Category: स्थानीय निर्वाचन–२०७९

  • महानगरको पहिलो नतिजा आयो, विराटनगरको मेयरमा कांग्रेसका कोइराला भारी मतान्तरले विजयी

    महानगरको पहिलो नतिजा आयो, विराटनगरको मेयरमा कांग्रेसका कोइराला भारी मतान्तरले विजयी

    काठमाडौं । ६ महानगरमध्ये पहिलोपटक विराटनगरको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला भारी मतान्तरले विजयी भएका छन् ।

    कोइरालाले ३०, १७० मत पाए भने उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर थापाले २१, ४५५ प्राप्त गरेका छन् ।

    त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्की अत्यधिक मतका साथ विजयी भएकी छन् । कार्कीले २५, ६८० मत ल्याउँदा प्रतिस्पर्धी जसपाका अमरेन्द्र यादवले १४, २१९ मत पाए ।

  • काठमाडौं अपडेट : बालेनले कटाए ३० हजार मत

    काठमाडौं अपडेट : बालेनले कटाए ३० हजार मत

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो परिणामअनुसार मेयरका उम्मेदवार बालेन साहले ३० हजार मत कटाएका छन् ।

    ८१ हजार ७६५ मतगणना हुँदा साहले ३०८५८ मत पाएका छन् । यस्तै एमालेका केशव स्थापितले १६३३७ र सिर्जना सिंहले १५९६० मत पाएका छन् ।

    अहिले वडा नम्बर १ देखि छ र २८, २९? ३० र ३२ को गणना सकिएको छ । अहिले वडा नम्बर ७, ८, ९, १०, २५, २६, २७ र ३१ को गणना जारी रहेको छ ।

  • स्थानीय तहको परिणाम अपडेट- वडाध्यक्षदेखि प्रमुखसम्म कसले कति जिते ? (सूचीसहित)

    स्थानीय तहको परिणाम अपडेट- वडाध्यक्षदेखि प्रमुखसम्म कसले कति जिते ? (सूचीसहित)

    काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना विवरण आउने क्रम जारी छ । शुक्रबार साँझसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ६ सय ८३ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

    ५ महानगरपालिकासहित केही पालिकाको परिणाम आउन बाँकी रहेको छ । सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी ठाउँमा जित हात पारेको छ । नतिजा आउन बाँकी रहेका पालिकामा पनि कांग्रेसकै अग्रता कायम छ ।

    सूची

  • राप्तीको मेयरमा एमाले उम्मेदवारलाई हराउँदै समाजवादीका लामा विजयी

    राप्तीको मेयरमा एमाले उम्मेदवारलाई हराउँदै समाजवादीका लामा विजयी

    चितवन । नेकपा एमालेको गढका रूपमा रहेको पूर्वी चितवनको राप्ती नगरपालिका नेकपा (एकीकृत समाजवादी) ले जितेको छ । एमाले विभाजनपछि बनेको समाजवादीका शमशेर लामा राप्तीको मेयरमा निर्वाचित भएका हुन् ।

    लामा ४७३ मतान्तरले विजयी भएका हुन् । उनले १२ हजार ५२४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्द प्रसाद कँडेलले १२ हजार ५१ मत ल्याए ।

    राप्तीमा एमालेभित्र आन्तरिक विरोध रहेको थियो । यसअघिका उपमेयर इमानसिंह लामा मेयरको दौडमा थिए । तर मेयरको बलियो सम्भावना भएका इमानसिंहले मेयरको टिकट पाएनन् ।

    उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र लामा २३४ मतान्तरले निर्वाचित भए । देवेन्द्रले १२ हजार ६८२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेकी मेनुका पाठकले १२ हजार ४४८ मत ल्याइन् ।

    राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेका छन् ।

  • काठमाडौं-६ मा कांग्रेसको प्यानल नै विजयी, मेयरमा लौरो अगाडि

    काठमाडौं-६ मा कांग्रेसको प्यानल नै विजयी, मेयरमा लौरो अगाडि

    काठमाडौं । काठमाडौं महानगर वडा नम्बर ६ मा नेपाली कांग्रेस विजयी भएको छ ।

    वडाध्यक्षमा भुवन लामासहित प्यानल नै विजयी भएको हो । उनले ३८१६ मत पाए । एमालेका वसन्त लामाले २७३५ मत पाए ।

    वडाध्यक्षमा जित हात परेपनि मेयरमा भने सो वडामा स्वतन्त्र उम्मेदवार बालेन साहले नै अत्याधिक मत पाएका छन् । उनले ३४७४ मत पाए । कांग्रेसकी सिर्जना सिंहले २२०४ र एमालेका केशव स्थापितले १७४५ मत पाए ।

  • औरही गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

    औरही गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

    जनकपुरधाम । सिरहाको औरही गाउँपालिको अध्यक्ष र उपाध्यक्ष दुवै जनता समाजवादी पार्टी (जसपा)ले जितेको छ ।

    अध्यक्षमा जसपाका शिवजी यादव विजयी भएका हुन् । उनले निवर्तमान मेयर समेत रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार सिद्धार्थ यादवलाई १३७६ मतान्तरले पराजित गरेका हुन् ।

    अध्यक्षमा विजयी शिवजीले ३४६० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी निवर्तमान मेयर सिद्धार्थले २०८४ मत पाएका छन् ।

    २०७४ को निर्वाचनमा जसपाबाटै मेयरमा चुनाव लडेका शिवजी मात्र ६ भोटले माओवादीका सिद्धार्थबाटै पराजित भएका थिए । त्यो चुनावमा हारेका शिवजी यसपालि उनै सिद्धार्थलाई १३७६ मतले हराएका हुन् ।

    यस्तै उपाध्यक्षमा जसपाकै रेणु यादव विजयी भएकी छन् । उनी ३५५६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी माओवादीकी विनीता कुमारी यादव २०७८ मत पाइन् ।

  • कैलाली गौरीगंगाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस

    कैलाली गौरीगंगाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस

    कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र उप प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    प्रमुखमा माओवादीका देवीदत्त कँडेल निर्वाचित भएका हुन् भने उप प्रमुखमा कांग्रेसका भोजबहादुर बम निर्वाचित भएका हुन् ।

    कँडेल १३ हजार ७९५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका पदमसिंह सिंगालले ६ हजार ६२५ मत ल्याए ।

    उप प्रमुखमा बमले ११ हजार २८१ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्तिदेवी सिंहले ६ हजार ७४३ मत ल्याइन् ।

  • कालो कोठामा काम नगर्न सुझाव दिँदै सुनिल थापाले बताए विकासका ४ मन्त्र

    कालो कोठामा काम नगर्न सुझाव दिँदै सुनिल थापाले बताए विकासका ४ मन्त्र

    काठमाडाैं । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई जनताको काम गर्दा कालो कोठामा बसेर नगर्न सुझाएका छन् ।

    पाख्रिवास नगरपालिका वडा नं. ८ का नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिने क्रममा थापाले दिगो विकासको लागि चार कुरामा ध्यान दिन सुझाए ।

    थापाले भने, ‘पहिलो- दिगो विकारको लागि पूर्वाधारमा ध्यान दिऔँ, दोस्रो- महिलाको हक अधिकार र सिप तालिमलाई के-के गर्नुपर्छ हाँहरुलाई नै सहभागी गराएर काम गरौँ, तेस्रो- विकासको काममा युवाहरूलाई सहभागी गराऔँ र चौथो- अल्पसंख्यक र दलित दाजुभाई दिदीबहिनीको समस्यालाई मनन गरेर अगाडि बढ्नुभयो भने तपाईंहरू सफल बन्नुहुनेछ ।’

    चुनावी अभियानमा गाउँ गएको स्मरण गर्दै थापाले घामेका जनताको माग सडकमा केन्द्रित भएकाले त्यसकालागि १० लाख बजेट प्रदेश सरकाबाट छुट्टाइएको बताए ।

    थापाले भने, ‘त्यो कार्यपत्र आइसकेको छ । काम गर्ने अधिकार तपाईंहरूले पाइसक्नुभएको छ । मेयर साप, वडा अध्यक्ष ज्यू यहीँ हुनुहुन्छ । घामेका जनतासँग छलफल गरी सडक चाँडै बनाउनुस् ।’

    थापाले कर्मले पदाधिकारी र धर्मले सेवक भएका कारण जुन सुकै पार्टी भए पनि कांग्रसको उदारवाद नीतिलाई नबिर्सिन र कसैलाई काखा, कसैलाई पाखा नगरि काम गर्न मेयर र वडा अध्यक्षलाई अनुरोध गरे ।

    धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङले ५ हजार ४ सय ९८ मत ल्याइ मेयरमा विजयी भएका थिए । यस्तै उनका प्रतिद्वन्द्वी एमालेका भीमबहादुर राईले ५ हजार ५३ मत पाएका थिए ।

  • गोरखामा माओवादीले लियो कांग्रेससँग बदला, चुमनुव्रीसहित ११ मध्ये ९ पालिकामा विजयी

    गोरखामा माओवादीले लियो कांग्रेससँग बदला, चुमनुव्रीसहित ११ मध्ये ९ पालिकामा विजयी

    काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निमा लामा १,६२४ मत ल्याई विजयी भएका छन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार धनबहादुर गुरुङलाई ३१३ मतान्तरले पराजित गरेका हुन् । पराजित धनबहादुर गुरुङले १,३११ मत ल्याएका छन् ।

    उपाध्यक्षमा पनि माओवादी कै उम्मेदवार लक्ष्मी गुरुङ १,५६५ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार मेतोक छोकी लामाले १,३०७ मत ल्याएकी छन् ।

    योसँगै गोरखाको मतगणना सकिएको छ र माओवादीले गोरखाका ११ मध्ये ९ पालिका जितेको छ । यसअघि कांग्रेसले ९ पालिका जितेको थियो ।

  • काठमाडौंको-२५ मा सूर्यलाई आँखीझ्यालको कडा टक्कर, को हुन् सुमन सायमी ?

    काठमाडौंको-२५ मा सूर्यलाई आँखीझ्यालको कडा टक्कर, को हुन् सुमन सायमी ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाको कोर एरियामा स्वतन्त्र उम्मेदवार सुमन सायमीको प्रभाव देखिएको छ । वडा नम्बर २५ को प्रारम्भिक मतगणनामा उनी पहिलो स्थानमा रहेका केशव स्थापितसँग प्रतिस्पर्धामा छन् ।

    हालसम्म ९०० भोटको गणना सकिएको छ । सबैभन्दा अगाडि रहेका स्थापितले २११ भोट ल्याउँदा सायमी दुई भोट मात्र पछाडि छन् । उनको चुनाव चिन्ह आँखीझ्यालमा २०९ भोट आएको छ ।

    तेस्रो स्थानमा अर्का स्वतन्त्र उम्मेदवार बालेन शाह छन् । उनको चुनाव चिन्ह लौरोलाई १४४ भोट आएको छ भने कांग्रेसको रुखले ११५ भोट पाएको छ ।

    को हुन् सुमन सायमी ?

    काठमाडौंको संस्कृति संरक्षणमा क्रियाशील अग्रणी अभियन्ता हुन् सुमन सायमी । काठमाडौंको कोर एरियामा उनी चर्चित भए पनि स्वतन्त्र उम्मेदवार बालेन शाहको ओझेलमा परे ।

    सायमी उपत्यका व्यापी सडक विस्तार पीडित संघर्ष समितिको अध्यक्ष र उपत्यका सरोकार मञ्चका पनि अध्यक्ष हुन् । एक दशकदेखि उनी काठमाडौंवासीका विभिन्न समस्यामा सक्रिय छन् ।

    खासगर सांस्कृतिक सम्पदाको संरक्षणमा उनले निरन्तर आवाज उठाइरहेका छन् ।

    काठमाडौंका जात्रा, पर्व र संस्कृतिहरूलाई संरक्षण गर्ने विषयमा उनको वकालत हुने गरेको छ ।

    गुठी विधेयक विरुद्धको आन्दोलनमा उनको सक्रिय सहभागिता थियो ।

  • दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन् पदभार ग्रहण

    दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन् पदभार ग्रहण

    गौर। रौतहटको मौलापुर नगरपालिकाकी नवनिर्वाचित मेयर रीना कुमारी साहले पदभार ग्रहण गरेकी छिन् ।

    शुक्रबार जिल्ला सदरमुकाम गौरमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएसंगै मेयर साह पतौरास्थित नगरपालिकाको कार्यालयमा पदभार ग्रहण गरेकि हुन् । मेयर साहले पहिलो निर्णयको रुपमा सोनरनियामा दलित बस्तीको निर्माणको लागि जग्गा खरिद प्रक्रिया अगाडी बढ़ाउने निर्णय गरिन् ।

    मेयर साह मौलापुर नगरपालिकामा दोस्रो पटक निर्वाचित भएकी हुन् । पहिलो कार्यकालमा मौलापुर र मर्यादपुरमा उनले निर्माण गरेको नमुना दलित वस्ती नेपालकै नमुनाको रुपमा चर्चा पाएको थियो । मधेश प्रदेशको प्रथम एवम् एक मात्र महिला मेयरको रुपमा जनपक्षीय काम गरेर चर्चामा रहेकी साहले दोस्रो पटक निर्वाचित हुँदा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् ।

    नेकपा एमालेकी उम्मेदवारको रुपमा साहले ५ हजार ५ सय ६४ मत हासिल गरेकी थिइन भने उनको निकटम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार राम प्रवेश यादवले ३ हजार ६२ मत हासिल गरेका छन् । साहले यादवलाई २ हजार ५ सय २ मतले पराजित गरेकी हुन् ।

    गत निर्वाचनमा १ सय ३६ वटा स्थानीय तह रहेको मधेश प्रदेशमा एक मात्र महिला मेयरको रुपमा निर्वाचित भएकी थिइन् । आफ्नो पहिलो कार्यकालमा उत्कृष्ट कार्य गरेर चर्चामा रहेकी साहले नगरवासीको भरपुर साथ पाएको छ । पाँच दलीय गठबन्धनका राजनीतिक खेलाडीहरुलाई धुल चटाउदै मधेशी समुदायको महिला मेयरको रुपमा निर्वाचित भएर साहले पुन: एक पटक किर्तिमान कायम गरेकी हुन् ।

    मेयर साहको प्यानलमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र राय यादव पनि विजयी भएका हुन् । मौलापुरको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।

  • रुपन्देहीको सैनामैनाको मेयरमा कांग्रेसका फणीन्द्र शर्मा विजयी

    रुपन्देहीको सैनामैनाको मेयरमा कांग्रेसका फणीन्द्र शर्मा विजयी

    रुपन्देही । रुपन्देहीको सैनामैना नगर पालिकाको मेयरमा नेपाली कांग्रेसका फणीन्द्रप्रसाद शर्मा विजयी भएका छन् ।

    शर्माले नेकपा एमालेका चित्रबहादुर कार्कीलाई ५८२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन । शर्माले १५६८६ मत ल्याएर विजयी हुँदा कार्कीले १५१०४ मत पाएका छन् । शर्मा २०७४ मा कार्कीसँग पराजित भएका थिए ।

    उपमेयरमा नेकपा एमालेका विना राना मगर विजयी भएकी छन् । रानाले माओवादी केन्द्रका मानबहादुर महतलाई २०४२ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन । रानाले १५७६२ मत पाएर निर्वाचित हुँदा महतले १३७२० मत पाएका छन् ।

    राना निवर्तमान उपमेयर हुन् ।

  • गठबन्धनविरुद्ध कलैया उपमहानगरमा एमालेको सहज जित : विनोद साह मेयर, रौशन पर्विन उपमेयर

    गठबन्धनविरुद्ध कलैया उपमहानगरमा एमालेको सहज जित : विनोद साह मेयर, रौशन पर्विन उपमेयर

    काठमाडौं । सत्ता गठबन्धनलाई सहज पराजित गर्दै बाराको कलैया उपमहानगरपालिकामा एमालेले आश्चर्यजनक नतिजा निकालेको छ ।

    अघिल्लो पटक १८४ मतले कांग्रेसका राजेश रायसँग पराजित भएका विनोद साह यस पटक उनै राजेशलाई गठबन्धनको सहयता हुँदा पनि ६ हजार मतले पराजित गरेर मेयर बनेका छन् ।

    मेयरमा एमालेका विनोद साहले २२ हजार ९६ मत ल्याएर जित हात पारे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेश राय यादवले १६ हजार ८७६ मत पाएका छन्।

    उपमेयरमा एमालेकी रौशन परविन विजयी भएकी छन् । परविनले १७ हजार ३३५ मत ल्याइन् । उनका प्रतिस्पर्धी जनता समाजवादीका पूर्व सांसद समेत रहेका प्रमोद गुप्ताले १६ हजार ७७० मत पाए।

    २०७४ को चुनावमा कलैयाको मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । यस पटक बलियो गठबन्धन भएका कारण एमालेले जित्ने लिस्टमा कलैयालाई राखेको थिएन ।

    देशकै ११ उपमहानगरपालिकामध्ये उपमेयर बन्ने रौशन पर्विन पहिलो मुस्लिम महिला भएकी छन् ।

  • काठमाडौं-२९ मा ६४ भोट ‘गायब’ भएपछि विवाद, एमालेले निर्वाचन आयोगमा उजुरी दिने

    काठमाडौं-२९ मा ६४ भोट ‘गायब’ भएपछि विवाद, एमालेले निर्वाचन आयोगमा उजुरी दिने

    काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २९ मा खसेको भन्दा ६४ कम भोट मात्रै गणना भएपछि एमालेले विरोध जनाएको छ । आज आएको मत परिणाम अनुसार यो वडाको वडाध्यक्षमा कांग्रेस उम्मेदवारले एमालेलाई ५१ भोटले हराएका छन् ।

    एमालेका वडा सचिव राजेश शाक्यका अनुसार मतदानपछि तीन वटा बुथमा गरेर ५ हजार ८ भोट खसेको रिपोर्ट निर्वाचन आयोगले दिएको थियो । तर, अहिले मतगणना क्लोजिङ हुँदा ४९४४ मात्रै गणना भएको छ ।

    शाक्यले भने, ‘हामी ५१ मतले हार्यौं, तर ६४ मत गायब भएका छन् । यदि ती मत एमालेको पक्षमा भए त जित्न सक्थ्यौँ नि ?’

    यसमा विरोध जनाउँदै एमालेले निर्वाचन आयोगमा निवेदन दिने भएको छ ।

  • विराटनगर महानगर : मेयरमा गठबन्धन र उपमेयरमा एमाले उम्मेदवार जित नजिक

    विराटनगर महानगर : मेयरमा गठबन्धन र उपमेयरमा एमाले उम्मेदवार जित नजिक

    विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्धन तर्फका मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी नजिक पुगेकी छिन् ।

    कुल ७ हजार २६२ मत गणना हुन बाँकी हुँदा नागेशले ७ हजार १८५ मतले अग्रता बनाइरहेका छन् ।

    उनले २७ हजार २६४ मत प्राप्त गर्दा एमालेका सागर थापाले २० हजार ७९ मत मात्र प्राप्त गरेका छन् ।

    त्यसै गरी उपमेयरमा एमालेकी शिल्पा कार्कीको मत अन्तर १० हजार ३७९ रहेको छ । शिल्पाले २३ हजार ६३१ मत प्राप्त गर्दा गठबन्धनका अमरेन्द्र यादवले १३ हजार २४३ मत मात्र प्राप्त गरेका छन् ।

    विराटनगर महानगरको मेयरमा पाँच दलीय गठबन्धनले मेयर र उपमेयरमा चुनावी तालमेल गरेका थिए । तर मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रता लिई रहँदा गठबन्धनका तर्फबाट उपमेयर रहेका यादव निकै पछि परेका छन् ।

    नागेश र शिल्पाको जित अब लगभग निश्चित देखिएको छ ।

    उपमेयर उम्मेदवार उपेन्द्र यादवका छोरालाई कांग्रेसको कम मत जानु र जसपाकै नेता उमेश यादव मेयरमा बागी उठ्नुले पार्टीका सबै भोट पनि उनले पाएनन् ।

    यसका साथै कांग्रेसको मत पनि शिल्पामा गएको देखिन्छ । उम्मेदवार नै नभएको रुख चिन्हमा धेरै मत परेको छ ।जसका कारण शिल्पाको जित सहज भएको देखिन्छ ।

    गठबन्धन भित्रबाट उपमेयरका रूपमा अघि सारिएका अमरेन्द्रको भोट बदर हुनुले पनि उनी उपमेयर बन्ने बाटो बन्द हुनुको अर्को कारण पनि देखिएको छ ।

    कुल ८९हजार ७८९ मत खसेकोमा मेयरमा १९ हजार ८७६ मत बदर भएको छ भने उपमेयरमा सबै भन्दा बढी ३१ हजार ३८९ मत बदर भएको छ ।

  • गठबन्धनलाई हराउँदै गैडहवामा एमालेका उम्मेदवार विजयी

    गठबन्धनलाई हराउँदै गैडहवामा एमालेका उम्मेदवार विजयी

    रूपन्देही । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रुपन्देहीको गैडहवा गाउँपालिकामा नेकपा एमालेका सुरेन्द्र पौडेल विजयी भएका छन् ।

    उनले ५ हजार ६ सय ३१ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बसीउल्लाह मुसलवानले ४ हजार ३ सय ८८ मत ल्याए ।

    यस्तै पालिका उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी माधुरी जैसवाल विजयी भएकी छन् । उनले ४ हजार ७ सय ५६ मत ल्याएकी हुन् । नेपाली कांग्रेसकी मन्जु न्यौपानले ४ हजार ६ सय ५९ मत पाइन् ।

    यो सँगै नेकपा एमाले रुपन्देहीका ३ पालिकामा विजयी भएको छ ।

    जिल्लाको देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र गैडहवा गाउँपालिमा नेकपा एमाले विजयी भएको हो ।

  • मोहन्यालको ५६ लाख काण्ड- जसले गर्दा जितिसकेका गाउँपालिका अध्यक्षको सपथग्रहण रोकियो

    मोहन्यालको ५६ लाख काण्ड- जसले गर्दा जितिसकेका गाउँपालिका अध्यक्षको सपथग्रहण रोकियो

    कैलाली । स्थानीय तह निर्वाचन घोषणा भएसँगै कैलालीको दुर्गम गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा उम्मेदवार बन्ने व्यक्ति करिब निश्चित भइसकेको थियो । मोहन्याल गाउँपालिका २ का वडाध्यक्ष देवीदत्त उपाध्याय अर्थात् हिमशिखरलाई धेरैले भावी गाउँपालिका अध्यक्षको रूपमा हेरेका थिए । तर, वैशाख २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गाउँपालिका अध्यक्ष हुने उनको चाहना ब्रेक लाग्ने देखिएको थियो ।

    ११ गते धनगढीमा बसेको सत्ता गठबन्धनको बैठकले मोहन्याल गाउँपालिका माओवादीको भागमा राख्ने निर्णय ग¥यो र माओवादीले उपाध्यायलार्इ नै टिकट दियो । उनले जति सजिलै टिकट पाए त्यति सजिलै निर्वाचन पनि जिते ।

    तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धरम थापा मगरले दुई हजार ७१५ मत प्राप्त गरेका थिए । उनले निर्वाचन जिते पनि शपथ ग्रहण गर्न भने पाइरहेका छैनन् ।

    कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले तत्काल शपथ ग्रहण नगराउन निर्देशन आएको हुँदा शपथ ग्रहण नगराइएको बताए । ‘उहाँलाई तत्काल शपथ ग्रहण नगराउनु भन्ने निर्देशन छ’ उनले भने ‘हामीले त्यही निर्देशन पालना गर्ने हो ।’

    प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले फोन मार्फत आफूलाई दुई÷चार दिन शपथ नगराउनु भनेको पनेरुले नेपाल प्रेसलाई बताए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले मुख्य निर्वाचनको कार्यालय कैलालीमा आरोप पत्र र निलम्बन गरिएको पत्र पठाएपछि उनको शपथ ग्रहण नगराउने निर्णय भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता श्याम प्रसाद भण्डारीले आफूहरूले कागजपत्र मात्रै पठाएको र थप कारबाही प्रक्रिया निर्वाचन आयोगबाटै भएको बताए ।

    ‘जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालय दुवैमा हामीले आरोप पत्र र निलम्बन गरिएको पत्र पठाएका हौँ’ उनले भने ।

    माओवादी केन्द्रले भने निर्वाचित गाउँपालिका अध्यक्षलाई शपथ ग्रहण नगराउनु गलत रहेको बताएको छ ।

    ‘हामीले यस विषयमा पहिले पनि धेरै कानुनी सल्लाह गरेर उहाँलाई उम्मेदवार बनाएका हौँ’ माओवादी केन्द्र कैलालीका इन्चार्ज हरि ज्ञवालीले भने, ‘त्यो बेला केही समस्या हुँदैन भनेर अहिले शपथ नगराउनु यो राजनैतिक प्रतिसोध हो ।’

    उनले एमालेको दबाबमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले शपथ ग्रहण गर्न नदिएको आरोप लगाए ।

    ‘दिनेश थपलियाको ठाडो आदेशमा शपथ ग्रहण रोक्नु भनेको एमालेको पूर्वाग्रह हो’ उनले भने,‘ माओवादीलाई कमजोर पार्न एमालेको निर्देशनमा दिनेश थपलियाले गरेको क्रियाकलाप हो ।’

    यस विषयमा उपाध्यायसँग प्रतिक्रिया लिन खोज्दा उनले प्रतिक्रिया दिन आनाकानी गरे ।

    ‘निलम्बन परिसकेपछि उम्मेदवार बनेर निर्वाचन जित्नु भएको छ अहिले शपथ ग्रहण रोकिएको…’ प्रश्न पुरा नहुँदै उनले भने ‘सर म भिडमा छु पछि कुरा गरौला ।’

    के हो मुद्दा ?

    नवनिर्वाचित गाउँपालिका अध्यक्ष उपाध्याय मात्रै होइन उनीसहित १४ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनी वडा नम्बर २ को अध्यक्ष हुँदा उनी लगायत १४ जना विरुद्ध मुद्दा परेको हो ।

    सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले गाउँपालिकाका अध्यक्ष स्व. नवल सिंह रावल, उपाध्यक्ष पूजादेवी बुढामगर, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध वैशाख २ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    अन्य आरोपितहरूमा अध्यक्ष र उपाध्यक्षसहित वडा १ का अध्यक्ष नवीन पुन मगर, वडा २ का देवीदत्त उपाध्याय, वडा ७ का खरप्रसाद अधिकारी, ५ का छविलाल हौजाली मगर, वडा ४ का टेकबहादुर बोगटी, वडा ६ का टीकाराम भण्डारी वडा ३ का अध्यक्ष नन्दराम गिरी छन् ।

    यस्तै, गाउँ कार्यपालिका सदस्यहरू राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराई, पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझा र न्यू बडिमालिकाका प्रोप्राइटर मकरबहादुर शाहविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

    गाउँपालिका भएर बग्ने पथ्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, बादे, साउडे र कान्द्रा खोलाको नदीजन्य पदार्थको बिक्रीकर संकलन सम्बन्धी सूचनाको आधार बोलपत्र बिक्री भएकोमा पालिकाका पदाधिकारी, कर्मचारी र न्यू बडिमालिका निर्माण सेवाका ठेकेदार बिच मिलेमतोमा सम्झौता भई भ्रष्टाचार भएको भन्ने उजुरी परेको थियो ।

    उनीहरूले पालिकाबाट निर्णय गरी ठेकेदारलाई मिनाहा गरेको रकम र त्यसको मूल्य अभिवृद्धि करबापतकाको रकम जम्मा गरी ५४ लाख १८ हजार रुपैयाँ भ्रष्टाचार गरेको देखिएको अख्तियारले जनाएको छ ।

    प्रोप्राइटर शाहले र प्रशासकीय अधिकृत शाहले ५६ लाख बराबरको सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याएकोले त्यस रकमसहित बिगोबापतको रकम असुल र कैद सजायको माग अख्तियारले गरेको छ ।

  • प्रदेश सांसद अधिकारीकी श्रीमती वडाध्यक्षमै पराजित

    प्रदेश सांसद अधिकारीकी श्रीमती वडाध्यक्षमै पराजित

    लमजुङ । लमजुङ जिल्लामा स्थानीय तह निर्वाचनको परिणाममा नेकपा एमालेको अवस्था सन्तोषजनक छ ।

    ८ वटा पालिका रहेको लमजुङमा जिल्लाको सदरमुकामको नगरपालिकामा एमालेले जितेको छ ।

    बेँशिसहर नगरपालिकामा यसअघि पनि एमालेले जितेको थियो ।

    यो पटक पनि प्रमुख र उपप्रमुख एमालेले जितेको छ । सदरमुकाम बेँशिसहरसँगै एमालेले मर्स्याङ्दी गाउँपालिका, क्वहोलासोथर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ भने दोर्दी गाउँपालिकाको प्रमुख जितेको छ । यस्तै एमालेले सुन्दरबजार र मध्यनेपाल नगरपालिकाको उपप्रमुख जितेको छ ।

    तर यस अघि निर्वाचित भएका जिल्लामा एमालेका केन्द्रीय स्तरका नेताका वडाहरूमा भने अन्य पार्टीले जित निकालेका छन् । एमालेका गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीको दुधपोखरी गाउँपालिका २ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ भने केन्द्रीय सदस्य एवं लमजुङ जिल्ला इन्चार्ज मायानाथ अधिकारीकै वडामा पनि नेपाली कांग्रेस विजयी भएको छ ।

    दोर्दी १ भारतेमा मायानाथ अधिकारीकै श्रीमती इन्दिरा लम्साल अधिकारी वडाध्यक्षमा नेपाली कांग्रेससँग पराजित भएकी छन् । उनी एमाले जिल्ला कमिटी सदस्य समेत हुन् । देशका विभिन्न स्थानमा रहेका केन्द्रीय स्तरका नेताहरूकै वडामा फरक पार्टीले जित निकालिरहेको अवस्थामा लमजुङ जिल्लामा पनि फरक परिणाम आएको हो ।

  • काठमाडौं वडा नम्बर-२९ मा कांग्रेसको प्यानल नै विजयी

    काठमाडौं वडा नम्बर-२९ मा कांग्रेसको प्यानल नै विजयी

    काठमाडौं । काठमाडौं महानगरको मतगणना जारी रहेको छ । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ । केशव स्थापित उनलाई पछ्याएरहेका छन् ।

    वडाहरुको गणना पनि जारी छ । वडा नम्बर २९ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेस उम्मेदवार कुश ढकाल १९२२ मत ल्याएर विजयी भए । एमालेका शिवराम राजवंशी १८७१ मत ल्याए ।

    विजेताहरूलाई मेयर उम्मेदवार सिर्जना सिंहले भेटेर बधाई दिएकी छन् ।

    सो वडामा मेयरतर्फ साहले १६४० मत पाउँदा, कांग्रेसकी सिर्जना सिंहले १२३७ मत पाइन् । यस्तै एमालेका स्थापितले ९७७ मत पाए ।

  • मर्चवारी गाउँपालिका : कांग्रेसले टिकट नदिएका गया हृदयशको पार्टीबाट विजयी

    मर्चवारी गाउँपालिका : कांग्रेसले टिकट नदिएका गया हृदयशको पार्टीबाट विजयी

    रूपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष-उपाध्यक्ष दुवै जनता प्रगतिशील पार्टीले जितेको छ । नेपाली कांग्रेसका ज्ञानप्रकाश मिश्रलाई हराउँदै हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका गयाप्रसाद बरई विजयी भएका हुन् ।

    नेपाली कांग्रेसबाट टिकट दाबी गरेका बरई अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए ।

    गयाले ४ हजार ३ सय ८४ मत प्राप्त गरे भने पराजित उम्मेदवार ज्ञानप्रकाश मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरेका हुन् ।

    यस्तै उपाध्यक्षमा पनि जनता प्रगतिशील पार्टीकै आशा सिंह २ हजार ९ सय ६५ मत ल्याई विजयी भएकी छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन् ।

    वडा नम्बर १ मा लोसपाका कृष्णकुमार सिंह, २ मा लोसपाकै शशिदयाल चौधरी, ३ मा नेपाली कांग्रेसका जर्नादन यादव, ४ मा लोसपाका ओमप्रकाश चौधरी, ५ मा जनता प्रगतिशील पार्टीका कृष्णकुमार सिंह, ६ मा जनमत पार्टीका रामसेवक खरविन्द र वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टीका गनेश चौधरी कुर्मि विजयी भए ।