Category: स्थानीय निर्वाचन–२०७९

  • सल्यानको बागचौर नगरपालिमा एमालेबाट मेयर र उपमेयर सर्वसम्मत

    सल्यानको बागचौर नगरपालिमा एमालेबाट मेयर र उपमेयर सर्वसम्मत

    सल्यान । नेकपा एमाले बागचौर नगरपालिका सल्यानले मेयर र उपमेयरका लागि सर्वसम्मत उम्मेदवार टुंग्याएको छ।

    आउँदो स्थानीय तहको निर्वाचनका लागि एमाले बागचौर नगर कमिटीको बैठकले मेयरमा तिलक मल्ल र उपमेयरमा भक्तकुमारी बीएमलाई उम्मेदवार बनाउने निर्णय गरि सिफारिस गरेको हो।

    बैठकमा पार्टीले मल्ल र बीएमको नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको जिल्ला सचिवालय सदस्य दीपेन्द्रप्रकाश डाँगीले जानकारी दिए।

    मल्ल एमाले कर्णाली प्रदेश कमिटी सदस्य हुन् भने बीएम नगर कमिटी सदस्य हुन्।

  • स्थानीय चुनाव लड्न विराटनगरमा पाँच वडाध्यक्षसहित १३ जनप्रतिनिधिको एकसाथ राजीनामा

    स्थानीय चुनाव लड्न विराटनगरमा पाँच वडाध्यक्षसहित १३ जनप्रतिनिधिको एकसाथ राजीनामा

    विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका पाँच वडा अध्यक्षसहित १३ जना जनप्रतिनिधिले बिहीबार एकैसाथ आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १० का वडाध्यक्ष माधवराज वाग्ले, १४ का वडाध्यक्ष वलदेव यादव, १९ का वडाध्यक्ष बद्रीनारायण सरदारले राजीनामा दिएका हुन् । त्यसैगरी सदस्यहरुमा विजय दाहाल, केवलराय अमात, राधादेवी पासवान, राजनन्द महतो, नागेश्वर राजवंशी, सम्झना भुजेल, विनादेवी सरदार, जितेन्द्र खवास, विनादेवी मण्डल धानुकले पनि राजीनामा दिएका छन् ।

    विराटनगर महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरु सहित ९७ जनप्रतिनिधि छन् । राजीनामा दिएका १४ जनप्रतिनिधिमध्ये विराटनगर ५ का वडाध्यक्ष मिनकुमार आचार्यबाहेक १३ जना जनप्रतिनिधिहरुको राजीनामा सनाखत भइसकेको छ ।

    महानगरपालिकामा बेरुजु देखिएको र बेरुजु फस्र्यौट नभएका कारण आचार्यले बुझाएको राजीनामा बिहीबार सनाखत हुन सकेन । विकास निर्माणको कार्यमा जनप्रतिनिधिहरुले लिएको पेश्की फरफारक नहुँदा महालेखा परीक्षणको प्रतिवेदनमै त्यस्ता बेरुजुहरु अधिक रहेको भन्दै असुल गर्न निर्देशन दिइएको थियो ।

    विराटनगर ५ का वडाध्यक्ष आचार्यसहित वडा सदस्य केवल राय अमात, दलित महिला सदस्य राधादेवी पासवान र महिला वडासदस्य बिनादेवी धानुकले राजिनामा दिएका थिए । वडाध्यक्ष आचार्यबाहेक सबैको राजिनामा सनाखत भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।

    गत मंगलबार सर्वोच्च अदालतले बहालवाला जनप्रतिनिधिले चुनावमा उम्मेदवारी दिन राजीनामा गर्नै पर्ने आदेश दिएको थियो ।

  • महागठबन्धनको केन्द्रीय भागबण्डा: प्रतिशतमा हेर्दा कसको हैसियत कति ?

    महागठबन्धनको केन्द्रीय भागबण्डा: प्रतिशतमा हेर्दा कसको हैसियत कति ?

    काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनताका अहिलेजस्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार थियो । त्यतिबेला माओवादी केन्द्रले कांग्रेससँग देशैभर निर्वाचनमा तालमेल चाहेको थियो ।

    माओवादीको त्यो चाहनामा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक थिए । तर, धेरै प्रयास हुँदा पनि सम्भव भएन् । अन्ततः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी रेणु दाहालका लागि भरतपुर महानगरमा मेयर लिएर चित्त बुझाए ।

    भरतपुर, पोखरा, बुटवल, हेटौंडा लगायत देशभर करीव एक सयको संख्यामा स्थानीय तहमा तालमेल गर्दा पनि अधिकांश स्थानमा एमाले बिजयी हुनु र जितेका ठाउँमा पनि माओवादीका उम्मेदवारमात्र हार्नुले प्रचण्डलाई एमालेतिर नजिक्याएको थियो

    २०७४ मा स्थानीय तह निर्वाचन मात्रै थिएन् । मंसिरमा ऐतिहासिक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि थियो । त्यसमा माओवादी केन्द्रलाई कसै न कसैको सहारा अत्यावश्यक थियो । नत्र गिर्दा साखकाबीचमा निर्वाचनमा आफ्नो हैसियत जोगाउन नै उसलाई ठूलो चुनौती थियो ।

    यता सत्तासाझेदार दल कांग्रेससँगको चुनावी तालमेल फलदायी नहुने स्थानीय तह निर्वाचनले प्रमाणित गरिसकेको थियो । त्यो देखेपछि झस्किएका अध्यक्ष प्रचण्डले सत्तासाझेदार कांग्रेसलाई सुँइकोसम्म नदिई ‘छापामार’ शैलीमा प्रतिपक्षी दल नेकपा एमालेसँग निर्वाचन तालमेल गर्नपुगे ।

    सहमती निर्वाचन तालमेलमा मात्र सिमित थिएन्, त्यसबाटमात्रै एमाले ‘भोट’ माओवादीसँग आकर्षण नहुने देखेका अध्यक्ष प्रचण्डले ‘पार्टी एकता’सम्मको एजेण्डामा एमालेलाई सहमत गराएका थिए ।

    त्यो सहमति ६०-४० को थियो । अर्थात तालमेल पछि एमाले ६० प्रतिशत स्थानमा उम्मेदवारी दिने र माओवादी केन्द्रले ४० प्रतिशत स्थानमा उम्मेदवारी दिनेगरी भागबण्डा गरिएको थियो ।

    एमालेसँग ४० प्रतिशत स्थान लिएर चुनावी गठबन्धन गरेको त्यहीँ माओवादी केन्द्र यसपटकको स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन दलबीचको ‘भागबण्डा’मा १७ प्रतिशतमा खुम्चिएको छ । कांग्रेसले भने ५९ प्रतिशत हिस्सामा कब्जा गरेको छ । यद्यपी यो प्रतिशत केन्द्रबाट निर्णय हुने महानगरपालिका र उपमहानगरपालिकाको हकमा मात्र हो । अन्य नगर र गाउँपालिकामा कांग्रेसका स्थानीय कमिटीले त्यति पनि दिन मानेका छैनन् ।

    भागबण्डाले यस्तो बन्यो समिकरण

    वैशाख ६ गते कांग्रेसनिकट नेविसंघको स्थापना दिवसका अवसरमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले गठबन्धन दलले ‘सानो दल हामी पनि हुन पाउँ, भनेका छन् । त्यत्तिपनि हुन नदिने ?’ भनेर कांग्रेस नेता कार्यकर्तालाई प्रश्न सोधेका थिए ।

    उनले भनेका थिए, ‘उनीहरुले पनि केही पाउनका लागि गठबन्धन गर्‍या हो । ठिक छ कांग्रेस पार्टी ठूलो पार्टी छ, ठूलै पार्टी होस् । सानो पाार्टी हामीपनि हुन पाउँ भन्या छन् । त्यो त अधिकारै हो नि । त्यति पनि नपाएर हुन्छ ?’

    सभापति देउवाले भनेजस्तै गठबन्धन दलहरूले बुधबार महानगर र उपमहानगरको सिट बाँडफाँटमा देखिएको छ । सो समीकरणले कांग्रेसलाई बलियो दलका रूपमा स्वीकार गर्दै बाँकी दलहरूले आफ्नो धरातल आत्मसात् गरेको देखिएको छ ।

    महानगरपालिकाको प्रमुख पदमा ६ महानगरमध्ये कांग्रेस एक्लैको पोल्टामा ५० प्रतिशत अर्थात ३ महानगर परेका छन् । जसमा काठमाडौं, बिराटनगर र ललितपुर छन् । विराटनगर र ललितपुर २०७४ कै स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेका तह हुन भने काठमाडौं एमालेले जितेको थियो ।

    बाँकी तीनमा माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको भागमा पोखरा र वीरगञ्ज जनता समाजवादी पार्टीको भागमा पारिएको छ । जसको दर झण्डै १६ दशमलव ६६ प्रतिशत हुनआउछ ।

    यीमध्ये भरतपुरमा अघिल्लो स्थानीय तहमा कांग्रेसकै सहयोगमा माओवादी केन्द्रले जित्दा, वीरगञ्जमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो । त्यो पार्टी अहिलेको जसपामा परिणत भएको छ । यद्यपी मेयर विजय सरावगी केही समयअघि मात्रै एमालेमा प्रवेश गरेका छन् । पोखरामा एमाले नै जितेको थियो ।

    ११ उपमहानगरको प्रमुख पदमा कांग्रेस एक्लैलाई ६३ दशमलव ६३ प्रतिशत हिस्सा लगाइएको छ । अर्थात ७ पालिका परेका छन् । जसमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी छन् । यीमध्ये धरानमा उप निर्वाचनबाट तथा कलैया र धनगढी पहिल्यै कांग्रेसले जितेका उपमहानगर हुन् । इटहरी, बुटवल र तुलसीपुरमा एमाले र नेपालगञ्जमा राप्रपाले जितेको थियो ।

    यस्तै माओवादी केन्द्रले जीतपुर सिमरा र घोराहीको प्रमुख पाएको छ । जसको दर १८ दशमलव १८ प्रतिशत हुन आउछ । दुबै पालिका अघिल्लो पटक एमाले नै जितेको थियो ।

    नेकपा एसले हेटौडा पाएको छ, भने जसपाले जनकपुर उपमहानगर पाएका छन् । जसको दर ९-९ प्रतिशत मात्रै हुनआउछ ।

    महानगर र उपमहानगरको प्रमुख पदका बाँडफाँट एकमुष्ट हेर्दा कांग्रेसले १७ पालिकाको प्रमुख पदको भागबण्डामा कांग्रेसले एक्लै १० वटा प्रमुख पाएको छ । जुन ५८ दशमलव ८२ प्रतिशत हुन आउछ ।

    यस्तै माओवादी केन्द्रले १७ दशमलव ६४ प्रतिशत अर्थात ३ वटा प्रमुख पाएको छ भने, नेकपा एस र जसपाले २-२ प्रमुख अर्थात ११ दशमलव ७६ प्रतिशत मात्रै पाएका छन् ।

    उपप्रमुखको भागबण्डामा महानगरहरूमा कांग्रेसले प्रमुख नपाएका तीनवटै महानगरमा उपप्रमुख पाएको छ भने, उपमहानगरमा प्रमुख नपाएका बाँकी चारवटैमा उपप्रमुख लिएको छ । अर्थात १७ मध्ये ७ उपप्रमुख पाउँदा ४१ प्रतिशत हिस्सा कांग्रेसले ओगटेको छ ।

    यस्तै नेकपा (एस)ले ४ वटा उपप्रमुख पाएको छ । जसमा काठमाडौं महानगरपालिका, इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिका छन् । यसको दर २३ दशमलव ५२ प्रतिशत हुन आउछ ।

    माओवादी केन्द्र र जसपाले ३-३ पालिकामा उपप्रमुख पाएका छन् । जसको दर १७ दशमलव ६४ प्रतिशत हुन आउछ । माओवादी केद्रले ललितपुर महानगरपालिकाका साथै धरान र काठमाडौं उपमहानगरपालिकाको उपप्रमुख पाएको छ भने, जसपाले विराटनगर महानगरपालिकाका साथै कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुख पाएको छ ।

    यो समिकरण अनुसार कूल ३४ पदको बाँडफाँटमा कांग्रेसको १७ पद अर्थात ५० प्रतिशत, माआवादी केन्द्र र नेकपा एसको ६-६ पद अर्थात समान १७ दशमलव ६४ प्रतिशत र जसपाको ५ पद अर्थात १४ दशमलव ७ प्रतिशत हिस्सा लागेको छ ।

    निर्वाचन जिते सबै फाइदामा

    भागबण्डा भएका सबै ठाउँमा जीत हासिल गरेभने अघिल्लो निर्वाचनको तूलनामा सबै दलले आफ्नो स्थान सुधार गर्नेछन् । कांग्रेले अघिल्लो पटकको निर्वाचनमा ६ महानगरपालिकामध्ये २ वटामात्रै प्रमुख जितेको थियो । गठबन्धन सफल भए काठमाडौं थप हुनेछ । महानगरको उपप्रमुखमा भने कांग्रेसलाई दुई पदमा क्षती पुग्ने देखिन्छ । यसपटक जम्मा ३ उपप्रमुख मात्रै पाएको कांग्रेसले अघिल्लो पटक काठमाडौं, वीरगञ्ज, ललितपुर, विराटनगर र भरतपुरमा उपप्रमुख जितेको थियो । यसपटक मेयर लड्ने भएकाले विराटनगर, काठमाडौं र ललितपुरको छाडेको छ ।

    यद्यपी उपमहानगरमा भने कांग्रेसले निकै फाइदा पाउने भएको छ । अघिल्लो पटक तीनवटा मात्र प्रमुख जितेकामा अहिले ७ वटा पाएको छ । उपप्रमुख भने यसअघि पनि कांग्रेसले ४ वटा जितेकामा अहिले पनि ४ वटै पाएको छ ।

    १७ महानगर र उपमहानगरका ३४ प्रमुख-उपप्रमुख पदमध्ये समग्रमा कांग्रेसले २०७४ को निर्वाचनमा १४ पद जितेको थियो । अहिले पाएको सिट सबै जिते कांग्रेसले विगतभन्दा ३ पद बढी प्राप्त गर्नेछ ।

    यता माओवादी केन्द्रले अघिल्लो पटक ३४ पदमध्ये कांग्रेसको सहयोगमा जम्मा एउटा भरतपुर महानगरपालिकाको प्रमुख मात्रै जितेको थियो । अहिले पाएका सबै जिते ५ पद फाइदा हुने छ । एमाले विभाजन भएर आउँदा नेकपा एससँग हेटौडाको उपप्रमुख मात्र आएकी थिइन् । उसलाई पनि अहिले पाएका सबै जिते ५ पद फाइदा हुने छ ।

    जसपाले यसअघि अहिले छाडेपनि वीरगञ्जको र जनकपुरको प्रमुख गरी दुई पद थिए । अहिले सबै जिते ३ पद फाइदा हुने छ ।

    यसरी तालमेल सतप्रतिशत सफल भए गत निर्वाचनभन्दा सबै दललाई फाइदा पुग्ने देखिएका कारण गठबन्धन दलका शीर्ष नेताहरूले तालमेलबाट चित्त बुझाएका छन् ।

  • एमाले वैठक: स्थानीयस्तरमा कांग्रेस र माओवादीसँग पनि तालमेल हुन सक्ने

    एमाले वैठक: स्थानीयस्तरमा कांग्रेस र माओवादीसँग पनि तालमेल हुन सक्ने

    काठमाडौं । नेकपा एमालेले स्थानीय तहको चुनावमा सत्तारुढ गठवन्धनभित्रका दलहरुसँग पनि तालमेल हुन सक्ने जनाएको छ । आज भएको केन्द्रीय सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले महानगर र उपमहानगरमा कांग्रेस र माओवादीसँग पनि सहकार्यको ढोका खुला रहेको बताए ।

    उनले भने, ‘सकारात्मक शक्ति र पार्टीहरुसँग महानगर र उपमहानगरमा पनि हाम्रो सहकार्य हुन्छ । १२ गतेसम्ममा सबै टुंगो लगाउँछौं ।’

    गुरुङका अनुसार एमालेले समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि सहकार्य गर्न सक्ने छ ।

    आज बसेको बैठकमा सात वटै प्रदेश कमिटीले विभिन्न महानगर र उपमहानगरका लागि गरेका उम्मेदवारी सिफारिसमाथि छलफल भएको थियो । छलफलले कुनै पनि ठोस निर्णय लिएको छैन । पर्सी १० गते बस्ने बैठकले पार्टीको तर्फबाट ६ महानगर र ११ वटा उपमहानगरका प्रमुख तथा उपप्रमुखको उम्मेदवारी फाइनल गर्ने गुरुङले जानकारी दिए ।

    वीरगञ्ज, चितवन र ललितपुर महानगरबाट भने १-१ जनाको मात्रै नाम सिफारिस भएकाले उनीहरुको तीनैजनाले टिकट पाउने निश्चित रहेको उनको भनाइ छ ।

  • भोजपुरको अरुण गाउँपालिकामा एमालेले छान्यो अध्यक्ष-उपाध्यक्षका उम्मेदवार

    भोजपुरको अरुण गाउँपालिकामा एमालेले छान्यो अध्यक्ष-उपाध्यक्षका उम्मेदवार

    भोजपुर । नेकपा एमालेले अरुण गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । पालिका कमिटीको बैठकले यहाँ अध्यक्षमा नारायणप्रसाद घिमिरे र उपाध्यक्षमा कविता राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै मुलधारको राजनीतिमा प्रवेश गरेका घिमिरे ७४ चुनावमा पनि अरुणको अध्यक्षमा उठेका थिए । नेपाली कांग्रेसका गजेन्द्रबहादुर कार्कीसँग उनी ६०१ मतान्तरले पराजित भए । चुनावमा पराजित भएका घिमिरे अविचलितरूपमा पार्टी काम र जनताको सेवामा लागेकोले पुन: उनलाई अघि सारिएको एमालेले जनाएको छ ।

    कार्कीले २७२७ मत ल्याउँदा घिमिरेले २१२६ मत प्राप्त गरेका थिए । यहाँ माओवादीबाट अध्यक्ष उठेका विमल खड्का १४२० मत ल्याएर तेस्रो भएका थिए ।

    सत्तारुढ गठबन्धनले जिल्लाको अन्य पालिका भागबण्डा गरिरहँदा अरुण गाउँपालिकामा भने एक्लाएक्लै भिड्ने निर्णय गरिसकेको छ ।

  • उम्मेदवार टुंग्याउन कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

    उम्मेदवार टुंग्याउन कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । भोलि (शुक्रबार) दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट उठाउने उम्मेदवारबारे छलफल हुनेछ ।

    सत्तारुढ गठबन्धनमा कांग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।

  • काठमाडौंसहित ७ जिल्लामा पठाइयो निर्वाचन सामग्री: पर्यवेक्षकले आफ्नै स्थानीय तहमा पर्यवेक्षण गर्न नपाउने

    काठमाडौंसहित ७ जिल्लामा पठाइयो निर्वाचन सामग्री: पर्यवेक्षकले आफ्नै स्थानीय तहमा पर्यवेक्षण गर्न नपाउने

    काठमाडौं । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि जिल्लामा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ ।

    बिहीबार पहिलो दिन काठमाडाैंसहित मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ र सोलुखुम्बुमा निर्वाचन सामग्री पठाएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । उनका अनुसार अन्य जिल्लामा पनि क्रमश: निर्वाचन सामग्री पठाइने छ ।

    ४४ वटा संस्थाले निर्वाचन पर्यवेक्षण गर्ने

    आयाेगका अनुसार ४४ वटा संस्थाले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन पर्यवेक्षण निर्देशिका २०७८ बमोजिमको मापदण्ड पूरा गरेका ४४ वटा राष्ट्रिय संस्थालाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।

    उनका अनुसार ४४ वटा संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले मुलुकभरका मतदानस्थलमा पुगेर पर्यवेक्षण गर्नेछन् । आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा भने पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्न नपाउने आयोगले जनाएको छ ।

    पर्यवेक्षकलाई आयोगले पर्यवेक्षण गर्ने मतदानस्थलसमेत खुलाएर छुट्टाछुट्टै परिचयपत्र उपलब्ध गराउने छ । पर्यवेक्षकले निर्वाचन प्रक्रियाको पर्यवेक्षण गरी तोकिएको ढाँचामा आयोगसमक्ष प्रतिवेदनसमेत बुझाउनुपर्ने आयोगले जनाएको छ ।

  • एमालेले महानगरपालिका र उपमहानगरका उम्मेदवार वैशाख १० गते टुंगो लगाउने (भिडिओ)

    एमालेले महानगरपालिका र उपमहानगरका उम्मेदवार वैशाख १० गते टुंगो लगाउने (भिडिओ)

    काठमाडौं । नेकपा एमालेले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय वैशाख १० गते गर्ने भएको छ ।

    केन्द्रीय सचिवालयको विहीबारको बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरूबारे छलफल भए पनि निर्णयका लागि अर्को बैठक वैशाख १० गते बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

  • झापामा नेकपा एस गठबन्धनबाट बाहिरियो, सबै पालिकामा उम्मेदवार सिफारिस

    झापामा नेकपा एस गठबन्धनबाट बाहिरियो, सबै पालिकामा उम्मेदवार सिफारिस

    झापा । झापामा कांग्रेस र माओवादीले सम्मानजनक व्यवहार नगरेको भन्दै सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएिको छ ।

    गठबन्धनबाट बाहिरिएको घोषणा गर्दै नेकपा एसले झापाका सबै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम सिफारिस गरेर प्रदेशमा पठाएको छ ।

    नेकपा एसका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले सबै स्थानीय तहमा सिफारिस भएका उम्मेदवारको नाम सार्वजनिक गर्दै गठबन्धनबाट नेकपा एस बाहिरिएको जनाएका छन् । सिग्देलले कांग्रेसले एकतर्फी रूपमा गठबन्धन तोडेको बताए ।

    झापामा कांग्रेस र माओवादीबीचमै पनि भागबण्डा मिलेको छैन । उनीहरूले नेकपा एसलाई कुनै पनि पालिकामा प्रमुख दिन मानेका छैनन् भने दुईवटा गाउँपालिकामा उपप्रमुखमात्र दिन खोजेका थिए ।

    अर्जुनधारा र कमल गाउँपालिकाको उपाध्यक्ष नेकपा एसलाई दिने भनिए पनि सो पार्टी ले बिर्तामोड र शिवसताक्षी नगरपालिकाको उपमेयर मागेको थियो ।

    सो पार्टीले चारवटा उपप्रमुख पनि नपाएपछि गठबन्धन छाडेको हो । झापाका १५ मध्ये १४ पालिकाको प्रमुख कांग्रेसले दाबी गरेको छ ।

    यी हुन् नेकपा एसले सिफारिस गरेका उम्मेदवार

    १) मेचीनगर प्रमुख : शारदा शर्मा, अर्जुन पौडेल, लक्ष्मी थिङ
    उप प्रमुख : बीपी भट्टराई, शंकर थापा, विमला देवकोटा

    २) बुद्धशान्ती प्रमुख : दुर्गा आचार्य, पुस्प खतिवडा
    उप प्रमुख : प्रदीप धिमाल

    ३) अर्जुनधारा प्रमुख : भास्कर काफ्ले, प्रत्युश राना
    उप प्रमुख : रमा खवास, प्रेमसागर सापकोटा, अम्बिका खतिवडा

    ४) बिर्तामोड प्रमुख : चन्द्रकला घिमिरे, चेतानन्द निरौला
    उप प्रमुख : तीर्थ सिग्देल, श्रीप्रसाद सिटौला

    ५) कनकाई प्रमुख : नारायण सिंह राजबन्सी
    उप प्रमुख : अम्बिका उप्रेती

    ६) भद्रपुर प्रमुख : पुस्प पोखरेल, दुर्गा भट्टराई
    उप प्रमुख : पदम लिम्बू, टीका रेग्मी, कुज्जा रुचाल

    ७) शिबसतासी प्रमुख : नवीन इजम
    उप प्रमुख : यसोधा भट्टराई

    ८) कमल प्रमुख : हरीमाया मैनाली, खगेन्द्र बाराकोटी
    उप प्रमुख : होमबहादुर बराल, चन्द्रकला भण्डारी, राम भण्डारी

    ९) गौरादह प्रमुख : खगेन्द्र दाहाल, नारायण राजबन्सी
    उप प्रमख : लक्ष्मीदेबी चौधरी

    १०) कचनकवल प्रमुख : खेपचरण यादब
    उप प्रमुख : मेहरमान राजबन्सी

    ११) दमक प्रमुख : इन्द्र बुडाथोकी, भरतबाबू कार्की
    उप प्रमुख : रामकुमारी तामाङ, लक्ष्मी चौधरी

    १२) बार्‍हदशी प्रमुख : लक्ष्मी पकुवाल, सीताराम बस्नेत
    उप प्रमुख : सुस्मा मुर्मु

    १३) गौरीगन्ज प्रमुख : हिराकाजी गिरी, हुपनारायण राजबन्सी

    १४) झापा प्रमुख : रामबहादुर खड्का
    उप प्रमुख : इस्वरी दाहाल

    १५) हल्दीबारी प्रमुख: टीका पौडेल

  • माेरङका सबै स्थानीय तहमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना: निर्वाचनमा हवाई गस्तीकाे तयारी

    माेरङका सबै स्थानीय तहमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना: निर्वाचनमा हवाई गस्तीकाे तयारी

    विराटनगर । स्थानीय तह निर्वाचनका लागि मोरङको विराटनगरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। विराटनगरमा रहेको रेडक्रसको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

    मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश भरत लम्सालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाइएको बताए।

    सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चुनावलाई निष्पक्ष बनाउन आफूहरूले सक्दो प्रयास गर्ने बताए । निर्वाचन आचारसंहिता लागू भइसकेकाले दलहरूलाई आचारसंहिताको पूर्ण पालना गरिदिन मुख्य निर्वाचन अधिकृत लम्सालले आग्रह गरे ।

    ‘आचारसंहिता राजनैतिक दलहरूबाटै उल्लंघन हुन्छ। आचारसंहिता उल्लंघन रोक्न हामी सबै पक्षले पहल गराैं’, उनले भने, ‘यदि दलहरूले आचारसंहिता उल्लंघन गर्ने क्रम रोक्ने प्रयास नगरे प्रचलित कानुनअनुसार अघि बढ्नुपर्ने हुन्छ ।’

    लम्सालले मोरङ जिल्लाका १७ वटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना भएकाे जानकारी दिए । उनका अनुसार एक कार्यालयमा आठ जनशक्ति परिचालन हुनेछन् ।

    प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै विराटनगरलाई केन्द्रमा राखेर हवाई गस्तीका लागि हेलिकप्टरसमेत परिचालन गर्ने तयारी भएकाे बताए ।

  • कांग्रेसको असन्तुष्टिबीच जनकपुरधाम मेयरमा लालकिशोरले मार्लान् बाजी ?

    कांग्रेसको असन्तुष्टिबीच जनकपुरधाम मेयरमा लालकिशोरले मार्लान् बाजी ?

    जनकपुरधाम । जनकपुरधाममा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट झण्डै ११ हजार मतान्तरले मेयरमा लालकिशोर साह विजयी भएका थिए । यसबीच महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) बन्यो । तर, धेरै समय नेताहरुको मन मिल्न सकेन । सत्ताको खेलमा पुनः तत्कालीन राजपाका नेताहरु अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे ।

    तत्कालीन राजपाका धेरै नेता–कार्यकर्ताले लोसपा रोजे । तर, मेयर साहले उपेन्द्र यादवकै नेतृत्व स्वीकारे र जसपामै बसे । आसन्न स्थानीय तह निर्वाचनमा जसपाले पुनः साहलाई नै मेयरमा अघि सारेको छ । सत्ता गठबन्धनको भागबन्डामा जसपाले जनकपुरधाम नै भाग पायो ।
    अहिलेसम्म साहको भाग्यले राजनीतिमा साथ दिएको छ । तर, आगामी यात्रा उनको लागि अत्यन्त कठिन देखिन्छ ।

    कठिन यो मानेमा कि नेपाली कांग्रेसका नेताहरु गठबन्धन स्वीकार्न तयार छैनन् । जनकपुरधामको मेयर जसपालाई दिएको भन्दै स्थानीय कांग्रेस नेताहरु आक्रोशित छन् । पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध जनकपुरका नेता–कार्यकर्ताले बुधबार साँझ टायर बालेर नाराजुलुस गरे । उनीहरुले निर्णय नसच्याए विद्रोह गर्ने चेतावनीसमेत दिए ।

    कांग्रेसका नगर उपसभापति राकेशविक्रम साह विगतको मत परिणामको समेत ख्याल नगरी जसपालाई मेयर दिने गठबन्धनको निर्णयबाट आफूहरु दुःखी बनेको बताउँछन् । ‘२५ वटै वडामा हामी मजबुत छौं । चुनाव जित्ने अवस्था थियो । त्यसैले जसपालाई मेयर दिने निर्णय सच्याउन पार्टी नेतृत्वलाई भनेका छौं’, उनले भने, ‘तर, निर्णय सच्याउँछ जस्तो लाग्दैन । यदि निर्णय सच्याइएन भने जसपाको मेयरलाई भोट दिन सक्दैनौं । हामीले पाएको उपमेयरलाई मात्र भोट दिन्छौं ।’

    जसपाको मेयरका लागि भोट पनि माग्न नसकिने भन्दै उनले आफूहरु मौन बस्ने बताए । यहाँका कांग्रेस कार्यकर्ताहरुसमेत गठबन्धनको नाममा जसपाका मेयर उम्मेदवार लालकिशोर साहलाई भोट दिने अवस्थामा देखिँदैनन् । कार्यकर्ताहरुसमेत विद्रोह गर्ने मनस्थितिमा छन् । कैयौं कार्यकर्ताले जसपाको मेयरलाई भोट दिन नसकिने पीडा सामाजिक सञ्जालमा पोखिरहेका छन् ।

    कांग्रेसका सक्रिय सदस्य अनिलकुमार कर्ण लेख्छन्, ‘मनोज साहजी, खुट्टा नकमाउनुस् । चुनाव लड्नुस् । भ्रष्ट र अनैतिक गठ उम्मेदवारका विरुद्ध तपाईसँग सबै कांग्रेसी र जनता छन् ।’

    मनोज साह कांग्रेसका जनकपुर नगर सभापति हुन् । ०७४ सालको निर्वाचनमा मेयरमा उठेका उनी दोस्रो स्थानमा थिए । यो निर्वाचनमा पनि उनी मेयरका प्रवल दावेदार थिए । तर गठबन्धन गरेपछि मेयर बन्ने उनको सपनामा ब्रेक लागेको छ । त्यसैले पार्टीमा विद्रोह गरेर भए पनि मेयरमा उठ्न अनिल कर्ण जस्ता धेरै कार्यकर्ताले उनलाई सुझाव दिइरहेका छन् ।

    साहले भने पार्टीविरुद्ध विद्रोह गर्ने सम्भावना न्यून छ । तर, उनल उम्मेदवारी नदिए पनि कांग्रेसको भोट सत्ता गठबन्धन अर्थात् जसपाका मेयर उम्मेदवार लालकिशोर साहलाई जाने सम्भावना पनि कमै छ । यस्तो अवस्थामा मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले वा लोसपालाई फाइदा पुग्ने अड्कल गर्न थालिएको छ । वीरगञ्जमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध एमाले र लोसपाले गठबन्धन गरेका छन् । जनकपुरमा पनि ती दुई दलले गठबन्धन गरे भने सत्ता गठबन्धन अर्थात् जसपाका उम्मेदवारलाई जित्न मुस्किल हुने स्थानीय बताउँछन् ।

    जसपाले पुनः मेयर बनाउन चाहेका साहको काम–कारबाहीबाट जनकपुरबासी असन्तुष्ट छन् । ‘५ वर्षे कार्यकालमा उनले फोहोर फाल्ने डम्पिङ साइटसमेत बनाउन सकेनन्’, जनकपुरका एक व्यापारीले भने, ‘फोहोरले बजार क्षेत्र जहिल्यै कुरुप हुन्छ । लामखुट्टेको आतंक छ । तर यो सामान्य समस्या पनि समाधान गरेनन् । त्यसैले अब विकास गर्ने नेतालाई ल्याउनुपर्छ ।’

    २०७४ को चुनावमा २१ हजार ९०३ मत ल्याएर साह मेयरमा विजयी भएका थिए । दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत ल्याएका थिए । उपेन्द्र यादव नेतृत्वको पार्टीबाट मेयरमा उठेका विष्णुदेव साहले ३ हजार ६१२ मत ल्याएको निर्वाचन आयोगको तथ्यांक छ ।

    मेयर साहले जसपा रोजे पनि उनका धेरै कार्यकर्ताहरुले भने लोसपा फर्के । राजपाबाटै निर्वाचित उपमेयर र वडाध्यक्षहरु अहिले पनि लोसपामै छन् । जनकपुरधाममा अहिले पनि जसपाको जनाधार त्यति अब्बल छैन, जति लोसपाको जनाधार छ । यस्तो अवस्थामा एमाले र लोसपाबीच वीरगञ्जमा जस्तै गठबन्धन भयो भने सत्ता गठबन्धन अर्थात् जसपाका मेयर उम्मेदवारलाई जित्न धौ धौ पर्ने निश्चित छ ।

  • महानगर र उपमहानगरपालिकाका उम्मेदवार छान्न एमाले सचिवालय बैठक जारी

    महानगर र उपमहानगरपालिकाका उम्मेदवार छान्न एमाले सचिवालय बैठक जारी

    काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले केन्द्रीय सचिवालय सदस्यको बैठक सुरू भएको छ ।

    अध्यक्ष केपी ओलीको निवास बालकोटमा जारी बैठक उम्मेदवार छनौटमै केन्द्रित रहने उपमहासचिव विष्णु रिमालले जानकारी दिए । एमालेले महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो केन्द्रबाट लगाउने वैधानिक व्यवस्था छ ।

    ६ वटा महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यन्जनकार, वीरगञ्ज विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।

    उपमहानगरपालिकातर्फ भने एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस नभएकाले प्रदेश कमिटीको सुझावसमेतका आधारमा टुंगो लगाइने भएको छ ।

    कतिपय महानगर र उपमहानगरमा उपमेयर अन्य दललाई दिनेबारे पनि छलफल भएको छ ।

  • सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

    सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ ।

    गठबन्धनको तयारी एवं अनुगमन समितिको बिहीबार बसेको बैठकले बैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।

    चुनावी सभालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

    गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ६ जना शीर्ष नेताले सम्बोधन गर्नेगरी चुनावी सभाको तालिका सार्वजनिक गरिएको छ । जसअनुसार बैशाख १८ गते धनगढी र सुर्खेत, बैशाख १९ गते बुटवल र पोखरा, बैशाख २० गते विराटनगर र जनकपुर तथा बैशाख २२ गते काठमाडौंमा संयुक्त चुनावी सभा हुनेछ ।

  • चुनावमा उम्मेदवार बन्ने पत्रकारले महासंघको सदस्यता त्याग्नुपर्ने

    चुनावमा उम्मेदवार बन्ने पत्रकारले महासंघको सदस्यता त्याग्नुपर्ने

    काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न भनेको छ ।

    विहीबार गरिएको भर्चुअल बैठकमा माध्यमबाट सम्पन्न केन्द्रीय समितिको पाँचौं पूर्णबैठकले निर्वाचनमा उम्मेदवार बन्न महासंघको सदस्यता परित्याग गर्नुपर्ने निर्णय गरेको हो ।

    बैठकले आसन्न स्थानीय निर्वाचनमा महासंघका सबै सदस्यहरूलाई पत्रकार आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न पनि अपिल गरेको महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    यस्तै महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वत: मुक्त हुन जाने निर्णय समेत बैठकले गरेको छ ।

    यसैगरी निर्वाचनका समयमा महासंघका सदस्यहरूको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन विभाग र अनुशासन समितिलाई जिम्मा दिने निर्णय पनि गरिएको महासंघले जनाएको छ ।

  • उम्मेदवार टुंगो लगाउन कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै

    उम्मेदवार टुंगो लगाउन कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै

    काठमाडौं । पार्टीको भागमा परेका महानगर र उपमहानगरको उम्मेदवारबारे निर्णय लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजेपछि बस्ने बैठकमा पदाधिकारीसहित नेताहरु रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. शशांक कोइरालालाई पनि बोलाइएको छ ।

    सभापति देउवाले पार्टी विधानअनुसार संसदीय समिति गठन गरेका छैनन् । पार्टीको शीर्ष तहमा सहमति गरेर महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउने देउवाको तयारी छ । गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले ३ महानगरमा मेयर, ३ महानगरमा उपमेयर, ७ उपमहानगरमा मेयर र ३ उपमहानगरमा उपमेयरमा उम्मेदवारी दिँदैछ ।

    आजको बैठकमा उम्मेदवारी चयनबारे विषय प्रवेश गर्ने एक नेताले बताए । ‘आजदेखि उम्मेदवारबारे छलफल सुरु हुन्छ । उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म निर्णय हुन्छ होला’, सभापति देउवाकट एक नेताले भने ।

  • ओलीको व्यंग्य- कठैबरी ! माधव नेपालले एमाले सिध्याउने रे (भिडिओ)

    ओलीको व्यंग्य- कठैबरी ! माधव नेपालले एमाले सिध्याउने रे (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको सिद्धान्त नै एमाले र केपी ओली सिध्याउने रहेको भन्दै पाँचले मात्र नसक्ने भएर राजावादी राप्रपालाई समेत बोकेर ६ दलीय गठबन्धन बनाइएको टिप्पणी गरेका छन् ।

    एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको एकमात्र उद्देश्य एमाले सिध्याउनेबाहेक देश बनाउने नरहेको बताए । उनले माधव नेपालले एमाले सिध्याउँछु भनेर भाषण गरिरहेकोमा व्यंग्यसमेत गरे ।

    ओलीले भने, ‘यिनीहरू पाँच दलले नसकेर झापामा मेरै गृहजिल्लामा राप्रपालाई मेयर दिएर जाने भएछन् । ६ दलीय गठबन्धनको उद्देश्य के त भन्दा एमाले सिध्याउने, केपी ओली सिध्याउने । माधव नेपालले भाषण गरेको सुनेँ एमालेको पत्तासाफ हुन्छ । एमालेलाई सिध्याइदिन्छु । बिचरा माधव नेपालले एमाले सिध्याउने ।’

    ओलीले आफूलाई पहिलोपटक प्रधानमन्त्री भएको बेला सत्ताच्युत गर्न पनि माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रचण्डलाई उक्साएको कुरा प्रचण्डले नै स्वीकार गरिसकेको भन्दै परमादेशबाट बनेको सरकारलाई जनादेशबाटै हटाएर सिंहदरबार फर्किने बताए ।

  • रुपन्देहीमा निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तयार

    रुपन्देहीमा निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तयार

    रुपन्देही । रुपन्देहीमा निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तयार भएकाे छ ।

    रुपन्देहीमा बिहीबार मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त जानकारी दिएका हुन् ।

    भैरहवास्थित बालमन्दिरमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी तिवारी र मुख्य निर्वाचन अधिकृत धनसिंह महराले गरेका छन् ।

    उक्त अवसरमा प्रजिअ तिवारीले गृह मन्त्रालयले निर्वाचनसम्बन्धी एकीकृत सुरक्षा तयार गरिसकेको र जिल्ला सुरक्षा समितिले पनि जिल्लाको एकीकृत सुरक्षा योजना तयार गरिसकेको बताए ।

    उनले निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेर प्रादेशिक रुपमा तालिम सम्पन्न गरिसकेको र सोहीअनुसार सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगिसकेको बताए ।

    ‘हामी निर्वाचनको सघन चरणमा प्रवेश गरेका छौं’, उनले भने, ‘निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमबमोजिम गतिविधिलाई नियमित रुपमा सञ्चालन गरेर वैशाख ३० गते निर्वाचन सम्पन्न गर्छौं ।’

    सुरक्षाको व्यवस्थापन पूर्ण रुपमा सम्पन्न भइसकेको प्रजिअ तिवारीले जानकारी दिए । ‘सुरक्षा योजनाले प्रत्येक मतदाता, उम्मेदवार र कर्मचारी जो निर्वाचनमा संलग्न हुन्छन्, उनीहरुको सुरक्षालाई प्रत्याभूति गर्छ’, प्रजिअ तिवारीले भने, ‘हामी सुरक्षित, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्ने तयारीमा लागेका छौं ।’

    मुख्य निर्वाचन अधिकृत महराले निर्वाचनमा आचारसंहिता पालना गर्नुपर्ने बताए । उनले आचारसंहिता पालना गरेमात्रै निर्वाचन सफल गर्न सकिने औंल्याए ।

    ‘आचारसंहिता पालनामा कडाइ हुन्छ । सबैलाई समान व्यवहार हुन्छ’, प्रमुख निर्वाचन अधिकृत महराले भने, ‘सबैबाट सहयोगको अपेक्षा गरेका छौं । हामी उत्साहित छौं ।’

    कार्यक्रम जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले सञ्चालन गरेका थिए ।

  • काठमाडौं महानगरको मेयरका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

    काठमाडौं महानगरको मेयरका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस भएको छ । कांग्रेसको काठमाडौं महानगर समितिले मेयरका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो ।

    मेयरका लागि सिफारिस हुनेमा कांग्रेसको महानगर समितिका सभापति एवं २० नम्बर वडाका अध्यक्ष नीलकाजी शाक्य, वर्तमान उपमेयर हरिप्रभा खड्गी, महासमिति सदस्य सिर्जना सिंह, महानगर समितिका सचिव सुसन वैद्य र प्रगतिमान रञ्जित रहेका छन् ।

    त्यस्तै उपमेयरका लागि महानगर समितिकी उपसभापति सुशिल ढकाल र डा. अमित प्रधान शाक्यको नाम सिफारिस गरिएको छ ।

    काठमाडौं महानगरको मेयरमा कांग्रेसले सिर्जना सिंहलाई अगाडि सार्ने सम्भावना छ । कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंहले मेयर लड्नकै लागि पछिल्लो समय आफ्नो राजनीतिक सक्रियता बढाएकी छिन् ।

    काठमाडौंमा कांग्रेसले मेयर र नेकपा एकीकृत समाजवादीले उपमयेर पाउने सहमति गठबन्धनमा बनिसकेको छ ।

    यो पनि पढ्नुस् : काठमाडौं महानगरको मेयरमा गठबन्धनबाट सिर्जना सिंह ‘क्लोज टु कन्फर्म’

  • देशभरका स्थानीय तहमा एकैदिन निर्वाचन कार्यालय स्थापना

    देशभरका स्थानीय तहमा एकैदिन निर्वाचन कार्यालय स्थापना

    काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बिहीबार देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

    देशभरका ७५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको हो ।

    काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले अब निर्वाचन अयोगले तयार गरेको कार्यतालिका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढ्ने बताए ।

    उनले निर्वाचन आचारसंहिता पालना भए नभएकोसमेत जाँचबुझ गर्ने जानकारी दिए ।

    आयोगले प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा करिब १० जना कर्मचारी रहने व्यवस्था गरेको छ । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।

  • भोजपुरको पौवादुङमामा टुट्यो गठबन्धन, माओवादी र कांग्रेस एक्लाएक्लै भिड्ने

    भोजपुरको पौवादुङमामा टुट्यो गठबन्धन, माओवादी र कांग्रेस एक्लाएक्लै भिड्ने

    भोजपुर । भागबण्डा सकिएको भोलिपल्टै भोजपुरको पौवादुङमा गाउँपालिकामा गठबन्धन टुटेको छ ।

    सत्तारुढ गठबन्धनको जिल्लास्तरीय संयन्त्रले मंगलबार गरेको सिट बाँडफाँटको निर्णयअनुसार यस गाउँपालिकामा नेकपा माओवादी केन्द्रलाई अध्यक्ष र उपाध्यक्ष कांग्रेसलाई दिने सहमति भएको थियो । तर, वडाअध्यक्ष बाँडफाँटमा कुरा नमिलेपछि एक्लाएक्लै भिड्ने भन्दै दुवै दलले गठबन्धन तोडेका छन् ।

    गाउँ कार्य समिति कांग्रेसका अध्यक्ष मनोज कार्की र माओवादी अध्यक्ष सन्तोष मुक्मिन राईले संयुक्त विज्ञप्ति निकालेर पौवादुङमामा गठबन्धन नगरी आ-आफ्ना दलबाट उम्मेदवार मनोनयन गर्ने निर्णय गरिएको जिल्लाको गठबन्धन संयन्त्रलाई जानकारी गराएका छन् ।

    स्रोतका अनुसार ६ वटा वडा रहेको यस पालिकामा माओवादीले ३ वटा वडा दाबी गरेको थियो । गाउँपालिका अध्यक्ष नै माओवादीलाई दिएपछि वडाध्यक्षमा कांग्रेस बढी भाग लिन चाहन्थ्यो ।

    एमाले बलियो रहेको ठूलोदुम्मामा माओवादी र कांग्रेस दुवैले एकले अर्कोलाई छोडाछोड गरे । यहाँ दुवै मिल्दा पनि एमालेलाई जित्न नसकिने उनीहरूको निष्कर्ष छ । यता कांग्रेसले दाबी गरेको तिवारीभञ्ज्याङ र सानोदुङमामा पनि माओवादीले नछाडेपछि खटपट सुरू भएको थियो ।

    २०७४ को चुनावमा पौवादुङमामा नेकपा एमालेबाट किरण राई १२९ मतान्तरले विजयी भएका थिए । किरणले १९६३ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नगेन्द्रबहादुर भुजेल ‘शैलेन्द्र’ ले १८३४ मत प्राप्त गरेका थिए । कांग्रेसबाट अध्यक्षमा उठेकी सिसिरा राई १४५२ मत ल्याएर तेस्रो भएकी थिइन् । यहाँ उपाध्यक्ष भने माओवादीकी सम्झना राईले जितेकी थिइन् ।

    यसपटक एमालेबाट अहिलेका अध्यक्ष किरण राई, ज्योत्सना राई, केशर राई, कांग्रेसबाट मनोज कार्की साथै माओवादीबाट नगेन्द्र भुजेल प्रमुख दाबेदारमा छन् ।