Category: स्थानीय निर्वाचन–२०७९

  • भरतपुरमा फेरि रेणुको अग्रता

    भरतपुरमा फेरि रेणुको अग्रता

    काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले पुन: अग्रता बढाएकी छन् । उनले ५०३९ मत ल्याउँदा एमालेका विजय सुवेदीको ५०२७ मत रहेको छ । दुईजनाबीच १२ मतको अन्तर छ ।

    अहिलेसम्म १५०३१ मत गनिसकिएको छ ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत ल्याएका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६०४३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङ ४०४२ मत ल्याएर पछ्याइरहेकी छन् ।

  • एकैपटक चार दाजुभाइ चुनाव लड्दा तीनले जिते, एकले हारे

    एकैपटक चार दाजुभाइ चुनाव लड्दा तीनले जिते, एकले हारे

    काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ र धनकुटाको साँगुरीगढी गाउँपालिकामा एकै परिवारका तीन दाजुभाइले चुनाव जितेका छन् । अर्का एक भाइ भने पराजित भए ।

    ओखलढुंगाको मोलीमा जन्मेका रुम्दाली परिवारका चार दाजुभाइ एकैपटक चुनाव लडेका थिए । मानेभञ्ज्याङमा ज्ञानेन्द्र रुम्दाली र धनकुटाको साँगुरीगढीमा जीतेन्द्र रुम्दाली गाउँपालिकाको अध्यक्षमा विजय भएका हुन् । उनीहरूका दाजु राजकुमार रुम्दाली मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. १ मा वडाअध्यक्षमा विजयी भए । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

    ज्ञानेन्द्रले कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएर ५ हजार २१ मत ल्याई अध्यक्षमा विजयी भएका हुन् । उनले एमालेका रुपलाल तामाङलाई १ हजार २ सय ६ मतान्तरले उछिने ।

    गठबन्धनको समर्थनमा धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसबाट उम्मेदवारी दिएका जीतेन्द्रले नेकपा (एमाले) का कुमारजंग याखालाई ५७१ मतले पराजित गरे । उनले ५ हजार ३ सय ९९ मत प्राप्त गर्दा याखाले ४ हजार ८ सय २८ मत ल्याएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

    उनीहरूकै भाइ दीपेन्द्र रुम्दाली मानेभञ्ज्याङमा जनता समाजवादीको तर्फबाट उपाध्यक्षको उम्मेदवार थिए । उनले भने कांग्रेसका उम्मेदवारसँग भारी मतान्तरमा हार व्यहोर्नु पर्‍यो ।

    जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका दीपेन्द्रले २ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजय हासिल गर्ने नेपाली कांग्रेसकी आश्राचन राईले ४ हजार ७ सय ५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

    एकाघरका ५ दाजुभाइमध्ये धिरेन्द्र र दिपेन्द्र जनता समाजवादीमा सकृय भएर राजनीति गरिरहेका छन् भने राजकुमार, जितेन्द्र र ज्ञानेन्द्र कांग्रेसमा छन् ।

  • काठमाडाैं महानगर : १७८०८ मत गन्दा डंगोल ४७०२ मतले अगाडि

    काठमाडाैं महानगर : १७८०८ मत गन्दा डंगोल ४७०२ मतले अगाडि

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ ।

    अहिलेसम्मको परिणामअनुसार मेयरमा बालेन साहको अग्रता कायमै छ । उपमेयरमा सुनिता डंगोलको अग्रता कायमै रहेको छ । १७८०८ मतगणना हुँदा डंगोलले ६५५७ मत ल्याएकी छन् ।

    यस्तै गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर डंगोलले १८५५ मत ल्याएका छन् ।

    बाँकी मत उपमेयरकै मैदानमा रहेका अन्य उम्मेदवारहरुको रहेको छ ।

  • अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

    अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

    डडेलधुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

    अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी बसन्ती पाल निर्वाचित भएका छन् ।

    नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादी केन्द्रका भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै कांग्रेसकी पाल विजयी भइन् ।

    अध्यक्षमा निर्वाचित भट्टले २४६९ मत ल्याए । उनका प्रतिद्वन्द्वी २२९७ पालले मत पाए । यी दुईबीचको मतान्तर १७२ रहेको छ ।

    यस्तै, नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार टेकराज पाण्डेयले १९८१ मत पाए । उपाध्यक्षमा कांग्रेसकी पालले २५६५ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भाणले २३०९ मत पाइन् । यी दुईबीचको मतान्तर २५६ रहेको छ ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका थिए। यहाँ बिपी कांग्रेस र एमालेको गठबन्धन छ ।

     

  • भरतपुर : मतान्तर घटाउँदै रेणु, यस्तो छ ताजा परिणाम

    भरतपुर : मतान्तर घटाउँदै रेणु, यस्तो छ ताजा परिणाम

    चितवन । भरतपुर महानगरपालिकामा १४ हजार ५ सय ३० मतको गणना सकिँदा मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २० मतको अग्रता लिएका छन् ।

    पछिल्लो क्रममा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अन्तर कम गराएकी छिन् । सुवेदीले ४ हजार ८ सय ८९ मत ल्याउँदा रेनुले ४ हजार ८ सय ६९ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार २ सय ५१ मत ल्याएका छन् ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ८ सय ३१ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ३ हजार ९ सय ६ मत ल्याएकी छिन् । वडा अध्यक्षमा कांग्रेस उम्मेदवारले १ हजार ३ सय ५४ मत ल्याउँदा एमाले उम्मेदवारले ८ सय ७६ मत ल्याएका छन् ।

  • मेलौली नगरपालिकामा गठबन्धनको जित, मेयरमा माओवादीका चन्द विजयी

    मेलौली नगरपालिकामा गठबन्धनको जित, मेयरमा माओवादीका चन्द विजयी

    बैतडी । बैतडीको मेलौली नगरपालिकामा गठबन्धनले नेकपा एमालेलाई पराजित गरेको छ ।

    गठबन्धनबाट माओवादीका भीमबहादुर चन्द मेयर र कांग्रेसकी पार्वती बोहरा उपमेयरमा निर्वाचित भएका छन् ।

    मेयरमा चन्दले ३०१० मत ल्याउँदा एमालेका जगदीश सिंह नायकले २३७६ मत ल्याए । उपमेयरमा बोहराले २९२७ मत ल्याएर जित्दा एमालेकी हेमन्ती नायकले २४०८ मत प्राप्त गरिन् ।

  • कालिकोटको खाँडाचक्र नगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही विजयी

    कालिकोटको खाँडाचक्र नगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही विजयी

    सुर्खेत।कालिकोटको खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कमलबहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन् । शाही २७९७ मत ल्याएका थिए ।

    शाहीका प्रतिस्पर्धी पूर्व नगर प्रमुख तथा एमालेका पार्टी जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले २३६६ मत ल्याएका थिए ।
    उपाध्यक्षमा माओवादी केन्द्रका गणेशबहादुर शाही विजयी भएका छन् ।

    एकीकृत समाजवादीबाट शाहीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए ।

  • मैवाखोलामा गठबन्धनको जित, अध्यक्षमा माओवादीका वनेम विजयी

    मैवाखोलामा गठबन्धनको जित, अध्यक्षमा माओवादीका वनेम विजयी

    ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका विजयप्रकाश वनेम विजयी भएका हुन् ।

    अघिल्लो निर्वाचनमा एमालेले जितेको सो पालिकामा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार वनेमले २ हजार ६ सय ९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी राजनकुमार थत्लुङले २ हजार ५२ मत प्राप्त गरे ।

    उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसकी कमलकुमारी लिम्बु विजयी भइन् । उनले २ हजार ५ सय ४१ मत ल्याउँदा एमालेकी कौशिला थक्लुङले २ हजार १ सय १ मत प्राप्त गरिन् ।

  • हेटौडा मेयरमा मिना अगाडि रहँदा कसको कति ?

    हेटौडा मेयरमा मिना अगाडि रहँदा कसको कति ?

    हेटौडा । हेटौडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी मिना लामाको अग्रता निरन्तर छ ।

    १५२५५ मत गणना हुँदा लामाले ४७२९ मत ल्याइन् । राप्रपाका दीपकबहादुर सिंहले ४४४९ मत प्राप्त गरेका छन् । एमालेका अनन्तप्रसाद पौडेलले ४००६ मत ल्याए ।

    हेटौँडामा हालसम्म वडा नंबर १, २ र १९ को मत परिणाम आएको छ । ३, ४, ५ र १८ को मतगणना जारी छ ।

  • झण्डै १४ हजार गणना सकिँदा विजय अघिअघि, रेनु पछिपछि

    झण्डै १४ हजार गणना सकिँदा विजय अघिअघि, रेनु पछिपछि

    चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ५८ मतको अग्रता लिएका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा उनले ४ हजार ७ सय २७ मत ल्याएका छन् ।

    गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४ हजार ६ सय ६९ मत ल्याएर सुवेदीलाई पछ्याइरहेकी छिन् । मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार १ सय १४ मत ल्याएका छन् ।

    उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ । कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ५ सय ५७ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ३ हजार ७ सय ६४ मत ल्याएकी छिन् । वडा अध्यक्षमा कांग्रेस उम्मेदवारले १ हजार ७४ मत ल्याउँदा एमाले उम्मेदवारले ७ सय २४ मत ल्याएका छन् । वडा अध्यक्षमा राप्रपाका उम्मेदवारले ४ सय २० मत ल्याएका छन् ।

    अहिलेसम्म १३ हजार ९३० मत गनिएको छ ।

  • गुल्मीको ईस्माको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    गुल्मीको ईस्माको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    काठमाडौं । गुल्मीको ईस्मा गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । अध्यक्षमा कांग्रेसका भगतसिंह खड्का ५ हजार ५८९ मतसहित विजयी भए । उपाध्यक्षमा कांग्रेसकै पार्वती कुँवरले ५ हजार ९०९ मत ल्याएर निर्वाचित भइन् ।

    गाउँपालिकामा अध्यक्षमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हीराबहादुर अर्यालले ५ हजार ४६४ मत पाए । उपाध्यक्षमा एमालेकै वमिला खत्रीले ५ हजार १२१ मत ल्याइन् ।

  • ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा एमालेका लामा निर्वाचित

    ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा एमालेका लामा निर्वाचित

    काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा एमालेका कृष्णमान लामा निर्वाचित भएका छन्।

    लामाले ३ हजार एक सय ४ मतसहित निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका गोपिलाल सिन्तानलाई पछि पारेका हुन्। ४१ वर्षीय सिन्तानले २ हजार ५ सय ९ मत प्राप्त गरेका छन्। यसपटक ललितपुरमा एमालेले जितेको यो पहिलो पालिका प्रमुख हो।

    उपाध्यक्षतर्फ नेपाली कांग्रेसका राजनप्रसाद घिमिरे ३ हजार २ सय २७ मतसहित निर्वाचित भए। नेकपा एमालेकी रनिता तामाङले २ हजार ४८ मत पाइन्।

    वडाध्यक्षतर्फ वडा-१ मा माओवादी केन्द्रका सन्तलाल लामा, २ मा एमालेका रोहन घलान लामा, ३ मा नेपाली कांग्रेसका तीलकबहादुर भोम्जन, ४ मा नेपाली कांग्रेसका तीर्थबहादुर घलान र ५ मा माओवादीका विजयकुमार स्याङ्तान निर्वाचित भएका छन्।

     

  • झापाको कन्काई नगरपालिकामा एमाले अगाडि, ४ वटा वडाकाे नतिजामा एमाले र कांग्रेस बराबर

    झापाको कन्काई नगरपालिकामा एमाले अगाडि, ४ वटा वडाकाे नतिजामा एमाले र कांग्रेस बराबर

    काठमाडौं । झापाको कन्काई नगरपालिकाको जारी मतगणनामा मेयरतर्फ एमालेका राजेन्द्रकुमार पोखरेलले फड्को मारेका छन् । पोखरेल ५ हजार ९८ मतसहति शीर्षस्थानमा उक्लिएका छन् ।

    स्वतन्त्र उम्मेदवार शेरबहादुर थापा ४ हजार २०२ मतसहित दाेस्राे स्थानमा छन्। अहिले वडा नं ३, ४ र ५ को मतगणना भइरहेको छ। यसअघि वडा नं ६, ७, ८ र ९ को मतगणना सम्पन्न हुँदा स्वतन्त्र उम्मेदवार थापा एमालेका पोखरेलभन्दा करिब ९०० मतले अगाडि थिए ।

    कन्काई नगरपालिकामा २५ हजार ८५१ मत खसेकामा १५ हजार ७४४ मतको गणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत दीपक कोइरालाले जानकारी दिए ।

    उपमेयरतर्फ नेपाली कांग्रेसकी आशा सिवाकोटीले ६ हजार १२३ र एमालेकी मन्जु प्रसाईंले ५ हजार ३६७ मत ल्याएका छन् । यसअघि वडा नं ६, ७, ८ र ९ को मतगणना हुँदा प्रसाईं, सिवाकोटीभन्दा करिब ३०० मतले अगाडि थिइन् ।

    वडाध्यक्षतर्फ वडा नं ६ मा नेकपा एमालेका दीर्घबहादुर थापा, वडा नं ७ मा नेपाली कांग्रेसका भीष्मभुषण सिटौला, वडा नं ८ मा नेपाली कांग्रेसकै लीलाबहादुर कटुवाल र वडा नं ९ मा एमालेका राजेन्द्रप्रसाद उप्रेती निर्वाचित भइसकेका छन् ।

  • बहसः स्थानीय चुनावमा किन भयो १० प्रतिशत कम मतदान ? काठमाडौंमै ६ प्रतिशत घट्यो भोट

    बहसः स्थानीय चुनावमा किन भयो १० प्रतिशत कम मतदान ? काठमाडौंमै ६ प्रतिशत घट्यो भोट

    काठमाडौं । देशभरमै शिक्षित र सचेत मतदाताहरु रहेको क्षेत्र मानिन्छ काठमाडौं महानगर । देशको राजधानी सहरसमेत रहेकाले यहाँको जनमतले निकै अर्थ पनि राख्छ । तर, यसपालिको स्थानीय चुनावमा ठूलो अनुपातमा महानगरवासी भोट खसाउनै गएनन् ।

    निर्वाचन आयोगका अनुसार यसपालि काठमाडौं महानगरमा कुल मतदातामध्ये ६४ प्रतिशतले मात्रै भोट खसाएका छन् । यो अनुपात अघिल्लो चुनावको तुलनामा ६ प्रतिशतले कम हो । ३६ प्रतिशत मतदाता भोट हाल्नै नगएको आयोगको तथ्यांकले देखाउँछ ।

    त्यसो त देशको समग्र मतदान प्रतिशत अघिल्लो चुनावको तुलनामा घटेको छ । संघीयतापछि भएको दोस्रो स्थानीय तह निर्वाचनमा अघिल्लोभन्दा १० प्रतिशत कम मत खसेको हो । २०७४ सालमा भएको निर्वाचनमा ७४ दशमलव १६ प्रतिशत मत खसेकोमा यसपटक त्यसभन्दा १० प्रतिशत कम मत खसेको छ ।

    मुलुकभरमा समग्रमा ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले नेपालप्रेसलाई जानकारी दिए । आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईसीओ) मा प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६४ प्रतिशत मत खसेको पाइएको हो ।

    राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ स्थानीय तहभित्रका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । ती मतदान केन्द्रका मतदाताको संख्या जोडिए पनि मतदान नभएकाले हिसाब केही तलमाथि हुन सक्छ ।

    निर्वाचन आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेको थियो । अपेक्षाकृत मतदान हुन नसकेकोप्रति आयोगले चिन्ता व्यक्त गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘मतभार धेरै भएका काठमाडौं महानगरपालिकालगायत तराई मधेसका कतिपय स्थानीय तहमा तुलनात्मक रूपमा कम मत खस्यो । त्यसले गर्दा कुल प्रतिशत बढ्न सकेन ।’

    आयोगका अनुसार बढीमा ७५ प्रतिशत र कम्तिमा ५० प्रशितसम्म मत खसेको छ ।

    काठमाडौंमै निराशा

    शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं जिल्लामा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका अनुसार काठमाडौं महानगरपालिकामा त्योभन्दा कम ६४ प्रतिशतमात्रै मत खसेको छ ।

    काठमाडौंमा २०७४ सालको स्थानीय तह निर्वाचनको तुलनामा यसपटक ७ प्रतिशत कम मत खसेको हो । यस्तै काठमाडौं महानगरपालिकामा अघिल्लो निर्वाचनको तुलनामा ६ प्रतिशतले कम मत खसेको छ ।

    आयोगको तथ्यांकअनुसार २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौंमा पाँच लाख ५९ हजार ४०७ जना मतदाता रहेकोमा ७६ प्रतिशत अर्थात चार लाख २२ हजार ३१४ मत खसेको थियो । जिल्लामा सबैभन्दा कम काठमाडौं महानगरपालिकामा ७० दशमलव ६ प्रतिशत अर्थात एक लाख ७६ हजार २८६ मतमात्रै खसेको थियो ।

    २०७४ सालको स्थानीय तह निर्वाचन वैशाख, असार र असोज गरेर तीन चरणमा भएको थियो । अघिल्लो निर्वाचनमा एक करोड ४० लाख ७२ हजार ४२४ जना योग्य मतदाता रहेका थिए । अहिले भने एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता पुगेका छन् । २०७४ सालको निर्वाचनमा एक करोड चार लाख ८९ हजार २०४ जना अर्थात् ७४ दशमलव १६ प्रतिशत मत खसेको थियो ।

    प्रमुख निर्वाचन आयुक्त थपलिया धेरै मतदाता भएका काठमाडौं महानगरपालिका जस्ता ठाउँमा आधाजसो मतदाता भोट हाल्न नजानु चिन्ताको विषय भएको बताउँछन् । उनले भने, ‘शान्तिपूर्ण अवस्था, मतदान केन्द्रमा स्पष्ट पहुँच र सबै सुविधा हुँदाहुँदै पनि कम मत खस्नुको कारण पहिल्याउन बाँकी छ ।’

    वैदेशिक रोजगारी, सरकारी काम वा व्यवसायका कारण पनि आफ्नो मतदान केन्द्रभन्दा बाहिर रहनुलाई कम मत खस्नुको एउटा कारण मानिन्छ ।

    लोकतान्त्रिक पद्धतिमा मतदाता सुरु–सुरुका वर्षमा एकदमै उत्साहित हुने र त्यसपछिका वर्षमा उत्साह कम हुँदै जाने प्रवृत्ति पनि देखिने आयोगका पूर्वसचिव शारदाप्रसाद त्रिताल बताउँछन् ।

    ‘२०७४ सालमा नयाँ संविधान बनेपछि पहिलो स्थानीय निर्वाचन थियो । त्यसै वर्ष सबैखाले निर्वाचन पनि भएको थियो । त्यतिखेर मानिसलाई जति उत्साह थियो, यस पाँच वर्षका कामले गर्दा त्यो उत्साह केही घटेको पनि हुनसक्छ’, उनले भने ।

    नो भोटले बढ्न सक्छ मतदान प्रतिशत !

    २०७४ सालको स्थानीय तह निर्वाचन गराएका पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ‘नो भोट’को व्यवस्था गरियो भने मतदान गर्नेको संख्या बढ्न सक्ने बताउँछन् ।

    उनले नेपालप्रेससँग भने, ‘धेरैजसो मतदाता नो भोटको व्यवस्था खोजिरहेका छन् । यदि त्यो व्यवस्था गर्न सक्ने हो भने मतदाताको संख्या बढ्न सक्ने देख्छु । अधिकांशको माग अहिले नो भोट नै छ ।’

    उनका अनुसार अधिकांश आफ्नो पेशा व्यवसायमा विदेश तथा स्वदेशमा व्यस्त भएको हुनाले पनि आफ्नो ठाउँमा पुगेर निर्वाचनमा भाग लिन अल्छी मानिरहेका छन् । यसअघि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नागरिकको आवाज सुन्न नसकेका कारणले पनि मतदान घटेको उनको अनुमान छ ।

    यादवले भने, ‘बेरोजगारी बढ्यो । सुशासन कायम हुन सकेन । त्यसैले मतदान गरेर के हुन्छ भनेर नागरिकमा निराशा बढेको छ । जनप्रतिनिधि समाजप्रति जिम्मेवार हुनुपर्ने, असल हुनुपर्ने हो । त्यो नभएको हुनाले पनि किन मतदान गर्नु भन्ने लागेको हुनसक्छ ।’

    राजनीतिक दलले उपयुक्त र राम्रो काम गर्न सक्ने व्यक्तिभन्दा पनि अयोग्य, काम गर्न नसक्ने र आफ्ना नजिकका व्यक्तिलाई उम्मेदवार बनाएका कारणले पनि मतदानमा उत्साह नदेखिएको उनको भनाइ छ ।

    ‘आयोगले अध्ययन गर्नुपर्छ’

    २०७४ सालको स्थानीय तह निर्वाचन गराउने कार्यमा संलग्न पूर्वनिर्वाचन आयुक्त ईला शर्माले यसपटकको स्थानीय तह निर्वाचनमा कम मत खसेकोप्रति चिन्ता व्यक्त गरिन् ।

    उनले नेपालप्रेससँग भनिन्, ‘मौसममा पनि त्यस्तो खराबी थिएन । कतिपय ठाउँमा सामान्य पानी परे पनि अधिकांशमा ठीक थियो । काठमाडौं महानगरपालिकामा नै कम मत खसेको छ । सूचना नपुगेर हो कि ?’

    उनले पहिलेको स्थानीय तहका जनप्रतिनिधिको कामबाट चित्त नबुझेर तथा जनप्रतिनिधिप्रति वितृष्णा भएर पनि कम मत खसेको हुनसक्ने अनुमान गरिन् । उम्मेदवारको संख्या बढे पनि मतदान गर्नेको संख्या घट्नु राम्रो नभएकाले यस विषयमा निर्वाचन आयोगले अध्ययन गर्नुपर्ने शर्माको सुझाव छ ।

    उनले भनिन्, ‘कुनै सुरक्षा चुनौती नभएको अवस्थामा १० प्रतिशत कम मतदान हुनु विचारणीय कुरा हो । अहिलेको भन्दा त अघिल्लो पटकको निर्वाचनमा नै धेरै चुनौती थियो बरु । पाँच वर्षमा झन् उत्साह थपिनुपर्ने हो । तर उत्साह थपिनुको साटो झन् घट्यो ।’

    उनले मतदाता शिक्षामा नभएर अब आयोगले निर्वाचन शिक्षामा जोड दिनुपर्ने बताइन् । विकसित मुलुकमा कम भए पनि नेपाल जस्तो मुलुकमा यति धेरै कम मतदान होला भन्ने आफूले अपेक्षासमेत नगरेको उनको भनाइ छ ।

    २०७४ सालकै स्थानीय तह निर्वाचन गराउने कार्यमा संलग्न निर्वाचन आयोगका पूर्वसचिव गोपीनाथ मैनालीले निर्वाचित जनप्रतिनिधिले मतदाताका अपेक्षा पूरा नगरेकाले मतदाता घटेको हुनसक्ने अनुमान गरे ।

    उनले भने, ‘नागरिकसँग गरेको बाचा अधिकांश जनप्रतिनिधिले पूरा गरेनन् । आफ्नो र आफ्नो राजनीतिक दलको दुनो सोझ्याउने काममात्रै भयो । विकास र समृद्धिका सपनामात्रै बाँडिए । तर, व्यवहारमा पूरा गर्न सकेनन् । त्यसैले पनि मतदातामा निराशा उत्पन्न भएका कारण मतदान कम भएको हुनसक्छ ।’

    उम्मेदवारी दिने क्रममा राजनीतिक दलबीचको आपसी द्वन्द्व, खिचातानीले पनि मतदातामा मत दिने चाहना घटेको हुनसक्ने पूर्वसचिव मैनालीको अनुमान छ । धेरैजसो चुनावी क्रियाकलाप सहरमा केन्द्रित भएको तर राजनीतिक दल तथा जनप्रतिनिधिप्रति वितृष्णा पनि सहरमा बढी देखिएको उनको बुझाइ छ ।

    उनले भने, ‘पहाड तथा हिमालमा बस्ती पनि थोरै छ । जनप्रतिनिधि तथा उम्मेदवारसँग पनि मतदाताको आत्मीयता हुने भयो । तर, सहरमा मतदाता र उम्मेदवार तथा जनप्रतिनिधि खासै सम्पर्कमा रहने भएनन् । त्यसैले पनि सहरमा मतदान गर्नेको संख्या घटेको हुनसक्छ ।’

    राजनीतिक दललाई तिमीहरुप्रति विश्वास छैन भन्ने संकेत देखाउन पनि मतदाता मतदानमा सहभागी नभएको हुनसक्ने मैनालीको भनाइ छ । अभिमत, कुण्ठा, आक्रोशका रुपमा मतदाता निर्वाचनमा नगएको हुनसक्ने उनले बताए ।

    अहिलेको चुनावमा स्वतन्त्र उम्मेदवारमा निकै आकर्षण देखिएको थियो । उनीहरुलाई भोट हाल्न पनि मतदानमा धेरैले भाग लिने अपेक्षा थियो । तर, मैनालीले भने, ‘त्यस्तो हुँदैन । मतदातालाई पनि के थाहा छ भने स्वतन्त्र व्यक्ति जतिसुकै राम्रो भए पनि उससँग टिम हुँदैन । फेरि नेपाली समाज सबै राजनीतिक दलमा आस्थावान भइसकेको छ । त्यसैले स्वतन्त्र उम्मेदवार आए पनि कुरा यस्तै हो भन्ने मान्यता छ ।’

    डिजिटल युगमा निर्वाचन प्रणाली परम्परागत नै बनाइराख्ने हो भने मतदान गर्ने मतदाताको संख्या बिस्तारै घट्दै जाने पूर्वसचिव मैनालीको बुझाइ छ ।

    उनले भने, ‘अबका मतदाता घण्टौं लाइन लागेर मतदान गर्ने पक्षमा छैनन् । मतदान गरेर के पाइन्छ ? मन नै नपरेका उम्मेदवार र राजनीतिक दललाई भोट गर्न घण्टौं लाइन बसेर किन समय खर्चिने भन्ने पक्षमा छन् मतदाता ।’

    थोरै समय र थोरै लागतमा विद्युतीय प्रणालीबाट मतदान गर्ने व्यवस्था गर्न सकियो भने मतदाताको संख्या बढ्न सक्ने मैनालीको अनुमान छ ।

    ‘म आफै आयोगमा हँुदा विद्युतीय मतदान गर्ने व्यवस्थाका लागि पहल गरेको थिएँ । तर, अघि बढ्न सकेन । विद्युतीय मतदान गर्ने व्यवस्था गर्न त्यति असहज पनि छैन । त्यो व्यवस्था गर्न सकियो भने शतप्रतिशत मतदान गर्ने अवस्था आउला’, उनले भने ।

  • भरतपुरमा विजयले मतान्तर बढाए, अहिले कसको कति ?

    भरतपुरमा विजयले मतान्तर बढाए, अहिले कसको कति ?

    काठमाडौं । भरतपुर महानगरपालिका मेयरमा नेकपा एमालेका विजय सुवेदीले मतान्तर बढाउँदै लगेका छन् । दिउँसो ३ बजेर २५ मिनेटसम्मको परिणामअनुसार सुवेदी ७० मतले अगाडि छन् ।

    विजय सुवेदीले ४६५८ मत प्राप्त गर्दा गठबन्धनबाट माओवादीकी उम्मेदवार रेणु दाहाल ४५८८ मतले पछ्याइरहेकी छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०५६ मत ल्याएका छन् ।

    यहाँ अहिले ४ नम्बर वार्डको गणना भइरहेको छ ।

  • पहिला एमालेले जितेको पूर्वीचौकी गाउँपालिकामा कांग्रेसको ‘क्लिनस्वीप’

    पहिला एमालेले जितेको पूर्वीचौकी गाउँपालिकामा कांग्रेसको ‘क्लिनस्वीप’

    डोटी । डोटीको पूर्विचौकी गाउँपालिकामा कांग्रेसले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्षसहित सातवटै वडाध्यक्ष र सबै वडासदस्यमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन् ।

    अध्यक्षमा कांग्रेस उम्मेदवार रामप्रसाद उपाध्यायले ५ हजार १३३ मत प्राप्त गरे । जुन सदर मतको ६७ दशमलव ५६ प्रतिशत हो । यहाँ कूल ८ हजार २५६ मत खसेको थियो । जसमध्ये ७ हजार ५९७ मत सदर भएको छ । अध्यक्षमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार खड्काले २ हजार २०५ मत प्राप्त गरे ।

    यस्तै उपाध्यक्षमा पनि कांग्रेसकी पशुपति खड्का ४ हजार ७२४ मत हासिल गरेर विजयी भइन् । उनका प्रतिद्वन्द्वी एमालेकी शारदाकुमारी साउँदले दुई हजार ४४४ मत प्राप्त गरिन् ।

    वडाध्यक्षहरूमा कांग्रेसकै उम्मेदवारहरू १ नम्बर वडामा अंकबहादुर खड्का, २ नम्बरमा योगेन्द्रबहादुर ठकुल्ला, ३ नम्बरमा खड्कबहादुर धामी, ४ नम्बर वडामा बलबहादुर खड्का, ५ नम्बरमा खड्कबहादुर साउँद, ६ नम्बरमा पुष्पराज जोशी र ७ नम्बर वडामा प्रेमबहादुर खड्काको प्यानल विजयी भएको छ ।

    यसअघि २०७४ को निर्वाचनमा यो पालिकामा कांग्रेस अध्यक्ष उम्मेदवार उपाध्याय एमालेका दीर्घराज बोगटीसँग पराजित भएका थिए । त्यतिबेला कांग्रेसले ५ वटा वडाध्यक्ष जित्दा पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हारेको थियो ।

  • रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    रसुवा । रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले २ हजार ६ सय २२ मत ल्याएर विजयी भएका हुन् ।

    उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले २ हजार २ सय ८३ मत प्राप्त गरेका छन् । नेकपा माओबादी केन्द्रका सोमबहादुर तामाङले १ हजार ५ सय २२ मत प्राप्त गरे ।

    त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकै मिरा लामाले २ हजार ८ सय १० मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी अम्बिका भट्ट ९पौडेल०ले २ हजार २ मत प्राप्त गरिन् ।

    कालिका गाउँपालिकामा ५ वटा वडा छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका दावा तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेश न्यौपाने, वडा नम्बर ३ मा नेपाली कांग्रेसकै फणिन्द्रप्रसाद न्यौपाने, वडा नम्बर ४ मा खेसम तामाङ र वडा नम्बर ५ मा नेपाली कांग्रेसकै सन्दिप पौडेल विजयी भएका छन् ।

  • बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेसका हरीले हराए एमालेका जसवीरलाई

    बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेसका हरीले हराए एमालेका जसवीरलाई

    बैतडी । बैतडीको सिगास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरी सिंह धामी विजयी भएका छन् । उनले नेकपा एमालेका जसबीर सिंह बोहरालाई पराजित गर्दै विजयी भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि यी दुईबीचको प्रतिस्प्रधामा धामी विजयी भएका थिए ।

    निर्वाचन जित्दै गर्दा धामीले ३४४९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जसबिर बोहराले १८०० मत ल्याएका छन् ।

    गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी धाना धामी विजयी भएकी छन् । धामीले २९३९ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सुमित्रा ऐरले २६९६ मत प्राप्त गरेकी छन् ।

  • यी हुन् अहिलेसम्म कांग्रेसले जितेका ५३ पालिका (सूचीसहित)

    यी हुन् अहिलेसम्म कांग्रेसले जितेका ५३ पालिका (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अग्रता हासिल गरेको छ । जारी मतगणनामा अहिलेसम्म कांग्रेसले ५३ स्थानीय तहको नेतृत्व जितिसकेको छ । कांग्रेसले देशभरका १ हजार बढी वडाहरुमा अध्यक्ष जितेको छ । हालसम्म कांग्रेसले जितेका स्थानीय तहहरु निम्न छन् –
    १. नार्पाभूमी गाउँपालिका, मनाङ
    २. घरपोझोङ गाउँपालिका, मुस्ताङ
    ३. नासो गाउँपालिका, मनाङ
    ४. गुल्मी दरबार गाउँपालिका,गुल्मी
    ५. गन्यापधुरा गाउँपालिका,डडेलधुरा
    ६.रेसुंगा नगरपालिका,गुल्मी
    ७. खार्पुनाथ गाउँपालिका,हुम्ला
    ८. बडिकेदार गाउँपालिका,डोटी
    ९. तमानखोला गाउँपालिका,बागलुङ
    १०. स्वामीकार्तिक गाउँपालिका,बाजुरा
    ११. लिखुपिके गाउँपालिका,सोलुखुम्बु
    १२. भैरवी गाउँपालिका,दैलेख
    १३. सभापोखरी गाउँपालिका,संखुवासभा
    १४. कुमाख गाउँपालिका,सल्यान
    १५. शिवनाथ गाउँपालिका,बैतडी
    १६. कुम्मायक गाउँपालिका,पाँचथर
    १७. फेदाप गाउँपालिका,तेह्रथुम
    १८. माछापुछ्रे गाउँपालिका,कास्की
    १९. गल्कोट नगरपालिका,बागलुङ
    २०. दुधपोखरी गाउँपालिका,लमजुङ
    २१. सोताङ गाउँपालिका,सोलुुखुम्बु
    २२. हेलम्बु गाउँपालिका,सिन्धपाल्चोक
    २३. नवदुर्गा गाउँपालिका, डडेल्धुरा
    २४. ढाकरी गाउँपालिका, अछाम
    २५.मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
    २६. आमाछोदिङ गाउँपालिका, रसुवा
    २७. मास्टा गाउँपालिका, बझाङ
    २८. त्रिवेणी गाउँपालिका, सल्यान
    २९. आदर्श गाउँपालिका, डोटी
    ३०. ऐरावती गाउँपालिका, प्यूठान
    ३१. सागुरीगढी गाउँपालिका, धनकुटा
    ३२. कमलबजार नगरपालिका, अछाम
    ३३. रघुगंगा गाउँपालिका, म्याग्दी
    ३४.धनकौल गाउँपालिका, सर्लाही
    ३५. अरुण गाउँपालिका, भोजपुर
    ३६.आरुघाट गाउँपालिका, गोरखा
    ३७. आठराई गाउँपालिका, तेर्हथुम
    ३८ः बराहपोखरी गाउँपालिका, खोटाङ
    ३९.केपिलासगढी गाउँपालिका, खोटाङ
    ४०. गंगादेव गाउँपालिका, रोल्पा
    ४१. छथर जोरपाटी गाउँपालिका, धनकुटा
    ४२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
    ४३. महावु गाउँपालिका, दैलेख
    ४४. दक्षिणकाली नगरपालिका, काठमाडौं
    ४५. सिलिचुङ गाउँपालिका, संखुवासभा
    ४६. कैलाश गाउँपालिका, मकवानपुर
    ४७. बुंगल नगरपालिका, बझाङ
    ४८. हरिपुर नगरपालिका, सर्लाही
    ४९. कनका सुन्दरी नगरपालिका, जुम्ला
    ५०. भीरकोट नगरपालिका, स्याङ्जा
    ५१. खाँदबारी नगरपालिका, नेपाली कांग्रेस
    ५२. ठूलीभेरी नगरपालिका, डोल्पा
    ५३. हिमा गाउँपालिका, जुम्ला

  • दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्षमा एमालेका धामी निर्वाचित

    दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्षमा एमालेका धामी निर्वाचित

    काठमाडौं । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित भएका छन् । ४ हजार ३४ मत ल्याएर धामी निर्वाचित भएका हुन् ।

    उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत ल्याएका छन् ।

    उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन् । ३ हजार ५६६ मत ल्याएर उनी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३२२ मत ल्याएकी छन् ।