Category: फोटो फिचर

  • विश्व फोटोग्राफी दिवस : ४ हजार मिटरमाथि चुङरी बुकीमा खिचिएका भेडीगोठका मनमोहक तस्बिरहरु

    विश्व फोटोग्राफी दिवस : ४ हजार मिटरमाथि चुङरी बुकीमा खिचिएका भेडीगोठका मनमोहक तस्बिरहरु

    काठमाडाैं । आज १९ अगस्ट, विश्व फोटोग्राफी दिवस । यो दिवस केवल क्यामेराको क्लिक वा सुन्दर तस्बिरहरुको संग्रह मात्रै होइन, यो त एउटै तस्बिरले हजारौं शब्दभन्दा बढी बोल्न सक्छ भन्ने विश्वासको दिवस हो ।

    इतिहासमा फोटोग्राफरको एउटा फोटोले ठूल्ठूला युद्धहरु रोक्न बाध्य मात्रै बनाएको छैन, आमनागरिकको मौन विद्रोहलाई विश्वव्यापी आवाज समेत दिएको छ ।

    यो दिनलाई संसारभरका फोटोग्राफरहरूले आफ्नो कलाको सम्मानको दिनको रुपमा मनाउँछन् । उनीहरु तस्बिरमार्फत् आफ्नो दृष्टिकोण र विचार विश्वलार्य बताउँछन्, तस्बिरको माध्यमबाट मानवताको कथा सुनाउँछन् ।

    आज यही विश्व फोटोग्राफी दिवसको अवसरमा रुकुम पूर्वका फोटोग्राफर दिलचन पुनले आज बिहानै लेकको जीवनलाई आफ्नो क्यामेरामा कैद गरेका छन् ।

    समुद्री सतहबाट ४,००० मिटरभन्दा अग्लो चुङरी बुकीको निर्मल आकाशमुनि रहेको भेडीगोठका तस्बिरहरु पुनले खिचेका छन् । उनका तस्बिरहरुले प्राकृतिक सुन्दरता र ग्रामीण जीवनबीचको तादम्यताको कथा भन्छन् ।

    पुथा उत्तरगंगा गाउँपालिका–११ का धर्मशीर बुढा लगायत आठ परिवार अहिले चुङरी बुकिमा भेडाहरु लिएर पुगेका छन् । उनीहरू हरेक वर्ष जेठको हरियालीसँगै आफ्ना सयौं भेडाहरूलाई लेक पुर्याउँछन् । भदौको चिसो सुरु भएपछि मात्रै उनीहरू औलतिर झर्छन् ।

    दिलचन पुनका यी तस्बिरहरूमा तपाईं कुहिरोको घुम्टो ओढेर बसेका पहाडहरू, हरियो बुकीमा छरिएका मोतीजस्ता भेडाहरू र गोठालाहरूको सादगीपूर्ण तर संघर्षशील जीवनको प्रतिबिम्ब देख्न सक्नुहुन्छ । तस्बिरहरुमार्फत् हेर्नुहोस् भेडीगोठका जीवन्त दृष्य :

    तस्बिर : दिलचन पुन

     

  • श्रीकृष्णजन्माष्टमी : कृष्ण मन्दिरमा भक्तजनको भिड (फोटो फिचर/भिडिओ)

    श्रीकृष्णजन्माष्टमी : कृष्ण मन्दिरमा भक्तजनको भिड (फोटो फिचर/भिडिओ)

    काठमाडाैं । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइरहिएकाे छ ।

    त्यसैक्रममा बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको लामो लाइन लागेको छ ।

    विश्‍वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।

    तस्बिर : नेपाल फोटो लाइब्रेरी 

  • अन्न भण्डार खडेरीको चपेटामा: मधेशमा रोपाइँ ठप्प (तस्बिरहरु)

    अन्न भण्डार खडेरीको चपेटामा: मधेशमा रोपाइँ ठप्प (तस्बिरहरु)

    महोत्तरी ।  देशको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ ।

    मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ ।

    लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि महोत्तरीमा किसान चिन्तित छन्। जिल्लामा करिब ३० प्रतिशतमात्रै रोपाइँ भएको छ।

    दश नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ।

    जिल्लाको उत्तर पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवार स्यालो, ट्युववेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सफल भए पनि जिल्ला भरि रोपाइँको अवस्था सन्तोषजनक छैन ।

    पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेको छ भने फाटफुट रुपमा किसानले रोपेको खेतमा धाँजा फाट्न थालेको छ ।

    मधेश प्रदेश सरकारको सिफारिसमा संघीय मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मधेशको सुक्खाग्रस्त क्षेत्र अवलोकन गरे। प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट मधेशको अवलोकन गरेका हुन् ।

    प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन्। त्यहाँ आफूले किसानहरुसँग पनि कुराकानी गर्ने उनले बताएका छन् ।

    सरकारले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

    महोत्तरी जिल्लाका मटिहानी नगरपालिकाका ७ र ८ नम्बर वडा क्षेत्रका खेतहरू अधिकांस सुख्खा छन् भने पम्पसेटको साहेताले रोपाइँ गरिएका खेतहरुमा धाँजा फाटेका छन् ।

    सोही गाउँका स्थानीय इस्लाम कवाडीमा अनुसार यस वर्ष खेतीको लागि मात्र नभएर पिउनको लागि पनि कलमा पानी नआएको सुनाए । खेती पनि आकाशको पानीको भरमा गर्नु पर्ने खै यो साल त खेती हुदैनहोला उनले निरासा पोखे ।

    स्थानीय शान्ति खतवाका खेत पनि यस वर्ष खडेरी र सुख्खा कारण खेती भएको छैन । पैसा हुनेहरूले पम्पसेटको प्रयोगले धान रोपाई गरेपनि हामीहरू आकाशको पानीमै भर पर्नु परेको उनले सुनाइन् ।

    सो क्षेत्रका किसानहरु अहिले पानीका लागि प्रार्थना गर्दै छन् भने कोही स्थानीय सरकार लगायत सम्बन्धित निकायको सहयोग र साहेताका लागि प्रतिक्षामा रहेका छन् ।

    तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना र नेपाल फोटो लाइब्रेरी ।

     

  • तस्बिरमा हेर्नुस् ९ महिनापछि बसेको कांग्रेस केन्द्रीय समिति बैठक

    तस्बिरमा हेर्नुस् ९ महिनापछि बसेको कांग्रेस केन्द्रीय समिति बैठक

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समयअघिदेखि बैठक बसिरहेको छ ।

