नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मनोनयन दर्ता गराएका तीनजनाको उम्मेदवारी रद्द भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज उपमहानगरको-७ मा वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठक, उपमहानगरपालिका-३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं. ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो ।
पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए । मनोनयन हुनुअघि मात्रै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।
एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालोसूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत, कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत चौलागाइले जानकारी दिए ।
यसैगरी उपमहानगरपालिका वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका अगुवाहरूलाई राज्य अहिलेपनि झूटो आरोपमा जेलमा राखेको बताएका छन् ।
आसन्न स्थानीय तह निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले परिवर्तन र अधिकारका लागि गरिएको आन्दोलनप्रति राज्यले वैरभाव राखेको बताए ।
‘संविधान जारी गर्दा सहमती गरेको कुरा पनि संविधानमा राखिएन् । अन्तिम बहस सुरू भयो । त्यसमा पनि हाम्रो कुरा सुनिएन् । त्यसपछि सडकमा आयौं । ६ महिनासम्म आन्दोलनमा रह्यौं,’ उनले भने,‘अहिले पनि जेलमा छन् । सांसद नै जेलमा छन् । झुठा आरोप लगाएको र फसाइएको छ ।’
त्यो आन्दोलनबारे विभिन्न मानवअधिकारवादी संस्थाहरूको प्रतिवेदनमा समेत राज्यले ज्यादती गरेको उल्लेख गरिएको अध्यक्ष ठाकुरले बताए । उनले भने, ‘प्रतिवेदन आएका छन् । राज्यद्वारा ज्यादती भएको छ । निस्पक्ष अनुसन्धान भएको छैन । निर्दोष जेलमा परेका छन् । भनेर त्यसमा लेखिएका छन् ।’
आन्दोलनको अध्ययन गर्न निष्पक्ष छानबिन गर्नका लागि आफूले माग गरेअनुसार आयोग बनेपनि त्यसको प्रतिवेदन नै सरकारले सार्वजनिक नगरिएको उनले गुनासो गरे ।
‘हामीले जुन आयोगको माग गरेका थियौं, लाल आयोग बन्यो, तर सार्वजनिक भएन् । ओलीजीले सार्वजनिक गर्नुभएन । अहिलेका प्रधानमन्त्रीलाई पनि पटकपटक भेटेका छौं,’ उनले भने ।
घटनाका दोषीलाई मुद्दा चलाउने/नचलाउने दायित्व सरकारको रहेको बताउँदै अध्यक्ष ठाकुरले सर्वसाधारण जनतासमक्ष सत्य कुरा आओस् भन्ने चाहना अनुसार त्यो प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गरे ।
काठमाडौँ । शुक्रबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँचदलीय बैठकले गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ ।
पाँचदलका शीर्ष नेताहरूको बैठकले गठबन्धनबाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय पनि गरेको छ ।
तर, झापाको दमक नगरपालिका र कचनकबल गाउँपालिकामा भने अन्य दलसँगको तालमेल कायमै राख्ने स्थानीय नेताहरूले बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा पाँच दलीय गठबन्धनले राप्रपासँग तालमेल गरेर मेयर राप्रपालाई दिएको छ । त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका कचनकबलमा कांग्रेस र एमालेले तालमेल गरेका छन् ।
स्थानीय तहमा जो कमजोर छ कमजोरहरू मिलेर बलियोसँग लड्नका लागि कसैले रोकेर नरोकिने माओवादी केन्द्र प्रदेश १ का कोषाध्यक्ष गगन पुरीले बताए ।
उनले नेपाल प्रेससँग भने, ‘दमकमा हामीहरू कमजोर र एमाले बलियो छ, एमालेलाई हराउनका लागि हामीले गरेको तालमेल केन्द्रले जे जे भने पनि भंग हुँदैन । हामीले ओलीको गृहनगरमा एमालेलाई हराउन अन्य दलहरूसँग गरिएको चुनावी तालमेल कुनै हालतमा पनि भङ्ग हुँदैन ।’
नेपाली कांग्रेस झापाका सभापति देउमान थेबेले अन्तिम समयमा आएर केन्द्रले जे निर्णय गरे पनि आफूहरू पछाडि नहट्ने बताए । उनले स्थानीय आवश्यकताका आधारमा गरिएको तालमेल कायमै रहने बताए ।
कांग्रेस सभापति थेबेले नेपाल प्रेससँग भने, ‘समय हुँदासम्म केन्द्रका नेताहरू कहाँ थिए ? अब हामी पछाडि हट्दैनौ हाम्रो चुनावी तालमेल अगाडी बढी सक्यो । एक हिसाबमा भन्ने हो भने दमक नगरपालिकामा नगर प्रमुख र केचना कवलमा गठबन्धनको उपाध्यक्षको उम्मेदवार छैन के गठबन्धनले उम्मेदवारी खाली राख्दैमा अन्य दलसँगको तालमेल भन्ने हुन्छ र ?’
कचनकबलमा कांग्रेसले गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएको छ भने एमालेले उपाध्यक्षको उम्मेदवारी दिएको छ । यहाँ राप्रपालाई हराउनका लागि गठबन्धन सहितका दल र एमालेको चुनावी तालमेल भएको छ ।
चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने भएपछि गृहमन्त्री बालकृष्ण खाण काठमाडौं फर्कँदैछन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले स्वतन्त्र उम्मेदवार फकाउन कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणलाई खटाए पनि बिनापरिणाम उनी काठमाडौं फर्कन लागेका हुन् । राज्यमन्त्री उमेश श्रेष्ठ पनि आजै काठमाडौं फर्किने बताइएको छ ।
‘जे कामका लागि जानुभएको हो त्यो हुन सकेन’, खाणनिकट एक नेताले भने । ती नेताका अनुसार ‘सम्मानजनक राजनीतिक संरक्षण’ को प्रस्ताव राखिए पनि पौडेलले अस्वीकार गरेका छन् । प्रधानमन्त्री देउवाको दूत बनेर चितवन गएका गृहमन्त्री खाण ३ दिन भरतपुर बसेका थिए ।
पौडेलले उम्मेदवारी फिर्ता नलिने संकेत देखिएपछि कांग्रेसले पार्टी निर्णयविपरीत उम्मेदवारी दिनेहरू विधानअनुसार स्वतः पार्टीबाट निष्कासित हुने स्मरण गराएको छ ।
भरतपुरमा प्रमुखको प्रत्याशी बनेका पौडेलले आफूलाई कांग्रेसका हजारौं कार्यकर्ताको साथ रहेको भन्दै उम्मेदवारी फिर्ता नलिने बताएका छन् । पौडेलको निवासमा आज बिहानैदेखि कांग्रेस कार्यकर्ताको बाक्लो उपस्थित छ । उनीहरूले उम्मेदवारी फिर्ता नलिन पौडेललाई आग्रह गरेका छन् ।
चरिकोट । बैतेश्वर गाउँपालिको उपाध्यक्षमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेस दोलखा जिल्लाका पूर्वउपसभापति छबी लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेसबाट गाउँपालिका अध्यक्षको टिकटका दाबेदार लामाले अन्तिममा टिकट नपाएपछि उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । एमालेले उनको स्वतन्त्र उम्मेदवारीलाई समर्थन जनाउँदै पार्टीबाट उम्मेदवारी दिएकी नविना लामालाई फिर्ता बोलाएको छ ।
एमाले दोलखा जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरले कांग्रेस नेता लामा एमाले प्रवेश गरेपछि उनलाई एमालेले उपाध्यक्षमा सहयोग गर्ने र एमाले उम्मेदवारले मनोनयन फिर्ता लिने सहमति भएको बताए ।
लामालाई एमाले पोलिटब्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठलगायतले पार्टीमा स्वागत गर्दै एमालेको आधिकारिक उपाध्यक्ष उम्मेदवार घोषणा गरेका हुन् ।
हेटौंडा । नेकपा एमाले नेता श्रीधर पोखरेलले नेकपा (एस) भन्ने पार्टी नेपाली कांग्रेसको ‘एस’ रहेको बताएका छन् ।
दुई दिनअघि एकीकृत समाजवादीको मकवानपुर जिल्ला अध्यक्ष परित्याग गरेर बिहीबार एमाले प्रवेश गरेका नेता पोखरेलले शुक्रबार बिहान हेटौंडामा भएको एमाले चुनावी प्रचार कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एस भन्ने पार्टीमा कुनै नीति, विधि र विचार नरहेको दाबी गरे ।
उनले भने, ‘एउटा पार्टी निर्माण हुँदा त्यो पार्टी विचार, नीति र सिद्धान्तको अघि बढ्ने हो । एकीकृत समाजवादीसँग न कुनै विचार छ, न त कुनै दृष्टिकोण छ । उसको विचार केबल नेकपा एमालेलाई साइजमा ल्याउने, कमजोर बनाउने र नेपाली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नेभन्दा अरु कुनै छैन ।’
एमाले प्रवेश गर्दा आफ्नै घर फर्किएको र आफ्नै दाजुभाइ तथा दिदीबहिनीहरुसँग भेट भएझैं खुसी मिलेको बताउँदै पोखरेलले आफ्नो ४१ वर्षको कम्युनिस्ट आन्दोलन र पार्टीगत लगानी एमालेमै भएकोले विगत ८ महिना राजनीति जीवनको भूल भएको बताए । ‘म विस्मृतमा थिएँ’, उनले भने, ‘एमालेको जीतले मात्रै जनतालाई न्याय हुन्छ ।’
