Category: फोटो फिचर

  • घान्द्रुक: सौन्दर्य र संस्कृतिको संगम

    घान्द्रुक: सौन्दर्य र संस्कृतिको संगम

    पोखरा । गाउँको सिरान बाटो हुँदै तीन जना पदयात्री उकालो उक्लिरहेका छन् । माघ १३ गतेको साँझ उनीहरूलाई छोमरुङसम्म पुग्नु छ । उनीहरूको गन्तव्य छ– अन्नपूर्ण बेस क्याम्प ।

    गाउँ पार गर्नै लागेको बेला विपरीत दिशाबाट एक हूल खच्चड आउँछन् । घाँटीको घण्टीबाट लयात्मक संगीत निकाल्दै गाउँ ओर्लंदै गरेका खच्चडको हूल देखेपछि ती पदयात्री टक्क रोकिन्छन् । क्यामेरा तेस्र्याउँदै फोटो खिच्छन् । थकानले भरिएको उनीहरूको अनुहार खुशीले पुलकित हुन्छ ।

    गुजुमुज्ज परेर पूर्व फर्किएको ढुंगेनी बस्तीलाई बिहानै घामको न्यानो किरणले ब्युँझाउन आउँछ । झ्यालको पर्दा विस्तारै खोल्दा आँखामा उज्यालो उभिन आइपुग्छ, माछापुर्च्छे सहितको अन्नपूर्ण हिमशृंखला ।

    साँझमा गाउँकै रोधीघरमा रोधी चल्छ । स्थानीय गुरुङ–गुरुङसेनी मौलिक पोशाकमा ठाँटिएर कुममा कुम जोडेर नाच्छन् । क्याम्पिङ चल्छ, अँगेनामा बसेर आगो ताप्दै तातो चिया, नारेपा (स्थानीय कोदोको रक्सी) को चुस्की लिंदै पाहुना चिसो भगाउँछन् ।

    शहरको कोलाहलबाट भाग्न यहाँ आइपुगेका जो–कोही पाहुना मन्त्रमुग्ध हुन्छन्, विस्तारै आङ तन्काउँदै चिच्याउँछन्, ‘आहा ! कस्तो राम्रो गाउँ ।’

    यो घान्द्रुक गाउँको कथा हो ।

    गुरुङ संस्कृतिका लागि परिचित ठाउँ बनेको घान्द्रुक गाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ । ढुंगैढुंगा बिछ्याएर परम्परागत रूपमा बनेको घान्द्रुक गाउँलाई स्थानीय पनि ‘ढुंगेनी गाउँ’कै रूपमा चिनाउन मन पराउँछन् । यो चर्चित पदमार्ग अन्नपूर्ण सर्किट पदयात्रा, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प आदिको प्रवेशद्वार पनि हो ।

    गाउँका बारीभरि हरिया सागसब्जी उम्रिएका छन् । ती उब्जनी पाहुनाकै लागि हो । पर्यटकको आगमन बढ्दै गएपछि गाउँका सुक्खा पाखाबारी यसरी नै हरिया बन्न थालेका छन् ।

    स्थानीय पर्यटन व्यवसायी किसम गुरुङ भन्छन्, ‘अरू खान्की पोखराबाट ल्याउनु परे पनि हरिया तरकारी सकभर गाउँकै प्रयोग गर्छौं । यही नै यहाँका होटलहरूको चिनारी हो ।’

    गुरुङ घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष समेत हुन् ।

    गाउँ फर्किरहेका युवा

    स्थानीय कृष्ण गुरुङले १२ वर्ष कोरियामा खोरिया खने । लाहुरे बाको छोरोले जीवनको ऊर्जाशील समय परदेशमै बितायो । लामो समय परदेशमा बिताएर गाउँ फर्किएपछि पाहुनाको लर्को देखे । उपाय सोचे, ‘गाउँमै हजार सम्भावना रै’छ । अब यहीं केही गर्नुपर्छ ।’

    परदेशमा पसिना बगाएर जोडेको कमाइले गाउँमै लगानी गर्ने सपना साँचे । चार वर्षअघि करीब ४ करोड रुपैयाँको लगानीमा होटल खोले र नाम दिए, ‘वल्र्ड भिलेज होटल ।’ गाउँमा पर्यटकको घुइँचो लागेसँगै सम्भावना देखेरै आफू विदेशको यात्रा टुंग्याएर गाउँ फर्किएको उनी सुनाउँछन् ।

    गुरुङ भन्छन्, ‘हाम्रो परिवारमा यसरी व्यवसाय गर्ने कोही छैन । सबै लाहुरे ब्याकग्राउन्डकै हो । तर, गाउँमै सम्भावना देखेपछि फर्किएँ । होटल पनि खोलें । पछुताउनु परेको छैन ।’

    अरू ठाउँका युवा विभिन्न बहानामा गाउँ छोड्ने र उतैबाट शहरतिर पलायन भइरहेको बेला घान्द्रुकमा भने उल्टो छ । कृष्णजस्तै घान्द्रुकका अधिकांश युवा अहिले गाउँ फर्किएका छन् । र विभिन्न पर्यटन व्यवसायमा लगानी गर्न हौसिएका छन् । गाउँकै स्थानीय पर्यटन व्यवसायमा लाग्दा पर्यटनमा दिगो विकास हुने स्थानीय पर्यटन व्यवसायीको दाबी छ ।

    ‘यहाँको परम्परा भनेको लाहुरे संस्कृति हो । पहिले भर्ती भएर जाने, त्यसपछि उतै सेटल हुने प्रचलनले कुनैबेला यो गाउँ पूरै सुनसान बनेको थियो’ किसम गुरुङ सुनाउँछन्, ‘तर अहिले अवस्था फेरिएको छ । विदेश गएका युवाहरू पनि आफ्नो बसाइँ छोट्याएर सकेसम्म गाउँमै लगानी गर्न आउँछन् ।’

    उनी कुनैबेला गाउँका अधिकांश घर बाह्य कुरुवाले धानेको बताउँछन् ।

    कमी हुँदैनन् पर्यटक

    कोरोना महामारी शुरु भएसँगै २०७६ चैत ११ गतेबाट सरकारले लकडाउन घोषणा ग¥यो । सोही समयबाटै बन्द भएको घान्द्रुक करीब १० महिनापछि मात्रै खुल्यो । मंसिरको पहिलो साताबाट लकडाउन खुले पनि घान्द्रुक पाहुनाका लागि गत माघ १ गतेबाट खुलेको हो । लकडाउन अवधिभर गाउँ ठप्पै रह्यो ।

    कोरोना महामारीका कारण लामै समय बन्द रहेको घान्द्रुक गाउँ फेरि जुर्मुराउन थालेको छ । लामो समयपछि खुलेको घान्द्रुक गाउँमा अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
    अहिले दिनमा १५० जनासम्म आन्तरिक पर्यटक आइरहेको घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष किसम गुरुङ बताउँछन् ।

    लकडाउन खुले पनि कोरोना महामारी मत्थर भइनसकेकाले विदेशी पर्यटकको उपस्थिति भने नरहेको गुरुङले जानकारी दिए । ‘पाहुनाका लागि घान्द्रुक खुला भएपछि आन्तरिक पर्यटक उल्लेख्य मात्रामा आइराख्नु भा’छ । होटलहरू खाली राख्नुपर्ने अवस्था छैन ।’

    लामो समयको लकडाउन पछि पनि फेरि घान्द्रुकको पर्यटनमा सुखद ‘रिभाइभ’ भइरहेको पर्यटन व्यवसायी कृष्ण गुरुङ सुनाउँछन् । ‘कोरोना महामारीले करिब १० महिना नै हामी बन्द रह्यौं । तर, अहिले पनि होटल खाली राख्नु परेको छैन । सुखद अनुभव नै गरिराखेका छौं’, उनले भने ।

    ढुंगेनी गाउँ घान्द्रुकमा अहिले साना तथा ठूला गरेर करीब पाँच दर्जन होटल सञ्चालनमा छन् । ती होटलहरूले एकै रातमा करिब १२०० जनासम्मलाई धान्न सक्ने घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष किसम गुरुङले जानकारी दिए । ‘पहिले यहाँसम्म आउन पोखरादेखि दुई दिन लाग्थ्यो । तर, अहिले चार–पाँच घण्टाको गाडी यात्राबाटै यहाँसम्म आइपुग्ने भएपछि पाहुनाको संख्या पनि बढेको हो’, उनले भने ।

    नयाँ सुविधासम्पन्न होटलहरू बन्ने क्रममै रहेको र ती होटल पनि सञ्चालन भए पाहुना राख्न सक्ने क्षमता अझै बढ्ने गुरुङको भनाइ छ । घान्द्रुक होमस्टेबाट नभई क्याम्पिङबाट चलेको हुनाले त्यही अनुरुप नै होटलहरू खुलिरहेको उनले जानकारी दिए ।

    मौलिकता हराउँदै, ब्युँझाउँदै !

    लाहुरे परम्पराबाट निर्देशित घान्दु्रकेमा २५ वर्षअघि किसम गुरुङले ‘गुरुङ कटेज’ खोल्दा सबैले उनलाई ‘बौलायो’ भनेका थिए । यातायातको सुविधा नभएको र एकाधबाहेक पर्यटकको सम्भावना नभएको ठाउँमा होटल खोल्न थालेपछि आफन्तले त्यस्तो आरोप लगाएका थिए ।

    तर, गुरुङले हार मानेनन् । पोखराबाटै सामान ओसारेर घान्द्रुकमा होटल बनाइछाडे । ‘त्यतिबेला पोखराबाट यहाँ सामान ल्याएर होटल खोलेको थिएँ । त्यो पैसाले पोखरामा घरजग्गा जोडेको भए तीन–चार वटा हुन्थे’ पुराना दिन सम्झिन्छन्, ‘पछिपछि पाहुनाहरू बढ्दै गएपछि भने अरूहरूले पनि खोल्न थाले ।’

    शुरुशुरुमा पदमार्गका लािग चर्चित बनेको ठाउँमा आजभोलि मोटर धुलो उडाउँदै गाउँसम्म पुग्छ । ढुंगेनी गाउँ भनेपनि अधिकांश घर अब अत्याधुनिक बन्न थालेका छन् । पदमार्गमै मोटरबाटो बनेपछि धुवाँधुलोले हैरानै बनाएको पदयात्रीको गुनासो आइरहन्छ ।

    मोटर बाटो पुगेसँगै शहरी संस्कृति गाउँ छिर्न थालेको छ । गुरुङ इतिहास बोकेको गाउँमै मौलिकता हराउँदै गएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष गुरुङ स्वीकार्छन् । भन्छन्, ‘यहाँ व्यापार व्यवसाय गर्ने अहिले युवा पिंढीका धेरै छन् । उनीहरूले नयाँ शैली अपनाउन थालेर पनि मौलिकता गुम्दै गएको हो कि ?’

