Category: स्थानीय निर्वाचन–२०७९

  • भरतपुरको उपमेयरमा कांग्रेसका अधिकारीको जित पक्का

    भरतपुरको उपमेयरमा कांग्रेसका अधिकारीको जित पक्का

    चितवन । भरतपुर महानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी निर्वाचित हुने पक्का भएको छ ।

    गन्न बाँकी मतभन्दा धेरैको अग्रता लिएका कारण अधिकारीको जित पक्का भएको हो । हालसम्म भरतपुरको १ लाख १२ हजार ३ सय ७६ मत गणना भएको छ । अब १५ हजार १ सय ६३ मत मात्रै गन्न बाँकी छ ।

    उपमेयरमा अधिकारीले ४६ हजार ४ सय ७१ मत ल्याएर १९ हजार ६७ मतको अग्रता लिइसकेका छन् । उपमेयरमा राप्रपाकी हिमला गुरुङले २७ हजार ४ सय ४ मत प्राप्त गरेकी छिन् ।

    मेयरमा गठबन्धनकै रेणु दाहाल जितनजिक पुगेकी छिन् । उनले नेकपा एमालेका विजय सुवेदीसँग १० हजार ६ सय ५१ मतको अग्रता लिएकी छिन् । दाहालले ४५ हजार ३८९ मत ल्याउँदा सुवेदीले ३४ हजार ७३८ मत ल्याएकी छिन् ।

    अहिले वडा नम्बर २५ र २६ को मतगणना अन्तिम चरणमा पुगेको छ । भरतपुरमा अहिलेसम्म कांग्रेसले १४, एमालेले ५ , नेकपा एसले ३ र माओवादीले २ वडा जितेका छन् ।

  • पाल्पामा पाण्डेको ओझेलबाट उम्केपछि देखियो गैरेको ‘पावर’

    पाल्पामा पाण्डेको ओझेलबाट उम्केपछि देखियो गैरेको ‘पावर’

    रुपन्देही । पाल्पाका दशै स्थानीय तहमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध पाँचदलीय बन्यो । एमालेलाई हराउन वडा तहसम्मै पाँच दलबीच गठबन्धन भएको थियो । तर, अघिल्लोपटक भन्दा यसपालि पाल्पामा एमालेले झन् धेरै मत ल्याएको छ र अघिल्लोपटक जितेका ६ वटै स्थानीय तह जोगाउन सफल भएको छ । कठिन परिस्थितिबीच पनि पाल्पामा एमालेले पाएको यो सफलताको जस पाएका छन्, युवा नेता ठाकुर गैरेले ।

    ठाकुर गैरेको क्षमता अनेरास्ववियुको नेतृत्वम रहँदादेखि नै एमालेवृत्तमा बहस हुने गर्दथ्यो । अनेरास्ववियुको नेतृत्वपछि पार्टीको जिम्मेवारीमा लागेका गैरे सुरुवातदेखि नै सोमप्रसाद पाण्डेको समूहमा थिए ।

    विद्यार्थी संगठनमा गैरेले देखाएको क्षमता पार्टीको नेतृत्व तथा संसदीय फाँटमा नजाँदासम्म परीक्षण नै हुन पाएको छैन । यसको मूल कारण हो, उनले सधै ‘टेको समाएका’ सोमप्रसाद पाण्डेको पछाडि लाग्नु ।

    पार्टीको आठौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीमा निरन्तर रहेका उनले अहिलेसम्म कुनै संसदीय फाँटमा जिम्मेवारी पाएका छैनन् । यति लामो समय एमालेभित्र माधव नेपाल समूहमा रहेका पाण्डेको पक्षमा रहँदा सधैं गैरे अवसरबाट बन्चित भएको कतिपय एमाले कार्यकर्ताको विश्लेषण छ । पार्टीको जिम्मेवारी र संसदीय फाँटमा अग्रज भएका कारण पाण्डेलाई छोड्नुपर्ने बाध्यता हटेसँगै गैरले आफूलाई झन् सशक्तरुपमा प्रस्तुत गरिरहेका छन् ।

    नेकपा एसमा लागेका सोमप्रसाद पाण्डेसँगै नगएर ठाकुर एमालेमै रहका छन् । पाण्डेको आझेलबाट मुक्त भएपछि गैरे चम्किएका छन् । नेता पाण्डे नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका सम्धी भएका कारण पहिला एमालेमै हुँदा पनि अवसरहरुबाट गैरे बञ्चित हुनपथ्र्यो । त्यतिबेला गैरेका समर्थकहरु भनेका थिए– सोमप्रसादको तप्केनीबाट मुक्त भएका गैरेले अब आफ्नो क्षमता देखाउन पाउनेछन् । आफ्ना समर्थकहरुले गरेको विश्लेषण अहिले ठाकुरले सत्य सावित गरेका छन् ।

    गैरे अहिले पार्टीको पोलिब्युरो सदस्य तथा पाल्पाको जिल्ला इन्चार्जको जिम्मेवारीमा छन् । केन्द्र, प्रदेश तथा जिल्लाको नेतृत्वमा समन्वय गरेर अगाडि बढेका उनी जिल्लाभर पाँच दलले गरेको बलियो गठबन्धन भत्काएर एमालेलाई पहिलो शक्ति बनाउन सफल भएका छन् । तर गैरेले यो जस आफ्नो मात्रै नहुने बताउँछन् ।