विराटनगर । मोरङको केराबारी गाउँपालिका-२ वडा सदस्यमा उम्मेदवारी दिएका एक व्यक्तिको मृत्यु भएको छ ।
नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका नविन लिम्बूको शुक्रबार बिहान मृत्यु भएको हो ।
बिहीबार चुनावी अभियान सकेर घरमा आइ सुतेका उनी आज बिहान अचानक बेहोस भएर ढलेको परिवारले जनाएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीका अनुसार उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा लिम्बीको बाटोमै मृत्यु भएको हो ।
मृत्युको कारण खुलेको छैन । शव पोष्टमार्टमका लागि पठाइएको कार्कीले जानकारी दिए ।
चुनावअगावै उम्मेदवारको मृत्यु भएमा निर्वाचन आयोगले अर्को व्यक्तिको उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराउने कानुनी व्यवस्था छ। अब केराबारी २ मा नयाँ मनोनयन दर्ताका लागि समय थप हुनेछ ।
काठमाडौं । सत्तारुढ गठबन्धनले विभिन्न पदमा बागी उम्मेदवारी दिएकाहरूलाई तत्काल फिर्ता लिन पुन: निर्देशन दिएको छ ।
आज आसन्न स्थानीय चुनावअन्तर्गत मनोनयन फिर्ता लिने अन्तिम दिन हो ।
बिहान कांग्रेस सभापति एवं प्रधनमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँचदलीय बैठकले यसअघि सहमति भएका ६ महानगर र ११ उपमहानगरका प्रमुख-उपप्रमुख पदमा भएको सहमति भएविपरितका दलबाट गरिएका उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।
पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल पनि तत्काल खारेज गर्न पाँच शीर्ष नेताहरूको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ । पाँच दलले गठबन्धनबाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय पनि लिएको छ ।
सुर्खेत । नेपाली कांग्रेस सुर्खेत भने गठबन्धनको सहारामा चुनावमा होमिने अन्तिम कसरतमा जुटेको छ ।
आन्तरिक विवाद मिलाउन पूर्ण रुपमा असफल भएको सुर्खेत कांग्रेसले नेकपा एमालेलाई हराउन भन्दै माओवादीलाई आवश्यक भाग दिएरै भएपनि गठबन्धनमा जानुपर्ने अन्यथा सबै पालिका गुमाउनुपर्ने अवस्था सिर्जना भएकाले गठबन्धन बनाउन कसरत तीव्र पारेको हो ।
सुर्खेत कांग्रेसमा संस्थापन पक्ष हावी भएका कारण शेखर समूहले नौ पालिकामा कतैपनि उम्मेदवारी दर्ता गर्न पाएन । अन्तिम अवस्थामा महामन्त्री गगन थापाले मेयरका आकांक्षी नारायण कोइरालालाई वैशाख १२ गते साँझ ४ बजे नगर प्रमुख बन्न फोनमार्फत आग्रह गरेपनि उनले आफूले आफ्नो हितमा भन्दा पनि कांग्रेसको हितमा ४० प्रतिशत भागवण्डा गर्नुपर्ने भन्दै आफू मेयर नबन्ने बताएका थिए ।
सुर्खेत कांग्रेसले शेखर समूहलाई पाँच ओटा उपप्रमुख तथा उपाध्यक्ष लैजान भनेर भनेतापनि शेखर समूहले सोझै इन्कार गरेको थियो ।
‘कतिमा हामीसँग एकपटक पनि सल्लाह भएन । मनोनयन दर्ताको समयमा उहाँहरुले कुनैपनि पहल नगरेका कारण हामीले कतैपनि उम्मेदवारी दिएनौं ।’ संस्थापन इतर समूहका नेता कमलराज रेग्मी भन्छन्, ‘उहाँहरुले पार्टी मिलाएर लैजाने भन्दा पनि सत्ता र शक्तिको आडमा हाम्रो विचार समूहलाई दबाउनु भएको हो । उहाँहरुको दम्भका कारण काँग्रेसलाई नोक्सान भएको छ ।’
तर, अहिले नेपाली कांग्रेस भने आफ्नै दलबाट असहयोग हुने सम्भावना देखेका कारण माओवादीसँग गठबन्धन गरेर जान तयार भएको छ ।
कांग्रेस स्रोतका अनुसार अहिले नेकपा माओवादी र नेपाली कांग्रेसका नेताहरुबीच भागवण्डा मिलाएर जाने भन्दै सहमतिको ड्राफ्ट तयार गर्न लागेका छन् । ‘केहि समयमा नै काँग्रेस र माओवादीबीच तालमेल भएको खबर तपाईले पाउँदै हुनुहुन्छ ।’ स्रोतले नेपालप्रेससँग भन्यो ।
सुर्खेतमा नौ पालिका छन । २०७४ मा कांग्रेसले ६ पालिकामा जित हात पार्दा एमालेले तीन पालिकामा चित्त बुझाउनु परेको थियो ।
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य यामलाल कँडेलको अगुवाइमा सुर्खेतमा शुक्रबारदेखि घरदैलो कार्यक्रम सुरु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका ११ को गाग्रेतालबाट एमालेलाई जिताउन घरदैलो अभियान सुरु गरिएको हो ।
अभियानमा नगर प्रमुखका उम्मेदवार मोहनमाया ढकाल, उपप्रमुखका उम्मेदवार नीलकण्ठ खनाल, वडा नम्बर ११ का अध्यक्षका उम्मेदवारसहित सयौंको संख्यामा एमाले नेता कार्यकर्ताहरु सहभागी भएका छन् ।
सत्तारुढ गठबन्धन बनाउने तयारी गरिरहेको समयमा एमालेले भने घरदैलो अभियान सुरु गरेको हो ।
कैलाली । २४ फागुनमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दल वा विपक्षी दल कसैलाई पनि गाली नगर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।
स्थानीय निर्वाचनलक्षित पार्टीको एक महिने अभियानबारे केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई प्रशिक्षण दिन सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेताहरूलाई गठबन्धन दल र विपक्षीलाई समेत निम्नस्तरका गाली नगर्न भनेका थिए । र, वैशाख ६ गते देउवाले गठबन्धन नभए कांग्रेसको हालत २०७४ को जस्तो हुनसक्ने बताएका थिए ।
‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? टुटेपछि फेरि हालत त्यहीं हुने हो । अस्ति(२०७४) के भएको थियो ?’ उनले भनेका थिए, ‘भोलि त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन । त्यस कारणले कसैसँग त गठबन्धन गर्नै पर्यो । कुनै हालतमा तोड्नु हुँदैन भन्ने साथीहरूको धारणा छ ।’
पटक–पटक दिएका यी अभिव्यक्तिले सभापति देउवा नै गठबन्धन गर्न चाहन्छन् भने पुष्टि हुन्छ । तर, अन्य क्षेत्रमा गठबन्धन गर्न दबाब दिइरहेका देउवाले आफ्नै क्षेत्रमा भने नेता कार्यकर्ता मिलाउन सकेनन् ।
अहिले देउवाकै गृह जिल्लाका पूर्व पार्टी सभापति र प्रदेशसभा सदस्य कर्ण मल्लले नेतृत्व गरेको कांग्रेस (बिपी) र एमालेबीच तालमेल भएको छ । डडेल्धुरामा एमालेसँग तालमेल गरेपछि प्रदेशसभा सदस्य मल्ललाई पार्टीले सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । पार्टीले निष्कासन गरेकै भोलिपल्टै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामाको घोषणा गरेका छन् ।
मुलुकभरीनै गठबन्धनका जोड दिइरहेका देउवाले आफ्नै गृह जिल्लामा पार्टी मिलाउन नसकेको आरोप लागेको छ ।
‘नेपाली कांग्रेसलाई जोगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हो,’ मल्लले भने, ‘तर सभापति देउवाले सच्चा कार्यकर्तालाई गरेको अपमान र दिएको पीडाको कारण हामीले करुवा चुनाव चिह्न लिएर नेकपा एमालेसँग तालमेल गर्ने अवस्था आएको हो ।’
मल्ल समूहले नेकपा एमालेसँग तालमेल गरेर अमरगढी नगरपालिका सहितका ३ पालिका प्रमुख र अन्यमा उपप्रमुखमा तालमेल भएको छ । कांग्रेस बलियो भएका क्षेत्रमा पनि मल्ल र एमालेको तालमेल भएपछि कांग्रेसलाई धक्का पुग्ने आँकलन गरिएको छ ।
देउवापत्नीको जिल्लामा पनि किचलो
शेरबहादुर देउवाको जिल्लामा मात्रै होइन, पत्नी आरजु राणा देउवा निर्वाचन लडेको जिल्लामा पनि कांग्रेस भित्रैको किचलो सार्वजनिक भएको छ । कांग्रेस भित्रको गुटका करण एक पालिका प्रमुख र एक उपप्रमुखमा केन्द्रबाटै हस्तक्षेप गर्नु पर्ने अवस्था सृजना भएको थियो ।
कैलालीको लम्की चुहाको प्रमुखमा प्रदेश कार्यसमितिबाट टिकट पाएका भक्त थापा र केन्द्रीय सभापति शेरबहादुर देउवाले टिकट दिएको भन्दै सुशीला शाहीले पनि उम्मेदवारी दर्ता गरेकी थिइन् । पछि शाही आधिकारिक उम्मेदवार भइन् ।
घोडाघोडी नगरपालिकाका उपप्रमुखमा पनि कांग्रेसकि रिता चौधरी र गुलिया देवी चौधरी दुवैले आफूलाई आधिकारिक उम्मेदवार भएको दाबी गरेका थिए । पछि गुलिया आधिकारिक भएको पुष्टि भयो ।
कैलालीमा कांग्रेसभित्रैको असन्तुष्टि कम नहुन नपाउँदै गठबन्धन भित्रैको असन्तुष्टि पनि चरमचुलीमा पुगेको छ । कैलालीका १३ पालिका प्रमुख उपप्रमुखमा तालमेल भए पनि यहाँका १२६ वडाहरूमा तालमेल गर्न समस्या भइरहेको छ ।
‘हिजो पालिका स्तरमा मात्रै सहमति भयो । २०७४ सालको स्थानीय तहमा जसले जितेको वडा हो, त्यहीं दलले उम्मेदवारी दिने कुरा पनि भएको थियो तर, अहिले उक्त सहमति कार्यान्वयन गर्न समस्या भइरहेको छ’ माओवादी केन्द्रका एक नेताले भने ‘पूर्ववत् सहमति कार्यान्वयन गर्न कांग्रेस अनिच्छुक देखिएको छ ।’
अहिले कैलालीका अधिकांश वडाहरूमा सबै दलले उम्मेदवारी दिएका छन् । उनीहरूले उम्मेदवारी फिर्ता लिन नमानेपछि वडाहरूमा पनि गठबन्धनका दलहरू भित्र किचलो सुरु भएको हो ।
अहिले धनगढी उपमहानगरपालिका, बर्दगोरीया गाउँपालिका, गौरीगङ्गा नगरपालिका लगायतका स्थानीय तहमा प्रमुख र उपप्रमुखमा तालमेल भए पनि वडाहरूमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भइसकेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा टिकट वितरण एकोहोरो ढङ्गले गरेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ५८ जना क्रियाशील सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन गरी राजीनामा दिएका छन् ।
कैलालीका विभिन्न पलिकाहरु स्तरमा पनि नेता कार्यकर्ताहरुले राजीनामा बुझाएका हुन् । उनीहरूले यस अघि नै कैलालीका गठबन्धन गर्न आवश्यक नरहेको र कांग्रेस एक्लै निर्वाचनमा होमिँदा पनि नतिजाअनुकूल ल्याउन सकिने दाबी गर्दै आइरहेका थिए ।
काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा पार्टी निर्णयविपरीत उम्मेदवारी दिएकालाई आज साँझ पाँच बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बागी उम्मेदवारी फिर्ता नलिए उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई समेत पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने कांग्रेसले चेतावनी दिएको छ ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रस विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । उनले बागी उम्मेदवारी फिर्ता लिएर पार्टीका आधिकारिक उम्मेदवालाई जिताउन पनि आग्रह गरेका छन् ।
बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न सत्तागठबन्धनको बैठक पनि बस्दैछ ।
हेटौंडा । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्ट नै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लागेका थिए । उनी फेरि एमालेमा फर्किएका हुन् ।
उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उनी सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए । उनले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।
काठमाडौं । २१ पुस २०७० मा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले दिएको ‘नो भोट’ को आदेश कार्यान्वयन नभएपछि सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
अधिवक्ता स्वागत नेपालले आदेश कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा बिहीबार दर्ता गराएका हुन् ।
उनले मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र निर्वाचन आयोगका पदाधिकारीलाई विपक्षी बनाएका छन् ।
अवहेलना मुद्दामा विपक्षीहरूलाई कारबाही गर्न उनको माग छ ।
नेपालसहित अर्का अधिवक्ताहरू भाइराजा राई र विकास खड्काले ‘नो भोट’को माग गर्दै १० कात्तिक २०७० मा सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटको सुनुवाइ गर्दै श्रेष्ठ र वस्तीले कुनै उम्मेदवार मन नपरे अस्वीकार गर्न पाउने अधिकार सुरक्षित हुनेगरी कानुन बनाउन सरकारको नाममा निर्देशनात्मक आदेश दिएका थिए ।
तर, सरकारले भने आदेशअनुसारको कानुन साढे आठ वर्ष बित्दासमेत बनाएको छैन । कानुन नबनाउँदा यस पटक पनि मतदातालाई कुनै उम्मेदवार मन नपरे पनि मतदान गर्नुपर्ने बाध्यात्मक स्थितिमा छ ।
रसुवा । नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका– ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन्।
बिहीबार एक कार्यक्रमबीच एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएरर पार्टीमा स्वागत गरेका छन्। एमाले नै सशक्त पार्टी भएको भन्दै माओवादीबाट दिएको उम्मेदवारीसमेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको तामाङको भनाइ छ।
एमाले शीर्ष नेताहरूसँगको सल्लाह र परामर्शमा माओवादी छोडेको उनले बताए ।
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि वीरगञ्जबाहेक मुलुकभरका पाँच महानगरपालिकामा सबै पदका लागि गरी तीन हजार सात सय ७२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार ७९ राजनीतिक दल र स्वतन्त्रबाट विभिन्न पदमा उम्मेदवारी परेको छ ।
काठमाडौं महानगरपालिकामा माओवादीका सबैभन्दा कम उम्मेदवार
विवरणअनुसार मुलुकभरका ६ महानगरपालिकामध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा २९ राजनीनिक दल र स्वतन्त्रबाट प्रमुखदेखि वडा सदस्यसम्म आठ सय ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा (एमाले)ले दर्ता गराएको छ । एमालेबाट एक सय ५७ जनाको परेको छ । दोस्रोमा नेपाली कांग्रेसले एक सय ५५ जनाको उम्मेदवारी दर्ता गराएको छ ।
तेस्रोमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सय ४० जनाको र चौथो नम्बरमा नेकपा (एकीकृत समाजवादी)बाट एक सय दुईजनाले उम्मेदवारी दर्ता गराएको छ । प्रमुख राजनीतिक दलमा नेकपा (माओवादी केन्द्र)ले भने पाँचौ नम्बरमा ९१ जनाको मात्रै उम्मेदवारी दर्ता गराएको छ । स्वतन्त्रतर्फ एक सय १७ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
पोखरा महानगरपालिकामा नेकपा एस पाँचौ
आयोगको विवरण अनुसार पाँच महानगरपालिकामध्ये दोस्रोमा सबैभन्दा धेरै पोखरा महानगरपालिकामा २४ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरी आठ सय ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।यहाँ सबैभन्दा धेरै नेकपा (एमाले)बाट एक सय ६७ जना, दोस्रोमा नेपाली कांग्रेसबाट एक सय ५८ जना र तेस्रोमा नेकपा (माओवादी केन्द्र)बाट एक सय ४७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक सय ३५ जनाको उम्मेदवारी दर्ता भएको छ । पाँचौँमा भने नेकपा एकीकृत समाजावादीबाट ७३ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । स्वन्त्रबाट ४९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
विराटनगरमा कांग्रेस र एमालेबाट बराबर उम्मेदवार
विराटनगर महानगरपालिकामा २२ राजनीतिक दल तथा स्वतन्त्रबाट गरी सात सय ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमाले र कांग्रेसले ९६–९६ जना उम्मेदवार उठाएका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ९१ जनाको उम्मेदवारी दर्ता भएको छ भने तेस्रोमा जनता समाजवादी पार्टीबाट ७८ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र)ले ७२ जनाको दर्ता गराएको छ भने नेकपा (एकिृकृत समाजवादी)बाट ७० जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट भने ५८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
भरतपुरमा पनि एमालेकै उम्मेदवार धेरै
भरतपुर महानगरपालिकामा २३ राजनीतिक दल र स्वतन्त्रबाट गरेर सात सय १७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)बाट एक सय ३८ जनाको उम्मेदवारी दर्ता भएको छ भने दोस्रोमा नेपाली कांग्रेसबाट नेकपा (एमाले) को भन्दा दुई जनाले कम अर्थात एक सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
तेस्रोमा नेकपा (माओवादी केन्द्र)बाट एक सय २३, चौथोमा नेकपा (एकीकृत समाजवादी)बाट एक सय चार र पाँचौमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७५ जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट भने ५२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको हो ।
ललितपुरमा कम उम्मेदवार
ललितपुर महानगरपालिकामा सबैभन्दा कम १६ राजनीतिक दल र स्वतन्त्रबाट गरेर ६ सय ३७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये सबैभन्दा धेरै नेकपा (एमाले)बाटै एक सय ३४ जनाको उम्मेदवारी परेको छ भने दोस्रोमा नेपाली कांग्रेसबाट नेकपा (एमाले)भन्दा दुई जना कम अर्थात् एक सय ३२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
तेस्रोमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक सय पाँच जना, चौथोमा नेकपा (माओवादी केन्द्र)बाट एक सय चार र पाचौँमा नेकपा (एकीकृत समाजवादी)बाट ५४ जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट भने ५३ जनाको उम्मेदवारी दर्ता भएको जनाइएको छ ।
निर्वाचन आयोगले वीरगञ्च महानगरको भने उम्मेदवारको विवरण सार्वजनिक गरेको छैन ।
काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई साझा उम्मेदवार बनाउने गरी दुई दलबीच सहमति भएको हो ।
गाउँपालिका स्तरीय नेताहरुबीच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता गराएर माओवादीकी दुर्गा थापालाई साझा उम्मेदवार बनाइनेछ ।
वडामा पनि एमाले र माओवादीले भागबण्डा गरेका छन् । त्यस्तै नेताहरुबीच संयुक्त घोषणापत्र जारी गरी चुनावी प्रचारलाई तीव्र बनाउने पनि सहमति भएको छ ।
नेताहरुले चुनावी तालमेलबारे आज साँझ पत्रकार सम्मेलन गर्दैछन् ।
सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसबाट श्रवण जिसी उम्मेदवार छन् ।
निर्वाचन आयोगको कार्यतालिका उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।
रुपन्देही । लुम्बिनी प्रदेशमा मुख्य राजनीतिक दलहरुले प्रमुख पदमा महिलालाई निकै कम स्थान दिएका छन् । यहाँका १०९ पालिकामध्ये मुख्य राजनीतिक दलहरुले १२ जना महिलालाई प्रमुखमा उम्मेदवार बनाएका छन् । जसअनुसार नेकपा एमालेले ६, माओवादी केन्द्र र जसपाले २–२ तथा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले समान एउटा पालिकामा महिलालाई प्रमुख उठाएका छन् ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा तथा जसपाको सत्ता गठबन्धनले संवैधानिक रुपमा पालिका प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने प्रावधानसमेत मिचिँदा महिलाहरु नेतृत्वमा आउनबाट बञ्चित भएका छन् ।
एमालेबाट ६ जना महिलाले प्रमुख र १०४ जना महिलाले उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा एमालेबाट मेयर र उपमेयर दुवैमा महिलाको उम्मेदवारी परेको छ । यहाँ रमावती यादवले मेयरमा उम्मेदवारी दिएकी छन् ।
एमाले प्रदेश कमिटीका अनुसार नवलपरासीको सुनवल नगरपालिकाको मेयरमा विमला अर्याल, बाँकेको डुडुवा गाउँपालिका अध्यक्षमा सरोजकुमारी यादव, नरैनापुर गाउँपालिका अध्यक्षमा पदमावती यादव, पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्षमा सरस्वती चिदीले उम्मेदवारी दर्ता गराएका छन् ।
अघिल्लो निर्वाचनभन्दा यस पटक प्रमुखमा महिलालाई धेरै उम्मेदवार बनाइएको एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए । यसपटक महिलालाई उपप्रमुखमा मात्रै सीमित राख्न हुँदैन भनेर प्रमुखमा पनि प्राथमिकता दिइएको उनको भनाइ छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले जितेका ४३ स्थानमा कतै पनि महिला प्रमुख परेनन् ।
यता गठबन्धनका दलहरूले आपसी सहमति गर्दा महिलाको संख्या घटेको छ । माओवादी केन्द्रबाट प्रमुखमा मात्रै नभई उपप्रमुखमा पनि महिला सहभागिता कम रहेको गुनासो आएको छ । प्रदेशका अधिकांश जिल्लामा ५ दलीय र केही जिल्लामा दुई दलीय गठबन्धन भएको छ । फरक–फरक दलको उम्मेदवार हुँदा प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनैपर्ने संवैधानिक व्यवस्थालाई उपेक्षा गरिँदा गठबन्धनका दलहरूले महिलाहरुलाई कम प्राथमिकता दिएका छन् ।
कांग्रेस लुम्बिनी कोषाध्यक्ष प्रकाश रानाका अनुसार कांग्रेसबाट अर्घाखाँचीको सन्धिखर्क नगरपालिका मेयरमा शान्ता भण्डारीको उम्मेदवारी परेको छ । भण्डारीबाहेक अन्य कुनै महिलाले प्रमुखमा उम्मेदवारीको अवसर पाएनन् । त्यसैगरी उपमेयर तथा उपाध्यक्षमा गठबन्धनका कारण धेरै कांग्रेसका महिला नेतृहरुले अवसर पाएनन् ।
‘हामीले प्रमुख पाएका ठाउँमा गठबन्धनबाट आउँदा उपप्रमुख पुरुष परेका छन्, हामीले उपप्रमुख पाएका ठाउँमा अधिकांश महिला नै पठाएका छौं’, रानाले भने ।
नेकपा माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार माओवादीबाट कपिलवस्तुको बुद्धभूमि नगरपालिका प्रमुखमा कमला भुसाल र शुद्धोदन गाउँपालिका अध्यक्षमा कमला यादवलाई उम्मेदवार बनाइएको छ ।
जसपाले पाल्पाको बगनासकाली गाउँपालिका र बर्दिया मधुवन नगरपालिकामा महिलालाई प्रमुख उठाएको सो पार्टीका लुम्बिनी महासचिव यज्ञ पोखरेलले बताए ।
नेकपा एसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा आशा चौधरीलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आज दिउँसोसम्म उम्मेदवारी फिर्ता लिन पाउनेछन् । फिर्ता लिने लिइसकेपछि निर्वाचन आयोगले आजै साँझ उम्मेदवारको अन्तिम अन्तिम नामावली प्रकाशन गर्नेछ ।
दाबी, विरोध, उजुरीमाथि छानबिन गरी आयोगले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । बागी उम्मेदवारी दिनेले पनि आज उम्मेदवारी लिन पाउनेछन् ।
विभिन्न दलबाट बागी उम्मेदवारी दिनेलाई फिर्ता गराउन नेताहरु लागि परेका छन् ।
स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगले भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दैछ ।
सुर्खेत । सल्यान जिल्लाको बनगाड कुभिण्डे नगरपालिकामा गठबन्धन भत्किएको छ । नेकपा समाजवादीका इन्चार्ज ज्ञानेश्वर केसी र नेकपा माओवादिका नगर इन्चार्ज टिकाराम वली लगायतले हस्ताक्षर गरि जारी गरिएको प्रेस विज्ञप्तीमा नेकपा एस र माओवादी मिलेर जाने उल्लेख गरिएको छ ।
दुइ दलबीच मात्रै गठबन्धन भएपछि कांग्रेस, एमाले र एस-माओवादीबीच सो पालिकामा चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
‘निर्वाचनको विजय पश्चात गरिने कामहरु आपसी सहमतिका आधारमा गर्ने, दर्ता गरिएका र निकाल्न सहमति भएका मनोनयन पत्र दुवै पार्टीका अध्यक्षले सँगै फिर्ता गर्ने सहमति भयो ।’ विज्ञप्तीमा भनिएको, छ, ‘दुवै पार्टी संयुक्त कार्यक्रम बनाएर निर्वाचनमा होमिने संकलप्सहित अगाडी बढ्ने निर्णय गरियो ।’
दुई दलबीच आज भएको सहमति अनुसार नगरप्रमुखमा माओवादी तथा नगरउपप्रमुखमा नेकपा एसका उम्मेदवार रहने भएका छन् ।
दश ओटा वडा रहेको सो नगरपालिकामा समाजवादीले तीन वडा अध्यक्ष वडा नं. ७, ९ र १० सहित आठ पद पाउने भएको छ भने बाँकी सबै पदहरु नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको हो । माओवादीले वडा नं. १ देखि ६ वडा र ८ नम्बर वडाअध्यक्ष पाउने भएको हो ।
काठमाडौं । काठमाडौंको मेयर पदका प्रत्याशीहरुलाई बिहिबार काठमाडौंको नेसनल कलेजमा अन्तरक्रियाका लागि निम्त्याइएको थियो । तर, प्रत्याशीहरुमाथि अतिरञ्जित र व्यक्तिगत लाञ्छनायुक्त आरोपले विषयवस्तु डाइभर्ट भयो र सिंगै कार्यक्रमको माहोल विथोलियो ।
मेयरका दुई उम्मेदवार केशव स्थापित र बालेन शाहमाथि एक छात्राले गम्भीर आरोप लगाएकी थिइन् । उनको आरोपमा स्थापित आक्रामक रुपमा प्रस्तुत भए जथाभावि बोल्न पुगे । बालेनले भने शान्त प्रतिवाद गरे ।
आरोप लगाउने छात्रा भावना राउत विवेकशील नेपालीकी पूर्वकार्यकर्ता हुन् । प्रश्नका रुपमा उनले स्थापितमाथि यसरी प्रहार गरेकी थिइन् :
‘हामीले विगतमा यस्तो गर्यौं, उस्तो गर्यौं भन्नुभयो । तर विगतमा हेर्दा दुईजना महिलाले तपाईंमाथि यौन दुव्र्यवहारको आरोप लगाएका छन् । तपाईंले मेयर जितेको अवस्थामा म तपाईंको अफिस गएँ भने सुरक्षित हुन्छु कि हुन्न ? तपाईंकै उपमेयर सुनीताजी तपाईंबाट सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न ?’
त्यसपछि न्यायाधीसको शैलीमा उनले भनिन्, ‘अपराध भएको हो भने सबैका अगाडि स्वीकार्ने क्षमता राख्नुहोस् । यदि तपाईंलाई हामी सबैको भोट चाहिन्छ भने ‘एक्सप्लानेसन’ दिनैपर्छ । तपाईंले गरेको गल्ति होइन, अपराध हो । यदि होइन भने प्रमाणसहित आउनुस् । हो भने यो कुर्सी छोडेर जानुस् ।’
भावनाको यस्तो प्रस्तुतिले स्थापित उत्तेजित बने ।
बसिरहेको कुर्सीबाट जर्याकजुरुक उठ्दै उनले भने, ‘तपाईंलाई यो प्रश्न सोध्ने हक छैन । म जत्तिको मान्छेलाई यस्तो आरोप लगाउन कुनै प्रमाण छ ? छ भने देखाउनुस् । नत्र पत्रिका पढेको भरमा जे पनि आरोप लगाउन पाउनुहुन्न ।’
उनले आवेशमा आउँदै थपे, ‘यु आर नाइस लेडी । तर थुतुनो ठीक छैन तपाईंको ।’
स्थापितले संयम गुमाएपछि विद्यार्थीहरुले सम्झाउने प्रयास गरेका थिए ।
रिस शान्त गर्न आग्रह गर्दा उनले भने, ‘केशव स्थापित रिसको भाँडो हो । नरिसाउनु भन्न पाइन्छ ? म एग्रेसिभ नै छु । कराँते खेल्या हो ।’
आफूमाथि आरोप लगाउने महिला कांग्रेस उम्मेदवार सिर्जना सिंहबाट परिचालित रहेको स्थापितले संकेत गरे ।
उनले भने, ‘यदि मैले केही गरेको भए एफएममा प्रोग्राम सञ्चालन गर्ने त्यत्रो सोसल कन्ट्याक्ट भएको मान्छेले थप्पड हान्दैन ? २५ वर्षसम्म दबाएर बस्छ ? सिर्जनाजी र उहाँ सँगै बसेको फेसबुकमै राखिएको छ । त्यसको भोलिपल्टदेखि खेल सुरु भयो । आई फायर्ड एन्ड सि इज नाउ हायर्ड । उहाँको डकुमेन्ट निकालौं ? म निकाल्दिउँ । यु क्यान्ट हियर । यु क्यान्ट विलिभ । यो महिलाले यतिसम्म गरेको रहेछ भनेर… ।’
उनले भनिन्, ‘केशवजीले प्रमाण छ भन्नुभयो । म कानूनको विद्यार्थी हुँ । यदि यो चुनावको फन्डाजस्तो मात्र लाग्छ भने चरित्रहत्यामा मुद्दा हाल्न सक्नुहुन्छ । यहाँसित प्रमाण पनि रहेछ । यदि यहाँ चाहनुहुन्छ भने तपाईंको मर्यादामा आँच पुर्याएको भनेर मुद्दा हाल्दिनुस् । कानूनी दायराबाट यो सेटल हुन्छ । त्यसपछि कसैले पनि उठाउँदैन । तर तपाईंले महिलामाथि सभ्य भएरै बोल्नुपर्छ ।’
अब आरोप खेप्ने पालो आयो बालेनको । उनै भावनाले स्थापितपछि बालेनलाई निशाना बनाइन् । उनले बालेनका र्यापहरूले महिलाको अपमान भएको दावी गरिन् । उनको यस्तो दावीलाई उनै विवेकशील-साझाकी समिक्षाले साथ दिइन् ।
भावनाले बालेनलाई लक्ष्यित गर्दै भनिन्, ‘बालेनजी, तपाईंको गीतहरु सुनेको छु । तपाईंको र्यापहरुले महिलालाई कुन दर्जामा राखेको छ भन्ने हेरेको छु । सबै भोटरसँग तपाईंले माफी माग्ने कि नमाग्ने ?’
बालेनले उनलाई र्याप ब्याटलको कल्चर बुझ्न आग्रह गरे ।
उनले भने, ‘अमेरिकामा जस्तो प्राक्टिस छ, त्यही कपि गर्दा त्यस्तो भएको हो । तर, हाम्रो गीतहरुमा त्यस्तो केही छैन । मैले ‘अनलर्न’ गर्ने भनेर स्टाटस कहीँ पनि लेखेको छैन । मैले त्यो चिज कहीँ पनि ‘लर्न’ गरेको छैन । त्यो गीत अर्कै विधा हो ।’
भावनाले उनलाई प्रतिप्रश्न गर्दै सोधिन्, ‘तपाईंको र्याप तपाईंले लेखेको हो कि होइन ? भोलि मेनिफेस्टो पनि मैले लेखेको होइन भन्नुहोला, कसरी पत्याउने ?’
बालेनले फेरि शान्त जवाफ दिए, ‘भारतीय सिनेमा कविरसिंह हिट भयो । त्यसमा महिलाविरुद्धका सेन्टिमेन्ट धेरै थिए । त्यो विधा नै त्यस्तै हो । अमेरिकन र्याप ब्याटल हेर्नुभयो भने बुझ्नुहुन्छ । यसमा यतिसम्मको सहनशीलता चाहिन्छ कि जुनसुकै लेभलमा गिरेर, उठेर वा हिँडेर होस आफ्नो अपोनेन्टलाई परास्त गर्न खोजिन्छ । मलाई पछि मन नलागेर छोडेको हुँ । यसमा अनलर्न गर्ने कुरा केही छैन ।’
बालेनको उक्त जवाफलाई विवेकशीलकी नेतृ समिक्षाले प्रतिवाद गरिन् ।
उनले भनिन्, ‘सरी टु से । तपाईं अमेरिकाको र्याप ब्याटल हेर्नुस् कि नेपालको र्याप ब्याटल हेर्नुस् । महिलाको संवेदनशील इस्यूमा बोल्दा विचार पुर्याउनुपर्छ । महिलामाथि प्रश्न उठाउन पाइँदैन ।’
बालेनले उनैलाई प्रश्न गरे, ‘आजभन्दा आठ वर्ष अगाडि किन यो प्रश्न उठाइएन त मलाई ? म यहीँ थिएँ त ।’
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारहरुविरुद्ध परेका दावी विरोधका सन्दर्भमा निर्णय लिन निर्वाचन अधिकृतहरुलाई संशोधित निर्देशिका पठाएको छ ।
कतिपय प्रदेशसभा र प्रतिनिधिसभाको बन्द सूचीमा रहेका उम्मेदवारहरुको नाम प्राविधिक कारणले आयोगको लिस्टबाट नहट्दा उम्मेदवारी नै खारेज हुने भएपछि आयोगले अन्तिम नामावली प्रकाशनको बेलासम्म हटेको सूचना आएकोलाई कायमै राख्न भनेको छ ।
यो संशोधित निर्देशिकासँगै सिन्धुलीमा गठबन्धनको उपमेयर बनेका माओवादीका दिर्घराज श्रेष्ठको उम्मेदवारी कायम हुने भएको छ । उनको नाम बन्द सूचीमा देखिएकाले निर्वाचन अधिकृतले उम्मेदवारी कायम नहुने निर्णय गरेका थिए ।
त्यस्तै एमालेबाट विराटनगरको उपमेयर बनेकी शिल्पा कार्कीको उम्मेदवारी पनि खारेज नहुने भएको छ । कोशी अन्चल अस्पताल सन्चालक समिति सदस्यबाट राजीनामा नदिई उम्मेदवार बनेको भन्दै उनकोविरुद्ध उजुरी परेको थियो ।
शिल्पाले उम्मेदवार बनेपछि राजीनामा दिएकी थिइन् । आयोले संशोधित निदेशिकामा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बेलासम्म राजीनामा दिएको प्रमाण पेश गरेमा सदर हुने भनेको छ ।
त्यस्तो कालो सूचीमा रहेका व्यक्तिको हकमा पनि शुक्रबारसम्म कालोसूचीबाट हटेको प्रमाण पेश गरेमा उम्मेदवारी सदर हुने भनेको छ । त्यसैगरि बेरुजु रहेकाको हकमा पनि महालेखा परीक्षकले बेरुजु भनेको र फछ्र्यौट नगरेकाको हकमा मात्र उम्मेदवारी खारेज हुने जनाएको छ ।
सुर्खेत । कर्णाली प्रदेशका अधिकांशमन्त्रीहरू सरकारी गाडीको दुरुपयोग गर्दै चुनावी प्रचारमा लागेका छन् ।
निर्वाचन आयोगको स्थानीय निर्वाचन आचारसंहितामा बहालवाला मन्त्रीहरूलाई चुनावी प्रचारमा सहभागी हुन नपाउने उल्लेख भए पनि झण्डावाला गाडीसहित भोट मागेको बढेपछि टिकाटिप्पणी सुरू भएको छ ।
कर्णालीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कार्चेन लामा चुनावी प्रचार गर्नका लागि बुधबार हुम्ला गएका थिए । उनी प्रदेश ०२, ००१ झ ००७६ नम्बरको गाडी सहित हुम्लाको खार्पुनाथ पुगेका हुन । उनीसहित पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि पुगेका थिए । खार्पुनाथ गाउँपालिका-५ मा गठबन्धनको तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाहीका छोरा भरतजंग शाही वडाअध्यक्षमा लडेका छन् ।
यसैबीच नेकपा एमालेले आचारसंहिता उल्लंघन गरेकाले मन्त्री लामालाई कारबाही गर्न माग गर्दै उजुरी दिएको छ । एमाले हुम्लाले सरकारी गाडी प्रयोग गरी लामा चुनावी प्रचारमा हिँडेकाले कारबाही गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सिमकोटमा उजुरी दिएको हो ।
ललितपुर । नेकपा एमालेबाट ललितपुर महानगरपालिका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७० वर्ष उमेर पुगेका महानगरवासीलाई निःशुल्क स्वास्थ्य सुविधा प्रदान गरिने घोषणा गरेका छन् ।
नेकपा एमाले ललितपुर महानगर कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आसन्न निर्वाचनमा आफूहरु निर्वाचित भएसँगै ज्येष्ठ नागरिकका हितमा थुप्रै काम गर्ने बताए ।
ब्यन्जनकारले भने–ज्येष्ठ नागरिक राष्ट्रका ढुकढुकी भएकाले हामीले उहाँहरुको स्वास्थ्यलाई ध्यानमा राखी बिना शुल्क औषधीउपचारको व्यवस्था गर्ने निर्णय गरिसकेका छौं ।
सो उमेरका नागरिकले केबल सन्तानको भर पर्नु पर्ने भएकालेले आवश्यक समस्यमा परिवारका सदस्यले आफ्नै कामकाजका कारण पर्याप्त ध्यान ध्यान दिन नसक्ने कुरालाई मध्यनजर गरी स्थानीय सरकारले सो जिम्मेवारी बहन गर्ने योजना बनाएको उनले बताए ।
यसैगरी सो महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार मञ्जली शाक्य (आस्था) ले प्रत्येक नगरवासीको समस्या समाधान गर्ने दायित्व नगर प्रमुखका साथै उपप्रमुखको समेत रहेको भन्दै महानगरमा स्वच्छ तथा सन्तुलित वातावरण कायम गराउने बताइन् ।
भक्तपुर । नेपाली कांग्रेस जिल्ला नेतृत्वले स्थानीय तह निर्वाचनमा एकलौटी र मनपरी टिकट बाँडेपछि असन्तुष्ट नेताहरु पार्टी त्याग्ने तयारीमा लागेका छन् ।
उनीहरुले पार्टी जिल्ला नेतृत्वलाई बिहीबारसम्मको अल्टिमेटमसमेत दिएका छन् । पटकपटकको छलफल र संवादमा समेत कांग्रेस जिल्ला नेतृत्वले टिकट दिँदाको गल्ती कमजोरी सच्याउने छनक नदिएपछि उनीहरु वर्षौं दुःख गरेको पार्टी त्याग्ने तहसम्म पुगेका हुन् ।
पार्टीले जित्ने सम्भावना भएको भक्तपुर नगरपालिका वडा नं ३ मा समेत दुई व्यक्तिलाई वडा अध्यक्षको टिकट दिएपछि उनीहरु झन् आक्रोशित छन् । यस वडामा तल्लो तहदेखि प्रदेश सभापति शिवप्रसाद अवाललाई वडा अध्यक्षको उम्मेदवार बनाउने सिफारिस गरेको थियो । सोहीअनुसार नगर र क्षेत्रले समेत उनै अवाललाई वडा अध्यक्षको टिकट दिन सिफारिस गरेको थियो ।
तर, उम्मेदवारी दर्ता गर्ने बेला अवालसँगै दोबरलाल शिलाकारलाई वडा अध्यक्षको टिकट दिइएको असन्तुष्ट कांग्रेस नेताहरुको गुनासो छ । पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको हस्ताक्षरमा पाएको टिकट अवालसँगै शिलाकारले निर्वाचन अधिृकतको कार्यालयमा पेश गरी उम्मेदवारी दर्ता गरे । उम्मेदवारी दर्तापछि निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसको आधिकारिक वडा अध्यक्षको उम्मेदवार भनेर दोबरलाल शिलाकारको नाम सार्वजनिक गर्यो भने अवाललाई स्वतन्त्र उम्मेदवारको सूचीमा प्रकाशित गर्यो ।
यसपछि असन्तुष्ट कांग्रेसी नेताहरु झन् आक्रोशित भएका हुन् । यसरी आक्रोश पोख्नेमा कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोदप्रकाश कायस्थ, नेपाल कानुन आयोगका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता बाबुराजा जोशीलगायत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका स्थानीय नेता तथा कार्यकर्ताहरुसमेत रहेका छन् ।
असन्तुष्ट एक नेताले बिहीबारसम्म जिल्ला नेतृत्वले पार्टीको विधानअनुसार उम्मेदवारी नमिलाए शुक्रबार आफूहरुले सामूहिक राजीनामा दिने बताए । शुक्रबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । पार्टीको आधिकारिक नेताहरुको उम्मेदवारी कायम गर्ने र अनधिकृत व्यक्तिहरुको उम्मेदवारी फिर्ता लिने निर्णय बिहीबार नै हुनुपर्ने उनको भनाइ छ ।
यसपटक सत्ता गठबन्धनबीच चुनावी तालमेलले गर्दा पार्टीले भक्तपुरमा राम्रो चुनावी परिणाम ल्याउने अवस्था हुँदा पनि जिल्ला नेतृत्वको एकलौटी निर्णयले अवस्था उल्टिने खतरा बढेको असन्तुष्ट नेताहरुको भनाइ छ । उम्मेदवारी दिँदा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय जिल्ला सभापति दुर्लभ थापाले एकलौटी टिकट बाँडेको आरोप लगाइएको छ । जसअनुसार मेयर र उपमेयरमा मात्रै होइन वडा अध्यक्ष र सदस्यमै असन्तुष्ट कांग्रेस नेताहरुले वागी उम्मेदवारी दिएका छन् ।
टिकट दिएकोमा असन्तुष्टि जनाउँदै भक्तपुर क्षेत्र नं २ का पूर्वक्षेत्रीय सभापति नारायणभक्त खायमलीले उम्मेदवारी मनोनयनकै दिन कांग्रेस परित्याग गरेको सार्वजनिक घोषणा गरेका थिए ।
त्यस्तै तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष कायस्थले सामाजिक सञ्जाल फेसबुकमा अब राजनीतिबाट विश्राम लिनुपर्ने सोच विकास भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘किशोरावस्थादेखि नेपाली कांग्रेस पार्टी र प्रजातन्त्रका लागि आफ्नो घरपरिवार सबै कुरालाई तिलाञ्जली दिएर लागियो । स्थानीय निर्वाचनमा टिकट बाँडफाँडको स्थिति हेर्दा अब राजनीतिबाट विश्राम लिनुपर्ला जस्तो सोच विकास हुँदैछ । नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयश्री प्राप्तिका लागि शुभकामना !! निर्वाचनपछि राजनीतिमा सक्रिय भइरहने या नरहने निर्णय लिनेछु । जयनेपाल !!’
नेता कायस्थले आफू कांग्रेस त्याग्ने अन्तिम अवस्थामा पुगेकाे तर पार्टीका केन्द्रीय नेताहरुले पर्खन आग्रह गरेकाले चुनावसम्म प्रतीक्षा गर्ने प्रतिक्रिया दिएका छन् ।
नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिले समेत कांग्रेस भक्तपुरले टिकट बाँडफाँटमा मनपरी तथा भेदभाव गरेको र कार्यकर्ताहरुको भावनाको सम्बोधन नगरेका भन्दै मध्यपुर थिमि नपा १ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यता नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुलर्भ थापाले पार्टीको क्षेत्रीय समितिको निर्णयानुसार भक्तपुर नपा ३ वडामा शिवप्रसाद अवाललाई पार्टीको आधिकारिक उम्मेदवार बनाउन निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेखेका छन् । क्षेत्रीय सभापति एवं चाँगुनारायण नपाका मेयर उम्मेदवार जीवन खत्रीले पनि शिवप्रसाद अवाल नै पार्टीको आधिकारिक उम्मेदवार भएको पत्राचार गरेका छन् ।
तर, टिकट बाँड्ने मोहनबहादुर बस्नेतको चिट्ठी नआएसम्म अवालको उम्मेदवारी स्वतन्त्र नै हुने कांग्रेस भक्तपुर नगर सभापति राजेन्द्र तमखूले जानकारी दिए । उनले असन्तुष्ट नेताहरुसँग चरणबद्ध संवाद भए पनि अहिलेसम्म कुनै निष्कर्ष नआएको बताए ।
उम्मेदवारलाई टिकट दिने र उम्मेदवारी दर्ता गर्दा पार्टीका तर्फबाट भएका कमिकमजोरी तथा त्रुटि शुक्रबारसम्म सच्याइने नगर सभापति तमखूले बताए ।
काठमाडौं । गठबन्धनको विरोध गर्दै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा अवरोध गर्न पुगेका पोखरा महानगरका कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेपछि प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेश कार्यालयमा ‘गठबन्धन चाहिँदैन,रुख बेच्न पाइँदैन’ भन्दै नाराबाजी गर्न पुगेका कार्यकर्ताले तोडफोड गरेपछि पक्रपाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए ।
गठबन्धनमा पोखराको मेयर नेकपा एसलाई दिएको विरोधमा रहेका कार्यकर्ताले वडामा समेत भागबण्डा गर्न लागिएपछि प्रदर्शन गरेका हुन् । वडा नम्बर १८ र २४ का कांग्रेस उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो ।
ती दुई वडा नपाए माओवादीले गठबन्धनबाट बाहिरिने चेतावनी दिएपछि कांग्रेसले वडाध्यक्षका उम्मेदवारलाई नाम फिर्ता लिन भनेको छ । कांग्रेसबाट १८ वडामा शिवप्रसाद तिमल्सिना र २४ मा भरत अधिकारी उम्मेदवार छन् ।
३३ वडामध्ये कांग्रेसले ३१ वटा वडा लिएर २ वटा माओवादीलाई दिने सहमति गठबन्धनमा भएको छ
रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा पार्टी निर्णयविपरीत उम्मेदवारी दिएका निवर्तमान पालिका अध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य बालकृष्ण आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् ।
एमाले जिल्ला कमिटीले पार्टी सदस्य नरहने गरी कारबाही गर्ने तयारी गरेपछि आचार्यले उम्मेदवारी फिर्ता गरेका हुन् । एमाले जिल्ला प्रचार विभाग प्रमुख सोभाखर पन्थीले नेताहरुसँगको सहमतिमै आचार्यले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
आचार्यले पार्टीका नेताहरुसँग कुराकानी गरेपछि असमझदारी हटेकाले उम्मेदवारी फिर्ता लिएको नेपाल प्रेससँग बताए । ‘उम्मेदवारी दिने समयसम्म केही नेताहरुले तपाईं नै उम्मेदवार हो भनेर अलमलमा पारे र उम्मेदवारी दिएको थिएँ, म पार्टीको बफादार सिपाही हुँ पार्टी निर्णयलाई मानेर अगाडि बढ्छु, एमालेका नेतालाई जिताउने अभियानमा लाग्छु’, उनले भने ।
उता एमाले जिल्ला कमिटीले भने उम्मेदवारी फिर्ता लिए पनि आचार्यलाई अनुशासनको कारबाही गर्ने तयारी गरेकाे एक जिल्ला नेताले बताए ।
पञ्चालयकालदेखि जनप्रतिनिधि रहेका आचार्यले ०५४ र ०७४ मा एमालेबाट चुनाव जितेका थिए । गत निर्वाचनमा माओवादी र कांग्रेसको गठबन्धन हुँदा जिल्लाका ६ पालिकामध्ये मालारानीमात्रै एमालेले जितेको थियो ।
अहिले एमालेले दलबहादुर भट्टराईलाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दीपा पोखरेललाई उम्मेदवार बनाएको छ ।
काठमाडाैं । नेपाली कांग्रेसबाट धरान नगरपालिकाकाे मेयरमा उम्मेदवारी दिएका किशोर राईले झन्डै २२ वर्षअघि लिएकाे पेश्की रकम बल्ल फर्छ्याेट गरेका छन् । उनले उम्मेदवारी दर्ता गर्नुअघिमात्रै उक्त पेश्की रकमकाे फरफारक गरेका हुन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको टिकट पाउने निश्चित भएपछि राईले २२ वर्ष लिएकाे पेश्की रकम फरफारक गरी तिर्नुपर्ने रकमसमेत बुझाएका छन् । राईको नाममा २०५६ साल असोज १२ देखि २०६७ वैशाख २७ गतेसम्म विभिन्न समयमा लिएको पेश्की बाँकी रहेको धरान उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाका अनुसार उनले ११ वर्षको अवधिमा पटक–पटक गरी कूल १ लाख ३ हजार ४ सय रुपैयाँ पेस्की लिएका थिए । राईले लामो समयदेखि पेश्की रकम फर्छ्याेट नगरेको विषयमा पटक–पटक समाचारसमेत आएका थिए । तैपनि फर्छ्याेट गर्न बेवास्ता गर्दै आएका उनले उम्मेदवार बन्ने निश्चित भएपछि रातारात रकम बुझाएका हुन् । २०५४ सालको निर्वाचनमा १२ नं वडामा सदस्य जितेका राईले विभिन्न खेलकुद कार्यक्रमका लागि पेश्की लिएको देखिन्छ ।
उपमहानगरपालिकाले पटक–पटक पेश्की फर्छ्याेट गर्न ताकेतासमेत गरेको थियो । उनले विभिन्न समयमा पेश्की फर्छ्याेट गरे पनि सबै फरफारक भएकाे थिएन । उपमहानगरपालिकाले पेश्की फर्छ्याेट गर्न काटेका पत्रअनुसार राईले २०५६ असोज १२ गते पहिलो पटक साफ खेल अध्ययन तथा अवलोकन गर्न २ हजार ५ सय रुपैयाँ पेश्की लिएका थिए ।
त्यसपछि २०५७ साल असार १८ गते काठमाडाैं जान लिएको भ्रमण पेश्कीमध्ये फर्छ्याेट कट्टा गरी बाँकी रहेको ४ सय, सोही सालको भदौ ८ गते खेलकुद कार्यक्रमको लागि ६ हजार ५ सय, असोज ४ गते वडा नम्बर १२ को ड्रेन सफा गर्न ३ हजार, असोज २७ गते बुढासुब्बा गोल्ड कपको लागि काठमाडाैं जान भ्रमणमा १० हजार, पुस १७ गते काठमाडाैं जान भ्रमणमा ३ हजार ५ सय लिएका थिए ।
त्यसैगरी २०५८ साल भदौ २४ गते पुनः काठमाडाैं जान भ्रमण पेश्की ६ हजार, पुनः फागुन १० गते काठमाडाैं जान ५ हजार, २०५९ असार ३१ गते खेलकुद मन्त्रालय जान ६ हजार ५ सय, २०६५ भदौ ३० गते गोल प्रोजेक्ट उद्घाटन कार्यक्रमका लागि पेस्की १० हजार र अन्तिम पेस्की २०६७ वैशाख २७ गते जनजाति कल्याण आश्रम भवन निर्माण गर्न ५० हजार रुपैयाँ गरी कूल एक लाख ३ हजार ४ सय रुपैयाँ पेस्की रहेको थियो ।
उपमहानगरका अनुसार उनले मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार भौचर नम्बर १२६३ बाट वडा सदस्य किशोर राईको नाममा रहेको पेश्की रकम प्राप्त बैङ्क भौचर नम्बर १०१५६ तथा १०२१५ अनुसार ७९ हजार ४ सय रुपैयाँ फर्छ्याेट गरेका थिए । वैशाख १२ गते सोमबार विभिन्न चेकमार्फत बाँकी २४ हजार रुपैयाँसमेत भुक्तानी गरिएकाे उपमहानगरले जनाएकाे छ ।
उपमहानगरका अनुसार गत सोमबार भौचर नम्बर १२६८ बाट तत्कालीन १२ नम्बर वडाध्यक्ष किशोर राईको मिति २०५७/०६/०४ को ढल सफाइ कार्यको पेश्कट्ठ संलग्न भर्पाइ तथा अर्थ तथा सार्वजनिक लेखा समितिको सिफारिसको आधारमा ३ हजार रुपैयाँ, भौचर नम्बर १२६९ बाट १० हजार र १२७४ भौचर नम्बरबाट ११ हजार रुपैयाँ फर्छ्याेट गरिएकाे छ ।
काठमाडौं । निर्वाचन आयोगले ७२ जिल्लाको मतपत्र छापिसकेको छ । आयोगले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार ७२ जिल्लाक लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सकिएको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।
आयोगका अनुसार बिहीबार दिउँसो साढे ३ बजेसम्म उपलब्ध तथ्यांक अनुसार देशभरि १ लाख ५३ हजार २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पदका आधारमा उम्मेदवारी दर्ता गराउनेको संख्या यसप्रकार छ-
काठमाडौं । निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाण पार्टीको आन्तरिक विवाद मिलाउन सक्रिय रहेको विषय ‘नोटिस’ मा रहेको जनाएको छ ।
आयोगको नियमित पत्रकार सम्मेलनमा बागी उम्मेदवार मनाउन गृहमन्त्री खाण चितवन पुगेको बारे सोधिएको प्रश्नमा प्रतिक्रिया दिँदै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसबारे आयोगले छिट्टै निर्णय लिने बताए ।
‘दलका आन्तरिक विषयमा सावर्पजनिक पदमा रहेको व्यक्तिको सक्रियताबारे आयोगको ध्यानाकर्ष हुनेछ र भएको पनि होला । सार्वजनिक पदमा भएकाहरूले सोही अनुसारको आचारसहिंता पालना गर्नुपर्छ भन्नेमा आयोग दृढ छ’, अर्यालले भने ।
त्यस्तै चुनावी प्रचारका दौरान विभिन्न व्यक्तिहरुले अभिव्यक्ति दिदा ‘हेटस्पीच’ दिनसक्ने तर्फ आयोग सचेत रहेको अर्यालले बताए । हेट स्पीच र मिथ्या सूचना फैलन नदिन आयोगले निर्देशिका नै बनाएका काम गरिरहेको अर्यालको भनाइ छ ।
भोजपुर । सत्ता गठबन्धनको भागबन्डामा भोजपुरको दुई स्थानीय तहमा उपमेयर र उपाध्यक्ष पाएको नेकपा एसलाई चुनावी अभियानको सुरुवातमै झट्का लागेको छ ।
आज नेकपा एस जिल्ला कमिटी उपाध्यक्ष चक्र तामाङ, केही जिल्ला कमिटी सचिवालय सदस्यसहितका नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एसका उपाध्यक्ष तामाङ, प्रदेश १ अनेरास्ववियूका वरिष्ठ उपाध्यक्ष/ जिल्ला कमिटी सचिवालय सदस्य प्रताप तामाङ, सचिवालय सदस्य /कार्यालय सचिव कृष्ण बस्नेतलगायत प्रवेश गरेका हुन् । प्रताप जिल्लाका जुझारु युवा नेता हुन् ।
सँगै भोजपुर नगरपालिका-५ बोखिमको सिंगो कमिटी एमालेमा समाहित भएको एमाले जिल्ला कमिटी अध्यक्ष मक्कर खड्काले बताए । उनका अनुसार आज १०५ जनाले एमाले प्रवेश गरेका हुन् ।
भोजपुर नगरपालिकामा गठबन्धनबाट नेकपा एसकी ममिता राई उपमेयरको उम्मेदवार बनेकी छन् । त्यस्तै टेम्केमैयुङको उपाध्यक्ष पनि एसले पाएको छ । त्यहाँ इन्द्रावती राईलाई अघि सारिएको छ ।
नेकपा एससहित विभिन्न पार्टी छाडेर एमाले रोजेकालाई प्रदेश १ का पूर्वमुख्यमन्त्री एवं पोलिटब्यूरो सदस्य शेरधन राई, उपाध्यक्ष खड्का, भोजपुरका मेयर उम्मेदवार भरत तामाङलगायतका नेताहरूले स्वागत गरे ।
भोजपुर नेकपा एस केन्द्रीय उपाध्यक्ष जयन्ती राई र सचिव एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको जिल्ला हो ।
पोखरा । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले मेयर पाएको पोखरा महानगरपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताको असन्तुष्टि कायमै रहँदा घोषणापत्र सार्वजनिक कार्यक्रममा समेत अवरोध भएको छ ।
पोखरामा गठबन्धनले बिहीबार दिउँसो स्थानीय निर्वाचनका लागि पोखरा महानगरको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको थियो । तर, कार्यक्रमस्थलबाहिर कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेका छन् ।
मेयर नेकपा एसलाई दिएकोमा रुष्ट रहेका कार्यकर्ताले वडा तहमा पनि कांग्रेसले जित्ने ठाउँ बाँडफाँट गर्न लागेको भन्दै विरोध गरेका छन् । उनीहरुले वडामा गठबन्धन नगर्न दबाब दिएका छन् ।
‘गठबन्धन चाहिँदैन, रुख बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै कार्यकर्ताले घोषणापत्र सार्वजनिक गर्ने स्थलमा नाराबाजी गरेका छन् ।
यसअघि जिल्ला नेताहरुलाई थुनेर कार्यकर्ताले वडामा एक्ला एक्लै लड्ने घोषणा जिल्ला सभापति किशोरदत्त बरालबाट गराएका थिए । तर, गठबन्धन दलका माओवादी,नेकपा एस लगायतले वडामा पनि गठबन्धन हुनुपर्ने दबाब दिएका छन् ।
डडेलधुरा । डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्यूसन’ पढाउने सक्ने बताएका छन् । बिहीबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले बीपीले स्थापना गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ ? भनेर थापालाई ट्यूसन पढाउन सक्ने बताएका हुन् ।
उनले नेपाली कांग्रेससँग बीपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो अर्थात घोषणापत्र नै नभएको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्यूसन पढाउनुपर्ने बताएका थिए ।
‘कांग्रेस यस्तो पार्टी हो, जोसँग बिपी कोइरालाले स्थापना गरेको मेनिफस्टो नै छैन । केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्यूसन पढाउन सक्छु,’ मल्लले भने ।
उनले बीपीले स्थापना गरेको मेनिफेस्टो र अहिलेको मेनिफेस्टो मिल्छ ? भनेर थापालाई ट्यूसन पढाउन र बहस गर्न सक्ने दाबी गरे ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए ।
आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बीपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो ।
मल्लले आजै प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणासमेत गरेका छन् ।
गुल्मी । नेपाली कांग्रेसको तर्फबाट इस्मा गाउँपालिकाको अध्यक्षका उमेदवार भगत सिंह खड्काले आफुहरु इस्माली जनताको सेवक बन्ने बताएका छन् ।
गाउँपालिकाको वडा नम्बर २ मा चुनावी प्रचारप्रसारको सभालाई सम्बोधन गर्दै खड्काले इस्माली जनताले अवसरमा दिएमा आफुहरु जनताको सेवक बन्ने बताएका हुन् ।
नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उमेदवार बनेका खड्काले पटकपटक मन्त्री र सांसद भएको इस्मा गाउँपालिका भ्रष्टाचारको गन्धले दुर्गन्धित भएको बताए ।
तीन दशकसम्म लगातार एउटा ब्यक्ति सत्तामा रहेर पनि इस्माली जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्न नसकेको खड्काले बताए । ३० वर्षमा देशमा थुप्रै व्यवस्था फेरिएर नयाँ व्यवस्था आएपनि इस्मा गाउँपालिकामा जनताको अवस्था नबदलिएको बताए ।
खड्काले आफुहरुसँग इस्मा गाउँपालिकालाई नमुनाका रुपमा अगाडि बढाउन थुप्रै योजना रहेको बताए । भ्रष्टाचारको अन्त्य गरि रोजगारीको सिर्जना गरेर गाउँपालिकालाई समृद्ध बनाउने योजनाहरु आफुसँग रहेको खड्काको भनाई छ ।
काठमाडौं । नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सिर्जना सिंहलाई मेयरमा उठाएर नेपाली कांग्रेसले राजनीतिमा समर्पित महिलाको अपमान र अवमूल्यन गरेको टिप्पणी गरेका छन् ।
फेसबुकमा रिजालले लेखेका छन्, ‘कांग्रेसले काठमाडौंमा ३० बर्षसम्म पार्टीको कुनै कमिटीमा नरहेको, सार्वजनिक जीवनमा एक दिन पनि देखा नपरेको र आफैँ घर सम्हालेर बसेँ भनेर बोलिरहेकी महिलालाई नेताकी श्रीमती भएकै आधारमा अघि सारेर राजनीतिमा समर्पित सम्पूर्ण महिलाहरूको अपमान र अवमूल्यन गरेको छ ।’
बहुदलीय व्यवस्था स्थापनापछि गणेशमान सिंहले श्रीमती र छोरालाई उम्मेदवार बनाउँदा पटकपटक काठमाडौंमा पराजयको नियति भोग्नुपरेको उनले दाबी गरेका छन् । सिर्जनालाई उम्मेदवारी दिलाएर प्रकाशमानले गणेशमानको बाटो रोजेको रिजालको टिप्पणी छ ।
‘प्रकाशमान सिंहले पनि त्यही बाटो रोज्नुभएको छ,’ उनले लेखेका छन्,‘आफ्नी श्रीमती र छोरालाई हराउँदा काठमाडौंका जनतालाई ‘भेडा’ भन्नुपरेका दिनहरू सम्झिँदा मात्रै पनि उही नियति दोहोरिँदैनथ्यो कि !’