Category: स्थानीय निर्वाचन–२०७९

  • सुदूरपश्चिममा नेकपा एसले खाता खोल्दै

    सुदूरपश्चिममा नेकपा एसले खाता खोल्दै

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुने निश्चित भएको छ ।

    ४८४५ मत गणना गर्न बाकी रहँदा सम्म ४६७५ मतान्तरले अगाडि रहेका नेकपा एसका खडक रावत नगर प्रमुख बन्ने पक्का भएको हो ।

    अहिले सम्म एमालेका ममता प्रसाद चौधरीले ५९८६ मत ल्याएका छन् भने नेकपा एसका रावलले १०२५० मत ल्याइसकेका छन् । चौधरी अघिल्लो पटकका नगर प्रमुख हुन् ।

    अहिले सम्म सुदूर पश्चिम प्रदेशमा एक स्थानीय तहमा पनि नेकपा एकीकृत समाजवादीले पालिका प्रमुख जित्न सकेको छैन ।

  • उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमाले विजयी, कांग्रेसले जोगाउन सकेन विरासत

    उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमाले विजयी, कांग्रेसले जोगाउन सकेन विरासत

    गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका कालुमान लामा र उपमेयरमा मणिकादेवी दुलाल निर्वाचित भएका छन् ।

    यसअघि कांग्रेसले जितेको नगरपालिकामा यस पटक गठबन्धनलाई एमालेले परास्त गरेको छ ।

    लामाले ८५१ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र राईलाई पराजित गरे । उनले ८ हजार ८६३ मत ल्याउँदा राईले ८ हजार १२ मत पाए ।

    यसै गरी उपमेयरमा निर्वाचित दुलालले ९ हजार ५६६ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी रिताकुमारी चौधरीले ७ हजार ७६० मत ल्याइन् ।

  • गठबन्धनबाट हामीलाई नियोजित असहयोग भयो, अब नयाँ ढंगबाट जानुपर्छः गरिमा शाह

    गठबन्धनबाट हामीलाई नियोजित असहयोग भयो, अब नयाँ ढंगबाट जानुपर्छः गरिमा शाह

    स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । ५२ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठुलो दल बनेको एकीकृत समाजवादीले स्थानीय तहमा भने प्रभाव देखाउन सकेको छैन ।

    सुदूरपश्चिमका ६८ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा ३२ कांग्रेस, २३ एमाले र १२ पालिका माओवादीले जितेका छन् भने एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सुदूरपश्चिमका २० पालिकाको नतिजा आइसकेको छैन ।

    गठबन्धनबाट एकीकृत समाजवादीले प्राप्त गरेका पालिकामा उसले हार बेहोर्नुपरेको छ । गठबन्धन गरेका दलहरू भित्रैबाट पूर्ण सहयोग नहुँदा आफ्ना उम्मेदवारहरू पराजित भएको सो पार्टीका नेताहरूले बताइरहेका छन् । पाँच दलीय गठबन्धन भनिए पनि सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच मात्र गठबन्धन भएको थियो । तर, अनपेक्षित नतिजा आएपछि अहिले एकीकृत समाजवादीका नेताहरू रुष्ट भएका छन् ।

    यसै विषयको सेरोफेरोमा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहसँग गरिएको कुराकानी प्रस्तुत छ नेपाल टकमा :

    स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसलाई तपाईँहरूले कसरी लिनुभएको छ ?

    सोचेको भन्दा केही फरक ढंगबाट मत परिणाम आएको छ । गठबन्धनमा इमानदारिता देखिएन । हाम्रो शक्तिको आडमा आफू माथि पुग्ने तर, हामीलाई कुनै साथ सहयोग नगरेको अवस्था देखियो । यसले गठबन्धन के हुने भन्ने विषयमा हामीले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ । जुन कुरामा इमानदारिता हुँदैन त्यो कुरालाई अगाडी बढाइरहन आवश्यक हुँदैन ।

    हामी सानो शक्ति भए पनि गठबन्धनमा इमानदारिता देखायौँ । तर, हामीलाई नियोजित ढंगले तल झार्ने काम गठबन्धन भित्रका शक्तिहरूले गर्नुभयो । यसले गर्दा मत परिणाम हाम्रो लागि अप्रत्याशित छ ।

    नियोजित ढंगले तल झार्ने काम कसले गर्‍यो ?

    यो त प्रस्ट देखिएको छ नि । बझाङमा तीन दलीय गठबन्धन भएको थियो । थलरा र तल्कोटमा त हाकाहाकी देखियो नि । थलरामा स्वतन्त्र उठाइयो । उहाँलाई बसाएको भए यो परिणाम आउने थिएन । तल्कोटमा पनि त्यो अवस्था देखियो । जुन शक्तिसँग गठबन्धन गरेका थियौँ, त्यो शक्तिले हामीलाई सहयोग नगरेको अवस्था हो ।

    माधव कुमार नेपालले पनि गठबन्धनको विषयमा सोच्नु पर्ने बेला आएको छ भन्नु भयो । तपाईँको आशय पनि त्यही छ । कतै यो निर्वाचनपछि गठबन्धन टुट्ने त होइन ?

    यस्तो किन भयो ? यसको समीक्षा हुन्छ र हुनु पनि पर्छ । गठबन्धनले गरेको निर्णय नमान्ने हो भने यो गठबन्धनमा बसिरहनुको औचित्य त छैन । कसरी अगाडि बढ्ने भन्नेबारे हामी मसिनो गरी छलफल गर्छौँ र नयाँ ढंगबाट अगाडी बढ्नु पर्छ भन्ने लाग्छ मलाई ।

    यसअघिको स्थानीय तहमा पनि स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभामा फरक–फरक दलहरूसँग तालमेल भएको थियो । अब पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तपाइहरूको दलको तालमेल फरक दलसँग हुन सक्छ ?

    यो राजनीति हो । मैले सधैँ भन्ने गरेको छु, राजनीतिको बाटो सिधा हुँदैन । यहाँ दुई र दुई चार हुँदैन । तलमाथि हुन सक्छ । त्यस कारणले गर्दा भोलि एजेन्डा मिल्ने कम्युनिस्ट शक्तिहरू एकै ठाउँमा आउँदैनन् भन्ने त छैन नि ।

    राष्ट्रिय आवश्यकताको लागि गठबन्धन बनेको हो तर, अहिलेको गठबन्धनमा इमानदारिता देखिएन । जुन राजनैतिक उचाइबाट दलहरूले सोच्नु पर्ने थियो र काम गर्नु पर्ने थियो त्यो हुन सकेन ।

    कम्युनिस्ट शक्तिहरू एकै ठाउँमा आउने तपाइले सङ्केत गर्दा आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा एमालेसँग पनि तालमेल हुन सक्छ ?

    लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षका लागि लागिपरेका हामी भोलि त्यसरी पनि मिल्न सक्ने कुरा हुन सक्छ । तर, प्रतिबद्धता हुनुपर्छ । गणतन्त्र, संविधानको पालना र संघीयताप्रति प्रतिबद्धता हुनु पर्छ ।

    यो मत परिणामले यो गठबन्धन यही ढंगले अगाडी बढ्न सक्दैन भन्ने तपाईँहरूको दलको ठहर हो ?

    एकदमै न्यून ठाउँमा इमानदारिता देखिएको छ । तर, बहुमत ठाउँमा त्यो इमानदारिता देखिएन । वडादेखि प्रमुखसम्म सेटिङ गरेको प्रस्ट हुन्छ ।

    गठबन्धनमा रहेका राजनैतिक दलहरू सच्चिएनन् भने गठबन्धनको कुनै औचित्य छैन जस्तो लाग्छ । हामी त सरकारमा छौँ । सरकारमा भएका मान्छेहरूले सोच्नु पर्ने बेला भएन ?

    स्थानीय तह निर्वाचनको मत परिणामले संघीय सरकारलाई नेकपा एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिन सक्नेसम्मको अवस्था सृजना हुन सक्छ त ?

    अब अहिले नै समर्थन फिर्ता लिने कुरा त म भन्न सक्दिनँ । तर, हामी सहयात्री भइरहने कि नहुने भन्ने कुरा अलि घनिभूत रूपमा समीक्षा हुन आवश्यक छ ।

    सुदूरपश्चिम प्रदेश सरकारमा तपाईँहरूको पार्टी सबैभन्दा ठुलो हैसियतमा छ । गठबन्धनका दलहरूबाट इमानदारिता होस् भन्दै आचारसंहिता लाग्नुभन्दा एक दिन पहिले आफ्नै मन्त्री हटाएर कांग्रेसलाई सरकारमा सहभागी गराउनु भएको थियो । अहिले इमानदारिता देखिएन भन्नुहुन्छ । अब प्रदेश सरकार पनि हेरफेरको सम्भावना छ ?

    हामी एक्लै सरकार बनाउन सक्दैनौँ । हामीलाई पनि कुनै न कुनै राजनैतिक दलले समर्थन गर्नुपर्छ । त्यस कारणले गर्दा अहिले सुदूरपश्चिम प्रदेशमा रहेका दलहरू कसरी अगाडी बढ्छन् त्यसमा भर पर्छ । सरकार सञ्चालनको विषयमा कुन दलहरूसँग हाम्रो कुरा मिल्छ त्यो अहिले नै भन्दा अलि हतार हुन्छ कि ?

  • विराटनगरवासीले रुचाएनन् उपेन्द्रका छोरालाई, एमालेकी शिल्पा उपमेयरको कुर्सी नजिक

    विराटनगरवासीले रुचाएनन् उपेन्द्रका छोरालाई, एमालेकी शिल्पा उपमेयरको कुर्सी नजिक

    विराटनगर। विराटनगर महानगरपालिकामा चमत्कार हुन्छ भन्ने कुरा चुनावअघि नै कतिपय एमालेका नेताहरूले भन्ने गरेका थिए ।

    पूर्ण चमत्कार कठिन देखिए पनि एमालेले कसैले नसोचेको परिणाम उपमेयरमा हात पार्दै छ ।

    महानगरपालिकाको ४८ हजार २०९ मतगणना भइसक्दा एमालेकी उपमेयर उम्मेदवार शिल्पा कार्कीले मत अन्तर ५ हजारले कटाएकी छिन् ।

    गठबन्धनका तर्फबाट उपमेयर उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई ५२३३ मतले कार्कीले पछि पारेकी छन् । यो मतान्तर निरन्तर बढिरहेको छ ।

    कार्कीले १३ हजार १७९ मत प्राप्त गर्दा यादवले ७ हजार ९४६ मत मात्र प्राप्त गरेका छन् । विराटनगर महानगरको मेयरमा पाँच दलीय गठबन्धनले मेयर र उपमेयरमा चुनावी तालमेल गरेका थिए । तर मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रता लिई रहँदा गठबन्धनका तर्फबाट उपमेयर रहेका यादव निकै पछि परेका छन् ।

    शिल्पाको जित अब लगभग निश्चित देखिएको छ । शिल्पा प्रभावशाली उम्मेदवार देखेरै यादव पक्षले पटक पटक उनको उम्मेदवारी नै रद्द गराउन कहिले निर्वाचन आयोग त कहिले अदालत गुहारेको थियो ।

    उपमेयर उम्मेदवार उपेन्द्र यादवका छोरालाई कांग्रेसको कम मत जानु र जसपाकै नेता उमेश यादव मेयरमा बागी उठ्नुले पार्टीका सबै भोट पनि उनले पाएनन् ।

    यसका साथै कांग्रेसको मत पनि शिल्पामा गएको देखिन्छ । उम्मेदवार नै नभएको रुख चिन्हमा धेरै मत पर्नु पनि शिल्पाका लागि भाग्योदय बनेको हो ।

    को हुन् शिल्पा ?

    नेकपा एमाले युवा नेतृ शिल्पा कार्की महिला उद्यमीका रूपमा परिचित नाम हो । उपमेयर उम्मेदवार कार्कीले आफू निर्वाचित भए पाँच वर्ष महानगरबाट तलब भत्ता, सेवा– सुविधा नलिने घोषणासमेत गरिसकेकी छिन् ।

    २०३५ मंसिर १४ गते लहानमा जन्मिएका शिल्पाका बुवा स्व. गोपालबहादुर निरला र आमा रीता निरला हुन् । फेशन डिजाइनर रहेकी शिल्पा २०६० सालमा राजनीतिमा आबद्ध भएकी हुन् ।

    उनी एमाले विराटनगर महानगरको उपाध्यक्ष छिन् । फेसन डिजाइनमा डिप्लोमा गरेकी शिल्पाको विराटनगर ९ मेनरोडमा क्रिएभिड ह्यान्डल बुटिक रहेको छ । उनले अंग्रेजीमा स्नातकोत्तर गरेकी छन् । शिल्पाले विद्यालय तहको अध्ययन लहानमै गरेकी हुन् ।

    कोसी क्याम्पस विराटनगरबाट प्लस टू, महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र डिग्री क्याम्पस विराटनगर स्नातकोत्तर गरेकी छिन् ।

    विराटनगरमा आएदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएकी कार्कीले घरेलु तथा साना उद्योग महासंघ, लायन्स क्लब, रोटरी क्लब जस्ता संस्थाबाट सामाजिक अभियानलाई अगाडि बढाइरहेकी छिन् ।

    योगमाया फाउन्डेशन, उद्योग संगठनको महिला उद्यमी समितिको सल्लाहकार, जनपथ मावि विद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेर उनले काम गरिरहेकी छिन् ।

    महिलालाई उद्यमशीलता जोड्ने अभियानमा रहनु भएकी कार्की सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा रहेर गरिब तथा विपन्न वर्गका बालबालिकालाई विद्यालयसम्म पुर्‍याउने अभियान उत्तिकै मिहिनेतले गरिन् ।

    अखिल नेपाल महिला संघबाट नेकपा एमालेमा जोडिँदै राजनीतिमा होमिएकी नेकपा एमालेका हरेक अभियानमा सहभागी हुँदै आएकी छिन् । २०६२ ÷०६३ को जनआन्दोलनमा समेत शिल्पा अग्रपंतिमा थिइन् ।

    नेकपा एमाले विराटनगर महानगरपालिकाको उपाध्यक्ष हुँदै महानगरपालिकाको उपमेयरको उम्मेदवार छिन् ।

    महिलाहरूलाई संवैधानिक अधिकारबाटै वञ्चित गरिरहेको अवस्थामा उहाँले विराटनगरमा उम्मेदवारी दिँदा एक खालको उल्लास थपिएको थियो

  • १७ जिल्लामा एकल जिसस बन्ने मत तयार, कुन जिल्लामा कसको वर्चश्व ?

    १७ जिल्लामा एकल जिसस बन्ने मत तयार, कुन जिल्लामा कसको वर्चश्व ?

    काठमाडौं । मतगणना सकिएका जिल्लामध्ये १५ वटा जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले एकल मतका आधारमा जिल्ला समन्वय समिति बनाउने भएका छन् । गणना नसकिए पनि पूर्वी नवलपरासीमा एमालेको एकल जिसस बन्ने निश्चित देखिएको छ ।

    गणना सकिएका अधिकांश जिल्लामा गठबन्धन कायमै रहँदा एमाले जिल्ला समन्वय समिति बनाउनबाट बन्चित हुनेछ । तर दलहरुको तानाता हुँदा एक दुई भोटको अन्तर हुने भएकाले कतिपय जिल्लामा स्वतन्त्र र राप्रपा पनि निर्णायक हुने देखिएको छ ।

    हालसम्म गणना भएकामध्ये ओखलढुंगा, सोलुखुम्बु, दाङ, बर्दिया, डोटी र डडेलधुरामा कांग्रेस एक्लैको बहुमत पुग्ने भएको छ । ओखलढुंगामा कांग्रेसलाई एकल जिसस बनाउन आफैंले समर्थन गरेर अध्यक्ष जिताएका मानेभञ्ज्याङका धिरेन्द्र रुम्दालीको  मत भए पुग्छ ।

    त्यस्तै नेकपा एमालेले धनकुटा, अर्घाखाँची, मनाङ, मुस्ताङ र पाल्पामा एकल जिसस बनाउन सक्ने मत पाएको छ । त्यस्तै एमालेले लमजुङमा पनि एकल जिसस बनाउने मत पाएको छ ।

    पुर्वी नवलपरासीमा एमालेको एकल जिसस बन्ने लगभग निश्चित भए पनि कावासोती र मध्यविन्दू नगरपालिकाको मतगणना सकिएको छैन । ती दुवैमा एमाले अग्रता छ भने कावासोतीमा जित निश्चित भइसकेको छ ।

    नेकपा माओवादी केन्द्रले गोरखा, पुर्वी रुकुम, रोल्पा र पश्चिम रुकुममा एकल मतका आधारमा जिसस बनाउन सक्ने देखिएको छ । गणना बाँकी रहेका कतिपय जिल्लामा कांग्रेसले एकल जिसस बनाउन सक्ने आधारहरु देखिएका छन् ।

    स्थानीय तहका प्रमुख र उपप्रमुखले जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख र सदस्यलाई मत दिन पाउँछन् ।

  • फिदिम नगरपालिकामा गठबन्धन विजयी, मेयरमा कांग्रेस र उपमेयर माओवादी

    फिदिम नगरपालिकामा गठबन्धन विजयी, मेयरमा कांग्रेस र उपमेयर माओवादी

    पाँचथर । पाँचथरको फिदिम नगरपालिकामा गठबन्धनका उम्मेदवारले निर्वाचित भएका छन् ।

    गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा नेकपा माओवादीका राधाकृष्ण न्यौपाने निर्वाचित भएका हुन् ।

    मेयरमा काफ्लेले नेकपा एमालेका पृथ्वी लावतीलाई ५७५ मतले पराजित गरे ।

    काफ्लेले ९ हजार ८५५ मत ल्याउँदा लावतीले ९ हजार २८० मात्र मत पाए ।

    यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले एमाले, राप्रपा गठबन्धनका जगत थापा मगरलाई पराजित गरे ।

    न्यौपानेले ९ हजार ३६ मत ल्याउँदा थापाले ५ हजार ६३४ मत प्राप्त गरे ।

  • सुदूरपश्चिमको दुई तिहाइ परिणाम आउँदा प्रदेशसभाको सबैभन्दा ठूलो नेकपा एस निल, कसले कति जिते ? (सूची)

    सुदूरपश्चिमको दुई तिहाइ परिणाम आउँदा प्रदेशसभाको सबैभन्दा ठूलो नेकपा एस निल, कसले कति जिते ? (सूची)

    कैलाली । सुदूरपश्चिमका ६८ स्थानीय तहको नतिजा आइसकेको छ । ८८ स्थानीय तह रहेको सुदूरपश्चिममा ८८ स्थानीय तह मध्ये ३२ स्थानीय तहका जित हासिल गर्दै प्रदेशमा सबै भन्दा धेरै पालिका जित्ने पार्टी बनेको छ ।

    एमालेले २३ स्थानीय तह प्रमुख जित्दा माओवादी केन्द्रले १२ पालिका जितेको छ । एक जना स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

    अहिलेसम्म गठबन्धनमा रहेको एकीकृत समाजवादीले भने कुनै पनि पालिका प्रमुख जित्न सकेको छैन ।

    सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दलको हैसियत बनाएको एकीकृत समाजवादीले कुनै पनि पालिकामा प्रमुख नजितेको नेकपा एसका प्रदेश सचिव दिनेश सुवेदीले जानकारी दिए । अहिले सम्म प्रदेशमा दुई स्थानीय तहमा मात्रै उपप्रमुख पदमा एकीकृत समाजवादी उम्मेदवार विजयी भएका छन् ।

    गठबन्धनकै दलहरूबाट इमानदारिता नभएको हुँदा कुनै पनि स्थानीय तह प्रमुख जित्न नसकेको बताए ।

    नेकपा एमालेबाट विजयी २५ मध्ये १४ सांसद एकीकृत समाजवादीतिर लागेका छन् । प्रदेशमा ५२ सांसद छन् ।

    हालसम्म नतिजा प्रकाशित पालिकाहरूमा कहाँ कसले जिते ?

    नेपाली कांग्रेस

    १ डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद

    २ डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का

    ३ डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय

    ४ डोटीको सायल गाउँपालिका– धर्मराज जोशी

    ५ डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही

    ६ डोटीको शिखर नगरपालिका– दीर्घ बलायर

    ७ डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी

    ८ डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी

    ९ डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी

    १० डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी

    ११ डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी

    १२ अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद

    १३ अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद

    १४ अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद

    १५ अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद

    १६ अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल

    १७ बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी

    १८ बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल

    १९ बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा

    २० बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल

    २१ बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी

    २२ बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद

    २३ बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया

    २४ बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर

    २५ डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का

    २६ बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया

    २७ बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल

    २८ बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा

    २९ बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल

    ३० कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना

    ३१ बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम

    ३२ कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट

    नेकपा एमाले

    १ बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी

    २ बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी

    ३ दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर

    ४ बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द

    ५ दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी

    ६ डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा

    ७ कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना

    ८ बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया

    ९ कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी

    १० दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी

    ११ दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल

    १२ बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी ९लख्खाभाइ०

    १३ बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत

    १४ बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर

    १५ बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया

    १६ दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी

    १७ अछामको तुर्माखाद– डम्मरबहादुर बिसी

    १८ कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर

    १९ बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का

    २० बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की

    २१ बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही

    २२ कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू

    २३ अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरानेकपा

    माओवादी केन्द्र

    १ दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी

    २ दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी

    ३ दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे

    ४ डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की

    ५ डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला

    ६ दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी

    ७ बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द

    ८ बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा

    ९ डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट

    १० अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद

    ११ कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी

    १२ कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’

    स्वन्त्र

    १ बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी

  • माधव नेपालको गृह जिल्लामा नेकपा एसलाई सफलता, दुई नगरपालिकामा मेयर उपमेयर विजयी

    माधव नेपालको गृह जिल्लामा नेकपा एसलाई सफलता, दुई नगरपालिकामा मेयर उपमेयर विजयी

    वीरगन्ज । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको गृह नगर रौतहटको गौर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एकीकृत समाजवादीका शम्भु साह ले ६ हजार ३ सय ८१ मत प्राप्त गरी मेयरमा विजयी भएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अजय कुमार गुप्ताले ३ हजार ७ सय ५५ पाए । गुप्ता निवर्तमान मेयर हुन् ।

    उपमेयरमा पनि नेकपा एसकै शैलकुमारी साह ४ हजार ८ सय ९ मत पाई निर्वाचित भएकी छन् ।

    यसअघि लोसपाले जितेको गौरमा अहिले बहुमत वडासहित एकीकृत समाजवादीले जितेको छ ।

    एकीकृत समाजवादीले रौतहटको राजदेवी नगरपालिकामा पनि जित हात पारेको छ ।

    राजदेवीको मेयरमा भिखारीप्रसाद यादव र उपमेयरमा राजकुमारी देवी विजयी भएका छन् ।

  • बारेकोटको अध्यक्षमा गठबन्धनलाई पराजित गर्दै पत्रकार गिरी निर्वाचित

    बारेकोटको अध्यक्षमा गठबन्धनलाई पराजित गर्दै पत्रकार गिरी निर्वाचित

    सुर्खेत । प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष वीरबहादुर गिरी जाजरकोटको बारेकोट अध्यक्षमा निर्वाचित भएका छन् ।

    गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रबहादुर शाहलाई १०९ मतको अन्तरमा पराजित गर्दै उनले विजयी हासिल गरेका हुन् ।

    उनले ३९५४ मत ल्याए ।  शाहले ३८४५ मत पाए ।

    उपाध्यक्षमा नेकपा माओवादीका नरबहादुर गिरी विजयी भएका छन् । उनले ३६६३ मत ल्याए । उपाध्यक्षमा एमालेकी गीता कुमारी सिंह ३४०१ मत ल्याउँदा पराजित भइन् ।

  • पर्सागढी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमाले विजयी

    पर्सागढी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमाले विजयी

    वीरगन्ज । पर्साको पर्सागढी नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    मेयरमा गोकर्ण पाठक र उपमेयरमा पूजा चौधरी निर्वाचित भएका हुन् ।

    मेयरमा निर्वाचित पाठकले ६ हजार ६२४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोकनारायण यादवले ३ हजार ७३३ मत पाएका छन् ।

    उपमेयरमा निर्वाचित चौधरीले ७ हजार ६१६ मत ल्याएर निर्वाचित भएकी हुन् ।

    नेपाली कांग्रेसकी अर्चना चौधरीले ३ हजार ४३० मत ल्याएर दोस्रो भइन् ।यसअघि यो नगरपालिकामा पाठक पराजित भएका थिए ।

  • गोकर्णेश्वरको मेयरमा कांग्रेसका दीपक र उपमेयरमा एमालेका सन्नानी विजयी

    गोकर्णेश्वरको मेयरमा कांग्रेसका दीपक र उपमेयरमा एमालेका सन्नानी विजयी

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी भएका छन् । उपमेयरमा सन्नानी लामा विजयी भएकी छन् ।

    आज सम्पन्न नतिजाअनुसार मेयरमा विजयी रिसालले एमालेका उद्धव विष्टलाई ११४८ मतले पराजित गरेका हुन् ।

    नगरपालिकाका ९ वटै वडाहरूको मतगणना सम्पन्न हुँदा एमालेले उपमेयरसहित ४७ मध्ये २४ स्थानमा जित हात पारेको छ । नेपाली कांग्रेसले प्रमुख सहित २२ सदस्य जितेको छ। वडा नम्बर ४ को अध्यक्षमा भने स्वतन्त्रबाट उम्मेदवारी दिएर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन पाएका जयराम महत विजयी भएका छन् ।

    नेकपा एमालेले वडा नम्बर एक दुई र तीनमा वडाध्यक्षसहित प्यानल नै जितेको छ भने वडा नम्बर ६ र ७ मा अध्यक्ष जितेको छ ।

    त्यस्तै वडा नम्बर ८ मा अध्यक्ष बाहेक चार वटै सदस्य एमालेले जितेको छ । उता नेपाली कांग्रेसले भने वडा नम्बर ५ र वडा नम्बर ९ मा प्यानल नै जितेको छ उसले वडा नम्बर ४ मा तीन सदस्य वडा नम्बर ६ मा चार सदस्य तथा वडा नम्बर ८ को अध्यक्ष जितेको छ ।

  • पाँच दलको गठबन्धनलाई हराउँदै सन्धिखर्क नगरपालिकामा एमालेका मेयर/उपमेयर विजयी

    पाँच दलको गठबन्धनलाई हराउँदै सन्धिखर्क नगरपालिकामा एमालेका मेयर/उपमेयर विजयी

    रूपन्देही । पाँच दलको गठबन्धनलाई हराउँदै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    नगर प्रमुखमा एमालेका कृष्णप्रसाद श्रेष्ठले गठबन्धनको तर्फबाट कांग्रेसकी शान्ता भण्डारीलाई १ हजार ८ सय १ मतान्तरले पराजित गरे । श्रेष्ठले ११ हजार १ सय ३५ मत ल्याएर सन्धिखर्क नगरपालिका प्रमुखमा निर्वाचित भए । भण्डारीले ९ हजार ३ सय ३४ मत ल्याइन् ।

    उपप्रमुखमा एमालेकी मिश्रा आचार्यले गठबन्धनको तर्फबाट माओवादीका राजेन्द्र भुसाललाई ४ सय ७८ मतान्तरले पराजित गरिन् । आचार्यले ९ हजार ६ सय ४६ मत ल्याएर विजयी भइन् । भुसालले ९ हजार १ सय ६८ मत ल्याए ।

    २०७४ को स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ नगर प्रमुखमा उम्मेदवार थिए । त्यतिबेला कांग्रेस-माओवादीको चुनावी तालमेलमा कांग्रेसका कमलप्रसाद भुसालसँग ११ सय ३ मतान्तरले श्रेष्ठ पराजित भएका थिए । यसपालि श्रेष्ठ फराकिलो मतान्तरले विजयी भए । निर्वाचित श्रेष्ठको पार्टी एमालेले नगरको १२ वटा वडामध्ये वडा २, ६, ७ र ९ वडा अध्यक्षमा जित हासिल गरेको छ । माओवादीले वडा १० र कांग्रेसले वडा १, ३, ४, ५, ८, ११ र १२ वडा अध्यक्ष जितेको छ ।

    यसअघि जिल्लाको मालारानी र पाणिनि गाउँपालिकामा एमालेले अध्यक्ष उपाध्यक्ष जितिसकेको छ ।

    यसअघि १ मात्र पालिका जितेको यो जिल्लामा एमाले सचिव टोपबहादुर रायमाझीको रणनीतिक योजनाले गठबन्धनलाई हराउँदै नतिजा निकालेको हो ।

  • प्रदेश १ : २०७४ भन्दा बलियो बन्दै माओवादी

    प्रदेश १ : २०७४ भन्दा बलियो बन्दै माओवादी

    काठमाडौं । प्रदेश एकमा स्थानीय निर्वाचनको मत परिणाम अनुसार १३७ स्थानीय तह मध्य हाल सम्म ९९ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

    २०७४ मा ९ स्थानमा नेतृत्व लिन सफल भएको माओवादी केन्द्र यो स्थानीय निर्वाचनमा बलियो भएको देखिन्छ । हाल सम्म माओवादीले प्रदेशभरि १२ वटा स्थानीय तहमा नेतृत्व लिन सफल भएको छ भने १७ वटा स्थानीय तहमा उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

    हाल सम्म गणना भएका स्थानीय तह मध्य ताप्लेजुङको फाङतालुङ, मौवाखोला गाउँपालिकामा माओवादी उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् भने मिक्लाखोला, सिङदिङवा र सिरीजंघामा उपाध्यक्ष जित्न सफल भएको छ ।

    यसै गरी पाँचथरको मिक्लाजुङमा नेतृत्व माओवादीको रहेको छ, भने कुम्याक, तुम्वेवा, फलेलुङ, फाल्गुनन्दमा उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

    मोरङको मिक्लाजुङ, धनकुटाको छतरजोरपाटी, तेर्हथुमामा अठराई गाउँपालिका र संखुवासभाको मकालु गाउँपालिकामा पनि माओवादीले गाउँपालिका उपाध्यक्ष जित्न सफल भएको छ ।

    भोजपुरको आमचोक गाउँपालिमा अध्यक्ष उपाध्यक्ष दुवै पदमा माओवादीले विजय हासिल गरेको छ । कांग्रेस माओवादी गठबन्धन भएको राम प्रसाद राई गाउँपालिका र षडानन्द नगरपालिकामा उपाध्यक्ष जितेको छ ।

    माओवादीले सोलुखुम्बुको थुलुङ दुधकोशीमा अध्यक्ष उपाध्यक्ष र माप्यदु धकोशीमा उपाध्यक्षमा जीत हासिल गरेको छ ।

    माओवादीले ओखलढुंगामा भने एक गाउँपालिकामा चित्त बुझाएको छ । चिशंखुगढी गाउँपालिकामा निशान्त शर्मा बास्तोलाले जिल्लामै माओवादीको साख बँचाएका छन् ।

    खोटाङको जन्तेढुंगा र खोटेहाँङमा माओवादीका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन् भने साकेला गाउँपालिकामा उपाध्यक्ष र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा उपप्रमुखका उम्मेदवार निर्वाचित भएका छन् ।

    उदयपुरको ताप्ली, रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा माओवादीका अध्यक्ष निर्वाचित भएका छन् भने यहाँ माओवादीले गठबन्धनका कारण उपाध्यक्षमा कुनै स्थानीय तहमा आफ्नो जित हासिल गरेको छैन ।

    झापा र सुनसरीमा अहिले सम्मको मत परिणाम अनुसार माओवादीले कुनै पनि स्थानीय तहमा जीत हासिल गर्न सकेको छैन ।

    अहिले सम्मको परिणाम अनुसार प्रदेश १ मा कांग्रेस ५० स्थानीय तहमा जितहासील गर्दै पहिलो , दोस्रोमा एमाले ३१ स्थान, तेस्रोमा माओवादी १२ स्थानमा विजयी भएका छन् ।

    प्रदेश एकमा हाल सम्म सार्वजनिक भएको परिणाम अनुसार जनता समाजवादी पार्टीले दुई स्थानीय तहको नेतृत्व लिएका छन् भने नेकपा एकीकृत समाजवादी र राप्रपाले एक एक स्थानमा विजय भएका छन् ।

    प्रदेश एकका दुई स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवारले गाउँपालिकाको नेतृत्व लिन सफल भएका छन् ।

    १३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ५१, नेकपा एमालेले ६९, माओवादी केन्द्रले ९, मधेसी जनअधिकर फोरमले ३, राप्रपाले ३, सङ्घीय समाजवादी फोरमले २ स्थानमा परिणाम आफ्नो पक्षमा पारेका थिए ।

  • पर्साको ठोरी गाउँपालिकामा एमाले विजयी, माओवादीले गुमायो विगतमा जितेका पालिका

    पर्साको ठोरी गाउँपालिकामा एमाले विजयी, माओवादीले गुमायो विगतमा जितेका पालिका

    वीरगन्ज । पर्साको ठोरी गाउँपालिकामा माओवादीको विरासत तोड्दै एमालेले जित निकालेको छ ।

    गाउँपालिका अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा एमालेकै अगोकुलीकुमारी रेग्मी निर्वाचित भएका हुन् ।

    एमालेका श्रेष्ठले ४ हजार ४९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठले ३ हजार ३२९ मत ल्याएर दोस्रो भए । माओवादीका श्रेष्ठ २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए ।

    उपाध्यक्षमा निर्वाचित भएकी रेग्मीले ४ हजार २५९ मत ल्याइन् । माओवादीकी निरु तामाङले ३ हजार ४३ मत ल्याएर दोस्रो भइन् ।

  • कैलालीमा गठबन्धन : कसलाई कति नाफा ? एक्लै भएपनि सबैलाई चुनौती दिँदै रेशम चौधरीको पार्टी

    कैलालीमा गठबन्धन : कसलाई कति नाफा ? एक्लै भएपनि सबैलाई चुनौती दिँदै रेशम चौधरीको पार्टी

    कैलाली । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । १३ स्थानीय तह रहेको कैलालीमा चुरे, मोहन्याल, गोदावरी, बर्दगोरीको अन्तिम मत परिणाम आइरहेको छ । चार पालिका मध्ये बर्दगोरीया र चुरेको प्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    मोहन्यालको प्रमुखमा माओवादी र गोदावरीको प्रमुखमा नेपाली कांग्रेस विजयी भएका छन् ।

    अहिले यी चार पालिका बाहेक ९ स्थानीय तहमा मतगणना जारी छ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार अगाडि छन् । टीकापुर, जोशीपुर जानकी र भजनी नगरपालिकामा रेसम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम गरिरहेको छ ।

    गौरीगङ्गामा माओवादी केन्द्रले अग्रता बनाइरहेको छ भने कैलारीमा कांग्रेसले अग्रता बनाइरहेको छ । घोडाघोडीमा एकीकृत समाजवादी र लम्की चुहामा नेकपा एमाले अगाडी छ ।

    तालमेल कसलाई फाप्यो ?

    कैलालीका १३ पालिकामध्ये अघिल्लो स्थानीय तहको निर्वाचनमा कैलालीका ७ पालिका प्रमुखमा एमाले विजयी भएको थियो । ४ पालिका प्रमुखमा नेपाली कांग्रेस विजयी हुँदा माओवादीले दुई पालिका जितेको थियो ।

    अहिले कैलालीमा पालिका प्रमुखमा तीन दलीय गठबन्धन भए पनि यहाँका अधिकांश वडाहरूमा मित्रवत् प्रतिस्पर्धा भइरहेको छ । अहिले गठबन्धनको मार सबै भन्दा धेरै मारमा एमाले परेको छ ।

    एमाले विरुद्धको गठबन्धनका कारण एमाले सात पालिका प्रमुखबाट अहिले सम्म दुई पालिका प्रमुखमा झरेको छ । अन्यमा नतिजा आउन वाकी छ ।

    गठबन्धन गर्दा उत्साहित देखिएको कांग्रेस अहिले सम्म वडामा सबै भन्दा धेरै उम्मेदवारलाई जिताउन सफल भए पनि पालिकामा उत्साहजनक नतिजा ल्याउन सकेको छैन ।

    तीन दलीय गठबन्धन गरे पनि यस अघि प्रमुख उपप्रमुख दुवै जितेको सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा अझै कांग्रेस पछाडि छ । यहाँ स्वतन्त्र उम्मेदवार गोपाल हमालले अझै सम्म अग्रता बनाइरहेका छन् ।

    यसअघि कांग्रेसले जितेको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा पनि अहिले एमाले उम्मेदवार विजयी भइसकेका छन् ।

    अघिल्लो पटक कांग्रेसले जितेको जानकी र जोशीपुरमा अहिले सम्म रेसम चौधरीको पार्टी अगाडी छ ।

    अघिल्लो पटक एमालेले जितेको गोदावरीमा यस पटक कांग्रेसले जितेको छ भने अघिल्लो पटक माओवादीले जितेको कैलारी गाउँपालिका अहिले कांग्रेस अगाडि छ ।

    अघिल्लो स्थानीय तहमा कैलारी गाउँपालिका र भजनी नगरपालिका जितेको माओवादी अहिले दुवै पालिकामा पछाडि छ । तर, माओवादी अघिल्लो पटक एमालेले जितेको मोहन्यालमा विजयी भइसकेको छ भने एमालेले नै जितेको गौरिगंगा नगरपालिकामा अग्रता बनाएको छ ।

    तीन दलीय गठबन्धन हुँदा पनि कैलालीमा तीन दल मध्ये कुनै पनि दलले एकल रूपमा जिल्ला समन्वय समिति हाँक्ने गरी नतिजा ल्याउन भने सकस हुने देखिएको छ ।

    गठबन्धनमा नरहेर पनि पुराना पार्टीलाई अहिले कैलालीमा रेशम चौधरीको पार्टीले चुनौती दिइरहेको छ ।

  • जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साह १४ सय मतले अगाडि, गठबन्धन पाँचौ स्थानमा

    जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साह १४ सय मतले अगाडि, गठबन्धन पाँचौ स्थानमा

    जनकपुरधाम । मधेस प्रदेशका राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार मनोज साह अग्रता बढाउदै गएका छन् ।

    २५ वडा रहेको जनकपुरधाममा अहिलेसम्म १, २, ३, ४, ५, ६, २४ र २५ वडाको मतगणना सम्पन्न भइसकेको छ । प्राप्त परिणाम अनुसार स्वतन्त्र उम्मेदवार साह निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हिरा’ भन्दा १४ सय मतले अगाडि छन् ।

    स्वतन्त्र साह ४ हजार ४६६ मत ल्याउँदा एमालेका हिरा ३०२३ मत पाएका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि साह पार्टीको नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जसपाबीच गठबन्धन छ । गठबन्धनबाट जसपाका लालकिशोर साह मेयरका उम्मेदवार छन् । निवर्तमान मेयर समेत रहेका साह मात्र १ हजार २११ मत पाएर पांचौ स्थानमा छन् ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार मनोज चौधरी १ हजार २९९ मत ल्याएर तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो १ हजार २२४ मत ल्याएर चौथो स्थानमा छन् ।

    यस्तै नेपाली कांग्रेसबाट गठबन्धनका उपमेयर उम्मेदवार बनेका किशोरी साह ४ हजार ५९३ मतका साथ अग्रस्थानमा छन् । उनलाई नेकपा एमालेकी रुना झा पछ्याइरहेकी छन् । उनी अहिलेसम्म ३ हजार २७० मत ल्याएकी छन् ।

  • धनकुटाको सहिदभूमि गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    धनकुटाको सहिदभूमि गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    धनकुटा । जिल्लाको अन्तिम मतपरिणाम निकाल्दै सहिदभूमि गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

    एमाले र सत्ता गठबन्धनबीच भएको प्रतिस्पर्धामा ४२१४ मत प्राप्त गरी एमालेका मनोज राई अध्यक्षमा निर्वाचित भएका छन् ।

    निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा एसका उम्मेदवार जितबहादुर राईले ४०२७ मत पाएका छन् ।

    त्यस्तै उपाध्यक्षमा पनि एमालेकै रत्न ईश्वरी राई ४६७२ मतसहित विजयी हुँदा कांग्रेसका तोर्णबहादुर खड्का ३३७१ मतमा रोकिएका छन् ।

  • भरतपुर : रेणुको अग्रता २०२०, पौडेलले कटाए ५ हजार मत

    भरतपुर : रेणुको अग्रता २०२०, पौडेलले कटाए ५ हजार मत

    काठमाडौं । भरतपुर महानगरपालिकामा रेणु दाहालले २०२० मतको अग्रता लिएकी छन् ।

    ३० हजार ५५४ मतगणना हुँदा गठबन्धन उम्मेदवार दाहालले १११९५ मत पाएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले ९०७५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार ५ हजार मत कटाएका छन् । उनले ५००३ पाएका छन् ।

    यस्तै उपमेयर तर्फ गठबन्धन उम्मेदवार चित्रसेन अधिकारीको १३३५५ मत छ । एमाले राप्रपा गठबन्धन उम्मेदवार हिमला गुरुङको ७४४३ मत छ ।

  • लिखु तामाकोशीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

    लिखु तामाकोशीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

    मन्थली । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्ष नेकपा एमालेले जितेका छन् । अध्यक्षमा कांग्रेसका केशव महत ५ हजार ११२ मतसहित निर्वाचित हुँदा एमालेका कमल प्रसाद कडरिया ४ हजार ८ मतमा रोकिएका छन् ।

    त्यस्तै उपाध्यक्षमा एमालेकी दिपा पाख्रिन ४१२६ मतसहित निर्वाचित हुँदा कांग्रेसकी सरस्वती गुरुङ खड्का ३९३३ मतमा रोकिएकी छन् । यहाँ माओवादी र नेकपा एसको गठबन्धन थियो ।

    गठबन्धनबाट अध्यक्ष उम्मेदवार नेकपा एसका नवराज पौडेलजले १४२४ मत ल्याउँदा उपाध्यषमा माओवादी केन्द्रका धुर्व कार्कीले भने २७१९ मत प्राप्त गरेको छन् । माओवादी पक्षले अध्यक्षमा आफ्ना उम्मेदवारलाई नदिई कांग्रेसलाई सहयोग गरेकाले उपाध्यक्षको भन्दा १३ सय कम मत आएको नेकपा एसका नेताहरुले बताएका छन् ।

    पालिकाका ७ वडामध्ये तीनवटामा एमाले,दुईवटामा कांग्रेस र दुईवटामा माओवादी केन्द्र निर्वाचित भएका छन् ।

  • मतपत्रमै मतदाताको आक्रोश : ‘चोर नेताहरूलाई नो भोट’

    मतपत्रमै मतदाताको आक्रोश : ‘चोर नेताहरूलाई नो भोट’

    हेटौडा । हेटौँडा उपमहानगरपालिकाको जारी मतगणनामा नेताप्रति आक्रोश पोखिएको मतपत्र भेटिएको छ ।

    हेटौँडा उपमहानगरको वडा नम्बर ४ को मतगणनामा ‘मेरो मत चोर नेताहरुलाई नो भोट’ भन्ने लेखिएको मतपत्र भेटिएको हो ।

    हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालय मतदान केन्द्रको जारी मतगणनामा मतदाताले आक्रोश पोखेका हुन ।

    हिजो पनि वडा नम्बर ४ म नो भोट लेखेर क्रस गरिएको मतपत्र भेटिएको थियो ।