    कांग्रेसका सभापति शेरबहादुर देउवाले करिब नौ महिनापछि पार्टी केन्द्रीय कमिटीको बैठकको सामना गरेका हुन् ।

    बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरणलगायतका विषयमा छलफल हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

    यस्तै बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आआफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने बताइएको छ ।

    गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता डा. महतले बताए । बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिनेछ ।

  • प्राचीन मिथिलाको राजधानी, आहा ! जनकपुरधाम (तस्बिरहरू)

    प्राचीन मिथिलाको राजधानी, आहा ! जनकपुरधाम (तस्बिरहरू)

    जनकपुर । रामायणकालीन इतिहास बोकेको प्राचीन मिथिलाको राजधानी जनकपुरधाम । जसलाई ५२ कुटी ७२ कुण्डको सहर पनि भनिन्छ ।

    जानकी मन्दिर हिन्दूहरुको पवित्रस्थल हो । जनकपुरधाम ऐतिहासिक, धार्मिक, पुरातात्त्विक शहर हो ।

    हेरौँ कस्तो देखिन्छ जनकपुरधाम ड्रोनबाट

  • आकाशबाट देखिएको नागार्जुन, गोलढुङ्गा र बालाजु क्षेत्र (तस्बिरहरू)

    आकाशबाट देखिएको नागार्जुन, गोलढुङ्गा र बालाजु क्षेत्र (तस्बिरहरू)

    काठमाडौं । काठमाडौंको उत्तरी भेगमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित यस तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका र बालाजु क्षेत्र आजभोलि हरियाली र सुन्दर देखिन्छन् ।

    ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा महत्त्व राख्ने महत्त्वपूर्ण स्थलहरू रहेका यस क्षेत्रको विकास तीव्र रूपले भइरहेको छ ।

  • राजधानीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको प्राइड परेड (तस्बिरहरु)

    राजधानीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको प्राइड परेड (तस्बिरहरु)

    काठमाडौं । काठमाडौंमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले सातौ ‘नेपाल प्राइड परेड’ निकालेका छन् ।

    शनिबार संघीय राजधानीको शान्ति बाटिकाबाट सुरू भएको गौरव र्‍याली नक्सालको नारायणचौरमा समापन गरिएको थियो । क्वायर युथ ग्रुप र क्वायर राइट कलेक्टिभको आयोजनामा परेड भएको हो । यात्रामा सहभागीहरुले आफ्नो पहिचान गलत हैन भन्दै विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    अङ्ग्रेजी पात्रोअनुसार जुन महिनालाई ‘प्राइड मन्थ’ अर्थात् ‘गौरवको महिना’ मानिन्छ र यो महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुले विभिन्न कार्यक्रम आयोजना गर्छन् । यसै महिना विश्वभर गौरव यात्रा अर्थात प्राइड परेड आयोजना गरिन्छ ।

    सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दङ्गापछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले गौरव यात्रा मनाउँदै आएका छन् ।
    हेर्नुस् तस्बिरहरु–

     

    तस्बिरहरु : उमेश कार्की

  • बल्खुमा मदन-आश्रितकाे सम्झना (तस्बिरहरू)

    बल्खुमा मदन-आश्रितकाे सम्झना (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रित (मदन–आश्रित) स्मृति दिवस देश भरि विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ ।

    पार्टी केन्द्रीय कार्यालयको आयोजनामा मदन नगर बल्खुमा बिहान ८ बजे स्मृति कार्यक्रम आयोजना गरिएको छ ।

    कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायत एमालेका नेताहरू बल्खु पुगेर भण्डारी र आश्रितको सालिक र तस्बिरमा फूलमाला चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

  • ह्वात्तै बढ्याे गर्मी (तस्बिरहरू)

    ह्वात्तै बढ्याे गर्मी (तस्बिरहरू)

    काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत देशभर ह्वात्तै गर्मी बढेको छ । आज काठमाडौं उपत्यकाको तापक्रम २८ डिग्री सेल्सियस पुगेको छ  भने तराईका जिल्लामा ४५ डिग्रीसम्म पुगेकाे छ । केही दिन अघि निरन्तर भएको वर्षापछि देशभर तापक्रम बढेको हो ।

    गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । चोक तथा सडकमा छहारी, फलफूल पसलमा सर्वसाधारणको भिड छ ।

    उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन सार्वजनिक रूपमा आग्रह गरेको छ । तराईलगायत देशभर गर्मी बढ्न सक्ने महाशाखाले जनाएको छ ।

    गर्मीकै कारण चिसो खानेकुराहरुको खपत बढेको छ।

    तस्बिर :बिजेन अमात्य/नेपाल न्यूज बैंक

  • बल्खुमा सभा सकिएपछि राप्रपाले आफैँ सफा गर्‍यो सडक (तस्बिरहरु)

    बल्खुमा सभा सकिएपछि राप्रपाले आफैँ सफा गर्‍यो सडक (तस्बिरहरु)

    काठमाडौं । राप्रपाका नेता कार्यकर्ताहरुले सभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेका छन् । राप्रपाले आज बल्खुमा बृहत खबरदारी सभा आयोजना गरेको थियो ।सोही सभा सकिएपछि नेता कार्यकर्ता  र स्वयमसेवकहरुले सडकमा भएको फोहोर सफा गरेको हो ।

    काठमाडौं महानगरपालिकाले सडक फोहोर गरेवापत जरिवाना तिराउन सक्ने भन्दै उनीहरु स्वयमले सडक सफा गरेका हुन् ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएको सन्देश दिएका छन् । राप्रपाले फोहोर गरेको भनेर पत्र नकाट्न उनले चेतावनी दिएका थिए ।

    उनले भने, हाम्रो बालेनजीलाई।। यो काठमाडामैं महानगरभित्र पर्छ होइन रु बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन । पत्रकार नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेवापत भनेर चिठी नआओस ।’

  • राप्रपा आज पनि सडकमा, ८३ वर्षीय राणा र ८१ वर्षीय लोहनीको अगुवाइ आन्दोलनमा (तस्बिरहरुसहित)

    राप्रपा आज पनि सडकमा, ८३ वर्षीय राणा र ८१ वर्षीय लोहनीको अगुवाइ आन्दोलनमा (तस्बिरहरुसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना नेता-कार्यकर्ताको रिहाइ मागसहित आज काठमाडौंमा जुलुस निकालेको छ । जुलुसको अगुवाइ पार्टीका दुई वयोवृद्ध नेताहरु पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले गरे ।

    आजको प्रदर्शन राप्रपाको उपत्यकाका तीन जिल्ला समितिले गरेका हुन् । पार्टीकै झन्डा बोकेर गरिएको प्रदर्शनमा सरकारविरोधी नाराहरु लगाइएको थियो ।

    ८३ वर्षीय राणा र ८१ वर्षीय डा. लोहनी जुलुसको अग्रभागमा थिए । राप्रपाले मृतकहरुलाई शहीद घोषणा गर्नुपर्ने तथा घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ ।

  • शिक्षकले फेरि थाले राजधानी केन्द्रित आन्दोलन (तस्बिर/भिडिओ)

    शिक्षकले फेरि थाले राजधानी केन्द्रित आन्दोलन (तस्बिर/भिडिओ)

    काठमाडौं । देशभरका शिक्षकहरूले पुनः राजधानी काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आव्हानमा विभिन्न शैक्षिक एवं पेशागत समस्याको आवाज उठाएर दबाबमूलक कार्यक्रम सुरू गरिएको हो ।

    देशभरबाट आएका शिक्षकहरू आन्दोलनमा होमिएका छन् ।

    गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन थालेका हुन् ।

    गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गरिएको महासंघका नेता बताउँछन् । २०२८ कै पञ्चायत कालकै ऐनमा शासित हुनुपरेको भन्दै नयाँ युगअनुसारको कानून खोजेको उनीहरूको भनाइ छ ।

    आवधिक बढुवा हुनुपर्ने, शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने, निजामतीसरहको सेवा सुविधा दिइनुपर्ने, संवैधानिक शिक्षा आयोग व्यवस्था गरिनुपर्ने पनि उनीहरूको माग छ ।

    आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी ऐन जारी नहुँदासम्म कक्षा कोठामा नफर्किने बताउँछन् ।

    काभ्रेका ओमप्रकाश वाइबाले यसअघिका सम्झौता पालना नगरिएको गुनासो गरे । मासिक तलब पनि नियमित नपाएको उनको भनाइ छ । पर्साबाट आएका शिक्षक गोकर्ण सुवेदीले संघर्ष अनिश्चितकालसम्म जाने बताए ।

    आज दिउँसो विभिन्न स्थानबाट र्‍यालीसहित निस्केर माइतीघर मण्डलामा भेला भई बिजुलीबजारसम्म शिक्षकरूले दबाबमूलक र्‍याली निकाले । भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा प्रदर्शनको कार्यक्रम छ ।

    हेरौं सहकर्मी उमेश कार्की र विराट अनुपमले खिचेका आन्दोलनका केही तस्बिर

  • राजावादीको भण्डाफोर गर्न एमालेको देशव्यापी जागरण र्‍याली- दास र रैती बन्न मञ्जुर छैन ! (तस्विरहरू)

    राजावादीको भण्डाफोर गर्न एमालेको देशव्यापी जागरण र्‍याली- दास र रैती बन्न मञ्जुर छैन ! (तस्विरहरू)

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश दिन देशव्यापी जागरण र्‍याली गरेको छ ।

    देशभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरूमा गणतन्त्रका पक्षमा जागरणसभा र मोटरसाइकल र्‍याली गरिएकाे हो ।

    एमालेले काठमाडौं उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्‍याली गरेको महासचिव शंकर पोखरेलले बताए ।

    लोकतान्त्रिक गणतन्त्र सरकारको मात्र सरोकारको विषय नभई जनताको बलिदानीपूर्ण संघर्षको उपलब्धि पनि भएकाले त्यसको रक्षाको लागि एमालेले कार्यक्रम गरेको उनको भनाइ छ ।

    राजावादीको सक्रियता बढेपछि त्यसको प्रतिवाद गर्न एमालेले देशव्यापी अभियानको घोषणा यसअघि नै गरेको थियो । त्यही घोषणाअनुसार आज र्‍याली गरेको हो । एमालेले मात्रै नभई गणतन्त्र पक्षधर अन्य दलहरूले पनि राजावादीको जनआन्दोलनलाई प्रतिवाद गर्न देशव्यापी रूपमा आन्दोलन अगाडि बढाइरहेको छ ।

    राजावादीहरूले शुक्रबार गरेको आन्दोलन तोडफोड र लुटपाटमा केन्द्रित भएपछि अहिले चर्को विवादमा फसेको छ । तीनकुने घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको ठहर गर्दै मुख्य राजनीतिक दलहरूले कारबाहीको चेतावनी दिइरहेका छन् ।

    त्यही छेको पारेर आज एमालेले गरेको जागरण अभियानको लागि १० नारा तय गरेको छ । जसअनुसार हत्या, हिंसा लुटपाट बन्द गरे, जन्मसिद्ध अधिकार अस्वीकार गरौं, दास र रैती बन्न मञ्जुर छैन, हत्यारालाई कारबाही गर, शान्ति सुरक्षा कायम गर, सामाजिक अराजकता अन्त्य गरलगायतका नारा रहेका छन् ।

  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी (तस्बिरहरु)

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी (तस्बिरहरु)

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

    बैठक पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक केहीबेरअघि सुरु भएको हो । बैठकमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश  शर्मा, डा‍ .शेखर काेइराला, सुजता काेइरालालगायतका पदाधिकारीहरु सहभागी छन् ।

    कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल भइरहेको छ ।

    बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल भइरहेको पराजुलीले जानकारी दिए ।

     

     

  • धोबिखोला किनारामा फूलेका फूलहरू (तस्बिरहरु)

    धोबिखोला किनारामा फूलेका फूलहरू (तस्बिरहरु)

    काठमाडौं । वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ।

    सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरू फुल्छन्।

    यसैगरी धोबिखोला नदी किनारामा पनि ढकमक्क फूल फूलेका छन् ।

  • सामाजिक सञ्जाल विधेयकको विरोधमा सत्तारुढ कांग्रेसकै विद्यार्थी संगठन सडकमा (तस्विरहरु / भिडिओ)

    सामाजिक सञ्जाल विधेयकको विरोधमा सत्तारुढ कांग्रेसकै विद्यार्थी संगठन सडकमा (तस्विरहरु / भिडिओ)

    काठमाडौं । सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सडकमा निस्किएको छ ।

    सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको भन्दै आज काठमाडौंको माइतीघरमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

    उनीहरुले ‘नियमन चाहिएको हो, नियन्त्रण होइन’, ‘विद्यार्थी राजनीति सधैं प्रतिपक्ष’, ‘यो व्यवस्थामा बोल्न पाइन्न र ?’ लगायतको प्लेकार्ड बोकेर प्रदर्शन गरे ।

    सरकारले सामाजिक सञ्जाल विधेयक अघि बढाएपछि चर्को आलोचना भइरहेको छ ।

  • तस्बिरमा हेर्नुहोस् कृषि विकास बैंकको वार्षिकोत्सव

    तस्बिरमा हेर्नुहोस् कृषि विकास बैंकको वार्षिकोत्सव

    काठमाडौं । नेपाल सरकारको लगानी रहेको कृषि विकास बैंकले ५८औँ वार्षिकोत्सव मनाएको छ ।

    कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रूपमा मान्यता पाएको थियो ।

     

  • नुवाकोटको सूर्यचौरबाट देखिएको गौरीशंकर–लाङटाङ हिमशृङ्खला (तस्बिरहरू)

    नुवाकोटको सूर्यचौरबाट देखिएको गौरीशंकर–लाङटाङ हिमशृङ्खला (तस्बिरहरू)

    काठमाडौं । आइतबार बिहान नुवाकोटको सूर्यचौरबाट देखिएको गौरीशंकर–लाङटाङ हिमशृङ्खलाका दृश्यहरु ।

  • माघी : परम्परागत भेषभूषामा सजिएका थारु (तस्बिरहरू)

    माघी : परम्परागत भेषभूषामा सजिएका थारु (तस्बिरहरू)

    काठमाडौं । आज माघे सङ्क्रान्ति । थारु समुदायले आजको दिनलाई नयाँ वर्षका रूपमा मनाइरहेका छन् । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारु गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको छ ।

    यसैबीच काठमाडौंको टुंडिखेलमा पनि विशेष कार्यक्रमको आयोजना गरी थारु समुदायले माघी मनाउँदैछन् । काठमाडौंको वसन्तपुरदेखि टुंडिखेलसम्म र्‍याली निकालेर अहिले माघी मनाउन भेला भएका छन् ।

    थारु समुदायका युवतीहरू परम्परागत पोसाक र गरगहनामा सजिएका छन् । निधारमा मङ्गीया, घाटीमा सुतिया, कुहिना माथि तर्ना, छातीमा गुरिया, नथनीया, र सिक्काले सजिएका औँठीहरूले उनीहरूको पहिचान झल्काएको छ ।

    पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने गर्छन् । थारु समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ ।

    नुहाएर आफूभन्दा ठूलासँग आशीर्वाद लिने र सानालाई स्नेह गर्ने चलन छ । माघ २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीतिनियम बनाउने चलन छ । त्यसपछि केही दिन नाचगान गरेर पर्व मनाउने चलन छ ।

  • सरकारलाई गिज्याइरहेको कीर्तिपुरको ‘गर्विलो इतिहास’ (तस्विरहरु)

    सरकारलाई गिज्याइरहेको कीर्तिपुरको ‘गर्विलो इतिहास’ (तस्विरहरु)

    कीर्तिपुर । गोर्खाली र कीर्तिपुरे फौजबीच युद्ध भएको मानिएको कीर्तिपुरको ऐतिहासिक स्थानमा सुरु गरिएको ‘युद्ध स्मारक पार्क’ निर्माण कार्य बिचैमा अलपत्र परेको छ ।

    काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएपनि हाल सहयोग रोकिएपछि पार्क झाडीमा परिणत भएको छ ।

    करिब दुई सय ६५ वर्षअघि भएका युद्धको झल्को दिनेगरी निर्माण सुरु गरिएको पार्कको काम हाललाई स्थगित गरिएको कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभ लक्ष्मी शाक्यले जानकारी दिइन् ।

    ‘हामी निर्वाचित भएर आउनुअघि पार्क निर्माणको काम सुरु भएको रहेछ । तर बीचमा बजेट रोकियो र काम पनि रोकियो । हाल उक्त क्षेत्रको सरसफाइका लागि मात्र नगरपालिकाले ठूलो बजेट खर्च गर्नुपरिरहेको छ । यसलाई नगरपालिकाले इको टुरिज्मको हबका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सोही अनुसार काम अघि बढेको छ,’उनले भनिन्,‘यसलाई हामी अलपत्र हुन दिंदैनौं । संरक्षण गरेर ‘युद्ध’ नभइ ‘शान्ति’ स्मारक पार्कका रुपमा विकास गर्नुपर्ने सबैको सुझाव आएको छ । पार्क र इको टुरिज्म सँगै अघि बढाउछौं ।’

    नेपाल एकीकरणको अभियानका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुरमाथि पटक–पटक आक्रमण गरेको र सो पार्क निर्माण भइरहेको स्थान नजिकैको पर्खाल चढ्न नसकेर फर्किएको भन्ने इतिहास रहेको पनि उपप्रमुख शाक्यले बताइन् ।

    पार्कमा मुर्त–अमूर्त स्मारकहरु राख्ने अर्थात नेवारी कला र संस्कृति झल्काउने मूर्ति एवम संग्राहलय पनि निर्माण गर्ने योजना थियो । तर काम विचैमा रोकिएपछि कुँदिएका मुर्तिहरु अलपत्र मात्र परेका छैनन् पार्क क्षेत्र झाडीमा परिणत भएको छ ।

    पृथ्वीनारायण शाह आफैँ आक्रमणको कमान्डर भई गोर्खा राज्यका तर्फबाट करिब १२ सय सैनिकले कीर्तिपुरमाथि आक्रमण गरेको इतिहास छ । तर, दुई पटकको प्रयासलाई कीर्तिपुरका फौजले असफल पारेको र सोही सफलतालाई कीर्तिपुरवासीले गर्विलो इतिहास मान्ने गरेका छन् ।

    पृथ्वीनारायण शाहले कीर्तिपुरमा आक्रमण गर्दा भएको युद्ध क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिकाले पार्कको अवधारणा अघि सारेको थियो ।

    काठमाडौं महानगरले ‘नगर–नगर साझेदारी’ कार्यक्रमअन्तर्गत पार्क बनाउन बजेट सहयोग गरेको थियो ।महानगरलेआर्थिकवर्ष०७५/०७६ र ०७७/०७८ गरी दुई करोड रुपैयाँ उपलब्ध गराएको बताइन्छ ।

  • निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग आकाशबाट हेर्दा (तस्बिरहरू)

    निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग आकाशबाट हेर्दा (तस्बिरहरू)

    काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ ।

    मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ ।

    धादिङको सिस्नेखोलामा मुख्य सुरुङ र काठमाडौंको गुर्जुधारामा फ्लाई ओभरसहित द्रुत गतिको सडक निर्माण भइरहेको छ ।

    सुरुङमार्ग सञ्चालनपश्चात् इन्धन खपत कम हुने र नागढुङ्गा सडकखण्डमा सवारी जाम पनि कम हुने अपेक्षा गरिएको छ ।

  • कोहलीको अशोभनीय हर्कतः अष्ट्रेलियाका १९ वर्षिय ओपनरलाई पीचमै आएर दिए धक्का

    कोहलीको अशोभनीय हर्कतः अष्ट्रेलियाका १९ वर्षिय ओपनरलाई पीचमै आएर दिए धक्का

    काठमाडौं । भारतीय ब्याटर विराट कोहली अष्ट्रेलियाका युवा खेलाडीलाई मैदानमै दुर्व्यवहार गरेका छन् । अहिले जारी अष्ट्रेलिया र भारतबीचको चौंथो टेस्ट म्याचका क्रममा सो घटना भएको हो ।

    मेलबर्न क्रिकेट ग्राउन्डमा भएको खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको थियो । अष्ट्रेलियाबाट १९ वर्षिय साम कोन्स्टासले टेस्ट डेब्यू गरेका थिए ओपनरका रुपमा । कोन्स्टासले पहिलो म्याचमा आक्रामक शैलीमा ब्याटिङ गरेर भारतलाई दवावमा पारे । उनी ६५ बलमा ६० रन बनाएर आउट भए ।

    खेलको १० औं ओभर सकिएपश्चात कोहली र कोन्स्टास आमनेसामने भएका थिए । कोन्स्टास आफ्नै सुरमा पीचको अर्को इन्डतर्फ जाँदै थिए । कोहलीले भुईंबाट बल टिपेर उत्तेजित मुद्रामा कोन्स्टास हिँडिरहेको बाटोमा आएर कुममा धक्का दिए ।

    कोन्स्टासले पछाडि फर्किएर कोहलीलाई केही भनेको र त्यसपछि कोहली उल्टै जंगिएको लाइभमा देखिएको थियो । अष्ट्रेलियाका अर्का ओपनर उस्मान ख्वाज र म्याच अम्पायरले हस्तक्षेप गरेर विवाद चर्किन दिएनन् ।

    यस लगत्तैको ओभरमा कोन्स्टासले भारतीय फास्ट बलर जसप्रिम बुमराहलाई छक्का र चौका वर्षाउँदै १८ रन जोडे । उनले ५२ बलमा अर्धसतक पुरा गरेका थिए ।

    कोहलीले एक युवा खेलाडीप्रति देखाएको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यस सिरिजमा कोहलीले गतिलो प्रदर्शन गर्न सकेका छैनन् । उनले एक सतक बनाए पनि बाँकी ५ इनिङमा पुरै फ्लप भएका छन् ।

    यसअघि तेस्रो टेस्टमा भारतीय बलर मोहम्मद सिराजले अष्ट्रेलियन ब्याटर ट्राभिस हेडमाथि यस्तै हर्कत गरेका थिए । उनलाई आइसीसीले दण्डित समेत गरेको थियो । कोहलीलाई पनि दण्डित गर्नुपर्ने माग भइरहेको छ ।

  • बीआरआईबारे पुरानै अडान दोहोर्‍याउँदै कांग्रेसले भन्यो- प्रधानमन्त्रीले ऋण होइन भन्नुभएको छ (भिडिओ)

    बीआरआईबारे पुरानै अडान दोहोर्‍याउँदै कांग्रेसले भन्यो- प्रधानमन्त्रीले ऋण होइन भन्नुभएको छ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसले चीनसँग बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने पार्टीको धारणा अहिले पनि कायमै रहेको जनाएको छ।

    केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सम्झौताले अनुदान लिने बाटो बन्द नगरेको बताए।

    उनले भने, ‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो। त्यही निर्णयमा आज पनि कायम छौँ। अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन। ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सरकारले त्यही अनुसार परियोजना अगाडि बढाउँछ भन्ने हामीलाई विश्वास छ।’

    प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको सम्झौतामा पनि अनुदानको पहल गर्ने समझदारी अनुसार नै फ्रेमवर्कमा हस्ताक्षर भएको बताए।

     

    उनले भने, ‘प्रधानमन्त्रीसहित सबै नेताहरूले ऋण लिन सक्दैनौँ भनेर राखिसकेको अवस्थामा हामीले दुबिधा लिनुपर्ने छैन। प्रधानमन्त्रीले पनि त्यही पनि भनिराख्नुभएको छ। यो संसदमा पनि भन्नुहुन्छ होला।’

    चीन सरकारसँग यसअघि भएका अनुदानको प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्नुपर्ने बताए।

  • कीर्तिपुरमा मतदान सुरु (तस्विरहरु)

    कीर्तिपुरमा मतदान सुरु (तस्विरहरु)

    काठमाडौं । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकामा मतदान सुरु भएको छ । यहाँ मेयर र दुई वडा अध्यक्षका लागि आइतबार बिहानैदेखि मतदान सुरु भएको हो ।

    गत निर्वाचनमा मेयरमा विजयी नेपाली कांग्रेसका राजकुमार नकर्मीको निधन भएपछि आज यहाँ उपनिर्वाचन भइरहेको हो ।

    उहाँ मेयरमा कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ ।

    त्यस्तै एमालेबाट डा. सुरेन्द्र मानन्धर, माओवादीबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जन चुनावी मैदानमा छन् ।

    यहाँ गत स्थानीय चुनावमा वामपन्थी उम्मेदवारलाई बढार्दै कांग्रेसले क्लीनस्वीप गरेको थियो । अहिले मेयरसहित वडा नम्बर १ र ४ को अध्यक्षको लागि पनि उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको छ ।

  • माइतीघर मण्डलामा इजरायलविरुद्ध प्रदर्शन (तस्वीरहरु)

    माइतीघर मण्डलामा इजरायलविरुद्ध प्रदर्शन (तस्वीरहरु)

    काठमाडौं । प्यालिस्टिनीमाथि इजरायली आक्रमणको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन सुरु भएको छ ।

    नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनमोर्चा, जसपा नेपाल, नेकपासहितका दलद्वारा गठित ‘प्यालिस्टिनीमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ ले उक्त प्रदर्शनको आयोजना गरेको हो ।

    प्रदर्शनकारीहरु विभिन्न नारा अङ्कित प्लेकार्डसहित सहभागी भएका छन् । उनीहरुले गाजामा भइरहेकाे  युद्ध राेक्न समेत आग्रह गरेका छन् ।

  • अयोध्यामा श्रीराम तिलकोत्सव: माता सीताको अभिभावकको भूमिकामा मधेशका मुख्यमन्त्री सहभागी (फोटो फिचर)

    अयोध्यामा श्रीराम तिलकोत्सव: माता सीताको अभिभावकको भूमिकामा मधेशका मुख्यमन्त्री सहभागी (फोटो फिचर)

    जनकपुरधाम । सीता-राम विवाह पञ्चमीअन्तर्गत आज पहिलो पटक भारतको अयोध्यामा भगवान श्रीरामको तिलकोत्सव हुँदैछ ।

    तिलकोत्सवका लागि मधेशका मुख्यमन्त्री सतिश सिंह, मन्त्रीहरु, जानकी मन्दिरका छोटा महन्त रामरोषण दास र विश्व हिन्दू परिषद्को टोली अयोध्या पुगेको छ । टोलीको नेतृत्व मुख्यमन्त्री सिंहले गरेका छन् ।

    रामसेवकपुरम् अयोध्यामा अहिले श्री राम तिलकोत्सव समारोह जारी छ । माता सीताको अभिभावकको भूमिकामा मुख्यमन्त्री सिंह र छोटा महन्त दास पूजामा बसेका छन् ।

    श्रीराम मन्दिर ट्रष्टका सचिव चम्पत राय भगवान श्रीरामको अभिभावकको भूमिकामा छन् । दुवैतर्फका प्रतिनिधिलाई राखेर पण्डितले मन्त्रोचारण गरी तिलकोत्सव गराइरहेका छन् । सो समारोहमा ठूलो संख्यामा साधुसन्त सहभागी छन् । अहिले गीतनाद चलिरहेको छ ।

    विवाह अगाडि बेहुलीको आफन्त बेहुलाको घर पुगेर तिलकोत्सव गरिने चलन छ । त्रेतायुगमा भगवान श्रीराम र माता सीताबीच विवाह भएको थियो । त्यसकै सम्झनामा जनकपुरधाममा हरेक वर्ष विवाह पञ्चमी विशेष धुमधामका साथ मनाइन्छ ।

    भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या भगवान रामको जन्मभूमि हो । त्यहाँबाट हरेक पाँचरपाँच वर्षमा जनकपुरधाम जन्ती आउने गरेको छ । यसवर्ष पनि अयोध्याबाट जन्ती आउने बताइएको छ ।

    विवाह पञ्चमी मंसिर २१ गते परेको छ । अयोध्याबाट जन्ती मंसिर १८ गते आइपुग्नेछ । जन्ती चार दिन जनकपुरधाममा बसेर मंसिर २२ गते अयोध्या फर्किनेछ ।

  • दुर्घटनामा परिन्छ की ? (फोटो फिचर)

    दुर्घटनामा परिन्छ की ? (फोटो फिचर)

    काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभरका मुख्य शहरहरुमा आफ्नो सुविधाका लागि मोटरसाइकल चलाउने गरिन्छ । कार्यालय, घुमफिर लगायत आवश्यक काममा सार्वजनिक बसमा भन्दा आफ्नै सवारीसाधन भएको खण्डमा छिटो छरितो हुने भएकाले पनि मोटरसाइकलको प्रयोग बढी हुन्छ ।

    मुख्य सडकमा सार्वजनिक यातायातहरु प्रशस्त भेटिए पनि आफूले भनेको ठाउँमा पुग्नका लागि मोटरसाइकल सहज सवारीसाधन हो । त्यसैले पनि मोटरसाइकल चलाउनेहरुको बाहुल्यता बढी हुन्छ । मानिसहरु आवतजावतका लागि मोटरसाइकल चलाउनु त समयको वचतका हिसावले पनि राम्रो नै हो ।

    सार्वजनिक सवारीसाधनबाट झरेर १० मिनेट हिँड्नुपर्ने ठाउँमा मोटरसाइकल भएको खण्डमा दुई मिनेटमै गन्तव्यस्थल पुगिन्छ । तर मानिसहरु चढ्ने बाहेक मोटरसाइकलमा भारी सामान लोड गरेर यात्रा गर्नुले दुर्घटना बढाइरहेको छ । थोरै सामान लोड गरेर लैजान कुनै कठिनाइ हुँदैन । तर मोटरसाइकल, साइकलमा धान्ने भन्दा बढी सामानहरु लोड गर्दा हुने दुर्घटनाहरु बढिरहेका छन् ।

    एक त मोटरसाइकलमा सानो रिक्सामा अट्ने भन्दा बढी सामानहरु लोड गरिएको हुन्छ । त्यसले स्वयं चालकलाई त अफ्ठ्यारो पार्छ नै साथमा सँगै यात्रा गरिरहेका अन्य सवारीसाधनहरु पनि समस्यामा पर्छन् । किनभने लोड गरिएका अत्याधिक सामानहरुले सडक बढी ढाकिरहेको हुन्छ । जसले अरुलाई असहज बनाइदिन्छ र कतिपय ठाउँमा दुर्घटना हुन्छ ।

    सवारी तथा यातायात व्यवस्था नियमावलीकाअनुसार मोटरसाइकल/साइकलले सामानहरु ओसारपसरा गर्न मिल्दैन । आजको फोटो फिचरमा न्युज एजेन्सीका फोटो पत्रकार अनुप प्रधानले कैद गरेका यसै सम्बन्धित केही तस्बिरहरु ।

  • कोप-२९ सम्मेलनका लागि राष्ट्रपति अजरबैजान प्रस्थान (तस्बिरहरु)

    कोप-२९ सम्मेलनका लागि राष्ट्रपति अजरबैजान प्रस्थान (तस्बिरहरु)

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन अजरबैजान प्रस्थान गरेका छन् ।

    राष्ट्रपति पौडेल आइतबार साँझ अजरबैजानको बाकु सहरमा हुने कोप-२९ मा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै अजरबैजान गएका हुन् ।

    त्यसअघि राष्ट्रपति पौडेललाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्रीलगाएतले बिदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

    राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।

  • गाैरीघाटमा यसरी हुँदैछ छठकाे तयारी (तस्बिरहरु)

    गाैरीघाटमा यसरी हुँदैछ छठकाे तयारी (तस्बिरहरु)

    काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको छ । छठमा घर जान नपाउने महिला पुरुषहरु काठमाडौंको पोखरीमा नै छठ मनाउँछन् ।

    पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ ।
    यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ ।
    घाट निर्माणका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । एउटा छठ घाट पूजाका लागि  एक हजार एक सय समितिले शुल्क लिने गरेको छ । छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको हो ।

    गौरीघाट, गुहेश्वरी, गहना पोखरी, नाग पोखरी, बागमती नदी किनारामा छठी माताको पूजा गर्न सरसफाइ गर्न थालिएको छ । ४ दिनसम्म विशेष रुपमा मनाईने यो पर्वको पहिलो दिन आज ‘नहाय–खाय’ विधिबाट सुरु भएको छ ।

    ब्रतालुहरुले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएका धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य बस्तुहरु नखाने चलन छ ।

    यो विधिलाई ‘अरबा–अरबाईन’ भनिन्छ । छठको पहिलो दिन‘अरबा–अरबाईन’ गरेका ब्रतालुहरुले दोस्रो दिन अर्थात चौंथी तिथिमा ‘नहाय–खाय’ र तेस्रो दिन पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछ ।

    पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार ब्रत बसेर साँझपख पवित्र जलाशायमा गई अस्ताउँदो सूर्यलाई अध्र्य दिईन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अध्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा आएको छ ।आज साझँसम्म छठ पूजाका सम्पूर्ण तयारी सकिने गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए।

    गौरीघाटस्थित बागमती नदीमा सफाइ गर्ने, नदी किनाराका झार तथा फोहर हटाउने, टेन्ट तथा त्रिपाल, बत्ति एवं छठी माताको मूर्ति राख्ने काम जारी रहेको उनले बताए । छठ पर्व मनाउनका लागि नदी किनारा तथा ताल तलैयालाई विशेष प्रकारले सजाउने गरिन्छ ।

     

  • लक्ष्मी पूजापछि धपक्कै बलेको काठमाडौं (फोटोफिचर)

    लक्ष्मी पूजापछि धपक्कै बलेको काठमाडौं (फोटोफिचर)

    काठमाडौं । लक्ष्मी पूजा गरेपछि राजधानी शहर काठमाडौं धपक्कै बलेको छ ।

    आजको दिनमा धनकी देवीका रुपमा रहेकी लक्ष्मीको पूजा अराधना गरी सुखरात्री मनाइएको छ । पञ्चांग निर्णायक समितिका अनुसार आज साँझ ५ बजेदेखि औंसी सुरु भएकोले आजै राति लक्ष्मी पुज्नु पर्ने जनाएको थियो ।

    त्यसैअनुरुप देशभर दीपावलीसहित लक्ष्मीको पूजा अर्चना गरिएको छ ।

    हेर्नुस् काठमाडौंका विभिन्न स्थानबाट नेपाल प्रेसकर्मी उमेश कार्कीले लिइएका तस्बिरहरुः

    (भिडिओ)

  • प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान (तस्बिरहरू / भिडिओ)

    प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान (तस्बिरहरू / भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली आज त्यसतर्फ लागेका हुन् ।

     

    प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत छन् । भ्रमण दल कतारको दोहा हुँदै न्यूयोर्क पुग्नेछ ।

    ओलीलाई बिदाईका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए । त्यसअवसरमा सेनाको एक टुकडीले विशेष सम्मान प्रकट गरेको थियो ।

    उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

    प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

  • चक्रपथ बिस्तार समयमै सुरु नहुँदा सास्ती खेप्दै नागरिक (फोटो फिचर)

    चक्रपथ बिस्तार समयमै सुरु नहुँदा सास्ती खेप्दै नागरिक (फोटो फिचर)

    काठमाडौं । चक्रपथअन्तर्गत कलंकी—वसुन्धरासम्मको सडक बिस्तार सुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम सुरु भएपनि सडक बिस्तारको काम सुरु हुन सकेको थिएन ।

    यही भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरुबीच सडक बिस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्तक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया सुरु भएको छ । ८.२ किलोमिटरको दोस्रो खण्ड बिस्तारेको काम २०७५ सालमै शुरु हुनुपर्ने थियो । तर नेपाल सरकार स्वयं र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन ।

    २०६९ सालमा कोटेश्वर कलंकी पहिलो खण्डको काम शुरु भइ २०७५ सालमै सकिएको थियो । पहिलो बिस्तारको काम सकिए लगत्तै दोस्रो खण्डको सडक विस्तार सुरु हुनुपर्ने थियो । थर विभिन्न कारणवश अहिलेसम्म पनि सुरु हुन सकेको थिएन । जबकी चीनसँग सन् २०१८ मा यो सडक खण्ड बिस्तारका लागि जिटुजी सम्झौता भएको थियो ।

    चीन सरकारले पूर्वतयारीका काम नटुंग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो । यसैबीच कोरोना महामारी लगायतका कारण काम अघि बढेको थिएन । पूर्वतयारीस्वरुप नेपालले २०७५ मै रुख कटान लगायतका केही काम अघि बढाएको थियो । तर त्यसपछि दुई देशबीच सहमति बन्न नसक्दा आम नागरिकले भने दुःख र सास्ती व्यहोर्नुपर्यो । र अहिले पनि जारी छ ।

    सडक बिस्तारको रुपमा अघि बढाइएको कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीहरु अहिले पनि प्रशस्त देखिन्छन् । बालुवा, गिटी, थुपारिएको अव्यवस्थित स्वरुप पनि देखिन्छ । जसकारण सो क्षेत्रको व्यापार व्यवसायमात्रै चौपट्ट बनेको छैन, व्यवसाय नै छोड्नुपरेको गुनासो व्यवसायीहरुको छ ।

    यसबीचमा स्थानीय नागरिक र सम्बन्धित जनप्रतिनिधिहरुले सडक बिस्तारको कामलाई तिब्रता दिन आन्दोलनसमेत गरेका थिए । आजको फोटो फिचरमा कलंकी—वसुन्धरा सडक बिस्तारबारे अलपत्र र अव्यवस्थित सडकसम्बन्धी केही तस्बिरहरु ।

    तस्बिरहरुः न्युज एजेन्सी नेपाल

     

  • साफ यू–२० च्याम्पियनसीपको उपाधि चुम्न चुकेपछि भावविह्वल नेपाली टोली (तस्बिरहरु)

    साफ यू–२० च्याम्पियनसीपको उपाधि चुम्न चुकेपछि भावविह्वल नेपाली टोली (तस्बिरहरु)

    काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको उपाधि चुम्न चुकेपछि नेपाली टोली भावविह्वल बनेका छन् ।

    सादोबाटोस्थित एन्फा कन्फ्लेक्समा भएको खेलमा घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसीपको उपाधि जितेपछि नेपाली टोली मैदानमा नै भावविह्वल बनेका हुन् ।

    बंगलादेशले खेलको पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पहिलो अग्रता लिएको थियो । मिराजुल इस्लामले बंगलादेशका लागि पहिलो अग्रता दिलाएका थिए ।

    त्यसपछि ५५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर र ७१औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रतालाई तेब्बर बनाएको थियो । दोस्रो गोल पनि इस्लामले नै गरेका थिए ।

    दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले थप एक गोल गरेको थियो । नेपालका समिर स्याङताङले खेलको ८१औं मिनेटमा एक गोल फर्काएपनि जितका लागि प्रयाप्त भएन ।

     

  • फोटो कथा: विराटनगरको रथ यात्रा

    फोटो कथा: विराटनगरको रथ यात्रा

    विराटनगर । विराटनगरमा आज निकालिएको राधाकृष्णको रथयात्रामा लाखौं सहभागी भएका छन् । विराटनगर महानगरपालिका- १ स्थित राधाकृष्ण मन्दिरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूजाअर्चना गरेपछि रथ यात्रा निकालिएको हो ।

    श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा रथ यात्रा निकाल्ने चलन छ । विक्रम संवत् १९८८ सालबाट खट यात्रा प्रारम्भ भएको मानिन्छ । २०२५ सालबाट भने विराटनगरमा रथ यात्रा मनाउन थालिएको हो ।

    राधाकृष्णको युगल जोडीसहितको ९३औं संस्करणको रथ यात्रा विराटनगर महानगरपालिका- १ स्थित राधाकृष्ण मन्दिरबाट बजार परिक्रमा गर्दै पुनः मन्दिरमै पुगेर समापन हुनेछ ।

    रथ यात्रामा ५ लाखभन्दा बढी सहभागी भएको आयोजकको दाबी छ । रथ यात्रामा चोरी तथा पकेट मार्ने काममा सम्लग्न रहेको आरोपमा १५० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • तस्बिरमा हेर्नुस् रास्वपाकाे ‘आत्मनिर्भर नेपाल अभियान’

    तस्बिरमा हेर्नुस् रास्वपाकाे ‘आत्मनिर्भर नेपाल अभियान’

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गरेको छ। केन्द्रीय कार्यालय, वनस्थलीमा आज नेपाली उत्पादनको प्रदर्शनीसहित ‘नीति मन्थन’ गरेर रास्वपाका केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन, उद्योग तथा वाणिज्य, उत्पादन प्रवद्र्धन, कृषि र अनुसन्धान तथा अभिलेखिकरण विभागको संयोजनमा अभियान सुरु गरिएको हो।

    अभियानको शुभारम्भ गर्दै उपसभापति डीपी अर्यालले आन्तरिक उत्पादन अभिवृद्धिको दीर्घकालिन लक्ष्यसहित तत्कालका लागि भने स्वदेशमै उत्पादनको क्षेत्रमा भइरहेका उपलब्धी देखाएर विदेशिने खोज्ने युवालाई मुलुकभित्रै रहन प्रेरित गर्न अभियान सुरु गरिएको बताए । ‘आत्मनिर्भर नेपाल अभियान’ वडास्तरसम्म विस्तार गरिने जानकारी पनि दिए ।

    कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मुलुकलाई आत्मनिर्भर बनाउन सानास्तरमा भइरहेका कामलाई एकीकृत गर्ने उद्देश्यका साथ सुरु गरिएको अभियानअन्तर्गत नीतिगत परिवर्तनको बहसलाई पनि सँगसँगै लगिने बताए।

    शुभारम्भ कार्यक्रममा सांसदद्वय गणेश पराजुली र अशोककुमार चौधरीले संभावना भएका उत्पादनमा जोड नदिएसम्म मुलुकको आर्थिक रुपान्तरण नहुने भन्दै त्यसमै सहयोग पुर्‍याउन अभियान थालिएको बताए ।

    रास्वपाका केन्द्रीय सदस्य एवं स्टार्टअप तथा नवप्रवर्तन विभाग प्रमुख डा. प्रभात अधिकारीका अनुसार देशमा रहेका युवालाई उद्यम र श्रममा जोड्दै रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता न्यूनीकरणमा राजनीतिक दलहरुले प्रत्यक्ष योगदान गर्न सक्छन् भन्ने सन्देश दिन पनि रास्वपाले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरुवात गरेको हो।

    ‘स्वदेशी उत्पादन प्रवद्र्धनमा सहयोग, आन्तरिक रोजगारी सिर्जना र दुबैका लागि समयसापेक्ष नीति–कानून तर्जुमामा सकारात्मक दबाब दिने उद्देश्यका साथ अभियान सुरु गरेका हौं’, डाक्टर अधिकारीले भने।

    रास्वपाका केन्द्रीय सदस्य एवं उत्पादन प्रवद्र्धन विभाग प्रमुख रामकृष्ण भट्टराईले युवालाई स्वदेशमै रोक्न सकिन्छ भन्ने सन्देश दिन अभियान फलदायी हुने विश्वास व्यक्त गरे ।

    अभियान शुभारम्भका लागि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका उत्पादनदेखि नेपालमा बनेका सामग्री प्रदर्शनीका ३० स्टल छन्। रास्वपा कार्यालयमा ‘आत्मनिर्भर नेपाल अभियान’सँग सम्बन्धित ५ वटा विषयमा ‘नीति मन्थन’ समेत भइरहेको छ।