Category: स्थानीय निर्वाचन–२०७९

  • कांग्रेस तनहुँमा चर्को असन्तुष्टि : रामचन्द्र पौडेल निकट नेताहरूले दिए राजीनामा

    कांग्रेस तनहुँमा चर्को असन्तुष्टि : रामचन्द्र पौडेल निकट नेताहरूले दिए राजीनामा

    काठमाडौं । स्थानीय तह निर्वाचनको चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा नेताहरूले राजीनामा दिएका छन् ।

    पार्टीभित्र असन्तुष्टि व्यक्त गर्दै पौडेल निकट आधा दर्जन बढी नेताहरूले राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा तनहुँ कांग्रेस पूर्व जिल्ला सचिव विश्व बास्तोला, कांग्रेस पूर्वा क्षेत्रीय सभापति महेश्वर भट्टराई रहेका छन् । यस्तै पार्टीका विभिन्न समितिमा रहेका चूडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत, बाबुराम बगाले समेतले राजीनामा दिएका छन् ।

    पार्टीले योगदानअनुसार स्थानीय तहको टिकट वितरण नगरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।

    उनीहरूमध्ये महेश्वर भट्टराईले शुक्लागन्डकीको मेयरमा, दाहालले व्यास १ को वडा अध्यक्षमा, थापाले व्यास २ को वडा अध्यक्षमा, पौडेलले शुक्लागन्डकी नपा—३ को वडा अध्यक्ष र महतले शुक्लागन्डकी नपा—८ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

  • २०५४ सालमै मेयर दाबी गरेका डाक्टर चापागाईँको ०७९ सालमा वडा सदस्यमा उम्मेदवारी

    २०५४ सालमै मेयर दाबी गरेका डाक्टर चापागाईँको ०७९ सालमा वडा सदस्यमा उम्मेदवारी

    रुपन्देही । बुटवल उपमहानगरपालिकाको वडा सदस्यमा डाक्टर बालकृष्ण चापागाईँले उम्मेदवारी दिएका छन् ।

    नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्जसमेत रहेका डाक्टर चापागाईँ नेकपा एमालेमा रहँदा ०५४ तथा ०७४ सालमा बुटवलको मेयरका लागि दावेदारी गरेका थिए ।

    अहिले एमाले छाडेर नेकपा एसमा लागेका चापागाईँ गठबन्धन दलहरूबाट बुटवलको मेयरका दाबी लबिङ गरे पनि पार्टीलाई भागवण्डा नपरेपछि खुम्चिएका थिए ।

    सोमबार मनोनयन दर्ताको अन्तिम समयमा साँझ साढे ५ बजे उनले बुटवलस्थित निर्वाचन कार्यालयमा बुटवल वडा नं ४ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए ।

    गोप्य रूपमा दिइएको उनको उम्मेदवारीबारे धेरैलाई जानकारी नभए पनि पार्टीका जिल्ला अध्यक्ष राजु गुरुङलगायतका केही नेतालाई मात्र जानकारी थियो ।

    पिएचडी अध्ययन गरेका र दसकौँ पत्रकारितामा बिताएका मान्छे किन वडा सदस्यमा उम्मेदवारी दिएको भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले नयाँ अनुभवका लागि यसो गरिएको बताए ।

    राजकीय जिम्मेवारीमा मेरो नयाँ अनुभव हो, धेरै पढेका अनुभव भएका व्यक्तिहरू आफ्नो वडाको, टोलको विकासमा ध्यान नदिने परम्परा तोड्न र पार्टीका उपस्थितिलाई समेत जोड्न मेरो उम्मेदवारी हो- डा. चापागाईँले भने ।

    पार्टीको जिम्मेवारीमा रहेपछि यसरी टिममा रहेर काम गर्न सजिलो होला, वार्ता, छलफलमा बस्न सजिलो होला भनेर उम्मेदवारी दिएको हुँ – उनले भने । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि गरेका चापागाईँ प्रेस चौतारीको पूर्वकेन्द्रीय अध्यक्ष तथा राससको पूर्व कार्यकारी अध्यक्ष हुन् ।

    नेपाली र पत्रकारितामा एमए गरेका उनले वडा सदस्यमा उम्मेदवारी दिएपछि गठबन्धनभित्रै र बाहिर थप चर्चामा आएका छन् ।

    नेकपा एसलाई बुटवलको भागबन्डामा उपमेयर परेको थियो त्यो पदमा पार्टीले चीनबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।

  • कालीकोटका सबै ठाउँमा विप्लवका स्वतन्त्र उम्मेदवार, प्रकाण्डको बुहारीदेखि संविधानसभा सदस्यसम्म

    कालीकोटका सबै ठाउँमा विप्लवका स्वतन्त्र उम्मेदवार, प्रकाण्डको बुहारीदेखि संविधानसभा सदस्यसम्म

    सुर्खेत । चुनाव बहिष्कार गर्ने निर्णय गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कालीकोटका ९ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि संविधानसभा सदस्यहरूसमेतले उम्मेदवारी दर्ता गराएका हुन् ।

    कालीकोटको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम विसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । विसी सो पार्टीका केन्द्रीय सदस्य हुन् भने विक सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माकी भाइबुहारी हुन् ।

    रास्कोट नगरपालिका मेयरमा संविधानसभा सदस्य धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य हुन् ।

    खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिकामा रमेश चदारा प्रमुखमा र उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

    पचालझरना गाउँपालिका अध्यक्षमा नेकपा जिल्ला सचिव मनिलाल ऐडीले, विनीत सिंह तिरुवाले उपाध्यक्ष, पलाता गाउँपालिकामा पदम विक अध्यक्ष, महावै गाउँपालिकामा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकामा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमामा रुपसिंह बोहोरा उम्मेदवारी दिएका छन्नु ।

    चुनावलाई उपयोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिव मनिलाल ऐडीले बताए । कालीकोट प्रवक्ता खड्कबहादुर विश्वकर्माको गृहजिल्ला हो ।

  • सोलुखुम्बु र ओखलढुंगामा एकाघरका सदस्य फरक दलबाट चुनावी मैदानमा

    सोलुखुम्बु र ओखलढुंगामा एकाघरका सदस्य फरक दलबाट चुनावी मैदानमा

    काठमाडौं । सोलुखुम्बुमा पति-पत्नी र बाबु-छोरा फरक दलबाट उम्मेदवार बनेका छन् । थुलुङदुधकोशी गाउँपालिका- ६ मा निरकुमारी राईले एमालेबाट महिला सदस्यमा मनोनयन दर्ता गरेकी छन् । उनका पति ध्रुवदेव राई कांग्रेसको वडा सदस्यका उम्मेदवार छन् ।

    मुख्य निर्वाचन अधिकृत अन्चन भट्टराईका अनुसार सोही गाउँपालिकाको ७ नम्बर वडा सदस्यमा बाबुछोरा कांग्रेसबाट जसबहादुर राई र माओवादीबाट छोरा रोशन राई उम्मेदवार बनेका छन् ।

    ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट मेयरमा शेरबहादुर खत्री र उपप्रमुखमा छोरी शारदा खत्री कटवालले उम्मेदवारी दर्ता गराएका छन् ।

  • मनाङ : महिला मतदाता बढी, उम्मेदवार पाउन भने मुश्किल

    मनाङ : महिला मतदाता बढी, उम्मेदवार पाउन भने मुश्किल

    मनाङ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पनि भइसकेको छ ।

    संविधानले दिएको महिला अधिकार र अवसर सत्तारुढ गठबन्धनका कारण खोसिएको भन्दै केही स्थानमा महिला रुष्ट भइरहेका बेला कतिपय स्थानमा भने महिला उम्मेदवार पाउनै मुस्किल छ । मनाङमा जिल्लामा यस्तै भएको छ । मनाङमा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्तिसमेत हुन सकेन ।

    मनाङमा सबैभन्दा बढी मतदाता नै महिलाको छ । तर, उम्मेदवार बन्न चाहने भने देखिँदैनन् । मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै लागि तोकिएको गाउँपालिका, वडामा आवश्यक संख्या पुर्‍याउनै मुस्किल भएको देखिन्छ ।

    हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाको पाँच वटै वडामा निर्वाचनका लागि दलित महिला सदस्यको उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उक्त गाउँपालिकाको पाँच वडामा दलितसहित गरी महिला सदस्य १० जनाको सिट सुनिश्चित छ । तर, गाउँपालिकामा चार जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी पुष्पराज आचार्यले जानकारी दिए ।

    उहाँका अनुसार दलित महिलाको उम्मेदवारी नै दर्ता भएको छैन भने महिला सदस्यमा चार जनाको मात्रै उम्मेदवारी परेको छ । स्थानीय तह निर्वाचनमा मनाङमा कूल ५६ महिला सदस्यको सिट सुनिश्चित छ । नार्पाभूमिबाहेक अन्य पालिकामा पनि महिला उम्मेदवार पाउनै मुस्किल हुँदा कुनै पनि राजनीतिक दलले उम्मेदवार तयार गर्न सकेका छैनन् ।

    मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न वडामा १८ महिला सदस्यको सिट सुनिश्चित छ । यहाँ दलित महिला सदस्यसहित गरी कूल १६ महिला सदस्यको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महिला सदस्यमा नौ र दलित महिला सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त गाउँपालिकामा पनि सुनिश्चित सिटले पूर्णता पाएको छैन ।

    त्यस्तै सदरमुकाम चामे गाउँपालिकामा पनि सुनिश्चित सिटमा महिलाको उम्मेदवारी परेको छैन । चामेका विभिन्न वडामा गरी १८ महिलाको सिट सुनिश्चित भएपनि महिला सदस्यमा सात र दलित महिला सदस्यमा सातको मात्रै उम्मेदवारी दर्ता भएको कार्यालयले जनायो ।

    त्यसैगरी नासों गाउँपालिकामा भने केही महिला सदस्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन र नेकपा ९एमाले०बाट उम्मेदवारी दर्ता भएको छ । नासोंको विभिन्न वडामा महिलाका लागि १८ सिट रहेकामा १४ महिला सदस्य र आठ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको छ ।

    मनाङमा नेपाली कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायतका दल दर्ता भएका छन् । चामे गाउँपालिका–३ मा भने एकीकृत समाजवादीको महिला सदस्यमा सर्वसम्मत भएको छ ।

    मनाङमा महिला नेतृत्व वृद्धिका लागि राजनीतिक दलले ध्यान दिन नसकेको बताइन्छ । सबै राजनीतिक दलले महिला सहभागितालाई प्राथमिकता दिनुपर्ने घोषणापत्र र दस्तावेजमा राखेपनि मनाङको हकमा भने पूरा भएको छैन ।

    महिलाको नेतृत्व कम रहेको मनाङमा पहिलो पटक एक गाउँपालिकाको अध्यक्षमा भने महिला चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट ओङमा घले गुरुङले उम्मेदवारी दर्ता गराएको छ ।

    लामो समयदेखि सामाजिक सेवा र पार्टीमा आवद्ध हुँदै आएकी गुरुङ गत स्थानीय चुनावमा पनि प्रतिस्पर्धामा उत्रिएकी थिइन्। उनको एमालेका उम्मेदवार कान्छा घलेसँग प्रतिस्पर्धा हुनेछ । रासस

  • मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका फुन्चो लामो निर्विरोध

    मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका फुन्चो लामो निर्विरोध

    पोखरा । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका मिङमर फुन्चो लामाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन् ।

    निर्वाचन अधिकृत पुनाराम खनालले उपाध्यक्षमा उनकोमात्र उम्मेदवारी परेको बताए । लामा यसअघि वडा नम्बर २ को वडाध्यक्ष थिए ।

    सो गाउँपालिकाको अध्यक्षमा एमालेबाट मिङमर सोनाम लामा र कांग्रेसबाट हालका अध्यक्ष कोन्जो लामा उम्मेदवार छन् ।

    कांग्रेसका कृष्णवहादुर लामाले अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।

    त्यस्तै सोही गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका फुर्वा ठेले लामा र वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार कर्मा लामा निर्विरोध निर्वाचित भएका छन् ।

  • भरतपुरको मेयरमा एमालेलाई राप्रपाको साथ, गठबन्धनविरुद्ध हिमला गुरुङ उपमेयर उम्मेदवार

    भरतपुरको मेयरमा एमालेलाई राप्रपाको साथ, गठबन्धनविरुद्ध हिमला गुरुङ उपमेयर उम्मेदवार

    चितवन । स्थानीय तह निर्वाचनमा सधैँ चर्चाको केन्द्रमा रहने भरतपुर महानगरपालिकामा पाँच दलीय महागठबन्धनविरुद्ध एक्लै भिडिरहेको नेकपा एमालेलाई राप्रपाले साथ दिएको छ ।

