गलकोट । गठबन्धबाट बागलुङ नगरपालिकाको प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ बिहिबार बागलुङ नगरपालिका–९ तित्याङको एक घरमा भइरहेको चौरासी पूजामा पुगे । तित्याङ्कै घरदैलोमा व्यस्त श्रेष्ठ सोही दिन धुवाँखोला पुग्दा ब्रतबन्धमासमेत सहभागी भएर आफूलाई भोट मागे ।
उनले चौरासी पूजा र ब्रतबन्धनमा निम्तो मानेको स्थानमासमेत भोट मागेको बताए । ‘निर्वाचनको प्रचारप्रसारका क्रममा अहिले गठबन्धनले घरदैलोलाई प्राथमिकता दिइरहेको छ, पूजाआज भइरहेको स्थान र काम गर्दै गरेको खेतबारीमै पुगेर पनि भोट माग्दै आइएको छ’, उनले भने । मतदाता जम्मा भएको स्थानमा मत माग्नु स्वाभाविक रहेको श्रेष्ठको भनाइ छ ।
यस्तै बागलुङ नगरको नेकपा (एमाले)बाट नगर प्रमुखका उम्मेदवार जनकराज पौडेललेले बागलुङ नगरपालिका–५ पञ्चासेस्थित बारीको डिलमै चुनावी भेटघाट कार्यक्रम जनाउँदै आफ्ना भनाई राख्छन् । उनको मन्तव्य बारीमा मकै गोड्दै गरेका किसानले सुन्दै काम गरेको देख्न सकिन्छ । उनीसँग बारीमा मकै गोड्दै उम्मेदवारको भाषण सुनेका स्थानीयले बसाइँसराइका कारण गाउँ रित्तिन थालेको गुनासो गरे ।
‘म निर्वाचत भए यस्तो समस्या सुल्झाउन गाउँफर्क अभियान चलाउनेछु’ पौडेलले स्थानीयलाई आश्वस्त पारे । ठूलो आमसभा गरेर जनतालाई दिनभर दुःख दिनभन्दा उनीहरुकै घरमा पुग्ने, उनीहरुले काम गर्ने स्थान खेतबारीमै पुग्ने गरेको उनले बताए । खेतबारीदेखि पूजाआजसम्म उम्मेदवार मत माग्न पुगेपछि मतदाताले आफ्ना कुरा राख्नसमेत पाएका छन् ।
यस्तै उक्त नगरको ६ नं वडास्थित पञ्चकोटमा घरदैलोका क्रममा घरमा नभेटिएका मतदातालाई बारीमै गएर मत माग्दै गरेको स्थानीय नेतृ कालिका सापकोटाले बताइन् । उनले भनिन्, ‘उम्मेदवारले धेरैभन्दा धेरै नागरिकसँग साक्षात्कार गर्न विवाह, चौरासी पूजा, ब्रतबन्धजस्ता धार्मिक कार्यक्रममा तथा खेतबारीमै गएर किसानसँग भेट्ने गरेका छन् ।’
यहाँका उम्मेदवारले पहिलेका निर्वाचनझैँ ठूला आमसभा गरी मत माग्ने शैली परिवर्तन गरी भेटघाट र घरदैलोलाई प्राथमिकता दिन थालेका छन् । ‘अहिले गाउँमा कामको चटारो छ, जनतालाई काम गरिरहेकै अवस्थामा भेटेर सुखदुःख बुझ्दै, मत माग्दै हिँडेका छौँ’, राप्रपाबाट बागलुङ नगर उपप्रमुखका उम्मेदवार सञ्जय खड्काले भने । उनले चुनावमा नागरिकलाई भन्दा उम्मेदवारलाई बढी दौडाउने अभियानअन्तर्गत घरदैलोमा हिँडेको बताए ।
पछिल्लो समय चुनाव लक्षित कार्यक्रममा टोलटोलमा पुग्न थालेको छ । गत निर्वाचनमा आमसभा केन्द्रित राजनीतिक दल र उम्मेदवार अहिले स्थानीय भेटघाट र घरदैलो कार्यक्रमलाई प्राथमिकता दिन थालेको नेपाली कांग्रेस बागलुङका सभापति जीत शेरचनले बताए ।
चार दिनदेखि लगातार मकै गोड्ने काममा खटिनुभएका बागलुङ नपा–८ सिगानाका कृषक नारायण थापाले नगरका अधिकांश उम्मेदवार बारीमै भेट्न आएको बताए । ‘पहिलापहिलाका चुनावमा हामी भोट माग्न आउदैछौँ, आमसभामा आउनुहोस्, भन्ने गर्दथे’, थापाले भने, ‘अहिले भोट माग्ने शैली परिवर्तन भएको रहेछ, अहिले मतदाता जहाँ छन् त्यही भेट्ने आउने गरेको पाइयो ।’
बागलुङमा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल बढ्दै गएसँगै उम्मेदवार बिहानदेखि बेलुकासम्म मतदाताको घरदैलोमै हुने गर्छन् । अहिले बागलुङको दुर्गमदेखि सुगमसम्म चुनावी गतिविधि बढेको छ । नेता कार्यकर्ता आफ्नो पक्षमा मत माग्नका लागि मतदाता रिझाउन व्यस्त देखिन्छन् । उम्मेदवार मतदाताको घरआँगन र खेतबारीमै पुगेर भोट मागिरहेका भेटिन्छन् ।
उम्मेदवार र राजनीतिक दलका नेता मतदातालाई भेट्न मतदाताले आयोजना गरेको पूजा, विवाह, ब्रतबन्ध समारोहमै पुग्नेसमेत गरेका छन् । अहिले गहुँ थन्क्याउने, मकै गोड्ने समय भएकाले अधिकांश मतदाता खेतबारीमै काममा व्यस्त हुने हुँदा उनीहरूलाई भेट्न खेतबारीमै पुग्ने गरेको बडीगाड गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार राजन पाइजाले बताए ।
निर्वाचनका लागि जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाले संयुक्तरुपमा आमसभा र घरदैलो गर्दै हिँडेका छन् भने बागलुङ नगरमा एमाले र राप्रपाले संयुक्तरुपमा घरदैलो गर्दै आएको छ । अन्य नौ पालिकामा एमाले आफ्नो ढङ्गले चुनावी अभियानमा लागेको र अहिले आमसभा, घरदैलो अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले गठबन्धनका उम्मेदवारलाई नै मतदान गर्न धनगढीवासीलाई आह्वान गरेकी छन् ।
धनगढी उपमहानगरपालिकामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले विभिन्न खाले नाटक छाडेर गठबन्धनमै मतदान गर्न यस्तो आह्वान गरेकी हुन् ।
धनगढीमा उपमेयर माओवादी केन्द्रलाई दिएर असन्तुष्ट रहेका कांग्रेस कार्यकर्ताहरूलाई समेत उनले नाटक छाडेर गठबन्धनमै रहेर मतदान गर्न आग्रह गरिन् ।
‘कति जना भन्छन् रे, मेरो हातले हँसिया हतौडामा भोट कसरी हाल्ने ? मेरो हात काँप्छ,’ उनले भनिन्,‘त्यस्ता ड्रामाको कुरा नगरौँ । यही सहरमा मलाई नहालेर सूर्यमा भोट हालेर मलाई हराएका मान्छेहरू पनि यही सहरका हुन् । त्यो बेलामा त यस्तो ड्रामा गरेका थिएनन् । अहिले किन गर्ने ?’
केन्द्रीय सदस्य देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा धनगढीमा कांग्रेस जितेकै कारण कुनै योजना नपरेको दाबी पनि गरिन ।
उनले भनिन्, ‘आफ्नो एरियामा अरबका भ्यु टावर हाल्दा धनगढीमा कांग्रेस जितेकाले एक फुटेको कौडी पनि आएन । भ्यु टावरबाट देखिने त आखिर केही रहेनछ ।’
त्यो पैसाले धनगढीमा रोड, पुलपुलेसा लगायत मनग्य कामहरू बन्ने अवस्था रहेको उनले बताइन् । ‘कति काम हुन्थ्यो । तर एक पैसा यहाँ दिने हिम्मत भएन । धनगढीबाट जितेका सांसदले पनि एक पैसा ल्याउन सकेनन्,’ उनले भनिन् ।
एमालेले काम नगरेर तीन वर्ष बिताएको दाबी गर्दै धनगढीमा मेयर नृप वडले कम बजेटमा धेरै काम गरेको दाबी गरिन् ।
‘काम नगरेर तीन वर्ष बिताउने पार्टी हेर्नुहुन्छ की कम पैसामा भए नि धेरै काम गर्ने पार्टी हेर्नुहुन्छ ?,’ उनले भनिन् ।
बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्थाले जथाभावी संसद भंग गर्ने छुट नदिएको बताएका छन् । विपक्षीले विरोध गरेकै झोंकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईदुई पल्ट संसद विघटन गरेको उनको आरोप छ ।
‘विरोध गर्नकै लागि प्रजातन्त्र हो । अरूले प्रतिपक्षले विरोध गरिहाले संसद भंग गरिदिने ?,’ बुटवलमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिलेको संविधानले रहरका आधारमा, लहडका आधारमा जथाभावी संसद भंग गर्नै पाउँदैन । ओलीजी पार्लियामेन्ट चल्न नि नदिने, भंग गरेको गरेयै गर्ने, उहाँँको पार्टीलाई जिताएर के गर्ने ?’
अहिलेको गठबन्धन प्रजातन्त्रको रक्षाका लागि नै रहेको प्रधानमन्त्री देउवाले दाबी गरे । पार्टीको महाधिवेशनमा पनि आफूले गठबन्धन गरेर देशलाई निकास दिने वचनका साथ मत बटुलेको उनको भनाइ छ ।
पाँचदलीय गठबन्धनको सहयोगमा आफू प्रधानमन्त्री भएपछि जनताले राहतको सास फेरेको उनको दाबी छ । ‘अहिले सरकारबाट केही कुनै त्रास छैन । बोल्न लेख्न दिइएको छ’, उनले भने, ‘ओली सरकारमा कर्मचारी, पुलिस सबै थर्कमान, जनता थर्कमान ।’
प्रजातन्त्रको भविष्यका लागि स्थायी रुपमा कसैले शंका गर्न नसक्ने ठाउँँमा ल्याउन गठबन्धन आवश्यक रहेको उनले बताए ।
रुपन्देही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको घरघरमा पुग्ने नेतालाई जिताउन आग्रह गरेका छन् ।
आज बुटवलमा भएको गठबन्धन सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने- राजनीतिक स्थिरता नभएकाले विकास भएन, यति लामो संघर्षले यो व्यवस्था ल्याऔँ, समाजवाद ल्याउँछौ भनेर संविधान बनाऔँ, साझा दस्ताबेज भनेर बनायौँ तर यो बीचमा त्यो व्यवस्था खलबलाउन केपी ओलीलाई प्रयोग गरियो, उहाँ निमित्त नायक हुनुभयो, महेन्द्रले १७ सालमा गरे, ज्ञानेन्द्रले ०५९ सालमा गरे ।
पौडेलले यसपछिको चुनावसम्म एमाले र ओलीलाई अगाडि जान नदिन गठबन्धन चाहिएको बताए ।
उनले भने – उहाँहरूलाई पठाए संसद् चल्नै नदिने, अदालतमा काम गर्न नदिने, बाहिर चर्का कुरा गर्ने, भित्र नेपालीलाई राष्ट्रवादका नाममा धोका दिने गरे ।
पौडेलले गठबन्धनलाई जिताएर प्राप्त अधिकारको रक्षा गर्नुपर्ने उल्लेख गर्दै प्रतिक्रियावादीको नाइके ओली नेतृत्वको पार्टीलाई पुछारमा पुर्याउनुको विकल्प नभएको बताए ।
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको टिप्पणी गरेका छन् ।
चुनावी अभियानका क्रममा इटहरी पुगेका ओलीले एमाले उम्मेदवारको पक्षमा मत माग्दै प्रचण्डले दुर्घटनाको धम्की दिएपनि अन्तिमा चिसै पानीले नुहाउँने बताए ।
ओलीले भने,’पुष्पकमल दाहालले दुर्घटनाको धाक धम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो । देउवालाई धम्की दिन सक्नुहुन्छ । हिजो पनि धम्की दिनुभएछ क्यारे,प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो,उहाँले होइन भनेर धामी बके झैं बक्नुभएछ देउवाजी ।’
ओलीले गठबन्धनका नाममा छोरी,बुहारी,श्रीमतीलाई महिला कोटा दिलाउने गठबन्धनले अन्यत्र महिला उम्मेदवारबाट बन्चित गरेको आरोप लगाए ।
कैलाली । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा निर्वाचनको सरगर्मी बढेको छ । यहाँ गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर बड र उपप्रमुखमा माओवादीकी शान्ति अधिकारी चुनावी दौडमा छन् ।
एमालेबाट प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना चुनावी दौडमा छन् । स्वतन्त्रबाट गोपाल हमाल प्रमुख उम्मेदवार छन् । कांग्रेसका नेता प्रभाकर भण्डारीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसअघिको स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले बाजी मारेको थियो । प्रमुखमा नृपबहादुर बडले १४ हजार ३२४ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत पाएका थिए । अहिले दुवै जना फेरि आमनेसामने भएका छन् ।
अघिल्लो निर्वाचनमा तेस्रो भएको माओवादी केन्द्रका रामसमझ राना अहिले माओवादीमा छैनन् । उनले १० हजार २०९ मत ल्याएका थिए । उनी अहिले कांग्रेसका जिल्ला सहसचिव छन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा एमाले चौथो स्थानमा थियो । एमालेका दुर्गाप्रसाद जोशीले ९ हजार ९४६ मत पाएका थिए ।
प्रमुखमा चौथो भएको एमाले उपप्रमुखमा दोस्रो भएको थियो । १७ हजार ४०८ मत ल्याएर कांग्रेसकी सुशीला मिश्र भट्ट उपप्रमुखमा विजयी भइन् । एमालेकी उम्मेदवार १२ हजार ७६३ मत ल्याएकी थिइन् । माओवादी केन्द्रकी शान्ति अधिकारी १० हजार २५३ मत ल्याएर तेस्रो भएकी थिइन् । अधिकारीले यसपटक गठबन्धनको तर्फबाट पुनः उपप्रमुख उम्मेदवार छिन् ।
अघिल्लो पटक विजयी भएको कांग्रेस यस पटक पनि आफूहरु निर्वाचित हुने दावी गर्छ । अघिल्लो पटक दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार हमाल पनि यसपटक आफूले बाजी मार्ने बताउन चुकेका छैनन् ।
२०५४ साल फर्काउने रणनीतिमा एमाले
अघिल्लो निर्वाचनमा प्रमुखमा चौथो र उपप्रमुखमा दोस्रो एमालेले यस पटक २०५४ साल फर्काइने बताएको छ ।
२०५४ सालमा धनगढीमा एमालेका प्रमुख र उपप्रमुखमा विजयी भएका थिए । प्रमुखमा खेमराज पाण्डे र उपप्रमुखमा नारदमुनि राना निर्वाचित भएका थिए । त्यो बेलामा अधिकांश वडा एमालेले जितेको तत्कालीन मेयर पाण्डे सम्झन्छन् । ‘यस पटक पनि हामी २०५४ कै नतिजा फर्काउने गरी लागिरहेका छौं’ उनले भने, ‘हाम्रा उम्मेदवार र उनीहरूको योजनाका कारण मतदाताले धनगढीमा एमाले रोज्छन् भन्ने कुरामा हामी विश्वस्त छौं ।’
कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना समुदायको धनगढीमा बाक्लो उपस्थिति रहेको छ । यसअघि २०४९ र २०५४ मा राना समुदायकै उपप्रमुख भएका थिए । एमालेका नेता नारदमुनि राना यहीबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवकि पत्नि आरजु राणा देउवालाई हराएर प्रतिनिधिसभा सदस्य भएका हुन् ।
अहिले एमालेले उपप्रमुखमा राना समुदायबाटै कन्दकला रानालाई उम्मेदवार बनाएको छ। यसले पनि जित सुनिश्चित रहेको एमालेका मेयर उम्मेदवार रणबहादुर चन्द बताउँछन् । ‘हामी घरदैलोमा जाँदा पनि नागरिकले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ’, उनले भने, ‘उहाँहरू सबैको रोजाइमा एमालेका उम्मेदवार परेका छन् । त्यसैले जित सुनिश्चित छ ।’
कांग्रेसलाई गठबन्धनको भर
अघिल्लो पटक स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २ हजार ७९७ मतले मात्रै जितेका कांग्रेसका नृपबहादुर बड यसपटक फेरि नगर प्रमुख उम्मेदवार छन् ।
अघिल्लो पटक एक्लाएक्लै लड्दा पनि निर्वाचन जितेको बताउँदै बड यस पटक अझै सहज ढङ्गले निर्वाचन जित्ने दाबी गर्छन् । ‘मैले पहिले पनि सजिलै जित हासिल गरेको हो’, उनले भने, ‘यस पटक झन् गठबन्धनको साथ छ । जित्न मलाई कठिन छैन ।’
उनलाई गठबन्धनको भर भए पनि स्वतन्त्रको डर रहेको बताइएको छ । तर, बड भने स्वतन्त्र उम्मेदवारलाई पराजित गर्ने दाबी गर्छन् ।
स्वतन्त्रले मार्लान् त बाजी ?
अघिल्लो पटक दोस्रो भएका गोपाल हमालले पनि आफू निर्वाचित हुने जिकिर गर्दै आएका छन् । उनले आफूले जिते कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
अघिल्लो निर्वाचनमा चुनाव चिन्ह ढिला मिलेको र प्रचारप्रसारमा समस्या भएको बताउँदै हमाल यस पटक आफ्नो जित निश्चित रहेको दावी गरे ।
‘धनगढीका जनताले विकास चाहेका छन् । मेरो उम्मेदवारी विकासका लागि हो’, हमालले भने, ‘अघिल्लो चुनावमा प्राविधिक कारणले दोस्रो भए अब जित्ने गरी तयारीमा छु ।’
चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले आफूहरुको ज्यान जोखिममा रहेको भन्दै कुनै पनि बेला सांघातिक हमला हुन सक्ने बताएका छन् ।
चुनावी अभियानका क्रममा रामपुर टोलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पौडेलले आफूहरु ज्यानकाे परवाह नगरी कांग्रेस जोगाउन उभिएको र महानगरको मेयर बनेर तलबभत्ता नलिने बताए ।
आफू पनि जेल जीवन बिताएर आएको भन्दै धम्कीबाट नडाराउने उनकाे भनाइ छ । पौडेलले भने, ‘आफ्नो पार्टीका कार्यकर्तालाई कारबाही गर्ने अनि अर्काको छोरी बोक्ने कस्तो पार्टी बनाउँदैछौं कांग्रेसलाई । गठबन्धन हाम्रो सराेकारको विषय होइन र हामीलाई सोधेर गरेको पनि होइन । जगन्नाथको उम्मेदवारीले देश नै दुर्घटनामा पर्छ, आकाश खस्छ जस्तो कुरा प्रधानमन्त्री भइसकेका नेताहरुले गरेको सुन्दा मलाई आत्मग्लानी भएको छ ।’
पौडेलले गठबन्धन देश बनाउन नभएर नेताहरुका परिवार पाल्न भएको भन्दै आफू महानगरपालिकाको मेयर जित्न उम्मेदवार बनेकाे बताए । उनले आफू र आफूलाई सघाउनेहरुको ज्यान खतरामा रहेकोसमेत दावी गरेका छन् ।
पौडेलले भने, ‘यो गठबन्धन मेलम्चीको पानी चाँडो ल्याउँ भनेर भएको हो ? सुरुङमार्ग चाँडो सम्पन्न गरौं भनेर भएको हो ? बनेपा बर्दिबास सडक विस्तार चार वर्षमै सकौं भन्ने उद्देश्यले भएको हो ? होइन । यो त कसैको श्रीमती, कसैको छोरी, कसैको छोरा, साला, ज्वाइँलाई दिन, मिलेर खान हो । हामी हिजो पनि जेल बसेका हाैं । आज पनि हामीमाथि दागा घरेका छन् । हामीमाथि कुनै पनि बेला सांघातिक प्रहार हुन सक्छ । तर हामीलाई जिन्दगीको माया छैन,आफ्नोबारेमा सोचेका होइनौं ।’
पौडेलले आफू चाहेर पनि सबै मतदातासम्म पुग्ने समय नभएको तर सबैतिरबाट सहयोगको बचन पाएको बताए । उनले यो अभियान कांग्रेस जोगाउने र भरतपुर महानगरपालिका बनाउनेबाहेक अरु कुनै उद्देश्यले नभएको दावी गरे । उनी ८४ वर्षे वयोवृद्ध नेता कृष्णलाल सापकोटासहितको टोली लिएर अभियानमा हिँडेका छन् ।
सुर्खेत । सुर्खेतमा राेकिराखेकाे दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ। वीरेन्द्रनगर–६ मंगलगढीमा रोकी राखेकाे दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेको हो।
नेकपा माओवादी केन्द्रको चुनावी प्रयोजनामा प्रयोग भइरहेको एक स्कार्पियो गाडीसहित दुईवटा गाडी जलाइएको छ ।
होटल सत्कार अगाडि पार्किङ गरेर राखिएको नेकपा माओवादी केन्द्रको प्रचारमा रहेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो गाडीमा राति १२ः ३० वजे र सेन्चुरी बैंकको शाखा नजिक पार्किङ गरेर राखिएको नेकपा एमालेको प्रचारमा रहेको कर्णाली प्रदेश ०२– ००१ ख ००६१ नंवरको एसएमएल मिनीबसमा राति २ बजेतिर आगो लगाइएको हो ।
आगलागीबाट स्कार्पियो र मिनीबसमा क्षति पुगेको छ । पेट्रोल छर्केर आगजनी गरिएको स्थानीयहरुको भनाइ छ । प्रहरी र स्थानीयहरुले गाडीमा लागेको आगो निभाएका थिए ।
आगलागी गर्नेको खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी पदमवहादुर विष्टले शंकास्पद ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । घटनास्थल वरपरका सिसी क्यामेराहरुको पनि अध्ययन भइरहेको उनले बताए ।।
काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलसहित काठमाडौंका प्राचीन र कोर नेवार बस्तिमा घरदैलो अभियान सञ्चालन गरेको छ ।
बसन्तपुर क्षेत्रमा कालभैरवबाट शुरु भएको एमालेको चुनावी र्याली तथा घरदैलोमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,नेता कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतका नेता समेत सहभागी थिए
चुनावी अभियानलाई सम्बोधन गर्दै काठमाडौं महानगरका चुनावी कमाण्डर समेत रहेका पोखरेलले मेयर उपमेयरसहित दुई तिहाई वडामा एमालेले जित्ने सुनिश्चत भइसकेको दावी गरे ।
पोखरेलले जनताले खोजेजस्तै उम्मेदवार एमालेले दिएको भन्दै घर घर गएर जनतालाई एजेण्डाबारे सुनाउन कार्यकर्तालाई आग्रह गरे ।
एमालेले काठमाडौं महानगरका कोर नेवार बस्ति केन्द्रित अभियानमा स्थानीय नेता कार्यकर्ता परिचालन गरेको छ भने मेयर विद्यासुन्दर शाक्य आफैं खटिएका छन् । उनी कोर नेवारी वस्तिमा लोकप्रिय छन् ।
मेयर उम्मेदवार स्थापितले आफू काठमाडौंका भित्री नेवार बस्तिहरुमा परिचित रहेको र सुनिता डंगोल झनै यहि बस्तिकी छोरी भएकाले आफूहरुको परिचय आवश्यक नरहेको बताए ।
दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा २०३९ सालमा दमक गाउँ विकास समितिबाट नगरपालिका बनेदेखि नै यहाँको मेयर बन्ने सपना देखेका थिए । जसअनुसार उनले पहिलो पटक मेयरमा चुनाव लडेकै २४ वर्ष बितिसक्यो । त्यसअघि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । २०३५÷०३६ सालमा भद्रपुरको मेची बहुमुखी क्याम्पसबाट थापाले राजावादी विद्यार्थी नेताको रूपमा राजनीति सुरू गरेका थिए । त्यसयता उनी उही विचार र सपनामा एकाग्रह छन् । अहिले उनी राप्रपाको प्रदेश नम्बर १ का अध्यक्ष छन् । लामो राजनीतिक निरन्तरताका कारण दमकमा राम थापा धेरैका लागि ‘राम दाइ’ का नामले परिचित छन् । राजनीतिक विचार मिल्ने र नमिल्ने सबैको साथमा उनी आसन्न स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचित हुन चाहन्छन् । पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनी दमकको मनोनीत मेयर बनेका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा थापा दोस्रो भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा यसपालि एमाले भर्सेस महागठबन्धन बनेको छ । एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र र राप्रपा एक ठाउँ उभिएका छन् । यहीं महागठबन्धनबाट मेयर उम्मेदवार बनेका ‘राम दाइ’ दमकको नेतृत्व हत्याउने योजनामा छन् । उनै राम दाइ अर्थात राम थापासँग स्थानीय तह निर्वाचनमा केन्द्रित रहेर नेपालप्रेसकर्मी ध्रुव भट्टराईले गरेको कुराकानी नेपाल टकमा ।
– दमकवासीलाई तपाईं आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ?
म २०१३ सालमा जन्मिएको मानिस । २०२६ सालदेखि दमकमा पढाइको सिलसिलामा आएर बसेको हो । २०३० सालमा एसएलसी गरेर मैले राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण गरेको छु । २०३९ सालदेखि अनवरत रुपमा १२ वर्ष तत्कालीन दमक वडा नं १२ को वडा अध्यक्ष भएँ । एक अवधि तत्कालीन युवा संगठनको नगर सभापति भएँ । विभिन्न सामाजिक संघसंस्था, दमक क्याम्पस, दमक खानेपानीलगायतमा पनि अनवरत रुपमा काम गरिरहेको छु । दमकको विकास र निर्माणमा निःस्वास्र्थ रुपमा काम गर्ने मेरो दृढ निश्चय भएकाले आसन्न स्थानीय तह चुनावमा संयुक्त गठबन्धनबाट मेयर उम्मेदवारको रुपमा प्रस्तुत भएको छु ।
– केपी ओलीको गृहनगर भएकाले राष्ट्रिय चर्चा र दबाब छ । गठबन्धनले समर्थन गर्नु भनेको तपाईंलाई जिताउनुभन्दा पनि एमालेलाई हराउने सन्देश दिन खोजेको देखिन्छ । के तपाई त्यसको मतियार बन्नुभएको हो ?
त्यस्तो होइन । खासगरी म योभन्दा अघिल्लो दुई पटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुखमा उम्मेदवार भएको थिएँ । म दोस्रो भइरहेँ । जीवनमा एकचोटि नगर प्रमुख निर्वाचित भएर सेवा गर्ने मेरो व्यक्तिगत इन्छा, पार्टीको पनि उम्मेदवार बनाउने लक्ष्य, सत्ता गठबन्धनले मात्र एमालेलाई परास्त गर्न नसक्ने र यो पाटोमा मेरोसमेत उपस्थिति पनि आवश्यब परेकाले हामीहरु संयुक्त भएर दमकको विकास र निर्माणलाई गतिशील बनाउने उद्देश्यले हामी गठबन्धन र तालमेल गरेर अघि बढेको सत्य हो । एमालेलाई परास्त गर्न होइन ।
– दमकमा हिजो राप्रपा एक्लै लड्दा पनि एमाले पछिको दोस्रो शक्ति थियो । आज एमालेबाहेक अरु दलको समर्थन लिन तपाई कसरी सफल हुनुभयो ?
सही कुरा के हो भने उहाँहरुको उपस्थिति र मेरो पनि नगर प्रमुख बनेर सेवा गर्ने, यी दुबै कुरा र हामी सबै एक–अर्काको परस्पर मित्र बन्नुपर्ने समयको माग भएकाले एमाले हराउनेभन्दा पनि आफ्नो उपस्थिति र विजयका लागि हामी एक–अर्काका पूरक बनेका हौं । खासगरी हाम्रो उद्देश्य एमाले हराउनेमात्र होइन, दमकमा गएको नेतृत्वले धेरै काम गरेन । नगरवासीको सामाजिक न्यायमा पहुँच, सुशासन, विकास गर्ने उद्देश्यले हाम्रो तालमेल भएको हो ।
– राम थापा दमकमा आफै पनि एउटा फिगर हो । तपाईं २०४३ सालदेखि मेयर बन्ने रेसमा हुनुहुन्छ । तपाईंका पहिले र अहिलेका प्रतिस्पर्धीबारे के भन्नुहुन्छ ?
तत्कालीन नगर पञ्चायत हुँदा उहाँ (एमालेकी मेयर उम्मेदवार गीता अधिकारी) को काका ससुरासँग कम मतले मैले पराजय भोगेको सत्य हो । उहाँ पहिला उपमेयर हुनुहुन्थ्यो, अहिले मेयरका प्रत्याशी हुनुहुन्छ । उहाँसँग के कस्तो साइनो सम्बन्ध मेरो रहेन । मेरो एउटा अभिलाषा नगरपालिकाको शुभचिन्तक र विपक्षी साथीहरुको गतिलो समर्थन रहेकाले पनि मैले उपस्थिति देखाएर नगर प्रमुखको उम्मेदवार हुनुपर्ने एउटा परिस्थितिको उपजमात्र हो । हामी एमालेलाई हराउन र निस्तेज गर्नमात्रै हाम्रो उद्देश्य होइन । नगरपालिकालाई शासन गर्ने होइन सेवा गर्ने थलो बनाउने हाम्रो प्रमुख लक्ष्य हो ।
– एउटा महिला प्रतिस्पर्धीलाई हराउन सबै शक्ति किन मिल्न पर्यो ?
महिलाविरुद्ध हाम्रो यो उपस्थिति होइन । उहाँलाई हराउन हामी सबैको अनिवार्य उपस्थिति पनि बिल्कुल होइन । उहाँहरुले नगरपालिकामा सन्तोषजनक काम गर्नुभएन । राजनीतिमा या परस्पर शक्तिहरु मिलेर एउटा सशक्त समूह बनाएर परिणाममुखी नतिजा ल्याउन हाम्रो यो गतिलो उपस्थिति हो । एउटा महिलालाई हराउनेमात्र हाम्रो उद्देश्य बिल्कुल होइन । उहाँहरुले राम्रो काम गरेको भए त जितिहाल्नु हुन्छ नि !
– के के चुनावी एजेण्डा लिएर नगरवासीबीच गइरहनुभएको छ ?
हामीले मूलतः दुईतीन वटा कुरालाई सशक्त रुपमा अघि बढाइरहेका छौं । पहिलो, नगरपालिका शासन गर्ने थलो होइन सेवा गर्ने ठाउँ हो । त्यहाँ गएर कर्मचारीले जस्तो तलबभत्ता नलिने र हामीले पाउने तलबभत्ता न्यून आय भएको लक्षित समुदायका मानिसको अर्थोपार्जनमा सहयोग गर्ने, शिक्षा र स्वास्थ्यबाट बञ्चित मानिसका लागि खर्चनेछौं ।
दोस्रो, दमकमा समुचित विकास भएन । उहाँहरुले दमकमा यस्तो उदाहरणीय काम गरेका छौ भन्ने देखाउने गरी काम गर्न सक्नुभएन । शिक्षामा कुनै गुणात्मक उपलब्धि हुने गरी काम गर्नेतर्फ खासै चासो राख्नुभएन । उहाँहरुले सरकारी विद्यालयहरुमा आफ्नो मान्छेलाई सरुवा–बढुवा गर्ने, नियुक्ति दिने, प्रअ बनाउने काममात्र गर्नुभयो । हामी त्योभन्दा फरक काम गर्नेछौं ।
हामी आगामी पाँच वर्षभित्र १२ कक्षसम्म निःशुल्क शिक्षा प्रदान गर्ने र त्यहाँका समस्याहरु निराकरण गर्ने र निम्न आय भएका गरिब विद्यार्थीहरुलाई यथोचित पठनपाठनको व्यवस्था गर्नेछौं । खासगरी विपन परिवारले न्यायोचित स्वास्थ्योपचार पाएका छैनन् । उनीहरुलाई व्यवस्थित रुपमा उपचार व्यवस्था मिलाउने, निम्न आय भएका परिवारलाई खाद्यान्नको व्यवस्था गर्ने, करको दायरालाई फराकिलो बनाउने, सवारी पटके कर खारेज गर्ने र अनधिकृत रुपमा रहेको अव्यवहारिक करलाई परिमार्जन गरी करलाई नीतिगत रुपमा परिवर्तन गर्ने हाम्रो उद्देश्य छ । दमक नगरपालिका भएर पनि समुन्त नगर हुन सकेको छैन । हामी समुचित रुपमा स्वास्थ्य, शिक्षा, व्यवसाय र आयआर्जनको पाटोमा पनि व्यवस्थित योजना बनाएर समृद्ध दमकको कल्पना गरेका छौं । समुन्नत दमक बनाउन म समर्पित छु ।
– दमकमा केपी शर्मा ओलीले अर्बौं लगानी खनाए, अनावश्यक भ्यू टावर बनाए भनेर आलोचना हुँदै आएको छ । यसबारे तपाई के भन्नुहुन्छ ?
भ्यूटावर पनि विकासको एउटा आधार स्तम्भ हो । यसको म धेरै चर्चा गर्न चाहन्न । सबै मानिसको टिका–टिप्पणी के छ भने एउटा मेडिकल कलेज बनाइदिएको भए लाखौं मान्छेले स्वास्थ्योपचार पाउने थिए । तर, भ्यूटावर पनि दमकको सकारात्मक विकासको एउटा पक्ष मान्न सकिन्छ । म त्यसको आलोचना गर्न चाहन्न । भई गयो, त्यसलाई व्यवस्थित गरेर सबै नगरवासीले आयआर्जन गर्ने र निष्पक्ष रुपमा फल पाउनुपर्छ भन्ने मेरो धारणा छ ।
– एमालेबाट मेयरका प्रत्याशी गीता अधिकारीको लागि भोट माग्न केपी शर्मा ओली आउने हल्ला छ । तपाईंको लागि कोही आउँदै हुनुहुन्छ ?
त्यो उहाँहरुको पार्टीको कुरा र नीति हो । त्यसले केही फरक पर्दैन । केपी ओलीले पैसा लिएर आउनुहोला, भोट बोरामा लिएर आउनु हुन्न । यसपालि त्यो बोराका पैसाले काम लाग्नेवाला छैन । नगरबासीले परिवर्तनका लागि दृढ संकल्प र निश्चय बोकिसकेका छन् । अब त्यसले खास केही फरक पर्ने अवस्था छैन ।
– मतदाताका लागि तपाईंका योजनाहरु के के छन् ?
म ठूल्ठूला कल्पना गरेर नगरवासीलाई विकासको सपना बाँड्न चाहन्न । म कुनै पार्टी, जाति, समुदायलाई समान व्यवहार गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउँछु । मेरो स्वभावसँग सबै नगरवासी परिचित हुनुहुन्छ । म उहाँहरुको निर्वाचित प्रतिनिधि भएर सेवा गर्ने मेरो विद्यार्थीकालदेखिकै सपना छ । राप्रपालाई अब राष्ट्रिय पार्टी बन्न कसैले रोक्दैन । आउने संघीय निर्वाचनमा समानुपातिकबाट मेरो पहिलो नाम जान सक्थ्यो । तर, मैले त्यो बाटो रोजिनँ ।
अन्य पार्टीहरुले अवसर पाएर पनि नगरवासीको निःस्वार्थ सेवा गर्न सक्नुभएन । सुकुम्बासीलाई धनी पुर्जा दिन सक्नुभएन । केपी शर्मा ओली प्रधानमन्त्री भएर पनि एउटा सुकुम्बासी आयोय गठन गरेर उपमेयरले तलब भत्ता ३० महिना बिताउनु भयो, तलबभत्ता मासिक २२ हजार खाएर पनि केही काम गर्न सक्नुभएन । एउटा धनी पुर्जा दिन नसक्ने प्रधानमन्त्री र पार्टीले के मुख देखाएर फेरि भोट माग्नुहुन्छ ? यस्ता कैयौं समस्याहरु नगरवासीले भन्न नसकेका समस्याहरु छन् । त्यो समस्याको समाधान ममार्फत खोज्न निष्पक्ष रहने मतदाता, समुदाय जसले मलाई आजसम्म सहयोग गरे, उहाँहरु आतुर हुनुहुन्छ ।
केपी ओलीको उपस्थितिले उहाँ दह्रो हुनु होला । म चुनावमा त्योबारेमा केही भन्न चाहन्न । अब फलनालाई मेयर, तिलानालाई उपमेयर दे भनेर केपी शर्मा ओलीले भनेको भरमा अब नगरवासीहरु त्यता लाग्छन् जस्तो मलाई लाग्दैन ।
– तपाईको जितको आधार के के हुन् ?
मेरो जितको आधार भनेको गएको स्थानीय तह चुनावमा दोस्रो भइयो, अहिले हामी दोस्रो, तेस्रो र चौथो शक्ति र एकीकृत समाजवादी पार्टी पनि मलाई मेयरमा सहयोग गर्न प्रतिबद्ध हुनुहुन्छ । यो कारणले हाम्रो जित निश्चित छ । विगतको तथ्याङ्कले पनि हाम्रो जित निश्चित छ । हामी त्यो निश्चितलाई सुनिश्चित गर्न लागेका छौं । अब कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैन । अहिलेको जनलहरले पनि ममात्र होइन, गठबन्धनका उपमेयर र गठबन्धनको समूह हामी सबै ठाउँमा निश्चित जित्छौं, ढुक्क रहे हुन्छ ।
इटहरी । २०७४ सालको चुनावी गणितलाई आधार मान्दा इटहरीमा राप्रपा तेश्रो शक्ति हो । २०७४ को चुनावमा एमालेले मेयर जित्यो भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र तेश्रो शक्ति राप्रपा भएको थियो ।
५२ हजार ५२२ खसेको सदर मतमा २२ हजार ६८९ मत ल्याएर एमालेका उमेम्दवार द्वारिकलाल चौधरी विजयी भएका थिए । नेपाली कांग्रेसका प्रत्याशी रोहित प्रसाईको १९ हजार ९८५ मत आएको थियो भने राप्रपाका रोहितकुमार कार्कीले ३ हजार ७१५ मत ल्याएका थिए । यस्तै चौंथो स्थानमा माओवादीकी उम्मेदवार हरिमाया जिमीले ३ हजार ३६४ मत ल्याएकी थिइन् ।
पछाडि फर्केर हेर्दा २०४६ सालको जनआन्दोलनपछि भएको २०५४ सालको प्रथम स्थानीय चुनावमा राप्रपाको झनै बलियो प्रभाव थियो । त्यसबेला इटहरीमा दोश्रो शक्तिका रुपमा रहेको थियो राप्रपा । मेयर पदमा एमालेका सर्वध्वज साँवाले ६ हजार ८९९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी राप्रपाका रामकुमार सुब्बाले ४ हजार ५०४ मत ल्याएका थिए । नेपाली कांग्रेसका वीरेन्द्र कार्कीले तेश्रो भएर २ हजार ७५७ मत ल्याएका थिए ।
२०७४ मै तेश्रो शक्तिको हैसियत पाएको राप्रपाको क्रेज अहिले इटहरीमा बढ्दो क्रममा छ । बढ्दो चुनावी चलहपहल र राप्रपाको घरदैलो कार्यक्रममा पार्टीको पक्षमा माहोल देख्न सकिन्छ । नेपाली कांग्रेस, माओवादी, नेकपा एस र जसपा गठबन्धनबाट चुनावी मैदानमा एमालेसँग भिड्दा राप्रपा इटहरीमा एक्लै लडिरहेको छ ।
इटहरीमा राप्रपाका मेयर उम्मेदवार आकाशहाङ सुब्बा छन् भने उपमेयर उम्मेदवार छिन् बबिताकुमारी चौधरी । इटहरी क्षेत्रका एक मात्र पूर्वमन्त्री रामकुमार सुब्बाका छोरा हुन् आकाश । उनी राप्रपा इटहरीका अध्यक्षसमेत हुन् । बबिताले इटहरीको भुमिपुत्र थारुको प्रतिनिधित्व गर्छिन् । गठबन्धनले महिला, आदिवासी जनजाती र थारुको प्रतिनिधित्व मुल पदहरुमा गरेको छैन । एमाले र राप्रपाले भने मेयर र उपमेयरमा उस्तै खाले अनुहार उभ्याएका छन् । एमालेले मेयरमा एमालेका नगर अध्यक्ष याम सुब्बालाई र उपमेयरमा संगीता चौधरीलाई अघि सारेको छ ।
चुनावमा राप्रपाले प्रचार गरेको नारा राजेन्द्र लिङ्देनले हिट बनाएकै वाक्य छ, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो ।’
इटहरीमा राप्रपा प्रवेशको लहर
इटहरी वडा नम्बर २० का नेपाली कांग्रेसका वडा उपसभापति दिपबहादुर पुरीले नेपाली कांग्रेस त्याग गरे । उनी अहिले राप्रपामा वडा अध्यक्षको उम्मेदवार छन् । २०७४ सालको चुनावमा अन्तिम समयमा आएर १८ वडामा मात्रै अध्यक्ष उठाएको राप्रपाको अहिले इटहरीका २० वडामै अध्यक्षका उमेद्वारी दिएको छ ।
इटहरी वडा नम्बर ६ मा राप्रपाको बलियो उपस्थिति भएको नेपाली कांग्रेस र एमालेका नेताहरु नै स्विकार्छन् । नेपाली कांग्रेसका दर्जनौं स्थानीय कार्यकर्ताहरु वडा नम्बर २० र ३ बाट राप्रापा प्रवेश गरेका छन् । वडा नम्बर ४ मा पनि राप्रपा प्रवेशको एक खाले प्रभाव परेको छ ।
एमालेबाट राप्रपामा जानेको पनि उस्तै लहर देखिएको छ । इटहरी वडा नम्बर १० मा स्थानीय स्तरमा चिनिएका एमालेका उमेश खत्री राप्रपा प्रवेश गरेका छन् । खत्रीसँगै थप एमालेका कार्यकर्ताहरु अहिले वडा नम्बर १० मा राप्रपा कित्तामा पुगेका छन् ।
राप्रपा इटहरीका प्रभावशाली नेता तथा पूर्व केन्द्रीय सदस्य रामु पोखरेलका अनुसार राप्रपामा चुनावी दौरान ११ सय ५० कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् ।
‘राप्रपामा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट आउनेहरु सराबर जस्तै छन्’, पोखरेलले भने, ‘अरु साना पार्टीहरुबाट पनि आएका छन् ।’
इटहरीमा पुरानो विरासत र राजेन्द्र लिङ्देनको नयाँ क्रेजले इटहरीमा राप्रपा थप देखिने दलको रुपमा चिनिएको छ । राप्रपाले मेयर वा उमेयर जित्ने आँकलन छैन, तर, राप्रपासँग तालमेल मिलाएको खण्डमा मेयर र उमेयरसहित सेटै जित्ने सम्भावनाको चर्चा भइरहेको छ । राप्रपा श्रोतका अनुसार अहिले एमाले र कांग्रेस दुवै दलहरुबाट पार्टीको समर्थन लिन र चुनावी तालमेल गर्न प्रस्ताव आएको छ । पूर्वमन्त्री रामकुमार सुब्बालाई घरमै पुगेर एमाले र कांग्रेसका नेताहरुले भेटेका छन् । वडा नम्बर ६ को अध्यक्षमा राप्रपाका अनिल सुब्बालाई समर्थन गर्ने शर्तमा मेयर र उपमेयरमा राप्रपाको समर्थन कांग्रेस एमालेले खोजिरहेका छन् ।
इटहरीमा राप्रपाको विरासत
हालको इटहरीका वडा नम्बर २ र ३ क्षेत्र बुढी खोलापारीका मोरङको सुन्दरहरैंचा नगरपालिकाका उत्तरी क्षेत्रलाई महेश्वर झोडा भनेर चिनिन्थ्यो । महेश्वर सुब्बाले साथीहरु रामबहादुर श्रेष्ठ, बमबहादुर लिम्बु, सोनालाल चौधरी र प्रेमलाल पटवारीहरुसँग मिलेर जंगल फँडानी गरेका थिए ।
भरत शमशेर नेतृत्वको गोरखा परिषदको नेता भएको तथा वन फँडानी गरेको आरोपमा सुब्बा २२ पटक पक्राउ परेको ‘इतिहासमा इटहरी’ पुस्तकमा उल्लेख छ । इटहरीको बजार क्षेत्रमा भएको पुरानो काठको विशाल घर पनि उनकै थियो । त्यो घर महेन्द्र राजमार्ग बनाउने क्रममा भत्कियो ।
तीनै इटहरी क्षेत्रमा बस्ति बनाउने महेश्वर सुब्बाका छोरा हुन् रामकुमार सुब्बा । उनी इटहरीमा २०३५ सालबाट २०४६ सालसम्म तीनपटक प्रधानपञ्च भए । पञ्चायतकालमा उनी प्रदेश १ का गिनेचुनेका पञ्चनेता थिए । यसैको जगमा इटहरीमा राप्रपाको उपस्थिति बलियो भयो । र, अहिलेसम्म राप्रपा सुनसरीका अन्य क्षेत्रमा कमजोर भएपनि इटहरीमा राम्रो उपस्थिति भएको पार्टीको रुपमा उभिएको छ ।
इटहरीमा राप्रपाको आफैं चुनाव जित्ने माहोल नभए पनि अरु पार्टीलाई जिताउने वा हराउने निर्णायक मत राप्रपासँग छ । त्यही मत आफ्नो पक्षमा पार्न अहिले इटहरीका एमाले र कांग्रेस नेतृत्वले जोडबल गरेका छन् ।
नुवाकोट । नुवाकोटको सदरमुकाम विदुर नगरपालिकाको चुनाव रोचक बन्दैछ ।
यहाँ नेकपा एमालेका मेयर उम्मेदवार सन्जु पण्डित र गठबन्धनका उम्मेदवार राजन श्रेष्ठबीच प्रतिस्पर्धा छ भने उपमेयरमा एमालेबाट युवा महिला अम्बिका पौडेल र गठबन्धनबाट माओवादीकी युवा महिला तथा स्वर्गीय पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटी प्रतिस्पर्धामा छन् ।
निबर्तमान मेयर समेत रहेका एमाले उम्मेदवार सन्जु पण्डित स्थानीयमाझ लोकप्रिय रहे पनि यसपटक गठबन्धनको सामना गर्नु उनका लागि चुनौतिपूर्ण बनेको छ ।
बिदुर नपा देशकै सामरिक स्थानमा अबस्थित रहेको कारणले यसको निकै ठुलो महत्व छ । एमाले अध्यक्ष केपी ओलीको सपनाको रुपमा रहेको चिन जोड्ने रेलमार्ग तथा सुरुङमार्ग यही ठाउँ भएर जानुपर्ने हुँदा यसको महत्व अझ बढेको छ ।
एमालेको बलियो पकड रहेको मानिएको बिदुर नगरपालिकामा अहिले सम्म उसले हारेको इतिहास छैन भने उता ५ दलीय गठबन्धन यो पटक त्यो इतिहास तोड्ने लक्ष्यका साथ अघी बढेको छ ।
गठबन्धनको लागि प्रतिकुलता भनेको मेयरका उम्मेदवारको अपरिचित व्यक्तित्व नै हो । गठबन्धनकी उपमेयर उम्मेदवार प्रभा बोगटी जति लोकप्रिय छिन्,मेयर उम्मेदवार राजन श्रेष्ठलाई जनतामाझ चिनाउनु पर्ने अवस्था छ ।
उनी व्यवसायी हुन् । तर नेवार बाहुल्य रहेको बिदुर को १,२,४,५ बाट कांग्रेस उम्मेद्वार राजन श्रेष्ठलाई जातिय भोट धेरै आउन सक्ने अनुमान सत्ता गठबन्धनको छ ।
तर एमाले नेताहरु भने यो तर्कमा सहमत छैनन् । २ बाहेक ती वडाहरु पहिले सेटसहित एमालेले जितेको तथा निकै बलियो संगठन रहेकोले त्यहाँ जातको आधारमा भोटिङ नहुने एमालेका युवा नेता सुरेश भण्डारी बताउँछन् ।
फेरी विदुर नगरपालिका भनेको कुनै पनि समुदायको बहुमत नभएको नगरपालिका हो । यहाँ मुख्य रुपमा बाहुन छेत्री , तामाङ, नेवार , दलित तथा कुमाल तथा अल्पसंख्यक मुस्लिम समुदायको समेत उल्लेख्य बसोबास रहेको छ । नुवाकोटको धार्मिक सांस्कृतिक चाड,जात्रा यहाँको धामी पुजा लगायत पर्ब सबै जातीले उत्तिकै महत्वको साथ मनाउने गरेकोले यहाँ जातीय नारा बिक्न गार्हो रहेको स्थानियको दाबी छ । गठबन्धनमा रहेका कांग्रेस माओबादी केन्द्र बाहेक अन्य दलको खासै जनमत नरहेको र पछिल्लो समय नुवाकोट माओबादी केन्द्रका धेरै जसो नेता कार्यकर्ता एमाले प्रबेश गरेकोले बाहिर भिडन्त एमाले कांग्रेसबीच नै हुने देखिन्छ ।
भागबण्डा नमिलेकाले गर्दा नेकपा एस गठबन्धनबाट बाहिरिसकेको छ भने टिकट बितरणमा पैसाको चलखेल भएको भन्ने हल्ला ले गर्दा कांग्रेस मै पनि असन्तुष्टी रहेको छ ।
हिजो नेकपा कालमा निकै बिबाद देखिएको एमाले भने एकढिक्का भएर चुनावमा लागेको छ ।
बिगतमा माधव नेपाल पक्षमा रहेकाहरु दश बुँदेमार्फत एमालेमा सक्रिय छन् । नुवाकोटको टिकटमा महत परिवार हाबी भएकोमा कांग्रेसमा असन्तुष्टी छ । बिदुर नगरपालिकामा २०४९ र ५४ मा एमालेका ठाकुर गजुरेल मेयर जितेका थिए भने २०७४ मा जितेका सन्जु पण्डित नै यसपटक पनि उम्मेदवार छन् ।
काठमाडौं । पाँच वर्षअघिको स्थानीय तह निर्वाचनमा विपक्षीभन्दा दोब्बर मतान्तरले जितेर बुढानिलकण्ठ नगरपालिकाको म्यान अफ दि इलेक्सन बनेका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई ५ वर्षमा गरेका र अधूरा कामको विवरणसहित चुनावी मैदानमा उत्रिएका छन् ।
उनले आफू पुनः उम्मेदवार बन्दै गर्दा यसबीचमा गरेका कामको विवरण पनि स्वेतपत्रमार्फत सार्वजनिक गरेका छन् । एउटा वडाध्यक्षले विकासका कामले नै नाम दिलाउन सक्छ भन्ने उदाहरणका रुपमा भट्टराई अघि बढेका छन् ।
१४ सय मतान्तरले अघिल्लो चुनावमा जित निकालेका उनले बाचा गरेका कतिपय काम पूरा हुन बाँकी रहेको र सिमित साधन स्रोतका बीच सकेसम्म राम्रा काम भएका बताएक छन् ।
भट्टराई भन्छन्,‘म जनताको सेवा गर्नका निम्ति सँधै तत्पर रहन्छु। अझ गर्न धेरै बाँकी नै छ। कतिपय काम केन्द्र र प्रदेश सरकारसँग समन्वयमा गर्नुपर्ने र ठेकेदारले अलपत्र पार्ने अवस्थाले हुन सकेनन् । तर वडाध्यक्षको हैसियतबाट गर्नुपर्ने पुर्वाधार तथा जनताका दैनिक काममा मैले कुनै कमजोरी गरेको छैन ।
बुढानिलण्ठ १० मा एमालेबाट नवराज भट्टराई पुनः वडाध्यक्षमा उम्मेदवार बन्दै गर्दा महिला सदस्यमा रीता दाहाल,दलित महिलामा दिलकुमारी विक,खुल्ला सद्यस्यमा चन्द्रमान श्रेष्ठ र देवी रेग्मी उम्मेदवार छन् ।
यो नगरपालिकामा एमालेले मेयरमा कपनकै पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारी र उपमेयरमा साहित्यकार अनिता लामालाई उम्मेदवार बनाएको छ ।
फेरि वडाध्यक्षको मैदानमा रहेका उनले जनतामाझ आफूले गरेका कामको विवरणलाई पनि देखाउन चाहेका छन्। सत्ता गठबन्धनमा कांग्रेससँग मैदानमा उत्रिन लागेका भट्टराईले २६ बुँदामा आफूले गरेका कामलाई देखाउन चाहेका छन्।
नगर अस्पतालको अस्थायी बहिरंग सेवा संचालन।
भूकम्प स्मृति पार्क निर्माण।
पुरातात्विक आकाशेधाराको पुनर्निर्माण शुभारम्भ।
बाल उद्धार विद्यालय नमुना विद्यालयमा सूचीकृत।
नगर अस्पताल निर्माण अन्तिम चरणमा ।
वडा कायार्लय भवनमा सभाहलको निर्माण ।
पारिजात पार्क तथा आकाशेधारा बाटिका निर्माण।
वडा कायार्लय निर्माणका लागि डिपिआर तयार।
साप्रेढुंगामा नेवार समुदायको संस्कृति सम्वद्धर्नको निमित्त धिमे बाजा वितरण तथा बाजा बजाउने तालिम।
बाल उद्धार माध्यमिक विद्यालयमा २ वटा नयाँ भवन निर्माण सम्पन्न तथा ३ वटा भवनमा रेक्ट्रोफिटिंग कार्यजारी।
धोबीखोला करिडोर निर्माणमा बर्षौदेखि अवरुद्ध साततले पाथिभरा बस्तीको २२ घर मध्ये १० घरलाई बूढानीलकण्ठ वडा न.२ मा पुनर्स्थापन तथा १२ घरलाई उचित क्षतिपूर्ति उपलब्ध गराई करिडोर निर्माण सम्पन्न।
साततले आनीगुम्बा क्षेत्रको डुवान समस्या समाधानका निमित्त आनिगुम्बा देखि आरम्भचोकसम्म बक्स कल्भर्ट निर्माण कार्यसुचारु साथै आरम्भचोकदेखि साततलेसम्म डिपिआर निर्माण भई कार्यान्वयन अन्तिम चरणमा रहेको।
प्रस्तावित कपन ह्याण्डबल ग्राउण्डमा विभिन्न खेल खेल्न मिल्ने रंगशाला निर्माण कार्यसुचारु।
एकीकृत सिद्धेश्वर परियोजना अन्तगर्त निर्माण कार्यजारी।
वडाभित्रका बिभिन्न स्थानमा लोकेशन बोर्ड निर्माण।
कपन बहमुखी क्याम्पसको भवन निर्माण कार्यसंगै भवनमा पठनपाठन संचालन।
नेपाल चाटर्र स्कुल स्थित साप्रेढुंगा मैदानको स्तरोन्नति।
गौरीशकंर टोलमा सार्वजनिक शौचालय निर्माण।
मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन बिस्तार।
ज्येष्ठ नागरिक नलेज बैकंको डिपिआर निर्माण।
जोरधारा खानेपानीमा डिप बोरिङ कार्यसम्पन्न।
पुरातात्विक चुनदेवी मन्दिरको पुनर्निर्माण।
सहजीकरणको लागि वडा कार्यालयमा टोकन मेसिन जडान।
वडा नं. ९ र १० जोड्ने ३ वटा पक्की पुल निर्माण।
वडाभित्र २७.१ किलोमिटर बाटो स्तरोन्नती।
वडाभित्र २५ किलोमिटर खानेपानी पाईपलाईन बिस्तार।
भट्टराईले यस पटक जित निकालेको खण्डमा अझ प्रभावकारी काम गरेर देखाउने वाचा गरेका छन्। उनी भन्छन्,‘यी अहिलेसम्म गरेका काम हुन् यीनको निरन्तरतासँगै नयाँ काम थप्ने योजना छ।’
काठमाडौं । स्थानीय तहमा निर्वाचनको प्रचार प्रसारका क्रममा भएका आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्वपूर्ण क्रियाकलापको निर्वाचन आयोगले सुक्ष्म अनुगमन गर्न थालेको छ ।
सूक्ष्म रुपमा अनुगमन गरी वा गर्न लगाई खर्च विवरण अनुमान गर्न सकिने भएमा त्योसमेत गरी मतदान हुने दिन अर्थात दिन वैशाख ३० गते भन्दा अघि नै गोप्य रुपमा आयोगमा प्रतिवेदन पठाउन आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ ।
सम्बन्धित उम्मेदवारले कानून बमोजिम बुझाउने निर्वाचन खर्चको विवरण तथा आयोगले खटाएका सूक्ष्म अनुगमनकर्ताले पेश गर्ने प्रतिवेदनसँगसमेत भिडाई विश्लेषण गरिने आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।
उनका अनुसार निर्वाचन प्रचार प्रसारको क्रममा हुने महत्वपूर्ण खर्चको विवरण पहिले नै सङ्कलन गर्दा उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएपछि पेश गर्ने निर्वाचन खर्चको विवरणको वास्तविकता तथा विश्वसनीयता परीक्षण गर्न सहज हुने भएकाले यसो गरिएको हो ।
निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले एक महिना भित्र आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा ९२० मा त्यस्तो खर्च सम्बन्धमा आयोगले मान्यता प्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराउन सक्ने व्यवस्था पनि रहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचनमा दल वा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुने व्यवस्था गरेको छ ।
दल वा उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा तोकिए बमोजिम राख्नुपर्ने, कुनै दल वा उम्मेदवारले निर्वाचनमा गरेको जम्मा खर्च तोकिएको खर्चको रकमको हद भन्दा बढी हुन नहुने व्यवस्था रहेको छ ।
काठमाडौं । स्थानीय चुनावको मतदानको दिन आउन एक सातामात्र बाँकी छ । अहिले उम्मेदवारलाई भोट माग्न भ्याइनभ्याइ छ ।
चुनावी माहोलको रौनकतामा रापिएको क्षेत्र हो ललितपुर महानगरपालिका । अघिल्लो स्थानीय चुनावमा मेयरमा कडा प्रतिस्पर्धीको रूपमा उभ्याएका हरिकृष्ण व्यञ्जनकारलाई नेकपा एमालेले यो पटक पनि अघि सारेको छ ।
७४ को चुनवमा यहाँ नेपाली कांग्रेसका चिरीबाबु महर्जनले जितेका थिए । अहिले पनि दुईजनाबीच नै प्रतिस्पर्धा हुँदैछ । चिरीबाबु गठबन्धनबाट उम्मेदवार छन् ।
व्यञ्जनकारलाई अघिल्लो पटकको हारलाई यो पटक जितमा परिणत गर्ने चुनौती र चिरीबाबुलाई दोस्रोपटक ललितपुरको सत्ताको बागडोर सम्हाल्ने चुनौती छ ।
नेपाल प्रेसले आज ललितपुर महानगरपालिमा हेवीवेट उम्मेदवारमध्येका एक हरिकृष्ण व्यञ्जनकारको घरदैलो कार्यक्रमको माहोल पस्किएको छ ।
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजधानी सहरमा महिला उम्मेदवारले मेयरमा हार्नै नहुने बताएका छन् ।
गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले देशकै राजधानीमा महिलालाई हराउँदा राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा आलोचना हुने बताए ।
‘सिर्जना सिंह योग्य महिला हुन् । राम्रो काम गर्ने वचन दिएकी छिन् । काठमाडौंजस्तो राजधानीमा महिला हार्नुहुँदैन । दुनियाँले के भन्छ ? राजदूतहरू यहीँ छन्, महिला हरायो भन्छन् । भरतपुरमा रेनुलाई पनि हराउन हुँदैन’, देउवाले भने ।
प्रकाशमानको पत्नी हुनु सिर्जनाको पाप नभएको भन्दै देउवाले आमाबुवाले कसैसँग बिहे गर्दिनु गलत नभएको बताए ।
‘बुबाआमाले प्रकाशमानसँग बिहे गरिदिए त सिर्जनाको के दोष ? रेनुले पनि प्रचण्डकै छोरी बन्छु भनेर जन्मेको त हैन नि ? त्यसैले राम्रो काम गर्नेलाई जिताउनुपर्छ’, देउवाले भने ।
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरू गठबन्धनको विरोधमा उत्रिएको बताएका छन् ।
काठमाडौंमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले कुनै बेला वीपीलाई फाँसी दिनुपर्छ भन्नेहरू अहिले कट्टर कांग्रेस बन्न खोजेको आरोप लगाए ।
‘हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा खडा गरेका छन् । हिजो वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने को को हुन् ? उनीहरू अहिले गठबन्धनको खिलाफमा छन् । बडा कांग्रेसको समर्थन गर्ने भका छन् । हामीलाई था छैन ?’, देउवाले भने ।
कांग्रेसको महाधिवेशन र केन्द्रीय समितिले गठबन्धनको पक्षमा निर्णय गरेपनि केही सीमित मान्छेहरू विरुद्धमा लागेको देउवाको टिप्पणी छ ।
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वकेन्द्रीय समिति सदस्य तथा हेटौँडाका नेता मधु अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा भएको टिकट वितरणमा अन्याय गरेको भन्दै रुष्ट रहेका अधिकारीले शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
सकिन लागेको राप्रपालाई स्थापित गर्ने क्रममा आफूले निकै मेहनत गरेको, रगत पसिना बगाएको तर पार्टीमा ‘काम गर्ने कालु, मकै खाने भालु’ को नीति अख्तियारी भएको भन्दै राप्रपा परित्याग गरेको अधिकारीले बताएका छन् । दीपकबहादुर सिंहलाई उम्मेद्वार बनाएपछि उनले असन्तुष्टि जनाएका थिए ।
अधिकारीले विज्ञप्तिमा भनेका छन् ‘पार्टीभित्र काम गर्ने कालु, मकै खाने भालु प्रवृत्ति मौलायो । पछिल्लो समय अनुकुलताको राजनीति, मौसमी राजनीति, सामन्ती र सर्वसत्तावादी चिन्तन अनि प्रवृत्ति हाबी भयो । प्रवृत्तिसङ्ग केन्द्रीय नेतृत्व नतमस्तक भयो । नयाँ पुस्ताको भजन गाएर नथाक्ने पार्टीका नेतृत्व र शीर्ष नेताको निर्णय अदूरदर्शी, अपरिपक्व र अन्यायपूर्ण देखियो । नेतृत्वले गर्ने मूल्य, मान्यता र आदर्शको कुरा ढोंग सिवाय केही होइन भन्ने घटनाक्रमले चरितार्थ गरेको छ ।’
अधिकारीले राप्रपा छाडेको स्टाटस सामजिक सञ्जालमा राखेपछि कार्यकर्ताले निर्णय पुनर्विचार गर्न अनुरोध गरेका छन् । अधिकारी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालको तर्फबाट हेटौँडा उपमहानगरपालिकाको नगर प्रमुखमा उम्मेद्वार बनेको थिए ।
अधिकारीले ६ हजार ८ सय ५७ मत प्राप्त गरेका थिए । लामो समय मकवानपुरमा राप्रपाको नेतृत्व गरेका अधिकारीको पार्टी परित्यागले पार्टीमा क्षति पुग्ने चर्चा हुन थालेको छ ।
काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा अहिले सत्ता गठबन्धन दलको संयुक्त चुनावी सभा भइरहेको छ ।
सभालाई सम्बोधन गर्न पाँचै दलका शीर्ष नेताहरू सहभागी छन् । काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र उपमेयरमा नेकपा एसका रामेश्वर श्रेष्ठलाई जिताउन आव्हान गर्दै गठबन्धनले सभा गरेको हो ।
आमसभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका राजेन्द्र श्रेष्ठ, जनमोर्चाका चित्रबहादुर केसीलगायतले सम्बोधन गर्नेछन् ।
काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश समितिका सभापति ईन्द्र बानियाँले गठबन्धनको विरोध गर्नेहरु कांग्रेस हुनै नसक्ने दावी गरेका छन् ।
गठबन्धनले शान्तिवाटिकामा गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले कांग्रेस कार्यकर्ताले गठबन्धनको विरोध गर्नु भनेको एमालेलाई सघाउनुसरह रहेको बताए ।
‘गठबन्धन शान्तिप्रक्रियादेखि नै हुँदै आएको हो । आज क्षणिक स्वार्थका लागि कांग्रेसीले गठबन्धनको विरोध गर्न मिल्दैन । गठबन्धनको विरोध गर्नु केपी ओलीलाई सघाउनु हो’, बानियाँले भने ।
काठमाडौं महानगरमा एमालेले अनुशासनहीन उम्मेदवार उठाएको आरोपसमेत बानियाँले लगाए । ‘केपी ओली आफै हावादारी मान्छे । उहाँले काठमाडौंको उम्मेदवार पनि महाहावादारीलाई बनाउनुभएको छ । अनुशासनहीन व्यक्तिलाई टिकट दिएर एमालेले जनताको उपहास गरेको छ’, बानियाँले भने ।
उपमेयरमा पनि एमालेले ‘कलेज पढेको तर नलेज नभएको’ उम्मेदवार खडा गरेको बानियाँको टिप्पणी छ ।
काठमाडौं । काठमाडौंमा सत्तारूढ पाँचदलीय गठबन्धनको चुनावी सभा जारी छ ।
रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा केही समयअघि निजी गाडीबाट कार्यक्रमस्थल पुगेका छन् ।
वागमती प्रदेशको इम्बोस्ड नम्बर प्लेट रहेको ‘बी एबी ४३६६’ नम्बर टोयोटाको ल्याण्डक्रुजर चढेर देउवा सभास्थलमा आएका हुन् ।
प्रधानमन्त्री देउवा यसअघि बिहीबार चितवनको सभामा जाँदा पनि निजी गाडी चढेर कार्यक्रमस्थल पुगेका थिए ।
निर्वाचन आचारसंहितामा चुनावी प्रचारप्रसारमा सरकारी स्रोतसाधन बन्देज गरिएको छ । सोही कुरालाई हेरेर देउवाले सरकारी गाडी प्रयोग नगरेका हुन् ।
यद्यपि देउवाको सुरक्षाको लागि भने सुरक्षाकर्मीले सरकारी गाडी नै प्रयोग गरेका थिए ।
काठमाडौं । उनले चाहेकाे भए अझै २७ वर्ष जागिर खान सक्थे । त्याे पनि सिंगापुर पुलिसकाे जागिर थियाे । तर, १५ वर्षपछि अवकाश लिएर २०७३ सालमा उनी नेपाल फर्किए । नेपाल फर्किन परिवारकाे दबाब थिएन । घर फर्किहाल्नु पर्ने कुनै कारण वा समस्या पनि थिएन । तर, ताप्लेजुङको फक्ताङलुङका राजन लिम्बू गाउँ फर्के, त्याे पनि राजनीति गर्न ।
सुन्दा पत्यार नलाग्ने राजन आशन्न स्थानीय तह निर्वाचनमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका उम्मेदवार नै बनेका छन् । गाउँ फर्केर उनले माओवादी केन्द्रबाट राजनीति सुरु गरेका थिए । जसअनुसार माओवादी केन्द्रले नै उनलाई गाउँपालिका अध्यक्षकाे टिकट दिएको हाे ।
सिंगापुर रहँदा नै उनी लिम्बूवान मुक्ति मोर्चाकाे केन्द्रीय सदस्य बनेका थिए । नेपाल फर्किएपछि २०७३ सालमा ताप्लेजुङ-काठमाडौं गणतान्त्रिक मञ्चको कोषाध्यक्षमा निर्वाचित भएका थिए राजन । २०७४ सालमा उनले वाईसीएल नेपाल गैरभूगोल प्रदेश १ समन्वय समितिको अध्यक्ष भए ।
२०७५ सालमा वाईसीएल ताप्लेजुङको जिल्ला इन्चार्ज भएका राजन माओवादी र एमालेको एकतापछि राष्ट्रिय युवा संघ नेपालको जिल्ला सहइन्चार्ज र नेकपाको जिल्ला कमिटी सदस्य भएका थिए । पार्टी फुटेपछि फेरि वाईसीयल जिल्ला इन्चार्जमै रहेर काम गरे । माओवादीको गत मंसिरमा सम्पन्न देशव्यापी पालिका सम्मेलनयता उनी फक्ताङलुङ गाउँपालिकाको पार्टी अध्यक्ष भएर काम गरिरहेका छन् ।
तीन वर्षकाे उमेरमा बुबा गुमाएका राजन स्थानीय जनताकाे आर्थिकस्तर उकास्न आफू लाहुरे जीवन टुंग्याएर नेपाल फर्किएको बताउँछन् ।उनले स्वदेश तथा विदेशमा रहेका ताप्लेजुङवासीलाई सहयोग गर्न ताप्लेजङ-काठमाडौं युवा समाजको संस्थापक अध्यक्ष भई काम गर्दै आएका छन् । कोरोना भाइरसको महामारीबीच लकडाउनका कारण घर फर्किन नपाएर समस्यामा परेका, विदेशी भूमिमा विभिन्न कारणले अलपत्र परेका जिल्लावासीहरुलाई यो संस्थाले सहयोग गरेको थियो।
फक्ताङलुङ गाउँपालिकाको रानी प्राविका विद्यार्थीहरुलाई जाडो समयकाे लागि न्यानाे कपडा सहयोग गरिरहेका छन् । त्यस्तै ताप्लेजुङकै पाथीभरा बहुमुखी क्याम्पसका न्यून आर्थिक स्तरका सय जना विद्यार्थीलाई राजन सम्मिलित टिमले एक वर्षसम्म लाग्ने शुल्क व्यहाेरिरहेकाे छ। उनको पहलपछि संघ र प्रदेश सरकारको सहयोगमा फक्ताङलुङको शेवालुङ माविमा आईसीटी ल्याब र पुस्तकालय स्थापना भई सञ्चालनमा रहेको छ ।
‘म लिन आएको हैन, दिन आएको हुँ । लिन आउने भए सुविधा सम्पन्न ठाउँ र भने जस्तै तलब छोडेर गाउँ फर्किने थिइनँ । अन्य साथीहरुसँगै सिंगापुरमै हुँन्थे । विदेशी भूमिमा आफूले देखेको र सिकेको ज्ञान र अनुभवलाई प्रयोग गरेर आफ्नो गाउँ बनाउने सपना र योजना बोकेर गाउँ फर्किएको हुँ’, राजन भन्छन् ।
फक्ताङलुङवासीको जीवनस्तर उकास्न पाँच वर्षे कार्ययोजनासहित काम गर्ने योजना रहेको उनले सुनाए । विभिन्न जातजातिको संस्कार संस्कृति एवं धार्मिक क्षेत्रको संरक्षण, सम्बर्द्धन र विकास गर्न, विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमाललाई पर्यटकीय क्षेत्रको रुपमा विकास र प्रचारप्रसार गर्ने, गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनामा जनताको शेयर लगानी गरेर स्थानीयको जीवनस्तर उकास्न काम गर्ने योजना रहेकाे उनले बताए ।
युवाहरुको विदेश पलायन रोक्न युवामुखी कार्यक्रम सञ्चालन गर्ने, महिला तथा कृषकलाई उचित सहुलियतका साथै प्राविधिक एवं व्यवसायिक खेतीमा जोड दिने आफ्नाे योजना सुनाउँदै उनी फक्ताङलुङवासीसँग भोट मागिरहेका छ्न्।
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति एक साता मात्रै बाँकी रहँदा काभ्रेको रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष लामाले यसपटक टिकट पाएका थिएनन् । उनले अचानक शुक्रबार गाउँपालिका अध्यक्ष र नेपाली कांग्रेस पार्टी दुवै परित्याग गरेका छन् ।
लामाले गाउँपालिकाका सबै कर्मचारीहरु, राजीनामा दिएर बाँकी रहेका जनप्रतिनिधिहरुलाई धन्यवाद दिदै कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिदै पदबाट राजीनामा दिएका हुन् ।
डिबी लामा कार्यकालभर रोशी गाउँबासीबीच लोकप्रिय थिए । पार्टीले दोस्रो पटक पालिकाको अध्यक्ष पदको उम्मेदवार नबनाएपछि उनी असन्तुष्ट थिए । गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारीमा पुनः नदोहोर्याए पछि लामाले वैशाख ११ गते मन्तव्यसहित राजीनामा घोषणा गरेका थिए । उनले राजीनामा उपाध्यक्ष लक्ष्मी बर्तौला उप्रेतिलाई बुझाएका छन् ।
लामाको राजीनामाले रोशीमा सत्ता गठबन्धनलाई धक्का पुगेको छ । रोशीमा नेपाली कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रलाई उपाध्यक्ष दिइएको छ । राप्रपाका जिल्ला अध्यक्षसहित एमालेमा प्रवेश र गाउँपालिका अध्यक्षको कांग्रेस परित्यागसँगै एमालेका देवसागर लामालाई यो पटक रोशीमा सहज भएको छ ।
काठमाडौं । सत्तारूढ गठबन्धन दलको सहमतिभन्दा बाहिर गएर ‘बागी’ उम्मेदवारी दिएकाहरूको उम्मेदवारी निष्क्रिय गराउन अझै पहल जारी राख्ने निर्णय भएको छ ।
सत्तारूढ पाँच दलका स्थानीय तह निर्वाचन समितिकाे सचिवालयका पदाधिकारी तथा सदस्यहरूको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाली कांग्रेस केन्द्रीय परिचालन समिति सचिवालयका संयोजक एवं केन्द्रीय सदस्य नानु बास्तोलाको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले ‘गठबन्धनमा रहेका दलहरुबीच आपसी समझदारीमा दिइएका उम्मेदवारविरुद्ध गठबन्धनभित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्क्रिय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलको नेतृत्वसमक्ष आग्रह गर्ने’ निर्णय गरेको छ ।
यस्ता उम्मेदवारकाबारे हरेक दलले एक-अर्कालाई जानकारी गराउने पनि निर्णय गरिएको छ । यस्तै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहार्द तवरले सम्पन्न गराउन गठबन्धनमा रहेका सबै राजनैतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिबद्ध रहने पनि निर्णय भएको छ ।
निर्वाचनका क्रममा गठबन्धनका दलहरूबीचमा असमझदारी सिर्जना भएमा आपसी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सचिवालयमार्फत क्रियाशीलता कायम राख्ने पनि निर्णय भएको छ । स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरुमा गठबन्धन दलबाहेक अन्य राजनैतिक दलहरुसँग असहमति वा असमझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलहरुबीच मतैक्य गरी समस्या समाधान गर्न क्रियाशील रहने पनि जनाइएको छ ।
बैठकमा माओवादी केन्द्रका तर्फबाट डोरप्रसाद उपाध्याय, नेकपा एसका तर्फबाट लक्ष्मण केसी, जसपाका तर्फबाट लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चाका तर्फबाट हिमलाल पुरी उपस्थित थिए । ती निर्णयहरू पाँचै दलका प्रतिनिधिहरूको संयुक्त हस्ताक्षरमा सार्वजनिक गरिएको छ ।
काठमाडौं । गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले काठमाडौंका जनताले स्थानीय निर्वाचनमा अहंकारीलाई परास्त गर्ने बताएका छन् ।
शान्तिवाटिकामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले ५ दलीय गठबन्धन बन्नुमा केपी ओलीको अहंकार मुख्य कारण रहेको भन्दै अहंकारीलाई निर्वाचनबाट पराजित गर्नुपर्ने बताए ।
बितेको ५ वर्षमा काठमाडौं महानगरमा सुशासन हराएको र जनताले सास्ती पाएको भन्दै गठबन्धनले जितेपछि सुशासनको क्षेत्रमा विशेष काम गर्ने श्रेष्ठको दावी छ । ‘अहिलेको महानगरको नेतृत्वले सुशासन दिन सकेन । अंहकार र स्वेच्छाचारी विचार बोकेकाहरुलाई अब चुनावबाट पराजित गर्नुपर्छ’, श्रेष्ठले भने ।
एमाले नेतृत्वको महानगरले जनताको करको पैसा फिक्स डिपोजिटमा राखेर निष्क्रिय बनाएको भन्दै श्रेष्ठले गठबन्धनले जितेपछि त्यो पैसा झिकेर जनताको सेवामा लगानी गर्ने बताए ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको जिकिर गरेका छन् ।
शुक्रबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘स्थानीय तह निर्वाचन-२०७९ नेपाली कांग्रेसको संकल्प प्रस्ताव र बहस’ विषयक कार्यक्रममा थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको व्यावहारिक कार्यान्वयनसँगै विधिको शासन स्थापित गरी स्रोतसाधनको भरपुर सदुपयोग गरेर जनतालाई अनुभूत हुने गरी सेवा दिन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।
थापाले कांग्रेसले जितेमा अबको पाँच वर्ष बितेको पाँच वर्षको जस्तो निराशाजनक परिस्थिति नहुने आश्वस्त पारे । अबको दशक रोजगारीको दशक हुने र प्रत्येक वर्ष पाँच लाख रोजगारी सिर्जना हुने गरी कृषि, पर्यटन, ऊर्जा आदि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर अघि बढ्ने मार्गचित्रसहित कांग्रेसले संकल्प लिएको थापाको भनाइ थियो ।
थापाले यसअघि पाँच वर्षमा भएका कामहरूको बारेमा जनतालाई जानकारी गराउनुपर्ने भएपनि कसैले पनि यसलाई ध्यान दिन नसकेको बताए ।
कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा। केदारनरसिंह केसीले स्थानीय तह निर्वाचनको सङ्कल्प प्रस्ताव पार्टीको मार्गदर्शक भएको भन्दै यसको भरपुर उपयोग गर्नुपर्ने बताए ।
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा एमालेबाट बागी उम्मेदवारी दिएकी गाउँपालिका कमिटी उपाध्यक्ष सुभद्रा कटवालले आफ्नो उम्मेदवारी स्थगन गर्दै आधिकारिक उम्मेदवार अस्मिता थापालाई समर्थन जनाएकी छन् ।
लिखु गाउँपालिकाको वडानम्बर ४, यसमको मचाबारीमा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले आफूले पार्टीका केही व्यक्तिको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिए पनि एमालेको विरासत जोगाउँन आधिकारिक उम्मेदवार अस्मिता थापालाई बिनाशर्त समर्थन जनाएर उम्मेदवारी फिर्ता लिएको बताइन् ।
आफ्नो कारण पार्टीले हारेमा आफ्नो सन्तानको भविष्य समेत अन्धकार हुने भएकाले र आफ्नो पुर्खाले आर्जेको विरासत कायम राख्नका लागि आफूले स्वतन्त्र उम्मेद्बारी फिर्ता लिएको उने बताइन् ।
पार्टीका प्रदेश इन्चार्ज नानीबाबु बुढाथोकी, गाउँपालिका अध्यक्ष तथा प्रदेश कमिटी सदस्य गोविन्द पौडेल, उपाध्यक्ष उम्मेदवार तथा जिल्ला कमिटी सदस्य अस्मिता थापालगायतका नेताहरूसँगको छलफल पनि उनले उम्मेदवारी फिर्ताको घोषणा गरेकी हुन् ।
लिखु गाउँपालिकामा एमालेले मिलन विष्टलाई अध्यक्ष र अस्मिता थापालाई उपाध्यक्ष उम्मेदवार बनाएको छ ।
वैशाख ३० गते हुने स्थानीय तह चुनावमा एमालेले दमक अर्थात पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह नगरको मेयरमा महिला गीता अधिकारीलाई अघि सारेको छ । दमक नगरमा पाँच वर्षे उपमेयरको कार्यकाल पूरा गरेकी अधिकारी गीता मेडमका रुपमा परिचित छिन् ।
अधिकारी झापाको साविक दमक नगरपालिका वडा नम्बर १० हाल ५ वडाकी स्थायि बासिन्दा हुन् । अधिकारीले दमक बहुमुखी क्याम्पसमा २८ वर्षदेखि अर्थशास्त्र प्राध्यापन गर्दै आएकी थिइन् । गएको स्थानीय तह निर्वाचनमा एमालेबाट उपमेयर बनेकी अधिकारी भारी मतका साथ विजयी भएकी थिइन् ।
झापाको साविक गौरीगञ्ज गाविस वडा नम्बर ७ मा पिता लोकनाथ पौडेल र माता सावित्राका कोखबाट २०१९ साल कार्तिक २५ गते जन्मिएकी उनी ७ छोरीमध्ये कान्छी हुन् । केपी ओलीको गृहनगर भएकाले अहिले दकमले सबैको ध्यान तानेको छ । राष्ट्रिय चर्चा र दबाब दुवै अधिकारीमाथि परेको छ । दमकमा महागठबन्धनबाट राप्रपाका राम थापालाई मेयरमा अघि सारिएको छ । महागठबन्धनविरुद्ध उभिएकी गीता अधिकारीसँग नेपालप्रेसकर्मी ध्रुव भट्टराईले गरेको कुराकानी नेपाल टकमा ।
– तपाईंलाई दमकवासीले कसरी चिन्नुहुन्छ ?
मेरो पुर्ख्यौली घर रामेछापको दुरागाउँ हो । विवाह भएर दमकमा २०४५ सालमा आएको हो । मैले गौरीगञ्जबाट माध्यमिक तहको शिक्षा पूरा गरे । त्यसपछि काठमाडौंको सरस्वती क्याम्पसबाट आईए पास गरेको हो । बीए विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट पूरा गरेको हो । हाम्रो परिवारको आर्थिक अवस्था अलिक कमजोर थियो । बीचमा मेरो पढाइ केही वर्ष रोकियो । पछि काठमाडौंको कीर्तिपुर क्याम्पसमा छात्रवृत्ति कोटामा होस्टेलमा बसेर मास्टरसम्मको पढाइ पूरा गरेँ । तर, मास्टर पढदापढदै मेरो विवाह भयो । छोरीलाई पठाउन हुन्न भन्ने चलन रहेकाले मैले आमालाई भनेको थिएँ, ‘तपाईं मलाई पढाउनुहोस् । म तपाईंले भनेको केटासँग विवाह गर्छु ।’ सोहीअनुसार आमाले विवाहको कुरा ल्याएपछि मैले विवाह गरेँ ।
जोसँग मेरो विवाह भयो, उहाँ ज्यादै असल र इमानदार हुनुभएकाले हरेक ठाउँमा रहेर जिम्मेवारी निर्वाह गरेँ । त्यससँगै उपमेयर हुँदासमेत उहाँको साथ र सहयोग मलाई पूरापुर छ । २०४५ सालमा विवाह भएपछि २०४६ सालमा मास्टर गरेर दमक आएँ । विद्यार्थीकालबाटै म अनेरास्ववियुमा आवद्ध थिए । २०४६ सालबाट मैले दमक बहुमुखी क्याम्पसमा अध्यापन थालेँ । २०४७ सालमा दमक बहुमुखी क्याम्पसमा स्थायी नियुक्ति भयो । अध्यापन पेशासँगै म अनेमसंघमा आवद्ध भएर नेकपा एमालेसँग जोडिएर काम सुरु गरेँ । त्यसपछि निरन्तर २८ वर्षसम्म मैले दमक बहुमुखी क्याम्पसमा अध्यापन गरेँ । यो बीचमा दमक बहुमुखी क्याम्पसमा अर्थशास्त्र विभागमा दुई कार्यकाल विभागीय प्रमुख भएर काम गरेँ । यसबीच प्रगतिशील प्राध्यापक संगठनको अध्यक्ष, सहायक क्याम्पस चिफ, रिर्डस समूह हुँदै क्याम्पस प्रमुख हुने सम्मुखमा एमालेले गएको स्थानीय तह चुनावमा उपमेयरको नाममा सिफारिस गर्यो । र, अत्यधिक मतले म विजयी भएँ ।
– केपी ओलीको गृहनगर भनेपछि त्यसै पनि राष्ट्रिय चर्चा र दबाब हुन्छ । त्यसमाथि तपाईंविरुद्ध महागठबन्धन छ । कतिको दबाब र त्रासमा हुनुहुन्छ ?
केही छैन, एकदम नर्मल लिएको छु । खासमा मेरो काम अर्थात् हामी निर्वाचित भएर गएपछि नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीको काम नगरबासीले हेरसक्नुभएको छ । पाँच वर्ष हामीले गरेको काम हेरिसक्नुभएकाले हामीले कामको सिस्टम बसालेका छन् । धेरै अपूरा कार्यहरु पूरा गर्न अझै बाँकी छ भनेर मूल्याङ्कन गर्नुभएको छ । यो गठबन्धन किन भयो, केका लागि भयो भन्दा पनि त्यसलाई मैले त्यति धेरै महत्व पनि दिएको छैन, सामान्य रुपमा लिएको छु । म दावाका साथ भन्छु, हाम्रो विजयी सुनिश्चित छ ।
– दमकमा हिजो राप्रपा एक्लै लड्दा पनि एमालेपछिको दोस्रो शक्ति थियो । आज भएभरका सबै शक्ति मिलेर लडेका छन् । अर्कोतिर केपी ओलीको नगरपालिका हराउँदा देशभर गठबन्धनले जितेको सन्देश फैलाउन पनि पाइछ । त्यसैले तपाईंमाथि सबैभन्दा बढी टार्गेट भएको हो ?
मैले अघि पनि भनेँ, हिजो एक जनाले पनि मलाई सोध्नुभयो, तपाईं घेराबन्दीमा हुनुहुन्छ भनेर । केही छैन, म एकदम नर्मल छु । दमकवासी आमाबुबा, दिदीबहिनीले यति धेरै माया र विश्वास गर्नु भएको छ । जहाँ म भोट माग्न जान्छु, उहाँहरुले हार्दिकताका साथ स्वागत गरिरहनु भएको छ, एउटा उदाहरण हो ।
यो पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर हो । उहाँ हाम्रो पार्टीको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले यो दमक र झापालाई गरेको योगदान छ र उहाँको हामी यहाँ प्रतिनिधि । हामीले गरेको भिजन, योजना, कार्यक्रम उहाँले यति हार्दिकताका साथ स्वीकारेर यति धेरै यहाँ विकासका काम भइरहेको छ, यो कुरा त आम जनताले हेरिरहनु भएको छ नि ! त्यसैले यस विषयमा तपाईंहरुले कुनै द्विविधा नराखे हुन्छ ।
– तपाईंले यसो भनिरहँदा राम थापा दमकमा आफै पनि एउटा फिगर हुन् । २०४३ सालमा पनि तपाईंकै पारिवारिक सदस्यसँग हारेका थिए । त्यसमाथि पाँच दलले समर्थन गर्दा तपाईंभन्दा उहाँ हेभिवेट भए होइन ? तपाईंले मतदातासमक्ष लैजाने एजेण्डा के के हुन् ?
एजेण्डाहरु थुप्रै छन् हाम्रा । विगतमा गरेका योजनाहरु अधुरा अवस्थामा छन् । ती योजनाहरु पूरा गर्नुछ । कोभिड १९ का बेलामा हामी नगरवासीको साथमा छौं भनेर विश्वास दिलाउने काम भएको छ । त्यस्तै किसिमका आपतविपतमा यिनीहरु हामीसँगै रहन्छन् भनेर हामीमाथि नगरवासीको आशा र विश्वास पनि छ । अब एजेण्डा नै भन्नु हुन्छ भने हाम्रा चुनावी घोषणापत्र एवं प्रतिज्ञापत्रमा सबै कुरा आइसकेको छ ।
त्यसमा दमकका सबै वडा वडाका कुरालाई समेटेका छौं । यसमा पूर्वधारका क्षेत्रहरु बाटाघाटाका कुराहरु, दमक आउँदा आहा यहा कति राम्रो तथा सफा सडक भन्ने गरी काम गर्नेछौं । फोहरमैलाको व्यवस्थापन अझै अपूरै छ । त्यसलाई पूर्णता दिनेछौं । बाटाघाटा सबै कालोपत्रे गर्नु छ । वडाहरुमा सबैतिर कालोपत्रे भई नसकेको अवस्था छ । कालोपत्रे गर्ने कुरालाई पूरा गर्नु छ । बिजुली र खानेपानी पुर्याउनु छ ।
नगरभित्र रहेका २१ वटै विद्यालयमा छात्रा शौचालय यसअघि थिएन । खानेपानीको पनि राम्रो व्यवस्थापन थिएन । त्यसको व्यवस्थापन हामीले गरिसकेका छौं । विद्यालयका भवनहरु धमाधम बन्दैछन् । दमक बहुमुखी क्याम्पसमा पाँच वर्षको अवधिमा करिब १ करोडको अक्षयकोष खडा गर्छौं । हामीले १० लाख यही वर्षबाट व्यवस्था गरेका छौं । किन भन्ने प्रश्न पनि आउला । दमक बहुमुखी क्याम्पसमा जति पनि अध्यापन गर्ने प्राध्यापकहरु हुनुहुन्छ, उहाँहरुले अन्त्यमा कलेज छोड्दा उपदान नपाउने अवस्था थियो । दमक नगरपालिकाको सहयोगमा पाँच वर्षमा १ करोड रुपैयाँ पुर्याएर त्यसको व्याजबाट वर्षमा दुई चार जनालाई उपदान दिने व्यवस्था मिलाउने योजना अघि सारेका छौं ।
त्यसैगरी शिक्षा क्षेत्रमा परिवर्तन गर्न १० वर्षे रणनीतिक योजना बनाइसकेका छौं । नगरपालिकाको समग्र विकास गर्न २० वर्षे रणनीतिक योजना बनाइसकेका छौं । त्यसलाई फलो गरेर जान्छौं । पाँच वर्षे कार्यकालमा नगरका लागि आवश्यक २२ वटा ऐन, २८ वटा कार्यविधि र ११ वटा नियमावली हामीले बनाइसकेका छौं । त्यसलाई सिष्टमबाट फलो गरेर जान्छौं ।
हिजो उपमेयर भइरहँदा ९२३ वटा मुद्दामध्ये ८५६ वटा मुद्दा हामीले निरुपण गरेका छौं । यसरी हामीले काम गरेको जनताले देखिरहनु भएको छ । मावा र रतुबै खोला तटबन्धन गर्न एडीबीसँग सम्झौता भएर टेण्डरमा गइसकेको छ । तीन वर्षभित्रमा सुरक्षित तटबन्धन गर्छौं । पानीको निकासा गर्छौं । कभर्ड हल पनि बन्दैछ । प्रस्तावित मदन भण्डारी रंगशालालाई बनाउन बाँकी छ । त्यो रंगशालाको डीपीआर भएर टेण्डरमा गइसक्यो, अहिले रोकिएको छ । त्यो योजनालाई हामी पुनः अगाडि बढाउँछौं । अर्को भ्यूटावर बन्दैछ । त्यसको प्लान बनाएर व्यापारिक प्रयोजनका रुपमा अगाडि बढाउँछौं र पर्यटकीय क्षेत्रको मुख्य केन्द्रविन्दु बनाउनेछौं । चक्रपथ बन्दैछ । पर्यटकीय चक्रपथ बनाएर हरेक पालिकासँग जोडनेछौं । दमक सहरोन्मुख भएकाले पर्यटकीय दृष्टिकोणले व्यवस्थित सहरका रुपमा विकास गरेर लैजान्छौं । हरेक क्षेत्रबाट दमकलाई अब्बल सहर बनाउने कामको सुरुवात भएको छ अब त्यसलाई पूरा गरेर लानेछौं ।
– दमकमा केपी शर्मा ओलीले अर्बौं बजेट खन्याएर अनावश्यक भ्यूटावर बनाए भन्ने आरोप छ । यस विषयमा दमकवासी के भन्छन् ?
बाहिरबाट जे जसरी आलोचना भए पनि दमकबासीले यो विषयमा आफ्नो क्षेत्रको विकास भएको भन्ने बुझ्नुभएको छ । खासमा भ्यूटावर अहिले निर्माणको चरणमा भएकाले यसलाई विकासको रुपमा धेरैले अथ्र्याएका छैनन् होला । जब निर्माण सम्पन्न हुन्छ तब यसको डिजाइनअनुसार पूराका पूरा काम हुनेछ । बहुआयामिक ढंगबाट यसमा काम हुनेछ । व्यापारिक केन्द्र, त्यसैगरी पर्यटकीय केन्द्रका रुपमा विकास भएसँगै यो पनि एउटा विकासको मोडलका रुपमा सबैले स्वीकार्ने अवस्था आउनेछ । त्यसैले सबै सकारात्मक देखिएका छन् र सोहीअनुसार प्रतिक्रिया पनि पाएका छौं ।
– अब भोट माग्न पार्टी अध्यक्षलाई पनि बोलाउनुहुन्छ होला, के छ योजना ?
बोलाउनेभन्दा पनि उहाँ आफै अहिले देश दौडाहामा हुनुहुन्छ । उहाँ झापा आउनुहुन्छ । उहाँ चुनावी कार्यक्रममा सहभागी हुने पार्टीको नीतिभित्र पर्छ । कुन दिन आउनुहुन्छ त्यो निश्चित भएको छैन । तर, उहाँ आएर आफ्नो झापावासी, नगरवासी आमा दिदीबहिनी, दाजुभाइलाई केही सम्बोधन गर्ने कार्यक्रम छ भन्ने सुनेको छु । यो माथिदेखि नै तय हुन्छ ।
– तपाईंलाई नै दकम नगरवासीले किन भोट दिने ?
सर्वप्रथम त एमालेले एउटा ऐतिहासिक अवसर प्रदान गरेको छ । महिलाको नेतृत्वमा दमक नगरपालिकालाई समृद्ध र हरित दमक बनाउन त्यसभित्र के के इन्डिकेटर छन्, त्यसलाई कार्यान्वयन गर्ने नीतिहरु बनाइसकेका छौं । सिष्टमहरु अघि बढाइसकेका छौं, त्यसलाई कार्यान्वयन गर्ने हाम्रो अर्को एजेण्डा रहेको छ । बाल, युवा, महिलामैत्री नगर बनाउने खाका तयार गरेका छौं । त्यसलाई कार्यान्वयनमा लैजान्छौं । हामी घरदैलो कार्यक्रममा जाँदा पनि ‘तपाईंहरुले धेरै कामको सुरुवात गर्नुभएको छ, त्यसलाई अब पूरा गर्न पर्छ’ भनेर हौसला दिने काम भइरहेका छन् । म उपमेयर हुँदा महिलाहरुलाई उद्यमशील बनाउने काम भएको छ । त्यसैगरी संघीय र प्रदेश सरकारसँग समन्वय गरेर प्राप्त ठूला योजनाहरु जस्तै भ्यूटावर, बुद्धको अग्लो मूर्ति, सभाहल, औद्योगिक पार्कलगायतलाई सञ्चालन गर्नु छ ।
अर्को मल्टिलेयर बस पार्क, सतुवा र मावा खोला तटबन्धन गर्नु छ । रतुवाको किनारैकिनार सडक बनाएर रिवी चिसापानी सडकसँग जोडनु छ । कृषिको क्षेत्रमा प्रदेशस्तरीय आर्गानिक कृषि बजार बन्दैछ । त्यसलाई पूरा गरे बजार व्यवस्थापन गर्नु छ । दमकको फोहर व्यवस्थापनको काम सुरु भएको छ । यसलाई पनि पूरा गर्नु छ । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि धेरै काम सुरु भएका छन् । ती कार्यलाई सम्पन्न गर्न पनि मेरो नेतृत्व आवश्यक पर्छ भन्ने नगरवासीले महसुस गर्नुभएको छ ।
यसअघि म उपमेयर भएर काम गर्दा मेरो कामको मूल्याङ्कन गरी सक्नुभएको छ । त्यसैले निश्चित अधिकारमा रहेर काम गरेको र अब मेयर भएर नीति निर्माण गर्ने अधिकार सम्पन्न ठाउँमा पुर्याउनु । त्यसका लागि पनि नगरवासीले मलाई भोट दिनुहुनेछ भन्ने आशा एवं विश्वास छ ।
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते उम्म्मेदवारदेखि कुटनीतिक नियोगसम्मले सवारीसाधन सञ्चालनका लागि मापदण्ड जारी गरेको छ ।
सवारी साधन प्रयोग गर्ने अनुमतिपत्रका लागि सिफारिस गर्ने तथा अनुमतिपत्र दिने अधिकारीक र सवारीको संख्यासमेत समावेश गरेर आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ जारी गरेको हो ।
मापदण्ड अनुसार स्थानीय तहको निर्वाचनको उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले चार, तीन वा दुई पाङग्रेमध्ये एउटा मात्र सवारीसाधन प्रयोगका लागि अनुमति पाउनेछ ।
त्यसका लागि सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको सिफारिसमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ । सुरक्षाकर्मीले भने आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सञ्चालन गर्न पाउनेछन् ।
पर्यवेक्षक संस्थाले काठमाडौं उपत्यकामा पाँच वटा, हिमाल पहाड र तराईमा फरक–फरक
काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रिय पर्यवेक्षक संस्थाले निर्वाचन आयोगको सिफारिसमा प्रत्येक संस्थाका लागि बढीमा चार, तीन वा दुई पाङग्रेमध्ये पाँच वटा मात्र सवारी साधन सञ्चालन गर्न पाउने छ । जसका लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ ।
उपत्यका भन्दा बाहिरको राष्ट्रिय पर्यवेक्षक संस्थाको हकमा हिमाली जिल्लामा दुई पाङग्रे एउटा र हलुवा सवारी एउटा सञ्चालन गर्न पाइने छ । पहाडी जिल्लाको हकमा दुई पाङग्रे दुई वटा र हलुका सवारी साधन दुई वटा सञ्चालन गर्नका लागि अनुमति पाउने छ ।
तर, तराईका जिल्लाको हकमा भने दुई पाङग्रे पाँच वटा र हलुका सवारीसाधन तीन वटा सञ्चालनका लागि अनुमति पाउने छ । त्यसका लागि निर्वाचन अधिकारीको सिफारिसमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ ।
संवैधानिक आयोगले सम्वन्धित संवैधानिक आयोगकै सिफारिसमा आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सवारी साधन सञ्चालन गर्न सक्नेछन् । संवैधानिक निकायका प्रादेशिक एवम जिल्लास्थित कार्यालयले प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीको सिफारिसमा आवश्यकता अनुसार सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट अनमति लिएर सवारी साधन सञ्चालन गर्नेछन् ।
कूटनीतिक नियोगका कूटनीतिक अवलोकनकर्ताले भने आवश्यकता अनुसार निर्वाचन आयोगबाट सिधै अनुमति लिएर सवारी साधन सञ्चान गर्न पाउनेछन् । आयोगबाट अमन्त्रित विशिष्ट अतिथिले आवश्यकता अनुसार निर्वाचन आयोगबाटै सवारी साधन सञ्चालनका लागि अनुमति लिनुपर्नेछ ।
कूटनैतिक निकायले नियमित कार्यालय प्रयोजनका सवारी साधनका लागि परराष्ट्र मन्त्रालयको सिफारिसमा आवश्यकता अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट अनमुति लिएर सञ्चालन गर्न पाइनेछ । संयुक्त राष्ट्र संघका नियोगले परराष्ट्र मन्त्रालयको सिफारिसमा आवश्यकता अनुसार सिधै निर्वाचन आयोगबाट अनुमति लिएर सञ्चालन गर्न पाइने छ ।
उडानसँग सम्बन्धित कार्यालय प्रयोजनका लागि नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रयोजनका लागि अध्यागमन विभागको सिफारिसमा, पर्यटक (विमानस्थल–होटल–विमानस्थल)का लागि भन्सार विभागको सिफारिसमा आवश्यकता अनुसार र निर्वाचन कार्यालयको हकमा निर्वाचन अधिकारीको सिफारिसमा प्रत्येक कार्यालयलाई दुई वटा सवारी साधन प्रमुख जिल्ला अधिकारीको अनुमतिमा सञ्चालन गर्न पाइने छ ।
आयोगले खटाएका अनुगमनकर्ताले, साझेदार निकायले, अन्तराष्ट्रिय संघ संस्थाले आवश्यकता अनुसार निर्वाचन आयोगबाट अनुमति लिएर सवारी साधन सञ्चालन गर्नुपर्नेछ ।
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते विभिन्न सञ्चारमाध्यमले प्रयोग गर्ने सवारीसाधन सञ्चालनका लागि मापदण्ड जारी गरेको छ ।
सवारी साधन प्रयोग गर्ने अनुमतिपत्रका लागि सिफारिस गर्ने तथा अनुमतिपत्र दिने अधिकारीक र सवारीको संख्यासमेत समावेश गरेर आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ जारी गरेको हो ।
मापदण्ड अनुसार काठमाडौं उपत्यकाभित्रका सञ्चारमाध्यम अन्तरगत ब्रोड सिटका दैनिक पत्रिकाले प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि बढीमा पाँच र समाचार संकलनका लागि बढीमा २० गरेर बढीमा २५ वटासम्म सञ्चालनका लागि अनुमति दिइने छ । सूचना तथा प्रशारण विभागको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सवारी साधन सञ्चालनका लागि अनुमति दिनेछन् ।
दैनीक पत्रिकाको हकमा प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि बढीमा पाँच र समाचार संकलनका लागि बढीमा १० गरेर बढीमा १५ वटासम्म सवारी साधन सञ्चालन गर्नका लागि अनुमति पाउनेछन् ।
साप्ताहिक पत्रिकाको हकमा प्रत्येक संस्थालाई बढीमा तीन वटासम्म, टेलिभिजनलाई क्यामेरा संख्याका आधारमा प्रत्येक संस्थालाई १० वटासम्म, रेडियो तथा एफएमलाई प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि एक र समाचार संकलनका लाग बढीमा सात वटासम्म सवारी साधन सञ्चालनका लागि अनुमति दिईनेछ ।
यस्तै अनलाइन समाचारका लागि प्रत्येक संस्थालाई कार्यालय प्रयोजनका लागि दुई र समाचार संकनलका लागि बढीमा पाँच वटासम्म, फोटो पत्रकारको हकमा प्रत्येक संस्थालाई बढीमा पाँच वटासम्म, राष्ट्रिय समाचार समितिलाई बढीमा पाँच वटासम्म सवारी साधन सञ्चालनका लाग अनुमति दिईने मापदण्डमा व्यवस्था गरिएको छ ।
टेलिभिजन प्रशारण संस्थाको हकमा भने बढीमा दुई वटासम्म सवारी साधन र प्रेस काउन्सिल नेपालको हकमा बढीमा पाँच वटासम्म सवारी साधन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सवारी साधन सञ्चालनका लागि अनुमति दिनेछन् ।
काठमाडौं उपत्यका भन्दाबाहिरका सञ्चारमाध्यमको हकमा सूचना तथा प्रसारण विभागले तोकेको स्थानीय सञ्चार गृह वा जिल्लास्थित पत्रकार महासंघको कार्यालयको सिफारिसमा प्रत्येक संस्थालाई बढीमा पाँच वटासम्म सवारी साधन सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर सञ्चालन गर्न पाइनेछ ।
अन्तराष्ट्रिय सञ्चार माध्यमको हकमा सूचना तथा प्रसारण विभागकै सिफारिसमा आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सञ्चालन गर्नुपर्नेछ ।
रूपन्देही । अर्घाखाँचीको शितगंगा नगरपालिका– १० मा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार रवि बेल्बासेले एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी ‘फिर्ता लिएका’ लिएका छन् ।
नगरपालिकाको अध्यक्षमा पाँच दलीय गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भए पनि वडामा सबै दल एक्लाएक्लै भिडेका थिए । माओवादी उम्मेदवारले सघाउने भएपछि यहाँका एमाले उत्साही भएका छन् ।
उक्त वडा माओवादीको प्रभाव क्षेत्रको रुपमा चिनिन्थ्यो ।
भोजपुर । साल्पासिलिछो गाउँपालिकामा बागी उठेका दौलथकुमार कुलुङलाई नेकपा एमालेले कारबाही गरिसकेको छ । पार्टी निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै एमाले जिल्ला कमिटीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको अध्यक्ष शरणकुमार राईले तीन दिनअघि विज्ञप्तिमार्फत सार्वजनिक गराएका छन् ।
त्यहाँ शान्तिबहादुर अधिकारीलाई एमालेले अघि सारेको छ ।
किन दिएन एमालेले दौलथलाई टिकट ?
दौलथ ७४ को निर्वाचनमा पनि अध्यक्षको आकांक्षी थिए । यसपटक टिकटका लागि पक्कापक्कीजस्तै भए पनि उनीमाथि विचाराधीन बैंकिङ कसुरको मुद्दाले जिल्लाका नेताहरू नकारात्मक देखिएको स्रोतले बताएको छ । ओखलढुंगा सुनकोशी गाउँपालिका-५ का विनोद खत्रीले हालेको बैकिङ कसुर सम्बन्धीको मुद्दामा उनलाई उच्च अदालत पाटनले ५ दिन कैदसहित १६ लाख ५२ हजार जरिबाना तोकी जाहेरवालालाई भराउन भनेको छ ।
दौलथले यो फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन् । बैकिङ कसुरसम्बन्धीको सरकारवादी र उनी प्रतिवादी भएको मुद्दाको फैसला भइनसकेकोले टिकट नपाएको बताइएको छ ।
मुद्दाका कारण राष्ट्र बैंकले उनको सबै व्यक्तिगत खाता र साल्पा कन्स्ट्रक्सन प्रा. लिको खाता बन्द गरेको छ । गाउँकार्यपालिकाका निवर्तमान सदस्यसमेत रहेका उनले कांग्रेस नेता तथा वडाअध्यक्ष विक्रम बन, संघीय समाजवादीका नेता बीरकुमार राईसँग मिलेर साल्पा कस्न्ट्रकसन प्रा.लि नामक निर्माण कम्पनी खेलकेा थिए ।
गाउँको सडक निर्माणसम्बन्धी कारोबारमा बैंकिङ कसुरमा उनी २४ दिन प्रहरी हिरासतमा परेका थिए । गाउँपालिकाको डोजर खरिद समितिको अध्यक्ष बनेका उनीविरुद्ध डोजर किन्दा अनियमितता गरेको आरोपमा उजुरी पनि परेको थियो ।
यसपटक टिकट नपाउँने छनक बुझेपछि चुनावलगत्तै माओवादीमा प्रवेश गर्ने सहमतिसहित उनले बागी उम्मेदवारी दिएको माओवादीका स्थानीय एक नेताले बताए ।
स्यानी चौधरी निम्न वर्गीय परिवारमा जन्मेकी हुन् । उनका पालामा थारु समुदायमा पढ्नु हुँदैन, जिम्दारको घरमा काम गर्नुपर्छ भन्ने अन्धविश्वास थियो । तर, उनी त्यो अन्धविश्वासलाई छिचोल्दै स्कूल गइन् । एसएलसी उत्तीर्णसँगै स्यानीले जापान, अमेरिका र डेनमार्कमा छात्रवृत्तिमा पढ्ने अवसर पाइन् । राजनीति शास्त्र र समाज शास्त्रमा एमए गरेकी चौधरीलाई अहिले नेकपा एमालेले तुलसीपुर उपमहानरपालिकामा उपमेयरको उम्मेदवार बनाएको छ । प्रस्तुत छ चौधरीसँग गरिएको कुराकानी नेपाल टकमा-
– चुनावको तयारी कसरी गरिरहनुभएको छ ?
जनताको घरमा पुग्ने, मत माग्ने, एजेण्डा सुनाउने यस्तै चलिरहेको छ । पार्टीका कमिटी सभा, वैठक, भेला पनि चलिरहेका छन । विहानदेखि साँझैसम्म व्यस्थितरुपले प्रचार प्रसार, मतदाता भेटघाट र दिनभरी भएका गतिविधिको विषयमा साँझ समीक्षा पनि हुँदै आएको छ ।
– तपाईंले उपमेयरमा उम्मेदवारी किन दिनुभएको हो ?
वास्तवमा म जीवनमा धेरै संघर्ष गरेर यहाँसम्म आइपुगेको हुँ । खासगरी यस क्षेत्रका दिदी वहिनीहरुको नेतृत्व विकास, क्षमता विकासमा मैले लामो समय काम गरे । सामाजिक क्षेत्रमा लामो समय काम गरेपछि यसलाई अझ व्यापक बनाउन स्थानीय सरकारको नेतृत्वका लागि मेरो उम्मेदवारी हो । सरकार राम्रो हुनका लागि नेतृत्व राम्रो हुनुपर्छ । त्यो हैसियत लामो समय सामाजिक क्षेत्रमा काम गरेको अनुभवले समग्र नगरबासीको काम गर्न मैले उम्मेदवारी दिएको हुँ ।
– चुनाव जितेपछिका योजना के के छन् ?
पहिलो कुरा सरकारी सेवा प्रवाहमा सुधार नै हो । साना जस्ता लाग्ने तर जनताको सेवामा तिनै साना साना सुधारका काम गर्न सकियो भने सेवा प्रवाहमा सहजता ल्याउन सकिने थुप्रै काम गर्न सकिन्छ । मलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय अनुभवले नागरिक सेवामा ल्याउनु पर्ने परिवर्तनबारे जानकारी छ । अर्को कुरा किशोरी शिक्षा, सडक बालवालिकाको संरक्षण गर्न सकिन्छ । यही कुरा मैले व्यक्तिगतरुपमा गरिरहेको छु । २४ जना त्यस्ता वालवालिकाहरुलाई मैले संरक्षण गरिरहेकी छु । तर, स्थानीय तहको नेतृत्व गर्ने अवसर मिल्यो भने सबै महिला, बालबालिका, नगरबासी दाजुभाइ दिदीबहिनी, वर्ग, समुदायको संरक्षण, सेवामा लाग्नेछु । त्यसैगरी गुणस्तीय शिक्षाका लागि काम गर्ने र हरेक बालबालिकाहरूलाई यो देशको सक्षम नागरिक बनाउने योजना छ । त्यस्तै सडक मानवमुक्त बनाउन घरवास नभएका असहाय, हिंसापीडितहरुलाई सुरक्षित आवासको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकहरुको संरक्षण, सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बढाउन स्थानीय सरकारको लगानीलाई ध्यान दिने र हरेक नागरिकहरुलाई सक्षम बनाएर यही देशमा केही गर्न सक्ने वातावरण सिर्जना गर्ने योजना छ ।
– तपाईंसँग अरुभन्दा फरक त्यस्ता केही एजेण्डा छन् ?
पहिलो कुरा त म ठूलो जनसंख्या रहेको महिलाको प्रतिनिधि हुँ । त्यसो भएर जसरी आमाले परिवारमा समभाव राखेर मातृत्व प्रदान गर्नुहुन्छ त्यसैगरी मैले उपमहानगरवासीको विकासमा आग्रहपूर्वाग्रह नराखेर काम गर्नेछु । नेतृत्व प्रदान गर्नेछु । मलाई जापान, अमेरिका, डेनमार्कलगायत विकसित देशहरुको सुशासन, विकासको अनुभव छ । त्यो अनुभवलाई यो उपमहानगरको विकासका लागि आम नगरबासीको सुझावका आधारमा काम गर्ने र सुशासनयुक्त प्रणालीको विकास गर्ने काम मैले गर्नेछु ।
– तपाईंको पार्टीविरुद्ध पाँच दलिय गठबन्धन छ । कसरी सामना गर्नुहुन्छ ?
मलाई त त्यस्तो लाग्दैन । गठवन्धनले महिला प्रतिनिधित्वलाई बेवास्ता गरेको देख्नुहुन्न तपाईं ? म आम नगरबासीको साझा उम्मेदवार हुँ । एमालेले मलाई टिकट दिए पनि उपमेयरमा महिला उम्मेदवार म नै हुँ । आम नगरवासीको साझा उम्मेदवार भएकाले मलाई चुनौती होइन अझ सहज भएको छ ।
– उपमेयरको काँधमा न्यायिक निरुपणको जिम्मेवारी पनि छ । कसरी दायित्व पूरा गर्नहुन्छ ?
संविधानले दिएको जिम्मेवारी पूरा गर्ने आँटका साथ चनुावी मैदानमा छु । मलाई किन पनि सजिलो छ भने हिंसामा परेका महिला, बालवालिकालगायत आम नागरिकहरुको सेवामा यसअघि नै मैले झण्डै ३० वर्ष गुजारेको छ । यसर्थ मलाई न्याय निरुपणमा गाह्रो भन्ने छैन । मुख्य त नेतृत्व गर्ने कुरा हो । पीडितहरूको न्यायका लागि काम गर्न सक्षम छु । मैले यो जिम्मेवारीलाई समाज सेवाकै रुपमा लिएको छु । यो सेवा गर्ने अवसर आम नगरवासीहरूले दिनुहुनेछ भन्ने विश्वास छ ।
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बनेका चित्रबहादुर कार्कीले सैनामैनाका सामुदायिक वनको संरक्षण गर्दै त्यहाँ पुष्परसका विरुवा रोप्ने कार्यलाई सार्थक बनाउने प्रतिबद्धता जनाएका छन् ।
कार्कीले आफ्नो दोस्रो कार्यकालमा हरियालीसहितको नगर बनाउने र जडिबुटीयुक्त महको स्रोत केन्द्र बनाउने प्रतिबद्धता जनाएका हुन् ।
सैनामैनामा रहेका सामुदायिक वनहरुको संरक्षण गर्दै हरियाली बढाउने र माहुरीका लागि चरण क्षेत्र बनाउने एमालेको प्रतिबद्धता छ । सैनामैना नगरपालिकाको प्रथम मेयरका रुपमा निर्वाचित हुँदा सुरु गरेको यो अभियानलाई अब निर्वाचित भएपछि सार्थक बनाउने उनको जोड छ ।
सैनामैनालाई हरियाली सहितको सुन्दर सहर बनाउने प्रतिबद्धता अनुरुप माहुरीको पनि स्रोत केन्द्र बनाउने उहाँको संकल्प छ । सैनामैनामा रहेका सामुदायिक वन र खुला क्षेत्रको संरक्षण गर्दै तिनमा चिउरीका विरुवा रोप्ने र त्यसैमा माहुरीको चरणका लागि वातावरण मिलाइने कार्कीको भनाइ छ । चिउरीलाई पुष्परसको उपयुक्त विरुवा मानिन्छ ।
अहिले रहेको माहुरीको स्रोत केन्द्रलाई संरक्षण र विस्तार गर्दै जडिबुटीयुक्त मह उत्पादनमा केन्द्रित गराउने लक्ष्यका साथ यस्तो अभियान सुरु गरिएको उहाँले बताउनुभयो । सैनामैनालाई मह उत्पादनको स्रोत केन्द्र बनाउन पहिलो कार्यकालमा सुरु गरिएका कार्यक्रमलाई यस कार्यकालमा पूरा गरिने उहाँको प्रतिबद्धता छ ।
औषधीय गुणका जडिबुटीयुक्त बिरुवा
सैनामैनामा १७ वटा सामुदायिक वन रहेका छन । यी वनको संरक्षण र हरियाली विस्तारका काममा केही नमूना प्रयास भएका छन् । सैनामैनामा एमालेका प्रतिनिधि निर्वाचित भएपछि ती नमुना कामको निरन्तरता हुने र अझ विशिष्टिकृत हुने दाबी गरिएको छ । एमालेले जारी गरेको नयाँ चुनाबी प्रतिबद्धतामा नौला कार्यक्रमको निरन्तरता र नयाँ कामको प्रभावकारितामा जोड दिइएको छ ।
अब कृषि क्षेत्रमा गरिने कामको एउटा बुँदाका रुपमा माहुरीको स्रोत केन्द्र बनाउने पनि एमालेको प्रतिबद्धतामा उल्लेख छ । जडिबुटीयुक्त पुष्परसका विरुवाहरु वनमा रोप्ने, हेरचाह गर्न हेरालु राख्ने र तिनैमा माहुरीको चरण बनाइ औषधीय गुणको मह उत्पादनमा सहयोग गर्ने लक्ष्यका साथ सुरु गरिएको कार्यक्रमलाई अब विस्तार गरिने प्रमुखका उम्मेदवार कार्कीको भनाइ छ ।
सैनामैनामा ३३७७ हेक्टर वन क्षेत्र रहेको छ । चुरे क्षेत्रलाई नगरपालिकाले तारबार लगाएर संरक्षण गर्दै आएको छ । हालसम्ममा नगर पालिकाले करिब ७ किलोमिटर तारबार लगाएर संरक्षण गरिएको छ । संरक्षित वन क्षेत्रमा पुष्परसका विरुवा रोपिने पहिलो चरणमा चिउरीका विरुवा रोप्ने कार्यलाई निरन्तरता दिइने प्रमुखका उम्मेदवार कार्कीले बताए ।
यसअघिका केही प्रयास
सैनामैनाले कृषिलाई समृद्धिको पहिलो आधार बनाएको छ । कृषि क्षेत्रको विकास, विस्तार र सम्बद्र्धनका लागि नगरपालिकाले आवश्यक उपकरण, मल बीऊ, प्राविधिक ज्ञान र कृषि उपजको बजारिकरणका लागि समेत सहयोग गर्दै आएको छ । नगरपालिकाले विभिन्न समयमा माहुरीपालक किसानलाई घारमा अनुदान उपलब्ध गराएको थियो । माहुरी पालक किसानलाई विशेषज्ञता तालिम प्रदान गर्ने र किसानहरुको समुह गठन गरी प्रोहोत्सान गरिएको छ । चुरे क्षेत्रमा माहुरी उत्पादनको मुख्य पुष्परस प्रदायक करिब ५० हजार चिउरीका रूखहरु रोपिएको थियो । ती विरुवाका लागि हेरालु समेत राखिएको छ ।
कल्पवृक्ष पनि हो चिउरी
समुद्र सतहबाट २०० देखि १,५०० मिटर सम्मका भीरपाखा, नदी किनार तथा खोचमा हुर्कने चिउरीलाई कल्पबृक्ष पनि भनिन्छ । रुख १५ देखि २० मिटरसम्म अग्लो हुने चिउरीलाई बहुउपयोगी रुख मानिन्छ । नेपालमा पूर्व–देखि पश्चिमसम्मै यसलाई हुर्काउन सकिन्छ । चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्राम सम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षको रुपमा लिइने वैज्ञानिकहरु बताउँछन् । हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कार्तिकदेखि माघ सम्म फुल्छ । अनि फागुनदेखि असारसम्म फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र १ देखि ३ वटा सम्म बिजुला हुन्छन् । यिनै फुलको रस खान माहुरीको आकर्षण हुन्छ । सोही रस खाएका मुहारीबाट उत्पादन हुने महलाई औषधीय गुणको र बहुउपयोगी मानिन्छ ।
चिउरीको पात गाईवस्तुलाई खुवाउन र टपरी गाँस्न र पुजाआजामा पनि प्रयोग गरिन्छ । यसको घिउ खान (तरकारी पकाउन र सेल रोटी पकाउन) र औषधिको रुपमा (खुट्टा फुटेकोमा, घुँडा दुखेकोमा, अनुहारमा आएको दाग हटाउन) प्रयोगमा आउँछ । चिउरीको घिउ साबुन र मैनबत्ति बनाउन उपयोगी हुन्छ । पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधी बनाउन सकिन्छ । चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिने विज्ञहरुले बताएका छन् ।
आयुर्वेदका जानकार र माहुरी पालक किसान खुसी
माहुरीका लागि पुष्परसको चरण क्षेत्र बनाउने एमालेको प्रतिबद्धताले यहाँका आयुर्वेदका वैद्यहरु तथा माहुरीपालक किसानहरु खुशी भएका छन् । योग आयुर्वेदको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका बाबायोगीराजले सैनामैनाले अगाडि सारेका कार्यक्रम वातावरणीय हिसाबले उपयोगी रहेको बताए । पञ्चगब्यका विषयका विज्ञ समेत रहेका योगिराजले जडिबुटीका फुलको रस चुसेका माहुरीले उत्पादन गरेको मह बहुउपयोगी हुने बताए ।
सयौं घार माहुरी पालन गर्दै आएका सैनामैनाका किसानहरुले पुष्परसका विरुवा रोप्ने र माहुरीका लागि आवश्यक चरण बनाउने एमालेको संकल्पले उत्साहीत भएको बताएका छन् । सैनामैना नगरपालिकामा चुनिएका एमालेका प्रतिनिधिले आफूहरूको कृषि कर्ममा महत्वपूर्ण सघाउ गरेको र अहिले फेरि नयाँ संकल्प गरेको भन्दै किसानहरु खुशी भएका छन् ।
सैनामैना–४ का माहुरीपालक किसान लेखनाथ न्यौपानेले किसानलाई प्राथमिकतामा राख्नु खुशीको कुरा भएको बताए । उनले सहयोग पाएमा विभिन्न प्रकारका मह उत्पादन गर्न सकिने बताए । न्यौपानेले विगत चार वर्षदेखि माहुरीपालन गर्दै आएका छन् । विदेशबाट फर्केर कृषिमा होमिएका न्यौपानेलाई नगरपालिकाको अनुदान कार्यक्रमले हौसला बढाएको छ ।
१० घारबाट सुरु भएको व्यवसायमा अहिले ५० घर माहुरी छन् । मौरीपालक कृषक समूह नै गठन गरेर व्यवसायिक काममा यहाँका किसानहरु जुटेका छन् । १८ जना सदस्य रहेको समूहले माहुरीका लागि आवश्यक चरण क्षेत्रको पहिचान गर्ने, जडिबुटीयुक्त मह उत्पादनका लागि तालिम लिएका छन् । १८ जना सदस्य आबद्ध समूहमा १७ सय माहुरीका घारबाट मह उत्पादन हुँदै आएको छ ।
सैनामैना-३, पर्सावलका टंकबहादुर खत्रीले व्यावसायिक रूपमा ५ सय घार मौरीपालन गरेका छन् । उनले नगरपालिकाले अनुदान र हौसला प्रदान गरेर काममा समिर्पित हुने वातावरण बनाएको बताए । न्यु मलमला माहुरी उद्योग नाम राखी पाँचवटा घारबाट सुरु गरी अहिले एक्लै पाँच सय घारमा माहुरी पालन गरिरहेको उनको भनाइ छ । उद्योगमा हाल ५० क्विन्टल मह उत्पादन भएको छ भने वैशाखसम्म मौसम र फूलले साथ दिए थप ५० क्विन्टल उत्पादन हुने लक्ष्य रहेको खत्रीको भनाइ छ। उत्पादित मह बाल्टीमा प्याक गरी मुलुकका विभिन्न स्थानमा पठाइन्छ ।
कति हुन्छ मह उत्पादन ?
सैनामैनामा हाल करिब १८०० घार माहुरी रहेका छन जसबाट बार्षिक ५०० क्विन्टल मह उत्पादन हुँदै आएको छ । यसलाई विस्तार गर्ने तयारी छ । उत्पादित महलाई नगरपालिकाको सहयोगमा माहुरी पालक समुहले महको लेबलिङ भई ब्रान्ड गरी बिक्री बितरण गर्दै आएका छन । व्यावसायिक रूपमा माहुरी पालनको लागि सैनामैना उपयूक्त रहेको माहुरी पालक किसानहरुले बताउँदै आएका छन ।
मह हाम्रो शरीरको लागि बहुउपयोगी खाद्य वस्तु हो । महले मान्छेको स्मरण शक्ति तेज बनाउनुका साथै अनेक रोकको औषधीको रूपमा प्रयोग गर्न सकिन्छ । हाम्रो दैनिक जिवनामा आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता आवश्यक तत्त्व पाइन्छ त्यसेले पनि मह सेवन गर्नु आवश्यक मानिन्छ ।
वनको संरक्षण र वहुउपयोगको योजना
सैनामैनामा भएका प्राकृतिक वन तथा रुखहरूको संरक्षण गर्नुका साथै वनको बहुउपयोग गर्ने योजना रहेको प्रमुखका उम्मेदवार कार्कीको भनाइ छ । चुरेमा रहेका वन र तराईमा रहेका वनको थप अध्ययन गरेर दुबै ठाउँमा उपयुक्त हुने विरुवा रोप्ने, भूस्खलन रोक्ने र जडिबुटीको अलग प्लट बनाउने योजना रहेको कार्कीले बताए ।
सैनामैनामा एमालेले प्राकृतिक रूपमा नै वनको पुनःस्थापना गर्ने र वहु उपयोग गर्ने रणनीतिका साथ नयाँ कार्यक्रम बनाएको प्रतिवद्धतामा उल्लेख गरेको पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका इन्चार्ज मिनप्रसाद पौडेलले बताए । उनले वनको संरक्षण, सम्बर्द्धन र विस्तारका साथै हरियाली प्रबद्र्धनका क्षेत्रमा पार्टीबाट जनप्रतिनिधिका रुपमा निर्वाचित भएर गएकाहरुले योजनाबद्ध कामको थालनी गरेको र सैनामैनाको मुहार फेर्ने कामको सुरुआत गरेको बताए ।
कार्बन संचितीकरण गर्न र वायुमण्डलमा जलवायु परिवर्तनका असरको मात्रा घटाउन वनको प्रयोग गर्ने उद्देश्यका साथ तयार पारिएका धेरैजसो वृक्षारोपण परियोजनाहरूमा विभिन्न प्रजातिका चाँडै हुर्कने बिरुवाहरू रोप्ने, पुष्परसका विरुवामा ध्यान दिने, वनको संरक्षण गर्ने, वनपथ, वनअध्यय्न केन्द्रको विकास गर्नेलगायतका कार्यक्रम बनाइएको एमालेको प्रतिबद्धतामा उल्लेख गरिएको एमाले सैनामैनाका अध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक चेतनारायण न्यौपानेको भनाइ छ ।
विराटनगर । मोरङको बेलबारी नगरपालिकामा मेयरका उम्मेदवारको प्रचारप्रसारमा प्रयोग गरिएको गाडीमा आगजनी भएको छ । राप्रपाबाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा शुक्रबार बिहानका आगजनी भएको ईलका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमालले जानकारी दिए ।
पेट्रोल छर्किएर लाइटरले कारको अगाडि र पछाडि आगो लगाएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा सुन्दरहरैँचा नगरपालिका–१२ का २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी नियन्त्रणमा लिएको पाण्डे मेयरका उम्मेदवार गौतमसँगै चुनवी अभियानमा हिँड्ने युवा हुन् ।
सीसी क्यामेराको रेर्कड फुटेजमा देखिएका युवासँग हुलिया मिलेपछि पाण्डेलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको हो ।
मेयरका उम्मेदवार गौतमले पार्टीको झन्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए ।