Category: स्थानीय निर्वाचन–२०७९

  • बुटवल उपमहानगरमा विरासत जोगाउने र भत्काउनेबीच भिडन्त हुँदै, कस्तो थियो विगत ?

    बुटवल उपमहानगरमा विरासत जोगाउने र भत्काउनेबीच भिडन्त हुँदै, कस्तो थियो विगत ?

    रुपन्देही । स्थानीय तह निर्वाचनको लागि राजनीतिक दलहरुले उम्मेदवार छनोट गरिसकेर मनोनयनसमेत गरिसकेका छन् । दलहरुले अघिल्लो निर्वाचन परिणाम र पार्टीभित्रको पहुँचलाई आधार बनाएर उम्मेदवार छनोट गरेका छन् । त्यसैले आसन्न स्थानीय तह निर्वाचनको लागि २०७४ सालको मत परिणामको लेखाजोखा जरुरी छ । उक्त परिणामअनुसार अहिले वर्चश्व भत्काउने र कायम राख्नेबीचको लडाइँ हुने देखिएको छ ।

    रुपन्देहीको महत्वपूर्ण स्थानीय तह बुटवल उपमहानगरमा कसरी निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्ने भन्ने कसरतमा दलहरु लागेका छन् । बुटवलको निर्वाचन ठूला दलहरुका लागि प्रतिष्ठाको लडाइँ मानिन्छ ।

    दलहरु निर्वाचन केन्द्रित आन्तरिक बैठक, भेला र पार्टी प्रवेशदेखि प्रचार कार्यालय स्थापनामा केन्द्रित छन् । आआफ्नो शक्ति थाहा पाउन वडावडामा कार्यकर्ता परिचालन गरिएको छ । उनीहरुले गोप्य मत सर्वेक्षणसमेत गरिसकेका छन् । त्यसको आधारमा उम्मेदवार टुंगो लगाएका दलहरुलाई एकल निर्वाचन जित्न भने फलामको च्यूरा चपाउनुसरह हुने स्पष्ट भइसकेको छ । त्यसैले सबै गठबन्धनतर्फ आकर्षित छन् ।

    बुटवल उपमहानगरमा यसपटक एमाले र नेपाली कांग्रेसबीचमै कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ कांग्रेसलाई सत्तागठबन्धनका अन्य दलहरुले सहयोग गर्ने भएका छन् । तर, जसपाले मेयर र उपमेयरमा आफ्नै उम्मेदवारी दर्ता गराएपछि गठबन्धनलाई चुनौती थपिएको छ ।

    संगठन मजबुत भएको एमालेले गत निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको जनमुक्ति पार्टीलाई यसपटक आफूतिर तानेको छ । अर्कोतर्फ एमाले एकल रुपमा बुटवलमा पहिलो पार्टी भए पनि पार्टी फुटका कारण केही मत घटेको छ । आन्तरिक शक्ति संघर्ष नमिले एमले थप समस्यामा पर्नेछ ।

    गत निर्वाचनको अवस्था

    मेयर पदका उम्मेदवार                                                       मत
    शिवराज सुवेदी (नेकपा एमाले)                                               २३२४९
    खेलराज पाण्डे (नेपाली कांग्रेस)                                               २०८५१
    जनकबहादुर थापा (राष्ट्रिय जनमुक्ति पार्टी)                              ११५१
    होमबहादुर गलामी (स्वतन्त्र)                                                   २३१
    टीका पौडेल (राप्रपा)                                                               १७९
    ढुण्डीराज शर्मा (राजमो)                                                          १७३
    राजबहादुर छन्त्याल (स्वतन्त्र)                                                   ४८
    ऋषिराम काफ्ले (स्वतन्त्र)                                                         २२
    हरिसुन्दर बासी (नेपाल मजदुर किसान पार्टी)                           २१
    रामप्रसाद पोखरेल (स्वतन्त्र)                                                     १८
    लोकनाथ पाण्डे (मधेसी जनअधिकार फोरम लोकतान्त्रिक)        १६

    मतदाता
    २०७९ : ९० हजार ६५ जना
    २०७४ : ६६ हजार ६६३ जना
    नयाँ मतदाता : २३ हजार ३९९ जना

    कस्तो थियो २०७४ को परिणाम ?

    बुटवल उपमहानगरपालिकामा २०७४ सालमा एमालेले क्लिन स्वीपको अवस्थामा विजय हात पारेको थियो । २०७९ सालमा त्यो अवस्था कायम राख्न उसलाई ठूलो चुनौती छ । कांग्रेसको नेतृत्वको चारदलीय गठबन्धन एमालेको किल्ला तोड्ने योजनामा छ । तर, गठबन्धनलाई पनि लक्ष्य पाउन सहज पक्कै छैन ।

    अघिल्लो निर्वाचनमा कांग्रेसले माओवादी र जनमुक्तिको साथ पाएको थियो । तालमेलअनुसार मेयरमा कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा माओवादी केन्द्रका जगतबहादुर पोखरेल उम्मेदवार थिए ।

    एमालेबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य उम्मेदवार थिए । निर्वाचनमा एमालेका सुवेदीले २३,२४९ मत ल्याएका थिए । दोस्रो स्थानमा रहेका पाण्डेले २०,८५१ मत पाएका थिए । उपमेयरमा आचार्यले २५,३०१ र पोखरेलले १४,७९२ मत पाएका थिए ।

    २३ हजार नयाँ मतदाता थप

    यस पटक ०७४ सालको मत परिणामको आधारमा मात्रै हिसाबकिताब गर्दा पूर्ण नहुनसक्छ किनकि यसबीच थुप्रै पार्टी जुट्ने र फुट्ने घटना भइसक्यो । नयाँ मतदाताको संख्या बढेको छ । उनीहरुको रुझानले पनि परिणाममा फेरबदल ल्याउन सक्छ । वामपन्थीहरुबीचको बेमेलले कांग्रेसलाई केही सहज छ । एमालेबाट फुटेको समाजवादी पार्टी गठन भएका कारण एवं एमालेविरुद्ध गठबन्धन भएको हुँदा एमालेका उम्मेदवारलाई चुनाव जित्न सहज नहुने बुझाइ छ ।

    बुटवलमा २३ हजार ६९९ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार बुटवलमा ९० हजार ६५ जना मतदाता पुगेका छन् । २०७४ सालको निर्वाचनमा बुटवलमा मतदाताको संख्या ६६ हजार ३६३ थियो ।

    यस्तो थियो वडाको अवस्था

    बुटवलका १९ वडामध्ये एमालेले १६ वटामा अध्यक्ष जितेको थियो । बाँकी ३ वडा कांग्रेसले जितेको थियो । कांग्रेसले अध्यक्ष जितेका वडामा बहुमत सदस्य भने एमालेले नै जितेको थियो । कतिपय वडामा निकै कम मतान्तर रहेको छ । तर यसैलाई आधार माने आसन्न निर्वाचनमा पाउने मतको आंकलन गर्न सकिने अवस्था छैन ।

    वडा नं १

    २०७४ सालको निर्वाचनमा यस वडामा महिला सदस्यबाहेक एमाले वडा अध्यक्ष उम्मेदवार महेन्द्र लिगलको टिमले जितेको थियो । विजयी लिगलले ६५९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका नरेन्द्र बस्नेतले ५२५ मत प्राप्त गरेका थिए । त्यस्तै तत्कालीन संघीय समाजवादी फोरमका मोहम्मद समिरले २७६ मत र माओवादी केन्द्रका राजु लिगलले १०८ मत पाएका थिए ।

    वडा नं २

    यस वडाका सबै पदमा एमाले उम्मेदवार फराकिलो मतान्तरले विजयी भएको थियो । एमालेको पकड रहेको यस वडाको अध्यक्षमा एमालेका रमेश नेपालले १,५२० मत ल्याउँदा प्रतिद्वन्द्वी कांग्रेसका वीरबहादुर लामाले ४०८ मतमात्र पाएका थिए ।

    त्यसैगरी राजमोका कृष्ण पोखरेलले ३१, नयाँशक्ति पार्टीका राममिलन भुजले ३०, जनमुक्तिका कृष्णबहादुर गलामीले ७१ मत ल्याएको थिए ।

    वडा नं ३

    यस वडामा एमालेका अध्यक्ष उम्मेदवार लालप्रसाद बस्यालले १,३३७ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांगे्रसका आनन्दभगत श्रेष्ठले १,०७२ मत पाएका थिए । यसैगरी माओवादीका विष्णु ढकालले ५९० र जनमुक्तिका लक्ष्मण समालीले ७२ मत ल्याएका थिए ।

    वडा नं ४

    यस वडामा पनि एमालेका सबै उम्मेदवार जितेका थिए । कांग्रेसका अर्जुन रानाभाटलाई पराजित गर्दै टंक पराजुली वडा अध्यक्ष बनेका थिए । पराजुली १,४१२ मत ल्याएर विजयी भएका थिए । रानाभाटले १,१९७ मत पाएका थिए । यसैगरी माओवादीका कृष्ण अर्यालले ९३, जनमुक्तिका दुर्गाबहादुर घर्तीले १६४ मत ल्याएका थिए ।

    वडा नं ५

    यो वडा बुटवल बजारको बीच भागमा रहेको छ । मतदाता संख्या कम भएको यस वडामा एमालेले अध्यक्षसहित सबै पद जितेको थियो । कांग्रेसका हरिप्रसाद श्रेष्ठलाई पराजित गर्दै एमालेका तेजकुमार विक वडा अध्यक्ष निर्वाचित भएका थिए । विकले ३९० मत ल्याएका थिए । श्रेष्ठले ३२५ मत पाएका थिए । यसैगरी माओवादीका शमशेर मियाले २५५ मत ल्याएका थिए ।

    वडा नं ६

    यस वडामा कांग्रेसका निर्मल आचार्यलाई पराजित गर्दै एमालेका जगदीश आचार्य वडा अध्यक्ष बनेका थिए । विजयी जगदीशले १,३०० मत ल्याउँदा निर्मलले ९०८ मत पाएका थिए । अन्य उम्मेदवारहरुमध्ये माओवादीका सन्दीप सापकोटाले ७५, राजमोका दलबहादुर भण्डारीले १७ र राप्रपाका सुनित क्षेत्रीले १० मत ल्याएका थिए

    वडा नं ७

    यस वडामा एमालेविरुद्ध ३ पार्टीले गठबन्धन गरेको थियो । एमालेको पकड रहेको यस वडामा कांग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीबीच गठबन्धन भएको थियो । तैपनि सबै पदमा एमालेले जितेको थियो । एमालेका अध्यक्ष उम्मेदवार कमल थापाले १,८७४ मत ल्याउँदा प्रतिद्वन्द्वी कांग्रेसका पदम गाहाले १,६१६ मत पाएका थिए ।

