Category: स्थानीय निर्वाचन–२०७९

  • सुदूरपश्चिममा आंशिक गठबन्धन : ६५ स्थानीय तहमा टुट्यो तालमेल

    सुदूरपश्चिममा आंशिक गठबन्धन : ६५ स्थानीय तहमा टुट्यो तालमेल

    कैलाली । केन्द्रीय स्तरमा पाँच दलीय गठबन्धन गर्ने सहमति भए पनि सुदूरपश्चिम प्रदेशमा भने बहुसंख्यक पालिकामा तालमेल टुटेको छ ।

    यहाँका ८८ स्थानीय तहमध्ये केहीमा माओवादी कांग्रेस, केहीमा माओवादी एकीकृत समाजवादी, केहीमा एकीकृत समाजवादी नेपाली कांग्रेस र केहीमा माओवादी एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच तालमेल भएको हो । तर, उनीहरूबीच पनि सहमति अनुसार उम्मेदवारी दर्ता भने भएको छैन ।

    कैलालीमा तीन दलीय सहमति गर्नुभन्दा अघि नै लम्की चुहा नगरपालिका र टीकापुर नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले तालमेल गर्ने निर्णय गरेका थिए । तर, प्रदेशस्तरीय गठबन्धनको बैठकले तीन दलीय तामेल गर्ने निर्णय गरे पनि उनीहरू दबाबमा परेका थिए ।

    उनीहरूको सहमति अनुसार कैलालीका १३ स्थानीय तहमा धनगढी उपमहानगरपालिका सहित ७ पालिका माओवादी केन्द्रले ४ पालिका र एकीकृत समाजवादीले २ पालिका पाउने सहमति गरेका थिए । तर, सहमति भन्दा बाहिर गएर अधिकांश पालिकामा तीनै दलले प्रमुख उपप्रमुख तथा वडाध्यक्षहरूमा उम्मेदवारी दर्ता गरेका थिए ।

    मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेसले प्रमुख पाएका लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकामा सहमति तोड्दै माओवादी केन्द्रले पनि उम्मेदवारी दिएको छ ।

    ९ स्थानीय तह रहेको कञ्चनपुरमा सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको छुट्टै गठबन्धन बनाए भने नेपाली कांग्रेसले सबै पालिकामा एकल उम्मेदवारी दिएको छ ।

    बैतडी जिल्लामा गठबन्धनका दलहरूले स्थानीय अनुकूलता अनुसार उम्मेदवारी दिएका छन् ।

    जसअनुसार तीन वटा पालिकामा तीन वटै दलको सहमति छ भने एकाएक पालिकामा दुई/दुई वटाले तालमेल गरेका छन् ।

    दार्चुलामा सत्तारुढ गठबन्धनका दुई दल कांग्रेस र माओवादी केन्द्रले मात्रै तालमेल गरेका छन् । तालमेल गरेकामध्ये कांग्रेसले ५ वटा र माओवादी केन्द्रले ४ वटा पालिकामा उम्मेदवारी दिएका छन् ।

    डडेलधुराका दुई वटा गाउँपालिकामा मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेका छन् ।

    १० वटा स्थानीय तह रहेको अछाममा भने पाँच पालिकामा दुई दलीय गठबन्धन भएको छ । अन्यमा सबैले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् ।

    डोटीमा पनि गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीको मात्रै तालमेल भयो । बाँकी दलहरूले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन् ।

    जिल्लाका ९ वटा स्थानीय तह रहेको डोटीमा माओवादी केन्द्रले ५ र एकीकृत समाजवादी पार्टीले ४ वटा पालिकामा भागबन्डा गरेका छन् ।

    बाजुराका ९ पालिकामध्ये स्वामिकात्तिक र जगन्नाथ गाउँपालिका बाहेक अन्य स्थानीय तहमा गठबन्धनका दलले एकल उम्मेदवारी दिएका छन् ।

    बझाङका सबै पालिकामा गठबन्धनका संयुक्त उम्मेदवार छन् भने प्रायः पालिकामा बागी उम्मेदवारी परेका छन् । जिल्लाका १२ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ७ वटा पालिका, एकीकृत समाजवादीले ३ र माओवादी केन्द्रले २ पालिकामा प्रमुख तथा अध्यक्षका उम्मेदवार उठाएको छ ।

    सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये २३ पालिकामा मात्रै तालमेल भएको छ । अन्य स्थानीय तहमा भने मित्रवत् प्रतिस्पर्धा हुने भएको हो ।

    प्रदेश स्तरमा गरिएको सहमति अनुसार जिल्लामा तालमेल गर्ने र नभएको स्थानमा मित्रवत् प्रतिस्पर्धा हुने नेपाली कांग्रेसमा प्रदेश सभापति वीर बहादुर बलायरले जानकारी दिए ।

    ‘तालमेल हुने भनिएका जिल्लाहरूमा तालमेल हुन्छ । नभएको स्थानमा मित्रवत् प्रतिस्पर्धा हुन्छ’ उनले भने ‘तालमेल हुने सहमति भएका पालिकामा पनि आ–आफ्नो दलबाट उम्मेदवारी दिएको पाइएको छ । ती फिर्ता गर्ने प्रयास भइरहेको छ ।’

    पालिका प्रमुख र उपप्रमुखमा सहमति अनुसार अघि बढ्ने तयारी भइरहेको भए पनि वडा स्तरमा भने मित्रवत् प्रतिस्पर्धाको सम्भावना बढी रहेको बताए ।

    एकीकृत समाजवादीका प्रदेश सचिव दिनेश सुवेदीले पनि सुदूरपश्चिम प्रदेशमा केही स्थानमा दुई पक्षीय र केहीमा त्रिपक्षीय गठबन्धन भएको जानकारी दिए ।

    उनका अनुसार गठबन्धन नभएका पालिकाहरूमा मित्रवत् प्रतिस्पर्धाको तयारी भइरहेको छ ।

    माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्ट पनि तालमेल भएका पालिकाहरूमा तालमेल गर्ने र तालमेल हुन नसकेका पालिकाहरूमा स्वच्छ र निष्पक्ष प्रतिस्पर्धा गर्ने सहमति भएको बताए ।

  • बुटवल उपमहानगर : गठबन्धनको टेकोमा खेलराजले भत्काउलान् एमालेको किल्ला ?

    बुटवल उपमहानगर : गठबन्धनको टेकोमा खेलराजले भत्काउलान् एमालेको किल्ला ?

    रुपन्देही । नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको गृहनगरमा पार्टीभित्र खाँणविरोधी मोर्चाको नेतृत्व गरेर निरन्तर पार्टी मोर्चामा खटिएर बलियो नेताको पहिचान बनाएका व्यक्ति हुन् खेलराज पाण्डे । खाण समूहले नचाहँदानचाहँदै पनि अहिले संस्थापनइतर समूहलाई बुटवलमा बलियो बनाएका छन् पाण्डेले ।

    नेपाली कांग्रेसको बुटवल नगर सभापतिमा तेस्रो कार्यकाल सम्हालेका नेता पाण्डे एमालेले लालकिल्ला भनिरहेको बुटवलको विरासत भत्काउन सत्तारुढ पाँच दलको टेकोमा दोस्रो प्रयास थालेका छन् ।

    अघिल्लो निर्वाचनमा एमालेका जिल्ला अध्यक्ष शिवराज सुवेदीसँग प्रतिस्पर्धा गरेर राम्रो मत ल्याएपछि उनको चर्चा अझै चुलिएको छ । सुवेदी २३ हजार २४९ मत ल्याएर बुटवलको नगर प्रमुखमा निर्वाचित हुँदा पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए । त्यतिबेलासम्म नेपाली कांग्रेसको दोस्रो पटक बुटवल नगर सभापतिको भूमिका निभाइरहेका पाण्डेले नगर प्रमुखमा पराजित भए पनि निर्वाचित भएकाहरूलाई फूल मालासहित बधाई दिएर राजनीतिक संस्कार प्रदर्शन गरेका थिए ।

    सामान्य जीवनशैली अपनाउने, हरेक पार्टी निकट व्यक्तिको सुखदुःखमा साथ दिने र राजनीतिबाहेक अन्य पेशा नबनाएका सादगी नेताको पहिचान बनाएका पाण्डेले पार्टीभित्र र बाहिर धेरैको मन जित्ने प्रयास जारी राखेका छन् । अघिल्लो पटक बलियो रहेको नेकपा माओवादी, जनमुक्ति र एमालेभित्रै असन्तुष्ट रहेकाहरुको राम्रै मत बटुल्न सफल पाण्डेमा अहिले सहयोगी दल थप भएपछि हौसला बढेको देखिन्छ ।

    सत्तारुढ पाँच दलीय गठबन्धनको साझा उम्मेदवार पाण्डेले अघिल्लो पटक उपमेयरमा माओवादीका जगत पोखरेललाई पाएका थिए । यसपटक नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङ उपमेयर उम्मेदवारमा छन् ।

    पाण्डेले यस पटक उनको जन्मस्थल स्याङजा कालीगण्डकीबाट बुटवलमा स्थापित एमालेका बाबुराम भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन् ।
    बुबा लीलावल्लभ पाण्डेसहित २०३८ सालदेखि बुटवलमा झरेका पाण्डेको पहिचान स्थानीयसँग घुलमिल सबैभन्दा बलियो पक्ष हो ।

    स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा पनि पाण्डेले कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको राजनीतिक संयन्त्रमा रहेर धेरै समय बिताएका छन् । सामान्य जीवनशैली, प्रस्ट तर प्रतिपक्षीहरुका बारेमा खरो प्रतिक्रिया दिने उनको स्वभाव छ ।

    २०३८ सालमा बुटवलबाट पार्टी राजनीति सुरू गरेका पाण्डेले स्याङ्जामा रहँदा विद्यार्थी राजनीतिमा आवद्ध थिए । २०२६ साल फागुन ५ गते स्याङ्जाको साविक आलमदेवी २ हाल कालीगण्डकी २ मा जन्मिएका हुन् पाण्डे । हाल बुटवल उपमहानगरपालिका– ८ सुख्खानगरमा बस्दै आएका पाण्डेका जन्मिएका पाण्डेका बुवा लीलाबल्लभ र आमा तारादेवी हुन् ।

    उनले आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए । २०४० सालमा पाल्पाको जेभिटी स्कुलको नेविसंघ समितिमा आबद्ध भएका उनी २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाई सदस्य बने । पाण्डे २०४४ सालमा काठमाडौंको अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव भए ।

    विद्यार्थी राजनीतिपछि तरूण दलमा आबद्ध पाण्डे २०५९ सालमा नेपाल तरूण दल रूपन्देहीको अध्यक्ष भएका थिए । २०६० सालमा नेपाल तरूण दल केन्द्रीय सदस्य र २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति बने ।

    २०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर कांग्रेस बुटवल नगर सभापतिको जिम्मेवारीमा छन् । स्नातक तहसम्म अध्ययन गरेका पाण्डेका श्रीमती सीता भट्टराई र छोरा अभिषेक छन् ।

  • कर्णाली कहर : प्रदेशका शीर्ष नेतालाई आफ्नै साली, श्रीमती र श्रीमान् उम्मेदवार बनाउने रहर

    कर्णाली कहर : प्रदेशका शीर्ष नेतालाई आफ्नै साली, श्रीमती र श्रीमान् उम्मेदवार बनाउने रहर

    सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्षले एकाघरका सदस्यलाई टिकट बाँडेका छन् ।

    आफ्नै हस्ताक्षरमा टिकट वितरण गर्ने अवसर पाएका नेकपा एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई दैलेखको ठाटीँकाध गाउँपालिका अध्यक्षको उम्मेदवार बनाए ।

    नेकपा माओवादीको प्रदेश अध्यक्ष विमला केसीले रुकुमपश्चिममा आफ्नै श्रीमान् वसन्तकुमार शर्मालाई टिकट दिलाएकी छन् । शर्माले रुकुमको मुसिकोट नगर प्रमुखमा टिकट पाएका छन् ।

    कम्युनिष्टमात्रै हाेइन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समेत सालीलाई दैलेखको नारायण नगरपालिका प्रमुखको टिकट दिलाएका छन् । दैलेखमा निर्मला थापाले टिकट पाएकी हुन ।

    यस्तै कांग्रेस नेता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीका छोरा गणेशबहादुर शाहीले दैलेखको चामुन्डा बिन्द्रासैनी नगर प्रमुखकाे टिकट पाएका छन । दैलेखमा गठबन्धन कायम भएमा शाहीको उम्मेदवारी फिर्ता हुने बताइएको छ । कांग्रेसका अन्य आकांक्षी भए पनि शाहीले नै टिकट पाएका हुन ।

    नारायण नगरपालिकाकै प्रमुख रत्नबहादुर खड्काकी बहिनी तप्ता थापा एमालेबाट नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेकी छन् । फेरि प्रमुखको उम्मेदवार नहुने बताएका खड्काले आफ्नी बहिनीलाई उपप्रमुखको उम्मेदवार बनाएको चर्चा एमाले वृत्तमा छ ।

    यस्तै सरकारका अर्थमन्त्री जनार्दन शर्माले भाइ नाता पर्नेलाई टिकट दिलाएका छन् । अर्थमन्त्री शर्माका मामाका छोरा आकाश भनिने लक्ष्मीप्रसाद शर्मा बर्दियाको मधुवन नगरपालिकाबाट प्रमुख पदमा उम्मेदवार भएका हुन । उनी उम्मेदवार भएपछि निवर्तमान प्रमुख गणेशबहादुर केसी समर्थकले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

    नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को गृहजिल्ला कालीकोटको नरहरिनाथ गाउँपालिका उपाध्यक्षमा कलशा विकले उम्मेदवारी गराएकी छिन् । उनी प्रकाण्डकी भाइबुहारी हुन् ।

  • गठबन्धनले कम्युनिष्ट आन्दोलन सिध्याउने भन्दै नेकपा एसका मकवानपुर अध्यक्षले पार्टी छाडे

    गठबन्धनले कम्युनिष्ट आन्दोलन सिध्याउने भन्दै नेकपा एसका मकवानपुर अध्यक्षले पार्टी छाडे

    हेटौंडा । सत्ता गठबन्धनको भागबन्डामा हेटौंडा उपमहानगरपालिकाको नेतृत्व पाएको नेकपा एकीकृत समाजवादीलाई चुनावी अभियान सुरू नहुँदै धक्का लागेको छ ।

    गठबन्धन कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने र निर्वाचित निकायलाई केही दलको सिण्डिकेटबाट भ्रष्टाचारको अखडा बनाउने नियत देखिएको भन्दै नेकपा एसका मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले राजीनामा दिएका छन् ।

    पोखरेलले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै ८ महिनाअघि एमालेबाट भएको विद्रोह कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्रापितको महत्वाकांक्षा तथा पद प्राप्तिको चरम इच्छामात्र रहेछ भन्ने पुष्टि भएको बताएका छन् ।

    उनले भनेका छन्, ‘नत यो विद्रोहले पार्टी निर्माण गर्न सक्छ र निर्वाचन पश्चात देशव्यापी रुपमा पार्टी कमजोर हुने र नेपालको कम्युनिष्ट आन्दोलनसमेत क्षत विक्षत हुने ठहरका साथ मलाई ८ महिना नेकपा (एस) मकवानपुर जिल्लाको अध्यक्ष मै रहदा साथ सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद दिँदै कम्युनिष्ट आन्दोलनको रक्षाका लागि विद्रोह गर्न र व्यक्तिवादी प्रालिको विरुद्ध आवाज उठाउन हार्दिक अनुरोधसहित सबैप्रति आभार व्यक्त गर्दै आजका मितिबाट पार्टीको सदस्य समेत नरहने गरी पार्टीको सबै जिम्मेवारीबाट यो राजीनामा गर्ने निधो गरेको छु ।

    नेकपा एसबाट हेटौंडा मेयरमा पोखरेल पनि आकांक्षी थिए । तर, केही नेताले आफूलाई हुन नदिएको भन्दै उनी असन्तुष्ट थिए । पोखरेलसँगै नेकपा एसका जिल्ला सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र किसी र गोपालबहादुर स्याङ्तानले पनि पार्टी छाडेका छन् ।

    ‘आज गठबन्धनको नाममा जे जसरी अँध्यारो कोठामा बसेर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पर्ने गरी आफ्नो कुन्सित मनसाय पूरा गर्न जे षड्यन्त्र भइरहेको छ र एउटा निर्वाचित निकायलाई भोलि भ्रष्टाचारको अखडा बनाउने नियतप्रति मेरो असहमति जनाउँदै ८ महिना आगाडि भएको विद्रोह केवल कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्राप्ति को महत्वकांक्षा र पद प्राप्तिको चरम इच्छा र सोचमात्र रहेछ’, पोखरेलले विज्ञप्तिमा भनेका छन् ।

  • देउवाको निर्देशनमा बागी उम्मेदवारलाई फकाउन बालकृष्ण खाण भरतपुर जाँदै (भिडिओ)

    देउवाको निर्देशनमा बागी उम्मेदवारलाई फकाउन बालकृष्ण खाण भरतपुर जाँदै (भिडिओ)

    काठमाडौं । भरतपुरमा गठवन्धनका साझा उम्मेदवारविरुद्ध नेपाली कांग्रेसका पूर्वसंसदले बागी उम्मेदवारी दिएपछि केन्द्रमा टाउको दुखाइ भएको छ । माओवादी केन्द्रकी उम्मेवदार प्रचण्डपुत्री रेणु दाहालविरुद्ध नेपाली कांग्रेसबाट जगन्नाथ खतिवडाले मनोनयन दर्ता गराएका छन् ।

    आज बसेको गठवन्धनका शीर्ष नेताहरूको वैठकले देशभरबाट बागी उम्मेदवारी फिर्ता गराउने निर्णय लिएको थियो । यसैलाई कार्यान्वयन गराउने क्रममा नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण भरतपुर जान लागेका छन् । उनले त्यहाँ असन्तुष्ट कांग्रेस नेता-कार्यकर्तालाई भेटेर फकाउने प्रयास गर्ने छन् ।

    आज तरुण दलको एक कार्यक्रममा खाणले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा भरतपुर जान लागेको बताए ।

    ‘मेरो आज भैरहवा जाने योजना थियो । तर, पार्टी सभापतिले तिमी चितवन जाऊ, पार्टीका साथीहरूसँग सम्वाद र छलफल गर भन्नुभएको छ । त्यहाँ गठबन्धनलाई अगाडि बढाउने काम गर्नू भनेर निर्देशन दिनुभएको छ । त्यसैले म गठबन्धनलाई पनि अगाडि बढाएर पार्टीका साथीहरूलाई पनि समेट्ने उद्देश्यले चितवन जाँदैछु ।’

    खाणले चितवनका समस्त कांग्रेसजनप्रति आफ्नो सम्मान रहेको बताए ।

  • बाजुराको बुढीनन्दा ४ मा एमालेबाट दलित महिला सदस्य निर्विरोध

    बाजुराको बुढीनन्दा ४ मा एमालेबाट दलित महिला सदस्य निर्विरोध

    कैलाली । बाजुराकाे बुढिनन्दा नगरपालिकामा दलित महिला सदस्य निर्विराेध निर्वाचित भएकी छन् । बुढीनन्दा नगरपालिका ४ मा दलित महिला सदस्य वसन्त चदारा निर्विरोध भएकी हुन् । उनी नेकपा एमालेकाे तर्फबाट उम्मेदवार बनेकी थिइन् ।

    वडा अध्यक्ष सहित पाँच जनाको उम्मेदवारी दिनु पर्नेमा चार पदमा उम्मेदवारी परे पछि दलित महिला सदस्य निर्विरोध बनेको नेकपा एमाले बुढीनन्दा नगर कमिटी इन्चार्ज राजन रोकायाले बताए ।

  • भोट माग्दै सिर्जना सिंहको आह्वान- मुख होइन, रुख हेर्नुस्

    भोट माग्दै सिर्जना सिंहको आह्वान- मुख होइन, रुख हेर्नुस्

    काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले आफूले जितेको खण्डमा काठमाडौंलाई सुविधासम्पन्न, सुशासनयुक्त र सुरक्षित बनाउने दावी गरेकी छन् । २४ सै घण्टा आवागमन गर्न सकिने गरी शहरभित्र सुरक्षा व्यवस्था मिलाउने उनले आश्वासन दिइन् ।

    कांग्रेसनिकट नेपाल तरुण दलले आयोजना गरेको चुनावी प्रचार कार्यक्रममा बोल्दै सिंहले काठमाडौंमा पानी पिउन र दिसापिसाब गर्न पनि पैसा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताइन् ।

    उनले भनिन्, ‘एक बोतल पानी पिउन पनि पैसा तिर्नुपर्छ । सार्वजनिक शौचालयमा पिसाब गर्न पनि पैसा तिर्नुपर्छ कस्तो अचम्म । म यो सबै नि:शुल्क गराउँछु ।’

    उनले काठमाडौंलाई विश्वका पर्यटकहरू आकर्षित गर्ने उत्कृष्ट पर्यटकीय स्थल बनाउने योजना रहेको बताइन् । शहरभरि बिजुली र सीसीटीभीको व्यवस्था गरेर महिलाहरुले समेत सुरक्षित रुपमा आवागमन गर्न सक्ने बनाउने योजना उनले सुनाइन् ।

    आफूलाई मात्र नभएर सबै वडामा कांग्रेसलाई विजयी गराउन आह्वान गर्दै सिंहले मतदातालाई भनिन्, ‘मुख होइन, रुख हेरेर भोट हाल्नुस् ।’

    तस्बिरहरू : उमेश कार्की । 

  • जाजरकोटमा शिक्षक नछाडी उपमेयरको उम्मेदवार

    जाजरकोटमा शिक्षक नछाडी उपमेयरको उम्मेदवार

    काठमाडौं । निर्वाचन आयोगले सरकारी सेवा सुविधा प्रत्यक्ष रूपमा लिइरहेका व्यक्ति स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने भनेको छ । उम्मेदवार बन्ने भए मनोनयन दर्ता अगाडि नै राजीनामा दिनुपर्ने नियम छ । र राजीनामा स्वीकृत भएपछि मात्रै उम्मेदवार बन्न योग्य भइन्छ ।

    तर जाजरकोट जिल्लाको नलगाड नगरपालिकाको उपमेयरको उम्मेदवार तेजबहादुर खत्री शिक्षक पद कायम भएकै अवस्थामा उपप्रमुखको उम्मेदवार बनेका छन् ।

    नलगाड नगरपालिका–२ घर भएका खत्री त्रिभुवन मावि खलंगाका निमावि तहका स्थायी शिक्षक हुन् । उनले राजीनामा दिए पनि स्वीकृत भएको छैन ।

    नेपाली कांग्रेसबाट टिकट पाएर नलगाड नगरपालिकाको उपमेयरमा मनोनयन दर्ता गराएका खत्रीको राजीनामा स्वीकृत नभएको शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका कार्यालय प्रमुख रमेश मल्लले जानकारी दिए ।

    खत्रीले १२ गते राजीनामा दिएको तर, घरपरिवारको नजिकको नाताको मान्छेले सनाखत गर्नु पर्ने भएको हुँदा उनको राजीनामामा कसैले पनि सनाखत नगरेका कारण राजीनामा स्वीकृत नभएको मल्लले नेपाल प्रेस सँग बताए ।

    उनले भने, ‘१२ गते कार्यालयमा राजीनामा बुझाए पनि श्रीमतीको सनाखत नभएका कारण तुरुन्तै सनाखत गरेर ल्याउन आग्रह गरेर पठाइएको भए पनि उहाँ अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन ।’

    उनले राजीनामा पत्र बुझाए पनि उनकी श्रीमतीले सनाखत नगर्दा राजीनामा स्वीकृत हुन सकेको छैन ।

  • गठबन्धन बैठकः देशभरका ‘बागी’ उम्मेदवारी फिर्ता गराउने निर्णय

    गठबन्धन बैठकः देशभरका ‘बागी’ उम्मेदवारी फिर्ता गराउने निर्णय

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले देशभरका ६ महानगर र ११ उपमहानगपालिमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

    पाँच दलका शीर्ष नेताहरू सहभागी बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको छ । जसमा ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको आजै बैठक राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरूबीच सिटको बाँडफाँट गर्ने भनिएको छ ।

    यस्तै नगरपालिका र गाउँपालिकाहरूमा गठबन्धनका दलहरुबीच भइसकेको सिट बाँडफाँट समझदारीविपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने पनि निर्णय भएको छ । यसका लागि सम्बन्धित दलले आवश्यक कार्य गर्ने छन् ।

    गठबन्धनका दलहरूबीच सिट बाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरूमा आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने पनि पाँच नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । त्यसका निमित्त स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिने भनिएको छ ।

    यस्तै, गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

    आगामी ३० वैशाखमा हुने स्थानीय चुनावका लागि भएको मनोनयन फिर्ता लिने अघिल्लो दिन गठबन्धनको बैठक बसेको हो ।

  • ओलीको टिप्पणी आफ्नै लाज छोप्ने ‘निन्जा टेक्निक’ मात्रै हो : नेता पौडेल

    ओलीको टिप्पणी आफ्नै लाज छोप्ने ‘निन्जा टेक्निक’ मात्रै हो : नेता पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणी मनगढन्ते रहेको बताएका छन् ।

    एमाले अध्यक्ष ओलीले जनतालाई झुक्याउने र आफ्नो लाज छोप्ने ‘निन्जा टेक्निक’ अपनाएको पौडेलको आरोप छ । सामाजिक सञ्जालमार्फत धारणा राख्दै कांग्रेस केन्द्रीय सदस्य पौडेलले ओलीले आफ्नो सरकारका काण्डहरुको जति बचाउ गर्‍यो उत्ति नै नाङ्गिदै जाने बताए ।

    ‘कांग्रेस घोषणापत्रको बारेमा ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो । राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्द कुण्ठाका पराकाष्ठा हुन्’, पौडेलले भनेका छन् ।

    एमाले अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्रलाई गालीगलौजको पुलिन्दा र पागलहरूको प्रलाप भनी टिप्पणी गरेका थिए ।

  • एमालेले चुनाव जितिसक्यो, गठबन्धन बालुवा र तासको घरः उपाध्यक्ष पौडेल (भिडिओ)

    एमालेले चुनाव जितिसक्यो, गठबन्धन बालुवा र तासको घरः उपाध्यक्ष पौडेल (भिडिओ)

    बुटवल । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुंग हुने टिप्पणी गरे ।

    ‘एमालेका निम्ति गठबन्धन केही होइन, केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेको छ,’ पौडेलले भने ।

    उनले एमाले नेतृत्वमा रहँदा संघ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा काम र आगामी योजना बनाएर चुनावमा मत माग्न जान पनि कार्यकर्तालाई निर्देशन दिए । उनले टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गर्ने छुट एमालेका कुनै कार्यकर्तालाई नभएको बताए ।

    ‘कोही व्यक्ति असन्तुष्टिको नाममा चुनावमा खटिँदैन, पार्टीलाई हराउन लाग्छ भने त्यो उसको निम्ति ठूलो भूल हुनेछ, पार्टीका अगाडि व्यक्ति केही होइन,’ उनले भने । उपाध्यक्ष पौडेलले चुनावमा टिकट पाउनका लागि मात्रै राजनीति नभएको बताए ।

    ‘टिकट पाउनका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुनै सक्दैनन्,’ उनले भने ।

    एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लीला गिरीले सरकारमा रहँदा गरेको राम्रा कामका कारण जनतामा एमालेप्रतिको आकर्षण बढेको बताए ।

    अर्का पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज दधिराम न्यौपानेले मार्क्सवाद र साम्यवादको झोला बोकेर रुखमा भोट हाल्दै समाजवादमा पुग्छौं भन्नेहरूको सपना तुहिन लागेको बताए ।

  • प्रदेश १ का ३२१ मतदान केन्द्र अतिसंवेदनशील, यस्तो छ प्रहरीको सुरक्षा योजना

    प्रदेश १ का ३२१ मतदान केन्द्र अतिसंवेदनशील, यस्तो छ प्रहरीको सुरक्षा योजना

    विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनमा सुरक्षाको संवेदनशीलताको आधारमा प्रदेश १ मा कुल ३२१ मतदान केन्द्र अतिसंवेदनशीलमा वर्गीकरण गरिएको छ । कुल १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८७७ मतदानस्थल रहेका छन् ।

    प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरुण विसीका अनुसार प्रदेशमा ८४९ वटा मतदानस्थल समवेदनशील र ७०७ वटा सामान्य छन् ।

    प्रदेशमै सबैभन्दा बढी झापामा ‘अतिसंवेदनशील’ मतदानस्थल छन् । झापापछि मोरङ र सुनसरीको मतदानस्थल अतिसंवेदनशील विश्लेषण गरी सुरक्षा निकायले सोहीअनुसार सुरक्षा रणनीति बनाएको छ । खासगरी भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदानस्थल सुरक्षा निकायले अति समवेदनशील सूचीमा राखेर सुरक्षा योजना अगाडि बढाएको हो ।

    ७७७ मतदान केन्द्र र २८६ मतदानस्थल रहेको झापामा ५१ मतदानस्थल अतिसंवेदनशील सूचीमा छ । यस्तै १५३ समवेदनशील र ८२ मतदानस्थल सामान्य छन् । यस्तै, मोरङमा ४९ वटा मतदानस्थल अतिसंवेदनशील छन् । ८२० वटा मतदान केन्द्र र ३ सय वटा मतदानस्थल रहेको मोरङमा संवेदनशील १५५ र सामान्य ९६ वटा मतदानस्थल छन् ।

    मोरङको अतिसंवेदनशील सूचीमा राखेको मतदानस्थलमध्ये विराटनगरको दक्षिण भेगमा पर्ने ९ वटा छन् । रंगेली, धनपालथान, रतुवामाइ, सुनवर्षी र केराबारी क्षेत्रको मतदानस्थललाई पनि सुरक्षा निकायले अतिसंवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा योजना अगाडि बढाएको छ ।

    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि प्रदेश १ मा १४ हजार प्रहरी र १७ हजार ७ म्यादी परिचालन गरिने तयारी छ ।

    स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । मतदान केन्द्र मतपेटिका थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको छ ।
    सामान्य मतदानस्थलमा ३ प्रहरी र ५ म्यादी, समवेदनशील मतदान स्थलमा ३ प्रहरी र ६ म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । यसबाहेक रिजर्भ टिम, मोबाइल गस्ती लगायतमा पनि प्रहरी परिचालन हुनेछ ।

    निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर वस्तुस्थितिको निरीक्षण गर्ने जनाइएको छ । मतगणनास्थलको सुरक्षाका साथै इजाजतपत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर सुरक्षित राख्ने जिम्मा पनि प्रहरीलाई दिइएको छ ।स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा कुनै पनि समूहबाट सुरक्षा थ्रेट नभएको निष्कर्ष पनि निकालेको छ ।

  • सशस्त्र र सेनाले कसरी गर्दैछन् चुनावको सुरक्षा ?

    सशस्त्र र सेनाले कसरी गर्दैछन् चुनावको सुरक्षा ?

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चारवटै सुरक्षा निकायले यतिबेला तयारी गरिरहेका छन् । गृहमन्त्रालयले चारवटै सुरक्षा निकायको जिम्मेवारी र कार्यदिशा समेटिने गरी एकीकृत सुरक्षा योजना पनि तयार गरेको छ । सुरक्षाको व्यवस्थापन र त्यसमा सुरक्षा निकायको भूमिका त्यस एकीकृत योजनामा समेटिएको छ ।

    निर्वाचन सुरक्षाका लागि एक लाख म्यादी प्रहरी पनि भर्ना भइसकेका छन् । सुरक्षा संवेदनशीलताको हिसाबले मतदान स्थलहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडिएको छ । जिल्ला सुरक्षा समितिहरुले दिएको प्रतिवेदनका आधारमा वर्गीकरण गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

    मतदान स्थलभित्र मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी रहने छन् भने सबैभन्दा बाहिरी घेरामा नेपाली सेना रहनेछन् । बीचमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको उपस्थिति रहने छ ।

    गृह मन्त्रालयका अनुसार अति संवेदनशील मतदान स्थलमा हरेक मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी गरेर ११ जना रहनेछन् ।
    संवेदनशील मतदान स्थलको हरेक मतदान केन्द्रमा म्यादी र नेपाल प्रहरी गरेर ९ जनाको उपस्थिति रहने छ । सामान्यतर्फ हरेक मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी गरेर ८ जना रहनेछन् ।

    निर्वाचनको सुरक्षाका लागि सेना बाहिर निस्किसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति दिइसकेकी छन् ।

    नेपालमा करिब एक लाख नेपाली सेना, ८० हजारको हाराहारीमा नेपाल प्रहरी र करिब ३८ हजार सशस्त्र प्रहरीको दरबन्दी छ। एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेनालाई मतपत्र छपाइसम्बन्धी सुरक्षा, विकट क्षेत्रमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी गर्ने जिम्मेवारी छ ।

    त्यस्तै नेपाली सेनालाई शान्ति सुरक्षा कायम गर्न निर्वाचनको ३० दिनअघिदेखि पेट्रोलिङ गर्ने, आपतकालीन समयमा गरिनुपर्ने उद्धारमा जनशक्ति, उद्धार सामग्रीहरु तथा हेलिकाेप्टरको समेत प्रयोग गर्ने, निर्वाचनको समयमा देखापर्न सक्ने विस्फोटक पदार्थ निष्क्रिय पार्न बम डिस्पोजल टोली परिचालन गर्ने जिम्मेवारी दिइएको छ ।

    सेनाले मतदानको दिन मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दूरीमा फौज तैनाथ गर्ने छ। संयुक्त जिल्ला सुरक्षा योजनाअनुसार सेनाले स्ट्राइकिङ, मोबाइल तथा हवाई गस्तीसमेत परिचालन गर्न सक्ने छ । निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने जनशक्तिको पूर्ति गर्न विमानस्थल र कारागारमा सशस्त्र प्रहरीको स्थानमा नेपाली सेनाले जिम्मेवारी सम्हाल्ने छ ।

    यसैगरी सशस्त्र प्रहरीको सबै स्थानीय तहमा मोबाइल तथा स्ट्राइकिङ टोली रहने भनिएको छ । सशस्त्रले जिल्ला निर्वाचन कार्यालय, जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय सुरक्षा पनि गर्नेछ ।

    गृह प्रवक्ता पोखरेलले सुरक्षा संवेदनशीलताअनुसार जोखिम कम गर्ने काम भइरहेको बताए। ‘अहिले हामीले अति संवेदनशील भनिएका ठाउँहरुमा पनि सुरक्षा व्यवस्थापन बलियो बनाएर जोखिम कम गर्ने काम गरिरहेका छौं । कहिलेकाहीँ सामान्य भनिएका ठाउँमा पनि एकाएक सुरक्षा जोखिम बढ्न सक्छ’, प्रवक्ता पोखरेलले भने ।

    दलहरुकै गतिविधि, खुला सीमालगायत विषयमा सुरक्षा जोखिमका रूपमा रहेको उनले बताए। ‘अहिलेको सुरक्षा चुनौती भनेको खुला सीमा र दलहरुकै आफ्नै गतिविधि हुन् । त्यसबाहेक अन्य चुनौती अहिले देखिएको छैन”, पोखर‍ेल भन्छन् ।

    विगतमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, सिके राउतको समूह सुरक्षा चुनौतीका रुपमा देखिए पनि यसपटक उनीहरु शान्तिपूर्ण राजनीतिको प्रक्रियामा देखिएका छन् । यद्यपि उनीहरुबाट सुरक्षा खतरा भने टरिनसकेको सुरक्षा अधिकारीहरु बताउँछन्।

    निर्वाचन प्रभावित पार्न सक्ने भन्दै गृह मन्त्रालयले लाइसेन्स लिएर राखिएका करिब १२ सय हातहतियार निर्वाचन अवधिभरका लागि सर्वसाधारणबाट लिइसकेको छ।

    सबैभन्दा बढी जनशक्ति परिचालन हुने नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले सुरक्षा व्यवस्थापनका लागि संगठनले निरन्तर काम गरिरहेको बताए।

  • एक लाख ४७ हजार बढी उम्मेदवारबाट कति उठ्यो धरौटी ?