    ‘पाल्पामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज दलबहादुर राना, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, जिल्ला इन्चार्ज धनेन्द्रराज घिमिरेसहितको सिंगो टीमले काम गरेको हो, मैले इन्चार्जको हैसियतमा समन्वय गरेको हुँ, टिमवर्कका कारण यो नतिजा आएको हो’, गैरेले भने ।

    अघिल्लो स्थानीय तहको निर्वाचनमा पाल्पामा एमालेले ६ पालिकामा जितेको थियो । अहिलेको कठिन परिस्थितिमा पनि त्यो संख्या घटेन, एमालेबाहेकका सबै शक्ति वडा तहसम्म लिखित घोषणा गरेर गठबन्धन गरेको अवस्था थियो तर कठिन मेहनतले नतिजा हाम्रो पक्षमा आयो, केही पालिकामा अझै हामीले पाउने संभावना थियो, झिनो मतान्तरले नेतृत्व गुमाएका छौं’, उनले भने ।

    गैरेका अनुसार पाल्पामा एमालेको बलियो संगठनात्मक जनाधार, गठबन्धनविरोधी स्थानीयको मत र यसअघि एमाले नेतृत्वमा रहेका स्थानीय सरकारले गरेका सकारात्मक काम नै अहिले जितका मुख्य आधार हुन् ।

    कहाँ कहाँ कसले जित्यो ?

    सत्तासाझेदार दलहरुले गठबन्धन गरेर जिल्लाका १० मध्ये नेपाली कांग्रेसले ६, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पदको भागबण्डा गरेका थिए ।

    रामपुर र तानसेन नगरपालिका, रैनादेवी छहरा, बगनासकाली, माथागढी र निस्दी गाउँपालिकाको प्रमुखमा कांग्रेस, तिनाउ र रिब्दीकोट गाउँपालिकामा माओवादी केन्द्र र पूर्वखोला र रम्भा गाउँपालिकामा एकीकृत समाजवादीबाट प्रमुख पदको उम्मेदवार थिए । तर बगनासकाली, माथागढी, निस्दी, तिनाउमा एमालेले जितेको छ ।

    पूर्वखोला र निस्दी गाउँपालिकामा त एमालेले सत्ता गठबन्धनलाई क्लिनस्वीप नै गरेको छ । पाल्पामा एमालेका तत्कालीन नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा गएको र सत्तागठबन्धनले साझा उम्मेदवार उठाएकाले गठबन्धनका उम्मेदारले एमाले हराउनसक्ने आंकलन गरिएको थियो । दलहरुले एमालेलाई रोक्न २०७४ को नतिजा र वर्तमान संगठनात्मक अवस्था हेरेरै भागबण्डा गरेका थिए ।

    गठबन्धनबाट एकीकृत समाजवादीले मीनप्रसाद गिरीलाई अध्यक्ष उठाएको पूर्वखोला गाउँपालिकामा एमालेले क्लिनस्वीप गरेको छ ।

    गठबन्धनका गिरीले एक हजार २५७ मत पाउँदा झण्डै पाँच गुणा बढी मतसहित एमालेका नुनबहादुर थापाले जिते । अध्यक्ष दोहोरिएका थापाले गठबन्धनका उम्मेदवारविरुद्ध ६ हजार ३९ मत ल्याए । उपाध्यक्षमा पनि एमालेका भागिरथी शर्माले फराकिलो अन्तरले जितिन् ।

    शर्माले पाँच हजार ८९४ मत ल्याएर जित्दा कांग्रेसका विष्णुकुमारी आचार्यले दुई हजार २५० मत मात्रै ल्याइन् । थापा र शर्माले ०७४ मा जित्दा ल्याएको भन्दा धेरै मत ल्याए । मतान्तर बढ्दा पूर्वखोला गाउँपालिकाका ६ वटै वडामा एमालेका उम्मेदवार मात्रै विजयी भए ।

    पूर्वखोलापछि निस्दी गाउँपालिकामा पनि एमालेले गठबन्धनलाई क्लिनस्वीप गरेको छ । यो पालिकामा भने गठबन्धनबाट कांग्रेसका गोविन्दप्रसाद अर्याल उम्मेदवार थिए । तर अर्यालले तीन हजार ४६६ मत पाउँदा एमालेका मुक्तबहादुर सारुले ६ हजार ६५२ मत ल्याएर अध्यक्ष जिते ।

    २०७४ मा पनि एमालेबाट मुक्तबहादुर नैैै उम्मेदवार थिए । त्यसबेला कांग्रेसका शालिकराम पाण्डेले दुई हजार ९२३ मत पाउँदा उनले पाँच हजार ३२० मत ल्याएर जितेका थिए । यसपटक गठबन्धन हुँदा पनि कांग्रेसले एमालेलाई रोक्न सकेन ।

    उपाध्यक्षमा त माओवादी केन्द्रका रामप्रसाद खत्रीभन्दा एमालेकी तीरनकुमारी श्रेष्ठले झण्डै आठ गुणा बढी मत ल्याएर जितिन् । गठबन्धनका उम्मेदवार खत्रीले ८३० मत पाउँदा एमालेकी श्रेष्ठले ६ हजार ६३८ मत ल्याइन् । यो पालिकामा पनि गठबन्धनका कोही उम्मेदवारले जित्न सकेन ।

