Category: स्थानीय निर्वाचन–२०७९

  • मत परिणाम नआएका पालिका : कसको कहाँ अग्रता ? (सूचीसहित)

    मत परिणाम नआएका पालिका : कसको कहाँ अग्रता ? (सूचीसहित)

    काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी अब १८ वटा पालिका मात्रै रहेका छन् ।

    अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेस ३२१ पालिका जित्दै पहिलो स्थानमा छ । नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रोमा रहेको छ ।

    त्रियुगा नगरपालिका र बुढीगंगा गाउँपालिकामा भने मतगणना सुरु भएको छैन् । गणना जारी रहेका पालिकामध्ये कहाँ कसकाे अग्रता छ हेर्नुहाेस् सूची :

  • काठमाडौं महानगर : ५० हजार मत गणना हुन बाँकी, कसले कति पाए ?

    काठमाडौं महानगर : ५० हजार मत गणना हुन बाँकी, कसले कति पाए ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । अब ५०१८० मत मात्रै गणना हुन बाँकी छन् ।

    साँझ ७ः ५० सम्मको अपडेटअनुसार बालेन साहले ४७७५२ मतका साथ अग्रता कायम राखेका छन् ।

    यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८८१५ मत पाएकी छन् । एमालेका केशव स्थापितले २७९७७ मत पाएका छन् ।

  • धरान र काठमाडौंको लौरोभन्दा जब्बर डिलासैनीको पुतली, यसरी सम्भव भयो सन्तोषको लोभलाग्दो जित

    धरान र काठमाडौंको लौरोभन्दा जब्बर डिलासैनीको पुतली, यसरी सम्भव भयो सन्तोषको लोभलाग्दो जित

    काठमाडौं । स्थानीय तह चुनावको अघिल्लो दिनसम्म बैतडीको डिलासैनी गाउँपालिकाका जनताले कसलाई निर्वाचित गराउलान् भनेर संशय थियो । एमाले र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा थियो । अर्कातिर थिए, स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशीको टिम ।

    एमाले र कांग्रेसले व्यापक चुनावी प्रचारप्रसार गरिरहँदा उता सन्तोषको टिम पनि आफ्नै तरीकाले चुनावी प्रचारमा खटिएको थियो । आफ्ना एजेन्डाहरू जनतामाझ राखिरहेको थियो । अन्ततः चुनाव भयो । जनताले पार्टीलाई छाडेर स्वतन्त्र उठेका सन्तोषलाई आउँदो पाँच वर्षका लागि गाउँपालिकाको अध्यक्षका रूपमा चुने ।

    सन्तोषको स्वतन्त्र उम्मेदवारी र विजय यात्रा सहजै बनेको थिएन । सन्तोष र उनको टिमले प्राप्त गरेको सफलताको कथाको पछाडि अरू उपकथा धेरै छन् । सन्तोषको उम्मेदवारी घोषणा पार्टीबाट टिकट नपाउँदा सुरु भएको विश्लेषण हुने गरे पनि उनले त्यसअघि नै त्यस क्षेत्रका स्थानीय जनताको मत जितिसकेका थिए ।

    एमाले पार्टीले आफूलाई सिफारिस गर्नेमा ढुक्क थिए ३५ वर्षीय सन्तोष । उनले गाउँमा गरेको काम, जनताको सामुन्ने उनले प्राप्त गरेको लोकप्रियता उनले टिकट पाउनुपर्ने मूल तत्त्व थिए । उनको पार्टी एमाले मात्रै नभएर अन्य पार्टीका नेता कार्यकर्ताहरूमा पनि सन्तोषले पालिकाको नेतृत्व गर्नुपर्छ भन्ने थियो । तर, पालिका कमिटीले उनलाई टिकटका लागि सिफारिस नै गरेन ।

    यसको मूल कारण थियो, एमालेका बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालसँग सन्तोषको खराब सम्बन्ध । गएको जिल्ला अधिवेशनका वेला फरक प्यानल बनाएर निर्वाचन लड्न खोजेका थिए उनले । तर, पालले सहमतिबाट नेतृत्व चयनका लागि भन्दै सन्तोष लगायतको टिमलाई बाहिर राखेर जिल्ला कमिटी बनाए ।

    तर कथा यो भन्दा पहिले नै सुरु भइसकेको थियो । डिलासैनी गाउँपालिकाको केन्द्र कहाँ बनाउने भन्ने विषयमा लामो छलफल भएको थियो । संघीय संरचनामा मुलुक गइसकेपछि गाउँपालिकाको नाम र केन्द्र सिफारिस समितिले पालिकाको नाम डिलासैनी र केन्द्र वडा नम्बर ७ धामी गाउँमा राख्ने भनेको थियो ।

    यसपछि ०७४ सालको स्थानीय निर्वाचन भयो । उक्त निर्वाचनबाट निर्वाचित प्रतिनिधिले पनि सोही अनुसार गर्ने निर्णय गरे । निर्णय मात्रै भएन । त्यहाँ डिलासैनी भगवती मन्दिरमा गएर कसम नै खाए जनप्रतिनिधिले डिलासैनी ७ मा नै पालिका हुनुपर्छ भनेर । तर पछि पालिकाको केन्द्र अचानक सारियो, सम्पर्क कार्यालयको नाममा । अध्यक्ष पालको सक्रियतामा ७ नम्बर वडामा राख्ने भनिएको केन्द्रलाई ३ नम्बर वडामा सारियो । जुन पालको गृह गाउँ पर्छ ।

    पहिलै तोकिएको र जनप्रतिनिधिले निर्णय गरिसकेको निर्णय उल्टिएपछि विवाद बढ्दै गयो । नागरिक समाजले आन्दोलन सुरु ग¥यो । त्यसको संयोजन जयराज जोशीले गरे । उनलाई अन्य दलको पनि समर्थन थियो । जयराज पछि नेपाली कांग्रेस प्रवेश गरेर पालिका सभापति भए ।

    तर आन्दोलनले मूर्त रूप तब लियो तब यो आन्दोलनमा सन्तोषको टिम पनि समावेश भयो । एमालेमा हुँदादेखि नै सन्तोषहरूको अडान थियो, पालिका तोकिएकै ठाउँमा हुनुपर्छ । तर, विवाद यसरी बढ्यो कि मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । पछि नेपाल सरकारको सचिवस्तरीय निर्णयले डिलासैनी ७ मै केन्द्र हुनुपर्ने निर्णय भयो ।

    यसमा सन्तोषसँगै अन्य न्यायिक आन्दोलनका सदस्यहरूको ठूलो साथ र सहयोग छ । यो घटनापछि पालसँग सन्तोषको टसल झनै बढेर गयो भनिन्छ ।

    पालिका केन्द्रको आन्दोलन सर्वोच्चसम्म पुग्दा सन्तोषले वडा नम्बर ४, ५, ६, ७ का जनताको मन जितिसकेका थिए । सडक सञ्जालबाट टाढा रहेका जनतालाई सन्तोषकै नेतृत्वमा जनश्रमदानबाट सडकको ट्र्याक खोल्ने काम सुरु भयो । जनताको सहयोग र व्यक्तिगत खर्चबाट उनले १३ किलोमिटर बढी सडकको ट्र्याक खोले ।

    सन्तोषकै कारण अहिले उपभोग्य सामाग्री, निर्माण सामाग्री ढुवानीमा सहज भएको छ । जसरी नेपालमा लोडसेडिङ हट्दा कुलमान घिसिङलाई जनताले सम्मान दिएका थिए, त्यसरी नै डिलासैनीमा सडक पुग्दा सन्तोषलाई पनि सम्मान गरिएको थियो ।

    यसपछि भने पार्टीले सिफारिस नगरे पनि स्थानीय जनताले पालिकामा सन्तोष नै आउनुपर्छ भनेर अभियान सुरु गरे ।

    जनतामा यो अभियान चलाउने हिम्मत र आँट सन्तोषले नै भरेका थिए । नत्र पालिकाभरि अध्यक्ष पालको मनोमानी विरुद्ध आवाज उठाउने हिम्मत अरू कसैले गर्न सकेका थिएनन् । पालिकाबाट योजना पाउने लोभ तथा डरका कारण बोल्नै सकेका थिएनन् । तर, सन्तोषले आफ्नै पार्टीको नेतृत्वको गलत प्रवृत्तिविरुद्ध बोलेपछि जनताले उनको साथ दिए । जसका कारण अबको पाँच वर्षका लागि पालिका हाँक्नेछन् उनले ।

    सन्तोषले स्वतन्त्र प्यानल बनाएर आफ्नै एमाले र गठबन्धनका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गरे । वडा नम्बर ४, ५ र ७ मा त सन्तोषको स्वतन्त्र टिमबाट वडाध्यक्षको प्यानलै विजयी भए । धरान र काठमाडौंमा लौरोले मूलधारका दललाई कुटिरहँदा बैतडीको डिलासैनीमा पुतली चम्कियो ।

    वडा नम्बर ४ मा हरि पन्त, वडा नम्बर ५ मा यज्ञ भट्ट र वडा नम्बर ७ मा प्रकाशमणि भट्ट पनि प्यानलसहित स्वतन्त्र हैसियतमा विजयी भए ।

    ९ हजार आसपासमा मत खसेको डिलासैनी पालिकामा मतगणना हुँदा सुरुका तीन वडामा सन्तोषको मत २६५ पुग्दा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्रबहादुर रानाको १८१३ पुगिसकेको थियो । अर्का उम्मेदवार एमालेका अक्कल बहादुर रानाको १७१५ मत पुगेको थियो ।

    तर वडा नम्बर ४ को गणना सम्पन्न हुँदा उनले कम ब्याक गर्न सुरु गरे । स्वतन्त्र वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएको सो वडामा सन्तोषले ५४५ मत पाउँदा गठबन्धनका उम्मेदवारले २०२ र एमाले उम्मेदवार जम्मा १३५ मत पाए ।

