Category: स्थानीय निर्वाचन–२०७९

  • यी हुन ९ उपमहानगरपालिकामा एमालेका उम्मेदवार (सूचीसहित)

    यी हुन ९ उपमहानगरपालिकामा एमालेका उम्मेदवार (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको टुंगो लगाएको छ । केही ठाउँबाहेक अन्यको टुंगो लागेको हो ।

    केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरु जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र तोकिएका हुन् ।
    यी हुन् उम्मेदवार

    उपमहानगरपालिका

    धनगढी

    मेयर – रणवहादुर चन्द
    उपमेयर- चन्द्रकला राना थारु

    नेपालगन्ज

    मेयर– पशुपति दयाल मिश्र,
    उपमेयर– शान्ति ढकाल

    तुलसीपुर

    मेयर– टिकाराम खडका,
    उपमेयर– स्यानी चौधरी

    घोराही

    मेयर– नरुलाल चौधी

    उपमेयर- हुमा डिसी

    बुटवल

    मेयर– बाबुराम भट्टराई
    उपमेयर– साबित्रा अर्याल

    हेटौंडा

    मेयर–अनन्त पौडेल
    उपमेयर–सुमित्रा काफ्ले

    धरान

    मेयर– मन्जु भण्डारी
    उपमेयर–पदम लिम्बु

    इटहरी

    मेयर– यामकुमार सुब्बा
    उपमेयर– संगीता चौधरी

    कलैया 

    मेयर- बिनोद शाह

  • मोरङका १२ स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

    मोरङका १२ स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

    विराटनगर । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मोरङका १२ स्थानीय पालिकाहरूमा उम्मेदवार टुंगो लगाएको छ ।

    एमाले मोरङका अनुसार केही पालिकामा पुरानै जनप्रतिनिधि दोहरिएका छन् भने केहीमा नयाँ अनुहारले प्रवेश पाएका छन् ।

    एमालेले कटहरी गाउँपालिकाको अध्यक्षमा सुवास सरदार र उपाध्यक्षमा सीता राजवंशी, ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र गुणावती धामी, बुढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा विष्ट, लेटाङ नगरपालिकाको मेयरमा भुपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला, बेलबारीको मेयरमा ज्ञानेन्द्र सुवेदी, केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङछिनको नाम टुङ्ग्याएको छ ।

    उर्लाबारी नगरपालिकाको मेयरमा गंगा खरेल र उपमेयरमा मिना पौडेलको नाम टुङ्ग्याएको छ ।

    सुनवर्षी नगरपालिकाको प्रमुखमा श्याम गनगाई र उपप्रमुखमा मीराकुमारी दासको नाम टुङ्ग्याइएको छ ।

    यस्तै रतुवामाई नगरपालिकाको प्रमुखमा दुर्गा विष्ट, उपप्रमुख दमयन्ता चुँडाल, रंगेली नगरपालिकाको प्रमुखमा दीलिप अग्रवाल र उपप्रमुखमा भूमा पराजुली निरौलाको नाम टुंगो लगाइएको छ ।

    यस्तै धनपालथान गाउँपालिकाको अध्यक्षमा मसहरु मण्डल, जहदा गाउँपालिकाको उपाध्यक्षमा अनिता सोरेनको टुंगो लागेको छ ।रंगेली नगरपालिकाको प्रमुखमा दीलिप अग्रवाल, लेटाङ नगरपालिका र बेलबारीको मेयरमा ज्ञानेन्द्र सुवेदी दोहरिएका छन् ।

    रंगेलीका मेयर अग्रवाल हालै मात्र माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए ।

    एमाले मोरङका अध्यक्ष ऋषि केश पोखरेलले आइतबार र सोमबार उम्मेदवारी दर्ता हुने भएकाले बाँकी पालिकाका प्रमुख र उपप्रमुखको नाम आइतबार बिहान सम्म टुङ्ग्याउने बताए ।

    कुल १७ स्थानीय तह रहेको मोरङमा विराटनगर महानगरपालिकासहित पथरी शनिश्चरे,सुन्दरहरैचा नगरपालिका सहित कानेपोखरी र मिक्लाजुङ्ग् गाउँपालिकाको प्रमुख र उपप्रमुखको नाम टुंग्याउन बाँकी छ ।

    २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले मोरङमा ५ वटा पालिकाको प्रमुख÷अध्यक्ष जितेको थियो । भने ५ वटा पालिकाको उपप्रमुख र उपाध्यक्षमा विजयी भएको थियो ।

  • पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ

    पोखराको मेयरमा एमालेबाट दीपक पौडेल, उपमेयर मञ्जु गुरुङ

    काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उम्मेदवार बनाएको छ ।

    केन्द्रीय सचिवालयको आज बसेको बैठकले यो निर्णय गरेको हो ।

  • एमाले बैठक– काठमाडौंको मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल

    एमाले बैठक– काठमाडौंको मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल

    काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    यो पनि पढ्नुहोस्- अहिले एमालेमा हल्लाखल्ला चल्दैन, टिकट दिए जित्छु, नदिए जिताउन हिँड्छु

    यस्तै एमालेले काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाएको छ ।

    पूर्व मिस नेवा डंगोलले  यसअघि स्वतन्त्रबाट मेयरमा लड्ने घोषणा गरेकी थिइन् ।

    यो पनि पढ्नुहाेस्- पूर्वमिस नेवाः सुनिताको घोषणा- काठमाडौंको मेयरमा उठ्छु, मसँग सहर विकास गर्ने योजना छन्

     

  • कैलालीमा गठबन्धन : ‘सहमतिको खाकामा’ सहमति हुन सकेन, हस्ताक्षर नगरी निस्किए तीनै दल

    कैलालीमा गठबन्धन : ‘सहमतिको खाकामा’ सहमति हुन सकेन, हस्ताक्षर नगरी निस्किए तीनै दल

    कैलाली । कैलालीमा तालमेललाई अन्तिम रूप दिन बसेको सत्ता गठबन्धनमा रहेका दलहरूको बैठकले आज पनि सहमति जुटाउन सकेन ।

    सहमतिको अन्तिम खाकामा माओवादी र एकीकृत समाजवादीले असहमति जनाएपछि आज सहमति जुट्न नसकेको हो ।

    नेपाली कांग्रेसले कैलालीका १३ स्थानीय तह मध्ये आफूले उपमहानगरपालिका सहित सात पालिकामा प्रमुख पाउने, माओवादी केन्द्रले चार पालिकामा प्रमुख पाउने र एकीकृत समाजवादीले दुई पालिकामा प्रमुख पाउने गरी खाका प्रस्तुत गरेको थियो ।

    तर, उक्त खाकामा माओवादी केन्द्र र एकीकृत साजवादीले असहमति जनाएपछि सहमति हुन नसकेको हो ।

    कैलालीमा १३ स्थानीय तह मध्ये अघिल्लो स्थानीय तहमा कांग्रेसले चार पालिका र माओवादी केन्द्र २ पालिकामा विजयी भएको थियो ।

    शनिवार नेपाली कांग्रेसले कांग्रेसले जितेको पालिका बाहेक तीन पालिका र माओवादीले जितेका पालिका बाहेक २ पालिका दिने र एकीकृत समाजवादीलाई दुई पालिका दिने गरी खाका प्रस्तुत गरेको थियो ।

    तर, माओवादी र एकीकृत समाजवादीले आफूहरूको भाग कम भएको भन्दै असहमति जनाए पनि आजको बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

    ‘हामीले भन्दा कांग्रेसले झन्डै आधा बढी राख्ने गरी खाका प्रस्तुत भएको थियो’ माओवादी कैलालीका इन्चार्ज हरि ज्ञवालीले भने ‘हामीले त्यो खाका मान्ने कुरै भएन ।’

    माओवादीले अन्तिममा पाँच स्थानीय तह सम्ममा समझदारी गर्न सक्ने उनले व्यक्त गरे । ‘हामी पाँच सम्ममा समझदारी गर्न सक्ने कुरा हुन सक्छ । तर, चारमा हामी मान्दै मान्दैनौँ’ उनले भने ‘ हाम्रा लागि चार पालिकामा सीमित हुनु भन्दा मित्रवत् प्रतिस्पर्धा गर्न उपयुक्त छ ।’

    धनगढी उपमहानगरपालिका सहित टिकापुर लम्की चुहा, गोदावरी,बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली कांग्रेसले राख्ने र गौरीगङ्गा नगरपालिका ,भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका माओवादी केन्द्र लाई दिने गरी खाका प्रस्तुत गरेको थियो ।

    घोडाघोडी नगरपालिका र चुरे गाउँपालिमा सीमित गर्न खोजिएको भन्दै एकीकृत समाजवादीले पनि असहमति जनाएको थियो ।

    ‘हामीलाई कम्तीमा तीन पालिका चाहिन्छ’ वार्तामा बसेका एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सचिव दिनेशराज सुबेदीले भने ‘हाम्रो माग चार पालिका हो । सहमतिका लागि हामी तीन पालिका सम्ममा चित्त बुझाउन सक्छौँ । ’

    उनले कांग्रेस र माओवादीले पहिल्यै प्रारम्भिक खाका बनाएर एकीकृत समाजवादीलाई पेल्ने ढङ्गबाट प्रस्तुत भएको आरोप लगाए ।

    शनिवार कैलालीको विषयमा छलफल टुङ्गो नलागेपछि आइतबार पुनः निर्णायक छलफल गर्ने भनिएको छ ।

  • डोटीका नौ स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

    डोटीका नौ स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

    डोटी । नेकपा एमालेले डोटीका नौ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

    यसअघि पाँच वटा पालिकामा टुंगो लगाएको एमालेले शनिवार थप चारमा पनि निर्णय गरेको हो ।

    यसअघि नै जोरायलमा दुर्गा ओझा, सायलमा तेजबहादुर डुम्रेल, बोगटान फुड्सिलमा हस्त बहादुर बुढा, केआइसिंहमा तेज बहादुर माझी र आदर्श गाउँपालिकामा डम्बर ओलीको नाम टुंगो लागिसकेको थियो । ओली गाउँमा नै मतदानबाट उम्मेदवार चुनिएका थिए ।

    बाँकी रहेको चार पालिकामा प्रदेश समितिले आज टुंगो लगाएको हो । प्रदेश समितिले बडीकेदार गाउँपालिकामा चक्रबहादुर घर्तीमगर, शिखर नगरपालिकामा भीमबहादुर बलायर, दिपायल सिलगढी नगरपालिकामा लक्ष्मण मलासी र पूर्विचौकीमा कृष्णबहादुर खड्कालाई उम्मेदवार बनाएको स्रोतले बतायो ।

    अहिलेसम्म आधिकारिक घोषणा भने भएको छैन ।

  • मेयरमा उठ्न नपाउने भएपछि यादवले छाडे जसपा

    मेयरमा उठ्न नपाउने भएपछि यादवले छाडे जसपा

    विराटनगर । विराटनगर महानगरपालिको मेयरका आकांक्षी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन् ।

    गठबन्धनमा भएको सहमतिअनुसार मेयर नेपाली कांग्रेसको भागमा परेपछि उनले राजीनामा दिएका हुन् । पार्टीबाट टिकट नपाउने भएपछि असन्तुष्ट बनेका यादवले आज पत्रकार सम्मेलन गर्दै परित्यागको घोषणा गरेका हुन् ।

    महानगरको उपमेयर जसपाको भागमा परेको छ ।

    पत्रकार सम्मेलनमा उनले भने, ‘मेयरमा जसपा एक्लै लड्दा पनि जित्ने अवस्थामा गठबन्धन आवश्यक थिएन । कार्यकर्ताको भावना विपरीत गरिएको निर्णय मलाई स्वीकार्य नभएकाले पार्टी परित्याग गरेका हुँ ।’

    उनले निर्वाचनमा आफू स्वतन्त्र हैसियतमा मेयरमा लड्ने बताए ।

    गएको २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए ।

    सो निर्वाचनमा पराजुलीले २३ हजार ३१ मत ल्याएका थिए । एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए ।

    गत चुनावमा एमालेले विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग तालमेल गरेको थियो ।

    उपमेयरमा लोकतान्त्रिक फोरमकी चौधरीलाई एमालेले समर्थन गरेको थियो ।

    विराटनगरमा १९ वडा छन् । अहिले १९ हजार ३८१ नयाँ मतदाता थपिएका छन् ।

    निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्क अनुसार विराटनगरमा मात्रै एक लाख ३३ हजार १४२ मतदाता छन् । २०७४ सालमा एक लाख १३ हजार ७६१ मतदाता थिए ।

    ०७४ सालको निर्वाचनमा एमाले र माओवादीको २४ हजार २१९ मत थियो । कांग्रेस र राप्रपाको २६ हजार १५१ थियो । यस्तै, जसपाको १० हजार ९३२ थियो ।

  • माओवादीले छान्यो वीरेन्द्रनगरमा मेयरको उम्मेदवार

    माओवादीले छान्यो वीरेन्द्रनगरमा मेयरको उम्मेदवार

    सुर्खेत । नेकपा माओवादी केन्द्रले सुर्खेतको वीरेन्द्रनगरमा मेयरको उम्मेदवार टुंगो लगाएको छ ।

    शनिवार नेकपा माओवादी केन्द्र सुर्खेतले वीरेन्द्रनगर नगरप्रमुखका लागि राजेन्द्र गिरीलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो ।

    गठबन्धनमा सहमति जुट्ने सम्भावना नभएपछि माओवादीले एक्लै चुनावमा भिड्ने निर्णय गरेको हो । यद्यपि उपप्रमुखका लागि भने हरिमाया शर्मा, रत्न गाहा मगर, शान्ति ढकाल र गीता तिमिल्सेनाले दाबी गरेका छन् ।

    माअ‍ोवादीले नगरप्रमुख सहित अन्य उम्मेदवारको टुंगो लगाउन प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

  • मेयरमा हारेका भूपबहादुर बने घोराहीमा गठबन्धनको उपमेयर उम्मेदवार

    मेयरमा हारेका भूपबहादुर बने घोराहीमा गठबन्धनको उपमेयर उम्मेदवार

    दाङ । नेपाली कांग्रेसले घोराही उपमहानगरपालिकामा भूपबहादुर डाँगीलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ ।

    मेयर माओवादीको भागमा परेपछि उपमेयर पाएको कांग्रेसले डाँगीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको दाङ काँग्रेसका सभापति शंकर डाँगीले जानकारी दिएका छन् ।

    डाँगी २०७४ को स्थानीय तहको निर्वाचनमा मेयरमा चुनाव लडेर एमालेका नरूलाल चौधरीसँग पराजित भएका थिए ।

    घोराहीमा गठबन्धनका तर्फबाट हेमराज शर्मालाई माओवादीले मेयरको उम्मेदवार बनाएको छ ।

  • झापाका दुई नगरपालिकामा एमालेले उठायो मेयरमा महिला उम्मेदवार

    झापाका दुई नगरपालिकामा एमालेले उठायो मेयरमा महिला उम्मेदवार

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका १५ स्थानीय तहमध्ये मुख्य दुई नगरपालिकामा एमालेले महिलालाई मेयरको उम्मेदवार बनाएको छ ।

    एमालेले दमकको मेयरमा गीता अधिकारी र बिर्तामोडको मेयरमा पवित्रा महतरा प्रसाईँलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले बताए ।

    अधिकारी र महतरा हाल उपमेयर छन् । महिलाको प्रतिनिधित्व बढाउन हालका दुई उपमेयरलाई मेयरमा उम्मेदवार बनाइएको उनले बताए । दमक एमाले अध्यक्ष ओलीको गृह नगर हो ।

    गीता अधिकारी एमाले केन्द्रीय सदस्य समेत हुन् । प्राध्यापन पेसाबाट राजनीतिमा सक्रिय भएकी अधिकारी एमाले बाहिरसमेत लोकप्रिय रहेकाले उनलाई मेयरमा अघि सारिएको बताइएको छ ।

  • उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पुरा (भिडिओ)

    उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पुरा (भिडिओ)

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

    शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पुरा भएको र दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न आग्रह गरेको हो ।

    आयोगले आइतबार र सोमबार स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ । कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएकाले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

    पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्वाचनको तयारी सम्पन्न गरेको र अव उम्मेदवारी, मतदान, मतगणना र नतिजा प्रकाशनतर्फ आयोग उन्मुख रहेको जानकारी दिए ।

    उनले यातायातको सुविधा नभएको ठाउँमा १९ गतेभित्र मतपत्र पठाइसकिने बताए । थपलियाले ७७ जिल्लाका ७७ किसिमका मतपत्र हुने तथा भक्तपुर जिल्लाका चार नगरपालिका र ६ महानगरको मतपत्र १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि छाप्न पठाइने जानकारी दिए ।

    उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बढीमा १५ दिन प्रचारप्रसारको समय दिन सकिने भएपछि सो अवधि घटाउनुपर्ने राय आएकाले ११ दिन दिइने उनले बताए । त्यस्तै उनले एउटा पार्टीबाट चुनाव जितेका व्यक्ति अर्को पार्टीमा गएमा वा पार्टीले कारबाही गरेको पत्र दिएमा १५ दिनमा हटाउने व्यवस्था रहेको उल्लेख गरे ।

    त्यस्तै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने र आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाही गर्ने बताए । उनले उम्मेदवारी दर्ता गर्ने सन्दर्भमा दुई पार्टीको भेट नहुने गरी मिलाउन भनिएको बताए । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ ।

  • गठबन्धनबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा गेहेन्द्र गिरीले पाए टिकट

    गठबन्धनबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा गेहेन्द्र गिरीले पाए टिकट

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लागेको छ । गठबन्धनमा भएको सहमतिअनुसार नेपाली कांग्रेसको भागमा परेकाे तुलसीपुरमा पूर्व सांसद गेहेन्द्र गिरी मेयरका उम्मेदवार बनेका हुन् ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशले गिरीलाई मेयरको उम्मेदवार बनाएको तुलसीपुर पठाइसकेकाे उपमहानगर सभापति सुरेश हमालले जानकारी दिए ।

    गिरी २०५६ सालको मध्यावधि चुनावमा दाङ क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित भएका थिए । उनी यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि तुलसीपुर उपमहानगरपालिकाको मेयरमा चुनाव लडेका थिए । त्यति बेला गिरी एमालेका घनश्याम पाण्डे सँग ४ हजार ६ सय भन्दा बढी मतले पराजित भएका थिए ।

    गिरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् । तुलसीपुर उपमहानगरपालिकामा गिरी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।

    तुलसीपुरमा उपमेयर भने नेकपा समाजवादीलाई भाग परेको छ । समाजवादीले उपमेयरमा जोगबहादुर रानालाई टिकट दिएको छ ।

  • जिल्ला तहमा तालमेल हुन नसकेपछि गठबन्धनका शीर्ष नेता बालुवाटारमा

    जिल्ला तहमा तालमेल हुन नसकेपछि गठबन्धनका शीर्ष नेता बालुवाटारमा

    काठमाडौं । केन्द्रले महानगर र उपमहानगरपालिकाको तालमेल टुंगो लगाए पनि जिल्ला जिल्लामा समस्या आएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।

    नेकपा एसले केन्द्रबाट पालिका भागबण्डा लगाउन दबाब दिइरहेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको छलफल हुन लागेको हो । छलफलमा जानुपर्ने भएकाले नेकपा एसको सचिवालय बैठक रोकेर अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका छन् ।

    धेरैजसो जिल्लामा गठबन्धन नै हुन नसकेको तथा भएका ठाउँमा पनि कांग्रेस र माओवादीमात्र मिलेपछि नेपालले असन्तुष्टी जनाएका छन् ।

  • दैलेख : नारायणनगरको मेयरमा एमालेबाट शर्मा र उपमेयरमा थापा

    दैलेख : नारायणनगरको मेयरमा एमालेबाट शर्मा र उपमेयरमा थापा

    सुर्खेत । दैलेखको नारायण नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ ।

    एमाले कर्णाली प्रदेश कमिटीले मेयरमा लोमन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उपमेयरमा यसअघि नै तप्ता थापा चयन भइसकेकी छन् ।

    मेयरका लागि प्रेम थापाको पनि दावी रहेको थियो ।

    २०७४ सालको निर्वाचनमा नारायण नगरपालिकामा एमालेले जितेको थियो ।

    एमालेबाट निर्वाचित सावित्रा मल्ल अहिले नेकपा एस प्रवेश गरेकी छन । त्यहाँ गठबन्धनबाट कांग्रेसले मेयर पाउने पक्का भएको छ । तर अहिलेसम्म उम्मेदवार टुंगो लाग्न सकेको छैन ।

  • ४ महानगरपालिकामा राप्रपामा उम्मेदवार टुंगिए, वीरगन्जमा पत्रकार गिरिश गिरी

    ४ महानगरपालिकामा राप्रपामा उम्मेदवार टुंगिए, वीरगन्जमा पत्रकार गिरिश गिरी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ वटा महानगरपालिकामध्ये चारवटाको मेयर उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले काठमाडौं महानगरको मेयरमा वरिष्ठ कलाकार मदनदाश श्रेष्ठलाई उम्मेदवार बनाउँदा वीरगन्जमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाएको छ ।

    त्यस्तै ललितपुरमा अष्ट महर्जन, पोखरामा शंकर खराल मेयर पदको उमेदवार तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उपमेयरमा विनिता मगैया काठमाडौं, स्वर्णिमा शाक्य ललितपुर, बिना जयसवाल वीरगन्ज, रञ्जना सेन पोखरा तय भएका छन् ।

    बिरगन्जको मेयरका उम्मेदवार बनेका पत्रकार गिरीका बुबा बरिष्ठ पत्रकार गोपाल गिरी तत्कालीन बिरगन्ज उपमहानगरपालिकाको मेयर थिए । मागजेति चन्दा नदिएको आरोपमा माओवादीले उनको हत्या गरेका थिए ।

    बाँकी २ महानगर भरतपुर र बिराटनगरका उम्मेदवारको टुंगो आजै अबेरसम्म लाग्नेछ ।

  • संखुवासभा : सात पालिकामा मात्रै गठबन्धन, कांग्रेसले पाँच पाउँदा माओवादी र एसलाई एक-एक

    संखुवासभा : सात पालिकामा मात्रै गठबन्धन, कांग्रेसले पाँच पाउँदा माओवादी र एसलाई एक-एक

    काठमाडौं ।  गठबन्धन दलहरू संखुवासभाका सात वटा पालिकामा मात्रै मिलेर जाने भएका छन् ।

    आज भएको सहमति अनुसार सात मध्ये पाँच वटा नेपाली कांग्रेस र एक एक पालिका नेकपा माओवादी केन्द्र ले पाएका छन् ।

    कांग्रेसले सभा पोखरी गाउँपालिका, खाँद बारी नगरपालिका, पाँचखपन नगरपालिका, चैनपुर नगरपालिका र धर्मदेवी नगरपालिकामा प्रमुख लिएको छ ।

    यस्तै एकीकृत समाजवादीले भोटखोला गाउँपालिका र माओवादी केन्द्रले मादी नगरपालिकामा प्रमुख पाएको छ।

    उपप्रमुखमा कांग्रेसको भागमा भोटखोला, मादी नगरपालिका र धर्मदेवी नगरपालिका परेका छन् ।

    यस्तै नेकपा एसको भागमा सभा पोखरी गाउँपालिका र पाँचखपन नगरपालिका परेका छन् । माओवादी केन्द्रले खाँद बारी नगरपालिका र चैनपुर नगरपालिकामा उपप्रमुख पाएको छ ।

    बाँकी रहेका मकालु, चिचिला र सिलिचोङ गाउँपालिकामा एक्ला एक्लै निर्वाचन लड्ने सहमति पनि गठबन्धनको बनेको छ ।

    सहमति भएका पालिकाहरूको हकमा भने वडा सदस्यहरू स्थानीय आवश्यकता अनुसार आपसी सल्लाहमा फेरबदल गर्न सकिने निर्णय पनि भएको छ ।

  • जसपाबाट धनगढी उपमहानगरपालिकाको प्रमुखमा ऐर र उपप्रमुखमा राना थारु

    जसपाबाट धनगढी उपमहानगरपालिकाको प्रमुखमा ऐर र उपप्रमुखमा राना थारु

    कैलाली । जनता समाजवादी पार्टी (जसपा) ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

    केही समय अघि गठबन्धनबाट बाहिरिएको जसपाले धनगढीको मेयरमा कवीन्द्र ऐर र उपमेयरमा नन्दकली राना थारुलाई उम्मेदवार बनाएको छ ।

    शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जसपाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ऐर र राना थारुलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएको हो ।

    सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन हुँदा आफूहरूलाई वास्ता नगरेको भन्दै जसपाले गठबन्धनमा नरहने प्रस्ट पारिसकेको थियो । जसपाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल लोकतान्त्रिक पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्ने निर्णय गरिसकेको छ ।

    अहिले सम्म अन्य तीन दलले कुनै पनि उम्मेदवार सार्वजनिक गरेको छैन ।

  • महानगरको मतपत्र – राष्ट्रिय दलले उम्मेदवारी दिएको पदको मात्र चुनाव चिन्ह रहने

    महानगरको मतपत्र – राष्ट्रिय दलले उम्मेदवारी दिएको पदको मात्र चुनाव चिन्ह रहने

    काठमाडौं । ६ वटा महानगरपालिकामा गठबन्धन दललाई राहत दिनेगरी निर्वाचन आयोगले उम्मेदवार उठेका दलकोमात्र चुनाव चिन्ह राखेर मतपत्र प्रकाशन गर्ने भएको छ ।

    आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश कुमार थपलियाले ६ महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि छापिने जानकारी दिए ।

    राष्ट्रिय मान्यता प्राप्त दलहरुमध्ये जसले जुन पदमा उम्मेदवार दिन्छन् सोह पदको मात्र चुनाव चिन्ह रहने थपलियाले बताए । उदाहरणका लागि भरतपुरको मेयरमा माओवादीकोमात्र चुनाव चिन्ह रहनेछ, कांग्रेस वा नेकपा एसको चुनाव चिन्ह मेयरमा रहने छैन ।

  • वीरेन्द्रनगरकाे मेयरमा एमालेबाट मोहनमाया ढकाल र उपमेयरमा खनाल

    वीरेन्द्रनगरकाे मेयरमा एमालेबाट मोहनमाया ढकाल र उपमेयरमा खनाल

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ ।

    एमालेको दुई दिनसम्म बसेको प्रदेश टिकट समन्वय समिति बैठकले नगरको मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    ढकाल अहिले नगरको उपमेयर हुन् । यस्तै उपमेयरका उम्मेदवार खनाल वडा नम्बर ४ का अध्यक्ष हुन् ।

    नेकपा एमालेको वीरेन्द्रनगर नगरप्रमुख बन्नका लागि एमाले जिल्ला कमिटी अध्यक्ष अमृत बिसी, उपाध्यक्ष कुलमणि देवकोटा, नगर कमिटी अध्यक्ष नीलकण्ठ खनाल, एमाले नेता हरिहरनाथ योगी लगायतको पनि दाबी रहेको थियो ।

  • ओली निवासमा देशभरका उम्मेदवारीबारे परामर्श, सचिवालय बैठक बस्न सकेन

    ओली निवासमा देशभरका उम्मेदवारीबारे परामर्श, सचिवालय बैठक बस्न सकेन

    काठमाडौं । विभिन्न प्रदेशबाट आएका सिफारिस र उम्मेदवारका आकांक्षीहरुको छलफलमा अध्यक्ष केपी शर्मा ओली व्यस्त रहेका कारण नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्न सकेको छैन ।

    अपराह्न ३ बजे बैठक बोलाइए पनि उम्मेदवारी मनोनयनको पूर्व सन्ध्यामा विभिन्न ठाउँमा उम्मेदवार चयनको सकस परेकाले सम्बन्धित नेताहरूसँग अध्यक्ष ओलीसहित शीर्ष नेताको छलफल चलिरहेको छ ।

    बैठक केहीबेरमा शुरु हुने सचिव रघुवीर महासेठले जानकारी दिए ।

    एमाले सचिवालय बैठकले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरहरूको टुंगो लगाउँदै छ ।

  • नेपालगन्जमा माओवादी गठबन्धनबाट बाहिरियो

    नेपालगन्जमा माओवादी गठबन्धनबाट बाहिरियो

    दाङ । नेकपा माओवादी केन्द्र बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा एक्लै चुनावी मैदानमा जाने भएको छ ।

    माओवादीका नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाहीले आज विज्ञप्ति जारी गर्दै काँग्रेस, जसपा, जनमोर्चा र समाजवादी पार्टी गठबन्धनको मर्म विपरीत गएकाले माओवादी प्रमुख र उपप्रमुख सहित १९ वटै वडामा एक्लै चुनाव लड्ने जानकारी दिएका छन् ।

    ‘प्रमुख र उपप्रमुखमा मात्रै गठबन्धन गर्ने र वडामा एक्ला एक्लै चुनाव लड्ने बताएपछि हामीले गठबन्धन तोड्ने निर्णय गरेका हौँ,’ अध्यक्ष शाहीले भने ‘हामी नेपालगन्जमा गठबन्धनबाट बाहिरियौँ ।’

    नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसले प्रमुख र जसपाले उपप्रमुख लगेर चुनावमा जाने सहमति भएको छ ।

    बाँकी चार दल प्रमुख र उपप्रमुखमा गठबन्धन गरे पनि वडा स्तरमा गठबन्धनबिच कुरा नमिल्दा वडामा एक्ला एक्लै चुनाव लड्ने तयारी गरेका छन् ।

  • राप्रपालाई हराउन झापाको कचनकवलमा कांग्रेस-एमाले गठबन्धन

    राप्रपालाई हराउन झापाको कचनकवलमा कांग्रेस-एमाले गठबन्धन

    झापा । केन्द्रमा भएको सहमति विपरीत झापामा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ ।

    सत्तारुढ पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत कांग्रेस एमालेसँग मिलेर झापाको कचनकवलमा चुनाव लड्न तयार भएको हो ।

    राप्रपाको बलियो उपस्थिति रहेको सो गाउँपालिकामा पालिका अध्यक्ष आफू राखेर उपाध्यक्ष एमालेलाई दिने गरी सहमति भइसकेको छ ।

    अध्यक्षमा कांग्रेसका कालेन्द्र राजबंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उम्मेदवार बन्ने भएका छन् । राजवंशी २०७४ सालको निर्वाचनमा राप्रपाका अञ्जार आलमसँग पराजित भएका थिए ।

    अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा अध्यक्ष र सदस्य जितेका थियो ।

    राप्रपाले भने बहालवाला गाउँपालिका अध्यक्ष आलम र उपाध्यक्ष निमसरी राजवंशीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    यो राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्र हो ।

  • कैलालीमा गठबन्धनको सहमति : ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई

    कैलालीमा गठबन्धनको सहमति : ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई

    कैलाली । आगामी स्थानीय तहको निर्वाचनको लागि कैलालीमा तीन दलीय तालमेल हुने भएको छ । आज भएको छलफलमा कैलालीका १३ पालिका मध्ये प्रमुखमा ७ पालि कांग्रेसले पाउने भएको छ ।

    धनगढी उपमहानगरपालिकाको प्रमुख कांग्रेसले पाउने भएको छ । त्यस्तै टिकापुर, लम्कीचुहा, गोदावरी, बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली कांग्रेसले पाउने भएको छ ।

    गौरीगङ्गा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाउने सहमति भएको छ । त्यस्तै प्रमुखमा घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको छ ।

    यस अघिको स्थानीय तहमा एमालेले जितेका ७ पालिका भागबन्डा गरिएको । कांग्रेसले अघिल्लो स्थानीय तहको निर्वाचनमा ४ पालिका जितेको थियो ।

    माओवादी २ पालिका जितेको थियो । त्यो जितेको पालिका बाहेक कांग्रेस अब थप ३ पालिका र माओवादीले थप २ पालिका पाउने भएको छ ।

    कैलालीमा एकीकृत समाजवादीका कोही पनि प्रमुख थिएनन् । एकीकृत समाजवादीले भने २ पालिका पाउने भएको छ ।

    यसमा माओवादीले असहमति जनाएको छ । माओवादीले असहमति जनाएपछि हस्ताक्षर हुन सकेको छैन।

  • बुटवलमा ११ नगर सदस्य लिएर जनमुक्ति पार्टीले एमालेलाई ८६ पदमा मतदान गर्ने

    बुटवलमा ११ नगर सदस्य लिएर जनमुक्ति पार्टीले एमालेलाई ८६ पदमा मतदान गर्ने

    बुटवल । नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच बुटवल उपमहानगरपालिकाको निर्वाचनमा सहकार्य हुने भएको छ ।

    बुटवल र तिलोत्तमा नगरपालिकामा चौथो शक्तिका रूपमा जनमुक्तिसँग यसअघिको चुनावमा कांग्रेसले तालमेल गरेको थियो ।

    यस पटक एमालेलाई जनमुक्तिले बुटवलको मेयर,उपमेयर र सबै वडाध्यक्षसहित ८५ पदमा मतदान गर्ने भएको छ ।

    एमालेले जनमुक्ति पार्टीलाई ११ जना वडा सदस्य पद दिने भएको छ ।

    एमालेका उपमहानगरपालिका कमिटी अध्यक्ष किसन ज्ञवाली र जनमुक्तिका अध्यक्ष भेकबहादुर सारू मगरले सहमतिमा हस्ताक्षर गरेका छन् ।

  • रामकुमारी झाँक्रीकै गृहजिल्लामा नेकपा एसले पाएन गठबन्धनबाट भाग

    रामकुमारी झाँक्रीकै गृहजिल्लामा नेकपा एसले पाएन गठबन्धनबाट भाग

    रुपन्देही । १२ पालिका रहेको गुल्मीमा नेपाली कांग्रेस र नेकपा माओवादीलाई भागवण्डा मिलाउँदा नेकपा एस, जसपा तथा राष्ट्रिय जनमोर्चालाई भागवण्डा नमिलेपछि असन्तुष्ट बनेका छन् ।

    सत्तारुढ पाँच दलीय गठबन्धनले गुल्मीका अधिकांश स्थानीय तहका अध्यक्ष तथा प्रमुखका उम्मेदवार टुंग्याएपनि गठबन्धनमा रहेका तीन दललाई भाग नपुगेपछि असन्तुष्ट बनेका हुन् ।

    धुर्कोट गाउँपालिकामा कांग्रेस माओवादी दुवै दलको दाबी रहेको कारण उम्मेदवार टुंग्याउन ढिलाइ भएकोमा अन्ततः माओवादी कांग्रेसलाई छाड्न सहमत भएको छ ।

    यो सँगै माओवादीले अन्य चार स्थानीय तहमा आफ्ना उम्मेदवार अघि सार्दै छ ।

    मालिका गाउँपालिकामा देवीराम अर्याल र रुरु गाउँपालिकाको अध्यक्षमा यदु ज्ञवालीको नाम माओवादीले टुंग्याइसकेको छ ।

    त्यस्तै चन्द्रकोट गाउँपालिकामा पनि माओवादीले आफ्नो उम्मेदवार अघि सार्दै छ ।

    कांग्रेसले धुर्कोट नदिएर मदाने गाउँपालिकाको नेतृत्वका माओवादीलाई दिएको जनाएको छ । मदानेमा माओवादीको तर्फबाट बुद्धि जिसी र बेगम चन्दको दाबी छ ।

    अहिले माओवादीको भागमा परेका चार पालिकामा अघिल्लो पटक नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।

    धुर्कोटमा अहिले पालिका प्रमुख माओवादीका भूपाल पोखरेल रहेकाले पनि यहाँ माओवादीले दाबी गरिरहेको छ तर कांग्रेसले अघिल्लो पटक नै माओवादी र कांग्रेसको गठबन्धन हुँदा कांग्रेसलाई दिने सहमति भएकाले कुनै हालतमा नछाड्ने नेता महेन्द्र भण्डारीले बताएका छन् ।

    उनलाई यहाँबाट कांग्रेसले सर्वसम्मत पालिका अध्यक्षका रूपमा अगाडि सारेको छ ।

    नेकपा एसका सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृह जिल्ला भएकाले पनि नेकपा एसले यहाँबाट एक स्थानमा आफ्नो उपस्थिति खोजेको थियो भने अघिल्लो पटक उपप्रमुख जितेको जनमोर्चाले पनि दाव गरेको थियो ।

    जसपाले १२ पालिका रहेका जिल्लामा आफ्नो उपस्थिति नै नभए गठबन्धनको अर्थ नहुने भनदे असन्तुष्टि व्यक्त गर्दै आएको छ ।

    साना दलहरूको असन्तुष्टिका बीच कांग्रेस माओवादीले बाँडफाँड गरे पनि धुर्काेटको विवादका कारण प्रदेशस्तरीय संयन्त्रमा जिल्लाको विवाद पुगेको हो ।

  • ओखलढुङ्गामा गठबन्धनबाट बाहिरियाे जसपा

    ओखलढुङ्गामा गठबन्धनबाट बाहिरियाे जसपा

    काठमाडौं। ओखलढुङ्गामा जनता समाजवादी नेपालले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ । जसपाले एक विज्ञप्ति जारी गर्दै पाँचदलीय गठबन्धनभन्दा बाहिर रहेर चुनाव लड्ने जनाएको हो ।

    स्वार्थ बोकेका दलसँग सहकार्य गर्न नसकिने जनाउँदै आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने र पार्टीको यो निर्णयले जिल्लामा पार्टीप्रति आस्था राख्ने नेता, कार्यकर्ता र शुभचिन्तकहरूमा खुसी छाएको पार्टी अध्यक्ष खेमराज खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

    जिल्लामा कांग्रेस र माओवादीले बलमिच्याइँ गर्दै एकलौटी निर्णय गरेकाले गठबन्धनभित्र रहन नसक्ने जसपा नेता नरेश नेम्वाङले बताए । उनले अब एमालेसँग चुनावी तालमेल हुनसक्ने जानकारी दिए ।

