Category: स्थानीय निर्वाचन–२०७९

  • स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प

    स्थानीय तह निर्वाचनका लागि एमालेका ६ संकल्प

    काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ ।

    ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ ।

    एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ । एमालेले अघि सारेको सङ्कल्पअनुसार :

    हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन् ।

    हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन् ।

    हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन् ।

    हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन् ।

    हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन् ।

    हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्नेछन् ।

  • फेरि चुनाव लड्न रेनु दाहाल र विजय सरावगीले दिए मेयरबाट राजीनामा

    फेरि चुनाव लड्न रेनु दाहाल र विजय सरावगीले दिए मेयरबाट राजीनामा

    काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पदबाट राजीनामा दिएका छन् । स्थानीय चुनावमा फेरि मेयरको उम्मेदवार लड्न उनीहरूले निर्वाचन आचारसंहिताअनुसार राजीनामा दिएका हुन् ।

    २०७४ सालको स्थानीय चुनावमा कांग्रेसको समर्थनप्राप्त माओवादी उम्मेदवार रेनुले जित हासिल गरेकी थिइन् । उनलाई यसपालि पनि गठबन्धनहरूको समर्थनमा माओवादीले मेयरमा दोहोर्‍याउने तयारी गरेको छ ।

    वीरगञ्जका मेयर सरावगी संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । गत फागुनमा उनी एमाले प्रवेश गरे । एमालेले मेयरको टिकट दिने निश्चित भएसँगै उनले पनि पदबाट राजीनामा दिएका हुन् ।

  • मोरङमा नेकपा एस एक्लै चुनाव लड्ने

    मोरङमा नेकपा एस एक्लै चुनाव लड्ने

    विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीले मोरङमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।

    गठबन्धनमा पटक पटक छलफल गर्दा पनि सिट बाँडफाँटमा कुरा नमिलेपछि नेकपा एसले एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।

    केन्द्रमा सहमति भएअनुसार विराटनगर महानगर बाहेक अन्य स्थानीय तहमा एक्लै लड्ने निर्णय भएको नेकपा एसका केन्द्रीय परिषद् सदस्य मणि दाहालले बताए ।

  • एमालेको घोषणापत्र- हाम्रा जनप्रतिनिधि शासक होइन सेवक हुनेछन् (पूर्णपाठ)

    एमालेको घोषणापत्र- हाम्रा जनप्रतिनिधि शासक होइन सेवक हुनेछन् (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालयबाट शुक्रबार जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ ।

    बाँकी कामका योजनासमेत घोषणापत्रमा समेटिएको छ । एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।

    यस्तो छ एमालेको घोषणापत्र :

  • धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अठोट : ‘हाम्रो धनगढी हामी बनाउँछौँ’

    धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अठोट : ‘हाम्रो धनगढी हामी बनाउँछौँ’

    कैलाली । धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढीलाई मुलुककै व्यवस्थित सहर बनाउने बताएका छन् ।

    आज धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा उनले आफ्ना योजना प्रस्तुत गरेका हुन् ।

    उनले ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियान सुरु गर्ने बताएका छन् ।

    ‘धनगढीलाई मुलुककै विकसित, सुन्दर र नमुना सहर बनाउने अभियान अनुसार हामी अघि बढ्ने छौँ’ उनले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै भने, ‘धनगढीलाई पाँच वर्ष मै हामी मुलुककै व्यवस्थित सहर बनाउने छौँ ।’

    धनगढी उपमहानगरपालिका तथा वडाहरूलाई भ्रष्ट्राचार मुक्त बनाउने, बेरुजुलाई शून्यमा झार्ने, अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणमा जोड दिने उनले बताए ।

    विद्यालयको भौतिक पूर्वाधार स्तरोन्नति गर्ने, प्राविधिक शिक्षालाई महत्त्व दिने, जटिल रोगका बिरामीहरूलाई विशेष सहयोग गर्ने, सबै वडाहरूमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, एक वडा एक उत्पादन कार्यक्रम बनाउने ,कृषि प्राविधिक सेवालाई प्राथमिकता दिने उनले जानकारी गराएका हुन् ।

    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनगढीको नगर प्रमुखमा हमालले यस अघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    हमाल यस अघि पनि धनगढी उपमहानगरपालिकाको प्रमुखमा लडेका थिए । कांग्रेसका नृप वडसँग उनी झिनो मतले पराजित भएका थिए ।

    यस पटक पनि विभिन्न वडाहरूमा स्वतन्त्र वडाध्यक्षका उम्मेदवारहरू सहित निर्वाचनमा होमिने तयारी भइरहेको उनले बताए ।

    आफू निर्वाचित भएपछि नगरप्रमुख भयबापत पाउने कुनै पनि सेवा सुविधा नलिने उनले बताइसकेका छन् ।

    ‘मैले सरकारले दिने तल भत्ता गाडी सुविधा केही पनि लिन्न’ उनले भने, ‘ मेयर भएपछि कामको सिलसिलामा अन्य ठाउँमा जाने टिकट पनि मेरो आफ्नै हुन्छ ।’

    नगरको कोषमा रहेको रकम आफूले प्रयोग नगर्ने उनले प्रतिबद्धता दोहोराए ।

    वडा नम्बर १७ का स्वतन्त्र वडाध्यक्षका उम्मेदवार एम लामिछाने, ४ का शिद्धराज पनेरु ५का पदम राज भट्ट र १५ का कमल बहादुर ठाँटले पनि आफ्नो वडामा गर्ने कामहरूको प्रतिबद्धता गरेको थिए ।

  • रुपन्देहीका कांग्रेस क्षेत्रीय सभापतिले पनि दिए राजीनामा, पार्टीले कार्यकर्ताको भावना नबुझेको आरोप

    रुपन्देहीका कांग्रेस क्षेत्रीय सभापतिले पनि दिए राजीनामा, पार्टीले कार्यकर्ताको भावना नबुझेको आरोप

    रूपन्देही । नेपाली कांग्रेस रूपन्देहीको क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनमा दिएका छन् ।

    स्थानीय तह निर्वाचन सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ताको भावनाविपरीत निर्णय गरेको भन्दै लम्सालले पार्टीबाट राजीनामा दिएका हुन्।

    जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा बुझाएका हुन्। पार्टीले एकलौटी र षडयन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको उनको आरोप छ। उनी बुटवल उपमहानगरपालिकाको प्रमुखका आकांक्षी थिए।

    नगर सभापतिको एकलौटीबारे आवाज उठाउँदा समेत बेवास्ता भएको उल्लेख गर्दै उनले इमान्दारिता, निष्ठा र विधानको कुनै महत्व रहेन छ भन्ने निष्कर्ष निकालेर राजीनामा दिएको उल्लेख गरेका छन्।

    राजीनामा आएको कांग्रेसका नेताले पुष्टि गरेका छन् तर लम्सालले मोबाइल अफ गरेर बसेका छन् ।

  • स्थानीय चुनाव : एमालेको घोषणापत्र सार्वजनिक (च्यासलबाट लाइभ)

    स्थानीय चुनाव : एमालेको घोषणापत्र सार्वजनिक (च्यासलबाट लाइभ)

    ललितपुर । नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।

    घोषणापत्र मस्यौदा समितिका संयोजक एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रका प्रमुख विशेषताबारे जानकारी दिइरहेका छन् ।

  • सहमति पालना नभए चाँगुनारायणमा कांग्रेस खरानी हुन्छ : राप्रपा

    सहमति पालना नभए चाँगुनारायणमा कांग्रेस खरानी हुन्छ : राप्रपा

    भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले प्रदेशसभाको उपनिर्वाचनका क्रममा आफूसँग गरिएको सहमति पालना नगरे चाँगुनारायणमा नेपाली कांग्रेस खरानी हुने चेतावनी दिएको छ ।

    राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछानेले हिजो गरिएको सहमति पालना नगरे चाँगुनारायणमा कांग्रेसलाई खरानी बनाइने चेतावनी दिएका हुन् ।

    उनले हिजोको सहमति पालना गर्न कांग्रेस इमानदार हुनुपर्ने र त्यसको लागि आफूहरु प्रतीक्षामा रहेको बताए । ‘दुईतीन चरणमा छलफल गरेका छौं । तर, सहमति पालनामा कांग्रेस इमानदार देखिएको छैन । हामी कांग्रेसको निर्णय कुरिरहेका छौं’, अध्यक्ष लामिछानेले भने, ‘सहमति पालना नगरे चाँगुनारायणमा कांग्रेस खरानी बन्छ । यसले जिल्लाको राजनीतिक दृश्यमै उथलपुथल हुनेछ ।’

    उनले कांग्रेसले घात गरे चाँगुनारायणमा मात्रै होइन जिल्लाका चारै नपाका उसविरुद्ध राप्रपाले अन्य दलसँग चुनावी तालमेल गर्ने स्पष्ट पारे । यसको लागि एमाले र नेपाल मजदुर किसान पार्टीसँग संवाद भइरहेको अध्यक्ष लामिछानेले जानकारी दिए ।

    त्यस्तै सहमतिमा हस्ताक्षर गर्ने राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले कांग्रेसलाई शनिबारसम्म कुर्ने जानकारी दिए । कांग्रेसले निर्णय नदिए राप्रपाले अरु दलहरुसँग चुनावी तालमेल गर्ने उनले स्पष्ट पारे ।

    प्रदेशसभा उपनिर्वाचनमा एमाले र नेमकिपालाई हराउन कांग्रेसलाई सहयोग गरेको सुनाउँदै सहमहामन्त्री शाहले अहिले कांग्रेस र सत्ता गठबन्धनलाई हराउन एमाले र नेमकिपासँग चुनावी तालमेल गर्नपर्ने अवस्था नआउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

    कांग्रेससँगको सहमति पालना भए राप्रपाले सहमहामन्त्री शाहलाई नै चाँगुनारायण नगरपालिकाको मेयरमा अघि सार्ने तयारी गरेको छ ।
    यता कांग्रेस जिल्ला सभापति दुर्लभ थापा राप्रपामा फुट आएकाले उससँग चुनावी तालमेल गर्न समस्या भएको बताउँछन् । राप्रपासँग चुनावी तालमेल गर्दा पनि सत्ता गठबन्धनका उम्मेदवार पराजित भए राम्रो सन्देश नजाने उनको भनाइ थियो ।

    ‘राप्रपामा फुट आएको छ । त्यसैले राप्रपाको मत निर्णायक देखिन्न’, सभापति थापाले भने, ‘राप्रपासँग चुनावी तालमेल गर्दा पनि गठबन्धनका उम्मेदवार पराजित भए देशमै राम्रो सन्देश जाँदैन ।’

    कांग्रेसका अरु जिल्ला नेताहरुले राप्रपासँग प्रदेशसभा उपनिर्वाचनमा सहमति–सम्झौता भएको अस्वीकार गरे पनि सभापति थापाले सहमति भएकोलाई भने इन्कार गरेनन् । उनले उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म एउटा निकास निस्कने बताए ।

    कांग्रेस चाँगुनारायण नगर समितिका सभापति शिवहरि केसीले सत्ता गठबन्धनमै कुरा नमिलेकाले राप्रपासँग पनि सहमति पालनाबारे टुंगोमा नपुगेको जानकारी दिए ।

    उनी विभिन्न चरणमा छलफल र संवाद भए पनि अन्तिम सहमति भइनसकेको बताउँछन् । कांग्रेसबाट चाँगुनारायण नपाको मेयरमा आकांक्षी केसी हाल चाँगुनारायण नपा २ नम्बर वडाका अध्यक्ष हुन् ।

    के छ सहमतिमा ?

    २०७६ साल मंसिर १४ गते भएको भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा राप्रपाले कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई सहयोग गर्ने सहमति गरेको थियो । उक्त सहमतिअनुसार राप्रपाको सहयोगमा कांग्रेस उम्मेदवार भँडेल प्रदेशसभा सदस्य निर्वाचितमात्रै भएनन्, सत्ता गठबन्धन बनेपछि बागमती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीसमेत बन्न सफल भएका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाको उपस्थितिमा २०७६ साल मंसिर ८ गते भएको सहमतिपत्रमा कांग्रेस तत्कालीन उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले हस्ताक्षर गरेका छन् ।

    त्यस्तै राप्रपाबाट उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यद्वय हरिबहादुर बस्नेत र दिनेश श्रेष्ठ, कार्य सम्पादन समिति सदस्य रवीन्द्रप्रताप शाह र भक्तपुर जिल्ला अध्यक्ष रामशरण लामिछानेले हस्ताक्षर गरेका छन् ।

    उपनिर्वाचनका क्रममा उक्त सहमतिपत्र गोप्य राखिएको थियो । आसन्न स्थानीय तह निर्वाचनको क्रममा कांग्रेसले उक्त सहमति कार्यान्वयनमा उदासीनता देखाएपछि मात्र राप्रपाका नेताहरुले हालै उक्त सहमतिपत्र सार्वजनिक गरेका हुन् ।

    दुई दलबीच भएको सहमतिपत्रमा २ बुँदा र बुँदा नम्बर २ भित्र थप ४ बुँदा छन् । सहमतिको पहिलो बुँदामा २०७६ साल मंसिर १४ गते हुने भक्तपुर जिल्ला क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा राप्रपाले कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेललाई सहयोग गर्ने र भक्तपुरमा कांग्रेस र राप्रपाबीच जिल्लास्तरीय लोकतान्त्रिक गठबन्धन गठन गर्ने उल्लेख छ । उक्त गठबन्धन आगामी तीनवटै तहको निर्वाचनसम्म कायम रहने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

    त्यस्तै बुँदा नम्बर २ (क) मा स्थानीय तह निर्वाचनअन्तर्गत चाँगुनारायण नपामा राप्रपाले मेयरसहित अनुकूल ४ वटा वडामा अध्यक्षको उम्मेदवारी दिने र ती उम्मेदवारलाई कांग्रेसले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    बुँदा नं २ (ख) मा चाँगुनारायण नपाको स्थानीय निर्वाचनमा कांग्रेसले उपमेयरसहित पाँचवटा वडामा अध्यक्ष उम्मेदवारी दिने र ती उम्मेदवारहरुलाई राप्रपाले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    हेर्नुस् दुई दलबीच भएको सहमतिपत्र

  • गठबन्धनको साइड इफेक्ट : कांग्रेसका वडा सभापतिसहितका ९१ जनाले दिए सामूहिक राजीनामा

    गठबन्धनको साइड इफेक्ट : कांग्रेसका वडा सभापतिसहितका ९१ जनाले दिए सामूहिक राजीनामा

    कैलाली । सत्ता गठबन्धनले काङ्ग्रेस भित्र आन्तरिक किचलो सुरु भएको छ ।

    स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै कैलालीमा पनि वडा सभापतिसहितका ९१ जनाले सामूहिक राजीनामा दिएका छन् ।

    जिल्लाको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यहरूले शुक्रवार काङ्ग्रेसका विभिन्न निकायमा राजीनामा बुझाएका हुन् ।

    सामूहिक राजीनामा दिनेहरूमा नेपाली कांग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्का लगायतका नेता कार्यकर्ता रहेका छन् ।

    धनगढी उपमहानगरपालिका–१८ मा अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएको छ ।

    २०७४ सालमा भएको स्थानीय निर्वाचनमा उक्त वडा माओवादी केन्द्रले जितेका कारण भागबण्डाका क्रममा माओवादीले नै पाउने भएपछि कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट बनेका थिए ।

  • सिरहाको मेयरमा लड्न मन्त्री पद छाड्दै प्रमोद यादव

    सिरहाको मेयरमा लड्न मन्त्री पद छाड्दै प्रमोद यादव

    जनकपुरधाम । मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् ।

    नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।

    मन्त्री पदबाट राजिनामा दिने विषयमा छलफल गरिरहेका उनले नेपाल प्रेसलाई बताए । उनले भने, ‘पार्टीले मेयरमा चुनाव लड्नुपर्ने निर्णय गरेपछि मन्त्री पद छाड्न तयार छौं ।’

    सिरहा नगरपालिकामा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र गठबन्धन गर्न तयार छन् । एकीकृत समाजवादीले मेयरमा यादवलाई सारेको छ । माओवादीले उपमेयरको टुंगो लगाइसकेको छैन ।

    नेपाली कांग्रेसका नेताहरू पनि गठबन्धन गर्न सकारात्मक देखिएका छन् । तर, जिल्लामा कांग्रेसको समानान्तर समिति छ । कांग्रेसमा देखिएको आन्तरिक कलहले गठन्धन गर्न समस्या भइरहेको सोही पार्टीका नेताहरू बताउँछन् ।

    यता, सत्ता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) एक्लै चुनाव लड्ने तयारी गरिरहेको छ । २०७४ को निर्वाचनमा मेयर जिताउन सफल जसपा अहिले पनि एक्लै अब्बल रहेको भन्दै गठबन्धन गर्ने पक्षमा छैन ।

  • प्रधानमन्त्रीकै गृहजिल्लामा टुट्यो गठबन्धन, देउवा-प्रचण्डको सल्लाहमा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’

    प्रधानमन्त्रीकै गृहजिल्लामा टुट्यो गठबन्धन, देउवा-प्रचण्डको सल्लाहमा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’

    काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा गठबन्धन टुटेको छ । भागबन्डा नमिल्दा जिल्ला संयन्त्रले ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति जनाएका छन् ।

    ७ पालिका रहेको डडेलधुरामा सिट बाँडफाँटमा कुरा नमिलेपछि असन्टुष्टिका बीच चुनावमा होमिँदा परिणाम विपरीत आउने भन्दै गठबन्धनमा रहेका दलले एक्ला-एक्लै भिड्ने निष्कर्ष निकालेका हुन् ।

    छलफलका क्रममा जिल्ला सभापति भीमबहादुर साउद नै नगरप्रमुख रहेको परशुराम नगरपालिकाको दाबीमा माओवादी केन्द्र पछाडि हटेको थिएन् । यसबाहेक माओवादीले ३ स्थानीय तह र र समाजवादीले २ ठाउँमा दाबी गरेका थिए । जसमा आफ्नो पार्टी सहमत नभएपछि सँगै जान नसकिएको सभापति साउँदले बताए ।

    ‘पहिलो कुरा त हामीले आपसमै भागबन्डा हुनसक्ने अवस्था देखनौं । दोस्रो गरिहाले पनि पार्टीभित्र चरम असन्तुष्टि हुने देखियो,’ उनले नेपाल प्रेससँग भने, ‘यसबाहेक बेग्ला बेग्ला लड्दा पनि जित्ने आधारको दाबी हामी सबैको रह्यो । यही कारण गठबन्धन नगर्ने निर्णयमा पुग्यौं ।’

    केही दिनअघि नि गठबन्धन नगर्ने लिखित सहमति गरी माथि पठाइसकेको अध्यक्ष साउँदले जानकारी दिए ।

    यस विषयमा गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारीसमेत गराइसकिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष मानसिंह मालले बताए ।

    ‘प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि यस विषयमा सल्लाह भएर नै गठबन्धन नगर्ने निर्णय गरिएको हो ’, मालले भने ।

    डडेलधुरामा कांग्रेसभित्र अधिवेशनदेखि असन्तुष्ट रहेको पूर्वजिल्ला सभापति कर्ण मल्लको समूहले पनि सातवटै स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरेको छ ।

  • गाउँपालिका अध्यक्षमा उठ्न हेलम्बुका अध्यक्षले दिए राजीनामा

    गाउँपालिका अध्यक्षमा उठ्न हेलम्बुका अध्यक्षले दिए राजीनामा

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा निमा ग्याल्जेन शेर्पाले राजीनामा दिएका छन् । पुन: गाउँपालिकाको अध्यक्षमा उठ्न शेर्पाले अध्यक्षबाट राजीनामा दिएका हुन् ।

    उनी कांग्रेसबाट निर्वाचित भएका थिए ।

    निर्वाचन आचार संहिता २०७८ मा भएको व्यवस्थाअनुसार आउँदो चुनावमा उम्मेदवारी दिन पदवाट राजीनामा दिनुपर्ने भएकाले आजदेखि लागू हुने गरी गाउँपालिका उपाध्यक्ष कोपिला पण्डितलाई उनले राजीनामा बुझाएका छन् ।

    राजीनामा पत्रमा भनिएको छ,‘ हेलम्बु गाउँपालिकाको अध्यक्ष म निमा ग्याल्जेन शेर्पा स्थानीय तहको निर्वाचन २०७३ ले व्यवस्था गरे अनुसार २०७४ साल मा निर्वाचित भइ हालसम्म सोही पदमा कायरत रहेको र स्थानीय निर्वाचन आयोगले निर्वाचन आचार संहिता २०७८ सार्वजनिक गरेको हुँदा आगामी चुनाव २०७९ मा उम्मेद्वारी दिनको लागि आचारसंहिता २०७८ राजपत्रमा प्रकाशित भए अनुसार उक्त पदवाट राजीनामा दिनु पर्ने व्यवस्था बमोजिम मिति २०७१।०१।०९ गते देखि लागू हुने गरी अध्यक्षको पदवाट राजीनामा दिएको छु ।’

  • सिन्धुलीमा कांग्रेस-माओवादी गठबन्धन, नेकपा एससहित तीन दलको विरोध

    सिन्धुलीमा कांग्रेस-माओवादी गठबन्धन, नेकपा एससहित तीन दलको विरोध

    सिन्धुली । पाँच दलीय गठबन्धनका अन्य तीन दललाई बाहिर राखेर सिन्धुलीमा प्रमुख दुई दल कांग्रेस र नेकपा माओवादी केन्द्रले ९ वटा स्थानीय तहको भागबण्डा गरेका छन् ।

    माओवादी नेता हरिबोल गजुरेल समेतको उपस्थितिमा भएको दुई दलीय लिखित सहमतिप्रति नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले भने आपत्ति जनाएका छन ।

    तर, सहमति अनुसार माओवादीले आफूले पाएका पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार समेत तय गरेर एक एकजनाको नाम प्रदेशमा पठाइसकेको छ । सहमति अनुसार जिल्लाका ९ मध्ये ५ पालिकामा कांग्रेस र ४ वटामा माओवादीले प्रमुख पाएका छन् ।

    कांग्रेसले कमलमाई नगरपालिकासहित गोलन्जोर,फिकल,तीनपाटन,घ्याङलेक र गाउँपालिका पाएको छ । त्यस्तै माओवादीले दुधौली नगरपालिकासहिहत मरिण, हरिहरपुरगढी र सुनकोशी गाउँपालिका पाएको छ । जसले पालिका प्रमुख पाएको छ, उपप्रमुख अर्को दलको हुने भएका छन् ।

    यसअघि एमालेले जितेका पालिका दुई दलले बाँडेका हुन् । सुनकोशी, मरिणा र हरिहरपुरगढी यसअघि माओवादील नै जितेको थियो भने गोलन्जोर, तीनपाटन, घ्याङ्लेक कांग्रेसले जितेको थियो ।

    एमालेले जितेका कमलामाई, दुधौली, फिकल उनीहरूले बाँडेका हुन् ।

  • भोजपुरका ‘ध्रुवे हात्ती’- दोस्रोपटक महागठबन्धन पल्टाउन चुनावी मैदानमा

    भोजपुरका ‘ध्रुवे हात्ती’- दोस्रोपटक महागठबन्धन पल्टाउन चुनावी मैदानमा

    काठमाडौं । सत्तारुढ पाँच दलको तालमेलका कारण यो पटकको चुनाव जित्न नेकपा एमालेलाई सकस छ । तर, अधिकांश ठाउँमा चुनौती बढिरहँदा भोजपुर टेम्केमैयुङ गाउँपालिकाका ध्रुवराज राई भने ढुक्क छन् । किनकि २०७४ कै चुनावमा महागठबन्धनलाई हराएर एमालेका ध्रुवराजले यो गाउँपालिकामा विजय हात पारेका थिए ।

    उनी चुनावी मैदानमा होमिएदेखि नै अघिल्लोपटक जोड रूपमा ‘ध्रुवे हात्ती’ को चर्चा चल्यो । एकताका चितवनमा ध्रुवे हात्तीको जगजगी थियो । धेरैलाई आतंकित पारेको ध्रुवे हात्ती खोज्न सरकारले नै टोली खटाएको थियो । कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको महागठबन्धनलाई हराएका कारण एमालेका ध्रुवराज राईलाई कार्यकर्ताहरूले नै ‘धुर्वे हात्ती’ को संज्ञा दिएका थिए ।

    टिकट पाउनासाथ धेरैले त पत्याएका थिएनन्, राजनीतिमा केश फुलाएका रामसिंह राईं (तत्कालीन संघीय समाजवादी फोरम) सँग ‘ठिटो’ ध्रुवराजले टक्कर देलान् भनेर । तर, जिल्लाका धेरै स्थानीय तह एमाले हारिरहँदा टेम्केमैयुङ भने जित्यो ।

    कुनै बेला ध्रुव अखिलको राजनीतिमा बामे सर्दा नै रामसिंह एमालेको जिल्ला नेताका रूपमा स्थापित थिए । तर, अशोक राईहरूसँग रामसिंहले पनि एमाले छाडे ।

    त्यो चुनावमा टेम्केमैयुङ र साल्पासिलिछो गाउँपालिका गुम्न सक्ने एमालेको आँकलन थियो । तर, परिणाम ठीक विपरीत आयो ।

    जित्छौं भनेको भोजपुर नगरपालिकाका साथै अरुण, षडानन्द र आमचोकमा हार्दा टेम्केमैयुङमा ध्रुवराजले शानदार जित निकाले । योसँगै हतुवागढीमा पनि एमालेका प्रेम राईले गठबन्धनलाई पछारे । एमालेका लागि यो केवल एउटा स्थानीय तहको जित मात्र नभइ, महागठवन्धनविरुद्धको जित थियो ।

    उसो त ध्रुवराजसँग प्रतिस्पर्धामा उत्रिएका रामसिं पनि जिल्लामा इमान्दार, अहिलेसम्म कतै लाभको पदमा नबसी त्यागी छवि बनाएका नेता हुन् तर, यतिले मात्र विजयी गराउन सकेन ।

    चुनाव-७४ मा फर्किँदा

    २०७४ को चुनावमा टेम्केमैयुङमा ध्रुवराजले महागठबन्धनलाई १४८ मतले हराए । उनले २७८० मत ल्याउँदा रामसिंले २६३२ मत प्राप्त गरे । वडा नम्बर ६, ७, ८ र ९ कोट, गोगने, लेखर्कको मत नै ध्रुवको लागि निर्णायक मत बन्न पुग्यो ।

    उपाध्यक्षमा नेपाली कांग्रेसका सरोज बस्नेतले २ हजार ६ सय ९१ मत ल्याउँदा एमालेबाट इन्द्रावती राई २ हजार ७ सय १८ मत ल्याएर विजयी भएकी थिइन् । हाल उपाध्यक्ष राई नेकपा एस प्रवेश गरिसकेकी छन् ।

    ९ वटा वार्ड रहेको टेम्केमैयुङमा ४ नम्बर नागी तत्कालीन संघीयय समाजवादी फोरमबाट विवश राई र ६ नम्बर माओवादीबाट सूर्य नेपालले वडाअध्यक्ष जितेका थिए ।

    त्यो बेला जम्मा मतदाता ११ हजार २४७ जना थिए ।

    अहिले के छ अवस्था ?

    र, पाँच वर्षपछाडि आउँदो ३० गतेको चुनावका लागि एमालेले उनै ध्रुवलाई पुन: अध्यक्षको उम्मेदवार बनाएको छ गठबन्धनविरुद्ध । उपाध्यक्षमा रमा राईलाई अघि सारिएको छ । रमा हाल जिल्ला समन्वय समिति सदस्य छिन् ।

    निर्वाचन आयोगका अनुसार टेम्केमैयुङमा अहिले १३ हजार ६१८ मतदाता छन् । गत चुनावभन्दा थपिएका २ हजार ३७१ मतदाता पनि यसपटक जिताउन र हराउन निर्णायक मानिन सक्छन् ।

    गठबन्धनको जिल्लास्तरीय संयन्त्रले टेम्केमैयुङको अध्यक्ष कांग्रेस र उपाध्यक्ष नेकपा एसलाई भागबण्डा गरिसकेको छ । यहाँ कांग्रेसबाट सरोज बस्नेत मुख्य दाबेदार छन् । एमालेबाट जितेर हाल समाजवादीमा रहेकी इन्द्रावतीलाई पुन: उपाध्यक्ष उठाउने गरी सो पार्टीले तयारी गरेको छ ।

    सबै पार्टीका केन्द्रदेखि जिल्लासम्म प्रभावशाली नेता यहीँका भएकाले सबैले यस पालिकालाई प्रतिष्ठाको विषय बनाउनु स्वाभाविकै हो । र, पनि टेम्केमैयुङको चासो र चर्चा बढी छ ।

    एमालेका केन्द्रीय सदस्य एवं भोजपुर इन्चार्ज हरिबहादुर राई, जिल्ला अध्यक्ष शरणकुमार राई, कांग्रेसका पूर्व र हालका सभापति नन्दमणी राई र विनोद बान्तवा, नेता हेमन्त मुकारुङ, माओवादीका केन्द्रीय सदस्य अजम्बर काङमाङ, राजेश खतिवडा, नेकपा एसकी उपाध्यक्ष जयन्ती राई, जसपाका केन्द्रीय नेताहरू हेमराज राई, रामसिं राईको गृहपालिका हो यो ।

    माओवादीको असन्तुष्टि एमालेले गर्ला त ‘क्यास’

    टेम्केमैयुङको प्रमुखमा जसपाले दाबी गरेको थियो । अघिल्लोपटक गठबन्धनबाट भिडेका तत्कालीन संघीय समाजवादीका रामसिंहलाई उठाउने गरी जसपाले पछिसम्म पनि दाबी छाडेको थिएन । तर, जसपालाई जिल्ला समन्वय समिति प्रमुख दिने सहमति गरिसकिएको छ ।

    यता अध्यक्ष-उपाध्यक्ष केहीमा पनि आफूलाई भाग नछुट्याएको भन्दै माओवादीमा तीब्र असन्तुष्टि बढेको छ । ७४ मा पनि अध्यक्ष-उपाध्यक्ष केही उम्मेदवार नपाएको माओवादी यसपटक भागबन्डा गर्दा कम्तीमा उपाध्यक्ष पाउनेमा विश्वस्त थियो ।

    माओवादीका एक नेताले असन्तुष्टि जनाउँदै भने, ‘पोहोर पनि रुखमा र पुल्ठो (संघीय समाजवादी फोरम) मा हालियो टेम्केमैयुङमा माओवादी नै नभएजस्तो गर्छन् साथीहरू यसपाली देख्लान् ।’

    टेम्केमैयुङकै मोहन किराती ‘मादेन’ ले गठबन्धमा भएको सहमतिको मसी सुक्न नपाउँदै माओवादी छाडेको घोषणा गरिसकेका छन् । उनी भूमिगतकालदेखि नै माओवादीमा प्रभावशाली नेता मानिन्छन् ।

    मादेनले पार्टी परित्याग गर्नुमा ३ वटा कारण देखाएका छन् । कुनै पदमा पनि आफूले आकांक्षा नराखेको प्रष्ट्याउँदै मादेनले भने, ‘गठबन्धनको (मुख्यत कांग्रेस) केही मानिसको उक्साटमा लागेर हाम्रो जिम्मेवार नेताहरूले पार्टीलाई मटियामेट बनाउने सम्मको सहमति गर्ने देखे पश्चात् म मेरो सम्पूर्ण जिम्मेवारी बाट अलग भएको हो । यसमा मेरो कुनै किसिमको व्यक्तिगत महत्वकांक्षा थिएन छैन पनि ।’

    माओवादीलाई हदैसम्मको उपेक्षा गर्दै गठबन्धनका साझा उमेदवारलाई जिताउन नसक्ने भएकाले जिम्मेवारी लिएको ठाउँबाट नैतिकताको आधारमा अलग्गिएको मादेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    माओवादीबाट जितेका वडा नम्बर ६, कोटका अध्यक्ष सूर्य नेपाल केही जनप्रतिनिधि र करिब २ सय दलबलसहित एमाले प्रवेश गरिसकेका छन् । उनी १९३ मत ल्याएर विजयी भएका थिए ।

    यता कांग्रेसलाई अध्यक्ष र नेकपा एसलाई उपाध्यक्ष दिने गरी गरिएको माइन्यूट उल्टाएको भन्दै माओवादी नेता अजम्बर काङमाङले फेसबुकमा पोष्ट गरेको नेकपा एसलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्ष दिने सूचीप्रति पनि गठबन्धनमा खटपट भयो ।

    भागबन्डाप्रति माओवादी र कांग्रेस नेताकै कुरा बाझिएपछि दबाबका बीच काङमाङले केही घण्टामा पोष्ट सच्याए ।

    को हुन् ध्रुवराज ?

    २०३९ सालमा भोजपुरको पश्चिम नागीमा सामान्य परिवारमा जन्मिएका राईले भोजपुर बहुमुखी क्याम्पस हुँदै त्रिवि कीर्तिपुरबाट राजनीति शास्त्रबाट स्नातकोत्तर गरेका छन् । अनेरास्ववियुबाट राजनीतिमा होमिएका उनी भोजपुर बहुमुखी क्याम्पसमा २ पटक स्ववियू सभापति भएका थिए ।

    अखिल सचिवालय सदस्यसम्म पुगेका उनी केन्द्रीय उपाध्यक्षमा भने पराजित भएका थिए । उनलाई भोजपुरमा ‘आन्दोलनको छोरा’ नामले पनि चिनिन्छ । २०६२/६३ को जनआन्दोलनमा अग्र पंक्तिमा हिंडेका उनी आर्मीका ब्यारेक, प्रहरी/प्रशासनअगाडि हाक्काहाक्की राजाविरोधी नारा र भाषण गर्थे ।

    युवामाझ लोकप्रिय ध्रुवलाई जिताउन एमाले कार्यकर्ता एक ढिक्का बनेर सबैको घरदैलोमा पुगे । विभिन्न पेशा, व्यवसायमा रहेकाहरू विराटनगर, काठमाडौंमा बसेका युवाहरू २० हजारसम्म व्यक्तिगत खर्च गरेर भोट हाल्न मात्र गएनन् गाउँ-टोलको प्रचार प्रसार खर्चमा सकेको सहयोग गरे ।

    यो पाँच वर्षको बीचमा अधिकांश जनप्रतिनिधिलाई ‘ठाँट’ पल्टेको आरोप लागिरहँदा उनी यसबाट मुक्त भए । एउटा छड्के ब्याग कहिले छाडेनन् । फाट्टफुट्ट औपचारिक पोशाकबाहेक साधारण ड्रेसमै देखिन्छन् । गाडीभन्दा बढी बाइकमै कुद्छन् ।

    ध्रुवले ५ वर्षमा के गरे मुख्य काम ?

    उनको नेतृत्वमा गाउँपालिकाका सबै घरमा बिजुली पुगेको छ । ‘चुनाव उठ्दा धेरै वटा टुक्रे आश्वासन बाँडेर भन्दा पनि जनताको जीविकामा सहज हुने गरी सबै घरमा बत्ती बाल्छु भनेको थिएँ । जनताले पनि साथ दिनु भयो म सफल भएँ’, उनले नेपाल प्रेससँग भने । अहिले टेम्केमैयुङ ‘उज्यालो गाउँपालिका’ घोषणा भइसकेको छ ।

    तर, अहिले यही बिजुली बालेको कुरालाई विरोध गर्दै विपक्षीले चुनावी मुद्दा बनाउन थालेकोमा उनको चित्त दुखेको छ । ‘जनश्रमदान गरेर हामीले पनि पोल गाडेको भन्न थालेका छन् । राम्रो कामलाई राम्रो भन्ने राजनीतिक संस्कार नै भएन हामीमाझ । मेरोमा भन्दा अगाडि ठेक्का लागेका पालिकाले अहिलेसम्म कि त सामान नै ल्याएका छैनन् । ल्याएकाले पनि बाल्न सकेका छैनन् । मैले श्रमदान पनि अन्यत्रभन्दा कम गराएको छु’, ध्रुवले भने ।

    वडा नम्बर ३, ४, ६, ७, ८ लाई ध्रुवले फुसको छानोमुक्त वडा बनाइसकेका छन् । अरु वडाका लागि भनेर छुट्टिएको बजेट भने रामप्रसादराई गाउँपालिकामा लगेर २५ प्रतिशतजति काम अपूरो रहेको उनको भनाइ छ ।

    कृषकको टाउको दुखाइ बनेको बाँदरको उपद्रो नियन्त्रणका लागि ध्रुव रातविरात जनतासँगै खटे । हुनत: उनलाई पशु अधिकारकर्मीले विरोध नगरेका भने होइनन् । तर, लगाएको बाली उठाउन नपाउने गरी बाँदरले क्षति पुर्‍याएको र दिनहुँ कृषक दैलोमा आएर गुहार मागेको देखेर उनीहरूको पीडामा मल्हम लगाउन गाउँपालिकाले बजेट नै छुट्याएर काम गरेको उनको भनाइ छ ।

    भोजपुरका अधिकांस गाउँ बाँदर आतंकले बसाइ गएका उदाहरण प्रशस्त छन् ।

    ध्रुवको नेतृत्वमा पर्यटन क्षेत्रमा पनि गाउँपालिकाले फड्को मारेको छ । नेपालका जानैपर्ने एक सय गन्तव्यमा यहाँको ‘मुन्दुम पदमार्ग’ परेको छ । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले घोषणा गरेको यो पदमार्गमा अहिले विदेशी तथा आन्तरिक पर्यटकको चाप छ । जिल्लामै होम स्टे सुरू गर्ने यो पहिलो पालिका बनेको छ ।

    गाउँपालिकाका अनुसार नागी-खावा-कोट १४ किलोमिटर पक्की सडक निर्माणको चरणमा छ भने सिक्तेल-गुम्बा-आहाले-कोट-पान्धारे ग्राभेल सडक निर्माण थालिएको छ । त्यस्तै पालिकाभित्रका २८० किमि कच्ची सडक मर्मत र १०९ नयाँ सडक निर्माण साथै २१ किमि सडक ग्राभेल सकिएको छ ।

    यसपटक आफूले शिक्षा, कृषि, रोजगारमूलक कार्यक्रम र खेलकुदको क्षेत्रमा जोड दिने ध्रुवले बताए । उनले भने, ‘पूरा गर्न नसक्ने कुरा कसैलाई आश्वासन दिन्नँ । जे घोषणापत्रमा ल्याउँछु त्यो पूरा गर्छु । नसक्ने कुरा बोल्दिनँ ।’

  • माधव नेपालको गृहनगरमा गठबन्धन नहुने, कांग्रेस र नेकपा एसबाट छुट्टाछुट्टै नाम सिफारिस

    माधव नेपालको गृहनगरमा गठबन्धन नहुने, कांग्रेस र नेकपा एसबाट छुट्टाछुट्टै नाम सिफारिस

    रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा पाँच दलीय गठबन्धनको सम्भावना टरेको छ ।

    नेकपा एसले रौतहटको सबैभन्दा महत्वपूर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने कांग्रेसले यसअघि सिफारिस गरेका सातजनाको नामावलीकाबारेमा आज टुंगो लगाउँदैछ ।

    ‘कांग्रेस चन्द्रपुर नगर समितिले गठबन्धन नगर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ, सो निर्णयका बारेमा आज जिल्ला समिति बैठकमा आवाश्यक निर्णय हुनेछ,’ चन्द्रपुर नगरसभापति मुकेश गिरीले भने ।

    उनका अनुसार गिरीसहित सपु्तबहादुर कार्की, अनन्त कोइराला, रमेशहरि अधिकारी, रामचन्द्र चौधरीलगायतलाई मेयरका लागि सिफारिस गरिसकेको छ ।

    नेकपा एसले पनि गत बुधबारको बैठकबाट दाहाल र चौधरीलाई मेयर र उपमेयर सिफारिस गरे पनि माओवादी केन्द्रले भने अझै नाम सिफारिस गरिसकेको छैन ।

    ‘जिल्ला तहमा तीनपटकसम्म गठबन्धन बैठक बसेको भए पनि चन्द्रपुरका लागि एकपटक पनि बैठक बस्न सकेको छैन,’ माओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलले भने, ‘कमजोर दलहरूले मेयर र उपमेयरको नाम सिफारिस गरिसकेका छन् । हामी पनि बेलुकासम्म मेयर र उपमेयरको नाम सिफारिस गरिसक्नेछौं ।’

    उनका अनुसार गठबन्धनको बैठक बसाउन खोजे पनि अझैसम्म कुनै प्रयास सफल भएको छैन ।

  • जनकपुर जसपालाई दिइएपछि कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिँदै

    जनकपुर जसपालाई दिइएपछि कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिँदै

    जनकपुरधाम । सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

    कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका हुन् । उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दैछन् ।

    नगर सभापति साह नेता विमलेन्द्र निधि समूहका हुन् । नेता निधिले समेत सत्ता गठबन्धनले जनकपुरधामका मेयर जसपालाई दिएको निर्णयमा असन्तुष्टि जनाइरहेका छन् । निधिकै सल्लाहमा सभापति साह लगायतका नेताहरु राजीनामा दिन लागेको स्रोतको दाबी छ ।

    पार्टीबाट राजीनामा दिएर पत्रकार सम्मेलनमै साहले मेयरमा स्वतन्त्रबाट उठ्ने घोषणा पनि गर्ने उनीनिकट एक नेताले बताए । साह गत स्थानीय तहको निर्वाचनमा झण्डै १० हजार मतान्तरले पराजित भएका थिए ।

    जनकपुरधामको मेयरमा निर्वाचित मेयर लालकिशोर साह अहिले जसपामा छन् ।

  • भरतपुरमा बयोवृद्ध नेताले बागीको तयारी गरेपछि कांग्रेस सभापतिले गरे यस्तो आग्रह

    भरतपुरमा बयोवृद्ध नेताले बागीको तयारी गरेपछि कांग्रेस सभापतिले गरे यस्तो आग्रह

    काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल दोहोरिने निश्चित भएपछि कांग्रेसको असन्तुष्टि रोक्न जिल्ला सभापति राजेश्वर खनाल सक्रिय भएका छन् ।

    जिल्लाको अनेक आग्रहका बाबजुद माओवादीले नै मेयर पाएपछि अब असन्तुष्टिका स्वर मत्थर पार्न सभापति राजेश्वर खनाल आफैं अग्रसर भएका छन् । हालैमात्र चौरासी गरेका बयोवृद्ध नेता कृष्णलाल सापकोटाले मेयरमा बागी उम्मेदवारी दिन कांग्रेस कार्यकर्ताहरूबीच छलफल चलाइरहेका छन् ।

    चितवन जिल्ला विकास समितिका पूर्वसभापति तथा कांग्रेसका पहिलो पुस्ताका नेता सापकोटाले यसअघि नै भरतपुर माओवादीलाई दिइए कांग्रेस जोगाउन आफू बागी उम्मेदवार उठ्ने बताइसकेका थिए ।

    नेता सापकोटाले उम्मेदारी दिनेगरी छलफल र भेला गर्न थालेपछि चितवन कांग्रेसका सभापति खनालले गठबन्धनको निर्णय पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

    नेपाल प्रेससँग कुराकानी गर्दै खनालले भने ‘केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिइसकेको छु । अहिले व्यस्त भएर हो विज्ञप्ति पनि निकाल्ने तयारीमा छु ।’

    ‘गठबन्धनमा भएको सहमतिलाई र समग्र चुनावी प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरूसँग विनम्रताका साथ आग्रह गर्दछु’, उनको भनाइ छ ।

    चितवनमा गठबन्धन दलहरूबीच पालिकाको भागबण्डा पनि लगभग टुंगिएको छ । सहमतिअनुसार भरतपुर महानगरपालिका र माडी नगरपालिकाको मेयर माओवादी केन्द्रले पाएको छ ।

    त्यस्तै राप्ती नगरपालिकाको मेयर नेकपा एसले पाउँदा इच्छाकामना गाउँपालिकासहित कालिका,खैरहनी र रत्ननगरको मेयर कांग्रेसले पाउने भएको छ ।

    माओवादी केन्द्रले इच्छाकामना,खैरहनी र कालिका नगरपालिकको उपमेयर पाउँदा नेकपा एसले रत्ननगरको उपमेयर पाउने भएको छ । त्यस्तै कांग्रेसले भरतपुर,माडी र राप्तीको उपमेयर पाउने भएको छ ।

  • कांग्रेस छाडेका भैरहवाका प्रभावशाली नेता मातृका यादव जसपामा प्रवेश, मेयर उम्मेदवार बन्दै

    कांग्रेस छाडेका भैरहवाका प्रभावशाली नेता मातृका यादव जसपामा प्रवेश, मेयर उम्मेदवार बन्दै

    रूपन्देही । नेपाली कांग्रेस छाडेका रूपन्देहीका नेता तथा पूर्वक्षेत्रीय सभापति मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।

    शुक्रबार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

    स्थानीय तहको टिकट वितरणमा नेपाली कांग्रेसले पुरानो नेतालाई भन्दा नवप्रवेशीलाई प्राथमिकता देखाएको भन्दै उनले पार्टी परित्याग गरेका थिए । भैरहवास्थित सिद्वार्थनगर नगरपालिकामा यादव कांग्रेसबाट मेयरका आकांक्षी थिए ।

    गत स्थानीय तहको निर्वाचनमा पनि सिद्धार्थनगर नगरपालिकाको प्रमुख पदको उम्मेदवार भइ उनी पराजित भएका थिए । पार्टीको क्षेत्रीय अधिवेशनमा पनि उनी क्षेत्रीय सभापति पदमा पराजित भए ।

    उनी कांग्रेसबाट अघिल्लो निर्वाचनमा पनि प्रत्यासी थिए । यादव जसपा प्रवेश गरेपछि उनी अब सोही पार्टीबाट नगर प्रमुख पदको उम्मेदवार हुने जनता समाजवादी पार्टीका नेता किस्मत विश्वकर्माले जानकारी दिएका छन् ।

  • लुम्बिनीका चार उपमहानगरमा एउटै भाग नपाएपछि नेकपा एस रुष्ट, यस्तो छ बदलिएको हिसाब

    लुम्बिनीका चार उपमहानगरमा एउटै भाग नपाएपछि नेकपा एस रुष्ट, यस्तो छ बदलिएको हिसाब

    रुपन्देही । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकामध्ये सत्तागठबन्धनमा रहेका पाँच दलले तीनवटामा नेपाली कांग्रेस र एक माओवादीलाई नेतृत्व दिनेगरी बाँडफाँट गरेका छन् । गत स्थानीय तहमा ३ उपमहानगर प्रमुख र उपप्रमुख नै एमालेले जितेकाले त्यो विरासत तोड्नका लागि गठबन्धन गरिएको उनीहरुको भनाइ छ ।

    रुपन्देहीको बुटवल, दाङको घोराही र तुल्सीपुर तथा बाँकेको नेपालगन्ज चारै उपमहानगरमा अहिले गठबन्धनमा रहेका कुनै दलको नेतृत्व थिएन । बुटवल, घोराही, तुल्सीपुरमा एमालेले प्रमुख उपप्रमुख नै जितेको थियो भने नेपालगन्जमा मेयरमा राप्रपा विजयी भएको थियो ।

    दोस्रो र तेस्रो अर्थात कांग्रेस र माओवादीको मत जोड्दा एमालेभन्दा धेरै भएका कारण पनि यो पटकको चुनावी अंक गणित कस्तो हुनेछ ? भन्ने जोडघटाउ सुरु भएको छ । एमालेले जितेको बुटवलमा कांग्रेस, माओवादी र जनमुक्तिको गठबन्धन रहेको थियो भने दाङमा अलग अलग प्रतिस्पर्धा थियो ।

    बाँकेमा एमालेबाट ०५४ सालमा मेयर बनेका डाक्टर धवलशमशेर राणा राप्रपाबाट जितेका थिए । अहिले एमालेबाट छुटिएर बनेको नेकपा एस, जनमोर्चा, जसपा, र यसअघि अधिकांश पालिकामा गठबन्धन गरेको कांग्रेस र माओवादीसमेतको गठबन्धनले एमालेको विरासत जसरी पनि तोड्ने भनेर योजना बनाइसकेको बताएका छन् ।

    भागवण्डापछि बुटवलबाहेकका उपमहानगरमा दलहरुबीच विवाद बढेको छ । बुटवलको मेयर अन्य पार्टीले खासै बलियो तरिकाले दाबी नगरेपनि नेपालगन्जमा जसपा, घोराहीमा कांग्रेस र तुल्सीपुरमा माओवादी तथा नेकपा एसले अन्तिमसम्म दाबी गरेका थिए । निर्णय भइसकेपछि पनि ती पालिकामा दलका अलग अलग बैठक बसेर गठबन्धनको निर्णय मान्न नसकिने बताइरहेका छन् ।

    अर्कोतिर तत्कालीन अवस्थामा माओवादीमा रहेको अधिकांश नेता कार्यकर्ता र तराईमधेसका धेरै अन्य पार्टीबाट एमालेमा प्रवेश गरेकाले गत निर्वाचनको तथ्यांक जोडेर मूल्यांकन गर्न नहुने विषय अहिले चर्चामा छ । एमालेबाट छुट्टिएको नेकपा एसको जनपरीक्षण नभएकाले एमाले र नेकपा एसले आफ्नो दाबी गरिरहेका छन् । भने तराईमा बढी प्रभाव रहेका जसपा र लोसपाको परीक्षण नभएकाले अहिले आंकलन गर्न बढी कठिन छ ।

    बुटवल उपमहानगरपालिका

    एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा गत निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीको गठबन्धनलाई पराजित गर्दै बुटबल उपमहानगरको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको थियो । प्रमुखमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गरेका थिए ।

    त्यस्तै उपप्रमुखमा नेकपा एमालेकै गुमादेवी आचार्यले २५ हजार ३०१ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनमा माओवादीबाट उम्मेदार बनेका जगत पोखरेलले १४ हजार ७९२ मत ल्याएका थिए । अहिले पोखरेल एमालेमा छन् । उनी मात्र होइन बुटवलमा रहेका धेरै माओवादी एमालेमा प्रवेश गरेकाले माओवादीको संगठन कमजोर बनेको छ । यहाँबाट एमालेले आफ्नो विरासत जोगाउन कसलाई पठाउँछ त्यो चासोको विषय छ । अहिलेका मेयर शिवराज सुवेदी दोहोरिन चाहेका छन् भने अघिल्लो पटक मेयरकै अन्तिम तीनमा परेका बाबुराम भट्टराई र गोपाल राना बलिया दावेदार हुन् । बहालवाला उपमेयर गुमादेवी आचार्य पनि मेयरमै दावेदारी गरेकी छन् । तर कसैको निर्णय हुन सकेको छैन ।

    कांग्रेसबाट अघिल्लो निर्वाचनका बलिया प्रतिस्पर्धी खेलराज पाण्डेको नाम नगरबाट सिफारिस भएर गइसकेको छ । तर यो निर्णय एकपक्षीय भन्दै उनकै समूहका हरि लम्सालसहितको ठूलो समूहले विरोध गरेकाले यसलाई कांग्रेसले कसरी मिलाउनसक्ला भन्ने चासोको विषय बनेको छ । यहाँबाट उपमेयर नेकपा एसले पाएपनि कसलाई पठाउने निर्णय गरेको छैन । यहाँबाट राप्रपाले संचारउद्यमी मृगेन्द्र शेरचनलाई उम्मेदवार घोषणा गरिसकेको छ ।

    घोराही उपमहानगरपालिका

    नेपाली कांग्रेसले आफ्नो बलियो क्षेत्र भनेर दावी गरेको घोराहीमा भागवण्डामा माओवादीले पाएको छ । माओवादीले हेमराज शर्मा डायमण्डलाई मेयरमा पठाउने निर्णय गरिसकेको छ । तर उपमेयर पाएको कांग्रेसले कसलाई पठाउने निर्णय गरेको छैन । माओवादीलाई जिताउन नसकिने भन्दै स्थानीय कांग्रेस नेताहरुले सामाजिक सन्जालमा आफ्ना धारणा लेख्न थालेका छन् ।

    एमाले महासचिव शंकर पोखरेल तथा माओवादी नेता कृष्णबहादुर महराको गृहजिल्ला दाङमा दुई उपमहानगर छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरी २२ हजार ३० मतसहित विजयी भएका थिए । सो समयमा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री १७ हजार ४८४ प्राप्त गर्दा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए ।

    घोराहीमा योपटक एमाले एक्लै लडे आफ्नो विरासत जोगाउला त ? भन्ने प्रश्न उठ्न थालेको छ । उपमेयरमा एमालेकै सीता न्यौपाने धेरै मतले विजयी भएकी थिइन् । उनले २० हजार ७९२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठ १७ हजाार ६०३ मा मत ल्याएकी थिइन् । यहाँबाट पनि एमालेका नरुलाल चौधरी दोहोरिने निश्चितजस्तै छ । उनी महासचिव शंकर पोखरेल निकट भएकाले पनि टिकट पाउने धेरैले आंकलन गरेका छन् ।

    कांग्रेस र माओवादी दुवैले यहाँ मेयरको दावी गरेकाले नेताहरुको चर्चा कम भएको छ । यहाँबाट माओवादीको ठूलो समूह नै एमालेमा प्रवेश गरेकाले ऊ कमजोर रहेको कांग्रेसको दाबी छ ।

    तुलसीपुर उपमहानगरपालिका

    तुल्सीपुर उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर नेकपा एसलाई परेको छ । यसअघि मेयर र उपमेयर दुवैमा एमालेले विजयी भएको थियो । एमालेका उम्मेदवार घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मतसहित दोस्रो हुँदा नेकपा माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६ सय ९३ मत प्राप्त गरेका थिए ।

    उपमेयरमा एमालेकी माया आचार्य २१ हजार ३७ मत प्राप्त गर्दै विजयी हुँदा उपमेयरका प्रत्यासी कांग्रेसकी देबकी नेपालीले २० हजार १ सय ८५ मत गर्दा नेकपा माओवादी केन्द्रका सीता ओलीले ९ हजार ५१ मत प्राप्त गरेकी थिइन् । यहाँबाट एमालेले यसअघि पार्टीको जिल्ला अध्यक्ष रहेका टिकाराम खड्कालाई उठाउने निश्चितजस्तै छ । यहाँबाट कसलाई पठाउने भनेर निर्णय कुनै पार्टीले गर्न सकेका छैनन् ।

    नेपालगञ्ज उपमहानगरपालिका

    भागबण्डामा जसपाले दाबी गरेको नेपालगञ्ज उपमहानगर पालिका नेपाली कांग्रेसलाई परेपनि यहाँ गठबन्धन नगर्ने जसपाले भनिसकेको छ । भागवण्डामा मेयर नेपाली कांग्रेस तथा उपमेयर जसपालाई परेको हो । यसअघि राप्रपाका धवलशमशेर राणाले १२ हजार ५ सय १५ मत ल्याएर मेयर बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेशकुमार कनौडियाले ८ हजार ७३० मत ल्याएका थिए ।

    तेस्रो स्थानमा आएका माओवादीका उम्मेदवारले ७ हजार १९८ मत ल्याएका थिए । एमाले चौथो स्थानमा थियो । हाल राप्रपा र एमालेको गठवन्धनको त्यस्तै कांग्रेस,माओवादी सहितको गठवन्धनका कारण नेपालगञ्ज उपमहानगरपालिकाको चुनावी रौनक बढ्ने देखिन्छ । नेपालगञ्जको उपमेयरमा कांग्रेसकी उमा थापामगर विजयी भएकी थिइन् । उनले राप्रपाकी उम्मेदवारलाई करिब २ हजार मतले पछि पारेकी थिइन् । यहाँका मेयर राणा नदोहोरिने भनिसकेका छन् भने नेकपा एमालेले केही महिना अघि प्रवेश गरेका पशुपतिलयाल मिश्रलाई भावी मेयरका रुपमा प्रचारमा ल्याइसकेको छ ।

    जसपाले गठबन्धन नहुने घोषणा गरेपछि कांग्रेसलाई अन्यौल भएको छ । यही अन्यौलका कारण यहाँ उम्मेदार पनि चयन हुनसकेको छैन ।

    गठबन्धनपछिको टकराव

    केन्द्रबाट भएको अनिवार्य गठबन्धनमा स्थानीय नेताहरु सन्तुष्ट छैनन् । कुन पालिकामा कसलाई अगाडि सार्ने वा नसार्ने निर्णय केन्द्रबाट भएकाले कार्यान्वयनमा चुनौती हुने गठबन्धनमै रहेका दलका नेताहरुले बताउन थालेका छन् ।

    जसपा लुम्बिनी महासचिव यज्ञ पोखरेलले गठबन्धन हुबहु सबै पालिकामा कार्यान्वयनमा चुनौती रहेको बताउँछन् । ‘एकले अर्को पार्टीको अस्तित्व स्वीकार्न समस्या छ, हामीले पहाडमा नटुंगाइ तराईमा गठबन्धन हुँदैन भनिरहेका छौं’, नेपालगन्जमा हाम्रो बटमलाइन थियो नदिएपछि हाम्रो साथीहरु बिच्किनुभयो, तराईमा मित्रवत लड्ने भनेर निर्णय भएको छ, गठबन्धन गर्ने त निर्णय हुन्छ अनि मित्रवत लड्न नि निर्णय गर्नुपर्छ र ?’

    कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश राना सबै पालिकामा गठबन्धन कार्यान्वयनमा चुनौती भएको बताउँछन् । आफ्नो दलको क्षमता कति हो नजाँची माग गरेकाले पनि समस्या भएको उनको भनाइ छ ।

  • जनप्रतिनिधिमा अनिवार्यबाट प्राथमिकतामा झरेका महिला, गठबन्धन कति घातक ?

    जनप्रतिनिधिमा अनिवार्यबाट प्राथमिकतामा झरेका महिला, गठबन्धन कति घातक ?

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने तयारी भइरहेको छ । दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् ।

    वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा एकसाथ होमिँदै छन् ।

    सत्ता गठबन्धनले ७ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबन्डा टुंग्याएको छ । २७६ वटा नगरपालिका र ३४० गाउँपालिकामा भागबन्डा नमिल्दा सत्ता गठबन्धनले उम्मेदवारी टुंगो लगाएका छैनन् ।

    यता एमालेले पनि स्थानीय तह निर्वाचनमा राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परिवार दललगाययतसँग तालमेल गर्ने भएको छ । तालमेल नभएका ठाउँमा धमाधम उम्मेदवार टुंग्याउन एमाले अघि परेको छ ।

    उम्मेदवारी सुनिश्चित गर्न महिला नेतृत्वद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

    विभिन्न राजनीतिक दलमा आवद्ध महिला नेतृले चैत २५ गते स्थानीय तह निर्वाचनमा समावेशी सिद्धान्तको आधारमा समानुपातिक ढंगले महिलाको उम्मेदवारी सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराइसकेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग सामूहिक भेट गरी महिला नेतृहरुले संवैधानिक व्यवस्था कार्यान्वयन गर्न कठोर नीति लिन पनि निर्वाचन आयोगसमक्ष आग्रह गरिसकेका छन् ।

    ध्यानाकर्षण गराइएको नेकपा एमालेकी नेतृ विन्दा पाण्डेले नेपाल प्रेसलाई जानकारी दिइन् । उनले महिलाको हकमा भने उम्मेदवारी फिर्ता लिन नपर्ने व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई आग्रह गरिएको बताइन् ।

    सत्तारुढ नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले संविधानको धारा ३८ ले व्यवस्था गरेअनुसार समानुपातिक सहभागिताको कुरालाई स्थानीय तह निर्वाचनमा पनि कडाइका साथ पालना गराउन निर्वाचन आयोगसमक्ष आग्रह गरिएको नेपाल प्रेससँग बताइन् । यदि दलले दिएको उम्मेदवारी समानुपातिक नभए, त्यो स्वतः रद्ध हुने व्यवस्था गर्न आयोगलाई भनिएको उनले जानकारी दिइन् ।

    गठबन्धन होस् वा एकल, निर्वाचन लड्ने जुनसुकै अवस्थामा पनि महिलाको प्रतिनिधित्व सुनिश्चित हुने संवैधानिक व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आयोगसँग आग्रह गरिएको नेकपा (माओवादी केन्द्र) का नेता रेणु चन्दले नेपाल प्रेससँग बताइन् । संविधानले दुइटा पदमध्ये एउटामा महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेकाले त्यसलाई आयोगले कार्यान्वयन गर्ने आफूहरुको विश्वास रहेको उनको भनाइ छ ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानले व्यवस्था गरेको कुरालाई सबै राजनीतिक दलले पालना गर्ने विश्वास व्यक्त गरे । संविधान र कानुनको पालना नगर्ने दललाई आयोगले कारबाही गर्न नपरोस् भन्ने उनको भनाइ छ ।

    अनिवार्यबाट प्राथमिकतामा झर्यो आयोग

    आयोगले गएको चैत १६ गते राजनीतिक दललाई १७ बुँदे निर्देशन जारी गर्दै बुँदा नं ६ मा भनेको थियो, ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्नु ।’

    आयोगले निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति २०७७ अनुसार यस्तो निर्देशन दिइएको जनाएको थियो । आयोगले परिपत्रमै ‘महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा आ–आफ्नोतर्फबाट तपसिलबमोजिम गर्न’ भन्दै यस्तो भनेको थियो ।

    राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ अनुसार यो परिपत्र गरिएको आयोगको दाबी थियो । आयोगले यस्तो निर्णय गरेपछि महिला अधिकारको क्षेत्रमा कार्यरत निकाय तथा व्यक्ति खुसी भएका थिए । तर, उक्त खुसीको एक साता बित्न नपाउँदै आयोगले आफ्नो पूर्ववत निर्णय उल्ट्यायो ।

    आयोगले चैत २९ गते एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘निर्वाचन आयोगले मिति २०७८ चैत २२ गते राजनीतिक दललाई निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको निर्देशनको बुँदा नम्बर ६ मा ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।’

    तर यसलाई आयोगले प्रिन्ट गर्दा गल्ती भएको जनाएको छ । त्यसैले आयोगले तत्कालै सच्याएर वेबसाइटमा राखेको उसको भनाइ छ ।

    आयोगले स्थानीय तह निर्वाचनमा महिला प्रतिनिधित्व कम हुन नदिन पर्याप्त पहल गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेससँग बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन २०७३ मा नै एकमात्रै उम्मेदवारी दिँदा महिला र पुरुष जो भए पनि हुने भन्ने व्यवस्था भएका कारण आयोगले गर्ने ठाउँ कम छ । आयोगले यस्तो अवस्थामा पनि महिलालाई प्राथमिकता दिनुपर्छ भनेको छ ।’

    महिला गैरसरकारी संस्था महासंघको आपत्ति

    स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने ऐन संशोधन गरी महिलालाई प्राथमिकता दिने बनाएकोप्रति महिला गैरसरकारी संस्था महासंघले आपत्ति जनाएको छ । महासंघकी अध्यक्ष प्रा.डा. शशि अधिकारीले विज्ञप्ति जारी गर्दै संशोधन फिर्ता गर्न आग्रह गरेकी छन् ।

    ‘निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दर्ता गराउँदा महिलालाई उम्मेदवार बनाउनुपर्ने ऐनलाई संशोधन गरेर महिलालाई प्राथमिकता दिनुपर्ने भन्ने वाक्य राखेर संशोधन गरेकोमा हाम्रो ध्यानार्कषण भएको छ । निर्वाचन आयोगले यथाशीघ्र यो निर्णय सच्चाएर महिला मुद्दाका सवालमा संविधानअनुसारको न्यायोचित व्यवहार गर्न अपिल गर्दछौं ।’

    संविधानको धारा ३८ को उपधारा चारले राज्यका हरेक संरचनामा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने प्रावधानको कटौती गर्ने गरी कानुनको व्याख्या र संशोधन गरेको भन्दै महासंघले आयोगको आलोचना गरेको छ ।

    एमाले समर्थित अखिलको पनि आपत्ति

    स्थानीय तहको प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्षमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दर्ता गराउँदा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था संशोधन गर्ने आयोगको निर्णयप्रति एमाले समर्थित अनेरास्ववियुले पनि आपत्ति जनाएको छ ।

    अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै उक्त सूचनाप्रति गम्भीर आपत्ति जनाएकी थिइन् । आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनलाई प्राथमिकता दिने भनी सूचना जारी गरेकोप्रति अनेरास्ववियुले आपत्ति र असहमति जनाएको हो ।

    गठबन्धनमा महिलालाई प्राथमिकता दिन जोड दिने मन्त्री झाँक्रीको प्रतिबद्धता

    सहरी विकासमन्त्रीसमेत रहेकी नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाँक्रीले यतातर्फ आफ्नो ध्यान नै नगएको स्वीकार गर्दै अब भने यसतर्फ ध्यान दिने प्रतिबद्धता जनाएकी छन् । उनले आफ्नो पार्टीमा मात्र नभएर गठबन्धनमा आवद्ध दलमा महिलालाई उम्मेदवारी दिलाउन पहल गर्ने नेपाल प्रेसगँको कुराकानीमा बताइन् ।

    उनले भनिन, ‘मैले यसमा ध्यान नै दिएको रहेनछु । अब ख्याल गर्नुपर्ला । यसमा कुनै सिद्धान्त बनाएर अघि बढ्छौं । मुख्य गरी ठूलो ठाउँमा त्यो भन्न नसकिएला । तर, हामी गर्छौं । महिला पुरुषको अनुपात मिलाउन छलफल पनि हुन्छ ।’

    ऐन संशोधन आवश्यक

    स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन, २०७३ को दफा १७ को उपदफा ४ मा भनिएको छ, ‘स्थानीय तहको निर्वाचनका लागि मनोनयनपत्र पेश गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी व्यवस्था मिलाउनु पर्नेछ ।’

    त्यही ऐनमा प्रमुख दुईमध्ये एउटा पदमा मात्रै उम्मेदवारी दिने दलको हकमा भने यो व्यवस्था बाध्यकारी नहुने व्यवस्था गरिएको छ ।

    उक्त ऐनमा एउटै दलबाट मात्र उम्मेदवारी दिनेको हकमा महिला अनिवार्य हुने व्यवस्था गरिए पनि गठबन्धन दलबाट उम्मेदवारी दिने विषयमा ऐन बनाउँदा ध्यान नदिएको पाइएको छ । ऐन निर्माण गर्दा यो पक्षमा ध्यान दिएको भए अर्को कुनै उपायबाट भए पनि महिला अनिवार्य रहनुपर्ने व्यवस्था गर्न सकिने थियो ।

    अहिले आयोगले ऐनमै त्यस्तो व्यवस्था नभएका कारण केही गर्न नसक्ने बताएर पन्छिँदै आएको छ । राजनीतिक दलले पनि ऐनमा गठबन्धन दलको हकमा बाध्यकारी व्यवस्था नभएकाले महिलालाई अनिवार्य र प्राथमिकता दिन जरुरी नभएको तर्क गर्न थालेका छन् ।

    २०७४ को निर्वाचनलाई फर्केर हेर्दा

    २०७४ सालमा भएको संघीय संरचनाअन्तर्गतको नेपालको पहिलो स्थानीय तह निर्वाचनमा महिलाको सहभागिता अनिवार्य हुनुपर्ने प्रावधान राखिएकै कारण स्थानीय तहमा महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको थियो ।

    जसमा ३५ हजार ४१ जना जनप्रतिनिधिमध्ये १४ हजार ३५३ महिला निर्वाचित भएका थिए । ७५३ स्थानीय तहमध्ये १८ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा महिला चुनिएका थिए । यो स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा महिलाको सहभागिता करिव तीन प्रतिशत हो । त्यस्तै ७ सय जना उपप्रमुख तथा उपाध्यक्ष निर्वाचित भएका थिए । यो उपप्रमुख तथा उपाध्यक्ष तहमा करिब ९३ प्रतिशत हो ।

    वडाध्यक्षको हकमा भने महिला अनिवार्य गरिएको छैन । जसले गर्दा महिलाको प्रतिनिधित्व एकदमै न्यून आयो । संख्यामा हेर्दा ६ हजार ४७३ वडाध्यक्षमध्ये ६२ जनामात्रै महिला निर्वाचित भए ।