    अघिल्लो निर्वाचनमा ६ हजार मत कटाएको राप्रपाले यसपटक एमालेको मेयर उम्मेदवार विजय सुवेदीलाई समर्थन गर्दै उपमेयरमा मात्र उम्मेदवारी दिएको छ । उपमेयरमा राप्रपाबाट जिल्ला उपाध्यक्ष हिमला गुरुङले उम्मेदारी दिएकी छन् ।

    भरतपुर महानगरपालिका शारदानगरकी हिमला राप्रपाको पुरानो नेता हुन् । विक्रम पाण्डेको निर्वाचन क्षेत्र रहेको भरतपुर र माडी दुवैमा एमालेलाई मेयरमा सघाएर राप्रपाले उपमेयर लिएको छ । माडीको उपमेयरमा राप्रपाबाट मदन पौडेल उम्मेदवार बनेका छन् । त्यहाँ एमालेबाट यसअघिकी उपमेयर ताराजकाजी महतो मेयरको उम्मेदवार छिन् ।

    भरतपुरको मेयरमा कांग्रेका नेता पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अघिल्लोपटक राप्रपालाई उपमेयर नदिँदा ३ सय मतको अन्तरमा पराजित भएकाले यसपटक राप्रपालाई समेत समेटेर एमाले ढुक्क हुन खोजेको छ ।

    एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने भन्छन्, ‘मतपत्र नच्यातिएको भए एमालेले अघिल्लो चुनावमै पनि जितिसकेको थियो । त्यो चुनाव हामीलाई हराइएको हो । यसपटक हामी कुनै कमजोरी हुन नदिने प्रयासमा छौं । एमालेको भोट त बढेकै छ, राप्रपाको समेत मत थपिँदा सहज जित हुने भएकाले तालमेल गरिएको हो ।’

    राप्रपाले भरतपुर महानगरमा आफ्नो पक्षमा ८ हजार मत रहेको दाबी गरिरहेको छ । हालैमात्र अध्यक्ष राजेन्द्र लिङ्देनसहितको उपस्थितिमा राप्रपाले वृहत् आमसभा गरेको थियो ।

    विक्रम पाण्डे आउने चुनावमा एमालेको सहयोगमा प्रचण्डविरुद्ध सांसदको उम्मेदवार बन्न चाहन्छन् । त्यसका लागि भरतपुर र माडीमा एमालेलाई सहयोग गर्न उनी तयार भएका हुन् ।

  • पाल्पामा एमालेका दुई उम्मेदवार निर्विरोध

    पाल्पामा एमालेका दुई उम्मेदवार निर्विरोध

    रुपन्देही । पाल्पामा नेकपा एमालेबाट दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । वैशाख १२ गते भएको मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुवै महिला निर्विरोध निर्वाचित भएका हुन् ।

    पूर्वखोला गाउँपालिका-२ जाल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नम्बर ५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित भएको पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिइन् । एकल उम्मेदवारी परेकाले निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुवैजनालाई उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

    पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेसनका मोहन सिं सारु, जनता समाजवादी नेपालका विपिनकुमार सारुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

    उपाध्यक्षमा नेकपा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।

  • चितवनमा गठबन्धनबाट बाहिरियो जसपा

    चितवनमा गठबन्धनबाट बाहिरियो जसपा

    भरतपुर । चितवनको पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । गठबन्धनमा रहेका अन्य दलहरूले महत्त्व नदिएको भन्दै गठबन्धनबाट अलग भएको जनाएको सो पार्टीले जनाएको छ ।

    गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कार्य गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो ।

    गठबन्धनको बैठकमा आफूहरूलाइ नबोलाइएको र २९ वटै वडामा अध्यक्षसहित सदस्यहरूमा मनोमानी ढंगबाट बाँडफाँट गरिएकाले गठबन्धनबाट बाहिरिएको जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले बताए ।

    उनले वडाध्यक्षसहित सदस्यहरूमा आफ्ना उमेदवारहरूलाई मित्रवत प्रतिस्पर्धामार्फत जिताउन सबैमा आग्रह गरे ।

  • नेमकिपामा पनि नातावाद : बिजुक्छेका भाइ र प्रेम सुवालका ज्वाइँ बने वडाध्यक्ष उम्मेदवार

    नेमकिपामा पनि नातावाद : बिजुक्छेका भाइ र प्रेम सुवालका ज्वाइँ बने वडाध्यक्ष उम्मेदवार

    भक्तपुर । नेपाल मजदुर किसान पार्टीले पार्टी अध्यक्ष नारायणमान बिजुक्छेका कान्छा भाइ योगेन्द्रमान बिजुक्छेलाई वडा अध्यक्ष उम्मेदवार बनाएको छ ।

    नेमकिपाले योगेन्द्रमान बिजुक्छेलाई भक्तपुर नगरपालिका वडा नं ५ को अध्यक्षको उम्मेदवार बनाएको हो । नेमकिपाको कुनै पनि संगठनमा नरहेका योगेन्द्रमानको वडा अध्यक्षमा उम्मेदवारीसँगै नेमकिपाको राजनीतिमा इन्ट्री भएको छ ।

    कम्युनिष्टहरु वंश परम्परामा विश्वास राख्दैनन् तर यसलाई उत्तर कोरिया तथा क्युबाको कम्युनिष्ट पार्टीहरुले मिथ्या सावित गर्दै आएका छन् । नेमकिपाले सधैं उत्तर काेरिया र क्युवाकाे पक्षमा वकालत गर्दै आएकाे छ । अहिले भक्तपुर नगरमा नेमकिपाले उत्तर कोरियाली शैलीमा एकछत्र शासन गर्दै आएको टिप्पणी हुँदै आएको छ । त्यसैलाई सत्य साबित गर्दै नेमकिपाले भक्तपुर नगरमा वंश परम्परालाई अघि बढाएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

    त्यस्तै पार्टी नेतृत्वको लागि नारायणमान बिजुक्छेपछि योगेन्द्रमानलाई नै अघि सार्ने धेरैको आँकलनलाई सही साबित गर्दै नेमकिपाले यसपटक वडा अध्यक्षमा उनलाई अघि सारेको छ ।

    उनी भक्तपुर नगरपालिका– १० देकोचास्थित जेन्युइन सेकेन्डरी स्कुलका लगानीकर्ता एवं प्रिन्सिपल हुन् । योगेन्द्रमानले भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम ख्वप पहिचान निर्माणमा महत्वपूर्ण योगदानसमेत दिएका थिए ।

    भक्तपुर नगरपालिका– ५ स्थित सुकुलढोका बिजुक्छे दाजुभाइको पुर्ख्याैली वडा हो । हाल पार्टी अध्यक्ष नारायणमान भक्तपुर नपा – १० कमलविनायक र वडा अध्यक्ष उम्मेदवार योगेन्द्रमान भक्तपुर नपा– ८ लिवालीमा घर बनाएर बस्दै आएका छन् ।

    भक्तपुर नपा– ५ मा किसानहरुको भन्दा मध्यमवर्गीयहरुको बसोबास बाक्लो छ । त्यसैले यस वडामा नेमकिपाले हरेक स्थानीय निर्वाचनमा मध्यम वर्गीय उम्मेदवार खडा गर्दै आएको छ । अघिल्लो पटक नारायणमान बिजुक्छे भाडामा बसेको घरका धनी प्रेमगोपाल कर्माचार्यलाई नेमकिपाले वडा अध्यक्षको उम्मेदवार बनाएको थियो ।

    यसपटक भक्तपुर नगरमा मेयर, उपमेयरसहित ७ जना वडा अध्यक्षले फेरि टिकट पाउँदा कर्माचार्य दोहोरिएनन् ।

    त्यस्तै नेमकिपाले पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालका बहिनी ज्वाइँलाई पनि वडा अध्यक्ष उम्मेदवार बनाएको छ ।

    सुवालका बहिनी ज्वाइँ कृष्णप्रसाद कोजूलाई नेमकिपाले भक्तपुर नपा वडा नं ८ को वडा अध्यक्ष उम्मेदवार बनाएको हो । यस वडाका अध्यक्ष महेन्द्र खायमलीले दोहोर्‍याउन नपाएपछि कोजूलाई मौका दिइएको हो ।

    कोजू इँटा उद्योग व्यवसायी हुन् । यसअघि वडा अध्यक्षमा निर्वाचित खायमली पनि इँटा उद्योग व्यवसायी नै हुन् ।

  • पिएस गुरुङको आशीर्वाद र निर्देशन लिएर थाले कृष्ण थापाले पोखराको चुनावी अभियान

    पिएस गुरुङको आशीर्वाद र निर्देशन लिएर थाले कृष्ण थापाले पोखराको चुनावी अभियान

    पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशभित्रको गुटबन्दीमा पृथ्वीसुब्बा गुरुङले नरुचाएको भनिएका पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापाले गुरुङकै आशीर्वाद लिएर चुनावी अभियान सुरू गरेका छन् ।

    पिएस गुरुङ र खगराज अधिकारीको गुटबन्दीमा थापालाई अधिकारीनिकट मानिन्छ । मेयरको लागि सिफारिस भए पनि गुरुङले नै थापालाई रोक्न खोजेको आरोप लागेकै बेला दीपक पौडेलले टिकट पाएका थिए ।

    अन्तिममा पौडेल विवादमा परेपछि बलियो उम्मेदवारका रुपमा थापालाई अघि सारियो । उम्मेदवार परिवर्तनपछिको असन्तुष्टिलाई सम्बोधन गर्न नेताहरू लागिरहेका बेला थापा र उपमेयर उम्मेदवार मन्जुदेवी गुरुङले मंगलबार उपमहासचिव गुरुङसँग आशीर्वाद लिएका हुन् ।
    थापा आफैंले उपमहासचिवको निर्देशन र आशिर्वाद लिएको भनेर फोटो सार्वजनिक गरेका छन् ।

    दुवै उम्मेदवारले उपमहासचिव गुरुङलाई मंगलबार उनकै निवास पोखरा १३ मा गई भेटेका थिए । त्यसक्रममा उपमहासचिव गुरुङले सबैलाई समेटेर अघि बढ्न, पुराना जनप्रतिनिधिका सुझाव सल्लाह लिएर अघि बढ्न दुवै उम्मेदवारलाई सल्लाह दिएका थिए ।

    केही दिनमै वृहत् भेला राख्ने र त्यसमा प्रमुख अतिथिका रुपमा सम्बोधन गरिदिन मेयर उम्मेदवार थापाले उपमहासचिव गुरुङलाई अनुरोध समेत गरेका छन् । थापाले आफूहरूले चुनाव जित्ने आधारमध्ये एउटा प्रमुख आधार केपी ओली नेतृत्वको सरकारको लोकप्रिय कार्यक्रम, पहिलाका जनप्रतिनिधिले गरेका काम, प्रदेश सरकारको मुख्यमन्त्री भएर पृथ्वीसुब्बा गुरुङले गरेका कामहरू भएको सार्वजनिक प्रतिक्रिया सोमबारै दिएका थिए ।

  • बालेनको पक्षमा खुले यी कलाकार

    बालेनको पक्षमा खुले यी कलाकार

    काठमाडौं । नेपालको सन्दर्भमा नेपाली सेलिब्रेटीहरु र पछिल्लो पुस्ताका कलाकारहरू खुलेर राजनीतिक विषयमा आफ्नो धारणा व्यक्त गरेको विरलै पाइन्छ ।

    विवादमा फस्न नरुचाउने भएकाले पनि सकेसम्म कलाकारहरू राजनीतिक विषयवस्तुमा चुपचाप नै बस्ने गर्छन् । तर केही नेपाली सेलिब्रेटीहरुको हकमा उनीहरू खुलेर यो विषयमा आफ्नो कुराहरू पनि राखिरहेका हुन्छ । केही त राजनीतिक पार्टीमा नै आबद्ध भएका पनि छन् ।

    कुनै पार्टीमा आबद्ध नभए पनि कलाकारहरू स्वस्तिमा खड्का , इन्दिरा जोशी, निश्चल बस्नेत, प्रियङ्का कार्की, निर्मल शर्मा लगायतका कलाकारहरू हाल महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन्द्र शाह उर्फ बालेन शाहको पक्षमा खुलेरै लागेका छन् ।

    बालेनको उम्मेदवारी घोषणासँगै उनको पक्षमा लागेका निश्चल बस्नेत उनको घोषणापत्र सार्वजनिक कार्यक्रममा नै सहभागी भए । बस्नेतले बालेनलाई निर्वाचित भएपछि पार्टीका जनप्रतिनिधिसँग कसरी समन्वय गर्नु हुन्छ भनेर प्रश्न समेत गरेका थिए ।

