Category: स्थानीय निर्वाचन–२०७९

  • सिर्जना सिंहको वडामा पनि दोब्बर मतले बालेनको लिड, कटाए ५५ हजार भोट

    सिर्जना सिंहको वडामा पनि दोब्बर मतले बालेनको लिड, कटाए ५५ हजार भोट

    काठमाडौं । काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहको वडामा पनि दोब्बर मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहले लिड गरेका छन् ।

    सिंहले मतदान गरेको काठमाडौंको १६ नम्बर वडामा साहले २५६९ मत पाएका छन् भने प्रतिस्पर्धी सिंहले ११९० मत प्राप्त गरेकी छन् । त्यस्तै यो वडामा एमाले उम्मेदवार केशव स्थापितले ९९० मत पाएका छन् ।

    अहिलेसम्म उक्त वडामा कुल खसेको १२३३६ मतमध्ये ६४५३ मत गणना भएको छ ।

    पछिल्लो अपडेटअनुसार स्वतन्त्र उम्मेदवार साहले ५५ हजार भोट कटाएका छन् । उनका प्रतिस्पर्धीद्वय सिंह र स्थापित निकै पछाडि छन् ।

    उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चत भएको छ । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको छ ।

  • प्रदेश १ मा कुन दल ठूलो ? पालिका प्रमुखमा कांग्रेसका धेरै, समग्र पद जित्नेमा एमाले पहिलो

    प्रदेश १ मा कुन दल ठूलो ? पालिका प्रमुखमा कांग्रेसका धेरै, समग्र पद जित्नेमा एमाले पहिलो

    विराटनगर । प्रदेश १ का १३७ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६७ स्थानीय तहको नेतृत्व जितेर ठूलो पार्टी बनेको छ । पछिल्लो नतिजाअनुसार कांग्रेस ६७ स्थानीय तहमा प्रमुख एवम् अध्यक्ष जित्दा ४४ वटा उपप्रमुख एवम् उपाध्यक्ष पद जितेको छ । २०७४ मा कांग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जित हासिल गरेको थियो ।

    गएको स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा खुम्चिएको छ । एमालेले हालसम्म ४७ वटा प्रमुख एवम् अध्यक्ष र ६१ वटा उपप्रमुखएवम् उपाध्यक्ष पद जितेको छ ।

    नेकपा माओवादी केन्द्रले प्रमुख र अध्यक्षमा १२ र उपप्रमुख एवम् उपाध्यक्ष २१ ठाउँमा जितेको छ । अघिल्लो निर्वाचनमा जम्मा नौ स्थानीय तह जितेको माओवादीले यसपटक थप तीन स्थानीय तह जितेको हो ।

    अघिल्लो चुनावमा प्रदेशमा तीन स्थान जितेको राप्रपाले यसपालि दुई तहको प्रमुख, उपप्रमुख जितेको छ ।

    त्यस्तै अघिल्लोपटक दुई स्थानीय तह जितेको जसपा तत्कालीन संघीय समाजवादी फोरमले यसपटक दुई तहको प्रमुख एवम् उपप्रमुख जितेको छ ।
    प्रदेश १ मा तीनजना स्वतन्त्र उम्मेदवारले प्रमुख एवम् अध्यक्ष पदमा जित हासिल गरेका छन् ।

    नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले दुई प्रमुख एवम् अध्यक्ष र पाँच स्थानमा उपप्रमुख एवम् उपाध्यक्ष जितेको छ ।

    धेरै पद जित्नेमा एमाले पहिलो

    निर्वाचन आयोगका अनुसार प्रदेश १ मा सबैभन्दा धेरै पदमा एमालेले जितेको छ । एमालेले नगरपालिकाको मेयर १९ र गाउँपालिकाको अध्यक्ष २४ सहित उपमेयर, उपाध्यक्ष‚ वडाध्यक्ष‚ महिला सदस्य‚ दलित महिला सदस्य र सदस्य गरी दुई हजार ६९० पदमा जित निकालेको छ । यस्तै‚ कांग्रेसले मेयर २१ र अध्यक्ष ४४ सहित दुई हजार २८७ पदमा विजय हासिल गरेको छ ।

    मतणनाको अन्तिम परिणाम आउन बाँकी १ स्थानीय तहमा कांग्रेसको अग्रता छ भने एक तहको गणना सुरु भएको छैन । उदयपुरको त्रियुगामा मतदानकै दिनमा भएको विवादका कारण मतगणना सुरु हुन सकेको छैन ।

    मतगणना भइरहेको उदयपुरको कटारी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठले ४ हजार ५ सय ७१ मत प्राप्त गदै अग्रता लिएका छन् ।
    प्रदेश १ का १४ जिल्लामा १ महानगर, दुई उपमहानगर, ४६ नगरपालिका र ८८ वटा गाउँपालिका गरी कूल १३७ स्थानीय तह छन् । यीमध्ये यसपटकको चुनावमा १०२ वटा स्थानीय तहमा भने सत्तागठबन्धन भित्रका या बाहिरका दलबीच कुनै न कुनैरूपको चुनावी तालमेल भएको थियो ।

    सत्तारूढ गठबन्धनले प्रदेशका ९१ वटा स्थानीय तहमा तालमेल गरेका थिए । कतिपय पालिकामा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सहभागी नभए पनि सत्तागठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी भने ९१ वटै पालिकामा तालमेलमा सहभागी भएका थिए ।

    त्यसबाहेक गठबन्धनभित्रकै जसपासँग एक ठाउँ र एकीकृत समाजवादीसँग एक गरी दुई ठाउँमा कांग्रेसले फरक गठबन्धन गरेको थियो ।

    प्रदेशका सात स्थानीय तहमा सत्ता गठबन्धनभित्रैका अन्य दलले कांग्रेसबाहेकको तालमेल गरेका थिए ।

    प्रदेशका दुई स्थानीय तहमा कांग्रेसले एमालेसँग समेत चुनावी तालमेल गरेको थियो । सबैको उम्मेदवारी दर्ता भए पनि खोटाङको हलेसी तुवाचुङ नगरमा माओवादी र एमालेबीच अघोषित तालमेल भएको थियो ।

    एमालेले प्रदेशभरमा जम्मा ९ वटा पालिकामा अन्य दल र व्यक्तिसँग तालमेल गरेको थियो । माओवादीका विद्रोहीलाई उपाध्यक्षको उम्मेदवार बनाएर एमालेले व्यक्तिसँग तालमेल गरेको हो ।

    ताप्लेजुङको मेरिङदेन र सिदिङवामा उपाध्यक्ष दिएर एमालेले माओवादीले सहकार्य गरेको थियो ।

    त्यस्तै, पाँचथरको फिदिम नगरमा राप्रपा र राप्रपा नेपालसँग एमालेको तालमेल थियो । पाँचथरकै फाल्गुनन्द गाउँपालिका, सुनसरीको दुहबी नगरपालिका र ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा एमालेले जसपासँग तालमेल गरेको थियो ।

    एमालेले कांग्रेससँग झापा कचनकवल र भोजपुरको आमचोकमा तालमेल गरेको थियो । ३५ वटा पालिकामा कुनै पनि खाले गठबन्धन भएको थिएन ।

    १३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ५१, नेकपा एमालेले ६९, माओवादी केन्द्रले ९, मधेसी जनअधिकर फोरमले ३, राप्रपाले ३, संघीय समाजवादी फोरमले २ स्थानमा परिणाम आफ्नो पक्षमा पारेका थिए ।

  • काठमाडौंको उपमेयरमा सुनिताको जित निश्चित- गन्न बाँकी २४ हजार, मतान्तर करिब ४० हजार

    काठमाडौंको उपमेयरमा सुनिताको जित निश्चित- गन्न बाँकी २४ हजार, मतान्तर करिब ४० हजार

    काठमाडौं । काठमाडौं महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चत भएको छ । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको छ ।

    काठमाडौंमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उनले करिब ६० हजार मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एका रामेश्वर श्रेष्ठले करिब २० हजार मत पाएका छन् । उनीहरुबीच करिब ४० हजारको मतान्तर छ ।

    अब गणना हुन करिब २४ हजार मत सबै श्रेष्ठलाई गए पनि डंगोलले जित्नेछिन् ।

    मेयरमा पनि स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चितप्रायः भएको छ ।

    अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।

  • काठमाडौंको १८ नम्बर वडामा एमालेको प्यानलै विजयी

    काठमाडौंको १८ नम्बर वडामा एमालेको प्यानलै विजयी

    काठमाडौं । काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका राजन महर्जनको भन्दा करिब दोब्बर मत ल्याएर उनी वडाध्यक्षमा निर्वाचित भएका हुन् । यस वडामा महर्जनसहित एमालेको प्यानलै निर्वाचित भएको छ ।

    न्हुछेकाजीले १२९३ मत पाए भने कांग्रेसका राजन ७७१ मा सीमित भए ।

    यो वडाबाट महानगरको मेयरका लागि कांग्रेसकी सिर्जना सिंहले ४८५ मत पाएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले ६५७ मत पाएका छन् ।

    त्यस्तै स्वतन्त्र उम्मेदवार बालेन साहले ५२३ प्राप्त गरेका छन् ।

  • बालेन एकाबिहानै मतगणनास्थलमा, पाउन थाले बधाई (तस्बिरहरु)

    बालेन एकाबिहानै मतगणनास्थलमा, पाउन थाले बधाई (तस्बिरहरु)

    काठमाडौं । जितउन्मुख काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन साह मतगणनास्थल राष्ट्रिय सभागृह भृकुटीमण्डप पुगेका छन् । एकाबिहानै गणनास्थल पुगेका बालेनलाई उनका समर्थक एवम् शुभचिन्तकले अग्रिम बधाई दिएका छन् । बालेनको जित निश्चित जस्तै भएपछि समर्थकले बधाई दिन थालेका हुन् ।

    अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।

    यहाँ अहिले १३, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।

  • काठमाडौंका पाँच वडाको नतिजा आउन बाँकी, बालेनको अग्रता अनुपात उस्तै

    काठमाडौंका पाँच वडाको नतिजा आउन बाँकी, बालेनको अग्रता अनुपात उस्तै

    काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ मध्ये २८ वडाको अन्तिम परिणाम आइसकेको छ भने पाँच वडाको गणना जारी छ । मतगणना भइरहेका पाँचै वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । कोर एरियाभित्र पर्ने वडा नम्बर १६ मा प्रत्यासीभन्दा दोब्बर मतले अगाडि छन् ।

    अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।

    यहाँ अहिले १३, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।

  • काठमाडौं- १९ को वडाध्यक्षमा दोब्बर मतसहित कांग्रेसका श्रेष्ठ निर्वाचित

    काठमाडौं- १९ को वडाध्यक्षमा दोब्बर मतसहित कांग्रेसका श्रेष्ठ निर्वाचित

    काठमाडौं । काठमाडौं महानगर- १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका चन्द्रमान मुनिकारको भन्दा दोब्बर मत ल्याएर श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    श्रेष्ठले १२०० मत पाए भने मुनिकार ७४१ मा सीमित भए ।

    यो वडाबाट महानगरको मेयरका लागि कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ । परिणामअनुसार कांग्रेसकी सिर्जना सिंहले ७८१ मत पाएकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले ७०२ मत पाएका छन् ।

    त्यस्तै स्वतन्त्र उम्मेदवारद्वय बालेन साह र सुमन सायमीले क्रमशः ६५४ र ४४५ मत प्राप्त गरेका छन् ।

  • काठमाडौं- २० मा कांग्रेस दोब्बर मतले विजयी

    काठमाडौं- २० मा कांग्रेस दोब्बर मतले विजयी

    काठमाडौं । काठमाडौं- २० मा नेपाली कांग्रेस विजयी भएको छ ।

    कांग्रेस उम्मेदवार राजेन्द्र मानन्धर १४४५ मतका साथ विजयी भए ।

    यस्तै एमाले उम्मेदवार हितकर वीर सिं ताम्राकारले ६६३ मत पाए ।

    मेयरतर्फ भने एमाले उम्मेदवार केशव स्थापितले ७५३ मत पाए । कांग्रेस उम्मेदवार सिर्जना सिंहले ६६१ मत पाउदा बालेन साहले ५१६ मत, सुमन सायमीले ५२७ मत पाए ।

     

  • काठमाडौं-१७ : १०० मत गणना हुँदा कसको कति ?

    काठमाडौं-१७ : १०० मत गणना हुँदा कसको कति ?

    काठमाडौं । काठमाडौं महानगरपालिका अन्तरगत वडा नम्बर १७ को गणना जारी रहेको छ ।

    अहिले सुरुवाती १०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि रहेका छन् । उनले २७ मत पाएका छन् ।

    अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १९ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले १५ मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले १६ मत पाएका छन् ।

    राप्रपालाई ४ र तराजुलाई १ मत परेको छ भने, ९ मत बदर भएको छ ।

    अहिले वडा नम्बर १३ देखि २० सम्म नै गणना सुरु भएको छ । २१ को गणना सकिएको छ । वडा नम्बर १७ मा जारी छ । सबैभन्दा बढी मत खसेको वडा नम्बर १६ को २ ठाउँबाट गणना हुँदै छ । त्यहाँ १२३३६ मत खसेको थियो ।

  • सुमन सायमीको वडामा आँखिझ्यालको अग्रता, पछ्याउँदै लौरो

    सुमन सायमीको वडामा आँखिझ्यालको अग्रता, पछ्याउँदै लौरो

    काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर १३ को जारी मतगणनामा स्वतन्त्र उम्मेदवार सबैभन्दा अगाडि छन्, तर बालेन होइन ।

    आँखिझ्याल चुनावचिन्ह लिएर लडेका सुमन सायमीले यस वडामा अग्रता लिएका हुन् । यो सायमीको घर भएको वडा हो ।

    हालसम्म ४ हजार ६ सय ९० मतको गणना भइसक्दा आँखिझ्यालले सर्वाधिक ११३२ भोट पाएको छ । दोस्रोमा अर्का स्वतन्त्र उम्मेदवार बालेन साह छन् । उनको लौरोमा १०६३ भोट आएको छ ।

    एमाले र कांग्रेस यस वडामा क्रमशः तेस्रो र चौंथो स्थानमा छन् । एमालेका केशव स्थापितले ९०४ भोट ल्याएँदा कांग्रेसकी सिर्जना सिंहको ६८० भोट आएको छ ।

  • काठमाडौं र धरानमा ‘लाठीचार्ज’- बालेन र हर्कबीच कति समानता, कति भिन्नता ?

    काठमाडौं र धरानमा ‘लाठीचार्ज’- बालेन र हर्कबीच कति समानता, कति भिन्नता ?

    इटहरी । काठमाडाैं महानगरपालिकाका चर्चित स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र साह अर्थात् बालेन र धरानका स्वतन्त्र मेयर हर्कराज राई अर्थात् हर्क साम्पाङ जोडेर गरिने चर्चाले बजार तातेको छ । सामाजिक सञ्जालमा बालेनको चर्चा चुनावअघिदेखि नै व्यापक थियो । साम्पाङ भने चुनाव सकिएपछि सञ्जालमा छाएका छन् ।

    स्थानीय चुनावमा आएको गठबन्धन भर्सेस एमालेको चुनावी अंक गणितलाई नै छायाँमा पार्ने स्तरको चर्चा बालेन र हर्क साम्पाङको छ । धरानको मेयरमा साम्पाङले चुनाव जितिसकेका छन् भने काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता छ । लौरो चुनाव चिन्ह लिएर लडेका दुई उम्मेदवारबीच अरु पनि धेरै समानता छन्, र असमानता पनि उत्ति नै । यसैबारेमा चर्चा गराैं ।

    समानताहरु

    १. गैरदलीय अभिमत तान्ने अभियान

    अभियानमा हिँड्दा साम्पाङले मूलतः धरानमा दलीय राजनीतिले खत्तम गरेको मुद्दालाई प्राथमिकता दिए । दलले विद्यालय, अस्पतालदेखि लामखुट्टे मार्न छर्कने विषयमा समेत असर गरेको भन्दै उनले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिइरहे ।

    नेपालप्रेससँग चुनाव अगाडि कुरा गर्दै साम्पाङले भनेका थिए, ‘अब यस्तो दिन आउला कि दल मिल्दामात्रै मान्छेहरु चिया गफमा बस्न तयार होलान् । दल मिल्दामात्रै मान्छेहरुले एउटै गाडी चढ्लान् । डाक्टरले दल मिलाएरमात्रै उपचार गर्लान् ।’

    हर्क साम्पाङको दलतन्त्रविरोधी अभियान जस्तै अभियान थियो बालेनको । बालेनले दलहरुकै कारण काठमाडौंको हुनुपर्ने विकास नभएको धेरै कुराकानीमा बताएका छन् । उनले स्वतन्त्र उम्मेदवार हुनुको कारण नै दलका उम्मेदवारहरुको असक्षमतालाई देखाएका थिए । काठमाडौंमा व्यवस्थापन कमजोर भएर समस्या भएको भन्दै त्यो व्यवस्थापनमा दलतन्त्र प्रमुख कारण भएको अर्थ दिने धेरै अन्तर्वार्ताहरु बालेनले दिएका छन् ।

    हर्क साम्पाङ र बालेनको स्वतन्त्र उम्मेदवारीको प्रमुख शक्तिस्रोत नै गैरदलीय मतदाता थिए । दुवैले कुनै दलको नेतृत्व तहमा सक्रियता नदेखाएकाले उनीहरुलाई स्वतन्त्र मतदाता तान्न सहज भयो । दलहरुले आफूसँग मिल्न आग्रह गर्दा दुवै उम्मेदवारले बेवास्ता गरेर एक्लै चुनाव लडे र साँच्चिकै स्वतन्त्र उम्मेदवार भएको पुष्टि गरे ।

    २. पानी

    धरान काकाकुल सहर हो, काठमाडौं पनि उस्तै । धरानमा २ अर्ब १६ करोड हाराहारी बजेट ऋण लिएर पनि पानी नआएको कथा छ । काठमाडौंको आधा खर्ब हाराहारी सकिएको मेलम्चीको उस्तै खालको व्यथा छ ।

    हर्क साम्पाङले धरानमा पानी खुवाएरै छाड्ने मुद्दा बोके । आफ्नो २७ बुँदे प्रतिबद्धतापत्रको एक नम्बरमै धरानलाई पानी खुवाउने लेखेर हर्क चुनावी अभियानमा हिँडे ।

    बालेनले पानी, प्रदूषण र पर्यटन भनेर ‘तीन प’को चुनावी सूत्र अगाडि सारेका थिए । उनले काठमाडौंमा पानीको राम्रो व्यवस्थापन गर्ने बताएका छन् । काठमाडौंमा वर्षाको पानी जम्मा गरेर गरिने रिभर्स बोरिङदेखि आसपासका कुवा–नालाका मुहानलाई सुरक्षित गर्ने कुरा गरे । काठमाडौंको ग्राउन्ड वाटर रिचार्ज गरेर खोलानाला, हिटी र इनारको पानीको सतह बढाउने कुरा गरे ।

    ३. भ्रष्टाचारकाे अन्त्य र पारदर्शिता

    हर्क साम्पाङले चुनावी एजेण्डामा ल्याएको एक प्रमुख मुद्दा पारदर्शिता हो । धरानमा स्थानीय सरकारले गरेका हरेक कामको पारदर्शिता हुनुपर्ने उनको तर्क छ । सूचनाको हक सबै नागरिकमा सहज पुग्नुपर्ने उनले बताइरहेका छन् । यसमा उनले अभियानकर्मी हुँदादेखि अहिले मेयर हुँदासम्म जोड दिँदै आएका छन् । मेयरका रुपमा आफू जनताको सेवक भएको उनको कथन छ ।

    बालेनले पनि पारदर्शिताको कुरा गरेका छन् । नगर कार्यपालिकाको बैठक लाइभ गरेर मिडियामा ल्याउने उनको पारदर्शिताकै मुद्दा हो । त्यो मुद्दामा धेरै आकर्षित भएको पाइएको छ । हरेक सरकारी कामहरुमा सूचनाको सहज पहुँच बालेनको मुद्दा हो ।

    ४. अब्बल भर्चुअल संगठन

    हर्क साम्पाङको एक चर्चित पेज छ– हर्क साम्पाङ अ रिभोलुसन । त्यसमा एक लाख पैंतालीस हजारभन्दा बढी फलोअर छन् । यो अझ बढ्दो क्रममा छ । उनी आफ्ना गतिविधिहरु त्यहीँ पोस्ट गर्छन् । लाइभमा आउँछन् । त्यो उनको विशाल भर्चुअल संगठन हो । सामाजिक सञ्जाल जस्तै टिकटकमा पनि साम्पाङ सक्रिय छन् । उनका भिडिओहरु लाखौंले हेरेका छन् ।

    बालेन चर्चित ¥यापर हुन् । उनको आफ्नै क्रेज छ । बालेनको सामाजिक सञ्जाल फेसबुकमा फलोअरमात्रै ६ लाख ४७ हजार बढी छन् । यसका अतिरिक्त उनी विभिन्न सामाजिक सञ्जालमा उत्तिकै सक्रिय छन् । रुटिन अफ नेपाल बन्द, एमआरआरदेखि डब्लुआरआर जस्ता सञ्जालले उनलाई साथ दिएर उनको भर्चुअल संगठन झनै बलियो भएको छ ।

    ५. लौरो

    चुनाव चिन्ह हर्क साम्पाङ र बालेनको एकै भयो । यो उनीहरुको रोजाइ थिएन । अचानक मिलेको संयोग थियो । यही चुनाव चिन्हले उनीहरुलाई समानमात्रै बनाएन, एक–अर्काको सहज ब्रान्डिङसमेत भयो । दलतन्त्रलाई चेक दिने एक गज्जब विम्बसमेत बन्यो लौरो । धरानमा लौरोले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनदेखि एमालेलाई कुटिसक्यो । काठमाडौंमा बलेनको लाठीचार्ज जारी छ ।

    असमानताहरु
    १. सेलिब्रिटी भर्सेस भूईंमान्छे

    बालेन एक र्‍यापर हुन् । एक सेलिब्रिटीको छविमा उनले मेयरको उम्मेदवारी दिएका थिए । पेशागत हिसाबले स्ट्रक्चरल इञ्जिनियर हुन् उनी । आम्दानी राम्रो छ । काठमाडौंमा घर, गाडी, बैंक ब्यालेन्स सबै चिजले सम्पन्न छन् । उनी कालो चस्मा र कोटमा टिपटप भएर हिँड्छन् ।

    काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा उनको घर छ । मधेसी मूलको भए पनि उनलाई काठमाडौंकै रैथाने भन्न सकिन्छ । उनको पुरानो घर नरदेवीमा थियो ।

    हर्क साम्पाङ भूईंमान्छे हुन् । बालेनको भन्दा फरक हर्कको लवाइखवाइ अत्यन्त सामान्य छ । जीवनशैलीमा कुनै तडकभडक छैन । अध्ययनको कुरा गर्दा उनले दुई विषयमा स्नातक गरेका छन् ।

    हर्क खोटाङको खार्तम्छामा जन्मेका हुन् । धरानमा उच्च शिक्षा पढ्न आएका थिए । केही वर्ष अफगानिस्तान र इराक पुगेर आएपछि उनले आफ्नो स्थायी मुकाम धरान बनाए । धरानकै वातावरणमा रमाए । उनी टेम्पु व्यवसायी पनि हुन् ।

    २. अचानक उदाएका बालेन, वर्षौंदेखि संघर्षशील साम्पाङ

    हर्कले धरानमा सक्रिय अभियान चलाएको झन्डै दशक पुग्यो । उनी जनसरोकारका मुद्दा बोकेर सीधै सडकमा आइहाल्छन् ।

    धरानका मात्रै होइन, राष्ट्रिय सरोकारका मुद्दामा पनि उनी सडकमै अभिमत जाहेर गर्छन् । एमसीसीदेखि भारतले सिमाना मिचेको मुद्दामा हर्कले सडकमै आएर विरोध गरे । धरानको खोला दोहन, कर वृद्धि, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति, खानेपानीको समस्या जस्ता विषयमा हर्क तत्काल सडकमा आफ्ना सहयोगीसहित वा एक्लै पनि आउने व्यक्ति हुन् । उनी अभियानकै क्रममा थुनामा समेत परेका छन् ।

    बालेन भूकम्पपछिको पुनर्निर्माणमा आफ्नो पेशागत हिसाबले सक्रिय भए । देशका धेरै ठाउँमा विभिन्न संरचनाहरुको निर्माणमा जुटे । अन्य राजनीतिक–सामाजिक मुद्दा लिएर सडकमा आएको भने देखिँदैन । उनी एक कुशल स्ट्रक्चरल इञ्जिनियरको रुपमा र एक चर्चित ¥यापरको रुपमा नै व्यस्त रहे । हर्क जस्तो आम मान्छेका मुद्दा लिएर सडकमा ओर्लिएको अनुभव बालेनसँग छैन ।

    ३. मिडिया र सेलिब्रिटीले साथ दिएका बालेन र नपाएका साम्पाङ

    हर्क साम्पाङले २०७९ वैशाख ३० गतेको चुनावमा दिएको मेयरको उम्मेदवारीको समाचार धरानका केही अनलाइनले मात्रै लेखे । यो कुनै राष्ट्रिय हेडलाइन बनेन ।

    हर्क साम्पाङलाई चुनाव अगाडि विभिन्न राष्ट्रिय मिडिया, खासगरी टेलिभिजनहरुले गरेका ककस प्रकारका कार्यक्रमहरुमा गठबन्धन र एमालेका उम्मेदवारसँग स्थान दिइएन । सेलिब्रिटीको साथ त झन् छँदै थिएन भन्दा हुन्छ । उनले चुनाव जितेपछि भने ‘बलेको आगो’ ताप्न सेलिब्रिटी झुम्मिएका छन् । तर, उनी हिजो संघर्षमा एक्लै हुँदा कसैको ध्यान पुगेको थिएन ।

    बालेनले भने उम्मेदवारी घोषणादेखि नै मिडियामा स्थान पाइरहे । सुरुमा केही चर्चित फेसबुक पेजहरुले उनलाई प्रमोट गरे । विस्तारै मेनस्ट्रिम मिडियामा छाउन थाले । उनले मनोनयन दर्ता गर्दा राष्ट्रिय हेडलाइन नै बन्यो । मिडियादेखि युट्युबर सबै उनको पछि लागेका थिए ।

    देशका धेरै चर्चित सेलिब्रिटीहरुले बालेनको खुलेर समर्थन गरे । साहित्यकार, लेखकदेखि पत्रकारहरुले उनलाई व्यापक साथ थिए । उनको पक्षमा गज्जब माहोल बन्यो ।

    ४. स्वतन्त्र उम्मेदवारलाई माया गर्ने र नगर्ने सहर

    काठमाडौंले स्वतन्त्रदेखि साना दलका उम्मेदवारलाई समेत माया गर्दै आएको इतिहास छ । २०३८ बैशाख २० मा भएको चुनावमा ६५ हजार ७७७ मत ल्याएर नानीमैंया दाहालले काठमाडौंमा जित हासिल गरेकी थिइन् । चर्चित नेता जोगमेहर श्रेष्ठभन्दा अत्यधिक मतका साथ उनी विजयी भएकी थिइन् । ३९ हजार ७४१ मतमात्रै ल्याएका थिए श्रेष्ठले । राजनीतिक बजारमा अचानक आएकी दाहालको त्यो जितलाई धेरैले अचम्म मानेका थिए ।

    दुई सिटको काठमाडौंको चुनावमा नानीमैंयाले घडी चुनाव चिन्हबाट उक्त भोट ल्याएकी थिइन् । नानीमैंयामात्रै हैन साना दलहरुलाई समेत काठमाडाैंले माया गर्दै आएको छ । २०७४ सालको चुनावमा विवेकशील पार्टीकी रञ्जु दर्शनाले पाएको २३ हजार ४३९ मत र साझा पार्टीका किशोर थापाले पाएको १८ हजार ४९६ मतले काठमाडौंले साना दलहरुलाई दिएको अभिमत देखाउँछ । यस्तो सुन्दर पृष्ठभूमिको सहरमा बालेनलाई चुनाव उठ्न ऊर्जा थियो नै ।

    हर्क साम्पाङका हकमा भने यस्तो अनुकूलता थिएन । धरानले काठमाडौंको जस्तो साना दलदेखि नयाँ स्वतन्त्र उम्मेदवारलाई बोकेको नजिर छैन । यिनै हर्क साम्पाङले अघिल्लो उपचुनावमा एक हजार मत पनि ल्याउन सकेनन् । यस्तो स्थितिमा हर्कलाई उम्मेदवार दिनमात्रै होइन जित्नसमेत कठिन थियो ।

    ५. राजनीतिक विचारमा नखुलेका बालेन र कम्युनिष्टमा झुकाव राख्ने साम्पाङ

    मूलतः स्थानीय सरकार जनतालाई डेलिभरी दिन बनाइएको हो । यहाँ राजनीतिक, वैचारिक कुराले धेरै अर्थ नराख्ला । तर, राजनीतिक विचारको कुरा त आइहाल्छ नै ।

    यो मामलामा बालेन सार्वजनिक रुपमा प्रस्ट देखिएका छैनन् । अन्तर्वार्ताहरुमा उनले आफ्नो कुन वैचारिक झुकाव हो भनेर अहिलेसम्म भनेका छैनन् ।

    तर, हर्क साम्पाङले भने कुनै पार्टीको सदस्यता नपाए पनि झुकाव कम्युनिष्टतिर भएको बताएका छन् । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘सैद्धान्तिक हिसाबले म कम्युनिजम मन पराउँछु । तर, कुनै पार्टीको सदस्यता लिएको छैन । गरिब दुःखीहरुकै हितमा काम गर्छु ।’

  • विद्यासुन्दर र सुनिताको वडामा एमाले विजयी, मेयरमा कसलाई कति ?

    विद्यासुन्दर र सुनिताको वडामा एमाले विजयी, मेयरमा कसलाई कति ?

    काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

    पूर्व मेयर विद्यासुन्दर शाक्य र हालकी उपमेयर उम्मेदवार सुनिता डंगोलले भोट हालेको वडा हो ।

    यस वडामा ४४१४ मत खसेकोमा एमालेका वडाध्यक्ष उम्मेदवार चूडामणि बज्राचार्यले २००१ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका मधुसूदन प्रधानले १५१३ मत प्राप्त गरे ।

    मेयरमा सबैभन्दा बढी भोट एमालेलाई परेको छ ।

    एमालेका केशव स्थापितले १६७२ मत प्राप्त गर्दा दोस्रो स्थानमा कांग्रेसकी सिर्जना श्रेष्ठले ११८५ भोट ल्याइन् ।

    स्वतन्त्र उम्मेदवार बालेन साहलाई ६९५ भोट परेको छ ।

  • मतगणना नसकिँदै ललितपुर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको जित

    मतगणना नसकिँदै ललितपुर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको जित

    काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    मतगणना अन्तिम चरणमा पुग्दा दुवै उम्मेदवारले विपक्षीभन्दा १० हजार बढीको अग्रता लिएर विजय सुनिश्चित गरेका हुन् ।

    अन्तिम परिणाम आउनुअघि नै एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिएका छन् ।

    त्यस्तै उपमेयरमा एमालेकी मञ्जली शाक्यको विजय औपचारिक घोषणा हुन बाँकी रहेको छ ।

  • सुदूरपश्चिम अपडेट : ४६ प्रतिशत जनप्रतिनिधिसहित कांग्रेस पहिलो, एमालेले जित्यो ३२ प्रतिशत

    सुदूरपश्चिम अपडेट : ४६ प्रतिशत जनप्रतिनिधिसहित कांग्रेस पहिलो, एमालेले जित्यो ३२ प्रतिशत

    काठमाडौं । वैशाख ३० गते स्थानीय तह निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ३ हजार ८३६ पदका लागि निर्वाचन भएको थियो । जसमा ८८ तह र त्यसका ७३२ वडाका जनप्रतिनिधिहरूका लागि निर्वाचन भएको हो ।

    जसमध्ये अहिलेसम्म बाजुराको बुढीगंगा नगरपालिकाबाहेक सबैको मतगणना सम्पन्न भएको छ । बुढीगंगामा १० वटा वडा छन्, त्यसैले त्यहाँका ५२ पदबाहेक ३ हजार ७८४ पदको अन्तिम नतिजा आइसकेको छ ।

    नतिजा आएकामा प्रदेशका ८७ स्थानीय तहमध्ये ३३ नगरपालिकाका मेयर/उपमेयर र ५४ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र ७२२ वडाका वडाध्यक्ष सहितका वडा सदस्यहरू रहेका छन् ।

    जसअनुसार कांग्रेसले ४६ प्रतिशत पदसंख्या जित्दै प्रदेशको पहिलो दल बनेको छ । कांग्रेसले कुल १ हजार ७४३ मत जितेको छ । जसमा नगरपालिका मेयर १८ जना, गाउँपालिका अध्यक्ष २२ जना, नगर उपमेयर १६, गाउँपालिका उपाध्यक्ष ३० जना, वडाध्यक्ष ३१० जना, महिला सदस्य ३३१ जना, दलित महिला सदस्य ३२५ र खुला सदस्य ६९१ जना जितेका छन् । जसमध्ये दलित महिला सदस्य ४ जना निर्विरोध निर्वाचित भएका छन् ।

    यस्तै नेकपा एमाले ३२.१८ प्रतिशत सहित प्रदेशको दोस्रो दल बनेको छ । एमालेबाट कुल १ हजार २१८ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा गाउँपालिका अध्यक्ष १७ जना, नगरपालिकाका मेयर ८ जना, गाउँपालिका उपाध्यक्ष १४ जना, नगर उपमेयर ९ जना, वडाध्यक्ष २३९ जना, महिला सदस्य २३९ जना, दलित महिला सदस्य २३१ जना र खुला सदस्य ४६१ जना रहेका छन् । जसमध्ये महिला सदस्य २ र दलित महिला सदस्य ५ जना निर्विरोध निर्वाचित भएका हुन् ।

    यस्तै नेकपा माओवादी केन्द्रबाट ४५९ जना जनप्रतिनिधि निर्वाचित भएर तेस्रो ठूलो दल भएको छ । जुन निर्वाचित १२ प्रतिशत हो । माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा ११ जना, नगरपालिकाको मेयरमा ३ जना, उपमेयर ४ जना, गाउँपालिका उपाध्यक्षमा ७ जना, वडाध्यक्षमा १०१ जना, महिला सदस्य ८४ जना, दलित महिला सदस्य ९० र खुला सदस्य १५९ जना निर्वाचित भएका छन् । दलित महिला सदस्यमा २ जना निर्विरोध निर्वाचित भएका हुन् ।

    यस्तै निर्वाचित पदसंख्याका आधारमा नेकपा एकीकृत समाजवादी चौथो दल बनेको छ । तर नेतृत्व जितका आधारमा भने रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी चौथो बनेको छ ।

    नेकपा एसका तर्फबाट कुल १५१ जना निर्वाचित भएका छन् । जुन कुल निर्वाचित पदसंख्याको ४ प्रतिशत हो । नेकपा एसबाट नगरपालिकाको मेयर १ जना, उपमेयरमा २ जना, गाउँपालिका अध्यक्षमा १ जना, उपाध्यक्ष १ जना, वडाध्यक्ष २८ जना, महिला सदस्य ३१(निर्विरोध १), दलित महिला सदस्य २८ जना र खुला सदस्य ५९ जना निर्वाचित भएका छन् ।

    नागरिक उन्मुक्ति पार्टीबाट कुल निर्वाचित ९९ जना जनप्रतिनिधि निर्वाचित भए । जुन कुल निर्वाचित संख्याको ३ प्रतिशत हुन आउँछ । जसमा सो पार्टीबाट नगरपालिकाको मेयर २ जना, उपमेयरमा १ जना, गाउँपालिकाको अध्यक्षमा २ जना, उपाध्यक्ष २ जना, वडाध्यक्ष १४ जना, महिला सदस्य १९ जना, दलित महिला सदस्य १८ जना र खुला सदस्य ४१ जना निर्वाचित भएका छन् ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २२ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा वडाध्यक्ष ५ जना, महिला सदस्य ४ जना, दलित महिला सदस्य ४ जना र खुला सदस्य ९ जना रहेका छन् । राप्रपाले जितेको हिस्सा कुल निर्वाचित संख्याको ०.५८ प्रतिशत हुन आउँछ ।

    सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टीले ९ जना जनप्रतिनिधि जितेको छ । जसमा वडाध्यक्ष २ जना, महिला सदस्य ३, दलित महिला सदस्य २ र खुला सदस्य २ जना निर्वाचित भएका छन् । जसपाको हिस्सा ०.२ प्रतिशत मात्रै हो ।

    यस्तै प्रदेशमा स्वतन्त्रबाट २ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् । जसको संख्या ७१ जना रहेको छ । यसमा नगरपालिकाको मेयरमा १ जना, उपमेयरमा १ जना, गाउँपालिका अध्यक्ष १ जना, वडाध्यक्ष २३ जना, महिला सदस्य १२ जना, दलित महिला सदस्य १२ र खुला सदस्य २१ जना निर्वाचित भएका छन् ।

    विस्तृत विवरण

    कुल निर्वाचित हुने जनप्रतिनिधि: ३८३६ (५२ जनाको नतिजा आउन बाँकी)

    स्थानीय तह ८८ (३४ नगरपालिका, ५४ गाउँपालिका)

    गणना सम्पन्न ८७ तह (एक नगर बाँकी)

    कुल वडा संख्या(वडाध्यक्ष) ७३२ (७२२ को गणना सम्पन्न, १० मा बाँकी)

    कुल निर्वाचित हुने वडा सदस्य संख्या २९२८ जना (४० जनाको नतिजा आउन बाँकी)

    कांग्रेसबाट कुल निर्वाचित: १७४३ जना

    मेयर १८ जना, अध्यक्ष २२

    उपमेयर १६, उपाध्यक्ष ३०

    वडाध्यक्ष ३१०

    महिला सदस्य ३३१

    दलित महिला सदस्य ३२१(निर्विरोध ४)

    खुला सदस्य ६९१

    नेकपा एमालेबाट कुल निर्वाचित: १२१८ जना

    अध्यक्ष १७ जना, मेयर ८ जना

    उपाध्यक्ष १४, उपमेयर ९

    वडाध्यक्ष २३९

    महिला सदस्य २३७ (निर्विरोध २)

    दलित महिला सदस्य २२६(निर्विरोध ५)

    खुला सदस्य ४६१

    माओवादी केन्द्र कुल निर्वाचित संख्याः ४५९ जना

    अध्यक्ष ११ जना, मेयर ३ जना

    उपमेयर ४ जना, उपाध्यक्ष ७ जना

    वडाध्यक्ष १०१ जना

    महिला सदस्य ८४

    दलित महिला सदस्य ८८ (निर्विरोध २)

    खुला सदस्य १५९

    नागरिक उन्मुक्ति पार्टीबाट कुल निर्वाचित: ९९ जना

    मेयर २ जना, अध्यक्ष २ जना

    उपमेयर १ जना, उपाध्यक्ष २ जना

    वडाध्यक्ष १४ जना

    महिला सदस्य १९

    दलित महिला सदस्य १८

    खुला सदस्य ४१

    नेकपा एकीकृतबाट कुल निर्वाचित: १५१ जना

    मेयर १ जना, अध्यक्ष १ जना

    उपमेयर २ जना, उपाध्यक्ष १ जना

    वडाध्यक्ष २८ जना

    महिला सदस्य ३० (निर्विरोध १)

    दलित महिला सदस्य २८

    खुला सदस्य ५९

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित: २२ जना

    वडाध्यक्ष ५ जना

    महिला सदस्य ४, दलित महिला सदस्य ४, सदस्य ९

    जनता समाजवादीबाट निर्वाचित: ९ जना

    वडाध्यक्ष २ जना

    महिला सदस्य ३, दलित महिला सदस्य २, खुला सदस्य २

    स्वतन्त्रबाट निर्वाचित: ७१ जना

    मेयर १ जना, अध्यक्ष १ जना

    उपमेयर १ जना

    वडाध्यक्ष २३ जना

    महिला सदस्य १२ जना

    दलित महिला सदस्य १२

    खुला सदस्य २१

  • काठमाडौंको उपमेयरमा एमालेलाई तेब्बर मत, २९ उम्मेदवारको मत जोड्दा पनि १० हजार बढी

    काठमाडौंको उपमेयरमा एमालेलाई तेब्बर मत, २९ उम्मेदवारको मत जोड्दा पनि १० हजार बढी

    काठमाडौं । नेकपा एमालेले यसअघि २० हजारको मतान्तरमा मेयर जितेको काठमाडौं महानगरपालिकामा यसपटक उपमेयरमा त्योभन्दा बढी मतान्तरले जित्ने निश्चित भएको छ ।

    तर मेयरमा भने एमालेका उम्मेदवार केशव स्थापितले एमालेकै उपमेयर उम्मेदवारभन्दा २० हजार मत कम पाएका छन् ।

    एमालेको उपमेयरले अग्रता लिएको र एमालेले वडाध्यक्षका जितेका अधिकांश वडामा मेयरमा भने लौरोमा मत गएपछि स्थापित एमालेका करीव आधा मतमात्र पाएर पराजयको नजिक छन् । उपमेयरमा एमालेकी सुनिता डंगोलले मंगलवार साँझ ५ बजेसम्म गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई करीव ३७ हजार मतान्तरले पछि पारेकी छन् ।

    पछिल्लो गणना अनुसार एमाले उम्मेदवार डंगोलले ५४ हजार ९८१ मत पाउँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८ हजार ६५५ मत पाएका छन् । यो भनेको तीन दोब्बरले सुनिताको अग्रता हो ।

    त्यस्तै उपमेयरमा चौथो मत आँखी झ्यालले पाएको छ । आँखी झ्यालको स्वतन्त्र उम्मेदवार विद्या महर्जन श्रेष्ठले ९ हजार ३८२ मत पाउँदा राप्रपाकी बिनिता मगैयाले ९ हजार ७५२ मत पाएर तेस्रो स्थानमा छिन् ।

    त्यस्तै लौरो चिन्ह लिएका बेन्जिसिंह महर्जनले ५ हजार २३० र विवेकशील साझीकी कृति कंसाकारले २१५८ मत पाएकी छन् । उपमेयरमा ३० जना उम्मेदवार रहेकोमा एक सय मत कटाउने १० जनामात्र छन् ।

    एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाले मेयरमा एमालेको मत स्वतन्त्र उम्मेदवार बालेन शाहले आधाभन्दा बढी लगेकाले आफूहरुले सोचेजस्तो नतिजा नआएको बताए । तर उपमेयरमा सुनिता डंगोलले पाएको मत नै एमालेको रहेको र वडाध्यक्ष तथा उपमेयरको मत हेर्दा त्यो पुृष्टि हुने उनको दावी छ ।

    यस्तो छ काठमाडौंको उपमेयरमा पछिल्लो अपडेट

    नेकपा एमाले–५४९८१

    गठबन्धन–१८६५५

    आँखी झ्याल–९३८२

    राप्रपा–९७६२

    लौरो–५२३०

    विवेकशील साझा–२१५८

    नेमकिपा–१४७

    विपी कांग्रेस–११८

  • ‘मरेका मान्छेले भोट हालेको’ बुढीगंगाका निर्वाचन अधिकृत हटाइए, आयोग अझै अनिर्णीत

    ‘मरेका मान्छेले भोट हालेको’ बुढीगंगाका निर्वाचन अधिकृत हटाइए, आयोग अझै अनिर्णीत

    काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन अधिकृत हेरफेर गरेको छ ।

    नगरपालिकाका विभिन्न ६ वटा मतदान केन्द्रमा मृतकको नाममा समेत मतदान भएको र ९९ दशमलव ५ प्रतिशतसम्म भोट खसेको देखिएपछि पुरानोलाई हटाएर नयाँ अधिकृत तोकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

    आयोगको लगातार दुई दिन बसेको बैठकले बुढीगंगाका ती मतदान केन्द्रमा पुनः मतदान गर्ने वा गणना गर्ने भन्ने टुंगो लगाउन सकेको छैन ।

    आयोगले बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई हटाएर उनको ठाउँमा जिल्ला अदालतका श्रेष्तेदार पुष्पराज पाण्डेलाई खटाएको छ ।

    पाण्डेले ती मतदान केन्द्रमा खसेको मतको बारेमा मौखिक प्रतिवेदन दिएपछि आयोग निर्णयमा पुग्ने थपलियाले बताए । उनका अनुसार एउटा मतदान केन्द्रमा १७०९ मतदाता रहेकामा १६९९ मत खसेको छ । कांग्रेस र एमालेले एक अर्कामाथि बुथ कब्जाको आरोप लगाएका छन् ।

    आयोगले बुढीगंगाको सन्दर्भमा कानूनी र प्राविधिक कुरा मात्र नहेरेर निर्वाचनको सैद्धान्तिक पक्षबाट निर्णय लिनुपर्ने अवस्था आएको थपलियाले बताए । उनले ९९ प्रतिशतसम्म मत खसेको ठाउँमा मतगणना गरेर भोलिका निर्वाचनमा यस्तै अभ्यासलाई स्थापित गर्न नहुनेमा आफूहरू सचेत रहेको बताए ।

    थपलियाले भने–निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई पनि एउटा सबक सिकाउनुपर्छ । यसलाई नजिरका रूपमा स्थापित गर्ने कि नगर्ने भन्ने पनि छ । मरेका मान्छ पुष्पक विमान चढेर आए,भोट हालेर फेरि स्वर्गमै फर्किए भनेर भोलि तपाईँहरूले मिडियामा समाचार लेख्ने ठाउँ पनि दिनु भएन ।

    त्यसैले पुनः मतदान वा गणना जे गर्ने हो विवादित सबै मतदान केन्द्रको सन्दर्भमा एउटै निर्णय गर्छौँ ।

    कांग्रेसले पुनः मतदानको माग गर्दै आएको छ भने एमालेले गणनाको माग गरेको छ ।

  • हट्याे स्थानीय तह निर्वाचन आचारसंहिता

    हट्याे स्थानीय तह निर्वाचन आचारसंहिता

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि लागू भएको निर्वाचन आचारसंहिता आजदेखि अन्त्य भएको छ । गत चैत २५ गतेदेखि मुलुकभर लागू भएको आचारसंहिता आजदेखि लागू नहुने निर्वाचन आयोगले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

    आयोगको परामर्शमा गत माघ १० गते बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते शुक्रबार गर्ने गरी मिति तोकेकोमा निर्वाचन सम्पन्न भएर अन्तिम परिणाम आउने क्रम रहेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।

    उनका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७८ को दफा १ को उपदफा २ बमोजिम निर्वाचन आचारसंहिता लागू गरेको थियो ।

  • तुलसीपुर उपमहानगर पनि गठबन्धनले गुमाउँदै, मेयर र उपमेयरमा एमाले उम्मेदवारको जित सुनिश्चित

    तुलसीपुर उपमहानगर पनि गठबन्धनले गुमाउँदै, मेयर र उपमेयरमा एमाले उम्मेदवारको जित सुनिश्चित

    दाङ । अनपेक्षित रूपमा घोराही उपमहानगरपालिका गुमाएको पाँचदलीय सत्ता गठबन्धनले दाङकै अर्को ठूलो तुलसीपुर उपमहानगरपालिका गुमाउने करिब पक्का भएको छ ।

    मङ्गलवार अपराह्न ४ बजेसम्म मेयरमा एमालेका टिकाराम खड्काले २६ हजार ३७४ मत लिएर अग्रता कायम गरिरहेका छन् ।

    खड्काले मतान्तर बढाउँदै २ हजार ५६ पुर्‍याएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको २४ हजार ३१८ मत छ ।

    कांग्रेसका गढ मानिएका वडामै अपेक्षित मत नआएपछि गठबन्धनमा निराशा देखिएको छ । यो उपमहानगरपालिका एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेको स्थानीय तह हो भने कांग्रेसका प्रभावशाली नेता दीपक गिरीको निर्वाचन क्षेत्र पनि यही हो ।

    उपमेयरमा एमालेकी स्यानी चौधरी करिब ८ हजार मतान्तरले अगाडि बढिसकेकी छन् । उपमेयरमा स्यानीले २६ हजार ५५ मत पाउँदा गठबन्धनबाट नेकपा एसका जोगबहादुर रानाले १८ हजार १४० मत पाएका छन् । मेयर र उपमेयरमा एमालेको जित सुनिश्चित भइसकेको छ ।

    अहिले १७, १८ र १९ वडामा मतगणना भइरहेको छ । यहाँ १७ बाहेकका वडामा एमालेले फराकिलो मतान्तरले अघि बढिरहेको छ ।

  • वीरगञ्जका नवनिर्वाचित मेयरलाई सांसदले लगाइदिए चाँदीको मुकुट

    वीरगञ्जका नवनिर्वाचित मेयरलाई सांसदले लगाइदिए चाँदीको मुकुट

    जनकपुरधाम । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको मुकुटले स्वागत गरिएको छ ।

    जनता समाजवादी पार्टी (जसपा) का नेता तथा संघीय सांसद प्रदीप यादवले नवनिर्वाचित मेयर सिंहलाई चाँदीको मुकुट लगाएर जितको शुभकामना दिएका हुन् ।

    चाँदीको मुकुट लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सांसद यादवले लेखेका छन्- हम साथ लडे थे, साथ जिते है । हम साथ रगेंगे, साथ चलेंगे ।

    जसपाका सिंह सत्ता गठबन्धनको उम्मेदवार बनेर मेयरमा विजयी प्राप्त गरेका छन् ।

    उनले निवर्तमान मेयर तथा नेकपा एमालेका उम्मेदवार विजय सरावगीलाई २२ हजार ५४४ मतले पराजित गरेका हुन् ।

  • एमाले महासचिव पोखरेल भन्छन्- सत्ता गठबन्धनले गलत राजनीतिक संस्कार बसाल्यो

    एमाले महासचिव पोखरेल भन्छन्- सत्ता गठबन्धनले गलत राजनीतिक संस्कार बसाल्यो

    रुपन्देही । नेकपा एमालेका महासचिव तथा लुम्बिनीमा प्रमुख प्रतिपक्ष दलका नेता शंकर पोखरेलले सरकारमै सहभागी दलका कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा अशान्ति मच्चाएको बताएका छन् ।

    लुम्बिनी प्रदेश सभाको दसौँ बैठकको दोस्रो बैठकमा विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले सरकारमै रहेका दलले गरेको यस्तो गलत राजनीतिक चरित्रले निर्वाचन पद्धतिमै शंका उत्पन्न गराएको बताएका छन् ।

    ‘यस्तो अवाञ्छित क्रियाकलापले लोकतान्त्रिक संस्कारलाई संकटमा पार्दछ, यो विधि कसैका लागि हित हुनेछैन’ उनले भने, ‘राज्यविरुद्धका शक्ति विरुद्ध पो एकजुट हुने हो, बलियो राज्यशक्ति निर्माणका लागि पो एकजुट हुने हो यहाँ त सत्तामा जानका लागि गठबन्धन भएको छ, यसले हामीलाई कहाँ पुराउँछ ?’

    पोखरेलले स्थानीय तहको निर्वाचनको परिणामलाई जनमतको हिसाबले पार्टीले स्विकार्नुको कुनै विकल्प नभएको तर निर्वाचनका लागि सत्तारुढ दल तथा सरकारबाट भएका गतिविधि लज्जास्पद भएको बताएका थिए ।

    ‘कतिपय स्थानमा त शान्तिपूर्ण भयो तर कतिपय स्थानमा नागरिकले त्रासमा मत दिनुपर्‍यो, अनाहकमा ज्यान गुमाउनुपर्‍यो, अंगभंग हुनुपर्‍यो, यो सबै सत्तारुढ दलकै कार्यकर्ताबाट भएको छ’, पोखरेलले भने ।

    स्थानीय तहको निर्वाचनका लागि एमाले विरुद्ध बनेको गठबन्धनलाई अपवित्र भन्दै एमाले नेता पोखरेलले नीति, विचार र सिद्धान्त नमिल्ने दलहरू एमालेलाई हराउनकै लागि गरेको र सत्ता स्वार्थका लागि मात्रै भएकाले दिगो नहुने बताए ।

    पोखरेलले नीति तथा कार्यक्रम र बजेट तयारीको छलफल तथा प्रदेश सभाको समीक्षाकै समय आएकाले सदन सुचारु गर्ने निर्णय गरेको बताए ।

    एमालेले उठाएका मागप्रति सत्ता पक्षले कुनै ध्यान नदिएको र गतिरोध खोल्न जिम्मेवार नभएको आरोप लगाउँदै पोखरेलले जनताप्रति उत्तरदायी बनेर प्रदेश र देशमा आएको आर्थिक संकट समाधानका लागि सदन खोलेको बताएका थिए ।

    नेता पोखरेलले गठबन्धन सरकारले अघिल्लो सरकारले सदनबाट पास गरेको नीति तथा कार्यक्रम र त्यही आधारमा बनाएको बजेटलाई प्रतिस्थापन गरेर चोर बाटोबाट बजेट ल्याएको आरोप लगाएका थिए ।

    ‘कुनै विधिबाट ल्याएको नीति तथा कार्यक्रम र बजेट केबल स्वार्थमा भरमा हटाइयो, यसले कसैलाई फाइदा गरेको छैन, अहिले प्रदेशका विकासमा कस्तो प्रभाव परेको छ सबैलाई प्रस्ट हुन्छ, यस्तो गलत राजनीतिक संस्कारले सिंगो व्यवस्थामाथि नै प्रश्न उठाएको छ’, पोखरेलले भने ।

    ‘सत्ता पक्षले कुनै जिम्मेवारी नै लिन खोजेन, प्रदेशवासीका समस्या झन् थपिए, राजनीतिक संस्कारका कुनै काम भएनन्, तर आर्थिक संकट चुलिँदै गयो यस्तो अवस्थामा हामीले पनि वास्ता नगरी बस्न भएन भन्ने निष्कर्षका साथ सदन सुचारु गरेका हौँ’, पोखरेलले भने ।

    आफ्नो दलले कारबाही सिफारिस गरेका दुई सांसदलाई कारबाही नगरी सभामुखले गलत गरेको उल्लेख गर्दै पोखरेलले निष्पक्ष भूमिकाका लागि प्रदेश सभा र सभामुखलाई आग्रह गरेका थिए ।

    ११ महिनादेखिको अवरोध हट्यो

    साउन १ गतेदेखि अवरुद्ध लुम्बिनी प्रदेशसभाको अवरोध हटेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गरेको अवरोध हटाएपछि लामो समयदेखि अवरुद्ध सदनका काम सुचारु भएका छन् ।

    साउन २८ गते एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारलाई विस्थापन गर्दै लुम्बिनीमा पाँच दलको सरकार बनेको थियो । त्यो गठबन्धनमा एमालेको चुनाव चिन्हबाट निर्वाचन जितेका सांसद विमला वली र अजय शाहीसमेत सहभागी भएपछि उनीहरूलाई हटाउन माग गर्दै एमालेले सदन बहिस्कार गर्दै आएको थियो ।

    मङ्गलवारदेखि संसद्को नियमित प्रक्रिया सुरु भएको प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

    ढकालले बजेट, नीति तथा कार्यक्रमको तयारीलगायतका महत्त्वपूर्ण विषयमा सदनमा छलफल गर्नुपर्ने भएकाले सदनमा सुचारु गरेको बताए ।

    प्रदेशसभाको १० औँ अधिवेशनको दोस्रो बैठकमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चारमाध्यम व्यवस्था गर्न बनेको सदनमा विधेयक पेस गरेका छन् । सदन बुधवार बस्ने गरी स्थगित भएको छ ।