Category: स्थानीय निर्वाचन–२०७९

  • बद्री पंगेनी, कुलेन्द्र विक र रामजी खाँणसहितको स्वरमा आयो एमालेको नयाँ चुनावी गीत (भिडिओ)

    बद्री पंगेनी, कुलेन्द्र विक र रामजी खाँणसहितको स्वरमा आयो एमालेको नयाँ चुनावी गीत (भिडिओ)

    काठमाडौं । पाँच वर्षअघिको स्थानीय चुनावमा बद्री पंगेनी र प्रिया भण्डारीको स्वरमा बहुचर्चित बनेको ‘सैं पनि एमाले मै पनि एमाले’ बोलको चुनावी गीत जस्तै यसपटक पनि चर्चित कलाकारको स्वरमा एमालेको नयाँ चुनावी गीत सार्वजनिक भएको छ ।

    ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा बद्री पंगेनी, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा,पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् ।

    चर्चित गायक खाँण नेपाली कांग्रेस निकट मानिन्छन् । त्यस्तै कुलेन्द्र विश्वकर्माको ‘सालको पात टपरी हुनी, हे बरै नहुने सल्लैको’ बोलको गीत सर्वाधिक लोकप्रिय बनेको थियो ।

    यसपटक लोकप्रिय कलाकारहरु समेटर चुनावी गीत ल्याएको हो । डिम प्रसाद पौडेल, राजेन्द्र सापकोटा लगायत निर्माता रहेको सो गीतमा चर्चित मोडलहरुले अभिनय गरेका छन् ।

    गीत सैं पनि एमाले जत्तिकै लोकप्रिय हुने दावी उनीहरुको छ । सैं पनि एमाले बोलको गीतले ४२ लाख बढी भ्युज कलेक्सन गरेर त्यो बेला युट्युब ट्रेण्डिङमा थियो । ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीत युट्युबमा अपलोड भएको एक घण्टामै ५ हजार बढी भ्युज कटेको छ । यो गीत पनि पहिलेको जस्तै लोकप्रिय हुने कलाकारहरुले विश्वास लिएका छन् ।

    सुजन लम्सालको शब्द र परिकल्पनामा आएको सो गीतमा राजु गुरुङ,गंगा पुन,भिमु गुरुङ,लक्ष्मी खड्का,माया पर्दे,डोलराज मगर,प्रसाद लामिछाने लगायतको स्वर पनि समावेश छ ।

  • अध्यक्ष ओली सोलुखुम्बुमा- कांग्रेस नेता काजी शेर्पासहित ३ वडाध्यक्ष एमाले प्रवेश (तस्बिरहरु)

    अध्यक्ष ओली सोलुखुम्बुमा- कांग्रेस नेता काजी शेर्पासहित ३ वडाध्यक्ष एमाले प्रवेश (तस्बिरहरु)

    सल्लेरी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा सोलु दुघकुण्ड नगरपालिकाका मेयरका दाबेदार आङकाजी शेर्पा सोमबार एमालेमा प्रवेश गरेका छन् ।

    नगरपालिकाको वडा नम्बर २ बाट निर्वाचित कांग्रेसका वडाध्यक्ष मिङ्मार दोर्जी शेर्पा, पूर्व महाधिवेशन प्रतिनिधि कुसाङ शेर्पा, सम्पर्क समितिका उपाध्यक्ष ज्ञानुराज भण्डारीसहितको समूह लिएर उनी एमालेमा प्रवेश गरेका हुन् ।

    कांग्रेस नेता शेर्पाको समूहलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश १ का पूर्व भौतिक पुर्वाधारमन्त्री अम्बिरबाबु गुरुङसहितका नेता सोलुखुम्बु गएका थिए ।

    सोही कार्यक्रममा माप्य दूधकोशी गाउँपालिकामा कांग्रेस र माओवादीबाट निर्वाचित वडा नम्बर ६ र ७ का वडाध्यक्षहरु दिनेश कुमार राई र सगुजीत राई पनि एमालेमा प्रवेश गरेका छन् ।

    सोलु दूधकुण्ड नगरपालिकाको मेयरमा अघिल्लो चुनावमा एमालेका आङ इगेले शेर्पा १५० मतले पराजित भएका थिए । कांग्रेसका नाम्गेल शेर्पाले २७५१ मत पाएर मेयर जित्दा एमालेका शेर्पा २६०१ मतमा रोकिएका थिए ।

    उपमेयर भने एमालेकी कल्पना राईले जितेकी थिइन् । योहो टेलिभिजनका अध्यक्ष समेत रहेका काजी शेर्पा कांग्रेसबाट मेयरको प्रमुख दाबेदार थिए । तर जिल्लामा उनी बलवहादुर केसी पक्ष रहेको र देउवा पक्षले उनलाई अघि सार्न नमानेपछि एमाले प्रवेश गरेको बताइएको छ ।

    शेर्पालाई एमालेले नगरपालिकाको मेयरमा उम्मेदवार बनाउने भएको छ ।

  • एमालेविरुद्धको भ्रम चिर्न पत्रकारलाई गुरुङको आग्रह

    एमालेविरुद्धको भ्रम चिर्न पत्रकारलाई गुरुङको आग्रह

    रुपन्देही । नेकपा एमालेका उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमाले विरुद्धका गलत र भ्रामक प्रचारहरुलाई मेटाउन प्रेस चौतारीका कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

    आगामी स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशले कपिलवस्तुको जितपुरमा सोमबार आयोजित प्रचार भेलालाई सम्बोधन गर्दै उनले सो बताएका हुन् ।

    उनले कामहरुको व्यापक प्रचारप्रसार गर्न प्रचार कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । एमाले र मतदाताहरुको पुलको रुपमा प्रचार क्षेत्रमा खटिएकाले भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।

    उपमहासचिव गुरुङले नेकपा एमालेविरुद्ध गलत प्रचार र घेराबन्दी भइरहँदा प्रचार कार्यकर्ताहरुले त्यसको खण्डन गर्दै जनतालाई सहि सूचना दिनुपर्ने अहिलेको समय रहेको बताएका थिए ।

    एमालेको संगठन र कार्यशैलीप्रति अरु राजनीतिक दल र संघसंगठनहरुले समेत इश्र्या गर्ने गरेको उल्लेख गर्दै एमालेको सुदृढ संगठन र कार्यशैलीलाई कमजोर हुन दिन नहुने गुरुङले बताए । समृद्ध नेपाल सुखी नेपालीको नारा एमालेको गन्तव्य रहेको भन्दै नारामा भएजस्तो काम गरेको छ छैन भनेर खबरदारी गर्ने दायित्व पनि प्रचार कार्यकर्ताहरुको रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेको देशव्यापी लहरले सत्तागठबन्धन अत्तालिएको बताए ।
    उनले प्रविधिको युगमा एमाले र प्रचार कार्यकर्ताहरु प्रविधिबारे जानकार हुनुपर्ने रवास्तविक तथ्यांक जनतासमक्ष पुराउनुपर्ने बताएका थिए ।

    प्रेस चौतारी लुम्बिनी प्रदेशका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता, महासचिव निरु गौतमको संचालन तथा कपिलवस्तु अध्यक्ष जानु पाण्डेको स्वागतमा सम्पन्न भएको कार्यक्रममा पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभा सदस्य विमला घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, नेकपा एमाले लुम्बिनी प्रदेशका प्रचार विभाग प्रमुख डिआर घिमिरे, एमाले प्रदेश सदस्य शेरबहादुर केसी, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य इन्दिरा अर्याल र केन्द्रिय सदस्य पार्वती पाण्डेले प्रचारको कामलाई कसरी व्यवस्थीत बनाउन सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए ।

    लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रेस चौतारीका सदस्यहरुको सहभागिता रहेको प्रचार भेलाले ९ बुंदे घोषणापत्रसमेत जारी गरेको छ ।

  • ‘गठबन्धनका नाममा जनमत नभएको पार्टीलाई इटहरीको मेयर दिन सकिदैन’

    ‘गठबन्धनका नाममा जनमत नभएको पार्टीलाई इटहरीको मेयर दिन सकिदैन’

    काठमाडौं । नेपाली कांग्रेस सुनसरीका नेता रोहित प्रसाईले गठबन्धनका नाममा जनमत नभएको पार्टीलाई इटहरी उपमहानगरपालिकाको मेयरमा सहयोग गर्न नसकिने बताएका छन् ।

    अघिल्लो स्थानीय निर्वाचनमा इटहरीमा कांग्रेसको तर्फबाट मेयरको प्रत्याशी रहेका प्रसाईले झण्डै ४० हजार प्रतिबद्ध मतदाता भएको पार्टीले कमजोर जनमत भएको पार्टीलाई प्रमुख छाड्न नसक्ने बताएका हुन् । इटहरी उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीलाई मेयर दिनेगरी गठबन्धनमा सहमति हुन लागेपछि सुनसरी कांग्रेसका नेताहरुले असन्तुष्टी जनाउने क्रम जारी छ ।

    ‘झण्डैं ४० हजार मत भएको कांग्रेसले १५ सय मत भएको एकीकृत समाजवादीलाई सघाउन सक्दैन । कांग्रेसले मेयर नपाउँदा गठबन्धन जिताउन गार्हो पर्छ’, प्रसाईको भनाई छ । तालमेलका क्रममा सुनसरीको इटहरी उपमहानगरको नेतृत्व दावी गर्दै कांग्रेस जिल्ला सभापति केदार भण्डारीसहितको टोली काठमाडौंमा छ । कांग्रेसले इटहरीमा बहुमत वडासहित मेयर जित्ने दावी गर्दै आएको छ । सुनसरीमा गत निर्वाचनमा कांग्रेसले ९ पालिका जितेको थियो ।

  • मसालको आधार इलाकामा कांग्रेस-माओवादी तालमेल, पाँच दलीय गठबन्धन भंग

    मसालको आधार इलाकामा कांग्रेस-माओवादी तालमेल, पाँच दलीय गठबन्धन भंग

    रुपन्देही । राष्ट्रिय जनमोर्चाको आधार इलाका मानिएको प्युठान जिल्लाको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चालाई गठबन्धनबाट एक्लाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चुनावी तालमेल भएको छ।

    अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाउने गरी झिमरुकमा सहमति भएको छ ।

    वडा तहमा सहमतिको आधारमा पद बाँडफाँड गर्ने पनि निर्णय भएको छ । जुन वडामा जुन दलको अध्यक्ष उम्मेदवार बनेमा सोही चुनाव चिन्हमा अरु सदस्यले उम्मेदवारी दिने गरी सहमति गरिएको विज्ञप्तीमा उल्लेख छ ।

    गत २०७४ सालको निर्वाचनमा यो गाउँपालिका राष्ट्रिय जनमोर्चा जितेको थियो। उता नौबहिनी गाउँपालिकामा पनि सत्ताधारी दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल गरेर राष्ट्रिय जनमोर्चा एक्लाएका छन् ।

    काँग्रेस अध्यक्षमा र माओवादीलाई उपाध्यक्ष दिने गरि नौबहिनीमा पद बाँडिएको छ। नौबहिनीको वडा नम्बर १ स्याउलीवाङ समाजवादीलाई तीन र तीनवटा वडा कांग्रेस माओवादीलाई दिने गरी सहमति गरिएको पाइएको छ ।

    यसैबीच, माण्डवी गाउँपालिकामा माओवादीको भागमा अध्यक्ष र काँग्रेसलाई उपाध्यक्ष दिने गठबन्धनबीच सहमति भएको छ । यद्यपि सहमतिबारे आधिकारिक जानकारी आएको छैन ।

    यसअघि स्वर्गद्धारी नगरपालिकामा कांग्रेसलाई मेयर र राष्ट्रीय जनमोर्चालाई उपमेयर दिने गरि चुनावी तालमेल भएको छ। सरुमारानी गाउँपालिकामा पनि कांग्रेसलाई अध्यक्ष र माओवादीलाई उपाध्यक्ष दिने गरि गठबन्धनबीच भागबण्डा टुङ्गिएको छ । अन्य पालिकामा भने तालमेलबारे छलफल जारी रहेको नेताहरुले बताएका हुन् ।

  • माओवादीले छान्यो रुकुम पश्चिममा उम्मेदवार, गठबन्धन भए फिर्ता बोलाइने

    माओवादीले छान्यो रुकुम पश्चिममा उम्मेदवार, गठबन्धन भए फिर्ता बोलाइने

    सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले रुकुम पश्चिमका स्थानीय तहका लागि उम्मेदवार छानेको छ ।

    स्थानीय तह निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनोट तथा सिफारिस समितिले पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका उम्मेदवारहरु टुङ्गो लगाई प्रदेश समितिमा सिफारिस गरेको हो ।

    जसमा चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी र उपप्रमुखमा ईश्वरीकुमारी शर्मा विएम, आठबीसकोट नगरपालिकाको प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही तथा मुसिकोट नगरपालिकाको प्रमुखमा वसन्त शर्मा र उपप्रमुखमा मिलन खड्का उम्मेदवार बन्ने भएका छन् ।

    यस्तै सानीभेरी गाउँपालिकाको अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले तथा बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसी चयन भएका छन् ।

    सोमबार बसेको बैठकले जिल्ला समन्वय समिति प्रमुख पदको लागि महिला उम्मेद्वार बनाउने निर्णय गरिएको प्रचार विभाग प्रमुख ध्रुवविक्रम बुढाथोकीले बताए । उनका अनुसार गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परे जोकोहीको उम्मेदवारी पनि फिर्ता हुन सक्नेछ ।

  • एमालेले टुंग्यायो कालिकोटको शुभकालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार

    एमालेले टुंग्यायो कालिकोटको शुभकालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार

    सुर्खेत । नेकपा एमालेले कालिकोटको शुभकालिका गाउँपालिका अध्यक्षमा भरतराज धिताललाई उम्मेदवार बनाउने भएको छ ।

    सोमबार बसेको पालिका कमिटीको बैठकले धिताललाई सर्वसम्मत अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    यस्तै उपाध्यक्षमा लक्ष्मी चौलागाईंलाई उम्मेदवार बनाउने निर्णय भएको एमाले कालिकोटका नेता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

  • निर्वाचन अधिकृत कार्यालयका साइनबोर्ड, लेटरप्याड र छापमा एकरुपता दिइने

    निर्वाचन अधिकृत कार्यालयका साइनबोर्ड, लेटरप्याड र छापमा एकरुपता दिइने

    काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग गरिने साइनबोर्ड, लेटरप्याड र छापमा एकरुपता ल्याउने भएको छ ।

    आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरप्याड र छापमा एकरुपता कायम गर्न निर्देशन दिएको हो ।

    आयोगले ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत र ६७६ वटा निर्वाचन अधिकृत कार्यालयलाई प्रयोग गर्ने साइनबोर्ड, लेटरप्याड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

  • कांग्रेस कास्की सभापति बराल भन्छन्– गठबन्धन टुटेको छैन, म बैठकमै छु

    कांग्रेस कास्की सभापति बराल भन्छन्– गठबन्धन टुटेको छैन, म बैठकमै छु

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले अस्वाभाविक माग राखेको भन्दै कांग्रेस कास्कीका दुई सचिवले विज्ञप्ति निकालेर गठबन्धन तोडेको घोषणा गरेका छन् । तर, सभापति किशोरदत्त बराल भने गठबन्धन कायम रहेको बताउँछन् ।

    उनी अहिले पनि गठबन्धनकै बैठकमा छन् । ‘म बैठकमै छु । गठबन्धन टुटेको कुरा साँचो होइन’, उनले भने, ‘सचिवहरूले किन त्यसो गर्नुभयो, मैले बुझ्न पाएको छैन । विज्ञप्ति निकाल्न मसँग सल्लाह लिनुभएको होइन ।’

    अहिले जिल्लाका पालिकामा बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक होटल दीपसागरमा बसिरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्यले विज्ञप्ति गलत भएको बताए । कांग्रेसकै सभापतिको नेतृत्वमा बैठक बसिरहेको बेला बाहिरिएको विज्ञप्तिले खासै असर नगर्ने उनको भनाइ छ ।

    ‘गठबन्धनको बैठक चलिरहेको छ । सभापतिज्यू यहीँ हामीसँगै हुनुहुन्छ’, उनले भने, ‘गठबन्धन टुटेको भए बैठक किन चलिरहन्थ्यो, टुटेको छैन । यो कायम रहन्छ ।’

    एकीकृत समाजवादीले पोखराको मेयरमा दाबी गरेको छ । तर, कांग्रेसले भने जनमत नै नभएको पार्टीले मेयर माग्दा हारिने भन्दै कांग्रेसले नै मेयर पाउनुपर्ने अडान राखेको छ । दुई सचिवले एकीकृत समाजवादीको माग अस्वाभाविक भएकोले उसँग गठबन्धन नहुने विज्ञप्तिसहित जिल्लाका नेता-कार्यकर्तालाई सोहीअनुसार काम अघि बढाउन निर्देशन दिएका छन् ।

  • सोलुखुम्बु पुगेर ओलीले भने: बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न सक्दैन

    सोलुखुम्बु पुगेर ओलीले भने: बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न सक्दैन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न नसक्ने’ टिप्पणी गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा भागबण्डा मिलाउन सत्तागठबन्धनको बैठक बसिरहेका बेला सोलुखुम्बुको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

    चुनावीसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– एमालेविरुद्ध बालुवाटारमा ओथारो बसिरहेका छन् रे, तर फुल पार्न सकेका छैनन् भन्ने सुन्छु ।

    एमालेसँग डराएर सत्तागठबन्धन चुनावबाट भाग्न खोजेको आरोप लगाउँदै उनले सबै दलसँग एमाले एक्लै भिड्न तयार रहेकोसमेत बताए । सत्तागठबन्धन अझै चुनावसँग भाग्न खोजेको उनको बुझाइ थियो । उनले भने– अझै संविधानविरोधी केही तत्व चुनाव सार्न खोज्दैछन्, एमाले तिनीहरुविरुद्ध एक्लै प्रतिकार गर्न तयार छ ।

    उक्त कार्यक्रममा सञ्चारउद्यमी आङकाजी शेर्पा एमालेमा प्रवेश गरेका छन् । शेर्पालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

  • पोखराको मेयर दाबी गरेको नेकपा एससँग कास्की कांग्रेसले गठबन्धन नगर्ने

    पोखराको मेयर दाबी गरेको नेकपा एससँग कास्की कांग्रेसले गठबन्धन नगर्ने

    काठमाडौं । मेयर दाबी गरेको पोखरा महानगरमा नेपाली कांग्रेस कास्कीले नेकपा एससँग गठबन्धन नगर्ने निर्णय गरेको छ । जिल्ला कार्यसमिति कास्कीले एक विज्ञप्ति जारी गर्दै नेकपा एससँगै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

    सहमतिका लागि भरपुर प्रयत्न गर्दा पनि सम्भव नभएपछि नेकपा एससँग गठबन्धन गरेर चुनावमा जान नसकिने निष्कर्ष निकालिएको विज्ञप्तिमा उल्लेख छ ।

    चुनावी तालमेलका लागि अन्य दलसँग छलफल गर्न सकिए पनि नेकपा एससँगै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नुको विकल्प नभएको कास्की कांग्रेसको ठहर छ ।

    नेकपा एसले गठबन्धन हुँदा पोखरा महानगरपालिकामा मेयरको दाबी गर्दै आएको छ ।

  • भागबण्डा मिलाउन गठबन्धन बैठक फेरि सुरु

    भागबण्डा मिलाउन गठबन्धन बैठक फेरि सुरु

    काठमाडौं । केही समयका लागि स्थागित भएको पाँच दलीय सत्ता गठबन्धनको बैठक फेरि सुरु भएको छ । चुनावी तालमेलका लागि भागबण्डा मिलाउन प्रधानमन्त्रीनिवास बालुवाटारमा फेरि पाँचै दलका शीर्ष नेतासँगै तालमेल संयन्त्रका नेताहरु भेला भएका हुन् ।

    बैठक स्थगित हुनुअघि पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचै दलबीच सहमति नभए कुरा मिल्ने दलबीच चुनावी तालमेल हुने बताएका छन् । उनले कुनै पनि दलबीच सहमति नभए माओवादी एक्लै चुनाव लड्न पनि तयार भएको बताएका छन् ।

    पत्रकार सम्मेलन सकेर प्रचण्ड बालुवाटार फर्किसकेका छन् । गठबन्धनमा आवद्ध दलबीच महानगर र उपमहानगरको भागबण्डामा छलफल भइरहेको बताइएको छ । बैठकमा सम्भावित खाका प्रस्तुत भए पनि कुनै निष्कर्ष निस्किएको छैन ।

  • एमालेले होलीवाइन र राजामहाराजासँग गठबन्धन गर्‍यो : प्रचण्ड (भिडिओ)

    एमालेले होलीवाइन र राजामहाराजासँग गठबन्धन गर्‍यो : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा २ वटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने बताएका छन् ।

    पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सत्तारुढ ५ दलको वाम-लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको ‘होलीवाइन राजामहाराजाहरूको गठबन्धन’ बीच प्रतिस्पर्धा हुने बताए ।

    ‘हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र अग्रगामी शक्तिहरूको गठबन्धन हो । एमालेले अहिले होली वाइन, हिन्दूवादी र राजामहाराजा मान्नेहरूसँग गठबन्धन गरेको छ । जनताले वाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी गठबन्धनमध्ये एउटा रोज्नुपर्छ’, प्रचण्डले भने ।

    राष्ट्रको आवश्यकताअनुसार नै ५ दलीय गठबन्धनमा चुनावी तालमेल हुन लागेको भन्दै प्रचण्डले महानगर र उपमहानगरको नेतृत्वबारे गठबन्धन सहमतिनजिक पुगेको बताए ।

  • वडाध्यक्ष जसको हुन्छ, त्यहीं पार्टीको चुनाव चिह्न लिनेबारे छलफल हुँदैछ: प्रचण्ड (भिडिओ)

    वडाध्यक्ष जसको हुन्छ, त्यहीं पार्टीको चुनाव चिह्न लिनेबारे छलफल हुँदैछ: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धनमा एउटै चिह्नबाट चुनाव लड्नेबारे छलफल चलिरहे पनि प्राविधिक समस्या रहेको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले कमसेकम वडाध्यक्ष जसको भागमा पर्छ त्यहीं पार्टीको चुनाव चिह्नमा जानेबारे छलफल भइरहेको बताए ।

    तर निर्वाचन आयोगले मतपत्र छपाइको काम गरिसकेकाले ‘प्राविधिक रुपमा पनि त्यो सम्भव नहुने हो कि जस्तो देखियो’ भन्दै प्रचण्डले गठबन्धनमा यसबारे छलफल भइरहेको बताए ।

  • इटहरीको मेयर समाजवादीलाई दिए कांग्रेसमा विद्रोह हुने

    इटहरीको मेयर समाजवादीलाई दिए कांग्रेसमा विद्रोह हुने

    सुनसरी । नेपाली कांग्रेस सुनसरीका नेताहरूले इटहरी उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीलाई मेयर नछाड्न पार्टी नेतृत्वसँग माग गरेका छन् । इटहरी उपमहानगरको प्रमुख कांग्रेसले नै पाउनुपर्ने भन्दै उनीहरुले विद्रोहको चेतावनी समेत दिएका छन् ।

    इटहरीको मेयरमा अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमालेका द्वारिकलाल चौधरी निर्वाचित भएका थिए । नेकपा एकीकृत समाजवादीले सुनसरीमा आफ्नो संगठन सुदृढ रहेको भन्दै मेयरमा दावी गरेको छ । सत्तारुढ दलहरुबीच आइतबार अबेर तयार भएको सम्भावित सहमतिको ड्राफ्टमा इटहरीको मेयर समाजवादी र उपमेयर कांग्रेसले पाउने उल्लेख छ ।

    सुनसरी कांग्रेसका नेताहरूले भने इटहरीमा कांग्रेसले मेयर नपाए गठबन्धन टुट्ने चेतावनी दिएका छन् । कांग्रेसका स्थानीय नेता धनबहादुर पुरीले गठबन्धन गर्दा कांग्रेसले इटहरीको मेयर नपाए स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

    ‘इटहरीमा कांग्रेसको भोट थपेर अर्को पार्टीको उम्मेदवारलाई मेयर बनाउन गार्हो छ । यतिबेला कांग्रेसले एक्लैपनि जित्ने अवस्था रहेकोले अरुलाई छाड्ने निर्णय केन्द्रले गरेपनि हामीलाई मान्य हुँदैन’, पुरीले नेपाल प्रेससँग भने ।

    उनल इटहरीमा मेयर नपाए कांग्रेसबाट सशक्त विद्रोह हुने चेतावनी पनि दिए ।

  • स्थानीय तह निर्वाचन : घोडाघोडीमा राप्रपाका यी हुन् उम्मेदवार

    स्थानीय तह निर्वाचन : घोडाघोडीमा राप्रपाका यी हुन् उम्मेदवार

    कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनमा कैलालीको घोडाघोडी नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ ।

    राप्रपाबाट घोडाघोडी नगरपालिका प्रमुखमा निराज मल्ल सर्वसम्मत भएका छन् । मल्लकै नेतृत्वमा सोमबार वडाध्यक्षहरुको पनि उम्मेदवारी सार्वजनिक गरिएको हो ।

    १२ वडामध्ये केही वडामा उम्मेदवार घोषणा गरिएको छैन । बाँकी रहेका वडाध्यक्ष र वडा सदस्यहरुको नाम वैशाख ८ गतेसम्म टुङ्गो लगाउने राप्रपा कैलालीले बताएको छ ।

    घोषणा गरिएअनुसार वडा नम्बर ३ मा रामनाथ चौधरी अध्यक्ष उम्मेदवार बन्ने भएका छन् । अन्यमा सहमति हुन सकेको छैन । ४ नम्बरको अध्यक्षमा बमबहादुर बुढा, महिला सदस्यमा गौरा कठायत, दलित सदस्यमा सीता बिक र सदस्यहरुमा गणेश रतौकी, देवराज बुढा रहेका छन् ।

    ५ को अध्यक्षमा देवबहादुर नेगी र दलित महिलामा भजना पार्की रहेका छन् । ८ को अध्यक्षमा खडकबहादुर बम, महिला सदस्यमा पवित्रा ओली र सदस्यहरुमा गङ्गाराम जैसी र गोविन्द बम रहेका छन् ।

    वडा नं १० को अध्यक्षमा सुरेशकुमार कठायत, सदस्यमा चेतराम चौधरी र दीपक बमले उम्मेदवारी घोषणा गरेका छन् । ११ को वडा अध्यक्षमा नवीनप्रकाश उपाध्याय र १२ को अध्यक्षमा डेबिट कठरिया, सदस्य राजेश बखरिया, कालीचरण चौधरी र महिला सदस्यमा फागुनीदेवी चौधरी हुने भएका छन् ।

    नगर प्रमुखको उम्मेदवारी घोषणा गर्दै मल्लले शिक्षा १२ कक्षासम्म निःशुल्क गर्ने बताए । स्वास्थ्यतर्फ निःशुल्क एम्बुलेन्स र नगर बसको व्यवस्था गर्ने उनले जानकारी दिए । किसानका लागि मलको सहज व्यवस्थापन, बजारीकरण र कृषि समस्या समाधान गर्ने मेयरका प्रत्यासी मल्लले बताए ।

  • नेपालगञ्ज उपमहानगर नपाए गठबन्धनबाट जसपा बाहिरिने, कांग्रेसले पनि झमेला नगर्ने

    नेपालगञ्ज उपमहानगर नपाए गठबन्धनबाट जसपा बाहिरिने, कांग्रेसले पनि झमेला नगर्ने

    रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिका जसपालाई दिन नेपाली कांग्रेस तयार नभएपछि असन्तुष्ट बनेको जसपा जिल्लाभर नै गठबन्धन गर्न तयार भएन ।
    दक्षिण पूर्वी बाँकेमा बलियो मानिएको जसपाले गठबन्धनका सुरुका दिनमै नेपालगन्जसहित कम्तिमा चार पालिकामा दाबी गरिरहेको थियो । जसपा जिल्ला अध्यक्ष कमरुद्दिन राई नेपालगन्जको प्रमुखमै उम्मेदवार भएर भोट मागिसकेको अवस्थामा नेपाली कांग्रेसले कुनै पनि हालतमा नेपालगन्ज छाड्न नसक्ने अडान राखेका कारण यस्तो अवस्था आएको जसपाका नेताको भनाइ छ । तर नेपाली कांग्रेसका नेताहरुले अघिल्लो चुनावी अवस्थालाई हेर्दा पनि जसपाले नेपालगन्जमा माग्ने अधिकार नभएको दाबी गरेका छन् ।

    उनले नेपालगन्ज, डुडुवा, नरेरापुर, जानकीमा उम्मेदार तयार गरिसकेको, अन्यत्र पनि तयारी भइरहेको र एकल चुनाव लड्ने नेपाल प्रेसलाई बताए ।

    नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पनि अब गठबन्धनमा अल्झिएर नबस्ने प्रतिक्रिया दिएका छन् । गठबन्धन संयन्त्रका संयोजकसमेत रहेका गौडेलले भने, ‘गठबन्धनको झमेला सकियो, अब निर्वाचन तयारीमा सबैतिरबाट जुट्ने निर्णय भएको छ । यहींअनुसार हामी अगाडि बढ्छौं । ’

    केन्द्रले पठाएको परिपत्रअनुसार भागबण्डामा कुरा नमिलेपछि आवश्यकता र अवस्था अनुसार स्थानीय तहमै मिल्नसक्ने गरी वडा वा पालिकास्तरमा जानुपर्ने सुझाव केन्द्रमा पठाइएको छ । अब केन्द्रले अर्को परिपत्र नगरे बाँकेमा पाँचदलीय गठबन्धनबाट निर्वाचनामा जाने सम्भावना सकिएको छ ।

    जसपाले सशर्त गठबन्धनमा जाने भनेपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी एकीकृतलगायतका दल पछिल्लो तीन दिनदेखि निरन्तर छलफलमा थिए । कांग्रेस–जसपाले नेपालगन्ज नछाड्ने, कांग्रेस–माओवादी कोहलपुरलाई नछाड्ने अडानले बाँकेमा गठबन्धनको समस्या भएको हो । माओवादी र नेकपा एसलाई बलियो बनाउन कांग्रेस आफ्नो घर भत्काउन नहुने कांग्रेसका अधिकांश नेताहरुको सुझाव आएको छ ।

    माओवादी केन्द्रका जिल्ला संयोजक डम्बर विक तुफानले भने गठबन्धन टुटिसकेको नभइ स्थानीय तहमा छलफल परामर्शका लागि समय दिइएको बताउँछन् । उनी गठबन्धन हुनेमा ढुक्क छन् । नेकपा एसका केन्द्रीय सदस्य अशोक कोइरालाले पनि गठबन्धन टुट्नै नहुने बताए । ‘यो आवश्यकता र बाध्यताको गठबन्धन हो,’ कोइरालाले भने, ‘जिल्लामा सबै ठाउँ गठबन्धन हुन्छ, यहाँबाट मिल्न नसके प्रदेशले निर्णय गर्छ ।’

    २०७४ सालमा जुन पार्टीले जितेको छ, त्यहाँ त्यहीं पार्टीलाई दिने गठबन्धनको मापदण्ड छ । एमाले वा अरु पार्टीले जितेको ठाउँमा निकटतम प्रतिस्पर्धी पार्टीलाई दिने मापदण्ड बनाइएको छ । बाँकेमा माओवादीले एउटै पालिका जित्न सकेन । बाँकेमा चार पालिकामा एमालेले जितेको छ भने दुई वटा गाउँपालिकामा कांग्रेस, नेपालगन्जमा राप्रपाले प्रमुख जितेको हो ।

    जसपामा रहेको तत्कालीन फोरमले नरैनापुर जितेको थियो । मापदण्डमै जाउँ भन्दा पनि माओवादी र जसपाले नमानेको कांग्रेस नेताको भनाइ छ । कांग्रेसले नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र डुडुवा कुनै हालतमा नछाड्ने बताएपछि अरु पार्टी सशंकित बनेका हुन् ।

    जिल्लामा गठबन्धनमा खटपट भएपछि एमाले नेताहरु आफ्नो रणनीतिमा लागेका छन् । नेपालगन्जमा केही समयअघि एमाले प्रवेश गरेका पशुपतिदयाल मिश्रलाई सर्वसम्मत मेयरमा प्रस्ताव गरेपछि यहाँको माहोल तातेको छ । एमालेले बिगतमा आफूले जितेका पालिकालाई कायम राख्दै जसरी पनि नेपालगन्जमा विजयी हुनेगरी योजना बनाएको छ ।

    राप्रपाका नेता धवलशमशेर राणा नदोहोरिने, मिश्रसहितको ठूलो समूह एमालेमा आएको, नेकपा एसको प्रभाव धेरै कम रहेको र गठबन्धनमा बढेको खटपटका कारण मिश्रले नेपालगन्जमा जित्ने आधार बलियो भएको एमाले निकट नेताहरुको बुझाइ छ ।

    जिल्लामा एमालेको अवस्था विगतको भन्दा धेरै राम्रो बनेको र स्थानीय चुनावमा धेरै स्थानमा जित्ने जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

    बाँकेमा गत निर्वाचनको परिणाम

    १. कोहलपुर नगरपालिका– एमाले(९००७), कांग्रेस (८९२४), माओवादी (६२२१)
    २. खजुरा गाउँपालिका– एमाले (८०७०), कांग्रेस (४९५४), माओवादी (६८९२)
    ३ जानकी गाउँपालिका– एमाले (३०८३), कांग्रेस (३००९), संघीय समाजवादी (२१५८), माओवादी (१९३४)
    ४. डुडुवा गाउँपालिका–कांग्रेस (४६९१), संघीय समाजवादी (४१९२), एमाल े(१४६६), माओवादी (९३७)
    ५–नरैनापुर गाउँपालिका– संघीय समाजवादी(४०८०), कांग्रेस(३३८८), एमाले(१८७२), माओवादी(५७८)
    ६.नेपालगंज उपमहानगरपालिक, राप्रपा(१२५१५), कांग्रेस(८७३०), माओवादी(७१९८), एमाले(६९६५)
    ७. बैजनाथ गाउँपालिका, एमाले (९७७२), कांग्रेस(६५७६), माओवादी (५३६३)
    ८. राप्ति रोनारी गाउँपालिका, कांग्रेस (८२३६), एमाले(६९००), माओवादी(६६६४)

  • भागबन्डा नटुंगिदा गठबन्धनलाई संयुक्त सभा गर्नै सकस

    भागबन्डा नटुंगिदा गठबन्धनलाई संयुक्त सभा गर्नै सकस

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्न ६ दिन बाँकी छ । तर, साझा उम्मेदवार उठाउने सहमति गरेका गठबन्धनले कहिँ पनि संयुक्त चुनावी सभा गर्न सकेका छैनन् ।

    गठबन्धनले संयुक्त अपिल भने २०७८ चैत २९ मा जारी गरे । तर, तालमेलको खाका तयार हुन नसक्दा चुनावी सभा अनिश्चित भएको हो ।

    मतदातामाझ पुग्न सभा अनिवार्य मानिन्छ । चुनावी माहौलका लागि गरिने सभा अहिले दलहरू एक्लाएक्लै गरिरहेका छन् ।

    तालमेलको व्यावहारिक निर्णय गर्न बाँकी रहेकाले गठबन्धन दलहरूले संयुक्त चुनावी सभा गर्न नसकेको नेकपा (एकीकृत समाजवादी) का उप महासचिव डा. बेदुराम भुसालले बताए ।

    ‘तालमेलबारे नीतिगत निर्णय मात्र भएको तर, व्यावहारिक निर्णयपछि भने संयुक्त चुनावी सभा गरेर जनताकहाँ पुगिने छ ’, उनले भने ।

    १७ चैतमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर जाने सहमति गरेका थिए । तालमेलको प्रक्रिया अघि बढाउन भनेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समितिसमेत गठन भएको छ ।

    गठबन्धन दलहरूले तालमेल टुङ्ग्याएर छिट्टै संयुक्त चुनावी सभा गर्ने कांग्रेस सह महामन्त्री भीष्मराज आङ्देम्बेले बताए ।

    पेचिलो बन्दै गठबन्धन

    अर्कोतिर, गठबन्धन दलहरूबिच चुनावी तालमेल पेचिलो बन्दै गएको छ । मधेस प्रदेशमा तालमेलको सम्भावना कम हुँदै गएको माओवादी केन्द्रका मधेस इन्चार्ज गणेश साहले बताए ।

    प्रदेश १ का केही जिल्लाबाहेकमा तालमेल हुने सम्भावना कम हुँदै गएको छ । नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धब थापाले साङ्गठनिक हैसियतभन्दा बढी स्थानीय तहमा गठबन्धनका अन्य दलहरूले दाबी गर्दा समस्या पैदा भएको बताए ।

    थापाले भने, ‘अन्य दलहरूले आफ्नो सांगठानिक हैसियत भन्दा माथि गएर अन्य दलहरूले दाबी गरिरहेका कारणले पनि समस्या भएको छ ।’

    संखुवासभामा कांग्रेस आफैंले गठबन्धन नहुने घोषणा गरेको थियो । कांग्रेसले ७४ को स्थानीय तह निर्वाचनमा जितेको स्थानको डेढगुणा बढी स्थानमा दाबी गरिरहेको कारणले पनि गठबन्धनको सम्भावना न्यून रहेको नेकपा माओवादी केन्द्र प्रदेश १ कार्यालय सचिव मुक्ति बरालले बताए ।

    वागमती प्रदेशका पनि कतिपय स्थानका कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरी रहेको कारण अधिकांश स्थानमा चुनावी गठबन्धन धरमराएको छ ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धन दलहरूबीच तालमेलको विषयलाई लिएर मतभेद चुलिँदो छ ।

    कतिपय स्थानमा दलहरूले आफ्नै उम्मेदवार घोषण गरेका छन् । ठाउँठाउँमा गठबन्धन दलहरूबीच नै चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

    निर्वाचन कार्य तालिकाअनुसार मनोनयन दर्ता ११ र १२ वैशाखमा हुने भएको छ । ३० वैशाखमा भने मतदान नै हुनेछ ।

  • म्याग्दीमा उम्मेदवार छनोटमा सकस, एमालेका चार पालिकाको नेतृत्व सर्वसम्मत

    म्याग्दीमा उम्मेदवार छनोटमा सकस, एमालेका चार पालिकाको नेतृत्व सर्वसम्मत

    म्याग्दी । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सकस भएपछि दलहरुले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् ।

    गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका थिए ।

    सहमतिपछि दुईपटक बसेको बैठकमा वडा र पालिका बाँडफाँटमा विवाद उत्पन्न भएपछि ती दलहरुले एकल उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसले दुई र माओवादी केन्द्रले एक स्थानीय तहमा एकल उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    बेनी नगरप्रमुखमा कांग्रेसले चिरञ्जीवी शर्मालाई मेयरको उम्मेदवार बनाउने निर्णय शुक्रबार गरेको थियो । माओवादी केन्द्रले आइतबार नै नगरप्रमुखमा शेरबहादुर केसी र धनलाल जैशी तथा उपमेयरमा ज्योति लामिछाने पौडेललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

    माओवादीका बेनी नगर इञ्चार्ज विनोद केसीले गठबन्धनभित्र समय घर्किदासम्म पनि सहमति नभएपछि एकल उम्मेदवार छनोट गर्नुपर्ने अवस्था आएको बताए । ‘सहमतिको अन्तिम प्रयत्न अझै पनि छ’, उनले भने, ‘समय घर्किसकेकाले आफ्नै तयारी गर्नुपर्छ भनेर उम्मेदवार घोषणा गरिएको हो ।’

    कांग्रेसले मालिका गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा वर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई दोहो¥याउने घोषणा गरेको छ ।

    कांग्रेस म्याग्दीका सचिव हीराबहादुर पुनले कसले कति र कुन पालिका, वडाको नेतृत्वमा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल अड्किएको बताए । कांग्रेसले अघिल्लो चुनावमा आफूले जितेका पालिका आफूसँगै राखेर एमालेले जितेको थप ५० प्रतिशत वडा र पालिका छोडेर बाँडफाँट गर्ने प्रस्ताव गरेका थिए ।

    माओवादी केन्द्रले कम्तीमा दुई स्थानीय तह र १८ वडाध्यक्षमा दाबी गरेका थिए । नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक÷एक पालिकाको नेतृत्व दाबी गरेका थिए ।

    अन्नपूर्ण, रघुगङ्गा, मङ्गला र धौलागिरी गाउँपालिकामा सिफारिस भएका उम्मेदवार छनोट र सार्वजनिक गर्ने चरणमा कांग्रेस छ । माओवादी केन्द्रका नेताहरुले बेनीसँगै अन्य पालिकामा एकल उम्मेदवार सार्वजनिक गर्ने तयारी भएको जनाएको छ ।

    गठबन्धनका प्रमुख दलले संवाद अन्त्य र सहमति भङ्ग भएको घोषणा गरिनसकेकाले एकले अर्कालाई गलाउन खोजेको देखिन्छ । पछिल्लो तीन दिनयता छलफल नगरेका उनीहरु केन्द्रको निर्णयको प्रतीक्षामा छन् ।

    एमालेका चार पालिकाको नेतृत्व सर्वसम्मत

    एमालेले म्याग्दीका चार गाउँपालिकाको अध्यक्ष र दुई पालिकाका उपाध्यक्षका उम्मेदवार सर्वसम्मत छनोट गरेको छ । मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, मङ्गलाको अध्यक्षमा सतप्रसाद रोका, रघुगङ्गाको अध्यक्षमा प्रेमबहादुर कार्की र अन्नपूर्णको अध्यक्षमा भरत पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले जिल्ला अध्यक्ष देवेन्द्र केसीले जानकारी दिए ।

    अन्नपूर्णको उपाध्यक्षमा दिवा पुन र रघुगङ्गाको उपाध्यक्षको उम्मेदवारमा यामकुमारी गर्बुजाको नाम सर्वसम्मत सिफारिस भएको छ । बेनी नगरप्रमुख मेयरको उम्मेदवारमा एमालेबाट प्रमोद श्रेष्ठ, सुरत केसी, सन्तोष रावल र नारायण जिसीको नाम सिफारिस भएको छ । उपमेयरमा पशुपति शाही, गौरी थापामगर, विष्णु गुरुङ र भावना पौडेलको नाम सिफारिस भएको छ ।

    धौलागिरीको अध्यक्षको उम्मेदवारमा वर्तमान अध्यक्ष थमसरा पुन, प्रदेश कमिटी सदस्य रेशम भण्डारी, गाउँपालिका कमिटीका अध्यक्ष होमबहादुर थापा र गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले दाबी गरेका छन् । मङ्गलाको उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सिर्जना केसी र पेमा अधिकारीले दाबी गरेका छन् ।

  • भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका निर्माण गठबन्धनको उम्मेदवार

    भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका निर्माण गठबन्धनको उम्मेदवार

    भोजपुर । सत्ता गठबन्धनबाट भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्षमा माओवादीका थामबहादुर राई ‘निर्माण’ लाई अघि सारेको छ ।

    यस गाउँपालिकामा उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमतिसहित तालमेल भएको हो । कांग्रेसले भने उपाध्यक्षको उम्मेदवार टुंग्याइसकेको छैन ।

    रामप्रसादराई गाउँपालिका माओवादी नेता सांसद सुदन किरातीको गृहपालिका हो ।

    निर्माण माओवादी प्रदेश १ का सदस्यसमेत हुन् । गोपाल खम्बु नेतृत्वको तत्कालीन खम्बुवान राष्ट्रिय मोर्चा हुँदै पछि किरात वर्कस पार्टी हुँदै माओवादी प्रवेश गरेका राई जनमुक्ति सेनाको सेक्सन कमाण्डरसमेत भए । २०६२ मा माओवादीले गठन गरेको जिल्ला जनसरकार प्रमुखको जिम्मेवारी पनि उनले लिएका थिए ।

    ७४ को चुनावमा पनि अध्यक्ष उठेका निर्माण ८ मतले एमालेसँग पराजित भएका थिए । एमालेका उम्मेदवार विजय राईले २३५६ मत ल्याउँदा निर्माणले २३४८ मत प्राप्त गरेका थिए । कांग्रेसबाट अध्यक्ष उठेका दिनेशकुमार कार्कीले १३२३ मत प्राप्त गरी तेस्रो भएका थिए ।

    यस गाउँपालिकामा माओवादीबाट सम्झना राईले २५३२ मत ल्याएर उपाध्यक्ष जितेकी थिइन् ।