँदै पनि यसबिच मबाट भएका कमजोरी तथा त्रुटिहरूप्रति म निःसङ्कोच क्षमा याचना गर्दछु । पार्टीको साख केन्द्रीय समितिका साथीहरूको नेतृत्वमा पुनर्स्थापित हुने विश्वास लिएको छु । सो प्रयासमा मेरो पूर्ण सहयोग रहने छ ।’

  • विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा

    विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा

    काठमाडौं । विवेशील साझा पार्टीको अध्यक्षबाट रविन्द्र मिश्रले राजीनामा दिएका छन् । पार्टीले स्थानीय चुनावमा व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् ।

    मिश्रले एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यका रुपमा रहने बताएका छन् ।

    पार्टी सदस्य तथा शुभेच्छुकको अपेक्षा पूरा गर्न नसकेकोमा दु:खी भएको बताउँदै मिश्रले भनेका छन्, ‘गत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कत्ति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य, हामीलाई आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई म नमन गर्दछु ।’

    प्रेस विज्ञप्तिमा मिश्रले भनेका छन्, ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’

  • विवेकशीलले विराटनगर र भरतपुरमा टुंग्यायो उम्मेदवार

    विवेकशीलले विराटनगर र भरतपुरमा टुंग्यायो उम्मेदवार

    काठमाडौं । विवेकशील साझा पार्टीले विराटनगर र भरतपुर महानगरपालिकामा उम्मेदवार टुंग्याएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको हो ।

    पार्टी प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिअनुसार विराटनगरको मेयरमा अमलेश कर्ण र भरतपुरको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाइएको छ । त्यसैगरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ ।

    विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन् भने भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पूर्वजिल्ला संयोजक रहेको सो पार्टीले जनाएको छ ।

  • दलबलसहित काठमाडौं मेयर-उपमेयरमा विवेकशीलले गर्‍यो मनोनयन दर्ता (तस्बिरहरू)

    दलबलसहित काठमाडौं मेयर-उपमेयरमा विवेकशीलले गर्‍यो मनोनयन दर्ता (तस्बिरहरू)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर-उपमेयरसहित विवेकशील साझा पार्टीले अघि सारेका उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् । सो पार्टीका तर्फबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरले मनोनयन दर्ता गरेका छन् ।

    दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मध्यान्ह उनीहरूले मनोनयन दर्ता गराएका छन् ।

    ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नारा तय गर्दै विवेकशीलले आफ्ना उम्मेदवार अघि सारेको छ ।

    मेयरकी उम्मेदवार समीक्षा विवेकशील साझा वागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौं स्कूल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् ।

    उपमेयरमा अघि सारिएकी कीर्ति पार्टीकी केन्द्रीय सदस्य छिन् । उनी नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्षमध्येकी एक हुन् । शिक्षामा स्नातकोत्तर गरेकी ६२ वर्षीया कीर्ति अन्तर्राष्ट्रिय जेसीजको दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष रहेको विवेकशीलले जनाएको छ ।

    अघिल्लो निर्वाचनमा वैकल्पिक शक्तिका रूपमा प्रचारित विवेकशील नेपाली दलबाट चुनाव लडेकी रन्जु न्यौपाने (दर्शना) ले २३ हजार ४ सय ३९ मत ल्याएर तेस्रो स्थान हासिल गर्दा, स्वतन्त्रबाट उम्मेदवार दिएका किशोर थापा १८ हजार ४ सय ९६ मत ल्याएर चौथो भएका थिए । उनलाई तत्काल निर्वाचन आयोगमा दर्ता हुन बाँकी रहेको रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीको सहयोग थियो ।

    तस्बिरहरू : उमेश कार्की । 

  • विवेकशील साझाले धनगढी उपमहानगरको उपमेयरमा विमला पन्तलाई बनायो उम्मेदवार

    विवेकशील साझाले धनगढी उपमहानगरको उपमेयरमा विमला पन्तलाई बनायो उम्मेदवार

    काठमाडौं । विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाउने भएको छ।

    इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक संघसंस्थाको संस्थापक रहेको अनुभव छ।

    उनले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै विगत २२ वर्षदेखि कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष १०ं२ सम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरी पढाइको जिम्मेवारी लिएको विवेकशील साझाले जनाएको छ ।

    त्यसपछि उच्च शिक्षा अध्ययनको चाहना भएकालाई पनि उनले पढाउँदै आएकी छन् । ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाजशास्त्रीका रूपमा संलग्न छिन् ।

