Category: स्थानीय निर्वाचन–२०७९

  • बान्नीगढी-४ मा ३० वर्षपछि कांग्रेसको किल्ला भत्कियो

    बान्नीगढी-४ मा ३० वर्षपछि कांग्रेसको किल्ला भत्कियो

    मंगलसेन । अछामको बान्नीगढी जयगढ गाउँपालिका- ४ तिमिल्सैनमा नेपाली कांग्रेसको परम्परागत गढ भत्किएको छ । ३० वर्षपछि नेकपा एमालेले कांग्रेसको किल्लामा गठबन्धनलाई पराजित गर्दै विजय हात पारेको हो ।

    तिमिल्सैनमा एमाले उम्मेदवार किरणबहादुर खत्रीको प्यानलै विजयी भएको हो । एमाले उम्मेदवार खत्रीले ३७९ मत प्राप्त गरी जित हासिल गरे । नेपाली काँग्रेसका उम्मेदवार दान बहादुर ठकुल्लाले २९९ मत प्राप्त गरे ।

    एमाले प्यानलबाट सदस्यहरुमा झुप्री ठकुल्ला, दलित महिला सदस्य खुश्बु आउजी, खुल्ला सदस्य झँकर बोहोरा र विष्णुप्रसाद तिमिल्सिना विजयी भए ।

    बान्नीगढी गाँउपालिकाको तिमिल्सैनमा २०४९ सालयता निरन्तर कांग्रेस विजयी हुँदै आएको थियो । अछाममा तिमिल्सैन र गाज्रालाई नेपाली कांग्रेसका परम्परागत गढका रुपमा लिइन्छ ।

    एमाले सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष एवं पुराना वामपन्थी नेता कमल तिमिल्सिनाको गृह वडा भएकाले पनि तिमिल्सैनको निर्वाचनलाई महत्वका साथ हेरिएको थियो ।

  • जितेको भोलिपल्टै डोजर लिएर काममा खटिए हेटौडा-२ का अध्यक्ष

    जितेको भोलिपल्टै डोजर लिएर काममा खटिए हेटौडा-२ का अध्यक्ष

    हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका-२ का नवनिर्वाचित वडाध्यक्ष विष्णुगोपाल महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काम थालेका छन् । उनले हेटौंडा-२ को को संगमचोकको सडकको स्तरीकरण गर्न सुरु गरेका हुन् ।

    वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरेअनुसार आफूले सडक स्तरीकरणको काम सुरु गरेको महर्जन बताउँछन् । कांग्रेसबाट उम्मेदवार बनेका महर्जन वडामा बागी उम्मेदवारसहित एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    हेटौंडा उपमहानगरपालिकाबाटै अनिवार्य अवकाशप्राप्त इन्जिनियर महर्जन मकवानपुरमा होटल व्यवसाय, स्वास्थ्य संस्था सञ्चालकको रूपमा क्रियाशील छन् ।

  • सुदूरपश्चिम प्रदेशसभामै ठूलाे दल नेकपा एकीकृत समाजवादी २ वटा पालिका प्रमुखमा सीमित

    सुदूरपश्चिम प्रदेशसभामै ठूलाे दल नेकपा एकीकृत समाजवादी २ वटा पालिका प्रमुखमा सीमित

    कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल हो । ५१ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका १४ जना सांसद छन् ।

    नेकपा एस प्रदेशसभामा मात्रै होइन प्रदेश सरकारमा पनि सबैभन्दा धेरै मन्त्री पाउने पार्टीमध्ये एक हो । माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी र एकीकृत समाजवादीको मन्त्री बराबर छन् ।

    प्रदेश सरकारमा दुई मन्त्री र दुई राज्यमन्त्री रहेकाे नेकपा एसले मन्त्रीकाे संख्या जति पनि पालिका प्रमुख जित्न सकेन ।

    अहिलेसम्म अन्तिम परिणाम आएका ८८ वटा स्थानीय तहमध्ये एकीकृत समाजवादीले दुई पालिका प्रमुखमात्रै जितेको छ । उसले कैलालीको घोडाघोडी नगरपालिका र बझाङको केदारस्युँ गाउँपालिका जितेको छ ।

    घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका थिए । रावतले १३ हजार १२८ मत ल्याउँदा चौधरीले ८२४१ मत पाएका थिए ।

    बझाङकाे केदारस्युँमा पनि एमालेका लोकेशबहादुर भण्डारीलाई १ हजार ९१३ मतले पछि पार्दै एकीकृत समाजवादीका गणेश बोहरा विजयी भए ।

    सुदूरपश्चिमका अधिकांश जिल्लामा नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेको छ । कतै तीनदलीय गठबन्धन भएको छ भने कतै माओवादी र एकीकृत समाजवादीको मात्रै पनि गठबन्धन भएको छ । तर, गठबन्धन हुँदा पनि नेकपा एकीकृतले अपेक्षित नतिजा निकाल्न सकेको छैन ।

    कैलालीको दुई पालिकामा तीनदलीय गठबन्धन गरेर एकीकृत समाजवादीले तीन पालिका प्रमुख र एउटा उपप्रमुख पाएको थियो । तर, घोडाघोडीबाहेक अन्य पालिकामा एमाले विजयी भयो ।

    एकीकृत समाजवादीले उपप्रमुख पाएकाे गोदावरी नगरपालिकामा कांग्रेसका प्रमुख उम्मेदवार विजयी भए । तर, उपप्रमुखमा उसकाे उम्मेदवार विजयी भएन ।

    कञ्चनपुरमा माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए । त्यहाँ पनि अहिलेसम्म कुनै पनि पालिका प्रमुखमा एकीकृत समाजवादीले जित्न सकेको छैन । यसअघि नै कञ्चनपुरको वेदकोट नगरपालिका प्रमुख र पुनर्वासको नगर प्रमुख एकीकृत समाजवादीमा लागेका थिए । अहिले ती दुवै पालिका जित्न पनि सकस भइरहेको छ ।

    गठबन्धनमा रहेका दलहरूले इमानदारिता नदेखाएका कारण अनपेक्षित नतिजा आइरहेको एकीकृत समाजवादीका नेताहरूको ठहर छ । ‘हामीले इमानदारिता देखाएको जस्तो गरी अन्य दलले इमानदारिता देखाएनन्’, एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सचिव दिनेश सुवेदीले भने, ‘गठबन्धनमै रहेका दलहरूबाट केही समस्या भयाे ।’

  • तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस निर्वाचित

    तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस निर्वाचित

    तनहुँ । तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । आज सम्पन्न मत परिणामअनुसार मेयरमा आनन्दराज त्रिपाठी र उपमेयरमा उमा गोतामे विजयी भएका छन् ।

    त्रिपाठीले १२ हजार २५२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सीताराम बजगाईंले नौ हजार ४३ मत प्राप्त गरेको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए।

    उपप्रमुखमा गोतामे १० हजार ५४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत प्राप्त गरेका छन् । ४० हजार ९६६ मतदाता रहेको भानुमा २५ हजार ५७२ मत खसेको थियो ।

    तेह्र वडामध्ये कांग्रेसले नौ, एमालेले दुई र स्वतन्त्रले दुई वडामा विजय हासिल गरेको छ । भानु–१ को वडाध्यक्षमा कांग्रेसका कान्छीमाया तामाङ, वडा नं २ को अध्यक्षमा एमालेका केशव त्रिपाठी, ३ को अध्यक्षमा कांग्रेसका तुलकुमार गुरुङ, ४ को अध्यक्षमा कांग्रेसकै अर्जुनबहादुर बोहोरा, ५ को अध्यक्षमा कांग्रेसका नहकूल अधिकारी, ६ को अध्यक्षमा कांग्रेसका धीरेश खनाल, ७ को अध्यक्षमा कांग्रेसका खुमप्रसाद श्रेष्ठ, ८ को अध्यक्षमा कांग्रेसका ईश्वरबहादुर घिमिरे, ९ को अध्यक्षमा एमालेका मिन गुरुङ, १० को अध्यक्षमा कांग्रेसका हरिहर उप्रेती, ११ को अध्यक्षमा स्वतन्त्रका विमलराज जोशी, १२ को अध्यक्षमा कांग्रेसका बेलबहादुर अधिकारी र १३ को अध्यक्षमा स्वतन्त्रका कृष्णबहादुर अधिकारी विजयी भएका छन् ।

  • ६३८ पालिकाको गणना सकिँदा २८३ ठाउँ जितेर कांग्रेस अगाडि, कसले कति जिते ?

    ६३८ पालिकाको गणना सकिँदा २८३ ठाउँ जितेर कांग्रेस अगाडि, कसले कति जिते ?

    काठमाडौं । हालै सम्पन्न स्थानीय चुनावअन्तर्गत देशका ७५३ स्थानीय तहमध्ये ६३८ वटामा गणना सकिएको छ ।

    निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा बढी पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । क्रमश: नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), छन् ।

    कांग्रेसले मतगणना सम्पन्न भएका पालिकामध्ये २८३ वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । अन्तिम मतपरिणाम आएकामध्ये ४४.३५ प्रतिशत पालिकाको प्रमुख तथा अध्यक्ष कांग्रेसले जितेको छ ।

    यस्तै, एमालेले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको मतगणना सम्पन्न भएका पालिकाको २७.८९ प्रतिशत हो ।

    माओवादीले १११ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सकिएका पालिकामध्ये १७.३९ प्रतिशतमा माओवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवार विजयी बनेका छन् ।

    जसपाले २० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालिसकेको छ । यो भनेको कूल मतगणना सम्पन्न भएका पालिकाको ३.१३ प्रतिशत हो ।

    एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएकामध्ये २.१९ प्रतिशत पालिकामा एकीकृत समाजवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवारले जितेका छन् ।

    लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको कूल मतगणना सम्पन्ना भएका पालिका प्रमुख तथा अध्यक्षको १.०९ प्रतिशत हो ।

    आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सम्पन्न भएका पालिकामध्ये ३.९१ प्रतिशतको प्रमुख तथा अध्यक्ष पदमा साना दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

  • काठमाडौं–९ को मतगणना सुरुः १०० भोट गन्दा उपमेयरका २१ भोट बदर

    काठमाडौं–९ को मतगणना सुरुः १०० भोट गन्दा उपमेयरका २१ भोट बदर

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ को मतगणना सुरु भएको छ । १०० मत गणना सकिँदा स्वतन्त्र उम्मेदवार बालेन साहले प्रारम्भिक अग्रता लिएका छन् ।

    प्राप्त विवरण अनुसार बालेनको ४८ भोट आएको छ भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९ भोट ल्याएर दोस्रो स्थानमा छिन् । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितको १४ भोट आएको छ ।

    यस वडामा उच्च संख्यामा भोट बदर भएका छन् । अहिलेसम्म मेयरको ११ र उपमेयरका २१ भोट बदर भएको स्रोतले जानकारी दियो । यस्तै वडाध्यक्षको ५ भोट बदर भएको छ ।

  • अछामको साँफेबगरमा पुनः मतदान जारी

    अछामको साँफेबगरमा पुनः मतदान जारी

    अछाम । अछामको साँफेबगर नगरपालिका–१३ को राष्ट्रिय मावि, बाबलामा आज पुनः मतदान भइरहेको छ । मतदानका क्रममा हालसम्म शान्तिपूर्ण वातावरण कायम रहेको जनाइएको छ । गत वैशाख ३० गतेको मतदानमा हुलदङ्गा र विवादका कारण त्यहाँ पुनः मतदानको मिति तय गरिएको हो ।

    वैशाख ३० गते देशभरका स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सञ्चालन भएकामा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई स्थगित हुन पुगेका अधिकांश केन्द्रमा मतदान सम्पन्न भइसकेको छ ।

    स्थगन भएका ८५ केन्द्रमध्ये उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं १२ र बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदानबारे आयोगबाट निर्णय हुन बाँकी छ । बूढीगङ्गा नगरपालिको मतदानबारे छानबिन गर्न निर्वाचन आयोगले आयुक्त सगुनशम्शेर राणाको नेतृत्वमा गठन गरको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ ।रासस

  • वडाध्यक्षका ५ उम्मेदवार, जसले आफैंलाई हालेनन् भोट

    वडाध्यक्षका ५ उम्मेदवार, जसले आफैंलाई हालेनन् भोट

    हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ५ जनाले आफैंलाई भोट नहालेको पाइएको छ ।

    हेटौंडाको १९ वटा वडामध्ये १३ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा ७ वटा वडामा नेपाली कांग्रेस ६ वटा वडामा एमाले विजयी भएको छ । हेटौंडाको मतगणनामा विभिन्न वडाका ५ जना स्वतन्त्रबाट वडा अध्यक्षका उम्मेदवारले शून्य मत पाएका छन् भने ३ जना स्वतन्त्र उम्मेदवारले एक(एक मत मात्रै पाएका छन् ।

    स्वतन्त्रबाट २ मा वडाध्यक्षका उम्मेदवार रमेश बहादुर थिङ, ६ मा शिवप्रसाद गौतम, १५ मा कृष्णलाल स्याङतान, प्रेमबहादुर भोमजन र १८ मा युवराज खड्काले एक मत पनि ल्याउन सकेनन् ।

    स्वतन्त्रबाट हेटौंडा–१५ बीरबहादुर थिङ, हेटौंडा–१६ का निरन्जनप्रसाद दहाल र हेटौंडा १९ का रत्न बहादुर भ्लोनले एक(एक मत मात्र ल्याएका छन् ।

     

  • काठमाडौं उपमेयर : सुनिता  १८६१२ मतले अगाडि

    काठमाडौं उपमेयर : सुनिता १८६१२ मतले अगाडि

    काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलले मतान्तर बढाउँदै लगेकी छन् ।

    बिहान ११ बजेसम्म ७३९०९ मत गणना सकिएको छ । सुनिता १८६१२ मतले अगाडि छिन् । उनले २७५२६ मत प्राप्त गरेकी छन् । नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ८९१४ मत ल्याएका छन् ।

    राप्रपा उम्मेदवार बिनिता मगैयाले ६००९ मत प्राप्त गरेकी छन् ।

  • सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

    सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ ।

    सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए । उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए । खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ ।

    बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए । उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएको थियो । सदस्यमा उनीसित एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए ।

  • कोर एरियाका ३ वटा वडामा मतगणना जारी, स्थापित अगाडि

    कोर एरियाका ३ वटा वडामा मतगणना जारी, स्थापित अगाडि

    काठमाडौं । काठमाडौंको कोर एरियाका रुपमा चिनिने ३ वटा वडाको मतगणना अहिले जारी छ । यीमध्ये २ वटा वडामा एमालेका उम्मेदवार केशव स्थापितले र एउटामा स्वतन्त्र उम्मेदवार बालेनले अग्रता लिएका छन् ।

    हाल कोर एरियाभित्रका वडा नम्बर २५, २६ र २७ को मतगणना भइरहेको हो । कुल मिलाएर यी ३ वटा वडामा १४९२ भोटको गणना सकिएको छ । जसमा ४५१ मत ल्याएर स्थापित अग्रस्थानमा छन् ।

    दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंह छिन् । तीनवटै वडा गरी उनको ३३१ भोट आएको छ ।

    यस्तै तेस्रोमा रहेका बालेनले २६६ भोट ल्याएका छन् ।

    वडा नम्बर २७ मा कायम गरेको भारी अग्रताले स्थापितको अंक बढी भएको हो । यो वडामा १२९२ मत गणना भइसक्दा स्थापितले ४११ मत ल्याएका छन् । रुखमा ३०० र लौरोमा २१० भोट परेको छ ।

    वडा नम्बर २५ र २६ को भर्खरै मतगणना सुरु भएको हो । यी दुवै वडामा १००/१०० भोट गणना भएका छन् । जसमध्ये २६ वडामा ३८ मत ल्याएर बालेन अगाडि छन् । सूर्य र रुखको क्रमशः २० र १५ भोट आएको छ ।

    वडा नम्बर २५ मा स्थापित अगाडि छन् । उनले २० भोट ल्याउँदा लौरोमा १८ र रुखमा १६ भोट आएको छ ।

  • काभ्रेको रोशीमा गठबन्धनको जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी

    काभ्रेको रोशीमा गठबन्धनको जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले जित हात पारेका छन् । अध्यक्षमा कांग्रेसका दिनेश लामा विजयी भए भने माओवादीका मिमबहादुर वाइबा निर्वाचित भए ।

    लामाले ७ हजार ५३४ मत पाए भने प्रतिस्पर्धी नेकपा एमालेका देवसागर लामाले ६ हजार ३५८ मत प्राप्त गरे ।

    उपाध्यक्षमा विजयी माओवादी केन्द्रका वाइबाले ६ हजार ६७२ मत ल्याउँदा प्रतिस्पर्धी एमालेकी बबिता बोहोराले ५ हजार ९४३ पाइन् ।

  • पाल्हीनन्दनमा माओवादीलाई हराउन सकेन कांग्रेसले

    पाल्हीनन्दनमा माओवादीलाई हराउन सकेन कांग्रेसले

    रुपन्देही । माओवादी केन्द्रले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा दाेस्राेपटक जित निकालेकाे छ ।

    माओवादीबाट यसअघि अध्यक्ष बनेका बैजुप्रसाद गुप्ता (दीपक) नेपाली कांग्रेसका राजेन्द्रप्रसाद सहानीलाई ८६ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन्। गुप्ताले ४३८१ मत ल्याउँदा सहानीले ४२९५ मत ल्याए। सहानी यसअघि पनि गुप्ताकै प्रतिस्पर्धी  थिए ।

    उपाध्यक्षमा भने कांग्रेसकी सकिना फतिमा खातुनले माओवादी केन्द्रकी पावित्री कोहाँरलाई ५१३ मतान्तरले पराजित गरेकी छन् । खातुनले ३६९८ ल्याउँदा कोहाँरले ३१८५ मत ल्याइन् ।

    कांग्रेसले यसअघि पनि उपाध्यक्ष जितेको थियो । अहिलेकी पराजित उपाध्यक्ष कोहाँर २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएकी थिइन् । टिकट नपाएपछि कोहाँर माओवादी केन्द्रबाट चुनाव लडेकी हुन् ।

    ६ वटा वडा रहेको पालिकामा माओवादी केन्द्रले ३, नेपाली कांग्रेसले २ र लोसपाले १ वटामा वडा अध्यक्ष जितेको छ ।

  • मोरङको बेलबारी मेयरमा एमालेका राई विजयी

    मोरङको बेलबारी मेयरमा एमालेका राई विजयी

    विराटनगर । मोरङ बेलबारीको मेयरमा एमालेका दिलप्रसाद राई विजयी भएका छन् । राइले १६ हजार ४ सय २२ मत ल्याएर विजयी बन्दा कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याएका छन् ।

    उपमेयरमा कांग्रेसकी नितु थापा १३ हजार ७ सय ३१ मत ल्याएर विजयी भएकी छिन् भने प्रतिस्पर्धी एमालेकी तिल कुमारी गौतमले १३ हजार ६ सय ५ मत ल्याएकी छन् ।

    गत चुनावमा बहुमतसहित बेलबारीमा एमालेले जितेको थियो ।

  • एमालेको पकड क्षेत्र मानिने काभ्रेको पनौती पनि कांग्रेसले जित्यो

    एमालेको पकड क्षेत्र मानिने काभ्रेको पनौती पनि कांग्रेसले जित्यो

    काभ्रे । नेकपा एमालेको पकड क्षेत्र मानिने काभ्रेको पनौती नगरपालिकामा पनि कांग्रेसले जितेको छ । पनौतीको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राम शरण भण्डारी विजयी भएका छन् ।

    भण्डारीले १४ हजार ५० मत पाउँदा प्रतिस्पर्धी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरे ।

    उपमेयरमा भने नेकपा एमालेकी गीता बन्जारा विजयी भइन् । बन्जाराले १२ हजार ३३७ मत प्राप्त गरिन् भने प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका छविलाल हुमागाईंले १० हजार ३८८ मत पाए ।

    यहाँ कांग्रेसले १, ५, ९ र १० गरी चार वटा वडा जितेको छ भने एमालेले २, ३, ४, ६, ७, ८ र ११ गरी सातवटा वडा जितेको छ ।

  • सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी

    सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी

    सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा ललनप्रसाद गुप्ता र उपमेयरमा मुनाकुमारी पोखरेल विजयी भएका हुन् ।

    नगरपालिका प्रमुखमा गुप्ताले ७ हजार ८८९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका भोला कुमार पासवानले ५ हजार ७०४ मत पाएका छन् ।

    नगर उपप्रमुखमा पोखरेलले ७ हजार ७४ मत ल्याउँदा एमालेकी कल्पना चौधरीले ५ हजार ५४७ मत प्राप्त गरेकी छन् ।

    १२ वटा वडा रहेको यो नगरपालिकामा मिश्रीत पणिाम आएको छ । वडा नं. १, ९ र १० जनता समाजवादी वडा नं. ३, ६, ११ र १२ एमाले र वडा नं. २, ४, ५, ७ र ८ मा कांग्रेस विजयी भएको छ ।

  • विराटनगर अपडेट: गन्न बाँकी १४ हजार, मतान्तर ६ हजार

    विराटनगर अपडेट: गन्न बाँकी १४ हजार, मतान्तर ६ हजार

    विराटनगर । विराटनगर महानगरपालिकामा १४ हजार ३३७ मत गन्न बाँकी हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसका नागेश कोइराला ६ हजार १४८ मतले अगाडि छन् ।

    अहिलेसम्ममा विराटनगरमा खसेको मत ८९ हजार ६७८ मतमध्ये ७५ हजार ३४१ मत गणना भएको छ । गणना भएको मतमध्ये कांग्रेसका कोइरालालाई २४ हजार ५६३ र एमालेका सागर कुमार थापालाई १८ हजार ४१५ मत खसेको छ ।

    उपप्रमुखमा भने एमालेकी शिल्पा निराला कार्कीले २१ हजार ३८३ सहित अग्रता कायम गरेकी छन् । गठबन्धन तर्फका जसपाका अमरेन्द्र यादवले १२ हजार १०४ मत मात्र पाएका छन् ।

    महागरको मत गणना सम्पन्न भएकोमध्ये मेयरमा १८ हजार २९९ र उपमेयरमा २८ हजार ७५९ मत बदर भएको छ ।

  • ‘कोरसिटी’को अर्को वडामा पछाडि परे स्थापित

    काठमाडौं । काठमाडौं महानगरको ‘कोरसिटी’ मानिएको वडा नम्बर २६ को मतगणना सुरु भएको छ । जहाँको प्रारम्भिक मतपरिणाममा एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन साहभन्दा पछाडि परेका छन् ।

    उक्त वडाको सय मत गन्दा बालेनले ३८ मत पाएका छन् भने स्थापितले २० मत मात्रै पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १५ मत पाएकी छन् ।

    कोरसिटी नै मानिएको २७ नम्बर वडामा भने बालेनले भन्दा स्थापितले बढी मत ल्याएका छन् । यहाँ बालेनले २१० मत ल्याउँदा स्थापितको ४११ आएको छ । कांग्रेसकी सिर्जना सिंहले ३०० मत पाएकी छन् ।

    वडा नम्बर ९ र २५ को मतगणना सुरु भएको छ ।

  • गठबन्धनलाई हराउँदै इलामको फाकफोकथुम गाउँपालिका अध्यक्षमा एमालेका खनाल निर्वाचित

    गठबन्धनलाई हराउँदै इलामको फाकफोकथुम गाउँपालिका अध्यक्षमा एमालेका खनाल निर्वाचित

    इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ ।

    एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत पाए ।

    खनाल २०७४ को स्थानीय तहको निर्वाचतमा पनि एमालेबाट उम्मेदवार थिए । त्यसबेला खनाल कांग्रेसका रामकुमार श्रेष्ठसँग पराजित भएका थिए ।

    उपाध्यक्षमा पनि एमालेकी कल्पना राई निर्वाचित भएकी छिन् । उनी ५ हजार १५८ मतसहित विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका केवी वान्तवाले ४ हजार १४७ मत पाए ।

    फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका कर्णबहादुर लिुम्बु, वडा नम्बर २ मा कांग्रेसकै यामबहादुर खत्री पौडेल, ३ मा एमालेका दिपेन्द्र लिम्बु, ४ मा कांग्रेसका पदमबहादुर मगर, ५ मा एमालेका सिद्धान्त आले, ६ मा एमालेका टंकनाथ खनाल, ७ मा कांग्रेसका छत्रबहादुर लिम्बु वडाध्यक्षमा निर्वाचित भएका छन् ।

    फाकफोकथुममा नेपाली कांग्रेसका १४ र एमालेका २३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

  • रतुवामाईको मेयरमा ७४ वर्षीय नागेश्वर निर्वाचित

    रतुवामाईको मेयरमा ७४ वर्षीय नागेश्वर निर्वाचित

    विराटनगर। प्रदेश १ रतुवामाई नगरपालिकाको मेयरमा कांग्रेसकाका ७४ वर्षीय नागेश्वर प्रसाद सिंह गनगाई विजयी भएका छन् । उनले १३ हजार १ सय ३५ मत प्राप्त गरेका छन् ।

    उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका दुर्गा कुमार विष्टले ११ हजार २ सय ५२ मत ल्याएका छन् ।

    यस्तै उपमेयरमा एमालेकी दयान्ता देवी चुडाल विजयी भएका छिन् । उनले ९ हजार ३ सय ७४ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् ।

    माओवादीका सुमन कालिकोटेले भने ८ हजार ४ सय ७९ मत ल्याएका छन् । यस नगरपालिकामा माओवादीका र कांग्रेसबीच गठबन्धन भएको थियो । चुडाल निवर्तमान उपमेयर हुन । नागेश्वर पूर्व शिक्षक समेत हुन् ।

    २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुखमा कांग्रेसका रविन राईले बाजी मार्दा उपप्रमुखमा एमालेकी चुँडाल विजयी भएकी थिइन् ।

    गत चुनावमा रविन राई ९ हजार ९५ मतसहित निर्वाचित भएका थिए । एमालेका टेकेन्द्रबहादुर पोमुले ८ हजार १ सय मत ल्याएका थिए ।

    कम्युनिस्ट पार्टीको उद्गम थलोमा कांग्रेसका नागेश्वरले जित निकालेका छन् भने एमलेका उम्मेदवारले हार बेहोरेका छन् । २०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन साविकको इटहरा गाविस हाल रतुवामाई नगरपालिकामा भएको थियो । रतुवामाई नगरपालिकामै नेकपा एमालेका संस्थापक नेता स्वः मदन भण्डारीको घर छ ।