Category: फोटो फिचर

  • नयाँ वर्षको अवसरमा टुँडिखेलमा ओशो महोत्सव (तस्बिरहरु)

    नयाँ वर्षको अवसरमा टुँडिखेलमा ओशो महोत्सव (तस्बिरहरु)

    काठमाडौं । काठमाडौँको टुँडिखेलमा नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ ।

    शुक्रबार बिहान ९ देखि सुरु महोत्सव राति ९ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा राजनीतिकर्मीदेखि कलाकार तथा सर्वसाधारणहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

  • त्रिवि मैदानमा देखिएको क्रिकेट क्रेज (तस्विरहरु)

    त्रिवि मैदानमा देखिएको क्रिकेट क्रेज (तस्विरहरु)

    काठमाडौं । आजको दिन नेपाली क्रिकेटप्रेमीहरुका लागि विशेष स्मरणीय बनेको छ । नेपालले यूएईलाई हराउँदै जिम्बावेको टिकट काट्यो, जहाँ विश्वकपमा स्थान बनाउन अन्तिम लडाइँ नेपालले लड्नेछ ।

    आजको खेल दौरान कीर्तिपुरस्थित त्रिवि मैदानको माहोल अभूतपूर्व थियो । अहिलेसम्मकै ठूलो संख्यामा दर्शक उपस्थित थिए ।

    हिजै सबै टिकट सोल्डआउट भइसकेकाले मैदान पुग्नेहरु धेरैले टिकट पाउन सकेनन् । टिकटविना प्रवेश गर्न खोज्नेहरुलाई रोक्न प्रहरीले लाठीचार्जसमेत गरेको थियो । टिकट नपाएका दर्शकहरुले रुख चढेरसमेत खेलको मज्जा लिए ।

    नेपाली समर्थकहरुको उत्साहलाई खेलाडीहरुले निराशामा बदलिन दिएनन् । यूएईविरुद्ध नेपालले बहादुरीपूर्ण जीत हासिल गर्‍यो । नेपालका हरेक विकेट र हरेक रनमा दर्शकहरुले सेलिब्रेट गरेका थिए । यसअघि नेपालमा कुनै पनि क्रिकेट खेलमा यो स्तरको उत्साह देखिएको थिएन ।

    हेर्नुस् आजको खेलका क्रममा खिचिएका केही तस्विरहरुः

  • जुत्ताचप्पलको शपिङ ‘डेस्टिनेशन’ बन्दै भृकुटीमण्डप (तस्विर/भिडिओ)

    जुत्ताचप्पलको शपिङ ‘डेस्टिनेशन’ बन्दै भृकुटीमण्डप (तस्विर/भिडिओ)

    काठमाडौं । प्रदर्शनी, सभासमारोह र मेला आदिका निम्ति भृकुटीमण्डप पहिलादेखि नै चिर परिचित ठाउँ हो । हाल भृकुटीमण्डप नेपाली ब्राण्डका जुत्ताचप्पलको शपिङ ‘डेस्टिनेशन’ को रुपमा पनि चिनिन थालेको छ ।

    काठमाडौंवासीका लागि मात्र नभएर विभिन्न काम विशेषले राजधानी आइपुगेका सर्वसाधारण पनि सुपथ मूल्यमा गुणस्तरीय जुत्ता किन्न भृकुटीमण्डप नै पुग्न थालेका छन् ।

    यसरी भृकुटीमण्डपलाई जुत्ता किन्ने गन्तव्यस्थल स्थापित गराउन बेला बेलामा यहाँ आयोजना हुने जुत्ताचप्पल मेलाको विशेष भूमिका छ ।

    भृकुटीमण्डपमा अहिले पनि नेपालका केही स्थापित ‘फुटवेयर ब्राण्ड’को संयुक्त आयोजनामा ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ जारी छ ।

    जारी मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डका ‘एक्स्क्लुसिभ’ डिजाइनका जुता तथा चप्पलहरु अन्य बजारमा कम सुपथ मूल्यमा पाइने आयोजकहरुको दाबी छ ।

  • त्रिवि क्रिकेट मैदानमा नेपाली खेलाडीको निरन्तर सेलिब्रेसन (तस्विरहरू)

    त्रिवि क्रिकेट मैदानमा नेपाली खेलाडीको निरन्तर सेलिब्रेसन (तस्विरहरू)

    काठमाडौं । विश्वकप लिग- २ क्रिकेटअन्तर्गत बिहीबार पपुआ न्युगिनी (पीएनजी)लाई हराएपछि नेपालले विश्वकप छनोटमा पुग्ने सम्भावना कायमै राख्यो ।

    बाँकी तीन खेलमा जीत हात पारेमा नेपाली टोली सोझै विश्वस्तरको छनोटमा पुग्नेछ । विश्वकप लिग- २ का पछिल्ला आफ्ना ९ खेलमध्ये नेपालले ८ वटा जितेको छ ।

    त्रिवि क्रिकेट मैदानमा भएका एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीले लगातार ७ खेलयता जीत हात पारिरहेको छ ।

    पीएनजीविरुद्धको पछिल्लो खेलमा ब्याटिङतर्फ आसिफ शेख र बलिङतर्फ सन्दीप लामिछानेले बेजोड प्रदर्शन गरेका छन् । आसिफले ११० रन बनाउँदा सन्दीपले ४ विकेट लिए ।

  • होलीमा रंगियो मधेस, गुञ्जियो जोगिरा सररर… (भिडि‌ओ/तस्विर)

    होलीमा रंगियो मधेस, गुञ्जियो जोगिरा सररर… (भिडि‌ओ/तस्विर)

    जनकपुरधाम । मधेसका जिल्लाहरु आज होलीमा रंगिएको छ । जनकपुरधामबाहेक आज अधिकांश मधेसी समुदायले उत्साहपूर्वक होली मनाएका छन् ।

    आपसमा रंग र अबिर दलेर तथा विभिन्न लोकगीत र मिष्ठान्न परिकार खाएर मधेसमा होली मनाइएको छ । मधेसका शहरदेखि गाउँघरसम्म होलीको रौनक छायो । होलीको गीतले मधेस गुञ्जयमान भयो ।

    मधेसमा होली भाउजू, देवर, नन्द, भिनाजु र सालीको लागि महत्वपूर्ण दिन मानिन्छ । देवर र नन्दले भाउजूलाई, भाउजूले देवर र नन्दलाई तथा भिनाजुले सालीलाई तथा सालीले भिनाजुलाई रंग लगाउँदै हँसीठट्टा गर्दै मधेसमा होली मनाउने चलन छ । तिनीहरूले एकअर्काको शरीरभरि रंग दल्ने गर्छन् ।

    होली पर्वमा आपसी द्वेष बिर्सेर सबैले एकअर्कालाई रंग दल्ने, मिल्ने साथी, इष्टमित्र र छिमेकीलाई घरमा बोलाएर मालपुवा, खजुरी, पुरीलगायतका मीठा परिकार र माछामासुका परिकार खुवाउने र खाने प्रचलनले गर्दा यसलाई सामाजिक सद्‌भावको पर्व मानिएको हो ।

    सामाजिक सद्‌भाव अभिवृद्धि गर्नु, सबै खुशीयालीपूर्वक होली मनाउनु, विगतका वैमनश्यलाई बिर्सेर नयाँ सम्बन्ध बनाउनु नै यस पर्वको मुख्य आकर्षण रहेको जनकपुरधामका युवा अभियन्ता शैलेन्द्र चोरवार यादव बताउँछन् ।

    होली उत्साह र मनोरञ्जनको पर्व पनि हो । तर, होलीको अवसरमा मनोरञ्जनको नाममा पछिल्लो समय मदिरा र भांग, गाँजा र अन्य नशालु पदार्थ सेवन गरी झैंझगडा गर्ने, बाटो हिँडिरहेका महिलालाई बलजफ्ती रंग दल्ने, जिस्काउनेलगायतका विकृति बढेको छ । होली मर्यादित बनाउन हरेक जिल्लामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

    गुञ्जियो जोगिरा सररर

    पछिल्लो समय जोगिरा लोपोन्मुख छ । लहानका केही वृद्ध र युवाहरुको एक समूहले भने ढोलक, डम्फू र मृदङ्गको तालमा जोगिरा गाएर होली मनाए ।

    कौन तालपर ढोलक बाजे, कौन ताल मृदङ्ग
    कौन तालपर गोरिया नाचे, कौन तालपर हम
    जोगिरा सररर…

    जस्ता जोगिरा उनीहरुले गाएपछि धेरैको मन जित्न सफल भए । उनीहरुले जोगिरा संरक्षण गर्न आफ्नै लगानीमा ढोलक, दम्फू, मृदङ्गलगायतका बाजा किनेर होली मनाएको बताएका छन् ।

    यस्तो छ मान्यता

    परापूर्वकालमा हिरण्यकश्यपु नाम गरेका एक शक्तिशाली नास्तिक राजाले आफ्नै छोरा प्रह्लादलाई आगोमा जिउँदै जलाए मार्न खोज्दा सँगै बसेकी राजाकी बहिनी होलिका आगोमा जलेर भस्म भएको तर प्रह्लाद भगवान विष्णुको भक्तिको शक्तिले बाँच्छन् ।

    त्यसैले होलीको अघिल्लो रात होलिका दहन गर्ने परम्परा सुरु भयो । यो परम्परा मधेसका गाउँघरमा आज पनि चलनचल्तीमा छ । असत्यमाथि सत्यको विजयस्वरुप मधेसको हरेक गाउँमा होलिका दहन गरिँदै आएको छ ।

    होलीमा मधेसी समुदाय विभाजित

    धार्मिक पात्रोअनुसार मधेसमा आज होली हो । जनकपुरधाममा भने आज अन्तरगृह परिक्रमा भएकाले भोलिमात्रै होली मनाइने भएको छ । परिक्रमाको दिन माछा, मासु र मदिरा बर्जित छ ।

    आज जनकपुरधाममा माछा, मासु र मदिराको खरिद बिक्री र सेवनमा प्रतिबन्धसमेत लगाएको र परिक्रमाको बिहानपल्ट होली मनाउने पौराणिक मान्यता रहेकाले जनकपुरधाममा होली भोलि मनाइने भएको हो ।

    पात्रोअनुसार जनकपुरधामबाहेक मधेसका जिल्लाहरु आज होली मनाउनुपर्ने हो । तर, मंगलबार धेरैले माछामासु नखाने भएकाले होली भोलि मनाइनेछ ।

  • सुर्खेतमा लघुवित्त संस्थाहरुको ज्यादतीविरुद्ध प्रदर्शन (तस्विरहरुसहित)

    सुर्खेतमा लघुवित्त संस्थाहरुको ज्यादतीविरुद्ध प्रदर्शन (तस्विरहरुसहित)

    सुर्खेत । सुर्खेत जिल्ला प्रशासन कार्यालयमा लघुवित्त संस्थाहरूको ज्यादतीविरुद्ध पीडितहरुले प्रदर्शन तथा धर्ना दिएका छन् ।

    लघुवित्त संस्थाविरुद्धको सङ्घर्ष समितिले प्रशासनमा र्‍यालीसहित विरोध प्रदर्शन तथा धर्ना दिएको हो ।

    पीडितहरुले नवसामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरु खारेज गर, लघुवित्त संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर लेखिएका प्लेकार्ड र ब्यानर बोकेर विरोधमा उत्रिएका छन् ।

    सातै वटा प्रदेशमा लघुवित्त संस्थाविरुद्धको सङ्घर्ष समितिले विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम राखेको कर्णाली प्रदेशका संयोजक रमेश सुनारले जानकारी दिए ।

    उनका अनुसार ७७ वटा जिल्लाका प्रशासनमा अनसन बस्ने र धर्ना बस्ने कार्यक्रम भइरहेको छ ।

  • क्रिकेटका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा (तस्बिरहरू/भिडिओ)

    क्रिकेटका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा (तस्बिरहरू/भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले बिहीबार विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।

    खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।’

    क्रिकेटको कारण देशकै गौरव र प्रतिष्ठा बढेको भन्दै उनले खोलाडीहरूलाई प्रेरणास्वरुप सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गरे ।

    ‘पहिला पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कूटनीतिक उचाइका लागि पनि भएको छ । तसर्थ खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ ।’

    छोटो समयमै नेपाली क्रिकेटले पाएको सफलताले आफूलाई पनि राजनीतिमा प्रेरणा दिएको उनको भनाइ छ ।

    सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

    त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो । नेपालले लिग-२ को त्रिकोणात्मक श्रृंखलामा पहिलो पटक क्लिन स्विप गरेको थियो । नेपालले श्रृंखलामा नामिबिया र स्कटल्याण्डमाथि २-२ खेलमा विजय हात पारेको हो । नेपालले लगातार चार खेलमा जीत निकालेको पनि यो पहिलो हो ।

    नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्याण्डलाई तीन र दुई विकेटले पराजित गरेको थियो । स्कटल्याण्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो ।

    नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अर्को हप्ता यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि यूएई जाँदैछ । नेपाली टोलीले यूएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ ।

    नेपालले फागुन १५ मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुवात गर्नेछ । फागुन १८ मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । त्यस्तै फागुन १९ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा फागुन २२ मा घरेलु टोली यूएईसँग खेल्नेछ ।

    युएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जीसी र श्याम (मौसम) ढकाल रहेका छन् ।

  • खेलाडीकाे पाैरख, समर्थककाे उल्लास (फोटोफिचर)

    खेलाडीकाे पाैरख, समर्थककाे उल्लास (फोटोफिचर)

    काठमाडौं । नेपालले विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा आयोजित श्रृंखला क्लीन स्वीप गरेको छ । अत्यन्तै कठिन अवस्थाबाट स्कटल्यान्डविरुद्ध जीत निकाल्दा घरेलु दर्शकहरुमा खुशीको सीमा भएन ।

    यसअघिका म्याचहरुमा जस्तै आज पनि उल्लेख्य संख्यामा समर्थकहरु नेपालको खेल हेर्न त्रिवि मैदानमा ओइरिएका थिए । उनीहरुले चाहेको जस्तो मनोरञ्जन प्राप्त गरे । खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक थियो । एक समय नेपाल हारको नजिक देखिएको थियो । तर, कप्तान रोहित पौडेलले उद्धार गरे । उनलाई करण केसीले साथ दिए ।

    खेलपछि नेपाली टीम कप्तान पौडेल र करणप्रति अनुग्रहित देखिन्थ्यो । खेल अवधिभर शान्त रहेका पौडेलको अनुहारमा जीतपछि मुस्कान छचल्किएको थियो । नेपाली टीमका प्रशिक्षक मोन्टी देसाई पनि सन्तुष्ट भावमा थिए । प्रशिक्षकका रुपमा यो उनको पहिलो प्रतियोगिता थियो र शतप्रतिशत जीत दिलाउन सफल भए ।

  • त्रिवि मैदानको दृश्य: सन्दीपको नाममा समर्थकको हुटिङ, नेपालको जीतले छायो खुशी (तस्वीरहरु)

    त्रिवि मैदानको दृश्य: सन्दीपको नाममा समर्थकको हुटिङ, नेपालको जीतले छायो खुशी (तस्वीरहरु)

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेले आज त्रिवि मैदानमा सुखद पुनरागमन गरेका छन् । उनी ६ महिनापछि मैदानमा फर्किंदा क्रिकेट समर्थकहरुले हुटिङसहित न्यानो स्वागत गरे ।

    सन्दीपलाई राष्ट्रिय टीममा राखिएको विषयलाई लिएर केही महिलावादीले ट्विटरमा निरन्तर प्रश्न उठाइरहेका थिए । उनीहरुको बोलीमा लोली मिलाउँदै नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सन्दीपलाई टीममा राख्न नहुने आशयको स्टाटस लेखे । तर, क्रिकेट समर्थकमा भने सन्दीपको क्रेज यथावत देखिएको छ ।

    आज सार्वजनिक यातायात नचलेको भए पनि त्रिवि मैदानमा उल्लेख्य संख्यामा दर्शकको उपस्थिति थियो । उनीहरु सबैको सबैभन्दा चासोमा थिए सन्दीप । कतिपय दर्शकले सन्दीपकै लागि मैदानमा खेल हेर्न आएकोसमेत बताए । केहीले उनको नाम लेखिएको प्लेकार्ड बोकेका थिए ।

    सन्दीप १० ओभरपछि बलिङमा आउनासाथ दर्शक दीर्घाबाट चर्को हुटिङ सुरु भयो । उनीहरुले सन्दीप.., सन्दीप… भन्दै नाराबाजीसमेत गरे । सन्दीपले पनि समर्थकहरुलाई निराश बनाएनन् । आफूले फ्याकेको दोस्रो बलमै उनी विकेट लिन सफल भए । त्यसपछि त के थियो, समर्थकहरु उफ्रीउफ्री नाच्न थाले ।

    यो विकेट सन्दीप स्वयंका लागि अविस्मरणीय थियो । विकेट लिएपछि उनी भावविह्वल भएर साथी खेलाडीहरुको अंगालोमा रोएका थिए । यसले त्रिवि मैदानमा एकछिन भावुक माहोल बन्यो । बलरका लागि कठिन पीचमा सन्दीपले ३ विकेट लिँदै आफ्नो पुनरागमन सार्थक बनाएका छन् ।

    सन्दीपले आज ब्याटिङको मौका पनि पाए । कुशल भुर्तेल आउट भएपछि जीतको औपचारिकतामात्र बाँकी छँदा सन्दीपलाई पठाइएको थियो । उनी ब्याटिङमा आउँदासमेत दर्शकले हुटिङ गरेका थिए ।

    तर, उनी पहिलो बलमै आउट भए । छक्का हान्ने धुनमा उनी क्याचआउट भएका थिए । तर, त्यसले खेलको समीकरणमा कुनै फरक परेन ।

    नेपालले खेल जितेपछि खेलाडीहरु सबै फ्यानतर्फ केन्द्रित भएका थिए । अन्य खेलाडीहरु फ्यानलाई हात हल्लाउँदै अघि बढ्दा सन्दीप सबैभन्दा पछिपछि गम्भीर मुद्रामा थिए । उनलाई क्यानका अधिकारीले फ्यानहरुबाट टाढा बस्न सुझावसमेत दिएका थिए ।

    यद्यपि सन्दीपले केही फ्यानहरुलाई आफ्नो अटोग्राफ दिन भ्याए ।

    भ्यालेन्टाइन्स डेका दिनमा नेपाली क्रिकेट टीमले फ्यानहरुलाई मीठो जीतको उपहार दियो । केही दर्शकहरु जोडीसहित मैदानमा उपस्थित थिए ।

  • जाडोयाममा पनि व्यस्त धनकुटाको नमस्ते झरना (तस्बिरहरु)

    जाडोयाममा पनि व्यस्त धनकुटाको नमस्ते झरना (तस्बिरहरु)

    धनकुटा । भेडेटार क्षेत्रको एक प्रमुख आकर्षक गन्तव्य नमस्ते झरना मुलतः गर्मीयाममा व्यस्त हुन्छ। धरान, इटहरी र विराटनगर जस्ता प्रदेश १ का प्रमुख सहरहरुबाट मात्रै होइन सिमापारीका भारतीय आगन्तुकहरुको गन्तव्य नमस्ते झरना हो।

    कोसी राजमार्गबाट आधा घन्टाको पैदलमार्गबाट पुगिने यो झरनामा जाडोमा पनि उतिकै भीड हुन्छ । टिकट काउन्टरकी कर्मचारी शशी राईले पुस माघको जाडोमा पनि झरना हेर्न आउने नरोकिएको बताइन्।

    उनले भनिन,‘दिनको ५० आसपास मान्छे त आउछन् ।’ स्थानीय लिम्बु भाषामा ‘सिम्सुवा’ भनिने यो झरना ८० मिटर हाराहारी अग्लो छ। झरना पुग्ने ट्र्याक बनेको छ। प्रवेश स्वदेशीलाई ४० र विदेशीलाई ८० प्रति व्यक्ति तोकिएको छ।

     

  • तस्विरहरुमा अभिनेत्री शुभेच्छा र प्रेमी आश्वासनको इन्गेजमेन्ट

    तस्विरहरुमा अभिनेत्री शुभेच्छा र प्रेमी आश्वासनको इन्गेजमेन्ट

    काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरटेसनल शुभेच्छा खड्काले खुसी व्यक्त गर्दै आफ्नो इन्गेजमेन्टका तस्विरहरु शेयर गरेकी छन् । शुभेच्छाले काठमाडौंको एक होटलमा बिहीबार प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

    प्रेमी आश्वासनलाई आफ्नो जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति बताउँदै उनले सामाजिक सञ्जालमा केही फोटोहरु शेयर गरेकी हुन् ।

    गत महिना आश्वासनले चितवनको एक जमघटमा शुभेच्छालाई विवाहको प्रस्ताव राख्दै रिङ लगाइदिएका थिए । करिब दुई वर्ष लामो प्रेम सम्बन्धपछि आश्वासन र शुभेच्छाले सीमित परिवार, आफन्त र केही सेलिब्रिटीहरुको उपस्थितिमा इन्गेजमेन्ट गरेका थिए ।

  • माधव र झलनाथले घनश्यामलाई पार्टीमा गरे स्वागत (तस्बिरहरु)

    माधव र झलनाथले घनश्यामलाई पार्टीमा गरे स्वागत (तस्बिरहरु)

    काठमाडौं । नेकपा एमाले छाडेर प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरुले भुसाललाई स्वागत गरेका हुन् ।

    कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन नेता भुसाल आफ्नो पार्टीमा जोडिएकोप्रति अध्यक्ष नेपालले खुशी व्यक्त गरे । उनले नेकपा एमाले अब सुध्रिनेवाला नभएको टिप्पणीसमेत गरे ।

    नेता भुसाल एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दर्जनौं आरोप लगाउँदै नेकपा एसमा प्रवेश गरेका थिए ।

