पछिल्लो समय हिन्दू राजतन्त्रको पक्षमा जसरी जनता आफैं सडकमा आइरहेका छन्, यसमा धेरैले पूर्व राजाको संलग्नताको आकलन पनि गरिरहेका छन् । मलाई अचेल दिनहुँ देशभरिबाटै फोन आइरहेका छन् । अब राजतन्त्र फर्काउनुपर्छ, हामी सडकमा आइसक्यौं, तपाईंले पनि मुख खोल्नुपर्यो भनिरहेका छन् । म देशभरका प्रदर्शनहरूमा प्रत्यक्ष संलग्न छैन । तर पनि कतिपय ठाउँमा बोलाएको बेला पुगेको छु । हामी यो स्वस्फूर्त जनमतलाई नेतृत्व र एजेण्डामा हिंडाउनुपर्छ भन्ने छलफलमा चाहिं छौं ।
राजा फर्काउने भन्ने कुरा सोचे र भने जस्तो छैन । यो कसैले फर्काउँछौं भनेर वा राजा आफैंले राजतन्त्र ब्युँताउँछु भनेर हुँदैन । जनताले माग गरिसकेका छन्, यसको निचोडमा पुग्न त पर्छ । तर यही संविधान मानेर वा यही संविधानभित्रबाट त्यो परिवर्तन आउँछ भन्ने चाहिं मैले देखिरहेको छैन । त्यसका लागि मूल ठाउँमै पुग्नुपर्छ । त्यो मूल ठाउँ भनेको त २०४७ सालको संविधान नै हो, अर्थात् २०६३ अघि जानुपर्छ ।
राजा मन्त्रिपरिषद्को अध्यक्ष हुँदा म मन्त्री बन्नु अघि जे भनिरहेको थिएँ, अहिले पनि त्यही भनिरहेको छु ।
राजनीतिमा गल्ती जहाँ हुन्छ त्यहींबाट सुधार्नुपर्छ । यहाँ संवैधानिकताको प्रश्न आउँछ । संविधानसभाको चुनाव, विघटित संसद्को पुन:स्थापनाका साथसाथै त्यहाँबाट भएका क्रियाकलाप कुन संविधान बमोजिम भएको थियो त्यो हेर्नुपर्छ । यो त मैले भनिरहेको छु तर यहाँ विद्वान्–विद्वान् संविधानविद् हुनुहुन्छ उहाँहरू यसबारे बोल्नुहुन्न ।
अहिले सडकमा भइरहेको आन्दोलन कुनै राजनीतिक पार्टीको होइन । स्पष्ट नेतृत्व नभएका र कसैले बोकेका युवा पनि यसमा सहभागी छन् । अभियन्ता पनि छन् । अभियन्ताको आफ्नै स्वार्थ पनि हुनसक्छ, मञ्चमा बस्ने भाषण गर्ने आदित्यादि । साथै अन्य जनमानसको पनि सहभागिता छ आन्दोलनमा । यसमा धार्मिक र राजनीतिक जुलूस पनि छ ।
राजाले मलाई फर्काऊ भन्ने ?
एउटा के कुरामा प्रष्ट हुनुपर्छ भने, यी प्रदर्शनहरूमा पूर्व राजाको संलग्नता वा उक्साहट केही पनि छैन । मलाई त्यस्तो लाग्दैन र मैले बुझेसम्म उहाँ हेरिरहनुभएको छ । यहाँ अब्बल दर्जाका राजनीतिक व्यक्तिका गाली पनि सुनिरहेको छु । एकथरी राजावादीहरू राजाको इजार नै समातेर पनि हिंडिरहेका होलान्, थप नंग्याउनलाई । प्रयास त के हो भने राजालाई धकेलेर संवैधानिक ठाउँमा पुर्याउने हो । म त राजाको कुरै गर्दिनँ, संविधानको कुरा गर्छु । यो संविधान फेर्नुपर्छ, जहाँबाट गयो त्यहीं फर्किनुपर्छ ।
मेरो यो कुरा चाहिं देशको एक मात्र डाक्टर प्रधानमन्त्री (बाबुराम भट्टराई)ले बुझेछन् । उनले अहिलेको परिवर्तनका चार वटा खुट्टा– गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशिता हो भनेका छन् । यीमध्ये एउटा झिक्यो भने यो व्यवस्था जान्छ भन्ने उनको कुरा ठीकै हो । मेरा लागि त यो उपलब्धि नै होइन । उनी विद्वान् छन्, उनले ठीकै कुरा बुझेछन् ।
अहिले सडकमा भइरहेको आन्दोलन कुनै राजनीतिक पार्टीको होइन । स्पष्ट नेतृत्व नभएका र कसैले बोकेका युवा पनि यसमा सहभागी छन् । अभियन्ता पनि छन् । अभियन्ताको आफ्नै स्वार्थ पनि हुनसक्छ, मञ्चमा बस्ने भाषण गर्ने आदित्यादि । साथै अन्य जनमानसको पनि सहभागिता छ आन्दोलनमा ।
मैले त के देख्छु भने, धर्मनिरपेक्षता ल्याएर यो देशमा धार्मिक राजनीति त उनीहरूले नै ल्याए । संघीयता देशलाई जोड्न ल्याउनुपर्ने थियो तर यसले देशलाई विभाजित गरेको छ । समावेशीका नाममा जातीयताको विषवृक्ष रोपिएको छ । राजालाई हटाएर देशलाई यति लघुताभासमा पुर्याउनुभयो कि, विद्यादेवी होउन् वा रामवरण यादव उहाँहरूको हुर्मत नै लिइयो । जनस्तरमा राष्ट्रपति पदको कुनै इज्जत छ ?
राजाले के भन्ने ? मलाई राजा बनाऊ भन्ने ? मलाई राजा बनाऊ भनेर राजा सडकमा जाँदैनन् । यिनै राजाले श्रीपेच र राजदण्ड जनताको नासो मैले बुझाएँ भन्ने राजा हुन् । यी गणतन्त्रवादीलाई भन्दा प्रजातन्त्र त राजालाई थाहा छ । उनले त यस्ता आन्दोलन कति हेरे कति इतिहासदेखि नै । कांग्रेस कम्युनिष्ट पनि उनकै जनता हुन् ।
संविधानको संरक्षकको हिसाबले द्वन्द्व व्यवस्थापन गर्न दलहरूले सकेनौ, म मिलाउँछु र शान्तिपूर्ण व्यवस्था हस्तान्तरण गर्छु भन्दा दुई वर्ष पनि दिएनन् । त्यसैले राजाले राजतन्त्र पुनर्वहालीको माग गर्दैनन् । यो माग भनेको जनताले गरेका हुन् र पुनर्वहाली पनि जनताले नै गर्छन् । यो कुरा चाहिं जनताले बुझे । हामी नकराइकन यो राजा आउँदैन भनेर उनीहरू सडकमा आउन थालेका हुन् ।
गणतन्त्र ल्याउन संघर्ष गर्नेहरूले नै फाल्छन्
राजा नभई नहुने रहेछ भन्ने बल्ल जनताले बुझ्दैछन् । एक हिसाबले यो १५-१६ वर्ष चाहिं खूब राम्रो भएको छ देशलाई । माथिदेखि तलसम्म छरपस्ट भयो यो व्यवस्था । हाम्रो लागि त खुशीकै कुरा हो, गणतन्त्र ल्याउन मान्छेले जति संघर्ष गरेका थिए, त्यस्तै संघर्ष अब गणतन्त्र फाल्नका लागि होला नि ! जनताले त्यो संकेत त देखाइसक्यो । जनताले संघर्ष गर्छ, त्यसपछि उनीहरूलाई नेतृत्व दिन कोही निस्कन्छ ।
कतिपयले पूर्व राजा, पूर्व युवराज पारसको फोटो देखाएर फेरि यिनीहरूलाई ल्याउन सडकमा आएका हौ ? पनि भनिरहेका छन् । हिजो पारसलाई गाली गर्नेहरू आज अहिलेका गणतन्त्रवादी नेताहरूलाई गाली गरिरहेका छन् । पारसले त म राजा हुन्न भनेरै आफ्नो निजी जीवनमा फर्किएका हुन् । तर आज बाबुराम भट्टराईको पोस्टमा गाली हेर्नुस् त । तिनै जनता होइनन् र हिजो राजालाई गाली गर्ने ? त्यसैले जनताले राजा फर्काउँछौं भनेर हिंडेपछि उनीहरू पछि फर्किंदैनन् ।
कतिपयले पूर्व राजा, पूर्व युवराज पारसको फोटो देखाएर फेरि यिनीहरूलाई ल्याउन सडकमा आएका हौ ? पनि भनिरहेका छन् । हिजो पारसलाई गाली गर्नेहरू आज अहिलेका गणतन्त्रवादी नेताहरूलाई गाली गरिरहेका छन् ।
म त हिन्दू राजसंस्था निकट भविष्यमै फर्किन्छ भन्ने देखिरहेको छु । को राजा बन्छ, ज्ञानेन्द्र कि हृदयेन्द्र भन्ने निर्णय जनताले गर्लान् । जनमत त सडकमा देखिन थाल्यो । त्यहाँ आउने सबै राजावादी होइनन् । राजावादी त कांग्रेस कम्युनिष्टमा पनि छन् । संवैधानिक राजतन्त्र मानेको भएर मान्छे उसको पछि लागेका थिए । कम्युनिष्टले पनि राजा मानेकै कारण राजावादीको भोट पाएका हुन् । तर धोखा भयो भन्ने बुझेपछि त्यहीं भित्रैबाट उनीहरूलाई भोट दिने जनता नै सडकमा आएका हुन् । केपी अोली र प्रचण्डको जिल्लामा त्यत्रा मान्छे कहाँबाट आए ? ती राजावादी कुनै संगठित त होइनन् । त्यसैले नेताहरूले बुझ्नुपर्छ, जनताले के खोजेका छन् भनेर ।
गणतन्त्रले गाउँस्तरदेखि नै यो व्यवस्थाप्रति जनतालाई प्रष्ट बनायो । हामी त अहिले सडकमा आउने बेलै भएको छैन, अहिले आएकाहरू त कांग्रेस र कम्युनिष्टका मतदाता हुन् । वास्तविक राजावादीहरू घरमा आरामसँग हेरेर बसिरहेका छन्, बाहिरको माहोल । सडकमा जब गणतन्त्रको विकल्पका रूपमा आन्दोलन चर्किन्छ, त्यसपछि उनीहरू पनि आउनुपर्छ ।
गणतन्त्रवादी नेताहरूलाई हामीले नगर्ने कुरा गरेछौं भन्ने लागेको छ । नेपाली जनता कहिलेसम्म गणतन्त्रवादी नेताहरूको बन्धनमा रहने अब बन्धनबाट मुक्त हुने वेला आएन ? अहिलेको निकास प्रजातन्त्र नै हो । हैन भने त हामी गणतन्त्रवादीको खल्तीमा पुग्यौं । खल्तीमा अड्किएर बस्ने कि बाहिर निस्कने ? खल्तीबाट बाहिर निस्कने बेला आएको छ ।
अब नेपालमा हिन्दू राष्ट्र र राजा स्थापित गर्नका लागि संघर्षको आवश्यकता भएको छ । राजतन्त्र फालेर गणतन्त्र ल्याउन जति संघर्ष भएको थियो अब राजतन्त्र फेरि ल्याउन संघर्ष गर्ने बेला भएको छ । अहिले देशलाई हेर्नुस् न, देश कहाँ पुग्यो । नेपालमा दुईतिहाइ बहुमत भएको प्रधानमन्त्रीको अवस्था कस्तो छ हेर्नुस् न ! राजनीतिक स्थायित्वको कुरै भएन यहाँ । नेपालको राजनैतिक स्थायित्वका लागि अन्तर्राष्ट्रिय जगतले पनि हेरिरहेको छ । अब यहाँ कुन दिन विस्फोट हुने हो त्यसको प्रतीक्षा मात्र हो ।
एकथरी मानिसको भनाइ छ यही संविधानभित्र राजालाई ल्याउनुपर्छ भन्ने । जनमत संग्रहबाट फर्काउन सकिन्छ भन्नेहरू पनि छन् । एक सेक्टर छ, हिन्दू राज्य भयो भने राजा आइहाल्छन् भन्ने । तर कता कता यसमा भारतीय स्वार्थ पो छ कि भन्ने मलाई लाग्छ । आखिर यहाँ गणतन्त्र ल्याइदिएको त भारतले हो । उनीहरूले हिजो धर्मनिरपेक्षताको लागि ‘रअ’ पठाएको हो । त्यसैले अहिलेको संविधानबाट जनमत संग्रहबाट राजा कसरी आउने ?
अहिलेको संविधानमा राजा अटाउलान् ? वास्तवमै अहिलेको संविधान त भारतीय एजेन्ट रअ ले ल्याएको होइन र ? अहिले ऊ आफैं भन्दैछ, यही संविधानमा राजालाई मिलाऊ भनेर । यो संविधानको त सालनालै काटेर फ्याल्नुपर्छ । नेपालको अहिलेको संवैधानिक प्रक्रियाबाट राजा ल्याउने कुरा विश्वसनीय छैन । हिन्दू राज्य मात्रै फर्काउने कुराले अहिलेको मागलाई सम्बोधन गर्दैन ।
राजाको देश दौडाहामा मधेशमा जनताको जुन लहर देखियो ती कसैले पैसा दिएर आएका होइनन् । राजाको जुलूसमा नजान धम्कीका बीच उनीहरू आएका थिए । मलाई डर चाहिं यो स्वस्फूर्त आन्दोलनको निरन्तरता हुन्छ कि हुन्न भन्ने छ । कतै विदेशी स्वार्थले घुमाइदिने हो कि ?
देश राख्ने हो भने राजसंस्था फर्काउनुपर्छ भन्नेमा विस्तारै जनमत बन्दैछ । कुनै राजनीतिक शक्ति र नेताविनै देशको झण्डा बोकेर यत्रो जनता सडकमा आइरहेका छन् । म चाहिं अब धेरै पर अहिलेको परिस्थिति जानुहुँदैन भन्छु । नेकपाभित्रको झगडाले पनि त्यो आधार बलियो बनाइरहेको छ । उनीहरूको अहिलेको विवाद सुल्झिए पनि यिनीहरू सुध्रिंदैनन् । यही ग्राउण्डबाट हिन्दू राजसंस्था फर्किन्छ ।
राजाको देश दौडाहामा मधेशमा जनताको जुन लहर देखियो ती कसैले पैसा दिएर आएका होइनन् । राजाको जुलूसमा नजान धम्कीका बीच उनीहरू आएका थिए । मलाई डर चाहिं यो स्वस्फूर्त आन्दोलनको निरन्तरता हुन्छ कि हुन्न भन्ने छ । कतै विदेशी स्वार्थले घुमाइदिने हो कि ? नेतृत्वविहीन आन्दोलन अघि बढ्दै जाँदा यसका चुनौती पनि देखिन्छन् ।
यो आन्दोलनलाई कहीं न कहीं नेतृत्व दिनुपर्छ । यहाँ राजावादी भन्नेहरूमै मेल छैन र राप्रपा जनताको आन्दोलन उठेपछि मिसिन पुगेको छ । यहाँ राजालाई दलाई लामा बनाउन पनि गइरहेका छन् मान्छे । राजाको इजार समात्नेहरू दलाई लामा बनाउन, यहाँबाट भगाइदिन पनि लागिरहेका छन् । कतिपय राजावादीहरू यहाँ अब राजा आइहाल्छन् भनेर मन्त्री बन्न दौरा–सुरुवाल सिलाएर पनि बसेका छन् । कसैले राजा आउ भनेका छन्, कसैले हिन्दू राज्य भनेका छन्, कसैले संघीयता खारेजी गर भनेका छन् । मागमा एकरूपता पनि भएन । त्यसैले यसलाई सही माग र नेतृत्वमा लैजानका लागि छलफल भइरहेको छ ।
सडकमा हजारौं मान्छे आएपछि यहाँका गणतन्त्रवादीहरूले दक्षिणपन्थी सल्बलाहट भन्दै आन्दोलनमा राजाको भूमिका देख्न थालेका छन् । कतिपयले आर्थिक स्रोतको प्रश्न पनि उठाएका छन् । अहिले राजाका लागि भइरहेको आन्दोलन स्वस्फूर्त हो । यसका लागि राजाको कुनै आर्थिक सहायता छैन । राजासँग त आर्थिक स्रोत पनि के छ र ! छोरीको घर त खोसे । फेरि पनि यो आन्दोलन बढ्दै जाँदा अर्कै रूप लिन सक्छ । यसको बेफाइदा भनेको नै सरकारलाई हो । जनता पार्टीका पेवा हैनन् । अब राजातिरै आउँछन् ।
(तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारका सञ्चारमन्त्री श्रीषशमशेर जबरासँग भएको कुराकानीमा आधारित)