    बालेनको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रमै सहभागी भएर बालेनलाई समर्थन जनाइरहेका अर्का कलाकार हुन निर्मल शर्मा र इन्दिरा जोशी ।

    यस्तै अभिनेत्रीद्वय स्वस्तिमा खड्का र प्रियङ्का कार्की पनि हाल भोट फर बालेन भनेर प्रचारमा जुटेका छन् ।

    स्वस्तिमा र प्रियंकाले आज मात्रै आफ्नो सामाजिक सञ्जालमा बालेनको घोषणा पत्रको सारांश सार्वजनिक गर्दै बालेनको पक्षमा भोट हाल्न अपिल गरेको देख्न सकिन्छ ।

  • धुनीबेसीमा गठबन्धनविरुद्ध कांग्रेस नेताहरुको स्वतन्त्र उम्मेदवारी

    धुनीबेसीमा गठबन्धनविरुद्ध कांग्रेस नेताहरुको स्वतन्त्र उम्मेदवारी

    धादिङ । सत्ता गठबन्धनबाट धुनीबेसी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख पद पाएपछि कांग्रेसको असन्तुष्ट समूहबाट स्वतन्त्र उम्मेदवारी परेको छ ।

    समाजवादीका बालकृष्ण आचार्यले गठबन्धनको तर्फबाट धुनीबेसीको प्रमुखमा उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसका असन्तुष्ट समूहबाट एकराज गजुरेल (कुबेर) ले प्रमुखमै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    सो नगरपालिकामा समाजवादीले पाएको ४, ५ र ६ नम्बर वडाको अध्यक्षमा पनि कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिइएकाे छ । सुरेश गुजरेलले ४, विशाल भट्टराईले ५ र राजकुमार बानियाँले ६ नम्बर वडाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । तालमेलका क्रममा गठबन्धनले ती वडा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो ।

    स्थानीय आवश्यकताविपरीत तालमेल गरिएको भन्दै असन्तुष्ट कांग्रेस नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । धुनीबेसीको उपप्रमुखमा कांग्रेसबाट सुरज उप्रेती उम्मेदवार रहेका छन् ।

  • स्थानीय चुनाव : यस्ता उम्मेदवारविरुद्ध लाग्छ उजुरी

    स्थानीय चुनाव : यस्ता उम्मेदवारविरुद्ध लाग्छ उजुरी

    काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरू विरुद्ध आज उजुरी दिने समय तोकिएको छ ।

    निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गराएका १ लाख ४४ हजारभन्दा बढी उम्मेदवार छन् ।

    देशभर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यका लागि १ लाख ४४ हजार ४ सय १६ जनाको उम्मेदवारी परेको छ । १० बजेदेखि साँझ ५ बजेसम्म उजुरी दिन सकिने छ । उजुरीमाथि जाँचबुझ गरी वैशाख १४ देखि वैशाख १५ गते साँझ ५ गतेसम्म आयोगले निर्णय गरिसक्ने छ ।

    स्थानीय निर्वाचन ऐन २०७३ को दफा १२ अनुसार स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, कम्तीमा २१ वर्ष पूरा भएको हुनुपर्ने, गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने र कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ । तर यो आधारभूत आवश्यकता हो । यो भयो भन्दैमा चुनाव लड्न पाइन्छ भन्ने हुँदैन ।

    उक्त ऐनको दफा १३ मा उम्मेदवार हुन अयोग्य हुने अवस्थाबारे लेखिएको छ । विभिन्न १३ अवस्थामा उम्मेदवार बन्न नपाउने उल्लेख छ ।

    दफा १२ बमोजिम योग्यता नभएको, गैह्र नेपाली नागरिक, नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले उम्मेदवार बन्न अयोग्य हुन्छ ।

    कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले पनि उम्मेदवार बन्न पाउँदैन ।

    निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान गरेको व्यक्तिसँगै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको व्यक्ति उम्मेदवार बन्न अयोग्य हुन्छ । यी मध्ये कुनै पनि कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति पनि उम्मेदवार बन्न नसक्ने उक्त कानूनमा व्यवस्था छ ।

    संगठित अपराध सम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको व्यक्ति तथा जातीय भेदभाव तथा छुवाछुत, बहु विवाह सम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पुरा नभएको व्यक्तिले पनि उम्मेदवार बन्न पाउँदैन ।

    यीबाहेक अन्य कसुरमा ५ वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पुरा नभएको व्यक्ति पनि चुनावमा उठ्न पाउँदैन ।

    प्रचलित कानुन बमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर, कैदमा बसेको कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठिक नभएको र प्रचलित कानूनले अयोग्य भएको व्यक्तिले पनि उम्मेदवार बन्न नपाउने कानूनी व्यवस्था रहेको छ ।

     

  • गुल्मीकाे रेसुङ्गामा १०२ वर्षे मतदाताको आशीर्वाद लिएर चुनावी अभियान सुरु

    गुल्मीकाे रेसुङ्गामा १०२ वर्षे मतदाताको आशीर्वाद लिएर चुनावी अभियान सुरु

    गुल्मी । रेसुङ्गा नगरपालिका प्रमुखका उमेदवार नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शताब्दी पुरुषसँग आशीर्वाद लिएर घरदैलो अभियान सुरु गरेका छन् ।

    सोमबार रेसुङ्गा नगरपालिकाको प्रमुखमा मनोनयन दर्ता गरेपछि पन्थीले नगरवासी १०२ वर्षीय पर्शुराम पन्थी उपाध्यायसँग आशीर्वाद लिएर घरदैलो अभियान सुरु गरेका हुन् । उपाध्याय रेसुङ्गाका सबैभन्दा पाका मतदातासमेत हुन् ।

    २०१६ सालमा बीपी कोइराला गुल्मी पुग्दा उपाध्यायकै घरमा बास बसेका थिए । गुल्मी कांग्रेसका सभापति एवं प्रमुखका प्रत्यासी पन्थीले शताब्दी पुरुषको आशीर्वादले आफूलाई ऊर्जा दिएको बताए । ‘ज्येष्ठ नागरिकहरु नगरका धरोहर हुन् । १ सय वर्षभन्दा बढी उमेर पुगेका नागरिकको आशीर्वाद लिएर चुनावी अभियानमा होमिएको छु । मेरो उत्साह बढेको छ’, पन्थीले भने ।

    उपाध्यायलाई भेट्न पन्थीसहित उपप्रमुखका उम्मेदवार अमृतादेवी कुँवर र वडा कार्यसमितिका प्रत्यासीहरु पुगेका थिए ।

  • कर्णालीका ७९ पालिकामा ८ जना महिला प्रमुख उम्मेदवार

    कर्णालीका ७९ पालिकामा ८ जना महिला प्रमुख उम्मेदवार

    सुर्खेत । कर्णाली प्रदेशमा ७९ वटा पालिका छन् । संविधानतः महिलाले पालिकाको मेयर वा उपमेयरमध्ये एउटा स्वतः पाउँछन् । तर महिलालाई स्थानीय तहको नेतृत्व नै दिन भने राजनीतिक दलहरु उत्साहित देखिँदैनन् ।

    कर्णालीका पालिकामा सबैभन्दा बढी नेकपा एमालेले महिलाको नेतृत्वमा उम्मेदवार दिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र भने एमालेभन्दा पछाडि छन् ।

    एमालेले सुर्खेतका नौ पालिकामध्ये वीरेन्द्रनगरमा मोहनमाया ढकाललाई मेयर उम्मेदवार बनाएको छ । हुम्लाको चंखेली गाउँपालिकामा विमलाकुमारी शाहीले एमालेबाट अध्यक्षमा मनोनयन दर्ता गराएकी छन् ।

    एमालेले जुम्लाको गुठीचौर गाउँपालिकामा झनमाया जैसीलाई अध्यक्ष उम्मेदवार बनाएको छ । हुम्लामा ७ र जुम्लामा ८ पालिका छन् ।

    कालिकोटको पचालझरनाको अध्यक्षमा पनि एमालेले महिला उम्मेदवारी दिएको छ । यहाँ सविना वोगटीले अध्यक्षमा मनोनयन दर्ता गराएकी छन् । कालिकोटमा ९ पालिका छन् ।

    दैलेखका ११ पालिकामध्ये ठाटीकाँध गाउँपालिकामा लक्ष्मीदेवी शाहले मात्रै एमालेबाट अध्यक्षमा मनोनयन दर्ता गराइन् । यीबाहेक रुकुमका ६ पालिकामा महिला नेतृत्व शून्य देखिएको छ । ४ पालिका रहेको मुगुमा पनि महिला नेतृत्व शून्य छ । जाजरकोटका ७ पालिकामध्ये एमालेले कतै पनि महिलालाई नेतृत्व दिएन । ७ पालिका रहेको डोल्पा, १० पालिका रहेको सल्यानमा पनि एमालेबाट महिलाले पालिकाको नेतृत्व गर्न पाएनन् ।

    कांग्रेसले कर्णालीका दुई नगरपालिका प्रमुखमा महिला नेतृत्वको मनोनयन दर्ता गराएको छ । कांग्रेसबाट दैलेखको नारायण नगरपालिकामा निर्मला थापा खड्का र कालिकोटको खाँडाचक्र नगरपालिकामा तारा शाहले प्रमुखमा मनोनयन दर्ता गराएका छन् ।

    कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीका अनुसार यी दुई नगरमा गठबन्धनको मर्मअनुसार महिलालाई नेतृत्व दिइएको हो । ‘गठबन्धनको निर्णयअनुसार कुन पालिकामा कसले उम्मेदवारी दिए भन्ने विवरण संकलन गरिरहेका छौं’, उनले भने, ‘१६ गतेसम्म गठबन्धनविरुद्ध परेका कार्याकर्ताका मनोनयन उम्मेदवारी फिर्ता गराउने योजना भएका कारण अहिले नै को कहाँ भए भन्ने भन्न मुस्किल छ ।’

    नेकपा मओवादीले भने प्रदेशभर एक स्थानमा मात्रै महिलालाई नेतृत्व दिएको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा शिवा आचार्यले माओवादीबाट उम्मेदवारी दर्ता गराएकी छन् ।

    आधार क्षेत्र भनिएको रुकुममा समेत माओवादीले महिलालाई नेतृत्व दिएन । ‘हामीले जाजरकोटबाहेक अन्य जिल्लामा महिलालाई नेतृत्व दिन सकेनौं’, प्रदेश कमिटी अध्यक्ष विमला केसीले भनिन्, ‘गठबन्धन बनाउनेमा बढी ध्यान गयो । जिल्लाका साथीहरुले मिलाउन नसक्दा महिला सहभागिता अत्यन्तै कम भयो ।’

    यो कर्णालीको मात्र नभएर देशैभरिको समस्या रहेको उनको भनाइ छ । ‘महिलालाई नेतृत्वमा आउन असाध्यै चुनौतीपूर्ण अवस्था छ’, केसीले थपिन् ।

    माओवादीले एक जिल्लामा एकजना महिलाको नेतृत्व हुने गरी टिकट वितरण गर्ने निर्देशन दिए पनि कार्यान्वयन गर्न नसकिएको उनले बताइन् ।

  • दमकमा चुनावी चमक- हारको ह्याट्रिक गरिसकेका राम थापालाई गठबन्धनको टेको

    दमकमा चुनावी चमक- हारको ह्याट्रिक गरिसकेका राम थापालाई गठबन्धनको टेको

    झापा । नेकपा एमालेविरुद्ध देशभर पाँचदलीय गठबन्धन भए पनि केपी ओलीको गृहनगर दमकमा भने ६ दलीय महागठबन्धन बनेको छ । राप्रपालाई मेयर दिएर महागठबन्धन चुनावमा हेलिएको छ ।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको चुनाव यसपटक झनै रोचक र पेचिलो बनेको छ । गत निर्वाचनभन्दा यो निर्वाचन यसकारण पनि बढी पेचिलो भएको छ कि दमकको दोस्रो शक्ति राप्रपा सत्ता गठबन्धनसँग प्रमुख पद लिएर मिलेको छ ।

    एमालेबाट हालकी उपमेयर एवं केन्द्रीय सदस्य गीता अधिकारी प्रमुख पदमा प्रतिस्पर्धामा छिन् भने गठबन्धनबाट राम थापा उम्मेदवार बनेका छन् । अधिकारी पहिलो पटक प्रमुख पदमा निर्वाचन लड्दैछिन् भने थापा हरेक चुनावका सदाबहार मेयरका उम्मेदवार हुन् ।