    विवेकशील साझा परित्याग गरेर गोपाल हमालले धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।

  • भ्रष्टाचार नगर्ने कसम खाँदै ललितपुरमा विवेकशीलका मेयर उम्मेदवार घोषणा

    भ्रष्टाचार नगर्ने कसम खाँदै ललितपुरमा विवेकशीलका मेयर उम्मेदवार घोषणा

    ललितपुर । विवेकशील–साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ ।

    मंगलबार पाटन कृष्ण मन्दिरसँगै भीमसेन स्थानमा आयोजित एक कार्यक्रममा श्रेष्ठको उम्मेदवारी घोषणा भएको हो । पार्टीको बागमती प्रदेशका संयोजकसमेत रहेका श्रेष्ठले उम्मेदवारी घोषणा पूर्व नवनिर्मित भीमसेनको मन्दिर दर्शन गरी भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका थिए ।

    ललितपुर महानगर र पाटनको ऐतिहासिक वैभवलाई कायम गर्दै विकास निर्माण गर्ने तथा शिक्षा स्वास्थ्य जस्ता आधारभूत सेवा सुविधालाई निःशुल्क र गुणस्तरीय बनाउने आफ्ना एजेन्डा रहेको श्रेष्ठले बताए ।

    सबै पार्टीहरूले ठुला–ठुला सपना देखाएर पूरा नगरेको स्मरण गर्दै श्रेष्ठले भने, ‘मैले गर्नै नसकिने ठुला–ठुला सपना देखाउँदिन । तर म जे सक्छु त्यो इमानदारीपूर्वक गर्छु । इमानदारी मेरो पहिलो सर्त हो ।’

    कार्यक्रममा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पाटनको सभ्यता र कलाको जगेर्ना हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

    उनले भने, ‘विश्वमा अमेरिका भन्ने देश पत्ता नलाग्दै र काठमाडौँ र भक्तपुरको सभ्यता सुरु नहुँदै पाटनको सभ्यता र वैभव थियो । हाम्रा पिता–पुर्खामा रहेको सांस्कृतिक र पुरातात्त्विक चेत अहिलेको पुस्ता र नेतृत्वमा नहुँदा पाटनको सभ्यतालाई उचित संरक्षण र प्रवर्द्धन गर्न सकिएको छैन ।’

  • काठमाडौंको मेयरमा विवेकशीलबाट समीक्षा, कीर्तिलाई उपमेयरमा अघि सारियो

    काठमाडौंको मेयरमा विवेकशीलबाट समीक्षा, कीर्तिलाई उपमेयरमा अघि सारियो

    काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौंको मेयर र उपमेयरका लागि दुई महिलालाई अगाडि सार्ने निर्णय गरेको छ ।

    विवेकशीलका प्रवक्ता शरदराज पाठकका अनुसार मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

    पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नारा तय गर्दै दुईजनाको नाम टुंग्याएको विवेकशीलले जनाएको छ ।

    मेयरमा अघि सारिएकी समीक्षा विवेकशील साझा वागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौं स्कूल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् ।

    उपमेयरमा अघि सारिएकी कीर्ति पार्टीकी केन्द्रीय सदस्य छिन् । उनी नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्षमध्येकी एक हुन् । शिक्षामा स्नातकोत्तर गरेकी ६२ वर्षीया कीर्ति अन्तर्राष्ट्रिय जेसीजको दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष रहेको विवेकशीलले जनाएको छ ।

    ‘विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौं पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएकोले महानगरपालिकालाई दुईजना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिबद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूआत हुनेछ’, अध्यक्ष रवीन्द्र मिश्रले विश्वास जनाएका छन् ।

  • विवेकशीलमा जन्मियो अर्को असन्तुष्ट समूह, अध्यक्ष मिश्रविरुद्ध आयोगमा पत्र !

    विवेकशीलमा जन्मियो अर्को असन्तुष्ट समूह, अध्यक्ष मिश्रविरुद्ध आयोगमा पत्र !

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकताको चर्चासँगै विवेकशील साझा पार्टीभित्र चरम विवाद उत्पन्न भएको छ । यसअघिको विवादमा अध्यक्ष रवीन्द्र मिश्रलाई साथ दिएका नेताहरू नै अहिले उनीसँग असन्तुष्ट बनेका छन् ।

    आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा असन्तुष्ट समूह अध्यक्ष मिश्रमाथि खनिएको थियो । उक्त समूहले राजावादी पार्टीसँग एकता प्रयासका विषयमा जानकारी माग्दा मिश्रले पन्छाउन खोजेको आरोप लगाएको छ । विवादका बीच अध्यक्ष मिश्रले पार्टीका तीन बुँदे निर्णय सुनाए । पार्टीका २६ जना केन्द्रीय सदस्यमाथि कारबाही, प्रदेश संयोजकहरूको हेरफेर र स्थानीय चुनावको तयारीसम्बन्धी निर्णय सुनाएपश्चात् केही केन्द्रीय सदस्यहरूले विरोध गरेका थिए । तर, बैठक समापन गरेर मिश्र हिँडे ।

    त्यसपश्चात् असन्तुष्ट समूहको बैठक बसेको थियो । बैठकले अध्यक्ष मिश्रलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उक्त स्पष्टीकरणको जवाफ नआए अध्यक्षलाई नै पदबाट हटाउने चेतावनी असन्तुष्ट समूहका नेताहरूले दिएका छन् ।

    असन्तुष्ट समूहका तर्फबाट ज्येष्ठ सदस्य भीमप्रसाद अधिकारीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘असक्षम पार्टी अध्यक्ष रवीन्द्र मिश्र विवेकशील साझा पार्टीलाई निरन्तरता दिने पक्षमा छैनन् । उनी पार्टीको आत्मालाई लत्त्याएर विशुद्ध निजी स्वार्थका लागि विवेकशील साझामा प्राप्त राजनीतिक पुँजी राजावादी आन्दोलनमा बुझाउन प्रयत्नशील छन् ।’

    ‘निरंशुक अध्यक्ष’ भन्दै रवीन्द्र मिश्रलाई कारबाहीको वैधानिक प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ । असन्तुष्ट समूहको तर्फबाट मिश्रमाथि कारबाही माग गर्दै निर्वाचन आयोगमा पनि पत्राचार गरिएको छ । उक्त पत्रमा बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर रहेको नेता अधिकारीले दाबी गरे ।

    उनले भने, ‘हाम्रो पार्टीका १६३ जना केन्द्रीय सदस्यहरूमध्ये ९६ जनाले हस्ताक्षर गर्नुभएको छ । अध्यक्षलाई अपदस्थ गर्न हामीसँग पर्याप्त सङ्ख्या छ ।’

    पार्टी प्रवक्ता शरदराज पाठक भने पार्टीको बहुमत सङ्ख्या नेतृत्वसँगै रहेको बताउँछन् । केही व्यक्तिहरूले पार्टीभित्र हुल हुज्जत गरेर सुसंस्कृत राजनीतिलाई बिथोल्न खोजेको उनको आरोप छ ।

    पाठकले भने, ‘उहाँहरूले बहुमतको हस्ताक्षर रहेको भनेर भ्रम फैलाउन खोज्नुभएको छ । त्यो नितान्त असत्य हो । विधि, विधान र पद्धति नमानेर हुल हुज्जत र बाहुबलको आधारमा केन्द्रीय समितिमा निर्णय गराउने प्रयास विफल भएपछि केही व्यक्तिले अवैधानिक र अराजक गतिविधि गरेका छन् । तर, पार्टीमा यसको खास असर छैन ।’

    विवादका बीच आज पार्टी कार्यालयमा दुवै पक्षले समानान्तर पत्रकार सम्मेलन आयोजना गर्दा तनाव उत्पन्न भएको थियो । पार्टी संस्थापनले आयोजना गरेको पत्रकार सम्मेलनकै समय पारेर असन्तुष्ट समूहले पनि पत्रकार सम्मेलन राखेको थियो । यस क्रममा दुवै पक्षले एक–अर्कालाई अराजकता देखाएको आरोप लगाएका छन् ।

    पाठकले भने, ‘दुई दिनअघि केन्द्रीय समिति बैठकमा पनि अध्यक्षलाई पाखुरा सुर्किएर आफू अनुकूल निर्णय गराउन नियोजित क्रियाकलाप भयो । आज पनि मुढेबल र डर त्रास देखाएर पार्टीको सुसंस्कृत चरित्रलाई विकृत तुल्याइएको छ । केही अपरिचितहरूको पनि संलग्नता देखिएको छ । यो अत्यन्त दुखदायी हो ।’