    एक लाख ४७ हजार बढी उम्मेदवारबाट कति उठ्यो धरौटी ?

    काठमाडौं । देश स्थानीय तह निर्वाचनमा होमिएको छ । यही बैशाख ३० गते निर्वाचन हुँदै छ । बैशाख ११ र १२ गते भएको उम्मेदवारी मनोनयनको तथ्यांक आउन थालेको छ । देशैभर ७५३ स्थानीय तह रहेका छन् ।

    उम्मेदवारको मनोनयन दर्ता सकिए पनि देशैभरबाट निर्वाचन आयोगलाई पूर्ण विवरण प्राप्त भइसकेको छैन । अहिलेसम्म १ लाख ४७ हजार २७४ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले अघिल्लो स्थानीय निर्वाचनमा १ लाख ५० हजारको हाराहारीमा उम्मेदवारी परेको बताए ।
    उनले भने, ‘यसअघि भएको स्थानीय तह निर्वाचनमा करिब १ लाख ५० हजारले उम्मेदवारी दिएका थिए । अहिले पनि त्यस्तै हुने अनुमान छ । विभिन्न कारणले सबै उम्मेदवारको सूची आयोगमा आइपुगेको छैन । कुनै ठाउँमा निर्वाचन आयोगले नै बाधा फुकाउन पर्ने हुन्छ । त्यस्तो ठाउँमा हामीले नै बाधा फुकाउने हो ।’

    केही जिल्लामा मनोनयन भए पनि निर्वाचन आयोगको सफ्वेयरमा लोड हुन सकेको छैन । सबै तथ्यांक आउँदा करिब १ लाख ५० हजार हुने अनुमान आयोगको छ ।

    स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६३ मा १५ सय रुपैयाँ धरौटी राखेर उम्मेदवारी दिनुपर्ने व्यवस्था छ । तर, महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा अर्थिक रुपले विपन्न व्यक्तिले ७५० रुपैयाँमात्रै धरौटी राखे पुग्छ ।

    गाउँपालिकाको अध्यक्ष, मेयर र उपमेयरले उम्मेदवारी दिन १ हजार ५ सय धरौटी राखुपर्ने व्यवस्था छ । वडा अध्यक्षले १ हजार र सदस्यले ५ सय धरौटी राख्नुपर्छ । वडामा महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा अर्थिक रुपले विपन्न व्यक्तिले ५ सय र वडा सदस्यमा २५० रुपैयाँ धरौटी राखे पुग्ने व्यवस्था छ ।

    आयोगमा प्राप्त विवरणअनुसार देशभर मेयरमा ३ हजार ४३० जनाको उम्मेदवारी दिएका छन् । जसअनुसार मेयर उम्मेदवारीबाट ५१ लाख ४५ हजार रुपैयाँ धरौटी रकम आएको आयोगले जनाएको छ । उपमेयरमा उम्मेदवारी दिने २ हजार ७९ जनाबाट ३१ लाख ४५ हजार ५ सय रुपैयाँ धरौटी जम्मा भएको छ ।

    त्यस्तै ३ हजार ३६३ जनाले गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएको तथ्यांक आयोगमा आइपुगेको छ । अध्यक्षको उम्मेदवारीवापत ५० लाख ४४ हजार ५ सय रुपैयाँ धरौटी रकम जम्मा भएको छ ।

    त्यस्तै, गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिएका ३ हजार २८२ जनाबाट ३५ लाख ७३ हजार रुपैयाँ उठेको छ ।

    वडा अध्यक्षमा ३४ हजार ३५७ जनाले उम्मेदवारी दिएका छन् । जसबाट ३ करोड ४३ लाख ५७ हजार रुपैयाँ धरौटी जम्मा भएको छ ।
    महिला वडा सदस्यमा उम्मेदवारी दिएका २५ हजार ३२४ जनाबाट एक करोड २६ लाख ७२ हजार ५ सय रुपैयाँ जम्मा भएको आयोगले जनाएको छ ।

    दलित महिला वडा सदस्यमा उम्मेदवारी दिएका २२ हजार ८९९ जनाबाट ५७ लाख २४ हजार ७५० रुपैयाँ उठेको छ । खुला सदस्यतर्फ उम्मेदवारी दिएका ५३ हजार ४०१ जनाले धरौटीवापत २ करोड ६७ लाख ५०० रुपैयाँ धरौटी बुझाएका छन् ।

    पालिकामा उम्मेदवारी दिएकाहरुबाट २० करोड ८७ लाख ३३ हजार ७५० रुपैयाँ धरौटी रकम जम्मा भएको आयोगले जनाएको छ । आयोगको प्रारम्भिक तथ्यांकअनुसार १ लाख ४७ हजार २७४ जनाले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

    स्थानीय तह निर्वाचनमा उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसके धरौटी जफत हुन्छ । १० प्रतिशतभन्दा बढी मत ल्याउने र निर्वाचित उम्मेदवारले धरौटी रकम फिर्ता पाउँछन् ।

  • प्रदेश १ : ७४ मा जितेका १०५ जनाले दोहोर्‍याएर पाए टिकट

    प्रदेश १ : ७४ मा जितेका १०५ जनाले दोहोर्‍याएर पाए टिकट

    विराटनगर । प्रदेश १ का कुल १३७ स्थानीय तहमध्ये मुख्य पदमा १०५ जनाले पुन: टिकट पाएका छन् । सबैभन्दा बढी भोजपुरमा १३ जना पुन: चुनावी मैदानमा छन् ।

    यस प्रदेशमा एक महानगरपालिका, २ उपमहानगर, ४५ नगरपालिका ८९ वटा गाउँपालिका छन् । यीमध्ये झापामा मेयर उपमेयरमा पुन: टिकट पाउनेमा ८ जना छन् । इलाममा ९ जनाले पुनः प्रमुख तथा उपप्रमुखमा टिकट पाउँदा पाँचथरमा दुईजनाले दोहोर्‍याएर मनोनयन दर्ता गरेका छन् ।

    ताप्लेजुङ ८ जनाले दोहोर्‍याउँदा, धनकुटामा ६ जनाले प्रमुख र उपप्रमुखमा दोहोर्‍याउने अवसर पाएका छन् । संखुवासभामा ४ जनाले पुन प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा टिकटक पाउँदा सोलुखुम्बुमा ११ जना उत्रिएका छन् ।

    यसै गरी ओखलढुंगामा ६ जना, खोटाङमा ११, सुनसरीमा ८, मोरङमा ६ र उदयपुरमा ५ जनाले दोहोर्‍याउँदै उम्मेदवारी दिएका छन् ।

    धरान उपमहानगरकी उपमेयर रहेकी मञ्जुले यसपाली मेयरको टिकट पाएकी छन् । इटहरीमा भने मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतम रिङआउट भएका छन् । यहाँ यामकुमार सुब्बाको इन्ट्री भएको छ ।

    एक मात्र महानगर विराटनगरको मेयर उपमेयरमा पनि बहालवालाले टिकट पाएनन् । कांग्रेसबाट जितेका भीम पराजुली र इन्दिरा कार्कीको ठाउँमा अहिले गठबन्धनबाट कांग्रेसकै नागेश कोइराला मेयर र जसपाका अमरेन्द्र यादवले उपमेयरको टिकट पाएका छन् ।

    धेरैजसो ठाउँमा सत्तारुढ गठबन्धनको भागबण्डाका कारण पनि नदोहोरिएका बताइएको छ ।

    प्रदेश १ मा ६ हजार ५९ पदको लागि २२ हजार ५ सय ४२ जनाले मनोनयन दर्ता गराएका छन् ।

    आयोगको मंगलबार साँझसम्मको अद्यावधिक विवरण अनुसार महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा ४ सय २५ र उपप्रमुखमा ३ सय १८ जनाले उम्मेदवारी दिएका छन् । यस्तै गाउँपालिका अध्यक्षमा ४ सय ९१ र उपाध्यक्षमा ३ सय १८ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

    ५ हजार १ सय ४० जनाले वडाध्यक्ष, ३ हजार ९ सय १५ महिला सदस्य, ३ हजार ५ सय १२ दलित महिला सदस्य र ८ हजार ४ सय ४८ जनाको खुल्ला सदस्यमा उम्मेदवारी परेको छ ।

    यस प्रदेशमा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता छन् । जसमध्ये १६ लाख ९९ हजार ८ सय पुरुष, १६ लाख ४७ हजार ५ सय ६१ जना महिला र २३ जना अन्य मतदाता रहेका छन् ।

  • लुम्बिनीमा पाल्पाबाहेक कतै भएन पूर्णगठबन्धन, यस्तो छ बाह्रै जिल्लाका उम्मेदवारको हिसाब

    लुम्बिनीमा पाल्पाबाहेक कतै भएन पूर्णगठबन्धन, यस्तो छ बाह्रै जिल्लाका उम्मेदवारको हिसाब

    रुपन्देही । २०७८ चैत २८ गते लुम्बिनी प्रदेशमा रहेका सत्तारुढ पाँच दलका मुख्य नेताहरु बसेर प्रदेशका १०९ पालिकाका सबै वडा तहमै गठबन्धन गरेर जाने निर्णय गरे । यो दिन उनीहरुले यी पाँच दलबाहेक कुनै पनि अन्य दलसँग गठबन्धन नगर्ने निर्णयसमेत गरेका थिए । तर सत्तारुढ पाँच दलको निर्देशनसहितको घोषणा एमालेलाई तर्साउनका लागि मात्रै भएको देखिएको छ ।

    १२ जिल्ला रहेको प्रदेशमा पाल्पाबाहेक अन्य कुनैपनि जिल्लामा गठबन्धनले पूर्णता पाउन सकेको छैन । पाल्पामा पनि जसपाको पूरै सहमति छैन तर पनि यहाँ वडातहसम्म नै भागबण्डा मिलाएर दलहरुले उम्मेदारी दिएका छन् । अन्य ११ जिल्लामा गठबन्धनले पूर्णता पाउनै सकेन ।

    गठबन्धनको बलियो पक्षधर रहेको नेकपा एसले रुपन्देहीको बुटवलमा बाहेक अन्य पालिकामा गठबन्धन भंग भएको र अन्य पालिकामा आफ्नो पार्टीले उम्मेदारी दिएको केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले बताए ।

    जसपा लुम्बिनीका महासचिव यज्ञ पोखरेलका अनुसार प्रदेशका कुनै पनि पालिकामा पाँच दलीय गठबन्धन भएको छैन । ‘जसपाको जनमतलाई बुझ्ने प्रयास नै भएन, अनि कसरी हुन्छ गठबन्धन ? दाङको घोराही र बाँकेको नेपालगन्जमा मेयर उठाइएन अन्त सबै ठाउँमा हाम्रा उम्मेदार मैदानमा छन्, प्युठानको प्युठान नगरपालिकामा एमाले र जसपा, तथा रुपन्देहीको सैनामैना नेकपा एस र जसपाको गठबन्धन भएको छ’, उनले भने ।

    लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन अधिकांश जिल्लामा कार्यान्वयन हुन नसकेको साना दलका नेताहरुको आरोप छ ।

    कांग्रेस लुम्बिनी कोषाध्यक्ष प्रकाश रानाका अनुसार जिल्लागत हिसाबले सबै पाँच दलको गठबन्धन पूर्ण हुन सकेको छैन । ‘कहाँ को असन्तुष्ट छ, कहाँ को असन्तुष्ट छ, अलग अलग उम्मेदारी परेको छ, अब आजबाट मिलाउने हो, धेरै समस्या रहेछ भागबण्डा मिलाउन, एउटै दलभित्र त कति समस्या हुन्छ अब यति धेरै दलमा कसरी सजिलो होला’, रानाले भने ।

    सबै दलबीच गठबन्धन गर्दा भागबण्डामा आफ्ना दलका नेताहरु व्यवस्थापन गर्न चुनौती देखिएपछि कांग्रेस र माओवादी केन्द्र धेरै ठाउँमा मिलेर नेकपा एस, जसपा र जनमोर्चालाई बाइपास गरेको आरोप साना दलहरुको छ । उनीहरुले मनोनयनको अन्तिम समयसम्म सहमतिका नाममा साना दललाई अल्झाएर नेताहरुलाई उम्मेदारीको तयारी गर्नसमेत नदिएर राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।

    कांग्रेस नेताहरु भने गठबन्धनभित्रको नेकपा एकीकृत समाजवादी भर्खरै स्थापित नयाँ दल, जनता समाजवादी पार्टीको पहाडी जिल्लाहरुमा जनाधार नभएको र राष्ट्रिय जनमोर्चाको प्युठान र अर्घाखाँचीबाहेकका जिल्लामा संगठन नभएकाले पाँचै दलबीच सबै पालिकामा गठबन्धन हुन नसकेको बताउँछन् ।

    प्रदेशका ४ उपमहानगरमा केन्द्रबाट भागबण्डा भएपनि बुटवल र तुल्सीपुरमा मात्रै गठबन्धनअनुसार ४ दलको सहमतिमा उम्मेदवारी दर्ता भएको छ । बुटवलमा जसपाले मेयर र उपमेयरमा उम्मेदारी दिएको छ । दाङको घोराही र बाँकेको नेपालगन्ज उपमहानगरमा पाँच दलको गठबन्धन कायम हुन सकेन ।

    कुन जिल्लामा कुन दलले गरे मनोनयन ?