    थापा चुनाव लड्ने तर नजित्ने उम्मेदवारको रुपमा दमकमा दरिएका छन् । २०६१ मा राजा ज्ञानेन्द्रको पालामा मनोनीत मेयर भएकोबाहेक उनीसँग जीतको विगत छैन । तर, उम्मेदवार नभएको चुनाव पनि छैन ।

    ‘व्यक्तिगत मतको एउटा सानो क्लस्टर देखाएर स्थानीय चुनावमा सधैं उम्मेदवार हुने उहाँको बानी नै हो’, थापासँग संगत गरेका एक कांग्रेसका नेता भन्छन्, ‘चुनाव उठ्नु तर नजित्नु उहाँको नियती नै हो । यो पटकको चुनाव सायद उहाँको अन्तिम होला ।’

    राजनीति गर्नेहरुले जीतको इतिहास बनाउँछन् । तर, थापाले अहिलेसम्म हारको इतिहास बनाएका छन् । यो चुनाव पनि हारे भने यो उनको चौथो हार हुनेछ । यसपालि उनको अन्तिम हार हुने र राजनीतिबाट संन्यासको घोषणा गर्न सक्ने उनी निकटहरु बताउँछन् ।

    थापाको हारको लामो इतिहास छ । २०४३ सालमा तत्कालीन दमक नगर पञ्चायतको प्रधानपञ्चको निर्वाचनमा उनी बलभद्र अधिकारीसँग हारेका थिए । अधिकारी परिवारसँग सुरु भएको उनको हारको श्रृंखला तिनै बलभद्रकी भतिजी बुहारी गीता अधिकारीसम्म आइपुगेको छ । उनको उम्मेदवारीबारे राप्रपा दमकमै पनि असन्तुष्टि छ ।

    ‘३७ वर्षसम्म एउटै मान्छे एउटा पदमा निरन्तर उम्मेदवार हुने कस्तो राजनीतिक संस्कार हो’, राप्रपा दमकका एक नेता भन्छन्, ‘राम थापालाई नेता मान्दा मान्दा हामी नै जीवनको उत्तराद्र्धमा आइसक्यौं । तर, सधैं उहाँलाई बोक्दा प्रमुख पदमा दाबी पनि गर्न पाएनौं ।’

    प्रधानपञ्चमा चुनाव हारेका थापा बहुदल स्थापनापछिको निर्वाचनमा फेरि वडा अध्यक्षमा झरे । तत्कालीन १२ नं वडाबाट अध्यक्ष भए । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा उनी फेरि मेयरको उम्मेदवार बने । एमालेका रोमनाथ ओलीसँग पराजित भए । त्यसबेला उनी ९ सय मतले पराजित भए ।

    २० वर्षपछि २०७४ मा भएको निर्वाचनमा संयोगले उनै ओली र थापा आमनेसामने भए । त्यसबेला थापा २७ सय मतले पराजित भए । यसबाट के पुष्टि हुन्छ भने २५ वर्षमा थापाको लोकप्रियता तीन गुणाले घट्यो । तर, थापा थाकेनन् । उनले यसपालि पनि एमालेसँग मेयर मागेका थिए । एमालेले नदिएपछि गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

    दमकमा यसपालि राप्रपाको एउटा खेमा एमालेसँग चुनावी तालमेल गर्न चाहन्थ्यो । राम थापापछिका नेता भीम पौडेल उपमेयर भएर जान चाहन्थे । यस विषयमा एमाले अध्यक्ष ओलीसँग उनले एक–दुई राउण्ड वार्ता पनि गरेका थिए । सूर्य चिन्हमा उपमेयर लिएर चुनाव लड्ने करिब तयारी अवस्थामा पुगेपछि यो कुरा बाहिरियो । त्यसपछि गठबन्धन दलले राम थापाको महत्वाकांक्षामा थप मलजल गरेर आफूलाई पाखा लगाएको गुनासो पौडेलले गर्ने गरेका छन् ।

    थापालाई मेयरको उम्मेदवार बनाएकोमा माओवादी र कांग्रेसको ठूलो तप्का असन्तुष्ट छ । माओवादीबाट मेयरका महत्वाकांक्षी उम्मेदवार गगन पुरीलाई रोक्न जिल्ला पार्टीले गठबन्धनभन्दा बाहिरको राप्रपालाई सघाउने निर्णय लियो । जबकि केन्द्रमा भएको सहमतिअनुसार गठबन्धनबाहिरका दलसँग तालमेल गर्न नपाइने थियो । गठबन्धनमा माओवादीको भागमा दमकको प्रमुख राखिएको थियो ।

    माओवादीका एक नेताले भने, ‘माओवादीका जिल्ला नेताको रणनीति पुरीलाई फकाउन दिए जस्तो पनि गर्ने तर अन्तिममा राप्रपा देखाएर रोक्ने नीति थियो । त्यो सफल भयो । गगन माओवादीभित्रका राम थापा हुन् । त्यसैले उनलाई पाखा नलगाएसम्म दमकको नेतृत्व विकास सम्भव छैन ।’

    राप्रपामा कट्टर राजावादी खेमाको नेतृत्व गरेका राजेन्द्र लिङ्देन समूहका नेता थापालाई मत हाल्न माओवादीलाई सहज हुने छैन । भूमिगतकालमा राजा हटाउन हिँडेको अभियोगमा जेल परेका र बेपत्ता भएका परिवारहरु दमकमा धेरै छन् । उनीहरु आफ्नै पार्टीले राजावादी एजेण्डाका पात्रलाई बोकेको भनेर असन्तुष्ट छन् ।

    २०७४ को चुनावमा चौथो पार्टी भएको कांग्रेसले मेयरमा त आफ्नो दाबी राख्नै सकेन । अघिल्लो पटक उपमेयरकी उम्मेदवार रेगिना भट्टराई प्रसाईं नै यसपालि उममेयर उम्मेदवार भएकी छिन् । अघिल्लो पटक एमालेकी गीता अधिकारीसँग करिब ३८ सय भोटले पराजित रेगिनालाई यसपालि पनि आफ्नै पार्टीका भोटले हराउने चिन्ता छ ।

    रेगिनाका श्रीमान प्रकाश दमक कांग्रेसका सभापति हुन् । उनी एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका नयाँ कांग्रेस हुन् । तर श्रीमानश्रीमतीकै राजनीतिक उचाइ बढ्दै गएको डाह दमक कांग्रेसमा अचम्मले चुलिएको छ । त्यसैले विगतको कांग्रेस संस्थापन रेगिनालाई कुनै पनि हालतले रोक्न चाहन्छ । अघिल्लो पटक पनि उक्त समूहको ठूलो मत गीता अधिकारीले पाएकी थिइन् ।

    को हुन् गीता अधिकारी ?

    दमकमा राम थापा जति परिचित छन्, गीता अधिकारीले ५ वर्ष उपमेयर भएर आफूलाई स्थापित गरेकी छन् । हुन त प्राध्यापन पेशामै रहेका बेला पनि उनी यहाँको स्थापित र बौद्धिक महिला हुन् । उनले पढाएका विद्यार्थीहरु नै धेरै छन् दमकमा ।

    अघिल्लो चुनावमा उनी उपमेयरको दाबेदार नै थिइनन् । तर अध्यक्ष केपी ओलीले उनलाई उपप्राध्यापकबाट राजीनामा गराएर उपमेयरको उम्मेदवार बनाए । उनले मेयरका उम्मेदवारभन्दा बढी भोट ल्याएर चुनाव जितिन् ।

    उपमेयरको रुपमा उनले गरेको कामले विगतको भन्दा उनको प्रभाव अवश्य बढेको छ । त्यसमाथि एमाले अध्यक्ष ओलीको गृहनगर र ओलीले नै अघि बढाएको महिला नेता भएकाले यहाँको विकास निर्माणको कामका लागि पनि गीतामाथि मतदाताको भरोसा हुनसक्छ ।

    एमालेबाहिरको तटस्थ मतसमेत तान्न गीता अधिकारी बलियो उम्मेदवार हुन् । यद्यपि दमकको दोस्रो शक्ति राप्रपालाई तेस्रो र चौथो शक्ति माओवादी तथा कांग्रेसले साथ दिएकाले चुनौती भने निकै देखिन्छ ।

    ससुरासँग चुनाव लडेर मेयर हार्न सुरु गरेका राम थापाले भतिजी बुहारीसँगको प्रतिस्पर्धामा कस्तो परिणाम ल्याउलान् ? अझै केही दिन चुनावी माहोल हेरेपछि मात्र आँकलन गर्न सकिन्छ ।

  • धरानमा कांग्रेस छाडेर राप्रपाबाट उम्मेदवार बनेका अधिकारीको आरोप- टिकटमा ५ लाख मागे

    धरानमा कांग्रेस छाडेर राप्रपाबाट उम्मेदवार बनेका अधिकारीको आरोप- टिकटमा ५ लाख मागे

    इटहरी । २०७४ को स्थानीय चुनावमा नेपाली कांग्रेसबापट धरान उपमहानगरपालिका-१ को वडाअध्यक्ष जितेका रोशन अधिकारी अहिले राप्रपाबाट उम्मेदवार बनेका छन् ।

    उम्मेदवार बन्न ५ लाख मागेकाले आफू राप्रपा प्रवेश गरेको उनले बताए ।

    अधिकारीले नेपाल प्रेससँग भने, ‘२५ दिन अगाडि मलाई पाँच लाख दिएमा मात्रै पुनः वडा अध्यक्ष टिकट निश्चित हुने भन्दै एक श्रेष्ठ थरका मान्छे आएर म र श्रीमतीसग कुरा गरे । मैले पैसा दिने कुरा अस्वीकार गर्दा टिकट दिएनन् ।’

    अधिकारीलाई मात्रै आउट गरेर बाँकी सेटलाई कांग्रेसले टिकट दिएको थियो । वडा सदस्य विवेक प्रसाईंले पनि अधिकारीलाई नै साथ दिएका छन् । यस्तै धरान १४ का नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले समेत राप्रपाबाट वडाध्यक्षको टिकट लिएका छन् ।

    आफूलाई आम नागरिकले रुचाए पनि पार्टीले दोहोराउन टिकट नदिएपछि अघिल्लो कार्यकालका बाकी काम पुरा गर्न उमेदवार बनेको भट्टराईले बताए । आफू अध्यक्ष हुँदा पञ्जिकरणदेखि नागरिकता सिफारिसको पैसा नलिएको देखि साप्ताहिक मोतिबिन्दुको शिविर राख्नेजस्ता धेरै जनमैत्री काम भएको भन्दै भट्टराईले त्यही निरन्तरताको लागि नागरिकले आफूलाई चाहेको बताए ।

    ‘जुन पार्टीबाट भएनि उमेदवार भएर आउनुस जिताउँछौं भनेपछि म राप्रपा उमेदवार बनेको हो’, भट्टराईले भने ।

  • दिक्तेलमा भट्टराई नै आधिकारिक उम्मेदवार : कांग्रेस

    दिक्तेलमा भट्टराई नै आधिकारिक उम्मेदवार : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले खोटाङको दिक्तेल रुपाको मझुवागढी नगरपालिकाको प्रमुखमा तीर्थराज भट्टराई आधिकारीक उम्मेदवार भएको स्पष्ट पारेको छ ।

    कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले खोटाङका निर्वाचन अधिकृतलाई पत्र पठाउँदै सो नगरपालिकाको प्रमुखमा कांग्रेसका तर्फबाट २ जनाको उम्मेदवारी दर्ता भएकोमा भट्टराई आधिकारिक भएको जानकारी दिएका हुन् ।

    सो नगरपालिकामा धर्मराज पोखरेलले पनि कांग्रेसबाटै प्रमुखमा उम्मेदवारी दिएका थिए ।

    कांग्रेसको प्रदेश १ समितिले पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

    प्रदेशको निर्णयमा कांग्रेस केन्द्रीय समितिले हस्तक्षेप गरेको हो ।

  • एक लाख ४४ हजार ४१६ उम्मेदवारी दर्ता, कुन पदमा कति (सूचीसहित)

    एक लाख ४४ हजार ४१६ उम्मेदवारी दर्ता, कुन पदमा कति (सूचीसहित)

    काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै स्थानीय तहका लागि एक लाख ४४ हजार ४१६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

    निर्वाचन आयोगले मंगलबार मध्यान्ह साढे १२ बजे सार्वजनिक गरेको विवरणअनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।

    स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि निर्वाचन हुँदैछ । २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ४४ हजार ४१६ जनाले उम्मेदवारी दिएका छन् ।

    कुन पदमा कति उम्मेदवार ?

    प्रमुखः ३ हजार ३७५

    उपप्रमुखः २ हजार ६९
    अध्यक्षः ३ हजार ३३४

    उपाध्यक्षः २ हजार ३६४

    वडाध्यक्षः ३३ हजार ७९७

    महिला सदस्यः २३ हजार ७९२

    दलित महिला सदस्यः २२ हजार ४४०

    खुला सदस्यः ५२ हजार २४५

    आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

    वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

  • को हुन् विराटनगर महानगरको मेयर दौडमा रहेका नागेश र सागर ?

    को हुन् विराटनगर महानगरको मेयर दौडमा रहेका नागेश र सागर ?

    विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा मुख्यतया गठबन्धन र एमालेका उम्मेदवारबीच कडा भिडन्त हुने देखिएको छ । विराटनगर महानगरेको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नागेश कोइराला र नेकपा एमालेबाट सागर थापा बलिया उम्मेदवार देखिएका हुन् ।

    सत्ता गठबन्धनमा भागबन्डा हुँदा विराटनगरको मेयर काग्रेसको भागमा परेको थियो । गठबन्धनका मेयर उम्मेदवार नागेश राजनीतिक परिवारका सदस्य हुन् । कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला र नागेशबीच काका–भतिजको सम्बन्ध छ ।

    कोइराला परिवारका सदस्य नागेश र वरिष्ठ नेता कोइरालाबीच ससुराली साइनोसमेत छ। नागेशकी श्रीमती र शेखरकी श्रीमती फुपू-भदैनी हुन् ।
    कांग्रेसको भ्रातृ संगठन तरुण दल मोरङको कोषाध्यक्ष भएपछि सक्रिय राजनीतिमा आएका हुन नागेश । तरुण दलपछि उनी कांग्रेसको जिल्ला सचिव भए । अहिले उनी मोरङ कांग्रेस उपसभापति छन् ।

    शेखरको नाताको मान्छे भएकाले नागेशले टिकट पाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । विशेष गरी पार्टी सभापति शेरबहादुर देउवा समूहका वरिष्ठ नेताहरु मेयरको आकांक्षी भए पनि उनीहरुलाई ब्याक गरेर नागेशलाई टिकट दिएको भन्दै संस्थापन पक्षमा असन्तुष्टि देखिएको हो । जसका कारण नागेशलाई कांग्रेस वृत्तबाटै मत नआउने हो कि भन्ने आशंका बढाएको कांग्रेसका एक नेताले बताए । तर, उनी गठबन्धनको उम्मेदवार भएकाले विजय सुनिश्चित रहेको उनको दावी छ ।

    यता विद्यार्थी राजनीतिबाट एमालेमा स्थापित युवा नेता सागर थापालाई पनि उतिकै सशक्त उम्मेदवारका रुपमा हेरिएको छ । सागर ३० वर्षदेखि एमालेको राजनीतिमा क्रियाशील छन् । उनले अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका थिए । थापा अहिले एमाले महानगर कमिटी अध्यक्ष हुन् । झण्डै दुई कार्यकाल एमले महानगर हाँकेका थापा नेकपा हुँदा महानगर संयोजक थिए ।

    थापा २० वर्षअघि देशकै चर्चित महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियुको तर्फबाट एक्लै स्ववियू सभापति निर्वाचित भएका थिए । उनले दुई कार्यकाल स्ववियू सभापति जित्दा अहिलेका विराटनगरका मेयर भीम पराजुली कोषाध्यक्ष र सचिव थिए ।

    यस्तो छ विगत

    अघिल्लो निर्वाचनमा मेयरमा कांग्रेसका भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की निर्वाचित भएका थिए । मेयरमा पराजुलीले २३ हजार ३१ मत, एमालेका विनोद ढकालले १७ हजार ३२१ र संघीय समाजवादी फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाएका थिए ।

    उपमेयरमा कांग्रेसकी कार्कीले २० हजार १४६ र माओवादीकी नमिता न्यौपानेले ११ हजार ५२४ मत पाएकी थिइन् । लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत ल्याएकी थिइन् ।

    गत चुनावमा एमालेले विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग तालमेल गरेको थियो । उपमेयरमा लोकतान्त्रिक फोरमकी चौधरीलाई एमालेले समर्थन गरेको थियो ।

    कांग्रेस एक्लैले चुनाव लडेको थियो । जसपा र माओवादीबीच पनि तालमेल भएको थियो । एमाले फुटेको र कांग्रेसमा पनि महाधिवेशनको असर राष्ट्रिय सभामा समेत देखिएकाले आसन्न स्थानीय चुनाव रोचक हुने स्थानीय नेताहरू बताउँछन् ।

    यस्तो छ दलको गणित

    विराटनगरमा १९ वडा छन् । अहिले १९ हजार ३८१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार विराटनगरमा एक लाख ३३ हजार १४२ मतदाता छन् । २०७४ सालमा एक लाख १३ हजार ७६१ मतदाता थिए ।

    २०७४ सालको निर्वाचनमा वामपन्थी मत एमाले र माओवादीको २४ हजार २१९ थियो । कांग्रेस र राप्रपाको २६ हजार १५१ थियो । त्यस्तै जसपाको १० हजार ९३२ थियो ।

    यस पटक वामपन्थी दल विभाजित छन् । एमाले र माओवादीसँगै एकीकृत समाजवादीले सबै वडामा संगठन निर्माण गरिसकेका छन् । कांग्रेसमा गत निर्वाचनको भन्दा झण्डै साढे चार हजार मत फोरम लोकतान्त्रिकबाट थपिएको छ ।

    राप्रपा पनि एक्लै चुनावमा गएको छ । मेयरमा प्रह्लाद शाहले उम्मेदवारी दिएकाले एमालेका थापालाई राप्रपाको साथ नहुने पक्कापक्की छ । यसरी हेर्दा सत्ता गठबन्धनका मेयर उम्मेदवार नागेश सशक्त उम्मेदवार हो भन्दा अत्युक्ति नहोला ।

    विराटनगरको विरासत

    अहिलेसम्म विराटनगरमा भएका चार वटा स्थानीय निर्वाचनमा दुई पटक कम्युनिष्ट र दुई पटक कांग्रेसले जितेका छन् । २०४३ सालमा जनपक्षीय उम्मेदवार भनेर वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठ मेयर निर्वाचित भएका थिए ।

    त्यसपछि २०४८ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार अशोक कोइराला विजयी भए । २०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल मेयर बने । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका भीम पराजुली विजयी भए ।

  • मोरङका १७ स्थानीय तहमा कतिले गरे उम्मेदवारी दर्ता ?

    मोरङका १७ स्थानीय तहमा कतिले गरे उम्मेदवारी दर्ता ?

    विराटनगर । मोरङका कुल १७ स्थानीय तहमा अध्यक्ष/प्रमुख पदका लागि १४९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपाध्यक्ष/उपप्रमुखमा १२९ जनाले उम्मेदवारी दिएका छन् ।

    प्रदेश निर्वाचन कार्यालयका अनुसार एक महानगर, ८ नगर ८ गाउँपालिका रहेको मोरङमा वडाध्यक्षमा मात्रै १ हजार १३ जनाको उम्मेदवारी परेको छ ।

    ती वडाहरूको खुल्ला सदस्यमा १ हजार ६६, महिला सदस्यमा ७६१, दलित महिला सदस्यका लागि ७१० जनाले मनोनयन दर्ता गराएका छन् ।

    दल र स्वतन्त्र गरी विराटनगर महानगरपालिकाको प्रमुखमा १४ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी उपप्रमुखमा १५ जनाको उम्मेदवारी परेको छ ।

    उर्लाबारी नगरपालिकाको प्रमुखमा ९ जना र उपप्रमुखमा पनि ९ जनाको उम्मेदवारी परेको छ । पथरी शनिश्चरे नगरपालिकाको प्रमुखमा ८ जना र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेको छ । सुन्दरहरैँचा नगरपालिकाको प्रमुखमा ११ जना र उपप्रमुखमा ८ जनाको उम्मेदवारी परेको छ । रंगेली नगरपालिकाको प्रमुखमा ९ र उपप्रमुखमा १० जनाको उम्मेदवारी परेको छ भने लेटाङ नगरपालिकाको प्रमुखमा ९ जना र उपप्रमुखको पदमा ५ जानको उम्मेदवारी परेको छ ।बेलबारी नगरपालिकाको प्रमुखमा ११ जनाको उम्मेदवारी पर्दा उपप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ ।त्यसै गरी रतुवा माई नगरपालिकाको प्रमुख र उपप्रमुखमा पाँच/पाँचजनाको उम्मेदवारी परेको छ ।

    मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा ८ जना र उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । यसैगरी केराबारी गाउँपालिकाको अध्यक्षमा ७ जना र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

    यता कटहरी गाउँपालिकाको अध्यक्षमा ९ जना र उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । कानेपोखरी गाउँपालिकाको अध्यक्षमा ७ जना र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ ।ग्रामथान गाउँपालिको अध्यक्षमा ७ जना र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ ।
    जदहा गाउँपालिकाको अध्यक्षमा ७ जना र उपाध्यक्षमा ९ जानको उम्मेदवारी परेको छ ।धनपालथान गाउँपालिकाको अध्यक्षमा ८ जना र उपाध्यक्षमा ७ जनाको उम्मेदवारी पर्दा बुढीगंगा गाउँपालिकाको अध्यक्षमा १० जना र उपाध्यक्षमा ७ जानको उम्मेदवारी परेको छ ।

    प्रदेश निर्वाचन कार्यालयका अनुसार विराटनगर महानगरको मेयरमा नेपाली काङ्ग्रेसबाट नागेश कोइराला, नेकपा एमालेबाट सागर थापा, राप्रपाबाट प्रल्लाह साह, लोकतान्त्रिक समाजवादी पार्टीबाट मृत्युजन्य मिश्र, नेपाली काँग्रेस बिपी पार्टीबाट रामचन्द्र गौतम, जनमत पार्टीबाट अशोककुमार मण्डल, विवेकशील साझा पार्टीबाट अमलेश कर्ण, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट डा. नागेश्वरीप्रसाद सिंहलगायत छन् ।

    आइतबार मात्रै स्वतन्त्र तर्फबाट उमेश यादव, सक्रिय गौतमले उम्मेदवारी दर्ता गराएका थिए । उपप्रमुखमा भने जसपा बाट उपेन्द्र यादवको छोरा अरमेन्द्र यादव, एमालेबाट शिल्पा कार्की, राप्रपाबाट बिन्दा लुइँटेल आचार्य, लोसपाबाट सहनाज खातुन, माओवादी केन्द्रबाट नमिता न्यौपाने लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

  • सहमतिविपरीत कर्णालीका सबै पालिकामा कांग्रेस र माओवादीका बागी उम्मेदवार

    सहमतिविपरीत कर्णालीका सबै पालिकामा कांग्रेस र माओवादीका बागी उम्मेदवार

    सुर्खेत । कर्णाली प्रदेशका ७९ ओटै पालिकामा सहमतिविपरीपत गठबन्धनका प्रमुख दलहरूले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस र माओवादीले सबै स्थानीय तहमा उम्मेदवारी दिएपछि अहिले नेताहरू मिलाउनतर्फ लागेका छन् ।

    हिजोमात्रै १५ वटा छाडेर ६४ वटा स्थानीय तहमा कांग्रेस र माओवादीलाई २५-२५ र नेकपा एसलाई १४ वटामा भागबन्डा गरिएको थियो ।

    ‘हामीले दिएको निर्देशन अनुसार भन्दा पनि हरेक पालिकामा साथीहरूले उम्मेदवारी दर्ता गर्नु भएको छ । सहमतिको आधारमा चुनाव लड्न र उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका छौं । यसलाई मध्यनजर गरेर सहजतापूर्वक सबै साथीहरू अघि बढ्नुहुनेछ भन्नेमा ढुक्क छौं ।’

    यता, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले पनि सबै पालिकामा उम्मेदवारी दिइएको बताइन् ।

    ‘अहिलेसमको विवरण अनुसार सबै पालिकामा साथीहरूले उम्मेदवारी दर्ता गर्नु भएको छ । ती साथीहरूले आफ्नो भागवण्डामा नपरेका पालिकामा उम्मेदवारी छोडनुहुन्छ ’, उनले भनिन् । गठबन्धनलाई थप कसिलो बनाएर लैजाने भन्दै उनले दाबीसमेत गरिन् ।

    यता, प्रदेश निर्वाचन कार्यालयले भने कुन पालिकामा कसले उम्मेदवारी दर्ता गरे भन्ने पूर्ण विवरण आउँन बाँकी रहेको जनाएको छ ।