    वडा नं ८

    यस वडामा पनि एमालेविरुद्ध कांग्रेस, माओवादी र जनमुक्तिले गठबन्धन गरेको थियो । तैपनि एमालेका सबै उम्मेदवार विजयी भएका थिए । वडा अध्यक्षमा एमालेका भीमबहादुर श्रेष्ठले १,५२६ मत ल्याउँदा कांग्रेसका राधेश्याम राजभण्डारीले १,०५१ मत पाएका थिए ।

    वडा नं ९

    कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा भएको यस वडामा एमालेका सबै उम्मेदवारले जितेका थिए । कांग्रेसका प्रदीपकुमार श्रेष्ठलाई पराजित गर्दै विष्णु थापा एमालेबाट वडा अध्यक्ष बनेका थिए । थापाले १,२८१ मत ल्याएका थिए । श्रेष्ठले ९,६९ मतमात्रै पाएका थिए ।

    वडा नं १०

    यस वडामा पनि एमालेका सबै उम्मेदवारले जितेका थिए । कांग्रेसका खड्कबहादुर महतलाई पराजित गर्दै एमालेका पदम थापा वडा अध्यक्ष निर्वाचित भए । थापाले ६५७ मत ल्याएका थिए । महतले भने ५९७ मत पाएका थिए । यसैगरी माओवादीका बसन्त गौचनले २७१ र राजमोका शिव खनालले ७ मत ल्याएका थिए ।

    वडा नं ११

    यस वडालाई बुटवलको प्रमुख र उपप्रमुखको जीतहार बनाउन सक्ने मानिन्छ । यस वडामा एमालेले भारी मतले जीत हात पारेको थियो । कांग्रेसका सावित्रा टण्डनलाई पराजित गर्दै एमालेका रामचन्द्र खनाल क्षेत्री वडा अध्यक्ष निर्वाचित भएका थिए । टण्डनले १,९६७ ल्याउँदा विजयी क्षेत्रीले ४,७३४ मत पाएका थिए । यसैगरी माओवादीका शिवप्रसाद घिमिरेले ४९१, राप्रपाका कृष्णबहादुर मगरले १५० र राजमोका टानबहादुर खत्रीले ३३ मत ल्याएका थिए ।

    वडा नं १२

    यस वडामा कांग्रेसका उम्मेदवार एमालेका उम्मेदवारसँग १२१ मतले पराजित भएका थिए । यहाँ एमालेका सबै उम्मेदवारले जितेका हुन् । कांग्रेसका महेश राईलाई पराजित गर्दै एमालेका दुर्गा सुवेदी वडा अध्यक्ष्मा निर्वाचित भएका थिए । सुवेदीले १,१६९ मत ल्याएका थिए । राईले १,०४८ मत पाएका थिए ।

    यसैगरी माओवादीका शेरबहादुर सापकोटाले ४७२ र राजमोका गंगालाल सापकोटाले ३३ मत ल्याएका थिए ।

    वडा नं १३

    एमालेभित्रको विवादको फाइदा उठाउँदै यस वडामा कांग्रेसले जीत हात पारेको थियो । वडा अध्यक्षमा कांग्रेसका नारायण पुन विजयी हुँदा एउटा सदस्यबाहेक सबै एमालेले जितेको थियो । विजयी कांग्रेसका पुनले १,७६५ मत ल्याउँदा एमालेका योग गुरुङले १,३६३ मत पाएका थिए ।

    वडा नं १४

    यस वडामा कांग्रेसका लीलाबहादुर थापालाई पराजित गर्दै एमालेका दधिराम न्यौपानेले वडा अध्यक्ष जितेका थिए । न्यौपानेले ९७२ मत ल्याएका थिए । थापाले ७२८ मत पाएका थिए ।

    यसैगरी माओवादी केन्द्रका रामचन्द्र पन्थीले ९० र जनमुक्तिका हीराबहादुर बुढाथोकीले ३२ मत ल्याएका थिए ।

    वडा नं १५

    यहाँ पनि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भएको थियो । जसमा एमालेका सबै उम्मेदवारले जितेका थिए । कांग्रेसका प्रेमप्रसाद पौडेललाई १२२ मतले पराजित गर्दै एमालेका डम्मरबहादुर भण्डारी वडा अध्यक्ष निर्वाचित भएका थिए । भण्डारीले ९६६ मत ल्याएका थिए । न्यौपानेले ८४४ मत पाएका थिए । यसैगरी माओवादी केन्द्रका जयबहादुर छन्त्यालले १०४, जनमुक्तिका तेजबहादुर छन्त्यालले ३७ र राजमोका नन्दलाल आर्चायले १३ मत ल्याएका थिए ।

    वडा नं १६

    यस वडाको अध्यक्षमा कांग्रेसका भवानीप्रसाद शर्मालाई एमालेका रामप्रसाद रेग्मीले २९७ मतले पराजित गरेका थिए । कांग्रेसका शर्माले ६३६ मत ल्याउँदा विजेता एमालेका रेग्मीले ९३३ मत ल्याएका थिए । यहाँ माओवादी केन्द्रका रामराज तिवारीले २२ र राप्रपाका दिनानाथ अहिरले १९ मत ल्याएका थिए ।

    वडा नं १७

    यस वडामा पनि एमालेका सबै उम्मेदवार विजयी भएका थिए । कांग्रेसका ओमबहादुर घिमिरेलाई एमालेका सन्तबहादुर रानाले पराजित गरेका थिए ।

    कांग्रेसका घिमिरेले ४४७ मत ल्याउँदा विजयी रानाले ५४१ मत पाएका थिए । यहाँ माओवादी केन्द्रका गंगाराम ढकालले २५८ र जनमुक्तिका थम्मन थापाले ३५ मत ल्याएका थिए ।

    वडा नं १८

    यस वडामा एमाले, कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षीय भिडन्त भएको थियो । जसमा कांग्रेसका हुमनाथ आचार्य ४८३ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका थिए । वडा सदस्यहरुमा एमालेका उम्मेदवारहरु विजयी भएका थिए ।

    एमालेका खोमराज ढकालले ४२८ मत ल्याउँदा माओवादी केन्द्रका भीमप्रसाद थारुले ३२१ मत ल्याएका थिए ।

    वडा नं १९

    यस वडामा कांग्रेसले एउटा सदस्यबाहेक सबै पदमा जीत निकालेको थियो । यहाँ कांग्रेस र जनमुक्ति पार्टीबीच तालमेल भएको थियो । जसअनुसार वडा अध्यक्षमा कांग्रेसका हिमबहादुर खत्री ९८३ मतले विजयी भएका थिए ।

    एमालेका चन्द्रसिंह थापाले ७८४ मत ल्याएका थिए । माओवादी केन्द्रका राजु गौडेलले ८७ मत ल्याउँदा राप्रपाका गिरिप्रसाद भुसालले २३ मत पाएका थिए ।

  • कुल एक लाख ३६ हजार २६९ उम्मेदवारी दर्ता, कुन पदमा कति ? (सूचीसहित)

    कुल एक लाख ३६ हजार २६९ उम्मेदवारी दर्ता, कुन पदमा कति ? (सूचीसहित)

    काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

    निर्वाचन आयोगले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

    यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।

    स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

    कुन पदमा कति उम्मेदवार ?

    मेयरः ३ हजार २६१

    अध्यक्षः ३ हजार २५४

    उपमेयरः २ हजार ३

    उपाध्यक्षः २ हजार २९२

    वडाध्यक्षः ३२ हजार ५९

    महिला सदस्यः २३ हजार ३ सय ७५

    दलित महिला सदस्यः २१ हजार ११५

    सदस्यः ४८ हजार ९१०

    आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

    १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

  • २१ वर्षीया स्वेता, जाे एमालेबाट वडा सदस्यमा भिड्दैछिन्

    २१ वर्षीया स्वेता, जाे एमालेबाट वडा सदस्यमा भिड्दैछिन्

    काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् । सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले सोमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका– ६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

    स्वेताले दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराएकी हुन् । रुपन्देहीका १६ वटा पालिकामा करिब २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उनी नै सबैभन्दा कान्छी उम्मेदवार हुन् ।

    ‘म आफैं पनि पिछडिएको समुदायकी युवती भएकाले यो समुदायका लागि केही गर्न सक्छु’, भन्ने लागेर उम्मेदवारी दिएको स्वेताले बताइन् । उनले युवाहरुको जोश र जाँगरले मात्रै विकासमा गतिशिलता आउने भन्दै स्थानीय तहमा युवाहरु नै जनप्रतिनिधिको रुपमा आउनुपर्ने आफ्नो मान्यता रहेको पनि सुनाइन् ।

    स्वेता हाल स्नातक तहमा अध्ययनरत छन् । विकासमा युवाको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ । सिद्धार्थनगर–६ मा एमालेबाट वडाध्यक्षमा रामदयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेताकुमारी हरिजनले उम्मेदवारी दर्ता गराएका हुन् । अनेरास्ववियुकी केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले युवालाई प्राथमिकता दिने पार्टीको नीति अनुसार स्वेताले उम्मेदवारी दिएको बताइन् ।

  • स्थानीय तह निर्वाचन : देशभरी ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

    स्थानीय तह निर्वाचन : देशभरी ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता

    काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिन विभिन्न पदमा देशभरी ८१ हजार भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार राती साढे ८ बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    सबैभन्दा धेरै मधेश प्रदेशमा १९ हजार १०९, प्रदेश नम्बर एकमा १४ हजार ९३४, लुम्बिनी प्रदेशमा १४ हजार ७६२, बागमती प्रदेश १३ हजार २९४, सुदूरपश्चिम प्रदेशमा ६ हजार ९०८, कर्णाली प्रदेशमा ६ हजार ६१८ र गण्डकी प्रदेशमा ६ हजार ५९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    जसमा देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकाको प्रमुखका लागि २ हजार ३४३ जनाले र उपप्रमुखका लागि १ हजार ४४५ जनाले उम्मेदवारी दिएका छन् ।

    यस्तै ४ सय ६० गाउँपालिकाको अध्यक्षका लागि २ हजार ४९७ र उपाध्यक्षका लागि एक हजार ७२६ जनाले मनोनयन दर्ता गराएका छन् ।

    ७ सय ५३ वटै स्थानीय तहका ६ हजार ७४३ वटा अध्यक्षका लागि २० हजार १७६ जना, ६ हजार ७४३ वटै महिला वडा सदस्यका लागि १३ हजार ५५४ जना, ६ हजार ७४३ वटै दलित महिला सदस्यका लागि १२ हजार १८१ र प्रत्येक वडामा दुइ वडा सदस्यका दरले ६ हजार ७४३ वडामा १३ हजार ४८६ वडा सदस्यका लागि २८ हजार २२८ जनले मनोनयन दर्ता गराएका छन् ।

  • दैलेखमा कांग्रेसका पालिका सभापति नेकपा एस प्रवेश, बने उपाध्यक्षको उम्मेदवार

    दैलेखमा कांग्रेसका पालिका सभापति नेकपा एस प्रवेश, बने उपाध्यक्षको उम्मेदवार

    सुर्खेत । दैलेखको नौमुलेमा नेपाली कांग्रेस गाउँ कार्यसमितिका सभापति गंगबहादुर शाही नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् ।

    नेकपा एस प्रवेश गरेसँगै उनले उपाध्यक्षको टिकट पाएका छन् ।

    नेकपा एसका गाउँ कमिटी अध्यक्ष अध्यक्ष कृष्ण सलामीले शाहीलाई उपाध्यक्षको उम्मेदवार बनाइएको पुष्टि गरे ।

    सभापति शाहीले एक विज्ञप्तिमा उनले पैसावाल र ठेकेदारलाई मात्रै टिकट वितरणमा प्राथमिकता भएको आरोप लगाएका छन् ।

  • डोल्पोबुद्धको उपाध्यक्षमा नेकपा एसका उम्मेदवार निर्विरोध

    डोल्पोबुद्धको उपाध्यक्षमा नेकपा एसका उम्मेदवार निर्विरोध

    सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा पालिका उपाध्यक्षसहित तीन वडामा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

    मनोनयन दर्ताको समय सकिँदासम्म उपाध्यक्षमा नेकपा एसको मात्रै मनोनयन परेको निर्वाचन अधिकृत नेत्र बहादुर कार्कीले बताए ।

    वडा नं. ४ र ६ मा पनि नेकपा एसको एकल उम्मेदवारी दर्ता हुँदा वडा नं. ५ मा नेपाली कांग्रेसको उम्मेदवारी दर्ता भएको हो ।

    उनीहरुविरुद्ध उजुरी नपरेमा वैशाख १६ गते निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गर्ने उनले बताए ।

  • स्थानीय निर्वाचन : साढे ७ बजेसम्म ७१ हजार २३७ जनाको उम्मेदवारी दर्ता

    स्थानीय निर्वाचन : साढे ७ बजेसम्म ७१ हजार २३७ जनाको उम्मेदवारी दर्ता

    काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिन विभिन्न पदमा देशभरी ७१ हजार बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

    निर्वाचन आयोगका अनुसार साँझ साढे ७ बजेसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    मधेश प्रदेशमा १६ हजार ७४१, लुम्बिनी प्रदेशमा १३ हजार ९५ र प्रदेश नम्बर १ मा १२ हजार ९९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    यस्तै बागमतीमा ११ हजार ४०२, गण्डकीमा ५ हजार ६१२, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८४७ र कर्णाली प्रदेशमा ५ हजार ५४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

  • डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार निर्विरोध

    डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार निर्विरोध

    सुर्खेत ।डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा धावासम्डुक लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।

    अध्यक्षमा लामासहित गाउँपालिकामा प्यानल नै निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा छार्काताङ्सोङ लामा निर्वाचित भएका छन् । उनी नेकपा एसका हुन् ।

    गाउँपलिकाको १ नम्बर वडाध्यक्षमा जिक्मेछोइङ लामा, ३ नम्बर वडाध्यक्षमा पेमागिर्मे गुरुङ, ५ नम्बर वडाध्यक्षमा कार्मातार्के गुरुङ, ६ नम्बर वडाध्यक्षमा रिग्जिन गुरुङ, ७ नम्बर वडाध्यक्षमा पेमाछिरिङ गुरुङ र ९ नम्बर वडाध्यक्षमा सार्के लामा निर्विरोध निर्वाचित भएका छन् ।

    निर्वाचन कार्यालयले भने रुजु भइरहेको जनाएको छ । यसअघि काइके गाउँपालिकामा नेकपा एसका अध्यक्ष निर्विरोध भएका छन् ।

  • गठबन्धनको काइदा- ठूला नेताका नातागोतालाई फाइदा

    गठबन्धनको काइदा- ठूला नेताका नातागोतालाई फाइदा

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका विभिन्न जिल्लाका नेता कार्यकर्ताले गठबन्धनका नाममा टिकट नपाएर विद्रोह गरिरहेका बेला शीर्ष र प्रभावशाली नेताले भने आफ्नो परिवारका सदस्य सेट गरेका छन् ।

    केही नेता र तीनका परिवारका सदस्य जिताउन गठबन्धन गरेको भन्दै तलबाट कार्यकर्ताले विरोध गरिरहेका छन् । तर देशका ६ मध्ये तीन महानगरपालिकाको मुख्य पदमा नेताका परिवारले मौका पाएका छन् ।

    भरतपुर महानगरपालिकामा गठबन्धनका शीर्ष नेता प्रचण्डकी छोरी रेनु मेयरको उम्मेदवार बनेकी छन् । प्रचण्डको छोरीका लागि चितवन कांग्रेसले आफ्नो आधार भूमि गुमाउनु परेको भन्दै कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

    यता काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई गठबन्धनबाट मेयरको उम्मेदवार बन्ने मौका मिलेको छ । विद्यार्थी कालपछि सक्रिय राजनीतिमा नरहेकी सिर्जनालाई गठबन्धनले मेयरको उम्मेदवार बन्ने मौका मिल्यो ।

    कांग्रेस महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति जिताउन सहयोग गरेको गुन देउवाले गठबन्धनबाट प्रकाशमान पत्नीलाई मेयरको टिकट दिएर तिरेको टिप्पणी कांग्रेसमा भइरहेको छ ।

    त्यस्तै गठबन्धनकै अर्का शीर्ष नेता उपेन्द्र यादवले विराटनगर महानगरपालिकाको उपमेयरमा गठबन्धनबाट छोरा अमरेन्द्रलाई उम्मेदवार बनाएका छन् । उपेन्द्रले छोरालाई अघि बढाएपछि यसअघि मेयर उम्मेदवार बनेर तेस्रो भएका जसपाका नेता उमेश यादवले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    नेताका परिवारलाई सेट गर्न गठबन्धन बनाइएकाले आफूले विद्रोह गर्नुपरेको यादवले बताए । कांग्रेसकै अर्का नेता तथा गृहमन्त्री बालकृष्ण खाणले पनि गठबन्धनको फाइदा लिँदै सहोदर भाइ रामकृष्ण खाणलाई तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार बनाएका छन् ।

    यसअघि राष्ट्रिय जनमुक्ति पार्टीको सहयोग लिएर पनि मेयरमा हारेका खाणलाई यसपटक माओवादी,नेकपा एससहितको गठबन्धनबाट जिताउन खाँणले मौका गुमाउन चाहेनन् ।

  • जनकपुरधाममा कांग्रेस नगर सभापति साह गठबन्धनका उम्मेदवारविरुद्ध मेयरमा बागी

    जनकपुरधाममा कांग्रेस नगर सभापति साह गठबन्धनका उम्मेदवारविरुद्ध मेयरमा बागी

    जनकपुरधाम । जनकपुरधामको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार विरुद्ध कांग्रेस नगरसभापतिले बागी उम्मेदवारी दिएका छन् ।

    गठबन्धनमा भएको सहमतिप्रति असन्तुष्ट कांग्रेस नगरसभापति मनोज साहले बागी उम्मेदवारी दिएका हुन् ।

    केन्द्रमा गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार जनता समाजवादी पार्टी जसपाको भागमा परेको छ । सो पार्टीबाट लालकिशोर साहले मेयरमा उम्मेदवारी दिएका छन् ।

    तत्कालिन राजपाबाट लालकिशोर साह गत निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए । पछि राजपा र समाजवादी पार्टी मिलेर राजपा बनेको थियो । तर पार्टी एकता भएर फेरि विभाजित भएपनि उनी उपेन्द्र यादव नेतृत्वको राजपामा नै बसेका थिए ।

    सत्ता गठबन्धनको भागवन्डामा जनकपुरधाम जसपालाई परेपछि उनलाई उम्मेदवार बनाइएको हो ।

    कांग्रेसको भागमा परेको उपमेयरमा किशोरी साहले उम्मेदवारी दिए ।

  • स्थानीय निर्वाचन : साढे ६ बजेसम्म करिब ६१ हजारको उम्मेदवारी दर्ता

    स्थानीय निर्वाचन : साढे ६ बजेसम्म करिब ६१ हजारको उम्मेदवारी दर्ता

    काठमाडौं । स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न देशभरी विभिन्न पदमा ६० हजार ९५० जनाको उम्मेदवारी परेको छ ।

    साढे ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी मधेश प्रदेशमा १४ हजार ६५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    निर्वाचन आयोगका अनुसार लुम्बिनीमा ११ हजार ३६९, प्रदेश नम्बर १ मा ११ हजार २३५, बागमतीमा ९ हजार ५६६, सुदूरपश्चिममा ४ हजार ९२०, कर्णालीमा ४ हजार ६३५ र गण्डकीमा ४ हजार ५७२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    प्रमुखका लागि मात्रै देशभरी १९१४ जनाको उम्मेदवारी दर्ता भएको छ । पालिका अध्यक्षका लागि १९४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

  • डोल्पाको काइके गाउँपालिकामा ३७ पदमा ३५ जनाको मात्र उम्मेदवारी

    डोल्पाको काइके गाउँपालिकामा ३७ पदमा ३५ जनाको मात्र उम्मेदवारी

    काठमाडौं । डोल्पाको एक गाउँपालिकाका सबै जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

    जिल्लाको काइके गाउँपालिकाका सबै जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।

    ७ वटा वडा रहेको गाउँपालिकामा ३७ जना जनप्रतिनिधि निर्वाचित हुन पर्नेमा ३५ जना को मात्रै मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय डोल्पाका कम्प्युटर अपरेटर श्यामकुमार राईले जनाकारी दिए ।

    उनका अनुसार वडा नं. २ र ३ मा दलित महिला सदस्यको मनोनयन नै परेको छैन ।

    निर्विरोध हुने गाउँपालिका अध्यक्ष नेकपा एकीकृत समाजवादीका अंगकुमार राना र उपाध्यक्ष मिना राना सहित गाउँपालिकाका सबै वडा अध्यक्ष तथा वडा समिति सदस्यहरू रहेका छन् ।

    राईका अनुसार जिल्लाको थार्काताङसुङ गाउँपालिका र से फोक्सुण्डो गाउँपालिका पनि निर्विरोध हुन सक्ने सम्भावना भए पनि पुष्टि भने बाँकी रहेको छ ।

