Category: स्थानीय निर्वाचन–२०७९

  • स्याङ्जा २ मा पद्मा अर्यालको अग्रता 

    स्याङ्जा २ मा पद्मा अर्यालको अग्रता 

    काठमाडौं । रातिबाट शुरु भएको स्याङ्जा -२ को मतगणनामा नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन् ।

    अर्यालले २हजार ३०४मत पाएकी छन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले भने १ हजार ७०३ मत पाएका छन् ।

    निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने एमालेको माग पछि सो क्षेत्रमा मतगणना रोकिएको थियो।

    स्याङ्जामा हिजो साझबाट निर्वाचन आयोगले मतगणना सुचारु गर्न निर्देशन दिएपछि गणना शुरु भएको हो ।

    स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।

     

  • परराष्ट्र मन्त्री खड्का चौथो पटक विजय

    परराष्ट्र मन्त्री खड्का चौथो पटक विजय

    काठमाडौं । उदयपुर निर्वाचन क्षेत्र १ मा नेपाली काँग्रेसका नेता तथा परराष्ट्र मन्त्री डा. नारायण खड्का विजय भएका छन् । उनी सङ नेकपा एमालेकी उम्मेदवार मञ्जु कुमारी चौधरी पराजित भएकी हुन् ।

    निर्वाचित खड्काले ३१ हजार २७० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छिन् ।

  • बुढीगंगा अपडेटः चौथो वडामा पनि एमाले विजयी

    बुढीगंगा अपडेटः चौथो वडामा पनि एमाले विजयी

    कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको वडा नम्बर २ मा पनि एमाले उम्मेदवार विजयी भएका छन् । फराकिलो मतान्तरसहित एमाले उम्मेदवार पदम भण्डारी विजयी भएका हुन् ।

    उनले ८३८ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार दलबहादुर थापाले २३५ मतमात्रै प्राप्त गरेका थिए ।

    यसअघि वडा नं १, ९ र १० मा पनि एमाले विजयी भएका छन् ।

  • बुढीगंगा अपडेट- वडाध्यक्षमा एमालेको ह्याट्रिक, मेयर र उपमेयरमा पनि फराकिलो अग्रता

    बुढीगंगा अपडेट- वडाध्यक्षमा एमालेको ह्याट्रिक, मेयर र उपमेयरमा पनि फराकिलो अग्रता

    धनगढी । बुढीगङ्गा नगरपालिकाको वडामा एमाले उम्मेदवारले ह्याट्रिक गरेका छन् । यसअघि १ र १० वडामा अध्यक्ष जितेको एमाले अहिले ९ नम्बरमा पनि जीत हासिल गरेको छ ।

    बुढीगंगा नगरपालिका वडा नं ९ मा दुई गुणा मतान्तरले ‌एमाले उम्मेदवार विजयी भएका छन् ।

    नेकपा एमालेका मीनबहादुर सिंहले गठबन्धनका भरतबहादुर थापालाई फराकिलो मतान्तरले हराएका हुन् ।

    थापा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार थिए । सिंहले ४९२ मत पाउँदा थापाले २९३ मतमात्रै पाएका छन् ।

    यसअघि वडा नम्बर १ र १० मा पनि एमाले उम्मेदवार विजयी भइसकेका छन् । जारी मतगणनाअनुसार मेयर र उपमेयरमा पनि एमालेका उम्मेदवारहरुले अग्रता बनाइरहेका छन् ।

    अहिलेसम्म ३,६४८ मत गणना सकिएको छ । एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले २,१९६ मत पाएका छन् । उपमेयर मायाकुमारी खड्का कुवँरले २,१७२ मत पाएकी छन् ।

    नेपाली कांग्रेसका मेयर उम्मेदवार रंगबहादुर खातीले १,२३९ र उपमेयर रीता शाहीले १,२६२ मत पाएका छन् ।

    मेयर र उपमेयरमा क्रमशः ९५७ र ९१० मतले एमालेका उम्मेदवार अघि छन् ।

  • बुढीगंगा अपडेटः प्रमुखमा एमाले ६०२ मतले अगाडि

    बुढीगंगा अपडेटः प्रमुखमा एमाले ६०२ मतले अगाडि

    कैलाली । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवारले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

    पछिल्लो अपडेटअनुसार एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीलाई ६०२ मतले पछि परेका छन् ।

    बानियाँले १,५९२ मत पाउँदा खातीले ९९० मत ल्याएका हुन् ।

    त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवरले १५५७ मत पाउँदा कांग्रेसकी रीता शाहीले १०१० मत ल्याएकी छन् ।

    मतगणना जारी बुढीगंगाको वडा नम्बर १ र १० को वडा अध्यक्ष भने एमालेले जितिसकेको छ । यहाँ १० वडा छन् । अहिले वडा नं. २ र ८ को मतगणना जारी छ । अहिलेसम्म २७४० मतगणना भइसकेको छ ।

  • बुढीगंगा अपडेट: दुई वडाध्यक्ष जित्दा प्रमुखमा एमाले २०५ ले अगाडि

    बुढीगंगा अपडेट: दुई वडाध्यक्ष जित्दा प्रमुखमा एमाले २०५ ले अगाडि

    कैलाली । बाजुराको बुढीगंगामा एमालेले वडा नम्बर १ र १० जितेको छ । यहाँ १० वडा छन् । ती मध्ये दुई जितेको एमालेले प्रमुखमा पनि अग्रता बनाइरहेको हो ।

    एमाले उम्मेदवारले प्रमुखमा १०२० मत पाउँदा कांग्रेस उम्मेदवारले प्रमुखमा ८१५ मत पाएका छन् । यहाँ २०५ को अग्रता देखिएको छ । त्यस्तै उपप्रमुखमा एमाले उम्मेदवारले ९८७ मत पाउँदा कांग्रेस उम्मेदवारले ८४३ मत पाएकी छन् । यहाँ १४४ को मतान्तर छ।

    यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्।

    यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।

    अहिले सम्म १ हजार ९४० मत गणना सकिएको छ । वडा नम्बर १० र १ को नतिजा पछि अहिले २ र ८ को मतगणना सुरु गरिएको छ ।

  • बुढीगंगा निर्वाचन : वैशाख ३० मा ९९ प्रतिशत खसेको बुथमा अहिले ७० प्रतिशत मतदान

    बुढीगंगा निर्वाचन : वैशाख ३० मा ९९ प्रतिशत खसेको बुथमा अहिले ७० प्रतिशत मतदान

    कैलाली । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बाजुराको बुढिगंगा नगरपालिका–४ स्थित थुमा मावि मतदान स्थलमा एक हजार ७ सय ९ मतदाता सङ्ख्या रहेकोमा एक हजार ६ सय ९९ मत खसेकाे थियाे । यो मत प्रतिशत ९९ दशमलव ४१ हो । तर, बिहीबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एक हजार ७ सय ९ मतदाता सङ्ख्या मध्ये १ हजार १९९ जनाले मतदान गरेका छन् । यो करिब ७० प्रतिशत हो ।

    वैशाख ३० मा नेपाली कांग्रेसले नियन्त्रणमा लिएको भनिएको यो मतदान स्थल सम्भबत नेपालमै सबैभन्दा बढी मत खसेको हो । थुमा मावि मतदान स्थलमा दुई वटा मतदान केन्द्र रहेका थिए ।

    नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार रङ्गबहादुर खातीको मतदान स्थल पनि यही हो । तर अहिले औसत रूपमा अन्यमा र यसका उस्तै रहेको छ । यस पटक उपस्वास्थ्य चौकी बड्तोला क मतदान केन्द्रमा सबै भन्दा धेरै मत खसेको छ । यहाँ ७ सय मतदातामध्ये ६ सय ८३ जनाले मतदान गरे । यो करिब ८१ प्रतिशत हो ।

    समग्रमा बुढिगंगामा ६६ दशमलव ८३ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठयताले जानकारी दिए । उनले समग्रमा शान्तिपूर्ण रूपमा मतदान भएको दाबी गरे । उनका अनुसार आजैबाट मतगणना हुने छ ।

    ‘सबै मतपेटिका आइसकेको छ । सर्वदलीय बैठक बसेपछि आजैबाट मतगणना हुन्छ’ उनले नेपाल प्रेसलाई भने । वडा नम्बर ५मा रहेको भानुदय माविमा मतगणना हुने उनले जानकारी दिए ।

    अघिल्लो पटक विवाद भएपछि निर्वाचन आयोगले  बिहीबारका लागि पुन मतदान गर्ने निर्णय गरेको थियो । यहाँ एमालेबाट प्रमुखमा रामवहादुर बानिया र उपप्रमुखमा मायाकुमारी खड्का चुनावी मैदानमा छन् ।

    गठबन्धनबाट रङ्गबहादुर खाती प्रमुखमा र रिता शाही उपप्रमुखका उम्मेदवार हुन् । ९ पालिका रहेको बाजुरामा यस अघि ५ पालिकामा एमाले र ३ मा कांग्रेसले जितिसकेको छ ।

  • विराटनगर महानगरको कार्यपालिका निर्वाचन- गठबन्धनभित्र अन्तरघात, एमाले र स्वतन्त्रलाई लाभ

    विराटनगर महानगरको कार्यपालिका निर्वाचन- गठबन्धनभित्र अन्तरघात, एमाले र स्वतन्त्रलाई लाभ

    विराटनगर । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा कांग्रेस, जसपा र राप्रपाको गठबन्धनमा अन्तरघात देखिएको छ ।

    आज सम्पन्न निर्वाचनमा अल्पमत रहेका नेकपा एमाले र स्वतन्त्र उम्मेदवार विजयी भएपछि अन्तरघात देखिएको हो ।

    स्थानीय तहको निर्वाचनमा नगरसभामा कांग्रेसका मेयरसहित ४० जना, एमालेका उपमेयरसहित ४३ जना, जसपाका १० जना, स्वतन्त्रबाट ३ जना र राप्रपाका १ जना निर्वाचित भएका थिए ।

    कार्यपालिका निर्वाचनमा सत्तारुढ गठबन्धनमा कांग्रेस, जसपा र राप्रपाले तालमेल गरेका थिए । जसअनुसार नगरसभामा उनीहरुको ५१ मतभार कायम भएको थियो । विपक्षमा रहेका एमाले र स्वतन्त्रको गरी ४६ मतभार मात्रै थियो ।

    निर्वाचनमा भने उल्टो नतिजा आएको छ । घोषित मतपरिणाम अनुसार अल्पसंख्यकमा एमालेका दिपक कर्ण ५२, स्वतन्त्र ओमप्रकाश साह ५५ र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छ्न् । गठबन्धनका उम्मेदवार पराजित भएका छन् ।

  • स्थानीय चुनावमा मधेस : फैलिए कांग्रेस-एमाले, खुम्चिए माओवादी-मधेसवादी (सिटसहित)

    स्थानीय चुनावमा मधेस : फैलिए कांग्रेस-एमाले, खुम्चिए माओवादी-मधेसवादी (सिटसहित)

    काठमाडौं । नेपालका राजनीतिक दलहरू हरेक निर्वाचनमा मधेसको जनमतलाई सबैभन्दा बढी चासोका साथ हेर्ने गर्दछन् । मधेसको जनमतमा आफ्नो प्रभुत्व जमाउन सके देशको नेतृत्व आफू सापेक्ष पार्न सकिने दलहरूको भित्री ‘स्वार्थ’ हुन्छ । यही स्वार्थबाट प्रेरित भएर उनीहरू चुनावमा मधेस ‘फोकस’ हुन्छन् ।

    मधेसको जनमत दलहरूका लागि यति महत्वपूर्ण हुन पछाडि विविध कारण छन् । ती कारणहरूमध्ये पहिलो कारण- जनसंख्या र त्यसको अनुपातसँगका निर्वाचन क्षेत्र हुन् ।

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरेको मतदाता संख्याअनुसार यहाँ ३३ लाख ३१ हजार १७० मतदाता थिए । जुन वागमती प्रदेश र १ नम्बर प्रदेशपछि तेस्रो ठूलो संख्या हो ।

    वागमती प्रदेशका १३ जिल्लामा ११९ स्थानीय तह छन् भने, १ नम्बर प्रदेशका १४ जिल्लामा १३७ स्थानीय तह छन् । यसरी हेर्दा ८ जिल्ला मात्रै रहेको मधेस प्रदेशमा १३६ स्थानीय तह छन् । जसकारण मधेस प्रदेश मतदाताको घनत्व र राजनीतिक एकाईका हिसाबले दलहरूका लागि निकै महत्वपूर्ण छ ।

    यसबाहेक दोस्रो कारण भनेको राष्ट्रिय राजनीतिका प्रमुख प्रतिस्पर्धी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेलाई शक्तिको आकार निर्धारण गर्नका लागि पनि मधेस प्रदेश महत्वपूर्ण मानिदै आएको छ ।

    कांग्रेसका लागि मधेस प्रदेश हरेक निर्वाचनका लागि आधार क्षेत्र बन्दै आएको छ । जहाँ कांग्रेस जति बढी जित्छ, त्यसले राष्ट्रिय स्तरमा ठूलो दलको आकार ग्रहण गर्न सघाउ पुग्छ भने, मधेसमा कांग्रेस कमजोर बन्दा एमालेलाई फाइदा पुग्छ । यही कारण मधेसको जनमत दुवै पार्टीका लागि प्रतिष्ठाको विषय बन्ने गरेको छ ।

    उनीहरूबाहेक मधेसको जनमत अझै ठूलो प्रतिष्ठाको विषय मधेसवादी दलहरूका लागि हुँदैआएको छ । मधेस मुद्दामै केन्द्रित भइ राजनीति गरिरहेका मधेसवादी दलहरूको जित्ने आधार पनि यही प्रदेशमा निर्भर छ । यही भूगोलबाट जितेर उनीहरूले राष्ट्रिय राजनीतिको समीकरणमा समेत निर्णायक भूमिका निर्वाह गर्दै आएका छन् ।

    यी कारणहरूले निर्वाचन नजिकिदाँ दलहरूले मधेसको जनमत प्रभावित गर्न व्यापक रस्साकस्सी तथा दौडधुप गर्छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अघि पनि यस्तै रस्साकस्सी चलेको थियो ।

    निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ । जसमा कांग्रेस र एमालेले लाभ उठाउदा नेकपा माओवादी केन्द्रले हानी व्यहोरेको छ । मधेसवादी दलहरूले समग्रतामा २०७४ को स्थानीय तह निर्वाचनको तुलनामा क्षती व्यहोर्दा जनता समाजवादी पार्टी (जसपा) ले भने मधेसवादी दलहरूमध्येमा आफ्नो वर्चश्व कायम गर्न सफल भएको छ ।

    कांग्रेस फेरि पहिलो

    २०७४ को स्थानीय तह निर्वाचनमा मधेस प्रदेशमा कांग्रेस पहिलो दल बनेको थियो । उतिबेला कांग्रेसले २६ नगरका मेयर, १४ गाउँपालिका अध्यक्ष गरी ४० तहको नेतृत्व जितेको थियो । जुन सबैभन्दा बढी थियो ।

    यसबाहेक २२ उपमेयर, १३ उपाध्यक्ष, ३३८ वडाध्यक्ष, ३२३ महिला सदस्य, ३२५ दलित महिला सदस्य र ६७६ खुला सदस्य गरी कुल १ हजार ७३७ पद जितेको थियो ।

    यसपटक देशभरी नै पहिलो भएको कांग्रेस मधेसमा पहिलो भएको त छ नै साबिकभन्दा सिट पनि धेरै जित्यो ।

    यसपटक २८ नगरपालिकाका मेयर र १८ गाउँपालिका अध्यक्ष गरी ४६ तहको नेतृत्व कांग्रेसले जितेको छ । जुन विगतभन्दा ६ तह बढी हो । कांग्रेसबाटै बागी उठेका उम्मेदवारले २ तहमा मेयर जितेका छन् ।

    यस्तै ३१ उपमेयर, २५ गाउँपालिका उपाध्यक्ष, ४१८ वडाध्यक्ष, ४०८ महिला सदस्य, ४१६ दलित महिला सदस्य, ८५२ खुला सदस्य सहित २ हजार १९६ पद कांग्रेसले जितेको छ । जुन अघिल्लो निर्वाचनको तुलनमा ४५९ पद बढी हो ।

    यसरी कांग्रेसले मधेस प्रदेशमा आफ्नो आधार मजबुत सावित गरेको छ ।

    मधेसमा एमालेको पुनर्जीवन

    संविधान जारीभएपश्चात असन्तुष्ट बनेको मधेसले सबैभन्दा बढी आक्रमण एमालेमाथि नै गरेको थियो । त्यही कारण २०७४ को स्थानीय तह निर्वाचनमा देशभर पहिलो बनेको एमाले मधेसमा नेतृत्व जितका हिसाबमा पाँचौ दल बनेर थन्किएको थियो ।

    जहाँ पहिलोमा कांग्रेस ४० तह, दोस्रोमा तत्कालीन संघीय समाजवादी फोरम २६ तह, तेस्रोमा तत्कालीन राष्ट्रिय जनता पार्टी २५ तह, चौथोमा माओवादी केन्द्र २१ तह र एमाले १८ तहमा जितेर पाँचौमा थियो ।

    सम्पूर्ण पदको संख्यामा भने एमाले कांग्रेसपछि दोस्रो ठूलो दल नै बनेको थियो । उसले १२ नगरपालिकाको मेयर, ६ गाउँपालिका अध्यक्ष, १४ नगरपालिकाको उपमेयर, ५ गाउँपालिका उपाध्यक्ष २३० वडाध्यक्ष, २५२ महिला सदस्य, २४७ दलित महिला सदस्य ४८५ खुला सदस्य गरी १ हजार २५१ पद जितेको थियो ।

    यसपटक विभाजनकै अवस्थामा पनि एमालेले आफ्नो स्तर मधेसमा सुधार गरेको छ । नेतृत्व र कुद पदसंख्या दुवैमा एमालेले यसपटक आफूलाई कांग्रेसपछि दोस्रो स्थानमा पुर्‍याएको छ ।

    यसपटक एमालेले १९ नगरपालिकाको मेयर, ११ गाउँपालिको अध्यक्षगरी ३० तहको नेतृत्व जितेको छ भने, २० उपमेयर, ७ उपाध्यक्ष, २७४ वडाध्यक्ष, २८६ महिला सदस्य २८१ दलित महिला सदस्य, ५७० खुला सदस्य गरी १ हजार ४६८ पद जितेको छ ।

    एमालेलाई सत्तारूढ गठबन्धनका दलहरू अलग-अलग लड्दा पनि मधेसमा फाइदा भएको छ । कांग्रेस र जसपासँग तालमेलको सम्भावना नरहेपछि मधेस प्रदेशका एकाध तहबाहेक सबैजसो ठाउँमा सत्तारूढ दल एक्लाएक्लै लडेका थिए ।

    माओवादी केन्द्रलाई ठूलै हानी

    मधेस प्रदेशमा राष्ट्रिय राजनीतिमा स्थापित दलहरूमध्ये मधेसमा माओवादी एमालेभन्दा बढी प्रभावशाली थियो । तर, उसको त्यो साख यसपालि भने खस्किएको छ ।

    अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले १३ नगरको मेयर, ८ गाउँपालिका अध्यक्षगरी २१ तहको नेतृत्व जितेको थियो । जुन एमालेभन्दा बढी थियो ।

    समग्रमा अघिल्लो पटक १८ नगरको उपमेयर, ६ गाउँपालिका उपाध्यक्ष, २३१ वडाध्यक्ष, २१७ महिला सदस्य, २१२ दलित महिला सदस्य र ४२३ खुला सदस्य गरी कुल १ हजार १२८ पद माओवादी केन्द्रले जितेको थियो ।

    यसपटक माओवादी केन्द्रलाई स्थानीय तहको नेतृत्व र कुल संख्या दुबैमा ठूलै हानी पुगेको छ । यसपटक ७ नगरको मेयर जित्दा २ गाउँपालिका अध्यक्ष गरी जम्म ९ तहको नेतृत्व मात्रै जितेको छ । जुन अघिल्लो पटकको तुलनामा १२ तह कम हो ।

    यस्तै ५ उपमेयर, ४ उपाध्यक्ष, १३९ वडाध्यक्ष, १४० महिला सदस्य, १३४ दलित महिला सदस्य र २४९ खुला सदस्यगरी यसपटक कुल ६८० पदमात्रै माओवादी केन्द्रले जितेको छ ।

    अन्य प्रदेशमा माओवादी केन्द्रलाई गठबन्धन फाँप्दा यहाँ एकल प्रतिस्पर्धा उसलाई निकै भारी परेको छ ।

    जसपालाई फाइदा हुँदा बाँकी मधेसवादी ‘निरीह’

    अघिल्लो पटक मधेस प्रदेशका ५६ स्थानीय तहको नेतृत्वमा जित निकालेका मधेसवादी दलहरूले यसपटक जम्मा ४२ तहमा सिमित भएका छन् । यसमा सबैभन्दा बढी नोक्सानी २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी नाममा रहेको हालको लोकतान्त्रिक समाजवादी पार्टीलाई भयो ।

    उतिबेला राजपाले १४ नगरको मेयर र ११ गाउँपालिका अध्यक्ष गरी २५ तहको नेतृत्व जितेको थियो । यसबाहेक १७ उपमेयर, १३ उपाध्यक्ष, १९४ वडाध्यक्ष, २११ महिला सदस्य, २१४ दलित महिला सदस्य, ४३७ खुला सदस्य गरी कुल १ हजार १११ पद जितेको थियो । जुन नेतृत्व जीतका हिसाबले तेस्रो र पदसंख्याका हिसाबले चौथो ठूलो दल थियो ।

    उसलाई यसपटक तत्कालीन संघीय समाजवादी फोरमसँगको जुट र पछिको फूट निकै महंगो देखिएको छ । दुबै पार्टी जुटेर जसपा बनाए । जसपामा एक ठाउँमा बस्न नसक्ने स्थिती भएपछि तत्कालीन राजपामा भएका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतोहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए । तर नयाँ पार्टी बनाउँदा अधिकांश कार्यकर्ता जसपामै रहे ।

    अहिले लोसपाले ७ नगरपालिकाको मेयर र ७ गाउँपालिका अध्यक्ष गरी जम्मा १४ तहको नेतृत्व मात्रै जितेको छ । यस्तै ५ उपमेयर, ५ उपाध्यक्ष, ८७ वडाध्यक्ष, ९८ महिला सदस्य, ९४ दलित महिला सदस्य र १८० खुुला सदस्य गरी कुल ४८३ पदमात्रै जितेको छ ।

    यसरी २०७४ को मधेसको शक्तिशाली दल अहिलेको निर्वाचनमा निकै निरीह अस्तित्व भएको दलमा परिणत भएको छ ।

    यसरी लोसपा निरीह बन्दा उता जसपाले भने आफूलाई अघिल्लो निर्वाचन भन्दा बढी पद जितेर मधेसवादी दलहरूमा बलशाली दलमा स्थापित गरेको छ ।

    अघिल्लो पटक संघीय समाजवादी फोरमको नामले लडेको उक्त पार्टीले १० नगरपालिकाको मेयर र १६ गाउँपालिकाको उपाध्यक्ष गरी २६ तहको नेतृत्व जितेको थियो । यसबाहेक ५ उपमेयर २० उपमेयर, १९१ वडाध्यक्ष, २०९ महिला सदस्य, २०५ दलित महिला सदस्य र ४०१ खुला सदस्य गरी १ हजार ५७ पद जितेको थियो ।

    यसपटक जसपाका नामले लडेको यो पार्टीले ८ मेयर, १७ गाउँपालिका अध्यक्ष गरी २५ तह जितेर मधेसमा माओवादी केन्द्रभन्दा ठूलो दल भइ तेस्रो स्थान कायम गरेको छ । यसबाहेक १० उपमेयर, १६ उपाध्यक्ष, २२६ वडाध्यक्ष, २३३ महिला सदस्य, २३० दलित महिला सदस्य र ४६७ खुला सदस्य गरी १ हजार २०७ पद जितेको छ । जुन अघिल्लो पटकभन्दा १५० पद बढी हो ।

    अन्य मधेसवादी दलहरू पनि यसपटक सोचेअनुसार नतिजा ल्याउन सकेनन् । पृथकतावादी आन्दोलनबाट आएका सिके राउतको पार्टी २ तहको नेतृत्वमा सीमित रहँदा उसले एक मेयर, १ गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १३ वडाध्यक्ष, १२ महिला सदस्य, १२ दलित महिला सदस्य, २२ खुला सदस्य गरी ६२ पद जित्यो । अन्य मधेसवादी दलको उल्लेख्य स्थान देखिएन् ।

    नेकपा एसको बचेको साख

    देशभर कमजोर प्रदर्शन गरेको एमाले विभाजनबाट जन्मिएको नेकपा एकीकृतच समाजवादीको भने मधेसमा आंशिक उपस्थिती देखिएको छ । उले यहाँ ६ तहको नेतृत्व जितेको छ । जसमा ५ नगरपालिका र एक गाउँपालिका छन् ।

    यस्तै ५ उपमेयर पनि जित्दा, ८० वडाध्यक्ष, ७५ महिला सदस्य, ७८ दलित महिला सदस्य, १५७ खुला सदस्य गरी ४०१ पद उसले जितेको छ ।

  • पोखरा महानगरको वडाध्यक्षमा ३ मतले हारेका थापाले हाले मुद्दा

    पोखरा महानगरको वडाध्यक्षमा ३ मतले हारेका थापाले हाले मुद्दा

    पोखरा । पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेका एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।

    उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजीको मागसहित निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन् ।

    यो वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो ।

    गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाको आरोप छ ।

    थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुन: गणनाको मागसहित निवेदन दिएका थिए । तर, पुनः गणना हुन सकेन ।

    `हारजित स्वाभाविक हो । लोकतन्त्रमा निर्णय मान्नुपर्छ,´ उनले भने, `तर खसेको मत त देखाउनुपर्‍यो नि । खसेको ९ मतको जवाफ चाहियो ।
    उनले सत्यतथ्य छानबिन गरेर पुनः मतगणनाको माग राखेका छन् ।

  • रामेछापको चुनावी गणित- सिट र मतमा कुन दल बलियो ?

    रामेछापको चुनावी गणित- सिट र मतमा कुन दल बलियो ?

    मन्थली । जिल्लाका ७ स्थानीय तहका ६४ वडामा प्राप्त मत र निर्वाचित जनप्रतिनिधिहरूको संख्याका आधारमा नेकपा एमाले रामेछापको सबैभन्दा ठूलो दल बनेको छ ।

    त्यस्तै नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रोमा रहँदा नेकपा एस र राप्रपाको मत लगभग बराबरी देखिएको छ । जिल्लाका विभिन्न पालिकामा कांग्रेस-माओवादी र माओवादी-नेकपा एसबीच गठबन्धन भएकाले वडाको मतलाई दलले प्राप्त गरेको मत आधार बनाउँदा एमाले पहिलो दल बनेको हो ।

    जिल्लामा एमालेबाहेक सबै दल कुनै न कुनै गठबन्धनबाट चुनाव लडेका थिए । माओवादी केन्द्रले खाँडादेवी र दोरम्बा शैलुङमा नेपाली कांग्रेससँग घोषित गठबन्धन गरेको थियो भने लिखु र गोकुगंगा गाउँपालिकामा अघोषित गठबन्धन गरेको थियो ।

    त्यस्तै उमाकुण्डमा राप्रपालाई अध्यक्ष दिएर उपाध्यक्षमा उम्मेदवारी दिएको माओवादी केन्द्रले सुनापती र मन्थली तथा रामेछाप नगरपालिकामा नेकपा एससँग गठबन्धन गरेको थियो ।

    लिखु गाउँपालिकामा नेकपा एससँग गठबन्धन गरेपनि अन्तिम समयमा एमालेलाई हराउन सो पार्टीले अध्यक्षमा कांग्रेसलाई मत दिएको थियो भने गोकुलगंगामा पनि नेकपा एसलाई अध्यक्ष छाडेको माओवादीले अन्तिममा कांग्रेसलाई अध्यक्षमा मत दिएको थियो ।

    कांग्रेसले खाँडादेवीमा अध्यक्ष लिएर माओवादीलाई उपाध्यक्ष दिए पनि जित निकाल्न सकेको थिएन भने दोरम्बा शैलुङमा माओवादीलाई अध्यक्ष दिएर उपाध्यक्ष जितेको कांग्रेस अन्य पालिकामा एकल प्रतिस्पर्धामा गएको थियो ।

    जिल्लाका ६४ वडामा सम्बन्धित पार्टीका वडाध्यक्षहरूले पाएको मत जोड्दा ३८ हजार ८६० मत ल्याएर एमाले पहिलो पार्टी भएको हो ।

    कांग्रेस ३८ हजार ७४३ मतका साथ दोस्रो भएको छ भने नेकपा माओवादी केन्द्रले २७ हजार ८२९ मत ल्याई तेस्रो भएको छ ।

    नेकपा एसले १ हजार ५६४ मत ल्याएर चौथो स्थान ओगटेको छ भने राप्रपाले १ हजार ५८ मत ल्याएर पाँचौ भएको छ । रामेछापमा मंगोल नेशनल अर्गनाइजेसनले २४०, जनता समाजवादी पार्टी नेपालले ८८, नेकपा मालेले ३०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १०, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ४ र स्वतन्त्र उम्मेदवारले ६५१ पाएका छन् ।

    कसको कति सिट ?

    घोषित परिणामअनुसार एमालेले तीन पालिका प्रमुख, तीन उपप्रमुखसहित २४ वडाध्यक्ष जितेर जिल्लाको ठूलो पार्टी बनेको छ । कांग्रेसले पनि तीनवटा प्रमुख र चार उपप्रमुखसहित २४ वडाध्यक्ष जितेर दोस्रो पार्टी बनेको छ ।

    माओवादी केन्द्रले दुई पालिका प्रमुख र एक उपप्रमुखसहित १५ वटा वडा जितेर तेस्रो पार्टी बनेको छ । नेकपा एकीकृत समाजवादीले भने एउटा वडाध्यक्षमात्र जितेको छ ।

    यो पनि पढ्नुस् : तीन पालिकासहित २५ वटा वडा जितेर एमाले बन्यो रामेछापको ठूलो दल, कांग्रेस दोस्रो (सूचीसहित)

  • स्थानीय चुनावको मैझारो: ३५,०४५ पदमा कुन दललाई कति ? (विवरणसहित)

    स्थानीय चुनावको मैझारो: ३५,०४५ पदमा कुन दललाई कति ? (विवरणसहित)

    काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम नतिजा लगभग आइसकेको छ । देशभरका ७५३ स्थानीय तहमध्ये एक नगरपालिकाबाहेक सबैको अन्तिम नतिजा आइसकेको छ ।

    बाँकी रहेको बाजुराको बूढीगंगामा मत गणना नै सुरू भएको छैन । यसरी देशभरका ६ हजार ७४३ वडामध्ये ६ हजार ७३३ वडाको अन्तिम नतिजा आएको छ ।

    अहिलेसम्म आएको नतिजाअनुसार देशभरबाट कुल ३५ हजार ४५ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा २४ वटा पार्टीले विभिन्न पदहरूमा खाता खोलेको देखिएको छ ।

    जसमा सबैभन्दा बढी नेपाली कांग्रेसले १३ हजार ७५८ पद जितेको छ । १४१ मेयर, १८८ गाउँपालिका अध्यक्ष, ११० उपमेयर, १९० गाउँपालिका उपाध्यक्ष कांग्रेसले जितेको छ । यस्तै २ हजार ६६५ वडाध्यक्ष, २ हजार ६०६ महिला सदस्य, २ हजार ५५१ दलित महिला सदस्य, ५ हजार ३०७ खुला सदस्य कांंग्रेसले जितेको छ ।

    त्यसपछि ११ हजार ८९३ पद जिते नेकपा एमाले दोस्रो भएको छ । जसमा ८२ मेयर, १२३ गाउँपालिका अध्यक्ष, ११४ उपमेयर, १२६ गाउँपालिका उपाध्यक्ष, २ हजार १३० वडाध्यक्ष, २ हजार ३४५ महिला सदस्य, २ हजार २८८ दलित महिला सदस्य, ४ हजार ६८५ खुला सदस्य एमालेले जितेको छ ।

    नेकपा माओवादी केन्द्रले ५ हजार ४५ पद जितेर तेस्रो भएको छ । जसमा २५ मेयर, ९६ गाउँपालिका अध्यक्ष, ३३ उपमेयर, ९५ गाउँपालिका उपाध्यक्ष जितेको छ । यस्तै १ हजार ५३ वडाध्यक्ष, ९६३ महिला सदस्य, ९७३ दलित महिला सदस्य, १ हजार ८०७ खुला सदस्य माओवादी केन्द्रले जितेको छ ।

    यस्तै जनता समाजवादी पार्टी कुल १ हजार ५४८ पद जितेर चौथो भएको छ । जसमा ९ मेयर, २१ गाउँपालिका अध्यक्ष, १२ उपमेयर, १९ गाउँपालिका उपाध्यक्ष, २९५ वडाध्यक्ष, २९९ महिला सदस्य, २९६ दलित महिला सदस्य, ५९७ खुला सदस्य जितेको छ ।

    यस्तै नेकपा एकीकृत समाजवादी पाँचौ ठूलो दल भएको छ । जसले कुल ९८७ पदमा विजयी हासिल गरेको छ । जसमा १२ मेयर, ८ गाउँपालिका अध्यक्ष, ११ उपमेयर, १२ गाउँपालिका उपाध्यक्ष, १९० वडाध्यक्ष, १८४ महिला सदस्य, १८० दलित महिला सदस्य, ३९० खुला सदस्य नेकपा एसले जितेको छ ।

    यस्तै लोकतान्त्रिक समाजवाादी पार्टीले ५८१ पदसहित छैटौं स्थान हासिल गरेको छ । जसमा ७ मेयर, ९ गाउँपालिका अध्यक्ष, ५ उपमेयर, ७ गाउँपालिका उपाध्यक्ष, १०३ वडाध्यक्ष, ११८ महिला सदस्य, ११३ दलित महिला सदस्य, २१९ खुला सदस्य लोसपाले जितेको छ ।

    राजेन्द्र लिङ्देनको नेतृत्वमा हौसिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने हल्लाखल्ला भएजस्तो स्थान हासिल गरेको देखिएको छैन । उसले ३०५ पद हासिल गरेर सातौं स्थानमा चित्त बुझाएको छ ।

    जसमा ३ मेयर, १ गाउँपालिका अध्यक्ष, २ उपमेयर, २ गाउँपालिका उपाध्यक्ष, ६२ वडाध्यक्ष, ५४ महिला सदस्य, ५४ दलित महिला सदस्य र १२७ खुला सदस्य जितेको छ ।

    राष्ट्रिय जनमोर्चाले यसपटक १५९ पद जितेर आठौं स्थान हासिल गरेको छ । गण्डकी र लुम्बिनी प्रदेशबाट मात्रै उसले उक्त पद जितेको हो । जसमा मेयरमा २, गाउँपालिका अध्यक्षमा २, उपमेयरमा १ र गाउँपालिका उपाध्यक्षमा २ पद ठाउँमा जितेको छ ।

    यस्तै २६ वडाध्यक्ष, ३१ महिला सदस्य, ३३ दलित महिला सदस्य र ६२ खुला सदस्य पद राष्ट्रिय जनमोर्चाले जितेको छ ।

    त्यस्तै टीकापुर घटनामा दोषी देखिइ थुनामा रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पहिलो निर्वाचनमै नवौं स्थान हासिल गरेको छ । उसले कैलाली दुई नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व जित्दा समग्रमा ९९ पद जितेको छ । जसमा २ मेयर, २ गाउँपालिका अध्यक्ष, १ उपमेयर, २ गाउँपालिका उपाध्यक्ष, १४ वडाध्यक्ष, १९ महिला सदस्य, १८ दलित महिला सदस्य र ४१ खुला सदस्य पद जितेको छ ।

    पृथकतावादी धार छाडेर मूलधारको राजनीतिमा आएका सिके राउतको जनमत पार्टीले ९६ पद जित्दै दशौं स्थानमा देखिएको छ । उसले १ गाउँपालिका अध्यक्ष, १ मेयर, १ गाउँपालिका उपाध्यक्ष जितेको छ । यस्तै १९ वडाध्यक्ष, १९ महिला सदस्य, १८ दलित महिला सदस्य र ३७ खुला सदस्य सो पार्टीले जितेको छ ।
    यस्तै त्यसपछि नेपाल मजदुर किसान पार्टीले ८४ पद जित्दै ११ औं, हृदयेश त्रिपाठीको जनता प्रगतीशील पार्टीले २१ पद जित्दै १२ औं, तराई–मधेस लोकतान्त्रिक पार्टीले १२ पद जित्दै १३ औं स्थान बनाएका छन् ।

    यस्तै वैकल्पिक राजनीतिको नारा बोकेर आएका रवीन्द्र मिश्रको विवेकशील साझा पार्टी ११ पद जित्दै १४ औं स्थानमा थन्किएको छ । उसले एक गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष, २ वडाध्यक्ष, २ महिला सदस्य, एक दलित महिला सदस्य र ४ खुला सदस्य जितेको छ ।

    यस्तै देशैभर ३८५ जना स्वतन्त्रबाट निर्वाचित भएका छन् । जसमा ७ मेयर, ६ गाउँपालिका अध्यक्ष, २ उपमेयर, २ गाउँपालिका उपाध्यक्ष, १३७ वडाध्यक्ष, ५८ महिला सदस्य, ५५ दलित महिला सदस्य, ११९ खुला सदस्य छन् ।

    देशैभर कुन दलले कति जिते ?

    प्रदेशअनुसार नतिजा विवरण

    प्रदेश नम्बर १
    महानगर १, उपमहानगर २, नगरपालिका, गाउँपालिका ८८
    वडा संख्या– ११५७

    मधेस प्रदेश
    महानगरपालिका १, उपमहानगरपालिका ३, नगरपालिका ७३, गाउँपालिका ५९
    वडा संख्या– १२७१

    बागमती प्रदेश

    ३ वटा महानगरपालिका, १ उपमहानगरपालिका, ४१ वटा नगरपालिका, ७४ गाउँपालिका गरी ११९ स्थानीय तह

    वडा संख्या– ११२१

    गण्डकी प्रदेश
    १ महानगरपालिका, २६ नगरपालिका, ५८ गाउँपालिका
    वडा संख्या– ७५९

    लुम्बिनी प्रदेश
    उपमहानगरपालिका ४, नगरपालिका ३२, गाउँपालिका ७३
    वडा संख्या– ९८३

    कर्णाली प्रदेश
    नगरपालिका २५, गाउँपालिका ५४
    वडा संख्या– ७१८

    सुदूरपश्चिम प्रदेश 
    उपमहानगर १, नगरपालिका ३३(एकमा बाँकी), गाउँपालिका ५४
    वडा संख्या ७३४ (१० वडाको बाँकी)

  • बुढीगंगामा पुन: मतदानको निर्णय छानबिन समितिको सुझावविपरीत (पूर्णपाठ)

    बुढीगंगामा पुन: मतदानको निर्णय छानबिन समितिको सुझावविपरीत (पूर्णपाठ)

    कैलाली । निर्वाचन आयोगले छानबिन समितिले दिएको सुझावविपरीत बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने निर्णय गरेको खुलेको छ ।

    वैशाख ३० गते मतदानको क्रममा विवाद भएपछि त्यहाँ मतगणना हुन सकेको थिएन । निर्वाचन आयोगले निर्वाचन आयुक्त सगुन शमशेर जबराको नेतृत्वमा छानबिन समिति बनाएर स्थलगत अनुगमनका लागि पठाएको थियो ।

    समितिले प्रतिवेदन बुझाएलगत्तै निर्वाचन आयोगले पुन: मतदानको निर्णय गरेको थियो । तर, उक्त प्रतिवेदनमा मतगणना यथाशीघ्र सुरू गर्न सिफारिस गरिएको थियो ।

    प्रतिवेदनको ११ नम्बर पृष्ठमा समितिको सिफारिस उल्लेख छ । त्यसको बुँदा नम्बर १ मा भनिएको छ ‘नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवारले पेस गर्नु भएको निवेदन अनुसार वडा नम्बर २, ३, ५ र ९ को निर्वाचन रद्द गरी पुनः निर्वाचन गर्न कानुनी आधार नदेखिएको हुँदा उक्त नगरपालिकाको सबै वडाको मतगणना कार्य यथाशीघ्र सुरू गर्न उपयुक्त देखिन्छ ।’

    समितिले सबै वडामा मतगणना गर्न सुझाव दिएपनि आयोगले पुन: मतदानको निर्णय गरेको हो ।

    बुँदा नम्बर २ मा निर्वाचन रद्द गरी पुन: निर्वाचन कार्यक्रम घोषणा गर्ने जिल्ला सुरक्षा समितिको बैठकमा निर्णय गरेर मुख्य निर्वाचन अधिकृतलाई पठाउने विषय पनि समितिले गलत ठहर गरेको छ ।

    यता निर्वाचन आयोगले भने समितिको सुझाव हुबहु कार्यान्वयन नहुन पनि सक्ने बताए । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले अन्य संयन्त्रबाट पनि बुझिरहेको बताउँदै समितिको प्रतिवेदनै अन्तिम नभएको जनाए ।

    ‘निर्वाचन आयोगले एउटा समिति गठन गरेको हो बुझ्नको लागि । अरू पनि पर्न सक्नु हुन्थ्यो होला आयुक्त नै पर्नुभयो । प्रतिवेदन दिनुस् भनियो । आयुक्त ज्यूको संयोजकत्वमा भएको समितिले प्रतिदेन दियो । सिफारिस गर्‍यो । यो कुरा आयोगलाई उपयुक्त लाग्न पनि सक्छ नलाग्न पनि सक्छ’ उनले भने ‘आयोगले अन्य ढंगबाट पनि बुझेको हुन्छ । आयोगमा त्यत्रा संयन्त्र छन् । उसले पनि बुझेको हुन्छ ।’

    यस्तो छ- छानबिन समितिको प्रतिवेदन-

  • महान्यायाधिवक्तालाई स्पष्टीकरण माग्न आयोगको सिफारिस, दाजुलाई मेयर जिताउन पदको दुरुपयोग गरेको निष्कर्ष

    महान्यायाधिवक्तालाई स्पष्टीकरण माग्न आयोगको सिफारिस, दाजुलाई मेयर जिताउन पदको दुरुपयोग गरेको निष्कर्ष

    काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा पदीय दायित्वभन्दा बाहिर गएर हस्तक्षेप गरेको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ ।

    आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा बुढीगंगाका निर्वाचन अधिकृतलाई बारम्बार फोन गरेर अनावश्यक दबाब दिएको उल्लेख छ ।

    आयोगको सो समितिले निर्वाचनको काममा हस्तक्षेप गरी पदीय मर्यादाविपरितको कार्य गरेको पाइएकाले महान्यायाधिवक्तालाई स्पष्टीकरण माग गर्न सुझाव समेत दिएको छ ।

    बुढीगंगामा पुन: मतदान गर्न निर्वाचन आयोगले निर्णय गरेको छ । यद्यपि आयोगको आफ्नै छानबिन समितिको निष्कर्षविपरित निर्णय भएको भन्दै एमालेले अदालतमा मुद्दा दायर गरेको छ ।

    बुढीगंगाको मेयरमा नेपाली कांग्रेसबाट महान्यायाधिवक्ता खातीका दाजु रंगबहादुर खाती उम्मेदवार छन् । दाजुलाई मेयर जिताउन भाइले महान्यायाधिवक्ताको पदीय मर्यादाविपरीत सरकारी अधिकारीलाई दबाब दिएको आयोगको ठहर छ ।

  • स्थानीय तह निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?

    स्थानीय तह निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?

    काठमाडौं । स्थानीय तह निर्वाचन सकिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ ।

    नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामका आधारमा जनतामा खास गरी राष्ट्रिय राजनीतिक दलको वर्तमान अवस्थाको मूल्याङ्कन भइरहेको छ ।

    करिब वर्ष दिनअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धनको सरकार स्थानीय तहको निर्वाचनमा पनि सहकार्यका साथ गएको तथा संसद्को ठूलो दल नेकपा (एमाले)ले एक्लै निर्वाचन जित्ने जिकिरका बीच सम्पन्न निर्वाचन परिणाम बढी चर्चित बन्यो ।

    साथै नेपालको सङ्घीय र प्रादेशिक संसद्को समयावधि पनि आगामी मङ्सिरसम्म रहेको र अबको बढीमा सात महिनामा संसद्कै निर्वाचन हुने भएकाले पनि स्थानीय तह निर्वाचनको प्राप्त मत परिणामले जोड घटाउको चर्चा चुलिएको हो ।

    राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट काठमाडौँ महानगरलगायत कतिपय ठूला नगरमा स्वतन्त्र उम्मेदवारको उदयले पनि यस निर्वाचनको परिणाम रोचक बनेको छ ।

    यस निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनको कामको मूल्याङ्कन गरी विशेषतः दुई मान्यता स्थापित गर्न खोजेको देखियो । मुलुकको राजधानी काठमाडौँमा अवस्थित नेपालको सबैभन्दा पुरानो र ठूलो काठमाडौँ महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र हैसियतका युवा बालेन्द्र साहलाई विजयी गराएका छन् ।

    यो मतदाताले स्थापित गर्न खोजेको युवा नेतृत्व मात्र नभएर देशका ठूला राजनीतिक दलले विगतका राम्रो नेतृत्व महानगरमा दिन नसकेका परिणामको नतिजा भएको विश्लेषण गरिएको छ तर काठमाडौँ महानगरसँगै जोडिएको ललितपुर महानगरपालिकामा भने मतदाताले अघिल्लो कार्यकालका तथा त्योभन्दा पनि ६५ वर्षका चिरिबाबु महर्जनलाई चुनेका छन् ।

    साथै राजधानी बाहिर हेर्दा धरान र धनगढी उपमहानगरपालिकामा पनि मतदाताले स्थापित दल बाहिरबाटै युवा नेतृत्वको चयन गरेका छन् । यसरी सम्पन्न स्थानीय निर्वाचनमा मतदाताले दलभन्दा पनि कामलाई प्राथमिकता दिएको सन्देशका रूपमा लिन सकिन्छ । हालसम्म प्राप्त मत परिणामअनुसार कांग्रेस पहिलो स्थानमा छ ।

    कांग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ । उक्त दलका तर्फबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

    एमालेबाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र) बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

    यसअघि २०७४ सालमा तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए ।

    गत वैशाखमा सम्पन्न निर्वाचनमा कांग्रेसबाट १४० प्रमुख, ११० उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, दुई हजार ६६१ वडाध्यक्ष, दुई हजार ६०० महिला सदस्य, दुई हजार ५४७ दलित महिला सदस्य र वडा सदस्य पाँच हजार ३०१ निर्वाचित भएका छन् ।

    एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य निर्वाचित भएका छन् ।

    कूल निर्वाचित जनप्रतिनिधिका आधारमा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीबाट नगर प्रमुखमा २५, उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्यमा ९७३ र वडा सदस्यमा एक हजार ८०६ जना निर्वाचित भएका छन् ।

    नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चार हजार ३४८ जना निर्वाचित भएको आयोगले जनाएको छ ।

    छ महानगरका प्रमुख र उपप्रमुख, ११ उपमहानगरका प्रमुख र उपप्रमुख, २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाका वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ वडा सदस्य गरी कूल ३५ हजार २२१ पदका लागि निर्वाचन भएको थियो । यस निर्वाचनमा करिब एक लाख ४५ हजार जनाको उम्मेदवारी परेको थियो ।

    अशोक घिमिरे /रासस

  • स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

    स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

    स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

    निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।

    निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

    काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भएका छन्।

    जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहसुडीले १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज राईले २० हजार ८२१, धनगढी उपमहानगरमा गोपाल हमालले २६ हजार ८६५ मतसहित प्रमुखमा विजयी भएका छन् ।

    स्वतन्त्र उम्मेदवार उपप्रमुख दुई र उपाध्यक्ष दुई निर्वाचित भएका हुन् । स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित भएका छन् । तीमध्ये १३३ पुरुष र तीन महिला छन् । महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित भएका छन् ।

  • तीन वर्ष अघि कार्यालय सहयोगी बनेका भट्टराई बने शेर्नाको वडाअध्यक्ष

    तीन वर्ष अघि कार्यालय सहयोगी बनेका भट्टराई बने शेर्नाको वडाअध्यक्ष

    काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नं. ५ शेर्नाका नेत्र भट्टराई ‘अनिल’ केही समय अघि वडा कार्यालयको कार्यालय सहयोगीका रूपमा रहेका थिए ।

    उनका बुवा लक्ष्मी भट्टराईले २५ वर्ष कार्यालय सहयोगी बनेर सेवा निवृत्त भएपछि उनले सो वडा कार्यालयको सहयोगीका रूपमा तीन वर्ष अघि काम गर्ने अवसर पाएका थिए ।

    एसएलसी पास गरेर प्लस टु उत्तीर्ण नहुँदै ५–६ वर्ष वैदेशिक रोजगारीमा केही देश डुलेका उनले गाउँफर्केपछि आफै यातायात व्यवसाय सुरु गरेका थिए ।

    आफ्नो बुबाले २०० रुपैयाँ तलब हुँदा काम गर्नु भएको र बुवाको वचन त्याग्न नसकेर तीन वर्ष अघि वडा कार्यालयको कार्यालय सहयोगी बनेर काम गरेको उनले बताए ।

    वडाबाट हुने हरेक सेवाबाट नागरिकलाई वञ्चित गर्नु हुँदैन भनेर उनले वडा सचिव र वडाअध्यक्ष समेत नहुँदा आफूले काम गरेर जनताको घरदैलोमा पुर्‍याएको उपहार स्वरूप यो वर्ष वडा अध्यक्ष बन्न सफल भए ।

    तीन महिना अघिसम्म उनलाई जो वडा अध्यक्ष आए पनि आफूले भने जनताको सेवा सँधैभरी विगतमा जस्तै गर्ने सोच आइ रहेको भए पनि एक्कासि वडाअध्यक्ष बन्नु पर्छ भन्ने सल्लाह आए पछि अब भने राजनीतिमा लाग्नु पर्छ भन्ने सोच आएको उनी बताउँछन् ।

    जब निर्वाचनको रौनक सुरु हुन थाल्यो तब सम्भावित उम्मेदवारको चर्चा पनि हुन थाल्यो । भट्टराई गाउँमा हुने राजनीतिक छलफलमा सामान्य रूपमा सहभागी पनि हुन थाले ।

    ‘त्यस बेलासम्म पनि उम्मेदवार बनौँ लागेको थिएन तर एक दिन वडाका एक ज्येष्ठ नागरिकले भनेको कुराले मन छोयो र उम्मेदवार बन्ने निर्णय गरेँ’ उनले भने ।

    उनी वडामा भएको राजनीतिक छलफलमै गएको बेला एक जना ज्येष्ठ नागरिकले तिमीजस्तो सहयोगी वडाध्यक्षको उम्मेदवार पाए त भोट हाल्थ्यौँ, तर अरूलाई के भेट हाल्नु ? भने पछि आफूमा जनताको सेवा गर्ने सोच आएको उनको भनाइ छ ।

    जुन कार्यालयमा उनी सहयोगी थिए, अहिले त्यही वडाको अध्यक्ष बने । उनलाई त्यहाँका जनताले मत दिएर कार्यालय सहयोगीबाट एकै पटक नेतृत्व गर्ने ठाउँमा पुर्‍याइदिएका छन् ।

    भट्टराई नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार पनि बने र जित निकाले । भट्टराई जस्तै दाङको राप्ती गाउँपालिका वडा नं. ८ का कार्यालय सहयोगी चन्द्रबहादुर गुरुङ पनि वडाध्यक्षमा निर्वाचित भएका छन् ।

  • उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै

    उदयपुरको त्रियुगामा कांग्रेसको अग्रता कायमै

    काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना जारी रहेको छ । नगरपालिकामा हाल सम्म २७ हजार १२७ मत गणना भएको छ ।

    यस अघि नेकपा एमालेले जितेको त्रियुगामा यो पटक भने कांग्रेसले अग्रता लिएको छ । हाल सम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसका वसन्त कुमार बस्नेत ९३८२ मतका साथ अगाडी रहेका छन् ।

    प्रमुख पदमा दोस्रो स्थानमा एमालेका भागवत राउत ७४३४ र नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ६८१२ मत पाएका छन् । उनी पार्टीका प्रदेश नं. १ का अध्यक्ष तथा पोलीटव्युरो सदस्य समेत रहेका छन् ।

    नगर उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार सरिता राई अग्र स्थानमा रहेकी छन् । उनले ८ हजार ४०३ मत पाएकी छन् । दोस्रो स्थानमा एमालेकी महेश्वरी राईले ८ हजार १९० मत पाएकी छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनमा उपप्रमुखको उम्मेदवार रहेकी गीता खड्का कार्कीले ५ हजार १८० मत पाएकी छन् ।

    नगरपालिकाको हाल सम्मको मत परिणाम अनुसार वडा नं. १ मा कांग्रेसका मनोज कुमार चौधरी, २ मा एमालेका घमान सिंह खत्री, ३ मा कांग्रेसका तिलक बहादुर कटुवाल विजयी भएका छन् ।

    त्यस्तै गरी वडा नं. ४ मा कांग्रेसकै बद्री बस्नेत, ५ मा उद्धवकुमार थापा, वडा नं. १३ मा कांग्रेसकै नवीन चौधरी विजय भएका छन् । वडा नं. १४ मा माओवादीका हिमराज मगर, १५ मा गणेश मगर र १६ मा माओवादी कै मानबहादुर राई विजयी भएका छन् ।

    नगरपालिकामा अब १३ हजार ४ मत गणना गर्न बाकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • रुपन्देही : पालिका प्रमुखमा दोहोरिने रहर – ११ जना मैदानमा आउँदा १ जना मात्रै सफल

    रुपन्देही : पालिका प्रमुखमा दोहोरिने रहर – ११ जना मैदानमा आउँदा १ जना मात्रै सफल

    रुपन्देही । रुपन्देहीका १६ स्थानीय तहमा अघिल्लो स्थानीय तहमा नेतृत्व लिएका ११ जना दोहोरिन खोजे पनि एक जना मात्रै विजयी भएका छन् ।

    रुपन्देहीका १६ वटा स्थानीय तहबाट ११ जना पालिका प्रमुख/अध्यक्षहरूले यस पटक पनि सोही पदमा उम्मेदवारी दिएका थिए । तर यसअघि निर्वाचित १० जना पालिका प्रमुखले निर्वाचनमा पराजित भएका छन् ।

    रुपन्देहीको मायादेवी गाउँपालिकाका ध्रुवनारायण चौधरी मात्रै यसरी दोहोरिएर विजयी हुने भाग्यमानी उम्मेदवार भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चौधरी दोस्रो पटक गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

    २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाटै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका चौधरी वैशाख ३० गते सम्पन्न निर्वाचनमा पनि सोही गाउँपालिकाबाट कांग्रेसबाटै अध्यक्षका उम्मेदवार बनेका थिए ।

    मायादेवीमा निर्वाचित चौधरीले ५ हजार ३ सय ८३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का उम्मेदवार रामअधारे यादवले ४ हजार ९ सय ८८ मत प्राप्त गरेका छन् ।

    त्यसो त कतिपय पालिका प्रमुखहरूले पार्टी नै परिवर्तन गरेर समेत सोही पदमा उम्मेदवारी दिए पनि विजयी हुन नसकेका हुन् ।

    त्यस्तै अघिल्लो निर्वाचनमा निर्वाचित भएको र यस पटक पनि सोही पार्टीबाट उम्मेदवार बनेका सैनामैना नगरपालिकाका चित्र बहादुर कार्की, देवदह नगरपालिकाका हिरा बहादुर केसी, सियारी गाउँपालिकाका अयोध्या थारु र शुद्धोधन गाउँपालिकाका किशुनचन्द्र चौधरी पनि यस पटक पराजित भएका छन् ।

    देवदहका हिराबहादुर केसी नेपाली कांग्रेसबाट र अयोध्या थारु र किशुनचन्द्र चौधरी जना एमालेबाट उम्मेदवार बनेका थिए ।

    २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपाल हाल (जसपा) बाट रोहिणी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका सनोज कुमार यादव पनि नेकपा एमाले प्रवेश गरी पुनः अध्यक्षको उम्मेदवार बनेका थिए । उनी पराजित भएका छन् । रोहिणीमा जसपाका विद्याप्रसाद यादव अध्यक्षमा निर्वाचित भएका छन् ।

    तत्कालीन संघीय समाजवादी फोरम नेपाल हाल जनता समाजवादी पार्टी (जसपा) बाट मर्चवारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका केशवनन्द बनियाले निर्वाचनको मुखमा जनता समाजवादी पार्टी (जसपा) विभाजन पछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका थिए ।

    यस पटकको निर्वाचनमा बनिया पराजित भएका छन् । मर्चवारीमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका गया प्रसाद बरई निर्वाचित भएका छन् । कांग्रेसबाट टिकट नपाएपछि बरई जनता प्रगतिशील पार्टीमा आबद्ध हुँदै उम्मेदवार भई अध्यक्षमा निर्वाचित भएका हुन् ।

    जसपाबाट निर्वाचित गैंडहवा गाउँपालिका बच्चुलाल केवट र कोटहीमाई गाउँपालिकाका चन्द्र भूषण यादव पनि दोस्रो पटकका लागि पराजित भएका छन् । गैडहवामा एमालेका सुरेन्द्र पौड्याल र कोटहीमाईमा लोसपाका चन्द्र भूषण त्रिपाठी निर्वाचित भएका छन् ।

    पार्टी फेरेर उम्मेदवार बने पनि विजयी हुन सकेनन्

    तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट सम्मरीमाई गाउँपालिकाको अध्यक्ष जितेका जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरी अध्यक्षका उम्मेदवार बनेका थिए ।

    अघिल्लो निर्वाचनपछि मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भएपछि एमाले प्रवेश गरेका शुक्ला पछि एमाले परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका थिए ।

    निर्वाचनको केही महिना पहिले नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका शुक्ला यस पटकको निर्वाचनमा भने पराजित भएका छन् । सम्मरीमाई गाउँपालिकामा नेपाली कांग्रेसका विनोद कुमार श्रीवास्तव निर्वाचित भएका छन् ।

    गत स्थानीय तहको निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा निर्वाचित भएका मनमोहन चौधरी यस पटक उम्मेदवार बने पनि पराजित भए । अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट उठेर निर्वाचन जितेका चौधरीले बीचमा जसपा र निर्वाचनको मुखमा लोसपा प्रवेश गरेका थिए । लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सजरुद्दीन खान निर्वाचित भएका छन् ।

