Category: स्थानीय निर्वाचन–२०७९

  • देउवाको गृहजिल्लामा भारतीय गाडी प्रयोग गरेर कांग्रेसको चुनावी प्रचार

    देउवाको गृहजिल्लामा भारतीय गाडी प्रयोग गरेर कांग्रेसको चुनावी प्रचार

    कैलाली । केही दिन पहिले मन्त्रीबाटै आचारसंहिता उल्लंघन भएको डडेल्धुरामा फेरि निर्वाचन प्रचारप्रसारमा आचारसंहिताविपरीत काम भएको पाइएको छ ।

    नेपाली कांग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका डिल्लीराज जोशीले भारतीय नम्बर प्लेटका २ वटा गाडी प्रयोग गरिरहेका छन् ।

    यूके ३ टीए ०८०६ र यूके ३ टीए ०७४० नम्बरका भारतीय गाडी निर्वाचनको प्रचारप्रसारमा प्रयोग गरिएको हो ।

    प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले निर्वाचनमा भारतीय नम्बरको गाडी प्रयोग गर्न नहुने बताए । यसरी प्रयोग भएको पाइए आचारसंहिता उल्लंघन गरेको ठहर हुने उनको भनाइ छ ।

  • सोलुखुम्बुमा माओवादी र कांग्रेसबीच झडप, तीनजना घाइते

    सोलुखुम्बुमा माओवादी र कांग्रेसबीच झडप, तीनजना घाइते

    काठमाडौं। सोलुखुम्बुको नेलेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको छ ।

    सोमबार राति थुलुङ दूधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो ।

    झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

    नेले क्षेत्रमा घरदैलो कार्यक्रम गरेर फर्किएका कांग्रेस र माओवादी केन्द्रका एकएक जना कार्यकर्ताबीचबाट सुरु भएकाे झगडा सामूहिक झडपमा परिणत भएको प्रहरीले जनाएकाे छ ।

  • पालिका अध्यक्षदेखि सदस्यसम्म ३५३ जना निर्विरोध: एमाले पहिलो, दोस्रोमा कांग्रेस (सूचीसहित)

    पालिका अध्यक्षदेखि सदस्यसम्म ३५३ जना निर्विरोध: एमाले पहिलो, दोस्रोमा कांग्रेस (सूचीसहित)

    काठमाडौं । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म देशभर ३५३ जनप्रतिनिधि निर्विरोध निर्वाचित हुँदा दलगत आधारमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् ।

    निर्वाचन आयोगले दिएको विवरणअनुसार गाउँपालिका अध्यक्षमा एमालेबाट एकजना निर्विरोध हुँदा नेकपा एसका दुई जना निर्विरोध भएका छन् । यी तीनवटै गाउँपालिका अध्यक्ष डोल्पाका हुन् ।

    त्यस्तै उपाध्यक्षमा एमालेबाट दुईजना निर्विरोध निर्वाचित भएका छन् । उनीहरु डोल्पा र मनाङका हुन् । नेपाली कांग्रेसबाट एकजना र नेकपा एसबाट एकजना उपाध्यक्ष निर्विरोध भएका छन् ।

    वडाध्यक्षतर्फ एमाले र कांग्रेसका १४-१४ जना उम्मेदवार निर्विरोध हुँदा नेकपा एसका ६ जना र माओवादी केन्द्रका ३ जना उम्मेदवार निर्विरोध भएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार ६ जना निर्विरोध भएका छन् ।

    सदस्यतर्फ एमालेका २६ जना, कांग्रेसका ३१ जना, माओवादीका ५ जना, नेकपा एसका १२ जना र स्वतन्त्र १६ जना निर्वाचित भएका छन् ।

    त्यस्तै महिला सदस्यमा एमालेबाट २३ जना, कांग्रेसका १५ जना, माओवादी र नेकपा एसका ७-७ जना निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ८ जना निर्विरोध भएका छन् ।

    दलित महिला वडा सदस्यमा एमालेका ५७ जना निर्विरोध भएका छन् । कांग्रेसका ४० र माओवादी केन्द्रका ३९ जना निर्विरोध भएका छन् ।

    त्यस्तै नेकपा एसका ६ जना, नेपाल मजदुर किसान पार्टीका २ जना, लोसपा र जसपाका १-१ जना तथा स्वतन्त्र ४ जना निर्विरोध भएका छन् ।

    एमालेका कूल १२३ जना उम्मेदवार निर्विरोध भएको आयोगले जनाएको छ । त्यस्तै कांग्रेसका १०१ जना, माओवादीका ५४ जना, नेकपा एसका ३४ जना निर्विरोध भएका छन् ।

    जसपा र लोसपाका एक-एकजना निर्विरोध हुँदा नेपाल मजदुर किसान पार्टीका २ जना जनप्रतिनिधि निर्विरोध भएका छन् । स्वतन्त्र उम्मेदवार ३४ जना निर्विरोध भएका छन् । उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र भने सोही पालिकाको मतगणना सकिएपछिमात्र दिइने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

    प्रमुख दल कसका कति निर्विरोध
    नेकपा एमाले
    गाउँपालिका अध्यक्ष –१
    गाउँपालिका उपाध्यक्ष –२
    वडाध्यक्ष –१४
    खुल्ला सदस्य –२६
    महिला सदस्य –२३
    दलित महिला सदस्य –५७
    जम्मा –१२३

    नेपाली कांग्रेस
    गाउँपालिका उपाध्यक्ष –१
    वडाध्यक्ष –१४
    खुला सदस्य –३१
    महिला सदस्य –१५
    दलित महिला सदस्य –४०
    जम्मा –१०१

    नेकपा माओवादी केन्द्र
    वडाध्यक्ष –३
    खुल्ला सदस्य –५
    महिला सदस्य –७
    दलित महिला सदस्य –३९
    जम्मा –५४

    नेकपा एकीकृत समाजवादी
    गाउँपालिका अध्यक्ष –२
    गाउँपालिका उपाध्यक्ष –१
    वडाध्यक्ष –६
    खुल्ला सदस्य –१२
    महिला सदस्य –७
    दलित महिला सदस्य –६
    जम्मा – ३४

  • रुपन्देहीको देवदह नगरमा एमालेको प्रतिबद्धताः एक विद्यालय एक स्वास्थ्यकर्मी, करको दर घटाउने

    रुपन्देहीको देवदह नगरमा एमालेको प्रतिबद्धताः एक विद्यालय एक स्वास्थ्यकर्मी, करको दर घटाउने

    रुपन्देही । गत स्थानीय तह निर्वाचनमा आन्तरिक मतभेदका कारण थोरै मतले रुपन्देहीको देवदह नगरपालिकामा मेयर पद गुमाएको नेकपा एमाले नयाँ रणनीति लिएर चुनावी मैदानमा गएको छ । एमालेले गत निर्वाचनमा उपमेयरसहित बहुमत वडा जित्दा पनि मेयरमा ११२ मतले पराजय भोगेको थियो ।

    देवदहमा एमालेबाट नगर प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ उम्मेदवार छन् । गुरुङले यसअघि उपमेयरमा फराकिलो मतान्तरले जितेकी थिइन् ।

    आन्तरिक संगठनलाई मजबुत बनाउँदै लोकप्रिय कार्यक्रम कार्यान्वयन गर्ने प्रचारमा लागेको एमाले नेता यम रानाले बताए । प्रतिबद्धता–पत्रमा एक विद्यालय एक स्वास्थ्यकर्मीदेखि करको दर घटाइनेसम्मका योजना समेटिएका छन् ।

    प्रतिबद्धतापत्रमा कृषि, रोजगारी, पर्यटन, शिक्षा, सडक पूर्वाधार, सिंचाइ, स्वास्थ्य, भाषा–साहित्य, वन तथा वातावरण, खेलकुद, खानेपानी, ढल निकास, वैकल्पिक ऊर्जा, भूमि, शान्ति सुरक्षा, सञ्चार, विपत व्यवस्थापन, फोहरमैला, राजस्व कर व्यवस्था, सुशासनलगायतका विषयलाई प्राथमिकता दिइएको छ ।

    एक विद्यालयमा एक स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन संघ र प्रदेश सरकारसँग समन्वय गर्ने नयाँ योजना अघि सारिएको नगर प्रमुखका उम्मेदवार खरेलले बताए ।

    उनले एक शिक्षक एक ल्यापटप र विपन्न विद्यार्थीलाई शिक्षाका लागि साइकल कार्यक्रम लागू गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । शिक्षाको गुणस्तर वृद्धि, दरबन्दी मिलान, भौतिक पूर्वाधारको विकास र कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख गरेको जानकारी दिए ।

    प्रतिबद्धतापत्रमा ५ वर्षभित्र कुपोषणरहित नगरपालिका बनाउने उल्लेख छ । आयुर्वेदिक औषधालय स्थापना, एकीकृत कृषि बजार केन्द्रको स्थापना, खण्डीकरण भएका कृषियोग्य जमिनलाई सहकार्यका आधारमा चक्लाबन्दी गरी उत्पादनमा जोडिन प्रोत्साहन गर्ने कार्यक्रम पनि एमालेले प्रतिबद्धतापत्रमा उल्ल्ेख गरेको छ ।

    ‘कृषिलाई व्यावसायिक बनाउन चक्लाबन्दी योजना अघि बढाएका हौं । यसले कृषि उत्पादनमा महत्वपूर्ण टेवा पुग्छ’, खरेलले भने ।
    उनले भूमिगत सिंचाइ प्रणालीलाई व्यवस्थित गर्ने, पशु कृषि बीमामा अनुदान जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । देवदहका भित्री सडकको स्तरोन्नति, ममर्तका साथै पुल निर्माण गर्ने योजना आफूहरुको रहेको उनको भनाइ छ ।

    देवदहमा प्रज्ञा प्रतिष्ठान स्थापना, पुरातात्विक क्षेत्र पहिचान गरी उत्खनन, पर्यटन गुरुयोजना बनाउने, वृद्ध भत्ता घरघरमा पु¥याइने, खेलकुदको समग्र विकास गर्ने, सबै घरमा स्वच्छ खानेपानी पु¥याउने योजना पनि आफुहरुले अघि बढाएको खरेलले बताए ।

    उपप्रमुख उम्मेदवार गुरुङले ५ वर्षको अनुभवलाई दिगो बनाउने र थप विकासका आयोजनाहरु अघि बढाउन पुनः उम्मेदवारी दिएको बताइन् । सुशासन र समृद्धिको आधार तय गर्न आफूहरु निर्वाचनमा लागेको उनको भनाइ छ ।

    उनले गोबरग्यास प्रवर्द्धन कार्यक्रम, पुस्तकालय निर्माण, देवदह प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नति गर्न संघ सरकारसँग समन्वय गर्ने गरी आफूहरुले प्रतिबद्धता जनाएको जानकारी दिइन् ।

    भूमिहीन सुकुम्बासी र अव्यवस्थितहरुको लगत संकलन भई नापी प्रक्रियामा रहेकाहरुलाई संघ सरकारको समन्वयमा पुर्जा वितरण गर्ने, सार्वजनिक जग्गा संरक्षण, करको दायरा बढाउँदै दर घटाउने योजना प्रतिबद्धता–पत्रमा उल्लेख छ ।

    देवदहमा कलकारखाना स्थापना गर्न वातावरणीय स्वच्छता कायम गर्ने गरी कार्यविधि बनाउनेजस्ता कार्यक्रम पनि प्रतिबद्धतापत्रमा समेटिएका छन् ।

  • उदयपुरमा ११ विद्रोही उम्मेदवार र सहयोगीलाई माओवादी केन्द्रले गर्‍याे कारबाही

    उदयपुरमा ११ विद्रोही उम्मेदवार र सहयोगीलाई माओवादी केन्द्रले गर्‍याे कारबाही

    उदयपुर । माओवादी केन्द्रले उदयपुरमा ११ विद्रोही उम्मेदवारलाई कारबाही गरेको छ । आसन्‍न स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने नेतालाई कारबाही गरेको हो ।

    प्रदेश अध्यक्ष हर्क नेम्बाङ्गले उदयपुरका ११ सहित धनकुटा, ताप्लेजुङ र सुनसरीका नेतालाई कारबाही गरेका छन् ।

    प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाललाई कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको छ भने बाँकी ८ जना साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल, सन्तोष सुवेदीलाई पार्टीबाट निलम्बन गरिएको छ ।

  • किन नेकपा एसका अध्यक्ष उम्मेदवारलाई कान समातेर उठबस गराए स्थानीयले ? (भिडिओसहित)

    किन नेकपा एसका अध्यक्ष उम्मेदवारलाई कान समातेर उठबस गराए स्थानीयले ? (भिडिओसहित)

    सुर्खेत । कालिकोटको नरहरीनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष उम्मेदवार धिरबहादुर विष्टलाई स्थानीय युवाले कान समातेर उठबस गराएका छन् । विष्टले सरकारी गाडी दुरुपयोग गरेको र सार्वजनिक स्थलमा मदिरापान गरेको भन्दै स्थानीय युवाले माफी मगाउँदै उठबस गर्न लगाएका हुन् ।

    विष्टसँगै मदिरा सेवनमा सहभागी नरहरीनाथ– ७ का वडाअध्यक्ष दलबहादुर विश्वकर्मालाई पनि स्थानीयले उठबस गराएका छन् । उनीहरुले उठबस गराएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

    भिडिओमा देखिन्छ– सुर्खेतको एक होटलमा सरकारी गाडीसहित उनीहरु मदिरा सेवन गरिरहेको अवस्थामा केही युवा फेला पार्छन् । विष्टले माफी माग्छन् । र पनि उठबस गराएरै छाड्छन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित विष्टले केही दिनअघि अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

    अध्यक्ष विष्टले आफूमाथि सुनियोजित रुपमा प्रहार गर्न थालिएको बताए । ‘भिडियो कहाँ खिचेका हुन् थाहा भएन, को–को हुन् भन्ने पनि म चिन्दिनँ’, उनले नेपालप्रेससँग भने, ‘अहिले मेरो पक्षमा माहोल बन्दै गएको छ । त्यसैले सुनियोजित प्रहार भयो ।’

    उनले आफूसँग पैसा मागेको र नदिएपछि भिडिओ सार्वजनिक गरेको बताए ।

  • नेकपा एस स्याङ्जाका सचिव र अखिल उपमहासचिवसहित दर्जनौं एमालेमा प्रवेश

    नेकपा एस स्याङ्जाका सचिव र अखिल उपमहासचिवसहित दर्जनौं एमालेमा प्रवेश

    काठमाडौं । नेकपा एस स्याङ्जाका पार्टी सचिव टीकाराम नेपाली र अनेरास्ववियूका केन्द्रीय उपमहासचिब मेघनाथ चापागाईँसहित दजनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

    हिजो एक कार्यक्रमबीच नेकपा एसका गण्डकी प्रदेश समिति सदस्य नेत्रबहादुर थापासहितको टोलीको एमालेमा प्रवेश गरेको हो । एमाले प्रवेश गर्नेहरुमा नेकपा एस स्याङ्जाका सचिवालय सदस्य मनोज बराल, जिल्ला कमिटी सदस्यहरु मिलन सुवेदी र दिपक नेपाली, एस निकट युवा संघका केन्द्रीय सदस्य बरुण चौधरी, युवा संघ नेपाल चापाकोट नगर कमिटी अध्यक्ष कमल परियार, सचिव बुद्धीमान श्रेष्ठ, संगम कुमाल, नेपाली कांग्रेस स्याङ्जाका क्रियाशील सदस्य दीपक नेपालीलगायत रहेको एमालेले जनाएको छ ।

    उनीहरुलाई एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ, केन्द्रीय सदस्य सीता सुन्दासलगायतले पोखरामा आयोजित एक कार्यक्रममा स्वागत गरेका थिए ।

  • एमालेका लागि यो चुनाव महाभारतको लडाईं हो, जितेरै छाड्छौँ : घनश्याम भुसाल

    एमालेका लागि यो चुनाव महाभारतको लडाईं हो, जितेरै छाड्छौँ : घनश्याम भुसाल

    रुपन्देही । एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताएका छन् ।

    ‘महाभारत युद्धमा कौरव र पाण्डवहरूबिचको लडाई जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ,’ उनले भने– ‘महाभारतको लडाई पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।’

    एमाले यो निर्वाचनमा पाण्डवको रूपमा भएको उनको भनाइ छ ।

    महाभारतमा सत्य र न्यायको लागि लडाई भएजस्तै यो निर्वाचन पनि एमालेका लागि सत्य र न्यायको लागि भएको भुसालले बताए ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा आयोजित मतदाता भेटघाट कार्यक्रमलाईं सम्बोधन गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।

    रुपन्देहीको तिलोत्तमामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता भुसालले तिलोत्तमाले विकासमा राष्ट्रिय पहिचान बनाइसकेको भन्दै अबको चुनाव जित्न यसैलाई आधार बनाउन सकिने बताए ।

    ‘यहाँ पाँच वर्षमा पर्याप्त पूर्वाधारको विकास भएको छ, अव यसैको जगमा टेकेर थप विकासका कार्यक्रमहरू अघि बढ्छन्, त्यसका लागि एमालेको नेतृत्व आवश्यक छ’, भुसालले भने ।

    तिलोत्तमामा एमालेका तर्फबाट अगाडि सारिएका उम्मेदवारको अन्य पार्टीका उम्मेदवारसँग तुलनै हुन नसक्ने भन्दै उनले योग्यता, क्षमता, अनुभव, आन्दोलन, विभिन्न क्षेत्रमा योगदान र सक्रियताको हिसाबले एमालेले सबै हिसाबले क्षमतावान उम्मेदवारलाई अगाडि सारेकोले निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।

    एमालेका उम्मेदवारको तुलनामा अरू कोही उम्मेदवार योग्य छन् भने सार्वजनिक बहस गर्न तयार रहेको भुसालले दाबी गरे ।

  • निर्वाचनलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्वाचन आयोगको चेतावनी

    निर्वाचनलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा पोस्ट नगर्न निर्वाचन आयोगको चेतावनी

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७८ विपरीत आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्ने खालका पोस्ट नगर्न चेतावनी दिएको छ ।

    आयोगले आचारसंहिताको परिच्छेद–२ अन्तर्गत सबैले पालना गर्नुपर्ने आचरणमा सामाजिक सञ्जालको प्रयोग र दफा २२ को ९ज०मा भएको प्रावधान विपरीत यस्ता पोस्ट नगर्न आग्रह गरेको हो ।

    जसमा स्थानीय तह निर्वाचनका उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेको र यस्ता गलत, भ्रामक, चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्ष रूपमा असर पार्ने गलत सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न आयोगले चेतावनी दिएको हो । यसले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आँच पुग्न सक्ने भएकोले यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न नगराउन सबैलाई आग्रह गरेको छ ।

    यस्तै आयोगले निर्वाचन आचारसंहिता, २०७८ को उलङ्घन हुने गरी कतिपय सञ्चारमाध्यमले विभिन्न दल र उम्मेदवारका पक्ष र विपक्षमा तथा यो या त्यो पक्षले जित्ने वा हार्ने भन्ने जस्ता पूर्वानुमान गर्ने प्रकारका सामग्री समेत प्रकाशन र प्रसारण गरिरहेकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

    आयोगले प्रेस काउन्सिल नेपालको सहयोगमा सञ्चारमाध्यमका निर्वाचनसँग सम्बन्धित सबै सामग्रीको नियमित अनुगमन गरिरहेको र निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिता विपरीतका कुनै पनि सामग्री प्रकाशन तथा प्रसारण नगर्न, नगराउन सबै सञ्चारमाध्यमलाई पुनः आग्रह गरेको जनाएको छ ।

    साथै आचारसंहिता विपरीत सामग्री दिने कुनै पनि सञ्चारमाध्यमबारे जुनसुकै माध्यमबाट आयोगमा उजुरी दिन सम्बन्धित सबै पक्षलाई पनि आग्रह गरेको छ ।

  • आचारसंहिता उल्लङ्घन गर्ने माओवादीसहित तीन पार्टीलाई निर्वाचन आयोगले गरायो सचेत

    आचारसंहिता उल्लङ्घन गर्ने माओवादीसहित तीन पार्टीलाई निर्वाचन आयोगले गरायो सचेत

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्ने सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) सहित तीन राजनीतिक दललाई सचेत गराएको छ ।

    नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आयोगले चित्तबुझ्दो जवाफ माग गरे लगत्तै जवाफ प्राप्त भइसकेपछि सम्बन्धित दललाई सचेत गराएको जनाएको हो ।

    आयोगले अबदेखि निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न नगराउन आयोगले निर्देशन दिँदै सचेत गराएको सोमबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

    यी तीन दलले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत कार्य गरेको देखिएकाले सचेत गराइएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    यस्तै निर्वाचन आयोगले तोकेकोभन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको छ ।

  • इटहरीमा गठबन्धनको पक्षमा खुले कवि मनु मन्जिल

    इटहरीमा गठबन्धनको पक्षमा खुले कवि मनु मन्जिल

    इटहरी । कवि मनु मन्जिल इटहरीको कांग्रेस, माओवादी केन्द्र र नेकपा एससहतिको गठबन्धनमा खुलेका छन् ।

    आइतबार दिउँसो इटहरीको लायन्स भवनमा गठबन्धनको घोषणापत्र सार्वजनिक समारोहमा भाषण गर्दै उनले गठबन्धनलाई सहयोग गर्न अपिल गरे । मन्जिल घोषणापत्र तयारी समितिका संयोजकसमेत हुन् ।

    उनले भने, ‘हामीले प्राक्टिकल्ली १० वटा सिद्धान्तका कुरा नगरेर प्वाइन्टवाइज सर्टेन केही बुलेटहरू बनायौं । यसको प्रसारको लागि सोसल मिडियाको प्रयोग गरेर कांग्रेस माओवादीका सबै कार्यकर्ताहरूलाई एक्टिभ गरेर बनाएर मासमा यसको कुरा जनतालाई बुझाउन जरुरी छ ।’

    गठबन्धनको जितको विकल्प नभएको संकेत गर्दै उनले भने, ‘यो गठबन्धनलाई हामीले इमानदारितापूर्वक सहयोग गरेनौं भने त्यसको फाइदा अन्तै पुग्छ । यति कुरा ब्रेनमा राखेर काम गरौं ।’

    मनु मन्जिलले गठबन्धनको पक्षमा भाषण गरेको भिडिओ इटहरी उपमहानगरपालिकाका कांग्रेस मेयर उमेद्वार हेमकर्ण पौडेलले फेसबुकमा सेयर गरेपछि चर्चा बढेको छ ।

  • आचारसंहिता उल्लंघन गर्ने मन्त्रीमाथि कारबाही सुरू, कांग्रेस जिल्ला सभापतिलाई स्पष्टिकरण

    आचारसंहिता उल्लंघन गर्ने मन्त्रीमाथि कारबाही सुरू, कांग्रेस जिल्ला सभापतिलाई स्पष्टिकरण

    कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगमा उजुरी परेको छ ।

    उनी नेपाली कांग्रेस डडेल्धुराले अमरगढी नगरपालिकाका विभिन्न वडाहरूमा आयोजना गरेको चुनावी आमसभामा सहभागी भएका थिए ।

    अमरगढीमा कांग्रेसबाट नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल उम्मेदवार छन् । डडेल्धुरा प्रदेश ‘ख’ बाट प्रदेश समानुपातिक सांसद बोहरा गत महिना मन्त्री बनेका थिए ।

    निर्वाचन आचारसंहिता अवज्ञा गरेको भन्दै सर्वसाधारणले चुनावी प्रचारको तस्बिर र भिडिओसहितको प्रमाणका आधारमा मन्त्री बोहराविरुद्ध उजुरी दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराका सूचना अधिकारी पुष्पराज जोशीका अनुसार उजुरी दर्ता गरी जिल्ला सभापति भीमबहादुर साउदलाई मौखिक स्पष्टिकरण समेत सोधिएको छ ।

    ‘हामीले उजुर दर्ता गरी जिल्ला पार्टी सभापतिलाई समेत मौखिक स्पष्टिकरण सोधेका थियौँ उहाँले फेरी आचारसंहिताको उल्लंघन नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो’ सूचना अधिकारीले भने ‘फेरि यस्तो भए हामी थप कारबाही प्रक्रिया बढाउँछौँ ।’

    स्थानीय तह निर्वाचन २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।

  • शंशाकलाई निर्वाचन आयोगले गरायो सचेत (भिडिओ)

    शंशाकलाई निर्वाचन आयोगले गरायो सचेत (भिडिओ)

    काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई सचेत गराएको छ । कोइरालाको अभिव्यक्तिले निर्वाचनप्रति अनास्था फैलाउन मद्दत पुगेको ठहर गर्दै आयोगले आगामी दिनमा यस्ता अभिव्यक्ति नदिन सचेत गराएको हो ।

    ‘आफू निर्वाचन लड्दा ६ करोडसम्म खर्च भएको’ अभिव्यक्ति दिएपछि कोइरालालाई आयोगले स्पष्टीकरण सोधेको थियो । कोइरालाको स्पष्टीकरणउपर निर्णय गर्दै आयोगले कोइराला र उनको पार्टी नेपाली कांग्रेसलाई सचेत गराएको हो ।

    आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसहिंताप्रति सचेत गराएको छ । अधिकारीले निर्वाचन खर्चको गलत विवरण आयोगमा बुझाएका थिए ।

  • उम्मेदवारको एजेण्डा : हेलिकप्टरबाट बीऊ छर्ने, ३६५ दिन नै जनतालाई दसैँ

    उम्मेदवारको एजेण्डा : हेलिकप्टरबाट बीऊ छर्ने, ३६५ दिन नै जनतालाई दसैँ

    काठमाडौं । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै अहिले उम्मेदवारहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।

    यस्तैमा डडेलधुराको भागेश्वरका स्वतन्त्र उम्मेदवार खडक ठकुराठीले सार्वजनिक गरेको घोषणापत्र सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    घोषणापत्रमा हेलिकप्टरबाट बीऊ छर्नेदेखि जनताको घरमा ३६५ दिन नै दसैँ मनाउने विषय समेटिएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल बनेका हुन् ।

    नेकपा एमालेले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका ठकुराठीले आफ्नो घोषणापत्रमा कृषिलाई महत्त्वपूर्ण प्राथमिकतामा राखिएको छ । जसमा उनले भागेश्ववर गाउँपालिकाको खेतीयोग्य जमिनमा मौसम अनुसार हेलिकप्टरबाट बीऊ छर्ने र हेलिकप्टरबाटै सिचाइको व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै उनले घोषणापत्रमा समेटिएका विषयहरू आफूले पाँच वर्षमा पूरा गर्ने दाबी गरे ।

    उनले भने, ‘यो मेरो एजेण्डा नै हो । यो जिल्लाबाट पटक पटक प्रधानमन्त्री भएका व्यक्तिले पनि केही गर्न सकेनन् । म गर्छु । हेलिकप्टरबाट बीऊ छर्ने प्रविधि चीन र कङ्गोमा प्रयोगमा आएको छ । यहाँ पनि हुन्छ ।’

    यस्तै उनले जनतालाई सुख, समृद्धि र शान्तिको प्रत्याभूति दिलाएर ३६५ दिन नै दसैँ मनाउने वातावरण मिलाउने पनि दाबी गरेका छन् ।

    यस्तै गौरिबगडदेखि परशुराम नगरपालिकासम्म महाकाली नदीमा चार वर्ष भित्र सुख्खा बन्दरगाह निर्माण गरी नेपाली झण्डा बाहक पानी जहाज चलाउने घोषणा पनि गरेका छन् ।

  • चुनावको मुखमा इन्टरनेट बन्द हुन नदिन सरकारलाई आयोगको निर्देशन (भिडिओ)

    चुनावको मुखमा इन्टरनेट बन्द हुन नदिन सरकारलाई आयोगको निर्देशन (भिडिओ)

    काठमाडौं । इन्टनरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेट सेवा बन्द हुने भनेर दिएको अभिव्यक्तिप्रति निर्वाचन आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    निर्वाचनको पूर्वसन्ध्यामा बन्द हुने अवस्था नल्याउन पहलका लागि आयोगले सरकारलाई निर्देशन दिएको छ । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा मुलुकभर एकैपटक निर्वाचन गर्ने तयारी भएको अवस्थामा निर्वाचनमा इन्टरनेट सेवा बन्द भए गम्भीर असर पर्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई यो अवस्था आउन नदिन निर्देशन दिएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

    केही दिनअघि मात्रै इन्टरनेट सेवा प्रदायक संस्थाको छाता संस्था आइस्पानले इन्टरनेट सेवा बन्द हुने अवस्था आएको बताएको थियो ।

  • जीतपुर सिमराको उपमेयर बन्न मेघाको मेहनत, भ्रष्टाचार घटाउने सुशासन बढाउने लक्ष्य

    जीतपुर सिमराको उपमेयर बन्न मेघाको मेहनत, भ्रष्टाचार घटाउने सुशासन बढाउने लक्ष्य

    बारा । कुनै बेला विद्यार्थी हकहितका लागि नेपाल विद्यार्थी संघमा सक्रिय मेघा शाही यतिबेला बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको उपमेयर बन्ने दौडमा छिन् ।

    विद्यालयमा पढ्दै राजनीतिमा प्रवेश गरेकी मेघा नेविसंघकाे ठाकुरराम बहुमुखी क्याम्पस ईकाई अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत भइसकेकी छिन् । सधैँजसो गुणस्तरीय शिक्षा र विद्यार्थी हकहितका एजेण्डा बोकेर आन्दोलनमा उत्रने मेघा अहिले जीतपुर सिमराको समृद्धि र सुशासनको एजेण्डा बोकेर चुनावी मैदानमा छिन् ।

    सत्तारुढ गठबन्धनको तर्फबाट जीतपुर सिमरामा माओवादी केन्द्रका राजन पौडेल मेयरका प्रत्याशी छन् । देशकै सबैभन्दा धेरै मतदाता रहेको उपमहानगरमा उपमेयरको दौडमा रहेकी मेघा व्यवस्थित सहरीकरण, सुशासन र नागरिक अधिकारको रक्षा नै आफ्नो मुख्य एजेण्डा रहेको बताउँछिन् । संविधानले उपमेयरलाई दिएका अधिकारहरुको प्रयोग गर्दै जीतपुर सिमराका जनताको सेवा गर्ने आफ्नो लक्ष्य रहेको मेघा बताउँछिन् ।

    ‘सबैभन्दा पहिले यहाँको भ्रष्टाचार अन्त्य गर्नुपर्नेछ । नयाँ काम सुरु गर्नुभन्दा पहिले पुराना बिग्रिएका कामहरु सुधार्नुपर्नेछ । मेरो उद्देश्य शिक्षा, स्वास्थ्य र सुशासनमा योगदान गर्नु हो’, उनी भन्छिन् ।

    जीतपुर सिमरामा सहरी संरचनाको पर्याप्त निर्माण हुन नसकेको, खुला व्यवस्थित स्थान र पार्कको अभाव रहेको तथा श्रमिकहरुका लागि स्वास्थ्य उपचारको उचित प्रबन्ध नरहेको समस्या मेघाले पहिचान गरेकी छिन् । गठबन्धनले चुनाव जितेमा श्रमिकहरुका लागि सर्वसुलभ सुविधा दिने गरी अस्पताल सञ्चालन गर्ने उनी बताउँछिन् ।

    ‘हाम्रो अधिकांश जनसंख्या श्रममा खटिने गरेको छ । श्रमिकहरुले शिक्षा र स्वास्थ्ययमा पहुँच पाएका छैनन् । हामीले संघ वा प्रदेशसँग समन्वय गरेर भए पनि श्रमिक अस्पताल सञ्चालन गर्ने सोचेका छौं’, उनी भन्छिन् ।

    उपमेयरले सही भूमिका निर्वाह गरेमा भ्रष्टाचार न्यूनीकरणमा योगदान पुग्ने मेघाको भनाइ छ । ‘विकास निर्माणलगायतका कामको अनुगमन गर्ने दायित्व उपमेयरको हो । म उपमयेर भएपछि कुनै पनि आयोजनामा भ्रष्टाचार हुन दिन्न, सही ढंगले अनुगमन गर्नेछु’, मेघाको भनाइ छ ।

    विकासका नाममा कंक्रिटको थुप्रोमात्रै बनाउन नहुने उनी बताउँछिन् । ‘हाम्रो नगरमा एउटा सानो पार्कसमेत छैन । ढलान र पिचमा मात्रै सबैको ध्यान छ । कमिसनलाई केन्द्रमा राखेर योजना बनाउने गरिएको छ । जीतपुरलाई प्राकृतिक हिसाबले स्वच्छ, हराभरा र सुन्दर बनाउने गरी विकासको खाका लागू गर्नुपर्छ’, मेघाले भनिन् ।

    कानूनको विद्यार्थी शाही आफू उपमेयरमा विजयी भएको खण्डमा न्यायिक समितिलाई उचित नेतृत्व दिने बताउँछिन् । ‘न्यायमा पहुँच विस्तार गर्नुपर्नेछ । उपमहानगर भएर पनि सामाजिक चेतना र न्यायका दृष्टिले जीतपुरवासी पछाडि छन् । नगरवासीलाई न्यायिक समितिबाट न्याय दिलाउने कुरामा मेरो जोड रहनेछ’, शाहीले नेपाल प्रेससँग भनिन् ।

    मधेसका महिलाहरुले भोग्ने गरेका समस्याहरुबाट उन्मुक्ति दिलाउन न्यायिक समितिमार्फत विशेष अभियान सञ्चालन गर्ने मेघाको योजना छ ।

    स्थानीय निर्वाचनमा पार्टीगत प्रतिस्पर्धा भए पनि चुनाव जितेको खण्डमा पार्टीको मात्रै नभएर नगरकै प्रतिनिधिका रुपमा काम गर्ने मेघाको प्रतिबद्धता छ । जीतपुर सिमरा उपमहानगरपालिकामा ७० हजार ६४ जना मतदाता रहेका छन् ।

  • स्थानीय चुनाव : देशभर ३५३ जना निर्विरोध

    स्थानीय चुनाव : देशभर ३५३ जना निर्विरोध

    काठमाडौं । आसन्न स्थानीय चुनावअन्तर्गत अहिलेसम्म विभिन्न पदमा ३५३ जना निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलनमार्फत एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताएको हो ।

    निर्विरोध हुनेमा वडाध्यक्षसहित वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य रहेका छन् ।​

    यस्तै ७५३ स्थानीय तहमा दलित महिला सदस्यतर्फको जम्मा ६ हजार ७ सय ४३ सिटमा १७० ठाउँमा मनोनयन नपरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगका अनुसार २०७४ सालको निर्वाचनमा एक सय ७६ दलित महिला वडा सदस्यमा उम्मेदवारी नपरेका कारण रिक्त रहेको थियो ।

  • भरतपुरको हिसाबकिताब

    भरतपुरको हिसाबकिताब

    काठमाडौं । भरतपुर महानगरपालिका यसपटक पनि स्थानीय चुनावको इपिसेन्टरमा छ । चुनावी माहोल देशैभरि फैलिए पनि चितवनको भरतपुर महानगरपालिकाको चुनावको चर्चा सबैभन्दा उच्च छ ।

    सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल दोस्रो कार्यकालका लागि भरतपुरको मेयर बन्ने प्रतिस्पर्धामा छिन् ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा सांसद रहिसकेका विजय सुवेदीलाई मेयरको उम्मेदवारका रुपमा मैदानमा उतारेको छ । अर्कोतिर माओवादीलाई भरतपुरको नेतृत्व दिने निर्णयमा असन्तुष्ट कांग्रेसको एक समूहले पूर्वसांसद जगन्नाथ पौडेललाई स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

    भरतपुरको नेतृत्व लिन यसपटक १६ जना मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा यी नै तीन जनाबीच हुने प्रस्ट छ ।

    अघिल्लो निर्वाचनको अंकगणित

    २०७४ को स्थानीय निर्वाचनमा भरतपुरमा मतगणनाका क्रममा जे भयो, त्यो बिर्सनलायक घटना थियो । माओवादी कार्यकर्ताले अन्तिम चरणमा मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान भएको थियो ।

    पुनः मतदानपछि मेयरमा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाल २०३ मतान्तरले विजयी भएकी थिइन् । रेनुले ४३ हजार १२७ मत ल्याउँदा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । मेयरमा तेस्रो भएका राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत ल्याएका थिए ।

    भरतपुरका २९ वडामध्ये एमालेले १४, कांग्रेसले १२ र माओवादीले ३ वडा जितेका थिए । यद्यपि वडा नम्बर १६ मा उपनिर्वाचन कांग्रेसले जितेको थियो । हाल एमालेबाट जितेकामध्ये ५ जना वडा अध्यक्ष नेकपा एकीकृत समाजवादीमा आवद्ध छन् । यही कारण ताजा अवस्थामा भरतपुरमा कांग्रेसका १३, एमालेका ८, नेकपा एसका ५ र माओवादीका ३ वडा अध्यक्ष रहेका छन् ।

    अघिल्लो निर्वाचनमा भरतपुरमा कूल १ लाख ५० हजार ४७८ मतदाता थिए । जसमध्ये १ लाख १२ हजार ८९७ मत खसेको थियो । महानगरका वडाहरुमा दलका उम्मेदवारहरुले पाएको कूल मत हिसाब गर्दा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिन्छ ।

    अघिल्लो निर्वाचनमा वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवारहरुले पाएको कूल मत ३८ हजार १२७ थियो । त्यस्तै वडा अध्यक्षमा एमालेका उम्मेदवारहरुले प्राप्त गरेको कूल मत ३७ हजार १९५ थियो । माओवादीका वडा अध्यक्षका उम्मेदवारहरुले कूल २१ हजार २१८ मत पाएका थिए । त्यस्तै राप्रपाका वडा अध्यक्षहरुको कूल मत ६ हजार ७५३ थियो ।

    बदलिएको अंकगणित

    भरतपुर महानगरमा अघिल्लो निर्वाचनमा भन्दा यसपटक ३५ हजार ४७८ नयाँ मतदाता थपिएका छन् । अहिले कूल मतदाता १ लाख ८५ हजार ७५२ पुगेको छ । अघिल्लो निर्वाचनमा ३७ हजार ३७७ जना मतदाताले मतदान नै गरेका थिएनन् । त्यतिबेला ७५ प्रतिशत मत खसेकोले त्यसैलाई आधार मान्दा यसपटक कम्तीमा १ लाख ४० हजार मत खस्ने आँकलन गर्न सकिन्छ ।

    अघिल्लो पटक मुख्य दलबाहेकका उम्मेदवारहरुले ल्याएको मत २ हजार पनि ननाघेका कारण यसपटक रेनु, विजय र जगन्नाथले ल्याउने मतकै आधारमा चुनावी अंकगणितको आँकलन गर्नुपर्ने देखिन्छ किनकि यसपटक राप्रपाले मेयरमा उम्मेदवारी दिएको छैन ।

    गठबन्धनको शक्ति कति ?

    अघिल्लो निर्वाचनमा मेयरमा माओवादी–कांग्रेस गठबन्धनले ४३ हजार १२७ मत पाएको थियो । उपमेयरमा कांग्रेस उम्मेदवार पार्वती शाहले ४७ हजार १९७ मत ल्याएकी थिइन् । रेणुको भन्दा पार्वतीको मत बढी आउनुको कारण कांग्रेसभित्रको असन्तुष्टि थियो ।

    चितवन कांग्रेसका नेताहरुका अनुसार मेयरमा उम्मेदवार नहुँदासमेत रुख चिन्हमा झण्डै ७ हजार मत खसेको थियो ।

    वडा अध्यक्षहरुले ल्याएको मतका आधारमा कांग्रेस र माओवादीको एकीकृत मत ५९ हजार ३४५ थियो । यसपटक एमालेको विभाजनबाट रेनुलाई केही मत थपिने अवस्था छ । अर्कोतिर अघिल्लोपटक मेयर र उपमेयरमा तालमेल भए पनि वडाहरुमा हुनसकेको थिएन ।

    यसपटक कांग्रेसले २० वडाको नेतृत्व पाएकाले कांग्रेस मतदाताको मत गठबन्धनमा थपिन सक्ने आँकलन छ । यद्यपि कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारीका कारण गठबन्धनको मत प्रतिबद्ध रहनेमा शंका छ ।

    गठबन्धनको पक्षमा रहेका कांग्रेस र माओवादी नेताहरु स्वतन्त्र उम्मेदवारले २० हजारसम्म मत काटे पनि नतिजा आफ्नै पक्षमा हुने दावी गर्छन् ।

    ‘कांग्रेस र माओवादीको संगठित मत कम्तिमा ८० हजार हो । कांग्रेसको २० हजार मत प्रभावित हुँदा पनि ६० हजार मत हामीसँग छ । मेयरका रुपमा काम गरेर रेनुजीले आफ्नो व्यक्तिगत प्रभाव र जनमत पनि विस्तार गर्नुभएको छ । त्यसैले चुनाव जित्न समस्या छैन’, माओवादीका नेताको दावी छ ।

    कांग्रेस नेताहरु पनि अहिलेसम्म गठबन्धन ‘जितोन्मुख’ रहेको दावी गर्छन् । स्वतन्त्र उम्मेदवार पौडेलले १५ हजार मत सहज काट्ने दावी गर्ने कांग्रेस नेताहरु असन्तुष्ट कांग्रेसको मत एमालेमा नगए रेनुलाई सहज हुने बताउँछन् । ‘द्वन्द्वकालमा माओवादीले दुःख दिएर चितवन झरेका मतदाताहरु झण्डै ४ हजार जति छन् । उनीहरुले माओवादीलाई मत दिँदैनन् । तर, त्यो मत एमालेलाई पनि जानु भएन । त्यसो हुँदा मत काटिँदा पनि गठबन्धन फाइदामै रहन्छ’, चितवन कांग्रेसका एक नेताले भने ।

    अघिल्लो निर्वाचनमा वडा अध्यक्षहरुतर्फ माओवादी र कांग्रेसले प्राप्त गरेको एकीकृत मत ५९ हजार ३४५ थियो । जसमध्ये मेयरमा रेनुले पाएको मत ४३ हजार १२७ मात्रै थियो । वडा अध्यक्षमा कांग्रेस–माओवादीलाई मत दिएकामध्ये १६ हजार २१८ जनाले मेयरमा रेनुलाई मत दिएनन् । त्यो मत अहिले पनि गठबन्धनले पाउने सम्भावना कम छ ।

    समग्रतामा गठबन्धनको जितमा कांग्रेसको मत निर्णायक हुने देखिन्छ । कांग्रेसको असन्तुष्ट समूहको मत एमाले उम्मेदवारमा नजाँदा र त्यस्तो मतको संख्या २० हजार नकट्दासम्म गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा नै हुने देखिन्छ ।

    गठबन्धनको अन्तरविरोध, एमालेको अवसर

    अघिल्लो स्थानीय निर्वाचनमा २०३ मतको अन्तरले भरतपुरको मेयर गुमाउनुपरेको क्षण एमालेको स्मरणमै छ । एमालेले ‘मतपत्र च्यातेर’ हराइएको आरोपलाई ५ वर्षदेखि नै संस्थागत गर्दै आइरहेको छ ।

    यसपटक एमालेले प्रदेशसभा सांसद रहिसकेका विजय सुवेदीलाई भरतपुरको मेयरको प्रत्याशी बनाएको छ । राप्रपासँग तालमेल गरेको एमालेले उपमेयरमा राप्रपालाई सघाउनेछ ।

    अघिल्लो स्थानीय निर्वाचनमा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए । वडा अध्यक्षतर्फ एमालेका उम्मेदवारहरुले प्राप्त गरेको मत ३७ हजार १९५ थियो । यो तथ्यांकअनुसार एमालेले वडा अध्यक्षतर्फ पाएको मतभन्दा मेयरका उम्मेदवारले ५ हजार ७२९ मत बढी ल्याएको थियो ।

    अघिल्लो निर्वाचनमा २९ मध्ये १४ वडा अध्यक्ष जितेको एमालेले उपनिर्वाचनमा १ वडा गुमायो । पार्टी विभाजनपछि एमालेबाट जितेका ७, ९, १०, १२ र २२ नम्बर वडाका ५ जना अध्यक्ष नेकपा एकीकृत समाजवादीमा लागेका छन् । पार्टी विभाजनबाट एमालेलाई कुनै न कुनै प्रकारको क्षति हुने देखिन्छ । त्यो क्षतिलाई राप्रपासँगको तालमेलबाट ‘कभर’ गर्ने एमाले नेताहरुको दावी छ ।

    यद्यपि २०७४ मा राप्रपाबाट मेयर उम्मेदवार बनेर ६ हजार ८४२ मत ल्याएका बद्रीनाथ तिमिल्सिना अहिले माओवादीमा छन् । उनी नेतृत्वको राप्रपा जिल्ला कार्यसमिति नै माओवादीमा समाहित भएको थियो । उनी अहिले भूमि आयोगको जिल्ला अध्यक्ष छन् । राप्रपाको एक समूह माओवादी र अर्को समूह एमालेसँग रहेको अवस्था छ ।

    तत्कालीन माओवादी नेता रामबहादुर थापा ‘बादल’ को समेत गृहजिल्ला भएकोले चितवनमा उनी निकट नेताहरु एमालेमा सक्रिय छन् । पार्टी विभाजनबाट भएको क्षति परिपूरणमा एमालेलाई ‘बादल’ को शक्ति सहयोगी हुनेछ ।

    एमालेलाई सबैभन्दा राहतको विषय कांग्रेस नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारी हो । पौडेलले जति धेरै मत ल्याउँछन्, त्यति नै फाइदा एमालेलाई हुनेछ । यद्यपि कांग्रेसका असन्तुष्ट मत ‘भुइँकटहर’ मा नभई ‘सूर्य’ मा तान्न एमालेले जोडबल गर्नुपर्नेछ ।

    ‘तथ्यांक हेर्दा गठबन्धन एमालेभन्दा बलियो देखिए पनि राजनीतिक रुपमा गठबन्धन समस्यामा छ । त्यसबाट लाभ लिने हो भने एमाले जिततर्फ अग्रसर छ’, चितवनका एमाले नेताको भनाइ छ । ती नेताका अनुसार एमाले उम्मेदवारको शालीन व्यक्तित्व, प्रदेशसभा सदस्यका रुपमा गरेका काम र गठबन्धनमा देखिएको असन्तुष्टिबाट लाभ लिने अवस्था छ ।

    जगन्नाथ कति बलिया विद्रोही ?

    पूर्वराष्ट्रियसभा सदस्य जगन्नाथ पौडेल नेपाली कांग्रेसबाट विद्रोह गरेर भरतपुरको मेयरमा प्रत्याशी बनेका छन् । भुइँकटहर चुनाव चिन्ह लिएर मैदानमा उभिएका उनी ‘कट्टर कांग्रेस’ का उम्मेदवारका रुपमा देखिएका छन् । पूर्वजिल्ला सभापतिद्वय कृष्णलाल सापकोटा, टीकाराम न्यौपाने र महासमिति सदस्य मीना खरेललगायतको बलियो साथ पौडेललाई छ ।

    कांग्रेसको झण्डा बोकेर प्रचारमा व्यस्त जगन्नाथको मतको मुख्य आधार भनेकै कांग्रेसभित्रको असन्तुष्टि हो । कांग्रेसको तहगत कार्यसमितिमा रहेका नेताहरु गठबन्धनकै पक्षमा छन् । खासगरी १४ औं महाधिवेशनका दौरान ‘पराजित’ भएका अधिकांश नेताहरुले जगन्नाथलाई साथ दिएका छन् ।

    वरिष्ठ अधिवक्तासमेत रहेका पौडेललाई कानुन व्यवसायी, प्राध्यापक र प्रजातन्त्रवादी पेशाकर्मीहरुले ‘भोट दिने’ बचन दिएका छन् । ‘सल्यानी पौडेल’ हरुको मत जगन्नाथले पाउने सम्भावना बढी देखिन्छ । कास्कीकाे सल्यानबाट झरेका पौडेललाई चितवनमा सल्यानी पौडेल भनिन्छ ।

    द्वन्द्वकालमा माओवादीबाट पीडित भएका कांग्रेसी मतदाताहरुले पनि हँसिया हथौडाको साटो भुइँकटहरमै मत दिने आँकलन छ । स्वतन्त्र उम्मेदवारका रुपमा भरतपुरको मेयरमा जित हासिल गर्न पौडेललाई सहज नभए पनि उनले प्राप्त गर्ने मतले परिणाममा प्रभाव पर्ने देखिन्छ ।

    ‘जगन्नाथ दाइले प्राप्त गर्ने मत चुनाव जित्न पर्याप्त नहुनसक्छ तर त्यसले भरतपुरमा राजनीतिक न्यायका पक्षमा जनमत दिनेछ’, पौडेलको प्रचारमा सक्रिय एक कांग्रेस नेताले भने ।

  • पोष्टर, भित्ते लेखन गरेको पाइए उम्मेदवारी रद्द गर्ने आयोगको चेतावनी (भिडिओ)

    पोष्टर, भित्ते लेखन गरेको पाइए उम्मेदवारी रद्द गर्ने आयोगको चेतावनी (भिडिओ)

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ ।

    केही स्थानमा यस्ता प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त आदेश दिएको हो ।

    ‘कतिपय स्थानमा कानूनले वर्जित गरेका यस्ता कार्य भैरहेको भन्ने आयोगको जानकारीमा आएको हुँदा राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न आदेश गरिएको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

    वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले मिति गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता, २०७८ लागू गरेको छ ।

    आचारसंहितामा २०७८ अनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने उल्लेख छ ।

    यस्तै कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने प्रावधान पनि आचारसंहितमा राखिएको छ ।

    ‘त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको वर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयासम्म जरिवाना गर्ने,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

    कुनै उम्मेदवारले आयोगले बनाएको आचार संहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने विज्ञप्तिमा स्मरण गराइएको छ ।

  • काठमाडौं महानगरमा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल बने चुनावी कमान्डर

    काठमाडौं महानगरमा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल बने चुनावी कमान्डर

    काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको चुनाव जित्न पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई चुनावी कमान्डर बनाएको छ ।

    काठमाडौं क्षेत्र नम्बर ५ का सांसद समेत रहेका पोखरेललाई महानगर निर्वाचन परिचालन निर्देशक समितिको संयोजक बनाइएको हो ।

    पोखरामा चुनावी अभियान सकेर काठमाडौं फर्किएका पोखरेलले सोमवार चुनावी कमान्डरको जिम्मेवारी सम्हालेका छन् ।

    देशको राजधानी समेत रहेकाले काठमाडौं महानगरमा गठबन्धनको सामना गर्न एमालेले पार्टीका शीर्षस्थ नेतालाई चुनाव परिचालनको निर्देशक बनाएको हो ।

    पोखरेलले ३२ वटै वडासहित मेयर केशव स्थापित र उपमेयर सुनिता डंगोलको जित सहज गराउन योजना बनाउन मातहत कमिटीहरूलाई निर्देशन समेत दिएका छन् ।

    काठमाडौंमा यसअघि एमालेले ३२ मध्ये १८ वटा वडा जितेको थियो ।

  • जीतपुर सिमरामा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसार

    जीतपुर सिमरामा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसार

    बारा । स्थानीय निर्वाचनको माहाेलले सिङ्गाे देश तातिरहेको छ । राजनीतिक दलका उम्मेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचारप्रसारमा व्यस्त छन् ।

    निर्वाचन आयोगले उम्मेदवार र दलहरूलाई स्पष्ट रूपमा आचारसंहिताको जानकारी गराउँदै पालना गर्न निर्देशनसमेत दिइसकेको छ । साथै आयोगलगायत विभिन्न सङ्घसंस्थाहरूले पनि उम्मेदवार र दलहरूले आचारसंहिता पालना गरे नगरेको स्वतन्त्र रूपले अनुगमन पनि गरिरहेका छन् ।

    तर, बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकामा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसार गरिरहेका छन् । मेयर, उपमेयरसहितका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताविपरीत गाडी पुरै ढाक्ने गरी चुनाव चिन्ह र उम्मेदवारको फोटो अङ्कित फ्लेक्स ब्यानर लगाएर निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।

    लोसपाका जीतपुर सिमरा उपमहानगरका मेयर उम्मेदवार सञ्जयकुमार साह र उपमेयरकी उम्मेदवार विपी मोक्तानले आफ्नो दलको चुनाव चिन्ह साइकलसहितको उम्मेदवारको फोटो भएको फ्लेक्स ब्यानरले ना ५ च १७७२ नम्बरको गाडी ढाक्ने गरी प्रचारप्रसार गरिरहेका छन् ।

    अन्य दलका उम्मेदवारहरुले गाडी नै ढाक्ने गरी फ्लेक्स ब्यानर प्रदर्शन गरी निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उलङ्घन हुने गरी प्रचार गरेका हुन् ।

    निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा (ड) र (ढ) मा उम्मेदवारको वा दलको चुनाव चिन्ह वा झण्डा अंकित लोगो ब्यानर, डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, टिसर्ट आदि प्रयोग गरेर प्रचार गर्न नपाउने स्पष्ट उल्लेख छ ।

    आचारसंहिताकाे दफा १३ मा उम्मेदवारले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारीसाधन निर्वाचन आयोगको कार्यालयबाट अनुमति लिईमात्रै प्रयोग गर्न पाउने प्रावधान राखिएको छ ।

    त्यसैगरी ती सवारीसाधनको स्वरूप परिवर्तन गरेर वा ढाक्ने गरी प्रचार सामग्री राख्न नपाइने उल्लेख छ । यदि त्यसो गरेको पाइएमा सो कार्य निर्वाचन आचारसंहिता उलङ्घन गरेको ठहर हुने र तत्काल त्यसलाई रोक्न लगाउने वा अटेरी गरेमा उम्मेदवारी रुद्द र जरिवाना हुने व्यवस्थासमेत उल्लेख छ ।

  • रुपन्देहीमा बागी उठ्ने १५ जनालाई एमालेले गर्‍यो कारबाही, को को परे ?

    रुपन्देहीमा बागी उठ्ने १५ जनालाई एमालेले गर्‍यो कारबाही, को को परे ?

    रूपन्देही । नेकपा एमाले रुपन्देहीले बागी उम्मेदवारी दिएका १५ जनालाई कारबाही गरेको छ ।

    पार्टीको निर्णय र आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने निष्कासन गरेको हो ।

    जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पार्टी हितविपरीत जानेलाई पार्टीमा बस्ने छुट नभएको बताए ।

    हेर्नुस् कारबाहीमा परेकाहरूको सूची

  • ह्याट्रिकको दाउमा रहेका दीपक बुढाथोकी भन्छन्: जनतालाई पूरा नहुने सपना देखाउँदिनँ

    ह्याट्रिकको दाउमा रहेका दीपक बुढाथोकी भन्छन्: जनतालाई पूरा नहुने सपना देखाउँदिनँ

    धनकुटा । चार दशकअघि तत्कालीन सरकारविरुद्ध देशभर आवाज बुलन्द भइरहेको थियो । दलहरु खुला राजनीतिमा आउन सकिरहेका थिएनन् । दलका प्रभावशाली नेताहरु जेलमा हुँदा गाउँ–गाउँबाट जनजागरण ल्याउन सबै दलका युवाहरु सक्रिय भएका थिए । तिनै पंक्तिमा थिए धनकुटा चानुवाका दीपक बुढाथोकी ।

    धनकुटामै शक्तिशाली शासकको अड्डा थियो । पञ्चायतको विरोध गर्नु चानचुने कुरै थिएन । रातिराति संगठन विस्तार गर्दै आफ्नो विचारमा सर्वसाधारणलाई समाहित गर्न उनी छिमेकी गाउँ मारेक कटहरे, डाँडागाउँ लेगुवालगायतका टोलटोल पुग्थे ।

    २०४२ सालमा विद्यालयमा १९ वर्षकै उमेरमा संगठनको नेतृत्व सम्हालेका उनी जिल्ला तहका नेताहरुको आँखामा परेका थिए । पञ्चायतका हस्ती एवं तत्कालीन प्रधानमन्त्रीसमेत भइसकेका सूर्यबहादुर थापा जस्ता शक्तिशाली नेतालाई चुनावमा जितेर नाम कमाएका कम्युनिष्ट नेता गोपाल गुरागाईंको नजरमा उतिबेलै परिसकेका थिए ।

    २०४६ सालको आन्दोलन सहर केन्द्रितमात्र थिएन । गाउँबाट आन्दोलनको ज्वारभाटा उठिरहेको थियो । दीपक त्यही आन्दोलनको नेतृत्व गर्न जिल्लाको उत्तरी सिमानामा रहेको भोजपुर र संखुवासभा जोडिएको गाउँ चानुवा पुगे । गाउँ तहदेखि जिल्लासम्मको आन्दोलनको मोर्चा सम्हाले ।

    लगातार दुई पटक गाविस अध्यक्ष

    जनआन्दोलन सफल भई प्रजातन्त्र पुनःस्थापनापश्चात भएको पहिलो निर्वाचनमा बुढाथोकीलाई पार्टीले तत्कालीन चानुवा गाउँ विकास समितिको नेतृत्वका लागि टिकट दिने भयो । ‘२५ वर्षको उमेरमा सबैको मत जित्नु सामान्य कुरा थिएन’, चार दशकअघिको सम्झना गर्दै उनले भने, ‘६ वर्षदेखि गाउँमा काम गरेको अनुभव थियो । मलाई जनताले पत्याउनहुन्छ भन्ने दृढ विश्वास थियो ।’

    प्रजातान्त्रिक शक्तिको बाहुल्य भएको ठाउँमा कम्युनिष्ट गढ बनाउनु सामान्य थिएन । उनले अथक प्रयास गरे । पार्टीले पत्यायो । उनी भारी मतले विजयी भए । युवावस्थामै गाविस अध्यक्षमा निर्वाचित उनलाई गलत काम गर्ने छुट थिएन । पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका उनलाई पार्टीले दोस्रो कार्यकालका लागि पनि टिकट दियो । उनले दोस्रो कार्यकालको चुनाव पनि सहजै जिते ।

    १० वर्ष गाविसको नेतृत्व गर्दा उनले सीमित बजेटमा जनताका आवश्यकता परिपूर्ति गर्ने चुनौती थियो । यद्यपि जनश्रमदानमा अधिक काम भए । अधिकांश कृषि पेशामा आवद्ध जनताका समस्या सम्बोधन गर्ने प्रयास गरे । सडक, बिजुली र अत्यावश्यक पूर्वाधारको अभाव रहे तापनि त्यसका लागि स्रोत जुटाउन उनी लागिरहे । माओवादी द्वन्द्वमा गाउँ नछाडी निरन्तर जनताको काममा खटिरहँदा उनलाई माओवादीले अपहरणसमेत गरेको थियो । पछि सम्मानजनक घर फर्काएको थियो ।

    तेस्रो पटक चुनावमा

    लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन भयो । त्यो बेला स्वयंसेवी भावले निरन्तर जनताको काममा लागिरहेका उनलाई २०७४ सालको निर्वाचनमा कार्यकर्ताबाट सिफारिस भए पनि चुनावमा टिकट पाएनन् । एमाले कार्यकर्ताको रुपमा इमानदारीपूर्वक जनताको काममा जुटिरहे । तत्कालीन चानुवा गाविससहित डाँडागाउँ, मारेक कटहरे, लेगुवा, अर्खौले जीतपुर र मूर्तिढुंगा गाविस मिलेर बनेको महालक्ष्मी नगरपालिकाको नेतृत्वका लागि आतुर छन् दीपक ।

    संविधान बनेपश्चात पहिलो कार्यकालमा आएका जनप्रतिनिधिबाट स्थानीय तहमा काम गर्ने जग बसेको छ । दोस्रो कार्यकालका लागि उनै बुढाथोकीलाई पार्टीले विश्वासका साथ महालक्ष्मी नगरपालिकाको मेयरको टिकट दिएको छ । स्थानीय निकायको दुई चुनावमा निर्वाचित उनी तेस्रो पटक जनअनुमोदनका लागि चुनावी मैदानमा छन् । जसअनुसार महालक्ष्मी नगरपालिकाका मतदाताका घरघर पुगिरहेका छन् ।

    गाउँ, इलाका, निर्वाचन क्षेत्र र जिल्ला हुँदै हाल एमाले प्रदेश १ कमिटी सदस्य रहेका बुढाथोकी पार्टीमा दृढ र सामाजिक निष्ठावान व्यक्तिका रुपमा परिचित छन् । ‘कठिन परिस्थितिमा पनि नडगमगाइ पार्टी र जनतासामु लगनशील भएर काम गर्नु नै उहाँको विशेषता हो’, बुढाथोकीका राजनीतिक गुरुसमेत रहेका कम्युनिष्ट नेता गोपाल गुरागाईं भन्छन्, ‘उहाँलाई युवावस्थादेखि चिन्छु । यो पटक पुनः जनताले जिताउनेछन् भन्नेमा ढुक्क छु ।’

    जनताले अनुभूत गर्ने काम गर्छु

    यसअघि महालक्ष्मीसहित सातै पालिकामा नेकपा एमालेले जितेको थियो । बुढाथोकीले अघिल्लो कार्यकालमा थालिएका काम सम्पन्न गर्दै जनताले प्रत्यक्ष अनुभूत गर्ने काममा आफ्नो लगाव रहने बताएका छन् ।

    ‘मसँग दुई कार्यकाल जनप्रतिनिधि भएर काम गरेको अनुभव छ । जनताको आवश्यकता र अवस्थाप्रति जानकार छु’, उनले भने, ‘म जनतालाई पूरा नहुने सपना देखाउँदिनँ । एमालेको इमानदार कार्यकर्ता भएको नाताले सर्वसाधारणको जीवनस्तर उकास्ने काममा मेरो ध्यान हुनेछ ।’

    बुढाथोकीसँग सत्तारुढ गठबन्धन उम्मेदवार एवं तत्कालीन महालक्ष्मी नपा २ का वडा अध्यक्ष ध्रुव राय चुनावी प्रतिस्पर्धामा छन् । राय नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

  • तिलोत्तमाका मेयरद्वारा आचारसहिंता उल्लंघन, लाभको पदमा बसेर चुनावी प्रचार

    तिलोत्तमाका मेयरद्वारा आचारसहिंता उल्लंघन, लाभको पदमा बसेर चुनावी प्रचार

    रुपन्देही । निर्वाचन आयोगले जारी गरेको आचारसहिंताविपरीत रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे पार्टीको चुनावी प्रचारमा खटिएका छन् । आचारसहिंताविपरीत एमालेका उम्मेदवारहरूको प्रचार प्रसार र चुनावी कार्यक्रममा घिमिरे वक्ताकै रुपमा अघि बढेको भन्दै टिप्पणी हुन थालेको छ ।

    निर्वाचन आचारसहिंतामा स्थानीय कार्यपालिकाका सदस्यले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने’ उल्लेख छ । मेयर घिमिरे चुनावी परिचालन समितिको संयोजकसमेत बनेका छन् ।

    सो नगरमा एमालेबाट प्रमुखमा मोहन चापागाई र उपप्रमुखमा जागेश्वरीदेवी चौधरी उम्मेदवार रहेका छन् । नगरप्रमुख घिमिरे दुवै उम्मेदवारको प्रचारमा वडासम्मै सक्रिय देखिएका छन् । आइतबार राति निर्वाचन परिचालन समितिकै तर्फबाट घिमिरेले पत्रकार सम्मेलनसमेत गरे । उनले आफूले आचारसहिंता उल्लघंन गरेवापत कारवाही गर्न निर्वाचन आयोगलाई चुनौती समेत दिए ।

    ‘म अहिले पनि कार्यपालिकाको प्रमुख हो । बैठक राखेर भटाभट एमालेले काम गरेको देखाउने निर्णय गर्न सक्छु’, घिमिरेले भने । उनले आफूले अरु आचारसहिंता मानेपनि एमालेको कार्यकर्ता भएकोले प्रचारमा नहिँड्ने भन्ने नहुने बताए ।

    ‘निर्वाचन परिचालन समितिमा बस्ने कुरा स्वभाविक हो । यो कुनै भ्रष्टाचार गर्ने वा जनतालाई कुठाराघात गर्ने गरी गरिएको होइन । पार्टीको कार्यकर्ताको हिसाबले निर्वाचनमा सहभागि हुने कुरा गलत होइन’, घिमिरेले दाबी गरे ।

    उनले तिलोत्तमामा एमालेबाहेक कसैले नजित्ने दाबी पनि गरे । घिमिरेसहित नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री पनि आचारसहिंताविपरीत पार्टीको परिचालन समितिमा बसेका छन् ।

    निर्वाचन आयोगले सरकारी सुविधा प्राप्त गर्ने व्यक्तिहरूले निर्वाचनमा उम्मेदवार बन्न वा दलविशेषको प्रचारमा खटिन नपाउने बताउँदै आएको छ ।

    आचारसंहिता सबैलाई बराबर हुनुपर्छ : मेयर घिमिरे

    आचारसंहिता उल्लंघन गरेकोबारे नेपाल प्रेसको जिज्ञासामा उनले आफू एमालेबाट निर्वाचित प्रतिनिधि भएको साथै पार्टीले निर्वाचन परिचालन कमिटी संयोजक बनाएकोले जिम्मेवारी निभाएको बताएका छन् ।

    ‘मन्त्रीहरू हेलिकप्टर लिएर ठाउँठाउँमा जान हुने मैले आफ्नै पालिकाका आफ्नै नेताहरूले बोलाएको कार्यक्रममा जाँदा आचारसंहिता उल्लंघन गर्‍यो भनेर हल्ला गर्ने मलाई राम्रो लागेको छैन’, मेयर घिमिरेले भने ।

    उनले आचारसंहिताको पालनाप्रति आफू सचेत रहेको तर सबैलाई समान ढंगले लागू हुनुपर्ने बताए ।

  • स्थापितविरुद्धको वक्तव्य २४ घण्टाभित्र हटाउन ओरेकलाई निर्वाचन आयोगको निर्देशन

    स्थापितविरुद्धको वक्तव्य २४ घण्टाभित्र हटाउन ओरेकलाई निर्वाचन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका एमाले उम्मेदवार केशव स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र हटाउन र तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न गैरसरकारी संस्था ओरेकलाई निर्देशन दिएको छ ।

    आयोगको बैठकले स्थापितको उम्मेदवारी खारेज गर्न माग गर्दै उम्मेदवारको मान प्रतिष्ठामा आँच आउनेगरि दिएको प्रेस वक्तव्य आचारसंहिताविपरित रहेको ठहरसमेत गरेको छ ।

    आयोगले रेनु अधिकारीले सञ्चालन गरेको महिला पुन:स्थापना केन्द्र (ओरेक) र त्यसमा आबद्ध ४० वटा परियोजनाबाट स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र फिर्ता लिएर हटाउन भनेको छ । यसका साथै कुनै उम्मेदवारलाई मत देऊ वा नदेऊ भनेर सामाजिक संस्थाले विज्ञप्ति जारी गरेकोमा कारबाही किन नगर्ने भनेर ३ दिनभित्र स्पष्टीकरण समेत मागेको छ ।

    सामाजिक काम गर्न भनेर स्थापना भएको गैरराजनीतिक संस्थाले राजनीतिक दलका उम्मेदवारलाई मत नदिन भनेर वक्तव्य जारी गर्नु गैरकानूनी र आचारसंहिताविपरीत हुने आयोगले जनाएको छ । आयोगका एक पदाधिकारीले आयोगको निर्णय सम्बन्धित गैरसरकारी संस्थाहरूलाई गराइएको बताए ।

    यसैबीच आयोगले एमालेका मेयर उम्मेदवार स्थापितले एक कार्यक्रममा प्रश्नकर्तालाई ‘तपाईँ नाइस लेडी हो तर थुतुनोको शैली भएन’ भनेर जवाफ दिएकोमा समेत सचेत गराएको छ । उम्मेदवारको आचारसंहिताभित्र रहन आयोगले स्थापितलाई सचेत गराएको हो ।

    स्थापितले नेशनल कलेजको कार्यक्रममा विवेकशील साझाकी कार्यकर्ता भावना राउतको प्रश्नको जवाफ दिने क्रममा आक्रोशित हुँदै बोलेको शब्दप्रति आयोगले सचेत गराएको ती पदाधिकारीले बताए ।

  • शाक्य र स्थापितको ३६ वर्षे चुनावी सम्बन्ध- टिकट पाए जित्ने, नपाए जिताउँने

    शाक्य र स्थापितको ३६ वर्षे चुनावी सम्बन्ध- टिकट पाए जित्ने, नपाए जिताउँने

    काठमाडौं । वैशाख १० गते नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले काठमाडौं महानगरपालिकाको मेयरको टुंगो लगाउनु अघिसम्म विद्यासुन्दर शाक्य आफू दोहोरिनेमा निश्चित थिए ।

    त्यसैले उनले आफ्नो नाममा रहेको पेश्की बेरुजु सबै फर्छ्यौट गरेर कर्मचारीलाई कहिँ कतै बाँकी भएको रहेछ भने खोज्न लगाइसकेका थिए । त्यतिमात्र होइन कांग्रेसले सिर्जना सिंह उम्मेदवार बनाउने समाचार आएसँगै उनले महानगरमै भनेका थिए, ‘कांग्रेसले सिर्जना सिंह उठायो, अब मेरो जित झनै निश्चित भयो ।’

    शाक्य मेयरबाट राजीनामा लेखेर खल्तीमा राखेर हिँडेका थिए । तर, अन्तिममा पार्टीले केशव स्थापितलाई अघि सारेपछि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रममा देखिएका मेयर शाक्य आइतबारदेखि चुनावी मैदानमा उत्रिएका छन् ।

    आइतबार साँझ होटल यल्लो प्यागोडामा मेयरका प्रत्याशी स्थापितसँग हातमा हात मिलाएर फोटो सार्वजनिक गरेका शाक्य सोमबार बिहान वडा नम्बर १५ का माओवादीका वडाध्यक्ष उम्मेदवारलाई एमाले प्रवेश गराउने कार्यक्रममा पुगेका थिए ।

    यल्लो प्यागोडा होटल यसअघि शाक्य उम्मेदवार बन्दा पनि एमालेका उम्मेदवारको सम्पर्क कार्यालय थियो । यसपटक केशव स्थापितको सम्पर्क कार्यालय पनि त्यहीँ बनेको छ ।

    अघिल्लो चुनावमा पनि स्थापित र शाक्य मेयरका सशक्त दाबेदार थिए । शाक्यले टिकट पाएपछि स्थापितले उनलाई काँधमा बोकेर चुनावी अभियानमा उत्रिएका थिए । यसपटक शाक्यले स्थापितलाई काँधमा काँध जोडेर चुनावी अभियानमा उत्रिएका छन् ।

    संयोग नै मान्नुपर्छ २०४३ देखि यता काठमाडौंका सबै स्थानीय चुनावमा शाक्य र स्थापित कहिँ न कहिँ उम्मेदवार बनेका छन् । २०४३ मा जनपक्षीय उपमेयर उम्मेदवार बनेर स्थापित पराजित हुँदा शाक्य वडाध्यक्ष जितेका थिए ।

    २०४९ मा स्थापित उपमेयरमा पराजित हुँदा शाक्य दोस्रोपटक २१ नम्बर वडाबाट वडाध्यक्ष जिते । त्यस्तै २०५४ मा स्थापित काठमाडौं महानगरपालिकाको मेयर जित्दा शाक्य तेस्रोपटक वडाध्यक्ष बने ।

    २०७४ मा भने शाक्य मेयरको उम्मेदवार बन्दा स्थापित रिङबाहिर पुगेका थिए । यसपटक फेरि स्थापित मेयरको उम्मेदवार बन्दा शाक्य मेयरको कुर्सीमा बसेर हस्तान्तरणको दिन पर्खिरहेका छन् ।

    राजनीतिमा स्थापित शाक्यभन्दा सिनियर भए पनि केही समय स्थापित मूलधारबाट बाहिरिएका कारण शाक्यले उछिने । स्थापित २०५४ सालमा एमाले फुट्दा मालेमा लागे तर शाक्यले उनलाई साथ दिएनन् ।

    स्थापित केही समय मनोनीत मेयर पनि भए, शाक्य दलीय संयन्त्रमार्फत महानगरको छायाँ मेयर बने । त्यसपछि शाक्य निर्वाचित मेयर बने भने स्थापित प्रदेशसभा सदस्य बने । अहिले भने दुवैजना एमालेको केन्द्रीय कमिटी सदस्य छन् ।

    टिकट पाए जित्ने, नपाए जिताउँने भनेर पहिले नै दुवैजनाले संकल्प गरिसकेकाले अब एकजुट भएर जिताउने अभियानमा लागेको शाक्यले बताए ।

  • मतदाताको पाउमा हजारकाे नोट राखेर भोट माग्दै मेलम्चीका कांग्रेस उम्मेदवार

    मतदाताको पाउमा हजारकाे नोट राखेर भोट माग्दै मेलम्चीका कांग्रेस उम्मेदवार

    काठमाडौं । मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागिरहेका छन् । चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेका छन् ।

    उक्त तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उनले आफ्नी फुपूलाई ढोग गरेको भन्दै सामाजिक सञ्जालमार्फत नै स्पष्टीकरण दिएका थिए । उनले पछि प्रष्टीकरण दिएको पोस्ट पनि हटाएका छन् । उनले फेसबुक वालमा लेखेका थिए– यहाँहरू सबैलाई हार्दिक नमन तथा जय नेपाल ! मेरी फुपू दिदीको हातबाट टीका लगाए पछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ ? आादर र सम्मान गर्नु मेरो धर्म हो। यो सकारात्मक संस्कारलाई पनि प्रंचार प्रसार गरिदिनु भएकोमा यहाँ हरू सबैलाई हार्दिक धन्यवाद ।

    उनले कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागिरहेको स्थानीयले बताएका छन् । यसरी पाउमा पैसा राखेर भोट मागिरहेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

    मेलम्चीमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको छ ।

  • धनुषाको मतपत्रमा त्रुटि- मेयर उम्मेदवारकै छैन चुनाव चिन्ह (भिडिओ)

    धनुषाको मतपत्रमा त्रुटि- मेयर उम्मेदवारकै छैन चुनाव चिन्ह (भिडिओ)

    जनकपुरधाम । धनुषाको लागि निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा त्रुटि भेटिएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका मेयरको स्वतन्त्र उम्मेदवार मनोज साहलाई निर्वाचन अधिकृतको कार्यालयले ‘घण्टाघर’ चुनाव चिन्ह प्रदान गरेको हो । तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमूना मतपत्रमा ‘घण्टाघर’ चुनाव चिन्ह नै समाविष्ट छैन् ।

    आफ्नो चुनाव चिन्ह नै मतपत्रमा नराखेपछि स्वतन्त्र उम्मेदवार साह आन्दोलित भएका छन् । उम्मेदवार साह समर्थक सहित जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेका हुन् ।

    उम्मेदवार साहले जनकपुरधाममा मेयर २८ जना उम्मेदवार रहेको र आफूसहित ११ उम्मेदवारको चुनाव चिन्ह नमूना मतपत्रमा नरहेको बताए । उनले चुनाव चिन्ह नै मतपत्रमा नराखेर राजनीतिक षड्यन्त्र गरेको आरोप लगाए ।

    उनले भने, ‘नमूना मतपत्र सच्याउन आयोग र निर्वाचन अधिकृतलाई हिजैदेखि पटक-पटक आग्रह गरेको छु । २४ घण्टा भयो तर नसच्याएपछि बाध्य भएर धर्ना बसेका छौं ।’ मतपत्र नसच्याएपछि धर्ना जारी राख्ने उनको भनाई छ ।

    सत्ता गठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर जसपाको भागमा परेपछि आक्रोशित बनेका साह कांग्रेस नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका छन् ।

  • कर्मचारीको मिलेमतोमा अख्तियारको गोप्य पत्र सार्वजनिक, चुनाव प्रभावित पार्न खोजेको प्रमुख उम्मेदवार शाहीको आरोप

    कर्मचारीको मिलेमतोमा अख्तियारको गोप्य पत्र सार्वजनिक, चुनाव प्रभावित पार्न खोजेको प्रमुख उम्मेदवार शाहीको आरोप

    सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले एक विद्यालयमा भएकाे अनियमिततासम्बन्धी उजुरीबारे दुल्लु नगरपालिकासँग कागजात माग गरेर पठाएको पत्र कर्मचारीको मिलेमतोमा सार्वजनिक भएको छ ।

    दुल्लु नगरपालिका वडा नं ६ मा रहेको महेन्द्र जयदेवी माविका विव्यस अध्यक्ष रुद्रबहादुर शाहीले विव्यस अध्यक्ष हुँदा अनियमितता गरेको भन्दै अख्तियारले वैशाख ४ गते कागजात माग गर्दै पत्र पठाएको थियो ।

    दुल्लु नगरपालिकामा एमालेबाट प्रमुखका उम्मेदवार शाहीविरुद्ध परेको उजुरीको बारेमा अख्तियार सुर्खेतले आवश्यक जाँचबुझ गर्न भन्दै नगरपालिकालाई कागजात पठाउन इमेलमार्फत लिखित पत्र पठाएको थियो । तर त्यो पत्र सार्वजनिक गरिएपछि निर्वाचन आचारसंहितासमेत उल्लंघन भएको भन्दै स्थानीय आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

    भाषामै अनियमितता गरेको पुष्टि

    अख्तियारले पठाएको पत्रमा ‘दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नं ६ स्थित महेन्द्र जयदेवी माविका विव्यस अध्यक्ष रुद्रबहादुर शाहीले विभिन्न आर्थिक वर्षहरुमा विभिन्न शीर्षकको रकममा अनियमितता गरेको हुनाले’ भन्ने उल्लेख छ । अख्तियारले अनियमितता पुष्टि नहुँदै अनियमितता गरेको भन्ने पुष्टिसमेत गरेको छ । पत्रमा शाखा अधिकृत अनन्तकुमार गौतमले हस्ताक्षर गरेका छन् ।

    ‘अख्तियारमा विभिन्न व्यक्तिका बारेमा उजुरी पर्ने गरेका छन् । उनीहरुको उजुरीका बारेमा पत्र पठाउने प्रचलन पुरानै हो । त्यो पत्र गोप्य रहन्छ । त्यो पत्र सार्वजनिक गर्न हुन्थेन’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक शाखा अधिकृतले भने, ‘त्यो गलत हो । पुष्टि भएपछि मात्रै त्यस्तो गर्न मिल्छ । नभए यो त सरासर गलत भएको हो ।’

    यता उजुरी परेको पत्र सार्वजनिक भएपछि शाहीले भने आपत्ति जनाएका छन् । ‘त्यो विद्यालयको कुनै चेकमा मेराे हस्ताक्षर हुँदैन । मैले विव्यसको अध्यक्षको हैसियतमा माइन्युटमा हस्ताक्षर गर्ने काममात्रै हो । यो अरु केही होइन चुनाव प्रभावित पार्न खोज्ने दुस्प्रयासमात्रै हो’, उनी भन्छन्, ‘नगरपालिकाका कर्मचारी र मेरो पक्षमा जनताको लहर देखेर डराएकाहरुको मिलेमतोमा चैत ३० गते मैले टिकट पाइसकेपछि अख्तियारमा उजुरी हालेर बदनाम गर्न खोजिएकोमात्रै हो । यसबारेमा म नेताहरुसँग सल्लाहमा छु । मैले के गर्नुपर्छ कानूनी उपचार खोज्न पर्ला ।’

    इमेलको दुरुपयोग भयोः नेपाल

    दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणि नेपालले पत्र सार्वजनिक भएको आइतबार बेलुकामात्रै थाहा पाएको बताए । ‘हाम्रो नगरपालिकाको इमेल शाखाका कर्मचारीदेखि मेयर सावसम्मले चलाउनुहुन्थ्यो । कसले त्यो गोप्य पत्र सार्वजनिक गरेको हो, आज अनुसन्धान हुन्छ । यसबारेमा साइबर क्राइमअन्तर्गत मुद्दा चलाउन प्रहरीलाई हिजै बेलुका खबर गरिसकेको छु’, नेपालले भने, ‘अख्तियारबाट यस्ता गोप्य पत्र इमेलमा आउँछन् । कसैको स्वार्थपूर्तिका लागि पत्र सार्वजनिक भएको छ ।’

    उनले अब इमेल प्रयोगमा ध्यान दिइने बताए । ‘कार्यालयबाट यो गम्भीर गल्ती भएको हो । यस्तो गल्ती गर्नेलाई कारबाही गरिन्छ’, उनले भने, ‘सबैलाई इमेल चलाउन दिनु गल्ती भयाे ।’

  • एमाले भोजपुरको ‘समृद्धि गुरुयोजना’- कृषि, पूर्वाधार, उत्पादन र रोजगारमा जोड

    एमाले भोजपुरको ‘समृद्धि गुरुयोजना’- कृषि, पूर्वाधार, उत्पादन र रोजगारमा जोड

    भोजपुर । नेकपा एमाले भोजपुरले जिल्ला समृद्धिको रणनीतिक गुरुयोजना तयार पारेको छ ।

    पूर्वाधार, विद्युत, कृषि तथा पशुपालन, पर्यटन, रोजगार, सामाजिक क्षेत्रको योजनाबद्ध विकास गर्ने लक्ष्यका साथ एमालेले गुरुयोजना ल्याएको हो । एक कार्यक्रमका बीच एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले उक्त रणनीतिक गुरुयोजना सार्वजनिक गरेका छन् ।

    ‘समृद्ध भोजपुर, सम्मानित भोजपुरे’ दीर्घकालीन सोचका साथ तयार पारिएको गुरुयोजनालाई ‘समृद्ध भोजपुर र सम्मानित भोजपुरेको आधार कृषि, पूर्वाधार, उत्पादन र रोजगार’ मूल नारा दिइएको छ ।

    विकासको वर्तमान अवस्थालाई टेकेर दूरदृष्टि राख्दै ९ वटै पालिका र जिल्लाको गौरवका योजना अघि सारिएको एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले बताए । यस रणनीतिक योजनालाई स्थानीय, प्रदेश र संघको निर्वाचनका चुनावी एजेण्डा बनाउने साथै त्यसैलाई कार्यान्वयन गराउनतर्फ लाग्ने उनको भनाइ छ ।

    यो एमालेको मात्र नभइ जिल्लाको विकास र समृद्धिसँग गाँसिएको योजना भएकाले अन्य पार्टीलाई रोडम्याप बन्ने राई बताउँछन् ।

    ‘हामीले टोल तहदेखि विभिन्न क्षेत्रका विज्ञहरूसँगको छलफल र सुझावका आधारमा गुरुयोजना तयार पारेका छौं । यो त हाम्रा लागि गतिलो दस्तावेज हो । भोजपुरकै विकासका लागि भएकाले अन्य राजनीतिक दललाई पनि यो गतिलो मार्गचित्र बन्नेछ’, उनले भने ।

    एमालेले पालिकास्तरमा ५ र १० वर्षभित्रमा गर्न सकिने काम पनि अघि सारेको छ ।

    हरेक वडासम्म पक्की सडक, सुन्दर एकीकृत बस्तीको विकास, सबैको घरमा खानेपानी, ५ वर्षभित्र सबै घरधुरीमा बिजुली, खेतीयोग्य जमिनमा सिँचाइ, कृषि र पशुपालनमा सहकारीसँगको सम्बन्ध विस्तार, हरेक घरमा उद्यमी, प्राविधिक तथा गुणस्तरीय शिक्षालगायतका विषय गुरुयोजनामा समेटिएका छन् ।

    एमाले भोजपुरले विज्ञहरू प्रकाश राई, बालकृष्ण दाहाल, राजेश राईको सहयोगमा गुरुयोजना तयार पारेको हो ।

     

  • राप्रपाबाट उम्मेदवारी दिने कांग्रेसका २ जना निवर्तमान वडाध्यक्षकाे सदस्यता खारेज

    राप्रपाबाट उम्मेदवारी दिने कांग्रेसका २ जना निवर्तमान वडाध्यक्षकाे सदस्यता खारेज

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीबाट उठ्ने २ जनाको साधारण सदस्यता खारेज गरेको छ ।

    नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को दफा ३४ (१) अनुसार कारबाही गरी उनीहरुको साधारण सदस्यतासमेत खारेज गरिएको हो ।

    राप्रपाबाट वडा अध्यक्ष उम्मेदवार बनेका धरान १ का निवर्तमान वडा अध्यक्ष रोशन अधिकारी र राप्रपाबाटै वडा अध्यक्ष उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडा अध्यक्ष कृष्ण भट्टराईलाई कारबाही गरिएकाे कांग्रेसका सुनसरी जिल्ला सचिव वीरेन्द्र साहले जानकारी दिए ।

    उनीहरुले पार्टीको आदर्श, सिद्धान्त र नीति तथा पार्टीको विधान, नियमावलीविपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टी उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका कारण अनुशासनको कारबाही गरिएको उनको भनाइ छ ।

  • ‘राप्रपाको राजधानी’ बाट लिङ्देनले भने- राष्ट्रिय राजनीतिको सन्तुलन अब फेरिन्छ

    ‘राप्रपाको राजधानी’ बाट लिङ्देनले भने- राष्ट्रिय राजनीतिको सन्तुलन अब फेरिन्छ

    झापा । चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रूपमा उदाएको दाबी गरेका छन् । राप्रपाले जितेको कचनकवल घेराबारीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर अब राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताए ।

    राप्रपाले अघिल्लो निर्वाचनमा कचनकवल गाउँपालिकामामा विजय हासिल गरेको थियो । लिङ्देन स्वयंले पनि कचनकवललाई राप्रपाको राजधानी बताउँदै आएका छन् । यसपटकको निर्वाचनमा पनि राप्रपाले सम्पूर्ण सिट जित्ने उनको दाबी छ ।

    देशलाई भ्रष्टाचारमुक्त बनाउने काम सजिलो नभएको भन्दै अध्यक्ष लिङ्देनले यसमा सबैको सामूहिक सङ्कल्प, दृढ इच्छाशक्ति आवश्यक रहेको उल्लेख गरे ।

    ‘यो सजिलो काम होइन, समाज यति भ्रष्ट भइसक्यो कि यसलाई सानोतिनो सङ्कल्पले हटाउन सकिँदैन’, उनले भने, ‘तर भ्रष्टाचारलाई निर्मूल नपारेसम्म देश उँभो लाग्दैन ।’

    स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारले नगरपालिका र गाउँपालिकामा चुनाव जिते कक्षा १२ सम्म निशुल्क शिक्षा प्रदान गर्ने र सबै बालबालिका र विद्यार्थीलाई शिक्षाको पहुँचमा जोड्ने उनको भनाइ छ ।

    आमसभामा नेतृ रेखा थापाले पनि सम्बोधन गरिन् । कचनकवलका अध्यक्ष एवं हालका उमेदवार अञ्जार आलमले पाँच वर्षमा गरेको काम हेरेर पुन: विजय गराउन अनुरोध गरे ।

  • काठमाडौं महानगर: माओवादीका दुई वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

    काठमाडौं महानगर: माओवादीका दुई वडाध्यक्ष उम्मेदवार नै एमालेमा प्रवेश

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवार बनेका रत्नकाजी महर्जन एमालेमा प्रवेश गरेका छन् । उनले एमाले प्रवेशसँगै आफ्नो समर्थन एमाले उम्मेदवारलाई दिएका छन् । यसअघि १३ नम्बर वडाका वडाध्यक्ष उम्मेदवार रामशरण डंगोलले पनि एमालेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

    माओवादी जिल्ला कमिटी सदस्यसमेत रहेका महर्जनलगायत कार्यकर्तालाई सोमबार बिहान एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौं जिल्लाका र्इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

    पार्टी प्रवेशपछि सम्वोधन गर्दै महर्जनले वाम आन्दोलनको नेतृत्व माओवादीले गर्न नसक्ने ठहर गर्दै एमाले प्रवेश गरेको बताए । आफू २०३६ सालदेखि वाम आन्दोलनमा लागेको भन्दै उनले माओवादीमा आबद्ध भएको २५ वर्षपछि कांग्रेससँग गठबन्धन गरेकोमा चित्त नबुझेर उम्मेदवारी नै छाडेर एमालेमा प्रवेश गरेको बताए ।

    महर्जनले केशव स्थापित पुरानो साथी भएको भन्दै अब थप उत्साहका साथ स्थापितको टीमलाई जिताउन हिँड्ने बताए । एमाले प्रवेश गर्नेहरुमा महर्जनसहित १६ जना वडा कमिटी सदस्य रहेको एमालेका काठमाडौं जिल्ला कमिटीका सचिव राजेश शाक्यले जानकारी दिए ।

    केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौं महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल पनि एमालेमा प्रवेश गरेका थिए ।

  • दुई महिला सांसद जिताएको धरानले मेयरमा महिलालाई जिताउला ?

    दुई महिला सांसद जिताएको धरानले मेयरमा महिलालाई जिताउला ?

    धरान । प्रदेश १ मा मुख्य तीन सहर छन् । जसमा एक महानगर र दुई उपमहानगर छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा यी तीन सहरकी एक्ली महिला मेयर उम्मेदवारमा धरानकी मञ्जु भण्डारी छिन् । भण्डारीलाई नेकपा (एमाले) ले मेयरमा उठाएको छ । उनको नेतृत्वमा एमाले धरानमा एक्लै चुनावी प्रतिस्पर्धामा छ । र, प्रतिस्पर्धासँगै मेयरमा महिलालाई धरानले पत्याउला त भन्ने चुनावी गसिप सुरु भएको छ । एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीको कारण पनि धरानमा एमालेले मेयर जित्ला कि नजित्ला भन्ने बहसको मुख्य विषय बनेको छ ।

    एमाले फुट्दा चुनाव जितेकी थिइन् कुन्ता शर्माले

    २०५६ सालमा दुई चरणमा प्रतिनिधिसभाको चुनाव भयो । पहिलो चरणमा बैशाख २० गते ३६ जिल्लामा चुनाव भयो । दोस्रो चरणमा जेठ ३ गते ३९ जिल्लामा चुनाव भयो । सुनसरीमा दोस्रो चरणमा चुनाव भयो । तत्कालीन समयमा सुनसरीका पाँच निर्वाचन क्षेत्रबाट विजयी भएका सांसदहरु थिए– कुन्ता शर्मा, विजयकुमार गच्छदार, लक्ष्मणप्रसाद मेहता, हरिप्रसाद सापकोटा र गिरिजाप्रसाद कोइराला । पाँच क्षेत्रबाट विजयी सांसदहरुमा कुन्ता शर्मा एक्ली महिला सांसद थिइन् । उनी एमालेकै पनि एक्ली सांसद थिइन् । सुनसरी क्षेत्र नम्बर १ अर्थात् धराने मतदाताहरुले शर्मालाई भव्य विजय गराएका थिए । १६ सय हाराहारी मतान्तरले शर्माले जित निकालेकी थिइन् ।

    २०४८ वैशाख २९ गते भएको प्रथम प्रतिनिधिसभा चुनावमा मनमोहन अधिकारीलाई जिताएको धरानले २०५१ कार्तिक २९ गते भएको दोस्रो प्रतिनिधिसभा चुनावमा महिलालाई नै विजयी गराएको थियो । लीला श्रेष्ठ सुब्बालाई धरानेले जिताएका थिए । उनी पछि उपसभामुख हुने प्रथम महिला नै बनिन् ।

    तर, २०५१ को चुनावभन्दा २०५६ को चुनावी अवस्था फरक थियो । २०५१ मा एमाले सग्लो थियो । एमालेका संगठनहरु सग्ला थिए । एमाले विभाजनपछि २०५६ सालमा प्रतिनिधिसभाको चुनाव भएको थियो । जुन चुनावमा धरान रहेको निर्वाचन क्षेत्रबाट जित निकालिन् शर्माले । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठ थिए । नेकपा मालेका ध्यानबहादुर राईले पनि उम्मेदवारी दिएका थिए । राप्रपाबाट कृष्णकुमार राई उम्मेदवार थिए । रोचक कुरा शर्मासँगै राप्रपाबाट चुनाव उठेका राई २०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेकै टिकट पाएर निर्वाचित भएका थिए ।

    टिकट ओलीले दिलाए, चुनाव महिलाले जिताए : कुन्ता

    २०५६ सालमा चुनाव हुँदा कुन्ता शर्माले जित्न असम्भव भएको धेरैको तर्क थियो । शर्माले चुनाव नजित्ने उनकै सहपाठीहरुले भन्दै आएका थिए । पार्टीको चुनावी रिपोर्टिङमा कुन्ता शर्मा हार्ने धेरैले खुलेर भन्दै आएका थिए । मूलतः कुन्ता शर्मा हार्ने दुई तर्क गरिएको थियो । एक, शिक्षक भएकाले धेरैसँग घुलमिल नभएको । दुई, ब्राह्मण समुदायको भएकाले आदिवासी बाहुल्य क्षेत्रमा गाह्रो हुने । यो तर्क खासगरी तत्कालीन एमालेको माधव नेपाल समूहले उचालेको शर्मा बताउँछिन् । उनले नेपाल प्रेससँग भनिन्, ‘मलाई चुनावी टिकट दिलाएको केपी ओलीले हो ।’

    केपी ओलीकै जोडबलमा आफूले टिकट पाएको बताएकी शर्माले चुनाव जिताउन भने महिलाले धेरै सहयोग गरेको सुनाइन् । २०२७ सालदेखिको शिक्षक जीवन, शिक्षक आन्दोलनको मूलप्रवाहको सक्रियता र धराने घुलमिलले उनलाई जित निकाल्न सजिलो भयो । छोरा पुस्तादेखि बाबु पुस्ताको साझा भोट पाएर जितेको उनी बताउँछिन् । शर्मा थप्छिन्, ‘मलाई चुनाव जिताउन सबैभन्दा धेरै सहयोग महिलाकै भयो ।’

    कार्यक्रमहरुमा महिलाको सहभागिता उत्साहजनक हुने र भोट पनि उनीहरुकै धेरै आएको शर्माले सुनाइन् । उनले भनिन्, ‘धरानमा महिलाले महिलालाई मत हाल्छन् ।’

    कुन्ताको इतिहास दोहोर्‍याउलिन् त मञ्जुले ?

    २०५६ मा धरानबाट कुन्ताले सांसद जित्दा मञ्जु १७ वर्षकी मात्रै थिइन् । २०३९ सालमा जन्मेकी उनको मतदाता हुने उमेरै भएको थिएन । तर शर्मा र भण्डारीको टिकट व्यवस्थापनदेखि गुटगत हुँदै समुदायगत तर्कमा धेरै कुरा मिल्छ ।

    ओलीको जोडबलले कुन्ताले सांसदको टिकट पाएझैं मञ्जुको मेयर टिकटमा ओलीकै सफ्ट कर्नरले काम गरेको एमाले नेताहरु बताउँछन् । २३ वर्ष अगाडि कुन्तालाई एमाले फुटेको र ब्राह्मण समुदायको भएकोले आदिवासी बाहुल्य क्षेत्रमा जित्न गाह्रो हुने तर्क गरिएको थियो । अहिले पनि यस्तै तर्क मञ्जुको उम्मेदवारी चर्चाबाटै गर्नेहरु छन् । तर, कुन्ता भने धरानमा महिला उम्मेदवारलाई अतिरिक्त फाइदा हुने बताउँछिन् । महिलाले महिला नेतृत्व देख्न भोट हाल्ने आफ्नै अनुभव भएको भन्दै उनले आफ्नो जितको कथा मञ्जुबाट पनि दोहोरिन सक्ने बताइन् ।

    नेपाली कांग्रेसका वर्तमान मेयर तिलक राई र अहिलेका मेयर उम्मेदवार किशोर राई दुवै राम्रो भए पनि किशोरभन्दा राम्रो माहोल तिलकको भएकाले उनी उम्मेदवार नहुँदा मञ्जुलाई सहज हुने शर्माको भनाइ छ । नेकपा एसबारेमा सोध्दा संगठन नभएकाले मालेकालको जस्तो प्रभाव नहुने बताएकी शर्माले नेकपा माओवादीको प्रभाव पहिलेभन्दा घटेको जानकारी दिइन् । धरानमा महिला मेयर बन्ने सम्भावना जिवितै रहेको उनले बताइन् ।

    कुन्ताले थपिन्, ‘अहिले एमाले धरानको नेतृत्वमा देखिएका र चिनिएका महिला नेताहरुमा प्रमुख मञ्जुजी नै भएकाले उम्मेदवार हुनुभन्दा अगाडि नै मैले शुभकामना दिएकी थिएँ ।’

  • एमालेको चुनावी प्रचार अभियानमा कांग्रेसको आक्रमण, १० कार्यकर्ता घाइते (तस्बिरहरु)

    एमालेको चुनावी प्रचार अभियानमा कांग्रेसको आक्रमण, १० कार्यकर्ता घाइते (तस्बिरहरु)

    रुपन्देही । पाल्पाको रामपुर नगरपालिका १० सिकोडाँडामा नेकपा एमालेको चुनावी प्रचार अभियान चलिरहँदा कांग्रेस कार्यकर्ता आक्रमण गरेका छन् । आक्रमणबाट चोलाकान्त कुमाल, मनोज उप्रेती , राजु श्रेष्ठ, गोविन्द श्रेष्ठ, कविता अर्याल, वैकुण्ठ खनालसहित १० जना एमाले कार्यकर्ता घाइते भएका छन् ।

    नेकपा एमालेका नगर प्रमुख उपप्रमुखसहितका उम्मेदवारले प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दैगर्दा सकोडाँडामा नेपाली काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।

    ‘बिहानैदेखि वडा नम्बर १० को विभिन्न स्थानहुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाइ, दिदी बहिनीसंग परिचय एवं मत माग्ने काम गरिरहेको बेला नेपाली कांग्रेस पार्टीका चारतारे झण्डासहितका १००–१२० को समूह हतियार खुकुरी भालासमेत लिएर फिल्मी शैलीमा आक्रमण गरे’, सांसद युवराज खनाल भने ।

    कांग्रेस कार्यकर्ताले प्रचार प्रयोग भएको गाडी पनि तोडफोड गरेको एमालेका स्थानीय नेता टंंकनाथ खनालले बताए। उनले रामपुर उद्योग वाणिज्य संघका महासचिव खिमबहादुर केसी र राजु गुरुङको नेतृत्वमा आक्रमण भएको बताए ।