Category: स्थानीय निर्वाचन–२०७९

  • नुवाकोटमा भागबण्डा : दुई वटा पालिका कांग्रेसलाई, एउटा माओवादीलाई

    नुवाकोटमा भागबण्डा : दुई वटा पालिका कांग्रेसलाई, एउटा माओवादीलाई

    काठमाडौं । नुवाकोट जिल्लामा सत्ता गठबन्धनका दलहरुबीच आगामी स्थानीय चुनावको उम्मेदवारीलाई लिएर भागबण्डा पूरा भएको छ ।

    पाँच दिनसम्म बसेको जिल्ला गठबन्धन दल संयन्त्रको बैठकले आज भागबण्डा टुंग्याएको हो ।

    माओवादी केन्द्रका संयोजक पुष्प लामिछाने र नेपाली कांग्रेसका जिल्ला सभापति रमेशकुमार महतले जारी गरेको विज्ञप्ति अनुसार जिल्लाका तीन पालिकाहरूमध्ये दुई वटामा कांग्रेस र एउटामा माओवादी केन्द्रले प्रमुखमा उम्मेदवारी दिनेछन् ।

    विदुर नगरपालिका र तारकेश्वर गाउँपालिका कांग्रेसले पाएको छ भने बेल्कोटगढी नगरपालिका माओवादीको भागमा परेको छ ।

    यस्तै, उपप्रमुखमा विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकामा माओवादीका उम्मेदवार उठ्नेछन् भने बेल्कोटढीमा कांग्रेसका उम्मेदवार उठ्ने निधो भएको छ ।

    विदुर नगरपालिकामा ९ वटा वडाध्यक्ष कांग्रेस, ३ वटा माओवादी र एउटा एकीकृत समाजवादीले पाएको छ ।

    यस्तै बेल्कोटगढीमा ७ वटा वडामा नेपाली कांग्रेस, ५ वटामा नेकपा माओवादी र २ वटामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार अध्यक्षमा उठ्ने छन् ।

    तारकेश्वरमा कांग्रेसले ४ र माओवादीले २ वटा वडाध्यक्ष पाएको छन् ।

  • जिल्लामा गठबन्धन पेचिलो- केन्द्रबाटै तोकेर पठाउन देउवामाथि अन्य दलको दबाब

    जिल्लामा गठबन्धन पेचिलो- केन्द्रबाटै तोकेर पठाउन देउवामाथि अन्य दलको दबाब

    काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाहरूको सिट बाँडफाँट केन्द्रबाट भए पनि अन्य पालिकाहरूको भागबण्डा हुन नसकेपछि केन्द्रबाटै पालिका तोकेर पठाउन प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढेको छ ।

    जिल्ला स्तरमा गठबन्धन दलहरुबीच भागबण्डा हुनै नसकेर एक्ला एक्लै लड्न कांग्रेस अग्रसर भएको भन्दै अन्य दलले ७५३ वटै पालिकाको बाँडफाँट केन्द्रबाटै गरेर प्रदेशलाई निर्णय कार्यान्वयनका लागि पठाउन दबाब परेको हो ।

    विशेष गरी देशैभर कांग्रेसले एक्लै लड्न खोजेको र भागबण्डामा अन्य दललाई प्रमुख पद दिन कन्जुस्याइँ गरेपछि केन्द्रबाटै ह्विप लगाउन देउवालाई शीर्ष नेताहरूले आग्रह गरेका छन् ।

    विशेषसरि नेकपा एकीकृत समाजवादीले जिल्ला तहबाट भागबण्डा सम्भव नभएको भन्दै शीर्ष तहबाट टुंग्याउन माग गरेको छ ।

    नेकपा एसका एक शीर्ष नेताले भने–केन्द्रमा देउवा गठबन्धनप्रति जसरी उदार बन्नुभएको छ,तल्लो तहका नेताहरू उत्तिकै अनुदार देखिए ।

    सबैतिर आफू मात्रै लिने र उसले दिएको भागमा चित्त बुझाउनुपर्ने भएपछि अन्तिम घडीमा गठबन्धन कतै नहुने खतरा भयो । अझ कतिपय ठाउँमा कांग्रेस र माओवादी मात्र मिलेर हामीलाई बाइपास गरेका छन् ।

    झापा,सिन्धुली,ओखलढुंगा लगायतका जिल्लामा कांग्रेस र माओवादी मात्र गठबन्धन गर्न सहमत भएका छन् ।

    धेरैजसो जिल्लामा नेकपा एसलाई वडाध्यक्ष र सदस्यमा सीमित गर्ने र कतिपयमा उपप्रमुखबाहेक नदिने अवस्था भएकाले अध्यक्ष माधव नेपालले नै देउवा र प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

    केन्द्रबाट हस्तक्षेप नगर्ने हो भने धेरै ठाउँमा गठबन्धन नहुने देखिएकाले शीर्ष तहमै शनिवारै छलफल हुने सम्भावना रहेको नेताहरूले बताएका छन् । कांग्रेसले पनि कार्य सम्पादन समितिको बैठक स्थगित गरेर छलफल थालेको छ ।

    जिल्लाहरूलाई भागबण्डाको अधिकार दिने हो भने धेरैजसो ठाउँमा सहमति हुन नसक्ने देखिएकोले केन्द्रबाट अधिकतम पालिका तोकेर पठाउनका लागि बैठक माग भएको छ ।

  • समानुपातिकको बन्द सूचीमा नाम रहेका व्यक्ति स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने

    समानुपातिकको बन्द सूचीमा नाम रहेका व्यक्ति स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने

    काठमाडौं । २०७४ सालको प्रदेश तथा प्रतिनिधसभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा नाम रहेका व्यक्तिहरु स्थानीय तह निर्वाचनमा लड्न नपाउने भएका छन् ।

    एउटै व्यक्ति एक भन्दा बढी निर्वाचनमा उम्मेदवार हुन नसक्ने मान्यताका आधारमा बन्द सूचीमा नाम रहेसम्म उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ ।

    बन्दसूचीको नाम हटाउन सम्बन्धित राजनीतिक दलले नै सहजीकरण गरी आवश्यक प्रकृया अगाडि बढाउन सकिने आयोगका प्रवक्तासमेत शालिग्राम शर्माले बताए ।

    सूचीबाट हटाएको नाम वैशाख १० गतेभित्र प्रक्रिया पुर्याएर आयोगमा पठाउन पनि आग्रह गरिएको छ ।

    नेपालको संविधानको धारा ८४ र १७६ ले प्रतिनिधिसभा र प्रदेशसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित सदस्य रहने व्यवस्था गरेको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ को उपदफा (९) मा दलले उम्मेदवारको बन्दसूची पेश गर्दा सम्बन्धित व्यक्तिको मञ्जुरीनामा समेत पेश गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै, सोही ऐनको दफा ३० को उपदफा (१) मा आयोगले प्रकाशन गरेको अन्तिम बन्दसूची प्रतिनिधिसभाको सो कार्यकालभर मान्य हुने व्यवस्था रहेको छ ।

    ऐनको सोही उपदफाको प्रतिबन्धात्मक वाक्यांशमा प्रतिनिधिसभाको गठन भइसकेपछि मनोनयन गर्ने दलले कुनै उम्मेदवारको नाम हटाउन लेखीपठाएमा आयोगले बन्दसूचीबाट त्यस्तो उम्मेदवारको नाम हटाउन सक्ने व्यवस्था पनि रहेको आयोगले बताएको छ ।

    आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोही दफाको उपदफा (३) मा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्पmको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्तिको हकमा मनोनयन गर्ने दलले लेखीपठाए बमोजिम आयोगले बन्दसूचीबाट नाम हटाएको अवस्थामाबाहेक राष्ट्रियसभा, प्रदेशसभा वा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था रहेको बताउनुभयो ।

    प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, २९ र ३० मा समेत सोही बमोजिमको व्यवस्था रहेको आयोजले जनाएको छ । सो ऐनको दफा ३० को उपदफा (३) मा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्पmको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्तिको हकमा मनोनयन गर्ने दलले लेखी पठाएबमोजिम आयोगले बन्दसूचीबाट नाम हटाएको अवस्थामाबाहेक सङ्घीय संसद् वा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन तथा प्रदेशसभा सदस्य निर्वाचन ऐनमा भएको उल्लिखित व्यवस्था बमोजिम उम्मेदवार मनोनयन गर्ने सम्बन्धित राजनीतिक दलले त्यस्तो दलको बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको नाम हटाउन निर्णय गरी पठाएको अवस्थामा निर्वाचन आयोगले बन्दसूचीबाट नाम हटाउँदै आएको जानकारी गराएको छ ।

  • हुम्लाको चंखेलीमा माओवादीले छान्यो चिट्ठाबाट उम्मेदवार

    हुम्लाको चंखेलीमा माओवादीले छान्यो चिट्ठाबाट उम्मेदवार

    हुम्ला । नेकपा (माओवादी केन्द्र) ले हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा गोविन्द बहादुर शाही ‘प्रज्वलन’ लाई उम्मेदवार उठाउने भएको छ ।

    अध्यक्षका लागि ८ जना आकांक्षी रहेका थिए । उम्मेदवार चयनका लागि माओवादीले गोला प्रथा गरेकोमा शाहीको नाम आएको थियो ।

    शाहीसँगै अध्यक्षका लागि गोविन्द बहादुर शाही, काली बहादुर बुढा, कुलप्रसाद चौलागाई, अजबिर बुढा, वर्षबहादुर शाही, शेरबहादुर पाल, ध्रुव बहादुर शाही, सुरवीर ऐडी दाबेदार थिए ।

  • पालिकादेखि केन्द्रसम्म एमालेका सरकारले के गरे ? घोषणापत्रमा समेटिए उपलब्धि

    पालिकादेखि केन्द्रसम्म एमालेका सरकारले के गरे ? घोषणापत्रमा समेटिए उपलब्धि

    काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा देशभरका कुल ३३ हजार एक सय ७४ जनप्रतिनिधिका लागि भएको निर्वाचनमा नेकपा एमाले एक्लैले ४२ दशमलव ५ प्रतिशत पद जितेको थियो । अर्थात् १४ हजार एक सय पदमा एमाले उम्मेदवार विजयी भएका थिए ।

    यद्यपि यसमा गाउँ कार्यपालिका र नगर कार्यपालिका तथा जिल्ला समन्वय समितिका पदाधिकारीको संख्या जोडिएको छैन । त्यो आँकडा जोड्दा एमालेको स्थान अझै माथि हुन्छ ।

    ७ सय ५३ पालिकाका प्रमुख तथा अध्यक्ष पदमा मात्रै २ सय ९४ पद एमालेकै उम्मेदवारहरूले जितेका थिए । जसको दर केही कम अर्थात् ३९ प्रतिशत हुन आउँछ ।

    २०७४ मा एमालेको जितको सिलसिला यही रोकिएन । मंसिरमा सम्पन्न भएको ऐतिहासिक प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि एमालेका उम्मेदवारहरूले उल्लेख्य सिटमा जित हासिल गरे । यद्यपि यसको सहायक कारण माओवादी केन्द्रसँगको गठबन्धन पनि थियो ।

    २०७४ मै भएको राष्ट्रिय सभा निर्वाचनमा पनि एमालेको जब्बर हैसियत कायम भयो ।

    यसरी धमाधम सम्पन्न निर्वाचनहरू जितेर देशको पहिलो दल भएको एमालेले त्यसपछि देशका ७ प्रदेशमध्ये ४ मा आफ्नै नेतृत्वमा सरकार बनायो । थप दुई प्रदेशको सरकारमा बलियो हिस्सेदारीसहित सहभागी भयो ।

    संघमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनायो । ओलीले प्रधानमन्त्रीका रूपमा तीन वर्ष सरकार चलाए ।

    यसरी स्थानीय तह, प्रदेश र संघमा एकछत्र राज गरेको एमाले यसै वर्ष फेरि आवधिक निर्वाचनमा जाँदै छ । यसको पहिलो खुट्किलोको रूपमा वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचनमा जाँदै गर्दा एमालेको सरकार सञ्चालन गर्नेक्रममा गरेका कामकारबाहीको विषयमा गुण र दोषको चर्चा/परिचर्चा भइरहेको छ ।

    यस्तोमा एमाले आफ्नैको धारणा के छ त ? धेरैको जिज्ञासाको विषय । यि जिज्ञासाको जवाफ एमालेले घोषणापत्रमार्फत खोजेको छ । आफूले गरेका कामको उपलब्धि जनतासमक्ष लैजाने एमालेले स्थानीय तह निर्वाचनका लागि तयार पारिएको घोषणापत्रको नै माध्यम प्रयोग गरेको छ ।

    शुक्रवार जारी घोषणापत्रमा एमालेले आफ्नो सरकार सञ्चालनका क्रममा गरेका कामकारबाहीहरूको विवरण उल्लेख गरेको छ । त्यसका लागि घोषणापत्रको पेज नम्बर १४ देखि २० सम्मको प्रयोग गरिएको छ ।

    त्यसमा भौतिक पूर्वाधार तर्फ स्थानीय स्तरमा ४ हजार ३ सय ६२ कि.मि. कालोपत्रे सडक निर्माण भएको र जुन पाँँच वर्षअघिको पक्की सडक सञ्जालभन्दा दोब्बर भन्दा बढी रहेको एमालेको दाबी छ ।

    यस्तै यसै अवधिमा ७ सय २५ स्थानीय तहमा सडक जोडिएको, पुष्पलाल लोक मार्ग, काठमाडौं–तराई द्रुत मार्ग र पूर्व–पश्चिम राजमार्ग निर्माण र

    विस्तार रफ्तार आएको पनि एमालेको दाबी छ ।

    यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको लगायतका विमानस्थलको कामलाई पनि एमालेले आफ्नै पछिल्लो कार्यकालमा सम्पन्न भएको दाबी गरेको छ । यस्तै देशैभर तुइन विस्थापन गर्दै २ हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएको पनि दाबी छ ।

    यस्तै घोषणापत्रमा चीनसँग नयाँ नाकाहरू खोल्ने काम, उत्तरी सीमा जोडिएका जिल्लामा एकीकृत विकास, लार्चा र टिमुरेमा बहुउद्देश्यीय एकीकृत भन्सार संरचना र सुख्खा बन्दरगाह निर्माण, वीरगन्ज र विराटनगरमा एकीकृत जाँच चौकी निर्माण र सञ्चालन गरिएको उल्लेख छ ।

    यस्तै अमलेखगञ्ज–मोतिहारी सीमा वारपार पेट्रोलियम पाइप लाइन निर्माण, चोभारमा सुख्खा बन्दरगाह निर्माण, जयनगर–जनकपुर– कुर्ता रेलमार्ग निर्माण र सञ्चालन , पूर्व–पश्चिम रेलमार्ग निर्माण आरम्भ, डोल्पा र हुम्लासम्म राष्ट्रिय सडक सञ्जाल विस्तार गरेर देशका सबै जिल्लामा सडक पहुँच विस्तार गरेको कुरा पनि घोषणापत्रमा दाबी गरिएको छ ।

    यस्तै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा गुणात्मक प्रगति, प्रत्येक पालिकामा न्यूनतम पाँचदेखि १५ शैयाका आधारभूत अस्पताल निर्माण, प्रत्येक प्रदेशमा विशेषज्ञ सेवासहितको प्रादेशिक अस्पताल र सरुवा रोग अस्पताल, वीर अस्पताल लगायत केन्द्रीय अस्पतालहरूको पूर्वाधारसहितको क्षमता विस्तार, प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज निर्माणको कार्यारम्भ गरिएको भनी एमालेले दाबी गरेको छ ।

    यस्तै एमालेकै कार्यकालमा नेपालीको औसत आयु तीन वर्षको अवधिमा दुई वर्षले लम्बिएर ७१ वर्ष पुगेको, बाल तथा मातृ मृत्युदर घटेको पनि दाबी गरिएको छ ।

    शिक्षातर्फ विद्यालय भर्ना, टिकाउ दर, साक्षरता दरमा उल्लेखनीय वृद्धि भएको, ९ हजार ५ सय विद्यालय भवन पुनर्निर्माण, मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालयको स्थापना, प्राविधिक शिक्षाको विस्तारमा उदाहरणीय काम भएको दाबी गरिएको छ ।

    यस्तै मेलम्चीको पानी काठमाडौंमा अवतरण र वितरण भएको, देशैभर एक घर एक धाराको अभियान सञ्चालन भएको, हालसम्म ९१ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पहुँच भएको, नेपाल दक्षिण एसियामै पहिलो खुल्ला दिसामुक्त राष्ट्र घोषणा भएको लगायतका विषय पनि घोषणापत्रमा उल्लेख छ ।

    यस्तै सामाजिक न्याय र सुरक्षामा उल्लेखनीय उपलब्धि, भएको, सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि, योगदानमा आधारित सामाजिक सुरक्षा आरम्भ, भूमिहीन र घरबारविहीनहरूलाई संविधान प्रदत्त आवासको हक उपलब्ध गराउन भूमि आयोग गठन र आवासका लागि जग्गा उपलब्ध गराउने कामको सुरुवात, खर या फुसको छाना विस्थापन एमाले सरकारकै पालामा सम्भव भएको घोषणापत्रमा उल्लेख छ ।

    एमालेकै कार्यकालमा हजारौँ संख्यामा सरकारी कार्यालय, स्वास्थ्य संस्था र सम्पदाहरूको पुनर्निर्माण भएको पनि भनिएको छ ।

    यसै गरी देशैभर रोजगारी सिर्जना, पालिकाहरूमा रोजगार सूचना केन्द्र स्थापना र बेरोजगारहरूको तथ्याङ्क सङ्कलनको काम भएको, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत न्यूनतम १०० दिनको रोजगारी वा बेरोजगार भत्ताको सुरुवात गरिएको पनि घोषणापत्रमा उल्लेख छ ।

    यस्तै ऊर्जा, सिचाइ र कृषि क्षेत्रमा भेरी– बबई डाइभर्सन, सुनकोसी मरिन डाइभर्सन जस्ता तराई– मधेसका रूपान्तरणकारी योजनाहरू आरम्भ, सिक्टा र रानी जमरा योजनाबाट सिचाई सुरु, राष्ट्रिय गौरवको तामाकोसी जलविद्युत आयोजना सम्पन्न, विद्युत् उत्पादन क्षमता एक हजार ४५ मेगावाटबाट दोब्बर वृद्धि भई २ हजार एक सय ७४ मेगावाट एमालेकै कार्यकालमा पुगेको दाबी गरिएको छ ।

    एमाले कार्यकालमा सूचना प्रविधि र सेवा प्रवाहमा अभूतपूर्व विस्तार,

    सञ्चार पूर्वाधार संरचनाको विस्तारका कारण इन्टरनेटको प्रयोगकर्ता संख्या दोब्बर भई ८५ प्रतिशत पुगेको विषय पनि समेटिएको छ ।

    यस्तै एमालेकै जनप्रतिनिधिको पहलमा आफ्नो विशेषता र आवश्यकता अनुसार एउटा वडाबाट अर्को वडा जोड्ने सडक, पुल, चक्रपथ, घोडेटो र पदमार्ग निर्माण गरेको, पालिकामा हेलिप्याड निर्माण भएको, दलित, बादी समुदाय र अन्य बेघरबारलाई आवास निर्माण, ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको पनि दाबी गरिएको छ ।

  • मतदाता नामावली सच्याउन नपाइने

    मतदाता नामावली सच्याउन नपाइने

    काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन भइसकेकाले अब मतदाता नामावलीमा कुनै संशोधन, परिमार्जन, थपघट, हेरफेर गर्न र सच्याउन नमिल्ने जनाएको छ ।

    आयोगले शुक्रवार एक विज्ञप्ति जारी गर्दै मतदाता नामावली संकलन कार्य सम्पन्न गरेर अन्तिम मतदाता नामावली प्रकाशन भइसकेकाले अब कुनै पनि हेरफेर नहुने जनाएको हो ।

    मतदाता नामावली थपघट गर्न, हेरफेर गर्ने लगायतका कार्य नितान्त आयोगको क्षेत्राधिकार भित्र रहेको र यस सम्बन्धमा मतदाता नामावली ऐन,२०७३ को दफा २९ बमोजिम कुनै अदालतमा प्रश्नसमेत उठाउन नपाइने आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

    मतदाता नामावली ऐन, २०७३ मा निर्वाचनको मिति घोषणा भएपछि उक्त निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नमिल्ने व्यवस्था रहेको छ । त्यसै व्यवस्था अनुसार गत माघ २५ गते आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको थियो ।

    मतदाता नामावली संकलन कार्य स्थगित भएपछि आयोगबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम स्वीकृत भएर गत फागुन १९ गते देखि फागुन २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भएको थियो ।

    उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने, कुनै दाबी विरोध भए त्यस सम्बन्धी निवेदन दिने लगायतका कार्यक्रम सञ्चालन भएका थिए ।

    उक्त कार्यका लागि अनलाइनबाट समेत निवेदन दिने सुविधा आयोगले प्रदान गरेको थियो । यसरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि आयोगबाट आयोगले गत चैत १३ गते दोहोरो नामावली हटाउने लगायतका प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो ।

    अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न, सच्याउन पाउँ भन्ने निवेदन आइरहेको भन्दै आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा २१ बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भएपछि नामावलीमा हेरफेर, थपघट गर्न वा सच्याउन नपाइने कानुनी व्यवस्था अनुसार यस्तो निर्णय गरिएको जनाएको छ ।

    स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात् मतदाता नामावली संकलन र अद्यावधिकको कार्य पुनः सुचारु भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न, त्रुटि सच्याउन, हटाउन, ठाउँ सार्न बाँकी रहेका व्यक्तिले सम्बन्धित निर्वाचन कार्यालयमा गई दर्ता गर्ने, त्रुटि सच्याउने लगायतका कार्य गर्न सकिने भए पनि निर्वाचन अवधिमा मतदाता नामावली सम्बन्धी कुनै पनि काम नहुने आयोगले जनाएको हो ।

  • एमाले घोषणापत्रका हाइलाइट्स : जथाभाबी डोजर निषेध, प्रत्येक पालिकामा एक उद्योग (सूची)

    एमाले घोषणापत्रका हाइलाइट्स : जथाभाबी डोजर निषेध, प्रत्येक पालिकामा एक उद्योग (सूची)

    काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि केन्द्रीय घोषणापत्रमार्फत आफ्ना योजनाहरु प्राथमिकीकरण गरेको छ । केन्द्रीय कार्यालय च्यासलबाट सार्वजनिक घोषणापत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

    त्यस्तै स्वच्छ खानेपानी हरेक घरमा पुर्याउने र सरसफाइका लागि दीर्घकालीन योजनाहरु कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइएको छ । एमालेले ‘स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी’ नारा अघि सारेको छ ।

    त्यस्तै कृषि र उद्योगलाई स्थानीय तहबाट प्राथमिकता दिन विभिन्न योजना अघि सारिएको छ । हरेक पालिकामा उद्योग ग्राम स्थापना गर्ने र कृषिको विकास तथा हरेक पालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम गरिने जनाइएको छ ।

    एमालेले दिगो यातायात पूर्वाधारलाई जोड दिँदै सडक पूर्वाधार विस्तारका नाममा जथाभाबी डोजर चलाउने र वनजंगल तथा खेतीयोग्य जमिन बिगार्ने काम बन्द गरिने जनाएको छ । घोषणापत्रमा दिगो यातायात पूर्वाधार र सबै पालिका जोड्ने पक्की सडकलाई प्राथमिकता दिइएको छ ।

    उद्यमशीलता र रोजगारी सिर्जना गर्न हरेक पालिकामा कृषि तथा स्थानीय उद्योगहरुको विकास गरिने एमालेले जनाएको छ । त्यस्तै मौलिक कला र संस्कृति विकास गर्दै पर्यटनबाट समृद्धि हासिल गर्ने कुरालाई एमालेले जोड दिएको छ ।

    ‘खुसी ज्येष्ठ नागरिक, सुखी बालबालिका, अपांगमैत्री सबै पालिका’ भन्दै एमालेले सिमान्तकृत समुदायको अधिकारका लागि काम गर्ने र सामाजिक सुरक्षाको एमालेले थालनी गरेको लोककल्याणकारी कार्यक्रमलाई विकसित गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

    एमालेले जलवायु अनुकूलन र विपद् व्यवस्थापनमा स्थानीय तहबाट ठोस काम गरिने भन्दै विकास र वातावरणबीच सन्तुलन कायम गर्न पालिकाहरुले अबका योजना अघि सार्ने उल्लेख गरेको छ ।

    अब स्थानीय तहले संस्थागत र संरचनागत सुधार गर्दै पालिकास्तरबाटै न्याय निरुपण तथा मानव अधिकार संरक्षणका कार्यक्रम अघि सार्ने जनाइएको छ । एमालेले आफ्ना जनप्रतिनिधि शासक नभई सेवकका रुपमा रहने जनाएको छ ।

  • बुटवलको उपमेयरमा नेकपा एसका चीनबहादुर गुरुङको नाम सिफारिस

    बुटवलको उपमेयरमा नेकपा एसका चीनबहादुर गुरुङको नाम सिफारिस

    रुपन्देही । नेकपा एकीकृत समाजवादीले बुटवलको उपमेयर उम्मेदवारमा चीनबहादुर गुरुङलाई सिफारिस गरेको छ ।

    सम्बन्धित पालिकाबाट एकल नाम सर्वसम्मत सिफारिस भएर आएको र प्रदेशले केन्द्रमा पठाएको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले बताए ।

    बुटवलको उपमेयरमा सिफारिस गुरुङ पार्टीका बुटवल नगर अध्यक्ष हुन् । अघिल्लो निर्वाचनमा उनी बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए । गुरुङ यातायात मजदुर तथा व्यवसायी भलाई कोषका पूर्व अध्यक्षसमेत हुन् ।

    बुटवलमा मेयर कांग्रेसको भागमा परेको छ ।
    लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुलसीपुरमा उपमेयर पाएको थियो ।

  • पोखरा महानगर : गण्डकीका दुई गुटले खोजे भाग, विकल्पमा मञ्जुको माग

    पोखरा महानगर : गण्डकीका दुई गुटले खोजे भाग, विकल्पमा मञ्जुको माग

    पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विहीबार सचिवालय बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा गण्डकी र लुम्बिनीको हकमा अझै पनि एक सांसदका कारण प्रदेश सरकार बन्ने र भत्किने सम्भावना रहेको भन्दै प्रदेशसभा सदस्यलाई स्थानीय तहको उम्मेदवार नबनाइने बताए ।

    उनको सो भनाइले पोखराको मेयरमा सिफारिस भएका १२ जनामध्ये प्रदेशसभा सांसद कृष्ण थापा र राजीव पहारीको ‘च्याप्टर क्लोज’ भएको समाचार आएपछि गण्डकीको राजनीतिमा तरंग सिर्जना भयो । कृष्ण थापाले तत्कालै आफूलाई रोक्ने उद्देश्यले गुरुङले यस्तो खेल खेलेको आरोप लगाए ।

    गण्डकी प्रदेशसभामा एमालेका २७ जना सांसद छन् । स्वतन्त्र सांसद दीपक मनाङेका कारण बनेको गठबन्धन सरकार कुनै पनि बेला ढल्ने भएकाले एमालेले प्रदेश सांसदलाई राजीनामा गराएर पोखराको मेयरमा उम्मेदवार नबनाउने संकेत गुरुङको थियो । मेयरका मुख्य दाबेदार रहेका दुई सांसदको बाटो बन्द भएपछि अन्य १० जना आकांक्षीले भने राहत महसुस गरेका छन् ।

    मञ्जु गुरुङलाई महानगरको मेयर अघि सार्दाको सकारात्मक पक्ष र प्रतिकूल पक्षबारे दुवै कोणबाट छलफल भइरहेको छ । बहालवाला उपमेयर र कुनै विवादमा नपरेका कारण मञ्जु उठाउँदा ‘रिस्क फ्याक्टर’ कम हुने दाबी गरिएको छ । त्यस्तै उनी दुवै गुटका लागि सहज हुने र खुलेर एउटा गुटमा सक्रिय नभएकाले पनि पार्टीभित्रको सन्तुलन मिलाउन सकिने नेताहरुको भनाइ छ ।

    कृष्ण थापा र राजीव पहारी रोकिनेबित्तिकै बाँकी १० जनामध्येबाट पोखराको मेयर बन्ने अवस्था हो त ? गण्डकी एमालेको पछिल्लो राजनीतिक समीकरण बुझेकाहरु भने सिफारिसमा परेका बाँकी दशैजना नभएर अर्कै व्यक्तिले बाजी मार्ने अनुमान लगाइरहेका छन् । किनकि गण्डकीमा अहिले एमालेको राजनीति पृथ्वीसुब्बा गुरुङ भर्सेस खगराज अधिकारीमा विभाजित छ ।

    दुई नेताको गुटबन्दीका कारण तेस्रो व्यक्तिको खोजी एमालेमा सुरु भएको छ । सिफारिस भएकाहरु कि त खगराज पक्षका छन्, कि पृथ्वीसुब्बा पक्षका । एउटाको पक्षले टिकट पाउँदा अर्कोले असहयोग गर्ने अवस्था आउन नदिन तेस्रो विकल्पको खोजी भएको एमाले स्रोतले जनाएको छ ।

    एमालेका एक शीर्ष नेताले भने, ‘गण्डकीमा दुई नेताको तलैसम्म तिक्तततापूर्ण गुटबन्दी देखियो । एकले अर्कोलाई निषेध गर्ने र गण्डकीको बैठकमा खगराजको उपस्थिति समेत नहुने पनि अवस्था छ । उपमहासचिव गुरुङ, प्रदेश इन्चार्ज तथा सचिव पद्मा अर्याल र सहइन्चार्ज जगत विश्वकर्मा एकातिर देखिए । त्यसैले दुवै गुटले च्यापेकोभन्दा मध्यमार्गी उम्मेदवार खोज्नुपर्ने अवस्था आयो ।’

    को होला त मध्यमार्गी ?

    त्यसो भए तेस्रो विकल्पमा को त ? एमाले नेताहरु अहिले खुलेर बोल्न चाहिरहेका छैनन् । किनकि पोखराको मेयरको निर्णय अन्तिममा अध्यक्ष केपी शर्मा ओलीकै चाहनाअनुसार हुने निश्चित छ । पीएस र खगराज दुवै पक्षले विरोध गर्न नसक्ने अनुहार खोज्ने क्रममा मेयर उम्मेदवारको सिफारिस प्रक्रियामै नरहेकी हालकी उपमेयर मञ्जु गुरुङतिर एमाले नेतृत्वको नजर बढेको छ ।

    मेयर मानबहादुर जिसी मस्तिष्कघातका कारण लामो समय बिरामी परेकाले कार्यबाहक मेयर बनेर काम गरेकी मञ्जु गुरुङ महानगरपालिका कमिटीले गरेको सिफारिस प्रक्रियामा सहभागी भइनन् । उनले सर्वसम्मत नभए गुटको उम्मेदवार बन्न नचाहने भन्दै आफै प्रक्रियाबाट बाहिरिएकी थिइन् ।

    महानगर कमिटीमा मतदानबाट तीनजनाको नाम छान्ने तयारी भएका बेला गुटबन्दी हुने देखेरै एमालेले चुनाव गर्न रोक लगाएको थियो । त्यसपछि मीनाकुमारी गुरुङ, भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी, रश्मि आचार्य, विश्वकल्याण पराजुली, दर्शन लामा, पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

    त्यसो भए तेस्रो विकल्पमा को त ? एमाले नेताहरु अहिले खुलेर बोल्न चाहिरहेका छैनन् । किनकि पोखराको मेयरको निर्णय अन्तिममा अध्यक्ष केपी शर्मा ओलीकै चाहनाअनुसार हुने निश्चित छ । पीएस र खगराज दुवै पक्षले विरोध गर्न नसक्ने अनुहार खोज्ने क्रममा मेयर उम्मेदवारको सिफारिस प्रक्रियामै नरहेकी हालकी उपमेयर मञ्जु गुरुङतिर एमाले नेतृत्वको नजर बढेको छ ।

    उपमेयर गुरुङले भने प्रक्रियामा भाग लिएकी थिइनन् । बिहीबारको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले तल्ला कमिटीबाट सिफारिस भएका नामहरु सुनाए पनि कुनै छलफल भएन । शनिबार बस्ने सचिवालय बैठकले मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाउनेछ ।

    एमाले वृत्तमा गुटबन्दीका कारण क्षति नहोस् भनेर १२ जनाको सिफारिस बाहिरबाट मञ्जु गुरुङलाई मेयर उठाउँदा दुवै पक्षले असहयोग गर्न नसक्ने आँकलनसहित उनको बारेमा चर्चा सुरु भएको छ । त्यो अवस्थामा हाल मेयरमा सिफारिस भएका गण्डकी प्रदेश उपसचिव रश्मि आचार्य वा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेमध्ये एकजनालाई उपमेयरमा अघि सारेर जाँदा जीत सहज हुने भन्दै शीर्ष नेतृत्वलाई ब्रिफिङ गरिएको छ ।

    मञ्जुको सूचक किन बढ्यो ?

    मञ्जु गुरुङलाई महानगरको मेयर अघि सार्दाको सकारात्मक पक्ष र प्रतिकूल पक्षबारे दुवै कोणबाट छलफल भइरहेको छ । बहालवाला उपमेयर र कुनै विवादमा नपरेका कारण मञ्जु उठाउँदा ‘रिस्क फ्याक्टर’ कम हुने दाबी गरिएको छ । त्यस्तै उनी दुवै गुटका लागि सहज हुने र खुलेर एउटा गुटमा सक्रिय नभएकाले पनि पार्टीभित्रको सन्तुलन मिलाउन सकिने नेताहरुको भनाइ छ ।

    यसका अतिरिक्त उनले हालैमात्र देशभरका उपप्रमुखहरुलाई पोखरामा भेला गरेर राष्ट्रिय न्यायिक भेला आयोजना गरेकी थिइन् । देशभरका न्यायिक समितिका प्रमुखहरुको भेला गरेर उनले आफूलाई ७५३ वटै पालिकाको नेताका रुपमा स्थापित गरेको विषय पनि मूल्यांकनको आधार बनेको एमाले स्रोतले जनाएको छ ।

    गठबन्धनबाट भरतपुरमा रेणु दाहालले मेयर पाउने निश्चित भएको र काठमाडौंमा पनि सिर्जना सिंह लगभग फाइनल भइसकेको अवस्थामा ६ वटा महानगरपालिकामध्ये एउटामा महिलालाई मेयर उठाउन एमालेमाथि पनि दबाब बढेको छ । एमालेबाट महानगरमा मेयर बन्ने सम्भावना पनि पोखरा नै देखिएकाले मञ्जु गुरुङको सूचक माथि उक्लिएको हो । अन्य महानगरपालिकामा एमालेबाट महिलाले मेयर पाउने सम्भावना छैन ।

    गण्डकीमा अहिले एमालेको राजनीति पृथ्वीसुब्बा गुरुङ भर्सेस खगराज अधिकारीमा विभाजित छ । दुई नेताको गुटबन्दीका कारण तेस्रो व्यक्तिको खोजी एमालेमा सुरु भएको छ ।

    गठबन्धनबाट पुरुष उम्मेदवार बन्दै गर्दा मञ्जुको पक्षमा माहोल बनाउन सकिने र गुरुङ मतदाता पनि उल्लेख्य रहेकाले ‘प्लस प्वाइन्ट’ हुने ढंगले पनि छलफल भइरहेको बताइन्छ । हालैमात्र जसपाबाट विगतमा मेयर उम्मेदवार बनेर ३ हजार बढी मत ल्याएका हुम गुरुङ, प्रदेश अध्यक्ष गणेशमान गुरुङसहितको समूह एमाले प्रवेश गरेको थियो । पोखराले यसपटक गुरुङ मेयर खोजेको उनीहरुको भनाइ छ ।

    यीबाहेक मञ्जु गुरुङ एमालेकी केन्द्रीय सदस्य पनि हुन् । प्रदेशसभा सदस्य कृष्ण थापा र राजीव पहारीको च्याप्टर क्लोज भएको अवस्थामा दाबेदार बाँकी १० जना केन्द्रीय कमिटीभन्दा तलका छन् । पोखरा महानगरमा केन्द्रीय नेताकै नेतृत्वमा चुनाव लड्नुपर्ने मत बलियो छ । उनी पार्टीमा तीन दशक लामो समयदेखि सक्रिय भद्र र निर्विवाद महिला हुन् ।

    यी सबै सूचकहरुसहित उनको अर्को पक्ष पनि छ । मञ्जु गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी पनि हुन् । जीप दुर्घटनामा पति गुमाएकी भण्डारी र विमान दुर्घटनामा पति गुमाएकी गुरुङबीच २०५० सालमा पार्टी कार्यक्रमका बेला पोखरामा मितिनी साइनो गाँसिएको थियो । तर, राष्ट्रपतिको मितिनी भएर उनले कुनै लाभ भने लिएकी छैनन् ।

    २०३६ सालदेखि कम्युनिस्ट राजनीतिमा लागेकी गुरुङ बिहेपछि केही समय राजनीतिबाट निष्क्रिय भएकी थिइन् । २०५० सालदेखि उनी एमालेको राजनीतिमा पुनः सक्रिय भएकी हुन् ।

    यो पनि पढ्नुहोस् : फ्ल्यासब्याकमा राष्ट्रपतिकी मितिनी: पहिलो भेटमै जुठो खायौं, ५० रुप्पेका नयाँ नोट साट्यौं

  • लेटाङमा मेयरसहित ३६ जना जनप्रतिनिधिले दिए राजीनामा

    लेटाङमा मेयरसहित ३६ जना जनप्रतिनिधिले दिए राजीनामा

    विराटनगर । मोरङको लेटाङ नगरपालिकाका मेयरसहित ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि उठ्न उनीहरूले राजीनामा दिएका हुन् ।

    मेयर शंकर राईले उपमेयर कृष्णकुमारी निरौला पोखरेलसहित ३६जना जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिएका हुन् ।

    उपमेयर पोखरेलका अनुसार आज पदबाट राजीनामा दिनेमा एमाले पार्टीबाट निर्वाचित १५ जना रहेका छन् ।

    लेटाङको कार्यपालिका ५० सदस्यीय रहेकोमा कार्यपालिकाका १४ जना सदस्यले मात्र राजीनामा दिएका छैनन् ।

    निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेको छ ।

    सत्तारुढ गठबन्धनकातर्फबाट र एमालेबाट पुन जनप्रतिनिधिका रुपामा उठ्ने तयारीका साथ उनीहरूले पदबाट राजीनामा दिएका हुन् ।

  • एमालेको घोषणापत्र : आर्थिक वृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रमा यस्ता छन् एजेण्डा

    एमालेको घोषणापत्र : आर्थिक वृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रमा यस्ता छन् एजेण्डा

    काठमाडौं । नेकपा एमालेले स्थानीय तहको चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको घोषणापत्रमा देशको समग्र विषयवस्तु समेटिएको छ । आर्थिक रुपमा देशलाई कसरी माथि उठाउने भनेर पनि एमालेले आफ्नो घोषणापत्रमा धेरै विषयवस्तु उल्लेख गरेको छ ।

    घोषणापत्रको पृष्ठ ३३–३५ मा औद्योगीकरण र आर्थिक वृद्धिको विषय समेटिएको छ । अन्य पृष्ठमा समेत कसरी आर्थिक वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र देशको व्यापार घाटा कम गर्ने भन्ने विषय उल्लेख छ ।

    सार्वजनिक, निजी र सहकारी माध्यमद्वारा औद्योगीकरण गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण र आत्मनिर्भर अर्थतन्त्रको निर्माणको कुरा घोषणापत्रमा समेटिएको छ । साथै एमालेले सामाजिक सुरक्षा कार्यक्रममार्फत् श्रमिकको हक र संरक्षण गर्ने घोषणापत्रमा समेटेको छ ।

    प्रत्येक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र स्थापना र सञ्चालन गर्ने भनिएको छ । प्रत्येक पालिकामा पनि कम्तीमा एउटा औद्योगिक ग्राम स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ । खानी तथा खनिजजन्य पदार्थको उत्खनन्, संरक्षण र परिचालन गर्ने भनिएको छ ।

    गाउँगाउँमा उत्पादन भएका वस्तुलाई बजारीकरण गर्ने र पालिकाका मुख्य आर्थिक केन्द्र र बजारलाई केन्द्रित गर्ने कुरा समेटिएको छ । नेपालमा उत्पादन भएका वस्तुले बजार नपाउने र भारतबाट तरकारीजन्य वस्तु आयात भएर देशको व्यापार घाटा वृद्धि हुने गरेको छ ।
    उत्पादनसँग जोडिएका र श्रमसँग जोडिएका सबै श्रमिकलाई सामाजिक सुरक्षामा जोड्ने विषयवस्तु पनि समेटिएको छ ।

    घोषणापत्रले उद्यमशीलता र रोजगारीलाई पनि समेटेको छ । सबै स्थानीय तहलाई उद्यमशीलता र रोजगारीसँग जोडेर समृद्धिको लागि सहकारी भनिएको छ । गाउँ–गाउँमा भएका उत्पादनलाई जोडेर देशको आर्थिक विकासमा सहयोग पुर्‍याउने विषय पनि घोषणापत्रमा समेटिएको छ ।  पर्यटन र पूर्वाधार विकास, स्थानीय उत्पादनको बजारीकरण, दक्ष जनशतिको उत्पादन, प्राविधिक शिक्षालगायतका विषयलाई घोषणाले समेटेको छ ।

    केपी ओली नेतृत्वको सरकारले निजी क्षेत्रका समस्या समाधान गर्ने क्षेत्रमा काम गरिरहेका नेकपा एमालेका संसद मोतीलाल दुगडलाई उद्योग राज्यमन्त्रीसमेत बताएका थिए । दुगड मन्त्री भएका बेला उद्योग क्षेत्रका धेरै समस्या समाधान गरेको निजी क्षेत्रका व्यक्तिहरु नै बताउने गर्छन् ।

    एमालेको नयाँ पार्टी कार्यालयबाट शुक्रबार जारी घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धि व्याख्या गरिएको छ । बाँकी कामका योजनासमेत घोषणापत्रमा समेटिएको छ । एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।

  • चितवनमा कांग्रेसका असन्तुष्ट नेताहरूको भेला, बयोवृद्ध नेता सापकोटा भरतपुरमा बागी दिने तयारीमा

    चितवनमा कांग्रेसका असन्तुष्ट नेताहरूको भेला, बयोवृद्ध नेता सापकोटा भरतपुरमा बागी दिने तयारीमा

    काठमाडौं । भरतपुरको मेयर प्रचण्डकी छोरी रेनुलाई दिएपछि चितवनका असन्तुष्ट कांग्रेस नेताहरू छलफलमा जुटेका छन् ।

    जिल्लाका नेता-कार्यकर्ताको सुझाव र भावनाविपरीत माओवादीलाई मेयर दिने निर्णय तत्काल सच्याउन भेलामा माग गरिएको छ ।

    कमलनगरस्थित जिल्ला पार्टी कार्यालयमा जारी भेलामा केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ र दिनेश कोइरालाले सम्बोधन गरेका छन् ।

    भरतपुरका कांग्रेसका पुराना नेता कृष्णलाल सापकोटाले बागी उम्मेदवारी दिन कार्यकर्तामाझ छलफल चलाइरहेका छन् । हालैमात्र चौरासी गरेका बयोवृद्ध नेता सापकोटाले मेयर उठ्ने तयारी गरेसँगै असन्तुष्टिका स्वर मत्थर पार्न जिल्ला सभापति राजेश्वर खनाल सक्रिय भएका छन् ।

    केन्द्रीय परिपत्र र गठबन्धनको निर्णयबाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरूलाई खनालले आव्हान गरिसकेका छन् ।

  • हरिबोल कमजोर पार्न राजन हाबी हुँदा माओवादी आधार इलाका मरिणमा सामूहिक विद्रोह

    हरिबोल कमजोर पार्न राजन हाबी हुँदा माओवादी आधार इलाका मरिणमा सामूहिक विद्रोह

    सिन्धुली । जिल्ला इन्चार्ज राजन दाहालले आफ्नो निर्वाचन क्षेत्र र श्रीमती दीपा बोहोराको गाउँपालिका अध्यक्ष पद सुरक्षित गर्नका लागि कांग्रेससँग सिट भागबन्डा गरेको आरोप लगाउँदै माओवादीको आधार इलाका मरिण गाउँपालिका कमिटीका अध्यक्ष गोपाल बुढाथोकीसहित ७८ जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी त्यागेका छन् ।

    गाउँपालिका अध्यक्ष पानीराज बम्जनको कार्यकक्षमा भएको भेलाबाट उनीहरुले सामूहिक विद्रोह गरेका हुन् । गाउँपालिका अध्यक्ष गोपाल बुढाथोकीले बिहीबार नै राजीनामा दिइसकेका थिए भने बाँकी पदाधिकारीहरुले शुक्रबार राजीनामा दिएका हुन् ।

    राजिनामापत्रमा जिल्ला नेतृत्वको आलोचना गर्दै नेतृत्वको चरित्र सच्चिएमा मात्रै पार्टीमा फर्किन सक्ने उल्लेख छ । राजन दाहालको ‘म’ प्रवृत्तिविरुद्ध आधार इलाका मरिणबाट विद्रोह भएको नेताहरुले बताएका छन् । नेतृत्वको गलत प्रवृत्तिका कारण चैत्र महिनादेखि नै माओवादी छाड्नेको लहर चलिरहेको उनीहरुले बताएका छन् । वडा नं ६ का शम्भु कार्की माओवादी छाडेर एमालेको अध्यक्षका उम्मेदवार बनेका छन् । वडा नं ७ का खिलहरि गिरीले पनि माओवादी त्यागेका छन् ।

    गाउँपालिका कमिटी उपाध्यक्ष चिनध्वज बम्जनको नेतृत्वमा ६७ जनाले लिखित र अन्य दर्जनौंले अलिखित रुपमा माओवादी परित्याग गरेको घोषणा गरेको बताएका छन् । घोषणा नगरेका मरिण गाउँपालिका वर्तमान अध्यक्ष पानीराज बम्जन, अध्यक्षका प्रत्यासी तथा भूमि आयोगका अध्यक्ष रामकुमार पौडेललगायतका नेताहरु राजीनामा घोषणा कार्यक्रममा सहभागी थिए ।

    यो राजीनमापछि माओवादी मरिण गाउँपालिका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सचिवालय सदस्यलगायत धेरै वडा कमिटीका अध्यक्ष र सचिवलगायतका पदाधिकारीविहीन बन्न पुगेका छन् ।

    माओवादीको सबैभन्दा बलियो र आधार इलाकाको रुपमा रहेको मरिण गाउँपालिकामा गत चुनावमा सबै वडासहित पालिका जितेको थियो । दाहालले दीपा बोहोराको सुनकोसी पालिका जित्ने सुनिश्चत गर्नकै लागि कांग्रेससँग गठबन्धन गरेर मरिण र हरिहरपुरगढीमा कांग्रेसलाई जीत सुनिश्चित गराएको आरोप छ ।

    मरिण क्षेत्रका पूर्वजनमोर्चा खेमाका माओवादीहरुले दाहालको यही कदमको विरोध गर्दै अहिले पार्टीबाट विद्रोहको संकेत दिएका छन् ।

    हरिबोल कमजोर पार्ने रणनीति ?

    माओवादी सिन्धुलीका जिल्ला इन्चार्ज राजन दाहालले जिल्लामा हरिबोल गजुरेलको अस्तित्व समाप्त पार्न र पूर्व जनमोर्चालाई सिध्याउन षड्यन्त्र गरेको आरोप उनीहरूले लगाएका छन् । सिन्धुलीको माओवादी राजनीतिमा उचाइ लिँदै गएका दाहाललाई माओवादीभित्रको पूर्वजनमोर्चा समूह बाधक बनेको छ । त्यसको नेतृत्व रामकुमार पौडेलले गर्छन् ।

    त्यसो त सिन्धुलीमा माओवादीको पकड नै पूर्वजनमोर्चाको कारण भएको हो र त्यो ग्रुपको नेतृत्व हरिबोल गजुरेलले गर्छन् । गजुरेललाई कमजोर पार्न पूर्व जनमोर्चा कमजोर पार्नुपर्छ र त्यसका लागि जनमोर्चा भूमि मरिण क्षेत्रलाई विगार्नु पर्छ भन्नेमा माओवादीकै नेताहरु लागिरहको आरोप छ ।

    जनमोर्चा पृष्ठभूमिका माओवादीहरुको आधार इलाकामा दाहालले हमला बोलेपछि बिद्रोह गर्नुपरेको नेताहरुले बताएका छन् । मरिण र हरिहरपुरगढीमा पुरानालाई नदोहोर्‍याउने नयाँलाई अवसर दिने निति लिएका दाहालले सुनकोशी गाउँपालिकामा भने श्रीमती दिपा बोहोरालाई दोहोर्‍याएका छन् ।

    जबकि माअ‍ेवादीभित्र सबैभन्दा बढि किचलो र आलोचना सुनकोशीमै थियो र छ । दाहाल दम्पत्तीको हैकमवादी शैलीकै कारण सुनकोशीमा धेरै पुराना माओवादीहरु पार्टी छाडेर एमालेमा प्रवेश गरिसकेका छन् भने त्यो क्रम अहिले पनि जारी छ ।

    नेता गजुरेललाई नेकपा विभाजन हुँदा टोप बहादुर रायमाझीले एमालेमै लाग्न दिएको सुझाव र गरेको पहल उनले अस्वीकार गरेका थिए । गजुरेलमार्फत सिन्धुलीका नेता कार्यकर्ता मनाउन त्यो बेला रायमाझी एक दिन मरिण गाउँपालिकामै बसेका थिए । मरिण गाउँपालिका अध्यक्ष बम्जन र हरिहरपुर गढीका कार्साङ लामाले अस्वीकार गरेकै कारण गजुरेल त्यति बेला माओवादीमा अडिएका थिए ।

    गजुरेललाई अझ कमजोर पार्ने अर्को अस्त्र स्थानीय चुनाव बन्ने भएको छ । आफ्नो अस्तित्व रक्षा र चुनावी मत संरक्षणका लागि अघिल्लो स्थानीय तह निर्वाचनमा आफ्नै श्रीमतीलाई कमलामाई नगरको मेयरको उम्मेदवार बनाएका गजुरेलले यो पटक त्यो अवसर पाउने छैनन् ।

    गजुरेलको संसदीय चुनाव क्षेत्रमा पर्ने कमलामाई नगरपालिका नै नेपाली कांग्रेसलाई गठबन्धनको नाममा जिम्मा लगाएर आफ्नो निर्वाचन क्षेत्रको दुधौली नगरपालिका लिने गरि गठबन्धन गरेका छन् दाहालले ।

    पूर्व जनमोर्चालाई दिनुपर्ने मरिण क्षेत्रमा पूर्व माओवादीका आफ्ना विश्वासपात्र प्रख्यात मुक्तानलाई पालिका अध्यक्षमा अगाडि सारेर दाहालले मरिण क्षेत्रमा पनि विवाद निकालिदिएका छन् । प्रख्यातलाई पालिका अध्यक्ष उम्मेदवार बनाउने भएपछि पूर्वजनमोर्चा समूह मरिणमा रुष्ट भएको छ र धेरैले पार्टी छाड्न थालेका छन् ।

  • ओली भन्छन्- एमाले भन्ने बित्तिकै ज्येष्ठ नागरिकले गहभरि आँसु पार्छन्, आशीर्वादमा हात उठाउँछन्

    ओली भन्छन्- एमाले भन्ने बित्तिकै ज्येष्ठ नागरिकले गहभरि आँसु पार्छन्, आशीर्वादमा हात उठाउँछन्

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्येष्ठ नागरिक, युवा र बालबालिका सबैले एमालेलाई माया गर्ने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र जारी गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘आज ज्येष्ठ नागरिकहरूको पिँढी होस की ज्येष्ठ नागरिकहरूको आज एमाले भन्ने बित्तिकै गहभरि आँसु आउँछन् । आशीर्वाद दिन हात उठ्छ,’ उनले भने,‘नेकपा एमालेलाई आशीर्वाद छ । एमाले बढोस्, फलोस्, फुलोस् भनेर आशीर्वाद दिन ज्येष्ठ नागरिकहरू हात उठाउँछन् ।’

    यस्तै युवाहरूले पनि एमालेप्रति आशा र भरोसा रहेको दाबी गरे । उनले भने,‘आज, युवाहरू भन्नुहुन्छ, हाम्रो आशा–भरोसा एमालेसँग छ ।’ यसरी भरोसा गर्ने युवाहरू एमालेमा समाहित हुन लालायित भइरहेको पनि उनले बताए ।

    ‘युवाहरू भन्छन्–एमालेका उद्देश्यहरूलाई साथ दिएर, झण्डा बोकेर, एमाले भएर, एमालेसँगै एउटा नदीको रूपमा बहेर हामी हाम्रो भविष्य सुन्दर देख्छौँ,’ उनले भने,‘त्यो भविष्य सुन्दर बनाउन हामी त्यसैअनुसार एमालेमा सामेल हुन्छाैँ ।’

    ज्येष्ठ नागरिक र युवाजस्तै बालबालिकामा पनि एमालेप्रति त्यस्तै प्रेम रहेको अध्यक्ष ओलीले बताए ।

    ‘आज बालबालिकालाई सोध्यौं । बालबालिकाहरूलाई राजनीतिमा लगाउनु हुँदैन राजनीतिका लागि प्रयोग हुनुहुँदैन,’ उनले भने,‘तर बालबालिकाले के देख्छन् भने, बालबालिकाले आमा लाई माया गर्नुहुन्छ की हुँदैन ? बालबालिका बाबा, दाजु दिदीहरूलाई माया गर्नुहुन्छ की हुँदैन ? त्यसै गरी बालबालिका एमालेलाई माया गर्छन् ।’

    सोध्यो भने ‘आई लभ यु नेकपा एमाले’ भनेर बालबालिकाले भन्ने गरेको उनको टिप्पणी छ ।

    ‘बालबालिकालाई सूर्य अंकित झण्डा दिनुस्, हल्लाउन थाल्छन्,’ उनले भने ।

  • सुदूरपश्चिममा एक्लै चुनाव लड्ने नेकपा एसको तयारी, तल्ला कमिटीलाई सर्कुलर

    सुदूरपश्चिममा एक्लै चुनाव लड्ने नेकपा एसको तयारी, तल्ला कमिटीलाई सर्कुलर

    धनगढी । नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनका लागि सुदूरपश्चिमका सबै पालिकामा एकल उम्मेदवारी दिने भएको छ । उक्त पार्टीले सुदूरपश्चिमका ८८ पालिकासहित सम्पूर्ण वडामा उम्मेदवारी दिने भएको हो ।

    पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले तल्ला कमिटीहरूलाई आन्तरिक सर्कुलरमार्फत यस्तो नीति तय गरेको हो ।

    सत्ता गठबन्धनको शीर्ष नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको मेयर कांग्रेसलाई दिने निर्णय गरेको थियो । उपमेयरको स्वाभाविक दाबेदार एकीकृत समाजवादीलाई उक्त उम्मेदवारीबाट वञ्चित गरिएपछि समाजवादीको स्थानीय नेतृत्वमा आक्रोश चुलिएको छ ।

    एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदको सबभन्दा ठूलो दल हो । उक्त दलले धनगढीमा माओवादीको तुलनामा आफ्नो स्थिति सुदृढ रहेको दाबी गर्दै आएको छ । तर, उपमेयरको उम्मेदवारी माओवादीलाई दिने निर्णयले धनगढीको जनमतमाथि धाबा बोलिएको भन्दै समाजवादीका स्थानीय नेताहरू असन्तुष्ट छन् ।

    जनतामाझ पार्टीको जबर्जस्त उपस्थिति देखाउन सबै ठाउँमा उम्मेदवारी दिन लागिएको प्रदेश कमिटीका एक नेताले बताए ।

    समाजवादीले यस्तो निर्णय लिएपछि कांग्रेस भने झस्किएको छ । गठबन्धनको केन्द्रीय नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगरमा कांग्रेसलाई प्रमुख र उपप्रमुख माओवादी केन्द्रलाई दिने निर्णय गरिसकेको छ । वडाहरुमा समाजवादीलाई सम्मानजनक उम्मेदवारी दिने केन्द्रको निर्णय छ ।

    धनगढी उपमहानगरमा जसले जस्तोसुकै गठबन्धन गरे पनि स्वतन्त्र उम्मेदवार गोपाल हमाल हेभिवेट मानिएका छन् ।

  • कांग्रेस जनकपुरका सभापतिसहित प्रमुख तीन पदाधिकारीले दिए राजीनामा, भागबण्डाप्रति असन्तुष्टि

    कांग्रेस जनकपुरका सभापतिसहित प्रमुख तीन पदाधिकारीले दिए राजीनामा, भागबण्डाप्रति असन्तुष्टि

    जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर कमिटीका सभापति मनोज साहसहितका पदाधिकारीले आज सामूहिक राजीनामा घोषणा गरेका छन् ।

    जनकपुरधाममा पत्रकार सम्मेलन गरी कांग्रेस उपमहानगर सभापति साह, सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादवले राजीनाको घोषणा गरेका हुन् ।
    सत्ता गठबन्धनले गरेको भागबण्डामा जनकपुरधाम जसपाको भागमा परेपछि आक्रोशित बनेका उनीहरुले साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेको बताएका छन् ।

    पार्टीको उपमहानगर सभापति पदबाट राजीनामा दिएका साह मेयरका आकांक्षी थिए । उनले गठबन्धनको नाममा जनकपुरधाम जसपाले सुम्पेपछि पार्टीमा बस्ने अवस्था नरहेको बताए । तर नेतृत्वले अहिले पनि निर्णय सच्याए पार्टीमा फर्किने उनको भनाइ थियो ।

  • सत्ता गठबन्धनबाट मुलुकले मुक्ति खोजेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

    सत्ता गठबन्धनबाट मुलुकले मुक्ति खोजेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्तारूढ गठबन्धन जति दिन रहन्छ त्यति नै देशले संकट व्यहोर्नुपर्ने बताएका छन् ।

    पार्टी कार्यालयमा आज स्थानीय चुनावको घोषणा पत्र सार्वजनिक कार्यक्रममा गर्दै उनले सत्तारूढ गठबन्धन अग्रगतिको बाधक बनेको बताए ।

    ‘मुलुकको अग्रगतिमा बाधक बनेर खडा भएको यो अहिलेको अविलम्ब मुक्ति खोजेको छ । मुलुकलाई यो गठबन्धनबाट मुक्त गर्नुपर्ने जरुरी छ,’ घोषणापत्र तयारी समितिका संयोजकसमेत रहेका पोखरेलले भने,‘ राजनीतिक अवसरवाद र सत्तास्वार्थ अनैतिक जगमा खडा भएको यो सरकार जति दिन रहन्छ मुलुकले त्यति संकट व्यहोर्नु अनिवार्य छ ।’

    संघीयताका प्रभावकारी कार्यान्वयन, जगैबाट लोकतन्त्रको सुदृढिकरण, आधारभूत तहबाटै विकास र समृद्धिको आधार निर्माण गर्न निर्वाचनमा एमाललेलाई जिताउनुपर्ने उनले बताए । उनले भने, ‘स्थानीय तहको नेतृत्व सुम्पेर मात्रै हामी राष्ट्रिय राजनीतिलााई सही बाटोमा फर्काउने कामको सुरूवात गर्न सक्छौं ।’

    लोकतन्त्र, संविधान र जनादेशको लिकमा फर्काउन स्थानीय तह निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न उनले आह्वान गरे ।

  • विवेकशील साझाले धनगढी उपमहानगरको उपमेयरमा विमला पन्तलाई बनायो उम्मेदवार

    विवेकशील साझाले धनगढी उपमहानगरको उपमेयरमा विमला पन्तलाई बनायो उम्मेदवार

    काठमाडौं । विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाउने भएको छ।

    इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक संघसंस्थाको संस्थापक रहेको अनुभव छ।

    उनले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै विगत २२ वर्षदेखि कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष १०ं२ सम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरी पढाइको जिम्मेवारी लिएको विवेकशील साझाले जनाएको छ ।

    त्यसपछि उच्च शिक्षा अध्ययनको चाहना भएकालाई पनि उनले पढाउँदै आएकी छन् । ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाजशास्त्रीका रूपमा संलग्न छिन् ।

    विवेकशील साझा परित्याग गरेर गोपाल हमालले धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।

  • ओखलढुङ्गामा चुनाव लड्न धमाधम जागिर छोड्दै शिक्षकहरू

    ओखलढुङ्गामा चुनाव लड्न धमाधम जागिर छोड्दै शिक्षकहरू

    काठमाडौँ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै चुनाव लड्न सरकारी जागिर छोड्नेहरु बढेका छन् । स्थानीय तहमा चुनाव लड्नकै लागि ओखलढुङ्गाकाे सामुदायिक विद्यालयका २६ जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् ।

    स्थानीय तह निर्वाचनकाे मिति घोषणापछि जिल्लामा २६ जना शिक्षकले राजीनामा बुझाएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाले जनाएको छ । व्यक्तिगत कारण देखाएर राजीनामा दिए पनि अधिकांश शिक्षककाे उद्देश्य चुनाव लड्ने देखिएको इकाई प्रमुख नेत्रप्रसाद गजुरेलले बताए ।

    इकाईका अनुसार मानेभञ्ज्याङकाे देवी आधारभूत विद्यालयका शिक्षक रामचन्द्र महतो र सोडान्तर आधारभूत विद्यालयका शिक्षक होमप्रसाद दाहाल, हर्कपुर माध्यमिक विद्यालयका शिक्षक गोविन्दप्रसाद अधिकारीले राजीनामा दिएका छन् ।

    यसैगरी सरस्वती आधारभूत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, हिमगंगा मावि रावादोलुकै तिलक विश्वकर्मा, टोपबहादुर बस्नेत र डिल्लीराम बस्नेत, कालिका आधारभूत विद्यालय आहालेका चन्द्र कटुवाल, जेसे मावि जेसे पात्लेका गुन्ज बहादुर सुनुवार, बालज्योति मावि चित्रेका मधुकरप्रसाद चौधरी, जन्तरखानी माध्यमिक विद्यालय जन्तरखानीका प्रधानाध्यापक मधुकर प्रसाद चौधरी र शिक्षक शंखवीर राईले राजीनामा दिएको इकाई प्रमुख गजुरेलले जानकारी दिए ।

    उनका अनुसार कालिका आधारभूत विद्यालय चुहानछापका जयकुमार कार्की, कालिका आधारभूत विद्यालय भालुथुम्काका युवराज घिमिरे, भुमेथान आधारभूत विद्यालयका तोयानाथ काफ्ले र चञ्चला आधारभूत विद्यालय खोदम्पाका बालकुमार खड्काले शिक्षण पेशाा त्यागेर राजीनामा दिएका छन् ।

    त्यस्तै यो अवधिमा एकजनाको अवकाश भएको र स्थानीय तहमा ६ जना अस्थायी राहत शिक्षकले राजीनामा दिएको कार्यालय प्रमुख गजुरेलको भनाइ छ ।

    ओखलढुङ्गामा अघिल्लो स्थानीय निर्वाचनमा पनि दुई दर्जन शिक्षकले चुनाव लड्न राजीनामा दिएका थिए । उनीहरूमध्ये केहीले मात्रै टिकट पाएका थिए । टिकट पाउनेमध्ये खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष र ३–४ वटा वडामा मात्रै शिक्षक पृष्ठभूमिका उम्मेदवारले चुनाव जितेका थिए ।

  • उम्मेदवार टुंग्याउन डाकिएको कांग्रेस कार्यसम्पादन बैठक अचानक स्थगित

    उम्मेदवार टुंग्याउन डाकिएको कांग्रेस कार्यसम्पादन बैठक अचानक स्थगित

    काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । आजको बैठकमा स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउने मुख्य एजेण्डा थियो ।

    दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो । बैठक भोलि बिहान ११ बजे तय गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    सत्तारुढ गठबन्धनमा कांग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।