    उपप्रमुखमा दोहोरिए ६ जना, ३ पराजित

    प्रमुखमा १ जना मात्रै दोहोरिए पनि उपप्रमुखमा भने दोहोर्‍याएर निर्वाचित हुने ६ जना छन् । सैनामैना नगरपालिकाकी उपप्रमुख बिना राना, देवदहकी विद्यालक्ष्मी गुरुङ, तिलोत्तमाकी जगेश्वरीदेवी चौधरी, शद्धोधनकी शान्तिदेवी ज्ञवाली, सम्मरीमाईकी कुमारी प्रियंका शाही सिंह र रोहिणीकी शिवकान्ति हरिजन पुनः सोही पदमा निर्वाचित भएका हुन् ।

    त्यसै गरी अघिल्लो निर्वाचनमा एमालेबाट सियारी गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी अमृता गुरुङ यस पटक पराजित भएकी छन् ।

    त्यस्तै अघिल्लो निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट मर्चवारी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित सुनिता कलवार र मायादेवी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित तारादेवी यादव यस पटक पराजित भएका छन् ।

  • सर्वाधिक मत र मतान्तरमा एमालेकी सुनिता डंगोलको दोहोरो रेकर्ड

    सर्वाधिक मत र मतान्तरमा एमालेकी सुनिता डंगोलको दोहोरो रेकर्ड

    काठमाडौं । देशभरका ७५३ स्थानीय तहमध्ये ७५१ वटाको मतपरिणाम सार्वजनिक हुँदा देशको राजधानी काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले दोहोरो किर्तिमान कायम गरेकी छन् ।

    डंगोलले देशभरमा सबैभन्दा धेरै मत पाएर जित्ने उम्मेदवारका रेकर्ड बनाउँदा सबैभन्दा धेरै मतान्तरले जित्ने रकेर्ड पनि आफ्नै नाममा राख्न सफल भइन् । नेकपा एमालेकी उम्मेदवार डंगोलले कुल ६८ हजार ६ सय १२ मत प्राप्त गरेर बिजयी भएकी हुन् ।

    खसेको कुल १ लाख ९० हजारमध्ये सदर मतको ५३ प्रतिशतभन्दा बढी मत प्राप्त गरेर सुनिता डंगोल विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर ४४ हजार ८०६ रहेको छ । यो मतान्तर आजसम्मकै सर्वाधिक हो ।

    डंगोलपछि सर्वाधिक मतान्तरको रेकर्ड सुनितापछिको दोस्रो ठूलो मतान्तरको रेकर्ड भक्तपुर नगरपालिकाकी नेमकिपाबाट निर्वाचित उपमेयर रजनी जोशीले कायम गरेकी छन् । उनले विपक्षी एमालेकी रन्जना खरबुजालाई २६ हजार ७७० मतान्तरले पराजित गरेकी हुन् ।

    तेस्रो रेकर्ड पनि नेमकिपाकै सोही नगरपािलिकाका मेयर सुनिल प्रजापतिले कायम गरेका छन् । नेमकिपाका सुनिल प्रजापतिले विपक्षी नेपाली कांग्रेसका रामप्रसाद कासुलाभन्दा २५ हजार ८४५ मतान्तरले विजयी भएका छन् ।

    त्यसपछि काठमाडौंका मेयर बालेन्द्र साहले २३ हजार ४२६ मतान्तरले जितेका छन् । त्यसपछिको रेकर्ड वीरगन्जका मेयर राजेशमान सिंहले राखेका छन् । उनको मतान्तर २२हजार ५४४ छ ।

  • काठमाडौं महानगरको ‘पपुलर भोट’मा एमाले पहिलो, माओवादी राप्रपाभन्दा पछि (विवरणसहित)

    काठमाडौं महानगरको ‘पपुलर भोट’मा एमाले पहिलो, माओवादी राप्रपाभन्दा पछि (विवरणसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको अन्तिम नतिजा अनुसार प्रमुख राजनीतिक दलका ७० हजार मतदाताले मेयरमा स्वतन्त्र उम्मेदवारलाई रोजेको देखिएको छ ।

    प्रमुख पाँच दलका वडाध्यक्षका उम्मेदवारहरूले पाएको कुल मतमध्येबाट ६९ हजार ७८९ मत स्वतन्त्र उम्मेदवारतर्फ गएको देखिएको हो ।

    ३२ वटै वडामा वडाध्यक्ष उठाएको नेकपा एमाले वडाध्यक्षका उम्मेदवारले पाएको मतको योगफलमा महानगरेको पहिलो दल बनेको छ । जसका लागि उसका वडाध्यक्षका उम्मेदवारहरूले कुल ६२ हजार ७७१ मत पाएका छन् । जसमा १२ वडाध्यक्ष जितेका छन् ।

    तर एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले सो मतभन्दा २४ हजार ९ मत कम पाएका छन् । जुन मतमध्ये बढी जसो मत स्वतन्त्रतर्फ गएको देखिन्छ । स्थापितले ३८ हजार ११७ मत पाएर तेस्रो स्थानमा चित्त बुझाएका छन् ।

    यस्तै ३२ मध्ये ३१ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष उठाएको थियो । जसमा उसका ३१ वडाध्यक्षका उम्मेदवारहरूले कुल ६२ हजार १२६ मत पाएका छन् ।

    कांग्रेसलाई सत्तारूढ गठबन्धनका अन्य प्रमुख दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको पनि समर्थन थियो । जसमा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूले कुल २ हजार २८१ मत प्राप्त गरेका छन् भने, नेकपा एसका वडाध्यक्षका उम्मेदवारहरूले १४ हजार २५९ मत पाएका छन् ।

    यसरी गठबन्धनका तीन वटै दलका वडाध्यक्षहरूले पाएको मतको योगफल ७८ हजार ६६६ मत हुन आउँछ । तर, गठबन्धनका तर्फबाट मेयरकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले भने त्यसमध्येबाट ५० प्रतिशत मत पनि पाउन सकिनन् । उनले ३८ हजार ३४१ मत मात्रै पाएकी छन् । जुन गठबन्धन दलका वडाध्यक्षका उम्मेदवारले पाएको कुल मतमध्ये ४० हजार ३२५ मत कम हो ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षका उम्मेदवारहरूले ल्याएको कुल मतको झण्डै आधा मत राप्रपाका मेयरका उम्मेदवारभन्दा बाहिर गएको छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूले कुल ११ हजार २२५ मत ल्याउँदा मेयरका उम्मेदवार मदनदास श्रेष्ठले भने जम्मा ५ हजार ७७० मत मात्रै ल्याएका छन् ।

    यसरी हेर्दा प्रमुख दलबाट मेयर पदमा बाहिर गएको यो मतमध्ये अधिकांश मत स्वतन्त्र उम्मेदवारहरू बालेन्द्र साह र सुमन सायमीले तानेको देखिन्छ । साहले जित सुनिश्चित हुने गरी प्रमुख दलका मतदाताबाटै मत तान्न सफल भएको देखिन्छ । उनी ६१ हजार ७६७ मतसहित विजयी भएका छन् ।

    यस्तै बाँकी मत सायमीतर्फ गएको पनि सहजै अनुमान लगाउन सकिन्छ । उनले १३ हजार ७७० मत पाएका छन् । दुबैजनाले पाएको मतमा केही अंश स्वतन्त्र अभिमत प्रकट गर्ने मतदाताको पनि मत देखिन्छ ।

    उपमेयरतर्फ सुनिताले एमालेको मतमा पाइन थप मत

    उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोलले एमालेको मतभन्दा बढी मत तानेर जित हासिल गरेको देखिएको छ । एमालेका वडाध्यक्षहरूले जम्मा ६२ हजार ७७१ मतमा सुनिताले अझै ५ हजार ८४१ मत थपेर पाएको देखिएको छ । उनले ६८ हजार ६१२ मत पाएकी छन् ।

    उता गठबन्धनको साथले चुनाव लडेका नेकपा एसका रामेश्वर श्रेष्ठले गठबन्धन दलबाट ३० प्रतिशत मत मात्रै बटुल्न सफल देखिएका छन् । गठबन्धन दलका वडाध्यक्षहरूले ७८ हजार ६६६ मत पाउँदा श्रेष्ठले जम्मा २३ हजार ८०६ मत मात्रै प्राप्त गरे ।

    उपमेयरमा स्वतन्त्र उम्मेदवारहरूले निर्णायक मत बटुल्न नसके पनि उल्लेख्य मात्रामा दलीय मत काटेका छन् । जसमा स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनले १३ हजार ९६५ मत प्राप्त गर्दा अर्की स्वतन्त्र वेञ्जी सिंह महर्जनले ६ हजार ५५५ मत पाएकी छन् ।

    राप्रपाकी उम्मेदवार विनीता मगैयाले राप्रपाका वडाध्यक्षले पाएको दलीय मतमा बढाएर मत पाएकी छन् । राप्रपाका वडाध्यक्ष उम्मेदवारहरूले ११ हजार २२५ मत पाउँदा मगैयाले १२ हजार १४१ मत पाएकी छन् ।

  • बालेन्द्रको विजयोत्सवमा किन मिसिए सुमन सायमी ?

    बालेन्द्रको विजयोत्सवमा किन मिसिए सुमन सायमी ?

    काठमाडौं । कुनै पनि चुनावको नतिजा आइसकेपछि पराजित उम्मेदवार पनि विजयी उम्मेदवारको विजयोत्सवमा सहभागी हुनु आफैँमा दुर्लभ दृश्य हो । काठमाडौंमा यस्तै दुर्लभ दृश्य आज देखियो ।

    काठमाडौं महानगरको चुनावी दौडमा प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाड्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले जित हासिल गरे । उनले चुनावमा हराएका ५४ जना प्रतिस्पर्धीमध्ये एक हुन् सुमन सायमी । आँखीझ्याल चुनाव चिन्ह लिएर लडेका सायमीले १३ हजार ७७० भोट ल्याएका थिए । प्रतिस्पर्धामा उनी चौथो स्थानमा रहे ।

    मतदान अघिसम्म सायमीको खासै चर्चा थिएन । न मिडियाले उनलाई खोजेका थिए, न सोसल मिडियामा चियोचर्चो भएको थियो । तर, मतगणनाका क्रममा उनले आफ्नो उपस्थिति देखाउन सफल भए । अधिकांश उम्मेदवारले ३ अंक छुनै संघर्ष गरिरहँदा उनले १३ हजारभन्दा बढी मत ल्याउनु धेरैका लागि अप्रत्याशित हो । सायद बालेनका लागि पनि । त्यही भएर आज उनले आफ्नो विजय र्‍यालीमा सुमनलाई पनि सहभागी गराउन चाहे ।

    आज बिहान बालेन आफैँले फोन गरेर सायमीलाई राष्ट्रिय सभागृहमा निम्त्याएका थिए । सायमीले पनि यसलाई सहज रूपमा लिएर बालेनलाई बधाई दिन सभागृह पुगे ।

    सायमी भन्छन्, ‘चुनावअघि हामी प्रतिस्पर्धी थियौँ, तर चुनाव सकिएपछि कुनै प्रतिस्पर्धाको भावना छैन । त्यसैले म उहाँलाई बधाई दिनका लागि सभागृह गएको हो ।’

    सभागृहमा भेटेर बधाई दिएपछि बालेनले नै सायमीलाई आफ्नो र्‍यालीमा सहभागी हुन अनुरोध गरे । सायमीले यसलाई पनि अन्यथा लिएनन् । उनी बालेन सँगसँगै सभागृहबाट बाहिर निस्किए । माला लगाए । र एउटै गाडीमा सवार भएर जुलुसमा हिँडे । बालेनको प्रतिस्पर्धी होइन, सहयोद्धाजस्तो भएर उनले आफूलाई प्रस्तुत गरेको दृश्य रोचक थियो ।

    र्‍यालीपछि टुँडिखेलमा धन्यवादसभा आयोजना गरिएको थियो । त्यसमा सुमन सायमीलाई पनि बोल्न अवसर दिइयो । आफ्नो छोटो भाषणका क्रममा सायमीले बालेन र आफ्नो विचारधारा एउटै रहेको बताए ।

    उनले भने, ‘म पनि स्वतन्त्र उहाँ पनि स्वतन्त्र । आज स्वतन्त्र उम्मेदवारको जित भएको छ । बालेनको जित मेरो पनि जित हो । हामी दुवै एउटै उद्देश्यमा हिँडेका छौँ । हाम्रा मुद्दाहरू एउटै छन् । हामी यो देशमा परिवर्तन चाहन्छौँ । अहिलेको सिनारियो बदल्न चाहन्छौँ । त्यसैले बालेनलाई साथ दिन उभिएको हुँ ।’

    नेपाल प्रेससँगको थप कुराकानीमा सायमीले बालेनको कार्यकालमा आफ्नो तर्फबाट साथ र सहयोग रहने बताए ।

    ‘आगामी दिनमा उहाँसँग बसेर विस्तृत छलफल पनि गर्नेछु । काठमाडौंमा हाम्रो साझा चासोहरू छन् । उहाँसँग सहकार्यका लागि तयार छु,’ उनले भने ।

    त्यसो त चुनावअघि पनि बालेन र सायमीबीच छलफल भएको थियो । दुईमध्ये एकले अर्कालाई समर्थन गर्ने सम्भावनाका विषयमा चर्चा भए पनि त्यो सम्भव भएन ।

    सायमीले बालेनलाई समर्थन गर्नेबारे नसोचेका होइनन्, काठमाडौंका विभिन्न गुठी र विभिन्न संस्थाबाट निर्णय भएर उनी उम्मेदवार बनेका थिए । त्यसैले ब्याक हुन सहज थिएन । बालेनको राम्रो माहोल बनिरहेकाले उनी पछि हट्ने कुरै आएन ।

    काठमाडौंका कोर एरियामा सायमीको प्रभाव देखिएको छ । उनले ल्याएको अधिकांश भोट पनि कोर एरियाभित्रकै वडाहरूका हुन् । लामो समयदेखि काठमाडौंको संस्कृति र सम्पदा संरक्षणमा सक्रिय अभियन्ता भएकाले महानगरको नेवा समुदायमा उनी लोकप्रिय छन् । केही समयअघि प्रहरी चौकीभित्र नेवारी भाषा बोलेको आरोपमा सायमी एक साता प्रहरी हिरासतमा बसेका थिए ।

    बालेनजस्तै सायमी पनि कुनै पार्टीसँग निकट छैनन् । यद्यपि, उनी राजनीतिक परिवारका सदस्य हुन् । काठमाडौंको कालीमाटी स्थित उनको घर पञ्चायतकालमा कम्युनिस्ट नेताहरूको सेल्टर थियो । उनका पिता कम्युनिस्ट नेता हुन् । तर, सायमी आफू भने राजनीतिबाट सधैँ टाढा रहे ।

    यसपालि स्थानीय चुनावमा पनि उनले अपर्झट उम्मेदवारी दिएका हुन् । कांग्रेस र एमालेले उठाएका मेयर उम्मेदवारहरू पटक्कै चित्त नबुझेपछि आफू मैदानमा आउने निर्णय गरेको सायमी बताउँछन् । यद्यपि, उनले जितको लक्ष्य लिएका भने थिएनन् ।

    ‘१५ हजारसम्म भोट ल्याउने अपेक्षा थियो । जति भोट आएको छ, त्यसमा सन्तुष्ट छु,’ उनी भन्छन् ।

    सायमीकै समूहबाट उपमेयरमा विद्या महर्जनले उम्मेदवारी दिएकी थिइन् । उनले पनि सायमीको हाराहारीमा मत ल्याएकी छन् । उनले १३ हजार ६९५ मत ल्याइन् ।

  • उपमहानगरमा गठबन्धनभन्दा एमाले र स्वतन्त्रको दबदबा, नगरसभामा कहाँ कसको बहुमत ? (सूचीसहित)

    उपमहानगरमा गठबन्धनभन्दा एमाले र स्वतन्त्रको दबदबा, नगरसभामा कहाँ कसको बहुमत ? (सूचीसहित)

    काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले भागबन्डा गरेर ११ उपमहानगरपालिकाको नेतृत्व ‘कब्जा’ गर्ने रणनीति बनाएका थिए । सोहीअनुसार सबै तहमा तालमेल भयो ।

    सत्तामा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, अघिल्लो निर्वाचनको ठूलो पार्टी नेकपा एमाले विभाजित भएर बनेको दल नेकपा एकीकृत समाजवादी, मधेसको ‘शक्ति’ रहेको जनता समाजवादी पार्टी र केही जिल्लामा शक्तिशाली प्रभाव रहेको राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका थिए ।

    गठबन्धनपछि उनीहरू भीमकाय बन्दा प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती स्वाभाविक नै हो । अन्य दललाई पनि सहज थिएन ।

    यही कारण सत्ता गठबन्धनले ११ वटै उपमहानगरपालिका एकलौटी बनाउने सबैले लख काटेका थिए । वैशाख ३० गते ११ वटै उपमहानगरमा निर्वाचन सम्पन्न भयो । अहिले ११ वटै उपमहानगरको अन्तिम नतिजासमेत आइसकेको छ । जुन नतिजा पूर्वानुमानभन्दा निकै भिन्न देखिएको छ । नतिजाले गठबन्धन दललाई तीतो बनाएको छ ।

    नतिजाअनुसार गठबन्धनका दलहरूले ११ मध्ये ५ तहमा मात्रै जित निकालेका छन् । बाँकी ६ वटामा एमाले र स्वतन्त्र उम्मेदवारहरूले कब्जा जमाएका छन् । जितेका ठाउँमा पनि गठबन्धनका उम्मेदवारहरूले सानदार विजय हात पार्न सकेनन् । कार्यपालिका र नगरसभाहरूमै उनीहरू अल्पमतमा पर्ने देखिएको छ ।

    नतिजाले केन्द्रबाट सत्ता गठबन्धनको भागबन्डासहित तालमेल भए पनि चुनावी मैदानमा न ‘ताल’ न ‘मेल’ देखिएको छ ।

    गठबन्धनले तालमेल गरेकामध्ये कांग्रेसले आफ्नो भागमा परेका इटहरी, नेपालगञ्ज र बुटवल उपमहानगरमात्रै जोगाएको देखिन्छ । तर, कांग्रेसले एकल नै बलियो देखिएको र अघिल्लो पटक एक्लै जितेको धनगढी गुमायो । २०७६ को उपनिर्वाचनमा शक्तिशाली एमालेलाई हराएर जितेको धरानको विरासत तीनवर्ष नबित्दै गुमायो कांग्रेसले । दुइटै उपमहानगरमा प्रतिस्पर्धी दल एमाले कमजोर देखिए पनि स्वतन्त्र उम्मेदवारसामु कांग्रेससमेत निरीह सावित भएको छ ।

    यसले कांग्रेसका लागि चुनावी तालमेल फलिफाप हुनुको साटो अभिशाप सावित भएको उम्मेदवारहरूले नै स्वीकार गरेका छन् । कांग्रेसलाई आफ्नो भागमा परेको तुलसीपुर र कलैया उपमहानगर पनि जोगाउन सकेन । अघिल्लो पटक जितेको एमालेले यी उपमहानगरमा पुनः आफूलाई अब्बल सावित गर्दा कांग्रेसलाई गठबन्धनको सहारा काफी भएन ।

    नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको जीतपुर सिमराको नेतृत्व जितेको छ । उसले घोराही उपमहानगर आफ्नो पक्षमा पार्न सकेन । माओवादी केन्द्रका लागि गठबन्धन जीतपुर सिमरामा फाप्दा घोराहीमा एमाले बाधक बन्यो ।

    नेकपा एसले आफ्नो हिस्सामा परेको हेटौंडा गठबन्धनको बलमा जोगाएको छ । उसले यहाँ एमालेको वर्षौं पुरानो गढ भत्काएको छ ।

    उता जनकपुर जसपाको भागमा परेको थियो । जसपालाई जनकपुर दिँदा स्थानीय कांग्रेस नेताहरू असन्तुष्ट थिए । जसले गर्दा जसपाले जनकपुर आफ्नो पक्षमा पार्न सकेन । त्यहाँ कांग्रेसकै बागी उम्मेदवारले मेयर पड्काइदिए ।

    तहगत नतिजा र अवस्था विश्लेषण

    धनगढी: वडलाई फापेन पाँच दलको साथ

    निर्वाचनको अन्तिम नतिजापछि गठबन्धनको समर्थनबाट उम्मेदवार भएका कांग्रेसका नृपबहादुर वडले भावुक प्रतिक्रिया दिए । उनले भने, ‘मलाई दलले उम्मेदवारमात्र बनाएको थियो । खासमा मै स्वतन्त्र उम्मेदवार थिएँ ।’

    उनले गठबन्धनले त साथ दिएन-दिएन, आफ्नै पार्टीबाट पनि साथ नपाएको गुनासो पोखे । वडले भनेजस्तै अवस्था धनगढीको रह्यो । धनगढीमा कांग्रेसले आफ्नो मत ३० हजार भएको दाबी गर्छ । त्यसमा गठबन्धन जोड्दा झन् नतिजा फराकिलो हुने कांग्रेसको अनुमान थियो ।

    तर, नतिजा ठ्याक्कै उल्टो आयो । स्वतन्त्र उम्मेदवार गोपाल हमाल २६ हजार ८६५ मतले विजयी हुँदा कांग्रेसका वड १४ हजार ८१७ मा सीमित भए । एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मतमात्रै पाए ।

    उपमेयरमा पनि गठबन्धनकी उम्मेदवारले जितिनन् । एमाले उम्मेदवार नन्दकलाकुमारी राना १५ हजार ४७९ मतसहित विजयी हुँदा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्तिकुमारी अधिकारी क्षेत्रीले १२ हजार ६७० मतमात्रै पाइन् ।

    स्थानीयका अनुसार स्वतन्त्र उम्मेदवार हमालले सबै दलका परम्परागत मत पाए । जसकारण उनले गठबन्धनका उम्मेदवारलाई ठूलो मतान्तरले धराशायी पारेर जितको झण्डा गाडे ।

    उता वडाध्यक्षसहित बाँकी पदमा भने कांग्रेसकै उम्मेदवारहरूको वर्चश्व देखिएको छ । १९ मध्ये ११ वटा वडा कांग्रेसले जितेको छ । एमालेले ६ वटा वडामा अध्यक्ष जितेको छ । माओवादी केन्द्रले २ वटा वडामात्रै जितेको छ ।

    सदस्यहरूमा कांग्रेसले महिला सदस्य १२, दलित महिला सदस्य १२ र खुला सदस्य २४ गरी ४८ जना वडा सदस्य जितेको छ । कांग्रेसले ९७ (यसमा पछि ३ जना खुलाबाट निर्वाचित हुने कार्यपालिका सदस्य पनि जोडिन्छन्) सदस्यीय नगरसभामा ५९ सदस्यसहित बहुमत कायम गरेको छ । कार्यपालिकामा पनि उसकै बहुमत देखिएको छ ।

    उता एमालेको नगरसभामा ३१ जना सदस्य देखिएका छन् । उसको एक उपमेयरसहित ६ जना वडाध्यक्ष, १२ जना खुला सदस्य, ६ जना दलित महिला र ६ जना महिला सदस्य निर्वाचित भएका छन् ।

    माओवादी केन्द्रबाट दुई वडाध्यक्षसहित महिला सदस्य १, दलित महिला सदस्य १ र खुला सदस्य २ निर्वाचित भई ६ जना नगरसभा सदस्य कायम भएका छन् ।

    नेपालगञ्जः कांग्रेसले मेयर जिते पनि नगरसभामा गठबन्धनको सहारा

    पार्टीभित्रको घात-अन्तर्घातले विगतमा हार्दा राप्रपाले फाइदा उठाउँदै आएको यो उपमहागरमा यसपटक गठबन्धनको सहाराले कांग्रेसले जित सम्भव बनाएको छ । स्थानीय स्तरको शक्तिशाली दल जसपा र राम्रै पकड भएको माओवादी केन्द्रको साथले कांग्रेसका प्रशान्त विष्ट एमाले उम्मेदवार पशुपतिदयाल मिश्रालाई फराकिलो मतान्तरले पराजित गर्न सफल भए ।

    विष्टले २३ हजार ४६० मत प्राप्त गर्दा मिश्राले ११ हजार ६७५ मत पाए । अघिल्लो पटक जितेको राप्रपाका उम्मेदवार नन्दलाल वैश्य ७ हजार ५९८ मतमा सीमित भए ।

    उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विजयी भए । जसपाका कमरुद्दीन राई १७ हजार ९५० मतसहित विजयी हुँदा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत पाइन् । राप्रपाकी विन्दु चर्तिमगरले १० हजार १३५ मत ल्याइन् ।

    नगरसभामा कांग्रेसको सुविधाजनक जित देखिएन । २३ वटा वडा रहेको उपमहानगरमा कांग्रेसले जम्मा ५ वटा वडाको वडाध्यक्ष जित्दा सदस्यहरू ३६ जनामात्रै भए । जसमा ९ महिला सदस्य, ८ दलित महिला सदस्य र १९ जना खुला सदस्य छन् ।

    नगरसभामा कांग्रेसका मेयरसहित जम्मा ४२ जना सदस्यमात्रै कायम हुने भएका छन् । यहाँ ११७ सदस्यीय नगरसभा हुनेछ । जसमा पछि निर्वाचित तीनजना खुलाबाट निर्वाचित हुने कार्यपालिका सदस्य पनि जोडिन्छन् ।

    एमालेले ५ वडाध्यक्ष र २० सदस्य पद जितेको छ । जसमा ६ जना महिला सदस्य, ४ जना दलित महिला सदस्य र १० जना खुला सदस्य रहेका छन् ।

    जसपाले भने ६ वटा वडाध्यक्ष जितेको छ । जसपाले १८ जना वडा सदस्यमात्रै जितेको छ । जसमा ४ महिला सदस्य, ६ दलित महिला सदस्य र ८ जना खुला सदस्य रहेका छन् । यसरी नगरसभामा उसको एक उपमेयर, ६ वडाध्यक्षसहित २५ सदस्य कायम भएको छ ।

    यस्तै ४ वटा वडाध्यक्ष जितेको माओवादी केन्द्रले ७ सदस्य पद पनि जितेको छ । जसमा २ महिला सदस्य, ३ दलित महिला सदस्य र २ जना खुला सदस्य रहेका छन् । नगरसभामा उसको ११ सदस्य कायम भएको छ । ३ वडाध्यक्ष र ११ वडा सदस्य जितेको राप्रपाबाट नगर सभामा १४ सदस्य कायम भएका छन् ।
    नेपालगञ्जको नगरसभामा बहुमत पु¥याउन कांग्रेसका मेयरले सत्ता गठबन्धनका दलकै भर पर्नुपर्ने भएको छ ।

    घोराहीः निस्प्रभावी गठबन्धन, एमालेको एकलौटी बहुमत

    गठबन्धन दलबाट मेयरमा यहाँ माओवादी केन्द्रका हेमराज शर्मा पोखरेल उम्मेदवार थिए । कांग्रेससमेतको साथ पाएर हौसिएका उनलाई नतिजाले भने उल्टो बाटो देखाइदिएको छ । यहाँ एमालेका नरुलाल चौधरीले ३१ हजार ७२८ मतसहित विजयी भएर एमालेको विरासत थाम्नेमात्र नभई आफ्नो लोकप्रियता दोस्रो पटक पुष्टि गरे । माओवादी केन्द्रका पोखरेल २६ हजार ३६८ मतमा थन्किए ।

    राप्रपाका सरिता देवकोटाले ५ हजार ३२४ मत पाइन् । केन्द्रको तालमेललाई गलहत्याएर उम्मेवार बनेका नेकपा एसका रामप्रसाद चौधरीले १ हजार १४३ मतमात्रै बटुले ।

    उपमेयरमा पनि एमालेकै हुमाकुमारी डिसी ३० हजार ४०३ मतसहित विजयी भइन् । कांग्रेसका भूपबहादुर डाँगी क्षेत्री माओवादीको साथ पाएर पनि ३० हजार ३५४ मतमा रोकिँदा राप्रपा विभु बुढाथोकीले ३ हजार ५२१ र नेकपा एसकी शोभाकुमारी शाहले १ हजार १५८ मतमात्रै पाइन् ।

    १९ वटा वडा रहेको घोराहीमा १३ वटा वडा एमालेले जित्यो । त्यससँगै एमालेले ५२ सदस्य पद पनि जित्यो । जसमा १४ जना महिला सदस्य, १४ जना दलित महिला सदस्य र २४ जना खुला सदस्य छन् ।

    नगरसभामा एमालेका मात्रै ६७ जना सदस्य कायम भएका छन् । २७ सदस्यीय हुने कार्यपालिकामा ८ जनाको निर्वाचन हुनुअगावै १५ सदस्य कायम भइसकेका छन् । ८ जना पनि एमालेबाटै निर्वाचित हुने निश्चित भइसकेको छ ।

    यता कांग्रेसले ५ जना वडाध्यक्ष र १८ जना सदस्य पदमा जितेको छ । सदस्यहरूमा ५ महिला सदस्य, ४ दलित महिला सदस्य र ९ जना खुला सदस्य रहेका छन् ।

    माओवादी केन्द्रले भने एक वडाध्यक्ष र ६ सदस्य पद जितेको छ । सदस्यमा १ दलित महिला सदस्य र ५ जना खुला सदस्य छन् ।

    तुलसीपुरः एमालेसामु गठबन्धन प्रभावहीन

    यहाँ पनि एमाले अघि पाँचदलीय गठबन्धन असफल सावित भयो । एमालेका टीकाराम खड्का ३१ हजार ४०८ मतसहित विजयी हुँदा कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७१७ मतमात्रै पाएका छन् ।

    उपमेयरमा पनि एमालेकी स्यानी चौधरी ३० हजार ५९७ मतसहित विजयी हुँदा नेकपा एसका जोगबहादुर रानामगर २१ हजार ६५ मतमा सीमित भए ।

    एमालेले १९ वडामध्ये एमालेले १० वडाध्यक्ष जितेको छ । यस्तै ५५ वडा सदस्य पद जितेको छ । जसमा १६ जना महिला सदस्य, १४ जना दलित महिला सदस्य र २५ जना खुला सदस्य छन् । जुन कार्यपालिकामा बहुमत पुर्‍याउन पर्याप्त छ ।

    यस्तै नगरसभामा कांग्रेसको २३ सदस्य कायम भएको छ । जसमा ५ वडाध्यक्ष, १८ जना सदस्य पद जितेको छ । वडा सदस्यहरूमा २ महिला सदस्य, ४ दलित महिला सदस्य र १२ जना खुला सदस्य जितेको छ ।

    माओवादी केन्द्रले ३ वडाध्यक्ष र ३ सदस्य पद जितेको छ । वडा सदस्यमा महिला सदस्य १ जना, १ दलित महिला सदस्य र १ जना खुला सदस्य छन् । यसरी नगरसभामा उसको ६ सदस्य भएको छ भने वडा नम्बर १६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शिवानन्द डिसी निर्वाचित भएका छन् ।

    बुटवलः कांग्रेसलाई फापेको गठबन्धन

    कांग्रेसका लागि यहाँको गठबन्धन भने फापेको छ । यहाँ गठबन्धन फाप्दा कांग्रेसले एमालेको ऐतिहासिक गढ ढलाएको छ । मेयरमा गठबन्धनको साथमा कांग्रेसका खेलराज पाण्डेय ३० हजार २४९ मतसहित विजयी हुँदा एमालेका बाबुराम भट्टराई २२ हजार ७१८ मतमा सीमित भए । राप्रपाका मृगेन्द्रकुमार शेरचन ४ हजार ३७९ मत ल्याए ।

    उपमेयरमा भने नेकपा एसले गठबन्धनबाट धोका पाएको छ । यहाँ एमाले उम्मेदवार सावित्रादेवी अर्याल २५ हजार ६१ मतसहित विजयी हुँदा नेकपा एसका चीनबहादुर गुरुङले १७ हजार २३ मतमात्रै पाए । राप्रपाकी भगवती पाण्डेले ६ हजार ८२० मत पाइन् ।

    १९ वटा वडामध्ये १२ जना वडाध्यक्ष कांग्रेसले जितेको छ । यस्तै ५३ जना सदस्य पद जितेको छ । जसमा १३ महिला सदस्य, १३ दलित महिला सदस्य र २७ जना खुला सदस्य छन् । यसरी ९७ सदस्यीय नगरसभामा कांग्रेसको ६६ सदस्य कायम भएको छ । जुन उसका लागि कार्यपालिकामा बहुमत पुर्‍याउनसमेत पर्याप्त छ ।

    एमालेले ५ जना वडाध्यक्ष र २२ सदस्य पद जितेको छ । जसमा ६ जना महिला सदस्य, ६ जना दलित महिला सदस्य र १० जना खुला सदस्य रहेका छन् । यसरी नगरसभामा उपमेयरसहित उसको २८ सदस्य कायम हुन्छ ।

    यस्तै नेकपा एसले एउटा र स्वतन्त्र उम्मेदवारले एउटा वडाध्यक्ष जितेका छन् ।

    हेटौडाः मेयरमा एसको बाजी, नगरसभामा एमाले बढी

    हेटौडा एमालेको परम्परागत गढ मानिँदै आएको थियो । त्यसैले सत्तारुढ गठबन्धनका दलहरूको भागबन्डामा एमालेबाट विभाजित नेकपा एसलाई नै हेटौंडा दिइएको थियो । एमालेसँग हेटौंडा खोस्न यो रणनीति सफल भयो । यहाँ नेकपा एसकी मीनाकुमारी लामा २३ हजार ७५ मतसहित विजयी भइन् । एमालेका अनन्तकुमार पौडेल २० हजार ९०८ मतसहित दोस्रो भए ।

    राप्रपाका दीपकबहादुर सिंहले दुवै उम्मेदवारलाई जबरदस्त टक्कर दिए । तर, जित्न सकेनन् । उनी २० हजार ५३१ मतसहित तेस्रो भए ।

    उपमेयर पनि गठबन्धन एमालेबाट खोस्न सफल भयो । उपमेयरमा कांग्रेसका राजेश बानियाँ ३२ हजार ५९३ मतसहित विजयी भए । एमालेकी सुमित्रा काफ्ले २३ हजार ९०९ मतमा सीमित हुँदा राप्रपाकी इन्दिरा न्यौपाने ५ हजार ४८६ मत पाइन् ।

    मेयर/उपमेयर एमालेबाट खोस्न सफल भए पनि नगरसभामा भने एमालेले बहुमत जुटाएको छ । १९ वटा वडा रहेको हेटौंडामा उसले ९ वटा वडा जितेको छ ।

    ९७ सदस्यीय नगरसभामा एमालेले ९ वडाध्यक्षसहित ४२ सदस्य जितेर ५१ सदस्य कायम गरेको छ । एमालेबाट ४२ सदस्यहरूमा १२ जना महिला सदस्य, ११ जना दलित महिला सदस्य र १९ जना खुला सदस्य निर्वाचित भए ।

    उता कांग्रेसका ८ जना वडाध्यक्ष विजयी भए । वडा सदस्य भने ३० जनामात्रै जितेको छ । जसमा ६ महिला सदस्य, ७ दलित महिला सदस्य र १७ जना खुला सदस्य छन् । एक उपमेयर र ८ वडाध्यक्षसहित कांग्रेसका ३९ नगरसभा सदस्य कायम भएका छन् ।

    मेयर जितेका नेकपा एसले एक वडाको सिङ्गो सेट जितेको छ । उसको मेयरसहित नगरसभामा जम्मा ६ सदस्य कायम भएको छ । एउटा वडाध्यक्ष माओवादी केन्द्रले जितेको छ ।
    यसरी नगरसभामा एमालेका ५१ सदस्य कायम हुँदा सत्ता गठबन्धनबाट जम्मा ४६ जनामात्रै भएका छन् । यसकारण यहाँ ८ जना कार्यपालिका सदस्यको निर्वाचन एमालेको पक्षमा जाने देखिएको छ । जसले नगर कार्यपालिकामा पनि एमालेकै बहुमत हुने देखिएको छ ।

    जीतपुर सिमराः मेयरमा माओवादी केन्द्र, नगरमा एमालेकै वर्चश्व

    अघिल्लो पटक एमालेले जितेको यो उपमहानगरको मेयर यसपटक गठबन्धनको सहाराले माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका राजन पौडेल १८ हजार ७४३ मतसहित विजयी हुँदा एमालेका सरस्वतीदेवी चौधरी १७ हजार ७७९ मतमा सीमित भइन् । लोसपाका सञ्जयकुमार साहले ५ हजार ३८२ मत प्राप्त गरिन् ।

    उपमेयरमा भने गठबन्धनको समर्थन प्राप्त कांग्रेस उम्मेदवार पराजित भए । एमाले उम्मेदवार भोलाप्रसाद अधिकारी १७ हजार ४९२ मतसहित विजयी हुँदा कांग्रेसकी मेघा शाहीले १५ हजार ८४२ मतमात्रै पाइन् ।

    २४ वटा वडामध्ये एमालेले १३ जना वडाध्यक्ष जितेको छ । यसबाहेक एमालेले ५४ सदस्य पद पनि जितेको छ । जसमा १३ जना महिला सदस्य, १३ जना दलित महिला सदस्य र २८ जना खुला सदस्य छन् । १२२ सदस्यीय नगरसभामा एमाले एक्लैको ६८ जना कायम भएको छ ।

    कांग्रेसले ५ जना वडाध्यक्ष र १९ सदस्य पद जितेको छ । वडा सदस्यमा ४ महिला सदस्य, ४ दलित महिला सदस्य र १० जना खुला सदस्य रहेका छन् ।

    माओवादी केन्द्रले मेयर, ४ जना वडाध्यक्ष र १४ जना वडा सदस्य जितेको छ । जसमा महिला सदस्य ४ जना, दलित महिला सदस्य ४ जना र ६ जना खुला सदस्य छन् ।

    नेकपा एसले एउटा वडाध्यक्ष र ३ सदस्य जित्दै नगर सभामा ४ सदस्य कायम गर्दा लोसपाले एक वडाध्यक्षसहित ५ सदस्य जितेर नगरसभामा ६ सदस्य कायम गरेको छ ।

    कलैयाः नेतृत्वमा एमाले, कार्यपालिका र नगरसभामा गठबन्धन हाबी

    कलैया उपमहानगरपालिकामा पाँचदलीय गठबन्धन एमाले हराउन असफल भएको छ । यहाँ मेयर र उपमेयर दुवैमा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार जितेका छन् । मेयरमा एमालेका विनोदप्रसाद साह २४ हजार १७४ मत ल्याउँदै विजयी हुँदा कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत पाए ।

    उपमेयरमा पनि एमालेकी उम्मेदवार रौशन परविन १९ हजार २५१ मतसहित विजयी भइन् । गठबन्धनबाट उम्मेदवार बनेका जसपाका प्रमोदप्रसाद गुप्ताले १८ हजार ३०४ मत पाए ।

    नगरसभामा पनि एमाले नै ठूलो दल बनेको छ । यहाँका २७ वटा वडामध्ये ९ जना वडाध्यक्ष एमालेले जितेको छ । बाँकी ४६ सदस्य पद पनि उसैले जितेको छ । जसमा १२ जना महिला सदस्य, १२ जना दलित महिला सदस्य र २२ जना खुला सदस्य छन् । १३७ सदस्यीय नगरसभामा एमाले एक्लैको ५७ सदस्य कायम भएको छ । तर उसका लागि यो संख्या बहुमत जुटाउन पर्याप्त छैन ।

    १० जना वडाध्यक्ष कांग्रेसले जितेको छ । कांग्रेसले ३२ जना सदस्य पद पनि जितेको छ । जसमा ७ महिला सदस्य, ८ दलित महिला सदस्य र १७ जना खुला सदस्य छन् ।

    जसपाले ६ वटा वडा जितेको छ । थप २२ जना सदस्य पनि उसले जितेको छ । जसमा ६ महिला सदस्य, ५ दलित महिला सदस्य र ११ जना खुला सदस्य छन् ।
    यहाँ कांग्रेस र जसपा मिलेरै ८ कार्यपालिका सदस्यका लागि हुने निर्वाचनमा आफ्ना उम्मेदवार जिताउने ताकत कायम गरेका छन् । यस्तै नगरसभामा पनि उनीहरू दुई मिलेको खण्डमा बहुमत कायम हुनेछ ।

    यस्तै नेकपा एसले वडाध्यक्षसहित एक दलित महिला सदस्य र २ खुला सदस्य जितेको छ । यसरी नगर सभामा उसको पनि ४ सदस्य थप हुँदा नेपाल लोकतान्त्रिक पार्टीले एउटा वडाको पुरै प्यानल जितेर नगरसभामा पाँच सदस्य कायम गरेको छ ।

    जनकपुरधामः कांग्रेसका बागीको जित, जसपालाई धोका

    पाँचदलीय गठबन्धन दलको भागबन्डाअनुसार यो उपमहानगरको मेयर जसपा र उपमेयरमा कांग्रेसले पाएका थिए । जसअनुसार जसपाले मेयरमा लालकिशोर साहलाई उम्मेदवार बनाएको थियो ।

    तर कांग्रेसका मनोजकुमार साह सुडीले उनीविरुद्ध (स्वतन्त्र) बागी उम्मेदवारी दिए । उनलाई कांग्रेसका स्थानीय नेता–कार्यकर्ताहरूले समेत साथ दिए । जसअनुसार उनले १३ हजार ४६५ मतसहित विजयी हुँदा कांग्रेसबाट धोका पाएका जसपा उम्मेदवार लालकिशोर ५ हजार १५४ मतसहित चौथो स्थानमा चित्त बुझाउन पुगे ।

    दोस्रोमा एमालेका शिवशंकर साहले ९ हजार ५३२ मत र तेस्रो स्थानमा भने लोसपाका मनोज चौधरीले ५ हजार ३६० मत पाए । अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ४ हजार २९० मत पाए ।

    उपमेयरमा भने गठबन्धनबाट कांग्रेसकी किशोरी साह १५ हजार ५२५ मतसहित विजयी भइन् । दोस्रोमा एमालेकी रुणादेवी झाले १० हजार ८८५ प्राप्त गर्दा लोसपाकी रीताकुमारी मिश्र ५ हजार ८१७ मतसहित तेस्रो भइन् ।

    २५ वटा वडा रहेको यो उपमहानगरमा ११ जना वडाध्यक्ष कांग्रेसले जितेको छ । यस्तै ५७ सदस्य पद पनि उसैले जितेको छ । जसमा १५ जना महिला सदस्य, १४ जना दलित महिला सदस्य र २८ जना खुला सदस्य छन् । यसरी १२७ सदस्यीय नगरसभामा कांग्रेसको एक्लै बहुमत पुगेको छ । कांग्रेसका एक उपमेयर, ११ वडाध्यक्ष र ५७ सदस्यसहित ६९ जना पुगेको छ ।

    एमालेले ७ जना वडाध्यक्ष र २९ जना सदस्य जितेको छ । जसमा ७ महिला सदस्य, ७ दलित महिला सदस्य र १५ जना खुला सदस्य छन् ।

    यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले २ वटा वडा प्यानलसहित जितेर नगरसभामा १० सदस्य कायम गर्दा जसपाले एक वडाध्यक्षसहित एक दलित महिला सदस्य र एकजना खुला सदस्य जितेर नगरसभामा ३ सदस्य कायम गरेको छ ।

    माओवादी केन्द्र र तराई-मधेस लोकतान्त्रिक पार्टीले १/१ जना वडाअध्यक्ष जितेका छन् । दुईवटा वडामा स्वतन्त्र जितेका छन् । यस्तै स्वतन्त्रबाटै महिला सदस्य एकजना, दलित महिला एक जना र खुला सदस्य २ जना निर्वाचित भएका छन् ।

    धरानः मेयरमा लौरोको सरप्राइज, एमालेको बहुमत

    धरानको मेयरमा गठबन्धन र एमालेलाई सरप्राइज दिँदै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले २० हजार ८२१ मत ल्याएर जित हासिल गरे । उनलाई गठबन्धनको समर्थनप्राप्त कांग्रेस उम्मेदवार किशोर राई १६ हजार ५९ मतमा पछ्याउनमै रोकिए । एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरिन् ।

    उपमेयरमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम वेघा २० हजार ५१० मतसहित विजयी भए । एमालेका पदमप्रसाद लिम्बू १७ हजार ६०६ मतसहित दोस्रो भए ।

    २० वटा वडामध्ये १० वडाध्यक्ष एमालेले जितेको छ । यस्तै ४६ सदस्य पनि उसैले जितेको छ । जसमा १२ जना महिला सदस्य, १२ जना दलित महिला सदस्य र २२ जना खुला सदस्य छन् । यसरी १०२ सदस्यीय नगरसभामा एमालेले ५६ जना कायम गरेर बहुमत जुटाएको छ । कार्यपालिकामा पनि उसैको बहुमत हुने निश्चित छ ।

    कांग्रेसले ७ जना वडाध्यक्ष र ३० जना सदस्य जितेको छ । जसमा ७ महिला सदस्य, ७ दलित महिला सदस्य र १६ जना खुला सदस्य छन् । यसरी नगरसभामा ३७ सदस्य कायम भएको छ ।

    माओवादी केन्द्रले एउटा वडाको पुरै सेट र उपमेयर गरी ६ सदस्य कायम गर्दा राप्रपाले एक वडाध्यक्ष जितेको छ । एक वडाध्यक्ष स्वतन्त्र उम्मेदवार जितेका छन् ।

    इटहरीः मेयरमा कांग्रेसको जित, नगरसभामा एमाले बलियो

    इटहरी उपमहानगरपालिकाको मेयर गठबन्धनको सहारामा कांग्रेसले जितेको छ । कांग्रेसका हेमकर्ण पौडेल ३३ हजार ४९ मतसहित विजयी हुँदा एमालेका यामकुमार चुङ्गवाङ सुब्बा २८ हजार ३१ मत प्राप्त गरे । राप्रपा आकाश हाङ्ग लिम्बु ३ हजार ९०८ मत पाए ।

    उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित विजयी हुँदा गठबन्धनको सहारामा नेकपा एसका केशवबहादुर विष्ट चौधरीलाई हराउन असफल रहे । विष्टले १८ हजार ३१ मत पाए । राप्रपाकी बबिताकुमारी चौधरी ४ हजार ७१९ मत पाए ।

    २० वटा वडामध्ये १४ वटा एमालेले जितेको छ । एमालेले थप ६० सदस्य पनि जितेको छ । जसमा १५ जना महिला सदस्य, १४ जना दलित महिला सदस्य र ३१ जना खुला सदस्य रहेका छन् । १०२ सदस्यीय नगरसभामा एमालेले एक उपमेयरसहित ७५ सदस्य कायम गरेको छ ।

    कांग्रेसले ५ जना वडाध्यक्ष जितेको छ । थप १६ जना सदस्य पनि उसैले जितेको छ । जसमा ४ महिला सदस्य, ५ दलित महिला सदस्य र ७ जना खुला सदस्य छन् ।

    यस्तै एउटा वडाध्यक्ष प्यानलसहित स्वतन्त्रले जितेको छ ।

  • ब्यास नगरपालिकामा पुनः मतगणना गर्ने कि नगर्ने ? अदालतले बोलायो विपक्षीलाई

    ब्यास नगरपालिकामा पुनः मतगणना गर्ने कि नगर्ने ? अदालतले बोलायो विपक्षीलाई

    पोखरा । उच्च अदालत पोखराले तनहुँको ब्यास नगरपालिकाको पुनः मतगणना माग गर्दै परेको मुद्दामा विपक्षी झिकाउने आदेश दिएको छ ।

    मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदाललते विपक्षी निर्वाचन आयोगसहितलाई १५ दिनभित्र आफैं वा प्रतिनिधिलाई उपस्थित गराउन आदेश दिएको हो ।

    जोशीले मतगणनामा धाँधली भएको भन्दै विहीवार उच्च अदालतमा पुनः मतगणनाको माग गर्दै निवेदन दिएका थिए । न्यायाीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले निवेदकको मागबमोजिम आदेश जारी गर्नु पर्ने वा नपर्नेबारेमा कानूनसम्मत आधार र कारणसहित उपस्थित हुन भनेको हो ।

    ब्यासको मेयरमा कांग्रेसका बैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ मतसहित विजयी हुँदा एमालेको समर्थनमा उठेको स्वतन्त्र उम्मेदवार जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए ।

  • टुँडिखेलमा मेयर बालेन्द्रको र्‍याप- गरेर अब देखाउ, कालो अतितलाई मेटाउ (भिडिओसहित)

    टुँडिखेलमा मेयर बालेन्द्रको र्‍याप- गरेर अब देखाउ, कालो अतितलाई मेटाउ (भिडिओसहित)

    काठमाडौं । र्‍यापर बालेन अब मेयर बालेन्द्र साह भएका छन् । काठमाडौंको चुनावमा अभूतपूर्व जित हासिल गरेसँगै उनको परिचयमात्र होइन जिम्मेवारी पनि फेरिएको छ । धेरैलाई कौतुहल पनि छ, अब बालेनले र्‍याप गाउँछन् कि गाउँदैनन् ?

    अबको पाँच वर्षमा के गर्लान् भन्न सकिँदैन । तर, मेयर बनेको पहिलो दिनमै उनले र्‍याप गाएर आफ्ना फ्यानहरुको तिर्खा मेटाइदिए । विजय जुलुसपछि टुँडिखेलमा आयोजित सभामा उनले र्‍याप गाएका थिए, जसको बोल यस्तो छः

    गरेर अब देखाउ, कालो अतितलाई मेटाउ
    देश एउटा सुन्दर बगैंचा होस् । रंगिचंगी फूल हुन् ।
    अनुकूल प्रतिकूलहरु चुक्ता गर्ने भावना होस्
    सामूहिक खुसीविनाको फाइदा त्यो चाहनाको
    पछि त के त्यो कामनाको एउटा हाँसो फुट्नलाई
    उद्देश्य यो एक हो हरेक दल जुट्नलाई
    गरेर अब देखाउ, कालो अतितलाई मेटाउ
    पालो हाम्रो हो भेटाउ
    कल्पना गर शान्तिको
    सपना देख्ने त्यो पूरा हुन्छ
    जागृति नै क्रान्ति हो

    ‘तपाईंहरुको माया देख्दा मरिदिउँ जस्तो लाग्छ’

    सभामा समर्थकहरुलाई छोटो सम्वोधन गर्दै सभा बालेनले आफूलाई बर्साइएको मायाप्रति आभार प्रकट गरे । उनले यो मायालाई ऊर्जा बनाएर राजधानीको विकास गर्ने बताए ।

    बालेनको सम्वोधन यस्तो थियोः

    हिजो हामी स्वतन्त्रमात्रै थियौं, आज म तपाईंहरु सबैको भइसकेको छु । अब, तपाईंहरुको सार्वजनिक सम्पत्ति भएको छु म ।

    तपाईंहरुको दिगो विकासका लागि, यो महानगरको दिगो विकासका लागि हामी सबैजनाले सहकार्य गर्नेछौं । हामी धेरै बोल्नेभन्दा धेरै काम गर्ने र राजनीतिलाई राजनीति नभएर विकासको नाम दिएका छौं । हामी विकास गर्छौं, दिगो विकास गर्छौं । हामी हाम्रो सम्पदा जोगाएर विकास गर्छौं, हाम्रो संस्कृति जोगाएर विकास गर्छौं ।

    यो ६० औं वर्ष, २० औं वर्ष पुरानो सिण्डिकेट तपाईंहरुको साथ र सहयोगले तोड्न सफल भएका छौं । तपाईंहरुको यत्ति धेरै माया आएको छ कि यति धेरै माया, यति धेरै सकारात्मकता छ कि मरिदिउँ जस्तो लाग्छ । भोलिको दिनमा बाँच्दा केही भुलचुक होला जस्तो लाग्छ । यत्ति धेरै माया धान्न गाह्रो भएको छ । तर विश्वास गर्नुस्, यो माया, साथ र समर्थनलाई हाम्रो ऊर्जा बनाएर अब आउने पाँच वर्षमा यो ऊर्जालाई प्रवाह गरेर काठमाडौं महानगरपालिकामा विकासको एउटा मोडल ल्याउनेछौं । सबैजना मिलेर काठमाडौं विकास गर्नेछौं, देश विकास गर्नेछौं ।

    ०००

    मेयर निर्वाचित भएको दिन बिहानैबाट बालेन बेफुर्सदिला बने । काठमाडौंको नतिजा हिजै घोषणा भइसकेको थियो । तर, राति अबेर भएकाले बालेनका समर्थकहरुले खुसीयाली मनाउनका लागि आज बिहानको प्रतीक्षा गर्नुपर्‍याे । बालेन बिहान ७ बजेतिर राष्ट्रिय सभागृह पुगे र निर्वाचन आयोगले उनलाई विजयी उम्मेदवारका रुपमा सम्मान गर्‍याे । त्यसपछि सुरु भयो विजय जुलुस, जसलाई बालेनले धन्यवाद र्‍यालीको नाम दिएका थिए ।

    राष्ट्रिय सभागृहबाट ८ बजेतिर बालेन माला लगाएर बाहिरिए । समर्थकहरुलाई सरप्राइज दिँदै उनले मेयरका प्रतिस्पर्धी सुमन सायमीलाई सँगै ल्याएका थिए । त्यसपछिको विजय जुलुसमा पनि बालेनले सायमीलाई आफूसँगै राखे ।

    विजय र्‍यालीमा ४–५ वटा गाडी, सयौंको संख्यामा मोटरसाइकल थिए । पछिपछि हजारौंको भीड थियो । सबैभन्दा अगाडिको हुट नभएको गाडीमा थिए बालेन र सायमी । पछाडि उनीहरुलाई पछ्याइरहेको भीडले ‘बालेन, बालेन’ भन्दै नारा लगाइरहेको थियो । एउटा गाडीमा राखिएको स्पिकरमा राष्ट्रिय गीत बजाइएको थियो । कतिपयले राष्ट्रिय झण्डा बोकेका थिए ।

    भीड ठूलो भए पनि आफ्नो अनुशासनमा थियो । जुलुसका सहभागीहरु सडकमा एउटामात्रै लेन समातेर हिँडेकाले धेरै सवारी जाम हुन पाएन । साथै जुलुसमा कसैका विरुद्ध उग्र नाराबाजी गरिएको पनि सुनिएन । समर्थकहरु ‘बालेन, बालेन’ भनेर मात्रै चिच्याइरहेका थिएन, मानौं कुनै कन्सर्टमा जस्तो ।

    बालेनका समर्थको भीडमा प्रायः युवायुवतीहरु नै थिए । उनीहरुको आँखामा जितको उल्लाससँगै भविष्यप्रतिको आशा झल्किन्थ्यो । बालेनमाथि उनीहरुले मानौं देशको भविष्य देखेका थिए । युवायुवतीहरुको यो क्रेज कुनै राजनीतिकर्मीप्रति सायद विरलै देखिएको थियो । बालेनले आफूमाथिको यो अपेक्षामा कति खरो उत्रिन सक्नेछन्, त्यो त भविष्यले नै देखाउने छ । तर, उनले र्‍यापमा भनेजस्तै गरेर देखाउने र कालो अतितलाई मेटाउने अवसर उनीसामु छ ।

  • काठमाडौंमा गुम्यो एमालेको प्रभुत्व, कांग्रेसले यसरी उल्टायो नतिजा

    काठमाडौंमा गुम्यो एमालेको प्रभुत्व, कांग्रेसले यसरी उल्टायो नतिजा

    काठमाडौं । स्थानीय निर्वाचनमार्फत काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो प्रभुत्व स्थापित गरेको छ । महानगरका ३२ वटा वडामध्ये १९ वटा जित्दै कांग्रेस काठमाडौं महानगरको पहिलो शक्ति बनेको हो ।

    अघिल्लो चुनावको नतिजालाई सर्लक्कै उल्टाउन कांग्रेस सफल भयो । स्थानीय चुनाव २०७४ मा एमालेले १८ वटा वडा जितेर पहिलो शक्ति बनेको थियो । काठमाडौंका मेयरमा पनि एमालेका उम्मेदवार भारी मतले विजयी बनेका थिए । तर, यसपालिको चुनावमा एमालेले मेयरमात्र गुमाएन, ६ वटा वडा पनि कांग्रेसले उसको हातबाट खोसेको छ ।

    ०७४ सालमा एमालेले काठमाडौंका १८ वटा वडा जितेको थियो । यसपालि उक्त संख्या १२ मा झरेको छ । यस्तै कांग्रेसले अघिल्ल्लो चुनावमा १४ वटा वडा जितेकोमा अहिले १९ वडा जित्न सफल भएको छ । अघिल्लो चुनावमा कांग्रेसले जितेकोभन्दा दुई वटा कम वडा यसपालि एमालेले जितेको छ भने त्यसबेला एमालेले जितेकोभन्दा एउटा वडा बढी कांग्रेसले जितेको छ ।

    २०७४ सालको चुनावमा जितेका ९ वटा वडा यसपालि एमालेले जोगाउन सकेन । काठमाडौंका वडा नम्बर ७, ९, १२, १४, १५, २४ र २७ एमालेबाट कांग्रेसले खोसेको छ । यस्तै वडा नम्बर १५ नेकपा एसको पोल्टामा गएको छ ।

    यता कांग्रेसले ०७४ सालमा जितेको एउटा वडा (वडा नम्बर ५) यसपालि एमालेले खोसेको छ । समग्रमा एमालेलाई ६ वटा वडा घाटा लागेको छ भने कांग्रेसलाई ५ वटा वडा नाफा भएको छ ।

    मेयरमा निराशा, उपमेयरमा उत्साह

    काठमाडौंंको मेयरमा एमालेबाट उठेका केशव स्थापितले आफूले सजिलै जित्ने दावी गर्दै चुनाव अगाडि नै ‘गेम ओभर’ भएको बताएका थिए । उनले भनेका थिए, ‘८४ हजार भोट ल्याएको मान्छेलाई के को चिन्ता ?’

    स्थापितको पार्टी एमाले पनि काठमाडौंमा मेयर जित्नेमा आशावादी थियो । तर, बालेन साहको पक्षमा उर्लिएको लहरले एमालेको आशा खरानी भयो । सोचेभन्दा निकै कम मत ल्याएर स्थापित तेस्रो भए ।

    अघिल्लो चुनावमा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ भोट ल्याएर जितेका थिए । प्रतिस्पर्धी कांग्रेसका राजुराज जोशीसँग उनको झण्डै २० हजार भोटको अन्तर थियो ।

    तर, यसपालि स्थापितले ३८ हजार ११७ मतमात्रै ल्याउन सफल भएका छन् । यो स्थापितका लागि मात्र नभएर एमालेका लागि समेत निराशाजनक मत हो ।

    स्थापितमात्रै पराजित भएको भए उनको व्यक्तिगत अलोकप्रियता र बालेनको लहरलाई जिम्मेवार ठहर्याउन सक्थ्यो एमालेले । तर, समग्र वडाहरुमा नै नतिजा एमालेको पक्षमा रहेन ।

    काठमाडौंमा एमालेले पाएको मुख्य सान्त्वना चाहिँ उपमेयरमा प्राप्त विजय हो । एमालेकी उम्मेदवार सुनिता डंगोलले विशाल अन्तरले जित हासिल गरिन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मतमात्र ल्याए । करिब ४५ हजार मतान्तरले सुनिता निर्वाचित भएकी छन् ।

    तर, यो मतान्तरले काठमाडौंमा एमालेको लोकप्रियतालाई पुष्टि गर्दैन । उपमेयरमा प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नहुँदा सुनितालाई फाइदा भएको छ । काठमाडौंमा कांग्रेसका मतदाताले पनि नेकपा एसको साटो सुनितालाई भोट दिएको देखिन्छ ।

    एमालेले २०७४ मा जितेका वडाहरु
    १, २, ३, ४, ७, ९, १२, १३, १४, १५, १८, २१, २२, २३, २४, २७, ३१, ३२

    एमालेले यसपालि जितेका वडाहरु
    १, २, ३, ४, ५, १३, १८, २१, २२, २३, ३१, ३२

    कांग्रेसले २०७४ मा जितेका वडा
    ५, ६, ८, १०, ११, १६, १७, १९, २०, २५, २६, २८, २९, ३०

    कांग्रेसले अहिले जितेका वडा
    ६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३०

    एमालेले गुमाएका वडा
    ७, ९, १२, १४, १५, २४ र २७

    कांग्रेसले गुमाएको वडा

  • सुनिता डंगोलको अपिल- हारजितको मनोविज्ञान अन्त्य गरौं, आशाको दियो मर्न दिन्नँ (भिडिओ)

    सुनिता डंगोलको अपिल- हारजितको मनोविज्ञान अन्त्य गरौं, आशाको दियो मर्न दिन्नँ (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी नेकपा एमालेकी युवा नेता सुनिता डंगोलले मतपरिणामसँगै अब जितहारको मनोविज्ञानलाई अन्त्य गर्न अपिल गरेकी छन् ।

    उपमेयर निर्वाचित भएपछि धन्यवाद ज्ञापन गर्दै डंगोलले अब हारजितको मनोविज्ञान त्यागेर काठमाडौं महानगरको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तमा अघि बढ्ने बताएकी छन् ।

    डंगोलले काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्न उनले आह्वानसमेत गरेकी छन् । उपमेयर डंगोलले आफू शासक होइन सेवक भएर काम गर्ने बताएकी छन् ।

    डंगोलले भनेकी छन्, ‘काठमाडौं महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने एजेण्डाप्रति विश्वास गरी यहाँका मतदाताले विजयी गराउनुभएको छ । म एमालेको तर्फबाट उम्मेदवार भएर निर्वाचनको मैदानमा थिएँ । अहिले तपाईहरुले मप्रति देखाएको अपार विश्वासका कारण उपमेयर पदमा निर्वाचित भएकी छु । तपाईंहरूले दिएको हरेक मतलाई मैले मेरो अठोट पूरा गर्ने बलियो सहराका रुपमा लिएकी छु ।’

    उनले विपक्षमा मतदान गर्ने मतदाताहरूको समेत सम्मान गर्दै उनीहरूको विश्वास र भरोसलाई पूरा गर्ने बताएकी छन् । उपमेयर डंगोलले राजनीतिलाई फोहोरी खेल भन्दै निरास बनेका युवाहरूको मनोविज्ञानले पनि आशाको दियो बाल्दै युवामाथि भरोसा गरेकोले थप चुनौतीका रूपमा आफूले लिएकी बताएकी छन् ।

    उनले युवाको मनोविज्ञानलाई पनि आफूले प्रतिनिधित्व गर्ने र आशाको दियो मर्न नदिने बताएकी छन् ।

  • काठमाडौंमा एक उम्मेदवारले दिएनन् आफैंलाई भोट, ५२ जनाको जमानत जफत (५५ उम्मेदवारको मतसहित)

    काठमाडौंमा एक उम्मेदवारले दिएनन् आफैंलाई भोट, ५२ जनाको जमानत जफत (५५ उम्मेदवारको मतसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका लागि प्रतिस्पर्धा गरेका ५२ जनाको जमानत जफत भएको छ । कूल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरुले उम्मेदवारीका लागि निर्वाचन आयोगमा राखेको धरौटी खोसिएको हो ।

    काठमाडौं महानगरमा ५५ जनाले मेयरमा उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये स्वतन्त्र उम्मेदवार बालेन्द्र साह सर्वाधिक मतका साथ विजयी भए । यस्तै कांग्रेस र एमालेका उम्मेदवारले दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुबाहेक अरु सबै उम्मेदवारको जमानत जफत भएको छ ।

    निर्वाचन आयोगको ऐनअनुसार पालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिन एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्छ । यस्तै वडाध्यक्षले १ हजार र सदस्यले पाँच सय रुपैयाँ धरौटी जम्मा गर्नुपर्ने प्रावधान छ । यदि सम्बन्धित पदमा कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको खण्डमा ती उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।

    काठमाडौंमा उल्लेख्य भोट ल्याएर पनि स्वतन्त्र उम्मेदवार सुमन सायमी जमानत जोगाउन असफल भए । उनले १३ हजार ७७० भोट ल्याएका थिए ।

    चर्चित उम्मेदवारमध्ये साझा विवेकशील पार्टीकी समीक्षा बास्कोटाले जमानत जोगाउन सकिनन् । उनको तराजु चुनाव चिन्हमा ६४७ भोटमात्रै पर्यो । अघिल्लो स्थानीय चुनावमा साझा र विवेकशील पार्टीका दुई उम्मेदवारले उल्लेख्य भोट ल्याएका थिए ।

    काठमाडौंमा ३ लाख २४२ मतदाता रहेकोमा १ लाख ९० हजार ९६२ भोट खसेको थियो । त्यसमध्ये ७ हजार ६८२ मत पूर्ण बदर भएको छ । मेयर पदमा १ लाख ५९ हजार ९०६ भोट सदर भएको छ । त्यसैले जमानत जोगाउन यसको १० प्रतिशत अर्थात १५ हजार ९९० भोट ल्याउनुपर्ने थियो । तर, तीन उम्मेदवारबाहेक अरुले यो संख्या छुन सकेनन् ।

    काठमाडौंमा उठेका ५५ जनामध्ये ३५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये बालेन र सुमन सायमीबाहेक अरुले उल्लेख्य भोट ल्याउन सकेनन् ।

    जसले आफैलाई भोट दिएनन्

    मेयरको प्रतिस्पर्धामा उत्रेका एक उम्मेदवारले आफैलाई भोट नदिएको पाइएको छ । आयोगले सार्वजनिक गरेको मत परिणाममा उनको भोट शून्य छ ।

    आफ्नै विश्वास जित्न नसकेका यी अभागी उम्मेदवार हुन् रोशन शाही । उनले भालु चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका थिए । तर, आफैले प्रतिस्पर्धी उम्मेदवारलाई भोट हाले वा उनको मत बदर भयो वा उनी मतदानमै उपस्थित भएनन् ।

    अर्का एक उम्मेदवारले सम्भवतः आफ्नैमात्र भोट पाएका छन् । भूईकटहर चुनाव चिन्ह लिएर लडेका स्वतन्त्र उम्मेदवार राजन कार्कीले १ भोटमात्रै ल्याए । यो भोट उनको आफ्नै हो वा अरु कसैले उनलाई एक भोट हालेर उनले अन्तै हालेका हुन् भन्ने चाहिँ एकिन गर्न सकिँदैन ।

    एक हजार ल्याउने ५ जनामात्र

    काठमाडौंको मेयरमा लडेका ५५ मध्ये ५१ जनाले एक हजारभन्दा कम भोट ल्याए । एक हजारभन्दा बढी भोट ल्याउनेमा बालेनसहित केशव स्थापित, सिर्जना श्रेष्ठ, सुमन सायमी र मदनदास श्रेष्ठमात्रै छन् ।

    यस्तै १४ जना उम्मेदवारले सिंगल डिजिटमा भोट ल्याएका छन् । १० भन्दा कम भोट ल्याउनेमा सबै स्वतन्त्र उम्मेदवार छन् । न्यून भोट ल्याउनेमा प्रायः स्वतन्त्र उम्मेदवार छन् ।

  • भक्तपुरको चाँगुनारायण नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता हुँदै

    भक्तपुरको चाँगुनारायण नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता हुँदै

    काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ । कार्यालयले जेठ १७ गते निर्वाचन मिति तोकिएको निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको छ ।

    गएको वैशाख ३० गते भएको निर्वाचनअन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिकामा कुनै पनि दलले बहुमत ल्याउन सकेन । नौवटा वडा रहेको चाँगुनारायणमा ४७ जनै जनप्रतिनिधि चुनिए पनि कुनै पनि दलले बहुमत ल्याउन नसकेको हो ।

    यहाँ मेयर जितेको नेपाली कांग्रेस र उपमेयर जितेको नेकपा एमालेका समान १८–१८ जना नगर सभासद् चुनिएका छन् । कार्यपालिकामा भने कांग्रेससँग मेयर र ४ जना वडा अध्यक्ष हुँदा एमालेसँग उपमेयर र दुई जना वडा अध्यक्षमात्रै छन् ।

    त्यस्तै २ वटा वडामा अध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्हबाट ६ जना नगर सभासद् निर्वाचित भएका छन् । हलो चिन्ह लिएर चाँगुनारायण ६ नम्बर वडामा कांग्रेसका दुई जना वडा सदस्य निर्वाचित भएका छन् । यी दुईलाई जोड्दा पनि कांग्रेससँग नगसभामा बहुमत पुग्दैन । त्यसैले उसले एउटा वडा अध्यक्षसँगै ५ जना नगर सभासद् जितेको नेपाल मजदुर किसान पार्टीसँग जिल्ला समन्वय समिति गठनसम्मलाई लिएर छलफल गरेको थियो । तर, छलफल निष्कर्षमा पुगेको छैन ।

    चाँगुनारायण नपाका मेयर जीवन खत्रीले दलहरुबीच सहमति एवं तालमेल हुने सम्भावना नभएकाले सबै दलले आआफ्नो तर्फबाट उम्मेदवारी दिने तयारी भइरहेको जानकारी दिए । साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय भएकाले सहमति हुन पनि सक्ने उनले बताए ।

    चाँगुनारायणमा ४७ सदस्यीय नगरसभाको बहुमत २४ जना हो । त्यसैले चाँगुनारायणमा कार्यपालिका सदस्य निर्वाचनमा राप्रपा र नेमकिपा निर्णायक शक्ति बनेका छन् । ५ जना नगर सभासद् नेमकिपाले कांग्रेसलाई समर्थन गर्दा स्पष्ट बहुमत पुग्छ । तर, एमालेले तालमेल गर्नुपर्दा नेमकिपा र ४ जना नगर सभासद् रहेको राप्रपा मिल्नुपर्छ ।

    मेयर खत्रीले नगरपालिकामा सबै दलको सम्मानजनक उपस्थितिको लागि सहमतिमार्फत कार्यपालिका सदस्य चुन्न आफूले दलहरुलाई आग्रह गरेको जानकारी दिए । नगर सभासद् जितेको प्रतिशतको आधारमा कार्यपालिका सदस्य संख्या भाग लगाएर अघि बढ्न आफूले दलहरुलाई जानकारी गराएको उनको भनाइ छ ।

    ‘जनप्रतिनिधिहरु निर्वाचित भइसकेकाले अब नगरपालिकालाई साझा रुपमा अगाडि बढाऔं भनेर मैले सबै दल र दलीय रुपमा आएका जनप्रतिनिधिसँग आग्रह गरेको छु’, मेयर खत्रीले भने, ‘के कसरी मिल्छ नगरपालिका बनाउने कार्यमा सबै पार्टी मिलेर अघि बढ्ने वातावरण बनाइनदिन मैले मैरे पार्टी नेपाली कांग्रेसको जिल्ला नेतृत्वसँग पनि आग्रह गरेको छु ।’

    मेयर खत्रीको प्रस्तावमा सबै दल सहमत भए ८ जनामध्ये कांग्रेस र एमालेले समान ३–३ जना र राप्रपा र नेमकिपाले पनि समान १–१ जना कार्यपालिका सदस्य पाउनेछन् ।

    एमालेका जिल्ला अध्यक्ष वचन देउजाले भने राप्रपा र नेमकिपासँग तालमेल गर्नेबारे छलफल भइरहेको जानकारी दिए । उनले जिल्ला समन्वय समितिको निर्वाचनलाई समेत सघाउ पुग्ने गरी राप्रपा र नेमकिपासँग तालमेलको कुरा भइरहेको बताएका हुन् ।

    ‘हामीले सबै विकल्प खुला राखेर छलफल अघि बढाएका छौं’, अध्यक्ष देउजाले भने, ‘तर, अहिल्यै के कसरी भागबन्डा लगाउन भन्नेबारे कुरा टुंगिसकेको छैन ।’

    नेमकिपाबाट चाँगुनारायण नपा ९ मा वडा अध्यक्ष निर्वाचित गणेश त्यातले भने कार्यपालिका निर्वाचन सम्बन्धमा अहिलेसम्म औपचारिक छलफल नभएको बताए । पार्टीले समेत यसबारे स्पष्ट निर्देशन दिइनसकेको उनको भनाइ छ ।

    अर्को निर्णायक राप्रपाले पनि यस विषयमा निर्णय गरिनसकेको जनाएको छ । राप्रपाबाट वडा नं ६ मा अध्यक्ष जितेका धनबहादुर तामाङले कार्यपालिका सदस्य निर्वाचनबारे तालमेल गर्नेबारे आफूसँग कुनै छलफल नभएको बताए । उनले आफूलाई पार्टीले समेत यस विषयमा कुनै निर्देशन एवं जानकारी नदिएको जानकारी दिए ।

    बरु कांग्रेस र नेमकिपा मिलेर जाने भएको आफूले सूचना पाएको वडा अध्यक्ष तामाङले सुनाए ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कार्यपालिकामा पाँच सदस्य बराबर एक जना गरी पाँच जना र दलित, अल्पसंख्यक तथा सिमान्तकृत ३ जना गरी ८ जना निर्वाचित हुन्छन् ।

  • ‘परिणामले एमालेलाई प्रतिपक्ष बनायो, मेयर बालेनलाई मेरो सधैँ रचनात्मक सहयोग हुनेछ’

    ‘परिणामले एमालेलाई प्रतिपक्ष बनायो, मेयर बालेनलाई मेरो सधैँ रचनात्मक सहयोग हुनेछ’

    काठमाडौं । स्थानीय चुनावको चर्चा चलिरहेका बेला २०७८ चैत ५ गते नेपाल प्रेसमा पूर्वमिस नेवाः तथा लिपी क्वीनका रूपमा चर्चित युवा महिला सुनिता डंगोलको अन्तर्वार्ता आयो, जसमा उनले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्न चाहेको बताएकी थिइन् ।

    काठमाडौंको मेयर बन्छु भन्दै गर्दा उनले आफ्ना केही योजनासमेत अघि सारेकी थिइन् । उनले सोहीअनुसार सम्वृद्धिका आठ आधारसहितको घोषणापत्र समेत सार्वजनिक गरिन् । उनको त्यो अन्तर्वार्तासँगै एमाले नेतृत्वको ध्यानाकर्षण भयो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले उनलाई उपमेयरको उम्मेदवार बन्न र उनका घोषणालाई एमालेको घोषणापत्रमा समेट्ने प्रस्ताव राखे । केपी ओलीलाई समकालीन नेताहरूमध्ये उत्कृष्ट मान्ने सुनिता अन्ततः एमालेकोतर्फबाट उपमेयर उम्मेदवारमात्र बनिन्, महानगरपालिकाको मतगणना सकिँदा सत्ता गठबन्धनका उम्मेदवारलाई करीव ४५ हजार मतान्तरले पराजित गर्दै काठमाडौंको उपमेयर बनिन् ।

    एमालेका मेयर उम्मेदवार केशव स्थापित ३८ हजार मतमा रोकिँदा उपमेयर उम्मेदवार डंगोलले ६८ हजार मत कटाइन् । मेयर पराजित भएकोमा सुनिता सन्तुष्ट छैनन् तर जनताको अभिमत अनुसार स्वतन्त्र उम्मेदवार बालेनको जितसँगै उनले रचनात्मक सहयोग गरेर महानगरलाई अघि बढाउने बताइसकेकी छन् ।

    ७५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै मत र सबैभन्दा ठूलो मतान्तरसहित विजयी भएकी एमालेकी युवा नेता डंगोलको अबको योजना के छ ? उपमेयर निर्वाचित भएलगत्तै नेपाल प्रेससँग पहिलो अन्तर्वार्ता दिएकी डंगोलले नवनिर्वाचित बालेनलाई पूरै सहयोग रहने र विरोधका लागि विरोध एमालेबाट नहुने बताइन् ।

    ३० वर्षीया डंगोल अब महानगरपालिकाको उपमेयरको भूमिकासँगै एमालेको राजनीतिमा पनि उपयुक्त जिम्मेवारीसहित अघि बढ्न चाहान्छिन् । प्रस्तुत छ, काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर डंगोलसँग गरिएको कुराकानी नेपाल टकमा ।

    – यसअघि एमालेले २० हजार बढी मतान्तरमा मेयर जितेको काठमाडौंमा यसपटक मेयर गुमाउँदा उपमेयरमा तपाईंले विगतमा विद्यासुन्दर शाक्यले पाएको भन्दा बढी मत पाउनुभयो, अब तपाईं महानगरको उपमेयरमात्र होइन यहाँ एमालेको नेतृत्व पनि गर्दै हुनुहुन्छ । वडाध्यक्षमा कांग्रेसले एमालेभन्दा बढी जितेको, स्वतन्त्र मेयर हुनुहुन्छ । विगतमा उपमेयरले मेयरका काममा प्रायः विरोध गरेको नजिर हेर्ने हो भने अब तपाईं र एमालेबाट निर्वाचित जनप्रतिनिधिको भूमिका के हुन्छ ?

    म एक शिक्षित युवा हुँ । म राजनीतिलाई फोहोरी बनाउने खेलमा कहिले पनि लाग्ने छैन । म एमालेको उम्मेदवारका रूपमा उपमेयर पदमा निर्वाचित भएको हुनाले महानगरपालिकामा दलको नेताको रूपमा मैले नेतृत्व गरिरहँदा हामीले विरोधका लागि विरोध कहिल्यै गर्ने छैनौं । काठमाडौंका विकास र समृद्धिका लागि हामी सधैँ रचनात्मक र सकारात्मक सहयोग सत्ता पक्षलाई गरिनै रहने छौं ।

    – यति धेरै भोट ल्याउँछु र यति ठूलो अन्तरालले जित्छु भन्ने पहिले सोच्नुभएको थियो ? तपाईंले एमालेको त पूरै मत पाउनुभयो जुन मेयरले पाउनुभएन, अरु मत कति आयो जस्तो लाग्छ ?

    मैले उम्मेदवारी दिइरहँदा काठमाडौं महानगरका मतदाताले मलाई धेरै माया गर्नुहुन्छ भन्ने विश्वास थियो तर मैले यति ठूलो अन्तरालले जित्छु भन्ने बारे भन्ने विचार गरेकी चाहिँ थिइन ।

    मैले पाएको मतलाई मैले केलाएर अहिले नै विश्लेषण गरिहालेको भने छैन । जे होस् काठमाडौंको मतदाताले मलाई धेरै माया गर्नुभएको छ भन्ने कुरा चाहिं मैले पाएको मतबाट पुष्टि भएको छ ।

    – मेयरमै स्वतन्त्र लडेको भए बालेनलाई टक्कर दिन सक्नुहुन्थ्यो होला ?

    सायद हुन सक्छ तर म अहिले त्यतातिर जान चाहन्नँ ।

    – उपमेयर जितेपछि बालेनलाई एमपी थियटरमा र्‍याप गाउन बोलाउँछु भन्नुभएको थियो, उहाँ नै मेयर भएपछि त्यो सम्भावना कति छ ?

    नेकपा (एमाले) को मेयरसहित चुनाव जितेको भए कार्यकारी अधिकार हामीमा हुन्थ्यो । त्यस अवस्थामा पुरानो डबलीलाई पुनर्जीवन दिने र डबलीको आधुनिक रूप एमपी थियटर बनाएर कला, साहित्य र संगीत क्षेत्रलाई प्रोत्साहन दिने योजना थियो । सो कार्यका लागि नेपालका कला, साहित्य र संगीत क्षेत्रका विशिष्ट कलाकारहरू समेतलाई बोलाएर सांगीतिक कार्यक्रम गर्ने योजना अनुसार कलाकारहरूलाई गीत गाउन आह्वान गर्छु भनेकी थिएँ । सायद मेरो यो योजनालाई अहिले निर्वाचित महानगरपालिकाको नेतृत्वले पूरा गर्दछ भन्ने मैले विश्वास गरेकी छु ।

    – मेयर बालेनसँग अहिलेसम्म तपाईंको व्यक्तिगत भेटघाट र कुराकानी भएको छ कि छैन ?

    बालेनसँग चुनाव सन्दर्भमा एक/दुई पटक फोनमा कुराकानी भएको थियो र चुनाबी प्रचारको सिलसिलामा घरदैलोमा जाँदा एकपटक जम्काभेट भएको थियो, बस् त्यति हो । त्यस अलावा अरु भेटघाट र कुराकानी भएको छैन ।

    – बालेनले धरहरालाई सेतो टावर भन्नुहुन्छ, तपाईं त्यसमा सहमत हो ?

    पुरानो धरहराको अवशेष यथावत राखेर त्यसको संगै नै अर्को नयाँ धरहरा नेकपा (एमाले) को नेतृत्वमा कमरेड केपी शर्मा ओलीको पालामा बनाएको हो । यसलाई विभिन्न नामाकरण गर्न जरुरी छ जस्तो मलाई लाग्दैन ।

    – पार्टीभित्रै थुप्रै आकांक्षी हुँदा हुँदै तपाईंलाई नै एमालेले उपमेयरको टिकट दिनुको मुख्य कारण के हो जस्तो लाग्छ ?

    नेकपा एमालेका शीर्षस्थ नेताहरू विशेष गरी पार्टीका श्रद्धेय अध्यक्ष श्री केपी शर्मा ओलीज्यूले सक्षम युवाको आवाज समेट्ने अभिप्रायले मलाई टिकट दिनुभएको हो जस्तो मैले बुझेकी छु । यसमा अरु कुनै कारण छैन र म भन्दा राजनीतिमा धेरै लामो समय त्याग र संघर्ष गर्नुभएका अग्रज नेताहरूप्रति मेरो सधैँ सम्मान र आदर रहन्छ । उहाँहरूले काठमाडौंका जनताका लागि योगदान गर्ने ठाउँहरू धेरै छन्, पार्टीले उपयुक्त जिम्मेवारी सबैलाई दिनेछ ।

    – टिकट पाउनुअघि अध्यक्ष केपी ओलीसँग तपाईंको कस्तो कुराकानी भएको थियो ?

    उहाँसँग चुनावको सन्दर्भमा आवश्यक कुराकानी भएको थियो । यो कुरा अब धेरै भनिरहनु पर्दैन । मलाई अध्यक्ष र पार्टीले नै यो मोर्चामा खटाउँनुभएको हुनाले स्वभाविक रूपमा अब पार्टीको कुरा भयो ।

    – स्थानीय चुनावमा उम्मेदवार दिनु अघि र अहिले तपाईंले आफूमा के-के परिवर्तन पाउनुभएको छ ? मानिसहरूले कस्तो रेस्पोन्स गर्छन् ?

    चुनावअघि मलाई सांस्कृतिक तथा सामाजिक अभियन्ताको रूपमा मात्र चिन्दथे तर अहिले मानिसहरूले मलाई उपमेयरको रूपमा चिन्न थालेको छ र उहाँहरूले अझ धेरै राम्रो रेस्पोन्स र माया गर्नुभएको मैले महसुस गरेकी छु ।

    – मेयर र उपमेयर दुवैमा युवाहरू आउँदा धेरै मतदाता उत्साहित छन् । बालेनसँग सहकार्य कत्तिको जम्ला भन्ने तपाईंको व्यक्तिगत अपेक्षा छ ?

    मलाई उहाँको (मेयर बालेन) विषयमा खासै जानकारी नभएकोले अहिले नै यस्तै हुन्छ भनी हाल्न मिल्दैन तर मेरो तर्फबाट भने सधैँ रचनात्मक सहयोग हुनेछ ।

    – उपमेयरको कुर्सीमा बस्दा तपाईंको मुख्य प्राथमिकताहरू के-के हुनेछन् ? तपाईंबाट के-के अपेक्षा गर्न सकिन्छ ?

    उपमेयरलाई कानूनले दिएको काम कर्तव्य र अधिकारको दायरामा बसेर जनहितमा सधैँ काम गर्नेछु । म शासक होइन जनताको सेवक भएर काम गर्नेछु ।

    – तपाईंले बालेनको र्‍यापहरू कति सुन्नुभएको छ ? उहाँका र्‍यापहरू स्त्रीद्वैषी भनेर विवाद पनि उठेको थियो, तपाईंलाई कस्तो लाग्छ ?

    मैले उहाँको कुनै पनि र्‍यापगीत सुनेको छैन तर उहाँ चर्चित र्‍यापर हो भन्ने सुनेको छु ।

    – सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरू कत्तिको हेर्नुहुन्छ ? तपाईंका बारमो लेखिएका टिप्पणीहरू पढ्दा कस्तो लाग्छ ?

    फुर्सद मिलाएर हेर्ने गर्छु । पूर्वाग्रह नराखेको सही टिप्पणीहरूलाई सकारात्मकरूपमा ग्रहण गर्दछु । कुनै कुनै पूर्वाग्रह राखेर जथाभावी टिप्पणी गरेको पनि पाइन्छ त्यस्ता टिप्पणी प्रति मेरो भन्नु केही छैन ।

    – महानगरवासीलाई कार्यकालको सुरूवातमा के सन्देश दिन चाहनुहुन्छ ?

    काठमाडौं महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने एजेण्डाप्रति विश्वास गरी यहाँका मतदाताले मलाई विजयी गराउनुभएको छ । तपाईंहरूले दिनुभएको हरेक मतलाई मैले मेरो अठोट पूरा गर्ने बलियो सहाराका रूपमा लिएकी छु ।

    तर, निर्वाचन परिणाम अनुसार म अहिले प्रतिपक्षको भूमिकामा रहनु पर्ने बाध्यात्मक स्थिति देखिन्छ । म सहकार्य, समन्वय र सहअस्तित्वको सिद्धान्तलाई मानेर रचनात्मक सहयोग सहित अघि बढ्न चाहन्छु ।

    तपाईंहरूको साथ सहयोगको सधैँ अपेक्षा गर्दछु ।

    – अब तपाईंलाई नेकपा एमालेको राजनीतिमा चाहिँ कुन भूमिका र सक्रियतामा देख्न पाइएला ?

    अहिले त मलाई उपमेयरको भूमिकामा रहेर जनताको सेवा गर्नुछ । यदि पार्टीले मलाई विश्वास गरेर कुनै पार्टी कामको जिम्मा लगाउँछ भने पनि म इमान्दारिता र मिहेनतका साथ उक्त जिम्मेवारी लिन तयार छु ।

  • प्रदेश १ मा मेयर तथा अध्यक्ष जित्ने महिला बढे, उपमेयर र उपाध्यक्षमा पुरुषले ओगटे

    प्रदेश १ मा मेयर तथा अध्यक्ष जित्ने महिला बढे, उपमेयर र उपाध्यक्षमा पुरुषले ओगटे

    विराटनगर । यस वर्षको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश १ मा मेयर तथा अध्यक्ष जित्ने महिला बढेका छन् । अघिल्लोपटक एकजनामात्रै महिला पालिका अध्यक्षमा निर्वाचित भएका थिए । तर, यस वर्ष १० जना महिलाले पालिका मेयर तथा प्रमुख जितेका छन् ।

    मेयर तथा अध्यक्ष जित्ने महिलाको संख्या ९ जना बढ्दा उपमेयर तथा उपाध्यक्षमा ३० जना पुरुष उम्मेदवा महिलालाई विस्थापित गरे । अघिल्लो वर्ष ६ जना पुरुषले उपमेयर तथा उपाध्यक्ष जितेका थिए । जुन यस वर्ष बढेर ३६ जना पुगेको हो ।

    अघिल्लो निर्वाचनबाट प्रदेश १ भर झापाको कमल गाउँपालिका अध्यक्षमा मेनुका काफ्ले एकजना मात्र महिला नेतृत्व चुनिएकी थिइन् । यस वर्ष झापाकै विर्तामोड नगरपालिकाकोमेयरमा नेकपा एमालेकी पवित्रा महतारा, गौरीगञ्ज गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी फूलवती राजवंशी, मोरङको कानेपोखरी गाउँपालिका अध्यक्षमा एमालेकी राजमती इङ्नाम, सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मीनादेवी कार्की, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा कांग्रेसकी विमला राई र खोटाङकै जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी अरुणादेवी राई निर्वाचित भएका छन् ।

    प्रदेश १ का धेरैजसो स्थानीय तहमा सत्ता गठबन्धनमा आवद्ध दलहरुले चुनावी तालमेल गर्दा मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्षमा पुरुषलाई प्राथमिकता दिँदा यसवर्ष उपमेयर तथा उपाध्यक्षमा निर्वाचित हुने पुरुषको संख्या बढेको प्रदेश निर्वाचन कार्यालयका अधिकृत लेवनकाश्यप अधिकारीले बताए ।

    उनका अनुसार गएको स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा महिला प्रमुखको संख्या १ जनामात्रै थियो । यसवर्ष महिला मेयर तथा अध्यक्षको संख्या १० पुगेको छ । अघिल्लो पटक उपप्रमुख तथा उपाध्यक्षमा ६ जना पुरुषमात्रै निर्वाचित भएकामा यसवर्ष सो संख्या बढेर ३६ पुगेको उनले जानकारी दिए ।

    उनका अनुसार मेयर तथा अध्यक्षमा ६ जना महिला निर्वाचित भएका पालिकामध्ये ५ तहमा पुरुष उपप्रमुख निर्वाचित भएका छन् ।

    प्रदेश निर्वाचन कार्यालयका अनुसार यसवर्ष झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसकी फुलमती राजवंशी निर्वाचित हुँदा उपाध्यक्षमा एमालेकी पूजना न्यौपाने कुँवर विजयी भएकी हुन्।

    २०७४ सालको निर्वाचनमा झापाको कमल गाउँपालिकामा वेनुप्रसाद सिवाकोटी, गौरीगञ्जमा दिपीन्द्र थापा, हल्दीबारीमा डम्बरबहादुर गिरी, ताप्जेलुङको फुङ्लिङमा बमबहादुर भट्टराई, सिदिङ्वामा जीवनकुमार ताम्लिङ र पाँचथरको तुम्वेवामा धनप्रसाद साँवा उपप्रमुखमा निर्वाचित भएका थिए ।

    खोटाङका १० स्थानीय तहको मेयर तथा अध्यक्ष एवं उपमेयर तथा उपाध्यक्षमा ५ जनामात्रै महिला निर्वाचित भएका छन् । बाँकी १५ पदमा पुरुष निर्वाचित भएका छन् ।

    ताप्लेजुङमा ४, पाँचथरमा ६, इलाम, झापा, ओखलढुंगा, उदयपुरमा ३र३, तेह्रथुम, भोजपुर र सुनसरीमा १–१, मोरङ र सोलुखुम्बुमा २ तथा खोटाङमा ७ जना पुरुष उपप्रमुख र उपाध्यक्षमा निर्वाचित भएका छन् ।

    अन्य १४ जिल्लाको १३१ पालिकाको उपप्रमुखरउपाध्यक्ष पदमा महिला नै निर्वाचित भएका थिए । यस पटक ६ स्थानीय तहले महिला नेतृत्व पाएका छन् ।

    बैशख ३० मा सम्पन्न चुनावमा प्रदेशभर कूल २ हजार ४५५ जना महिला जनप्रतिनिधि निर्वाचिन भएका छन् ।

  • माओवादीका शर्मा र बस्नेतले आफ्नै पालिका जोगाउन सकेनन्, एमालेका यामलालले सुधारे

    माओवादीका शर्मा र बस्नेतले आफ्नै पालिका जोगाउन सकेनन्, एमालेका यामलालले सुधारे

    सुर्खेत । स्थानीय तहको निर्वाचनमा कर्णाली माओवादीका हेभीवेट नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतले आफ्नै पालिका पनि जोगाउन सकेनन् ।

    रुकुम पश्चिममा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माको पालिकामा कांग्रेसले जित हात पार्यो भने जाजरकोटका पूर्वमन्त्री माओवादी नेता शक्ति बस्नेतको भेरी नगरपालिकामा एमाले विजयी बन्यो ।

    तर सुर्खेतमा एमाले स्थायी कमिटी सदस्य यामलाल कंडेल भने आफ्नो पालिकामा सफल भएका छन् । एमालेले सुर्खेतमा सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा प्रमुख उपप्रमुख जितेको छ भने लेकबेशी नगरपालिकाको उपप्रमुख जित्न सफल भएको छ ।

    २०७४ सालको निर्वाचनमा सिम्ता, चौकुने, लेकबेशी एमालेले जितेको थियो । वीरेन्द्रनगरमा एमालेले उपप्रमुख जितेको थियो । गठबन्धन भएपनि सुर्खेतमा कांग्रेसले सधैं जित्दै आएको चिंगाड गुमाएको छ । भेरीगंगा पनि कांग्रेसले गुमाउँदा लेकबेशी भने जित्न पुग्यो । एक्लाएक्लै चुनाव लड्दा सात पालिका जित्ने दाबी गरेको कांग्रेसले बराहताल, पञ्चपुरी, गुर्भाकोट र लेकबेशीमा विजयी भयो । चौकुने गाउँपालिका भने माओवादीले जित्यो ।

    ‘टिकट वितरणमा सन्तुष्टि भएका कारण एमालेले गठबन्धनका बाबजुद सफलता पाएको हो’, एमाले उपाध्यक्ष कुलमणि देवकोटा भन्छन्, ‘पार्टी लेकबेशीमा भन्दा अन्यत्र चुकेन । वडासम्मै गठबन्धन बनाएका सत्तारुढ दललाई सुर्खेतमा हामीले पराजित गर्न सफल भएका हौं ।’

    ‘सुर्खेतका कम्तिमा पाँच पालिका हामी जित्छौं भनेर पहिले नै भनेका थियौं । प्राविधिक कारण साढे चार पालिका जित्न पुग्यौं’, यामलाल कँडेलले भने ।

  • प्रमुख पद गुमाएको हेटौंडामा एमालेको स्पष्ट बहुमत, माओवादी एक वडाध्यक्षमा सीमित

    प्रमुख पद गुमाएको हेटौंडामा एमालेको स्पष्ट बहुमत, माओवादी एक वडाध्यक्षमा सीमित

    हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा मेयर तथा उपमेयर गुमाए पनि नौ वडाध्यक्षसहित ५१ जनप्रतिनिधि जितेर एमाले बहुमतमा पुगेको छ । नगरसभाको ९७ जना सदस्यमध्ये एमालेको ५१ जना जनप्रतिनिधिको जित पछि हेटौंडामा वैशाख १५ गते हुने कार्यपालिकाको निर्वाचनमा एमालेको जित हुने निश्चितप्रायः छ ।

    हेटौंडाको कार्यपालिकामा २९ जना जनप्रतिनिधि छन् । जसमा मेयर, उपमेयर गरी २ जना, १९ जना वडाध्यक्ष तथा ८ जना नगरसभाबाट निर्वाचित व्यक्तिहरु समावेश हुनेछन् । कार्यपालिकाको ८ जना सदस्य नगरसभाको ९७ जना जनप्रतिनिधिले मतदानबाट छनोट गर्नेछन् । एमाले एक्लै ५१ जना जनप्रतिनिधिसहित बहुमतमा रहँदा पाँच दलीय गठवन्धनको तर्फबाट ४६ जनामात्र जनप्रतिनिधि हुनेछन् ।

    नेकपा माओवादी केन्द्रले हेटौंडा उपमहानगरपालिकामा एकमात्र वडाध्यक्ष जितेको छ ।

  • तिलोत्तमाको मेयरमा कांग्रेसका खाण र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

    तिलोत्तमाको मेयरमा कांग्रेसका खाण र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

    रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले पराजित गरेका हुन् ।

    खाडले २४, ३९६ मत पाए भने चापागाईंले २३, ६३१ मत प्राप्त गरेका छन् ।

    कांग्रेस रूपन्देही सभापति रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन् ।

    उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन् । उनले माओवादीका हेमलाल पाण्डेलाई पराजित गरेकी हुन् । चौधरीले २३०८६ मत पाइन् भने पाण्डे ११५४६ मा सीमित भए ।

    तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृहनगर हो भने एमाले उपाध्यक्ष बिष्णु पौडेलको निर्वाचन क्षेत्रमा पर्दछ । तिलोत्तमामा २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।

  • इतिहास रच्दै बालेन्द्र साह बने काठमाडौंका मेयर

    इतिहास रच्दै बालेन्द्र साह बने काठमाडौंका मेयर

    काठमाडौं । अभूतपुर्व नतिजा निकाल्दै र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनले २३४२६ मतको फराकिलो अन्तरका साथ जित हासिल गरे ।

    महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनले बलियो जनसंगठन भएका कांग्रेस र एमालेका उम्मेदवारहरूलाई हराउँदै मेयर जितेका हुन् । ४६ सालपछि काठमाडौं महानगरमा स्वतन्त्र व्यक्ति मेयर बनेको पहिलोपटक हो ।

    भर्खरै प्रकाशित मत परिणाम अनुसार बालेनले कुल मत ६१७६७ ल्याएका छन् । दोस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८३४१ भोट ल्याइन् । एमालेका उम्मेदवार केशव स्थापित ३८११७ मतका साथ तेस्रो स्थानमा रहे ।

    अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि १० हजार भोट कटाउन सफल भए । १३७७० भोटका साथ उनी चौथो स्थानमा छन् भने राप्रपाका मदनदास श्रेष्ठ ५७७० मत ल्याएर पाँचौ स्थानमा रहेका छन् ।

    मेयरमा जितेका बालेन काठमाडौंको वडा नम्बर ९ को स्थायी बासिन्दा हुन् । उनी तीनकुने, गैरिगाउँमा बसोबास गर्छन् । मधेसी मुलका बालेनको पुरानो घर भने महोत्तरी जिल्लामा छ । काठमाडौंको मेयर बन्ने उनी पहिलो मधेसी मुलका नागरिक पनि हुन् ।