Category: स्थानीय निर्वाचन–२०७९

  • एमाले उपाध्यक्ष पौडेलले दिए तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारलाई शुभकामना

    एमाले उपाध्यक्ष पौडेलले दिए तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारलाई शुभकामना

    रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आफ्नो निर्वाचन क्षेत्रमा रहेको तिलोत्तमा नगरपालिकाको मेयरका उम्मेदवार मोहन चापागाई र उपमेयरका उम्मेदार जागेश्वरीदेवी चौधरीको उम्मेदवार मनोनयनका समयमा पुगेर शुभकामना दिएका छन् ।

    पाँचदलीय गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएको एमालेले तिलोत्तमा नगरपालिकामा तामझामका साथ मनोनयन दर्ता गरेको छ ।

    एमालेका उपाध्यक्ष विष्णु पौडेल, पोलिटव्यूरो सदस्य लिला गिरी, वर्तमान नगरप्रमुख वासुदेव घिमिरे लगायत सयौं नेता कार्यकर्ताहरुको र्‍यालीसहित तिलोत्तमा शंकरपुरस्थित निर्वाचन कार्यालय पुगेका उम्मेदवारहरुले सोमबार दिउसो मनोनयन दर्ता गरेका छन् ।

    नगरप्रमुख तथा उपप्रमुखहरुले मनोनयन दर्ता गर्नुअघि उपाध्यक्ष पौडेलले उम्मेदवारहरुलाई टीका र खादा लगाइदिएर जितको शुभकामना दिएका थिए । तिलोत्तमामा मनोनयन दर्तापछि नेता पौडेल बुटवल उपमहानगरपालिका पुगेका छन् ।

    नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरपालिकाले गरेका राम्रा कामहरुकै कारण देशभर चर्चा बटुलिरहेको अवस्थामा कतिपय कामहरुको दिगो व्यवस्थापन गर्न बाँकी रहेकोले ती काम पूरा गर्ने जिम्मेवारी चापागाईले लिनुपर्ने भन्दै शुभकामना दिएका थिए ।

    मेयरमा उम्मेदारी दिएका चापागाईले पार्टी नेतृत्वले दिएको निर्देशनका आधारमा यसअघि सुरु भएका योजना पूरा गर्दै नयाँ योजनाका साथ समृद्ध तिलोत्तमा अभियानलाई पूर्ण बनाउने प्रतिवद्धता गरेका छन् ।

  • धनगढी उपमहानगरमा गठबन्धनका मेयर र उपमेयरको उम्मेदवारी दर्ता

    धनगढी उपमहानगरमा गठबन्धनका मेयर र उपमेयरको उम्मेदवारी दर्ता

    कैलाली । सत्ता गठबन्धनका तर्फबाट धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृपबहादुर वडले उम्मेदवारी दर्ता गराएका छन् ।

    उपप्रमुखमा माओवादीकी शान्ति अधिकारीले मनोनयन दर्ता गराएकी छन् ।

    अघिल्लो स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई झिनो मतले पराजित गरेर वड प्रमुख पदमा विजयी भएका थिए ।

    उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । उप प्रमुखमा उम्मेदवारी दिएकी अधिकारी ०७४ सालको निर्वाचनमा उपप्रमुख पदमा पराजित भएकी थिइन् ।

  • काठमाडौंले पहिलो महिला मेयर पाउँदैछ : सिंह (भिडिओ)

    काठमाडौंले पहिलो महिला मेयर पाउँदैछ : सिंह (भिडिओ)

    काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार कांग्रेस नेतृ सिर्जना सिंहले काठमाडौं महानगरले पहिलो महिला नेतृत्व पाउन लागेको बताएकी छिन् ।

    उम्मेदवारी दर्तालगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले देशकै राजधानी सहरमा पहिलो महिला मेयर निर्वाचित हुन लागेको विषयले सबैमा उत्साह बढेको बताइन् । ‘जित निश्चित नै छ । काठमाडौं महानगरले पहिलो महिला मेयर पाउँदैछ’, सिंहले भनिन् ।

    आफू मेयर भएपछि काठमाडौंलाई व्यवस्थित सहर बनाउने भन्दै सिंहले ट्राफिक समस्यादेखि खानेपानी र सरसफाइको समस्या समाधानमा विशेष ध्यान दिने बताइन् । त्यस्तै कामकाजी महिला बालबच्चाहरूको हेरचाहका लागि महानगरका विभिन्न स्थानमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गर्ने उद्घोष पनि सिंहले गरिन् ।

    ‘काम गरेर घर चलाउनुपर्ने महिलाका बच्चाहरू हेर्दिने डे केयर सेण्टरहरु बनाउँछु । अहिले बच्चाको स्याहार गर्न नै हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ, त्यो हटाउँछु’, सिंहले भनिन् ।

    उनले आफू गणेशमान र मंगलादेवीको बुहारी तथा प्रकाशमान सिंहको श्रीमती भएको तथ्य नलुकेको भन्दै आफ्नो राजनीतिक योगदान पनि कम नरहेको बताइन् ।

    ‘प्रकाशमानजीलाई नचिन्दै प्रजातन्त्रका लागि आन्दोलन गरेर हनुमान ढोकामा जेल जीवन बिताएको मान्छे हुँ । म राजनीतिमै थिए मात्र राजनीतिक पदमा थिइनँ । अब पदमा पुगेर जनताको सेवा गर्दै छु’, सिंहले भनिन् ।

  • केपी ओली र पिएस गुरुङ सरकारले गरेका काम नै पोखरामा जितको आधार : कृष्ण थापा

    केपी ओली र पिएस गुरुङ सरकारले गरेका काम नै पोखरामा जितको आधार : कृष्ण थापा

    पोखरा । नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार कृष्ण थापाले पार्टीको संगठन र एमालेका तीनै तहका सरकारले गरेका कामहरु नै आफ्नो जितको आधार भएको दाबी गरेका छन् ।

    उम्मेदवारी दर्ताका क्रममा उपमेयर मञ्जुदेवी गुरुङसहित गएका थापाले केन्द्रमा केपी ओली नेतृत्वको सरकारले गरेका समृद्धितर्फ पाइला बढाउने कामहरू र प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले गरेका कामले पोखरामा एमालेको पक्षमा जनमत बढेको दाबी गरे ।

    गुरुङले उनलाई उम्मेदवार बन्नबाट रोक्न खोजेको भनिएका बेला उनले गुरुङ नेतृत्वको सरकारले गरेका कामले पोखरामा आफूहरूलाई थप सहज भएको बताए । उनले मानबहादुर जिसी र मन्जु गुरुङ नेतृत्वको पोखरा महानगरले गरेका कामहरूलाई आफूले अघि बढाउने बताए ।

    प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका थापा २०५४ तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर थिए भने २०४९ मा पनि मेयर उम्मेदवार बनेर कांग्रेसका भोला थापासँग पराजित भएका थिए ।

    तस्बिर : नवराज सापकोटा ।

  • उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट दिक्तेल पुगेका कांग्रेसका मेयर उम्मेदवार कार्यकर्ताबाटै कुटिए (भिडिओ)

    उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट दिक्तेल पुगेका कांग्रेसका मेयर उम्मेदवार कार्यकर्ताबाटै कुटिए (भिडिओ)

    काठमाडौं । उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट पुगेका नेपाली कांग्रेसका नेता धर्मराज पोखरेल कार्यकर्ताबाटै कुटिएका छन् ।

    दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट पुगेका पोखरेलले कांग्रेसकै कार्यकर्ताहरूले कुटपिट गरेका हुन् ।

    सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा पोखरेललाई लेखेट्न पुगेका कार्यकर्ताहरुलाई प्रहरीले रोकेको देख्न सकिन्छ ।

    असन्तुष्ट कार्यकर्ताहरुलाई उनीमाथि आक्रमण गरिएको बुझिएको छ ।

    आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

     

  • विराटनगरको मेयर-उपमेयरमा नागेश र अमरेन्द्रले गरे मनोनयन

    विराटनगरको मेयर-उपमेयरमा नागेश र अमरेन्द्रले गरे मनोनयन

    विराटनगर । पाँच दलीय गठबन्धनबाट विराटनगरको मेयर र उपमेयरमा नागेश कोइराला र अमरेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन् । कोइराला कांग्रेस महानगर सभापति हुन् ।

    उपपेयरमा उम्मेदवारी दिएका यादव जसपा महानगर कमिटीका अध्यक्ष साथै पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

    मेयरमा मनोनयन दर्तापछि कोइरालाले विराटनगरबासीले चाहेजस्तो महानगर बनाउने प्रतिबद्वता जनाएका छन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘विराटनगरको आन्तरिक स्रोत बढाउन करको दायरा बढाउने तर दर भने घटाउँछु ।’

    टिकटको विषयमा पार्टीमा असन्तुष्ट चुलिएकोबारे पत्रकारको जिज्ञासामा कोइरालाले जसले पाए पनि कांग्रेसले टिकट पाएको र आफूले नै जित्ने दाबी गरे ।

  • अघि अघि सिर्जना, पछि पछि प्रकाशमान (तस्बिरहरू)

    अघि अघि सिर्जना, पछि पछि प्रकाशमान (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंह उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभागृह पुगेकी छन् ।

    कांग्रेस कार्यकर्ताहरूसँगै सभागृह पुगेर सिंहले मेयरमा उम्मेदवारी दर्ता गर्दै छिन् ।

    सिर्जनाका श्रीमान् एवं कांग्रेस नेता प्रकाशमान सिंह पनि साथमै सभागृह पुगेका छन् ।

    सिंहको उम्मेदवारी दर्ताका लागि काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी पनि सभागृह पुगेकी छिन् ।

    सिर्जनाका छोरा प्रभासमान सिंह पनि साथमै छन् ।

  • गठबन्धनका उम्मेदवार आचार्य भन्छन्- पोखरामा २० हजार मतान्तरले जित्छौं

    गठबन्धनका उम्मेदवार आचार्य भन्छन्- पोखरामा २० हजार मतान्तरले जित्छौं

    पोखरा । गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर उम्मेदवार बनेका नेकपा एसका नेता धनराज आचार्यले पाँच दलीय गठबन्धन नै आफ्नो जितको आधार भएको बताएका छन् ।

    उम्मेदवारी दर्ताका लागि कांग्रेस नेता यज्ञवहादुर थापासहित गएका आचार्यले आफूले १५ देखि २० हजार मतको फरकमा चुनाव जित्ने दावी गरे ।

    उनले चुनाव जितेपछि एमालेमा जान्छ भनेर गरिएको हल्ला निराधार भएको समेत बताए । पोखराको उपमेयरमा कांग्रेसबाट कोपिला रानाभाटको उम्मेदवारी परेको छ ।

  • भरतपुरमा कांग्रेसका बागी उम्मेदवारले पुनर्विचार गर्ने माओवादीको आशा

    भरतपुरमा कांग्रेसका बागी उम्मेदवारले पुनर्विचार गर्ने माओवादीको आशा

    काठमाडौं । नेकपा माओवादीले भरतपुर महानगरपालिकामा कांग्रेसको बागी उम्मेदवारको उम्मेदवारी फिर्ता हुने विश्वास व्यक्त गरेको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले उम्मेदवारी घोषणा गरेका पूर्वसांसदले पुनर्विचार गर्ने दाबी गरे ।

    भरतपुरको मेयर माओवादीलाई दिने गठबन्धनको निर्णपछि स्थानीय कांग्रेसी असन्तुष्ट छन् । कांग्रेसका पूर्वसांसद जगन्नाथ खतिवडाले हिजो आफूले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

    आज पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा महराले भने, ‘म अहिले यति मात्रै भन्छु, पूर्वसांसदले पुनर्विचार गर्नुहुन्छ । त्यहाँ कांग्रेस र माओवादीको संयुक्त जुलुस निस्किरहेको छ, त्यो महत्वपूर्ण हो ।’

    गठवन्धनमा रहेका साना दलहरुले कांग्रेस-माओवादीबाट हेपिएको भनेर गरेको गुनासोलाई महराले नकारे । गुनासोहरू आउनु स्वाभाविक भए पनि दलहरुले हैसियतअनुसार हिस्सा पाएको उनको भनाइ छ ।

    ‘कतै हामीले पेलेको भनेर आएको छ । कतै कांग्रेसले हामीलाई पेलेको भन्ने आइरहेको छ । गठबन्धनमा भन्याजस्तो हुँदैन । कसैले ह्यूमिलेट हुनु पर्दैन । आफ्नो हैसियतअनुसार भाछ ।’

  • धनगढी उपमहानगरपालिकामा एमालेबाट मेयरमा चन्द र उपमेयरमा रानाको उम्मेदवारी दर्ता

    धनगढी उपमहानगरपालिकामा एमालेबाट मेयरमा चन्द र उपमेयरमा रानाको उम्मेदवारी दर्ता

    कैलाली । धनगढी उपमहानगरपालिकामा एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य रणबहादुर चन्दले प्रमुख र महिला नेत्री कन्दकला रानाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

    सोमबार दिउँसो कैलालीको पार्टी कार्यालयबाट बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चन्द र रानाले उम्मेदवारी दर्ता गरेका हुन् ।

    १९ वटै वडाध्यक्ष र सदस्यले पनि उम्मेदवारी दर्ता गरेका छन्  । एमालेबाट उपमहानगरपालिकाको–१ बाट ज्ञानेन्द्र मल्ल, २ मा विष्णु पुरी, ३ मा पार्वती सिंह, ४ मा तीर्थराज जोशी, ५ मा सुनिराम चौधरी, ६ मा ईश्वरी बम, ७ मा मोती राना, ८ मा जुगराम चौधरी, ९ मा नविन बिक र १० मा शिवकुमार रानाले एमालेबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यस्तै, एमालेबाट ११ नम्बर वडामा रूपबहादुर कुँवर, १२ मा शेरबहादुर महरा, १३ मा जगदीश राना, १४ मा कृष्ण पाण्डेय, १५ मा गोरे कुन्जेडा, १६ मा भागिराम चौधरी, १७ मा दीपेन्द्र घर्तीमगर, १८ मा भुवन रिजाल र १९ नम्बर वडाको अध्यक्षमा तिलुराम चौधरीले मनोनयन दर्ता गराएका छन् ।