  • पोखरामा निर्वाचन आयोगको झूर व्यवस्थापन : अझै सकिएन मनोनयन

    पोखरामा निर्वाचन आयोगको झूर व्यवस्थापन : अझै सकिएन मनोनयन

    काठमाडौं । पोखरामा अझै मनोनयन प्रक्रिया सकिएको छैन । निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा छन् । उनीहरूले रातभर लगाएर मनोनयनको बाँकी काम गरिरहेका छन् । अझै केही घण्टा लाग्ने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।

    ‘आयोगले लजिष्टिक उपलब्ध गराएन । स्थानीय तहसँग माग्ने भन्यो । तर, पोखरा महानगरले पनि सहयोग गरेन,’ उनले भने, ‘कम्प्युटर र ल्यापटप छैन । काठमाडौंमा महानगरले १० वटा दियो, पोखराले एउटा पनि दिएन । हामीले व्यक्तिगत ल्यापटपबाट काम गरिरहेका छौं । जेनेरेटर नहुँदा केही समय कामै रोकियो ।’

    राजनीतिक दलहरू पनि एकै पटक मनोनयनमा आउँदा समस्या परेको उनले बताए । ‘धेरै गाह्रो भो । पार्टीहरूले कोअपरेट गरेनन् । ३ बजेपछि सबै हुल बाँधेर आइदिए,’ उनी भन्छन्, ‘सल्लाह गरेरै फरक दिन आउनु भन्नुपर्ने हो । तर, त्यसो हुन सकेन । रातभर िकाम गर्दा पनि काम सकिएको छैन ।’

    आयोगले तोकेको भन्दा बढी कर्मचारी राख्न नपाएका कारण पनि समस्या भइरहेको भट्टराई सुनाउँछन् । उम्मेद्वारहरूबाट विवरण संकलन गरे पनि दस्तावेजीकरण अहिलेसम्म नसकिएको हो । निर्वाचन आयोगको असहयोग गरेका कारण मनोनयन प्रक्रियामा समस्या भएको कर्मचारीहरु बताउँछन् ।

    पोखराको मेयरका लागि २५ र उपमेयरका लागि नौ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । गण्डकी प्रदेशभरि हालसम्म १२ हजार एक सय ४६ जनाले मनोनयन दर्ता गराइसकेका छन् । अझै केही तथ्यांक बाँकी भएकाले बढ्न सक्ने बताइएको छ । आयोगले दुई दिन मनोनयनको समय तोके पनि सबैजसो दलहरू भोलिपल्ट अन्तिम समयमा मात्रै पुगेका थिए ।

  • एमालेबाट तिलोत्तमा मेयरका उम्मेदवार चापागाईंले त्यागे पत्रकार महासंघको सदस्यता

    एमालेबाट तिलोत्तमा मेयरका उम्मेदवार चापागाईंले त्यागे पत्रकार महासंघको सदस्यता

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिएका मोहन चापागाईंले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन् । चापागाईं महासंघको पूर्वकेन्द्रीय सदस्य एवं रुपन्देही पूर्वअध्यक्ष हुन् ।

    २०५१ सालदेखि रुपन्देहीलाई कार्यस्थल बनाइ पत्रकारिता गरिरहेका चापागाईंले प्रेस नोटमार्फत महासंघको सदस्यता त्यागेको बताएका छन् ।

    ‘पत्रकारिता पेशामा आवद्द भएको झण्डै ४ वर्षपछि २०५५ सालमा नेपाल पत्रकार महासंघको साधारण सदस्यता प्राप्त गरी पत्रकार महासङ्घ रुपदेहीको अघ्यक्ष र केन्द्रीय सदस्यको भूमिकामा रही काम गर्ने अवसर समेत प्राप्त गरेँ । हाल केही वर्षदेखि पत्रकारिता पेशामा सक्रिय नरहेपनि म यसबाट टाढा थिइनँ । तर, यसै परिस्थितिमा स्थानीय तहको निर्वाचनका लागि तिलोत्तमा नगरपालिका रुपन्देहीको नगर प्रमुख पदमा उम्मेदवारी दिएका कारण नेपाल पत्रकार महासंघको विधान तथा प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता समेतलाई ध्यानमा राखी आजैका मितिदेखि लागू हुनेगरी महासंघको साधारण सदस्यता त्यागेको जानकारीका लागि अनुरोध छ ।’

    उनले पत्रकारिता क्षेत्रको उन्नयन र रक्षाका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति सधै लडिरहने प्रतिबद्धतासमेत व्यक्त गर्छु ।

  • मकवानपुरमा एमालेका तीनजना दलित महिला सदस्य निर्विरोध

    मकवानपुरमा एमालेका तीनजना दलित महिला सदस्य निर्विरोध

    मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पनि नेकपा एमालेबाट एकजना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

    एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नंबर ७ की तिर्थ कुमारी ल्वाहगुन निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    ७ नम्बर वडाको दलित महिला सदस्य ल्वाहगुनको मात्र एकल उम्मेदवार परेसँगै उनी निर्विरोध निर्वाचित भएकी हुन् । योसँगै मकवानपुरमा एमालेबाट निर्विरोध हुने वडा सदस्यको संख्या ३ पुगेको छ ।

    यसअघि, जिल्लाको इन्द्रसरोवरमा २ जना वडा सदस्य निर्विरोध भएका थिए । एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नम्बर १ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएकी हुन् ।

    एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी इन्द्रसरोवर वडा नम्बर १ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएकी हुन् । उक्त वडाहरूमा दमाई र सुनारको एकल उम्मेदवार परेको थियो ।

  • भैरहवाको सिद्धार्थनगरमा एमालेबाट मेयरमा बस्याल र उपमेयरमा उमा, जोगाउलान् त एमालेको विरासत ?

    भैरहवाको सिद्धार्थनगरमा एमालेबाट मेयरमा बस्याल र उपमेयरमा उमा, जोगाउलान् त एमालेको विरासत ?

    रुपन्देही । रुपन्देहीको सदरमुकाम भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा मेयर तथा उपमेयर नेकपा एमालेले जितेको थियो । मेयरमा हरिप्रसाद अधिकारी तथा उपमेयरमा उमा काफ्लेले जितेको यो नगरपालिकामा एमाले, राप्रपा, कांग्रेस, जसपा, माओवादीबीच निकै कडा प्रतिस्पर्धा छ ।

    उपमेयर काफ्ले नेकपा एसमा लागेकी छन् । एमालेकै रहेका मेयर अधिकारी पुनः मेयरमा दोहोरिएनन् । पार्टीले पाका र पुराना अनुभवी नेता डाक्टर रामप्रसाद बस्याललाई मेयर उम्मेवादर बनाएको छ । ०५४ सालमा स्थानीय निर्वाचनमा उपमेयर बनेका अधिकारीले सोमबार पार्टीबाट उम्मेदवार मनोनयन दर्ता गराउने समयमा देखाएको सक्रियताले नयाँ नेतृत्वलाई उनको पूर्ण साथ रहेको प्रस्ट देखिन्छ ।

    एमालेबाट सिद्धार्थनगर नगरपालिकाको मेयरमा डा. रामप्रसाद बस्याल र उपमेयरमा उमा अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । एमाले नेता तथा संघीय सांसद घनश्याम भुसाल, नगर प्रमुख हरिप्रसाद अधिकारी, एमाले नेताहरु राजेन्द्रप्रसाद पन्थी, हितराज पन्थी, अनुप बराल, चोपलाल आचार्य, जीवलाल अर्याल, प्रेम सेन्चुरी, चक्रबहादुर थापासहित उनीहरुले मनोनयन दर्ता गराएका थिए ।

    डाक्टर बस्यालको राजनीतिक इतिहास

    २०३८ सालमा पार्टी सदस्यता लिएका बस्याल समाज सेवामा अग्रणी छन् । रुपन्देहीमा अनुभवी र पाका राजनीतिकर्मीको रुपमा परिचित बस्याल २००५ सालमा पाल्पाको बराङ्गदीमा जन्मिएका हुन् । पाल्पा तानसेनमा ६ कक्षासम्म अध्ययन गरेका उनी ७ कक्षादेखि भारतको हरिद्वार र देहरादुनमा बसेर आईएस्सीसम्मको अध्ययन गरेका छन् ।

    विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय बस्याल आईएस्सीपछि नेपाली छात्र संघ पञ्चपुरीको अध्यक्ष भएका थिए । आईएस्सी पास गरेपछि बस्याल नेपाली राजदूतावासमा तत्कालीन राजदूत भीमबहादुर पाँडेको नजिक पुगे । भीमबहादुरको प्रेरणामा बस्यालले कानपुर मेडिकल कलेजमा निःशुल्क चिकित्साशास्त्रको अध्ययन गरे ।

    चिकित्सक भएपछि नेपालमा बसेर केही गर्नुपर्छ भन्ने सोचका साथ बस्याल २०४२ सालमा पाल्पा पुगेर जनपक्षीय उम्मेदवार बने । त्यसपछि बस्याल भैरहवामा मेडिकल खोलेर बसे । बस्यालले २०४५ सालमा लुम्बिनी अञ्चलमै पहिलो औषधि उद्योग सिद्धार्थ फर्मास्युटिकल्स सञ्चालनमा ल्याए । उद्योग व्यवसायी सँगसँगै स्वास्थ्य सेवामा लागेका बस्याल २०३८ सालदेखि नेकपा मालेमा सक्रिय भएका थिए ।

    बस्याल पार्टीका शीर्ष नेता विष्णु पौडेल, मोदनाथ प्रश्रित, स्व. जीवराज आश्रित, वामदेव गौतम, टंक कार्की, अष्टलक्ष्मी शाक्य, राधा ज्ञवाली, घनश्याम भुसाललगायत नेताहरुलाई सेल्टर दिने, भूमिगतकालमा पञ्चायती शासकहरुबाट लुकाउने, विभिन्न पार्टीका प्रशिक्षण चलाउन सहयोग गर्ने, औषधोपचारका काममा खटिन्थे । एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वअर्थमन्त्री स्व. भरतमोहन अधिकारीलाई समेत भूमिगत कालमा एक हप्तासम्म आफ्नो घरमा लुकाएर राखेको उनले सुनाए ।

    एमालेको सिद्धार्थनगर नगर कमिटी सहसचिव भइसकेका बस्यालले अन्य समय पार्टीको शुभचिन्तक र असल कार्यकर्ताको रुपमा काम गरिरहे । उनले माओवादी जनयुद्धको समयमा पुष्पकमल दाहालसँग भेट गराउन एमाले शीर्ष नेतालाई गोरखपुर पु¥याउने र पार्टीका नेता तथा कार्यकर्ताहरुको निःशुल्क उपचार गर्ने कार्य गरेका छन् ।

    ०६२/०६३ को जनआन्दोलनमा सक्रिय बस्याल पार्टीका हरेक आन्दोलनमा अग्रभागमा रहने गरेको उनका समर्थकहरु बताउँछन् । पार्टीमा आउने संकट र समस्याको बेला सतिसाल झैं सिद्धान्त र निष्ठाको पक्षमा उभिने र पार्टीभित्र सन्तुलन मिलाउनसक्ने नेताको पहिचान उनले बनाएका छन् । आफ्नो क्षेत्रका धेरै सामाजिक संघसंस्था र सबै दलका कार्यकर्ताहरुको साझा उम्मेदवारका रुपमा आफूलाई भैरहवाबासीले लिएको उनको दावी छ ।

    उमाकाे बढ्दाे उचाइ

    एमालेबाट सिद्धार्थनगर नगरपालिकाको उपमेयरमा उम्मेदवारी पाएकी उमा अधिकारी युवा समूहको प्रतिनिधित्व गर्छिन् । रुपन्देही जिल्ला कमिटी सदस्य अधिकारी लामो समय विद्यार्थी राजनीतिमा सक्रिय थिइन् ।

    भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थी जीवन बिताएकी अधिकारीको तत्कालीन अनेरास्ववियुका नेता पार्थिवेन्द्र उपाध्ययसँग बिहे भएको थियो । बिहेपछि उनी एमालेमा जोडिइन् । उपाध्याय वि.संं २०५१ सालमा निर्वाचित भैरहवाका लोकप्रिय नेता स्व. धनपति उपाध्यायका कान्छा छोरा हुन् । अधिकारीको सासूआमा पुष्पाञ्जली उपाध्याय एमालेमा शालिन, सभ्य र सरल नेतृको रुपमा परिचित छन् । जीवनभर पार्टी जीवनमा काम गरेकी पुष्पाञ्जली अनुभवी पुरानो महिला नेतृ हुन् । सासूससुराको अधुरा कामको जिम्मेवारी पूरा गर्नेगरी आफू निर्वाचनमा होमिएको उमा बताउँछिन् ।

    एक छोरीकी आमा अधिकारीले स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छन् । २०५७ सालमा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिएकी उमा २०६० सालमा अखिलको रुपन्देही जिल्ला कमिटी सदस्य र भैरहवा बहुमुखी क्याम्पसको स्ववियु कोषाध्यक्ष भएकी थिइन् । उमा सोही समयमा अखिलको अञ्चल कमिटी सदस्य हुँदै महिला विभाग प्रमुखसमेत भइन् ।

    २०६२/६३ को जनआन्दोलनमा सक्रिय उमा २०६३ सालमा भएको अनेरास्ववियुको केन्द्रीय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । उमा भैरहवामा युवा र विद्यार्थीमाझ एकदमै लोकप्रिय रहेकी छन् । उमा एमालेमा २ कार्यकाल क्षेत्रीय कमिटी सदस्य र २ कार्यकाल जिल्ला कमिटी सदस्य भइसकेकी छन् ।

    उमाको खेलकुद क्षेत्रमा पनि उल्लेखनीय योगदान रहेको छ । उनले रुपन्देही जिल्ला खेलकुद विकास समितिको सदस्य र लुम्बिनी खेलकुद परिषद्को कार्यकारी सदस्य भएरसमेत काम गरिसकेकी छन् । हाल रुपन्देही क्रिकेट संघको कार्यसमिति सदस्य छिन् । पाँच वर्ष अगाडिको निर्वाचनमा पनि उपमेयरको आकांक्षी रहेकी अधिकारीले अहिले पालो पाएकी छन् ।

  • बागी विद्रोही र क्षणिक आवेग त्याग्न एमाले पंक्तिलाई अध्यक्ष ओलीको आव्हान (भिडिओ)

    बागी विद्रोही र क्षणिक आवेग त्याग्न एमाले पंक्तिलाई अध्यक्ष ओलीको आव्हान (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयन र टिकट वितरणमा कहिँ कतै बेठीक पनि भएको भन्दै त्यसको समीक्षा चुनावपछि हुने बताएका छन् ।

    मंगलबार मनमोहन स्मृति दिवसको कार्यक्रममा अध्यक्ष ओलीले आफूले टिकट नपाएकै कारण बागी विद्रोही गर्ने वा क्षणिक आबेग उत्तेजनामा आउने चरित्र एमालेको नभएको बताए । उनले एमालेका कार्यकर्तालाई एक सुर एक तालमा पार्टीलाई जिताउन आह्वान गरे ।

    ओलीले भने, ‘क्षणिक आबेग उत्तेजनामा आउनु हुँदैन । संयम र धैर्य नै एमालेको चरित्र हो । एकमन एकताका साथ एमालेका देशभरका कार्यकर्ता उभिनुपर्छ । अहिले मनोनयन दर्ताका सम्बन्धमा ,सबै ठाउँमा ठिकै भएको नहुन सक्छ, बेठीक पनि भएको होला । तर, अहिले आवेग उत्तेजनामा आउने होइन, अपराधिक गठबन्धनलाई हराउने हो ।’

    पार्टीप्रति निष्ठावान र बफादार छु भन्ने तर वडाध्यक्ष वा सदस्यको टिकट नपाएपछि बागी विद्रोही गर्ने, अर्को पार्टीमा जाने प्रवृति एमालेमा नसुहाउने ओलीले बताए । उनले उपयुक्त समयमा सबैका असन्तुष्टिको सम्बोधन गरिने आश्वासनसमेत दिएका छन् ।

  • सिरहा औरही उपाध्यक्षमा जसपाबाट दुईजनाको मनोनयन, एकको रद्द

    सिरहा औरही उपाध्यक्षमा जसपाबाट दुईजनाको मनोनयन, एकको रद्द

    जनकपुरधाम । सिरहाको औरही गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट दुईजनाको उम्मेदवारी परेको छ । यहाँ देवझारी यादव र रेणु यादवले मनोनयन दर्ता गराएका हुन् ।

    मधेस प्रदेशका कृषिमन्त्रीसमेत रहेका जसपा कार्यकारिणी सदस्य विजय यादवको गृहगाउँ हो औरही । यहाँ उनको चाहनाबमोजिम रेणु यादवले उपाध्यक्षले टिकट पाइन् ।

    तर, जसपा नेता रामरिझन यादवले देवझारीलाई उपाध्यक्ष दिनुपर्ने अडान लिएका थिए । जसपामा तत्कालीन नयाँ शक्ति र उपेन्द्र यादव पक्षका नेता कार्यकर्ता विभाजित छन् । केहिदिन अगाडि मात्र जसपा प्रवेश गरेकी रेणुलाई टिकट दिन लागेको भन्दै देवझारी असन्तुष्ट बनिन् ।

    मनोनयन दर्ताको अन्तिम दिन बिहान देवझारीलाई रामरिझन यादवले टिकट दिए । लगत्तै उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन गरी ।

    नयाँ शक्तिमा रहेका बेला उनको नाम सामानुपातिक सूचीमा रहेकाले उनी उम्मेदवार बन्नबाट वञ्चित भइन् ।

    औरहीका निर्वाचन अधिकृत पिताम्वर गौतमले सामानुपातिकको बन्दसूचीमा नाम रहेकाले देवझारीको उम्मेदवारी दर्ता भएर पनि सिस्टममा नगएको जानकारी दिए । जसपाकै तर्फबाट पछि रेणुले उम्मेदवारी दर्ता गराएको र सिस्टममा गइसकेकाले रेणुकै उम्मेदवारी कायम रहने उनको भनाइ छ ।

    नेता रामरिझन यादवले सामानुपातिक बन्द सूचीको नाम कटाउन नसकेकाले देवझारी टिकट पाएर पनि उम्मेदवार बन्न नपाएपछि दुःख लागेको बताए । उनले भने, ‘व्यस्तताको कारण बन्दसूचीमा उनको नाम रह्यो । अहिले उनी उम्मेदवार हुन पाइनन् । यो मेरै गल्ती हो । त्यसको मूल्य देवझारीले चुकाउनुपरेको छ ।’

    औरहीमा जसपाको तर्फबाट शिवजी यादव पुनः अध्यक्षमा उम्मेदवारी दिएका छन् । पार्टीमा टिकटका लागि देखिएको विवादले अध्यक्ष यादवलाई प्रभाव पर्नसक्ने चर्चा चल्न थालेको छ । यादव गत निर्वाचनमा नेकपा माओवादी केन्द्रका सिद्धार्थ यादवबाट मात्र ६ भोटले पराजित भएका थिए ।

  • कांग्रेसको घोषणापत्रबारे ओलीको टिप्पणी- गालीगलौजको पुलिन्दा, पागलहरूको प्रलाप (भिडिओ)

    कांग्रेसको घोषणापत्रबारे ओलीको टिप्पणी- गालीगलौजको पुलिन्दा, पागलहरूको प्रलाप (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र राजनीतिक दस्तावेज नभएर गालीगलौजको पुलिन्दामात्र भएको टिप्पणी गरेका छन् ।

    २३ औं मनमोहन स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस घोषणापत्रका दर्जनौं ठाउँमा एमाले र व्यक्तिगत रूपमा आफूमाथि गालीगलौज गरिएको भन्दै त्यसलाई पागलहरूको प्रलाप भनेका छन् ।

    अध्यक्ष ओलीले भने, ‘त्यो कुनै राजनीतिक दस्तावेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको ? रेल किन ल्याएको ? पाइपलाइन किन चाहियो ? यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्तावेज हुन्छ ?’

    अध्यक्ष ओलीले गठबन्धन नगर्दा कतै पनि जित्न नसक्ने अवस्थामा पुगेको कांग्रेसले कम्युनिस्ट पार्टी कब्जा गर्न नसकेपछि भागेका प्रचण्ड माधवहरुको बैशाखी टेकेर अघि बढ्न खोजेको ओलीको आरोप छ । तत्कालीन अवस्थामा नेकपामा पुष्पलालविरुद्ध केशरजंग रायमाझीहरूले प्राविधिक बहुमत देखाएर हटाएजस्तै आफूमाथि प्रचण्ड-माधवले आफैंले दिएको बहुमत देखाएर षड्यन्त्र गरेको बताए ।

    ओलीले भने, ‘हिजो पनि पुष्पलालविरुद्ध रायमाझीहरुले त्यसै गरे,पछि कांग्रेसले रायमाझीहरुको साथ पनि लियो । अहिले पनि नेकपाका रायमाझीहरू (प्रचण्ड-माधव) लाई बोकेर कांग्रेस हिँडेको छ ।

    एमाले अध्यक्ष ओलीले कांग्रेसको राजनीति भनेकै एमालेले गरेको विकासका कामको विरोध गर्नेमात्र रहेको बताए । गठबन्धनको एकताको आधार कुनै राजनीतिक नभएर एमालेको आरिसमात्र रहेको ओलीको भनाइ छ ।

  • विराटनगर महानगरः मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार, वडामा बागीको बिगबिगी

    विराटनगर महानगरः मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार, वडामा बागीको बिगबिगी

    विराटनगर । विराटनगर महानगरपालिकामा प्रमुख र उपप्रमुखमा गठबन्धन गरेकाले दलहरुले वडामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । यसले गठबन्धन भत्कने सम्भावना बढेको छ ।

    केन्द्रको निर्णयअनुसार महानगरको मेयर कांग्रेसलाई र उपमेयर जनता समाजवादी पार्टीको भागमा परेको छ । जसअनुसार कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले उम्मेदवारी दिएका छन्। यसबाहेक कुल १९ वडा रहेको विराटनगरमा गठबन्धनभित्रका दलले वडामा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।

    कांग्रेसले १९ वटै वडामा सेटसहित उम्मेदवारी दर्ता गराएको छ । एकीकृत समाजवादीले १६ वटा वडामा, माओवादी केन्द्रले १५ वटा वडामा सेटसहितको उम्मेदवारी दिएका छन् । त्यसैगरी जनता समाजवादी पार्टीले १६ वटै वडामा सेटसहित उम्मेदवारी दिएको छ ।

    कांग्रेसले वडा नं १ मा राजन न्यौपाने, २ मा ज्ञानेश्वर नेपाल, ३ मा कमल पुडाशौनी, ४ मा सञ्जय मण्डल, ५ मा सन्तोष न्यौपाने, ६ मा अक्षय सनही, ७ मधुबाबु तिवारी, ८ मा शन्तनु रेग्मी, ९ मा विश्वनाथ भगत, १० मा सन्तोष ढुंगाना, ११ मा रामसुन्दर राजवंशी, १२ मा हरि भट्टराई, १३ मा आमोद झा, १४ मा रमेश राजवंशी, १५ मा प्रकाश शाह, १६ मा उद्धव भुजेल, १७ मा अस्लम आलम, १८ मा तुलाचन यादव र १९ नं वडामा उदय राजवंशीले अध्यक्षमा मनोनयन गरेका छन्।

    एकीकृत समाजवादी पार्टीले पनि महानगरको वडा नं ८, १६ र १८ बाहेकका सबै वडामा उम्मेदवारी दिएको छ ।

    समाजवादीबाट वडा नं १ मा  शम्भु कार्की, २ मा कमल भट्ट, ३ मा सुवास घिमिरे, ४ मा राम लिम्बू, ५ मा रमण गौतम, ६ मा उदय मण्डल, ७ मा चन्द्रशेखर धाडेवाल, ९ मा किशन भगत, १० मा चिराग ढुंगाना, ११ मा घनेन्द्र थापा, १२ मा भीम केसी, १३ मा शम्भु शाह, १४ मा सुरेश यादव, १५ मा पदम सुब्बा, १७ मा तवरेज आलम र १९ मा प्रेम खवासको उम्मेदवारी परेको छ ।

    माओवादी केन्द्रले २, ७, ११ र १२ बाहेक सबै वडामा उम्मेदवारी दिएको छ । माओवादीबाट महानगरको १ नं वडामा चन्द्रबहादुर वन, ३ मा कृष्णप्रसाद निरौला, ४ मा जिसस न्यौपाने, ५ मा भरत गोसाई, ६ मा विजय कामत, ८ मा डम्वरु भट्टराई, ९ मा नवीन हुसेन, १० मा सरिताकुमारी राय, १३ मा राज कर्ण, १४ मा विनोद यादव, १५ मा रामेश्वर शाह, १६ मा सीताराम पण्डित, १७ मा जावेद अलाम, १८ मा सोनु केवट र १९ मा शिवराम ठडारले उम्मेदवारी दिएका छन् ।

