Category: स्थानीय निर्वाचन–२०७९

  • दोलखामा एमालेले टुंग्यायो सबै पालिकाका प्रमुख र उपप्रमुख उम्मेदवार (सूचीसहित)

    दोलखामा एमालेले टुंग्यायो सबै पालिकाका प्रमुख र उपप्रमुख उम्मेदवार (सूचीसहित)

    चरिकोट । नेकपा एमालेले दोलखाका ९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।

    स्थानीय तहबाट आएका सिफारिसहरूलाई जिल्ला कमिटीले टुंगो लगाएर प्रदेशमा पठाएको छ ।

    एमाले जिल्ला कमिटीको बुधवार बसेको बैठकले सचिव हिरा थोकरलाई मेलुङ गाउँपालिकाको अध्यक्ष उम्मेदवार बनाएको छ । अन्य पालिकामा भने जिल्ला कमिटीका पदाधिकारी परेनन् ।

    भीमेश्वरका मेयर बाहेक यसअघिका गाउँपालिका अध्यक्ष कोही पनि दोहोरिएनन् । जिरी नगरपालिकाकी उपमेयर कृष्णमाया बुढाथोकी र भीमेश्वरकी उपमेयर कमला बस्ने समेत दोहोरिएका छन् ।

    दोलखाका ९ स्थानीय तहमध्ये २०७४ मा एमालेले ७ वटा जितेको थियो भने कांग्रेस–माओवादी गठबन्धनले दुई पालिका जितेको थियो ।

    भीमेश्वरको हकमा भने जिल्ला कमिटी उपाध्यक्ष राजेन्द्र मानन्धरले असहमति जनाउँदै प्रदेशमा आफ्नो दाबेदारी पेस गर्ने भएका छन् ।

    यी हुन् जिल्ला कमिटी बैठकले टुंगो लगाएका उम्मेदवार

    -शैलुङ

    प्रमुख- धन बहादुर तामाङ
    उपप्रमुख- पार्वती कार्की थापा

    -मेलुङ

    प्रमुख- हिरा कुमार थोकर
    उपप्रमुख- गायत्री आचार्य

    -भिमेश्वर

    प्रमुख- भरत केसि
    उपप्रमुख- कमला बस्नेत

    -कालिन्चोक

    प्रमुख- गणेश शिवाकोटी
    उपप्रमुख- कविता थामि

    -विगु

    प्रमुख- अछुतम केसि
    उपप्रमुख- देविका थामि

    -गौरीशंकर

    प्रमुख- जंग गुरुङ
    उपप्रमुख- मुना शिवाकोटी

    -बैतेश्वर

    प्रमुख- माधव प्रसाद घिमिरे
    उपप्रमुख- नविना लामा

    -जिरी

    प्रमुख- मित्र जिरेल
    उपप्रमुख- कृष्ण माया बुढाथोकी

    -तामाकोसी

    प्रमुख- अभिषेक सुवेदी
    उपप्रमुख- अम्बिका पोखरेल

  • स्थानीय चुनावको परिणाम जे आएपनि ओली र प्रचण्ड मिल्न सक्छन् : नेता रिजाल

    स्थानीय चुनावको परिणाम जे आएपनि ओली र प्रचण्ड मिल्न सक्छन् : नेता रिजाल

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले स्थानीय तहको निर्वाचनमा जे परिणाम आएपनि कम्युनिष्ट घटकहरू एकै ठाउँमा उभिने खतरा नटरेको बताएका छन् ।

    नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता रिजालले गठबन्धन सैद्धान्तिक रूपमा गलत रहेको बताए । स्थानीय निर्वाचनमा गठबन्धनले जिते ओलीले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्नसक्ने र गठबन्धनले हारे प्रचण्डले ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्नसक्ने रिजालको भनाइ छ ।

    ‘यो सत्ता गठबन्धन प्रतिवद्ध भएर गयो भने हामी धेरैभन्दा धेरै ठाउँमा चुनाव जित्छौं । त्यतिबेला ओलीजीले प्रचण्डजीलाई प्रधानमन्त्री प्रस्ताव गर्न सक्नुहुन्छ । प्रचण्डजी त्यतिबेला के गर्नुहुन्छ ? यदि गठबन्धन सफल भएन भने कांग्रेसलाई गद्धार भन्दै प्रचण्डजी ओलीलाई प्रधानमन्त्री बनाउन कस्सिनुहुन्छ । त्यसैले कुनै न कुनै कम्युनिष्टलाई शिरमा राख्नेकुरामा कांग्रेसले विचार गर्नुपर्छ’, रिजालले भने ।

    पार्टीभित्र जतिपनि असहमति भएपनि निर्वाचनमा पार्टीलाई जिताउनुपर्ने दायित्व रहेको भन्दै नेता रिजालले कम्युनिष्टहरूसँगको सहकार्य र प्रतिस्पर्धाबारे कांग्रेसको धारणा प्रष्ट हुनुपर्ने बताए ।

    ‘कहिले एउटा कहिले अर्को कम्युनिष्टलाई च्यापेर कांग्रेस कहिलेसम्म हिँडिरहने हो ?’, रिजालले प्रश्न गरे ।

  • माओवादीले जितेको धुर्कोटमा कांग्रेसबाट उम्मेदवार सिफारिस

    माओवादीले जितेको धुर्कोटमा कांग्रेसबाट उम्मेदवार सिफारिस

    रुपन्देही । २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रले जित हात पारेको गुल्मीको घुर्कोटमा नेपाली कांग्रेसले आफ्नो उम्मेदवार सिफारिस गरेको छ ।

    अध्यक्षमा कांग्रेसले महेन्द्रप्रसाद भण्डारीलाई सर्वसम्मत रूपमा सिफारिस गरेको छ । सिफारिसपछि माओवादी र कांग्रेसको विवाद बढेको छ ।

    नेपाली कांग्रेस गाउँ समितिको मङ्गलवार बसेको बैठकले भण्डारीलाई सर्वसम्मत रूपमा सिफारिस गरेको सभापति हरिबहादुर थापाले जानकारी दिएका छन् । उनी नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि हुन् ।

    कांग्रेस नेताहरूले यसअघिको चुनावमा गठबन्धन गर्दा अर्को पटक कांग्रेसलाई प्रमुख दिने सहमति गरे पनि माओवादी केन्द्रले पालना नगरेकाले यस पटक धुर्कोटमा प्रमुख पद कांग्रेसले नछाड्ने बताएका छन् भने माओवादीले पार्टीले जितेको पालिकामा सोही पार्टीले नै पाउने केन्द्रीय सहमतिअनुसार माओवादीले नै पाउनुपर्ने भन्दै उम्मेदवार घोषणा गरेका छन् ।

    १२ पालिका रहेको गुल्मीमा माओवादी धुर्कोट, मालिका, चन्द्रकोट, रुरु, मदानेको प्रमुख पद पाउनुपर्ने दाबी गठबन्धनमा राखेको छ । तर कांग्रेसले धुर्कोट नछोड्ने गरी उम्मेदवार नै घोषणा गरेपछि माओवादी दबाबमा परेको छ । नेकपा माओवादीले जिल्लामा आफूले पाउने र जित्ने पालिकाको पहिलो सूचिमा राखेको धुर्कोटमा अहिलेका अध्यक्ष भूपाल पोखरेललाई आगामी अध्यक्ष भनेर घोषणा गरिसकेको थियो ।

    मालिका गाउँपालिकामा भने गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार सर्वसम्मत रूपमा टुंग्याएको छ । यहाँको अध्यक्षमा माओवादी केन्द्रका देवीराम अर्याल र उपाध्यक्षमा नेपाली कांग्रेसका पालिका सभापति उपेन्द्र अर्याललाई उठाउने निर्णय गरेको थियो । तर नेकपा एस र जनमोर्चाले यहाँ पनि असहमति जनाएका छन् ।

  • राप्रपाको घोषणापत्र : सुत्केरीलाई ३ हजार भत्तादेखि छात्रालाई सेनिटरी प्याडसम्मका आश्वासन (भिडिओ)

    राप्रपाको घोषणापत्र : सुत्केरीलाई ३ हजार भत्तादेखि छात्रालाई सेनिटरी प्याडसम्मका आश्वासन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय चुनावलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।

    ‘हाम्रै जीवनकालमा सबल समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव छ’ भन्ने नारासहितको प्रतिबद्धता पत्र आज पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक गरेका हुन् ।

    परम्परागत रूपमा चलिआएका मूल्यमान्यतालाई निरन्तरता दिँदै समयानुकूल सुधार गर्ने राप्रपाको प्रतिबद्धता पत्रमा उल्लेख छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतमा उच्च प्राथमिकता दिने तथा भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने भनिएको छ ।

    राप्रपाले आफूले जितेका स्थानीय तहमा ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने तथा सबै स्थानीय ऐनको निर्माण तथा परिमार्जन गरिसक्ने जनाएको छ ।

    यस्तै, हरेक वडामा स्वास्थ्य चौकी, तथा प्रसूति सेवा दिने, हरेक स्थानीय तहमा न्यूनतक एक सुलभ औषधि पसल खोल्ने, किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने लगायतका कार्यक्रम समेटिएका छन् । निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने आश्वासन राप्रपाले दिएको छ ।

    छात्राहरूलाई निशूल्क सेनिटरी प्याड उपलब्ध गराउने तथा छात्रा शौचालय अनिवार्य गर्नेजस्ता योजनाहरू पनि छन् ।

    राप्रपाले १२ कक्षासम्म पूर्ण निःशुल्क बनाउने तथा सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने जनाएको छ । १–१ प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने भनिएको छ ।

    अध्यक्षले लिङदेनले आफ्नो पार्टीको प्रतिबद्धता पत्र ठूलाठूला आश्वासनहरूले भरिएको लम्बेतान नभएर पार्टीले पूरा गर्न सक्ने विषयहरू मात्र समेटेर छोटो छरितो बनाइएको बताए । उनले राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेन्डा पार्टीको आधार स्तम्भ रहेको उल्लेख गरे ।

  • रुपन्देहीको सिद्धार्थनगरमा पनि तोडियो गठबन्धनः जसपाद्वारा मेयर र उपमेयरसहितका उम्मेदवार सिफारिस

    रुपन्देहीको सिद्धार्थनगरमा पनि तोडियो गठबन्धनः जसपाद्वारा मेयर र उपमेयरसहितका उम्मेदवार सिफारिस

    रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सत्तारुढ पाँच दलको गठबन्धन तोडिएको छ ।

    जनता समाजवादी पार्टी (जसपा) ले सिद्धार्थनगर नपाको मेयरमा अर्जुनप्रसाद जैसवाललाई उम्मेदवार सिफारिस गरेपछि औपचारिक रुपमा गठबन्धन तोडिएको हो ।

    जसपा सिद्धार्थनगरका अध्यक्षसमेत रहेका जैसवाललाई मेयर पदमा सर्वसम्मत सिफारिस गरिएको पार्टीले जनाएको छ । जैसवाल यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार थिए ।

    जसपाले नगरको उपप्रमुखमा आसमा खातुन फकिर, वडा नम्बर १ को अध्यक्षमा उज्ज्वल पोखरेल, २ को अध्यक्षमा दिलीपकुमार कहाँर, ३ मा कैस मोहम्मद साई र ४ मा गोविन्द यादवलाई उम्मेदवार सिफारिस गरेको छ ।

    यसअघि जसपा सिद्धार्थनगरले पाँचदलीय गठबन्धनमा सहभागी नहुने निर्णय गरे पनि एकल उम्मेदवारी सार्वजनिक गरेको थिएन ।

  • मेयर सिफारिसले गृहमन्त्री खाणको क्षेत्रमा खैलाबैला, कांग्रेस नेता यादवले पार्टी छाडे

    मेयर सिफारिसले गृहमन्त्री खाणको क्षेत्रमा खैलाबैला, कांग्रेस नेता यादवले पार्टी छाडे

    रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणको निर्वाचन क्षेत्र कांग्रेस क्षेत्र नम्बर ३ का निवर्तमान सभापति मात्रिकाप्रसाद यादवले पार्टी छाडेका छन् ।

    कांग्रेसबाट सिद्धार्थनगर नगरपालिकाको उम्मेदवारको आकांक्षीसमेत रहेका यादवले पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्याग गरेको घोषणा गरेका हुन् । संस्थापनइतर समूहमा रहेका यादवले एकलौटी रूपमा कांग्रेस नगर समितिले मेयर पदको उम्मेदवार सिफारिस गरेकोप्रति असन्तुष्टि जनाए ।

    मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि हचुवाको भरमा एकजनाको मात्र नाम सिफारिस गर्नु गलत भएको उनले बताए ।

    यादवले भने, ‘हामी ४० वर्षदेखि कांग्रेसमा आबद्ध छौं, तर हिजो आएका नयाँ मान्छेलाई एकलौटी रूपमा मेयर पदको उम्मेदवारमा सिफारिस गरियो, यो गलत हो ।’

    गत स्थानीय तहको निर्वाचनमा पनि सिद्धार्थनगर नगरपालिकाको प्रमुख पदको उम्मेदवार भइ उनी पराजित भएका थिए । पार्टीको क्षेत्रीय अधिवेशनमा पनि उनी क्षेत्रीय सभापति पदमा पराजित भए ।

    मंगलबार नेपाली कांग्रेसले सिद्धार्थनगरमा इस्तियाक अहमद खानलाई मेयरमा सिफारिस गरेको थियो । नेता खाण रुपन्देही आएकै समयमा सो क्षेत्रका प्रभावशाली नेता यादवले पार्टी छोड्नु अर्थपूर्ण रहेको पार्टी पंतिमा चर्चा चलेको छ ।

  • गठबन्धनले उम्मेदवार समेत टुंगो लगाउँदै, दलहरू बालुवाटारमै आन्तरिक छलफलमा

    गठबन्धनले उम्मेदवार समेत टुंगो लगाउँदै, दलहरू बालुवाटारमै आन्तरिक छलफलमा

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि तालमेलको भागबण्डा मिलाउन प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक अब उम्मेदवार केन्द्रित भएको छ ।

    शीर्ष नेताहरुबीच केहीबेर छलफलपछि अहिले सबै दलका नेताहरु आ आफ्नो आन्तरिक छलफलमा अलग अलग जुटेका छन् । कुन पालिका कसले लिने ? कसलाई उम्मेवारका रुपमा अघि सार्ने जस्ता विषय समेत छलफलमा उठेको बताइएको छ ।

    सबै दलले आ आफ्नो प्रस्ताव तयार पारेपछि औपचारिक बैठक पुनः बस्ने भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार महानगर र उपमहानगरमात्र नभएर अन्य नगरपालिकाहरुको हकमा समेत माथिबाटै गठबन्धनको निर्णय पठाउने गरि छलफल भएको छ ।

    उम्मेदवारको विषय समेत आजै टुंगो लगाउने सम्भावना रहेको ती नेताले बताए ।

  • पोखराको मेयरमा नेकपा एसबाट चारजनाको दाबी

    पोखराको मेयरमा नेकपा एसबाट चारजनाको दाबी

    पोखरा । सत्ता गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर पाएको नेकपा एकीकृत समाजवादीले सो पदका लागि चारजनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

    नेकपा एसबाट पोखराको मेयरका लागि पोलिटव्युरो सदस्य श्रीनाथ बराल, दिलकुमारी पन्त (दिलु), केन्द्रीय लेखा आयोगका सदस्य विजयबाबु बनबासे र कास्की जिल्ला अध्यक्ष धनराज आचार्यले दाबी गरेका छन् ।

    नेकपा एसले महानगरपालिकाको मेयरको निर्णय केन्द्रबाट गर्ने भएको छ । दाबेदारमध्ये दिलु पन्त र धनराज आचार्यमध्ये एकजनाको बढी सम्भावना रहेको नेकपा एसका नेताहरूले बताएका छन् ।

    पाँच दलीय गठबन्धनमा पोखराको मेयर नेकपा एसले पाउने सहमति भइसकेको छ । तर, कांग्रेसका स्थानीय कार्यकर्ताले असहमति जनाएर कार्यालयमा तालाबन्दी गरेका छन् ।

  • भक्तपुरमा उम्मेदवार घोषणा गर्दै नेकपा एस, कहाँबाट को सिफारिस ?

    भक्तपुरमा उम्मेदवार घोषणा गर्दै नेकपा एस, कहाँबाट को सिफारिस ?

    भक्तपुर । नेकपा (एकीकृत समाजवादी) ले भक्तपुरमा आज उम्मेदवारी घोषणा गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा नेकपा एसले बुधवार तीन बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेको हो ।

    जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, स्थानीय स्तरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीलगायत कुनै पनि दलले उम्मेदवारी घोषणा गरेका छैनन् । नेपाली कांग्रेस, नेकपा ९एमाले०लगायतका दलहरूले उम्मेदवार हुन चाहनेका सूची सङ्कलन गरी केन्द्रमा पठाएका छन् ।

    जिल्लामा रहेका चार नगरपालिकाको मेयरको उमेदवार घोषणा गर्न लागेको हो ।  चाँगुनारायण नगरपालिका रामप्रसाद न्यौपाने, मध्यपुर थिमी नगरपालिकामा भवानी खड्का, प्रेमनन्द लाल  श्रेष्ठ,  दुर्गा मोहन श्रेष्ठ र पुण्यरत्न रञ्जितको नाम सिफारिस भएको छ ।

    यस्तै गरी भक्तपुर नगरपालिकामा रीता आवल र ओम चरण अमात्यको उमेदवारी घोषाणा गर्न लागेको छ भने  सूर्यविनायक नगरपालिकामा श्याम बस्नेत, अर्जुन बस्नेत र मधुकर थापा मेयर पदमा सिफारिस भएका छन् ।

    यता नेपाल मजदुर किसान पार्टीले भने अरू दलको उम्मेदवार तोकेपछि मात्रै अन्तिममा उम्मेदवारी घोषणा गर्ने जनाएको छ ।

    चार नगरपालिका रहेको भक्तपुरमा पछिल्लो स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा नेकपा ९एमाले०का मेयर सोमपसाद मिश्रले आठ हजार पाँच सय १२ मत र उम मेयर बिना बास्तोलाले आठ हजार सात सय ७९ मत ल्याएका थिए  भने भक्तपुर नगरपालिकामा एमालेका मेयर विष्णुप्रसाद सुवालले चार हजार दुई सय १८, उपमेयर कृष्णमाया त्वानाबासुले चार हजार ६ सय ३१ मत प्राप्त गरेका थिए ।

    यसै गरी सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका मेयर बासुदेव थापाले १२ हजार एक सय ३५, उपमेयर जुना बस्नेतले १२ हजार आठ सय ३२ र मध्यपुर थिमिमा नेकपा एमालेका मेयर मदनसुन्दर श्रेष्ठले १४ हजार मत पाएका थिए ।

    मध्यपुरमा एमालेले त्यो बेला नेपाल मजदुर किसान पार्टीसँग मिलेर चुनाव लडेका कारण उपमेयरमा नेपाल मजदुर किसान पार्टीको भागमा परेको थियो ।

    एमालेबाट नै फुटेर नेकपा एस बनेकाले अहिले त्यही एमालेको भोट काट्ने अनुमान गरिएको छ । एमालेको भोट काटेर एमाले हराउने अभियानमा नेकपा एस लागेको बताइन्छ ।

     

  • भरतपुरमा एमालेको प्रचार सुरू, मेयरका उम्मेदवार सुवेदी सुझाव लिँदै

    भरतपुरमा एमालेको प्रचार सुरू, मेयरका उम्मेदवार सुवेदी सुझाव लिँदै

    चितवन । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले चितवनले प्रचारप्रसारसँगै सुझाव सङ्कलन गर्न थालेको छ । नागरिकको अपेक्षालाई आफ्नो एजेण्डामा समेट्नका लागि सुझाव सङ्कलन गरिएको हो ।

    एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेका विजय सुवेदीले बुधवार सरोकारवालासँग सुझाव लिएका छन् । चुनावी घोषणा पत्र तयार गर्नका लागि सुवेदीले सुझावहरू सङ्कलन गरेका हुन् ।

    भरतपुरको विकास र समृद्धिका लागि नागरिकको अपेक्षा बुझ्न सुझाव लिइएको मेयरका उम्मेदवार सुवेदीले बताए । महानगरबासी सबै नागरिकको अभिभावकत्व लिने गरी नमूना महानगर बनाउन व्यवस्थित गुरुयोजना बनाएर काम गरिने उनको भनाइ छ  ।

    नागरिकलाई क्षमताअनुसारको रोजगारी दिन सुरुको वर्ष नागरिकको अभिलेखीकरण गर्ने, अनुसन्धानका लागि आविष्कार केन्द्रको स्थापना गर्ने र विकास निर्माणमा निष्पक्ष सक्रियताको अभ्यास गर्ने उनको प्रतिबद्धता छ ।

    ‘व्यवस्था परिवर्तन भयो भनियो तर अझै पनि अव्यवस्थाको निरन्तरता छ । हामी भरतपुरबाट व्यवस्थाको सुरुवात गर्छौँ’, उनले भने । प्राध्यापक कपिल सुवेदीले सङ्घ र प्रदेशको बजेटको भरमा भरतपुरमा विकास भइरहेको बताए ।

    यहाँको विकासका लागि वैदेशिक लगानी भित्राउन पनि सकिने भन्दै उनले त्यसका लागि पहिला वैदेशिक लगानी नीति बनाउन आवश्यक रहेको बताए । ‘वैदेशिक लगानी भित्राउन सक्नुपर्छ । महानगरमा त्यस्तो लगानीको लागि ऐन नै बनेको छैन’, उनले भने ।

    उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भरतपुरलाई आर्थिक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । यहाँबाट १५० किमीको दुरीमा देशका ठुला शहरहरु रहेको भन्दै उनले भने, ‘यहाँबाट निर्यात हुने वस्तुलाई प्रवर्द्धन गर्नुपर्छ । आयात प्रतिस्थापन गर्नुपर्छ । त्यसको लागि आर्थिक कुटनीति बनाउन जरुरी छ ।’

    सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको भन्ने कुरामा जनतालाई प्रत्याभूति दिलाउन उनले आग्रह गरे । त्यस्तै, महानगरको अहिलेको संरचनाले आगामी १० वर्षमा कति जनसङ्ख्यालाई धान्न सक्छ त्यसको विश्लेषण गर्नुपर्ने उनले सुझाए ।

    अधिवक्ता राजकुमार श्रेष्ठले महानगरले ऐन कानुन बनाउँदा विज्ञसँग सल्लाह नगरेको बताए । शहरी क्षेत्रका केहि वडा हेरेर सबै ठाउँमा एकै किसिमको कर लगाउने नीति गलत भएको उनले बताए । सुकुमबासीलाई एक र दुई कठ्ठा जग्गा बाँडेर मात्र नहुने भन्दै उनले स्थायित्वका लागि रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

    पर्यटन विज्ञ विश्व सुवेदीले पर्यटन क्षेत्रको विकासमा पर्याप्त लगानी हुन नसकेको बताए । भरतपुर महानगरमा ३० वटा पर्यटकीय गन्तव्य स्थल पहिचान भएका छन् । ‘पर्यटनको छुट्टै प्लानिङ गरौँ । पर्यटनलाई धेरै पक्षसँग जोडेर विकास र आर्थिक उन्नति गर्न सकिन्छ’, उनले भने ।

    पर्यटन क्षेत्रको प्रबर्द्धनमा चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वन, २०३४ सालमा बनेको होटल सञ्चालन सम्बन्धी ऐन बाधक रहेको उनले बताए ।

  • पोखराको मेयर नेकपा एसलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा ताला

    पोखराको मेयर नेकपा एसलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा ताला

    पोखरा । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

    महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।

    ‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’

    सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताए ।

    ‘आगामी दिनमा अपनाइने संघर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्य समिति लाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

  • ओखलढुंगाको गठबन्धनबाट जसपा र नेकपा एस आउट, यस्तो छ कांग्रेस–माओवादीको भागबण्डा

    ओखलढुंगाको गठबन्धनबाट जसपा र नेकपा एस आउट, यस्तो छ कांग्रेस–माओवादीको भागबण्डा

    काठमाडौं । ओखलढुंगामा कांग्रेस माओवादीले मात्रै चुनावी गठबन्धन गर्ने सहमति भएको छ । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई लिएर एकीकृत समाजवादी र जसपालाई थाहै नदिइ कांग्रेस र माओवादीबिच रातारात भागबण्डामा सहमति भएको हो ।

    मंगलबार बिहान मित्रवत् प्रतिस्पर्धा गरेर चुनावमा जाने सहमति भएर सत्तासाझेदार दलहरूको बैठक सकिएको भए पनि माओवादी केन्द्र र कांग्रेसबीच रातारात सहमति भएको छ ।

    दुई दलबीच भएको सहमतिमा कांग्रेसले तीनवटामा प्रमुख, उपप्रमुखसहित नेतृत्व लिने भएको छ भने माओवादीले एक स्थानीय तहमा प्रमुख र तीनवटामा उपप्रमुख लिने भएको बताइएको छ ।

    ओखलढुंगाका ८ स्थानीय तहमध्ये चिशंखुगढी गाउँपालिका माओवादी केन्द्रले नेतृत्व गर्ने छ भने मोलुङ र चम्पादेवी गाउँपालिका र सिद्धिचण नगरपालिकामा उपप्रमुखमा सहमति भएको छ ।

    माओवादीको आधार क्षेत्र भनिएको चम्पादेवीमा पनि माओवादी केन्द्र उपप्रमुखमा चित्त बुझाएर दुई दलीय सहमति गरेकोमा माओवादी कार्यकर्ता भने असन्तुष्ट भएका छन् ।

    जिल्लाको खिजिदेम्बा, सुनकोशी र मानेभञ्ज्याङ्ग गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष नै नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत भएको छ ।

    माओवादी केन्द्रले ओखलढुंगाको माओवादी उद्गम स्थल भनेर चिनिने लिखु गाउँपालिकामा भने आफ्नो दाबी गरेको छ । यो गाउँपालिकामा नेपाली कांग्रेसले पनि दाबी गरेपछि निर्णय गर्न केन्द्रलाई दिने गरी प्रदेश र संघमा पठाउने सहमति भएको नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति अध्यक्ष निशान्त शर्माले बताए ।

    यो भागबण्डामा दुईदलबीच भएको र गठबन्धन सहमतिमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आएमा उनीहरुलाई १–१ स्थानमा उपप्रमुख पद दिन सकिनेसमेत निर्णय भएको माओवादीका नेता बाबुराम गौतमको भनाइ छ ।

    सहमति नभए  जसपा र समाजवादी एक्लै लड्ने

    दुई दलले गरेको निर्णयमा आफ्नो पार्टीको सहमति नभएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य नेत्र भट्टराईले बताए । ‘अहिलेको आवश्यकता देशव्यापी रूपमा गठबन्धनको भए पनि ओखलढुंगामा गठबन्धन नभएर केही पनि असर पर्दैन ।’

    जिल्लामा दुई स्थानीय तहमा आफूहरूले नेतृत्व पाउनुपर्ने बताउँदै भट्टराईले भने ‘सिद्धिचरण नगरपालिका र लिखु गाउँपालिका प्रमुख तथा अन्य एक स्थानमा उपप्रमुखमा हाम्रो दाबी हो । यदि गठबन्धन भएन भने पनि एकीकृत समाजवादीले अधिकांश स्थानीय तहका प्रमुख–उपप्रमुख र ५० भन्दा बढी वडामा वडा अध्यक्षमा उम्मेदवारी उठाउने तयारी गरेको छ ।’

    जनता समाजवादी पार्टीले पनि दुई पार्टीका बीचमा भएको सहमतिलाई अस्वीकार गरेको छ । आफूहरूको दाबीका विषयमा दुई पार्टीले बेवास्ता गरेपछि ओखलढुंगामा गठबन्धनबाट बाहिरिने सम्भावना बढेको जनता समाजवादी पार्टीका नेता नेत्र बहादुर नेम्वाङ ‘नरेशले’ बताए ।

    ‘जनता समाजवादी पार्टी ओखलढुंगामा एक्लै भए पनि चुनावी मैदानमा जाने सम्भावना सँगै तयारी थालेको छ ।’ तर यस विषयमा पार्टीको आधिकारिक निर्णय भने हुन बाँकी रहेको छ’, उनले भने ।

    जसपाले खिजीदेम्बामा भने स्थानीय निर्वाचनका लागि गाउँपालिका अध्यक्षको उमेदवार समेत घोषणा गरेको छ । जिल्लाका मानेभञ्ज्याङ र खिजीदेम्बामा राम्रो पकड रहेको छ भने अन्य स्थानमा पनि संगठन राम्रो रहेको जसपाले जनाएको छ ।

  • दार्चुलामा नेकपा एसलाई छाडेर कांग्रेस र माओवादीले गरे भागबन्डा

    दार्चुलामा नेकपा एसलाई छाडेर कांग्रेस र माओवादीले गरे भागबन्डा

    दार्चुला । दार्चुलामा नेकपा (एकीकृत समाजवादी)लाई पाखा लगाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबन्डा टुङ्ग्याएका छन् ।

    ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका कांग्रेस र माओवादीबीच भागबन्डामा सहमति भएको हो ।

    दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा कांग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ ।

    दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । कांग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ ।

    बाँकी चार गाउँपालिका अध्यक्ष माओवादीले उम्मेदवार पाउने माओवादी केन्द्र दार्चुलाका समन्वय समिति सचिव प्रेमराज पन्तले जानकारी दिए ।

    कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ । माओवादीले मार्मा, अपी, नौगाड र लेकम गाउँपालिकामा प्रमुख पाउनेछ ।

    ६१ वडामध्ये ४४ मा कांग्रेस र १७ वडा माओवादीले पाएको छ । एकीकृत समाजवादीलाई वडा सदस्यमा आवश्यकताका आधारमा भागबन्डा दिने तय गरिएको उनको भनाइ छ ।

    २०७४ को निर्वाचनमा कांग्रेसले पाँच, एमालेले तीन र माओवादीले एक स्थानीय तह जितेको थियो ।

  • कांग्रेस नेता कोइरालाको १० बुँदे प्रष्टीकरण- भ्रम फिँजाउने प्रयास भयो, प्रचण्डकी छोरीलाई भोट हाल्दैनौं

    कांग्रेस नेता कोइरालाको १० बुँदे प्रष्टीकरण- भ्रम फिँजाउने प्रयास भयो, प्रचण्डकी छोरीलाई भोट हाल्दैनौं

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका नेता दिनेश कोइरालाले भरतपुरमा माओवादीलाई मेयर छाड्ने सहमति नभएको प्रष्ट पारेका छन् ।

    विभिन्न सञ्चारमाध्यममा चितवन कांग्रेसले माओवादीलाई मेयर छाडेको भन्ने भ्रामक समाचार आएको भन्दै उनले भनेका छन्, ‘भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षडयन्त्र भइरहेको छ । रेणुलाई कांग्रेसले समर्थन गरिसकेको छ भनेर व्यापक हल्ला चलाइएको छ । विभिन्न मिडियामा पनि यसै भनेर समाचार आइरहेको देखिन्छ । तर त्यो सत्य होइन ।’

    उनले सामाजिक सञ्जालमार्फत भरतपुरमा कांग्रेसले मेयरमा दाबी नछाडेको प्रष्ट पार्दै लेखेको स्टाटस जस्ताको तस्तैः

    नेपाली कांग्रेसले भरतपुर महानगरको मेयर पदमा माओवादीकी रेणु दाहाललाई समर्थन गर्दैन । पार्टी केन्द्रले अहिलेसम्म यस्तो निर्णय गरेको छैन र यस्तो घातक निर्णय गर्छ भनेर विश्वास पनि गर्न सकिँदैन ।

    यस विषयमा केही बुँदामा म प्रष्ट पार्न चाहन्छुः

    १. चितवनका जनताको चाहना नेपाली कांग्रेसले नै मेयर पदमा उम्मेदवारी दिनुपर्छ भन्ने हो । यो जनचाहनालाई ध्यानमा राखेर चितवनका सम्पूर्ण कांग्रेसजनले भावना तथा विचार व्यक्त गरिरहनुभएको छ ।

    २. चितवनका जनता तथा कांग्रेसका समस्त कार्यकर्ताहरुको विचार तथा भावनालाई केन्द्रमा राखेर नेपाली कांग्रेस भरतपुर महानगरपालिकाका २९ वटै वडा समितिहरुले मेयर पदमा नेपाली कांग्रेसकै उम्मेदवार हुनुपर्छ भनेर सर्वसम्मत निर्णय गरिसकेको अवस्था हो ।

    ३. नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले पनि मेयरमा कांग्रेसले नै उम्मेदवारी दिनुपर्छ भनेर निर्णय गरिसकेको छ ।

    यी तीन तथ्यले के प्रष्ट पार्छ भने नेपाली कांग्रेसले नै भरतपुरमा मेयर पदमा उम्मेदवारी दिन्छ । नेपाली कांग्रेस केन्द्रले पनि चितवनका समस्त कांग्रेसजन र आम जनताको विचार तथा भावना विपरित अन्य पार्टीलाई मेयरमा समर्थन गर्न सक्दैन ।

    ४. नेपाली कांग्रेस केन्द्रीय समितिले नै नेपाली कांग्रेस चितवनको विचार तथा भावनालाई समर्थन गरेर निर्णय नै गरिसकेको छ । केन्द्रीय समितिले स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेलको निर्णय गर्न सकिने भनेर निर्णय नै गरिसकेको छ ।

    ५. स्थानीय अवस्था र आवश्यकता अनुसार नै नेपाली कांग्रेस चितवनका विभिन्न समितिहरुले भरतपुर महानगरमा नेपाली कांग्रेसले नै उम्मेदवारी दिने निर्णय गरिसकेको छ । स्थानीय आवश्यकता र अवस्था पहिचान गर्ने जिम्मेवारी स्थानीय कार्यकर्ता र समितिहरुको हो भन्ने बुझाइरहन पर्ला र ?

    ६. स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेलको निर्णय गर्ने केन्द्रीय समितिको निर्णय अनुसार नै नेपाली कांग्रेस चितवनका समस्त कार्यकर्ताले नेपाली कांग्रेसले नै मेयरमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

    ७. चितवनका समितिहरु र कार्यकर्ताहरुले स्थानीय अवस्था र आवश्यकता पहिचान गरेर निर्णय गरिसकेको अवस्थामा नेपाली कांग्रेस केन्द्रले त्यसलाई काट्न मिल्दैन । काट्न हुँदैन । काट्न सक्दैन ।

    ८. नेपाली कांग्रेस देशकै अगुवा पार्टी हो । यसको आन्तरिक लोकतन्त्र कम्युनिष्ट पार्टीहरुसँग तुलना हुन सक्दैन । स्थानीय अवस्था र आवश्यकता विपरित केन्द्रबाट निर्णय लाद्ने काम कम्युनिष्ट पार्टीहरुमा मात्र सम्भव छ । त्यस्तो अपराध कम्युनिष्टहरुले मात्र गर्छन् । कम्युनिष्टहरुलाई लोकतन्त्रको पाठ पढाउने नेपाली कांग्रेसले अलोकतान्त्रिक निर्णय गर्न सक्दैन ।

    ९. कांग्रेस केन्द्रले रेणु दाहाललाई समर्थन गर्ने निर्णय गरिसकेको कतिपयले भनिरहेका छन् । अहिलेसम्म आधिकारिक निर्णय भएको जानकारी छैन । कम्युनिष्ट शैलीमा भूमिगत निर्णय गरिएको छ भने पनि त्यो निर्णय निश्चित रुपमा उल्टनेछ ।

    १०. नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो र यसका गाउँ नगरका कार्यकर्ताहरु लोकतन्त्रका अगुवा हुन् । पार्टी केन्द्रले अरु कसैको बहकाउमा परेर, ब्ल्याकमेलिङको सिकार बनेर अन्यथा निर्णय गरेको अवस्थामा त्यस्तो निर्णय सच्याउन लगाउने क्षमता चितवन कांग्रेसका कार्यकर्ताहरुमा छ । चितवन कांग्रेसका कार्यकर्ताहरु नेपालकै नमूना कार्यकर्ता हुन् भन्ने प्रष्ट छ । चितवन कांग्रेसको साथमा जनता छ ।

    तसर्थ, माओवादी केन्द्रलाई नेपाली कांग्रेसले मेयर पद दिन सक्दैन र दिँदैन पनि । यसमा नेपाली कांग्रेस केन्द्रले विपरित निर्णय गर्दैन र गर्न सक्दैन ।

  • जिल्लामा गठबन्धन भत्किए पनि प्रदेशबाट भागबण्डा मिलाउँदै लुम्बिनीको कार्यदल

    जिल्लामा गठबन्धन भत्किए पनि प्रदेशबाट भागबण्डा मिलाउँदै लुम्बिनीको कार्यदल

    रुपन्देही । स्थानीय तहको निर्वाचनमा गठबन्धनको औपचारिक सहमति गरेका लुम्बिनी प्रदेशका पाँच दल विभिन्न जिल्लामा गठबन्धन भत्किएपनि अझै बैठक बसेर सहमति गर्ने प्रयास गरेका छन् । मंगलबार बसेको सत्तागठबन्धन दलको बैठकमा सहमति जुट्न नसकेपछि आज पुनः बस्नेगरी टुंगिएको थियो ।

    सिट बाँडफाँटको मापदण्ड तय गर्न बसेको पाँच दलीय सत्ता गठबन्धनद्वरा गठित कार्यदलको बैठकमा प्रदेशमा कुन दललाई कति सिट दिने भन्ने विषयमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बस्नेगरी बैठक सकिएको थियो ।

    हिजो बुटवलको तामनगरस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा बसेको पाँच दलीय कार्यदलको बैठकमा दलहरुले आआफ्नो दाबी पेश गरेको र त्यसमाथि प्रारम्भिक छलफल भएको नेपाली कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए ।

    प्रदेशका जिल्ला तथा स्थानीय तहमा कुन दलको अवस्था कस्तो छ भन्ने बिषयमा थप अध्ययन गरी आजको बैठकमा प्रस्तुत गर्नेगरी आजको बैठक सकिएको रानाले बताए ।

    कार्यदलले आज साँझसम्म सिट बाँडफाँडको मापदण्ड तय गर्ने जनाइएको छ ।

    बैठकमा नेपाली कांग्रेसबाट उपसभापति राजु खनाल, नेकपा माओवादी केन्द्रबाट तुलाराम घर्ती, नेकपा एकिकृत समाजवादीबाट मेटमणी चौधरी,जनता समाजवादी पार्टीबाट यज्ञ पोखरेल र राष्ट्रिय जनमोर्चाबाट चेतनाथ आचार्यको सहभागिता रहेको थियो ।

    ४ उपमहानगरसहित १०९ पालिका रहेको लुम्बिनीमा रुपन्देही, बाँके, रोल्पा, रुकुमपूर्व, प्युठानका विभिन्न पालिकामा गठबन्धन दलबीच भागवण्डाको विवाद भएपछि चुनावी गठबन्धन नहुने सहमति भइसकेको छ । चार उपमहानगरमध्ये बुटवल, नेपालगन्ज र तुल्सीपुर नेपाली कांग्रेस तथा घोराही माओवादीलाई भागबण्डा केन्द्रमा गरिएपछि ती पालिकामा पनि विवाद सुरु भएको छ ।

    नेपालगन्ज जसपाले दाबी गरिहेकाले उसले नपाएपछि बाँके जिल्लाभरमा नै गठबन्धन नगर्ने घोषणा गरेको छ भने घोराही माओवादीले पाएपछि त्यहाँको कांग्रेसले कुनै हालतमा माओवादीलाई जिताउन नसकिने मंगलबार नै पत्रकार सम्मेलन गरेर घोषणा गरेको छ ।

    १०९ वटा स्थानीय तहमध्ये नेपाली काँग्रेसले ७५ वटा स्थानीय तह आफूले पाउनुपर्ने दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले यसअघि आफूले जितका १९ वटा र दोश्रो स्थानमा रहेका पालिकाको नेतृत्व आफूले पाउनु पर्ने दाबी गरेको छ । जसका आधारमा उसले ३५ देखि ४० सिटमा दाबी गर्दै आएको छ ।

    जसपा र जनमोर्चाले पनि पहिला आफूले जितेका र दोश्रो स्थानमा रहेका पालिका दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादीले २२ वटा पालिका पाउनुपर्ने माग गरेको छ ।

  • अजम्बरले किन सच्याए भोजपुर टेम्केमैयुङको भागबण्डाको विवरण ?

    अजम्बरले किन सच्याए भोजपुर टेम्केमैयुङको भागबण्डाको विवरण ?

    भोजपुर । भोजपुरका गठबन्धन दलले स्थानीय तहको भागबन्डा टुंग्याएलगत्तै टेम्केमैयुङ गाउँपालिकाको सिट बाँडफाँटमा ठूला दल कांग्रेस र माओवादीको कुरा बाझियो ।

    बैठकमा टेम्केमैयुङ नेपाली कांग्रेसलाई अध्यक्ष र नेकपा एसलाई उपाध्यक्ष दिने निर्णय भएअनुसार माइन्यूट भएको थियो । तर, माओवादी नेता अजम्बर काङमाङले स्थानीय तहको सिट बाँडफाटमा भोजपुर गठबन्धनको निर्णय भनी फेसबुकमा सार्वजनिक गरेको सूचीमा यस गाउँपालिकामा नेकपा एसलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्ष उल्लेख थियो ।

    टेम्केमैयुङमा माओवादी र कांग्रेसको कुरा बाझिएपछि अहिले सामाजिक सञ्जालमा माइन्यूट उल्टाइएको भन्दै तीब्र टिक्काटिप्पणी सुरू भएको थियो । दबाबका बीच काङमाङले साँझ ५ बजेर २३ मिनेटमा आफ्नो पोष्ट सच्याएर अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एस लेखेका छन् ।

    नेपाल प्रेसको सम्पर्कमा आएका माओवादीका केही जिल्ला नेताले पनि टेम्केमैयुङ नेकपा एसलाई नै छुट्याइएको बताएका थिए । तर, यही कुराले गठगठबन्धनमा खटपट आउँन थालेपछि उनले स्टाटस एडिट गरेका छन् । टेम्केमैयुङ अजम्बरको गृहपालिका हो ।

    कांग्रेस भोजपुरका सभापति विनोद बान्तवाले कांग्रेसले नै अध्यक्ष लिने सहमति बनेको प्रष्ट्याए । ‘कहिलेकाँही बोल्दा त जिब्रो लट्पटिन्छ । अजम्बरजीले लेख्दा मिस्टेक लेख्नुभएछ । सच्याइसक्नुभो । हामीबीच कुनै समस्या छैन । गठबन्धन कार्यान्वयनका लागि सबै अडिग छौं ‘, बान्तवाले भने ।

    भागबण्डामा छलफल हुँदा टेम्केमैयुङमा माओवादीले उपप्रमुख आफ्नो बटमलाइन बनाएको थियो । २०७४ को चुनावमा पनि एमालेविरुद्ध गठबन्धन बनेको यस पालिकामा माओवादीले प्रमुख-उपप्रमुख उठाएको थिएन ।

    टेम्केमैयुङ घर भएका माओवादी नेता मोहन किराती मादेन’ ले गठबन्धनबीच भएको सहमतिको मसी सुक्न नपाउँदै माओवादी छाडेको घोषणा गरिसकेका छन् । उनी भूमिगतकालदेखि नै माओवादीभित्र जिल्लामा प्रभावशाली नेता मानिन्छन् ।

    ‘कुनै पनि पार्टीको गलत (नाजायज) ह्वीपलाई अक्षरस पालना गर्ने, सत्ता र पहुँचको पूजा गरी दलाल नेतृत्वको खुट्टा ढोग्ने प्रवृत्ति,आम शोषित पीडित जनतालाई लाई सदाबहार शोषण गर्ने दिर्घकालिन योजनाविरुद्धको विद्रोह हो । मेरो राजीनामा’, मादेनले फेसबुकमा लेखेका छन् ।

    यहाँ यसपटक रामसिंह राईलाई अध्यक्षमा उठाउने गरी जसपा पनि अन्तिम समयसम्म हटेको थिएन । २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी रामसिंह नै एमालेविरुद्ध अध्यक्षमा गठबन्धनबाट अघि सारिएको थियो । उपाध्यक्षमा कांग्रेसका सरोज बस्नेतलाई उठाइएको थियो । तर, एमालेले ध्रुव राई अध्यक्षसहित बहुमत वडा जित्यो ।

  • भ्रष्टाचार नगर्ने कसम खाँदै ललितपुरमा विवेकशीलका मेयर उम्मेदवार घोषणा

    भ्रष्टाचार नगर्ने कसम खाँदै ललितपुरमा विवेकशीलका मेयर उम्मेदवार घोषणा

    ललितपुर । विवेकशील–साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ ।

    मंगलबार पाटन कृष्ण मन्दिरसँगै भीमसेन स्थानमा आयोजित एक कार्यक्रममा श्रेष्ठको उम्मेदवारी घोषणा भएको हो । पार्टीको बागमती प्रदेशका संयोजकसमेत रहेका श्रेष्ठले उम्मेदवारी घोषणा पूर्व नवनिर्मित भीमसेनको मन्दिर दर्शन गरी भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका थिए ।

    ललितपुर महानगर र पाटनको ऐतिहासिक वैभवलाई कायम गर्दै विकास निर्माण गर्ने तथा शिक्षा स्वास्थ्य जस्ता आधारभूत सेवा सुविधालाई निःशुल्क र गुणस्तरीय बनाउने आफ्ना एजेन्डा रहेको श्रेष्ठले बताए ।

    सबै पार्टीहरूले ठुला–ठुला सपना देखाएर पूरा नगरेको स्मरण गर्दै श्रेष्ठले भने, ‘मैले गर्नै नसकिने ठुला–ठुला सपना देखाउँदिन । तर म जे सक्छु त्यो इमानदारीपूर्वक गर्छु । इमानदारी मेरो पहिलो सर्त हो ।’

    कार्यक्रममा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पाटनको सभ्यता र कलाको जगेर्ना हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

    उनले भने, ‘विश्वमा अमेरिका भन्ने देश पत्ता नलाग्दै र काठमाडौँ र भक्तपुरको सभ्यता सुरु नहुँदै पाटनको सभ्यता र वैभव थियो । हाम्रा पिता–पुर्खामा रहेको सांस्कृतिक र पुरातात्त्विक चेत अहिलेको पुस्ता र नेतृत्वमा नहुँदा पाटनको सभ्यतालाई उचित संरक्षण र प्रवर्द्धन गर्न सकिएको छैन ।’

  • निमा ग्याल्जेनको रिट खारेज, चुनाव लड्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने

    निमा ग्याल्जेनको रिट खारेज, चुनाव लड्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने

    काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ ।

    सर्वोच्च अदालतले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।

    न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मङ्गलवार यसअघिको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगले आचारसंहितामा उल्लेख गरेको प्रावधानलाई कार्यान्वयन गर्न बाटो खुलाएको हो ।

  • पोखराको मेयर छाड्नु मेरो बाध्यता हो : सभापति देउवा

    पोखराको मेयर छाड्नु मेरो बाध्यता हो : सभापति देउवा

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिनु आफ्नो बाध्यता भएको बताएका छन् ।

    नेपाली कांग्रेसको गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मासहित कास्की कांग्रेसका नेताहरूसँग देउवाले गठबन्धन जोगाउन समाजवादीलाई पोखराको मेयर छाड्नुपरेको बताएका हुन् ।

    सभापति देउवाले कास्की कांग्रेसका नेताहरूलाई छलफलका लागि आजै काठमाडौं बोलाएका थिए ।

    छलफलका क्रममा देउवाले ६ वटा महानगरमध्ये माओवादी, समाजवादी र जसपालाई एउटा–एउटा दिनै पर्ने बाध्यता रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।

    जवाफमा गण्डकी प्रदेशका कांग्रेस सभापति शुक्रराज शर्माले गठबन्धन भए पनि पोखरामा कांग्रेस बाहेकको पार्टीले मेयर जित्न नसक्ने दाबी गरेका थिए ।

    ‘हामीले पोखराको तथ्यसहित कांग्रेसले पाउँदा मात्रै पोखरा जितिने दाबी राखेका छौँ । पोखरामा कांग्रेसले मेयर नपाए दुर्घटना हुन्छ भनेका छौँ । हाम्रो कुरामा उहाँ गम्भीर देखिनुभयो’, शर्माले पत्रकारहरूसँग भने ।

    कास्की कांग्रेसका नेताहरूको कुरा सुनेपछि सभापति देउवाले पोखराको नेतृत्व कांग्रेससँगै राख्न गठबन्धनमा थप छलफल गर्ने बताएका छन् ।

  • बालुवाटारबाट बाहिरिँदै चिरिबाबुले भने – ललितपुरमा मेयर र उपमेयरसहित २० वडाध्यक्ष पाउँछौं

    बालुवाटारबाट बाहिरिँदै चिरिबाबुले भने – ललितपुरमा मेयर र उपमेयरसहित २० वडाध्यक्ष पाउँछौं

    काठमाडौं । ललितपुर महानगरपालिकामा गठबन्धन मान्न आफूहरू तयार रहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका उनले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पार्टी केन्द्रको निर्णय मान्न आफूहरू तयार रहेको बताएका हुन् ।

    ‘केन्द्रको निर्णय हो, मान्छौं, मान्न तयार छौं’, उनले भने, ‘अघिल्लो निर्वाचनमा मेयर–उपमेयर हामीले जितेका हाैं, हामी नै राख्छौं । वडाहरू मिलाएर लैजान्छौं ।’

    १८-१९ वडाध्यक्षमा पनि कांग्रेसको दाबी गरेको उनले जानकारी दिए । प्रमुख पदमा नेपाली कांग्रेसबाट आफ्नो टिकटको दाबी रहेको बताउँदै उनले आफूले टिकट पाउने सम्भावना पनि प्रवल रहेको बताए ।

    प्रधानमन्त्री भेट्न टिकटका लागि भने नआएको उनकाे भनाइ छ । सञ्चारकर्मीहरूको जिज्ञासामा उनले भने, ‘हैन, अर्कै मुद्दामा छलफल गर्न आएका हौं । टिकटका लागि होइन ।’