     

  • पोखरामा कांग्रेसले उपमेयरको उम्मेदवार फेर्‍यो, सुरेन्द्रको स्थानमा कोपिला

    पोखरामा कांग्रेसले उपमेयरको उम्मेदवार फेर्‍यो, सुरेन्द्रको स्थानमा कोपिला

    काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलको असन्तुष्टिपछि नेपाली कांग्रेसले पोखरा महानगरपालिकामा उपमेयरको उम्मेदवार परिवर्तन गरेको छ ।

    पोखराको उपमेयरमा पहिले सुरेन्द्र बिजुक्छेको उम्मेदवारी टुंगो लागे पनि अन्तिममा हेरफेर भएको छ । अब पौडेलनिकट कोपिला रानाभाट पोखराको उपमेयरमा कांग्रेसबाट हुनेछिन् ।

    कांग्रेसनिकट स्रोतका अनुसार महानगरको टिकट वितरणमा पौडेलले असन्तुष्टि जनाएपछि उम्मेदवार फेरिएको हो । रानाभाट कांग्रेसको गण्डकी प्रदेशकी कोषाध्यक्ष हुन् ।

    यसअघि उपमेयरका लागि कन्फर्म गरिएका बिजुक्छे संस्थापन पक्षका हुन् ।
  • यी हुन् इलामका १० पालिकामा एमालेका उम्मेदवार (सूचीसहित)

    यी हुन् इलामका १० पालिकामा एमालेका उम्मेदवार (सूचीसहित)

    इलाम । नेकपा एमालेले उम्मेदवारी मनोनयनको प्रक्रिया मध्यभागमा पुगेका बेला इलामका १० वटा स्थानीय तहका उम्मेदवार सार्वजनिक गरेको छ ।

    एमालेले इलाम नगरपालिकामा धिरेन चेम्जोङ मेयर उम्मेदवार बनेका छन्, यसअघिका उम्मेदवार सिफारिस भएका नरेन्द्र भट्टराईको बारेमा विवाद भएपछि अन्तिम समयमा परिर्वतन गरिएको हो ।

    यी हुन् एमालेका उम्मेदवार

  • कर्णालीका ६४ स्थानीय तहमा भागबन्डा- कांग्रेस र माओवादीलाई बराबर, एसलाई १४ (सूचीसहित)

    कर्णालीका ६४ स्थानीय तहमा भागबन्डा- कांग्रेस र माओवादीलाई बराबर, एसलाई १४ (सूचीसहित)

    सुर्खेत । कर्णालीका सत्तारुढ गठबन्धनले आज भागबन्डा टुंग्याएका छन् ।

    ७९ स्थानीय तहमध्ये नेपाली ६४ वटामा मात्र सहमति जुटेको छ । रुकुमका ६ र सुर्खेतका ९ वटा पालिकामा भने सहमतिको प्रयास भइरहेको नेताहरूले बताएका छन् ।

    भागबन्डा गरिएका ६४ पालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई २५-२५ वटाको नेतृत्व पाएका छन् । नेकपा एसलाई १४ वटा स्थानिय तह छुट्याइएको छ ।

    गठबन्धनले गरेको निर्णयविरुद्ध कसैले बागी उम्मेदवार दिए कारबाहीको चेतावनी दिइएको छ ।

  • पोखराको मेयरमा गठबन्धन उम्मेदवारविरुद्ध कांग्रेस नेताले दिए बागी उम्मेदवारी

    पोखराको मेयरमा गठबन्धन उम्मेदवारविरुद्ध कांग्रेस नेताले दिए बागी उम्मेदवारी

    पोखरा । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले टिकट पाएपछि नेपाली कांग्रेसका एक जना नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका पूर्व कोषाध्यक्ष ऋषि सापकोटाले गठबन्धनकोविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

    उनी २०५४ देखि २०६४सम्म दश वर्ष कांग्रेसको जिल्ला सभापति थिए ।

    पार्टीले कार्यकर्ता र जनतालाई रुखबाहेक अन्य चिन्हमा भोट दिन बाध्य पारेकाले आफूले कांग्रेसको मत सुरक्षित गर्न स्वतन्त्र उम्मेदवारी दिएको सापकोटाले बताए ।

  • ललितपुर-१८ का वडाध्यक्ष खड्का एमाले छोडेर माओवादीमा, तुरुन्तै पाए टिकट

    ललितपुर-१८ का वडाध्यक्ष खड्का एमाले छोडेर माओवादीमा, तुरुन्तै पाए टिकट

    ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष पुरुषोत्तम खड्का एमाले त्यागेर माओवादीमा प्रवेश गरेका छन् । आज आफ्नै निवासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा भित्र्याएका हुन् ।

    वडाध्यक्षका रूपमा प्रभावकारी काम गरेका खड्का फेरि दोहोरिन इच्छुक थिए । तर, एमालेले उनलाई टिकट दिएन । सो वडामा दामोदर खड्कालाई उम्मेदवार बनाइएको छ । उनी पुरुषोत्तमका प्रतिस्पर्धी हुन् ।

    एमाले विभाजन हुनुअघि दामोदर माधव नेपाल समूहमा थिए । तर, पार्टी विभाजन हुँदा उनी एमालेमै रहे । त्यसैको पुरस्कारस्वरूप दामोदरलाई एमालेले सोही वडाबाट टिकट दिएको हो । अघिल्लो चुनावमा पनि उनी टिकटका आकांक्षी थिए । त्यसबेला भने पुरुषोत्तमले बाजी मारेका थिए ।

    एमालेबाट दोस्रोपटक वडाध्यक्ष लड्न नपाएपछि पुरुषोत्तमले माओवादी रोजेका छन् । सो वडाबाट कांग्रेसकाे पनि उम्मेदवारी परेकाे छ । यद्यपि, माथिकाे गठवन्धन अनुसार कांग्रेस उम्मेदवारले पछि आफूलाई समर्थन गर्ने खड्काको आशा छ ।

    पुरुषोत्तमले ललितपुर-१८ मा विकास- निर्माणलाई रफ्तार दिइरहेका थिए । त्यसैले मतदाताहरुको सहानुभूति पनि उनीतिर रहेको छ ।

  • कांग्रेस बिपीबाट विराटनगरको मेयरमा रामचन्द्र गौतमको मनोनयन दर्ता

    कांग्रेस बिपीबाट विराटनगरको मेयरमा रामचन्द्र गौतमको मनोनयन दर्ता

    विराटनगर । नेपाली कांग्रेस बिपीबाट विराटनगर महानगरको मेयरमा रामचन्द्र गौतमले मनोनयन दर्ता गराएका छन् ।

    गौतम नेपाल प्रजातान्त्रिक महासंघ मोरङका अध्यक्ष पनि हुन् । उपमेयर माया ओझाले मनोनयन दर्ता गराएकी छन् ।