  • २२ औँ प्रयासमा अधिकृत बनेका गिरी चार महिनामै राजीनामा दिएर बनेपाको मेयर दाैडमा

    २२ औँ प्रयासमा अधिकृत बनेका गिरी चार महिनामै राजीनामा दिएर बनेपाको मेयर दाैडमा

    बनेपा । प्रशासकीय अधिकृत (सातौं तह) बाट राजीनामा दिएका कञ्चनराज गिरीले बनेपाको मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

    आगामी वैशाख ३० हुने स्थानीय तह निर्वाचनमा मेयरमा लड्न उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

    उम्मेदवारी दर्तापछि गिरीले बनेपा नगरले वैशाख ३० मा नयाँ इतिहास लेख्ने विश्वास व्यक्त गरे ।

    २२ औँ पटकको प्रयासमा अधिकृत बनेका गिरीले मेयरमा लड्नका लागि भन्दै जागिर खाएको चार महिना २४ दिनमै राजीनामा दिएका थिए ।

    ९ वर्षको निरन्तर प्रयासपछि अधिकृतमा नाम निकाल्न सफल गिरीले नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा ठुलो जलविद्युत केन्द्र काली गण्डकी ‘ए’ मा जलविद्युत केन्द्रको प्रशासन प्रमुखको रूपमा कार्यरत थिए ।

    उनले निर्वाचन लड्न गत चैत २४ गते पदबाट राजीनामा दिएका थिए ।

    बनेपा बदल्नका आफू एक पटक मात्रै अवसर दिन नगरवासीहरूलाई आग्रह गरेका छन् ।

  • क्याल्कुलेटर बोकेर चुनावी मैदानमा बालेन्द्र शाह

    क्याल्कुलेटर बोकेर चुनावी मैदानमा बालेन्द्र शाह

    काठमाडौं । आसन्न स्थानीय तह चुनावमा काठमाडौं महानगरको मेयरका लागि सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेका युवा हुन् बालेन्द्र शाह उर्फ बालेन । सुरुमा उनको उम्मेदवारीलाई खासै गम्भीरतापूर्वक लिइएको थिएन । तर, आजका दिनसम्म आइपुग्दा उनले सोसल मिडिया र मिडियामा व्यापक चर्चा पाइरहेका छन् भने युवा पुस्ता छिचोल्दै बौद्धिक जनमतको पनि ध्यानाकर्षण गर्न सफल भएका छन् ।

    गैरराजनीतिक व्यक्ति, खासगरी सेलिब्रिटीहरु चुनावी दौडमा सामेल भएर क्षणिक हाइलाइटमा आउनु कुनै नौलो कुरा होइन । मिडियाले दिने स्पेसले गर्दा तत्काल ‘हाइप’ बनाए पनि मतदाताको मन जितेर चुनावमा जीत हासिल गर्ने कुरा भने उनीहरुका निम्ति दुरुह नै हुन्छ । नेपालमा थुप्रै सेलिब्रिटीहरुले विभिन्न पार्टीमा प्रवेश गरेर आफ्नो राजनीतिक यात्रा अघि बढाएका छन् । तर, खासै उचाइमा पुग्न सकेका छैनन् ।

    बालेनको कुरा गर्दा उनी कलाकारितामा ठूलो नाम कमाइसकेका व्यक्ति होइनन् । उनी एक औसतस्तरका र्‍यापर हुन् । नेपालमा र्‍याप सुन्ने दर्शक/स्रोतको समूह साँघुरो छ । त्यो समूहबाहिर उनी परिचित थिएनन् । काठमाडौंको मेयरमा चुनाव लड्ने घोषणापछि मात्रै धेरैले उनको नाम सुनेका छन् । युवाहरुको सानो समूहमा कमाएको क्रेजकै बलमा चुनाव जित्ने सपना बालेनले पक्कै देखेका होइनन् । तर, यो बीचमा दिएका अन्तर्वार्ताहरुमा अभिव्यक्त विचारबाट उनले आफूलाई सिरियस क्यान्डिडेटका रुपमा उभ्याउन सफल भएका छन् ।

    उनको क्षेत्रका युवाहरु आफ्नै दुनियाँमा मस्त हुन्छन् । देशमा के भइरहेको छ भनेर खासै चासो राख्दैनन् । राजनीति भनेपछि त पहिल्यै अनुहार बिगार्छन् । कतिलाई देशको राष्ट्रपतिको नाम सोध्यो भने पनि भन्न नसक्लान् ।

    उनको क्षेत्रका युवाहरु आफ्नै दुनियाँमा मस्त हुन्छन् । देशमा के भइरहेको छ भनेर खासै चासो राख्दैनन् । राजनीति भनेपछि त पहिल्यै अनुहार बिगार्छन् । कतिलाई देशको राष्ट्रपतिको नाम सोध्यो भने पनि भन्न नसक्लान् । बोलीपिच्छे ‘फक’ उच्चारण गर्ने जमातका बीचबाट निस्केर बालेनले काठमाडौं महानगरपालिकाको नेतृत्व गर्ने महत्वाकांक्षा देखाएका छन् । उनको उम्मेदवारीलाई एउटा तन्नेरीको देश बनाउने हुटहुटीका रूपमा सकारात्मक मान्न सकिन्छ ।

    बालेनले चुनाव आएपछि अचानक ओछ्यानबाट उठेर उम्मेदवारी घोषणा गरेका होइनन् । उनले यसका लागि लामो तयारी गरेका थिए, जुन उनको प्रस्तुतिमा पनि देखिन्छ । बालेनले अन्तर्वार्ताहरुमा बताएअनुसार उनी २०७४ सालकै स्थानीय चुनावमा उठ्ने सूरमा थिए । तर, त्यसबेला वैकल्पिक शक्तिका रुपमा प्रचारित साझा र विवेकशील पार्टीमा भरोसा राखेर रोकिएको उनको भनाइ छ ।

    विवेकशीलकी मेयर उम्मेदवार रञ्जु दर्शना र साझाका किशोर थापाले अघिल्लो स्थानीय तह चुनावमा राम्रै हलचल ल्याएका पनि थिए । एमाले र कांग्रेसका उम्मेदवारलाई पछ्याउँदै रञ्जुले २३ हजार बढी भोट ल्याउँदा किशोरले १८ हजार भोट कटाए । यी दुईको कूल भोट ४२ हजार हुन आउँछ । कुनै पनि राजनीतिक दलप्रति रुझान नराख्ने युवा मतदाताहरुले रञ्जुलाई भोट दिएका थिए । बौद्धिक तप्काको मत किशोरलाई परेको थियो । उक्त चुनावमा यदि साझा र विवेकशील मिलेर दुईमध्ये एकलाई उम्मेदवार उठाएको भए नतिजा फरक आउन पनि सक्थ्यो भन्ने धेरैको विश्वास छ ।

    रञ्जु र किशोरले त्यसबेला पाएको भोट अहिले काठमाडौंको चुनावमा निर्णायक हुनसक्ने मानिएको छ । सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंह र एमाले उम्मेदवार केशव स्थापित मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका छन् । बालेनले कति भोट ल्याउलान् भन्ने कौतुहल धेरैलाई छ । विगतमा साझा र विवेकशीललाई गएको भोटको कति प्रतिशत उनले पाउलान् त ?

    उनी २०७४ सालकै स्थानीय चुनावमा उठ्ने सूरमा थिए । तर, त्यसबेला वैकल्पिक शक्तिका रुपमा प्रचारित साझा र विवेकशील पार्टीमा भरोसा राखेर रोकिएको उनको भनाइ छ ।

    २२ वर्षको उमेरमा रञ्जुलाई विवेकशीलले मेयरको टिकट दिँदा भयंकर ‘भाइब्रेसन’ आएको थियो । युवाहरु तरंगित बनेका थिए । सामाजिक सञ्जालदेखि सडकसम्म आशालाग्दो माहोल थियो । बालेनको उम्मेदवारीले पनि त्यस्तै तरंग ल्याएको छ । त्यसबेला रञ्जुलाई भोट दिने समूह अहिले बालेनतिर आकर्षित भएको छ । क्षमताकाे हिसाबले बालेन रञ्जुभन्दा उम्दा लाग्छन् । उनी बौद्धिकताको लेपन गरिएका रञ्जु दर्शना हुन् भन्दा फरक नपर्ला । युवालाई मात्र नभएर राजनीतिकरुपमा तटस्थ बाैद्धिक तप्कालाई पनि आकर्षित गर्न सक्ने क्षमता उनमा छ । त के उनले साँच्चै मेयरको रेसमा ठूलो सरप्राइज रिजल्ट निकाल्न सक्लान् ? असम्भव छैन, तर औधि कठिन छ ।

    रञ्जुको पछाडि सानो भए पनि राजनीतिक शक्ति थियो । बालेनसँग त्यो छैन । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो झनै चुनौतीपूर्ण हो । उम्मेदवार को–को छन् भन्ने मतलबै नराखी चुनाव चिन्हमात्रै हेरेर भोट हाल्ने जमात निकै ठूलो छ देशमा । हजुरबाको पालादेखि एउटै पार्टीमा भोट हाल्दै आएकोमा गर्व गर्नेहरु धेरै छन् । यस्तोमा ठूला र स्थापित दलका उम्मेदवारलाई पाखा लगाएर मेयर सपना पूरा गर्ने कुरा बालेनका लागि सियोले घोपेर बाघ मार्नुजस्तै कठीन हुन सक्छ ।

    काठमाडौंलाई कस्तो बनाउने भन्ने स्पष्ट भिजन पनि उनीसँग छ । उनी आफै काठमाडौंका स्थायी बासिन्दा पनि हुन् । सिभिल इञ्जिनियरङमा स्नातक र स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तरको अध्ययन गरेकाले भौतिक पूर्वाधार निर्माणको विज्ञता हुने नै भयो । शालिन र तार्किक रुपमा प्रस्तुत भएर आफ्ना मान्यताको दृढ वकालत गर्न सक्छन् ।

    बालेन एक क्षमतावान युवा हुन् । उम्मेदवारी घोषणायता दिएका अन्तर्वार्ताहरु सरसर्ती सुन्दा उनमा उच्चस्तरको बौद्धिकता झल्किन्छ । काठमाडौंको सहरी बसोबास, रीतिरिवाज, सम्पदा र सभ्यताका बारेमा जानकार छन् ।

    काठमाडौंलाई कस्तो बनाउने भन्ने स्पष्ट भिजन पनि उनीसँग छ । उनी आफै काठमाडौंका स्थायी बासिन्दा पनि हुन् । सिभिल इञ्जिनियरङमा स्नातक र स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तरको अध्ययन गरेकाले भौतिक पूर्वाधार निर्माणको विज्ञता हुने नै भयो । शालिन र तार्किक रुपमा प्रस्तुत भएर आफ्ना मान्यताको दृढ वकालत गर्न सक्छन् । काठमाडौंका अन्य मेयर उम्मेदवारहरुसँग तुलना गर्दा उनी धेरै पक्षमा बलिया देखिन्छन् ।

