Category: स्थानीय निर्वाचन–२०७९

  • पोखरा महानगरपालिकाको मेयर बन्न कांग्रेसका १८ जनाको दाबेदारी पेश

    पोखरा महानगरपालिकाको मेयर बन्न कांग्रेसका १८ जनाको दाबेदारी पेश

    पोखरा । देशका ६ वटा महानगरपालिकामध्ये पोखराको मेयर नेकपा एसले पाउने चर्चा चलिरहेका बेला नेपाली कांग्रेसबाट मात्रै १८ जनाले मेयरको दाबी गर्दै महानगर समितिमा निवेदन दिएका छन् ।

    १५ हजार रुपैयाँसहित उम्मेदवारीको लागि दाबेदारी पेश गर्नेमा गण्डकी प्रदेश सरकारका मन्त्री बिन्दुकुमार थापादेखि पूर्व सचिव तथा अख्तियार प्रमुख सिफारिस भएर पनि नियुक्ति हुन नपाएका बाबुराम आचार्यसम्म छन् ।

    पोखराको मेयरका लागि कांग्रेसका कास्की जिल्ला सभापति किशोरदत्त बराल, पत्रकार गंगाधर पराजुली, यसअघि उपमेयरमा पराजित सरस्वती गुरुङ लगायत १८ जना छन् ।

    त्यस्तै उपमेयरका लागि ११ जनाको आबेदन परेको छ ।

    उपमेयरमा दाबी गर्नेहरुमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टिकाकुमारी गुरुङ र दिपक मल्ल छन् ।

    त्यस्तै मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले पनि उपप्रमुखका लागि आवेदन दिएका छन् ।

  • एमालेसँग तालमेल गर्न तनहुँमा कति छ गोविन्दराज जोशीको शक्ति ?

    एमालेसँग तालमेल गर्न तनहुँमा कति छ गोविन्दराज जोशीको शक्ति ?

    काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी अहिले पार्टी कारबाहीमा छन् । उनको कारबाही फुकुवा भएको छैन । कुनै बेला कांग्रेसमा निर्णायक प्रभाव राख्ने एकेजिबी समूह थियो । अर्जुन नरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र बिजय कुमार गच्छदार ।

    संयोग नै भन्नुपर्छ खुमबहादुरको निधन भइसकेको छ, बाँकी तीनमध्ये अर्जुन नरसिंह कांग्रेस नेतृत्वमा रहे पनि निर्णायक प्रभाव छैन । बिजय गच्छदार भ्रष्टाचार मुद्दा खेपिरहेका छन् उनी पनि निर्णायक शक्तिमा छैनन् । गोविन्दराज त कारबाही मै छन् ।

    यीनै गोविन्दराज जोशी तनहुँको राजनीतिमा भने अझै पनि निर्णायक मानिन्छन् ।

    जोशीले २०७४ प्रतिनिधि सभा निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलको विरुद्धमा बागी उम्मेदवार हालेका थिए । यद्यपी उनको उम्मेदवारी पौडेलले निर्वाचन आयोगमा उजुरी गरेर रद्द गराएका थिए । त्यसपछि जोशीलाई पार्टीले साधारण सदस्य नै नरहनेगरी कारबाही गरेको छ ।

    उनै जोशी समूहसँग तनहुँमा आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तालमेल गर्ने भएको छ । जोशीले व्यास नगरपालिकामा आफ्ना छोरा दीपकराज जोशीलाई प्रमुख बनाउँन चाहेका छन् । यसका लागि उनले स्वतन्त्र उम्मेदवारी नै घोषणा गरिसकेका छन् ।

    व्यास नगरपालिकामा एमाले कांग्रेसपछिको दोस्रो शक्ति हो तर एक्लै जित्ने हैसियतमा छैन । बरु जोशीले कांग्रेसले जित्ने मार्जिनको मत होल्ड गर्छन् । यसैक्रममा उनीसँग एमालेले तालमेल गर्ने बहस चलिरहेको छ । स्रोतका अनुसार त्यो बहस निर्णायक चरणमा पनि पुगिसकेको छ ।

    कांग्रेसको कारबाहीमा परेका जोशीसँग एमालेले किन तालमेल गर्दैछ ? जोशीसँग कति शक्ति छ ? भन्ने विषयमा आमचासो पनि बढेको छ ।

    कति छ जोशीको शक्ति ?

    तनहुँमा गोविन्दराज जोशी कांग्रेसका संस्थापक हुन् । उनी आफूले रामचन्द्रलाई कांग्रेस बनाएको बताउने गर्छन् । २०४८,२०५१ र २०५६ तीनपटक उनले तनहुँबाट ठूलै मतान्तरमा चुनाव जितेका थिए ।

    तनहुँ कांग्रेसमा पौडेल–जोशीको टकरावको इतिहास लामै छ । विद्यार्थी राजनीतिकालदेखि नै दुवैै नेता एकअर्काका प्रतिस्पर्धी थिए । यसैकारण जिल्लामा दुवै नेता फरक समूह चलाउँथें ।

    एक समय यस्तो थियो कि जिल्लामा पार्टीका चुनाव हुँदा जोशी समूहले रामचन्द्र समूहलाई सजिलै हराउँथ्यो । त्यसमा मन्त्री तथा सांसद हुँदा जोशीले गर्ने कार्यकर्ता संरक्षण महत्वपूर्ण थियो । यही कुराको कमी पौडेलमा थियो । पौडेल सिद्धान्तको कुरा गर्ने, जोशी व्यवहार मिलाउने । त्यसैले पनि जोशीको पकड बढि थियो ।

    जब जोशीलाई भ्रष्टाचारको अभियोग लाग्यो उनी राष्ट्रिय स्तरमै कमजोर भए । जोशी कमजोर भएपछि कार्यकर्ताहरूले पनि छाड्न थाले । यद्यपी पुराना प्रतिवद्ध कार्यकर्ताहरूले भने उनको साथ नछाडेको देखिएको छ ।

    यसैक्रममा जोशीको कारबाही फुकुवा नभएको भन्दै कांग्रेसको १४ औँ महाधिवेशनमा तनहुँमा ६ हजार कार्यकर्ताले क्रियाशिल सदस्यता पनि नभरेको सो समूहले दाबी गर्ने गरेको छ ।

    सो समूहको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र आबुखैरेनी गाउँपालिकामा निर्णायक मत छ । सोही कारण सो समुहसँग तालमेल गर्न चाहेको एमालेस्रोतले बतायो । त्यो शक्ति कांग्रेसलाई हराउन पर्याप्त हुने एमालको बुझाई छ ।

    २०७४ को स्थानीय तह निर्वाचनमा भानु नगरपालिकामा कांग्रेसका उदयराज गौलीले ९ हजार ५ सय ३८ मतसहित विजयी हुँदा एमालेका भगवती न्यौपानेले ९ हजार ६४ मत पाएकी थिइन् । जोशीको आफ्नै गृहनगर भएकाले यहाँ उनीसहितको गठबन्धन हुनासाथ कांग्रेसको गठबन्धन कमजोर हुन्छ ।

    यस्तै व्यास नगरपालिकामा कांग्रेसका बैकुण्ठराज न्यौपाने १३ हजार ५६ मतसहित विजयी हुँदा एमालेका शंकर नारायण श्रेष्ठले ९ हजार ५ सय ९२ मत ल्याएका थिए भने, आबुखैरेनीमा कांग्रेस गिरबहादुर थापा २ हजार ५ सय ८९ मत सहित विजयी भएका थिए भने, एमाले सन्तबहादुर केसीले २ हजार २ सय ४२ मत पाएका थिए ।

    यस्तै बन्दिपुरमा कांग्रेसका कर्णबहादुर खत्री २ हजार ४ सय २१ ल्याएका थिए । एमालेका आनन्दमान जोशीले एकहजार ९ सय ३२ पाउँदै दाेस्राे भएका थिए । त्यहाँ माओवादीबाट पूर्णसिंह थापाले जित निकालेका थिए । 

    यी पालिकाहरूमा एमालेले जोशी समूहसँग मिलेर कांग्रेसलाई पराजित गर्न चाहन्छ । त्यसका लागि जोशी समूहले व्यास नगरपालिकाको नेतृत्व मागेको छ । जहाँ जोशी आफ्ना छोरालाई प्रमुख बनाउँन चाहन्छन् ।

    जोशी हिजो मन्त्री हुँदा शिक्षा, स्वास्थ्य, विद्यालय स्थापना, युवाहरुलाई रोजगारीमा सहयोग गरेको कारण उनलाई धेरैले रुचाउने गरेको सो समूहको तर्क छ ।

    यस्तै जोशी समूहसँग संविधान सभा सदस्य पार्वती राना पनि छन् । यद्यपी उनी अहिले बिरामी छन् । उनका भाईहरु सबै जोशीको पक्षमा रहेको स्रोतको दाबी छ ।

    यस्तै भानु नगरपालिकामा सहिद होमराज लोहनीको पत्नी बालकुमारी लोहनी, बन्दिपुरमा शुकुमलाल गुरुङलगायत जनतामा राम्रो प्रभाव पार्ने नेताहरु पनि जोशीका पक्षमा छन् । अहिले नेताभन्दा पनि गाउँका कांग्रेस कार्यकर्ताहरु जोशीको पक्षमा रहेको सो समूहको दाबी छ ।

    एमाले र जोशी समूहकाबीचमा बन्न लागेको यो गठबन्धनमा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेको विशेष जोड छ । उनकै पहलमा काठमाडौंमा एमाले अध्यक्ष केपी ओली र जोशीबीच भेटवार्ता भएपछि तनहुँमा गठबन्धनको वातावरण बनेको हो ।

    अघिल्लो चुनावमा रामचन्द्रले उम्मदेवारी खारेज गराइदिएपछि गोविन्दराज जोशीले एमालेलाई सहयोग गरेका कारण किसान श्रेष्ठको विजय सम्भव भएको थियो । यसपटक जोशी समूह खुलेर एमालेसँग गठबन्धन बनाउन अग्रसर हुँदा तनहुँमा कांग्रेसलाई चुनौति बढेको छ ।

  • भोजपुरको दुई पालिकामा एमालेले छान्यो प्रमुख-उपप्रमुखका सर्वसम्मत उम्मेदवार

    भोजपुरको दुई पालिकामा एमालेले छान्यो प्रमुख-उपप्रमुखका सर्वसम्मत उम्मेदवार

    भोजपुर । यहाँको दुई स्थानीय तहको प्रमुख-उपप्रमुखमा नेकपा एमालेले सर्वसम्मत उम्मेदवार तय गरेको छ ।

    भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सम्बन्धित कमिटीले आज सर्वसम्मत उम्मेदवार तय गरेको एमाले भोजपुरका उपाध्यक्ष मकर खड्काले जानकारी दिए ।

    एमालेले भोजपुर नगरपालिका मेयरमा भरत तामाङ र उपमेयरमा निर्मला शेर्पालाई अघि सारेको छ । तामाङ तत्कालीन भोजपुर गाविसका अध्यक्षसमेत हुन् ।

    त्यस्तै टेम्कैमैयुङ गाउँपालिकामा अहिलेका अध्यक्ष ध्रुवराज राईलाई फेरि उम्मेदवार बनाउने निर्णय गरिएको छ । टेम्केमैयुङको उपाध्यक्षमा रमा राईलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ । रमा हाल जिल्ला समन्वय समिति भोजपुरकी सदस्य छिन् ।

    २०७४ को चुनावमा टेम्केमैयुङमा एमालेविरुद्ध सबै दल एक भएर उम्मेदवारी दिएका थिए । यहाँ गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम, नेपालका रामसिंह राई ध्रुवराज राईसँग पराजित भएका थिए । एमालेका ध्रुवराज राईले २ हजार ७ सय ८० मत ल्याउँदा रामसिंले २ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए ।

    उपाध्यक्षमा नेपाली कांग्रेसका सरोज बस्नेतले २ हजार ६ सय ९१ मत ल्याउँदा एमालेबाट इन्द्रावती राई २ हजार ७ सय १८ मत ल्याएर विजयी भएकी थिइन् । हाल उपाध्यक्ष राई नेकपा एस प्रवेश गरिसकेकी छन् ।

  • लुम्बिनी : भागबण्डामा ठूला दल हाबी हुँदा भत्किँदै गठबन्धन

    लुम्बिनी : भागबण्डामा ठूला दल हाबी हुँदा भत्किँदै गठबन्धन

    रुपन्देही । आगामी स्थानीय तह निर्वाचनमा पाँद दलीय गठबन्धन गरेर जाने सहमति केन्द्रमा बने पनि जिल्ला र स्थानीय तहमा भने भंग भइरहेका छन् ।

    लुम्बिनी प्रदेशमा पनि जिल्ला र पालिका संयन्त्रको निर्देशन विपरीत गठबन्धन भंग भएका छन् । बाँकेमा जसपाले नेपालगन्ज उपमहानगरपालिका कांग्रेसले नछाडेका कारण गठबन्धन नहुने घोषणा गरिसकेको छ ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा जसपाले सत्तारुढ ४ दलसँग औपचारिक गठबन्धन नगर्ने औपचारिक निर्णय सार्वजनिक गरेको छ । नेपालगन्जको मेयर जसपालाई नदिने अडान कांग्रेसले राखेको भन्दै गठबन्धनबाट बाहिरिनुपरेको र बाँकेमा एक्लै स्थानीय तहको निर्वाचनमा होमिने निर्णय गरेको जिल्ला अध्यक्ष कमुरुद्धिन राईले जनाएका छन् ।

    १० गाउँपालिका रहेको रोल्पामा नेपाली कांग्रेसले आधा पालिकामा भागबन्डा नपाए गठबन्धन नहुने घोषणा गरिसकेको छ । कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको गृह जिल्ला रोल्पामा माओवादी एक्लैले सबै पालिका जित्न सक्ने आन्तरिक सर्वेक्षण गरेको समयमा कांग्रेसको निर्णयले गठबन्धन हुन नसक्ने माओवादी केन्द्रले बताइसकेको छ । रोल्पा सभापति किशोरकुमार आचार्यले बुधवार विज्ञप्ति जारी गर्दै गठबन्धनमा भाग लिनुपरेमा अर्को पक्षले आधा हिस्सा दिलाउनुको विकल्प नभएको जनाएका छन् । माओवादीले यो विज्ञप्तिलाई गठबन्धनविरुद्धको षडयन्त्र बताएको छ ।

    प्युठानको नौ बहिनी गाउँपालिकामा जनमोर्चाविरुद्ध कांग्रेस, माओवादी र नेकपा एसले गठबन्धनको घोषणा गरेका छन् ।

    गुल्मीको मालिका गाउँपालिकामा माओवादीलाई प्रमुख तथा कांग्रेसलाई उपप्रमुख दिएर गरिएको गठबन्धनलाई नेकपा एस र जनमोर्चाले आपत्ति जनाउँदै आएका छन् ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसले सबै वडाध्यक्षका उम्मेदवार घोषणा गरेपछि माओवादी केन्द्र, नेकपा एस र जसपाले गठबन्धन रोक्ने षडयन्त्र भन्दै आएका छन् । पश्चिम नवलपरासीमा तराईका पालिकामा जसपाले गठबन्धन नचाहेको र उत्तरतर्फका पालिकामा कांग्रेसले गठबन्धन नचाहेको माओवादी नेताहरूको आरोप छ ।

    यी बाहिर आएका प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । एउटै पार्टीभित्र धेरै नेताहरू भएर भागबन्डा मिलाउन नसकेका दलहरूलाई ५ दलका सबै नेतालाई चित्त बुझाएर भागबन्डा मिलाउन सजिलो पक्कै हुनेछैन ।

    यस कारण पनि लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनलाई भागबन्डाको टुंगो लगाउनको सकस देखिएको छ । पटक पटक बसेको गठबन्धनको बैठकमा दलहरूका आआफ्ना दाबी भएपछि टुंग्याउनको चुनौती थपिएको हो । शुक्रवार बसेको दलहरूको संयन्त्रको बैठकले वैशाख ६ गतेभित्र भागबन्डाको टुंगो लगाउने निर्देशन दिएको छ ।

    बुटवलमा बसेको प्रदेशस्तरीय पाँच दलीय गठबन्धनको बैठकले प्रदेशका १०९ वटै स्थानीय तहमा भागबन्डाको टुंगो लगाउनको लागि जिल्लाहरूलाई निर्देशन दिएको छ । बैठकले ४ गतेभित्र जिल्लाहरूले सहमतिमा भागबन्डाको टुंगो लगाएर प्रदेशमा जानकारी दिने निर्णय गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

    कुन दललाई कुन पालिका दिने भन्ने जिल्लामा सहमति गराउने र वैशाख ६ गतेभित्र भागबन्डा सकिने तयारीमा रहेको नेताहरू बताएका छन् । जिल्लाहरू सहमति हुन नसकेको विषयसमेत उल्लेख गरी प्रदेशलाई जानकारी गराउन जिल्लालाई निर्देशन दिइएको छ ।

    यस्तै बैठकले केन्द्रीय निर्देशनअनुसार सबै जिल्लाहरूमा नेपाली काँग्रेसको समन्वय गर्नुपर्ने र संयन्त्रको बैठकमा ५ दलीय गठबन्धनहरूलाई उपस्थिति गराउनुपर्ने निर्णय गरेको छ ।

    कांग्रेसका प्रदेश सभापति अमर सिंह पुन, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, एकीकृत समाजवादी प्रदेश अध्यक्ष मेटमणि चौधरी, जसपा प्रदेश अध्यक्ष अशोककुमार यादव, राष्ट्रिय जनमोर्चाका बद्रे आलम सहभागी बैठकले यस्तो निर्णय गरे पनि जिल्ला स्तरमा त्यो कार्यान्वयन हुनसक्ने आधार देखिएको छैन ।

    दाङका पत्रकार तथा प्रेस सेन्टरका नेता नरेन्द्र केसीले गठबन्धनलाई निरपेक्षरुपमा बुझ्न नहुने बताउँछन् । ‘हामीले भन्दै आएको कुरा नेताले बल्ल बुझ्दै छन्, गठबन्धनलाई निरपेक्षरुपमा बुझ्नहुँदैन, सम्मानजनक साझेदारी हुने ठाउँमा मिल, नभए लड । यो जनमत परीक्षणको समय पनि हो’, उनले भनेका छन् ।

    संयन्त्रको बैठकमा प्रदेशका १०९ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ८० वटा स्थानीय तह आफूले पाउनुपर्ने दाबी गरेपछि अन्य दलका नेताहरू आक्रोशित भएको सहभागी एक नेताले बताए । नेकपा एकीकृत समाजवादीले २२ वटा पालिका पाउनुपर्ने प्रस्ताव अगाडि सारेको छ । नेकपा माओवादी केन्द्रले यसअघि आफूले जितका १९ वटा र दोस्रो स्थानमा रहेका पालिकाहरू पाउनुपर्ने दाबी गरिरहेको छ । जसपाले र जनमोर्चाले पनि पहिला आफूले जितेका र दोस्रो स्थानमा रहेका पालिका दाबी गरेका छन् । गठबन्धनमा साना दलले अपेक्षा गरेभन्दा धेरै पालिकामा दाबी गरेका कारण समस्या भएको कांग्रेस नेताहरूको दाबी छ ।

    लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह रहेका छन् । जसमध्ये २०७४ सालको निर्वाचनमा नेकपा एमाले ३ उपमहानगरपालिकासहित ४३ स्थानीय तहमा जित निकालेको थियो ।

    नेपाली कांग्रेसले ३४, माओवादी केन्द्रले १९, संघीय समाजवादी फोरमले ६, राष्ट्रिय जनमोर्चा, मधेसी जनअधिकार फोरम र स्वतन्त्र उम्मेदवारले २/२ र राप्रपाले १ स्थानीय तहको प्रमुखमा जितेका थिए ।

    २०७४ सालको निर्वाचनमा एमालेले रुपन्देहीमा ७, बाँकेमा ४, बर्दिया, दाङ, पाल्पा, गुल्मीमा नेकपा एमाले धेरै स्थानीय तहमा जित हात पारेको थियो भने कपिलवस्तु, अर्घाखाँची, नवलपरासीका धेरै तह नेपाली कांगेसले जितेको थियो ।

    यस्तै नेकपा माओवादी केन्द्र रुकूमपूर्व र रोल्पामा बलियो देखिएको थियो । माओवादी केन्द्रले रुकूमपूर्वका ३ वटै तहमा जित निकालेको थियो । संघीय समाजवादी फोरमले रुपन्देही ३ र कपिलवस्तु २, बाँकेको १ स्थानीय तहमा जितेको थियो । राष्ट्रिय जनमोर्चाले प्युठानका दुई तहमा जित निकाल्दा राप्रपाले बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा जित निकालेको थियो ।

  • लिङदेन भन्छन्- राप्रपा आफ्नै बुतामा लड्छ, मौका पाउनासाथ राजसंस्था र हिन्दू राष्ट्रको घोषणा गर्छ (भिडिओ)

    लिङदेन भन्छन्- राप्रपा आफ्नै बुतामा लड्छ, मौका पाउनासाथ राजसंस्था र हिन्दू राष्ट्रको घोषणा गर्छ (भिडिओ)

    जनकपुर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल नहुने प्रष्ट्याएका छन् ।

    आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले आसन्न स्थानीय चुनावमा राप्रपा आफ्नै बलबुतामा लड्ने बताए ।

    अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जित्ने उनको दाबी छ ।

    ‘राप्रपाले मौका पाउनेबित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दू राष्ट्र समेत घोषणा गर्नेछ । नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकीय संस्थाको रूपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको छ’, लिङदेनले भने ।

    धनुषाको विरेन्द्रबजारमा पार्टी प्रवेश एवम् स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन र पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुर आइपुगेका हुन् ।

  • बुटवलको मेयरमा दाबी गर्नेमध्ये तीन पत्रकार

    बुटवलको मेयरमा दाबी गर्नेमध्ये तीन पत्रकार

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा तीन पार्टीबाट नेपाल पत्रकार महासंघ रुपन्देहीका तीन पूर्वअध्यक्ष लड्न कस्सिएका छन् ।

    नेकपा एसबाट डा. बालकृष्ण चापागाई, माओवादी केन्द्रबाट विनोद पहाडी, नेपाली कांग्रेसबाट हरि लम्साल बुटवलको मेयरका लागि मैदानमा आएका हुन् । पहाडीले आफ्नो पार्टीबाट सर्वसम्मत आफ्नो नाम अनुमोदन गराएका छन् भने चापागाईँले पनि करिब टुंगाएका छन् । लम्साल पनि आफ्नो पार्टीबाट मुख्य दाबेदारको रूपमा सिफारिस भएका छन् यद्यपि उनको नाम टुंगिसकेको छैन ।

    नेकपा माओवादी केन्द्रबाट बुटवलको मेयरका लागि महासंघ रुपन्देहीका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीको नाम सर्वसम्मत अनुमोदन भइसकेको छ । उनी सो पार्टीको केन्द्रीय अनुशासन आयोगको सदस्य तथा प्रचार विभागको सदस्यको जिम्मेवारीमा छन् ।

    ‘पार्टीको भेलाबाट मलाई सर्वसम्मत गर्नुभएको हो, अरु साथीहरू पनि इच्छुक हुनुहुन्थ्यो तर मलाई अगाडि सार्नुभयो’, पहाडीले भने । माओवादीले उपमेयरमा भने मनोज राना र टीका वलीको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको छ ।

    नेकपा एसबाट डा. बालकृष्ण चापागाई मुख्य दाबेदार रहेका छन् । नेता माधव नेपालको नजिक रहेका चापागाई २०५४ सालमा पनि एमालेबाट मेयरको दावेदार रहेका थिए भने २०७४ सालमा पनि दाबेदार रहेका थिए ।

    ‘गठबन्धनबाट लुम्बिनीका उपमहानगरपालिकामध्ये हामीले मागेको बुटवल नै हो, म यसका लागि तयारी छु, पार्टी र गठबन्धनबाट सकारात्मक कुरा आउनेमा विश्वस्त छु, म ०५४ सालदेखि नै मेयरको दाबेदार रहेकाले पार्टी र गठबन्धनबाट विवेकपूर्ण निर्णय हुनेमा आशावादी छु’, चापागाईले भने ।

    उनी पार्टीको केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज रहेका छन् । पार्टीभित्र र बाहिर बौद्धिक नेताको छवि बनाएका उनले गठबन्धनभित्रबाट उम्मेदारी मिलाउन व्यापक दौडधुप गरेका छन् ।

    यद्यपि उनकै पार्टीबाट नेता राजु गुरुङ पनि आकांक्षी रहेका छन् तर उनले संघीय सांसदमा एमाले नेता विष्णु पौडेलसँग लड्ने घोषणा यसअघि नै गरिसकेकाले नगरतर्फ नआउने आँकलन गरिएको छ ।

    बुटवलको मेयरमा सत्तारुढ नेपाली कांग्रेसबाट मुख्य दाबेदार रहेका हरि लम्साल पनि पत्रकार महासंघ रुपन्देहीको पूर्वअध्यक्ष हुन् । पार्टीको क्षेत्रीय सभापतिमा दोस्रो कार्यकाल सम्हालेका लम्साल संस्थापनइतर समूहमा पर्दछन् ।

    बुटवलमा कांग्रेसको इतर समूह बलियो भएको र अहिले बुटवल सभापति रहेका खेलराज पाण्डेइतर समूह भएपनि नेता बालकृष्ण खाण समूहले नरुचाउने भएकाले लम्सालले पाउने दावी उनी निकट नेताहरूले गरेका छन् ।

    बुटवलमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवारहरूलाई पराजित गरी एमालेबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य निर्वाचित भएका थिए ।

    सुवेदीले २३ हजार २४९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेलराज पाण्डेलाई पराजित गरेका थिए । पाण्डेको मत २० हजार ८५१ थियो । मेयरमा २ हजार ३९८ मतको अन्तर थियो ।

    उपप्रमुखमा आचार्य २५ हजार ३०१ मत ल्याएर विजयी भएकी थिइन् भने माओवादी केन्द्रका जगतबहादुर पोखरेलले १४ हजार ७९२ मत मात्र ल्याएका थिए । पोखरेल नेकपा विभाजनपछि एमालेमा रहेका छन् ।

  • सिन्धु एमाले- कतै टिकटको हानाथाप, चीनको सिमानामा एक महिना अघि नै माग्दैछन् मत

    सिन्धु एमाले- कतै टिकटको हानाथाप, चीनको सिमानामा एक महिना अघि नै माग्दैछन् मत

    सिन्धुपाल्चोक । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षमा समेत स्थानीय निर्वाचनमा टिकट कसले पाउने भन्ने टुङ्गो लागिसकेको छैन । सिन्धुपाल्चोकको १२ स्थानीय तहमा सत्ता र प्रतिपक्ष दुवैले उम्मेदवार छान्न सकेका छैनन् ।

    तर नेपाल चीन सीमावर्ती भोटेकोसी गाउँपालिकामा भने नेकपा एमालेका उम्मेदवारहरूले एकसरो प्रायः सबै बस्तीहरूमा पुगेर मतदाता समक्ष भेटघाट गरिसकेका छन् ।

    भोटेकोसी गाउँपालिकामा झण्डै दुई साता अघि नै नेकपा एमालेले सर्वसम्मत रूपमा अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छनोट गरेपछि अहिले उम्मेदवारहरू बस्ती बस्तीमा पुगेर मत मागिरहेका छन् । भोटेकोसी गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा अमृत खडका र उपाध्यक्षमा सुन्तली लामा श्रेष्ठलाई सर्वसम्मत रूपमा उम्मेदवार छनोट गरेको थियो ।

    ‘दुई वडा बाहेक अरू सबै वडामा एकसरो पुगेर मतदाता समक्ष भेटघाट गरेको छु’अध्यक्षका उम्मेदवार अमृत खडकाले भने ‘अब लिस्ती र फुल्पीङकट्टी मात्रै पुग्न बाँकी छ’ ।

    गाउँ तहको एकसरो भेटघाट सकेर अहिले काठमाडौँमा आएर बसोबास गर्ने भोटेकोशीबासीहरुसँग भेटघाट गरिरहेको उम्मेदवार खडकाले जानकारी दिए ।

    स्थानीय निकायको निर्वाचन २०४९ र ०५४ मा साबिकको तातोपानी गाविसबाट लोकप्रिय मत ल्याएर दुई कार्यकाल खडका अध्यक्षमा निर्वाचित भएका थिए । उनी त्यस बेला कांग्रेसमा थिए ।

    तातोपानी धारा सुधार समिति ,रेडक्रस लगायत विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहेका खडका तातोपानी नाका क्षेत्रमा सामाजिक अगुवाका रूपमा समेत परिचित छन् ।

    खड्काले भने- गाउँमा पुग्दा सबैले सहयोग गर्ने बचन दिनु भएको छ । तपाइ पुरानो मान्छे आउनु भएको छ, तपाइले पहिला धेरै राम्रो काम गर्नु भएको थियो,यो पटक तपाइलाई सहयोग गर्छौ भन्नुभएकाले उत्साही छु ।

    भोटेकोसी गाउँपालिकामा पाँच वडा रहेका छन् । पाँच मध्ये स्थानीय निर्वाचन २०७४ मा नेकपा एमालेले एउटा वडामा चुनाव जितेको थियो भने कांग्रेसले ३ र माओवादीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित एक वडामा चुनाव जितेको थियो । माओवादीबाट वडाध्यक्षमा निर्वाचित दीपेन्द्र श्रेष्ठले भने पार्टी परित्याग गरिसकेका छन् । भोटेकोसी गाउँपालिकामा कांग्रेस र माओवादीले उम्मेदवार छनोट गर्न सकेको छैन ।

    माओवादीबाट हालकै अध्यक्ष राजकुमार पौडेलले टिकट पाउने सम्भावना छ भने कांग्रेसबाट कमलकुमार श्रेष्ठले पाउने सम्भावना छ । यद्यपि गठबन्धन हुँदा भने भोटेकोसीमा माओवादीले आफ्नो दाबी पेस गर्दै आएको छ । एकल निर्वाचन हुँदा भने तीनै जना उम्मेदवार व्यापारिक पृष्ठभूमिका रहेका छन् ।

    एमाले उम्मेदवार खडका तातोपानी क्षेत्रमा निकै लोकप्रिय छन् । छिटो उम्मेदवार छनोट गर्दा आफूहरूलाई टाइम प्रेसर नभएकाले सबै वडा र बस्तीमा दोहोर्‍याएर जान सक्ने अवस्था रहेको अध्यक्षका उम्मेदवार खडकाले बताए ।

  • भागबन्डा नमिलेपछि रुपन्देहीका ६ स्थानीय तहमा एक्लाएक्लै भिड्दै गठबन्धन दल

    भागबन्डा नमिलेपछि रुपन्देहीका ६ स्थानीय तहमा एक्लाएक्लै भिड्दै गठबन्धन दल

    रुपन्देही । सत्तारुढ पाँच दलबीच भागबन्डा नमिलेपछि रुपन्देहीको दक्षिणी क्षेत्रका ६ वटा स्थानीय तहमा सत्तारुढ दलहरू एक्लाएक्लै निर्वाचन लड्ने भएका छन् ।

    आफ्नो आधार इलाकामा जनता समाजवादी पार्टी पछि हट्ने नदेखिएपछि गठबन्धन दलहरु निर्वाचनमा एक्लाएक्लै जान सहमत भएका हुन् । प्रमुख प्रतिपक्षी दल एमालेको उपस्थिति कमजोर भएको र जसले जिते पनि गठबन्धन दलकै उम्मेदवारले जित्ने अवस्था रहेकाले आफूहरु छुट्टाछुट्टै निर्वाचन लड्ने निष्कर्षमा पुगेको सत्ता गठबन्धनका दलहरूले ‘रेडिमेड’ तर्क दिन थालेका छन् ।

    जिल्लाका १६ स्थानीय तहमध्ये दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चबारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा गठबन्धनमा आवद्ध दलहरूले छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेका हुन् ।

    यी पालिकाहरूमा एमाले कमजोर भएकाले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा पनि गठबन्धन दलकै जीत हुने निष्कर्षसहित मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका एक नेताले बताए ।

    जसपा नेता देवेन्द्र पाण्डेले एमाले कमजोर भएका पालिकामा गठबन्धनभित्रै प्रतिस्पर्धा गराउँदा सबै दलका नेताहरु खुसी हुने देखिएपछि यस्तो सहमति गरिएको बताए । ‘हामीले केन्द्रमा अलग अगल प्रतिस्पर्धा गर्ने सुझाव पठाएका छौं, यो यहाँबाट हुने निर्णय भएन तर कार्यकर्ता जोगाउन सबै दलको सहमतिमा यस्तो निर्णय गरिएको हो’, उनले भने ।

    अन्य पालिकाको हकमा पनि कसरी गठबन्धन गर्ने भन्ने विषयमा दलहरूबीच छलफल भैरहेको छ । जसपाले यसअघि नै सिद्धार्थनगर नगरपालिकामा गठबन्धन नगर्ने घोषणा गरिसकेको छ ।

  • काठमाडौंका कांग्रेस नेताहरूको जोड- काठमाडौंमा एक्लै लड्नुपर्छ

    काठमाडौंका कांग्रेस नेताहरूको जोड- काठमाडौंमा एक्लै लड्नुपर्छ

    काठमाडौं । काठमाडौं महानगरपालिकामा एक्लै निर्वाचन जित्ने अवस्था रहेको भन्दै नेपाली कांग्रेसको महानगर समितिका नेताहरूले चुनावी तालमेल गर्न नहुनेमा जोड दिएका छन् ।

    कांग्रेसको काठमाडौं महानगर समितिको आज बसेको बैठकमा ३२ वटै वडाबाट प्रतिनिधित्व गर्ने सदस्यहरूले चुनावी तालमेल गर्न जरुरी नरहेको बताएका हुन् । पार्टीले नै स्थानीय आवश्यकता अनुसार गर्न भनेको उल्लेख गर्दै सबैजसो नेताहरूले काठमाडौंमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका हुने । उनीहरूले कुनैपनि वडामा अध्यक्ष छाड्नसक्ने अवस्था नरहेको भन्दै तालमेलका कारण पार्टी संगठनमा समस्या पैदा हुने बताए ।

    महानगर समितिको बैठकमा सभापति नीलकाजी शाक्यले केन्द्रबाट चुनावी तालमेल गर्ने निर्णय भइसकेको भन्दै कसरी अगाडि बढ्ने ? भनी सुझाव मागेका थिए ।

    शाक्यको भनाइमा असन्तुष्टि जनाउँदै महानगरका बहुमत सदस्य एवं पदाधिकारीहरुले केन्द्रले भन्दैमा काठमाडौं महानगर तालमेल गर्न नहुने बताए । अधिकांशको मत तालमेलको विपक्षमा आएपछि पदाधिकारीलाई थप निर्णय गर्ने जिम्मा दिँदै बैठक सकिएको छ ।

    महानगर समितिका सचिव सुसन वैद्यका अनुसार स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल आवश्यक नरहेकोबारे केन्द्रलाई सुझाव दिनुपर्ने बताए ।

    ‘बैठकमा व्यक्त विचार हेर्दा काठमाडौंमा तालमेल आवश्यक देखिएन । महानगर समितिले यही व्यहोरा केन्द्रलाई पठाउनुपर्छ । म स्वयं पनि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्नेमा छु’, वैद्यले नेपाल प्रेससँग भने ।

    बैठकमा सभापति शाक्यले आफू काठमाडौं महानगरको प्रमुखका लागि दाबेदार रहेको बताएका थिए । उनी हाल वडा नम्बर २० को अध्यक्षसमेत छन् । त्यस्तै महानगर उपसभापति सुशिला ढकालले आफू उपमेयरको दाबेदार रहेको बैठकमा अवगत गराएकी छिन् ।

  • ओखलढुंगाको मानेभञ्ज्याङ र चिशंखुगढीमा एमालेले छान्यो अध्यक्षका उम्मेदवार

    ओखलढुंगाको मानेभञ्ज्याङ र चिशंखुगढीमा एमालेले छान्यो अध्यक्षका उम्मेदवार

    काठमाडौं । ओखलढुंगाको दुई गाउँपालिकामा एमालेले अध्यक्षको उम्मेदवार टुंग्याएको छ । मानेभञ्ज्याङ र चिशंखुगढी गाउँपालिकाबाट प्रमुखमा एक-एक जना सिफारिस गरी पठाइएको हो ।

    एमालेले चिशंखुगढीमा जीवनकुमार थापा र मानेभञ्ज्याङमा रुपलाल तामाङलाई अघि सारेको छ ।

    तामाङ खेलकुद विकास समितिको अध्यक्षसमेत भइसकेकाले युवमाझ लोकप्रिय छन् । चिशंखुका थापा पनि जनप्रिय नेताका रूपमा परिचय बनाएका छन् ।

    पालिका कमिटीले १/१ जनाको मात्रै नाम सिफारिस गरेकोले यहाँ यीनै दुईजना उम्मेदवार बन्ने पक्का छ । तर, चिशंखुगढी प्रमुखमा दाबी गर्दै आफ्नो नाम पनि सिफारिस गर्न जिल्ला कमिटीका उपसचिव अशोक थापाले माग गरेका छन् ।

    चिशंखुको उपप्रमुखमा चम्पा राई, सुस्मिका राई र लक्ष्मी कार्कीको नाम सिफारिस गरिएको छ ।

    जिल्लाका ८ वटै स्थानीय तहबाट उम्मेदवार सिफारिस भइसकेको एमाले ओखलढुंगाका अध्यक्ष शंकर कटुवालले बताए ।

    ‘कतिपय ठाउँबाट ६/७ जनाको नाम आएको छ । फेरि छलफल गरेर पठान भनेका छौं । धेरैजनाको आउँदा प्रदेशमा पठाउन समस्या भएको छ’, कटुवालले भने ।

    जिल्लाका ७५ वडामध्ये ३७ वडामा सर्वसम्मत अध्यक्षका उम्मेदवार छानिएको जिल्ला सचिव कमल न्यौपानेले बताए ।

  • प्रदेश १ का ३२१ मतदान स्थल ‘अति संवेदनशील’

    प्रदेश १ का ३२१ मतदान स्थल ‘अति संवेदनशील’

    विराटनगर । आसन्न स्थानीय तह निर्वाचनमा प्रदेश १ मा १ हजार ८७७ मतदान स्थलमध्ये ३२१ वटा ‘अति संवेदनशील’ रहेका छन् । सुरक्षा विश्लेषणअनुसार नेपाल–भारत सिमा क्षेत्रमा पर्ने यी मतदान स्थलमा ‘वादविवाद तथा झैभगडा हुने वा बुथ क्याप्चरको सम्भावना छ ।

    जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार निर्वाचन आयोगले प्रदेशको सबैभन्दा बढी झापाका मतदान स्थल ‘अति संवेदनशील’ मा वर्गीकरण गरेको छ ।

    झापापछि मोरङ र सुनसरीका मतदान स्थल अति संवेदनशील रहेका छन् । सुरक्षा निकायले सोहीअनुसार विश्लेषण गरी सुरक्षा रणनीति अपनाएको छ । विशेष गरी भारतसँग जोडिएका तराईका झापा, मोरङ र सुनसरीका स्थानीय तहहरूका मतदान स्थलहरूलाई सुरक्षा निकायले अति संवेदनशील मानेका छन् ।

    प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले मतदान स्थललाई सुरक्षाको दृष्टिकोणले ३ तहमा वर्गीकरण गरिएको बताए । सो वर्गीकरणअनुसार १४ जिल्ला रहेको प्रदेश १ मा ४ हजार ५१ वटा मतदान केन्द्रअन्तर्गतका एक हजार ८७७ मतदान स्थलमध्ये ३२१ मतदान केन्द्र अति संवेदनशील रहेको उनले जानकारी दिए ।

    एसपी राईका अनुसार प्रदेशमा ८४९ वटा संवेदनशील र ७०७ वटा मतदान स्थल सामान्यमा वर्गीकरण गरिएको छ। ७७७ मतदान केन्द्र र २८६ मतदान स्थल रहेको झापामा ५१ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । यस्तै १५३ संवेदनशील र ८२ वटा सामान्य सूचीमा छन् ।

    झापापछि सबैभन्दा बढी निर्वाचन क्षेत्र र स्थानीय तह रहेको मोरङका ४९ वटा मतदान स्थल अति संवेदनशील रहेका छन् । ८२० वटा मतदान केन्द्र र ३०० वटा मतदान स्थल रहेको मोरङमा संवेदनशील १५५ र ९६ वटा सामान्य रहेको एसपी राईले बताए । मोरङको अति संवेदनशील सूचीमा राखेको मतदान स्थलमध्ये विराटनगरको दक्षिण भेगमा पर्ने ९ वटा मतदान स्थल पनि छन् ।

    रंगेली, धनपालथान, रतुवामाइ, सुनवर्षी र केराबारी क्षेत्रको मतदान स्थललाई पनि सुरक्षा निकायले अति संवेदनशील क्षेत्र मानेर सुरक्षा योजना अगाडि बढाएको छ ।

    ५८१ मतदान केन्द्र र १६६ मतदान स्थल रहेको सुनसरीमा ४४ वटा अति संवेदनशील, ८० संवेदनशील र ४२ वटा सामान्य रहेको प्रहरीले जनाएको छ ।

    यस्तै १५९ मतदान केन्द्र र ११८ मतदान स्थल रहेको धनकुटामा १५ वटा मतदान स्थल अति संवेदनशील छन् । २५८ मतदान केन्द्र र ९८ मतदान स्थल रहेको उदयपुरमा १२ अति संवेदनशील, ५० संवेदनशील र ३६ मतदान स्थल सामान्य रहेका छन् । २८५ मतदान केन्द्र र १५१ मतदान स्थल रहेको इलाममा अति संवेदनशील २९ वटा रहेको छ ।

    इलाममा ५९ संवेदनशील र सामान्य ६३ वटा रहेको प्रहरीले जनाएको छ। १७६ मतदान केन्द्र र १०१ मतदान स्थल रहेको पाँचथरमा २७ अति संवेदनशील, ६४ संवेदनशील र १० वटा सामान्य रहेका छन् ।

    ९५ मतदान केन्द्र र ५७ मतदान स्थल रहेको तेह्रथुममा अति संवेदनशील नभएको जिल्ला सुरक्षा समितिले प्रदेश प्रहरी कार्यालयलाई सिफारिस गरेको छ । तेह्रथुममा १८ मतदान स्थल संवेदनशील र ३९ सामान्य रहेका छन् ।

    १६० मतदान केन्द्र र ८७ मतदान स्थल रहेको भोजपुरमा १८ अति संवेदनशील, २३ संवेदनशील र २४ सामान्य रहेका छन् । त्यस्तै १९४ मतदान केन्द्र र १३६ मतदान स्थल रहेको खोटाङमा ३५ अति संवेदनशील, ५८ संवेदनशील र सामान्य ४३ वटा छन् ।

    १५० मतदान केन्द्र र ७९ मतदान स्थल रहेको ओखलढुंगामा अति संवेदनशील नभएको, संवेदनशील ६ र सामान्य ७३ वटा छन् । ३६ मतदान केन्द्र र २३ मतदान स्थल भएको ताप्लेजुङमा अति संवेदनशील २३, संवेदनशील २८ र ७९ सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    १६३ मतदान केन्द्र र १०३ मतदान स्थल रहेको संखुवासभामा ७ अति संवेदनशील, ७९ संवेदनशील र १७ वटा मतदान स्थल सामान्य रहेका छन् । १३४ मतदान केन्द्र र १२२ मतदान स्थल रहेको सोलुखुम्बुमा ११ अति संवेदनशील, ११ संवेदनशील र ३३ वटा सामान्य रहेका छन् ।

    निर्वाचनमा म्यादीसहित ३० हजार बढी सुरक्षाकर्मी खट्ने

    प्रदेश १ मा स्थानीय तह निर्वाचनअन्तर्गत एउटा मतदान स्थलमा म्यादी प्रहरीसहित १४ जनाभन्दा बढी नेपाल प्रहरी खटाइने भएको छ ।

    प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार प्रहरीबाहेक १७ हजार ७०० म्यादी प्रहरी परिचालन गरिने छ । जनपथ र म्यादी प्रहरीबाहेक निर्वाचनमा सशस्त्र प्रहरी पनि छुट्टै परिचालन हुनेछन् ।

    स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदान स्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रतिमतदान केन्द्र थप एक प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको प्रदेश प्रहरीका प्रवक्ता एसपी राईले जानकारी दिए ।

    सामान्य मतदान स्थलमा ३ प्रहरी र ५ म्यादी तथा संवेदनशील मतदान स्थलमा ३ प्रहरी र ६ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ ।

    यसबाहेक मोबाइल, प्रोटेल, रिजर्भ टीम, क्यूआरटी पनि प्रहरीले परिचालन गर्नेछन् । निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर खबर सङ्कलन तथा निगरानी गर्नेछ । मतगणना स्थल सुरक्षा र इजाजतपत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ ।

    स्थानीय तह निर्वाचनमा प्रदेश १ का एक लाख १२ हजार नयाँसहित कुल ३३ लाख ४७ हजार ३८४ मतदाताले मतदान गर्नेछन् । यहाँ एक महानगर, २ उपमहानगर, ४५ नगरपालिका र ८९ गाउँपालिका तथा एक हजार ५७ वटा वडा रहेका छन् । प्रदेश १ बाट विभिन्न राजनैतिक दलको प्रतिनिधित्व गर्दै ७ हजार ८५९ जनप्रतिनिधि निर्वाचित हुनेछन्।

  • ललितपुर महानगरसहित तीन वटामा सहमति, भागबण्डा मिल्न बाँकीको जिम्मा प्रदेशलाई

    ललितपुर महानगरसहित तीन वटामा सहमति, भागबण्डा मिल्न बाँकीको जिम्मा प्रदेशलाई

    ललितपुर । ललितपुर महानगरपालिकासहित ललितपुरको गोदावरी नगरपालिका र वागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने पाँच दलीय गठबन्धनमा सहमति जुटेको छ ।

    कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तीन वटाकै दाबी छ ।

    उनले भने, ‘ललितपुर महानगर, गोदावरी नगर र वागमती गाउँपालिकामा भने नेपाली कांग्रेसलाई नै दिने सहमति बनेको छ ।’

    निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमति नजुटेपछि निर्णय गर्न प्रदेशलाई जिम्मा लगाइएको छ ।

    नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ ।

    ‘हामी आन्तरिक तयारी गरिरहेका छौं । परिआए एक्लाएक्लै लड्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

    उनका अनुसार महालक्ष्मी र माहाँकाल गाँउपालिकामा एकीकृत समाजवादीले दाबी गरे पनि सहमति भएको छैन ।

  • चुनावी तालमेलबाट कांग्रेसलाई घाटा हुँदैन : प्रवक्ता महत

    चुनावी तालमेलबाट कांग्रेसलाई घाटा हुँदैन : प्रवक्ता महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं निर्वाचन प्रचार समितिका संयोजक डा. प्रकाशशरण महतले चुनावी तालमेलबाट सबैलाई फाइदा हुने बताएका छन् ।

    प्रचार समितिले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै प्रवक्ता महतले राष्ट्रिय आवश्यकताकै आधारमा सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुन लागेको भन्दै तालमेल गर्दा लेनदेन हुनु स्वभाविक भएको बताए ।

    ‘सबै ठाउँमा हामीले पाउनेगरी त गठबन्धन हुँदैन नि । गठबन्धन भनेकै लेनदेन हो । कतै हामीले नेतृत्व लिनुपर्छ, कतै छाड्नुपर्छ’, महतले भने । उनले गठबन्धनका कारण कांग्रेसलाई घाटा नहुनेपनि दाबी गरे ।

    ‘गठबन्धनले कसैलाई घाटा हुँदैन । गठबन्धन गर्ने दुवै पक्षलाई फाइदा हुन्छ । कांग्रेसले पनि अघिल्लो निर्वाचनभन्दा शक्ति बढाउने अवसर पाउँछ’,महतले भने ।

    उनले कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार आवश्यक भएको बताए ।

    ‘कांग्रेस एमालेजस्तो गफ मात्रै गर्ने पार्टी होइन, काम गर्ने पार्टी हो । हामीले गरेका काम जनताले थाहा पाउने गर्न निर्वाचन प्रचार अगाडि बढाउनुपर्छ’, महतको भनाइ थियो ।

  • पोखरामा मेयरका आकांक्षीसँग २५ हजार शुल्क लिँदै कांग्रेस

    पोखरामा मेयरका आकांक्षीसँग २५ हजार शुल्क लिँदै कांग्रेस

    पोखरा । नेपाली कांग्रेसले केही दिनअघि आकांक्षीसँग शुल्क नलिइ नाम सिफारिस गर्न सर्कुलर पठायो । यसअघि पार्टीको चुनावमा मनपरी शुल्क असुलेपछि विवादमा परेको कांग्रेसले अहिले बेलैमा सचेत भएर आकांक्षीको नाम विना शुल्क सिफारिस गर्न निर्देशन दिएको हो ।

    तर, पोखरा महानगर कमिटीले भने पार्टीको केन्द्रीय सर्कुलरविपरीत शुल्क उठाएको छ । मेयरलाई २५ हजार र उपमेयरलाई २० हजार दर्ता शुल्क तोकिएको छ । सचिव गणेशबहादुर थापाले यो शुल्क नभइ पार्टीलाई सहयोगका रूपमा लिएको बताए ।

    ‘यो शुल्क होइन । फर्मको शुल्क जम्मा पाँच सय रूपैयाँ तोकेका छौं । त्यसबाहेक उम्मेद्वारले पार्टीलाई सहयोग गरोस् भनेर लिएका हौं,’ उनले भने, ‘तिर्नैपर्छ भन्ने छैन । फार्म शुल्कबाहेक अरु नदिए पनि केही रोकतोक छैन ।’

    उनले पार्टी सन्चालनका लागि कोष नभएकोले आन्तरिक स्रोत खोजी गरेको बताए । मेयरका लागि १० जनाभन्दा बढी आकांक्षी छन् भने उपमेयरमा झन् धेरैको चर्चा छ । कांग्रेसले पोखराको मेयर र उपमेयरका लागि आइतबार अपरान्ह ४ बजेसम्म नाम टिपाउन भनेको छ । अहिले मनोनयन दर्ता धमाधम भइरहेको छ ।

  • माओवादी ‘आधार इलाका’ मा आकांक्षीका दाउपेच, टिकट नदिए विद्रोहको चेतावनी

    माओवादी ‘आधार इलाका’ मा आकांक्षीका दाउपेच, टिकट नदिए विद्रोहको चेतावनी

    सिन्धुपाल्चोक। स्थानीय निर्वाचन २०७४ मा माओवादीबाट चौतारा साँगाचोकगढी नगरपालिकामा मेयरका आकांक्षी थिए हालका मेयर अमानसिं तामाङ र हालका वागमती प्रदेश सभा सदस्य युवाराज दुलाल ।

    माओवादीले दुलाललाई मेयरमा उठाउन चाहेको थियो । माओवादी अध्यक्ष प्रचण्डसँग निकट सम्बन्ध भएकाले पनि दुलालले टिकट पाउने लगभग ‘कन्र्फम’ जस्तै थियो त्यतीबेला । टिकटका लागि तामाङ र दुलालबीच पार्टीभित्र लामै रस्साकस्सी भयो ।

    माओवादी अध्यक्ष प्रचण्डले समेत तामाङलाई फोन गरेर सम्झाउन खोजे तर तामाङ अध्यक्षको भनाइमा सहमत हुन सकेनन् । पार्टीले टिकट नदिए ‘विद्रोह’ गर्ने चेतावनी समेत तामाङले दिएका थिए ।

    उमेदवार मनोनयनका दिन बिहान पार्टीको बैठक चल्दै गर्दा ठूलो समुह सहित तामाङका समर्थकहरु बैठकस्थल बाहिर बसेर तामाङलाई टिकट दिन ‘दबाब’ दिएका थिए । सबैको दबाब र विद्रोह हुन सक्ने खतरा पछि दुलाल ‘ब्याक’ भए र चौतारा साँगाचोकगढी नगरपालिकाको टिकट अन्तिम समयमा तामाङले पाए ।

    नगरपालिकाको मेयर भएको ५ वर्ष पुरा हुँदैछ र यो निर्वाचनमा तामाङले पुनः चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा दाबी गरेका छन् । तर माओवादी केन्द्रले यो पटक तामाङलाई टिकट दिने सम्भावना छैन । चौतारा साँगाचोकगढी नगरपालिकाबाट मेयरमा माओवादी केन्द्रीय सदस्य एवम सिन्धुपाल्चोक इञ्चार्ज समेत रहेका कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’लाई अघि सारेको छ ।

    सापकोटा सभामुख अग्निप्रसाद सापकोटाको भाइ समेत हुन् । युद्धकालमा आफ्ना परिवारका सदस्य गुमाएका सापकोटा माओवादीभित्र इमान्दार र शालिन नेताको रुपमा कार्यकर्तामाझ परिचित छन् । माओवादीले चौतारा साँगाचोकगढी नगरपालिकामा हालका मेयर तामाङ,उपमेयर जानुका पराजुली,केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा,जिल्ला संयोजक गोविन्द पराजुली र श्यामसुन्दर श्रेष्ठ सहित पाँच जनाको नाम सिफारिस गरेको छ ।

    एक्लै भिड्दा पनि जित्ने नगरपालिका

    सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये एक्लै निर्वाचनमा उठ्दा समेत माओवादीले चौतारा साँगाचोकगढी नगरपालिकामा चुनाव जित्ने दाबी गर्दै आएको छ ।

    माओवादीको ‘आधार इलाका’को रुपमा चिनिएको कुभिण्डे समेत यही नगरपालिका भित्र रहेको छ । त्यसैले माओवादीले आफ्नो आधार इलाकामा यो पटक पनि विजयी हुन चाहान्छ । तर विजयी हुने चाहानामा हालका मेयर तामाङलाई माओवादी नेताहरुले बाधक देखेका छन् ।

    एक कार्यकाल मेयर भएकाले अब स–सम्मान बिदा हुनु पर्नेमा माओवादीका नेताहरुको भनाइ छ । तर मेयर तामाङ र उनका पक्षधरहरु भने ५ वर्षे कार्यकालमा नगरपालिकाभित्र धेरै विकास निर्माणका कामहरु अघि बढेको र अब एक कार्यकाल आफ्नै नेतृत्वमा त्यसलाई पुरा गर्न पनि तामाङलाई नै उम्मेदवार बनाउनु पर्नेमा जोड दिएका छन् ।

    तामाङ पक्षधरबाट टिकटका लागि दबाब सुरु

    उम्मेदवार मनोनयनको मिति नजिकदै गर्दा तामाङ र उनका पक्षधरहरु अघिल्लो वर्षको जस्तै गरेर पार्टीलाई सुरुमा ‘साइलेन्टली’ र त्यसपछि ‘आक्रमक’ दबाब दिने रणनीतिमा छन् । तर माओवादी नेताहरु भने यो पटक जस्तोसुकै दबाब आएपनि तामाङलाई उमेदवार बनाउने पक्षमा छैनन् ।

    मेयर तामाङको छोरा एवम माओवादी जिल्ला नेता उजारसिं तामाङ ‘समर’ले सामजिक सञ्जाल फेसबुकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा ‘बन्धु’ ले बैठकमा भनेको भन्दै स्ट्याटस लेखेका छन्– ‘अमेरिकादेखिको दबाब र प्रचण्ड स्वयम् सुकुटेमा आएर मलाई टिकट दिइसकेको छ,मैले त्यतीकै दाबी गरेको होइन।’

    मेयर तामाङका अर्का छोरा रघुसिं तामाङले पनि सामाजिक सञ्जालमा लेखेका छन् ‘कुरुक्षेत्रको लडाई हुने संकेत’ । मेयर तामाङका दुवै छोराहरुको यो भनाईमा आएका अधिकांश प्रतिक्रियामा हालका मेयरलाई नै यो पटक उमेदवार बनाउनु पर्नेमा आएको छ ।

    अघिल्लो स्थानीय निर्वाचनमा माओवादी उमेदवार तामाङले ७७२९ मत ल्याएर जितेका थिए भने एमाले उमेदवारले ५८०६ मत ल्याएका थिए । कांग्रेसको ४१७६ र राप्रपाको १९२५ मत रहेको थियो । अहिले चौतारा साँगाचोकगढी नगरपालिकामा कुल मतदाता ३८ हजार ६६६ रहेको छ ।

    अन्य उमेदवारको तुलनामा तामाङ नै लोकप्रिय

    सबैसँग मिलनासर र घुलमिल हुने स्वभावाका मेयर तामाङले चालु आर्थिक वर्षमा नगरपालिकाबाट प्रत्यक्ष रुपमा जनतासँग भेट्न् सक्ने लोकप्रिय कार्यक्रम अघि सारेका थिए । नगरबासी कसैको मृत्यु हँुदा किरीया खर्च स्वरुप ५ हजार लिएर मृत्युभएका आफन्तहरुलाई स्वम तामाङ भेट्न पुगेका थिए ।

    अप्रत्यक्ष रुपमा यो मतदाताहरुको ‘साइकोलोजी’ लाई आफ्नो पक्षमा पार्ने लोकप्रिय कार्यक्रम थियो । त्यो बाहेक पनि तामाङले तामाङ समुदाय मात्रै होइन अन्य समुदायलाई पनि आर्कर्षित गर्नका लागि अन्य कार्यक्रमहरु नगरपालिकामा सञ्चालन गरेका थिए । ती सबै कार्यक्रम र योजनाले गर्दा पनि तामाङको पक्षमा धेरै कार्यकर्ता र मतदाता देखिएका छन् ।

    आफन्त नातागोतासहित कम्तीमा २ हजार देखि २५ सय तामाङसँग व्यक्तिगत मत रहेको र ५ वर्षे कार्यकालमा नराम्रो काम नगरेकाले पनि यो पटक तामाङलाई उमेदवार बनाउनुपर्नेमा उनी निकटहरुको जोड रहेको छ ।

    ‘माओवादी केन्द्रले आफ्नो पक्षमा मात्रै निर्णय गर्ने गरेको उनीहरुको आरोप छ । भरतपुरमा पुन? छोरीलाई दो¥याउन हुने अनि सोझो तामाङको छोराले एक पटक फेरी उठ्छु भन्दा उनीहरुलाई किन समस्या भयो त?’ तामाङ निकट माओवादी केन्द्रका एक जिल्ला नेताले प्रश्न गरे । अवसर र निर्णय सबैका लागि बराबरी हुनु पर्छ । सिन्धुपाल्चोकमा पार्टी भित्रको अवसर सबै सापकोटा परिवारमा मात्रै दिनुपर्छ भन्ने छैन,यो पटक उहाँकै पक्षमा निर्णय गरोस नत्र हामी विद्रोह गछौ ती नेताले भने ।

    सिन्धुपाल्चोकमा अधिवेशन र चुनाव आउनासाथ आफूहरुले पदका लागि भिख नै माग्नुपर्ने अवस्थाको अब सधैको लागि अन्त्य हुनु पर्ने तामाङ पक्षधर नेताहरुको भनाई रहेको छ ।

     

  • भरतपुरमा महामन्त्री शर्माको तेस्रो विकल्प- गठबन्धन वा मित्रवत् प्रतिस्पर्धा जे भए पनि मेयर कांग्रेसको (भिडिओ)

    भरतपुरमा महामन्त्री शर्माको तेस्रो विकल्प- गठबन्धन वा मित्रवत् प्रतिस्पर्धा जे भए पनि मेयर कांग्रेसको (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भरतपुर महानगरपालिकाको मेयरमा नयाँ प्रस्ताव अघि सारेका छन् ।

    केन्द्रीय कार्य सम्पादन समितिको शनिवारको बैठकमा उनले गठबन्धन हुँदा कांग्रेसले नै लिने र नभए मित्रवत् प्रतिस्पर्धा गरेर जित्ने प्रस्ताव राखेका हुन् ।

    भरतपुरमा नयाँ र तेस्रो विकल्पमा जाऔँ भन्दै शर्माले त्यो भनेको दुवैले नछाड्ने र मित्रवत् प्रतिस्पर्धा गर्ने रहेको बताए ।

    शर्माको भनाइ थियो– ०७४ मा कांग्रेसले मेयरमा माओवादीलाई छोडेको थियो । माओवादी चाहन्छ यो पटक पनि कांग्रेसले सघाउनु पर्छ । हामी चाहन्छौँ यो पटक माओवादीले कांग्रेसलाई छोड्नु पर्छ । त्यही स्थानीय स्थिति, स्थानीय भावना र स्थानीय आवश्यकताले भन्छ भरतपुरको मेयर कांग्रेसको बन्नुपर्छ, तालमेल भए तालमेलबाट नभए मित्रवत् प्रतिस्पर्धा जिन्दाबाद ।

    शर्माले आफू व्यक्तिगत रूपमा कांग्रेस एक्लै चुनाव लड्नुपर्ने पक्षमा रहेको समेत बताएका थिए ।

    उनको भनाइ थियो– नितान्त व्यक्तिगत रूपमा भन्नुपर्दा मेरो दृष्टिकोण देशभर एक्लै लड्नुपर्छ भन्ने हो तिर निजात्मक बुझाई, भावनात्मक आवेग र धरातलीय यथार्थ बीच जो फरक हुन्छ, त्यही गाम्भिर्यताले तालमेलको तर्कमा म सुरुमै सहमत भएको हुँ । हाम्रो निर्णय गठबन्धन होइन,तालमेल मात्र हो, त्यो पनि स्थानीय स्थिति र आवश्यकता अनुरूप मात्र ।

  • पर्सामा सत्ता गठबन्धन भंग, सबै पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने कांग्रेस र जसपाको निर्णय

    पर्सामा सत्ता गठबन्धन भंग, सबै पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने कांग्रेस र जसपाको निर्णय

    वीरगन्ज । सत्ता गठबन्धनबिच चुनावी तालमेल पेचिलो बन्दै गएको बेला पर्सा जिल्लामा पाँच दलीय गठबन्धन नहुने भएको छ ।

    पर्साको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेका ठूला दल नेपाली  कांग्रेस र जनता समाजवादी पार्टीले जिल्ला स्तरमा सहमति गरेरै गठबन्धन भंग गरेका छन् ।

    कांग्रेस जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र जसपा जिल्ला अध्यक्ष राम नरेश प्रसाद यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय नेता कार्यकर्ताको मनोभावनाको कदर गर्दै १४ वटै पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति जनाएका छन् ।

    शनिवार दुवै दलका जिल्ला प्रमुखले अलग अलग चुनाव लड्ने सहमतिमा हस्ताक्षर गरेका छन् । वीरगन्ज महानगरपालिकासहित अधिकांश स्थानीय तहमा कांग्रेस र जसपा नै मुख्य प्रतिस्पर्धी शक्ति रहेकाले गठबन्धन नहुने भएको हो ।

    महानगरपालिकाको मेयरमा केन्द्रीय मापदण्ड अनुसार जसपाले पाउनेछ भने कांग्रेसले नछाड्ने बताइसकेको छ ।

    केन्द्रबाटै महानगरपालिकाको भागबण्डा हुने भनेकोमा जिल्लाबाट महानगरमा समेत मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको हो ।

    पर्सामा माओवादी र नेकपा एसकको शक्ति कमजोर छ ।

    दुई मुख्य दल कांग्रेस र जसपा बेग्ला बेग्लै लड्न सहमत भएसँगै माओवादी र एस अलपत्र परेका छन् ।

  • गठबन्धनमा आबद्ध राजमो विभाजित, घोराही उपमहानगरमा विद्रोही पक्षको उम्मेदवार घोषणा

    गठबन्धनमा आबद्ध राजमो विभाजित, घोराही उपमहानगरमा विद्रोही पक्षको उम्मेदवार घोषणा

    दाङ । सत्ता गठबन्धनमा आबद्ध नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले अलग्गै उम्मेदवारी घोषणा गरेको छ ।

    मोहन विक्रम सिंह र चित्र बहादुर केसीसँग असहमत पक्ष सम्मिलित केन्द्रीय समन्वय समिति आबद्ध जनमोर्चाले घोराही उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार घोषणा गरेको हो ।

    सो समूहले मेयरमा लीलाबहादुर पुन (लाल ध्वज) र उपमेयरमा बसन्ता भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चाको संस्थापन पक्ष भने पाँच दलीय गठबन्धनमा छ ।

    बागलुङ,प्युठान,दाङ लगायतका जिल्लामा राष्ट्रिय जनमोर्चाको विद्रोही पक्षले अलग्गै चुनाव लड्ने तयारी गरेको छ । बागलुङमा संस्थापनभन्दा बलियो रहेको सो समूहले एमालेसँग पनि छलफल गरिरहेको छ ।

    अहिलेसम्म विद्रोही पक्षले पार्टी विभाजन गरेको छैन ।

    उनीहरूले समानान्तर कमिटीहरू गठन गरिरहेका छन् ।

  • सिन्धुमा सत्ता गठबन्धनलाई तालमेलको सकस, मोहन बस्नेत भन्छन्- कम्युनिस्टको भर हुन्न

    सिन्धुमा सत्ता गठबन्धनलाई तालमेलको सकस, मोहन बस्नेत भन्छन्- कम्युनिस्टको भर हुन्न

    चौतारा । सत्तारुढ पाँच दलबीच स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रमा सहमति भए पनि सिन्धुपाल्चोकमा भने गठबन्धन दलहरुबीच सहमतिको ‘मोडालिटी’ अझै तयार हुन सकेको छैन ।

    केन्द्रमा पाँच दल भने पनि सिन्धुपाल्चोकमा भने सत्तारुढ तीन दलबीच मात्रै चुनाव केन्द्रित बैठकहरू बसेका छन् । नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीका जिल्ला स्तरीय नेताहरू बीच चुनावी गठबन्धनलाई कसिलो बनाएर लैजाने विषयमा बैठक बसे पनि तिनै दलका शीर्ष तहका नेताहरुबीच भने बैठक बस्न सकेको छैन ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र माओवादी केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ सहितका नेताहरू औपचारिक रूपमा एक पटक मात्रै बैठकमा बसेका छन् ।

    शुक्रवार तीनै पार्टीका जिल्ला अध्यक्षसहित बैठक बसेर गठबन्धन गरेर स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा निर्णय त भएको छ तर शीर्ष नेताहरुबीच सहमति नहुँदासम्म जिल्ला तहका नेताहरूले गरेको निर्णय कार्यान्वयन हुनमा समस्या हुने कांग्रेसका एक नेताले जानकारी दिए ।

    तीन दलको बैठक हुँदै गर्दा चौतारामा नै आयोजित कांग्रेसको एक कार्यक्रममा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम्युनिष्टहरुको भर नहुने भन्दै गठबन्धन नहुने र कांग्रेस एक्लै चुनावी मैदानमा जाने भएकाले तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

    ‘अहिले स्थानीय तहमा गठबन्धन गर्‍यो,भोलि संघ र प्रदेशमा एमालेसँग मिल्न सक्छन् ’बस्नेतले भने चितवनमा पनि पहिला हामीसँग गठबन्धन भयो पछि कम्युनिस्टहरू मिले’ ।

    संघ र प्रदेशको चुनावमा माओवादीले कांग्रेसलाई धोका दिएर २३ सिटमा झारेको बताउँदै बस्नेतले कम्युनिस्टको भर नभएकाले आफू गठबन्धनको पक्षमा नरहेको बताए ।

    कांग्रेस र माओवादीको आफ्नै दाउ

    कांग्रेस र माओवादीका शीर्ष नेताहरूको बैठकमा स्थानीय तह भागबण्डा गरेर जाने तर कसरी भन्ने सवालमा भने दुवै दलका नेताहरूले आफ्ना अडान प्रस्टसँग राखेका छन् । माओवादीले जिल्ला समन्वय समिति सहित ७ स्थानीय तह कम्युनिष्टहरुले पाउनु पर्ने अडान राखेको छ ।

    सात मध्ये एउटा एकीकृत समाजवादीको भागमा परेको छ । माओवादी चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी, जुगल, भोटेकोसी र लिसंखु पाखर गाउँपालिका आफूले पाउनु पर्ने अडानमा छ ।

    त्यसै गरी समाजवादीलाई मेलम्ची नगरपालिका दिनुपर्ने प्रस्ताव माओवादीले काँग्रेससँगको बैठकमा राखेको छ । तर कांग्रेस यी सबै स्थानीय तह दिन चाहँदैन । झन् समाजवादीको त जिल्लाभर मतदाता नै कम भएकोले कांग्रेस उदार हुन सकेको छैन ।

    कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई भने गठबन्धन नहुँदा आफ्नै नगरपालिकामा समस्या हुने हो कि भन्ने भय छ ।

    ‘जसरी माओवादी चौतारा साँगाचोकगढी नगरपालिका एक्लै भए पनि जित्नेमा विश्वस्त छ,मोहनजी त्यसरी बाह्रबिसे जित्नेमा विश्वस्त छैनन् त्यही भएर मोहनजीलाई पनि समस्या छ’ माओवादीका एक नेताले भने । कांग्रेस केन्द्रीय सदस्य बस्नेतलाई अर्को पनि समस्या देखिएको छ आउने प्रदेश र सङ्घको निर्वाचनमा गठबन्धन भएन भने अहिले माओवादीले मागेका सबै स्थानीय तह उनकै क्षेत्रमा रहेको छ त्यसले गर्दा पनि बस्नेत समस्यामा देखिएका छन् । क्षेत्र नम्बर १ को बलेफी, जुगल, लिसंखुपाखर र भोटेकोसी माओवादीलाई दिँदा कांग्रेसको भागमा बाह्रबिसे, सुनकोसी र त्रिपुरा सुन्दरी मात्रै पर्छ ।

    दुवै दलका कार्यकर्ता गठबन्धन गर्न नहुने अडानमा

    केन्द्रले कसिलो गठबन्धन बनाउने भनेर जति कडा उर्दी जारी गरे पनि सिन्धुपाल्चोकमा भने माओवादी र कांग्रेसका स्थानीय स्तरका नेताहरू भने गठबन्धन नगरी एक्लै चुनावमा जानु पर्ने अडानमा छन् । शुक्रवार चौतारामा भएको कांग्रेसको कार्यक्रममा समेत धेरै स्थानीय नेताहरूले गठबन्धन नगरी एक्लै निर्वाचनमा जानु पर्ने चर्को धारणा राखेका थिए ।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले त सामाजिक सञ्जालमा हेलम्बुमा कांग्रेस एक्लै काफी भएको र कोहीसँग गठबन्धन गर्नु पर्ने आवश्यकता नै नरहेको भन्दै गठबन्धन गर्न नहुनेमा जोड दिएका छन् । काँग्रेसका धेरै वडाका सभापतिहरू समेत गठबन्धन नगरी एक्लै मैदानमा जानु पर्ने पक्षमा देखिएका छन् । माओवादीका स्थानीय नेताहरू पनि गठबन्धन गर्न नहुनेमा विभाजित देखिएका छन् ।

    अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गरेर बाह्रबिसे नगरपालिकामा माओवादीको तर्फबाट मेयरमा प्रत्याशी भएका बुद्धराज बस्नेतले पनि गठबन्धन मन मिल्नेसँग मात्रै हुने बताएका छन् ।

    ‘हामी लामो समयदेखि काँग्रेस भित्र मोहन बस्नेतको ज्यादती सहन नसकेर कम्युनिस्टमा आएका छौ,फेरी मोहन बस्नेतलाई नै बोक्नु पर्ने हो भने कम्युनिस्ट हुनुको के अर्थ भयो र? बुद्धराज बस्नेतले भन्ने गरेका छन् ।

    सबैको आफ्नै दाउ

    तीन दलबीच गठबन्धन गर्ने विषयमा बैठक र छलफल चलिरहे पनि गठबन्धन भित्रका प्रमुख कांग्रेस र माओवादीले गठबन्धनबाहिरका अन्य दलहरूसँग पनि भित्री रूपमा तालमेलका लागि बैठकहरू गरिरहेका छन् ।

    कांग्रेस उच्च स्रोतका अनुसार अन्य स्थानीय तहमा एमाले र कांग्रेस बीच तीव्र प्रतिस्पर्धा भए पनि चौतारा साँगाचोकगढी नगरपालिकामा एमाले र काँग्रेस मिलेर जानु पर्नेमा कांग्रेसका नेताहरूले ‘लबिङ’ सुरु गरेका छन् । ‘चौतारा साँगाचोकगढीमा माओवादीले धेरै स्याङ स्याङ गर्‍यो, उनीहरूको स्याङ स्याङ तोड्न भए पनि यहाँ एमालेसँग तालमेल गर्नुपर्छ जस्तो हामीलाई लागेको छ’,कांग्रेसका एक नेताले भने ।

    तर एमालेका नेताहरूले भने यस विषयमा कुनै जवाफ दिएका छैनन् । एमाले र काँग्रेसका स्थानीय नेताहरू पनि चौतारामा कांग्रेस र एमाले मिलेर जानुपर्नेमा सकारात्मक देखिएका छन् ।

    माओवादी र राप्रपाबिचमा पनि चुनावी सहकार्यको विषयमा छलफल भइरहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा समाजवादीको भन्दा राप्रपाको मत बढी रहेकाले राप्रपालाई उपप्रमुख दिएर भए पनि निर्वाचनमा तालमेल गरेर जान सक्ने गरेर छलफल भइरहेको स्रोतको दाबी छ ।

    त्यस्तै सुनकोसी गाउँपालिकामा पनि कांग्रेसविरुद्ध एमाले र माओवादी गठबन्धन गरेर जानका लागि अधिकांश माओवादीका स्थानीय नेताहरूले दबाब दिएका छन् ।

    निरीह समाजवादी

    एमालेबाट चोइटिएर गएको समाजवादी भने सिन्धुपाल्चोकमा निरीह देखिएको छ । माओवादीले बोके पनि कांग्रेसले खासै भ्यालु दिएको छैन समाजवादीलाई । केन्द्रको गठबन्धनको निर्णय अनुसार एमालेले प्रमुख जितेर समाजवादीमा गएका स्थानीय तहको प्रमुख समाजवादीलाई पाउने सहमति भए पनि सिन्धुपाल्चोकमा त्यो अवस्था छैन ।

    समाजवादीले मेलम्ची नगरपालिकालाई त्यसको आधार मानेको छ । समाजवादीका जिल्ला अध्यक्ष नवराज पौडेल केन्द्रको नीति अनुसार मेलम्चीमा आफूहरूको प्रमुखमा दाबी रहेको बताउँछन् । एमालेबाट उपप्रमुखमा विजयी भएकी भगवती नेपाल समाजवादीमा छिन् ।

    ‘अहिले माओवादीको ‘फेर’ समातेर हिँडेको छ,हामीले पनि खासै ‘भ्यालु’ दिएका छैनौ’ कांग्रेसका एक नेताले भने ‘माओवादीले समाजवादीलाई बोकेर हिँड्छ भने उसैको भाग देओस्, हामी दिँदैनौ’ ती नेताले भने ।

    समाजवादीका नेताहरूले भने आफूहरूले जित्ने भन्दा पनि एमालेका उमेदवारहरुलाई हराउन आफूहरूसँग पर्याप्त मत रहेको बैठकमा जिकिर गर्ने गरेको ती नेताले बताए ।

  • पोखरा दाबी गर्दै नेपालले भने- कार्यकर्ता मात्रै १२ हजार छन्,एमालेको सफलतामा हाम्रो हक लाग्छ (भिडिओ)

    पोखरा दाबी गर्दै नेपालले भने- कार्यकर्ता मात्रै १२ हजार छन्,एमालेको सफलतामा हाम्रो हक लाग्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पोखरा महानगरपालिका आफ्नो पार्टीले दाबी गर्दा नकारात्मक टिप्पणी गर्नेहरूलाई आफूले तथ्याङ्क अघि सारेर मुख बुझो लाइदिएको बताएका छन् ।

    सत्ता गठबन्धनमा ६ वटा महानगरपालिकामध्ये नेकपा एसले पोखरा दाबी गर्दा कसैले नकारात्मक टिप्पणी गरेपछि आफूले बालुवाटारको बैठकमै तथ्य पेस गरेको नेपालले बताए ।

    शनिवार सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पोखरा महानगरपालिकाभित्र मात्रै नेकपा एसका ८ हजार सङ्गठित सदस्य रहेको तथ्य आफूले पेस गरेको बताए । उनले जन वर्गीय संगठनको समय कार्यकर्ता जोड्दा पोखरामा नेकपा एसका १२ हजार कार्यकर्ता रहेको बताए ।

    अध्यक्ष नेपालले भने– मैले पोखराका एक एक तथ्य अगाडि सारेँ । कास्की जिल्लाको कुरा छाड्नुस् पोखरामा मात्रै ८ हजार सदस्य सङ्गठित छन् । भोटर होइन कार्यकर्ता हुन् । जन वर्गीय संगठनको समेत जोड्दा १२ हजार कार्यकर्ता अरूका छन् ? त्यसैले एकीकृत समाजवादीलाई कम आँक्ने गल्ती नहोस् ।

    अध्यक्ष नेपालले २०७४ सालमा आफूहरूले एमालेकै नामबाट चुनाव लडेकाले एमालेको सफलतामा आफूहरूको हक लाग्ने बताए । कपिलवस्तुमा एउटा नगरपालिकामा १३४ मत पाएको दलले मेयर दाबी गरेको भन्दै नेपालले नेकपा एसले एमालेले जितेका सबै पालिकामा दाबी गर्ने बताए ।

    उनले भने– हामीले एमाले भएर त्यति बेला जिताएका हौँ । त्यसैले एमालेको सफलतामा हाम्रो पहिलो हक लाग्छ । अरूले चाहेर पनि एमालेका मान्छेलाई आकर्षित गर्न सक्दैनन् । एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक हुन्छ,जित्ने हो भने पनि हामीलाई दिनुपर्छ किनभने एमालेका मान्छेहरूले हामीलाई नै भोट हाल्छन् ।

    अध्यक्ष नेपालले गठबन्धनमा सिट बाँडफाँट सहज नभएको भन्दै नेकपा एस चानचुने शक्ति नभएको बताए ।

    नेपालले पाँचै दलमा सहमति नभए अन्य दलसँग पनि नेकपा एसको तालमेल हुने भन्दै एक्लै प्रतिस्पर्धा गर्नुपरे पनि आफू तयार रहेको बताए ।

  • कैलालीमा गठबन्धन मिलाउन कांग्रेसलाई सकस, भोलि निर्णायक बैठक

    कैलालीमा गठबन्धन मिलाउन कांग्रेसलाई सकस, भोलि निर्णायक बैठक

    कैलाली । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीमा तालमेल गर्ने सकस भइरहेको छ ।

    सत्ता गठबन्धनका दलहरू बिच भागबन्डामा कुरा नमिले पछि समस्या सृजना भइरहेको हो । यस विषयमा कांग्रेसले भोलि आन्तरिक छलफलका लागि बैठक बोलाएको छ ।

    ‘अहिले सम्म गठबन्धनका दलहरू बिच पटक पटक छलफल गर्दा पनि कुरा मिलेन । उहाँहरू धेरै भाग चाहियो भन्नुहुन्छ’कांग्रेसका एक नेताले भने ‘हाम्रा नेता कार्यकर्ता माओवादी र कांग्रेसलाई त्यति धेरै दिन सकिन्न भन्नुहुन्छ । यस विषयमा अब भोलि बृहत् छलफल हुन्छ ।

    उनले कैलालीमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भोलि छलफल हुने बताए ।

    ‘भोलि १२ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको छ’ उनले भने ‘कैलालीमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भोलि नै निर्णय पनि हुन सक्छ ।’

    केन्द्रमा पाँच दलीय गठबन्धन भए पनि कैलालीमा मूलतः तीन दलीय गठबन्धन हुने देखिएको छ । तर, उनीहरू बिच पनि भागबन्डामा कुरा मिलेको छैन ।

    नेपाली कांग्रेस र माओवादी केन्द्रसँग एकीकृत समाजवादी दलले समान हैसियतका आधारमा भागबन्डा हुनुपर्ने बताएको छ । नेपाली कांग्रेसले कैलालीका १३ स्थानीय तह मध्ये १० स्थानीय तहमा दाबी गरेको छ ।

    अहिले नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका,चुरे गाउँपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा दाबी गरेको छ ।

    अहिले कांग्रेसले दाबी गरेको मध्ये कैलारी गाउँपालिका र भजनी नगरपालिका अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो ।

    अहिले उक्त क्षेत्रमा नेपाली कांग्रेसको नगर कमिटीले गठबन्धन गर्न नहुने भन्दै निर्णय नै गरिसकेका छन् ।

    घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, कैलाली गाउँपालिका, लम्की चुहा नगरपालिका र मोहन्याल गाउँपालिकाले आफ्नो स्थानीय तहमा पाँच दलीय गठबन्धन नगर्ने भन्दै निर्णय गरेका हुन् ।

    १३ वटा स्थानीय तह रहेको कैलालीमा अहिले एकीकृत समाजवादी र माओवादी केन्द्रले करिब आधा दर्जन बढी स्थानीय तहमा दाबी गरिरहेका छन् । स्थानीय तहमा धेरै दाबी गरेपछि गठबन्धनमा कुरा मिलाउन सकस भइरहेको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा १३ स्थानीय तह मध्ये एमालेले सात, नेपाली कांग्रेसले तीन, माओवादी केन्द्रले दुई स्थानीय तहमा विजयी भएको थियो । एक तहको प्रमुखमा विजयी भएका तत्कालीन मधेसी जनअधिकार फोरमा लोकतान्त्रिक कांग्रेसमा समाहित भइसकेको छ ।

    एमाले विभाजन भइसकेपछि अहिले १३ स्थानीय तह मध्ये कैलालीको घोडाघोडी र गोदावरीका उपप्रमुखले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

    दुई स्थानीय तहका उपप्रमुख मात्रै रहेको एकीकृत समाजवादीले अहिले छ वटा स्थानीय तहमा दाबी गरेको छ । अन्तिममा चार स्थानीय तहको प्रमुख सम्ममा सहमति गर्न सकिने एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।

    ‘यी क्षेत्रमा साङ्गठनिक रूपमा हाम्रो उपस्थिति राम्रो छ । अर्को कुरा ती क्षेत्रमा पहिले एमालेले जितेको हो ।’ एकीकृत समाजवादी कैलालीका सचिव खडक रावतले भने, हामी एमालेबाट विद्रोह गरेको आएको हुँदा पनि हामीले ती क्षेत्र पाउनु पर्छ भन्ने मान्यता राखेका छौँ ।’

    एकीकृत समाजवादीकै हैसियतमा माओवादीले स्थानीय तह माग गरेको बताइएको छ । गठबन्धनको बैठक भन्दा बाहिर जे भने पनि बैठकमा धनगढी उपमहानगरपालिका कांग्रेसलाई दिएर अन्य १२ स्थानीय तहले तीन भाग माग गरेको कांग्रेस स्रोतले बताए ।

    गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा भोलि ठोस निर्णय हुन सक्ने कांग्रेस जिल्ला सचिव सुनारले जानकारी दिए ।

  • कांग्रेसले भन्यो- तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा, तर एमालेसँग मिल्न पाइँदैन (भिडिओ)

    कांग्रेसले भन्यो- तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा, तर एमालेसँग मिल्न पाइँदैन (भिडिओ)

    काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले महानगर र उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा तालमेल गर्नैपर्ने निर्देशन केन्द्रबाट नदिने प्रस्ट पारेको छ ।

    केन्द्रीय कार्य सम्पादन समिति बैठक चलिरहेका बेला पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले जहाँ तालमेल हुन सक्दैन ती ठाउँको रिपोर्ट केन्द्रमा दिनुपर्ने बताए । महतले तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर एमालेसँग भने गठबन्धन गर्न नपाइने बताए ।

    महतले भने–कदाचित तालमेल सम्भव भएन भने रिपोर्ट गर्नुहोला भनेका छौँ । महानगरपालिका र उपमहानगरबाहेक अरू नगरपालिका र गाउँपालिकामा त्यही तहबाट तालमेल हुन्छ । यहाँबाट कुनै निर्देशन जाँदैन । उहाँहरूले नै वस्तुस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने भन्ने निर्णय हो । हामीले बाध्य पार्दैनौँ, मित्रवत् प्रतिस्पर्धा गर्छौँ भनेर जिल्लाका साथीले भन्नुभयो भने त्यही हुन्छ तर एमालेसँग हुँदैन ।

    कांग्रेसले शीर्ष बैठकको मापदण्डका अनुसार तालमेल सम्भव भएका ठाउँमा तालमेल गर्ने र नभएको अवस्थामा तलकै कमिटीहरूले एक्ला एक्लै लड्ने निर्णय गरेमा स्वतन्त्र रहेको जनाएको छ । तर एमालेसँग भने मिल्न नपाइने भनेको छ ।

    कार्य सम्पादन समिति बैठकमा महानगर र उपमहानगरपालिकाको हकमा कसरी भागबन्डा गर्ने भन्नेबारेमा छलफल भएको महतले बताए ।

  • भरतपुरमा कांग्रेस कार्यकर्ताको सामूहिक राजीनामा, स्वतन्त्र अभियान घोषणा (सूचीसहित)

    भरतपुरमा कांग्रेस कार्यकर्ताको सामूहिक राजीनामा, स्वतन्त्र अभियान घोषणा (सूचीसहित)

    चितवन । भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।

    बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका हुन् ।

    प्रकाश कँडेलको संयोजकत्वमा भएको भेलाले कांग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ । राजीनामा दिएका सबैले हस्ताक्षर समेत गरेका छन् ।

    राजीनामा दिएकाहरूले कांग्रेस नेतृत्वमाथि विभिन्न आरोपहरू समेत लगाएका छन् । केही दिनअघि मात्र भरतपुरका सबै वडा सभापतिहरूको भेलाले महानगरका नेतृत्व माओवादीलाई दिइए मान्य नहुने निर्णय गरेका थिए ।

    भरतपुरको मेयर रेणु दाहाललाई छाडिए कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारी समेत भइरहेका बेला वडाबाट थालिएको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा लिइएको छ ।

  • गठबन्धन बाँडफाँट- महानगरबाहेक काठमाडौंका ४ नगरपालिकामा नेकपा एसको दाबी

    गठबन्धन बाँडफाँट- महानगरबाहेक काठमाडौंका ४ नगरपालिकामा नेकपा एसको दाबी

    काठमाडौं । सत्ता गठबन्धनको जिल्ला स्तरीय संयन्त्रको बैठक बसिरहेका बेला नेकपा एकीकृत समाजवादीले काठमाडौंका चार वटा नगरपालिकामा मेयर दाबी गरेको छ ।

    महानगरपालिका केन्द्रबाटै तय हुने भएकाले बाँकी १० वटामध्ये ४ वटा नगरपालिकामा नेकपा एसले दाबी गरेको हो ।

    केन्द्रले बनाएको मापदण्ड अनुसार कागेश्वरी मनहरा नगरपालिका नेकपा एसले स्वतः पाउनेछ ।

    कागेश्वरी मनहराका मेयर कृष्णहरी थापा नेकपा एसमा कायम रहेकाले केन्द्रीय मापदण्ड अनुसार नै सो नगरपालिका नेकपा एसको भागमा पर्छ । नेपाली कांग्रेसले जितेका गोकर्णेश्वर, चन्द्रागिरि, नागार्जुन र दक्षिणकाली कांग्रेसकै भागमा पर्नेछन् ।

    बाँकी एमालेले जितेका ५ नगरपालिकाको भागबन्डा पेचिलो बनेको छ । काठमाडौंमा सत्ता गठबन्धनका पाँचमध्ये कांग्रेस, माओवादी, नेकपा एस र जसपाको संगठन छ । तर जसपाले अहिलेसम्म मेयरको दाबी भने गरेको छैन ।

    नेकपा एसले एमालेले जितेकामध्ये थप तीन नगरपालिका आफूले पाउनुपर्ने दाबी गरेको छ ।

    नेकपा एसका काठमाडौं जिल्ला कमिटी उपसचिव ध्रुव राज न्यौपानेका अनुसार मापदण्डमै परेको कागेश्वरी मनहराबाहेक बुढानिलकण्ठ, तारकेश्वर र किर्तिपुर नगरपालिकामा आफूहरूको दाबी गरेको बताए ।

    संगठन र जनाधारका हिसाबले काठमाडौं महानगरपालिकासहित शंखरापुरमा पनि नेकपा एस बलियो रहेको उनको भनाइ छ । शंखरापुरमा नेकपा एसका जिल्ला सचिव एलपी श्रेष्ठ मेयरका दाबेदार छन् ।

    त्यस्तै बुढानिलकण्ठको मेयरमा उपसचिव न्यौपाने दाबेदार हुन् । जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा राम्रो काम गरेको न्यौपाने कपन क्षेत्रका लोकप्रिय युवा नेता हुन् ।

    बुनपामा कांग्रेसले प्रतिपक्षीको भूमिका समेत निर्वाह गर्न नसक्दा न्यौपाने नेतृत्वको समूहले एमालेकालदेखि नै सो भूमिका देखाएको दाबी छ ।

    उता तारकेश्वरमा लब बस्नेत र किर्तिपुरमा जिल्ला उपाध्यक्ष बटुकृष्ण थापा नेकपा एसबाट मेयरका दाबेदार हुन् । माओवादीले पनि शंखरापुर, टोखा, किर्तिपुर र दक्षिणकालीमा दाबी गरेको छ ।

    नेपाली कांग्रेस भने एक्लै सबै नगरपालिका जित्ने भन्दै जनमत नभएका पार्टीलाई नगरपालिका दिएर एमाले जिताउन नसकिने अडानमा छ । कांग्रेसका जिल्ला सभापति सबुज बानियाँले गठबन्धन दलहरुले जनमत र आफ्नो हैसियत हेर्नुपर्ने सुझाव दिए ।

    काठमाडौंमा गठबन्ध दलमध्ये कांग्रेसभन्दा पनि आफ्नो जनमत रहेको दाबी नेकपा एसले गरेको छ । नेकपा एमालेबाट स्थापित नेता कार्यकर्ताहरुले नै विद्रोह गरेको र पार्टी अध्यक्ष माधव नेपाल, जीवनराम श्रेष्ठ, कुसुम कार्की, बसन्त मानन्धर लगायतका नेताहरु रहेकाले माओवादीभन्दा आफ्नो बढी मत रहेको नेकपा एसका नेताहरु बताउँछन् ।

  • स्थानीय तह निर्वाचन : प्रदेश १ मा जोखिममा सत्ता गठबन्धन

    स्थानीय तह निर्वाचन : प्रदेश १ मा जोखिममा सत्ता गठबन्धन

    काठमाडौं । प्रदेश १ मा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई चुनावी गठबन्धन जोगाउन मुस्किल हुने सम्भावना बढेको छ ।

    यसको सुरुवात संखुवासभाबाट भएको छ । यहाँ नेपाली कांग्रेसले एकतर्फी रुपमा गठबन्धन टुटेको सार्वजनिक घोषणा गरेको छ । यसको असर प्रदेश १ का अन्य धेरै ठाउँमा पर्ने कांग्रेस नेताहरु बताउँछन् । स्थानीय तह चुनावमा तालमेल गर्ने सत्तारुढ दलहरुको सहमति तल्लो तहसम्म कार्यान्वयन गर्न समस्या भइरहेको छ । गठबन्धनका दलहरुबीच धेरै जिल्लामा सहमति जुट्न सकेको छैन । पछिल्लो समय धेरै ठाउँमा गठबन्धनमा दरार आएका खबरहरु सार्वजनिक भएका छन् ।

    संखुवासभामा लगातार पाँच दिनसम्म चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन सकेन । उल्टै कांग्रेसले तालमेल नगर्ने र एक्लै चुनाव लड्ने घोषणा गर्‍यो । कांग्रेसको घोषणाप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

    अघिल्लो स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा आफ्नो स्वायत्तताको आन्दोलन गरेर एक मत पनि नखसाल्दा जनप्रतिनिधिविहीन सोलुखुम्बुको चर्चित स्थान तिङलामा समेत कांग्रेसले चुनावी गठबन्धन नगर्ने संकेत दिएको छ ।

    पहिले कांग्रेसको गढका रुपमा रहेको हुँदा तिङलामा आफूहरू एक्लैले चुनाव जित्ने कांग्रेस तिङलाका सभापति बालकुमार कार्कीले नेपाल प्रेससँग बताए । उनले भने, ‘हामी एक्लै चुनावी प्रतिस्पर्धामा जान सक्षम छौं । तिङलामा चुनावी गठबन्धन हुँदैन ।’

    माओवादीले आफ्नो हठ नछाडेकाले तिङ्लामा कांग्रेस एक्लै चुनाव लड्ने तयारीमा रहेको कार्की बताउँछन् ।

    ओखलढुंगामा पनि सत्ता गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । तर निष्कर्ष निस्किएको छैन । जसले गठबन्धन तोडिने सम्भावना बढेको छ । ८ स्थानीय तह रहेको ओखलढुंगामा कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका ४ गाउँपालिकासहित ६ वटा स्थानीय तहमा आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ । जिल्लामा ६ वटा स्थानीय तहमा कांग्रेस, एउटामा माओवादी केन्द्र र बाँकी एउटामा सबैलाई मिलाएर जान सकिने कांग्रेसका एक नेता बताउँछन् । कांग्रेसको बढी भाग पाउनुपर्ने दाबीका कारण गठबन्धन हुन नसक्ने अवस्था आएको बताइएको छ ।

    यता उदयपुरमा माओवादी र कांग्रेसको अडानले चुनावी तालमेल हुने सम्भावना क्षीण बनेको माओवादी केन्द्रको जिल्ला सचिवालयका एक नेताले बताए । कांग्रेसभित्र देखिएको चरम अन्तरकलह, गठबन्धन दलहरुबीच पालिकाहरुमा तालमेल गर्ने विषयमा भएको सकस, कांग्रेसबाट माओवादीलाई अति उपेक्षा, अवमूल्यन भइरहेको अवस्थामा जिल्लामा गठबन्धन नहुने उनले बताए ।

    ‘कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका सबै स्थान र त्यसमाथि पनि थपेर स्थानीय तहको नेतृत्व सुम्पिनुपर्ने भए गठबन्धनको के औचित्य भयो ?’, उनले प्रश्न गरे ।

    आफ्नो दलभित्र उत्पन्न समस्याको व्यवस्थापन गर्नुको सट्टा कांग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्मविपरीत एकपक्षीय रुपमा गठबन्धन टुटाउने कसरत गरिरहेका कारण संखुवासभामा गठबन्धन नहुने संकेत देखिएको र आफ्नो जिल्लामा पनि यो अवस्था नआउला भन्न सकिने अवस्था नरहेको नेकपा माओवादी केन्द्र ओखलढुंगाका अध्यक्ष निशान्त शर्माले बताए ।

    काग्रेसको अडानकै कारण प्रदेश १ मा गठबन्धन जोखिममा पर्दै गएको माओवादी केन्द्रको प्रदेश कार्यालय सचिव मुक्ति बराल बताउँछन् । उनले भने, ‘माओवादी केन्द्र आफ्नो राजनीतिक अस्तित्व कायम राख्दै जनताको नेतृत्व गर्न आगामी स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न पनि तयार र सक्षम छ ।’

    पाँचदलीय गठबन्धनको मर्म, भावना र निर्णयलाई उल्लंघन गरेर कांग्रेस एकलौटी अगाडि बढेमा माओवादी सबै स्थानीय तहमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको उनले जिकिर गरे ।

    नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापा भने जिल्लाको निर्णय मान्य नहुने र सबैतिर गठबन्धन हुने बताउँछन् । उनले भने, ‘संखुवासभामा जिल्ला कार्यसमितिले निर्णय गरेको भए पनि स्थानीय तहमा छलफल जारी रहेकोले चुनावमा गठबन्धन हुन्छ ।’

    संखुवासभाको कारण प्रदेश १ मा गठबन्धन हुने सम्भावना कम भएको अन्य दलको भनाइ छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले थपे, ‘हरेक स्थानीय तहमा अनुकूलता हेरेर चुनावी गठबन्धन हुन्छ । संखुवासभाले गरेको निर्णयले केही असर पर्दैन ।’

    जितेका स्थानभन्दा केही बढी स्थानमा कांग्रेसले मात्रै होइन सबैले दावी गर्नु नौलो नभएको भन्दै थापाले त्यस विषयमा छलफल गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘कांग्रेसले अघिल्लो निर्वाचनमा जीत हासिल गरेका स्थानीय तहसहित अनुकूल हेरेर गठबन्धनमा आफ्नो माग राखिरहेको छ । तर यति हुँदैमा गठबन्धन तोडिने सम्भावना भइहाल्दैन ।’

    १३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ५१, नेकपा एमालेले ६९, माओवादी केन्द्रले ९, मधेसी जनअधिकर फोरमले ३, राप्रपाले ३, संघीय समाजवादी फोरमले २ स्थानमा परिणाम आफ्नो पक्षमा पारेका थिए ।

  • काठमाडौं महानगरमा विवेकशील साझाका उम्मेदवारका यस्ता छन् एजेण्डा (पूर्णपाठ)

    काठमाडौं महानगरमा विवेकशील साझाका उम्मेदवारका यस्ता छन् एजेण्डा (पूर्णपाठ)

    काठमाडौं । ५ वर्षअघिको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा चौथो र उपमेयरमा तेस्रो स्थान पाएका उम्मेदवारको उपस्थितिमा विवेकशील साझा पार्टीले दुवै पदमा नयाँ महिला अनुहार अघि सारेको छ ।

    शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका तर्फबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

    ३८ वर्षीया बास्कोटा कानूनमा स्नातकोत्तर हुन् भने ६२ वर्षीया तुलाधर अन्तर्राष्ट्रिय जेजीजको पहिलो दक्षिण एसियाली महिला उपाध्यक्ष थिइन् ।

    पत्रकार सम्मेलनमा अघिल्लो निर्वाचनमा मेयर उम्मेदवार बनेर १८ हजार ४९४ मत पाएर चौथो स्थानमा रहेका सहरी विकास विज्ञ किशोर थापाले आफूले सोचेभन्दा बढी मत दिने काठमाडौंका मतदाताप्रति धन्यवाद दिँदै यस पटक समीक्षा बास्कोटालाई मत दिन आग्रह गरे ।

    उपमेयर उम्मेदवार बनेर १३ हजार मतसहित तेस्रो भएका निरुपमा यादवले पनि सोही पत्रकार सम्मेलनमा यस पटक झन् धेरै विश्वास प्राप्त होस् भनेर दुवै पदमा महिलालाई अघि सारिएको बताइन् ।

    पार्टी अध्यक्ष रवीन्द्र मिश्रको उपस्थितिमा आयोजित कार्यक्रममा सो पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको विकासका लागि ७ बुँदे मूल एजेण्डा सार्वजनिक गरिएको छ ।

    जसमा भ्रष्टाचार नियन्त्रण,सुशासन र सेवा प्रवाह,सुलभ व्यवस्थित विद्युतीय यातायात,नेवा कला संस्कृतिको पुनर्जागरण,खुला क्षेत्रको संरक्षण र विस्तार,नदीनालाको सफाइ र पुनर्स्थापना,सफा व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई जोड दिएको छ ।

    काठमाडौं महानगरमा साझा विवेकशील पार्टीको प्रतिबद्धता पत्र यस्तो छ ।

    तस्बिरहरू : उमेश कार्की

  • चुनाव तलमाथि सारे दुघर्टना निम्त्याउन सक्छ: प्रमुख निर्वाचन आयुक्त थपलिया

    चुनाव तलमाथि सारे दुघर्टना निम्त्याउन सक्छ: प्रमुख निर्वाचन आयुक्त थपलिया

    जनकपुर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन् ।

    जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन–२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका हुन् ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरिकाले सारेमा मुलुकमा दुर्घटना निम्त्याउन सकिने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताए ।

    निर्वाचनको क्रम भङ्ग गर्ने अवस्था नरहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनसँगै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सम्पन्न हुने दाबी गरे। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो गहना भनिने गरेको उल्लेख गर्दै पछिल्लो समय निर्वाचन विपरित हुने खालको अभिव्यक्ति आइरहनु दुःखद् भएको जिकिर गरे।

    निर्वाचन आचारसंहितालाई सामान्यरुपमा नलिन आग्रह गर्दै यसको उल्लङ्घन गरे कारबाही हुने र केही सँग स्पष्टीकरणसमेत सोधिसकेको जानकारी दिए। रासस

  • माओवादी संखुवासभाको आरोप – कांग्रेसभित्रको चरम अन्तरकलहले चुनावी तालमेलमा सकस

    माओवादी संखुवासभाको आरोप – कांग्रेसभित्रको चरम अन्तरकलहले चुनावी तालमेलमा सकस

    संखुवासभा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संखुवासभाले नेपाली कांग्रेसभित्र देखिएको चरम अन्तरकलहले जिल्लाका १० स्थानीय तहमा चुनावी तालमेलको सहमति गर्न सकस भइरहेको आरोप लगाएको छ ।

    माओवादी संखुवासभाका अध्यक्ष टेकमान राई उदयले शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले एकतर्फी रुपमा आफूहरुसँग गठबन्धन टुटेको सार्वजनिक घोषणा गरेको स्पष्टीकरण दिएका हुन् ।

    कांग्रेसले आफूहरुलाई अति उपेक्षा र अवमूल्यन गरेको आरोपसमेत अध्यक्ष राईले लगाएका छन् । जसले गर्दा जिल्लामा सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा सहमति गर्न नसकिएको उनले उल्लेख गरेका छन् ।

    ‘आफ्नो दलभित्र उत्पन्न समस्याको व्यवस्थापन गर्न र अन्य सहयात्री दलहरुको अस्तित्व स्वीकार्दै आवश्यक लचकता अपनाउनुको सट्टा नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्मविपरीत एकपक्षीय रुपमा गठबन्धन टुटेको घोषणा गर्नु गैरजिम्मेवार निर्णय हो’, प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेुले एकलौटी रुपमा गठबन्धन तोडेको विषयले उत्पन्न परिस्थितिबाट कोही पनि तरंगित र भ्रमित नहुन हाम्रो पार्टी सबैसँग अनुरोध गर्दछ ।’

    अध्यक्ष राईले माओवादी आफ्नो राजनीतिक अस्तित्व कायम गर्दै जनताको नेतृत्व गर्न आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न पनि तयार र सक्षम रहेको जिकिर गरेका छन् । ‘हाम्रो पार्टी पाँच दलीय गठबन्धनको मर्म, भावना र निर्णयमा दृढ र प्रतिबद्धसमेत छ’, उनले भनेका छन् ।

    माओवादी जिल्ला संयोजक राईले कांग्रेस पाँचदलीय गठबन्धनको मर्म, भावना र निर्णय उल्लंघन गरेर एकलौटी अगाडि बढे आफ्नो पार्टी स्थानीय तहमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको जनाएका छन् ।

  • एमालेले टुङ्गायो धनगढीका पाँच वडामा सर्वसम्मत वडाध्यक्ष

    एमालेले टुङ्गायो धनगढीका पाँच वडामा सर्वसम्मत वडाध्यक्ष

    कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकामा नेकपा एमालेले पाँच वडामा सर्वसम्मत वडाध्यक्ष टुङ्गाएको छ ।

    १९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकाको वडा नम्बर २, ११, १५, १६ र १७ नम्बर वडामा सर्वसम्मत रूपले वडाध्यक्ष टुङ्गाएको धनगढी नगर सचिव प्रेम महराले जानकारी दिए ।

    उनका अनुसार वडा नम्बर २ मा विष्णु पुरी, ११ मा रूप बहादुर कुँवर, १५ मा गोले कुन्जेडा, १६ मा भागिराम चौधरी र १७ मा दीपेन्द्र घर्तिमगर टुङ्गिएको हो । यी बाहेकका अन्य वडाहरूमा दुई वा दुई भन्दा धेरैको नाम वडा कमिटीले नगर कमिटीमा पठाएको छ ।

    यी पाँच वडाहरूमा वडाध्यक्ष सहित दुई खुल्ला सदस्य, एक महिला सदस्य र एक दलित महिला सदस्य पनि सर्वसम्मत गरिएको छ ।

  • मोहन्याल गाउँपालिका अध्यक्षमा पत्रकार रावलको चर्चा

    मोहन्याल गाउँपालिका अध्यक्षमा पत्रकार रावलको चर्चा

    कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा नेकपा एमालेको तर्फबाट पत्रकार वीरेन्द्र रावलको चर्चा बढेको छ ।

    २०७४ मा सम्पन्न निर्वाचनमा समेत सिफारिसमा परेका रावल आगामी वैशाख ३० गते हुने निर्वाचनमा पनि सिफारिसमा परेका छन् ।

    रावल करिब अढाइ दशक देखी सक्रिय पत्रकारितामा छन् । उनी प्रेस चौतारी नेपाल कैलालीका पूर्व अध्यक्ष पनि हुन् ।

    २०४८ सालमा अनेरास्वयवियुको प्रारम्भिक कमिटीको अध्यक्ष भएर राजनीतिमा सक्रिय रहेका रावल अहिले एमाले जिल्ला कमिटी सदस्य समेत हुन् । लामो समय देखी सामाजिक अगुवाको रूपमा रहेका रावल चुरे संरक्षण कैलालीका अध्यक्ष पनि हुन् ।

    सुदूरपश्चिमको सबै भन्दा सुगम जिल्लामा रहेको सबै भन्दा दुर्गम स्थानीय तहमा रावलको सम्भावना बलियो रहेको स्थानीय बताउँछन् । यस अघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि अध्यक्षमा नवलसिंह रावल र उपाध्यक्षमा पूजादेवी बुढामगर एमालेबाट निर्वाचित भएका थिए ।

    अहिले पनि एमालेको सम्भावना बढी रहेको रावलको भनाइ छ । मोहन्याल गाउँपालिकाका अधिकांश वडा र अध्यक्ष उपाध्यक्षमा एमालेको जित सुनिश्चित रहेको उनको दाबी छ ।

    ‘त्यहाँको भौगोलिक अवस्था र मतदाताहरूको भावना अनुसार सबै भन्दा बढी सम्भावना एमालेकै छ’ उनले भने, ‘मैले लामो समय त्यहाँको समस्याबारे वकालत गरिरहेको छु ।’

    रावल सहित एमालेबाट एकेन्द्र भण्डारी , बमबहादुर रावल, खर प्रसाद अधिकारी, नवराज खनाल, नरेन्द्र थापा र धरम थापा पनि आकाङ्क्षी छन् ।

  • प्यूठानको नौबहिनीमा जनमोर्चाविरुद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन

    प्यूठानको नौबहिनीमा जनमोर्चाविरुद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन

    रूपन्देही । प्यूठानको नौबहिनी गाउँपालिकामा पाँचदलीय सत्ता गठवन्धन भत्किएको छ। यहाँ राष्ट्रिय जनमोर्चाविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेका छन् ।

    सत्ता गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेपछि जनमोर्चा एक्लिएको हो ।

    सत्तारुढ तीन ठूला दलले आफूहरुलाई चुनावी गठबन्धनमा सहभागी नगराएको जनमोर्चा प्यूठानका सल्लाहकार एवं नौबहिनी गाउँपालिका इन्चार्ज राम पहाडीले बताए ।

    ‘बैठकमा बोलाएर कांग्रेस र माओवादीले छुट्टै बैठक बस्छौं भनेपछि नोट अफ डिसेन्ट लेखेर हामी बाहिरियौं’, पहाडीले भने, ‘पुरानै अनुहार दोहोरिने गरी भागबन्डा गरेको खबर छ । हामीलाई पुनः बैठकमा बोलाएनन् ।’

    नौबहिनी गाउँपालिकामा यसअघिको स्थानीय तह निर्वाचनमा पनि जनमोर्चाविरुद्ध कांग्रेस र माओवादी मिलेर लडेका थिए । वडा नम्बर १ स्याउलीवाङ समाजवादीलाई र तीन–तीन वटा वडा कांग्रेस र माओवादीलाई भागबन्डा गरिएको बताइएको छ । फोप्लीको वडामा विवाद रहँदा सहमति भएको छैन ।

    गाउँपालिका अध्यक्षमा बहालवाला अध्यक्ष शिव रिजाल र उपाध्यक्षमा घनबहादुर बुढालाई दोहोर्‍याउने सहमति भएको छ । अध्यक्ष रिजाल कांग्रेस र उपाध्यक्ष बुढा माओवादी केन्द्रका हुन् ।

    २०७४ सालको स्थानीय निर्वाचनमा नौबहिनीमा कांग्रेस र माओवादीविरुद्ध जनमोर्चा र एमालेले पनि तालमेल गरेका थिए । जनमोर्चाका पहाडी यसअघि एमालेसँगको तालमेलमा गाउँपालिका उपाध्यक्ष उठेका थिए ।

    जनमोर्चाले वडा नम्बर ४ र ६ को अध्यक्ष माग गरेपछि सहमति हुन नसकेको कांग्रेसका जिल्ला सदस्य एवं नौबहिनी गाउँपालिका अध्यक्ष
    शिव रिजालले जानकारी दिए ।

  • कैलालीमा भत्कियो पाँच दलीय गठबन्धन, चार दलले छुट्टै तालमेल गर्ने

    कैलालीमा भत्कियो पाँच दलीय गठबन्धन, चार दलले छुट्टै तालमेल गर्ने

    कैलाली । स्थानीय तहको निर्वाचनमा केन्द्रमा पाँच दलीय गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा पाँच दलीय गठबन्धन नहुने भएको छ ।

    केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालले गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा भने त्यो गठबन्धन नहुने भएको हो ।

    गठबन्धन भित्रै रहेको जनता समाजवादी पार्टीले आगामी वैशाख ३० गते हुने निर्वाचनमा अर्को गठबन्धन गरेर जाने निर्णय गरेको छ ।

    पछिल्लो पटक सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गर्दा रुष्ट भएको जनता समाजवादी पार्टीले आज अन्य दलहरूसँग तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेको हो ।

    आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी नरहने र अन्य दलहरूसँग तालमेल गर्ने जनाएको हो ।

    जसपाले कैलालीमा लोकतान्त्रिक समाजवादी पार्टी कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीसँग तालमेल गर्ने भएको हो ।

    लोसपाको जिल्ला अध्यक्ष कृष्ण चौधरी,जसपाको जिल्ला अध्यक्ष गया प्रसाद चौधरी, नेपाल लोकतान्त्रिक पार्टी कैलालीका जिल्ला अध्यक्ष माधव थारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष केन्द्रीय उपाध्यक्षले सहमति पक्षमा हस्ताक्षर गरेका छन् ।

    वैशाख १ गते बसेको संयुक्त बैठकबाट आउँदो वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भएको थियो  ।

  • डोटीमा गठबन्धन: कांग्रेसलाई ‘गलपासो’, बहुसंख्यक पालिकामा माओवादी र एसको चासो

    डोटीमा गठबन्धन: कांग्रेसलाई ‘गलपासो’, बहुसंख्यक पालिकामा माओवादी र एसको चासो

    डोटी । २०७४ को स्थानीय तह निर्वाचनमा डोटीको केआईसिँह गाउँपालिकामा कांग्रेसले ‘क्लिन स्वीप’ गरेको थियो । ७ वटा वडामा वडाध्यक्षसहित सबै ३५ जना, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ३७ जनाको सिङ्गो टीम जितेको थियो । कार्यपालिकामा झन् पछि अन्य पार्टीको प्रवेश आउने कुरै भएन ।

    यहाँ कांग्रेसका उम्मेदवार लोकेन्द्रबहादुर शाहीले ३ हजार एकसय ८८ मत ल्याएर अध्यक्ष जित्दा निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज जोशी आधा मतले पछाडि परेका थिए । जोशीले एक हजार ५ सय ६३ मतमात्रै पाएका थिए । माओवादी केन्द्रका सिद्धराज भाटले त ९ सय ४८ मतमात्रै ल्याएका थिए ।

    सत्तारूढ गठबन्धनबीचमा तालमेल हुँदा माओवादी केन्द्रले यो पालिकाको पनि अध्यक्ष मागेको छ । यो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका हो । त्यसैले माओवादी केन्द्रले हरहालमा यो पालिका हत्याउन चाहेको छ ।

    माओवादी केन्द्रले डोटीमा रहेका नौवटा पालिकामध्ये ४ वटाको नेतृत्व मागेको छ । जसमा ४ वटा पालिकामध्ये ३ वटामा माओवादीको शक्ति सन्तुलनको हबिगत यस्तै छ । अघिल्लो निर्वाचनमा एउटामा ‘कागताली’ परेर जितेकोबाहेक बाँकीमा हजार मत कटाएको छैन । ६५ वडामध्ये ३४ वडाध्यक्ष नै मागेको छ । अघिल्लो निर्वाचनमा जम्मा ४ वटा वडा जितेको थियो ।

    यसरी जिल्लाको शक्ति सन्तुलनमा ‘निरीह’ रहेको माओवादी केन्द्रले ४ पालिकाको नेतृत्व र बहुमत वडाध्यक्ष मागेपछि ‘शक्तिशाली’ रहेको कांग्रेसलाई सकस पारेको छ ।

    माओवादी केन्द्रको जस्तै पेचिलो माग नेकपा एकीकृत समाजवादीले पनि गरिरहेको छन । पर्यटन मन्त्री प्रेम आलेको समेत गृहजिल्ला भएकाले उसको पनि केआईसिँहको अध्यक्षमा दाबी छ । कारण– एमालेको परम्परागत शक्ति लगभग सबैजसो यो पालिकामा उसैतिर लागेको छ । जुन अन्य पालिकामा छैन ।

    अघिल्लो निर्वाचनमा कांग्रेसभित्रको ‘कलह’को फाइदा उठाउँदै एमालेबाट निर्वाचन जितेका पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी अहिले नेकपा एस डोटीको जिल्ला अध्यक्ष छन् । अघिल्लो निर्वाचनमा ७ मध्ये ५ वडाध्यक्ष कांग्रेसले जित्दा कांग्रेसभित्रकै अन्तर्घातको फाइदा बोगटीले उठाएका थिए ।

    अहिले अध्यक्ष बोगटीले स्थानीयस्तरको सम्भावना हेरेर पूर्वीचौकी कांग्रेसलाई नै छाड्न चाहेका छन् । कांग्रेसका स्थानीय नेताहरूलाई बोलाएर सो कुराको जनाउ पनि गरिसकेका छन् भने यो कुरा नेकपा एसका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाललाई जानकारी पनि गराइसकेको स्रोतले जनायो ।

    यस्तै नेकपा एसले सम्भावित रूपमा जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका र आदर्श गाउँपालिका पनि ताकेको छ । जोरायल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरको गृहपालिका हो भने बडीकेदारमा उनकै स्वकीय सचिव रहेका भक्तबहादुर साउँद अघिल्लो पटक कांग्रेसका कृष्णबहादुर चन्दसँग पराजित भएका थिए ।

    आदर्श अघिल्लो पटक एमाले जितेको र त्यहाँ संविधानसभा सदस्य हर्कबहादुर सिँहसहितका प्रभावशाली पुराना नेताहरू आफूसँग रहेकाले नेकपा एसको दाबी छ ।
    नेकपा एसले जिल्लामा दुई पालिका र १६ वडाध्यक्ष मागेको छ । त्यसमा जुनसुकै भएपनि मान्ने उसले जनाएको छ ।

    यस्तोमा कांग्रेसका लागि जुनसुकै पालिकाको नेतृत्व दिन पनि सकस बढेको छ । अहिले कांग्रेसले जिल्लाका नौ वटै पालिकामा आफूलाई जित्नसक्ने आँकलन गरेको छ । जहाँ जिल्लाका प्रभावशाली नेताहरू नै चुनाव लड्न चाहन्छन् । जहाँ माओवादी केन्द्र र नेकपा एसले बलियो दाबी गरेका छन्, त्यहाँका आकांक्षी जिल्ला कार्यसमितिका पदाधिकारी नै छन् । यसैकारण जिल्ला स्तरमा निर्णयमा पुग्न निकै कठिन छ ।

    यद्यपि कांग्रेसले नौमध्ये सात पालिका आफूसँग राखेर २ वटा दिन चाहन्छ । ६५ वडामध्ये ४५ आफूसँग राखेर २० वटा दिनसक्ने पनि बताएको छ । जसमा माओवादी केन्द्र र नेकपा एस राजी छैनन् । गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाले भने जिल्लाभरीमा ३ वटा वडाध्यक्ष मागेको छ । जनता समाजवादी पार्टीको प्रभावशाली नेतृत्व नै नभएकाले छलफलका लागि समेत बोलाइएको छैन् ।

    यस्तो थियो अघिल्लो पटकको नतिजा

    २०७४ को स्थानीय तह निर्वाचनमा डोटीका ९ वटा पालिकामध्ये ८ वटामा एमाले र कांग्रेसकै सोझो प्रतिस्पर्धा भएको थियो । यो प्रतिस्पर्धामा माओवादी केन्द्र ‘निरीह’प्रायः देखिएको नतिजाले देखाउछ ।

    एमाले–कांग्रेसबीचको यो सोझो प्रतिस्पर्धामा एमालेले ५ पालिकामा जित हात पा¥यो । जसमा कांग्रेसभित्रको आन्तरिक ‘कलह’ र ‘अन्तर्घात’ कारण बन्यो । कांग्रेसले ३ वटा पालिका जित्यो ।

    यो नतिजामा मतान्तर धेरै थिएन् । एमालेले जितेका पूर्विचौकीमा ४७ मत, दिपायल सिलगढी नगरपालिकामा २ सय ७६ मत र सायलमा ३ सय ७३ मतको झिनो मत हुँदा जोरायलमा ६ सय ४६ र आदर्शमा ८ सय २९ को फराकिलो मतान्तर थियो ।

    कांग्रेसले जितेको बडीकेदारमा ३ सय २३, शिखर नगरपालिकामा ९ सय १६ र केआईसिँहमा एक हजार ६ सय २५ मतको अन्तर थियो ।

    माओवादी केन्द्र जितेको बोगटान गाउँपालिकामा तुलनात्मक रूपमा एमाले बलियो थियो । तर, एमालेभित्रको कलह नेकपा माओवादी केन्द्रका लागि ‘कागताली’ सावित भयो । यहाँ माओवादी केन्द्र, एमाले र कांग्रेसबीचमा प्रतिस्पर्धा भएको थियो । माओवादी केन्द्रका उम्मेदवार कमल गड्सिलाले २ हजार ८९ मत पाउँदा एमालेका टेकबहादुर बमले एकहजार ८ सय ८ र कांग्रेसका दिलबहादुर बमले एकहजार ७ सय १४ मत पाएका थिए ।

    ६५ वडामध्ये एमालेले ३२ वटा वडा जित्दा कांग्रेसले २९ र माओवादी केन्द्रले ४ वटा वडा जितेको थियो ।

    कांग्रेसलाई गठबन्धन ‘गलपासो’

    अहिले पनि एक्लाएक्लै चुनाव हुँदा बोगटानमा त्रिपक्षीय प्रतिस्पर्धा भएपनि अन्य क्षेत्रमा कांग्रेस–एमालेबीचमै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि अघिल्लो निर्वाचनमा झिनो मतले हारजित भएको क्षेत्रमा नेकपा एसले काट्ने मतले एमालेलाई क्षती पुगेको अनुमान छ । तर एमालेले भने नेकपा एसले धेरै मत नकाट्ने र काटेको मत सहजै भर्पाई हुने दाबी गरिरहेको छ ।

    प्रतिस्पर्धी एमालेको बिखण्डित अवस्थाले कांग्रेसको स्थानीय नेतृत्व हौसिएको देखिन्छ । उसको विखण्डनले अघिल्लो पटक एमालेले झिनो मतले जितेका पूर्विचौकी, दिपायल सिलगढी र सायलमा सहजै जित हासिल गर्नसक्ने देखिदाँ जोरायल, आदर्शजस्ता एमालेका संगठन मजबुत रहेका क्षेत्रमा जित हासिल गर्नसक्ने कांग्रेसमा आत्मविश्वास पलाएको देखिन्छ ।

    अघिल्लो पटक एमालेको संगठन तितर–वितर भएर माओवादी जितेको बोगटानमा समेत संगठन सुधार गरेकाले सहजै जित्ने कांग्रेसको अनुमान छ ।

    तर कांग्रेसको यो चाहनामा सत्तारूढ गठबन्धन ‘गलपासो’ बनेको छ । यता एक्लै धेरै स्थानीय तहमा निर्वाचन जित्ने ‘लालसा’ पालेको कांग्रेसको स्थानीय पार्टी पंक्तिका लागि तालमेल निकै अप्रिय बनेको छ ।

    पार्टीको जिल्ला नेतृत्वमा केन्द्रीय सभापति शेरबहादुर देउवानिकट नेताहरूको बहुल्यता छ । जिल्ला सभापति नरेन्द्रबहादुर सिँहसहित लगभग सबैजसो पदाधिकारी देउवानिकट छन् । कांग्रेसको जिल्लाको शीर्ष नेतृत्व मानिएका सुदूरपश्मि प्रदेश सभापति वीरबहादुर बलायर पनि देउवाकै विश्वासपात्र हुन् ।

    केही दिनअघिसम्म ‘सुदूरपश्चिममा तालमेल हुन्न भनेर’ हिँडिरहेका उनले अहिले ‘बोली’ फेरेका छन् । यसरी केन्द्रीय नेतृत्वसँग निकट रहेका पात्रहरूमा ‘माथिको निर्देशन’ अवज्ञा गरेर एक्लै निर्वाचनमा जाने निर्णय लिने दुस्साहस उनीहरूमा देखिन्न । यस्तोमा डोटी कांग्रेसमा गठबन्धन निल्नु न ओकल्नु भएको छ ।

    एमालेले उम्मेदवार टुंग्याउँदै, गठबन्धनमा अलमल

    यता एक्लै निर्वाचनमा जान लागेको एमालेले उम्मेदवारहरू धमाधम गाउँबाटै टुंग्याइरहेको छ । हालसम्म जोरायल गाउँपालिकामा अध्यक्ष दुर्गा ओझा र उपाध्यक्षमा जमुना बोहरालाई दोहोर्याउने निर्णय गरेको छ भने सायल गाउँपालिकामा पनि अध्यक्ष तेजबहादुर डुम्रेल र विष्ना सिँहलाई नै दोहो¥याउने निर्णय गरेको छ ।

    आदर्श गाउँपालिकामा डम्बरबहादुर वली गाउँमै मतदान गरेर चयन भएका छन् । बोगटान फुड्सिल गाउँपालिकामा हस्त बुढा लड्ने लगभग निश्चित भएर प्रचारमा जुटिसकेका छन् भने, अन्य पालिकामा पनि सकभर सर्वसम्मतको प्रयास भइरहेका छ । सबैजसो पालिकामा आजबाट छलफल हुने एमालेले जनाएको छ ।

    यता सत्तारूढ गठबन्धनका दलहरूमा भने कुरा नमिल्दा अझैँ अन्योल छ । अघिल्लो चरणमा छलफल हुँदा सहमती बन्न नसकेपछि छलफलमा आएको विषयलाई सबै पार्टीले आफ्ना प्रदेश समितिलाई पठाएका छन् । यद्यपी आज पनि छलफल गर्ने तयारी भइरहेको नेपाली कांग्रेसका सभापति नरेन्द्रबहादुर सिँहले बताए ।

    पार्टी केन्द्रीय सर्कुलर अनुसार सिटको भागबण्डा भएपछि मात्र टिकट टुंग्याउने गठबन्धन दलले जनाएका छन् ।

  • नेकपा एसले एमालेले जितेका सबै ठाउँमा भाग खोजेपछि कर्णालीको गठबन्धन धरापमा !

    नेकपा एसले एमालेले जितेका सबै ठाउँमा भाग खोजेपछि कर्णालीको गठबन्धन धरापमा !

    सुर्खेत । भागबण्डा विवादले कर्णालीको सत्तारुढ पाँच दलीय गठबन्धन नै धरापमा परेको छ । कर्णाली प्रदेशमा नेकपा माओवादीले आफूले जितेको स्थानबाहेक कांग्रेसले जितेको ठाउँमा पनि भाग खाजेपछि र नेकपा एकीकृत समाजवादीले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको सबै स्थानमा स्वतः अंश मागेपछि गठबन्धन नै धरापमा परेको हो । यद्यपि, सहमतिको अन्तिम प्रयासस्वरुप ५ गते गठबन्धनको अन्तिम बैठक बस्दैछ ।

    नेकपा एमालेले २०७४ सालको निर्वाचनमा कर्णालीका ७९ पालिकामध्ये २७ ओटामा जितेको थियो । आफूहरु एमालेबाट आएको बताउँदै एकीकृत समाजवादले ती सबै ठाउँमा आफूले भाग पाउनुपर्ने बताउँदै आएको छ । ‘हामीले कर्णालीमा २२ देखि २५ ओटा पालिका पाउनुपर्छ भनेका छौं । गठबनधनका दलहरुले नदिइ सुखै छैन, दिनैपर्छ’, नेकपा एस कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा भन्छन्, ‘हामी कर्णालीमा बलियो पनि छौं । सम्मानजनक उपस्थिति हामी देखाउन चाहन्छौं ।’

    उनले सकेसम्म गठबन्धनलाई बचाएर लैजाने प्रयास भएको बताउँदै सम्मानजनक सिट नपाए एक्लै चुनाव लड्ने बताए ।

    ‘बहस चल्नु स्वभाविक हो, सम्झौता गरेर अघि बढछौं’

    नेकपा माओवादी केन्द्रले भने केन्द्रको मापदण्डअनुसार अघि बढनुपर्ने अडान राखेको छ । ‘विगतमा जसले जहाँ जितेको छ त्यहाँ उसैको नेतृत्व रहनुपर्छ । एमालेले जितेका स्थानमा मात्रै भागबण्डा हुनुपर्छ’, माओवादी प्रदेश अध्यक्ष विमला केसीले भनिन्, ‘वैशाख पाँच गतेको बैठकमा हामी सहमति गर्छौं ।’

    कांग्रेसले रुकुममा तीन पालिका माग गरेको उदाहरण दिँदै अध्यक्ष केसीले व्यवहारिक ढंगमा भाग मिलाउनुपर्ने बताइन् ।

    कांग्रेसमा झन् किचलो

    नेपाली कांग्रेस डोल्पाले एक्लै चुनाव लड्ने निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले आठ पालिकामा दाबी गरेको छ । माओवादी केन्द्रले ६ पालिकामा दाबी गरेका कारण त्यहाँ सहमति हुन नसकेको हो । २०७४ सालको निर्वाचमा एमालेले आठ पालिकामा पाँच, माओवादीले दुई र एक पालिका स्वतन्त्रले जितेका थिए ।

    जुम्ला, रुकुम पश्चिम, दैलेख, कालिकोट, सल्यान, सुर्खेतलगायतका जिल्लामा पनि कांग्रेसले पालिकाबाट सिफारिस संकलन गर्ने कामलाई तीव्रता दिएको छ । समाजवादीले जनमतभन्दा बढी पालिका माग गरेको र माओवादीले कांग्रेसले जितेका स्थानमा पनि दाबी गरेको भन्दै कांग्रेस बिच्किन थालेको छ ।

    नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले वैशाख दुई गतेसम्म पनि सत्तारुढ गठबनधनबीच कुरा नमिलेको बताएका छन् । यद्यपि, पाँच गते फेरि बैठक बस्ने उनले बताए ।

    ‘हिजो एमालेले जितेको स्थानहरु समाजवादीमा स्वतः नामसारी गर्नुपर्ने उनीहरुको माग छ’, सभापति शाहीले भने, ‘उहाँहरु सनाखत गरेर आउनु भएको हो । सबै मतदाता त उहाँहरुसँगै आएका छैनन् नि ? मतभारको कुरा गर्दा एक पाटो हो । त्यो मतभारको आधारमा विजयी भएको व्यक्ति, व्यक्तिसँग पद आएको हो । पालिका अध्यक्षसँगै सबै जनता आएका छैनन्। जहाँ एमालेले जितेको थियो, त्यहाँ चाहिन्छ भनेर दिन सकिँदैन ।’

    उनले माओवादीले जहाँ जितेको छ, त्यहाँ एक स्थानमा पनि नछोड्ने, कांग्रेसले जितेको स्थानमा आफूहरुको मतभार बढेको भन्दै कांग्रेसले छोडनुपर्ने कुरा स्वीकार्य नहुने बताए ।

  • कबिलासका मेयरसहित माओवादीका दर्जनौं जिल्ला नेता एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

    कबिलासका मेयरसहित माओवादीका दर्जनौं जिल्ला नेता एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)बाट विजयी सर्लाहीकाे कबिलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

    सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने छन् ।

    आज करिब पाँच हजारको संख्यामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने कार्यक्रम तय भएको नेता बद्री न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार लालबन्दी नगरपालिका–११ मा माओवादीवाट विजयी वडा अध्यक्ष दिपक लामा, जनता समाजवादी पार्टीवाट पर्सा गाउँपालिका–३ मा विजयी वडा अध्यक्ष भीखारी साहसहित कांग्रेसबाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीवाट मेयरका प्रत्यासी रामविश्वास रायलगायत विभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौं नेताहरु एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।