  • इलाममा बन्यो प्रदेश १ को पहिलो स्काइब्रिज (तस्बिरहरू)

    इलाममा बन्यो प्रदेश १ को पहिलो स्काइब्रिज (तस्बिरहरू)

    इलाम । प्रदेश १ मा पहिको स्काइब्रिज शुक्रबारबाट औपचारिक उद्घाटनमा आएको छ। इलामको सूर्योदय नगरपालिका वडा नम्बर ७ को मेची राजमार्गको छेवैमा बनेको ब्रिजको संचालनमा आएको हो ।

    पर्यटन क्षेत्र कन्यामको आकर्षक चिया बगान देखि हिमालसम्म देखिने ब्रिजको सबैभन्दा सिरानमा सिसा टेकेर दृश्य लिइन्छ । त्यहाँ पुगेर धेरैले मनोरञ्जन लिने र डरको अनुभव गर्छन् ।

    कन्याम क्लाउड्सको नामक कम्पनीबाट बनेको ब्रिजको सम्पुर्ण प्याकेज लगानी पाँच करोड भएको लगानीकर्ता इटहरीका पर्यटन व्यवसायी सुनिल भुसालले जानकारी दिए। उनले भने, ‘अहिले ब्रिज मात्रै संचालन भएको हो। बाकी होटल, स्विङ देखि थप पूर्वाधार निर्माणकै क्रममा छन् ।’ देशभर यस्तै परियोजना गर्दै आएको वन्डर्स नेपालका सिइओले स्थानीयको सहयोग भए लगानी गर्ने बताए।

    उद्घाटनमा मेयर रणबहादुर राई, निर्माणकर्ता वन्डर्स नेपालका सिइओ सोहन श्रेष्ठ, नायिका वर्षा राउत, गायिका एलिना चैहान लगायतक प्रदेश १ का थुप्रै पर्यटन क्षेत्रका हस्तिहरुको उपस्थिति रहेको थियो।

       

  • जनकपुरधाममा दीपावलीको रौनक (तस्वीरहरुसहित)

    जनकपुरधाममा दीपावलीको रौनक (तस्वीरहरुसहित)

    जनकपुरधाम । जनकपुरधाममा हिन्दूहरुको दोस्रो ठूलो पर्व दीपावली तथा तिहारको रौनक छाएको छ । बजारभर जताततै किनमेल गर्ने उपभोक्ताहरुको घुइँचो छ ।

    जुन घरमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्ने धार्मिक जनविश्वास छ । सोही आधारमा हरेक परिवारले धनकी देवी लक्ष्मीको पूजा गरेर दीपावली मनाउँछन् ।

    दीपावली मनाउन विशेषगरी पूजा सामग्री र लत्ताकपडाको खरिद बिक्री अत्यधिक हुने गर्छ । अहिले बजारमा फूलमाला, पूजा सामग्री, इलेक्ट्रिक बल्व र लत्ताकपडा किन्नेहरुको घुइँचो छ ।

    जनकपुरको चोक–चोकमा भगवानको मूर्ति र आकर्षक माला बेच्न राखिएका छन् । जसले बजारको शोभा नै बढाएको छ । दीपावली मनाउन हरेक पसल तथा घर सजाउन सर्वसाधारण व्यस्त छन् ।

     

  • तिहारको रौनक : तपाईंले किन्नुभयो फूलमाला ? (तस्वीरहरु)

    तिहारको रौनक : तपाईंले किन्नुभयो फूलमाला ? (तस्वीरहरु)

    काठमाडौं । हिन्दूहरूको दोस्रो महान पर्व तिहारको आज दोस्रो दिन । तिहारलाई लक्षित गर्दै बजारमा जताततै फूलको माला बिक्री वितरण गर्नेहरु भेटिन्छन् । सरकारले प्लाष्टिकका मालाहरूको प्रयोगमा कडाइ गरेपछि अहिले प्राकृतिक फूलको मालाको माग बढेको छ ।

    अहिलेको मौसम नै फूलको हो । जताततै फूलहरु फुलिरहेको पाइन्छ । काठमाडौंका मुख्य बजारमा अहिले फूलका माला लिएर डुल्नेहरु जताततै भेटिन्छन् । तिहारलाई फूलको पर्व पनि भनिन्छ । घर तथा पसल सजाउन फूलको अधिक प्रयोग हुन्छ ।

    तिहारअन्तर्गत कुकुर तिहार, गाई तिहार, लक्ष्मीपूजा र गोवर्द्धन पूजामा मात्रै होइन भाइटीकामा समेत प्रशस्त फूलको प्रयोग हुन्छ । भाइटीकामा मखमलीको फूलमाला अनिवार्य नै मानिन्छ ।

    पछिल्लो समय नेपालमा फूलको व्यवसायिक खेती बढेको छ । तैपनि फूल आयात हुन छोडेको छैन । फूलको बजार भए पनि भाउ नआउँदा व्यवसायीहरु उत्साहित हुन भने सकेका छैनन् । यसपटक फूलमालामा केही मूल्य बढेको उनीहरुको भनाइ छ ।

  • प्रतिबन्धित प्लाष्टिकका फूल र माला बजारभरि बिक्री, हाेला त कारबाही ? (तस्बिरहरू)

    प्रतिबन्धित प्लाष्टिकका फूल र माला बजारभरि बिक्री, हाेला त कारबाही ? (तस्बिरहरू)

    काठमाडौं । बिहीबार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले नेपालीहरुको दोस्रो ठूलो चाड तिहार र छठलाई लक्षित गर्दै एउटा सूचना जारी गर्यो ।

    तिहार र छठमा सबैभन्दा बढी फूलको खपत हुने र त्यही बेला फूलको अभावहुने भएकाले प्लास्टिकको माला खरिद विक्री हुने भन्दै विभागले सचेत गरायो । विभागले प्लास्टिकको फूलको माला र अन्य सामाग्री खरिद विक्री नगर्न आग्रह गरेको छ ।

    तिहार र छठमा प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने चेतावनी  छ ।

    गत साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय भइसकेको थियो । सोही अनुसार नै प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरिएको विभागले जनाएको छ ।

    विभागको अनुगमनका क्रममा उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुने जारी गरेको सूचनामा उल्लेख छ । तर बजारमा तिहार सुरु नहुँदै प्लास्टिकका फूल तथा मालाहरु बेच्न राखिएको छ ।

    तिहारमा सबैभन्दा बढी भीडभाड हुने असन इन्द्रचोकमा प्लास्टिकका मालाहरु बेच्नका लागि राखिएको छ । व्यापारीहरु खुलमखुला त्यस्तो प्लास्टिकका मालाहरु बेचिरहेको छन् । कतिपय व्यापारीहरु प्लास्टिकको फूल सरकारले प्रतिवन्ध लगाएको जानकारी नभएको बताए ।

    तिहारको बेला सयपत्रीको माला महंगो हुने र प्लास्टिकको माला लामो समय टिकिराख्ने भएकाले पनि प्लाष्टिकको मालाप्रति ग्राहक आकर्षित भएको व्यापारीहरु बताउँछन् ।

    नेपालप्रेसकर्मी आज बिहान असन इन्द्रचोक पुग्दा पसलहरुमा निर्धक्कसँग प्लास्टिकका मालाहरु बेचिरहेका थिए । आफूहरुलाई प्लास्टिकका फूलहरु बेचे कारबाही हुन्छ भन्ने समेत जानकारी नभएको बताए । साथै अनुगमनको लागि पनि कोही सरकारी कर्मचारी नआएको बताए ।

  • पाँच तस्बिरमा विश्वको पाचौं अग्लो चुली मकालु हिमालको आधार शिविर

    पाँच तस्बिरमा विश्वको पाचौं अग्लो चुली मकालु हिमालको आधार शिविर

    संखुवासभा । ८४६३ मिटर अग्लो मकालु हिमाल संखुवासभा जिल्लाको मकालु गाउँपालिका-२ मा पर्छ। ४८७० मिटर उचाईको आधार शिविर पुग्न भने ५००० मिटरको क्षेत्रबाट ओर्लनुपर्छ। आधार शिविरमै खाने बस्नेको सुबिधा भएको तीन टी हाउस संचालित छन् ।

    बरुण नदीको उद्गम थलो समेत भएको आधार शिविर पुग्न औसत हिड्नेहरु नुम बजारबाट ५/६ दिनमा पुग्ने र आउन ३/४ दिन लाग्ने संखुवासभाको धर्मदेवी नगरपालिकाका स्थानीय उज्ज्वल बस्नेत बताउँछन् ।

    उनी भन्छन्, ‘यत्ति पायक भएर पनि आधार शिविरले प्रदेश १ मात्रै होइन जिल्लाकै पदयात्रु तान्न सकेको छैन ।’

  • मकालु आधार शिविर, अरुण ३ र किमाथांका नाकाको ट्रान्जिट नुम बजार (तस्बिरहरु)

    मकालु आधार शिविर, अरुण ३ र किमाथांका नाकाको ट्रान्जिट नुम बजार (तस्बिरहरु)

    संखुवासभा । संखुवासभा सदरमुकाम खादबारी उत्तरको सबैभन्दा ठूलो बजार नुमको चहलपहल धेरै अगाडिबाटै छ। सडक पुग्दाको चहलपहल नुममा नपुग्दा पनि थियो।

    अलैंची क्षेत्र भएको तथा उत्तरी संखुवासभाको मुकाम भएकोले नुमको चहलपहल राम्रो हुँदै आएको हो। विश्वको पाचौं अग्लो चुली मकालु हिमालको आधार शिविर जाने गेटवे बजार नुमबाटै चीन जोड्ने नाका किमाथांका पुगिन्छ।

    साथै, अहिले निर्माणाधीन अरुण३ जस्तो प्रदेश १ को सबैभन्दा विशाल परियोजना क्षेत्रको बजार नि नुम भएकोले थप चहलपहल बढेको स्थानीय पूजा पौडेल बताउँछिन् ।

    मकालु गाउँपालिकाको मुकाम नुममा गाउँ कार्यपालिकादेखि वडा नम्बर ५ को कार्यालय छन् ।

          

  • फूलैफूलको मौसम तिमीलाई…. (तस्वीरहरु)

    फूलैफूलको मौसम तिमीलाई…. (तस्वीरहरु)

    काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएको छ । तिहारलाई फूल र झिलीमिलीको पर्व पनि भनिन्छ । त्यसैले तिहारको लागि फूलको जोहो गर्न सर्वसाधारण व्यस्त छन् ।

    त्यस्तै व्यवसायिक फूल खेती गरेका किसानहरु फूल टिप्न व्यस्त छन् । तर, यसपालि फूल कम फुलेको किसानहरुको भनाइ छ । त्यसमाथि दसैंका वेलाको झरीले फूलसमेत ढिला भएको उनीहरुले बताए ।

    फूल ढिला फुल्दा राम्रो बजार भाउ नपाएको उनीहरुको दुखेसो छ ।

  • सभापोखरीको अफसिजनल दृश्य (तस्वीरहरु)

    सभापोखरीको अफसिजनल दृश्य (तस्वीरहरु)

    संखुवासभा । संखुवासभाको प्रसिद्ध धार्मिक तथा आध्यात्मिक गन्तव्य सभापोखरी यात्रामा स्तरीय होटल छैनन् । टी हाउस छैनन् । गुफा, ओडार, चौर र गोठमा बास बसेरमात्रै यात्रा गर्न सकिन्छ । तैपनि सभापोखरी यात्रामा जानेहरूको लाम लोभलाग्दो छ ।

    जनैपूर्णिमा सभापोखरीको पिक सिजन मानिन्छ । वेला वेला हेलिकप्टर सफरका प्याकेज नि हुन्छन् । बाँकी समयमा यो पोखरीमा त्यत्ति भीड हुन्न ।

    संखुवासभाको गुफा र चैनपुरबाट सभापोखरीको यात्रा हुने गरेको छ । ताप्लेजुङ सिमानामा भएकोले ताप्लेजुङबाट पनि यात्रा हुने गरेको छ । सामान्यतया चारदेखि सात दिनमा सभापोखरीको यात्रा प्याकेज सकिन्छ ।

    लिम्बू भाषामा सभापोखरीलाई ‘सया वरक’ भनिन्छ । ४,१५० मिटर उचाइमा रहेको यही पोखरीको नामबाट स्थानीय तहको नाम सभापोखरी गाउँपालिका राखिएको छ ।

  • वसन्तपुरमा इन्द्रजात्राको रौनक (फोटो फिचर)

    वसन्तपुरमा इन्द्रजात्राको रौनक (फोटो फिचर)

    काठमाडौं । काठमाडौं उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ ।

    विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा-आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । रथ तान्नु अघि बसन्तपुरमा राष्ट्रपति लगाएत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए । त्यस्तै राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवालगायतले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरेका छन् ।

    विभिन्न देवदेवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवीदेवताको रथसँगै शहर परिक्रमा गरेका छन् । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।

    भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ । यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

    तस्बिरहरुः

  • अविरल वर्षाले मनोहरामा बाढी, किनारमा कटान र डुबानमा बस्ती (तस्वीरहरु/भिडिओ)

    अविरल वर्षाले मनोहरामा बाढी, किनारमा कटान र डुबानमा बस्ती (तस्वीरहरु/भिडिओ)

    काठमाडौं । गएराति परेको अविरल वर्षापछि काठमाडौंको मनोहरा खोलामा सतह बढेको छ । मनोहरा उर्लेर आउँदा किनाराका काठमाडौं र भक्तपुरका बस्ती डुबानमा परेका छन् । त्यस्तै भक्तपुरतर्फ मनोहराले कटान गर्दा दिव्यश्वरी प्लानिङको सडक र पार्कमा क्षति पुगेको छ ।

    मनोहरा करिडोर छेउमा दिव्यश्वरी प्लानिङले स्थानीयका लागि हरियालीसहितको पार्क निर्माण गरेको थियो । मनोहराले कालोपत्रे सडकलगायत अन्य संरचनामा समेत क्षति पुर्‍याएको छ । मनोहराकाे कटानले दिव्यश्वरी प्लानिङ क्षेत्र जोखिममा परेको छ ।

    हेर्नुस् तस्वीरहरु

  • गुफा पोखरी र मेन्छ्यायेम डाँडाको सिजनल र अफ-सिजनल दृश्य

    गुफा पोखरी र मेन्छ्यायेम डाँडाको सिजनल र अफ-सिजनल दृश्य

    इटहरी । तेह्रथुमको तीनजुरे, संखुवासभाको मिल्के र ताप्लेजुङको जलजले डाँडाहरुको समष्टि क्षेत्रलाई टीएमजे भनेर चिनिन्छ । टीएमजेलाई गुराँसको राजधानी मानिन्छ ।

    नेपालमा पाइने ३२ प्रजातिका गुराँसमा २८ प्रजाति यही क्षेत्रमा पाउने वातावरणसम्बन्धी काम गर्ने अन्तर्रास्ट्रिय संस्था आईयूसीएनले गरेको अध्ययनले देखाएको छ । यही टीएमजे क्षेत्रको डाँडैडाँडा तेह्रथुमको बसन्तपुर बजारबाट करिब डेढ घण्टा सवारी यात्रामा गुफा पोखरी पुगिन्छ ।

    गुफा पोखरी आकाश खुलेको र खासगरी दशैं-तिहारपछिका केही महिना गुफापोखरीबाट मकालु, कञ्चनजंघा, कुम्भकर्ण हिमाल देखिन्छ । पोखरीमा हिमश्रृंखला डुबुल्की मारेको देख्न सकिन्छ ।

    मेन्छ्यायेम डाँडाबाट प्रदेश १ का सबैजसो जिल्ला देखिन्छ । हिमश्रृङ्खलादेखि तराईका मैदानसम्म देखिन्छ । सूर्योदय हेर्ने मुकाम त हुँदै हो  ।तर, यही क्षेत्रमा असार-साउनको झरी हुने मौसममा भने गुफा पोखरी र मेन्छ्यायेम डाँडा दुवै हुस्सुमा लुक्छन् । बेलाबेला तिनीहरुले अनुहार देखाए पनि हिमालहरुले हत्तपत्त मुहार बादल खोलेर निकाल्दैनन् ।

    २,८९० मिटर उचाइमा रहेको गुफा पोखरी लुक्ला (२,८५० मिटर) भन्दा अग्लो छ । मेन्छ्यायेम झन अग्लो छ । मेन्छ्यायेमको आधार शिविरको सुके बजारको उचाइ नै २,९१० मिटर रहेको आईयूसीएनले उल्लेख गरेको छ ।

    सुके बजारको आधार शिविरबाट झन्डै एक घण्टा उकालो हिँडेपछि मेन्छ्यायेम चुचुरो पुगिन्छ । यसको उचाइ तीन हजार बढी छ ।

  • महंगीविरुद्ध काठमाडौंमा थाल ठटाउँदै महिलाहरुको प्रदर्शन (फोटो फिचर)

    महंगीविरुद्ध काठमाडौंमा थाल ठटाउँदै महिलाहरुको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज भृकुटीमण्डपदेखि माइतीघरसम्म थाल, चम्चा ठटाएर विरोध प्रदर्शन गरेको छ ।

    पार्टीको घोषित कार्यक्रमअनुसार मूल्यवृद्धि, बलात्कार, महिला हिंसा, नागरिकता विधेयकलगायतको विरोध गर्दै विरोध प्रदर्शन गरिएको हो ।

    आज देशैभर राप्रपा समर्थित महिला संगठनले विरोध प्रदर्शन गरिरहेको छ । काठमाडौंको विरोध प्रदर्शनमा केही रोचक दृश्यहरूसमेत देखिएका छन् ।

  • भजनीमा हावाहुरीको बितण्डा: तीन दर्जन बढी घरमा क्षति (फोटो फिचर)

    भजनीमा हावाहुरीको बितण्डा: तीन दर्जन बढी घरमा क्षति (फोटो फिचर)

    कैलाली । गएराति आएको भीषण हावाहुरीले भजनीमा तीन दर्जन बढी घरमा क्षति पु¥याएको छ । यहाँको वडा नम्बर ९ मा सबैभन्दा धेरै क्षति भएको छ । हावाहुरीले वडा नं ९ को ओखरपुर, बेलकोदुवा, पहलवान टोल र भ्वा टोलका घरहरूमा क्षति पुर्‍याएको हो ।

    त्यस्तै वडा नं ४ कुँडीमा पनि हावाहुरीले क्षति पुर्‍याएको स्थानीय खडक बुढाले जानकारी दिए । यहाँ बिजुलीका पोलहरू, रुखहरू पनि घरमा खसेका छन् । मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।

    बर्खाको समयमा हावाहुरीले छत उडाइदिएपछि भएको खाद्यान्न र लत्ताकपडाहरू पनि नष्ट गर्ने चिन्ता स्थानीयमा छाएको छ ।

  • उपमहानगर र महानगरको फोहोर व्यवस्थापन गिज्याउने धनकुटाको ल्यान्डफिल साइट (तस्वीरहरु)

    उपमहानगर र महानगरको फोहोर व्यवस्थापन गिज्याउने धनकुटाको ल्यान्डफिल साइट (तस्वीरहरु)

    धनकुटा । ल्यान्डफिल साइट छिर्ने गेटमा लेखिएको छ, ‘आफ्नो शहर सफा राखौं।’

    यो कुरा नेपालका नगरपालिकाको आम कागजी नारा जस्तोमात्रै होइन । यो नाराको सफल कामै गरेर धनकुटाले देखाएको छ। ३० रोपनी क्षेत्रफलमा फैलिएको २०६६ सालमा निर्माण भएको ल्यान्डफिल साइट नै आकर्षक छ । ४५ प्रजातिका फूलहरुले ढकमक्क फूलबारी छ।

    नकुहिने फोहोरको स्तरीय व्यवस्थापन छ । शौचालय र नुहाउने, लुगा धुने धारामात्रै छैनन् ल्यान्डफिल साइटमा प्लास्टिक संकलनदेखि कम्पोस्ट मल बनाउने भिनभिन्न सेक्सन छन् ।

    बारुणयन्त्र, सेफ्टी ट्यांकी, ट्याक्टरहरु र थुप्रै निजी गाडी पार्किङ गरिएका देखिन्छन् । ती गाडीमा आकर्षक ल्यान्डफिल साइट हेर्न आउने आगन्तुकहरु आउँछन् ।

    सरकारी गाडीहरु पनि कहिलेकाहीं देखिन्छन् । ती गाडीमा विभिन्न स्थानीय, प्रदेश तथा संघ सरकारका आगन्तुकहरु फोहोर व्यवस्थापन सिक्न आउँछन् । धनकुटा- ६ सल्लेरीको यो ल्यान्डफिल साइट बस्तीबाट न्यूनतम १५० देखि ३०० मिटरको दूरीमा मात्रै छ । तर, बस्तीको गुनासो छैन । किनभने गुनासो गर्न लायक दुर्गन्ध ल्यान्डफिल साइटमा छैन । गुनासो गर्न लायक फोहोर छैन । उल्टै ल्यान्डफिल साइट नै घुम्न जाउँ जाउँ खालको छ।

    यही कारण धनकुटालाई नेपाल सरकारले २०७३ मा दोस्रो सबैभन्दा सफा शहर र २०७४ मा पहिलो सबैभन्दा सफा शहरको पुरस्कार दिएको थियो । यो ल्यान्डफिल साइटमा स्थानीय सरकारका २५ र निजी क्षेत्रका १४ गरेर ३९ जनाले प्रत्यक्ष रोजगारसमेत पाएको बताउँछन् धनकुटा नगरपालिकाका वातावरण अधिकृत उपेन्द्र खनाल ।

    खनाल आफैं धनकुटा- ४ देब्रेबास क्षेत्रको घरमा फोहोर व्यवस्थापन गरेर उदाहरण बनेका छन् । धनकुटाको दैनिक फोहोर संकलन १३.५ टन हुने नगरपालिकाको तथ्यांक छ ।