    नेपाली कांग्रेस बिपी पार्टीले पहिलो पटक स्थानीय तहको चुनावमा भाग लिएको हो ।

  • धरान र इटहरी मेयरमा गठबन्धनबाट किशोर र हेमकर्ण कांग्रेसका उम्मेदवार

    धरान र इटहरी मेयरमा गठबन्धनबाट किशोर र हेमकर्ण कांग्रेसका उम्मेदवार

    इटहरी । इटहरी र धरान उपमहानगरपालिकामा गठबन्धनले उम्मेदवार टुंग्याएको छ । इटहरी उपमहानगर सभापति हेमकर्ण पौडेल मेयरको उम्मेदवार बनेका छन् । त्यस्तै धरानमा कांग्रेसकै किशोर राईलाई अघि सारिएको छ ।

    ७४ मा पनि इटहरीमा पौडेलले दाबी गरेका थिए । तर, उनले टिकट नपाएपछि कांग्रेसका नेता-कार्यकर्ताले सडकमै पर्दर्शन गरेका थिए । २०५५ मा इटहरीको सामुदायिक क्याम्पस बहुमुखी जनता क्याम्पसका स्ववियू सभापति पौडेल इटहरीमा कांग्रेसबाट तीनपटक सभापति भइसकेका छन् ।

    २०३५ साउन ५ मा झापाको केरोबारीमा जन्मेका उनी २०४६ मा इटहरी आएका हुन् । नेपाली काङ्ग्रेसको राजनीतिमा पौडेलको औपचारिक प्रवेश २०५५ मा भएको स्ववियू चुनावबाट भएको हो ।

    त्यस्तै धरानमा गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार किशोर राई अघिल्लो पटक मेयरमा लड्न खोजेका थिए । उनी खेलकुद क्षेत्रमा थिए ।

    किशोर गत असोजमा भएको कांग्रेस धरानको पार्टी सभापतिमा श्याम पोखरेलसँग ३९ मतले पराजित भएका थिए ।

    २०७४ मंसिरमा भएको प्रदेशसभा चुनावमा सुनसरी क्षेत्र नम्बर १ (क) मा उनी एमालेका प्रदीप भण्डारीसँग ५ हजार ७३ मतले पराजित भएका थिए ।

  • मेयर लड्न एसएसपी छाड‍ेका शाहलाई कांग्रेसले टिकट दिएन

    मेयर लड्न एसएसपी छाड‍ेका शाहलाई कांग्रेसले टिकट दिएन

    काठमाडौं। मेयरमा लड्न नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)बाट राजीनामा दिएका गोविन्द शाहलाई नेपाली कांग्रेसले हिस्स बनाएको छ।

    नेपाली कांग्रेसले धनुषाको विदेह नगरपालिकामा योगेन्द्र यादबलाई मेयरको टिकट दिएको छ।

    यसअघि नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बन्ने आशासहित शाहल‍े एसएसपीबाट दिएको राजिनामा फागुनको दोस्रो साता स्वीकृत भएको थियो। शाह वर्तमान आईजिपी शैलेष थापाका ब्याची हुन्।

    उनले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरेका छन्। नेपाली कांग्रेसले कमजोर व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै आफूले सजिलै चुनाव जित्ने शाहको दावी छ।

  • गठबन्धनको गेम ओभर भइसक्यो, दोब्बर मत ल्याएर जित्छु : केशव स्थापित (भिडिओ)

    गठबन्धनको गेम ओभर भइसक्यो, दोब्बर मत ल्याएर जित्छु : केशव स्थापित (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको प्रमुख पदका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनको उम्मेदवार भन्दा दोब्बर मत ल्याउने दाबी गरेका छन् ।

    उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुराकानी गर्दै स्थापितले आफ्नो उम्मेदवारी दर्तासँगै गठबन्धनको गेम ओभर भएको बताए ।

    ‘कांग्रेसको स्थायी भोट ४५ हजार मात्रै हो । माओवादीको ७ हजार । सबै खस्यो भने पनि ५२ हजार होला । समाजवादीले भोट लग्यो भने गठबन्धनको ५५–५८ हजार होला । काठमाडौंका जनताले पहिल्यै ८४ हजार ६ सय मत दिएको मान्छे हुँ म । त्यसैले गेम इज ओभर । हामी चुनाव जित्छौँ’, स्थापितले भने ।

    उनले ‘सानातिना विवादले आफूलाई असर नगर्ने’ समेत उल्लेख गरे । ‘विवादमा नआउने पनि केशव स्थापित हुन्छ ? मलाई यस्ता विवादले केही असर गर्दैन । मैले बनाएको माइतीघरमा नाराबाजी गर्नेहरू सबै मेरा मतदाता हुन्’, स्थापितले भने ।

    उनले महानगरभित्र रहेका कलेजहरूको भवन नयाँ बनाउने बताए ।

    त्रिचन्द्र कलेजमा नयाँ टावर बनाएर प्राज्ञिक केन्द्र खडा गर्ने स्थापितको भनाई छ ।

  • तिलोत्तमामा एकीकृत समाजवादीले महिला मेयर उठाउने

    तिलोत्तमामा एकीकृत समाजवादीले महिला मेयर उठाउने

    रुपन्देही । नेकपा एकीकृत समाजवादीले तिलोत्तमाको मेयरमा महिलालाई उठाउने निर्णय गरेको छ ।

    एकीकृत समाजवादी रुपन्देहीको जिल्ला कमिटी बैठकले सचिवालय सदस्य आशा कुमारी चौधरीलाई मेयरमा उठाउने निर्णय गरेको हो ।

    त्यस्तै उपमेयरमा सञ्जीव भण्डारीलाई उठाउने निर्णय गरेको जिल्ला उपसचिव सरिता श्रीसले बताइन ।

    चौधरी अनेमसंघ जिल्ला उपाध्यक्ष हुन भने भण्डारी प्राध्यापन क्षेत्रमा सक्रिय छन् ।

  • काठमाडौंको मेयरमा उठ्ने तयारी गरेका रमेश खरेल पछि हटे, अब संसदीय चुनाव लड्ने घोषणा

    काठमाडौंको मेयरमा उठ्ने तयारी गरेका रमेश खरेल पछि हटे, अब संसदीय चुनाव लड्ने घोषणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेका नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेल ब्याक भएका छन् । आफ्नो पार्टीले मेयरमा उठ्न म्यान्डेट नदिएको उनले बताए ।

    खरेलले आफ्नै नेतृत्वमा सुशासन पार्टी गठन गरेका छन् । सोही पार्टीको तर्फबाट काठमाडौंमा मेयरमा लड्न लागेको समाचारहरु मिडियामा आएका थिए । खरेलले भने घोषणा गरिसकेका थिएनन् ।

    ‘मैले पार्टीका साथीहरुसँग सल्लाह गर्दा मेयरमा उठ्नुभन्दा सांसदमा उठ्नु ठिक हो भन्ने धेरैले राय दिनुभयो,’ खरेलले नेपाल प्रेससँग भने, ‘त्यसैले स्थानीय चुनावमा नउठ्ने निधो गरेको हुँ ।’

    महानगरपालिकाको मेयर एउटा सिमित दायरामा बाँधिनुपर्ने र २४सै घन्टा खटिनुपर्ने भएकाले पनि यो पद आफ्नो लागि उपयुक्त नहुने निस्कर्षमा पुगेको उनले बताए ।

    ‘सांसद भएँ भने देशव्यापी संगठन विस्तार गर्न पनि सकिन्छ, तर मेयर हुँदा सानो दायरामा बाँधिन्छ भन्ने कुरा साथीहरुले गर्नुभयो तर मलाई पनि ठिकै लाग्यो,’ खरेलले भने ।

    संसदको चुनाव लड्ने निश्चित भए पनि कहाँबाट लड्ने भन्ने निर्णय लिन बाँकी रहेको उनको भनाइ छ । ‘म भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध अभियानमा छु,’ उनले भने, ‘जुन निर्वाचन क्षेत्रमा नामुद भ्रष्टाचारी र ठगले उम्मेदवार दिन्छन्, त्यसैबाट लड्छु ।’

    उनले काठमाडौंको कुनै पनि निर्वाचन क्षेत्रबाट संसदीय चुनावमा उम्मेदवार दिन सक्ने बताए । महानगरको चुनावमा आफनाे पार्टीले उम्मेदवारी दिनुभन्दा अरु कुनै उम्मेदवारलाई समर्थन जनाउन सक्ने उनले संकेत गरे ।

  • ललितपुरका एमाले उम्मेदवारले भने- स्यालको बथानले सिंहको शिकार गर्न सक्दैन (तस्बिरहरू)

    ललितपुरका एमाले उम्मेदवारले भने- स्यालको बथानले सिंहको शिकार गर्न सक्दैन (तस्बिरहरू)

    ललितपुर । नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले आफू विरुद्ध जति दलको गठबन्धन भए पनि जनताको साथ पाएर जित्ने दाबी गरेका छन् ।

    ललितपुर महानगरको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउँदै व्यञ्जनकारले अघिल्लो चुनावमा मतगणनामा धाँधली गरेर थोरै मतले हराइएको भनी यस पटक जनताले न्याय दिने बताए ।

    उनले एमालेविरुद्धको गठबन्धनलाई सिंहकाविरुद्ध स्यालहरूको भीड भन्दै स्याल जति मिले पनि सिंहको शिकार गर्न नसक्ने बताए । उम्मेदवारी दर्तापछि उपमेयरकी उम्मेदवार मन्जली शाक्यले गठबन्धनलाई परास्त गर्न ललितपुरका जनताको साथ रहेको बताइन् ।

    शाक्य अघिल्लो चुनावमा माओवादीबाट उपमेयरको उम्मेदवार बनेर अन्तिममा फिर्ता भएकी थिइन् ।अहिले उनी महानगरपालिका कमिटी एमालेको अध्यक्ष छिन् ।

    उम्मेदवारी दर्ताअघि मेयर र उपमेयरका उम्मेदवारले शताब्दी पुरुष सत्यमोहन जोशी र ललितपुरका ज्येष्ठ कम्युनिस्ट सिद्धिलाल सिंह तथा स्नेतहलता श्रेष्ठलाई भेटेर आशीर्वाद लिएका थिए ।

    उनीहरू बाजागाजा र जुलुससहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

  • किरियापुत्रीले गरे एमालेबाट मध्यविन्दुको मेयरमा उम्मेदवारी दर्ता

    किरियापुत्रीले गरे एमालेबाट मध्यविन्दुको मेयरमा उम्मेदवारी दर्ता

    चोरमारा । आमाको निधन भएर किरिया बसिरहेका भिमलाल अधिकारीले नेकपा एमालेबाट नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयर पदको उम्मेदवारमा मनोनयन दर्ता गराएका छन् ।

    मातृशोकमा रहेका अधिकारीले एमालेका तर्फबाट नगरपालिकाको उपमेयर, वडा अध्यक्ष, सदस्य लगायत कार्यकर्ताहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

    अधिकारीले कोरा बसेकै अवस्थामा अलग्गै उभिएर उम्मेदवारी दर्ता गराएका थिए । एमालेबाट नगरपालिकाको उपमेयर पदमा पूर्णकला महतोले उम्मेदवारी दिएकी छन् ।

    त्यस्तै वडा अध्यक्षहरुमा क्रमश वडा नं. १ मा रामकुमार पुरी, २ मा रामभक्त अधिकारी, ३ मा मान बहादुर महतो, ४ मा डिल्लिराम महतो, ५ मा गणेश पाठक, ६ मा लक्ष्मण पाठक, ७ मा मधुबिलास अधिकारी, ८ बिरेन्द्र चौधरी, ९ मा हिमाल सिं ठकुरी, १० मा रण बहादुर थापा, ११ मा कमल बकबल, १२ मा कान्ता कुमाल, १३ मा अर्जुन पंगेनी, १४ मा मिन बहादुर दर्लामी र १५ मा यम बहादुर केसीले मनोनयन दर्ता गराएका छन् ।

     

  • खोर्सानेखापवासीको ‘पीरो गुनासो’: लौरे बनेर नेतालाई खोला तार्यौं, तर पुल बनेन

    खोर्सानेखापवासीको ‘पीरो गुनासो’: लौरे बनेर नेतालाई खोला तार्यौं, तर पुल बनेन

    इटहरी । खोर्सानी पीरोको बिम्ब हो । यस्तै खोर्सानी जोडिएको इटहरीको एक ग्रामीण क्षेत्र हो खोर्सानेखाप । खोर्सानी जस्तै पीरो छ, खोर्सानेखापवासीको दैनिकी ।
    तीनतिर खोला र एकतिर जंगलले घेरिएको इटहरी ३ खोर्सानेखापवासी सधैँ समस्यामा छन् । उनीहरुलाई इटहरी बजार आउन एक सय रुपैयाँ भाडा लाग्छ । यो भाडा धरानबाट विराटनगर बस यात्रा बराबरको हो ।

    पाइपको पानी खोर्सानेखाप अहिलेसम्म पुगेको छैन । स्थानीयले कल र बोरिङ गाडेर पानी खाँदै आएका छन् । खोर्सानेखापलाई इटहरी उपमहानगरको ‘कणाली’ भनेर चिनिन्छ । तर, इटहरी जनसंख्या र आन्तरिक आम्दानीको कोणमा प्रदेश १ कै सबैभन्दा ठूलो उपमहानगर हो । वार्षिक दुई अर्ब हाराहारीको बजेट चलाउँदै आएको छ इटहरीले ।

    खोर्सानेखापलाई इटहरी बजारसँग जोडिन सखुवा चौक, तामाङ टोल, तालतलैया हुँदै दश किलोमिटर हाराहारी यात्रा गर्नुपर्छ । सखुवा चोक पुग्नु अगाडि सेहरा खोला छ । खोलामा सवारी गुड्न सक्ने पुल छैन । सामान्य अवस्थामा गाडीहरु गुड्छन् । तर, वर्षात्को समय बाढी आउँदा सवारी जान सक्दैन । अनि खेर्सानेखाप बाहिरी दुनियाँसग सडक सञ्जालबाट अलग हुन्छ । यो पीरो नियति खोर्सानेखापका स्थानीयको वर्षौंदेखिको हो ।

