Category: स्थानीय निर्वाचन–२०७९

  • देवी ज्ञवालीको प्रस्तावमा भरतपुरमा विजय सुवेदी एमालेको मेयर उम्मेदवार तय

    देवी ज्ञवालीको प्रस्तावमा भरतपुरमा विजय सुवेदी एमालेको मेयर उम्मेदवार तय

    काठमाडौं । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।

    अघिल्लो पटकका पराजित उम्मेदवार देवी ज्ञवालीको प्रस्तावमा सुबेदीको नाम टुंगो लागेको हो । ज्ञवाली चितवन एमालेका इन्चार्ज हुन् ।

    एमाले भरतपुरका एक पदाधिकारीका अनुसार सांसद कृष्णभक्त पोखरेल सुवेदीका समर्थक रहने छन् ।

    सुबेदी बाग्मती प्रदेशसभा सदस्य समेत हुन् । उनले। २०७४ सालमा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ ख बाट जितेका थिए । अष्टलक्ष्मी शाक्य छोटो समय बाग्मती प्रदेशको मुख्यमन्त्री हुँदा उनी सामाजिक विकास मन्त्री थिए ।

  • एकीकृत समाजवादीले बनायो अध्यक्ष नेपाल नेतृत्वको निर्वाचन परिचालन कमिटी

    एकीकृत समाजवादीले बनायो अध्यक्ष नेपाल नेतृत्वको निर्वाचन परिचालन कमिटी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा एक हजार एक सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

    समितिमा केन्द्रीय कमिटी, तीन वटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सबै पदाधिकार एवं सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेशका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, जनसंगठनका केन्द्रीय पदाधिकारीलाई समेटिएको छ ।

    २६ र २७ चैतमा बसेको पार्टीको २०औँ केन्द्रीय सचिवालय बैठकले महासचिव डा‍. बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन गरेको छ ।

    उक्त सचिवालयमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य छन् ।

  • दैलेखको चामुण्डा बिन्द्रासैनीमा शाही बने एमालेका उम्मेदवार

    दैलेखको चामुण्डा बिन्द्रासैनीमा शाही बने एमालेका उम्मेदवार

    सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एमालेले सूर्यबहादुर शाहीलाई मेयरका लागि अगाडि सार्ने भएको छ ।

    आज बसेको नगर कमिटी बैठकले शाहीलाई मेयरका लागि अगाडि सार्ने निर्णय गरेको हो । शाही एमाले दैलेख अध्यक्षको दावेदार भएपनि निर्वाचनमा पराजित भएका थिए ।

    उनी पूर्व भूम समस्या समाधान आयोगका जिल्ला अध्यक्ष, नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।

    यस्तै नगर उपप्रमुख र वडा अध्यक्षको टुंगो भने ३० गते लाग्ने एमालेले जनाएको छ ।

  • लुम्बिनीका स्थानीय तहमा आवश्यकताअनुसार मात्रै गठबन्धन हुन्छ : सभापति पुन

    लुम्बिनीका स्थानीय तहमा आवश्यकताअनुसार मात्रै गठबन्धन हुन्छ : सभापति पुन

    रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशमा आवश्यकताअनुसार गठबन्धन हुने बताएका छन् ।

    प्रदेशका सबै जिल्लाहरूमा गठबन्धन हुने सहमति दलहरुबीच भए पनि केही जिल्ला तथा स्थानीय तहहरूमा आवश्यकता अनुसार नै आफ्नो पार्टीले गठबन्धन गर्ने उनले बताए ।

    उनले भने- प्रदेशका १२ वटै जिल्लामा कांग्रेससहित ५ दलीय गठबन्धनबाट चुनाव लड्ने लड्ने तयारी भए पनि केही जिल्लाका केही स्थानीय तहमा भने आवश्यकताअनुसार कांग्रेसले गठबन्धन गर्नेछ ।

    प्रेस युनियनले आइतबार सन्धिखर्कमा गरेको पत्रकार भेटघाटमा उनले कुन जिल्ला र तहमा आवश्यकता छ भन्ने कुरा खुलाएनन् ।

    ‘कांग्रेसको पार्टी बैठकले स्थानीय तहमा कुन ठाउँमा आवश्यक हुन्छ, त्यही स्थानीय तहमा गठबन्धन गरेर जान्छौँ,’ उनले भने ।

    कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धनको विपक्षमा आफ्नो धारणा राखेका सभापति पुनले भन, ‘गठबन्धन नगरी कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने मत राखेको थिएँ, मैले पार्टीको केन्द्रीय समितिको बैठकमा, पार्टीले नै स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको छ त्यही निर्णयअनुसार स्थानीय आवश्यकतालाई ध्यान दिएर अगाडि बढ्छौँ ।’

    सभापति पुनले गठबन्धनका लागि अर्घाखाँची कांग्रेस नेताहरूसँग छलफल गर्नका लागि पुगेका हुन् ।

    २०७४ को स्थानीय तह निर्वाचनमा ६ स्थानीय तहमध्ये छत्रदेव र पाणिनि गाउँपालिकामा कांग्रेस एक्लै लडेर जितेको थियो भने ४ पालिकामा कांग्रेस-माओवादी गठबन्धन भएको थियो । त्यसमध्ये ३ तहमा गठबन्धन उम्मेदवार विजयी भएका थिए । मालारानीमा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको थियो ।

    त्यसै गरी कांग्रेस-माओवादी गठबन्धनबाट भूमिका स्थान नगरपालिका प्रमुखमा जितेका रेमश थापा माओवादी छाडेर अहिले एमालेमा लागेका छन् भने एमालेबाट पाणिनिको उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेकी छन् ।

    अर्घाखाँची कांग्रेस सभापति केशव श्रेष्ठको संयोजकमा फागुन २९ गते नै ५ दलीय संयन्त्र गठन भएर पालिका स्तरमा संयुक्त बैठक बसेर कार्यक्रम सञ्चालन भइरहेपनि गठबन्धनमा रहेका दलहरूको दाबी एक आपसमा बाझिएकाले असन्तुष्टि बढ्दै गएको छ ।

    कांग्रेसले माओवादी, एकीकृत समाजवादी र जनमोर्चालाई एक-एक पालिका दिने प्रस्ताव गरे पनि माओवादीले मानेको छैन ।

    जसपाले पनि आफ्नो उपस्थिति खोजेपछि भागबन्डा मिलाउनै समस्या भएको कांग्रेस नेताको भनाइ छ ।

  • ओलीको गृहजिल्लामा एमालेको नयाँ प्रयोग, उम्मेदवारको आन्तरिक चुनावमा को को टप थ्री ?

    ओलीको गृहजिल्लामा एमालेको नयाँ प्रयोग, उम्मेदवारको आन्तरिक चुनावमा को को टप थ्री ?

    बिर्तामोड । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेकपा एमालेले स्थानीय तहका उम्मेद्वार सिफारिसका लागि सर्वसम्मति नभएको अवस्थामा उच्चतम लोकतान्त्रिक अभ्यासको विधि अपनाएको छ ।

    अमेरिकी राष्ट्रपति उम्मेदवार चयन अघि गरिनेभन्दा पनि उन्नत लोकतान्त्रिक विधि एमालेले यसपटक झापामा अपनाएको छ । झापाका ९ वटा पालिकामा उम्मेदवार सिफारिसका लागि सो नगर वा वडाभित्र आबद्ध पार्टी सदस्यहरूबाट मतदान गराएको छ ।

    निर्वाचन परिणाम र स्थानीय विश्लेषणका आधारमा मात्रै प्रदेश कमिटीलाई उम्मेद्वारको नाम सिफारिस गरिने बताइएको छ । मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षका उम्मेद्वारका आकांक्षी धेरै भएका ठाउँहरुमा शुक्रबार आन्तरिक चुनाव गरिएको थियो ।

    मेचीनगर, बुद्धशान्ति, भद्रपुर, बिर्तामोड, कनकाई, झापा गाउँपालिका, शिवसताक्षी नगर तथा कमल र बाह्रदशी गाउँपालिकामा उम्मेद्वार सिफारिसका लागि आन्तरिक चुनाव भएको छ । त्यसमध्ये बाह्रदशी गाउँपालिकाको गणना हुन बाँकी छ ।

    अन्य ६ पालिकामा सर्वसम्मत प्रक्रियाबाट उम्मेद्वारहरूको नाम सिफारिस भएको बुझिएको छ । निर्वाचन नभएका पालिकाहरूमा सर्वसम्मतिका लागि आवश्यक छलफल भइरहेको पार्टीका जिल्ला सचिव शिव ढुंगलले जानकारी दिए । उनले आन्तरिक चुनावको मत परिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

    आन्तरिक चुनावको परिणाम आवश्यकताका आधारमा सम्बन्धित कमिटीलाई मात्रै जानकारी दिइने बुझिएको छ । उनले आन्तरिक चुनावको परिणामले मात्र उम्मेद्वार निश्चित नहुने बताए । पार्टीले विभिन्न सूचक बनाएर उम्मेद्वार छनौट गरिरहेको भन्दै निर्वाचन पाँच सूचक मध्ये एउटा सूचक मात्रै भएको बताए ।

    उनका अनुसार चैत २७ गतेसम्म जिल्लाका सबै पालिकाले जिल्लालाई उम्मेदवार सिफारिस गरिसक्नुपर्ने छ । सचिव ढुंगेलले पालिकाबाट सिफारिस भएको नाममा थप छलफल गरेर २९ गते बस्ने जिल्लाको बैठकले प्रदेश कमिटीलाई नाम सिफारिस गर्ने जानकारी दिए । प्रदेश कमिटी बैठकले निर्णय गरेर पठाएको नाम मात्रै अन्तिम हुने बताइएको छ ।

    बिर्तामोडमा पवित्रा अगाडि

    बिर्तामोडमा उम्मेदवार सिफारिसका लागि एमालेले गरेको आन्तरिक चुनावमा वहालवाला उपमेयर पवित्रा महतरा प्रसाईले सर्वाधिक मत प्राप्त गरेकी छन् । निर्वाचन सूचकमा पहिलो बनेकी महतराले बाँकी ४ सूचक पूरा गर्नुपर्नेछ ।

    बिर्तामोडको मेयरमा प्रसाईले सबैभन्दा धेरै मत प्राप्त गरेकी छन् भने दोस्रो मत एकराज कार्की र तेस्रो मत नगेन्द्र संग्रौलाले प्राप्त गरे । कार्की प्रदेशसभा सदस्य हुन् ।

    यस्तै, उपमेयरको चुनावमा सबैभन्दा धेरै मत भार देवराज कार्की, दोस्रो भीमा शिवाकोटी र तेस्रो मतभार गणेश पोखरेलले प्राप्त गरेका छन् । नगर पार्टीले जिल्लालाई तीनजनाको नाम उम्मेद्वार आकांक्षीको रूपमा सिफारिस गर्ने बुझिएको छ । .

    भद्रपुरमा असारु राजवंशीलाई धेरै मत

    झापाको भद्रपुर नगरपालिकाको मेयरमा आकांक्षीहरुबीच भएको आन्तरिक चुनावमा असारु राजवंशीले सबैभन्दा धेरै मतभार प्राप्त गरेका छन् । उनले दोस्रो मत प्राप्त गर्ने आकांक्षीभन्दा झण्डै २०० मत धेरै ल्याएको बुझिएको छ ।

    भद्रपुरमा एमालेबाट ६ जनाले मेयरमा आकांक्षा व्यक्त गरेपछि आन्तरिक चुनाव गरिएको हो । राजवंशीपछि वर्तमान उपमेयर चन्द्रा श्रेष्ठ दोस्रो, कालिचरण बस्नेत तेस्रो , मेयर जीवन श्रेष्ठ चौथो, राम दवाडी पाँचौं र सिता प्याकुरेलले छैठा मतभार प्राप्त गरेका छन् ।

    यस्तै, उपमेयरमा आकांक्षी कौशिला अधिकारीले सबैभन्दा धेरै मत प्राप्त गरिन् । दोस्रोमा हरि तिम्सिना, तेस्रोमा विनोद पोखरेलले मत पाएका छन् । निर्वाचनमा मतभारका आधारमा पार्टीलाई गरेको योगदानको मुल्याकङन हुने बताइएको छ । आन्तरिक चुनावको परिणाम नै निर्णायक नहुने एमाले झापाले जनाएको छ ।

    प्राप्त सूचनाअनुसार मेचीनगरमा गोपाल बुढाथोकी, बुद्धशान्तिमा मिरा भुर्तेल, कनकाईमा राजेन्द्र पोखरेल, शिवसताक्षीमा रोशन थोप्रा, झापा गाउँपालिकामा गजेन्द्र ताम्लीले पहिलो मतभार प्राप्त गरेका छन् ।

    यसैबीच नेकपा एमाले झापाले एक विज्ञप्ति जारी गर्दै पहिलो मत भार प्राप्त गर्ने व्यक्तिले टिकट पाइसके जस्तो प्रचार भएको भन्दै त्यसलाई आधिकारिक रूपमा नबुझ्न आग्रह गरेको छ । पार्टीको आन्तरिक चुनाव विभिन्न सूचकमध्ये एक सूचक मात्रै भएको जनाएको छ ।

    अर्जुनधारा गोम्देन सर्वसम्मत

    नेकपा एमाले अर्जुनधारा नगर कमिटीले मेयर उम्मेदवारका लागि लागि नगर अध्यक्ष बलदेव गोम्देनलाई सर्वसम्मत सिफारिस गरेको छ । एमाले नगर कमिटी अध्यक्षसमेत रहेका गोम्देनलाई सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए ।

    अर्जुनधाराका वडाध्यक्षसमेत रहेका गोम्देनसहित मेयर पदमा उपमेयर कमला आचार्य , कमल गुरागाई र देवीमाया भट्टराईले आकांक्षा व्यक्त गरेका थिए । सहमतिबाटै मेयरको उम्मेदवार टुंगो लगाएको अर्जुनधाराले उपमेयरको उम्मेदवारले पनि सर्वसम्मत गर्ने गरी छलफल गरिरहेको छ ।

    मेयरको उम्मेदवार सिफारिसका लागि सर्वसम्मत भएका गोम्देन राजनीतिकसँगै सामाजक सेवामा क्रियाशील व्यक्ति हुन् ।

  • एमालेबाट जनकपुरधाम मेयर उम्मेदवारमा साह सर्वसम्मत सिफारिस

    एमालेबाट जनकपुरधाम मेयर उम्मेदवारमा साह सर्वसम्मत सिफारिस

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन नेकपा एमालेले शिवशंकर साह (हिरा) को एकल नाम सिफारिस गरेको छ ।

    जनकपुरधाम उपमहानगरपालिकामा २५ वटा वडा छन् । सबै वडाबाट साहकै एकल नाम मेयरका लागि सिफारिस भएको एमाले जनकपुरधाम नगर कमिटीका सचिव राजु साहले जानकारी दिए ।

    साह नेकपा एमालेको मधेस प्रदेश कमिटी सदस्य छन् । जनकपुरधाम उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका अध्यक्षसमेत भइसकेका साहले जनकपुरधाममा राम्रो पकड बनाएका छन् ।

    अघिल्लो चुनावमा एमालेबाट मेयरमा लक्ष्मीनारायण भगत उठेका थिए । निर्वाचनमा तेस्रो स्थानमा आएका भगत अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

  • स्थानीय चुनावमा नेकपा एसका उम्मेदवार कसरी र कहिले छानिन्छन् ? (सर्कुलरसहित)

    स्थानीय चुनावमा नेकपा एसका उम्मेदवार कसरी र कहिले छानिन्छन् ? (सर्कुलरसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन परिचालनका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा ११ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

    केन्द्रीय सचिवालयको आइतबार र सोमबार काठमाडौंमा बसेको बैठकले निर्वाचन तयारी सम्बन्धी विभिन्न निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । बैठकले उम्मेदवार सिफारिसको मापदण्ड र समयसीमा समेत तोकेको छ ।

    बैठकले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सन्जेल, सूर्य खी र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन् ।

    बैठकले उम्मेदवार सिफारिसका लागि मापदण्ड तोकेर पठाएको छ । गठबन्धनले उम्मेदवार पाउने ठाउँमा नेकपा एसले उम्मेदवारी नदिने भएको छ ।

    उम्मेदवार सिफारिसका लागि वडा कमिटीले चैत ३० गतेसम्म, पालिका कमिटीले वैशाख २ भित्र र जिल्लाले वैशाख ४ तथा प्रदेश कमिटीले वैशाख ६ गतेभित्र गरिसक्न सर्कुलर गरिएको छ । केन्द्रीय कमिटीले गर्नुपर्ने महानगर र उपमहानगरको टिकटको निर्णय वैशाख ८ गतेभित्र गरिसक्ने भएको छ ।

     

  • इटहरी मेयरमा जसपा पूर्वनेताले गरे स्वतन्त्र उम्मेदवारी घोषणा

    इटहरी मेयरमा जसपा पूर्वनेताले गरे स्वतन्त्र उम्मेदवारी घोषणा

    इटहरी । जसपाका पूर्वकेन्द्रीय सदस्य पदम अधिकारीले इटहरी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    वैशाख ३० को स्थानीय चुनावका लागि इटहरीको मेयरमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो व्यक्ति हुन् ।

    उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘पञ्चायती संस्कृतिको निरन्तरमा हो दलतन्त्र ।’

    अधिकारीले एमसीसी अनुमोदनपछि नेपालको राष्ट्रियतामा कालो बादल मडारिएको तर्क गरेका छन् । इटहरीमा अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने उनको प्रतिबद्धता छ ।

    अहिलेको चुनावी लोकतन्त्रले बहुमतलाई नसमेट्ने भएकोले चुनावी मोडल नै फेर्नुपर्नेमा उनको जोड छ ।

    एमालेबाट राजनीति सुरू गरेका नेता अधिकारी पछिल्लो समयमा जसपामा थिए । उनी जसपा विभाजनपछि लोसपासँग जोडिएका थिए । तर, सक्रिय भनेनन् ।

  • एनजिओ फेडरेसनका पूर्वअध्यक्ष लामा गाउँपालिका अध्यक्ष उम्मेदवारमा सर्वसम्मत

    एनजिओ फेडरेसनका पूर्वअध्यक्ष लामा गाउँपालिका अध्यक्ष उम्मेदवारमा सर्वसम्मत

    काभ्रेपलाञ्चोक । नेकपा एमालेले काभ्रेको चौंरी देउराली गाउँपालिका अध्यक्षमा गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्ष जितराम लामालाई उम्मेदवार तय गरेको छ ।

    गाउँपालिका कमिटीको शनिबार बसेको बैठकले एनजिओ फेडरेसनका पूर्वअध्यक्ष लामालाई अध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस गरेको हो । त्यस्तै उपाध्यक्षमा बबिता खरेललाई सर्वसम्मत सिफारिस गरिएको छ ।

    खरेल पनि सामाजिक अभियन्ता हुन् । सामाजिक अनुभव र संगठन क्षमताका आधारमा दुवै उम्मेदवारलाई सर्वसम्मत अघि सारिएको नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सांसद नविना लामाले बताएकी छन् ।

    चौंरी देउराली गाउँपालिकामा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो । माओवादी जनयुद्ध लडेको एउटा पंक्ति पार्टी विभाजनपछि नेकपा एमालेमा लागेको छ ।

  • स्थानीय चुनाव: कर्णालीमा धमाधम उम्मेदवार टुंग्याउँदै एमाले, गठबन्धनभित्र रसाकस्सी

    स्थानीय चुनाव: कर्णालीमा धमाधम उम्मेदवार टुंग्याउँदै एमाले, गठबन्धनभित्र रसाकस्सी

    सुर्खेत । स्थानीय तह निर्वाचनका लागि कर्णालीमा नेकपा एमालेले धमाधम उम्मेदवार घोषणा गरिरहँदा सत्तागठबन्धनमा भने तनावको स्थिति देखा परेको छ ।

    एमालेले सुर्खेतका २१ वडामा सर्वसम्मत वडाअध्यक्ष चयन गरिसकेको छ भने दैलेखका ३७ वडामा वडाअध्यक्षका उम्मेदवारसमेत चयन गरिसकेको छ । त्यस्तै अन्य जिल्लामा पनि उम्मेदवार चयन गर्ने प्रक्रियाले तीव्रता पाइरहेको छ । तर गठबन्धनमा भने भागबण्डा नमिल्दा उम्मेदवार चयन हुन सकिरहेको छैन ।

    नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेना भन्छन्, ‘हामीले चैत ३० गतेसम्म अन्तिम समयावधि तोकेर पठाइसकेका छौं । अहिलेसम्मको रिर्पोट हेर्दा सुर्खेतमा २१ वडामा सर्वसम्मत वडा अध्यक्षसहित सदस्यहरुको उम्मेदवार चयन भइसकेको खबर आएको छ । आज मात्रै पनि थप केही वडामा सर्वसम्मत उम्मेदवार चयन हुने कार्यक्रम छ ।’

    एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाहले कर्णालीमा उम्मेदवार चयन प्रक्रिया तीव्ररुपमा भइरहेको बताए । ‘हामीले दशै जिल्लामा सर्वसम्मत उम्मेदवार चयन गर्ने गरी अघि बढेका छौं । प्रदेशका करिब एक चौथाई वडामा उम्मेदवार सर्वसम्मत चयन भइरहेको खबर आइसकेको छ । अन्य वडामा पनि सर्वसम्मत चयनको प्रयास जारी छ’, उनी भन्छन्, ‘हामी चुनावलाई टार्गेट गरेर निरन्तर अघि बढिरहेका छौं । वडाअध्यक्ष उम्मेदवार चयन गरेर केही पालिका प्रमुख–उपप्रमुखको उम्मेदवार चयन गर्ने अवस्थामा हामी पुगिसकेका छौं । जस्तो दैलेखको नौमुले गाउँपालिकामा हामी अध्यक्ष र उपाध्याक्षका उम्मेदवार चयन प्रक्रियामा पुगिसकेका छौं ।’

    यता गठबन्धन भने उम्मेदवार छनोटको अन्योलमा रुमल्लिरहेको छ । ‘पालिकाको भागवण्डा केन्द्रले गर्ने भएकाले अहिले हामीले उम्मेदवार तोकेका छैनौं’, माओवादी केन्द्र सुर्खेतका इन्चार्ज एवम केन्द्रीय सदस्य झकबहादुर मल्लले भने, ‘पालिका फाइनल भएर आएपछि हामी वडाका उम्मेदवार टंग्याउँछौं ।’

    नेपाली कांग्रेसभित्र भने संस्थापन र संस्थापन इतर समूहमा हरेक जिल्लामा विवाद देखिएको छ । गठबन्धन गरेर जानुपर्ने भन्दै जिल्ला सभापतिहरुले हस्ताक्षर गरेप नि शेखर समूहका नेताहरुले भने कांग्रेस एक्लै लडनुपर्नेमा जोड दिइरहेका छन् । यसले पनि कांग्रेसलाई सहजै निर्णय लिन मुस्किल भइरहेको पाइएको छ ।

    केही दिनअघि सुर्खेतमा संस्थापनइतर समूहको भेलाले गठबन्धन गरेर जाने भए कांग्रेसले पाएकोमध्ये ४० प्रतिशत नेतृत्व आफूले पाउनुपर्ने माग गरेको थियो । हिजो कालिकोट कांग्रेसले पनि कांग्रेसले सम्मानजनक पालिका नेतृत्व नपाए एक्लै चुनावमा जानुपर्ने निष्कर्ष निकालेको थियो । रुकुम पश्चिम र दैलेखको स्थिति पनि उस्तै छ ।

    नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीले सत्तागठबन्धन दलहरुबीच भागवण्डा नमिलेकाले उम्मेदवारी छनौट गर्न नसकिएको बताए । ‘कुन पालिका कसले पाउने भन्नेबारे अहिलेसम्म कर्णालीमा दलहरुबीच सहमति भइसकेको छैन’, उनी भन्छन्, ‘त्यसैले हामीले पालिकादेखि वडाका उम्मेदवार छान्न नसकेका हौं ।’

  • सुर्खेतका महिला जनप्रतिनिधिकाे एकस्वर: पहिला उपमा चित्त बुझायौं, अब प्रमुख बन्ने पालो हाम्रो

    सुर्खेतका महिला जनप्रतिनिधिकाे एकस्वर: पहिला उपमा चित्त बुझायौं, अब प्रमुख बन्ने पालो हाम्रो

    सुर्खेत । कर्णाली प्रदेशको सबैभन्दा बढी मतदाता भएको जिल्ला हो, सुर्खेत । प्रदेश राजधानीसमेत यस जिल्लामा २०७४ सालको स्थानीय चुनावबाट एकजना पनि महिला प्रमुख पदमा चुनिएनन् अर्थात् उम्मेदवारी नै दिन पाएनन् । तर यसपटक भने उनीहरुले स्थानीय तहको प्रमुख या अध्यक्षमा दाबी गरेका छन् । उनीहरु भन्छन्– पहिला उपमा चित्त बुझायौं, अब प्रमुख बन्ने पालो हाम्रो हो ।

    सुर्खेतको लेकबेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेल नेकपा एमालेबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् । उनले अबको नेतृत्व आफूले पाउनुपर्ने बताइन् । ‘हामीले उपप्रमुख भएर पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेका छौं । संविधानमा व्यवस्था भएअनुसार ३३ प्रतिशत महिला प्रमुख हुन आवश्यक छ । हाम्रो पार्टीले महिलालाई पहिलो प्राथमिकता दिएका कारण पनि मैले मेरो पालिकामा नगरप्रमुखमा दाबी गरेकी हुँ’, उनी भन्छिन्, ‘सीमान्तकृत वर्गको उत्थानका लागि महिला नेतृत्व आवश्यक छ । गाउँमा भएका समस्याहरुबारे हामी जानकार छौं । ती समस्या समाधानका लागि मैले नेतृत्व गर्ने अवसर पाएको खण्डमा ‘वेस्ट’ हुन्छ ।’

    नेपाली कांग्रेसबाट भेरिगंगा नगर उपप्रमुखमा विजेता बनेकी रेणु आचार्य पनि महिलाले अब अवसर पाउनुपर्ने धारणा राख्छिन् । ‘हामीले सदियौंदेखि घर चलाएका थियौं । पाँच वर्ष उपप्रमुख भएर चलाएका छौं । अब संसार चलाउन चाहन्छौं । दलहरुले हामी महिलालाई अवसर दिनपर्छ । हामी अनुभवी र सक्षम पनि भइसकेका छौं’, उनले भनिन्, ‘नयाँ व्यक्ति आउँदा उसलाई नगरपालिका सञ्चालनको तौरतरिका बुझ्न समय लाग्छ । यदि म नगरप्रमुख बन्न पाएँ भने अधुरा विकासे आयोजन देखि जनका आवश्यकता अनुसारका सबै कार्य ूुरा गर्न सजिलो हुन्छ ।’

    उनले जनताका लागि गर्नुपर्ने काम धेरै बाँकी रहेको बताउँदै यसपटक पार्टीले महिलाको हातमा नेतृत्व हस्तान्तरण गरेर महिलाले पनि फ्रन्टलाईनमा बसेर जनताको सेवा गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्न दिनुपर्ने माग गरिन् ।

    वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालको पनि नगरप्रमुखमा दाबी छ । उनले एमालेको नगरपालिकामा नगरप्रमुख नभए पनि कार्यपालिकामा दुईतिहाई भएका कारण प्रदेश र संघीय सरकारसँग समन्वय गरेर विभिन्न विकास निर्माणको काम गरिएको बताउँदै नगरप्रमुख भएको खण्डमा त्योभन्दा बढि काम गर्न सकिने बताइन् । ‘उपमेयर भएर काम गरेको अनुभव छ । जनताका समस्यासँग परिचित भएकी छु’, उनी भन्छिन्, ‘महिलाहरु पनि प्रमुख भएर काम गर्न पाउनुपर्छ । पाँच वर्षमा मैले स्थानीय स्तरमा पर्याप्त अनुभव हासिल गर्दै उपप्रमुखको रुपमा स्थानीय तहमा जिम्मेवारी पूरा गरें । प्रदेश र केन्द्रसँग आवश्यक समन्वय गरेर वीरेन्द्रनगरमा अर्बौंका योजना कार्यान्वयन भएका छन् ।’

    सुर्खेतको सबैभन्दा विकट गाउँपालिका चौकुनेमा उपाध्यक्षको रुपमा एमालेको उम्मेदवार निर्मला शर्मा विजयी बनिन् । उनले आफू अध्यक्ष नहुँदा चाहँदाचाहँदै पनि पालिकाका धरै काम गर्न नसकिएको बताउँदै आफ्नो अनुभवलाई कार्यान्वयन गर्न र पालिकालाई सुगम पालिकाको रुपमा पहिचान दिलाउन आफ्नो अध्यक्ष पदमा दाबेदारी रहेको बताइन् ।

  • भारतसँग सीमा जोडिएको कपिलवस्तुका २० मतदानस्थल अतिसंवेदनशील

    भारतसँग सीमा जोडिएको कपिलवस्तुका २० मतदानस्थल अतिसंवेदनशील

    रुपन्देही । भारतसँग सीमा जोडिएको कपिलवस्तुमा स्थानीय तहको निर्वाचनका लागि छुट्टाइएका २० मतदानस्थल सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील सूचीमा परेका छन् ।

    प्रजिअ धमेन्द्रकुमार मिश्राले जिल्लामा रहेका २ सय ३५ मतदान स्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए ।

    जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरी २० मतदान स्थललाई अति संवेदनशील सुचीमा राखेको हो । मिश्राले निर्वाचन स्थलको निरीक्षणपछि मतदान स्थलको सुची निर्धारण गरिएको बताए ।

    समितिले निर्वाचन स्थलको निरीक्षण अनुगमनपछि स्थलहरूलाई वर्गीकरण गरेको हो । जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलतालगायतका विषयमा छलफल गरी मतदान स्थलको वर्गीकरण गरिएको छ ।

    जिल्लाका १० पालिकामा ४ सय ६८ मतदान केन्द्र कायम गरिएका छन् । समितिले ६२ लाई संवेदनशील र १ सय ५३ मतदान स्थललाई सामान्यको सूचीमा राखेको छ ।

    मतदान केन्द्रमा निर्वाचनका लागि ३ हजार ७४१ कर्मचारीहरू परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी ज्ञानुराज पन्थीले बताए । प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीय रूपमा नै नियुक्त गरिने छ ।

    उनका अनुसार निर्वाचनका लागि कर्मचारी माग गरिएको कर्मरीहरुको सुचीसमेत तयार भैसकेको छ । सो कर्मचारीहरूको सुची जिल्ला प्रमुख निर्वाचन अधिकारीलाई पठाइएको छ ।

    यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा वैशाख ३ र ४ गते अधिकृतहरूलाई तालिम दिइने छ । वैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।

    उता निर्वाचनमा सुरक्षालाई विशेष ध्यान दिइएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आफूहरूले भरपर्दो सुरक्षा व्यवस्था मिलाउने उनले बताए ।

    निर्वाचनमा म्यादी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४ हजार बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । कपिलवस्तुमा २१ साना र ६ ठुला दल गरी कुल २७ दल मतदानमा सहभागी हुनेछन् ।

    गत स्थानीय तहको निर्वाचनको मत

    १. कपिलवस्तु नगरपालिका– काँग्रेस (९,२५४), स्वतन्त्र अहिले एमाले (५,६३१) र संघीय समाजवादी (४,०५४)

    २. कृष्णनगर नगरपालिका– स्वतन्त्र (७,१७८), माओवादी (३,०८०) र राप्रपा (२,४३०)

    ३. बाणगंगा नगरपालिका– काँग्रेस (१५,७३८), एमाले (१५,२७८) र जनमोर्चा (४०४)

    ४. बुद्धभूमि नगरपालिका– काँग्रेस (१०,०६३), एमाले (९,९२६) र संघीय समाजवादी (१,७८२)

    ५. महाराजगंज नगरपालिका– काँग्रेस (७,७२४), स्वतन्त्र (६,७४५) र राप्रपा (७४९)

    ६. मायादेवी गाउँपालिका– संघीय समाजवादी (४,७११), काँग्रेस (३,३५२) र मधेसी जनअधिकार फोरम लाकतान्त्रिक (१,९५८)

    ७. यसोधरा गाउँपालिका– काँग्रेस (३,२७५), स्वतन्त्र (३,१५५) र नयाँ शक्ति (२,२०३)

    ८. विजयनगर गाउँपालिका– एमाले (३,५१२), स्वतन्त्र अहिले कांग्रेस (३,२८४), स्वतन्त्र (१,६०५)

    ९. शिवराज नगरपालिका– एमाले (६,१५५), संघीय समाजवादी (४,७६२) र राप्रपा (२,६७१)

    १०. शुद्धोधन गाउँपालिका– स्वतन्त्र (१,८३७), स्वतन्त्र (१,७६३) र मधेसी जनअधिकार लोकतान्त्रिक (१,७३८)

    कुन पालिकामा कति मतदाता

    जिल्लाका १० वटा पालिकामध्ये सबैभन्दा बढी बाणगंगा नगरपालिकामा छन् । बाणगंगामा ६१ हजार १७७ मतदाता छन् । त्यहाँ ३० मतदान स्थल र ७३ मतदान केन्द्र छन् । दोस्रो ३१ मतदान स्थल र ५९ केन्द्र कायम गरिएको कपिलवस्तु नगरपालिकामा ४७ हजार ८० मतदाता छन् ।

    यस्तै ३० मतदान स्थल र ५७ केन्द्र रहेको बुद्धुभुमी नगरपालिकामा ४५ हजार ३४१ मतदाता छन् । २५ मतदान स्थल र ५५ केन्द्र कायम गरिएको शिवराज नगरपालिकामा ४ हजार ४४८ मतदाता छन् । २४ मतदान स्थल र ४८ मतदान केन्द्र रहेको कृष्णगनर नगरपालिकामा ३६ हजार ८८३ मतदाता छन् ।

    २३ मतदान स्थल र ४१ केन्द्र रहेको महाराजगंज नगरपालिकामा ३२ हजार २२१ मतदाता छन् । २२ मतदाता स्थल र ३९ केन्द्र रहेको मायादेवी गाउँपालिकामा ३१ हजार १६ मतदाता छन् । १७ मतदान स्थल र ३५ केन्द्र रहेको शुद्धोदन गाउँपालिकामा २७ हजार ७७५ मतदाता छन् ।

    १८ मतदान स्थल र ३० केन्द्र रहेको बिजयनगर गाउँपालिकामा २३ हजार ८०२ मतदाता छन् । यस्तै १५ मतदान स्थल र २९ केन्द्र रहेको यशोधरा गाउँपालिकामा २३ हजार २४७ मतदाता छन् ।

  • किन भयो गाउँपालिका अध्यक्षको घरमा आक्रमण ? एमाले र माओवादीबीच आरोप-प्रत्यारोप

    किन भयो गाउँपालिका अध्यक्षको घरमा आक्रमण ? एमाले र माओवादीबीच आरोप-प्रत्यारोप

    सुर्खेत । नेकपा एमालेका केन्द्रीय सदस्य तथा हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा माओवादी र समाजवादी कार्यकर्ताले घेरा हालेर आज आक्रमण गरेका छन् । आफ्नो र छिमेकीको घरमा समेत ढुंगामुढा गरिएको फडेराले नेपाल प्रेसलाई बताए ।

    आज दिउँसो साढे बाह्र बजेदेखि करिब एक घण्टा आक्रमण भएको थियो । ढुंगामुढा हुँदा फडेरासहित उनकी श्रीमती र राष्ट्रिय सभाका सदस्य कविता बोगटी घरभित्र थिए । आक्रमणबाट घरमा क्षति पुगेको छ, भने नियन्त्रणका क्रममा एक असई घाइते भएका छन् ।

    माओवादीले हिजो आफ्नो पार्टीका कार्यकर्ताको पसल र होटेलमा एमाले कार्यकर्ताहरूले तोडफोड गरेको भन्दै त्यसको प्रतिवाद गरिएको जनाएको छ । हिजोको घटनामा फडेरा पनि संलग्न रहेको दाबी माओवादीको छ ।

    नेकपा माओवादी हुम्लाका जिल्ला सचिव धर्मराज बोहराले अदानचुलीमा विवाद भएको बताए ।

    ‘अध्यक्ष फडारासँगै रहेका कार्यकर्ताले बिच बजारमा रहेका नवराज होटेल र अनिता बुमीको पसलमा तोडफोड गरेको पाइयो,’ उनले भने, ‘त्यसैको प्रतिकार स्वरूप हाम्रा कार्यकर्ताले आज अध्यक्षको घरमा आक्रमण गरेका हुन् ।’

    अनिता बुमी नेकपा माओवादीकी प्रदेश कमिटी सदस्य पनि हुन् ।

    फडेराले भने एमाले कार्यकर्ताबाट आक्रमण भएको अस्वीकार गरेका छन् ।

    घटनाबारे उनले यसरी सुनाए :-

    ‘हिजो सामान अनलोड गर्न एमालेका आठ–दश जना गाउँ गएका थिए । उनीहरू त्यहाँबाट फर्कँदै गर्दा अदानचुली गाउँपालिका ३ श्रीनगर बजारमा नेकपा एमाले जिन्दाबाद भन्दै नारा लगाएका रहेछन् । आउने क्रममा एक जना माओवादी समर्थकको घरबाहिर साँघुरो बाटोमा पानीको ड्रम राखिएको थियो । हाम्रो समर्थक ठोकिएर ड्रम ढल्यो । हाम्रा साथीहरूले नै ढलेको ड्रम उठाएर माथि राखेका हुन् ।’

    एमाले अध्यक्ष केपी ओली ४ गते श्री नगरमा आउने कार्यक्रमको तयारीलाई प्रभावित तुल्याउन आक्रमण गरिएको फडेराको दाबी छ । उनले बजारमा सुरक्षा संयन्त्र कमजोर भएको गुनासो गरे ।

    ‘बजारमा सेक्युरिटी कमजोर थियो । असईलाई चोट लागेको छ । मेरो घरमा ठूलो क्षति भएको छ । काठका रेलिङ भाँचिएका छन् । कर्कटपाता कामै नलाग्ने भएका छन् । सोलार सिस्टम पूर्ण रूपमा क्षति भएको छ । छिमेकीको घरमा सिसा फुटाइएको छ । छिमेकीको सानो बच्चामाथि आक्रमण भएको छ । ती बच्चा बेहोस भएको मैले सुनको थिएँ,’ उनले भने ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी कृष्ण ओझाले हिजो एमाले समर्थकबाट तोडफोड भएको र आज माओवादीबाट तोडफोड भएको बताए ।

    ‘अहिले हामी त्यही छलफलमा छौँ,’ उनले भने ।

    यता माओवादी र समाजवादीले भने फडेराले मदिरा सेवन गरेर माओवादी समर्थकको होटेलमा तोडफोड गरेको तथा एक महिलामाथि हातपात गरेकोसमेत आरोप लगाएका छन् ।

    यस विषयमा उनले जवाफ दिए, ‘यी आरोप मात्रै हुन् । हिजो मसँगै राष्ट्रिय सभा सदस्य हुनुहुन्थ्यो । अरू केही नभएर ड्रम खसालेको निहुँमा उनीहरूले आक्रमण गरेका हुन् । हामीबाट न होटेल तोडफोड भएको छ न कसैमाथि हातपात भएको छ ।’

    नेपाल पत्रकार महासंघ हुम्लाका पूर्व अध्यक्ष एवम् पत्रकार अर्जुन बोहराले अदानचुलीमा एमाले समर्थकले माओवादी समर्थकका दुई वटा होटेलमा तोडफोड गरेको जानकारीमा आएको बताए ।

    ‘दुई वटा होटेलमा तोडफोड भएको खबर आएको छ । अहिले फडेराकै घरमा दुई पार्टीका नेताहरूको प्रहरीकै रोहवरमा छलफल भइरहेको छ,’ उनले भने ।

  • शशांकसँग देउवाले भने- माओवादीहरु एमाले प्रवेश गरिसक्या छन्, कांग्रेसले सम्बन्ध गाँसेन भने बाँकी पनि जान्छन् (भिडिओ)

    शशांकसँग देउवाले भने- माओवादीहरु एमाले प्रवेश गरिसक्या छन्, कांग्रेसले सम्बन्ध गाँसेन भने बाँकी पनि जान्छन् (भिडिओ)

    काठमाडौ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेस भरसक एक्लै लड्नुपर्ने बताएका छन् ।

    कांग्रेसनिकट नेविसंघ ईलाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    कोइरालाले भने- म त कांग्रेस एक्लै चुनावमा जानुपर्छ भन्ने पक्षमा छु । तर मैले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजीलाई भन्दाखेरि उहाँले यौटा राम्रो प्रश्न उठाउनुभयो । उहाँले माओवादी जसको भविष्य नै छैन । धेरै माओवादीका साथीहरू अहिले एमालेमा प्रवेश गरिसक्या छन् । जुन बचेका साथीहरू उनीहरूको अस्तित्व नै नभएपछि उनीहरू कहीँ न कहीँ त सम्बन्ध गाँस्नै पर्छ भन्नुभयो ।

    कांग्रेसले सम्बन्ध गाँसेन भने उनीहरूपनि एमालेकहाँ जान सक्ने खतरा रहेको उनले बताए । त्यही कारण फेरी कांग्रेसलाई खतरा हुनसक्ने जोखिम रहेको बताउँदै उनले भने,‘एमाले र माओवादी मिले भने पूर्व चुनाउमा नतिजा हाम्रो २३ सिटमा मात्र झर्‍याथ्यौँ । त्यस्तै होला‘की भन्ने उहाँको (देउवा) चिन्ता थ्यो । जुन स्वाभाविक चिन्ता म पनि स्विकार्छु ।’

    तैपनि आफू एक्लै चुनाव लड्नपर्छ भन्ने पक्षमै रहेको उनले बताए । ‘म भरसक हामी नमिलेर एक्लै लड्नुपर्छ । नेपाली कांग्रेसले आफ्नो शक्ति बुझ्नुपर्‍यो,’ उनले भने ।

  • रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार सर्वसम्मत

    रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार सर्वसम्मत

    रामेछाप । नेकपा एमालेले रामेछाप नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सर्वसम्मतरुपमा सिफारिस गरेको छ । नगर कमिटीको बैठकले मेयरमा रोशन पाख्रिन र उपमेयरमा सीता कुमारी केसीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

    एमालेले नगरपालिकाका मेयर र उपमेयरको टिकट भने नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सुझावका आधारमा प्रदेश कमिटीबाट लगाउनेछ ।

    मेयरमा सिफारिस भएका पाख्रिन अघिल्लो निर्वाचनमा एक सय मतको झिनो अन्तरमा कांग्रेसका नरवहादुर मगरसँग पराजित भएका थिए । त्यसबेला उपमेयरमा सीता केसी सिफारिस भए पनि मतदाता नामावली काठमाडौंमै रहेकाले अर्को उम्मेदवार उठाउँदा त्यसको असर मेयरमा परेर एक सय मतले पराजित हुनुपरेका एमाले नेताहरु बताउँछन् ।

    यसपटक सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्दै एमाले चुनावी अभियानमा लागेको केसीले बताइन् । पाख्रिन नगर कमिटीका अध्यक्ष हुन् भने केसी जिल्ला कमिटी सदस्य हुन् । पालिका प्रमुख र उपप्रमुखको सिफारिस टुंगो लगाउने रामेछाप नगर कमिटी पहिलो बनेको जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले बताए ।

    रामेछापको वडा नम्बर ७ मा धु्रब बस्नेत र ८ मा श्याम श्रेष्ठ वडाध्यक्षका उम्मेदवार पनि सर्वसम्मत भएका छन् ।

  • लाभको पदमा रहेको व्यक्ति स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने

    लाभको पदमा रहेको व्यक्ति स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने

    काठमाडौं । सरकारी कोषबाट रकम लिने गरी लाभको पदमा रहेको व्यक्ति स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् ।

    निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले कुनै पनि तहको सरकार वा सरकारको स्वामित्व वा नियन्त्रण रहेको संस्था वा सरकारी अनुदानबाट चलेको निकायबाट पारिश्रमिक लिइरहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने कानूनी व्यवस्था रहेको स्पष्ट पारेका हुन् ।

    थपलियाले उम्मेदवार बन्न चाहने हरेक व्यक्तिले कानून बमोजिम सरकारी कोषबाट सुविधा लिने लाभको पदमा नरहेको लिखित घोषणा गर्नुपर्ने बताए ।

    ‘सरकारी कोषबाट रकम बुझ्ने लाभको पदमा रहेको व्यक्तिले अब राजीनामा होइन उम्मेदवारी दर्ता अघि नै स्वघोषणा समेत गर्नुपर्छ’, थपलियाको भनाई छ । प्रत्येक उम्मेदवारले स्वघोषणा गर्नुपर्ने भएकाले कसैले गलत सूचना दिएमा स्वतः उम्मेदवारी रद्द हुने र कानून बमोजिम अगाडि बढ्ने बताए ।

    ‘अब उम्मेदवार हुने व्यक्तिले आफू नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारको स्वामित्व रहेको वा ती सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा ती सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने पदमा छैन र सरकारी कोषबाट रकम पाउने गरी कुनै लाभको पदमा बहाल छैन भनी हरेक दर्ताका समयमा स्वघोषणा गरेको हुनुपर्छ’, उनको भनाई छ ।

    आयोगको यस व्यवस्थाले हाल स्थानीय तहको जनप्रतिनिधिको रूपमा पदमा बहाल रही सरकारी सुविधा लिइरहेकाहरू समेत पुनः उम्मेदवार बन्नुअघि राजीनामा दिइसकेको हुनुपर्नेछ ।

  • निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लघंन गरे सचेत गराउनेदेखि उम्मेदवारी रद्दसम्म (भिडिओ)

    निर्वाचन आचारसंहिता आजदेखि लागू, उल्लघंन गरे सचेत गराउनेदेखि उम्मेदवारी रद्दसम्म (भिडिओ)

    काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ ।

    आयोगले पत्रकार सम्मेलन गरेर आजदेखि आचारसंहिता लागु भएको जनाएको हो । आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।

    आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गरी नागरिकलाई निर्बाध ढंगले मताधिकार प्रयोग गरी लोकतन्त्र सुदृढीकरण गर्न सबैले प्रयास गर्नुपर्ने जनाएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिताको उल्लंघन भएको पाइएमा आचारसंहिता उल्लघंनको प्रकृति र स्वरूप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानूनतः जरिवाना र दण्ड सजाय गराउने वा उम्मेदवारी रद्दसमेत गर्न सक्ने बताए ।

    ‘निर्वाचन आचारसंहिताको पूर्ण पालनाबिना विश्सनीय निर्वाचन हुन सक्दैन भन्ने तथ्यलाई आत्मसात् गरी खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचन खर्चलाई नैतिकता र इमानदारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुसरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने सन्दर्भमा साझा सङ्कल्प र इमानदार प्रयत्न आवश्यक पर्छ’, आयोगका प्रवक्ता पौडेलले भने ।

    निर्वाचन आयोगले आचारसंहिता अनुसार दल र उम्मेदवारले मात्रै सामाजिक सञ्जालमार्फत प्रचार गर्न पाउने जनाएको छ ।

    त्यस्तै निर्वाचन प्रचारका लागि झोला, क्याप, टिसर्ट लगायतका सामाग्री बनाउन वा वितरणसमेत गर्न नपाउने व्यवस्था आचारसंहितामा रहेको आयोगले स्मरण गराएको छ ।

  • एमालेसँग तालमेल हुने स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्ह रोज्न पाउने

    एमालेसँग तालमेल हुने स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्ह रोज्न पाउने

    काठमाडौं । राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग तालमेल भएका ठाउँमा सो पार्टीका उम्मेदवारलाई सूर्य चिन्हबाटै उम्मेदवार बन्न बाटो खुला गरेको छ ।

    स्थानीय चुनावको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले एमालेसँग तालमेलका लागि आफूहरु इच्छुक रहेको भन्दै त्यस्ता स्थानीय तहमा उठ्ने राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्हबाटै लड्न सक्ने बताएका छन् ।

    जहाँ राप्रपा नेपालको उपस्थिति छ ती ठाउँमा एमालेसँग आफ्नो हैसियत अनुसार सिट मागेर एमालेकै चुनाव चिन्ह लिएर उठ्ने पार्टीको धारणा रहेको थापाले बताए ।

    एमालेसँग तालमेलको कुरा भए पनि निर्णय भने नभएको उनले बताए । हेटौंडा उपमहानगरपालिका लगायत कतिपय स्थानीय तहमा राप्रपा नेपालको उपस्थिति निर्णायक रहेको छ ।

    सुर्य चिन्ह जनतामा स्थापित र लोकप्रिय रहेको तथा फरक चिन्हमा मतदान गर्दा मतदाता झुक्किएर बदर हुने भएकाले पनि यो उपाय रोजिएको थापाको भनाइ छ ।

  • दैलेखको आठबीस नगरमा एमालेबाट मेयरमा १३ र उपमेयरमा ७ जनाको दावी पेश

    दैलेखको आठबीस नगरमा एमालेबाट मेयरमा १३ र उपमेयरमा ७ जनाको दावी पेश

    सुर्खेत । नेकपा एमाले आठबीस नगर कमिटिको आज बसेको सचिवालय बैठकमा नगर प्रमुख हुन चाहनेहरुको लर्को लागेको छ । नगर कमिटि उपाध्याक्ष हिक्मत बस्नेतका अनुसार नगर प्रमुखमा १३ जना तथा उपप्रमुखमा सात जनाको दाबी परेको हो ।

    उनका अनुसार नगरप्रमुखमा उम्मेदवारी दिनेहरुमा हर्कबहादुर शाही, तर्कबहादुर बडुवाल, ओमजंग शाही, मिनबहादुर शाही रहेका छन् ।

    यस्तै, तेजबहादुर महतारा, खड्गराज उपाध्याय, पदम माझी, नेत्र विष्ट, जीवन शाहीले पनि नगरप्रमुखका लागि दावी गरेका छन् । दिपेन्द्रराज खनाल, पर्वसिंह विश्वकर्मा, सिंहराज शाही र लालसरा थापाले पनि नगरप्रमुखको उम्मेदवारीमा दावी गरेका छन् ।

    नगर उपप्रमुखतर्फ कमला थापा, गोमता विक, नामसरा कार्की, जौधरा खनाल आचार्यले दाबी गरेका छन् । यस्तै, कल्पना थापा, गोमा उपाध्याय र सिता सुनारले उपप्रमुखमा दाबी गरेको उपाध्याक्ष बस्नेतले बताए ।

    उनका अनुसार आज बसेको बैठकमा नाम संकलन गर्ने काम भएको हो । ‘आज हामीले नगरप्रमुखको उम्मेदवार बन्नेहरुको नामावली संकलन गरेसँगै सहमतिको प्रयास सुरु गर्ने बाटो खुलेको हो ।’ उनी भन्छन्, ‘२९ गते भित्र हामी सके सर्वसम्मत नभए मतदानबाट भएपनि उम्मेदवारको नाम टुंगो लगाएर जिल्ला कमिटिमा पठाउँछौं ।’

    बस्नेतका अनुसार नगर कमिटिले नगर प्रमुख र उपप्रमुखमा तीन-तीन जनाको नाम सिफारिस गर्ने भएको छ । सहमति भएको खण्डमा भने दुवै पदका लागि एक-एक जनाको नाम पठाइने तयारी छ ।

  • चुनावी तालमेलको पक्षमा संयुक्त वक्तव्य जारी गर्ने गठबन्धनको निर्णय

    चुनावी तालमेलको पक्षमा संयुक्त वक्तव्य जारी गर्ने गठबन्धनको निर्णय

    काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने भएको छ ।

    गठबन्धनको आज बसेको बैठकले तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो ।

    गठबन्धनले चुनावी तालमेलको सैद्धान्तिक निर्णय गरेपछि पनि कतिपय जिल्लाहरूमा गठबन्धनमा रहेका दलहरुबीच सहमति नजुटेपछि केन्द्रीय शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्न लागेको हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा विभिन्न जिल्लामा गठबन्धनमा देखिएका समस्याबारे छलफल भएको थियो ।

    बैठकमा ६ महानगर र ११ उपमहानगरको नेतृत्व केन्द्रबाट नै टुंग्याउने विषयमा पनि छलफल भएको बताइन्छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार समस्या देखिएका जिल्ला र स्थानीय तहमा केन्द्रबाट नै निर्णय गर्न सकिनेबारे छलफल सुरु भएको छ ।