Category: स्थानीय निर्वाचन–२०७९

  • एमालेले घोषणापत्रलाई भोलि अन्तिम रूप दिने (भिडिओ)

    एमालेले घोषणापत्रलाई भोलि अन्तिम रूप दिने (भिडिओ)

    काठमाडौं । नेकपा एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले भोलि (विहीबार) घोषणापत्रलाई अन्तिम रूप दिने भएको छ ।

    पार्टी कार्यालय थापाथलीमा बुधबार बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदामा छलफल भएको र सम्भवतः भोलि नै अन्तिम रूप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

    कार्यदलमा मस्यौदाका विषयमा विस्तृत रूपमा छलफल भएको उनले बताए ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले सात सदस्यीय कार्यदल बनाएको थियो ।

    घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने एमालेको तयारी छ ।

  • वीरगञ्ज मेयर उम्मेदवारमा एमालेबाट सरावगी सर्वसम्मत सिफारिस

    वीरगञ्ज मेयर उम्मेदवारमा एमालेबाट सरावगी सर्वसम्मत सिफारिस

    काठमाडौं । नेकपा एमालेले वीरगञ्ज महानगरपालिका मेयरको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ ।

    वीरगञ्ज महानगर कमिटीको पूर्ण बैठकले सरावगीलाई अघि सार्ने निर्णय गरेको हो । अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता बसेको बैठकमा सचिव सुन्दर कुर्मीले सरावगीलाई उम्मेदवारको लागि प्रस्ताव गरेका थिए । उपाध्यक्ष महेश दासले समर्थन गरेको पार्टीले जनाएको छ

    २०७४ को चुनावमा जसपाबाट निर्वाचित मेयर सरावगी फागुन २८ मा वडाध्यक्ष र समर्थकसहित एमाले प्रवेश गरेका थिए ।

  • एमाले र राप्रपा नेपालबीच ५ बुँदे सहमति, सूर्य चिन्हबाटै चुनाव लड्ने

    एमाले र राप्रपा नेपालबीच ५ बुँदे सहमति, सूर्य चिन्हबाटै चुनाव लड्ने

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने सहमति भएको छ ।

    दुवै दलका नेताहरुबीच बुधवार भएको छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने छन् ।

    त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

    एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका सुशील कुमार श्रेष्ठले हस्ताक्षर गरेको सहमति अनुसार दुवै दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यकाका लागि प्रस्ताव केन्द्रमा पठाउने सहमति भएको छ ।

  • निर्वाचन आयोग सर्वोच्च पुग्यो, जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम राख्न माग

    निर्वाचन आयोग सर्वोच्च पुग्यो, जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम राख्न माग

    काठमाडौं । जनप्रतिनिधिले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।

    आयोगको आचारसंहिता जनप्रतिधिले पुनः स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट राजीनामा दिनुपर्ने प्रावधान राखेको थियो । तर, सर्वोच्चले उक्त प्रावधान तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

    उक्त अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्याधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो । उक्त निवेदनमाथि सुनुवाइको पेसी न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । अहिले निवेदनमाथि सुनुवाइ भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताको उक्त व्यवस्था हटाउन माग गर्दे रिट हालेका थिए ।

    उक्त रिटमा सर्वोच्चले ८ चैतमा आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । तर, सो अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै आयोगले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएको हो ।

  • मागे जति सिट नपाए रोल्पामा कांग्रेस एक्लै चुनाव लड्ने

    मागे जति सिट नपाए रोल्पामा कांग्रेस एक्लै चुनाव लड्ने

    काठमाडौं । नेपाली कांग्रेस रोल्पाले आफूले मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने भएको छ ।

    एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानका क्रममा प्राप्त सुझाव र उक्त सुझावमाथि भएको छलफलले आफूले मागे जति सिट नपाए एक्लै चुनाव लड्ने निर्णयमा पुगेको कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलहरूबीच तालमेल गर्ने भनिएका बेला कांग्रेस रोल्पाले तालमेलका लागि सर्त अघि सारेको हो ।

    कांग्रेस रोल्पाले १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरूमा अध्यक्षसहित १ जना सदस्य र ३६ वटा वडाहरूमा ३ जना सदस्यको उमेदवारी हुने गरी गठबन्धनमार्फत निर्वाचनमा भाग लिने गरी सर्त अघि सारेको छ ।

    यदि उक्त सर्त मान्य नहुने हो भने एकल ढंगले मित्रवत रुपमा सौहार्दतापूर्वक निर्वाचनको प्रतिस्पर्धामा भाग लिन तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिइएको छ ।

  • झापामा मतभारको हिसाब, कांग्रेसअघि माओवादीको हैसियत ३५ प्रतिशत

    झापामा मतभारको हिसाब, कांग्रेसअघि माओवादीको हैसियत ३५ प्रतिशत

    विर्तामोड । स्थानीय तहको निर्वाचनमा देशभर सत्तारुढ पाँच दल मिलेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध चुनावको तयारी गरिरहेका छन् । तर भागबण्डाको विषय अझै मिलिसकेको छ । केन्द्रबाट भागबण्डाको मापदण्ड तय भए पनि स्थानीय स्तरमा दलका नेताबीच कुरा मिलेको छैन । र अहिले २०७४ सालमा आएको मतको आधारमा जोडघटाउ गर्दै उम्मेदवार टुंगो लगाउने प्रयास भइरहेको छ । यस्तै हिसाब भइरहेको छ, झापामा पनि ।

    अघिल्लो स्थानीय चुनावमा झापामा नेपाली कांग्रेसले प्रमुख पदमा कुल एक लाख १४ हजार ८ सय १ मत प्राप्त गरेको थियो । त्यतिबेला नेकपा एमालेभन्दा कांग्रेसले १५ हजार ७ सय ३९ मत कम पाएको थियो भने निकै कममात्रै मत पाएको थियो ।

    एमालेले जिल्लाभर प्रमुख र अध्यक्ष पदमा १ लाख ३० हजार ५ सय ४० मत प्राप्त गरेको थियो भने माओवादीले ४० हजार ६२९ मत पाएको थियो । राप्रपाले जिल्लाभर ३५ हजार २०२ मत प्राप्त गरेको थियो ।

    झापामा एमालेले ७ वटा पालिकामा प्रमुख पद जितेको थियो । यस्तै, नेपाली कांग्रेसले ५ पालिका र राप्रपाले ३ वटा पालिका प्रमुख जितेको थियो । सो निर्वाचनमा माओवादीले कुनै पनि पालिकामा प्रमुख पद जितेन ।

    गएको निर्वाचनलाई आधार मान्ने हो भने नेपाली कांग्रेसको मतभार अनुसार माओवादीले ३५.२२ प्रतिशत र राप्रपाले ३०.६६ मत प्राप्त गरेको देखिन्छ । एमालेको मतभारअनुसार झापामा कांग्रेसले ८७.९४, माओवादीले ३१.१२ र राप्रपाले २६.६९ प्रतिशत मत पाएको छ ।

    सो निर्वाचनमा माओवादीले मेचीनगर नगरपालिका, राप्रपाले झापा गाउँपालिका र बुद्धशान्तिमा उम्मेदवार उठाएका थिएनन् । सो आधारमा गठबन्धनभित्र माओवादीले ५ पालिका प्रमुख र ४६ वटा वडाध्यक्षमा दाबी गर्न सक्छ ।

    अर्जुनधारामा एमालेका हरि रानाले १३८७९ मत प्राप्त गरेका थिए । कांग्रेसका हेमराज खरेलले ४६४१, माओवादीका भुपेन्द्र न्यौपानेले २५०६ र राप्रपाका छविलाल ढकालले ७५४ मत प्राप्त गरेका थिए । कचनकवलमा राप्रपाका अन्जार आलमले ५८१६ मत प्राप्त गर्दै विजयी भएका थिए । त्यहाँ एमालेका शेर बहादुर खत्रीले ३९७२, कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशीले ५३५३ र माओवादीका उम्मेद्वार हंशनारायण राजवंशीले १२५० मत ल्याएका थिए ।

    कनकाईमा एमालेका राजेन्द्र पोखरेलले ८४१६, कांग्रेसका एकराज उप्रेतीले १६९७, माओवादीका गोपाल प्रसाद चुडालले ६३६ र राप्रपाका उम्मेदवार केदार गिरीले ३०७ मत प्राप्त गरेका थिए । कमलमा एमालेबाट मेनका काफ्ले र कांग्रेसबाट हुकुमसिंह राईले बराबरी मत ८२५७ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादीका विमल संग्रौलाले १९०९ र राप्रपाका विष्णु प्रसाद पौडेलले ३९६ मत प्राप्त गरेका थिए ।

    गौरादहमा एमालेका मदन अधिकारीले ९८५४, कांग्रेसका रोहित कुमार शाहले १०३०८, माओवादीका पुष्पलाल ढकालले ३४२८, र राप्रपाका खेमराज तिम्सिनाले ६१४ मत प्राप्त गरेको तथ्याङकमा छ । यस्तै, गौरीगञ्जमा एमालेका श्याम ढकालले २७५७, कांग्रेसकी फुलवती राजवंशीले ३४५३, माओवादीका विधानन्द सिंह राजवंशीले ३३५३ र राप्रपाका बाबुराजा श्रेष्ठले ३७४० मत प्राप्त गरेका थिए ।

    झापा गाउँपालिकामा एमालेका गजेन्द्र ताम्लीले ३७८९, कांग्रेसका जयनारायण शाहले ४३९३ र माओवादीका रुद्र बजगाईले ३४९९ मत प्राप्त गरेका थिए । दमकमा एमालेका रोमनाथ ओलीले १०८०६, कांग्रेसका ढुण्डीराज भण्डारीले ५५३९, माओवादीका रेवतराज पुरीले ६८९८ र राप्रपाका राम कुमार थापाले ७६५५ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङकमा छ ।

    बाह्रदशीमा एमालेका लक्ष्मण पाठकले ५१११, कांग्रेसका खड्ग प्रसाद राजवंशीले ५५३९, माओवादीका १७९५ र राप्रपाका भिम राईले १४१४ मत प्राप्त गरेको देखिन्छ । यस्तै, बुद्धशान्तिमा एमालेका तिलचन भण्डारीले ७३५३, कांग्रेसका रमेश कुमार भुजेलले ७९९६, माओवादीका खड्ग बहादुर तिम्सिनाले २०६६ मत पाएका थिए । भद्रपुरमा एमालेका जीवन श्रेष्ठले ११०४२, कांग्रेसका गणेश पोखरेलले ७२१५, माओवादीका शिव कुमार राजभण्डारीले ४१३४ र राप्रपाका नवराज पनेरुले २८२२ मत ल्याएका थिए ।

    मेचीनगरमा एमालेका विष्णु प्रसाईले १९१९२, कांग्रेसका विमल आचार्यले २०७७६ र राप्रपाका रमेश दाहालले ८०६ मत ल्याएको देखिन्छ । बिर्तामोडमा एमालेका धु्रवकुमार शिवाकोटीले ९११२, कांग्रेसका जलकुमार गुरुङले ८२१७, माओवादीका सीपी कडरियाले ३७९७ र राप्रपाका भक्ति सिटौलाले ६१७० मत प्राप्त गरेका थिए ।

    यस्तै, शिवसताक्षीमा एमालेका चन्द्रकुमार शेर्माले १३४३९, कांग्रेसका पर्शुराम ढुङ्गानाले ८९८४ , माओवादीका महेन्द्र भट्टराईले ३२४१ र राप्रपाका उमानाथ दाहालले ७६५ मत पाएका थिए । हल्दिवारीमा एमालेकी मञ्जु सिटौलाले ३५४३, कांग्रेसका दिलिप कुमार लिम्बुले २९१५, माओवादीका तुलसी प्रसाद ओलीले २११७ र राप्रपाका रविन्द्र लिङ्देनले ३९४३ मत प्राप्त गरेका थिए ।

    जिल्लाको मत परिणाम अनुसार कांग्रेस–माओवादी गौरीगञ्जमा हाराहारी शक्ति भएको र दमकमा कांग्रेसभन्दा अघि रहेको तथ्याङ्कले देखाएको छ । माओवादीका नेताहरुले पाँच वर्षमा माओवादीको पार्टीगत संरचनामा धेरै नै सुधार आइसकेकोले विगतको परिणाम मात्रै भागबण्डाको मापदण्ड हुन नसक्ने बताइरहेका छन् । माओवादीका विर्तामोड इञ्चार्ज युवराज दाहालले गठबन्धनमा माओवादीले सम्मानजनक स्थान पाउनुपर्ने धारणा राख्दै आएका छन् ।

    यता, नेपाली कांग्रेसले विगतको मतभारलाई नै मापदण्ड बनाइने बताउँदै आएको छ । झापा कांग्रेसका सभापति देउमान थेवेले ०७४ मा जितेका पालिकामा कांग्रेसले नछोड्ने बताइरहेका छन् । जिल्लामा समाजवादी पहिलो पटक निर्वाचन लड्ने तयारी गरिरहेकोले यसको मतभार विश्लेषण गरिएको छैन ।

     

  • कपिलवस्तुका सबै ठाउँमा एमालेबाट वडासम्मको उम्मेदवार सिफारिस, विजयनगरमा सर्वसम्मत

    कपिलवस्तुका सबै ठाउँमा एमालेबाट वडासम्मको उम्मेदवार सिफारिस, विजयनगरमा सर्वसम्मत

    रुपन्देही । नेकपा एमाले कपिलवस्तुले जिल्लाका १० वटै पालिकाबाट मेयर उपमेयर र वडाका अध्यक्ष एवं सदस्यको उम्मेदवारी सिफारिस गरेको छ ।

    जिल्लामा एमालेको पकड मानिएका बाणगंगा, विजयनगर, कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिकादेखि प्रभाव कम भएका अन्य पालिकासमेतबाट मेयर उपमेयरमा कम्तीमा ३ देखि बढीमा ११ जना सम्मको नाम सिफारिस भएको हो ।

    एमालेका केन्द्रीय सदस्य एवम् कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले धेरै आकांक्षी देखिनु राम्रो भएको र धेरै आफूले पाएपनि नपाएपनि सन्तुष्ट रहने बताएकाले सहज भएको दाबी गरे ।

    १० वटै पालिकाबाट सिफारिस भएका उम्मेदवारमध्ये वडाध्यक्षसम्मको जिल्ला कमिटीले बुधबारभित्र टुंगो लगाउने छ भने मेयर उपमेयरको जिल्लाले सिफारिस गरी प्रदेश कमिटीसमक्ष पठाउने छ ।

    को को परे सिफारिसमा ?

    बणगंगाबाट मेयरमा ६ जना सिफारिसमा परेकोमा पार्टीको प्रदेश कमिटीमा रहेका धेरै नेता रहेका छन् । जसअनुसार प्रदेश नेता एवं कपिलवस्तुका पूर्वअध्यक्ष झविलाल पोखरेल, कृष्ण पौडेल, चक्रपाणी अर्याल, जंजिर थारु, सूर्यकुमारी शाही सिफारिस भएका छन् । ती सबै प्रदेश कमिटीका सदस्य हुन् । जिल्ला स्तरको नेतामा विश्वको कार्की मात्र सिफारिसमा परेका छन् ।

    एमालेका अधिकांश केन्द्रीय र प्रदेश नेता बाणगंगामा रहेकाले यहाँको मेयरमा आन्तरिक प्रतिस्पर्धा गर्ने पनि जिल्लाभन्दा माथिल्लो कमिटीका नेता नै हुनु स्वभाविक रहेको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताए ।

    शिवराज नगरपालिकामा मेयरमा अर्जुन केसी, महादेव पोख्रेल, र लोकेन्द्र पौडेलको नाम सिफारिस भएका छन् भने उपमेयरमा अहिलेकै उपमेयर शिवकुमारी थारु सिफारिस भएकी छन् ।

    विजयनगरमा सर्वसम्मत

    विजयनगर गाउँपालिकाको अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मी थारुको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

    थापा नेकपा एमाले कपिलवस्तु सचिवालय सदस्य तथा विजनगर इन्चार्ज र चौधरी जिल्ला कमिटी सदस्य हुन् । दुवैजना गत चुनावमा नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

    बुद्धभूमि नगरपालिबाट ६ जना मेयरका लागि सिफारिस भएका छन् । टेकराज पौडेल, रुपेश श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, पिताम्बर खनाल, मिनराज बेल्वासे र राजेन्द्र सुवेदी मेयरका लागि सिफारिस भएका हुन् ।

  • माओवादीको पोस्टरबाट आफ्नो तस्बिर हटाउन कुलमानको आग्रह

    माओवादीको पोस्टरबाट आफ्नो तस्बिर हटाउन कुलमानको आग्रह

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्नो जानकारीबेगर माओवादीको चुनावी पोस्टरमा आफ्नो तस्बिर प्रयोग भएको बताएका छन् । तस्बिर हटाउनका लागि आफूले माओवादीलाई आग्रह गरिसकेको उनले जानकारी दिए ।

    नेपाल प्रेससँग संक्षिप्त कुरा गर्दै घिसिङले भने, ‘मलाई यो विषयमा सोधिएको थिएन । सञ्चारमाध्यममा आएपछि थाहा पाएको हुँ । मेरो फोटो हटाउन आग्रह गरिसकेको छु ।’ माओवादीले तत्काल आफ्नो तस्बिर हटाउने उनले विश्वास व्यक्त गरे ।

    आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पेजबाट माओवादीको नयाँ चुनावी पोस्टर सार्वजनिक गरिएको थियो । पोस्टरमा ‘अँध्यारोबाट उज्यालोको यात्रा’ भन्दै प्रचण्ड, जनार्दन शर्मा र कुलमान घिसिङको तस्बिर राखिएको छ । पोस्टरमा माओवादीको चुनाव चिह्नसहित ह्यासट्यागमा ‘भोट फर सीपीएनमाओइस्ट’ लेखिएको छ ।

  • निर्वाचन आयोगप्रति प्रधानमन्त्रीपत्नी आरजुको आपत्ति, एक पदमा मात्रै महिलालाई सीमित गर्न नहुने तर्क

    निर्वाचन आयोगप्रति प्रधानमन्त्रीपत्नी आरजुको आपत्ति, एक पदमा मात्रै महिलालाई सीमित गर्न नहुने तर्क

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएकी छन् ।

    निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान कायम गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले आपत्ति जनाएकी हुन् ।

    उनले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूलाई नेपालको संविधानको धारा ३८ (४) पनि स्मरण गराएकी छन् । धारा ३८ (४) मा ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ उल्लेख छ ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४)मा राजनीतिक दलहरुले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा पचास प्रतिशत स्थानमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ ।

    देउवाले भनेकी छन्, ‘नेपालको संविधानको धारा ३८ (४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’

  • गठबन्धनमा भागबण्डा: कर्णालीमा नेकपा एसको भागमा पाँच स्थानीय तह पक्का

    गठबन्धनमा भागबण्डा: कर्णालीमा नेकपा एसको भागमा पाँच स्थानीय तह पक्का

    सुर्खेत । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले तय गरेको भागबण्ड मापदण्डअनुसार नेकपा एसले कर्णालीका चार जिल्लाका पाँच पालिकामा प्रमुख पदको उम्मेदवार पाउने पक्का भएको छ ।

    एमालेबाट फुटेर नेकपा एसमा लागेका पालिका प्रमुख भएको स्थानीय तहमा नेकपा एसकै उम्मेदवार बनाउने गठबन्धनको भागबण्डा मापदण्ड छ । जसअनुसार कर्णालीका ६ जिल्लाको स्थानीय तहमा भने नेकपा एसले वडामै चित्त बुझाउनुपर्ने भएको छ ।

    मापदण्डअनुसार दैलेखको महावु गाउँपालिका अध्यक्ष र उपाध्याक्ष नेकपा एसमा लागेका छन्, जहाँ आगामी चुनावमा पनि नेकपा एसले नै उम्मेदवारी पाउनेछन् ।
    कालिकोटको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईँ पनि नेकपा एसमा लागेका छन्, जहाँ गठबन्धनको तर्फबाट नेकपा एसले नै अध्यक्षको टिकट पाउनेछन् ।

    यहाँ उनीहरुसहित एक उपाध्यक्ष, एक नगर उपप्रमुख र १२ वडाअध्यक्ष नेकपा एसमा लागेका छन्, उनीहरुले सोहीअनुसार उम्मेदवारको भाग पाउनेछन् ।
    नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाको गृहजिल्ला सल्यानमा पनि एक पालिकामा अध्यक्ष, एक उपाध्यक्ष र १९ वडा अध्यक्षको उम्मेदवार नेकपा एसले पाउनेछ ।
    डोल्पाको ठूलीभेरी नगरपालिका पनि नेकपा एसको भागमा परेको छ । यो जिल्लामा ८ वडा अध्यक्ष समाजवादीमा गएका कारण नेकपा एसले टिकट पाउने सम्भावना बढी छ ।

    त्यस्तै नारायण नगरपालिकाको उपप्रमुख पनि नेकपा एसमा छन् । ठाँटीकाँध गाउँपालिकाको उपाध्यक्ष पनि समाजवादीले पाउने भएको छ । यस्तै सो पार्टीले ११ वडाको नेतृत्व गर्न पाउनेछ ।

    मुगुमा एक उपाध्यक्षमा मात्रै समाजवादीले चित्त बुझाउनुपर्नेछ भने यहाँ सात वडा अध्यक्षमा समाजवादीको दाबी रहनेछ । तर यो जिल्लामा समाजवादीले अध्यक्ष वा प्रमुखको टिकट पाउने स्थिति छैन ।

    जुम्लामा पनि एक गाउँपालिका उपाध्यक्ष र ११ वडाअध्यक्ष नेकपा एसमा लागेका छन् । यहाँ पनि उसले पालिको नेतृत्व गर्न नपाउने निश्चित भएको छ ।

    रुकुम पश्चिम, सुर्खेत, जाजरकोट र हुम्लामा समाजवादीका कुनै पनि प्रमुख वा अध्यक्ष, उपाध्यक्ष–उपप्रमुख समाजवादीमा छैनन् ।

    मंगलबारको सहमति कार्यान्वयन भएमा कर्णालीका ७९ पालिकामध्ये पाँच पालिकाको उम्मेदवार नेकपा एसले पाउने निश्चित भएको हो । यद्यपि, प्रदेश स्तरीय संयन्त्रले कसरी समाजवादीलाई मिलाएर लैजान्छ भन्ने हेर्न बाँकी नै छ ।

    नेकपा एमाले विभाजनको समयमा निर्वाचन आयोगमा नेकपा एसको पक्षमा सनाखत गर्न पुगेका ३५४ जनप्रतिनिधिमध्ये केही एमालेमै फर्किसकेका छन् । दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष, सोही पालिकाका केही वडा अध्यक्ष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका केही वडाअध्यक्ष र वडासदस्यहरु एमालेमै फर्किसकेका छन् । यस्तो अवस्थामा नेकपा एसलाई कर्णालीका चार जिल्लामा मात्रै पालिकाको नेतृत्व गर्न पाउने अवसर आउने भएको हो ।

    २७ पालिका जितेको एमालेसँग अहिले २२ पालिका प्रमुख छन् ।

  • बेनीको मेयरमा एमालेबाट ४ जना सिफारिस

    बेनीको मेयरमा एमालेबाट ४ जना सिफारिस

    बेनी । आसन्न स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले ४ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको एमाले नगर कमिटीको बैठकले नगरप्रमुखको उम्मेदवारका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल,सुरत केसी र नारायण जिसीको नाम सिफारिस गरिएको नगर कमिटीका अध्यक्ष नारायण जिसीले जानकारी दिए ।

    मेयरमा सिफारिस गरिएकाहरुमध्ये श्रेष्ठ अघिल्लो स्थानीय तहको निर्वाचनमा ४२ मतले पराजित भएका थिए । यस्तै रावल युवा संघ नेपालको केन्द्रिय उपाध्यक्ष तथा पार्टीको प्रदेश कमिटी सदस्य हुन् । केसी जिल्ला कमिटी सचिव र जिसी नगर कमिटी अध्यक्ष हुन् ।

    उपमेयरमा पशुपति शाही,विष्णु गुरुङ,भावना पौडेल र गौरी थापाको नाम सिफारिस गरिएको छ ।

    मेयर र उपमेयरमा सहमति नजुटेपछि आकांक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको नेकपा एमालेले जनाएको छ ।
    सत्ता साझेदार दलहरुले भने जिल्लामा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति गरेपनि अझै सम्म टुंगोमा पुग्न सकेका छैनन् ।

  • यस्ता छन् चुनावी तालमेल गर्ने सत्ता गठबन्धनका मापदण्ड (सूचीसहित)

    यस्ता छन् चुनावी तालमेल गर्ने सत्ता गठबन्धनका मापदण्ड (सूचीसहित)

    काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वडादेखि नै तालमेल गर्ने र गठबन्धन बाहिरका दलसँग तालमेल गर्न नपाइने निर्णय गरेको छ ।

    मंगलवार राति प्रधानमन्त्री निवास बालुवाटार सम्पन्न पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    स्थानीय संयन्त्रहरूलाई पठाइएका मापदण्ड यस प्रकार छन् ।

    १ः महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनेको केन्द्रीय संयन्त्रले गर्ने ।

    २ः नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

    ३ः सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।

    ४ः प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई पतिनिधि रहने ।

    ५ः प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने ।

    ६ः सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

    गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू

    १ः २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयीलाई आधार मान्ने । (नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने ।)

    २ः गठबन्धनमा आबद्ध दलका उम्मेदवारले पालिका र वडामा प्राप्त मतको मत भार मान्ने

    ३ः २०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने ।

    ४ः २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने । अन्य दलका उम्मेदवारले पाएको मत भरलाई पनि आधार मान्ने ।

    ५ः गठबन्धनभित्र मात्र चुनावी तालमेल गर्ने, गठबन्धनबाहिर चुनावी तालमेल गर्न नपाइने ।

  • नेकपा एसमा कायम रहेका स्थानीय जनप्रतिनिधिलाई सोही ठाउँ छाड्ने सत्ता गठबन्धनको निर्णय

    नेकपा एसमा कायम रहेका स्थानीय जनप्रतिनिधिलाई सोही ठाउँ छाड्ने सत्ता गठबन्धनको निर्णय

    काठमाडौं । सत्तारुढ गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले नेकपा एसमा लागेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    यो निर्णयसँगै उदाहरणका लागि रामेछापको मन्थली नगरपालिकाका मेयर रमेश बस्नेत एमाले छाडेर नेकपा एसमा लागेकाले आउने चुनावमा मेयरको टिकट गठबन्धनबाट उनैले पाउनेछन् ।

     

  • तालमेलका लागि स्थानीय संयन्त्रलाई लिखित मापदण्ड पठाउने सत्ता गठबन्धनको निर्णय

    तालमेलका लागि स्थानीय संयन्त्रलाई लिखित मापदण्ड पठाउने सत्ता गठबन्धनको निर्णय

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले चुनावी तालमेलको मोडालिटीका बारेमा स्थानीय तहका संयन्त्रलाई लिखित निर्देशन पठाउने निर्णय गरेको छ ।

    तलका संयन्त्रहरूमा अलमल भएका कारण कुन कुन आधारमा तालमेल गर्ने,कस्तो ठाउँमा कुन दलले नेतृत्व पाउने लगायतका विषयहरू लिखित रूपमा मापदण्ड बनाएर पठाउने निर्णय भएको कांग्रेस महामन्त्री गगन कुमार थापाले बताए । सोही आधारमा वैशाख ४ गतेभित्र स्थानीय तह देखिनै कुन तहमा कसले लिने भन्ने तालमेलको टुंगो लगाउनुपर्नेछ ।

    सामान्यतः विगतको चुनावमा जुन दलले प्रमुख जितेको छ उसैले लिने र एमालेले जितेका स्थानीय तहको मत भार विश्लेषण गरेर भागबन्डा गर्ने सहमति भएको छ । महानगरपालिकाको हकमा भने केन्द्रबाट भागबन्डा हुने थापाले बताए ।

    थापाले भने– आज स्थानीय तहलाई लिखित मापदण्ड दिने , सामान्य आधारहरू बनाइएको छ । अहिले तलको कमिटीलाई यो यो आधार बनाएर टुङ्ग्याउन भनेर माथि बाट भन्ने हो । महानगर को चाहिँ माथि बाट टुंगो लगाउँछौ

  • भोजपुरमा गठबन्धनबीच भागबण्डाका लागि ६ बुँदे मापदण्ड, कहाँ कसको दाबी ?

    भोजपुरमा गठबन्धनबीच भागबण्डाका लागि ६ बुँदे मापदण्ड, कहाँ कसको दाबी ?

    भोजपुर । जिल्लाका ८१ वटै वडामा तालमेल गरेर जाने निर्णय गरेका सत्तारुढ गठबन्धनले स्थानीय चुनावको ९ बुँदे कार्यविधि र सिट बाँडफाँटसम्बन्धी ६ बुँदे सहमति गरेका छन् ।

    भोजपुर सदरमुकाममा आज बसेको बैठकमा भएको सहमति र कार्यविधिलाई भने नेताहरूले गोप्य राखेका छन् ।

    बैठकमा कांग्रेसबाट विनोद बान्तवा, नन्दमणी राई र सफल किरात, माओवादीबाट अजम्बर काङमाङ, सुदन किराती र विमल खड्का,
    नेकपा एसबाट रमेश शाक्य, वीरजंग राई र ममिता राई जसपाबाट रामसिंह राई,आशकुमार राई र प्रसन्न राई उपस्थित थिए ।

    बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनबीच तल्लो तहसम्म तालमेल गर्ने पुनस् प्रतिबद्धता जनाइएको छ । यदि गठबन्धनभित्र तालमेल नभए अन्य दल (विशेषगरी) एमालेसँग पनि गर्न नपाउने र गरेमा सम्बन्धित पार्टीले तत्काल कारबाही गर्ने कार्यविधि बनाइएको छ ।

    चुनावी अभियान लिएर घरदैलो गर्दा संयुक्त घोषणा पत्र बनाएर जान पनि दलहरू सहमत भएका छन् ।

    आजको बैठकमा सिट बाँडफाँटसम्बन्धी पनि छलफल भएको एक नेताले बताएका छन् । यद्यपि, कहाँ कसलाई दिने भन्ने भोलिसम्म टुंग्याउने गरी गृहकार्य थाल्ने निर्णय गरिएको छ ।

    ‘अघिल्लो निर्वाचनको मतभारलाई हेरेर सिट बाँडफाँट गर्ने । साथै प्रमुख उपप्रमुखमा फरक-फरक दलबाट फरक लिंगीलाई अघि सारिनुपर्ने पनि सहमति गरिएको छ ।’

    बैठकमा सहभागी कांग्रेसका एक नेताले नेकपा एसलाई र जसपालाई सम्मान गरेर भागबण्डा गर्नेबारे बैठकमा छलफल भएको जानकारी दिए । एमालेले जितेका केही पालिका र वडामा नेकपा एसले दाबी गरेको छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार २०७४ मा जितेका स्थानीय तहसहित थपमा कांग्रेस र माओवादीको प्रस्ताव छ । २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको भोजपुरमा गत चुनावमा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र अरुण गाउँपालिका कांग्रेसले जितेको थियो । यो सबैमा कांग्रेसको दाबी छ ।

    आमचोक गाउँपालिका प्रमुख र रामप्रसादराई गाउँपालिका उपप्रमुख माओवादीले जितेको थियो । स्रोतका अनुसार पहिला जितेको आमचोक गाउँपालिका प्रमुख र माओवादी नेता सांसद सुदन किरातीको गृहपालिकासमेत रहेको रामप्रसादराईमा माओवादीको दाबी छ ।

    नेकपा एमालेले टेम्केमैयुङ, हतुवागढीमा प्रमुख-उपप्रमुख दुवै साथै पौवादुङ्मामा प्रमुख जितेको थियो । टेम्केमैयुङकी उपाध्यक्ष र भोजपुर नगरपालिका उपमेयर ममिता राई नेकपा एसमा प्रवेश गरेका छन् । उपाध्यक्ष जयन्ती राईको गृहपालिका भएकाले पनि टेम्केमैयुङमा नेकपा एसले आफूलाई प्रमुख दाबेदारको रुपमा अघि सार्ने मनस्थितिमा रहेको बताइएको छ । २०७४ मा एमाले उम्मेदवार ध्रुव राईविरुद्धको गठबन्धनमा तत्कालीन संघीय समाजवादीबाट रामसिंह राईलाई उठाइएको थियो । यसपालि उनी अहिले जसपा केन्द्रीय सदस्य छन् । उनलाई नै दोहोर्‍याउने गरी जसपाले दाबी गरेकाे छ ।

    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङमाङले ‘४ क’ को सिद्धान्तको आधारमा सिट बाँडफाँटको मापदण्ड तय गरिएको नेपाल प्रेसलाई बताए ।

    ‘कतिकति, क-कसलाई, कहाँकहाँ र कोको भनेर आ-आफ्नो दलमा गृहकार्य गरिनेछ । त्यसको आधारमा आएको प्रस्तावअनुरूप सम्बन्धित दल र संयन्त्रले टुंग्याउनेछन्’, काङमाङले भने ।

    ९ बुँदे कार्यविधिमा उच्च गोपनीयता कायम गर्ने, गठबन्धनभित्र मात्र गठबन्धन गर्ने अन्यसँग गरे कारबाही गर्ने, एक-अर्कामा गालीगलौज गर्न नपाइने, गाउँपालिका-नगरपालिकामा उम्मेदवार तयार गरिसकेपछि वडा अध्यक्षदेखि वडा सदस्यहरूसम्म आवश्यककता र औचित्यको आधारमा अनिवार्य गठबन्धन गर्ने निर्णय भएको छ ।

    त्यस्तै मेयर र उपमेयर , अध्यक्ष, उपाध्यक्ष आ–आफ्नो चुनाव चिह्नमा लड्ने तर वडामा जुन पार्टीले अध्यक्ष पद प्राप्त गर्छ त्यही पार्टीको चिह्नमा लड्ने (यसका लागि लिखित राजनीतिक सहमति गर्ने), बागी विद्रोही, अन्तर्घात गरे सम्बन्धित पार्टी जिम्मेवार हुनुपर्ने, वडातहसम्म संयुक्त निर्वाचन परिचालन समिति गठन गर्ने पनि सहमति भएको छ ।

    सिट बाँडफाँटका लागि जित र कार्यकुशल, अघिल्लो चुनावको परिणाम, पाँच वर्षको संगठनको प्रगति, उम्मेदवारको लोकप्रियता, उम्मेदवारको व्यक्तित्वको आधार र गठबन्धनभित्रको दलहरूको सहभागिताको आधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

  • मन्थली-५ बाट कांग्रेसका प्रस्तावित वडाध्यक्ष नै एमाले प्रवेश

    मन्थली-५ बाट कांग्रेसका प्रस्तावित वडाध्यक्ष नै एमाले प्रवेश

    काठमाडौं । नेपाली कांग्रेसबाट रामेछापको मन्थली नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्षका लागि प्रस्तावित उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कार्कीले कांग्रेस परित्याग गरेका हुन् । उनलाई आसन्न निर्वाचनमा कांग्रेसबाट उम्मेदवार प्रस्ताव गरिएको थियो ।

    एमाले केन्द्रीय सदस्य माधव ढुंगेलसहित गएका कार्कीले आफूलाई पद नचाहिएको तर विकास चाहिएको भन्दै ओलीको नेतृत्वका विकास र समृद्धि हुने बुझेर एमालेमा प्रवेश गरेको बताए ।

    उनले कांग्रेसले आफ्नो मौलिक सिद्धान्त भुलेर गठबन्धनको राजनीति गरेपछि सो पार्टीमा बस्न मन नलागेको बताए ।

  • निर्वाचन आयोगद्वारा १० स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर (सूचीसहित)

    निर्वाचन आयोगद्वारा १० स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने १० वटा स्थानीय तहका निर्वाचन अधिकृत हेरफेर गरेको छ ।

    आयोगले एक सूचना जारी गर्दै विभिन्न जिल्ला स्थानीय तहमा यस अघि खटाइएका निर्वाचन अधिकृतलाई हटाएर नयाँलाई जिम्मेवारी दिएको हो ।

    विभिन्न कारणले १० स्थानीय तहमा खटाइएका निर्वाचन अधिकृतलाई हटाउँदै त्यस ठाउँमा अन्य १० जनालाई नियुक्त गरिएको आयोगले जनाएको हो ।

    नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र अर्थात् आजैदेखि नै लागू हुने गरी तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।

    यस्तै आयोगले पाँचथरको मिक्लाजुङ गाउँपालिकामा निर्वाचन अधिकृतका रुपमा खटाइएका लक्ष्मीदेवी होमागाईलाई धनकुटाको महालक्ष्मी नगरपालिकाको निर्वाचन अधिकृतमा खटाएको छ ।

    सूची

  • गठबन्धन बैठक- वैशाख ४ भित्र तालमेल र दलीय शक्तिको रिपोर्ट पेश गर्न स्थानीय तहलाई निर्देशन

    गठबन्धन बैठक- वैशाख ४ भित्र तालमेल र दलीय शक्तिको रिपोर्ट पेश गर्न स्थानीय तहलाई निर्देशन

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले वैशाख ४ गतेभित्र तालमेल र उम्मेदवारको टुंगो लगाउने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनका शीर्ष नेताको बैठकले वैशाख ४ भित्र गठबन्धन र उम्मेदवारको टुंगो लगाउन स्थानीय तहलाई निर्देशन दिने कुरामा सहमति जनाएको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए ।

    बैठकमा स्थानीय तहमा कुन दलको अवस्था कस्तो छ भन्ने रिपोर्ट वैशाख ४ सम्म लिएर तालमेलको लागि तलबाटै रिपोर्ट माग्ने र सम्बन्धित दलले उम्मेदवार तय गर्नेबारे छलफल भएको सिटौलाले बताए ।

  • माओवादीले हालका उपमेयर र उपाध्यक्ष महिलालाई अध्यक्ष र मेयरमा उठाउने

    माओवादीले हालका उपमेयर र उपाध्यक्ष महिलालाई अध्यक्ष र मेयरमा उठाउने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा हाल नगरपालिकाका उपमेयर र गाउँपालिका उपाध्यक्ष रहेका महिलालाई मेयर र अध्यक्ष पदको उम्मेदवारमा प्राथमिकता दिने नीति बनाएको छ ।

    सो पार्टीका नेता तथा केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले समावेशीकरणको सिद्धान्तअनुसार महिलाहरूलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिन लागिएको बताए ।

    उपमेयर र उपाध्यक्ष चलाएका महिलालाई मेयर र अध्यक्षमा टिकट दिनुपर्छ भन्ने माग र सुझाव धेरैतिरबाट आएको र त्यसमा पार्टी नेतृत्व सकारात्मक रहेको उनको भनाइ थियो ।

    पुनले सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्दा स्थानीय तहमा दुई मध्ये एक प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने संविधानको प्रावधान कार्यान्वयन नहुने हो कि भन्ने आशंका बढेको भन्दै त्यसमा आफूहरू सचेत रहेको बताए ।

    ‘गठबन्धन गर्दा एउटा पार्टीको एक मात्र उम्मेदवार हुने अवस्थामा सबैतिर पुरुष आउने हो कि भन्ने चिन्ता छ’, स्थानीय तह निर्वाचनमा महिला सहभागिता बढाउनुपर्ने मागसहित ज्ञापन पत्र बुझाउन माओवादी मुख्यालय पेरिस डाँडा पुगेका महिला अधिकारवादी संस्थाका प्रतिनिधिसँग मंगलबार पुनले भने, ‘त्यसलाई हामी ब्यालेन्स गर्छौँ, म आफैँ गठबन्धनको संयन्त्रमा छु । गठबन्धनका कारणले महिला सहभागिता कम हुन दिँदैनौँ ।’

    नेता पुनले संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला अनिवार्य गरेको भन्दै आफ्नो दलले त्यसलाई बढाएर कम्तीमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने नीति लिएको जनाए ।

    सबै तहका पार्टी कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गरिएको भन्दै उनले सोही दरमा स्थानीय तहमा पनि महिलालाई नेतृत्व दिइने उल्लेख गरे । पुनले राजनीतिक र प्रशासनिक नेतृत्वमा जनसंख्याका आधारमा महिला सहभागिता गराउनुपर्नेमा आफ्नो पार्टी रहेको बताए ।

    ‘हामीले सबै तहका पार्टी कमिटीहरूमा संविधानले व्यवस्था गरेभन्दा बढी ३५ प्रतिशत महिला सहभागिता गराएका छौँ’, पुनले भने, ‘महिला र समावेशीकरणको मुद्दा उठान गर्ने पार्टी भएकाले हामीले व्यवहारबाटै अरूभन्दा प्रगतिशील भएको पुष्टि गरेका छौँ ।’

    उनले संविधानले ग्यारेन्टी गरेको ३३ प्रतिशतमा महिला र पुरुषबिच नभई महिलामहिलाबीच प्रतिस्पर्धा गराउन सके परिणाम राम्रो आउने बताए । ‘३३ प्रतिशत ठाउँमा महिलामहिलाबीच मात्र प्रतिस्पर्धा गराउन सकिए जो आए पनि अब्बल महिला आउँथ्यो’, उनले भने । तर, त्यसमा कुनै एक दल मात्र तयार भएर नहुने स्पष्ट गरे ।

    महिला पुनर्स्थापना केन्द्र (ओरेक) र महिला मानव अधिकार रक्षक सञ्जालसहित महिला अधिकारका क्षेत्रमा सक्रिय डेढ दर्जन संस्थाका प्रतिनिधि ज्ञापन पत्र बुझाउन पेरिस डाँडा पुगेका थिए ।

  • बुटवलको मेयरमा एमालेबाट ८ जना सिफारिस, गठबन्धनमा कसले पाउला ?

    बुटवलको मेयरमा एमालेबाट ८ जना सिफारिस, गठबन्धनमा कसले पाउला ?

    रुपन्देही । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले आगामी मेयरका लागि ८ जनाको नाम सिफारिस गरेको छ । उपमहानगर कमिटीले निर्णय गर्न नपाएपछि आकांक्षा गरेका सबैको नाम माथिल्लो कमिटीमा पठाएको हो ।

    बुटवलबाट अहिलेका मेयर शिव सुवेदी, बाबुराम भट्टराई र गोपाल राना, एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, वर्तमान उपमेयर गोमादेवी आचार्य, सूर्य बहादुर भट्टराइ एमाले केन्द्रीय सदस्य सावित्रा अर्याल र उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीको नाम सिफारिस भएको हो ।

    उम्मेदवार छनोटका लागि पार्टीको नगर, जिल्ला र प्रदेश हुँदै केन्द्रीय कमिटीमा पठाइने र उपमहानगरपालिकाको हकमा कसलाई टिकट दिने भन्ने निर्णय केन्द्रबाटै हुने भएकोले कसले टिकट पाउँछ भन्ने यसै भन्न सकिने अवस्था छैन ।

    एमाले बुटवल नगर कमिटीका अध्यक्ष किसन ज्ञवाली उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट कसले पाउने भन्ने पार्टी केन्द्रबाट तोकेर आउने भएकोले आकांक्षा देखाएका सबै जनाको नाम सिफारिस गरेर पठाएको बताए ।

    उपमेयरमा पाँच जनाले आकांक्षा देखाएकाले सबैको नाम पठाइने उनले बताए । उपमेयरमा वर्तमान वडाध्यक्ष टंक पराजुली, खेमप्रसाद लुइँटेल, ज्ञानु केसी, मधुकला कुँवर र कल्पना थापा आकांक्षी देखिएकाले सबैको नाम पठाइएको छ । तर मेयरमा अरूले टिकट पाए त्यही दाबेदार गरेकी सावित्रा अर्यालले उपमेयरको टिकट पाउन सक्ने आंकलन स्थानीय नेताहरूको छ ।

    एमालेका एक नेताका अनुसार मेयरमा धेरै आकांक्षी देखिए पनि अहिलेका मेयर सुवेदीले नपाउने स्थितिमा बाबुराम भट्टराई र गोपाल रानामध्ये एक जनाले मेयरको टिकट पाउने सम्भावना छ ।

    अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेका बाबुराम भट्टराई २०३६ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध भई जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् ।

    तत्कालीन लुम्बिनी अञ्चल अस्पताल विकास समितिको अध्यक्ष, नेपाल औषधि व्यवसायी महासंघका केन्द्रीय अध्यक्षसमेत भइसकेका भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका थिए ।

    बुद्धिजीवी परिषद्मा रहेर समेत काम गरेका भट्टराईलाई पार्टी भित्र र बाहिर पनि बौद्धिक व्यक्तिका रूपमा चिन्ने गरिन्छ । सबैलाई सन्तुलित व्यवहार गर्ने र आफू कम बोल्ने व्यक्तिगत स्वभावका कारण भट्टराईमा विपक्षीको मत तान्न सक्ने क्षमता रहेको पार्टीका कतिपय नेताहरू बताउँछन् ।

    यता होटेल व्यवसायमा रुपन्देहीमा मात्र होइन नेपालकै अब्बल व्यवसायीको परिचय बनाएका राना युवामाझ लोकप्रिय मानिन्छन् । झण्डै डेढ दशकदेखि मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट सञ्चालन गरेका रानाले यसै वर्षदेखि बुटवलमा ड्रिम इन्टरनेशनल सञ्चालन गरेका छन् ।

    उनी एमालेका निवर्तमान जिल्ला उपसचिव, हालका प्रदेश कमिटी सदस्य तथा होटेल व्यवसायी महासंघका केन्द्रीय सदस्य छन् । बुटवलमा रहेको जनजाति र युवाहरूको मत तान्न पार्टीले रानालाई मेयरको उम्मेदवार बनाउनुपर्ने कतिपय एमाले नेताहरूको मत छ ।

    मेयरमा कसले टिकट पाउँछ त्यसैको आधारमा उपमेयरको लागि उम्मेदवार छनोट गरिने एमाले नेताहरूको अनुमान छ ।

    नेकपा एमालेले चैत ३० गतेभित्र देशभरका सबै पालिकाबाट प्रमुख र उपप्रमुखहरूको नाम माथिल्ला कमिटीमा पठाउन तल्ला कमिटीमा निर्देशन गरिसकेको छ । नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरू जिल्ला कमिटीको समन्वयमा प्रदेश कमिटीले टुंग्याउन सक्ने भए पनि उपमहानगर र महानगरपालिकाको हकमा भने केन्द्रमा नै सिफारिस गर्नुपर्ने भनिएको छ ।

    एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले सोमबार साँझसम्म पालिकाबाट उम्मेदवारको नाम सिफारिस भएर आए मंगलबार नै केन्द्रमा र प्रदेश कमिटीमा पठाउने बताए ।

    एमालेबाट बुटवलको वडा नं १ बाट महेन्द्र लिगल, वडा नं ५ बाट जलिल मिया र वडा नं १४ बाट दधिराम न्यौपानेको नाम सर्वसम्मत वडाध्यक्षमा सिफारिस भएको छ अन्य वडाहरूबाट २ जनादेखि ५ जनाको नाम सिफारिस भएको छ । लिगल र न्यौपाने अहिलेका वडाध्यक्ष हुन् ।

    यस्तो छ विगतको इतिहास

    बुटवल उपमहानगरपालिकामा २०५१ सालदेखि एमालेकै नेतृत्व छ । २०५४ सालमा भोजप्रसाद श्रेष्ठ मेयर बनेको बुटवलमा देश संघीय संरचनामा गएपछि २०७४ सालको पहिलो निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनमुक्ति पार्टीका साझा उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेलाई हराउँदै एमालेका शिव सुवेदी मेयर बने । उपमेयरमा पनि तीन दलीय गठबन्धनबाट माओवादी केन्द्रका जगत पोखरेललाई हराउँदै एमालेकै गोमा आचार्य उपमेयर बनेकी थिइन् ।

    मेयरमा निर्वाचित सुवेदीले २३ हजार २४९ मत पाउँदा कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत पाएका थिए । उपमेयरमा निर्वाचित आचार्य र पराजित बनेका पोखरेलको मतान्तरले झण्डै ११ हजार हाराहारी थियो। आचार्यले २५ हजार ३०१ मत पाउँदा पोखरेलले १४ हजार ७९२ मत पाएका थिए।

    १९ वटा वडा रहेको बुटवलमा वडा नं. १३, १८ र १९ मा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित सात जना मात्रै जनप्रतिनिधि जिते पनि मेयर, उपमेयर र १६ वटा वडा अध्यक्षसहितका बाँकी जनप्रतिनिधि एमालेबाटै विजयी भएका थिए ।

    गठबन्धनमा कसले पाउला ?

    गठबन्धनबाट सबैभन्दा बलियो उम्मेदवारको रूपमा नेपाली कांग्रेसका खेलराज पाण्डेकै नाम अहिले पनि चर्चामा छ । कांग्रेसले पनि बुटवल उपमहानगर समिति सभापतिसमेत रहेका पाण्डेकै पक्षमा सहमति जुटाएर उम्मेदवार सिफारिस गर्ने कसरतमा छ । तर नेता बालकृष्ण खाँण समूहले संस्थापन इतर समूहलाई बुटवल दिनुपरेको खण्डमा पाण्डेको विकल्पमा नेता हरि लम्साललाई अगाडि सार्न सक्ने स्थानीय नेताहरूको भनाइ छ ।

    नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले बुटवलको मेयरको लागि पार्टीबाट पाण्डेसँगै क्षेत्रीय सभापति हरि लम्साल, महेशमान सिंह र रिता केसीको नाम चर्चामा आए पनि सहमति जुटाएर पठाउने बताए ।

    सभापतिका आकांक्षी लम्साल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व सभापति हुन् भने सिंह प्रदेशसभा चुनावमा रुपन्देही प्रदेशसभा २ ‘क’ बाट चुनाव लडेर पराजित भएका व्यक्ति हुन् ।

    गठबन्धनमा नेकपा एसको मेयरमा दावी

    नेकपा एसले एमालेले जितेको भएकाले एमालेबाटै विभाजन भएकाले बुटवलको मेयर पाउनुपर्ने दावी केन्द्रबाटै गरेको छ । नेकपा एसका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण चापागाईँ ०५४ सालमा पनि एमालेबाट बुटवलको मेयरका दाबेदार थिए भने ०७४ सालमा पनि दाबेदार थिए । नेकपा एसले मेयर पाएको खण्डमा आफू तयारी रहेको उनले बताएका छन् । यो पार्टीबाट नेता राजु गुरुङ पनि आकांक्षी रहेका छन् भने उपमेयरमा सरिता श्रीस दाबेदार रहेका छन् ।

    गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रबाट मनोज राना, टिका वली, गंगा खनाल, रिज्जु श्रेष्ठलगायतको नाम चर्चामा छ भने नेपाली कांग्रेसकी बालकुमारी भण्डारी, सावित्रा टण्डनको दावेदारी छ।

    सिनपाको मेयरमा ८ जना सिफारिस

    सिद्धार्थनगर नगरपालिकामा एमालेबाटै मेयरमा आठ जना आकांक्षी बनेका छन् । नगर सचिव नारायण प्रसाद भण्डारीले आकांक्षी आठ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको बताए । भरत पोखरेल, नारायण प्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्र पन्थी, जिवलाल अर्याल, अर्जुन गिरि र वर्तमान मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस गरिएको छ । उपमेयरमा भने तिन जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार उमा अधिकारी, सिता काफ्ले र पम्फावती खनालको नाम सिफारिस गरिएको नगर सचिव भण्डारीले जानकारी दिए ।

    तिलोत्तमामा ४ जनाको सिफारिस

    तिलोत्तमा नगरपालिकामा वर्तमान मेयर वासुदेव घिमिरेसहित मोहन चापागाईँ, यज्ञ गैरे, दिनेश फुल्लेलको नाम सिफारिस गरिएको एमाले नगर अध्यक्ष तामानाथ पाण्डेले बताए । त्यस्तै उपमेयरमा पनि वर्तमान उपमेयर जगेश्वरदेवी चौधरीसहित संगिता गुरुङ, रेनुका खरेल, जमुना लम्साल र देवी वाग्लेको नाम सिफारिस गरिएको छ ।