    वडा नम्बर ७ को मतगणना हुँदा समेत ३ सय मतले पछि परेका सन्तोषले त्यहाँ १०१७ मत प्राप्त गरे । जहाँ गठबन्धन उम्मेदवारले १६६ र एमाले उम्मेदवारले १४५ पाए । गठबन्धन उम्मेदवारले २६५१ र एमाले उम्मेदवारले २५५७ पाउँदा सन्तोषले फिल्मी शैलीमा कम ब्याक गर्दै समग्रमा ३१८९ मतका साथ विजयी हासिल गरे ।

    जनताले पाँच वर्षका लागि सन्तोषलाई निर्वाचित गर्नुअघि पनि ठूलो चुनौतीसँग थिए । अहिले निर्वाचित भएपछि झनै ठूलो चुनौतीसँग छन् । पालिकाका गर्नुपर्ने कामहरू थुप्रो छन्, जसलाई अबको पाँच वर्षमा फत्ते गर्नुपर्नेछ सन्तोषले ।

    सन्तोष भन्छन्, ‘अहिले हामी टेलिकमको टावर निर्माणका लागि लागिरहेका छौँ । साथीहरू फिल्डमा खटिनुभएको छ । अब पहिलो काम यहीँबाट सुरु गर्दै छु ।’ सन्तोषका अनुसार अचेल दिउँसो मात्रै अलिअलि नेटवर्क टिप्न सक्ने अवस्था छ, त्यो पनि घाम परेको समयमा मात्रै । राति भने नेटवर्क नै टिप्दैन ।

    पाँच वर्षअघि यस्तो अवस्था नभएको भन्दै उनी भन्छन्, ‘अहिले दिउँसै कुरा गर्न पाउनु भनेको भाग्यको कुरा हो । तर अब यो समस्यालाई हामी चाँडै समाधान गर्नेतिर लागेका छौँ ।’

    गाउँपालिकामा समस्या नेटवर्कको मात्रै छैन । डिलासैनीसँग सिमाना जोडिएको दार्चुलामा चमेलिया जलविद्युत् आयोजना छ । तर, छेवैको डिलासैनी पालिकाको ९० प्रतिशतभन्दा ज्यादा अँध्यारोमा छन् । सडक विस्तारको अवस्था राम्रो छैन । भर्खरै ट्र्याक खुले पनि त्यसलाई अझैँ व्यवस्थित गरेर कालोपत्रे गर्दै सडक सञ्जाललाई केन्द्रसम्म जोड्न बाँकी नै छ ।

    खानेपानीको मूलहरू भए पनि गाउँमा पुर्‍याउन नसक्दा अवस्था जर्जर छ, त्यसलाई व्यवस्थापन गर्दै अगाडि बढ्ने सन्तोष बताउँछन् । भन्छन्, ‘अबको पाँच वर्ष म यी मूल मुद्दाहरूमा ध्यान केन्द्रित गर्छु । साथै हाम्रो पालिकाको आफ्नै भवन छैन, वडामा पनि आफ्नै भवन छैन । अघिल्लो स्थानीय सरकारले केही गरेन । त्यो काम पनि गर्नुपर्ने दायित्वभित्र छन् ।’

    सन्तोषले पार्टीबाट विद्रोह गरेर जनताको समर्थनमा जित निकाले । यसबीचमा अब उनको भूमिका फेरिएको कारण पाँच वर्ष जनताकै सेवा गर्ने सोचमा छन् । उनलाई एमाले पार्टीले निष्कासन गरेको छैन तर पनि उनी पार्टीमा फर्केर काम गर्ने कि स्वतन्त्रै बस्ने भन्ने निर्णयमा पुगिसकेका छैनन् ।

  • जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

    जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह विजयी

    काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी विजयी भएका छन् ।

    घण्टाघर चुनाव चिह्नबाट निर्वाचन लडेका साहले १३४६५ मत पाए । यस्तै एमालेका शिवशंकर साहले ९५३२ मत पाए । लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५३६० मत ल्याउँदा जनता समाजवादी पार्टीका लालकिशोर साहले ५१९४ मत पाए । अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ४२९० मत पाए भने, स्वतन्त्रबाट नै मेयर लडेकी जानकारी राम साहले २०७२ मत पाइन् ।

    उपमेयर तर्फ नेपाली कांग्रेसकी किशोरी साहले १५५२५ मत पाएर विजयी भइन् । एमालेकी रुणादेवी झाले १०८८५ मत पाइन् ।

  • सिर्जनाले भोट गरेको वडामा ३०० मत गणना : बालेनको अग्रता

    सिर्जनाले भोट गरेको वडामा ३०० मत गणना : बालेनको अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ ।

    अहिले वडा नम्बर १६ मा मतगणना भइरहेको छ । जुन कांग्रेस उम्मेदवार सिर्जना सिंहले मतदान गरेको वडा हो ।

    त्यहाँ सुरुवाती ३०० मतगणना हुँदा बालेन साह नै अगाडि देखिएका छन् । साहले ११७ मत ल्याउँदा सिंहले ६८ मत पाएकी छन् ।