    रुपन्देही

    १६ पालिका रहेको रुपन्देहीको बुटवलबाहेक नेकपा एसले सबै पालिकामा उम्मेदारी दिएको जनाएको छ । भागवण्डा मिलाउन नसकेपछि दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवा गाउँपालिकामा गरी ६ पालिकामा गठबन्धनमा आवद्ध दलहरूबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेपनि बाँकी पालिकामा पनि त्यो सहमति कायम हुन सकेन । बुटवलमै जसपाले मेयरउपमेयरको उम्मेदारी दिएको छ ।

    तिलोत्तमामा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै गठबन्धन भएको छ । मेयरमा कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा माओवादी केन्द्रका हेमन्त पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । सैनामैनामा जसपा र नेकपा एसले गठबन्धन गरेको छ । गठबन्धनको मर्म अनुसार सम्मानजनक सिट दिन नचाहेपछि बुटवलबाहेक अन्य पालिकामा गठबन्धन नभएको नेता सिद्धिचरण भट्टराईले बताए ।

    बुटवलमा कांग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एसका चीनबहादुर गुरुंग उपमेयरमा उम्मेदार बनेका छन् । २ वडा माओवादीले पाएको उसलाई पनि रुख चिन्ह लिएर उठ्न बाध्य बनाइएको छ । अन्य वडामा माओवादीबाटै उम्मेदारी परेको छ । जसपाले पनि सबै पालिकामा उम्मेदारी दिएको छ ।

    पाल्पा

    गठबन्धनको पालना गरिएको पाल्पाका १० स्थानीय तहमध्ये ६ कांग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका छन् । यहाँ पनि जसपा सहमत छैन । यहाँ वडातहमै ४ दलले गठबन्धन गरेर उम्मेदारी दिएका छन् ।

    गुल्मी

    १२ पालिका रहेको गुल्मीमा अनौठो गठबन्धन बनेको छ । सदरमुकाममा रहेको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ मेयर र उपमेयर तथा वडा अध्यक्षहरु कांग्रेसले पाएको छ भने माओवादी केन्द्रले वडा सदस्यमा चित्त बुझाएको छ । गुल्मीदरवार गाउँपालिकामा गठबन्धन भएको छैन । यहाँ एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् । कालिगण्डकी र छत्रकोट गाउँपालिकामा कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ ।

    दुवै पालिकामा कांग्रेसले प्रमुख र जनमोर्चाले उपप्रमुख पाएका छन् । सत्यवती, चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिका कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । सत्यवतीमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख पाएको छ । चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिकामा माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको छ । मुसिकोट नगरपालिकामा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । यहाँ प्रमुख कांग्रेसले र उपप्रमुख समाजवादीले पाएको छ । इस्मा गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ प्रमुख÷उपप्रमुख कांग्रेसले र वडा सदस्यमा माओवादीले उम्मेदवारी दिएका छन् । मालिका गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको छ । यहाँ माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

    माओवादी कांग्रेसको विवादले गठबन्धन नभएको धुर्कोट गाउँपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । कांग्रेसले प्रमुख र समाजवादीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
    मदाने गाउँपालिका कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

    कपिलवस्तु

    कपिलवस्तुमा सत्ता गठबन्धनमा आवद्ध पाँच दलमध्ये कांग्रेस बाहेकका चार दलको अलग्गै गठबन्धन बनेको छ । १० वटा पालिका रहेको जिल्लामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ ।

    वाणगंगाको मेयरमा माओवादी केन्द्र र उपमेयरमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् । शिवराज नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको छ । एकीकृत समाजवादीबाट मेयर र उपमेयर पदमा माओवादी केन्द्रबाट उम्मेदवारी परेको छ । दक्षिणका पालिकामा भने जसपाले आफ्नो उम्मेदारी दिएको छ । कांग्रेसले सबै पालिकामा अलग उम्मेदारी दिएको छ ।

    बर्दिया

    आठवटा पालिका रहेको बर्दियामा दुईवटा पालिकामा मात्रै दुई दलबीच गठबन्धन भएको छ । अन्य सबै पालिकाहरुमा गठबन्धनका दलहरुबीच अलग–अलग उम्मेदवारी दर्ता भएको छ । बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल छ । तर यी दुवै पालिकामा प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्ष पद माओवादी केन्द्रले लिएको छ । एकीकृत समाजवादीले बाँसगढीका २ वटा वडा र गेरुवाका ३ वटा वडा लिएको छ ।

    गुलरिया नगरपालिकामा माओवादी केन्द्रका गेहेन्द्र ढकालले मेयरमा र इन्दिरा सुवेदीले उपमेयरमा उम्मेदवारी दिएका छन् । वडा तहमा भने जसपासँग मात्रै तालमेल गरिएको छ । बढैयाताल गाउँपालिकामा सुरुमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गर्ने निर्णय भए पनि उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा दुवै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । बारबर्दिया, मधुवन, राजापुर र ठाकुरबाबा नगरपालिकामा पनि गठबन्धनका दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

    दाङ

    दुई उपमहानगरसहित १० पालिका रहेको दाङमा सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति जुट्न सकेन । गठबन्धनका शीर्ष नेताले केन्द्रबाट घोराही र तुलसीपुर उपमहानगरको भागबण्डा गरेका थिए । घोराहीको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेस तथा तुलसीपुरको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।

    केन्द्रको गठबन्धनले गरेको भागबण्डाअनुरुप घोराहीको प्रमुख पदमा हेमराज शर्मा डायमण्ड, उपप्रमुखमा कांग्रेसबाट भुपबहादुर डाँगीले उम्मेदवारी दिएका छन् । त्यस्तै तुलसीपुरको प्रमुखमा कांग्रेसबाट गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले उम्मेदवारी दिएका छन् ।

    तुलसीपुर उपमहानगरबाहेकका पालिकामा गठबन्धन नमिलेपछि अलग अलग मनोनयन भएको छ । कांग्रेसले जिल्लाका सात वटा पालिकामा एक्लै उम्मेदवारी दिएको छ । मनोनयनको अन्तिम दिन घोराही र बंगलाचुली गाउँपालिकाको गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको हो ।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले अलग्गै तालमेल गरेका छन् । नेकपा माओवादी केन्द्रले लमही नगरपालिका र राजपुर, शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका गरी पाँच पालिकामा अलग्गै उम्मेदवारी दर्ता गरेको छ । लमही नगरपालिकाको मेयरमा माओवादी केन्द्रले बसन्तराज शर्मा (विक्रान्त) र उपमेयरमा गंगा पाण्डेलाई उम्मेदवार बनाएको छ ।

    लमहीमा कांग्रेसले जोगराज चौधरीलाई मेयरमा र लक्ष्मी योगीलाई उपमेयरमा उम्मेदवार बनाएको छ । गढवामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र जसपाले तालमेल गरेका छन् ।

    गढवामा माओवादी केन्द्रले अध्यक्षमा यमनारायण पोख्रेललाई उम्मेदवार बनाउँदा एकीकृत समाजवादीले शान्ति चौधरीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । गढवामा कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित सात वटा वडामा उम्मेदवार उठाएको छ । वडा नम्बर ८ मा भने कांग्रेसले अध्यक्षको उम्मेदवारी दिएको छैन । कांग्रेसले गढवा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सात वटा वडामा उम्मेदवार उठाएको छ । अध्यक्षमा सर्वजित डीसी र उपाध्यक्षमा शारदा चौधरी कांग्रेसबाट उम्मेदवार छन् । वडा नम्बर ८ मा भने कांग्रेसले अध्यक्षको उम्मेदवारी दिएको छैन ।

    दाङकै राप्ती गाउँपालिकामा माओवादी र जनमोर्चाले तथा राजपुरमा माओवादी, जनमोर्चा र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । बबई गाउँपालिकामा माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् । शान्तिनगर गाउँपालिकामा भने कांग्रेस, माओवादी, एकीकृत समाजवादीले एक्लाएक्लै उम्मेदवारी दिएका छन् । राप्ती गाउँपालिकामा माओवादी र जनमोर्चाले तालमेल गरेका छन् भने शान्तिनगर गाउँपालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।
    बाँके

    जसपा, कांग्रेस र माओवादीको इगोको लडाइँ भएको छ बाँकेको नेपालगन्ज उपमहानगरमा । सत्ता गठबन्धनबाट नेपालगञ्जको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राईले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रले आफूले मेयर र उपमेयर केही नपाएको जनाउँदै गठबन्धनबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ ।

    गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्रबाट टंक धामीले मेयरमा र तारा रोकायाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

    एक उपमहानगरसहित आठ वटा पालिका रहेको बाँकेमा ६ वटा पालिकामा गठबन्धन भएपनि अलग अलग उम्मेदारी छ । पहिले विवाद गरेको जसपा मिलेपछि नेपालगञ्जमा सत्ता गठबन्धनभित्र माओवादीबाहेक कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । कोहलपुर नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । यहाँ मेयरमा माओवादी केन्द्रका नरेन्द्र न्यौपाने र उपमेयरमा एकीकृत समाजवादीका नारायणी वलीले उम्मेदवारी दिएका छन् । तर कांग्रेसले पूर्ण आचार्यलाई मेयर बनाएपछि बलराम शर्मा बागी उम्मेदवार बनेका छन् । यसले पार्टीको आन्तरिक कलह बाहिरिएको छ ।

    जानकी गाउँपालिकामा माओवादी केन्द्र र जसपाबीच गठबन्धन भएको छ । खजुरा गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन बनेको छ । अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा नेपाली कांग्रेसका मन्जु मल्लले उम्मेदवारी दिएका छन् । नरैनापुर, राप्तीसोनारी र डुुडुवा गाउँपालिकामा गठबन्धन भएको छैन । नेपालगन्जमा मिलेको जसपा अन्य पालिकामा मिलेको छैन ।

    रुकुम पूर्व

    तीन गाउँपालिका रहेको रुकुम पूर्वका गठबन्धन छैन । माओवादी केन्द्रले तीनवटै पालिकामा एक्लै उम्मेदवार उठाएको छ ।

    यहाँका दुई पालिका केन्द्रको निर्देशन विपरीत एमाले र कांग्रेसबीच गठबन्धन गरेका छन् । सिस्ने र भूमे गाउँपालिकामा नेकपा एमालेले र नेपाली कांग्रेसले तालमेल गरेका हुन् । पुथा उत्तरगंगा गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुले एक्लाएक्लै उम्मेदवार उठाएका छन् ।

    रोल्पामा माओवादी एक्लै

    माओवादीले आधार इलाका मानेको रोल्पाका १० पालिकामध्ये अधिकांशमा माओवादीको एकल उम्मेदारी परेको छ । एउटा पालिकामा मात्रै दुई दलबीच गठबन्धन भएको छ । गंगादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेका हुन् । रोल्पा नगरपालिका, रुन्टीगढी गाउँपालिका र गंगादेव गाउँपालिकामा एक्लाएक्लै भिडेका दलहरुले अन्य ६ स्थानीय तहहरुमा भने फरक गठबन्धन गरेका छन् ।

    परिवर्तन गाउँपालिकामा कांग्रेसलाई अध्यक्षमा अन्य दलले सघाउने निर्णय गरेको छ । त्रिवेणीमा एमालेलाई अध्यक्षमा कांग्रेसले सघाउने र उपाध्यक्षमा एमालेले कांग्रेसलाई सघाउने सहमति भएको छ । सुनिलस्मृति गाउँपालिकामा कांग्रेसलाई अन्य दलले अध्यक्षमा सघाउने गरी गठबन्धन भएको छ । सुनछहरीमा विप्लव नेतृत्वको नेकपा र कांग्रेसबीच गठबन्धन भएको छ ।

    यहाँ माओवादी केन्द्रविरूद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाबीच माडी, परिवर्तन, त्रिवेणी गाउँपालिकामा गठबन्धन बनेको हो ।

    प्युठान

    जनमोर्चाले आफ्नो बलियो आधार बनाएको प्युठानका ९ पालिकामध्ये एमालेले जितेका ३ पालिकामा सत्ता गठबन्धनका ४ वटा दलबीच गठबन्धन भएको छ । स्वर्गद्वारी नगरपालिका तथा सरुमारानी र माण्डवी गाउँपालिकामा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राजमो र जसपा एक भएर उम्मेदवारी दिएका छन् । माण्डवीमा त विप्लव नेतृत्वको नेकपा पनि गठबन्धनमा छ । अन्य पालिकामा कतै कांग्रेस र राष्ट्रिय जनमोर्चा, कतै माओवादी र कांग्रेसबीच गठबन्धन भएको छ । ऐरावती, मल्लरानी र झिमरुकमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ ।

    प्युठान नगरपालिका, गौमुखी र नौबहिनी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । झिमरुकमा माओवादी केन्द्रले पनि अध्यक्षसहित पदहरुमा उम्मेदवारी दिएको छ । ऐरावतीमा कांग्रेसले पालिका अध्यक्ष र राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष पाउने सहमति छ । मल्लरानीमा पनि गाउँपालिका अध्यक्ष राजमोले र उपाध्यक्ष कांग्रेसले पाउने सहमति छ ।

    यहाँ राष्ट्रिय जनमोर्चाका कृष्ण खड्काले अध्यक्षमा र कांग्रेसका रमेश श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । माण्डवी गाउँपालिकामा सत्ता गठबन्धनलाई विप्लवको पनि साथ छ । गौमुखी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ । सरुमारानी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले चुनाबी तालमेल गरेका छन् ।

    पश्चिम नवलपरासी

    ७ पालिका रहेको पश्चिम नवलपरासीमा दलबीच तालमेल छैन । सुनवल र बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । त्यहाँ दुवै प्रमुख पद कांग्रेसले लिएको छ । उपमेयर माओवादी केन्द्रलाई दिइएको छ ।

    गठबन्धनको अर्को घटक जसपा र माओवादी केन्द्रले रामग्राम नगरपालिकामा गठबन्धन गरेका छन् । जसपाले मेयर र माओवादी केन्द्रले उपमेयर लिएको छ ।

    अर्घाखाँची

    अर्घाखाँचीमा सत्ता गठबन्धनको जसपबाहेकका चार दलको गठबन्धन छ । यहाँ नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीले प्रमुख र उपप्रमुख पाएको छैन । उसले वडा तहमा मात्रै चित्त बुझाएको छ ।

    शीतगंगा नगरपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । प्रमुखमा कांग्रेसबाट छविलाल पौडेल र उपप्रमुखमा माओवादी केन्द्रका टीका रेश्मीको उम्मेदवारी दर्ता भएको छ । भुमिकास्थान नगरपालिकाको प्रमुखमा गठबन्धनबाट जनमोर्चाको झविलाल थापा र माओवादी केन्द्रका बालकृष्ण बन्जाडेको उम्मेदवारी दर्ता भएको छ ।

    सन्धिखर्क नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएको छ । प्रमुखमा कांग्रेसकी शान्ता भण्डारी र उपप्रमुखमा माओवादी केन्द्रका राजेन्द्र भुसालको उम्मेदवारी दर्ता भएको छ । मालारानी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका पदम क्षेत्री र उपाध्यक्षमा शोभाखर खनालको उम्मेदवारी दर्ता भएको छ । छत्रदेव गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा इन्दिरा भुसालको उम्मेदवारी दर्ता भएको छ ।

  • मनाङको नार्पाभूमि उपाध्यक्षमा एमालेका मिङमार निर्विरोध, अध्यक्षमा कांग्रेसबाट बागी

    मनाङको नार्पाभूमि उपाध्यक्षमा एमालेका मिङमार निर्विरोध, अध्यक्षमा कांग्रेसबाट बागी

    लमजुङ । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मिङमार फुन्चो लामा निर्विरोध भएका छन् । उपाध्यक्षमा लामाको मात्रै एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् । नार्पाभूमिको अध्यक्षमा एमाले समर्थित मिङमार सोनाम लामाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिन लामाले उम्मेदवारी दिएका छन् । कांग्रेसकै कृष्णबहादुर लामाले बागी उम्मेदवारी दिएका छन् ।

    एमाले जिल्ला कमिटी अध्यक्ष पोल्देन छोपाङ गुरुङले एमालेका तर्फबाट नार्पाभूमि गाउँपालिकामा एकल उम्मेदवारी परेको बताए । वडा नम्बर १ मा कांग्रेसका फुर्वा ठेले लामाको एकल उम्मेदवारी परेको छ । एमाले समर्थित तर स्वतन्त्रबाट वडा नम्बर ४ को अध्यक्षमा कर्मा ग्याङ्जे लामा र वडा नम्बर ५ को अध्यक्षमा सोनाम तेजे लामाको एकल उम्मेदवारी परेको छ । वडा नम्बर २ मा फुन्जो पासाङ लामा र फुन्चोक बाङ्गे लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    वडा नम्बर ३ को अध्यक्षमा पेम्बा फुन्जो लामा, साङ्बो ठिमी लामा (महिला) र लाक्पा छेवाङ लामाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेबाट साङ्गे धावा लामाले उम्मेदवारी दिएका छन् । नार्पाभूमिमा २७ जना जनप्रतिनिधि चुनिनुपर्नेमा २६ जनाको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।

  • चितवन कांग्रेसका नेताहरु बागी उम्मेदवारको घरमै, जगन्नाथले मानेनन् उम्मेदवारी फिर्ता लिन

    चितवन कांग्रेसका नेताहरु बागी उम्मेदवारको घरमै, जगन्नाथले मानेनन् उम्मेदवारी फिर्ता लिन

    चितवन । नेपाली कांग्रेस चितवनको नेतृत्वले भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवारी दिएका नेता जगन्नाथ पौडेललाई भेट गरेको छ ।

    सभापति राजेश्वर खनालको नेतृत्वमा गएको टोलीले पूर्वसांसद पौडेललाई भेटेर आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । मंगलबार साँझ कृष्णपुरस्थित पौडेलनिवासमा कांग्रेसका नेताले संस्थागतरुपमै यस्तो आग्रह गरेका हुन् ।

    टोलीमा उपसभापति राजिव न्यौपाने र सचिव सूर्य अर्याल थिए । ‘उहाँ जुन बाटो हिँड्दै हुनुहुन्छ त्यो बाटोमा पुनर्विचार आग्रह गर्यौं’, सभापति खनालले भने, ‘उहाँलाई हामीले आफ्नो तर्फबाट कुरा गर्यों । उहाँले पुनर्विचार गर्नुहन्छ भन्ने विश्वास गरेका छौं ।’

    गठबन्धनको निर्णयअनुसार पार्टीलाई सहयोग गर्न पनि टोलीले आग्रह गरेको थियो ।

    गठबन्धनले भरतपुरको महानगर प्रमुखमा नेकपा माओवादी केन्द्रलाई दिएर उपप्रमुख कांग्रेसले लिएको छ । उपप्रमुख सहित २९ वडामध्ये कांग्रेसले २० वटा वडा लिएको छ । कांग्रेसलाई प्रमुख नदिएको भन्दै असन्तुष्ट पौडेलले स्वतन्त्र उमेदवारी हालेका थिए ।

  • करिब ३५ हजार पदका लागि डेढ लाखको उम्मेदवारी, राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै !

    करिब ३५ हजार पदका लागि डेढ लाखको उम्मेदवारी, राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै !

    काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डेढ लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । जसमा राजनीतिक दलका भन्दा स्वातन्त्र उम्मेदवार धेरै छन् ।

    मंगलबार रातिसम्मको तथ्यांकअनुसार सात सय ५३ स्थानीय तहका करिब ३५ हजार पदका लागि एक लाख ५० हजार चार सय ९४ जनाको उम्मेदवारी परेको छ ।

    ६ हजार सात सय ४३ वडा सदस्यसहित ३५ हजार दुई सय २१ पदका लागि स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि दर्ता भएका ७९ दल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको हो । जसमा ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिकाको प्रमुखका लागि तीन हजार चार सय ६६, उपप्रमुखका लागि दुई हजार एक सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै चार सय ६० गाउँपालिकाका अध्यक्षमा तीन हजार तीन सय ७८ र उपाध्यक्षमा दुई हजार तीन सय ९२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    यसैगरी ६ हजार सात सय ४३ वडा अध्यक्षमा ३४ हजार नौ सय ४३, ६ हजार सात सय ४३ वटै महिला वडा सदस्यमा २६ हजार ६३ र दलित महिला वडा सदस्यमा २३ हजार चार सय ७० जनाको उम्मेदवारी परेको छ भने प्रत्येक वडामा दुईजना खुला वडा सदस्यमा ५४ हजार ६ सय ४६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    नेकपा एमालेबाट सबैभन्दा धेरै उम्मेदवारी

    निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट उम्मेदवारी परेको छ । निर्वाचन आयोगको गएराति नौ बजेसम्मको विवरणअनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामध्ये प्रमुख पदमा नेकपा एमालेबाट दुई सय ८८ जनाको उम्मेदवारी परेको छ । यस्तै दुई सय ८३ स्थानीय तहमा उपप्रमुख पदमा उम्मेदवारी परेको छ । त्यस्तै नेकपा एमालेबाट अध्यक्ष पदमा चार सय ४६ र उपाध्यक्ष पदमा चार सय ४५ जनाको उम्मेदवारी परेको छ ।

    त्यस्तै, सत्तारुढ दल नेपाली कांग्रेसबाट प्रमुख पदमा दुई सय ६३, उपप्रमुखमा दुई सय १०, अध्यक्षमा तीन तीन सय ८२ र उपाध्यक्ष पदमा तीन सय ५९ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा दुई सय ४८ र उपप्रमुखमा दुई सय २७, अध्यक्ष पदमा दुई सय ९१ जनाको उम्मेदवारी परेको छ ।

    स्वतन्त्रबाट झन् धेरै

    स्वतन्त्रबाट प्रमुख पदमा एक हजार तीन सय ७६ र अध्यक्ष पदमा एक हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ । यस्तै अन्यबाट प्रमुख पदमा एक हजार दुई सय ९१, अध्यक्षमा एक हजार दुई सय ३५, उपप्रमुखमा एक हजार २१, उपाध्यक्षमा नौ सय १३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    उपप्रमुखमा राप्रपाले माओवादीलाई उछिन्यो

    उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)लाई उम्मेदवारी दर्तामा उछिनेको छ । विवरणअनुसार नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष पदमा तीन सय १४ जनाको उम्मेदवारी दर्ता भएको छ । विवरणअनुसार वडा अध्यक्षमा एमालेबाट ६ हजार ४ सय ६८, नेपाली कांग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट चार हजार तीन सय ८५, स्वतन्त्रबाट पाँच हजार ८१ र अन्यबाट वडा अध्यक्षमा १२ हजार एक सय ८८ जनाको उम्मेदवारी परेको छ ।

    त्यस्तै महिला सदस्यका लागि एमालेबाट ६ हजार तीन सय १८, नेपाली कांग्रेसबाट पाँच हजार नौ सय ९६, माओवादी केन्द्रबाट चार हजार एक सय सात, राप्रपाबाट दुई हजार ८९ र महिला सदस्यमा अन्यबाट सात हजार पाँच सय ५७ को उम्मेदवारी दर्ता भएको छ ।

    त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार एक सय १२, कांग्रेसबाट पाँच हजार सात सय ३१, माओवादी केन्द्रबाट तीन हजार आठ सय ३५, राप्रपाबाट एक हजार ६ सय ३३ जना र दलित महिला सदस्यमा अन्यबाट ६ हजार एक सय ६० जनाको उम्मेदवारी परेको छ ।

    त्यस्तै, दुई पदको खुला सदस्यका लागि नेकपा एमालेबाट १२ हजार ६ सय ७०, कांग्रेसबाट ११ हजार नौ सय ३४, माओवादी केन्द्रबाट आठ हजार पाँच सय ३८, राप्रपाबाट चार हजार ६ सय ३० र दुई पदको खुला सदस्यकै लागि अन्यबाट १६ हजार आठ सय ८६ जनाको उम्मेदवारी परेको छ ।

    केही स्थानबाट विवरण आउन बाँकी

    अधिकांश स्थानबाट उम्मेदवारी दर्ताको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको भए पनि केही स्थानबाट भने विवरण आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मंगलबार रातिसम्म मधेश प्रदेशका तीन जिल्ला, लुम्बिनी प्रदेशको एक र कर्णाली प्रदेशको दुई जिल्लाका केही स्थानीय तहको विवरण आउन बाँकी रहेकोमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको लमही नगरपालिकाको विवरण प्रविष्ट भइसकेको छ ।

    मंगलबार रातिसम्ममा बाराको कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, सुवर्णमाइ गाउँपालिका, महोत्तरीको औराही र मटिहानी, सिरहाको सुखीपुर, धनगडीमाइ, लहान र कर्जनाह, र कालीकोटको पलाता गाउँपालिकाको विवरण प्रविष्ट भइसक्ने जनाइएको थियो ।

  • पोखरा महानगरपालिका- १३ वडाध्यक्षका उम्मेदवार बरालले थाले घरदैलो कार्यक्रम

    पोखरा महानगरपालिका- १३ वडाध्यक्षका उम्मेदवार बरालले थाले घरदैलो कार्यक्रम

    काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर १३ को अध्यक्षमा उम्मेदवारी दिएका कांग्रेस नेता किरण बरालले घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

    विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय नेता बराल अस्ट्रेलियाबाट अध्ययन सकेर नेपाल फर्किएका हुन् ।

    चुनवाी अभियान आरम्भ गर्दै बरालले आफूले विदेशमा सिकेको सीप र अध्ययन वडाको विकासका लागि खर्चिने प्रतिवद्धता व्यक्त गरे ।

    यूवा देखि सम्पूर्ण उमेर समूहका नागरिकका समस्या लाई वडाबाट व्यवस्थित तरिकाले सम्बोधन गर्दै नमुना वडाका रुपमा विकास गर्न आफू तयार रहेको उनले बताए ।

    २०७४ को चुनावमा फराकीलो मतान्तरले पराजित भएको कांग्रेसलाई जिताउने गरी आफू लागेको उनले बताए ।

    उनले भने, ‘हिजो सबैभन्दा धेरै मतान्तरले हारेको वडा हो यो । अब हामी ब्याज सहित सबैभन्दा बढी मतान्तरले जित्छौं ।’

  • महानगर र उपमहानगरका राप्रपा उम्मेदवारलाई राजेन्द्र लिङदेनले दिए यस्तो निर्देशन

    महानगर र उपमहानगरका राप्रपा उम्मेदवारलाई राजेन्द्र लिङदेनले दिए यस्तो निर्देशन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले उपत्यकाका उम्मेदवारहरुलाई उच्च मनोबलका साथ चुनावमा होमिन निर्देशन दिएका छन् ।

    काठमाडौं, ललितपुर, भक्तपुर अन्तर्गतका महानगर, उपमहानगर, नगरपालिकाका उमेदवारको भेलालाई सम्बोधन गर्दै लिङदेनले जितका लागि शुभकामना समेत दिए ।

    आगमी स्थानीय तह निर्वाचन राप्रपाका लागि शक्ति देखाउने अवसरका रुपमा आएको उल्लेख गर्दै उनले राप्रपा बन्द कोठामा सीमित हुने पार्टी भएर जनताको मन मस्तिष्कमा बसेको पार्टी हो भने ।

    राप्रपा हुन्छु भनेर जीवनभरी कल्पना समेत नगरेका व्यक्तिहरु अहिले पार्टीमा आउन तँछाडमछाड गरिरहेको बताए ।

    अहिलेको जनलहर कायम राख्दै अकल्पनीय परिणाम निकाल्ने विश्वास व्यक्त गर्दै उनले राप्रपाले नेपालको विकृत राजनीतिमा सुधार ल्याउने अठोट लिएको बताए ।

    उम्मेदवारहरुलाई दिएका निर्देशन यस्ता छन्

    देशमा विद्यमान राजनीतिक विकृतिको कुरा उठाउनु

    राप्रपाले भ्रष्टाचारको जरैदेखि अन्त्य गर्न चाहन्छ, मतदातालाई विश्वास दिलाउनु ।

    घोषणापत्र बारे स्पष्ट भएर जानु

    अन्य दलको भन्दा स्मार्ट घोषणापत्र राप्रपाको छ । नसक्ने हावादारी कुरा गरेको छैनौं ।

    आकाशको तारा झार्ने कुरा गरेका छैनौं, यथार्थपरक, गर्न सकिने र विगतमा चुनाव जितेका स्थानीय तहमा प्रयोग गरेको र अनुभवका आधारमा तयार पारिएको घोषणापत्र छ राप्रपाको

    भ्रष्टाचार गर्दिन, बेइमानी गर्दिन भनेर मानसिक रुपमा तयार हुनुस्

  • वागमतीका दुई तिहाई पालिकामा एमालेविरुद्ध पूर्ण र आंशिक गठबन्धन (सूचीसहित)

    वागमतीका दुई तिहाई पालिकामा एमालेविरुद्ध पूर्ण र आंशिक गठबन्धन (सूचीसहित)

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारूढ गठबन्धन दलहरूको तालमेल वागमती प्रदेशका बहुसंख्यक स्थानीय तहमा सम्भव देखिएको छ । प्रदेशका एक सय १९ स्थानीय तहमध्ये ७४ स्थानीय तहमा गठबन्धन दलका प्रमुख तीनपार्टीहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी(एस) बीचमा तालमेल सम्भव भएको छ ।

    बाँकी ४५ मध्ये अधिकांश स्थानमा कांग्रेस एक्लै लडेको छ, भने त्यसमध्येको अधिकांश ठाउँमा माओवादी केन्द्र र नेकपा एसबीचमा तालमेल भएको छ । आंशिक स्थानमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् ।

    जिल्लागत तालमेल र २०७४ को नतिजाको अवस्था

    धादिङ : एमालेको निकै शक्तिशाली उपस्थिति रहेको यो जिल्लाका १३ वटै तहमा सत्तारूढ गठबन्धनका तीनदलले पूर्ण रूपमा तालमेल गरेका छन् । जसअनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ३ र नेकपा एसले दुई स्थानीय तहको नेतृत्व लिएका छन् ।

    कांग्रेसले निलकण्ठ नगरपालिका, खनियाँबास गाउँपालिका, गंगाजमुना गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धिलेक गाउँपालिका र थाक्रे गाउँपालिकाको नेतृत्व पाएको छ ।

    यस्तै माओवादी केन्द्रले रुवीभ्याली, बेनीघाट रोराङ र गजुरी गाउँपालिकाको नेतृत्व लिदाँ धुनीवेँशी नगरपालिका र गल्छी गाउँपालिकाको नेतृत्व एसले लिएको छ ।

    यसअघि २०७४ को निर्वाचनमा माओवादी केन्द्रले बेनीघाट रोराङ गाउँपालिका जितेको थियो भने, रुवीभ्याली राप्रपाले जितेको थियो ।

    खनियाँबास, गंगाजमुना, ज्वालामुखी गाउँपालिका र निलकण्ठ नगरपालिका सहित ४ वटा कांग्रेसले जितेको थियो भने त्रिपुरासुन्दरी, गल्छी, नेत्रावती, सिद्धिलेक, गजुरी, थाक्रे गाउँपालिका र धुनिवेशी नगरपालिकागरि ७ स्थानीय तहमा एमालेले जितेको थियो ।

    चितवन: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्लामा अघिल्लो निर्वाचनदेखि नै ठूलै चर्चा हुँदै आएको छ । ७ स्थानीय तह रहेको यहि चर्चित जिल्लामा यसपटक पनि विवादै-विवादबीचमा सत्तारूढ गठबन्धन दलबीच तालमेल भएको छ ।

    कांग्रेसको सहयोगमा माओवादी केन्द्रले जितेको भरतपुर महानगरपालिका र माडी नगरपालिका माओवादीको भागमा परेको छ भने, राप्ती नगरपालिका नेकपा एसलाई दिइएको छ ।

    बाँकी रहेका इच्छाकामना गाउँपालिकासहित कालिका, रत्ननगर र खैरहनी कांग्रेसले पाएको छ ।

    यहाँ अघिल्लो पटक इच्छानगरमा मात्रै कांग्रेसले जित्दा राप्ती, कालिका, रत्ननगर र खैरहनीमा एमालेले जितेको थियो ।

    मकवानपुर: १० स्थानीय तह रहेको बागमती प्रदेशको राजधानी रहेको जिल्ला मकवानपुरमा पनि सत्तारूढ तीनदलबीचमा पूर्ण तालमेल भएको छ । भागबण्डाअनुसार हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिका नेकपा एसलाई दिइएको छ भने, वागमती, भीमफेदी गाउँपालिका र थाहा नगरपालिका माओवादी केन्द्रलाई दिइएको छ ।

    बाँकी ५ वटा तहहरू कांग्रेसलाई दिइएको छ । जसमा मकवानपुरगढी, मनहरि, राक्सिराङ, कैलास र बकैया गाउँपालिका कांग्रेसको हिस्सा लागेको छ ।

    २०७४ को निर्वाचनमा इन्द्रसरोवर, कैलाश, फिमफेदी, मकवानपुरगढी, मनहरी, हेटौंडामा एमालेले जितेको थियो भने, माओवादी केन्द्रले कांग्रेसको सहयोगमा थाहा नगरपालिका र बागमती गाउँपालिका जितेका थिए ।

    यस्तै बकैया, रक्सिराङ गाउँपालिका कांग्रेसले जितेको थियो ।

    काभ्रेपलाञ्चोक: १३ स्थानीय तह रहेको काभ्रेपलाञ्चोकमा पनि सबै स्थानीय तहमा सत्तारूढ गठबन्धन दलकाबीचमा तालमेल भएको छ ।

    जसअनुसार कांग्रेसले बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध नगरपालिका तथा तेमाल, बेथानचोक, रोशी गाउँपालिकासहित ७ पालिका पाएको छ भने, माओवादी केन्द्रले खानीखोला, चौरदेउराली, भुम्लु र महाभारत गाउँपालिकागरी ४ वटा पाएको छ । धुलिखेल र मण्डनदेउपुर नगरपालिका नेकपा एसले पाएको छ ।

    यसअघि २०७४ को निर्वाचनमा महाभारत र चौरीपोखरी गाउँपालिका माओवादी केन्द्रले जित्दा, एमालेले धुलिखेल, बनेपा, पनौती, मण्डनदेउपुर, नमोवुद्ध नगरपालिका र भुम्लु तथा खानीखोला गाउँपालिकासहित ६ स्थानीय तह जितेको थियो । कांग्रेसले पाँचखाल नगरपालिकासहित तेमाल, बेथानचोक र रोशी गाउँपालिका जितेको थियो ।

    दोलखा: सत्तारूढ गठबन्धनका तीनदलले दोलखाका ९ वटै स्थानीय तहमा तालमेलका लागि आधिकारिक निर्णय गरेका थिए । तर जिल्लाको वैत्तेश्वर र शैलुङ गाउँपालिकामा भने त्यो निर्णय भाँडिएको छ । त्यहाँ माओवादी केन्द्र र नेकपा एसले छुट्टै लड्ने निर्णय गरेपछि कांग्रेस एक्लै लड्ने भएको छ ।

    शैलुङमा पनि नेकपा एसले उम्मेदवारी दिएको छ ।

    बाँकी ७ वटामा भने तालमेलअनुसार नै मनोनयन दर्ता भएको छ । जसमा तालमेलअनुसार जिरी नगरपालिका, कालिञ्चोक र भीमेश्वरको नेतृत्व कांग्रेसले पाएको छ भने, नेकपा एसले तामाकोसी र मेलुङमा नेतृत्व पाएको छ । यस्तै माओवादी केन्द्रले विगु, शैलुङ र गौरिशंकर पाएको छ ।

    अघिल्लो निर्वाचनमा एमालेले कालिञ्चोक, गौरिशंकर, जिरी, तामाकोसी, भीमेश्वर, मेलुङ र शैलुङमा जितेको थियो भने, माओवादी केन्द्रसँगको तालमेलमा वैत्तेश्वर र बिगु गाउँपालिकामा कांग्रेस जितेको थियो ।

    सिन्धुली: सिन्धुलीका नौ वटै स्थानीय तहमा सत्तारूढ गठबन्धनका दुईवटा दल कांग्रेसले ५ र माओवादी केन्द्रले ४ स्थानीय तह भागबण्डा गरेर तालमेल गरेका छन् । जसअनुसार कांग्रेसले कमलामाई नगरपालिकासहित गोलन्जोर, घ्याङलेख, तीनपाटन र फिक्कल गाउँपाकिलाको नेतृत्व लिएको छ भने, माओवादी केन्द्रले दुधौली नगरपालिकासहित हरिहरपुरगढी, सुनकोशी र मरिण गाउँपालिकाको नेतृत्व लिएको छ ।

    अघिल्लो निर्वाचनमा कमलामाई र दुधौली नगरपालिका सहित फिक्कल गाउँपालिका एमालेले जित्दा गोलन्जोर, घ्याङलेख र तीनपाटन कांग्रेसले जितेको थियो भने मरिण, सुनकोशी र हरिहरपुरगढी गाउँपालिका माओवादी केन्द्रले जितेको थियो ।

    सिन्धुपाल्चोक: १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा दुई स्थानीय तहमा सत्तारूढ गठबन्धनका तीनवटै दल तथा तीनमा माओवादी केन्द्र र नेकपा एसबीचमा तालमेल भएको छ ।

    जुगल र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र नेकपा एसबाट साझा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । दुबै पालिकामा माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष लिएका छन् ।

    भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिकामा र इन्द्रावती गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले छुट्टाछुट्टै मनोनयन दर्ता गरेका छन् ।

    बाँकी रहेको चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, र हेलम्बु गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एसले तालमेल गरेका छन् । यसमा चौतारा साँगाचोकगढी र हेलम्बुमा माओवादीले नेतृत्व लिदाँ मेलम्चीमा नेकपा एसले नेतृत्व लिएको छ । यहाँ कांग्रेसले एक्लै उम्मेदवारी दिएको छ ।

    अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोसी गापा जितेको थियो भने, एमालेले बाह्रबिसे, मेलम्ची, पाँचपोखरी, जुगल, लिसंखुपाखर, त्रिपुरासुन्दरी र बलेफीमा जितेको थियो । कांग्रेसले सुनकोसी, इन्द्रावती र हेलम्बुमा जितेको थियो ।

    काठमाडौं: ११ स्थानीय तह रहेको काठमाडौं महानगरपालिकामा महानगरमा केन्द्रबाटै सत्तारूढ पाँचदलीय गठबन्धन भएको छ । त्यसबाहेकका काठमाडौंका १० स्थानीय तहमा माओवादी केन्द्र र नेकपा एसले मात्रै तालमेल गरेका छन् । कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ ।

    नेकपा एस र माओवादीबीच पनि सबैमा तालमेल भएको छैन । नेकपा एसले नागार्जुन र दक्षिणकालीबाहेक अन्यमा मेयरको उम्मेदवारी दिएको छ ।

    अघिल्लो निर्वाचनमा काठमाडौं महानगरपालिकासहित शंखरापुर, कागेश्वरी मनहरा, बुढानिकण्ठ, टोखा, तारकेश्वर र किर्तिपुर नगरपालिकामा एमालेले जितेको थियो भने गोकर्णेश्वर, नागार्जुन, चन्द्रागिरी र दक्षिणकाली नगरपालिका कांग्रेसले जितेको थियो ।

    नुवाकोट: नुवाकोटमा अघिल्लो पटक एमालेले जितेका ४ स्थानीय तहमध्ये ३ तहमा सत्तारूढ गठबन्धन दलकाबीचमा तालमेल भएको छ । बाँकी तहमा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमती भएको छ ।

    अघिल्लो पटक यहाँका १२ स्थानीय तहमध्ये एमालेले ककनी, तारकेश्वर र बेलकोटगढी गाउँपालिका र विदुर नगरपालिका जितेको थियो । त्यसमध्ये ककनीबाहेकका स्थानीय तहमा तालमेल भएको छ ।

    अघिल्लो निर्वाचनमा कांग्रेसले नुवाकोटका किस्पाङ, तादी, दुप्चेश्वर, मेघाङ, लिखु, शिवपुरी र सुर्यगढीगरी ७ स्थानीय तह जितेको थियो भने माओवादी केन्द्रले पञ्चकन्या गाउँपालिकामा जितेको थियो । किस्पाङमा कांग्रेसविरुद्ध माओवादी–एमालेको तालमेल हुने चर्चा पनि चलेको छ ।

    ललितपुर: ललितपुरका ६ वटै स्थानीय तहमा सत्तारूढ गठबन्धन दलहरूले तालमेल गरेका छन् । ललितपुर महानगरका हकमा केन्द्रबाटै तालमेल भएर कांग्रेसले नेतृत्व पाएको छ, भने अन्य ५ स्थानीय तहमध्ये ३ मा कांग्रेसले प्रमुख र २ मा माओवादीले प्रमुख पाउने भएको छ ।

    जसअनुसार कांग्रेसले गोदावरी नगरपालिका, बागमती गाउँपालिका र महांकाल गाउँपालिका पाएको छ, भने माओवादीले महालक्ष्मी नगरपालिका र कोञ्ज्योस्योम गाउँपालिकामा अध्यक्ष पाएको छ ।

    अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसले महानगर सहित बागमती र गोदावरी जितेको थियो । माओवादी केन्द्रले कोञ्ज्योस्योम गाउँपालिका जित्दा एमालेले महालक्ष्मी र महांकाल जितेको थियो ।

    भक्तपुर: अघिल्लो पटक ४ वटा स्थानीय तह रहेको भक्तपुरमा कांग्रेस र माओवादी केन्द्र नील भएका थिए । यसपटक सत्तारूढ गठबन्धन दलले भक्तपुरका तीनवटा स्थानीय तहमा तालमेल गरेका छन् ।

    जसअनुसार भक्तपुर, सुर्यविनायक र मध्यपुर ठिमीको मेयर कांग्रेसलाई नै दिइएको छ, भने उपमेयरमध्ये भक्तपुर र सुर्यविनायकमा नेकपा एस र मध्यपुर ठिमी माओवादी केन्द्रले लिएका छन् । चाँगुनारायणको मेयरमा सबै दलहरूले मनोनयन दिएका छन् ।

    अघिल्लो निर्वाचनमा भक्तपुर नगरपालिकाको सबै पदहरू नारायणमान विजुक्छेको पार्टी नेपाल मजदुर किसान पार्टीले क्लिनस्वीप गरेको छ । बाँकी तीनवटामा चाँगुनारायण, सुर्यविनायक, र मध्यपुर ठिमी एमालेले जितेको थियो ।

    रसुवा: पाँचवटा स्थानीय तह भएको रसुवामा भने कुनैपनि स्थानीय तहमा तालमेल भएको छैन् । नेकपा एस शुन्यप्रायः रहेको यो जिल्लामा माओवादी केन्द्र र कांग्रेसले एक्लाएक्लै मनोनयन दिएका छ् ।

    अघिल्लो निर्वाचनमा उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकामा कांग्रेसले जितेको थियो, भने कालिका र गोसाईँकुण्ड गाउँपाँलिकामा एमाले जितेको थियो । नौकुण्ड गाउँपालिकामा नयाँशक्तिले जितेको थियो । पाँचवटै स्थानीय तहको उपाध्यक्ष भने एमालेका उम्मेदवारहरू जितेका थिए । कालिका गाउँपालिकामा नेकपा एस र माओवादीले तालमेल गरेका छन् ।

    रामेछाप: आठवटा स्थानीय तह रहेको रामेछापमा कांग्रेसलाई बाहिर राखेर नेकपा एस र माओवादी केन्द्रले तालमेल गरेका छन् । सहमति अनुसार नेकपा एसले खाँडादेवी, लिखु तामाकोशी र गोकुलगंगाको अध्यक्ष पाएको छ भने दोरम्बा, सुनापति र उमाकुण्ड गाउँपालिका सहित मन्थली र रामेछाप नगरपालिकाको नेतृत्व माओवादी केन्द्रले लिएको छ ।

    २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले रामेछाप नगरपालिकामात्रै जित्दा माओवादी केन्द्रले सुनापती र दोरम्बासैलुङ गाउँपालिका जितेको थियो । बाँकी पाँचवटा मन्थली नगरपालिका, उमाकुण्ड, गोकुलगंगा, लिखुतामाकोसी र खाँडादेवी गाउँपालिका एमालेले जितेको थियो ।

    गठबन्धन दल उत्साही

    यसरी बहुसंख्यक स्थानमा तालमेल सम्भव भएपछि सत्तारूढ दलहरू हौसिएका छन् । जसले धेरैभन्दा धेरै ठाउँमा एमालेलाई हराउन सकिने दलहरूको आँकलन छ । अघिल्लो निर्वाचनमा एमालेले एक्लै ६४ स्थानीय तहको नेतृत्व जितेको थियो ।

    एमालेबाट फुटेको पार्टी नेकपा एस गठबन्धन दलहरूसँग मिसिएको छ । यस्तो अवस्थामा पूर्ण रूपमा नै गठबन्धन सम्भव भएको भए एमालेले अघिल्लो निर्वाचनमा पाएकोभन्दा ५ प्रतिशत मात्रै मत काटिएको अवस्थामा ६४ बाट २४ सिटमा झर्ने आफूहरूको अनुमान रहेको कांग्रेस बागमती प्रदेश कार्यालयका कार्यालय सचिव राजु नेपाल बताउँछन् ।

    ‘यो अवस्थामा गठबन्धन पूर्ण रूपमा कार्यान्वयन भएको भए पाँच प्रतिशत मतमात्रै काट्दा २४ मा झथ्र्यो । १० प्रतिशत काट्दा १२-१३ मा,’ उनले भने,‘यद्यपी केही जिल्लामा सम्भव भएन् । तर जतिमा भयो त्यसले उत्साहित त बनाएको छ नै ।’

    उम्मेदवारी फिर्ता लिने समयसम्म अरु ठाउँमा पनि मिलाउने अवस्था रहेको काठमाडौं नेकपा एसका अध्यक्ष कुसुम कार्कीले बताए ।

  • भरतपुरमा विजय सुवेदीको अभियान शुरु, मेघौली पुगेर गरे यस्तो प्रतिबद्धता

    भरतपुरमा विजय सुवेदीको अभियान शुरु, मेघौली पुगेर गरे यस्तो प्रतिबद्धता

    वैशाख । नेकपा एमालेको तर्फबाट भतरपुर महानगरको उम्मेदवार बनेका विजय सुवेदीले चितवनको मेघौलीलाई प्राकृतिक सौन्दर्यसहितको नयाँ पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

    घरदैलो र चुनावी सभाका क्रममा उम्मेदवार सुवेदीले पर्यटकीय केन्द्रको सम्भावना बोकेर पनि आवश्यक पूर्वाधार नहुँदा मेघौली पछाडि परेको बताए ।

    उनले घरदैलो अभियानको सुरुवात गर्दै महानगरका २७ र २८ नम्बरका मतदातासँग भेटघाट गरे ।

    नारायणी र राप्ती नदीको तटबन्ध गरी आवास, सडक, हरियाली किनार, जलक्रिडा र अन्य यातायातको विकास गर्ने पनि सुवेदीले बताए ।

    बीसहजारी ताल र सीतामाइदेखि मेघौली गोलाघाटसम्मको राप्ती करिडोरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने आफ्नो योजना रहेको पनि घरदैलोको क्रममा उनले बताए ।

    स्वच्छ, सुन्दर र समृद्ध भरतपुर निर्माणका लागि महानगरबासीकै साथ र सहयोगमा कार्यथालनी गरिने पनि उनले बताए ।

    मेघौली विमानस्थलको स्तरोन्नती गरी यसको सञ्चालन गर्न सकिए यस क्षेत्रका जनताको आर्थिकस्तर समेत वृद्धि हुने हुँदा यस कामका लागि आफू प्रतिबद्ध रहेको सुवेदीले बताए ।

    बागमती प्रदेश सभाका सदस्य रहेका सुवेदीलाई एमालेले भरतपुरको मेयरमा उम्मेदवारमा सिफारिस गरेसँगै उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए ।

    एमालेले भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेकाले घरदैलोमा राप्रपाका तर्फबाट उपमेयरकी उम्मेदवार हिमला गुरुङको पनि सहभागिता थियो । एमालेले राप्रपालाई उपमेयरसहित दुई वटा वडामा सहयोग गर्ने भएको छ ।

    बाँकी २७ वटा वडामा एमालेले आफ्ना उम्मेदवार उठाएको छ । भरतपुरको २७ नम्बर वडामा ६०३८ र २८ नम्बर वडामा ४८२१ मतदाता छन् । महानगरमा भने एक लाख ८५ हजार ७५२ मतदाता छन् ।

  • आमाछोदिङमोको अध्यक्षमा एमालेका फुर्पु तामाङको उम्मेदवारी कायम, रद्द गरिएको सूचना बदर

    आमाछोदिङमोको अध्यक्षमा एमालेका फुर्पु तामाङको उम्मेदवारी कायम, रद्द गरिएको सूचना बदर

    रसुवा । निर्वाचन आयोगको पत्रपछि रसुवाको आमाछोदिङमो गाउँपालिकाको निर्वाचन अधिकृत कार्यालयले एमालेको अध्यक्ष उम्मेदवार कायमै राखेर यसअघिको सूचना सच्याएको छ ।

    मंगलवार साँझ निर्वाचन मितिले आयोगको सोही पत्र बमोजिम मनोनयन पत्र दर्ता भएको उम्मेदवारहरूको संशोधित नामावली प्रकाशन गर्दा एमालेबाट उम्मेदवारी दिएका फुर्पु सिंगी तामाङको नाम कायम गरेको हो ।

    सोमवार उम्मेदवारी दर्ता गराएका तेम्ब्रेल तामाङ तत्कालीन नयाँ शक्ति पार्टीबाट समानुपातिक सूचीमा रहेको पाइएपछि तत्कालै फुर्पुको उम्मेदवारी एमालेले कायम गरेको थियो ।

    तर निर्वाचन अधिकृत शान्ति प्रसाद लुइँटेलले यसअघि नै एमालेको नामबाट राजश्व भौचर काटिएको भन्दै दुवै उम्मेदवारी रद्द भएको सूचना प्रकाशित गरेका थिए । त्यसका विरुद्ध एमालेले उजुरी दिएको थियो ।

    आयोगले उजुरी जाँचबुझ गरी निर्णय गर्नुपर्ने समयभित्र जाँचबुझ गरेपछि मात्र मनोनयन पत्र स्वीकृत एवम् खारेजी सम्बन्धी निर्णय लिनुपर्ने भन्दै पत्र पठाएको थियो ।

  • देउवाको गृहजिल्लामै अलग समूह बनाएर एमालेसँग तालमेल गरेपछि कांग्रेस नेता मल्ल निष्कासित

    देउवाको गृहजिल्लामै अलग समूह बनाएर एमालेसँग तालमेल गरेपछि कांग्रेस नेता मल्ल निष्कासित

    काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति एवं प्रदेश सदस्य कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित भएका छन् ।

    पार्टीको विधान विपरित गतिविधि गरेको भन्दै उनलाई कांग्रेसले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाइएको हो ।

    कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ (संशोधन सहित) विपरितका गतिविधि मल्लबाट भएकाले सदस्यसमेत नरहनेगरी हटाइएको बताए ।

    स्थानीय तह निर्वाचनमा उनले पार्टीको केन्द्रीय निर्देशनविपरित जिल्लामा नेकपा एमालेसँग गठबन्धन गरेर उम्मेदवार तय गरेका थिए ।

    डडेल्धुरा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । पार्टी सभापतिकै गृहजिल्लामा मल्लले कांग्रेस विरुद्ध बागी उम्मेदवार उठाएर एमालेसँग चुनावी तालमेल गरेका हुन् ।

  • सिरहाको लहान नगरपालिकामा प्रहरी र नेकपा एसका कार्यकर्ताबीच झडप

    सिरहाको लहान नगरपालिकामा प्रहरी र नेकपा एसका कार्यकर्ताबीच झडप

    जनकपुरधाम । सिरहाको लहान नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एकिकृत समाजवादीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

    उम्मेदवारी दर्ता गराएपनि निस्सा नदिएको भन्दै एकिकृत समाजवादीका कार्यकर्ताहरु ढुंगामुढा गरेपछि प्रहरीसँग सामान्य झडप भएको हो । सो क्रममा एकिकृत समाजवादीका कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड गरेका छन् ।

    ‘समयमै उम्मेदवारी दर्ता गराएका थियौं’, एकिकृत समाजवादीका नेता सत्यनारायण यादवले भने, ‘तर मुनी साहले नगरपालिकामा भर्ना गरेका कर्मचारी निर्वाचन अधिकृतको कार्यालयमा राखेपछि उनीहरुले फायलहरु नै गायब गरे । डिएसपीलाई भनेर फाइल खोज्न लगाएपछि सिस्टम नै काम नगरेको भन्दै निर्वाचन अधिकृतले निस्सा दिन मानेका छैन् । सोही कारण आक्रोशित बनेका कार्यकर्ताहरु सामान्य तोडफोड गरेका छन् ।’

    मुनी साह लहानका निवर्तमान मेयर हुन् । गत निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित उनी पुनस् एमालेबाटै मेयरमा उम्मेदवारी दिएका छन् । मेयर हुंदा भर्ना गरेका कर्मचारी निर्वाचन अधिकृतको कार्यालयले राखेका कारण उनीहरु एकिकृत समाजवादीका उम्मेदवारहरुलाई उम्मेदवारी दर्तामा समस्यामा पारेको आरोप लागेको छ।

    निर्वाचन अधिकृत गोविन्द पोखरेलले राति अबेरसम्म उम्मेदवारी दर्ताको काम नसकेको र विहान सिस्टममा समस्या आएपछि केहि उम्मेदवार निस्सा नपाएको बताए । उनले भने, ‘अहिले श्रीमानले निस्सा दिन भन्नुभएको छ । उम्मेदवारी दर्ता गराएका उम्मेदवारले अब निस्सा पाउनुहुन्छ ।

    एकिकृत समाजवादीका ८ उम्मेदवारले उम्मेदवारी दर्ताको निस्सा नपाएको बुझिएको छ । झडपपछि अहिले निर्वाचन अधिकृतले कार्यालयमा सुरक्षा कडा पारिएको छ ।

     

  • २ अर्ब बेरुजु फर्छ्यौट नगरेको भन्दै चिरिबाबुविरुद्ध दाबी विरोध, वडाध्यक्ष र सदस्यविरुद्ध पनि उजुरी

    २ अर्ब बेरुजु फर्छ्यौट नगरेको भन्दै चिरिबाबुविरुद्ध दाबी विरोध, वडाध्यक्ष र सदस्यविरुद्ध पनि उजुरी

    काठमाडौं । ललितपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार रहेका चिरिबाबु महर्जनविरुद्ध निर्वाचन अधिकृत समक्ष विरोधको उजुरी परेको छ ।

    ललितपुर वडा नम्बर १८ का गोपाल डंगोलले हालका मेयर महर्जनले आफ्नो कार्यकालको २ अर्ब १५ करोडभन्दा बढी बेरुजु फर्छ्यौट नगरेको भन्दै दाबी विरोध गरेका हुन् ।

    महर्जनको कार्यकालमा महानगरपालिकाको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको भन्दै उनको उम्मेदवारी रद्द हुनुपर्ने माग डंगोलले गरेका छन् । उनले संस्थागत र व्यक्तिगत बेरुजुको प्रमाण समेत पेस गरेको जनाएका छन् ।

    त्यस्तै महानगरपालिकाकै वडा नम्बर ५ को वडाध्यक्ष पदमा उम्मेदवार बनेका कांग्रेसका सञ्जीव पाण्डे राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी भई सरकारी सेवा सुविधामा हालसम्म एन्फा सातदोबाटोमा कार्यरत रहेको दाबी गर्दै उजुरी परेको छ ।

    अर्को उजुरीमा ललितपुरकै हरिशरण तामाङले मतदाता नामावलीमा नामै नभएकी सिर्जना भुजेलको वडा नम्बर ९ बाट सदस्य उम्मेदवारी परेको भन्दै रद्द गर्न माग गरेका छन् ।

    निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा बेरुजु रहेका व्यक्तिले उम्मेदवार बन्न नपाउने उल्लेख गरेको छ । यद्यपि महर्जनले भने महानगरपालिकाको संस्थागत बेरुजु भए पनि आफ्नो व्यक्तिगत बेरुजु नरहेको बताएका छन् ।

  • विराटनगर महानगर : एमाले उपमेयरका उम्मेदवार कार्कीविरुद्ध उजुरी

    विराटनगर महानगर : एमाले उपमेयरका उम्मेदवार कार्कीविरुद्ध उजुरी

    विराटनगर । नेकपा एमालेको तर्फबाट विराटनगर महानगर उपमेयरमा उम्मेदवारी दिएकी शिल्पा कार्की विरुद्ध मुख्य उजुरी परेको छ ।

    मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जनता समाजवादी पार्टीका उपमेयर उम्मेदवार अरमेन्द्र यादवले उजुरी दिएका हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले कार्कीविरुद्ध उजुरी परेको पुष्टि गरेको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको बताए ।

    उनले कार्की विराटनगरस्थित कोशी अस्पतालको सञ्चालक समितिको सदस्य कायम रहँदा रहँदै महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • आरजुलाई साक्षी राखेर सिर्जनाले भनिन्- महिलाले घर चलाए झैं महानगर चलाएर देखाउँछु (भिडिओ)

    आरजुलाई साक्षी राखेर सिर्जनाले भनिन्- महिलाले घर चलाए झैं महानगर चलाएर देखाउँछु (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताएकी छन् ।

    मंगलबार आफ्नै निवास चाक्सीबारीमा आयोजित कार्यक्रममा सिंहले पार्टीले सार्वजनिक गरेको घोषणापत्र र आफूले सारेका योजनालाई पूरा गर्ने प्रतिबद्धता जनाए ।

    ‘राजधानी काठमाडौंलाई सवैको साझा र सुरक्षित सहर बनाउँछु । महिलाले राम्रोसँग घर चलाए झैं काठमाडौं महानगरलाई सफासुग्घर तबरले चलाएर देखाउँछु ।’

    कार्यक्रममा कांग्रेस नेतृ एवं प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने भन्दै सिर्जना सिंहलाई जिताउन आह्वान गरिन् । मुलुकको परिवर्तनमा महिलाहरूले धेरै योगदान गरेको भन्दै अब पदमा रहेर देशका सेवा गर्ने समय आएको आरजुको भनाइ छ ।

    काठमाडौंकी उपमेयर हरिप्रभा खड्गीले पाँच वर्षमा महानगरमा भएको विकासलाई निरन्तरता दिन सिर्जना सिंहलाई विजयी गराउनुपर्नेमा जोड दिइन् । काठमाडौंलाई सांस्कृतिक सहरको रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

  • टिकट बाँड्ने कांग्रेस बैठकमा ‘माइन्यूट च्यात्नेदेखि हात हालहाल’ सम्म

    टिकट बाँड्ने कांग्रेस बैठकमा ‘माइन्यूट च्यात्नेदेखि हात हालहाल’ सम्म

    काठमाडौं । नेपाली कांग्रेसको वागमती प्रदेश अन्तर्गतका नगरपालिकाहरुमा उम्मेदवार चयनमा तीव्र विवाद हुँदा संस्थापन पक्षकै केन्द्रीय सदस्यदेखि क्षेत्रीय सभापतिसम्मले पार्टी छाड्ने चेतावनी दिएका छन् ।

    वागमती प्रदेश संसदीय समितिको बैठकमा टिकट वितरणको लागि भइरहेको बैठकमा अपमान गरिएको भन्दै सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य अम्बिका बस्नेतले नै ‘पार्टी छाड्ने’ चेतावनी दिएकी छिन् ।

    उनले निकटस्थहरुसँग केन्द्रीय सदस्यबाटै राजीनामा दिने बताएकी छिन् । राजीनामाबारे जानकारी लिन मंगलबार दिउँसो टेलिफोन गर्दा उनको मोबाइल स्वीच अफ गरिएको थियो ।

    प्रसंग वागमती प्रदेश संसदीय समितिको बैठकको हो । जहाँ टिकट वितरणमा विवाद बढ्दा माइन्यूट च्यात्नेदेखि झण्डै ‘हात हालहाल’ सम्मको स्थिति रहेको थियो । वागमती प्रदेशका कांग्रेस सभापति ईन्द्र बानियाँले केन्द्रीय सदस्य अम्बिका बस्नेतलाई बैठकबाट बाहिरिन निर्देशन दिएपछि स्थिति झनै तनावपूर्ण रह्यो ।

    खुमलटारको ट्रिनिटी होटलमा भएको बैठकमा गोकर्णेश्वर नगरपालिकाको मेयरको उम्मेदवार छनोटको विषय पेचिलो बन्यो । नागार्जुन, चन्द्रागिरी, दक्षिणकाली लगायतका नगरपालिकामा वर्तमान मेयरलाई नै दोहोर्‍याइएपनि गोकर्णेश्वरमा मेयर सन्तोष चालिसेलाई दोहोर्‍याउन बानियाँ तयार भएनन् ।

    गोकर्णेश्वर नगर समितिले चालिसे र क्षेत्र नम्बर ३ को प्रदेशसभा ख का सभापति विमल ठकुरीको नाम मेयरमा सिफारिस गरेको थिएन । अन्यत्र सिफारिसै नभएकालाई उम्मेदवार बनाइएपनि गोकर्णेश्वरमा चालिसे र ठकुरी दुवैलाई टिकट दिइएन । बैठकमा केन्द्रीय सदस्य बस्नेतले एकपक्षीय ढंगले निर्णय नगर्न र सबैलाई समेटेर लैजानुपर्नेमा जोड दिएकी थिइन् ।

    ‘सबै मेयर दोहोरिन हुने सन्तोष चालिसे दोहोरिन किन नहुने ?’, बस्नेतको प्रश्न थियो । बस्नेतको धारणालाई प्रदेश सभापति बानियाँले हल्का ढंगले लिए । ‘केन्द्रीय सदस्यज्यू हजुरले राय दिनुभयो अब बाहिर जानुस्’, बानियाँको जवाफ थियो । बानियाँले अपमान गरेपछि बस्नेत बैठकबाट बाहिरिइन् ।

    ‘पार्टीको विधान र भावनालाई कुल्चेर दादागिरी देखाउने काम भएको छ । यस्तो अन्याय सहनुभन्दा यो पार्टीमा नरहनु नै वेश हुन्छ’, यत्ति भनेर बस्नेत बाहिरिन् । विवादको क्रम यत्तिमै रोकिएन । बुढानिलकण्ठ नगरपालिकाको टिकट वितरणमा पनि उत्तिकै झमेला पर्यो । प्रदेश सभापति बानियाँले केन्द्रीय सभापतिको क्षेत्र भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘बुढानिलकण्ठमा कसलाई गर्ने ?’ भनी सोधेका थिए ।

    जवाफमा देउवाले महामन्त्री गगन थापालाई सोधेर निर्णय लिन निर्देशन दिए । प्रदेश महामन्त्री रहेका राजु श्रेष्ठले बुढानिलकण्ठमा आफ्नो पनि चासो रहेको बताए । बानियाँले राजुको भनाईलाई पनि वास्ता गरेनन् । बैठकका दौरान धेरै विषयमा बानियाँ र श्रेष्ठबीच भनाभन परिरह्यो ।

    बानियाँले एकलौटी निर्णय गरको भन्दै महामन्त्री श्रेष्ठले माइन्यूट नै च्याते । बानियाँले कारवाहीको चेतावनी दिदाँ श्रेष्ठले उल्टै कारवाही गरेर देखाउन चेतावनी दिए । बानियाँ र श्रेष्ठबीच ‘भनाभन’ सँगै झण्डै हात हालाहालसम्मको स्थिति रहेको बैठकमा सहभागि एक नेताले बताए ।

    वागमती कांग्रेसको प्रदेश समिति बैठकमा लगातारजसो गरमागर्मी भई नै रह्यो । असन्तुष्ट पक्षले सभापति बानियाँले एकलौटी गरेको आरोप लगाएका छन् भने सभापति पक्षका नेताहरु संसदीय समितिले गरेको निर्णयमा हेरफेर नहुने बताउँछन् ।

    वागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये ७४ स्थानीय तहमा मात्रै गठबन्धन कायम रहेको छ । ४५ तहमा गठबन्धन भत्कनुका पछाडि वागमती प्रदेश कांग्रेसभित्रको विवाद पनि मुख्य कारण रहेको बताइन्छ ।

  • लुम्बिनी प्रदेशसभामा माओवादी सांसदले दिएको राजीनामा गुपचप

    लुम्बिनी प्रदेशसभामा माओवादी सांसदले दिएको राजीनामा गुपचप

    बुटवल । नेकपा माओवादी केन्द्रका प्रदेश सांसदले दिएको राजीनामा लुम्बिनी प्रदेशसभा सचिवालयले गुपचुप राखेको पाइएको छ । माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित दिपेश थारूले चार दिनअघि दिएको राजीनामा प्रदेशसभा सचिवालयले गुपचुप राखेको हो ।

    उनी बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (ग) को प्रयोजनको लागि भन्दै राजीनामा दिएका हुन् । थारु बर्दिया राजापुर नगरपालिकामा मेयरको उम्मेदवार बनेका छन् ।

    यही ९ वैशाखमा थारूले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीलाई बुझाएका थिए । तर, उनको राजीनामा के कारणले गुपचुप राखिएको हो भन्नेबारे भने प्रदेशसभा सचिवालयले केही बताएको छैन ।

    प्रदेशसभा सचिवालयले सोमबारको मितिमा जारी गरेको सूचनामा नेपालको संविधानको धारा १८० (क) बमोजिम थारुले जितेको उक्त निर्वाचन क्षेत्र रिक्त भएको जनाएको छ ।

    प्रदेशसभाद्वारा जारी सूचनामा भनिएको छ, ‘प्रदेशसभाको बैठक चालु नरहेको अवस्थामा प्रदेशसभा नियमावली २०७४ को नियम १८५ को उपनियम २ बमोजिम जानकारीको लागि आदेशानुसार यो सूचनापत्र प्रकाशन गरिएको छ ।’

  • विप्लवको पार्टीबाट कहाँ-कहाँ पर्‍यो स्वतन्त्र उम्मेदवारी ? फिर्ता लिन असन्तुष्ट समूहको चेतावनी

    विप्लवको पार्टीबाट कहाँ-कहाँ पर्‍यो स्वतन्त्र उम्मेदवारी ? फिर्ता लिन असन्तुष्ट समूहको चेतावनी

    काठमाडौं । पार्टी निर्णयविपरीत विप्लव नेतृत्वको नेकपाका नेता-कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा सहभागी हुन स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका केन्द्रीय सदस्य, जिल्ला इञ्जार्ज, सेक्रेटरी तथा ब्यूरो सदस्यले उम्मेदवारी नदिने पार्टी नीतिसमेत उल्लंघ गर्दै नेताहरू चुनावी मैदानमा खडा भएका हुन् ।

    केन्द्रीय सदस्यहरू चुडामणी वली, भेषराज भुसाल, एटम बीसी र धीरेन्द्राकुमारी उपाध्यायले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । यस्तै, जिल्ला सेक्रेटरी मनिलाल ऐडी, पूर्वजिल्ला सेक्रेटरी भुवन जीसी, पूर्वजिल्ला इन्चार्ज एवम् विशेष समिति सदस्य योगेन्द्र कुमाल, सेती-महाकाली ब्यूरो सदस्य गौरा धामीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

    पार्टी प्रवक्ता प्रकाण्डको गृहजिल्ला कालीकोटका नौवटै स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवारी परेको छ । प्रकाण्डकै निर्देशनमा ‘स्वतन्त्र’ हैसियतमा उम्मेदवारी दर्ता गरिएको हो । चारवटा स्थानीय तहमा आइतबार उम्मेदवारी दर्ता गरेका विप्लव-प्रकाण्ड समूहका नेताले सोमबार थप चारवटा स्थानीय तहका सबैजसो पदमा उम्मेदवारी दिएका हुन् ।

    कालीकोटको नरहरीनाथ गाउँपालिका अध्यक्षमा केन्द्रीय सदस्य एटम बीसी र उपाध्यक्षमा कलशा विक, रास्कोट नगरपालिकाको प्रमुखमा केन्द्रीय सदस्य धीरेन्द्राकुमारी उपाध्याय र उपप्रमुखमा फूलटौरा विक, पचालझरना गाउँपालिकाको अध्यक्षमा पार्टीको जिल्ला सेक्रेटरी मनिलाल ऐडी र उपाध्यक्षमा विनीत तिरुवाले उम्मेदवारी दिएका छन् । सान्नीत्रिवेणीको अध्यक्षमा नेकपाकै रूपसिंह बोहरा र व्यासी कामी गरी दुईजनाको उम्मेदवारी परेको छ ।

    त्यसैगरी, कालीकोटकै खाडाचक्रको प्रमुखमा हस्त विक र उपप्रमुखमा शारदा शाही, तिलागुफा नगरपालिकाको प्रमुखमा नरेन्द्र चदारा, उपप्रमुखमा धनराज शाही, महाबैको अध्यक्षमा धनबहादुर सिंह, पलाताको अध्यक्षमा पदमबहादुर विश्वकर्मा, शुभकालिकाको अध्यक्षमा मनिष विकलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

    रोल्पाका ६ स्थानीय तहको अध्यक्षमा नेकपाको विप्लव-प्रकाण्ड पक्षबाट उम्मेदवारी दर्ता भएको छ । पार्टीका नेता चुडामणी वलीले जिल्लाको गंगादेव गाउँपालिकामा उम्मेदवारी दिएका छन् । यस्तै, थबाङमा अमित घर्तीमगर, सुनील स्मृतिमा कमल थापा, परिवर्तनमा लालबहादुर डाँगी, लुंग्रीमा भुपेन्द्र खड्का र सुनछहरीमा पुष्टमान घर्तीमगरले उम्मेदवारी दर्ता गराएका छन् । वली पार्टीको केन्द्रीय सदस्य हुन् भन् अरु सबै उम्मेदवार जिल्ला सदस्य हुन् ।

    कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले उम्मेदवारी दर्ता गराएका छन् । शिवराज नगरपालिका -९ को वडाध्यक्षमा मालबहादुर घर्तीमगरले उम्मेदवारी दिएका छन् वडा सदस्यमा सुमित्राकुमारी घर्तीमगरको उम्मेदवारी परेको छ । वाणगंगा नगरपालिका ५ को वडा सदस्यमा ज्ञानेन्द्र पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपाले अध्यक्ष, उपाध्यक्ष, दुई वडा अध्यक्ष र एक वडा सदस्यमा उम्मेदवारी दर्ता गराएको छ। अध्यक्षमा मैतबहादुर नेपाली र उपाध्यक्षमा तारा बस्नेतले उम्मेदवारी दिएका छन् । धुर्कोट-३ को वडाध्यक्षमा बाबुलाल नेपाली, धुर्कोट- ६ को वडाध्यक्षमा चन्द्रबहादुर पाण्डे र धुर्कोट-४ को वडा सदस्यमा लक्ष्मी पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

    पाल्पाको तिनाउ गाउँपालिकामा पूर्व जिल्ला सेक्रेटरी भुवन जीसीले अध्यक्षमा ‘स्वतन्त्र’ उम्मेदवारी दर्ता गराएका छन् । यस्तै तिनाउ-२ मा टोपबहादुर विक, ३ मा निरबहादुर विक, ४ मा मानबहादुर दर्लामीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

    गोरखाको गोरखा नगरपालिकाको प्रमुखमा विप्लव-प्रकाण्ड पक्षका योगेन्द्र कुमालले मनोनयन दर्ता गराएका छन् । उक्त पक्षको पूर्व जिल्ला इन्चार्ज कुमाल हाल विशेष समिति सदस्य छन् । उक्त पक्षकै सेती-महाकाली ब्यूरो सदस्य गौरा धामीले डडेल्धुराको परशुराम नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी छन् । उनी पार्टीको केन्द्रीय सदस्य ओमप्रकाश पुनकी श्रीमती पनि हुन् ।

    सर्लाहीको वागमती नगरपालिका प्रमुखमा धनकुमारी खड्काले उम्मेदवार बनेकी छन् । उनी प्रहरीको ‘इन्काउन्टर’ मा मारिएका कुमार पौडेलकी श्रीमती हुन् ।

    विप्लव नेतृत्वको नेकपाले सल्यानका तीन स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा लोक्पाल केसी र उपाध्यक्षमा हिरा बुढाले उम्मेदवारी दिएका छन् । ४ वटा वडामा अध्यक्षसहित सदस्यमा पनि नेकपाले स्वतन्त्र उम्मेदवार उठाएको छ । वडा नम्बर ३ को अध्यक्षमा टोपबहादुर केसी, वडा नम्बर २ को अध्यक्षमा टोपबहादुर डाँगी, वडा नम्बर ३ को अध्यक्षमा चुर्णबहादुर खड्का र वडा नम्बर ४ को अध्यक्षमा लोकबहादुर वली रहेका छन् ।

    यस्तै कुमाख गाउँपालिकामा अध्यक्षमा भीम भारती र उपाध्यक्षमा गणेश चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यहाँ विप्लव नेतृत्वको नेकपा र जनमोर्चाको गठबन्धन भएको छ । नेकपाले तीन वटा वडा र जनमोर्चाले एउटा वडामा उम्मेदवारी दिएका छन् । जसमा वडा नम्बर ३ को अध्यक्षमा गोपालनाथ योगी, वडा नम्बर ४ को अध्यक्षमा जयराम केसी, वडा नम्बर ७ को अध्यक्षमा जंगबहादुर चन्दले उम्मेदवारी दिएका छन् ।

    दार्मा गाउँपालिकामा अध्यक्षमा दलबहादुर केसी र उपाध्यक्षमा मदन चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दार्मामा ३ वटा वडामा नेकपाले अध्यक्षसहित सदस्यमा पनि उम्मेदवारी दिएको छ । जसमा वडा नम्बर १ को अध्यक्षमा सुरेश चन्द, वडा नम्बर ३ को अध्यक्षमा मोहनलाल केसी (मोहनपुरुष ) र वडा नम्बर ५ को अध्यक्षमा चित्रबहादुर खड्का रहेका छन् । जिल्लाका अन्य स्थानीय तहमा पनि नेकपा समर्थित स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

    त्रिवेणीको वडा नम्बर ३ को अध्यक्षमा प्रेमबहादुर बुढा, वडा नम्बर १ को अध्यक्षमा फूलकुमारी पुन, कालिमाटी वडा नम्बर ६ मा कृष्ण केसी, बागचौर वडा नम्बर ८ मा हेमन्ता बुढाथोकी, वडा नम्बर ९ मा टोपवहादुर वली, वडा नम्बर २ समिर भण्डारी र वडा नम्बर ३ को लालवहादुर सुनारले उम्मेदवारी दिएका छन् ।

    कारबाही गर्ने चेतावनी

    पार्टीका एक नेताले स्वतन्त्र हैसियतमा करिब दुई दर्जन पालिकामा उम्मेदवारी परेको जानकारी आएको बताए । तर, पूरा विवरण आउन बाँकी रहेको नेकपाले जनाएको छ । अधिकांश स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दिने नेता कार्यकर्ता विप्लव-प्रकाण्ड पक्षका हुन् ।

    पार्टीको भर्खरै कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीले स्थानीय तहको निर्वाचन उपयोग नगर्ने, केन्द्रीय स्तरका नेतासँगै जिल्ला इञ्चार्ज र सेक्रेटरी, ब्यूरो सदस्यले पनि उम्मेदवारी नदिने तर, जिल्लास्तरका नेता कार्यकर्ताले पार्टीको हैसियतबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियो ।

    पार्टीको निर्णय र नीतिविरुद्ध स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिइएको छ । पार्टीका सचिवालय सदस्यसमेत रहेका नेकपाका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

    उनले विज्ञप्तिमार्फत आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने पार्टीका केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीलाई अविलम्ब उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

    कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकदेखि नै स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने कि नगर्ने भन्ने विषयमा नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । फिर्ता नभए चुनावमा सहभागी हुन उम्मेदवारी दर्ता गराएका नेता कार्यकर्तालाई कारबाही गर्ने तयारी भइरहेको छ ।

    पार्टी महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्कबहादुर विश्वकर्मा निर्वाचन उपयोग गर्ने पक्षमा छन् भने नेता बास्तोला र सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहितका बहुमत नेता कार्यकर्ता चुनाव उपयोग र बहिष्कार दुवै नगर्ने पार्टीको निर्णयको पक्षमा उभिएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीले आधिकारिकरूपमा उम्मेदवारी दर्ता नगर्ने जिल्ला सदस्यभन्दा तल्लो तहका नेता कार्यकर्ता निर्वाचनमा जान चाहेमा जान दिने र उनीहरूले पार्टीबाट राजीनामा दिनुपर्ने भन्दै निर्णयविरूद्ध केन्द्रीय सदस्य नै चुनावमा भिडेपछि विज्ञप्ति निकालेरै फिर्ता हुन गरेका हुन् ।

    निर्वाचन आयोगको स्थानीय तहको निर्वाचन कार्यतालिका अनुसार बैशाख १६ गते उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था छ । यदि कोही कसै उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएमा वैशाख १६ गतेकै साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली आउनेछ ।

  • नेकपा एसलाई बोक्दा सिन्धु माओवादीमा विद्रोह

    नेकपा एसलाई बोक्दा सिन्धु माओवादीमा विद्रोह

    सिन्धुपाल्चोक । नेपालीमा एउटा उखान छ, भूईंको टिप्न खोज्दा, खल्तीको नझरोस् । पछिल्लो समय नेपालको राजनैतिक दलहरुमा यो उखान झनै चर्चा हुने गर्दछ ।

    यही उखान अहिले माओवादी केन्द्र सिन्धुपाल्चोकले भोगेको छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये २०७४ को चुनावमा माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोशी गाउँपालिका जितेको थियो । ती दुवै पालिकामा अहिले पनि माओवादीले जित्ने धेरैले आँकलन गरेका छन् । माओवादीले पनि यो दुवै पालिकालाई जित्ने लिस्टमा राखेको छ ।

    तर उम्मेदवार मनोनयनको बेला दुवै पालिकामा माओवादी केन्द्रले नसोचेको क्षति व्यहोर्न परेको छ । सभामुख अग्निप्रसाद सापकोटाको गृह नगरपालिका र माओवादी केन्द्रका पाँच जना केन्द्रीय सदस्यसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गर्दा कार्यकर्ताहरु आक्रोशित भए । उम्मेदवारसहित नेताहरुमाथि आक्रमणको प्रयास गरे । निर्वाचन कार्यालय तोडफोड भयो ।

    माओवादी र एकीकृत समाजवादीले गठबन्धन गर्दा वडा नम्बर १ र १४ लाई कार्यकर्ताहरुले मुख्य आधार बनाएर असन्तुष्टि पोखे । यी दुवै वडामा एकीकृत समाजवादीलाई वडा अध्यक्ष भाग दिएपछि ती वडाका माओवादी कार्यकर्ताहरु आक्रोश पोखेका हुन् । कार्यकर्ताहरुको आक्रोश र असन्तुष्टि तोडफोड र आक्रमणमा बदलियो ।

    दुवै वडाका माओवादी कार्यकर्ताको भनाइ थियो, वडामा ३० मत पनि नभएको पार्टीलाई वडाध्यक्ष हामी कसरी स्वीकार गर्न सक्छौं ? मनोनयनको अन्तिम समयमा ती दुवै वडामा माओवादीले उम्मेदवार मिलाए पनि त्योभन्दा अगाडि नै ठूलो क्षति भइसकेको थियो । एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् पूर्वसांसद सुवास कर्माचार्यको पनि यही नगरपालिका भएकाले उनको पनि यो नगरपालिकामा इन्ट्रेस्ट जोडिएको थियो । एकीकृत समाजवादीलाई सम्बोधन गर्न उपमेयरसहित दुई वडा दिएको छ । एकीकृत समाजवादीले उपमेयरमा सीता थापालाई अघि सारेको छ । थापाविरुद्ध नेकपा एसका यज्ञराज सापकोटाले वागी उम्मेदवारी दिएका छन् ।

    यसै पनि चौतारा साँगाचोकगढी नगरपालिकामा निर्वतमान मेयर अमानसिं तामाङका कारण माओवादीलाई समस्या सुरु भइसकेको थियो । पार्टी परिवर्तन गर्न लागेका तामाङलाई रोक्न माओवादी अध्यक्ष प्रचण्डले टिकटको आश्वासन दिए पनि माओवादीले तामाङलाई टिकट नदिएर माओवादी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटालाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । उनीसँग व्यक्तिगत रुपमा २५ सय मत रहेको धेरैको अनुमान छ ।

    माओवादी नेता कार्यकर्ताहरुको असन्तुष्टि सामाजिक सञ्जालमा छरपस्ट छ । दुई वडा अध्यक्षसहित अन्य धेरै नेता कार्यकर्ताहरुले पार्टी छाडेको घोषणा गरेका छन् । तर माओवादी नेताहरुले उम्मेदवार मनोनयनको दिन भएको घटना स्वतन्त्र समूहबाट निर्वाचन कार्यक्रम बिथोल्ने गरेर भएको र यो घटनाले आफूहरुलाई कुनै समस्या नहुने दाबी गर्दै आएका छन् ।

    भोटेकोसीमा पनि समस्या

    २०७४ मा चुनाव जितेको भोटेकोसी गाउँपालिकामा पनि पुरानै उम्मेदवारलाई टिकट दिँदा माओवादीमा चरम समस्या सिर्जना भएको छ । हालका अध्यक्ष राजकुमार पौडेललाई उम्मेदवार बनाएपछि पालिका कमिटीका अध्यक्ष आङछिरीङ शेर्पा, वर्तमान उपाध्यक्ष दादबुटी शेर्पा, वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठसहित ५० बढी माओवादीका स्थानीय नेताहरुले पार्टी छाडेका छन् ।

    पार्टी छाडेको समूहले दीपेन्द्र श्रेष्ठलाई स्वतन्त्र उम्मेदवारसमेत उठाएका छन् । माओवादीले यसअघि चुनाव जितेका दुवै पालिकामा ‘ग्राउण्ड रियालिटी’लाई बुझ्न नसक्दा समस्या सिर्जना भएको माओवादीका स्थानीय नेताहरु बताउँछन् ।

    याे  पनि पढ्नुहाेस् ।

    माओवादी कार्यकर्ताको झडपले चौतारा तनावग्रस्त, निर्वाचन कार्यालयको सुरक्षामा सेना खटियो

    माओवादी कार्यकर्ताबीचमै झडपपछि चौतारा साँगाचोकगढी तनावग्रस्त, यस्तो छ कारण (भिडिओ)

  • भोजपुरमा बागी उठेका तीनजनालाई माओवादीले गर्‍यो निष्कासन

    भोजपुरमा बागी उठेका तीनजनालाई माओवादीले गर्‍यो निष्कासन

    भोजपुर । नेकपा माओवादी केन्द्र भोजपुरले बागी उम्मेदवारलाई कारबाही गरेको छ ।

    गठबन्धन तथा पार्टी निर्णय र निर्देशनविपरीत अनुशासन उल्लंघन गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेको भन्दै माओवादीले तीनजनालाई कारबाही गरेको हो ।

    भोजपुर नगरपालिका-११ मा उम्मेदवारी दिएका मोहनसेन राई, षडानन्द नगरपालिका-९ का शेखर तामाङ र १३ का ओमकुमार श्रेष्ठलाई माओवादीले कारबाही गरेको हो ।

    गठबन्धनमा भएको सहमतिविपरीत मनोनयन दर्ता गराएकोले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको नेकपा माओवादी केन्द्र भोजपुरका संयोजक नगेन्द्र भुजेल ‘शैलेन्द्र’ ले विज्ञप्ति निकालेर जनाएका छन् ।

  • हेटौंडा उपमहानगर : सत्ता गठबन्धनलाई जसपाको घात, एमालेलाई राप्रपा नेपालको साथ

    हेटौंडा उपमहानगर : सत्ता गठबन्धनलाई जसपाको घात, एमालेलाई राप्रपा नेपालको साथ

    मकवानपुर । बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा यस पटक कसले बाजी मार्ला ? अहिले सबैले यही प्रश्न गर्न थालेका छन् । स्थानीय निर्वाचन नजिकिएसँगै यहाँ सत्ता गठबन्धन र अर्को प्रमुख प्रतिस्पर्धी एमालेले आआफेनो जीतको दावी गर्न थालेका छन् ।

    सत्ता गठबन्धनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको भाग नेकपा एकीकृत समाजवादीले पाएको छ । जसअनुसार उपमहानगरको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले उम्मेदवारी दर्ता गराएकी छन् । उनी यसअघि उपमेयर निर्वाचित भएकी थिइन् । एमाले विभाजित हुँदा लामाले एकीकृत समाजवादी रोजेकी थिइन् ।

    नेपाली कांग्रेसले मेयर नपाएको भन्दै पार्टी कार्यालयमा कार्यकर्ताले तालाबन्दीसमेत गरेका थिए । कार्यकर्ताको विरोधबीच कांग्रेसले उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ ।

    हेटौंडा उपमहानगरको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेलले उम्मेदवारी दिएका छन् ।

    २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार हरिबहादुर महतले २३ हजार १२४ मत ल्याई मेयर जितेका थिए । महतले नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई ६१५ मतले हराएका थिए । माओवादीसँग गठबन्धन गरेको कांग्रेसका पराजुलीले २२ हजार ५०९ मत पाएका थिए ।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर उम्मेदवार मधु अधिकारीले ६ हजार ८५७ मत र संघीय समाजवादी फोरमका शुभरत्न गोलेले १ हजार १०६ मत ल्याएका थिए ।

    उपमेयरतर्फ एमालेकी मीनाकुमारी लामा २३ हजार ४३७ मतसहित विजयी भइन् । उनले कांग्रेस र माओवादीको गठबन्धन उम्मेदवार बलराम बललाई पराजित गरेकी थिइन् । बलले १७ हजार ११ मत पाएका थिए ।

    उपमेयरमै राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत र तत्कालिन नयाँ शक्तिकी पुनम भट्टराईले १ हजार १५३ मत ल्याएका थिए ।

    वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । तर, सत्ता गठबन्धनबाट जनता सामाजवादी बाहिरिएको छ । जसले गर्दा सत्ता गठबन्धनलाई एमालेको विरासत भत्काउन सहज देखापर्दैन ।

    यता राप्रपा नेपालको साथ पाएकाले एमालेले सत्ता गठबन्धनलाई कडा टक्कर दिने अड्कल गरिएको छ । हेटौंडामा राप्रपा नेपालले आफ्नो पार्टी नेता, कार्यकर्ता र समर्थकहरुलाई एमालेको सूर्य चिन्हमा मतदान गर्न आह्वान गरिसकेको छ । हेटौंडा राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्ला हो । त्यसैले हेटौंडामा राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टीभन्दा राप्रपा नेपाल बलियो रहेको अनुमान गरिएको छ । यस आधारमा एमालेले पार्टी विभाजित भएर एकीकृत समाजवादीतर्फ गएको मत राप्रपा नेपालबाट पूर्ति गर्ने सम्भावना बढेको छ ।

    तर राप्रपाका प्रभावशाली नेता दीपक सिंहले मेयरमा उम्मेदवारी दिएकाले राप्रपा नेपालको धेरै भोटसमेत उनैलाई आउने राप्रपाका स्थानीय नेताहरु बताउँछन् । यसले हेटौंडामा एमालेभन्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने उनीहरुको भनाइ छ ।

    सत्ता गठबन्धनमा कांग्रेसले मेयर नपाउनु र जसपा गठबन्धनबाट बाहिरिनुले एमालेका उम्मेदवार पौडेललाई सहज हुने बताउनेहरु पनि कम छैनन् । कांग्रेसभित्र असन्तुष्ट समूहले गठबन्धन उम्मेदवारलाई अस्वीकार गर्ने बताएका छन् । यी मतदाताहरुले आफ्ना उम्मेदवारहरुलाई मत दिने एमाले नेताहरुको विश्वास छ ।

    पाँच वर्षको बीचमा धेरै परिवर्तन आइसकेकाले हेटौंडामा यस पटकको स्थानीय तह निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।