Category: स्थानीय निर्वाचन–२०७९

  • एमाले प्रतिनिधि नआएपछि पोखराको मतगणना स्थगित

    एमाले प्रतिनिधि नआएपछि पोखराको मतगणना स्थगित

    पोखरा । नेकपा एमालेका प्रतिनिधि मत गणना स्थलमा नआएपछि पोखराको मतगणना स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक पटक प्रतिनिधि पठाउन आग्रह गरे पनि मानेका छैनन् ।

    एमालेले १८ नम्बर वडाको पुनः मतगणना सुरू नहुँदासम्म आफ्ना प्रतिनिधि नपठाउने जनाएको छ । ‘१८ नम्बर वडामा हामी तीन मतले हारेका छौं । त्यहाँ नौ मत हराएको छ,’ एमलेका पोखरा महानगर कमिटी सचिव जीवन आचार्यले भने, ‘१८ को विवाद नसकिएसम्म बाँकी रहेको वडाको गणना अघि बढ्न सक्दैन । हामीले प्रतिनिधि पठाउदैनौं ।’

    पोखरामा अहिले ३ वडाको मतगणना चलिरहेको छ । अन्तिम नतिजा आएका ३० वडामध्ये कांग्रेसले २१ र एमालेले ९ वडामा चुनाव जितेको छ । मेयरमा भने गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले चुनाव जित्ने पक्का भइसकेको छ ।

    गणना चलिरहेको वडा नम्बर २२, ३२ र ३३ मा पनि गठबन्धन उम्मेदवारहरूले अग्रता लिएका छन् । वडा नम्बर १८ मा तीन मतले कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि एमालेले १८ को पुनः गणनाको मागसहित निवेदन दिएको छ । निवेदन उपर छलफल चलिरहेको छ ।

  • सुदूरपश्चिमको परिणाम : दार्चुलामा कांग्रेस, डडेलधुरामा एमाले र बाजुरामा माओवादी नील

    सुदूरपश्चिमको परिणाम : दार्चुलामा कांग्रेस, डडेलधुरामा एमाले र बाजुरामा माओवादी नील

    कैलाली । सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तह मध्ये ८७ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ ।

    बाजुराको बुढीगंगा नगरपालिकामा विवादका कारण अझै सम्म मत गणना सुरु हुन सकेको छैन । यहाँ कांग्रेसले पुन मतदानको माग गरेको छ भने एमालेले मत गणना गर्नु पर्ने बताउँदै आइरहेको छ ।

    ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा कांग्रेस एमाले र माओवादी आठ ÷आठ जिल्लामा विजयी भएका छन् । तीन वटै दलले प्रमुखमा अहिले सम्म एक एक जिल्लामा उपस्थिति देखाउन सकेका छैनन् ।

    कांग्रेसले प्रमुखमा ४० पालिका जित्दा पनि दार्चुला जिल्लामा भने कुनै पनि पालिका जित्न सकेन । त्यो बाहेक कैलालीमा तीन, कञ्चनपुरमा पाँच, डोटीमा सात, अछाममा सात, बैतडीमा चार, बझाङमा छ, बाजुरामा तीन र डडेलधुरामा पाँच पालिका प्रमुख जितेको छ ।

    एमालेले २५ पालिका जितेर सुदूरपश्चिममा दोस्रो भएको छ । २५ पालिका जित्दा पनि एमालेले डडेलधुरामा शून्य हुनु परेको छ ।

    त्यो बाहेक कैलालीमा दुई, कञ्चनपुरमा तीन, डोटीमा एक, अछाममा दुई, बैतडीमा चार , बझाङमा तीन , बाजुरामा पाँच र दार्चुलामा पाँच पालिका प्रमुख जितेको छ ।

    माओवादी केन्द्र सुदूरपश्चिम प्रदेका ९ जिल्लामा मध्ये बाजुरामा कुनै पनि पालिका जित्न सकेको छैन । बाजुराको बुढिगंगामा विवाद देखिएको छ । यहाँ पनि माओवादी कमजोर छ ।

    त्यो बाहेक कैलालीमा दुई, कञ्चनपुरमा एक, डोटीमा एक, अछाममा एक, बैतडीमा एक , बझाङमा दुई , दार्चुलामा चार र डडेलधुरामा दुई पालिका प्रमुखमा माओवादी विजयी भएको छ ।

    नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमका ९ जिल्ला मध्ये ७ जिल्लामा शून्य भएको छ । प्रमुखमा नेकपा एस दुई जिल्लामा मात्रै विजयी भएको छ । कैलाली र बझाङमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले प्रमुखमा विजयी भएका हुन् ।

    दुई जिल्लामा स्वतन्त्र र एक जिल्लामा रेसम चौधरीको पार्टी नागरिक उन्मुक्ति पनि विजयी भएको छ ।

    कांग्रेसका ४६, एमालेका २३, माओवादीका ११ नागरिक उन्मुक्तिमा तीन, एकीकृत समाजवादीका तीन र एक स्वतन्त्र उम्मेदवारले उपप्रमुख जितेको छ ।

    कांग्रेसले सबै जिल्लमा उपप्रमुख जितेको छ । एमालेले डडेलधुरामा उपप्रमुख जित्न सकेको छैन भने माओवादी केन्द्रले बाजुरा डोटी र कञ्चनपुरमा उपप्रमुख जित्न सकेको छैन ।

    एकीकृत समाजवादीले बझाङ र अछाममा मात्रै उपप्रमुख जितेको छ । नागरिक उन्मुक्ति र स्वतन्त्रले एक एक जिल्लामा उपप्रमुख जितेका छन् ।

  • एमालेको मत सुरक्षित गर्दा पोखराको उपमेयरमा मञ्जु पक्का, कृष्ण थापाले पाएनन् पार्टीकै मत

    एमालेको मत सुरक्षित गर्दा पोखराको उपमेयरमा मञ्जु पक्का, कृष्ण थापाले पाएनन् पार्टीकै मत

    पोखरा । गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यको जित पक्का हुँदा उपमेयरमा भने नेकपा एमालेकी मन्जुदेवी गुरुङको जित लगभग निश्चित भएको छ ।

    मेयरमा एमालेका उम्मेदवार कृष्ण थापा करिब ५ हजार मतले पछि पर्दा उपमेयरमा एमालेकी उम्मेदवार गुरुङ ४ हजार मतले कांग्रेसकी कोपिला रानाभाटभन्दा अगाडि छन् ।

    बाँकी गणनामा पनि मञ्जुकै मत बढी आइरहेकाले पोखराको उपमेयरमा एमालेको जित पक्का भएको हो । मञ्जु दोस्रो पटक पोखराको उपमेयर बन्दै छिन् । अन्यत्र गठबन्धनमा कांग्रेसका उम्मेदवारले जित्दा गठबन्धन दलका उम्मेदवारले उपमेयर हारिरहेका बेला पोखरामा भने उल्टो भएको छ ।

    एमाले नेताहरूले पोखरामा एमालेकै नेता कार्यकर्ताले खुलेर विपक्षी उम्मेदवारलाई मेयरमा मत दिएकाले उपमेयरमात्र जित्न सकिएको दाबी गरेका छन् । पोखरामा हालसम्म एमालेका मेयरले ५१ हजार १८५ मत पाउँदा उपमेयरमा भने ५८ हजार ५८२ मत मञ्जुले पाएकी छन् ।

    मेयरमा गठबन्धनबाट नेकपा एसका उम्मेदवार धनराज आचार्य ५६ हजार ४७१ मतसहित अग्रता लिँदा उपमेयरमा कांग्रेस उम्मेदवार रानाभाटको ५४ हजार ५४७ मत छ । आचार्यले एमालेको उल्लेख्य मत पाए पनि रानाभाटले गठबन्धनकोमात्र मत पाएकाले पछि परेको नेताहरू बताउँछन् ।

    मञ्जुले एमालेको मत सुरक्षित गर्दा कृष्ण थापाले सो मत आफूतिर तान्न नसकेपछि पोखराको मेयरमा एमाले हार्ने निश्चित भएको छ । वडातर्फमा पनि धेरै ठाउँमा वडाध्यक्षबाहेक चार सदस्य एमालेका जित्ने र वडाध्यक्ष भने कांग्रेसले जित्ने अवस्था आउनुमा अन्तर्घात नै प्रमुख कारण रहेका महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले बताए ।

    न्यौपानेले भने– पोखरामा हाम्रो करिब ६० हजार मत हो । उपमेयरले पार्टीको लगभग सबै मत पाउनुभएको छ र जित्ने बेलासम्म ६० हजार कट्छ होला । तर मेयरमा पार्टीको जिम्मेवार कार्यकर्ताले विपक्षलाई मत दिएको देखियो । यो त गम्भीर समीक्षाको विषय बन्छ । पार्टीमा यो खालको अनुशासनहीनताले हामी चिन्तित छौँ ।

    प्रत्येक वडाबाट २ देखि ३ सय मत पार्टीभित्रबाटै योजनाबद्ध ढंगले मेयरमा गठबन्धनलाई गएको एमाले नेताहरूको भनाइ छ । यदि मेयरमा खाली राखेको भए पनि एमालेले नै जित्ने थियो भन्ने न्यौपानेको दाबी छ । तर पैसा नै लिएर भोट हालेको अडियोहरु समेत सार्वजनिक भएपछि एमालेमा खैलाबैला छ ।

    दीपक पौडेलले पाएको टिकट खोस्न उनको पुरानो सिसिटिभी भिडिओ सार्वजनिक गरिएपछि कृष्ण थापालाई पौडेल पक्षको पनि मत आएन । थापा खगराज अधिकारी निकट भएकाले अर्को पक्षले घोषणा नै गरेर असहयोग अभियान चलाएको थियो । मञ्जु गुरुङलाई मेयर उम्मेदवार बनाइएको भए परिणाम अर्कै आउने एमालेको विश्लेषण छ ।

  • कसैले वास्ता नगरेका सुमन सायमीले काठमाडौंमा कसरी ल्याए साढे ८ हजार भोट ?

    कसैले वास्ता नगरेका सुमन सायमीले काठमाडौंमा कसरी ल्याए साढे ८ हजार भोट ?

    काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले हाइलाइट बटुल्दा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी छायामा परे । मिडिया र सोसल मिडियामा उनको कुनै चर्चा भएन । तर, चुनावपछि काठमाडौंको मतगणनामा भने उनले आफ्नो उपस्थिति देखाउन सफल भएका छन् ।

    आज बिहानसम्मको अपडेटअनुसार सायमीको चुनावचिन्ह आँखिझ्यालले ८ हजार ५ सय ३३ भोट ल्याएको छ । अझै काठमाडौंको ४० हजार भोट गन्न बाँकी रहेको अवस्थामा उनले अझै धेरै भोट थप्न सक्ने देखिन्छ किनकी उनको प्रभाव क्षेत्रहरूमा गणना सकिएको छैन ।

    सायमी मेयर बन्ने दौडमा छैनन्, तर उनले ल्याएको भोटले धेरैलाई आश्चर्यमा पारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा जस्ता स्थापित पार्टीका उम्मेदवारहरूलाई उनले पछाडि छोडेका छन् । राप्रपाका मदनदास श्रेष्ठ र विवेकशीलकी समीक्षा बास्कोटा क्रमशः पाँचौं र छैटौं स्थानमा छन् । अघिल्लोपटक विवेकशील र साझा पार्टीका उम्मेदवारहरुले कुल मिलाएर ४२ हजारभन्दा बढी भोट ल्याएका थिए । यसपाली समीक्षाले हजार भोट कटाउन मुस्किल पर्ने देखिएको छ । यस्तोमा सुमन सायमीले कसरी ल्याए यत्रो भोट भन्ने धेरैलाई कौतुहल हुन सक्छ ।

    चुनावअघि सायमी उनी खासै चर्चामा थिएनन् । उनले लामो तयारी गरेर चुनावमा होमिएका पनि होइनन् । ३० दिन अगाडि मात्रै आफ्नो राजनीतिक यात्रा सुरु भएको सायमी बताउँछन् । उनले १२ वैशाखमा आफ्नो उम्मेदवारीको घोषणा गरेका थिए । १७ गते चुनावचिन्ह आँखिझ्याल पाएपछि बल्ल भोट माग्न हिँडे । मुस्किलले १५ दिन आफ्नो चुनावचिन्हमा भोट माग्न पाए उनले ।

    आफूलाई जनताले काम हेरेर भोट दिएको बताउँछन् सायमी । काठमाडौंको भूमि तथा सम्पदा संरक्षण र काठमाडौंवासीको घरबास बचाउन निरन्तर लगिरहेका उनी आगामी संसदीय चुनाव लड्ने सोचमा थिए । तर, अचानक स्थानीय चुनावमै उम्मेदवारी दिए । किन त ?

    सायमीले सुनाए, ‘जब ठूला दलका उम्मेदवारहरूको नाम बाहिर आयो, त्यसले मलाई एकदमै निराश भनायो । कांग्रेसका सिर्जना सिंह र एमालेका केशव स्थापितलाई काठमाडौंवासीले के आधारमा भोट दिने ? मलाई पटक्कै चित्त बुझेन र आफैं मैदानमा आउने निर्णय लिएको हुँ ।’

    सायमीलाई चुनाव जित्ने महत्वाकांक्षा पनि थिएन । १२-१५ हजार भोट ल्याउने लक्ष्य रहेको उनले सुनाए ।

    ‘मैले सोचेकै १२-१५ हजार हो, सायद त्यति आउँछ पनि होला,’ उनले भने ।

    अर्का स्वतन्त्र उम्मेदवार बालेन साह जिततर्फ लम्किरहेका छन् काठमाडौंमा । आज भोलिमा उनी मेयर निर्वाचित हुने छन् । यसमा खुसी छन् सायमी । दलहरुको लिगेसीबाट मुक्त भएर काठमाडौंवासीले स्वतन्त्र व्यक्तिलाई रोज्नु सुखद भएको उनी बताउँछन् ।

    उनले बालेनसँग सहकार्यको प्रयास पनि नगरेका होइनन् । बालेनलाई भेटेका पनि थिए । बालेनले उनलाई आफूलाई समर्थन जनाउन आग्रह गरे पनि उनी तयार भएनन् । किनकी उनले आफूसम्बद्ध विभिन्न संघ-संस्थाबाट निर्णय गराएरै उम्मेदवार दिएका थिए ।

    आफूले उम्मेदवारी दिएको औचित्य पुष्टि भयो भन्ने लाग्छ सायमीलाई । खासगरि काठमाडौंका कोर एरियाबाट उनलाई उल्लेख्य भोट आइरहेको छ । बाहिरी क्षेत्रमा भने उनको प्रभाव देखिएको छैन । सायमी अब संसदीय चुनावमा क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिन तयारीमा छन् ।

  • पचरौताको मेयर र उपमेयरमा एमाले विजयी

    पचरौताको मेयर र उपमेयरमा एमाले विजयी

    बारा । पचरौता नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । एमालेका जलनदर सिंहले ४ हजार ७३३ मत ल्याई निर्वाचित भएका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रमेश यादवले चार हजार ४६१ मत प्राप्त गरे। उपमेयरमा पनि एमालेकै नसिमा खातुनले चार हजार ५३८ मत ल्याई निवार्चित भएकी छन् ।

    उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकै सगुफा खातुन चार हजार १६३ मत ल्याएकी थिइन् । २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी पार्टीकातर्फबाट रमेशकुमार यादव प्रमुखामा र ईन्दुदेवी यादव उपप्रमुखमा निर्वाचित भएको थियो ।

  • तुलसीपुर- १६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार डाँगी विजयी, गठबन्धन तेस्रो

    तुलसीपुर- १६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार डाँगी विजयी, गठबन्धन तेस्रो

    दाङ । तुलसीपुर उपमहानगरपालिका- १६ को वडाध्यक्षमा गठबन्धन र एमालेलाई पछाडि पार्दै स्वतन्त्र उम्मेदवार शिवानन्द डाँगी विजयी भएका छन् ।

    सत्तागठबन्धनले वडा अध्यक्षको टिकट नदिएपछि माओवादी नेता शिवानन्द डाँगीले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    उनले १ हजार ३४४ मतका साथ विजयी हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका अमर खड्काले १ हजार १५९ मत ल्याए भने यहाँ सत्तागठबन्धन तेस्रो स्थानमा सीमित भएको छ ।

    सत्तागठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका भुपबहादुर केसीले ४६७ मत मात्रै पाएका छन् । यहाँ ४२ सय ४४ मत खसेको थियो। वडा सदस्यमा भने एमाले र गठबन्धनका २–२ जना विजयी भएका छन् ।

  • १३ स्थानीय तहको मात्र गणना बाँकी, कहाँ कसको अग्रता ? (सूचीसहित)

    १३ स्थानीय तहको मात्र गणना बाँकी, कहाँ कसको अग्रता ? (सूचीसहित)

    काठमाडौं । वैशाख ३० गते कुल ७५३ स्थानीय स्थानीय तहका लागि भएको मतदान अनुसार हालसम्म ७४० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

    जसअनुसार अब १३ वटा स्थानीय तहको अन्तिम नतिजा आउन मात्र बाँकी छ । त्यसमा पनि ११ वटाको मतगणना भइरहेको छ भने दुईवटा तहको गणना नै सुरू भएको छैन ।

    जारी मतगणनामा पनि ११ मध्ये ४ तहमा नेपाली कांग्रेसको अग्रता देखिएको छ भने । ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । त्यसपछि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले १/१ तहमा अग्रता लिइरहेका छन् ।

    काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता छ ।

    अन्तिम मत परिणाम आउन बाँकी रहेका पालिकाहरू :

    कांग्रेसको अग्रता भएका तहहरू

    १) कटारी नगरपालिका, उदयपुर
    २) ललितपुर महानगरपालिका, ललितपुर
    ३) तिलोत्तमा नगरपालिका, रुपन्देही
    ४) महाराजगञ्ज नगरपालिका, कपिलवस्तु

    एमालेको अग्रता भएका तहहरू

    १) गरूडा नगरपालिका, रौतहट
    २) पचरौता नगरपालिका, बारा
    ३) तुलसीपुर उपमहानगरपालिका, दाङ

    माओवादी केन्द्रको अग्रता भएका तहहरू

    १) फतुवा विजयपुर नगरपालिका, रौतहट

    जसपाको अग्रता भएका तहहरू

    १) गढीमाई नगरपालिका, रौतहट

    नेकपा एसको अग्रता भएका तह

    १) पोखरा महानगरपालिका, कास्की

    स्वतन्त्रको अग्रता भएका तह

    १) काठमाडौं महानगरपालिका, काठमाडौं

    गणना सुरू नै नभएका तहहरू

    १) त्रियुगा नगरपालिका, उदयपुर
    २) बुढीगंगा नगरपालिका, बाजुरा

  • काठमाडौं-२२ को वडाध्यक्षमा एमाले विजयी, स्थापितले पहिलो मत पाउँदा बालेन तेस्रो

    काठमाडौं-२२ को वडाध्यक्षमा एमाले विजयी, स्थापितले पहिलो मत पाउँदा बालेन तेस्रो

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २२ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । यहाँ एमालेका चिनीकाजी महर्जन ५८२ मतान्तरका साथ विजयी भए ।

    महर्जनले २०६० ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शालिग्राम तन्दुकार १४७८ मतमा रोकिए ।

    यस वडामा मेयरमा भने नेकपा एमालेका केशव स्थापितले सबैभन्दा बढी १०९८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १००१ मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन साहले तेस्रो स्थानको मत ६७९ पाए ।

    अहिलेसम्मको परिणामअनुसार समग्र गणनामा भने बालेनको निरन्तर अग्रता छ ।

  • मुचुल्काभन्दा बढी मतपत्र भेटिएपछि फतुवा विजयपुरमा गणना स्थगित

    मुचुल्काभन्दा बढी मतपत्र भेटिएपछि फतुवा विजयपुरमा गणना स्थगित

    बारा । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काभन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । बढी मतपत्र भेटिएपछि पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणनास्थल बाहिर विरोध प्रर्दशन गरेका छन् ।

    फतुवा विजयपुर नगरपालिका-३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्यांकभन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद वाग्लेले बताए ।

    निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको वाग्लेको भनाइ छ ।

    नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली कांग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार विजय यादवले नेपाली कांग्रेसले स्थानीय प्रहरी प्रशासनको आडमा धाँधली गरेको भन्दै मेवा गाँउमा पुन : मतदान गर्नुपर्ने माग राखेका छन् ।

    पुन: मतदानको माग गर्दै एमाले र माओवादीका मतगणनास्थलमा रहेका प्रतिनिधिहरू निस्केको माओवादीका मेयरका उम्मेदवार तिमल्सिनाले बताए ।

  • बालेनको जित लगभग सुनिश्चित, डेढ लाख भोट गन्दा कटाए ५० हजार

    बालेनको जित लगभग सुनिश्चित, डेढ लाख भोट गन्दा कटाए ५० हजार

    काठमाडौं । काठमाडौं महानगरको मेयर दौडमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित करिब सुनिश्चित भएको छ । मतगणना उत्तरार्धमा पुग्दा उनले व्यक्तिगत भोट ५० हजार कटाएका छन् ।

    हालसम्म महानगरको एक लाख ५० हजार ७२० भोटको गणना भइसकेकोमा बालेनले ५० हजार ९८ भोट ल्याएका हुन् । मुख्य प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग उनको झण्डै २० हजार मतको दूरी छ । सिर्जनाले ३० हजार ७७४ मत ल्याएकी छन् । यस्तै, तेस्रो स्थानमा रहेका केशव स्थापितको २९ हजार ९९७ मत आएको छ ।

    काठमाडौंमा कुल १ लाख ९१ हजार १७१ भोट खसेको थियो । त्यसमा अब ४० हजारभन्दा कम भोट गणना गर्न बाँकी छ । २१ वटा वडाको मतपरिणाम आइसकेको छ भने १० वटाको गणना जारी छ ।

    वडा नम्बर १७ को भने मत गन्न सुरु भएको छैन । हाल गणना भइरहेका सबै वडाहरु कोर एरियाभित्रका छन् । यद्यपि, बालेनले विशाल अग्रता लिइसकेकाले यी वडाहरुले नतिजामा उलटफेर ल्याउने सम्भावना छैन ।

  • रौतहट बौधीमाईको मेयर, उपमेयर नै जित्यो नेकपा एसले

    रौतहट बौधीमाईको मेयर, उपमेयर नै जित्यो नेकपा एसले

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटको बौधीमाई नगरपालिकाको मेयरमा उनकै पार्टीका उम्मेदवार प्रदीपकुमार यादव निर्वाचित भएका छन् । ४८१० मत ल्याएर यादव विजयी हुँदा उनका प्रतिस्पर्धी जसपाका राजिव यादवले ४६२४ मत पाए ।

    त्यस्तै उपमेयरमा पनि नेकपा एसकै प्रमिलादेवी ४८९४ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी जसपाकी सीमा नेशाले ४४८१ मत पाइन् ।

  • सुर्खेत जिससमा गठबन्धन र एमालेका प्रतिनिधि बराबर, माओवादीलाई फकाएर बहुमत पुर्‍याउने एमालेकाे दाउ

    सुर्खेत जिससमा गठबन्धन र एमालेका प्रतिनिधि बराबर, माओवादीलाई फकाएर बहुमत पुर्‍याउने एमालेकाे दाउ

    सुर्खेत । गठबन्धन र एमालेका बराबर प्रतिनिधि चुनिएपछि सुर्खेतमा जिल्ला समन्वय समिति प्रमुख छान्न गोलाप्रथा हुनसक्ने सम्भावना बढेको छ ।

    यहाँ एमालेले सिम्ता, चिंगाड गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ । त्यस्तै एमालेले लेकबेशी नगरपालिकाको उपप्रमुख पनि जितेको छ । यसरी एमालेले कुल ९ मत पाउनेछ । यहाँ कांग्रेस र माओवादीको जोड्दा पनि जिसस प्रतिनिधिमा ९ मत हुन आउँछ ।

    नेकपा माओवादीले चौकुने गाउँपालिकाको अध्यक्ष जितेको छ । यसबाहेकका स्थानीय तहका प्रमुख तथा उपप्रमुख कांग्रेसले जितेर ८ मत जम्मा गरेको छ ।

    जिसस प्रमुख छान्न पालिकाका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउनेछन् ।

    यहाँ एमालेले बहुमत पुर्‍याउन माओवादीलाई फकाउने प्रयास गरिरहेको छ । तर एमाले सुर्खेतका अध्यक्ष अमृत बिसीले अहिले त्यसबारे छलफल नै नभएको बताएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका नेता कृष्ण जिसी जितेन्द्रले जिल्ला समन्वय समितिको बारेमा अहिले कुनै निष्कर्षमा नपुगेको बताए ।

    सुर्खेतमा नौ पालिका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला समेत रहेको सुर्खेतमा २०७४ सालको निर्वाचनमा कांग्रेस एक्लैको जिल्ला समन्वय समितिमा बहुमत आएको थियो ।

  • पोखराको १५ औं मेयरमा आचार्यको जित सुनिश्चित

    पोखराको १५ औं मेयरमा आचार्यको जित सुनिश्चित

    पोखरा । पोखराको १५ औं मेयरको रुपमा धनराज आचार्य निर्वाचित हुने निश्चित भएको छ । आचार्यले मतान्तर धेरै बनाएर जित सुनिश्चित गरेका हुन् । हालसम्म गणना भएको १ लाख ३८ हजार २ सय ११ मत गन्दा सत्तागठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले ५६ हजार ४ सय ७१ मत पाएका छन् ।

    निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८५ मत मात्रै पाए । अझै ५ हजार मत गन्‍न बाँकी छ ।

    उपमेयरमा भने एमालेकी मन्जु गुरुङ जित नजिक पुगेकी छिन् । उनले कांग्रेसकी कोपिला रानाभाटलाई ४ हजार ३५ मत अन्तरले पछि पारेकी छिन् । गुरुङले ५८ हजार ५ सय ८२ मत पाउँदा रानाभाटको पोल्टामा ५४ हजार ५ सय ४७ मत परेको छ ।

    २०१६ सालमा नगरपञ्चायतको रुपमा गठन भएको पोखरामा यसअघि १४ जना मेयरले काम गरिसकेका छन् । २०१६ देखि २०१८ सम्म पहिलो मेयरका रुपमा शिवबहादुर थापाले काम गरे । २०१९ देखि २०२४ सम्म नगेन्द्रबहादुर रायमाझी, २०२४ देखि २०२८ सम्म अम्बरबहादुर कार्की मेयर बने । २०२८ देखि २०३१ सम्म रुद्रबहादुर कार्की, २०३१ देखि २०३२ सम्म दीलिपकुमार पालिखे र त्यसपछिको ७ महिना रमेशबहादुर भट्टराई मेयर बने ।

    २०३२ देखि २०३८ सम्म गणेश शेरचन, २०३८ देखि ०३९ सम्म श्रीप्रसाद गुरुङ, २०३९ देखि ०४१ सम्म उत्तमबहादुर पुन, २०४१ देखि २०४६ सम्म सूर्यबहादुर केसीले मेयरका रुपमा काम गरे । २०४९ पछि भने स्थानीय निकायको रुपमा निर्वाचन भयो । पहिलो मेयरकोरुपमा कांग्रेसका भोला थापा निर्वाचित भए ।

    २०५४ मा अहिलेका एमाले उम्मेदवार कृष्ण थापा नै मेयर भएर काम गरिसकेका छन् । त्यसपछि २०६० सालमा हर्कबहादुर गुरुङलाई राजाले मेयरमा नियुक्त गरे । २०६२ सालमा चुनाव भयो, तर तत्कालीन ७ दलले बहिस्कार गरे । भीमसेन थापा राप्रपाबाट मेयर बने ।

    नयाँ संविधान जारी भएपनि राज्य पुनः संरचनाबाट २०७४ मा पोखरा महानगरपालिका बन्यो । एमालेका मानबहादुर जिसी १४औँ मेयरका रुपमा निर्वाचित भएका थिए । उनको ५ वर्षे कार्यकाल सकिएपछि अहिले १५ औँ मेयरका रुपमा एमालेबाटै विभाजित भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका आचार्य पोखराको बागडोरमा पुगेका छन् । पोखराको मेयरमा २३ जनाको प्रतिस्पर्धा थियो ।

  • तुलसीपुरमा १६०० मतान्तरसहित एमालेका खड्का अगाडि

    तुलसीपुरमा १६०० मतान्तरसहित एमालेका खड्का अगाडि

    रूपन्देही । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले निरन्तर अग्रता लिएको छ ।

    पछिल्लो मत परिणामअनुसार ५४,१२३ मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार टिकाराम खड्काले २२,८५९ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २१२५९ मत प्राप्त गरेका छन्।

    एमालेका खड्काले १६०० मतान्तरले अग्रता लिइरहेका छन् । त्यस्तै उप मेयरमा एमालेकी स्यानी चौधरीले २२,४०७ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् भने नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले १५८७२ मत प्राप्त गरेका छन् ।

    एमाले महासचिव शंकर पोखरेलको गृहपालिका भएकाले पनि यहाँको नतिजा चासोका साथ हेरिएको छ ।

  • तिलोत्तमामा कांग्रेसको अग्रता कायमै

    तिलोत्तमामा कांग्रेसको अग्रता कायमै

    रूपन्देही । गृहमन्त्री बालकृष्ण खाँण र एमाले नेता घनश्याम भुसालको गृहपालिका रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले निरन्तर अग्रता लिएका छन् ।

    गणना भएको ४२ हजार ७१४ मतको परिणाम सार्वजनिक गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँण ८६५ अगाडि छन्।

    खाँणले १६,६४६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले १५ हजार ७८१ मतका साथ पछ्याईरहेका छन्।

    २२ हजार मतगणना सम्पन्न भएदेखि निरन्तर अगाडि रहेका खाँणले मंगलबार बिहान ५ः१५ बजे सार्वजनिक भएको नतिजामा १६ हजार ६सय ४६ मत पाएका छन्।

    उपप्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जागेश्वरी दोब्बर मतले अगाडि छन्। चौधरीले १५ हजार ४३७ मत पाउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हेमन्त पाण्डेले ८ हजार ८२० मत पाए।

    तिलोत्तमा नगरपालिकामा हालसम्म वडा नं १, २, ३,४,५,१३,१४ १५,१६र १७ नं वडाको अन्तिम परिणाम आइसकेको छ। ती वडा मध्ये वडा नं १,४र १५ मा नेकपा एमालेले जितेको छ भने वडा नं २,३,५,१३,१४, १६ र १७ मा नेपाली कांग्रेसले जितेको छ।

  • झापा मेचीनगरको मेयर, उपमेयर दुवैमा एमालेका उम्मेदवार निर्वाचित

    झापा मेचीनगरको मेयर, उपमेयर दुवैमा एमालेका उम्मेदवार निर्वाचित

    काठमाडौं । झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

    नगरप्रमुखमा एमालेका गोपालचन्द्र बुढाथोकी २६ हजार ४७८ मत प्राप्त गरी विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इन्द्रबहादुर बुडाथोकीलाई ५ हजार १६७ मतान्तरले पराजित गर्दै गोपाल बुढाथोकी नगरप्रमुखमा विजयी भएका हुन् ।

    उप–प्रमुखमा मीनाकुमारी उप्रेती २१,५९० मत प्राप्त गरी निर्वाचित भएकी छिन्।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीलाई ८ हजार ७७२ मतान्तरले पराजित गर्दै मीना उपप्रमुखमा निर्वाचित भएकी हुन्।

    भण्डारीले १२,५१८ मत प्राप्त प्राप्त गरेका छन्।

  • रुपन्देहीको कोटहीमाईमा लोसपा विजयी, मेयर बने बालकृष्ण

    रुपन्देहीको कोटहीमाईमा लोसपा विजयी, मेयर बने बालकृष्ण

    भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण त्रिपाठी निर्वाचित भएका छन् ।

    त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार कलवार ४ हजार २ सय ३९ मत प्राप्त गरे । १२ जना प्रतिस्पर्धी रहेको पालिका अध्यक्षमा त्रिपाठीले कलवारलाई ३ सय ९९ मतले पछि पार्दै विजय निकालेका हुन् ।

    उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकै सुशीलाकुमारी यादव निर्वाचित भएकी छन् । यादवले निकटतम प्रतिस्पर्धाी नेपाली कांग्रेसकी गुजराती यादवलाई १ हजार २ सय ९४ मतले पछि पार्दै विजय निकालेकी हुन् । गुजरातीले ३ हजार ४ सय ४२ मत प्राप्त गरिन् भने निर्वाचित शुशिला यादवले ४ हजार ७ सय ३६ मत पाइन् ।

    वडामा मिश्रित नतिजा आएको छ । ७ वटा वडा रहेको पालिकामा वडा नम्बर १ मा लोसपाका राजेश तेली ६ सय ९५ मत ल्याएर विजयी भएका छन् । वडा नम्बर २ मा जसपाका अमरनाथ यादव ९ सय ४५ मत ल्याइ विजयी भएका छन् भने ३ मा नेपाल जनता पार्टीका विष्णु नारायण पाण्डे एक हजार २० मत ल्याइ विजयी भए । वडा नम्बर ४ मा लोसपााका बेचुराम गडेरिया ५ सय ४७ मत ल्याइ विजयी भए भने ५ मा पनि लोसपाका संजय कुमार सैनी एक हजार ४६ मत प्राप्त गरि विजयी हुन सफल भए ।

    यस्तै वडा नम्बर ६ मा जसपाका विनोद यादव ५ सय ४ मत ल्याइ विजयी भए । वडा नम्बर ७ मा कांगे्रसका पवन कुमार यादव ७ सय ४४ मत प्राप्त गरी निर्वाचित भए । ७ वडा रहेको कोटहीमाईमा २६ हजार २ सय ४२ मतदाता रहेकोमा २० हजार ६ सय ७५ जनाले मताधिकार प्रयोग गरेका थिए ।

    १६ स्थानीय तह रहेको रुपन्देहीमा अब तिलोत्तमाको मतगणना गर्न मात्रै बाँकी छ । तिलोत्तमामा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ ।

  • भरतपुर महानगरको मेयरमा रेणु दाहाल निर्वाचित हुने पक्का, गन्न बाँकीभन्दा मतान्तर धेरै

    भरतपुर महानगरको मेयरमा रेणु दाहाल निर्वाचित हुने पक्का, गन्न बाँकीभन्दा मतान्तर धेरै

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित हुने पक्का भएको छ ।

    मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीविरुद्ध रेणुले लिएको अग्रताभन्दा गन्न बाँकी मत कम रहेको छ ।

    अहिलेसम्म भरतपुर महानगरपालिकाका १ देखि २५ नम्बरसम्मका वडाको गणना सम्पन्न भएको छ । २६ नम्बर वडाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

    २७ नम्बर वडाको मत गणना पनि सुरु भइसकेको छ ।
    हालसम्म १ लाख १६ हजार ६ सय ६६ मत गणना भएको छ । गन्न बाँकी मत ११ हजार १ सय ७३ छ । गन्न बाँकी वडा नम्बर २७, २८ र २९ मा जम्मा १० हजार ३ सय २४ मत खसेको छ ।

    रेणुले विजयविरुद्ध ११ हजार ४ सय ५७ मतको अग्रता लिइसकेकी छिन् । रेणुले ४७ हजार ४० मत ल्याउँदा विजयले ३५ हजार ५ सय ८३ मत ल्याएका छन् ।

  • भरतपुरमा चार वडाको मत गणना गर्न बाँकी

    भरतपुरमा चार वडाको मत गणना गर्न बाँकी

    चितवन । भरतपुर महानगरपालिकामा अब चार वटा वडाको मत गणना गर्न बाँकी रहेको छ ।

    महानगरका २९ वटा वडामध्ये २५ नम्बर वडासम्मको मत परिणाम आइसकेको छ भने २६ र २७ को गणना भइरहेको छ ।

    भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म एक लाख १६ हजार ३६६ मत गणना सकिएको छ ।

    गणना सकिएका वडाहरूमा महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरू अग्रस्थानमा रहेका छन् ।

    महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले नेकपा (एमाले) का विजय सुवेदीसँग ११ हजार ३८९ मत अन्तरले अग्रता कायम राखेकी छन् । दाहालले ४६ हजार ९३५ मत ल्याउँदा सुवेदीले ३५ हजार ५४६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २४१ मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४७ हजार ८५८ मत प्राप्त गर्दा राप्रपाकी हमिला गुरुङले २७ हजार ८९९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

    मङ्गलवार बिहानसम्ममा मतगणना सम्पन्न गर्ने गरी गणना भइरहेको छ ।

  • स्वस्तिमाको तारिफ गर्दै बालेनले भने : उहाँको एक्सप्रेसन नै बबाल

    स्वस्तिमाको तारिफ गर्दै बालेनले भने : उहाँको एक्सप्रेसन नै बबाल

    काठमाडौं । काठमाडौं महानगरको भावी मेयरमा आफ्नो जित सुनिश्चित देखिएसँगै बालेन साह यति बेला तनावमुक्त छन् । चुनावको धपेडी सकिएको तर निर्वाचित भएर नयाँ जिम्मेवारी आई नसकेको संक्रमणकालीन समयमा केही फुर्सदिला पनि छन् उनी । यही फुर्सदको सदुपयोग गर्दै सोमबार एउटा फिल्मी कार्यक्रममा भाग लिन पुगे ।

    दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चिसो मान्छे’ को प्रिमियरमा बालेनलाई निम्त्याइएको थियो गेस्टको रूपमा । कार्यक्रममा उनले छोटो भाषण पनि दिए ।

    चलचित्रकी नायिका स्वस्तिमा खड्काको उनले खुलेर प्रशंसा गरे ।

    ‘उहाँको एक्सप्रेसन मलाई कति बबाल लाग्छ,’ बालेनले भने, ‘नबोल्दा पनि अनुहारले मात्रै पनि एक्टिङ गरिरहेको हुन्छ । उ यो पोस्टमा पनि कस्तो राम्रो एक्सप्रेसन छ ।’

    स्वस्तिमाले स्थानीय चुनावमा बालेनलाई खुलेर सपोर्ट गरेकी थिइन् । उनका श्रीमान् निर्देशक निश्चल बस्नेतले पनि बालेनलाई मेयरमा जिताउन जोडतोडले लागेका थिए ।

    कार्यक्रममा बालेनले चलचित्रका अभिनेता अर्पण कार्कीको पनि प्रशंसा गरे । कार्कीको कुनै पनि चलचित्र नछुटाई हेरेको उनको दाबी थियो ।

    उनले नेपाली कला–संस्कृतिलाई विश्वमाझ पुर्‍याउनुपर्नेमा जोड दिए । विभिन्न भाषामा डबिङ गरेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको सुझाव छ ।

    ‘हाम्रो पनि चलचित्र उत्तिकै राम्रा छन्, भाषा मात्रै फरक हो,’ बालेनले भने, ‘हामीले नेपाली चलचित्रलाई नेटफ्लीक्स, अमाजोनसम्म पुर्‍याउन सक्छौँ ।’