    स्थानीय तहको निर्वाचन लक्षित गठबन्धनका बैठकमा सहभागी भए पनि पछिल्लो समय कांग्रेस र माओवादीले गठबन्धनको मर्म र भावनाविपरीत आफूखुसी भागबन्डा गरेकाले जसपा गठबन्धनबाट बाहिरिएको उनले नेपाल प्रेससँग बताए ।

    उनका अनुसार एमालेसँग खिजीदेम्बामा प्रमुख र मानेभन्ज्याङमा उपप्रमुख लिएर चुनावी मैदानमा जान सकिने सम्भावना रहेको छ । जिल्लामा दुई गाउँपालिका र अन्य स्थानीय तहका केही वडामा जसपाको प्रभाव राम्राे रहेको छ ।

  • नेकपा एसबाट पोखरामा धनराज आचार्य, हेटौंडामा मीना लामा मेयर उम्मेदवार ‘फाइनल’

    नेकपा एसबाट पोखरामा धनराज आचार्य, हेटौंडामा मीना लामा मेयर उम्मेदवार ‘फाइनल’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूले पाएको एउटा महानगरपालिका र एक उपमहानगरपालिकाको टिकट टुंगो आज लगाउँदैछ । सत्ता गठबन्धनको भागबन्डामा उसले ६ महानगरमध्ये पोखरा र ११ उपमहानगरमध्ये हेटौंडाको प्रमुख पद पाएको छ ।

    जसमा निर्वाचन लड्ने उम्मेदवारको टुंगो लगभग लागिसकेको नेकपा एस स्रोतले जनाएको छ । पोखरा महानगरपालिकाको प्रमुखको उम्मेदवारमा धनराज आचार्य र हेटौंडाको प्रमुखमा मीना लामालाई उम्मेदवार बनाइने उक्त स्राेतले बताएको छ ।

    पोखरामा ६ जना आकांक्षी थिए । उनीहरूमध्ये आचार्यको नाममा टिकटको टुंगो लागेको स्रोतले बतायो ।
    यस्तै हेटाैंडा उपमहानगरपालिका प्रमुखमा लामालाई उम्मेदवार बनाउने सहमति भएको पार्टी स्रोतले जानकारी दिएको छ ।
    दुवै उम्मेदवारकाे नाम आधिकारिक घोषणा भने हुन बाँकी छ ।

  • टिकट बाँडफाँट र गठबन्धनको साइड इफेक्ट : गृहमन्त्री खाँणको गृहजिल्लामा कांग्रेस छोड्दै प्रभावशाली नेताहरु

    टिकट बाँडफाँट र गठबन्धनको साइड इफेक्ट : गृहमन्त्री खाँणको गृहजिल्लामा कांग्रेस छोड्दै प्रभावशाली नेताहरु

    रुपन्देही । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा पार्टीका प्रभावशाली नेताहरुले धमाधम पार्टी छोड्न थालेका छन् । गठबन्धनको विपक्षमा रहेका तथा पार्टीमा खाँण समूहमा नरहेकाहरुले कांग्रेस नेताहरुले पार्टी छाडेका हुन् ।

    पार्टीको वडा, नगर, क्षेत्र, जिल्ला तथा प्रदेश अधिवेशनमा अलग–अलग देखिएका समूहहरु निर्वाचन नजिकिएसँगै पुनः टाढिन थालेका छन् । यसले स्थानीय तह निर्वाचनमा कांग्रेसलाई ठूलै असर पर्ने पुराना कार्यकर्ताहरु बताउँछन् ।

    बुधबार जिल्लाका पुराना तथा स्थापित नेता मातृका यादवले पार्टी परित्याग गरेको घटना सेलाउन नपाउँदै क्षेत्र नम्बर २ सभापति हरि लम्सालले पार्टी छाडेको घोषणा गरेका छन् । उनले पार्टीले एकलौटी काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

    बिहीबार जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर बुटवलका नगर सभापतिले एकलौटी र षड्यन्त्रपूर्वक नगर प्रमुखको नाम सिफारिस गर्दा जिल्ला समितिले विधानविपरीत स्वीकार गरेपछि राजीनामा दिएका हुन् । उनले नगर सभापतिले एकलौटी गरेको र आफूहरुको कुनै सुनुवाइ नभएको इमानदारिता, निष्ठा र विधानको कुनै महत्व नरहेको ठम्याइ गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् । लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका लम्साल दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति बनेका थिए ।

    यसअघि नगर सभापति खेलराज पाण्डेयले नगर प्रमुख सिफारिस गर्दा क्षेत्रसँग कुनै सल्लाह नगरी एकलौटी आफ्नोमात्रै नाम पठाएपछि कांग्रेस क्षेत्रीय सभापति लम्सालसहित १७ जनाले लुम्बिनी प्रदेश अध्यक्ष अमर पुनलाई भेटेर विधानविपरीत भएको कामलाई सच्याउनको लागि ध्यानार्कषणपत्र पठाएका थिए । तर पार्टीले कुनै कदम चालेपछि वर्षौंदेखि काम गर्दै आएका लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा बुझाएका हुन् ।

    अहिले उम्मेदवार चयनको विषयलाई लिएर कांग्रेस रुपन्देहीमा नेता कार्यकर्ताहरुको असन्तुष्टि बढेर गएको कांग्रेस युवा नेताहरुले प्रतिक्रिया दिएका छन् । ‘निर्वाचन नजिक आएपछि कांग्रेसमा आउने ठूलो रोग हो, मातृका यादवपछि हरि दाइले पनि पार्टी छोड्नुभएछ, कांग्रेसलाई पछाडि पार्ने कांग्रेस नै हो’, उनीहरुले सामाजिक सञ्जालमा लेखेका छन् ।

    पार्टीभित्र बढेको असन्तुष्टिसँगै नेताहरुले सो पार्टी परित्याग गर्न थालेका हुन् । यसअघि कांग्रेसका पूर्वक्षेत्रीय सभापति तथा गत स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा मेयरका प्रत्यासी मातृका यादवले पनि नेपाली कांग्रेस छोडेका छन् । उनी नेता बालकृष्ण खाँणकै निर्वाचन क्षेत्रका हुन् । अहिले पनि यहाँबाट मेयरका आकांक्षी रहेका यादव खाँण समूहले इस्तियाक अहमद खानलाई मेयरमा प्रस्ताव गरेपछि पार्टी नै छोडेका हुन् ।

  • प्रदेश १ मा गठबन्धन : अधिकांश स्थानीय तहमा अझै जुट्न सकेन सहमति, एक्ला-एक्लै लड्ने तयारी

    प्रदेश १ मा गठबन्धन : अधिकांश स्थानीय तहमा अझै जुट्न सकेन सहमति, एक्ला-एक्लै लड्ने तयारी

    विराटनगर । स्थानीय तह निर्वाचनमा मनोनयन गर्दाको एक दिन अघिसम्म पनि प्रदेश नम्बर १ का अधिकांश तहमा गठबन्धनमा सहमति हुन सकेको छैन ।

    एउटै स्थानीय तहमा धेरै दलहरूले दाबी नछाडेपछि प्रदेशका केही पहाडी जिल्लमा तालमेलको सहमति भए पनि तराईका जिल्लामा एक्ला एक्लै चुनावमा जाने तयारी दलहरू पुगेका छन् ।

    पहाडी जिल्लाका केही स्थानीय तहमा भने वडा तहसम्म तालमेल गरेर जान दलहरू सहमत भएका छन् ।

    गठबन्धन दलका नेताहरूका अनुसार कुल १४ जिल्ला रहेको प्रदेश १ अन्तर्गत १३७ स्थानीय तह मध्ये हिमाली र पहाडी जिल्लाहरू ताप्लेजुङ, खोटाङ र भोजपुरमा गठबन्धनबिच भागबण्डा टुंगिएको छ ।

    यसबाहेक धनकुटा, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगामा आजसम्म टुङ्ग्याउने गरी संवाद भइरहेको गठबन्धन दलका नेताहरूले बताएका छन् ।

    नेताहरूका अनुसार ताप्लेजुङमा ७ वटा पालिकाको प्रमुख÷अध्यक्ष नेपाली कांग्रेसले पाउने भएको छ भने माओवादी केन्द्रले २ वटा पालिकाको अध्यक्ष पाउने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीले भने उपाध्यक्षमा चित्त बुझाउने भएको छ ।

    यसै गरी भोजपुरमा पनि गठबन्धन दलहरूबिच भागबण्डा टुंगिएको छ । भोजपुरमा दुई वटा पालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने पनि सहमति भएको छ । जसअनुसार कांग्रेसले ५ पालिका, माओवादी केन्द्रले २ र नेकपा एसले २ वटा उपाध्यक्ष तथा जनता समाजवादी पार्टीले जिल्ला समन्वय समितिको प्रमुख पाउने सहमति भएको छ ।

    यसैबीच खोटाङ जिल्लामा पनि गठबन्धन दलहरूबिच सहमति भएको छ । सहमति अनुसार ३ वटामा कांग्रेस, ३ वटामा माओवादी तथा चार दलबिच सहमति हुन नसकेका ४ वटा पालिकामा कांग्रेस बाहेकका तीन दलको गठबन्धन बनेको छ ।

    यस्तै कांग्रेसबाहेक माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीबीच खोटाङका चार पालिकामा छुट्टै सहमति भएको छ । त्यहाँ कांग्रेस, एमाले र अन्य गठबन्धन दलबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । केन्द्रबाटै पाँच दलको गठबन्धन गर्ने निर्णय अनुसार इलाम, पाँचथर, तेह्रथुम र धनकुटामा भागबण्डा टुंगिन लागेको नेताहरूको दाबी छ।

    यसबाहेक प्रदेश १ का अन्य ६ जिल्लामा गठबन्धन हुने सम्भावना कमजोर देखिएको छ । बढी मतदाता रहेका तराईका जिल्लाहरू झापा, मोरङ, सुनसरी, त्यसै गरी सोलुखुम्बु, संखुवासभा र उदयपुरमा पाँच दलीय गठबन्धन हुने सम्भावना कम रहेको नेताहरूले नै बताएका छन् ।

    पाँच दलीय गठबन्धन भित्रका दलहरूले यी जिल्लाका स्थानीय तहहरूमा तालमेलको सम्भावना न्यून भएपछि ती जिल्लामा दलहरूले आन्तरिक रूपमा उम्मेदवार छनोटका लागि गृहकार्य सुरु गरेका छन् ।

    एकीकृत समाजवादी पार्टीका पोलिट ब्युरो सदस्य एव प्रदेश सचिव महेर रेग्मीले गठबन्धन भित्रका दलहरूसँग सहमतिका लागि अधिकतम प्रयास भए पनि सार्थक परिणाम आउन नसकेपछि समाजवादी पार्टीले ती जिल्लाका स्थानीय तहमा एकल रूपमा उम्मेदवारी दिने तयारी गरेको बताए ।

    कतिपय स्थानीय तहमा कांग्रेस त कतिपय स्थानीय तहमा माओवादी केन्द्रले आफ्नो दाबी नछाडेपछि सहमति हुन नसकेको रेग्मीले बताए ।

    माओवादी केन्द्र प्रदेश १ का उपाध्यक्ष शिवकुमार डाँगीले इलाम, पाँचथर, तेह्रथुम र धनकुटामा आज साँझसम्म भागबण्डा टुंगिने बताए ।

    केन्द्रले एक मात्र विराटनगर महानगर, दुई उपमहानगर इटहरी र धरान मा भने तालमेल गरेर जाने निर्णय गरिसकेको छ । जस अनुसार विराटनगर महानगर र इटहरी काँग्रेस धरान माओवादी केन्द्रको भागमा परेको छ ।

    १४ जिल्ला रहेको प्रदेश १ मा कुल १ ३७ स्थानीय तह रहेको छन् । जसमा एक महानगर दुई उपमहानगर ४५ नगरपालिका ८९ गाउँपालिका रहेकामा १ हजार ५७ वडा रहेका छन् ।

    आसन्न स्थानीय तहको निर्वाचनमा प्रदेश १ बाट मेयर उपमेयरसहित कुल ७ हजार ८५९ जना जनप्रतिनिधि निर्वाचित हुनेछन । प्रदेश १ मा कुल ३३ लाख ४७ हजार ३८४ मतदाता रहेका छन् ।

  • कांग्रेसभित्रको असन्तुष्टिले कर्णालीमा भागबन्डा गर्न गठबन्धनलाई सकस

    कांग्रेसभित्रको असन्तुष्टिले कर्णालीमा भागबन्डा गर्न गठबन्धनलाई सकस

    सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि कर्णालीमा सत्तारुढ गठबन्धनले अझै भागबन्डाको टुंगो लगाउन सकेको छैन । शुक्रबार बिहान मुख्यमन्त्री निवासमा बसेको सत्ता गठबन्धन बैठकमा विभिन्न कोणबाट सहमतिको प्रयास गरिए पनि सफल हुन सकेन । शुक्रबार साँझ पुनः गठबन्धनमा आवद्ध दलहरुले एक्लाएक्लै चुनाव लड्ने निश्चित भएको दावी गरेका थिए ।

    तर, जुन पालिकामा जसले जितेको हो, त्यो उसैको हुने र एमालेले जितेका स्थानको मात्रै भागबन्डा गर्ने भनेर केन्द्रबाट आएको निर्देशनले गठबन्धन औपचारिक रुपमा टुट्नबाट जोगिएको छ ।

    ७९ वटा पालिका रहेको कर्णाली प्रदेशमा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले २५–२५ पालिका जितेका थिए । नेकपा एमालेले २७ वटा पालिका जितेको थियो । दुइटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएको थियो । एमालेले जितेकामध्ये पाँच पालिकाका प्रमुख तथा अध्यक्ष नेकपा एकीकृत समाजवादीमा गइसकेका हुँदा २२ वटा पालिकामा मात्रै एमालेको नेतृत्व रहेको छ ।

    प्रदेश संयन्त्रको बैठकमा एकीकृत समाजवादीलाई बढीमा चार पालिका र अरु १८ पालिका कांग्रेस र माओवादीले बाँड्ने रणनीति बनाएपछि समाजवादीले असन्तुष्टि जनाएको छ ।

    ‘समाजवादीले असुहाँउदो रुपमा भागबन्डा मागिरहेको छ । उसलाई एक्लै छोड्न पनि नसकिने, सँगै लैजाँदा बढी भाग खोजेकाले कर्णालीमा गठबन्धनले आवश्यक निर्णय लिन नसकेको हो’, संयन्त्र बैठकमा सहभागी एक नेताले भने, ‘चार–पाँच सय मतदाता भएको दललाई पालिकाको नेतृत्व पनि दिन नसकिने अवस्था आएको छ । यसले गर्दा गठबन्धन दलमा समाजवादी घाँडो भएको छ ।’

    गठबन्धनले भागबन्डा टुंगो लगाउन नसक्नुको अर्को कारण पनि छ । रुकुम, हुम्ला, डोल्पा, कालिकोटमा कांग्रेस शून्य हुने अवस्था देखिएको छ । दैलेख र सुर्खेतमा माओवादीले भाग मागिरहेको छ । यस्तो अवस्थामा एक्लै ३५ पालिका जित्ने लक्ष्य राखेको कांग्रेस बिच्किएको छ । त्यसमाथि समाजवादीले मागेको भाग आफ्नै कोटाबाट काटिने हुँदा कांग्रेस मानिरहेको छैन ।

    ‘रुकुम, हुम्ला, डोल्पा, कालिकोटमा कांग्रेसले पालिका प्रमुख नपाउने देखिएको छ । यस्तो अवस्थामा उहाँहरुसँग तालमेल गर्नै समस्या भएको छ’, प्रदेश संयन्त्रमा सहमतिको प्रयासमा रहेका कांग्रेस नेता भन्छन्, ‘नेता कार्यकर्ता गठबन्धन नगरौं, एक्लै जाऔं भनेर दबाब दिइरहेका छन् । तर, केन्द्रले भने ‘जसरी पनि गठबन्धन गर्नू’ भन्ने निर्देशन दिएकाले सत्ता गठबन्धन समस्यामा परेको हो ।’

    कांग्रेसभित्रको असन्तुष्टिले पनि भागबन्डा टुंगोमा पुग्न नसकेको हो । कर्णालीमा महाधिवेशनपछि कांग्रेसभित्र दुई खेमा प्रस्ट देखिएका छन् । कांग्रेसको संस्थापन पक्ष गठबन्धन जोगाएर लैजाने पक्षमा छ भने शेखर पक्ष एक्लै चुनावमा जानुपर्ने लाइनमा उभिएको छ । यदि गठबन्धन नै गरेर जाने हो भने पनि आफूले ४० प्रतिशत भाग पाउनुपर्ने अडान शेखर पक्षको रहेकाले गठबन्धनमा सहमति जुट्न नसकेको हो ।

    कांग्रेस संस्थापनका नेताहरुमा शेखर पक्षबाट बागी उम्मेदवारी पर्ने हो कि भन्ने त्रास छ । ‘हामीले गठबन्धन बनाउने तर उहाँहरुले बागी उम्मेदवारी हालेको खण्डमा कतै हार व्यहोर्नुपर्ने त होइन ?’ कांग्रेस संस्थापनका एक नेता भन्छन्, ‘त्यसैले गठबन्धनमा निर्णय लिन गाह्रो भएको छ ।’

    उनका अनुसार दैलेख, सुर्खेत, सल्यान, हुम्ला, डोल्पा, कालिकोट, जुम्लालगायत सबै जिल्लामा कांग्रेसभित्रै दुई धार प्रस्ट देखिँदा उम्मेदवार छनोटमा समेत सकस छ ।

    यता, गठबन्धनका उम्मेदवार हेरेरमात्रै आफ्नो उम्मेदवारको टुंगो लगाउने पक्षमा एमाले रहेको छ । एमालेले सबै पालिकामा उम्मेदवारबारे छलफल तीव्र पारे पनि टिकट कसलाई दिने भनेर निर्णय गरिसकेको छैन ।

    एमाले स्रोतका अनुसार शनिबार एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाह र प्रदेश इन्चार्ज यामलाल कंडेल काठमाडौं जान लागेका छन् । ‘विप्लव नेकपा, नेमकिपालगायतका दलहरुसँग गठबन्धन बनाउन दुई जना काठमाडौं जान लाग्नु भएको छ’, एमाले स्रोत भन्छ, ‘त्यसपछि मात्रै उम्मेदवारको नाम घोषणा गर्छौं ।’

    कर्णालीमा एमाले र सत्तारुढ गठबन्धन वैशाख १२ गते मनोनयनपत्र दर्ता गराउने तयारीमा छन् ।

  • पाल्पा गठबन्धन : कांग्रेसको भागमा ६ पालिका, माओवादी र नेकपा एसलाई दुई-दुई

    पाल्पा गठबन्धन : कांग्रेसको भागमा ६ पालिका, माओवादी र नेकपा एसलाई दुई-दुई

    पाल्पा । पाल्पामा गठबन्धनले भागबन्डा टुंगो लगाएको छ ।

    गठबन्धनमा भएको सहमति अनुसार ६ स्थानीय तहमा कांग्रेसले प्रमुख पाएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दुई दुई पालिकामा प्रमुख पाएको छ ।

    नेपाली कांग्रेसले रामपुर नगरपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा प्रमुख लिएको छ ।

    यस्तै एकीकृत समाजवादी पार्टीको भागमा पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिका परेको छ ।

    नेकपा माओवादी केन्द्रको भागमा रिब्दिकोट र तिनाउ गाउँपालिका परेको छ ।

    यस्तै उपप्रमुखमा कांग्रेसले रामपुर, पूर्वखोला, माथागढी, रिब्दिकोट, तिनाउ र रम्भा आफ्नो भागमा पारेको छ ।

    माओवादी केन्द्रले निस्दी, तानसेन र रैनादेवी पाएको छ । एकीकृत समाजवादीले बगनासकालीमा मात्रै उपप्रमुख पाएको छ ।

  • एमाले खोटाङले ९ स्थानीय तहमा टुङ्ग्यायो उम्मेदवार

    एमाले खोटाङले ९ स्थानीय तहमा टुङ्ग्यायो उम्मेदवार

    खोटाङ । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा (एमाले) खोटाङले स्थानीय तहको उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

    एमालेले दुई नगरपालिका र आठ गाउँपालिकामध्ये नौ वटा स्थानीय तहमा प्रमुख अध्यक्ष र उपप्रमुख उपाध्यक्षको उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

    एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमार प्रसाद आचार्य उपप्रमुखमा बिणादेवी राई, हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साङपाङको नाम सिफारिस गरेको छ भने उपप्रमुख खाली राखेको छ ।

    ऐंसेलुखर्क गाउँपालिको अध्यक्षमा गिरेन्द्र बहादुर राई उपाध्यक्षमा पुष्पकला भुजेल, केपिलासगढी गाउँपालिकाको अध्यक्षमा कृष्णकुमार राई, उपाध्यक्ष खाली राखेको छ ।

    रावावेसीं गाउँपालिको अध्यक्षमा हरिकुमार पोख्रेल, उपाध्यक्षमा कौशिला गुरुङको नाम सिफारिस भएको छ ।

    यसै गरी दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्ष खाली, खोटेहाङ गाउँपालिकाको अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजनकुमार बञ्जारा, जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा शंखर बहादुर राई र उपाध्यक्षमा विमला राई, वराहपोखरी गाउँपालिकाको अध्यक्षमा गोमा मगर र उपाध्यक्ष खाली राखेर सिफारिस गरेको नेकपा एमाले खोटाङका सचिव कुमार प्रसाद आचार्यले बताए ।

    वैशाख ३ गते सचिवालयको बैठकबाट उम्मेदवार छनौट तथा सिफारिस गर्न कार्यदल बनाइएको थियो । जिल्ला कमिटी खोटाङको उम्मेदवार छनौट तथा सिफारिस कार्यदलको वैशाख ४ गते बसेको बैठकले ७९ वटै वडाका उम्मेदवार तथा ९ वटा पालिकाको उम्मेदवारहरुको सर्वसम्मतले नाम टुङ्गो लगाएर सिफारिसको लागि प्रदेशमा वैशाख ५ गते नै पठाएको आचार्यको भनाइ छ ।

    साकेला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा अन्य पालिकामा खाली रहेका उपाध्यक्ष पदका उम्मेदवारको नाम र वडाको पनि आज साँझसम्म टुङ्गो लगाइने एमालेले जनाएको छ ।

  • भरतपुरमा सत्ता गठबन्धनका मेयरले नजिते के हुन्छ ?

    भरतपुरमा सत्ता गठबन्धनका मेयरले नजिते के हुन्छ ?

    अन्तको कुरो त मलाई थाहा भएन । तर भरतपुर महानगरपालिकाको हकमा नेपाली कांग्रेसको यो धम्की नाजायज अनि हाँस्यास्पद छ । आफ्ना कार्यकर्ता अनि शुभेच्छुकलाई लगातार कांग्रेसको विपरीत सिद्धान्त बोक्ने पार्टी अनि उसको चुनाव चिह्नमा मत हाल्न जबरजस्ती गर्नु कुनै पनि कोणबाट सही ठहर्दैन ।

    चाहे गठबन्धनका नाममा लादिएको निर्णय होस् वा कारबाहीको धम्की । कांग्रेस क्याडर बेस पार्टी होइन । यो मास बेस पार्टी हो । पार्टीका संगठित सदस्यभन्दा मतदाता धेरै भएको पार्टी हो कांग्रेस ।

    यस्तोमा उसको गलत निर्णय र आदेश पार्टीका संगठित सदस्यबाहेकका शुभेच्छुकका लागि बाध्यकारी हुँदैन । र, हुने पनि छैन । हेक्का रहोस् गठबन्धनका शीर्ष नेताहरुलाई । मतदाता सबै दास हुन्, उनीहरुले हामीले भनेको हर कुरो शीरोधार्य गर्छन् भन्ने भ्रमबाट मुक्त हुनु जरुरी छ ।

    भरतपुरका कांग्रेस र उसका शुभेच्छुक मतदाता गठबन्धनको खिलापमा किन ?

    स्वाभाविक छ । अघिल्लो पटक हामीले सघायौँ । यस पटक उनीहरुले हामीलाई प्रमुख पद छाड्नुपर्छ । आलोपालोको सिद्धान्तअनुसार पनि यो मनोभावना जायज छ । अझ भरतपुरमा त एक्लै लड्दा पनि बाजी मार्ने पार्टी कांग्रेस र उसका समर्थकका लागि रुख चिह्नधारी मेयर प्राप्त गर्नु प्रतिष्ठाको सवाल पनि बनेको छ ।

    जसका कारण यो प्रतिस्पर्धा अति पेचिलो पनि बनेको छ । कांग्रेस जिल्ला कार्यसमितिको निर्णय, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको चर्को असन्तुष्टि, भरतपुर कांग्रेसको २९ वटै वडाका सभापतिहरुको सार्वजनिक असन्तुष्टि, केही वडामा भएका सामूहिक राजीनामा, सामूहिक राजीनामाको चेतावनी र मेयर–उपमेयरका ४ दर्जन बढी आकांक्षी ।

    यी सबै तथ्य नै काफी छ कि भरतपुरमा सत्ताधारी गठबन्धनको अवस्था धरापमा पर्ने खतरा ज्यादा छ । २०७४ को जस्तै ।

    पार्टीको जिल्ला कार्यसमिति प्राविधिक रुपमा केन्द्रको निर्णय मान्न बाध्य होला । तर, गोप्य मतदान गर्ने मतदाता बाध्य हुने छैनन् । केन्द्रले जिल्लालाई गठबन्धनको पक्षमा लाग्न बाध्य पार्न सक्ला ।

    तर, मतदातालाई सक्दैन । मेयरमा कांग्रेसको उम्मेदवार भए मत हाल्ने अन्यथा विकल्प खोज्ने मतदाताको अन्तरआत्माको निर्णयलाई केन्द्र त के महाकेन्द्रको आदेशले पनि बदल्न सक्ने हैसियत नराख्ने प्रस्ट देखिन्छ ।

    यस्तोमा गठबन्धनविरोधी अन्य पार्टीका उम्मेदवारले फाइदा उठाउने घाम जत्तिकै छर्लङ्ग छ । विपरीत परिणाम आउँदै गर्दा कतिलाई कारबाही गर्ने भन्नेमै पार्टी अलमलिने र नेतृत्व संकटमा पर्ने पूर्वानुमान लगाउन सकिन्छ ।

    फेरि माओवादी जिताउँदा भरतपुरमा कांग्रेस सकिन्छ ?

    यो प्रश्नको उत्तर धेरै कांग्रेसीहरुले जिल्लामा भएका विभिन्न कार्यक्रममा दिइसकेका छन् । उनीहरु भन्छन्, ‘हो, सकिन्छ ।’ अर्को पटक उसले एक्लै लड्ने हैसियत बनाउनेछ । र, कांग्रेसकै उम्मेदवार हराउनेछ । जति जे गरे पनि रुख चिह्नधारी उम्मेदवार नहुने भएपछि कार्यकर्ता नै तितरबितर हुनेछन् ।

    जसको प्रत्यक्ष फाइदा मुख्य रुपमा माओवादी केन्द्रले नै उठाउनेछ । किनकि सत्ता र शक्ति उसैको हातमा छ । विशेषतः माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक भविष्य सुनिश्चित गर्न भरतपुर महानगरका कांग्रेसीहरुको दोस्रो पटक बलि दिने सभापति देउवाको रणनीति मतदातालाई पटक्कै मन परेको छैन ।

    पार्टीभित्रैका प्रभावशाली नेताहरुले पनि यसमा गम्भीर आपत्ति जनाइसकेका छन् । कांग्रेसीहरुले हरेक दिन चिया पिउने भरतपुरको एक चिया दोकानमा पनि यसबारे चिन्ता गरेको सुनिन्छ । सचेत कार्यकर्ता र चलाख मतदाता रहेको भरतपुरमा लगातार केन्द्रीय निर्णय लाद्नु पार्टी पतनको प्रस्थान विन्दु हुन्छ भन्नेमा न कोही कांग्रेसीको दुईमत छ न त शुभेच्छुको नै ।

    भरतपुरको मेयर सत्ता गठबन्धनले नजिते के हुन्छ ?

    सायद यो प्रश्नको उत्तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मात्रै छ किनकि भरतपुरको मेयर र प्रधानमन्त्रीको कुर्ची एकापसमा जोडिएको छ । अघिल्लो पटक कांग्रेससँग गठबन्धन हुँदाहुँदै पनि मत पत्र च्यातेर आफ्नी छोरी रेणु दाहाललाई कनिकुथी जिताउन परेपछि उनले कांग्रेससँगको गठबन्धन त्यागेर एमालेसँग मिलेका थिए ।

    त्यो दृष्टान्त केलाउँदा यसपालि पनि सोही घटनाक्रम दोहोरिने पक्का छ । भरतपुरको मेयर हराउँदा बाँकी चुनावमा आफ्नै चिह्नमा मत हाल्न पाउने सुनिश्चितता देखेका मतदाताले के गर्लान् ?

    अनुमान सहजै लगाउन सकिन्छ कि भरतपुरको मेयर माओवादीले हारे गठबन्धन टुट्नेछ । यस्तो यथार्थबीच भरतपुरमा रहेका कांग्रेसका संगठित मतदाता र शुभेच्छुक केन्द्रबाट लादिएको निर्णयविरुद्ध लाग्न सक्नेछन् । यस्तोमा सकस अत्यधिक बढ्नेछ ।

    कांग्रेसमा बढ्दो असन्तुष्टिको फाइदा एमालेलाई

    कांग्रेसमा भरतपुरको मेयरको उम्मेदवारलाई लिएर बढ्दो असन्तुष्टिको प्रत्यक्ष फाइदा एमालेलाई हुन सक्छ । मेयरमा आफ्नो चिह्न नभएपछि क्रुद्ध हुने मतदाताले प्रतिशोधका लागि पनि एमालेका उम्मेदवारलाई मत हाल्न सक्ने देखिन्छ ।

    कतिपय कांग्रेसका स्थानीय नेताहरुले त सामाजिक सञ्जालबाटै एमालेका उम्मेदवार विजय सुवेदीलाई बधाई दिइसकेका छन् । अघिल्लो पटक कांग्रेस–माओवादी मिलेर चुनाव लड्दा र मतपत्र च्यात्दा पनि माओवादी उम्मेदवार रेणु दाहालले २०३ मत अन्तरले मात्रै चुनाव जितेकी थिइन् । अब आफै अनुमान लगाउनुस्, भरतपुरमा एमालेको शक्ति ।

    तर, विडम्बना नेपाली कांग्रेसको गलत निर्णयका कारण एमालेले फाइदा उठाउने प्रशस्त सम्भावना देखिन्छ । उसो त एमालेका उम्मेदवार विजय सुवेदी पनि आफैमा लोकप्रिय अनि विवादरहित नेता हुन् ।

    (१५ वर्षदेखि पत्रकारितामा सक्रिय लेखक सापकोटा चितवन क्षेत्र नम्बर ३ र भरतपुर महानगरपालिका मतदाता हुन् ।)

  • कैलालीमा जनमोर्चाका दुई विकल्प : सहमतिमा ६ वडाध्यक्ष नत्र प्रमुख उपप्रमुखमै उम्मेदवारी

    कैलालीमा जनमोर्चाका दुई विकल्प : सहमतिमा ६ वडाध्यक्ष नत्र प्रमुख उपप्रमुखमै उम्मेदवारी

    कैलाली । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय भोलि र पर्सि तोकेको छ । तर, कैलालीमा आज सम्म पनि गठबन्धनका दलहरू बिच भागबन्डा मिल्न सकेको छैन ।

    सत्ता गठबन्धन भित्रै रहेको जनमोर्चाले पनि कैलालीमा दुई वटा विकल्पमा आन्तरिक तयारी गरिरहेको छ ।

    अहिले जनमोर्चाले कैलालीका १३ स्थानीय तह मध्ये कुनै पनि स्थानीय तहमा प्रमुख वा उपप्रमुखमा दाबी गरेको छैन ।

    सहमतिको आधारमा जनमोर्चाले कैलालीका १२६ वडा मध्ये ६ वटा वडाध्यक्ष मागेको छ ।

    गोदावरीको १२ र १ धनगढीको १३, घोडाघोडीको १०, लम्कीचुहाको ८ र जानकीको ५ नम्बर वडामा वडाध्यक्षको दाबी गरेको जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम अध्यक्ष नन्दराज भट्टकाले जानकारी दिए ।

    उनले छ वडाध्यक्ष र अन्य वडाहरूमा पनि एउटा वडा सदस्य माग गरेको बताए ।

    ‘हामीले गठबन्धनका दलहरू बिच सहमतिको आधारमा विभिन्न स्थानीय तहका ६ वडाध्यक्षमा दाबी गरेका छौँ । यो विषयमा अन्य दलहरू पनि सकारात्मक हुनुहुन्छ’ उनले भने, ‘तर, अझै सम्म पनि ठोस निर्णय भने भइसकेको छैन ।’

    जनमोर्चाले सहमति नभएको अवस्थामा एकल रूपमा भए पनि निर्वाचनमा जना सक्ने विकल्पमा पनि छलफल प्रारम्भ गरेको छ ।

    धनगढी उपमहानगर पालिका प्रमुखमा खडक बहादुर राना प्रमुख प्रमुखमा शोभामणि भट्टलाई जनमोर्चाले अघि सारेको छ ।

    त्यस्तै गोदावरीको प्रमुखमा हरिकृष्ण पाण्डे र उपप्रमुखमा रेणुका विक, गौरीगङ्गा प्रमुखमा गङ्गाराम कँडेल र उपप्रमुखमा लक्ष्मी न्यौपाने रहेका छन् ।

    त्यस्तै घोडाघोडीमा मेनुका खड्का प्रमुख, मेनुका सुनार उपप्रमुखका सिफारिस भएका छन् । लम्कीचुहामा मिलन शाही प्रमुख र हरिकला शाही उपप्रमुखमा सिफारिस भएका छन् जनकी गाउँपालिका प्रमुखमा रामकृष्ण रेग्मी सिफारिस भएका छन् ।

    ‘राष्ट्रिय जनमोर्चाले अधिकांश पालिकामा प्रमुख र उपप्रमुख सहित उम्मेदवारी घोषणा गरिसकेको छ’ भट्टले भने, ‘सहमति भए हामी छ वडाध्यक्षमा चित्त बुझाउँछौँ नत्र सबै ठाउँ उम्मेदवारी दिन्छौँ ।’

    यस विषयमा आन्तरिक रूपमा गठबन्धनका दलहरू बिच पनि छलफल भइरहेको बताए ।

  • जुगलको संयोग- गाउँपालिका अध्यक्षले आफूसँग हार्नेलाई कांग्रेसबाट एमालेमा गरे स्वागत

    जुगलको संयोग- गाउँपालिका अध्यक्षले आफूसँग हार्नेलाई कांग्रेसबाट एमालेमा गरे स्वागत

    काठमाडौं । ठिक ५ वर्षअघि यतिबेला होमनारायण श्रेष्ठ र जयबहादुर लामा एक अर्काको प्रमुख प्रतिस्पर्धीका रुपमा जनताबीच भोट माग्न हिँड्दै थिए । प्रतिस्पर्धामा एमालेका होमनारायण श्रेष्ठले जिते, जयबहादुर १८१ मतको अन्तरले स्तब्ध भए ।

    यो थियो सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनको दृष्य । त्यस चुनावमा एमालेका श्रेष्ठ २७१८ मतसहित बिजयी हुँदा जयवहादुर लामाले २६३७ मत पाएका थिए भने तेस्रो स्थानमा माओवादीका रेशम स्याङ्बोले २४४५ मत पाएका थिए ।

    पाँच वर्षपछि शनिबार ठिक उल्टो दृष्य देखियो । आफूसँग झिनो मतान्तरले पराजित जयवहादुरलाई एमालेमामा भित्र्याउँदै उनैलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने कार्यक्रमको सञ्चालक होमनारायण श्रेष्ठ थिए । गाउँपालका महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठले यसअघि नै विपक्षीहरुको गठबन्धन भए आफैं भिड्ने नत्र अरुलाई मौका दिने बताएका थिए ।

    नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुराना नेता जयबहादुर लामा अन्ततः नेकपा एमालेमा प्रवेश गरेका छन्। लामासहित जुगल गाउँपालिका ५ का वडा अध्यक्ष सनत अधिकारी पनि एमाले प्रवेश गरेका छन्।

    सोही कार्यक्रममा कांग्रेस केन्द्रीय यातयात विभागका सदस्य नबिन्द्र योन्जन,तरुण दलका नेतालगायत एक सय बढी काग्रेस कार्यकर्ता एमाले मा प्रवेश गरेका छन। उनीहरुलाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ ,पोलिट्ब्युरो सदस्य अरुण नेपाल ,केन्द्रीय सदस्यहरु दावा तामाङ ,सरेश नेपाल ,जिल्ला अध्यक्ष कमल नेपाल लगायतले स्वागत गरेका थिए ।

    पार्टी प्रवेश गरेसँगै लामालाई एमालेले जुगल गाउँपालिकाको अध्यक्षको उमेदवारसमेत बनाएको छ। काग्रेसबाट गाउँपालिकाको दाबेदार भए पनि का‌ंग्रेसले हिमाल श्रेष्ठलाई टिकट दिएपछि लामासहितका नेताहरुले पार्टी परित्याग गरेका हुन्।

    सोही कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष सानोकान्छा तामाङ पनि प्रवेश गरेका छन् । २०७४ मा कांग्रेसले जुगल गाउँपालिकाका दुई वडामा अध्यक्ष जितेको थियो ,अब दुवै वडा अध्यक्ष एमाले प्रवेश गरेका छन् ।