Category: स्थानीय निर्वाचन–२०७९

  • बाह्रविसेको मेयरमा एमालेबाट शेर्पा र माओवादीबाट बस्नेत सिफारिस, उपमेयरमा पाख्रिन र थामी सर्वसम्मत

    बाह्रविसेको मेयरमा एमालेबाट शेर्पा र माओवादीबाट बस्नेत सिफारिस, उपमेयरमा पाख्रिन र थामी सर्वसम्मत

    सिन्धुपाल्चोक । स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो उम्मेदवार सर्वसम्मत सिफारिस गरेका छन् । नेकपा एमालेको तर्फबाट प्रमुख, उपप्रमुखमा हालकै मेयर, उपमेयर दोहोरिने भएका छन् ।

    केही दिनदेखि जारी नेकपा एमाले बाह्रविसे नगर कमिटीको बैठकले मेयरमा निमफुञ्जो शेर्पा र उपमेयरमा शुसिला पाख्रिनको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

    मेयरमा अन्यको पनि आकांक्षा भएपनि अहिलेको जटिल अवस्थामा पार्टीभित्र एकमना एकताका साथ हालकै मेयर उपमेयरलाई निरन्तरताका लागि सिफारिस गरिएको एमाले बाह्रविसे नगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र राउतले जानकारी दिए ।

    आफू नदोर्याउने पक्षमा भएपनि बाह्रविसेका पार्टीका कार्यकर्ता र आम नगरवासीको चाहाना र पार्टीमा संकटको अवस्था भएकोले पुनःउमेदवार भएको मेयरका उमेदवार निमफुञ्जो शेर्पाले बताए ।

    बाह्रविसे नगरपालिकामा जसरी पनि जितेर आउनका लागि भन्दै केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नै बोलाएर शेर्पालाई निर्देशन दिएका थिए । ‘अध्यक्ष ज्यूले समेत बाह्रबिसे नगरपालिकामा जिताउनु भन्ने छ, सबै साथीहरुको चाहना पनि यही छ, त्यही भएर म फेरि उम्मेदवार भएर एमालेलाई जिताउने अभियानमा लागेको छु’, शेर्पाले भने । बाह्रविसेमा अब एमालेको जितलाई कसैले रोक्न नसक्ने दाबी शेर्पाले गरे ।

    सिन्धुपाल्चोकमा गठबन्धनको टुङ्गो नलागे पनि माओवादी केन्द्रले पनि बाह्रविसे नगरपालिकामा मेयर र उमेयरमा आफ्ना उमेदवारहरु सिफारिस गरेको छ । मेयरमा बुद्धराज बस्नेत र उपमेयरमा पातली थामीलाई सिफारिस गरेको छ । बस्नेत अघिल्लो निर्वाचनमा पनि माओवादी केन्द्रबाट उम्मेदवार भएका थिए ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका भाइ बुद्धराज अघिल्लो निर्वाचनमा माओवादीमा प्रवेश गरेर मेयरमा उम्मेदवार भएका थिए । कांग्रेस, माओवादी गठबन्धन गर्ने चर्चा भइरहे पनि बस्नेत भने गठबन्धनको विपक्षमा छन् ।

    उनले केही दिनअघि सामाजिक सञ्जालमा मन मिल्नेहरुसँग मात्रै गठबन्धन हुनुपर्ने धारण सार्वजनिक गरेका थिए । बाह्रविसेमा अहिले आफूहरुको संगठन मजबुत भएकाले योपटक एक्लै लड्दा पनि जित्ने अवस्था भएको मेयरका उम्मेदवार बस्नेतले दाबी गरे ।

    सवारी साधान फिर्ता

    आसन्न स्थानीय निर्वाचनमा पुनः उम्मेदवार हुने भएपनि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा र उपमेयर सुशिला पाख्रिनले नगरपालिकाबाट लिएको सवारीसाधान नगरपालिकालाई फिर्ता गरेका छन् ।

    निर्वाचन आयोगले घोषणा गरेको आचरसंहितालाई पूर्णरुपमा पालना गर्दै नगरपालिकाबाट लिएको सवारी साधान फिर्ता गरेको उपमेयर पाख्रिनले जानकारी दिइन् । निर्वाचन आयोगले लाभको पदधारण गरेकाहरुले उम्मेदवार हुन नपाउने बताएको थियो ।

  • जागिर छाडेर वडाध्यक्षमा उम्मेदवारी

    जागिर छाडेर वडाध्यक्षमा उम्मेदवारी

    बैतडी । आगामी वैशाख ३० हुने स्थानीय तह निर्वाचनमा देशभरी नै उम्मेदवारी घोषणाको लहर चलेको छ ।

    राजनीतिक दलहरूले २०७४ को आफ्नो विरासत जोगाउने गरि उम्मेदवार तय गरिरहेका छन्, भने केही जागिर नै छाडेर उम्मेदवारी घोषणा गरिरहेका छन् ।

    यसैबीच बैतडीको डिलासैनीमा नरेन्द्र बहादुर माल आँसुले जागिर छाडेर वडाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

    नेकपा माओवादी केन्द्रको तर्फबाट उनले पालिकाको वडा नम्बर ६ अध्यक्षको उम्मेदवारी दिने भएका हुन् । आज बसेको बैठकले माललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    मालले उम्मेदवारी दिन गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजबाट राजीनामा दिएका हुन् । त्यहाँ उनी कर्मचारीका रूपमा कार्यरत थिए ।

      यस्तै वडा सदस्यमा राम नाथ तुफानलाई उम्मेदवार बनाइएको छ ।

  • गठबन्धनमा अनाैठो सहमति : आपसी तालमेल नभए अरु दलसँग पनि मिल्न नपाउने

    गठबन्धनमा अनाैठो सहमति : आपसी तालमेल नभए अरु दलसँग पनि मिल्न नपाउने

    रुपन्देही । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन दलका नेताहरू सबै पालिकामा गठबन्धन गर्न तयार नभएको अवस्थामा यी बाहेकका अन्य दलसँग गठबन्धन गर्न नपाइने कडा नियम बनाएका छन् ।

    गठबन्धन दलले लुम्बिनी प्रदेशमा पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल गर्न नपाउने औपचारिक निर्णय सोमबार गरेका छन् ।

    बुटवलमा बसेको पाँच दलीय गठबन्धनका नेताहरूको बैठकबाट पाँच दलबाहेक अन्य कुनैसँग चुनावी तालेमल नगर्ने निर्णय गरिएको हो ।

    बैठकले चुनावी गठबन्धनका पाँच दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनावी संयन्त्र बनाएको छ । जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी रिपोर्ट प्रदेशमा पठाउन निर्देशन दिने निर्णय भएको कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बताए ।

    बैठकले गठबन्धन दलको संयुक्त स्थलगत अनुगमन गर्ने निर्णयसमेत गरेको छ । कार्यदलमा नेपाली कांग्रेसका राजु खनाल, नेकपा माओवादीका लुमकान्त न्यौपाने, नेकपा एकीकृत समाजवादीका अशोक कोइराला, राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री र जनता समाजवादी पार्टीका अशोकुमार यादव रहेका छन् ।

    परिवर्तनका उपलब्धि र गणतन्त्रको रक्षाका लागि गठबन्धन दलहरूको काँधमा थप जिम्मेवारी थपिएकाले स्थानीय निर्वाचनका लागि गठबन्धनलाई थप व्यवस्थित र मर्यादित बनाउनका लागि पाँच दलबिच आपसी सहमति भएको राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले बताए ।

    विज्ञप्तिमा नेपाली कांग्रेस सभापति अमरसिंह पुनमगर, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अध्यक्ष सुदर्शन बराल, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी अध्यक्ष अशोकुमार यादव, राष्ट्रिय जनमोर्चाका बद्रे आलमले संयुक्त रूपमा हस्ताक्षर गरी बैठकले गरेका निर्णयबारे जानकारी गराएका छन् ।

  • कालिकोटको नरहरिनाथमा एमाले अध्यक्ष उम्मेदवारमा बुढा सिफारिस

    कालिकोटको नरहरिनाथमा एमाले अध्यक्ष उम्मेदवारमा बुढा सिफारिस

    सुर्खेत । नेकपा एमाले नरहरि नाथ गाउँपालिकाबाट आगामी स्थानीय तहको चुनावका लागि अध्यक्ष पदमा टेक बहादुर बुढा सर्वसम्मत सिफारिस भएका छन् ।

    उनलाई आज बसेको गाउँ कमिटीको बैठकले अध्यक्षमा चयन गरेको हो । उनी नेकपा एमाले कालिकोटका सचिव समेत हुन ।

    उक्त पालिकाको अध्यक्षमा २०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट धीर बहादुर विष्ट विजयी भएका थिए ।

    उनी हाल नेकपा एसमा प्रवेश गरिसकेका छन् ।

  • जाजरकोटको भेरी नगरपालिकामा एमालेले टुंगो लगायो उम्मेदवार

    जाजरकोटको भेरी नगरपालिकामा एमालेले टुंगो लगायो उम्मेदवार

    जाजरकोट । नेकपा (एमाले)ले जाजरकोटको भेरी नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।

    सत्ता गठबन्धन दललाई उम्मेदवारको टुंङ्गो लगाउन हम्मे परेको बेला नेकपा एमालले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई सर्वसहमत फेरि पनि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    सत्ता गठबन्धन दलहरू कसले के कति लिने भन्ने विषयमा छलफल जारी राखे पनि निश्कर्षमा पुगिनसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश उपाध्यक्ष ढकवीर रानाले बताए ।

    जाजरकोटमा सात वटा स्थानीय तह छन् । भेरीमा कांग्रेस, माओवादी र नेकपा एसको दाबी रहेको छ । पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको पालिका भएकै कारण सबैको आँखा भेरीमै छ ।

    सत्तारुढ दलहरू प्रचारप्रसारमा समेत सुस्त देखिएका छन् । नेकपा एमालले भने छलफललाई समेत तीव्रता दिएको छ ।

    सुरुमा आरोप प्रतिआरोपमा उत्रिएका माओवादी केन्द्र र कांग्रेस अहिले वाक युद्ध छोडेर भागबण्डा र टिकट कसले पाउने भन्ने विषयमा व्यापक छलफलमा रहेका छन् । केन्द्रीय स्तरमा नेताहरूको घरदैलो धाउन समेत थालेका छन् ।

    माओवादीले चार स्थानीय तहमा दावी गरेको छ भने कांग्रेसले पनि त्यही संख्या मागेको छ । नेकपा एसले दुई पालिकामा मागेको छ ।

    २०७४ सालमा माओवादीले दुई, कांग्रेसले दुई स्थानीय तह जितेका थिए । नेकपा एमालेले दुइ नगरपालिका सहित एक गाउँपालिकामा जित हात पारेको थियो ।

  • पाल्पामा पनि विप्लव नेतृत्वको नेकपा निर्वाचनमा, तिनाउमा जिसीको उम्मेदवारी घोषणा

    पाल्पामा पनि विप्लव नेतृत्वको नेकपा निर्वाचनमा, तिनाउमा जिसीको उम्मेदवारी घोषणा

    रुपन्देही । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन लड्ने भएको छ ।

    सो पालिकामा पार्टीका जिल्ला कमिटी निवर्तमान सचिव भुवन जिसीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पार्टीले निर्वाचन नजाने नीति लिएको भए पनि जिसीले आफ्नो टिमसहित स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

    आफू निकट नेताहरूको बैठकमा उनले पार्टीबाट राजीनामा दिनुपर्ने अवस्था आए पनि उम्मेदवारी दिने बताए ।

    सो पार्टीले जिसीलाई पार्टी सचिवबाट हटाएर पूर्व लडाकु कमान्डर मीनबहादुर आलेलाई सचिवमा चयन गरेको थियो ।

    उनी तत्कालीन नेपाली माओवादी जनयुद्धमा २०५८ सालमा बुटवल बहुमुखी क्याम्पसको अखिल (क्रान्तिकारी)बाट आबद्ध भएर राजनीतिमा आएका थिए ।

    विप्लव समूहको राम्रो पकड रहेको तिनाउमा २ नम्बर वडाबाट टोपबहादुर विक, ३ नम्बर वडाबाट नीरबहादुर विक र ४ नम्बर वडाबाट गणेश रास्कोटी समेत वडाध्यक्षमा संयुक्त रूपमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

    यस्तै १ र ६ नम्बर वडा अध्यक्षमा आकाङ्क्षीहरू बढेपछि छलफलमा रहेको सो पार्टीका नेताले जनाएका छन् ।

    यस्तै अन्य वडाहरूमा समेत विप्लव नेतृत्वका नेताहरूले स्वतन्त्र ढङ्गले चुनावमा जाने निश्चित भएको छ ।

  • काठमाडौंको मेयरमा विवेकशीलबाट समीक्षा, कीर्तिलाई उपमेयरमा अघि सारियो

    काठमाडौंको मेयरमा विवेकशीलबाट समीक्षा, कीर्तिलाई उपमेयरमा अघि सारियो

    काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौंको मेयर र उपमेयरका लागि दुई महिलालाई अगाडि सार्ने निर्णय गरेको छ ।

    विवेकशीलका प्रवक्ता शरदराज पाठकका अनुसार मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

    पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नारा तय गर्दै दुईजनाको नाम टुंग्याएको विवेकशीलले जनाएको छ ।

    मेयरमा अघि सारिएकी समीक्षा विवेकशील साझा वागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौं स्कूल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् ।

    उपमेयरमा अघि सारिएकी कीर्ति पार्टीकी केन्द्रीय सदस्य छिन् । उनी नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्षमध्येकी एक हुन् । शिक्षामा स्नातकोत्तर गरेकी ६२ वर्षीया कीर्ति अन्तर्राष्ट्रिय जेसीजको दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष रहेको विवेकशीलले जनाएको छ ।

    ‘विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौं पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएकोले महानगरपालिकालाई दुईजना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिबद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूआत हुनेछ’, अध्यक्ष रवीन्द्र मिश्रले विश्वास जनाएका छन् ।

  • गठबन्धन शीर्ष बैठक अपडेट : संयुक्त अपिल जारी गर्ने, तालमेलको मापदण्ड तयार हुँदै

    गठबन्धन शीर्ष बैठक अपडेट : संयुक्त अपिल जारी गर्ने, तालमेलको मापदण्ड तयार हुँदै

    काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बालुवाटारमा जारी बैठकमा चुनावी तालमेलको मोडलबारे छलफल भइरहेको छ ।

    आजै नेतृत्वले संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन् । आसन्न स्थानीय चुनावमा एमालेविरुद्ध देशव्यापी गठबन्धन गरेर जाने निर्णय गरिएकोमा कतिपय ठाउँमा उम्मेदवार तय र भागबण्डामा गठबन्धनबीच खटपट देखिएपछि संयुक्त अपिल जारी गर्न लागिएको एक नेताले जानकारी दिए ।

    बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले तालमेलका लागि मापदण्डबारे छलफल भइरहेको जानकारी दिएका छन् ।

    ‘स्थानीय तहमा गठबन्धन गर्ने मापदण्ड बनाएर सबै स्थानीय तहमा सर्कुलर गरिनेछ । साथै आजै संयुक्त अपिल पनि जारी हुन्छ’, बैठक चलिरहँदा श्रेष्ठले भने ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ ।

  • एमालेबाट धरान र इटहरीका लागि मेयर-उपमेयरका उम्मेदवार सिफारिस

    एमालेबाट धरान र इटहरीका लागि मेयर-उपमेयरका उम्मेदवार सिफारिस

    इटहरी । प्रदेश १ का १४ मध्ये एकै जिल्ला सुनसरीका दुई उपमहानगरपालिका धरान र इटहरीमा नेकपा एमालेले मेयर र उपमेयरको उम्मेदवारको नाम सिफारिस गरेको छ ।

    नेकपा एमालेको सम्बन्धित उपमहानगर कमिटीको बैठकले धरानको मेयरका लागि ११ जना र इटहरीमा ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।

    धरानको मेयरका लागि पूर्वमेयर मनोजकुमार मेन्याङ्बो र हालकी उपमेयर मञ्जु भण्डारी, मोतीराज सुनुवार, विजयकुमार राई, तीर्थ मास्के, मिनकुमार सुब्बा, नारायणप्रसाद सुवेदी, राजमणि निरौला, दोर्पध्वज राई, प्रकाश राई र किशोरकुमार कार्कीको नाम सिफारिस गरिएको छ ।

    उपमेयरको उम्मेदवारमा नयाँ अनुहारहरू सिफारिस भएका छन् । जसमा इन्द्रकला राई, सविता चाम्लिङ, लहरुमाया जिमी, पदमप्रसाद लिम्बु, लीला राई, सुशीला पहाडी छन् ।

    यस्तै इटहरी उपमहानगरपालिकामा मेयरको उम्मेदवारमा सिफारिस गरिएकामा हालका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, यामकुमार सुब्बा, रामप्रसाद चौलागाई, बन्नुलाल चौधरी र रेवतीप्रसाद घिमिरे छन् ।

    उपमेयरमा अम्बिका चौधरी, विष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनिता सर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोखरेलको नाम सिफारिस गरिएको छ ।

    उपमहानगर कमिटीले सिफारिस गरेका नाममलाई जिल्ला कमिटीले चैत ३० मा सिफारिस गरेर केन्द्रबाट अन्तिम टुंगो लगाउने नेताहरूले बताएका छन् ।

  • एमालेबाट हेटौंडाको मेयरमा ९ र उपमेयरमा ७ जना सिफारिस

    एमालेबाट हेटौंडाको मेयरमा ९ र उपमेयरमा ७ जना सिफारिस

    हेटौंडा । वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका मेयरको उम्मेदवारका लागि ९ जना र उपमेयर पदको लागि ७ जनाको नाम सिफारिस गरिएको छ ।

    आइतबार बसेको नगर कमिटीको बैठकमा सहमति नजुटेपछि आकांक्षी सबैजनाको नाम जिल्ला कमिटिमा पठाइएको हो ।

    हेटौंडाको मेयर पदका लागि आकांक्षी हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गरिएको हो ।

    महत अहिले पनि मेयर छन् भने खुलाल जिल्ला समन्वय समितिका प्रमुख हुन् । राना नेकपा एमाले केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ जिल्ला अध्यक्ष हुन् ।

    यस्तै मेयरका अर्का आकांक्षी पौडेल दोश्रो संविधानसभा सदस्य हुन् । दाहाल र चौंलागाईं अधिवक्ता हुन् भने महर्जन यसअघि हेटौंडा उपमहानगरपालिकाको वातावरण महाशाखा प्रबन्धकमा कार्यरत थिए ।

    मेयर पदमा सिफारिस एक मात्र महिला प्रधान भने जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य छिन् ।

    सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई उमपेयरका लागि सिफारिस गरिएको छ ।

  • दैलेखको नारायण मेयर-उपमेयरका लागि कांग्रेस एक्लैले तयार पार्‍यो सूची

    दैलेखको नारायण मेयर-उपमेयरका लागि कांग्रेस एक्लैले तयार पार्‍यो सूची

    सुर्खेत । नेपाली काँग्रेसले दैलेखको पुरानो नगरपालिका नारायण नगरपालिकामा मेयरमा १४ र उपमेयरमा २ जनाको सूची तयार पारेको छ ।

    नगर कार्यसमितिको आइतबार बसेको बैठकले दाबेदारहरूको नामावली तयार पारेको हो । कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले कर्णालीका सत्तारुढ दलहरूबीच सहमति भइनसकेको बताए पनि यस नगरपालिकामा कांग्रेसले आकांक्षी उम्मेदवार सिफारिस गरेको हो ।

    नारायण नगरपालिकामा मेयरका लागि मनोजकुमार थापा, टेकबहादुर कटुवाल, यामबहादुर मल्ल, गणेशकुमार श्रेष्ठ, प्रकाश न्यौपाने, रेशम विक, भुपेन्द्र शाही, खेमराज केसी, गणेशप्रसाद उपाध्याय, पूर्णबहादुर मल्ल, वासना थापा, कृष्णबहादुर थापा, बखतबहादुर कटुवाल र निर्मलाकुमारी खड्काले दाबी गरेका छन् ।

    उपमेयरका लागि नानपा-६ की मोहनमाया प्याकुरेल र वडा नम्बर २ की प्रभा सिजापतिले दाबी गरेकी छन् ।

    तर, केही दिनअघि कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले चार दलबीच तालमेल गर्ने भनेर हस्ताक्षर गरे पनि कांग्रेस दैलेखमा गठबन्धनको सन्दर्भमा नेता-कार्यकर्ता दुई धारमा देखिएका छन् ।

    अन्य पालिकामा पनि यसरी नै उम्मेदवार तयार पार्ने तयारी भइरहेको दैलेख कांग्रस स्रोतले बताएको छ ।

  • जुम्ला कांग्रेसमा रडाको, सभापतिले निरंकुश शैलीमा तालमेलको निर्णय गरेको आरोप

    जुम्ला कांग्रेसमा रडाको, सभापतिले निरंकुश शैलीमा तालमेलको निर्णय गरेको आरोप

    सुर्खेत । नेपाली कांग्रेस जुम्लाका सभापति कर्णबहादुर शाहीले चैत २२ र २३ गते बसेको जिल्ला कार्यसमितिको वैठकको मर्म र भावनाविपरीत चुनावी तालमेल गर्ने निर्णय गरेको भन्दै नेता कार्यकर्ता आक्रोशित भएका छन् ।

    उपसभापति कार्मा बुढा, दीपक शाही, सचिव लक्ष्मण शाही, अर्जुनसिंह कठायत गोल्डेन, सहसचिव नन्दप्रसाद चौलागाई, धनेन्द्र बोहरा, क्षेत्रीय सभापतिहरू लछिमन बोहरा र कालीबहादुर बुढाले विज्ञप्ति निकाल्दै कांग्रेस एक्लै चुनावमा लड्ने कार्यकर्ताले गरेको निर्णयविपरीत सभापति शाहीले मनमौजी गरेको आरोप लगाइएको छ ।

    केन्द्रीय समितिले आवश्यकता र औचित्यको आधारमा गठबन्धनमा रहेका दलहरूसँग गठबन्धन गर्न सकिने भनेकोमा जुम्लाका ६० वडा सभापति, ८ पालिका सभापति, २ क्षेत्रीय सभापति साथै कार्यसमितिका सात ७ जना पदाधिकारीसहित ७७ जनाको रायसुझाव अनुसार चैत २२ र २३ मा जिल्ला कार्य समितिको पूर्णबैठकले गठबन्धन नगर्ने भनी सर्वसम्मत निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘उक्त निर्णयको मर्म र भावनाविपरीत सभापती कर्णबहादुर शाहीले पार्टीभित्र आन्तरिक छलफल नगरी एकल रूपमा गठबन्धन दलहरू सँग बैठक बसी जुम्ला जिल्लामा गठबन्धन गर्ने भनी गरिएको निर्णयप्रति हाम्रो गम्भीर आपत्ति र असहमति छ’, चुनावी तालमेलप्रति असन्तुष्ट कांग्रेसी नेताहरूको विज्ञप्तिमा भनिएको छ ।

    सभापति शाहीले निरंकुश शैलीमा सहमति गरेको भन्दै विज्ञप्तिका भर्त्सना गरिएको छ ।

    विज्ञप्तिमा लेखिएकव छ, ‘जुम्ला जिल्लामा नेपाली काग्रेस आउने स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने कुराको सहर्ष जानकारी गराउँदछौं ।’

  • गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, तालमेलको मोडालिटीबारे छलफल हुने

    गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, तालमेलको मोडालिटीबारे छलफल हुने

    काठमाडौं । स्थानीय चुनावमा तालमेलको मोडालिटीसम्बन्धी छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ ।

    बिहान ९ बजे बालुवाटारमा नेताहरू बैठक बस्न लागेका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको हिजोको बैठकमा भएको बैठकमा आज शीर्ष नेतासँग बस्ने निर्णय भएको थियो ।

    आजको शीर्ष नेताबीच स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ ।

    हिजो अनुगमन समितिले स्थानीय निर्वाचनका लागि गठबन्धन गर्ने सम्बन्धमा स्थानीय तहको रिपोर्टिङमाथि छलफल गरेको थियो ।

    तलबाट आएको प्रतिवेदनअनुसार गठबन्धनको मोडालिटी बनाएर शीर्ष नेतालाई बुझाउने तयारी रहेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

  • दाङमा शंकर पोखरेल र कृष्णबहादुर महरामध्ये कसको पल्लाभारी ? यस्तो छ दलहरुको चुनावी तयारी

    दाङमा शंकर पोखरेल र कृष्णबहादुर महरामध्ये कसको पल्लाभारी ? यस्तो छ दलहरुको चुनावी तयारी

    रुपन्देही । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र तीनै पार्टीले आफू बलियो दाबी गरेको जिल्ला हो दाङ ।

    एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, कांग्रेसका नेता दीपक गिरीलगायतका चर्चित नेताहरूको जिल्ला भएकाले पनि यहाँको चुनाव सधैँ चर्चामा हुन्छ ।

    यसअघिको प्रदेश र संघीय निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर २ मा तालमेल गरी मिलेर उम्मेदवारी दिएका पूर्व सभामुख महरा र लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोखरेल यतिखेर आमनेसामने रहेका कारण जिल्लाको निर्वाचन रोचक बन्ने पुगेको छ ।

    दश पालिका रहेका दाङमा नेकपा एमालेको विरासत भत्काउन आइतबार घोराहीमा पाँच दलीय गठबन्धनको बैठक बसेर चुनावी प्रतिवेदन तयार पारी केन्द्रमा पठाएको छ ।

    एमाले एक्ले भिड्ने तयारीमा

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा दाङमा एक्लै भिड्ने तयारी गरेको छ । एमाले जिल्ला कमिटी अध्यक्ष हुकुमबहादुर बस्नेतले दाङमा एमालेको कसैसँग तालमेल नहुने र एक्लै मैदानमा उत्रने जानकारी दिए ।

    बस्नेतले घोराहीमा भने अहिलेका मेयर नरुलाल चौधरीलाई नै फेरि दोहोर्‍याउने तयारी भइरहेको बताए । घोराहीमा कृत्रिम जलाशय निर्माण, फोहोर व्यवस्थापन लगायतको क्षेत्रमा चौधरीले राम्रै काम गरेको भन्दै चर्चा भइरहेको छ । तर जिल्ला पार्टी कमिटीले तीन जनाको नाम सिफारिस गर्न आग्रह गरेको अध्यक्ष बस्नेतले बताए ।

    २०७४ सालको निर्वाचनमा एमालेका नरुलालले २२ हजार ३ मत प्राप्त गरी निर्वाचित भएका थिए । नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए । घोराहीमा अहिले पनि कांग्रेस र माओवादीबाट डाँगी र गौतमकै नाम मेयरका लागि चर्चामा छ ।

    तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमालेका घनश्याम पाण्डेले आफू अहिले नउठ्ने भनेपछि एमालेले टीकाराम खड्काको नाम अगाडि सारेको छ । तुलसीपुरमा नेपाली कांग्रेसबाट भने एक दर्जन बढी आकांक्षी देखिएका छन् ।

    त्यस्तै, जिल्लाको लमही नगरपालिकाको हकमा भने अझै यकिन भई नसकेको एमाले जिल्ला अध्यक्ष बस्नेतले बताए । २०७४ सालमा लमही नगरपालिकामा पनि गत स्थानीय निर्वाचनमा एमालेका कुलबहादुर केसी निर्वाचित भएका थिए ।

    एमालेलाई क्लिनस्वीप पार्ने गठबन्धनको रणनीति

    दाङमा सत्ता गठबन्धनले एमालेलाई क्लिनस्वीप पारेर जाने रणनीति बनाएको दाबी गरेको छ । यस्तो रणनीति तयार गरी केन्द्रमा पठाएको संयुक्त प्रतिवेदनमा गठबन्धनले संयुक्त उम्मेदवार बनाउन सके जिल्लाका सबै पालिकामा एमालेलाई क्लिनस्वीप पार्ने उल्लेख छ ।

    प्रतिवेदनमा गठबन्धन अनुसार साझा उम्मेदवार छनौट गर्न सके जिल्लाका १० वटै पालिका प्रमुख र उपप्रमुख मात्र नभई सबै वडाहरूमा समेत जित्ने दाबी गरिएको छ ।

    नेपाली काँग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुवास पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको संयुक्त बैठकले तयार गरी केन्द्रमा पठाएको प्रतिवेदनमा एमाले क्लिनस्वीप पार्ने उल्लेख गरिएको हो ।

    केन्द्रीय संयन्त्रले मागे अनुसार संयुक्त रूपमा छलफल गरी वस्तुस्थितिको विवरण पठाइएको काँग्रेस जिल्ला सभापति डाँगीले बताए ।

    डाँगीले दाङ काँग्रेसको उर्वर भूमि भएको दाबी गर्दै एक्लै उभिए पनि जित्ने ठाउँमा गठबन्धन भए जिल्ला क्लिनस्वीप हुने दाबी गरे । तर उम्मेदवारको हकमा केन्द्रमा पाँच दलीय गठबन्धनको रणनीति बनेपछि मात्रै दाङमा पनि त्यही अनुरूप छलफल हुने डाँगीले बताए ।

  • इटहरीमा गठवन्धनबाट नेकपा एसले मेयरको टिकट पाउने चर्चाले कांग्रेस तरङ्गित

    इटहरीमा गठवन्धनबाट नेकपा एसले मेयरको टिकट पाउने चर्चाले कांग्रेस तरङ्गित

    इटहरी । गत बुधवार इटहरी कांग्रेस सचिव विक्रम घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गरे । उनले लेखे, ‘पिपुल टेस्टेड नभै मेरो जनमत यत्ति छ भन्नु हास्यास्पद मात्रै हो ।’

    अलिकति घुमाउरो भाषामा भनिएको यो पोस्टलाई इटहरीमा नेपाली कांग्रेसले मेयरको टिकट नपाएर नेकपा एसले पाउने गाँइगुइँमा आएको असन्तुष्टि हो ।

    घिमिरेले इटहरीमा नेकपा एसले मेयर टिकट पाउने गाँइगुइँ आएपछि घिमिरे जस्तै धेरै इटहरी कांग्रेसका नेता कार्यकर्ताहरू तरङ्गित भएका छन् ।

    गत चैत २३ गते सुनसरीमा पाँच दलको जिल्ला बैठक बसेर गठबन्धन गर्ने कुरा सार्वजनिक भएपछि सुनसरी क्षेत्र नम्बर २ (१) का सभापतिका प्रत्याशी धनबहादुर पुरीले आफ्नो आपत्ति सार्वजनिक रूपमै व्यक्त गरेका छन् ।

    इटहरीको मेयर गठबन्धनका अन्य साना दललाई दिन नहुने भन्दै पुरीले शुक्रवार लेखेका थिए, ‘गठबन्धनको नाममा इटहरीको मेयर कुनै दललाई दिए भने हामी चुप लागेर बस्दैनौँ । २०७४ का इटहरीको मतको आधारमा माओवादीलाई उपमेयर र नेकपा एसलाई एउटा वडाध्यक्षसम्म दिनु ठिक हो बाँकी प्रमुख पदमा दाबी गर्न इटहरीमा माओवादी र नेकपा एसको हैसियत अहिले पुग्दैन ।’

    माधव नेपालको पटक पटकको इटहरी आगमन, इटहरीमा भएका नेकपा एसका तारनतारका प्रदेश स्तरीय कार्यक्रम र नेकपा एसमा इटहरीका हेभिवेट पूर्व एमाले नेता भएकोले इटहरीको मेयर नेकपा एसको भागमा पर्ने हल्ला भूसतहमा चलेको छ ।

    खास गरी राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव भइसकेका नेकपा एसका केन्द्रीय नेता केशव कुमार विष्टले मेयरको टिकट पाउने चर्चा भएपछि इटहरी कांग्रेसमा तरङ्ग आएको हो ।

    कतिपय नेकपा एसका नेताहरू भने अन्तिम समयमा मेयरमा एमालेबाट टिकट नपाएमा द्वारिकलाल चौधरी टिकट पाएमा एसको मेयर उम्मेदवार हुने सम्भावना रहेको बताउँछन् ।

    इटहरी एमालेबाट मेयरका सम्भावित नाम रेवती रमण भण्डारी, याम सुब्बा र लक्ष्मी गौतम हुन् । २१ सय प्रतिनिधि भएको नेकपा एमालेको सुनसरी जिल्ला अध्यक्षमा ८० मत मात्रै ल्याएपछि चौधरीले लोकप्रियतामा प्रश्न उठाउँदै उनको टिकटको सम्भावना एमालेबाट नभएको चर्चा चलेको छ ।

    तर नेकपा एसले टिकट दिने पक्का भएमा उनी एमाले परित्याग गर्न तयार रहेको बुझिएको एक नेताले बताए ।

    कांग्रेसका एक नेता भन्छन्— इटहरीमा माधव नेपालको पार्टीले भागवण्डामा मेयरको टिकट लान सक्ने चर्चा मैले पनि सुनेको छु । तर, त्यसो भयो भने इटहरी कांग्रेसमा व्यापक असन्तुष्टि हुनेछ ।

    गत स्थानीय चुनावमा इटहरी कांग्रेसले सभापति हेमकर्ण पौडेललाई मेयरको टिकट नदिएपछि सडकमा आन्दोलन नै भएको प्रसङ्ग सुनाउँदै भने, ‘आफ्नै पार्टीको लोकप्रिय नेताले टिकट नपाउँदा आन्दोलन गर्ने इटहरी कांग्रेसका नेता कार्यकर्ता पङ्क्तिले नयाँ र धेरै सानो पार्टीको नेतालाई मेयर स्वीकार गर्न सक्दैनन् ।’

    २०७४ असार १४ गतेको स्थानीय तहको चुनावमा इटहरीका २० वडामा १२ वडामा अध्यक्ष नेपाली कांग्रेससले जितेको थियो भने मेयरमा २७०५ मतले हारेको थियो ।

    पछिल्लो चुनावमा एमालेका द्वारिकलाल चौधरीले २२६८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रोहित प्रसाईँले १९९८५ मत ल्याएका थिए । तेस्रो मत ल्याएका थिए राप्रपाका मेयर उम्मेदवार रोहित कुमार कार्की थिए । ३७१५ मत ल्याएका कार्की एमाले प्रवेश गरेका छन् ।

    नेकपा माओवादीको जनमत चौथौँ भएको पछिल्लो स्थानीय चुनावमा माओवादीकी मेयर उम्मेदवार हरिमाया जिमीको मत ३३६४ आएको थियो ।

  • पाँच दलीय संयन्त्रको बैठक- स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल, भाेली शीर्ष नेताहरुसँग बस्ने

    पाँच दलीय संयन्त्रको बैठक- स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल, भाेली शीर्ष नेताहरुसँग बस्ने

    काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय चुनावी संयन्त्रको बैठकमा स्थानीय तहबाट आएका प्रतिवेदनहरूमाथि छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा आएका प्रतिवेदनहरूमाथि छलफल भएको हो ।

    छलफल भए पनि कुनै निर्णय नभएको सरकार प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

    कार्कीका अनुसार बैठकमा गठबन्धनलाई निर्वाचनमा कसरी अगाडि बढाउने भन्ने बारेमा सुझाव सङ्कलन गरी शीर्ष नेताहरूलाई बुझाउने तयारी भएको छ ।

    स्थानीय तहबाट आएका प्रतिवेदनमा संयन्त्रको बैठकका सुझावहरू समेत भोलि शीर्ष नेताहरूलाई बुझाएर शीर्ष तहबाट नै निर्णय हुने उनले बताए ।

    अधिकांश स्थानीय तहबाट प्रतिवेदन आएको उनले बताए ।

    सरकारमा रहेको पाँच दलहरूले स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्न कांग्रेस नेता पौडेलको नेतृत्वमा संयन्त्र बनाएको थियो ।

  • आफैँले गरेको सर्कुलरविपरित चुनावमा जान विप्लव प्रयासरत, के थियो सर्कुलरमा ?

    आफैँले गरेको सर्कुलरविपरित चुनावमा जान विप्लव प्रयासरत, के थियो सर्कुलरमा ?

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टीको केन्द्रीय समितिले गरेको निर्णय विपरीत स्थानीय तहको निर्वाचनमा होमिन लागेको छ । भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले आगामी स्थानीय तहको निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो ।

    पार्टीका महासचिव विप्लवले चुनावलाई उपयोग गर्नुपर्ने प्रस्तावसहितको प्रतिवेदन बैठकले रिजेक्ट गरिदिएको थियो । तर, त्यसपश्चात् पनि विप्लव निर्वाचनमा जाने अडानबाट पछि हटेका छैनन् । दुई दिनअघि मात्रै उनको पक्षका पार्टी प्रवक्ता निर्वाचन आयोगमै पुगेर परामर्श गरेका थिए ।

    यसैबिच, पार्टीको बैठकपछि जारी गरिएको सर्कुलर सार्वजनिक भएको छ, जसमा निर्वाचनको उपयोग नगर्ने भनेर स्पष्ट उल्लेख छ । कपिलवस्तुमा ११ दिनसम्म बसेको पार्टीको केन्द्रीय समितिको १२ औँ पूर्ण बैठकपछि पार्टी महासचिव विप्लवले नै केही दिनअघि ७७ वटै जिल्ला इञ्जार्ज र सेक्रेटरीलाई १२ बुँदे परिपत्र गरेका थिए ।

    परिपत्रको चौथो बुँदा अन्तरगत ‘ख’ मा भनिएको छ, ‘आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने, तर एमसीसी एवम् राष्ट्रघात विरोधी प्रतिनिधिलाई सहभागी गराउने र सहयोग गर्ने, संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय लिइएको छ ।’

    ‘ग’ मा पनि भनिएको छ, ‘स्थानीय चुनावलाई संघर्षको मोर्चा बनाउनुका साथै दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्ने ।’

    सचिवालय सदस्यसमेत रहेका प्रकाण्ड भने निर्वाचन आयोगमा पुगेर स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि पार्टी दर्ता गर्ने सम्भावना छ कि छैन भनेर बुझेका थिए । त्यसै क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफमा उनले भनेका थिए, ‘हामी निर्वाचनमा सहभागी हुने हो । निर्वाचनमा सहभागी हुने प्रक्रिया बुझ्नका लागि आयोगमा आएका हौँ ।’

    पार्टीका एक केन्द्रीय सदस्यका अनुसार विप्लव र प्रकाण्डसहितका नेताले मन्त्रिपरिषद् बैठकमार्फत भए पनि स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउनका लागि दल दर्ता गर्ने प्रक्रिया फुकुवा गर्न आग्रह गरेका थिए ।

    तर, त्यो सम्भावना टरिसकेका हुनाले स्वतन्त्र उम्मेदवारी दिएर भए पनि निर्वाचनमा सघाउन सत्तारुढ दलका नेताले सुझाएका थिए । त्यसपछि पनि दल दर्ता गर्ने कुनै प्रक्रिया बाँकी छ कि भनेर निर्वाचन आयोगमा बुझ्न प्रकाण्ड पुगेका हुन् ।

    पार्टी सचिवालयका दुई जना सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले भने पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णय विपरीत पार्टी महासचिव विप्लव र प्रकाण्ड गइरहेकाले त्यसो नगर्न सुझाव तथा चेतावनी दिएका छन् । तर, विप्लव र प्रकाण्ड भने दुवै जना सचिवालय सदस्य सुदर्शन र कञ्चनलाई पेलेरै जाने सोचमा छन् ।

  • जनकपुरधाम : मेयरका लागि लोसपाबाट महन्तदेखि सांसदसम्मको नाम सिफारिस

    जनकपुरधाम : मेयरका लागि लोसपाबाट महन्तदेखि सांसदसम्मको नाम सिफारिस

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जनकपुरधामका मेयरका लागि महन्तदेखि सांसदसम्मको नाम सिफारिस भएको छ ।

    आज बसेको जनकपुरधाम उपमहानगर कमिटीको बैठकले मेयर र उपमेयरको नाम सिफारिस गरेको हो ।

    एक नेताका अनुसार मेयरका लागि सञ्जय कुमार चौधरी, मनोज चौधरी, परमेश्वर साह, अमर पजियार र जानकीराम साहको नाम प्रस्ताव गरिएको छ।

    मेयरका लागि सिफारिस सूचीमा परेका परमेश्वर साह प्रदेश सांसद र अमर पजियार एक मन्दिरका महन्त हुन् ।

    लोसपाका केन्द्रीय सदस्य समेत रहेका मनोज चौधरी बस व्यवसायी पनि छन् । यस्तै जानकीराम साह वडा नम्बर ७ का वडाध्यक्ष हुन् ।

    लोसपाको तर्फबाट उपमेयर पदका लागि विभा ठाकुर, रिता मिश्र, पुनम झा ‘मैथिली’, विभा पाण्डे र पुनम साहको नाम प्रस्ताव गरिएको छ । लिया मिश्र जनकपुरधामकी उपमेयर छन् ।

    महन्थ ठाकुरकै नेतृत्वमा रहेको तत्कालीन राजपाबाट जनकपुरधामको मेयर, उपमेयर र २५ मध्ये १२ वडाध्यक्ष विजयी भएको थियो ।

    निर्वाचित मेयर लाल किशोर साह अहिले जनता समाजवादी पार्टी (जसपा)मा छन् । उनी जसपाबाट पुनः मेयरका दाबेदार छन् ।

    जनकपुरधाम समेत पर्ने धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राजेन्द्र महतो निर्वाचित छन् । ठाकुर र महतोले राम्रो पकड बनाएको जनकपुरधाममा पछिल्लो समय कमजोर देखिन्छ ।

    जनकपुरमा यस वर्ष लोसपा, नेपाली कांग्रेस, जसपा र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने स्थानीय बत्ताउँछन् ।

    एमालेले आज मात्र शिवशंकर साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य दल भने मेयरका उम्मेदवार चयन गर्न सकेका छैन ।

  • काठमाडौं महानगरको मेयरमा गठबन्धनबाट सिर्जना सिंह ‘क्लोज टु कन्फर्म’

    काठमाडौं महानगरको मेयरमा गठबन्धनबाट सिर्जना सिंह ‘क्लोज टु कन्फर्म’

    काठमाडौं । नेपाली कांग्रेसकी महासमिति सदस्य सिर्जना सिंहले गत चैत २ गते सामाजिक सञ्जालमार्फत ‘काठमाडौंको मुहार बदल्न अब महिला मेयर बनाउनुपर्ने’ धारणा सार्वजनिक गरिन् ।

    काठमाडौं महानगरमा बाँकी रहेका सुधारका काम गर्न र व्यवस्थित सहर बनाउन ‘महिला मेयर हेरौ’ भन्ने सिर्जनाको प्रस्ताव सामान्य चर्चाका लागि मात्रै थिएन । सिर्जनाको धारणाप्रति प्रतिक्रिया दिने अधिकांशले ‘आफैं अगाडि बढ्न’ सुझाव दिएका थिए ।

    कुनैबेला विद्यार्थी राजनीतिमा सक्रिय रहेकी सिर्जना वैवाहिक जीवनमा प्रवेश गरेसँगै सक्रिय राजनीतिको अग्रभागमा देखा परिनन् । लौहपुरुष गणेशमान सिंहको परिवारमा बुहारीका रूपमा भित्रिएपश्चात सिर्जनाले ससुरा गणेशमान, सासु मंगलादेवी र श्रीमान् प्रकाशमानको सक्रिय राजनीतिमा महत्वपूर्ण सारथीको भूमिका निर्वाह गरिन् ।

    कुनैबेला शंकरदेव क्याम्पसको स्ववियु कोषाध्यक्षमा वर्तमान ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गरेकी सिर्जना गोरखामा बहुदल प्रचार महिला समितिको संयोजक नै रहेकी थिइन् । नेविसंघको सक्रिय राजनीतिको पृष्ठभूमि भएकी सिर्जना अब पार्टीको सक्रिय राजनीतिमा पाइला चाल्दैछिन् ।

    विद्यार्थी राजनीतिदेखि नै आफूले देखाएको सक्रियता र योगदानका आधारमा सिर्जनाले पहिचान खोजेकी छिन् । ‘म सिंह परिवारको बुहारी त हुँ तर राजनीतिमा त म पहिलेदेखिनै सक्रिय हुँ । कसैको बुहारी वा श्रीमती भएका कारण होइन राजनीतिमा मेरै योगदानका कारण स्थापित हुन चाहन्छु’, निकटस्थहरूसँग सिर्जनाले भन्ने गरेकी छिन् ।

    काठमाडौं क्षेत्र नम्बर ७ बाट १४ औं महाधिवेशनमा निर्विरोध महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी सिर्जनाको नजर अब काठमाडौं महानगरपालिकाको मेयरतर्फ छ । काठमाडौंमा सिंह परिवारको राजनीतिक शक्ति बुझेकाहरू ‘चाहेकै भए सिर्जना मेयर हुने’ ठोकुवा गर्छिन् । सामाजिक सञ्जालमा सिर्जनाको गतिविधि र अभिव्यक्ति हेर्दा महानगरको मेयर हाँक्न उनले कम्मर कसेको तथ्य स्वतः पुष्टि हुन्छ ।

    गत चैत २२ गते नेपाल महिला संघ काठमाडौं जिल्ला समितिको बैठकले सिर्जना सिंहलाई काठमाडौंको मेयर बनाउनुपर्ने सर्वसम्मत निर्णय गरिसकेको छ । महिला संघकी जिल्ला अध्यक्ष विष्णुदेवी पुडासैनी महानगरको नेतृत्व लिन महिलाहरू सक्षम रहेको र सिर्जना सिंह त्यसका लागि उपयुक्त पात्र भएको दाबी गर्छिन् ।

    ‘हामी राजनीतिक नेतृत्वमा महिलाहरू स्थापित हुनुपर्छ भन्ने अभियानमै छौं । काठमाडौंजस्तो देशकै सबैभन्दा ठूलो महानगरमा महिलालाई नेतृत्व दिँदा कांग्रेसका लागि पनि राम्रो हुन्छ । त्यसैले हामीले सिर्जना सिंहलाई मेयरको उम्मेदवार बनाउन पार्टी नेतृत्वसँग माग गरेका हौं’, पुडासैनीले नेपाल प्रेससँग भनिन् ।

    महिला संघको जिल्ला समितिले सिर्जनालाई भेटेरै काठमाडौंको मेयरको उम्मेदवार बन्न आग्रह गरिसकेका छन् । उनीहरूसँगको भेटमा सिर्जनाले आफू नेविसंघ र महिला संघको राजनीतिक पृष्ठभूमिबाट आएको भएपनि महानगरकै मेयर लड्नेबारे सोचिनसकेको बताएकी थिइन् । यद्यपि ट्वीटरमा आफूलाई मेयर लड्न आग्रह गरिएको बारेको समाचार सेयर गर्दै सिर्जनाले उपयुक्त परिस्थिति बने अगाडि बढ्ने संकेत गरिसकेकी छिन् ।

    सिर्जनाको उम्मेदवारी ‘क्लोज टु कन्फर्म’

    नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय गरिसकेको छ । तालमेलको निर्णयपछि भरतपुर महानगरपालिका जति चर्चामा छ काठमाडौं महानगर त्यत्ति चर्चामा छैन । यद्यपि अघिल्लो निर्वाचनको शक्तिका आधारमा काठमाडौंको मेयरमा कांग्रेसको दाबी सशक्त देखिन्छ ।

    नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठको नाम पनि काठमाडौंको मेयरका लागि चर्चामा छ तर शीर्ष तहमा काठमाडौं कांग्रेसले नै राख्ने लगभग ‘सहमति’ भइसकेको छ । कांग्रेसको भागमा काठमाडौंको मेयर पर्नासाथ पूर्वमहामन्त्री प्रकाशमान सिंहको चासो बढ्ने देखिन्छ ।

    १४ औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचनअघि सिंहले शेरबहादुर देउवालाई समर्थन दिएका थिए । सिंहकै साथमा सभापतिमा दोहोरिएका देउवा काठमाडौंका हकमा प्रकाशमानको ‘इच्छाविपरीत’ जाने अवस्थामा छैनन् । यहीकारण उनले काठमाडौंबारे छलफल गर्न जाने आफ्नै गुटका नेताहरूलाई पनि ‘प्रकाशमानले भनेअनुसार हुन्छ’ भन्ने जवाफ दिने गरेका छन् ।

    १४ औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचनअघि सिंहले शेरबहादुर देउवालाई समर्थन दिएका थिए । सिंहकै साथमा सभापतिमा दोहोरिएका देउवा काठमाडौंका हकमा प्रकाशमानको ‘इच्छाविपरीत’ जाने अवस्थामा छैनन् ।

    केहीदिन अघि विभिन्न दलसम्बद्ध महिला नेतृहरूले प्रधानमन्त्री देउवासँग भेटेका थिए । आसन्न निर्वाचनमा गठबन्धनबाट बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउने माग गर्दै बालुवाटार पुगेका महिला नेतृसमक्ष देउवाले सूचना चुहाए । उनले काठमाडौंमा ‘सिर्जनालाई दिनुपर्ने’ बताएका थिए । ‘काठमाडौंमा सिर्जना छ’, देउवाले प्रष्ट भनेका थिए ।

    कांग्रेस सभापति देउवा नै कन्भिन्स भइसकेका कारण काठमाडौंको मेयरमा गठबन्धनबाट सिर्जना नै उम्मेदवार बन्ने पक्कापक्कीजस्तै भइसकेको कांग्रेस नेताहरू बताउँछन् ।

    ‘काठमाडौंको ग्राउण्डमा प्रकाशमान दाइले भनेअनुसार नै हुन्छ । सिर्जना भाउजुलाई मेयरको उम्मेदवार बनाउ सभापतिसहित धेरै नेता तयार हुनुहुन्छ’, देउवानिकट एक नेताले भने ।

    गणेशमानकी बुहारी, प्रकाशमानकी श्रीमती, खोज्दैछिन् व्यक्तिगत पहिचान

    नेपालको लोकतान्त्रिक आन्दोलनमा सिंह परिवारको योगदान चानचुने छैन । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमानको चाक्सीबारीस्थित निवासकै आँगनबाट २०४६ सालको जनआन्दोलन घोषणा गरिएको थियो । चाक्सीबारीमा बुहारीका रूपमा भित्रिएपछि सिंह परिवारको पहिचान मिल्नु स्वभाविक नै हो । तर, त्यतिले मात्रै सिर्जनाको राजनीतिक योगदानलाई समेट्दैन ।

    विद्यार्थी राजनीतिदेखि नै आफूले देखाएको सक्रियता र योगदानका आधारमा सिर्जनाले पहिचान खोजेकी छिन् । ‘म सिंह परिवारको बुहारी त हुँ तर राजनीतिमा त म पहिलेदेखिनै सक्रिय हुँ । कसैको बुहारी वा श्रीमती भएका कारण होइन राजनीतिमा मेरै योगदानका कारण स्थापित हुन चाहन्छु’, निकटस्थहरूसँग सिर्जनाले भन्ने गरेकी छिन् ।

    सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय देखिने सिर्जनालाई धेरै शुभचिन्तकहरूले आफ्नै बुतामा अगाडि आउन सुझाव पनि दिने गरेका छन् । कांग्रेसको काठमाडौं महानगरका सचिव सुसन वैद्यले ‘मंगलादेवी र सिर्जनालाई नेता पत्नी मात्रै सम्झनु राजनीतिक महिला हिंसा भएको’ ट्वीटरमै लेखेका छन् । ट्वीटरमै अप्रिल केसीले सिर्जनालाई मेन्सन गर्दै लेखेका छन्- राजनीतिक योगदान नै नभएको होइन, उहाँ हामी सबैको अभिभावक हो ।

    यस्तो छ अंकगणित

    अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौ महानगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसले जितेका थिए । मेयरमा एमालेमा विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याउँदा कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए ।

    मेयरमा राप्रपाले एमालेलाई र उपमेयरमा एमालेले राप्रपालाई सघाएका थिए । उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गी ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी हुँदा राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले मेयरमा ७ हजार ९ सय ६ मत ल्याएका थिए ।

    अबको निर्वाचनमा चुनावी तालमेल हुँदा कांग्रेस, माओवादी र एमालेबाट विभाजित समाजवादीको मतले जित निश्चित हुने कांग्रेसको बुझाई छ । यद्यपि केही स्वतन्त्र उम्मेदवारहरूले कसको कति मत काट्छन् भन्ने विषयले पनि परिणाममा फेरबदल हुनसक्छ । किनकी अघिल्लो चुनावमा रन्जु दर्शना र किशोर थापाले ४२ हजार मत ल्याएका थिए ।

  • तालमेल नटुंगिदै भरतपुरको मेयरमा कांग्रेसको दरखास्त खुल्यो, पहिलो दिनमै १३ जनाको दाबेदारी

    तालमेल नटुंगिदै भरतपुरको मेयरमा कांग्रेसको दरखास्त खुल्यो, पहिलो दिनमै १३ जनाको दाबेदारी

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट १ दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

    सत्तारुढ गठबन्धनभित्र भरतपुर महानगरपालिकाको नेतृत्व कसले लिने भन्ने टुंगो नलागेपनि कांग्रेसले प्रत्याशीहरूको ‘रोष्टर’ तयार गर्न इच्छुक उम्मेदवारहरूको निवेदन संकलन गरेको हो ।

    नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज र भोलि २ दिनसम्म महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्न इच्छुक नेताहरूलाई निवेदन दिन समय दिएको छ । आज दिनभरमा प्रमुख र उपप्रमुखतर्फ १३-१३ जनाले निवदेन बुझाएका छन् ।

    भरतपुरको मेयरका लागि भरत अधिकारी, शंकरप्रसाद कडेंल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल र गौरीकुमारी श्रेष्ठ रहेका छन् ।

    उपमेयरका लागि तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, टंकनाथ पौडेल, पूर्णबहादुर गुरुङ र राजीव न्यौपानेले निवेदन दिएका छन् ।

    चितवन कांग्रेसले स्थानीय तहका उम्मेदवार सिफारिसका लागि सहज होस् भन्ने उद्देश्यका साथ दाबेदारहरूसँग निवेदन मागेको हो । चितवनमा कांग्रेसले मेयर पाउने निश्चित भइसकेको छैन ।