Category: स्थानीय निर्वाचन–२०७९

  • सुनसरीको रामधुनी नगरपालिकामा एमाले बिजयी, शंकर चौधरी मेयर र तारा थापा उपमेयर

    सुनसरीको रामधुनी नगरपालिकामा एमाले बिजयी, शंकर चौधरी मेयर र तारा थापा उपमेयर

    इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा कांग्रेसको वर्चश्व तोड्दै मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ ।

    एमालेका उम्‍मेदवार शंकललाल चौधरीले १३ हजार ३७२ मत ल्याएर मेयरमा निर्वाचित हुँदा नेपाली कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४०५ मत ल्याएर पराजित भए ।

    यस्तै नगरपालिकाको उपमेयरमा एमालेकी तारा थापाले १२ हजार २२० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी आशा कुमारी चौधरीले १० हजार ४९३ मत ल्याएर हारिन् ।

  • स्थापितको वडामा त्रिकोणात्मक प्रतिस्पर्धा, लौरो अघिअघि

    स्थापितको वडामा त्रिकोणात्मक प्रतिस्पर्धा, लौरो अघिअघि

    काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २८ मा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ ।

    स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् भने उनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले नजिकबाट पछ्याइरहेका छन् ।

    अहिलेसम्म २२२१ भोट गणना भइसकेकोमा बालेनको पक्षमा ५७१ भोट आएको छ । यस्तै, स्थापितले ५३९ र सिर्जनाले ५०७ भोट ल्याएका छन् ।

    बागबजार क्षेत्रमा पर्ने वडा नम्बर २८ एमाले उम्मेदवार स्थापितको वडा हो । उनले बागबजारस्थित पद्मकन्या क्याम्पसबाट भोट हालेका थिए ।

  • निर्वाचित भएको सात दिनभित्र पद तथा गोपनियताको शपथ लिइसक्नुपर्ने

    निर्वाचित भएको सात दिनभित्र पद तथा गोपनियताको शपथ लिइसक्नुपर्ने

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिलाई निर्वाचन भएको सात दिन भित्र पद तथा गोपयिनताको शपथ लिइसक्न निर्देशन दिएको छ ।

    निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको सात दिनभित्र सम्बन्धित जिल्ला न्यायाधीश समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने जनाएको हो ।

    यस्तै गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य र जिल्ला समन्वय समितिका उपप्रमुख र सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र पद तथा गोपनियताको शपथ लिनुपर्ने जनाएको छ । त्यसै अनुसार गर्न गराउन सम्बन्धित सबैलाई स्मरण गराएको हो । निर्वाचितस्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा शपतको ढाँचा रहेको छ ।

    यस्तै गाउँ सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले पन्ध्र दिनभित्र गाउँ सभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका चार जना महिला सदस्य र दलित वा अल्पसंङ्ख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका दुई जना सदस्य हुने व्यवस्था रहेको पनि आयोगले स्मरण गराएको छ ।

    नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको पन्ध्र दिनभित्र नगर सभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य र दलित वा अल्पसंङ्ख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका तीन जना सदस्यसमेत नगर कार्यपालिकाको सदस्य हुने व्यवस्था रहेको जनाएको छ । त्यसै व्यवस्थाबमोजिम गर्न पनि आयोगले सम्बन्धित निकायलाई स्मरण गराएकोछ । नेपालको संविधानको धारा २ सय १५ को उपधारा (४) र धारा २ सय १६ को उपधारा (४) यस्तो व्यवस्था गरिएको छ ।

  • केन्द्रीय सदस्य भएका अधिकांश वडामा एमालेका उम्मेदवार पराजित, कार्यकर्ता रुष्ट

    केन्द्रीय सदस्य भएका अधिकांश वडामा एमालेका उम्मेदवार पराजित, कार्यकर्ता रुष्ट

    सुर्खेत । दैलेख एमालेको ‘राम्रो जिल्ला’ मध्येमा पर्छ । तर यहाँ यसपालिको स्थानीय तह निर्वाचन परिणाम एमालेको पक्षमा आएन ।

    यसपालिको चुनावमा एमालेले पहिले जितेका दुई पालिकाबाहेक सबै गुमाएको छ । २०७४ सालमा एमालेले नारायण, चामुण्डा विन्द्रासैनी, आठबीस नगरपालिका, महावु, भैरवी, भगवतीमाई र ठाँटीकाँध गाउँपालिकामा जितेको थियो । यसपटक भने आठबीस नगरपालिका र नारायण नगरपालिकाबाहेक सबै पालिकामा एमाले पराजित भयो ।

    एमालेले काँग्रेसको गढ भनिएको डुंगेश्वर र गुराँस गाउँपालिकामा यसपटक विजय प्राप्त गरेको छ ।

    र रोचक के छ भने यहाँका केन्द्रीय नेताको वडामा भने एमाले पराजित भएको छ । केन्द्रमा यो जिल्लाबाट धर्मराज रेग्मी, सूर्यकुमारी श्रेष्ठ, मिनासिंह रखाल, लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढा, विष्णु रिजाल र प्रदेश अध्यक्ष विनोद कुमार शाह प्रतिनिधित्व गर्छन् ।
    एमालेबाट पोलिटब्यूरो सदस्य तथा दैलेख इन्चार्ज रहेका लक्ष्मीप्रसाद पोखरेल दुल्लु नगरपालिकाका हुन् । उनको नगरपालिकामा एमाले पराजित भएको छ । २०७४ सालको निर्वाचनमा उपप्रमुख सहितबहुमत वडा जितेको एमालेले यो पालिका प्रमुख जित्न सकेन । जिल्लाको इन्चार्ज रहेका पोखरेलले वडाअध्यक्ष जिताउन सफल भए पनि पालिका जिताउन नसकेको भन्दै आरोप खेपिरहेका छन् ।

    नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीको पालिका भगवतीमाई गाउँपालिकामा एमाले क्लीनस्वीप भएको छ । यहाँ एमालेले २०७४ सालमा पालिका जिते पनि यसपटक वडा अध्यक्षसमेत जित्न सकेन ।

    सात वडा रहेको भगवतीमाई गाउँपालिकामा एमाले तेस्रो भएपछि रेग्मीले पनि आरोप खेपिरहेका छन् ।

    एमाले केन्द्रीय सदस्य मिनासिंह रखालको नारायण नगरपालिका वडा नम्बर ९ पनि एमाले पराजित भएको छ ।

    सूर्यकुमारी श्रेष्ठ पनि एमालेका केन्द्रीय सदस्य हुन् । उनी नारायण नगरपालिका वडा नम्बर १ की हुन् । उनको वडामा जहिल्यै एमाले जित्दै आएको थियो । तर यसपालि भने यहाँ एमाले पराजित भएको छ ।

    दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको वडा नम्बर ६ मा पनि एमाले पराजित भएको छ । एमालेका केन्द्रीय सदस्य एवम् सांसद राजबहादुर बुढा, एमालेका मेयर उम्मेदवार सूर्यबहादुर शाहीले समेत प्रतिनिधित्व गर्ने वडामा नेता धेरै हुँदा पराजय भोग्नु परेको आरोप कार्यकर्ताले लगाएका छन् ।

    दुल्लु नगरपालिका– ११ प्रदेशसभा सदस्य शुशील थापाको वडा हो । यो वडा तत्कालीन कालभैरव गाविस थियो । यहाँ सधैं एमालेले जित्ने गरेको भए पनि यसपटक यो वडा पनि एमालेले गुमाएको छ ।

    यो नगरपालिकाको मेयर पदमा उठेका रुद्र शाहीले समेत आफ्नो वडामा कांग्रेसको भन्दा ५५ मत कम ल्याए, वडा गुमाए ।
    कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहले ठाँटीकाँध गाउँपालिकामा आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्षको टिकट दिलाए । शाह त पारजित भइन् नै, उनको वडा नम्बर एक समेत कांग्रेस जित्यो ।

    अहिले उनको वडासमेत जिताउन नसक्ने नेता भनेर आलोचना भइरहेको छ । यहीं पालिकाको वडा नम्बर ६ मा सभामुख राजबहादुर शाहीले समेत वडा जिताउन सकेनन् ।

    एमाले केन्द्रीय सदस्य विष्णु रिजाल र जिल्ला इन्चार्ज पोखरेलले मात्रै आफ्नो वडा जिताउन सफल भए । रिजालले भैरवी गाउँपालिकाको वडा नम्बर ५ जिताए । यो वडामा एमालेले पहिलोपटक जित हात पारेको हो । २०७४ सालमा पोखरेलको दुल्लु नगरपालिकाको वडा नम्बर ५ मा एमालेले हारेका थियो । तर यसपटक भने जितेको छ ।

  • मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गर्न आयोगको निर्देशन

    मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गर्न आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

    बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन निर्देशन दिइएको जानकारी दिए ।

    उनले ५ गतेसम्म सवै स्थानको परिणाम सार्वजनिक गर्ने भनिएपछि सम्भव हुन नसकेको बताए । त्यस्तै वैशाख ३० गते मतदान स्थगित भई पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा ४ दिनभित्र मत गणना कार्य सम्पन्न हुने उनले बताए ।

    त्यस्तै, आयोगले स्थानीय तह सदस्य निर्वाचनको सिलसिलामा देशका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा भएका कानूनविपरीत गतिविधिमा संलग्नलाई कारवाही गर्न निर्देशन दिएको प्रवक्ता पौडेलले बताए ।

    प्रवक्ता पौडेलले स्थानीय तह सदस्य निर्वाचनको परिणाम आउने क्रम जारी रहेको र निर्वाचन स्थगन भएका ३५ स्थानीय तहमा पुन मतदान भएको आयोगले जनाएको छ । अछामको साँफेबगरमा जेठ ६ गते र उदयपुरको त्रियुगा नगरपालिका वडा १२ र बाजुराको बुढीगंगा नगरपालिकाको सम्बन्धमा निर्णय हुन बाँकी रहेको छ  ।

    जेठ ५ गतेलाई स्थानीय तहका जनप्रतिनिधिको पदमा बहाल रहने अन्तिम मिति मानेर सो मितिसम्ममा वैशाख ३० मा सम्पन्न भएको मतदानको गणना कार्य सक्ने गरी निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई यसअघि नै आवश्यक निर्देशन गरिसकेको आयोगले स्मरण गराएको छ ।

  • मकवानपुरका नवनिर्वाचित स्थानीय तहका प्रमुखद्वारा शपथ ग्रहण

    मकवानपुरका नवनिर्वाचित स्थानीय तहका प्रमुखद्वारा शपथ ग्रहण

    हेटौँडा । मकवानपुरको स्थानीय तह निर्वाचनमा विजयी भएका प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । जिल्लाको १० मध्ये ८ स्थानीय तहको अन्तिम परिणाम आएसँगै  हेटौँडामा आयाेजित शपथ ग्रहण कार्यक्रममा सपथग्रहण  गरेका हुन् ।

    आज पहिलो चरणमा पाँच स्थानीय तहका प्रमुखले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । उनीहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।

    पहिलो चरणमा सपथग्रहण गर्नेहरुमा भीमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामा, इन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, राक्सिराङ गाउँपालिकाका राजकुमार मल्ल, मकवानपुर गढीगाउँपालिका दोर्जे लामा र बकैया गाउँपालिका धर्मराज लामिछाने रहेका छन्। बाँकी स्थानीय तहका प्रमुखलाई दोस्रो चरणमा सपथ ग्रहण गराइने बताइएको छ ।

  • कोर एरियाको पहिलो अपडेटः २०० मत गन्दा स्थापित एक्लैले ल्याए ११८

    कोर एरियाको पहिलो अपडेटः २०० मत गन्दा स्थापित एक्लैले ल्याए ११८

    काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर एरियाभित्र पर्ने यो वडामा एमालेका केशव स्थापितले सुरुवाती अग्रता लिएका छन् ।

    यो वडा महावौद्ध क्षेत्र पर्छ ।

    हामीलाई प्राप्त पहिलो अपडेट अनुसार २०० मत गन्दा स्थापित एक्लैले ११८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् ।

  • हेटौंडामा गठबन्धनकी मीना लामाको अग्रता कायमै, ४ नम्बर वडामा एमालेले जित्याे प्यानलै

    हेटौंडामा गठबन्धनकी मीना लामाको अग्रता कायमै, ४ नम्बर वडामा एमालेले जित्याे प्यानलै

    हेटौंडा । बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौंडामा मत गणना जारी रहेको छ । हालसम्म ५५ हजार २७१ मत गणना हुँदा मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता कायम गरेकी छन् ।

    लामाले हालसम्म १७ हजार १५८ मत प्राप्त गर्दा दोस्राे स्थानका नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १६ हजार १२६ र राप्रपाका द‍ीपकबहादुर सिंहले १५ हजार ४३१ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता जारी छ । गठबन्धनबाट कांग्रेसका राजेश बानियाँले २५ हजार ११३ मतसहित अग्रता कायम गर्दा एमालेकी सुमित्रा काफ्लेले १८ हजार ४७ मत ल्याएकी छन् । राप्रपाकी इन्दिरा न्यौपानेले ३ हजार ८८९ मत ल्याएकी छन् ।

    हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा भने नेकपा एमालेको प्यानलै विजयी भएको छ । गठबन्धनविरुद्ध उत्रिएको एमालेबाट वडाध्यक्षमा नवीन सिग्देल विजयी भएका हुन् । त्यस्तै वडा सदस्यहरुमा जनरल (जेन) श्रेष्ठ, जगन्नाथ पाण्डे, गीता त्रिपाठी र विष्णुमाया देउला विजयी भएका छन् ।

  • बझाङको केदारस्युँमा गठबन्धन विजयी, एमालेलाई हराउँदै नेकपा एसले जित्यो अध्यक्ष

    बझाङको केदारस्युँमा गठबन्धन विजयी, एमालेलाई हराउँदै नेकपा एसले जित्यो अध्यक्ष

    काठमाडाैं । बझाङको केदारस्युँ गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट एकीकृत समाजवादीका गणेशबहादुर बोहरा ४,३२१ मत ल्याई विजयी भएका छन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लोकेशबहादुर भण्डारीलाई १,९१३ मतान्तरले पराजित गरेका हुन् । पराजित लोकेशबहादुर भण्डारीले २,४०८ मत ल्याएका छन् ।

    उपाध्यक्षमा नेपाली कांग्रेसका मनिषा धामी गुर्धामी ३,९३१ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी नाराकुमारी गुर्धामीले २,१४९ मत ल्याएकी छन् ।

  • ८० प्रतिशत निर्वाचन परिणाम आइसक्यो : आयोग

    ८० प्रतिशत निर्वाचन परिणाम आइसक्यो : आयोग

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनको ८० प्रतिशत परिणाम आइसकेको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये ५७० स्थानीय तहको पूर्ण नतिजा आइसकेको जानकारी दिए ।

    ‘अहिलेसम्म ५७० स्थानीय तहको पूर्ण परिणाम आएको छ । १७४ नगर प्रमुख/उपप्रमुख, ३९६ गाउँपालिका अध्यक्ष/उपाध्यक्ष निर्वाचित भइसक्नुभएको छ । ३५ हजार २२१ जनप्रतिनिधिमध्ये २९ हजार ३0३ जना निर्वाचित भइसक्नुभयो’, प्रवक्ता पौडेलले भने ।

    पौडेलका अनुसार मतगणना बाँकी रहेका स्थानीय तहमा गणकहरुको संख्या बढाएर जतिसक्दो चाँडो परिणाम सार्वजनिक गराउन आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । पुनः मतदान भएका तहहरुको हकमा मतदान सम्पन्न भएको मितिले ४ दिनभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ ।

    जेठ ५ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने आयोगको लक्ष्य विभिन्न कारणले पूरा नभएको प्रवक्ता पौडेलले बताए । परिणाम नआएका स्थानीय तहहरु रिक्त हुने वा त्यसको संवैधानिक अवस्था के हुने भन्नेमा सरकारले नै निर्णय गर्नुपर्ने आयोगको भनाइ छ ।

    ‘जुन पालिकाहरुमा नयाँ पदाधिकारीहरुले पद सम्हाल्ने स्थिति हुँदैन, त्यहाँ केही दिनले त्यति ठूलो फरक त नपर्ला । तर, त्यो समयमा रिक्त हुन्छ वा हुँदैन वा के हुन्छ भन्नेमा निर्वाचन आयोगले भन्दा सरकार र संघीय मन्त्रालयले भन्नु उपयुक्त हुन्छ’, पौडेलले भने ।

  • सय मत गन्न बाँकी हुँदा सिरहामा हस्ताक्षरबिनाका मतपत्र भेटिए, कांग्रेस-एमाले कार्यकर्ताबीच झडप

    सय मत गन्न बाँकी हुँदा सिरहामा हस्ताक्षरबिनाका मतपत्र भेटिए, कांग्रेस-एमाले कार्यकर्ताबीच झडप

    जनकपुरधाम । सिरहाको धनगढीमाई नगरपालिकाको मतगणना स्थलमा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ ।

    वडा नम्वर ८ को मतगणना गर्दा मतदान अधिकृतको हस्ताक्षर नरहेको १७ वटा मतपत्र भेटिएपछि कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरे । एमाले कार्यकर्ताहरू बसेको टेन्टमासमेत ढुंगा हानेपछि दुवै पक्षका कार्यकर्ताबीच झडप भएको बताइएको छ ।

    कांग्रेस कार्यकर्ताहरू ढुंगामुढा गर्दा दुईवटा गाडीको सिसासमेत फुटेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । समस्या समाधानका लागि सर्वदलीय बैठक जारी छ ।

    मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि धाँधली भएको भन्दै कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका छन् । गणनाको क्रममा मेयरका प्रत्यासी कांग्रेस जिल्ला सभापतिसमेत रहेका पूर्वसांसद रामचन्द्र यादव पछाडि छन् ।

    नेकपा एमालेका मेयर उम्मेदवार शिवशंकर महतो सुरूदेखि नै अग्रता कायम राखेका छन् । करिब १ सय भोट मात्र गन्ना गर्न बाँकी रहेको र कांग्रेस हार्न लाग्दा बखेडा झिकेर लफडा गर्न खोजेको एमालेको आरोप छ ।

    निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीका अनुसार बिनाहस्ताक्षरको मतपत्र फेलापरेपछि विवाद हुँदा तत्काल मतगणना स्थगित भएको छ ।

  • गठबन्धनमा अपमान भएपछि पालिका अध्यक्षमा सिंगल भिड्दा नेकपा एसका केन्द्रीय नेतालाई १६० भोट

    गठबन्धनमा अपमान भएपछि पालिका अध्यक्षमा सिंगल भिड्दा नेकपा एसका केन्द्रीय नेतालाई १६० भोट

    ओखलढुंगा । गठबन्धनमा कांग्रेस र माओवादीले अपमान गरेको गुनासो गर्दै आएको नेकपा एकीकृत समाजवादीका एकजना केन्द्रीय सदस्य गठबन्धनबिना एक्लै गाउँपालिका अध्यक्षको चुनाव लड्न जाँदा जम्मा १६० मत पाएका छन् ।

    ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा सबै दल एक्ला एक्लै लड्दा नेकपा एसबाट केन्द्रीय सदस्य तथा जिल्लाका स्थापित नेता नेत्र भट्टराई अध्यक्षको उम्मेदवार थिए । ९ वटा वडा रहेको लिखु गाउँपालिकामा हेबिवेट नेता भट्टराईले पाएको मत भने दयनीय रह्यो ।

    उनले एउटा वडामा एक मत पनि पाउँन सकेनन् भने अरुमा कम्तीमा एकदेखि बढीमा ७४ सम्म मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पालिका अध्यक्षक्षमा कांग्रेसका अशोक कार्की ३७७६ मतसहित विजयी हुँदा एमालेका मिलन विष्टले ३४९२, माओवादी केन्द्रका एकिन्द्रराज कटुवालले ९३३, नेशनल मंगोल अर्गनाइजेशनका दावा शेर्पाले ३७, राप्रपाका बुद्धवीर पौडेलले १० र स्वतन्त्र उम्मेदवार राजनकुमार सुवेदीले १० मत पाएका छन् ।

    उपाध्यक्ष एमालेकी अस्मिता थापा ४११६ मतका साथ विजयी हुँदा कांग्रेसकी प्रेमकुमारी दाहालले ३०८३,माओवादीकी बिमला भट्टराईले ८४४ र नेकपा एसकी पूर्णकुमारी बुढाथोकीले १२५ मत पाइन् । उपाध्यक्षको भन्दा ४६ मत नेत्र भट्टराईले पाएका छन् ।

    गठबन्धनमा हेपिएपछि

    गठबन्धनमा छलफल चल्दा लिखु गाउँपालिका नेकपा एसले आफूले पाउनुपर्ने अडान नछाडेका कारण जिल्लामा गठबन्धन हुन सकेन । जिल्लामा अन्य कारणले गर्दा गठबन्धन नभएको भनिए पनि नेकपा एसका केन्द्रीय सदस्य नेत्र प्रसाद भट्टराईको गृहपालिका समेत भएका कारण पार्टीले गाउँपालिका अध्यक्षको दाबी गरिरहेको थियो ।

    सत्ता साझेदार अन्यदलहरुले यो कुराको वेवास्ता गर्दै जिल्लामा गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धामा उत्रने सहमती गरे र सबै दलले सबै स्थानीय तहमा आ-आफ्ना उम्मेदवार उठाए । नेकपा एसले सिद्धिचरण नगरपालिका र लिखु गाउँपालिकामा दाबी गरिरहेको थियो । पछि नेकपा एसलाई बाहिर राखेर कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए अन्य पालिकामा ।

    नेत्र भट्टराई लिखु क्षेत्रका मात्र नभएर जिल्लाकै पूराना र इमानदार कम्युनिष्ट हुन् । उनी नेकपा एमालेको जिल्ला कमिटी उपाध्यक्ष थिए । २०५४ मा उनी एमालेबाट जिल्ला विकास समितिको सदस्य पनि भए । पार्टी विभाजनपछि उनी नेकपा एसतिर लागेका थिए । यदि एमालेमा थिए भने उनी अध्यक्षका सर्वसम्मत उम्मेदवार हुन्थे र अध्यक्ष जित्ने पनि निश्चित थियो ।

    तर, नेकपा एसबाट उठ्दा पार्टीको केन्द्रीय सदस्य तहको नेताको मत कमजोर देखिएको छ । भट्टराईलाई गाउँपालिकामा रहेका ९ वटा वडाबाट जम्मा १६० मत आएको छ । उनलाई सबैभन्दा बढी वडा नं. ९ बाट ९४ मत आएको छ भने वडा नं. १ मा उनलाई एक मत पनि आएको छैन ।

    पार्टीका केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले आफ्नै वडामा चौथो मत अर्थात ५६ ल्याएका छन् भने संगठन बलियो भनिएको वडा नं. ८ मा समेत उनलाई ६ मत मात्र प्राप्त भएको छ । उनले वडा नं. २ मा एक, ३ मा पाँच, ४ मा १३ मत, ५ मा ३ मत र वडा नं. ७ मा ९ मत प्रप्त गरेका थिए ।

  • मधेसमा सांसदबाट राजीनामा दिएर मेयर लडेका कुशवाहा पराजित

    मधेसमा सांसदबाट राजीनामा दिएर मेयर लडेका कुशवाहा पराजित

    जनकपुरधाम । मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका नेपाली कांग्रेसका नेता उपेन्द्र कुशावाहा पराजित भएका छन् ।

    कुशवाहा सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का देवेन्द्रकुमार यादवले पराजित गरेका हुन् ।

    मेयरमा निर्वाचित यादवले ५ हजार २९४ मत ल्याएका छन् । कुश्वाहाले ४ हजार ७५२ मा समेटिए । उनी ०७४ को निर्वाचनमा पनि मेयरमा पराजित भएका थिए ।

    कुशवाहा मधेस प्रदेशमा नेपाली कांग्रेसका प्रमुख सचेतक थिए । राज्यमन्त्री सरह सुविधा पाइरहेका उनी मेयर बन्न राजिनामा दिए तर पराजित भएपछि विचल्लीमा परेका छन्।

    उपमेयरमा लोसपाकी अन्जना कुशवाहा ५ हजार ३०१ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रामसखी देवी ४ हजार ४९३ मत प्राप्त गरिन् ।

  • विराटनगरपछिको मोरङकै ठूलो सुन्दरहरैंचामा मतगणना जारी, मतान्तर घटाउँदै एमालेका गुरागाईँ

    विराटनगरपछिको मोरङकै ठूलो सुन्दरहरैंचामा मतगणना जारी, मतान्तर घटाउँदै एमालेका गुरागाईँ

    काठमाडौं । विराटनगर महागरपछि मोरङको सबैभन्दा धेरै मतदाता रहेको सुन्दर हरैंचा नगरपालिकाको मतगणना जारी रहँदा नेकपा एमालेका केदार प्रसाद गुराईँले मेयरमा आफ्ना मतान्तर घटाउँदै लगेका छन् ।

    हालसम्मको गणनामा कांग्रेसका शिवप्रसाद ढकाल १२ हजार ३४१ मतका साथ अग्रता लिइरहेका छन् । एमालेका गुरागाई १२ हजार १४५ मतका साथ पछ्याउँदैछन् । यसअघि १२ सयको अग्रता रहेकोमा वडा नम्बर ३,४, र १० को गणनापछि १९६ मा झरेको छ ।

    उपमेयरमा एमालेकी अक्कली चौधरीको जित लगभग निश्चित भइसकेको छ । चौधरीले १२ हजार ५७६ मतले अग्रता लिइरहँदा गठबन्धनबाट माओवादीका उम्मेदवार नवराज चापागाईको मत भने ७२४१ मात्र छ ।

    अघिल्लो निर्वाचनमा पनि गठबन्धनबाट ढकाल मेयर जित्दा गुरागाईँ पराजित भएका थिए । उपमेयर एमालेले नै जितेको थियो ।

  • शहीदनगरमा प्रचण्डको ‘जादु’ चलेन, जसपाका मेयर र कांग्रेसकी उपमेयर विजयी

    शहीदनगरमा प्रचण्डको ‘जादु’ चलेन, जसपाका मेयर र कांग्रेसकी उपमेयर विजयी

    जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाको मेयरमा जसपा र उपमेयरमा कांग्रेस विजयी भएको छ ।

    मेयरमा जसपाका दिनेश प्रसाद यादव ५ हजार ७४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुधिर कुमार गोइत ४ हजार १०५ मत ल्याएका छन् ।

    माओवादीबाट उम्मेदवार बनेका निवर्तमान मेयर उदय बरबरिया यादव कांग्रेस उम्मेदवार भन्दा पनि कम ४ हजार ७७ मत ल्याएका छन् । जबकी उनको भोट माग्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आएका थिए ।

    मौन अवधिको पूर्वसन्ध्यामा हेलिकप्टर लिएर शहिदनगर पुगेका माओवादी अध्यक्ष प्रचण्डले मेयरमा बरबरियालाई जिताउन मतदातासँग बिन्ती गरेका थिए । तर मतदाताले उनको बिन्ती नसुनेको मतपरिणामले देखाएको छ ।

    मेयर रहेका बेला जनताको आकांक्षा बमोजिम काम गर्न सकेका थिएनन् । त्यसैले उनलाई यो निर्वाचनमा जनता झट्का दिएका छन् ।

    उपमेयरमा नेपाली कांग्रेसकी सुनिता कुमारी सिंह निर्वाचित भएकी छन् । उनी ४ हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाकी लक्ष्मीनिया कुमारी मण्डल ४ हजार ७९१ मत प्राप्त गरिन् ।

     

  • कावासोती नगरपालिकामा गठबन्धन हराउँदै एमाले विजयी, ‘पानी बा’ बने नगर पिता

    कावासोती नगरपालिकामा गठबन्धन हराउँदै एमाले विजयी, ‘पानी बा’ बने नगर पिता

    नवलपुर । कावासोती नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका विष्णु भुसाल नगर प्रमुखमा विजयी भएका छन् । नेपाली कांगेसका महेन्द्र पोखरेललाई ३०४ मतान्तरले हराउँदै भुसाल विजयी भएका हुन् । भुसालले १८ हजार ६०८ मत र पोखरेलले १८ हजार ३०४ मत पाएका छन् ।

    २०७४ सालमा पनि एमालेबाट चन्द्रकुमारी पुनसँग पोखरेल पराजित भएका थिए । १७ वडा रहेको कावासोतीमा ८ वटा वडा जितेको थियो । यस पटक एमालेले १२ वटा वडासहित मेयर र उपमेयर जितेको छ । चन्द्रकुमारी पुनले थालेको विकास अभियानले एमालेलाई अहिले जित निकाल्न सहज भएको हो ।

    उपमेयरमा एमालेकै फूलकुमारी थनेतले माओवादीका पतिराम थारुलाई ५ हजार ४६३ मतान्तरले पराजित गरेकी छन् । थनेतले १९ हजार २४ मत ल्याएका छन् ।

    नगर चक्रपथ, फोहरमैलाको व्यवस्थापन, प्रशासनिक भवन निर्माण, वडा कार्यालयहरुको निर्माण, आमा स्वास्थ्य कार्यक्रम, विपन्न आवास कार्यक्रम, बोटे, माझी, मुसहरको घर निर्माण, सामुदायिक विद्यालयको शिक्षामा उल्लेखनीय सुधार, मानव र वन्यजन्तुको द्वन्द्व व्यवस्थापन, खानेपानी, केरुङ्गेखोला व्यवस्थापनको योजना निर्माण जस्ता कामले मतदाताले एमाले राजेको विश्लेषण भइरहेको छ ।

    २०५७ सालअघि काकाकुल रहेको कावासोतीमा खानेपानीको व्यवस्थापन गरेका भुसाल दुई वर्ष अगाडिसम्म कावासोतीको खानेपानीको नेतृत्व गरिरहेका थिए । कावासोतीमा पानी खुवाएकाले सबैले उनलाई ‘पानी बा’ भनेर सम्बोधन गर्ने गरेका छन् । खानेपानी अध्यक्षमा पनि भुसाल र पोखरेलको प्रतिस्पर्धा  हुँदा भुसाल नै विजयी भएका थिए ।

    अहिले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धनलाई हराउँदै एमालेले मेयर, उपमेयरसहित वडा नं १, ३, ४, ५, ६, ७, ८, १०, १२, १३, १४ र १७ जितेको छ । कांग्रेसले गत निर्वाचनमा ८ वटा वडा जितेकोमा यसपटक आधा घटेको छ । जसमा २, ९, ११ र १५ मा जितेको छ भने १६ मा माओवादीले जितेको छ ।

  • मतगणनास्थलमा पहिलोपटक पुगिन् सिर्जना सिंह, वडा नं ८ मा अग्रता जारी (तस्वीरहरु)

    मतगणनास्थलमा पहिलोपटक पुगिन् सिर्जना सिंह, वडा नं ८ मा अग्रता जारी (तस्वीरहरु)

    काठमाडौं । राष्ट्रिय सभागृहमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणनास्थलमा कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह पहिलोपटक आज पुगेकी छन् । काठमाडौंको वडा नम्बर ८ को मतगणना सुरु भएर त्यसमा उनले अग्रता लिएकै बेला सिंह मतगणना स्थल आएकी हुन् ।

    सभागृहभित्र प्रवेश गर्ने क्रममा म्यादी प्रहरीले केहीबेर उनलाई रोकेका थिए । सिर्जनाले बोकेको ब्याग भित्र लैजान नपाउने म्यादीले बताएपछि उनी ब्याग बाहिरै छाडेर भित्र पसिन् ।

    सिर्जनाले आफू मतगणना कसरी भइरहेको छ भनेर हेर्न आएको प्रतिक्रिया दिएकी छन् ।

    शनिबारबाट सुरु भएको मतगणनाको छैटौं दिन कांग्रेस उम्मेदवार सिंह पहिलोपटक मतगणनास्थल आएकी हुन् । एमाले उम्मेदवार केशव स्थापित भने अहिलेसम्म आएका छैनन् ।

    अहिले वडा नं ८ काे मत गणनामा सिंहले फराकिलाे अग्रता लिइरहेकी छन् । २०० मत गणना हुँदा उनले ९९ भाेट ल्याएकी छन् । दाेस्राेमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साहकाे ४० र एमालेका केशव स्थापितकाे १७ भाेट रहेकाे छ ।

  • ज्ञवाली र विष्टले गृहजिल्लामा पनि जोगाउन सकेनन् एमालेको विरासत

    ज्ञवाली र विष्टले गृहजिल्लामा पनि जोगाउन सकेनन् एमालेको विरासत

    रुपन्देही । एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको गृहजिल्ला हो, गुल्मी । अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाका १२ पालिकामा बहुमत जित निकालेको एमाले अहिले तीन पालिकामा सीमित भयो । अहिले पाँच पालिका जितेर कांग्रेस पहिलो, चार पालिका जितेर माओवादी दोस्रो र तीन पालिका जितेर एमाले तेस्रो भएको छ । यद्यपि उपाध्यक्ष एमालेबाट थप चारवटा पालिकामा जितेको छ ।

    एमाले विभाजनपछि नेकपा एस बनेको समयमा पनि यी दुवै नेताहरु एकजुट बनेपछि अघिल्लो निर्वाचनमा जितेका जनप्रतिनिधि कसैले त्यो पार्टी रोजेनन् । तर अहिले पार्टी विभाजनको असर, जिल्लाका १० पालिकामा भएको पाँच दलीय गठबन्धन, पार्टीभित्र टिकट वितरणमा देखिएका केही समस्याका कारण पार्टी यो अवस्थामा पुगेको हो । उसो त केही पालिकामा उम्मेदार दोहोरिएका कारण पनि पार्टीभित्रै असन्तुष्टि चुलिएको थियो ।

    एमालेबाट मुसिकोट नगरपालिकाको मेयरमा जीवलाल खरेल र उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित भए । छत्रकोटको अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्षमा सावित्रा ज्ञवालीले जित निकाले । सत्यवती गाउँपालिकाको अध्यक्षमा टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया तरामुले जिते । तर अघिल्लोपटक सजिलोगरी जितेका पालिका यसपटक गुमाएको छ ।

    एमालेका लागि यो नजिता आगामी प्रदेश तथा संघीय निर्वाचनका लागि पनि चुनौती हो । यहाँ कालीगण्डकी, रुरु र मदानेमा थोरै मतले अध्यक्षमा पराजित भएको छ भने उपाध्यक्षमा जितेको छ । धुर्कोटमा माओवादीसँगको गठबन्धनमा उपाध्यक्ष जितेको छ । स्थानीय कार्यकर्ताले नेताहरुको आन्तरिक किचलोकै कारण यहाँ एमालेले जित्न नसकेको सामाजिक सन्जालमा लेखिरहेका छन् ।

    यसअघि एमालेले जितेका रेसुंगा नगरपालिका, मदाने, गुल्मी दरबार, कालीगण्डकी र ईस्मा गाउँपालिकामा गठबन्धनको बलमा कांग्रेसले जित्यो । रेसुंगा नगरपालिकामा कांग्रेसका जिल्ला सभापति समेत रहेका खिलध्वज पन्थी मेयर र उपमेयरमा पनि कांग्रेसकै अमृतादेवी कुँवरले जितिन् । मदानेमा कांग्रेसका महेन्द्र कुँवरले जीत निकाले भने उपाध्यक्षमा एमालेबाट सरिता खड्काले बाजी मारिन् । गुल्मी दरबारमा कांग्रेसकै अध्यक्ष सरोज थापा र तारा थापाले उपाध्यक्षमा जीत निकाले ।

    गठबन्धनको फाइदा लियो माओवादीले

    सत्ताका लागि जोसँग पनि गठबन्धन गर्ने रणनीति माओवादीले गुल्मीमा पनि प्रयोग गरेको छ । १० पालिकामा सत्तारुढ दलसँग गठबन्धन गरेको माओवादी २ पालिकामा एमालेसँग गठबन्धन गरेर फाइदा लिएको छ । धुर्कोट र कालीगण्डाकीमा सत्तारुढ दलको गठबन्धन रणनीतिविरुद्ध उसले एमालेसँग गठबन्धन गरेको हो । उनीहरुको सहमतिमा ५ दलभन्दा बाहिर कुनै दलसँग गठबन्धन गर्न नपाइने औपचारिक नीति बनेको थियो । तर त्यो नीति गुल्मीमा पालना भएन माओवादीबाट र फाइदा लियो ।

    २०७४ सालमा एउटा पालिका मात्र जितेको माओवादीले यसपटक ४ पालिकामा जित निकालेको छ । धुर्कोट, मालिका, चन्द्रकोट र रुरु गाउँपालिकामा माओवादीले जित निकालेको छ ।

    एमालेको प्रभाव क्षेत्र मानिएको रूरूक्षेत्र गाउँपालिका एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको पालिका हो । यहाँ माओवादीले जित्यो । गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले एमालेका हिमाल श्रेष्ठलाई पराजित गरे ।

    सचिव गोकर्ण विष्टले ३ दशकदेखि शर्चश्व कायम राखेको ईस्मा एमालेले गुमाएको छ । गाउँपालिका प्रमुखमा कांग्रेसका भगतसिंह खड्काले एमालेका हिरा केसीलाई १२५ मतान्तरले पराजित गरेका छन् । कांग्रेस नेता डा. चन्द्र भण्डारीको गृह पालिका छत्रकोटमा एमालेका रामप्रसाद पाण्डेय अध्यक्षमा विजयी भए ।

    उपाध्यक्षमा एमालेकी सावित्रा ज्ञवाली विजयी भइन् । शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीको पालिका मदाने हो । मदानेमा समाजवादीका कुनै उम्मेदवार थिएनन् । समाजवादीले धुर्कोट र मुसिकोटमा उपाध्यक्ष, उपप्रमुख पाएको थियो तर धुर्कोटको उपाध्यक्षमा चन्द्र सुनार २ हजार ५०० बढी र मुसिकोटको उपप्रमुखमा श्रीराम महत पराजित भएका छन् ।
    उम्मेदवार दोेहोरिँदा समस्या

    मालिका गाउँपालिकामा अघिल्लोपटक जितेका रितबहादुर थापा यसपटक पराजित भए । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार देवीराम अर्यालले ६ हजार १७६ मतका साथ विजयी हुँदा थापा ४ हजार ६१७ मतमा सीमित भए ।

    उपाध्यक्षमा रनमाया पुनलाई पराजित गरी नेपाली कांग्रेसका उपेन्द्र अर्याल ६ हजार ३३४ मतका साथ विजयी भए । ईस्मा गाउँपालिकाको उपाध्यक्षमा एमालेले विमला खत्रीलाई दोहोर्याएर उम्मेदवार बनायो । एमाले सचिव गोकर्ण विष्टको गृह गाउँपालिकामा एमालेले भोगेको यो पराजयले आउने चुनावमा निश्चय नै क्षति पुर्याउने छ ।

    निवर्तमान उपाध्यक्ष विमलालाई पराजित गर्दै उपाध्यक्षमा कांग्रेसकी पार्वती कुँवर विजयी भइन् । अध्यक्षमा पनि कांग्रेसकै भगतसिंह खड्का ५ हजार ५८९ मतका साथ विजयी भए । एमालेले आफ्नो किल्ला बताउँदै आएको ईस्मा अहिले गठबन्धनको बलमा कांग्रेसले भत्कायो ।

    गुल्मीकै सत्यवती गाउँपालिकामा कांग्रेसका निवर्तमान अध्यक्ष पारिश्वर ढकाल पराजित भए । ढकाललाई हराउँदै यसपटक एमालेका टीकाराम पाण्डे (भीमप्रसाद) ले ६ हजार २६७ मतका साथ विजयी भए । दोहोरिएर उम्मेदवार बनेका ढकालले ५ हजार ६११ मत मात्र ल्याउन सके ।

    गुल्मीको चन्द्रकोट गाउँपालिकाको उपाध्यक्षमा दोहोरिएर राधिका अर्याल एमालेबाट उम्मेदवार थिइन् । तर, यसपटक अर्यालले जीत निकाल्न सकिनन् । उनी कांग्रेसका विष्णुप्रसाद भण्डारीसँग पराजित भइन् । भण्डारी ५ हजार १६ मतका साथ विजयी हुँदा अर्यालले ३ हजार ३४७ मत मात्र ल्याइन् ।

    गुल्मीकै कालीगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाकी तारा थापालाई पराजित गर्दै एमालेकी मन्जुकुमारी दर्लामीले बाजी मारिन् । थापालाई दर्लामीले १०० मतान्तरले हराइन् । थापाले ४ हजार ३८४ ल्याउँदा दर्लामीले ४ हजार ४८४ मत ल्याइन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका वेदबहादुर थापा ४ हजार ८१० मतका साथ दोहोरिएन निर्वाचित भए ।

    झाँक्रीको गृहजिल्लामा नेकपा एस नौ वडा सदस्यमा सीमित

    नेकपा एसकी केन्द्रीय सचिव एवम् सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहजिल्ला गुल्मीमा उक्त पार्टीका नौजना वडा सदस्यमा सीमित भएका छन् । जिल्लाका विभिन्न पालिकामा पाँच दलीय गठबन्धन बनाएर समाजवादीका सदस्यले निर्वाचनमा जित हासिल गरेका हुन् । जसअनुसार मदाने र मुसिकोटमा तीन–तीन, मालिकामा दुई र ईस्मा गाउँपालिकामा एकजना वडा सदस्यमात्रै विजयी भए ।

    मदानेमा ‘रुख’ चिन्ह लिएर वडानम्बर १ मा खिम बहादुर केसी, वडा नम्बर २ मा महेन्द्र जिसी र वडा नम्बर ३ मा सुन्तला विक वडा सदस्यमा विजयी भए । मालिकामा ‘हँसिया हथौडा’ चिन्ह लिएर वडा नम्बर २ मा तातीदेवी विक, वडा नम्बर ८ मा ‘रुख’ चिन्ह लिएर सागर गिरी निर्वाचित भएका छन् ।

    त्यस्तै ‘रुख’ चिन्हबाट इस्मा– ६ मा गोपाल सुनार, मुसिकोट – २ मा राधिका घिमिरे र रामबहादुर महत एवम् मुसिकोट –३ मा सावित्रा भण्डारी निर्वाचित भएको अध्यक्ष भण्डारीले जानकारी दिए । पार्टीले मुसिकोट र धुर्कोटमा उपमेयर, उपाध्यक्ष उठाए पनि सफलता पाएनन् । जिल्लाभरि समाजवादीका २० जना उम्मेदवार थिए ।

    गुल्मीमा कांग्रेसले पाँच, माओवादी केन्द्रले चार एवम् एमालेले तीन पालिकामा प्रमुख जितेका छन् । ०७४ को निर्वाचनमा एमालेले सात, कांग्रेसले चार एवम् माओवादी केन्द्रले एक पालिकामा प्रमुख जितेका थिए ।

    गुल्मीमा कसले कति मत ल्याएर जिते ?

    रेसुङ्गा नगरपालिकाः खिलध्वज पन्थी (८६१४) नेपाली कांग्रेस
    मुसिकोट नगरपालिकाः जीवलाल खरेल जीवन (७३९९) नेकपा एमाले
    ईस्मा गाउँपालिकाः भगतसिंह खड्का (५५८९) नेपाली कांग्रेस
    काली गण्डकी गाउँपालिकाः बेदबहादुर थापा (४८१०) नेपाली कांग्रेस
    गुल्मी दरबार गाउँपालिकाः सरोजकुमार थापा (६१६६) नेपाली कांग्रेस
    चन्द्रकोट गाउँपालिकाः युवराज खत्री (५७००) नेकपा माओवादी केन्द्र
    छत्रकोट गाउँपालिकाः रामप्रसाद पाण्डे (६५८६) नेकपा एमाले
    धुर्कोट गाउँपालिकाः भूपाल पोखरेल (६०८९) नेकपा माओवादी केन्द्र
    मदाने गाउँपालिकाः महेन्द्रबहादुर कुँवर (४७०७) नेपाली कांग्रेस
    मालिका गाउँपालिकाः देवीराम अर्याल (६१७६) नेकपा माओवादी केन्द्र
    रुरुक्षेत्र गाउँपालिकाः यदु ज्ञवाली (५८१७) नेकपा माओवादी केन्द्र
    सत्यवती गाउँपालिकाः टीकाराम पाण्डे, (६२६७) नेकपा एमाले

  • कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकामा एमाले विजयी, मोहनमायाले फकाइन् गुमेको विरासत

    कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकामा एमाले विजयी, मोहनमायाले फकाइन् गुमेको विरासत

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई पराजित गर्दै मोहनमाया ढकाल मेयर र नीलकण्ठ खनाल उपमेयरमा निर्वाचित भएका छन् ।

    एमालेको प्रभावक्षेत्र रहेको विरेन्द्रनगरमा अघिल्लोपटक मेयरमा कांग्रेस जित्दा उपमेयर मोहनमाया जितेकी थिइन् । यसपटक एमालेले उनैलाई मेयरका लागि अघि बढाएको थियो ।

    मतगणना सम्पन्न भएर औपचारिक रुपमा विजय घोषणा गर्न भने बाँकी रहेको छ । तर एमालेले विजय जुलुस निकालिसकेको छ ।

  • काठमाडौं- ८ को गणना सुरु  : १०० मत गन्दा सिर्जना सिंहको लिड, स्थापितको एक भोट

    काठमाडौं- ८ को गणना सुरु : १०० मत गन्दा सिर्जना सिंहको लिड, स्थापितको एक भोट

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ८ को मतगणना सुरू भएको छ । सुरूवाती १०० मत गन्दा नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् ।

    प्राप्त विवरणअनुसार सिंहले ४८ भोट ल्याउँदै अग्रस्थान कायम गरेकी हुन् । उनलाई स्वतन्त्र उम्मेदवार बालेन शाहले पछ्याएका छन् । उनको २२ भोट आएको छ । एमालेका केशव स्थापितलाई अहिलेसम्म १ भोट मात्रै प्राप्त भएको छ ।

    काठमाडौं-८ पशुपति क्षेत्रमा पर्छ । यो वडा कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो ।

    समग्र मतपरिणाममा भने बालेन अन्य उम्मेदवारहरूभन्दा धेरै अगाडि छन् ।