Category: स्थानीय निर्वाचन–२०७९

  • पाल्पा गठबन्धन : कांग्रेसको भागमा ६ पालिका, माओवादी र नेकपा एसलाई दुई-दुई

    पाल्पा गठबन्धन : कांग्रेसको भागमा ६ पालिका, माओवादी र नेकपा एसलाई दुई-दुई

    पाल्पा । पाल्पामा गठबन्धनले भागबन्डा टुंगो लगाएको छ ।

    गठबन्धनमा भएको सहमति अनुसार ६ स्थानीय तहमा कांग्रेसले प्रमुख पाएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दुई दुई पालिकामा प्रमुख पाएको छ ।

    नेपाली कांग्रेसले रामपुर नगरपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा प्रमुख लिएको छ ।

    यस्तै एकीकृत समाजवादी पार्टीको भागमा पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिका परेको छ ।

    नेकपा माओवादी केन्द्रको भागमा रिब्दिकोट र तिनाउ गाउँपालिका परेको छ ।

    यस्तै उपप्रमुखमा कांग्रेसले रामपुर, पूर्वखोला, माथागढी, रिब्दिकोट, तिनाउ र रम्भा आफ्नो भागमा पारेको छ ।

    माओवादी केन्द्रले निस्दी, तानसेन र रैनादेवी पाएको छ । एकीकृत समाजवादीले बगनासकालीमा मात्रै उपप्रमुख पाएको छ ।

  • एमाले खोटाङले ९ स्थानीय तहमा टुङ्ग्यायो उम्मेदवार

    एमाले खोटाङले ९ स्थानीय तहमा टुङ्ग्यायो उम्मेदवार

    खोटाङ । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा (एमाले) खोटाङले स्थानीय तहको उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

    एमालेले दुई नगरपालिका र आठ गाउँपालिकामध्ये नौ वटा स्थानीय तहमा प्रमुख अध्यक्ष र उपप्रमुख उपाध्यक्षको उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

    एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमार प्रसाद आचार्य उपप्रमुखमा बिणादेवी राई, हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साङपाङको नाम सिफारिस गरेको छ भने उपप्रमुख खाली राखेको छ ।

    ऐंसेलुखर्क गाउँपालिको अध्यक्षमा गिरेन्द्र बहादुर राई उपाध्यक्षमा पुष्पकला भुजेल, केपिलासगढी गाउँपालिकाको अध्यक्षमा कृष्णकुमार राई, उपाध्यक्ष खाली राखेको छ ।

    रावावेसीं गाउँपालिको अध्यक्षमा हरिकुमार पोख्रेल, उपाध्यक्षमा कौशिला गुरुङको नाम सिफारिस भएको छ ।

    यसै गरी दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्ष खाली, खोटेहाङ गाउँपालिकाको अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजनकुमार बञ्जारा, जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा शंखर बहादुर राई र उपाध्यक्षमा विमला राई, वराहपोखरी गाउँपालिकाको अध्यक्षमा गोमा मगर र उपाध्यक्ष खाली राखेर सिफारिस गरेको नेकपा एमाले खोटाङका सचिव कुमार प्रसाद आचार्यले बताए ।

    वैशाख ३ गते सचिवालयको बैठकबाट उम्मेदवार छनौट तथा सिफारिस गर्न कार्यदल बनाइएको थियो । जिल्ला कमिटी खोटाङको उम्मेदवार छनौट तथा सिफारिस कार्यदलको वैशाख ४ गते बसेको बैठकले ७९ वटै वडाका उम्मेदवार तथा ९ वटा पालिकाको उम्मेदवारहरुको सर्वसम्मतले नाम टुङ्गो लगाएर सिफारिसको लागि प्रदेशमा वैशाख ५ गते नै पठाएको आचार्यको भनाइ छ ।

    साकेला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा अन्य पालिकामा खाली रहेका उपाध्यक्ष पदका उम्मेदवारको नाम र वडाको पनि आज साँझसम्म टुङ्गो लगाइने एमालेले जनाएको छ ।

  • भरतपुरमा सत्ता गठबन्धनका मेयरले नजिते के हुन्छ ?

    भरतपुरमा सत्ता गठबन्धनका मेयरले नजिते के हुन्छ ?

    अन्तको कुरो त मलाई थाहा भएन । तर भरतपुर महानगरपालिकाको हकमा नेपाली कांग्रेसको यो धम्की नाजायज अनि हाँस्यास्पद छ । आफ्ना कार्यकर्ता अनि शुभेच्छुकलाई लगातार कांग्रेसको विपरीत सिद्धान्त बोक्ने पार्टी अनि उसको चुनाव चिह्नमा मत हाल्न जबरजस्ती गर्नु कुनै पनि कोणबाट सही ठहर्दैन ।

    चाहे गठबन्धनका नाममा लादिएको निर्णय होस् वा कारबाहीको धम्की । कांग्रेस क्याडर बेस पार्टी होइन । यो मास बेस पार्टी हो । पार्टीका संगठित सदस्यभन्दा मतदाता धेरै भएको पार्टी हो कांग्रेस ।

    यस्तोमा उसको गलत निर्णय र आदेश पार्टीका संगठित सदस्यबाहेकका शुभेच्छुकका लागि बाध्यकारी हुँदैन । र, हुने पनि छैन । हेक्का रहोस् गठबन्धनका शीर्ष नेताहरुलाई । मतदाता सबै दास हुन्, उनीहरुले हामीले भनेको हर कुरो शीरोधार्य गर्छन् भन्ने भ्रमबाट मुक्त हुनु जरुरी छ ।

    भरतपुरका कांग्रेस र उसका शुभेच्छुक मतदाता गठबन्धनको खिलापमा किन ?

    स्वाभाविक छ । अघिल्लो पटक हामीले सघायौँ । यस पटक उनीहरुले हामीलाई प्रमुख पद छाड्नुपर्छ । आलोपालोको सिद्धान्तअनुसार पनि यो मनोभावना जायज छ । अझ भरतपुरमा त एक्लै लड्दा पनि बाजी मार्ने पार्टी कांग्रेस र उसका समर्थकका लागि रुख चिह्नधारी मेयर प्राप्त गर्नु प्रतिष्ठाको सवाल पनि बनेको छ ।

    जसका कारण यो प्रतिस्पर्धा अति पेचिलो पनि बनेको छ । कांग्रेस जिल्ला कार्यसमितिको निर्णय, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुको चर्को असन्तुष्टि, भरतपुर कांग्रेसको २९ वटै वडाका सभापतिहरुको सार्वजनिक असन्तुष्टि, केही वडामा भएका सामूहिक राजीनामा, सामूहिक राजीनामाको चेतावनी र मेयर–उपमेयरका ४ दर्जन बढी आकांक्षी ।

    यी सबै तथ्य नै काफी छ कि भरतपुरमा सत्ताधारी गठबन्धनको अवस्था धरापमा पर्ने खतरा ज्यादा छ । २०७४ को जस्तै ।

    पार्टीको जिल्ला कार्यसमिति प्राविधिक रुपमा केन्द्रको निर्णय मान्न बाध्य होला । तर, गोप्य मतदान गर्ने मतदाता बाध्य हुने छैनन् । केन्द्रले जिल्लालाई गठबन्धनको पक्षमा लाग्न बाध्य पार्न सक्ला ।

    तर, मतदातालाई सक्दैन । मेयरमा कांग्रेसको उम्मेदवार भए मत हाल्ने अन्यथा विकल्प खोज्ने मतदाताको अन्तरआत्माको निर्णयलाई केन्द्र त के महाकेन्द्रको आदेशले पनि बदल्न सक्ने हैसियत नराख्ने प्रस्ट देखिन्छ ।

    यस्तोमा गठबन्धनविरोधी अन्य पार्टीका उम्मेदवारले फाइदा उठाउने घाम जत्तिकै छर्लङ्ग छ । विपरीत परिणाम आउँदै गर्दा कतिलाई कारबाही गर्ने भन्नेमै पार्टी अलमलिने र नेतृत्व संकटमा पर्ने पूर्वानुमान लगाउन सकिन्छ ।

    फेरि माओवादी जिताउँदा भरतपुरमा कांग्रेस सकिन्छ ?

    यो प्रश्नको उत्तर धेरै कांग्रेसीहरुले जिल्लामा भएका विभिन्न कार्यक्रममा दिइसकेका छन् । उनीहरु भन्छन्, ‘हो, सकिन्छ ।’ अर्को पटक उसले एक्लै लड्ने हैसियत बनाउनेछ । र, कांग्रेसकै उम्मेदवार हराउनेछ । जति जे गरे पनि रुख चिह्नधारी उम्मेदवार नहुने भएपछि कार्यकर्ता नै तितरबितर हुनेछन् ।

    जसको प्रत्यक्ष फाइदा मुख्य रुपमा माओवादी केन्द्रले नै उठाउनेछ । किनकि सत्ता र शक्ति उसैको हातमा छ । विशेषतः माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक भविष्य सुनिश्चित गर्न भरतपुर महानगरका कांग्रेसीहरुको दोस्रो पटक बलि दिने सभापति देउवाको रणनीति मतदातालाई पटक्कै मन परेको छैन ।

    पार्टीभित्रैका प्रभावशाली नेताहरुले पनि यसमा गम्भीर आपत्ति जनाइसकेका छन् । कांग्रेसीहरुले हरेक दिन चिया पिउने भरतपुरको एक चिया दोकानमा पनि यसबारे चिन्ता गरेको सुनिन्छ । सचेत कार्यकर्ता र चलाख मतदाता रहेको भरतपुरमा लगातार केन्द्रीय निर्णय लाद्नु पार्टी पतनको प्रस्थान विन्दु हुन्छ भन्नेमा न कोही कांग्रेसीको दुईमत छ न त शुभेच्छुको नै ।

    भरतपुरको मेयर सत्ता गठबन्धनले नजिते के हुन्छ ?

    सायद यो प्रश्नको उत्तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मात्रै छ किनकि भरतपुरको मेयर र प्रधानमन्त्रीको कुर्ची एकापसमा जोडिएको छ । अघिल्लो पटक कांग्रेससँग गठबन्धन हुँदाहुँदै पनि मत पत्र च्यातेर आफ्नी छोरी रेणु दाहाललाई कनिकुथी जिताउन परेपछि उनले कांग्रेससँगको गठबन्धन त्यागेर एमालेसँग मिलेका थिए ।

    त्यो दृष्टान्त केलाउँदा यसपालि पनि सोही घटनाक्रम दोहोरिने पक्का छ । भरतपुरको मेयर हराउँदा बाँकी चुनावमा आफ्नै चिह्नमा मत हाल्न पाउने सुनिश्चितता देखेका मतदाताले के गर्लान् ?

    अनुमान सहजै लगाउन सकिन्छ कि भरतपुरको मेयर माओवादीले हारे गठबन्धन टुट्नेछ । यस्तो यथार्थबीच भरतपुरमा रहेका कांग्रेसका संगठित मतदाता र शुभेच्छुक केन्द्रबाट लादिएको निर्णयविरुद्ध लाग्न सक्नेछन् । यस्तोमा सकस अत्यधिक बढ्नेछ ।

    कांग्रेसमा बढ्दो असन्तुष्टिको फाइदा एमालेलाई

    कांग्रेसमा भरतपुरको मेयरको उम्मेदवारलाई लिएर बढ्दो असन्तुष्टिको प्रत्यक्ष फाइदा एमालेलाई हुन सक्छ । मेयरमा आफ्नो चिह्न नभएपछि क्रुद्ध हुने मतदाताले प्रतिशोधका लागि पनि एमालेका उम्मेदवारलाई मत हाल्न सक्ने देखिन्छ ।

    कतिपय कांग्रेसका स्थानीय नेताहरुले त सामाजिक सञ्जालबाटै एमालेका उम्मेदवार विजय सुवेदीलाई बधाई दिइसकेका छन् । अघिल्लो पटक कांग्रेस–माओवादी मिलेर चुनाव लड्दा र मतपत्र च्यात्दा पनि माओवादी उम्मेदवार रेणु दाहालले २०३ मत अन्तरले मात्रै चुनाव जितेकी थिइन् । अब आफै अनुमान लगाउनुस्, भरतपुरमा एमालेको शक्ति ।

    तर, विडम्बना नेपाली कांग्रेसको गलत निर्णयका कारण एमालेले फाइदा उठाउने प्रशस्त सम्भावना देखिन्छ । उसो त एमालेका उम्मेदवार विजय सुवेदी पनि आफैमा लोकप्रिय अनि विवादरहित नेता हुन् ।

    (१५ वर्षदेखि पत्रकारितामा सक्रिय लेखक सापकोटा चितवन क्षेत्र नम्बर ३ र भरतपुर महानगरपालिका मतदाता हुन् ।)

  • कैलालीमा जनमोर्चाका दुई विकल्प : सहमतिमा ६ वडाध्यक्ष नत्र प्रमुख उपप्रमुखमै उम्मेदवारी

    कैलालीमा जनमोर्चाका दुई विकल्प : सहमतिमा ६ वडाध्यक्ष नत्र प्रमुख उपप्रमुखमै उम्मेदवारी

    कैलाली । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय भोलि र पर्सि तोकेको छ । तर, कैलालीमा आज सम्म पनि गठबन्धनका दलहरू बिच भागबन्डा मिल्न सकेको छैन ।

    सत्ता गठबन्धन भित्रै रहेको जनमोर्चाले पनि कैलालीमा दुई वटा विकल्पमा आन्तरिक तयारी गरिरहेको छ ।

    अहिले जनमोर्चाले कैलालीका १३ स्थानीय तह मध्ये कुनै पनि स्थानीय तहमा प्रमुख वा उपप्रमुखमा दाबी गरेको छैन ।

    सहमतिको आधारमा जनमोर्चाले कैलालीका १२६ वडा मध्ये ६ वटा वडाध्यक्ष मागेको छ ।

    गोदावरीको १२ र १ धनगढीको १३, घोडाघोडीको १०, लम्कीचुहाको ८ र जानकीको ५ नम्बर वडामा वडाध्यक्षको दाबी गरेको जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम अध्यक्ष नन्दराज भट्टकाले जानकारी दिए ।

    उनले छ वडाध्यक्ष र अन्य वडाहरूमा पनि एउटा वडा सदस्य माग गरेको बताए ।

    ‘हामीले गठबन्धनका दलहरू बिच सहमतिको आधारमा विभिन्न स्थानीय तहका ६ वडाध्यक्षमा दाबी गरेका छौँ । यो विषयमा अन्य दलहरू पनि सकारात्मक हुनुहुन्छ’ उनले भने, ‘तर, अझै सम्म पनि ठोस निर्णय भने भइसकेको छैन ।’

    जनमोर्चाले सहमति नभएको अवस्थामा एकल रूपमा भए पनि निर्वाचनमा जना सक्ने विकल्पमा पनि छलफल प्रारम्भ गरेको छ ।

    धनगढी उपमहानगर पालिका प्रमुखमा खडक बहादुर राना प्रमुख प्रमुखमा शोभामणि भट्टलाई जनमोर्चाले अघि सारेको छ ।

    त्यस्तै गोदावरीको प्रमुखमा हरिकृष्ण पाण्डे र उपप्रमुखमा रेणुका विक, गौरीगङ्गा प्रमुखमा गङ्गाराम कँडेल र उपप्रमुखमा लक्ष्मी न्यौपाने रहेका छन् ।

    त्यस्तै घोडाघोडीमा मेनुका खड्का प्रमुख, मेनुका सुनार उपप्रमुखका सिफारिस भएका छन् । लम्कीचुहामा मिलन शाही प्रमुख र हरिकला शाही उपप्रमुखमा सिफारिस भएका छन् जनकी गाउँपालिका प्रमुखमा रामकृष्ण रेग्मी सिफारिस भएका छन् ।

    ‘राष्ट्रिय जनमोर्चाले अधिकांश पालिकामा प्रमुख र उपप्रमुख सहित उम्मेदवारी घोषणा गरिसकेको छ’ भट्टले भने, ‘सहमति भए हामी छ वडाध्यक्षमा चित्त बुझाउँछौँ नत्र सबै ठाउँ उम्मेदवारी दिन्छौँ ।’

    यस विषयमा आन्तरिक रूपमा गठबन्धनका दलहरू बिच पनि छलफल भइरहेको बताए ।

  • जुगलको संयोग- गाउँपालिका अध्यक्षले आफूसँग हार्नेलाई कांग्रेसबाट एमालेमा गरे स्वागत

    जुगलको संयोग- गाउँपालिका अध्यक्षले आफूसँग हार्नेलाई कांग्रेसबाट एमालेमा गरे स्वागत

    काठमाडौं । ठिक ५ वर्षअघि यतिबेला होमनारायण श्रेष्ठ र जयबहादुर लामा एक अर्काको प्रमुख प्रतिस्पर्धीका रुपमा जनताबीच भोट माग्न हिँड्दै थिए । प्रतिस्पर्धामा एमालेका होमनारायण श्रेष्ठले जिते, जयबहादुर १८१ मतको अन्तरले स्तब्ध भए ।

    यो थियो सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनको दृष्य । त्यस चुनावमा एमालेका श्रेष्ठ २७१८ मतसहित बिजयी हुँदा जयवहादुर लामाले २६३७ मत पाएका थिए भने तेस्रो स्थानमा माओवादीका रेशम स्याङ्बोले २४४५ मत पाएका थिए ।

    पाँच वर्षपछि शनिबार ठिक उल्टो दृष्य देखियो । आफूसँग झिनो मतान्तरले पराजित जयवहादुरलाई एमालेमामा भित्र्याउँदै उनैलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने कार्यक्रमको सञ्चालक होमनारायण श्रेष्ठ थिए । गाउँपालका महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठले यसअघि नै विपक्षीहरुको गठबन्धन भए आफैं भिड्ने नत्र अरुलाई मौका दिने बताएका थिए ।

    नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुराना नेता जयबहादुर लामा अन्ततः नेकपा एमालेमा प्रवेश गरेका छन्। लामासहित जुगल गाउँपालिका ५ का वडा अध्यक्ष सनत अधिकारी पनि एमाले प्रवेश गरेका छन्।

    सोही कार्यक्रममा कांग्रेस केन्द्रीय यातयात विभागका सदस्य नबिन्द्र योन्जन,तरुण दलका नेतालगायत एक सय बढी काग्रेस कार्यकर्ता एमाले मा प्रवेश गरेका छन। उनीहरुलाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ ,पोलिट्ब्युरो सदस्य अरुण नेपाल ,केन्द्रीय सदस्यहरु दावा तामाङ ,सरेश नेपाल ,जिल्ला अध्यक्ष कमल नेपाल लगायतले स्वागत गरेका थिए ।

    पार्टी प्रवेश गरेसँगै लामालाई एमालेले जुगल गाउँपालिकाको अध्यक्षको उमेदवारसमेत बनाएको छ। काग्रेसबाट गाउँपालिकाको दाबेदार भए पनि का‌ंग्रेसले हिमाल श्रेष्ठलाई टिकट दिएपछि लामासहितका नेताहरुले पार्टी परित्याग गरेका हुन्।

    सोही कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष सानोकान्छा तामाङ पनि प्रवेश गरेका छन् । २०७४ मा कांग्रेसले जुगल गाउँपालिकाका दुई वडामा अध्यक्ष जितेको थियो ,अब दुवै वडा अध्यक्ष एमाले प्रवेश गरेका छन् ।

     

     

  • स्कुलको मुहार फेरियो, अब गाउँको मुहार फेर्न हेडसरको राजीनामा

    स्कुलको मुहार फेरियो, अब गाउँको मुहार फेर्न हेडसरको राजीनामा

    रामेछाप । १३ वर्षअघि सन्तोष पौडेल निम्न माध्यमिक विद्यालयको राहत दरबन्दीको शिक्षक भएर अरुणोदय स्कुलमा जाँदा खेदका गह्राको छाप्रामा पढाउँथे । अहिले पक्की आधुनिक विद्यालय भवन समुदायलाई हस्तान्तरण गरेर उनी भने अब विद्यालयजस्तै आफ्नो गाउँ बनाउने भनेर राजीनामा दिएर हिँडेका छन् ।

    रामेछापका लिखु तामाकोशी वडा नम्बर २ को सैपु फेदीस्थित अरुणोदय माविको मुहार फेर्ने अभियानमा यहाँका गाउँलेले सन्तोषलाई अगाडि बढाएका थिए । उनलाई अभिभावकले स्कुलको हेडमास्टर पनि बनाए ।

    सन्तोष अरुणोदयको शिक्षक मात्र थिएनन्, यहि गाउँका एक विकास अभियन्ता पनि भएका कारण दाता खोजेर विद्यालय बनाउने अभियानमा लागे ।

    विद्यालय बनाउन जग्गा दिने उद्धब पौडेल आज यो संसारमा छैनन्, तर उनले दिएको जग्गामा आकर्षक र उत्कृष्ट विद्यालय स्थापित गरेर यहाँका गाउँलेले उनको आत्मालाई पनि शान्ति दिएका छन् ।

    बेलौरीबाट फेदीमा सडक आएपछि स्कुल पनि सारिएको थियो । पुर्वाधारबिनाको विद्यालयलाई शहीद उज्ज्वन गणेश स्मृति प्रतिष्ठानकी साबित्री श्रेष्ठलगायतको सहयोगबाट आजको अवस्थामा पुर्याउन सन्तोष पौडेल, गंगा कार्की, लालप्रसाद पौडेल, टीका पौडेल लगायतको टिमले सफलता पायो ।

    स्थानीयको सहयोग, विभिन्न निकायसँगको समन्वयकै कारण विद्यालय यो अवस्थामा आएको उनी बताउँछन् । सन्तोषले केही दिनअघिमात्र फेसबुकमा लामो स्टाटसमा विद्यालयका विभिन्न समयक्रममा तस्बिर राख्दै आफूले राजीनामा दिएर नयाँ बाटो तय गरेको जानकारी दिए ।

    उनको त्यो नयाँ बाटो भनेको अब शिक्षकबाट जनप्रतिनिधि बनेर विद्यालयजस्तै आफ्नो गाउँको पनि स्वरुप फेर्ने हो । नेकपा एमालेबाट लिखु तामाकोशी गाउँपालिका २ को वडाध्यक्ष उम्मेदवार बनेका पौडेलले गाउँबाट बेसी धाएर जुन काम गरे त्यसले उनलाई दुवै भेगमा स्थापित समेत गरेको छ ।

    अहिले अरुणोदय स्कुल यो भेगका आकर्षणको केन्द्र बनेको छ । सन्तोषको टिमको मेहनतले छाप्रोबाट आधुनिक भवन र भुइँको कक्षाबाट डिजिटल क्लासमा बदलेको छ । स्कुल बदल्न सक्नेले गाउँ पनि बदल्न सक्छ भन्ने प्रमाणित गर्न उनको लागि चुनौति भने अवश्य हुनेछ ।

    गाउँकै मान्छेले स्कुल बन्यो अब गाउँ बनाउनुपर्छ भनेपछि आफू त्यो जिम्मेवारीका लागि अग्रसर भएको पौडेलले बताएका छन् । २०७४ सालको निर्वाचनमा सो वडाबाट कांग्रेस माओवादी गठबन्धनका पदम तामाङले वडाध्यक्ष जित्दा एमालेका तीन सदस्य निर्वाचित भएका थिए ।

  • एकीकृत समाजवादीको माग: विवाद भएका जिल्लाका केन्द्रले हस्तक्षेप गरोस्

    एकीकृत समाजवादीको माग: विवाद भएका जिल्लाका केन्द्रले हस्तक्षेप गरोस्

    कैलाली । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने समय नजिकिँदै गर्दा पनि गठबन्धनका विषयमा जिल्लाहरूमा सहमति नभएको भन्दै एकीकृत समाजवादीले चासो व्यक्त गरेको छ ।

    जिल्लाहरूमा गठबन्धन भित्र रहेका दलहरूबीच पनि असमझदारी भएको भन्दै एकीकृत समाजवादी पार्टीले त्यस्ता जिल्लाहरूमा गठबन्धनको केन्द्रीय नेतृत्वले हस्तक्षेप गर्नु पर्ने अडान लिएको छ ।

    ‘अहिले जिल्ला जिल्लाबाट हामीलाई रिपोटिङ भइरहेको छ । केही जिल्लाहरूमा सहमति भइसकेको छ केहीमा समस्या छ ।’ एकीकृत समाजवादीका उपाध्यक्ष प्रवेश हमालले भने, जिल्लामा सहमतिको प्रयास हुँदा पनि सहमति नभएपछि केन्द्रबाट हस्तक्षेप गर्नुपर्ने हुन सक्छ ।’

    मनोनयन गर्ने समय सीमा नजिकिँदै गर्दा पनि अहिले सम्म गठबन्धनका दलहरू बीच सहमति नभएको भन्दै अब केन्द्रबाट भागबन्डा टुङ्गाउनु पर्ने उनको भनाइ छ ।

    उनले भने, ‘आजको गठबन्धनको बैठक हेर्नुपर्छ । मनोनयन गर्न दिन भोलि छ । त्यो बेला सम्म केही हुनसक्छ । हामी आफ्नो दाबी सहित गठबन्धनमा प्रस्तुत गरेका छौँ । कतिपय जिल्लामा टुङ्गो लगाउन वाकी छ त्यस्तो जिल्लामा केन्द्रले चासो दिनुपर्छ ।’

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि जिल्ला तहको रिपोर्ट आशावादी नरहेको बताइसकेका छन् । अहिले जिल्लामा गठबन्धनका दलहरूबीच उम्मेदवारको भागबन्डामा समस्या सृजना भइरहेको छ ।

  • विश्वका नामी विश्वविद्यालय पढेका डा. प्रकाश भट्टराई किन बने सुन्दरहरैंचाकाे स्वतन्त्र मेयर उम्मेदवार ?

    विश्वका नामी विश्वविद्यालय पढेका डा. प्रकाश भट्टराई किन बने सुन्दरहरैंचाकाे स्वतन्त्र मेयर उम्मेदवार ?

    इटहरी । मोरङको विराटनगर महानगरपालिकापछि सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह हो सुन्दरहरैंचा नगरपालिका । यहाँ ७१ हजार ७५६ मतदाता छन् । देशभर जस्तै यस पालिकामा पनि चुनावी माहोल गर्माएको छ । दलहरुका झन्डा घरघरमा पुगेका छन्, चुनाव चिन्ह घरघरमा फहरिएका छन् । दलहरुका दाबीहरु पनि घरघरमा पुगेका छन् ।

    दलहरुका घोषित उम्मेदवारहरु घरघरमा पुगेका छैनन् । तर, विगत साढे एक महिनादेखि मेयरका स्वतन्त्र उम्मेदवार डाक्टर प्रकाश भट्टराई भने घरघरमा पुगिरहेका छन् । उनको घोषणापत्र घरघरमा पुगेको छ । उनको अभियान घरघरमा पुगेको छ ।

    अरु उम्मेदवारको नाम घोषणा हुनुअगाडि घरघरमा पुगेका डाक्टर भट्टराईलाई मतदाताले संशय व्यक्त गरे, ‘तपाईं अलि ढिलो आउनु भयो ।’
    आम मतदाताको आशंकामा डा. भट्टराईको सहज उत्तर छ, ‘म अरुभन्दा चाँडो आएको हुँ । अरु उम्मेदवारहरु को हुने भन्ने अहिलेसम्म टुंगो लागेकै छैन । त्यसैले म नै तपाईंहरुसँग पहिले आएको हो ।’

    डा. भट्टराईको यो कुरामा दलसँग जोडिएका मतदाताले हत्तपत्त चित्त बुझाएका छैनन् । उनलाई मतदाताहरु सुझाव दिन्छन्, ‘अबको पाँच वर्षपछि चैं तपाई उठ्नुभएको भए राम्रो माहोल हुन्थ्यो ।’

    यसलाई डा. भट्टराई हिन्दी उखान जोड्दै उत्तर दिन्छन्, ‘जब जागा तब सबेरा ।’ लोकतन्त्र भनिए पनि अभ्यासमा आएको दलतन्त्रले स्वतन्त्र उम्मेदवारहरुमा केही असजिलो भएको डा. भट्टराईको अनुभव छ । बहुसंख्यक मतदाताले घोषणापत्र नहेर्ने, उम्मेदवारको योग्यता र दक्षता नहेर्ने, मुद्दामा कुरा नगर्ने दल र तिनका चुनाव चिह्नमात्रै हेर्ने गरेको आफूले पाएको उनी बताउँछन् । यही बहुसंख्यकको मनोविज्ञानकै कारण मतदाताहरुले पनि दलहरुबाट ब्याज खाइरहेको उनी बताउँछन् ।

    राहत शिक्षकको नियुक्ति, कल गाड्ने, कृषि अनुदान पाउने, वडा कार्यालयदेखि प्रहरी र मालपोत कार्यालयमा दलहरुको डटफटले मात्रै काम हुने अवस्थाले आम मतदाताबाट दलहरुले पनि आफ्नो स्वार्थ र फाइदा लिइरहेको डा. भट्टराईको बुझाइ छ ।

    समाजलाई कुशासनको दाम्लोले दलीयकरण गरी त्यसको उपयोग दलहरुले दुई समयमा गर्ने गरेको आफूले पाएको डा. भट्टराई बताउँछन् । उनी भन्छन्, ‘दलहरुले महाधिवेशन र चुनावमा यस्तो जनताको प्रयोग राम्रोसँग गर्छन् ।’

    यही दलहरुको दलदलकै कारण राम्रो र स्वतन्त्र रुपमा काम गर्न चाहने बौद्धिक व्यक्तित्वहरुले गाउँघरमा बसेर काम गर्ने वातावरण नभएर उनीहरु कि त ठूला सहर कि त विदेश पलायन भएको उनी बताउँछन् । दलहरुले पुरानो विरासतको ब्याज र संगठकको कारण प्रचारप्रसार र हल्लाखल्लामा रातो पासपोर्ट पाएको उनी बताउँछन् ।

    डा. भट्टराईले देखे चार खाले मतदाता

    सुन्दरहरैंचाका १२ वडाका डुल्दा भट्टराईले चार खाले मतदाता पाएको अनुभव सुनाए । उनले विगत डेढ महिनाको चुनाव केन्द्रित अभियानमा प्रत्यक्ष देखेका मतदाताका यी प्रकार हुन् । पहिलो प्रकारका मतदातालाई उनी ‘खान्तेपिन्ते मतदाता’ भन्छन् । यो वर्गमा दलहरुले खानपिन गर्न दिने र पेट्रोल भरिदिएको आधारमा र चुनाव अगाडि दिएको भोजको आधारमा मत दिने मतदाताहरु पर्छन् । यसमा केही युवा र निम्न आय भएका मतदाता पर्छन् । यो करिब १० प्रतिशत रहेको डा. भट्टराईको अनुमान छ ।

    दोस्रो मतदाताहरुलाई उनी ‘दलले डामेका मतदाता’ भन्छन् । यसमा दलहरुले दिएका विभिन्न सेवा–सुविधाहरु लिएका र दलहरुका परम्परागत समर्थक तथा कट्टर समर्थकहरु पर्छन् । उनीहरुको सरोकार उम्मेदवार र मुद्दामा हुन्न । मात्रै आफ्नो प्रिय दलको चुनाव चिन्हमा हुन्छ । यो संख्या २० प्रतिशत भएको डा. भट्टराई अड्कल गर्छन् ।

    तेस्रो खालका मतदातलाई डा. भट्टराई ‘उकुसमुकुस मतदाता’ भन्छन् । यसमा कुनै विकल्प नभएर दललाई नै भोट हाल्न बाध्यहरु पर्छन् । यसको प्रतिशत ३० भएको उनको दावी छ ।

    चौथो र सबैभन्दा ठूलो प्रतिशतका मतदाताहरुमा ‘स्वतन्त्र मतदाता’ छन् । यो संख्या ४० प्रतिशत हाराहारीमा रहेको डा. भट्टराई बताउँछन् । भोटै हाल्न नचाहने, भोट हाल्ने उत्साह नभएका स्वतन्त्र मतदाताहरु यो वर्गमा पर्छन् ।

    यी चार प्रकारका मतदातामा उकुसमुकुस र स्वतन्त्र मतदाताहरुलाई आफूले लक्षित गरेको उनले जानकारी दिए । दलले डामेका र खान्तेपिन्ते समूहलाई आफूले वास्तै नगरेको उनी बताउँछन् । आफ्नो लक्षित समूहका मतदातासम्म पुग्न दलहरुको जस्तो सांगठनिक सञ्जाल नभएकोले केही सकस भएको भट्टराई बताउँछन् । तर, निराश भने नभएको उनको भनाइ छ । उनले थपे, ‘मेरो अभियानमा करिब पचास जना युवा स्वयंसेवी रुपमा मेरो जानकारीविनै मेरो पक्षमा सामाजिक सञ्जालमा सक्रिय भएको भेटेँ । यो संख्या बढ्दै छ । यसमा आशावादी छु ।’

    २०७४ सालमा दलहरुलाई भोट हालेका सुन्दरहरैंचाका १० प्रतिशत मतदाता विभिन्न कारणले बसाइसराई तथा विदेश बसाइका कारण दलहरु पहिले जस्तो शक्तिशाली नभएको उनी बताउँछन् । चुनाव चिन्ह ढिलो मतदातामाझ पुगे पनि स्वतन्त्र उम्मेदवारका मुद्दा जनतासामु पु¥याउन सकिएमा जित्ने सम्भावना बढ्ने भट्टराई सुनाउँछन् । ‘२०७४ को तथ्यांकमा २३३ स्वतन्त्र उम्मेदवारले चुनाव जित्नु भएको छ । उहाँहरुले पनि चुनाव चिन्ह ढिलो पाउनु भएको छ ।’

    भट्टराई किन आए स्वतन्त्र राजनीतिमा ?

    भट्टराई स्नातकोत्तर गर्न सन् २००८ मा अमेरिकाको युनिभर्सिटी अफ नोट्रेडेममा पुगे । त्यहाँबाट शान्ति तथा द्वन्द्व अध्ययन विषयमा स्नातकोत्तर गरेपछि उनी सन् २०१० मे मा नेपाल आए । त्यसपछि विद्यावारिधि गर्न उनी सन् २०११ मा न्यूजिल्यान्ड लागे । न्यूजिल्यान्डको युनिभर्सिटी अफ ओट्यागोमा शान्ति प्रक्रियामा तेस्रो पक्षको सहभागिताको विषयमा थेसिस गरे । नेपालको शान्ति प्रक्रिया र फिलिपिन्सको मोरो इस्लामिक द्वन्द्वको विषयमा उनले तुलनात्मक अध्ययन गरेर विद्यावारिधि पूरा गरे ।

    अमेरिका र न्यूजिल्यान्डमा पढेको कुरा उनले स्विडेनको नामी विश्वविद्यालय उप्सलामा पुगेर प्रयोग गरे । भिजिटिङ स्कलरको रुपमा उनी स्विडेनमा तीन पटक पुगे । पहिलोपटक उनी सन् २०१३ मा पुगेका थिए । सन् २०१७ मा उनी जर्मनको चर्चित पिस रिसर्च इस्टिच्युटमा पुगे ।

    सन् २०१८ मा हङकङको हङकङ विश्वविद्यालयमा एसिया ग्लोबल फेलो भएर पुगे । विश्वस्तरीय प्राज्ञिक तथा खोज व्यक्तित्व बनाएका डा. भट्टराईले आधा दर्जन बढी खोज तथा अनुसन्धानमूलक पत्रहरु लेखिसकेका छन् । ती सामग्री विश्वका विभिन्न नामी संस्थाका प्रकाशनबाट प्रकाशित भइसकेका छन् । पछिल्लो समय उनी रुटलेज नामक बेलायतको प्रसिद्ध प्रकाशन गृहले प्रकाशन गर्न लागेको एक पुस्तकका सम्पादक छन् । पुस्तक नेपालको शान्ति प्रक्रियाको बारेमा छ ।

    उनले विज्ञ भएर काम गरेका संस्था र गतिविधिको फेहरिस्त लामो छ । खोज र अनुसन्धानमा विश्वस्तरीय व्यक्तित्व डा. भट्टराईमा किन स्थानीय सरकारमा रुचि जाग्यो ? प्रतिपक्षविहीन व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको काम गर्ने सरकार स्थानीय सरकार भएकोले आफूले यसमा रुचि गरेको उनी बताउँछन् ।

    नेपालको संविधान २०७२ ले अनुसूची ८ मा दिएको स्थानीय सरकारका २२ विशेष अधिकार र १५ साझा अधिकारहरुले काम गर्न ठूलो बाटो खोलिदिएको डा. भट्टराईको बुझाइ छ । उनी भन्छन्, ‘हामीले खोजेको विकासको दिल्ली मोडेलको काम स्थानीय सरकारबाट गर्न सकिन्छ ।’

    नैतिक पतन र भ्रष्टाचार नहुँदा पाँच वर्ष आनन्दले काम गर्न सकिने स्थानीय सरकारमात्रै भएकाले काम गरेर देखाउन आफू स्वतन्त्र नै भए पनि मेयरमा उठेको डा. भट्टराईले स्पष्ट पारे । आफूले संसारका धेरै विश्वविद्यालयका धेरै प्रोफेसर र विज्ञहरु चिनेकाले विज्ञहरुसँगको पहुँचलाई प्रयोग गर्न र अन्य स्रोत जुटाउन सकिने भएकाले उनले आफू स्थानीय तहको नेतृत्वको लागि योग्य उम्मेदवार भएको दावी गर्छन् ।

    ‘संघीय सरकार र प्रदेश सरकारको पैसामात्रैले स्थानीय तहमा विकास पुग्दैन । दाताहरुसँग र निजी क्षेत्रको लगानी पनि आवश्यक छ’, डा. भट्टराई भन्छन्, ‘यो क्षेत्रमा म काम गर्न सक्छु ।’

    स्थानीय सरकारमा अयोग्यहरुको दबदबा बढ्दा जनताले न्याय नपाएको उनी जिकिर गर्छन् । योग्यता र विज्ञता भएकाहरु नआएकाले पनि आफू स्थानीय सरकारमा आएको उनी तर्क गर्छन् । भट्टराई थप्छन्, ‘विभिन्न क्षेत्रमा स्थापित विज्ञहरुले यस्तो आँट नगरेकाले मैले आफ्नो पालिकामा आँट गरेको हुँ ।’

    डा. भट्टराईका चार मुद्दाका चार ‘स’

    डा. भट्टराईले दलविरोधी चर्का एवं उनीहरुप्रति घृणाका अभिव्यक्ति दिएका छैनन् । यसमा उनलाई इच्छा पनि छैन । उनी समाजका विभिन्न स्वार्थ समूहसँग बसेर टाउको गन्दै मतदाताको मोलमोलाई पनि गरिरहेका छैनन् । उनी आफ्नो आठ पृष्ठको घोषणापत्रका मुद्दा बोकेर गाउँगाउँ र घरघर पुगिरहेका छन् । उनले मूलतः चार ‘स’ को चार मुद्दा बोकेका छन् ।

    पहिलो ‘स’ सुशासन हो । दलगत नेतृत्वले नागरिकको हितभन्दा आफ्ना नेता–कार्यकर्ताको मात्रै बढी हित हुने शासनको विपक्षमा यो मुद्दा अघि सारेको उनको दाबी छ । दोसो ‘स’ हो सन्तुलित विकास । यसले ठूला–ठालु नेताहरु भएको क्षेत्रमा र दबाब समूहको क्षेत्रमा मात्रै नभएर सबै क्षेत्रमा सन्तुलित विकासको काम गर्ने उनी बताउँछन् ।

    तेस्रो ‘स’ समावेशिता हो । स्थानीय सरकारका सबै काम तथा निर्णयहरु बन्द कोठामा दुई चार जनाले नगरेर समाजका सबै पक्षको सहज सहभागिता र समावेशिताको पक्षमा यो मुद्दा बोकेको उनी बताउँछन् ।

    चौथो ‘स’ हो सेवक सरकार । स्थानीय सरकारलाई लोकल्याणकारी सरकार बनाउने उद्देश्यले यो मुद्दा बोकेको डा. भट्टराई बताउँछन् । ज्ञान अनुसन्धान केन्द्र सञ्चालन, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसामुक्त नगरपालिका, हरित नगर, शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, खेलकुद, कला–संस्कृति आदि क्षेत्रका बुँदागत मुद्दा डा. भट्टराईको आठ पृष्ठको घोषणापत्रमा प्रस्ट छन् ।

    पाँच वर्षे कार्यकालमा यी चार ‘स’बाट स्थानीय तहमा देखिने गरी विकासको काम गर्न सकिने उनको आत्मविश्वास छ । उनी भन्छन्, ‘अमेरिकी राष्ट्रपतिको भन्दा एक वर्ष लामो आयुको स्थानीय सरकार विकासमा नमुना काम गर्न काफी छ ।’

    उम्मेदवार बनेपछि झेलेको ‘मोसफल पीडा’

    काठमाडौं मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको चर्चा ज्यादै छ । पोखराका स्वतन्त्र उम्मेदवार गनेश पौडेलको पनि उत्तिकै चर्चा छ । तर, आफ्नो चर्चा मिडियामा कम आएको डा. भट्टराईको गुनासो छ । राष्ट्रिय मिडियाका रिपोर्टर नभएको वा कम भएकोले आफ्नो चर्चा तुलनात्मक कम भएको अनुभव डा. भट्टराईको छ ।

    ‘मुद्दा र योग्यताको मामलामा म बालेनजी र गनेशजी भन्दा कमजोर देख्दिनँ’, डा. भट्टराई भन्छन्, ‘तर राष्ट्रिय मुद्दामा चर्चा भएका स्वतन्त्र उम्मेदवारहरुमा म छायाँमा परेँ । मैले मोफसलको उम्मेदवारको हुनुको पीडा महसुस गरेँ ।’

    काठमाडौं संघीय राजधानी र पोखरा प्रादेशिक राजधानी भएकोले त्यता धेरैको ध्यान पुगेको हुनसक्ने उनी बताउँछन् । राष्ट्रिय मिडियामा आफ्नो चर्चा कम भए पनि स्थानीय स्तरको खटाई भने कमजोर नभएको उनको दावी छ । भट्टराई भन्छन्, ‘राष्ट्रिय मिडियामा चर्चा हुँदा पनि सूचना पुग्नुपर्ने स्थानीय मतदाताकैमा हो । हाम्रो अभियान अहिले मतदाताको घरदैलोसम्म पुगिरहेको छ ।’

  • सुदूरपश्चिममा एकीकृत समाजवादीलाई गठबन्धन गर्न समस्या, एक्लै निर्वाचनमा होमिने मुड

    सुदूरपश्चिममा एकीकृत समाजवादीलाई गठबन्धन गर्न समस्या, एक्लै निर्वाचनमा होमिने मुड

    कैलाली । सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दल रहेको एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेशमा गठबन्धन गर्न समस्या भइरहेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी धेरै गरेपछि एकीकृत साजवादीलाई समस्या भएको हो ।

    दार्चुलामा एकीकृत समाजवादीलाई बाहिर राखेर सहमति गरेपछि एकीकृत समाजवादी रुष्ट भएको थियो । बझाङमा भने माओवादीले भन्दा धेरै स्थानीय तहमा एकीकृत समाजवादीले पाएको छ । त्यस बाहेक कुनै पनि स्थानीय तहमा अहिले सम्म गठबन्धन हुन सकेको छैन । अहिले अन्य दुई दलले एकीकृत समाजवादीलाई आवश्यकता अनुसारको स्थान दिन नचाहेपछि समस्या भएको बताइएको छ ।

    सुदूरपश्चिम प्रदेश गठबन्धनमा सहमति हुन नसके मित्रवत् प्रतिस्पर्धा तर्फ जाने विषयमा पनि छलफल भइरहेको एकीकृत समाजवादीका सुदूरपश्चिम इन्चार्ज मदन कुमारी शाह गरिमाले जानकारी दिइन् ।

    ‘सधैँ जित्नकै लागि मात्रै चुनाव लडिने कुरा भएन । हार्ने पनि हुन सक्छ’ उनले भनिन् ‘अस्तित्वको लागि एक्लै पनि लड्नु पर्ने हुन सक्छ । ’

    गठबन्धन गरेर जाने र एक्लै निर्वाचनमा होमिने दुवै विकल्पमा तयार रहन निर्देशन जारी गरिएको उनले बताइन् । दार्चुलामा कुनै पनि पालिका नपाएको एकीकृत समाजवादीलाई वडाध्यक्ष पनि दिन तयार नभएपछि समस्या भएको हो ।
    ‘अहिले पनि छलफल भइरहेको छ । तर, ठोस निर्णय भएको छैन’ उनले भनिन्, ‘कतिपय स्थानमा हामीलाई कमजोर भनिएको छ । लुकेको शक्ति कसले देख्छ र ?’

    सुदूरपश्चिमका चार जिल्लामा अहिले सबै भन्दा धेरै समस्या छ । डोटी, अछाम कैलाली र कञ्चनपुरमा सबै भन्दा धेरै समस्या रहेको बताइएको छ । अछाममा एकीकृत समाजवादीले दुई पालिका मागेको छ । तर, उनीहरूको जनमत अनुसार एक पालिका लिने मुडमा कांग्रेस देखिएका छ ।

    कञ्चनपुरमा कांग्रेसले पाँच पालिका पाउने सहमति भए पनि माओवादी र एकीकृत समाजवादीले पाउने पालिकाका विषयमा सहमति जुट्न सकेको छैन । केही समय अघि एमालेबाट एकीकृत समाजवादीमा लागेका अशोक चन्दको स्थानीय तह बेदकोट एकीकृत समाजवादीले पाए पनि थप एक स्थानीय तहको दाबी गरेको छ ।

    कञ्चनपुरमा बेदकोट र पुर्नवास नगरपालिकाका नगर प्रमुख एकीकृत समाजवादीमा छन् । पुर्नवास नगरपालिका भने माओवादीले नछाड्ने बताएको छ ।

    कैलालीमा पनि अहिले सम्म कुरा मिलेको छैन । कैलालीका अहिले एकीकृत समाजवादीमा दुई उपप्रमुख मात्रै छन् । तत्कालिन अवस्थामा सात पालिका एमालेले जितेको थियो । ती मध्ये कुनै पनि पालिकाका प्रमुखले एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् । तर, समाजवादीले चार पालिका दाबी गरेपछि गठबन्धन गर्न समस्या भइरहेको छ ।

  • एमाले कर्णालीले चार पालिकाको उम्मेदवार छान्न सकेन, अध्यक्ष र इन्चार्जलाई दिइयो जिम्मा

    एमाले कर्णालीले चार पालिकाको उम्मेदवार छान्न सकेन, अध्यक्ष र इन्चार्जलाई दिइयो जिम्मा

    सुर्खेत । वैशाख ३० गतेको निर्वाचनको मिति नजिकिँदै आएपछि कर्णाली एमालेमा उम्मेदवार छनौटमा सकस देखिएको छ । दुई दिन बसेको एमालेको टिकट समन्वय समितिको बैठकले तीन पालिकाको प्रमुख र उपप्रमुख एवम एक पालिकाको उपप्रमुखमा उम्मेदवार चयन गर्न नसकेको हो ।

    ७९ ओटा पालिका मध्ये चार पालिकामा अध्यक्ष विनोद कुमार शाहलगायतका केहि पदाधिकारीको स्वार्थ बाँझिदा उम्मेदवार चयन हुन नसकेको बताइएको छ ।

    दैलेखको आठबीस नगरपालिकामा नगरप्रमुखको उम्मेदवार मध्ये सबैभन्दा बढि मत तर्क बडुवाल र उपप्रमुखमा कल्पना थापाले ल्याएका थिए । दुईदिनसम्म चलेको बैठकमा बढी मत ल्याउने मात्रै कुरा हेर्न नहुने भन्दै बैठकमा विवाद भएको थियो । अध्यक्ष लगायतका केहि पदाधिकारीहरु अरुको नाममा पनि छलफल चलाउनुपर्ने भन्दै विवाद गरेको एमाले स्रोतले बताएको छ ।

    विवाद गर्ने पदाधिकारीले खड्गराज उपाध्यायलाई नै टिकट दिनुपर्ने भन्दै लविङ गरेको थियो । यस्तै, दैलेखकै ठाँटीकाँध गाउँपालिकाको उम्मेदवार छनौटमा पनि विवाद देखिएको छ । यहाँ अध्यक्ष विनोद कुमार शाहकी श्रीमती लक्ष्मी शाह अध्यक्षको दावेदारको रुपमा छिन् ।

    दुल्लु नगरपालिकाको उपप्रमुखमा पनि पदाधिकारीहरुको स्वार्थ बाँझिएको छ । त्यहाँ पनि उपप्रमुखमा नेताहरुले गोजीको उम्मेदवार बनाउन चलखेल गर्दा वैठकले सहमति जुटाउन सकेन ।

    सुर्खेतको सिम्ता गाउँपालिकामा पनि विवाद देखिएको छ । सिम्ता गाउँपालिका सहित कर्णालीका चार ओटा पालिकामा नेताहरुले लोकप्रिय एवम जनाधार भएका नेताहरु भन्दा पनि आफू निकटकालाई टिकट दिने प्रयास गरेको पाइएको हो । अन्य सबैपालिकाको टिकट पाउनेहरुको नामावली तयार भइसकेको छ ।

    ‘हामीले केहि पालिकाको विवाद मिलाउन र उम्मेदवार चयन गर्नका लागि एमालेका अध्यक्ष शाह र इन्चार्ज यामलाल कंडेलको जिम्मा दिएका छौं ।’ एमाले प्रदेश कमिटिका उपसचिव टेकबहादुर पछाईले भने, ‘उहाँहरुले टुंगो लगाउनु हुन्छ होला ।’

    उनले बैठकमा केहि पालिकाका बारेमा सामान्य विवाद देखिएको स्वीकारे । ‘तपाईले भनेको जस्तो दैलेखका केही पालिकामा सामान्य विवाद देखिएको हो । मतदान गरेर सबैभन्दा बढि मत पाउनेलाई टिकट दिने भन्ने सहमति नभएका कारण सिफारिस भएर आएका तीन जना मध्ये छान्नु पर्ने भन्ने कुरा उठेको हो ।’ उनी भन्छन्, ‘सकभर ती पालिकाको पनि आजै टुंगो लाग्छ होला ।’

  • गठबन्धन दलप्रति माधव नेपालको गुनासो- जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी हुने ठाउँ छैन (भिडिओ)

    गठबन्धन दलप्रति माधव नेपालको गुनासो- जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी हुने ठाउँ छैन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगर र उपमहानगरपालिकाको भागबण्डाले गठबन्धनमा राम्रो सन्देश दिए पनि जिल्ला तहको रिपोर्ट आशावादी नरहेको बताएका छन् ।

    नेकपा स्थापना दिवसको अवसरमा शनिवार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनमा रहेका अन्य दलले आफूहरुको अपमान गर्न खोजेको बताए ।

    अध्यक्ष नेपालले भने–तल जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी र उत्साही हुने अवस्था छैन । देशैभर हाम्रो पार्टीको संजाल छ,न्युनतम कम्तिमा पनि एउटा पालिका हामीले पाउनुपर्छ भन्ने हो । एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ । तर यहाँ गडबड गर्न खोजिएको छ ।

    अध्यक्ष नेपालले कांग्रेसमा एकथरी शक्ति गठबन्धन नहोस् भनेर लागेको बताए । उनले दुई दिन उम्मेदवारी मनोनयनको व्यवस्थाप्रति पनि शंका जनाउँदै तिकडम गर्न खोजिएको बताए ।

    ११ गते मनोनयन हेरेर १२ गते विद्रोही खडा गर्ने भनेर तिकडम गर्न खोजेको हुनसक्ने भन्दै केपी ओलीका तिकडमलाई आफूले पछार्ने नेपालले बताए ।

     

  • तामाकोशीमा एमालेको सरप्राइज- सिनियरलाई जिताउँन हिँडेका युवा इन्जिनियरले पाए टिकट

    तामाकोशीमा एमालेको सरप्राइज- सिनियरलाई जिताउँन हिँडेका युवा इन्जिनियरले पाए टिकट

    दोलखा । स्थानीय चुनावमा उम्मेदवारका आकांक्षीहरु आफूले नपाए आकाशै खस्ने जसरी दौडधूप र टिकट नपाए विद्रोह गरिरहेका बेला दोलखाको एउटा गाउँपालिकामा भने फरक दृष्य देखियो ।

    टिकटका लागि जे पनि गर्ने प्रवृतिभन्दा फरक दृष्य के भने,जसले गाउँपालिका अध्यक्षको टिकट पाउँने कल्पनै गरेका थिएनन् र दाबी समेत गरेका थिएनन्,उनैले अवसर पाए । तामाकोशी गाउँपालिकाको अध्यक्षमा एमालेले अध्यक्ष उठाएका अभिशेक सुवेदी अहिले जिल्लाको सर्वाधिक चर्चित पात्र बनेका छन् ।

    जिल्लाकोमात्र नभएर देशकै सम्भवतः थोरै युवा उम्मेदवारमा परेका छन् ३१ वर्षीय सुवेदी । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटी सदस्य रहेका सुवेदी अध्यक्षको रेसमा थिएनन्,बरु उनी आफूभन्दा सिनियर नेता जसले पाए पनि जिताउने अभियानमा थिए ।

    तर उनीभन्दा धेरै सिनियर ९ जना आकांक्षीहरुभन्दा बाहिरबाट जिल्ला नेतृत्वले अभिशेकलाई तामाकोशीको अध्यक्षमा उम्मेदवार बनायो । यसअघि पार्टीका जिल्ला अध्यक्ष तथा हाल प्रदेश इन्चार्ज हेबिवेट नेता ईश्वरचन्द्र पोखरेलले नेतृत्व गरिरहेको गाउँपालिकामा पुस्तान्तर गर्दै एमालेले सुवेदीलाई अघि सारेपछि उनको चर्चा चुलिएको हो ।

    दोलखा जिल्लाको तामाकोशी गाउँपालिका– ५ साविक शहरे गाविसका अभिशेक सुवेदी नसोचेको जिम्मेवारी पाउँदा आफैं अचम्ममा परेका छन् । पार्टीले आफूले नसोचेको र दावी समेत नगरेको अध्यक्षको उम्मेदवारी प्रदान गरेको र अब चुनौतिलाई अवसरमा परिणत गर्दै युवाले केही गर्न सक्छ भन्ने सन्देश दिनुपर्ने उनले बताए ।

    चैत्र २५ गते स्थानीय पालिका कमिटीको बैठकमा छलफल हुँदा ९ जनाले दावी पेश गरेका भएपनि जिल्ला कमिटीले सो लिष्टलाई निस्कृय पारेर अकस्मात आकांक्षी वाहिरबाट यिनको नाम अनुमोदन गर्यो ।

    २०६४ सालमा सोही गाउँपालिकाको गोल्मेश्वर उच्च माद्यामिक विद्यालयबाट पहिलो पटक डिस्टिङ्सन ल्याएर एसएलसी पास गरेका सुवेदी तिक्ष्ण र मेहनती विद्यार्थी हुन् । स्कुल सकेर राजधानी पसेपछि २०६५–६८ मा थापाथली इन्जिनियरीङ कलेजबाट ओभरसियर र २०७०–७४ मा नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणबाट ब्याचलर्स इन सिभिल एण्ड रुरल इन्जिनियरीङ को अध्ययन पूरा गरेका छन् उनले ।

    विद्यालयदेखि नै एमाले निकट विद्यार्थी संगठनको स्थानीय कमिटीमा नेतृत्व गरेका सुवेदीले २०६५ सालमा अखिलको जिल्ला कमिटी सदस्य, २०६७ मा थापाथली क्याम्पस कमिटी अध्यक्ष र २०७१ मा अनेरास्ववियु राष्टिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए ।

    त्यसयता लगातार अखिलको केन्द्रिय नेतृत्वमा रहेर पार्टीमा काम गरिरहेका उनी हाल स्थायी कमिटी सदस्य रहेको र प्रतिभाशाली युवाले अवसर पाएको अखिल अध्यक्ष सुनिता बरालले बताइन् ।

    दोलखा जस्तो एमालेको गढ मानिने जिल्लामा आफूभन्दा पुराना पुस्ताका नेताहरुको सम्मान र नयाँ युवा पुस्ताको भावनात्मक प्रतिनिधित्व गरेर अघि बढ्नु चुनौतिपूर्ण रहेको छ अभिशेक सुवेदीको लागि ।

    पार्टी निर्णयलाई आत्मसाथ गर्दै बैसाख ८ गते दिउँसो चरिकोट पुगेर नेताहरुसँग परामर्शमा लागेका सुवेदी अहिले गाउँघरमा छन् । निर्वाचन केन्द्रित योजना सहित गाउँ पस्ने योजनामा रहेको र आफूलाई अग्रज सबै नेताहरुको साथ रहेको उनले बताए । हालका पालिका अध्यक्ष तथा नेता ईश्वरचन्द्र पोखरेलले नै आफूलाई प्रस्ताव गरेको उनको भनाइ छ ।

    १७ हजार मतदाा रहेको पालिक अध्यक्ष जित्नेमा विश्वस्त छन् । यसपटक उनले पाँच दलीय गठबन्धनको सामना गर्दैछन् । अघिल्लोपटक यहि पालिकामा कांग्रेस–माओवादी गठबन्धनलाई परास्त गरेको एमालेका लागि यसपटक नेकपा एस पनि थपिएको छ । यो पालिकामा गठबन्धनमा नेकपा एसले अध्यक्ष पाएको छ ।

    पार्टीको सांगठानिक आधार, युवाहरुको साथ, विगतको इन्जिनियरिङ पढाइबाट प्राप्त अध्ययन र आम पालिकाबासीहरुको भावनालाई आत्मसाथ गरेर पार्टीलाई विजयी गराउनेमा उनी विश्वस्त देखिएका छन् । युवा इन्जिनियर चुनावी मैदानमा आएपछि यहाँ एकप्रकारको तरंग भने सिर्जना भएको छ ।

    पेशागत हिसाबले दक्ष र अब्बल रहेका सुवेदीले दोलखा गौरीशंकर गाउँपालिकाको रिङरोड डिजाइन गरेका थिए । शैलुङ गाउँपालिकाको यातायात गुरुयोजनाको डिजाइन पनि उनले नै गरेका थिए । दुवै सडकद सडकको देशब्यापी प्रचार भयो र गाउँपालिकाले उत्कृष्ट भएको पुरस्कार समेत पाए ।

    पर्यटन मन्त्रालय अन्तर्गत बनेको नेपालकै पहिलो कुरी स्की एड्भेन्चर्स गुरुयोजना पनि उनैले बनाएका थिए, जुन दोलखाको कालिञ्चोकमा पर्छ।त्यस्तै मेलुङ डाँडाखर्क बाटो डिजाइन र तामाकोसी किर्नेटार मोटरबाटो डिजाइन पनि उनैले गरेका थिए।अब उनका लागि आफ्नै पालिका बनाउने जिम्मेवारी थपिएको छ ।

    सुवेदीका हजुरबुबा पञ्चायतकालमा ३० वर्ष सोही गाउँको प्रधानपञ्च निर्वाचित भएका थिए । उनका नातागोता नै यहि पालिकाभर धेरै छरिएकाले पनि माहौल सिर्जना गर्न सहज भएको नेताहरु बताउँछन् ।

  • मुख्यमन्त्रीकै जिल्लामा नेकपा एसमा असन्तुष्टि, कांग्रेस-माओवादीको उपेक्षापछि आफ्नै उम्मेदवार तयार

    मुख्यमन्त्रीकै जिल्लामा नेकपा एसमा असन्तुष्टि, कांग्रेस-माओवादीको उपेक्षापछि आफ्नै उम्मेदवार तयार

    काठमाडौं । स्थानीय चुनावका लागि उम्मेदवार मनोनयन सुरू हुने अघिल्लो दिनसम्म भोजपुरमा गठबन्धनबीच सहमति भएका स्थानीय तहमा उम्मेदवार टुंगो लागेको छैन ।

    सत्तारुढ दलको जिल्ला संयन्त्रले सुरूमा नेपाली कांग्रेसलाई ५, नेकपा माओवादी केन्द्रलाई २ स्थानीय तहको भागबण्डा गरेको थियो । कांग्रेसले पाएको स्थानीय तहमा भोजपुर र षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका साथै हतुवागढी गाउँपालिका थियो ।

    त्यस्तै माओवादीको भागमा रामप्रसाद राई र पौवादुङमा गाउँपालिका परेको थियो । बाँकी २ अरुण र आमचोक गाउँपालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै तालमेल गरिएन ।

    सहमतिको मसी सुक्न नपाउँदै पौवादुङमामा कांग्रेस र माओवादीले गठबन्धन तोडे । वडा बाँडफाँटमा कुरा नमिलेपछि यहाँ एक्लाएक्लै भिड्ने तयारी भएको छ ।

    गाउँ कार्य समिति कांग्रेसका अध्यक्ष मनोज कार्की र माओवादी अध्यक्ष सन्तोष मुक्मिन राईले संयुक्त विज्ञप्ति निकालेर पौवादुङमामा गठबन्धन नगरी आ-आफ्ना दलबाट उम्मेदवार मनोनयन गर्ने निर्णय गरिएको जिल्लाको गठबन्धन संयन्त्रलाई जानकारी गराइसकेका छन् ।

    यता भोजपुर र टेम्केमैयुङमा आफूहरूलाई बेवास्ता गरेको भन्दै माओवादीमा असन्तुष्टि छाएको छ । यी दुवै ठाउँमा नेकपा एसलाई उप दिने गठबन्धनमा निर्णय भएको छ ।

    नेकपा एकीकृत समाजवादीमा पनि भागबन्डालाई लिएर तीब्र विरोध र असन्तुष्टि देखिएको छ । भोजपुर नेकपा एसकी केन्द्रीय उपाध्यक्ष जयन्ती राई (राष्ट्रियसभा सांसद) र पार्टी सचिवसमेत रहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गृहजिल्ला हो । यी दुई प्रभावशाली नेताले भोजपुरलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । तर, एउटासम्म पालिकाको प्रमुख पनि लिन नसकेको भनेर आन्तरिकरूपमै आलोचना र गुनासो सुरू भएको छ ।

    मुख्यमन्त्री राईको गृहनगर षडानन्द नगरपालिकामा समाजवादीले उपमेयर आफ्नो बटमलाईन बनाएको थियो । मेयरबाटै दाबी सुरू गरेको एसले ४ वटा वडाध्यक्ष मागेको थियो । तर, त्यहाँ कांग्रेसलाई मेयर र माओवादीलाई उपमेयर दिने गरी तालमेल भएको छ ।

    नेकपा एसका युवा नेता प्रताप तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनता र पार्टीको हितको लागि थियो भने षडानन्द नपाको लागि ठूलो भनौदा नेताहरू लड्नुपर्थ्यो तर व्यक्तिगत हितको लागि जस्तै भयो कि के हो ?’

    नेता र भागबन्डा मिलाउन बस्ने जिल्ला नेतृत्वले व्यक्ति र आफन्तलाई मात्र हेरेर निर्णय गरेको नेकपा एस भोजपुरका उपसचिव एवं षडानन्दका नेता ईश्वर कार्कीले टिप्पणी गरे ।

    ‘कांग्रेस एमालेबाट फुटेको पार्टीको भोट नै छैन भन्ने, माओवादी पनि हामीलाई गन्दै नगन्ने अहिले पनि उनीहरू मात्र छलफल गर्दैछन् । लु न त आफू आफू भिडौं हैसियत कसको कति छ भनेर हामीले पनि तयारी गरेका हौं । हामीलाई सिट माग्ने भिखारीजस्तो सम्झे’, कार्कीले नेपाल प्रेससँग भने ।

    यहाँ नगर कमिटी अध्यक्ष हरि भित्रिकोटीलाई मेयरसहित समाजवादीले ९ जना वडाअध्यक्ष अघि सारेर प्रचार सुरू गरेको छ । उपसचिव कार्कीले आज साँझसम्म पर्खने र माग पूरा नभए आफैंले मेयरमा उम्मेदवारी दिने तयारी गरेको बताए ।

    ‘हरिजीकै कारण षडानन्दमा हाम्रो संगठन व्यापक भएको छ । उहाँ समग्र नगरको चुनावी कमाण्ड सम्हाल्नुपर्छ हामीबीचमा सहमति भइसकेको छ । मैले मेयरका लागि तयारी गरिसकेको छु ।

    नेकपा एसले भोजपुर नगरपालिकामा ममिता राई र टेम्केमैयुङमा इन्द्रावती राईलाई दोहोर्‍याउने गरी उप लिएको छ । ७४ मा एमालेबाट जितेका दुवैजना हाल एसमा छन् । जनप्रतिनिधिको पहिलो कार्यकालमै न्यायिक समिति, विशेष गरी आफ्न स्थानीय तहका महिलाका समस्या समाधान र विकास निर्माणको सहजीकरणमा प्रभावकारीरूपमा जिम्मेवारी निभाएका छन् ।

    समाजवादीनिकट युवा संघका प्रदेश १ सचिव एवं मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सन्दीप राई आफ्नो पार्टीको प्रभाव चुनावी परिणामले देखाउने भन्दै त्यतिञ्जेल पर्खन आग्रह गर्छन् ।

    ‘संविधान र परिवर्तन मास्ने ओली र एमालेलाई जनताले चिनिसकेका छन् । पहिले भोट दिएर के पायौं भनेर जताततै असन्तुष्टि छ । नेकपा एसमा जनताको आकर्षण व्यापक छ । सानो पार्टी भनेर कसैले नहेप्दा हुन्छ’, उनले चुनौती दिए ।

    षडानन्दको हकमा गठबन्धनमा कुरा नमिलेपछि पार्टीका साथीहरूले अस्तित्वका लागि पनि आफ्नो तयारी गरेको सन्दीपको भनाइ छ ।

  • धनगढीको मेयरमा कांग्रेसबाट वड पुनः सिफारिस

    धनगढीको मेयरमा कांग्रेसबाट वड पुनः सिफारिस

    धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर रहेको धनगढीमा नेपाली कांग्रेसले निर्पबहादुर वडलाई नै मेयर पदमा उम्मेदवार बनाएको छ । हाल मेयर रहेका वडलाई आगामी निर्वाचनमा पनि उम्मेदवार बनाउने निर्णय गरिएको नेपाली कांग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायले बताए ।

    सत्ता गठबन्धनले धनगढीको मेयर कांग्रेसलाई दिने सहमति भएपछि शुक्रबार कार्यदलको बैठकले वडलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ,’ नगरसभापति उपाध्यायले भने, ‘आजसम्म वडा अध्यक्षको उम्मेदवारी पनि टुंगो लगाउने छौं ।’

    २०७४ सालमा मा सम्पन्न स्थानीयतहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७ सय मत अन्तरले पराजित गर्दै विजयी भएका थिए ।

    यसअघि धनगढी उपमहानगरपालिकाको मेयरमा व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् । नेकपा एमालले भने अहिलेसम्म उम्मेदवारी टुंगो लगाएको छैन ।

  • धनुषा कांग्रेस सभापति नै मेयरको रेसबाट आउट, दोहोरिन खोज्दा सिफारिसमै परेनन्

    धनुषा कांग्रेस सभापति नै मेयरको रेसबाट आउट, दोहोरिन खोज्दा सिफारिसमै परेनन्

    जनकपुरधाम । नेपाली कांग्रेस धनुषामा टिकटका लागि चरम विवाद देखिएको छ । गुट उपगुट सक्रिय बनेपछि पुन: मेयरको उम्मेदवार बन्ने प्रतिस्पर्धाबाट जिल्ला सभापति योगेन्द्र पजियार नै आउट भएका हुन् ।

    पजियार ०७४ को स्थानीय निर्वाचनमा क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी पुनस् मेयरमा चुनाव लड्न राजीनामा समेत दिइसकेका छन् । तर मेयरका लागि नगर कमिटीले उनको नाम नै सिफारिस गरेकाे छैन ।

    वैशाख ८ मा बसेको नगर कमिटीको बैठकबाट मेयरका लागि लालबाबु यादवको नाम बहुमतले सिफारिस गरेको हो । वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका यादव पार्टीका नगर सभापति हुन् । उनले ६९ सदस्यीय नगर कमिटिमध्ये ४३ जना आफ्नो एकल नाम मेयरका लागि सिफारिस गरेको बताए ।

    उनका अनुसार उपमेयरका लागि रचना माधेमा र भावना ढुंगेलको नाम सिफारिस भएको छ । माधेमा गत निर्वाचनमा निर्वाचित उपमेयर हुन् । उनी पुनस् चुनाव लड्न राजीनामा दिइसकेकी छन् ।

    मेयरमा सिफारिस भएका नगर सभापति यादव नेता शेखर कोइराला समूहमा छन् । जिल्ला सभापति तथा मेयर पजियार विमलेन्द्र निधी समूहका हुन् । पुनस् मेयरमा लड्न तयारी थालिसकेका पजियारलाई नगर कमिटीले आउट गरेपछि उनी संकटमा परेका छन् ।

    पजियारले नगर कमिटीले मेयरका लागि आफ्नो नाम सिफारिस नगरेको कुरा थाहा नभएको बताए । उम्मेदवार सिफारिस गर्न नगर कमिटीको बैठक नै नबसेको उनको दावी छ । भोली र पर्सी मनोनयन दर्ताको समय छ, अनी कहिले उम्मेदवार सिफारिस हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘भोली हुन्छ । नभए पर्सी पनि हुनसक्छ ।’

    यता, नगर कमिटीले उम्मेदवारको सिफारिस क्षेत्र, जिल्ला र प्रदेशमा पठाइसकेको जनाएको छ । प्रदेश कमिटीले जिल्लाको चुनावी कमाण्ड सम्हाल्नुपर्ने भन्दै जिल्ला सभापतिहरुलाई चुनाव नलड्न भनेको छ । यो हिसावले पनि सभापति पजियार यो निर्वाचनमा आउट हुने सम्भावना छ ।

  • रसुवामा एमाले उम्मेदवार- पार्टी केन्द्रीय सदस्यदेखि देशकै कान्छी उपाध्यक्षसम्म

    रसुवामा एमाले उम्मेदवार- पार्टी केन्द्रीय सदस्यदेखि देशकै कान्छी उपाध्यक्षसम्म

    काठमाडौं । नेकपा एमालेले रसुवाका पाँचवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । एमालेले यसपटक केन्द्रीय सदस्यलाई गाउँपालिका अध्यक्ष उठ्न पठाएको छ ।

    केन्द्रीय सदस्य माधव अर्याल रसुवाको उत्तरगया गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका छन् । पार्टीका इमानदार नेताका रुपमा स्थापित अर्याललाई कार्यकर्ताको आग्रहमा गाउँपालिका अध्यक्ष उठ्न पठाइएको हो ।

    एमालेले गाउँपालिकामा केन्द्रीय सदस्य उम्मेदवार बनेको यो पहिलो हो । उत्तरगयाको उपाध्यक्षमा हालकै उपाध्यक्ष चमेली गुरुङले निरन्तरता पाएको जिल्ला सचिव जनार्दन ढकालले बताए ।

    त्यस्तै नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामालाई उठाइएको छ । २०७४ सालको निर्वाचनमा देशभरबाट निर्वाचित उपाध्यक्षमध्ये सबैभन्दा कान्छी सिर्जना त्यसबेला २२ वर्षकी थिइन् । यसपटक उनलाई अध्यक्षमा अघि सारिएको छ ।

    सो पालिकाको उपाध्यक्षमा चन्द्रवहादुर तामाङ उम्मेदवार बनेका छन् । त्यस्तै गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा कैसाङनुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ उम्मेदवार बनेका छन् । एमालेले छामाछोदिङ्गो गाउँपालिका अध्यक्षम तेम्बे्रेल तामाङ र उपाध्यक्षमा नबिना लामालाई उम्मेदवार बनाएको छ ।

    कालिका गाउँपालिकामा अध्यक्ष कमलनाथ आचार्य र उपाध्यक्षमा अम्बिका भट्ट पौडेललाई उम्मेदवार बनाइएको छ ।
    एमालेले २०७४ सालको निर्वाचनमा दुई पालिका अध्यक्ष र पाँचवटै पालिका उपाध्यक्ष जितेको थियो । अघिल्लो पटक कालिका गाउँपालिकामा महिलालाई अध्यक्ष बनाएको एमालेले यसपटक नौकुण्डमा महिला उम्मेदवार बनाएको छ ।

  • स्थानीय तहकाे निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने

    स्थानीय तहकाे निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने

    सिरहा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जनाएका छन् ।

    भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

    खुल्ला सीमा नाकाका कारण निर्वाचनको वेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ कवाडीले बताए । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ कवाडीले जनाए ।

    बैठकमा सिरहातर्फको नेतृत्व प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले गरेका थिए भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गरेको थिए ।

    बैठकमा प्रजिअ कवाडी सहित धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

     

  • कांग्रेस प्रदेश सभापतिकै वडा माओवादीले मागेपछि तालमेलमा सकस

    कांग्रेस प्रदेश सभापतिकै वडा माओवादीले मागेपछि तालमेलमा सकस

    कैलाली । आगामी ११ र १२ गते स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको छ । तर, सुदूरपश्चिम प्रदेशमा अहिले सम्म पनि गठबन्धनका दलहरू बिच भागबन्डा मिल्न सकेको छैन ।

    पटक पटक भएको छलफलका क्रममा तीनै दलले दाबी बढी गरेपछि सहमति हुन नसकेको हो । यस अघि दार्चुला र बझाङमा सहमति भइसकेको छ ।

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्लमा तालमेल नगर्ने र मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भइरहेको छ । त्यस बाहेकका केही जिल्लामा सहमति नजिक भए पनि अछाम डोटी कैलाली र कञ्चनपुर सहमति गर्न समस्या भइरहेको हो ।

    नेपाली कांग्रेस प्रदेश सभापति वीर बहादुर बलायरकै वडा माओवादीले दाबी गरेपछि समस्या भएको हो । ‘हाम्रो प्रदेश सभापति ज्यूकै वडा माओवादीले चाहिन्छ भनेर दाबी गरेको छ’ प्रदेश पदाधिकारी एक नेताले भने,‘ हाम्रो गड भएको क्षेत्र पनि माओवादीलाई बुझाउने गरी गठबन्धन नगर्न दबाब छ ।’

    डोटीको शिखर नगरपालिकामा कांग्रेस बलियो अवस्थामा रहेको छ ।

    ‘गठबन्धन हो जितिहाल्छौँ भनेर कांग्रेस सभापतिको वडा मागिरहनु भएको छ ’उनले भने ‘शिखर नगरपालिकामा माओवादी व्यक्ति केन्द्रित हुन थाल्यो । ’

    डोटीका ३ पालिका माओवादीले राखेर पाँच पालिका कांग्रेसलाई दिने आन्तरिक सहमति भए पनि वडामा विवाद भए पछि सहमतिले मूर्त रूप पाउन नसकेको बताइएको छ ।

    अछाममा पनि समस्या भइरहेको छ । अछाममा एकीकृत समाजवादीले दुई पालिका मागेको भए पनि उनीहरूको जनमत त्यो अनुसार नरहेको कांग्रेसको ठहर छ ।

    ‘समाजवादीले दुई पालिका मागेको छ । एउटा दिए पनि चित्त बुझाउने देखिन्छ ’कांग्रेस स्रोतले भन्यो‘ अझै सम्म सहमति हुन सकेको छैन । ’

    कञ्चनपुरमा पनि सहमति हुन सकेको छैन । कञ्चनपुरमा कांग्रेसले पाँच पालिका पाउने सहमति भए पनि माओवादी र एकीकृत समाजवादीले पाउने पालिकाका विषयमा सहमति जुट्न सकेको छैन ।

    केही समय अघि एमालेबाट एकीकृत समाजवादीमा लागेका अशोक चन्दको स्थानीय तह बेदकोट एकीकृत समाजवादीले पाए पनि थप एक स्थानीय तहको दाबी गरेको छ ।

    कञ्चनपुरमा बेदकोट र पुर्नवास नगरपालिकाका प्रमुख एकीकृत समाजवादीमा छन् । पुर्नवास नगरपालिका भने माओवादीले नछा्ेड्ने बताएको छ ।

    कैलालीमा पनि अहिले सम्म कुरा मिलेको छैन । मनोनयन दर्ता गर्ने समय आइसक्दा पनि भागबन्डामा कुरा नमिल्दा केही स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा हुन सक्ने तीनै दलको बुझाइ छ ।

  • दिक्तेल रूपाकाेट मझुवागढीमा एमालेबाट मेयरमा आचार्य र उपमेयरमा राई निश्चित

    दिक्तेल रूपाकाेट मझुवागढीमा एमालेबाट मेयरमा आचार्य र उपमेयरमा राई निश्चित

    खोटाङ । नेकपा (एमाले) ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदका लागि कुमार आचार्य र उपमेयर पदको उम्मेदवारका लागि विणादेवी राई सर्वसम्मत चयन गरेको छ ।

    नेकपा (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको बैठकले सर्वसम्मत निर्णय गर्दै जिल्ला कमिटी खोटाङलाई सिफारिस गरेको थियो । नगर कमिटीको निर्णय अनुमोदन गर्दै जिल्ला कमिटीले समेत प्रदेश कमिटीलाई सोही नाम सर्वसम्मत सिफारिस गरेको छ ।

    जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीले टिकट दिने निर्णय गर्नेछ । यस नगरमा सर्वसम्मत उम्मेदवार चयन गर्नका लागि नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    कार्यदलमा केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सदस्य रमेश पौडेल, अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घले, प्रदेश सचिवालय सदस्य पिके राई (पाँच कर्ण), प्रदेश सचिवालय सदस्य हरि पोखरेल, प्रदेश सचिवालय सदस्य इन्द्र दंगाल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमार आचार्य, उपसचिव दिपनारायण रिजाल र उपसचिव सुरेन्द्र राई रहेका थिए ।

    कार्यदलको सिफारिसमा जिल्ला कमिटीले निर्णय गरेर सर्वसम्मत उम्मेदवारको नामावली प्रदेश कमिटीमा पठाएको केन्द्रीय सदस्य रमेश पौडेलले जानकारी दिनुभयो । मेयर पदमा सर्वसम्मत उम्मेदवार चयन आचार्य जिल्लाको प्रतिष्ठित राजनीतिज्ञ हुन् । जिल्ला कमिटी सचिव समेत रहनुभएका आचार्य यसअघिको चुनावका लागि समेत मेयर पदको दाबेदार थिए ।

    जिल्लाको पुरानो सक्रिय नेताको रूपमा चिनिएका आचार्य मेयर पदमा उम्मेदवार बन्दा एमालेले जित हासिल गर्ने आँकलन गरिएको छ । उपमेय विणादेवी राई अहिलेको उपमेयर हुन ।

  • मेयरमा उम्मेदवारी दिन मन्त्री यादव र सांसद आजादले दिए राजीनामा

    मेयरमा उम्मेदवारी दिन मन्त्री यादव र सांसद आजादले दिए राजीनामा

    जनकपुरधाम । मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र शेख अबुल कलाम आजादले सांसद पदबाट राजीनामा दिएका छन् ।

    मन्त्री यादवले राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

    नेकपा एमालेबाट सिरहाको क्षेत्र नम्बर ३ (ख)बाट यादव प्रदेश सांसदमा निर्वाचित भएका थिए । उनी अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

    यता, मन्त्री यादवले राजीनामा स्वीकृत गर्न केही कागजात बुझाएको र केहि बुझाउन बाँकी रहेको बताए । उनले भने, ‘मन्त्री र सांसदबाट एकै पटक राजीनामा दिन्छौँ ।’

    यादव नेकपा एकीकृत समाजवादीबाट सिरहा नगरपालिकाको मेयरमा उम्मेदवारी दिन राजीनामा बुझाएका छन् ।

    यस्तै रौतहटको क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित सांसद शेख अबुल कलाम आजादले पनि राजीनामा दिएका छन् ।

    स्वतन्त्रबाट सांसदमा निर्वाचित आजाद अहिले जनता समाजवादी पार्टी (जसपा )मा छन् । गढीमाई नगरपालिकाको मेयरमा उम्मेदवारी दिन सांसद पद त्यागेका हुन् ।