    पुराना शैलीमा भवन बनाउन ढुंगा र काठ धेरै लाग्ने भएर पनि नयाँ शैली गाउँमा भित्रिरहेको गुरुङ सुनाउँछन् । ‘निजी जग्गामा यस्तो बनाऊ, त्यस्तो नबनाऊ भन्नु पनि भएन । पुरानै शैलीमा बनाउँदा समय र परिश्रम पनि धेरै लाग्ने भएर नयाँ शैलीमै घर बन्दैछन्’ उनले भने, ‘विकास सँगै हरेक चिज परिवर्तन हुँदै जान्छन् । यसलाई नकार्न पनि सकिंदैन ।’

    अधिकांश गुरुङ र केही दलित बस्ती भएको घान्द्रुक गाउँले पछिल्लो समय मौलिकता गुमाउँदै गएको आरोप आउन थालेपछि अब भने पुरानै शैलीमा फर्किन प्रयत्न गरिरहेको किसम गुरुङ बताउँछन् ।

    ‘अब हामीलाई पनि विस्तारै पुरानै ढाँचामा फर्किनुपर्छ भन्ने लागेको छ । त्यही अनुरुप कम्तीमा घरको छानो पुरानै ढुंगे शैलीमा राख्नुपर्छ भनेर भन्न थालेका छौं’ उनले भने, ‘यसबाट केही सुखद नतिजा पनि आइराखेको छ ।’

    तस्वीर सौजन्य: युनिश गुरुङ/सचिन मल्ल

  • शहीद शुक्रराजको सम्झनासहित नागरिक समाजको प्रदर्शन

    शहीद शुक्रराजको सम्झनासहित नागरिक समाजको प्रदर्शन

    काठमाडौं । शहीद शुक्रराज शास्त्रीको सम्झना गर्दै काठमाडौं टेकुस्थित नागरिक समाजले प्रदर्शन गरेको छ । विसं १९९७ मा शहीद शुक्रराजलाई झुण्ड्याइएको रुखमुनि नागरिक समाजले नाटकसहितको आन्दोलन प्रस्तुत गरेको हो । शिल्पी थिएटरका कलाकारले प्रस्तुत गरेको नाटकमा शुक्रराजले जेलमा भोगेको यातनादेखि उनलाई रुखमा झुण्ड्याइएको कथा समेटिएको थियो । यससँगै सरकारको प्रतिगमन विरुद्ध नागरिक समाजका अभियन्ताहरूले सडकमा सुतेर विरोध जनाएका थिए ।

  • विराटनगरमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

    विराटनगरमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

    काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले विराटनगरमा शक्ति प्रर्दशन गरेको छ ।

    विराटनगरको रोडशेष चोक, तीनपैनी र हाटखोलाबाट एकैपटक प्रर्दशनसहितको र्‍याली शुरू भएको थियो । र्‍यालीको नेतृत्व प्रदेशका नेताहरूले गरेका छन् ।

    प्रदेशस्तरीय शक्ति प्रदर्शनमा ५० हजारभन्दा बढी मानिस सहभागी भएको दाबी गरिएको छ ।

    विराटनगरका विभिन्न रुटबाट निस्किएको जुलुस जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, योगेश भट्टराईलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

    प्रतिनिधिसभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड-माधव पक्ष संघर्षरत् छ ।

  • यसरी मनाइयो शहीद दिवस  (तस्बिरहरु)

    यसरी मनाइयो शहीद दिवस (तस्बिरहरु)

    काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।

    दिवसका अवसरमा शुक्रबार बिहान शान्तिवाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि सहभागी थिए ।

    सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे ।

    वीर शहीदहरुको स्मरणमा विक्रम संवत् २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुपमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाउने गरिएको छ ।

    साताव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना गरिएको हो ।

     

               

     

  • वामदेवको एकता अभियानमा को-को लागे ?

    वामदेवको एकता अभियानमा को-को लागे ?

    काठमाडौं । विभाजनपूर्वको नेकपाका उपाध्यक्ष वामदेव गौतमले आजबाट औपचारिक घोषणा गरेको पार्टी एकता राष्ट्रिय अभियानमा साबिक केन्द्रीय कमिटीका एकजना बाहेक अन्य नेता सामेल नभए पनि केही जनप्रतिनिधि सहभागी भएका छन् ।

    वामदेवको एकता अभियानमा किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन,उपमेयर शरस्वती खड्का सहितका विभिन्न जिल्लाका जनप्रतिनिधि सहभागी रहेको बताइएको छ ।

    वामदेवको अभियानमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति हिरावहादुर महर्जन पनि जोडिएका छन् । अभियानको संयोजक गौतम र सहसंयोजक केन्द्रीय सदस्य हरि पराजुली तथा सचिव बाबुराम थापा छन् ।

    एकता अभियान केन्द्रदेखि प्रत्येक स्थानीय तह र वडासम्म लैजाने गरी एकता समन्वय समिति गठन गरिएको छ । वामदेवको एकता अभियान लामो जाने र उनी तत्काल दुवै नेकपामा सामेल नहुने देखिएको छ ।

    अभियानको केन्द्रीय समन्वय समितिको बैठक ६ महिना र प्रदेश समन्वय समितिको बैठक ३ महिनामा बस्ने भनिएको छ । यसले पनि तत्काल गौतम समूह दुवै पक्षमा नखुल्ने देखिएको हो ।

    अभियान घोषणासभालाई सम्बोधन गर्दै पराजुलीले यसैगरि दुवै पक्ष गएमा आउने चुनावमा दुवैलाई बहिस्कार गर्न मतदातालाई आह्वान गर्ने चेतावनी दिए ।

     

  • उत्साहका साथ शुरू भयो नेपालमा कोरोनाविरुद्धको खोप अभियान

    उत्साहका साथ शुरू भयो नेपालमा कोरोनाविरुद्धको खोप अभियान

    काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोनाविरुद्धको खोप अभियान नेपालमा आजबाट शुरू भएको छ ।

    खोप अभियान शुरू भएपछि आशासँगै उत्साह छाएको छ । नेपालमा कोरोना संक्रमणको पहिलो केस गत वर्षको माघ १० गते भेटिएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा बिहान १० बजेर २३ मिनेटमा खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् ।

    प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरेलगत्तै देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालकलगायतलाई खोप दिन थालिएको छ ।

    आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

    नेपाल दक्षिण एशियामा कोभिड विरुद्ध खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुक भएको छ । भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

     

     

     

  • आर्मी र एपिएफको घम्साघम्सी तस्वीरमा

    आर्मी र एपिएफको घम्साघम्सी तस्वीरमा

    काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लिगको उपाधि दाबेदार मानिएका दुई विभागीय टोली हुन्, एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब । तर, मंगलबार भएको यी दुई टोलीको खेलमा  एपिएफ क्लबले २–० को जित दर्ता ग¥यो ।

    सुरुआतमा प्रतिस्पर्धात्मक देखिएको खेल एपिएफले गोल गर्ने बित्तिकै उसैको पक्षमा देखियो । अञ्जली योञ्जनले २७औं मिनेटमा गरेको गोलसँगै खेलमा अग्रता लिएको एपिएफका लागि पहिलो हाफको इन्जुरी समयमा सरु लिम्बुले दोस्रो गोल गरेकी थिइन् ।

              
  • काठमाडौंमा प्रचण्ड-माधव पक्षको सिठ्ठी जुलुस

    काठमाडौंमा प्रचण्ड-माधव पक्षको सिठ्ठी जुलुस

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले काठमाडौंमा सिठ्ठी जुलुस निकालेको छ ।

    लैनचौरबाट निकालिएको जुलुशले असन, इन्द्र चोक हुँदै वसन्तपुर पुगेको थियो ।

    संसद विघटनविरुद्ध आन्दोलनरत सो पक्षले सोमबार संघर्षका नयाँ कार्यक्रम सार्वजनिक गरेको थियो ।

    केन्द्रीय संघर्ष समितिले मंगलबारदेखि माघ २८ गतेसम्मको १५ दिने विरोधको कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रममा सिठ्ठी जुलुसदेखि धर्ना, र्‍याली, विरोध प्रदर्शन र सभा रहेका छन् । माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन गरिने भनिएको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
  • माउन्ट केटू आरोहण दललाई नेपालमा भव्य स्वागत

    माउन्ट केटू आरोहण दललाई नेपालमा भव्य स्वागत

    काठमाडौं । दोस्रो सर्वोच्च शिखर केटू आरोहण गरेर फर्किएको नेपाली टोलीलाई आज त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डको अगुवाइमा पर्वतारोही संघसंस्था र शेर्पा समुदायले बाजागाजा र झाँकीसहित स्वागत गरे ।

    गत शनिबार दश सदस्यीय नेपाली पर्वतारोही टोलीले हिउँद याममा पाकिस्तानस्थित २८,२५१ फिट उग्लो माउन्ट केटु चढेर इतिहास रचेको थियो ।नेपाल आइपुग्दा आरोही टोली निकै उत्साहित देखिएको थियो । टोलीको नेतृत्व गरेका निर्मल पूर्जाले माउन्ट केटूमाथिको विजय जलवायु परिवर्तन र महामारीविरुद्ध बलियो सन्देश भएको बताए ।

    ‘हामीले ज्यानको बाजी लगाएर केटु चढ्यौं’ उनले भने, ‘निकै खुशी महसुस भएको छ ।’ शेर्पा समुदायको विश्वले प्रशंसा गरेको भन्दै उनले जलवायु परिवर्तन र कोरोनाले थलिएको पर्यटनलाई आफूहरुको माउन्ट केटू विजयले सन्देश दिने बताए ।पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले अब यो टोलीले आठ हजार मिटर उचाइका नेपाली शिखर महामारीपछि खुला भएको सन्देश प्रवाह गर्नुपर्ने बताए । उनले थलिएको पर्यटनलाई उकास्ने काममा सरकार सधैं साथमा हुने बताए ।

    ‘देशका लागि यो एउटा जित थियो’ अर्का आरोही मिङ्मा जी शेर्पाले भने । निर्मल र मिङ्मासहित मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जिन शेर्पा र किलु पेम्बा शेर्पाले हिमाल आरहेण गरेका थिए ।

            

     

     

     

     

    
    
    
    
    
    
    
    
    
    
    
    

     

  • नागरिक मार्चमाथि पानीको फोहोरा (फोटो फिचर)

    नागरिक मार्चमाथि पानीको फोहोरा (फोटो फिचर)

    काठमाडौं । संसद विघटनविरुद्ध नागरिक समाजले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि भएको प्रदर्शनमा झडप भएको हो ।

    प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा जानबाट रोक्न प्रहरीले लाठी चार्जसँगै पानीको फोहोरा प्रहार गरेको छ ।

    बृहत नागरिक आन्दोलनका नाममा बालुवाटारमा प्रदर्शन भएको हो ।

     

                  
  • मलेशियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो (फाेटाे फिचर)

    मलेशियाबाट १७ नेपालीको शव नेपाल ल्याइयो (फाेटाे फिचर)

    काठमाडौं । रोजगारीका लागि मलेशिया गएर विभिन्न कारणले उतै मृत्यु भएका १७ नेपालीको शव स्वदेश ल्याइएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी  विमानबाट शनिबार उनीहरुको शव नेपाल ल्याइएको हो ।

    मलेशियामा मृत्यु भएकाको शव ल्याउनका लागि निगमको जहाज शुक्रबार राति मलेशिया गएको थियो । निगमले नै उनीहरुको शव नेपाल ल्याउन पहल गरेको हो ।

    मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्न मलेशियामा मृत्यु भएकाको शव नेपाल ल्याइएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।

             
  • नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (फोटो फिचर)

    नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (फोटो फिचर)

    काठमाडौं । भारतले अनुदानबापत उपलब्ध गराएको १० लाख डोज खोप नेपाल आइपुगेको छ । काठमाडौंमा विहिबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाको विमानले खोप ल्याएको हो ।

    त्रिभुवन विमानस्थलमा आयोजित संक्षिप्त समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।खोप बुझ्दै स्वास्थ्य मन्त्री त्रिपाठीले चाँडै वितरणको काम सरकारले थाल्ने मिडियालाई बताए । मन्त्री त्रिपाठीले खोप आपूर्तिको लागि भारतीय सरकारलाई धन्यवाद समेत दिए ।

    अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल ल्याइएको हो । विमानस्थलबाट प्राप्त खोपलाई सीधै टेकुको केन्द्रिय खोप भण्डारणसम्म लगिएको छ ।एयरपोर्टबाट तापक्रम कायम गर्न मिल्ने उपकरण जडित दुईवटा ट्रकमा टेकु लगिएको थियो । सरकारले खोपलाई शुक्रबार प्रदेशको खोप भण्डारण स्थलसम्म लग्दैछ । जिल्लागत विवरण सरकारले विहिबार साँझसम्म तयार पार्दैछ ।

    पाँच दिनभित्र सबै जिल्लामा खोप पुर्‍याउने तयारीमा सरकार जुटेको छ । खोप लगाउने दिन भने अझै तय भएको छैन । स्वास्थ्य मन्त्रालयले यसका लागि कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पुरा गरेर खोप लगाउने योजना बनाएको छ ।

    सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात ९ लाख ११ हजार ३ सय ४२ जनालाई खोप लगाउने तयारी गरेको छ । अहिले भने १० लाख डोज मात्रै आएकाले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

    पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक र जोखिममा रहेका अभियन्तालाई लगाइनेछ । अनुदानको खोप पर्याप्त नहुने भएपछि सरकारले भारत सरकारबाटै थप खोप किन्ने जनाएको छ ।

    नेपाल सरकारले गतसाता आपतकालिन प्रयोगका लागि कोभिसिल्ड खोपलाई प्रयोगमा अनुमति दिएको हो । यो खोपले अन्तराष्ट्रिय स्तरमा उपयोगका लागि विश्व स्वास्थ्य संगठनबाट छिटै अनुमति पाउने सम्भावना पनि देखिएको छ । खोप आएपनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने सरकारको सुझाव छ ।

             
  • संसद विघटनविरुद्ध नागरिक विरोध (फोटोफिचर)

    संसद विघटनविरुद्ध नागरिक विरोध (फोटोफिचर)

    काठमाडौं । संसद विघटनविरुद्ध स्वातन्त्र नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । समाजले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

           
  • काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी (फोटो फिचर)

    काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी (फोटो फिचर)

    काठमाडौं । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी भएको छ ।

    अपरान्ह शुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म केही अपार्टमेन्टका भागहरु जलेर नष्ट भइसकेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    दमकल पुगेर सुरक्षाकर्मी सहित आगो नियन्त्रणमा लिने प्रयास भइरहेको कालिमाटी प्रहरीले जनाएको छ ।

            

     

     

  • तस्वीरमा हेर्नुहोस् प्लटिङअघि र पछिको राजधानी

    तस्वीरमा हेर्नुहोस् प्लटिङअघि र पछिको राजधानी

    काठमाडौं । केही वर्षयता काठमाडौंलगायत देशका मुख्य सहरमा घर बन्ने क्रम निकै बढेको छ । घर बन्ने क्रम बढेसँगै खाली जग्गामा प्लटिङ गरेर बिक्री गर्ने क्रम पनि बढेको छ ।

    यसरी प्लटिङ गर्दा खेतीयोग्य जमीन तथा वनको विनाश भइरहेको छ । जसकारण पर्यावरण र कृषि क्षेत्र प्रभावित भएको छ ।

    केही वर्षअघि र अहिलेको गुगल अर्थका तस्वीरहरू स्लाइडमार्फत् हेरौं

    भै‍सेपाटी

    चापागाउँ

    गाेदावरी

    गाेलढुङ्गा

    हात्तीवन

    मुलपानी

    तारकेश्वर

    टाेखा

  • जो आँखाले होइन, हातले देख्छन्

    जो आँखाले होइन, हातले देख्छन्

    काठमाडौं । सिइङ ह्याण्ड्स नेपाल मसाज सेन्टर हो । ठमेलका केही गल्लीहरू छिचोल्दै यहाँ पुग्ने हो भने एउटा मीठो अनुभूति सञ्चारित हुन्छ । प्रवेशद्वारमा ‘टिङ् टिङ्’ बज्ने घण्टीले स्वागत गरेलगत्तै हाम्रा आँखा सामुन्नेमा मुस्कुराइरहेको हँसिलो अनुहारमा ठोक्किन्छन् ।

    त्यो हँसिलो अनुहार ३६ वर्षीय चिरन पौडेलको हो । हामी पुग्दा उनी कान नजिकै मोबाइल लगेर कुनै लोकप्रिय कार्यक्रम सुनिरहेका थिए ।

    ‘वेलकम’ को इशारा गर्दै चिरनले बस्नका लागि आग्रह गरे । उनको ‘वेलकम कक्ष’ लाई नियाल्दै जाँदा दायाँ साइडको भित्तामा ठूला अक्षरले लेखिएको संस्थाको परिचय देखिन्छ– सिइङ ह्याण्ड्स नेपाल । अर्थात् देख्ने हातहरू ।

    ‘हामी देख्छौं, केवल हातको स्पर्शले देख्छौं । मानिसका अनुभूति, दुखाइ वा उनीहरूका समस्या’ चिरनले संवादको पोको खोले ।

    उनी यहाँका सिईओ । ठमेल मात्र हैन, पाटन र बौद्धमा पनि यसलाई विस्तार गरेका छन् उनले । ती तीनै ठाउँमा देख्ने हातहरू छन्, जसले दुखाइदेखि रिल्याक्सेसनका लागि आउनेसम्मलाई स्फूर्त बनाएर पठाउँछन् । चिरन बेलाबखत विदेशबाट आउने एउटा असल साथीको भनाइ सम्झिन्छन्, ‘म नेपाल आउनुका दुई कारण छन् । एउटा पशुपतिनाथ, अर्को सिइङ ह्याण्ड्स नेपाल ।’

    अघिल्लो वर्ष एक जना विदेशी प्रोफेसरले भनेर गएका थिए, ‘मैले मसाजबाट जुन प्रकारको उपचार पाएँ, अमेरिकामा पनि यस्तो राम्रो शायदै थियो ।’

    मसाजमा बदनाम ठमेललाई सिइङ ह्याण्ड्सले नयाँ स्वरुप दिएको छ । अहिले सिइङ ह्याण्ड्स अन्तर्राष्ट्रियस्तरमै चर्चित छ । यो उपचार पद्धतिका लागि विदेशीहरू ठमेलमा धाउने समेत गर्छन् ।

    चिरनलाई विदेशी पाहुनाका यिनै शब्दहरूले उत्साहित बनाउँछन् । र आफ्नो पेशाप्रति अझै गौरव गर्छन् । ‘हाम्रो क्षमतालाई मानिसहरूले स्वीकार गर्दैछन् । हाम्रा हातहरूको बलियो सेन्सेटिभिटीमाथि विश्वास गर्दैछन्’ आजकल उनले यो अनुभूति गरेका छन् ।

    चिरन दृष्टिविहीन हुन् । तर, उनले आफूजस्तै सयौं दृष्टिविहीनलाई रोजगारी सिर्जनाको सपना देखेका छन् । अहिले पनि दुई दर्जन दृष्टिविहीनलाई सिइङ ह्याण्ड्समै रोजगारी दिएका छन् चिरनले । ‘उहाँहरू तालिमप्राप्त फिजियोथेरापिस्ट हुनुहुन्छ । जसले हाम्रो क्लिनिकमा आउने सेवाग्राहीलाई मसाज र थेरापी गर्नुहुन्छ’, चिरन सुनाउँछन् ।

    मसाजको नाममा बदनाम ठमेल शहरको त्यो स्वरुपलाई फेरेको छ सिइङ ह्याण्ड्सले । त्यसैले विदेशी पर्यटकको पहिलो रोजाइ नै बन्न पुगेको छ यो । ‘मैले ठमेलमा शुरु गर्दा धेरैको अनुहारमा निराशा थियो । तर, फोहोर सफा गर्न फोहोरमै हात हाल्नुको विकल्प थिएन’, चिरन विगतबारे सुनाउँछन् ।

    यो भिन्न किसिमको व्यावसायिक मसाज हो । लण्डनमा तयार पारिएको एकवर्षे कोर्स गरेर मात्र यो सीप आर्जन गर्न सकिन्छ । चिरन भन्छन्, ‘यो एउटा उपचार पद्धति नै हो ।’

    फाेटाे/भिडियाे: विजय गजमेर

    संयोगले उज्यालिएको जीवन

    चिरन स्वयम् नेपालमा स्थापित मसाज थेरापिस्ट हुन् । तर, यहाँसम्म आइपुग्न १५ वर्षको संघर्षरत यात्रा पार गरेका छन् उनले । विगतमा फर्कंदै गर्दा उनले आफूलाई पोखराको अँधेरी दोहोरी साँझमा विरक्तिरहेको पाउँछन् । सन् २००४ तिर चिरन पोखराको दोहोरी साँझमा गीत गाएर गुजारा टार्थे ।

    दृष्टिविहीन हुनुको पीडाबोध त्यतिबेला हुन्थ्यो, जब चुरोट र रक्सीका गन्ध बोक्ने मानिसहरूको अपमान अत्यधिक सहनुपर्दथ्यो । ‘के दृष्टिविहीनहरूको करिअर दोहोरी साँझमा मात्र हो, शिक्षण पेशामा मात्र हो, अरू कतै छैन ?’ उनी आफैंलाई यी प्रश्नहरू गर्थे । जवाफ आफैंसँग हुन्नथ्यो । चिरन निराश हुन्थे ।

    बीएडको अन्तिम वर्षको परीक्षा चल्दै गर्दा पनि चिरनका अनुहारमा खुशी थिएन । ‘न कुनै अवसर, न समाजको विश्वास । फेरि घर फर्किएर बेरोजगार बस्न म सक्दिनथें’ ती दिनहरूमा रुमल्लिंदाको क्षण सम्झन्छन् उनी ।

    मसाजको नाममा बदनाम ठमेल शहरको त्यो स्वरुपलाई फेरेको छ सिइङ ह्याण्ड्सले । त्यसैले विदेशी पर्यटकको पहिलो रोजाइ नै बन्न पुगेको छ यो ।

    सन् २००५ तिर, ब्रिटिश दम्पती रब र सुयन्लीले पोखरामा मसाज क्लिनिक सम्बन्धी एउटा प्रस्ताव लिएर पुगे । त्यतिबेला नेपालमा व्यावसायिक मसाज थिएनन् । भएकाहरूले पनि बदनामीको पगरी गुतेका थिए । हुन त रब स्वयम् युकेमा मसाज थेरापिस्ट, फिजियोथेरापिस्ट र अष्ट्रियोप्याथो भएको हुँदा उनले मसाजलाई उपचार पद्धतिको रूपमा स्थापित गर्न चाहन्थे ।

    चरम निराशाले घेरिएका चिरनलाई एकदिन कसैले भनिदियो, ‘पोखरामा नयाँ मसाज सेन्टर खुल्दैछ । जसमा दृष्टिविहीनहरूले रोजगारी पाउँछन् ।’

    ‘मसाज सेन्टर…!?’ चिरनलाई यसमा कुनै मोह थिएन । केही दिनअघि मात्र उनले राष्ट्रिय दैनिकमा एउटा लेख पढेका थिए । जसमा मसाजसम्बन्धी नकारात्मक चित्रण गरिएको थियो । एक दुई पल्ट इन्कार गरेपछि मनले फेरि एकपल्ट सोच्यो– दोहोरी रेस्टुरेन्टमा काम गर्नुभन्दा त बरु यही पो ठीक हो कि ! विदेशीले चलाउने भनेपछि त राम्रै होला !

    त्यसपछि उनी विदेशीले लिने अन्तर्वार्तामा सहभागी हुन पुगे । ४० जना दृष्टिविहीनले दिएको अन्तर्वार्तामा पाँच जना छनोटको सूचीमा परे । सूचीमा चिरन अटाए ।

    अन्तर्वार्तामा छनोट भएको एक महिनापछि उनीहरूको तालिम शुरु भयो । उनलाई लाग्यो– मसाजको पनि कोर्स गर्नुपर्दो रहेछ । कोर्स अगाडि बढ्दै गएपछि उनमा रुचि जाग्दै गयो । थप बुझ्दै गएपछि आफूलगायत आम मानिसको मसाजबारे धारणा गलत रहेको चिरनले बुझे । ‘खासमा हामीले विश्वव्यापी वैकल्पिक उपचार पद्धति स्वीकार गरेका रहेछौं । अर्को कुरा त दृष्टिविहीनहरूले अरूको सहयोगविना नै गर्न सकिने रोजगारीको अवसर रहेछ’, चिरन सुनाउँछन् ।

    दृष्टिविहीनहरूको डाक्टर बन्ने सम्भावना थिएन । यो वैकल्पिक उपचारले चिकित्सकीय पद्धति अपनाएको जब चिरनले बुझे उनलाई गर्व अनुभूति भयो– हामी पनि डाक्टर बन्न सक्ने रहेछौं ।

    एक वर्षको कोर्स पूरा गरेपछि पोखरामा काम शुरु भयो ।

    चिरनले कामको थालनी गर्दा उनीबारे टीकाटिप्पणी पनि नभएका होइनन् । कतिपयले भनेको उनले सुने, ‘खुट्टा माडेर खाने काम पनि गर्छन् ?’ तैपनि चिरनलाई यसले रत्तिभर प्रभाव पारेको थिएन । आफ्नो पेशाप्रति उनी प्रष्ट थिए, र सन्तुष्ट पनि ।

    ‘परिवारबाट कुनै छेकबार भएन । हाम्रो परिवारमा चार जना दृष्टिविहीन हौं । बरु काम गरेपछि सबै जना खुशी चाहिं हुनुभयो’ चिरन सुनाउँछन् ।

    शुरुमा चिरनको ब्याचमा उनीसहित पाँच जना थिए । पछि, उनका साथीहरूले छाडे । उनीहरूले नयाँ बाटो रोजे । तर, चिरनले यसैलाई समातेर अघि बढिरहे । चिरनले पाँच वर्ष पोखरामा बसेर काम गरे । डिप्लोमापछि त्यहाँ उनले एसिस्टेन्ट टिचरको जिम्मेवारी पाए । थेरापिस्टहरू थपिंदै गएपछि थेरापिस्ट इन्चार्जको रूपमा काम गरे ।

    जब उद्यमी बन्ने सोच पलायो

    ‘जति काम गरे पनि विदेशीहरूले चलाइरहेको संस्थामा हाम्रो पहिचान बन्दैन’ एकदिन मसाज गरिरहँदा चिरनलाई लाग्यो । उनले सोचे, ‘दृष्टिविहीनको नाम बेचेर गरिने च्यारिटी भन्दा फरक प्याट्रन पनि त छ होला । सोच्ने क्रममा उनी एउटा टुंगोमा पुगे, अब आफैंले शुरु गर्ने हो ।’
    सन् २०१० तिर आफैंले मसाज क्लिनिक खोल्ने निर्णयमा पुगे । सिइङ ह्याण्ड्स नेपाल नामक क्लिनिकका लागि चिरनले काठमाडौं छनोट गरे ।

    ‘परिवारबाट कुनै छेकबार भएन । हाम्रो परिवारमा चार जना दृष्टिविहीन हौं । बरु काम गरेपछि सबै जना खुशी चाहिं हुनुभयो’ चिरन सुनाउँछन् ।

    काठमाडौंमै शुरु गर्नुमा उनका केही विशेष कारण थिए । ‘काठमाडौंमा धेरै दृष्टिविहीन थिए । उनीहरूलाई नयाँ रोजगारी सिर्जना गर्न सकिन्थ्यो । काठमाडौंमा यस्तो व्यावसायिक क्लिनिक नभएको हुँदा व्यवसाय फस्टाउन सक्थ्यो’, उनको अनुमान थियो ।

    त्यतिबेला अन्नपूर्ण बेसक्याम्पतिर जम्मा ३० प्रतिशत पर्यटक मात्र जान्थे । अधिकांश कञ्चनजंघा, लाङटाङ, एभरेष्ट बेस क्याम्पतिर जान्थे । ती पर्यटकलाई समेट्न उनले काठमाडौं नै उपयुक्त ठाने ।

    ठमेलमा बदनाम मसाज

    विकृत मसाजको नाममा बदनामी कमाएको थियो ठमेलले । जहाँ मसाजको नाममा यौनजन्य क्रियाकलाप हुन्थे । यही छाप आम पर्यटक र नागरिकमा थियो । यही छापका कारण चिरनले मसाज क्लिनिक खोल्न निकै संघर्ष गर्नुपर्यो । सुरुआती दिनमा त उनले बोर्डमा सिइङ ह्याण्ड्स क्लिनिक भनेर मात्र लेखे । ‘अहिले पो सिइङ ह्याण्ड्स ब्लाइण्ड मसाज नै लेखेका छौं । त्यो बेला मसाज क्लिनिक लेख्न नै डर थियो’ उनी सम्झन्छन् ।

    दृष्टिविहीन भएकै कारण साथ र सहयोगको अभाव थियो । ‘दृष्टिविहीनले पनि यस्तो काम गर्न सक्छन् र’ प्रश्नहरूले हैरान पार्थे । क्लिनिक खोल्ने बेलामा घरबेटीले चिरनको नाममा हस्ताक्षर गर्न समेत मानेनन् । ‘पोखराका फाउण्डर नै आएर हस्ताक्षर गर्नुप¥यो’, उनी सम्झन्छन् ।

    ठमेलमा व्यवसाय शुरु गर्दा कतिपयले सुझाएका थिए– यस्तो फोहोर ठाउँमा हात नहाल्नु ! यसमा चिरनको जवाफ हुन्थ्यो, ‘फोहोर सफा गर्न फोहोरमा हात नै हाल्नुपर्छ ।’