    बालेनसँग एउटै अपूर्णता छ– राजनीतिक पृष्ठभूमि र अनुभव । उनको पछाडि बलियो राजनीतिक शक्ति छैन । कार्यकर्ताको पंक्ति छैन । जनाधार छैन । महावीर पुन, डा. सन्दुक रुइत, भीम उपाध्याय जस्ता केही फिगर र केही  को समर्थनले चुनावै जित्ने गरी जनमत उराल्न सक्दैन । सामाजिक सञ्जालमा उनीप्रति सदासयता जतिले देखाएका छन्, उनीहरुमध्ये धेरै काठमाडौंका भोटर नै होइनन् । जो वास्तविक भोटर छन्, उनीहरुसम्म बालेन पुग्नै बाँकी छ ।

    गैरराजनीतिक व्यक्तिको एउटा कमजोरी के पनि हुन्छ भने उनीहरुले चुनावी छक्कापञ्जालाई राम्ररी बुझेका हुँदैनन् र बाहिरको माहोलबाट बहकिन्छन् । बालेनमा पनि अहिले त्यस्तै अतिरिक्त उत्साह देखिएको छ । केही दिनअघि उनी एक कार्यक्रममा भाग लिन जाने क्रममा सुपरस्टार शैलीमा ५–६ जना ‘अंगरक्षक’ को स्कर्टिङमा हिँडेको भिडियो भाइरल भएको थियो ।

    काठमाडौंका मतदाताले नेवार अनुहार खोज्छन् भन्ने पनि मान्यता राखिन्छ । त्यही भएर सबै दलले सकभर नेवार समुदायबाट उम्मेदवार बनाउने गर्छन् । बालेनले त्यो मान्यतालाई पनि चिर्नुपर्ने छ । काठमाडौंका मतदाता जात होइन, योग्यता र क्षमता हेरेर भोट हाल्छन् भन्ने उनले सावित गर्नुपर्ने छ । नेवा संस्कृति र सभ्यताको गहिरो ज्ञान आफूसित भएकाले त्यो जनमत आकर्षित गर्ने दाबी बालेनले गरेका छन् ।

    गैरराजनीतिक व्यक्तिको एउटा कमजोरी के पनि हुन्छ भने उनीहरुले चुनावी छक्कापञ्जालाई राम्ररी बुझेका हुँदैनन् र बाहिरको माहोलबाट बहकिन्छन् । बालेनमा पनि अहिले त्यस्तै अतिरिक्त उत्साह देखिएको छ । केही दिनअघि उनी एक कार्यक्रममा भाग लिन जाने क्रममा सुपरस्टार शैलीमा ५–६ जना ‘अंगरक्षक’ को स्कर्टिङमा हिँडेको भिडियो भाइरल भएको थियो । उम्मेदवार घोषणा गर्दा नै यस्तो तुजुक देखाउनेले यदि चुनाव नै जिते भने के–के गर्लान् भन्ने टिप्पणीहरु सामाजिक सञ्जालमा गरिए ।

    हालै एक अन्तर्वार्तामा बालेनलाई चुनावमा कति भोट ल्याउने आशा छ भनी सोधियो । यसमा उनले स्ट्रेटफरवार्ड जवाफमात्रै दिएनन्, फ्याट्टै अंक नै भनिदिए– ९०,८३५ । क्याल्कुलेटरबाट हिसाब निकालेझैं गरी उनले यसरी आफूले पाउने भोट संख्या भन्नु अति आत्मविश्वासमात्र नभएर हास्यास्पद हो । राजनीति भनेको अंकगणित होइन ।

    मेयर भनेको राजनीतिक नभएर प्रशासकीय पद हो भन्ने बालेनको तर्क छ । यो अर्धसत्य हो । मेयरको कुर्सीमा बस्ने व्यक्तिसँग व्यवस्थापकीय दक्षता, नेतृत्व क्षमता, विकासको भिजन महत्वपूर्ण हुन्छ । तर, ती सँगसँगै राजनीतिक गुण पनि हुनैपर्छ । स्थानीय तहमा निर्वाचित भएर आएकाहरु सबैजसो कुनै न कुनै दलको प्रतिनिधित्व गरेर आएका हुन्छन् । उनीहरु सबैलाई मिलाएर लैजान पनि राजनीतिक सुझबुझ चाहिन्छ । केन्द्रसँग समन्वय गरेर काम गर्नुपर्ने हुन्छ । त्यसका निम्ति पनि राजनीतिक गुण चाहिन्छ । त्योभन्दा अगाडि चुनाव जित्न नै थुप्रो राजनीति गर्नुपर्छ ।

    आफूलाई मतदाताले विश्वास गर्ने कारणबारे बालेनले गज्जबको तर्क गरेका छन् ।

    उनी भन्छन्, ‘बाबुराम भट्टराई, रेखा थापा र रञ्जु दर्शनामा आआफ्नो योग्यता छन् । एकजना विज्ञ इञ्जिनियर हुन् । अर्को दिग्गज कलाकार हुन् र तेस्रो उत्साही युवा हुन् । अब तीनैजनाको क्वालिटी एउटैमा पाउनुभयो भने तपाईं के गर्नुहुन्छ ?’

    बालेनले हिजो मनोनयन दर्ताअघि आफ्ना चुनावी प्रतिबद्धताहरु सार्वजनिक गरे । उनको प्रतिबद्धतापत्रमा एकदमै मौलिक र नयाँ चिज केही पनि छैन । तर, अरु दलको भन्दा अलि फरक छ । उनले नगरवासीलाई ठूला सपनाहरु देखाएका छैनन् । नचाहिँदा आश्वासनहरु बाँडेका छैनन् । कुनै पृष्ठभूमि नबाँधिकन आफ्ना प्रतिबद्धताहरुलाई बुँदागत सरासर लेखेका छन् ।
    बालेनको चुनावी नारा पनि पृथक छ ।

    र्‍याप शैलीको लेखिएको नारा यस्तो छः
    हाम्रो नगरमा अहिले हामी गरौं
    अरुले पछि गर्लान् पहिले हामी गरौं
    अहिलेसम्म दलले गरे
    अब बदल्नेले गरौंं ।

  • प्रदेशभन्दा स्थानीय तहमा आकर्षण- एमालेका ५ जना सांसद मेयर बन्न चुनावी मैदानमा

    प्रदेशभन्दा स्थानीय तहमा आकर्षण- एमालेका ५ जना सांसद मेयर बन्न चुनावी मैदानमा

    काठमाडौं । नेकपा एमालेले देशका ५ वटा महानगरपालिकामध्ये आफ्नो सांगठनिक आधार सबल भएका तीन वटाको मेयर बनाउन प्रदेश सभाका सांसदहरूलाई राजीनामा गराएको छ ।

    काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकामा हेबिवेट उम्मेदवार खडा गर्न एमालेले प्रदेशसभा सदस्यहरूलाई चुनावी मैदानमा उतारेको हो । काठमाडौं र पोखराका मेयर उम्मेदवारले एक कार्यकाल महानगरको नेतृत्व गरिसकेका छन् ।

    बागमती प्रदेशसभाका सदस्य केशव स्थापित र विजय सुवेदी क्रमशः काठमाडौं र भरतपुरको मेयर उम्मेदवार बनेका छन् । स्थापित २०५४ सालमा पनि एमालेबाट एक कार्यकाल मेयर भइसकेका नेता हुन् ।

    त्यस्तै गण्डकी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर पोखरा महानगरपालिकाको मेयर उम्मेदवार बनेका थापाले पनि २०५४ मा उपमहानगरपालिका भएको बेला पोखराको नेतृत्व गरिसकेका छन् ।

    महानगरपालिकाबाहेक एमालेले प्रदेश १ का दुई जना सांसदलाई पनि मेयरमा उतारेको छ । इलामको सूर्योदय नगरपालिकाको मेयरका उम्मेदवार काजीमान कागते र झापाको मेचीनगर नगरपालिकाको मेयरका उम्मेदवार गोपालचन्द्र बुढाथोकी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयर बन्न गएका हुन् ।

    नेकपा एसका नेता झलनाथ खनालको गृह नगर सूर्योदयका यसअघिका मेयर रणबहादुर राई खनालसँगै गएपछि प्रभावशाली र लोकप्रिय नेता खोज्ने क्रममा एमालेले प्रदेशसभा सदस्य कागतेलाई राजीनामा गराएर मेयरमा उम्मेदवार बनाएको हो ।

    त्यस्तै बुढाथोकी पनि मेचीनगरका लोकप्रिय नेता हुन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा पनि मेयरका दाबेदार थिए । तर उनले टिकट नपाएका कारण एमालेले उपमेयर जितेर मेयर हारेको थियो ।

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृह नगर मेचीमा यस पटक एमालेले बुढाथोकीलाई अघि बढाएको छ ।

  • ८० प्रतिशत मतपत्र छापियो, ७६ जिल्लामा पठाइयाे सामग्री

    ८० प्रतिशत मतपत्र छापियो, ७६ जिल्लामा पठाइयाे सामग्री

    काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म ८० प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।

    हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको छ । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ ।

    काठमाडौंसहित छ वटा महानगरपालिकाका लागि आवश्यक पर्ने मतपत्र मनोनयन दर्ता कार्य सकिएपछि छपाई गरिनेछ । ती तहका मतपत्रमा पनि पुरानै डिजाइनअनुसार हुनेछ ।

    उम्मेदवारले निर्वाचन प्रचार गर्ने अवधिभन्दा १५ दिनअघि मतपत्र पुगिसक्नुपर्ने व्यवस्था, मुद्रण क्षमता र मुलुकको दूरदराजका पालिकामा सुरक्षितरुपमा ढुवाली गर्नुपर्ने भएकाले मनोनयन दर्ता सकिएपछि मतपत्र छपाइ गर्न सम्भव नहुने भएकाले आयोगले मनोनयन दर्ता अघि नै मतपत्र छपाइ कार्य गरेको हो ।

    विभिन्न राजनीतिक दलका तर्फबाट आफूहरू गठबन्धनमा उम्मेदवारी दिने भएकाले उम्मेदवारी दिइएपछि उम्मेदवारीको सङ्ख्या र निर्वाचन चिह्नका आधारमा मतपत्र छाप्न गरिएको आग्रहमा आयोगले असमर्थता जनाएको छ ।

    निर्वाचन सामग्री जिल्ला जिल्लामा

    निर्वाचन आयोगले जिल्लामा निर्वाचन सामग्री पठाउनेक्रम भने पूरा गरेको छ । आज दिउँसोसम्म पाल्पा र पर्वत गरी ७६ जिल्लामा सामग्री पठाइएको छ भने बाँकी रहेको अर्घाखाँची जिल्लाको सामग्री आजै पठाइने छ ।

