Category: स्थानीय निर्वाचन–२०७९

  • मन्त्रीले कसैलाई उम्मेदवारी फिर्ता लिन दबाब दिनु आचारसंहिताविपरीत: निर्वाचन आयोग

    मन्त्रीले कसैलाई उम्मेदवारी फिर्ता लिन दबाब दिनु आचारसंहिताविपरीत: निर्वाचन आयोग

    काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिइसकेको छ ।

    सभापति तथा प्रधानमन्त्री देउवाको निर्देशन पालना गर्दै गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुरमै गएर पौडेललाई उनकै घरमा भेटे । दुवैजनाले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपनि पौडलले अश्वीकार गरेका छन् ।

    उता पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसमेत उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै भरतपुर पुगेका छन् । उनले पनि पौडेललाई घरमै भेटेर एक्लै चुनाव नजितिने भन्दै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

    पूर्वप्रधानन्यायधीश पराजुलीले मेयरका उम्मेदवार पौडेललाई गत मंगलबार भेटेको र साथीभाइको हिसाबले सल्लाह दिएको बताए । खाणले भने पौडेललाई गठबन्धन नै तलमाथि हुने भएकाले फिर्ता हुन दबाब दिएर फर्किएका छन् । उनले पौडेलका प्रस्तावक बयोवृद्ध नेता कृष्णलाल सापकोटालाई पनि भेटेर उम्मेदवारी फिर्ता गराउन आग्रह गरे ।

    त्यसो त बुधबारै माओवादी अध्यक्ष प्रचण्ड पनि केही घण्टाका लागि भरतपुर गएका थिए । छोरी रेनुको मेयर उम्मेदवारीविरुद्ध बागी बनेका पौडेलले अप्ठेरो पार्ने देखेर उनले शीर्ष तहबाटै पौडेललाई ब्याक गराउन दबाब दिइरहेका छन् ।

    कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले आग्रह गर्दा पनि पौडेल ब्याक नभएपछि गृहमन्त्री र केन्द्रीय नेतृत्व उनलाई फिर्ता गराउन प्रयासरत रहेको बेला उम्मेदवारमाथि मन्त्रीले नै मानसिक दबाब दिनु निर्वाचन आचारसंहिताविपरीत हुने विज्ञहरुले बताएका छन् ।

    राज्य नै लागेर कुनै उम्मेदवारलाई दबाब दिनु आचारसंहिताभित्र पर्छ ? भन्ने प्रश्नमा निर्वाचन आयोगले पार्टीको तर्फबाट चिठी लेखेर फिर्ता लिन निर्देशन दिन सक्ने तर मन्त्री गएर दबाब दिन नपाइने जनाएको छ ।

    आयोगका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीले नेपाल प्रेससँग भने, ‘सार्वजानिक पदमा रहनु भएका बहालवाला मन्त्री नै एक उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन दवाव दिनु र अर्को उम्मेदवारको पक्षमा उभिनु आचारसहिंताविपरीत हो । उहाँलाई पार्टी हितका लागि पार्टीको तर्फबाट चिठी काटेर उम्मेदवारी फिर्ताको लागि अनुरोध गर्न छुट छ, त्यसमा आयोगको आपत्ति रहन्न । तर, सार्वजानिक पदमा रहेका मान्छेले यसरी दबाब दिनु गलत हो ।’

    अर्यालले यस विषयमा अहिलेसम्म निर्वाचन आयोगमा कुनै सूचना नआएको र कसैले उजुरी गरेमा आयोगले कानूनबमोजिम कारबाही अगाडि बढाउने बताए ।

  • के के हुन् सिर्जना सिंहले गरेका सात संकल्प ?

    के के हुन् सिर्जना सिंहले गरेका सात संकल्प ?

    काठमाडौं । गठबन्धनबाट काठमाडौं महानगरको प्रमुखको उम्मेदवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले सात संकल्प सार्वजनिक गरेकी छिन् ।

    काठमाडौं महानगरको प्रमुखका रूपमा आफूले गर्ने कामलाई ७ संकल्पमा लिपिबद्ध गर्दै सिर्जनाले चुनावी प्रचारको अभियान थालेकी हुन् । आफ्ना संकल्प सार्वजनिक गर्दै उनले काठमाडौंलाई ‘सम्मुनत र सुरक्षित सहर’ बनाउने बताइन् ।

    सिंहको संकल्पमा महानगरले दिने सेवाहरूलाई चुस्त एवं भ्रष्टाचारमुक्त बनाउने उल्लेख छ । सबै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बनाउनेदेखि काठमाडौंलाई ‘फोहोरमुक्त’ बनाउने योजना पनि सिंहका संकल्पमा समेटिएका छन् ।

    महानगरलाई पैदलयात्रीमैत्री सहर बनाउने, मौलिक भाषा, संस्कृति र पर्वहरुको संरक्षण गर्ने, युवा र महिलाका लागि अवसर उपलब्ध गराउने लगायतकाविषय संकल्प पत्रमा उल्लेख छन् ।

    सिंहले गरेका सात संकल्पहरू यसप्रकार छन् –

    १. सेवा र सुशासन

    २. शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा

    ३. स्वच्छ, सफा, दिगो पर्यावरण

    ४. सुरक्षित सहर

    ५. संस्कृति, सम्पदा र सभ्यता

    ६. सबल र सम्मुनत पूर्वाधार

    ७. सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी

  • देउवालाई कर्ण मल्लको जवाफ- दोस्रोपटक राजनीतिक घर र मनबाट निकाल्नुभएकोमा धन्यवाद

    देउवालाई कर्ण मल्लको जवाफ- दोस्रोपटक राजनीतिक घर र मनबाट निकाल्नुभएकोमा धन्यवाद

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा पूर्वसभापति कर्ण मल्ल केहीदिनअघि पार्टी कारबाहीमा परेका थिए । १४ औं महाधिवेशनबाट असन्तुष्ट मल्ल आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो समूहलाई नेपाली कांग्रेस (वीपी) का नामले एमालेसँग तालमेल गरेर अघि बढाएका थिए । त्यसपछि कांग्रेसले उनलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो ।

    त्यसैको जवाफमा आज मल्लले सामाजिक सञ्जाल फेसबुकमा देउवालाई लक्षित गरी ‘परम आदरणीय दाजु साष्टाङ्ग प्रणाम’ भन्दै सम्बोधन गरेर ‘मेरा कारण हजुरले पाउनु भएको पीडाका लागि क्षमा दिनु होला ।’ भनी स्टाटस लेखेका छन् ।

    नेता मल्लले ‘मलाई दोस्रो पटक राजनितीक घर र हजुरको मनबाट निकाल्नु भएकोमा स-धन्यवाद आभार व्यक्त गर्दछु ।’ भनेर उल्लेख गरेका छन् ।

    कारबाहीपछि आफू पीडामा रहेको उल्लेख गर्दै उनले न्यायका लागि जनतामा जाने बताएका छन् । ‘म अब पीडाकै बीचबाट तपाईंबाट प्रताडित साथीहरूसँगै न्यायका लागि देवरुपी जनताका बीचमा जादैछु,’ मल्लको भनाइ छ ।

    मल्ललाई पार्टीबाट कारबाही भएको यो दोस्रो पटक हो । यसअघि २०५९ सालतिर उनलाई नेपाली कांग्रेस (प्रजातान्त्रिक) को साधारण सदस्यबाट नरहने गरी कारबाही गरिएको थियो । त्यतिबेला उनी दरबारनिकट भएर देउवाविरुद्ध गतिबिधिमा संलग्न भएका कारण कारबाही गरिएको पार्टी स्रोत बताउँछ ।

  • पार्टी कारबाहीपछि कर्ण मल्लले गरे प्रदेश सांसदबाट राजीनामा घोषणा

    पार्टी कारबाहीपछि कर्ण मल्लले गरे प्रदेश सांसदबाट राजीनामा घोषणा

    काठमाडौं । नेपाली कांग्रेसले साधारण सदस्यबाट निष्कासन गरेपछि डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका छन् ।

    बिहीबार डडेलधुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् ।

    ‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले दिँदैन,’ पत्रकार सम्मेलन गर्दै उनले भने,‘आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चारमाध्यमबाट घोषणा गर्दछु ।’

  • संघर्ष सम्झिँदै सिर्जनाले भनिन्- आन्दोलनमा हनुमानढोकाको चिसो छिँडी बिताएको छु

    संघर्ष सम्झिँदै सिर्जनाले भनिन्- आन्दोलनमा हनुमानढोकाको चिसो छिँडी बिताएको छु

    काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरकी उम्मेदवार सिर्जना सिंहले देशको परिवर्तनमा युवाहरूको उल्लेखनीय भूमिका रहेको बताएकी छन् ।

    चुनावी ‘संकल्पपत्र’ सार्वजनिक गर्दै उनले आफ्नो युवा अवस्था संघर्ष स्मरण गर्दै युवाको त्यो संघर्षको उपहार स्वरूप युवाहरूलाई विशेष कार्यक्रम ल्याउने बताइन् ।

    ‘आन्दोलनमा हनुमानढोकाको चिसो छिँडी पनि बिताएको छु । प्रहरी हिरासतमा पनि धेरैपटक परेको छु आन्दोलनको क्रममा । देशमा प्रजातन्त्र ल्याउने क्रममा,’ उनले भनिन्, ‘यो त्यसकारण यो देशमा युवाहरूले लोकतन्त्रमा ल्याउन ठूलो भूमिका छ । युवाहरूले धेरै दिनुभयो अब म मेयर भएपछि युवाहरूका लागि पनि काम गर्छु ।’

  • एमालेको पालामा भएका राम्रा कामको स्वामित्व हाम्रो हो,ओलीको कुनै भूमिका थिएन- माधव नेपाल (भिडिओ)

    एमालेको पालामा भएका राम्रा कामको स्वामित्व हाम्रो हो,ओलीको कुनै भूमिका थिएन- माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वृद्ध भत्ता,सामाजिक सुरक्षा र आफ्नो गाउँ आफैं बनाउँ जस्ता लोकप्रिय कार्यक्रमको स्वामित्व एमालेले लिन नपाउँने दावी गरेका छन् ।

    विहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमालेको तत्कालीन ९ महिने सरकारको पालामा शुरु भएका लोकप्रिय कार्यक्रममा केपी ओलीको कुनै भूमिका नरहेको बताए ।

    नेपालले भने,’एमालेको ओली गुटले ती सबै कार्यक्रम हामीले गरेको भनेका छन् । उनको त भूमिका नै थिएन । मनमोहन अधिकारी, माधव नेपाल र भरतमोहन अधिकारीको भूमिका थियो । कुरालाई दावाका साथ तपाईहरुले तलसम्म भन्नुपर्छ ।’
    एमालेको पालामा भएका राम्रा कामको स्वामित्व आफ्नो रहेको नेपालले बताए ।

