काठमाडौं । नेपाल प्रहरीले भदौ २३ र २४ गते जेनजीको आह्वानमा आयोजित शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा उत्पन्न भएको ‘अत्यन्त अनपेक्षित एवं दुःखद घटना’प्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले मङ्गलवार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनामा नागरिक र प्रहरीको दुःखद निधन भएकोमा सबैलाई ‘अत्यन्त मर्माहत’ बनाएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्ररहित र अपराध न्यूनीकरणका लागि जिम्मेवार भई मुलुकप्रति समर्पित हुन सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई अपिल गरिएको छ । प्रदर्शनका क्रममा भएको जनधनको क्षतिलाई ‘अत्यन्त अपूरणीय एवं दुःखद’ भनिएको छ । यस घटनाबाट सिर्जित परिस्थितिलाई थप बिग्रन नदिनका लागि नागरिक–प्रहरीबीच साझेदारीपूर्ण र शान्तिपूर्ण सहकार्यमा जोड दिइएको छ ।
विज्ञप्तिअनुसार, आन्दोलनका क्रममा घाइते भएकाको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण र कुनै पनि आपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनर्स्थापना लागि राष्ट्रिय दायित्वमा एकाकार भई कार्य गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । नेपाल प्रहरीले सार्वजनिक शान्ति, अमन चयन, अपराध नियन्त्रण, र अनुसन्धान गरी कानुन कार्यान्वयनको माध्यमबाट कानुनी शासन स्थापित गर्ने कार्यमा सबैले साथ र सहयोग प्रदान गर्न हार्दिक अनुरोध समेत गरेको छ ।

