  • पहिरोले पिरोलेको मध्य पहाडी लोकमार्ग (तस्बिरहरू)

    पहिरोले पिरोलेको मध्य पहाडी लोकमार्ग (तस्बिरहरू)

    बसन्तपुर (तेह्रथुम) । मध्य पहाडी लोकमार्गको तेह्रथुम खण्डको ठाउँ-ठाउँमा पहिरो झरेको छ । कतिपय पहिरो पन्छाएर अवरुद्ध सडक सुचारु गरिए पनि साँघुरो भएकाले दोहोरो सवारी चल्न समस्या भएको स्थानीयको गुनासो छ ।

    मध्य पहाडी (पुष्पलाल) लोकमार्गको ११९ किलोमिटर खण्ड तेह्रथुममा पर्छ । असारे झरीले धेरै ठाउँमा पहिरो गएको मध्य पहाडी लोकमार्ग योजना कार्यालय फिदिमका प्रमुख दानकुमार शाक्यले बताए । तर, कति ठाउँमा पहिरो गएको छ भन्नेमा कार्यालयसँग यकिन तथ्यांक नभएको शाक्यले सुनाए ।

    उनले नेपाल प्रेससँग भने, ‘गत ५–६ दिनको झरीले धेरै ठाउँमा पहिरो गएको छ । तर, कति ठाउँमा भन्ने जानकारी छैन ।’

  • मनै लोभ्याउने तेह्रथुमको सङ्लो ह्यात्रुङ झरना (फोटो फिचर)

    मनै लोभ्याउने तेह्रथुमको सङ्लो ह्यात्रुङ झरना (फोटो फिचर)

    पोक्लवाङ (तेह्रथुम) । अहिले झरीको समय छ । बाढीपहिरो आउने समय पनि यही हो । पानीको आँखामा यो धमिलो समय हो । तर, तेह्रथुमको ३६५ मिटर अग्लो ह्यात्रुङ झरना भने सङ्लो झरिरहेको छ ।

    कुहिरोको घुम्टो लाएको ह्यात्रुङ घरी अनुहार लुकाउँछ, घरी देखाउँछ। मध्य पहाडी राजमार्गले छोएको फेदाप गाउँपालिकाको वडा नम्बर ४ र ५ को सिमाना उभिएर झर्ने यो झरना हेर्ने आगन्तुकहरु दसैंतिहारताका धेरै हुन्छन् ।

    तर, पानीको गज्जब मात्रा भने जेठ, असार र साउनमा हुने स्थानीय बताउँछन् । तेह्रथुम सदरमुकामबाट हलिमेला बजारसम्म पिच र बाँकी कच्ची सडक हुँदै पुगिन्छ झरना क्षेत्र । यो दूरी छिचोल्न स्थानीयलाई डेढ घण्टा र बाहिरी आगन्तुकलाई झन्डै तीन घन्टा लाग्छ ।

    २०७४ सालमा कालिकोटको ३८१ मिटर अग्लो पचाल झरना पत्ता लाग्नु अगाडिसम्म ह्यात्रुङ नेपालको सबैभन्दा अग्लो झरना थियो । अहिले ह्यात्रुङ प्रदेश १ को सबैभन्दा अग्लो र देशको दोस्रो अग्लो भएको छ ।

  • तस्बिरमा हेर्नुस् शेखर पक्षको भेला, देउवालाई गुटको होइन देशको नेतृत्व गर्न दबाब

    तस्बिरमा हेर्नुस् शेखर पक्षको भेला, देउवालाई गुटको होइन देशको नेतृत्व गर्न दबाब

    काठमाडौं । स्थानीय तह निर्वाचनको समीक्षा र आगामी संसदीय चुनावमा गठबन्धनको मोडालिटीबारे संस्थापन पक्षले छलफल नगरेका बेला नेपाली कांग्रेसको शेखर कोइराला समूहले बेग्लै छलफल थालेको छ ।

    बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी शेखर पक्षको भेलामा महामन्त्री गगन थापा, नेताहरू बलबहादुर केसी, चन्द्र भण्डारी, दिलेन्द्र बडू लगायत केन्द्रीय सदस्य, युवा नेता र सांसदहरू सहभागी छन् ।

    भेलामा भ्रातृ संस्थाहरूको मनोनयन, चुनावको समीक्षा देशको बिग्रँदो अवस्थालगायतका बारेमा छलफलमा भइरहेको भण्डारीले बताए । उनले सभापति देउवाले गुटको नभई देशको नेतृत्व गर्नुपर्नेमा भ्रातृ संस्थाको गठन लगायतका प्रक्रियामा गुटभन्दा माथि उठ्न नसकेको बताए ।

    महाधिवेशनमा उपसभापति पराजित भएका भण्डारीले आफूहरूको भेला गुटको नभएर विचारको भएको भन्दै ६ महिनाभित्र देउवाले विधान अनुसारका काम नगरेको तथा सिंगो पार्टीको नेतृत्व गर्न नसकेको आरोप लगाए ।

    तस्बिरहरू : उमेश कार्की । 

  • गौतमबुद्ध विमानस्थलको उद्घाटनः हेर्नुस १० तस्वीर

    गौतमबुद्ध विमानस्थलको उद्घाटनः हेर्नुस १० तस्वीर

    काठमाडौं । रुपन्देहीकाे भैरहवामा निर्माण भएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध विमानस्थलको आज औपचारिक उद्घाटन गरिएको छ । बुद्ध जयन्तीको पावन दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरे ।

    कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान अवतरण गर्दै विमानस्थल सञ्चालनमा आएको हो । यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो विकल्प तयार भएको छ । अहिलेसम्म नेपालको अन्तर्राष्ट्रिय उडान त्रिभुवन विमानस्थलमै निर्भर थियो ।

    हेर्नुस विमानस्थल उद्घाटनका १० तस्वीर

  • इद उल फित्र मनाउँदै मुस्लिम समुदाय (तस्बिर/भिडिओ)

    इद उल फित्र मनाउँदै मुस्लिम समुदाय (तस्बिर/भिडिओ)

    काठमाण्डौं । इस्लाम समुदायले आज इद उल फित्र पर्व मनाइरहेका छन् । देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइरहेका हुन् ।

    आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक गरिबलाई दान गरिने भएकाले यस पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र तय हुन्छ ।

    इस्लाम समुदायको पर्व इदको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको छ।

     

  • प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेशविरुद्ध जित निकाल्दै एपीएफ सेमिफाइनल नजिक

    प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेशविरुद्ध जित निकाल्दै एपीएफ सेमिफाइनल नजिक

    काठमाडौं । गण्डकी प्रदेशलाई २ रनले पराजित गर्दै एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ ।

    मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले लगातार तीन खेल जित्दै ६ अंकसहित समुह‘बी’ को शिर्षस्थानमा रहेर सेमिफाइनल यात्रा सहज बनाएको छ ।

    पहिला ब्याटिङ गरेको एपीएफले १८.४ ओभरमा सबै विकेट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो ।

    एपीएफले दिएको झिनो लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा ७ विकेट गुमाएर ९० रनमात्र बनाउन सफल भयो ।

    गण्डकीका लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३६ रन जोडे । विकेट किपर/ब्याट्सम्यान बिधान श्रेष्ठले २९ बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

    एपीएफको बलिङमा कमल ऐरीले सर्वाधिक ३ विकेट लिए । किशोर महत्तो २ तथा अविनाश बोहराले १ विकेट लिए ।

    एपीएफको ब्याटिङमा ओपनर प्रदिप ऐरीले सर्वाधिक १७ रन तथा आसिफ शेख १६ रन बनाएर पेभेलियन फर्किएका थिए ।

    यस्तै, सन्दीप जोरा १०, सुमित महर्जन १२ तथा दिपक बोहराले १५ रन जोडे ।

    गण्डकीको वलिङमा कमल परियारले सर्वाधिक तीन विकेट लिए ।

    विशाल पौडेल २ तथा चन्द्र पौडेल, कृष्ण पौडेल र सुवास भण्डारीले समान १ विकेट लिए ।

    समूह ‘ए’ र ‘बी’ मा तीन विभागीय र सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको प्रतियोगिता माघ ५ गतेसम्म त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा हुनेछ ।

  • आगो तापेकाेदेखि हिउँ खेलेकाेसम्म

    आगो तापेकाेदेखि हिउँ खेलेकाेसम्म

    काठमाडौं । यससाता आमसञ्चारमाध्यममा विभिन्न तस्बिरहरु प्रकाशित–प्रसारित भए । तीमध्ये केही तस्बिर निकै अर्थपूर्ण थिए र चर्चित पनि भए ।

    हेर्नुहोस्, यो साताका खास सात तस्बिर–


    १. राजधानीको शान्तिनगरमा जाडो छल्न आगो ताप्दै बालक।

    २. काठमाडौंको चन्द्रागिरीमा हिउँमा रमाउँदै युवती।

    ३. चन्द्रागिरीमा हिउँ परेपछि केवलकार चढेर गन्तव्यतिर लाग्दै पर्यटक ।

    ४. काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा नयाँवर्ष २०२२ को अवसरमा कोरियाली पप सेलेब्रेटी, फिल्मका पात्रको शैली र गेटअपमा सजिएका नेपाली फ्यान।

    ५. भक्तपुरस्थित भातेढिकुर इँटाभट्टामा काम गर्दै कामदार।

    ६‍‌. काठमाडौंको मुलपानीस्थित क्रिकेट रंगशलामा एमाले जिल्ला अधिवेशनको अवसरमा लाखेनाच प्रदर्शन गर्दै कलाकार ।

    ७. रेशम चौधरीको रिहाइ तथा नयाँ दल दर्ता कार्यकममा थारु नृत्य प्रदर्शन गर्दै महिला।

     

  • उद्घाटन सुरू हुन २ घण्टा बाँकी छँदा मञ्च बनाउने चटारो (तस्बिर/भिडिओ)

    उद्घाटन सुरू हुन २ घण्टा बाँकी छँदा मञ्च बनाउने चटारो (तस्बिर/भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आजका लागि पूर्वनिर्धारित राष्ट्रिय सम्मेलनलाई आठौं राष्ट्रिय महाधिवेशनमा बदलेपछि व्यवस्थापनमा नेता/कार्यकर्तालाई भ्याइनभ्याइ परेको छ ।

    कार्यक्रमको तयारी, प्रतिवेदन, आवश्यक कागजात र मञ्च व्यवस्थापनमा सबै व्यस्त छन् । महाधिवेशनस्थल प्रज्ञा भवनबाहिर स्वागतद्वार र मञ्चमा ब्यानर फेर्न स्वयंसेवकलाई चटारो छ ।

    महाधिवेशनको उद्घाटन समारोह ३ बजे तय गरिएको छ ।

    वडादेखि प्रदेशसम्म अधिवेशनको सबै तयारी पूरा भएर प्रतिनिधि आइसकेकाले माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

     

  • अस्तव्यस्त सिंहदरबारका १० दृश्य

    अस्तव्यस्त सिंहदरबारका १० दृश्य

    काठमाडौं । देशको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबार । धेरैलाई लाग्न सक्छ सिंहदरवार भव्य छ । सभ्य सफासुग्घर छ । तर, लेन्सबाट सिंहदरबार त्यस्तो देखिएन । सिंहदरवार भद्रगोल छ ।

    १. सडक पेटीमै पार्किङ

    सिंहदरवारमा सडक पेटी मन्त्रालयका सरकारी नम्बर प्लेटका गाडी पाकिङ स्थल बनेका छन् । सबैजसो मन्त्रालय अगाडि यो दृश्य देख्न सकिन्छ ।
    सिंहदरवारका सडकमा नो पार्किङको ट्राफिक संकेत यत्रतत्र राखिएका छन् । तर, नियमविपरीत पार्किङ पनि उत्तिकै छ ।

    २. फोहोर सडकपेटी

    सिंहदरवारका सडक पेटिमा नालीबाट झिकेर कामदार फोहोर राखिरहेको देख्न सकिन्छ । कतै इँटा, टायरजस्ता सामाग्री सिंहदरवारको फुटपाथमा भेटिन्छन् ।

    ३. पार्किङ नै कवाडीखाना

    सिंहदरवारका सवैजसो पाकिङस्थलमा पुराना गाडी र मोटरसाइकल त्यत्तिकै फ्याकिरहेको देख्न सकिन्छ । सरकारी खर्चमा नयाँ नयाँ गाडी र मोटरसाइकल आएपछि कर्मचारीले पुराना सवारी पार्किङमा छोड्ने गरेका हुन् ।

    ४. उजाड फूलबारी

    सुख्खा मौसम सुरुभएसँगै सिंहदरवारका फूलबरी उजाड बनेका छन् । मन्त्रालयका अगाडि सुकेका फूलका बोटले सिंहदरवारको अस्तव्यस्ताको रुप देखाइरहेको छ ।

    ५. कुकुर सुत्ने सडक

    सिंहदरबारमा छाडा कुकुरको बासस्थल बनेको छ । मन्त्रालयका क्याटिनका बासी खाना उपलव्ध हुने भएपछि कुकुर सिंहदरबारमा रमाएर बसेका छन् । सिंहदरबारका कुकुर सडकमा पार्किङमा सुतेर सेवा ग्राहीलाई अप्ठ्यारो पारिरहेका छन् ।

    ६. फ्याँकिएका फर्निचर

    सिंहदरबारको सौन्दर्य विगार्ने यहाँ यत्रतत्र फ्किएका फर्निचर पनि हुन्। कतिपय कार्यालयको भर्‍याङ,वरण्डालगायतका कुनामा पुराना सामान त्यतिकै फ्याँकिएका हुन्छन्

    ७. पुराना कागजपत्र

    मन्त्रालयका कुनामा पुराना कागजपत्र पनि उत्तिकै देख्न सकिन्छ । यहाँ राखिएका कागजमा महत्वपूर्ण दस्तावेज पनि हुन सक्छ ।

    ८. मन्त्रालयअगाडि फोहोरको डंगुर

    सिंहदरको एक भवन अगाडि फोहोरको डंगुर नै थियो । यस्ता फोहोर हरेक मन्त्रालयका कुना तिर जहाँत्यहीँ छन् ।

    ९. खुइलिएको साइनबोर्ड

    सिंहदरबरभित्र मुद्रण विभागको साइनबोर्ड खुइलिएको देखिन्छ । अन्य कतिपय मन्त्रालयका बोर्डमा पनि फोहोर जमेको अवस्थामा छन् ।

    १०. केरा फल्यो

    सिंहदरबारमा अर्को रोचक दृश्य पनि छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि केरा फलेको छ । यो केराको बोटलाई डोरीले बाँधेर अड्याइएको छ ।