Category: स्थानीय निर्वाचन–२०७९

  • प्रदेश १ का यी १९ स्थानीय तह, जहाँ यसअघि सयभन्दा कम मतान्तरले हारजित भएको थियो

    प्रदेश १ का यी १९ स्थानीय तह, जहाँ यसअघि सयभन्दा कम मतान्तरले हारजित भएको थियो

    विराटनगर । वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि दलहरु उम्मेदवार छनोटमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध बनेको पाँच दलीय गठबन्धनसँगै एमालेलगायतका दलहरु आफ्ना उम्मेदवार छनोटमा व्यस्त भइरहँदा विगतको नजिताबारे समीक्षा पनि भइरहेको छ ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रदेश १ का कुल १ सय ३७ स्थानीय तहमध्ये नेकपा एमालेले ६९, नेपाली कांग्रेसले ५४, माओवादी केन्द्रले ९, फोरम लोकतान्त्रिक र राप्रपाले ३–३ र जसपाले २ पालिकामा जित हासिल गरेका थिए । जसमा १९ पालिका यस्ता छन्, एक सयभन्दा कम मतान्तरले हारजित भएको छ ।

    एक महानगर, दुई उपमहानगर ४५ नगरपालिका र ८९ गाउँपालिका रहेको प्रदेश १ स्थित झापाको कमल गाउँपालिकामा त दुई उम्मेदवारको समान मत आएपछि गोला प्रथाबाट प्रमुख छानिएको थियो । जहाँ नेकपा एमालेकी मेनुका काफ्ले र नेपाली कांग्रेसका हुकुमसिंह राईले बराबर ८ हजार २७५ मत ल्याएका थिए । तर गोलाप्रथामा काफ्ले निर्वाचित भएकी थिइन् ।

    भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्ष पनि एमालेले ८ मतान्तरले जितेको थियो । एमालेका विजय राई २ हजार ३५६ मतका साथ गाउँपालिका प्रमुख बन्दा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थामबहादुर राईले २ हजार ३४८ मत पाएका थिए ।

    त्यसैगरी संखुवासभाको पाँचखपन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विपिन राई ७९ मतअन्तरले विजयी भएका थिए । उनी एमालेका मानसिंह पोखरेलाई हराउँदै मेयरमा विजयी भएका थिए । मेयर विपिनले ३ हजार ४०९ मत प्राप्त गरेका थिए भने एमालेका पोखरेलले ३ हजार ३३० मत प्राप्त गरेका थिए ।

    समग्रमा नेकपा एमालेले ११, कांग्रेस र माओवादी केन्द्रले ४–४ वटा स्थानीय तहमा सयभन्दा कम मतान्तरले चुनाव जितेको थियो ।

    एमालेले झापाको कमला, भोजपुरको राप्रसाद राई, सोलुखुम्बुको सभापोखरी, नोचासल्यान र खुम्बु पासगलामु, उदयपुरको ताप्ली, ताप्लेजुङको मेवाखोला, ओखलढुंगाको मोलुङ र लिखु, मोरङको ग्रामथान र उदयपुरको त्रियुगा गाउँपालिकामा एक सयभन्दा कम मतअन्तरले जितेको थियो ।

    त्यसैगरी नेपाली कांग्रेसले संखुवासभाको पाँचखपन नगरपालिका, भोजपुरको साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिकामा सयभन्दा कम भोट अन्तरले जितेको थियो ।

    माओवादी केन्द्रले ओखलढुंगाको चिसखुंगढी गाउँपालिका, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका, खोटाङको साकेला गाउँपालिका र उदयपुरको सुनकोशी गाउँपालिकामा सयभन्दा कम भोट अन्तरले जितेको थियो ।

    त्यसैगरी प्रदेश १ का १४ जिल्लामध्येका १ सय ३७ स्थानीय तहमध्ये एमालेले जितेका ३५, काँग्रेसले जितेका २५, माओवादी केन्द्रले जितका ८ र राप्रपा नेपालले जितेका ३ स्थानीय तहमा विजयी उम्मेदवार र निकटतम प्रतिस्पर्धर्धी मत ५ सयभन्दा कम अन्तरमा छ ।

    सत्तारुढ पाँच दलीय गठबन्धन कायम भएर गएको अवस्थामा एमालेले जितेका ३५ भन्दा धेरै स्थानीय तहमा गठबन्धन घटकको बर्चस्व हुने देखिन्छ । किनकि ५०० भन्दा कम मतान्तर रहेका ती तहमा विपक्षमा रहेका दल मिल्नासाथ ठूलो मतान्तरले एमाले पछि पर्नेछ ।

    एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीका कारण पनि एमालेको मतमा क्षति पुगेको छ ।

    नेकपा एमालेले २०७४ को निर्वाचनमा प्रदेश १ का २८ नगरपालिकामा जित हासिल गर्दा ९ वटा र जितेका ४१ गाउँपालिकामध्ये २६ वटामा ५०० भन्दा कम मतान्तर थियो । त्यसमध्ये सुनसरीको धरान उपमहानगरपालिकामा उपनिर्वाचनबाट कांग्रेसले जितिसकेको छ ।

    संखुवासभाको खाँदबारी नगरपालिका, चैनपुर नगरपालिका, ताप्लेजुङको फुङ्लिङ नगरपालिका, तेह्रथुमको म्याङलुङ नगरपालिका, धनकुटाको धनकुटा नगरपालिका, मोरङको बेलबारी नगरपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, उदयपुरको कटारी नगरपालिका, त्रियुगा नगरपालिकामा ५ सयभन्दा कम मतले एमालेका उम्मेदवार विजयी भएका थिए ।

    यस्तै गाउँपालिकातर्फ ताप्लेजुङको फक्ताङलुङ्ग, मिकुवाखोला, याङवरक, पाँचथरको याङ्वरक, इलामको चुलाचुली, झापाको कमल, संखुवासभाको मकालु, सभापोखरी, तेह्रथुमको आठराई, फेदाक, मेन्छ्यायेम, भोजपुरको ट्याम्केमैयुम, पौवादुम्बा, रामप्रसाद राई, हतुवागढी, मोरङको ग्रामथान, सोलुखुमबुको खुम्बूपासाङ ल्हामु, नेचासल्यान, सोताङ, खोटाङको केपिलासगढी, खोटेहाङ, लामिडाँडा, ओखलढुंगाको मोलुङ, लिखु, उदयपुरको ताप्ली र रौतामाई गाउँपालिकामा पनि ५०० भन्दा कम मतान्तरले जितहार टुङ्गिएको थियो ।

    नेपाली काँग्रेसले प्रदेश १ का ३४ गाउँपालिकामा जित हासिल गर्दा १८ वटामा र १९ वटा नगरपालिकामा जित्दा ७ वटामा ५०० भन्दा कम मतान्तर थियो । काँग्रेसले जितेका गाउँपालिकामध्ये ताप्लेजुङको आठराई त्रिवेणी, मिरिङदेन, सिदिङ्वा, सिरिजङ्घा, पाँचथरको तुम्बेवा, फालेलुङ, इलामको फाकफोकथुम, रोङ, झापाको बाह्रदशी, संखुवासभाको भोटखोला, भोजपुरको साल्पासिलिछो, मोरङको केराबारी, धनपालथान, खोटाङको ऐसेलुखर्क, बराहपोखरी, ओखलढुंगाको चम्पादेवी, सुनकोसी, सुनसरीको देवानगंज गाउँपालिकामा ५०० भन्दा कम मतान्तरले जित हासिल भएको थियो ।

    यस्तै, झापाको गौरादह नगरपालिका, संखुवासभाको पाँचखपन नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, मोरङको लेटाङ नगरपालिका, सोलुखुम्बुको सोलुदूधकुण्ड गाउँपालिका, खोटाङको हलेसीतुवाचुङ नगरपालिकामा काँग्रेसले ५ सय भन्दा कम मतान्तरले काँग्रेस विजयी भएका छन् ।

  • काठमाडौं महानगरको उपमेयरमा नेकपा एसबाट ७ जनाको दाबी

    काठमाडौं महानगरको उपमेयरमा नेकपा एसबाट ७ जनाको दाबी

    काठमाडौं । सत्ता गठबन्धनको भागबन्डामा काठमाडौं महानगरको उपमेयर नेकपा एकीकृत समाजवादीलाई परेपछि उक्त पार्टीमा दाबेदार संख्या बढेको छ ।

    महानगरका ३२ मध्ये १० वडामा उक्त पार्टीको दावी छ । उपमेयर पनि पार्टीको भागमा परेपछि वडाध्यक्ष बनाउन तयार पारिएका व्यक्तिहरु पनि उपमेयरका लागि संघर्ष गर्दैछन् ।

    महानगरको उपमेयरमा सबभन्दा बलियो दावी छ, रामेश्वर श्रेष्ठको । उनी पार्टीको महानगर कमिटीका अध्यक्ष हुन् । कुनै बेला युथ फोर्सको उपत्यका इन्चार्जका रुपमा काम गरेका उनले अहिलेसम्म जनताबीचको चुनावी प्रतिस्पर्धा झेलेका छैनन् ।

    उपमेयरका लागि तीनजना बहालवाला वडाध्यक्षले दावी पेश गरेका छन् । तीमध्ये वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल तुलनात्मक रुपमा बलियो मानिएका छन् । पार्टीका सम्मानित नेता झलनाथ खनालको बसोबास रहेको डल्लु उनको वडा हो । उनी अहिले महानगरपालिकाका प्रवक्ता हुन् ।

    अर्का दावेदार हुन्, शुद्ध डङ्गोल । उनी ७ नम्बर वडा (चावहिल) का अध्यक्ष हुन् । उक्त वडा तालमेलमा पनि एकीकृत समाजवादीले पाउने करिब निश्चित छ । तर, उपमेयर पार्टीको भागमा आएपछि उनले वडाध्यक्षमा दोहोरिने सपना देख्न छोडेका छन् ।

    त्यस्तै, एक महिनाअघि एमाले परित्याग गरेका २५ नम्बरका वडाध्यक्ष बालकृष्ण श्रेष्ठ पाएदेखि उपमेयर नै राम्रो हुने भनी लविङमा जुटेका छन् । काठमाडौंको ठेट नेवार बस्ती मखनटोलका बासिन्दा श्रेष्ठ बाल दाइका नामले वडामा लोकप्रिय छन् ।

    उपमेयरकै दावेदारी प्रस्तुत गर्ने महिलाको संख्या पनि बढेको छ । चावहिल घर भएकी केन्द्रीय सदस्य सीता श्रेष्ठदेखि कामपा ३० की बासिन्दा एवं पार्टी केन्द्रीय सदस्य रन्जना मास्केसम्मको उपमेयरमा दावी छ ।

    पार्टीको जिल्ला कमिटी उपाध्यक्ष रहेकी ओमकुमारी श्रेष्ठ पनि उपमेयरको दावी गरिरहेकी छन् । पहिला ३१ को वडाध्यक्ष दावी गरेकी उनले मंगलबार महानगरको बाँडफाँटमा पार्टीले उपमेयर पाउने भएपछि वडाध्यक्षको माग छोडेकी छन् ।

  • हुम्लाकाे अदानचुली गाउँपालिका अध्यक्षमा एमालेबाट पत्रकार महतारासहित ७ जना सिफारिस

    हुम्लाकाे अदानचुली गाउँपालिका अध्यक्षमा एमालेबाट पत्रकार महतारासहित ७ जना सिफारिस

    सुर्खेत । नेकपा एमाले अदानचुली गाउँ कमिटीले वरिष्ठ पत्रकार नवराज महतारासहित ७ जनाको नाम गाउँपालिकाअध्यक्षमा सिफारिस गरेको छ ।

    हुम्लाकाे एमाले अदानचुली गाउँ कमिटीका अध्यक्ष बुध भण्डारीले आफूसँगै लामो समयदेखि पत्रकारिता र एमालेको राजनीतिमा सक्रिय महतारासहित सात जनाकाे नाम जिल्ला कमिटीमा सिफारिस गरिएकाे जानकारी दिए । जसअनुसार गाउँपालिकाकी वर्तमान उपाध्यक्ष सौमती रावल, प्रदेश कमिटी सदस्यद्वय विष्णु बुढा र धन्जे परियार, जिल्ला अध्यक्ष कलबहादुर हमाल र केन्द्रीय सल्लाहकार सदस्य रामबहादुर दानीको नामसमेत जिल्ला कमिटीमा सिफारिस गरिएकाे छ ।

    उम्मेदवारहरुकाे टुंगाे लगाउन अहिले सदरमुकाम सिमकोटमा कार्यदलको बैठक बसिरहेको छ ।

    एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका पत्रकार महताराले विसं २०६० को दशकदेखि पत्रकारिता सुरु गरेका थिए । महताराले नेपालको पहिलो सामुदायिक रेडियो सगरमाथा एफएमदेखि राष्टिय समाचार समिति (रासस), कान्तिपुर, अन्नपूर्ण पाेस्ट राष्टिय दैनिक पत्रिकामा काम गरिसकेका छन् । उनले २०६८ सालमा एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र हुम्लामार्फत सामूहिक लगानीमा ‘रेडियो कर्णाली आवाज’ एफएम रेडियो सञ्चालनमा ल्याएका थिए ।

    उनले निरक्षर महिलाहरुलाई साक्षर बनाउन जिल्ला शिक्षा कार्यालयको समन्वयमा खुला गृहिणी विद्यालय स्थापना गरी सञ्चालनमा समेत ल्याएका थिए । उक्त विद्यालयमा अध्ययन गरेका केही गृहिणी महिलाहरु अहिले राज्यका विभिन्न निकायमा पुग्न सफल भएका छन् । पत्रकार महताराले हुम्ला सदरमुकामबाट करिब ४४ कोस टाढा आफ्नै गाउँपालिकामा २०७३ सालमा रेडियो श्रीनगर स्थापना गरी सञ्चालनमा ल्याए ।

    गाउँपालिकाले सिफारिस गरेका ७ जनामध्ये महतारा बलियो उम्मेदवार रहेको एमालेका केही नेताहरु बताउँछन् । पत्रकारिता र कानुनमा स्नातकाेत्तर महतारा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य तथा कर्णाली अञ्चल इन्चार्ज रहिसकेका छन् । अहिले उनी प्रेस चौतारी नेपाल अनुसासन आयोगकाे केन्द्रीय अध्यक्ष हुन् ।

    बैशाख ३० को निवार्चनमा कर्णाली प्रदेशका ६ जना पत्रकार विभिन्न राजनीतिक दलबाट उम्मेदवारमा सिफारिस भैसकेका छन् ।

  • एमाले कर्णालीले मेरिट लिस्टका आधारमा टिकट बाँड्ने

    एमाले कर्णालीले मेरिट लिस्टका आधारमा टिकट बाँड्ने

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको टिकट निर्णय समितिको बैठक बिहीबार बस्दैछ । एमाले प्रदेश कमिटी सचिव कमल शाहीका अनुसार बिहीबार बस्ने बैठकले जिल्लाबाट पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टिकट वितरणको निर्णय गर्ने छ ।

    ‘करिब ७९ पालिकामध्ये ८० प्रतिशत पालिकाबाट उम्मेदवारहरुको नामावली हामीकहाँ आइसकेको छ । त्यसमध्ये २५ प्रतिशत सर्वसम्मत उम्मेदवार छनाेट भइसकेका छन् । केही पालिकामा खुला मतदानबाट उम्मेदवार चयन भएर आएका छन्’, उनले भने, ‘अधिकांश पालिकाबाट ध्वनि मतका आधारमा सिफारिस भएर आएका छन् । आजको बैठकमा छलफल गर्छौं र भोलिसम्म टिकट वितरण गर्छौं ।’

    सचिव शाहीले आन्तरिक मतदान भएका स्थानहरुका हकमा टिकट वितरणमा कुनै पनि समस्या नभएको बताए । ‘आम कार्यकर्ताले गरेको मतदानमा जो पहिलो भएको हो, त्यसैले टिकट पाउँछ । यसमा कुनै समस्या छैन अर्थात् मेरिट लिस्टकै आधारमा टिकट वितरण गर्छौं’, उनले भने, ‘त्यसरी आएका उम्मेदवारहरुमा पनि कुनै मुद्दा नभएको हुनुपर्छ ।’

  • सिद्धार्थनगरको मेयरमा राप्रपाबाट राणा सर्वसम्मत

    सिद्धार्थनगरको मेयरमा राप्रपाबाट राणा सर्वसम्मत

    रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सागर प्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् । उनी २०५४ सालमा सोही नगरपालिकामा मेयर बनेका थिए ।

    राप्रपा रुपन्देहीका अध्यक्षसमेत रहेका राणालाई सिद्धार्थनगर नगर समिति समितिले सर्वसम्मत रुपमा नगर प्रमुखको उम्मेदवारमा सिफारिस गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजयकुमार गुप्ताले बताए ।

    राप्रपा नेता दीपक बोहोराको निर्वाचन क्षेत्रमा रहेको यो नगरपालिकामा कांग्रेस र जसपाले अलग अलग उम्मेदवार खडा गरेका छन् । अघिल्लो पटक एमालेले जितेको यो पालिकामा एमाले, कांग्रेस, जसपा, राप्रपाको बलियो प्रतिस्पर्धा छ ।

  • एमाले सचिवालय बैठक बस्दै, महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल हुने

    एमाले सचिवालय बैठक बस्दै, महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल हुने

    काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । आज दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

    सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको छ । मूलतः बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने रिमालले बताए ।

    एमालेको चुनावी घोषणापत्रको सस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ ।

    एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते एकैपटक केन्द्रबाट र स्थानीय पालिकाहरुबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।

  • सुनकोशी कांग्रेस: मतदानबाट उम्मेदवार सिफारिस, कसले ल्याउला टिकट ?

    सुनकोशी कांग्रेस: मतदानबाट उम्मेदवार सिफारिस, कसले ल्याउला टिकट ?

    सिन्धुपाल्चोक । नेपाली कांग्रेस सुनकोशी गाउँपालिका कार्य समितिले स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार मतदानबाट छनोट गरेको छ । सर्वसम्मत हुन नसकेपछि मतदानबाट उमेदवार छनोट गरेर जिल्ला समितिमा पठाइने कांग्रेसले जानकारी दिएको छ ।

    मतदानबाट गाउँपालिका समितिका सभापतिसमेत रहेका रुपकाजी लामाले २७ र नेत्रबहादुर कार्कीले १७ मत ल्याएका थिए । अध्यक्षका लागि सातजनाको उमेदवारी परे पनि बढी मत पाउने लामा र कार्कीलाई जिल्ला समितिमा सिफारिस गर्ने कांग्रेसले जानकारी दिएको छ । त्यस्तै उपाध्यक्षमा सिफारिसका लागि पनि मतदान भएको छ ।

    उपाध्यक्षमा कान्छिमाया तामाङले २०, ज्ञानु तिमिल्सिनाले १८ र अम्बिका तिमिल्सिनाले १६ मत ल्याएका थिए । बढी मत ल्याउने तीनैजनाको नाम जिल्ला समितिमा सिफारिस गरिने नेपाली कांग्रेस सुनकोशी गाउँपालिका समितिका सभापति रुपकाजी लामाले जानकारी दिए ।

    गाउँपालिका समितिमा रहेका ४२ मध्ये ४१ जना सहभागी भएकोमा २९ जना मतदान प्रक्रियामा सहभागी भएका थिए । १२ जनाले निर्वाचन प्रक्रियामा सहभागी नहुने भन्दै निर्वाचन बहिष्कार गरेको सभापति लामाले जानकारी दिए ।

    लोकतान्त्रिक अभ्यासबाट गाउँपालिका समितिबाट उम्मेदवार छनोट भएको र यही नाम अब जिल्ला समितिमा पठाइने लामाले जानकारी दिए । गाउँ समितिले पठाएको नाम नै जिल्ला समितिले छनोट गर्नेमा आफूहरु विश्वस्त रहेको लामाले बताए ।

    गाउँपालिका अध्यक्षका लागि वर्तमान गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी(विनोद) आकांक्षी थिए । अब गाउँपालिका समितिबाट नै सिफारिस नभएपछि जिल्ला समितिले कसलाई उमेदवार बनाएर पठाउँछ भन्ने प्रश्न रोचक भएको एक नेताले बताए ।

  • घोराही उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट ‘डायमण्ड’

    घोराही उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट ‘डायमण्ड’

    रुपन्देही । कांग्रेस माओवादी तानातानमा परेको दाङको घोराही उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ उम्मेदवार बन्ने भएका छन् ।

    गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मा उम्मेदवार बन्ने पक्का भएको हो । गठबन्धनबाट देशभरका ११ उपमहानगरपालिकामध्ये दाङको घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि ‘डायमण्ड’ लाई पार्टीले एकल रुपमा उम्मेदवार भएको घोषणा गरेको छ ।

    गठबन्धनबाट घोराही मेयरमा शर्मालाई उठाउने निर्णय गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए । घोराही–१५ निवासी शर्माको जन्म देउखुरी हालको गढवा–३ धैरेनीमा २०३१ साउन ५ गते भएको थियो ।

    २०४३ सालमा गाउँको स्कूलमा कक्षा ७ मा पढ्दै गर्दा सहिद कृष्ण सेनले विद्यार्थी संगठनमा आबद्धता गराएपछि राजनीतिको सुभारम्भ गरेका हेमराजले २०४७ सालमा एसएलसी पास गरेर घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्न थालेपछि विद्यार्थी राजनीतिलाई पनि फराकिलो बनाउँदैं लगे ।

    घोराहीबाटै बीकम सम्मको अध्ययन सकाएर २०५३ सालमा माओवादीले संंचालन गरेको जनयुद्धमा पूर्णकालिन कार्यकर्ता भएर होमिएका थिए । यहाँ नेपाली कांग्रेसले दाबी गरेपनि नपाएपछि ठूलो असन्तुष्टि रहेको छ ।

    उपमेयर कांग्रेसको भागमा परेपनि कसलाई पठाउने टुंगो लागेको छैन । नेकपा एमालेले अहिलेका मेयर नरुलाल चौधरीलाई नै उठाउने तयारी गरेको छ । यद्यपि यसको औपचारिक टुंगो लागेको छैन ।

  • धनगढी उपमहानगरपालिका प्रमुखमा एमालेबाट पाँच जनाको नाम सिफारिस

    धनगढी उपमहानगरपालिका प्रमुखमा एमालेबाट पाँच जनाको नाम सिफारिस

    कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्रै धनगढी उपमहानगरपालिका प्रमुखमा नेकपा एमालेको तर्फबाट पाँच जनाको नाम सिफारिस भएको छ ।
    आज प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सम्भावित उम्मेदवारहरूको नाम पठाएको हो ।

    उपमहानगरपालिका प्रमुखको टिकट केन्द्रबाटै निर्धारण हुने भएको पाँच जनाको नाम केन्द्रमा पठाइएको प्रदेश कमिटीले जनाएको छ । केन्द्रमा सिफारिस हुनेमा युवा नेता कमल राना, रणबहादुर चन्द, गोमा अधिकारी, जीवन बम र दुर्गा जोशी रहेका छन् ।

    कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना समुदायका धनगढीमा २५ हजार बढी मतदाता रहेका छन् । युवाहरूमा पनि लोकप्रिय रहेका युवा नेता रानालाई धनगढीको नगरप्रमुखमा बलियो रूपमा हेरिएको छ । उनी बाहेक चन्द, अधिकारी, बम र जोशी पनि धनगढीमा लोकप्रिय नेताको छवि बनाएका छन् ।

    यसै गरी उपप्रमुखका लागि पनि तीन जनाको नाम केन्द्रमा पठाइएको हो । उपप्रमुखमा दीप्ति शाही, कन्दकला राना र जानकी चौधरीको पनि नाम सिफारिस गरिएको छ ।

    गठबन्धनका दलहरूबीच धनगढी प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले पाउने सहमती भइसकेको छ ।

  • मदिरा सेवन कार्डसम्बन्धी व्यवस्था पार्टीको घोषणापत्रबाट हटाउन नेपालको निर्देशन (भिडिओ)

    मदिरा सेवन कार्डसम्बन्धी व्यवस्था पार्टीको घोषणापत्रबाट हटाउन नेपालको निर्देशन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको घोषणापत्रबाट मदिरा पिउनेले लाइसेन्स लिनुपर्ने सम्बन्धी प्रसंग सच्याउने बताएका छन् । आज एक कार्यक्रममा बोल्दै उनले यसबाट पार्टीको भोट प्रभावित बन्न सक्ने संकेत गरे ।

    नेपालले भने, ‘भोट चाहिँदैन कि क्या हो साथीहरूलाई ? कुरा राम्रो हो, असल समाज बनाउन चाहेको हो । तर सबै काम समयमा गर्नुपर्छ । मध्यराति गीत गाएर हुँदैन ।’

    नेकपा एसले आफ्नो घोषणापत्रमा आफूले जितेका पालिकामा मदिरा सेवन कार्डको व्यवस्था गर्ने उल्लेख गरेको छ । मदिरा सेवन गर्ने व्यक्तिहरूले पालिकाबाट यस्तो कार्ड लिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

    नेपालले घोषणापत्रमा रहेको सो प्रावधानलाई मिलाएर प्रकाशित गर्न भनेको उल्लेख गरे ।

    ‘धेरै कुराहरू यसमा राम्रा छन् । कतिपय कुरा अझै थप्नुपर्ने हुन सक्छ । सकेसम्म धेरै पक्षलाई समेट्नुपर्छ ।’

    कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरे ।

    नेपालले थपे, ‘देशमा ओली नामको हिटलरको नयाँ अवतार देखा परेको छ । मलाई त नामै लिन मन लाग्दैन, लिइहालेछु । के गर्नु, नेगेटिभ व्यक्तिको चर्चा हुन्छ नि । कृष्णको मात्रै चर्चा हुँदैन, कंशको पनि नाम लिइन्छ । रामको मात्रै नाम लिइँदैन रावणको पनि लिइन्छ । दुर्गाको मात्रै नाम लिइँदैन, भष्मासुरको पनि लिइन्छ ।’

    ओली सत्तामा रहिरहेको भए अहिलेसम्म सबै भष्म भइसक्ने उनको दाबी थियो ।

    ‘त्यही भएर हामीले उनलाई सत्ताबाट भुईँमा झारेकै हो । पछारेकै हो । निकालेकै हो । उनको अहंकारलाई चुनौती दिएकै हो,’ नेपालले भने ।

  • निर्वाचन चिह्न अंकित सामाग्री प्रयोग गरे १ लाखसम्म जरिवाना गर्ने आयोगको चेतावनी

    निर्वाचन चिह्न अंकित सामाग्री प्रयोग गरे १ लाखसम्म जरिवाना गर्ने आयोगको चेतावनी

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको अवस्थामा राजनीतिक दलले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट लगायतका प्रचार सामाग्री प्रयोग गरिरहेको सूचना आएको भन्दै त्यस्तो कार्यलाई रोक्न आग्रह गरेको छ ।

    आयोगको अनुरोधलाई बेवास्ता गरी यदि कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७४ को दफा २३ बमोजिम आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था रहेको आयोगले जनाएको छ ।

    आयोगले साङ्केतिक सामाग्री लगायतका प्रचार सामाग्रीहरू उत्पादन तथा बिक्री वितरण भइराखेको भन्ने आयोगलाई सूचना प्राप्त भएकोले त्यस्ता सामाग्रीको उत्पादन तथा विक्रिवितरण गर्ने कार्य तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनै पनि उत्पादन नगर्न नगराउनका लागि परिपत्र गरी सहयोग गर्न आग्रह गरेको छ ।

  • सुदूरपश्चिममा माओवादी र कांग्रेसको छुट्टै छलफल, किन सहभागी भएन नेकपा एस ?

    सुदूरपश्चिममा माओवादी र कांग्रेसको छुट्टै छलफल, किन सहभागी भएन नेकपा एस ?

    कैलाली । आगामी स्थानीय तहको निर्वाचनको लागि पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले छुट्टै छलफल गरेका छन् ।

    धनगढी स्थित जलसा होटेलमा भएको छलफलमा उनीहरू सहमति नजिक पुगेको बताइएको छ ।

    मुलुकमा पाँच दलीय गठबन्धन भए पनि सुदूरपश्चिम प्रदेशमा तीन दलीय गठबन्धन हुने भएको छ । तर, तीन दल बिच पनि भागबन्डामा कुरा नमिले पनि आज नेपाली कांग्रेस र माओवादीले छुट्टै छलफल गरेका हुन् । उक्त छलफलमा एकीकृत समाजवादीका कुनै पनि प्रतिनिधि उपस्थित भएका थिएनन् ।

    नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीर बहादुर बलायरले तीनै दलले धेरै स्थानीय तहमा दाबी गरेपछि छुट्टा छुट्टै छलफल गर्नु परेको बताए।‘ सबैको दाबी धेरै छ । त्यसैले एक्ला एक्लै बस्नु परेको हो’ उनले नेपाल प्रेसलाई भने, ‘यस पछि हामी फेरी नेकपा एकीकृत समाजवादीसँग छलफल गर्छौ ।’

    दार्चुला जिल्लामा कांग्रेस र माओवादी तालमेल गरेर एकीकृत समाजवादीलाई कुनै पनि पालिका नदिएको भन्दै उनीहरू रुष्ट भएका छन् ।

    यस्तो अवस्थामा धनगढीमा प्रदेश स्तरीय छलफलमा समेत एकीकृत समाजवादी नआउँदा आशङ्का पैदा भएको छ । तर, कांग्रेस प्रदेश सभापति बलायरले भने सहमतिको प्रयास को लागि यस्तो गरिएको बताए ।

    ‘उहाँहरूलाई सँगै लिएर जाने कुरा मात्रै होइन उहाँहरूलाई विजयी गराउने कुरा पनि छ’ उनले भने , ‘अहिले यसरी छलफल गरे पनि अब उहाँहरू सहित पाँचै दलसँग छलफल सुरु गर्छौ । ’

    प्रदेश सभापति बलायरले यस पछि पाँच दलसँग छलफल गर्ने बताए पनि सुदूरपश्चिम प्रदेशमा चार दलीय तालमेल मात्रै हुने छ ।

    पाँच दल भित्रै रहेको जनता समाजवादी पार्टीले यस अघि नै सम्मानजनक भूमिका नभएको भन्दै गठबन्धन तोडिसकेको छ ।

    नेपाली कांग्रेस र माओवादी केन्द्र मात्रै बसेको बुधवारकै बैठकमा पनि ठोस सहमति भने भएको छैन । छलफल सकारात्मक भए पनि सहमति नभएको माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले जानकारी दिए ।

    ‘सहमति हामी सबै बसेर गर्छौ अहिले दुई पक्ष मात्रै बस्दा सहमति गर्ने कुरा भएन’ उनले भने ‘आज हामीले विवाद घटाउँदै लैजाने र दाबी घटाउँदै जाने विषयमा कुरा भएको छ’ ।

    उनका अनुसार काँग्रेससँगको बैठकमा सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीलाई पनि व्यवस्थापन गर्ने विषयमा छलफल भएको हो ।

    अझै लचक हुनु पर्नेमा कांग्रेसलाई माओवादीले आग्रह गरेको थियो ।

    सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले ५० स्थानीय तहमा दाबी गरेको छ । माओवादीले ३० स्थानीय तहमा दाबी गरेको छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा २० पालिका दाबी गरेको छ ।

    समाजवादीले सुदूरपश्चिम प्रदेशमा धेरै अपेक्षा गरेका कारण सहमति हुन नसकेको हो ।

    आज कांग्रेस र माओवादी बिच पनि एकीकृत समाजवादीलाई कसरी र कति स्थानीय तह दिएर व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

  • एमाले रुकुमले छान्यो छ पालिकाका उम्मेदवार

    एमाले रुकुमले छान्यो छ पालिकाका उम्मेदवार

    सुर्खेत । नेकपा एमाले रुकुम पश्चिमले जिल्लाका छ पालिकामा उम्मेदवार चयन गरेको छ ।

    चौरजहारी नगरपालिकामा प्रमुख टंक प्रसाद ओली, उपप्रमुख डण्डी कार्की, मुसिकोट नगर प्रमुखमा प्रमुख थल बहादुर ओली र उपप्रमुखमा चन्द्री महतारालाई चयन गरेको हो ।

    यस्तै आठबिसकोट नगरपालिकामा प्रमुख दिनेश चन्द, उपप्रमुख कृष्णा, त्रिवेणी गाउँपालिका अध्यक्षमा डिल्ली बहादुर ओली, उपाध्यक्ष मा धनकला विष्ट चयन भएका छन् ।

    त्यसै गरी सानो भेरी गाउँपालिकामा प्रकाश खड्का अध्यक्ष तथा उपाध्यक्षमा पवित्रा डाँगी र बाफिकोट गाउँपालिका अध्यक्षमा गणेश बहादुर केसी र उपाध्यक्षमा देउमी पौडेल भएका छन् ।

  • एमाले चौरजहारीले छान्यो मेयर र उपमेयरका उम्मेदवार

    एमाले चौरजहारीले छान्यो मेयर र उपमेयरका उम्मेदवार

    सुर्खेत । नेकपा एमालेले चौरजहारी नगरमा प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेका छ ।

    चौरजहारी नगर कमिटी रुकुम पश्चिमले आगामी स्थानीय तहको निर्वाचनका लागि प्रमुखमा टंक प्रसाद ओलीलाई उम्मेदवार चयन गरेको हो ।

    यस्तै उपप्रमुखमा डन्डी कार्कीलाई चयन गरेको प्रेस चौतारी प्रदेश कमिटी सदस्य ओम प्रकाश आचार्यले बताए ।

  • गठबन्धनको निर्णय : माओवादी र एकीकृत समाजवादीको हैसियत बराबर !

    गठबन्धनको निर्णय : माओवादी र एकीकृत समाजवादीको हैसियत बराबर !

    काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगभग बराबर सिट पाएका छन् ।

    सत्ता गठबन्धनको आजको बैठकले महानगर र उपमहानगरपालिकामा तालमेलबारे निर्णय गरेको छ ।

    उक्त निर्णय अनुसार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले महानगरमा समान एक/एक महानगर प्रमुख पाएका छन् ।

    माओवादीले भरतपुरमा मेयर पाउँदा एकीकृत समाजवादीले पोखराको मेयरको उम्मेदवारी हात पारेको छ ।

    त्यस्तै दुवै दलले महानगरमा उपप्रमुख एक/एक स्थानमा पाउने सहमति गठबन्धनमा भएको छ ।

    काठमाडौंमा एकीकृत समाजवादीले उपप्रमुख पाउँदा ललितपुरमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ ।

    त्यस्तै उपमहानगरपालिकामा माओवादीले दुई स्थानमा मेयर हात पारेको छ । घोराही र जितपुर सिमरामा माओवादीले मेयर पाउँदा एकीकृत समाजवादीले हेटौँडा उपमहानगरको प्रमुख पाएको छ । उपमहानगरमा माओवादीले एक स्थान बढी पाएको छ ।

    त्यस्तै उपमहानगरको उपप्रमुखमा माओवादीले दुई सिट हात पार्दा एकीकृत समाजवादीले तीन स्थान हात पारेको छ ।

    माओवादीले धरान र घोराहीमा उपप्रमुख पाएको छ भने इटहरी, बुटवल र तुलसीपुरमा एकीकृत समाजवादीले उपप्रमुख हात पारेको छ ।

    प्रतिनिधि सभामा माओवादी केन्द्रका ५३ सांसद रहँदा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादीमा) २३ जना सांसद रहेका छन् ।

  • बझाङमा गठबन्धन : कांग्रेसलाई सात, समाजवादीलाई तीन र माओवादीलाई दुई (निर्णयसहित)

    बझाङमा गठबन्धन : कांग्रेसलाई सात, समाजवादीलाई तीन र माओवादीलाई दुई (निर्णयसहित)

    कैलाली । आगामी स्थानीय तहको निर्वाचनका लागि बझाङमा गठबन्धनका दलहरू सहमति जुटेको छ ।

    १२ स्थानीय तह रहेको बझाङमा नेपाली कांग्रेसले सात स्थानीय तह, एकीकृत समाजवादीले तीन र माओवादी केन्द्रले दुई स्थानीय तह पाउने सहमति भएको छ ।

    दुई नगरपालिका रहेको बझाङमा दुवै नगरपालिका नेपाली कांग्रेसलाई दिने सहमति भएको छ ।

    १२ स्थानीय तहमा रहेका ९४ वडामै गठबन्धन गर्ने सहमति भएको हो ।

    नेपाली कांग्रेसले जितेका ३६, माओवादी केन्द्रले जितेका ९ र समाजवादी  रहेका ६ वडा उनीहरूलाई नै दिने सहमति भएको छ ।

    बाँकी रहेको ४३ वडा मध्ये ५० प्रतिशत नेपाली कांग्रेसले पाउने र त्यसपछि बाँकी रहेको वडाहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले आधा आधा बाँड्ने समेत सहमति भएको छ ।

    यस्तो छ १२ स्थानीय तहमा गरिएको भागबन्डा

  • जसपालाई जनकपुरधामको मेयर दिएपछि कांग्रेसका नेताहरू असन्तुष्ट

    जसपालाई जनकपुरधामको मेयर दिएपछि कांग्रेसका नेताहरू असन्तुष्ट

    जनकपुरधाम । चुनावी तालमेलबारे सत्ता गठबन्धनले गरेको सम्झौता अनुसार जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि नेपाली कांग्रेसका स्थानीय नेताहरू असन्तुष्ट बनेका छन् ।

    सत्ता गठबन्धनले गरेको सम्झौता सार्वजनिक भए लगत्तै नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका कमिटीको बैठक बसेको छ ।

    जसपालाई मेयर दिएको विषयमा आवश्यक निर्णय लिन अहिले बैठक राखेको र अहिले छलफल चलिरहेको कांग्रेस नगर उपसभापति राकेश विक्रम साहले जानकारी दिए ।

    उनले भने, ‘विगतको मत परिणाम हिसाबले पनि कांग्रेस मेयर पाउनुपर्थ्यो । तर जसपालाई दिइएको छ । यो निर्णयमा हाम्रो असन्तुष्टि छ । तर निर्णय मान्ने कि नमान्ने त्यो निर्णय अहिले बसेको बैठकले गर्छ । अहिले ठ्याक्कै केही भन्न सक्दिनँ ।’

    सत्ता गठबन्धनले गरेको महानगरपालिका र उपमहानगरपालिका बाँडफाँडको सम्झौता पत्रमा जनकपुरधामको उपमेयर कुन दलले पाएको कुरा उल्लेख छैन ।

  • गठबन्धनमा समझदारी- सहमति नभए मित्रवत् प्रतिस्पर्धा

    गठबन्धनमा समझदारी- सहमति नभए मित्रवत् प्रतिस्पर्धा

    काठमाडौं । सत्तारुढ गठबन्धनले सहमति बन्न नसकेका स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गर्न सकिने निर्णय गरेको छ ।

    गठबन्धनको आजको बैठकले महानगर र उपमहानगरको बाँडफाँट टुंग्याउँदै देशभरका अन्य पालिकाहरुमा पनि सीट बाँडफाँट र उम्मेदवार टुंगो लगाउन मातहतका समितिलाई निर्देशन समेत दिएको छ ।

    ‘पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरूको चयन गर्न निर्देशन गरिन्छ । साथै, सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्न सकिने समेत समझदारी भयो’, गठबन्धनका शीर्ष नेताहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • कम्युनिस्टको डरले कम्युनिस्टसँगै तालमेल गर्नुपर्ने अवस्था अन्त्य गरौँ : महामन्त्री थापा

    कम्युनिस्टको डरले कम्युनिस्टसँगै तालमेल गर्नुपर्ने अवस्था अन्त्य गरौँ : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक्लै चुनाव लड्न र जित्न सक्ने कांग्रेस बनाउन अझै संघर्ष गर्नुपर्ने बताएका छन् ।

    नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ भन्ने मत पार्टीभित्र अल्पमतमा परे पनि ढिलोचाँडो एक्लै निर्वाचन लडेर जित् नसक्ने कांग्रेस बनाइछाड्ने बताए ।

    ‘कांग्रेसको मत ३०–३२ लाख हो । त्यो मत नबढाउने हो भने हामी कुनै न कुनै कम्युनिस्ट पार्टीसँग डराइरहनुपर्छ । अहिले कम्युनिस्टहरू मिल्ने डरले गठबन्धन गरेका छौँ, भोलि जितेर आएपछि उनीहरूले अर्को डर देखाउँछन् । त्यसैले अब डराउने होइन, एक्लै चुनाव जित्ने कांग्रेस बनाउनुपर्छ’, महामन्त्री थापाले भने ।

    ढिलोचाँडो नेपालका कम्युनिस्टहरू एक हुने भन्दै महामन्त्री थापाले नेपालका सबै कम्युनिस्टहरू एकै भए पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउने हाम्रो लक्ष्य हो ।

    ‘हाम्रो मत कहिले पार्टीकै मत बन्छ । कहिले हाम्रो मत अल्पमतमा पर्न पनि सक्छ । अहिले अल्पमतमा परे पनि कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने पार्टी बनाउने उद्देश्यमा हामी विचलित छैनौँ’, थापाले भने ।

    नेपालका कम्युनिस्टहरू रातारात एकता वा रातारात विभाजन गर्न माहिर रहेको भन्दै थापाले चुनावपछि पनि गठबन्धनको निरन्तरता निश्चित नहुने बताए ।

    ‘अहिले हामी मिल्दिम भनेर डर देखाएका छन् । जितेर आएपछि हामीलाई चाहियो भनेर डर देखाउँछन्’, थापाले भने ।

    कांग्रेसको केन्द्रीय समितिले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार स्थानीय समितिलाई दिए पनि त्यो कार्यान्वयन हुन नसकेको थापाको भनाई छ ।

    ‘के हामीले केन्द्रीय समितिको निर्णय कार्यान्वयन गरेका छौँ त ? चुनावी तालमेलबारे स्थानीय समितिले नै अन्तिम निर्णय गर्नुपर्ने हो तर अहिले के भइरहेको छ ? यो सबै विषयको उपयुक्त समयमा समीक्षा गर्नुपर्छ’, थापाले भने ।

    युवा विद्यार्थीहरूलाई चुनावका लागि तत्कालै आ–आफ्नो गृह जिल्ला जान निर्देशन दिदैं महामन्त्री थापाले पार्टीले निर्णय नगर्दासम्म लड्नुपर्ने र निर्णय भइसकेपछि मान्नुपर्ने बताए ।

  • हेटौँडाको मेयर नेकपा एसलाई दिए एक्लै चुनाव लड्ने कांग्रेस नगर समितिको चेतावनी

    हेटौँडाको मेयर नेकपा एसलाई दिए एक्लै चुनाव लड्ने कांग्रेस नगर समितिको चेतावनी

    काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिए एक्लै चुनाव लड्ने चेतावनी स्थानीय कांग्रेसले दिएको छ ।

    हेटौँडाको मेयर नेकपा एसलाई दिने केन्द्रीय नेतृत्वमा सहमति भएपछि कांग्रेस हेटौँडा उपमहानगर समितिले विरोध जनाएको हो ।

    बुधवार पार्टी कार्यालयमा हेटौँडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनी दिएको हो ।

    नगर सभापति उत्सव इटेनीले सत्तारुढ गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको र आफुहरुसँग केन्द्रले छलफल नै नगरेको बताए ।

    ‘केन्द्रको निर्णय परिवर्तन नभए नगर समितिका पदाधिकारी तथा नगरका सबै वडा सभापतिहरूको निर्णयअनुसार सत्ता साझेदार गठबन्धनका दलहरूसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा कांग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुनेछ,’ उनले भने, ‘गठबन्धन दलहरूबिच भागबण्डाको विषयमा छलफल चलिरहँदा पार्टीको केन्द्रीय कार्यसमितिले हेटौँडाको बस्तुगत अवस्थाबारे जानकारी नलिई कार्यकर्ताको मर्म र भावनालाई बेवास्ता गर्दै सहमतिप्रति हाम्रो पूर्ण असमर्थ छ ।

    कांग्रेस कार्यकर्ताले हेटौँडा अन्य दललाई दिइए स्वीकार नहुने भन्दै पार्टी कार्यालय घेराउ समेत गरेका छन् ।