Category: स्थानीय निर्वाचन–२०७९

  • रामेछापका ३ पालिकाको नेतृत्वमा नेकपा एसको दावी, गठबन्धनसँग वार्ता गर्न संयन्त्र गठन

    रामेछापका ३ पालिकाको नेतृत्वमा नेकपा एसको दावी, गठबन्धनसँग वार्ता गर्न संयन्त्र गठन

    मन्थली । नेकपा एकीकृत समाजवादीले रामेछाप जिल्लाका आठमध्ये तीनवटा स्थानीय तहको नेतृत्व आफूले पाउनुपर्ने दावी गरेको छ । सत्ता गठबन्धनसँग तालमेल गर्ने केन्द्रीय नीति अनुरुप बिगतमा एमालेले जितेका ५ मध्ये तीनवटा स्थानीय तहमा दावी गर्ने पदाधिकारी बैठकले निर्णय गरेको हो ।

    मन्थलीमा विहीवार बसेको पदाधिकारी बैठकमा पार्टीको वडादेखि पालिकासम्मको संगठन र जनाधारको बारेमा रिपोर्टिङ भएको थियो । रिपोर्टिङका आधारमा मन्थली नगरपालिका,खाँडादेवी गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको नेतृत्व दावी गर्ने र त्यसका लागि पाँच दलीय गठबन्धनमा प्रस्ताव लैजाने निर्णय भएको हो ।

    मन्थलीको मेयर रमेश बस्नेत नेकपा एसको जिल्ला अध्यक्ष समेत हुन् । गठबन्धनसँग वार्ता गर्न जिल्ला इन्चार्ज देवशंकर पौडेल,पोलिटव्युरो सदस्य होम बुढाथोकी र जिल्ला अध्यक्ष बस्नेत रहेको संयन्त्र समेत गठन भएको प्रदेश कमिटी सदस्य रमेशबाबु श्रेष्ठले जानकारी दिए ।

    तीनवटा पालिकाको नेतृत्व र अन्यमा सहमति अनुसार उपाध्यक्ष र उपप्रमुख लिएर वडा सदस्यदेखि नै साझा उम्मेदवार खडा गर्नुपर्ने निष्कर्ष नेकपा एसले निकालेको छ । रामेछाप नगरपालिकामा भने नेकपा एसले उपमेयरसहित वडा नम्बर ७ र ९ को अध्यक्ष दावी गर्ने भएको छ । अन्यको हकमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

    अन्यत्र पाँच दलीय संयन्त्र बसेर गठबन्धनको निर्णय भइरहेका बेला रामेछापमा भने अहिलेसम्म गठबन्धनको बैठक बस्न सकेको छैन । पछिल्लो पटक मन्थली क्याम्पसको अध्यक्षमा माओवादीले सहमतिविपरित एकपक्षीय निर्णय गरेपछि कांग्रेसले माओवादीसँग गठबन्धन नगर्ने चेतावनी दिइरहेको छ ।

    यसैबीच रामेछाप नगर कार्य समितिको बैठकले रामेछाप नगरपालिकामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । यदि माथिल्लो निकायबाट गठबन्धन गर्न दबाब दिइए सामुहिक राजिनामा दिने निर्णय समेत नगर कार्य समितिले गरेको छ । जिल्लामा कांग्रेस एक्लैले ६ वटा स्थानीय तह जित्ने दावी गरेको छ ।

  • मतदाता भन्छन्- चुनावमा घोषणापत्र होइन, कार्यान्वयनपत्र लिएर आउनुस्

    मतदाता भन्छन्- चुनावमा घोषणापत्र होइन, कार्यान्वयनपत्र लिएर आउनुस्

    आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरुले सक्रियता बढाएका छन् । प्रदेश एकमा रहेका १४ जिल्लाका १३७ वटै स्थानीय तहका हरेक वडा र टोलटोलमा दलहरु चुनावी एजेन्डा लिएर मतदातासंग पुगिरहेका छन् । र दलहरु चुनावी घोषणापत्र तयार गर्न र आफ्ना उम्मेदवार चयन गर्न लागि परेका छन् । तर मतदाता भने दलहरुलाई घोषणापत्र भन्दा पनि कार्यान्वयनपत्र लिएर आउन आग्रह गरिरहेका छन् ।

    निर्वाचित जनप्रतिनिधिले विगतमा गरेका वाचा एवम् घोषणापत्रअनुसार काम नगरेकोप्रति आक्रोश पोख्दै उनीहरुले राजनीतिक दललाई कार्यान्वयनपत्र ल्याउन आग्रह गरेका हुन् । कतिपय दलहरुले निर्वाचनका समय घोषणपत्रमा एउटा र व्यवहारमा अर्को कामसमेत गरेको मतदाताको गुनासो छ ।

    ओखलढुंगाको लिखु गाउँपालिका वडा नं. ६ का इन्द्रबहादुर पौडेल स्थानीय समस्या पहिचान र सम्बोधनका लागि अगुवाइ गर्नसक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने सुझाव दिन्छन् । ‘जनताको समस्या र आवश्यकता बुझेर काम गर्न सक्ने उमेद्वार बनाउनुपर्छ,’ उनले भने’, सबै दलहरुले सक्षम र योग्य व्यक्तिलाई उम्मेदवार बनाए भने मतदातालाई विवेक प्रयोग गर्न सजिलो हुन्थ्यो ।’ अघिल्लो निर्वाचनमा घोषणपत्रमा यो गर्छौ र त्यो गर्छौ भन्दै आएका जनप्रतिनिधिले घोषणापत्रमा भनेझैं काम केही नभएको उनको गुनासो छ ।