    त्यसैगरी अन्य पालिकामा पनि एमालेले यसपटक मत बढाएको छ । २०७४ मा कांग्रेसले जितेको माथागढी गाउँपालिकामा यसपटक एमालेका यमबहादुर चिदीले जितेका छन् । गठबन्धनले २०७४ मा अध्यक्ष जितेका सन्तोषकुमार थापालाई नै उम्मेदवार बनाएको थियो । तर कांग्रेसका थापाले पाँच हजार ५५४ मत ल्याउँदा एमालेका चिदीले ६ हजार १०९ मत ल्याएर नतिजा आफ्नो पक्षमा पारे ।

    २०७४ मा कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रँदा थापाले एमालेका विमलप्रसाद काफ्लेभन्दा दुई हजारभन्दा बढी मत ल्याएर अध्यक्ष जितेका थिए । त्यसबेला थापाले ६,७९९ मतसहित अध्यक्ष जित्दा एमालेका काफ्लेले तीन हजार ८०६ मत ल्याएका थिए । यसपटक भने गठबन्धन हुँदा पनि एमालेले यो पालिका जित्यो ।

    तिनाउ गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका नेता राजेश श्रेष्ठलाई हराउँदै पनि एमालेले जितेको छ । माओवादी केन्द्रका राजेशले चार हजार ४६६ मत पाउँदा एमालेका प्रेम श्रेष्ठले पाँच हजार ९० मत ल्याएर जितेका हुन् । यसअघि पनि यहाँ एमालेले जितेको थियो ।

    २०७४ मा कांग्रेसले जितेको रामपुर नगरपालिकामा निवर्तमान मेयर रमणबहादुर थापा विजय भएका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उनी उम्मेदार बनेका थिए ।

    २०७४ मा कांग्रेसले जितेको अर्को गाउँपालिका बगनासकालीमा पनि एमालेकै सरस्वती दर्लामीले जितेकी छन् । यसअघि एमालेले नै जितेको रम्भा गाउँपालिकामा पनि एमालेले जितेको छ । रम्भा गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवार विष्णुप्रसाद भण्डारी ५,५८६ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा एसका उम्मेदवार दुर्गाप्रसाद अधिकारीलाई १,०४४ मतान्तरले पराजित गरेका हुन् । पराजित दुर्गाप्रसाद अधिकारीले ४,५४२ मत ल्याएका छन् ।

    यस्तै उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार राधाकुमारी श्रेष्ठ ५,७१९ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५,०५८ मत ल्याएका छन् । तर यसअघि एमालेले जितेको तानसेन नगरपालिका एमालेले गुमाएको छ । रैनादेवी छहरा गाउँपालिकामा कांग्रेससँग र रिब्दीकोट गाउँपालिका माओवादी केन्द्रसँग एमाले पराजित भएको छ । ०७४ मा रैनादेवीमा कांग्रेस र रिब्दीकोटमा एमालेले जितेको थियो ।

    योसँगै पाल्पामा एमालेको एकल जिल्ला समन्वय समिति बन्ने भएको छ । १० पालिकाका २० पदमा ११ र ८१ वडामध्ये ४३ वटामा एमालेले जितेको छ ।

  • प्राथमिकताको आधारमा विकास गर्छौं: मेयर हमाल

    प्राथमिकताको आधारमा विकास गर्छौं: मेयर हमाल

    कैलाली । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले प्राथमिकताको आधारमा विकासलाई अगाडि बढाउने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    ‘पञ्चवर्षीय योजना लागू भएको थिएन । अब लागू हुन्छ’, उनले भने, ‘प्राथमिकताको आधारमा विकासलाई अगाडि लग्छौं ।’

    दिगो विकासको अवधारणाअनुसर अघि बढ्ने हमालले बताए ।

    यसैबीच हमालले उद्घाटन तथा स्वागत सम्मान जस्ता काममा आफूलाई नअल्झाउन धनगढीवासीलाई आग्रह गरेका छन् ।

    धनगढीवासीले चुनावबाटै सम्मानजनक मत दिइसकेकाले अब काम गर्ने वातावरण सिर्जना गरिदिन उनले फेसबुकमार्फत आग्रह गरेका हुन् ।

    उनले लेखेका छन्, ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीवासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक कामबाहेक उद्घाटन, सभा–सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।’

  • झापामा कांग्रेस जिताउने भोटर मात्र बन्यो माओवादी, ओलीको गृहजिल्लामा एमालेको एकल बहुमत

    झापामा कांग्रेस जिताउने भोटर मात्र बन्यो माओवादी, ओलीको गृहजिल्लामा एमालेको एकल बहुमत

    झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेपाली कांग्रेस र सत्ता गठबन्धनलाई चारवटा पालिकामा प्रमुख जिताउन सहयोगी बनेको नेकपा माओवादी केन्द्र आफू भने कतै पनि जित्न असफल भएको छ ।

    झापाका १४ वटा स्थानीय तहमध्ये ओलीको निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र राप्रपा समेतको तालमेल भएको थियो भने अन्यत्र कांग्रेस र माओवादीलेमात्र तालमेल गरेर नेकपा एकीकृत समाजवादी र जसपालाई बाहिर राखेका थिए ।

    नतिजा आउँदा कांग्रेसले माओवादीको सहयोगमा कम्तीमा तीनवटा पालिकाको प्रमुख जित्यो तर उपप्रमुख पाएको माओवादीले कतै पनि जित निकाल्न सकेन । भद्रपुर नगरपालिकामा गठबन्धनबाट कांग्रेसका गणेश पोखरेल मेयर बन्दा माओवादीका उपमेयर उम्मेदवार शिवकुमार राजभण्डारी पराजित भए । त्यहाँ राप्रपाकी राधा कार्कीले जितिन् ।

    त्यस्तै कमल गाउँपालिकामा कांग्रेसका हुकुमसिंह राई ३ हजार मतान्तरमा अध्यक्षमा बिजयी हुँदा माओवादीका उपाध्यक्ष उम्मेदवार पर्शुराम सुवेदी २५ सय मतान्तरले एमालेकी प्रमिला सुवेदीसँग पराजित भए ।

    बुद्धशान्ति गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका मनोज प्रसाई ३ हजार मतान्तरले अध्यक्ष जित्दा उपाध्यक्षमा भने माओवादीका खड्ग तिम्सिना ३ हजार मतान्तरले नै पराजित भए ।

    कांग्रेस र माओवादीले गठबन्धन गरेकामध्ये बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी, कनकाइ, गौरादह, बाह्रदशी नगरपालिकामा दुवै पद एमालेले जितेको छ भने मेचीनगर नगरपालिकामा गणना जारी रहँदा गठबन्धन पराजित हुने लगभग निश्चित छ ।

    दमकमा भने राप्रपालाई मेयर र कांग्रेसलाई उपमेयर बनाएर माओवादी केन्द्र तथा नेकपा एस मतदातामात्र बनेका छन् ।

    जिल्लाभरीको मतगणना मेचीनगरबाहेक अन्त्रय सकिँदा एमालेले बहुमत पालिका जितेर जिल्ला समन्वय समिति एक्लै गठन गर्ने हैसियत बनाएको छ ।

    गणना सकिएकामध्ये कांग्रेसले बुद्धशान्ति, झापा, कचनकवल, कमल, गौरीगञ्ज गाउँपालिका र भद्रपुर नगरपालिकाको मेयर जितेको छ । तीमध्ये झापा र भद्रपुरबाहेक अन्य पालिकाको उपप्रमुख एमालेले जितेको छ । राप्रपाले दमकको मेयर र हल्दिबारी गाउँपालिकाको अध्यक्ष-उपाध्यक्ष जितेको छ ।

    एमालेले मेची नगर नगरपालिका जित्दै गर्दा बिर्तामोड, अर्जुनधारा, कनकाई, बाह्रदशी, शिवसताक्षी र गौरादह नगरपालिका जितेको छ ।

  • काठमाडौंको ७० प्रतिशत मत गनियो, बालेन साढे १८ हजार मतले अगाडि

    काठमाडौंको ७० प्रतिशत मत गनियो, बालेन साढे १८ हजार मतले अगाडि

    काठमाडौं । काठमाडौं महानगरपालिकाको ७० प्रतिशत मतगणना सकिएको छ ।

    ३० प्रतिशत मत गन्न बाँकी रहँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १८ हजार ५ सय ५९ मतको अग्रता लिएका छन् । १ लाख ३४ हजार ८७ मत गन्दा बालेनले ४५ हजार ९ सय ८२ मत प्राप्त गरेका छन् ।

    उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २७ हजार ४ सय २३ मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २६ हजार ४ सय ५४ मत प्राप्त गरेका छन् ।

    अहिले वडा नम्बर ९, १०, १३, १४, १५, २०, २१, २२ र २६ नम्बर वडाको मतगणना जारी छ ।

    उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ ।

  • माझी समुदाय बाहुल्य खोटाङमा एकजनामात्रै माझी जनप्रतिनिधि निर्वाचित

    माझी समुदाय बाहुल्य खोटाङमा एकजनामात्रै माझी जनप्रतिनिधि निर्वाचित

    काठमाडौं । माझी समुदायको बाहुल्य रहेको खोटाङमा एकजनामात्रै माझी जनप्रतिनिध निर्वाचित भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये रावाबेंसी गाउँपालिका– ३ मा सोमबहादुर माझी वडा सदस्य निर्वाचित भएका हुन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि दुईजनामात्रै माझी जनप्रतिनिधि चुनिएका थिए । लामीडाँडामा कांग्रेसबाट सोमबहादुर माझी वडा सदस्यमा विजयी भएका थिए । त्यस्तै दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ का ज्ञानबहादुर माझी कार्यपालिका सदस्यसम्म भएका थिए ।

    योपटक सोमबहादुर एक्लो माझी जनप्रतिनिधि बनेका छन् । ३७ वर्षीय माझीले कांग्रेसका तर्फबाट ७०२ मत ल्याएर वडा सदस्य जितेका हुन् ।

    खोटाङको लामीडाँडा रभुँवा, घोपाटार, जयराम, भँडारेघाट, सानोभँडारे, रसुवाघाट, गोडुलीघाटलगायतका सुनकोसी र दूधकोसी किनारमा डुंगा चलाउने र माछा मार्ने पुर्ख्यौली पेशा भएका माझी समुदायले राज्यबाट अवसर नपाएको गुनासो गर्दै आएको छ ।

  • रेणु जिततर्फ अग्रसर, मतान्तर १० हजार नाघ्यो

    रेणु जिततर्फ अग्रसर, मतान्तर १० हजार नाघ्यो

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार रेणु दाहाल फराकिलो जिततर्फ अग्रसर भएकी छिन् ।

    महानगरको २५ र २६ नम्बर वडाको मतगणना जारी रहँदा दाहालले १० हजार बढीको अग्रता हासिल गरेकी छिन् । उनले ४४ हजार ३ सय ५ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ३४ हजार १ सय ७९ मत ल्याएका छन् । सुवेदीभन्दा दाहालको मत १० हजार १ सय २६ ले बढी हो ।

    हालसम्म १ लाख १० हजार ४ सय ५४ मत गणना भइसकेको छ । भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ । अब १७ हजार मत गन्न बाँकी छ ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५ सय १५ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४५ हजार ४ सय ६८ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २७ हजार ४६ मत ल्याएकी छिन् ।

  • तीन पालिकामा प्रमुख र उपप्रमुखसहित २४ महिला स्थानीय तहको नेतृत्वमा

    तीन पालिकामा प्रमुख र उपप्रमुखसहित २४ महिला स्थानीय तहको नेतृत्वमा

    काठमाडौं । स्थानीय तह निर्वाचनको नतिजा आइरहँदा तीन पालिकामा प्रमुख र उपप्रमुखसहित २४ महिला नेतृत्वमा निर्वाचित भएका छन् । ७५३ मध्ये ७२७ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा तीन पालिकामा प्रमुख र उपप्रमुख दुइटै पदमा महिला निर्वाचित भएका हुन् ।

    अन्तिम नतिजा आउन बाँकी पालिकामध्ये चितवनको भरतपुर महानगरपालिकामा मात्रै महिला प्रमुख रहेका छन ।

    प्रदेश १ मा झापाको गौरीगञ्ज गाउँपालिका, कर्णालीमा दैलेखको भैरवी गाउँपालिका र सुदूरपश्चिममा कैलालीको लम्कीचुहा नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै महिला निर्वाचित भएका हुन् ।

    झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी विजयी हुँदा उपाध्यक्षमा एमालेकी पूजन न्यौपाने कुँवर विजयी भएकी छन् । फूलवतीले ५ हजार ६८९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार अग्रवालले ३ हजार ३३० मत पाए ।
    उपाध्यक्षमा एमालेकी पूजन न्यौपानेले ४ हजार ७५५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मखना महतोले ३ हजार ७९५ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

    यस्तै दैलेखको भैरवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका महिला उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा विजयी रीताकुमारी शाहीले तीन हजार ९७६ मत ल्याए । उनका प्रतिद्वन्द्वी एमालेका सर्वराज महताराले तीन हजार ९६० मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारीले तीन हजार ३७४ मत पाउँदा उनका प्रतिद्वन्द्वी एमालेकै पदमकुमारी विष्टले तीन हजार २२७ मत ल्याइन् ।

    यसैगरी कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसकी सुशीला शाही र उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएका छन् । शाहीले १२ हजार ७१३ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी निवर्तमान मेयर एमालेका उम्मेदवार महादेव बजगाईंले १० हजार ४३५ मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा चौधरीले ११ हजार ७०८ मत प्राप्त गर्दै विजयी भइन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी शाहीले ८ हजार ३०८ मत प्राप्त गरेकी छन् ।

    तीन स्थानीय तहमा प्रमुख र उपप्रमुख दुइटै पदमा महिला विजयी भएसँगै देशभर २४ स्थानीय तहमा आगामी पाँच वर्ष महिला नेतृत्वले स्थानीय तह सञ्चालन गर्दैछन् । हालसम्म प्रमुखमा एमालेबाट झापाको विर्तामोड नगरपालिकामा पवित्रादेवी महतारा, मोरङको कानेपोखरी गाउँपालिकामा राजमती इङ्गनाम, रौतहटको मौलापुर नगरपालिकामा रीनाकुमारी साह, चितवनको माडी नगरपालिकामा ताराकुमारी काजी महतो, सिन्धुलीको फिक्कल गाउँपालिकामा पार्वती सुनुवार, पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा विमला अर्याल, पाल्पाको बगनासकाली गाउँपालिकामा सरस्वती दर्लामी (चिदी) र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मोहनमाया भण्डारी विजयी भएका छन् ।

    कांग्रेसबाट सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा मीनादेवी कार्की, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा विमला राई, सप्तरीको सुरुङ्गा नगरपालिकामा गीता चौधरी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिकामा लक्ष्मीदेवी पाण्डे, बागलुङको बडिगाड गाउँपालिकामा गण्डकी थापा अधिकारी, दैलेखको भैरवी गाउँपालिकामा रीताकुमारी शाही, अछामको पञ्चदेवल विनायक नगरपालिकामा अम्बिकाकुमारी चलाउने, कैलालीको लम्कीचुहा नगरपालिकामा सुशीला शाही, झापाको गौरीगन्जमा गाउँपालिकामा फूलवती राजवंशी विजयी पालिका प्रमुख तथा अध्यक्ष निर्वाचित भएका छन् ।

    यस्तै माओवादी केन्द्रबाट खोटाङको जन्तेढुंगा गाउँपालिकामा अरुणादेवी राई, सिन्धुलीको सुनकोशी गाउँपालिकामा दीपा बोहोरा दाहाल, काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकामा रेणुका चौलागाईै विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट रौतहटको ईशनाथ नगरपालिकामा कौशल्यादेवी प्रमुख पदमा विजयी भएकी छन् ।

    नेकपा एकीकृत समाजवादीबाट बागमती प्रदेश राजधानी हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा मीनाकुमारी लामा विजयी भएकी छन् ।
    चितवनको भरतपुरमा माओवादीले अग्रता कायमै राखिरहेको छ । भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल जित नजिक छ । उनी विजयी भए देशभरबाट २५ जना महिला स्थानीय तहको नेतृत्वमा पुग्नेछन् ।

    हालसम्मको परिणामअनुसार ३.१८७ प्रतिशत महिला स्थानीय तहको नेतृत्वमा पुगेका छन् ।

  • तुलसीपुरमा निरन्तर एमालेको अग्रता

    तुलसीपुरमा निरन्तर एमालेको अग्रता

    रुपन्देही । दाङमा मतगणना भइरहेको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले निरन्तर अग्रता लिएको छ ।

    एमाले महासचिव शंकर पोखरेलको गृहपालिका रहेको यहाँ ४७ हजार ७ सय ४४ मत गणना हुँदा नेकपा एमालेका मेयर पदका उम्मेदवार टीकाराम खड्का १८१३ मतान्तरले अग्रता लिएका हुन् ।

    खड्काले २० हजार ३१९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ५०६ मत प्राप्त गरेका छन् ।

    तर उपमेयरमा एमालेकी श्यानी चौधरीले धेरै मतान्तरले अग्रता लिएकी छन् । चौधरीले १९ हजार ७ सय ८० मत प्राप्त गरेकी छन्। चौधरी निकटतम प्रतिष्पर्धीभन्दा ६०४५ मतले अगाडि छन् ।

    उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानामगरले १३ हजार ७३५ मत प्राप्त गरेका छन्।

  • काठमाडौंको १२ नम्बर वडाध्यक्षमा कांग्रेसका बालकृष्ण दोब्बरभन्दा बढी मतले विजयी

    काठमाडौंको १२ नम्बर वडाध्यक्षमा कांग्रेसका बालकृष्ण दोब्बरभन्दा बढी मतले विजयी

    काठमाडौं । काठमाडौं– १२ को वडाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण महर्जन प्रतिस्पर्धीको भन्दा दोब्बर मतले विजयी भएका छन् ।

    महर्जनले २१४९ मत पाए भने प्रतिस्पर्धी एमालेका विकास ढंगोलले ९९३ मत प्राप्त गरे ।

    उक्त वडाबाट मेयरमा कांग्रेसलाई ११७८, एमालेलाई ९०१, स्वतन्त्र उम्मेदवार बालेन साहलाई ६५९ र सुमन सायमीलाई ५७६ मत आयो ।

  • भीमदत्तको मेयरमा कांग्रेसका बोगटी निर्वाचित

    भीमदत्तको मेयरमा कांग्रेसका बोगटी निर्वाचित

    काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् ।

    बोगटी १५ हजार ८ सय ८२ मतसहित मेयरमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गरे । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत पाएका छन् ।

    त्यस्तै, उपमेयरमा १२ हजार २ सय १६ मतसहित जोशी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गरे ।

    भीमदत्त कन्चनपुर जिल्लाको सदरमुकाम पनि हो ।

  • मोरङको सुन्दर हरैँचामा एमालेले गठबन्धन हरायो, मेयरमा गुरागाईं निर्वाचित

    मोरङको सुन्दर हरैँचामा एमालेले गठबन्धन हरायो, मेयरमा गुरागाईं निर्वाचित

    काठमाडौं । मोरङको सुन्दर हरैँचा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै केदारप्रसाद गुरागाईं मेयर र अकली चौधरी उपमेयरमा निर्वाचित भएका हुन् ।

    गुरागाईंले निवर्तमान मेयरसमेत रहेका कांग्रेसका शिवप्रसाद ढकाललाई हराएका हुन्। गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत पाए ।

    उपमेयरमा चौधरी २२ हजार ४ सय ५२ मतसहित विजयी भएकी हुन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याए ।

  • काठमाडौं- २३ को वडाध्यक्षमा एमालेका महर्जन निर्वाचित, मेयरमा बालेन चौथो

    काठमाडौं- २३ को वडाध्यक्षमा एमालेका महर्जन निर्वाचित, मेयरमा बालेन चौथो

    काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा २३ नम्बर वडाको परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार उक्त वडामा एमालेका उम्मेदवार मचा राजा महर्जन निर्वाचित भएका छन् ।

    महर्जनले ११६१ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उत्तम रत्न मानन्धर ९२९ मतमा सीमित भए ।

    यो वडाबाट मेयरमा एमालेले ७१४, कांग्रेसले ५८९ र स्वतन्त्र उम्मेदवारद्वय बालेन साह र सुमन सायमीले क्रमशः २६३ र ६९० मत पाएका छन् ।

    काठमाडौंको कुल मतगणनाको परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् ।

  • तिलोत्तमामा मतान्तर बढाउँदै कांग्रेसका खाँँण

    तिलोत्तमामा मतान्तर बढाउँदै कांग्रेसका खाँँण

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण खाँँणको अग्रता बढ्दै गएको छ । बिहानसम्म गणना भएको ३४ हजार २ सय मतको परिणाम सार्वजनिक गर्दा खाँँणले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले भन्दा ५५४ मत बढी ल्याएका हुन्।

    चापागाईले १२ हजार ७ सय ६९ मत पाउदा खाँणले १३ हजार ३ सय २३ मत पाएका छन् ।

    उपप्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी चौधरी दोब्बर मतले अगाडि छन् । चौधरीले १२ हजार ७ सय १५ मत पाउँदा गठबन्धनबाट उपप्रमुखका उम्मेदवार बनेका माओवादी केन्द्रका हेमन्त पाण्डेले ६ हजार ३ सय ६२ मत प्राप्त गगरेका छन् ।

    कूल १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा हालसम्म वडा नं १, २, ३,१४ १५,१६ र १७ को अन्तिम परिणाम आइसकेको छ। जसअनुसार वडा नं १ र १५ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने वडा नं २,३,१४, १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। कुल ८५ हजार ७४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार ७०२ मत खसेको थियो।

    यसअघिको निर्वाचनमा एमालेका बासुदेव घिमिरे मेयर रहेको तिलोत्तमामा राम्रो काम गरेको भन्दै दुईवर्ष नगरपालिका उत्कृष्ट घोषणा भएको थियो।

  • पाल्पाको रम्भामा एमालेले विरासत जोगायो, गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्ष दुवैमा विजयी

    पाल्पाको रम्भामा एमालेले विरासत जोगायो, गठबन्धनलाई हराउँदै अध्यक्ष र उपाध्यक्ष दुवैमा विजयी

    रुपन्देही । पाँच दलीय गठबन्धनलाई हराउँदै पाल्पाको रम्भा गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेर आफ्नो विरासत जोगाएको छ ।

    निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत रम्भा गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विष्‍णुप्रसाद भण्‍डारी ५,५८६ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार दुर्गाप्रसाद अधिकारीलाई १,०४४ मतान्तरले पराजित गरेका हुन् । पराजित अधिकारीले ४,५४२ मत ल्याएका छन् ।

    यस्तै उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार राधाकुमारी श्रेष्ठ ५,७१९ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले ५,०५८ मत ल्याएका छन् ।

  • झपाको कमल अध्यक्षमा कांग्रेसका राई- पहिला गोला तान्दा हारे, अहिले भोटैले जिते

    झपाको कमल अध्यक्षमा कांग्रेसका राई- पहिला गोला तान्दा हारे, अहिले भोटैले जिते

    काठमाडौं । झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार हुकुमसिंह राई विजयी भएका छन् । उनी १२,८६८ मत ल्याई विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार भीमप्रसाद राईलाई पराजित गरी उनी अध्यक्षमा निर्वाचित भएका हुन् । पराजित भीमप्रसाद राईले ९,६५३ मत पाए ।

    यस्तै उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपाने १०,८४५ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पर्शुराम सुवेदीले ८,३७१ मत प्राप्त गरे ।

    अध्यक्षमा पदमा निर्वाचित राई २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेकी मेनुका काफ्लेसँग बराबरी मत ल्याएपछि गोला प्रथामा पराजित भएका थिए।

  • गौरादहको मेयरमा एमालेका सुवेदी विजयी, उपमेयरमा पनि एमालेकै जल वर्षा

    गौरादहको मेयरमा एमालेका सुवेदी विजयी, उपमेयरमा पनि एमालेकै जल वर्षा

    काठमाडौं । झापा गौरादह नगरपालिकामा एमालेले जित निकालेको छ । यहाँको मेयर र उपमेयरमा क्रमशः छत्रपति सुवेदी र जल वर्षा राजवंशी निर्वाचित भएका हुन् ।

    मेयरमा विजयी सुवेदीले १२८४९ पाए भने उनका प्रतिस्पर्धी कांग्रेसका रोहित कुमार शाहले ११४८४ मत प्राप्त गरे ।

    त्यस्तै उपमेयरमा विजयी एमालेकी जल वर्षाले ११९१४ पाइन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका पुष्पलाल ढकाल १०४३८ मतमा सीमित भए ।

  • व्यासमा कैंचीले रुख काट्न सकेन, मेयरमा दोहोरिए कांग्रेसका बैकुण्ठ

    व्यासमा कैंचीले रुख काट्न सकेन, मेयरमा दोहोरिए कांग्रेसका बैकुण्ठ

    काठमाडौं । तनहुँको व्यास नगरपालिकामा एमाले र गोविन्दराज जोशी समूहको गठबन्धनबाट कैंची चुनाव चिह्न लिएर चुनाव लडेका दिपकराज जोशीलाई हराउँदै नेपाली कांग्रेसका वैकुण्ठनाथ न्यौपाने मेयरमा विजयी भएका छन्।

    वैकुण्ठले १२ हजार ७८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी जोशीले ११ हजार ८२६ मत पाए।

    यस्तै उपप्रमुखमा पनि कांग्रेसकै इन्दिरा दरै निर्वाचित भइन्। उनले १२ हजार ४९८ मत पाइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन्।

    न्यौपाने यसअघि पनि व्यासका मेयर थिए ।

  • स्थानीय तह निर्वाचन : दलित प्रतिनिधि १ प्रतिशत मात्रै निर्वाचित (सूचीसहित)

    स्थानीय तह निर्वाचन : दलित प्रतिनिधि १ प्रतिशत मात्रै निर्वाचित (सूचीसहित)

    काठमाडौं । ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७१४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनकि भएको छ । सार्वजनिक परिणामअनुसार दलित समुदालयको प्रतिनिधि एकदमै न्यून देखिएको छ । निर्वाचन आयोगको परिणामअनुसार देशभरी परिणाम सार्वजथनिक भउका तहमा एक प्रतिशतमात्रै दलित प्रतिनिधि निर्वाचित भएका छन् ।

    ९ जना पालिका प्रमुख र गाउँपालिका अध्यक्ष निर्वाीचत हुँदा ११ जना उपप्रमुख र ६ जना पालिका उपाध्यक्षमा निर्वाचित भएका छन् ।

    निर्वाचित हुनेमा नेकपा एमालेबाट बागलुङको डोरपाटन नगरपालिका प्रमुखमा देवकुमार नेपाली, धनुषाको विदेह नगरपालिकाको प्रमुखमा बेचेन दास रहेका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट रुकुमको चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प बादी प्रमुखमा निर्वाचित भएका छन्

    यस्तै ७ वटा पालिका अध्यक्षपनि निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट बागलुङको ताराखोलामा धनबहादुर विक, डडेल्धुराको आलिताल गाउँपालिकामा शेरसिंह पार्की, उदयपुरको ताप्ली गाउँपालिमा ढुङ्गराज विश्वकर्मा, सुर्खेतको चौकुने गाँउपालिका अध्यक्षमा खड्क विक, बाँकेको खजुरा गाउँपालिकामा डम्बरबहादुर विक निर्वाचित भएका छन् ।

    यस्तै नेकपा एमालेबाट प्युठानको सरुमारानी गाउँपालिकाको अध्यक्षमा झगबहादुर विश्वकर्मा निर्वाचित भएका छन् ।

    नेपाली कांग्रेस लगायत अन्य राजनीतिक दलबाट पालिका अध्यक्षमा एकजना दलित प्रतिनिधिपनि निर्वाचित हुन सकेनन ।

    ५ नगरपालिकाको उपप्रमुखमा र ६ गाउँपालिकाको उपाध्यक्ष गरेर देशभरबाट ११ जना दलित समुदायबाट निर्वाचित भएका छन् ।

    नेकपा (माओवादी केन्द्र) बाट तनहुँको शुक्लागण्डकी नगरपालिकामा खुमबहादुर विक र धादिङ्गको निलकण्ठ नगरपालिकामा दिपक विश्वकर्मा, सुर्खेतको गुर्भाकोट नगरपालिकामा कांग्रेसबाट मैना बिक, रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकामा एमालेबाट कल्पना हरिजन र कैलालीको भजनी नगरपालिकाको उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टीबाट राजु तिरुवा निर्वाचित भएका छन् ।

    ६ गाउँपालिकाको उपाध्यक्षमा दलित समुदायबाट निर्वाचित भएका छन् । कांग्रेसबाट सर्लाहीको धनकौल गाउँपालिकामा अकली सहनी र गोरखाको आरूघाट गाउँपालिकामा कल्पना नेपाली निर्वाचित भएका छन् ।

    एमालेबाट पर्वतको महाशिला गाउँपालिकामा धनसुवा बिक र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सरावल गाउँपालिकामा वासमति चमार निर्वाचित भएका छन् ।

    यस्तै महोत्तरीको महोत्तरी गाउँपालिकामा जनता समाजवादी पार्टीबाट दिपोदेवी पासवान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देहीको रोहिणी गाउँपालिकामा शिवकान्ती चमार निर्वाचित भएका छन् ।

  • मोरङको रंगेलीमा एमालेको क्लिनस्वीप- मेयर र उपमेयरसहित ९ वटै वडामा जित

    मोरङको रंगेलीमा एमालेको क्लिनस्वीप- मेयर र उपमेयरसहित ९ वटै वडामा जित

    विराटनगर । मोरङको रंगेली नगरपालिकाको मेयर उपमेयरसहित ९ वटै वडा एमालेले जित निकालेको छ।

    नेकपा एमालेका उम्मेदवार दिलीप बगडियाले १२ हजार ६८१मत प्राप्त गर्दै मेयरमा निर्वाचित भएका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मोदराज घिमिरेले ९०६१ मत प्राप्त गरे ।

    यसै गरी उपमेयरमा पनि एमालेकै ११७९० मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी जसपाका पन्नालाल मण्डलले ५१७५ मत प्राप्त गरे ।

    रंगेलीको मेयरमा निर्वाचित बगडिया अघिल्लो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

    उनी मेयर छँदै नेकपा एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका थिए ।