    सामग्री पठाइएपछि वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    आयोगले यही वैशाख ८ गतेदेखि निर्वाचन सामग्री लोड गरेर पठाउन थालेको हो । उपसचिव कृष्णप्रसाद सापकोटाका अनुसार १० गतेसम्म पठाइएका सामग्री सम्बन्धित स्थानमा प्राप्त भएको जानकारी आएको छ भने ११ गते पठाइएका कतिपय ट्रकहरु पुग्ने क्रममा छन् ।

    आयोगले कम मतदाता भएका र भौगोलिकरुपमा साना मानिने जिल्लामा एक र ठूला जिल्लामा दुईदुई ट्रकमा सामान पठाएको छ । कान्तिपथस्थित आयोगबाट लगबुक भराएर छुट्ने ती हरेक ट्रकमा सामानको सूचीसहित आयोगका कर्मचारीसमेत सवार हुन्छन् । उनीहरूलाई मोबाइल–ट्रयाक गरी कुन ट्रक कतिबेला कहाँ पुग्यो वा बाटामा कुनै समस्या भए नभएको प्रविधिबाट सूचित हुने प्रबन्ध गरिएको छ । ती सामानलाई आवश्यकताअनुसार सुरक्षा गस्ती पनि दिइएको हुन्छ र सम्बन्धित पालिकामा निर्वाचन अधिकृतले बुझेको विवरण आयोगलाई दिनुपर्छ ।

    आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार २०७९ साल वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्धारण गरिएकोमा सो कार्य आज ५ बजेसम्म सम्पन्न हुँदैछ ।

    वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यी सबै कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् ।

    आचारसंहिता पालनाका लागि ध्यानाकर्षण

    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले आह्वान गर्दै आएको छ । आचारसंहिताविपरीत हुनेगरी कुनै स्थानमा कुनै दलको झण्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, र्‍याली भेला, बैठक, घरदैलो, उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनमा ३ फिट साइजको दलको एउटा झण्डा र एउटा चुनाव चिह्न तथा उम्मेदवारको पहिचान खुलेको ए–फोर साइजको एक रङ्गमा छापिएको विवरणबाहेक अन्य कुनै सामग्री प्रयोग नगर्न नगराउन स्मरण गराउँदै उम्मेदवारी दर्ता भएपछि यस्ता चिह्न भेटिएमा उम्मेदवारले राखेको ठानी आचारसंहिताको उल्लङ्घन भएको कसुरमा दलको उम्मेदवारलाई कारबाही हुने भएकाले सचेत रहन आयोगले सम्बन्धित सबैलाई पुनः ध्यानाकर्षण गराएको छ ।

    जुलुस, आमसभा, र्‍याली, बैठक आदिमा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले आचारसंहिता विपरीत हुनेगरी सम्बन्धित दलको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारबाहीको भागीदार हुने भएको हुँदा यस्तो कार्यबाट सजग रहन आयोगले सबैमा अनुरोध गरेको छ ।

    २० हजार बढी निर्वाचन पर्यवेक्षक हुने

    निर्वाचन पर्यवेक्षणका लागि कूल ६८ वटा संस्थाले आयोगबाट अनुमति लिइसकेका छन् । ती संस्थाबाट करिब २० हजारभन्दा बढी पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव प्राप्त भएको छ । सो उपर आवश्यक जाँच गरी आयोगले पर्यवेक्षकहरुलाई पर्यवेक्षण गरिने मतदानस्थलसमेत तोकी परिचयपत्र जारी गर्नेछ । पर्यवेक्षण अनुमति प्राप्त सङ्घसंस्थाका प्रतिनिधिहरुका लागि आयोगले वैशाख १४ गते अभिमुखीकरण कार्यक्रम गर्दैछ ।

    निर्वाचनासँग सम्बन्धित सूचनाहरु आमसञ्चार माध्यम एवं आमसरोकारका लागि सहज पहुँचसहित सम्प्रेषण गर्ने उद्देश्यले आयोगका प्रवक्ता र सहप्रवक्ताका अतिरिक्त सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई तोकिएको छ ।रासस

  • वीरगञ्जको मेयरमा जसपाबाट सिंहको उम्मेदवारी दर्ता

    वीरगञ्जको मेयरमा जसपाबाट सिंहको उम्मेदवारी दर्ता

    जनकपुरधाम । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीबाट मेयरका उम्मेदवार राजेशमान सिंहले मनोनयन दर्ता गराएका छन् ।

    गठबन्धनमा भएको सहमति अनुसार वीरगञ्ज जसपाको मागमा परेको थियो ।

    वीरगञ्जको आदर्शनगर रंगशालाबाट सिंहले उम्मेदवारी दर्ता गराउन बाजागाजासहित जुलुस निकालेर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

    उम्मेदवार सिंह चढेको गाडीमा जसपा अध्यक्ष उपेन्द्र यादव, मधेसका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद प्रदिप यादव लगायतका नेताहरु थिए ।

    उम्मेदवार मेयरले जनताको उत्साहजनक उपस्थितीले उत्साहित भएको र विजयी हासिल गर्ने विश्वास व्यक्त गरे ।

    सत्ता गठबन्धनको तर्फबाट उपमेयर पाएका नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन् ।

  • स्थानीय निर्वाचन : पाँच बजेसम्म ४७ हजार ६१७ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

    स्थानीय निर्वाचन : पाँच बजेसम्म ४७ हजार ६१७ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म भएका मनोनयन दर्ताको संख्यात्मक विवरण सार्वजनिक गरेको छ ।

    आयोगले साँझसम्मको विवरण प्रदेशगत र जिल्लागत रूपमा सार्वजनिक गरेको हो । साँझ पाँच बजेसम्मको विवरणअनुसार मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा सदस्यसमेत गरी सातैवटा प्रदेशमा ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    जसमा सबैभन्दा बढी मधेस प्रदेशमा १२ हजार २१६ जनाले मनोनयन दर्ता गराइसकेका छन् । जसमा मेयरमा ५४८, उपमेयरमा २९२, अध्यक्षमा ३५४ र उपाध्यक्षमा २०९ जनाले उम्मेदवारी दिएका छन् ।

    सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा तीन हजार १२० जनाको उम्मेदवारी परेको छ ।

    हेर्नुस् प्रदेशगत र जिल्लागत रुपमा कहाँ कतिले दिए उम्मेदवारी ?

     

  • बेथानचोकमा गठबन्धनबाट भगवान् अधिकारी अध्यक्षको उम्मेदवार

    बेथानचोकमा गठबन्धनबाट भगवान् अधिकारी अध्यक्षको उम्मेदवार

    काठमाडौं । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता भगवान् अधिकारी काभ्रेको बेथानचोक गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका छन् ।

    जिल्ला समितिको बैठकले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    पत्रकारितामा स्नातकोत्तर तथा कानूनमा स्नातक गरेका अधिकारी लामो समयदेखि राजनीतिमा सक्रिय थिए ।

    उनी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्ष समेत हुन् ।

    यसअघि काभ्रेका १३ स्थानीय तहमध्ये ७ वटा पालिकामा कांग्रेस, ४ पालिकामा माओवादी केन्द्र र दुई वटा पालिकामा एकीकृत समाजवादीले प्रमुख पद पाउने गरी गठबन्धनमा सहमति भएको थियो ।

  • रामेछापमा माओवादी र नेकपा एसको मात्र गठबन्धन, यी हुन् उम्मेदवार (सूचीसहित)

    रामेछापमा माओवादी र नेकपा एसको मात्र गठबन्धन, यी हुन् उम्मेदवार (सूचीसहित)

    रामेछाप । कांग्रेसका कारण सत्ता गठबन्धनमा सहमति नभएपछि रामेछापमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्र तालमेल भएको छ ।

    सहमति अनुसार जिल्लाका ८ वटा पालिकामध्ये नेकपा एसले खाँडादेवी, लिखु तामाकोशी र गोकुलगंगाको अध्यक्ष पाएको छ भने दुई नगरपालिकासहित ५ स्थानीय तहमा माओवादीले प्रमुख पाएको छ ।

    गाउँपालिका अध्यक्ष उम्मेदवार बन्न एमाले छाडेर दुई दिनअघिमात्र नेकपा एसमा गएका प्रेम तामाङ भने उम्मेदवार बन्नबाट वञ्चित भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एसले बाँडफाँट गरेकामध्ये सुनापति, दोरम्बा शैलुङ र उमाकुण्डमा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादीले लिएको छ ।

    मन्थली नगरपालिकामा अन्तिम समयमा पूर्वसभासद तारानारायण श्रेष्ठको नाम हटाएर माओवादीले दीपक प्रसाईलाई उम्मेदवार बनाएको छ।

    १) दोरम्बा शैलुङ गाउँपालिका

    अध्यक्ष – मैनकुमार मोक्तान (माओवादी)
    उपाध्यक्ष – दिल कुमारी मगर (माओवादी)

    २) सुनापति गाउँपालिका

    अध्यक्ष – ठूलो कान्छा तामाङ (माओवादी)
    उपाध्यक्ष – गीता विष्ट (माओवादी)

    ३) खाँडादेवी गाउँपालिका

    अध्यक्ष – नेकपा (ए. समाजवादी) बाट श्यामकृष्ण श्रेष्ठ
    उपाध्यक्ष – माओवादीबाट मान बहादुर लामा

    ४) मन्थली नगरपालिका

    प्रमुख – माओवादीबाट दीपक प्रसाईं
    उप – प्रमुख – नेकपा (ए. समाजवादी) बाट कृष्ण थापा

    ५) रामेछाप नगरपालिका

    प्रमुख – माओवादीबाट नरेशबाबु श्रेष्ठ
    उप प्रमुख – नेकपा (ए. समाजवादी) बाट ढाल बिक्रम कार्की

    ६) लिखु तामाकोशी गाउँपालिका

    अध्यक्ष – नेकपा (ए. समाजवादी) बाट नवराज पौडेल
    उपाध्यक्ष – माओवादीबाट ध्रुवकुमार कार्की

    ७) उमाकुण्ड गाउँपालिका

    अध्यक्ष – लक्ष्मी बस्नेत (माओवादी)
    उपाध्यक्ष – अनन्त खड्का (माओवादी)

    ८) गोकुलगंगा गाउँपालिका

    अध्यक्ष – नेकपा (ए. समाजवादी) बाट रुद्र फुंयाल
    उपाध्यक्ष – माओवादीबाट विष्णु कार्की

  • वीरगञ्जमा एमालेबाट सरावगीले पुनः मेयरमा दिए उम्मेदवारी, लोसपाको साथ

    वीरगञ्जमा एमालेबाट सरावगीले पुनः मेयरमा दिए उम्मेदवारी, लोसपाको साथ

    जनकपुरधाम । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जको मेयरमा पुनः विजय सरावगीले उम्मेदवारी दर्ता गराएका छन् ।

    गत स्थानीय तहको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट सरावगी मेयरमा निर्वाचित भएका थिए । यादव नेतृत्वकै जसपा परित्याग गरेर केहिदिन अगाडि मात्र एमालेमा प्रवेश गरेर उनी सो पार्टीबाट पुनः मेयरको उम्मेदवार बनेका हुन् ।

    सरावगी हजारौं कार्यकर्ता लिएर उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । कार्यकर्ताहरुले मेयरमा सरावगीलाई जिताउन नाराबाजी गरेका छन् ।

    वीरगञ्जमा सत्ता गठबन्धनको सामना गर्न एमालेले लोसपासँग तालमेल गरेको छ । लोसपाबाट उपमेयरमा पुरुषेत्तम लाल झाले उम्मेदवारी दिएका हुन् ।

     

  • माओवादी कार्यकर्ताको झडपले चौतारा तनावग्रस्त, निर्वाचन कार्यालयको सुरक्षामा सेना खटियो

    माओवादी कार्यकर्ताको झडपले चौतारा तनावग्रस्त, निर्वाचन कार्यालयको सुरक्षामा सेना खटियो

    चौतारा । नेकपा माओवादी केन्द्रका दुई पक्षबीचको झडप उग्र हुँदै गएपछि चौतारा साँगाचोकगढी निर्वाचन कार्यालय परिसरमा सेना परिचालन भएको छ ।

    जिल्लाका शीर्षस्थ नेताहरुमाथिनै आक्रमणको खबरसँगै सुरक्षास्थिति नियन्त्रणमा लिन सेना सडकमा निस्किएको हो ।
    सेनाले भने निर्वाचन कार्यालय सुरक्षाका लागि नियमित कायम अनुसार परिचालित भएको जनाएको छ ।

    माओवादी आधार इलाका मानिने साँगाचोकगढी चौतारा नगरपालिकाको मेयरमा बहालवाला मेयर अमानसिंह तामाङलाई नदिई सापकोटालाई दिइएको भन्दै कार्यकर्ता आक्रोशित थिए ।

    तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर झडपको कारण भने वडा नम्बर १ र १४ को वडाध्यक्ष ३० मत पनि नभएको नेकपा एसलाई दिइएको भन्दै माओवादीकै दुई पक्षबीच कुटाकुटबाट शुरु भएको हो ।

    नगरपालिका कार्यालय तोडफोडपछि मनोनयन रोकिएका बेला माओवादीका नेताहरुलाई सुरक्षा दिएर राखिएकै ठाउँमा आक्रमण भएको थियो । माओवादीका दुई पक्षको झडपका कारण स्थिति नियन्त्रणबाहिर जान लागेपछि सेना निस्किएको हो ।

    याे पनि पढ्नुहाेस् ।

    माओवादी कार्यकर्ताबीचमै झडपपछि चौतारा साँगाचोकगढी तनावग्रस्त, यस्तो छ कारण (भिडिओ)

  • गाउँपालिका उपाध्यक्षमा लड्न पत्रकार रुम्दालीले दिए महासंघ केन्द्रीय सदस्यबाट राजीनामा

    गाउँपालिका उपाध्यक्षमा लड्न पत्रकार रुम्दालीले दिए महासंघ केन्द्रीय सदस्यबाट राजीनामा

    काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दालीले पदबाट राजीनामा गरेको घोषणा गरेका छन् । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिने भन्दै रुम्दालीले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् ।

    मानेभन्ज्याङ गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङमा पत्रकार सम्मेलन आयोजना गर्दै रुम्दालीले आफ्नो पेशा, व्यक्तिगत आचारण, प्रतिष्ठाले पनि कानून, विधिपद्धतिको परिपालना गर्नु नै उच्च नैतिकता भएको ठान्दै पदबाट राजीनामा दिएको बताए ।

    ‘संघीय राज्य प्रणालीलाई थप शसक्त र दरविलो बनाउन स्थानीय सरकारलाई शक्तिशाली बनाउनुको विकल्प छैन । जसका लागि नीति निर्माणसँगै नेतृत्व पनि सोही अनुसार चयन गर्न सकेनौं भने योजना, कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन सक्दैन । त्यो हामीले भोगेको र बुझिसकेको विषय हो’, उनले भने ।

    नेपाल पत्रकार महासंघ ओखलढुंगाको तीन कार्यकाल अध्यक्ष बनेका रुम्दालीले यसअघि पनि सोही गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेपनि जित निकाल्न सकेको थिएन । यसपटक भने नेकपा एमालेसँगको तालमेलमा आफ्नो जित सुनिश्चित रहेको बताउँदै केन्द्रीय सदस्य रुम्दालीले जनता समाजवादी पार्टीबाट उपाध्यक्षमा उम्मेदवार बन्न लागेको जानकारी दिए ।

    सोही गाउँपालिकामा रुम्दालीका सहोदर दाजु ज्ञानेन्द्र रुम्दाली पनि नेपाली कांग्रेसको सहयोगमा गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

  • ओलाङचुङगोलामा गाउँ भेलाबाटै चुनिए वडाध्यक्ष र सदस्य, चुनाव नहुने

    ओलाङचुङगोलामा गाउँ भेलाबाटै चुनिए वडाध्यक्ष र सदस्य, चुनाव नहुने

    ताप्लेजुङ । देशभर उम्मेदवारी मनोनयन र टिकटको लागि माारामार चलिरहेका बेला चीनसँगको सीमावर्ती ओलाङचुङगोलाबाट भने गाउँ भेलाले जनप्रतिनिधि चयन गरेको छ ।

    उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन् ।

    ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाको वडाध्यक्ष छेतेन शेर्पा चुनिएका छन् भने सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक चयन भएका छन् ।

    गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरेका थिए । तर, पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै उनीहरूले बाँडेर सर्वसम्मति गरेका हुन् । वडाध्यक्षमा चयन भएका शेर्पा एमालेमा आबद्ध छन् ।

    वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी दिएका छैनन् । साथै उनीहरूविरुद्ध वडाका कसैले पनि उम्मेदवारी दर्ता नगर्ने सहमति भएको भोटेले बताए ।

  • मेयरको टिकट खोसिएपछि बर्दिबास कांग्रेसमा बागी उठ्दै क्षेत्री

    मेयरको टिकट खोसिएपछि बर्दिबास कांग्रेसमा बागी उठ्दै क्षेत्री

    महोत्तरी । बर्दिबास नगरपालिकाको मेयरमा कांग्रेसका दुईजनाले दाबी गरेका थिए । लामो समयदेखि चल्दै आएको विवादमा कांग्रेसले चिरञ्जीवी हमाललाई मेयरको टिकट दिएको छ ।

    पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै अर्का आकांक्षी प्रल्हाद क्षेत्रीले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरू दुवैजना मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय बर्दिबासमा एकसाथ पुगेका थिए ।

    बर्दिबास निर्वाचन कार्यालयका प्रमुख भुपेन्द्र सापकोटाका अनुसार एउटै पार्टीको दुई उम्मेदवारको मनोनयन दर्ता गर्न नमिलेपछि उनीहरू फर्किएका थिए ।

    ‘हामीले आधिकारिकता पुष्टि गर्न कांग्रेस पार्टीलाई पत्रचार गरेका थियौँ । अहिले हमालको आधिकारिकता भएको पुष्टि गरेको छ ´, उनले भने ।

     

  • केन्द्रको हस्तक्षेपपछि कांग्रेस कास्कीले गर्‍यो रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन

    केन्द्रको हस्तक्षेपपछि कांग्रेस कास्कीले गर्‍यो रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन

    कास्की । नेपाली कांग्रेस कास्कीले केन्द्रको हस्तक्षेपपछि रुपमा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको पत्राचारपछि कांग्रेस कास्कीले रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको हो ।

    अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठलाई उठाइएकोमा पछि परिवर्तन गर्दै अध्यक्षमा गीमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई टिकट दिइएको हो ।

  • वीरेन्द्रनगरमा मुख्य दलबाट यी पाँचजनाले गरे मेयरमा मनोनयन

    वीरेन्द्रनगरमा मुख्य दलबाट यी पाँचजनाले गरे मेयरमा मनोनयन

    सुर्खेत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सुर्खेतको वीरेन्द्रनगरमा मुख्य दलबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

    मेयरमा नेकपा एमालेबाट मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

    नेपाली कांग्रेसबाट उपेन्द्र खड्काले मेयरमा उम्मेदवारी दर्ता गराए भने उपमेयरमा रामकुमारी थापाले मनोनयन दर्ता गराएकी छन् ।

    यस्तै, नेकपा माओवादी केन्द्रबाट मेयरमा राजेन्द्र गिरीले उम्मेदवारी दर्ता गराउँदा उपमेयरमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका हुन ।

    यस्तै, नेकपा एस समाजवादीबाट मेयरमा धना जिसी शाहीले उम्मेदवारी दर्ता गरे भने उपमेयरमा थिर बहादुर रावतले उम्मेदवारी दर्ता गरे ।

    यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरमा मुकुन्द श्याम गिरीले आफ्नो उम्मेदवारी दर्ता गराए भने उपमेयरमा अन्जु बस्यालले दर्ता गराए ।

  • माओवादी कार्यकर्ताबीचमै झडपपछि चौतारा साँगाचोकगढी तनावग्रस्त, यस्तो छ कारण (भिडिओ)

    माओवादी कार्यकर्ताबीचमै झडपपछि चौतारा साँगाचोकगढी तनावग्रस्त, यस्तो छ कारण (भिडिओ)

    चौतारा । माओवादी कार्यकर्ताबीचको झडपका कारण चौतारा साँगाचोकगढी निर्वाचन कार्यालय तनावग्रस्त भएको छ । तोडफोड र झडपका कारण उम्मेदवारी मनोनयन प्रक्रियासमेत अवरुद्ध भएको छ ।

    चौतारा साँगाचोकगढी वडा नम्बर १ र १४ को वडाध्यक्ष नेकपा एकीकृत समाजवादीलाई दिएपछि माओवादी कार्यकर्ता आक्रोशित भएर तोडफोडमा उत्रिएका हुन् ।

    माओवादीकै दुई पक्षबीच झडपका क्रममा निर्वाचन कार्यालयका झ्यालको सिसाहरु फुटेका छन् ।

    माओवादी मेयरका उम्मेदवार कृष्णप्रसाद सापकोटालगायतका नेताहरुलाई सुरक्षा दिएर राखिएको छ । झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ । ३० मत पनि नभएको नेकपा एसलाई वडाध्यक्ष दिइएको भन्दै माओवादी कार्यकर्ताहरु झडपमा उत्रिएका थिए । झडपका कारण एमालेका उम्मेदवारले मनोनयन गर्न पाएका छैनन् ।

    यसैबीच चौतारा साँगाचोकगढीका मेयर अमानसिंह तामाङले माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

  • एमालेको सूर्य चिन्हमा मतदान गर्न राप्रपा नेपाल मकवानपुरको आह्वान

    एमालेको सूर्य चिन्हमा मतदान गर्न राप्रपा नेपाल मकवानपुरको आह्वान

    हेटौँडा । कमल थापा नेतृत्वको राप्रपा नेपालले मकवानपुरका सबै स्थानीय तहमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न कार्यकर्ता र शुभेच्छुकहरूलाई अपिल गरेको छ ।

    राप्रपाका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच केन्द्रीय स्तरमा भएको सहमति अनुसार सूर्यमा मतदान गर्न आह्वान गरेका हुन् ।

    राप्रपाले हेटौँडा उपमहानगरपालिका लगायत स्थानीय तहका प्रमुख र उपप्रमुखमा उम्मेदवारी नपाए पनि केही वडामा समायोजन गरिएको बताइएको छ ।

    कमल थापाको गृह जिल्ला मकवानपुरमा सबै स्थानीय तहमा सो पार्टीले एमालेलाई मतदान गर्ने भएको छ ।

  • सिन्धुलीमा उम्मेदवारी दर्ता जुलुसमा बालबालिका प्रयोग

    सिन्धुलीमा उम्मेदवारी दर्ता जुलुसमा बालबालिका प्रयोग

    सिन्धुली । उम्मेदवारी दर्ता गर्न जाँदा ठूलो मास देखाउन सिन्धुलीको मरिण गाउँपालिकामा नेकपा माओवादी केन्द्रले बालबालिकाको प्रयोग गरेको छ ।

    माओवादी केन्द्रले मरिण गाउँपालिकामा अध्यक्ष पदमा विमर्श मुक्तान (प्रख्यात) को नेतृत्वमा उम्मेदवारी दर्ता गराउन जान आयोजना गरेको र्‍यालीमा बालबालिका प्रयोग गरिएको हो ।

    राजनीतिक गतिविधिमा बालबालिका प्रयोग गर्न नपाइने भए पनि दर्जनौं बालबालिकालाई पार्टीको झण्डा बोकाएर जुलुसमा सहभागी गराइएको छ ।

    उम्मेदवारी दर्ता गर्न जाँदा संख्या कम देखिए जनतामा नकारात्मक सन्देश जाने डरले माओवादीले बालबालिकाको प्रयोग गरेको एमालेका नेता तथा कार्यकर्ताहरुले दावी गरेका छन् ।

    मरिणमा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ । जसअन्तर्गत माओवादीले पालिका अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष पाएको छ । वडाहरुमा भने दुवै दलले मित्रवत प्रतिस्पर्धा गर्ने बताइएको छ ।

  • भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी दर्ता

    भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी दर्ता

    चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् ।

    गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराएका हुन् ।

    भरतपुरमा माओवादीलाई मेयर र का‌ंग्रेसले उपमेयर पाएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् ।

  • विराटनगर महानगर : एमालेबाट मेयर र उपमेयरका उम्मेदवारको मनोनयन दर्ता

    विराटनगर महानगर : एमालेबाट मेयर र उपमेयरका उम्मेदवारको मनोनयन दर्ता

    विराटनगर । विराटनगर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू मनोनयन दर्ता गराएका छन् ।

    एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीले मनोनयन दर्ता गराएका हुन् ।

    थापा एमाले महानगर अध्यक्ष हुन । उपमेयरमा उम्मेदवारी दिने कार्की महानगर उपाध्यक्ष हुन् ।

    उम्मेदवारी दर्तापछि थापाले यहाँको डुबानको समस्यालाई हल गरी डुबानमुक्त सहर बनाउने बताए ।

    उनले आफूलाई गठबन्धन नभएको उल्लेख गर्दै चुनाव आफैले जित्ने बताए ।

  • बुटवलमा खटपटले सँगै मनोनयनमा गएनन् गठबन्धनका उम्मेदवार

    बुटवलमा खटपटले सँगै मनोनयनमा गएनन् गठबन्धनका उम्मेदवार

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा प्रमुख प्रतिस्पर्धी रहेका नेकपा एमाले तथा गठबन्धन दलले उम्मेदारी दर्ता गराएका छन् । त्यसैगरी सत्तारुढ गठबन्धनमा रहेको जसपाले पनि मेयर तथा उपमेयरमा उम्मेदारी दर्ता गराएको छ भने राप्रपाबाट पनि मेयर उपमेयरमा उम्मेदारी दर्ता भएको छ ।

    एमालेबाट मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्यालले उम्मेदारी दर्ता गराएका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले मेयर तथा नेकपा एसका चिनबहादुर गुरुङले उपमेयरमा उम्मेदारी दर्ता गराएका छन् ।

    एमालेका उपाध्यक्ष विण्णु पौडेलसहितका नेताहरु उम्मेदारी दर्ताको समयमा पुगेका थिए । बुटवल पौडेलको गृहनगर हो । एमाले नेता तथा कार्यकर्ताहरु शक्ति प्रदर्शनसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

    एमालेका उम्मेदार भट्टराईले नेकपा एमाले नेतृत्वमा अगाडि सारिएका विकासका योजनालाईं पूर्ण बनाउने र समृद्ध बुटवलका लागि दीर्घकालनि योजनासहितका प्रभावकारी काम गर्ने प्रतिबद्धता गरेका थिए ।

    बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेस नगर सभापतिसमेत रहेका उनले बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा गएर सोमबार उम्मेदवारी दर्ता गएका हुन् ।

    पाँच दलीय गठबन्धन गरे पनि कांग्रेसका उम्मे‍दवार हरु भने एकल रुपमै उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । गठबन्धनमा उपमेयर उम्मेदवारको टिकट पाएका नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङभन्दा अघि नै पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

    शक्ति प्रदर्शनसहित बुटवल बजारको बीचबाट निर्वानचन कार्यालय आएको टोलीमा गठबन्धन दलका कुनै पनि नेता कार्यकर्ता देखिएनन् । गुरुङ अन्तिम समयमा आफ्नो पार्टीको टोली लिएर दर्ता गर्न पुगेका थिए । यसअघि नै गठबन्धन दलको जनता समाजवादी पार्टी (जसपा)ले आइतबार मेयर र उपमेयर दुबै पदमा उम्मेदवारी दर्ता गराएको अवस्थामा गठबन्धनमा रहेका अन्य दलहरु समेत एकसाथ नआउनुले अर्को प्रश्न जन्माएको छ ।

    पद बाँडफाँडको विषयमा गठबन्धन दलहरु भित्रै विभिन्न वडाहरुमा विवाद रहेको अवस्थामा सोमबारको यो दृश्यले गठबन्धनको संरचना कमजोर हुने देखिएको छ । कांग्रेसका तर्फबाट विभिन्न वडामा उम्मेदवारी दिनेहरुको समेत शक्ति प्रदर्शनसहित उपस्थिती रहेको थियो ।

    उम्मेदवारी दर्ता गराउनु पूर्व सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पाण्डेले बुटवल सडक तथा पूर्वाधार बिकास आफ्नो प्राथमिकतामा रहने उल्लेख गरे ।यसअघि राप्रपाबाट मेयरमा मृगेन्द्र शेरचन र उपमेयरमा भगवती पाण्डेले उम्मेदारी दर्ता गराएका थिए ।

    गठबन्धन भएपनि दर्ता गराउन एक्लाएक्लै पुगे

    नेपाली कांग्रेस बुटवल उपमहानगरसमितिका सभापतिसमेत रहेका पाण्डे कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनसहित निर्वाचन कार्यालय पुगेका थिए ।

    गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेका चिनबहादुर गुरुङ भने पाण्डेले मनोनयन दर्ता गर्दासम्म निर्वाचन कार्यालय पुगेका थिएनन् । उनी अन्तिम समयमामात्रै निर्वाचन कार्यालयमा पुगेका थिए । गठबन्धनमा जिल्लाका अन्य पालिका र वडासम्मको तालमेल नमिलेको भन्दै नेकपा एस असन्तुष्ट बनेको हो ।

    पाँच दलीय गठबन्धन गरेपनि कांग्रेसका उमेदवारहरु निर्वाचन कार्यालय जाँदा गठबन्धनका अन्य दलका नेता कार्यकर्ताको उपस्थिति भने देखिएन ।

    गठबन्धनमा उपप्रमुखको उम्मेदवारको टिकट पाएका गुरुङभन्दा अघि नै पुगेर पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि नै गठबन्धन दलको जनता समाजवादी पार्टी (जसपा)ले आइतबार प्रमुख र उपप्रमुख दुबै पदमा उम्मेदवारी दर्ता गराएको अवस्थामा गठबन्धनमा रहेका अन्य दलहरु समेत एकसाथ नआउनुले गठबन्धनभित्रै खटपट भएको आशंका गरिएको छ ।

     

  • राप्रपाबाट मेयर-उपमेयरसहित विराटनगरका १९ वटै वडामा उम्मेदवारी दर्ता

    राप्रपाबाट मेयर-उपमेयरसहित विराटनगरका १९ वटै वडामा उम्मेदवारी दर्ता

    विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगर महानगरमा मेयर-उपमेयरसहित १९ वटै वडाका उम्मेदवारहरूले मनोनयन दर्ता गराएको छ ।

    राप्रपाबाट मेयरमा प्रल्हाद शाह र उपमेयरमा विन्दा लुईटेलसहित सबै वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गरिएको हो ।

    शाह राप्रपाका केन्द्रीय महामन्त्री र लुईटेल पार्टीको जिल्ला प्रवक्ता हुन् । मेयरमा उम्मेदवारी दिएका शाह २०६० सालमा तत्कालीन शाही सरकारले मेयरमा मनोनीत गरेका थिए । ६२ मा उनी राप्रपाबाट मेयरमा निर्वाचन भएका थिए ।

  • ललितपुरमा गठबन्धनबाट कांग्रेसका चिरीबाबुले दिए उम्मेदवारी

    ललितपुरमा गठबन्धनबाट कांग्रेसका चिरीबाबुले दिए उम्मेदवारी

    ललितपुर । गठबन्धनका तर्फबाट कांग्रेसका चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

    गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो । जसकारण उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर मेयरमा निर्वाचित महर्जन फेरि दोहोरिन खोजेका हुन् ।

    उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महानगरपालिकामा गर्नुपर्ने कामहरू अझै रहेकाले आफूलाई निर्वाचित गराउन आग्रह गरे ।

    तस्बिरहरू : गौरव पौडेल ।