Category: स्थानीय निर्वाचन–२०७९

  • कांग्रेस महामन्त्री शर्मा भन्छन्: माओवादीलाई भोट माग्नु रहर होइन, बाध्यता हो

    कांग्रेस महामन्त्री शर्मा भन्छन्: माओवादीलाई भोट माग्नु रहर होइन, बाध्यता हो

    रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी भोग्नु माग्नु आफूहरुको रहर नभएर बाध्यता भएको बताएका छन् । नेपाली कांग्रेस कमजोर भएर गठबन्धन नगरेको बताउँदै उनले संविधान रक्षाका लागि बाध्य भएर गर्नुपरेको तर्क गरेका हुन् । उनले तालमेलबाट उम्मेदवार बनेका सबैलाई मतदान गर्न आग्रहसमेत गरेका छन् ।

    स्थानीय तहमा पाँच दलबीच भएको तालमेललाई इमान्दारीपूर्वक पालना गर्न आग्रह गर्दै उनले आ–आफ्नो दलको प्रचारमा हिँडेका कार्यकर्ताले अन्य दलमा मतदान गर्न मनले नमाने पनि एकचित्त बुझाएर तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर बनेको गठबन्धनको संयुक्त आमसभामा महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेसको प्रचारमा हिंडेका कार्यकर्तालाई माओवादीलाई भोट माग्दा अफ्ठ्यारो महसुस हुन्छ, तर पनि संबिधानको रक्षाको लागि एकदिन मन थामेर तालमेलका उम्मेदवारलाई मतदान गर्नुहोस् । ’

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणापत्रको धज्जी उडाएको बताउँदै अहिलेको समयमा कांग्रेस र एमालेको दुवैको घोषणापत्र पढेर मतदान गर्न उनको आग्रह छ ।

  • चुनावका दिन क-कसले प्रयोग गर्न पाउँछन् सवारीसाधन, अनुमति लिने कसरी ?

    चुनावका दिन क-कसले प्रयोग गर्न पाउँछन् सवारीसाधन, अनुमति लिने कसरी ?

    काठमाडौं । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन सवारी आवागमन व्यवस्थापन गर्नका लागि निर्वाचन आयोगले मापदण्ड जारी गरेको छ । आयोगको बिहीबार बसेको बैठकले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’लाई पारित गरेको हो ।

    पारित मापदण्डअनुसार उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउनका लागि सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

    निवेदन परेमा मुख्य निर्वाचत अधिकृत वा निर्वाचन अधिकृतले उम्मेदवारको विवरण यकिन गरी त्यसै निवेदनमा सिफारिस गर्नुपर्नेछ । उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा सिफारिस दिने अधिकारीको सिफारिस लिइ त्यसैबमोजिम साधानको अनुमतिपत्र जारी गर्ने निकाय वा अधिकारीसमक्ष पत्र पेश गर्नुपर्नेछ । जसमा सवारी साधन नम्बर, सवारी साधनको किसिम, सवारी साधन प्रयोगकर्ताको नामसमेत उल्लेख गर्नुपर्नेछ ।

    अनुमतिका लागि २८ गतेभित्र निवेदन दिइसक्नुपर्ने

    सवारीसाधनको अनुमतिका लागि वैशाख २८ गतेसम्ममा निवेदन दिइसक्नुपर्नेछ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिने अनुमतिपत्रका लागि आयोगमा स्थापना गरिने एकीकृत सवारीसाधन आवागमन डेस्कमा पत्र पेश गर्नुपर्नेछ ।

    सवारी साधन प्रयोग गर्ने अनुमतिपत्रका लागि निवेदन परेमा वा पत्र प्राप्त भएमा सम्बन्धित निकाय वा अधिकारीले तोकिएको संख्यामा नबढ्ने गरी अनुमतिपत्र दिनुपर्नेछ । अनुमतिपत्र दिँदा आयोग र निर्वाचन कार्यालमा खटिएका सुरक्षाकर्मीलाई भारी सवारी साधन सञ्चालनको अनुमति दिन सकिनेछ । तर, विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोग गर्न अनुमति नदिइने मापदण्डमा उल्लेख गरिएको छ ।

    मानवीय उद्धार तथा सहायतामा प्रयोग गरिने सवारी साधनको हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिइ सवारीसाधन प्रयोग गर्न सकिनेछ । कामको प्रकृति हेरी आयोग वा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले एकभन्दा बढी जिल्लाका लागि सवारी साधन प्रयोग गर्ने गरी अनुमतिपत्र जारी गर्न सक्नेछ ।

    त्यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुका हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरण काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीले मिलाउनु पर्नेछ । आफैँ हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिका लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र मतदान केन्द्रदेखि बासस्थानसम्म आवतजावत गर्न सकिनेछ । त्यस्तो सवारीसाधनमा अशक्त व्यक्ति र सहयोगका लागि उसको साथमा एकाघरको एकजना व्यक्ति मात्र रहन सक्नेछ ।

    मापदण्डबमोजिम सवारी साधान प्रयोग गर्ने अनुमतिपत्र आयोगले, मुख्य निर्वाचन अधिकृत वा निर्वाचत अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछ । मापदण्डबमोजिम जारी गरिएको अनुमतिपत्र बमोजिमको सवारी साधन सम्बन्धित व्यक्ति वा पदाधिकारीले मात्र प्रयोग गर्न पाइनेछ ।

    अत्यावश्यक सेवा र कूटनीतिक नियोगका सवारीसाधनले अनुमति लिन नपर्ने

    एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी गरिने सवारी साधानको अनुमतिपत्रसमेत एकीकृत रुपमा आयोग परिसरबाटै उपलब्ध गराउने गरी सवारी आवागमन डेस्क स्थापना गरिनेछ । एकीकृत सेवा प्रदान गर्ने प्रयोजनका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट एक जना अधिकृतस्तरका कर्मचारीलाई आयोगमा काजमा ल्याइने छ ।

    सहसचिवको संयोजकत्वमा सवारीसाधन अनुगमन समिति

    मतदानको दिनका लागि दिइने सवारी आवागमनको अनुमतिपत्र सम्बन्धी कार्यमा सहजीकरण गर्न, त्यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन तथा त्यसको अनुगमन गर्नका लागि आयोगले सवारी साधन आवागमन व्यवस्थापन तथा अनुगमन समिति गठन भएको छ ।

    जसको संयोजकको जिम्मेवारी आयोगका सहसचिव एवम प्रशासन महाशाखा प्रमुखलाई दिइएको छ भने सदस्यमा गृह मन्त्रालयका अधिकृतस्तरका कर्मचारी, सूचना तथा प्रशारण विभागका अधिकृतस्तरका कर्मचारी, आयोगकै योजना, अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख तथा उपसचिव रहनेछन् भने सदस्य सचिव संयोजकले तोकेको आयोगका शाखा अधिकृत रहनेछन् ।

    मतदानको दिन कसैले यो मापदण्ड विपरीत सवारी साधान प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिइ मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिनेछ ।

  • काठमाडौंमा सत्तागठबन्धनको चुनावीसभा आज, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौंमा सत्तागठबन्धनको चुनावीसभा आज, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौं । सत्ता गठबन्धनले आज काठमाडौं उपत्यकामा संयुक्त चुनावीसभा गर्दैछ । बिहीबार भरतपुरमा चुनावीसभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

    सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

    काठमाडौं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् ।

    बिहीबार भरतपुरमा आयोजित चुनावीसभामा माओवादी केन्द्रकी नेतृ रेनु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौंमा सभा गर्न लागेका हुन् ।

    कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् ।

    कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावीसभा आयोजना गर्दैछ ।

  • तरुण दलले बनायो ९९ सदस्यीय निर्वाचन परिचालन समिति (सूचीसहित)

    तरुण दलले बनायो ९९ सदस्यीय निर्वाचन परिचालन समिति (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसनिकट युवाको संगठन नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर ९९ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

    ७७ वटै जिल्लालाई समेटेर तरुण दलले बिहीबार केन्द्रीय परिचालन समिति गठन गरेको हो । तरुण दल अध्यक्ष विद्वान गुरुङले समितिको सदस्य सचिवको जिम्मेवारी तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई दिइएको जनाएका छन् ।

    अध्यक्ष गुरुङले कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

    ‘यहीं २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टी र गठबन्धन दलहरुको तर्फबाट उम्मेदवार हुनुभएका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन महत्वपूर्ण तथा प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने बिश्वासका साथ स्थानीय तह निर्वाचन केन्द्रीय तरुण परिचालन समितिमा मनोनित गरेको छु,’ उनले भने ।

  • अर्घाखाँचीका सबै पालिकामा गठबन्धन भर्सेस एमाले, कसले मार्ला बाजी ?

    अर्घाखाँचीका सबै पालिकामा गठबन्धन भर्सेस एमाले, कसले मार्ला बाजी ?

    रुपन्देही । तीन नगरपालिका र तीन गाउँपालिका रहेको अर्घाखाँचीमा अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले मालारानी गाउँपालिकाबाहेक सबैमा जितेको थियो । अरु सबैमा कांग्रेस उम्मेदवारले जितेको भने मालारानीमा मात्रै जितेको थियो ।

    अहिले पनि जिल्लाका अधिकांश स्थानीय तहमा सत्तागठबन्धनको जसपाबाहेकका चार दलबीच तालमेल छ । पालिका र वडाहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीले भने कुनै पनि स्थानीय तहमा प्रमुख र उपप्रमुख पाएको छैन । उसले वडा तहमै चित्त बुझाएको छ ।

    पाणिनि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसबाट क्रमशः अच्युत गौतम र लक्ष्मी गौतमको उम्मेदवारी छ । यहाँ एमालेबाट अध्यक्षमा टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा गौतम पौडेलले उम्मेदारी दिएका छन् । १ वडामा जनमोर्चाले अध्यक्ष पाएको छ भने नेकपा एस, माओवादी र जसपाले एकजना पनि उम्मेदार उठाएको छैन ।

    छत्रदेव गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा इन्दिरा भुसालको उम्मेदवारी छ । १ वडामा माओवादीले वडाध्यक्ष उठाएपनि नेकपा एसले उम्मेदवारी कुनै पदमा दिएको छैन ।

    मालारानी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका पदम क्षेत्री र उपाध्यक्षमा कांग्रेसका शोभाखर खनालको उम्मेदवारी दर्ता भएको छ । ९ वटा वडा रहेको यो पालिकामा माओवादीले ४, कांग्रेसले २, नेकपा एसले २ र जनमोर्चाले १ वडाध्यक्ष पाएका छन् ।

    सन्धिखर्क गठबन्धनबाट नेपाली कांग्रेसकी शान्ता भण्डारीलाई मेयरमा अघि सारेको छ भने उपप्रमुखमा माओवादी केन्द्रका राजेन्द्र भुसालले उम्मेदवारी दर्ता गरेका छन् । एमालेबाट कृष्णप्रसाद श्रेष्ठ मेयरमा र मिश्रा आचार्य उपमेयरमा उम्मेदार बनेका छन् ।

    १२ वडा रहेको यो नगरपालिकामा कांग्रेसले ९ वटा वडामा अध्यक्षको उम्मेदवार खडा गरेको छ । माओवादीले २, नेकपा एसले २ र जनमोर्चाले १ वडामा उम्मेदवारी दिएका छन् । केही वडामा गठबन्धनभित्र कुरा मिल्न नसकेकाले अलग अलग उम्मेदवारी परेको हो ।

    शीतगंगा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा छविलाल पौडेल तथा उपमेयरमा टिका रेश्मीले उम्मेदवारी दिएका छन् । एमालेबाट मेयरमा वसन्त श्रेष्ठ र उपमेयरमा गिता भाटले उम्मेदवारी दिएका छन् । १२ वडा रहेको यो पालिकामा कांग्रेसले ११ वटा वडामा अध्यक्ष उम्मेदवारी दिएको छ भने नेकपा एसले १ वडामा र माओवादीले २ वटामा उम्मेदवारी दिएको छ । केही वडा सहमतिबेगर उम्मेदारी परेको हो ।

    भूमिकास्थान नगरपालिकामा गठबन्धनले राजमोका झविलाल थापालाई नगर प्रमुखको लागि उम्मेदवार बनाएको छ । यहाँ उपप्रमुखको लागि गठबन्धनबाट माओवादी केन्द्रका बालकृष्ण बन्जाडेले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यस्तै विपक्षी दल एमालेबाट रेशम थापा उम्मेदवार छन् । उनी यसअघि गठबन्धनमा रहँदा माओवादीबाट मेयर बनेका थिए । पछि एमालेमा प्रवेश गरेका थिए । एमालेबाट उपमेयरमा वसन्ता पौडेलले उम्मेदारी दिएकी छन् । १० वटा वडामध्ये ६ वटामा कांग्रेस, २ वटामा माओवादी, नेकपा एसले १ वडामा उम्मेदारी दिएका छन् ।

  • वीरेन्द्रनगरमा कांग्रेस-माओवादीलाई राप्रपाको चुनौती, जित्नेमा एमाले आशावादी

    वीरेन्द्रनगरमा कांग्रेस-माओवादीलाई राप्रपाको चुनौती, जित्नेमा एमाले आशावादी

    सुर्खेत । सुर्खेत वीरेन्द्रनगको मेयर र उपमेयरमा कांग्रेस–माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् भने एमाले र नेकपा एस एक्लै प्रतिस्पर्धामा छन् । वडा तहमा भने सबै दलले एक्लाएक्लै भिड्दैछन् । यहाँ राप्रपाले पनि पनि चुनावी प्रचारलाई तीव्र बनाएको छ ।

    नेकपा एमालेबाट नगरप्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ खनाल चुनावी प्रतिस्पर्धामा उभिँदा दुई दलको गठबन्धनबाट मेयरमा कांग्रेस नगरसभापति उपेन्द्र खड्का र माओवादीबाट शान्ति ढकाल उपमेयरमा प्रतिस्पर्धा गर्दैछिन् । राप्रपाले समाजसेवी मुकुन्दश्याम गिरीलाई प्रमुखको उम्मेदवार बनाएको छ । समाजवादीबाट धनकुमारी जिसीले प्रतिस्पर्धा गरिरहेकी छन् ।

    यसबीच नगरप्रमुखमा मोहनमाया ढकाल, उपेन्द्र खड्का र मुकुन्दश्याम गिरीको कडा प्रतिस्पर्धा हुने आँकलन वीरेन्द्रनगरमा देखिएको छ ।

    २०७४ सालको निर्वाचनमा एमालेले १६ वडामध्ये ९ वडामा जित्दा कांग्रेस पाँच वडामा विजय पाएको थियो भने माओवादीले एक वडामा चित्त बुझाएको थियो ।

    २०७४ सालमा नगरप्रमुख पदमा कुन दलले कति मत पाएका थिए ?

    १. देवकुमार सुवेदी, नेपाली कांग्रेस, १४४०५ (विजयी)
    २. बालाराम शर्मा, नेकपा एमाले, १३८९९
    ३. रत्नबहादुर गाहा मगर, नेकपा माओवादी, ५२३७
    ४. गेहेन्द्रप्रसाद दहाल, स्वतन्त्र, १८९४
    ५. ईश्वरकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी, ५५७
    ६. शेरबहादुर शाही, नेपाल मजदुर किसान पार्टी, १६६७. गोविन्दप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चा, १८८
    ८. लक्ष्मीप्रसाद ढकाल, संघीय समाजवादी फोरम, नेपाल, ७८
    ९. मिलन थापा मगर, स्वतन्त्र, ५८
    १०. मणिराम शर्मा, समाजवादी जनता पार्टी, ४०

    उक्त तथ्यांकले एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने निीश्चत छ तर नेपाली का.ग्रेसको शेखर समूहमा चुलिएको असन्तुष्टिका कारण २०७४ सालमा राप्रपाबाट मेयर लडेका ईश्वरकुमार श्रेष्ठले जम्मा मत ५५७ पाए पनि यो पटकको निर्वाचनमा राप्रपाले कम्तिमा दश गुणा बढी मत ल्याउने देखिएको छ ।

    राप्रपाका गिरीले आफ्नो विजय रोक्न कसैले नसक्ने बताइरहेका छन् । घरदैलो अभियानको सुरुवात गर्दै उनले सुर्खेतको देउती बज्यै मन्दिरमा भ्रष्टाचार नगर्ने र सरकारी सेवा सुविधा नलिने कसम समेत खाएका छन् ।

    कांग्रेसको शेखर समूहको समेत सहानुभूति पाइरहेकाले आफूले जित्ने आंकलन गिरीको छ ।

    सुरुमा गठबन्धन मिलेर जाने भने पनि अन्तिम समयमा माओवादी र कांग्रेस मात्रै मेयर–उपमेयरमा उम्मेदवारको भागवण्डा मिलेको थियो । तर पनि घरदैलो अभियानमा कांग्रेसले माफ्नो पक्षमा मत माग्ने र माओवादीले आफ्नो पक्षमा मत माग्ने गरेका कारण एमाले आफैंले चुनाव जित्ने पक्का भएको भन्दै जोशिएको छ ।

    रुष्ट समूहको रुपमा रहेको कांग्रेसको शेखर समूह पनि कांग्रेसको चुनाव प्रचारमा निस्कन थालेको छ ।

    वीरेन्द्रनगरमा कांग्रेसकै मत राप्रपाले काट्ने भएकाले जित्नेमा एमाले ढुक्क छ ।

  • लैंगिक तथा जातीय रूपमा तुच्छ शैलीको भाषा प्रयोग नगर्न महिला आयोगको अनुरोध

    लैंगिक तथा जातीय रूपमा तुच्छ शैलीको भाषा प्रयोग नगर्न महिला आयोगको अनुरोध

    काठमाडौं । राष्ट्रिय महिला आयोगले निर्वाचनको प्रचार–प्रसारका क्रममा लैंगिक, जातीय तथा सामाजिक सांस्कृतिक रूपमा तुच्छ शैलीको भाषा प्रयोग नगर्न अनुरोध गरेको छ ।

    आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै कतिपय स्थानीय तहमा राजनैतिक दल तथा उम्मेदवारले लैगिक, जातीय तथा सामाजिक सांस्कृतिक रूपमा लक्षित गरी आँच पुऱ्याउने तथा अपहेलना हुने गरी तुच्छ शैलीको भाषा प्रयोग भएको देखिन आएकोले यसमा आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

    यस किसिमको अभिव्यक्तिले लैङ्गिकता तथा व्यक्तिको आस्था तथा मानव अधिकारमा सामाजिक सद्भावमा आँच आउने अवस्था देखिएकोले यस्तो अभिव्यक्ति प्रकट नगर्न तथा सबैप्रति सम्मान जनाउने गरी आफ्ना अभिव्यक्ति राख्न सबै दल, उम्मेदवार तथा दलका कार्यकर्ता र मतदातालाई अनुरोध गरेको छ । यस्ता विषयमा निर्वाचन आयोगलाई समेत ध्यान दिन महिला आयोगले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ ।

    स्थानीय तहको निर्वाचन, २०७९ मा सम्बन्धित स्थानीय निकायको लागि विभिन्न राजनैतिक दल तथा व्यक्तिले उम्मेदवारी दिने, उम्मेदवारी माथि उजुरी तथा उजुरी माथि छानबिन समेत भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ ।

    सबै उम्मेदवार आ–आफ्नो क्षेत्रमा आ–आफ्नो जित सुनिश्चितताका लागि प्रचार प्रसार गरिरहेका छन् ।

  • चुनावी अभियानमा सहभागी हुन थाहा नगरपालिकाका मेयरले दिए राजीनामा

    चुनावी अभियानमा सहभागी हुन थाहा नगरपालिकाका मेयरले दिए राजीनामा

    हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले राजीनामा दिएका छन् ।

    ‘दल छोडी पद, पद छोडी दल’ भन्ने रूपचन्द्र विष्टको भनाइलाई आत्मासाथ गर्दै गठबन्धनको चुनावी कार्यक्रममा सहभागिता जनाउनको लागि आफूले राजीनामा दिएको विष्टले बताए ।

    नेकपा माओवादी केन्द्रको तर्फबाट २०७४ सालमा मेयर पदमा विजयी भएका विष्टले बिहीबार नगरका उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजीनामा दिएका दिएका हुन् ।

    पदमा रहेर चुनाव प्रचारमा जाँदा स्वर्गीय आदर्श व्यक्तित्व विष्टको नीति विरुद्ध हुने र आचारसंहिताको उलङ्घन पनि हुने भन्दै उनले राजीनामा दिएका हुन् ।

    पदमै रहेर चुनाव प्रचारमा हिँड्न आफूलाई नैतिकताले नदिने र आदर्श व्यक्तित्व विष्टको सच्चा अनुयायीले पदमा रहँदा दलको प्रचारमा हिड्ने कामलाई उचित नहुने भन्दै राजीनामा दिएको उनले बताए ।

    आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धले माओवादीको तर्फबाट विष्णु विष्ट ‘आदर्श’लाई मेयरको उम्मेदवार बनाएको छ ।

    उत्तरी मकवानपुरको थाहा नगरपालिकामा स्वर्गीय रूपचन्द्र विष्टलाई निकै आदरपूर्ण सम्मान गरिन्छ ।

    उनै विष्टले प्रतिपादन गरेको ‘थाहा’ सिद्धान्तलाई सम्मान गर्दै नगरपालिकाको नाम नै थाहा नगरपालिका राखिएको थियो ।

  • शंकर पोखरेलको दाबी- ६ वटा महानगरमा चमत्कार गर्छौँ, गठबन्धनले १३५ ठाउँमा उम्मेदवार नै पाएन

    शंकर पोखरेलको दाबी- ६ वटा महानगरमा चमत्कार गर्छौँ, गठबन्धनले १३५ ठाउँमा उम्मेदवार नै पाएन

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेसँग एक्लै चुनाव लड्न नसकेर गठबन्धन बनाउँदा पनि सत्ताधारी दलहरूले देशका १३५ भन्दा बढी स्थानमा उम्मेदवार उठाउन नसकेको टिप्पणी गरेका छन् ।

    विभिन्न मिडियाका सम्पादकहरूसँग बुधवार काठमाडौंको अल्फा हाउसमा अन्तरक्रिया गर्दै महासचिव पोखरेलले पाँच वटा दलमध्ये कसैले पनि उम्मेदवार नपाउनुले पनि उनीहरूको हैसियत प्रस्ट हुने बताए ।

    पोखरेलले भने– निर्विरोध भएका ठाउँमा पनि एमाले पहिलो छ । उनीहरूले ती ठाउँमा उम्मेदवार समेत पाएनन् । एउटा दलको उम्मेदवार नहुनु स्वाभाविक हो तर पाँच वटाले समेत नपाउनुले पनि गठबन्धनको हबिगत प्रस्ट हुन्छ ।

    महासचिव पोखरेलले यस पटकको स्थानीय चुनाव सरकार र सत्तारुढ दलले नचाहेको तर कानून संविधान र प्रतिपक्षी दलका कारण मात्र भइरहेको भन्दै जसले चुनाव नै चाहेका थिएनन् उनीहरूले जित्ने सम्भावना नरहेको दाबी गरे ।

    पोखरेलले भने–यो चुनाव उनीहरूले चाहेका होइनन् । चुनाव हाम्रो दबाबमा भएको हो । त्यसैले हामी अफेन्सिभ छौँ,सत्ता गठबन्धन डिफेन्सिभ छ । एमाले एउटा शक्ति हो,गठबन्धन अर्को शक्ति । प्रचण्ड माधव भनेका कांग्रेसका सहयोगी मात्र हुन् अब उनीहरू राष्ट्रिय राजनीतिमा फरक अस्तित्वमा रहन सक्दैनन् ।

    महासचिव पोखरेलले यस पटक ६ वटा महानगरपालिकामा एमालेले चमत्कार गर्ने भन्दै चुनावी परिणामबारे आफ्नो आँकलन सफल हुने गरेको दाबी गरे । उनले प्रचण्ड माधवसँग आउने तीनै तहका चुनावमा कुनै पनि प्रकारको सहकार्य हुन नसक्ने समेत प्रस्ट पारे ।

    अर्को एक प्रसङ्गमा काठमाडौंमा बालेन शाहको उम्मेदवारीलाई एमालेले सहज रूपमा लिएको र उनको उम्मेदवारीले एमालेलाई फाइदा नै पुग्ने बताए ।

  • तीन दिन नेपाल भारत सीमा नाका बन्द हुने, २७ गतेबाट मदिरा बिक्री रोक

    तीन दिन नेपाल भारत सीमा नाका बन्द हुने, २७ गतेबाट मदिरा बिक्री रोक

    काठमाडौं । निर्वाचन आयोग आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गतेबाट सीमा नाका बन्द गर्ने भएको छ ।

    वैशाख २७ गते मतदानसम्म नभएसम्मका लागि नेपाल भारत सीमा नाका बन्द हुने भएका हुन् ।

    यस्तै, वैशाख २७ गते राति १२ बजेदेखि नै मतदान सम्पन्न नहुँदासम्म तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन पूर्ण रूपमा निषेध गर्न आयोगले गृह मन्त्रालयलाई भनेको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्माले यो निर्णय स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको कार्यान्वयनका लागि गरिएको बताए ।

  • प्रचण्डलाई ओलीले भने- देउवासँग रोएर मञ्च पाउनु भयो, बधाई छ

    प्रचण्डलाई ओलीले भने- देउवासँग रोएर मञ्च पाउनु भयो, बधाई छ

    कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले रोएपछि कांग्रेसले मञ्च दिएको बताएका छन् ।

    धनगढीमा आयोजना गरिएको चुनावी आम सभालाई सम्बोधन गर्दै पहिलो दिन विराटनगरमा कांग्रेसले बोल्न नदिएको भन्दै चितवनमा बोल्न प्रचण्डले शेरबहादुर देउवालाई गुहारेको बताएका हुन् ।

    ‘हिजो उहाँहरूले विराटनगरमा बोल्न पाउनु भएको थिएन । आज चितवनमा बोल्न शेरबहादुरसँग रुनै प¥यो ’ ओलीले भने , ‘मेरो छोरीलाई भोट माग्न जाने मै बोल्न नपाउने भनेपछि कमसेकम मञ्चमा जान त पाउनु भयो ।’

    माधव नेपाललाई लक्षित गर्दै ओलीले ३० गते पछि सबैको अवस्था थाहा हुने बताएका हुन् ।

    ‘एमालेलाई १५ वर्ष चुसेका व्यक्तिले एमाले लाई टर्च बालेर खोज्नु पर्छ भनेर भनेछन्’ ओलीले भने ‘टर्च बाल्नु पर्छ कि पर्दैन धनगढीमा हेर्न आउनु, ३० गते पछि थाहा पाउने गर्छौ कसलाई टर्च बालेर खोज्नु पर्छ ।’

    उनले निर्वाचन पनि तत्काल गठबन्धन टुट्ने दाबी गरेका छन् ।

    ‘यो चुनावको परिणाम आएपछि गठबन्धनको हेर्नुहोला हालत के हुन्छ मैले अहिले धेरै नभनौँ बेहाल हुन्छ’ ओलीले भने, ‘चुनाव जित्ने कहीँ बाट होइन । एउटाले अर्कोलाई दोष लगायो अर्कोले अर्कोलाई दोष लगायो । जनताले भोट दिएको थाहा हुने होइन। अनि गठबन्धन विकाश तर्फ जान्छ । ’

  • कांग्रेसको निर्णय : विद्रोही उम्मेदवार, समर्थक र प्रस्तावक पार्टीबाट निष्कासित

    कांग्रेसको निर्णय : विद्रोही उम्मेदवार, समर्थक र प्रस्तावक पार्टीबाट निष्कासित

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरूका प्रस्ताव तथा समर्थकहरू पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ।

    बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बागी र प्रस्तावक तथा समर्थकहरूको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः निष्कासन भएको जनाएको हो ।

    त्यस्ता विद्रोही उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीहरूको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपिसहित तत्काल केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिहरूलाई कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको छ ।

    विद्रोही उम्मेदवारहरूले आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न यसअघि नै अनुरोध गरेको थियो । तर चितवनको भरतपुर र पोखरा लगायतका क्षेत्रका कांग्रेसका बागी उम्मेदवारहरूले पार्टीको त्यस्तो आग्रहलाई अस्वीकार गरेका थिए ।

    यस्तो छ विज्ञप्ति

  • स्थानीय तह निर्वाचन : मतपत्र छपाईको काम सम्पन्न

    स्थानीय तह निर्वाचन : मतपत्र छपाईको काम सम्पन्न

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाईको काम सकिएको जनाएको छ ।

    मतपत्र छपाईको काम सकिएपनि ढुवानीको काम भने बाँकी छ । सबै जिल्लाहरुमा शुक्रबारसम्म मतपत्र पुग्ने आयोगले जनाएको छ ।

    यस्तै आयोगले निर्वाचनमा खटाइएको कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा कानून बमोजिम कडा कारवाही गर्न निर्देशन दिएको छ ।

    कारबाहीको अधिकार मूख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई दिइएको छ ।

    आयोगले निर्वाचनका खटिएका कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारणसहित उपर्युक्त कारण परेको अवस्थामा बाहेक अब कार्यक्षेत्र फेरबदल नगर्न नगराउन पनि निर्देशन दिएको छ ।

  • भरतपुरमा गठबन्धनको सभा : आह्वानबिनाको धम्की मात्रै !

    भरतपुरमा गठबन्धनको सभा : आह्वानबिनाको धम्की मात्रै !

    भरतपुर । वैशाख ३० मा हुने स्थानीय निर्वाचनको ‘इपिसेन्टर’ बनेको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनले बिहीबार संयुक्त चुनावी सभा गर्‍यो ।

    रातभरको झरीले ‘ताल’ बनेको भरतपुरको केन्द्रीय बसपार्क चौरमा हतारहतार पानी झिकेर, माटो भरेर तयार पारिएको कार्यक्रमस्थलमा गठबन्धनले सोचेजति उपस्थिति देखिएन ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, गठबन्धनका संयोजक रामचन्द्र पौडेल लगायतका नेताले चुनावी सभालाई सम्बोधन गरे ।

    सामान्यतया चुनावी सभामा कार्यकर्ताभन्दा जनतासँग बढी अपिल गर्ने गरिन्छ । तर, भरतपुरमा त्यस्तो देखिएन । गठबन्धनका नेताहरूले भरतपुरका जनतालाई कुनै आह्वान गरेनन् । चुनावीसभाको मञ्चबाट गठबन्धन दलमै रहेका असन्तुष्टि सम्बोधनको प्रयत्नमा देउवा, प्रचण्ड, नेपाल र पौडेल व्यस्त रहे ।

    सभामा कांग्रेस सभापति देउवाले गठबन्धनविरुद्ध नजान आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिए । गठबन्धन र चुनावी तालमेल गर्ने आफ्नो निर्णयलाई पुष्टी गर्न पार्टीको आन्तरिक प्रतिस्पर्धाको प्रसंग झिके । गत पुसमा कांग्रेसको १४ औं महाधिवेशनमा ५९ प्रतिशत मत ल्याएर देउवा सभापतिमा निर्वाचित भएका थिए । भरतपुरको सभामा भने आफू र आफ्नो नीति ८२ प्रतिशतले अनुमोदन भएको दाबी देउवाले गरे । जबकी कांग्रेस महाधिवेशनको बन्दसत्रमा कुनै नीतिगत बहस वा राजनीतिक प्रस्तुति गरिएकै थिएन ।

    ‘पार्टी भनेकै जनताको हो । कांग्रेस पार्टीको चुनावमा ८२ प्रतिशतले मलाई जिताए । त्यो भनेकै गठबन्धन गर्नु ठीक छ भनेको हो नि । गठबन्धन नचाहेको भए त मलाई हराइहाल्थे नि’, देउवाले भने । उनले उम्मेदवार रेनु दाहालको नाममा ‘बखेडा नगर्न’ आफ्नै पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

    ‘रेनु दाहाललाई जिताउनु हाम्रो कर्तव्य हो । उहाँको नाममा बखेडा नगर्नुहोला’, देउवाले भने । देउवाले आफ्नो मन्तव्यमा गठबन्धनको औचित्य र स्थानीय निर्वाचनमा गठबन्धनका एजेण्डाबारे खासै बोलेनन् । जनतालाई आह्वान गरेनन् । एकोहोरो गठबन्धन र तालमेलप्रति असन्तुष्ट कार्यकर्तालाई धम्क्याइरहे । ‘रेनुलाई जिताउनुपर्छ । गठबन्धन टुट्न दिनुहुन्न । गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ’, देउवाले भने ।

    अर्का वक्ता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफ्नो मन्तव्यमा अधिकांश समय कांग्रेसका असन्तुष्ट कार्यकर्ताहरूलाई घुर्क्याउनमै खर्च गरे । पूर्ववक्ता कांग्रेस नेताहरूले ‘स्थानीय निर्वाचनपछि विगतमा जस्तै धोका दिने त होइन ?’ भनी सोधेको प्रश्नमा प्रचण्ड प्रसन्न देखिएनन् ।

    कांग्रेस कार्यकर्ताले हँसिया हथौडामा भोट दिन नमाने देशै दुर्घटनामा पर्ने चेतावनी प्रचण्डले दिए । आफूले सबैको साथ पाए १५ वर्ष गठबन्धन जोगाएर लैजान उत्साही हुने तर ‘टेन्सन’ दिए जेपनि हुनसक्ने आशयको प्रचण्डवाणी ‘कांग्रेस कार्यकर्ता’ माथिकै प्रहार थियो ।

    वक्ताका रूपमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस कार्यकर्तालाई धम्की नै त दिएनन् तर अधिकांश समय एमाले र केपी ओलीको आलोचनामै खर्चिए । ‘एमाले कुहिएको फर्सी हो, छोएपनि रोग लाग्छ’, नेपालको भनाइ थियो । जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको भाषणमा पनि गठबन्धनले जनतालाई गर्ने कुनै आह्वान भेटिएन ।

    गठबन्धनको संयोजकसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समय गठबन्धनको औचित्य पुष्टी गर्नमै खर्चिए । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेताहरूलाई ‘धैर्यहीन, इमोस्नल र भावावेशमा चलेको’ आरोप लगाए । गठबन्धनको सैद्धान्तिक व्याख्या गर्दै पौडेलले वीपीले भनेको प्रजातान्त्रिक समाजवाद पूरा गर्नेदेखि बहुलवादमा आधारित बहुदलीय व्यवस्थाको रक्षापनि गठबन्धनबाटै हुने बताए । गठबन्धनले कांग्रेसलाई अवसर दिएको भन्दै उनले पनि असन्तुष्ट कांग्रेस कार्यकर्तालाई थुम्थुम्याउने प्रयास गरे ।

    ‘गठबन्धन नभएको भए गैडाकोटको कृष्ण नेपाली कसरी मुख्यमन्त्री हुन्थे ? यही चितवनको जिउँदो शहिद बलराम पौडेल कसरी मन्त्री भएर झण्डा हल्लाएर हिँड्थे ?’, चुनावी सभाबाट कांग्रेस कार्यकर्तालाई पौडेलको प्रश्न थियो ।

    कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिका कारण परिणाममा असर नपुगोस् भनेर गठबन्धनले सचेतता पूर्वक भरपुरमा चुनावी सभा राखेको थियो । चुनावी सभामा चौर खाली देखिएपछि स्थानीय नेताहरूले ‘सभामा मान्छे थोरै भएपनि चुनाव जिताउने’ वाचा गर्नुपरेको थियो । चुनावी सभामार्फत उम्मेदवार, पार्टी र गठबन्धनले गर्नुपर्ने राजनीतिक र विकासको खाका भरतपुरको मञ्चबाट प्रस्तुत हुन सकेन ।

    तुलनात्मकरूपमा मेयरकी प्रत्याशी रेनु दाहालले आफूले विगतमा गरेका काम र भावी योजनाबारे सभामा स्पष्ट धारणा राखिन् । समग्रतामा सत्ता गठबन्धनको भरतपुर सभा ‘गठबन्धन टुट्ने वा चुनाव हार्ने भयबाट ग्रस्त र असन्तुष्ट कांग्रेसजनलाई घुर्क्याउने अस्त्र’ मात्रै बन्न पुग्यो ।

  • बालेन शाहसँग १ दिन (भिडिओ)

    बालेन शाहसँग १ दिन (भिडिओ)

    काठमाडौं । आसन्न स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदको लागि सबै भन्दा पहिला उम्मेदवारी घोषणा गरेका व्यक्ती हुन् बालेन्द्र शाह उर्फ बालेन शाह ।

    उम्मेदवारी घोषणा गरेसँगै सामाजिक सञ्जालमा उनले युवा पुस्ता माझ राम्रै चर्चा हासिल गरे । चर्चासँग सँगै उनका समर्थकहरू सामाजिक सञ्जालमा मात्र सीमित छन् ।

    उनले फगत चर्चाका लागि मात्र उम्मेदवारी घोषणा गरेका हुन् उनी सँग चुनावी एजेण्डा छैनन भनेर आलोचना  हुँदै गयाे । यद्दपि जति मिति नजिकिँदै गयो त्यति उनको चर्चा चुलिँदै गयो ।

    राम्रै गृहकार्य गरेर चुनावी मैदानमा उत्रिएका बालेनले डिजिटल सरकार देखी आइडिया हबसम्मका घोषणा अघि सार्दै हाल स्थानीय चुनावको मैदानमा उत्रिएका छन् ।

    सामाजिक सञ्जाल र मिडियाको चरम सदुपयोग गर्न खप्पिस बालेनले आफ्ना एजेण्डाहरुको फेहरिस्त यसरी सुनाए कि अहिले उनको उम्मेदवारी मूलधारका राजनैतिक पार्टीका उम्मेदवारहरूको लागि पनि चिन्ताको विषय बनेको छ ।

    नेपाल प्रेसको चुनाव केन्द्रित कार्यक्रम के छ माहोलमा आज हामी तिनै स्वतन्त्र उम्मेदवार बालेन शाहको चुनाव घरदैलो अभियानलाई नियाल्दै छौ र देखाउँदै छौ बालेन शाहको पक्षमा ‘के छ माहोल ?

    भिडिओ : उमेश कार्की

  • रेनुको तारिफ गर्दै देउवाले भने- भरतपुरका गल्लीहरू पिच भए, जग्गाको भाउ बढ्यो (भिडिओ)

    रेनुको तारिफ गर्दै देउवाले भने- भरतपुरका गल्लीहरू पिच भए, जग्गाको भाउ बढ्यो (भिडिओ)

    भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा विकासकै कारण जग्गाको भाउ बढेको बताएका छन् ।

    चुनावी सभामा बोल्दै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले माओवादी नेतृ रेनु दाहालको कार्यकालमा भरतपुरका सबै गल्ली पिच भएर जग्गाको भाउ बढेको बताए ।

    ‘गल्ली गल्लीमा पिच भएको छ । यहाँको जग्गाको भाउ बढेको छ । काठमाडौंमा भन्दा जग्गाको मूल्य बढिसक्यो । यो रेनु दाहालले बनाउनुभएको हो’, देउवाले भने ।

    भरतपुरमा अन्तर्राष्ट्रिय खेल मैदान र सम्मेलन केन्द्र बन्दै गरेको भन्दै देउवाले आगामि दिनमा अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्ने बताए ।

    ‘उहाँले अन्तर्राष्ट्रिय खेल क्रिकेट मैदान बनाउँदै हुनुहुन्छ, अन्तर्राष्ट्रिय सभा हल बनाउँदै हुनुहुन्छ । त्यसपछि अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्छ । यो चानचुने कुरा होइन’, उनले भने ।

  • रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ : देउवा

    रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो, गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ : देउवा

    भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेनु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् ।

    गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने बताए ।

    भरतपुर महानगरको मेयरका रूपमा रेनुले गरेका कामहरू प्रशंसनीय रहेको भन्दै देउवाले रेनुले हारे चितवनका जनता रिसाउने बताए ।

    ‘रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो । यति राम्रो काम गर्ने मेयर नजिताए चितवनका जनताले के भन्लान् ? गठबन्धन टुटाउने षड्यन्त्रमा हामी लाग्नुहुँदैन । गठबन्धन टुट्यो भने कांग्रेसपनि खत्तम हुन्छ’, देउवाले भने ।

    उनले रेनु एक्लै जित्न सक्ने उम्मेदवार समेत भएको दाबी गरे ।

    भरतपुरको विकासका लागि रेनुले अघि सारेका योजना हेर्दा जनतामा पपुलर देखिएको देउवाको दाबी छ ।

  • कांग्रेसका ८२ प्रतिशत कार्यकर्ता गठबन्धनको पक्षमा छन् : देउवा

    कांग्रेसका ८२ प्रतिशत कार्यकर्ता गठबन्धनको पक्षमा छन् : देउवा

    भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका ८२ प्रतिशत कार्यकर्ता गठबन्धनको पक्षमा रहेको बताएका छन् ।

    भरतपुरमा गठबन्धनको चुनावी सभामा बोल्दै सभापति देउवाले कांग्रेसको महाधिवेशनमा आफूले ८२ प्रतिशत सिट जितेको भन्दै त्यो जितले नै गठबन्धन अनुमोदन गरेको बताए ।

    ‘यो गठबन्धनप्रति जनताको विश्वास भएकै कारणले होला ८२ प्रतिशत साथीहरूले मलाई पार्टीको सभापति बनाएका होलान् नि । कांग्रेसको साथीहरू गठबन्धनको विरोधमा भएको भए मलाई हराइहाल्थे नि’, देउवाले भने ।

  • प्रचण्डले भरतपुरमा भने- हँसिया हतौडामा भोट हाल्न गाह्रो नमान्नुस्, देश दुर्घटनामा पर्न सक्छ (भिडिओ)

    प्रचण्डले भरतपुरमा भने- हँसिया हतौडामा भोट हाल्न गाह्रो नमान्नुस्, देश दुर्घटनामा पर्न सक्छ (भिडिओ)

    भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने बताएका छन् ।

    भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भरतपुरमा जिते मात्रै गठबन्धनलाई दीर्घकालसम्म लैजान उत्साह मिल्ने बताए ।

    सभामा बोल्ने केही कांग्रेस नेताहरूले गठबन्धनको निरन्तरताका बारेमा राखेको चासोमा जवाफ दिदैं प्रचण्डले कांग्रेसका नेता कार्यकर्ताहरूले हँसिया हतौडामा भोट हाल्न गाह्रो मान्न नहुने बताए ।

    ‘तपाईँहरूले हँसिया हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जान्छ । भरतपुरमा रेनु र चित्र सेनको टिमले जित्यो भने म उत्साही हुनेछु । १०–१५–२० वर्ष गठबन्धन लैजान प्रयास गर्नेछु । तपाईँहरूले नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जान सक्छ’, प्रचण्डले भने ।

    भरतपुरमा स्वतन्त्र उम्मेदवारलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तिममा ‘भोट खन्याइदिने’ आश्वासन दिएको दाबी गरेका छन् ।

    ‘केपीले स्वतन्त्र उम्मेदवारलाई अडिनुस् है भनेका छन् रे । अन्तिममा एमालेको सबै भोट खन्याइदिउँला भनेका छन् रे । केपीका भनाइको भर नपर्नुहोला’, उनले भने ।

    प्रचण्डले आफूलाई शंका नगर्न आग्रह गर्दै सबैको साथ भए गठबन्धनलाई दीर्घकालसम्म लैजाने बताए ।

    ‘ममाथि शंका नगर्नुस् । युद्धलाई शान्तिमा, शान्तिलाई संविधानसभामा र संविधानसभालाई लोकतान्त्रिक गणतन्त्रमा लैजाने पात्र मै हो । हामीले यो गठबन्धन सोचे विचार गरेरै बनाएका छौँ । यसलाई जोगाएर जानुको विकल्प छैन’, प्रचण्डले भने ।

    उनले विगतमा आफूले कांग्रेसलाई धोका नदिएको समेत बताए ।

    भरतपुरको निर्वाचनलाई दुनियाँले हेरेको भन्दै भरतपुरमा गठबन्धनले अभूतपूर्व जित हासिल गर्नुपर्ने बताए ।

    आफू विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको षड्यन्त्र जारी रहे पनि जनताले उचित फैसला दिने प्रचण्डको भनाई छ ।

    ‘एमालेका केही नेताहरू मिलौँ भन्न आएका छन् तर गल्ती दोहोर्‍याउँदिन भनेको छु । म जनताको फैसला हेर्न चाहन्छु’, उनले भने ।

    भरतपुर महानगरपालिकाले विकास र सुशासनमा रेकर्ड कायम गरेको भन्दै उनले रेनु दाहालको कामबाट सबैले गर्व गरेको बताए ।

  • निर्वाचन आचारसंहिता उलंघन- बिहीबारसम्म ३७ व्यक्ति र दलसँग स्पष्टीकरण माग

    निर्वाचन आचारसंहिता उलंघन- बिहीबारसम्म ३७ व्यक्ति र दलसँग स्पष्टीकरण माग

    काठमाडौं । निर्वाचन आयोगले बिहीबारसम्म निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी र आरोपका आधारमा ३७ व्यक्ति तथा राजनीतिक दललाई स्पष्टीकरण सोधेको जनाएको छ ।

    आयोगको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

    ‘हालसम्म स्पष्टीकरण मात्र मागिएको छ,’ उनले भने,‘जवाफबारे अध्ययन गर्दैछौं । चित्तबुझ्दो नआए र निर्वाचन आचार संहिता २०७८ को प्रतिकूल आएर कारबाही हुन्छ ।’

  • गुल्मीको भागबन्डामा कांग्रेस र माओवादी हाबी, नेकपा एस र जसपा असन्तुष्ट

    गुल्मीको भागबन्डामा कांग्रेस र माओवादी हाबी, नेकपा एस र जसपा असन्तुष्ट

    रुपन्देही । गुल्मीमा दुईवटा नगरपालिका र १० वटा गाउँपालिका छन् ।

    ५ दलीय गठबन्धन रहेपनि यहाँको नेतृत्व कांग्रेस र माओवादीले मात्रै राखेपछि नेकपा एस र जसपा असन्तुष्ट छन् । तर पनि अधिकांशमा गठबन्धनको सहमति अनुसार नै उम्मेदारी परेको छ ।

    कांग्रेसले ८ र माओवादी केन्द्रले ४ वटा स्थानीय तहमा प्रमुखका उम्मेदवार दिने सहमति गरिएपनि धुर्कोट र कालीगण्डकीमा माओवादीले एमालेसँग गठबन्धन गरेपछि अन्य पालिकामा पनि विश्वसनियतामा समस्या आएको हो ।

    एमालेले रेसुङ्गा नगरपालिकाको प्रमुखमा गठबन्धनले कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थीलाई प्रमुख र अमृता कुँवरलाई उपप्रमुखमा अघि सारेको छ । नेकपा एमालेले राजेन्द्र पाण्डे प्रमुख र उपप्रमुखमा रीता पाण्डेलाई अघि सारेको छ । यहाँ माओवादी केन्द्रले वडा सदस्यमै चित्त बुझाएको छ भने नेकपा एसलाई ४ वटा वडा सदस्यमा मात्रै भागवण्डा परेको छ ।

    मुसिकोट नगरपालिकामा एमालेले जीवन खरेललाई प्रमुख र गंगा श्रेष्ठलाई उपप्रमुखमा अघि सारेको छ । यहाँ गठबन्धनबाट कांग्रेसका हरिनारायण सापकोटा मेयर तथा नेकपा एसका श्रीराम महत उपमेयरमा उम्मेदार दिएका छन् । नेकपा एसको भागमा उपमेयर उम्मेदवार परेको छ भने माओवादीलाई पनि वडा छुट्याइएको छ ।

    त्यस्तै कालीगण्डकी गाउँपालिका अध्यक्षका लागि रामजी ढकालले उम्मेदवारी दिएका छन् । यहाँ एमालेले उपाध्यक्ष माओवादीलाई दिएर गठबन्धन गरेको छ । माओवादीका मन्जुकुमारी दर्लामी सूर्य चिन्ह लिएर उम्मेदार बनेकी छन् ।

    सत्यवती गाउँपालिकामा पनि अध्यक्षमा एमालेबाट टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया राहादी उम्मेदवार छन् ।

    चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा चेतन बस्नेत र उपाध्यक्षमा यस अगाडिकै राधिका अर्याल पुनः प्रतिस्पर्धामा छन् ।

    रुरु क्षेत्र गाउँपालिकामा अध्यक्षका लागि हिमाल श्रेष्ठ र उपाध्यक्षका लागि मिना गौतमको उम्मेदवारी छ । गुल्मी दरबार गाउँपालिकामा पनि अध्यक्षमा कृष्ण भुसाल र उपाध्यक्षमा सुशीला पुन उम्मेदवार हुन् । इश्मा गाउँपालिका अध्यक्षमा हिरा एसीको उम्मेदवारी छ । मालिका गाउँपालिकामा यस अगाडिकै अध्यक्ष रितबहादुर थापा छन् भने उपाध्यक्षमा रनमाया पुनको उम्मेदवारी छ ।

    मदाने गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि प्रेम केसी र उपाध्यक्षमा यस अगाडिकै सरिता खड्काले उम्मेदवारी दर्ता गराएका छन् । मुसिकोटमा गठबन्धनबाट कांग्रेसका हरिनारायण सापकोटा र उपप्रमुखमा समाजवादीका नेता श्रीराम महत चुनावी मैदानमा छन् ।

    मालिका गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीबाट देवीराम अर्याल अध्यक्ष र उपाध्यक्षमा काग्रेसका उपेन्द्र अर्यालको उम्मेदवारी छ । कालिगण्डकी र छत्रकोट गाउँपालिकामा कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन छ । दुवै पालिकामा कांग्रेसले प्रमुख र जनमोर्चाले उपप्रमुख पाएका छन् ।

    सत्यवती, चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिका कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । सत्यवतीमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख पाएको हो । चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिकामा माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको छ । चन्द्रकोटको अध्यक्षमा माओवादीका युवराज केसी र उपाध्यक्षमा कांग्रेसबाट विष्णुप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

    धुर्कोट गाउँपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । कांग्रेसले प्रमुख र समाजवादीले उपप्रमुखमा उम्मेदवारी दिएका हुन् । यहाँ एमाले र माओवादीले गठबन्धन गरेका छन् । माओवादीले अध्यक्षमा भूपाल पोखरेल तथा एमालेले उपाध्यक्षमा सिता गिरीलाई उम्मेदार बनाएको छ ।

    मदाने गाउँपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ । कांग्रेसका महेन्द्रबहादुर कुँवर अध्यक्ष र माओवादीका बेगमबहादुर चन्द बोहरा उपाध्यक्षमा उम्मेदारी दिएका छन् । यहाँ जनमोर्चाका चन्द्रप्रसाद भट्टराईले पनि उपाध्यक्षमा उम्मेदारी दिएका छन् भने जसपाबाट दिनेशकुमार घर्तीले अध्यक्षमा उम्मेदारी दिएका छन् । नेकपा एस वडाध्यक्षसहित ४ वडा सदस्यमा खुम्चिएको छ ।

    २०७४ को स्थानीय निर्वाचनमा १२ तहमध्ये ७ वटामा एमालेले नेतृत्व हात पारेको थियो । ५ स्थानीय तहमा नेपाली कांग्रेस र १ स्थानीय तहमा माओवादीले जितेको थियो । अधिकांश पालिकामा कांग्रेस माओवादीको गठबन्धन रहेको थियो ।

  • काठमाडौं नफेरिएको भन्दै सिर्जनाले भनिन्- सबैको सल्लाह र समन्वयमा महानगर चलाउँछु

    काठमाडौं नफेरिएको भन्दै सिर्जनाले भनिन्- सबैको सल्लाह र समन्वयमा महानगर चलाउँछु

    काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंको व्यवस्थित विकास जरुरी रहेको बताएकी छन् ।

    आज सामाजिक क्षेत्रमा सक्रिय महिलाहरूसँगको अन्तरक्रिया कार्यक्रम उनले भनिन् ‘काठमाडौं २५ वर्षअघि जस्तो थियो, अहिले पनि त्यस्तै छ । झन्‌झन् दयनीय अवस्था हुँदैछ । सबै अस्तव्यस्त छ, एकदमै धुलो धुँवा, नदीनाला सबै अस्तव्यस्त छ । सबै चिज बनाउँनुपर्ने छ । केही पनि बनेको छैन ।’

    यसमा सबैको साथ चाहिने उनले बताइन् । ‘यसमा सबैको साथ चाहिन्छ । म एक्लो केही पनि होइन्, सबै सरोकारवालाहरूसँग सम्पर्क समन्वय गरेर काम गर्छु,’ उनले भनिन् ।

    विकासे कामका लागि काठमाडौंमा बजेट अभाव पनि नरहेको उम्मेदवार सिंहले बताइन् । ठूलो बजेट भएको काठमाडौंका लागि योजनाबद्ध रूपमा काम गरे काम गर्नु ठूलो कुरा नभएको पनि उनले बताइन् ।

    अन्तरक्रियाका क्रममा महिला सामाजिक अभियान्ताहरूले बालबालिकामैत्री संरचना, महिलामैत्री र सुरक्षित सहर निर्माण, सामाजिक कल्याणकारी राज्यसंरचना निर्माण लगायतका सवालमा महानगरबाट काम गर्नुपर्ने औल्याएका थिए ।

    त्यसका लागि आफू सदैव छलफल गरेर काम गर्न तयार रहेको र आफैं सामाजिक अभियानमा सक्रिय व्यक्ति भएकाले जानकार रहेको उम्मेदवार सिंहले बताएकी थिइन् ।

  • प्रचण्डले भने– जय नेपाल र लालसलामबीच सहकार्य जरुरी छ (भिडिओ)

    प्रचण्डले भने– जय नेपाल र लालसलामबीच सहकार्य जरुरी छ (भिडिओ)

    भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाल सलाम र जय नेपालको सहकार्य जरुरी रहेको बताएका छन् ।

    भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले हँसिया हथौडा र चार तारे झण्डा एकै ठाउँमा उभिएपछि नेपालमा प्रजातन्त्र पुनः स्थापना भएको स्मरण गरेका हुन् ।

    ‘लाल सलाम र जय नेपालको सम्बन्धको सुरुआत २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट सुरु भएको हो । त्यसभन्दा अगाडि वामपन्थी र प्रजातन्त्रवादीबीच सहकार्य हुने विषय अलि नकारात्मक मानिन्थ्यो । २०४६ सालको जनआन्दोलनको सन्दर्भमा हँसिया हथौडा र चार तारे झण्डा एकसाथ भएपछि मात्रै प्रजातन्त्र पुनः स्थापना भयो’, उनले भने ।

    नेपालमा अझै पनि वाम–लोकतान्त्रिक एकता र सहकार्य जरुरी रहेकोमा दाहालले जोड दिए ।

    गठबन्धनको विरुद्धमा उभिएका केही नेताहरूले सैद्धान्तिक प्रश्न उठाएको भन्दै प्रचण्डले आफूले सैद्धान्तिक नै जवाफ दिए ।

    ‘रुख र हँसिया हथौडा चिन्हको बारेमा कुरा गर्नुभएको छ । के ४६ सालको जनआन्दोलन, ६२र६३ को जनआन्दोलनको बलमा विस्तृत शान्ति सम्झौता हुनु हँसिया हथौडा र रुखको सहकार्य थिएन ? के त्यो गलत हो भन्न सक्नुहुन्छ ?’, प्रचण्डले प्रश्न गरे ।

  • कैलाली पुगेर ओलीले भने- रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण छैन (भिडिओ)

    कैलाली पुगेर ओलीले भने- रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण छैन (भिडिओ)

    कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

    कैलालीको बर्दगोरिया गाउँपालिकास्थित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हुँदै नभएको मुद्दा लगाएर थारु नेताहरूलाई थुनेर राखेको बताएका हुन् ।

    ‘यो कैलालीमा टीकापुर घटना भयो । सो घटनाले गर्दा यहाँका थारु नेताहरू अहिले पनि जेलमा छन् । तर, रेसम चौधरी र थारु नेताहरूलाई जेल हाल्नुपर्ने कुनै कारण छैन’ ओलीले भने, सरकारले हुँदै नभएको मुद्दा लगाएर थारु नेताहरूलाई थुनेर राखेको छ ।’

    ओलीले आफू सरकारमा रहेका बेला थारु कल्याणकारी समितिसँग ६ बुँदे सहमति समेत गरेको बताए ।

    सहमति कार्यान्वयन नहुँदै एमाले सरकारबाट हटेको स्पष्ट पारेका थिए ।

  • एमाले कुहिएको फर्सी हो, छोएपनि रोग लाग्छ : माधव नेपाल (भिडिओ)

    एमाले कुहिएको फर्सी हो, छोएपनि रोग लाग्छ : माधव नेपाल (भिडिओ)

    भरतपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई ‘कुहिएको फर्सी’ को संज्ञा दिएका छन् ।

    भरतपुरमा गठबन्धनको सभालाई सम्बोधन गर्दै नेपालले एमाले र केपी ओलीका कुरा विश्वास गरे दुःख पाइने टिप्पणी गरे ।

    ‘एमाले कुहिएको फर्सी हो, त्यसको काम छैन । कुहिएको फर्सी छुनुभयो, खानुभयो भनेपनि रोगव्याधी लाग्छ’, नेपालले भने ।

    उनले केपी शर्मा ओलीको वर्णन हजार जिब्रो भएको शेषनागले पनि गर्न नसक्ने बताए ।

    ‘केपी ओली त बयलगाडा दर्शनका प्रवर्तक हुन् । महागफाडी हुन् । गफमा उनले विद्यावारिधी हासिल गरेका छन् । झूठको पुलिन्दा बनाउनसक्छन् । भ्रमको खेती गर्नसक्छन् । होस् गर्नुहोला, ख्याल गर्नुहोला । ओलीका कुरा हतारमा पत्यायो भने फुर्सदमा पछुताउनुपर्छ’, नेपालले भने ।

    चुनावी गठबन्धन राष्ट्रिय आवश्यकता बनिसकेको बताउँदै नेपालले भरतपुरमा रेनु दाहाल विकासप्रेमी मेयरको रुपमा स्थापित भइसकेको बताए ।

    ‘जसलाई सोधे पनि रेनु दाहाल विकासप्रेमी मेयर हो भन्छन् । त्यसैले यो भरतपुरमा उहाँले धेरै काम गरिसक्नुभएको छ । अब थप विकासका लागि पनि उहाँसँग योजना छन् । त्यसैले उहाँलाई भरतपुरले जिताउनुपर्छ’, नेपालले भने ।

    गठबन्धनले गर्नसक्ने कुरा मात्रै गर्ने भन्दै गफाडीको गफजस्तो कुरा गठबन्धनले नगर्ने बताए ।

  • एमाले हाम्रो दुश्मन हो, माओवादी होइन : पौडेल (भिडिओ)

    एमाले हाम्रो दुश्मन हो, माओवादी होइन : पौडेल (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा भएपनि नेकपा माओवादीसँग नरहेको बताएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले एमालेसँग प्रतिस्पर्धा र माओवादी सहकार्य गर्नुपर्ने बताए ।

    ‘साथीहरूले बुझ्नुपर्‍यो एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन । माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो । एमालेसँग हामीले नै प्रतिस्पर्धा गर्नुपर्छ’, पौडेलले भने ।

    निर्वाचनपछि गठबन्धन सरकार नै चलाउनुपर्ने बाध्यता रहेको भन्दै पौडेलले पहिले नै मिल्ने अभ्यास गर्न जरुरी रहेको बताए ।

    ‘भोलि मिलेरै सरकार बनाउनुछ भने आज मिलेरै स्थानीय सरकार किन नबनाउने ? सहकार्यको अभ्यास गर्नु नै आजको आवश्यकता हो’, पौडेलले भने ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमतको बलमा संविधान र लोकतन्त्रमाथि धावा बोलेकोले गठबन्धन निर्माण भएको पौडेलले बताए । चितवनमा स्वतन्त्र उम्मेदवारी दिने कांग्रेस नेताहरुले तर्कले भन्दा भावावेशले निर्णय गरेको पौडेलको भनाइ छ ।

    ‘मैले उहाँहरूसँग आज भेटेर अलि बसेर कुरा गरौ भने तर उहाँहरूले अलिकति धैर्य राख्न सक्नुभएन । उहाँहरू अलि चाडै जान खोज्नुभयो । उहाँहरू तर्कभन्दा भावावेश र उत्तेजनामा अगाडि बढ्नुभएको छ’, पौडेलले भने ।

  • रुकुमपश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, तरुण दलका ८ कार्यकर्ता घाइते

    रुकुमपश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, तरुण दलका ८ कार्यकर्ता घाइते

    सुर्खेत । चुनावी प्रचारको क्रममा रुकुमपश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा ८ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

    जसमध्ये ६ जनाको जिल्ला अस्पताल सल्ले र दुईजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । कृष्ण पुन, वीरबहादुर वली, दुर्गाबहादुर वली, वीरबहादुर वली, चन्द्रबहादुर खड्कालगायतको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । २ घाइते स्थानीय मेडिकलमा उपचार गराइरहेका छन् ।

    झडपको क्रममा नुवाकोटस्थित प्रहरी चौकीमा सुरक्षा माग्दै गएका कांग्रेस कार्यकर्तालाई प्रहरी कार्यालयबाटै निकालेर कुटपिट गरिएको कांग्रेस कार्यकर्ताको आरोप छ । तर, माओवादीनिकटका युवाले भने चुडामणि शर्माको घर तोडफोड गरेको भन्दै तरुण दलका कार्यकर्तालाई लखेटेको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।

    कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाईसीएलले चौकी समेत सामान्य तोडफोड भएको हो । त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाईसीएलले ढुंगामुडा गरेर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

    माओवादी कार्यकर्ताहरूले नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको पदका उम्मदेवार रहेका अमरसिं खड्काले प्रयोग गर्दै आएको रा. १ च १२६२ नम्बरको जीपमा समेत आक्रमण गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले वाईसीएल र तरूण दलका कार्यकर्ताबीच झडप भएको बताए ।

    ‘त्यहाँ झडप भएको हो । घटनाबारेमा हामी थप अनुसन्धान गर्दैछौं’, उनले नेपाल प्रेससँग भने, ‘अहिले थप सुरक्षाकर्मी पठाइसकेका छौं । स्थिति नियन्त्रणमा छ ।’

  • गाउँलेको सुखदु:खका सारथी ‘बाङा’- रामप्रसादराई गाउँपालिकामा जोगाउलान् एमालेको विरासत ?

    गाउँलेको सुखदु:खका सारथी ‘बाङा’- रामप्रसादराई गाउँपालिकामा जोगाउलान् एमालेको विरासत ?

    भोजपुर । जिल्लामा वास्तविक नामभन्दा पनि ‘बाङा’ भनेर परिचित छन् ओख्रेका बलराम राई । राई समुदायमा काकालाई बाङा भनिन्छ ।

    बच्चादेखि बुढाबुढी, सबै दलका नेता-कार्यकर्ता, जिल्लाका प्रशासक सबैले बाङा नै सम्बोधन गर्ने बलरामले आफ्नो प्रतिष्ठा र विश्वास कामले नै जोगाएको उनीबारे जानकार बताउँछन् । र, जिल्लाको विकासमा उनको योगदान नेता भन्दा पनि सामाजिक कार्यकर्ताको रूपमा बढी छ ।

    उनै बाङा अहिले रामप्रसादराई गाउँपालिका अध्यक्षको उम्मेदवार छन् । २००७ सालका प्रजातन्त्रिक योद्धा रामप्रसाद राईको जन्मथलो यो गाउँपालिकामा बलरामलाई नेकपा एमालेले अध्यक्षका लागि अघि सारेको छ ।

    विद्यालय उमेरदेखि नै कम्युनिष्ट विचारसँग नजिकिएका बलरामको अहिलेसम्मको आधाभन्दा बढी उमेर सामाजिक संघ संस्थामै बित्यो ।

    बेलायत सरकारको सहयोगमा र्‍यापले खनाएको भोजपुर-घोडेटार सडक निर्माणको श्रेय उनैलाई दिन्छन् । स्थानीयबासीको समूह निर्माण गरेर स्थानीय औजारकै सहायताले बनाइएको उक्त सडकको सामाजिक परिचालनको पाटो सगरमाथा विकास संस्थाले लिएको थियो । संस्थाका अध्यक्ष बलराम नै थिए । सशस्त्र द्वन्द्वताका माओवादीले पटकपटक अवरोध गरेको उक्त सडक सुचारु गर्न उनैले सहजीकरण गरेका थिए । सडक खन्नेक्रममा स्थानीयले कमाएको ज्याला समूहको वचत परिचालन गरेर व्यवसायिक पशुपालन र कृषिमा जोड दिइएको थियो ।

    त्यसैको नतिजास्वरूप सडक रेखांकनमा रहेका भोजपुर, टक्सार, दलगाउँलगायतका ठाउँमा अहिले कृषकहरू व्यवसायिक र बेमौसमी तरकारी खेतीमा आकर्षित भएका छन् । गोलभेँडामा धनकुटाको खोकुछिन्ताङको भर पर्नुपर्ने भोजपुर अहिले तीनै सडक निर्माण समूहमा आबद्ध कृषकहरूको उत्पादनले उल्टै निर्यात गर्ने अवस्थामा पुगेको छ ।

    आफ्नो क्षेत्रका जोकोहीलाई सदरमुकाममा सरकारी कार्यालय, अड्डाअदालत, जग्गापातजस्ता काममा पर्ने गार्‍हो-सार्‍हो फुकाउन अघि लागेर हिँड्छन् उनी । राई गैरसरकारी संस्था महासंघका दुई कार्यकाल जिल्ला अध्यक्षसमेत भइसकेका छन् ।

    बलरामले रामप्रसादराई गाउँपालिकाका लागि आफूले ७ वटा क्षेत्रलाई प्राथमिकतामा राखेर एजेण्डा अघि सारेको बताए । ‘म अहिलेसम्म कहिँकतै लाभको पदमा बसिन । सामाजिक क्षेत्रमै मेरो जीवनको लामो समय बित्यो । एकपटक जनप्रतिनिधिको रूपमा पालिकाको समृद्धिसँगै यहाँका नागरिकको सेवा गर्न मन छ’, राईले नेपाल प्रेससँग भने ।

    गाउँपालिका विकासको लागि उनले घोषणापत्रमा विद्युत तथा भौतिक पूर्वाधार निर्माण, सिँचाइ-खानेपानी तथा सरसफाइ, शिक्षा तथा स्वास्थ्य, कृषि-पशुपन्छी तथा सहकारी, विपन्न तथा लक्षित वर्ग, संस्कृति तथा पर्यटन, सुशासनमा जोड दिएका छन् ।

    अघिल्लो चुनावमा फर्किँदा

    रामप्रसादराई गाउँपालिका माओवादी नेता सांसद सुदन किरातीको गृहपालिका हो । राईले पालिकामाथिको विजयलाई प्रतिष्ठाको विषय बनाएका छन् । एमाले पनि ७४ चुनावमा जितेकाले विरासत जोगाउने ध्याउन्नमा छ ।

    यहाँ गठबन्धनबाट माओवादीका थामबहादुर राई ‘निर्माण’ लाई अध्यक्षको उम्मेदवार बनाइएको छ । उपाध्यक्ष कांग्रेसलाई भागबण्डा गरिएको छ ।

    निर्माण गोपाल खम्बु नेतृत्वको तत्कालीन खम्बुवान राष्ट्रिय मोर्चा हुँदै पछि किरात वर्कस पार्टी हुँदै माओवादी प्रवेश गरेका हुन् । माओवादी लडाकुसमेत रहेका उनी २०६२ मा माओवादीले गठन गरेको जिल्ला जनसरकार प्रमुख भए ।

    ७४ को चुनावमा पनि अध्यक्ष उठेका निर्माण ८ मतले एमालेसँग पराजित भएका थिए । एमालेका उम्मेदवार विजय राईले २३५६ मत ल्याउँदा निर्माणले २३४८ मत प्राप्त गरेका थिए । कांग्रेसबाट अध्यक्ष उठेका दिनेशकुमार कार्कीले १३२३ मत प्राप्त गरी तेस्रो भएका थिए ।

    यस गाउँपालिकामा माओवादीबाट सम्झना राईले २५३२ मत ल्याएर उपाध्यक्ष जितेकी थिइन् ।

  • रेनु दाहालको पक्षमा खुले सन्दीप क्षेत्री

    रेनु दाहालको पक्षमा खुले सन्दीप क्षेत्री

    भरतपुर । चर्चित हास्य कलाकार सन्दीप क्षेत्री भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालको पक्षमा खुलेका छन् ।

    गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै क्षेत्रीले आफू कुनै पार्टीको सदस्य नभए पनि भरतपुरमा रेणुको जितको कामना गर्ने बताए ।

    ‘म कुनै झण्डाको मान्छे होइन, कुनै पार्टीको मान्छे होइन । तपाईँको कामबाट प्रभावित भएर आएको हुँ । तपाईँलाई मेरो कुल, मेरो इष्टको आशीर्वाद लागोस्’, क्षेत्रीले भने ।

    उनले भरतपुरको सभामा आउनुअघि आफ्नी आमालाई सोधेको र रेनुको पक्षमा बोल्दा फरक पर्दैन भनेकोले सभामा उपस्थित भएको बताए ।

    रेनुलाई ‘दिदी’ भनेर सम्बोधन गरेका क्षेत्रीले माओवादी अध्यक्ष प्रचण्डलाई छोरीको चिन्ता नगर्न सुझाए ।

    ‘अब तपाई यो पार्टीको अध्यक्षको हैसियतले चिन्तित हुनुहुन्छ भने स्वाभाविक छ तर छोरीका हिसाबले चिन्ता नगर्नुस् । तपाईँले गज्जबको छोरी पाउनुभएको छ’, क्षेत्रीले भने ।

  • ओली कुरौटेका शिरोमणि, म्वाइँ खाएपनि विष लाग्छ : श्रेष्ठ

    ओली कुरौटेका शिरोमणि, म्वाइँ खाएपनि विष लाग्छ : श्रेष्ठ

    भरतपुर । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘कुरौटेको शिरोमणि’ को संज्ञा दिएका छन् ।

    भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले एमालेलाई भोट दिनु भनेको बिरालोलाई दूध कुर्न राखेझैं हुने बताए ।

    ‘एमालेलाई भोट दिनु भनेको दूध कुर्न बिरालो राखेजस्तो हो । केपी ओलीलाई जिम्मा दिँदा संविधान, लोकतन्त्र र संघियता खान खोजेकोले हामीले गठबन्धन गरेका हौं’, श्रेष्ठले भने ।

    उनले केही युवाहरु अझै भ्रममा परेर ‘केपी बा आई लभ यू’ भन्ने गरेको भन्दै भ्रमबाट मुक्त हुन आग्रह गरे । ‘कतिपय युवाहरू भ्रममा छन् । आई लभ यू केपी बा भन्छन् । सर्पले दूध खाएपनि विष लाग्छ, केपीले म्वाइँ खाएपनि विष लाग्छ । प्रतिगमनविरोध जहर , संघियता र संविधानविरोधी जहर केपी ओलीले खुवाइरहेका छन् । त्यसलाई चिर्नुपर्नेछ’ उनले भने ।

    ओलीले अवसर पाउँदा काम नगरेको तर परिआए ‘सगरमाथामा धान फलाउने’ सम्मको गफ दिने गरेको श्रेष्ठको आरोप छ । भरतपुर मात्रै नभएर देशैभरी दीर्घकालीन गठबन्धन आवश्यक रहेकोमा श्रेष्ठले जोड दिए ।

  • कैलालीबाट ओलीको आह्वान- स्थानीय चुनावले परमादेशी गठबन्धनलाई बिदाई गर्ने सन्देश दिनुपर्छ (भिडिओ)

    कैलालीबाट ओलीको आह्वान- स्थानीय चुनावले परमादेशी गठबन्धनलाई बिदाई गर्ने सन्देश दिनुपर्छ (भिडिओ)

    बर्दगोरिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना शाखा सन्तान र नातागोताको व्यवस्थापन गर्न बनेको पाँच दलीय गठबन्धनलाई स्थानीय तह निर्वाचनबाट बिदाइको सन्देश दिनुपर्ने बताएका छन ।

    कैलालीको बर्दगोरिया गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै गन्तव्य नभएको गठबन्धनको उद्देश्य सरकारमा पुग्ने र आफन्त नातागोताको व्यवस्थापन गरेर बाँडिचुँडी खानेमात्र रहेको आरोप लगाए ।

    ओलीले भने, ‘यो परमादेशी गठबन्धन कसरी बनेको थियो भन्ने सबैलाई थाहा छ । २३ सिट ल्याएको कांग्रेस पार्टीका अध्यक्ष शेरबहादुर देउवा ढोडका लौरा टेकेर हिँड्न खोज्दै हुनुहुन्छ । यो परमादेशी सरकार हो, संसद र संवैधानिक प्रक्रियाबाट बनेको होइन । यो अन्तैबाट बनेका सरकारलाई हामीले बिदाई गर्ने सन्देश यस स्थानीय तहको निर्वाचनले दिनुपर्छ ।’

    ओलीले मुलुकमा अहिले एमाले एकातिर र गठबन्धन अर्कोतिर रहेको भन्दै कांग्रेसले घोषणापत्रमा एमालेले गरेका विकासको विरोध गरेको आरोप लगाए ।

    ओलीले कांग्रेसको घोषणपत्रमा आफ्ना सभापतिको नाम आठ ठाउँमा लेखेको र एमाले अध्यक्षको नाम ४२ ठाउँमा लेखेर गालीगलौज गरेको बताए ।

  • लेखराज भट्टको टिप्पणी- ओली असाधारण राजनेता, प्रचण्ड-माधव प्रतिगमनकारी लालगद्दार

    लेखराज भट्टको टिप्पणी- ओली असाधारण राजनेता, प्रचण्ड-माधव प्रतिगमनकारी लालगद्दार

    धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सत्ता गठबन्धनलाई प्रतिमनकारीहरुको झुण्ड भन्दै स्थानीय चुनावबाट गठबन्धनलाई परास्त गर्न आह्वान गरेका छन् । उनले प्रचण्ड र माधव नेपाल प्रतिगामी लालगद्दार बनेको आरोप समेत लगाए ।

    चुनावी अभियानका क्रममा कैलालीको बर्दगोरिया गाउँपालिकास्थित बौनियाँ पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनसभामा सम्बोधन गर्दै नेता भट्टले केपी ओलीको रुपमा मुलुकले असाधारण राजनेता पाएको र आफूहरुले प्रचण्डलाई छाडेर त्यहीकारण ओलीलाई साथ दिएको बताए ।

    उनले भने , ‘एउटा असाधारण राजनेताको नेतृत्वमा नेकपा अघि बढ्दा हाम्रै पार्टीभित्रका प्रचण्ड-माधव जस्ता प्रतिगमकारीले पार्टी विभाजन गरे । आज उनीहरू दलाल नोकरशाही पुँजीवादसँग गठबन्धन गर्दै पार्टी र जनताविरुद्ध लागि परेका छन् । हामी प्रतिगमनकारी गठबन्धनविरुद्ध विजयी हुनेछौं ।’

    ओली चुनावी अभियानका क्रममा विभिन्न पालिकामा आयोजित सभामा सम्बोधन गर्दै ओली कैलाली पुगेका छन् ।

  • पाँचजना ‘बागी’ उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई धादिङ कांग्रेसको कारबाही

    पाँचजना ‘बागी’ उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई धादिङ कांग्रेसको कारबाही

    काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत पार्टीको आधिकारिक निर्णयविरूद्ध ‘बागी’ उठेकाहरूलाई धादिङ कांग्रेसले कारबाही गरेको छ ।

    नेपाली कांग्रेस धादिङले आज एक विज्ञप्ति सार्वजनिक गर्दै बागी उठेका पाँचजना र उनीहरूका समर्थक र प्रस्तावकलाई कारबाही गरेको जनाएको छ ।

    कारबाहीमा पर्नेहरूमा वेनीघाट रोराङ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका देवीप्रसाद सिलवाल, नीलकण्ठ नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी कल्पना अधिकारी, नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका टेकजंग लामा, खनियाँबास गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका फलबहादुर तामाङ र सोही गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी सरिता तामाङ छन् ।

    उनीहरूसँगै उम्मेदवारीका समर्थक र प्रस्तावकलाई समेत नेपाली कांग्रेसको विधान २०१७(संशोधनसहित) को धारा ४ उपधारा १३(ग) बमोजिम कांग्रेसको सदस्य नरहेको व्यहोरा विज्ञेप्तिमा उल्लेख छ ।

    साथै उनीहरूलाई नेपाली कांग्रेसको झण्डा, लोगो र व्यानर प्रयोग नगर्न सचेत गराइएको छ ।

    विज्ञप्तिमा जिल्ला सभापति रामनाथ अधिकारीको हस्ताक्षर छ ।

  • शिर झुकाउनुपर्ने छैन, विपक्षीको आँखामा आँखा जुधाउन सक्षम छौं : रेनु दाहाल (भिडिओ)

    शिर झुकाउनुपर्ने छैन, विपक्षीको आँखामा आँखा जुधाउन सक्षम छौं : रेनु दाहाल (भिडिओ)

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार रहेकी माओवादी नेतृ रेनु दाहालले बितेको ५ वर्षमा भरतपुरमा शिर झुकाउन नपर्ने गरी काम गरेको दाबी गरेकी छिन् ।

    गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले ५ वर्षमा सुरूआत गरिएका गौरवका आयोजनाहरूलाई सम्पन्न गर्नका लागि आफू पुनः चुनावी मैदानमा आएको बताइन् ।

    ‘शिर झुकाउन पर्दै, विपक्षीको आँखामा आँखा जुधाएर भन्न सक्छौं, ५ वर्षमा भरतपुर महानगरपालिकामा हामीले राम्रो काम गरेका छौं । भरतपुरको विकास कास्टिङमात्रै हो, अबको ५ वर्षमा गौरवका आयोजना पूरा गरेर पूरा फिल्म देखाँउछौं’, दाहालले भनिन् ।

    विगतमा प्रतिबद्धता गरेको भन्दा धेरै काम भरतपुरमा गरेको भन्दै रेनुले भरतपुरलाई देशकै समृद्ध र व्यवस्थित सहर बनाउन गठबन्धनले जित्नुपर्ने बताइन् ।

    आफ्नो मन्तव्यका दौरान आफ्नो कार्यकाल कामहरूको फेहरिस्त सुनाएकी दाहालले पहिलो कार्यकालमा भएका कमजोरी सच्याउन आफू प्रतिबद्ध रहेको बताइन् ।

    १२ बुँदे सम्झौता , शान्ति प्रक्रिया र संविधानका पक्षधर शक्तिबीच जारी गठबन्धनलाई निरन्तर राख्नुपर्ने र एमालेको प्रतिगामी राजनीतिलाई परास्त गर्नुपर्ने दाहालको भनाइ थियो ।

    ‘आन्दोलनको मैदानबाट प्रतिगमनलाई परास्त गर्‍यौं । अब चुनावी मैदानबाट पनि प्रतिगमनलाई परास्त गरौं, हाम्रो जित सुनिश्चित छ’, उनले भनिन् ।

  • भरतपुरमा भाषण थाल्नुअघि रेनुले भनिन्- जय नेपाल !

    भरतपुरमा भाषण थाल्नुअघि रेनुले भनिन्- जय नेपाल !

    काठमाडौं । भरतपुरमा अहिले सत्तारूढ गठबन्धनको चुनावी सभा भइरहेको छ ।

    सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

    यसै चुनावी सभालाई भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार प्रचण्डपुत्री रेनु दाहालेले पनि सम्बोधन गरेकी छन् ।

    सम्बोधनका क्रममा उनले ‘लाल सलाम’ भनेर अभिवादन नगरी ‘जय नेपाल’ भनेर अभिवादन गरेकी छन् ।

    सभामा मन्तव्यको सुरुआतमा दाहालले शीर्ष नेताहरूलाई सम्बोधन गरेर अभिवादन गर्ने बेला भनिन्,‘…….मेयरको उम्मेदवारको हैसियतमा हार्दिक अभिवादन, जय नेपाल व्यक्त गर्न चाहन्छु ।’

    त्यसपछि उनले आफ्नो मन्तव्य राखेकी थिइन् ।