    जसपाले २, ३ र ९ वडाबाहेक सबैमा वडामा अध्यक्षमा आफ्नो उम्मेदवार उठाएको छ । जसअनुसार १ नं वडामा राजेश यादव, ४ मा उपेन्द्र यादव, ५ मा सन्तोष राय, ६ मा मतमत अन्सारी, ७ मा सत्यप्रकाश रोनियार, ८ मा हरेराम राय, १० मा रामचन्द्र यादव, ११ मा गणेश शाह, १२ मा हीरा कामत, १३ मा हीरालाल महतो, १४ मा बलदेव यादव, १५ मा सुसत्व आली, १६ मा किशोर मण्डल, १७ मा समिन कमर, १८ मा दिनेश यादव र १९ मा प्रशान्त चौधरीले उम्मेदवारी दिएका छन् ।

    स्थानीय तहको निर्वाचनमा केन्द्रदेखि वडा तहसम्म सकेसम्म तालमेल गरेर जाने बताएका दलहरूले वडा तहमा छुटाछुटै उम्मेदवारी दिएकाले वडामा कुनै खालको गठबन्धन नहुने कांग्रेसले जनाएको छ ।

    कांग्रेस विराटनगरका सचिव तेजेन्द्र भट्टराईले प्रमुख र उपप्रमुखमा पनि केन्द्रले गरेको कारण गठबन्धन गरेपछि मानेको भए पनि वडामा स्वस्थ मित्रवत प्रतिस्पर्धा गर्ने बताए ।

    माओवादी केन्द्र विराटनगरका अध्यक्ष नवीन पौडेलले अझै पनि १६ गतेसम्म वडामा सहमति गर्ने समय रहेको भन्दै त्यसो नभए प्रमुख र उपप्रमुखमा भोट नहाल्ने बताए । ‘हामीले वडामा सहमति गर्ने भनेपछि माथिल्ला दुई पदमा उम्मेदवारी नदिएका हौं’, पौडेलले भने, ‘हामीले सबै वडामा उम्मेदवारी पनि दिएका छौं, वडा नमिलाए हामी प्रमुख उपप्रमुखमा भोट हाल्दैनौं ।’

    जसपाका प्रदेश उपाध्यक्ष राजकुमार यादवले वडा तहमा सबै दलबाट उम्मेदवारी परेकाले तत्कालको अवस्थामा तालमेलको सम्भावना कम भए पनि एमाले बलियो भएको वडामा भने गठबन्धन दलहरू तालमेल गरेर जाने र अन्यत्र मित्रवत प्रतिस्पर्धा हुने बताए ।

    स्थानीय तहको निर्वाचनमा एक्लै होमिएका एमालेले विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीले उम्मेदवारी दिएकाे छ ।महानगरको १९ वडामध्ये १ नं वडा काजी बस्नेत, २ कुमार पोख्रेल, ३ मा बासुबहादुर बस्नेत, ४ मा जितन थापा, ५ मा मीनकुमार आचार्य, ६ मा अनिश आलम, ७ मा दामोदर तिवारी, ८ मा राम पोखरेल, ९ मा श्री प्रकाश तोत्ला, १० मा अर्जुन गिरी, ११ मा तीर्थेन्द्र न्यौपाने, १२ मा भोला बराल, १३ मा किशोर पोखरेल, १४ मा सूर्यनारायण महतो, १५ मा धर्मनन्द सन्जेल, १६ मा कुमार महर्जन, १७ मा मो हमिद आजाद, १८ मा भुवनेश्वर यादव र १९ नं वडामा श्याम घिमिरेले एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

    मोरङमा कहाँ कहाँ भयो गठबन्धन ?

    मोरङका कूल १९ स्थानीय तहमध्ये धेरैजसोमा दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । कतिपयमा गठबन्धनभित्रकै दलहरूमा उपगठबन्धन भएको छ ।

    मिक्लाजुङ गाउँपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ । त्यहाँ कांग्रेसले अध्यक्ष लिएर उपाध्यक्ष माओवादीलाई दिएको छ।

    यस्तै पथरी शनिश्चरे नगरपालिकामा माओवादी, नेकपा एस र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ । त्यहाँ माओवादीले प्रमुख  लिएको छ । नेकपा एसलाई उपप्रमुख दिइएको छ ।

    सुनवर्षी नगरपालिकामा जनता समाजवादी पार्टी र माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।

    लेटाङ नगरपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको छ । यस्तै कांग्रेस र माओवादीबीच रतुवामाई नगरपालिकामा गठबन्धन भएको छ । त्यहाँ कांग्रेसले प्रमुख लिँदा माओवादी केन्द्रले उपप्रमुख पाएको छ ।

    धनपालथानमा यसअघि माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच भएको सहमति भाँडिएको छ । त्यहाँ एक्लाएक्लै उम्मेदवारी दर्ता भएको छ ।

    यस्तै उर्लाबारी, बेलबारी र सुन्दरहरैंचा नगरपालिका, कानेपोखरी, केराबारी, कटहरी, बुढीगंगा, ग्रामथान र जहदा गाउँपालिकामा एक्लाएक्लै लड्ने गरी दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । वडामा अब कुनै पनि खालको गठबन्धन नहुने कांग्रेसले जनाएको छ ।

  • भोजपुरमा एमालेबाट जितेका तीनजना पुन: उम्मेदवार, साल्पासिलिछोमा बागी (सूचीसहित)

    भोजपुरमा एमालेबाट जितेका तीनजना पुन: उम्मेदवार, साल्पासिलिछोमा बागी (सूचीसहित)

    भोजपुर । स्थानीय चुनावका लागि भोजपुरका ९ वटा स्थानीय तहको नेतृत्वमा नेकपा एमालेले गत चुनावमा जितेका तीनजनालाई दोहोर्‍याएको छ ।

    मनोनयन दर्ता गराएकामा हतुवाढी गाउँपालिकामा प्रेमकुमार राई, टेम्कैमैयुङमा ध्रुवराज राई र पौवादुङमामा किरण राईलाई एमालेले पुन: अघि सारेको हो ।

    साल्पासिलिछो गाउँपालिका अध्यक्षमा भने दौलत कुलुङले बागी दिएका छन् । शान्ति अधिकारीलाई पार्टीले आधिकारिक उम्मेदवार बनाएपछि अध्यक्षका आकांक्षी उनले मनोनयन दर्ता गराएका हुन् । कुलुङ जिल्ला कमिटी सचिवालय सदस्य हुन् ।

    यी हुन् भोजपुरमा एमालेले अघि सारेका उम्मेदवार

    १) साल्पासिलिछो गाउँपालिका
    अध्यक्ष : शान्तिबहादुर अधिकारी
    उपाध्यक्ष : रिता घले

    २) षडानन्द नगरपालिका
    प्रमुख : सुरेन्द्र उदास
    उपप्रमुख : मेरिका राई

    ३) भोजपुर नगरपालिका
    प्रमुख : भरत तामाङ
    उपप्रमुख : निर्मला शेर्पा

    ४) टेम्केमैयुङ गाउँपालिका
    अध्यक्ष : ध्रुवराज राई
    उपाध्यक्ष : रमा राई

    ५) अरुण गाउँपालिका
    अध्यक्ष : नारायण घिमिरे
    उपाध्यक्ष : कविता राई

    ६) पौवादुङमा गाउँपालिका
    अध्यक्षमा : किरण राई
    उपाध्यक्ष : जोत्सना राई

    ७) हतुवागढी गाउँपालिकाका
    अध्यक्ष : प्रेमकुमार राई
    उपाध्यक्ष : कमला राई

    ८) आमचोक गाउँपालिका
    अध्यक्ष : बसन्त राई
    उपाध्यक्ष : शर्मिला राई

    ९) रामप्रसादराई गाउँपालिका
    अध्यक्ष : बलराम राई
    उपाध्यक्ष : कमला राई

  • रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्षमा एमालेका दुईजनाको उम्मेदवारी, दुवै मनोनयन रद्द

    रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्षमा एमालेका दुईजनाको उम्मेदवारी, दुवै मनोनयन रद्द

    रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)बाट दुईजनाको उम्मेदवारी परेको छ । तर, निर्वाचन अधिकृतको कार्यालयले दुवै जनाको उम्मेदवारी रद्द गरिदिएको छ ।

    एमालेबाट गाउँपालिका अध्यक्षमा तेब्रल तामाङले सुरुमा मनोनयन दर्ता गराएका थिए । उनी यसअघि नयाँ शक्ति पार्टीमा छँदा समानुपातिक सांसदको बन्द सूचीमा नाम पठाइएको थियो । तर, निर्वाचन आयोगले स्थानीय तहको जनप्रतिनिधिमा उम्मेदवारीका लागि बन्द सूचीबाट नाम हटाउन भनिए पनि उनको नाम हटेको थिएन ।

    हाल एमाले नेता रहेका तामाङलाई पार्टीले उम्मेदवार बनाए पनि नियमानुसार नभएपछि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी रद्द गरिदिएको हो ।

    तामाङको उम्मेदवारी रद्द भएपछि एमालेले फुर्पूसिंगी तामाङको नाममा मनोनयन दर्ता गराएको थियो ।

    तरः नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा दुईवटा उम्मेदवार पेश भएको र राजस्व रसिदबाट उम्मेदवार मनोनयन भएको भन्दै उनको उम्मेदवारी पनि रद्द गरिएको छ ।

    उम्मेदवारी रद्दको सूचना निर्वाचन अधिकृत शान्तिप्रसाद लुईंटेलले जारी गरेका छन् ।

    ‘एमालेले नै एउटै पदमा दुई वटा उम्मेदवारीलाई आधिकारीकता दिएको देखिन्छ, एक जनाको त समानुपातिकको बन्द सूचीमा छ’, आमाछोदिङमो मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले भने, ‘दुई उम्मेदवार एकैपटक आएको भनेर प्रविष्टबाट बाहिर निकाल्ने भनेका छौँ, प्रतिवेदन तयार पारी निर्वाचन आयोगमा पठाउँदैछौँ, आयोगको निर्देशन बमोजिम अघि बढ्छौँ ।’

  • उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै कांग्रेस गाउँ सभापतिसहित ३० जनाले छाडे पार्टी

    उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै कांग्रेस गाउँ सभापतिसहित ३० जनाले छाडे पार्टी

    काठमाडौं । उम्मेदवारी दर्तालाई लिएर असन्तुष्ट कार्यकर्ताले पार्टी छाड्ने क्रम जारी छ । रुपन्देहीको गैंडहवा गाउँपालिकामा उम्मेदवारी चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै कांग्रेसका ३० कार्यकर्ताले पार्टी छाडेका छन् ।

    उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेपाली कांग्रेस गैडहवा गाउँ कार्यसमितिका सभापति सत्यनारायण पथिकसहित ३० जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।

    कांग्रेसले गैंडहवा गाउँपालिका अध्यक्षमा वसिउल्लाह मुसलमानलाई उम्मेदवार बनाएपछि कार्यकर्ता असन्तुष्ट बनेका हुन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए ।

    एक पटक पराजित भैसकेको व्यक्तिलाई पुनः टिकट दिएको भन्दै कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका हुन् ।

    गैंडहवा गाउँपालिका सांसद भरत साहको निर्वाचन क्षेत्रमा पर्छ ।

  • मनाङमा वडाध्यक्षसहित १५ जनप्रतिनिधि निर्विरोध

    मनाङमा वडाध्यक्षसहित १५ जनप्रतिनिधि निर्विरोध

    काठमाडौं । मनाङका १५ जनप्रतिनिधि निर्विरोध बनेका छन्। ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि केही पालिकामा वडाध्यक्ष र सदस्य निर्विरोध बनेका हुन् । यद्यपि, निर्वाचन आयोगले भने अन्तिम नामावली प्रकाशन गरी दाबीविरोध सकिएपछि मात्र निर्विरोध घोषणा गर्नेछ ।

    चार गाउँपालिका रहेको मनाङमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र उम्मेदवारको एकल उम्मेदवार परेको हो । मनाङको चामे गाउँपालिका– १ र २ का वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। वडा १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन् ।

    सो वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विक निर्विरोध भएका छन्। वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन्। सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नविना परियार कांग्रेसबाट निर्विरोध बने ।

    नासो गाउँपालिकामा कांग्रेसबाट वडा नम्बर ५ वडाअध्यक्षमा थुतेन लामा, वडा नम्बर ६ को वडाध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङ निर्विरोध भए ।

    मनाङका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले अन्तिम नामावली प्रकाशन गरी दावीविरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न मिल्ने बताए। निस्याङ गाउँपालिका(३ वडाध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङको वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ ।

    सोही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेन्चुरीको एकल उम्मेदवारी परेको छ । उनीहरु स्वतन्त्रबाट उम्मेदवार बनेका हुन् ।