    यस्तै पीरो अनुभव छ खोर्सानेखापमा २०४५ माघ १६ गते रामकुमार धिमालसँग विवाह गरेर आएकी फूलकुमारी धिमालको । नजिकैको बुद्ध चौककी फूलकुमारी बिहे गरेर खोर्सानेखाप जान तयार थिइनन् । कारण थियो अविकास । प्रकृतिले ठगेको खोर्सानेखापमा पूर्वाधारको अभाव थियो । उनले नचाहँदैमा विवाह रोकिने कुरा भएन । उनी खोर्सानेखाप जान बाध्य भइन् ।

    अहिले ५० वर्ष पुगेकी फूलकुमारीले आफ्नो विवाह सम्झँदै भनिन्, ‘किस्मतले ठग्दा बाउआमाले जहाँ दिन्छन्, त्यही जानुपर्यो ।’

    ३४ वर्षअघि फूलकुमारीले बिहे गर्दा खोर्सानेखापमा पक्की बाटो थिएन । घरहरु स–साना थिए । बिजुली थिएन । खोर्सानेखाप पुग्ने झोलुङ्ले पुल पनि थिएन । त्योभन्दा ठूलो समस्या हात्तीको आतंक थियो । ‘यो ठाउँ भएर हात्तीहरु लस्करै हिँड्थे’, फूलकुमारी विगत सम्झन्छन्, ‘घरहरु भत्काउने डर हुन्थ्यो । कति भत्किए ।’

    २०४५ सालताका गाउँमा पस्ने हाँत्ती अहिले देखिन छोडेको छ । बाढीले सताउन भने अहिले पनि छोडेको छैन । ‘दुई पटक त बाढीले घर घेरेको थियो । भाग्यले बाँचियो’, उनले भनिन् । यसबीच फूलकुमारीका चार छोराछोरी र ६ नातिनातिना भइसके । उनको आफ्नो सात कट्ठा जग्गा छ । बाढी आउँदा ज्यान जोगिए पनि जग्गा जोगाउन गाह्रो भएको उनी सुनाउँछिन् । ‘बाढी आएपछि बालुवै बालुवाले पुर्दिन्छ । सफा गर्न धेरै लाग्छ’, उनले दुःख बिसाइन् ।

    २०५० सालमा खोर्सानेखाप आएका ७५ वर्षीय विष्णुराज राईको अनुभव फूलकुमारीभन्दा फरक छैन । ६ कट्ठा हाराहारी जग्गामा कमाई गर्ने विष्णुराजको खेतमा धेरैपटक बुढी खोलाले झम्टेको छ । बाली फल्ने खेतमा बालुवा भरिएको छ ।

    धनकुटा आँखीसल्लाबाट इटहरी आएका विष्णुराजका अनुसार खोर्सानेखापको बाढीपछिको मुख्य समस्या बाटो हो । ‘गाडी गुड्ने पुल बनाए धेरै राम्रो हुन्थ्यो । अहिलेसम्म कसैले बनाएनन्’, उनको गुनासो थियो । ५६ घर र झन्डै २०० मतदाता रहेको खोर्सानेखापमा पार्टीका ठूला नेता नहुँदा समस्या भएको उनी सुनाउँछन् ।

    ‘विकास ठूला नेता भएका ठाउँमा मात्रै हुँदोरहेछ’, विष्णुराजले भने, ‘खोर्सानेखापमा पहिले बाटो थिएन । अहिले बाटो बन्यो । बिजुली आयो । सामान्य झोलुङ्गे पुल बनेको छ । तर, हुनुपर्ने जति विकास भएको छैन ।’

    उनका अनुसार नेताहरुले हरेक चुनावमा भोट पाउन बाटो पिच गर्ने र मोटर गुड्ने पुल बन्ने आश्वासन दिन छाडेनन् । तर अहिलेसम्म न बाटो पिच भयो न त खोला तर्न पक्की पुल नै बन्यो ।

    रामेछापको तत्कालीन धोबी गाउँबाट विराटनगरको रघुपति जुट मिल्समा जागिर गरेका सन्तबहादुर मगर २०५१ सालमा इटहरीको खोर्सानेखापमा आएका थिए । ६६ वर्षीय सन्तबहादुर खोर्सानेखापमा राम्रो नेता नहुँदा विकास पनि राम्रो नभएको सुनाउँछन् ।

    खोर्सानेखापमा अझै पनि आधारभूत विद्यालयसम्म खुलेको छैन । ‘बाल केन्द्र छ । सिंहबाहिनी आधारभूत विद्यालयमा पुग्न स–साना नानीबाबुले खोला तर्नुपर्छ’, उनले भने, ‘अटोमा इटहरी जानुपर्छ । धेरै महंगो पर्छ । सार्वजनिक गाडी चलाइदिए गाँउका मान्छेले धेरै सुविस्ता पाउँथे ।’

    आफैले कल गाडेर खानेपानी समस्या हल गरिएको भन्दै उनले यातायातले गर्दा आफूहरु कर्णालीवासीभन्दा पछाडि रहेको बताउँछन् ।

     

  • महानगरमा देउवा-सिंह-कोइरालाबीच भागबन्डा, पौडेलले पाएनन्

    महानगरमा देउवा-सिंह-कोइरालाबीच भागबन्डा, पौडेलले पाएनन्

    काठमाडौं । नेपाली कांग्रेसले महानगरपालिकाका उम्मेदवारहरूको टुंगो लगाउँदा पार्टीको आन्तरिक शक्ति समीकरणअनुसार भागबन्डा गरेको छ । भागबन्डाका क्रममा कांग्रेसको भागमा परेको ३ महानगरको प्रमुखमा सभापति शेरबहादुर देउवा, पूर्वउपसभापति प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाको समूहले १-१ जना पाएको छ ।

    सभापति देउवानिकट चिरीबाबु महर्जनले ललितपुरको मेयरमा पुनः टिकट पाएका छन् । पूर्वउपसभापति सिंहकी श्रीमती सिर्जना सिंहले काठमाडौंको मेयर पाएकी छिन् भने नेता कोइरालानिकट नागेश कोइरालाले विराटनगर महानगरपालिकाको मेयरको टिकट पाएका छन् ।

    उपमेयरतर्फ पोखरामा देउवानिकट सुरेन्द्रमान बिजुक्छेले टिकट पाउँदा भरतपुरमा कोइरालानिकट चित्रसेन अधिकारीले टिकट पाएका छन् । वीरगञ्जमा संस्थापन पक्षकै नेता इम्तियाज आलम उपमेयरको उम्मेदवार बनेका छन् ।

    सिंह र कोइरालाले १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका थिए । दोस्रो चरणमा सिंहले देउवालाई समर्थन गरेका थिए ।

    विराटनगरमा आफूनिकट केन्द्रीय सदस्य अमृत अर्याललाई मेयर बनाउन सभापति देउवाले अन्तिमसम्म प्रयत्न गरेपनि कोइरालाले अडान नछाडेपछि देउवा ब्याक भएका हुन् । संसदीय समितिमा परेर पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने महानगरतर्फ कुनै भाग पाएनन् ।

  • वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दिए राप्रपाबाट काठमाडौंको मेयरमा उम्मेदवारी (तस्बिरहरु)

    वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दिए राप्रपाबाट काठमाडौंको मेयरमा उम्मेदवारी (तस्बिरहरु)

    काठमाडौं । वरिष्ठ कलाकार मदानदास श्रेष्ठले राप्रपाबाट काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका छन् । बाजागाजासहित उम्मेदवारी मनोनयन दर्तास्थल राष्ट्रिय सभागृह पुगेर वरिष्ठ कलाकार श्रेष्ठले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै राप्रपाबाट उपमेयरमा विनिया मगैयाले पनि उम्मेदवारी दर्ता गरेकी छन् ।

    स्थानीय तह निर्वाचन कार्यतालिकाअनुसार राप्रपासँगै अन्य दलले पनि धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन् । काठमाडौंसँगै अहिले देशैभर उम्मेदवारी दर्ता भइरहेको छ ।

    हेर्नुहोस् वरिष्ठ कलाकार श्रेष्ठ काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गर्न जाँदै गर्दाका तस्बिरहरु

  • यी हुन् तीन महानगरमा गठबन्धनबाट कांग्रेसका उपमेयर उम्मेदवार

    यी हुन् तीन महानगरमा गठबन्धनबाट कांग्रेसका उपमेयर उम्मेदवार

    काठमाडौं । भरतपुर महानगरपालिका गठबन्धनका तर्फबाट कांग्रेसले चित्रसेन अधिकारीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

    कांग्रेसको भरतपुर महानगर समितिका सभापति रहेका अधिकारीले उपमेयरको टिकट पाएका हुन् । भरतपुरमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले रेनु दाहाललाई उम्मेदवार बनाएको छ । कांग्रेसभित्र गठबन्धनको विषयमा तीब्र विवाद छ । कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई स्वतन्त्र रूपमा मेयरको उम्मेदवार बनाउँदैछ ।

    यसैबीच, कांग्रेसले पोखरा महानगरपालिकाको उपमेयरमा सुरेन्द्रमान बिजुक्छेलाई उम्मेदवार बनाएको छ । उनी कांग्रेसको पोखरा महानगर समितिका सभापति हुन् । पोखरामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाएको छ ।

    त्यस्तै वीरगञ्ज महानगरपालिकाको उपमेयरमा कांग्रेसले इम्तियाज आलमलाई उम्मेदवार बनाउने भएको छ । उनी पर्सा कांग्रेसका सचिव हुन् । पर्सामा गठबन्धनको तर्फबाट जसपाले राजेशमान सिंहलाई मेयरको उम्मेदवार बनाएको छ ।

  • काठमाडौंका ८ वटा नगरपालिकामा यी हुन् कांग्रेसका उम्मेदवार (सूचीसहित)

    काठमाडौंका ८ वटा नगरपालिकामा यी हुन् कांग्रेसका उम्मेदवार (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका ८ वटा नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ । किर्तिपुर र टोखाबाहेक अन्य नगरपालिकामा उम्मेदवार टुंगो लागेको हो ।

    सत्ता गठबन्धन हुँदाको अवस्थामा कागेश्वरी मनहरा नेकपा एसले पाउँने भए पनि कांग्रेसले यसअघि पराजित उपेन्द्र कार्कीलाई नै अघि सारेको छ ।

    त्यस्तै चन्द्रागिरी,नागर्जुन,दक्षिणकालीका मेयर दोहोरिएका छन् । कागेश्वरीमा कांग्रेसले उपमेयर पद भने खाली राखेको छ ।

    यी हुन् कांग्रेस उम्मेदवार

  • जुलुससहित एमालेका केशव स्थापित र सुनिता डंगोल सभागृहमा (तस्बिरहरू)

    जुलुससहित एमालेका केशव स्थापित र सुनिता डंगोल सभागृहमा (तस्बिरहरू)

    काठमाडौं । संघीय राजधानी तथा सबैभन्दा बढी मतदाता भएको स्थानीय तह काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर-उपमेयरका उम्मेदवार मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ अघि बढेका छन् ।

    एमालेले काठमाडौं महानगरको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई अघि सारेको छ ।

    दुवै उम्मेदवार जुलुशसहित सभागृहतर्फ उम्मेदवारी दिन अघि बढेका हुन् ।

  • काठमाडौंका १० नगरपालिकामा यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

    काठमाडौंका १० नगरपालिकामा यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले महानगरपालिकाबाहेकका काठमाडौंका १० वटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सोमबार टुंगो लगाएको छ । १० मध्ये टोखा र तारकेश्वर नगरपालिकाका मेयर-उपमेयर दोहोरिएका छन् ।

    अन्यत्र नयाँ उम्मेदवार खडा गरेको छ भने नागार्जुनको उपमेयरमा सुशीला अधिकारी दोहोरिएकी छन् ।

    यी हुन् एमालेका उम्मेदवार :

  • तनहुँका ४ पालिकामा एमाले र कांग्रेसको जोशी समूहबीच तालमेल,यी हुन् उम्मेदवार

    तनहुँका ४ पालिकामा एमाले र कांग्रेसको जोशी समूहबीच तालमेल,यी हुन् उम्मेदवार

    दमौली । नेकपा एमालेले तनहुँका १० वटै स्थानीय तहमा उम्मेदवार ढिलो गरी टुंगो लगाएको छ । जिल्लाको ब्यास र भानु नगरपालिकासहित केही स्थानीय तहमा कांग्रेसको गोविन्दराज जोशी समूहसँग एमालेले तालेमेल गरेको छ ।

    जोशी समुहबाट उम्मेदवार टुंगो लाग्ने क्रममा रहेको छ । जोशी समुहले ब्यास नगरपालिकामा मेयर तथा भानु नगरपालिकामा उपमेयर पाएको छ । त्यस्तै आँबु खैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा जोशी समुहले उपाध्यक्ष पाएको छ ।

    जोशी समूहले ब्यासको मेयरमा दिपकराज जोशी,बन्दीपुरको उपाध्यक्षमा केशु गुरुङ र भानुको उपमेयमा केशरवहादुर गुरुङ उम्मेदवार तय भएका छन् ।

    एमालेबाट टुंगिएका उम्मेदवार यसप्रकार छन् ।

    नेकपा एमाले तनहुँका उम्मेदवारहरु:
    १. देवघाट

    अध्यक्ष – दुर्गबहादुर थापा

    उपाध्यक्ष – सावित्री न्यौपाने

    २. आबुखैरेनी

    अध्यक्ष – ऋषी केसी

    उपाध्यक्ष – नेपाली कांग्रेस (जोशी समूह)

    ३. बन्दीपुर

    अध्यक्ष – सुरेन्द्र थापा

    उपाध्यक्ष – (जोशी समूह)

    ४. भानु

    मेयर-सीताराम बजगाई

    उपमेयर- (जोशी समूह)