    यस्तै एमाले उम्मेदवार केशव स्थापितले ४१ मत पाएका छन् ।

  • भीम रावलको गृहनगरमा गठबन्धन विजयी, साँफेबगरको मेयर कांग्रेस र उपमेयरमा नेकपा एस

    भीम रावलको गृहनगरमा गठबन्धन विजयी, साँफेबगरको मेयर कांग्रेस र उपमेयरमा नेकपा एस

    धनगढी । अछामको साँफेबगर नगरपालिकामा एमालेविरुद्ध गठबन्धनले जित निकालेको छ ।

    मेयरमा नेपाली कांग्रेसका राजेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । कुँवर ७ हजार २६५ मतमा साथ विजयी हुँदा एमालेकी पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरेकी छन् ।

    उपमेयरमा गठबन्धनबाट  नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन् ।

    उनले ६ हजार ४३४ मतका साथ विजयी भएका हुन् ।

    साँफेबगर नेकपा एमालेका नेता भीम रावलको गृहनगर हो ।

  • सुनकोशी गाउँपालिकाको निर्णय- सुत्केरीलाई १५सय भत्ता, ज्येष्ठ नागरिकलाई घरैमा औषधी

    सुनकोशी गाउँपालिकाको निर्णय- सुत्केरीलाई १५सय भत्ता, ज्येष्ठ नागरिकलाई घरैमा औषधी

    सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरूलाई सुत्केरी खर्च स्वरूप एक हजार पाँच सय उपलब्ध गराउने नीतिगत निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षले पदभारपछि यस्तो निर्णय गरेका हुन् ।

    यस्तै छोरी जन्मिएको हकमा सुत्केरी स्याहारका लागि थप एक हजार रुपैयाँ दिने निर्णय पनि भएको छ । नयाँ आर्थिक वर्षदेखि यो निर्णय कार्यान्वयन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर बस्नेतले जानकारी दिए । जन्म प्रमाणित कागजपत्र उपलब्ध भएपछि उक्त रकम उपलब्ध गराइने बस्नेतले जानकारी दिए ।

    गाउँपालिकाले ७० वर्ष माथिका नियमित औषधी सेवन गर्नुपर्ने दिर्घरोगी, ज्येष्ठ नागरिकहरूलाई चिकित्सकको कागजपत्रको आधारमा घरमै नियमित औषधी उपलब्ध गराउने कार्यक्रम समेत सुरु गर्ने भएको छ ।

    जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारीले जिल्लाका १२ स्थानीय तहका प्रमुखहरूलाई शुक्रवार नै पद तथा गोपनीयताको शपथ गराएका थिए । सुनकोशीबाट निर्वाचित उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई गाउँपालिका अध्यक्ष तिमिल्सिनाले सोमबार पद तथा गोपनीयताको शपथ गराएका थिए ।

    वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने उपाध्यक्ष सहित सबै जनप्रतिनिधिहरूलाई सुनकोशी गाउँपालिकाकी मुख्य निर्वाचन अधिकृत बिन्दा आचार्यले प्रमाण पत्र प्रदान गरेकी थिइन ।

    गाउँपालिका अध्यक्ष तिमिल्सिनाले समृद्ध सुनकोशी निर्माणका लागि सबै पक्षसँग परामर्श गरेर आफू अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । भष्ट्राचारलाई हामी गाउँपालिकामा शून्य बनाउँछौ अध्यक्ष तिमिल्सिनाले भने हामी गाउँमा आय आर्जन र जीविकोपार्जनको कार्यक्रमहरू अगाडि बढाउँछौ ।

    प्रमाण पत्र वितरण कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्रीद्धय अरुण नेपाल,सरेश नेपाल, गाउँपालिकाकी कार्यवाहक अध्यक्ष लक्ष्मी पौडेले लगायतले निर्वाचित जनप्रतिनिधिहरूले पार्टी भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए ।

  • ७३४ पालिकाको नतिजा सार्वजनिक- प्रमुख र उपप्रमुखमा कुन दलको कति सिट ? (सूचीसहित)

    ७३४ पालिकाको नतिजा सार्वजनिक- प्रमुख र उपप्रमुखमा कुन दलको कति सिट ? (सूचीसहित)

    काठमाडौं । मुलुकभरका ७५३ स्थानीय तहमध्ये सोमवार साँझ  साढे ७ बजेसम्म ७३४ पालिकाको मतगणना सकिँदा नेपाली कांग्रेस ३२२ पालिकाको प्रमुख जितेर पहिलो पार्टी बनेको छ ।

    नेकपा एमालेले २ सय स्थानीय तहको प्रमुख जितेर दोस्रो स्थानमा रहँदा माओवादी केन्द्र १२० स्थान जितेर तेस्रो स्थानमा छ । जनता समाजवादी पार्टीले २९ पालिकाका प्रमुख जितेर चौथो स्थानमा रहँदा नेकपा एकीकृत समाजवादीले १८ पालिका प्रमुख जितेर पाँचौँ स्थान कायम गरेको छ ।