    तर, त्यही फोहोर सफा गर्न कम्ता सास्ती खेप्नुपरेको थिएन । सुरुआती दिनमा ग्राहकहरू गलत सोचेर आउँथे । नेपाली र भारतीयहरूको समूहले ‘लड्की मिलेगी’ भन्ने खालका प्रश्न गर्ने गर्थे । कति त दुःख दिने नियतका समेत हुन्थे । तिनीहरूलाई पुलिसको धम्कीसमेत दिनुपथ्र्यो ।

    शुरुमा त आजित पनि भए उनी । ‘तर, हामीलाई ठमेल नै चाहिएको थियो । कारण यो कालान्तरमा प्रोफेसनल मसाज हो, ठमेल पर्यटनको हब हो भनेर नै अघि बढाउनु थियो’, चिरन भन्छन् ।

    केही समय त प्रहरीले पनि पिछा गर्न छाडेनन् । ‘बिहानदेखि साँझसम्म प्रहरीले हाम्रो चियोचर्चो गर्थे । यसले मानसिक चिन्ता बढाइरह्यो’, उनी सम्झन्छन् ।

    मसाजमा बदनाम ठमेललाई सिइङ ह्याण्ड्सले नयाँ स्वरुप दिएको छ । अहिले सिइङ ह्याण्ड्स अन्तर्राष्ट्रियस्तरमै चर्चित छ । यो उपचार पद्धतिका लागि विदेशीहरू ठमेलमा धाउने समेत गर्छन् । ‘कालान्तरमा ग्लोबल्ली रिनाउन्ड गाइडबुकहरू जस्तो, ट्रिप एडभाइजर, लोन्ली प्लानेड, रफ गाइड, रिनाउन्ड जस्ता गाइडबुकहरूले पनि हामीलाई रिकग्मेन्ट गर्न थाले । त्यसपछि उकालो लागेको बिजनेश लाभदायक नै भयो’, चिरन सम्झन्छन् ।

    केही समय त प्रहरीले पनि पिछा गर्न छाडेनन् । ‘बिहानदेखि साँझसम्म प्रहरीले हाम्रो चियोचर्चो गर्थे । यसले मानसिक चिन्ता बढाइरह्यो’, उनी सम्झन्छन् ।

    यस घडीसम्म आइपुग्दा सिइङ ह्याण्ड्सले अन्तर्राष्ट्रिय र राष्ट्रिय रूपमा धेरै अवार्ड हात पारिसकेको छ । संस्थाले सन् २०१२ मा सूर्य नेपाल आशा सोसल एन्ट्रोपेनरसिप अवार्ड हात पार्यो, त्यसपछि धेरै मिडियाले सिइङ ह्याण्ड्सलाई समुदायमा फरक पहिचानका साथ चिनाए । ‘मसाज एउटा उपचार पद्धति रै’छ भनेर बुझ्न थालियो । दृष्टिविहीनले पनि यो काम गर्न सक्दारहेछन् भनेर विश्वास हुन थाल्यो’, चिरन सुनाउँछन् ।

    व्यवसायको सफलतासँगै सन् २०१४ मा चिरनले ललितपुरको पाटनमा दोस्रो क्लिनिक खोले । त्यसको तीन वर्षपछि सन् २०१७ मा बौद्धमा अर्को क्लिनिक पनि स्थापना गरे ।

    कोरोनाको मार

    व्यावसायिक सफलता हासिल गर्दै जाँदा चिरनमा उत्साह बढेको थियो । उनी अझै व्यवसायमा नयाँपन दिई विस्तार गर्न चाहन्थे । उनको योजना थियो सन् २०२० भित्र बैंकक् अथवा एभरेष्टतिर अर्को क्लिनिक स्थापना गर्ने । तर, विश्वभर फैलिएको कोरोना महामारीले उनको योजनामा पूर्णविराम लगाइदियो ।

    विदेशी पर्यटकहरू आउनै बन्देज भएपछि उनको व्यवसाय एकाएक ओरालो लाग्यो । ‘कुनै समय महिनामा एक हजार भन्दा धेरै सेवाग्राही आउँथे । कोरोनाले शून्यमा झारिदियो’, चिन्तित हुँदै चिरन सुनाउँछन् । चिरनको भाडा तिर्नमै लाखौं खर्च हुन्छ । जोरजाम गरेको पैसा पनि सकिंदै जान थाल्यो ।

    अहिले माहोल सामान्य हुँदै गए पनि पर्यटन क्षेत्र भने अझै ब्युँतन सकेको छैन । त्यसको प्रत्यक्ष मारमा छन् चिरन । ‘निश्चित समयसम्म भाडा त तिर्यौं । ललितपुरमा बिजनेस नहुँदासम्म भाडा नलिने शर्त छ । अरू त ऋण खोजेर चलाइरहेका छौं’, चिरन भन्छन् ।

    ऋणको मामिलामा पनि साह्रै कठिन छ चिरनलाई । ‘दृष्टिविहीनलाई बैंकले ऋण दिंदैन । खाता खोल्न पनि दिइँदैन । व्यक्तिगत ऋण लिनुपर्ने बाध्यता छ’, उनी दुःखेसो पोख्छन् ।

    समस्या त यो बेला थुप्रै छन् । तैपनि आशा मरेको छैन । संघर्षदेखि भागेर कहीं जानु छैन चिरनलाई । बरु देख्नुछ, अझै ठूला सपना । स्थिति सामान्य भएपछि उसैगरी पर्यटकहरू आउनेछन् । थेरापी गर्दै दुखाइ, पीर–मर्का सिइङ ह्याण्ड्समा बिसाउनेछन् । अघिल्ला वर्षहरूमा झैं सन्तोष मान्दै फर्कनेछन् । प्रवेशद्वारको सामुन्नेमा स्वागत गर्दै मुस्कुराइरहने चिरनलाई यो पनि थाहा छ, उनीहरूले आ–आफ्ना देशमा गएर सुनाउनेछन्– देख्ने हातहरूको कथा !

    भिडियाे