Category: स्थानीय निर्वाचन–२०७९

  • वडा नम्बर ११- काठमाडौंमा कांग्रेसको १० औं जित, मेयरमा धेरै भोट बालेनलाई

    वडा नम्बर ११- काठमाडौंमा कांग्रेसको १० औं जित, मेयरमा धेरै भोट बालेनलाई

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले १० औं जित दर्ता गराएको छ । महानगरको वडा नम्बर ११ मा कांग्रेसको प्यानल नै विजयी भएको हाे ।

    कांग्रेसका हिरालाल तण्डुकार १५५५ मतका साथ विजयी भएका छन् ।

    एमालेका योगेन्द्रमान श्रेष्ठले ९४६ मत पाए ।

    मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले सबैभन्दा बढी १०९६ मत पाएका छन् ।

    यस्तै कांग्रेसकी सिर्जना सिंहले ९८२ र एमालेका केशव स्थापितले ६४८ मत पाएका छन् ।

  • भरतपुरमा २८१९५ मत गन्न बाँकी, रेणु ८७५६ मतले अगाडि

    भरतपुरमा २८१९५ मत गन्न बाँकी, रेणु ८७५६ मतले अगाडि

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा फेरि पनि रेणु दाहाल जिततर्फ अग्रसर भएकी छन् ।

    २८ हजार १९५ मत गन्न बाँकी छँदा पाँच दलीय गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी दाहालले ३९ हजार ४१६ मत प्राप्त गरेकी छन् ।

    दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३० हजार ६६० मत प्राप्त गरेका छन् ।

    भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९९ हजार ६४४ मतगणना गरिएको छ ।

    वडा नम्बर ४ को मतगणना देखि नै लगातार अग्रता लिँदै आएकी दाहाल सुवेदीभन्दा आठ हजार ७५६ मतले अगाडि छन् ।

    अहिले भरतपुर–२१ र २२ को मतगणना भइरहेको छ । दुवै वडामा गठबन्धनका उम्मेदवार अगाडि छन् । सात वटा वडाको पुरै मत गन्न बाँकी छ ।

    कुनै चमत्कार भएको अवस्थामा बाहेक सुवेदीले जित्ने सम्भावना देखिँदैन । एमालेका वडा अध्यक्षका उम्मेदवारले पाएको भोट एमालेकै मेयरका उम्मेदवार सुवेदीले पाएका छैनन् ।

    एमालेको गढ मानिएको वडामा नै मेयरमा दाहाललाई दिएर बाँकी पदमा एमालेका उम्मेदवारलाई मत दिएको पाइएको छ ।

    कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलका कारण पनि रेणु दाहाललाई जित्न सहज भएको छ । पौडेलले अहिलेसम्म १२ हजार ८१० मत ल्याएका छन् । असन्तुष्ट कांग्रेसीबाट सुवेदीलाई जान सक्ने मत पौडेलले रोकेका छन् ।

    मेयरमा सुवेदीलाई दाहालले धेरै मतान्तरले पछाडि पारे पनि माओवादी केन्द्रले पाएको वडा अध्यक्ष पद जित्न सकेको छैन । २२ नम्बर वडाको मत गणना भइरहँदा माओवादीले एउटा मात्रै वडा जितेको छ ।

    उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४१ हजार ६६७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले २४ हजार २६७ मत ल्याएकी छन् ।

  • काठमाडौं-१३ को मतगणना सुरु: सुमन सायमीकाे अग्रता, बालेन दाेस्राे

    काठमाडौं-१३ को मतगणना सुरु: सुमन सायमीकाे अग्रता, बालेन दाेस्राे

    काडमाडौं । काठमाडौं महानगरपालिका १३ को मतगणना सुरु भएको छ ।पहिलो ३०० मतगणना हुँदा स्वतन्त्र उम्मेदवार सुमन सायमीले अग्रता लिएका छन् ।

    सायमीकाे चुनावचिन्ह आँखीझ्यालले ९० मत  पाएकाे छ । यस्तै  अर्का स्वतन्त्र उम्मेदवार बालेन साह दाेस्राे स्थानमा छन् ।  उनलाई ६४ मत आएको छ ।

    तेस्राे स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापितले ५५ र चाै‌थाेमा कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३ मत पाएकी छन् ।

    वडा नम्बर १३ काठमाडाै‌काे काेर एरियाभित्र पर्छ ।

  • काठमाडौं-२५ मा पनि कांग्रेस विजयी, मेयरमा आँखीझ्यालले ल्यायो दोस्रो सर्वाधिक मत

    काठमाडौं-२५ मा पनि कांग्रेस विजयी, मेयरमा आँखीझ्यालले ल्यायो दोस्रो सर्वाधिक मत

    काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २५ को वडाध्यक्षमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका उम्मेदवार राजेश डंगोलले

    नेकपा एकीकृत समाजवादीका बाबुराज महर्जनलाई पराजित गरेका हुन् ।

    प्राप्त नतिजाअनुसार डंगोलले ९१३ भोट ल्याएर विजयी भएका छन् भने महर्जनले ८०१ मत ल्याएर पराजय व्यहोरे । यस वडामा ४ हजार ३४१ भोट खसेको थियो । यो वडा जितेसँगै काठमाडौंका ९ वटा वडाहरू कांग्रेसको पोल्टामा गएका छन् ।

    मेयरतर्फ भने यस वडामा एमालेका केशव स्थापितले सर्वाधिक मत ल्याएका छन् । उनले ९९० भोट ल्याए ।

    दोस्रो सर्वाधिक भोट स्वतन्त्र उम्मेदवार सुमन सायमीले ल्याए । उनको चुनाव चिन्ह आँखीझ्यालमा ८८२ भोट खसेको छ ।

    यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ७८८ भोट ल्याएर तेस्रो स्थानमा छिन् भन् स्वतन्त्र उम्मेदवार बालेन शाहले ७३० भोटका साथ चौथो स्थानमा छन् ।

  • बाँकेमा नेकपा एमाले ‘नील’

    बाँकेमा नेकपा एमाले ‘नील’

    रुपन्देही । लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा रहेको बाँकेमा अहिलेको स्थानीय तहको निर्वाचनमा कुनै पालिका जित निकाल्न सकेन । ८ स्थानीय तह रहेको बाँकेमा अघिल्लो निर्वाचनमा ४ वटा पालिका जितेर पहिलो दल बनेको थियो ।

    सत्ता गठबन्धनले एमालेले अघिल्लो निर्वाचनमा जितेका सबै पालिकामा एमालेको विरासत खासेका छन् । एमालेले २०७४ को निर्वाचनमा बाँकेका कोहलपुर नगरपालिका र खजुरा, बैजनाथ, र जानकी गाउँपालिका अहिले गुमाएको हो । ८१ वडामध्ये अघिल्लो चुनावमा ३१ वडा जितेकोमा यस पटक एमाले २१ वडामा खुम्चिएको छ ।

    एमालेले २०४९ यताका तीन वटै स्थानीय निर्वाचन जितेको कोहलपुर नगरपालिका पनि यो पटक गुमाएको छ । कोहलपुरको मेयरमा पूर्णबहादुर आचार्य र उपमेयरमा संगीता सुवेदी विजयी भएका हुन् ।

    त्यसै गरी नरैनापुर र जानकी गाउँपालिकामा वडामा समेत उपस्थिति भएको छैन ।

    एमालेले २०७४ मा जितेको जानकी गाउँपालिका कांग्रेसले जितेको छ । कांग्रेसका छब्बन खाँ अध्यक्ष र रामप्यारी यादव उपाध्यक्ष निर्वाचित भएका छन् ।

    बैजनाथ गाउँपालिकामा कांग्रेसबाट प्रकाशबहादुर शाही अध्यक्ष र निर्मला रोकाय उपाध्यक्ष विजयी भएका छन् । खजुरा गाउँपालिकामा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष र कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष निर्वाचित भएका छन् ।

    नरैनापुर गाउँपालिकामा जसपा दोहोरिएको छ । जसपाबाट अध्यक्षमा इश्तियाक अहमत शाह र उपाध्यक्षमा जयान्तीदेवी श्रीवास्तव पुनः निर्वाचित भएका छन् ।

    नेपालगञ्ज उपमहानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका प्रशान्त विष्ट मेयर र जसपाका कमरुद्धिन राई उपमेयरमा विजयी भएका छन् ।

    त्यस्तै, डुडुवा गाउँपालिकामा कांग्रेस दोहोरिएको छ । कांग्रेसका नरेन्द्रकुमार चौधरी र शाहिदा बानो अध्यक्ष तथा उपाध्यक्ष निर्वाचित भएका छन् ।

    एमाले बाँके इन्चार्ज सूर्य ढकालले पाँच दलीय गठबन्धनले गर्दा नै एमालेको नतिजा नआएको बताएका छन् ।

  • चितवनमा रेणुलाई ८४९४ मतको अग्रता

    चितवनमा रेणुलाई ८४९४ मतको अग्रता

    चितवन । चितवन भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ ।

    पछिल्लो विवरणअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ८ हजार ४९४ मतको फराकिलो मतान्तर कायम गरेकी छन् ।

    रेणुने अहिलेसम्म ३८ हजार ६५५ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १६१ मत पाएका छन् ।

    स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ६४१ मत ल्याएका छन् ।

    यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९०० मत प्राप्त गरेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङले २३ हजार ८७३ मत प्राप्त गरेकी छन् ।

  • झापाको गौरीगञ्जमा अध्यक्ष उपाध्यक्ष नै महिला निर्वाचित हुने पक्का

    झापाको गौरीगञ्जमा अध्यक्ष उपाध्यक्ष नै महिला निर्वाचित हुने पक्का

    झापा । गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित हुने पक्का भएको छ ।

    नेपाली कांग्रेसका उम्मेदवार फुलवती राजवंशी अध्यक्षमा र नेकपा एमालेका उम्मेदवार पूजन न्यौपाने उपाध्यक्षमा निर्वाचित हुने पक्का भएको हो ।

    गाउँपालिकामा करिब २ सय मत गन्न बाँकी रहँदा हालसम्मको परिणाम अनुसार अध्यक्षमा राजवंशी २ हजार र उपाध्यक्षमा न्यौपाने १ हजार १ सय मतले अग्रता कायम राखेका छन् ।

  • ४ सय पालिका जित्ने कांग्रेसको लक्ष्यमा अन्तर्घातको धक्का, अन्तर्घातीको ओखती के ?