  • तालमेल नभएका ठाउँमा पनि साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक बस्दै

    तालमेल नभएका ठाउँमा पनि साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक बस्दै

    काठमाडौं । सत्ता गठबन्धनबीच तालमेल नभएका स्थानीय तहमा साझा उम्मेदवार तय गर्न शीर्ष नेता र कार्यदलका अलग अलग बैठक आज बस्ने भएको छ ।

    जुनजुन ठाउँमा तालमेल भएको छैन ती ठाउँमा पनि सहमतिका आधारमा साझा उम्मेदवार तोक्नेबारे छलफल गर्न पाँच दलीय कार्यदलको बैठक बसिरहेको र शीर्ष तहमा पनि छलफल तय भएको नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बताए ।

    विहीवार आयोजित एक कार्यक्रममा नेपालले भने, ‘सकेसम्म देशभर सबै स्थानीय तहमा साझा उम्मेदवार तय गरेर जाने प्रयास हुनेछ । त्यसका लागि कार्यदल र शीर्ष तहको छलफलको समय तोकिएको छ । भोलिसम्म धेरै ठाउँमा सहमति हुन्छ, नभएका ठाउँमा स्वच्छ प्रतिस्पर्धा गर्ने प्रयास हुनेछ ।’

    नेपालले यो चुनावमा नेकपा एसले राम्रो हैसियत प्राप्त गरेमात्र पार्टीको मूल्य र मान बढ्ने भएकाले चुनावमा राम्रो परिणाम ल्याउनुपर्ने बताए ।

  • महिलालाई रातभर एक्लै हिँड्न सक्ने सुरक्षित काठमाडौं बनाउँछु : सिर्जना सिंह (भिडिओ)

    महिलालाई रातभर एक्लै हिँड्न सक्ने सुरक्षित काठमाडौं बनाउँछु : सिर्जना सिंह (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रहेकी सिर्जना सिंहले सुशासन आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

    आज आफ्नो ‘संकल्प पत्र’ सार्वजनिक गर्दै उनले त्यसका लागि सबैभन्दा पहिला महानगरपालिका भ्रष्टाचारमुक्त बनाउने बताइन् ।

    ‘जब घर नै प्रदूषित छ, भने कसरी सुशासन दिन सक्छु,’ उनले भनिन्,‘त्यसकारण म मेयर भएपछि महानगरभित्र सबैभनदा पहिला भ्रष्टाचारमुक्त सेवा र सुविधा तुरुन्त हुने गरी चुस्त र दुरुस्त पार्नेछु ।’

    त्यसपछि काठमाडौंको विकराल समस्याका रूपमा रहेको फोहोर समाधानमा ध्यान दिने बताइन् । त्यसका लागि उनले ‘जिरो वेष्ट म्यानेजमेन्ट’ को अवधारणा आफूसँग रहेको बताइन् । ‘घरबाटै सुरू गर्ने । जिरो वेष्ट म्यानेजमेन्ट अवधारणा सञ्चालन गर्छु । त्यसबाट कम्पोस्ट बनाउन सक्छौं । रिसाइकल गर्नसक्छौं,’ उनले भनिन् ।

    यस्तै काठमाडौंलाई हिँड्नयोग्य सहर बनाउँने पनि उनले बताइन् ।

    ‘काठमाडौंमा फुटपाथमा सबैले आनन्दसँग हिँड्न पाउने, साइकल लेन भएको, प्रदूषणमुक्त सडक बनाउने मेरो योजना छ,’ उनले भनिन्,‘यसबाहेक ट्राफिक जाम कम हुने, सडकमा खाल्डाखुल्डी देख्न नपर्ने बनाउँछु ।’

    उनले महिलालाई सुरक्षित महसुस हुनेगरीको महानगर बनाउने आफ्नो योजना पनि सुनाइन् ।

    ‘रातिसम्म काम गरेर सहज हिँड्डुल गर्न गाह्रो छ । म मेयर भए त्यो समस्या हटाउँछु,’ उनले भनिन्,‘त्यसका लागि झिलिमिली सडक बनाए, सिसिटिभी क्यामराहरू राख्छु ।’

    त्यसपछि महिलाहरूमा सुरक्षाको अनुभूति दिलाउन एकरात एक्लै काठमाडौंमा हिँड्नेसम्मको आफ्नो योजना रहेको उनले सुनाइन् ।

    काठमाडौंमा रहेका विपन्न महिलालाई लक्षित गरेर उनीहरूको श्रमको सम्मानसहितको विशेष प्याकेज ल्याउने उनले बताइन् ।

  • काठमाडौं मेयरमा महिला ल्याउने अवसरबाट नचुकौं, सूर्यमा भोट हालेका महिलाले पनि सोचौं : गगन थापा

    काठमाडौं मेयरमा महिला ल्याउने अवसरबाट नचुकौं, सूर्यमा भोट हालेका महिलाले पनि सोचौं : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंका आम महिला मतदातालाई काठमाडौंको मेयरमा महिला ल्याउने अवसरबाट नचुक्न आग्रह गरेका छन् ।

    कांग्रेसका तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार सिर्जना सिंहको ‘संकल्प पत्र’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘अघिल्लो पटक सूर्यमा भोट हालेको महिलाले पनि सोच्नुस् लडाइँ घरभित्र पनि छ । श्रीमान्‌सँग छ छोरासँग छ । महिलाको लडाइँ सजिलो छैन्,’ उनले भने, ‘राजधानीको मेयरको ठाउँमा महिला मेयर भएको कल्पना गरौं त । अघिल्लो पटक सूर्यमा हाल्नुभो भोलि पनि हाल्नु होला । तर, यसपटक महिलालाई जिताउँनुस् ।’ उम्मेदवार सिंहको आँट र साहस हेरेर मतदान गर्न उनले आग्रह गरे ।

    उम्मेदवार सिंह गणेशमान सिंहको बुहारी, प्रकाशमान सिंहको श्रीमतीमात्र भन्दा अन्याय हुने बताउँदै महामन्त्री थापाले उनी महिला आन्दोलनको अगुवा भएको बताए ।

  • चीनको सिमानामा एमालेका ढिन्डु दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्विरोध

    चीनको सिमानामा एमालेका ढिन्डु दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्विरोध

    पोखरा । मुस्ताङको लो-घेकर दामोकरकुण्ड गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा ढिन्डु ठकुरी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् ।

    २०७४ सालमा पनि उनीसहित एमालेको प्यानल नै वडामा निर्विरोध भएको थियो । नेकपा एमालेका गाउँपालिका कमिटी अध्यक्षसमेत रहेका ठकुरीको मात्र वडाध्यक्षमा उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

    दोस्रोपटक वडाध्यक्षमा निर्विरोध भएका ठकुरीले गाउँलेको सल्लाहमै पार्टीबीच प्रतिस्पर्धा नगरी गाउँको विकासमा लाग्नुपर्ने भएकाले सर्वसम्मत चयन गरिएको बताएका छन् । चीनसँगको सिमावर्ती गाउँपालिकाका अन्य दुई वडा ३ र ४ मा पनि एमाले र कांग्रेसले बाँडेर सर्वसम्मति गरेका छन् ।

    जसमा दुवै वडाका अध्यक्ष एमालेले लिएको छ भने दुई सदस्य कांग्रेसलाई दिएर बाँकी एमालेका निर्विरोध भएका छन् । अब वडा नम्बर २ र ५ मा मात्र निर्वाचन हुने भएको छ ।

  • केशव स्थापितलाई कांग्रेस प्रवक्ताको जवाफ- वागमतीमा धेरै पानी बगिसक्यो, तपाईंको ‘गेम इज ओभर’ (भिडिओ)

    केशव स्थापितलाई कांग्रेस प्रवक्ताको जवाफ- वागमतीमा धेरै पानी बगिसक्यो, तपाईंको ‘गेम इज ओभर’ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूले राजनीतिलाई मनोरञ्जनको विषय बनाएको उनले आरोप लगाए ।

    ‘राजनीति मनोरञ्जन होइन् । देश नै मनोरञ्जनमय भाको छ,’ उनले भने, ‘हुदाहुँदा हामीलाई पनि के लाग्नथाल्या छ, भने जल्ले ज्यादा मनोरञ्जन दिन्छ, त्यसैलाई निर्वाचित गर्ने हो की भन्ने भ्रम सिर्जना हुनथाल्या छ ।’

    देशमा धेरै मनोरञ्जन भइसकेको बताउँदै उनले थप मनोरञ्जनको आवश्यकता नभएको महतको टिप्पणी थियो । ‘थप मनोरञ्जनको आवश्यकता बढी भइसक्या छ । राष्ट्रिय मनोरञ्जनबाटै,’ एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इशारा गर्दै उनले कटाक्ष गरे ।

    काठमाडौं महानगरपालिकामा एमालेका उम्मेदवार केशव स्थापितले मनोनयन दर्तापछि दिएको अभिव्यक्ति ‘गेम इज ओभर’ को प्रवक्ता महतले काउन्टर अभिव्यक्ति दिए ।

    ‘स्थापित जीको मैले सुनिरा’छु । नोमिनेशन गरेर निस्कदै गर्दा । केशव स्थापितले भन्नुभो गेम इज ओभर, म भन्छु उहाँको गेम इज ओभर,’ काठमाडौं महानगरका मेयरका उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘वागमतीमा धेरै पानी बगिसक्या’छ । फेरि फर्केर आउने सपना नदेखे हुन्छ ।’

    काठमाडौं महानगरमा सिंहको उम्मेदवारी महिलाहरूका लागि ठूलो अवसर रहेको प्रवक्ता महतले बताए । उनले भने, ‘यहाँको मेयर जित्नु भनेको ५० वटा अन्य नगरपालिका जिते बराबर हो । यो चाँही राजधानी हो ।’

  • कांग्रेसले महिलाको सम्मान गर्छ भन्ने प्रमाण हुन् सिर्जना सिंह : केन्द्रीय सदस्य बस्नेत

    कांग्रेसले महिलाको सम्मान गर्छ भन्ने प्रमाण हुन् सिर्जना सिंह : केन्द्रीय सदस्य बस्नेत

    काठमाडौं । काठमाडौं महानगरपालिकामा सिर्जना सिंहलाई मेयरको टिकट दिएकोमा समग्र महिला हर्षित भएको कांग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले बताएकी छन् । उम्मेदवार सिंहको ‘संकल्प पत्र’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    ‘सक्षम महिला नेतृलाई अगाडि सारेको छ । हामी अत्यन्त हर्षित भएका छौं,’ उनले भनिन्, ‘परिवर्तनको नेतृत्वमा महिलाहरूले भूमिका खेलेका छन् । जसको मूल्यांकन गरेर कांग्रेसले महिलालाई काठमाडौंजस्तो महानगरमा नेतृत्व दिएको छ ।’

    सिंहको उम्मेदवारीले महिलाहरू दोस्रो दर्जाको नागरिक होइन भन्ने कथ्य प्रमाणित भएको बस्नेतले बताइन् ।

    ‘हामी भन्ने गर्थ्यौं महिलाहरू दोस्रो दर्जाको नागरिक होइन् । कांग्रेसले महिला नेतृलाई काठमाडौंजस्तो महानरमा महिलालाई नेतृत्व दिएर खुसीको काम गरेको छ,’ उनले भनिन्,‘कांग्रेसले महिलालाई सम्मान गर्छ, अस्तित्व स्वीकार गर्छ भन्ने प्रमाण हो ।’

  • गृहमन्त्रीलाई भरतपुरका बागी नेताको जवाफ- कार्यकर्ताको भविष्यको कुरा छ, उम्मेदवारी फिर्ता हुन्न

    गृहमन्त्रीलाई भरतपुरका बागी नेताको जवाफ- कार्यकर्ताको भविष्यको कुरा छ, उम्मेदवारी फिर्ता हुन्न

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफू धेरै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता लिन नसकिने बताएका छन् ।

    उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै पुगेका गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठसँग पौडेलले चितवनका कांग्रेसका मान मर्यादा र भविष्यसँग जोडिएको कुरा भएकाले आफू एक्लैले उम्मेदवारी फिर्ता लिन नसक्ने बताएका हुन् ।

    उनले खाणसँगको भेटपछि भने, ‘उहाँहरूले उम्मेदवारी र्फिा लिइदिनुपर्‍यो, गठबन्धन जोगाउनुपर्नेछ भन्नुभयो । मैले यो चितवनका साथीहरूको प्रतिष्ठा र उहाँहरूको भविष्यसँग जोडिएको कुरा हो । मैले एक्लै निर्णय गर्ने विषय होइन,त्यसो भएको हुनाले म यो गर्न सम्भव देख्दिन भनेर पठाएँ ।’

    उम्मेदवारी दिने बेलेमै बयोवृद्ध नेता कृष्णलाल सापकोटालगायतको भेलामा पछि पार्टी शीर्ष नेतृत्वको दबाबमा उम्मेदवारी फिर्ता लिन पाइँदैन भनेर बचनबद्धतासहित अघि बढेकाले अहिले आएर कार्यकर्तालाई धोखा दिन नसक्ने पौडेलले बताएका छन् ।

    उनले आफू उम्मेदवारी फिर्ता लिन नसक्ने ठाउँमा पुगिसकेको जवाफ दिएका छन् । खाणले भने पौडेलसँग पुनः छलफल हुने भन्दै उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।

  • बाराकाे जीतपुरसिमरामा वडाध्यक्षको उम्मेदवारी खारेज

    बाराकाे जीतपुरसिमरामा वडाध्यक्षको उम्मेदवारी खारेज

    बारा ।  बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएका एमालेको एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।

    उपमहानगरको वडा नं ९ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका भुदेव चौधरीको मनोनयन दर्ता खारेज भएको हो ।

    चौधरीको नाम समानुपातिक सूचीमा रहेको र त्यसबाट नाम नहटाइएकोले दोहोरो उम्मेदवारी दिन नमिल्ने भएकाले मनोनयन खारेज भएको हो ।

    जीतपुरसिमरा उपमहानगरपालिकाका मुख्य निर्वाचन अधिकृत टिकामणि न्यौपानेका अनुसार उनको नाम निर्वाचन आयोगको सिस्टमले लिँदै नलिएर रिजेक्ट गरेपछि चौधरीको नाम खारेज गर्नुपरेको हो। बाराका भुदेव चौधरीको नाम समानुपातिक सूचीको ६९ औँ क्रमसंख्यामा रहेको बताइएको छ ।

    यता नेकपा एमालेका नगरअध्यक्ष एवं उपमेयरका उम्मेदवार भोला अधिकारीले पनि पार्टीले पठाएको नामावली सूचीमा सबै ठिक रहेको तर निर्वाचन आयोगको अभिलेखमा नाम रहेको हुनाले प्राविधिक त्रुटिका कारण त्यसो भएको बताए।

  • भीमसेनदास भन्छन्- गठबन्धनमा घात भए मुलुकमा अर्को द्वन्द्व सिर्जना हुन्छ

    भीमसेनदास भन्छन्- गठबन्धनमा घात भए मुलुकमा अर्को द्वन्द्व सिर्जना हुन्छ

    काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधानले यसपालीको निर्वाचन गठबन्धन भर्सेस एमाले रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार सिर्जना सिंहको ‘संकल्प पत्र’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    प्रधानले भने,‘यसपटकको चुनाव कांग्रेस भर्सेस एमाले होइन, माओवादी केन्द्र भर्सेस एमाले होइन, एकीकृत समाजवादी भर्सेस एमाले होइन कि गठबन्धन भर्सेस एमाले हो ।’

    तर, गठबन्धन चुनाव हार्दा भने कांग्रेसकै पहिलो नम्बरमा नाक खुम्चने उनले बताए । ‘पहिलो नम्बरमा कांग्रेसकै नाक खुम्चिन्छ, त्यसपछि माओवादी केन्द्र र एकीकृत समाजवादीको नाक खुम्चने हो,’ उनले भने ।

    अहिलेको गठबन्धन विशेष परिस्थितिका कारण बनेको बताउँदै नेता प्रधानले गठबन्धनमा घात भए मुलुकमा अर्को द्वन्द्व सिर्जना हुने बताए । उनले भने, ‘गठबन्धनमा घात-प्रतिघात भए अर्को द्वन्द्व सिर्जना हुन्छ । अर्को प्रतिगमन देशमा सुरू हुन्छ ।’

    एमाले उम्मेदवार केशव स्थापित अत्यन्त अस्थिरता, अराजक र मनपरी बोल्ने व्यक्ति भएकाले त्यस्तो व्यक्ति महानगरको मेयर बन्दा महानगर दुर्घटनामा जाने उनले दाबी गरे ।

  • शेरधनको पालिकामा एमालेसँग कांग्रेसको तालमेल : १० जनालाई उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

    शेरधनको पालिकामा एमालेसँग कांग्रेसको तालमेल : १० जनालाई उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

    भोजपुर । जिल्लाको दक्षिण आमचोक गाउँपालिकामा नेकपा एमालेसँग तालमेल गरी उम्मेदवारी दिएकालाई मनोनयन फिर्ता लिन नेपाली कांग्रेस भोजपुरले निर्देशन दिएको छ ।

    भोजपुरको चार दलीय गठबन्धनबीच भएको सम्झौताविपरीत उम्मेदवारी दिएको भन्दै गाउँपालिका कमिटी सभापतिसहित ११ जनालाई कांग्रेसले कारबाही प्रक्रिया थालेको हो ।

    कांग्रेसले आमचोक-३ का संजय राई र कुमारी राई, ४ का रमेश विष्ट र निर्मला राई, ५ का संजय राई र कौशिला नेपाली ६ का टेकबहादुर कार्की, तिर्थमाया बस्नेत, ९ का विन्द्रबहादुर श्रेष्ठ र वडा नम्बर १० का खगेन्द्र विष्टमाथि कारबाही थालेको हो ।

    नेपाली कांग्रेस भोजपुरका सभापति विनोद बान्तवाले पत्राचार गर्दै भोलिसम्म उम्मेदवारी फिर्ता नगरे साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

    ‘आमचोक गाउँपालिकामा गठबन्धन दलबीच मात्र गठबन्धन गर्ने वा आफूआफू बीच स्वच्छ एंव मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भन्ने निर्णयबमोजिम कांग्रेसको नीति, निर्णय र निर्देशनविपरीत नेकपा एमालेसँग गठबन्धन गरी उमेदवारी दर्ता गरेको भन्ने बुझिएकाले निर्वाचन आयोगले दिएको मनोनयन फिर्ता अवधि २०७९ वैशाख १६ भित्र फिर्ता गरिसक्नुपर्ने अन्यथा पार्टी अनुशासन उल्लंघन गरेको मानी पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिने व्यहोरा जानकारी गरिन्छ ।’

    सभापति बान्तवाले गठबन्धनको नीति, निर्णय र निर्देशनलाई उल्लघंन गर्दै एमालेसँग गठबन्धन गरेको भन्ने सुनिएको भन्दै के कसरी र किन गरेको भनेर पालिका सभापति रविन राईलाई २ दिनभित्र जवाफ दिन स्पष्टिकरण सोधेका छन् ।

    आमचोक एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहपालिका हो । गत चुनावमा यहाँ माओवादीबाट अशोक राईले जितेका थिए ।

    अहिले गठबन्धनले आमचोकमा आ-आफ्नो उम्मेदवार उठाएर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । स्रोतका अनुसार यहाँ कांग्रेसले पालिका उपाध्यक्ष र केही वडा आफू राखेर एमालेसँगको तालमेलमा चुनाव लड्ने तयारी गरेको छ ।

  • गृहमन्त्री खाणसहित कांग्रेस नेता भरतपुरका बागी उम्मेदवार पाैडेलकाे निवासमा

    गृहमन्त्री खाणसहित कांग्रेस नेता भरतपुरका बागी उम्मेदवार पाैडेलकाे निवासमा

    काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले अघि सारेको उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालविरुद्ध मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको निवासमा गृहमन्त्री खाणसहितका नेताहरू पुगेका छन् ।

    माओवादीलाई मेयर दिन नहुने सुझावविपरीत गठबन्धनमा भरतपुर माओवादीलाई भाग लगाइएपछि कांग्रेसका असन्तुष्ट समूह मिलाउन गृहमन्त्री खाण हिजोदेखि चितवनमा छन् ।

    गृहमन्त्री खाण यज्ञपुरीस्थित पौडेलको निवासमा पुगेका हुन् । पौडेललाई सम्झाउन खाणसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ , चितवन कांग्रेस सभापति राजेश्वर खनाललगायत नेताहरू गएका छन् । अहिले भेटघाट जारी छ ।

  • बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपिल (पूर्णपाठ)

    बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपिल (पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको निर्देशन र सहमतिविपरीत बागी उम्मेदवारी दिएका नेता/कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् ।

    आज एक अपिल सार्वजनिक गर्दै सभापति देउवाले भोलि साँझ ५ बजेसम्म मनोनयन फिर्ता लिन आग्रह गरेका हुन् । लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक र परिवर्तकारी शक्तिहरू बीचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनु पर्ने यथार्थतालाई आत्मसात गर्दै, प्रतिगमनलाई परास्त गरी राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र सम्मृद्धिका लागि कांग्रेस, माओवादी केन्द्र, नेकपा एस जसपा र राष्ट्रिय जनमोर्चाका चुनावी तालमेल गरिएको उनले अपिलमा उल्लेख गरेका छन् ।

    ‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु,’ सभापति देउवाले अपिलमा लेखेका छन्, ‘तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवार’ भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

     

  • उद्योगपति बस्नेतसहित १०१ सक्रिय सदस्यले त्यागे कांग्रेस

    उद्योगपति बस्नेतसहित १०१ सक्रिय सदस्यले त्यागे कांग्रेस

    दाङ । दाङका उद्योगपति डिल्लीबहादुर बस्नेतसहित १०१ सक्रिय सदस्यले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

    उनीहरुले आज कांग्रेस क्षेत्री सभापतिलाई राजीनामा बुझाउँदै कांग्रेस त्यागेको घोषणा गरेका हुन् ।

    कांग्रेसमा नातावाद र व्यक्तिवादी चरित्र हाबी भएका कारण पार्टी परित्याग गर्नुपरेको बस्नेतले बताए ।

    बस्नेत नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य हुन् । उनी दाङका प्रतिष्ठित उद्योगपति समेत हुन् ।

  • बराहक्षेत्रका अध्यक्षसँगै अधिकांश पदाधिकारीले छाडे माओवादी, गठबन्धनप्रति असन्तुष्टि

    बराहक्षेत्रका अध्यक्षसँगै अधिकांश पदाधिकारीले छाडे माओवादी, गठबन्धनप्रति असन्तुष्टि

    इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाका माओवादी अध्यक्ष कमलबहादुर कटवालले गठबन्धनप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलनमार्फत माओवादी त्यागेको घोषणा गरेका हुन् ।

    माओवादी त्यागेको घोषणा गर्दै उनले भने– माओवादी दलाल, पुँजिपति र नोकरशाही प्रवृत्तिको घेराबन्दीमा परेको छ । जसकारण अब माओवादीमै रहनसक्ने अवस्था रहेन ।

    स्थानीय चुनावमा माओवादीको शक्तिशाली जनाधार रहेको क्षेत्रसमेत छोड्नु परेको भन्दै उनले असन्तुष्टि पोखेका छन् ।

    बराहक्षेत्रमा यसअघि पनि थुप्रै माओवादी नेता कार्यकर्ताले पार्टी छाडिसकेका छन् ।

    वडा नम्बर १ मा अध्यक्षको टिकट नपाएका रन्जित लोहनी, इन्चार्ज प्रकाश राई, सचिव निमेश किराँती, उपाध्यक्ष गंगामाया नेपाली, सहसचिव भीम लकान्द्री, कोषाध्यक्ष मन्दिरा कार्की, सदस्यहरु खगेन्द्र कार्की र रामबहादुर विस्टले पनि राजीनामा दिएका छन् । लोहनी र विस्टले स्वतन्त्र उमेदवारीसमेत दिएका छन् ।

  • भरतपुरका बागी उम्मेदवारका प्रस्तावकको घरमै पुगे गृहमन्त्री खाण

    भरतपुरका बागी उम्मेदवारका प्रस्तावकको घरमै पुगे गृहमन्त्री खाण

    काठमाडौं । भरतपुर महानगरपालिकामा पार्टीका तर्फबाट बागी उम्मेदवारी दिएका नेता मिलाउन चितवन पुगेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटासँग भेट गरेका छन् ।

    भरतपुरको मेयर पदमा उम्मेदवारी दिएका पूर्वसांसद जगन्नाथ पौडेलको प्रस्तावक रहेका सापकोटालाई भेटेर खाणले उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका हुन् । गठबन्धन र चुनावी तालमेल राष्ट्रिय आवश्यकता बनेको भन्दै गृहमन्त्री खाणले भरतपुरका कारण देशैभरी कांग्रेसलाई समस्या पर्ने भन्दै स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका हुन् ।

    गृहमन्त्री खाणले लंकुस्थित सापकोटाको निवासमै पुगेर उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका हुन् । जवाफमा सापकोटाले भरतपुरका कांग्रेसले रुखमा भोट हाल्न नपाउनु बिडम्बना रहेको भन्दै उम्मेदवारी यथावत रहने बताएका छन् ।

    यसैबीच गृहमन्त्री खाणले आजै भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई पनि भेट्दैछन् ।

  • बागी उम्मेदवारीले ललितपुर गठबन्धनमा तनाव, कांग्रेस-माओवादीबीच आरोप-प्रत्यारोप

    बागी उम्मेदवारीले ललितपुर गठबन्धनमा तनाव, कांग्रेस-माओवादीबीच आरोप-प्रत्यारोप

    ललितपुर । स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ ।

    माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले महाङ्काल गाउँपालिकामा बागी उम्मेदवारी दिएपछि गठबन्धनभित्र विवाद चर्केको हो । कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ सहमतिविपरीत माओवादीबाट उम्मेदवारी परेपछि समस्या परेको र उम्मेदवारी फिर्ता लिनुपर्ने बताउँछन् ।

    गठबन्धनको सहमति अनुसार महाङ्काल गाउँपालिका– १ र २ मा माओवादी केन्द्रलाई दिनुपर्ने दाबी गरिएको छ । तर, सहमति अनुसार नभएपछि आफूले उम्मेदवारी दिएको नेता लिमल्सिना बताउँछन् ।

    श्रेष्ठ भने यो विषयमा सहमति नभएको दाबी गर्छन् । ुवडामा कुनै सहमति भएको थिएन । प्रकृयामा थियो । अध्यक्ष नेपाली कांग्रेसर उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमती भने भएको हो,ु उनले भने ।

    बुधबारको बैठकपछि आआफ्नो पार्टीको विवाद मिलाउने सहमति भएको श्रेष्ठले बताए ।

    महाङ्कालमा विवाद मिलाउने क्रममा जिल्ला नेतृत्वको निर्णयविरुद्ध कांग्रेसका पालिका पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । कांग्रेस वरिष्ठ उपाध्यक्ष संजय लामा,वडा सभापति रामहरी दुलाल, कोषाध्यक्ष राजराम परियार र सदस्य बलराम घिमिरेले राजीनामा दिएका हुन् ।

    बागमती गाउँपालिकामा वडाध्यक्ष समेत रहेका विष्णु तिमल्सिना र स्थानीय नेता डोलकेशर दाहालले कांग्रेस निर्णय विपरीत क्रमशस् अध्यक्षरउपाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । कांग्रेसले वीरबहादुर लोप्चनलाई टिकट दिएपछि तिमल्सिनाले बागी उम्मेदवारी दिएका हुन् ।

  • किन मतदाताको पाउ परे भरतपुर मेयरका उम्मेदवार सुवेदी ?

    किन मतदाताको पाउ परे भरतपुर मेयरका उम्मेदवार सुवेदी ?

    निर्वाचनताका उम्मेदवारले प्रचारका लागि अनेक ‘स्टन्ट’ गर्ने कुरा नौलो होइन । पछिल्लो समय स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा त्यस्ता ‘स्टन्ट’हरु खुब हुन थालेका छन् । तीमध्ये बुधबार भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले चुनावी प्रचारका लागि घरदैलो अभियान सुरु गर्दा ज्येष्ठ नागरिकको गोडा ढोगेको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो ।

    खासमा उक्त तस्बिर खिचिनु र सार्वजनिक हुनुको अन्तर्य के थियो ?

    उक्त तस्बिर खिचेर सार्वजनिक गरेकी पत्रकार प्रतिमा सिलावाल भनाइ, जस्ताको तस्तै–

    चुनाव लागेपछि यसै पनि रिपोर्टिङको लागि दौडादौड छँदैछ । त्यहीं क्रममा माडी जाने तयारीमा थिएँ । मेरो घर भतपुरको १६ नम्बर वडामा पर्ने भएकोले भरतपुरतर्फ नगइ माडी जान सिधा बाटो पर्दछ ।

    बिहान ७ बजेतिर घरबाट निस्किएँ । शारदानगरहुँदै जगतपुर निस्किने क्रममा पार्वतीपुर बजार कटेर जानुपर्छ । स्कुटरमा जाँदै थिएँ, पार्वतीपुरमा सूर्य चिह्न अंकित झण्डासहित केही मानिस भेला भएको देखेँ । आखिर मलाई चुनावी स्टोरीको खोजी न थियो । एकैछिन त्यहीं हुलमा अडिएँ ।

    सोधीखोजी गर्दा थाहा पाएँ, एमालेका मेयर उम्मेदवार विजय सुवेदी घरदैलोमा आउँदैछन् । हुन त मलाई माडी जानुपर्ने काम महत्वपूर्ण थियो । यद्यपि, विजय सुवेदीप्रति स्थानीयको कस्तो छाप रहेछ बुझ्न मन लाग्यो ।

    भीडमा सरसर्ती आँखा डुलाएँ । एकजना पाका व्यक्ति, जसलाई त्यहाँ आउनेले ढोग, नमस्कार गर्दै थिए । लठ्ठीको सहारामा उभिएका उनीसँग अलिकति राजनीतिक गफ गर्न मन लाग्यो ।

    गफ सुरु गरेँ ।

    ८३ वर्षका धनबल्लव न्यौपाने रहेछन् । लमजुङबाट १० सालतिरै चितवन झरेका । पहिले जगतपुर बस्थे रे । १३ सालपछि पार्वतीपुर बसाइँ गएका । उनले चारकोसे झाडी फाँडेर बाटो बनाएको, फूलबारीदेखि तीन दिन लगाएर पार्वतीपुर पुगेको किस्सा पनि सुनाए ।

    सरकारले बाटो सिधा पारिदेला भन्ने आश त्यतिबेलैदेखि रहेछ उनीहरुको । तर, त्यहीं फाँडेको गोरेटो लामो समय रह्यो । उनका अनुसार पछि सरकारले बाटो खन्ने बेला त्यही गोरेटोलाई सडकमा स्तरोन्नति गरिदियो ।

    पुरानो चितवनको चर्चादेखि उनले राजनीतिक गफ पनि गरे । १५ सालदेखिकै आफू कम्युनिष्ट भएको सुनाए । कम्युनिष्ट भएकोले ‘उग्र’ भन्दै लमजुङदेखि लखेटिएको अनि पार्वतीपुरमा पनि कांग्रेसहरुले टिक्न नदिएको अनुभव पनि उनले सुनाएका थिए ।

    आफू पार्वतीपुरको ‘पहिलो कम्युनिष्ट’ भएको दाबी पनि उनले गरे । उनको कुराकानी सबै मैले मोबाइलको अडियोमा रेकर्ड गरेँ । त्यसपछि भने अहिलेका उम्मेदवारको प्रश्न गरेँ ।

    विजय सुवेदीको बाल्यकाल पनि पार्वतीपुरमै बितेको कारण उनको राजनीतिक र व्यक्तिगत जीवनबारे केही जान्दछन् भन्ने लाग्यो मलाई ।

    उनले विद्यार्थीकालदेखि विजय सुवेदीको आचरण व्यवहारबारे आफू जानकार रहेको बताए ।

    अझ वीरेन्द्र क्याम्पस पढ्दा विजय सुवेदीले कुटाइ खाएको र रगताम्य भएको क्षण कहिल्यै नभुल्ने पनि सुनाए । उनले अझ थपे, ‘हामीले दुई पटकसम्म सांसदमा उठाएको पनि हो । तर, जिताउन सकिएन ।’

    अहिले महानगरबाट उम्मेदवार बनेकोले आफूलाई असाध्यै खुसी लागेको बताए ।

    अनि विजय सुवेदी कस्ता नेता हुन् त ?

    मेरो प्रश्नमा उनले थपेका थिए, ‘विजय कमरेडलाई भन्नुपर्दा जे बोल्छन्, त्यो गर्छन् । उहाँको विजय सफल होस् । तर, अहिले सफल नभएपनि हामीलाई जनताले हेँला गरे भनेर ठान्नुहुन्न । त्यसैले उहाँ त जहिल्यै अगाडि । हारे पनि अगाडि, जितेपनि अगाडि । सयका सय गुण मेरा तर्फबाट ।’

    आफूले मन पराएको पार्टीका उम्मेदवारको गुणगान उल्कै गाउने रहेछन्, कार्यकर्ताझैँ लाग्यो मलाई । कुराकानी सकिनै लाग्दा मेयरका उम्मेदवार विजय सुवेदी टुप्लुक्कै पुगे । उहाँलाई देखेपछि पहिले दुई हात जोडेर निहुरिए ।

    न्यौपानेले विजय सुवेदीको टाउकोमा हात राखेर ठ्याक्कै दुई मिनेट लामो समयसम्म आशीर्वादका शब्दहरु भट्याइरहे, सुवेदी निहुरिरहे । जब न्यौपानेले आशीर्वाद टुंग्याए, विजय सुवेदी भावुक भए सायद । उनले न्यौपानेको खुट्टामै निहुरिए र ढोग गरे । हतारिँदै त्यो दृष्य कैद गर्न भ्याइहालेँ ।

    एउम्मेदवार विजय सुवेदीलाई तत्कालै सोधेँ, तपाइँले त खुट्टै ढोग्नुभयो ?

    जवाफमा विजय सुवेदीले भने—

    म जहाँ हुर्किएँ खेलेँ, उहाँ यहाँकै राजनीतिक अभिभावक हुनुहुन्छ । २०४१ सालमा विद्यार्थी आन्दोलनमा मलाई कुटपिट हुँदासमेत उहाँले संरक्षण गर्नुभयो । उहाँप्रति मसँधै श्रद्धा गर्छु ।

    केहीअगाडि उहाँ निकै बिरामी पनि हनुहुन्थ्यो । निको भएकोले आज मैले उहाँको आशीर्वाद लिने मौका पाएँ, त्यसैले श्रद्धाले खुट्टामा ढोग गरेको हुँ ।

  • निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै

    निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ ।

    १२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको हो ।

    १६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै शुक्रबार नै प्रकाशन हुनेछ ।

    निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

    ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।

  • ३७ प्रतिशत महिला उम्मेदवार, माओवादीबाट सबैभन्दा कम

    ३७ प्रतिशत महिला उम्मेदवार, माओवादीबाट सबैभन्दा कम

    काठमाडौं । आगामी वैशाख ३० गते ३५ हजार दुई सय २१ पदका लागि हुन लागेको स्थानीय तहको निर्वाचनमा चार गुणाभन्दा बढीको उम्मेदवारी परेको छ । जसमा ६२ प्रतिशत पुरुष छन् भने ३७ प्रतिशत महिला उम्मेदवार छन् । एमाले र कांग्रेसले समग्रमा ४१–४१ प्रतिशत महिला उम्मेदवार उठाएका छन् भने माओवादीले ४० प्रतिशत महिलालाई उम्मेदवार बनाएको छ । प्रमुख पदमा महिला उम्मेदवार उठाउनेमा भने माओवादी अगाडि छ ।

    निर्वाचन आयोगको तथ्यांकअनुसार एक लाख ५२ हजार चार सय ५४ जनाको उम्मेदवारी ९४ हजार सात सय ६० जना पुरुषको उम्मेदवारी परेको छ भने ५७ हजार सात सय पाँच जना महिला उम्मेदवार छन् ।

    प्रमुख पदमा महिला उम्मेदवार झन् कम

    आयोगका अनुसार तीन हजार चार सय ९४ जनाको नगर प्रमुखमा उम्मेदवारी परेको छ । जसमा तीन हजार दुई सय २८ अर्थात ९२ दशमलव ३८ प्रतिशत पुरुष छन् भने दुई सय ६६ अर्थात सात दशमलव ६१ प्रतिशत महिला छन् ।

    त्यस्तै अध्यक्षमा तीन हजार तीन सय ८७ जनाको उम्मेदवारी पर्दा ९४ दशमलव १५ प्रतिशत अर्थात तीन हजार एक सय ८९ पुरुषको उम्मेदवारी परेको छ भने पाँच दशमलव ८४ प्रतिशत अर्थात एक सय ९८ जना मात्रै महिलाको परेको छ ।

    उप्रमुखमा ७१ प्रतिशत र उपाध्यक्षमा ७४ प्रतिशत महिला

    उपप्रमुख पदमा भने दुई हजार एक सय ५६ जनाको उम्मेदवारी परेकोमा ७१ दशमलव ८४ प्रतिशत अर्थात एक हजार पाँच सय ४९ जना महिलाको उम्मेदवारी परेको छ । २८ दशमलव १५ प्रतिशत अर्थात ६ सय ७ जना मात्रै पुरुषको परेको छ । तर उपाध्यक्षमा भने दुई हजार चार सय एक जनाको उम्मेदवारी पर्दा ७४ दशमलव ४६ प्रतिशत अर्थात एक हजार सात सय ८८ जना महिलाको उम्मेदवारी परेको छ । २५ दशमलव ५३ प्रतिशत अर्थात ६ सय १३ जना मात्रै पुरुषको उम्मेदवारी परेको छ ।

    वडा अध्यक्षमा पुरुष नै हाबी

    ३५ हजार दुई सय ६५ जनाको वडा अध्यक्षका लागि उम्मेदवारी पर्दा ९७ प्रतिशत अर्थात ३४ हजार दुई सय १५ जना पुरुषको उम्मेदवारी परेको छ भने करिब तीन प्रतिशत अर्थात एक हजार ५० जना मात्र महिलाको उम्मेदवारी परेको छ ।

    त्यस्तै दुईजना खुला सदस्यमा ५५ हजार चार सय ७१ जनाको उम्मेदवारी परेकोमा ९५ दशमलव ३७ प्रतिशत पुरुषको उम्मेदवारी पर्दा महिलाको भने चार दशमलव ६२ प्रतिशत अर्थात दुई हजार पाँच सय ६३ जनाको मात्रै उम्मेदवारी परेको छ ।

    माओवादीबाट ४० प्रतिशत महिला उम्मेदवार

    आयोगको विवरणअनुसार नेकपा (माओवादी केन्द्र)ले प्रमुखदेखि वडा सदस्यमा गरेर जम्मा २२ हजार एक सय ७३ जनाको उम्मेदवारी दर्ता गराएको छ । जसमा ५९ दशमलव ६७ प्रतिशत अर्थात १३ हजार दुई सय ३२ जना पुरुष छन् भने ४० प्रतिशत अर्थात आठ हजार नौ सय ४१ जना महिलालाई उम्मेदवार बनाएको छ ।

    (माओवादी केन्द्र)ले प्रमुख पदमा भने एक सय ७४ जनाको उम्मेदवारी दर्ता गराउँदा ८९ दशमलव ६५ प्रतिशत अर्थात एक सय ५६ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने १० प्रतिशतभन्दा बढी अर्थात १८ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    त्यस्तै अध्यक्षमा दुई सय ९० जनाको उम्मेदवारी दर्ता गराउँदा ९० प्रतिशत अर्थात दुई सय ६१ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने १० प्रतिशत अर्थात २९ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    उपप्रमुखमा दुई सय १४ जनाको उम्मेदवारी दर्ता गराउँदा ६० दशमलव ७४ प्रतिशत अर्थात एक सय ३० जना महिलाको उम्मेदवारी दर्ता गराएको छ । ३९ दशमलव २५ प्रतिशत अर्थात ८४ जना मात्रै पुरुषको उम्मेदवारी दर्ता गराएको छ ।

    त्यस्तै उपाध्यक्षमा पनि तीन सय १५ जनाको उम्मेदवारी दर्ता गराउँदा ६४ दशमलव ४४ प्रतिशत अर्थात दुई सय तीन जना महिलाको उम्मेदवारी दर्ता गराएको छ भने ३५ दशमलव ५५ प्रतिशत अर्थात एक सय १२ जना मात्रै पुरुषको दर्ता गराएको छ ।

    वडा अध्यक्षमा भने चार हजार चार सय २८ जनाको उम्मेदवारी दर्ता गराउँदा करिब ९८ प्रतिशत अर्थात चार हजार तीन सय ३७ पुरुषको उम्मेदवारी दर्ता गराएको छ । दुई प्रतिशत अर्थात ९१ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    दुई खुला सदस्यमा पनि आठ हजार ६ सय ८१ जनाको उम्मेदवारी दर्ता गराउँदा ९५ दशमलव ४० प्रतिशत अर्थात आठ हजार दुई सय ८२ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने चार दशमलव ६० प्रतिशत अर्थात तीन सय ९९ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    प्रमुख तीन दलबाहेक जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चासहित ७६ वटा राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकोमा पनि महिलाको उम्मेदवारी दर्ता न्यून छ ।

    एमालेबाट समग्रमा ४१ प्रतिशत महिला उम्मेदवार

    सार्वजनिक विवरण अनुसार नेकपा एमालेले प्रमुखदेखि वडा सदस्यमा गरेर जम्मा ३३ हजार तीन सय ६८ जनाको उम्मेदवारी दर्ता गराउँदा ५८ दशमलव १८ प्रतिशत अर्थात १९ हजार चार सय १६ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने ४१ दशमलव ८१ प्रतिशत अर्थात १३ हजार ९ सय ५२ जना महिलाबाट उम्मेदवारी दर्ता गराएको छ ।

    समग्रमा ४१ प्रतिशत महिलाको उम्मेदवारी दर्ता गराएको नेकपा एमालेले प्रमुख पदमा भने दुई सय ९० जनाको उम्मेदवारी दर्ता गराउँदा ९० प्रतिशत भन्दा बढी अर्थात दुई सय ६३ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ । ९ दशमलव ३१ प्रतिशत अर्थात २७ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    यस्तै अध्यक्षमा चार सय ४६ जनाको उम्मेदवारी दर्ता गराउदाँ ९३ दशमलव ७२ प्रतिशत अर्थात चार सय १८ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने ६ दशमलव २७ अर्थात २८ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    नेकपा एमालेले उपप्रमुखमा भने दुई सय ८५ जनाको उम्मेदवारी दर्ता गराउँदा ९० दशमलव ८७ प्रतिशत अर्थात दुई सय ५९ जना महिलाको उम्मेदवारी दर्ता गराएको छ । नौ दशमलव १२ प्रतिशत अर्थात २६ जना मात्रै पुरुषको उम्मेदवारी दर्ता गराएको छ ।

    त्यस्तै उपाध्यक्षमा पनि चार सय ४५ जनाको उम्मेदवारी दर्ता गराउँदा ९२ दशमलव १३ प्रतिशत अर्थात चार सय १० जना महिलाको उम्मेदवारी दर्ता गराएको छ भने सात दशमलव ८६ प्रतिशत अर्थात ३५ जना मात्रै पुरुषको दर्ता गराएको छ ।

    वडा अध्यक्षमा ६ हजार पाँच सय ६ जनाको उम्मेदवारी दर्ता गराउँदा एमालेले ९८ दशमलव १८ प्रतिशत अर्थात ६ हजार तीन सय ८८ पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने करिब दुई प्रतिशत अर्थात एक सय १८ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    दुई खुला सदस्यमा पनि पुरुष नै हाबी भएको छ । जसमा १२ हजार आठ सय २७ जनाको उम्मेदवारी दर्ता गराउँदा ९५ दशमलव ७८ प्रतिशत अर्थात १२ हजार दुई सय ८६ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने चार दशमलव २१ प्रतिशत अर्थात पाँच सय ४१ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    कांग्रेसमा पनि ४१ प्रतिशत नै महिला उम्मेदवार

    आयोगको विवरण अनुसार नेपाली कांग्रेसले प्रमुखदेखि वडा सदस्यमा जम्मा ३१ हजार तीन सय २३ जनाको उम्मेदवारी दर्ता गराउँदा ५९ प्रतिशत अर्थात १८ हजार चार सय ७६ जना पुरुषबाट उम्मेदवारी दर्ता गराएको छ भने ४१ प्रतिशत अर्थात १२ हजार ८ सय ४७ जना महिलाबाट उम्मेदवारी दर्ता गराएको छ ।

    समग्रमा ४१ प्रतिशत नै महिलाको उम्मेदवारी दर्ता गराएको नेपाली कांग्रेसले प्रमुख पदमा भने दुई सय ६५ जनाको उम्मेदवारी दर्ता गराउँदा ९५ दशमलव ४७ प्रतिशत अर्थात दुई सय ५३ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ । चार दशमलव ५२ प्रतिशत अर्थात १२ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    त्यस्तै अध्यक्षमा तीन सय ८२ जनाको उम्मेदवारी दर्ता गराउँदा ९५ प्रतिशत अर्थात तीन सय ६३ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने करिब पाँच प्रतिशत अर्थात १९ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    कांग्रेसले उपप्रमुखमा दुई सय ११ जनाको उम्मेदवारी दर्ता गराउँदा ८५ दशमलव ३० प्रतिशत अर्थात एक सय ८० जना महिलाको उम्मेदवारी दर्ता गराएको छ भने १४ दशमलव ६९ प्रतिशत अर्थात ३१ जना मात्रै पुरुषको उम्मेदवारी दर्ता गराएको छ ।

    त्यस्तै उपाध्यक्षमा पनि तीन सय ५९ जनाको उम्मेदवारी दर्ता गराउँदा ८१ दशमलव ३३ प्रतिशत अर्थात दुई सय ९२ जना महिलाको उम्मेदवारी दर्ता गराएको छ भने १८ दशमलव ६६ प्रतिशत अर्थात ६७ जना मात्रै पुरुषको दर्ता गराएको छ ।

    कांग्रेसले वडा अध्यक्षमा ६ हजार एक सय ३२ जनाको उम्मेदवारी दर्ता गराउँदा ९८ दशमलव ६९ प्रतिशत अर्थात ६ हजार ५२ पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने एक दशमलव ३० प्रतिशत अर्थात ८० जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

    दुई खुला सदस्यमा पनि १२ हजार ९२ जनाको उम्मेदवारी दर्ता गराउँदा ९६ दशमलव ८४ प्रतिशत अर्थात ११ हजार सात सय १० जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने तीन दशमलव १५ प्रतिशत अर्थात तीन सय ८२ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

  • विराटनगर महानगरका मेयर भीम पराजुलीले दिए राजीनामा

    विराटनगर महानगरका मेयर भीम पराजुलीले दिए राजीनामा

    विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् ।

    उपमेयर इन्दिरा कार्कीमार्फत राजीनामा बुझाएको प्रेस सल्लाहाकार कौशल निरौलाले बताए । काठमाडौंमा रहेका पराजुलीले विराटनगर आएलगत्तै राजीनामा बुझाएका हुन् ।

    राजीनामा पत्रमा पराजुलीले निर्वाचन प्रचारप्रसारमा सहभागी हुनुपर्ने भएकाले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।

    पराजुलीले यसपटक पुन: मेयरमा दाबी गरेका थिए । गठबन्धनले नेपाली कांग्रेसका नागेश कोइरालालाई मेयरमा अघि सारेको छ । कोइराला नेता डा. शेखर कोइराला समूहका हुन् ।

  • स्वतन्त्र उम्मेदवार उठाएको निहुँमा सप्तरीमा दलित युवकको हत्या

    स्वतन्त्र उम्मेदवार उठाएको निहुँमा सप्तरीमा दलित युवकको हत्या

    जनकपुरधाम । स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा सप्तरीको खडक नगरपालिका-४ मा एक दलित युवकको हत्या भएको छ ।

    आसन्न स्थानीय निर्वाचनका लागि सोही नगरपालिकाको ४ नम्बर वडाअध्यक्षमा स्वतन्त्रबाट महादेव पासवानले मनोनयन दर्ता गराएका थिए । उनलाई उम्मेदवार बन्न सघाएको भन्दै त्यही दिन राति स्थानीय २५ वर्षीय सन्तलाल पासवानमाथि आक्रमण गरियो ।

    स्थानीयका अनुसार रडको आक्रमणबाट सन्तलालको टउकोमा गम्भीर चोट लागेको थियो । तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा गएराति उनको मृत्यु भएको हो ।

    उनको मृत्युपछि आक्रोशित स्थानीयले आज पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेर सवारी अवरुद्ध पारे । प्रशासनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ । अहिले राजमार्ग सञ्चालनमा आएको छ ।

    दलित अगुवा राजदेव रामले स्वतन्त्र उम्मेदवार खडा गरेकै निहुँमा सन्तलालको हत्या गरिएको बताए । ‘स्वतन्त्र उम्मेदवार बन्नु हरेक नेपाली नागरिकको अधिकार हो’, उनले भने, ‘उम्मेदवार खडा गरेकै निहुँमा सन्तलाललाई चौधरी समुदायका व्यक्तिहरूले धाकधम्की दिएका थिए । तर, उनीमाथि आक्रमण गरी हत्या भएको छ । यो अक्षम्य घटनाको प्रशासनले सुक्ष्म अनुसन्धान गरी दोषमाथि कडा कारबाही गर्नुपर्छ ।’

    उनका अनुसार खडक नगरपालिकाको ४ नम्बर वडामा ७/८ सय दलित मतदाता छन् । आफूहरूकै बाहुल्यता रहेको वडामा कुनै पार्टीले उम्मेदवार नबनाएको भन्दै दलित समुदाय असन्तुष्ट थिए ।

    स्वतन्त्र उम्मेदवारी दिएका दलित युवक महादेव दास भन्छन्, ‘उम्मेदवारी दिएर घर फर्केको राति टोलमा तीन ठाउँमा जन्ती आएको थियो । डिजे बाजाको विषयमा झगडा भयो । मलाई उम्मेदवार बनाएपछि केही व्यक्ति रिसाएकै थिए ।’

    सन्तलाललाई कुटपिट गरेकै राति आफूलाई पनि आक्रमण गर्न दुई युवक घरमा आएको र बुबा कराउन थालेपछि ज्यान जोगाएको महादेवले नेपाल प्रेसलाई बताए । उम्मेदवारी फिर्ता लिन अहिले पनि ठूला पार्टीका नेताहले दबाब दिइरहेको उनले सुनाए ।

    सन्तलालको हत्यामा निवर्तमान वडाध्यक्ष गंगाराम चौधरीका छोरा विवेक चौधरी, शिक्षक दिलिप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी लगायतका व्यक्तिको संलग्नता रहेको पीडित परिवारको आरोप छ । स्वतन्त्र उम्मेदवार दासले पनि घटनामा निवर्तमान वडाध्यक्ष गंगारामको हात रहेको टिप्पणी गर्छन् । गंगाराम नेकपा एसबाट वडाध्यक्षको उम्मेदवार छन् ।

    दुई वर्षअघि बिहे गरेका सन्तलालको एक वर्षकी छोरी, श्रीमती र आमाबुबा छन् । उनको शव अहिले विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा राखिएको छ ।

    इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिस्टर सिंहले गाउँमा जन्ती लिएर आएको डिजे बाजाको विषयमा विवाद भएपछि सन्तलाल कुटिएको र उपचारको क्रममा मृत्यु भएको बताए ।

    ‘स्वतन्त्र उम्मेदवार खडा गरेकै निहुँमा सन्तलालमाथि कुटपिट भएको कुरा थाहा भएन । त्यस्तो कुरा उजुरीमा समेत उल्लेख छैन’, इन्सपेक्टर सिंहले भने ।

  • मोहनाको रिटमा अन्तरिम आदेश भएन, स्थानीय तहको चुनावी प्रक्रियामा बाधा नहुने

    मोहनाको रिटमा अन्तरिम आदेश भएन, स्थानीय तहको चुनावी प्रक्रियामा बाधा नहुने

    काठमाडौं । स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार हुनै पर्ने संवैधानिक व्यवस्थालाई दलहरूले उल्लंघन गरेको भन्दै परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासले स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार हुनै पर्ने संवैधानिक व्यवस्था उल्लंघनको सन्दर्भमा विपक्षीसँग जवाफ मागे पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    अधिवक्ता मोहन अन्सारीले निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन् । उम्मेदवारी दर्ता भएर निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा अदालतले अन्तरिम नदिएपछि चुनावी प्रक्रियामा बाधा नपुग्ने भएको छ ।

    गठबन्धनका कारण देशका धेरै स्थानीय तहका प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार खडा भएका छन् । यसले संवैधानिक व्यवस्थाको उल्लंघन भएको रिट निवेदनमा उल्लेख छ ।

  • सरस्वती चौधरी- मधेसका महानगर र उपमहानगरमा एकमात्र महिला मेयर उम्मेदवार (भिडिओ)

    सरस्वती चौधरी- मधेसका महानगर र उपमहानगरमा एकमात्र महिला मेयर उम्मेदवार (भिडिओ)

    सिमरा । ५ वर्षअघि शिक्षकको जागिर छाडेर जितपुर सिमरा उपमहानगरपालिकाको उम्मेदवार बन्दा सरस्वती चौधरीसँग राजनीति र प्रशासनिक कुनै अनुभव थिएन ।

    थारु समुदायकी युवा महिला सरस्वतीलाई एमालेले जातीय र भेगीय सन्तुलन मिलाउन शिक्षकबाट राजीनामा गराएर उपमेयरको उम्मेदवार बनाएको थियो । मेयरका उम्मेदवार डा. कृष्ण पौडेल जति चर्चामा थिए उनको चर्चा चाहिँ चुनाव जितेपछि मात्र भयो ।

    पाँच वर्षपछि सरस्वतीको भूमिकामात्र फेरिएको छैन, जिम्मेवारी पनि अझ माथि पुगेको छ । मधेस प्रदेशका तीनवटा उपमहानगरपालिका र एउटा महानगरपालिकामध्ये मेयरको उम्मेदवार बन्ने एकमात्र महिला बनेकी छन् सरस्वती चौधरी । मधेसमा महिलालाई नेतृत्वमा स्वीकार गर्न सकस भइरहेका बेला सरस्वतीको उम्मेदवारी आम मधेसी महिलाका लागि अवसर बनेको छ ।

    पाँच वर्षको बीचमा सरस्वतीले कामबाट जनताको मन जितिन् कि जित्न सकिनन् भन्ने त चुनावी परिणामपछि मात्रै थाहा हुन्छ । तर, उनको बारेमा जितपुर सिमराका जनताले अहिलेसम्म नकारात्मक टिप्पणी गरेका छैनन्, बरु उपमेयरको रुपमा उनले आफ्नो नेतृत्व क्षमतासँगै जिम्मेवारी पनि परिपक्व बनाएको भनिरहेका छन् ।

    उपमेयर जित्दै गर्दा सामान्य शिक्षिकाको भूमिकामा रहेकी सरस्वती अहिले मुलुककै सबैभन्दा ठूलो दल नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको हैसियतमा पुगेकी छन् । न्यायिक समितिको प्रमुख समेत भएर उपमेयरको भूमिकामा उनले विशेषगरी मधेसका महिलालाई न्याय दिलाउन भूमिका निर्वाह गरिन् । आधाभन्दा बढी महिला मतदाताबीच उनको यो भूमिका अहिले चर्चामा छ ।

    अघिल्लोपटक उनी नयाँ थिइन् तर चुनाव त्रिपक्षीय थियो । यसपटक उनी अनुभवी भइन् चुनावपनि चुनौतिपूर्ण छ । पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार बनेका माओवादीका राजन पौडेल यसअघि तेस्रो भएका थिए । यसपटक चौधरी र पौडेलबीच मुख्य प्रतिस्पर्धा छ ।

    उपमेयरमा एमालेबाट साबिकको पिपरा गाविसमा दुईपटक अध्यक्ष निर्वाचित भएका लोकप्रिय नेता भोला अधिकारी छन् भने गठबन्धनबाट कांग्रेसको विद्यार्थी नेतृ मेघा शाही उम्मेदवार छिन् । मेयर र उपमेयरमा गठबन्धन गरेका दलहरु वडा तहमा भने एक्ला एक्लै लड्दैछन् । कांग्रेसमा मेयर माओवादीलाई दिइएकोमा असन्तुष्टि छ ।

    अघिल्लो कार्यकाल सरस्वतीका लागि चुनौतीपूर्ण रह्यो । मेयरको कमजोर निर्णय क्षमता र कार्यपालिकामा बहुमत विपक्षीको हुँदा पनि उनले मेयरको भन्दा राम्रो नेतृत्वदायी भूमिका निर्वाह गरिन् । करीव १५ वर्षको शिक्षण पेशा र ५ वर्षको उपमेयरको भूमिकाले उनलाई परिपक्व नेताका रुपमा जनतामा स्थापित गर्न भने सफल भएको छ ।

    कोरोना संक्रमणको पहिलो लहरका बेला कोही बाहिर निस्कन नसक्दा उपमेयर चौधरी आफैं फ्रन्टलाइनमा उत्रे उद्धार, राहत तथा घरघरमा स्वास्थ्य सामग्री पुर्याउन जान्थिन् । उनको त्यो भूमिका पनि अहिले उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्दै गर्दा मतदाताले स्मरण गरेका छन् । थारु र मधेसी समुदायको सघन बसोबास रहेको ठाउँमा त्यो समुदायबाट सरस्वतीमात्र उम्मेदवार बनेको फाइदा पनि एमालेले लिन खोजेका छ ।

    के भन्छिन् सरस्वती ?

    २०७४ सालमा म उपमेयर निर्वाचित हुँदा अनुभव थिएन । पहिलो उपमहानगरपालिका र पहिलो जनप्रतिनिधिका रुपमा जे जति काम गर्न सकियो त्यसको अनुभवले आज मलाई कन्फिडेन्स बढाएको छ । आज म आफैं निर्णय गर्न सक्ने भएकी छु ।

    सुशासनसहितको उमहानगर नगरपालिका बनाउँछु । जितपुर सिमराको विकासको जग बसाएका छौं,अब म आफैं यसको नेतृत्व गरेर हराभरा र राम्रो नगर बनाउँछु । पुर्वाधार विकासको सन्दर्भमा मैले धेरै कुरा सिकेँ,अब विज्ञहरूसहितको टिम बनाएर काम गर्ने हो ।

    यहाँ मधेसका महिलाहरू अधिकारविहीन छन् । मेरो उम्मेदवारी महिलाको सबलीकरण र सशक्तिकरणको लागि पनि हो । अरु कुनै पार्टीले मधेसमा महिलालाई प्रमुख पदको उम्मेदवार नै बनाउँदैनन् । नेकपा एमालेले महिलालाई नेतृत्वमा ल्याउँन चाहेको छ ।

    सुशासन र पारदर्शिताको सन्दर्भमा महिलाको नेतृत्व आवश्यक छ । मेरोबारेमा नगरबासीलाई थाहा छ । मैले चुनौतिलाई अवसरमा बदल्न सक्छु भन्ने विश्वास छ । उपमेयर कस्तो काम गर्ने मान्छे भन्ने थाहा छ । महिला भएर पनि पुरुष बराबर काम गर्न सक्छ भन्ने स्थापित गर्नुछ ।

    अहिले हाम्रो पार्टीविरुद्ध पाँच वटा दलको गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ । गठबन्धन उहाँहरुका आफ्नो नीति र सिद्धान्तविपरित हामीलाई हराउनमा बनेको होला तर एमाले एक्लै लड्न तयार छ र सक्षम छ । निर्वाचनमा हारजित आफ्नो ठाउँमा छ तर पहिले नै हार मानेर गठबन्धन गर्नु भनेको पराजय स्वीकार गरिसकेको हो ।

    हिजो दुई नम्बर सिटमा बसेर जे जति काम गरेँ अब एक नम्बर सिटमा बसेर पूरा गर्न मलाई जनताले जिताउनेछन् भन्ने विश्वास छ ।

  • २६ वर्षमै गाउँपालिकाको उपाध्यक्ष हाँक्न मैदानमा उत्रिइन् पार्वती

    २६ वर्षमै गाउँपालिकाको उपाध्यक्ष हाँक्न मैदानमा उत्रिइन् पार्वती

    गुल्मी । गुल्मीमा २६ वर्षीया युवती गाउँपालिकाको उपाध्यक्ष बन्न चुनावी मैदानमा होमिएकी छिन् । गुल्मीको इस्मा गाउँपालिकाको उपाध्यक्षका लागि २६ वर्षीया पार्वती कुँवर चुनावी मैदानमा होमिएकी हुन् । उनलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो ।

    २६ वर्षको उमेरमै गाउँपालिकाको उपाध्यक्षमा मनोनयन दर्तापछि कुँवरले पाको पार्टीबाट युवा उम्मेदवार बन्न पाएकोमा खुसी व्यक्त गरिन् । राजनीतिलाई समाज सेवाको माध्यम मान्ने कुँवर आफू निर्वाचित भए संवैधानिक दायित्वसँगै महिला सशक्तीकरणका लागि विशेष क्रियाशील रहने बताइन् ।

    ‘अवसर पाएमा महिलाले पनि पुरुषले भन्दा राम्रो कार्य सम्पादन गर्न सक्छन् भन्ने देखाउनेछु । गाउँपालिका उपाध्यक्षले गर्नैपर्ने कामसँगै गाउँका महिलाका नियमित समस्या समाधान गर्न पहल लिनेछु’, कुँवरले भनिन् । उनले महिलालाई राजनीतिक परिवर्तनको साधनमात्रै बनाउने क्रम छाडेर आसन, भाषण र शासनसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

    उनी गुल्मीबाट कांग्रेसको महासमिति सदस्यसमेत हुन् । व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण कुँवरले कानूनमा स्नातकसमेत गरेकी छिन् । आफू कानूनको विद्यार्थी भएकाले न्यायिक समितिलाई उचित नेतृत्व दिन सक्षम रहेको कुँवरको दावी छ ।

    सो गाउँपालिकाको अध्यक्षमा गुल्मी कांग्रेसका सचिव भगतसिंह खड्काले उम्मेदवारी दिएका छन् ।

  • बागी उम्मेदवार फकाउन देउवाको निर्देशनमा भरतपुर पुगे बालकृष्ण खाण

    बागी उम्मेदवार फकाउन देउवाको निर्देशनमा भरतपुर पुगे बालकृष्ण खाण

    चितवन । नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाण आज चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाण चितवन आएका हुन् ।

    सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् । खाणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग छलफल गर्दैछन् । त्यसपछि मेयरमा बागी उमेदवारी दिएका पौडेललाई भेट्न पौडेलको निवास भरतपुर-७ स्थित पिपल चोक जाने छन् ।

    भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन आएको बताए । असन्तुष्टलाई सम्झाउन के प्याकेज ल्याउनु भएको छ भन्ने प्रश्नमा उनले भने, ‘प्याकेजभन्दा पनि मन र हृदय लिएर आएको छु कि सबै नेपाली कांग्रेसका नेताहरूलाई सम्मान गर्न सकियोस् ।’

    ‘गठबन्धन गर्दा कहिलेकाहीँ आफूले चाहेको जस्तो हुँदैन । गठबन्धनमा आबद्ध अर्को राजनीतिक शक्ति संवाद छलफल हुनुपर्छ । एक कदम पछाडि पनि हट्नुपर्छ’, उनले भने, ‘संविधान र लोकतन्त्रका लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो ।’ गठबन्धनका कारण पार्टीले मतदाता नगुम्ने उनले दाबी गरे ।

    ‘यहाँ मभन्दा धेरै अग्रज नेताहरू हुनुहुन्छ । नेविसंघ, तरुण दलको नेतृत्वमा रहँदाका मेरा सहयोगी साथीहरू हुनुहुन्छ । सबैसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अगाडि बढाउने । चितवनको प्रतिष्ठालाई कसरी जोगाउने र मतदातालाई कसरी अपिल गर्ने सबैसँग परामर्श गरेर अघि बढ्दौँ’, उनले भने ।

    बागी उम्मेदवारी दिएका उम्मेदवारले १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकाले पार्टीमा योगदान पुर्‍याएका नेतालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिने बताए । स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने विश्वास रहेको उनले बताए ।

  • भेरी नगरपालिकाको दुईवटा ठेक्का लिएका ठेकेदार मेयर उम्मेदवार बनेपछि उजुरी

    भेरी नगरपालिकाको दुईवटा ठेक्का लिएका ठेकेदार मेयर उम्मेदवार बनेपछि उजुरी

    सुर्खेत । नगरपालिकाकै दुई वटा ठेक्का लिएर काम सम्पन्न नगरेकै अवस्थामा उम्मेदवार बनेको भन्दै जाजरकोटको भेरी नगरपालिकाका गठबन्धनका मेयर उम्मेदवार कमान बहादुर खड्काविरुद्ध निर्वाचन आयोगमा दाबी विरोध परेको छ ।

    खड्काका सन्तोष निर्माण सेवा प्रालिले घ वर्गको निर्माण व्यवसायी इजाजतपत्रमार्फत नगरपालिकामा स्वास्थ्य चौकी र कुदु रंगशाला निर्माणको ठेक्का लिएको र हालसम्म सम्झौता बमोजिमका काम सम्पन्न नभएको भन्दै उनको उम्मेदवारी बदर गर्न माग गरिएको छ ।

    खड्काले आसन्न निर्वाचनमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार बनेर मनोनयन दाखिला गरेका छन् ।

    निर्वाचन आचारसंहिता बमोजिम सम्बन्धित स्थानीय तहमा निर्माण व्यवसायीको कामकाज लिएको तथा सम्बन्धित उम्मेदवारको नाम र फर्ममा पेश्की रहेको व्यक्तिले उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।

    यसैबिच उम्मेदवार बन्ने भएपछि खड्काले आफ्नो नामको फर्मको स्वामित्व छोरा प्रेमराज खड्काको नाममा यही वैशाख ९ गते हस्तान्तरण गरेको बताइएको छ ।

    खड्काले आफ्नो र फर्मको नाममा लिएको पेश्की समेत फर्छ्यौट नगरेको भन्दै उनको उम्मेदवारी बदर गर्न माग गरिएको छ ।

    हतार हतार छोराको नाममा फर्मको नाम सारे पनि कर चुक्ता र प्यान दर्ताको प्रमाणपत्र भने नबुझाएको पाइएको छ । प्यान दर्ता र कर प्रमाणपत्र उनकै नाममा रहेको प्रमाणसहित उनको उम्मेदवारी बदर हुनुपर्ने जिकिर गरिएको छ ।

  • मुसिकोटका प्रमुख तथा उपप्रमुखका उम्मेदवार विरुद्ध पर्‍यो उजुरी

    मुसिकोटका प्रमुख तथा उपप्रमुखका उम्मेदवार विरुद्ध पर्‍यो उजुरी

    सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा मेयर उपमेयरका उम्मेदवारविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

    नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका वसन्त कुमार शर्मा र नेकपा एकीकृत समाजवादीबाट उपमेयरका उम्मेदवार बनेका विमल कुमार पुनका विरुद्ध कांग्रेस नेता महेन्द्र केसीले उजुरी दिएका हुन् ।

    यी दुवै उम्मेदवारको नाम समानुपातिक बन्द सूचीमा रहेको भन्दै उजुरी परेको हो ।

    यस्तै एक जना दलित महिला सदस्यविरुद्ध दुर्गा कुमारी कामीले ललिता शेर्पाली विरुद्ध उजुरी दर्ता गरेकी हुन ।

    उजुरीमा मुसिकोट नगरपालिका वडा नं. १४ को स्वास्थ्य चौकीको महिला स्वास्थ्य स्वयंसेविका पदमा कार्यरत रहेको भन्दै उजुरी दर्ता भएको हो ।

  • गठबन्धनको बैठक बाहिर एमालेका नेता ढुकेर बसेका हुन्छन्ः गगन थापा

    गठबन्धनको बैठक बाहिर एमालेका नेता ढुकेर बसेका हुन्छन्ः गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिपक्षी एमालेले केन्द्रमा क्वीन्टलका कुरा गरेर स्थानीयस्तरमा पाउ र छटाक बटुल्दै हिँडेको आरोप लगाएका छन् ।

    एमालेका नेताहरु गठबन्धनको बैठक बाहिर ढुकेर बस्ने गरेको पनि उनले दावी गरे ।

    बुधबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले भने, ‘हामीलाई गठबन्धन, गठबन्धन भन्दै धारे हात लगाएर गाली गर्नेले आज रङ्गरङ्गका पार्टीसँग तालमेल गरेर हिँडेका छन् । यता एउटा रङ्गसँग, उता अर्को रङ्गसँग । परिवार दलदेखि सीके राउतसम्म कोही पनि छोडेका छैनन् । पाउ र छटाक खोजिरहेका छन् ।’

    उनले थपे, ‘मैले देखेको छु । गठबन्धन बैठकको बाहिरपट्टि एमालेको स्थानीय नेता ढुकेर बसेको हुन्छ । कहाँनेर कुरा बिग्रिन्छ कि भनेर । कुरा बिग्रियो कि हामीसँग जाउँ, उसले ५ दियो भने ६ दिन्छौं, उसले उपमेयर दियो भने मेयर दिन्छौं । यता ठूलो नेता चाहिँ धारे हात लगाएर गठबन्धन, गठaन्धन भनेर बसेको छ । जिल्लामा नेताको बेहाल छ ।’

  • ओलीलाई गगन थापाको जवाफ- जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो (भिडिओ)

    ओलीलाई गगन थापाको जवाफ- जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टीको घोषणापत्रमाथि कठोर टिप्पणी गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । जसको मुखमा अँगार छ उसले कालै ओकल्ने उनले टिप्पणी गरे ।

    आज आयोजित एक कार्यक्रममा बोल्दै थापाले ओलीले अरुका विरुद्ध मुख छाड्नु नयाँ कुरा नभएको बताए ।

    थापाले भने, ‘नेकपाका अध्यक्ष ओलीजीले मुख छाड्नुभो भनेर एकजना साथीले सुनाउनुभो । अरे बाबा उहाँले सफा र सालिन बोलेको भए पो नयाँ कुरा । जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो । नयाँ कुरा भएन ।’

    ओलीले कांग्रेसको घोषणापत्र बनाउनेलाई पागल भनेको विषयमा पनि कडा टिप्पणी गरे ।

    उनले भने, ‘पागल भन्नुभयो, ठीकै छ । तपाईंलाई याद, छ ओलीले कोकोलाई पागल भन्नुहुन्छ ? जसले उहाँको झूटलाई बाहिर ल्यायो उसलाई पागल भन्नुहुन्छ । हिजो सुशिला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । यो पनि कुनै नयाँ कुरा होइन । कुण्ठाले भरिएको अभिव्यक्ति दिएर हलमा कार्यकर्ताको ताली खाएपछि घरमा आनन्दले सुत्ने केपी ओली हो ।’

    थापाले थपे, ‘हामीले छापेर वितरण गर्न पाएको छैन, हाम्रै पार्टीका साथीले पढ्न भ्याएका छैनन् । बरा बुढा राति उठेर पृष्ठपृष्ठ पढेछन् । हामीले पाँच वर्ष खेर भएको भनेका छौं । उहाँको भक्तिगान गाउने कुरा त भएन । उहाँलाई आफ्नो प्रशंसाको एकालाप सुन्ने बानी परेको छ । त्यसैले हाम्रो घोषणापत्र सहन सक्ने कुरा भएन ।’

    केपी ओलीलाई रिस उठ्यो भनेर आफूहरूले सत्य बोल्न नछाड्ने उनले बताए । उनले ओलीलाई उत्तेजनामा नआउन सुझाव दिए ।

    थापाले भने, ‘बुढाबा, धेरै सनक्क नसन्किनुस् । शरीरलाई अप्ठोरे पर्छ शरीरको ख्याल गर्नुहोला ।’

    उनले आफूसँग समय भएमा बालकोटमै गएर ओलीलाई ट्यूसन पढाउने चाहना रहेको पनि बताए ।

    थापाले भने, ‘महाधिवेशनका बेला मैले ल्याएको समुन्नत नेपालको अवधारणालाई आफ्नो समृद्ध नेपालको आइडिया चोरेको आरोप लगाउनुभयो । हिजो पनि आफ्नो आइडीया चोर्‍योचोर्‍यो भन्नुभयो । उहाँलाई पनि अहिले दौडधुप छ । मलाई पनि दौडधुप छ । अलिकति भ्याएको खण्डमा म बालकोट गएर उहाँलाई ट्यूसन पढाउँथे । एउटा विषयमा त पढाउनैपर्ने छ । मेरो समृद्धिको आइडिया चोर्देला भनेर राति अनिदो नबस्नुस् । आफ्नो आइडिया आफैंसित राख्नुस् । न मलाई चोर्नुछ, न कांग्रेसलाई चोर्नुछ । तपाईंको समृद्धि र मेरो समुन्नत नेपालको कहीँ भेट हुँदैन ।’