    झापाको अर्जुनधारा ३ का खगेन्द्र भट्टराईले चुनाव नजिकिएसँगै गाउँमा राजनीतिक सरगर्मी बढेको बताए । स्थानीय बजारमा व्यवसाय गरेर बसेका उनि हरेक चुनावमा जनताको घरदैलोमा देखिने नेताहरु चुनावपछि जनता संग अनुहार नै नदेखाउने परिपाटीले जनता आजीत भएको बताउँछन् ।

    उनले भने ‘हरेक चुनावमा यो गर्छौ र त्यो गर्छौ भन्दै घोषणपत्र लिएर आउने गरेपनि निर्वाचित भएपछि जनताका समस्या सामधान गर्न फर्केर आउँदैनन् । घोषणपत्रमा लेख्छन्, तर काम भने गर्दैनन् । जसकारण योग्य उम्मेदवार छनोट गर्न नै समस्या भएको छ ।’ उनले आफ्नै नगरपालिकामा पनि घोषणपत्रअनुसार काम नभएको बताए ।

    वैदेशिक रोजगारीबाट हालै स्वदेश फर्किएका ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका दानुरी शेर्पाले युवाको रोजगारी, गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा, सन्तुलित विकास, सुशासन र पारदर्शिताको मद्दा अबको चुनावी एजेण्डा बन्नुपर्ने बताए ।

    राजनीतिक योगदान गरेका, स्वच्छ छवी भएका, सामाजिक भावना भएका र अनुभवी व्यक्तिलाई मतदाताले उम्मेदवारका रुपमा चाहेका उनको भनाइ छ । उनले पनि हरेक राजनीतिक दलहरुले आफ्ना चुनावी घोषणपत्रअनुसार काम गर्नुपर्ने बताए ।

    प्रदेश १ मा १४ जिल्लाका १३७ स्थानीय तहमा १६ लाख ९९ हजार ८०० पुरुष तथा १६ लाख ४७ हजार ५६१ माहिला र अन्य २३ गरी कुल ३३ लाख ४७ हजार ३८४ जना मतदाताले योपटकको स्थानीय तह निर्वाचनमा मतदान गर्दैछन् ।

    प्रदेश १ मा एक हजार ८७७ मतदानस्थल र ४ हजार ५१ मतदान केन्द्र कायम भएको निर्वाचन आयोगले जनाएको छ । १३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ५१, नेकपा एमालेले ६९, माओवादी केन्द्रले ९, मधेशी जनअधिाकर फोरमले ३, राप्रपाले ३, संघिय समाजवादी फोरमले २ स्थानमा परिणाम आफ्नो पक्षमा ल्याउन सफल भएका थिए ।

  • मुसिकोटनगरमा एमालेले खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने

    मुसिकोटनगरमा एमालेले खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने

    रुपन्देही । स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा नेकपा एमालले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ ।

    बिहिबार वामीटक्सारमा बसेको नेकपा एमाले मुसिकोट नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा खरेललाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारिस गरेको नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेले बताए ।

    खरेल नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मुसिकोट नगरपालिका इन्चार्जसमेत रहेका छन् । उपप्रमुख पदमा भने धेरै आकांक्षी भएपछि तीन जनाको नाम सिफारिस गरेको छ ।

    उपप्रमुखमा कमला शर्मा, सिता भुसाल, गंगा श्रेष्ठको दावी गरेका छन् । नगरपालिकामा अन्य पार्टीले भने उम्मेदवार छनोट गरेका छैनन् । मुसिकोट नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालले अध्यक्ष उपाध्यक्ष जीतेको थियो ।

  • चुनावमा भाग लिने वातावरण बनाउन आयोग समक्ष प्रकाण्डका तीन माग

    चुनावमा भाग लिने वातावरण बनाउन आयोग समक्ष प्रकाण्डका तीन माग

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ ।

    नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहितको टोलीले विहीबार आयोगका पदाधिकारीलाई भेटेर निर्वाचनमा भाग लिने वातावरण बनाइदिन आग्रह गरेको हो ।

    प्रकाण्डले आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिनका लागि मतदाता नामावलीमा नेता कार्यकर्ता नै नरहेकाले नामावलीमा समावेश हुने अवसर मागेको छ । त्यस्तै दल दर्ताका लागि पनि प्रकाण्डले समय मागेका छन् ।

    आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमा रहेकाले उनीहरू पनि रिहा भएर निर्वाचन प्रक्रियामा भाग लिन पाउनुपर्ने विप्लव नेतृत्वको नेकपाको माग रहेको छ ।

    निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले भने स्थानीय तह निर्वाचनको कार्यतालिका अघि बढिसकेको अवस्थामा दल दर्ता, मतदाता नामावलीजस्ता विषय कानूनी र व्यवहारिक रूपमै टुंगिसकेको बताए ।

    बन्दी रिहाइको विषय भने आयोगको नभइ सरकारको कुरा भएको उनको भनाइ छ । प्रमुख आयुक्त दिनेश थपलियासँग प्रकाण्डले अलग्गै छलफलसमेत गरेका छन् ।

    दल दर्ताको समय आयोगले दिएका बेला विप्लव नेतृत्वको नेकपा आयोगमा गएको थिएन । चुनावमा भाग लिने वा नलिने भन्ने विवादका कारण सो पार्टीको दल दर्ता भएको छैन ।

  • आचारसंहितामा त्रुटि- एमालेले आयोगलाई बुझायो ६ बुँदे ध्यानाकर्षणसहितको प्रतिबद्धता

    आचारसंहितामा त्रुटि- एमालेले आयोगलाई बुझायो ६ बुँदे ध्यानाकर्षणसहितको प्रतिबद्धता

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा भएका त्रुटिहरू केलाएर नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । साथै निर्वाचन धाँधलीरहित, स्वच्छ र निष्पक्ष बनाउन आफ्नो पार्टीको साथ रहने प्रतिबद्धता पनि जनाएको छ ।

    एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आयोगमै पुगेर ६ बुँदे ध्यानाकर्षणसहितको प्रतिबद्धतापत्र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई बुझाएको छ ।

    सो पत्रमा आयोगले चैत ३ गते राजपत्र जारी गरेर सार्वजनिक गरेको ‘निर्वाचन आचारसंहिता २०७८’ मा रहेका विभिन्न त्रुटिहरू ६ बुँदामा उल्लेख गरिएको छ । जसमा पहिलो बुँदामा आचारसंहिताको दफा ४ मा भएको त्रुटिका सन्दर्भमा उल्लेख गरिएको छ । राजनीतिक दल, दलका उम्मेदवार र भ्रातृसंस्थाले प्रचारप्रसार गर्न नपाउने भन्ने आशयको व्यवस्था छ ।

    जसबारे पत्रमा ‘निर्वाचन भनेको मत माग्ने मात्र नभई दलहरूले आफ्ना विचारद्वारा जनतालाई प्रशिक्षित गर्ने माध्यम पनि हो । संविधानको धारा २६९ को उपधारा (१) ले यसको प्रत्याभूत गरेको छ ।,’ भनेर उल्लेख गरिएको छ । सोही अनुसार आचारसंहितामा भएको प्रावधानले दलहरूको विचार, नीति, कार्यक्रमको तुलना गरी श्रेष्ठतम् दललाई रोज्ने जनताको अधिकार कुण्ठित भएको एमालेको ठहर छ ।

    यस्तै दोस्रो बुँदामा दफा ५ मा भएको व्यवस्थाबारे ध्यानाकर्षण गरिएको छ । जसमा प्रधानमन्त्री, मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीले आफ्नो पार्टीको प्रचार गर्न नपाउने भन्ने विषयलाई वैचारिक र दलीय आवद्धतालाई अंकुश लाउन नहुने एमालेको धारणा छ । ‘यो निर्वाचनको सिद्धान्त र संविधानमा भएको राजनीतिक दलबीचको प्रतिस्पर्धाको सिद्धान्तविपरीत समेत छ,’ सो बुँदामा उल्लेख छ ।

    यस्तै बुँदा नम्बर ३ मा आचार संहिताको दफा २ (न) र दफा (११) मा भएको त्रुटिबारे ध्यानाकर्षण गराइएको छ भने, बुँदा नम्बर ४ मा दफा १२ (ढ) मा भएको व्यवस्थाको त्रुटि केलाएर धारणा राखिएको छ ।

    यो सँगै एमालेले चैत २२ गतेको राजनीतिक दलहरूको प्रतिवद्धता लिने कार्यक्रममा भएको बिबाद र नाराबाजीकाबीचमा आफ्नो धारणा राख्ने अवस्था नभएका कारण प्रतिवद्धता जनाउन नसकिएको जनाएको छ ।

    सोही अनुसार आज यो त्रुटिको ध्यानाकर्षणसहित निर्वाचनका पक्षमा रहेको यो पत्रमार्फत प्रतिबद्ध रहेको जनाएको छ ।

    दिउँसो १ बजे महासचिव पोखरेलको नेतृत्वमा उपमहासचिव एवं निर्वाचन विभाग प्रमुख विष्णु रिमाल र कानून विभाग प्रमुख रमेश बडालसहितको टोली आयोगमा गएर पत्र बुझाएको हो ।

  • विप्लव नेतृत्वको नेकपाका नेता प्रकाण्ड किन पुगे निर्वाचन आयोग ?

    विप्लव नेतृत्वको नेकपाका नेता प्रकाण्ड किन पुगे निर्वाचन आयोग ?

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निर्वाचन आयोग पुगेका छन् ।

    प्रकाण्ड केहीबेरअघि बहादुरभवनस्थित  आयोगको  कार्यालयमा देखिएका हुन् । विप्लवको पार्टी आयोगमा दर्ता छैन ।

    केही दिनअघि बसेको केन्द्रीय कमिटी बैठकमा स्थानीय चुनावको उपयोग गर्ने वा नगर्ने विषयमा दुईधार देखिएको थियो । चुनावलाई उपयोग गरेर जाने महासचिव विप्लवको प्रस्ताव अल्पमतमा परेको थियो ।

    यद्यपि बैठकले चुनावको विपक्षमा पार्टीलाई उभिँदै कोही कसैलाई उम्मेदवारी दिन भने नरोक्ने निर्णय गरेको थियो ।

  • कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक : चुनावी एजेण्डाबारे छलफल

    कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक : चुनावी एजेण्डाबारे छलफल

    काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

    आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरेको थियो । जसमा आरजु देउवासहितका युवा नेता तथा सामाजिक अभियन्तासमेत सहभागी छन् ।

    आजको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले अघि सानुपर्ने नारा, विकासका एजेण्डालगायतका बारेमा मोटामोटी खाका तय गर्ने समितिका एक सदस्यले जानकारी दिए ।

    समिति गठन भएपछि पहिलोपल्ट बैठक बसेको हो ।

  • निर्वाचन आचारसंहितामा त्रुटि- ध्यानाकर्षण गराउन एमाले आयोग जाँदै

    निर्वाचन आचारसंहितामा त्रुटि- ध्यानाकर्षण गराउन एमाले आयोग जाँदै

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा देखिएका त्रुटिका विषयमा नेकपा एमालेले ध्यानाकर्षण गराउने भएको छ ।

    प्रमुख प्रतिपक्षी दल एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वको टोलीले आज आयोगमै पुगेर ध्यानाकर्षण गराउने भएको हो ।

    दिउँसो १ बजे महासचिव पोखरेलको नेतृत्वमा उपमहासचिव एवं निर्वाचन विभाग प्रमुख विष्णु रिमाल र कानून विभाग प्रमुख रमेश बडालसहितको टोली आयोगमा जान लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

    ‘आयोगले आचारसंहितामा के-के उट्पटाङ गरेको देखिएको छ,’ उनले भने,‘त्यसविषयमा आयोगको ध्यानाकर्षण गर्न ज्ञापनपत्र लिएर महासचिवज्यूको नेतृत्वको टोली जाने भएको छ ।’

    आयोगले जारी गरेको आचारसंहितामा उम्मेदवार, दल र दलका भ्रातृसंगठनहरूले नै प्रचार गर्न नपाउने, जनप्रतिनिधिहरूले प्रचार गर्न नपाउने लगायतका त्रुटिहरू देखिएका थिए ।

    यसअघि मंगलबार आचारसंहितामा प्रतिबद्धता जनाउन आयोगले बोलाएको सर्वदलीय बैठकमा होहल्ला र तनाव उत्पन्न भएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरू हस्ताक्षर नगरी बाहिरिएका थिए ।

  • चितवन कांग्रेसका नेताहरूको डेलिगेसन काठमाडौंमा, भरतपुरको मेयर तालमेलको बटमलाइन

    चितवन कांग्रेसका नेताहरूको डेलिगेसन काठमाडौंमा, भरतपुरको मेयर तालमेलको बटमलाइन

    काठमाडौं । नेपाली कांग्रेस चितवनका नेताहरूले भरतपुर महानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेगरी मात्रै चुनावी तालमेलको निर्णय लिन सत्ता गठबन्धनको ध्यानाकर्षण गराएका छन् ।

    चितवनबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, जिल्ला सभापति राजेश्व खनाल, निर्वतमान सभापति जितनारायण श्रेष्ठ र नेता जगन्नाथ पौडेलको टोलीले गठबन्धनको निर्वाचन तयारी एवं अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले छाड्न नसक्ने स्पष्ट पारेका हुन् ।

    भेटमा चितवनका नेताहरूले विगतमा माओवादीलाई मेयर दिएकोले यसपटक कांग्रेसले पाउनुपर्ने अन्यथा पार्टी संगठन ध्वस्त हुने चेतावनी दिएका छन् । जवाफमा कांग्रेस वरिष्ठ नेतासमेत रहेका गठबन्धन संयोजक पौडेलले मागबारे गठबन्धनमा छलफल हुने बताए ।

    ‘तपाईंहरूको चासो मैले बुझेको छु । गठबन्धनमा यसबारे छलफल हुन्छ नै । सभापति र अरु नेताहरूलाई पनि भन्नुहोला’, पौडेलको भनाइ थियो ।

    चितवन कांग्रेसका सभापति राजेश्वर खनालले गठबन्धन र पार्टीको निर्णय स्वीकार गरेपनि भरतपुरको मेयर छाड्ने अवस्था नरहेको बताए ।

    ‘गठबन्धन र चुनावी तालमेलको निर्णय हामी स्वीकार्छौं तर भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्छ भन्ने हाम्रो बटमलाइन हो’, खनालले नेपाल प्रेससँग भने ।

    चितवनका नेताहरूको टोलीले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस महामन्त्री गगन थापा समेतलाई भेटेर आफ्नो बटमलाइन राख्ने जनाएका छन् ।

  • चन्द्रागिरीका वडाध्यक्ष राउतको मेयरमा दाबी, भन्छन्- म नगरपालिकालाई पनि वडा जस्तै देशकै नमूना बनाउँछु (भिडिओसहित)

    चन्द्रागिरीका वडाध्यक्ष राउतको मेयरमा दाबी, भन्छन्- म नगरपालिकालाई पनि वडा जस्तै देशकै नमूना बनाउँछु (भिडिओसहित)

    काठमाडौं । संघीयता कार्यान्वयनपछि भएको पहिलो स्थानीय तह निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको समयावधि सकिँदैछ । र, दोस्रो कार्यकालका लागि वैशाखमा चुनावको मिति तोकिएको छ । कतिपय जनप्रतिधिले दोहोर्याउन चाहिरहेका छन् भने कतिले पदोन्नतिका लागि प्रयास गरिरहेका छन् ।

    पहिलो कार्यकाल अधिकांश जनप्रतिनिधिका लागि आलोचित बन्यो । पहिलो अभ्यास भएकाले धेरैलाई सिक्न नै समय लाग्यो । कानूनसँगै कार्यालयलगायत भौतिक संरचना र सिस्टमको अभावका कारण कतिपयले चाहेर पनि उल्लेख्य काम गर्न सकेनन् । तर काठमाडौंको चन्द्रागिरी नगरपालिका– १५ का वडा अध्यक्ष उत्तमबहादुर राउतले भने अनेक अफ्ठेराबीच पनि निकै उल्लेख्य र उदाहरणीय काम गरे ।

    नेकपा एमालेबाट वडा अध्यक्ष जितेका राउतको कामबाट प्रभावित भएर अध्यक्ष केपी शर्मा ओलीले समेत उनलाई टेलिफोन गरेर आभार प्रकट गरेको सन्दर्भ एकताका निकै चर्चामा थियो । अहोरात्र नागरिक सेवा खटिएका वडाध्यक्ष राउत आफ्नो क्षेत्रमा निकै लोकप्रिय छन् ।

    आफ्नो वडामा निकै उदाहरणीय काम गरेका राउत आगामी स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट चन्द्रागिरीको मेयरमा चुनाव लड्ने तयारी गरिरहेका छन् । उनी आफूले टिकट पाउने र जित्नेमा पनि ढुक्क छन् ।

    वडामा गरेको विकास मोडलकै आधारमा नगरपालिकालाई नै सुन्दर र समृद्ध बनाउने उनको योजना छ । पहिलो पाँचवर्षे कार्यकालमा सिकेका कुरालाई व्यवहारतः थप प्रयोग गर्न पनि आफू नगरपालिकाको मेयर हुनपर्ने उनको बुझाइ छ ।

    देशका अरु स्थानीय तहलाई पनि शिक्षा हुने गरी काम गर्ने योजना बनाइरहेका राउत भन्छन्– म वडासँगै सिंगो नगरपालिकालाई देशकै नमून बनाउन सक्छु । त्यसका लागि मलाई मौका चाहिएको छ । र मलाई विश्वास छ, पार्टीले मलाई टिकट दिन्छ । अनि शानदार ढंगमा चुनाव जितेर जनताको सेवामा काम गर्छु ।

    राउतले सहरी योजना र पुरातत्व विषयमा स्नातकोत्तर र वास्तुकलामा स्नातक गरेका छन् । उनी साँस्कृतिक, प्राकृतिक सम्पदा संरक्षरण गर्दै सहरी विकास योजनाका विज्ञ मानिन्छन् ।

    यसरी चन्द्रागिरीको मेयरमा दाबी गरिरहेका राउतले वडा अध्यक्ष भएर पाँच वर्षमा के–के गरे ? उनकै शब्दमा–

    चन्द्रागिरी नगरपालिका– १५ नम्बर वडा अत्यन्त तीव्र सहरीकरणको सूचीमा थियो, छ । हामी निर्वाचित हुनासाथ थप विकासको प्रष्ट रणनीति बनाएर योजनाबद्ध ढंगमा अघि बढ्यौं ।

    सडक निर्माणलाई मुख्य प्राथमिकता दिएर हामीले काम तीव्र पार्यौं । जनताँग खाएको कसम पूरा गर्नु नै मेरो मुख्य जिम्मेवारी थियो । जसका लागि व्यापक काम गरेको अनुभव मसँग छ ।

    उदाहरणका लागि घर बाहिर निस्किँदा लगाएको सफा जुत्ता घर फर्किदा पनि सफा रहोस् भन्ने उद्देश्यका साथ सक्दो छिटो हरेक सडक पिच र ढालान गर्नेतर्फ लाग्यौं । हामी आउँदा केन्द्रीय राजमार्गअन्तरगतको कलंकी–नागढुंगा सडक अलपत्र अवस्थामा थियो । हामीले त्यसलाई विस्तार गर्यौं, सफार चिटिक्कको बनायौं । यो हामीले गरेको महत्वपूर्णमध्येको एउटा काम हो ।

    हामीले हाम्रो वडामै मन्त्रीलाई समेत बोलाएर सडक विकास गर्ने भन्नेबारे छलफल गर्यौं । र, छलफलबाट आएको निष्कर्षअनुसार काम गर्यों । परिणामः सडक सुन्दर र सफा भयो ।

    हाम्रो वडामा दुई किलोमिटर बल्खु करिडोर निर्माण भइसकेको छ । तीनछाना मच्छे गाउँ सडकको निरन्तर गुणस्तर सुधार भइरहेको छ । यहीं वडामा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको समयमा निर्माण भएको गडी डाँडा वरिपरी अप्पर रिङरोड र तल्लोपट्टि लोवर रिङरोड निर्माण गरेका छौं ।

    त्यस्तै खानेपानीको क्षेत्रमा पनि हामीले व्यापक सुधारको काम गरेका छौं । अहिले प्रत्येक घरमा धारा पुगेको छ । अहिलेसम्म हामीले १६ सय धारा स्थानीयलाई वितरण गरिसकेका छौं ।

    हेनुहोस् भिडिओ

    हामीले सामुदायिक किरियापुत्री भवन पनि निर्माण गरेका छौं । वातावरणीय क्षेत्रको कुरा गर्दा कीर्तिपुर र हाम्रो सीमानामा भएको भिराडिलमा एउटा पार्क निर्माण गर्दैछौं । अहिले उक्त पार्कमा हरेक शनिबार ३–४ हजार मानिस घुम्न आउने गरेका छन् ।

    त्यस्तै सफा टोल कार्यक्रमअन्तरगत वृक्षरोपणलगायत थुप्रै कार्यक्रम गरेकाछौं ।

    स्वास्थ क्षेत्रमा जेष्ठ नागरिक घरदैलो कार्यक्रम गर्यौं । घर–घर पुगेर रक्तचाम नाप्ने मेसिन र औषधि वितरण गर्यौं ।

    शिक्षाको क्षेत्रमा विष्णुदेवी माध्यमिक विद्यालयलाई अत्याधुनिक बनाउँदैछौं । पुनर्निर्माण प्राधिकरणमा पत्राचार गरेर ९ करोडको लागतमा अत्याधुनिक भवन बन्दैछ ।

    खेलकुदको क्षेत्रमा हामीले युवालाई विभिन्न खेल खेल्नका लागि अनुदान दिएका छौं । विभिन्न क्षेत्रमा महिला पुरुषका लागि छुट्टाछुट्टै इनडोर जिम स्थापना गरेका छौं । तीन ठाउँमा आउटडोर जिम स्थापना गरेका छौं ।

    महिलालाई विभिन्न उद्यमशील तालिम संचालन गर्दै आएका छौं ।

    कृषि क्षेत्रमा कौसी तरकारी खेतीलाई अगाडि बढाएका छौं । अहिले हरेक वडाका तीन सय घरमा कौसीखेती भइरहेको छ । यहाँका स्थानीयले तरकारी किनेर खान परेको छैन, उहाँहरुले तरकारी बेचेर आम्दानीसमेत गरिरहनु भएको छ ।

    कोरोना कहरका बेला हामीले रोजगारमूलक कार्यक्रम सञ्चालन गर्यौं, जसबाट धेरै स्थानीय लाभान्वित भए ।

    हामी आउनुअगाडि २२ लाख राजस्व उठ्ने यो वडामा अहिले २ करोड ३० लाख उठ्ने अवस्था बनाएका छौं । यो १० गुणा वृद्धि भनेको एउटा उल्लेखनीय हो । हाम्रो वडा राजस्व र बजेट परिचालनमा देशकै नम्बर एक भएको छ ।

    जग्गाको अव्यवस्थित प्लटिङलाई व्यवस्थित गरेका छौं । सार्वजनिक जग्गा हडप्नेलाई परास्त गर्दै सरकारी स्वामित्वमा ल्याएका छौं । जुन काम गर्दा हामीले मुद्दाको समेत सामना गर्नुपर्यो ।

    समग्रमा हामीले यहाँको विकास र नागरिकको खुसीका लागि व्यापक काम गरेका छौं, जुन दृश्यमा देखिन्छ । र नागरिकले अनुभूत गरेका छन् ।

    अहिले जसरी वडामा एउटा सत्प्रयास गरियो, त्यसैगरी नगरपालिकालाई पनि समृद्ध बनाउने योजना मसँग छ । त्यसैले मलाई पार्टीले मेयरको टिकट दिन्छ र चुनाव जित्छु भन्ने विश्वास छ ।

  • दैलेख एमालेले सर्वसम्मत टुंग्यायो ३५ वडा अध्यक्षका उम्मेदवार

    दैलेख एमालेले सर्वसम्मत टुंग्यायो ३५ वडा अध्यक्षका उम्मेदवार

    सुर्खेत । नेकपा एमाले दैलेखले जिल्लाका ११ स्थानीय तहमका ९० वडामध्ये ३५ वटामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । एमाले दैलेखका अनुसार नौमुले गाउँपालिकाका आठ वडामा वडाअध्यक्षका उम्मेदवार चयन भइ चुनावी अभियानमा लागिसकेका छन् ।

    यस्तै, नारायण नगरपालिकाका ११ वडाका केही वडा, गुराँस गाउँपालिकाका करिब सबै वडा, डुंगेश्वर गाउँपालिकाका केही वडा, दुल्लुका आधाभन्दा बढी वडा, आठबीसका तीन वडा, महावु गाउँपालिकाका सबै वडामा अध्यक्षका उम्मेदवार टुंगो लागेको एमालेले जनाएको छ ।

    ‘हामीले ३५ वडामा अध्यक्षसहित पाँचै जना उम्मेदवारको टुंगो लगाइसकेका छौं । अन्य वडामा सर्वसम्मत छनोटको आन्तरिक प्रयास तीव्र छ । अबको एक सातामा पूर्ण विवरण आउँछ’, एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले भने, ‘पालिकाको हकमा भने हामीले सिफारिस गर्ने भएका कारण अहिले टुंगिएको छैन ।’

  • चुनावी तालमेलका लागि ओलीको जवाफ कुर्दै राप्रपा महामन्त्री राणा

    चुनावी तालमेलका लागि ओलीको जवाफ कुर्दै राप्रपा महामन्त्री राणा

    कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाबीच भेटवार्ता भएको एक सातासम्म पनि तालमेलको विषय अघि बढ्न सकेको छैन । गत बिहीबार राति नेपालगन्जमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने प्रस्ताव लिएर राणाले ओलीलाई भेटेका थिए । दुवै जनाबीच करिब १ घण्टा एक्लाएक्लै छलफल भएको थियो ।

    नेपालगन्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहेका राणाले आगामी निर्वाचनमा एमाले र आफूहरू मिलेर जाँदा उपयुक्त हुने भन्दै ओलीलाई प्रस्ताव पेस गरेका थिए ।

    ‘ठिकै छ छलफल गरौँ, कुरा राखौँ भन्नुभयो’ ओलीको कुरालाई उदृत गर्दै राणाले भनेका थिए, ‘उहाँले मैले पनि मेरो पार्टीमा कुरा राख्छु भन्नु भयो । मैले पनि यस विषयमा पार्टीमा छलफल गर्छु भनेँ ।’

    स्थानीय तहमा तालमेल गर्ने विषयमा पनि दुवै दलका नेताहरूले आन्तरिक छलफल गर्ने भन्दै टुंगिएको बैठक फेरि बस्न सकेको छैन । अहिले राप्रपा एमालेसँग तालमेल गर्ने मनसायमा रहे पनि एमालेको आधिकारिक प्रतिक्रिया नआएको राप्रपा महामन्त्री राणाले बताए ।

    ‘पाँच दलीय गठबन्धन हुँदा हामीलाई पनि केही समस्या हुन्छ । अहिले एमालेलाई पनि तालमेल गर्न आवश्यक देखिन्छ । राम्रो मान्छे जिताउन तालमेल गरौँ भनेको थिएँ’, उनले नेपाल प्रेसलाई भने, ‘अहिले उताबाट (एमालेबाट) कुनै जवाफ आएको छैन । जवाफ आएपछि हामी फेरि छलफलमा जुट्छौँ ।

    समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं संवाद समितिका संयोजक पनि हुन् राणा । उक्त समितिमा राणासहित ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेका छन् ।

    राप्रपामा अहिलेसम्म एमालेसँग चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने नीतिगत निर्णय भने भइसकेको छैन । पहिले एमालेको धारणा बुझेपछि पार्टीभित्र आन्तरिक छलफल गरेर यस विषयमा निर्णयमा पुग्न सकिने राणाले बताए ।

    बिहीबार राति करिब १ घण्टाको छलफलपछि ओली र राणाले नम्बरसमेत आदान प्रदान गरेका थिए । उनले भने, ‘उहाँले (ओलीले) मेरो नम्बर लिनुभएको छ । तर, फोन गर्नुभएको छैन । उहाँले फोन गरेपछि थप विषयमा छलफल प्रारम्भ हुन्छ ।’

    छलफलै भएन एमालेमा

    आसन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनविरुद्ध अर्को गठबन्धन बनाएर जाने राप्रपा महामन्त्रीको प्रस्तावबारे एमालेमा छुट्टै छलफल सुरु भएको छैन । एमालेले राष्ट्रियस्तरमा कुनै पनि दलहरूसँग चुनावी तालमेल नगर्ने भन्दै यसअघि नै निर्णय नै गरिसकेको छ । उक्त निर्णयमा स्थानीयस्तरमा तालमेल गर्न सकिने बताइएको छ ।

    राप्रपासँग पनि राष्ट्रियस्तरमा नभइ स्थान विशेषमा तालमेल हुनसक्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराई बताउँछन् ।

    ‘राष्ट्रियस्तरमा नभए पनि स्थानीय आवश्यकताको आधारमा सहमति र छलफलका माध्यमबाट हुनसक्छ’, उनी भन्छन्, ‘तर, अहिलेसम्म यस विषयमा ठोस छलफल भएको छैन ’

    एमाले एक्लै निर्वाचनमा होमिने योजनामा रहेको समेत उनले बताए ।

  • लुम्बिनीमा एमालेविरुद्ध नेकपा एसविहीन गठबन्धन !

    लुम्बिनीमा एमालेविरुद्ध नेकपा एसविहीन गठबन्धन !

    रूपन्देही । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन दलको बैठकमा नेकपा एसको सहभागिता नभएको विज्ञप्ति बाहिर आएको छ ।

    पाँचै दल क्रियाशील रहेको लुम्बिनीमा नेकपा एसको सहभागितबिना अन्य दलको हस्ताक्षरसहितको गठबन्धन गर्ने निर्णय बाहिर आएपछि चर्चाको विषय बनेको छ ।

    नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले नेकपा एसको बैठकमा सहभागिता नभएको बताए । नेकपा एसका केन्द्रीय सदस्य सिद्विचरण भट्टराईले ढिला सूचना भएको, प्रदेश अध्यक्ष मेटमणि चौधरी काठमाडौंमा रहेको र अरूको अन्य बैठक भएकाले जान नभ्याएको दाबी गरे ।

  • आयोगको निर्देशन : मेयर र उपमेयरमध्ये एक पदमा मात्रै उम्मेदवारी दिए महिलालाई प्राथमिकता

    आयोगको निर्देशन : मेयर र उपमेयरमध्ये एक पदमा मात्रै उम्मेदवारी दिए महिलालाई प्राथमिकता

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्षमध्ये एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दललाई पहिलो प्राथमिकता महिलालाई दिन निर्देशन दिएको छ ।

    आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशी मैत्री बनाउन भन्दै स्थानीय तहको निर्वाचनमा सहभागी हुने ७९ वटै राजनीतिक दललाई दिएको १७ बुँदे निर्देशनमार्फत यस्तो भनेको हो ।

    आयोगले स्थानीय तह निर्वाचन महिला तथा समावेशी समूहका व्यक्तिलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउनका लागि निर्वाचनमा सहभागी हुने सबै राजनीतिक दललाई पहल गर्न निर्देशन दिएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।

    उनका अनुसार आयोगको चैत १६ गतेको निर्णयअनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम १७ बुँदे निर्देशन दिइएको हो ।

    आयोगले दिएको १७ बुँदे निर्देशनको ६ नम्बर बुँदामा भनिएको छ, ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने ।’

    यसमा गठबन्धनमार्फत एक पदका लागि मात्र उम्मेदवारी दिने राजनीतिक दललाई संकेत गर्दै निर्वाचन आयोगले यस्तो ताकेता गरेको हो ।

    यस्तै आयोगले यस अघिको स्थानीय तहको निर्वाचनमा एक सय ७५ वटा वडामा दलित महिलाको उम्मेदवारी नपरेको भन्दै यस पटक सबै वडामा दलित महिलाको उम्मेदवारी दिलाउनका लागि पहल गर्न पनि राजनीतिक दललाई निर्देशन दिएको छ ।

    ७ नम्बर बुँदामार्फत दिइएको उक्त निर्देशनमा भनिएको छ, ‘विसं. २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत वडा समितिको निर्वाचनमा देशभरमा कूल एक सय ७५ दलित महिला वडा सदस्य पदमा उम्मेदवारी नै नपरेको कारणबाट उक्त पद रिक्त भएको विषयलाई गम्भीरतापूर्वक लिई प्रचलित कानून बमोजिम सम्पूर्ण वडा समितिको निर्वाचनमा दलित महिलाको उम्मेदवारी हुने व्यवस्थाका लागि आवश्यक पहल गर्ने ।’

    आयोगले दिएको १७ बुँदे निर्देशन यस्तो छ ।

  • आयोगद्वारा स्थानीय निर्वाचन अधिकृत अदलबदल, ७१ जना हटाएर नयाँ नियुक्त (सूचीसहित)

    आयोगद्वारा स्थानीय निर्वाचन अधिकृत अदलबदल, ७१ जना हटाएर नयाँ नियुक्त (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गरेको छ ।

    आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ भने ७१ निर्वाचन अधिकृतमा खटाएको एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

    विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ ।

    नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।

    बुधवार देखी नै लागू हुने गरी ७१ जना निर्वाचन अधिकृत हटाइएको हो ।
    यस्तै १६ जना निर्वाचन अधिकृतलाई एक स्थानीय तहको निर्वाचन अधिकृतबाट अर्को स्थानीय तहको निर्वाचन अधिकृतमा खटाउने गरी संशोधन पनि गरिएको आयोगले जनाएको छ ।

  • स्याङ्जाको आँधिखोला गाउँपालिकामा माओवादीका उम्मेदवार तय, हरि ढकाल अध्यक्षमा सर्वसम्मत

    स्याङ्जाको आँधिखोला गाउँपालिकामा माओवादीका उम्मेदवार तय, हरि ढकाल अध्यक्षमा सर्वसम्मत

    स्याङ्जा । सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) ले आँधिखोला गाउँपालिकामा पार्टीबाट उठाउने उम्मेदवारहरूको सर्वसम्मत टुंगो लगाएको छ ।

    पालिका कमिटीको बुधवार बसेको बैठकले गाउँपालिका अध्यक्षमा हरि प्रसाद ढकालको नाम सिफारिस गरेको छ ।

    ढकाल माओवादी केन्द्रको खानेपानी तथा सरसफाइ विभागको केन्द्रीय सदस्य हुन् । युवा नेता ढकाल नेतृत्व कसरी गर्ने भन्ने विषयमै अध्ययन गरेका कमै राजनीतिज्ञमा पर्छन् ।

    उनले बेलायती दूतावासबाट सञ्चालित सर्च फर कमन ग्राउन्ड विषयमा २ वर्ष लिडरशीप प्रोग्राम पढेका छन् भने नर्वेजियन दूतावासबाट सञ्चालित लिड इन्टरनेशनलका पनि स्कोलर हुन् ।

    उनले विभिन्न सामाजिक काम गरेबापत राष्ट्रपतिबाट विभूषित पनि हुन् । माओवादीले गाउँपालिकाका ६ वटै वडाका लागि वडाध्यक्षका उम्मेदवारको नाम पनि सिफारिस गरेको छ ।

    गठबन्धन हुँदा सत्ता साझेदारलाई छाड्ने गरी सहमति भएको सो पार्टीले जनाएको छ ।

    आँधिखोला गाउँपालिकामा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो ।

  • गठबन्धनले उम्मेदवारको साझा मापदण्ड बनाउने, चैत २६ भित्र प्रतिवेदन बुझाउन निर्देशन

    गठबन्धनले उम्मेदवारको साझा मापदण्ड बनाउने, चैत २६ भित्र प्रतिवेदन बुझाउन निर्देशन

    काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने भएको छ ।

    गठबन्धन अन्तर्गतको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको आजको बैठकले उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा उम्मेदवार चयनका लागि न्यूनतम मापदण्ड बनाउने निर्णय गरेको हो । मापदण्ड कस्तो हुने भन्नेमा छलफल सुरु भए पनि टुंगो लागिसकेको छैन ।

    समितिको बैठकले स्थानीय तहहरूमा गठबन्धनको अवस्था, चुनावी तालमेलको आधार र अन्य विविध विषयमा साझा प्रतिवेदन तत्काल बुझाउन प्रदेश समन्वय समितिलाई निर्देशन दिएको छ ।

    समितिका संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार प्रदेश स्तरको गठबन्धन समन्वय समितिले चैत २२ भित्र बुझाउनुपर्ने प्रतिवेदन बुझाउन चैत २६ सम्मको थप समय उपलब्ध गराइएको छ ।

    ‘चैत २२ गतेभित्र साझा प्रतिवेदन बुझाउन भनेका थियौँ । के कति कारणले त्यसमा ढिलाइ भएको छ । अब चैत २६ भित्र प्रदेशभित्रका स्थानीय तहमा गठबन्धनको अवस्थाबारे यथार्थ रिपोर्ट पठाउन निर्देशन दिने निर्णय भएको छ ’, पौडेलले नेपाल प्रेससँग भने ।

    प्रदेशगत प्रतिवेदन आएपछि मात्रै महानगरपालिकाको नेतृत्व लगायतका विषयमा छलफल हुने पौडेलले बताए ।

  • सुनसरीमा सत्ता गठबन्धन- संयुक्त घोषणापत्र र वडादेखि पालिकासम्म पाँचै दलका साझा उम्मेदवार

    सुनसरीमा सत्ता गठबन्धन- संयुक्त घोषणापत्र र वडादेखि पालिकासम्म पाँचै दलका साझा उम्मेदवार

    सुनसरी । सत्तारुढ ५ दलीय गठबन्धनले सुनसरीमा वडा तहदेखि नै चुनावी तालमेल गर्ने भएको छ ।

    सुनसरी जिल्लामा तालमेलको निर्णय गर्न कांग्रेस सचिव विरेन्द्र साह, माओवादीका मुक्साहाङ मेन्याङ्बो, नेकपा एसका सचिव वसन्त सुवेदी, जसपाका सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकरी रहेको कार्यदल गठन भएको छ ।

    कार्यदलले स्थानीय पालिकाहरूको वस्तुगत अवस्था अध्ययन गरि चैत २६ गतसम्म प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । गठबन्धनमा आबद्ध सबै दलहरूको प्रतिनिधित्व वडा सदस्यदेखि पालिका प्रमुखसम्म मिलाउने सहमति भएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

    पाँच दलीय गठबन्धनबाहेक अरुसँग तालमेल नगर्ने र संयुक्त घोषणापत्र प्रकाशन गरि वडा तहसम्मै संयुक्त चुनाव प्रचार-प्रसार गर्ने सहमति समेत भएको छ ।

    २०७४ को निर्वाचनमा स्थानीयदेखि संघको चुनावी गणितले प्रदेश १ को सबैभन्दा धेरै नेपाली कांग्रेसको प्रभाव क्षेत्र देखिएको सुनसरीमा अन्यत्रभन्दा एक कदम अघि बढेर वडा सदस्यदेखि नै तालमेल हुने भएको हो ।

    बुधबार नेकपा एसको पार्टी कार्यालयमा बसेको पाँच दलको बैठकले गठबन्धन गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारी, माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र प्रशाद मण्डल, नेकपा एस सुनसरी अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चा सुनसरी प्रतिनिधि हरिलाल अधिकारीले एक संयुक्त विज्ञप्तिमार्फत गठबन्धनको घोषणा गरेका हन् ।

    सुनसरीका ४ संघीय क्षेत्रमा नेपाली कांग्रेसले वाम गठबन्धनविरुद्ध लडेर तीन ठाउँमा जितेको थियो ।

    हेर्नुस् गठबन्धनका जिल्ला नेतृत्वले जारी गरेको संयुक्त विज्ञप्ति: