Category: स्थानीय निर्वाचन–२०७९

  • आज उम्मेदवारलाई निर्वाचन चिह्न दिँदै आयोग

    आज उम्मेदवारलाई निर्वाचन चिह्न दिँदै आयोग

    काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै छ । आयोगको कार्यालयमा बिहान १० बजेदेखि स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।

    शुक्रबार उम्मेदवारी फिर्ताको कार्यतालिका थियो । त्यसअघि भने आयोगले उम्मेदवारी दर्ता, दाबी–विरोध र उजुरीको जाँचबुझ गरेको थियो ।

    यी प्रक्रिया पूरा भएपछि आयोगले आज निर्वाचन चिह्न प्रदान गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    आयोगले दिएको निर्वाचन चिह्नमा मतदाताहरूले उम्मेदवारलाई मतदान दिन्छन् ।

  • झण्डा बनाउने कलाकारका दु:ख- चुनाव हार्नेले पैसा नै दिँदैनन् (भिडिओ)

    झण्डा बनाउने कलाकारका दु:ख- चुनाव हार्नेले पैसा नै दिँदैनन् (भिडिओ)

    काठमाडौं । विजयकुमार कार्कीले बागबजारमा एभरेस्ट आर्ट चलाउन थालेको ३५ वर्ष भयो । स्थानीय तहको चुनावको माहोल गर्माएदेखि नेता–कार्यकर्ताजस्तै उनलाई पनि भ्याई–नभ्याई छ । विभिन्न राजनीतिक दलको चुनाव चिन्ह अंकित झण्डा बनाउन व्यस्त छन् उनी ।

    निर्वाचन आयोगको आचारसंहिता लागू हुनुअघि उनी झन् बेफुर्सदी थिए । पछिल्ला दिनमा भने काम अलि खुकुलो भएको थियो ।

    उनी भन्छन्, ‘चुनाव आएपछि अहिले ठिकै–ठिकैजस्तो व्यस्त छु । योभन्दा अगाडि अलि बढी प्रेसर थियो । बीचमा निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेपछि काम घट्यो । अहिले फेरि माग बढ्न थालेको छ ।’

    विगतमा चुनाव आउने बेलामा आर्टिस्टहरुका लागि दशैजस्तो माहोल हुन्थ्यो । पद्मकन्या क्याम्पसका भित्ताहरु कतै खाली हुन्थेनन् । यत्रतत्र ब्यानरले ढाक्थ्यो । ठुलाठुला ब्यानरहरु लेखिन्थे । हजारौ कलाकारहरुले काम पाउँथे । अहिले निर्वाचन आयोगले कडाइ गरेसँगै व्यवसाय खुम्चिदै–खुम्चिदै गइरहेको छ ।

    पहिलाको तुलना अहिले झण्डा बनाउने धेरै नै घटेको कार्कीको बुझाइ छ । झण्डाको माग घट्नुमा आयोगले राखेको नियम पनि कारक हुनसक्ने उनले बताए । सार्वजनिक ठाउँमा राख्न डराउने भएकाले माग घटेको उनको अनुमान छ ।

    हालसालै मात्र आयोगले १२/१८ भन्दा माथिको झण्डा बनाउन नपाउने र सार्वजनिक स्थानमा राख्न नपाउने नियम बनाएको छ । यसले पनि माग घटेको हो । पाँच वर्षअघि स्थानीय तहको चुनावमा जुन उत्साह थियो । अहिले त्यो उत्साह नभएको व्यवसायीहरु बताउँछन् ।

    व्यवसायीका अनुसार कांग्रेस, राप्रपा, एकीकृत समाजबादी पार्टीको झण्डा बनाउन अलि मंहगो पर्छ । कपडामा दुई तीन प्रकारका रंग प्रयोग गर्नुपर्ने भएकाले मंहगो परेको हो । एउटै रंगको झण्डा बनाउँदा ४ रुपैयाँसम्म सस्तो पर्छ । खर्च अनुसारको मूल्य भने पहिलाको तुलनामा धेरै कम भएको कार्की बताउँछन् ।

    उनले भने, ‘अहिले कपडाको दाम एकदमै बढेको छ । हामीले आजभन्दा दुई महिनाअघि लिनु र अहिले लिनु गजमा २० रुपैयाँजति महंगो पर्छ । तर मूल्य चाहिँ घटेको छ ।’

    डिजिटल मिडियाले गरेर सप्लायरहरु पनि झण्डा बनाउन थालेका छन् । यसअघि यो काम कलाकारहरुले मात्रै गथ्र्थे । अहिले विभिन्न डिजिटल मिडिया, सोसल मिडियामा सस्तोमा झण्डा पाइन्छ भनेर प्रचार गर्दा कलाकारको व्यापार घटेको छ ।

    सप्लार्यसहरुले झण्डा बनाउन अरु कपडा र चाइनिज मटेरियलहरु प्रयोग गर्छन् । प्रेसमा छाप्ने काम पनि भएकाले झण्डाको दाम निकै घटेको छ । तर झण्डा बनाउन चाहिने कपडाको मूल्य भने बढेको छ ।

    कार्की भन्छन्, ‘हामीले दुई हजारजति हातेप्रिन्ट गरिराखेका छौं । यो एकदमै पुरानो विधी हो । जुनबेला अक्सप्रिन्ट आएको थिएन । त्यो बेला स्क्रिन प्रिन्टबाट दुई कलर, हातबाट दुई कलर प्रिन्ट छाप्थे । अहिले त्यही मेटिरियल प्रयोग गरेर कपडामा स्क्रिन प्रिन्टबाट गर्ने हो ।’

    अहिले यो पेशामा भएकाहरु धेरे विदेश पलायन भइसके । चुनावताका व्यापार बढ्ने भएपनि व्यापारीहरुको लगानी फस्ने डर पनि उत्तिकै हुन्छ ।

    यसअघिको लगानी फसेकाले कार्की यसपटक सचेत छन् ।

    ‘चुनावमा झण्डा बनाउँछन्, हारे भने पैसा नै दिदैनन्,’ उनले भने, ‘विगतमा हाम्रो हातले लेख्ने देखिको छपाइ गर्दा धेरै साथीहरुको पैसा डुबेको छ ।’

    कार्कीका अनुसार चुनावमा अर्डर दिन एकजना र झण्डा लिन अर्को कार्यकर्ता आउँछन् । पछि हामी पैसा पठाइदिन्छु भन्छन् । तर, चुनाव हारे फर्केर आउँदैनन् ।

    चुनाव जितेकाहरुले पैसा दिने गरेको उनले बताए ।

    दुई वर्षदेखि कोभिडका कारण व्यवसायी थला परेका थिए । चुनावले केही उकास्ने उनीहरुको आशा छ ।

  • धनगढीमा फिर्ता भएन भण्डारीको उम्मेदवारी , उपप्रमुखमा माओवादीविरुद्ध बागी

    धनगढीमा फिर्ता भएन भण्डारीको उम्मेदवारी , उपप्रमुखमा माओवादीविरुद्ध बागी

    कैलाली । धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी कायमै राखेका छन् ।

    आज उम्मेदवारी फिर्ता लिने समय सीमा सम्म पनि उनले उम्मेदवारी फिर्ता लिएनन् । सत्ता गठबन्धनका दलहरू बिच धनगढी उपमहानगरपालिकाको प्रमुख नेपाली कांग्रेस र उपप्रमुख माओवादी केन्द्रको भागमा परेको थियो ।

    प्रमुखमा कांग्रेसका नृप वड र उपप्रमुखमा माओवादी केन्द्रका शान्ति अधिकारीले उम्मेदवारी दिएकी थिइन् । कांग्रेसका भण्डारीले माओवादीको विरुद्धमा बागी उम्मेदवारी दर्ता गरेका थिए ।

    गठबन्धनको नाममा पाँच दलले प्रजातन्त्र कमजोर पार्न खोजेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उनले बताए । आफूले जित्ने अवस्था आएको हुँदा स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ ।

    ‘प्रजातन्त्रलाई कमजोर पार्न थालेपछि मैले उम्मेदवारी दिएको हो’ उनले भने ‘म गठबन्धनसँग झुक्दिन । म जित्छु ।’

    स्वतन्त्र उम्मेदवारी फिर्ता नलिएपछि उनी कारबाहीमा परेका छन् । तर, कारबाहीले कुनै फरक नपर्ने उनको भनाइ छ ।

    ‘कारबाही गरेर केही गर्न सक्दैनन् । कागजमा कारबाही गरेर के गर्न सक्छन्’ उनले भने ।

    भण्डारी काँग्रेस कैलालीका पुराना नेता हुन्। उनी दुई कार्यकाल कैलाली काँग्रेसको कोषाध्यक्ष भइसकेका नेता हुन् ।

    धनगढी उपमहानगरपालिकामा यस अघि प्रमुख र उपप्रमुख दुवैले जितेका थिए । अहिले माओवादीका विरुद्धमा बागी उठेपछि समस्या सृजना भएको छ ।

  • स्थानीय तह निर्वाचन : देशभरी कुन पार्टीका कति उम्मेदवार ? (दलगत विवरण)

    स्थानीय तह निर्वाचन : देशभरी कुन पार्टीका कति उम्मेदवार ? (दलगत विवरण)

    काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको तयारी निर्वाचन आयोगले गरेको छ ।

    आज उम्मेदवारी फिर्ताको समय दिएको आयोगले शनिवार अन्तिम नामावली प्रकाशन गर्ने छ । सोही दिन निर्वाचन चिह्न पनि प्रदान गर्ने भएको छ ।

    उम्मेदवारी फिर्ता लिए पछिको प्रारम्भिक विवरण अनुसार देश भरी नेकपा एमालेका उम्मेदवार धेरै रहेका छन् । एमालेबाट बाट नगर प्रमुख/ पालिका अध्यक्षमा ७३६ जना उम्मेदवार रहेका छन् ।

    यस्तो छ विवरण

    नेकपा एमाले
    नगर प्रमुख : २६३

    नगर उपप्रमुख : २४५

    गाउँपालिका अध्यक्ष : ४४६

    गाउँपालिका उपाध्यक्ष : ४४५

    प्रमुख/अध्यक्ष जम्मा : ७३६

    उपप्रमुख/उपाध्यक्ष : ६९५

    वडाध्यक्ष : ६,५०६

    नेपाली कांग्रेस

    नगर प्रमुख : २६५

    नगर उपप्रमुख : २११

    गाउँपालिका अध्यक्ष : ३८५

    गाउँपालिका उपाध्यक्ष : ३५९

    प्रमुख/अध्यक्ष जम्मा : ६४७

    उपप्रमुख/उपाध्यक्ष : ५७०

    वडाध्यक्ष : ६१३२

    माओवादी केन्द्र

    नगर प्रमुख : १७४

    नगर उपप्रमुख : २१४

    गाउँपालिका अध्यक्ष : २९०

    गाउँपालिका उपाध्यक्ष :३१५

    प्रमुख/अध्यक्ष जम्मा : ४६४

    उपप्रमुख/उपाध्यक्ष : ५२९

    वडाध्यक्ष : ४,४२८

    एकीकृत समाजवादी

    नगर प्रमुख : १५०

    नगर उपप्रमुख : १७७

    गाउँपालिका अध्यक्ष : १८७

    गाउँपालिका उपाध्यक्ष : १८०

    प्रमुख/अध्यक्ष : ३३७

    उपप्रमुख/उपाध्यक्ष : ३५७

    वडाध्यक्ष : २,४२८

    जनता समाजवादी पार्टीं

    नगर प्रमुख : १५९

    नगर उपप्रमुख : १३८

    गाउँपालिका अध्यक्ष : १८९

    गाउँपालिका उपाध्यक्ष : १५६

    प्रमुख/अध्यक्ष : ३४८

    उपप्रमुख/उपाध्यक्ष : २९४

    वडाध्यक्ष : २०६९

    लोकतान्त्रिक समाजवादी पार्टी

    नगर प्रमुख : ९३

    नगर उपप्रमुख : ८०

    गाउँपालिका अध्यक्ष : ७८

    गाउँपालिका उपाध्यक्ष : ५८

    प्रमुख/अध्यक्ष : १७१

    उपप्रमुख/उपाध्यक्ष : १३८

    वडाध्यक्ष : १,०२५

    *यो निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम विवरण होइन् । पछि केही थपघट हुन सक्छ

  • देश भरी चार हजारको उम्मेदवारी फिर्ता

    देश भरी चार हजारको उम्मेदवारी फिर्ता

    काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् ।

    वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा आज साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।

    निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिन रूपमा प्रविष्ट भई नसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताउनुभयो ।

    सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् ।

  • हेटौँडामा ४९ जनाले लिए उम्मेदवारी फिर्ता

    हेटौँडामा ४९ जनाले लिए उम्मेदवारी फिर्ता

    हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

    ३ जना मेयरका उम्मेदवार र २ जना उपमेयरका उम्मेदवार सहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।

    पाँच दलीय सत्ता गठबन्धनमध्ये जसपा नेपालले मेयर र उपमेयर दुवैमा उम्मेदवारी दिएको थियो । जसपाले उम्मेदवारी दिएपछि हेटौँडामा गठबन्धन तोडिएको भन्ने चर्चा चल्न थालेको थियो ।

    हेटौँडाको मेयर पदमा उम्मेदवारी दिएका जसपा नेपालका दीपा लामाले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

    त्यसै गरी नेपालका लागि नेपाली पार्टीका सुकुन्द प्रसाद आचार्य र स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी सुरक्षा रिजालले उम्मेदवारी फिर्ता लिएका छन् ।

    यस्तै हेटौँडाको उपमेयर पदमा उम्मेदवारी दिएका जसपा नेपालका हरिहर खतिवडा र नेकपा एकीकृत समाजवादीकी मखकुमारी तिमल्सिनाले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत शर्माले बताए ।

    हेटौँडामा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका १८ जना वडा अध्यक्षका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका छन् ।

    त्यसै गरी महिला सदस्य पदका उम्मेदवार ५ जना, दलित महिला सदस्य पदका उम्मेदवार ६ जना र खुल्ला सदस्य पदका १५ जना उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको शर्माले बताए ।

  • पाल्पाको तिनाउमा एमाले र विप्लव नेतृत्वको माओवादी गठबन्धन

    पाल्पाको तिनाउमा एमाले र विप्लव नेतृत्वको माओवादी गठबन्धन

    रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिकामा विप्लव नेतृत्वको नेकपा माओवादीबाट स्वतन्त्र उम्मेदवारी दिएकाहरूले नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।

    गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका भुवन जिसीसहितका स्वतन्त्र उम्मेदवारहरूले एमालेलाई समर्थन गर्ने सहमति भएको नेकपा एमालेका जिल्ला सदस्य तथा तिनाउका इन्चार्ज दलबहादुर गुरुङले बताए ।

    नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको लागि उम्मेदवार बनेका प्रेम श्रेष्ठलाई समर्थन गने गरी वडा तहमा समेत उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवाहरुले उम्मेदवारी फिर्ता लिएर एमालेलाई समर्थन गर्ने भएका हुन् ।

    नेकपा एमाले प्रदेश कमिटी सदस्य ओमबहादुर घर्तीको उपस्थितिमा दुई पक्षबिच भएको भद्र सहमतिअनुसार एमालेले तिनाउमा जित हासिल गरेको अवस्थामा समर्थनमा आएका स्वतन्त्र उम्मेदवारहरूलाई कार्यपालिका सदस्यमा मनोनयन गर्ने बताइएको छ ।

    उक्त सहमतिपछि छोटो प्रतिक्रिया जनाउँदै एमालेको तर्फबाट गाउँपालिका प्रमुख पदका उम्मेदवार प्रेम श्रेष्ठले तिनाउमा एमालेको निश्चित निश्चित भएको दाबी गरे ।

    यसअघि यहाँ एमालेले अध्यक्ष,उपाध्यक्षसहित बहुमत सदस्य जितेको थियो । सहमतिमा एमालेलाई सघाउने समूहबाट कार्यपालिकामा मनोनीत गर्ने सहमति भएको छ । पाल्पामा एमालेबाहेकका सबै दलहरूको गठबन्धन रहेको छ ।

    तिनाउमा माओवादीले अध्यक्षसहित २ वडाध्यक्ष तथा कांग्रेसले उपाध्यक्षसहित ४ वडाध्यक्ष दिने गरी गठबन्धन भएको छ ।

    तर कांग्रेसका सबै वडा तथा गाउँ सभापतिले माओवादीलाई नेतृत्व बुझाएको भन्दै सामूहिक राजीनामा बुझाएका छन् ।

  • सुनकोसीमा वाम गठबन्धन- अध्यक्षमा एमाले, माओवादीलाई उपाध्यक्ष

    सुनकोसीमा वाम गठबन्धन- अध्यक्षमा एमाले, माओवादीलाई उपाध्यक्ष

    खाडिचौर । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबिच चुनावी गठबन्धन गरेर संयुक्त प्यानल बनाएर जाने सहमति भएको छ ।

    नेकपा एमालेबाट अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष पाउने गरेर चुनावमा गठबन्धन गर्ने सहमति भएको हो ।

    एमालेले अध्यक्षमा टपिन्द्र प्रसाद तिमिल्सिनालाई अघि सारेको छ भने माओवादीबाट दुर्गा थापालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

    वैशाख १२ मा मनोनयनका दिन नै गठबन्धन गरेर जाने सहमति भए पनि प्राविधिक कारणले केही समस्या भएकाले त्यो दिन एकल उम्मेदवारी दर्ता भएको नेकपा एमाले सुनकोसी गाउँपालिका कमिटीका अध्यक्ष प्रेमलाल लामाले जानकारी दिए ।

    एमालेको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी मञ्जु नेपाल र माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवर (कल्पना)ले उम्मेदवारी फिर्ता लिएपछि गठबन्धन भएको हो । दुवै पार्टीले वडामा पनि गठबन्धन गरेका छन् ।

    माओवादी केन्द्रले सुनकोसी १ र २ मा वडा अध्यक्षमा आफ्नो उम्मेदवार पाएको छ अन्य वडामा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका छन् ।

    वडा नम्बर ५ मा सुरुमा नै एमाले र माओवादीले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएको नेकपा माओवादी सुनकोसी गाउँपालिका कमिटीका अध्यक्ष अमर लामाले जानकारी दिए । अन्य वडाहरूमा समेत मतदानका दिनसम्म आपसी सहकार्य गरेर जाने अध्यक्ष लामाले जानकारी दिए ।

    स्थानीय आवश्यकताको आधारमा केन्द्रीय नीतिभन्दा फरक गठबन्धन गरिएको दुवै दलका नेताहरूले जानकारी दिएका छन् ।

    पत्रकार सम्मेलन मार्फत दुवै दलका पालिका कमिटीका नेताहरूले अब एकै भएर चुनावी मैदानमा प्रतिस्पर्धा गरिने बताएका छन् ।

  • प्युठनको झिमरूकमा जनमोर्चा र कांग्रेस तथा माओवादी र एमालेको गठबन्धन

    प्युठनको झिमरूकमा जनमोर्चा र कांग्रेस तथा माओवादी र एमालेको गठबन्धन

    रूपन्देही । राष्ट्रिय जनमोर्चाको आधार इलाका प्युठनको झिमरूक गाउँ पालिकामा जनमोर्चा र कांग्रेस तथा माओवादी र एमालेको अलग अलग गठबन्धन बनेको छ ।

    सत्ता गठबन्धनको सहमतिविरूद्व माओवादीले एमालेसँग गठबन्धन गरेको भन्दै जनमोर्चाले आपत्ति जनाएको छ ।

    अलग अलग उम्मेदवारी दिएको नेकपा एमालेले अध्यक्ष पदको उमेदवारी फिर्ता लिएको छ । अध्यक्षका उमेदवार हुकुमबहादुर खड्काले उमेदवारी फिर्ता लिएका हुन् ।

    त्यस्तै, गाउँपालिका उपाध्यक्षमा उमेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रुपा जिसीले पनि उमेदवारी फिर्ता लिएकी हुन् । दुवै पार्टी मिलेर चुनाव लड्ने नेताहरूले बताएका छन् ।

    झिमरुकमा नेपाली कांग्रेस र राष्ट्रिय जनेमार्चाको चुनावी तालमेल गरेका छन् । जनमोर्चाले गाउँपालिका अध्यक्ष र कांग्रेसले उपाध्यक्षमा उमेदवारी दिएका छन् ।

  • माधव नेपालको वडाका कांग्रेस वडाध्यक्षको उम्मेदवारी देउवाको पत्रबाट खारेज

    माधव नेपालको वडाका कांग्रेस वडाध्यक्षको उम्मेदवारी देउवाको पत्रबाट खारेज

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल मतदाता रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा कांग्रेसका वडाध्यक्षको उम्मेदवारी सभापति शेरबहादुर देउवाको पत्रबाट खारेज भएको छ ।

    नेपालको वडामा नेकपा एसकी वडाध्यक्ष उम्मेदवार सिता पराजुलीलाई समर्थन गर्न पटकपटक दबाब दिँदा पनि नरेन्द्रले उम्मेदवारी फिर्ता नलिएपछि देउवाले निर्वाचन अधिकृतको कार्यलयलाई पत्र पठाई उनको उम्मेदवारी खारेज गराएका हुन् ।

    महानगर समितिका एक कांग्रेस पदाधिकारीले गठबन्धनमा महानगरपालिकाका वडाहरुको बाँडफाँट नभए पनि ३२ नम्बरका उम्मेदवारको मनोयनयन केन्द्रबाटै फिर्ता भएको जानकारी आफूहरुले पाएको बताए ।

    नेकपा एसका अध्यक्ष माधव नेपालले आफ्नो वडामा कांग्रेस उम्मेदवार नउठाउन देउवासँग आग्रह गरेपछि गठबन्धनको मर्मलाई बुझ्नै पराजुलीको उम्मेदवारी खारेज गरिएको स्रोतले जनाएको छ ।

    सो वडामा एमालेबाट हालकै वडाध्यक्ष नवराज पराजुली उम्मेदवार छन् ।

  • ८४ वर्षे विद्रोही, जसको ६७ वर्ष पुरानो क्रियाशील सदस्यता खोसियो

    ८४ वर्षे विद्रोही, जसको ६७ वर्ष पुरानो क्रियाशील सदस्यता खोसियो

    काठमाडौं । अन्यथा निर्णय नभए नेपाली कांग्रेससँग कृष्णलाल सापकोटाको ६७ वर्ष पुरानो राजनीतिक सम्बन्ध आजै तोडिएको छ ।

    २०१२ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका चितवन कांग्रेसका पूर्व सभापति सापकोटाले ८४ वर्षको उमेरमा पार्टीभित्र विद्रोह गरे ।

    भरतपुरमा दोस्रो पटक माओवादीलाई मेयर सुम्पने निर्णयको विरुद्ध सबैभन्दा पहिले उनै कृष्णलाल उत्रिएका थिए । पार्टीभित्र कारबाहीको डर वा प्रलोभनको प्रस्तावले धेरै क्रान्तिकारीलाई गलाएको कृष्णलालले धेरै पटक देखेका थिए । त्यसैले असन्तुष्ट पक्षको भेलामा कृष्णलालले भनेका थिए – हामीले छानेर स्वतन्त्र उठाउने उम्मेदवार भोलि उतै मिस्सिने खालको हुनुभएन । यहाँ उभ्याएर कबोल गराएर, कागज गराएर , भ्वाइस रेकर्ड गराएर उम्मेदवार बनाउनुपर्छ ।

    कृष्णलालको यो सर्त कबोल गरेर स्वतन्त्र उम्मेदवार बन्न तयार भए– पूर्व सांसद जगन्नाथ पौडेल । शुक्रवार साँझसम्म पौडेललाई उम्मेदवारी फिर्ता लिन कांग्रेसका शीर्ष नेताहरूको आग्रह र दबाब जारी नै थियो ।

    गृहमन्त्री बालकृष्ण खाण ३ दिन चितवनमै बसेर पहल गरे पनि पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । निर्वाचन आयोगले तोकेको समयमा उम्मेदवारी फिर्ता नलिएसँगै पौडेल, उनका प्रस्तावका सापकोटा र समर्थक मिना खरेल कांग्रेसको आन्तरिक कारबाहीमा परेका छन् ।

    कांग्रेस विधानले ‘पार्टीले प्रस्तुत गरेको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, प्रस्ताव र समर्थक’ साधारण सदस्यता समेत नरहने गरी स्वतः निष्कासित हुने व्यवस्था गरेको छ । त्यही व्यवस्था अनुसार पौडेल, सापकोटा र खरेलको क्रियाशील सदस्यता पनि खारेज हुनेछ ।

    १९९५ सालमा म्याग्दीमा जन्मिएका सापकोटा बसाइँ सरेर चितवन झरेसँगै राजनीतिक गतिविधिमा सक्रिय थिए । १२ वर्षको उमेरमै २००७ सालको आन्दोलनका जुलुसहरूमा उनले सक्रिय सहभागिता जनाएका छन् ।

    १७ वर्षको उमेरमा २०१२ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका सापकोटा ८४ वर्षको उमेरमा कांग्रेसबाट अलग भएका छन् । यद्यपि कागजी आबद्धताको अन्त्यले प्रजातन्त्रप्रतिको प्रतिबद्धता नघट्ने सापकोटा बताउँछन् ।

    ‘कांग्रेस कि विधानले चल्छ कि बिपीको विचारले चल्छ । हामी बिपीको विचारले चलेका छौँ । विधानका कुरा गरेर कागजी कारबाही गर्दैमा केही फरक पर्ने वाला छैन । हाम्रो लडाइँ प्रजातन्त्र र कांग्रेसकै लागि हो’, सापकोटा भन्छन् ।

    २०१५ सालमै शिक्षक पेसाबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएका सापकोटाले पटक–पटक जेल जीवन बिताएका छन् ।

    २०१७ सालमा प्रजातन्त्र खोसिएपछि देशभर प्रजातन्त्रवादीमाथिको दमन तीव्र भयो । चितवन कांग्रेसका संस्थापक बखानसिंह गुरुङको घरमा सेनाले आगो लगाइदियो । जिउधनको रक्षाका लागि राजनीतिक आस्था लुकाउनुपर्ने अवस्था बन्यो । त्यति बेला पनि कृष्णलालले आफ्नो आस्था लुकाएनन् । जिल्लाभरमा १ सय जना कांग्रेस भेट्न मुस्किल हुने बेलामा पनि संगठन गरी नै रहे ।

    २०३१ सालमा चितवन कांग्रेसको सचिव बनेका सापकोटाले २०४४ सालपछि चितवन कांग्रेसलाई नेतृत्व दिए । २०४९ सालमा जिल्ला विकास समितिको सभापति बनेका सापकोटा जिविस महासंघको पनि अध्यक्ष बने ।

    चितवन कांग्रेसलाई लामो समय नेतृत्व दिएका सापकोटालाई गिरिजाप्रसाद कोइरालाले २०६२ पछि कांग्रेसको केन्द्रीय आमन्त्रित सदस्य बनाएका थिए ।

    अघिल्लो स्थानीय तहको निर्वाचनमै माओवादीसँग कांग्रेसको तालमेलको खिलापमा थिए, कृष्णलाल । त्यति बेला भरतपुरमा कसैसँग तालमेल नहुने भन्दै हस्तलिखित सन्देश सार्वजनिक गरेका थिए । यद्यपि अन्तिम समयमा सबैले पार्टीको निर्णय मान्न दबाब दिए । अन्तर्विरोध थाती राखेर उनी मौन बसे ।

    अहिले फेरी माओवादीलाई भरतपुरको नेतृत्व दिने निर्णयमा उनले ‘व्रिदोह’ गरे । बुढेसकालमा गरेको विद्रोहका सबै क्षति व्यहोर्न उनी तयार छन् । बदलामा चितवनका कांग्रेसहरुको साथ चाहेका छन् ।

    ‘कांग्रेस भएर कांग्रेसमा भोट हाल्न नपाउने ? यति ठूलो विडम्बनाका विरुद्ध प्रजातन्त्रवादीहरुले विद्रोह गर्नै पर्छ’, सापकोटाको भनाई छ ।

    गत वैशाख ३ गते उनको चौरासी भयो । चितवन कांग्रेसका नयाँ पुराना सबै नेता पुगेर उनलाई शुभकामना दिए ।

    जीवनको ८४ औँ वसन्तमा सापकोटाले पार्टी जीवनबाट विद्रोह गरेका छन् । उनको विद्रोहले कस्तो परिणाम देला ? प्रतीक्षा वैशाख ३० को ।

  • कुश्मामा कांग्रेसका मेयर र एमाले उपमेयरविरुद्ध परेको उजुरी बदर

    कुश्मामा कांग्रेसका मेयर र एमाले उपमेयरविरुद्ध परेको उजुरी बदर

    काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाका गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका रामचन्द्र जोशी र नेकपा एमालेको तर्फबाट उपमेयर उम्मेदवार स्वस्थानी रिजाल विरुद्ध परेको उजुरी बदर भएको छ ।

    मेयरका उम्मेदवार जोशीका विरुद्ध मेयरका स्वतन्त्र उम्मेदवार गंगाधर पौडेल तथा उपमेयर उम्मेदवार रिजालका विरुद्ध गठबन्धन मार्फत उपमेयरका उम्मेदवार नेकपा माओवादीका नेता शंकर गिरीका प्रतिनिधि मीनराज केसी अविरलले मुद्दा दायर गरेका थिए ।

    दुवै उजुरीमा दाबी गरिएको आरोप पत्रले उम्मेदवारी खारेज गर्न नसक्ने देखिएपछि उम्मेदवारी कायम भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय कुस्माले जनाएको छ ।

    जोशीको नाममा स्थानीय नारायण माविको भवन निर्माणको काममा बेरुजु नदेखिएको र रिजालको हकमा पनि श्रीमानको हकमा मुद्दा परेका कारण श्रीमतीलाई त्यसले असर नपर्ने भन्दै उजुरी बदर गरिएको निर्वाचन कार्यालय कुस्माको भनाई छ ।

  • काठमाडौं महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवार एमालेमा प्रवेश

    काठमाडौं महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवार एमालेमा प्रवेश

    काठमाडौं । नेकपा माओवादी केन्द्रको तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल नेकपा (एमाले) प्रवेश गरेका छन् ।

    उम्मेदवारी फिर्ता लिएर एमालेमा प्रवेश गरेका डंगोललाई एमालेका मेयर उम्मेदवार केशव स्थापितले पार्टीमा प्रवेश गराएका हुन् ।

    पार्टी प्रवेशसँगै एक विज्ञप्ति जारी गर्दै उनले माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको आरोप लगाएका छन् ।

    ‘म २०४३ सालदेखि निरन्तर वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएको र वामपन्थी आन्दोलनको माध्यमबाट मात्रै मुलुक समृद्ध बनाउन सकिन्छ भन्ने दृढ अठोट बोकेको व्यक्ति हुँ,’ उनले भनेका छन्’ ‘मेरो जीवनका महत्त्वपूर्ण र ऊर्जाशील समय मैले वामपन्थी आन्दोलनमै सक्रिय भएर बिताएको स्मरण गराउन चाहन्छु ।’

    २०६२–०६३ देखि माओवादीमा सक्रिय रहेका डंगोल जिल्ला कमिटीका सदय थिए । गठबन्धनका नाममा कांग्रेसलाई वडाध्यक्ष दिइएपछि आफूले राजीनामा दिएको उनले बताएका छन् ।

    डंगोलले भनेका छन्– मैले आज मेरो वडाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले )को तर्फबाट उम्मेदवार बन्नुभएका कमरेड ध्रुवनारायण मानन्धरलाई समर्थन गर्ने गरी नेकपा माओवादी केन्द्रका सबै जिम्मेवारीबाट अलग भई नेकपा (एमाले) प्रवेश गरेको जानकारी गराउँछु ।

  • नेकपा एसका मेयर उम्मेदवारसहित १० जनाले दिए उम्मेदवारी फिर्ता

    नेकपा एसका मेयर उम्मेदवारसहित १० जनाले दिए उम्मेदवारी फिर्ता

    जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिकामा मेयरका उम्मेदवार नेकपा एकिकृत समाजवादीका धर्मनाथ महतो उम्मेदवारी फिर्ता लिएका छन् ।

    मेयर उम्मेदवार साह, नेकपा एकिकृत समाजवादीकै उपमेयर उम्मेदवार गोमा लम्सालसहित १० जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले नेकपा एकिकृत समाजवादीकै वडा नम्वर ६ का वडा अध्यक्ष, महिला सदस्य र दलित महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

    उनका अनुसार वडा नम्वर १२ र १३ का वडा अध्यक्ष तथा वडा नम्वर ५ का महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

  • विराटनगर महानगरमा तीन मेयरका उम्मेदवारसहित २३ जनाले लिए उम्मेदवारी फिर्ता

    विराटनगर महानगरमा तीन मेयरका उम्मेदवारसहित २३ जनाले लिए उम्मेदवारी फिर्ता

    विराटनगर । विराटनगर महानगरपालिकाको मेयरसहित विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

    उम्मेदवारी फिर्ता लिनेमा तीन जना मेयरका उम्मेदवार रहेका छन् । यस्तै, उपमेयर २, वडाध्यक्ष ७ र वडा सदस्य पदका ११ जना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।

    मेयरतर्फ राष्ट्रिय जनमोर्चाका टङ्क प्रसाद गौतम, नेपाल परिवार दलका महेश निरौला र स्वतन्त्र उम्मेदवार केमुना मैनालीले उम्मेदवारी फिर्ता लिएका छन् ।

    यस्तै, उपमेयर तर्फ नेपाल परिवार दलकी दीपा पोखरेल र स्वतन्त्र उम्मेदवार उद्धव प्रसाद कोइरालाले आफ्नो फिर्ता लिएको कार्यालय सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

    कुल ७४४ मध्ये २३ जनाको उम्मेदवारी फिर्ता हुँदा अब विराटनगरमा ९७ पदका लागि हुने निर्वाचनमा ७२१ जनाको उम्मेदवारी कायम भएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।

    उम्मेदवारहरूलाई निर्वाचन चिन्ह भने शनिवार प्रदान गरिने कार्यालयले जनाएको छ ।

  • भरतपुरमा विजय सुवेदीलाई भोट माग्न ओली जाने, २६ गते एमालेको आमसभा

    भरतपुरमा विजय सुवेदीलाई भोट माग्न ओली जाने, २६ गते एमालेको आमसभा

    भरतपुर । नेकपा (एमाले) ले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ ।

    वैशाख २६ गते भरतपुर बसपार्क परिसरमा महानगरस्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले भरतपुर महानगर निर्वाचन प्रचार समिति संयोजक तेजेन्द्र खड्काले जानकारी दिए ।

    ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, खड्काले भने । त्यसअघि भरतपुर महानगरका विभिन्न चार वटा स्थानमा क्षेत्रीय सभा गरिने प्रचार समितिले जनाएको छ ।

    समितिका सचिव हरिप्रसाद पोखरेलका अनुसार बैशाख १८ गते दिउसो १ बजे वडा नं १४ शिवनगर, २० गते दिउसो १ बजे जयनगर, २२ गते दिउसो १ बजे चनौली, २४ गते दिउसो १ बजे पर्साढापमा क्षेत्रीय चुनावी सभा हुनेछ ।

    भरतपुर महानगरमा मेयर पदको लागि एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् । एमाले-राप्रपा तालमेलपछि उपमेयरमा राप्रपाबाट हिमला गुरुङ छन् । सुवेदी र गुरुङले हाल संयुक्तरूपमा चुनावी घरदैलो गरिरहेका छन् ।

    यसैबीच नेकपा (एमाले) भरतपुर महानगर प्रचार समितिले भरतपुरमा एमाले उम्मेदवारहरूको पक्षमा जनलहर व्यापक रहेको भन्दै जीत सुनिश्चित रहेको निष्कर्ष निकालेको छ ।

    समितिको आज बसेको बैठकमा संयोजक तेजेन्द्र खड्काले भरतपुरमा एमाले उम्मेदवारप्रति आकर्षण दिनानुदिन बढेको उल्लेख गरे । पार्टीले जनतामाझ लगेको एजेन्डा र अघि सारेका उम्मेदवारका व्यक्तिवका कारण जनआकर्षण बढ्दै गरेको खड्काले बताए ।

    ‘महानगरको विकास र समृद्धिका लागि पनि एमालेसँग नै आशा बढी छ, मेयर उम्मेदवार विजय सुवेदीसहित अन्य उम्मेदवारहरूको व्यक्तित्व पनि आकर्षक छ । जित निश्चित देखिएको छ’, खड्काले भने ।

    बैठकले पार्टीका उम्मेदवारहरुको प्रचारप्रसारलाई थप व्यवस्थित र अझ प्रभावकारी बनाउने निर्णय गरेको समितिका सचिव हरिप्रसाद पोखरेलले जानकारी दिए ।

  • जनकपुरमा पनि कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिएनन्

    जनकपुरमा पनि कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिएनन्

    काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता मनोज साहले उम्मेदवारी कायमै राखेका छन् ।

    निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ता लिने समयमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका हुन् । कांग्रेस नेताहरूको निरन्तरको दबाबका बीच साहले उम्मेदवारी फिर्ता लिन नमानेका हुन् ।

    कांग्रेसले उम्मेदवारी फिर्ता लिन नमान्ने पार्टीका नेता कार्यकर्तालाई स्वतः निष्कासन गर्ने जनाइसकेको छ । साहले जनकपुर उपमहानगर समितिको कांग्रेस सभापतिको पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए ।

    चुनावी तालमेलका क्रममा जनकपुरको प्रमुखमा कांग्रेसले जसपालाई समर्थन गरेको छ ।

  • विराटनगरको उपमेयरमा माओवादीकी नमिता न्यौपानेको बागी उम्मेदवारी कायमै

    विराटनगरको उपमेयरमा माओवादीकी नमिता न्यौपानेको बागी उम्मेदवारी कायमै

    विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी नेकपा माओवादी केन्द्रकी नमिता न्यौपानेले आफ्नो उम्मेदवारी कायमै राखेकी छिन् ।

    उम्मेदवारी फिर्ता लिन आयोगको आज ५ बजेसम्मको समय सीमामा उनले मनोनयन फिर्ता लिइनन् । माओवादी केन्द्र विराटनगरकी सचिव समेत रहेकी न्यौपानेले आफूले पदबाट राजीनामा दिएकाले उम्मेदवारी फिर्ता नलिने बताइन् ।

    यता महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएकी शारदा मैनालीले भने मनोनयन फिर्ता लिएकी छिन् ।

    मैनाली माओवादी केन्द्र विराटनगर सहसचिवसमेत हुन् । गठबन्धनतर्फबाट विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपालाई भागबन्डा गरिएको छ । यहाँ गठबन्धनबाट मेयरमा नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादव उम्मेदवार बनेका छन् ।

  • भोजपुरमा एमालेले बनायो २१ सय सदस्यीय ‘साइबर फोर्स’ (भिडिओ)

    भोजपुरमा एमालेले बनायो २१ सय सदस्यीय ‘साइबर फोर्स’ (भिडिओ)

    भोजपुर । चुनावी प्रचारप्रसारलाई तीब्र पार्न नेकपा एमाले भोजपुरले ‘साइबर फोर्स’ घोषणा गरेको छ ।

    आज सदरमुकाममा आयोजित एक कार्यक्रम बीच उक्त फोर्स गठन गरेर घोषणा गरिएको हो । एमालेले जिल्लाका ९ वटै स्थानीय तहका ८१ वडाका विशेषगरी सामाजिक सञ्जालमा सक्रिय तथा सूचना प्रविधिमा दख्खल राख्ने युवालाई समेटेर २१ सय सदस्य रहेको साइबर फोर्स बनाएको कार्यक्रममा जानकारी गराइयो ।

    निर्वाचनमा पार्टीबाट अघि सारिएका उम्मेदवारको चुनावी प्रतिबद्धता मतदातामाझ पुर्‍याउन प्रविधिको प्रयोगमा जोड दिँदै प्रभावकारीरूपमा प्रचारप्रसारका लागि ‘साइबर फोर्स’ गठन गरिएको एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले जानकारी दिए ।

    ‘हाम्रा उम्मेदवारहरूका एजेण्डा हरेक घरमा पुर्‍याउन, एमालेमाथि गठबन्धनको प्रहारको प्रतिवाद गर्न हामीले यो दस्ता तयार पारेका हौं’, राईले भने ।

    घोषणा कार्यक्रममा जिल्ला इन्चार्ज केन्द्रीय सदस्य हरिबहादुर राई, उपाध्यक्ष मक्कर खड्का, युवा नेता विमल रणपहेँलीलगायत सहभागी थिए ।

  • बकैयामा माओवादीका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

    बकैयामा माओवादीका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

    मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्षका लागि नेकपा माओवादीबाट उम्मेदवारी दिएकी लक्ष्मीमाया माझी (कृपा) ले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

    ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई सघाउन उम्मेदवारी फिर्ता लिएको उनले बताएकी छन् ।

    गठबन्धनको निर्णयअनुसार बकैयाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछानेलाई माओवादीले सघाउँदा उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर खत्रीलाई कांग्रेसले सघाउनेछ ।

  • पोखरा मेयरमा कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिए

    पोखरा मेयरमा कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिए

    पोखरा । पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुई जनाले मनोनयन फिर्ता लिएका छन् ।

    नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रवार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

    उनीहरू गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेदवारी दिएका थिए । तर, पार्टीले दिएको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेदवारी फिर्ता लिएको उनीहरूले बताएका छन्

    तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि बागी विमल कार्कीले भने फिर्ता लिएका छैनन् । उनी पनि कांग्रेसकै नेता हुन् ।

    अहिले गठबन्धनबाट वडाका उम्मेदवारले समेत फिर्ता लिइरहेका छन् ।

  • २७ वर्षमै वडा अध्यक्ष बनेर जनताको सेवा गर्ने चन्दको धोको

    २७ वर्षमै वडा अध्यक्ष बनेर जनताको सेवा गर्ने चन्दको धोको

    गुल्मी । आसन्न स्थानीय तहको नर्वाचनका लागि गुल्मीमा २७ वर्षीय युवा वडा अध्यक्षको उम्मेदवार बनेका छन् ।

    जिल्लाको मदाने गाउँपालिका वडा नं. १, अग्लुङ्गको वडा अध्यक्ष पदका लागि २७ वर्षीय सुशील चन्द उम्मेदवार बनेका हुन् ।

    नेपाली कांग्रेसका वडा कार्यसमितिका सभापति समेत रहेका सत्ताईस वर्षीय चन्दलाई कांग्रेसले सर्वसम्मत रुपमा उम्मेदवार बनाएको हो ।

    उम्मेदवार बनेसँगै उनले चुनाव प्रचार–प्रसार एवम् मतदातालाई भेट्ने कार्यक्रमलाई तीब्र बनाएका छन् ।

    आफ्नो वडाका जनताको समस्या समाधानका लागि सदैव हातेमालो गरेर खटिने प्रतिवद्धतासहित चन्द अहिले घरदैलौ अभियानमा सक्रिय छन् ।

    राजनीतिमा युवाहरुको सक्रियताबाटै समाज परिवर्तन गर्न सकिने चन्दको भनाई छ ।

    ‘युवा उमेरमै वडाबासीको मतबाट निर्वाचित भएर आफ्नो समाजलाई केही योगदान गरौं भनेर म राजनीतिमा लागेको हुँ’, चन्दले भने ।

  • जसपा माओवादीको भाइ पार्टी हो : लोसपा

    जसपा माओवादीको भाइ पार्टी हो : लोसपा

    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेकपा माओवादी केन्द्रको ‘भाइ पार्टी’ भएको टिप्पणी गरेको छ ।

    लोसपाको स्थानीय निर्वाचन घोषणापत्रमा जसपालाई मुद्दाविहीन र संकीर्ण जातीयता केन्द्रित सत्तामुखी पार्टीको रूपमा चित्रण गरिएको छ ।

    ‘संविधानसभालाई निर्णायक मोडमा पुर्‍याउन भूमिका खेलेको र मधेस आन्दोलनको दौरान अग्र मोर्चामा रहेको माउ पार्टी मधेसी जनाधिकार फोरम नेपालको साखलाई धुलीसात गर्दै अहिले मदेसको मुद्दालाई नै बिर्सिएर जसपा नेपाल नेकपा माओवादी केन्द्रको भाइ पार्टीको रूपमा देखिएको छ’, लोसपाको घोषणापत्रमा उल्लेख छ ।

    जसपाको उद्देश्य सत्ता प्राप्ति मात्रै रहेको भन्दै जसपाका कारण मधेस–थरुहट आन्दोलनको अवमूल्यन भएको दाबी घोषणापत्रमा गरिएको छ ।

  • कैलाली कांग्रेसमा प्रमुख उपप्रमुखमै दर्जनौँ बागी, फिर्ता लिन आनाकानी

    कैलाली कांग्रेसमा प्रमुख उपप्रमुखमै दर्जनौँ बागी, फिर्ता लिन आनाकानी

    कैलाली । नेपाली कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिए पनि कैलालीमा अहिले सम्म कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।

    गठबन्धनका दलहरूको सहमतिमा कैलालीका १३ पालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको क्षेत्र बाँडफाँट गरिएको थियो ।

    नेपाली कांग्रेसले प्रमुख पदमा माओवादी र एकीकृत साजवादीको भागमा परेका स्थानीय तहमा बागी उम्मेदवारी दिएको छ ।

    उनीहरूलाई फिर्ता गराउने प्रयास भइरहेको कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए ।

    उनले भने, ‘अहिले सम्म कसैले पनि फिर्ता लिनु भएको छैन । तर, लिनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

    सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा पनि कांग्रेसका बागी उम्मेदवार छन् । यहाँ गठबन्धनका दलहरू बिच प्रमुख कांग्रेसले र उपप्रमुख माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।

    प्रमुखमा नृप वडले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा माओवादी केन्द्रको तर्फबाट शान्ति अधिकारीले उम्मेदवारी दिएकी थिइन् । उपप्रमुखमा कांग्रेसका प्रभाकर भण्डारीले पनि मनोनयन दर्ता गराएका छन् ।

    कैलालीको घोडाघोडी नगरपालिकामा कांग्रेसकै विरुद्ध कांग्रेसको उम्मेदवारी परेको छ । त्यहाँ कांग्रेसका तर्फबाट गुरिया देवी चौधरी र राजेश हमालको उम्मेदवारी छ र गठबन्धनको सहमतिमा माओवादी केन्द्रका उपाध्यक्षको भाग गरेको जानकी गाउँपालिकामा कांग्रेसकी उमा महतोले उम्मेदवारी दर्ता गराएकी छिन् । उनी यस अघिको उपाध्यक्ष हुन् ।

    टिकापुरमा पनि कांग्रेस नेताले कांग्रेस बिपीको नाममा उम्मेदवारी दिएका छन् ।

    कैलालीमा सबै भन्दा धेरै बागी उम्मेदवार कैलारी गाउँपालिकामा छन् । माओवादी केन्द्रको भागमा परेको कैलाली गाउँपालिका प्रमुखमा कांग्रेसका राज समझ चौधरी, रामचरण चौधरी र मनिराम बखरीले उम्मेदवारी दिएका छन् ।

    माओवादीले पाएको मोहन्यालमा गाउँपालिका प्रमुखमा कांग्रेसका रबी रानाले र लोकेन्द्र बडूवालले उम्मेदवारी दिएका छन् । बडूवालले आफूलाई स्वतन्त्र उम्मेदवार भनेका छन् । एकीकृत समाजवादीले प्रमुख पाएको चुरे गाउँपालिकामा टिकाराम ढुङ्गानाले उम्मेदवारी दिएका छन् ।

    प्रमुख र उपप्रमुखमा मात्रै कैलालीमा दर्जन बढीको बागी उम्मेदवारी छ । यहाँका सबै जस्तो वडाहरूमा गठबन्धनको विरुद्धमा वा कांग्रसकै विरुद्धमा पनि बागी उम्मेदवार उठेका छन् ।

    उनीहरूलाई मनाउने प्रयास भइरहेको कांग्रेस सचिव सुनारले जानकारी दिए । कांग्रेस केन्द्रीय समितिले पनि आज उनीहरूलाई फिर्ता हुन निर्देशन दिइसकेको छ ।

  • गाउँपालिकाका सवारी चालक बने अध्यक्षका उम्मेदवार

    गाउँपालिकाका सवारी चालक बने अध्यक्षका उम्मेदवार

    बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाकाे सवारी चालक वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनकाे लागि साेही गाउँपालिकाकाे अध्यक्ष उम्मेदवार भएका छन् ।

    गाउँपालिकाकाे सवारी चलाउने राजन पाइजा साेही गाउँपालिका हाँक्ने मुख्य पद अध्यक्षका उम्मेदवार बनेका हुन् । उनलाई नेकपा एमालेले अध्यक्षकाे उम्मेदवार बनाएकाे हाे ।

    यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा राजनकै बाबु मेहरसिंह पाइजा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक बाबुकाे ठाउँमा छाेरा राजनलाई एमालेले गाउँपालिका अध्यक्षकाे टिकट दिएकाे छ । विदेश जाने सपना बाेकेका राजन बुबा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँमै राेकिएका थिए । विदेश जान नपाएपछि राजनले बुबाकै सहयोगी बन्ने निधाे गरे ।

    बाबु मेहरसिंह अध्यक्ष रहेकाले उनले बडिगाड गाउँपालिकाको सवारी चालकको काम पाए । सुरुका २ वर्ष तलबविनै गाउँपालिकाको सवारी चलाएका राजनले काेभिड १९ का क्रममा झन बढी खटिएर काम गरे । उनले कोराना सक्रंमित बिरामीको उपचार र व्यवस्थापन तथा शव व्यवस्थापनमा स्वास्थ्यकर्मीसँगै रहेर काम गरे । जुन कामकाे सबैतिरबाट प्रशंसा भयाे । कोरोना महामारीमा स्वास्थ्यकर्मीसँगै दिनरात खटिएर गरेको कामको प्रशंसास्वरुप गाउँपालिकाबाट सम्मानित पनि भएका थिए राजन ।

    काेभिड १९ महामारी र सकंटापन्न स्थितिमा गाउँपालिकामा उनले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यही भूमिकाकाे मूल्यांकनस्वरुप नेकपा एमालेले उनलाई बाबु मेहरसिंहकाे ठाउँमा गाउँपालिकाकाे उम्मेदवार बनाएर थप जिम्मेवारी दिएकाे छ ।

    पाइजाले राजनीति भने नेकपा माओवादीबाट सुरु गरेका थिए । एकता पूरा नहुँदै अदालतले एमाले र माओवादीलाई अलग गरेपछि उनी एमालेमै अडिए । अहिले त्यही एमालेबाट उनी स्थानीय तह निर्वाचनमा होमिएका छन् ।

    आफूले तल्लो तहका नागरिकको सेवा गरेकैले अहिले गाउँपालिका अध्यक्षकाे टिकट पाएकाे उनकाे भनाइ छ । उनले तल्लाे तहका जनताकाे अवस्था परिवर्तनका लागि गाउँपालिका अध्यक्षको उम्मेदवार बनेको स्पष्ट पारे ।

    पाइजा कराते खेलका अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन् । उनी राजनीतिलाई समाज सेवाको रुपमा लिनुपर्नेमा जाेड दिन्छन् । आफूलाई राजनीति र समाज सेवामा अब्बल सावित गरेका उनले बडिगाड गाउँपालिकाका बासिन्दाकाे मन जित्ने विश्वास गरिएकाे छ ।

    को हुन् पाइजा ?

    राजन बागलुङको बडिगाड गाउँपालिका ५ मा सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन् । सानैदेखि अन्याय र अत्याचारविरुद्ध आवाज उठाउने स्वभावका उनी पछिल्लो समय सामाजिक क्षेत्रमा सक्रिय छन् । कसैको दुःख र पीडा देख्न नसक्ने पाइजाले गाउँमा हुने हरेक आपतविपतमा अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन् ।

    २०५८ सालमा कक्षा ९ मा पढ्दा नै कम्युनिष्ट आन्दोलनमा लागेका उनी सुरुमा माओवादीबाट राजनीति गर्थे । एमाले र माओवादी अलग भएपछि उनी एमालेमा रहेर सक्रिय राजनीति गरे । हाल उनी एमालेको जिल्ला सचिवालय सदस्य छन् । राजन राजनीतिलाई सेवाको रुपमा लिनुपर्नेमा स्पष्ट देखिन्छन् ।

    सितेरियो करातेका ब्ल्याक बेल्ट राजनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकसमेत जितका छन् । उनले करातेमा एसियन कोचको लाइसेन्ससमेत प्राप्त गरेका छन् । बडिगाड गाउपालिका ५ खारमा उनले कराते खेलको प्रशिक्षण पनि दिइरहेका छन् । उनी बडिगाड डोजोका संस्थापक अध्यक्ष र खेलाडी तथा प्रशिक्षक संघ बागलुङको जिल्ला अध्यक्ष हुन् ।

  • लोसपाको घोषणापत्र : कांग्रेसको नाम ठूलो काम सानो

    लोसपाको घोषणापत्र : कांग्रेसको नाम ठूलो काम सानो

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले नेपाली कांग्रेसको नाम ठूलो भए पनि काम सानो भएको टिप्पणी गरेको छ ।

    स्थानीय निर्वाचनका लागि लोसपा नेपालले सार्वजनिक गरेको घोषणापत्रमा कांग्रेसले इतिहासमा महत्त्वपूर्ण योगदान गरे पनि समृद्धि र अग्रगमनको सवालमा कांग्रेस चुकेको टिप्पणी गरेको छ ।

    आफ्नो घोषणापत्रमा लोसपाले नेपालमा सक्रियमध्ये कांग्रेस र आफू मात्रै लोकतान्त्रिक पार्टी भए पनि नेपालमा कम्युनिस्टको संख्या बढ्नुमा कांग्रेस नै जिम्मेवार रहेको लोसपाको ठहर छ ।

    ‘केही सीमित ३–४ देशलाई छोडेर संसारबाट लगभग बिदा भइसकेका कम्युनिस्टहरू नेपालको संसदमा झण्डै दुई तिहाइ पुगेको अवस्थाको पछाडि कम्युनिष्टहरुको सामर्थ्यले भन्दा नेपाली कांग्रेसको अकर्मण्यताले बढी काम गरेको छ’, लोसपाको घोषणापत्रमा भनिएको छ ।

    लोसपाले कांग्रेसलाई राजनीतिक भ्रष्टाचार र विसंगतिको पहिलो अभ्यासकर्ताको रूपमा समेत आलोचना गरेको छ ।

    ‘नेपालको दलीय र संसदीय अभ्यासको क्रममा देखिएका परिवारवाद, नातावाद, सांसद खरिद विक्री, चुनावमा पैसा र बलको अत्यधिक प्रयोग, जनप्रतिनिधिहरूको असंस्कारी र अलोकतान्त्रिक अवधारणा, दलीय फाइदाको लागि सरकारी ढुकुटीको दोहन र राजनीतिक र कर्मचारी वृत्तमा देखिएको व्यापक भ्रष्टाचार जस्ता विसंगतिहरुको पहिलो अभ्यासकर्ता पनि नेपाली कांग्रेस नै हो’, घोषणापत्रमा उल्लेख छ ।

    कांग्रेसले लोकतान्त्रिक समाजवादको उत्कृष्ट विचार ग्रहण गरे पनि सफल कार्यान्वयन गर्न नसकेको आरोपसमेत लोसपाले लगाएको छ ।

    घोषणापत्रमा लोसपाले अनेक कमजोरीका बाबजुद कांग्रेस सहज, विचारवान र व्यवहारिक भएको समेत उल्लेख गरेको छ ।

    कांग्रेसमा पटक–पटकको आन्दोलनबाट खारिएका नेताहरू भएको र राष्ट्रिय चुनौती सामना गर्नुपर्दा अरू दलभन्दा लचक रहेको लोसपाको भनाई छ ।

  • नेपालका कम्युनिस्टहरू विचारशून्य सत्तालोलुप राजनीतिका उद्यमी हुन् : लोसपा

    नेपालका कम्युनिस्टहरू विचारशून्य सत्तालोलुप राजनीतिका उद्यमी हुन् : लोसपा

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेपालका कम्युनिस्ट पार्टीहरू विचार शून्य सत्ता लोलुप राजनीतिको उद्यमी भएको टिप्पणी गरेको छ ।

    स्थानीय निर्वाचनको घोषणापत्र मार्फत नेपालका राजनीतिक शक्तिहरूबारे धारणा दिने क्रममा लोसपा नेपालले नेपालमा कम्युनिस्ट पार्टीहरूको औचित्य साबित हुन नसकेको बताएको छ ।

    ‘नेपालका कम्युनिस्ट पार्टीहरू स्वरूपमा राजनीतिक दल देखिएता पनि यी विचार, आचरण, व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रूपमै भ्रष्टाचारमा लिप्त, सत्ता लोलुप र सरकार र सत्तामा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने तथाकथित उपल्लो जातिहरूको राजनीतिक उद्यम गर्ने सङ्गठनहरू हुन्’, घोषणापत्रमा उल्लेख छ ।

    नेपालका कम्युनिस्ट पार्टीहरूमा केही जाति विशेषका पुरुषहरूको बाहुल्यता र वर्चस्व रहेको भन्दै लोसपाले ती पार्टीमा जातीय र नश्लीय सोच हाबी भएको आरोपसमेत लगाएको छ ।

    घोषणापत्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाललाई ‘कम्युनिस्ट पार्टी’ का रूपमा चित्रण गर्दै लोसपाले यी पार्टीहरू राष्ट्रिय विकासमा तगारो हाल्ने अग्रणी संगठन रहेको उल्लेख छ ।

    ‘नेपालका कम्युनिस्ट पार्टीहरू मुखले विकास भने पनि विकासलाई सधैँ अलपत्र पार्दै आएका दुई जिब्रे सङ्गठनहरू हुन्’, घोषणापत्रमा भनिएको छ ।

    लोसपाले मुलुकको कुनै पनि तहको निर्वाचनमा कम्युनिस्ट पार्टीले प्राप्त गर्ने हरेक मत समावेशिता, विकास, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावको विरोधमा स्वतः जाने दाबीसमेत गरेको छ ।

    ‘कुनै पनि तहको कुनै पनि निर्वाचनमा कम्युनिस्ट पार्टीहरूको समर्थनमा दिएको हरेक मत समावेशिताको विरोधमा, विकासको विरोधमा, राष्ट्रियताको विरोधमा, राष्ट्रिय अखण्डताको विरोधमा र सामाजिक सद्भावको विरोधमा स्वतः जाने निश्चित छ’, लोसपाले भनेको छ ।

  • तालमेलमा मेरा असन्तुष्टि पछि छलफल गरौं, अहिले एकढिक्का भएर जिताउन लागौं : महामन्त्री थापा (भिडिओ)

    तालमेलमा मेरा असन्तुष्टि पछि छलफल गरौं, अहिले एकढिक्का भएर जिताउन लागौं : महामन्त्री थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तालमेलका विषयमा जेजस्तो बहस भएपनि अब पार्टीले गरेको निर्णयअनुसार सवै अघि बढ्नुपर्ने बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टीभित्र बहस, मतभेद हुनु स्वाभाविक भएको भन्दै पार्टीको आधिकारिक निर्णय अनुसार सबै अघि बढ्नुपर्नेमा जोड दिए ।

    तालमेलका बिषयमा आफूले उठाएको बहस सैद्धान्तिक विषय भएकाले यसलाई पछि छलफल गर्न सकिने थापाको भनाइ थियो । उनले निर्वाचनमा एकढिक्का भएर पार्टीलाई विजयी गराउनुपर्ने बताए ।

    थापाले पार्टीभित्र टिकटलाई लिएर असन्तुष्टि राख्ने सबैलाई समेटेर अघि बढ्ने आश्वासन दिए ।

  • लोसपाको घोषणापत्र- चुरे जोगाऔं, मधेस बचाऔं

    लोसपाको घोषणापत्र- चुरे जोगाऔं, मधेस बचाऔं

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले विभिन्न २० वटा प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेको छ ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगाएतले चूनावी घोषणापत्र सार्वजनिक सार्वजनिक गरेका हुन् । लोसपाले सबल, सक्षम र स्रोतसमपन्न स्थानीय सरकार, सहज, छरितो र प्रभावकारी सेवा प्रवाह, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, महिलामैत्री पूर्वाधार एवम् विशेष सुविधाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

    त्यस्तै कृषिसेवा विस्तार, सिँचाइ एवम् प्रभावकारी बजार व्यवस्थापन, चुरे जोगाऔं, मधेस बचाऔंलगायतका प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ । लोसपाले पहिचानमा आधारित राज्य पुनसंरचना एवं संविधानमा भएका कमजोरी सच्चाउनका लागि फेरि संघर्ष गर्नुपर्ने अवस्था उत्पन्न भएको र यसका लागि तयार रहेको जनाएको छ ।

    कार्यक्रममा लोसपा अध्यक्ष ठाकुरले मुलक संघीय राज्य भएपछि सवै क्षेत्रमा समान अधिकार दिने भनिएपनि त्यसो हुन नसकेकाले आफ्नो पार्टीले यसलाई प्रमुखका साथ उठाएको बताए । नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि जसपाले बिशेष ध्यान दिने उनको भनाइ छ । ठाकुरले मधेस क्षेत्रका खानेपानी , स्वास्थ्य र शिक्षाको क्षेत्रलाई विशेष जोड दिए ।

    त्यस्तै लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस, कम्युनिष्टहरू सत्ता र सरकारका लागि चूनाव लड्ने भएपनि लोसपा अधिकार र पहिचानका लागि चुनाव लड्ने बताए । चुनावलाई नै आन्दोलनको रूपमा लिँदै अधिकार प्राप्तीको आगामी संघर्षका लागि लोसपा तयार रहेको उनको भनाइ छ । महतोले निर्वाचनकै खिल्ली उडाउने गरी ठूला दलहरू गठबन्धन बनाएर चुनाव लड्न लागेको भन्दै लोसपा एक्लै चुनाव लड्ने बताए ।

    कांग्रेस ठूलो पार्टी भएपनि काम सानो र कम्युनिष्ट पार्टीहरु विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी भएको उनको टीप्पणी थियो ।

  • चौतारा साँगाचोकगढीमा बागी दिएका माओवादीका अमानसिंहको उम्मेदवारी फिर्ता

    चौतारा साँगाचोकगढीमा बागी दिएका माओवादीका अमानसिंहको उम्मेदवारी फिर्ता

    काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिकामा बागी उम्मेदवारी दिएका माओवादी नेता अमान सिंह तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

    पार्टी नेता कार्यकर्ताहरू चाहाना र माओवादी केन्द्रलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि उनले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

    उम्मेदवारी फिर्ता लिँदै उनले माओवादीका मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’को गठबन्धनलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

  • निर्वाचन आयोगले भन्यो- उम्मेदवारलाई मनोनयन फिर्ता गर्न धम्की नदेऊ

    निर्वाचन आयोगले भन्यो- उम्मेदवारलाई मनोनयन फिर्ता गर्न धम्की नदेऊ

    काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति आफ्नो गम्भीर ध्यानार्षण भएको बताएको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै आयोगले यस्ता हर्कत् नगर्न र नगराउन सरोकारवालाहरु सबैलाई आग्रह गरेको छ ।

    पाँचदलीय गठबन्धनले आज बागी उम्मेदवारलाई मनोनयन फिर्ता गर्न र नगरे कारबाही गर्ने निर्णय गरेसँगै आयोगले विज्ञप्ति निकाली डर तथा धम्की नदिन भनेको हो ।

    ‘यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानून र लोकतन्त्र माथि आघात पुयाउने भएकोले यस्ता हर्कत् नगर्न नगराउन आयोग सरोकारवालाहरु सबै प्रति आग्रह गर्दछ,’ आयोगले भनेको छ ।

    उम्मेदवारको नामावली प्रकाशित भएपछि आफूलाई उम्मेदवार फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने व्यवस्था रहेको समेत आयोगले विज्ञप्तिमा स्मरण गराएको छ ।

    ‘त्यसैगरी कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा तोकिएको पदाधिकारीले नाम फिर्ता लिने गरी लिखित रुपमा लेखी पठाएमा पनि उम्मेदवारको नाम फिर्ता हुने स्पष्ट भएको हुँदा सो बाहेकको अन्य कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नहुने व्यहोरा समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा सम्पूर्ण राजनीतिक दल, तिनका उम्मेदवारलाई संविधान र कानूनको पूर्णपरिपालना गर्न, गराउन र मनोनयन दर्ता गरिसकेका स्वतन्त्र उम्मेदवारहरूलाई आफ्नो मनोनयन फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निजहरूको स्वविवेकीय अधिकारको सम्मान गर्न आग्रह गरिएको छ ।

    नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७३, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानुनको प्रयोग र पालनामा इमान्दार हुन सबैलाई आयोगले अनुरोध गरेको छ ।

    ‘राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले कुनै उम्मेदवार वा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसूर तथा आचारसंहिता विपरीत कार्य भएकोले यस्ता कार्य कुनै पनि हालतमा नदोहोर्‍याउन स्मरण गराउँदै लोकतन्त्र र नागरिक अधिकारको सम्मान गर्न समेत निर्वाचन आयोग हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

  • उम्मेदवारी रद्दपछि समानुपातिकको बन्द सूचीमा हट्यो नाम, निर्वाचन आयोगमा उजुरी

    उम्मेदवारी रद्दपछि समानुपातिकको बन्द सूचीमा हट्यो नाम, निर्वाचन आयोगमा उजुरी

    कैलाली । आसन्न स्थानीय तह निर्वाचनका लागि धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी नेपाल परिवार दलकी विष्णुकुमारी विकको उम्मेदवारी रद्द भएको छ ।

    समानुपातिकको बन्द सूचीमा नाम समावेश भएकाले उनको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जानकारी दिए। उम्मेदवारी रद्द भइसकेपछि बन्द सूचीबाट पनि नाम हटाउन लगाएको बताइएको छ ।

    ‘हिजो साँझसम्म उहाँको नाम समानुपातिकको बन्द सूचीमा भेटिएपछि उम्मेदवारी रद्द गरिएको थियो’, उनले भने, ‘अहिले उहाँको नाम बन्द सूचीबाट पनि हटाइएको छ ।’

    उपप्रमुख उम्मेदवार बिकले निर्वाचन आयोगमा निवेदनसमेत दिएकी छिन् । उनको निवेदनमाथि छानबिन भइरहेको पनेरु बताउँछन् ।
    ‘हामीमार्फत निवेदन निर्वाचन आयोगमा पुगेको छ’, पनेरुले भने, ‘केन्द्रबाट जस्तो निर्देशन आउँछ, हामी त्यहीअनुसार अघि बढ्छौँ ।’

  • सिन्धुलीमा कांग्रेस सम्पर्क कार्यालय र सवारीसाधनमा तोडफोड, ७ जना घाइते

    सिन्धुलीमा कांग्रेस सम्पर्क कार्यालय र सवारीसाधनमा तोडफोड, ७ जना घाइते

    काठमाडौं । सिन्धुलीको दूधौली नगरपालिका–२ भलुवाहीस्थित नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा बिहीबार राति अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणमा परी सात जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

    आक्रमणमा परी कमल भुजेल, रञ्जित कुँवर, सन्तोष भुजेल, पेशल भुजेल, सरोज धामी, मण्डु थापा र दिनेश धामी घाइते भएका छन् ।

    आक्रमणमा निर्वाचन प्रचारप्रसार गर्न प्रयोग गरिएका करिब एक दर्जन सवारीसाधनमा तोडफोड भएको गठबन्धनको तर्फबाट वडा अध्यक्ष उम्मेदवार जीतबहादुर भुजेलले बताए । अज्ञात समूहले बिहीबार राति १२ बजेतिर एक्कासी आक्रमण गरेको भन्दै घटनामा संलग्नलाई तत्काल कारबाही गर्न कांग्रेस दुधौलीले माग गरेको छ ।

    शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए । उनका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • मिथिला मेयरमा बागी उठेका एमाले नेता महतोले उम्मेदवारी फिर्ता लिँदै

    मिथिला मेयरमा बागी उठेका एमाले नेता महतोले उम्मेदवारी फिर्ता लिँदै

    जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा बागी उम्मेदवारी दिएका नेकपा एमालेका नेता हरिनारायण महतोले मनोनयन फिर्ता लिने भएका छन् ।

    हरिनारायण निवर्तमान मेयर हुन् । टिकट नपाएकोमा आक्रोशित बन्दै स्वतन्त्र मनोनयन दर्ता गराएका महतोले एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा उम्मेदवारी फिर्ता लिन लागेका हुन् । काठमाडौंमा रहेका उनी केहीबेरमा धनुषा फर्किएर साँझसम्म फिर्ता लिने तयारी छ ।

    मिथिलामा एमालेले राजाराम महतोलाई मेयरमा अघि सारेको छ । ७४ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका थिए । त्यसैकारण हरिनारायणलाई जितका लागि सहज भएको थियो ।

    मेयरमा निर्वाचित भएको केही दिनपछि हरिनारायणले राजारामलाई एमालेमा प्रवेश गराएका थिए ।

    हरिनारायणले अध्यक्ष ओलीको आग्रहमा उम्मेदवारी फिर्ता लिन लागेको बताए ।

    उनले भने, ‘अध्यक्ष कमरेडले तपाईंको व्यवस्थापन गर्छौं भन्नुभएको छ ।’ उनले अब मेयर उम्मेदवार राजारामलाई इमान्दारिपूर्वक सघाउने पनि प्रतिबद्धता जनाए ।

  • सुनसरीमा मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

    सुनसरीमा मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

    इटहरी । सुनसरीकाे सदरमुकाम इनरुवा नगरपालिकाका मेयर राजन मेहेता वडा सदस्य उठेका छन् । इनरुवा नगरपालिका वडा नम्बर २ को सदस्यमा मेहेताको उम्मेदवारी परेको छ।

    वडा अध्यक्षमा रन्जेस भट्टराई नेतृत्वको टीममा मेहेताको नाम सदस्यमा दर्ता भएको छ। इनरुवा कांग्रेस  नेताहरुले जिल्ला समन्वय समितिको प्रमुख ताक्न मेयर मेहेता वडा सदस्यमा उठेको तर्क गरेका छन् ।

    मेयरमा दोहोरिन नपाएका मेहेताले जिल्ला समन्वय समितिको प्रमुख बनाउने तयारीलाई खुलेर स्वीकारेनन् । नेपाल प्रेससँग मेहेताले भने, ‘पार्टीले वडा सदस्य उठायो । पहिले चुनाव जितेपछि जिल्ला समन्वय समितिको कुरा आउँछ ।’

    सुनसरीमा हेभीवेट नेताले वडा सदस्य उठेर जिल्ला समन्वय समिति ताक्ने यो पहिलो उदाहरण भने होइन। तत्कालीन नेकपा एमाले सुनसरीका कावा अध्यक्ष रमेश बस्नेत धरान वडा नम्बर ६ को सदस्य उठेका थिए । तर, वडा चुनाव जिते पनि जिल्ला समन्वय समिति निर्माणमा एमालेकाे बहुमत नआएपछि उनी सदस्यमै सीमित भएका थिए ।