    लोकतान्त्रिक समाजवादी पार्टीले १५ पालिका प्रमुख जितेर छैटौँ स्थान कायम गर्दा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले चार-चार पालिका प्रमुख जितेका छन् । जनमत पार्टीले २ पालिका र नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले पनि एक-एक पालिका प्रमुख जितेर अस्तित्व कायम गरेका छन् ।

    उपप्रमुखतर्फ कांग्रेस र एमालेबीच ६५ सिटको फरक छ । कांग्रेसबाट २९५ जना उपप्रमुख जित्दा एमालेका २३० जनाले जितेका छन् । त्यस्तै माओवादी केन्द्रका १२५, जसपाका ३० र नेकपा एसका २२ जनाले उपप्रमुख जितेका छन् ।

    त्यस्तै लोसपाका ११ जना र राप्रपाका ३ जनाले उपप्रमुख जित्दा नागरिक उन्मुक्ति पार्टीका पनि ४ जनाले उपप्रमुख जितेका छन् । अब प्रदेश १ मा झापाको मेचीनगर नगरपालिकाको परिणाम आउन बाँकी छ । त्यहाँ नेकपा एमालेको जित निश्चित छ । त्यस्तै उदयपुरको कटारी र त्रियुगा नगरपालिकाको पनि परिणाम आउन बाँकी छ ।

    त्यस्तै मधेस प्रदेश अन्तर्गत सिरहाको गोलबजारसहित रौतहट र बाराका केही स्थानीय तहको गणना जारी छ । बाराको पचरौता गाउँपालिकामा पनि गणना जारी छ ।

    वीरगन्ज, भरतपुर, काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकाको मतगणना जारी रहँदा काठमाडौंबाहेक अन्यत्र गठबन्धनको जित निश्चित छ । त्यस्तै जनकपुरमा स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित भएको छ ।

    लुम्बिनीमा तुलसीपुर उपमहानगरपालिका एमालेले जित्ने देखिएको छ भने तिलोत्तमासहित रुपन्देहीका तीन पालिकाको गणना जारी छ । सुदूरपश्चिममा अब बाजुराको बुढीगंगामा पुनः मतदान वा मतगणनाको निर्णय बाँकी छ ।

  • काठमाडौं-२६ मा कांग्रेसको प्यानल नै विजयी

    काठमाडौं-२६ मा कांग्रेसको प्यानल नै विजयी

    काठमाडौं । काठमाडौं महानगरको मतगणना जारी रहेको छ ।

    महानगरको वडा नम्बर २६ को अध्यक्षमा कांग्रेसका खेमराज तिवारी प्यानलसहित विजयी भएका छन् । उनले ३६२८ मत पाए । एमालेका तीर्थकाजी डंगोलले २६४० मत पाए ।

    मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले २४४१ मत पाउँदा कांग्रेसकी सिर्जना सिंहले १५७० मत पाइन् । यस्तै एमालेका केशव स्थापितले १४६० मत पाए ।

  • प्रभु साहको क्षेत्रमा दोस्रो जितसँगै एमालेले कटायो २ सय सिट, भूमिहीन प्रेमलाल बने देवाही गोनाहीको मेयर

    प्रभु साहको क्षेत्रमा दोस्रो जितसँगै एमालेले कटायो २ सय सिट, भूमिहीन प्रेमलाल बने देवाही गोनाहीको मेयर

    गौर । रौतहटको देवाही गोनाही नगरपालिका जितेर नेकपा एमालेले स्थानीय तह निर्वाचनको प्रमुख पद जितेका आधारमा २ सयको संख्या पार गरेको छ । कांग्रेसले ३ सय कटाउँदा एमाले २ सय पुग्न सकेको थिएन ।

    एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री प्रभु साहको निर्वाचन क्षेत्रमा पर्ने देवाही गोनाही नगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै प्रेमलाल साह मेयमा निर्वाचित भएका छन् ।

    गठबन्धनको अगुवाई गरेका जनता समाजवादी पार्टी नेपालका उम्मेदवार मधुलिका पटेललाई साहले ४९५ मतले पराजित गरेका हुन् । अन्तिम मतपरिणाम अनुसार साहले ४ हजार २९२ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी जसपाकि पटेलले ३ हजार ३९७ मत मत पाएका हुन् ।

    नवनिर्वाचित साह भुमिहिन गरिब परिवारका सदस्य हुन् । समाजमा लोकप्रियता कमाएका एवम् सादा जीवन बिताउने प्रेमलाल साहलाई जिताउन प्रभु साह सफल भएका हुन् ।

    त्यस्तै उपमेयरमा पनि नेकपा एमालेकी उम्मेदवार परनिया देवी पटेल निर्वाचित भएकी हुन् । निवर्तमान उपमेयर समेत रहेकी पटेलले गठबन्धनको उम्मेदवार इश्वरीलाल यादवलाई८६५मतले पराजित गरेकी हुन । ४ हजार ४४५ मत पाउँदा यादव ३ हजार ५८० मतमा सीमीत भएका हुन् ।

    यस अघि प्रभु साहको गृहनगरमा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले एमालेकी रीना साहले पराजित गरेकी थिइन् । मेयर साहको प्यानलमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र राय यादव पनि विजयी भएका थिए । मौलापुरको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।

  • आफ्नो वडामा बालेनलाई ओइरियो भोट, वडाध्यक्षमा कांग्रेस विजयी

    आफ्नो वडामा बालेनलाई ओइरियो भोट, वडाध्यक्षमा कांग्रेस विजयी

    काठमाडौं । काठमाडौंका वडाहरूमा नेपाली कांग्रेसले आफ्नो विजययात्रा जारी राखेको छ । भर्खरै सकिएको वडा नम्बर ९ मा पनि कांग्रेस उम्मेदवार वडाध्यक्षमा विजयी भए ।

    कांग्रेसका रामकृष्ण श्रेष्ठले २७९० मत ल्याएर वडाध्यक्ष निर्वाचित हुँदा एमालेका रामजी भण्डारीले २२९८ मत ल्याए । सदस्यहरुमा भने एमाले उम्मेदवार विजयी भएका छन् ।

    योसहित कांग्रेसले काठमाडौंका १२ वटा वडा आफ्नो पोल्टामा पारेको छ । एमाले भने ७ वटा वडामा रोकिएको छ ।

    वडा नम्बर ९ मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मतदाता नामावली भएको वडा हो । यस वडामा उनले भारी मत ल्याएका छन् ।

    बालेनको ३३१८ भोट आउँदा मुख्य प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले १३८२ भोट ल्याएकी छन् । यस्तै एमाले उम्मेदवार केशव स्थापितको ११२० मत आएको छ ।

  • बुटवलका मेयरको पहिलो निर्णय– भूमिहीनलाई लालपुर्जा

    बुटवलका मेयरको पहिलो निर्णय– भूमिहीनलाई लालपुर्जा

    रुपन्देही । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने पहिलो निर्णय गरेका छन् ।

    सोमबार पदस्थापन गरेका उनीहरुले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने र बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

    बुटवलमा लामो समयदेखि भूमिहीनलाई लालपुर्जा दिने दलहरुको चुनावी प्रतिबद्धता चलिरहेको छ । नवनिर्वाचित मेयर खेलराज पाण्डे र उपमेयर सावित्रादेवी अर्यालले एकैसाथ पदभार ग्रहण गर्दै अलग–अलग निर्णयमा हस्ताक्षर गरेका हुन् ।

    मेयर पाण्डेले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जतिसक्दो छिटो लालपुर्जा उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गर्दा उपमेयर अर्यालले उपभोग्य वस्तुको गुणस्तर तथा मूल्यवृद्धिलाई नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्ने र त्यसलाई प्रभावकारी बनाइने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

    बुटवलको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका पाण्डेले एमालेका बाबुराम भट्टराई पराजित गरेका थिए । पाण्डेले ३० हजार १३० मत पाउँदा भट्टराईले २२ हजार ५९७ मत ल्याए । त्यस्तै उपमेयरमा एमालेकी सावित्रादेवी अर्यालले गठबन्धनबाट एकीकृत समाजवादीका चीनबहादुर गुरुङलाई पराजित गरेकी थिइन् । अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरुङले १६ हजार ९८० मत पाएका थिए ।

    सोमबार मेयर र उपमेयरसँगै वडा अध्यक्ष तथा सदस्यहरुले सपथग्रहण र पदभार सम्हालेका छन् । यसअघि मेयर पाण्डेलाई जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले भैरहवामा सपथग्रहण गराएको थियो । उपमेयर र अन्य जनप्रतिनिधिहरुलाई भने मेयर पाण्डेले सपथ ग्रहण गराएका थिए ।

    पदभार ग्रहणपछि मेयर पाण्डेले अन्य राजनैतिक दलहरुको सुझाव र सल्लाहलाई लिएर जनताको मन जित्ने गरी बुटवलको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । पाण्डेले निर्वाचनको समयमा मतदाताको घरदैलोमा जाँदा गरेका बाचा र योजनाहरु आफ्ना प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै बुटवलको प्रमुख समस्याको रुपमा रहेको भूमिहीन सुकुम्बासीहरुको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाईसहित शुभकामना दिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, एमालेका पोलिटव्युरो सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य लीला गिरी, निवर्तमान मेयर शिवराज सुवेदीलगायतले प्राप्त अभिमतलाई उचित कदर गरी जनताको आशाबमोजिम काम गर्न आग्रह गरेका थिए ।

  • रौतहटको वृन्दावन नगरपालिकामा नेकपा एसको विजय, कुर्मी बने मेयर

    रौतहटको वृन्दावन नगरपालिकामा नेकपा एसको विजय, कुर्मी बने मेयर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा सो पार्टीले तेस्रो नगरपालिकामा जित निकालेको छ ।

    वृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एसका उम्मेदवार विजयी भएका छन् ।

    मेयरमा नेकपा एसका उम्मेदवार विनोद प्रसाद कुर्मी ६,११२ मत ल्याई विजयी भएका छन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार रामस्नेही राय यादवलाई १,४३४ मतान्तरले पराजित गरेका हुन् ।

    पराजित रामस्नेही राय यादवले ४,६७८ मत ल्याएका छन् ।

    यस्तै पनि सोही पार्टीकी उम्मेदवार संगीता कुमारी राम ५,७७२ मत सहित विजयी भएकी छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सैवुन खातुनले ४,६८८ मत ल्याएकी छन् ।

    यसअघि नेकपा एसले गौर नगरपालिका र राजदेवी नगरपालिकामा जित हासिल गरिसकेको छ ।

  • बालेनको वडामा लौरोलाई दोब्बरभन्दा बढीको अग्रता

    बालेनको वडामा लौरोलाई दोब्बरभन्दा बढीको अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ मा स्वतन्त्र उम्मेदवार बालेन साह अन्य प्रतिस्पर्धीभन्दा निकै अगाडि देखिएका छन् । यो बालेनकै मतदाता नामावली भएको वडा हो ।

    बालेनको घर काठमाडौं–९ गैरीगाउँमा रहेको छ । हालसम्म वडा नम्बर ९ को ७ हजार ४६९ वटा मतगणना भइसकेको छ । प्राप्त विवरणअनुसार बालेनले ३३१८ मत ल्याएर लिड गरिरहेका छन् ।

    दोस्रोमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहको १३८२ भोट आएको छ । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले यस वडाबाट ११२० भोट ल्याएका छन् ।

    यो वडाको मतगणना सकिन लागेको छ । हालसम्म काठमाडौंका २० वडाको मतगणना सकिँदा बालेन अन्य प्रतिस्पर्धीहरुभन्दा १८ हजार बढी मतले अगाडि छन् । उनको जित लगभग निश्चित देखिएको छ ।

  • धरान र काठमाडौंको लौरोबारे महतको टिप्पणी- यो ओलीविरुद्धको मत हो, घानमा कांग्रेस पर्‍यो (भिडिओ)

    धरान र काठमाडौंको लौरोबारे महतको टिप्पणी- यो ओलीविरुद्धको मत हो, घानमा कांग्रेस पर्‍यो (भिडिओ)

    काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले काठमाडौं महानगरसहित धरान, धनगढी, जनकपुरलगायतका ठूला सहरमा स्वतन्त्र उम्मेदवारहरूले पाएको मत एमाले र केपी ओलीविरुद्धको अभिमत भएको दाबी गरेको छ ।

    केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले धरानमा कांग्रेसले राम्रो उम्मेदवार उठाउँदा उठाउँदै पनि मतदाताले के के न हुन्छ भनेर स्वतन्त्रलाई जिताएको बताए । उनले मुलभूतरूपमा काठमाडौं, धरानलगायतका ठाउँमा आएको स्वतन्त्रको लहर कांग्रेसविरुद्ध नभएर ओलीविरुद्धको अभिव्यक्ति रहेको दाबी गरे ।

    उनले भने, ‘यो केपी ओली र एमालेविरुद्धको अभिव्यक्ति हो । त्यसको घानमा नेपाली कांग्रेस पनि परेको छ । ओलीले पूरा कार्यकाल काम गर्न सकेनन्, देशमा स्थायित्व हुन सकेन । जनताले त्यसविरुद्ध अभिव्यक्ति दिएका हुन्, हामी पनि त्यसको घानमा परेका हौं ।’

    डा. महतले स्वतन्त्र उम्मेदवारले जित्दैमा वा उनीहरूले मत ल्याउँदैमा कांग्रेस असफल भयो र दलहरू असफल भए भन्न नमिल्ने समेत बताए ।

  • काठमाडौं-१० मा कांग्रेसको प्यानल नै विजयी

    काठमाडौं-१० मा कांग्रेसको प्यानल नै विजयी

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० नेपाली कांग्रेसका प्यानल नै विजयी भएको छ ।

    कांग्रेसबाट निर्वाचित अध्यक्ष रामकुमार केसीले ३४२८ मत ल्याए । यस्तै नेकपा एमालेका अशोक कार्कीले १९२३ मत ल्याए ।

    यो वडामा मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले सबैभन्दा धेरै २७२८ मत ल्याएका छन् । यस्तै कांग्रेसकी सिर्जना सिंहले १७९७ र एमालेका केशव स्थापितले १११७ मत पाए ।

  • विराटनगरका मेयर र उपमेयरद्वारा पदभार ग्रहण

    विराटनगरका मेयर र उपमेयरद्वारा पदभार ग्रहण

    विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर उपमेयरहरुले पदभार ग्रहण गरेका छन् ।

    पदभार ग्रहण गर्दै नवनिर्वाचित प्रमुख नागेश कोइरालाले चुनावी घोषणपत्रअनुसार कर घटाउने आफ्नो पहिलो निर्णय हुने बतताएका छन् ।

    सुकुम्बासी र डुबानको समस्या अन्त्य उल्लेख गर्दै उनले अल्पकालीन रुपमा सुकुम्बासीको तथ्यांक संकलन गरेर बसोबासको प्रवन्ध मिलाउने उनलेले बताए ।

    यस्तै सिंघीया र केशलिया खोलामा तटबन्ध निर्माण गरी करिडोर निर्माण गर्ने घोषण समेत उनले गरेका छन् । महानगरलाई भष्टचारमुक्त नगर बनाउने उनको प्रतिबद्धता छ ।

    यस्तै उपमेयर शिल्पा कार्कीले पनि पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै कार्कीले लैङ्गिक हिसा निवारण कोष बनाउने पहिलो निर्णय गरेकी छन् ।

  • कांग्रेसबाट १२ हजार ४६८ जना जनप्रतिनिधि निर्वाचित

    कांग्रेसबाट १२ हजार ४६८ जना जनप्रतिनिधि निर्वाचित

    काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने १२ हजार ४६८ जना विजयी बनेका छन् ।

    निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरूमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवारले जितेका छन् ।

    पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरू निर्वाचित भएका हुन् ।

    आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए ।

    वैशाख ३० गते भएको निर्वाचनमा हालसम्म देशमा कूल ३४ हजार २६९ जना जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । अब ९५२ जनप्रतिनिधि विजयी भएको घोषणा हुन बाँकी रहेको छ ।

  • पनौतीमा एमाले जनप्रतिनिधिले गरे सपथग्रहण कार्यक्रम बहिष्कार

    पनौतीमा एमाले जनप्रतिनिधिले गरे सपथग्रहण कार्यक्रम बहिष्कार

    काठमाडौं । काभ्रेको पनौती नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित पदाधिकारीले सपथग्रहण बहिष्कार गरेका छन् ।

    एमाले नगर कमिटीले नगरसभामा बहुमत रहेको आफ्नो पार्टीसँग छलफल र सहमति नगरी सपथग्रहण समारोह राखिएको भन्दै आपत्ति जनाएको छ ।

    ‘नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले सपथग्रहण गर्ने सन्दर्भमा उपप्रमुखसहित नगरसभामा बहुमत रहेको पार्टी नेकपा एमालेसँग औपचारिक छलफल र सहमति नगरी कार्यक्रम आयोजना गरेको, उपप्रमुखलाई सपथ ग्रहणको केही समय अघि मात्र आमन्त्रण गरिएको तथा केही वडा अध्यक्षहरुलाई हाल सम्म पनि आमन्त्रण नगरिएको, सपथ ग्रहण समारोहमा वर्तमान संघीय तथा अन्य जनप्रतिनिधिहरुलाई आतिथ्यताको लागि आमन्त्रण नगरी भूतपूर्व जनप्रतिनिधिहरूलाई मात्र आमन्त्रण गरी जनमतलाई उपहास गर्ने तथा निष्पक्ष रही सहमति र सहकार्यको वातावरण बनाउनु पर्नेमा लोकतन्त्रको मर्म र भावनाविपरीत कुनै दल विशेषबाट मात्र निर्देशित हुने आयोजकको कार्यप्रति असहमति जनाउँदै आज ३ बजे आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा सहभागी नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ’, नगर अध्यक्ष सुरेशप्रसाद हुमागाईंको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

    एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले आजै अलग समारोहबीच सपथग्रहण गर्ने हुमागाईंले बताए ।

    एमालेको गढ मानिदै आएको पनौती नगरपालिका मेयरमा यसपटक नेपाली कांग्रेस विजयी भएको छ । उपमेयरसहित ७ वटा वडाध्यक्ष भने एमालेले जितेको छ ।

  • मोरङका १७ वटै स्थानीय तहको प्रतिनिधिले गरे शपथग्रहण

    मोरङका १७ वटै स्थानीय तहको प्रतिनिधिले गरे शपथग्रहण

    विराटनगर । स्थानीय तहमा निर्वाचित मोरङका १७ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षले शपथग्रहण गरेका छन् ।

    विराटनगर महानगरपालिकाको सभा हलमा १७ वटै पालिकाका प्रमुखहरूले शपथग्रहण गरेका हुन् ।

    उनीहरूलाई मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालले शपथग्रहण गराए ।

    शपथ ग्रहणका क्रममा लम्सालले निर्वाचनमा मत विभाजन भए पनि निर्वाचित जनप्रतिनिधि आफ्नो पालिकामा विभाजन नभएर जनतालाई न्यायसङ्गत ढङ्गले सेवा प्रवाह गर्न सुझाव दिए ।

    कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले अहिले ठूलो संख्यामा मत बदर भएकोले मतदाता शिक्षा दिनुपर्नेमा जोड दिएका थिए । पार्टीभन्दा माथि उठेर विकासको काममा जनप्रतिनिधिहरू लागिपर्ने उनले बताए ।

    शपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने कानूनी व्यवस्था छ ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले आजैदेखि जिम्मेवारी सम्हाल्ने छन् ।