    ५. व्यास

    मेयर- जोशी समूह

    उपमेयर- बसुन्धरा घर्ती

    ६. म्याग्दे

    अध्यक्ष- श्रीप्रसाद श्रेष्ठ

    उपाध्यक्ष – रत्ना घिमिरे

    ७. शुक्लागन्डकी

    मेयर- मुक्ति तिमिल्सिना

    उपमेयर- फुलमाया वाग्ले

    ८. भिमाद

    मेयर- दधिराज सुवेदी

    उपमेयर- शारदा खनाल

    ९. ऋषिङ

    अध्यक्ष – हरिराज कडेंल

    उपाध्यक्ष

    १०. घिरिङ

    अध्यक्ष -होमबहादुर थापा

    उपाध्यक्ष – राधा अधिकारी

  • भक्तपुरमा कांग्रेस र एमालेले टुंग्याए उम्मेदवार

    भक्तपुरमा कांग्रेस र एमालेले टुंग्याए उम्मेदवार

    भक्तपुर । नेपाली कांग्रेस र नेकपा एमालेले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंग्याएका छन् ।

    कांग्रेसले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा रामप्रसाद कासुलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकाको उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तीन नगरपालिका भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायककाे उपमेयर गठबन्धन दलका अरु पार्टीको भागमा परेकोले उसले त्यहाँं उम्मेदवार घाेषणा गरेकाे छैन ।

    गठबन्धनले मध्यपुर थिमिको उपप्रमुख नेकपा माओवादी केन्द्रलाई र नेकपा एकीकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपप्रमुख दिने सहमति गरेकाे थियो ।

    यता, एमालेले मध्यपुर थिमिमा मदनसुन्दर श्रेष्ठलाई प्रमुखमा दाेहाेर्‍याएकाे छ । यहाँ उत्तरा नेपाललाई उपप्रमुखकाे उम्मेदवार टुंग्याइएको छ । सूर्यविनायककाे मेयरमा एमालेबाट वासुदेव थापा दाेहाेरिएका छन् यहाँ सरिता भट्टराईलाई उपप्रमुखकाे टिकट दिइएकाे छ । भक्तपुर नगरमा रवीन्द्र लाछिमस्यु प्रमुख र रञ्जना खर्बुजा उपप्रमुख तथा चाँगुनारायणमा बीना बाँस्तोला प्रमुख र रमेश बुढाथोकी उपप्रमुख उठाउने टुंगो लगाएको हो ।

    चाँगुनारायणमा मेयर टिकट पाएकी वीना यसअघि उपमेयर निर्वाचित भएकी थिइन् ।

  • लम्की चुहाको मेयरमा कांग्रेसकाे एउटै गुटबाट दुईजनालाई टिकट, आधिकारिकतामा विवाद

    लम्की चुहाको मेयरमा कांग्रेसकाे एउटै गुटबाट दुईजनालाई टिकट, आधिकारिकतामा विवाद

    कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा नेपाली कांग्रेसले एउटै पालिकामा दुईजनालाई टिकट दिएको पाइएको छ।

    केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुशीला शाहीलाई र प्रदेश सभापति वीरबहादुर बलायरले बक्त थापालाई टिकट दिएको पाइएको हो ।

    उनीहरु दुवैजनाले आफू आधिकारिक उम्मेदवार भएको बताएका छन् । गठबन्धनको बैठकअनुसार लम्की चुहा नगरपालिका नेपाली कांग्रेसको भागमा परेको थियो । उम्मेदवारी दर्ता गर्ने दिन दुवैजनाले आफूलाई आधिकारिक उम्मेदवार भनेपछि समस्या भएको छ ।

    नगर सभापति इन्द्र कुँवरले टिकट दिने अधिकार भएको व्यक्तिबाट पाएको टिकटलाई आधिकारिक मानिने बताए ।

  • उम्मेदवारी दर्ताअघि व्यञ्जनकारले लिए शताब्दी पुरुष र ज्येष्ठ कम्युनिष्टबाट आशीर्वाद

    उम्मेदवारी दर्ताअघि व्यञ्जनकारले लिए शताब्दी पुरुष र ज्येष्ठ कम्युनिष्टबाट आशीर्वाद

    ललितपुर । नेकपा एमालेबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयर मञ्जली शाक्य (आस्था) ले उम्मेदवारी मनोनयनअघि महानगरका ज्येष्ठ व्यक्तित्वहरूको आशीर्वाद लिएका छन् ।

    शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद लिएका हुन् । व्यञ्जनकार आशीर्वाद लिन बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । अस्वस्थताको कारण किस्ट अस्पताल भर्नापछि आइतबार डिस्चार्ज भएका जोशीले एमालेका मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेद्दार शाक्यलाई आशीर्वादसहित शुभकामना दिए ।

    लगत्तै शंखमुलस्थित सिद्धिलाल सिंहको निवासमा पुगेका दुवै उम्मेदवारलाई आशीर्वाद दिँदै सिंहले भने, ‘ललितपुर महानगरपालिकाको समग्र विकास गर्न तपाईंजस्ता उम्मेदवारको आवश्यक छ । यो निर्वाचनमा दुवैजनाको विजयी हुने विश्वाससहित आशीर्वाद दिन्छु ।’

    ८६ वर्षे नेता सिंहलाई भेटेपछि उनीहरू पाटनढोकास्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेका थिए । ८४ वर्षिया श्रेष्ठले आफ्नो जीवनमा ललितपुर महानगरमा एमालेको उम्मेदवार विजय भएको हेर्न चाहेको बताइन् ।

    भेटपछि प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार व्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यले इतिहासपुरुष जोशी र दुई वामपन्थी नेताको आशीर्वादबाट आफूहरूको विजययात्रा शुरु भएको बताए ।

  • पोखरा महानगरमा एमालेबाट मेयर लड्न थापाले दिए प्रदेश सांसदबाट राजीनामा

    पोखरा महानगरमा एमालेबाट मेयर लड्न थापाले दिए प्रदेश सांसदबाट राजीनामा

    पोखरा । पोखरा महानगरपालिकाको टिकट पाएपछि गण्डकी प्रदेश सांसद कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् । आज सभामुख नेत्रनाथ अधिकारीलाई उनले राजीनामापत्र बुझाएका हुन् । थापा २०७४ को चुनावमा कास्की २ (क) बाट निर्वाचित भएका थिए ।

    २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका थापा २५ वर्षपछि पुनः मेयरमै दोहोरिन लागेका हुन् । केही आफ्ना योजनाहरू अधुरा रहेकोले त्यसलाई पूरा गर्न र पोखरा महानगरलाई समृद्ध बनाउन आफुले उम्मेद्वारी दिन लागेको बताएका छन् ।

    एमालेले आजै दिउँसो १ बजे मनोनयन दर्ता गराउँदै छ । त्यसका लागि तयारी भइरहेको छ । यसअघि दीपक पौडेललाई पोखराको मेयर टिकट दिइएकोमा चौतर्फी आलोचना र विरोधपछि उनको टिकट खोसिएको हो ।

    उपमेयरमा भने मन्जुदेवी गुरुङ नै दोहोरिने भएकी छिन् । यसअघि आफू नउठ्ने बताएकी मन्जुले थापालाई मेयरको टिकट दिएपछि भने उठ्न राजी भएकी छिन् ।