Category: स्थानीय निर्वाचन–२०७९

  • भरतपुर माओवादीलाई दिन्छु : देउवा, कार्यकर्ताविरुद्ध नजानुस् : चितवन कांग्रेस

    भरतपुर माओवादीलाई दिन्छु : देउवा, कार्यकर्ताविरुद्ध नजानुस् : चितवन कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको नेतृत्व माओवादी केन्द्रलाई दिन गरेको प्रस्ताव चितवन कांग्रेसका सभापति राजेश्वर खनालले अस्वीकार गरेका छन् ।

    सभापति देउवाले आज बालुवाटार बोलाएर खनालसँग भरतपुरबारे छलफल गरेका थिए । छलफलका क्रममा देउवाले माओवादीलाई भरतपुर महानगर दिनुपर्ने अवस्था आएको भन्दै जिल्ला समितिले गरेको निर्णय सच्याउन आग्रह गरेका थिए ।

    चितवन कांग्रेसको जिल्ला समिति बैठकले भरतपुरको प्रमुख नछाड्ने निर्णय गरेको थियो । सभापति देउवाले आग्रह गरे पनि कार्यकर्ताको भावना विपरीत आफूले निर्णय सच्याउन नसक्ने खनालको जवाफ थियो ।

    ‘पार्टी सभापतिले बोलाएर नेपाली कांग्रेस चितवनको निर्णय सच्याउन आग्रह गर्नुभयो । भरतपुरको मेयर माओवादीलाई दिनुपर्ने भयो, सहयोग गर्नुस् भन्नुभयो । मैले कांग्रेस कार्यकर्ताको भावना अनुसार माओवादीलाई भरतपुरको मेयर दिन नमिल्ने जानकारी गराए’, भेटबारे खनालले भने ।

    सभापति देउवाले गठबन्धनले साँझसम्म निर्णय लिनै पर्ने अवस्था रहेको बताएका थिए । जवाफमा खनालले केन्द्रीय समितिको निर्णय मान्न राजनीतिक हिसाबले बाध्य भए पनि जिल्लाको परिस्थिति आफू एक्लैले धान्न नसक्ने बताएका थिए ।

    ‘केन्द्रले निर्णय गर्‍यो भने जिल्लाको निर्णय स्वतः खारेज हुन्छ हो । माथिबाट निर्णय जेसुकै होस तर जिल्लामा कांग्रेस कार्यकर्ताको भावना विपरीत म जान सक्ने अवस्था छैन’, खनालले भनेका छन् । उनले माओवादी केन्द्रलाई भरतपुरको नेतृत्व दिनेबारे पुनर्विचार गर्नसमेत देउवालाई आग्रह गरेका छन् । जवाफमा देउवाले काठमाडौं , विराटनगर र भरतपुरमध्ये एउटा मेयर कांग्रेसलाई दिनै पर्ने बताएका थिए ।

    खनालले आफ्नो प्रस्ताव नमानेपछि सभापति देउवाले साँझसम्म भरतपुरको मेयर माओवादीले पाउने निर्णय आउने बताएका थिए । ‘उहाँले निर्णय आउँछ भन्नुभयो, म जय नेपाल भनेर निस्किए’ खनालले भने ।

    सत्तारुढ गठबन्धनमा भरतपुरको मेयर माओवादीले लिने सहमति बनिसकेको छ । गठबन्धनको सहमति कार्यान्वयनमा सहज होस भनेर सभापति देउवाले जिल्लाका नेताहरूसँग परामर्श थालेका हुन् । देउवाले आजै कास्की र पर्साका नेताहरूसँग पनि छलफल गर्दै छन् ।

  • देउवालाई पोखरेली नेताले भने- ६० हजार भोट खन्याएर अर्कोलाई जिताउन सकिन्न

    देउवालाई पोखरेली नेताले भने- ६० हजार भोट खन्याएर अर्कोलाई जिताउन सकिन्न

    काठमाडौं । सत्ता गठबन्धनमा पोखरा महानगरपालिकाको विषय पेचिलो बनिरहेको बेला कांग्रेस सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेताहरूलाई बालुवाटारमा बोलाएर गठबन्धनको बाध्यता बुझ्न आग्रह गरेका छन् ।

    सभापति देउवालाई भेटेपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता यज्ञबहादुर थापाले आफूहरूलाई पोखरा महानगरपालिका नपाउने आशंका भए पनि नेताहरूले आफूहरूको कुरा बुझेर निर्णय गर्ने विश्वास व्यक्त गरे ।

    उनले आफूहरूले तथ्य, तथ्यांक र तर्क दिएर नेताहरूलाई पोखरा कांग्रेसले पाउनुपर्ने दाबी गरेको बताए । उनले भने–हामीसँग ६०/६५ हजार मत छ । त्यहाँ गठबन्धनले जित्नुपर्छ भन्ने हो भने कांग्रेसलाई समर्थन गर्नुपर्छ ।

    नेताहरूले गठबन्धनको बैठकमा हाम्रो कुरालाई राखेर माधव नेपाललाई पनि कन्भिन्स गर्नुहुन्छ भन्ने लागेको छ । कता कता आशंका चाहिँ भएको छ । ६०÷६५ हजार मत लगेर अरूलाई खन्याएर जिताउन गाह्रो छ ।

    थापाले गठबन्धनको आफूहरू विरोधी नभएको र प्रचण्डलाई पनि भेटेर आफूले कांग्रेसको उम्मेदवार भए जित्न सजिलो हुने कुरा राखेको बताए ।

  • नेकपा एसको घोषणापत्र- एमालेले गरेका सबै असल कामको हकदार हामी हौं (पूर्णपाठ)

    नेकपा एसको घोषणापत्र- एमालेले गरेका सबै असल कामको हकदार हामी हौं (पूर्णपाठ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेको नेतृत्वमा भएका असल कामका उपलब्धीहरूमा आफ्नो हक लाग्ने जनाएको छ ।

    मंगलबार स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले एमालेको पालामा भएका सबै असल कामहरूको उत्तराधिकारी आफूहरु रहेको र ती जनपक्षीय कामको स्वामित्व माधव नेपाल र झलनाथ खनालमा रहेको जनाएको छ ।

    घोषणापत्रमा आफ्नो गाउँ आफैं बनाउँ, नौ स, वृद्ध भत्ताजस्ता सबै नमूना कामहरुको स्वामित्व नेकपा एसले दाबी गरेको छ । सो पार्टीले गणतन्त्र स्थापना, शान्ति स्थापना, अनमिनलाई बिदाई, नेपालमा सुरुङमार्गको सुरूवात,अन्तरजातीय विवाहलाई प्रोत्साहन जस्ता कामलाई घोषणापत्रमा उपलब्धीका रुपमा उल्लेख गरेको छ ।

    स्थानीय निर्वाचनका लागि सार्वजनिक भएको घोषणापत्रमा जनताको अधिकार, निःशुल्क स्वास्थ्योपचार, निःशुल्क खानेपानीःसुखी जिन्दगाी, ‘एक घर एक धारा’ जस्ता कार्यक्रम अघि सारेको छ । नेकपा एसले हरेक पालिकामा युवा विभाग र हरेक वार्डमा खेल मैदान भन्ने नारासमेत अघि सारेको छ ।

  • पाल्पाको बगनासकालीमा एमालेले टंग्यायो अध्यक्ष र उपाध्यक्षका उम्मेदवार

    पाल्पाको बगनासकालीमा एमालेले टंग्यायो अध्यक्ष र उपाध्यक्षका उम्मेदवार

    रुपन्देही । नेकपा एमालेले पाल्पाको बगनासकाली गाउँपालिकाका लागि उम्मेदवार टुंगो लगाएको छ ।

    स्थानीय निर्वाचनका लागि गाउँपालिका अध्यक्षमा सरस्वती चिदी दर्लामी र उपाध्यक्षमा हरिप्रसाद पाठकलाई उठाउने निर्णय गरेको एमाले प्रदेश कमिटी सदस्य एवम् बगनाकाली इन्चार्ज देवीप्रसाद बस्यालले बताए ।

    अध्यक्षका उम्मेदवार चिदी हाल बगनासकाली गाउँपालिकाको उपाध्यक्ष हुन् । चिदीले उपाध्यक्षको रूपमा कुशलतापूर्वक काम गरेकोले पनि अध्यक्षको रूपमा अगाडि बढाइएको पार्टीले जनाएको छ ।

    उपाध्यक्षका उम्मेदवार पाठक नेकपा एमाले बगनासकाली गाउँ कमिटीको अध्यक्ष रहेका छन् । उनले यसअघि तत्कालीन खानी गाउँ गाविसको उपाध्यक्षको रूपमा काम गरेका थिए ।

    एमालेले बगनासकाली गाउँपालिकाका लगभग सबै वडाहरूमा नेतृत्व चयनको प्रक्रिया टुंगिएको जनाएको छ ।

    यसअघि वडा नं. २ मा तीर्थ भट्टराई अध्यक्ष रहने गरी, वडा नं. ३ मा टिका बहादुर थापा अध्यक्ष रहने गरी, वडा नं. ६ यम्घामा जयराम बस्याल अध्यक्ष रहने गरी, वडा नं. ७ खानीगाउँमा गण बहादुर बुढाथोकी अध्यक्ष रहनेरि उम्मेदवारहरु चयन गरी सार्वजनिक समेत गरिसकेको छ । अन्य वडाहरूको काम पनि भइरहेको एमालेले जनाएको छ ।

    पाल्पामा गठबन्धन दलले उम्मेदवारी घोषणा गर्न सकेका छैनन् ।

  • दलहरू फेरि एमालेसँग मिल्छन्, त्यसैले गठबन्धन जोगाउनुपर्छ : प्रधानमन्त्री देउवा (भिडिओ)

    दलहरू फेरि एमालेसँग मिल्छन्, त्यसैले गठबन्धन जोगाउनुपर्छ : प्रधानमन्त्री देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने बताएका छन् ।

    नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले अहिले कुनैपनि अवस्थामा गठबन्धन टुट्न नहुने र गठबन्धन टुटाउने षडयन्त्रलाई असफल पार्नुपर्नेमा जोड दिए ।

    ‘गठबन्धन टुटे दलहरू फेरि एमालेसँग मिल्न जाने सम्भावना कायमै छ । अहिलेको निर्वाचन प्रणालीअनुसार एउटै दलको बहुमत आउने सम्भावना नभएकाले तालमेल आवश्यक छ’, देउवाको भनाइ थियो ।

    गठबन्धन भएपछि ‘गिभ एण्ड टेक’ हुने देउवाले प्रष्ट्याए । आफ्नै पार्टीका नेतालाई प्रश्न गर्दै उनले कांग्रेसलाई सरकारमा ल्याउनु नै गल्ती हो भने भने स्पष्ट भन्नुपर्ने बताए ।

    आफ्नो सरकारले पनि राम्रो काम गरिरहेको उनको जिकिर थियो । देउवाले स्कूल-स्कूलमा संगठन विस्तार गर्दै बलियो उपस्थिति जनाउन नेविसंघलाई निर्देश दिए ।

    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले डराएको टिप्पणी गरे । लोकतन्त्रलाई बलियो बनाउनका लागि लडाइँ बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरूविरुद्ध सतर्क हुनुपर्ने उनको भनाइ छ ।

    नेविसंघ सभापति दुजाङ शेर्पाले नेविसंघको महाधिवेशन पार्टीले दिएको समयसीमाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेविसंघले मोबाइल एपको शुभारम्भ गरेको थियो भने नेविसंघका अग्रज नेताहरूलाई सम्मान गरिएको थियो ।

  • माधव नेपालको चेतावनी- हामी विद्रोही हौँ, अपमान सहन जन्मिएका होइनौँ (भिडिओ)

    माधव नेपालको चेतावनी- हामी विद्रोही हौँ, अपमान सहन जन्मिएका होइनौँ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको भागबण्डामा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै कुनै पनि पक्षबाट हुने अपमान सैह्य नहुने बताएका छन् ।

    नेकपा गौरवशालीसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू अपमान सहन नसकेर विद्रोह गरेका शक्ति भएकाले आफूहरूको शक्तिलाई कम नआँक्न चेतावनी दिए ।

    नेपालले भने- हामी अपमान सहन जन्मिएका होइनौँ,अपमानका विरुद्ध विद्रोह गरेका शक्ति हौँ । हामी हाम्रो शक्तिको अति मूल्याङ्कन गर्दैनौँ तर अवमूल्यन गर्न पनि पाइँदैन ।

    नेपालले सात महिनामै नेकपा एसले मेची देखि महाकालीसम्म जनलहर सिर्जना गरेको बताए । उनले सत्ता गठबन्धनमा चुनावी तालमेल हुने भन्दै भागबण्डा हैसियत अनुसार नै हुने बताए ।

  • बुटवल उपमहानगरमा कांग्रेसले गर्‍यो उम्मेदवार सिफारिस, गठबन्धन नहुने संकेत

    बुटवल उपमहानगरमा कांग्रेसले गर्‍यो उम्मेदवार सिफारिस, गठबन्धन नहुने संकेत

    रुपन्देही । नेपाली कांग्रेसले बुटवल उपमहानगरमा मेयरको उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । आगामी वैशााख ३० गने हुने स्थानीय निर्वाचनका लागि कांग्रेसले बुटवलमा नगर सभापति रहेका खेलराज पाण्डेलाई मेयरका लागि अगाडि सारेको हो ।

    बुटवल उपमहानगर कमिटीको बैठकले नगर प्रमुखमा पाण्डेसहित उप प्रमुखमा ८ जनाको नाम सिफारिस गरेको कांग्रेस बुटवल उपमहानगर समिति सचिव छाया पोखरेलले बताए ।

    बुटवल उपमहानगरका १९ वटै वडा सभापतिहरूसहितको बैठकले नगर प्रमुखमा खेलराज पाण्डे तथा उप प्रमुखमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सबिता शाक्यको नाम सिफारिस गरेको बैठकमा सहभागी एक वडा कमिटी अध्यक्षले बताए ।

    कांग्रेस बुटवल उपमहानगरले गरेको यो निर्णयसँगै बुटवलमा गठबन्धन दलहरू बीचको सहकार्यमा हुनेमा शङ्का उत्पन्न भएको छ । कांग्रेसले मेयर र उपमेयरको उम्मेदवार आकांक्षीहरुको नाम सार्वजनिक गरेसँगै गठबन्धनमा रहेका अन्य दलहरूले भाग नपाउने चिन्ता थपिएको छ । मेयर र उपमेयर दुवै पदका लागि नाम सिफारिस गर्दा गठबन्धनभित्र पद बाँडफाँड गर्ने स्थिति नभएका कारण कुरा बाझिन सक्ने गठबन्धन दलभित्रका एक नेताले बताए ।

    नगरले पठाएको नामलाई जिल्ला कार्यालयले अनुमोदन गरेपछि बुटवलको उम्मेदवारहरूको अन्तिम टुंगो लाग्ने छ । बुटवलमा उपमहानगर सभापति रहेका पाण्डे सहित क्षेत्रीय सभापति हरि लम्साल, महाधिवेशन प्रतिनिधि चुन्न प्रसाद पौडेलसहितले नगरप्रमुखमा आकांक्षा देखाएका थिए ।

    सत्तारुढ गठबन्धनका बिचमा भएको सहमति अनुसार बुटवल उपमहानगरमा कांग्रेसले नगरप्रमुख र नेकपा एकीकृत समाजवादीले उपप्रमुख पाउने सहमति भए पनि नेपाली कांग्रेसले उपप्रमुखमा ८ जनाको नाम सिफारिस गरेको छ ।

    नगरप्रमुखमा सिफारिस गरिएका पाण्डे यसअघिको स्थानीय तह निर्वाचनमा समेत नगर प्रमुख पदमा उम्मेदवार भएका थिए ।

    एमालेका शिवराज सुवेदीले २३ हजार २ सय ४९ मत पाउँदा माओवादी सहितको गठबन्धनका उम्मेदवार पाण्डेले २० हजार ८ सय ५१ मत पाएर पराजित भएका थिए ।

  • ओखलढुंगामा पनि भत्कियो गठबन्धन, मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति

    ओखलढुंगामा पनि भत्कियो गठबन्धन, मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति

    काठमाडौं । भागबण्डा नमिल्दा ओखलढुंगामा पनि चुनावी भठबन्धन भत्केको छ । ८ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६ वटामा प्रमुख दाबी गरेपछि माओवादीलगायत गठबन्धनमा आबद्ध दल बिच्किएका हुन् ।

    २०७४ सालको चुनावमा ओखलढुंगाका चारवटा स्थानीय तहमा कांग्रेसले जितेको थियो भने तीनवटा नेकपा एमाले र एकवटामा माओवादीवादी केन्द्रले जितेको थियो । यहाँ माओवादीले पनि तीनवटा स्थानीय तहमा दाबी गरेको छ ।

    गठबन्धनमा आबद्ध दलबीच पटक–पटक सहमतिको प्रयास भए पनि भागबण्डामा कुरा नमिलेपछि गठबन्धन नै भत्केको माओवादी केन्द्र ओखलढुंगाका अध्यक्ष निशान्त शर्माले बताए । ‘हामीले कम्तिमा तीनवटा स्थानीय तहमा प्रमुख पदको उम्मेदवार मागेका हौं’, उनले भने, ‘तर नेपाली कांग्रेसले जसरी पनि ६ वटा आफूले नै राख्ने अडान नछाडेपछि गठबन्धन गर्नुको अर्थ नै भएन ।’

    गठबन्धनमा कुरा नमिलेपछि चार दलबीच आपसमा स्वच्छ प्रतिस्पर्धा गर्ने गर्ने सहमतिसमेत भएको छ । ‘माओवादी केन्द्रको आधार क्षेत्रमा समेत कांग्रेसले दाबी गरेका कारण चुनावी गठबन्धन तोडियो, अब हामी मैत्रीपूर्ण प्रतिस्पर्धा गर्छौं’, निशान्तले भने ।

    आफूहरूलाई माओवादीदेखि जिल्लामा रहेका साना दलहरूलाई पनि मिलाउनु पर्ने दायित्व भएका कारण समस्या भएको नेपाली कांग्रेस ओखलढुङ्गाका सचिव अजय लुइँटेलले बताए । उनले भने, ‘हामीले पहिला जितेको ४ सहित ६ वटा र माओवादीलाई एक स्थानीय तह दिने भन्दा पनि उहाँहरू पछि हट्नु भयो । अब जिल्लामा स्वच्छ प्रतिस्पर्धा हुन्छ, चुनावी तालमेल हुँदैन ।’

    ओखलढुङ्गामा कांग्रेसले २०७४ सालमा जितेका चार सहित ६ वटा स्थानीय तहमा दाबी गरेको थियो भने लिखु, चम्पादेवी र चिशंखुगढी गाउँपालिकामा माओवादी केन्द्रले दाबी गरेको थियो । यस्तै जसपाले मानेभञ्ज्याङ र खिजीदेम्बामा दाबी गरेको थियो भने समाजवादीले सिद्धिचरण नगरपालिकामा दाबी गरेको थियो ।

    माओवादीले चिशंखुगढीमा निशान्त शर्मा र लिखुमा बाबुराम गौतमलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।

    जिल्लामा दुई गाउँपालिका चिशंखुगढीमा जीवनकुमार थापा र मानेभञ्ज्याङमा रूपलाल तामाङलाई एमालेले पनि उम्मेदवार घोषणा गरिसकेको छ ।

     

  • ललितपुर महानगरमा माओवादीबाट उपमेयर उठेकी हसिना राप्रपाको मेयर उम्मेदवार बन्दै

    ललितपुर महानगरमा माओवादीबाट उपमेयर उठेकी हसिना राप्रपाको मेयर उम्मेदवार बन्दै

    ललितपुर । नेकपा माओवादी केन्द्रबाट ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवार बनेर पाँच वर्षअघि पराजित भएकी हसिना शाक्य यसपटक राप्रपाबाट मेयरको उम्मेदवार बन्ने भएकी छन् ।

    राप्रपा स्रोतका अनुसार महिला र १८ हजार भन्दा बढी शाक्य समुदाय मतदाता रहेका कारण हसिनालाई अघि सार्ने तयारी छ । उनी यसअघि उपमेयर उम्मेदवार बनेर जनताबीच परिचित पनि भइसकेकाले मेयरका रूपमा अघि सार्दा सशक्त उम्मेदवार बन्ने राप्रपाको आँकलन छ ।

    केही दिनअघि मात्र नेकपा माओवादी केन्द्र छाडेर हसिना राप्रपामा प्रवेश गरेकी थिइन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए । हसिना पनि मेयरको एक चर्चित प्रत्यासी रहेको भन्दै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले उम्मेदवार सिफारिस र निर्णय प्रक्रिया भने बाँकी नै रहेको बताए ।

    हसिनाले भने आफू पार्टीको हाइकमाण्डको निर्णय पर्खेर बसेको भन्दै अहिले नै केही नबोल्ने बताइन् । उनले पार्टीले निर्णय गरेपछिमात्र बोल्न उपयुक्त हुने बताइन् ।

    पाँच वर्षअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा हसिना शाक्यलाई उपमेयरको भाग्य चिठ्ठा नै परेको थियो ।

    माओवादी केन्द्रबाट ललितपुर उपहानगरपालिकाको उम्मेदवार बनेकी मञ्जली शाक्यको नाम मतदाता नामावली सूचीमा नभेटिएपछि उम्मेदवारी दर्ताको अन्तिम क्षणमा हसिनालाई अघि सारिएको थियो ।

    माओवादीबाट २०७४ मा उपमेयरको उम्मेदवार बनेर १२ हजार ९७९ मत प्राप्त गरेकी थिइन् । जबकी माओवादीका मेयर दिपेश महर्जनले १० हजार मत पाएका थिए । मेयर उम्मेदवारको भन्दा उनले करिब ३ हजार मत बढी ल्याएकी थिइन् ।

    यसपटक मञ्जली शाक्य माओवादी छाडेर एमालेबाट उपमेयरको उम्मेदवार बन्दैछिन् भने हसिना राप्रपाबाट मेयरको प्रत्यासी हुने सम्भावना छ ।

  • अछाम र धादिङका दुई स्थानीय तहमा निर्वाचन अधिकृत फेरिए

    अछाम र धादिङका दुई स्थानीय तहमा निर्वाचन अधिकृत फेरिए

    काठमाडौं । वैशाख ३० को स्थानीय चुनावका लागि खटाइएकामध्ये अछाम र धादिङका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत फेरिएका छन् ।

    निर्वाचन आयोगले सोमबार निर्णय गर्दै अछामको मंगलसेन नगरपालिकामा अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको ठाउँमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनोज शर्मालाई पठाएको छ ।

    त्यस्तै धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा हेरफेर गर्दै विशेष सरकारी वकिल कार्यालय काठमाडौंका श्रीकला पौडेललाई पठाइएको छ । यसअघि त्यहाँ वैदेशिक रोजगार न्यायाधीकरणका आनन्दराज पन्त खटिएका थिए ।

  • लोसपाबाट जनकपुरको मेयरमा सिफारिस साह एमालेमा प्रवेश

    लोसपाबाट जनकपुरको मेयरमा सिफारिस साह एमालेमा प्रवेश

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट जनकपुरधामको मेयरका लागि सिफारिस भएका जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
    तत्कालीन राजपाबाट जनकपुरधाम– ७ को वडाध्यक्षमा निर्वाचित साह काठमाडौं पुगेर एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपीशर्मा ओली पार्टीमा स्वागत गरेका छन् ।

    मेयरको उम्मेदवारको रुपमा साहले जनकपुरधाममा सम्पर्क कार्यालयसमेत सञ्चालन गरिरहेका छन् । केही दिन अघिदेखि घरदैलोमा व्यस्त साह लोसपाबाट मेयरमा टिकट नपाउने अवस्था देखेपछि अचानक एमालेमा प्रवेश गरे ।

    एमालेबाट जनकपुरधामको मेयरका लागि शिवशंकर साह ‘हिरा’को एकल नाम सिफारिस भएको छ । लोसपाबाट प्रदेश सांसद परमेश्वर साहले टिकट पाउने चर्चा चलिरहेको छ ।

  • दलविहीन निर्वाचन गर्नुपर्छ : कांग्रेस नेता भण्डारी

    दलविहीन निर्वाचन गर्नुपर्छ : कांग्रेस नेता भण्डारी

    रूपन्देही । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले स्थानीय तहको निर्वाचन दलविहीन हुनुपर्ने बताएका छन् ।

    मंगलबार सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘स्थानीय तहको नेतृत्व छनोट स्थानीय तहको महत्त्व र आवश्यक्ताको आधारमा छलफल गरी गर्नुपर्दछ । स्थानीय तह बेरोजगारी घटाउने ठाउँ पक्कै होइन । यो त जनताको सबैभन्दा नजिकको सबै प्रकारका सेवा तत्काल उपलब्ध गराउने अत्यन्तै जिम्मेवार एवम् संवेदनशील निकाय हो तसर्थ स्थानीय तहको निर्वाचन पार्टीविहीन हुनुपर्दछ भन्ने विचार विगतको अनुभवले आज सत्य प्रमाणित गराएको छ जुन परिपक्व र सत्य विचार संविधान निर्माणको क्रममा संविधान सभामा राख्ने अवसर गुल्मेली जनताले मलाई दिनु भएको थियो ।’

    नेता भण्डारीले मंगलबार नै बुटवलमा पत्रकारसँग कुराकानी गर्दै पाँच दलीय गठबन्धन सत्ता स्वार्थका कारण भएको बताए । उनले गठबन्धनले घाटा लाग्ने समेत बताए ।

    ‘दलहरूले आफ्नो लक्ष्य र उद्देश्य अनुसारको एक्लै निर्वाचन लडनुपर्ने हो’, उनले भने, ‘गठबन्धन गर्नु जनताको भन्दा सत्ताकै स्वार्थ देखिन्छ ।’

  • सूर्यमै भोट हालौँ भन्दै आयो एमालेको नयाँ चुनावी गीत (भिडिओसहित)

    सूर्यमै भोट हालौँ भन्दै आयो एमालेको नयाँ चुनावी गीत (भिडिओसहित)

    कैलाली । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेको नयाँ चुनावी प्रचार गीत सार्वजनिक गरिएको छ ।

    राम प्रसाद अवस्थीको शब्द र सङ्गीतमा रहेको गीतमा राम प्रसाद अवस्थी र पूर्णकला बिसीले स्वर दिएका छन् ।

    अवस्थी एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज हुन् । उनले यसअघि पनि एमालेको थुप्रै चुनावी प्रचार गीत ल्याइसकेका छन् ।

    उनकै शब्द स्वर र सङ्गीतमा तयार पारिएको सूर्यमै भोट हालौँ बोलको गीतको एरेन्जर विनोद बाजुरेली हुन् ।

  • जसपाले दाबी गरिरहेको सिद्धार्थनगर मेयरमा कांग्रेसको उम्मेदवार तय

    जसपाले दाबी गरिरहेको सिद्धार्थनगर मेयरमा कांग्रेसको उम्मेदवार तय

    रूपन्देही । जसपाले दाबी गरिरहेको रूपन्देहीको सिद्वार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    संविधानसभा सदस्यसमेत रहेका खानलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरिएको कांग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिषबहादुर खड्काले जानकारी दिए ।

    गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको निर्वाचन क्षेत्रमा रहेको यो नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एमालेले जितेको थियो ।

  • सिन्धुपाल्चोकको गठबन्धन पनि धरापमा, राप्रपा च्याप्न कांग्रेस-माओवादीको हानाथाप

    सिन्धुपाल्चोकको गठबन्धन पनि धरापमा, राप्रपा च्याप्न कांग्रेस-माओवादीको हानाथाप

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा सत्ताघटक दलहरुबीच स्थानीय तहमा भागभण्डा नमिल्दा गठबन्धनमा समस्या देखिएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीले अडान नछाड्दा गठबन्धनमा समस्या देखिएको हो ।

    गठबन्धनमा मुख्यतः कुन दलले कुन स्थानीय तह लिने भन्नेमा नै समस्या देखिएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए । माओवादी केन्द्रले यसअघि जितेका दुईसहित दोस्रो स्थान भएको दुई र अर्काे एक स्थानीय तह गरी पाँचवटामा दाबी गरेको छ ।

    एकीकृत समाजवादीले मेलम्ची नगरपालिकामा दाबी कायम राखेको छ । माओवादीले यसअघि जितेको चौतारा साँगचोकगढी नगरपालिका, भोटेकोशी गाउँपालिकासहित बलेफी, जुगल र लिसंखुपाखर गाउँपालिकामा आफूहरुले प्रमुख पाउनु पर्ने दाबी गरेको छ ।

    तर नेपाली कांग्रेसले भने माओवादीले भनेअनुसारका दिन नसकिने प्रष्ट पारेको छ । ‘भोटेकोशी माओवादीले मागेको छ, तर भोटेकोशी हामी दिनसक्ने अवस्थामा छैनौं’, कांग्रेसका ती नेताले भने, ‘भोटेकोशीको पाँचै वडा हामी जित्ने अवस्थामा छौ, जित्ने अवस्था हुँदाहुँदै हामी छाड्न सक्दैनौं ।’

    तीन दलबीच गठबन्धन भंग भए भोटेकोशी गाउँपालिकाकै कारण हुने कांग्रेसका ती नेताले बताए ।

    माओवादी केन्द्रले भने केन्द्रको सहमति अनुसार २०७४ को स्थानीय निर्वाचनमा जितेको चौतारा साँगाचोकगढी र भोटेकोशी कुनै हालतमा पनि छाड्न नसकिने अडानबाट ब्याक भएको छैन । ‘हामीले यसअघि जितेका स्थानीय तह छाड्ने सवाल नै हुँदैन’, माओवादीका एक नेताले भने’, त्योबाहेक अघिल्लो निर्वाचनमा दोस्रो भएको बलेफी र लिसंखु पनि हामी छाड्दैनौं ।’

    गठबन्धनका दलहरुबीच आज पुन काडमाडौंमा बैठक बस्ने र ठोस निर्णय हुनसक्ने गठबन्धनका नेताहरुले जानकारी दिएका छन् । गठबन्धनका दलबीच छलफल हुँदै गर्दा प्रमुख दुई पार्टी नेपाली कांग्रेस र माओवादीले अर्काे दल राप्रपासँग पनि निरन्तर संवाद गरिरहेको छ ।

    भोलि गठबन्धन भएन भने माओवादी, समाजवादी र राप्रपा मिलेर जानका लागि माओवादीले तयारी गरेको छ । कांग्रेसले पनि केही स्थानीय तहमा एमालेसँग मिलेर जानसक्ने सम्भवना देखेको छ । गठबन्धन भएन भने एमाले र कांग्रेस चौतारा साँगाचोकगढी नगरपालिकामा मिल्नसक्ने कांग्रेसका एक नेताले जानकारी दिए ।

    राप्रपाले भने अहिलसम्म कुन दलसँग मिलेर जाने निर्णय गरिसकेको छैन । प्रमुख तीनै दलसँग छलफल भइरहेको राप्रपाले जानकारी दिएको छ । राप्रपाको मजबुत रहेको पाँचपोखरी थाङपाल, मेलम्ची नगरपालिका र चौतारा सँगाचोकगढी नगरपालिकामा उपमेयर पाउनु पर्ने गरी छलफलमा बसेको छ भने पाँचपोखरी थाङपाल गाउँपालिकामा भने अध्यक्ष नै पाउनुपर्ने राप्रपाको अडान छ । सिन्धुपाल्चोकमा राप्रपा नेपालको खासै भूमिका देखिएको छैन ।

  • निर्वाचन आयोगको प्रस्ताव: निर्वाचनको मौन अवधिभर मदिरा बिक्रीमा बन्देज लगाऔं

    निर्वाचन आयोगको प्रस्ताव: निर्वाचनको मौन अवधिभर मदिरा बिक्रीमा बन्देज लगाऔं

    काठमाडौं । निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको मौन अवधि सुरु भएदेखि नसकिँदासम्म मदिराजन्य पदार्थको बिक्री वितरणमा बन्देज लगाउन प्रस्ताव गरेको बताएका छन् । पत्रकारहरुका लागि आयोजित अभिमुखीकरणा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले राजनीतिक दलबीच उक्त प्रस्ताव गरिएको जानकारी दिएका हुन् ।

    ‘मौन अवधि भनेको सबैजना चुप लागौं भन्ने हो तर हामीकहाँ मौन अवधिमै सबैभन्दा धेरै चलखेल भएको पाइन्छ’, प्रमुख आयुक्त थपलियाले भने, ‘त्यस्तो चलखेलमा मदिरा मुख्य कारक हो भन्ने लागेर मौन अवधिका बेला देशभर मदिरा बिक्री वितरण नगर्न–नगराउन हामीले प्रस्ताव गरेका छौं ।’

    निर्वाचनमा मौन अवधि मतदान सकिनुपूर्वको ४८ घण्टा हुन्छ । थपलियाले घण्टामा मदिराभन्दा लोकतन्त्रको स्वाद मीठो हुने भन्दै भने– ४८ घण्टाको मदिराको स्वादभन्दा लोकतन्त्र र जनमतको स्वाद महत्त्वपूर्ण हो, त्यसैले उक्त अवधिमा मदिरा बिक्री वितरणमा बन्देज लागाउनुपर्छ ।

  • देउवाले कांग्रेस कास्कीका सभापतिसहितका नेतालाई काठमाडौं बोलाए

    देउवाले कांग्रेस कास्कीका सभापतिसहितका नेतालाई काठमाडौं बोलाए

    पोखरा । पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादीले दाबी नछाडेपछि सत्ता गठबन्धनमा सिट बाँडफाँट हुन सकेको छैन ।

    कास्कीमा जिल्ला तहका कांग्रेसका नेताहरु कुनै हालतमा पोखरा मेयर छाड्न नसकिने अडानमा छन् भने एकीकृत समाजवादीले पनि आफूहरुले पोखरामा मेयर नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेको छ ।

    कांग्रेस जिल्ला र पोखरा महानगर समितिका सचिवहरुले विज्ञप्ति नै जारी गरेर एकीकृत समाजवादीबाहेक दलसँग मात्रै गठबन्धन गर्ने बताएका छन् ।

    कांग्रेसले पोखराको मेयरका लागि १८ र उपमेयरका लागि १० जनाको नाम संकलन गरेको छ । उनीहरुको सामान्य परिचयात्मक कार्यक्रम समेत भइसकेको छ भने आकांक्षीले पोखरा भिजन निर्माण गरिरहेका छन् । यही सन्दर्भमा कुरा गर्न कास्कीका नेताहरुलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं बोलाएका छन् ।

    प्रदेशका सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापा जिल्लाको ब्रिफिङ गर्न अहिले काठमाडौं हिँडेका छन् । ‘उहाँ (सभापति)ले बोलाउनुभएको छ । हामीले अहिलेसम्म गरेका निर्णय र भएका प्रगतिबारे रिपोर्टिङ गर्छौं,’ सभापति बरालले भने, ‘किन बोलाउनुभयो भन्ने थाहा छैन । चुनावी विषय नै होला भनेर हामी तयार भएर आएका छौं ।’

    उनले पोखराको मेयर कांग्रेसले नै पाउनुपर्ने अडानमा आफूहरु रहेको उनले बताए । अघिल्लो साता जिल्लाका झण्डै १ सय नेता कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालय पुगेर देउवालाई भेटेका थिए । त्यतिबेला भने देउवाले महानगरका विषयमा कुनै निर्णय नभएको भन्दै जिल्ला फर्कन निर्देशन दिएका थिए । अहिले उनैले बोलाएपछि काठमाडौं हिँडेको बरालले बताए ।

  • कैलालीमा बँचेको तीनदलीय गठबन्धनमा पनि खटपट

    कैलालीमा बँचेको तीनदलीय गठबन्धनमा पनि खटपट

    कैलाली । स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय एक साता पनि बाँकि छैन । कैलालीमा भने गठबन्धनकै दलहरूबीच भागबण्डाको कुरा नमिल्दा उम्मेदवार छनोटमा ढिलाइ भइरहेको छ । भागबन्डा नमिल्दा पटक–पटक भइरहेको छलफलमा पनि सहमति हुन नसकेको हो ।

    केन्द्रमा पाँच दलीय गठबन्धन भए पनि कैलालीमा मूलतः तीन दलीय हुने देखिएको छ । गठबन्धनमा कुरा नमिलेको भन्दै जनता समाजवादी पार्टीले यसअघि नै छुट्टै तालमेल गर्ने निर्णय गरिसकेको छ ।

    नेपाली कांग्रेस र माओवादी केन्द्रसँग एकीकृत समाजवादी दलले समान हैसियतका आधारमा भागबन्डा हुनुपर्ने बताएको छ । नेपाली कांग्रेसले कैलालीका १३ स्थानीय तहमध्ये १० स्थानीय तहमा दाबी गरेको छ । तर, अन्तमा आठ स्थानीय तहसम्म भए पनि सहमति गर्ने मनसायमा कांग्रेस देखिएको छ । तर, अन्य दुई दल कांग्रेसलाई आठ पालिका पनि दिन तयार छैनन् ।

    उनीहरूले कांग्रेसलाई धनगढी उपमहानगरपालिका सहित पाँच पालिकाका सीमित पार्न खोजेपछि सहमति नजुटेको हो । ‘हामीलाई उहाँहरू पाँच पालिका तपाईंहरूलाई उपयुक्त हुन्छ भन्ने ढंगबाट प्रस्तुत हुनुभएको छ’ बैठकमा सहभागी कांग्रेस नेताले भने, ‘हामीले दश दाबी गरेका छौँ । ८ सम्ममा सहमति हुन सक्छ । त्योभन्दा कमको कुरा गरे गठबन्धनमा सहमति हुँदैन ।’

    पटक–पटक भएका बैठकहरूमा भागबण्डामै कुरा नमिलेपछि गठबन्धनमा रहेका दलहरू पनि अब आफ्नै ढङ्गबाट निर्वाचन जान खोजिरहेको बताए ।

    अहिले नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका, कैलाली गाउँपालिका,चुरे गाउँपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा दाबी गरेको छ ।

    अहिले कांग्रेसले दाबी गरेको मध्ये कैलारी गाउँपालिका र भजनी नगरपालिका अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो ।

    अहिले उक्त क्षेत्रमा नेपाली कांग्रेसको नगर कमिटीले गठबन्धन गर्न नहुने भन्दै निर्णय नै गरिसकेका छन् । यसरी निर्णय गर्नेमा यस अघि माओवादी विजयी भएको कैलारी गाउँपालिका र भजनी नगरपालिका, एमाले विजयी भएको मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका र लम्की चुहा नगरपालिका रहेको छ । ती क्षेत्रमा कांग्रेस बलियो रहेको र एक्लै निर्वाचन लड्दा पनि जित सुनिश्चित भएको भन्दै गठबन्धन नगर्न दबाब आइरहेको कांग्रेस नेताहरू बताउँछन् ।

    ‘हामीले दाबी गरेका क्षेत्रहरूमा त हामी एकल निर्वाचनमा होमिए पनि जित्ने अवस्था छ’, कांग्रेस कैलालीका उपसभापति भीम बडूवालले भने , ‘केन्द्रको नीति अनुसार गठबन्धन गर्ने कुरामा हामी सहमत छौँ । तर अधिकांश नेता कार्यकर्ताहरुले कैलालीमा कांग्रेसले गठबन्धन गर्न हुँदैन भन्दै दबाब दिइरहनु भएको छ ।’

    कांग्रेसबाहेक माओवादी केन्द्र र एकीकृत साजवादीले पनि कैलालीका १३ स्थानीय तह मध्ये करिब आधा दर्जन स्थानीय तहमा दाबी गरेका छन् । एकीकृत समाजवादीको तर्फबाट घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका लम्की चुहा नगरपालिका गौरीगङ्गा नगरपालिका र चुरे गाउँपालिकामा दाबी गरेको छ ।

    कैलालीमा २०७४ सालको स्थानीय निर्वाचनमा कैलालीमा एमाले सात पालिकामा विजयी भएको थियो । ती मध्ये आफूहरुले पाँच पालिका दाबी गरेको एकीकृत समाजवादी कैलालीका सचिव खडक रावतले बताए । ‘हामीले पाँच पालिकाको दाबी गरिरहेका छौँ । सहमति भए चार पालिका सम्म हामी समझदारी गर्र्छौ’ उनले भने, ‘त्यो भन्दा कम भए हामीलाई मान्य हुने छैन ।’

    अहिले कैलालीका १३ स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहका प्रमुखहरू एकीकृत समाजवादीमा छैनन् ।

    गोदावरी र घोडाघोडीका उपप्रमुखले मात्रै एकीकृत समाजवादीमा सनाखत गरेका छन् । तर, एकीकृत समाजवादीका नेता भने अहिले कैलालीका आधाभन्दा धेरै ठाउँमा आफ्नो पार्टी बलियो रहेको दाबी गर्छन् ।

    ‘यी क्षेत्रमा साङ्गठनिक रूपमा हाम्रो उपस्थिति राम्रो छ । अर्को कुरा ती क्षेत्रमा पहिले एमालेले जितेको हो । रावतले भने, हामी एमालेबाट विद्रोह गरेको आएको हुँदा पनि हामीले ती क्षेत्र पाउनु पर्छ भन्ने मान्यता राखेका छौँ ।’

    माओवादी केन्द्रले भने कैलालीमा गठबन्धनका दलहरूबीच सहमतिको आधार बन्न कठिन रहेको जनाएको छ । कांग्रेसले ८ स्थानीय तह, एकीकृत समाजवादीले अन्तिममा ३ स्थानीय तहमा दाबी गरे पनि आफूहरूको भागमा २ स्थानीय तह मात्रै पर्ने भएको हुँदा सहमति कठिन रहेको माओवादीका कैलाली इन्चार्ज हरि ज्ञवालीले बताए ।

    ‘उहाँहरूले आफ्नै पार्टीलाई मात्रै धेरै भागबण्डा चाहिन्छ भन्ने ढङ्गबाट मात्रै कुरा राख्नुहुन्छ’ उनले भने ‘उहाँहरूको कुरा अनुसार त हामी कैलालीका २ स्थानीय तहमा मात्रै सीमित हुने भयौँ । यसरी तालमेल हुँदैन । ’

    कैलालीमा अन्तिममा दुई दलित तालमेल पनि हुन सक्ने उनले बताए । ‘पाँच दलीय गठबन्धनमध्ये जोसँग जसरी मिल्छ त्यसरी तालमेल हुन सक्छ’ उनले भने ‘कैलालीमा दुई दलीय तालमेल पनि नहोला भन्न सकिन्न ।’

    माओवादी केन्द्रले पनि आधाभन्दा धेरै क्षेत्रमा दाबी गर्दै आइरहेको छ । तर, अन्य दुई दलको दाबीले माओवादीलाई दुई पालिकामा सीमित गर्न खोजिएको उनको बुझाइ छ । माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहमा पनि कैलारी र भजनी गरी दुई पलिका विजयी भएको थियो ।

    कैलालीमा माओवादीले यस अघि निर्वाचनमा विजयी भएको क्षेत्र र दोस्रो भएको क्षेत्रमा दाबी गरेको हो । .

    घोडाघोडी नगरपालिका, गौरीगङ्गा नगरपालिका, मोहन्याल गाउँपालिका, बर्दगोरीगा गाउँपालिका र जानकी गाउँपालिका माओवादी केन्द्र उपविजेता भएको थियो ।

  • सत्तागठबन्धनको बैठक आज पनि, होला त सहमति ?

    सत्तागठबन्धनको बैठक आज पनि, होला त सहमति ?

    काठमाडौं । आगामी स्थानीय तह चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि सत्तागठबन्धनको बैठक आज फेरि बस्दैछ । सोमबार दुईपटक बसेको बैठक निष्कर्षविहीन भएपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बताइएको छ ।

    सोमबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको विषयमा दलहरुको आ–आफ्नै दाबी रहेको कारण सहमति नभएको हो ।

    आइतबार ६ महानगर र ११ उपमहानगरमा हुने सम्भावित शक्ति बाँडफाँटको खाका बनेको थियो ।

    कांग्रेसले पोखरा महानगरसहित इटहरी र कलैया उपमहानगरमा अझै दाबी यथावत राखेको छ । एकीकृत समाजवादीले ६ मध्ये १ महानगर आफूले पाउनैपर्ने र पोखरा उपयुक्त हुने बताउँदै आएको छ ।

    पोखरामा समाजवादीले दाबी यथावत राखेपछि तत्कालै पोखराबारे निर्णय नलिने विषयमा पनि गठबन्धनमा छलफल भएको छ । त्यस्तै माओवादीले भरतपुर महानगरमा आफ्नो दाबी गरिरहेको छ । भरतपुरमा मेयर माओवादीले लिएर उपमेयरसहित सबै वडाध्यक्ष कांग्रेसलाई दिने सहमति भएको भनिएको छ । तर यसबारे पनि टुंगो लागिसकेको छैन ।

  • सिर्जना सिंहलाई काठमाडौंको मेयर उम्मेदवार बनाउन नेविसंघको ध्यानाकर्षण

    सिर्जना सिंहलाई काठमाडौंको मेयर उम्मेदवार बनाउन नेविसंघको ध्यानाकर्षण

    काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन पार्टी नेतृत्वको ध्नानाकर्षण गराएको छ ।

    पार्टीको काठमाडौं जिल्ला कार्य समिति र महानगरपालिका कार्य समितिसमक्ष सिर्जना सिंहलाई मेयरको एकल उम्मेदवार सिफारिस गर्न नेविसंघले माग गरेको हो ।

    कार्यवाहक अध्यक्ष जीवन श्रेष्ठले लिखित ध्यानाकर्षण गराउँदै महानगरपालिकाको मेयर पदका लागि देखिएका उम्मेदवारहरुध्ये सिर्जना सिंह सबैभन्दा उपयुक्त रहेको दावी गरिएको छ ।

    यसअघि नेपाल महिला संघले पनि सिर्जनाको पक्षमा विज्ञप्ति जारी गरेको थियो ।