Category: स्थानीय निर्वाचन–२०७९

  • कटहरी गाउँपालिकामा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

    कटहरी गाउँपालिकामा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

    विराटनगर । कटहरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरी विजयी भएका छन् ।

    उपाध्यक्षमा नेकपा एमालेकी सिवा देवी राजवंशी विजयी भएकी छिन् ।

    अध्यक्ष चौधरीले ६५६५ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेशकुमार सरदार ले ५६७२ मत ल्याएका थिए ।

    यसै गरी उपाध्यक्षमा राजवंशीले ५८४८ मत ल्याएका थिइन भने उनकी निकटतम प्रतिद्वन्द्वी मन्जित कुमारी सरदार ले ५७०५ मत ल्याएका थिइन् ।

    यो सँगै १७ स्थानीय तह रहेको मोरङमा तीन पालिका को मत गणना सकिएको छ ।

  • पर्साको जिराभवानी गाउँपालिकामा कांग्रेस विजयी

    पर्साको जिराभवानी गाउँपालिकामा कांग्रेस विजयी

    काठमाडौं । पर्साको जिराभवानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ ।

    अध्यक्षमा कांग्रेसका अनोज चौधरीले ४५६० मत ल्याएर विजयी हुँदा एमालेका रामपृत महत्तोले ३२९९ मत पाए ।

    यस्तै कांग्रेसकै उपाध्यक्षका उम्मेदवार रेखा चौधरीले ४७१० मत ल्याउँदा एमालेका उम्मेदवार उषा देवी थरुनीले २८६५ मत पाए ।

  • धादिङमा सात पालिकाको नतिजा सार्वजनिक, कांग्रेसको अग्रता

    धादिङमा सात पालिकाको नतिजा सार्वजनिक, कांग्रेसको अग्रता

    धादिङ । धादिङको १३ स्थानीय तह मध्ये सात ओटा पालिकाको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना सकिएका सात पालिकामध्ये ३ ओटा पालिकामा नेपाली कांग्रेस, २ ओटामा नेकपा माओवादी केन्द्र, १ पालिकामा नेकपा एमाले र १ ओटा पालिकामा नेकपा एस विजयी भएको छ ।

    नेकपा माओवादी केन्द्रको तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ, गजुरी गाउँपालिका अध्यक्षमा गणेशलाल श्रेष्ठ र वेनिघाटरोराङ गाउँपालिकामा कृष्णबहादुर थपलिया विजयी भएका छन् ।

    नेपाली कांग्रेसबाट खनियाबास गाउँपालिका अध्यक्षमा रणबहादुर तामाङ, नेत्रावती डबजोङ गाउँपलिका अध्यक्षमा मेघनाथ रिजाल, ज्वालामूखी गाउँपालिकामा यमनाथ दनै विजयी भएका छन् ।

    गल्छी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका केदार खतिवडा, धुनिबेसी नगरपालिकामा नेकपा एसका बालकृष्ण आचार्य विजयी भएका छन् ।

    यसै गरी गाउँपालिका उपाध्यक्षहरूमा नेपाली कांग्रेसका तर्फबाट रुबीभ्यालीबाट फे लामा तामाङ, नेत्रावती डबजोङ गाउँपालिकामा सीतामाया गुरुङ, गल्छी गाउँपालिकामा भाइकाजी तिवारी, धुनिबेसी नगरपालिकामा सुरज उप्रेती निर्वाचित भएका छन् ।

    त्यसै गरी खनियाबास गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सेक्केमान तामाङ, ज्वालामूखी गाउँपालिकामा धर्म बहादुर अर्याल र वेनिघाट रोराङ गाउँपालिकामा नेकपा एसबाट उपाध्यक्ष निर्वाचित भएका छन् ।

    जिल्लाका १३ पालिका मध्ये सदरमुकाम स्थित नीलकण्ठ नगरपालिका साथै क्षेत्र नम्बर १ को थाँक्रे र सिद्धलेक गाउँपालिका क्षेत्र नम्बर २ को त्रिपुरा सुन्दरी र गंगाजमुना गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङले जनाएको छ ।

    निर्वाचित जनप्रतिनिधिहरूको प्रमाणपत्र वितरण मङ्गलवारबाट सुरु हुने पालिका स्थित निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । जिल्लाको सबै भन्दा विकटमा रहेको रुबीभ्यालीमा भने प्रमाणपत्र वितरण भइसकेको छ ।

  • रुपन्देहीमा खाता खोल्यो कांग्रेसले, कञ्चनको अध्यक्षमा कांग्रेस उपाध्यक्षमा माओवादी विजयी

    रुपन्देहीमा खाता खोल्यो कांग्रेसले, कञ्चनको अध्यक्षमा कांग्रेस उपाध्यक्षमा माओवादी विजयी

    रुपन्देही । रुपन्देहीका १६ पालिकामध्ये पहिलो पटक नतिजा सार्वजनिक भएको कञ्चन गाउँ पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नवराज ढकाल र उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मौसमी थापा विजयी भएका हुन् ।

    अध्यक्षमा नवराज ढकालले १०१४१ मत ल्याए भने उपाध्यक्ष मौसमी थापा मगरले १०२८४ ल्याएर विजयी भएकी हुन् ।

    अध्यक्षको प्रत्याशी एमालेका दिनानाथ आचार्यले ९०११ र उपाध्यक्षमा ओमकली राहादीले ८८३९ ल्याएका थिए । रूपन्देहीको कञ्चन गाउँपालिकाको मतगणना सम्पन्न ।

    गाउँपालिकामा गठबन्धनको तर्फबाट

    वडा नं. १ नेकपा एमाले प्यानलै विजयी

    वडा नं. २ गठबन्धन प्यानलै विजयी

    वडा नं. ३ गठबन्धन प्यानलै विजयी

    वडा नं. ४ गठबन्धन प्यानलै विजयी

    वडा नं. ५ नेकपा एमाले प्यानलै विजयी

  • मकवानपुरका पाँच स्थानीय तहको परिणाम आउँदा तीनमा गठबन्धन, दुईमा एमाले विजयी

    मकवानपुरका पाँच स्थानीय तहको परिणाम आउँदा तीनमा गठबन्धन, दुईमा एमाले विजयी

    हेटौँडा । मकवानपुरको पाँच वटा स्थानीय तहको नतिजा आएको छ । १० स्थानीय तहमध्ये पाँच स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको हो । पाँच स्थानीय तहमध्ये दुई स्थानीय तहमा एमाले तथा तीन स्थानीय तहमा गठबन्धनले नेतृत्व स्थापित गरेको छ ।

    सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्र सरोबर गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ । इन्द्र सरोबरको अध्यक्षमा एमालेबाट डि।के पुडासैनी तथा उपाध्यक्षमा उमा लामा विजयी भएका हुन् ।

    जिल्लाको भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा अध्यक्षमा विजयी हुँदा उपाध्यक्ष भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन् ।

    पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका राजकुमार मल्ल अध्यक्षमा विजयी हुँदा उपाध्यक्ष नेकपा माओवादी केन्द्रका वनस्तम थिङ विजयी भएका छन् ।

    मकवानपुरको कैलाश गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका लोकबहादुर मोक्तान विजयी हुँदा उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका बालकुमार मल्ल विजयी भएका छन् ।

    मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङ्तान विजयी हुँदा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मानकुमारी नेपाली पाख्रिन विजयी भएकी छिन् ।

    जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका, हेटौँडा उपमहानगरपालिका तथा बागमती गाउँपालिकाको मतगणना जारी रहेको छ ।

  • सल्यानको कालिमाटी गाउँपालिकामा गठबन्धन पराजित गर्दै दुवै पदमा एमाले विजयी

    सल्यानको कालिमाटी गाउँपालिकामा गठबन्धन पराजित गर्दै दुवै पदमा एमाले विजयी

    काठमाडौं। सल्यानको कालिमाटी गाउँपालिकामा माओवादी र नेकपा एसको गठबन्धनलाई एमालेले पराजित गरेको छ ।

    अध्यक्षमा एमालेका दानबहादुर खत्री विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी सहनसिलता ओली विजयी भएकी छन् । खत्रीले ३ हजार ७ सय ४१ र ओलीले ३ हजार ३ सय ७२ मत प्राप्त गरे । खत्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुरुषोत्तम भटराईले ३ हजार १ सय २९ र कांग्रेसका भरत पुनले २ हजार ३ सय ७९ मत ल्याए ।

    त्यसैगरी उपाध्यक्षमा विजयी भएकी सहनसिलता ओलीकी निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका ज्ञानबहादुर खत्रीले २ हजार ७ सय ८६ र कांग्रेसकी काशिमाया रानाले २ हजार ३ सय ५२ मत प्राप्त गरिन् ।

    कालिमाटी गाउँपालिकाका १५ हजार ८६ मतदातामध्ये निर्वाचनमा १० हजार १ सय ६६ ले मतदान गरेको निर्वाचन अधिकृत मनोहर घिमिरेले बताए ।

  • सुर्खेतको लेकबेशीमा कांग्रेस विजयी, एमाले इन्चार्ज र सह इन्चार्जले दिए राजीनामा

    सुर्खेतको लेकबेशीमा कांग्रेस विजयी, एमाले इन्चार्ज र सह इन्चार्जले दिए राजीनामा

    सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

    कांग्रेसका उम्मेदवार उमेश कुमार पौडेलले नेकपा एमालेका देवबहादुर रानालाई पराजित गरेका हुन । उपप्रमुखमा भने एमालेका विमला खडलुक विजय भएकी छन् ।

    यता, नेकपा एमालेले हार व्यहोरेको भन्दै नगर कमिटी इन्चार्ज टीकाराम सोमैर र सह इन्चार्ज शान्ति कुमारी छन्तेलले राजीनामा दिएका छन् ।

    ‘२०७४ सालको निर्वाचनमा एमालेले ६ वडा सहित प्रमुख र उपप्रमुख जितेको थियो । पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका हौँ ।’ विज्ञप्तिमा भनिएको छ, ‘२०७९ सालको निर्वाचनमा दुई वडा र उपप्रमुखबाहेक सबै पदमा पराजय हुनुपरेकाले आजैका मिति देखि इन्चार्ज र सह इन्चार्जको जिम्मेवारीमा नरहने गरी राजीनामा दिएका छौँ ।’

  • शंखरापुर नगरपालिका जितेर राप्रपाले खाता खोल्यो, काठमाडौंमा ऐतिहासिक विजय

    शंखरापुर नगरपालिका जितेर राप्रपाले खाता खोल्यो, काठमाडौंमा ऐतिहासिक विजय

    काठमाडौं । बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक काठमाडौंमा राप्रपाले ऐतिहासिक विजय निकालेको छ । २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ पहिलो मत ल्याए पनि प्रत्यक्षतर्फ राप्रपाले ऐतिहासिक साँखुबाट विजय थालेको छ ।

    शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन् ।

    निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै नापित विजयी भएका छन् । उनले ५१८२ मत ल्याउँदा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठले ४,४७८ मत ल्याएका छन् ।

    साबिक स्थानीय निकायका गाविसमा जिते पनि गणतन्त्र स्थापनापछि स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलो पटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो ।

    शंखरापुरमा राप्रपाले तीन वटा वडा समेत जित्न सफल भएको छ ।

    शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।
  • काठमाडौंमा बालेनले लिए ६ हजारभन्दा बढी मतको अग्रता

    काठमाडौंमा बालेनले लिए ६ हजारभन्दा बढी मतको अग्रता

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवाती अग्रतालाई कायमै राखेका छन् । बालेन १२ हजार ८९२ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।

    बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ६००७ मतले अगाडी छन् । स्थापित बालेनलाई ६ हजार ८८५ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६ हजार १०९ मत प्राप्त गरेकी छन् ।

    उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत पाएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ३ हजार ६१४ र राप्रपाकी विनीता मगैयाले २६२८ मतका साथ प्रतिस्पर्धामा छन् ।

    यो समाचार तयार पार्दासम्म काठमाडौं महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ । दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मत गणना सकिएको छ ।

  • सुर्खेतको गुर्भाकोटमा दोहोरिए कांग्रेसका पुन

    सुर्खेतको गुर्भाकोटमा दोहोरिए कांग्रेसका पुन

    सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ ।

    नेपाली कांग्रेसका निवर्तमान मेयर समेत रहेका हस्त पुनले ११ हजार ९७८ मत ल्याएर विजयी भए । नेकपा एमालेका तिलकबहादुर खत्रीले १० हजार १८६ मत पाए ।

    उपप्रमुखमा कांग्रेसकै मैना विक विजयी भएकी छिन् । उनले ११ हजार ७४३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी सुशीला कुमारी विश्वकर्मा सुनारले १० हजार २९९ मत पाइन् । नगरपालिकामा १४ वडामध्ये दुई देखि ९ तथा वडा नं. १३ र १४ मा कांग्रेस विजयी भएको छ । एमालेले वडा नं. १, १० र ११ जितेको छ ।

  • डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा एमाले विजयी

    डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा एमाले विजयी

    काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा एमालेले जित निकालेको छ । मेयरमा एमालेका जनचन्द्र रोकाया २ हजार १०४ मतसहित विजयी भएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रलाल धरालाले १ हजार ५९६ मत ल्याएका छन् ।

    माओवादी केन्द्रका मेयरका उम्मेदवार दिलबहादुर विष्टले १ हजार ४२२ मत पाए । उपमेयरमा एमालेकै देवी घर्ती निर्वाचित भएकी छन् ।

    उपाध्यक्षमा निर्वाचित एमालेकी घर्तीले १ हजार ८५६ मत ल्याउँदा माओवादी केन्द्रका काली चलाउनेले १ हजार २९० मत पाएका छन् ।

    कांग्रेसकी सावित्री पहाडीले १ हजार २७७ मत ल्याएकी छिन् ।

  • विवेकशील साझाले खाता खोल्यो, अन्सारी वडाध्यक्ष निर्वाचित

    विवेकशील साझाले खाता खोल्यो, अन्सारी वडाध्यक्ष निर्वाचित

    काठमाडौं । विवेकशील साझा पार्टी स्थानीय चुनावमा पहिलो वडाध्यक्ष जितेको छ ।

    बाराको फेटा गाउँपालिका वडा नम्बर ६ मा सो पार्टीबाट मौलाना मिरहमजा ठकुराईइ विजयी भएका हुन् ।

    यसैगरि सदस्यमा विवेकशील साझाकै कुदरत मिया अन्सारी, लालबाबु ठकुराई र महिला सदस्यमा कलिमा खातुनले जितेका छ ।

    सो गाउँपालिकाको जारी मतगणनामा अध्यक्ष र उपाध्यक्षमा पनि विवेकशील साझाका उम्मेदवारहरुको अग्रता छ ।

  • गोविन्दराज जोशीका घाइते छोरालाई भेट्न अस्पताल पुगे एमाले नेताहरू

    गोविन्दराज जोशीका घाइते छोरालाई भेट्न अस्पताल पुगे एमाले नेताहरू

    काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले सांघातिक आक्रमणमा पनि घाइते भएका तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई अस्पतालमा भेटेका छन् ।

    आज पार्टीका नेताहरू विष्णु रिमाल र डा. राजन भट्टराईसहित फ्रन्टलाइन अस्पताल पुगेर पोखरेलले भेटेका हुन् ।

    स्थानीय चुनावकै दिन व्यास नगरपालिका –८ रिस्तिमा रहेको मतदान स्थलमा जोशीमाथि आक्रमण भएको थियो । त्यहाँबाट उनलाई पोखरा हुँदै काठमाडौं ल्याइएको छ । जोशीको अवस्था सुधारोन्मुख रहेको छ ।

    दीपकराज पुराना कांग्रेस नेता गोविन्दराज जोशीका छोरा हुन् । उनको उम्मेदवारीमा एमालेले समर्थन गरेको थियो ।

  • बैतडीको दोगडाकेदारमा एमाले विजयी

    बैतडीको दोगडाकेदारमा एमाले विजयी

    काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकामा एमाले विजयी भएको छ । एमाले उम्मेदवार चक्रबहादुर कार्की ४९१७ मतका साथ विजयी भएका हुन् ।

    उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज जोशीले ४०९१ मत पाए ।

    राप्रपाका शेरबहादुर कार्कीले ६० मत ल्याउँदा यस्तै स्वतन्त्र उम्मेदवार गणेश पार्कीले १३ मत ल्याए ।

    उपमेयरमा एमालेकै पार्वती कार्की विजयी भएकी छन् । उनले ४ हजार ७८४ मत पाइन् ।

    गठबन्धनबाट माओवादीका नवराज भट्टले ३६४१ मत पाए ।

    प्रमुख उपप्रमुख दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

  • झलनाथको क्षेत्रमा गठबन्धन पराजित, माइजोगमाईको अध्यक्षमा एमालेका थेबे निर्वाचित

    झलनाथको क्षेत्रमा गठबन्धन पराजित, माइजोगमाईको अध्यक्षमा एमालेका थेबे निर्वाचित

    काठमाडौं । इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुशवहादुर थेबे निर्वाचित भएका छन् ।

    सत्ता गठबन्धनबाट नेकपा एसका उम्मेदवार जीतवहादुर राईलाई पराजित गर्दै उनी बिजयी भएका हुन् । थेबे ५,१३५ मत ल्याई विजयी भएका छन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) उम्मेदवार जीतबहादुर राईलाई २२२ मतान्तरले पराजित गरेका हुन् । पराजित जीतबहादुर राईले ४,९१३ मत ल्याएका छन् ।

    उपाध्यक्षमा भने गठबन्धनबाट नेपाली कांग्रेसकी प्रविना राई निर्वाचित भएकी छन् । यो नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र हो ।

    खनालकै जोडबलमा सो पालिकाको अध्यक्ष गठबन्धनबाट नेकपा एसले पाएको थियो ।

  • कर्णाली प्रदेश : ४९ स्थानीय तहको नतिजा सार्वाजनिक, कांग्रेस पहिलो (सूचीसहित)

    कर्णाली प्रदेश : ४९ स्थानीय तहको नतिजा सार्वाजनिक, कांग्रेस पहिलो (सूचीसहित)

    सुर्खेत । कर्णाली प्रदेकका ७९ ओटा पालिका मध्ये ४९ पालिकाको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस पहिलो स्थानमा देखिएको छ ।

    कर्णालीका तीन ओटा पालिकाको निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ४७ ओटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको हो ।

    कांग्रेस २३ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १४ पालिका जितेको छ । नेकपा एमाले सात पालिकामा जित हात पार्दै तेस्रो स्थानमा छ ।

    नेकपा(एकीकृत समाजवादी)ले तीन पालिका जितेको छ । प्रदेशका दुई वटा पालिकाको नेतृत्वमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् ।

    कांग्रेसले जितेका पालिका 

    १) खार्पुनाथ गाउँपालिका (हुम्ला)– कर्णबहादुर रावल

    २) कुमाख गाउँपालिका (सल्यान)– मानबहादुर बुढाथोकी

    ३) त्रिवेणी गाउँपालिका (सल्यान)– खिमबहादुर रावत

    ४) भैरवी गाउँपालिका ( दैलेख)– रिताकुमारी शाही

    ५) कनकासुन्दरी गाउँपालिका(जुम्ला) – दामोदर आचार्य

    ६) महाबु गाउँपालिका(दैलेख) – लक्ष्मण गुरुङ

    ७) ठूलोभेरी नगरपालिका(डोल्पा) – स्वर्णबहादुर बुढा

    ८) हिमा गाउँपालिका(जुम्ला) – लक्ष्मण शाही

    ९) तिलागुफा नगरपालिका(कालिकोट)– शंकरप्रसाद उपाध्याय

    १०) मुगूम कार्मारोङ गाउँपालिका (मुगु) – छिरिङ क्याप्ने लामा

    ११) सिद्धकुमाख गाउँपालिका (सल्यान)– भरत गिरी

    १२) ठाटीकाँध गाउँपालिका(दैलेख)– रक्षबहादुर शाह

    १३) कुशे गाउँपालिका (जाजरकोट) – हरिचन्द्र बस्नेत

    १४) बाँफिकोट गाउँपालिका(रुकुम पश्चिम) – जनककुमार बाँठामगर

    १५) चामुण्डा विन्द्रासैनी नगरपालिका(दैलेख) – गणेशकुमार शाही

    १६) शारदा नगरपालिका (सल्यान) – प्रकाश भण्डारी

    १७) शिवालय गाउँपालिका (जाजरकोट) – शेरबहादुर शाही

    १८) पातारासी गाउँपालिका (जुम्ला) – पूर्णसिंह बोहोरा

    १९) छायाँनाथ रारा नगरपालिका (मुगु) – विष्णुकुमार भाम

    २०) पञ्चपुरी नगरपालिका (सुर्खेत) – लालविर भण्डारी

    २१) बराहताल गाउँपालिका (सुर्खेत) –भीम बहादुर भण्डारी

    २२) लेकबेशी नगरपालिका (सुर्खेत) –उमेश कुमार पौडेल

    २३) नरहरीनाथ गाउँपालिका (कालिकोट) – नगेन्द्रबहादुर विष्ट

    माओवादीले जितेका पालिका 

    १) जगदुल्ला गाउँपालिका (डोल्पा) – नारासिङ रोकाय

    २) मुड्केचुला गाउँपालिका(डोल्पा) – दत्तबहादुर शाही

    ३) नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी

    ४) ताँजाकोट गाउँपालिका (हुम्ला)– लालकेश जैसी

    ५) सानीभेरी गाउँपालिका(रुकुम पश्चिम) – बिर्खबहादुर विष्ट

    ६) नाम्खा गाउँपालिका(हुम्ला) – प्रेमबहादुर लामा

    ७) पलाँता गाउँपालिका (कालिकोट) – विष्णुबहादुर रोकाया

    ८) भगवतिमाई गाउँपालिका(दैलेख) – गणेश थापा

    ९) शुभकालिका गाउँपालिका(कालिकोट)– गोविन्दप्रसाद आचार्य

    १०) सिमकोट गाउँपालिका (हुम्ला) – विजय भण्डारी

    ११) सिंजा गाउँपालिका (जुम्ला) – पूर्णप्रसाद धिताल

    १२) नलगाड नगरपालिका (जाजरकोट) – डम्बरबहादुर रावत

    १३) बनगाड कुपिण्डे नगरपालिका (सल्यान) – कर्णबहादुर बुढाथोकी

    १४) त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) – गणेशकुमार केसी

    एमालेले जितेका पालिका 

    १) शेफोक्सुण्डो गाउँपालिका (डोल्पा)– धावा सम्डुङ गुरुङ(निर्विरोध)

    २) गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी

    ३) डुङ्गेश्वर गाउँपालिका (दैलेख)– सुन्दरकुमार केसी

    ४) नारायण नगरपालिका (दैलेख) – लोमन शर्मा

    ५) जुनीचाँदे गाउँपालिका (जाजरकोट) – बेदबहादुर शाही

    ६) चिङ्गाड गाउँपालिका (सुर्खेत) – बोधविक्रम जिसी

    ७) भेरी नगरपालिका (जाजरकोट) – सिपी घर्ती

    एकीकृत समाजवादीले जितेका पालिका

    १) काइके गाउँपालिका (डोल्पा)– अंगतकुमार राना (निर्विरोध)

    २) छार्काताङसोङ गाउँपालिका (डोल्पा)– सेनाङ गुरूङ (निर्विरोध)

    ३) कपुरकोट गाउँपालिका(सल्यान)– दुर्गा पुन

    स्वतन्त्र उम्मेदवार

    १) खाँडाचक्र नगरपालिका (कालीकोट)– कमलबहादुर शाही

    २) सान्नी त्रिवेणी गाउँपालिका(कालीकोट) – मोहनबहादुर केसी

  • मकवानपुरगढीमा गठबन्धनका दोर्जे विजयी

    मकवानपुरगढीमा गठबन्धनका दोर्जे विजयी

    मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार दोर्जे लामा विजयी भएका छन् । लामाले ६७०६ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विदुर हुमागाईँले ५६४५ मत प्राप्त गरे ।

    त्यसै गरी उपाध्यक्षमा मान कुमारी नेपाली विजयी भएकी छन् । उनले एमाले सन्तु थिङलाई पराजित गरिन् ।

    नेपालीले ६११० मत प्राप्त गर्दा एमाले उम्मेदवार थिङले ५२०४ मत प्राप्त गरेकी थिइन् ।

  • वीरगन्ज महानगर : १७९०९ मतगणना हुँदा मेयरमा ४६८० मत बदर, उपमेयरमा सदरभन्दा बदर बढी

    वीरगन्ज महानगर : १७९०९ मतगणना हुँदा मेयरमा ४६८० मत बदर, उपमेयरमा सदरभन्दा बदर बढी

    काठमाडौं । वीरगन्ज महानगरपालिकामा ७ वटा वडाको मतगणना सम्पन्न हुँदा मेयरका प्रत्याशी जसपाका राजेशमान सिंह ८ हजार ८ सय ८८ मतसहित अग्रस्थानमा रहेका छन्।

    नेकपा एमालेका विजयकुमार सरावगीले ६ हजार ८२ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली कांग्रेसका इम्तियाज आलमले ६ हजार ८२ र लोकतान्त्रिक समाजवादीका पुरुषोत्तम लाल झाले ९ सय ५५ मत प्राप्त गरेका छन् ।

    मेयरतर्फ ४ हजार ६ सय ८० र उपमेयरमा ९ हजार ६ सय ५२ मत बदर भएको छ ।

    महानगरपालिकाका ३२ वडामध्ये हालसम्म वडा-१, २, ३, ४, ३०, ३१ र ३२ नम्बरको मत गणना सम्पन्न भएको छ। ती सात वडामा १७ हजार ९ सय ९ मत खसेको थियो।

  • रामेछाप नगरपालिकामा कांग्रेस विजयी, पूर्व जिल्ला सभापति न्यौपाने बने मेयर

    रामेछाप नगरपालिकामा कांग्रेस विजयी, पूर्व जिल्ला सभापति न्यौपाने बने मेयर

    काठमाडौं । रामेछाप नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

    रामेछाप नगरको मेयरमा नेपाली कांग्रेसका लबश्री न्यौपाने र उपमेयरमा कांग्रेसकै बाला कुमारी कार्की विजयी भएका हुन् ।

    मेयरतर्फ कांग्रेसका लवश्री न्यौपानेले ६ हजार ६३९ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी एमालेका रोशन पाख्रिनले ५ हजार ९८६ मत पाएका छन् ।

    माओवादी–समाजवादी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नरेशबाबु श्रेष्ठले २ हजार ५९८ मत पाएका छन् ।

    उपमेयरतर्फ कांग्रेसकी बालाकुमारी कार्की थापाले ६ हजार ६४० मत ल्याएर विजयी हुँदा एमालेकी सीताकुमारी खत्रीले ५ हजार ३४७ मत ल्याएकी छिन् ।

    गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका समाजवादीका ढालबिक्रम कार्कीले २ हजार ११३ मत पाएका छन् ।

  • रुकुम पूर्वका सबै पालिकामा माओवादीका उम्मेदवार विजयी

    रुकुम पूर्वका सबै पालिकामा माओवादीका उम्मेदवार विजयी

    रुपन्देही । माओवादी केन्द्रले आधार इलाकाका रूपमा रहेको रुकुम पूर्वका तीन वटै गाउँपालिकामा जित हासिल गरेको छ ।

    सत्ता गठबन्धनको केन्द्रीय सर्कुलर विपरीत नेपाली कांग्रेसले नेकपा एमालेसँग गठबन्धन गरे पनि माओवादी एक्लै सबै पालिकामा निर्वाचन जितेको हो ।

    मंगलबार साँझ भूमे गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको नतिजा सार्वजनिक भएको छ।

    अध्यक्षमा माओवादीका होमप्रकाश श्रेष्ठले ३९७५ मत ल्याएर विजयी भएका छन्। अध्यक्षमा काँग्रेस एमालेले उम्मेदवार उठाएका थिएनन्।

    यस्तै उपाध्यक्षमा सविना बुढामगरले ३९५१ मत ल्याएर विजयी भएका छन्। बुढाका निकटतम प्रतिद्वन्द्वी एमालेका कमानसिंह डाँगीले १३५५ मत ल्याएका छन्।

    कांग्रेस एमाले दुवैले एमालेका डाँगीलाई संयुक्त रूपमा उठाएका थिए । यसअघि पूर्वी रुकुमको सिस्ने र पुथा उत्तरगंगा माओवादीले जितिसकेको छ ।

    पुथा उत्तरगंगा गाउँपालिकामा माओवादीका पुनिराज घर्तीले ३९१३ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका तेजेन्द्र खाम मगर २११३ मत ल्याएका थिए ।

    त्यसै गरी सिस्ने गाउँपालिकामा कृष्ण रेग्मीले ३७७९ मत ल्याएर विजयी विजयी हुँदा कांग्रेसका दत्त बहादुर बस्नेत ३७०० मत ल्याएका थिए । यहाँका सबै पालिकामा कांग्रेस एमालेको गठबन्धन रहेको थियो ।