    ४ सय पालिका जित्ने कांग्रेसको लक्ष्यमा अन्तर्घातको धक्का, अन्तर्घातीको ओखती के ?

    काठमाडौं । गठबन्धनको बलमा पहिलो दल बन्न सफल भएपनि नेपाली कांग्रेसका शीर्ष नेताहरुले सन्तोषको श्वास फेरेका छैनन् । किनकी समग्र परिणाममा जित हासिल भएपनि विगतका परिणाम जोगाउन नसकेका र अन्तर्घातको तथ्यले कांग्रेस नेताहरूलाई झस्काएको छ ।

    नेपाली कांग्रेसले हालसम्म जित हासिल गरेका र अग्रता लिएका स्थानीय तहको संख्याका आधारमा ७ सय ५३ मध्ये कम्तीमा ३ सय २५ स्थानीय तहमा उसको नेतृत्व स्थापित हुने पक्का छ । अघिल्लो निर्वाचनमा २ सय ६५ स्थानीय तहको नेतृत्व गरेको कांग्रेसको राजनीतिक ‘वासलात’ फाइदामै देखिन्छ ।

    यद्यपि अघिल्लो निर्वाचनमा जितेकामध्ये झण्डै ७० वटा स्थानीय तहको नेतृत्व कांग्रेसले ‘पाँचदलीय गठबन्धन’ हुँदा पनि गुमाएको छ । अन्तर्घातकै कारण ४ सय बढी स्थानीय तहमा प्रमुख जित्ने कांग्रेसको उद्देश्यमा धक्का लागेको छ ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनअघि पत्रकार सम्मेलनमा गठबन्धनले ७५ प्रतिशत र कांग्रेस एक्लैले बहुमत पालिका जित्ने दाबी गरेका थिए । मतगणना अन्तिम चरणमा पुग्दा दुवै सम्भावना टरिसकेका छन् । यद्यपि दोस्रो स्थानको नेकपा एमालेसँग फराकिलो अग्रतासहित कांग्रेस पहिलो पार्टी बनेको छ ।

    ‘निर्वाचन परिणामले हामीलाई पहिलो पार्टी बनाएको छ । अपवादबाहेक चुनावी तालमेल र गठबन्धन सफल भएको मानेका छौं’, प्रवक्ता महतको भनाई छ । यदि कांग्रेसमा अन्तर्घात नभएको भए कांग्रेसले ४ सय बढी पालिका जित्ने महतको भनाइ छ । ‘अन्तर्घात कांग्रेसमा रोगको रुपमा रहेको छ । आफूबाहेक कसैलाई नस्वीकार्ने परिपाटी यसपटक पनि देखियो । यदि हामी आन्तरिकरूपमा एकताबद्ध भएको र अन्तर्घात नभएको अवस्था थियो भने कम्तीमा ४०० पालिका जित्थ्यौ’, महतले भने ।

    महतको भनाइ मतपरिणामको तथ्यांकसँग मिल्दो छ । कांग्रेसले विगतमा एकल जितेका झण्डै ७० पालिका यसपटक गुमाएको छ । दार्चुला र पूर्वीरुकुममा त कांग्रेसले एउटै स्थानीय तहको पनि नेतृत्व जित्न सकेन । विगतमा ११ मध्ये ९ पालिका जितेको गोरखामा कांग्रेसले यसपटक २ पालिका मात्रै जित्यो ।

    अघिल्लो निर्वाचनमा ८ मध्ये ६ वटा पालिकाको नेतृत्व पाएको नवलपुरमा कांग्रेस यसपटक २ वटामै सीमित रह्यो । त्यसबाहेक सुर्खेत, स्याङ्जा, कैलाली, पाल्पा, चितवन, अर्घाखाँची, बारा, सप्तरी, मोरङ लगायतका जिल्लामा संगठित रुपमै अन्तर्घात भएको कांग्रेसको आन्तरिक आँकलन छ ।

    किन हुन्छ अन्तर्घात ?

    कांग्रेसमा अन्तर्घात नौलो विषय होइन । २०४८ यताका सबैजसो चुनावमा कांग्रेसभित्र अन्तर्घातका सयौं किस्सा भेटिन्छन् । पार्टीका नेताहरूको आपसी शक्ति टकराव वा पार्टी नेतृत्वको निर्णय नै अन्तर्घातको मुख्य कारण बन्ने गरेको छ ।

    ‘हार्नेहरू अन्तर्घात भयो भन्छन् तर किन अन्तर्घात भयो भन्दैनन् । आफू वा आफूले चाहेको व्यक्तिले टिकट नपाए हराउनका लागि अन्तर्घात गर्ने चलनै भइसक्यो’, अन्तर्घातको कारणबारे एक कांग्रेस नेता भन्छन् । ती नेता कतिपय सन्दर्भमा गलत व्यक्तिले टिकट पाउँदा पनि अन्तर्घात हुने बताउँछन् ।

    ‘पालिकाको मात्रै कुरा नगरौं कतिपय वडासम्म अन्तर्घात भएको छ । कतिपय स्थानमा विद्रोहीले जित्ने अवस्था बनेको छ । यसो हुनुमा मुख्य कारण उम्मेदवार छनोटको कमजोरी पनि हो’, ती नेताको भनाइ छ ।

    कांग्रेसले अघिल्लो संसदीय निर्वाचनमा अन्तर्घातको आरोपमा केही नेताहरूलाई कारबाही पनि गरेको थियो । विगतमा कारवाही गरेका नेताहरू पनि अहिले कांग्रेस हराउन खुलेरै सक्रिय भएको नेताहरुको बुझाइ छ ।

    अन्तर्घातको ओखती के ?

    कांग्रेस प्रवक्ता महत अनुशासन नै अन्तर्घातको ओखती भएको बताउँछन् ।

    ‘पार्टीले निर्णय नगर्दासम्म आफ्नो विचार राख्ने हो तर निर्णय भएपछि सबैले मान्ने हो । यो अनुशासन सबै तहका नेता कार्यकर्ताले पालना गर्नुपर्यो’, महतको भनाइ छ । पार्टीभित्र दण्डहीनताले पनि अन्तर्घातलाई प्रश्रय दिने महतको दावी छ ।

    ‘अन्तर्घात गर्नेलाई कडा कारवाही गरेर तलसम्मै सन्देश दिनसक्नुपर्छ । अन्तर्घात गर्नेलाई कारबाही गर्न सकेनौं भने यो अझ बढ्छ’, महतले भने ।

    उनले स्थानीय निर्वाचनको परिणामबारे पार्टीको तल्लो संरचनाबाट प्रतिवेदन बुझ्ने र केन्द्रीय समितिमा समीक्षा हुने बताए । ‘हामी लगातार छलफल गर्छौं । कमजोरी भएका विषयमा समिक्षा गर्छौं’, महतले भने ।

  • काठमाडौं अपडेट : उपमेयरमा सुनिता तेब्बर मतले अगाडि

    काठमाडौं अपडेट : उपमेयरमा सुनिता तेब्बर मतले अगाडि

    काठमाडौं । काठमाडौं महानगरको उपमेयर तर्फ १ लाख १० हजार ८६० मतगणना भएको छ ।

    मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेको महानगरमा उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलको अग्रता छ । उनले ३९ हजार ८१६ मत प्राप्त गरेकी छन् ।

    यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार राम श्रेष्ठले १३ हजार ८९५ मत पाएका छन् । पछिल्लो परिणामअनुसार उपमेयरमा डंगोलले २५ हजार ९२१ मतको अग्रता कायम गरिरहेकी छन् ।

  • धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज विजयी

    धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज विजयी

    सुनसरी । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् ।

    उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मतमा रोकिए । दुईजनाबीचको मतान्तर ४ हजार ७ सय ६२ छ ।

    त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा विजयी भए । उनले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।

  • रुपन्देहीका ३ पालिकामा गणना बाँकी, नतिजा आएका कहाँ कसको जित ?

    रुपन्देहीका ३ पालिकामा गणना बाँकी, नतिजा आएका कहाँ कसको जित ?

    रुपन्देही । १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा १३ पालिकाको मतगणना सकिएको छ । बाँकी ३ वटामा गणना जारी छ ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिकाको मतगणना जारी रहेको छ । मतगणना भैरहेको तिलोत्तमा नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा कांग्रेस अगाडि छ भने कोटहीमाई गाउँपालिकामा एमाले अग्रता कायम गरेको छ ।

    परिणाम आएका १३ पालिकामध्ये गठबन्धनको तर्फबाट ८ वटा पालिकामा कांग्रेसले जितेको छ । त्यस्तै एमालले तीनवटा पालिकामा जितेको छ, भने एक-एक पालिकामा जनता समाजवादी पार्टी र जनता प्रगतिशील पार्टीको जित हासिल गरेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका, कञ्चन गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मायादेवी गाउँपालिका जितेको हो ।

    त्यस्तै एमालेले देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र गैडहवा गाउँपालिका जितेको छ । जनता समाजवादी पार्टीले रोहिणी गाउँपालिका र जनता प्रगतिशील पार्टीले मर्चवारी गाउँपालिकामा जितेका छन् ।कांग्रेसले जितेको बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेय र उपमेयरमा एमालेकी सावित्रा अर्याल, सैनामैना नगरपालिकामा फणिन्द्र शर्मा र उपमेयरमा एमालेकी विना राना तथा सिद्धार्थनगर नगरपालिकाको मेयरमा ईस्तियाक अहमद खान र उपमेयरमा एमालेकी उमा अधिकारी निर्वाचित भएका छन् ।

    कांग्रेसले जितेको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा विष्णुप्रसाद बस्याल र उपाध्यक्षमा एमालेकी शान्तादेवी चौधरी, सियारी गाउँपालिकाको अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा कांग्रेसकै तारा थारु, कञ्चन गाउँपालिकामा नवराज ढकाल र उपाध्यक्षमा कांग्रेसकै मौसमी थापा, सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा विनोदप्रसाद श्रीवास्तव र उपाध्यक्षमा कांग्रेसकै कुमारी प्रियंका शाही तथा मायादेवी गाउँपालिकाको अध्यक्षमा धु्रववनारायण चौधरी र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदादेवी उपाध्यायमा निर्वाचित हुनुभएको छ । त्यस्तै एमालेले जितेको देवदह नगरपालिकाको मेयरमा ध्रुव खरेल र उपमेयरमा एमालेकै विद्यालक्ष्मी गुरुङ, ओमसतिया गाउँपालिकाको अध्यक्षमा मञ्जितकुमार यादव र उपाध्यक्षमा काँग्रेसकी सुनिता चौधरी विजयी भएका छन् ।

    गैडहवा गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र पौडेल र उपाध्यक्षमा एमालेकै माधुरी जैसवाल विजयी भएका छन् । मर्चवारी गाउँपालिका जितेको जनता प्रगतिशील पार्टीबाट अध्यक्षमा गयाप्रसाद बरई र उपाध्यक्षमा जनता प्रगतिशील पार्टीकै आशासिंह निर्वाचित भएको निर्वाचन कार्यालय रुपन्देहीले बताएको छ ।

    रोहिणी गाउँपालिका जितेको जनता समाजवादी पार्टीबाट अध्यक्षमा विद्याप्रसाद यादव र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी शिवकान्ती चमार विजयी भएका छन् ।

  • दलतन्त्रविरुद्ध जित निकालेका यी हुन् स्वतन्त्र उम्मेदवार (सूचीसहित)

    दलतन्त्रविरुद्ध जित निकालेका यी हुन् स्वतन्त्र उम्मेदवार (सूचीसहित)

    काठमाडौं । ७५३ स्थानीय तहमध्ये १० स्थानीय तहको नेतृत्वमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक उपमहानगरपालिका र तीन नगरपालिकाको प्रमुखमा र ६ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।

    निर्वाचन आयोगका अनुसार अहिलेसम्म ७१२ स्थानीय तहको नतिजा सार्वजनिक हुदाँ धनगढी उपमहानगरपालिकासहित ६ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।

    महोत्तरीको बर्दिबास नगरपालि प्रमुखमा प्रहलाद कुमार क्षेत्री, जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा राजुसिंह कठायत, कालिकोटको खाँडाचक्र नगरपालिका प्रमुखमा कमलबहादुर शाही निर्वाचित भएका छन् ।

    यस्तै मुलुकभरका ४६० गाउँपालिकामध्ये ६ गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जसमा बैतडीको डिलासैनीमा सन्तोषप्रकाश जोशी भोजपुरको साल्पासिलिछो गाउँपालिकाको अध्यक्षमा दौलथकुमार कुलुङ र ओखलढुंगाको मानेभञ्ज्याङको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली विजयी भएका छन् ।

    यस्तै डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको अध्यक्षमा कार्मा छोइवेल गुरुङ, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा मोहनबहादुर केसी निर्वाचित भएका छन् । यस्तै हुम्लाको चंखेली गाउँपालिकाको अध्यक्षमा प्यारीलाल शाही निर्वाचित भएका छन् ।

    यस्तै एक नगरपालिकोको उपप्रमुख र तीन वटा गाउँपालिकाको उपाध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

    महोत्तरीको बर्दिबास नगरपालिकाको उपप्रमुखमा तारा देवी डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको उपाध्यक्षमा पेम्मावाङछेन गुरुङ, मनाङ्गको मनाङ ङिस्याङ गाउँपालिकाको उपाध्यक्षमा छिरिङ गुरुङ र बाजुराको बुढीनन्दा नगरपालिकाको उपप्रमुख रामबहादुर बोहरा निर्वाचित भएका छन् ।

    यस्तै सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा हर्क साङपाङ र काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह पनि स्वतन्त्रबाटै जित तर्फ लम्किरहेका छन् ।

  • कांग्रेसले कब्जा गरेको भनिएको बुथमा ९९ प्रतिशत मतदानः एमाले भन्छ- गणना गर, कांग्रेस भन्छ- पुनः मतदान

    कांग्रेसले कब्जा गरेको भनिएको बुथमा ९९ प्रतिशत मतदानः एमाले भन्छ- गणना गर, कांग्रेस भन्छ- पुनः मतदान

    धनगढी । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा मतगणना सम्पन्न भएर नतिजा पनि सार्वजनिक भइरहेको छ । तर, बाजुराको बुढीगङ्गा नगरपालिकामा मतदान गर्ने कि मतगणना गर्ने भन्ने विवाद अझै निरूपण भएको छैन ।

    नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा नेपाली कांग्रेसले पुनः मतदान गर्न माग राखेको छ । तर, नेकपा एमालेले भने मतदान शान्तिपूर्ण भएको भन्दै मतगणना गर्नुपर्ने बताउँदै आएको छ ।

    यस्तो छ विवादको जड

    बाजुराको बुढीगंगा नगरपालिका ४ स्थित थुमा मावि मतदान स्थलमा एक हजार ७०९ मतदाता रहेकोमा एक हजार ६९९ मत खसाइएको थियो । यो मत प्रतिशत ९९ दशमलव ४१ हो । नेपाली कांग्रेसले नियन्त्रणमा लिइएको भनिएको यो मतदानस्थल सम्भवतः नेपालमै सबैभन्दा बढी मत खसेको हो । थुमा मावि मतदान स्थलमा दुई वटा मतदान केन्द्र रहेका थिए ।

    नेपाली कांग्रेसका नगर प्रमुख उम्मेदवार रङ्गबहादुर खातीको मतदान स्थल पनि यही हो । २०७४ को स्थानीय तहको चुनावमा पनि यो मतदान स्थलमा बाजुरामै सबैभन्दा बढी मत खसेको थियो । यो मतदान स्थलमा विगतदेखि नै कांग्रेसले नियन्त्रणमा लिएर फर्जी मत हाल्दै आएको आरोप लाग्ने गरेको छ । तर, कांग्रेसले भने यो कुराको खण्डन गर्दै आएको छ ।

    नेपाली कांग्रेसका बाजुरा सभापति रामसिंह रावलले भने एमालेले अन्य वडामा मतदान केन्द्र कब्जा गरेको आरोप लगाए । ‘२, ३, ५ र ९ मा एमाले कार्यकर्ताहरुले बुथ कब्जा गरेका छन्’, सभापति रावलले भने, ‘अब यी वडाहरूमा पुनः मतदान हुनुपर्छ ।’

    ती क्षेत्रमा पुनः मतदान नभएसम्म मतगणना हुन नदिने उनले बताए ।

    एमाले नेता कर्ण थापाले भने कांग्रेसले हार हुने डरले पुनः मतदानको अडान राखेको बताए । ‘कांग्रेसले बुथ कब्जा गरेर ९९ प्रतिशत मत खसाएको छ । फेरि पराजित हुने डरले कांग्रेसले अनावश्यक विवाद गरेको छ’, थापाले भने, ‘तत्काल यहाँको मत गणना हुनुपर्छ ।’

    समग्र मतदान केन्द्रको सुरक्षाको जिम्मेवारी लिएका सुरक्षाकर्मीहरू वडा नम्बर २, ३, ५ र ९ नम्बरका मतदान स्थलबाट अपरान्हतिर मतपेटिकासमेत मतदान स्थलमै छाडेर हिँडेका थिए । कांग्रेस नेताहरूले एमालेले बुथ कब्जा गरेपछि सुरक्षा दिन नसकेर भाग्न बाध्य भएको बताएका छन् । यता एमाले नेताहरूले भने कांग्रेसले सत्ताको दुरुपयोग गरेर प्रहरी प्रशासनलाई फिर्ता बोलाएको आरोप लगाएको छ ।

    बुढीगंगा नगरपालिकास्थित निर्वाचन कार्यालय प्रमुखको जिम्मेवारीमा खटिएका उपसचिव कृष्ण सापकोटाले भने आफू असुरक्षित रहेको र हुलहुज्जत हुनसक्ने भन्दै निर्वाचनमा तोकिएको जिम्मेवारीबाट निर्वाचन आयोगमा राजीनामा पठाएपछि यहाँ थप विवाद भएको थियो ।

    जिल्ला निर्वाचन व्यवस्थापन समितिद्वारा सर्वदलीय बैठक आयोजना गरिएको भए पनि दलहरूबीच सहमति हुन सकेन । थप अध्ययनका लागि आइतबार निर्वाचन आयुक्त सगुन शमशेर जबरासहितको टोली बाजुरा पुगेको थियो ।

    कांग्रेस नै किन भनिरहेको पुनः मतदान ?

    कांग्रेसले नियन्त्रणमा लिएर मतदान गरेको आरोप लागेको वडा नं ४ स्थित थुमा मावि मतदान स्थलमा जम्मा १० मत खसेन । ९९ दशमल ४१ मत खस्नुले फर्जी मतदान प्रमाणित हुने बताइएको छ ।

    तर, कांग्रेसले नै अहिले पुनः मतदानको विषय उठाएको छ । कांग्रेसको प्रभाव क्षेत्र रहेको यो मतदान केन्द्रमा एमालेको पक्षमा एकतिहाइभन्दा कम मत खस्ने विगतको तथ्यांक छ।

    यसअघिको स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले कब्जा गरेर एमाले उम्मेदवार पराजित भएको एमालेको आरोप छ ।

    कांग्रेसको थुमा मतदान केन्द्र जस्तै एमालेको त्रिशक्ति मावि मतदान केन्द्रमा प्रभाव छ। वडा ९ स्थित यो मतदान केन्द्रमा १ हजार ४८३ मतदाता छन् । वैशाख ३० को मतदानमा १ हजार ३४७ मत खसेको छ।

    ९० दशमलव ८२ प्रतिशत मतदान पनि अपेक्षित होइन । त्यसबाहेक एमाले प्रभाव रहेको २, ३ र ५ मा पनि धाँधली भएको कांग्रेसको आरोप छ ।
    आफूले जम्मा दुई तर एमालेले चार बुथमा बढी मत खसाएको आशंकापछि कांग्रेस केन्द्रले नै पुनः मतदानको माग गरेको छ ।

    ‘बुढीगंगा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा एमालेका कार्यकर्ताहरुले कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरूलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी (बुथ कब्जा गरी) फर्जी मत हालेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’, कांग्रेस एक हप्ता ढिलो गरी सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ ।

    त्यसअघि एमालेले वैशाख ३० मै वक्तव्य जारी गरेर सरकारले निर्वाचन बिथोल्न खोजेको आरोप लगाएको थियो । एमाले अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘बाजुराको बुढीगंगामा मतदान जारी रहेकै बेला रहस्यमय ढंगले सुरक्षाकर्मी हटाई निर्वाचन बिथोल्न खोजियो ।’

    प्रतिवेदन अध्ययन गर्दै आयोग

    बुढीगंगा नगरपालिकाको विवाद स्थानीयस्तरमै समाधान नभएपछि निर्वाचन आयोगले स्थलगत अध्ययनका लागि गत आइतबार निर्वाचन आयुक्त सगुन शमशेर जबरासहितको टोली बाजुरा पठायो ।

    उक्त टोलीले सदरमुकाम मार्तडी आएर सुरक्षा निकाय प्रमुख, राजनीतिक दलका प्रमुख, मतदानमा खटिएका निर्वाचन अधिकृतलगायतसँग घटनाबारे जानकारी लियो । दोस्रो दिन बुढीगंगास्थित स्थलगत अध्ययनसमेत गर्‍यो । उक्त टोलीले अध्ययन प्रतिवेदन आयोगमा बुझाइसकेको बताइएको छ । तर, आयोगले उपयुक्त निर्णय लिन भने अझै सकिरहेको छैन ।

    निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले उच्चस्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन अध्ययन भइरहेको भन्दै अहिल्यै पुनः मतदान गर्ने वा मत गणना गर्ने भन्ने विषयमा निर्णय नभइसकेको बताए ।

    ‘उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार गरेर आयोगमा बुझाएको छ’, उनले भने, ‘आयोगले अध्ययन गरिरहेको छ । त्यसपछि मात्रै पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने विषयमा निर्णय हुन्छ ।’

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपालप्रेससँग कुरा गर्दै बाजुराको सन्दर्भमा आयुक्तको टोलीले तयार पारेको प्रतिवेदन नखोलिएको बताए ।

    उनले सम्भवतः सोमबार आयोग बैठकमा पेश हुने र त्यसलाई अध्ययन गरेर साँझसम्म निर्णय गरिने बताए । थपलियाले भने, ‘आयुक्त नै गइसकेपछि त्यहाँ आयोग गएको हो । प्रतिवेदन खोलिएको छैन । भोलि खोल्छौं र निष्कर्ष निकालेरमात्र उठ्छौं । सबैका कुराहरु त्यसमा समेटिएका छन् ।’

    बुढीगंगामा कांग्रेसबाट मेयर बनेका रंगबहादुर खातीका भाइ खम्मबहादुर खाती महान्यायाधिवक्ता छन् । यहाँ शक्तिको प्रयोग हुन लागेको भन्दै एमालेले खबरदारी गरिरहेको छ ।

  • स्थानीय तहमा ४ नयाँ पार्टीको उदयः रेशमको ‘धमाका’, मधेसबाट रविन्द्रको इन्ट्री

    स्थानीय तहमा ४ नयाँ पार्टीको उदयः रेशमको ‘धमाका’, मधेसबाट रविन्द्रको इन्ट्री

    काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमार्फत स्थानीय तहमा चार नयाँ पार्टीको उदय भएको छ ।

    जसमा रेशम चौधरीको नागरिक जनमुक्ति पार्टी, सीके राउतको जनमत पार्टी, रविन्द्र मिश्रको विवेकशील साझा र हृदयश त्रिपाठीको जनता प्रगतिशील पार्टी छन् ।

    उनीहरूको जितको ‘विशेषता’ र दिन खोजेको सन्देश पनि भिन्नभिन्न छ । जसमा चौधरीको पार्टीले कैलालीमा ‘धमाका’ देखाएको छ भने अन्यले अस्तित्व रक्षाको काम मात्रै गरे ।

    हृदयेशको पार्टीले गृहजिल्ला पश्चिम नवलपरासीमा कुनै सिट जित्न सकेन । रुपन्देहीमा भने एक पालिका हत्यायो ।

    कैलालीमा रेशम चौधरीको पार्टीको कमाल

    २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर- १ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट रेशम चौधरी फराकिलो मतान्तरले विजयी भए । २०७२ को टीकापुर घटनाका अभियुक्तसमेत रहेका चौधरी त्यतिबेला ‘फरार अभियुक्त’ थिए ।

    फरार अवस्थामैं रहेका बेला उनले निर्वाचन जित्नु धेरैका लागि ‘सरप्राइज’ घटना थियो । त्यस्तै अर्को सरप्राइज चौधरीले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि दिएका छन् ।

    उनी अहिले जेलमा छन् । बाहिर पत्नि रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन् । सोही पार्टीले कैलालीका १३ तहमध्ये ४ तहको नेतृत्वमा बाजी मारेर जिल्लाकै ठूलो दल बन्यो ।

    चौधरीको पार्टीले ४ तह जित्दा, नेपाली कांग्रेसले तीन, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले २/२ र नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले १/१ तह जितेका छन् ।

    चौधरीको पार्टीबाट टीकापुर नगरपालिकाको मेयरमा रामलाल डगौरा थारु, जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतीदेवी कठरिया, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी र उपमेयरमा राजु तिरुवा र जोशीपुर गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी र उपाध्यक्ष रेखादेवी कठरिया विजयी भए ।

    टीकापुर, जानकी र भजनीमा सत्तारूढ तीनदलीय गठबन्धनलाई नै हरायो ।

    जनमत पार्टी दुई तहमा सीमित

    कुनै समय देश विखण्डनको नाराले देशै तरंगित बनाएका सीके राउत २०७५ मा सरकारसँग सम्झौता गर्दै विखण्डनको नारा छाडेर शान्तिपूर्ण राजनीतिमा आएका छन् ।

    त्यसपछि उनले जनमत पार्टी खोलेर तराईमा किसानका मुद्दालाई उठान गर्दै महिनौंको आन्दोलनपछि मुलधारको राजनीतिमा सक्रियता जनाए । उनको किसान आन्दोलन मधेस मुद्दामा राजनीति गरिरहेका जसपा र लोसपाको टाउको दुखाइ सुरू भएको थियो ।

    तर, आसन्न स्थानीय तह निर्वाचनमा भने राउतको जनमत पार्टी भने जम्मा दुई स्थानीय तहमा थन्किएको छ ।

    पूर्वझापादेखि पश्चिम बर्दियासम्म २० जिल्लाका अधिकांश पालिकामा जनमतले उम्मेदवार उतारेको थियो । तर, सप्तरीका हनुमान नगरी कंकालिनी नगरपालिका र बालन-विहुल गाउँपालिकाले मात्रै सो पार्टीको अस्तित्व रक्षा गरेको छ ।

    हनुमाननगरी कंकालिनीमा जनमत पार्टीका मेयर वीरेन्द्र माझी ६ हजार ४०७ मतसहित विजयी हुँदा उपमेयरमा भने जसपाकी सरितादेवी यादव विजयी भएकी छन् ।

    उता बालान-विहुलमा जनमत पार्टीका अध्यक्षका उम्मेदवार खेमचन्द्र यादव २ हजार ९९४ मतसहित विजयी भए भने उपाध्यक्षमा पनि सोही पार्टीकी रेणु यादव २ हजार ६९० मत सहित विजयी भइन् ।

    हृदयेशको साख जोगाएको मर्चबारी

    मधेशवादी पार्टीबाट लामो समय राजनीति गरेका पूर्वमन्त्री हृदयेश त्रिपाठी २०७४ यता पुरानो पार्टीहरूबाट सम्बन्ध विच्छेदको अवस्थामा थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको निर्वाचन चिन्ह सूर्यबाट चुनाव लडेका उनी आफूलाई स्वतन्त्र सांसद भनेर चिनाउँथे ।

    उनले पछिल्लो समय ‘जनता प्रगतिशील पार्टी’ नामक दल खोलेका छन् । त्यो दलले पनि यसपटकको स्थानीय तह निर्वाचनमा आफ्ना खाता खोलेको छ ।

    रुपन्देही मर्चबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद जित्दै सो पार्टीले त्रिपाठीको साख जोगाएको छ । मर्चबारीको अध्यक्षमा सो पार्टीका गयाप्रसाद बरई ४ हजार ३८५ मत ल्याएर विजयी हुँदा कांग्रेसका ज्ञानप्रकाश मिश्र ३ हजार २४५ मतमा सीमित भए ।

    उपाध्यक्ष सोही पार्टीकी आशा सिंह २ हजार ९६५ मत ल्याएर विजयी हुँदा कांग्रेसकी सुमन यादवले २ हजार ४०९ मत पाइन् । मर्चबारीका ७ वडामध्ये मध्ये २ वडामा त्रिपाठीको पार्टी वडाध्यक्ष जितेको छ ।

    फेटाले जोगाएको रविन्द्र मिश्रको इज्जत

    २०७४ को स्थानीय तह निर्वाचनमा राजधानीलगायत सहरी क्षेत्रमा वैकल्पिक शक्तिको उद्घोषसहित उदाएका विवेकशील नेपाली दल र रविन्द्र मिश्रको साझा पार्टीले निर्वाचनपश्चात एकता गरे । पार्टी एकतापछि विवेकशील साझा पार्टी बन्यो ।

    तर, वैचारिक विवादका कारण पार्टी निकै कमजोर बन्यो । योबेला बाराको फेटा गाउँपालिकाले विवेकशीलको इज्जत ढाक्ने काम गरिदिएको छ । यहाँ अध्यक्षमा रुस्तम अन्सारीले ४ हजार ४८५ मत ल्याएर विजयी हुँदा उपाध्यक्षमा पनि सोही पार्टीकी निलम साहले ३ हजार ५७० मत ल्याएर जितेकी छन् ।

    वडाध्यक्षमा ७ मध्ये २ वटा वडा विवेकशील साझाले जितेको छ ।

  • स्थानीय तह निर्वाचनमा १३ दलको अस्तित्व, कसले कति जिते ?

    स्थानीय तह निर्वाचनमा १३ दलको अस्तित्व, कसले कति जिते ?

    काठमाडौं । यसपटकको स्थानीय तह निर्वाचनमा जितका आधारमा १३ वटा दलहरू अस्तित्वमा देखिएका छन् । निर्वाचन प्रयोजनका लागि दर्ता भएका ७९ दलमध्ये १३ दलले स्थानीय तहको नेतृत्व (अध्यक्ष/मेयर) जितेर अस्तित्व कायम गरेका छन् ।

    यसरी जित्ने दलहरूमध्ये नेपाली कांग्रेसले ३१३ स्थानीय तह जित्दै पहिलो दल बनेको छ । दोस्रोमा नेकपा एमालेले १९३ तह जितेको छ भने, नेकपा माओवादी केन्द्रले १२० तह जित्दै तेस्रो भएको छ ।

    यस्तै जनता समाजवादी पार्टीले २८ तह, नेकपा एकीकृत समाजवादीले १७ तह, लोकतान्त्रिक समाजवादी पार्टीले १२ तह, राप्रपाले ४ तह, राष्ट्रिय जनमोर्चाले ४ तह, नागरिक उन्मुक्ति पार्टीले ४ तह र जनमत पार्टीले २ तह जितेका छन् ।

    यस्तै नेपाल मजदुर किसान पार्टी, विवेकशील नेपाली दल र जनप्रगतिशील पार्टीले १/१ तह जितेका छन् । यस्तै ११ तहमा स्वतन्त्र उम्मेदवार जितेका छन् ।

    उपमेयर/उपाध्यक्ष पदमा कांग्रेस २९१, एमाले २१९, माओवादी केन्द्र १२५, जसपा २९, नेकपा एस २१, लोसपा ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ३ र राष्ट्रिय जनमोर्चा २ तहमा जितेका छन् ।

    यस्तै नेमकिपा, जनप्रगतिशील, विवेकशील साझा, जनमत पार्टीले १÷१ तह जितेका छन्, भने ५ तहमा स्वतन्त्र उम्मेदवार जितेका छन् ।

  • डाक्नेश्वरीकाे मेयर र उपमेयरमा एमाले विजयी

    डाक्नेश्वरीकाे मेयर र उपमेयरमा एमाले विजयी

    सप्तरी । डाक्नेश्वरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका नारायण यादवले पाँच हजार ३९६ मत ल्याए।

    उपमेयरमा एमालेकै मीराकुमारी यादवले ५ हजार १९७ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए। निकटतम प्रतिद्वन्द्वीमा जसपाकी इन्दुदेवी यादवले ५ हजार २०९ मत ल्याइन् । इन्दुदेवी यादव निवर्तमान उपप्रमुख थिइन् ।

    वडाध्यक्षमा एमाले र कांग्रेसले चार÷चार, जसपा र लोसपाले एक÷एक वडा अध्यक्षमा विजयी हासिल गरेको छ । एमालेबाट वडा नम्बर ५ मा रमेशकुमार चौधरी, ८ मा सीताराम पण्डित कुम्हार, ९ मा कर्णदेव चौधरी र १० मा कुञ्जिलाल चौधरी वडाध्यक्षमा निर्वाचित भएको छ ।

    कांग्रेसबाट वडा नम्बर १ मा प्रितमलाल चौधरी, वडा २ मा रहमान मियाँ, वडा ३ मा भागेश्वर यादव र वडा ४ मा हरिप्रसाद राय वडाअध्यक्षमा विजयी हुनुभएको छ । वडा नम्बर ६ मा जसपाका कुशेश्वरप्रसाद यादव र वडा नम्बर ७ मा लोसपाका शत्रुघ्न मण्डल वडाध्यक्षमा निर्वाचित भएको छ ।

    योसँगै सप्तरीमा एमालेको निर्वाचित स्थानीय तह तीन पुगेको छ । कांग्रेस सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपाले तीन र लोसपा तथा जनमत पार्टीले दुई/दुई स्थानीय तह र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एक/एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।

    अब रुपनी गाउँपालिकाको परिणाम सार्वजनिक हुन बाँकी छ । रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादवले अग्रता लिएको छ । उनलाई निवर्तमान अध्यक्ष जसपाका हरेराम यादवले पछ्याइ रहेको छ ।

  • भरतपुर महानगरमा ३३ हजार ६०७ मत गन्न बाँकी, ८०५९ मतले रेणुको अग्रता

    भरतपुर महानगरमा ३३ हजार ६०७ मत गन्न बाँकी, ८०५९ मतले रेणुको अग्रता

    चितवन । भरतपुर महानगरपालिकामा अब ३३ हजार ६०७ मत गन्न बाँकी छ । भरतपुर महानगरमा जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा हालसम्म ९४ हजार २३२ मत गनेर सकिएको छ । भरतपुरका २९ वडामध्ये १९ वडाको मत गनेर सकिएको हो ।

    गठबन्धनबाट मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले हालसम्म ३७ हजार २७ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले २८ हजार ९६८ मत मात्रै प्राप्त गरेका छन् । दाहाल सुवेदीभन्दा आठ हजार ५९ मतले अगाडि छन् ।

    मेयरमा कांग्रेसबाट बागी उमेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार २३३ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार १२९ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २२ हजार ९११ मत मात्रै प्राप्त गरेकी छन् । अहिले भरतपुर–२० र २१ नम्बरको मत गणना भइरहेको छ ।

  • शुक्लाफाँटामा एमालेको जित, रणबहादुर बने मेयर

    शुक्लाफाँटामा एमालेको जित, रणबहादुर बने मेयर

    कैलाली । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा विजयी भएका छन् ।

    प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चिन्तामणी भट्ट र नेकपा माओवादीका नवराज ऐरलाई पराजित गर्दै महरा मेयरमा निर्वाचित भएका हुन् । महराले ६ हजार ७ सय ७३ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका भट्टले ६ हजार २ सय ६४ र माओवादीका ऐरले ५ हजार २ सय २५ प्राप्त गरे ।

    यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी कल्पना पन्त विजयी भइन् । उनले ६ हजार ५ सय १९ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ५ हजार ३ सय ६० र एमालेकी मोनिका भट्टले ५ हजार २ सय ३६ मत ल्याए ।

  • एक सय पालिकामा एमाले एक्लैले गठबन्धन हराउँदा, तीन ठाउँमा कांग्रेस-माओवादीको साथ (सूचीसहित)

    एक सय पालिकामा एमाले एक्लैले गठबन्धन हराउँदा, तीन ठाउँमा कांग्रेस-माओवादीको साथ (सूचीसहित)

    काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाअनुसार अघिल्लो पटकको ठूलो दल नेकपा एमाले यसपटक दोस्रो स्थानमा खुम्चिएको छ । आइतबार अपरान्ह १ बजेसम्म एमालेले १९० तहको नेतृत्व (अध्यक्ष/मेयर) मा जित निकालेको छ । पहिलो भएको नेपाली कांग्रेसले हालसम्म ३११ तहको नेतृत्व जितिसकेको छ ।

    एमालेलाई हराउन सत्तारूढ गठबन्धनका पाँचदलले देशैभर तालमेलको प्रयास गरेका थिए । तर सम्भव भएन । त्यसपछि सत्तारूढ गठबन्धनले सकेसम्म पूर्ण (पाँचवटै दल) र नसकेका ठाउँमा आंशिक (मिलेजति दलहरू सम्मिलित) तालमेल गरेका थिए । अधिकांश ठाउँमा एक्लाएक्लै लडेका थिए ।

    अहिलेको नतिजा हेर्दा सत्तारूढ गठबन्धनका दलहरूले एमालेको विरासत रहेका अधिकांश तहमा तालमेल गरेर एमालेलाई हराएका छन् । तर, जितेका तहहरूमध्ये झण्डै ५३ प्रतिशत तहमा भने एमालेले गठबन्धन दलको तालमेललाई नै हराएर जित निकालेको देखिएको छ ।

    अहिलेसम्म एमालेले जितेका १९० तहमध्ये तीन तहमा जित निकाल्न एमालेले अन्य दलको सहारा लिएको देखिन्छ । जसमा दुई तहमा नेकपा माओवादी केन्द्र र एक तहमा कांग्रेससँग तालमेल गरेर जितेको छ, भने एकमा निर्विरोध जितेको छ ।

    यस्तै सबै दलहरू एक्लाएक्लै लडेका ८५ तहमा एमालेले जित निकालेको देखिन्छ भने १०० मा गठबन्धनलाई हराएर देखिन्छ ।

    प्रदेशगतरूपमा प्रदेश १ का ४२ तहमा जित निकाल्दा १७ तहमा एक्लाएक्लै लडेर जित्दा २६ पालिकामा गठबन्धनलाई हराएर जितेको छ । यस्तै मधेस प्रदेशका कुल २३ पालिका जित्दा २१ एक्लाएक्लै र २ पालिका गठबन्धनलाई हराएर जितेको छ ।

    वागमती प्रदेशमा कुल २६ तह जितेको एमालेले दुई पालिकामा माओवादी केन्द्रसँग तालमेल गरेर जित्दा सबै दल एक्लाएक्लै लडेको ६ तहमा जितेको छ । बाँकी १८ पालिकामा गठबन्धनलाई हराएर जितेको छ ।

    यस्तै गण्डकी प्रदेशका कुल ३५ तहमा एमाले जितेको छ । जसमा सबै दल एकलाएक्लै लडेको १९ तहमा जित निकाल्दा १६ तहमा गठबन्धनमाथि जित निकालेको छ ।

    लुम्बिनी प्रदेशमा कुल २५ तहमा जित निकाल्दा १ तहमा कांग्रेससँग तालमेल गरेर जितेको एमालेले १७ तहमा गठबन्धनलाई हराएर जितेको छ, भने सबै दल एक्लाएक्लै लडेका ७ तहमा जित निकालेको छ ।

    उता कर्णाली प्रदेशका १५ तहमा एमालेले जित निकाल्दा एकमा निर्विरोध जितेको छ भने सबै दल एक्लाएक्लै लडेका ५ तहमा जितेको छ । ९ तहमा गठबन्धनलाई हराएर जितेको छ ।

    सुदूरपश्चिम प्रदेशका १५ तहमा गठबन्धनमाथि जित निकालेको एमालेले एक्लाएक्लै लडेका ९ तह थप्दै कुल २४ तह जितेको छ ।

    गठबन्धन देखिएका आंशिक ठाउँमा मात्रै सत्तारूढ गठबन्धनको पूर्णतालमेल भएको थियो । अधिकांश ठाउँमा भने आंशिक तालमेल मात्रै थियो । जहाँ सत्तारूढ गठबन्धनका केही दलमात्रै तालमेलमा थिए । कांग्रेस धेरैजसो ठाउँमा एक्लै लड्दा अन्य दलहरूले तालमेल गरेको देखिएको छ ।

    यसपटक एमालेका लागि चुनाव निकै चुनौतीपूर्ण थियो । एकातिर पार्टी विभाजित भएको अवस्था र अर्कोतिर पाँच दलीयमात्र होइन अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा त राप्रपासहितको गठबन्धन बनेको थियो ।

    एमालेले यसअघि जितेका कम्तीमा ९० सिट गुमाउँदै गर्दा जितेका अधिकांश ठाउँमा गठबन्धनलाई पराजित गरेको छ । यो उसका लागि शक्ति निर्माणको अवसर पनि बनेको छ । भोलि एक्लाएक्लै लड्दा थप एक सय ठाउँ जित्न सकिन्छ भन्ने आधार एमालेले तयार गरेको छ ।

    प्रदेश १ : जम्मा जितेको ४२ तह

    गठबन्धनलाई जितेको २७ तह, एक्लाएक्लैमा जितेको १५ तह

    ताप्लेजुङ

    १) आठराई त्रिवेणी गाउँपालिका, दिपेन्द्र पोमु (तीनदलीय तालमेल)

    २) पाथीभरा याङवरक गाउँपालिका, केशरकुमार सुब्बा (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ३) सिदिङवा गाउँपालिका, मानबहादुर राई (तीन दलीय तालमेल)

    पाँचथर

    १) याङ्वरक गाउँपालिका, भीमबहादुर योङ्या (तीन दलीय तालमेल)

    इलाम

    १) देउमाई नगरपालिका, सूर्यप्रसाद पोख्रेल (तीन दलीय तालमेल)

    २) फाकफोकथुम गाउँपालिका, दिपेन्द्र खनाल (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ३) माई नगरपालिका, खम्बासिंह लिम्बु (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ४) माईजोगमाई गाउँपालिका, कुशबहादुर थेबे (कांग्रेस र नेकपा एस तालमेल)

    ५) माङसेबुङ गाउँपालिका, हेमन्त राई (तीन दलीय तालमेल)

    झापा

    १) कन्काई नगरपालिका, राजेन्द्रकुमार पोखरेल (एक्लाएक्लै)

    २) बाह्रदशी गाउँपालिका, देवीन्द्रप्रसाद चम्लागाई (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ३) बिर्तामोड नगरपालिका, पवित्रादेवी महतारा (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ४) अर्जुनधारा नगरपालिका,बलदेव गोम्देन (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    मोरङ

    १) उर्लाबारी नगरपालिका, गंगाप्रसाद खरेल (एक्लाएक्लै)

    २) कानेपोखरी गाउँपालिका, राजमति इङ्गनाम (एक्लाएक्लै)

    ३) केराबारी गाउँपालिका, सुमन मिरिङचिङ मगर (एक्लाएक्लै)

    ४) पथरी शनिश्चरे नगरपालिका, मोहनप्रसाद तुम्‍वापो (माओवादी केन्द्र र नेकपा एस तालमेल)

    ५) बेलबारी नगरपालिका, दिलप्रसाद राई (एक्लाएक्लै)

    ६) लेटाङ नगरपालिका, भुपेन्‍द्रकुमार लावती (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ७) सुनवर्षी नगरपालिका, श्‍यामप्रसाद राजवंशी (एक्लाएक्लै)

    सुनसरी

    १) गढी गाउँपालिका, आशनारायण चौधरी (एक्लाएक्लै)

    २) बर्जु गाउँपालिका, जिवछकुमार राय (एक्लाएक्लै)

    ३) रामधुनी नगरपालिका, शंकरलाल चौधरी (एक्लाएक्लै)

    धनकुटा

    १) चौबिसे गाउँपालिका, राजकुमार लिम्बु (तीन दलीय तालमेल)

    २) धनकुटा नगरपालिका, चिन्तन तामाङ (तीन दलीय तालमेल)

    ३) सहिदभूमि गाउँपालिका, मनोज राई (तीनदलीय तालमेल)

    संखुवासभा

    १) चैनपुर नगरपालिका, कृष्णकुमार तामाङ (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    २) धर्मादेवी नगरपालिका, उदयचन्द्र पौडेल (एक्लाएक्लै)

    ३) भोटखोला गाउँपालिका, वाङ छेदर लामा (तीन दलीय तालमेल)

    ४) मादी नगरपालिका, जीवन लिंथेप (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    भोजपुर

    १) पौवादुङमा गाउँपालिका, किरण राई (एक्लाएक्लै)

    २) षडानन्द नगरपालिका, सुरेन्द्रकुमार उदास (तीनदलीय)

    ३) हतुवागढी गाउँपालिका, प्रेमकुमार राई (गठबन्धन)

    तेहथुम

    १) छथर गाउँपालिका, सन्तवीर लिम्बु (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    २) मेन्छयायेम गाउँपालिका, यादवबहादुर खापुङ्ग (एक्लाएक्लै)

    ३) म्याङलुङ नगरपालिका, सञ्जयकुमार तुम्वाहाङफे (एक्लाएक्लै)

    ओखलढुंगा

    १) मोलुङ गाउँपालिका, उत्तम राई (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    खोटाङ

    १) ऐसेलुखर्क गाउँपालिका, गीरेन्द्रबहादुर राई (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    २) दिप्रुङ चुइचुम्मा गाउँपालिका, लोकेन्द्र राई (एक्लाएक्लै)

    सोलुखुम्बु

    १) खुम्बु पासाङल्हामु गाउँपालिका, मिङमा छिरी शेर्पा (एक्लाएक्लै)

    २) माप्य दूधकोशी गाउँपालिका, बुद्धिकिरण राई (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    उदयपुर

    १) चौदण्डीगढी नगरपालिका, कालुमान लामा (माओवादी केन्द्र र नेकपा एस तालमेल)

    मधेस प्रदेशः जितेको २३ तह

    एक्लाएक्लैमा जितेको २१ तह, गठबन्धनलाई जितेको २ तह

    सप्तरी

    १) अग्नीसाइर कृष्णासवरन गाउँपालिका, दिनानाथ चौधरी (एक्लाएक्लै)

    २) राजगढ गाउँपालिका, ओमप्रकाश मण्ड (एक्लाएक्लै)

    सिरहा

    १) कल्याणपुर नगरपालिका, राम पुकार साह तेली (एक्लाएक्लै)

    २) धनगढीमाई नगरपालिका, शिवशंकर महतो (एक्लाएक्लै)

    ३) नरहा गाउँपालिका, राम प्रमोद यादव (एक्लाएक्लै)

    ४) भगवानपुर गाउँपालिका, उग्रनारायण यादव (एक्लाएक्लै)

    ५) विष्णुपुर गाउँपालिका, सत्यनारायण यादव (एक्लाएक्लै)

    ६) सिराहा नगरपालिका, नवीनकुमार यादव (एक्लाएक्लै)

    ७) कर्जन्हा नगरपालिका, भोलाप्रसाद पोखरेल (एक्लाएक्लै)

    ८) सुखीपुर नगरपालिका, रामऔतार यादव (एक्लाएक्लै)

    धनुषा

    १) औरही गाउँपालिका, उमाशंकरप्रसाद साह (एक्लाएक्लै)

    २) विदेह नगरपालिका, वेचन दास तत्मा (एक्लाएक्लै)

    महोत्तरी

    १) रामगोपालपुर गाउँपालिका, राम दुलार साह (एक्लाएक्लै)

    रौतहट

    १) मौलापुर नगरपालिका, रीनाकुमारी साह (एक्लाएक्लै)

    बारा

    १) कलैया उपमहानगरपालिका, विनोदप्रसाद साह (पाँचदलीय गठबन्धन)

    २) निजगढ नगरपालिका, सुरथ पुरी (कांग्रेस र माओवादी केन्द्र तालमेल

    ३) परवानीपुर गाउँपालिका, रामक्षत्रीप्रसाद कुर्मि (एक्लाएक्लै)

    ४) प्रसौनी गाउँपालिका, विनोदप्रसाद जैसबाल (एक्लाएक्लै)

    पर्सा

    १) छिपहरमाई गाउँपालिका, मनोज कुमार (एक्लाएक्लै)

    २) ठोरी गाउँपालिका, लालबहादुर श्रेष्‍ठ (एक्लाएक्लै)

    ३) पर्सागढी नगरपालिका, गोकर्ण पाठक (एक्लाएक्लै)

    ४) पोखरिया नगरपालिका, प्रदुमनप्रसाद चौहान (एक्लाएक्लै)

    ५) सखुवा प्रसौनी गाउँपालिका, जसवन्त यादव (एक्लाएक्लै)

    वागमती प्रदेशः जितेको २६ तह

    एक्लाएक्लैमा जितेको ६ तह, गठबन्धनलाई जितेको १८ तह, गठबन्धनको सहारामा जितेको २ तह

    सिन्धुली

    १) गोलन्जोर गाउँपालिका, शंकरराज बराल (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    २) फिक्कल गाउँपालिका, पार्वती सुनुवार (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    रामेछाप

    १) उमाकुण्ड गाउँपालिका, शेरबहादुर सुनुवार (माओवादी राप्रपा तालमेल)

    २) खाँडादेवी गाउँपालिका, ज्ञानकुमार श्रेष्ठ (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ३) मन्थली नगरपालिका, लव श्रेष्‍ठ (माओवादी नेकपा एस तालमेल)

    दोलखा

    १) जिरी नगरपालिका, मित्रबहादुर जिरेल (तालमेल,माओवादी स्वतन्त्र)

    २) मेलुङ गाउँपालिका, हिराकुमार तामाङ (तीनदलीय तालमेल)

    सिन्धुपाल्चोक

    १) ईन्द्रावती गाउँपालिका, झम्क नाथ नेपाल (एक्लाएक्लै)

    २) पाँचपोखरी थाङपाल गाउँपालिका, टासी लामा (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ३) सुनकोशी गाउँपालिका, टपिन्द्रप्रसाद तिमल्सिना (माओवादीसँग तालमेल गरेर जितेको)

    काभ्रेपलान्चोक

    १) धुलिखेल नगरपालिका, अशोककुमार ब्याञ्जु श्रेष्ठ(तीन दलीय तालमेल)

    ललितपुर

    १) कोन्ज्योसोम गाउँपालिका, कृष्णमान लामा (कांग्रेस–माओवादी तालमेल)

    २) महालक्ष्मी नगरपालिका, हरिगोविन्द श्रेष्ठ (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    भक्तपुर

    १) सूर्यविनायक नगरपालिका, वासुदेव थापा (तीन दलीय तालमेल)

    काठमाडौं

    १) टोखा नगरपालिका, प्रकाश अधिकारी (एक्लाएक्लै)

    २) बूढानिलकण्ठ नगरपालिका, मिठाराम अधिकारी (एक्लाएक्लै)

    नुवाकोट

    १) किस्पाङ गाउँपालिका, बिरबल तामाङ (माओवादीसँग तालमेलमा जितेको)

    रसुवा

    १) उत्तरगया गाउँपालिका, माधवप्रसाद अर्याल (एक्लाएक्लै)

    २) गोसाइँकुण्ड गाउँपालिका, कैसाङ नुर्पु तामाङ (एक्लाएक्लै)

    धादिङ

    १) गल्छी गाउँपालिका, केदारनाथ खतिवडा (तीनदलीय)

    २) थाक्रे गाउँपालिका, रामकुमार आचार्य (तीनदलीय)

    मकवानपुर

    १) ईन्द्र सरोवर गाउँपालिका, देवकृष्ण पुडासैनी शर्मा (एक्लाएक्लै)

    २) भीमफेदी गाउँपालिका, हिदम लामा (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    चितवन

    १) ईच्छाकामना गाउँपालिका, दानबहादुर गुरुङ (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    २) कालिका नगरपालिका, विनोद रेग्मी (पाँच दलीय तालमेल)

    ३) माडी नगरपालिका, ताराकुमारी काजी महतो ( पाँच दलीय तालमेल)

    गण्डकी प्रदेशः जितेको ३५ तह

    एक्लाएक्लैमा जितेको १९ तह, गठबन्धनलाई जितेको १६ तह

    लमजुङ

    १) क्व्होलासोथार गाउँपालिका, सूर्यप्रसाद गुरुङ (एक्लाएक्लै)

    २) दोर्दी गाउँपालिका, युवराज अधिकारी (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ३) बेंसीशहर नगरपालिका, गुमानसिंह अर्याल (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ४) मस्र्याङ्दी गाउँपालिका, अर्जुन गुरुङ (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    तनहुँ

    १) घिरिङ गाउँपालिका, होमबहादुर थापा (कांग्रेस र नेकपा एसको तालमेल)

    २) बन्दीपुर गाउँपालिका, सुरेन्द्रबहादुर थापा (एक्लाएक्लै)

    ३) भिमाद नगरपालिका, दधिराज सुवेदी (कांग्रेस र नेकपा एसको तालमेल)

    ४) म्याग्दे गाउँपालिका, श्रीप्रसाद श्रेष्ठ (एक्लाएक्लै)

    स्याङजा

    १) आँधीखोला गाउँपालिका, विश्वनाथ पौडेल (तीन दलीय तालमेल)

    २) कालीगण्डकी गाउँपालिका, खिमबहादुर थापा (कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टी तालमेल)

    ३) फेदीखोला गाउँपालिका, घनश्‍याम सुवेदी (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ४) वालिङ नगरपालिका, कृष्ण खाँण (एक्लाएक्लै)

    ५) विरुवा गाउँपालिका, सूर्यबहादुर कुँवर (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ६) हरीनास गाउँपालिका, खिमनारायण मानन्धर (एक्लाएक्लै)

    कास्की

    १) अन्नपूर्ण गाउँपालिका, विष्णुबहादुर केसी (एक्लाएक्लै)

    २) रूपा गाउँपालिका, नवराज ओझा (एक्लाएक्लै)

    मनाङ

    १) चामे गाउँपालिका, लोकेन्द्रबहादुर घले (एक्लाएक्लै)

    २) मनाङ ङिस्याङ गाउँपालिका, कान्छा घले (एक्लाएक्लै)

    मुस्ताङ

    १) थासाङ गाउँपालिका, प्रदिप गौचन (एक्लाएक्लै)

    २) लो-घेकर दामोदरकुण्ड गाउँपालिका, लोप्साङ छोम्पेल विष्ट (कांग्रेस र नेकपा एस तालमेल)

    ३) लोमन्थाङ गाउँपालिका, टसी न्हर्वु गुरुङ (एक्लाएक्लै)

    ४) वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, रिङजीन नामगेल गुरुङ (एक्लाएक्लै)

    पर्वत

    १) महाशिला गाउँपालिका, इश्‍वरीप्रसाद भुसाल (तीनदलीय)

    २) मोदी गाउँपालिका, हिरादेवी शर्मा (तीनदलीय)

    म्याग्दी

    १) अन्नपूर्ण गाउँपालिका, भारतकुमार पुन (एक्लाएक्लै)

    २) बेनी नगरपालिका, सुरत केसी (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ३) मंगला गाउँपालिका, सतप्रसाद रोका (एक्लाएक्लै)

    ४) मालिका गाउँपालिका, बेगप्रसाद गर्बुजा (एक्लाएक्लै)

    बागलुङ

    १) ढोरपाटन नगरपालिका, देवकुमार नेपाली (पाँच दलीय तालमेल)

    नवलपरासी(पूर्व)

    १) कावासोती नगरपालिका, विष्णुप्रसाद भुसाल (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    २) देवचुली नगरपालिका, हरिप्रसाद न्यौपाने (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ३) बुलिङटार गाउँपालिका, दिपेन्‍द्र सुनारी (एक्लाएक्लै)

    ४) बौदीकाली गाउँपालिका, प्रकाश ओझा (एक्लाएक्लै)

    ५) मध्यविन्दु नगरपालिका, भीमलाल अधिकारी (एक्लाएक्लै)

    ६) विनयी त्रिवेणी गाउँपालिका, घनश्याम गिरी (एक्लाएक्लै)

    लुम्बिनी प्रदेशः जितको २५ तह

    गठबन्धनलाई जितेको १७ तह, एक्लाएक्लैमा ७, गठबन्धनको सहारामा जितेको १

    गुल्मी

    १) छत्रकोट गाउँपालिका, रामप्रसाद पाण्डेय (कांग्रेस र राजमो तालमेल)

    २) मुसिकोट नगरपालिका, जीबलाल खरेल जीवन (तीनदलीय तालमेल)

    ३) सत्यवती गाउँपालिका, टीकाराम पाण्डे (तीनदलीय तालमेल)

    पाल्पा

    १) तिनाउ गाउँपालिका, प्रेम श्रेष्ठ (पाँच दलीय तालमेल )

    २) निस्दी गाउँपालिका, मुक्तबहादुर सारु (पाँच दलीय तालमेल)

    ३) पूर्वखोला गाउँपालिका, नुनबहादुर थापा (पाँच दलीय तालमेल)

    ४) बगनासकाली गाउँपालिका, सरस्वती दर्लामी (चिदी) (पाँच दलीय तालमेल)

    ५) माथागढी गाउँपालिका, यमबहादुर चिदी (एक्लाएक्लै)

    रूपन्देही

    १) ओमसतिया गाउँपालिका, मन्जितकुमार यादव (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    २) गैडहवा गाउँपालिका, सुरेन्द्र पौड्याल (एक्लाएक्लै)

    ३) देवदह नगरपालिका, ध्रुवप्रसाद खरेल (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    अर्घाखाँची

    १) पाणिनी गाउँपालिका, टेकराज न्यौपाने (एक्ला एक्लै)

    २) मालारानी गाउँपालिका, दलबहादुर भट्टराई (तीनदलीय तालमेल)

    ३) सन्धिखर्क नगरपालिका, कृष्‍णप्रसाद श्रेष्‍ठ (तीनदलीय तालमेल)

    कपिलवस्तु

    १) बाणगंगा नगरपालिका, चक्र पाणी अर्याल (माओवादी केन्द्र र नेकपा एस तालमेल)

    २) यसोधरा गाउँपालिका, शिव दयाल तिवारी (एक्लाएक्लै)

    ३) विजयनगर गाउँपालिका, गोपालबहादुर थापा (एक्लाएक्लै)

    प्यूठान

    १) नौवहिनी गाउँपालिका, दिलबहादुर थापा (पाँच दलीय तालमेल)

    २) सरुमारानी गाउँपालिका, झगबहादुर विश्‍वकर्मा (तीनदलीय तालमेल)

    रोल्पा

    १) त्रिवेणी गाउँपालिका, कर्णबहादुर बाँठा मगर (कांग्रेससँग तालमेल गरेर जितेको)

    दाङ

    १) घोराही उपमहानगरपालिका, नरुलाल चौधरी (पाँचदलीय तालमेल)

    बर्दिया

    १) बासगढी नगरपालिका, खडकबहादुर खड्का (एक्लाएक्लै)

    नवलपरासी (पश्चिम)

    १) रामग्राम नगरपालिका, धनपत यादव (एक्लाएक्लै)

    २) सरावल गाउँपालिका, सुखाडीप्रसाद चौधरी थारु (एक्लाएक्लै)

    ३) सुनवल नगरपालिका, विमला अर्याल (कांग्रेस र माओवादी तालमेल)

    कर्णाली प्रदेशः १५ तहमा जित, एकमा निर्विरोध

    एक्लाएक्लैमा जितेको ५ तह, गठबन्धनलाई जितेको ९ तह

    सल्यान

    १) कालीमाटी गाउँपालिका, दानबहादुर खत्री केसी (माओवादी केन्द्र र नेकपा एस तालमेल)

    २) छत्रेश्वरी गाउँपालिका, ओजबहादुर बुढाथोकी (माओवादी केन्द्र र नेकपा एस तालमेल)

    सुर्खेत

    १) चिङ्गाड गाउँपालिका, बोधविक्रम जिसी (एक्लाएक्लै)

    २) भेरीगंगा नगरपालिका, यज्ञप्रसाद ढकाल (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ३) वीरेन्द्रनगर नगरपालिका, मोहनमाया भण्डारी (कांग्रेस र माओवादी केन्द्र तालमेल)

    ४) सिम्ता गाउँपालिका, ऐनबहादुर चन्द (तीनदलीय तालमेल)

    दैलेख

    १) आठबीस नगरपालिका, तर्कबहादुर बडुबाल (एक्लाएक्लै)

    २) गुराँस गाउँपालिका, टोपबहादुर बीसी (एक्लाएक्लै)

    ३) डुंगेश्वर गाउँपालिका, सुन्दरकुमार केसी (एक्लाएक्लै)

    ४) नारायण नगरपालिका, लोमन शर्मा (कांग्रेस र नेकपा एस तालमेल)

    जाजरकोट

    १) जुनीचाँदे गाउँपालिका, बेदबहादुर शाही (माओवादी–कांग्रेस तालमेल)

    २) बारेकोट गाउँपालिका, वीरबहादुर गिरी (माओवादी–कांग्रेस तालमेल)

    ३) भेरी नगरपालिका, चन्द्रप्रकाश घर्ती (माओवादी–कांग्रेस तालमेल)

    डोल्पा

    १) त्रिपुरासुन्दरी नगरपालिका, जनचन्द्र रोकाया (एक्लाएक्लै)

    २) शे फोक्सुण्डो गाउँपालिका, धावा सम्डुक गुरुङ (निर्विरोध)

    सुदूरपश्चिम प्रदेशः जितेको २४

    गठबन्धनलाई जितेको १५, एक्लाएक्लैमा जितेको ९

    बाजुरा

    १) खप्तड छेडेदह गाउँपालिका, दिलबहादुर रावत (एक्लाएक्लै)

    २) गौमुल गाउँपालिका, हरिबहादुर रोकाया (एक्लाएक्लै)

    ३) जगन्‍नाथ गाउँपालिका, कालीबहादुर शाही (तीनदलीय तालमेल)

    ४) बडीमालिका नगरपालिका, अमरबहादुर खड्का (एक्लाएक्लै)

    ५) बुढीनन्दा नगरपालिका, जनककुमार बोहरा (एक्लाएक्लै)

    बझाङ

    १) तलकोट गाउँपालिका, कलकबहादुर रोकाया (तीनदलीय तालमेल)

    २) थलारा गाउँपालिका, प्रकाशबहादुर रोकाया (तीनदलीय तालमेल)

    ३) साइपाल गाउँपालिका, मानवीर बोहरा (एक्लाएक्लै)

    अछाम

    १) तुर्माखाँद गाउँपालिका, डम्बरबहादुर बीसी (एक्लाएक्लै)

    २) मंगलसेन नगरपालिका, पदमबहादुर बोहरा (तीनदलीय)

    डोटी

    १) जोरायल गाउँपालिका, दुर्गा दत्त ओझा (माओवादी केन्द्र र नेकपा एसको तालमेल)

    कैलाली

    १) चुरे गाउँपालिका, चक्रबहादुर बोगटी (तीनदलीय तालमेल)

    २) बर्दगोरिया गाउँपालिका, कर्णबहादुर कुँवर (तीनदलीय तालमेल)

    कञ्चनपुर

    १) दोधारा चाँदनी नगरपालिका, किशोर कुमार लिम्बु (एक्लाएक्लै)

    २) लालझाडी गाउँपालिका, निर्मल राना (एक्लाएक्लै)

    बैतडी

    १) दशरथचन्द नगरपालिका, पुष्करराज जोशी (नेकपा एस र माओवादी केन्द्रको तालमेल)

    २) दोगडाकेदार गाउँपालिका, चक्रबहादुर कार्की (माओवादी केन्द्र र कांग्रेसको तालमेल)

    ३) पन्चेश्वर गाउँपालिका, गोरखबहादुर चन्द (तीनदलीय तालमेल)

    ४) सुर्नया गाउँपालिका, अम्मरबहादुर कुँवर (नेकपा एस र माओवादी केन्द्रको तालमेल)

    दार्चुला

    १) दुहुँ गाउँपालिका, नरेन्द्रबहादुर सिंह बडाल (कांग्रेस र माओवादी केन्द्रको तालमेल)

    २) महाकाली नगरपालिका, नरसिंह चैंसिर (कांग्रेस र माओवादी केन्द्रको तालमेल)

    ३) मालिकार्जुन गाउँपालिका, हिरासिंह धामी (कांग्रेस र माओवादी केन्द्रको तालमेल)

    ४) व्याँस गाउँपालिका, मंगलसिंह धामी (कांग्रेस र माओवादी केन्द्रको तालमेल)

    ५) शैल्यशिखर नगरपालिका, विजयसिंह धामी (कांग्रेस र माओवादी केन्द्रको तालमेल)

  • भरतपुरमा रेणुको फराकिलो अग्रता, अघिल्लो पटक मतपत्र च्यातिएको वडामा एमाले विजयी

    भरतपुरमा रेणुको फराकिलो अग्रता, अघिल्लो पटक मतपत्र च्यातिएको वडामा एमाले विजयी

    चितवन । भरतपुर महानगरपालिकामा हालसम्म १९ वडाको मतगणना गरेर सकिएको छ । अहिले २० र २१ को गणना भइरहेको छ । भरतपुर महानगरमा २९ वडा छन् । १९ वडाको मतगणना सकिँदा मेयरकी उमेदवार माओवादी केन्द्रकी रेणु दाहालले ३६ हजार ७९७ मत ल्याएकी छन् ।

    पाँच दलीय गठबन्धनकोतर्फबाट उमेदवार बनेकी रेणु दाहाल मेयरका अर्का उमेदवार एमालेका विजय सुवेदी भन्दा ७ हजार ९७६ मतान्तरले अगाडि छन् । सुवेदीले २८ हजार ८२१ मत प्राप्त गरेका छन् । दाहालले लगातार आफ्नो अग्रता बढाउँदै लगेकी छन् ।

    २०७४ सालको निर्वाचनमा मतगणनाका क्रममा मत च्यातिएको वडा नं‍। १९ को अध्यक्षमा एमालेका प्रकाश तामाङ निर्वाचित भएका छन् ।

    कांग्रेसको पकड क्षेत्रका रुपमा लिइने यस वडामा तामाङले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका द्रोणबहादुर गुरुङलाई पराजित गरेका हुन् । वडामा तीन हजार ४८८ मत खसेको थियो ।

    २०७४ को निर्वाचनमा वडा नं। १९ को मतगणनाका क्रममा माओवादीका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानले मतपत्र च्यातेपछि यस वडामा पुनः मतदान भएको थियो । मतपत्र च्यात्ने सिवाकोटी र न्यौपानेलाई अदालतले जनही एकरएक लाख जरिवाना तिराएको थियो ।

    पुनः मतदान भएपछि यस वडामा कांग्रेसका कर्णबहादुर गुरुङसँग ३८१ मतान्तरले पराजित भएका प्रकाश तामाङ अहिले गठबन्धनका साझा उम्मेदवारसँग एक्लै प्रतिस्पर्धा गरेर विजयी भएका हुन् । वडा सदस्यहरुमा तीन जना एमाले र एक जना कांग्रेसबाट निर्वाचित भएका छन् ।

    भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९३ हजार ७३२ मत गनेर सकिएको छ । अब ३४ हजार १०७ मत गन्न बाँकी छ । हालसम्म कांग्रेसले ११, एमालेले पाँच, एकिकृत समाजवादीले दुई र माओवादी केन्द्रले एक वडा जितेका छन् ।