    असन्तुष्टका नेता अधिकारीले भने संस्थापन पक्षबाटै गुण्डागर्दी गर्न खोजिएको आरोप लगाए ।

    उनले भने, ‘हामीले विज्ञप्ति पढिरहेका बेला टेबुलमाथि चढेर खोस्ने र ब्यानर च्यात्ने काम भयो । अध्यक्षबाटै परिचालित व्यक्तिहरूले यसरी गुण्डागर्दी गरेका छन् । हामी अब चुप बस्दैनौँ ।’

    दुई पक्षबीच तनाव भएपछि आज कार्यालयमा आयोजना गरिएको प्रदेश संयोजक र इन्चार्जलाई शुभकामना दिने कार्यक्रम पनि बिथोलिएको थियो ।

    असन्तुष्ट समूहले आफूहरूसँग बहुमत रहेको दाबी गरे पनि उनीहरूसँग ठ्याक्कै कति सङ्ख्या छ भन्ने यकिन छैन । असन्तुष्ट समूहको नेतृत्व गरेका भिमप्रसाद अधिकारी केन्द्रीय सदस्य हुन् । यस्तै, संगठन विभाग प्रमुख निर्देश सिलवाल, गहेहेन्द्र दाहाल, विराजभक्त श्रेष्ठ, अनिल भेटवाल, सुमित्रा गुरुङ, एसपी शाह सारथी, प्रदीप थापा, सञ्जीवबल्लभ भट्टराई, समुद्रै केसी लगायतका नेताहरू असन्तुष्ट समूहतर्फ खुलेका छन् ।

    नेता अधिकारीले मिश्र नसच्चिएको खण्डमा उनलाई हटाएर आफूहरूबिचबाट अर्को अध्यक्ष बनाउने दाबी गरे ।

    उनले भने, ‘हामीसँग बहुमत रहेकाले पार्टी फुटाउने कुरै आउँदैन । हामीबीचबाटै सर्वसम्मतिले नयाँ अध्यक्ष चयन गर्नेछौँ ।’

    राप्रपासँग एकताको विषयसँगै प्रदेश प्रमुखहरूको हेरफेरमा पनि अध्यक्षले एकलौटी गर्न खोजेको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।

  • विवेकशील साझा कार्यालयमा तनाव, अध्यक्ष मिश्रविरुद्र उत्रियो असन्तुष्ट समूह (भिडिओ)

    विवेकशील साझा कार्यालयमा तनाव, अध्यक्ष मिश्रविरुद्र उत्रियो असन्तुष्ट समूह (भिडिओ)

    काठमाडौं । विवकेशील साझा पार्टीभित्र संस्थापन पक्ष र असन्तुष्ट समूहबीच विवाद चुलिएको छ । आज पार्टी कार्यालयमा दुवै पक्षले समानान्तर गतिविधि गरेपछि तनाव उत्पन्न भयो ।

    कार्यालय परिसरमा संस्थापन पक्षले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । तर, त्यही समयमा असन्तुष्ट पक्षले पनि छुट्टै पत्रकार सम्मेलन गरेपछि संस्थापन पक्षले हस्तक्षेप गर्‍यो । विवाद बढेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए ।

    असन्तुष्ट समूहका नेता निर्देश सिलवालले अध्यक्ष मिश्रले आफूहरूलाई भ्रममा राखेर पार्टीलाई राप्रपामा विलय गराउन खोजेको आरोप लगाए ।

    पार्टी प्रवक्ता शरदराज पाठकले भने असन्तुष्टका नाममा हुलहुज्जत गरेर सुसंस्कृत राजनीतिलाई विकृत तुल्याउन खोजिएको गुनासो गरे ।

    तीन दिनअघि भएको केन्द्रीय समिति बैठकपछि असन्तुष्ट बनेको समूहले अध्यक्ष मिश्रका विरुद्ध गतिविधि सुरू गरेको छ ।

  • विवेकशील साझाले भन्यो- एमसीसीमा थप राजनीति नहोस्

    विवेकशील साझाले भन्यो- एमसीसीमा थप राजनीति नहोस्

    काठमाडौं । विवेकशील साझा पार्टीले निहित राजनीतिक स्वार्थका कारण एमसीसी पारित गरिएको टिप्पणी गरेको छ । एमसीसीमाथि अब थप राजनीति गर्नु नहुनेमा पनि पार्टीले जोड दिएको छ ।

    साझा विवेकशीलका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा संसदमा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय भएको उल्लेख छ ।

    ‘सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैरजिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदशृत उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु हाम्रोजस्तो मुलुकका लागि शुभ संकेत होइन,’ विज्ञप्तिमा भनिएको छ ।

    एमसीसी कम्प्याक्ट सम्झौतालाई अन्त्यत्न गिजालेर चरम सत्ता दाउपेचको विषय बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

    ‘अन्तत: कुनै संवैधानिक र कानूनी हैसियत नहुने व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएबाट नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    अबका दिनमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको नेपालको भूराजनीतिक जटिलतालाई अझै बल्झाउनु हुने भन्दै पार्टीले त्यस्तो काम कसैबाट पनि हुनु नहुनेमा जोड दिएको छ ।

  • चुनाव चिन्हका लागि संघर्ष गर्न २३ दलले बनाए समिति

    चुनाव चिन्हका लागि संघर्ष गर्न २३ दलले बनाए समिति

    काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाविरुद्ध आन्दोलन गर्न २३ वटा दलले संघर्ष समिति गठन गरेका छन् ।

    विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था अन्यायपूर्ण भएको ठहर गरेको छ ।

    बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा गरेका यसअघि भएका सामूहिक संघर्ष तथा पहलकदमीहरूको समेत अपनत्व लिँदै ‘चुनाव चिन्ह संघर्ष समिति’गठन गरी दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

  • सहिद दिवसको अवसरमा विवेकशील साझा पार्टीद्वारा सहिदगेटमा संकल्प कार्यक्रम

    सहिद दिवसको अवसरमा विवेकशील साझा पार्टीद्वारा सहिदगेटमा संकल्प कार्यक्रम

    काठमाडौं, १६ माघ । सहिद दिवसका अवसरमा विवेकशील साझा पार्टीले राजधानीको सहिदगेटमा संकल्प कार्यक्रमको आयोजना गरेको छ ।

    देशलाई निरंकुश व्यवस्थाबाट मुक्ति दिलाउन ज्यानको आहूति दिने सहिदहरु धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द लगायत थुप्रै ज्ञातअज्ञात सहिदप्रति श्रद्धासुमन प्रकट गर्दै उनीहरुले देखाएको मार्गमा प्रतिवद्ध रहने संकल्प गरिएको हो ।

    कार्यक्रममा सहभागी पार्टीका सदस्यहरुले पटकौंपटक भएका आन्दोलन र बलिदानीबाट पनि जनताका न्यूनतम अधिकार र आकांक्षा पूरा हुन नसकेकोतर्फ चिन्ता व्यक्त गरे । सहिदहरुको सपना पूरा गर्न र जनताका न्यूनतम आवश्यकता पूरा गर्न फेरि संघर्ष र आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै नेताहरुले त्यसका लागि तयार रहन सबैलाई अपीलसमेत गरे ।

    कार्यक्रममा पार्टीका नेताहरु शोभा शाक्य, निर्देश सिलवाल, प्रकाशचन्द्र परियार, पुरुषोत्तम ढुंगेल, उद्धवराज भेटुवाल, विकास मानव लगायतले बोलेका थिए ।

  • विवेकशील साझाको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

    विवेकशील साझाको निर्णयविरुद्ध पाण्डेको उजुरी निर्वाचन आयोगद्वारा खारेज

    काठमाडौं । विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न माग सहित तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी आयोगले खारेज गरिदिएको छ ।

    विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले पुनरावलोकनको लागि उजुरी दिएकोमा आयोगको पुष १२ गते बसेको बैठकले पाण्डेको विपक्षमा निर्णय गरेको हो ।

    पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको र पार्टी नेतृत्वले बैठकको उपस्थितिमा किर्ते गरेको आरोपसहित आयोगमा पुनरावलोकनको निवेदन दिएका थिए ।

    आयोगले आफ्नो सो निर्णय नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र विवेकशील साझा पार्टीको साबिकको विधान २०७४ को पहिलो संशोधन बमोजिम नै रहेको ठहर गरी पाण्डेको निवेदनमा थप कारबाही आवश्यक नरहेको ठहर गरेको हो । आयोगले पाण्डेलाई सो निर्णयको जानकारी दिइसकेको छ ।

    पटक–पटक सचेत गराउँदा पनि आफ्नो पदीय जिम्मेवारीको प्रतिकुल पार्टी हित विपरीतका समानान्तर गतिविधि गरेको, पार्टी बैठकमा लगातार अनुपस्थित रहेको, पार्टी र नेतृत्वबारे आधारहीन आरोपसहित प्रचारबाजी गरेको भन्दै विवेकशील साझा पार्टीले तत्कालीन संयोजक पाण्डेसँग स्पष्टीकरण माग गरेको थियो ।

    स्पष्टीकरणमा चित्तबुझ्दो आधार पेस नगरेको र उल्टै नेतृत्वमाथि आधारहीन आरोप लगाएको ठहरसहित पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाण्डेलाई सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो ।

  • राप्रपा र विवेकशील साझाबीच एकताको पहल सुरु, तर पार लाग्न कठिन

    राप्रपा र विवेकशील साझाबीच एकताको पहल सुरु, तर पार लाग्न कठिन

    काठमाडौं । राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राजतन्त्रका विषयमा नरम दृष्टिकोण राख्ने विवेकशील साझा पार्टीबीच सम्भावित एकताको पहल सुरू गरिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच आज भएको भेटवार्तामा एकताका विषयमा छलफल भएको थियो ।

    लिङदेन नेतृत्वमा आएपछि राप्रपाले विचार मिल्नेहरूसँग सहकार्य र एकता गर्ने नीति लिएको छ । यसका लागि पार्टीको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा वार्ता समिति समेत बनाएको थियो । यही सिलसिलामा लिङदेन र राणा आज मिश्रलाई भेट्न उनको निवासमै पुगेका थिए ।

    भेटघाटपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै मिश्रले दुई पार्टीबीच सम्भावित एकताको विषयमा अनौपचारिक कुराकानी भएको बताए । यद्यपि, यो सहज विषय नभएको उनको प्रतिक्रिया छ ।

    ‘राप्रपा विवेकशील साझामा आएर मिल्न सक्दैन, विवेकशील राप्रपामा मिल्न सक्दैन,’ मिश्रले भने, ‘तर, दुवै मिलेर नयाँ विकल्प सिर्जना गर्ने सम्भावनाको बारेमा हामी खुला छौं ।’

    राप्रपा महामन्त्री डा. राणाले एकताको लागि पहल सुरू भएको बताए ।

    उनले भने, ‘सामान विचार भएकाहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो धारणा हो । विवेकशील-साझासँग यस विषयमा छलफलको सुरूआत भएको छ । तर, एकतासम्म पुग्न धेरै कुराहरू मिलाउनुपर्ने हुन्छ । हेर्दै जाउँ ।’

    डा. राणाले एकताका विषयमा आफ्नो पार्टीभित्र छलफल हुने बताए । मिश्रले पनि ठोस प्रस्ताव आएको खण्डमा पार्टीमा छलफल हुनसक्ने उल्लेख गरे ।

    विवेकशील साझाका अध्यक्ष मिश्रले केही समयअघि ‘विचारभन्दा माथि देश’ भन्दै नयाँ दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमा संघीयता उल्टाउनुपर्ने र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह गर्नुपर्ने मिश्रले बताएका छन् । राजसंस्थाको विषयमा पनि सहानुभूति दर्शाइएको यो दस्तावेजलाई विवेकशील साझाको केन्द्रीय समितिले पारित गरिसकेको छ । यससँगै राप्रपा र विवेकशील साझा विचारधारात्मकरूपमा नजिकिएका हुन् ।

    संघीयता उल्टाउनुपर्नेमा राप्रपा र विवेकशीलको मत मिलेको छ । यस्तै, धर्मनिरपेक्षताका विषयमा पनि उनीहरू नजिक भएका छन् । राप्रपा धर्मनिरपेक्षता पनि उल्टाएर हिन्दू राज्यमा फर्किनुपर्ने पक्षमा छ भने विवेकशील साझाले सोझै त्यसो नभने पनि यसको निर्णय जनतालाई गर्न दिनुपर्ने भनेको छ ।

    राजसंस्थाको विषयमा भने दुई पार्टीमा अझै अन्तराल देखिन्छ । विवेकशील साझाले खुलेर राजसंस्थाको पक्षपोषण गरेको छैन । मिश्रको दस्तावेजमा नेपालमा गणतन्त्र आउनुमा विदेशीको हात रहेको औंल्याइए पनि गणतन्त्रलाई नै सुधारेर लैजानुपर्ने उल्लेख छ ।

    राप्रपा र विवेकशीलको एकतामा धेरै जटिलता छन् । राप्रपा पुरातनपन्थी र पूर्वपञ्चहरूको पार्टीका रूपमा परिचित छ । याे घाेषितरूपमा राजावादी पार्टी हाे  । विवेकशील साझामा भने शिक्षत र शहरीया युवापुस्ताको बढी झुकाव देखिन्छ । सानो आकारका बाबजुद सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस पार्टीले निकै स्पेस पाउने गरेको छ ।

    संगठनको हिसाबले राप्रपा देशव्यापी सञ्जाल रहेको पुरानो पार्टी हो । यसको नेतृत्वमा पनि हस्ति नेताहरु भरिभराउ छन् । विवेकशील तुलनात्मकरुपमा नयाँ भएकाले यसको सांगठनिक संरचना निर्माणाधीन छ । पार्टीमा राष्ट्रिय छवि बनाएका नेता मिश्र मात्रै हुन् । पार्टीमा उत्पन्न पछिल्लो विवादले एउटा समूह अलग्गिने क्रममा पनि छ ।

    गएको चुनावमा राप्रपाले भन्दा विवेकशीलले बढी मत ल्याएको थियो । संघीयता र धर्मनिरपेक्षताको विपक्षमा उभिएपछि पार्टीको जनमत ह्वात्तै बढेको र आगामी चुनावमा सुखद नतिजा आउने विश्वास विवेकशील साझाका नेताहरूले लिएका छन् । यद्यपि, एक्लैले ठूलो धक्का दिन सम्भव नभएकाले समान विचार भएकाहरू ध्रुवीकृत हुँदै जानुपर्ने पक्षमा मिश्र छन् ।

    यता राप्रपाले पनि लिङदेनको रूपमा युवा नेतृत्व पाएको छ । कमल थापालाई हराएर लिङदेन निर्वाचित हुँदा पार्टीबाहिर पनि सकारात्मक तरंग देखिएको थियो । यसले पार्टीपंतिमा उत्साह बढाएको छ । यद्यपि, महाधिवेशनपछि असन्तुष्ट बनेका कमल थापाले पार्टी फुटाउन सक्ने चर्चा पनि सुरू भएको छ ।

    वैचारिकरूपमा केही समानता भए पनि दुवै पार्टीकाे  आ–आफ्नै लिगेसी, अलग–अलग राजनीतिक धरातल तथा पुस्तान्तारणका कारण पनि याे एकता प्रयासले सार्थकता पाउन कठीन नै देखिन्छ । खासगरि राप्रपासँग एकताकाे विषय विवेकशीलकाे पार्टीपंतीलाइ रूचीकर नलाग्छ सक्छ ।

    राप्रपाले रवीन्द्र मिश्रको दस्तावेज पारित गरेपछि आलोचकहरुले उनलाई ‘बरू राप्रपासँग एकीकरण गर्न’ सुझाव दिएका थिए । व्यंग्यात्मकरुपमा यस्तो सुझाव दिइएको भए पनि राप्रपा र विवेकशील साझा साँच्चै एकताका लागि प्रयास हुनु नेपाली राजनीतिको रोचक प्रसंग हो ।

     

  • माओवादी महाधिवेशनमा प्यानल प्रस्तुत गरिने, प्रचण्डसहितका पदाधिकारीको चयन केन्द्रीय कमिटीबाट (भिडिओ)

    माओवादी महाधिवेशनमा प्यानल प्रस्तुत गरिने, प्रचण्डसहितका पदाधिकारीको चयन केन्द्रीय कमिटीबाट (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन ५ दिनसम्म चल्न सक्ने देखिएको छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएपछि तीन दिन बढाएर ५ दिन हुन लागेको हो ।

    केन्द्रीय कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले महाधिवेशन हलमा केन्द्रीय कमिटी सदस्यको प्यानल प्रस्तुत हुने र त्यसमा असहमति भएमात्र चुनावमा लगिने बताए ।

    महराले भने, ‘२९९ प्लस केही सदस्यको प्यानल केन्द्रीय कमिटीको तर्फबाट प्रस्तुत हुन्छ । सहमति भए भइहाल्छ नभए चुनावमा जाने हो । हाम्रोमा महाधिवेशन हलबाट केन्द्रीय सदस्यमात्र चयन हुन्छन्, केन्द्रीय कमिटीले अध्यक्ष र अन्य पदाधिकारी चयन गर्ने हो ।’

  • विवेकशील त्याग्दै रन्जुले भनिन्- मेरो पार्टीले वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर बढायो

    विवेकशील त्याग्दै रन्जुले भनिन्- मेरो पार्टीले वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर बढायो

    काठमाडौं । विवेकशील साझा पार्टीको नेता तथा काठमाडौं महानगरपालिको मेयरको उम्मेदवार बनेर तेस्रो भएपछि चर्चामा आएकी युवा रन्जु दर्शनाले सो पार्टी परित्याग गरेकी छन् ।

    उनले विहीबार प्रेस विज्ञप्तिमार्फत अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिकरूपमा सक्रिय रहने भन्दै आफ्नो नामको सँगै नेपाली युवा राखेकी छन् ।

    राजनीतिमा सके सफा गर्ने, नसके फोहोर नगर्ने भनेर प्रवेश गरेकी दर्शनाले आफू संलग्न पार्टीले नै वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेपछि परित्याग गरेको बताएकी छन् ।

    उनले विज्ञप्तिमा भनेकी छन्, ‘फोहोर सफा गर्ने जुन मैले कोसिस पनि गरेँ तर पूर्णरूपले सफा गर्न असमर्थ रहेँ । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिन । म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु ।’

  • विवेकशील साझाले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

    विवेकशील साझाले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ गर्ने

    काठमाडौं । विवेकशील साझा पार्टीले ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ सुरू गर्ने भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर यही पुस २७ मा कञ्चनपुरबाट यात्रा सुरू गरिने र माघ १६ गते शहीद दिवसको दिन झापामा अन्त्य हुने प्रवक्ता शरदराज पाठकले बताए ।

    जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न यात्रामार्फत ‘विचारभन्दा माथि देश’ नै हो भन्ने भावना प्रवर्द्धन गर्दै राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा सर्वसाधारणसम्म पुर्‍याउने विवेकशीलले जनाएको छ ।

    देशको स्वार्थ भन्दा राजनीतिकर्मीको स्वार्थ प्रधान हुँदै जाँदा नेपालको स्वाभिमान क्षयीकृत हुँदै गएकोले सबैभन्दा माथि देश नै हो भन्ने भावना हामी प्रवर्द्धनको सुरूआतका लागि राष्ट्रिय एकता दिवस एकमात्र विकल्प भएको अध्यक्ष रवीन्द्र मिश्रले बताएका छन् ।

  • विवेकशील साझा पार्टीबाट मिलन पाण्डे निष्कासित (पत्रसहित)

    विवेकशील साझा पार्टीबाट मिलन पाण्डे निष्कासित (पत्रसहित)

    काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले साे निर्णय गरेकाे हाे ।

    पाण्डेले विवेकशील साझा पार्टी सुदृढीकरण अभियानका नाममा हिजो २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए । यसलाई पार्टी विभाजनको प्रयासका रुपमा लिएर संस्थापन पक्षले पाण्डेलाई निश्काशित गरेको हो । पार्टीको संयोजक पदमा रहेका पाण्डेको कार्यकारी अधिकार भने यसअघि नै खोसिएको थियो ।

    विवेकशील साझा पार्टीले पाण्डेलाई लेखेको कारवाही सम्वन्धी पत्रमा पार्टीको नाम, लेटरहेड, छाप, चुनावचिन्ह लगायतका सामग्री प्रयोग नगर्न भनिएको छ । यदि प्रयोग गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी पनि दिइएको छ ।

    विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक पाण्डेबीच विचारधारात्मक संघर्ष थियो । मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह गर्नुपर्ने एजेन्डा अघि सारेपछि पाण्डे असन्तुष्ट बनेका थिए । पार्टीको अत्यधिक बहुमतले मिश्रको एजेन्डालाई पारित गरिसकेको छ ।

    पाण्डेलाई कारबाही गरिएको जानकारी गराइएको पत्र यस्तो छः

    मितिः ६ पुस २०७८, मंगलबार

    श्री मिलन पाण्डे,
    काठमाडौं ।

    विषयः पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको बारे।

    विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईँले पार्टीलाई गम्भीर क्षति पु¥याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार तपाईँसँग पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण (च. सं. ५०१) माग गरिएको विदितै छ।

    पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईँको स्पष्टीकरणमा तपाईँसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ।

    तपाईँले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ।

    अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।

    तपाइँले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ।