Category: स्थानीय निर्वाचन–२०७९

  • प्यूठानको सरुमारानीमा एमाले विजयी, झगबहादुर बने गाउँपालिका अध्यक्ष

    प्यूठानको सरुमारानीमा एमाले विजयी, झगबहादुर बने गाउँपालिका अध्यक्ष

    काठमाडौं । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्ता गठबन्धनलाई एमालेले पराजित गरेको छ ।

    गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार झगबहादुर विश्वकर्मा ४,२८८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुकुन्दराज शर्मालाई ९४ मतान्तरले पराजित गरेका हुन् । पराजित मुकुन्दराज शर्माले ४,१९४ मत ल्याएका छन् ।

    उपाध्यक्षमा पनि एमालेकै वसन्ता खड्का ४,३९४ मतसहित विजयी भएकी छन् ।

  • ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार रुम्दाली निर्वाचित

    ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार रुम्दाली निर्वाचित

    ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन् ।

    स्वतन्त्र उम्मेदवार रूम्दानीले पाँच हजार २१ मत ल्याएर निर्वाचित भएका हुन् । उनले धारा चुनाव चिन्ह लिएका थिए। उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार रूपलाल तामाङले ३८१५ मत ल्याएका थिए।

    यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका आश्राचन राई निर्वाचित भएका छन् । उनले ४७५० मत ल्याएका छन्।

    निकटतम प्रतिद्वन्द्वी जसपाका दीपेन्द्र रुम्दालीलाई दुई हजार १७३ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

    रुम्दालीले दुई हजार ५७७ मत प्राप्त गरेका  थिए ।

     

     

  • गुल्मीको सत्यवती गाउँपालिकामा एमाले विजयी

    गुल्मीको सत्यवती गाउँपालिकामा एमाले विजयी

    काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिकामा एमालेले जितेको छ ।

    गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका टीकाराम पाण्डे ६ हजार २६७ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा एमालेकै निरमाया तरामु ६ हजार २३४ मतसहित विजयी भएकी छन् ।

    गाउँपालिका अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६११ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकै तेजकुमारी थापाले ५ हजार ५३१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    गाउँपालिकामा रहेका ८ वटा वडामध्ये ५ वटामा एमाले, २ वटामा कांग्रेस र एउटामा नेकपा माओवादी केन्द्रले जितेको छ ।

  • २८ वर्ष पछि ढल्यो एमालेको गड, घोडाघोडी १ मा कांग्रेस विजयी

    २८ वर्ष पछि ढल्यो एमालेको गड, घोडाघोडी १ मा कांग्रेस विजयी

    कैलाली । हालसम्म निरन्तर एमालेले विजय हासिल गर्दै आएको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा यस पटक ब्रेक लागेको छ । २०५१ साल यता तीन पटक एमालेका उम्मेदवार विजयी भएको क्षेत्रमा अहिले कांग्रेसले झन्डा गाडेको हो ।

    आज सार्वजनिक भएको मत परिणाम अनुसार कांग्रेसका घनश्याम ओझा १ हजार १३८ मत ल्याएर विजयी भएका हुन् । उनी एमालेका उम्मेदवार तिलकराम सापकोटालाई १७८ हराउँदै अध्यक्षमा विजयी भएका हुन् । सापकोटाले ९७१ मत ल्याएका थिए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण न्यूरेले ८३३ मत पाए ।

    यस अघि कुनै पनि स्थानीय तह र निकायको निर्वाचनमा यस क्षेत्रमा एमाले बाहेकका उम्मेदवार निर्वाचित भएका थिएनन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा मनराज शाही निर्वाचित भएका थिए । त्यस अघि पनि दरख गाउँ विकास समिति हुँदा दुई पटक पटक सम्म एमालेका उम्मेदवार विजयी भएका थिए ।

    २०५४ सालमा बम बहादुर सुवेदी विजयी भएको दरख गाविस ५ मा २०५१ सालमा धन बहादुर बम विजयी भएका थिए ।

  • भरतपुर मतगणनाको रुझान: रेनुलाई जगन्नाथ भारी पर्ने संकेत !

    भरतपुर मतगणनाको रुझान: रेनुलाई जगन्नाथ भारी पर्ने संकेत !

    चितवन । भरतपुर महानगरपालिकाको ३ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारका कारण धक्का लाग्ने देखिएको छ ।

    तीन वटा वडाको मतको रुझान हेर्दा गठबन्धनको संयुक्त मत स्वतन्त्र उम्मेदवारले काटेका कारण नेकपा एमालेले लाभ लिएको छ ।

    २०७४ को मत परिणामअनुसार भरतपुरको १, २ र ३ नम्बर वडाको अध्यक्षमा कांग्रेस र माओवादीले पाएको संयुक्त मत ५ हजार ७५१ थियो । जबकि एमाले र राप्रपाको मत ती वडामा कुल ४ हजार ८९ मात्रै थियो । अघिल्लो परिणामकै आधारमा गठबन्धन स्पष्ट १ हजार ६६२ मतले अगाडि थियो । यद्यपि कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १ हजार ५७२ मत पाउँदा गठबन्धन अग्रता लिनबाट चुकेको छ।

    मत परिणाम आएका ३ मध्ये २ वडामा कांग्रेस र एकमा एमालेले अध्यक्ष जितेका छन् । कांग्रेसले विगतमा जितेको वडा नम्बर ३ गुमाएको छ भने एमालेले वडा नम्बर २ गुमाएको छ । कांग्रेसले वडा नम्बर १ जोगाएको छ ।

    अहिलेसम्म भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीले ३ हजार ९४४ मत पाएका छन् । गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ हजार ८९४ मत ल्याएकी छिन् । विजयले रेनुलाई ५० मतले उछिनेका छन् ।

    भरतपुर महानगरका २६ वटा वडाको मतगणना अझै बाँकी छ । स्वतन्त्र उम्मेदवार पौडेलले अहिलेसम्म १३ दशमलव ८७ प्रतिशतको दरले मत ल्याएका छन् । पौडेलको प्रभाव रहने दावी गरिएको ४, ५, ६, ७ र १० नम्बर वडाको मतगणना बाँकी नै छ । माओवादी नेताहरु भने ८, १३, १६, २५, २६ लगायतका वडाबाट ‘कभर’ हुने दावी गर्छन् । भरतपुरमा ६७ दशमलव ५ अर्थात १ लाख २५ हजार बढी मत खसेको छ ।

    स्वतन्त्र उम्मेदवार पौडेलले प्राप्त गरेको मत अनुपात कायमै रहे उनले १५ हजार मत कटाउने देखिन्छ । त्यस्तो अवस्थामा गठबन्धन उम्मेदवारलाई जित्न सकस पर्ने देखिन्छ ।

  • काठमाडौं–५ को गणना सुरु, बालेनकै अग्रता

    काठमाडौं–५ को गणना सुरु, बालेनकै अग्रता

    काठमाडाैं । काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी छ । पछिल्लोपटक वडा नम्बर ५ को मतगणना सुरु भएकोमा त्यहाँ पनि स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

    सो वडामा बालेनले ३३१ भोट ल्याउँदा एमालेका केशव स्थापितले २४६ र कांग्रेसकी सिर्जना सिंहले १७१ भोट ल्याउँदै बालेनलाई पछ्याइरहेका छन् । काठमाडौं ५ मा हाँडीगाउँ, विशालनगर, टंगाल, भाटभटेनीलगायतका स्थानहरु पर्छन् ।

    अहिलेसम्म काठमाडौंको वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ भने हाल ३, ४, ५, ६, ३१ र ३२ को मतगणना जारी छ । सबैमा बालेन अगाडि छन् ।

    समग्रमा बालेनले ६ हजार ६९२, स्थापितले ३ हजार ५६२ र सिंहले ३ हजार १२६ भोट ल्याएका छन् ।

  • गुल्मीको छत्रकोटमा गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    गुल्मीको छत्रकोटमा गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    काठमाडौं। गुल्मीको छत्रकोट गाउँपालिकामा गठबन्धनलाई एमालेले पराजित गरेको छ । गाउँपालिका अध्यक्षमा नएमाले उम्मेदवार रामप्रसाद पाण्डेय ६,५८६ मत ल्याइ विजयी भएका छन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अनन्तराम पौडेललाई ६३८ मतान्तरले पराजित गरेका हुन् । पराजित अनन्तराम पौडेलले ५,९४८ मत ल्याएका छन् ।

    उपाध्यक्षमा पनि एमालेकै सावित्रा ज्ञवाली ६४७२ मतसहित विजयी भएकी छन् । उपाध्यक्षमा गठबन्धनबाट राजमोका गुमानसिंह पुन मगरले ५१२४ मत प्राप्त गरेका छन् ।

  • मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धन विजयी

    मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धन विजयी

    हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा गठबन्धनको जित भएको छ ।गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका लोक मोक्तान गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

    कांग्रेसका मोक्तानले ४ हजार ८९७ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी एमालेका नरेन्द्र रिजालले ४ हजार ९३ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा गठबन्धनबाट माओवादीका बालकुमार मल्ल विजयी भएका छन् ।

    उनले ४ हजार ८८ मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी एमालेका सुकु माया थिङ्गले ४ हजार ९३ मत ल्याएका थिए ।

     

  • १ सय ८ स्थानीय तहको परिणाम, ४२ तह जित्दै कांग्रेसको अग्रता (सूचीसहित)

    १ सय ८ स्थानीय तहको परिणाम, ४२ तह जित्दै कांग्रेसको अग्रता (सूचीसहित)

    काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अहिलेसम्म देशभरका १ सय ८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये ४२ स्थानीय तहको नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता लिएको छ ।

    ३९ स्थानीय तहको नेतृत्व जितेको नेकपा एमाले दोस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्रले २४ स्थानीय तहको नेतृत्व जितेको छ ।

    सोमबार बिहान ११ बजेसम्मको तथ्यांकअनुसार नेकपा एकीकृत समाजवादीले २ र स्वतन्त्र उम्मेदवारले १ स्थानीय तहमा नेतृत्व जितेका छन् ।

    नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह

    १. नार्पाभूमी गाउँपालिका, मनाङ
    २. घरपोझोङ गाउँपालिका, मुस्ताङ
    ३. नासो गाउँपालिका, मनाङ
    ४ः गुल्मी दरबार गाउँपालिका,गुल्मी
    ५ः गन्यापधुरा गाउँपालिका,डडेलधुरा
    ६ः रेसुंगा नगरपालिका,गुल्मी
    ७ः खार्पुनाथ गाउँपालिका,हुम्ला
    ८ः बडिकेदार गाउँपालिका,डोटी
    ९ः तमानखोला गाउँपालिका,बागलुङ
    १०ः स्वामीकार्तिक गाउँपालिका,बाजुरा
    ११ः लिखुपिके गाउँपालिका,सोलुखुम्बु
    १२ ः भैरवी गाउँपालिका,दैलेख
    १३ः सभापोखरी गाउँपालिका,संखुवासभा
    १४ः कुमाख गाउँपालिका,सल्यान
    १५ः शिवनाथ गाउँपालिका,बैतडी
    १६ः कुम्मायक गाउँपालिका,पाँचथर
    १७ः फेदाप गाउँपालिका,तेह्रथुम
    १८ः माछापुछ्रे गाउँपालिका,कास्की
    १९ः गल्कोट नगरपालिका,बागलुङ
    २०ः दुधपोखरी गाउँपालिका,लमजुङ
    २१ः सोताङ गाउँपालिका,सोलुुखुम्बु
    २२ः हेलम्बु गाउँपालिका,सिन्धपाल्चोक
    २३ः नवदुर्गा गाउँपालिका, डडेल्धुरा
    २४ः ढाकरी गाउँपालिका, अछाम
    २५ः मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
    २६ः आमाछोदिङ गाउँपालिका, रसुवा
    २७ः मास्टा गाउँपालिका, बझाङ
    २८ः त्रिवेणी गाउँपालिका, सल्यान
    २९ः आदर्श गाउँपालिका, डोटी
    ३०ः ऐरावती गाउँपालिका, प्यूठान
    ३१ः सागुरीगढी गाउँपालिका, धनकुटा
    ३२ः कमलबजार नगरपालिका, अछाम
    ३३. रघुगंगा गाउँपालिका, म्याग्दी
    ३४. धनकौल गाउँपालिका, सर्लाही
    ३५. अरुण गाउँपालिका, भोजपुर
    ३६. आरुघाट गाउँपालिका, गोरखा
    ३७ः आठराई गाउँपालिका, तेर्हथुम
    ३८ः बराहपोखरी गाउँपालिका, खोटाङ
    ३९ः केपिलासगढी गाउँपालिका, खोटाङ
    ४०ः गंगादेव गाउँपालिका, रोल्पा
    ४१ः छथर जोरपाटी गाउँपालिका, धनकुटा
    ४२ः महाकुलुङ गाउँपालिका, सोलुखुम्बु

    नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

    १ः से फोक्सुण्डो गाउँपालिका, डोल्पा
    २ः चामे गाउँपालिका, मनाङ
    ३ः ङिस्याङ गाउँपालिका,मनाङ
    ४ः घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
    ५ः लोमन्थाङ गाउँपालिका, मुस्ताङ
    ६ः बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
    ७ः खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु
    ८ः साइपाल गाउँपालिका, बझाङ
    ९ः बौदीकाली गाउँपालिका, नवलपुर
    १०ः थलारा गाउँपालिका,बझाङ
    ११ः थासाङ गाउँपालिका,मुस्ताङ
    १२ः मालिका गाउँपालिका,म्याग्दी
    १३ः हरिनास गाउँपालिका,स्यांजा
    १४ः महाकाली नगरपालिका,दार्चुला
    १५: मेन्छेयाम गाउँपालिका,तेह्रथुम
    १६ः गुराँस गाउँपालिका,दैलेख
    १७: बुलिङटार गाउँपालिका,नवलपुर
    १८ः पुर्वखोला गाउँपालिका,पाल्पा
    १९ः पन्चेश्वर गाउँपालिका,वैतडी
    २०ः माछापुछ्रे गाउँपालिका,कास्की
    २१ः माङ्सेबुङ गाउँपालिका,इलाम
    २२ः गोसाइँकुण्ड गाउँपालिका,रसुवा
    २३ः भिमफेदी गाउँपालिका,मकवानपुर
    २४ः जोरायल गाउँपालिका,डोटी
    २५ः तिनाउ गाउँपालिका,पाल्पा
    २६ः म्याङलुङ नगरपालिका,तेह्रथुम
    २७ः छथर गाउँपालिका,तेह्रथुम
    २८ः हतुवागढी गाउँपालिका,भोजपुर
    २९ः इन्द्रसरोबर गाउँपालिका,मकवानपुर
    ३०ः ऐसेलुखर्क गाउँपालिका, खोटाङ
    ३१ः दुहु गाउँपालिका, दार्चुला
    ३२ः शैल्यशिखर नगरपालिका, दार्चुला
    ३३ः लालझाडी गाउँपालिका, कञ्चनपुर
    ३४ः माप्य गाउँपालिका, सोलुखुम्बु
    ३५ः पौवादुङ गाउँपालिका, भोजपुर
    ३६ः चौविसे गाउँपालिका, धनकुटा
    ३७ः पाणिनी गाउँपालिका, अर्घाखाँची
    ३८ः डुङेश्वर गाउँपालिका, दैलेख
    ३९ः चुरे गाउँपालिका, कैलाली

    माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह

    १ः जगदुल्ला गाउँपालिका–डोल्पा
    २ः नौमुले गाउँपालिका–दैलेख
    ३ः ताराखोला गाउँपालिका,बागलुङ
    ४ः अपि हिमाल गाउँपालिका,दार्चुला
    ५ः जन्तेढुंगा गाउँपालिका, खोटाङ
    ६ः लिम्चुङबुङ गाउँपालिका, उदयपुर
    ७ः नौगाड गाउँपालिका,दार्चुला
    ८ः थवाङ गाउँपालिका,रोल्पा
    ९ः ताँजाकोट गाउँपालिका,हुम्ला
    १०ः अजिरकोट गाउँपालिका,गोरखा
    ११ः थुलुङ दुधकोशी गाउँपालिका,गोरखा
    १२ः मार्मा गाउँपालिका,दार्चुला
    १३ ःचन्द्रकोट गाउँपालिका,गुल्मी
    १४ः आमचोक गाउँपालिका,भोजपुर
    १५ः लेकम गाउँपालिका,दार्चुला
    १६ः आलिताल गाउँपालिका,डडेलधुरा
    १७ः बारपाक सुलिकोट गाउँपालिका, गोरखा
    १८ः मुड्केचुला गाउँपालिका, डोल्पा
    १९ः पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
    २०ः सिस्ने गाउँपालिका, रुकुम पूर्व
    २१ः फक्तालुङ गाउँपालिका, ताप्लेजुङ
    २२ः रोल्पा नगरपालिका, रोल्पा
    २३ः बंगलाचुली गाउँपालिका, दाङ
    २४ः बोगटान फुड्सिल गाउँपालिका, डोटी

    नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

    १.काइके गाउँपालिका – डोल्पा
    २. छार्का साङतोङ गाउँपालिका – डोल्पा

    स्वतन्त्रले प्रमुख जितेका स्थानीय तह 

    १. साल्पासिलिछो गाउँपालिका, भोजपुर

     

     

  • घोराही उपमहानगरपालिकामा एमालेको अग्रता बढ्दै, गठबन्धनभन्दा १२ सय मतले अगाडि

    घोराही उपमहानगरपालिकामा एमालेको अग्रता बढ्दै, गठबन्धनभन्दा १२ सय मतले अगाडि

    दाङ । घोराही उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई एमालेले पछि पारेको छ । करिब २६ हजार मतगणना हुँदा मेयरमा एमालेका नरूलाल चौधरीले गठबन्धनका हेमराज शर्मालाई झण्डै एक हजार मतले पछि पारेका छन् ।

    एमालेका चौधरीले ११,४६० पाएका छन् भने गठबन्धनका शर्माले १०२४१ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकी हुमा डीसी अगाडि छिन् । गठबन्धनबाट नेपाली कांग्रेसका भुपबहादुर डाँगी १०९४८ मतसहित दाेस्राे स्थानमा रहँदा एमालेकी डीसीले १११३८ मत प्राप्त गरेकी छन् ।

  • काठेखोला- ३ मा एमालेबाट कुलबहादुर विकको प्यानल विजयी

    काठेखोला- ३ मा एमालेबाट कुलबहादुर विकको प्यानल विजयी

    बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ मा नेकपा एमालेका प्रत्यशी कुलबहादुर विक प्यानलसहित विजयी भएका छन् ।

    विक गाउँपालिकाको वडा अध्यक्षमा दलित समुदायका एक्ला उम्मेदवार हुन् ।

    विकले गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार यामबहादुर श्रीषलाई ३ सय ४९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । विकले ९ सय ६ मत प्राप्त गर्दा उनका निकतम प्रतिद्धन्दी श्रीषले ५ सय ५७ मत मात्र प्राप्त गरेको अधिकृत चुर्णबहादुर कार्कीले बताए । यसपालिको मतदानमा वडाको २ हजार एक सय मतदातामध्ये जम्मा १५ सय १ मत खसेको थियो ।

    तीन दशकदेखि राजनीतिमा सक्रिय विक नेकपा एमालेका प्रदेश सदस्य हुन् । आफु पदस्थापना भएसँगै पहिलो निर्णयको रुपमा निम्न वर्गीय परिवारको लागि उपचार, शिक्षा लगायत अन्य सुविधा प्रवाह गर्न अध्यक्ष राहात कोषको घोषणा गर्ने विकले बताए ।

    विक सँगै दलित महिला सदस्यमा विष्णु विक, महिला सदस्यमा टुल्कीदेवी खड्का, खुल्ला सदस्यमा दिपेन्द्र खत्री र प्रेम घर्ती विजयी भएका छन् ।

    काठेखोलामा वडा नम्बर एकमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खड्ग थापा र २ मा एमालेको विद्यापति शर्मा प्यानलसहित विजयी भएका छन् । काठेखोला गाउँपालिकाको आठ वटा वडामध्ये बाँकी वडाको मतगणणा जारी छ ।

  • ‘मास फ्रस्टेसन’ ले जन्माएका बालेन

    ‘मास फ्रस्टेसन’ ले जन्माएका बालेन

    काठमाडौं । स्थानीय चुनावको इपिसेन्टर मानिएको भरतपुर महानगरभन्दा काठमाडौं महानगरको प्रारम्भिक चुनावी मतगणनाले देशकै ध्यानाकर्षित गरिरहेको छ । पलपलमा आउने प्रारम्भिक मत परिणामले सामाजिक सञ्जालदेखि मिडियाको मुख्य समाचारसम्म छपक्कै छोपिएको छ । अहिलेसम्म उल्लेख्य अन्तरका साथ स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अगाडि बढिरहेका छन् भने उनलाई एमालेका केशव स्थापित र कांग्रेसकी सृजना सिंहले पछ्याइरहेका छन् ।

    भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द कैजरिवालले एकपटक भनेका थिए, ‘मलाई प्रत्यक्ष राजनीतिमा आउनु थिएन । अन्ना हजारेसँग भ्रष्टाचारविरोधी अभियान चलाएर बसिरहेको थिएँ । तर, राजनीतिक पार्टीका नेताहरुले भने कि त्यस्तो सुधार नै चाहन्छौ भने राजनीतिमा आऊ, अनि थाहा पाउनेछौं । र, म प्रत्यक्ष राजनीतिमा आउन बाध्य भएँ ।’

    केजरिवाल जसरी आए, बालेन्द्र त्यसरी आएका होइनन् । तर, दुवैको सुरुवाती गैरदलीय यात्रा भने उस्तै छ । राजनीतिक पार्टीले मात्रै विचार, सिद्धान्त बोकिहिँड्छ भनेर नमान्ने जमातले बालेन्द्रलाई साथ दिइरहेका छन् । राजनीतिक फ्रस्टेसनमा बाँचिरहेका नागरिकहरुको ठूलो समर्थन पाएका छन् । बालेन्द्रको सुरुवाती अग्रता र उनको लोकप्रियतालाई हेर्दा राजनीतिक पार्टीबाट फ्रस्टेड भएका युवा पुस्ताको जमात कति ठूलो छ, प्रस्ट देखिन्छ ।

    अघिल्लो स्थानीय चुनावमा विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार र साझा पार्टीका किशोर थापाले १८ हजार मत ल्याएका थिए । यो बीचमा यी दुई पार्टी एक भए, बीचमा क्षतविक्षत भए । राजनीतिक पार्टीभन्दा फरक विचार राख्ने जमातको नेतृत्व गरेको यो पार्टी अहिले छिन्नभिन्न अवस्थामा छ । तर, जुन जमातको समर्थनले दर्शना र थापाले हजारौं भोेट पाएका थिए, त्यो जमात अहिले पनि छ । जो अझैसम्म राजनीतिक पार्टीको विकल्प खोजिरहेका छन् भनेर बालेन्द्रले पुष्टि गरिरहेका छन् ।

    राजनीतिक विश्लेषक शंकर तिवारीको भनाइमा पनि मुलुकमा गणतन्त्र आइसकेपछि राजनीतिक पार्टीहरुसँग जनताको जुन अपेक्षा थियो, त्यो पूरा भएन । त्यसैको प्रत्युत्तरस्वरुप बालेनले लिएको प्रारम्भिक अग्रतामार्फत् जनताले आफूलाई अभिव्यक्त गरेको बताउँछन् तिवारी ।

    उनका अनुसार जनतामा सुषुप्त रहेको राजनीतिक फ्रस्टेसन बालेनले प्राप्त गरेको भोटमा देखिएको हो । तिवारी थप्छन्, ‘हिजो पञ्चायतकालमा नानीमैयाँ दाहालले जितेदेखि नै काठमाडौंमा स्वतन्त्र मत छ भन्ने हुन्छ । यसपटक बालेनले आफ्नो ¥यापरको छविलाई मत परिणाममा बदल्न सफल भए । यसको अर्को कारण भनेको कांग्रेसले परिवारिक पृष्ठभूमिबाट उम्मेदवार छान्नु र एमालेले विवादित व्यक्तिलाई उम्मेदवार बनाउनु पनि हो ।’

    बालेनले काठमाडौंको १२ वडाका कोर नेवार बस्तीमा पनि यही मात्रामा मत ल्याउने आँकलन गरिएको छ । भलै उक्त क्षेत्रको मतगणना हुन बाँकी छ । तर, त्यहाँ पनि बालेन अब्बल निस्किने विश्लेषणहरु गरिएका छन् । तर, बालेनको पक्षमा जस्तो परिणाम आए पनि जनता विकल्पको खोजीमा छन् भनेर उनले पुष्टि गरिदिएका छन् ।

    अहिले बालेनले प्राप्त गरेको मत हिजो विवेकशील साझा पार्टीले खनेको जगका कारण हो भन्ने दाबी यदाकदा सुन्नमा आइरहेकै हुन्छन् । छिन्नभिन्न भएर पनि विवेकशील, साझाहरु वैकल्पिक शक्तिको पैरवी गरेर थाकेका छैनन् । तर, वैकल्पिक शक्तिको उदय हुनुपर्ने चाहिँ कसरी हो ? राजनीतिक विश्लेषक गौतम राई भन्छन्, ‘बैकल्पिक शक्तिको उदय व्यक्तिमा केन्द्रित भएर हुन्छ कि मुद्दामा केन्द्रित भएर हुन्छ, त्यसले असर गर्छ । व्यक्तिको मात्रै उदय भयो भने त्यसले मुद्दालाई चैट पार्छ र त्यसअनुसार जनमत बटुल्छ । आजको राजनीतिक पार्टीहरुको नेतृत्वकै कार्यशैलीमा वैकल्पिक शक्ति खोज्न थालियो भने त्यो सम्भव हुँदैन ।’

    हरेक दश वर्षमा नयाँ पुस्ता आउँछ । भनिन्छ, त्यही पुस्ताले समाजलाई ताजा दिशा प्रदान गर्न सक्छ । त्यही पुस्ताले नै विकल्प खोजेर हिँड्छ । एमाले र कांग्रेसबाट आजित भएको पुस्ताले माओवादी रोज्यो । माओवादीपछि अर्को विकल्पको खोजी नयाँ पुस्ताले गरिरहेको राईको विश्लेषण छ । भन्छन्, ‘हाम्रा राजनीतिक पार्टीका गतिविधिले आजित थिए जनता । त्यसमा उज्ज्वल थापाले एउटा ढुंगो हाने । त्यसले तरंग ल्यायो । अनि बालेन साह त्यही तरंगमा ठोक्किएका हुन् ।’

    युवा पुस्ताको ठूलो जमातले बालेनलाई समर्थन गर्नुमा राजनीतिक फ्रस्टेसनलाई नै कारक देख्छन् विश्लेषकहरु । राजनीतिक पार्टी हुनुको पछाडि विचार, सिद्धान्त हुन्छन् । तर, त्यहाँबाट पार्टी डिरेल भएपछि हरेक वर्ष निस्किने पुस्तालाई ओरियन्ट गर्न नसकेको बताउँछन् राई । भन्छन्, ‘त्यसपछि विचारविहीन मान्छेको झुण्डमात्रै बाँकी रह्यो । जुन झुण्डमा जसले पनि सजिलै आफ्नो स्वार्थको अण्डा कोरल्न सक्छ । राजनीतिक पार्टीहरु सिद्धान्त र मूल्यबाट चुकेपछि यस्तो परिणाम प्राप्त हुन्छ ।’

    बालेनले अहिले लिइरहेको अग्रता हेर्दा उनले जित्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन । एजेन्डाहरु मिडियामा आएपछि सामाजिक सञ्जालमा लोकप्रिय बनेका बालेन मत परिणाममा पनि बलियो देखिएका छन् । तर, एक्लै भिडिरहेका उनलाई ३२ वडाबाट आउने जनप्रतिनिधिलाई समेटेर लैजान उत्तिकै चुनौती छँदैछ । एकातिर चुनौतीकै चुनौतीका चाङमा छन् बालेन, अर्कातिर उनका समर्थक चर्को नारा लगाइरहेका छन् । ती समर्थकहरुले विवेकसम्मत र वैचारिक नेतृत्व चाहेका हुन् या साउथ फिल्मको रजनीकान्त या ७०–८० को दशकको बलिउड अभिनेता अमिताभ बच्चन चाहेका हुन् ? आज घोर समर्थन गरेर भोलि विरोधमा उत्रिनुपर्ने अवस्था आउन पनि सक्छ ।

    तर, बालेनले जस्तो युवाले पाएको यो समर्थन र हौसलालाई आकार दिनसक्नुपर्ने विश्लेषक राई बताउँछन् । भन्छन्, ‘अहिले जनताले युवा उम्मेदवारलाई रुचाएको देखिन्छ । तर, पार्टीहरुमा पनि युवा छन्, उनीहरु किन सक्षम भएनन् ? किनभने पार्टीहरुले युवाहरुलाई राजनीतिमा सक्षम होइन, दासगिरीका लागि सक्षम बनाए ।’

  • नगराइनमा मतगणना स्थगित, निधिले मतगणनामा गडबड गराएको आरोप

    नगराइनमा मतगणना स्थगित, निधिले मतगणनामा गडबड गराएको आरोप

    जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा मतगणना स्थगित भएको छ ।

    लोसपा, एमाले लगायतका दलले पुनः मतगाणनाको माग गरेपछि मतगणना स्थगित भएको हो ।

    अन्य दलका सदर मतलाई पनि बदर गरिएको र कांग्रेसको बदर मतलाई पनि सदर गरिएको आरोप लगाउदै कांग्रेस बाहेकका दलका प्रतिनिधिहरु मतगणाना स्थगित गराएका छन् ।

    लोसपाका नगरप्रमुख उम्मेदवार राजेश चौधरीसहित ११ प्रतिनिधिको माग बमोजिम तत्कालका लागि मतगणाना स्थगित गरिएको निर्वाचन अधिकृत सुदिप कुमार दंगालले जानकारी दिए ।

    नगराइन कांग्रेस नेता विमलेन्द्र निधिको गृहनगर हो । निधिले पावरको बलमा मतगणानामा गडबड गरिरहेको अन्य दलको आरोप छ ।

  • कैलालीको चुरेमा गठबन्धनलाई हराउँदै एमालेका बोगटी विजयी

    कैलालीको चुरेमा गठबन्धनलाई हराउँदै एमालेका बोगटी विजयी

    कैलाली । कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्र बोगटी विजयी भएका छन् । बोगटीले गठबन्धनका उम्मेदवार लोकबहादुर सारु मगरलाई पराजित गरेका हुन् ।

     

  • हेटौंडामा नेकपा एस पहिलो, एमाले राप्रपाभन्दा पनि पछाडि

    हेटौंडामा नेकपा एस पहिलो, एमाले राप्रपाभन्दा पनि पछाडि

    मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एसले लिड गरेको छ । यहाँ राप्रपा दोस्रो छ भने एमाले तेस्रो भएको छ ।

    पछिल्लो परिणाम अनुसार १२३९२ मत गनिएकोमा नेकपा एसका मेयर उम्मेदवारले ३७९२ मत पाएको छ । राप्रपाले ३७५५ मत पाएको छ भने एमालेले ३२७२ मत ल्याएको छ ।

    यहाँ गठबन्धन, एमाले र राप्रपाबीच प्रतिस्पर्धा भएको हो ।

  • धनुषाको धनौजी तनावग्रस्त, बढी मतपत्र भेटिएको भन्दै मतगनणा स्थलमा ढुंगामुढापछि झडप

    धनुषाको धनौजी तनावग्रस्त, बढी मतपत्र भेटिएको भन्दै मतगनणा स्थलमा ढुंगामुढापछि झडप

    जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको मतगणना स्थल तनावग्रस्त बनेको छ ।

    धनौजी गाउँपालिका १ को मतगणना गर्ने क्रममा मतपत्र बढी भेटिएपछि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपालगायतका कार्यकर्ताहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीसँग झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अँश्रुग्यास प्रहार गरेका छन् ।

    धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीप क्षेत्रीले स्थिति नियन्त्रणमा लिन प्रहरीले ७/८ राउण्ड हवाई फायर र अँश्रुग्यास प्रहार गरेको बताए । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।

    कांग्रेस पार्टीको जनप्रतिनिधिबाहेकको पार्टीका जनप्रतिनिधि र स्थानीय निर्वाचन अधिकृतले चरम लापरबाही गरेको भन्दै आक्रोशित छन्

  • चपली हाइटका हिरो गोदावरी-३ मा वडाध्यक्षमा निर्वाचित

    चपली हाइटका हिरो गोदावरी-३ मा वडाध्यक्षमा निर्वाचित

    काठमाडौं । सफल चलचित्र चपली हाइटमा नायकको रुपमा अभिनय गरेका राज घिमिरे (सानुराजा घिमिरे) स्थानीय चुनावबाट वडाध्यक्ष निर्वाचित भएका छन् । ललितपुरको गोदावरी नगरपालिका ३ बाट उनले नेकपा माओवादीबाट वडाध्यक्ष जितेका हुन् ।

    घिमिरेले ११ भोटको अन्तरले जित हासिल गरेका हुन् । उनले १०५९ भोट ल्याए भने उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम आचार्यले १०४८ भोट ल्याएर पराजित भए ।

  • घोडाघोडी-११ मा पुनः मतगणनाको माग गर्दै कांग्रेस कार्यकर्ताको नाराबाजी (भिडिओ)

    घोडाघोडी-११ मा पुनः मतगणनाको माग गर्दै कांग्रेस कार्यकर्ताको नाराबाजी (भिडिओ)

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ११ मा पुन मतगणनाको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्न थालेका छन् । मतपरिणाम घोषणा नहुँदा कांग्रेसका उम्मेदवार राजकुमार कठरिया विजयी भएको हल्ला चलेको थियो ।

    परिणाम घोषणा गर्दा जसपाका दानसिंह जोगी विजयी ३ मतले विजयी भएको घोषणा गरिएको थियो ।

  • खोटाङको केपिलासगढीमा कांग्रेस विजयी, उपाध्यक्ष जसपाले जित्यो

    खोटाङको केपिलासगढीमा कांग्रेस विजयी, उपाध्यक्ष जसपाले जित्यो

    दिक्तेल । खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ उपाध्यक्ष भने जनता समाजवादीले जितेको छ ।

    केपिलासगढी अध्यक्षमा २२४४ मत ल्याएर कांग्रेसका समिर राई विजयी बने । निकटतम प्रतिद्वन्द्वी नेकपा एसका माइतिराजले १८०८ मत ल्याए ।

    त्यस्तै उपाध्यक्षमा १९८३ मत ल्याएर जसपाका गुरुराज राईले जित हासिल गरे । एमालेकी मैया सुनुवारले १७६१ मत ल्याइन् ।

    अघिल्लो चुनावमा यो पालिका एमालेले जितेको थियो ।

  • काठमाडौंको दोस्रो वडामा पनि एमाले विजयी, वडाध्यक्षभन्दा स्थापितलाई ६ सय कम मत

    काठमाडौंको दोस्रो वडामा पनि एमाले विजयी, वडाध्यक्षभन्दा स्थापितलाई ६ सय कम मत

    काठमाडौं । मेयरमा केशव स्थापित फराकिलो मतान्तरले पछि परिरहेका बेला काठमाडौं महानगरपालिका वडामा भने एमालेका उम्मेदवारी उत्तिकै फराकिलो मतान्तरमा विजयी भएका छन् ।

    वडा नम्बर २ को अध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ १३ सय ७९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२६ मत प्राप्त गरेका छन् ।

    श्रेष्ठ दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडाका सबै सदस्य पनि एमाले नै निर्वाचित भएका छन् । यहीं वडाको मेयरमा भने एमालेका केशव स्थापितले ७५९ मत पाउँदा बालेन शाहले १ हजार ८२ मत प्राप्त गरेका छन् ।

    यहाँ मेयरमा कांग्रेसकी सिर्जना सिंहले ५६० मत प्राप्त गरेकी छन् । सिर्जनाले पनि कांग्रेसका वडाध्यक्षले पाएको भन्दा ३ सय कम मत प्राप्त गरेकी छन् ।