Category: स्थानीय निर्वाचन–२०७९

  • सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी भन्दा नागरिक उन्मुक्ति पार्टी बलियो

    सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी भन्दा नागरिक उन्मुक्ति पार्टी बलियो

    कैलाली । ५ महिना अगाडि मात्रै दर्ता भएको रेसम चौधरीको पार्टीले सुदूरपश्चिम प्रदेशमा एमालेसँग विभाजन भएर दर्ता भएको माधव कुमार नेपालको पार्टी भन्दा धेरै स्थानीय तहमा जित हासिल गरेको छ ।

    रेसम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहमा विजय हासिल गर्दा माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले दुई स्थानीय तहमा मात्रै विजय हासिल गरेको छ ।

    अहिले सम्म सुदूरपश्चिम प्रदेशका ८१ स्थानीय तहको मतगणना सम्पन्न भएको छ। मत गणना सम्पन्न भएका पालिकाहरू मध्ये नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ।

    उक्त पार्टीले ३६ स्थानीय तहमा जित निकालेको छ। यस्तै दोस्रोमा रहेको नेकपा एमालेले २४ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १४ पालिकामा प्रमुख र अध्यक्ष जितेको छ।

    अब प्रदेशका एक उपमहानगरपालिका र ६ नगरपालिकाको अन्तिम मत परिणाम मात्रै सार्वजनिक गर्न बाँकी रहेको छ ।

    कसले कति जिते ?

    नेपाली कांग्रेस

    डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउँद

    डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय

    डोटीको दिपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का

    डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का

    डोटीको सायल गाउँपालिका– धर्मराज जोशी

    डोटीको शिखर नगरपालिका– दीर्घ बलायर

    डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही

    बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया

    बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल

    बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा

    बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउँद

    बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी

    बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम

    बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल

    डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी

    डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी

    डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी

    डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी

    डडेल्धुराको भागेश्वर गाउँपालिका– हेमराज चटौत

    अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउँद

    अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल

    अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउँद

    अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउँद

    अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउँद

    अछामको पञ्चदेवल विनायक नगरपालिका– अम्बिका चलाउने

    कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना

    कञ्चनपुरको बेदकोट नगरपालिका– भोजराज बोहरा

    बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी

    बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा

    बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया

    बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर

    बझाङको सुर्मा गाउँपालिका– खडक बोहरा

    बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल
    कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट

    कैलालीको कैलारी गाउँपालिका– राजसमझ चौधरी

    कैलालीको लम्की नगरपालिकाको प्रमुख– सुशिला शाही

    नेकपा एमाले

    बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी

    बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी

    बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया

    दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर

    दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी

    दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी

    दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर बडाल

    दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी

    बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द

    बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी लख्खाभाइ

    बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर

    बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की

    डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा

    कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना

    कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू

    बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया

    बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का

    बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही

    बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत

    बाजुराको बुढीनन्दा नगरपालिका–जनककुमार बोहरा

    कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी

    कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर

    अछामको तुर्माखाद– डम्मरबहादुर बिसी

    अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा

    नेकपा माओवादी केन्द्र

    दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी

    दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी

    दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
    दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी

    डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की

    डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट

    डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला

    बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द

    बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा

    बझाङको छविसपाथिभेरा गाउँपालिका– बसन्त चलाउने

    अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद

    कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी

    कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’

    कैलालीको गौरीगंगा नगरपालिका– देवीदत्त कँडेल

    नागरिक उन्मुक्ति पार्टी

    कैलालीको टीकापुर नगरपालिका– रामलाल डगौरा थारु

    कैलालीको जोशीपुर गाउँपालिका– चित्रबहादुर चौधरी

    कैलालीको भजनी नगरपालिका– शेरबहादुर चौधरी

    कैलालीको जानकी गाउँपालिका– गणेश चौधरी

    नेकपा एकीकृत समाजवादी

    कैलालीको घोडाघोडी नगरपालिका– खडकबहादुर रावत

    बझाङको केदारस्युँ गाउँपालिका – गणेश बोहरा

    स्वतन्त्र

    बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी

  • काठमाडौं-२७ मा कांग्रेस विजयी, बालेनले पाए ५५५ मत

    काठमाडौं-२७ मा कांग्रेस विजयी, बालेनले पाए ५५५ मत

    काठमाठौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    कांग्रेस उम्मेदवार योगेशकुमार खड्गी १५४१ मतले विजयी भए । यो वडामा कांग्रेसको प्यानल नै विजयी भएको हो । नेकपा एमालेका उम्मेदवार चिनीमाया बज्राचार्यले १३०३ मत ल्याए ।

    यो वडामा मेयरतर्फपनि कांग्रेस नै बढी मत पाएको छ । सिर्जना सिंहले ९८४ मत पाउँदा एमालेका केशव स्थापितले ९८० मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार बालेन साहले ५५५ मत पाए ।

  • चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ : नेम्वाङ

    चौतर्फी घेराबन्दीले सिटमा दोस्रो देखिए पनि समग्रमा एमालेको जनमत बढेको छ : नेम्वाङ

    काठमाडौं । अघिल्लो निर्वाचनमा पहिलो भएको नेकपा एमाले यस पटकको स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चिएको छ । पाँच दलीय गठबन्धनका कारण मात्रै नेपाली कांग्रेस पहिलो हुन पुगेको तर्क गर्ने एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ तमाम घेराबन्दीका कारण पनि एमाले दोस्रो स्थानमा रहन सक्नुलाई पार्टीको विजयका रूपमा लिन्छन् ।

    न्युज कारखानासँगको कुराकानीमा अगाडि भन्छन्, ‘गठबन्धन गरेर जानु नै उहाँहरूको पहिलो पराजय थियो, त्यसमाथि पाँच दलीय गठबन्धनले नपुगेर अन्य दलसमेत जोड्दा पनि एमालेलाई दोस्रो स्थानभन्दा तल झार्न नसक्नु उहाँहरू थप पराजित हुनु हो । एक्ला एक्लै निर्वाचन लडेर विजय हुने हिम्मत त एमालेसँग रहेनछ भनेर यो निर्वाचनले पुष्टि गरेको छ ।’

    उनै नेम्वाङसँग निर्वाचन, निर्वाचनको परिणामलगायत विषयमा गरिएको कुराकानीको सम्पादित अंश

    स्थानीय तहमा एमालेले नमज्जासँग पराजय भोग्यो नि ? यो हालतमा पुग्नु हुन्छ भन्ने सोच्नुभएको थियो ?

    सिटको सङ्ख्या हेर्दा त तपाईँले भनेको सही हो । तर, खासमा जनमतको हिसाबमा हेर्नुहुन्छ भन्ने एमाले थप शक्तिशाली भएर आएको छ । त्यो तपाईँहरूले निर्वाचनको परिणामको विश्लेषण गर्नुभयो भने पनि थाहा पाउनुहुन्छ ।

    अघिल्लो निर्वाचनमा पहिलो पार्टी भएको एमाले अहिले दोस्रो पार्टीमा खुम्चिएको अवस्था छ । तैपनि शक्तिशाली भएको छ भन्नुहुन्छ, जनताले त परिणाम हेर्ने होला नि ?

    सरसरती हेर्दा त्यस्तो लागे पनि यो चुनावबाट एमालेले एउटा नसोचेको विजय हासिल गरेको अवस्था छ । जब सत्तारूढ दलमा आबद्ध पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय लिनुभएको थियो, त्यो बेलादेखि नै मैले भन्दै आएको थिएँ कि पाँच दल त्यसमा सत्तारूढ दल नै गठबन्धनमा मिलेर जानुको अर्थ एमालेले निर्वाचनअघि नै विजय हासिल गरिसक्यो । यो कुरा त मैले मात्रै होइन, राजनीतिक विश्लेषकहरूले नै भनेका थिए ।

    त्यो त चित्त बुझाउने कुरा होला । जनतालाई सेवा प्रवाह गर्ने जनप्रतिनिधि त तपार्इंको पार्टीबाट नै हुन सकेनन् । धेरै जसो त कांग्रेस र माओवादीको भएको देखियो । मुख्यतः जनतालाई ‘डेलिभरी’ दिने कुरा होला नि ?

    यसलाई भोलिका दिनमा जनताले हेर्ने नै छन् । तर, याद गर्नुपर्ने कुरा के हो भने संसदीय प्रणालीमा सत्तारूढ दलले कहिल्यै पनि गठबन्धन गरेर जाँदैन । गएको इतिहास पनि छैन । गठबन्धन गर्ने भनेको त प्रतिपक्ष दलले हो । झन् यो संसदीय प्रणालीको हिमायती भन्ने कांग्रेस नै एमालेसँग डराएर गठबन्धनमा गर्ने अवस्थामा पुग्नु भनेको त सुरुमा नै ऊ ‘डिफेन्स’मा पुगेको भन्ने अर्थमा बुझिनुपर्छ । त्यति मात्रै होइन, हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा त पाँच दलको गठबन्धनले समेत नपुगेर राप्रपालाई समेत जोडेर गठबन्धन गर्नुपर्ने अवस्थामा पुग्नु भनेको एमालेको त स्वतः विजय नै हो । भलै त्यो सिटमा देखिएन । त्यसैले म भन्छु– यो निर्वाचनले एमालेको जनमत घटेको छैन । सबै दललाई ‘डिफेन्स’मा राखेर एमालेले आफ्नो जनमत थप सुदृढ गर्ने अवस्थामा पुगेको छ । यसबाट हामी आत्तिएका छैनौँ । बरु थप शक्तिशाली भएर एमाले आएको छ ।

    सिट जति त अरू दलले कब्जा गरिसके । आत्तिएको छैन भन्नु त मनको लड्डु घिउसँग खाए जस्तो भएन र ?

    ल तपाईँले भनेको मानेँ । उहाँहरूको जित भयो । तर, त्यसरी जित हासिल गर्दै गर्दा यो चुनावले कांगे्रेसको जनमत कति छ ? माओवादीको कति छ ? एकीकृत समाजवादी कति छ ? पहिचान भयो त ? पहिचान त हुन सकेको छैन । यो निर्वाचनबाट कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत दलको जनमत देख्न पाइएन । किनभने सबैले सबैलाई भोट हालेका छन् तर एमालेको जनमत कति भन्ने त यस चुनावले देखाइसकेको छ । उहाँहरू आफ्नो जनमतसम्म देखाउन नसक्ने अवस्थामा पुग्नुभएको छ । जनमत पहिचान गर्ने अवस्थामा नै पुग्न सक्नु भएको छैन । एउटा राजनीतिक दलको यो भन्दा बेहाल अरू के हुनसक्छ ?

    भनेपछि एक्ला एक्लै चुनाव लडेको भए यो निर्वाचनबाट एमाले पहिलो पार्टी हुन्थ्यो ?

    यो त जनमतले नै देखाइसक्यो त ? देखाएन र ? एमालेलाई सारा घेराबन्दी गरेर गठबन्धन गरेर जानु भनेको सुरुमा नै राजनीतिक रूपमा पराजय हुनु हो । त्यसले पनि नपुगेर कुनै पनि पार्टीका सभापति होइन, प्रधानमन्त्री स्वयंले आमसभामार्फत गठबन्धनलाई जिताउनु जनताको कर्तव्य हो भनेर भाषण गर्नुभयो । एउटा देशका प्रधानमन्त्रीले यसो भन्न मिल्छ ? तर, निर्वाचन आचारसंहिता विपरीत गठबन्धनलाई जिताउन जनतालाई दबाब दिनुभयो । खासमा प्रधानमन्त्रीको कुर्सीबाट भन्नुपर्ने कुरा यति मात्र थियो– स्थानीय तहको निर्वाचनमा डर, त्रास र भयरहित भएर स्थानीय तहको निर्वाचनमा आफूले रोजेको पार्टीलाई जिताउनुहोस् भनेर आह्वान गर्नुपर्दथ्यो । तर, उहाँले त्यसो नभनेर गठबन्धन आबद्ध दललाई जिताउनु जनताको कर्तव्य हो भनेर गठबन्धनको पक्षमा मत माग्नुभयो । देशको अभिभावक मानिएको प्रधानमन्त्रीले यसो भन्न मिल्छ ? तर, उहाँले निर्वाचनको दौरानमा मन परेका पार्टी रोज्न पाइँदैन, जसरी पनि गठबन्धनलाई मत दिनुपर्छ भन्ने आशयसहित पदीय मर्यादा नै भुलेर निर्वाचनमा जानुभयो । कुनै पनि प्रधानमन्त्रीले संसारमा यसरी मत माग्छन् । मैले चाहिँ त कहीँ कतै थाहा पाएको छैन ।

    भनेपछि एमालेलाई एक्लाउन सबै उपाय सत्तारूढ दलबाट गरियो अवलम्बन गरियो ?

    यो त घाम जत्तिकै छर्लङ्ग छैन र ? यो त सबैले सहजै बुझ्ने कुरा हो । त्यत्रो गठबन्धन गर्दा पनि एमालेसँग पराजय हुने डरले पो हो कि के हो एक जना नेताले त म नाम भन्दिनँ । तर, उहाँले त ‘गठबन्धनलाई मत नदिए देश दुर्घटनामा पर्छ’ भनेर जनतालाई धम्क्याउनु नै भयो । छोरीलाई जिताउनका लागि मत नदिए देश दुर्घटनामा पर्ने अनि दिए मात्र देश दुर्घटनाबाट जोगिनेसम्म कुरा गर्नुभयो ।

    जनतालाई धक्क्याएर मत माग्ने काम शीर्ष नेताले मात्र होइन, प्रधानमन्त्री पत्नीले समेत गर्नुभयो । जिताएको अवस्थामा स्थानीय पालिकामा पैसा पठाउने, नजिताए नपठाउनेसम्म भन्नुभयो ।

    जिताउने परिवारलाई मलेसिया हो कि साउदी अरब पठाउनेसम्मको अभिव्यक्ति दिनुभयो । प्रधानमन्त्री पत्नीले त्यो भूमिकामा बसेर यस्तो बोल्न मिल्छ ? तर, बोलिदिनुभयो । त्यति मात्र होइन, निर्वाचनपछि पनि राज्य शक्ति दुरुपयोग गरेर एमालेलाई एक्ल्याउने काम गरियो । पार्टी महासचिवले प्रेस विज्ञप्तिमार्फत भनिसक्नुभएको छ । तसर्थ, म भन्छु– एमालेको केही सिटमा तलमाथि भयो होला तर जनमत घटेको छैन । बरु, एमालेले एक्लैले अरू दललाई यो निर्वाचनमार्फत ‘डिफेन्स’ मा राखिदिएको छ ।

    दलहरूले गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा एमालेलाई आपत्ति हो र ? तपाईँहरूले पनि गरेका भए हुन्थ्यो नि ?

    हाम्रो निर्वाचन प्रणाली (मिश्रित)ले गठबन्धन गरेर नगए एकल बहुमत आउँदैन भन्ने देखाएको छ । तर, एउटै राजनीतिक विचारधारा भएका दलसँग गठबन्धन गरेर गएको भए पो सुहाउँदो हुन्छ । यो गठबन्धनले त को कम्युनिस्ट ? को कांग्रेस ? को मधेस केन्द्रित दल ? को राप्रपा ? छुट्याउने अवस्था नै देखिएन ? सबै गोलमाल देखिएको छ । जनमत गोलमाल नभएको भनेको त एमाले मात्रै हो । सिट त जितेका छन् तर गठबन्धन दलहरूलाई त आफ्नो शक्ति सामर्थ्यै नै कति छ भन्ने थाहा छैन । उनीहरू अलमलमा छन् ।

    जनमत र सिट संख्याले के गर्छ ?

    एउटा घटना स्मरण गराउँछु– २०४७ सालपछि पञ्चहरूलाई अझ कमजोर बनाउन र पराजित गर्न फेरि सँगै लडेर जानुपर्ला कि भन्ने थियो । जननेता मदन भण्डारीले कांग्रेस नेताहरूसँग प्रस्ताव गर्दै गर्दा मलाई अझ पनि सम्झना छ कि किसुनजीले भनेका थिए, ‘२०१५ सालमा चार सिट पनि नजितेका ‘कम्युनिस्ट भैया’हरूले १५ सिट जिते मात्र पनि खसी काटेर खुवाउँछु । एक हजार सिटले त कांग्रेसलाई पनि पुग्दैन ।’ यति भनेपछि खाएको पान थुक्नुभयो । पछि जनमत कसको कति रहेछ भन्ने त अर्को निर्वाचन परिणामले नै देखाइदियो । एक हजार सिटले नपुग्ने भन्ने कांग्रेस कहाँ पुग्यो त ? त्यसैले जनमतलाई कहिल्यै पनि नजरअन्दाज गर्नु हुँदैन । त्यसैले सिटभन्दा जनमत ठूलो हो ।

    सिट धेरै गुमिसक्यो । अब जनमत छ भनेर चित्त बुझाई रहनुभएको छ ?

    एमालेलाई धुलो चटाइन्छ । चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ भनेका होइनन् ? अहिले ‘रिजल्ट’ले त्यो देखायो ? पाँच दलीय घेराबन्दीका बीचमा पनि एमालेले सानदार विजय हासिल गरेको अवस्था छ । हामी अहिले पनि सानदारसहित एक्लै भए पनि दोस्रो ‘पोजिसन’मा छौँ । पहिलो भनिएको कांग्रेस त गठबन्धनसहित पहिलो ‘पोजिसन’मा पुगेको न हो, एक्लै पुगेको होइन । एक्ला एक्लै लडेको भए कांग्रेस पहिलो हुन सक्थ्यो र ? सक्दैनथ्यो । अब गठबन्धन नगरी चुनावमा जाऊन् त एमाले पहिलो हुन्छ कि दोस्रो रु त्यो त जनमतले देखाइसक्यो ।

    सत्तारूढ दलले त स्थानीय तहमा विजय हासिल गरेर प्रतिगमनलाई पराजित ग¥यौँ भनिरहेका छन् नि ?

    प्रतिगमन के हो ? हाम्रो पार्टी अध्यक्षले नयाँ जनमतका लागि भन्दै निर्वाचनको मिति नै घोषणा गरेर जानुभएको थियो । तर, सर्वोच्च अदालतले अस्वीकार गरिदियो । एक पटक त परमादेशबाट नै । तर, पनि हाम्रो पार्टीले कानुनी राज्य बलियो बनाउनुपर्छ भनेर त्यसलाई सहर्ष स्वीकार ग¥यो । चुनावमा गयो । के ओलीजीले मात्रै संसद् विघटन गरेको हो र ? त्यसअघि गिरिजाबाबुले पनि संसद् विघटन गर्नुभएको थियो । मनमोहनजीले पनि संसद् विघटन गर्नुभएको थियो । सूर्यबहादुर थापाले पनि संसद् विघटन गर्नुभएको थियो । यो मुलुकमा ६÷६ पटक संसद् विघटन भएका छन् । सर्वोच्च अदालतले उल्ट्याएको नजिर पनि छ । तर, ओलीजीले गरेको संसद् विघटन चाहिँ प्रतिगमन ? अनि अरूले गरेको चाहिँ अग्रगमन ? यो त राजनीतिक खपतका लागि बोलिएको विषय मात्रै हो ।

    राजनीतिक खपतका लागि मात्रै बोलिएको हो र ?

    योभन्दा केही अरू देख्नुहुन्छ । त्यसपछि यो पनि बिर्सन हुन्न कि ओलीजीले गरेको संसद् विघटनलाई प्रतिगमन भन्नेहरू आफैँ पुनः विघटन गर्न नलागेका होइनन् र ? स्थानीय तह निर्वाचन सारेर सङ्घीय संसद्को निर्वाचन गरौँ भन्ने प्रस्ताव पनि नगरेका होइनन् र ? के संसद् विघटन नगरी सङ्घीय संसद्को ‘अर्ली इलेक्सन’ हुन सक्थ्यो र ? त्यसैले संसद् विघटनको प्रस्ताव त सर्वोच्चको परमादेशबाट पछि पनि सत्तारूढ दलबाट आएको हो । हामीले बरु त्यसको ठाडो प्रतिवाद ग¥यौँ, कि संसद् विघटन गरे ‘अर्ली इलेक्सन’ मा जाने सत्तारूढ दलको चाहनालाई अवरोध गरेर मुलुकलाई स्थानीय तहको निर्वाचनतर्फ होमायौँ । त्यसैले उनीहरूले गरे प्रतिगमन नहुने र अग्रगमन हुने अनि हामीले गरेर प्रतिगमन हुने ? यो त राजनीतिक खपतका लागि बोलिएको विषय मात्रै हो । यसमा कुनै तुक छैन ।

    महानगरपालिका र उपमहानगरपालिका सबै एमालेले गुमाइसक्यो ?

    अघिल्लो पटक हामीले महानगरमा काठमाडौं र पोखरामा विजय हासिल गरेका थियौँ । यो पटक गठबन्धनका कारण हाम्रो पक्षमा मेयरका पक्षमा परिणाम आएन होला वा नआउन पनि सक्ला । मतगणना जारी नै छ । तर, हाम्रा उपमेयरहरूले सानदारका साथ विजय हासिल गरेका छन्, गरिरहेका छन् यो त भुल्नु भएन नि ? त्यो काठमाडौं होस् वा विराटनगर वा अन्यत्र । पाँच दलीय गठबन्धनलाई हराउँदै ‘कोर मधेस’ भनिने कलैयामा विजय हासिल गरेका छौँ । अन्त पनि हाम्रो त्यति अवस्था बिग्रिसकेको छैन ।

    सबैतिर पराजय भोगेपछि एमालेले वाम गठबन्धनको कुरा गर्न सुरु गर्‍यो भनिन्छ नि ?

    हाम्रो पार्टी तहमा यो कुरा भएको देखिएको छैन । केही साथीले गरिरहेका हुन सक्लान्, नहोला भन्न पनि सकिन्न ।
    सम्भव: छ र ? असम्भव छ र ? आकाश–पाताल नै फरक भएको र एक अर्कासँग विचार नै नमिलेका दलहरूले गठबन्धन गरेर चुनावमा गए । हामी त झन् समान विचार भएका दलहरूसँग मिलेर जाने कुरा नहुन सक्छ र ? हेर्दै जाऊँ ।

  • स्थानीय तह निर्वाचन : ६९१ पालिकाको नतिजा आउँदा, कुन दलको अवस्था के ? (प्रदेशगत विवरण)

    स्थानीय तह निर्वाचन : ६९१ पालिकाको नतिजा आउँदा, कुन दलको अवस्था के ? (प्रदेशगत विवरण)

    काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६९१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

    निर्वाचन आयोगको तथ्याङ्कअनुसार नेपाली कांग्रेस ३०६ स्थानीय तहमा जित हात पर्दै पहिलो बदल बन्न सफल भएको छ । नेकपा एमालेले १८८ स्थानीय तह जित हासिल गरेको छ । माओवादी केन्द्र ११९ स्थानमा विजयी भएको छ ।

    यस्तै जनता समाजवादी पार्टी जसपाले २५ नेकपा एकीकृत समाजवादी पार्टीले १७, र लोकतान्त्रिक समाजवादी पार्टीले १० तहमा जित हासिल गरेको छ ।

    स्वतन्त्र, राप्रपा मजदुर किसान पाटी लगायतका अन्य दलहरूले २७ स्थानमा जित हासिल गरेका छन् ।

    प्रदेशगत विवरण

    प्रदेश १

    प्रदेश १ का १३७ स्थानीय तह मध्य १२१ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । प्रदेश एकमा कांग्रेस पहिलो भएको छ भने एमाले दोस्रो र माओवादी तेस्रो भएका छन् ।

    आहिले सम्म प्रदेश एकमा कांग्रेसले ४३ गाउँपालिका अध्यक्ष तथा १९ नगरपालिका गरी ६२ स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले २४ गाउँपालिका अध्यक्ष तथा १७ नगरको नेतृत्व गर्दै ४१ स्थानमा नेतृत्व गर्न सफल भएको छ ।

    यहाँ माओवादी केन्द्रले १२ गाउँपालिका जितेको छ भने जसपा २ स्थानमा विजयी भएको छ । प्रदेश एकमा राप्रपा र नेकपा एसले एक एक स्थानमा जितेका छन् भने स्वतन्त्रले स्थानीय तहको नेतृत्व लिन सफल भएका छन् ।

    मधेस प्रदेश

    मधेस प्रदेशमा पनि कांग्रेस पहिलो शक्तिका रूपमा स्थापित भएको छ । मधेसमा कांग्रेसले १७ गाउँपालिका अध्यक्ष र २४ नगरपालिका गरी ४१ स्थानमा नेतृत्व लिएको छ भने एमालेले १० गाउँपालिका र ११ नगरपालिकामा नेतृत्व लिएर दोस्रो भएको छ ।

    मधेसमा तेस्रो शक्तिका रूपमा जनता समाजवादी पार्टी स्थापित भएको छ । यहाँ जसपाले १५ गाउँपालिका र ५ नगरपालिकामा नेतृत्व लिएको छ । यो प्रदेशमा चौथो शक्तिका रूपमा मदेसवादी दल लोसपा निर्वाचित भएको छ । लोसपाले ४ गाउँपालिका र ३ नगरपालिकामा नेतृत्व लिन सफल भएको छ ।

    ७ गाउँपालिका र २ नगरपालिका गरी ९ स्थानीय तहको नेतृत्व गर्दै माओवादी केन्द्र भने पाँचौँ स्थानमा पुगेको छ । यहाँ नेकपा एसले ३ नगरपालिका र १ गाउँपालिकामा नेतृत्व नेकपा एसले लिएको छ भने स्वतन्त्र उम्मेदवार एक नगरपालिकामा विजयी भएका छन् ।
    बागमती प्रदेश

    बागमती प्रदेशमा ३४ गाउँपालिका र २२ नगरपालिका गरी ५६ स्थानीय तहमा कांग्रेसले नेतृत्व लिएको छ । एमालेले १७ गाउँपालिका र १० नगर पालिका गरी २७ स्थानीय तहको नेतृत्व लिँदै दोस्रो भएको छ । माओवादी केन्द्र बागमतीमा तेस्रो शक्तिका रूपमा आएको छ । २२ गाउँपालिका र ४ नगरपालिका सहित २६ स्थानीय तहको नेतृत्व माओवादीले पाएको छ ।

    यो प्रदेशमा हाल सम्म नेकपा एसले ४ नगर पालिका र १ गाउँपालिका सहित ५ ओटा स्थानीय तहमा आफ्नो प्रभाव देखाउन सकेको छ । यहाँ राप्रपा मजदुर किसान पार्टीले पनि एक एक स्थानमा जीत हासिल गरेका छन् ।

    गण्डकी प्रदेश

    गण्डकी प्रदेशमा हाल सम्मको नतिजालाई हेर्दा २७ गाउँपालिका र ८ गाउँपालिका सहित ३५ स्थानीय तहमा एमाले विजयी भएको छ । यहाँ २१ गाउँपालिका र १४ नगरपालिकाको नेतृत्व लिँदै कांग्रेस दोस्रो भएको छ । गण्डकी प्रदेशमा ९ गाउँपालिका र २ नगरपालिका सहित ११ स्थानीय तहको नेतृत्व लिँदै माअाेवादी केन्द्र तेस्रो भएको छ ।

    लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेशमा १६ नगरपालिका र २७ गाउँपालिका गरी ४३ स्थानीय तहको नेतृत्व लिँदै कांग्रेस पहिलो भएको छ । यो प्रदेशमा पनि एमाले दोस्रो भएको छ । एमालेले १८ गाउँपालिका र ८ नगरपालिका सहित २६ स्थानीय तहको नेतृत्व लिँदै प्रदेशमा दोस्रो शक्तिका रूपमा स्थापित भएको छ ।

    लुम्बीनी प्रदेशमा माओवादी केन्द्रले २२ गाउँपालिका र ३ नगर पालिका गरी २५ स्थानीय तहको नेतृत्व लिँदै तेस्रो भएको छ भने जसपाले एक स्थानमा जित हासिल गरेको छ ।

    कर्णाली प्रदेश

    कर्णालीमा ३२ स्थानीय तहको नेतृत्व लिँदै काँग्रेस नै पहिलो भएको छ । कांग्रेस २० गाउँपालिका र १२ नगरपालिकामा विजयी भएको छ । कर्णालीमा भने माओवादी दोस्रो शक्तिका रूपमा स्थापित भएको छ । माओवादीले १८ गाउँपालिका र ५ जगर पालिका गरी २३ स्थानीय तहमा कर्णालीमा आफ्नो प्रभाव देखाउन सकेको छ ।

    अन्य प्रदेशमा दोस्रो शक्तिका रूपमा रहेको एमाले कर्णालीमा तेस्रो भएको छ । ८ गाउँपालिका र ६ नगरपालिका सहित एमाले कर्णालीमा १४ स्थानमा विजयी भएको छ । कर्णालीमा २ गाउँपालिकामा नेकपा एसको उपस्थिति रहेको छ भने ३ गाउँपालिका र २ नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

    सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिम प्रदेशमा पनि कांग्रेस पहिलो पार्टी भएको छ । २२ गाउँपालिका र १४ नगरपालिका गरी ३६ स्थानीय तहको नेतृत्व आफ्नो पक्षमा लिँदै कांग्रेस पहिलो भएको हो । सुदूरपश्चिम प्रदेशमा एमालेले १४ गाउँपालिका र ७ नगरपालिका गरी २१ स्थानमा विजयी हुँदै दोस्रो भएको छ भने माओवादी केन्द्रले ११ गाउँपालिका र ३ नगर पालिका सहित १४ स्थानमा जितेको छ । यो प्रदेशमा नेकपा एसले एक एक गाउँपालिका र नगरपालिका आफ्नो पक्षमा लिन सफल भएको छ ।

  • काठमाडौं अपडेट : दोस्रो स्थानबाट स्थापितलाई सिर्जनाले गरिन् विस्थापित

    काठमाडौं अपडेट : दोस्रो स्थानबाट स्थापितलाई सिर्जनाले गरिन् विस्थापित

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रस्थान कायम गरिरहँदा दोस्रो स्थानमा तीव्र प्रतिस्पर्धा छ ।

    पछिल्लो अवस्थामा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमालेका केशव स्थापितलाई उछिनेकी छन् ।

    हामीलाई प्राप्त विवरण अनुसार ९६ हजार ६४९ मतको गणना सकिँदा सिर्जना दोस्रो स्थानमा उक्लिएकी हुन् । ३६ भोटले उनी स्थापित भन्दा अगाडि छिन् ।

    अहिलेसम्म सिर्जनाको १९ हजार १४९ भोट आएको छ भने स्थापितले १९११३ भोट ल्याएका छन् । पहिलो स्थानमा रहेका बालेन उनीहरूभन्दा धेरै अगाडि छन् ।

    उनको लौरो चिन्हमा ३४ हजार ९४८ भोट आएको छ ।

    अहिले काठमाडौंको ९ वटा वडामा मतगणना भइरहेको छ । जसमध्ये ७ वटा वडामा बालेन र दुई वटा वडामा स्थापितले अग्रता लिएका छन् ।

    काठमाडौंको आधा जति मतगणना सम्पन्न भइसकेको छ । पछिल्लो पटक कांग्रेस र एमालेसँग बालेनको प्रतिशत मतान्तर केही कम भए पनि अग्रता निकै फराकिलो छ ।

  • रंगेलीमा रोकिएको गणना सुरु हुन सकेन, पुनः मतदान हुनुपर्ने कांग्रेसकाे माग

    रंगेलीमा रोकिएको गणना सुरु हुन सकेन, पुनः मतदान हुनुपर्ने कांग्रेसकाे माग

    विराटनगर । रंगेलीको मतगणना रोकिएको छ । गणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसले पुनः मतदानको माग राखेपछि गणना रोकिएको हो ।

    कांग्रेसले गणना नै बहिस्कार गरेपछि राति २ बजेदेखि रोकिएको थियो । मत गणनाको क्रममा खसेको भन्दा बढी मत भेटिएपछि काँग्रेसले पुनः मतदानको माग गरेको हो ।

    नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार मोदराज घिमिरेले एमालेको सहयोगमा मतगणनामा खटिएका कर्मचारीले मत गणनाका क्रममा धाँधली गरेकाले बताए ।

    मेयरका उम्मेदवार घिमिरेका अनुसार शुक्रवार रंगेली नगरपालिका ७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेको बताए ।

    कुल ३२४२ मत खसेको रंगेली ७ मा गणनाको क्रममा ३३४९ मत फेला परेपछि विवाद चर्किएपछि पुन निर्वाचन हुनुपर्ने माग राखेर काँग्रेसले मतगणना स्थल नै छाडेर हिँडेको थियो ।

    रंगेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले कम्प्युटरमा मत प्रविष्ट गर्दा गडबडी भएको बताए ।

    एमालेका मेयरका उम्मेदवार दिलीप अग्रवालले ७ हजार ५८५ मत प्राप्त गरेका छन् भने कांग्रेसका मेयरका उम्मेदवार मोदराज घिमिरेले ५ हजार ७८ मत मात्र प्राप्त गरेका छन् । गणना सम्पन्न भएका वडा सबै पाँच वटाको वडा अध्यक्ष एमालेले जितेको छ ।

  • तिलोत्तमा नगर : २२ हजार ३ सय १८ मत गणना हुँदा नेकपा एमालेको अग्रता

    तिलोत्तमा नगर : २२ हजार ३ सय १८ मत गणना हुँदा नेकपा एमालेको अग्रता

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गणना भएको २२ हजार ३ सय १८ मतको परिणाम सार्वजनिक गर्दा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार मोहन चापागाईँले अग्रता कायमै राखेका छन् ।

    १४ हजार गणना भएयता निरन्तर अग्रता बनाएका चापागाईँले पछिल्लो पटक गणना भएको उक्त मत मध्ये ८ हजार ८सय ७० मत प्राप्त गरेका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन दलका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाँणले ८ हजार ६ सय ७९ मत प्राप्त गरेका छन् ।

    चापागाईँ भन्दा १ सय ९१ मतले खाण पछि परेका छन्। उप प्रमुख पदमा भने एमालेको दोब्बर बढीको अर्थात् ४ हजार ४ सय ४७ मतको अग्रता छ।

    उपप्रमुख पदमा पनि नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले ८ हजार ५ सय ८५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेको गोलाकार भित्र हँसिया हतौडामा ४ हजार १ सय ३८मत प्राप्त भएको छ।

  • २२ वर्ष पछि बुटवलमा एमाले विरासत ढल्यो, गठबन्धनबाट कांग्रेसका खेलराज विजयी

    २२ वर्ष पछि बुटवलमा एमाले विरासत ढल्यो, गठबन्धनबाट कांग्रेसका खेलराज विजयी

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पाँच दलको गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डे फराकिलो मतान्तरले विजयी भएका छन् । उनले एमालेकाे २२ वर्षको बिरासत ढाल्न सफल भएका छन् ।

    एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे नगर प्रमुखमा निर्वाचित भएका हुन् । पाण्डेले ३० हजार १३० मत ल्याए भने, उनका प्रतिस्पर्धी भट्टराईले २२ हजार ५९७ मात्र ल्याउन सके ।

    उपप्रमुखमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भइन् ।

    त्यस्तै उपप्रमुख गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का चीनबहादुर गुरुङलाई ७ हजार ९९४ मतले पराजित गर्दै उपप्रमुखमा निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरुङले १६ हजार ९८० मत मात्र ल्याउन सके ।

    १९ वटा वडा रहेको बुटवलमा ९० हजार १६ मतमध्ये यहाँ ६३ हजार १७ मत खसेको थियो । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३९८ मतले पराजित भएका पाण्डे पाँच वर्षपछि भारी मत अन्तरले पश्चिम नेपालकै प्रमुख सहरको रूपमा पहिचान बनाएको राजनीतिक केन्द्र बुटवलमा प्रमुख बन्न सफल भएका हुन् ।

    १९ वटा वडा रहेको बुटवलमा ५ वटा वडाध्यक्ष र उपमेयर एमालेले जितेको छ भने १ मा समाजवादी, १ मा माओवादी, १ मा स्वतन्त्र उम्मेदवारले जितेका छन् भने ११ वटामा वडामा कांग्रेसले जितेको छ । गत निर्वाचनमा एमालेले १६ वटा जित्दा ३ वटामा मात्रै कांग्रेसले जितेको थियो ।

  • मिर्चैया नगरपालिकामा दोहोरिए माओवादीकै मेयर र उपमेयर

    मिर्चैया नगरपालिकामा दोहोरिए माओवादीकै मेयर र उपमेयर

    जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिकामा निवर्तमान मेयर र उपमेयर नै पुनः दोहोरिएका छन् ।

    नेकपा माओवादी केन्द्रबाट मेयरमा श्रवण कुमार यादव र उपमेयरमा जीवछी देवी साह निर्वाचित भएकी हुन् ।

    श्रवणले ५२३३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिताराम यादव ४७१० मत पाए ।

    उपमेयरमा विजयी साहले ५०७० मत ल्याएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी अनिता साह ५०२६ मत ल्याएकी छन् ।

  • उपमेयरसहित ४० सिट जितेर एमाले बन्यो विराटनगर महानगरको सबैभन्दा ठूलो दल (सूचीसहित)

    उपमेयरसहित ४० सिट जितेर एमाले बन्यो विराटनगर महानगरको सबैभन्दा ठूलो दल (सूचीसहित)

    विराटनगर । उपमेयरसहित १९ मध्ये ९ वडाध्यक्ष जितेर नेकपा एमाले विराटनगर महानगरपालिकाको सबैभन्दा ठूलो दल बनेको छ । शनिबार विहान सार्वजनिक भएको नतिजा अनुसार एमालेबाट उपमेयर शिल्पा कार्की गठबन्धनका उम्मेदवारलाई ११ हजार मतले पछि पार्दै निर्वाचित भइन् ।

    त्यस्तै वडातर्फ पनि १९ मध्ये एमालेले ९ वटा वडा जितेर महानगरको ठूलो दल बनेको छ । गठबन्धनबाट कांग्रेसले मेयरसहित ६ वडाध्यक्ष जितेको छ भने जसपाले २ वडाध्यक्ष जितेको छ । राप्रपाले एउटा वडाध्यक्ष जित्दा एकजना स्वतन्त्रले जितेका छन् ।

    सदस्यतर्फ समेत कार्यपालिका चुनावका लागि एमालेले ४३ सिट जितेको छ भने कांग्रेसले ४० सिट जितेको छ ।जसपाले १० सिट जित्दा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने विराटनगर महानगरपालिकामा गठबन्धनका मतदातामा सिमित भएका छन् । ती दुवै पार्टीले महानगरपालिकामा एउटा सदस्य पनि जित्न सकेनन् ।

    यी हुन् विराटनगर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि
    मेयर–नागेश कोइराला,नेपाली काग्रेस
    उपमेयर–शिल्पा कार्की,नेकपा एमाले

    वडा नं. १ काजी बहादुर बस्नेत एमाले
    वडा नं. २ कुमार पोखरेल एमाले
    वडा नं. ३ बासु बहादुर बस्नेत एमाले
    वडा नं. ४ जीतन थापा एमाले
    वडा नं. ५ सन्तोष न्यौपाले कांग्रेस
    वडा नं. ६ हरीश चन्द्र सहनी कांग्रेस
    वडा नं. ७ मधुबाबु तविारी कांग्रेस
    वडा नं. ८ राम पोखरेल एमाले
    वडा नं. ९ विश्वनाथ भगत कांग्रेस
    वडा नं. १० अर्जुन गीरी एमाले
    वडा नं. ११ तिर्थेन्द्र न्यौपाने एमाले
    वडा नं. १२ हिरा बहादुर कामत जसपा
    वडा नं. १३ सुर्यलाल यादव राप्रपा
    वडा नं. १४ सुर्य नारायण महतो एमाले
    वडा नं. १५ प्रकाश शाह कांग्रेस
    वडा नं. १६ उद्धव कुमार भुजेल का्रग्रेस
    वडा नं. १७ समिम कुमार मिया जसपा
    वडा नं. १८ जीतेन्द्र कुमार शाह स्वतन्त्र
    वडा नं. १९ श्याम घिमीरे एमाले
  • एमालेबाट विद्रोह गरेकी मीना, जसले हेटौडामा ३ दशकदेखिको एमालेकै गढ भत्काइन्

    एमालेबाट विद्रोह गरेकी मीना, जसले हेटौडामा ३ दशकदेखिको एमालेकै गढ भत्काइन्

    हेटौँडा । चार हजार मत गन्न बाँकी रहँदै गठवन्धनका उम्मेदवारहरू एकीकृत समाजवादीकी मीना लामा र कांग्रेसका राजेश बानियाँलाई एमालेका मेयर उम्मेदवारहरूले बधाई दिए ।

    ३० वर्षदेखिको एमालेको गढ भत्काउन मीना कोही नभएर एमाले फुटबाट जन्मिएको पार्टी नेकपा एसकी हुन् । उनै लामा जो ७४ को चुनावमा एमालेबाटै हेटौँडा उपमहानगरको उपमेयरमा भारी मतले विजयी विजयी भएकी थिइन् ।

    नेकपा एमाले विभाजन भएसँगै निर्माण भएको एकीकृत समाजवादीमा सनाखत गरेर राजनीतिको नयाँ बाटोमा मोडिएकी लामालाई यो पटक हेटौडेलीले स्थानीय सत्ताको बागडोर सुम्पिएका छन् । २०४९ र २०५४ मा डोरमणी पौडेल, २०७४ मा उनै पौडेल कार्याकालका उपमेयर हरिबहादुर महतलाई प्रमुख बनाएको हेटौडाले २०७९ मा एमालेबाहेकको दललाई चुन्यो ।

    एमालेको वर्चश्व तोडेर मेयरको विजेता बनेकी लामालाई पाँच दलीय गठबन्धन कायम भएन भने अल्पमतको सामना गर्नुपर्ने देखिएको छ । १९ वटा वडामा ९ वटा वडासहित नेकपा एमाले अझै सशक्त भूमिकामा छ । उपमहानगरको दैनिक कार्यसम्पादनको क्रममा उपमेयर तथा ८ वडाध्यक्षसहित कांग्रेसको निरन्तर दबाब पनि पनि लामालाई पर्नेछ । उनको पार्टीबाट एक जना मात्र वडाध्यक्ष छन् । त्यस्तै माओवादीले पनि नगर क्षेत्रमा १ वडा जितेको छ ।

    यसरी गुम्यो विरासत

    गत वैशाख १२ मा एमालेको तर्फबट मेयर-उपमेयरको मनोनयन दर्ताको तामझाम भइरहँदा गठबन्धनमा भने अन्यौल नै थियो । हेटौडामा जनमत नभएको आरोप लगाउँदै एकीकृत समाजवादीलाई मेयर दिएको विरोधमा नेपाली कांग्रेसका बहुमत पदाधिकारीले पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना समेत गरे ।

    तर, पनि केन्द्रको निर्णय टार्न नसकिने, जिल्लामा रहेको झगडा मिलाउने भन्दै मेयरमा लामा र उपमेयरमा बानियालाई मनोनयन दर्ता गराउन लगाइयो । तर, सोही दिन अपरान्ह राप्रपाका दीपकबहादुर सिंह काठमाडौंबाट आएर मेयरमा उम्मेदवार दर्ता गरेको खबरले यहाँको राजनीति तरंगित बन्यो ।

    राप्रपाले उम्मेदवारी दर्ता गरेपछि एमाले आशावादी थियो । नेकपा एसलाई मेयर सुम्पिँदाको कांग्रेसको रुष्ट भोट राप्रपामा जाने र एमालेको संगठित सबै भोट आउने हुँदा जित पक्काको ‘मूड’ मा एमाले ढुक्क भयो । तर, उल्टै एमालेका लागि चुनौती नै दीपक बने । यसअघि मकवानपुरको मेयर र सांसद गरी ३ पटक चुनाव लडेका सिंह तीनैपटक दोश्रो भए । उनी दोस्रो हुँदा एमाले थोरै मतान्तरले मात्र पहिलो हुने गरेको थियो ।

    तर, योपटक चुनावी अभियानको क्रममा सिंहको माहौल बढ्दै गयो । सामजिक सञ्जालमा पत्रकार तथा विभिन्न व्यक्तिले गरेको सर्वेक्षणमा दीपक सिंह बलिया देखिन थालेका थिए । यो विषयमा पनि एमाले गम्भीर देखिएन । यता गठबन्धन भने आक्रामकरूपमा थप संगठित र मजबुत बन्दै गयो । एमालेको वर्षौंदेखिको वर्चस्व ध्याउन्नमा लागेर शीर्ष नेता मैदानमा खटिए ।

    कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेकपा एसका नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडासहितका नेता लामालाई जिताउन फिल्डमा उत्रिए ।

    दोस्रो महत्वपूर्ण कारण हेटौडाको सहरिया ‘न्यू भोटर’ लाई एमालेले आफ्नो एजेण्डामा सहमति गराउन सकेन् । ‘टावर’ को विरोध भइरहेका बेला एमाले हेटौडाले ‘नगर टावर’ बनाउने भनेर प्रचार गर्नेगरी घोषणापत्र जारी गर्यो । घोषणापत्रमा भएका लोकप्रिय कामलाई जनतामा बुझाउन नसकेर टावर तथा १० हजार लिटर पानी फ्रिको एजेण्डामात्र स्थापित गर्न खोज्दा नयाँ पुस्ताले ती कुराहरूलाई ‘एसेप्ट’ गरेनन् । उता राप्रपाका सिंहले भ्रष्टाचारविरोधी एजेण्डा स्थापित गरे । नयाँ भोटरको चाहनालाई एमालेले आफ्नो एजेण्डामा क्यास गर्न सकेको देखिएन ।

    एमालेको विरासत गुम्नुमा पार्टीमा अलोकतान्त्रिक विधिको विकास, नेता वरपर घुम्नेलाई मात्र अवसर दिने प्रचलन रहेको बताएका छन् । स्वयम् एमाले नेता तथा कार्यकर्ताहरूले नै बताएका छन् । एमालेका जिल्लास्तरमा नेताहरूले गुटबन्दी, चाकडीप्रथाको विकास, टिकेप्रथाजस्ता विषयले पार्टी हारेको भन्दै सामजिक सञ्जालमा गुनासो पोखेका छन् ।

    पञ्चयातकालका नेतालाई नयाँ अनुहार ठाने : पौडेल

    मेयरमा पराजित भएका एमालेका अनन्तप्रसाद पौडेल भने नयाँ पुस्ताका मतदाताले पञ्चयातकालीन नेतालाई नयाँ अनुहार ठानेकोले एमालेलाई अप्ठेरो परेको बताउँछन् ।

    पञ्चयातकालीन समयमा हेटौडाभित्र डेढ किलोमिटर समेत कालोपत्रे गर्न नसकेकाहरूलाई नयाँ पुस्ताले नयाँ अनुहार ठान्दा एमालेको गढ क्षेत्रबाट आफ्नो भोट कटेको उनको भनाइ थियो ।

    ‘पाँच दलको आक्रमण हामीलाई थियो नै । यो हारलाई मसिनो ढंगबाट समीक्षा गरेर अगाडि बढ्छौं’, पौडेलले नेपाल प्रेससँग भने ।

  • स्थानीय निर्वाचनमा महिला नेतृत्व नगण्य, ६९० को परिणाम आउँदा २२ जना मात्रै विजयी (सूचीसहित)

    स्थानीय निर्वाचनमा महिला नेतृत्व नगण्य, ६९० को परिणाम आउँदा २२ जना मात्रै विजयी (सूचीसहित)

    काठमाडौं । स्थानीय निर्वाचन २०७९ अन्तर्गत ६९० स्थानीय तहको गणना सकिँदा २२ जना मात्र प्रमुख/अध्यक्षमा निर्वाचित भएका छ्न् ।

    हालसम्म प्रदेश १ बाट पाँचजना, मधेस प्रदेशमा ३ जना, वागमतीमा ५ जना र गण्डकी प्रदेशबाट ३ लुम्बीनीमा २ जना महिलाले पालिकाको नेतृत्व जितेका छन् । त्यस्तै कर्णली र सुदूरपश्चिमबाट २-२ जन छन् ।

    हालसम्मको परिणाम अनुसार एमालेको तर्फबाट ५ नगर प्रमुख र ४ गाउँपालिका अध्यक्षसहित ९ जना, कांग्रेसबाट
    ३ नगर प्रमुख र ४ गाउँपालिका अध्यक्षसहित ७ जना कांग्रेसको तर्फबाट उम्मेदवार रहेका महिला निर्वाचित भएका छन् भने माओवादी केन्द्रका ३ गाउँ पालिकामा महिला नेतृत्वले विजय भएका छन् । लोसपाको तर्फबाट १ जना नगर प्रमुख विजयी भएका छन् ।

    देशभरका ७५३ स्थानीय तहमा विभिन्न राजनीतिक दलहरूबाट ३६८ महिलाहरु प्रमुख तथा अध्यक्ष पदमा चुनाव लडेका थिए । जसमा २३९ प्रमुख र ११९ गाउँपालिका अध्यक्ष पदमा महिलाले उम्मेदवारी रहेको थियो ।

    हेर्नुस् कहाँ कसको जित

    एमालेबाट विजयी महिला प्रमुखहरू

    झापाको विर्तामोड नगरपालिका पवित्रादेवी महतारा

    मोरङ्ग कानेपोखरी गाउँपालिका राजमति इङ्गनाम

    रौतहट मौलापुर नगरपालिका रीना कुमारी साह

    चितवनको माडी नगरपालिका तारा कुमारी काजी महतो

    सिन्धुली फिक्कल गाउँपालिका पार्वती सुनुवार

    पर्वत मोदी गाउँपालिका हिरादेवी शर्मा

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिकामा विमला अर्याल

    पाल्पा बगनासकाली गाउँपालिका सरस्वती दर्लामी (चिदी)

    सुर्खेत वीरेन्द्रनगर नगरपालिका मोहनमाया भण्डारी

    कांग्रेसबाट विजयी महिला प्रमुखहरु

    मिना देवी कार्की, सोलुखुम्बुको लिखु पिके गाउँपालिका

    हलेसी तसवाचुङ नगरपालिकामा विमला राई

    सप्तरीको सुरुङ्गा नगरपालिका गीता चौधरी

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका लक्ष्मी देवी पाण्डे

    बागलुङको वडिगाड गाउँपालिका गण्डकी थापा अधिकारी

    दैलेख भैरवी गाउँपालिका रिता कुमारी शाही

    अछाम पञ्चदेवल विनायक नगरपालिका अम्विका कुमारी चलाउन्

    कैलालीको लम्कीचुहा नगरपालिका सुशीला शाही

    माओवादी केन्द्र विजयी महिला प्रमुखहरु

    खोटाङ्ग जन्तेढुंगा गाउँपालिका अरुणा देवी राई

    सिन्धुली सुनकोशी गाउँपालिका दिपा बोहरा (दाहाल)

    काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका रेणुका चौलागाई

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल विजयी महिला प्रमुखहरु

    रौतहट ईशनाथ नगरपालिकामा कौशल्या देवी

    नेकपा एकीकृत समाजवादी

    मकवानपुको हेटौंडा उप महानगरपालिका मिनाकुमारी लामा

    पछिल्लो मत परिणाम अनुसार महिला नेतृत्वको संख्या धेरै न्यून रहेको छ । हाल सम्मको मत परिणमलाई हेर्दा स्थानीय तहको नेतृत्वमा ३.१८ प्रतिशतमा महिला प्रतिनिधिहरु नेतृत्वमा पुग्न सफल भएका छन् ।

  • गठबन्धनले बाँडेका महानगर र उपमहानगरपालिकामा दुई तिहाइ उपमेयर एमालेका निश्चित

    गठबन्धनले बाँडेका महानगर र उपमहानगरपालिकामा दुई तिहाइ उपमेयर एमालेका निश्चित

    काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नागेश केइराला करिब १० हजार मतान्तरले एमालेमाथि हाबी हुँदा सोही महानगरको उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले ११ हजार मतान्तरले गठबन्धनलाई पराजित गरिन् ।

    उनीसँग प्रतिस्पर्धा गरेका जसपा अध्यक्ष अमरेन्द्र यादवले १४ हजार २१९ मत ल्याउँदा बिजेता एमालेकी शिल्पा कार्कीले २५ हजार ६८० मत प्राप्त गरिन् । यो आफैंमा आश्चर्यजनक नतिजा हो ।

    विराटनगर कांग्रेसको गढ हो । विगतमा एक्लै चुनाव लड्दा फराकिलो मतान्तरले जितेको कांग्रेसले यसपटक विराटनगरका वडा जितेको हिसाबले दोस्रो ठूलो दल जसपा, माओवादी केन्द्र र नेकपा एसको समेत समर्थन पाएको थियो ।

    विराटनगरमात्र होइन सत्ता गठबन्धनले केन्द्रीयस्तरबाटै ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डा लगाएको थियो । गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा रहेका एमाले ६ वटै महनगरपालिकामा मेयर जित्ने अवस्थामा छैन । पाँचवटामा गठबन्धन हाबी हुँदा काठमाडौंमा लौरोले दुवैलाई चुटिरहेको छ ।

    उपमेयरमा भने ठीक उल्टो दृष्य देखिएको छ । १७ वटा महानगर र उपमहानगरपालिकाका उपमेयरमा भने एमालेले एक्लै दुई तिहाइ जित्ने सम्भावना देखिएको छ । भरतपुर महानगरपालिकाबोहक देशका सबै महानगर र उपमहानगरमा एमालेका उपमेयर उम्मेदवार छन् ।

    तीमध्ये विराटनगर महानगरपालिका र घोराही, कलैया तथा जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर एमालेले जितिसकेका छन् । कलैया र घोराहीमा मेयरसहित एमालेले जितेको हो ।

    मतगणना जारी रहेका महानगरपालिकामध्ये पोखराबाहेक काठमाडौं र ललितपुरमा एमालेका उपमेयर उम्मेदवार फराकिलो मतान्तरसहित विजयनजिक पुगिसकेका छन् । काठमाडौंमा सुनिता डंगोल गठबन्धनका रामेश्वर श्रेष्ठभन्दा तेब्बर बढी मतले अग्रता लिइरहेकी छन् ।

    त्यस्तै ललितपुर महानगरपालिकामा पनि एमालेकी मञ्जली शाक्य गठबन्धनका उम्मेदवारभन्दा १० हजारभन्दा बढी मतले अग्रता लिइरहेकाले उनको विजय पनि लगभग निश्चित छ । पोखरामा समेत शनिबादेखि एमालेकी मञ्जु गुरुङको अग्रता बढेको र उनी जित्ने सम्भावना बढी छ ।

    उपमहानगरपालिकातर्फ मतगणना भइरहेका इटहरी, बुटवल, तुलसीपुर र धनगढीमा पनि एमालेका उपमेयर उम्मेदवारको अग्रता बढेको छ । इटहरीकी संगीता चौधरी, बुटवलकी सावित्री न्यौपाने, तुलसीपुरकी स्यानी चौधरीको अग्रता फराकिलो छ ।

    पछिल्लो समय एकाएक धनगढी उपमहानगरपालिकामा पनि गठबन्धनको अग्रता तोडेर एमालेकी कन्दकला कुमारी रानाको अग्रता बढेको छ । अबको गणना राना थारु बाहुल्य रहेको क्षेत्रमा पुगेकाले उनको जित सुनिश्चित बनेको छ ।

  • विरासत जोगाउँदै कपिलवस्तुको विजयनगरमा पुन: अध्यक्ष बने गोपाल

    विरासत जोगाउँदै कपिलवस्तुको विजयनगरमा पुन: अध्यक्ष बने गोपाल

    रूपन्देही । नेकपा एमालेले कपिलवस्तुको विजयनगर गाउँपालिकामा आफ्नो विरासत कायम राखेको छ । पालिकाको अध्यक्षउपाध्यक्षसहित ७ वडामध्ये ६ वडाध्यक्ष जितेर एमालेले विजयनगरमा आफ्नो विरासत जोगाएको हो ।

    पालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः गोपाल थापा निर्वाचित भएका छन् । थापाले आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकी यादवलाई पराजित गरेका हुन् ।

    ०७४ मा पनि थापाले यादवलाई नै पराजित गरेर पालिकाको अध्यक्ष बनेका थिए ।यस्तै उपाध्यक्षमा एमालेकी लक्ष्मी चौधरी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । चौधरी जसपाकी गुन्जेश्वरी कुर्मीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भइन् ।

    ७ वडामध्ये एमालेबाट वडा नं.१ को वडाध्यक्षमा इन्नर थारु, वडा नं. २ को वडाध्यक्षमा नेपाल थारु, वडा नं.४ को वडाध्यक्षमा तिलकराम कंडेल, वडा नं.५ को वडाध्यक्षमा अनवर महोम्मद मुसलमान, वडा नं. ६ को वडाध्यक्षमा प्रेमबहादुर कलवार र वडा नं. ७ को वडाध्यक्षमा दिनेश कुमार चौधरी निर्वाचित भएका छन् ।

    वडा नं. ३ को वडाध्यक्षमा भने, जसपाका हृदय विकास चौधरी वडाध्यक्ष बनेका छन् ।

  • काठमाडौंको करिब आधा मतगणना सकियो, जिततर्फ लम्किँदै बालेन

    काठमाडौंको करिब आधा मतगणना सकियो, जिततर्फ लम्किँदै बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये करिब आधाको गणना सकिएको छ । अहिलेसम्मको गणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रतासहित जिततर्फ लम्किएका छन् ।

    गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ मत खसेको थियो । त्यसमध्ये हालसम्म ९३ हजार ६४७ मतको गणना भएको हो । अब ९७५३९ मत गन्न बाँकी छ । त्यो भनेको ५१ प्रतिशत हो ।

    हालसम्मका अपडेट अनुसार अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साहले ३४ हजार १३० मत ल्याएका छन् । उनी मुख्य प्रतिस्पर्धीभन्दा १५ हजार ५८३ भोटले अगाडि छन् ।

    दोस्रो स्थानमा एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना श्रेष्ठको तीब्र प्रतिस्पर्धा छ । हालसम्म सिर्जनाभन्दा स्थापित ११८ भोटले अगाडि छन् ।

    अहिलेसम्म काठमाडौंका ११ वडा वडाको मतगणना सम्पन्न भइसकेको छ । मतगणना सकिएका ११ वडाहरुमध्ये १० वटा वडामा बालेनको अग्रता छ । वडा नम्बर २८ मा स्थापित थोरै मतले अगाडि छन् । यो वडा काठमाडौंको कोर एरियाअन्तर्गत पर्छ ।

    हाल काठमाडौंका ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ नम्बर वडाको मतगणना जारी रहेको छ । यी वडाहरूमा त्रिपक्षीय प्रतिस्पर्धा छ । ७, ९, १०, ११, २६ र ३१ गरी ६ वटा वडामा बालेनले अग्रता लिइरहेका छन् । यस्तै, २४, २५ र २७ वडामा स्थापितको अग्रता छ ।

  • गठबन्धनलाई भोट दिएको भन्दै कांग्रेस कार्यकर्तामाथि कुटपिट

    गठबन्धनलाई भोट दिएको भन्दै कांग्रेस कार्यकर्तामाथि कुटपिट

    काठमाडौं । धनकुटाको सहिदभुमी गाउँपालिकामा गठबन्धनलाई मत दिएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले स्थानीयलाई कुटपिट गरेका छन् ।

    नेकपा समाजवादीका जेवी राईलाई मत दिएको भन्दै सहिदभुमी गाउँपालिका वडा नं ६ सुके आहालमा शुक्रबार एमालेका कार्यकर्ताहरुले ४६ वर्षीय बच्चिमाया राईलाई कुटपिट गरेका हुन् ।

    बच्चिमाया छिलिङ राईको उभौली चाडको लागि बुढौली खोज्न सुके आहाल गएकी थिइन् । उनलाई स्थानीय चन्द्रकुमारी राई, गुप्तामाया राई, ढम्बर कुमारी राई लगायतले गठबन्धनलाई भोटदिने भन्दै लछारपछार गरेका स्थानीय रुद्र राईले बताए ।

    बच्चीमायालाई लछारपछार गरी कुटपिट गर्ने सबै नेकपा एमालेका कार्यकर्ता रहेका र उनी नेपाली कांग्रेसकी क्रियाशील सदस्य भएको राईको भनाइ छ ।

    एमाले कार्यकर्ताहरुले कुटपिट गर्दा च्यातिएको कपडासहित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा सम्पर्कमा पुगेकी र
    आफुलाई कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उनले बताइन् । उनी एकल महिला हुन् ।

     

  • काठमाडौंको उपमेयरमा राप्रपाको २ हजार भोट कसरी भयो गोलमाल ? (भिडिओ)

    काठमाडौंको उपमेयरमा राप्रपाको २ हजार भोट कसरी भयो गोलमाल ? (भिडिओ)

    काठमाडौं । काठमाडौंको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित लगभग सुनिश्चित भइसकेको छ । त्यसैले उपमेयरमा कसले कति भोट ल्याइरहेका छन् भनेर धेरैलाई अब कौतुहल पनि छैन ।

    तर, अरुलाई कौतुहल नभए पनि उम्मेदवारलाई त हुन्छ नै । उपमेयरको दौडमा तेस्रो नम्बरमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार विनिता मगैया हिजो आफ्नो मतपरिणाम सुनेर एकाएक हौसिइन् । काठमाडौंको मतगणना भट्याउने क्रममा क्रममा ६ गते निर्वाचन आयोगका प्रतिनिधिले राप्रपाले उपमेयरमा ७ हजार ४ सय ५२ भोट ल्याएको बताए ।

    त्यसबेला काठमाडौं-३२ को मतगणना चलिरहेको थियो । एकाएक दुई हजारभन्दा बढी भोट बढ्दा मगैया सुखद आश्चर्यमा परिन् । मनमनै काठमाडौं ३२ का मतदातालाई धन्यवाद पनि दिइन् ।

    तर, त्यसको भोलिपल्टै उनको खुसी लुटियो । आयोगका प्रतिनिधिले फेरि भट्याए- राप्रपा उपमेयरकी उम्मेदवारको भोट ५ हजार ४ सय ८७ । भोट बढ्नुको साटो एकैचोटि २ हजार घटेपछि राप्रपामा खैलाबैला भयो । पार्टीका महानगर अध्यक्ष केदार धमलासहितका नेताहरू प्रमुख निर्वाचन अधिकृतकहाँ गुनासो लिएर पुगे । प्रमुख निर्वाचन अधिकृत राजु खतिवडाले उनीहरूलाई सम्झाएर पठाए ।

    भएको के थियो ?

    आयोगका अनुसार ५ गते ३२ नम्बर वडाको २ हजार चानचुन मत गनिएको थियो । त्यसमा राप्रपाले दुई-अढाई सय भोट ल्याएको थियो ।
    आयोगले हरेक दिनको मतगणना सकिएपछि मुचुल्का उठाउँछ । यस क्रममा एउटा फारम भर्नुपर्छ, जसमा ‘गनिमत’ भन्ने एउटा कोलम हुन्छ । यो कोलममा कुल गनिएको मत प्रपिष्ट गर्नुपर्छ । तर, भुलवस आयोगका कर्मचारीले कुल गनिएको मतलाई राप्रपाको कोलममा हालिदिएछन् । यसरी राप्रपाको भोट एकैपटक दुई हजार थपिन पुग्यो ।

    भोलिपल्ट भोट गणनामा गडबड देखिएपछि फेरि रुजु गरियो । जसमा अघिल्लो दिन गरिएको त्रुटी फेला पर्यो । अनि राप्रपाको थपिएको भोट माइनस गरियो । यसरी राप्रपाको भोट ७४५२ बाट ५ हजार ४८७ मा झरेको हो । पछिल्लोपटक भनिएको संख्या सही भएको आयोगले बताएको छ र राप्रपाले पनि चित्त बुझाएको छ ।

    राप्रपाकी उम्मेदवार मगैयाले प्राविधिक त्रुटिका कारण आफूहरूलाई अन्योल भएको प्रतिक्रिया दिइन् ।

  • धनुषाको सबैलाकाे मेयरमा मातृका यादवका भाई कारीराम विजयी

    धनुषाको सबैलाकाे मेयरमा मातृका यादवका भाई कारीराम विजयी

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका प्रसाद यादवका भाई कारीराम यादव धनुषाको सबैला नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

    माओवादीबाट मेयरमा निर्वाचित यादवले ४२१२ मत ल्याएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगत सुन्दर शाह ४०७६ मत पाएका छन् ।

    यस्तै उपमेयरमा माओवादीकै रहिमा खातुन ४६९९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी किरण कापर ३६०४ मत ल्याइन् ।

    १७ पालिका रहेको धनुषामा सबैलाका मेयर र उपमेयर जितेर माओवादीले खाता खोलेको छ । ०७४ को निर्वाचनमा सबैलामा नेपाली कांग्रेसले मेयर र उपमेयर जितेको थियो ।

  • काठमाडौं-११ को मतगणना सुरु: १०० भोट गन्दा सिर्जना अघि, स्थापित तेस्रो

    काठमाडौं-११ को मतगणना सुरु: १०० भोट गन्दा सिर्जना अघि, स्थापित तेस्रो

    काठमाडौं । काठमाडौंको कोर एरियामा पर्ने अर्को वडाको मतगणना सुरु भएको छ । वडा नम्बर ११ को प्रारम्भिक मतगणनामा कांग्रेसकी सिर्जना श्रेष्ठ अगाडि छन् ।

    हालसम्म १०० वटा मत गणना सकिएकोमा सिर्जनाले ४३ मत ल्याएकी छन् । दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन साहले २२ मत ल्याएका छन् । एमालेका उम्मेदवार केशव स्थापित १७ मतका साथ तेस्रो स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीको ३ भोट मात्र आएको छ । यो वडा त्रिपुरेश्वर क्षेत्रमा पर्छ ।

    उपमेयरको मतगणनामा भने एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता छ । उनले २५ मत ल्याउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १० भोट ल्याएका छन् ।

  • भरतपुर महानगरपालिकामा रेनुको फराकिलो अग्रता

    भरतपुर महानगरपालिकामा रेनुको फराकिलो अग्रता

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छिन् ।

    पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले अगाडि देखिएकी छन् । ७३ हजार ७८७ गणना गर्दा मेयरकी उम्मेदवार रेनुले २८ हजार ६०८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ९० मत ल्याएका छन् ।

    त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९०१ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १७ हजार ९२० मत ल्याएकी छिन् ।