Category: स्थानीय निर्वाचन–२०७९

  • गृहमन्त्री खाण दाजुभाइविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी

    गृहमन्त्री खाण दाजुभाइविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी

    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । उनीहरू दाजुभाइ हुन् ।

    तिलोत्तमा नगरपालिका-२ का दिपेश कंडेलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार उजुरी दर्ता गराएका हुन् । गृहमन्त्री खाणले निर्वाचन आचारसंहिताविपरीत रुपन्देहीको तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी भएको उजुरीमा उल्लेख छ ।

    गृहमन्त्रीको हैसियतमा सरकारी गाडी प्रयोग गरी खाण तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा कांग्रेसको घरदैलोमा सहभागी भएका थिए ।

    उम्मेदवार वा कुनै राजनीतिक दलको चुनाव प्रचारमा संघ वा प्रदेश सरकारका मन्त्री वा स्थानीय सरकारका जनप्रतिनिधि सहभागी हुन आचारसंहिताले रोक लगाएको छ । आचारसंहिताविपरीत गृहमन्त्री कांग्रेसको चुनावी कार्यक्रममा सहभागी भएका थिए ।

    त्यस्तै कांग्रेस उम्मेदवार खाणले निर्वाचन आचारसंहितविपरीत सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको छ । आचारसंहिताविपरित उम्मेदवार खाणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखिएको थियो ।

    आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा पठाएको पत्रमा प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने उल्लेख छ । त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको बर्खिलाप गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैंयाँसम्म जरिबाना गर्ने र कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लघंन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधान छ ।

    तिलोत्तमाका निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध उजुरी परेकाले स्पष्टीकरण सोध्ने तथा निर्वाचन आयोगलाई पनि जानकारी गराउने बताए ।

  • जितनारायणले भने- प्रचण्डजी ! रेनु जिताउँछौं तर कांग्रेसलाई धोका नहोस्

    जितनारायणले भने- प्रचण्डजी ! रेनु जिताउँछौं तर कांग्रेसलाई धोका नहोस्

    भरतपुर । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले भरतपुरमा गठबन्धनको जित निश्चित रहेको बताएका छन् ।

    गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले ५ दलीय गठबन्धन जिताउन कांग्रेस तयार भएपनि भोलीको दिनमा धोका नदिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरे ।

    ‘हाम्रो सभापति सोझो हुनुहुन्छ । जे बोल्यो त्यही गर्नुहुन्छ । प्रचण्डलाई मेरो अनुरोध छ तपाईंले बोली नफेर्नुहोला । गठबन्धनबाट रेनु दाहालजीसहित सबैलाई हामी जिताउँछौं तर जितिसकेपछि कांग्रेसलाई धोका नहोस्’, श्रेष्ठले भने ।

    भरतपुरमात्रै नभएर चितवनका सबै पालिकामा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै श्रेष्ठले विगतमा जस्तो धोका नदिन आग्रह गरे । उनले कांग्रेसको नेतृत्वमा बनेको संविधान एमालेले समाप्त गर्न खोजेका कारण गठबन्धन राजनीतिक आवश्यकता बनेको बताए ।

  • मतदान केन्द्र भएका विद्यालयमा तीन दिन वैकल्पिक विधिबाट पढाउन निर्देशन

    मतदान केन्द्र भएका विद्यालयमा तीन दिन वैकल्पिक विधिबाट पढाउन निर्देशन

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  स्थानीय तहको निर्वाचनका लागि मतदानस्थल भएका विद्यालयले तीन दिन वैकल्पिक विधिबाट पढाउन निर्देशन दिएको छ ।

    शिक्षा मन्त्रालयको पत्रानुसार केन्द्रले ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २८ गतेदेखि ३० गते सम्म मतदानकेन्द्र भएको विद्यालयमा वैकल्पिक विधिबाट पढाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको हो ।

    मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयहरुको उपयोग गर्नु पर्ने भएकोले उक्त मतदान स्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन निर्देशन दिएको केन्द्रलेले जनाएको छ ।

    सोही अनुसार सबै स्थानीय तहमा पत्रानुसारको व्यवस्थाको लागि आवश्यक सहजीकरण गर्न समेत आग्रह गरेको छ ।

  • रेसुङ्गा कांग्रेसले सार्वजनिक गर्‍याे सङ्कल्प पत्र, समुन्नत नगर बनाउने लक्ष्य

    रेसुङ्गा कांग्रेसले सार्वजनिक गर्‍याे सङ्कल्प पत्र, समुन्नत नगर बनाउने लक्ष्य

    गुल्मी । नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका गुल्मीले स्थानीय तह निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ ।

    जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसी, लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, जिल्ला सभापति तथा रेसुङ्गा नगरपालिका प्रमुख पदका उम्मेदवार खिलध्वज पन्थी, उपप्रमुख पदका उम्मेदवार अमृतादेवी कुँवर, प्रदेश प्रतिनिधि राजेन्द्रप्रसाद श्रेष्ठ, सङ्कल्प पत्र लेखन समितिका संयोजक दीन पन्थी लगायतले आठ पेजको सङ्कल्प पत्रको सार्वजनिक गरेका हुन् ।

    ‘सबल स्थानीय सरकार ः समुन्नत रेसुङ्गा नगर भन्ने मूख्य नारा बनाई उक्त सङ्कल्प पत्र सार्वजनिक गरिएको छ ।

    सात रङ्गहरुको संयोजनबाट सिर्जित इन्द्रेणीले प्रेम, समृद्धि, प्रेरणा, उर्जा, तत्परता, सद्भाव र समुन्नति जस्ता विषयको दिशावोध गरेझैं हामीले गर्ने सम्पूर्ण गतिविधिलाई विशेषगरी सङ्कल्प पत्रमा समाविष्ट शिक्षा तथा खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग वाणिज्य तथा रोजगार, शहरी विकास, खानेपानी, सरफाई तथा विपद् व्यवस्थापन, सडक, भौतिक पूर्वाधार तथा सामाजिक विकास लगायतलाई समेटेर रेसुङ्गाका सात रङ्ग भनेर उल्लेख गरेको रेसुङ्गा नगरपालिका प्रमुख पदका उम्मेदवार पन्थीले बताए । उनले सङ्कल्प पत्रमा लखिएका सबै कुराहरुलाई पुरा गरेर छाड्ने दाबी गरे ।

    घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण लगायतका कामलाई प्राथमिकतामा राखिएको छ ।

  • रोल्पामा माओवादी कार्यकर्ताको कुटपिटबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार घाइते

    रोल्पामा माओवादी कार्यकर्ताको कुटपिटबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार घाइते

    रुपन्देही । रोल्पाको माडी गाउँपालिका-३ तालाबाङमा माओवादी कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् ।

    डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ । उनलाई उपचारका लागि दाङ लगिएको छ । माओवादीले भने कांग्रेस कार्यकर्ताले गरेको आक्रमणको प्रतिकार गरेको बताएको छ । माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले कांग्रेसले आक्रमण गरेपछि प्रतिकार गरेको बताए ।

    बुधबार तालावाङ बजारमा आयोजित चुनावी सभा सकेर फर्कने क्रममा माओवादी कार्यकर्ताहरूले उम्मेदवार चढेको गाडी नियन्त्रणमा लिएर हमला गरेको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले बताए ।

    ‘उम्मेदवार चढेको गाडी नै नियन्त्रणमा लिएर उहाँमाथि रड प्रहार भएको छ हामीले आक्रमण गरेको भन्ने गलत प्रचार गरिएको छ,’ उनले भने ।
    स्थानीय चुनावमा माडीमा माओवादी र एकीकृत समाजवादी तथा कांग्रेस र एमालेबीच तालमेल छ ।

    प्रहरी निरीक्षक थमन जिसीले गएराति झडप भए पनि अहिले अवस्था सामान्य रहेको बताए ।

  • २५ गते बुटवलमा एमालेको चुनावी सभा, केपी ओली र विष्णु पौडेलले सम्बोधन गर्ने

    २५ गते बुटवलमा एमालेको चुनावी सभा, केपी ओली र विष्णु पौडेलले सम्बोधन गर्ने

    रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी एमालेले बैशाख २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने निधो भएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बताए ।

    रुपन्देही जिल्लास्तरीय सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुससहित सहभागी हुनेछन् । नेकपा एमालेले यसअघि आयोजना गरेका आमसभाहरुमा लाखौं जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई पनि निकै उत्सुकतापूर्वक हेरिएको छ ।

    देवीनगरस्थित खुला मैदानमा आयोजना हुने आमसभामा रुपन्देही जिल्लाका सबै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए ।

    एमालेले चुनावी सभाको तयारी सुरु गरिसकेको छ । सवै पालिकाहरुले टोलटोलबाट जनसहभागिताका लागि काम सुरु गरिसकेको बताएका छन् । चुनावी सभालाई अध्यक्ष केपी ओली,उपाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका नेताहरुले सम्वोधन गर्ने नेकपा एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।

    चुनावी सभामा बुटवलका टोलटोलबाट बाजागाजा र झांकीसहित स्थानीयलाई सहभागी बनाउने तयारी एमालेले गरेको छ ।

  • मर्यादा र आचारसंहिता मिचेको भन्दै चुनावमा नजाने भोजपुरका कर्मचारी र शिक्षकको चेतावनी

    मर्यादा र आचारसंहिता मिचेको भन्दै चुनावमा नजाने भोजपुरका कर्मचारी र शिक्षकको चेतावनी

    भोजपुर । वैशाख ३० को स्थानीय निर्वाचन प्रयोजनार्थ जनशक्ति खटाउँदा मर्यादा र आचारसंहिता ख्याल नगरेको भन्दै भोजपुरका कर्मचारी र शिक्षक आवद्ध संघ संगठनले विरोध जनाएका छन् ।

    उनीहरूले निर्णय नसच्याए निर्वाचनमा तोकिएको जिम्मेवारी वहन गर्न आफूहरू बाध्य नहुने चेतावनीसमेत दिएका छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका सचिव हरि गौतम र निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, भोजपुरका अध्यक्ष खड्गबहादुर पौड्यालले निर्वाचन आचारसंहिताविपरीत ट्रेड युनियका पदाधीकारीहरू चुनावमा खटाइएको भन्दै आपत्ति जनाएका छन् ।

    त्यस्तै मतदान अधिकृत र सहायक मतदान अधिकृतहरू खटाउँदा तहगत/श्रेणीगत मर्यादाक्रम नमिलेको भन्दै तत्काल सच्याउन माग गरिएको छ ।

  • गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर छन् : नेपाल

    गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर छन् : नेपाल

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् । सत्तापक्षीय गठबन्धनले आज चितवनमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दावी गरे।

    नेपालले भने,‘राम्रोसँग व्यवस्थापन गरेका छौँ ।’ ‘सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उनले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई आग्रह गरे। चुनावको माहोल अनुकूल बनाउने भन्दै उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताए ।

    भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले बताए । राजनीतिक मान्छेले राजनीतिकरूपमा सोच्छ भन्दै उनले आफूलाई केन्द्रविन्दुमा राख्दैन, सिङ्गो पार्टीलाई केन्द्रमा राख्छ भने ।

    ‘हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ’ अध्यक्ष नेपालले भने, ‘गठबन्धनका दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नु पर्छ ।

  • भोट माग्दै झलनाथले भने- वृद्धभत्तादेखि ‘आफ्नो गाउँ आफैं बनाऔं’ ल्याउने पार्टीको साँचो उत्तराधिकारी हामी

    भोट माग्दै झलनाथले भने- वृद्धभत्तादेखि ‘आफ्नो गाउँ आफैं बनाऔं’ ल्याउने पार्टीको साँचो उत्तराधिकारी हामी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारको पालामा वृद्धभत्तादेखि ‘आफ्नो गाउँ आफैं बनाऔंको अवधारणा सारेकाले त्यसको उत्तराधिकारी नेकपा एस नै भएको जिकिर गरेका छन् ।

    भिडिओ सन्देशमार्फत भोट माग्दै नेता खनालले भनेका सुरुङ युङ र देशलाई आत्मनिर्भरतातर्फ पहल गर्ने पार्टी पनि नेकपा एस नै भएको दाबी गरे ।

    ‘कम्युनिष्ट पार्टीको सरकार बन्यो भने ६० वर्षभन्दा माथिकालाई गोली हान्छ भनेर विरोधीले प्रचार गर्ने गर्थे । तर, मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा वृद्धभत्ताको व्यवस्था गर्‍यौं, ज्येष्ठ नागरिकको सम्मान र हक अधिकारलाई स्थापित गर्‍यौं, आफ्नो गाउँ आफैं बनाऔंको अवधारणा अगाडि ल्यायौं ९ सलाई अघि सार्‍यौं । त्यो अगाडि सार्ने पार्टीको साँचो उत्तराधिकारी नेकपा एस नै हो ‘, भोट माग्दै खनालले भनेका छन् ।

  • लारुम्बासँगको ओली आत्मीयता र दमकको चुनावी कनेक्सन

    लारुम्बासँगको ओली आत्मीयता र दमकको चुनावी कनेक्सन

    दमक । बुधबार दिनभर पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रदेश १ मा समय बिताएर काठमाडौं फर्किए । उनले व्यस्त समयका बाबजुत पनि बुधबार धेरै समय दिएको ठाउँ थियो, इलामको माङ्सेबुङ गाँउपालिका– ५ को लारुम्बा ।

    महागुरु फाल्गुनन्दको विरासत बोकेको किराँत धर्मको मुख्यालय लारुम्बामा ओलीले करिब एक घण्टा बिताए । जहाँ उनले किराँत धर्मगुरु आत्मनन्द लिङ्देनसँग भलाकुसारी गरे, प्रसाद ग्रहण गरे, आशीर्वाद लिए । ओलीका अतिरिक्त सुवासचन्द्र नेम्वाङसँगै ठूलो संख्यामा आएका एमाले नेताहरुले आत्मनन्दसँग भेट गरे । आत्मनन्दसँग भेट गरिरहने हेभीवेट नेतामा पर्छन्, उनीहरु ।

    ओलीको लारुम्बा यात्रा निस्तो छैन । पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले फाल्गुनन्दको जन्मदिन अर्थात् कात्तिक २५ मा किराँत धर्मावलम्बीलाई बिदा दिने व्यवस्था गरे । त्यसले लारुम्बामा ओलीप्रति ‘सफ्ट कर्नर’ देखिन्छ । यसले ओलीलाई मात्रै होइन, उनीनिकटका नेता नेम्वाङलाई पनि फाइदै छ । किनकि, लारुम्बा इलामको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ, जुन नेम्वाङकै निर्वाचन क्षेत्र हो । यहाँ फाल्गुनन्दको लिगेसी बोकेका किराँत धर्मगुरु आत्मनन्दको विशाल प्रभाव छ । त्यहीं प्रभावका कारण उक्त क्षेत्रको मत नेम्वाङले पाइरहेका छन् ।

    लारुम्बाको दमक कनेक्सन

    दमक झापाको व्यापारिक केन्द्र मात्रै नभएर ओलीको गृहनगर पनि हो । दमकमा इलामको लारुम्बा क्षेत्रको प्रत्यक्ष प्रभाव छ । दमक क्षेत्रमा लारुम्बालाई तीर्थस्थल मान्नेहरुको विशाल पंक्ति छ ।

    बसाइसराइँ गरी लारुम्बाबाट दमक झरेर आउनेहरु पनि धेरै छन् । त्यसैले दमक र लारुम्बाको राजनीतिक साइनो पनि छ । एक हिसाबमा चुनावी राजनीति पनि जोडिएको छ ।

    ओलीले बुधबारको भेटमा चुनावी प्रसंग निकालेको बताउँछन्, आत्मनन्द लिङ्देनसँग आठ वर्ष सँगै रहेका उदयविक्रम तुम्बापो । तुम्बापोका अनुसार चुनावबारेमा सामान्य कुराकानी भए पनि कार्यक्रम मूलतः धार्मिक मुद्दामै केन्द्रित भएको थियो ।

    ओलीले फाल्गुनन्दको जन्मदिनलाई किराँत धर्मावलम्बीलाई बिदा दिन सुरु गरे जस्तै ओलीको गृहनगर दमकले भने सार्वजनिक बिदा नै दिने गरेको छ । २०७५ सालमा दमक नगरसभाबाट पारित बिदा दिन थालिएको हो । दमक नगरका नेकपा (एमाले)बाट निर्वाचित मेयर रोमनाथ ओलीले यसको अगुवाइ गरेका थिए ।

    रोमनाथ ओलीले सार्वजनिक बिदाबारे भने, ‘किराँत धर्ममा फाल्गुनन्दको उचाइको अर्को व्याक्तित्व नभएकोले सार्वजनिक बिदा दिन थालिएको हो ।’

    यसले ओली र एमालेप्रति लारुम्बाका भक्तजन प्रभावित छन् ।

    को हुन् फाल्गुनन्द ?

    फाल्गुनन्द नेपाली राष्ट्रिय विभूति हुन् । २०६६ साल मंसिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो । १९४२ साल कात्तिक २५ गते इलामको माङ्सेबुङमा जन्मिएका फाल्गुनन्दको मृत्यु ६६ वर्षको उमेरमा २००५ साल चैत २२ गते पाँचथरको इम्बुङमा भएको थियो ।

    तत्कालीन राणा शासनकालमा फाल्गुनन्दले आफ्नो समाज सुधारका धेरै प्रयास गरेका थिए । पहिलो विश्वयुद्धमा बेलायती गोर्खा सिपाहीको रुपमा समेत काम गरेका थिए, फाल्गुनन्दले । उनले हालको म्यानमार अर्थात् पहिलेको बर्मामा बेलायतका तर्फबाट युद्धमा सहभागिता जनाएका थिए । युद्धबाट फर्किएपछि उनले समाज सुधारका क्षेत्रमा सक्रियता जनाउन थाले । उनले सिरिजङ्गा लिपिको प्रयोगलाई व्यापक प्रोत्साहन गरेका थिए । लिपि प्रयोग नगर्न उनलाई सत्ताबाट व्यापक धरपकड भयो । तर, उनले लय गुमाएनन् ।

    लिम्बुवान क्षेत्रका लिम्बु अगुवाहरुलाई भेला गरेर समाज सुधार गर्न उनले गरेको अभियान निकै प्रभावकारी भयो । जसले निकै प्रशंसा पाएको थियो । २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनको जन्मजयन्तीको अवसरमा एक सन्देश दिँदै लेखेका थिए, ‘फाल्गुनन्दले १९८८ साल वैशाख २४ गते पाँचथरको लाब्रेकुटीबाट जारी गरेको समाज सुधारको ७ बुँदे घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाई लाग्छ त्यो घोषणापत्रले हाम्रो समाज सुधारका लागि ठूलो योगदान गर्यो ।’

    नेपाल सरकारले विभूति पदवी दिए पनि कतिपय आलोचकले भने फाल्गुनन्दलाई हिन्दू धर्मबाट प्रभावित भएको तर्क गर्छन् । २०७८ साल माघमा बजारमा आएको पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’का लेखकहरु अर्जुनबाबु माबुहाङ र अमित थेवे मिहाङले फाल्गुनन्द जोसमनि पन्थका अनुयायी भएको तर्क गरेका छन् ।

    पुस्तकको पृष्ठ ८५ मा फाल्गुनन्द हिन्दू धर्मको जोसमनी पन्थका अभियन्ता स्वामी शशीधरका चेला मधुनन्दबाट दीक्षित भएको लेखेर फाल्गुनन्दको हिन्दू कनेक्सनलाई जोडिएको छ । पृष्ठ १०८ मा अनुवाद गरिएको फाल्गुनन्दको एक लेखोटको सुरुवात ‘ओम’बाट भएको देखाइएको छ ।

    पक्ष र विपक्षका आ–आफ्ना मत भए पनि फाल्गुनन्द आफ्नो समयका ठूला सामाजिक अभियन्ता र समाज सुधारक थिए भन्नेमा विमति छैन ।

  • गठबन्धनले भरतपुरमा गर्ने चुनावी सभामा शेखर-गगन नजाने !

    गठबन्धनले भरतपुरमा गर्ने चुनावी सभामा शेखर-गगन नजाने !

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा भरतपुरमा सत्ता गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सहभागी नहुने भएका छन् ।

    गठबन्धनको स्थानीय चुनावी संयन्त्रले कोइराला र थापाको समेत तस्बिर राखेर प्रचार सामग्री बनाए पनि पूर्वनिर्धारित कार्यक्रमहरूमा व्यस्त रहेका कारण कोइराला र थापा भरतपुर नजाने भएका हुन् । कोइराला र थापा भरतपुर जाने निधो नभए पनि गठबन्धनको स्थानीय संयन्त्रले दुवै नेता आउने भनी प्रचार गरेको थियो ।

    कांग्रेसले निर्धारण गरेको केन्द्रीय चुनावी सभाको तालिकामा पनि भरतपुरको सभामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री डिना उपाध्याय सहभागि हुने उल्लेख छ ।

    आजै चितवन कांग्रेसका सभापति राजेश्वर खनालले कोइरालालाई फोन गरी भरतपुर आउन अनुरोध गरेका थिए । कोइरालाले पूर्वनिर्धारित कार्यक्रमहरूमै व्यस्त रहेकोले अपर्झट भरतपुर आउन असमर्थ रहेको भन्दै सभा सफलताको कामना गरेका छन् । चुनावी अभियानका लागि कोइराला विराटनगरमा रहेका छन् ।

    महामन्त्री थापा भने आफ्नै निर्वाचन क्षेत्रमा रहेको बूढानीलकण्ठ नगरपालिकाको घरदैलोमा व्यस्त छन् ।

  • डुबानमा परेको भरतपुरको गठबन्धन चुनावी सभास्थल यसरी पारियो पुन: तयार

    डुबानमा परेको भरतपुरको गठबन्धन चुनावी सभास्थल यसरी पारियो पुन: तयार

    काठमाडौं । चितवनको भरतपुर बसपार्कमा डुबानमा परेको सत्तागठबन्धनले संयुक्त चुनावी सभास्थल पुन: तयार पारिएको छ ।

    भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्रमा पसेको पानी पम्पले तानेर सभास्थल तयार पारिएको हो । डोजरले सम्याएर ठाउँ तयार पारिएको छ ।

    वर्षात्‌ले सभाका तयार पारिएको मञ्च र टेन्टहरु जलमग्न भएको थियो भने झण्डा, प्रचार सामग्री हावाले उडाएको थियो ।

    डुबानका कारण आमसभा निर्धारित ११ बजेको समयमा सुरू हुन सकेन । सभालाई सम्बोधन गर्न भरतपुर पुगेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सिराइचुली होटलमा कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।

  • वाईसीएल सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रानासहितको टोली एमालेमा प्रवेश

    वाईसीएल सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रानासहितको टोली एमालेमा प्रवेश

    काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक इन्चार्ज सुरेश राना ‘योगदान’ नेकपा एमाले मा प्रवेश गरेका छन् ।

    बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले रानासहितका वाईसिएलका कार्यकर्तालाई आफ्नै निवास बालकोटमा पार्टी प्रवेश गराएका हुन् । चौतारा साँगाचोगगढी नगरपालिका-१३ मा वडा अध्यक्ष छनोटमा एकलौटी गरेको भन्दै युवाहरू असन्तुष्ट थिए ।

    उनीहरूले उम्मेदवारी मनोनयनका क्रममा विरोध प्रदर्शन समेत गरेका थिए । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र र समाजवादीबीच गठबन्धन भएको छ भने एमाले र काग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा छ ।

    गठबन्धनबाट माओवादी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा मेयरका उमेदवार छन, त्यस्तै एमाले बाट इन्द्रबहादुर नेपाल र काग्रेस बाट केशवराज गिरी मेयरका उमेदवार छन् ।

  • रत्ननगरमा नेकपा एसको वडा कमिटी नै एमालेमा समाहित

    रत्ननगरमा नेकपा एसको वडा कमिटी नै एमालेमा समाहित

    रत्ननगर । नेकपा एकीकृत समाजवादी रत्ननगर- ३ को वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।

    अध्यक्ष अशोक भुसालको नेतृत्वमा एमाले प्रवेश गरेका नेता-कार्यकर्तालई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्वागत गरे छन् । एमालेमै फर्किनेमा सुबास भुसाल, दिपेश श्रेष्ठ, संजय चौधरी, नवराज अधिकारी, लक्ष्मण रानाभाट, ईश्वर लामा, लालबहादुर तामाङसहित छन् ।

    कांग्रेसका नवराज श्रेष्ठ पनि एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिए ।

  • रौतहटका सिडिओ नै गठबन्धनसँग मिलेको एमालेको आरोप, तत्काल निलम्बन गर्न माग

    रौतहटका सिडिओ नै गठबन्धनसँग मिलेको एमालेको आरोप, तत्काल निलम्बन गर्न माग

    काठमाडौं । मतदान केन्द्रदेखि मतगणनास्थल निर्धारणमा समेत गठबन्धनसँग साँठगाँठ गरेको आरोप लगाउँदै रौतहट एमालेले तत्काल प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई निलम्बन गर्न सरकारसँग माग गरेको छ ।

    एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहले एक विज्ञप्ति जारी गर्दै सिडिओ निलम्बनको माग गरेका हुन् । गठबन्धनका उम्मेदवारसँग मिलेर चुनावी वातावरण भयवीत बनाएको आरोप लगाउँदै विज्ञप्तिमार्फत अध्यक्ष साहले ‘सिडिओ कांग्रेसको कठपुतली’ भएको भन्दै खेद प्रकट गरेका छन् ।

    सिडिओसँगै केही कर्मचारीले गठबन्धनसँग साँठगाँठ गरी वातावरण त्रासद बनाएको भन्दै साहले सरकारसँगै निर्वाचन आयोगसमक्ष निलम्बनको माग गरेका हुन् ।

    चुनावी परिणाम गठबन्धनको पक्षमा पार्न सिडिओले अनेक हर्कत गरेको रौतहट एमालेको ठहर छ ।

  • एमाले र गठबन्धनको प्रतिस्पर्धामा राप्रपाका दिपक सिंहको आक्रामक इन्ट्री

    एमाले र गठबन्धनको प्रतिस्पर्धामा राप्रपाका दिपक सिंहको आक्रामक इन्ट्री

    हेटौंडा । वागमती प्रदेशको एकमात्र उपमहानगरपालिका र नेकपा एसले गठबन्धनमा पाएको एकमात्र मेयरको चुनावी रेसमा एकाएक राप्रपाका दिपकबहादुर सिंहको आक्रामक इन्ट्रीसँगै यहाँको चुनावी माहोलमा उथलपुथलका संकेत देखिएका छन् ।

    स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार मनोनयनको अन्तिम दिन वैशाख १२ गतेसम्म हेटौंडामा एमाले र गठवन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको थियो । तर एकाएक हेटौंडाका लिजेन्ड भन्दा हुने राप्रपाका पुराना नेता दिपकबहादुर सिंहले मेयरमा उम्मेदवारी दिएसँगै त्यो आँकलन फेल खाने अवस्थामा पुगेको छ ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापाको साथ छोडेर सिंहले योपटक राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट हेटौँडाको मेयरमा उम्मेद्वार भएसँगै यहाँ प्रतिस्पर्धा एमाले र राप्रपाको हुने विश्लेषण गरिँदैछ ।

    नेकपा एमालेले योपटक प्रभावशाली नेता तथा संविधानसभा सदस्य अनन्तप्रसाद पौडेललाई मेयरको उम्मेदवार बनाएको छ । एमालेका लाल किल्लाको रुपमा रहेको हेटौंडामा अबको भिडन्त २०७० सालमा भएको दोश्रो संविधानसभाको निर्वाचनको झल्को दिनेगरी अघि बढेको छ ।

    दोस्रो संविधानसभामा हेटौंडा नगरपालिका रहेको तत्कालीन मकवानपुरको क्षेत्र नंबर ३ मा अहिले मेयरको प्रतिस्पर्धामा रहेका पौडेल र सिंहको चर्को प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा पौडेल (१४२५६) मतसहित विजयी बन्दा सिंहले (११४६१) मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए ।

    २०७० सालको निर्वाचन ताका ११ वडाको हेटौंडा नगरपालिका हाल १९ वडा रहेको उपमहानगरपालिकामा रुपान्तरण भएको छ । यहाँ मतदाताको पनि उल्लेख्य वृद्धि भएको छ । निर्वाचन आयोगले दिएको तथ्यांकलाई हेर्दा अहिले हेटौँडा उपमहानगरपालिकामा १ लाख ४ हजार ५ सय १३ जना रहेका छन् ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा आएको मतपरिणमलाई विश्लेषण गर्ने हो भने हेटौँडाको पहिलो शक्ति एमाले, देश्रोमा कांग्रेस देखिएको छ । माओवादी र राप्रपा करिब बराबरीको अवस्थामा देखिन्छ ।

    हेटौंडामा एमालेका लागि गठबन्धको सामना गर्नुपरेको यो पहिलोपटक होइन । २०७४ मा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । त्यसबेला एमालेले प्रमुख–उपप्रमुखसहित १२ वटा वडामा विजयी हुँदा कांग्रेसले ५ वटा वडा र माओवादी केन्द्रले २ वटा वडामा जित हासिल गरेको थियो ।

    त्यसबेला कमल थापा नेतृत्वको राप्रपा नेपाल भने ६५ सय मत ल्याएर तेस्रो स्थानमा खुम्चिएको थियो ।

    गठवन्धनमा बेमेल

    योपटक एमालेविरुद्ध गठबन्धन गरेका पाँच दल छरपस्ट अवस्थामा देखिन्छन् । कांग्रेस र माओवादीले प्रमुख पदको दाबी गरिरहेको सन्र्दभमा केन्द्रीय भागबण्डाले नेकपा (एकीकृत समाजवादी)लाई प्रमुख पद दिने निर्णयसँगै यहाँका कांग्रेस–माओवादीमा असन्तुष्टि प्रकट भइरहेका छन् ।

    केन्द्रले आम कार्यकर्ताको भावना नबुझेको, बढीमा ३ हजार मतदाता रहेको अनुमान गरिएको समाजवादीलाई मेयर दिएको भन्दै कांग्रेसमा चरम असन्तुष्टि छ । कांग्रेसको बहुमत जिल्ला पदाधिकारी, १९ वटै वडा सभापतिसहित नगर समितिले पत्रकार सम्मेलन नै गरेर आफूहरुले मेयर नपाए गठबन्धन तोड्ने चेतावनी दिएका थिए ।

    केन्द्रले तलको कुरा नसुनेको भन्दै कार्यकर्तामा निरासा छाएको अवस्थामा सिंहको इन्ट्रीले कांग्रेसका कार्यकर्ताको भोट कम्युनिष्ट र राप्रपालाई जाने आँकलन भइरहेको छ । त्यसो भएको अवस्थामा एमालेका पौडेल र राप्रपाका सिंहबीच तीव्र प्रतिस्पर्धा हुनेछ ।

    गठबन्धनमै आबद्ध नेकपा माओवादी केन्द्र पनि केन्द्रीय गठबन्धनको निर्णयमा सन्तुष्ट छैन् । कम्तिमा उपमेयरसहित बहुमत वडा दाबी गरेको माओवादीले प्रमुख–उपप्रमुख दुवै पद प्राप्त गर्न सफल भएन । माओवादीमा अर्को पीडा पनि छ– वडा तहमा गठबन्धन गर्दा आफूले नेपाली कांग्रेसलाई १० वटा वडाध्यक्षमा समर्थन गर्दा कांग्रेसले जम्मा एउटा वडामा मात्र माओवादीलाई छाडेको छ ।

    यसअघि माओवादीले जितेको वडा पनि कांग्रेसले नछाड्दा गठबन्धन नाम मात्रको रहेको माओवादी कार्यकर्ताले खुल्ला रुपमै बताइरहेका छन् । माओवादी हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष तिर्थबहादुर थापा कांग्रेस नेता कार्यकर्ता ‘चेनअफ कमाण्ड’मा नबस्दा समस्या भएको बताउँछन् ।

    मेयर–उपमेयर दुवै पदमा आफ्नो उम्मेदवार नहुँदा माओवादी मतदान गर्न स्वतन्त्र रहेको नेताहरु बताउँछन् । यसअघि कांग्रेससँगको गठबन्धनबाट उपमेयरमा हारेका बलराम बलसहितको एउटा समूह माओवादी छाडेर एमालेमा गइसकेको छ ।

    पौडेल र सिंह दुवै ढुक्क, गठबन्धनलाई दबाब

    गठबन्धनमा देखिएको बेमेल, आरोप–प्रत्यारोप तथा शंका–उपशंकाले योपटक हेटौँडा उपमहानगपालिकामा एमाले र राप्रपाबीच नै प्रतिस्पर्धा हुने आँकलन गर्न थालिएको छ । एमाले एक्लैले गठबन्धनलाई हराएको इतिहास छ र सोही इतिहास दोहरिनेमा एमाले ढुक्क छ ।

    एमालेबाट मेयर पदका उम्मेदवार पौडेल भन्छन्– टालाटुली झुम्रा बटुलेर बनाइएको गठबन्धन योपटक पत्तासाफ हुनेवाला छ, हेटौँडामा सहजै ढंगबाट एमालेले विजयको झण्डा गाड्नेमा हामी विश्वस्त छौं । सकिएका पन्चहरु फेरि उठ्न सक्दैनन् ।

    तर राप्रपाबाट मेयरका उम्मे्वार बनेका सिंह पनि आफू जित्नेमा विश्वस्त छन् । दुईपटक संसदीय निर्वाचन तथा एकपटक मेयरमा पराजित भएका सिंहले योपटक आफूलाई सबै पार्टीका मान्छेको सहयोग हुने बताउँछन् । उनको यो भनाइबाट पनि योपटकको निर्वाचनमा गठबन्धनको असन्तुष्ट मत सिंहले पाउने संभावना देखिन्छ ।

    एमालेको १९ वटै वडामा रहेको मजवुत संगठन, सर्वसम्मत मेयर–उपमेयर उम्मेदवार छनोट, गठबन्धनलाई समेत पराजित गरेको इतिहास र पछिल्लो समय युवापुस्तामा एमालेप्रति बढेको क्रेजले एमाले उत्साहित छ । त्यसमाथि पनि नेकपा एस जिल्ला अध्यक्ष श्रीधर पोखरेलसहित तीन दर्जन बढी प्रभावशाली नेता निर्वाचनको मुखैमा एमाले प्रवेश गर्दा गठबन्धनकी उम्मेदवार मिना लामालाई थप संकट परेको छ ।

    थोरै मत मात्र रहेको आरोप खेप्दै आएको समाजवादीले मतदातालाई प्रभाव पार्नसक्ने नेतालाई चुनावको मुखैमा गुमाउनु परेको छ । राप्रपा र एमाले जति आक्रामक र उत्साही छन्, गठबन्धनमा त्यो देखिन्नँ । अझ कतिपयले त मेयरमा राप्रपा र उपमेयरमा कांग्रेस जिताउन इन्द्र बानियाँ र दिपक सिंहबीच भित्री गठबन्धन हुने अनुमान पनि लगाइरहेका छन् ।

    उपमेयरमा रोचक प्रतिस्पर्धा

    उपमेयरमा भने एमाले र गठबन्धनकै प्रतिस्पर्धा हुने देखिएको छ । उपमेयरमा एमालेबाट अखिल नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष समेत रहेकी सुमित्रा काफ्ले र हेटौँडा–५ का वडाध्यक्ष सम्हालीसकेका राजेश बानीयाँबीच प्रतिस्पर्धा हुने देखिएको छ । बानियाँ गठवन्धनबाट उम्मेदवार बनेका हुन् । उपमेयरमा भने राप्रपा कमजोर हुने संभावना देखिएको छ ।

    कांग्रेसको मत दोस्रो रहेको हेटौंडामा उपमेयरमा आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने हुँदा एमालेकी काफ्लेसँग बानियाँको भिडन्त करिब पक्कापक्की नै हो । तर उपमेयरको सन्र्दभमा पनि कांग्रेसमा विवाद भने नभएको हैन ।

    कांग्रेसले उपमेयरको लागि सिफारिस गरेका तीनै जना महिलालाई टिकट नदिएर नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँले आफ्नो भाइलाई टिकट दिएको आरोप छ ।

    यसअघिको स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन हुँदा आफूहरुले कांग्रेस उम्मेदवारलाई इमान्दारपूर्वक मत हालेको तर कांग्रेसले एमालेलाई सघाएको आरोप माओवादीको थियो । निर्वाचनको परिणामले पनि त्यहीं देखाएको थियो ।

    एमालेसँग जम्मा ६१५ मतान्तरले मेयरमा कांग्रेस पराजित भएको अवस्थामा हाल गठबन्धनबाटै मेयरकी उम्मेदवार मिनाकुमारी लामा भने तत्कालीन अवस्थामा माओवादीको उपमेयरका उम्मेदवारभन्दा ६ हजार ४ सय २६ मत धेरै ल्याएर विजयी भएकी थिइन् ।

  • जगन्नाथको टीमसँग रामचन्द्रको बैठक, ‘चुनाव प्रचारमा जानुछ’ भन्दै देउवा नभेटी निस्किए जगन्नाथ

    जगन्नाथको टीमसँग रामचन्द्रको बैठक, ‘चुनाव प्रचारमा जानुछ’ भन्दै देउवा नभेटी निस्किए जगन्नाथ

    काठमाडौं । चितवनमा आज हुने गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका कांग्रेस वरिष्ठ नेता एवं गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसित भेट गरेका छन् । भरतपुरको होटल सिराँगचुलीमा वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेट गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

    भेटमा वरिष्ठ नेताल पौडेलले संविधान सिध्याउने षड्यन्त्र भइरहेको र स्थानीय तहसम्मै षड्यन्त्रको डिजाइन भइरहेकोले गठबन्धनलाई सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए ।

    जवाफमा जगन्नाथका प्रस्तावक एवम् पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले कांग्रेस जोगाउन आफूहरूले स्वतन्त्र प्रतिस्पर्धा गरेकाले उम्मेदवारी फिर्ता नहुने अडान दोहोर्याए । भेटमा सापकोटाले पौडेललाई भने– रामचन्द्रजी तपाईंले बारम्बार फोन गर्नुभएकोले सम्मान स्वरुप भेट्न आएका हौं। गठबन्धनका विषयमा हाम्रो विमति छैन । भोलि प्रचण्डलाई सहयोग पनि गरौंला । यसपटक दोहोर्याएर रेणुलाई सहयोग गर्न भने सक्दैनौं।

    जगन्नाथले कांग्रेस बचाउने अभियानमा आफू एक्लै नरहेको र धेरैको साथ पाएकोले पछाडि फर्कने अवस्था नरहेको बताए ।

    प्रधानमन्त्री एवम् शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूले छलफल गर्ने भनिए पनि उनीहरू पौडेललाई मात्रै भेटेर फर्किएका छन् ।

  • वडाध्यक्ष उम्मेदवारले पसलको सामान लुटेको भन्दै धादिङ प्रहरीमा उजुरी

    वडाध्यक्ष उम्मेदवारले पसलको सामान लुटेको भन्दै धादिङ प्रहरीमा उजुरी

    धादिङ । बिक्रीका लागि सदरमुकामबाट खरिद गरी गाउँ लैजाँदै गरेको सामान नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवारले लुटेको पसल व्यवसायीले आरोप लगाएका छन् । वडा अध्यक्षबाटै पसलको सामान लुटिएको भन्दै धादिङको गंगाजमुना गाउँपालिका तावेलका एक व्यवसायी न्याय माग्न सदमुकाम धादिङबेसी आइपुगेका छन् ।

    धादिङको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर २ तावेलमामा रहेको रहेला रोजी एण्ड रोजन इन्टरप्राईजेज नामको होलसेल पसलमा बिक्रीका लागि लैजाँदै गरिएको करिब चार लाख मूल्य बराबरको सामान सोमबार गाउँ नपुग्दै लुटिएको पसलका सञ्चालक रेशम तामाङले बताए ।

    सदरमुकाम धादिङबेसीबाट खरिद गरी दुईवटा ट्रकमा राखेर गाउँ लैजाँदै गरेको दाल, चिनी, प्लाई, पेट्रोल, डीजेल, चामल, खानेपानी पाईपसमेत गरी चार लाख मूल्य बराबरको सामान लुटिएको तामाङले बताए ।

    सामान लुटपाटमा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बलबहादुर तामाङ संलग्न रहेको भन्दै दोषीमाथि कारबाही गर्न र लुटिएको सामान फिर्ता गरिदिन पसल सञ्चालक तामाङले बुधबार जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएका छन् ।

    सामान बोकेर जाँदै गरेको ट्रकलाई चिम्चोक गाउँको वनबाट अघि बढ्न नदिइ गुम्दीतर्फ फर्काएर वडाअध्यक्ष उम्मेदवार बलबहादुरको समूहले लुटेको जाहेरीमा उल्लेख छ ।
    जिल्ला प्रहरी कार्यालयले जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रशासनलाई पठाएको जनाएको छ । प्रशासन कार्यालयले पनि इलाका प्रहरी कार्यालय फुलखर्क गंगाजमुनालाई बुधबार नै पत्र पठाइ घटनाको यथार्थ बुझी हराएको सामान खोजी गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

    नेपाली कांग्रेसको टोलीले भने पसलको सामान संगै चुनावको मुखमा गाउँमा बाँड्न एमालेका उम्मेदवारले पाइप ल्याएको सूचनाका आधारमा ४८ रोल पाइप नियन्त्रणमा लिएको बताएका छन् ।

    नेपाली कांग्रेसका उम्मेदवारहरुले लगाएको आरोप झुटो भएको एमाले धादिङका इन्चार्ज एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का सांसद खेम प्रसाद लोहनी बताए । उनले तत्काल सामान फिर्ता गरिदिन र दोषीलाई कारबाही गर्न पनि आग्रह गरेका छन् ।

  • डुब्यो चितवनमा गठबन्धनले चुनावीसभा गर्न लागेको ठाउँ

    डुब्यो चितवनमा गठबन्धनले चुनावीसभा गर्न लागेको ठाउँ

    काठमाडौं । चितवनको भरतपुर बसपार्कमा सत्तागठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको गाउँ डुबानमा परेको छ । रातभरजसो परेको पानीले चुनावी सभास्थल भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो ।

    सभाका तयार पारिएको मञ्च र टेन्टहरु भएको ठाउँ पनि जलमग्न भएको छ भने झण्डा पनि हावाले उडाएर यत्रतत्र पुर्याएको छ ।

    आजको चुनावीसभालाई कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । अब सभा सोही स्थानमा गर्ने कि अन्यत्र गर्ने भन्नेबारे छलफल भइरहेको चितवन कांग्रेसले जनाएको छ ।

    सभापति देउवा भरतपुरका बागी उम्मेदवार जगन्नाथ पौडेललाई फकाउन हिजै भरतपुर गएका थिए ।

  • सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

    सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले एक विज्ञप्तीमार्फत जानकारी गराएको हो ।

    मुख्यमन्त्री भट्टले कैलालीको कैलारी गाउँपालिकाका अग्निपीडितलाई तुरुन्तै घर बनाइदिने र अन्य सुविधासमेत दिने न्दै आश्वासन दिएको र उक्त आश्वासन निर्वाचनमा मत प्रभाव पार्ने गरी अभिव्यक्त भएकाले स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव सुर्यप्रसाद अर्यालले जानकारी दिए ।

    उनका अनुसार निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई पनि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष पोखरेलले टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन आयोगप्रति अनास्था जगाउने अभिव्यक्ति दिएको र व्यक्ति विशेषलाई भोट मागेको पाइएकोले स्पष्टिकरण सोधिएको सहायक प्रवक्ता अर्यालले बताए ।

  • प्युठानमा गठबन्धन दल र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका आठ जना कार्यकर्ता घाइते

    प्युठानमा गठबन्धन दल र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका आठ जना कार्यकर्ता घाइते

    रूपन्देही । प्युठानकाे सरुमारानी गाउँपालिका वडा नं. ६ को बुढिचौरमा गठबन्धन दल र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका आठ जना कार्यकर्ता घाइते भएका छन् ।

    साे घटनामा नेकपा एमालेका मन बहादुर पुन द्रोण बहादुर विक, चिर बहादुर कामी, उम बहादुर विक घाइते भएका हुन् । मनबहादुर पुनको टाउकोमा चोट लागेको र ७ वटा टाँका लगाइएको एमालेको वडा अध्यक्षका उम्मेदवार तीलबहादुर बुढाले बताए ।

    गठबन्धनका हिरा बहादुर पुन, तिलबहादुर कामी, तिल बहादुर बाँठा, लालसिंह रोका गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत प्युठान अस्पताल बिजुवारमा लगिएको छ।

    बुधबार बुढीचौरमा गठबन्धनले मञ्च कार्यक्रम र नेकपा एमालेले घरदैलो कार्यक्रम गरेका थिए । झडप हुनुमा दुवै पक्षले एकअर्कोलाई आरोप लगाएका छन् ।

    बाहिरबाट मोटरसाइकलमा आएका गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको वडाअध्यक्षका उम्मेदवार बुढाले बताए ।

    घटनास्थलमा सुरक्षाकर्मी पुगेपछि अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ ।                                 

  • एकीकृत समाजवादीका मेयर उम्मेदवारले गरे एमालेका उम्मेदवारलाई समर्थन

    एकीकृत समाजवादीका मेयर उम्मेदवारले गरे एमालेका उम्मेदवारलाई समर्थन

    जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार राजु गुप्ताले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गरेका छन् ।

    सबैला नगरपालिकामा एमालेका तर्फबाट राज किशोर यादव उम्मेदवार छन् ।

    आफ्नो पक्षमा माहोल नदेखेपछि एकीकृत समाजवादीका मेयर उम्मेदवार गुप्ताले एमाले उम्मेदवार यादवलाई समर्थन गरेका हुन् ।

    एमाले उम्मेदवार यादवलाई समर्थन गर्ने वातावरण एमाले नेता एवं मधेस प्रदेशका पूर्व सांसद रामचन्द्र मण्डलले बनाएको बुझिएको छ । उनकै आग्रहमा गुप्ताले एमालेका यादवलाई समर्थन गरेका छन् ।

    मण्डल ०७४ को निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित थिए । संसदीय दलका नेता रहेका बेला उनी राज्यमन्त्री सरहको सुविधा पाउँदै आएका थिए । तर उनी माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि उनको सांसद पद समेत गुमेको थियो ।

    उम्मेदवार यादव नेकपा एमालेका जिल्ला अध्यक्ष समेत छन् ।

    उनलाई मेयरमा समर्थन गरेका गुप्ताले आफ्नो पुरानो घर एमालेमा फर्केको प्रतिक्रिया दिएका छन् ।

  • राप्रपाको लिङ्देन एक्सप्रेस- गठबन्धन र एमालेको सवारीलाई ओभरटेक गर्दै

    राप्रपाको लिङ्देन एक्सप्रेस- गठबन्धन र एमालेको सवारीलाई ओभरटेक गर्दै

    काठमाडौं । स्थानीय तह निर्वाचन पाँच दलीय गठबन्धन भर्सेस एमालेको रूपमा मात्र प्रचार भइरहेको छ । काठमाडौं लगायतका केही महानगरमा बागी र स्वतन्त्र उम्मेदवारको चर्चा भइरहँदा २०७४ का तीनै तहका चुनावमा फ्लप खाएको राप्रपालाई धेरैले बेवास्ता गरिरहेको छन् । तर राजेन्द्र लिङ्देन गएको ठाउँमा देखिएको भीड भोटमा परिणत हुँदै गर्दा यस पटक धेरैका हिसाबकिताब बिग्रिने सम्भावना देखिँदै छ ।

    सहरी क्षेत्रका फ्रस्टेटेड मत जसरी अघिल्लो चुनावमा विवेकशील र साझाका उम्मेदवारतिर गएको थियो त्यसैगरी यस पटक त्यस्ता मत लिङ्देनले लपेट्दै छन् । अघिल्लो चुनावमा ठूला सहरमा विवेकशील र साझाले ल्याएको मतले ठूला दलको हिसाबकिताब तलमाथि पारेको थियो तर गाउँमा उसको प्रभाव थिएन ।

    तर यस पटक परिदृश्य फरक छ । राप्रपाले सहरी जनमतमा जसरी प्रभाव बढाउँदै छ,गाउँमा उसले पञ्चायतकालीन पुस्ता होइन नयाँ पुस्ताबाट ठूला दलमाथि हस्तक्षेप गर्दै छ । समकालीन राजनीतिमा ठूला दलमा केपी ओली र साना दलमा राजेन्द्र लिङ्देन व्यक्तिगत रूपमा मासलाई प्रभावित पार्ने नेताका स्थापित भएका छन् । त्यसैले यो चुनावमा राप्रपाले नतिजा आफ्नो पक्षमा कति पार्छ ठ्याक्कै भन्न सकिन्न,तर धेरैको नतिजामा तलमाथि पार्न सक्ने प्रस्टै देखिन्छ ।

    लिङ्देन युगको उदय

    जति बेला पञ्चायती व्यवस्था अन्त्य भएर बहुदलीय व्यवस्था स्थापनासँगै पूर्व पञ्चहरूले राप्रपा स्थापित गरे, त्यसबेला उनीहरू छि छि दूर दूरको अवस्थामा थिए । त्यही बेला पञ्चायती व्यवस्थाको फल खान पाइ नसकेको राजेन्द्र लिङ्देन राप्रपाको विद्यार्थी संगठनको अध्यक्ष भए । राप्रपाको महाधिवेशन सकिएको पाँच महिना मात्रै भएको छ । लिङ्देन राप्रपाको पञ्चायती लिगेसी र पञ्चायत युगपछि जन्मिएको पुस्ताको पुल बनेर अध्यक्ष निर्वाचित भए ।

    अध्यक्ष पदमा कमल थापालाई पराजित गरी नयाँ नेतृत्वको रूपमा उदाएका लिङ्देनका सामुन्ने चुनौतीका पहाड थिए । पुरानो नेतृत्वलाई विस्थापित गरी राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएका लिङ्देन त्यति बेला दबाबमा आए जति बेला स्थानीय तहको निर्वाचन घोषणा भयो ।

    नेपाली कांग्रेसको महाधिवेशनमा अतिथि वक्ताको रूपमा पुगेका लिङ्देनले “संसद् संसद् जस्तो छैन, अदालत अदालत जस्तो छैन, सबै चिजलाई ठेगान लगाउने राजनीतिले हो राजनीति ठिक छैन, राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताले हो, नेताले जनताको विश्वास गुमाएको अवस्था छ, गाउँमा नेता आएछ भन्दैनन् कुन चोर आएछ भन्ने अवस्था छ’ भनेर दिएको अभिव्यक्तिले उनलाई राष्ट्रिय राजनीतिको बहसको केन्द्रमा ल्याइदियो ।

    भनिन्छ लिङ्देनसँग त्यही अभिव्यक्तिका कारण केपी ओली चिढिए । एमालेले कमल थापासँग चुनावी तालमेल गर्नु र राप्रपा र एमालेबिच तालमेल नहुनुको एउटा कारण त्यो पनि थियो । तर कमल थापासँगको तालमेलले एमालेलाई भोट नबढ्ने त्यस पार्टीका नेताहरूले बुझिसकेका छन् ।

    लिङ्देनले बोलेका कुराहरू बारे टोल टोलमा चर्चा हुन थाल्यो । देश स्थानीय तहको निर्वाचनको माहौलमा प्रवेश ग¥यो, राप्रपामा नेतृत्व नयाँ भए पनि पार्टीको परम्परागत संरचना चुनाव जित्नका लागि पर्याप्त थिएन, लिङ्देन सबैभन्दा समयको दबाबमा थिए । अध्यक्ष लिङ्देनले फागुनको १८ र १९ गते काठमाडौंमा पार्टीको केन्द्रीय समितिको बैठक बोलाए ।

    केन्द्रीय समितिबाट सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, सबै स्थानीय तहमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गराएर लिङ्देन फागुन २२ देखि देश दौडाहामा निस्किए । लिङ्देन जहाँ पुग्छन् जनताको सहभागिता उल्लेख्य हुँदै गयो ।

    उनले विशेष गरी कांग्रेस, एमाले, माओवादीले अवसर पाउँदा देश बनाउन नसकेको, राष्ट्रिय भावना र स्वाभिमान झन् कमजोर हुँदै गएको, भ्रष्टाचारले देश चुर्लुम्म भएको, आफूले भ्रष्टाचार नगर्ने संकल्प लिएको, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर देश र जनताको सेवामा समर्पित हुन राजनीतिमा सक्रिय रहेको जस्ता विषय उठाउँदै गए । यथास्थितिमा परिवर्तन चाहने तप्काले लिङ्देनलाई सुन्न चाहे, जनसमुदाय लिङ्देनको सभामै पुगेर उनलाई साथ दिन थाले ।

    राप्रपाले देशभर दिनहुँ सभाहरूको आयोजना गर्दै गयो, हरेक सभामा केन्द्रीय नेताहरू लिङ्देन आफैँ पुग्न थाले, राप्रपाको सभामा उपस्थिति बढ्दै गयो । काठमाडौंमा जनताको ‘रेस्पोन्स’परीक्षण गर्न चैतको २५ गते काठमाडौंमा राप्रपाले सभाको आयोजना ग¥यो, अध्यक्ष लिङ्देनले चैतको २४ गते इलामको फिक्कलमा आमसभाका लागि समय दिए ।

    पार्टीका अन्य नेताहरूले काठमाडौंको सभालाई सफल र भव्य बनाउन अध्यक्ष लिङ्देनलाई इलामको सभा रद्द गर्न र काठमाडौं केन्द्रित हुन सुझाव दिए । पूर्वनिर्धारित कार्यक्रम रहेको र इलाममा तयारी भइरहेकाले रद्द नगरी लिङ्देन इलाम पुगे । साँझ अबेर फर्किएका लिङ्देन सिधै पार्टी कार्यालय पुगेर तयारीको ब्रिफिङ्ग लिए, काठमाडौंको सभा पनि कमजोर भएन ।

    चैत २६ गते लिङ्देनले वैशाख १० गतेसम्मको आफ्नो तालिका सार्वजनिक गरे । लिङ्देनको प्रमुख आतिथ्यमा देशका ५२ जिल्लामा ८० भन्दा बढी सभाहरू भइसकेका छन् । काठमाडौं, पोखरा, वीरगन्ज, भरतपुर, विराटनगर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर लगायत देशका अधिकांश जिल्लामा सभा गरेको राप्रपाले उम्मेदवारी दर्ता पछि पनि सभाहरूलाई निरन्तरता दिइरहेको छ ।

    कैलालीमा एकै दिन आठ वटा सभाहरू भए, नुवाकोटमा दुई, वीरगन्जमा दुई, लमजुङ, तनहुँमा साना ठूला कोणसभा र सभाहरू भए । आज बुधवार लिङ्देन झापामा हुने विभिन्न सभाहरूमा सहभागी हुन झापा पुगेका छन् । मेचीनगर, हल्दिबारी, भद्रपुर, शिव सतासीमा हुने सभामा सम्बोधन गर्न झापा पुगेका लिङ्देन तीन दिनअघि कचनकवलको घेराबारी सभामा पुगेका थिए ।

    कचनकवल र हल्दिबारी अघिल्लो निर्वाचनमा राप्रपाले जितेको स्थानीय तह हुन् । कचनकवलमा राप्रपाका विरुद्ध कांग्रेस, एमालेको गठबन्धन बनेको छ । सबै पालिकाहरूमा कांग्रेस एमाले आमनेसामने भइरहँदा कचनकवलमा कांग्रेस एमालेको गठबन्धन बन्नुले लिङ्देनको तागत कमजोर छैन भन्ने देखिएको छ । राप्रपाको तागत बुझेरै सत्ता गठबन्धनले ओलीको गृह नगर दमकमा राप्रपालाई मेयर दिएका छन् ।

    मौन अवधि हुन दिनसम्म लिङ्देनले सभाका लागि विभिन्न जिल्लामा समय दिएका छन् ।

    राप्रपाको प्रचार विभाग प्रमुख रहेका प्रवक्ता मोहन श्रेष्ठ पार्टीको पक्षमा देखिएको जनलहरलाई भोटमा रूपान्तरण गर्न अध्यक्षको देशव्यापी दौडाहा भएको बताउँछन् ।

    श्रेष्ठ भन्छन्- ‘जताततै अध्यक्षको माग भइरहेको छ, समय व्यवस्थापन गर्न कठिन भइरहेको छ तथापि सकेसम्म बोलाएको ठाउँमा पुग्ने प्रयास गरिरहनु भएको छ, साथीहरूको गुनासो आइरहेको छ तर चुनाव आइसक्यो । हामीले राम्रो परिणाम ल्याउँछौ, कांग्रेस र एमाले नेतृत्वका गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्न सजिलो छैन भन्ने हामीलाई थाहा छ तर हामी उच्च मनोबलका साथ चुनावमा गइरहेका छौँ, प्रवक्ता श्रेष्ठ भन्छन्– ’हामी धेरै स्थानमा जित्दै छौँ, एक एक भोटको महत्त्व छ, नजित्ने ठाउँमा पनि मत खेर पाल्दैनौँ, लोकप्रिय मत जुटाउँछौ, लोकप्रिय मतको जगमा उभिएर प्रादेशिक र संघीय निर्वाचनको रणनीति बनाउँछौँ ।’

  • स्थानीय तह निर्वाचनको मानव अधिकार आयोगले अनुगमन गर्ने

    स्थानीय तह निर्वाचनको मानव अधिकार आयोगले अनुगमन गर्ने

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको सात वटै प्रदेशमा अनुगमन गर्ने भएको छ ।

    आयोगले स्थानीय तह निर्वाचनको निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् समेत गरी तीन चरणमा अनुगमन गर्ने आयोगले बुधवार आयोगमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

    आयोगका अध्यक्ष तथा सदस्यको नेतृत्वमा आयोगका सात वटै प्रदेशमा उच्चस्तरीय अनुगमन टोलीले निर्वाचन पूर्वको अनुगमन गर्ने आयोगका अध्यक्ष तपबहादुर मगरले जानकारी दिए ।

    उनकाअनुसार आयोगका सदस्य डा। सूर्य ढुंगेल मधेस प्रदेश, सदस्य मिहिर ठाकुर गण्डकी प्रदेश, सदस्य मनोज दुवाडी सुदूरपश्चिम प्रदेश र सदस्य लिली थापा नेतृत्वको टोलीले प्रदेश नम्बर १ को अनुगमनमा गर्नेछ ।

    आयोगले निर्वाचनका दिनसमेत आयोगका अध्यक्ष, सदस्य तथा पूर्व पदाधिकारी सम्मिलित उच्चस्तरीय टोलीबाट निर्वाचनको अनुगमन गर्नेछ । निर्वाचन अवधिमा आयोगले ४७ वटा अनुगमन टोली परिचालन गरी सात वटै प्रदेशका ७७ वटा जिल्लाका मतदान केन्द्रमा पुगेर स्थलगत अनुगमन गर्नेछ । निर्वाचन अवधिमा आयोगमा अनुगमन कन्ट्रोल रुम स्थापना गर्नुका साथै द्रुततर सूचना संकलन तथा द्रुत अनुगमन टोलीकोसमेत व्यवस्था गर्ने आयोगका प्रवक्तासमेत रहेका सहसचिव डा।टिकाराम पोखरेलले जानकारी दिए ।

    आयोगले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, किरिया पुत्री, गर्भवती आदिको सहज पहुँच भए नभएको, मतदान केन्द्रको उपयुक्तता, मतदान केन्द्रको सुरक्षा प्रबन्धको अनुगमन गर्नेछ । यस्तै सुरक्षाकर्मी परिचालन तथा व्यवस्थापन, मतदाता शिक्षा, निर्वाचन प्रचार–प्रसारमा बालबालिकाको प्रयोग, आचारसंहिताको पालना, निर्वाचन प्रचारप्रसारको क्रममा हुनसक्ने हिंसात्मक गतिविधि पनि अनुगमन गर्नेछ ।

    आयोगले पर्यवेक्षण गर्ने संघ–संस्थाको कार्य, निर्वाचनको निष्पक्षता, मतदानको गोपनीयता, महिलाहरूको सहभागिता, सुरक्षाकर्मी र मतदानमा खटिने कर्मचारीको खानपान र बसोबासको प्रबन्ध, मतगणना स्थलको सुरक्षा प्रबन्ध, मतगणना सम्बन्धी सूचना विधिको प्रयोगको अवस्थाको अनुगमन गर्नेछ । यस्तै मतगणना स्थलमा सुरक्षाकर्मी र पर्यवेक्षण गर्ने संस्थाको उपस्थिति, विजय जुलुस शान्तिपूर्ण भए नभएको, अन्य दलको विरोध वा अवरोध भए नभएको अवस्था जस्ता विषयमा मानव अधिकारको संरक्षण र सम्बद्र्धनको कोणबाट अनुगमन गर्ने छ ।

    आयोगले सबैलाई आचारसंहिताको पूर्ण परिपालना गराउन, पालना भए नभएको सम्बन्धमा प्रभावकारी अनुगमन गर्न, सूचना सम्प्रेषणलाई थप सबल बनाउन, दलबाट तोकिएभन्दा बढी स्रोत र साधन खर्च हुन सक्ने सम्भावनालाई नियन्त्रण गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । यस्तै सर्वसाधारणको पहुँच पुग्ने गरी मतदान केन्द्र तोक्न, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवतीलगायत असक्त असहाय मतदातालाई मतदान केन्द्रसम्म पुगी निर्बाध रूपमा मतदान गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।

  • काठमाडौंमा भद्रगोल सत्ता गठबन्धन- कतै महागठबन्धन, कतै विलखबन्द (सूचीसहित)

    काठमाडौंमा भद्रगोल सत्ता गठबन्धन- कतै महागठबन्धन, कतै विलखबन्द (सूचीसहित)

    काठमाडौं । काठमाडौं जिल्लामा महानगरबाहेकका अन्य १० नगरपालिकामा सत्तारूढ दलहरूबिचको चुनावी तालमेल रंगबिरंगी देखिएको छ । महानगरपालिकामा केन्द्रबाटै भागबण्डा भए पनि अरू नगरपालिकामा भद्रगोल भएको हो ।

    सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच नगरपिच्छे फरक फरक तालमेल देखिएको हो । विशेष गर नेपाली कांग्रेसले साना दलप्रति उदार हुन नसकेपछि आ आफ्नै स्वार्थ अनुसार खुद्रे तालमेल गरेर गठबन्धन अघि बढेका छन् ।

    यहाँ बढी जसो कांग्रेस र नेकपा एसबीच नै मेयर पद लिन घम्साघम्सी भएको देखिन्छ भने माओवादी केन्द्र सहयोगी दलको रूपमा देखिएको छ । कांग्रेसले एउटा नगरपालिकामा नेकपा एसलाई मेयर छाडेर उपमेयर लिएको छ ।

    काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये ४ वटामा सत्ता गठबन्धन एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन् । बाँकी ६ नपामध्ये कांग्रेस र माओवादी केन्द्रले ३ वटामा तालमेल गरेका छन् । जसमध्ये एउटामा जनमोर्चा पनि सहभागी भएको छ भने एउटामा कांग्रेसले जसपासँग गरेको छ ।

    माओवादी केन्द्र र नेकपा एसबीच दुइटा नपामा चुनावी तालमेल हुँदा कांग्रेस र नेकपा एसबीच एउटा मात्र नगरपालिकामा तालमेल भएको छ ।

    शंखरापुरमा कांग्रेसले एसलाई छोड्यो मेयर

    यहाँ कांग्रेसले नेकपा एसलाई मेयर पद छाडेको छ । कांग्रेससँगको तालमेलअनुसार नेकपा एसबाट लक्ष्मीप्रसाद श्रेष्ठ मेयर उम्मेदवार छन् । कांग्रेसका समिता श्रेष्ठ उपमेयर उम्मेदवार छिन् ।

    यहाँ माओवादी केन्द्र एक्लै चुनाव लड्दै छ । उसले मेयरमा मधु केसी र उपमेयरमा चण्डिका चौलागाईं उठाएको छ ।

    एमालेबाट मेयरमा कृष्णलाल बजगाईँ र उपमेयरमा लक्ष्मी केसी उम्मेदवार छन् ।

    अघिल्लो निर्वाचनमा यहाँ एमालेका सुवर्ण श्रेष्ठ ४ हजार ८६९ मत ल्याएर मेयर विजयी भएका थिए । कांग्रेसका शंकर तिवारी २ हजार ९४७ मतसहित दोस्रो भएका थिए ।

    माओवादी केन्द्रका कृष्णराज सुवेदीले २ हजार ४३६ मत पाएका थिए ।

    कागेश्वरी मनहरमा नेकपा एस एक्लै

    यहाँ कांग्रेस र माओवादी केन्द्रबीचमात्रै तालमेल भएको छ । नेकपा एस एक्लै चुनावी प्रतिस्पर्धामा छ । बहालवाला मेयर कृष्णहरी थापाले केन्द्रको मापदण्ड अनुसार मेयर पाउनुपर्ने हो । तर उनीबाहेक कांग्रेस माओवादी तालमेल भयो । उनी आफ्नै अध्यक्ष माधवकुमार नेपालप्रति असन्तुष्ट बनेका छन् ।

    कांग्रेस-माओवादी केन्द्रको सहमतिअनुसार मेयरमा कांग्रेसका उपेन्द्र कार्की र उपमेयरमा माओवादी केन्द्रका भोला चापागाईँ निर्वाचनमा होमिएका छन् ।

    नेकपा एसबाट मेयरमा कृष्णहरि थापा र उपमेयरमा सरस्वती नेपाल प्रतिस्पर्धामा छन् । एमालेले यहाँ मेयरमा रामशरण ढुंगानालाई उठाउँदा उपमेयरमा शान्ता थापा उम्मेदवार छिन् ।

    २०७४ को निर्वाचनमा यहाँ एमालेका वर्तमान उम्मेदवार थापा ८ हजार ९६९ मतसहित विजयी भएका थिए । उनलाई कांग्रेसका अहिलेकै उम्मेदवार कार्कीले ८ हजार ४८७ मतसहित टक्कर दिँदा माओवादी केन्द्रका उम्मेदवार महेश्वर फुयाँलले २ हजार ५६७ मत पाएका थिए ।

    गोकर्णेश्वरमा नेकपा एस-माओवादी केन्द्रको तालमेल

    कांग्रेसले मेयर छाड्न नमानेपछि यहाँ माओवादी केन्द्र र नेकपा एसले तालमेल गरेका छन् । तालमेलअनुसार मेयरमा नेकपा एसका गोपालप्रसाद बराल र उपमेयरमा माओवादी केन्द्रका पेमाछिरि शेर्पा उम्मेदवार छन् ।

    कांग्रेसले मेयरमा दीपककुमार रिसाल र उपमेयरमा शान्ति नेपाललाई उठाएको छ ।

    एमालेबाट मेयरमा उद्धव विष्ट र उपमेयरमा सान्नानी लामा उम्मेदवार छन् ।

    यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसका सन्तोष चालिसे ९ हजार ९ मतसहित विजयी हुँदा एमालेका पुण्यप्रसाद चौलागाईं ७ हजार ५९५ मतसहित दोस्रो भएका थिए । माओवादी केन्द्रका तेजराज नेपालले २ हजार २६ मत पाएका थिए ।

    बुढानिकण्ठमा एक्ला एक्लै

    बुढानिलकण्ठ नगरपालिकामा पनि सत्तारूढ दलहरूबिच सहमति जुटेन । फलस्वरूप एक्ला एक्लै चुनावमा गएका छन् । यहाँ कांग्रेसबाट मेयरमा विनोद चालिसे र उपमेयरमा रमिला वाग्ले उम्मेदवार छन् ।

    नेकपा एसले मेयरमा बालकृष्ण श्रेष्ठ र उपमेयरमा प्रमीला सापकोटालाई खडा गरेको छ । माओवादी केन्द्रबाट डम्बरप्रसाद अधिकारी मेयर र कमला गौतम उपमेयर उम्मेदवार छन् ।

    एमालेबाट मिठाराम अधिकारी मेयर र अनिता लामा उपमेयर उम्मेदवार छन् ।

    अघिल्लो पटक यहाँ एमालेका उद्धवप्रसाद खरेल १३ हजार २४६ मतसहित विजयी भएका थिए । कांग्रेसका राजु श्रेष्ठ ८ हजार ९२७ मतसहित दोस्रो हुँदा माओवादी केन्द्रका रविन अधिकारीले ३ हजार ७९० मत पाएका थिए ।

    टोखामा एक्ला एक्लै

    काठमाडौंको अर्को नगरपालिका टोखामा सत्तारूढ दलहरूबीचमा तालमेल हुन नसकेपछि एक्ला एक्लै चुनावमा गएका छन् ।

    जसमा कांग्रेसबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङ उम्मेदवार छन् । नेकपा एसले कविताकुमार गौतमलाई मेयर र उपमेयरमा जोगप्रसाद नेपाललाई खडा गरेको छ ।

    माओवादी केन्द्रले मेयरमा शेखर श्रेष्ठलाई र उपमेयरमा यमुना पुडासैनी अधिकारीलाई उम्मेदवार बनाएको छ ।

    एमालेबाट यसअघिकै प्रकाश अधिकारी मेयरमा र ज्ञानमाया डंगोल उपमेयरका उम्मेदवार छन् ।

    यहाँ अघिल्लो निर्वाचनमा एमालेका अहिलेका उम्मेदवार अधिकारी ८ हजार ८९५ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका हरिहर अधिकारीले ७ हजार ५१४ मतसहित दोस्रो हुँदा माओवादी केन्द्रकी कल्पना शर्माले २ हजार ३९२ मत ल्याएर तेस्रो भएकी थिइन् ।

    तारकेश्वरमा नेकपा एस र माओवादी केन्द्रको तालमेल

    यहाँ नेकपा एस र माओवादी केन्द्रबीच तालमेल हुँदा कांग्रेस एक्लै प्रतिस्पर्धामा छ । गठबन्धनका तर्फबाट मेयरमा नेकपा एसका लवकुमार बस्नेत र उपमेयरमा माओवादी केन्द्रका धनलाल महर्जन उम्मेदवार छन् ।

    कांग्रेसबाट मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सृजना बुर्लाकोटी उम्मेदवार छन् । एमालेले रामेश्वर बोहरालाई मेयर र भवानी डोटेल धिताललाई उपमेयरको उम्मेदवार बनाएर दोहोर्‍याएको छ ।

    अघिल्लो निर्वाचनमा यहाँ एमालेका अहिलेकै उम्मेदवार बोहरा ९ हजार ३२६ मतसहित विजयी भएका थिए । कांग्रेसका श्रीराम थापा ७ हजार ७५७ मत ल्याएर दोस्रो भएका थिए ।

    त्यस्तै माओवादी केन्द्रका अहिले उपमेयर उम्मेदवार महर्जनले ३ हजार २२१ मत पाएका थिए ।

    नागार्जुनमा कांग्रेस र जसपा तालमेल

    सत्ता गठबन्धनका प्रमुख दलहरूबीचमा यहाँ पनि पूर्ण तालमेल हुन सकेन । यहाँ कांग्रेसबाट मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्का उम्मेदवार छन् । तर कांग्रेसले जसपालाई उपमेयरमा समर्थन जनाएर कल्याणीको उम्मेदवारी प्याक गरेको नेता किरण गिरीले बताए ।

    यस्तै नेकपा एसले देवकी भट्टराईलाई मेयर र कृष्णहरि खत्रीलाई उपमेयर उठाएको छ । माओवादी केन्द्रबाट मेयरमा सरस्वती सुनार र उपमेयरमा प्रताप दानी उम्मेदवार छन् ।

    एमालेले नन्दनहरि गौतमलाई मेयर र सुशीला अधिकारीलाई उपमेयरको उम्मेदवार बनाएको छ । सुशीला अहिलेकै उपमेयर हुन् ।

    यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसबाट अहिलेकै उम्मेदवार बस्नेत ६ हजार ९६१ मतसहित विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका कृष्णहरि खत्रीले ६ हजार ७२६ मत ल्याएका थिए ।

    राप्रपाका उद्धव थापा २ हजार ४९४ मतसहित तेस्रो भएका थिए । माओवादी केन्द्रका कुमार तामाङ एक हजार ६१९ मतसहित चौथो स्थानमा रहेका थिए ।

    चन्द्रागिरिमा कांग्रेस-जनमोर्चाको तालमेलमा माओवादीको समर्थन

    यहाँ कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । जसमा कांग्रेसबाट मेयरमा घनश्याम गिरि र जनमोर्चाका तर्फबाट रोशन दानी उपमेयरमा उम्मेदवार छन् । माओवादी केन्द्रले मेयर–उपमेयरमा यही गठबन्धनलाई सघाउने भएको छ ।

    नेकपा एसले मेयरमा सुशीला न्यौपाने र उपमेयरमा भाइकृष्ण बलामीलाई उम्मेदवार बनाउँदा एमालेबाट मेयरमा हाल १५ नम्बर वडाका वडाध्यक्ष उत्तम राउत र उपमेयरमा बसन्ती श्रेष्ठ उम्मेदवार छन् ।

    यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसका अहिलेका उम्मेदवार गिरि १३ हजार ३०९ मत ल्याएर विजयी हुँदा एमालेका प्रह्लादबहादुर कार्की १० हजार ४२१ मत ल्याएर दोस्रो भएका थिए । माओवादी केन्द्रका श्रीकृष्ण श्रेष्ठले ३ हजार ६८७ मत प्राप्त गरेका थिए ।

    कीर्तिपुरमा एक्ला एक्लै

    कीर्तिपुर नगरपालिकामा सत्तारूढ तीन दल एक्ला एक्लै प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेसबाट मेयरमा राजकुमार नकर्मी र उपमेयरमा शुभ लक्ष्मी शाक्य उम्मेदवार रहँदा नेकपा एसबाट मेयरमा बटुकृष्ण थापा र उपमेयरमा कमला महर्जन उम्मेदवार छन् ।

    यस्तै माओवादी केन्द्रबाट मेयरमा शिव शरण महर्जन र उपमेयरमा सुशीला बस्नेत उम्मेदवार रहेका छन् । प्रतिपक्षी दल एमालेले मेयरमा केशराज बज्राचार्य र उपमेयरमा बिन्दु महर्जनलाई उठाएको छ ।

    अघिल्लो निर्वाचनमा यहाँ एमालेका रमेश महर्जनले ७ हजार ३६० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका अहिलेकै उम्मेदवार नकर्मी ६ हजार ६१६ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए । माओवादी केन्द्रका हीराबहादुर महर्जनले ४ हजार ९ मत ल्याएका थिए ।

    दक्षिणकालीमा माओवादी केन्द्र रुखबाट चुनाव लड्दै

    दक्षिणकालीमा मेयर र उपमेयरमा कांग्रेसलाई समर्थन गरेको माओवादी केन्द्रले ३ जना वडाध्यक्ष रुख चिन्हबाटै लडाएको छ । दुई पार्टीबीचको सहमतिअनुसार कांग्रेसका मोहन बस्नेत र बसन्ती तामाङ क्रमशः मेयर र उपमेयर उम्मेदवार छन् ।

    यहाँ नेकपा एसले रामप्रसाद तिमिल्सिना जैसीलाई मेयर उम्मेदवार बनाएको छ । उसले उपमेयरमा उम्मेदवारी दिएको छैन ।

    एमालेले मेयरमा श्रीराम आचार्य र उपमेयरमा इन्दिरा न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

    यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसका अहिलेकै उम्मेदवार बस्नेत ४ हजार ६९८ मतसहित विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका शशि शर्मा अर्यालले ४ हजार २६८ मत ल्याएकी थिइन् ।

    यस्तै माओवादी केन्द्रका सञ्जीव लामाले २ हजार ४८१ मत पाएका थिए ।

  • सिर्जना सिंहसँग एक दिन (भिडिओ)

    सिर्जना सिंहसँग एक दिन (भिडिओ)

    काठमाडौं । देश चुनावमय बनेको छ । जनताको अमूल्य मतलाई आफ्नो पोल्टोमा पारेर स्थानीय सरकारको बागडोर सम्हाल्न आतुर उम्मेदवारहरू हाल विकासका सुनौलो सपनालाई यथार्थमा परिणत गर्ने प्रतिबद्धता बोकेर घर– घरमा पुगी रहेका छन् ।

    देशमा जब चुनावको माहोल छाउँछ तब काठमाडौं महानगर चर्चाको केन्द्रमा हुने गर्छ । संघीय राजनीतिक भएकाले काठमाडौंका चुनावी चर्चा केन्द्रमा रहनु स्वाभाविक हो ।

    देशभरको चासोलाई मध्यनजर गर्दै काठमाडौंमा मेयर पदका लागि उम्मेदवारी दिएका हेबिवेटहरुको चुनावी माहोललाई जस्ताको त्यस्तै तपाईँहरू समक्ष प्रस्तुत गर्ने अभिप्राय बोकेर नेपाल प्रेसले चुनाव केन्द्रित भिडियो सिरिज ‘के छ माहोल’ ? सञ्चालनमा ल्याएको छ ।

    जस अन्तर्गत आज काठमाडौंमा सत्तारुढ गठबन्धनको तर्फबाट मेयर पदको लागि उम्मेदवार बनेकी कांग्रेस नेत्री सिर्जना सिंहको घर– दैलो कार्यक्रममा देखिएको चुनावी माहोललाई पेस गरिएको छ । आम मानिसहरूको गुनासो, समर्थन र आलोचनालाई ग्रहण गर्दै घर–दैलोमा जुटेकी सिर्जना सिंहको के छ माहोल ? उनीसँगको कुराकानीसहित हामीले प्रस्तुत गरेका छौँ ।

    भिडिओ :उमेश कार्की

  • कांग्रेस धोका खान तयार छ, तर दिँदैन : प्रधानमन्त्री देउवा

    कांग्रेस धोका खान तयार छ, तर दिँदैन : प्रधानमन्त्री देउवा

    विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनबिच चुनावी तालमेल गर्ने सहमतिलाई इमानदारीताका पालना गर्न काँग्रेस कार्यकर्तालाई आग्रह गरेका छन् ।

    नेपाली काँग्रेस मोरङले आज विराटनगरमा आयोजना गरेका चुनावी सभालाई सम्बोधन गदै पार्टी अध्यक्ष समेत रहेको देउवाले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धन भित्र कुनै पनि संशय पैदा हुने काम नगर्न कार्यकर्तालाई आग्रह गरे ।

    देउवाले भने, ‘बरु काँग्रेस धोका खान तयार छ, तर धोका दिँदैन, हाम्रो कर्तव्य पनि होइन । काँग्रेसको टाउकोमा धोकेबाज भन्ने बिल्ला नलागोस् ।’

    कांग्रेस एक्लै चुनाव लड्ने तागत नभएकाले सत्तापक्षमान रहेका दलहरूसँग स्थानीय तहको चुनावमा तालमेल गरे जान परेको उनले प्रष्टीकरण समेत दिए ।उनले पाँच दलीय गठबन्धन मार्फत चुनाव जित्ने सबै भन्दा ठुलो मौका भएकाले मौका गुमाउन नहुनेमा जोड समेत दिए ।

    स्थानीय तहलाई बढी शक्तिशाली बनाउने तर्फ केन्द्र सरकारको पनि ध्यान गएको बताउँदै उनले जनतालाई आफ्नो अधिकार आफले प्रयोग गर्न सक्ने बनाउन तर्फ सबकैको ध्यान जान जरुरी रहेको बताए ।

    ‘केन्द्र सरकार स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन उद्धत छ’ देउवाले भने, ‘दिएको अधिकारी प्रयोग गर्न सक्ने, पैसाको सही सदुपयोग गर्न सक्ने अवस्थामा जनतालाई पुर्‍याउन आवश्यक छ ।’

    आफ्नो ठाउँको विकास आफैले गर्न सक्ने बनाउन तर्फ केन्द्र सरकार पनि लागि रहेका उनले बताए ।

    देउवाले विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार नागेश कोइरालालाई प्रदेश सांसद समेतमा टिकट दिन नसकेर आफूले नागेशमाथि अन्याय गरेको बताए । तर अहिले मेयरको टिकट दिलाउने विषयसँगै नागेशमाथि त्यो आफूले गरेको अन्यायबाट पार पाएको बताए ।

  • गठबन्धनमा कांग्रेसले धोखा दिएको भन्दै नेकपा एसका उम्मेदवारको वाक ओभर, एमालेलाई समर्थन

    गठबन्धनमा कांग्रेसले धोखा दिएको भन्दै नेकपा एसका उम्मेदवारको वाक ओभर, एमालेलाई समर्थन

    चितवन । गठबन्धनको सहमति अनुसार नेपाली कांग्रेसले आफूलाई समर्थन नगरी बेग्लै उम्मेदवारी दिएपछि राप्ती नगरपालिका वडा नम्बर १ का नेकपा एकीकृत समाजवादीका उम्मेदवारले एमाले उम्मेदवारलाई साथ दिएका छन् ।

    राप्ती नगरपालिका वडा नम्बर १ का नेकपा एसका वडाध्यक्ष उम्मेदवार चिरञ्जीवी पाठकले बुधवार एमालेका उम्मेदवार सिद्धिलाल स्याङतानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी हापेका हुन् ।

    उनले गठबन्धनको मूल्य मान्यताविपरीत कांग्रेसले नेकपा एससँगको तालमेललाई धोखा दिएको भन्दै सूर्यमा मतदान गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् ।

  • मतदाता शिक्षा कार्यक्रम नहुँदा मत बदर हुने आशंका

    मतदाता शिक्षा कार्यक्रम नहुँदा मत बदर हुने आशंका

    काठमाडौं । स्थानीय तहको निर्वाचन आउन ९ दिन मात्रै बाँकी छ । यस पटकको स्थानीय निर्वाचनमा निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छैन ।

    मतदाता शिक्षा सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनमा मत बदरको संख्या बढ्न सक्ने सम्भावना र चिन्ता बढेको छ ।

    यस पटक प्रत्यक्ष रूपमा कुनै पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएको निर्वाचन आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले बताए ।

    प्रत्यक्ष मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएको भए पनि रेडियो, टेलिभिजन, फेसबुक तथा मोबाइलको रिङ व्याकटोन मार्फत मतदाता शिक्षा कार्यक्रम भने सञ्चालन भइहेको उनको भनाइ छ ।

    मत बदरको सम्भावनालाई कम गर्न आयोगका तर्फबाट पूर्व तयारी भइरहेको भए पनि मत बदरलाई घटाउन राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।

    चुनाव चिन्ह तल माथि र दायाँ बायाँ भएका कारण मतदाताले मतपत्रमा छाप लगाउने बेला अलमलिएर छाप लगाउँदा मत बदरको सम्भावना बढी रहेको छ ।

    त्यसैले पनि राजनीतिक दलहरूले आफ्ना मतदाताहरूलाई चुनाव चिन्ह चिनाउन लागि परेमा मत बदरको सम्भावना कम हुने बताइएको छ ।

    करोडौँ खर्चेर पनि विगतको निर्वाचनमा मत बदर घटाउन नसकेको भन्दै आयोगले प्रविधिमैत्री युगमा रेडियो, टेलिभिजन, अनलाइन, सामाजिक सञ्जालबाट मतदाता शिक्षालाई प्राथमिकतामा राखेको छ । तर, अधिकांश मतदाताहरू प्रविधिको पहुँचबाट बाहिर रहेका छन् ।

    राजनीतिक दलहरू पनि मतदाता शिक्षा कार्यक्रमप्रति उति गम्भीर देखिँदैनन् ।

    निर्वाचनमा मतदातासँग मत माग्नुको साथै मतदान कसरी गर्ने शिक्षा पनि सञ्चालन गरे मत बदरको सङ्ख्यामा कमी आउनेतर्फ राजनीतिक दलहरूले पनि ध्यान नदिँदा समस्या आउने देखिएको छ ।

  • नवलपरासी पूर्वकाे हुप्सेकोटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, ६ जना घाइते

    नवलपरासी पूर्वकाे हुप्सेकोटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, ६ जना घाइते

    रुपन्देही । नेकपा एमालेले नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका उम्मेदवारसहित कार्यकर्तामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेको घटनाप्रति विरोध जनाएको छ ।

    हुप्सेकोट २ गुहेरीमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहितका उम्मेदवार घरदैलो गरेर फर्कने क्रममा भएको आक्रमणबाट आफ्ना नेता कार्यकर्ता घाइते भई अस्पतालमा रहेको समयमा उल्टो एमालेले आक्रमण गरेको भनेर गतल प्रचार गरिएको एमाले हुप्सेकोटका सचिव मदन थापाले जनाएका छन् ।

    हुप्सेकोटमा भएको सो घटनामा एमालेका ३ जना र कांग्रेसका ३ जना गम्भीर घाइते भएर अस्पतालमा उपचाररत छन् । एमालेले आफ्ना कार्यकर्ता हुप्सेकोट ३ का हरि केसी, होमबहादुर सारु, हुप्सेकोट १ का चुडाबहादुर सेरपुजा, मनोज गुरुङ मध्यविन्दु अस्पतालबाट रिफर भएर चितवनको सीएसी अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

    सो झडपमा कांग्रेसका पनि ३ जना घाइते भएका छन् । तर, कांग्रेसले भने आफ्ना गाउँपालिका अध्यक्ष उमेदवार लक्ष्मी पाण्डे र उनी चढेको भाडाको गाडी ग ३ च १६०६ नम्बरको स्कार्पियोमा एमालेका कार्यकर्ताले आक्रमण गरेको जनाएको छ ।

    कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले पहिले एमालेका कार्यकर्ताले आक्रमण गरेपछि यस्तो अवस्था आएको बताए ।

    एमाले हुप्सेकोट गाउँपालिका उम्मेदवार चेतन रानाले निर्वाचन बिथोल्न कांग्रेसले झूटो प्रचार गरेको भन्दै चुनावी प्रचारबाट एक्लै घर फर्कंदै गरेका मनोज गुरुङलाई लक्ष्मी पाण्डेसहितको टोलीले आक्रमण गरेर घाइते बनाएपछि झडप भएको बताए ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको र प्रहरीले तितरबितर पारेर घटना साम्य पारेको बताए ।

  • इलाम पुगेर ओलीकाे कटाक्ष– झलनाथहरु कांग्रेसको जिउका झिँगा धपाउने झम्के पुच्छर

    इलाम पुगेर ओलीकाे कटाक्ष– झलनाथहरु कांग्रेसको जिउका झिँगा धपाउने झम्के पुच्छर

    इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्ता र जनताले जिताएका व्यक्ति नै पार्टी सिध्याउन अग्रसर भएको भन्दै विगतमा झलनाथ खनाललाई टिकट दिनु गल्ती भएको बताएका छन् ।

    झलनाथको गृहजिल्ला इलामको माइ नगरपालिकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सिध्याएर कांग्रेसको पछि लागेकाहरुबाट सचेत हुन र भुलवस बाटो बिराउनेहरुलाई एमालेमा फर्किन आग्रह गरे ।

    ओलीले भने, ‘एमालेको भोटबाट, एमालेका कार्यकर्ताको मेहनतबाट चुनाव जितेका झलनाथ खनालहरु आज कांग्रेसको झम्के पुच्छर भएका छन् । कांग्रेसको जिउमा झिँगा बस्नासाथ झम्के पुच्छर भएर हल्लिने भएका छन् । यस्तालाई विगतमा टिकट दिनु मेरो भूल भयो ।’

    जनसभालाई एमाले उपाध्यक्ष सुवास नेम्वाङले पनि सम्बोधन गरेका थिए ।

  • विराटनगर पुगेर देउवाले भने- चित्त बुझे पनि नबुझे पनि गठबन्धनमै भोट दिनुहोला

    विराटनगर पुगेर देउवाले भने- चित्त बुझे पनि नबुझे पनि गठबन्धनमै भोट दिनुहोला

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विकास र लोकतन्त्रको रक्षाका लागि स्थानीयदेखि राष्ट्रिय निर्वाचनसम्मै गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

    मोरङको विराटनगरमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रिय निर्वाचनसम्मै गठबन्धन अगाडि बढ्ने संकेत गरे ।

    ‘वृद्ध भत्ता ६५ वर्षमै दिने निर्णय मैले गरेको छु । असाध्य रोग लागेकालाई ५ हजार निर्वाह भत्ता पनि दिएका छौँ । विकास निर्माणको काम गर्न पनि राष्ट्रिय चुनावसम्मै गठबन्धनलाई जिताउनुस्’, देउवाले भने ।

    विराटनगर महान् नेताहरूको भूमि रहेको भन्दै आन्तरिक असन्तुष्टि बिर्सेर गठबन्धनलाई जिताउन देउवाको अनुरोध थियो । ‘चित्त बुझेपनि नबुझेपनि गठबन्धनलाई जिताउनुहोला’, देउवाले भने ।

    विराटनगर महानगरको मेयरका प्रत्याशी नागेश कोइरालालाई विगतमा अन्याय भए पनि अहिले न्याय भएको देउवाले बताए ।

    ‘पहिले पनि मेयर बनाउन सकिन । प्रदेशको एमपी दिन पनि सकिएन । त्यही भएर नागेशजी मसँग रिसाएर चुर थिए । अहिले त खुसी भए होलान् । काम गर्ने मान्छे हुन् नागेशलाई जिताउनुहोला । उपमेयरमा जसपाको छातामा पनि भोट हालेर जिताइदिनुहोला’, देउवाले भने ।

  • प्रधानमन्त्री देउवामाथि कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी, यस्तो छ कारण

    प्रधानमन्त्री देउवामाथि कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी, यस्तो छ कारण

    चितवन । निर्वाचन आचारसंहिता विपरीत प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर महानगरपालिकाको चुनावी आमसभामा सहभागी हुने र उम्मेदवारलाई दबाब दिने उद्देश्यले चितवन आइरहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

    अधिवक्ता सुनिता अधिकारीले निर्वाचन अधिकृत समक्ष देउवामाथि कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले आचारसंहिता उल्लंघनको सन्दर्भमा उजुरी दिएको अधिकारीले बताइन् ।

    उनले निर्वाचन आचारसंहिताको दफा ५ ले निर्वाचनमा आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न नपाउने व्यवस्था छ ।

    सोही दफा अनुसार बिहीबार सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा प्रधानमन्त्री देउवासहित नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू सहभागी हुने कुरा राष्ट्रिय समाचार पत्रिकामा प्रकाशित भएको भन्दै उनले कार्यक्रम स्थगित गराई आचारसंहिताविपरीत कार्य भएमा सजाय समेत गरी पाउँ भनी निवेदन दिएकी हुन् ।

    उजुरीकर्ता अधिकारी नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य पनि हुन् । उनी भरतपुरकै मतदाता हुन् ।

    प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता भरतपुरमा रेनु दाहालको पक्षमा मत माग्न र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई फकाउने चितवन पुग्दै छन् । बिहीबार भरतपुरको हाकिम चोकमा सत्ता गठबन्धनको आमसभालाई पाँच दलका शीर्ष नेताले सम्बोधन गर्दै छन् ।

  • सुर्खेत गठबन्धनमा तनाव: ‘नो भोट’को मुडमा माओवादी, फकाउँदै कांग्रेस

    सुर्खेत गठबन्धनमा तनाव: ‘नो भोट’को मुडमा माओवादी, फकाउँदै कांग्रेस

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गठबन्धन गरेका कांग्रेस र माओवादीबीच अन्तरकलह बढ्दै गएको छ । नेकपा एकीकृत समाजवादीलाई गठबन्धनबाट आउट गरेका माओवादी र कांग्रेसबीच नै मनमुटाव बढिरहेको छ । लेकबेशी नगरपालिकामा उपमेयर नेकपा एसलाई दिएपछि त्यहाँ मनमुटाव बढेको हो ।

    त्यस्तै चिङ्गाडमा माओवादीले कांग्रेससँगको गठबनधन औपचारिक रुपमा सकिएको घोषणा गरेको छ । यसअघि कांग्रेसको भागमा परेको यो पालिकामा नेकपा माओवादीले वडा नम्बर ३, ५, ६ मा वडाध्यक्ष पाउने सहमति भएको थियो ।

    तर यहाँ कांग्रेसले आफ्नो तर्फबाट बागी उम्मेदवारी दिएकाको उम्मेदवारी फिर्ता गराउन सकेन । उपाध्यक्षमा मात्रै उम्मेदवारी दिएको माओवादीले उपाध्यक्षको मनोनयन फिर्ता लियो । त्यसपछि यो पालिका प्रमुख र उपप्रमुखमा माओवादीको उम्मेदवारविहीन हुनपुग्यो ।

    ‘हामीले कांग्रेससँगको सहमति कार्यान्वयन हुने अपेक्षासहित उपाध्यक्षमा जीतबहादुर रानाको उम्मेदवारी फिर्ता लिएका थियौं’, माओवादी पालिका सचिव महेश जिसी भन्छन्, ‘तर हामीसँग भएको सहमति कांग्रेसले उल्ट्याएको छ । त्यसैले कांग्रेसलाई आगामी चुनावमा भोट दिने सम्भावना छैन ।’ उनीहरुले यहाँ ‘नो भोट’ अभियान सुरु गर्ने बताए ।

    बराहताल गाउँपालिकामा पनि अध्यक्षमा माओवादीलाई र उपाध्यक्षमा कांग्रेसलाई सहयोग गर्ने सहमति भएको थियो । तर यहाँ पनि गठबन्धनको आधिकारिक उम्मेदवारबाहेक माओवादीबाट ईश्वरभक्त सुनारले उम्मेदवारी दिएका छन् । उनी पनि चुनावी प्रचारमा व्यस्त छन् । यसले यहाँ पनि गठबन्धनमा तनाव भएको छ ।

    कांग्रेसको भागमा परेको पञ्चपुरी नगरपालिकामा समाजवादी र माओवादीले गठबन्धन कायमै राखेका छन् । यहाँ माओवादीको तर्फबाट मेयरमा केशव शाही उम्मेदवार छ । प्रदेश स्तरीय सहमतिअनुसार उने मनोनयनपत्र फिर्ता लिनुपर्ने थियो तर उनले लिएनन् ।

    यस्तो थियो भागबण्डा

    गत शुक्रबार केन्द्रीय गठबन्धनको निर्देशनपछि दुई दलको बैठक बसेको थियो । बैठकमा माओवादीले एक पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख पाउने गरी सहमति भएको थियो ।

    माओवादीले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाको उपमेयर, बराहताल र सिम्ताको उपाध्यक्ष पाउने सहमति भएको थियो भने चौकुने गाउँपालिकाको अध्यक्ष पाउने उल्लेख छ ।

    नेपाली कांग्रेसले वीरेन्द्रनगर, भेरीगंगा, बराहताल, सिम्तामा प्रमुख र चौकुने गाउँपालिकामा उपाध्यक्ष पाउने सहमति भएको थियो ।

    नेपाली कांग्रेसका जिल्ला सचिव देवकुमार सुवेदीले कांग्रेस माओवादीलाई सँगै लैजान खोजिरहेको बताउँदै सोहीअनुसार गठबन्धन निर्माण गरिएको बताए । ‘हामी इमान्दारीपूर्वक केन्द्र र प्रदेश संयन्त्रले गरेको निर्देशनलाई पालना गर्छौं । उहाँहरुले पनि सोहीअनुसार पालना गर्नुहुनेमा हामी आशावादी छौं’, सचिव सुवेदीले भने, ‘चिङ्गाडमा हामीले दुई वडा दिने भनेका थियौं, उहाँहरुले तीन वडा माग्नु भएको हो । उहाँहरुले मतदान हुने दिनसम्म सहमति गर्नुहुनेमा हामी विश्वस्त छौं ।’

    सुरुमा गठबन्धन नगर्ने अडानमा रहेको कांग्रेसले धेरै पालिकामा हार व्यहोर्नुपर्ने देखेपछि माओवादीसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।

  • निर्वाचनमा उम्मेदवारको मुख होइन रुख हेरेर मत दिनुहोला : महामन्त्री शर्मा

    निर्वाचनमा उम्मेदवारको मुख होइन रुख हेरेर मत दिनुहोला : महामन्त्री शर्मा

    विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मुख नभएर रुख हेर्न मतदाताहरूलाई आग्रह गरेका छन् ।

    विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले कांग्रेस भित्रको अन्तर द्वन्द्वप्रति लक्षित गर्दै भने, ‘कांग्रेस भित्रको गुट उपगुट भन्ने कुरा व्यवस्थापन आवश्यक छ ।त्यसका लागि मुख हैन, रुख हेर्न पर्छ ।’

    शर्माले चुनावी तालमेल अहिलेको आवश्यकता रहेकोमा पनि जोड दिए ।

    उनले एमालेले एक्लै चुनावमा जाने धम्की दिए पनि राप्रपासँग तालमेल गरेको बताए ।

    उनले लोकतन्त्रको न्यायाधीश जनता भएकाले लोकतन्त्रको पक्षमा रहेको दल र जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई मत दिई न्याय गर्न आवश्यक रहेको बताए ।